content
stringlengths
20
64.1k
आजको फलफूल तथा तरकारीको मूल्य, मालदह आँप १८० रुपैयाँ काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १२०, टनेल गोलभेडा सानो ८५,घिउ सिमी लोकल २५,काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८,मुडे आलु रातो ३८,भारतीय आलु रातो ३६,भारतीय प्याज सुकेको ४५,लौका ४० कायम भइ कारोबार भइरहेको छ । त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३४० रुपैयाँ ,गाजर ११०,बन्दा लोकल १० , मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, टाटे सिमी ७०,तितो करेला ४०,ब्रोकाउली ८०, कागती १४० रुपैयाँ, भिण्डी रू ३०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ३०,तामा ९०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ । समितिका अनुसार कुरीलो प्रतिकेजी ३००,केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ४५०, किवि ७५०, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा९मुंगरी० २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ । यस्तै, मालदह आँप १८०, हरियो धनिया ७०,लसुन हरियो ७०, खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २३०, चाइनिज लसुन २७०,रुख कटहर ३०, भेडे खु्र्सानी ७० मा कारोबार भइरहेको छ ।
आजको मौसमः मुलुकका अधिकांश स्थानमा वर्षाकाे संभावना काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आन्शिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मेघगर्जन र चट्याङसहित भारी वर्षाको कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
खीर खाएर मनाइयो साउन १५ काठमाडौं । नेपाली समाजमा परापूर्व कालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन १५ आज घरघरमा खीर खाएर मनाइएको छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको परम्परा नेपाली समाजमा रहँदै आएको छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाईभैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन सुरु भएको हो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन वा प्रमाण भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरूपमा गाईको दूधमा पायस बनाउँछन् । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशमा ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही च्युरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफु पनि खाने लौकिक चलन रहिआएको छ । खीर खाने पर्वका रूपमा साउन १५ मनाइने भएकाले आज बजारमा दूधको बिक्री पनि धेरै भएको व्यवसायीले जनाएका छन् । धेरै स्थानमा दिउँसै दूध सकिएको थियो । विसं २०७८ देखि साउन १५ लाई राष्ट्रिय दुग्ध विकास बोर्डले खीर दिवसका रूपमा घोषणा गरेको छ । दूधमा बनेका परिकारले कोरोना, डेङ्गुजस्ता भाइरसबाट बचाउन सफल हुने भएकाले रोग प्रतिरोधी क्षमता वृद्धिमा सहयोग पुग्ने पनि बोर्डले जनाएको छ ।
सहकारीमा फसेको रकम पाउनुपर्ने मागसहित दुई अभिनेत्रीहरु धर्नामा काठमाडौं । विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरुको धर्नामा अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी लगायत सहभागी भएका छन् । सिभिल सहकारीले आफुहरुले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै उनीहरु धर्नामा सहभागी भएका हुन् । सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउँदा आफुहरु निकै समस्यामा परेको भन्दै उनीहरुले सरकारले उचित तवरले समस्या समाधान गर्न आग्रह गरेका छन् । भुसालले सहकारीबाट दुख पाएको तीन बर्ष भएको भन्दै सहकारी सञ्चालकहरुको सम्पती बिक्रि गरेर पीडितलाई न्याय दिनुपर्ने बताइन् । उनले आफु लगायत परिवारका १४ जनाको दुई करोड ६० लाख तथा भुवन चैत्य बसुन्धरा फाउण्डेसनकातर्फबाट राखिएको १५ लाख समेत फसेको गुनासो गरिन् । उनले हजारौ सहकारीको बदमासीलाई सरकारले कारवाही गर्नुपर्ने बताइन् ।
घुस लिएको आरोपमा इन्जिनियरविरुद्व भ्रष्टाचार मुद्दा दर्ता काठमाडौं । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर यादवविरुद्व सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। यादवले कोटहीमाई गाउँपालिका–७ अन्तर्गतको सडक पीसीसी ढलान र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात् भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग ४५ हजार रुपियाँ घुस लिएको आरोप लागेको आयोगले जनाएको छ।
टोखामा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ काठमाडौं । टोखा नगरपालिका–९ मिलन टोलमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्। मिलन टोलमा रेहेको राजेन्द्र प्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा बैतडी पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्र बहादुर थापा समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ४४ हजार ५ सय नेपाली रूपैयाँ र २ हजार ५ सय भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।
साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ काठमाडौं। साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए। देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये हालसम्म १० लाख ५३ हजार चार सय चार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ । यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको थियो । कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ३३ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुई लाख ३१ हजार एक सय १२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको केन्द्रले जनाएको छ । मधेस प्रदेशमा हालसम्म ५९ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा सो प्रदेशमा ८९ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो । मधेस प्रदेशमा तीन लाख ५४ हजार तीन सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । हालसम्म सो प्रदेशमा दुई लाख नौ हजार ८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । बागमती प्रदेशमा हालसम्म ७२ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष साउन १२ गतेसम्म बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको थियो । यो प्रदेशमा एक लाख १३ हजार ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । यसमध्ये हालसम्म ८१ हजार चार सय २० हेक्वटर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ । गण्डकी प्रदेशमा हालसम्म ८२ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । गत वर्ष साउन १२ गतेसम्म यो प्रदेशमा ९६ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो । गण्डकी प्रदेशमा एक लाख चार हजार छ सय २२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये हालसम्म ८५ हजार सात सय ९० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ । लुम्बिनी प्रदेशमा ८१ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८५ प्रतिशत धान रोपाइँ सकिएको थियो । लुम्बिनी प्रदेशमा तीन लाख तीन सय ९२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये हालसम्म दुई लाख ४३ हजार तीन सय १८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । कर्णाली प्रदेशमा हालसम्म ८५ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको केन्द्रका प्रमुख सञ्जेलले बताउनुभयो । गत वर्ष यही समयमा सो प्रदेशमा ७८ प्रतिशतमात्र रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा ३८ हजार सात सय २७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । सो प्रदेशमा हालसम्म ३२ हजार नौ सय १८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म ९९ प्रतिशत धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष पनि यही समयमा ९९ प्रतिशत नै रोपाइँ सकिएको थियो । सुदूरपश्चिम प्रदेशमा एक लाख ७१ हजार चार सय ७६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ । सो प्रदेशमा हालसम्म एक लाख ६९ हजार सात सय ६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ ।
जापानबाट फर्किएपछि ‘भुस्याहा कुकुर’को हेरचाहमा लागे चन्द्र उपाध्याय काठमाडौं। काठमाडौं उपत्यकामा ५० लाखभन्दा बढी मानिस बस्छन्। तर, दिउँसै हिँड्न पनि डर लाग्ने सुनसान थियो। सडकमा कोही निस्केको देखिँदैन थियो। एकाधपटक सुरक्षाकर्मीको सवारीसाधन हिँड्थ्यो भने टाढाकै एम्बुलेन्सका आवाज प्रष्टै सुनिन्थ्यो। मान्छे देख्दा मान्छे नै डराउनुपर्ने त्यो कोरोनाभाइरसको महामारीकालमा नेपालसँगै विश्व नै सुनसान र त्रासमा थियो। हो, यही बेला २२ वर्ष जापान बसेका चन्द्र उपाध्याय स्वदेश फर्किए। उनी परिवारसहित फेरि जापान जानेगरी नेपाल आए। सन् १९९८ मा अध्ययन गर्न जापान गएका चन्द्र पछि उतै रेष्टुरेन्ट र ग्रोसरी व्यवसायमा लागे। श्रीमती, दुई छोरीसहित पहिलो लकडाउनका बेला उनी स्वदेश फर्किए। बबरमहलस्थित आफ्नै घरमा बसे। तर, लाखौँ मानिस बसेको काठमाडौंको बबरमहल अझै सुनसान थियो। हिँड्न डराउनुपर्थ्याे। बाल्यकाल बिताएको बबरमहल, अनि धोवीखोलोको करिडोर, उनी साँझ बिहान हिँड्ने गर्थे। एकदिन धोवीखोलाको करिडोर नजिकै रहेको एक पसलको सटरअगाडि चाउचाउको कार्टुनमा चारवटा कुकुरको बच्चा देखे। तर, चारवटा बच्चामध्ये एउटालाई भने कुकुरले नै खाएको देखे। यसले उनको हृदयलाई छोयो, मनलाई वेचन गरायो। कोरोनाभाइरस महामारीले मानिसलाई भन्दा सडकमा छाडिएका ‘भुस्याहा कुकुर’लाई बढी पीडा रहेको महसुस गरे । खान नपाएर कुकुरले कुकुरकै बच्चा खाएको देख्दा चन्द्रको मनमा असह्य पीडाबोध भयो। उसो त कुकुरप्रति उनको झुकाव बच्चा बेला देखिनै थियो। तर, हृदयविदारक दृश्यले भने कुकुरप्रतिको जिम्मेवार बोध पनि गरायो। र उनले ती बाँचेका तीनवटा कुकुरका बच्चामध्ये दुईवटा आफूले ल्याए घरमा, एउटा उनको साथीले लगे। यहीँबाट सडकमा छाडिएका ‘भुस्याहा कुकुर’लाई बिहान बेलुका खुवाउन थाले। ‘लकडाउनको बेला थियो। बिहान मोर्निङवाकमा जाँदा कार्टुनमा चारवटा कुकुरको बच्चा देख्यौँ। कसैले ल्याएर छाडिदिएका रहेछन्। तर, एउटालाई भने कुकुरले खाएछ,’ उनी ती दिन सम्झँदै भन्छन्, ‘मन सारै अमिलो भयो। बाँचेका तीनवटामध्ये दुईवटा मैले ल्याएँ। एउटा साथीले लगे। त्यही बेलादेखि भुस्याहा कुकुरलाई बिहान बेलुका खुवाइरहेको छु।’ कालिकोट मस्कोट–४ का ५८ वर्षीय उपाध्यायले अहिले ११ वटा कुकुरलाई बिहानै बिस्कुट खुवाउँछन्, त्यसपछि बिहान र बेलुका मासु र खाना खुवाउँछन्। उनी कतै जान लाग्दा ती कुकुरहरु पछि लाग्छन्। कुकुरलाई फर्काउन उनलाई हम्मेहम्मे पर्छ। राप्रपाका नेतासमेत रहेका उनी बेला बेला आफ्नो व्यवसायबारे जानकारी लिन जापान जाने गर्छन्। यसबेला भने उनलाई कुकुरको निकै चिन्ता लाग्छ। उसो त घरपरिवारका सदस्यले पनि कुकुरलाई खुवाउने गर्छन्। तर, आफ्नो मनले नमान्ने उनी बताउँछन्। पूर्वमन्त्री धर्मदत्त उपाध्यायका छोरा चन्द्रलाई दैनिक कुकुरलाई खुवाउनभन्दा पनि उनीहरुलाई रेविजविरुद्धको खोप लगाउन भने समस्या भएको बताउँछन्। यसबारे महानगरसहित सरोकारवालासँग कुरा गर्दा कतैबाट सुनुवाइ नभएको बताए। ‘भुस्याहा कुकुर भएका कारण गाडीमा राखेर लैजान गाह्रो हुनेरहेछ,’ उनले भने, ‘यहीँ बोलाएर रेविजविरुद्धको खोप लगाउन काठमाडौं महानगरसहित सरोकार निकायमा जाँदा अहिलेसम्म कोही आउनु भएको छैन। खोप लगाइदिन पाए राम्रो हुन्थ्यो।’ तीन तीन महिनामा ती कुकुरलाई जुकाको औषधि भने खुवाउने गरेको चन्द्र बताउँछन्। भुस्याहा कुकुरको हेरचाह गर्दा उनलाई परिवार र आफन्तको साथ छ । तर, कहिले काहीँ छिमेकीलाई डिस्टर्ब गर्दा उनीहरु रिसाउँछन् । ‘ घरभित्र सबै कुकुरलाई बस्ने व्यवस्था छैन। धेरै सडकमै बस्छन्। कोही मानिस आए, कराउन थाल्छन्। त्यत्तिखेर छिमेकीहरु भुस्याहा कुकुर थुपारेको भनेर रिसाउँछन्,’ चन्द्र भन्छन्, ‘आफ्नै घरको कम्पाउन्डभित्र कुकुर बस्ने टहरो बनाउने सोचमा छु।’ कुकुरको हेरचाह, औषधोपचार, खानपिनको सबै व्यवस्थाको खर्च आफैं एक्लैले व्यहोरेको उनी बताउँछन्। कुकुरलाई नखुवाइ आफू खाना नखाने गरेको उनी बताउँछन्। जापान फर्किने गरी काठमाडौं आएका उपाध्यायका परिवार अब स्वदेशमै बस्ने भएका छन्। छोरीहरुले यतै अध्ययन गर्न थाले भने चन्द्र पनि एक दर्जन कुकुरको हेरचाहलाई आफ्नो दैनिक जीवनको कर्म र जिम्मेवारी बोधले उपाध्याय परिवार जापान नफर्किने निधोमा पुगेको हो। ‘अहिले पनि जापानमा रेष्टुरेन्ट र ग्रोसरी व्यवसाय छ,’ उनले भने, ‘वर्षमा एक दुईपटक जान्छु । अडिट गर्ने समयमा जाने गरेको छु। अब बच्चा यतै पढ्न थाले। फेरि कुकुरलाई पनि खुवाउन थालेँ, यसले गर्दा जापान नफर्किने भयौँ।’
अधिवक्ता भगवती पाण्डेलाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी काठमाडाैं। नेपाल मगर संघले अधिवक्ता भगवती पाण्डे (शितल) लाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी दिएको छ। संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तामाङ, मगर लगायत आदिवासी समुदायविरोधी अभिव्यक्तिपछि मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि पक्राउ नगरिएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएको दिएको हो। पाण्डेलाई पक्राउ गर्न आनाकानी गरे दवावका लागि जिल्ला प्रहरी परिसर काठमाडौं घेराउ गर्ने, देशैभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र देशैभर प्रदर्शन गर्ने संघले जनाएको छ । संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले नेपाल बहुभाषिक, बहुसंस्कृतिक मुलुक भएकाले देशको विविधता अनुसार संविधान अनुसार चल्नुपर्ने बताए। उनले साउन ९ गते अधिवक्ता भगवती पाण्डे बिरुद्ध जाहेरी दर्ता गरेर पक्राउ पुर्जी जारी गरेपनि पाण्डेलाई पक्राउ गर्न आनाकानी गरिरहेको उल्लेख गरे। पाण्डेको अभिव्यक्तिले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृति समाजको सांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको संघको निष्कर्ष छ।
मकवानपुरमा सवारी दुर्घटना दुई जनाको मृत्यु मकवानपुर। चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका-९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी-९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। उनले उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए। प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
आजको मौसम: यी पाँच प्रदेशमा भारी वर्षाकाे संभावना काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आन्शिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मेघ गर्जन र चट्याङसहित भारी वर्षाको कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।
साउन १५ : खीर खाने दिन काठमाडौं। साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन्। यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो। साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन्। तर यसको कुनै शास्त्रीय वचन भने छैन। ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो। अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन्। चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ। साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ। यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ। नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ। दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ। बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ।रासस
लम्पी स्किन विरुद्धको खोप व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन काठमाडौं। मुख्य सचिव बैकुण्ठ अर्यालले लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्। आज बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अनुगमन तथा मूल्याङ्कन समितिको ६६औँ बैठकमा उनले सङ्घीय, स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा छिटोभन्दा छिटो सेवा दिन सक्ने गरी तीन दिनभित्र कार्ययोजना बनाउन मन्त्रालयलाई निर्देशन दिएका हुन्। उक्त समितिका संयोजक मुख्य सचिव अर्यालले समसामयिक समस्याका विषयमा सम्बन्धित विभिन्न मन्त्रालयलाई निर्देशन दिए । उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेङ्गी रोग फैलिन नदिन प्रदेश तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा व्यापक रुपमा जनचेतनामूलक सन्देश प्रवाह गर्ने निर्देशन दिए। यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संयुक्त बजार अनुगमनका लागि सूचना सङ्कलन प्रविधिको प्रयोग जनशक्ति परिचालनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए। त्यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सहयोग तथा सहजीकरण गर्न निर्देशन दिए । यी दुई मन्त्रालयलाई बजारमा खाद्य उपलब्धताको सुनिश्चितता गर्न सरकारी र निजी क्षेत्रको सहभागितामा उपलब्ध गोदामसमेत प्रयोग गरी आवश्यक खाद्यान्न भण्डारणको व्यवस्थापन गर्नेसमेत निर्देशन दिए।
मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता काठमाडौं। अनुचितल लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ । गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिए। उनका अनुसार मिलापत्रमा टुङ्गिएका उजुरीमा कूल एक अर्ब २० करोड ४६ लाख २४ हजार आठ सय १२ कारोबार भएको उल्लेख थियो । त्यही पीडितहरुमाथि साहुले भने दुई अर्ब २२ करोड २५ लाख ९२ हजार एक सय ९९ माग दाबी गरेको भेटिएको छ । त्यसमध्ये अहिलेसम्म रु ८४ करोड ३६ लाख ८३ हजार ३४ लेनदेन गर्ने गरी मिलापत्र भएको अधिकारीले बताए । मिलापत्र गरेर कूल ७१ बिघा, १९ कठ्ठा, १० धुर जग्गा साहुबाट फिर्ता भएको पनि मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव अधिकारीले जानकारी दिए ।
भोजपुरमा डेङ्गु रोगीको सङ्ख्या बढदै, ३६ सङ्क्रमित देखिए टक्सार (भोजपुर)पूर्वी पहाडी जिल्ला भोजपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा क्रमिकरूपमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । जनस्वास्थ्य समस्याका रूपमा देखिएको डेङ्गुबाट भोजपुरमा ३६ जना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी भोजपुर नगरपालिकामा २७ जनामा सङ्क्रमण देखिएको छ । यस्तै जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा छ, टेम्केमैयुङ गाउँपालिकामा दुई र रामप्रसाद राई गाउँपालिकामा एकजना डेङ्गुबाट सङ्क्रमित छन् । जिल्लामा दुई नगरपालिका र सातवटा गाउँपालिका रहेका छन् । पौवादुङ गाउँपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकामा विषादी वितरण गरिएको छ भने अन्य पालिकाहरूलाई परीक्षणका लागि किटहरूसमेत वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । पालिकाभित्र दुई जनामा सङ्क्रमण देखिएपछि विषादी छर्कने कार्य थालिएको टेम्कमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । क्रमिकरूपमा सङ्क्रमणको दर बढिरहँदा उपचार र सचेतनामा पहुँच भने बढाउनुपर्ने जिल्लावासीको माग छ । डेङ्गु नियन्त्रणका लागि अझै प्रभावकारी कार्यक्रमहरू जिल्लामा सञ्चालन हुन नसकेको सामाजिक अभियानकर्मी घमचन्द्र दाहालले बताए । “सचेतनासहित रोग नियन्त्रण गर्ने जिम्मा सरकारको हो, जिल्ला तहको सरकार भनेको स्थानीय पालिकाहरू हुन्, यिनीहरूको भूमिका प्रभावकारी हुनुपर्छ”, उनले भने। पर्याप्त किटको व्यवस्थापन गरी परीक्षणको दायरासमेत बढाउन आवश्यक रहेको उनले बताए। स्थानीय तहमा कार्यरत स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धिमा कमी हुनु र स्वास्थ्य कार्यक्रम सञ्चालनका क्रममा विभिन्न निकायबीच देखिने गरेका दोहोरोपन तथा अस्पष्टता, तीन तहका सरकार बीचको अधिकार, कर्तव्य र जिम्मेवारीबारे समझदारी, समन्वय तथा सहकार्यको कमी जस्ता कारणले पनि स्वास्थ्य सेवाहरू प्रभावकारी बन्न नसकेको नागरिकको बुझाइ छ । स्वास्थ्य समस्याहरू समाधानका लागि स्थानीय तहहरूको भूमिका प्रमुख हुने बताउँदै स्थानीय युवा ज्योति पौडेलले भने, “स्थानीय तहहरूले प्रभावकारी ढङ्गबाट रोकथाम तथा सचेतनामूलका कार्यक्रमहरू गर्न आवश्यक छ ।” समुदायस्तरका स्वास्थ्य संस्थाहरूले जनताको प्रत्यक्ष सहभागितामा सरसफाइ, नागरिकका स्वास्थ्य जीवनशैली, रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा बढी समय र प्राथमिकता दिनुपर्ने औषधि व्यवसायी शान्तिराम रोकाले बताए। “लामखुट्टेको प्रभावकारी व्यवस्थापनका साथै सङ्क्रमित व्यक्तिको यथासम्भव चाँडो उपचार तथा व्यवस्थापनमा जुट्न आवश्यक छ”, उनले भने। राज्यका निकायहरू, नागरिक समाज र आमजनताले चासो लिई यो रोगको नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने भोजपुर नगरपालिका–१० का स्थानीय डा चक्रबहादुर कार्कीको भनाइ छ । उनले भने, “डेङ्गु के हो र यो कसरी फैलिन्छ र यसको रोकथाम कसरी हुन्छ भन्ने चेतना जनस्तरमा हुन आवश्यक छ, प्रत्येक व्यक्तिलाई टोल र समाजमा डेङ्गुको स्रोत के भन्ने चेतना हुन उत्तिकै जरुरी छ ।”
स्वास्थ्य मन्त्रालयसँग मिल्दोजुल्दो वेबसाइट बनाएर खोप लगाएको कार्डको नक्कली प्रमाणीकरण काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलमा मन्त्रालयको वेबसाइट अनधिकृतरूपमा दुरूपयोग गरी कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणीकरण गरेको गुनासो प्राप्त भएको छ । अनधिकृत रूपमा वेबसाइट दुरूपयोग र मन्त्रालयसँग मिल्दोजुल्दो वेबसाइट बनाई खोप लगाएको कार्डको प्रमाणीकरण गरी क्युआर कोड बनाएको गुनासो आएको भन्दै त्यस्तालाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भने, “मन्त्रालयको वेबसाइटसँग मिल्दोजुल्दा वेबसाइट बनाई खोप प्रमाणीकरण गरेको गुनासो प्राप्त भएको छ, हामीले त्यसरी खोप प्रमाणीकरण बनाएको खोजी गरिरहेका छौँ ।” मन्त्रालयको वेबसाइट दुरूपयोग गरी विदेश जाने मानिसलाई क्युआर कोड बनाई ठगी भइरहेको विभिन्न माध्यमबाट मन्त्रालयमा जानकारी आएको भन्दै सम्बन्धित पक्षलाई आवश्यक अनुसन्धान गर्न निर्देशन दिइएको उनको भनाइ छ । उनले सरकारले नेपालमा यात्रा गर्न कोभिड–१९ पिसिआर परीक्षण र कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणसम्बन्धी अनिवार्य व्यवस्था हटाइसकेको जानकारी दिए । यस्तै विदेश यात्रा गर्नका लागि पनि कतिपय देशले क्युआर कोड हटाइसकेको उनले बताए।
हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश काठमाडौं। हवाई टिकटमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दायर गरेको रिटमा आइतबार बहसपछि सर्वोच्चले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ। नाट्टाले हवाई टिकटमा भ्याट लगाउने सरकारको निर्णय गैरकानुनी र अव्यवहारिक भएको भन्दै यसले नेपालको पर्यटन उद्योगलाई थप संकटमा पार्ने बताएको थियो।
बाहुनबस्तीमाथि बनाएको दलितको घर भत्काइएको भन्दै आन्दोलन छेड्ने दलित अगुवाहरुको चेतावनी काठमाडौं। बझाङ जिल्लाको वित्थडचीर गाउँपालिका वडा नं. ७ स्यालढुंगाको बाहुनवस्ती नजिकै पुड्के ओखडाले बनाउँदै गरेको घर त्यहाँका बाहुन समुदयले भत्काइदिएको भन्दै दलित समूदायका अगुवाहरुले आपत्ति जनाएका छन् । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले उक्त घटनामा संलग्न दोषीहरुलाई कानुनअनुसार हदैसम्मको कारबाहीको माग गरे । बझाङलगायत देशभर नै भइरहेका दलितमाथिका घट्नाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान तथा विद्यमान ऐनकानूनलाई नै गिज्याइरहेको उनीहरुको बुझाई छ । गत साउन १० गते स्थानीय कृष्ण जोशी, भवानी जोशी, कित्थे जोशीलगायत ४० भन्दा बढी गैरदलित बाहुन समुदायहरुले बाहुनको घरमाथि दलितले घर बनाउन नमिल्ने भन्दै निर्माणाधीन घर भत्काइदिएको उनीहरुको भनाई छ । जातीय भेदभावजन्य गाली गलौज, कुटपिट र निर्माणाधीन घर भत्काउदै उनीहरुले १२ लाख बराबरको चल/अचल सम्पत्ति नष्ट गरिदिएको उनीहरुको दाबी छ । त्यसैगरी, कैलालीको गैरीगंगा नगरपालिका–७ की सरस्वती खडका र गोदावरी नगरपालिका–९ का सुरेश विश्वकर्माले अन्तरजातीय विबाह गर्दा भोग्नुपरेको पीडबारे पनि दलित अगुवाहरुले सरकारको ध्यानाकार्षण गराएका छन् । उनीहरुले सरस्वती र सुरेशले अन्तरजातीय विवाह गरेकै कारण प्रहरीबाट समेत विभेद सहनु परेको बताए । काठमाडौंस्थित गौसला प्रहरी वृतका प्रहरीले “खड्काकी छोरी भएर कामीसंग विवाह गर्न लाज लाग्दैन“ भन्दै दुव्र्यवहार गरेको उनीहरुको दाबी छ । कानुनको पालना गर्न गराउन सुरक्षामा खटिएका प्रहरीबाटै कानुन विपरीतका काम हुने गरेको भन्दै उनीहरुले सरकारको ध्यानाकार्षण गराए । उनीहरुले बझाङका पुड्के ओखेडाको दलित भएकै कारण बाहु्न सम्ुदायले निर्माणधीन घर भत्काउँदा र बालीनाली नष्ट गर्दा पनि प्रहरी प्रशासनले कुनै कदम नचालेको बताए । बझाङ र कैलालीको घटनामा संलग्न रहेका दोषीलाई राज्यले हदैसम्मको कारबाही गनुपर्ने उनीहरुको माग छ । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराज्यमन्त्री एवं नेकपा (एमाले) केन्द्रीय सदस्य आशा विकले जातीय विभेदका कुनै पनि घटनालाई राजनीतिकरण गरिन नहुने बताईन् । बझाङ, कैलाली लगायत देशैभर हुने जानीय विभेदका घटनामा कुनै पनि जात, धर्म, लिङ्गको आधारमा नहेरेर केवल अपधारीको नजरमा कारबाही गर्नुपर्ने उनको माग छ । ‘यो घटनालाई कु्नै राजनीतिक मुद्दा बनाउन हुँदैन । यो नितान्त एउटा पुड्के ओखेडालाई परेका घटना होईन । पीडितलाई न्याय दिनुपर्छ, पीडकलाई सजाय दिनुपर्छ,’उनले भनिन् । बाहुन समुदायका मानिस र पुड्के ओखेडाको मानव अधिकार एउटै भएको उनको भनाई छ । कसैको मानव अधिकार हनन् नहोस् भन्ने आफूहरुले चाहेको उनले बताईन् । ‘नेपालको संविधानले कसैलाई पनि जात, लिङ्ग र भूगोलको आधारमा विभेद गर्न पाईँदैन भनेको छ । कसैको पनि मानव अधिकार हनन् नहोस् । चाहे पुड्के आखेडा होस्, चाहे जोसुकै होस् मानव अधिकार भनेको मानव अधिकार हो,’– उनले भनिन् । उनले राज्यले पुड्के ओखेडाजस्ता निमु्खालाई संरक्षण गर्नु पर्ने बताईन् । जातको आधारमा हुने सबैखाले विभेदको अन्त्यका लागि सरकारले विशेष कदम चाल्न आवश्यक रहेको उनको भनाई छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्ष गणेश विकले सार्वजनिक जग्गामा घर बनाएको भनेर बझाङको उक्त घटनालाई तोडमोड गर्ने काम भइरहेको बताए । कुनै मानिसले सार्वजनिक जग्गा भोगचलन गरेको खण्डमा पनि राज्यले विकल्प नदिई हटाउन नसक्ने उनको दाबी छ । ‘सामुदायिक वनको जग्गा कब्जा गरेर बनाएकाले हटाएको हो । त्यो कुने जातीय कुरा होईन भन्नु होला । त्यसलाई जातीय कुरा नमान्ने हो भने एक जना मान्छे जो सार्वजनिक जग्गामा बसेको छ, त्यो जग्गामा बसेको मान्छेलाई नेपालको संविधानको धारा २९ ले नेपाल सरकारले वैकल्पिक व्यवस्था नगरी हटाउन पाइँदैन भन्ने संविधानको व्यवस्था छ,’– उनले भने । उनीहरुलाई हटाउन पर्ने हो भने त्यहाँको गाउँपालिका प्रहरी प्रशासनले जानकारी दिएरमात्रै हटाउन वा खाली गराउन सक्ने उनको भनाई छ । बाहुन समुदायका मान्छे आफैं प्रहरीजस्तो भएर कुटपिट गर्ने, गाली गर्ने, प्रतिवाद गर्न खोज्दा दलित महिलाहरुलाई तल्लो स्तरको शब्द प्रयोग गरेर गाली गर्ने काम भएको उनको आरोप छ ।उक्त घटना । दलितहरु माथिको त्यो अमानवीय व्यवहार भएको भन्दै उनले आफूहरुलाई सह्य नहुने बताए । उक्त घटनामा जातीय विभेदविरुद्धको उजुरी दिएपनि प्रहरीले अभद्र व्यवहार गरेको भनेर मुद्दा दर्ता गराएको उनको आरोप छ । जातीय भेदभाव विरुद्धको २०६८ को कानुन अनुसार दर्ता गर्नुपर्छ भन्दा एउटै मुद्दा दुई किसिमको दर्ता गर्न मिल्दैन । हामीले अभद्र व्यवहार भनेर दर्ता गरिसक्यो । जातीय छुवाछुत पनि अभद्र त हो नि भनेर त्यहाँका डिएसपीले जवाफ दिएको उनले बताए ।न्याय दिन्छु भनेर बसेका, प्रहरी प्रशासनमा रहेका मान्छेहरुले अरु जातका मान्छेहरुलाई मान्छे नै नदेख्ने प्रवृत्ति बढेको भन्दै उनले आपत्ति जनाए । संविधानले दलित, बाहुन, क्षेत्री केही पनि नचिनेर अपराधीमात्रै चिन्नुपर्ने उनको भनाई छ । आफूले अपराधका सन्दर्भमा कुनै पार्टी र व्यक्तिको पक्ष लिने नगरेको बताउँदै उनले उक्त घटनामा संलग्न रहेको जोसु्कै भएपनि कानुनअनुसार हदैसम्मको कारबाही हुनुपर्ने बताए । सरकारले जातीय विभेदका घटनामा तुरुन्त कारबाही गर्ने कानुन ल्याउन आवश्यक रहेको उनले औंल्याए । आफूलाई मानव अधिकारवादी भन्नेहरु पनि दलित मानव अधिकारवादी र गैरदलित मानव अधिकारवादीको कित्तामा विभाजन भएको उनको आरोप छ । संविधान सभाका सदस्य तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य अफिलाल ओखेडाले अझै पनि सिंगो दलित समुदाय विदेभले आक्रान्त रहेको बताए । जातकै कारण हुने अमानवीय र मानव अधिकारविरुद्धको घटनामा न्याय दिन सरकार पक्ष र विपक्षको कित्तामा उभिने गरेको उनको आरोप छ । ‘आज सिंगो समाज आक्रान्त भएको छ, बझाङ जिल्ला लगायत देशैभरका जातीय घटनाप्रति समाज आक्रान्त हुँदा पनि सरकार न्याय दिन पक्ष विपक्षमा उभिन्छ । बझाङ जिल्लाको वित्थडचीर गाउँपालिका– ७ स्यालढुंगाको घटनाप्रति आज सिंगो समाजको ध्यानाकार्षण भएको छ,’– उनले भने । बझाङ घटनाका पीडकहरुलाई अनुसन्धानको क्रममा हिरासतमा राखिएपनि घटनालाई तोडमोड गर्दै जातीय विभेद होईन भन्ने खाल्को परिस्थिति सिर्जना गरिन खोजिएको उनले बताए । उक्र घटना अत्यन्तै अमानवीय, ज्यादतिपूर्ण र शोषणजन्य रहेको उनको भनाई छ । साथै, सरस्वती खड्का र रमेश विकलाई जातीय विभेद गर्ने प्रहरी प्रशासनलाई कारबाहीको माग पनि उनले गरे । जातीय विभेदविरुद्ध आफू निरन्तर लागि रहेको बताउँदै उनले पीडितलाई आफ्नो मुद्दामा नडग्मगाउन आग्रह गरे । दलित मुक्ति संगठनका सचिव श्याम सुनारले घटनाको सत्यतथ्य छानविन गरेर दोषीमाथि कानुनी कारबाहीको माग गरे । अनेरास्ववियु प्रचारप्रसार विभागका प्रमुख आरविक्रम ओखेडाले दरिद्र मानसिकता भएकाहरुले दलित, निमुखा, गरिब र श्रमजीविमाथि अन्नाय गरेको भन्दै आपत्ति जनाए । जातीयताका नाममा हुने जघन्य अपराध निराकरणका लागि अब चुब बसेरमात्रै नहुने उनको भनाई छ । कार्यक्रममा अधिकारकर्मी दीपा नेपाली, अन्तरजातीय विवाह गरेका सरस्वती खड्का, प्रेम विश्वकर्मालगायतले घटनाका बारेमा आफ्नो धारणा राखेका थिए। माथिल्लो र तल्लो जातको कारणले दलित समुदायको मानव भएर बाँच्न पाउने अधिकारलाई कुण्ठित भएको उनीहरुको भनाई छ । जातीय विभेदका यस्ताखाले अमानवीय व्यवहार निन्दनीय र भत्र्सनायोग्य रहेको उनीहरुले बताए । बझाङ, कैलाली र देशैभर भइरहेका जातीय विभेदविरुद्धका घटनाल संविधानको धारा १६ मा सम्मानपुर्वक बाँच्न पाउने हक, धारा १८ मा समानताको हक र धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हक र मानव अधिकारको विश्वव्यापी मान्यताले प्रत्याभूत गरेको अधिकारलाई ठाडो चुनौति दिएको दलित समुदायका अगुवाहरुको ठहर छ । जातीय विभेदका घटनामा संलग्न सबै व्यक्तिहरुलाई जातीय छुवाछुत र भेदभाव (कसुर र ऐन), २०६८ बमोजिम कडाभन्दा कडा कारबाही गर्न उनीहरुले माग गरेका छन् । साथै, बझाङका पुड्के ओखेडाको परिवारको सुरक्षासहित उचित न्यायका लागि पनि उनीहरुले सरकारसमक्ष माग गरेका छन् । जातीय विभेदविरुद्ध हुने घटनामा देशव्यापी दवाब सिर्जना गर्न पनि उनीहरुले सबै न्यायप्रेमीसँग अपील गरेका छन् ।
‘जग्गाको कित्ताकाट नखुल्दा व्यवसायीको लगानी डुब्ने चिन्ता’ काठमाडौँ। जग्गाको कित्ताकाट नखुल्दा व्यवसायीहरुको लगानी डुब्न सकिने व्यवसायी आमिर जंग रिजालले चिन्ता व्यक्त गरेका छन्। शुक्रबार भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्। उनले भने,’सरकारले घर जग्गामा ल्याएको नीतिनियमले अधिकांश व्यवसायीहरुको लगानी दाउमा परेको छ। ‘ घर जग्गाले धानेको नेपालको अर्थतन्त्रमा यस सम्बन्धी राम्रो नीति नियम नल्याएसम्म देश विकास हुन कठिन हुने उनले बताएका छन्। यसरी नै सरकारले घर जग्गामा नीति कायम गरेमा देश १० वर्ष पछि धकेलिन सक्ने उनले बताए। उनले देश विकासका लागि अनावश्यक नीति नियम खारेज हुनुपर्ने पनि बताए। अहिले नेपालमा स्मार्ट सिटी बनाउन आवश्यक नभएको पनि बताए। साथै स्मार्ट सिटी निर्माण गर्न जग्गा नभएको पनि जिकिर गरे। उनले भने,’ अहिले नेपालमा स्मार्ट सिटी बनाउने जग्गा कहाँ छ ? यदि स्मार्ट सिटी बनाउने हो भने जनताको घर भत्काएर बनाउनु पर्यो नत्र खाली जग्गा बाँकी छैन।’ स्मार्ट सिटीको नाममा पैसा कमाउने नियमले देश नचल्ने र यो केवल भ्रष्टाचार गर्ने बाटो मात्र रहेको हुनाले यस विषयमा सरकारको ध्यान जानुपर्नेमा उनले जोड दिए। साथै, जग्गा कित्ता काटमा ल्याएको मापदण्ड हटाउनु पर्ने र जनताको आवश्यकता  अनुसार कित्ताकाटको मापदण्ड ल्याउनु पर्ने उनले बताए। अहिले व्यवसायीहरुको लगानी सुरक्षित नभएको नभएको चिन्ता पनि ब्यक्त गरेका छन्। यसका साथै, देशको अर्थतन्त्र राम्रो बनाउनको लागि सरकारले बैंकको ब्याज सस्तो बनाउनु पर्नेमा जोड दिए। धनीदेखि गरीबले घर जग्गा किन्न सक्ने बातावरण निर्माण हुनुपर्ने उनले बताए।
सुन तस्करी प्रकरण : भियना होटेल सञ्चालक पक्राउ काठमाडौं। एक क्विन्टल सुन बरामद प्रकरणमा संलग्नताको आशंकामा ठमेलस्थित होटल भियनाका  सञ्चालक दावा छिरिङ पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको टोलीले होटेलमा छापा मारेर उनलाई पक्राउ गरेको हो । बिहीबार बिहान छापा मारेको विभागको टोलीले केही सामग्री बरामद गर्दै छिरिङलाई नियन्त्रणमा लिएको हो । छिरिङ पक्राउ परेसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १८ जना पुगेको छ । विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका बेल्जियम नागरिक छिरिङको हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग कनेक्सन पाइएपछि पक्राउ गरेको हो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको छ ।
नापी कार्यालय चाबहिलका अधिकृतविरुद्ध अख्तियारमा मुद्दा काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो। आयोगका अनुसार पुरीले २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए। सो अवधिमा पुरीको वैध आय रु एक करोड २० लाख ७७ हजार सात सय ४८ बराबर रहेको पाइएको छ। त्यसमा पारिश्रमिक, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था वा सहकारीबाट प्राप्त रकम, ब्याजआय र जग्गाको मुआब्जालगायत रहेको छ । सो अवधिमा पुरीले रु दुई करोड २४ लाख ८१ हजार छ सय ९० बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । खर्चको तुलनामा आय कम रहेको तथा वैध स्रोतसमेत नभएको पाइएकाले आयोगले नापी अधिकृत पुरीविरुद्ध रु एक करोड चार लाख तीन हजार नौ सय ४१ बराबरको बिगो दाबी गरिएको छ । आयोगले बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ । सार्वजनिक पदमा रहँदा गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको पाइएको छ । आयोगले सिर्जनालाई समेत प्रतिवादी कायम गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
आम्दानीको स्रोत बन्दै जंगली च्याउ गलेश्वर। पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा घरबासका मुख्य परिकार हो जंगली च्याउ। जंगलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरबास (होमस्टे) पुग्न थालेका छन्। च्याउबाहेक जंगली रातो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल ग्रामीण क्षेत्रमा रहेका होटल र घरबासका मुख्य परिकार हुन्। पश्चिम म्याग्दीको दरबाङ बजार कटेपछि रुम, दिच्याम, मुना, मुदी, लुलाङ, गुर्जा, देवीस्थान, बिम जुनसुकै ठाउँका होटल तथा घरबासमा प्रांगारिक परिकारले नै पर्यटकको स्वागत गरिन्छ। पदयात्रामार्फत धवलागिरि हिमाल आरोहणका लागि जाने विदेशी पर्यटक होउन् वा गुर्जा, मुदी र पश्चिमी क्षेत्रका अन्य पर्यटकीय क्षेत्र पुग्नेहरूको स्थानीय परिकारकारुपमा पहिलो रोजाइ रातो च्याउ पर्ने गरेको मुनाकी कमला तिलिजाले बताइन्। धवलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको अधिकांश जंगल मा रातो च्याउ पाइन्छ। जंगलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य निकै महँगो हुन्छ। प्रोटिन र भिटामिनका लागि राम्रो मानिने जंगली रातो च्याउ म्याग्दीका ग्रामीण बस्तीमा पुग्ने जो कोहीले रुचाउने परिकार हो। घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख भएको मुना घरबासका सञ्चालक रेजिना पुनले बताए। “घरबासमा आउने जो कोहीले खानका लागि र कोशेलीका लागि रातो च्याउ खोज्ने गरेका छन्”, उनले भनिन्, “पाहुनाले आफ्ना परिवारका सदस्य रहेका युरोप तथा अमेरिकालगायत मुलुकमा समेत कोशेलीका लागि यही रातो च्याउ खरिद गर्दै आएका छन्।” रातो च्याउ आलोमा रु आठ सय र सुकाएको रु चार हजारमा बिक्री हुने गरेको दरबाङस्थित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष शन्तनाथ सुवेदीले बताए। जंगली च्याउको माग बढ्दै गएपछि पश्चिम म्याग्दीवासीले जंगली च्याउ सुकाएर राख्ने गरेका छन्। सुकेको रातो च्याउको माग धेरै भएपछि पुर्‍याउनै नसकिएको उनको भनाइ थियो। स्थानीयवासीले जंगलमा घाँस दाउरा गर्न जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन्। हालसम्म रातो च्याउ व्यावसायिकरूपले बिक्रीवितरण नभएको रुम निवासी टेकबहादुर घर्तीले बताए। अहिले जंगलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्नाका साथै मूल्य बढ्दै गएको उनको भनाइ थियो। उच्च हिमाली भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ। जंगलमा पाइने अधिकांश च्याउ विषालु हुने भएकाले स्थानीयवासीले मात्रै खानामा प्रयोग हुने च्याउ पहिचान गर्न सक्दछन्। रुमको उच्च भागमा रहेका घरमा अहिले जंगली रातो र सेतो च्याउ थोरधेर सुकाएकै पाइन्छ। रातो च्याउ रुमलगायत देवीस्थान, बिम, दिच्याम, गुर्जा, ओखरबोटलगायत जंगलमा पाइन्छ। रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोशेलीका रुपमा प्रयोग हुँदै आएको बेनी बजारमा लामो समयदेखि प्राङ्गारिक च्याउ उत्पादनको व्यापार गर्दै आउनुभएका सुमन पौडेलले बताए। उनले च्याउको महत्व बुझ्नेले जापान, अमेरिकालगायत देशमा आफन्तलाई कोशेलीका रूपमा पठाउने गरेको जानकारी दिए। देवीस्थानकी रुपमाया घर्ती, रुमका बुद्धबहादुर विक, देविस्थानकी माया सिउथानीलगायत यस क्षेत्रका २० भन्दाबढी व्यक्तिले जंगली रातो च्याउ संकलन गरी बिक्री गरेर वार्षिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्दै आएका छन्। रुमका बुद्धबहादुर विकले यस वर्षमात्रै रु ४७ हजारको रातो च्याउ बिक्री गरेको जानकारी दिए। व्यावसायिक उत्पादन गर्नसके रातो च्याउको भविष्य रहेको उनको भनाइ थियो। सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी नै रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको दरबाङस्थित आत्मनिर्भर साना किसान सहकारी संस्थाका अध्यक्ष शन्तनाथ सुवेदीले बताए। उनले भने, “अब जंगललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन, जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिनामै फल्ने बीउ उत्पादन गरियो त्यसरी नै रातो च्याउको पनि बीउ विकास गर्न सकिन्छ।” यहाँको रातो च्याउ बिदेशमा समेत पठाउन थालिएकाले आम्दानीको राम्रो स्रोत पनि बन्दै गएको छ।
नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध चितवन। नारायणगढ-मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो। पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन्। पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए। पहिरोका कारण यस सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ।
‘एडिज’ लामखुट्टेको लार्भा संकलन : जापानमा अध्ययन हुने कञ्चनपुर। कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा संकलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ। सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका-१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेङ्गु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज लामखुट्टेका लार्भा संकलन गरी प्रयोगशालामा राखेको हो। लार्भाबाट वयस्क लामखुट्टे उत्पादन भएपछि त्यसमा डेङ्गु भाइरसको सङ्क्रमणको अवस्थाबारे अध्ययन गरिने छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशानालायका ‘भेक्टर कन्ट्रोल’ अधिकृत हेमराज जोशीका अनुसार विगतका वर्ष नेपालका ७७ वटै जिल्लामा डेङ्गु रोगको सङ्क्रमण फैलिएको थियो। यसैबेलादेखि डेङ्गु रोग सार्ने एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टे सङ्क्रमित भएका थिए। ती सङ्क्रमित लामखुट्टेका लार्भा अहिले पानी परेपछि वयस्क हुने क्रममा रहेका छन्। “वयस्क हुन खोजेका लामखुट्टेको लार्भामा सङ्क्रमण छ कि छैन भन्नेबारे अध्ययन गर्न संकलनको कार्य गरेका छौँ”, उनले भने, “यस प्रकारको अध्ययन नेपालमा सम्भव नभएकाले जापानको भाइरोलोजीसम्बन्धी प्रयोगशालासँग समन्वय गरी अध्ययन गरिने भएको छ।” निर्देशानालायका भेक्टर कन्ट्रोल अधिकृत जोशीका अनुसार डेङ्गु रोग भाइरसको कारणले लाग्ने गर्दछ। विभिन्न चार प्रकारको भाइरसले मानिसलाई डेङ्गु रोगबाट सङ्क्रमित गराउन सक्छ। यो भाइरस एक मानिसबाट अर्को मानिसमा सार्ने काम सङ्क्रमित एडिज लामखुट्टेले गर्दछ। एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टेले रोग सार्ने कुरा प्रमाणित भएको उनले जानकारी गराए। “एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टसले डेङ्गु रोग सार्नका लागि लामखुट्टे डेङ्गु भाइरसबाट सङ्क्रमित हुनुपर्दछ”, उनले भने, “लामखुट्टे सङ्क्रमित हुनका लागि कुनै डेङ्गु रोग लागेको मानिसलाई टोक्नुपर्ने हुन्छ, एकपटक वयस्क लामखुट्टे डेङ्गु भाइरसबाट सङ्क्रमित भएपछि त्यसबाट जन्मिने बच्चामा स्वतः सङ्क्रमण आउने गरेको कुरा विभिन्न विद्वानहरूले पत्ता लगाएका छन्।” यही सङ्क्रमण पत्ता लगाउन लामखुट्टेको लार्भा संकलन गरेर वयस्क लामखुट्टेमा सङ्क्रमण छ कि छैन भनी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत स्थापना गरिएको इन्टोमोलोजी प्रयोगशालाले अध्ययनको काम सुरु गरेको उनको भनाइ छ। एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टेको अण्डाहरू नौ महिनाभन्दा लामो समयसम्म सुक्खा भाँडोमा पनि बाँच्न सक्ने अध्ययनले देखाएको छ। घर र कार्यालय वरिपरि पानी जम्ने भाँडामा एडिज एजिप्टाइले फुल पार्ने गर्दछ। यही फुलबाट वयस्क लामखुट्टे बाँच्न उचित तापक्रममा नौदेखि १० दिन लाग्छ। वयस्क लामखुट्टे नै मानिसलगायत अन्य प्राणीको रगत खाने गर्दछ। रगत चुस्ने क्रममा नै मानिसलाई रोगको सङ्क्रमण आउने गर्दछ। सुदूरपश्चिम प्रदेशसँगै देशका अधिकांश प्रदेशमा डेङ्गु रोगको सङ्क्रमण प्रत्येक वर्ष देखिने गरेको छ। रोग फैलिन नदिनका लागि सफा पानीमा हुर्कने डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा नष्ट गर्नुपर्ने हुन्छ। असारदेखि असोज महिनासम्म डेङ्गु रोगको सङ्क्रमण बढ्न सक्ने उच्च जोखिम रहने गर्दछ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कानुसार प्रदेशका नौवटै जिल्लामा पछिल्लो समय डेङ्गु रोगबाट तीन सय १८ जना सङ्क्रमित भएका छन् । सबैभन्दा बढी दार्चुलामा एक सय ९०, कञ्चनपुरमा ५२, अछाममा ३१ र कैलालीमा २३ जनामा डेङ्गुको सङ्क्रमण भएको पाइएको छ। रासस
बाँदर आतंकले किसान हैरान : कुरुवा बस्दै बित्छ दिन ढोरपाटन। बागलुङको अधिकांश ग्रामीण क्षेत्र जंगलसँग जोडिएका छन्। गल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ। हिउँदमा घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गर्छ भने बर्खामा बारीमा लगाएका मकै, भटमासलगायतका बाली नष्ट गरिदिन्छ। यतिबेला किसानमा बारीमा भर्खर मकैले घोगा निकाल्न थालेका छन्। बारीको अधिकांश छेउछाउमा स–साना त्रिपालका छाप्रा देखिन्छन्। छाप्रोमा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन्। उनीहरु यी छाप्रामा मकै, भटमास र कोदो बाली नभित्र्याउँदासम्म बस्ने गर्छन्। एकैछिन बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरि बारी छेउमै बस्न बाध्य छन्। यो बेला किसानका लागि कामको चटारो हुने समय भए पनि बाँदर धपाउनका लागि कुरुवा राख्नुपर्ने बाध्यतामा उनीहरू छन्। जिल्लाको धेरै स्थानमा रातो बाँदर पाइन्छन् भने केही स्थानमा सेतो प्रजातिका बाँदरले पनि आतंक मच्चाउने गरेको कृषकले गुनासो गर्दै आएका छन्। हरेक वर्ष बाँदरले लाखौँको खाद्यबाली नष्ट गरिदिने गरेको पाइन्छन्। तर बाँदर नियन्त्रणका लागि स्थानीय पालिकाले कुनै नीति नल्याउँदा किसान निराश छन्। सयौँको सङ्ख्यामा रहेको बाँदरले बारीमा रहेको मकै एकैछिनमा नष्ट गर्ने हुँदा एक जना कुरुवा अनिर्वाय राख्नुपर्ने बाध्यता रहेको ढोरपाटन नगरपालिकाका किसान कृष्णबहादुर विकले बताए। असार अन्तिम सातादेखि बारी छेउमा छाप्रो बनाएर बस्न थालेको जनाउँदै उनले अब असोजमा मकै भित्र्याएपछि मात्रै कुरुवा बस्न नपर्ने बताए। बिहान सबेरै उठेदेखि रात झमक्क नपर्दासम्म बारीमै बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। “पहिले–पहिले बाँदर कम लाग्थ्यो, अहिले निकै ठूलो सङ्ख्या आउँछन्, दुई–तीन सयको सङ्ख्यामा आउने बाँदरले सिङ्गो बारीको मकै १० मिनेटमै सखाप पारिदिन्छ, त्यही भएर बिहानैदेखि यहाँ बस्नुपर्छ”, उनले भने, “के गर्ने बल्लतल्ल दुःख गरेर बाली लाइयो, यहाँ कुरेर बसिएन भने वर्षभरि भोकै बस्नुपर्छ, यो गाउँको सबैभन्दा ठूलो शत्रु नै बाँदर हो, हामी वर्षौँदेखि आजित भएका छौँ, सरकारले यो समस्या समाधानका लागि केही उपाय दिए ठूलो राहत मिल्ने थियो।” कतिपय किसानले बाँदरलाई डराउन दिनका लागि बारीको छेउछाउमा कुकुर बाँध्ने, पुरानो कपडाको डमी बनाएर राखेको देखिन्छन्। पहिले–पहिले कुकुर र डमीदेखि डराएर बारीमा बाँदर कम आउने गरे पनि अहिले डराउन छाडेको निसीखोलाका किसान निमबहादुर घर्तीले बताए। उनले घरमा कम सदस्य हुने परिवारले मान्छे खोजेर भए पनि कुरुवा राख्ने गरेको बताए। बाँदर कुर्दा घरको अन्य काम गर्न नपाउने घर्तीले दुःखेसो पोखे। बाँदरले हैरानी बनाएपछि गाउँका खेतीयोग्य जमिनमा बाली लगाउन छाडिएको उनको भनाइ छ। घर्तीले भने, “बाँदर नियन्त्रण गर्न धेरै कोसिस गरियो, धेरै उपाय पनि अपनाइयो तर सकिएन, दिनभरि कुरुवा नबसेसम्म बाली जोगिन्न, पहिले–पहिले कुकुरदेखि डराउने बाँदर अहिले उल्टै कुकुरसँग लड्न थालेको छ, मान्छे हैरान भइसके, त्यही भएर खेती पनि गर्न छाडे, हामी सानो–सानो हुँदा गाउँमा कुनै पनि बारी बाँझो रहँदैनथ्यो, अहिलेजस्तो बाँदर आतंक पनि थिएन, राम्रो उत्पादन हुन्थ्यो, अहिले घर अगाडिकै बारीमा आएर बाँदरले बाली खाइदिन्छ, त्यही भएर पनि मान्छेहरू बसाइँ सरे।” बाँदर नियन्त्रणका लागि निसीखोला गाउँपालिका–४ ले अघिल्लो वर्ष रु साढे चार लाख छुट्याएर काम गरेको थियो तर प्रभावकारी भने हुनसकेको थिएन। यस वर्ष नयाँ प्रविधिको प्रयोग गरेर बाँदर नियन्त्रण गर्ने योजना रहेको वडाध्यक्ष टीकानिधि पौडेलले बताए। पछिल्लो समय लेक–लेकबाट मध्यगाउँमै बाँदर आउन थालेको उनको भनाइ छ। कृषकलाई आधुनिक प्रविधिसँग जोडेर बाँदर आतंकबाट मुक्त बनाउनका लागि तीनवटै सरकारले सहकार्य गर्नुपर्ने अध्यक्ष पौडेल बताए। “बाँदर आतंक बढ्दै गएको छ, पहिले यस्तो समस्या हुँदैनथ्यो, बसाइँसराइको प्रभाव हो कि, के हो अहिले गाउँगाउँमै बाँदर बस्न थालेको छ, हामीहरूले यसको नियन्त्रणका लागि केही प्रयास गर्यौँ तर त्यत्ति प्रभावकारी भएन”, उनले भने, “अब अलि फरक तरिकाले लाग्नुपर्ने देखियो, बाँदर धपाउने बन्दुक पट्काउँदा सुरुमा डराउने गरेको पाइयो पछिपछि टेर्न छाड्यो भन्ने गुनासो सुनियो, अब यसको दीर्घकालीन समाधान के हो त्यसका लागि विज्ञसँग बुझ्ने र समधान गर्नतर्फ लाग्नुपर्ने भयो।” – रासस
पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध पाल्पा। पहिरो खसे पछि  सिद्धार्थ राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध भएको छ। सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सो राजमार्ग अबरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सो राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड क्षेत्रमा ठूलो पहिरो खसेपछि राजमार्ग अबरुद्ध हुन पुगेको हो। पहिरो खसेर राजमार्ग अबरुद्ध भए पछि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन बिहानदेखि नै पहिरो खुलाउने प्रयास भने गरिरहेको छ। कर्पोरेशनका अनुसार ब्रेकर लगाएर ढुंगा फुटाएर सवारी साधन सञ्चालन गर्न सकिने भन्दै काम सुचारु गरिएको हो। ठूलाठूला ढुंगा र लेदोसहितको पहिरो सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमा खसेको छ।
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना काठमाडौं। हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र मधेश प्रदेशका पश्चिमी भु-भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर आंशिक देखी सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मशेध, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मेघ गर्जन र चट्याङसहित भारी वर्षाको कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
डडेल्धुरामा शव बोकेको एम्बुलेन्स दुर्घटना धनगढी । कैलालीको धनगढीमा अवस्थित सीपी अस्पतालको एम्बुलेन्स ब्रेक फेल भएर दुर्घटनामा परेको छ। अत्तरियाबाट शव बोकेर गइरहेको से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआइ सिंह राजमार्गको राइको मोडमा दुर्घटनामा परेको हो। एम्बुलेन्समा शवसहित ६ जना सवार थिए। चालक अर्जुन बोहरालगायत सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ। ब्रेक फेल हुँदा एम्बुलेन्स सडकबाट १० मिटर तल खसेको थियो।
खडेरीले सिरहामा ५० प्रतिशत खेतमा मात्र धान रोपाई, कमला नहरमा पर्याप्त पानी नहुँदा किसान चिन्तित सिरहा। पछिल्लो लामो समयदेखि सिरहामा आकाशे पानी नपर्दा किसानहरु चिन्तित बनेका छन्। आकाशे पानिको भरमा खेती गर्दै आएका किसानहरु पछिल्लो केही समय देखि विशेषगरी धान रोप्ने मुख्य समयमा आकाशे पानी नपरेको कारण किसानहरु चिन्तित बनेका हुन्। लामो समयको खडेरीले धेरै किसानहरुले धान रोप्न पाएका छैनन्। रोपेका धान पनि सुक्न थालेका छन भने रोप्न बाँकी रहेका किसानको विउ व्याडमै सुक्न थालेको छ। धानमात्र हैन, पानी अभावका कारण फल्न लागेका मकै, मडुवा (कोदो) लगायतका बाली पनि सुक्न थालेको किसानहरु बताउँछन्। आकाशे पानी नपर्दा जिल्लामा करिव ५० प्रतिशत खेतमा मात्र धान रोपाई भएको छ । धान रोप्ने समय बितिसक्दा पनि सिरहाको नरहा गाउँ पालिका ५ का किसान राजदेव यादवको दुई बिगहा खेत बाँझै छ। करिव १२ कठ्ठा जमिनमा स्यालो ट्युवेलको सहयोगमा जसोतसो रोपाइँ गरेपनि रोपाइँ हुने गरी पानी नपर्दा यादबको बाँकी खेत बाँझै रहेका छन् । पानी अभावका कारण विष्णुपुर गाउँ पालिका ५ का त्रिभुवन महतोले पनि धान रोप्न राखेको एक विगहा जमिन अझै बाँझै छ। साउनको मध्ये सम्ममा पनि सुख्खा जारी रहेकाले उनको खेतमा धान रोपाइँ हुन नसकेको महतोले बताए। महताको जमिनमा कमलाको नहर लाग्ने भए पनि लामो समय देखिको खरेडीले नहरमा पानी नआउँदा रोपाई हुन सकेको छैन। उनले ‘रोपइँको समय घर्किन लाग्दा पनि उनको खेत बाँझै छ। बिउ ब्याडमै सुक्न थालिसक्यो। पानी पर्ने छाट अझै छैनु भन्दै चिन्ता व्यक्त गरेका छन् । सिरहा नगरपालिका १० पदमपुरका नुनु पासवानले गाउँकै गिरहतको करिव एक विगहा जमिन अधिया गरेका छन्। उनले स्यालो ट्युवेलबाट पानी पटाएर जसोतसो रोपाइँ गरे पनि खडेरीले रोप सुक्न थालेको छ। पासवानले भने, ‘जसो तसो धान त रोपीयो, तर खडेरीले रोपेको रोप सुक्न लागिसक्यो, पानी पर्ने कुनै संकेत नै छैन।’ धान रोप्ने समय सकिनै लागेपनि सिरहामा ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ। लामो समयदेखि धान रोपाइँकालागि अवाश्यक पानी नपरेका कारण धान रोप्ने समय घर्किसक्दा पनि आधा जमिन बाँझै रहेको हो। आकाशे पानीको भरमा खेतिहुँदै आएको सिरहामा विशेषगरी धानरोप्ने मुख्य समयमा पानी नपरेको कारण  रोपाईमा कमी आएको कृषि ज्ञानकेन्द्र सिरहाका प्रमुख नरेन्द्र कुमार महासेठले बताए। उनले भने, ‘विशेषगरी सिरहामा आकाशे पानीकै भरमा धानखेति हुँदै आएको छ। यो वर्ष लामो समयदेखि धानरोप्न मिल्नेगरी एकपटकमात्र पानी परेकाले रोपाईमा कमी आएको हो।’ गत वर्ष यहि समयमा जिल्लाको कुल ५९ हजार धान खेतियोग्य जमिन मध्ये ९५ प्रतिशतमा रोपाई सम्पनन भईसकेको ज्ञान केन्द्रका प्रमुख महासेठले जानकारी दिए। पानी साना कुलो तथा भूमिगत जलस्रोतको पहुँच भएका पालिकाहरुमा सन्तोषजनक रोपाई भएको भए पनि राजमार्ग आसमापासका गाउँ पालिकामा कम रोपाई भएको ज्ञान केन्द्रका प्रमुख बताउछन्। उनका अनुसार सिरहामा सवैभन्दा कम कल्याणपुर नगरपालिकामा १० प्रतिशतमात्र रोपाई भएको छ भने सवैभन्दा बढी बडियारपट्टी गाउँ पालिकामा ९० प्रतिशत रोपाई भएको ज्ञान केन्द्रले जनाएको छ। उता, लहान नगरपालकामा ५० प्रतिशत, धनगढीमाईमा ४५ प्रतिशत, गोलबजारमा ३५ प्रतिशत, मिर्चैयामा ३८ प्रतिशत, कर्जन्हामा ६० प्रतिशत रोपाई हुदाँ सुखिपुर नगरपालिकामा ३० प्रतिशत भगवानपुर गाउँ पालिकामा ८५ प्रतिशत, नरहामा गगाउँ पालिकामा ३० प्रतिशत, विष्णुपुर गाउँ पालिकामा ५५ प्रतिशत, सखुवा नन्कारकट्टी गाउँ पालिकामा ७० प्रतिशत, औरही गाउँ पालिकामा २५ प्रतिशत र नवराजपुर गाउँ पालिकामा ८० प्रतिशत धान रोपाई भएको ज्ञान केन्द्रले जनाएको छ। स्थानीय जातको धानहरु कम फल्ने भएकाले उन्नत जातका धानहरु किसानको रोजाँमा पर्ने ज्ञान केन्द्रको भनाई रहेको छ। जिल्लामा विशेषगरी वासमती रातो, कालो, सोना मन्सुली, हर्दिनाथ, राम धान, सुख्ख २ र ३, कतर्नी लगायत जातको धानखेती हुने गरेको छ। कमला नदीको पूर्वी नहरले सानो क्षेत्रमा सिंचाईको सुविधा पुर्याएको भएपनि वर्षाका नभएका कारण नरहमा पनि थोरै पानी आएकाले किसानले धान रोप्न पाएका छैनन्।
बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती काठमाडौं। आज  विश्व बाघ दिवस। दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यसवर्षको यो दिवसको नारा ‘मानव-बाघ सहअस्तित्व’ रहेको छ। वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ। यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे (सन् २०२३-३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए। कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव-बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी मुख्य विषय रहेको उनले बताए। पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ। सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो। उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो। पाटे बाघ विश्वका १३ देशमा पाइन्छन्। ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। संकल्प दोब्बर, वृद्धि झण्डै तेब्बर उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्‍याउने प्रतिबद्धता जनाएको थियो। सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । नेपालले उक्त सम्मेलनमा बाघको सङ्ख्या दोब्बर बनाउन गरेको प्रतिबद्धताभन्दा बढी सङ्ख्याले बाघ बढाउन सफल भएको छ। उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ थिए। । साथै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्यांक छ। नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ। नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ रहेको विभागको तथ्यांक छ। सन् २०१८ मा गरिएको गणनाअनुसार बाघको सङ्ख्या बढेर दुई ३५ पुगेको थियो। नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन्। विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो। त्यो सङ्ख्या सन् २०१० मा घटेर तीन हजार दुई सयमा सीमित भएको थियो। त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको सङ्ख्या बढेर २०१६ मा तीन हजार नौ सय र सन् २०२२ मा चार हजार पाँच सय पुगेको विश्व वन्यजन्तु कोषको तथ्यांक छ। सन् २०१६ को तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी भारतमा दुई हजार दुई सय २६ र सबैभन्दा कम लाओसमा दुई वटा बाघ थिए। बाघको आक्रमणबाट नेपालमा पाँच वर्षमा ५८ को मृत्यु नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन्। मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन्। उनीहरुलाई जंगल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि गर्दै आएको छ। हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जंगली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा दुई सय मानिसको मृत्यु भएको तथ्यांक छ। साथै क्षतिपूर्तिवापत सरकारले रु ६० करोडभन्दा बढी रकम बेहोरिसकेको छ। वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन्। त्यसमध्ये पछिल्लो पाँच वर्षमा मुलुकभर बाघबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्यांक छ। आर्थिक वर्ष २०७९/८० मा बाघको आक्रमणबाट १२, आव २०७८/७९ मा २१, आव २०७७/७८ मा १३, आव २०७६/७७ मा आठ र आव २०७५/७६ मा बाघको आक्रमणबाट चारको मृत्यु भएको थियो। विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले मानव-वन्यजन्तु द्वन्द्व रोकथामका लागि जंगल वरपरका समुदायलाई जंगल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताए। साथै उनले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जंगल जान बाध्य नहुने अवस्था बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए। बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ। प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ। जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्‍याउँछ। खाद्य शृङ्खलामा बाघ मुख्य शिकारी वन्यजन्तु भएका कारणले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ। भीष्मराज ओझा/रासस
आजको मौसमः यी चार प्रदेशमा भारी वर्षाकाे संभावना काठमाडौं। हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र मधेश प्रदेशका पश्चिमी भू्-भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर आंशिक देखी सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मशेध, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मेघ गर्जन र चट्याङसहित भारी वर्षाको कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
चालकसहित कालीगण्डकीमा गाडी बेपत्ता म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ । अन्नपूर्ण–३ दानाबाट बेनीतर्फ आउँदै गरेको बेनीको सुमन किराना स्टोर्सको ग२च १०३१ नम्बरको बोलेरो जीप कालीगण्डकीमा बेपत्ता भएको हो । सो गाडीसँगै म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थान घर भएका चालक कमलेश परियार बेपत्ता भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । “भीरकाटेको कालीगण्डकी किनारमा जीपको सिसा भेटिएको छ”, उनले भने, “जीप र चालकको अवस्था अज्ञात छ ।” प्रहरी, स्थानीयवासी र व्यवसायीको टोली गाडी र चालकको खोजीमा जुटेका छन् । सुमन किराना स्टोर्सका सञ्चालक सुमन श्रेष्ठका अनुसार दानामा सामान पुु¥याएर फर्कंदै गरेको जीपका चालकसँग शुक्रबार दिउँसो ३ बजेसम्म सम्पर्क भएको थियो । तीन बजेपछि सम्पर्क नभएको उनले बताए ।
छोरी बलात्कार गर्ने बाबु पक्राउ मलेखु । मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् । धादिङको धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए । त्यसैक्रमा १७ वर्षीय छोरीमाथि पटकपटक जबरजस्ती करणी गरी भएको पीडित नाबालिकाको जाहेरी उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी बताए । पटकपटक जबरजस्ती करणीबाट अहिले नाबालिकाको गर्भमा पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ । धादिङको इँट्टा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको हो । पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको फेला पारी प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । घटना धादिङ जिल्लामा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतले आज तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए ।
उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न आग्रह काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने, “कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने छ । ” नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि समाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोगबारे व्यवस्था गरिएको छ । रजिष्ट्रार डा अधिकारीले भने, “चिकित्सकले पेसागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्नु हुँदैन ।” सो नियमावली विपरित भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत निकायबाट कारबाही हुनसक्ने उनले बताए ।
इच्छाशक्तिका अगाडि शारीरिक दुर्वलता गौण, अशक्त चौलागाईं दम्पतीको सफल व्यावसायीक यात्रा सुर्खेत। सेतै फुलेका कपाल, एक छेउमा उनी श्रीमती र उनीसँगै एउटा समाउने लौरी राखेर दुई दम्पती मिठार्ईका डब्बा बनाउने गर्छन्। उनीहरु दुवै दम्पतीको व्यस्तता हेर्दा यसपटक अलि धेरै मिठाई राख्ने डब्बाको अडर लिएको जस्तो पनि देखिएको थियो । उनी दुई दम्पतीका काम हेर्दा लाग्दैन उनीहरु शारीरिक रुपमा अशक्त छन् भन्ने । करिब ६८ वर्षीय नन्दप्रसाद चौलागाईं आफ्नो नियमित काममै व्यस्त भेटिन्छन्, सधैँजसो । ‘सुर्खेत स्विट बक्स’ व्यवसायबाट मिठाईका बट्टा उत्पादन गर्नमै व्यस्त छन्। शारीरिक अवस्थाका हिसाबले उनका दुवै खुट्टा चल्दैनन् । यो अवस्थामा रहेका वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत इत्राममा बस्दै आएका चौलागाईंको जीवन धेरैले सोचेभन्दा भिन्न छ। पारिवारिक कुरा गर्दा खासमा अपाङ्गता उनीमा मात्र होइन, उनकी श्रीमती नन्दारुपाले पनि दुवै आँखा देख्दैनिन्। पाँच जनाको परिवारमा छोरीमा पनि बौद्धिक (सुस्त मनस्थिति) अपाङ्गता छ । तर पनि यो परिवार अरू कसैको दयामायाले नभएर आफ्नै पौरखमा बाँचिरहेको छ । मागेर जीवन गुजारा गर्ने भनेको नै हातखुट्टा सद्धे नहुने अर्थात शारीरिकरुपले अपाङ्गहरुले मात्रै हो। सबलाङ्गहरुले त काम गरेर खाने हो भन्ने सामाजिक मान्यताका कारण कतिपयले उनलाई दयाभाव देखाउँदा पनि उनले कहिल्यै आश गरेनन्। उनी भन्ने गर्छन्, ‘‘शरिको एक अङ्ग कमजोर भएपनि अर्को अङ्ग ठीक छ भने किन अर्काको आश गर्ने ?’’ उनको मेहनत, लगनशीलता र सफलता देखेर धेरै मानिस छक्क पर्दछन् । वीरेन्द्रनगर एयरपोर्ट नजिकै रहेको इत्राम खोलापुल पूर्वको चोकदेखि चार सय ५० मिटर दक्षिणमा एउटा साधारण घरमा उनले आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्। मिठार्ई प्याक गर्ने कागजका चारकुने बट्टा बनाउने काममा ध्यानमग्न चौलागाइले उद्योग थालेको अहिले २२/२४ वर्षमा लागिसकेको छ । उनी भन्छन्, ‘‘उमेर बढ्दै गएर होला अहिले हातगोडा थाकेका छन् जाँगर पनि सेलाउँदै गएको छ ।’’ दृष्टिविहीन् भएपनि काममा उनको पत्नी नन्दारुपाले सघाउँदै आएकी छिन्। चौलागाई दम्पतीले ‘सुर्खेत स्वीट बक्स’ व्यवसाय सञ्चालन गरेको दुई दशकभन्दा धेरै भएको छ। शारिरीक अपाङ्गतासँगै उद्योग व्यवसाय सञ्चालन गर्नु र त्यसलाई निरन्तरता दिने काम आफैँमा कम चुनौतीपूर्ण छ तर पनि यी दुईको जोडी पारिवारिक रुपमा मात्र जमेको छैन व्यवसायमा पनि उत्तिकै जमेको छ । नन्दप्रसाद २०५२ सालमा आफ्नो श्रीमतीको आँखाको उपचारका लागि सुर्खेत झरेका थिए। जुम्लामा खेतीपाती गर्दै गुजारा गरी जेनतेन जीवन गुजारा चल्दै थियो। पछि कम्मरमुनिको भाग अचानक चल्न छोडेपछि उनी उपचारका लागि सुर्खेत झरेका थिए। सुर्खेतलगायत देशका विभिन्न स्थानमा उपचार गराउँदा पनि सामान्य अवस्थामा आउन नसकिएको उनले दुःखेसो पोखे। विसं २०४१ मा चौलागाईको जीवनमा आइपरेको समस्या त्यतिमा मात्र सीमित रहेन। आफ्नो खुट्टा नचल्नेभएपछि श्रीमतीको भरमा पर्नुभएका उनलाई केही वर्षपछि अर्को विपद् आइलाग्यो। नन्दरुपाको पनि अकस्मात् दुवै आँखाको ज्योति गुम्यो। तैपनि चौलागाई दम्पतिले हरेश खाएन र मिठार्ईका लागि आवश्यक पर्ने बट्टाको व्यापार सुरु गरे। पीडामै जेनतेन जीवन गुजारिरहेका बेला छोरी जन्मिइन् । ती पनि सुस्त मनस्थितिकी । उनीहरुले थप सङ्र्घष गर्ने अठोटसहित व्यापारलाई निरन्तरता दिइरहे। उनीहरुको त्यो आत्मविश्वासले अन्य अपाङ्गता भएकाले पनि समाजमा केही गर्न सक्छन् भन्ने कुराको उदाहरण दिएको छ । एक रथका दुई पाङ्ग्रा जस्तै यो दम्पति एक अर्काको भरमा बाँचेको छ । अपाङ्गमैत्री स्कुटीमा दैनिकजसो मिठाईका बट्टा बेच्दै हिड्ने नन्दप्रसादले व्यापार विस्तार गरेर खुद्रा पसलसमेत थापेका छन्। अपाङ्गता भएर पनि पौरखी काम गर्दै आएका उनले मासिक करिब दुई हजार मिठाईका बट्टा उत्पादन गर्दै आएको बताउँछन्। उनको साहस, सङ्घर्ष र सफलताको कथा सपाङ्ग व्यक्तिहरुको लागि पनि प्रेरणाको स्रोत बनेको छ । वार्षिक कारोवार रकम करिब रुपाँच लाख गर्दै आएका उनीहरुको लगानी कटाएर वार्षिक रु एक लाखभन्दा बढी नै बचत हुन्छ । चौलागाईको परिवारको मुख्य आयस्रोत नै व्यवसाय नै हो । दुई छोरा र एक छोरीसहति परिवारमा पाँच जना सदस्य छन् । व्यवसायलाई उनको परिवारका सदस्यले आफ्नै श्रममा चलाएका छन् । फुर्सदको समयलाई सदुपयोग गर्दै प्रयोग हुने श्रमले व्यवसायका लागिअन्य कामदार राख्नु नपरेको उनी बताउँछन्। नन्दप्रसाद व्यवसायी हुनुभन्दा पहिला सिपाही थिए। उनले तत्कालीन शाही नेपाली सेनामा २४ वर्ष एक महिना सेवा गरेका थिए। विसं २०३२ चैत १ गते सेनाको सिपाही दर्जाबाट सेवा सुरु गरेका उनले सेनाको अमल्दार पदबाट अवकाश लिएका थिए। सेनामा सेवारत रहँदा नै प्याराप्लेजिया रोगले च्याप्दै गयो र अन्ततः उनका दुवै खुट्टाले काम गर्न छाडे । आफ्नो साहसिक सङ्घर्ष र लगनशीलताको यात्राबाट उनले जीवन विचलित भएन र आज एक सफल व्यवसायी बनेका छन्। उनी भन्छन्, ‘‘जागिरको क्रममा प्याराप्लेजिया रोगले थलिएँ । जुम्लाबाट उपचारका क्रममा काठमाडौं आवतजावत पनि सम्भव भएन’’ उनले विगत सम्झँदै भने, “उपचारमा सजिलो होला भन्ने सोचेर नै वीरेन्द्रनगरमा बसाई सरेको हुँ ।’’ जुम्लाको तत्कालीन लाम्रा गाउँ विकास समिति वडा नं ४ लाम्रा गाउँमा जन्मिएका उनी २०५२ सालमा सुर्खेत बसाईसराईं गरी आएको र सो समयमा दश धुर जग्गाबाट बसाई सुरु गरिएको उनले बताए। कामप्रतिको लगाव, मेहनत र परिश्रमले होला अहिले वीरेन्द्रनगरमै एक कट्ठा १५ धुर घडेरी र सात कट्ठा १० धुर खेत जोडेका छन्। विसं २०५५ मा वीरेन्द्रनगर नगरपालकिाको आर्थिक सहयोग र सुर्खेत नेत्रहीन सङ्घको आयोजनामा कागजी सामग्री उत्पादन’ सम्बन्धी एक हप्ते तालिमपछि नन्दप्रसादले मिठार्ईको बट्टा बनाउन थालेका हुन्। सो तालिममा २५ जनाको सहभागिता थियो तर सुर्खेतमा अहिले यो व्यवसाय सञ्चालन गर्ने नन्दप्रसाद मात्र एक्लो प्रशिक्षार्थी हुन्। उनले भने, “तालिमपछि कागजका थैला, झोला, मिठार्ईका बट्टा बनाउन जानेका छौँ । सुरुआती समयमा हामीले बनाएका मिठार्ईका बट्टाले बजार पाए । तर कागजका थैलाहरुमा भने ध्यान जान सकेन । त्यसको व्यवसाय प्लाष्टिकले ओगट्यो ।” हालको समयमा कागजका थैलाहरुको उत्पादन बजारमा ल्याउन सके वस्तुको पुनःप्रयोग र वातावरणमा समेत सुधार आउने उनको भनाइ छ । बजारमा हालको समयमा प्लाष्टिकको प्रयोग बढ्दै जाँदा भने यसले वातावरणीय प्रदूषणका साथै नागरिकको स्वास्थ्यमा समेत असर गरिरहेको उनी बताउँछन्। उनी भन्छन्, “खेर जाने कागजबाट सामग्री बनाएर सदुपयोगमा ल्याउन कुरामा नागरिकमा पनि जनचेतनाको विकास भइरहेको छ ।” पछिल्लो समय प्लाष्टिकको प्रयोगले ल्याउने वातावरणीय र स्वास्थ्यमा पर्ने असरका बारेमा सर्वसाधारणमा विस्तारै चेतनाको विकास हुन थालेपछि कागजका थैलालगायतको उत्पादनले बजार पाउने नन्दप्रसाद विश्वस्त देखिन्छन्। यसका लागि बजारमा कच्चा पदार्थ पनि खेर गइरहेका छन् । छापाखाना, सरकारी कार्यालयलगायतका क्षेत्र कागजका भरपर्दो स्रोत हुन् ।
कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा विभिन्न पुरस्कार प्रदान काठमाडौं। कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले एक कार्यक्रममाकाबीच ‘सेवा पुरस्कार नेपाल २०८०’ नेपाल आँखा अस्पताल तथा ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार २०८०’ समाजसेवी भरतबहादुर थापालाई समर्पण गरेको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि त्रिविविका उपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमाले आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई पुरस्कार समर्पण गरे। सम्बोधनका क्रममा उनले कर्मयोगी बद्रीविक्रम थापाको सामाजिक, प्रशासनिक योगदानको चर्चा गरे। माथेमाले थापाको आत्मकथा सबैका लागि प्रेरणादायी हुने बताउँदै आत्मकथा ल्याउनुपर्नेमा जोड दिए। गुठीका सल्लाहकार तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले समाजसेवी भरतबहादुर थापालाई राष्ट्रगौरव पुरस्कार समर्पण गरे। उक्त दुवै पुरस्कारकासाथ नगदराशि २ लाख २२ हजार २२२ पनि प्रदान गरियो। कार्यक्रममा प्रा.डा. लोकविक्रम थापाद्वारा स्थापित ‘बद्रीविक्रम थापा चरित्रनिर्माण पुरस्कार २०८०’ हिन्दु विद्यापीठ नेपाल, थलीकी छात्रा प्रतिमा सापकोटालाई समर्पण गरिएको थियो। पुरस्कारकासाथ नगदराशि १० हजार पनि प्रदान गरियो। त्यसै अवसरमा गुठीको मुखपत्र वार्षिक पत्रिका ‘सेवा नेपाल’को ‘सत्यमोहन जोशी स्मृति अंक’ लोकार्पण गरिएको थियो। कार्यक्रममा गुठीले कुलरत्न खड्की र न्हुच्छे माया शाहीलाई श्रम सम्मान समर्पण गर्यो भने श्रमिक बाल विज्ञान आधारभूत सामुदायिक विद्यालय, पुल्चोक तथा श्रीकृष्ण प्रणामी निजानन्द वृद्धाश्रम, पुल्चोकलाई आर्थिक सहयोग प्रदान गर्‍याे। गुठीका कोषाध्यक्ष किरण थापाले संस्थाले शिक्षा, स्वास्थ्य, श्रम र साहित्यका क्षेत्रमा काम गर्दै आएको बताए। कार्यक्रममा प्रा.डा. सुरेशराज शर्मा, राजनीतिज्ञहरू कमल थापा, शशी श्रेष्ठ, समाजसेवी भरतबहादुर थापा, डा. गोपालप्रसाद पोखरेल, डा. चिन्तामणि योगी, र सार्वजनिक पुस्तकका सम्पादक हरि मञ्जुश्रीले बोलेका थिए।
वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध रुकुमपूर्व। वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्वस्थित सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाको रुकुमकोट–खाबाङ खण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका–४ स्थित काँडा बगरमा ठूलो पहिरो झर्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको हो। लगातारको झरिका कारण सडकमाथिबाट ठूलाठूला ढुंगा र पहिरो झर्दा बाटो बन्द भएको सशस्त्र प्रहरी बल आश्रित गुल्म रुकुमपूर्वका प्रहरी निरीक्षक सत्यबहादुर बुढाथोकीले जानकारी दिए। उनका अनुसार बिहानैदेखि भूमे गाउँपालिकाको पहलमा जेसिबीले पहिरो पन्छाइरहे पनि अवरुद्ध सडक खुलाउन सकिएको छैन। सडकमा झरेको ढुंगा हटाउन ‘ब्रेकर’बिना असम्भव रहेको उनले बताए। ढुंगा फुटाउनका लागि निर्माण व्यवसायीसँग समन्वय गरेर ब्रेकर मगाइएको प्रहरी निरीक्षक बुढाथोकीले बताए। अहिले पनि जेसिबीले पहिरो पन्छाइरहे पनि माथिबाट पहिरो झर्ने क्रम नरोकिएको उनले जानकारी दिए। बिहानैदेखि सडक अवरुद्ध हुँदा एम्बुलेन्स र गाडी अलपत्र परेका छन्। काठमाडौँ, पोखरा, दाङ, रोल्पाबाट आएका र रुकुमपश्चिम, रुकुमकोटबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारी साधन पहिरो खसेको स्थान आसपास अलपत्र अवस्थामा रहेका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए। उनले आवागमन अवरुद्ध हुँदा यात्रु समस्यामा परेका बताए। काठमाडौँबाट आएको एम्बुलेन्समा रहेका बिरामीलाई हिँडाएर पहिरो कटाई अटोमार्फत रुकुमकोट पठाइएको प्रजिअ शर्माले जानकारी दिए। जिल्लाका अन्य ठाउँमा झरेको पहिरो छोटो समयमै हटाएर सडक सञ्चालन गरे पनि काँडाबगरमा ठूलो पहिरो झरेकाले पहिरो पन्छाउन समय लागेको उनको भनाइ थियो। सडक वरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन्।
मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पोखरेल बलात्कार आरोपमा पक्राउ काठमाडौं। मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका छन्। आफ्नै घरमा काम गर्ने एक किशोरीलाई यौन दर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। ५२ वर्षीय पोखरेलले ती किशोरीलाई दुर्वव्यवहार गर्दै गरेको भिडियो केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रहरीले केही दिनअघि मात्रै उनको विरुद्ध जाहेरी लिएर पक्राउ अनुमति लिएको थियो। घरमा कोही नभएको मौकमा उनीमाथि यौन हिंसा गरेको ती किशारीको आरोप छ। पीडित भनिएका किशोरी आफैंले सामाजिक सञ्जालमार्फत उक्त भिडिओ सार्वजनिक गरेकी थिइन्। सार्वजनिक गरिएको भिडिओ ५८ सेकेन्ड लामो छ। भान्सामा कैद गरिएको भिडिओमा पोखरेलले तल्लो शरीरमा लगाएको लुगाबाहिरबाटै आफ्नो यौनांग चलाइरहेका देखिन्छ। त्यसपछि उनले युवतीको हात तानेर आफूतिर तान्न खोजिरहेका संकेत हुन्छ। जसमा धक्कामुक्की भइरहेको पनि सुनिएको छ। फागुन ,वैशाख र असारमा गरी तीन पटक यौन दूव्र्यवहार भएको उनको जाहेरीमा उल्लेख छ।
अवरुद्ध मेची राजमार्ग १९ घण्टापछि सञ्चालन फुङ्लिङ। सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ। फुङ्लिङ नगरपालिका–८ वैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घण्टापछि खुलेको हो। ताप्लेजुङको दोखु–नाङ्खोल्याङ सडकखण्डस्थित खोक्से नजिक वैशाखे भिरमा माथिबाट ठुल्ठूला चट्टानसहित खसेको पहिराले सडक अवरुद्ध बनेको थियो। सडक डिभिजन कार्यालय इलामका अनुसार करिब ३० मिटर दूरीभित्र पूरै सडक ढाक्ने गरी खसेको पहिराले बिहीबार दिनभर राजमार्ग अवरुद्ध भएको थियो। पहिरो खसेर राजमार्ग अवरुद्ध बनेपछि बिहान सबेरैदेखि पहिरो हटाउने कार्यमा निरन्तर जुटेसँगै राति ९ बजेसम्ममा अवरुद्ध पन्छाउन सफल भएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नविन उप्रेतीले जानकारी दिए। सडक खुलेसँगै हिजो दिनभर रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेका थिए। ताप्लेजुङ भित्रने सवारीसाधन सदरमुकाम फुङ्लिङतर्फ प्रवेश गरेका छन् भने यहाँबाट बाहिरिने यातायातका साधन गन्तव्यतिर लागेका छन्।
बेसीशहर बजारका अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन लमजुङ। बेसीशहर नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित र प्रयोगमा नआएका केवल नेटवर्किङका तारहरु हटाउन सम्बन्धित संस्थालाई १५ दिने सूचना जारी गरेको छ। नगरपालिकाले अव्यवस्थित तारहरुले बजारको सौन्दर्यमा समस्या ल्याएको तथा मंगलबारका दिनदेखि १५ दिनको म्याद दिएको हो। प्रमुख दलकाे सहभागितामा बसेको बैठकले अव्यवस्थित तारहरु हटाउने निर्णय गरेको हो। बैठकमा भएको सोहि निर्णय अनुसार बेसीसहर नगरपालिकाको बजार क्षेत्रमा रहेका विजुली तथा टलिफोनका पोलमा अव्यवस्थित रुपमा रहेका पुराना तथा प्रयोगमा नआएका केवल तथा नेटवर्किङका तारहरुलाई १५ दिन भित्र हटाउन सम्वन्धित सबैमा सूचित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमानाथ कंडेलले जानकारी दिएका छन्। यस सूचना पश्चात अव्यवस्थित तारहरु व्यवस्थापनको कार्य शुरु हुने भएकोले यदी कोही कसैको विवरण नखुलेका तार तथा केवलहरु छुट्न गएमा वा काटिएमा सम्बन्धित संस्था वा व्यवसायी स्वयं जिम्मेवार हुने नगरपालिकाले जनाएको छ। नगरपालिकाको हामी सबैको रहर सभ्य सम्वृद्ध बेसीसहर भन्ने नारा समेत रहेको छ। सदरमुकाम बेसीसहरमा अब्यबस्थित तारहरुको जालोहरु जताततै रहेको देखिन्छ। बेसीसहर सहित जिल्लाका अधिकांश बजार क्षेत्रमा तार ब्यबस्थापन एक चुनौतिका रुपमा रहेको पाईन्छ।
सेती नदीमा डुबेर बालक बेपत्ता दिपायल। डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन्। उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार गरेका थिए। उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ। बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन्। दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ।
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना काठमाडौं। हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेशका केही स्थानहरूका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यस कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
कांग्रेस नेता निधिलेद्वारा नेताहरूलाई रात्रिभोज काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आज पार्टीको केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोजको आयोजना गरेका छन्। रात्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसदलगायतको उपस्थिति थियो । सो अवसरमा सभापति देउवाले नेता निधिलाई रात्रिभोज आयोजना गरेकोमा धन्यवाद दिएका थिए । यसैगरी नेता निधिले सबैलाई स्वागत गरेका थिए।
कार्यवाहक प्रधानमन्त्रीद्वारा वीरेन्द्र अस्पतालको भ्रमण काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले छाउनीस्थित वीरेन्द्र अस्पतालको आज निरीक्षण भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्दै नेपाली सेनाको स्वास्थ्य सेवा तथा कल्याणकारी गतिविधिबारे संक्षिप्त जानकारी गराएका थिए। कार्यवाहक प्रधानमन्त्री खड्काले वीरेन्द्र अस्पतालको ओपिडी भवन, आकस्मिक कक्ष, ट्रमा हल तथा अस्पतालका विभिन्न ओपिडी कक्षहरूका साथै भविष्यमा निर्माण गर्ने योजनामा रहेको मास क्याजल्टी ट्रिटमेन्ट सेन्टर क्षेत्रको अवलोकन गरे । त्यस अवसरमा अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा भरतबहादुर भण्डारीले अस्पतालको विविध गतिविधिबारे प्रस्तुतीकरणमार्फत जानकारी गराए । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले वीरेन्द्र अस्पताल र नेपाली सेनाको समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान नीतिगतलगायतका सबै समस्या समाधानका लागि आवश्यक पहल थाल्न निर्देशन दिए । सो क्रममा नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्का, सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथी डा अरुण शर्मा, रथीवृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत अस्पतालका विभिन्न विभागका प्रमुखको उपस्थिति रहेको नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेलाई कारबाही गर्न युवा संघको माग काठमाडौं। राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेको तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा नकारात्मक पोस्टहरू देखिएपछि युवा संघले आपत्ति जनाएको छ। युवा संघ नेपालले बिहीबार एक विज्ञप्ति जारी गरी थेबेको तस्बिर सहित श्रद्धाञ्जली दिइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तो कार्य गर्नेलाई पहिचान गरी हदैसम्मको कारबाही गर्न संगठनले आग्रह गरेको छ। ‘होइन भने राष्ट्रिय युवा संघ नेपाल आफैँ प्रतिरोधमा उत्रने चेतावनी दिन चाहन्छ’, विज्ञप्तिमा लेखिएको छ । अध्यक्ष थेबेमाथि केही समयदेखि सामाजिक सञ्जालमार्फत श्रृंखलाबद्ध रूपमा प्रहार भइरहेको र यही सन्दर्भमा बिहीबार बिहानैदेखि अध्यक्षको तस्बिरलाई दुरुपयोग गर्दै श्रद्धाञ्जलीका पोस्टहरू देखिन थालेका संगठनले जनाएको छ ‘यस संगठनका नेतृत्वकर्तालाई नै श्रद्धाञ्जली दिइएको विषय आपत्तिजनक मात्रै छैन, यसले मानवीय संवेदनशीलताको परिधिलाई पार गरेको हाम्रो ठहर छ’, संगठनका महासचिव सुमन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘यी र यस्ता भ्रामक पोस्टहरूले सिङ्गो राष्ट्रिय युवा संघ नेपाल नै आक्रोशित बनेको छ, सामाजिक सञ्जाललाई दुरुपयोग गरी यस्ता पोस्टहरू मार्फत मानवीय संवेदनशीलताको परिधिलाई उलङ्घन गरिएको विषय हामीलाई सह्यै छैन र हुँदैन’, विज्ञप्तिमा लेखिएको छ । समाज र देशका लागि केही गर्ने हुटहुटीले युवा आन्दोलनमा होमिएको योद्धालाई प्रहार गर्नु मुलुकको भविष्यमाथि नै आक्रमण गर्नु सरह भएको संगठनको ठहर छ । राजनीतिक मतभेदकै आधारमा मानवीय संवेदनशीलताको परिधिलाई बिर्सनु आफैमा जीर्ण सोचको परिणाम भएको संगठनले जनाएको छ । जिउँदो मानिसलाई प्रहार गर्न श्रद्धाञ्जली दिने जस्तो जीर्ण सोचलाई निरुत्साहन गर्न र यस्ता अमानवीय, घृणित एवं मर्यादितता कार्यलाई रोक्न गृह प्रशासन तथा नेपाल प्रहरी समक्ष राष्ट्रिय युवा संघ नेपालले माग गरेको छ ।
कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ कञ्चनपुर ।  कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ बाट भन्सार छली ७२ हजार एक सय २० मुल्य बराबरका ताला चाबी, एक थान मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्। बरामद गरेको सामानसहित पक्राउ परेका मानिसलाई कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरीले जनाएको छ।
विमानस्थलमा पुनः अवैध सुन फेला काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पुनः अवैध सुन बरामद गरेको छ। अवैध रुपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्रेको हो। हिमालय एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका सिराजलाई आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।
शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विष्टसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलगायत सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार उक्त नगरपाकिाको ७ र ८ नं वडाको बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत स्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी गरी भ्रष्टाचार गरेको पाइएकाले आज मुद्दा दायर गरिएको हो । आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टविरुद्ध रु २६ लाख दुई हजार पाँच सय ५६ बराबरको बिगो दाबी गरेको छ । यस्तै इन्जिनियर सन्तोष पाण्डेविरुद्ध रु ११ लाख ३० हजार दुई सय ७२, तत्कालीन अर्का इन्जिनियर राजेन्द्रसिंह धामीविरुद्ध रु १४ लाख ७२ हजार दुई सय ८३, सबइन्जिनियर दीपकसिंह विष्टविरुद्ध रु २६ लाख दुई हजार पाँच सय ५६ बराबरको बिगो दाबी गरेको छ । यस्तै बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध रु २६ लाख दुई हजार पाँच सय ५६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
राप्रपा अध्यक्ष लिङ्देनलाई शैलुङको आलु उपहार काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई दोलखा शैलुङ गाउँपालिकाका किसानले आलु उपहार दिएका छन् । पार्टी कार्यालय धुम्बहाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर आज उनीहरूले अध्यक्ष लिङ्देनलाई आफ्ना समस्या राख्दै आलु उपहार दिएका हुन् । आलु उपहार लिँदै अध्यक्ष लिङ्देनले कृषिमा रु एक खर्बभन्दा अनुदान गए पनि खास किसानमा पुग्न नसक्नु दुःखद् भएको भन्दै किसानको समस्यामा आफूले सहयोग गर्ने बताए। सरकारले दिएको अनुदान पनि बिचौलियामा बढी जानेको कुरालाई आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उनले आफूहरूले उत्पादन गरेको आलुको पहिचानसम्म नभएको कुरा गम्भीर भएको ठहर थियो । शैलुङ क्षेत्रलाई कृषि र पर्यटनसँग जोड्ने उद्देश्यले राजनीतिक दलका नेता तथा मन्त्रीहरूलाई आलु उपहार दिएको किसानको भनाइ छ । शैलुङ गाउँपालिका–८ का किसान प्रवीण थपलियाले शैलुङको आलु मुढेको भनेर बेच्ने गरेको र खास आलु उत्पादन गर्ने ठाउँ ओझेलमा परेको सुनाए । “शैलुङको आलु अग्र्यानिक छ, युरिया मलको प्रयोग गरेको छैन”, शैलुङ क्षेत्रको विकासमा राज्यको ध्यान जाओस् भन्ने उद्देश्यले राजनीतिक दल र मन्त्रीहरूलाई आलु उपहार दिएको उल्लेख गर्दै उनले भने, “यसअघि राजनीतिक दलका नेता तथा मन्त्रीहरूलाई दिने क्रममा आज अध्यक्ष लिङ्देनलाई प्रदान गरेका हौँ ।” शैलुङका किसानले आलु बेच्नका लागि बाटोको समस्या रहेको र शैलुङबाट उत्पादन भएको आलु मुढेको भनेर बेच्ने गरेका दुःखेसो राखेका थिए । किसानले शैलुङको आलु नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतलाई उपहार दिइसकेका छन् ।
६ महिनाभित्रमा स्वास्थ्य क्षेत्रले काँचुली फेर्छः स्वास्थ्यमन्त्री बस्नेत काठमाडौं। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आमनागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्यसेवा उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको बताए। बिहीबार धनुषाको सपहीस्थित स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको प्राङ्गणमा विश्व स्वास्थ्य संगठनको सहयोगमा निर्माण गरिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको हस्तान्तरण र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले स्वास्थ्य सेवा सुधारका लागि मन्त्रालयले विभिन्न क्षेत्रमा दिनरात कामकाज गरी रहेको भन्दै छ महिनाभित्रमा स्वास्थ्य क्षेत्रले काँचुली फेर्ने उनको कथन थियो। मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न किसिमका भेदभाव र विकृतिहरूलाई समाप्त पार्दै काम गर्ने मान्छेलाई वातावरण दिनु पर्छ भन्ने मान्यताका साथ मन्त्रालय अघि बढेको जानकारी गराए। स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीको योग्यता क्षमता वृद्धिका लागी अन्तर्राष्ट्रिय स्तरमा तालिमहरु दिने काम काजहरु भइरहेको भन्दै त्यस्ता तालिममा हुम्लामा बसेर काम गर्ने कर्मचारीले पनि सहभागी भई विदेश भ्रमण गर्न पाउनेजस्ता अवसरहरु मन्त्रालयले प्रदान गर्न लागेको बताए। उनले काम गर्नेलाई पुरस्कार र काम नगर्नेलाई दण्ड हुनुपर्ने मान्यताका साथ मन्त्रालयले मूल्यांकन गरिरहेको बताए। मन्त्री बस्नेतले जनसंख्याको हिसाबले बढी जनसंख्या भएको प्रदेश मधेश प्रदेश रहेको कारण एउटा प्रदेशमा एउटा विशेषज्ञ सेवा हुनुपर्ने बताए। जनकपुरधाममा मुटु रोगको सेवा प्रभावकारी बनाउने विषयमा प्रक्रिया अघि बढाइने र यसले मुटु रोगका विरामीलाई काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य हुने मन्त्री बस्नेतले बताए। प्रदेशको कुनै पनि ठाउँमा कुनै किसिमको आपत विपत आएमा अब आपतकालीन कार्य संचालन केन्द्रले विभिन्न निकायसँग समन्वय गरी तत्कालै समस्या समाधान गर्नमा मद्दत पुर्‍याउने उनको कथन थियो। कार्यक्रमको अध्यक्षता गरेका मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले मधेश प्रदेशको स्वास्थ्य अवस्थालाई सवल र सुदृढ बनाउनका लागि आफू लागि परेको बताए। उनले मधेश प्रदेशको प्रादेशिक सबै अस्पतालमा आजैबाट लागु हुने गरी जेनरल वेड निःशुल्क गरिएको बताउँदै प्रदेश सरकार सुलभ रूपमा स्वास्थ्य सेवा दिन चाहेको बताए। यसमा सबैको सहयोग आवश्यक भएको बताउँदै प्रदेशभित्र मापदण्ड विपरीत संचालित औषधी पसल र निजी अस्पतालहरुलाई मापदण्डको दायरामा ल्याउने किसिमले कामकाज भइरहेको उनको भनाइ छ। कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णकुमार यादव, लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका संघीय सचिव रोशन पोखरेल, स्वास्थ्य अतिरिक्त सचिव संगिता कौशल मिश्र, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश सम्भाजी राउ पाण्डव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका सचिव प्रमोदकुमार यादव, मधेश प्रदेशका स्वास्थ्य निर्देशक राजीव झा, जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका निर्देशक श्रवण कुमार मिश्रसहितकाको सहभागिता रहेको थियो। मन्त्री बस्नेतले आजै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोगको रोकथाम तथा नियन्त्रणका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा पनि सहभागी भए। सो क्रममा उनले डेंगी रोगको रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले एक अर्कासँग समन्वय गरी कामकाज गर्नुपर्नेमा जोड दिए।
तनहुँको भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा गण्डकी। तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् । प्रकृतिका साथी संस्थाको आयोजनामा हरेक वर्ष उक्त क्षेत्रमा गर्दै आइएको वन्यजन्तु अनुसन्धान विधि तालिमका क्रममा उक्त सङ्ख्यामा चराका प्रजाति फेला परेका हुन् । प्रकृतिका साथी संस्थाले देशका विभिन्न जिल्लाबाट सहभागी १३ जनालाई उक्त क्षेत्रमा १९ दिने तालिम प्रदान गर्दै आएको संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । तालिमका क्रममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधिलगायत वन्यजन्तुका विषयमा जानकारी दिने गरिएको उनले बताए । “नेपालमा मात्रै पाइने काँडे भ्याकुर भैँसेगैँडामा पर्याप्त पाइन्छन्”, उनले भने, “चाइना मङ्गोलियाबाट बसाइँ सर्ने सिकारी प्रजातिका चराहरू पनि यही स्थान भएर नेपालको तराईका साथै भारततिर जाने भएकाले चरा अध्ययनका लागि यो महत्वपूर्ण गन्तव्य हो ।” तनहुँ र स्याङ्जाका विभिन्न भागलाई जोड्ने कूल ७२ किलोमिटरअन्तर्गत रहेको सहश्राब्दी पदमार्गको ५२ किलोमिटर वनजङ्गल क्षेत्रमा पर्ने भएकाले चराचर, पर्यावरणलगायत वन्यजन्तु र वातावरण सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि यो आकर्षक गन्तव्य बन्दै गएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताए । यस क्षेत्रमा काँडे भ्याकुरदेखि धेरै प्रजातिका चरा, वन्यजन्तु र वनस्पति पाइने भएकाले पर्यावरणीय अध्ययन तथा अनुसन्धानका लागि यो स्थल महत्वपूर्ण रहेको उनको भनाइ छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ‘मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टे’ सञ्चालन गरिएको गुरुङले बताए । उनका अनुसार होमस्टेमा २० जनासम्म पर्यटक अटाउँछन् । अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खलाका साथै पहाडी दृश्यावलोकनका लागि पनि भैँसेगौँडा पुग्नैपर्ने गन्तव्य भएको बताउँदै गुरुङले पछिल्लो समय यहाँ आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको बताए । गाउँको विकासका लागि सामूहिक प्रयासमा मेकाडामिया नटको खेतीसमेत गरेको भन्दै उनले स्थानीय उत्पादनमा जोड दिइएको बताए। पछिल्ला केही वर्षयता दुःख गरेर लगाएको खेती बाँदरले खाइदिने र असिनाले झारिदिँदा किसान मर्कामा पर्न थालेका भन्दै अध्यक्ष गुरुङले स्थानीयको जीवनस्तार सहज बनाउन सामूहिक प्रयासमा मेकाडामिया नटको खेती सुरु गरिएको बताए । बाँदरले धेरै क्षति पुर्‍याउन नसक्ने भएकाले स्थानीय पनि यस खेतीतर्फ आकर्षित बन्दै गएका उनको भनाइ छ । ‘राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूह’मा आबद्ध भई यहाँका २५ कृषकले पाँच सय बिरुवा लगाएकामा केहीले उत्पादनसमेत दिन थालेको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार भैँसेगौँडा आसपासका ओरष्टे, कोल्मा, काउले, बाकोटलगायत स्थानमा व्यक्तिगतरुपमा पनि कृषकले यो खेती गरेका छन् । भैँसेगौँडालगायत आसपासका क्षेत्रमा हालसम्म एक हजार पाँच सयभन्दा बढी बोट लगाइसकिएको उनले बताए । अध्यक्ष गुरुङका अनुसार विसं २०७२ मा कृषि अनुसन्धान केन्द्र, मालेपाटन पोखराको पहलमा साविक राङभाङ गाविसका २५ कृषकले सामूहिकरुपमा मेकाडामिया खेतीका लागि पहिलोपटक नर्सरी तयार गरेका थिए । उत्पादनसँगै वरपरका पर्यटकीय सम्भावनायुक्त स्थललाई संरक्षण र विकास गर्न पनि यहाँका स्थानीयले जागरुकता देखाएका छन् । भैँसेगैँडासँगै जोडिएको स्याङ्जाको बिरुवा गाउँपालिका–३ स्थित रहस्यमय भ्वाङलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने प्रयास थालिएको अध्यक्ष गुरुङले बताए। सयौँ वर्ष पुरानो अनुमान गरिने भ्वाङलाई साहसिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न स्थानीय राङभाङ युवा क्लबले सक्रियता देखाएको छ । प्राचीनकालमा यस ओडारमा भूत बस्छ भन्दै बालबालिकालाई जान रोक्ने गरिएको स्थानीय बताउँछन् । ठाढो भ्वाङ रहेको यस ठाउँमा विसं २०७० मा केही युवाले डोरीको सहायताले प्रवेश गरेका थिए । त्यसपछि भ्वाङभित्रको वास्तविक अवस्थाबारे थप अध्ययन एवं अनुसन्धान गर्ने उद्देश्यका साथ दुई वर्षअघि साहसिक पर्यटनमा काम गरेका प्राविधिक समेतको उपस्थितिमा थप अध्ययन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए। “डोरीको सहायताले लभगभग ९० फिट गहिराइको भ्वाङमा जान सकिन्छ । तल झरेपछि दायाँबायाँतर्फ दुई जना छिर्नसक्ने अरु प्वाल पनि छन्”, उनले भने, “बुढापाकाका अनुसार भित्रबाट दायाँतर्फ अघि बढेको प्वाल हुँदै जङ्गलतर्फ र बायाँतर्फको प्वालबाट स्याङ्जाको बिरुवा निस्कन सकिने किंवदन्ती रहँदै आएको छ ।” भ्वाङलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले राङभाङमा स्थायी बसोबास भई हाल हङ्कङमा विभिन्न पेसा तथा व्यवसाय गर्दै आएकाको आर्थिक सहयोगमा दुई वर्षअघि तारबार गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा थप सम्भावना खोज्न विभिन्न पक्षबाट अध्ययन तथा अनुसन्धान पनि भइरहेका छन् । मिलेनियम ट्रेकअन्तर्गत ठाउँठाउँमा रहेको पर्यटकीय गन्तव्यलाई संरक्षण र प्रवर्द्धनमा जोड दिइएको व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । “प्रकृति र संस्कृतिका विविधता अवलोकन गर्दै पदयात्रा गर्न पाइनु यस पदमार्गको विशेषता हो”, उनले भने, “जुनसुकै मौसममा जुनसुकै उमेर समूहका व्यक्तिलाई हिँडाउन सकिने यो पदमार्गलाई प्रवर्द्धन गर्ने कुरामा जोड दिँदै आएका छौँ ।” नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुरदेखि अन्य विभिन्न प्रजातिका चरा, वन्यजन्तु वनस्पतिसँगै हिमाली र पहाडी भूभागको अवलोकन पनि सँगै गर्न सकिने भएकाले यहाँको पदयात्राको प्रचारप्रचारमा गर्नुपर्नेमा उहाँले जोड दिए । वासुदेव पौडेल\रासस
भालुको पित्त जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ काठमाडौँ। काठमाडौं महानगरपालिका-२६ रेडन पुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरबाट भालुको पित्त जस्तो देखिने वस्तु २ थानसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका-१० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३९ वर्षीय तेन्दोर्जी तामाङ र काभ्रेपलाञ्चोक नेताचोक घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय नाम्गेल तामाङ रहेका छन्। उक्त सेकुवा कर्नरमा अवैध रूपमा भालुको पित्त जस्तो देखिने बस्तुको बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई बरामद वस्तुसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसर काठमाडौंमा पठाइएको छ।
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ काठमाडौँ। वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३२ वर्षीय अनन्त प्रकाश श्रेष्ठ र उदयपुर ताप्ली गाउँपालिका-४ घर भई ललितपुर महानगरपालिका नखिपोट बस्ने ३० वर्षीय प्रचलन राई रहेका छन्। उनीहरूमध्ये मौसम मग्रातीले १ जनालाई माल्टा पठाई आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेको, अन्नत श्रेष्ठले १ जनालाई पोल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ८ लाख रुपैयाँ ठगी गरेको र प्रचलन राईले १ जनालाई क्रोसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ। साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई काठमाडौं जोरपाटी नारायणटारबाट मंगलबार तथा मग्रातीलाई काठमाडौं काँडाघारीबाट र राईलाई ललितपुर नखिपोटबाट बुधबार पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग काठमाडौँ। राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ। साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ। सञ्जालले आज पत्रकार सममेलन गरी उक्त माग पूरा नभए किसानले चक्काजामलगायतका विरोधका कार्यक्रम गर्ने जनाएको छ। सञ्जालका संयोजक एवं नेपाली कांग्रेस निकट नेपाल किसान महासंघका सभापति गणेशचन्द्र तिमिल्सिनाले लम्की स्किनका कारण देशभरका किसान मारमा परेको बताए। नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष डा प्रेम दंगालले हालसम्म उक्त रोगका कारण ५० हजार पशु मरिसकेका र करिब रु ४० अर्बको क्षति भइसकेको जनाउँदै नियन्त्रण नभएमा रु एक खर्बसम्म क्षति हुनसक्ने बताए। सञ्जालले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका ‘स्टल’लाई प्रक्रियाबमोजिम प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउन पनि माग गरेको छ। सञ्जालले हरेक दिन समितिको परिसरमा धर्ना दिँदै आएको छ। सञ्चालले गत असार २४ गते कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाललाई भटेरे ती विषयमा ध्यानाकर्षण गराएको थियो। यस्तै सञ्जालले किसानलाई आवश्यकपर्ने रासायनिक मलको सहज प्रबन्ध गर्न, कृषि बीमाबापतको रकम निकासामा भएको ढिलाइको छानबिन गर्नुपर्नेलगायत माग अघि सारेको छ। सञ्जालमा विभिन्न नौ किसान संगठन आबद्ध छन्।
एकहत्तर वर्षमा मीनाकुमारीले पाइन् नागरिकता मुग्लिन। चितवनको ईच्छाकामना गाउँपालिका–३ निवासी मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाएकी छिन्। माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उनले नागरिकता पाएकी हुन्। “माइती खुलाउन नसकेर लामो समयदेखि नागरिकता बनाउन नसकेपछि वडा कार्यालयले माइती पहिचान नभएको भनी मुचुल्का र सिफारिस गरिदिएको र सोही आधारमा जिल्ला प्रशासनले नागरिकता बनाइदिएको हो”, वडाध्यक्ष नरबहादुर नेपालले भने, “कसैलाई नागरिकविहीन हुने अवस्था सिर्जना गर्नुहुन्न भन्ने आधारमा सकेको पहल गरी नागरिकता बन्ने वातावरण मिलाइदिएका हौँ।” वयोवृद्व अवस्थामा नागरिकता बनेसँगै मीनाकुमारी राई खुसी भएकी छन्। “नागरिकता बनेपछि अब मैले पनि भत्ता पाउछु”, खुसी हुँदै उनले भनिन्। राईलाई ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताका लागि पहल गरिने वडाध्यक्ष नेपालले बताइन्।
हिताचीले नेपाली बजारमा ल्यायो नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर काठमाडौँ। युनिभर्सल इलेक्ट्रोकम प्रा.लि, नेपालको लागि हिताची होम अपलायन्सको आधिकारिक वितरक, ले थप चारवटा विशेष होम अपलायन्सको उत्पादनका विभिन्न प्रकारहरु नेपाली बजारमा ल्याएको छ। हिताचीका नयाँ उत्पादनहरुको उद्घाटन संयुक्त रुपमा अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीद्वारा अनावरण गरिएको छ। कम्पनीले नवप्रवर्तन र ग्राहकको खुशीको लागि आफ्नो प्रतिबद्धता जनाउँदै, नवीन प्रविधि युक्त दुई वासिंग मेसिन, एक डबल–डोर फ्रिज र राइस कुकर सहित चार वटा नयाँ हिताचीका उत्पादनहरू बजारमा भित्राएको छ। नवीन प्रविधि युक्त वासिंग मेशीन हिताची वासिङ मेसिन नयाँ अनावरणको मुख्य आकर्षण रहेको छ। यसमा प्रयोगकर्तामैत्री डिजाइनका साथमा साथमा उन्नत प्रविधिको संयोजन सहितको सुविधाहरु समावेश गरिएको छ।  यस वासिङ मेसिन दुईवट भिन्न मोडलहरुमा उपलब्ध हुनेछन्। जसमा ८ केजीको क्षमता बीडी–८०२एचभीओएसमा रहेको छ भने ९ केजीको क्षमता बीडी–९०४एचभीओएसमा रहेको छ। यी दुवै मोडेलहरुमा फुल अटोमेटिक र फ्रन्ट–लोडिङको प्रभावकारी विशेषता रहेको छ। जसले गर्दा झन्झटमुक्त लुगा धुने अनुभव प्रदान गर्नेछ। साथमा स्टिम फंक्सन, ट्यांगल–फ्री फिनिश डिजाइन, र “एड गार्मेन्ट ड्युरिङ वास” सुविधाका साथ लुगा धुन अझै सजिलो हुनेछ। यी दुवै फ्रन्ट–लोडिङ, पूर्ण स्वचालित वासिङ मेसिनहरु, नवीन प्रविधि र प्रयोगकर्ता–केन्द्रित सुविधाहरुको संयोजनको साथ डिजाइन गरिएको छ जसले गर्दा कपडा धुने अनुभवलाई पुनः परिभाषित गर्नेछ। यी वासिङ मेसिनहरुले दाग–धब्बा हटाउने, प्रि–वास र बेबी केयर विकल्पहरु सहित १६ विभिन्न प्रोग्रामहरुको साथ लुगा धुने मागहरुको विस्तृत दायरा पूरा गर्छन्। अटो डोर क्लीन विशेषताले सफाइ र स्वच्छता कायम राख्छ। जब कि एन्टी–रिंकल विशेषताले कपडालाई पूर्ण रूपमा इस्त्री गरेको सरह मुलायम र जुनै समयमा लगाउनको लागि तयार राख्छ। अत्याधुनिक रेफ्रिजरेसन समाधान हिताची डबल–डोर फ्रिज, मोडेल एचआरटीए५२७५एमएफपीएसभीकेएच, आधुनिक रेफ्रिजरेसन प्रविधिको चमत्कार हो। खानालाई लामो समयसम्म ताजा र स्वादिष्ट राखेर, यो फ्रिजले खाद्य संरक्षणलाई पुनः परिभाषित गर्दछ। यो रेफ्रिजरेटरमा २७५ लिटरको विशाल क्षमता छ। चिसो हावा वितरणको लागि राउण्ड एयर कुलिङ तथा गन्ध र ब्याक्टेरियाबाट छुटकारा पाउन ट्रिपल पावर फिल्टर जडित छ। फ्लेक्सिबल फ्रेश सेलेक्ट फिचरले उपभोक्ताहरुलाई आफ्नो भण्डारण आवश्यकताहरु पूरा गर्न फ्रिजको खण्डलाई रुचि अनुसार निजीकृत गर्न सहज बनाउँछ। फ्रिजमा तातो र स्क्र्याच–प्रतिरोधी टेम्पर्ड ग्लास शेल्फहरु पनि छन जसले गर्दा यी फ्रिजहरुको व्यावहारिकता र फैशनेबल अपीललाई थप बढाउँछ। यसमा रहेको प्रत्येक सेल्फहरुमा १०० केजीसम्मको भार थेग्न सक्ने क्षमता रहेको छ। राइस कुकरको साथ खाना पकाउने सरलता हिताची राइस कुकर, मोडल आरजेड–ए१८एमएमडब्ल्यू हालै मात्र थपिएको हिताचीको नयाँ उत्पादन हो। यसको उत्पादन खाना पकाउने दिनचर्यालाई  अझै सहज र सजिलो  बनाउन गरिएको हो। यो ८००–वाट को राइस कुकरमा १.८ लिटर क्षमता रहेको छ र यसमा रहेको थ्रीडी हिटिङ एलेमेन्टले जुनसुकै बेला चामल पाक्ने सुनिश्चित गर्दछ। १२ घन्टासम्म खाना ताती रहने विशेषताले खानालाई दिनभर तातो र ताजा राख्छ भने १.५ मिमी नन–स्टिक भित्री भाँडोले खाना पस्किन र सरलताका साथ सफाई गर्न मदत गर्दछ। यसका सरल फंङ्सन बटनहरु, एलईडी लाइट डिस्प्ले र स्वचालित यान्त्रिक खाना पकाउने विधिले गर्दा। जसले पनि निर्बाध तरिकाले स्वादिष्ट खान पकाउन सक्छन्।
पाँच किलो अफिमसहित कोहलपुरबाट तीन जना पक्राउ नेपालगन्ज। बाँकेको कोहलपुरबाट पाँच किलो ३ सय ६८ ग्राम लागूऔषध अफिमसहित तीन जना पक्राउ परेका छन्। कोहलपुर नगरपालिका वडा नम्बर–११ बसपार्कस्थित कोहलपुर कटेज रेस्टुरेन्ट एन्ड लजको कोठा नम्बर १०६ बाट ५ किलो ३६८ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। मंगलबार साँझ जुम्ला तिला गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय हरिप्रसाद भट्टराई, ३० वर्षीय देवीप्रसाद भट्टराई र ४० वर्षीय भवानीप्रसाद भट्टराई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले ज नाएको छ। इलाका इन्चार्ज सुन्दर तिवारीका अनुसार पक्राउ परेका तीनै जनाले लागूऔषध अफिम कारोबार गरिरहेका छन् भन्ने विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ तथा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाइ पक्राउ गरेको हो।
टोखामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए काठमाडौँ। काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ। नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो। नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ। लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए। “संरचना भत्काउन पटक पटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध गरे पनि खाली नगरेपछि हटाएका हौँ”, नगरप्रमुख अधिकारीले भने। नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले पनि उपभोग गर्न नमिल्ने उनको भनाइ छ।
बैंकमा लुटपाट गर्ने २० वर्षीय भारतीय युवक पक्राउ जलेश्वर। महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते रु १५ लाख लुटेको घटनामा साफी संलग्न थिए। चार/पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए। डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए। साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो। लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ। चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु दाङ। दाङको देउखुरी लमही-३ नर्तीमा गए राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको रा४प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालया प्रहरी प्रवक्ता राजनकुमार गौतमका अनुसार सडकमा पैदल हिँडिरहेका चौधरीलाई मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । गम्भीर घाइते उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीमा राखिएको छ । मोटरसाइकल चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
निमावि शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान काठमाडौं। निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ। लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ। आयोगको यही १० साउनको निर्णयअनुसार इच्छुकले आजदेखि आवेदन दिन सक्नेछन्। आयोगका अनुसार ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर १८ भदौसम्म दिन सकिनेछ। आवेदन अनलाइनबाट दिन सकिनेछ।
आजको मौसम : मुलुकका अधिकांश स्थानमा भारी वर्षाको संभावना काठमाडाैं। हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। त्यस्तै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मनसुनको रेखा, मनसुनी वायु र न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णालीका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो पहाडी भूभागका केही स्थान, तराईका र अन्य भूभागाका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आज दिउँसो काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज राति पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सुन तस्करी प्रकरण : सोह्रखुट्टेस्थित एक घरबाट ६६ कार्टुन ‘ब्रेक शु’ बरामद काठमाडौं । राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा कार्टुन बरामद गरेको छ। बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो। भेटिएको सामान राजस्व अनुसन्धान विभागले लगेको छ। ती सामान पनि यसअघि विमानस्थलबाट जफत गरिएजस्तै शंकास्पद रहेको राजस्व विभागले जानकारी दिएको छ। तस्बिरः अमित भट्ट
कालीगण्डकीले बगायो १६ वर्षीया बालिका, खोजीकार्य जारी स्याङ्जा । कालीगण्डकी नदीमा बगेर एक बालिका बेपत्ता भएकी छन्। चापाकोट नगरपालिका–७ गाम्रेछाप बस्ने १६ वर्षीया सजनी परियार कालीगण्डकीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बुधबार बिहान ११ बजेतिर स्याङ्जा र पाल्पाको संगमस्थल रामघाट स्थित झोलुंगे पुलबाट हामफाल गरी बेपत्ता भएको खबर आएपछि प्रहरीको टोलीले खोजीकार्य जारी राखेको छ। बालिकाले लगाएको चप्पल पुल नजिकै फेला परे पनि अवस्था अज्ञात छ।
सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ काठमाडौं। सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ परेका छन्। एक क्वीन्टल सुन तस्करी प्रकरणमा दोषि रहेको ठहर गर्दै राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो। उनीबारे थप विवरण केही पनि सार्वजनिक भएको छैन। योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। यसअघि भन्सारका कर्मचारी, एजेन्टसहित १६ जनालाई विभागको टोलीले पक्राउ गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । उक्त सुन हङकङबाट ल्याइएको थियो ।
सम्पत्तिको लोभमा आफ्नै श्रीमतीको हत्या बारा। बारामा सम्पत्तिको लोभमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारत, बिहार राज्यको पूर्वी चम्पारण ढाका ग्राम पञ्चायत पोष्ट पचपकडी–१४ बस्ने ३१ वर्षीय महम्मद अमिनुल्लाले २२ वर्षीय आफ्नी श्रीमती आसमिन खातुनलाई छुरीले घाँटी रेटी हत्या गरेको निमित्त प्रहरी प्रवक्ता जयकृष्णप्रसाद कुर्मीले जानकारी दिए। सिम्रौनगढ नगरपालिका–६ बजारमा ससुरा जाहिर मियाँको घरमा तीन बच्चा, श्रीमतीसहित बस्दै आएको भए पनि पटक–पटक ससुरालीमा रहेको सम्पत्ति बिक्री गरी भारतमा जान दबाब दिँदै आएको तर श्रीमती भारत जान नमानेपछि झै–झगडा हुने गरेको प्रहरीले जनाएको छ । ससुराको छोरा नभएको हुनाले त्यो सम्पत्ति सबै आफ्नै होस् भने नियतका साथ अमिनुल्ल्लाले श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको भए पनि घटनाका बारेमा सत्यतथ्य छानविन भइरहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए। हत्या गर्ने अमिनुल्लालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक आसमिन खातुनका दुई छोरा र एक छोरी रहेका छन् ।
ललिता निवास प्रकरण : पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । सिआइबीले उनीहरूसँग अहिले बयान लिने काम जारी राखेको छ । उक्त घटनामा प्रहरीले विगत एक महिनादेखि अनुसन्धान गरिरहेको छ । कीर्ते तथा सङ्गठितरूपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वसरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत २२ जना पक्राउ परेका थिए । विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ । ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएपछि ब्यूरोले पुनः अनुसन्धान थालेको हो ।
राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सकुशल उद्धार बाँके।  बाँके जिल्लाको नरैनापुर गाउँपालिका ५ भगवानपुरघाट स्थित राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय वासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदिको वहाव बढेपछि भंगालोमा फसेका थिए। सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके र बिओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्धार सामाग्रीसहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्धार गरेको हो।
जंगली च्याउ खाँदा दुईजनाको मृत्यु मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जंगली च्याउ खाँदा मृत्यु भएको बताए। उनीहरुले गत शुक्रबार स्थानीय जंगलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ। जंगली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरुको उपचारपछि निको भएका छन्। बिरामी भएका लिला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो। “उपचारका क्रममा मंगलबार राति उमाकुमारीको अस्पतालमा नै मृत्यु भएको हो”, स्थानीय नेत्रबहादुर सारुले भने, “लिलालाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मंगलबार राति घरमा मृत्यु भएको हो।” बिरामी भएका अन्य तीनजना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएर घर फर्किएको स्थानीय सारुले बताए। गत वर्ष पनि जंगलमा पाइने विषालु च्याउ खाएर स्थानीयको मृत्यु भएको र जंगलमा पाइने विषालु च्याउ खाने चलन नरोकिएकाले बर्सेनि बिरामी हुने समस्या यथावत् रहेको स्थानीयवासी तारा पुलामीले बताइन्।
लघुवित्त पीडित र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेल (फाेटाेसहित) काठमाडाैं। लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै संसद भवन घेराउ गर्न खोज्ने केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा संसद भवन घेराउ गर्न खोज्दा केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौंको माइतिघरबाट बानेश्वरतर्फ अघि बढ्ने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा केहीबेर आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो। आन्दोलनमा सहभागीहरुले लघुवित्तका कारण आफूहरु पीडित भएको भन्दै सरकारले समस्या समाधान गर्नुपर्ने माग गरेका थिए। उनीहरुले आफ्ना माग पुरा नभए घर नफर्कने समेत बताएका छन्। नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगाएतका ५ बुँदे माग अघि सार्दे देशभरका लघुवित्त पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन्।
काठमाडौं विश्वविद्यालय र मधेस विश्वविद्यालयबीच संयुक्त रुपमा अध्यापन गराउने सहमति काठमाडौं। काठमाडौं  विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन्। काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र स्नातकोत्तर तहमा संघीय शासन तथा जनप्रशासन विषय संयुक्त रुपमा अध्यापन गराइने छ । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा थापाले मधेस प्रदेश सरकारद्वारा गत वर्ष स्थापित मधेस विश्वविद्यालयसँगको सहकार्यले मधेस प्रदेशमा उच्च शिक्षाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। मधेस विश्वविद्यालयका उपकुलपति डा शाक्यले स्थापनाको पहिलो वर्षमै काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यले आगामी दिनमा मधेस विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिनका लागि थप प्रेरित गर्ने बताए। काठमाडौं विश्वविद्यालयले यस अघि गण्डकी र लुम्बिनी बौद्ध विश्वविद्यालयसँग पनि संयुक्त रुपमा अध्यापनका लागि सहकार्य गरिसकेको छ। काठमाडौं विश्वविद्यालय अष्ट्रेलियाको वेष्टर्न सिड्नी विश्वविद्यालय, अमेरिकाको जर्ज मेसन विश्वविद्यालय र भारतको आइआइटी मद्राससँग समेत सहकार्य गरिसकेको छ। सम्झौताअनुसार विद्यार्थीले स्नातकोत्तर तहमा तीन सेमेष्टर भर्ना भएको विश्वविद्यालय र र बाँकी एक सेमेष्टर सम्बन्धित विश्वविद्यालयमा अध्ययन गर्न सक्नेछन्। यसका लागि दुवै विश्वविद्यालयले पाठ्यक्रम निर्माणदेखि अन्य विषय आपसी सहमतिमा तय गर्ने सहमति गरेका छन् । यसैगरी विद्यार्थीको प्रमाणपत्रमा दुवै विश्वविद्यालयको छाप रहने र विद्यार्थीले दुवै विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुपर्नेछ । यसबाट विद्यार्थीले विश्वस्तरीय शिक्षा प्राप्त गर्नाका साथै कम शुल्कमा विदेशी विश्वविद्यालयमा अध्ययन गर्न पाउने काठमाडौँ विश्वविद्यालयको भनाइ छ ।
उद्धार गरिएको मलाहा हुचिल डिभिजन वन कार्यालय गाईघाटमा बुझाइयो (भिडियोसहित) उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका ७ गोरेटोलाइनबाट उद्धार गरिएको लाटोकोसेरा प्रजातिको संरक्षित पक्षी मलाहा हुचिल डिभिजन वन कार्यालय गाईघाटलाइ बुझाइएको छ । स्थानीय वसन्तपंचमी सामुदायिक वन उपभोक्ता समितिका सह–सचिव समेत रहेका सुनिल राइले गोरेटो लाइनमा घाइते अवस्थामा फेलापार्नु भएको संरक्षित पंक्षी मलाहा हुचिल बुधवार वन कार्यालयलाई बुझाइएको हो । अवैध ढङ्गले बिक्रीवितरण हुने गरेको उक्त पंक्षी अन्य कसैले भेटेको भए बिक्रि गर्न सक्ने भएको हुदा यस्ता संरक्षित पंक्षी वन कार्यालयलाइ बुझाउन उचित ठानेकोले आफुले डिभिजन वन कार्यालय बेल्टारमा सम्पर्क गरेर बुझाएको सुनिल राइले बताएका छन्। मलाहा हुचिलको प्राकृतिक वासस्थान नै जङ्गल हो । करिब ६० वर्ष आयु हुने मलाहा हुचिल तीन केजीभन्दा माथि भयो भने खुट्टाका नङ्ग्राले सिसा काट्न सक्ने र पाँच केजी तौल नाघेपछि यसलाई छुँदा करेन्ट लाग्ने सोधकर्ताहरु बताउँछन् । लाटकोसेरो प्रजातिको मलाहा हुचिलको सङ्ख्या वर्षेनी घट्ने क्रममा रहेको जनाइको छ । हेर्नुहोस् भिडियो:
स्रोत नखुलेको रकमसहित ४७ वर्षीय गुप्ता पक्राउ कपिलवस्तु। स्रोत नखुलेको रकमसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका-१ स्थित नयाँ टोल डेरा गरी बस्ने ४७ वर्षीय सुनिल कुमार गुप्ता रहेका छन्। गुप्तालाई स्रोत नखुलेको विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रूपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारतीय रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो। उनले अवैध रूपमा भारतीय रूपैयाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई लुकाई छिपाई राखेको उक्त रकमसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सानो उमेरमा बाद्यवादनमा सौख, संगीतमा भविष्य खोज्दै पाल्पा। संगीत भावना हो, मनभित्रको लय र माधुर्यता हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ । यस्तै सङ्गीतको धुनमा डुबुल्की मार्न पुगेका छन्, पाल्पाको रामपुरका अनुप काफ्ले। उनी १५ वर्षको भए। उनलाई बाद्यवादन एक किसिमको नशाजस्तै बनेको छ । विद्यालयबाट घर फर्केपछि गृहकार्य सकाएर बाजा बजाउने र गीतअनुसारका नयाँ–नयाँ ताल सिक्ने गर्छन्। चार वर्षदेखि काफ्लेको दैनिकी यसरी नै बितिरहेको छ । उनको घर अहिले बाद्यवादन सिक्ने थलो नै बनेको छ। काफ्लले आफूले जानेको सीप अन्य साथीहरूलाई पनि सिकाउँछन्। घर नै संगीतको मीठो धुनले गुञ्जयमान छ । “संगीत नभई बस्न सकिँदैन, घरमा बसेर विभिन्न ताल सिक्ने र यसमै आनन्द लिने गरिरहेको छु”, काफ्लले भने, “घरमा बाजा पर्याप्त छन्, स्कुलमा सँगै पढ्ने तथा गाउँका साथी घरमै आउँछन्, उनीहरूलाई आफूले जानेको सिकाउने गरेको छु ।” गाउँघरमा हुने भजनकीर्तन र महायज्ञबाट प्रभावित भएर घरमा मादल बजाउन सुरु गरेका काफ्लेले क्रमशः सारङ्गी, तबला, ढोलक, हार्मोनियम र अक्टोप्याड बजाउन सिकेका हुन्। अहिले उनी गाउँमा आयोजना गरिने महायज्ञ, भजनकीर्तन, धार्मिककार्यलगायतमा सहभागी भइ बाद्यवादनको काम गर्छन्। घरमा रहेका विभिन्न थरिका बाजा बजाउन थालेपछि छुट्टै आनन्दको अनुभूति हुने गरेको काफ्ले बताउँछन्। “विद्यालय समयबाहेक साँझ–बिहान घरमा बसेर सिक्ने गरिरहेको छु, अहिले गाउँका महायज्ञ, भजनकीर्तनजस्ता धार्मिक कार्यमा बोलाउनुहुन्छ, यस क्षेत्रमा धेरै आनन्द लागिरहेको छ”, उनले भने। भजनकीर्तन र महायज्ञमा सहभागी भई आर्जन गरेको रकमले आवश्यक बाद्यवादनका सामग्री खरिद गर्ने गरेको काफ्ले बताउँछन्। धार्मिक कार्यमा सहभागी भएवापत उनले छ घन्टाको समय बाद्यवादनमा खटिएवापत रु पाँच हजारसम्म रकम बुझ्छन्। भविष्यमा राम्रो सङ्गीतकार बन्ने काफ्लले लक्ष्य छ । घरमा बुवाआमाको राम्रो साथ सहयोग पाउनुभएका काफ्लेले एसइई परीक्षा उत्तीर्णपश्चात संगीत र संस्कृत शिक्षा पढ्ने योजना बनाएका छन्। यसैगरी काफ्लेको जस्तै रामपुरकै विष्णु पोखरेलको पनि सङ्गीतमा औधी रुचि छ । घरमा काका ऋषि पोखरेलबाट मादल बजाउन सिकेका १४ वर्षीय पोखरेललाई यतिबेला बाद्यवादनप्रति प्रेम नै बसेको छ । मादल, हार्मोनियम र गीतारमा उाले राम्रो ताल भर्छन्। पोखरेललाई यसका अलवा अन्य बाजाको मोह उत्तिकै छ । विद्यालय बिदाको समय अहिले उहाँ अन्य बाजा बजाउन सिकिरहेका छन्। पोखरेल भन्छन्, “सिक्न थालेपछि संगीतबिना एकछिन बस्नै सकिँदैन, विद्यालय समयबाहेक घरमा बाजासँगै समय बिताउने गरेको छु, विद्यालयमा संगीत कक्षा भएको भए सिक्न धेरै सजिलो हुन्थ्यो, तैपनि घरमा भएका तथा साथीसँग भएका बाद्यवादनका सामग्रीलाई आलोपालो गरेर सिक्दै छु ।” पोखरेलको घरमा हार्मोनियम, मादल, खैजडी, सारङ्गी, बाँसुरी, गितारलगायत बाजा छन् । साँझ–बिहान यी बाजाका धुनले घर गुञ्जायनमा बन्दछ । भविष्यमा बाद्यवादनको क्षेत्रमा राम्रो गर्ने उनको सोच छ । पोखरेल यस क्षेत्रमा चार वर्षदेखि समर्पित छन् । यस्तै रामपुरकै शौरभबाबु घिमिरे पनि तीन वर्षदेखि संगीतमै रमाएका छन्। घरमा विस्तारै मादल बजाउन सिकेका उनले आफ्ना साथीसँग यससम्बन्धी ज्ञान आर्जन गरिरहेका छन्। पढाइ नबिग्रने गरी आफूलाई मनपर्ने बाजा साथीको घरमा गएर बजाउन सिक्ने गरेको घिमिरे बताउँछन् । पन्ध्र वर्षीय घिमिरेलाई बाद्यवादनप्रति निकै मोह छ। मादल, किबोर्ड र गितारका धुनमा उनी खाली समय बिताउँछन्। सङ्गीतको क्षेत्रमा केही गर्ने मनसाय बोकेर बाद्यवादनलाई निखारता दिन यससम्बन्धी इन्टरनेटलगायतका विभिन्न माध्यममा आवश्यक ज्ञानका कुरा घिमिरेले अध्ययन गर्छन्। अहिले अक्टोप्याड, हार्मोनियमलगायत बाजामा उनी ताल भर्न सिक्दै छन्। “घरमा अभिभावकले महत्व दिएर बाद्यवादनका सामग्री खरिदमा सहयोग गर्नुभएको छ, यसले झन् यही क्षेत्रमा केही गर्छु भन्ने उत्साह थपिएको छ, परिवारको सहयोग पाएकाले बाद्यवादन क्षेत्रमै नाम कमाउने धोको छ”, उनले भने। संगीतले हरेक उमेरका व्यक्तिलाई तान्ने गर्दछ । मानिसमा भएका तनाव, पिर, दुःख, बोझलाई सङ्गीतको धुनले भुलाइदिएको हुन्छ। साहित्य र सङ्गीतका अनेकौँ रूप छन् । शब्दको संगमबाट मर्मस्पर्शी गीत सिर्जित हुन्छ र सात सुर तथा सरगमको सङ्गमबाट सुमधुर संगीत प्रवाहित हुन्छ । गीत–सङ्गीत–साहित्य मानव जीवनको प्राण नै हो । मानव मनभित्र पनि एक किसिमको सङ्गीत पैदा भएर तरङ्गित भइरहेको हुन्छ । रामपुरकै अन्जन काफ्ले शारीरिक व्यायाम हुने, मानसिक सन्तुलन राम्रो हुँदै जाने, अल्छीपन हट्ने, तनाव हटेर जाने तथा फुर्सदको समयको राम्रोसित सदुपयोग भएको बताउँछन्। बाह्र वर्षीय काफ्ले पाँचदेखि सात जनाको समूहमा विद्यालय समयबाहेक अन्य समय मिलाएर घरमा संगीत सिक्ने गरेको बताउँछन्। उनी घरमा बुवा र दाजुबाट सीप सिकेर तीन वर्षयता संगीतमा गीतअनुसारको ताल निरन्तर सिकिरहेका छन्। सानो उमेरमा पनि बाद्यवादनको क्षेत्रमा काफ्लेको सौख बढेको छ । सङ्गीतका अलवा उहाँलाई चित्र कोर्न र फुटबल खेल्न औधी रुचि छ । कोरोना महामारीका बेला विद्यालय बन्द हुँदा काफ्लेले संगीत सिक्न थालेका हुन्। रामपुर नगरपालिकाभित्र बाद्यवादनसम्बन्धी कक्षा नभएकाले धेरै यस क्षेत्रमा रुचि भएर पनि सीप सिक्नबाट बञ्चित छन्। एक स्थानीय तहमा एउटा विद्यालयमा संगीत सम्बन्धी कक्षा सञ्चालन गर्न यस क्षेत्रमा भविष्य बुन्दै गरेका बालबालिका तथा किशोर किशोरीको माग छ । खासगरी मानिसको प्रत्येक समयको अनुभूतले मनमा त्यस्तै किसिमको संगीत पैदा भइरहेको हुन्छ । दुःख, सुख, हाँसो, आँसु सबै किसिमको संवेग तथा परिस्थितिमा त्यसैमा मेल खाने सङ्गीतको झन्कार मनमा झङ्कृत भइरहेको हुन्छ । त्यसै समयमा मनभित्रको धुनसँग मिल्दोजुल्दो बाहिरी सङ्गीत सुन्न पाइयो भने त्यसले अझै सार्थकता पाउँछ र गहिरोसँग संगीतले हृदयमा छाप छोड्छ । त्यही बाहिरी सङ्गीत अथवा धुन कालान्तरमा गएर अतितको स्मरणमा सहयोगी सावित हुन्छ ।
आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ बारा। श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। आफ्नै श्रीमती २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी-१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई प्रहरीले पक्राउ गरेको हो। सिम्रौनगढ नगरपालिका-६ बयलहट्टी बजारस्थित माईती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले माईती घरमा आएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। साथै अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएकोमा उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु देउखुरी। दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्यांकानुसार जिल्लामा डुबेर मृत्यु हुनेको सङ्ख्या दुई सय २८ रहेको छ। यसमा एक सय ७४ पुरुष र ५४ महिला छन्। डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाअन्तर्गत छन्। तथ्यांकानुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१, तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२, गढवाका १६ जनाको मृत्यु भएको छ। यसैगरी बबईका नौ, दंगीशरणका आठ, शान्तिनगर र राजपुरका समान पाँच–पाँच, बंगलाचुलीका तीन तथा जिल्ला बाहिरका १६ व्यक्तिको डुबेर मृत्यु भएको छ। जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार जिल्लामा आव २०७९/८० मा ४५ जनाको जिल्लाका विभिन्न स्थानमा डुबेर मृत्यु भएको छ। आव २०७८/७९ मा ६३ जना, आव २०७७/७८ मा ५५, आव २०७६/७७ मा ३७ र आव २०७५/७६ मा २९ जनाको डुबेर मृत्यु भएको तथ्यांक छ। डुबेर ज्यान गुमाउनेमा २० वर्षमुनिका ८५ जना रहेका छन्। प्रमुख जिल्ला अधिकारी वैद्यले १३ महिनाकी शिशुदेखि ८० वर्षमा वृद्धसम्मका रहेका जानकारी दिए। घोराही–९ की १३ महिनाकी शिशुको २०७८ फागुन २२ गते घर अगाडि राखेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको थियो भने बंगलाचुली गाउँपालिका वडा नं ७ का ८० वर्षीय दयाराम बुढामगरको २०७९ असोज २१ गते खोला तर्ने क्रममा चिप्लेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङले डुबेर भएका मृत्युमध्ये अधिकांश लापरवाहीका कारण भएको जनाएको छ। पानीसँगको खेलवाड गर्दा कतिपय घटना बगाएर, कतिपय घटना पौडिन नजान्दा तथा कतिपय घटना भवितव्यका कारण भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए। “केही घटना पानीमा हामफालेर आत्महत्या गरेका पनि छन् तर अधिकांश डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापरवाहीका कारण भएको देखिएको छ”, उनले भने, “पानी र आगोसँग कहिले खेलवाड गर्नु हुँदैन भन्ने जान्दाजान्दै केही हुँदैन भनेर आफैँले ज्यान गुमाएको अवस्था छ।” जिल्लाको भौगोलिक अवस्था तथा वर्षाका समयमा सावधानी नअपनाउँदा पनि बगाएर वा डुबेर मृत्यु भएका जिल्ला प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए। साथीभाइसँग लहैलहैमा लागेर खोला नदीमा गएर नुहाउन खोज्दा धेरैजसो युवाले पौडिन नजानेरै ज्यान गुमाएका छन्। उनले भने, “डुबेर अकालमा ज्यान गुमाउने युवाको सङ्ख्या जिल्लामा धेरै छ। युवा जोश देखाउँदै लापरवाहीले नै अन्तिममा ज्यान फाल्न बाध्य भएका घटना छन्।” खोलानाला तर्दा होस् या पानीको काम गर्दा निकै सावधानी अपनाउनुपर्ने प्रहरीको भनाइ छ।
सिन्धुलीका आठ पालिकामा अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै स्थानीय सिन्धुली। स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन्। संघीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो। मरिण गाउँपालिका–७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि मङ्गलबार शिलान्यास गरिएको छ। सांसद लेखनाथ दाहालले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरे। आगामी आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा सक्ने गरी स्काइ विल्डर्स प्रालि नयाँबानेश्वर, काठमाडौँले भवन निर्माणको जिम्मा लिएको छ । निर्माण कम्पनीले २०७९ पुस २५ गते अस्पताल भवन निर्माण सम्झौता गरेको थियो । रु १६ करोड ७१ लाख ५८ हजारको लागतमा निर्माण हुने भवन तीन तलाको हुनेछ । उक्त लागत बजेट संघीय सरकारले उपलब्ध गराएको हो । चार हजार सात सय ४० दशमलव ८४ वर्गमिटर क्षेत्रफलमा अस्पताल निर्माण कार्य अगाडि बढेको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताए। सात वडा रहेको मरिणमा छ सामुदायिक स्वास्थ्य एकाइ, दुई स्वास्थ्यचौकी, एक–एक प्रथामिक स्वास्थ्य केन्द्र र आयुर्वेदिक औषधालय छन् । मरिण–६ छापस्थित पाँच शय्याको अस्पताल भवनबाट १५ शय्याकै स्वास्थ्य सेवा कठिनपूर्वक प्रदान हुँदै आएको थियो । अब १५ शय्याकै अस्पताल भवन निर्माण हुने भएपछि मरिणवासीले स्वास्थ्य सेवा सहजरूपमा पाउने मरिण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले बताए। यसैगरी जग्गा विवादका कारण दुई वर्षदेखि १५ शय्याको अस्पताल भवन निर्माणको काम रोकिएको सुनकोशी गाउँपालिकामा अहिले निर्माण प्रक्रिया अगाडि बढेको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश झाले जानकारी दिए। सात वडा रहेको सुनकोशीमा ११ स्वास्थ्य संस्था छन् । अब दुई सामुदायिक स्वास्थ्य एकाइ थप गर्नुका साथै १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरी सेवा विस्तार गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाउन खोजिएको उनले बताए। यसैगरी गोलञ्जोर गाउँपालिकामा पनि यस वर्ष आधारभूत अस्पताल निर्माणका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भएपछि कार्यपालिकाको बैठकपछि निर्माण प्रक्रिया अगाडि बढाइने स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र पैकराले जानकारी दिए। फिक्कल गाउँपालिका–३ चनौटेमा १० शय्याको अस्पताल भवन निर्माणाधीन छ । दुई वर्षअघि निर्माण सुरु भएको उक्त भवनको ८० प्रतिशत काम सकिएको स्वास्थ्य शाखा प्रमुख लेखनाथ फुँयालले बताए। निर्माणको काम सम्पन्न गर्न यस वर्ष रु ९० लाख बजेट थप भएर आएको उनले सुनाए। ६ वडा रहेको फिक्कलमा छ स्वास्थ्यचौकी र १० सामुदायिक स्वास्थ्य एकाइ छन् । हालसम्म उक्त गाउँपालिकामा दक्ष चिकित्सकसहितको अस्पताल नहुँदा बिरामीले भरपर्दो उपचारका लागि अन्यत्र धाउनु परिरहेको छ । यसैगरी हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरमा १५ शय्याको आधारभूत अस्पताल निर्माणाधीन छ । सिर्नजी राजदेवी भक्त आरपी जेभीले निर्माणको जिम्मा लिएको छ । आठ वडा रहेको हरिहरपुरगढीमा चार स्वास्थ्यचौकी, पाँच सामुदायिक स्वास्थ्य एकाइ र चार आधारभूत केन्द्र छन् । यी नामका मात्रै स्वास्थ्य संस्था छन् । राम्रो उपचार गर्न बिरामीलाई अस्पताल खोज्दै अन्यत्र जानुपर्ने अवस्था छ । पालिकाले आफ्ना नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन १५ शय्याको अस्पताल बनाउन सुरु गरेको छ। दुधौली नगरपालिका–५ सिर्थौलीमा १५ शय्याको अस्पताल निर्माणाधीन छ। अस्पताल निर्माणकार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डलले बताए। “अस्पताल भवन निर्माण पूरा गरेर अबको एक महिनाभित्र सञ्चालनमा ल्याउने योजना छ”, उनले भने। सङ्घीय सरकारको रु १६ करोड लागतमा अस्पताल निर्माण भइरहेको छ । यहाँ हाल १६ स्वास्थ्य संस्थामार्फत सेवा प्रदान गरिँदै आएको छ । तर भरपर्दो सेवा नहुँदा बिरामीले अन्यत्र धाउनुपर्ने बाध्यता छ । घ्याङलेख गाउँपालिका–३ सोलाभञ्याङमा डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन । जग्गा विवादका कारण रोकिएको निर्माणकार्य चाँडै सुल्झाएर निर्माण अगाडि बढाइने पालिकाले जनाएको छ । पाँच वडा रहेको दुर्गम पालिकामा पाँच स्वास्थ्यचौकी र पाँच सामुदायिक स्वास्थ्य एकाइ छन् । पन्ध्र शय्याको अस्पताल निर्माण भएर प्रभावकारीरूपमा सञ्चालनमा आए सामान्य बिरामी हुँदा पनि सदरमुकाम धाउन नपर्ने स्थानीयवासी बताउँछन् । सिन्धुलीकै सबैभन्दा ठूलो सिन्धुली अस्पताल जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकामा छ । यहाँ सात स्वस्थ्यचौकी र नौ आभारभूत स्वास्थ्य केन्द्र छन् । जिल्लामा सञ्चालनमा रहेकै अस्पताल तथा स्वास्थ्य संस्थाले पनि सहजरूपमा गुणस्तरीय सेवा दिन सकेका छैनन् । सामान्य बिरामी हुँदासमेत अन्य सहरका स्वास्थ्य संस्था तथा अस्पताल धाउनुपरेको स्थानीयवासीको गुनासो छ । सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्था आवश्यकताअनुरुको बजेट, पर्याप्त दक्ष जनशक्ति तथा औषधि र उपकरणको अभावैअभावमा जेलिएका छन्। भवन बनाएर मात्र स्वास्थ्य सेवा उपलब्ध नहुने स्थानीयको गुनासो छ ।
मोटरसाइकल दुर्घटनामा अनुसन्धान निरीक्षक साहको मृत्यु सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागका निरीक्षकको मृत्यु भएको छ। फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका–६ बयलवास घर भएका अनुसन्धान निरीक्षक २९ वर्षीय वसन्त साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। राष्ट्रिय अनुसन्धान कार्यालय मलङ्गवामा कार्यरत अनुसन्धान निरीक्षक साह मंगलबार कार्यालयको काम सकेर घर आउँदै गर्दा दुर्घटनामा परेका हुन्। उनको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिनुभयो ।
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना काठमाडौं। हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बांकी पहाडी भु-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाकी भू-भागका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। तसर्थ यसकारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला खलङ्गा । दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ । जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार अन्दाजी १५ वर्षकी बालिका सडेको अवस्थामा शव मङ्गलबार दिउँसो फेला परेको हो । बालिकाको शवलाई भारतीय नागरिकले देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान गर्न अहिले सुन्सेरा प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र सिंह कार्कीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुर केसी बर्खास्त काठमाडौं । गृहमन्त्रालयले डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गरेको छ । ३५ तोला सुनसहित पक्राउ परेका डिएसपी केसी बर्खास्त गरेको हो । मन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी उनलाई बर्खास्त गरेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको छ । ‘उहाँलाई बर्खास्त गरेको पत्र प्रहरी प्रधानकार्यालयमा आएको छ’, प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले भने । प्रहरी प्रधान कार्यालयले डीएसपी केसीलाई जागिरबाटै हटाउन गृह मन्त्रालयमा सिफारिस गरेको थियो । यसअघि केसीविरुद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो । छानबिनका क्रममा डीएसपी केसीले गम्भीर गल्ती गरेको देखिएपछि बर्खास्तका लागि सिफारिस गरेको थियो । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत डिएसपी गत पुस ११ गते डीएसपी केसी ३५ तोला सुनसहित पक्राउ परेका थिए । सो विषयमा तत्कालिन एसएसपी चन्द्रकुवेर खापुंगको नेतृत्वमा छानविन समिति बनाइएर प्रहरी प्रधानकार्यालयले अनुसन्धान गरेको थियो । समितिले केसीले गम्भीर गल्ती गरेको निस्कर्षसहित निकालेको थियो । प्रहरी प्रधानकार्यालयको सिफारिसमा बर्खास्तमा परेका उनी दोस्रो डिएसपी हुन यसअघि रुपकुमार न्यौपाने बर्खास्तमा परेका थिए ।
null
ज्येष्ठ नागरिक भन्छन्- भत्ता नै बुढेसकालको सहारा तनहुँ। “कान्छो छोरा अमृत चितौन बस्छ, सधैँ उतै बस्न जाम आमा भनेर हत्ते गर्‍यो र गएँ पनि,” भानु नगरपालिका–१३ पोखरी छापकी ७२ वर्षीया धनमाया गुरुङले भनिन्, “तर झलझली गाउँको हावापानी सम्झिएँ, बस्नै सकिन र मेरै भत्ताले पालिन्छु भनेर गाउँ फर्किएँ ।” भानु नगरपालिका–१३ को कार्यालयमा ज्येष्ठ नागरिक भत्ता नवीकरण गर्न स्वयं उपस्थित हुने क्रममा धनमायाले दुईवर्ष पहिलेको अनुभव सुनाएकी हुन्। उनीजस्तै अन्य ज्येष्ठ नागरिकले समेत ज्येष्ठ नागरिक भत्ता आफूहरुको बुढेसकालको दिगो सहारा भएको बताए । छोरासँगै बस्न भनेर दुई वर्ष पहिले भरतपुर गए पनि एक महिना बस्दैमा आत्तिएर गाउँ फर्किएको धनमायाको अनुभव छ । प्रचण्ड गर्मी र पानीको नमिठो स्वादले अत्तिएर गाउँ फर्किएको उनले जानकारी दिइन्। “रातभरी पङ्खा लगाए पनि बानी नपरेकाले चितवनमा तातो हावाले गर्दा सुत्नै नसकेर खुबै आत्तिए,’ धनमायाले भनिन्, “गाउँमा भने पङ्खा नै चाहिदैन । अहिले पनि कम्बल ओडेर सुत्ने गर्छौँ ।” म्याग्दे गाउँपालिका–६ की ७३ वर्षीया राममाया परियारले आफ्ना तीन छोराले बेवास्ता गरेपछि आफू राज्यले दिने भत्ताकै भरमा एक्लै बस्दै आएको गुनासो गरिन्। उनको श्रीमान् तिलबहादुरको ७५ वर्षको उमेरमा दुई वर्ष पहिले मृत्यु भएको थियोे । विवाह भइसकेका तीन छोरीले आफूहरुसँग बस्न भनेपनि एक्लै बसेर बाँकी जीवान धानेको परियारको भनाइ थियो। ‘श्रीमान् खसेपछि छोराहरुले वास्ता नै गरेनन् । छोरीहरुले हामी पाल्छौँ भनेर हत्ते गरेपनि बुढाको चिनो घर छाड्न मनले मानेन,’ उनले भनिन्, “त्यसैले भत्ताकै भरमा धानिँदै आएकी छु ।” आफू र श्रीमती शिरमायालाई ज्येष्ठ नागरिक भत्ताले ठूलो राहत मिलेको म्याग्दे गाउँपालिका–४ का ७६ वर्षीय नरबहादुर थापामगरले बताए। दुई छोराले थर्पु बेँसीमा घर बनाएर बसेपनि आफूहरुले मूल घर नछाडेको उनले जानकारी दिए। “भत्ताले गर्दा बुढाबुढीले भनेजस्तो खाएकै छौँ । मन परेको लाएकै छौंँ ” नरबहादुरले भने, “हामी बुढाबुढीलाई भत्ता नै ठूलो सहारा भएको छ ।” म्याग्दे–४ थर्पुस्थित ज्योति विकास बैंकमा सोमबार भेटिएका नरबहादुर दम्पत्तिले राज्यले भत्ता नदिए जीवन धान्न सास्ती पर्नेसमेत बताए। घरबाट करिब एक घण्टाको बाटो सवारीसाधनमा आउनुपर्दा आफूहरुलाई सास्ती भएको र राज्यले ज्येष्ठ नागरिक र अशक्तलाई घरमै पुगेर रकम दिने व्यवस्था गर्नुपर्नेमा नरबहादुरले जोड दिए। आफूले पाउँदै आएको भत्ता रकमसमेत घरखर्च र परिवारको औषधि उपचारमा खर्च गर्दै आएको म्याग्दे– २ थुम्कीबाट भत्ता लिन बैंकमा आएकी ७३ बर्षीया जुठी कामीको भनाइ थियो । दुई छोरीको विवाह भइसकेको र एक छोरा ५७ बर्षीय धनसिं रोगी भएको जुठीले बताइन्। “यो पैसा निकालेपछि भोलि नै छोरालाई लिएर जचाउन पोखरा जाने विचारमा छु,’ श्रीमान् तिलबहादुरको १०÷११ वर्ष पहिले मृत्यु भएको बताउँदै उनले भनिन्, “भत्ता रकम नपाइदो हो त हामी गरिब त्यसै मर्ने थियौंँ । यही रकमले औषध उपचार पनि गर्न पाईएको छ ।” राज्यले दिने भत्ता रकम गाउँ घरमै दिने व्यवस्था गरे आफूहरुले घण्टौँ हिँडेर आउन नपर्ने जुठीले बताइन्। राज्यले ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक रु चार हजार , ६० वर्ष उमेर कटेका दलित ज्येष्ठ नागरिक र कर्णाली प्रदेशकालाई मासिक रु दुई हजार छ सय ६०, एकल महिला र विधुवालाई मासिक रु दुई हजार ६६०, पूर्ण अपाङ्गता भएकालाई मासिक रु तीन हजार नौ सय ९०, अतिअशक्त अपाङ्गता भएकालाई रु दुई हजार एक सय २८ र लोपोन्मुख आदिवासी जनजातिलाई मासिक रु तीन हजार नौ सय ९० र दलित बालबालिकालाई मासिक रु पाँच सय ३२ राज्यले उपलव्ध गराउँदै आएको छ । प्रत्येक तीन महिनामा राज्यले बैंकमा भत्ता रकम उपलव्ध गराउने गर्दछ । सामाजिक सुरक्षाभत्ता वितरण कार्यविधिअनुसार साउन महिनामा नवीकरण गरिसक्नुपर्ने गरी राज्यले सूचना प्रवाह गरिसकेको स्थानीय पालिकाहरुले जनाए ।रासस
प्रहरी इन्चार्ज मृत फेला बागलुङ। बागलुङको इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक उज्ज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका– ६ स्थित आशा होटेल एन्ड खाजाघरको तल्लो तलामा सोमबार राति इन्चार्ज पौडेल मृत फेला परेका हुन् । जनप्रतिनिधिमार्फत जानकारी पाएपछि सोमबार रति २ बजे चौकी बुर्तिवाङको टोली घटनास्थल पुगेका थियो। मध्यराति १२ बजेतिर होटेल सञ्चालकले जनप्रतिनिधिलाई पौडेल मृत फेला परेको जानकारी गराएपछि प्रहरीलाई खबर पुगेको थियो । प्रहरीले होटेल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ट्याक्सी दुर्घटनामा एकको मृत्यु, १३ घाइते पाँचथर। पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्। मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिमतर्फ आउँदै गरेको मे१ज १९४१ नंको ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो। दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए। दुर्घटनामा इलामको दानाबारीका २६ वर्षीय अर्जुन विक, ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ का २३ वर्षीय बुद्धहाङ लिम्बू, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका २६ वर्षीया इसेटिमा शेर्पा, पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरका २५ वर्षीय रोषन श्रेष्ठ, सोही स्थानका २३ वर्षीय भुपेन्द्र श्रेष्ठर र ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ फावाखोलाका ३० वर्षीय सरोज मादेन घाइते भएका छन्। यसैगरी दुर्घटनामा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ का २४ वर्षीय अजय लिम्बू, इलामको देउमाई नगरपालिका सिद्धिथुम्काकी १४ वर्षीया निरुता रम्तेल, कालीकोटका २२ वर्षीय सुमन खड्का, काठमाडौँको बल्खुकी २० वर्षीया मीना लिम्बू, पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका ३५ वर्षीय राम नेम्बाङ, पाँचथरको फिदिम नगरपालिका–१० याङनामकी ४० वर्षीया सविना बिक र सोही स्थानकी पाँच वर्षीया पुस्तिका विक घाइते भएका छन्। घाइतेमध्ये मीना र सविनालाई थप उपचारका लागि झापा लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रभावकारी बन्दै ‘पढ्दै कमाउँदै कार्यक्रम’, विद्यार्थी तथा अभिभावक आकर्षित पोखरा। अधिकांश सामुदायिक विद्यालयमा वर्षे बिदा भए पनि जानकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सावित्री नेपाली भने स्कुल आउन छोडेकी छैनन्। विद्यालयले बिदामा पनि पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका विभिन्न सामग्री बनाउने सीप सिकाउने भएकाले उहाँ विद्यालय आइरहेकी छिन्। “खेतीको मौसम छ, विद्यालय पनि बन्द छ, काममा सहयोग गरिदिएहुन्थ्यो भनेर अभिभावकले आशा गर्नु स्वभाविकै हो”, सावित्री नेपालीले भनिन्, “पढाइसँंगै सीप सिकेर भविष्यको आधार बनाउने इच्छा गरेपछि आमाबुबाले मलाई  विद्यालय जान सहयोग गर्दै आउनुभएको छ ।” चक्कुको सहयोगले बाँसका चोया काट्ने क्रममा धेरै सुरुआती दिनमा पटक–पटक हात काट्दा त काम नगरौँ कि भन्ने पनि लाग्थ्यो रे उनलाई । तर सीप सिक्दै जाँदा अहिले पढाइसँगै बाँसका सामग्री बनाउने काम गर्न उत्साह बढेर आएको उनको भनाइ छ । सावित्री नेपालीसँगै सीप सिक्दै आएका पोखरा– १५ अमिनतराका सुभाष विश्वकर्मालाई आफूले बुनेका बाँसका सामग्री विद्यालयले मायाको चिनो भन्दै कोसेलीका रुपमा प्रयोग गरेको देख्दा भने आफूलाई निकै खुसी लागेको अनुभव सुनाए। विद्यालयमा मात्र होइन घरमा पनि बाँसका सामग्री बनाउने गरेको र यसमा अभिभावकको पनि सहयोग भएको उनको भनाइ छ । कक्षा १० मा अध्ययनरत विश्वकर्माले आफूहरूको समूहले पछिल्ला दिन सामूहिक रुपमा व्यवसाय गर्ने सोच समेत बनाउने जानकारी दिए। नेपाली र विश्वकर्मा त प्रतिनिधि पात्र मात्रै हुन्। विद्यालयले बर्षे बिदामा सञ्चालन गरेको उक्त सीपमूलक तालिममा यतिखेर कक्षा ९ र १० मा अध्ययनरत २० जना छात्रछात्राले लाभ लिएका छन्। बाँसका सामग्री निर्माणसँगै विभिन्न स्थानमा हुने मेला महोत्सवमा पनि स्टल राख्न पाउँदा खुसी लाग्ने गरेको विद्यार्थीहरुको भनाइ छ। विद्यालयको वार्षिकोत्सवमा बाँसका सामग्री निर्माण गर्ने विद्यार्थीलाई नगद वितरण गरिएको थियो । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित पर्वतीय महोत्सवमा राखिएको विद्यालयको बाँसको सामग्रीको कक्ष सबैका लागि आकर्षक बनेको विद्यालयका सहायक प्रधानाध्यापक एवम् तालिमका प्रशिक्षक कमलप्रसाद आचार्यले जानकारी दिए। सो अवसरमा विद्यालयले सामग्री बिक्री गरे रु १८ हजार आम्दानी गर्न सफल भएको थियो । उनका अनुसार विद्यार्थीले बाँस, करौती, चक्कु, कैची जस्ता घरेलु साधन प्रयोग गरेर घरयासी एवम् होटलमा प्रयोग गर्ने कमल होल्डर, मन्दिर, ट्स्यु पेपर बक्स, फोटो फ्रेमलगायतका आकर्षक सजावटका सामग्री तयार गर्दै आएका छन्। बिदाको समयमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सीप विकास तालिम सञ्चालन गर्दै आएको बताउँदै उनले आफूले सिकेको सीप विद्यार्थीलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए। विद्यालयले दुई वर्षअघिदेखि उक्त तालिम सञ्चालन गर्दै आएको हो। पोखरा महानगरपालिका–१७ का वडाअध्यक्ष राधिका शाही योगीले विद्यालयले  यसवर्ष सञ्चालन गर्ने बाँसका सामग्री बनाउने तालिमको आज एक समारोहकाबीच उद्घाटन गर्दै विद्यार्थीलाई पढाइसँगै जीविकोपार्जनमा सहयोग पुग्ने यस्ता सीपमूलक कार्यक्रमका लागि वडास्तरबाट आवश्यक आर्थिक सहयोग गर्ने बताइन्। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसलाका लागि वडामा हुने औपचारिक कार्यक्रममा विद्यार्थीद्वारा उत्पादित बाँसका सामग्री उपहारमा प्रयोग गर्ने थप बजारिकरणमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो । प्रधानाध्यापक अर्जुन कँडेलका अनुसार विद्यालयले पढ्दै कमाउँदै अन्तर्गत सञ्चालित बाँसका सामग्री बनाउने कार्यक्रम प्रभावकारी बन्दै गएको छ। साथै  कास्की जिल्लामा प्राविधिक विषय अन्तर्गत पहिलो पटक वन विज्ञानको पढाइ सुरु गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र प्राविधिक शिक्षा तथा व्यावसायिक तादिम परिषद् ९सिटिइभिटी०को अनुमतिमा गत वर्षदेखि उक्त पढाइका कक्षा सञ्चालन गरिएको बताउँदै उनले पहिलो वर्षमा १६ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए विषयगत आठ जना शिक्षक शिक्षिकाले आंशिक शिक्षकका रुपमा अध्ययापन गराउँदै आएका छन्। विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको वन विज्ञान विषयको पढाइलाई प्रभावकारी र गुणस्तरीय बनाउनका लागि पोखरा महानगरपालिकाको रु २२ लाख ५० हजारको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा आएको छ। तीन वर्षे डिप्लोमा तहको उक्त पढाइका लागि प्रतिविद्यार्थीबाट एक लाख २५ हजार शुल्कको व्यवस्था गरिएको र त्यसमध्ये पहिलो वर्ष ४० प्रतिशत र दोस्रो र तेस्रो वर्षमा ३०÷३० प्रतिशतका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको वन विज्ञान संयोजक शंकर भण्डारीले जानकारी दिए। विद्यालयले वन विज्ञान विषयमा लिने प्रवेश परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एकजना विद्यार्थीलाई बहुप्राविधिक शिक्षालय  एवम् पोखरा महानगर, सिटिभिटी र पोखरा १७ वडा कार्यालयबाट पनि छात्रवृत्तिको व्यवस्था भएको उनको भनाइ छ । वन विज्ञान अध्ययनका लागि विद्यालयले प्रत्येक वर्ष ४० जना विद्यार्थी भर्ना गर्न पाउने अनुमति प्राप्त गरेको छ । वन विज्ञान विषयलाई गुणस्तरीय र थप प्रभावकारी बनाउनका लागि सोही स्थानको भित्री गाउँमा रहेको विद्यालयको खेल मैदानमा सुविधा सम्पन्न पक्कि भवन निर्माण भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिए। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु ५० लाखको लागतमा निर्माणाधीन चारकोठे उक्त भवनमा वन विज्ञानका दोस्रो र तेस्रो वर्षका कक्षा सञ्चालन गर्ने  कार्यक्रम रहेको उनको भनाइ छ। विसं २०२३ सालमा स्थापना गरिएको विद्यालयले २०३५ सालमा मान्यता प्राप्त गरेको थियो । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन्। गुणस्तरीय शिक्षा कायम गर्दै प्राविधिक एवम् सीपमूलक पढाइले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत सोमनाथ भण्डारीले जानकारी दिनुभयो । पछिल्लो सामुदायिक विद्यालयमा सात प्रतिशत विद्यार्थी भर्नादर बढेको उनको भनाइ छ।
खरको छानो फालेर जस्ता, खुसी छन् रामपुरवासी आनन्दले बस्दा पाल्पा। पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा त बरु रुखमुनि बसेर भए पनि दिन बिताउँला तर रातको समयमा हावाहुरी, पानी परेपछि कसरी रात कटाउने भन्ने चिन्तै चिन्ताले धेरै रात निदाउन पाइनन्। खरले छाएको छानो पानी परेपछि चुहिहाल्ने, हावाहुरी आउँदा उडाउने गर्दा निकै दुःखसँग दैनिक जीवनयापन गर्न विवश भइन्। अहिले भने यी समस्याबाट मुक्त हुन पाउँदा जीवनकै ठूलो खुसी मिलेको उनी बताउछिन्। रामपुर नगरपालिका–१० स्वामीभन्ज्याङ बस्ने सुनारलाई नगरपालिकाले २२ पाता जस्तापाता उपलब्ध गराएपछि सुखसँग दिन बिताउन पाएको बताइन्। “खरको छानो भएको घर पानी पर्ने बित्तिकै चुहिएर बस्नै सकिँदैनथ्यो, हावाहुरी चलेका बेला डाँडाभाटा नै नराखेर उडाएर लैजान्थ्यो”, उनले भनिन्, “रातको समयमा त घरको झ्याल, ढोकामुनि बसेर धेरै रात बिताइयो, अहिले नगरपालिकाले निःशुल्क जस्तापाता उपलब्ध गराएपछि आनन्दले घरमा बस्न पाइएको छ।” पानी परेका बखत तथा हावा चलेका बेला झ्याल, ढोकामुनि कहिलेकाहीँ छिमेकीका घरमा ओत लाग्दै आएकी सुनारलाई बलियो छानो भएपछि घामपानी, हावाहुरीका समय ढुक्कले बाँस बस्ने ठाउँ बनाउन नगरपालिकाले सहयोग गरेपछि उनी उत्साहित छिन्। जस्तापाता किन्ने पैसा नहुँदा दुःखसँग जीवन गुजारा चलाउँदै आएकी सुनारले पानी आउँदा घरभित्रै मूल फुट्ने, छानो चुहेर बस्नै सकस रहेका बेला स्थानीय सरकारले विपन्नको दुःखमा मलम लगाउने काम गरेको बताइन्। उनलाई नगरपालिकाले चार वर्षअघि दुईतले घर छाउन २२ पाता जस्तापाता उपलब्ध गराएको हो । त्यस समययता सुनारलाई घरमा बसोबासको समस्या नभएको बताउँछिन्। रामपुर–१० कै रानागाउँ बस्ने विनिता विकले नगरपालिकाको सहयोगमा जस्तापाता लगाएको दुई वर्ष भयो। भूकम्पले भत्किएको घरमा नगर सरकारले राहतस्वरुप तीनतले घर ढाक्ने गरी २४ पाता जस्तापाता उपलब्ध गराएको छ। घरमा जस्तापाता किनेर लगाउन समस्या भएको बेला रामपुर नगर सरकारले गरेको सहयोगमा परिवारमा धेरै खुसी ल्याएको उनी बताउँछिन्। “भूकम्पले घर भत्किएपछि बसोबास गर्न समस्या परेका बेला निःशुल्क जस्तापाता पाउँदा हाम्रो परिवारमा ठूलो राहत भयो, हामी स्थानीयको दुःखमा सहयोगी भावनाले नगर सरकारले गरेको यस सहयोगले गाउँमा सिंहदरबारको झ–झल्को अनुभूति दिलाएको छ”, उनले भनिन्। भूकम्पको पीडा छँदैछ तर घर छाउन जस्तापाता किन्ने पैसा अभावमा नगरको सहयोगमा जस्तापाता पाएपछि पुनःनिर्माण गरी ओत लागेर बसेको विकले बताइन्। यस कार्यक्रमले घर छाउन जस्तापाता किन्न नसकेर बसेका गरिब, विपन्न परिवारलाई ओत लाग्ने बलियो आधार स्थानीय सरकारले बनाइदिएको उनको भनाइ छ। कमला सुनार र विनिता विकजस्ता रामपुरका धेरैले नगरको सहयोगमा चुहिने छानो र हावाहुरी चलेका बखत घरको छानो उडाउने समस्याबाट मुक्त भएर बलियो ओत लागेर बस्ने वातावरण पाएका छन्। नगर सरकारले एकै प्रकृतिको हरियो रङमा जस्तापाता वितरण गर्ने गरेको छ। रामपुर नगरपालिकाले नगरभित्रका खरको छानो रहेका घरधुरी विस्थापित गर्न आर्थिक वर्ष २०७४/७५ देखि ‘रामपुर नगर खरको छानोरहित घर’ कार्यक्रम सुरु गरेको हो। नगरभित्रका खरको छानो भएका सात सय १९ घरधुरी सर्वेक्षण गरी काम अगाडि बढाइयो। हालसम्म ६ सय १२ घरधुरीमा खरको छानो हटाएर जस्तापाता लगाउने काम सम्पन्न भएको छ भने एक सय सात घरधुरीमा जस्तापाता लगाउने काम बाँकी रहेको छ । बाँकी घरहरुमा पनि जस्तापाता लगाउने कार्य सकाएर रामपुर नगरलाई खररहितको घर घोषणा गर्ने नगर सरकारको तयारी छ । आव २०७४/७५ मा एक सय ५९, आव २०७५/७६ मा एक सय २०, आव २०७६/७७ मा एक सय ६०, आव २०७७/७८ मा ८७, आव २०७८/७९ मा ४०, २०७८/७९ मै विपद्बाट ११ र आव २०७९/८० मा ३५ वटा घरधुरीमा जस्तापाता लगाइएको नगरपालिकाका इन्जिनियर कृष्ण थापाले जानकारी दिए। कार्यक्रम सुरु भएदेखि हालसम्म खरको छानोरहित घर कार्यक्रमको लागि रामपुर नगरपालिकाबाट रु एक करोड ६७ लाख, प्रदेश सरकारबाट रु ५० लाख गरी खरको छानो हटाएर जस्तापाता लगाउँदा भएको कूल लागत रु दुई करोड १७ लाख बराबरको रकम खर्च भइसकेको छ। पहिलो वर्ष नगरपालिकाले आव २०७४/७५ रु ५० लाख रकम विनियोजन गरेर काम सुरु गरेको हो भने दोस्रो वर्ष आव २०७५/७६ मा नगरपालिकाबाट रु एक करोड र प्रदेश सरकारबाट रु ५० लाख रकम विनियोजन गरी काम गरियो । आव २०७६/७७ र आव २०७७/७८ मा अघिल्लो आर्थिक वर्षकै केही रकम बाँकी रहेकाले सोही रकमबाट जस्तापाता वितरण कार्य भयो। आव २०७८/७९ मा नगरपालिकाबाट रु पाँच लाख, आव २०७९/८० मा रु १२ लाख बराबरको रकम विनियोजन गरी काम गरेको नगरपालिकाले जनाएको छ। प्राविधिकले नाप नक्सांकनन गरेर समितिको सिफारिसमा सिङ्गो घर छाउन पुग्ने जस्तापाता सम्बन्धित घरधनीलाई वितरण गरिँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन्। उनी भन्छन्, “खरको छानोमुनि बसोबास गरेका परिवार, भइपरि आउने आगलागी, भूकम्पलगायतका विभिन्न विपद्मा परेका नागरिकलाई पनि उनीहरुको अवस्था हेरेर बाँसस्थानका लागि नगर सरकारले घर छाउन पुग्ने गरी जस्तापाता उपलब्ध गराएको छ, यो कार्यक्रम रामपुरमा प्रभावकारी रुपमा अगाडि बढिरहेको छ ।” सानो झुप्रो त्यही पनि खरको छानो पानी पर्दा चुहेर घरभित्रै पानीको आहालभित्र विपन्नले जस्तापाता छाउने रकम नहुँदा त्यत्तिकै बस्नुपर्ने बाध्यता थियो। चुहिने खरको छानोमुनि बसेर कष्टकर रुपमा छोराछोरीको साथमा जीवन व्यतित गर्दै आएका अभिभावकहरु अहिले ढुक्कले बसोवास गरिरहेका छन्। घरको छानो व्यवस्थित र बलियो बनेपछि हावाहुरी, पानी परेका समय भय, डर हटेको लाभान्वितहरु बताउँछन् । विशेषगरी वर्षायाम सुरु भएपछि खरका छानोमुनि बसोबास गरिरहेका परिवारमा घर चुहिने समस्याले निकै पिरलो पारिरहेको हुन्थ्यो । स्थानीयवासीले नगरपालिकामा पेस गरेको निवेदनका आधारमा क्रमैसँग जस्तापाता उपलब्ध गराउने कार्य भइरहेको छ। संकलित निवेदनको आधारमा प्राविधिकसहितको कर्मचारी र जनप्रतिनिधिको टोली गाउँ–गाउँमा पुगेर अनुगमनपश्चात् प्राविधिक अध्ययन गरी जस्तापाता वितरण भइरहेको छ। मूल घरमा खरको छाना भएको हुनुपर्ने र प्राविधिकको नाप नक्साङ्कनअनुसार घरको क्षेत्रफल हेरेर जस्तापाता छाउने तयारी गरेपछि एक घरधुरीलाई रु २५ हजारदेखि ४० हजारसम्मको अनुदानस्वरुप नयाँ संरचना कायम भएका घरपरिवारलाई जस्तापाता उपलब्ध गराइएको छ। सुरुका बेला नगरपालिका कार्यालयबाटै जस्तापाता वितरण गर्ने गरिएकामा लाभग्राहीको सहजताका लागि नगरपालिकाले तोकेको पसलबाट वितरण गर्ने काम भइरहेको छ। नगरपालिकाका जनप्रतिनिधिले सुरु गरेको यो कार्यक्रमबाट यहाँका नगरवासी उत्साहित बनेका छन्। निर्वाचनका बेला आफूले नागरिकसामु गरेका प्रतिबद्धताहरु पूरा गर्न ‘रामपुर नगर खरको छानोरहित घर’ कार्यक्रम सुरु गरेको र यस कार्यक्रमलाई नगरका सबै घर खररहित सम्पन्न नहुँदासम्म हरेकवर्ष निरन्तर रुपमा वजेट विनियोजन गरी अगाडि बढाउँदै लैजाने नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए। “सामान्य जस्तापाता किन्ने पैसा नभएर नागरिकले चुहिएको खरको छानोमुनि बसेर जीवन बिताउन बाध्य छन्”, नगर प्रमुख थापाले भने, “उनीहरुलाई घर छाउन नगर सरकारले आवश्यकताको आधारमा आफू निर्वाचित भएर आएदेखि नै ‘रामपुर नगर खरको छानोरहित घर’ सुरु गरेको कार्यक्रमबाट विपन्न, गरिब परिवारका नागरिकले पानी पर्दा, हावाहुरी चल्दा आनन्दले बसोवास गरिरहेका छन्” । रामपुर नगरपालिकामा उहाँको हाल नगर प्रमुख पद दोस्रो कार्यकाल हो। आफ्नो कार्यकालमा आफूले निर्वाचनका बेला जनताको घरदैलोमा पुगेर गरेका प्रतिबद्धताहरु पूरा गर्ने गरी कामहरु अगाडि बढाएको नगर प्रमुख थापाले बताए। सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिइरहेको छ ।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३४ वर्षीय तामाङ पक्राउ काठमाडौँ। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं महानगरपालिका-८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङ रहेका छन्। सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनी पीडितहरुलाई अन्यत्र देशमा लगि अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्यमा संलग्न रहेको खुल्न आएपछि तामाङलाई नेपाल प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। कमल तामाङ समेतले हवाई मार्ग हुदै अमेरिका लैजाने प्रलोभन देखाई जनही ११ लाख ३० हजारदेखि ६० लाख रूपैयाँसम्म रकम लिई हालसम्म पीडितहरुबाट जम्मा २ करोड २६ लाख २३ हजार ८ सय ९० रुपैयाँ लिएको, नेपालबाट अमेरिका लैजाने भनि भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाईल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरुमा पुर्‍याई अलपत्र पारी थप रकम माग गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ। उनीउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ काठमाडौँ। दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-७ गौशला लाहुरेटोल बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचानाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ६ सय ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१० सेफ फुड गार्डेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर आमचौक गाउँपालिका बस्ने ३५ वर्षीय राजेन्द्र श्रेष्ठ समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७ हजार ६ सय ४० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते चितवन। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो। नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान सो दुर्घटना भएको हो। घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए। चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको प्रनाउ पण्डितले बताए। दुर्घटनाको कारण अवरुद्ध भएको सडक सवारीसाधन पन्छाएर सञ्चालनमा ल्याइएको छ। – रासस
लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान दाङ। रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन्। रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन्। भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान सार्वजनिक गरेको सूचनाअनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटवलमा जलसतह खतरा तहभन्दा निकै माथि पुगेको र यो क्रम बढ्दो रहेको छ। त्यसैले बाढीको उच्च जोखिम हुने स्थान तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानका बासिन्दालाई अपराह्नसम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरिएको छ। नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा आज बिहान दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक पुरूषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको छ। तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको बताए। नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ। यस्तै जिल्लाको सैनामैना-८ रामापुरमा डुबानमा परेको स्थानीय शङ्खमुनि थारूको घर र सोही वडामा रहेको सतचिन्तन प्रतिष्ठानको भवन डुबानमा परेको छ। स्थानीय इनगुरिया नदीमा आएको बाढीले घर तथा प्रतिष्ठनको भवन डुबाएको हो। सैनामैना-८ का वडाध्यक्ष बुद्धिराम चौधरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोली र स्थानीय संयुक्तरूपमा उद्धारमा जुटेका छन्। हालसम्म कुनै मानवीय क्षति नभएको स्थानीय नागरिक अगुवा लेखनाथ गैरेले जानकारी दिए। यसैगरी भारी वर्षाका कारण दाङका प्रमुख नदी राप्ती र बबईमा एक्कासी बाढी आउन सक्ने खतरा रहेको जनाउँदै सतर्क रहन अनुरोध गरिएको छ। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी वर्षा भएका कारण राप्ती र बबई नदीलगायत अन्य खोलाको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपिल गरेको हो। दाङको बगासोगी, लालमटिया, घोराही, शुक्रबारे, भालुवाङ, लमही, रातामाटा र प्यूठानको विजुवार, मारीखोला, हंसपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको जनाएको छ । दाङ र प्यूठानका खहरे खोलामा समेत बाढी आउन सक्ने भएकाले दिउँसोसम्म सतर्क रहन आग्रह गरिएको हो। वर्षाका कारण मुख्य सडक अवरुद्ध अबिरल वर्षाका कारण पहिरो खस्दा पाल्पा, अर्घाखाँची, प्यूठानलगायतका जिल्लामा सडक अवरुद्ध भएका छन्। पहिरो खसेका कारण बुटवल-पाल्पा, गोरुसिङ्गे-सन्धिखर्क र भालुवाङ-प्यूठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका-३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल-पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा अवरुद्ध छ। यस्तै अर्घाखाँचीको शीतगङ्गा-१२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिङ्गे-सन्धिखर्क सडक दुई ठाउँमा अवरुद्ध भएको छ। यस्तै प्यूठानको माण्डवी-१ गर्जेनीमा पहिरो खस्दा भालुपाङ–प्यूठान सडक अवरुद्ध भएको छ।
पहिराले ६ घर विस्थापित, ५ बस्ती जोखिममा पर्वत।  पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन्। बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै ६ घरपरिवारसमेत विस्थापित भएका छन्। पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिएका छन्। गत असार ११ गते राति कुवापानीको चिहानडाँडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढ्दै गएको छ। पहिरो रोकथाम तथा नियन्त्रणका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीले समेत स्थलगत अनुगमन गरी आवश्यक योजना निर्माणको तयारी गरेको उनले बताए। स्थानीय मूलघडेरी बस्तीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द्र कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिराका कारण विस्थापित भएका जलजला–२ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए। “पहिराको कमेरे माटो बस्तीमाथिको जंगलको मूलको पानीमा मिसिएर लेदो बनेर बग्न थालेको छ”, उनले भने, “आकाशबाट पानी पर्नेबित्तिकै लेदोसहितको बाढी आउँदा भागाभाग हुन्छ।” पहिराले जलजला–२ को मूलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वरसम्म जोखिम बनाएको छ। स्थानीय पदमबहादुर कार्कीले पहिरो खस्न थालेपछि पूर्णगाउँको नवजागरण आमा समूहको भवनमा बस्ने गरेको बताए। “यसअघि जङ्गल र मूलघडेरीको पाखोमा अडिएको पहिराको लेदो शनिबारको वर्षात्पछि पूर्णगाउँको तालसम्म पुगेको छ”, उनले भने, “बराहताल परिसरमा रहेका दुईवटा मन्दिर पनि जोखिममा परेका छन्। पौवाभित्र बाढी पसेको छ।” स्थानीय डम्मरबहादुर खत्रीको सुन्तला बगैँचा र बारी बाढीले पुरेको छ। मूलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिराको लेदोले पुरिएर क्षति पुगेको छ। लेदोले पुरिएपछि यसपालि धान र कोदो रोपाइ पाएका छैनन्। खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ। पहिरो र जोखिममा परेका ठाउँका तीन चरणमा स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन सतर्कता अपनाइएको अध्यक्ष आचार्यले बताए। “चर्किएको पहाडको डिललाई व्यवस्थापन गर्न सक्ने विकल्प छैन्”, उनले भने, “पहिरोबाट आउने लेदोलाई बस्ती र खेतीयोग्य जमिनमा पस्न नदिन मूलघडेरीमा बाँध र नहर बनाइएको छ।” मूलघडेरीबाट खोल्सा र सडकमा लेदो बगाएर तल्लो क्षेत्रका बस्तीमा क्षति हुन नदिन गाउँपालिकले डोजरसहित कामदार परिचालन गरेको उनले बताए। विसं २०७२ को भूकम्पपछि यो पहाड चर्किन थालेको हो। यसअघि पनि उक्त स्थानका पाँच घरपरिवार विस्थापित भएका थिए। पहाडबाट लेदो नै बग्न थालेपछि हरेक वर्षायामको समयमा यहाँका नागरिक त्रासदपूर्ण अवस्थामा बस्दै आउनुपरेको छ। – रासस
आजको मौसमः मुलुकभर भारी वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। तसर्थ यस कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
null
दुबईबाट काठमाडौं आएका यात्रुको ल्यापटप विमानमै छुट्यो, सम्पर्कमा आउन आग्रह काठमाडौं। दुबईबाट नेपाल एयरलायन्सको जहाजमार्फत काठमाडौं आएका एक यात्रुको ल्यापटप विमानमै छुटेको छ। ७ जुलाईमा दुबईबाट काठमाडौं आएका यात्रुले नेपाल एयरलायन्सको जहाजमा आफ्नो ल्यापटप छाडेका हुन्। यात्रुले ल्यापटप छुटेको लामो समयसम्म पनि सम्पर्क नगरेपछि एयरलायन्सले नै सामाजिक सञ्जालमार्फत ल्यापटप धनिलाई पमाणपत्रसहित सम्पर्कमा आउन आग्रह गरेको छ। सोमबार एयरलायन्सले आफ्नो फेसबुक पेजमार्फत ७ जुलाईमा यात्रुको ल्यापटप फेला परेको जानकारी दिएको छ। ७ जुलाईमा नेपाल एयरलायन्सको उडान नम्बर आरए २३० बाट काठमाडौं आएका यात्रुको ल्यापटप छुटेको हो।
ललिता निवास प्रकरणमा नक्कली मोही बनेको आरोपमा दुई पक्राउ काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली मोही बनेर जग्गा हिनामिनामा सघाएको आरोपमा आज ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ । सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले नक्कली मोही बनेर जग्गा हडप्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा ललितपुर निवासी सञ्जयकुमार महर्जन र अर्का सकुलानन्द महर्जन रहेका छन् । उनीहरुसँगै अहिलेसम्म सीआईबीले २२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यसअघि आइतबार पनि प्रहरीले नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहितका व्यक्तिहरु पक्राउ परिसकेका छन् । उनीहरुविरुद्ध मुलुकी ऐन, २०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । विसं २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । यसअघि सीआईबीले अनुसन्धान सकेर तीन सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो । त्यसपछि अहिले पुनः सीआईबीले उक्त मुद्दामा अनुसन्धान गरिरहेको छ ।
सर्वोच्चका १४३ कर्मचारी काजमा खटिए काठमाडौं। सर्वोच्च अदालतले न्याय सेवाका राजपत्रांकित प्रथम, द्वितीय श्रेणीसमेत गरी १ सय ४३ जना कर्मचारीलाई काजमा खटाएको छ। सर्वोच्चको आइतबारको निर्णयअनुसार सहरजिष्ट्रार, रजिष्ट्रार, उपरजिष्ट्रार, इजलास अधिकृत, स्रेस्तेदार, अनुसन्धान अधिकृतलगायतलाई काजमा खटाइएको हो।
भिर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित खोटाङ। केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भिरमौरीको मह सिकार गर्न थालेकोे ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्ने उनलाई सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईलेसाथ दिइरहेका छन् नाताले मामभाञ्जा (हस्तराम मामा र तीर्थमनी भाञ्जा)ले पर्‍याङ (मालिङ्गोको चोया प्रयोग गरेर बनाइएको भर्‍याङ)बाट अक्करे भिर टेक्ने र समाउने दुवै ठाउँ नभएको अप्ठ्यारो भिरमा समेत गएर जोखिमपूर्ण अवस्थामा मह सिकार गर्ने गर्दै आएका छन् । उनीहरूको साथमा सुतारे, दोभाषे (कोट भाषामार्फत सहकर्मीलाई जानकारी दिने व्यक्ति) र अन्य दर्जनबढी सहयोगीले पनि साथ दिँदै आएका छन् । पछिल्लो समय अक्करे भिरबाट मौरीको मह सिकार गर्नु साहसिक र मनोरञ्जनको माध्यम बनेकाले युवापुस्ता आकर्षित भएका छन् । परापूर्वकालदेखि आफ्नो परम्परागतरुपमा भिर मौरीको मह सिकार गर्दै आएका तीर्थमनी र हस्तरामलाई अहिले सोही स्थानका ३५ वर्षीय धनकुमार राई, ३४ वर्षीय धर्मसिं राई, ३१ वर्षीय किशोर राई, २८ वर्षीय तिलक राई, २६ भैराज राई, २२ वर्षीय नैराज राई, २१ वर्षीय चुमाहाङ राई, ३८ वर्षीय किरण राई, ३७ वर्षीय जवानसिं राई, २२ वर्षीय रोशन राई, ३३ वर्षीय विशाल राई, र ३१ वर्षीय हरिध्वज राई साथ दिँदै आएका छन्। उक्त मह लिन राजधानी काठमाडौँलगायत विभिन्न सहरमा बसोबास गर्दै आएका स्थानीयवाससी बेलाबखत गाउँ फर्किने गरेका छन् । शुक्रबारे फेदी निवासी राजन राईले आफू भिर मौरीको महकै लागि साथीसँग काठमाडौँबाट गाउँ फर्किएको बताए। मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको पर्‍याङ, गादा (सेफ्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा भिर मौरीको मह सिकार गरिन्छ । पर्‍याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकल्ने गरिन्छ । स्थानीय भाषामा मह निकाल्नेलाई पर्‍याङ्गे भनिन्छ भने सुताको माध्यमबाट पर्‍याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने पर्‍याङेसम्म पुर्‍याउनेलाई सुतारे भनिन्छ । पर्‍याङ्गेले भिरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धुँवा लगाउनेलगायत अन्य काम गर्ने व्यक्तिलाई सहयोगी भनिन्छ । फेदीका दर्जनबढी भिरमा वर्षौँदेखि भिर मौरी बस्ने गरेको पाइएको छ । स्थानीय फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभिर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभिर झरना, तेरावास्थित तेरावाभिरलगायत ठाउँमा वर्षौँ अघिदेखि भिर मौरी बस्दै आएको छ । भिर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भिर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ । धेरै खाँदा मात लाग्ने भिर मौरीको मह हाडजोर्नी, नशासम्बन्धी समस्या, युरिक एसिड, रक्तचापलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने विशेषज्ञहरुले बताउने गरेका छन् । फेदीमा पुस्तौँदेखि परम्परागत संस्कारका रूपमा भिर मौरीको मह निकालिँदै आइएको स्थानीय मह सिकारी हस्तरामले बताए । “मैले विसं २०३५ देखि यो पेसा सुरु गरेको हुँ । अहिले युवापुस्ता पनि यसमा आकर्षित भएका छन्”, उनले भने, “उनीहरुलाई हामीले नै सिकायौँ । युवापुस्ता पेसेवार बन्दा आफूहरुलाई खुसी लागेको छ ।” केपिलासगढी गाउँपालिकाकै वडा नं ७ सुङ्देल र भोजपुरका विभिन्न ठाउँमा भिर मौरीको मह झिक्न जाने गरिएको फेदीका युवा सिकारी किशोरले बताए । “ भिर मौरीको महको माग दिनदिनै बढिरहेको छ । माग धान्न सक्ने अवस्था छैन”, उनले भने, “मह काढेकै ठाउँमा एउटा जम्बो बोत्तल (ड्यूको दुई दशमलव २५ लिटरको बोत्तल)को रु छ हजारमा बिक्री हुन्छ । यसवर्ष भिर मौरीको थोरै पोला भएकाले माग गर्ने सबैलाई पुर्‍याउन सकिएन । एउटा पोलामा कम्तीमा पनि आठ÷दश बोतल मह हुन्छ ।” भिर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्लालगायत गाउँभिरका बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजालगायत लिएर उत्सवको रूपमा भेला हुने गरेका छन् । फेदीमा उत्पादित भिर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँ, बेलायत, हङकङ, सिङ्गापुरलगायत ठाउँमा निर्यात हुने गरेको छ । फेदीमा पाइने मह सिकार गर्ने प्रचलनलाई मुन्धुम ट्रेल (पद मार्ग)सँग जोडेर पर्या–पर्यटनको रूपमा विकास गर्न सकेमा स्थानीय बासिन्दाका लागि ठूलो आम्दानीको स्रोत हुने स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र)का युवा नेता लक्ष्मण राई ‘समीप साम्पाङ’ले बताए । “भिर मौरीको मह सिकार गर्नुका साथै फेदीमा साहसिक र भरपुर मनोरञ्जन गर्न पाइन्छ । भिर मौरी रहेको स्थान नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धम ट्रेलभन्दा करिब एक घण्टा टाढा ओरालो झरेपछि पुगिन्छ । मुन्धुम ट्रेल आउने पर्यटकलाई एक रात तेरावामा बास बसाएर भोलिपल्ट भिर मौरीको मह सिकार गराउन सकिन्छ”,समिपले भने, “ भिर मौरीको मह सिकार गर्न चाहने पर्यटकका लागि सरकारले विशेष योजना बनाएर पर्यटन प्रवर्द्धन गराउनुपर्छ । यसका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले ध्यान दिन जरुरी छ ।” पछिल्लो समय जलवायु परिवर्तन तथा नेपाली कागज उद्योगमा प्रयोग गरिने रासायनिक पदार्थका कारण फेदीमा भिरमौरी मासिदै गएको वृद्ध सिकारी तीर्थमानले बताए। “पहिले पहिले एउटै भिरमा नौँरदश पोला मैरी हुन्थ्यो । एउटा भिरको मह काढ्न हप्ता दिनसम्म लाग्थ्यो”, उनले भने, “अहिले विभिन्न कारणले भिर मौरी घट्दै गएको छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ ।” भिर मौरीको मह सिकार गर्ने प्रचलनलाई पर्यटनसँग जोड्नेगरी गाउँपालिकाबाटै योजना बनाउने तयारी गरिएको फेदीका वडाध्यक्ष नीरकुमार राईले बताए। “हामीले भिरमौरी संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना बनाउने तयारी गरेका छौँ । भिर मौरीको महको माग पनि प्रशस्त भएकाले स्थानीय बासिन्दालाई मात्र नभइ गाउँपालिकाका लागिसमेत यसैबाट मनग्गे आम्दानी हुने सम्भावना देखिएको छ”, उनले भने, “पराम्परागतरूपमा गरिँदै आएको भिरमौरीको सिकारलाई कसरी परिस्कृत गर्ने भन्नेमा पनि छलफल भइरहेको छ । परम्परागत रूपमा सिकार गर्दा एक पटकमा धेरै मौरी मरेको पाइयो । यसले अन्य पोला विस्तारमा असर पुगेको हामीले महसुस गरेका छौँ । आगामी दिनमा कम क्षति हुनेगरी सिकार गर्ने उपायसमेत खोज्दै छौँ ।” फेदीका बासिन्दाले उँधौलीको समयमा कात्तिक–मङ्सिर तथा उँभौलीको समयमा जेठ–असारगरी दुईचोटी भिर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् । एक याममा कम्तीमा पनि रु पाँच लाखदेखि रु छ लाखसम्मको मह सिकार हुने गरेको स्थानीय बासिन्दाले बताए । किरात राई (साम्पाङ) समुदायले भिरमौरीको मह सिकार गर्ने प्रचलनलाई आफ्नो परम्परागत संस्कारसँगसमेत जोड्ने गरेका छन् । उनीहरुले भिरमा गएर गरेको महको सिकार घरमा ल्याएर आफ्नो तीन चुल्हा अर्थात पितृ (दिबङ्गत भएका व्यक्ति)लाई चढाएपछि मात्र प्रसादको रुपमा ग्रहण गर्छन् । दस स्थानीय तह रहेको खोटाङमा भिर मौरी केपिलासगढी गाउँपालिमामात्र पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको भिर मौरीलाई पर्यटनसँग जोड्न सके जिल्लाकै आर्थिक समृद्धिमा टेवा पुग्ने पर्यटन व्यवसायीहरुले बताए । केदार मगर\रासस
विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खोली ठगी, दुई जना पक्राउ काठमाडौं । प्रहरीले विश्व खाद्य कार्यक्रमको (डब्लुएफपी) कार्यालय खोली ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ भने तीन जना फरार छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै बूढानीलकण्ठमा घर भाँडामा लिई खाद्य कार्यक्रमको कार्यालय खोलेको र बोलपत्र आह्वान गरेर ठगी गर्नेलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मेलम्ची घर भई गोकर्णेश्वर बस्ने जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर घर भई बूढानीलकण्ठ बस्ने दिनेश भन्ने लिला बहादुर भोलोन रहेका छन् । त्यस्तै दिपेश गुरुङ भन्ने भिम भोलोन, आकाश राई भन्ने मिलन तामाङ र पेम्बा तामाङ नाम बताउने व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुले गत जेष्ठ १ गते विश्व खाद्य कार्यक्रमको कार्यालय खोली फर्निचर लगाएतका कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न समानहरु तथा खाद्य सामग्रीहरु खरिद गर्न बोलपत्र आव्हान गरी, बोलपत्र स्वीकृत समेत गरी विभिन्न सामानहरु ल्याई रकम भुक्तान नगरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुबाट दुई लाख रुपैया, नेपालको राष्ट्रिय झण्डाहरु , अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप लगायत बरामद भएको र थप अनुसन्धान भइरहेको काकीले बताए ।
ललिता निवास प्रकरण : थप दुई जना पक्राउ काठमाडौँ। बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सोमबार नक्कली मोही बनेर ललिता निवास जग्गा हडपेको आरोपमा सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो। उनीहरु पक्राउ परेसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ।