content
stringlengths 20
64.1k
⌀ |
---|
कर्णालीले पर्यटनबाटै लाभ लिन सक्छ : उपराष्ट्रपति सुर्खेत । उपराष्ट्रपति नन्दबहादुुर पुनले कर्णाली प्रदेशले पर्यटन क्षेत्रबाटै लाभ लिन सक्ने बताएका छन् । सुर्खेतका पर्यटकीयस्थल काँक्रेविहार र बुलबुले उद्यानको आज अवलोकन गर्दै उनले पर्यटन प्रवद्र्धन गर्नसके कर्णालीले मुहार पर्ने बताएका हुन् ।
उपराष्ट्रपति पुनले खस भाषाको उत्पत्तिस्थल जुम्लाको सिंजा उपत्यकालाई काँक्रेविहारसँग जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने धारणा राखे। “सिंजाको महत्वबारे विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीभाषीलाई बुझाउन जरुरी छ, सिंजा क्षेत्रले जति महत्व पाउनुपर्ने पर्ने त्यति पाएको छैन”, उनले भने, “कम्तीमा कर्णालीका मुख्य गन्तव्यस्थल रारा, सिंजा र काँक्रेविहारलाई जोडेर पर्यटन प्रवद्र्धन गर्नसके भविष्यमा उचित लाभ पाउन सक्छौँ ।” उनले संसारको जुनसुकै कुनामा बसोबास गर्ने नेपालीभाषी भए पनि कम्तीमा एकपटक आफ्नो भाषाको उत्पत्तिस्थल सिञ्जा क्षेत्रको भ्रमण गराउनुपर्नेमा जोड दिए।
उपराष्ट्रपति पुनसँगै कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले काँक्रेविहार र बुलबुले उद्यान क्षेत्रको अवलोकन गरेका थिए। काँक्रेविहारमा वीरेन्द्रनगर नगरपालिकाले पञ्चेबाजासहित उपराष्ट्रपतिको स्वागत गरेको थियो । नगर उपप्रमुख मोहनमाया ढकाल, वडाध्यक्ष सुरेश मानन्धरले काँक्रेविहारको विकासको अवस्था र ऐतिहासिक पक्षका बारेमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए।
उपराष्ट्रपति पुनले शुक्रबार सिंजा महोत्सवको उद्घाटन र हुम्लामा एक विद्यालयको शिलान्यास गर्ने कार्यक्रम छ । यसैबीच, उनले आज वीरेन्द्रनगर खजुरास्थित एक निजी अस्पतालको उद्घाटन गर्ने कार्यक्रमको तयारी भए पनि अन्तिम समयमा रद्द गरे। अस्पताल सञ्चालनको पूर्वाधार नपुगेको सूचनाका आधारमा उद्घाटन समारोहमा सहभागी नभएको उपराष्ट्रपतिको सचिवालयले जनायो । रासस
|
बारा र पर्सामा आएको ‘घुम्रपात’ले ४४ किमि दूरी तय गरेको थियो काठमाडौँ । गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरी (टोर्नेडो) पर्साको सखुवा–पर्सौनीमा शुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको थियो ।
जल तथा मौसम विज्ञान विभागले उक्त विनाशकारी हावाहुरी सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्राविधिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार विनाशकारी हावाहुरीको अधिकतम गति १८० देखि २६५ किमि प्रतिघण्टा भएको ‘इएएफ ३ समूह’ रहेको अनुमान गरिएको छ ।
नेपालमा यसअघि त्यस्तो विनाशकारी हावाहुरी आएको कुनै अभिलेख नभएकाले त्यससम्बन्धी प्रतिवेदन तयार गर्न विभागका महानिर्देशक सरजु वैद्यको अध्यक्षतामा विभिन्न संस्थाका विज्ञ प्रतिनिधिसहितको आठ सदस्यीय समिति गठन गरिएको थियो । समितिले नै उक्त टोर्नेडोको नेपाली नामकरण ‘घुम्रपात’ राख्न उपयुक्त हुने निर्णय गरेको थियो ।
समितिले विभिन्न भू–उपग्रहका तस्वीर अध्ययन गर्दा सो ‘घुम्रपात’ २०० देखि ७५० मिटर चौडा रही पर्साको सखुवा–पर्सौनीमा शुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको देखिन्छ । समितिले स्थानीय तथा प्रत्यक्षदर्शीसँगको अन्तक्र्रिया र छलफल, फोटो तथा भिडियो, भू–उपग्रहबाट लिइएका तस्वीरको विश्लेषणका साथै भौगोलिक सूचना प्रणाली तथा तथ्याङ्कीय विश्लेषण सफ्टवेयरका आधारमा उक्त ‘घुम्रपात’को पहिचान गरेको महानिर्देशक वैद्यले जानकारी दिए।
समितिले मौसमी अध्ययनअन्तर्गत त्यस समयको सतही तथा माथिल्लो वायुमण्डलको मौसमी नक्सा, भू–उपग्रहबाट लिइएका तस्वीर, चट्याङ सञ्जालबाट प्राप्त तथ्याङ्क, मौसम अवलोकन केन्द्रमा रेकर्ड गरिएको वायुको चाप र हावाको गतिको अवस्थाका साथै रेडियोसोण्ड डाटामा आधारित रहेर विश्लेषण गरिएको उनले बताए।
महानिर्देशक वैद्यले भने, “घुम्रपातले पर्सामा भन्दा अघि चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा समेत क्षति पुर्याएको देखिन्छ । यद्यपि त्यसको स्थलगत यकिन विवरण प्राप्त भएको छैन ।” तथापि भू–उपग्रहको तस्वीरले निकुञ्जभित्र ‘घुम्रपात’ले जम्मा नौ किमिको दूरी तय गरेको प्रतिवेदनमा उल्लेख छ । ‘घुम्रपात’ले पर्साको जग्गनाथपुरदेखि बाराको बैरियासम्मको मानव बस्ती क्षेत्रमा तय गरेको दूरी र समयको अध्ययन गर्दा भने ‘घुम्रपात’ले ३४ किमि प्रतिघण्टाको गतिले यात्रा गरेको आँकलन गरिएको छ।
क्षति न्यूनीकरणका लागि सुझाव
प्रतिवेदनमा ‘घुम्रपात’ जस्ता अतिजन्य मौसमको कारणले हुने धनजनको क्षतिन्यूनीकरण गर्न आवश्यक उपकरण र स्रोतसहितको पूर्वसूचना प्रणाली विभागमा स्थापना गर्न र यस्ता अतिजन्य मौसम प्रणालीको थप अध्ययन र अनुसन्धान गर्न सुझाव दिइएको छ ।
साथै प्रतिवेदनमा घुम्रपातको प्रारम्भिक अध्ययनमात्र गरिएको हुनाले यो ‘घुम्रपात’को मौसमी अवस्थाको विभिन्न दृष्टिकोणबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ‘घुम्रपात’ तथा अतिजन्य मौसमसम्बन्धी विज्ञको सहकार्यमा विस्तृत अनुसन्धान गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।
यस्ता मौसमी घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न विभागलगायत सम्बन्धित केन्द्रीय, प्रादेशिक र स्थानीय तहका सरकारी निकाय तथा स्थानीय जनसमुदायले अपनाउनुपर्ने पूर्वतयारी पद्धतिको विकास गरी लागू गर्न सुझाव दिइएको छ । टोर्नाडोमा परी बारा र पर्सामा २९ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए । हावाहुरीले घटना प्रभावित क्षेत्रका अधिकांश घरमा ठूलो क्षति पुर्याएको थियो।
|
मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ : वरिष्ठ नेता खनाल इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मित्र राष्ट्रसँग मिलेर अघि बढ्नुपर्ने बताएका छन् । आज यहाँको सूर्योदय नगरपालिकामा भएको एक कार्यक्रममा नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकसँग अझै सुमधुर सम्बन्ध बनाउँदै जानुपर्ने खनालले बताए।
नेपाल भ्रमण वर्ष मनाउन इलामको पर्यटकीय क्षेत्र जानका लागि सूर्योदय आइपुगेका खनालले जिल्लाको पर्यटकीय विकास गर्नका लागि पनि स्थानीय वस्तुको प्रवद्र्धन गर्नुपर्ने बताए। उनले जिल्लाको चिया, अदुवालगायतका कृषिजन्य वस्तुको प्रचार गरेर आर्थिक आम्दानी बढाउनुपर्ने बताए।
सन्दकपुरको प्रचारका लागि खनाल शुक्रबार नै सन्दकपुर जानुहुने भएको छ । खनालका साथमा साउदी अरेबियालगायत विभिन्न राष्ट्रका राजदूतसमेत सन्दकपुर जाँदै छन्।
|
उपनिर्वाचन आचारसंहिता जारी, शुक्रबारदेखि कार्यान्वयन हुने काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ ।
शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले आज यहाँ विज्ञप्तिमार्फत जनाएको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो ।
मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।
यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो । आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
निर्वाचन आचारसंहितामा निर्वाचन सम्पन्न नभएसम्म नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारीसाधन प्रयोग गर्न दिन नहुने, पद सिर्जना गर्न नहुने, सरुवा, बढुवा वा काजमा खटाउन नहुनेलगायतका प्रावधान रहेको छ । राजनीति दल, उम्मेदवार, आम सञ्चारमाध्यम तथा गैरसरकारी संस्था, पर्यवेक्षक तथा कर्मचारी आचारजस्ता क्षेत्रलाई सो आचारसंहितालले समेटेको छ ।रासस
|
रुसमा बाढीका कारण बाँध भत्किँदा १७ जनाको मृत्यु मस्को (रासस/सिन्ह्वा) । रूसको कुरागिङ्स्की जिल्लामा रहेको एउटा बाँध भत्किँदा १७ जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चार माध्यमहरुले जनाए अनुसार जिल्लाको क्रास्नोयास्र्क क्षेत्रमा रहेको बाँध भत्किएको हो।
“नातेदारहरुले मृत्यु भएका सवै १७ जनाकै शव पहिचान गरिसकेका छन्,” रूसी आपत्कालीन सेवा केन्द्रीय कार्यालयलाई उद्धृत गर्दै रुसी समाचार संस्थाहरूले समाचार सम्प्रेषण गरेको छन्।
बाढीका कारण बाँध भत्किएको अधिकारीहरूले जानकारी दिएका छन्। अन्य चार बाँध पनि भत्किएकाले त्यसको असर समेत यो बाँधमा परेको बताइएको छ।
अनुसन्धान टोलीका सदस्यहरुले १७ जनाको मृत्यु भएको र अरु तीन जना अझै हराईरहेको जनाएका छन्।
|
लेड (सिसा)को विषाक्तताबाट बालबालिकालाई जोगाउनुपर्ने चिप्लेढुंगा । आम जनस्वास्थ्य र विशेष गरी बालबालिकामा प्रत्यक्ष असर पार्ने पेन्ट लेड (सिसा) को विषाक्तताबाट जोगिने उपायका बारेमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना र सञ्चार केन्द्र एवं वन तथा वातावरण प्रवद्र्धन मन्त्रालयको सहकार्य र विश्व स्वास्थ्य सङ्गठनको को सहयोगमा पोखरा महानगरपालिकाले आज आयोजना गरेको लेडको मापदण्डको प्रभावकारी कार्यान्वयनसम्बन्धी कार्यशाला गोष्ठीका वक्ताले विशेषगरी लेडबाट बालबालिकालाई जोगाउनुपर्ने बताएका हुन्।
विश्व स्वास्थ्य सङ्गठनले लेड (सिसा) लाई विश्वव्यापीरुपमा असर पुर्याउने प्रमुख १० रसायनमध्ये एक प्रमुख घातक रसायनका रुपमा पहिचान गरेको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले जानकारी दिए।
लेडले मानिसको र खासगरी बालबालिकाको शारीरिक र मानसिक तथा बौद्धिक विकासमा अवरोध पुर्याउने र लेडको सम्पर्कबाट दीर्घकालीन स्वास्थ्यसम्बन्धी समस्या हुने भएकाले त्यसतर्फ ध्यान जानुपर्ने बताए।
वार्षिक यसबाट पाँच लाख ४० हजार मानिसको मृत्यु हुने गरेको र १.३९ करोड मानिस शारीरिकरुपमा अशक्तता हुने गरेको तथ्याङ्क रहेको उहाँले जानकारी दिए।
उनले विसं २०७४ र २०७५ मा २७ पेन्ट्स उद्योगका ५६ वटा इनामेल पेन्टस्मा गरिएको मापदण्डको प्रभावकारितासम्बन्धी अध्ययनले मापदण्ड परिपालनको अवस्था ६० प्रतिशत मात्र पाइएको बताए।
पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले पोखरा सुन्दर र पर्यटकीय नगर, तालतलैयाको शहर भएकाले लेडमुक्त रंगरोगनको आयात उत्पादन र बिक्रीवितरण गर्ने पहल गरिने बताए।
कार्यक्रममा पोखरा औद्योगिक क्षेत्रका आरती पेन्ट उद्योगका निर्देशक सुरेन्द्र भुर्तेलले आफ्नो उत्पादन परिमार्जन गरी मापदण्डको परिपालना गर्ने प्रतिबद्धता व्यक्त गरे।
विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि राजुराम पोटे श्रेष्ठले लेडयुक्त पेन्ट उन्मूलका निम्ति विश्व स्वास्थ्य सङ्गठनबाट नेपाली जनस्वास्थ्य र वातावरणमा पर्ने लेडको असरको निराकरण तथा न्यूनीकरण गर्ने नेपाल सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारलाई सघाउने प्रतिबद्धता जनाए।
उपभोक्ता संरक्षण मञ्चका महासचिव राजुराम अधिकारीले लेडको विषाक्तताबारे जनचेतना फैलाउन र सरकारले तोकिएको पेन्टमा बाध्यकारी मापदण्डको पूर्ण परिपालना एवं प्रभावकारी कार्यान्वयनका लागि बजार अनुगमन, जवाफदेही पूर्ण पेन्टको उत्पादन, आयात, बिक्री वितरण र प्रचार गर्नुपर्नेमा जोड दिए।
कार्यशालामा अर्थमन्त्रालयका भन्सार विभागका वरिष्ठ रसायनशास्त्री मनोजनिधि वाग्ले, वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वातावरण निरीक्षक भूपेन्द्र शर्माले लेडयुक्त पेन्टले मानव जीवनमा पार्ने असर र यसबाट जोगिने उपायका बारेमा प्रस्तुति राखेका थिए।
|
पूर्व माओवादी र राप्रपा संयुक्तका ५१ नेता नेपाली काँग्रेसमा प्रवेश काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका पूर्व सह–महामन्त्री, कर्णाली प्रदेश पूर्व प्रमुख एवं केन्द्रीय सदस्य कर्णबहादुर बुढा सहित राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, डोल्पाका पदाधिकारी काँग्रेसमा प्रवेश गरेका छन्।
त्यस्तै उपाध्यक्ष श्याम बहादुर रोकाया, जिल्ला कार्यसमितिका सदस्यहरु— नन्दबहादुर कार्की, शेरबहादुर कठायत, हिक्मत शाही, निमा छिरिङ बुढा, महेश बुढा, शिव झाँक्री, कमलबहादुर बुढा, तजन रोका, तेन्जिङ रोका, दावा छिरिङ भोटे, पेम्वा छिरिङ मगर, फेन्दे गुरुङ, तेन्जिन फूर्वा मगर, मइन बुढा, सरिता बुढा, तेन्जेन रोका, लाउची रोका, लामु झाक्री, राजु हिराचन झाक्री, अम्लेश बुढा, अमिर रोका, टोटाङ रोकाय, मानबहादुर बुढा, सोमराज मल्ल, रन्जना शाही, सन्दर झाक्री, गुरु छोयसाङ बुढा, कार्मा बुढा, वसु झाक्री, लक्ष्मी रोका, रत्न राना, धनिराम मल्ल, नन्दकुमारी मल्ल, रेशम मल्ल, विश्वनाथ राना मगर, प्रद्युम्न शाही, धृष्टधुम्न शाही, यशु शाही, विद्या शाही, सुनिता बोहरा, दिलचन्द्र शाही, आरधना शाही, हिक्मत कुमार बोहरा, अभिमन्यु बोहरा, रमेश शाही, जितेन्द्र शाही, इन्द्रबहादुर शाही, मलि बुढा, जुना बुढा, विवेक शाही, मिना रोका सहित जम्मा ४९ जना काँग्रेसमा प्रवेश गरेका छन्।
त्यस्तै पूर्व नेकपा (माओवादी) केन्द्रीय राष्ट्रिय महाधिवेशन आयोजन समितिका सदस्यहरु एवं हाल नेपाल कम्युनिष्ट पार्टीका कर्णबहादुर शाही र लोकबहादुर चलाउने विना शर्त नेपाली कांग्रेसमा आज प्रवेश गरेको काँग्रेसले जारी गरेको विज्ञप्तिमा जनाएको छ।
पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा भएको एक कार्यक्रम बीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता प्रदान गरेका थिए।
|
‘जेठो छोरालाई गरी खाने वातावरण र कान्छो छोरालाई होचोको रुपमा गिनिज बुकमा नाम दर्ता गराउन माग’ काठमाडौं । जनकपुर अञ्चल रामेछाप जिल्ला साविक भिरपानी गाविस वडा नं. २ हाल खाँडादेवी गा.पा वडा नं. ३ रामबहादुर श्रेष्ठ र रमा श्रेष्ठले आफ्ना छोराहरु राजु श्रेष्ठ र कल्याण श्रेष्ठको लागि सहयोगको लागि याचना गरेका छन् ।
उनीहरुका अनुसार २०४७/०८/०७ गते जेष्ठ सुपुत्र राजु र २०४८/०२/१९ गते कान्छा सुपुत्र कल्याण श्रेष्ठको जन्म भएको हो । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार छोराहरुसहित सम्मेलन गर्दै उनीहरुले निजहरुको नियमित तथा दैनिक जीवनचर्या अनौठो, आश्चर्यजनक र अकल्पनीय भई सीमित घेरा र क्षेत्रभित्र रही आएको गुनासो पोखे ।
बुवा रामकुमारले भने,‘छोराहरुको वास्तविक अवस्था बाहिर ल्याउनको लागि म आज यस क्लबमा उपस्थित् भएको छु । अहिलेको प्रविधि र सञ्चारको युगमा विभिन्न मिडियामार्फत छोराहरुको यथार्थ जीवनावस्थालाई बाहिर ल्याउन प्रचार प्रसार गरी सम्पुर्ण मानव समुदायवीचमा परिचय र जानकारी गराउन उचित महसुुुस गरी आजकै सामुहिक सञ्चार मिडियामा उपस्थित भएका छौ ।’
उनकाअनुसार दुवै छोरा राजु र कल्याण जन्मपछि बढ्ने र शारिरीक र मानसिक बृद्धि हुने क्रममा रोकावट आएपछि विभिन्न अस्पतालमा स्वास्थ्य परिक्षण गरिएकोमा थाइराईड हर्माेनको कमीले शारीरिक बृद्धिमा अवरोध आएको हो । उनले भने, ‘निजहरुको शारीरिक अवस्था अति दयनीय र असामान्य रही आएको छ ।
यस उपचारको खोजीमा धेरै वर्षसम्म प्रयास गर्दा पनि खास सुधार र सफलता देखिएन । बीस बाईस वर्षसम्म त बढ्ने आशा रह्यो तर ती आशाहरु निराशामा परिवर्तन भएपछि हाम्रो साहारा र सहयोगमा मात्र निजहरुका जीवन गुजारा भईरहको छ । आमाको र परिवारको मुख्य जिम्मेवारी अन्य खेतीपाती, व्यापार व्यवसाय गर्नु नभई मात्र दुई भाइ छोराहरुको पालनपोषण, स्याहारसुसार र सहयोग गर्नु मात्र रहेको छ ।’
उनले दुवै छोराहरु हातखुट्टा धुन, शौचालय जान, नुहाउन,लुगा धुन, खाना पकाउन, भित्र र बाहिर गर्न, कपडा लगाउन र बोल्नसमेत असक्षम रहेको सुनाए । उनले भने, ‘यो कान्छो छोरा कल्याण त झनै दयनीय अवस्थामा छ । हाम्रो बुझाईमा कल्याण श्रेष्ठ नेपालकै र विश्वको नै सबभन्दा होचो व्यक्ति र सबभन्दा कम तौल भएका व्यक्तिका रुपमा चिनिन र ठहरिन गई ग्रिनिज बुकमा नाम दर्ता हुन सक्ने सम्भावना भएकोले निज लाई नेपालकै र विश्वकै सबभन्दा होचो र कम तौल भएको व्यक्तिको रुपमा गिनिज बुकमा नाम दर्ता गराउन आदरणीय पत्रकारहरु मार्फत आवश्यक प्रक्रिया अघि बढाई मानवीय सहयोग गर्न र सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न हार्दिक अनुरोध गर्दछु ।’
त्यस्तै, उनीहरुले छोराहरुको पालनपोषण, रेखदेख, स्याहारसुसार गर्न र जीवन निर्वाह निमित्त समय दिन आमाबुबा वा परिवारको एक सदस्यको निरन्तर उपस्थिति र सहयोगको खाँचो परेकोले र निजहरुको पालन पोषण, स्याहार सुसार गर्न, नियमित स्वास्थ्य परिक्षण र स्वास्थ्य उपचारका लागि आर्थिक रकम अभाव भई समस्या परेकोले निजहरुको जीवन निर्वाहका लागि नेपाल सरकार तथा गैर–सरकारी संघसस्था समक्ष पनि आवश्यक सहयोगका लागि पहल गरी दिन पत्रकारज्यु समक्ष अपिल गर्दछु।’
उनकाअनुसार जेठो छोरा राजुको उचाई ४२ इन्च र तौल २३ केजी छ । र, कान्छा छोरा कल्याणको तौल १० केजी र उचाई २९ इन्च मात्र छ । उनले भने,‘इशाराले मात्र आफ्ना कुरा व्यक्त गर्ने कान्छा छोरो कल्याणलाई त क्षणभर पनि छोड्न मिल्दैन् । हाल उनीहरुको समयमा देखापर्ने शारिरीक परिवर्तनहरु जस्तै दाह्री, जुङ्गा आउने दाँत साटिने बोलीमा धोद्रोपन आउने, बौद्धिक तथा यौन परिपक्वता आदिमा कुनै पनि परिवर्तन देखिएको छैन।’
दुई छोराहरुमध्ये जेठो राजुले होचो र असामान्य व्यक्ति भएरपनि शिक्षाशास्त्र संकायमा १०ं२ उतीर्ण र ६ महिने आधारभुत कम्प्युटर तालिम पुरा गरेको पनि उनले सुनाए ।
उनले भने, ‘तर, निजले योग्यताअनुसारको रोजगारी पाउन सकेको छैन । निज राजु श्रेष्ठलाई आत्मनिर्भर र स्वावलम्वी बनाउन धेरै ठाउँमा प्रयास गरेपनि कुनै व्यक्ति संघसस्था तथा निकायले खासै चासो नदेखाएकोले निजको योग्यता र शारिरीक अनुकुलता सुहाउदो रोजगारी समेत प्रवन्धको लागि आवश्यक सहयोगका लागि अनुरोध गर्दछु ।’
|
‘सहकारी क्षेत्रको पूँजी र मानवस्रोतलाई उत्पादनमा लगाउनुपर्छ’ काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थासँग भएको पूँजी र मानवस्रोतलाई उत्पादनमा लगाउनुपर्ने बताएका छन्।
काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको १७औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरोकारवालाको भूमिका’ विषयको अन्तक्र्रियामा मन्त्री अर्यालले सहकारीसँग भएको स्रोत र सामथ्र्यलाई सामाजिक विकास र राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिए।
अबको यात्रा भनेको समाजवादोन्मुख यात्रा भएको बताउँदै उनले अब हरेक क्षेत्रमा समाजवादोन्मुख कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। “सरकारले योजना र केही रकम दिने हुँदा त्यसमा आफ्नो परिश्रम लगानी नगर्दासम्म हामी प्रगतिको दिशामा अगाडि बढ्न सक्दैनौँ”, उनले भने।
मन्त्री अर्यालले विकास निर्माणमा सक्रिय जनसहभागिता हुनुपर्ने बताउँदै सहकारीको ठूलो जनशक्तिलाई ठूला कार्यमा लगानी गरेर जानुपर्ने र सबैभन्दा बढी गरीब भएका स्थान छानेर सहकारीले गरीबी उन्मूलन कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे।
अहिले पनि १७.७५ गरीब रहनु भनेको ठूलो कुरा भएको भन्दै मन्त्री अर्यालले गरीबी उन्मूलनमा सहकारीको पनि भूमिका हुनुपर्ने उनको भनाइ थियो। रासस
|
त्रिवि उपकुलपतिको कार्यालयमा तालाबन्दी काठमाडौं । विद्यार्थी सङ्गठनले वरिष्ठ प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने माग गर्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन्।
एउटै व्यक्तिलाई दुई संस्थाको प्रमुख बनाउन नहुने तथा विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग गर्दै आज उपकुलपतिको कार्यालयमा तालाबन्दी गरिएको हो।
अनुचित ढङ्गले जनप्रशासनको विभागीय प्रमुख नियुक्ति गरेको आरोप लगाउँदै आएका स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले नियुक्ति सच्याउन माग गर्दै बुधबारसमेत रजिष्टारको कार्यालयमा तालाबन्दी गरेका थिए।
नेविसङ्घका एकाइ अध्यक्ष सुदीप श्रेष्ठले विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलन तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाएपछि आन्दोलन गर्नुपरेको बताए।
त्रिविले निमित्त प्रमुख प्राध्यापक यशोधा काफ्लेको तीनमहीने कार्यकाल सकिएपछि उपप्राध्यापक हरिभक्त शाहीलाई निमित्त प्रमुख नियुक्त गरेको थियो। त्रिविमा नयाँ पदाधिकारी नियुक्तिमा प्राध्यापकले समेत असन्तुष्टि व्यक्त गर्दैआएका छन्। रासस
|
काँग्रेस केन्द्रीय समिति बैठक नबसेरै स्थगित काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ ।
आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारका बारेमा निर्णय गर्न विहिबार अपरान्ह २ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी स्थगित भएको हो।
पार्टी विधान अनुसार जिल्ला कार्यसमितिको रायमा प्रदेश कार्यसमितिले बढीमा ३ जना उम्मेदवारको नाम सिफारिस गरि केन्द्रलाई पठाउनुपर्नेमा धेरै उम्मेदवारको नामावली आएपछि त्यसबारे छलफल गर्नुपर्ने देखिएकाले बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बैठकमा प्रस्ताव गरिएका विषय बारेमा छलफल यथेष्ट नभएकाले औपचारिक बैठक बस्न नसकेको उनले बताए।
पार्टीले जिल्ला कार्यसमितिको रायमा प्रदेश कार्यसमितिलाई ३ जना उम्मेदवारको नाम सिफारिस गरि केन्द्रमा पठाउन निर्देशन गरेको थियो। तर सबै स्थानबाट ३ जना भन्दा बढी उम्मेदवारको नाम केन्द्रमा पठाईएको छ।
प्रवक्ता शर्माका अनुसार सबै भन्दा बढी कास्कीबाट १६ जना, भक्तपुरबाट १० जना, बाग्लुङबाट ४ जना र दाङबाट ११ जनाको नाम प्राप्त भएको छ। पुन सिफारिस गरि पठाउन निर्देशन गर्ने वा केन्द्रले नै निर्णय गर्ने भन्ने सन्र्दभमा छलफल गरि निर्णय गरिने उनले बताए।
|
प्रहरी पोशाक दुरुपयोग गरेको अभियोगमा पक्राउ काठमाडौं । अश्लिल शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म दुरुपयोग गरेको अभियोगमा रामेछाप, रामेछाप नगरपालिका ५ ठेगाना भएका आफूलाई र्यापर भन्न रूचाउने भिटेन, समिर घिसिङ्ग भन्ने २२ वर्षीय समिर लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
“हामी यस्तै त हो नी ब्रो” बोलको गीतमा लागुऔषध गाँजा सेवन गर्न प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लिल शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेका समिरलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको उक्त महाशाखाले जनाएको छ।
|
प्रधानमन्त्री ओली दोहामा दोहा। प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा जानेक्रममा कतारको पुगेका छन्।
यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन् । प्रधानमन्त्री ओलीका साथ उनकी पत्नी राधिका शाक्य छिन्।
दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरुलाई नेपालका लागि कतारका राजदूत डा नारदनाथ भारद्ववाज वाग्ले र नेपाली दूतावासका अन्य वरिष्ठ अधिकृतहरुले स्वागत गरे।
करीब दुई घण्टाको विश्रामपछि प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डल बाकुका लागि नेपाली समयअनुसार रातिको ८ बजे प्रस्थान गर्नेछ । दोहाबाट बाकुको उडान समय २ घण्टा ५० मिनेट रहेको छ । रासस
|
महरालाई थप ७ दिन थुनामा राख्न आदेश काठमाडौं । यौन काण्डमा मुछिएर प्रहरीको हिरासतमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो। बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले महरालाई असोज १९ गते साँझ पक्राउ गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो । तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि म्याद थपको माग अदालतसमक्ष गरेको थियो ।
|
दलित व्यक्तिलाई कुटपिट गर्ने जनप्रतिनिधि पक्राउ पाल्पा । दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार तिनाउ गाउँपालिका–६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई वडा सदस्य विष्टले कुटपिट गरेको थियो ।
जातीय छुवाछूतविरुद्ध कसुर ऐन र कुटपिटसम्बन्धी पीडित नेपालीले दिएको उजुरीका आधारमा प्रहरी विष्टलाई पक्राउ गरेको हो । विष्टलार्ई बुधबार बेलुकी नै जिल्ला अदालत पाल्पाबाट आठ दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
आइतबार बिहान आर्थिक लेनदेनसम्बन्धी कुराकानी गर्ने विष्टले नेपालीलाई कुटपिट गरी घाइते बनाएका थिए । त सार्की डाङ्ग्रालाई के को पैसा भन्दै कुटपिट गरेको प्रहरीको दाबी छ । कुटपिटबाट नेपालीको आँखा, घाटी र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
जनप्रतिनिधि विष्टले आफूले नेपालीलाई कुटपिट गरेको स्वीकार गरिसकेका छन् । विभिन्न राजनीतिक दलले घटनालाई मिलापत्रमा टुङ्ग्याउन खोजेपछि पीडित नेपालीले दोषीउपर कारवाही हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका हुन् । रासस
|
बैतडीमा ट्रक दुर्घटना, एक जनाको मृत्यु बैतडी । महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुननसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
धनगढीबाट दार्चुलातर्फ गइरहेको से१ख १९२३ नम्वरको ग्यास बोकेको ट्रक सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीको टोली अहिले घटनास्थलतर्फ गइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
|
भारतको कर्नाटकमा बाढीका कारण थप १३ को मृत्यु कर्नाटक (रासस/एएनआई) । भारतको कर्नाटक राज्यमा बाढीका कारण बुधबारसम्म थप १३ जनाको मृत्यु भएको छ।
विनाशकारी बाढीमा परेर मृत्यु हुनेको यो तथ्याङ्क यही अक्टोबर १८ देखि अहिलेसम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन्।
राज्य सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढीका कारण १५० भन्दा बढी पशुचौपाया मरेका छन्।
अधिकारीहरुले बाढीका कारण ९ हजार ८३२ घरमा आंशिक क्षति भएको र २०६ ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको बताएका छन्।
गत पछिल्लो छ दिनमा यस क्षेत्रमा अत्यधिक वर्षा भएको र बाढी आएकाले धनजनको क्षति भएको सरकारी अधिकारीहरुको भनाई छ।
उनीहरुका अनुसार बाढी प्रभावित क्षेत्रमा अहिले जनजीवन सामान्य हुँदै जान थालेको छ भने खोजी, उद्धार तथा राहतका लागि कामहरु पनि भइरहेका छन्।
बगालकोटमा मात्रै ३७ हजार ३४ जना बाढी प्रभावितलाई विभिन्न शिविर बनाएर पुनस्र्थापित गरिएको छ।
कर्नाटक राज्यका २८ ओटा शिविरमा ७२ हजार २० जनालाई पुनस्र्थापना गरिएको प्रदेश सरकारको तथ्याङ्क छ।
सरकारी अधिकारीले बाढीबाट प्रभावितका लागि आवश्यक सहयोग उपलब्ध गराउने कार्य गरिरहेको पनि जनाएका छन्।
|
नेपालद्वारा उत्तरकोरिया र लक्जेम्बर्ग पराजित काठमाडौं । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत आज भएको ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तरकोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ।
पहिलो चरणका पुरुषतर्फको एकल खेलमा नेपालका रत्नजीत तामाङले लक्जेम्बर्गका रोबर्ट म्यानलाई २१–१६ र २१–१५ को सोझो सेटमा हराएका छन्।
त्यस्तै पुरुषतर्फ डबलमा रत्नजीत तामाङ र नवीन श्रेष्ठले जोडीले उत्तर कोरियाका खेलाडी चुङइल किम र होे चोल युलाई हराएका हुन्। तामाङ र श्रेष्ठले २१–१८, १९–२१, २१–१९ को सेटले कोरियाका खेलाडीलाई पराजित गरेका हुन्। मिक्स डबलमा भने थाइल्याण्डसँग नेपाल पराजित भएको छ।
आजै भएको ८०० मिटरको दौडमा पनि नेपालका सोमबहादुर कुमालले आशा गरेअनुरुपको नतिजा ल्याउन सकेनन्। इन्टरनेशल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने ल्याउन सकेनन्।
इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको हो।
उक्त प्रतियोगितामा नेपालले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङमा भाग लिएको छ।रासस
|
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार अमेरिकाको मियामी बस्ने झापा भद्रपुर नगरपालिका ९ घर भएका ४२ वर्षीय लिलाराज गौतम पक्राउ परेका छन्।
गौतम समेत भएको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्म कैद फैसला भएका फरार गौतमलाई इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट पक्राउ गरी बुधबार काठमाडौं जिल्ला अदालत मार्फत कारागार कार्यालय डिल्लीबजार पठाइएको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ।
२०५७ असोज २९ गते राति सन्ध्या राजवंशीलाई सिताराम बस्नेतले घरबाट बोलाइ लगेको तथा गौतम र मनोज खड्का समेतले करणी गरी घाँटी थिची हत्या गरेपछि रुखमा झुण्डाएर भागेको र २०५७ असोज ३० गते बिहान झापाको चारआली जंगलमा सन्ध्याको शव झुण्डिएको अवस्थामा फेला परेको थियो।
|
राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापानको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केकी छन्।
उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले स्वागत गरे।
राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गरेकी थिइन्।
म्यान्माको राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी कात्तिक ३ गते जापानी सम्राट नारुहितोको शुभराज्या भिषेक समारोहमा सहभागी हुन म्यान्माबाट जापानतर्फ प्रस्थान गरेका थिए।
जापानमा रहँदा राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच टोकियोमा शिष्टाचार भेटवार्तासमेत भएको थियो।
राष्ट्रपतिसँग शुभराज्याभिषेक समारोहमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी पदाधिकारीसमेत सहभागिता रहेको थियो।रासस
|
विश्व महिला सम्मेलन : २० बुँदे काठमाडौं घोषणा–पत्र जारी काठमाडौं । चौंथो विश्व महिला सम्मेलनको २५ औं वार्षिकोत्सवका उपलक्ष्यमा समानान्तर राष्ट्रिय प्रतिवेदन तयारीका सिलसिलामा आयोजित बेइजिङ्ग २५ को राष्ट्रिय समीक्षा कार्यक्रम २० बुँदे काठमाडौं घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ ।
सातै प्रदेशका महिला अधिकारकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले गरिन्। उद्घाटन मन्तव्यमा उनले महिला हिंसा अन्त्य गर्न सरकारले जिम्मेवार भएर काम गर्ने भन्दै हाम्रो अभियानलाई थप उत्साह थपेकी छन्।
उनले स्थानीय तहहरु जनताको नजिकै भएकाले महिलाहरुको अवस्था स्थानीय तहसँग बुझ्ने र स्थानीय सरकारसँग मिलेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार रहेको बताइन्। अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको दिगो विकास–लक्ष्य प्राप्तिका लागि बेइजिङ घोषणा तथा कार्ययोजनाको पूर्ण एवं प्रभावकारी कार्यान्वयन आवश्यक रहेको पक्षमा जोड दिँदै; बेइजिङ घोषणा तथा कार्ययोजना, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने माग गर्दै कार्यक्रम सम्पन्न गरेका छौं ।
राष्ट्रिय सञ्जाल संस्था बियोण्ड बेइजिङ कमिटी (बिबिसी) प्रदेशस्तरीय सम्मेलनबाट प्राप्त सुझावहरुलाई समेटेर काठमाडौं घोषणा–पत्र जारी गरेका हौं। संघीयता कार्यान्वयन संगसंगै राजनीतिक, सामाजिक तथा आर्थिक विकासका चरण तथा प्रक्रियाहरू लगायत सार्वजनिक एवं निजी क्षेत्रमा लैङ्गिक सवालहरूको मूलप्रवाहीकरण गर्ने नीति, कानुन, कार्ययोजना तथा कार्यक्रमहरुको बन्नका लागि हाम्रो घोषणा पत्र र कार्यक्रमबाट आएको निचोडले सहयोग पुर्याउने हामीले विश्वास गरेका छौं ।
बियोण्ड बेइजिङ कमिटी (बिबिसी)को स्थापनाकालदेखीका अग्रज महिला अधिकारर्कीदेखी किशोरी अधिकारकर्मीसम्मको सहभागिताले उत्कृष्ट निचोड निकाल्न सफल भएको छ।
संविधानलगायत विभेदकारी कानूनहरूको तुरून्त संसोधन गरी सारभूत लैङ्गिक समानता कायम गर्नु पर्ने अपरिहार्यतालाई यो कार्यक्रमले अझै प्रचार प्रसार गर्न सहयोग पुर्याएको विज्ञप्तिमा जनाएको छ ।
राजनीतिक, सामाजिक, आर्थिक तथा अन्य सार्वजनिक जीवनका निर्णय प्रक्रियाका सबै चरणमा सन् २०३० सम्ममा ५०ः५० कायम गर्न नेपालको संविधानले प्रदत्त गरेका समावेशी एवं समानुपातिक सहभागितालाई कार्यान्वयनका लागि देशभरबाट सहभागि महिला अधिकारकर्मीहरुले अभियान गर्ने प्रतिबद्धता जनाएका छन् ।
घरेलु कामलाई आगामी राष्ट्रिय जनगणनामा समेट्दै त्यसलाई औपचारिक तथा अनौपचारिक क्षेत्रमा संलग्न कामकाजी महिलाहरूको तथ्याङ्क निकाल्न हामिले दवाव दिनेछौं । दिगो विकास हासिल गर्न राष्ट्रिय स्तरदेखि स्थानीय स्तरसम्म लैङ्गिक संयन्त्रहरूलाई सकृय बनाउन स्थानीय तहदेखी नै जोड दिन माग गर्दछौं ।
राष्ट्रिय महिला आयोगलाई यथाशीघ्र कानून, नीतिद्वारा सुसज्जित बनाई जनशक्ति एवं वित्तिय श्रोतसाधन सम्पन्न गराउन आह्वान गर्दछौं । बलात्कार, दुव्र्यवहार, हिंसा, शोषण र साइवर अपराध विरूद्ध बनेका कानूनहरूको प्रभावकारी रूपमा कार्यान्वयन गरी यौनजन्य हिंसा र अपराधहरूबाट महिला र बालिकाको सुरक्षाको ग्यारेन्टी गर्दै दण्डहीनताको अन्त्य गर्न कार्यक्रमले माग गरेको छ ।
महिला तथा किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे पुरुष महिला, यौनिक अल्पसंख्यक, किशोर किशोरीहरुमा व्यापक शिक्षा सचेतना जगाई यौनजन्य हिंसा, दुव्र्यवहार, वलात्कार, बालविवाहको रोकथाम गर्न आह्वान गर्दछौं । २० बुँदे काठमाडौं घोषणा–पत्र यसै बिज्ञप्तीका साथ वितरण गरेका छौं । विज्ञप्तिमा भनिएको छ।
|
अवैध रुपमा ल्याएका विभिन्न सामान बरामद मोरङ । भारतबाट अवैध रुपमा ल्याएको करिब १ लाख ६१ हजार ६ सय ७० रुपैयाँ मूल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मंगलबार बरामद गरेको छ।
बरामद भएका सामानहरुमा उक्त रुपैयाँ मूल्य बराबरका विभिन्न मोटर पार्टहरु, गिलास, बटुका, पापड, विभिन्न लत्ताकपडा, सुर्ती, सुपाडी, वदम र सुनपाप्री लगायतका छन्।
उक्त सामान विराटनगर महानगरपलिकाका वडा नम्बर ६, १० र १४ का विभिन्न स्थानबाट बरामद गरिएको हो।
बरामद सामान आवश्यक कारवाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
|
टोनार्डोको क्षति न्यूनिकरणका लागि पूर्व सूचना प्रणाली स्थापना गर्नुपर्ने सुझाव काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बारा-पर्सामा आएजस्तो टोनार्डोबाट हुने क्षति न्यूनिकरणका लागि पूर्व सूचना प्रणालीको तत्काल स्थापना गनुपर्ने सुझाव दिएको छ।
बारा–पर्सामा गत चैत्र १७ गते आएको विनाशकारी टोनार्डोको अध्ययन प्रतिवेदनले त्यस्ता खाले विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि तत्काल पूर्व सूचना प्रणाली स्थापना गर्नुपर्ने सुझाव दिएको हो।
बुधबार उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सार्वजनिक गरेको सो प्रतिवेदनमा त्यस्ता खालको पूर्व सूचना प्रणालीले हावाहुरी, चटयाङसहितको विपत्तिबाट हुने क्षतिको न्यूनिकरण गर्न पनि सघाउ पुर्याउने जल तथा मौसमविद् डा. अर्चना श्रेष्ठले जानकारी दिए।
बारा–पर्सामा आएको जस्तो मौसमी घटनाहरुबाट जनधनको क्षति न्यूनिकरण गर्न प्रदेश र स्थानीय तहमा पनि सावधानी अपनाउने गरी पूर्व तयारी पद्धतिको विकास गर्नुपर्ने सुझाव पनि सो प्रतिवेदनमा दिइएको छ।
विभागका महानिर्देशक सरजुकुमार बैद्यको अध्यक्षतामा गठन गरिएको समितिले सो टोनार्डोको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा सो टोनार्डोको अधिकतम गति १८० देखि २६५ प्रतिघण्टा भएको अनुमान गरिएको पनि उल्लेख गरिएको छ।
|
राप्रपाका नेता स्व. चन्द्र बहादुर गुरुङको स्मृतिसभा काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङले संविधानसभामा तत्कालीन राप्रपा नेपालका संसदीय दलका नेता चन्द्र बहादुर गुरुङले आफ्नो पार्टीले लिएको निष्ठाप्रति अविचलित र अडिक भएर प्रस्तुत हुने नेताका रुपमा स्व. चन्द्रबहादुर गुरुङलाई चित्रण गर्दै उनका राम्रा पक्षको अनुशरण गरेर अगाडि बढ्न राप्रपाका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे।
तत्कालिन राप्रपा नेपालका महामन्त्री एवं संसदीय दलका नेता स्व. चन्द्र बहादुर गुरुङको चौथो वार्षिक पूण्य तिथिको अवसरमा ‘स्व. चन्द्र बहादुर गुरुङ स्मृति तथा अध्ययन प्रतिष्ठान’द्वारा आयोजित स्मृति सभालाई सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेम्वाङले सो कुरा बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विचार र सिद्धान्तका हिसाबले कांग्रेस र कम्यूनिष्टको विकल्प राप्रपा मात्र भएको बताए।
अध्यक्ष थापाले संविधानसभाको पहिलो बैठकमा संसदीय दलका नेता चन्द्र बहादुर गुरुङले पार्टीको अडान राजसंस्था सहितको लोकतन्त्र र हिन्द्ु राष्ट्रको पक्षमा डटेर आवाज वुलन्द गरेको र त्यसलाई निरन्तर रुपले अगाडि बढाएकै कारण आज आम राष्ट्रवादीहरुले राजा सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रका बारेमा खुलेर बोल्न सक्ने वातावरण सिर्जना भएको बताउँदै स्व गुरुङको सिद्धान्तप्रतिको निष्ठा, कर्तव्य परायणता एवं अनुशासन लाई शिक्षको रुपमा लिएर राप्रपाका आम नेता तथा कार्यकर्ताले अनुशरण गरि व्यवहारमा उतारेमा राप्रपाको प्रगतिलाई कसैले छेक्न नसक्ने स्पष्ट पारे।
परिवर्तनका नाममा परिवर्तनका संवाहक भन्ने राजनीतिक दलहरुको गलत मार्गचित्रका कारण देशको आर्थिक अवस्था जर्जर भएको उल्लेख गर्दै अध्यक्ष थापाले नेपाली युवाहरुको रगतर पसिना विदेशमा निर्यात गरेर आएको रेमिट्यान्सले देश चल्नु दुर्भाग्य रहेको बताए।
भएका उद्योगधन्दा नष्ट गर्नु, व्यक्तिगत एवं समुहगत स्वार्थकै लागि राजनीतिमा अपराधिकरण बढ्नु, भ्रष्टाचार मौलाएर जानु लगायत विकसित मुलुकको परिस्थितिलाई नियाल्दा परिवर्तनकारी राजनीतिक दलहरुको अकर्मण्यता पुष्टि भएकोले यसलाई निराकरण गर्न सक्षम राजनीतिक दलको रुपमा आम नेपाली जनताले राप्रपालाई हेर्न थालेको प्रशंग उल्लेख गर्दै अध्यक्ष थापाले विचार मिल्ने पार्टी एवं संगठनहरुसँग एकता र सहकार्य गर्दै पार्टीलाई अग्रणी स्थानमा पुर्याउने उद्घोष गरे।
सम्बोधनकै क्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जुझारु एवं मृदुभाषी नेता स्व. चन्द्र बहादुर गुरुङको अल्पायुमै निधन भएकोमा दुःख व्यक्त गर्दै अहिलेको अवस्थामा उनीजस्ता निर्भिक नेताको खाँचो टड्कारो रहेको बताए।
कार्यक्रममा राप्रपाका वरिष्ठ नेता दिपक वोहोरा, उपाध्यक्ष तोरण बहादुर गुरुङ र प्रतिष्ठानका सदस्य सचिब चन्द्र बहादुर गुरुङ ‘रमेश’ लगायतले स्व. गुरुङको योगदानप्रति चर्चा गर्नुभएको थियो भने पार्टीका सहायक महामन्त्री राजाराम वर्तौलाले स्व गुरुङको संक्षिप्त जीवनी माथी प्रकाश पारेका थिए।
|
नेपालमा पोषणसम्बन्धि विश्व सम्मेलन हुने काठमाडौं । पोषणसम्बन्धि विश्व सम्मेलनमा पनि नेपालमा हुने भएको छ ।
राष्ट्रिय योजना आयोगले बुधबार पत्रकार सम्मेलन गरी आगामी कार्तिक १८ गतेदेखि काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
बढि पोषण पनि कुपोषण हो भन्ने सन्देश समेत दिने गरी आयोजना हुने सो सम्मेलनका विश्वका विभिन्न मुलुकका सरकारी प्रतिनिधि र विज्ञहरु सहभागी हुनेछन्।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने पनि आयोगका प्रवक्ता किरण रुपाखेतीले जानकारी दिए। ४ दिनसम्म चल्ने सम्मेलनमा कुपोषणबाट मुक्ती पाउनका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित हुनेछ ।
नेपालमा हाल २८ दशमलव ६ प्रतिशत बालबालिका कुपोषणको शिकार बनेको सरकारी तथ्यांक छ। उनीहरुलाई त्यसबाट मुक्त गराउन पनि सो विश्व सम्मेलनले आवश्यक मार्ग निर्देशन गर्ने सरकारको अपेक्षा छ।
‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ मूल नाराका साथ आयोजना हुने सो विश्व सम्मेलनमा पोषणका क्षेत्रमा कार्यरत एक सयभन्दा बढि अन्तराष्ट्रिय संघ, संस्थाका प्रतिनिधिहरु पनि सहभागी हुनेछन्।
|
सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था छैन : गगनकुमार थापा काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन्।
पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता थापाले अर्थमन्त्री डा. युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामलाई गति दिन नसकेको दावी पनि गरे।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको ईतिहासमै बलियो सरकार बनेपनि त्यसले बैज्ञानिक ढंगले काम गर्न नसकेको पनि बताए।
काँग्रेस नेता थापाले अर्थमन्त्री खतिवडाले अर्थमन्त्रीको जस्तो नभई नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रस्तुत भएकाले मुलुकको आर्थिक विकासको गति सहज ढंगले अघि बढन नसकेको पनि बताए।
|
‘उर्जा शिखर सम्मेलन’ मंसिर ५ र ६ गते काठमाडौंमा हुने काठमाडौं । नेपालमा यही मंसीर ५ र ६ गते ‘ऊर्जा शिखर सम्मेलन’ आयोजना हुने भएको छ ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो शिखर सम्मेलन आयोजना हुने औपचारिक जानकारी गराएको हो।
नेपालको उर्जाको उत्पादन, बजारीकरण र त्यसका लागि आवश्यक बाह्य लगानी जुटाउने मुख्य उद्देश्यका साथ यो शिखर सम्मेलन आयोजना गर्न लागिएको इप्पानका वरिष्ठ उपाध्यक्ष कुमार पाण्डेले जानकारी दिए।
काठमाडौंमा आयोजना हुने सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सो शिखर सम्मेलनमा भारत, बंगलादेश, चीन, क्यानडा, नेदरल्याण्ड, बेलायत, अमेरिका तथा जापानसहित विभिन्न देशका ७ सय भन्दा बढी उर्जा क्षेत्र विज्ञहरु सहभागी हुनेछन्।
सो शिखर सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको उर्जा क्षेत्रमा आवश्यक लगानीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने पनि इप्पानले जनाएको छ।
|
बाढी प्रभावित परिवारलाई राहत वितरण मुगु । गत साउन ३२ गते परेको अविरल बर्षाले बाढी आउदा घर, जग्गा र अन्नवाली बगाएपछि पीडित भएका यहाँका कृषकहरुलाई आज राहत वितरण गरिएको छ ।
छायाँनाथ रारा नगरपालिका वडा नं १, ४, ६ र ७ वडा भएर बग्ने गमगाढ खोलामा गत साउन ३२ गते बाढी आउँदा मानविय बाहेक करोडौका खेतबारी, घर र अन्नवाली बगाएर बगर बनाएको थियो।
बाढीबाट प्रभावित मध्य आज वडा नं ६ र ७ का बालै, घुईर, कोटिल्ला र पिना गाँउका २३० घरधुरीलाई छायाँनाथ रारा नगरपालिकाले राहत सामग्रीहरु वितरण गरेको हो। नगरप्रमुख हरिजंग शाहीकोे हातबाट नगरपालिकाले बाढी पीडित घरधुरीलाई १ बोरा चामल र १ वटा खानेतेल वितरण गरेका थिए।
निमित्त प्रमुख प्रशासकिय अधिकृत पशुपति शाहीका अनुसार बाढी प्रभावित वडा नं ६ का १९५ र वडा नं ७ का ३५ घरधुरीलाई राहत स्वरुप चाल र तेल वितरण गरिएको थियो ।
बगर क्षेउछाउमा रहेका खेतहरुमा लगाएको धान, खेत गरा, पानी घट्ट र पुलहरु बाढीले बगाएपछि स्थानीयहरु प्रभावित भएका थिए ।
बाढीले २०० बढी खेत, ८ वटा काठेपुल, १ वटा फलामे ट्रसपुल र ७ वटा परम्परागत पानी घट्ट बगाएको भाद्र ३ गते उपप्रमुखको नेतृत्वमा बाटी प्रभावित क्षेत्रमा अनुगमनमा गएको टोलीले प्रतिवेदनमा उल्लेख गरेको छ ।
राहत वितरण कार्यक्रममा बोन्दै नगर प्रमुख शाहीले प्रभावित कृषकहरुका लागी यो स्थानीय सरकारको मलम मात्र भएकोे र अन्य सहयोगका लागि प्रभावित परिवारलाई आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने, बगेका काठेपुल बनाउने, घट्ट र घरधनीलाई धनीलाई निर्माण अनुदान दिने आश्वासन दिए।
बाढीले खोलामा रहेका काठेपुल र फलामे पुल बगाएको १ महिना वितिसक्दा पनि स्थानीय, प्रदेश र संघीय सरकारहरुले निर्माणका लागि कुनै काम अगाडी नबढाउदा यो खोला तरेर वन जंगलमा वस्तुभाउ चराउन र एक गाँउबाट अर्को गाँउ आवत जावत महिला बालबालिका र जेष्ठ नागरिकहरुलाई कठिन हने गरेको छ भने जिल्ला सदरमुकाम भएर नाक्चेलाग्ना सडक खण्डको अल्का साघु भन्ने स्थानमा रहेको काठेपुल बगाउपछि यो सडक अवरुद्घ छ ।
प्रभावित बाँकी १ र ४ वडाका स्थानीयहरुलाई तिहार लगतै राहत वितरण गरिने नगरपालिकाले जनाएको छ ।
|
नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्रदान काठमाडौं । नेपालले अन्तराष्ट्रिय स्तरको ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्राप्त गरेको छ।
वल्र्ड फ्यूचर काउन्सिल र संयुक्त राष्ट्र संघीय विकास नियोगसँगको सहकार्यमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्वन्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलताको पहिचान गरी नेपाललाई सो अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको हो।
सर्बियामा आयोजित वल्र्ड फ्यूचर काउन्सिलको १४१ औँ सम्मेलनका क्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेपालले प्राप्त गरेको सो अवार्ड प्रदान गरिएको थियो। सोही अवार्ड बुधबार अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक समारोहकाबीच हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विश्वस्तरको सो अवार्ड शान्ति, समावेशिता र विकास नीतिमा नेपालले लिएको सही बाटोको सम्मान भएको उल्लेख गर्दै सम्पूर्ण नेपाली जनतालाई बधाई दिए। उनले नेपालको संविधानले शान्ति, समानता र विकासको क्षेत्रमा लिएको भविष्यसम्बन्धि सही नीतिको सम्मानको रुपमा आफूले सो अवार्डलाई लिएको पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले नेपाली जनताले प्राप्त गरेको सफलताको सम्मानको रुपमा सो अवार्ड प्राप्त भएको उल्लेख गर्दै नेपाली जनताले शान्ति, समानता र विकासका लागि गरेका संघर्षको प्रतिफलको रुपमा सो अवार्ड हात पार्न सफल भएको पनि बताए।
नेपालको संविधानले द्धन्द्ध व्यवस्थापन, युवा सहभागिता र अधिकारबारे प्राप्त गरेको सफलताको सम्मान गर्दै नेपाललाई वल्र्ड फ्यूचर काउन्सिलले सो विश्व स्तरको अवार्ड प्रदान गरेको हो।
|
एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्दै प्रधानमन्त्री ओली काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्दै तोकिएको समय अघि नै आयोजना निर्माणको काम सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सचेत गराएका हुन्।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको काम गौरव गर्न लायक गरी सम्पन्न गर्न पनि तोकिएको समय अघि नै सम्पन्न गर्नुपर्नेतर्फ सम्बन्धित मन्त्री, विभाग र आयोजना प्रमुखहरुलाई कडा निर्देशन दिएका हुन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको एक्सन रुमबाट ६ वटा राष्ट्रिय गौरवको आयोजनाहरुको कामको प्रगति विवरण लिँदै त्यसको काममा तीव्रता दिन पनि प्रधानमन्त्री ओलीले मातहतका आयोजना प्रमुखहरुलाई निर्देशन दिए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको कामलाई तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिए।
प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, माथिल्लो तामाकोसी जलविद्युत आयोजना, सिक्टा सिँचाई आयोजना र भेरी–डाईभर्सन सिचाई आयोजनासहित ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको कामको प्रगतिविवरणबारे जानकारी लिएका थिए।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पुन, अर्थमन्त्री डा. युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराई तथा सम्बन्धित मन्त्रालयका सचिवहरु सहभागी रहेका थिए।
प्रधानमन्त्री ओली सम्बन्धित मन्त्रीहरुलाई साथै राखेर यतिखेर सिंहदरबारस्थित एक्सन रुमबाट पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी विधुत योजना, भेरी-बवई डाइभर्सन, रानीजमरा र सिक्टा सिंचाई, पुष्पकमल लोकमार्गलगायतका राष्ट्रिय गौरवका योजनाको अनुगमन गरिरहनु भएको छ। pic.twitter.com/Le7rf0mnBy
— Kundan Aryal (@TheRealKalamchi) October 23, 2019
|
अन्तरजातिय विवाह गरेकी दलित केटी भैसिँगोठमा बस्न बाध्य सिरहा । सिरहा जिल्लामा जातिय छुवाछुतको घटनामा बृद्धि भईरहेको छ । केहि दिन पहिले सिरहा नगरपालिका ११ को भलुवाहिमा छुवाछुतकै कारणले स्थानीय बिरेन्द्र महरालाई भोज खानलागेका बेला पात खोसेर भोजखान दिइएको थिएन । उक्त घटना सेलाउन नपाउँदै फेरि अर्को छुवाछुतको घट्नाले अहिले सिरहा जिल्ला चर्चामा छ ।
कानुनले नै छुवाछुतलाई बर्जित गरिसकेको बेला सिरहामा भने बेलाबेलामा यस्ता घटनाहरु हुने गरेका छन् । घटनाअनुसार सिरहाको कल्याणपुर नगरपालिका वडा नं १० को बङ्गठिया बसोबास गर्ने अकाश भन्ने बरुण मण्डलसँग प्रेम विवाह गरेकी सिरहाकै सखुवानन्कट्टी ५ महेशवारीकी २२ वर्षीय सुनिता रामले दलित जाति चमार जातिको भएकै कारण पतिको घरपक्षले घरमा बस्न नदिएपछि भैंसिको गोठमा बस्न बाध्य भएकी छिन ।
केहिदिन पहिले केटा र केटीले प्रेम विवाह गरेर उनीहरु दुवै काठमाण्डौं गएका थिए । केटा पक्षले दुवैजनालाई फकाएर काठमाडौंबाट सिरहाको गोलबजार नगरपालिका वडा नं १० को बेतौना पुरयाएका थिए । बेतौनामा फुपुु फुपाजुको घरमा दुई दिन राखेर उनिहरुले बरुणलाई सम्पर्क विहिन बनाएका छन।
बरुण त्याहाबाँट गएपछि आफुलाई कुटपिट गरी फुपु फुपाजुले घरबाट निकालिदिएको सुनिता रामले गुनासो गरिन् । अहिले सुनिता राम वरुणकै घरमा रहेको भैंसि गोठमा बस्दै आएकी छिन् ।
श्रीमानलाई बेपत्ता परिएपछि दुई दिन अघि देवर अरुण मण्डल र सासु रेखादेवी मण्डलले आफूलाई कुटपिटगरेर झोला फालिदिएको र गोठबाट समेत निकालिदिएको सुनिताले बताईन् । मलाई दलितको छोरि घरमा पसे घरै छुइने भन्दै घरमा बस्न र खान दिएका छैनन भन्छिन् । दुई छाकको गर्जो टार्ने कुनै माध्यम नभएको भन्दै उनले आफुसँग रहेको सीमित पैसाले गाउँकै चिया पसलमा दिनमा एक छाक रुखासुख्खा खाएर भोक टार्ने गरेको दुखेसो पाखिन् ।
प्रेम बिवाह गरिसकेकोले सुनिताले भने आफु जस्तोसुकै दुःख कष्ट सहेर भएपनि पतिकै घरमा जिवन निर्वाह गर्नेे बताईन । उनले भनिन मैले उसैलाई भनेर माईति त्यागेर आँए अब म माईत कुन मुख लिएर जाउँ । बरु म भोकै बसेर भएपनि आफ्नो पतिकै भैंसी गोठमा प्राण त्याग्छु ।
छोरी गोठमा बस्न बाध्य भएपछि न्याय माग्न इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख हिरा यादब समक्ष पुगेका सुनिताका बुवा झरिलाल महरापनि न्याय पाउने आश नदेखिएपछि निराश भएर फर्किएका छन ।
उल्टै प्रहरि ले बरुण को उमेर नपुगेकोले आफनो तर्फबाट केहि गर्न नसक्ने बताएको गुनासो झरिलालले गरे । बरुणको परिवारले उनको उमेर १६ बर्षमात्र पुगेको दाबी गर्दै आएको छ । सुनिताले भने पतिको उमेर २० वर्ष कटेको दावी गर्दै आएकी छिन् । बरुणको भाई अरुण हाल कक्षा १० मा अध्ययनरत छन । अरुणकै उमेर १६ वर्ष पुगेकाले दाजु बरुणको उमेर कसरी १६ बर्ष हुन्छ भन्ने सुनिताको प्रश्न छ ।
संयुक्त दलित मोर्चाका केन्द्रिय संयोजक शिवकुमार महराले तराई मधेशका जिल्लाामा जातिय छुवाछुतकै कारणले सुनिता राम जस्तै कैयैँ महिलाहरु समस्या भाग्न बाध्य भएको बताए । संयोजक महराले अगाडिभने विवाह गर्नेलगायतका विभिन्न प्रलोभन देखाई कथित ठूला जातका भनाउदाले सुरुमा दलित केटीसँग मोजमस्ती गर्छन् अनि घरमा विवाह गरेर लगेपछि घरपरिवारले मानेन भन्दै केटीलाई अलपत्र पार्ने गरेका छन् । जातिय छुवाछुतकै कारणले तराई समाजमा यस्ता घटनाहरु दिनप्रतिदिन बृद्धि भईरहेकोले रोकथामका लागि संबन्धित निकाय चनाखो हुनुपर्ने माग संयोजक महराको रहेको छ ।
|
चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते काठमाडौं। चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा बुधबार एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन् ।
घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुवै जनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले राससलाई जानकारी दिए।
घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । एक जनाको आकस्मिक र एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ । रासस
|
समृद्धिका लागि समाजवाद आवश्यक : श्रेष्ठ काठमाडौं । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले आफ्नो पार्टीले पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धिको माध्यमबाट समाजवादमा पुग्ने अन्तिम लक्ष्य राखेको बताएका छन् ।
नेकपासहित विभिन्न पार्टीमा कार्यरत कार्यकर्ता तथा स्थानीय युवाको पार्टी प्रवेश कार्यक्रममा उहाँले नेपाली काङ्ग्रेस र नेकपाले भन्ने गरेकोजस्तो समाजवाद नेपाली जनताले पाउन नसक्ने बताए । नेता श्रेष्ठले मुहान नै धमिलो भए स्वच्छ पानी नआउने भन्दै पुराना राजनीतिक दलहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।
पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धि नभई देश समाजवादमा पुग्न नसक्ने औँल्याउँदै नेता श्रेष्ठले समाजवादी पार्टीले सिद्धान्तमा मात्र नभई सङ्गठन र कार्यशैलीमा पनि नयाँपन ल्याउनुपर्ने बताए ।
सो पार्टीको महालक्ष्मी नगर समितिका अध्यक्ष दीपा थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य डा. पुष्पराज राजकर्णिकार, केन्द्रीय सदस्य राजन केसी, ३ नम्बर प्रदेशका सहइञ्चार्ज लालबहादुर तामाङ, केन्द्रीय विज्ञ परिषद् सदस्य विनोद नेपालीलगायतले समाजवादी पार्टी देशको वैकल्पिक राजनीतिक शक्ति बनेको जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टीलगायत विभिन्न पार्टी परित्याग गरी अब्बास पण्डितलगायत ८१ नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उत्तम लामा, मानबहादुर धामी, केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका मुख्य–सचिव मोहन बराइली, नेवाः प्रदेश उपाध्यक्ष जनक थापा, रमेश महतलगायतले पनि नवप्रवेशीलाई स्वागत गरेका थिए ।
|
काठमाडौँ र ललितपुरमा रगतको अभाव काठमाडौँ । काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो ।
वर्षेनी चाडबाड र चाडबाडपछिको समयमा उपत्यकामा रगतको अभाव देखिने गर्छ । यसलाई सम्बोधन गर्न खासै ध्यान दिएको देखिँदैन । रक्त सञ्चार सेवा केन्द्रले रगतको अभाव भएकाले रक्तदान गर्न रक्तदातालाई आह्वानसमेत गरेको छ । कुन समूहको रगत कति अभाव भएको हो भन्नेबारे केन्द्रले जनाएको छैन । सोसाइटीको सञ्चार विभागद्वारा आज बिहान जारी विज्ञप्तिमा काठमाडौँमा यो हप्तादेखि रगतको अभाव भएकाले रक्तदान गर्न आह्वान गरिएको र सबैको सहयोगले पर्याप्त स्टक भएका कारण दशैँको समयमा रगत अभाव नभए पनि दशैँपछि रक्तदान कार्यक्रम घटेकाले अभाव बढेको जनाइएको छ ।
दशैँ भर्खरै सकिएको तथा तिहार र छठलगायतका पर्वको समय आइरहेको यस्तो समयमा कलेजसमेत बन्द भएको र रक्तदान कार्यक्रम पनि कम भएकाले अहिले रगतको मागबमोजिम आपूर्तिमा कठिनाइ परेको जनाइएको छ।
रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले भने, “डेङ्गुलगायत विभिन्न रोगबाट प्रभावित बिरामीका लागि रगतको माग छ, यस्तोमा बिरामीका आफन्तलाई अनुरोध गरेर रक्तदान गर्न भनिरहेका छौँ ।” रक्त सञ्चार केन्द्रका अधिकृत राम श्रेष्ठले अहिले सेवा केन्द्रको कालीमाटी कार्यालयमा दैनिक औषतमा ३०० युनिट रगतको माग भई आएको छ तर आपूर्ति गर्न कठिनाइ भइरहेको छ।
केन्द्रका निर्देशक मनिता राजकर्णिकारले सकेसम्म धेरै सङ्घ संस्थासँग रक्तदानका लागि पहल गरिरहेको जानकारी दिए ।
पछिल्लो सयम केन्द्रको रक्त सेवा फितलो र प्रभावहीन बन्दै गएको छ। भनेका सयममा चाहिएका रगत समूह सेवाग्राहीले पाउन धौधौ पर्ने गर्दछ।
ललितपुरको रक्तसञ्चार केन्द्रमा पनि रगतको अभाव भइरहेको शाखाका सभापति बाबुराजा महर्जनले जानकारी दिए । रासस
|
स्वास्थ्यचौकी निर्माणका लागि ५ रोपनी जग्गा नि:शुल्क प्रदान गुल्मी । मनकारी दुई दाजुभाइले आफ्नो गाउँमा स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गा निःशुल्क रुपमा प्रदान गरेका छन् ।
चन्द्रकोट गाउँपालिका–७ अन्तर्गत रुपाकोट निवासी हाल युकेमा कार्यरत दाजुभाइ द्वय तारानाथ भण्डारी र मोतीराज भण्डारीले गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि रु सात लाख मूल्य बरावरको जग्गा निःशुल्क प्रदान गरेका हुन् ।
गाउँपालिकाअन्तर्गत रुपाकोटमा स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीयस्तरमा कसैले पनि निःशुल्क रुपमा जग्गा प्रदान नगरेपछि भण्डारी दाजुभाइले रु सात लाख लागतमा जग्गा किनेर गाउँपालिकालाई हस्तान्तरण गरेर उदाहरणीय कार्य गरेको गाउँपालिकाका अध्यक्ष दोर्णबहादुर खत्रीले बताए ।
उक्त गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि जग्गा र भवन नहुँदा यतिबेला बाध्यतावश वडा कार्यालय भवनको तल्लो तलामा स्वास्थ्यचौकी र माथिल्लो तलामा वडा कार्यालय सञ्चालन गर्नुपरेको अध्यक्ष खत्रीले बताए।
उनले भण्डारी दाजुभाइको उदार हृदयले सामाजिक क्षेत्रमा गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै अब स्वास्थ्यचौकीको नाममा जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि केन्द्रमा माग गरी चाँडै नै स्वास्थ्यचौकी भवन निर्माण गरिने बताए ।
विदेशमा बसेर खर्चिएको पसिनाबाट कमाएको केही रकमलाई आफ्नो जन्मठाउँमा सामाजिक कार्यमा पनि खर्चिनुपर्र्छ भन्ने उद्देश्यअनुरुप आफूहरुले उक्त सहयोग गरेको जग्गादाता मोतीराजले बताए ।
रुपाकोटमा स्वास्थ्य संस्थाको आफ्नै भवन नहुँदा त्यहाँ कार्यरत कर्मचारी र स्वास्थ्य परीक्षणका लागि आउने बिरामीले समेत लामो समयदेखि समस्या भोग्दै आइरहेका छन्। रासस
|
अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जना पक्राउ काठमाडौं । अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका १० बस्ने ३८ वर्षीय अचुत त्रिपाठी र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका ७ बस्ने ५४ वर्षीय राजेन्द्र प्रसाद पाण्डे रहेका छन्।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले त्रिपाठीलाई अवैध लागूऔषध गाँजा १ केजी ४ सय ग्राम सहित काठमाडौं महानगरपालिका ९ गैरीगाउँबाट तथा पाण्डेलाई अवैध लागूऔषध गाँजा ३ केजी र लागूऔषध चरेश ७ केजी सहित काठमाडौं महानगरपालिका १६ पकनाजोल सोह्रखुट्टेस्थित डिलाइट होटलबाट पक्राउ गरेको हो।
उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ।
कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ
सिराहा । कुटपिट मुद्दाका फरार प्रतिवादी मुसिरहा नगरपालिका २ महरा टोल बस्ने ५५ वर्षीय धनिकलाल महरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहा र वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको संयुक्त प्रहरीले टोलीले महरालाई उनकै घरबाट पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
अवैध मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरिएको
बारा । जितपुर सिमरा उपमहानगरपालिका ७ पहाडी टोलस्थित ४ वटा र सोही उपमहानगरपालिका ३ रामवन टाँडी टोलस्थित ३ वटा गरी जम्मा ७ वटा रक्सी भट्टीमा रहेको करिब ६ हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ।
साथै पहाडी टोल बस्ने ५२ वर्षीय खोब बहादुर दर्लामी मगरलगायत ४ जनालाई ३ लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने सानो ठूला गरी २५ वटा आलमुनियमको भाँडा सहित प्रहरीले नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय जितपुर र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उक्त कच्चा पदार्थ नष्ट गर्नुका साथै उनीहरुलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
|
१३ जना त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृतविरुद्ध मुद्दा दायर काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसमेत १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषलाई कतारलगायतका खाडी मुलुकमा ‘भिजिट भिसा’मा प्रस्थान अनुमति प्रदान गरी विचौलियालाई सघाउ पु¥याएको अभियोग उनीहरूमाथि आयोगले लगाएको छ।
त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीले कार्यालय समयमा रहेको अवस्थामा कम्प्युटरको नेटवर्क बन्द गरी शङ्कास्पद रूपमा दुई वटा मोबाइल फोनमार्फत लाइनमा रहेका महिला यात्रीलाई बोलाइ कागजातसमेत नहेरी प्रस्थान अनुमति दिएको आरोप छ ।
पराजुलीले प्रयोग गर्ने मोबाइल नम्बरको आधारमा प्राप्त हुन आएको ‘कल रेकर्ड’ तथा तथ्यहरू अध्ययन गर्दा उनले सोही कार्यालयमा कार्यरत अन्य अध्यागमन अधिकृतबीच ‘म्यासेज’ समेत आदानप्रदान गरेको र २४८ जनालाई प्रस्थान अनुमति दिने कार्यमा मिलेमतो गरेको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
खाडी मुलुकमा घरेलु कामदारलगायत पेशामा जान चाहनेलाई अध्यागमन अधिकृत पराजुलीसमेतका व्यक्तिले विचौलियाको ‘सेटिङ’मा प्रतिव्यक्ति रु १० हजार लिई अनुमति दिएको आयोगका जिकिर छ।
आयोगका अनुसार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरू मनहरि बराल, शैलेन्द्र केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदीशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, पद्मप्रसाद बजगाईं, वीरसिंह भण्डारी, कम्प्युटर अपरेटरद्वय रोशन गौतम र भोजप्रसाद न्यौपानेसमेतले अध्यागमन प्रणालीमा अभिलेख नराखी २४८ जनाको प्रतिव्यक्ति रु १० हजारका दरले रु २४ लाख ८० हजार बराबरको रकम उठाएको पाइएको आयोगको आरोपमा उल्लेख छ ।
उनीहरूविरुद्ध आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको र अन्य संलग्न व्यक्ति माथिसमेत अनुसन्धान जारी रहेको प्रवक्ता कोइरालाले जानकारी दिए । यस्तै आयोगले बारागढी गाउँपालिका–३ बाराका जनजागृति राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक निर्माणका लागि सरकारी स्रोतबाट प्राप्त रकम दुरूपयोग गरेको अभियोगमा तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पोखरेलले पदीय दायित्व निर्वाह नगरी रु एक लाख ३९ हजार ९६२ बढी भुक्तानी गरेको पाइएको छ । आयोगले सरकारी रकम हिनामिना गरी गैरकानुनी लाभ लिएको आरोपमा लेखापाल नवराज भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमनप्रसाद यादव, निमित्त प्रधानाध्यापक राजकिशोर चौधरी, इन्जिनियर वसन्त निधि र सबइन्जिनियर दिलीपकुमार जैसवालविरुद्धसमेत विशेष अदालतमा मुद्दा दायर गरेको छ।रासस
|
फाइभ-जीका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण बेइजिङ (रासस/सिन्ह्वा) : चीनका प्रमुख तीन टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण सम्पन्न गरेको उनीहरूले जानकारी गराएका छन्।
चीनले यस बर्षको पहिलो तीन त्रैमासिक भित्र इन्टरनेट सेवाका लागि पाँचौँ पुस्ताको प्रविधि, फाइभ–जी सेवा सञ्चालनका लागि भौतिक संरचना निर्माणका लागि द्रुत गतिमा काम गरिरहेको छ।
टेलिकम क्षेत्रको व्यवसायको आयतनमा जनवरीदेखि अहिलेसम्ममा गत बर्षको तुलनामा २३.९ प्रतिशतले वृद्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले मङ्गलबार जानकारी गराएको तथ्याङ्कमा उल्लेख छ।
टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि चिनियाँ कम्पनीहरूले बढाएको रफ्तारसँगै चिनियाँ स्मार्ट फोन निर्माण कम्पनीहरूले पनि फाइभ–जी सेवा चल्ने मोबाइल सेटको निर्माणलाई निकै बिस्तार गरिरहेको जनाएका छन्।
चीन सरकारले फाइभ–जी इन्टरनेट सेवाको व्यवसायिक प्रयोग गर्ने ‘ग्रीनलाइट’ जुनमा दिएसँगै टेलिफोन निर्माण कम्पनीले पनि आफ्ना उत्पादनहरूलाई आधुनिक प्रविधिमैत्री बनाएका छन्।
सन् २०१९ को पहिला तीन त्रैमासिकमा चीनले विभिन्न १८ नमूनाका फाइभ–जी स्मार्टफोन निर्माण गरेका छन्।
उनीहरूले अहिलेसम्म करिब सात लाख ८७ हजार फाइभ–जी मोबाइल सेट बजारमा पठाइसकेको मन्त्रालयअन्तर्गतको एक अनुसन्धानमुलक संस्थाले जानकारी गरायो।
|
समृद्धि र प्रगतिको पथमा नेपाल अगाडि बढिरहेको छ : मन्त्री बाँस्कोटा काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल समृद्धि र प्रगतिको पथमा अघि बढिरहेको बताएका छन्।
रेडियो शैलुङको १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले सरकार प्रतिबद्ध भएर समुन्नत राष्ट्र निर्माण गर्नका लागि प्रगतिको पथमा अगाडि बढिरहेको बताए।
हरेक बस्तीमा एक वर्षभित्र सञ्चार सेवा पु¥याउने सरकारको उद्देश्य रहेको बताउँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले लामो समयदेखि रोकिएको फोर जी सेवा विस्तारको काम सात महीनामा नै सम्पन्न गरी ५९ ठाउँमा विस्तार भइसकेको र छिटै ५०० ठाउँमा विस्तार गरिने बताए।
नेकपाले निर्वाचन घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धताअनुसार सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले नेपालमा रेल सञ्चालन हुने कुरा अब असम्भव नभएको बताए।
मन्त्री बाँस्कोटाले अपराधिक गतिविधिमा संलग्नलाई कारवाही शुरु भएकाले राजनीतिमा अपराधीलाई कुनै स्थान नभएको बताए। उनले भने, ‘सरकारले राजनीतिका नाममा हुने अपराधीकरणलाई रोक्नेछ।’
व्यावसायिकताको बहस गर्नुपर्ने समयमा कतिपय सञ्चारमाध्यम हेडलाइनकारिता तिर लागेको उल्लेख गर्दै उनले भ्रमको खेती नगर्न सञ्चारमाध्यमलाई आग्रह गरे। मन्त्री बाँस्कोटाले पर्यटन र ऊर्जा दोलखाको सम्पत्ति भएको र यसबाट जिल्लाको विकास गर्न सकिनेछ भने।
सो अवसरमा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले पार्टी एकताको भावनालाई विभाजित गर्न र आफ्नो राजनीति सिध्याउने उद्देश्यले पुरानो राजनीतिक मुद्दा ब्युँताउन खोजिएको बताए। कार्यक्रममा पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल, पूर्वराज्यमन्त्री देवी खड्का, प्रदेशसभा सदस्य पशुपति चौलागाँई, रचना खड्कालगायतले शुभकामना व्यक्त गरेका थिए।
मन्त्री बाँस्कोटाद्वारा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण
राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्थलगत अवलोकन गरे। मन्त्री बाँस्कोटाले दोलखाको बिगु गाउँपालिकास्थित लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको आज निरीक्षण गरेका हुन्।
सो अवसरमा मन्त्री बाँस्कोटाले आयोजनाको प्रगति, सम्पन्न हुने मिति, लागतलगायतको विषयमा जानकारी लिएका थिए । अवलोकनपश्चात् मन्त्री बाँस्कोटाले समयमा नै काम सम्पन्न गर्नका लागि निर्देशन दिए।
निर्माणको अन्तिम चरणमा रहेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हालसम्मको अवस्थाका बारेमा आयोजनाका उपप्रबन्धक विमल गुरुङले जानकारी गराएका थिए।
मन्त्रीसहित दोलखा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, पूर्वमन्त्री आनन्द पोखरेल, नेकपाका नेता तथा प्रदेश नं ३ का सदस्य पशुपति चौलागाईलगायतको टोली आज बिहान लामाबगर पुगेको थियो। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा नेपाल टेलिकमले सात अर्ब रुपैयाँ लगानी गरेको छ। रासस
|
राष्ट्रपति भण्डारी बुधबार स्वदेश फर्कँदै काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापान भ्रमण सम्पन्न गरी बुधबार हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्कँदै छिन्।
जापानी सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उनी आइतबार म्यान्माबाट जापान पुगेकी हुन्।
समारोहमा भाग लिन विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा प्रतिनिधि पनि आएका थिए। राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी छन्।
जापानको तीनदिने औपचारिक भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीको जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग छुट्टाछ्ट्टै भेटवार्ता भएको थियो।
नेपाली प्रतिनिधिमण्डलले टोकियोको करीब एक हजार २०० पुरानो आसाकुसा मन्दिर र स्काइ ट्री टावरको पनि भ्रमण गरेको थियो। राष्ट्रपति भण्डारीको स्वागतमा जापानस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गरेको थियो।
यसअघि राष्ट्रपति भण्डारीले म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण गरेका थिए।
म्यान्मा भ्रमणमा परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि प्रतिनिधिमण्डलका सदस्यका रुपमा सहभागी भएका थिए। उनले गत असोज २९ गतेदेखि आफ्नो भ्रमण शुरु गरेका थिए।रासस
|
नगरस्तरीय भलिबल प्रतियोगिता शुरु कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा आजदेखि नगरस्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ।
तिहारका अवसरमा शुक्लाफाँटा नगरपालिका वडा नं ७ ले उक्त प्रतियोगिताको आयोजना गरेको हो।
प्रतियोगिताको सांसद नरबहादुर धामीले उद्घाटन गरे। उनले आफ्नो निर्वाचन क्षेत्रको खेलकूदको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
आयोजक वडाका वडाध्यक्ष जगतबहादुर सिंहका अनुसार प्रतियोगितामा ११ टोली सहभागी छन्।
प्रतियोगिताको विजेताले रु ४० हजार पुरस्कार प्राप्त गर्नेछ। “वडास्तरबाटै खेलाडी उत्पादनमा टेवा पुगोस् भनेर हरेक वर्ष खेल गतिविधि सञ्चालन गर्दै आएका छौँ”, वडाध्यक्ष सिंहले भने।रासस
|
चलचित्र कलाकार संघको उपराष्ट्रपति नन्दबहादुर पुनसंग भेटघाट काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ द्वारा अध्यक्ष रबिन्द्र खड्काको प्रतिनिधित्वमा उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ्ग’संग उनकै कार्यकक्षमा भेटघाट तथा आउदै गरेको शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत ११४० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
उक्त अवसरमा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, वरिष्ट अभिनेता शिव श्रेष्ठ, सह–कोषाध्यक्ष पवित्रा आचार्य, सदस्यहरु नायक विशाल विष्ट, उद्धवप्रसाद भट्टराई, धर्मेन्द्र आचार्य, गोपाल ढकाल छन्दे, गीता नेपाल, पवन खतिवडा, रामेश्वर बुर्लाकोटी, प्रेस संयोजक सुर्य चन्द, कलाकार नारायण प्रधान, राजु शाही र राजेश महर्जनलगायतका पदाधिकारीहरुको टोलीले भेट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो।
उक्त अवसरमा उपराष्ट्रपति नन्द बहादुर पुनले चलचित्र कलाकार संघका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए भने चलचित्र कलाकार संघलाइ आफूबाट हुने सहयोग समेत गर्ने प्रतिबद्धता जाहेर गरेको थिए।
भेटमा नेपाल चलचित्र कलाकार संघद्वारा अध्यक्ष रबिन्द्र खड्काले संघले गर्दै आएको कार्य, उद्देश्य तथा गतिबिधिहरुको बारेमा जानकारी गराएका थिए।
|
महिला हिंसा अन्त्य गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ : मन्त्री थापा काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले महिला हिंसा अन्त्य गर्न तीनै तहका सरकार जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको बताएकी छन्।
बेजिङ्ग सम्मेलनको २५ वर्ष प्लस् राष्ट्रिय समिक्षा कार्यक्रमको अवसरमा आज, वियोण्ड वेजिङ्ग कमिटिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले सो कुरा बताएकी हुन्। उनले स्थानीय तहहरु जनताको नजिकै भएकाले महिलाहरुको अवस्था स्थानीय तहसँग बुझ्ने र स्थानीय सरकारसँग मिलेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार रहेको बताइन्।
स्थानीय तहले सरकारले बनाएको योजनाहरु कार्यान्वयन गर्न सक्यो भने महिला हिंसाको घटना न्यूनिकरण गर्न सम्भव रहेको उनको भनाई छ। यस्तै वियोण्ड वेजिङ्ग कमिटिका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले सन् १९९५ मा चीनको भएको बेईजिङ्गमा भएको चौथो विश्व महिला सम्मेलनका कारण महिलाहरुले आफ्नो आवाज राख्ने वातावरण बनेको बताइन्।
उनले चौथो विश्व महिला सम्मेलनले विश्वलाई नै लैगिंक समानताको लागि उन्मुख गराएकाले नेपालमा पनि यसले परिवर्तन आएको उनले बताइन्। नेपालले वेईजिङ्ग सम्मेलनले प्रतिपादन गरेका १२ वटा सरोकारका सवालहरुको कार्यान्वयनका लागि राष्टिय कार्यनीति तयार गरी पूर्ण प्रतिवद्धता व्यक्त गरिसकेको छ। जसमा वियोण्ड बेइजिङ्ग कमिटि नेपालले सन् १९९४ देखि नै लैङ्गीकता र महिला तथा बालिकाको अधिकारका लागि काम गर्दै आएको छ।
|
नेकपालाई कार्यकर्ता समेट्न मुश्किल काठमाडौं । दुई मुख्य वामपन्थी दलको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निश्चित मापदण्डमा कार्यकर्तालाई समेट्नै कठिन परेको छ ।
नेकपा पाँचथरले आज फिदिममा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा पार्टीका गाउँ÷नगर कमिटीका सदस्यसम्मलाई सहभागी गराइएको थियो।
तर विगतमा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेता कार्यकर्तासमेत उक्त मापदण्डमा नसमेटिएपछि कार्यक्रममा सहभागी गराउन नेकपालाई सकस परेको देखियो । जिल्लास्तरमा विभाग तथा आयोग नबनेको तथा भ्रातृ तथा जनवर्गीय सङ्गठन निर्माण नहुँदा धेरै कार्यकर्ता समेट्ने आधार नभएको नेकपाले बताएको छ ।
तत्कालीन नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी तथा गाउँ÷नगर कमिटीका कतिपय पदाधिकारी तथा सदस्यलेसमेत हालसम्म जिम्मेवारी पाउन सकेका छैनन्।
तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका पूर्वमन्त्री श्रीप्रसाद जवेगुले हालसम्म कुनै पनि जिम्मेवारी पाएका छैनन्। अर्का तत्कालीन पोलिटब्युरो सदस्य नरबहादुर दुलालसमेत जिम्मेवारीविहीन हुनुहुन्छ । तत्कालीन एमालेका राष्ट्रिय परिषद् सदस्य गणेशकुमार काम्बाङ, जिल्ला नेता थुमनाथ चापागाईं जिम्मेवारीविहीन हुन्।
नेकपा पाँचथरका कार्यालय सचिव पृथ्वी लावतीका अनुसार विगतमा दुई पार्टीका जिल्ला कमिटीका केही सदस्यले गाउँ÷नगर कमिटीमा समेत जिम्मेवारी पाएका छैनन्।
यस्तै सक्रिय नेताले कार्यकारी जिम्मेवारी नपाउँदा नेकपामा जिल्लास्तरमा खटपटसमेत देखिने गरेको छ। जिल्लाबाट नेकपाका ११ जना प्रदेश कमिटी सदस्यमध्ये राजकुमार भण्डारी जिल्ला अध्यक्ष, होमबहादुर जवेगु जिल्ला सचिव हुन्। बाँकी नौ जना नेताहरुले कार्यकारी जिम्मेवारी पाएका छैनन्। गाउँ/नगर कमिटीका पदाधिकारी तथा जनप्रतिनिधि बाहेकका सदस्य बेरोजगार जस्तै हुनुपरेको जिल्ला कमिटी सदस्य राजन खतिवडाको गुनासो छ।
आजको कार्यक्रममा नेताहरुले अतिथिको रुपमा आमन्त्रण गरिए पनि कतिपय कार्यकर्ताले आफूहरु पार्टी मापदण्डमा नपरेको भन्दै असन्तुष्टि जनाएका थिए।
पार्टीले कतिपयलाई स्वयंसेवकका रुपमा कार्यक्रममा सहभागी गराएको थियो भने कतिपय कार्यकर्ता कार्यक्रममै सहभागी नभई बसेका थिए। दुई पार्टीको एकतापछि जिल्लास्तरमा कुनै पनि सार्वजनिक कार्यक्रम नभएको भन्दै कतिपय कार्यकर्ताले आमसभा गरिनुपर्ने मागसमेत गरेका थिए।
यस्तै यहाँका तीन स्थानमा उपनिर्वाचन हुन लागेकाले वर्तमान सरकार सञ्चालन गरिरहेको पार्टीको शीर्ष नेतृत्वले स्थानीयका गुनासा सुन्नुपर्ने कार्यकर्ताले माग गरेका थिए। नेकपा जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णुप्रसाद पौडेलसँग जिम्मेवारी नपाएका नेता कार्यकर्ता जिम्मेवारी दिन आग्रह गरे।
“लामो समयदेखि जिम्मेवारी नहुँदा नेता कार्यकर्तामा आलस्य पैदा हुँदै गएको छ”, अध्यक्ष भण्डारीले भने, “सबैलाई चाँडोभन्दा चाँडो जिम्मेवारी दिएर पार्टी निर्माणमा जोड्नुपर्ने आवश्यकता छ।”
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको बाँकी काम सम्पन्न गर्न ढिलाइ भए पनि अब लामो समय नलाग्ने बताए। नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले तीन महीनामा सम्पन्न गर्नुपर्ने एकताको काम १७ महीनामा पनि नसकिएको भन्दै आफूहरुलाई आत्मग्लानी भएको बताए।
“एक वर्षमा एकता सम्पन्न होला भन्ने थियो। यति लामो समय लम्बिँदा हामीलाई पनि अप्ठ्यारो भएको छ”, पौडेलले भने। महासचिव पौडेलले अब केही दिनमा केन्द्रदेखि जिल्लासम्म अड्किएका एकताको काम सम्पन्न गरिने कार्यकर्तालाई जानकारी गराएका थिए।
प्रशिक्षणमा नेकपाका स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले कानूनी शासन स्थापनाको प्रयत्न गरेको बताउँदै अफवाह चिर्न कार्यकर्तालाई आग्रह गरेका थिए। “हामीले हाम्रा नेताहरुले दोषी देखिएको ठाउँमा कानूनी कारवाही हुनुपर्छ भनेर जोड दियौँ।
सरकारले कुनै कञ्जुस्याइँ गरेन्”, नेम्वाङको भनाई उद्धृत गर्दै कार्यक्रममा सहभागी नेकपाका जिल्ला सदस्य राजन खतिवडाले भने, “कानूनी राज्य निर्माणमा सक्रियता देखाएकामा आफ्ना नेताहरुको प्रशंसा गर्न नेम्वाङले आग्रह गरे।” रासस
|
‘महरामाथि लगाइएको आरोपबारे अनुसन्धान नभई सभामुख पदको निर्वाचन गराउन मिल्दैन’ काठमाडौं । सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको आरोपबारे अनुसन्धान नभई सभामुख पदको निर्वाचन गराउन नमिल्ने बताएका छन्।
नेता पौडेलले बलात्कारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएको उल्लेख गर्र्दै त्यसको अनुसन्धान भईरहेकै बेला सभामुख पदको निर्वाचन गराउन नमिल्ने बताएका हुन्। उनले मंगलबार काठमाडौंमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै सभामुखको निर्वाचन विधिसम्मत ढंगले गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए।
संविधानले फरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था गरेकाले आफ्नो पार्टी सोही अनुसार अघि बढन तयार रहेको नेता पौडेलको भनाई छ । नेता पौडेलले जनमतबाट निर्वाचित सरकारलाई दुई तिहाईको दम्भ देखायो भनेर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जनमतकै अपमान गरिरहेको आरोप पनि लगाए।
|
मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउन नेता नेपालको सुझाव काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले मुलुकको आर्थिक समृद्धि र विकास नै अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउने मूल कसी भएकाले त्यसैमा केन्द्रित भएर अघि बढन सरकारको ध्यानाकर्षण गराए। उनले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण अत्यन्तै भएको उल्लेख गर्दै छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई बलियो बनाई राख्न सबै राजनीतिक दलहरुबीच समान धारणा बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले ‘सम्मानका साथ बाँच र बाँच्न देऊ’ भन्ने नीतिनै नेपालको परराष्ट्र नीति रहेको पनि स्पष्ट पारे। उनले मुलुकको आर्थिक विकास र समृद्धि अनुकूल हुने गरी सबै नीतिहरु तय गरेर अघि बढनुपर्नेमा पनि जोड दिए। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले मुलकुको विकास र समृद्धिको बाटोलाई झनै सुगम बनाएको पनि नेता नेपालको भनाई थियो।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अत्यन्तै सकारात्मक भएको उल्लेख गर्दै यसले नेपालको विकास र समृद्धिको अभियानमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई विकास गरेर मुलुकलाई अघि बढाउन पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले आधार तय गरि दिएको पनि बताए।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाललाई एक दशक अघि बढाउने गरी उपलब्धि हासिक गराएको दावी गरे । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल भएको र यसले मुलुकको विकास र समृद्धिको अभियानमा महत्वपूर्ण योगदान दिने पनि बताए ।
मन्त्री भट्टराईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको अन्तराष्ट्रिय प्रतिष्ठालाई पनि उचो बनाएको बताए।
|
सरकार असफल, गणतन्त्रमाथि भएको प्रहार चिन्ताजनक छ : यादव काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले आफूहरुले सुरुदेखि नै उठाउँदै आएको मुद्दा संविधान संशोधनप्रति सबै दल जिम्मेवारी बन्नुपर्ने धारणा राखे।
काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘संविधान संशोधन गर्नुपर्छ । राज्यको पूनसंरचना हुँदा तीन तहको सरकार बनेको छ । तीन तहको चुनाव भएको छ। यो उपलब्धिलाई रक्षा गर्न कानून, व्यवस्था र जनशिक्तको अभाव रहन्छ । संघीयतामाथि जसरी प्रहार भैरहेको छ, गणतन्त्रमाथि भएको प्रहार छ । यो हाम्रो लागि चिन्ताको विषय हो । राजपा भएको उपलबिधलाई रक्षा गर्नुपर्छ भन्ने पक्षमा छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले नै सर्वदलीय बैठकमा गण्तान्त्रमाथि खतरा छ भनेको पनि उनले उल्लेख गरे । उनले भने, ‘उहाँले बोलाउनुभएको सर्वदलीय बैठकमा यस्तो कुरा गर्नुभयो । यो चिन्ताजनक कुरा हो । सबै दल मिलेर उपलबिध रक्षा गर्नुपर्छ र संविधान संशोधनको मुद्दा सबैले स्विकार गरेको विषय हो । राजनीतकि मुद्दाको सम्बोधन हुनुपर्छ । शान्ति र समृद्धिको लागि पनि यसले राम्रै गर्छ ।’
द्धन्द्धको अवेशष रहँदा संविधान कार्यान्यवनमा समस्या हुन्छ । यो संविधानलाई लामो समयसम्म लैजानकोलागि हामीले उठाएका मुद्दालाई समबोधन गर्नुपर्छ । सहमतिको संविधान बनाउनुर्छ भनेर हामीले जारी गर्ने बेलामा नै भनेको थियौं । सरकारले विगतका सहमति र सम्झौता तोड्ने काम गरेको उनले बताए।
उनले मुलुकमा धेरै लामो द्धन्द्ध भएकोले अब पनि द्वन्द्व मुलुकले खेप्न नसक्ने बताए । उनले भने,‘देशले सुशासन र शान्ति खोजेको हो । अहिले दुई तिहाईको सरकार छ, तर यसले राजनीतिक स्थिरता दिन सकेको छैन् । सुशासन हुन सकेको छैन् । देश आजपनि वेदना र पीडाबाट छट्पटाईरहेको छ । यो सरकार असफलतातर्फ छ । सरकारको कामबाट जनता असन्तुष्ट छन् । वर्तमान सरकार आफैं द्वन्द्वमा फसेको छ । आफैंभित्रको नेतृत्वको लुछाचुँडीले गर्नुपर्ने काम भएका छैनन् । नेपाल देशको सार्वभौमको रक्षा गर्न सबै मिलेर अघि बढ्नुपर्छ ।’
पछिल्लो समय मुलुकमा अनुशासनको कमी भएको र जनताले कानूनी राज्यको अनुभुति गर्न नसकेको पनि यादवको टिप्पणी छ । उनले भने,‘यसको मुख्य कारण नै हाम्रो निर्वाचन प्रणाली नै विकृति हो । यो निर्वाचन प्रणाली नै भ्रष्टाचार र अनियमितताको जरो हो । पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ जानुपर्छ । चुनाव धेरै खर्चिलो भएको छ ।
उनले मुलुक रेमिट्यान्सबाट चलिरहेको बताए । उनले भने, ‘हाम्रो देश आयातमुखी छ । आत्मनिर्भर बनाउनको लागि सरकारसँग ठोस योजना छैन् । देशलाई कृषिमा आधनुनिकरण र व्यवसायीकरण गर्नुपर्छ । सरकारले यसतर्फ ध्यान दिएको छैन् । हिजो र आज पनि कृषिमा बजेट उतिकै छ । सरकार असफल भएको छ । सरकार र प्रतिपक्षीबीच समन्वय गर्नुपर्छ ।’
यादवले सर्लाहीमा कुमार पौडेलको हत्याबारे राष्ट्रिय मानव अधिकार आयोगले गैरन्यायिक हत्या गरेको निश्कर्ष निकालेको सुनाउँयो यो हत्या प्रकरणमा संलग्न दोषी जो कोही भएपनि कानूनी कारबाही गर्नुपर्ने माग गरे । त्यस्तै, उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे। उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने हो भने जनताले यथार्थ थाहा पाउने थिए ।’
|
जापानी सम्राट नारूहितोको भब्य समारोहबीच राजगद्दि आरोहण टोकियो (रासस/सिन्ह्वा) । जापानी सम्राट नारूहितोले जापानी उच्च धार्मिक विधिपूर्वक मङ्गलबार विहान ९ बजे औपचारिकरूपमा राजगद्दि आरोहण गरेका छन्। जापानको प्राचीनकालीन शैलीमा राजधानी टोकियोस्थित राजदरबारको सेइडेन स्टेट हलमा राज्याभिषेक समारोहको आयोजना भएको हो।
विश्वभरबाट निम्त्याइएका करिब दुई हजार अतिथिको अगाडि पूर्व सम्राट तथा आफ्ना पिता अकिहितोको उपस्थितिमा ५९ वर्षीय नारुहितोको राज्य आरोहण भएको हो।
सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि ५९ वर्षीय नारुहितो यसै बर्ष मे महिनामा जापानको सम्राट बनेका थिए। विभिन्न परम्परागत विधि सम्पन्न भएपछि मात्रै नारूहितोको औपचारिक राजगद्दी आरोहण भएको हो।
जापानी सम्राटले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा (राजगद्दी)मा बसेका थिए। त्यहाँबाट उहाँले एउटा लिखित मन्तव्य वाचन गरे। “राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने शपथ लिएको छु।”
सम्राट अकिहितोले आफ्नो ३० बर्ष राजगद्दिमा रहँदा सँधै जापानी जनता र विश्व शान्तिका लागि प्रार्थना गरेको बताउँछन्। सम्राट अकिहितोले जनताको दुःख तथा सुखमा सधैँ सँग रहने गरेको भन्दै अकिहितोको प्रसंशा गरे।
सम्राट नारूहितोले सम्वोधनमा भने, “यस अवसरमा मैले जापानी संविधानअनुसार राज्यको प्रतीक र जापानी जनताको एकताका लागि मेरो जिम्मेवारीलाई पूरा गर्ने सपथ खान्छु।”
उनले भने, “जनताको खुसी र विश्वमा शान्तिका लागि सधैँ प्रार्थना गर्दै जापानी जनताको विचारप्रति वफादार रहेर उनीहरूको पक्षमा काम गर्ने अठोट प्रकटसमेत यस शुभ-अवसरमा गर्न चाहन्छु।”
उनले सम्वोधनको अन्त्यमा समस्त मानवजातीको शान्ति र समृद्धिको प्रार्थनासमेत गरेका थिए। सो अवसरमा उनकी पत्नी साम्राज्ञी मासाको जापानी परम्परागत पहिरनमा सम्राटसँगै रहेको अर्को आसनमा बसेकी थिइन्। उनले लगाएको उक्त वस्त्रमा १२ पत्र रहने जापानी अधिकारीहरूलाई उद्धृत गरी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
जापानी प्रधानमन्त्री सिन्जो आवेले सम्राट नारूहितोको राज्य आरोहणप्रति खुशी व्यक्त गरेका थिए भने सम्राटको दिर्घायूका लागि समारोहका सहभागी सवैले प्रार्थना गरेका थिए ।
प्रधानमन्त्री शिन्जो आबेले समारोहमा सम्राटलाई बधाई ज्ञापनसमेत गरेका थिए। मङ्गलबार नै सम्राटले विदेशबाट आएका शाही प्रतिनिधिहरूका लागि चियापान आयोजना गर्नेछन्। त्यसपछि प्रधानमन्त्री आवेले सबै अतिथिहरूका लागि रात्रिभोजको आयोजना गरेका छन्।
संवैधानिक राजतन्त्र रहेको जापानमा सम्राटको भूमिका प्रायः आलङ्कारिक रहन्छ। उनले नागरिकहरूसँग अन्तक्रिया गर्ने तथा विदेशी पाहुनासँग भेट गर्ने गर्छन्।
जापानमा भर्खरै समुद्री आँधी हगिबिसका कारण धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरिएको छ।
|
‘सरकारका कारण जनतामा वितृष्णा पैदा भयो, गणतन्त्र नै गुम्ने खतरा छ’ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्म निरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको टिप्पणी गरे । उनले भने, ‘कतै यो निराशा, वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने हो कि भन्ने हामीमाथि डर छ । सत्तामा वा प्रतिपक्षमा भएपनि हामी परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नुपर्छ । २०६२–०६३ सालको जनआन्दोलनबाट ल्याएका उपलब्धि बचाउन एक ढिक्का हुनुपर्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘हामीलाई नेपालमा संविधान सभाको चुनावमात्रै गराउन ६५ वर्ष लाग्यो । जनप्रतिनिधिबाट संविधान बनाउनुपर्छ भन्ने मागअनुसार संविधान बनाउनको लागि दुईपटक संविधानसभाको चुनाव भयो । देशमा गणतन्त्र स्थापना भयो ।
नेपाली जनतालाई भन्ने गरियो, संविधान बनेपछि धेरै समस्या समाधान हुन्छ, चुनाव भएपछि धेरै समस्या समधान हुन्छ । र, संघीयता आएपछि झन धेरै समस्या समाधान हुन्छन् भन्ने कुरा गरियो । गणतन्त्रपनि आयो, संघीयता पनि ल्याईयो । हामीलाई एउटा नेपालले भएन, सात वटा नेपाल बनायौं । ८८५ सांसद बनाउन सफल भयौं । ७५३ सरकार बनायौं । गणतन्त्र स्थापना भयो राम्रै कुरा भयो ।’
मुलुकमा यतिवेला दुई तिहाई बहुमतको सरकार रहेको भएपनि नेपाली जनताले सुशासनको अनुभुति गर्न नपाएको उनको गुनासो छ । ‘तत्कालिन नेकपा एमलो र नेकपा माओवादी केन्द्रबीच एकता भयो । नेकपाले दुई तिहाई मत ल्यायो । राम्रै कुरा भयो ।
अहिले दुई तिहाई बहुमतको सरकार गठन भएको छ । यत्ति हुँदाहुँदैपनि नेपाली जनताले अहिलेपनि सुशासन पाएनन् । पहिले दशैं आयो । अहिले तिहार आईरहेको छ, गर्नु नगर्नु गरेर अकुत सम्पत्ति कमाउनेको लागि दशैं र तिहार आयो । दैनिक दुई हजारको दरले नेपाली युवाहरु विदेश गैरहेका छन् । अहिलेपनि एयरपोर्ट जाने हो भने खुटटा हाल्ने ठाउँ छैन् ।’
उनले सत्तामा बस्नेहरुले सुशासन कायम गरेको, भ्रष्टाचार घटाएको, सार्वभौमसत्ताको रक्षा गरेको भनेर भन्नु त नौलो कुरा नभएको चित्रण गरे । उनले थपे,‘तर, यथार्थमा जनताको समस्या जटिल छ । यति ठूलो संघीय प्रणाली, जसको लागि नेपालको सामथ्र्य थिएन । यो मुलुकमा संघीयता आएपछि जातीय समस्या समाधान हुन्छ । भाषिक समाधान हुन्छ भनियो । वास्तवमा अहिले समाधान भएको छैन् ।’
आफ्नो पार्टीले सबैसँग मिलेर अघि बढ्ने नीति लिएको पनि उनले सनुाए । उनले भने,‘संविधान जारी गर्ने बेलामा पनि हाम्रो पार्टीले संघीयताको बारेमा मतभेद राख्यो । अहिले नेपाली जनताको मुखमा संघीयता धान्न सकिँदैन् भन्ने आवाज छ ।
संघीयता र गणतान्त्रिक प्रणाली आएतापनि राजनीति गर्ने मान्छेको प्रवृत्ति बदलिएको छैन् । लुट, भ्रष्टाचार, ठेकेदारी प्रथा कायमै छन् । यी सबैको भण्डाफोर गर्नको लागि हाम्रो पार्टीले देशव्यापी कार्यक्रम बनाएको छ ।’ उनले ७ वटै प्रदेशमा संघर्षका कार्यक्रमहरु लिएर पार्टी जाने पनि जानकारी दिए ।
अराजकता, भ्रष्टाचार (वर्षौदेखि भएका जनप्रतिनिधिले गरेको जघन्य अपराध) अहिले देखिन थालेको उनको भनाई छ । उनले भने,‘उनीहरुकै काण्ड र कर्तुत बाहिर आईरहेका छन् । यो सरकारले ठूला–ठूला भ्रष्टाचारीलाई कारबाही गर्न नसकेपनि जनप्रतिनिधिको कर्तुत मिडियामा आईरहेका छन् । यसखालका मान्छेलाई कारबाही गर्नुपर्छ । अरु कुरा भ्रष्टाचारको विरुद्धमा सरकारले कारवाही गरेको छ । तर, सानालाई मात्रै । ठूला–ठूला भ्रष्टाचार र अनियमितताका काण्डा ललिता निवास, वाईडबडीका दोषीलाई कारबाही गरेको छैन् ।
अध्यक्ष केसीले आफूहरुबीच मतभेद जे भएपनि गणतन्त्र र धर्मनिरपेक्षता रक्षाको लागि सबै एकजुट हुनुपर्ने धारणा राखे । उनले भने,‘उपलब्धि गुम्न दिनुहुँदैन् । तल अधिकार दिनु ठीक छ । प्रदेशको कुनै औचित्य छैन् । नेपाली जनताले प्रजातान्त्रिक विकेन्द्रिकरण चाहेको हो । नेपालको भौगोलिक बनावटअनुसार पनि एकात्मक प्रणाली नै उचित छ । ठुलो संयन्त्र पाल्दाखेरि अहिले नेपाली जनताले थाहा पाए । हिजो हामीले भनेको कुरा ख्यालठट्टाजस्तो लाग्दथ्यो । अहिले यो कुरा ठीक रहेछ भन्ने कुरा साधारण मकै पोलेर बेच्नेले पनि थाहा पाए ।’
जनप्रतिनिधिहरुले जनतालाई सेवासुविधा दिने कुरामाभन्दापनि आफ्नो सेवासुविधा बढाउनेतर्फमात्रै सोचेको पनि उनको आरोप छ । उनले भने,‘जनताको ढाट सेक्नेगरि कर असुल्ने । स्थानीय, प्रदेश र केन्द्रका जनप्रतिनिधिले आफ्नो सेवा र सुविधा मात्रै हेरे । त्यही भएर अहिले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको छ। कतै यो निराशा र वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथिनै एउटा खतरा आउने हो कि भन्ने डर छ ।’
उनले सरकारले जनतालाई सुशासन दिनुपर्ने आग्रह गरे । उनले भने,‘जनताको मन जितेरमात्रै प्रणाली बलियो हुन्छ । सत्ता कब्जा गरेर मात्रै केही हुँदैन् ।’
|
महिलामाथि डोजर चलाएको घटना बारे काँग्रेसको ध्यानाकर्षण काठमाडौं । महिलामाथि डोजर चलाएको घटना बारे निन्दा गरेको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसले जिल्लाको दशरथचन्द नगरपालिकामा नगरपालिकाले सहमति निर्माण गर्ने प्रयत्न गर्दा गर्दै स्थानीय नागरिकलाई विश्वासमा नलिई कार्तिक ४ गते एकपक्षीय रुपमा सडक खन्ने क्रममा भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘विकासका कुनै पनि कार्यबाट सम्बन्धित क्षेत्रका नागरिक लाभान्वित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ तर सम्बन्धित क्षेत्रका नागरिकलाई विश्वासमा नलिने र स्काइभेटर प्रयोग गरी सडक निर्माण गर्ने कार्य अघि बढाउँदा विरोधमा उत्रिएका नागरिकमाथि ‘डोजर’ चलाइएको घटना गम्भीर र अक्षम्य छ।’
नेपाली कांग्रेस यो घटनाको गहिरो छानविन गरी दोषी माथि कडा कार्वाही गर्न र घटनाका घाइतेलाई सम्पूर्ण उपचार गर्न सरकार समक्ष माग गर्दछ।
नेपाली कांग्रेसका तर्फबाट घटनास्थलमै पुगेर स्थानीय नागरिक, स्थानीय सरकार, राजनैतिक दलहरु, स्थानीय प्रशासन, संचारकर्मीहरु एवं आवश्यक व्यक्तिहरुसँग संवाद गरी आवश्यक निर्णय लिन र प्रतिवेदन पेश गर्न केन्द्रीय प्रतिनिधिका रुपमा श्री बहादुर सिंह थापालाई बैतडी पठाइएको छ।
कञ्चनपुर जिल्लाका पूर्व सभापति समेत रहनु भएका संविधान सभा सदस्य थापाले आजै साँझबाट बैतडीमा आफ्नो जिम्मेवारी प्रारम्भ गर्नु हुने जानकारी पनि सबैमा गराइन्छ। विज्ञप्तिमा भनिएको छ।
|
अपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि सरकारले कार्वाही गर्छ : टोपबहादुर रायमाझी काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले अपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पनि सरकारले कार्वाही गर्ने बताएका छन्।
पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले विगतका सरकारले ल्याउन नसकेको अपराधिक घटनालाई वर्तमान सरकारले बाहिर ल्याएर कार्वाही प्रक्रियालाई अघि बढाउने आँट गरिरहेको पनि स्पष्ट पारे।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले कुनै पनि प्रकारको बचाउ नगर्ने दृढता पनि व्यक्त गरे।
नेता रायमाझीले गाउँगाउँमा विकास निर्माणको कामको लहर सुरु भएको पनि बताए। ‘सडक, संचार, सिंचाईको सुविधा गाउँगाउँमा पुगेको छ,’ नेता रायमाझीको दावी थियो, ‘इतिहासमा यस अघि यस खालको विकास निर्माणको लहर कहिल्यै चलेको थिएन।’
नेता रायमाझीले अव सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने दावी पनि गरे।
|
सभामुख पदमा काँग्रेसको दावी रहन्छ : नेता लेखक काठमाडौं । प्रमुख प्रतिदल नेपाली काँग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको बताएका छन्।
काँग्रेस नेता लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिए।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोही अनुसार सभामुख पद प्रमुख प्रतिपक्ष दललाई दिनुपर्ने तर्क पनि गरे।
उनले सभामुख र उपसभामुख पद एउटै दलले राखेर संविधान विपरितका गतिविधि अव हुन नदिने पनि बताए।
पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानविन आयोग तत्काल गठन गर्न पनि सरकारसँग माग गरे।
उनले संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक कानुन संशोधन गर्न ढिलाई नगर्न सरकारलाई सचेत पनि गराए।
|
पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउन कार्यविधि मस्यौदा तयार चितवन । सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ मकवानपुरले पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउन कार्यविधि मस्यौदा तयार पारेको छ।
कार्यालयले आज यहाँ आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, अवस्था र चुनौती विषयक एक दिने गोष्ठीमा सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले कार्यालयले हालसम्म गरेका काम र भावी योजनाका विषयमा तयार गरिएको कार्यविधिको प्रस्तुतीकरण गरेका थिए ।
अन्य जिल्लामा पनि कार्यविधिमाथि छलफल गरी सुझाव लिएर पारित गर्न प्रस्ताव पेश गरिने उनले जानकारी दिए ।
कार्यविधिमा प्रदेशको आम सञ्चार तथा सूचना प्रविधिसम्बन्धी अनुसन्धान गर्ने, पत्रकारिता, सञ्चार तथा सूचना प्रविधिमा शोधपत्र तयारीका लागि पत्रकारलाई शोधवृत्ति दिने, कार्य सम्पादनका सिलसिलामा दुर्घटनामा परेका पत्रकारलाई क्षतिको आधारमा रु ३० हजारसम्म सहयोग दिने उल्लेख छ।
दुर्घटनामा मृत्यु भएका पत्रकारका परिवारलाई रु ५० हजार तथा पत्रकारलाई घातक रोग लागेमा उपचारका लागि रु ७५ हजारसम्म आर्थिक सहायता दिने, महिला पत्रकारले सञ्चालन गरेका टेलिभिजन, एफएम रेडियो वा दैनिक पत्रिकाका हकमा वार्षिक रु ५० हजार अनुदान दिने, पत्रकारलाई लेखन वृत्ति दिने, खोज अनुसन्धान गरी समाचारमूलक सामग्री लेख्न चाहेमा रु ५० हजारसम्म सहयोग दिने, ज्येष्ठ पत्रकारलाई मासिक वृत्ति दिनेलगायतका विषय कार्यविधिमा उल्लेख छन्।
सो अवसरमा सापकोटाले सञ्चार रजिष्ट्रारको कार्यालय र यसका काम, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका चुनौती, स्थानीय सञ्चारमाध्यम र पत्रकार प्रवद्र्धन एवं श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउने उपाय, अपेक्षित उपलब्धि, सञ्चार रजिष्ट्रारको कार्यक्षेत्र, कोष सञ्चालन, सूचना बैंक सञ्चालन, सञ्चारमाध्यममा लगानी, स्वतन्त्र पत्रकारको मापदण्डका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टले सञ्चार रजिष्ट्रारको कार्यालयले पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउनका लागि निकै गृहकार्य गरेर कार्यविधि तयार गरेको भन्दै यसलाई उपयुक्त सुझाव दिन सबैमा आग्रह गरे।
श्रमजीवी ऐन लागू गर्न ठूला सञ्चारमाध्यममा बढी समस्या देखिएको उनको भनाइ थियो । कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य सिर्जना अर्याल, कृष्ण गिरी, जिल्ला अध्यक्ष राधेश्याम खतिवडा, प्रदेश नम्बर ३ का महासचिव कृष्ण सारुमगरलगायतले बोलेका थिए। कार्यक्रममा सहभागी पत्रकारले कार्यविधिमाथि सुझाव दिनुका साथै लागेका जिज्ञासा राखेका थिए। रासस
|
फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा १० रुपैयाँ दिइने मुग्लिन । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ।
गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो। गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु दशको नोट” कार्यक्रम ल्याइएको बताए।
अध्यक्ष गुरुङले भने, “इच्छाकामनाको भूगोलमा फलफूल खेतीको राम्रो सम्भवना छ, किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न एक फलफूलको बोट रु दशको नोट कार्यक्रम ल्याएका छौँ।”
गाउँपालिकाले व्यावसायिक फलफूलखेती गर्नेका लागि दुई सयदेखि पाँच सय बोटसम्म अनुदान दिँदै आइरहेको छ। ती बिरुवा सफलताका साथ हुर्काउने व्यावसायिक किसानलाई प्रति बिरुवा दश रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङको भनाइ थियो।
गाउँपालिकामा सुन्तला, कागती, नासपाती, लागयतको फलफूलको उत्पादन राम्रो हुने गरेको छ । साथै बाँझो जमीन भाडामा लिई व्यावसायिकखेती गर्ने किसानलाई रु एक लाख, तीन दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख, व्यावसायिक बाख्रापालक किसानलाई रु ६० हजारसम्मको अनुदान उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा तीन दुहुना भैँसी पाल्ने ८ जनालाई जनही रु एक लाख, व्यवसायिक तरकारीखेती गर्ने आठ जनालाई जनही रु एक लाख, बाख्राखोर सुधारका लागि २० जनालाई जनही रु २५ हजार, ब्याड बोकाका लागि २० जनालाई जनही रु ४० हजार र बङ्गुरपालक दुईजना किसानलाई जनही रु २५ हजार अनुदान प्रदान गारिएको अध्यक्ष गुरुङले जानकारी दिए।
अध्यक्ष गुरुङले किसानलाई व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताए। उनले किसानका लागि वडा नं. ४ कुरिनटारमा शीत भण्डार निर्माण गरिएको बताए। साथै वडा नं- ३ फिस्लिङमा तरकारी सङ्कलन केन्द्र निर्माण भइरहेको जानकारी दिए।
चितवनको दुर्गम भेगमा रहेको यस ईच्छाकामना गाउँपालिकाका बासिन्दाको तरकारीखेती र पशुपालन नै मुख्य आम्दानीका स्रोत हुन्। अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन्। रासस
|
ज्योतिषको भेषमा आएका घुमन्तेद्वारा बालिका अपहरणको प्रयास गलकोट । बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ ।
अपरिचित मानिसले बालिकालाई ललाइफकाई गरी बुर्तिवाङतर्फ लैजाँदै गर्दा प्रहरीले बीच बाटोमै पक्राउ गरेको थियो । बालिकालाई बुर्तिवाङतर्फ ल्याउँदै गरेको स्थानीयवासीले बताएपछि झिवाखोला प्रहरी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको संयुक्त टोलीले बालिका अपहरण गर्न खोज्न क्षेत्रीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुरज खड्काले बताए । खड्काले बालिकालाई पनि सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा ल्याइएको बताए ।
बुबाआमा काममा गएको मौका पारी घरमै एक्लै खेल्दै गरेकी बालिकालाई नयाँ कपडा किनिदिने तथा रु एक हजार दिने भनी प्रलोभनमा पारेर बुतिवाङतर्फ ल्याउँदै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोधपुछका लागि ल्याइएकी बालिकालाई भने अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । अपहरणमा लागेका ती व्यक्तिलाई विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झिकाइएको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।रासस
|
अवैध लागूऔषध सहित मोरङ र बझाङमा २ जना पक्राउ काठमाडौं । बझाङ, बित्थडचिर गाउँपालिका ३ स्याडीबाट कैलाली गोदावरी नगरपालिका १० खमौडा बस्ने ३८ वर्षीय लाल बहादुर बुढालाई करिब ५ सय ग्राम लागूऔषध चरेश सहित इतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी स्याडीबाट खटिएको प्रहरीले चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ५३३३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार बुढालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
मोरङ, विराटनगर महानगरपालिका १५ स्थित १ ढाटबाट बेलबारी नगरपालिका ६ बस्ने ४० वर्षीय सिद्धि गिरीलाई लुकाई छिपाई ल्याएको हेरोईन जस्तो देखिने खैरो पाउडर ५ ग्राम २ सय ५० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गिरीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
|
नक्कली नोट बनाउने मेशिन लगायतका सामान सहित ३ जना पक्राउ काठमाडौं । नक्कली नोट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न समानहरू सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती बिपुल चोक बस्ने दोलखा मेलुङ गाउँपालिका ७ का पृथ्वी राज भन्ने २८ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपाली रहेका छन्।
नयाँ बस्ती बिपुल चोकस्थित कोठा भाडामा लिई नक्कली नोटहरू छापीरहेको अवस्थामा नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने सामाग्री सहित उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो।
उनीहरुबाट नेपाली रुपैयाँ १ हजार जस्तो देखिने ६५५७१० नम्बर उल्लेख भएको सगरमाथाको चिन्ह, गभर्नरको सहिछाप अंकित भएको र पछाडी भाग सादा भएको कागज पाना १७ थान, अगाडितर्फको भाग खाली अवस्थामा रहेको पछाडितर्फ हात्तीको चिन्ह भएको कागज पाना १५ थान, अगाडि र पछाडीको भाग केही टाँसिएको ६५५७१० नम्बर उल्लेख भएको कागज पाना १ थान, अगाडिको भाग मात्रै रहेको ६५५७१० नम्बर उल्लेख गरेको कागज १ थान गरी जम्मा ३४ थान, विभिन्न दरका सक्कली नेपाली नगद १६ हजार १ सय ९५ रुपैयाँ, पातलो चिप्लो कागज पाना १ सय ४२ थान र काटेको अवस्थाको कागज पाना १ सय ४९ थान, बाक्लो कागज पाना ६० थान, रंगीन फोटोकपी मेसिन, कम्प्युटर २ थान, सियो, क्यामेरा र कैची लगायतका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
|
बेलायतमा राष्ट्रकवि र महाकविको सम्मानमा साहित्य समर्पण बेलायत । बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा राष्ट्रकवि माधब प्रसाद घिमिरेको १०१औँ जन्मोत्सव र ११०औं महाकवि देवकोटा जयन्ती विभिन्न कार्यक्रमका साथ उत्साहबद्र्धक रुपमा मनाइयो।
स्थानीय वेष्ट लण्डन स्थित एबीआई कलेज एक्टनमा आयोजित समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेपाली साहित्य विकास परिषद्का संरक्षक महमहिम राजदूत डा.दुर्गा बहादुर सुवेदीले समुन्द्र पारी विदेशमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०१औँ जन्मोत्सव मनाएको ऐतिहासिक भएको चर्चा गरे र साथै दोस्रो चरणको ११० औँ महाकवि देवकोटा जयन्ती समारोहलाई सम्बोधन गर्दै महामहिम राजदूत डा.सुवेदीले महाकवि देवकोटा साहित्य सिर्जनात्मक क्षमता र कृतिहरूको आधारमा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्थान विश्व स्तरका विशिष्ठ साहित्यकारहरूकै पंक्तिमा रहेको छ भनेर गर्वका साथ भन्न सक्ने बताए।
महामहिमले नेपाली साहित्य विकास परिषद् यूकेले वेलायती भूमिमा यसरी राष्ट्रका धरोहर राष्ट्रकवि र महाकविको सम्मान र सम्झना गरेर साहित्यिक उर्जा जगाएको धारणा राखे। समारोहमा अर्का विशिष्ट वक्ता परिषद्का वरिष्ठ सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा.राघव प्रसाद धिताल ओबीईले राष्ट्रकवि माधव प्रसाद घिमिरे साहित्यका एक प्रज्वलित नक्षत्र हुन उनको जन्मोत्सव मनाउन पाउँदा खुसी लागेको बताए।
साथै दोश्रो चरणको कार्यक्रममा बोल्नु हुदै महाकवि लक्ष्मीप्रसाद देवकोटा सामाजिक चिन्तनका योद्धा कवि हुन्। उनको मुनामदन कृतिले नेपाली समाजमा समानता समावेसीको आवाज उसैवेला उठाएको थियो भने। उनले देवकोटा नेपाली साहित्यका प्रेरणाका श्रोत र गर्वका शिखर भएको बताउँदै नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापना काल सन् १९९५ देखि नै देकोटा जयन्ती भानु जयन्ती लगायतका विभिन्न साहित्यिक गतिविधिहरू गर्दै आएर बेलायतमा धेरै साहित्यकारहरू जन्माउन प्रेरणादायी र नेतृत्वदायी भूमिका खेलेको कुरा चर्चा गरे।
सभापतिको आसनबाट सम्वोधन गर्दै परिषदका अध्यक्ष साहित्यकार कोमल मल्लले राष्ट्रकवि माधव प्रसाद घिमिरेको शुभ जन्मोत्सव गत वर्षझैं यस वर्षपनि मनाउन पाउँदा परिषद गर्वित भएको बताए। यसैगरी दोश्रो चरणको कार्यक्रममा बोल्दै नेपाली साहित्यलाई फराकिलो बनाउने र समाजलाई हेर्ने सोच बदल्ने महाकविका कृतिहरूले तत्कालिन अवस्थामा एउटा सामाजिक क्रान्तिको उजागर नै गरेको बताए।
समारोहमा परिषद्का पूर्वअध्यक्ष खगेन्द्र नेपालीले महाकवि देवकोटा र राष्ट्रकवि माधव प्रसाद घिमिरे नेपाली माटोका साहित्यिक निधि र प्रेरणाका भएको बताए। उनले नेपाली साहित्य विकास परिषदले साहित्यिक गतिविधिहरू गरेर कवि, राष्ट्रकवि र महाकवि प्रति सच्चा सम्मान पुर्याएको चर्चा गरे।
यस अघि समारोहमा परिषद्का सह महासचिव डा. संगीता स्वेच्छाले स्वागत मन्तव्य र महासचिव वीरेन्द्र कुवँरले उद्घोषण गर्दै नेपाली साहित्य आकाशका चम्किला तारा महाकवि देवकोटाको हरेक वर्ष जन्मजयन्ती मनाएर नेपाली साहित्य विकास परिषद्ले प्रवासमा साहित्यको प्रेरणा जगाउने काम गरेको मात्र नभइ नेपाली भाषा साहित्य र राष्ट्रियतालाई समेत फैलाउने कार्य गरेको बताए।
समारोहको पहिलो चरणमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको तस्विरमा प्रमुख अतिथि तथा सहभागीहरूबाट माल्यार्पण गरिएको थियो भने दोश्रो चरणमा महाकविको तस्विरमा प्रमुख अतिथि तथा सहभागीहरूबाट माल्यार्ण गरी श्रद्दा सुमन अर्पण गरिएको थियो।
समारोहमा कोसेली नेपाली सांस्कृतिक परिवार यूके का संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापाले, प्रमोद शर्मा, वसन्त रायक्षेत्रीले शर्माले मुना मदन, र मालती मंगलेको संगीतवद्ध गीत मार्मिकरूपले प्रस्तुत गरेका थिए।
कार्यक्रमको तेश्रो चरणमा कविता वाचन गरिएको थियो। कविता वाचनतर्फ भाग लिने कवि कवयतृहरूमा वसन्त रायक्षेत्री, दिनेश पौडेल, खगेन्द्र नेपाली, हरिसिंह थापा, डा.सुधा श्रेष्ठ, डा. संगीता स्वेच्छा, मनोज अन्जान, मदन थापा, कोमल मल्ल थिए।
अन्तमा कार्यक्रम सफल बनाउन आर्थिक एवम् भौतिक सहयोग पुर्याउने हुने डा.राघव प्रसाद धिताल, डा.जनक कुमारी धिताल, डा.सुधा श्रेष्ठ, बसन्त राय क्षेत्री, ध्रुव केसी, विरेन्द्र कुँवर, मनोज अन्जान, कोहिनूर मल्ल तथा सहभागी सबैलाई परिषदको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको थियो।
|
नेपाल र अष्ट्रियाबीच जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने सम्झौता काठमाडौं । नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन्। नेपाल र अष्ट्रियाबीच गठित ऊर्जा संयन्त्रको पहिलो सचिवस्तरीय बैठकमा दुवै देश सो सहमतिमा पुगेका हुन्।
आज यहाँ सम्पन्न संयन्त्रको पहिलो बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र अष्ट्रियाका तर्फबाट त्यहाँको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टिलर सहभागी भएका थिए ।
सम्झौतापत्रमा नेपालको तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रविणराज अर्याल र अष्ट्रियाबाट सल्लाहकार सोन्जा स्टिलरले हस्ताक्षर गरेका हुन्।
संयन्त्रको पहिलो बैठकमा ६३५ मेगावाटको दूधकोशी र १०० मेगावाटको तामाकोशी–५ जलविद्युत् आयोजनामा आवश्यक लगानी सहयोग गर्ने र अन्य जलविद्युत् आयोजनाको हकमा समेत भविष्यमा सहकार्य गर्ने सहमति भएको मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले जानकारी दिए।
त्यसैगरी नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको क्षमता अभिवृद्धिका लागिसमेत प्राविधिक सहयोग गर्ने समझदारी भएको छ। नेपाल र अष्ट्रियाबीच जलविद्युत् पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारी पत्रमा गत जेठ ८ गते हस्ताक्षर भएको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्दे्रइस रेईकार्डसँग सो सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
दुई देशबीच ऊर्जाका क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवलाई आदानप्रदान गर्ने सो सहमतिमा उल्लेख थियो। त्यसका साथै परियोजनाको पहिचान गरी संयुक्त कार्य समूह बनाएर काम गर्ने समझदारीसमेत त्यति बेला भएको थियो।
समझदारीअनुसार ऊर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाको संयुक्त अध्ययन र तालीममा पनि सहकार्य गरिने समझदारीअनुसार आज दुवै पक्षबीच उक्त सहमति भएको हो।
मन्त्री पुनले मन्त्रालयको कार्यभार सम्हालेलगत्तै चीन, बङ्गलादेश र अष्ट्रियासँग ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ। त्यसका साथै भारतसँग इनर्जी बैंकिङ, अन्र्तदेशीय प्रशारण लाइन, पिटिएको गाइड लाइनसमेत संशोधन भएको छ।
ऊर्जामन्त्रीसँग अष्ट्रियन प्रतिनिधिमण्डलको भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग अष्ट्रियाको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टिलर नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।
ऊर्जा संयन्त्रको बैठकमा सहभागी हुन नेपाल आएको उक्त टोलीले मन्त्री पुनसँग आज भेटवार्ता गरेको हो। भेटमा सल्लाहकार स्टिलरले नेपालको जलविद्युत् क्षेत्रका दुई परियोजनामा थप लगानी गर्न दुवै पक्षको सहमत भएको जानकारी दिएका थिए।
मन्त्री पुनले ऊर्जा संयन्त्रको पहिलो बैठकले ऐतिहासिक निर्णय गरेको भन्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने अष्ट्रिया सरकारको निर्णयप्रति आभार व्यक्त गरेका थिए।
उनले जलविद्युत् क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै अष्ट्रियासँग नेपालले ऊर्जा समझदारीमा हस्ताक्षर गरेको युरोपको पहिलो देश भएको जानकारी दिए।
मन्त्री पुनले आगामी दिनमा दुवै देशबीच ऊर्जाका क्षेत्रमा लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवलाई आदानप्रदान गर्न संयन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे।
|
चितवन मेडिकल कलेज तोडफोड : दोषीमाथि कारवाही गर्न चिकित्सक सङ्घको माग चितवन । नेपाल चिकित्सक सङ्घ चितवन शाखाले चितवन मेडिकल कलेजमा भएको तोडफोड र चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आरोप लगाउनेलाई कारवाही गर्न माग गरेको छ। सङ्घले जिल्ला प्रशासन कार्यालय चितवनमा आज ज्ञापनपत्र बुझाउँदै दोषीलाई कानूनी कारवाहीको माग गरेको हो।
सङ्घका अध्यक्ष डा. प्रकाश खतिवडाले हस्ताक्षर गरी बुझाइएको ज्ञापनपत्रमा आइतबार चितवन मेडिकल कलेजमा भएको तोडफोड र चिकित्सक माथि लगाइएको आरोपका कारण काम गर्न नसक्ने जनाइएको छ।
सङ्घले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन २०६८ तथा नियमावली २०६९ अनुसार दोषीलाई कारवाही गर्नुपर्नेसहित विभिन्न छ बुँदे माग राख्दै प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा चितवन मेडिकल कलेजका चिकित्सक, विद्यार्थी माथि भएको साङ्घातिक आक्रमणमा संलग्नलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिनुपर्ने, अस्पतालमा भएको क्षतिपूर्तिका सम्बन्धमा व्यक्ति वा समूहबाट भराइनुपर्ने, स्वास्थ्य संस्थालाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने लगायतका रहेका छन्।
सङ्घले राखेका माग २४ घण्टाभित्र पूरा नभए जिल्लामा रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्ने सङ्घले चेतावनी दिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा नेपाल चिकित्सक सङ्घका केन्द्रीय सदस्य डा कृष्ण पौडेल र डा. अनिलविक्रम कार्कीले गुण्डागर्दी शैलीमा भएको यस घटनाका दोसीलाई कारवाही गर्न माग गरे।
अराजक भीडका कारण स्वस्थ्य क्षेत्रको बद्नाम भएको भन्दै यस्तो कार्य नरोकिए देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्न सङ्घ बाध्य हुने उनीहरुको भनाइ थियो।
चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालले चिकित्सकले प्रयत्न गर्दागर्दै पनि मध्यबिन्दु नगरपालिका ९ कि ३२ वर्षीया आशा ज्ञवालीको निधन भएको जानकारी दिए।
बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरिएको थियो। सो क्रममा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। सङ्घको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले शान्ति सुरक्षाको मत्वपूर्ण क्षेत्र स्वास्थ्य संस्था बनेको बताए।
स्वास्थ्य संस्थामा अराजकतावाद मौलाउँदै गएको बताउँदै उनले यस्ता घटनालाई प्रशासनले सुष्म रुपमा हेर्दै आएको भन्दै निर्धक्कताका साथ काम गर्न आग्रह गरे।
|
‘काभ्रेका पर्यटकीय क्षेत्रमा पर्यटकको बढ्दो निकटता’ काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ ३ नं प्रदेशका सदस्य कृष्ण श्रेष्ठले लोभलाग्दो पर्यटकीय क्षेत्रमा पर्यटकहरु बढ्दै गएको सुनाए।
काभ्रेपलाञ्चोकका पर्यटकीय क्षेत्रमा एक पटक आएको पर्यटक दोहोर्याइ, तेहर्याइ आएको हुँदा काभ्रेका पर्यटकीय क्षेत्रमा पर्यटकहरुको गहिरो निकटता रहेको श्रेष्ठको बुझाई छ।
सरकारले सुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई साकार पार्न काभ्रेका युवा पर्यटन व्यवसायीरु पनि निकै उत्साहित देखिएका छन्। २० लाख मध्ये करिब १० प्रतिशत पर्यटक भित्र्याउन सकिने लक्ष्यका साथ तयारी गरिरहेका व्यवसायी भन्छन्, ‘पर्यटक नै हाम्रा पाहुना हुन्, उनको स्वागतार्थ सधैं उत्प्रेरित छौं।’
‘२०२० सुरु हुनु अगाबै राजधानी नजिकै पर्ने काभ्रेका विभिन्न पर्यटकीय क्षेत्र आसपासका होटलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु भरिभराउ हुन थालेका छन्।’ श्रेष्ठले भने, ‘काभ्रेका पर्यटकीय क्षेत्रमा जाडो तथा गर्मी मौसम जुनसुकै बेलामा पनि भ्रमणका लागि सहज हुने भएकाले सधैं जसो पर्यटकको चाप आंशिक रुपमा फेरबदल भएपनि वर्षेनी पर्यटकहरु भित्रिएकै हुन्छन्।’
नेपाल भ्रमण वर्ष सुरु हुने भएकोले यो पटक भने अघिल्लो वर्षको भन्दा अझैं पर्यटकको चाप बढ्न सक्ने पर्यटन व्यवसायीको बुझाई छ। बनेपा, धुलिखेल, नमोबुद्धलगायतका पर्यटकको नजरमा चम्किला ठाउँहरु काभ्रे मै भएकोले पनि पर्यटकहरु बढ्दै गएको श्रेष्ठले बताए।
१३ वटा स्थानीय तह रहेको काभ्रेपलाञ्चोकमा जिल्लाका क्रियाशिल पर्यटन व्यवसायीहरुले नेपाल सरकारको लक्ष्य भ्रमण वर्षलाई सफल पार्न, काभ्रेलीहरुको आर्थिक स्तर उकास्ने व्यक्तिगत लाभभन्दा माथि उठेर काम गरिरहेको उनले बताए।
‘पर्यटन, उर्जा र औद्योगिक उत्पादनको केन्द्रको रुपमा हेरिएको काभ्रेमा १ सय ३५ वडाका पौने ४ लाख बढी जनसंख्याको जिल्लामा पर्यटनलाई फस्टाउन सवा भाग जनसंख्या नै यो क्षेत्रको जिम्मेवारी बनेको छन्।’
जिल्लाको नेतृत्व तहले पनि पर्यटनलाई कृषि पर्यटन, सांस्कृतिक तथा धार्मिक पर्यटनको प्रर्वद्धन गरिने धारणा सार्वजनिक गरेका छन्। प्रदेश र प्रतिनिधि सभा सदस्यहरुले पनि पर्यटनलाई प्रवद्र्धन गर्न एकजुट भइरहेका छन्।
उत्साहित व्यवसायी
सरकारले नेपाल भ्रमण वर्षको तयारी गरेपछि युवा व्यवसायीहरुको संख्या पनि पर्यटन व्यवसायमा बढ्दै गएको छ। ‘नेपालमा केही काम छैन’ भन्ने वेरोजगार युवालाई चुनौती दिदै पर्यटन क्षेत्रमा नै सम्भव छ भनेले दुई दर्जन भन्दा बढी युवाहरुले आफ्नो व्यवसाय सुरु गरिसकेका छन्।
‘नेपाल राष्ट्रलाई विश्वमा चिनाउने अवसर पनि यो भ्रमण वर्ष २०२० ले जुराएको छ।’ श्रेष्ठले भने, ‘हामी सम्पूर्ण नेपालीहरु भ्रमण वर्षलाई सभ्य भव्य रुपले मनाउन सहयोग गर्न सबैलाई आग्रह गर्दछौं।’
नेपालको भौगोलिक, साँस्कृतिक, प्राकृतिक सबै पक्षलाई विश्व सामु चिनाउने अवसर भएकोले यो भ्रमण वर्षलाई होटल तथा पर्यटन व्यवसायी संघ काभ्रेले यसलाई गम्भिर तरिकाले लिएको छ।
पर्यटकको सभ्य भ्रमण बनाएमा पाहुनाहरु फेरि पनि आउने र अरुलाई पनि नेपाल घुम्न अभिप्रेरित गर्ने भएको हुँदा आएको पाहुनाहरुलाई खुसी बनाएर पठाउन सबै निकायलाई उनले आग्रह गरे।
पर्यटन नै सम्बृद्धिको आधार
नेपालमा पछिल्लो समयमा पर्यटन क्षेत्रबाट नै आर्थिक डलर भित्र्याउँदै गएको छ। नेपालमा भएका हिमश्रृखला देखाएर मात्रै वर्षेनी नेपालले अर्बौ रकम जम्मा पार्दै आएको छ। ‘विदेशीहरु भित्र्याउन कृषि, संस्कृति, पर्यावरण नै सुन्दर पार्ने हो भने नेपालको सम्बृद्ध पर्यटन देखाएर नै सम्भव हुन सक्ने हाम्रो बुझाई छ।’ उनले भने।
कुराकानीका आधारमा
|
रुकुममा पाँच किलो चरेससहित एक महिला पक्राउ रुकुम । प्रहरीले एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ।
पुथाउत्तरगङ्गा गाउँपालिका –१२ को क्युबाङबाट २७ वर्षीया शीला सुनारलाई उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो।
सोही ठाउँको गर्खानीबाट क्युवाङतिर लैजाँदै गरेको चरेस गएराति प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी चरेससहित महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए।
सुनारलाई आज २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।रासस
|
अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा के भने अर्थमन्त्री खतिवडाले ? काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक वैठकको दोस्रो दिन वोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी भएका छन्।
उनले नेतृत्वको नेपाली प्रतिनिधिमण्डको अन्तर्राष्ट्रिय वित्त निगमका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्षलगायतका उच्च पदाधिकारीहरुसंग भएको भेटमा नेपालको अर्थतन्त्रको संभावनावारे चर्चा गर्दै अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा निजी क्षेत्र मार्फत जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पुर्वाधारलगायतका क्षेत्रमा समेतलगानी गर्न उनले आग्रह गरे।
उनले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै निजी क्षेत्रलाई थप सवल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको विविधिकरण गर्नुपर्ने विषयमा जोड दिए। उनले पूर्वाधार विकासको लागि मध्यम तथा दिर्घकालिनअवधिको वित्त परिचालन गर्ने विषयमा निगमको ध्यानाकर्षण गराए।
साथै बैंकको ट्रेजरी हेर्ने उपाध्यक्षलगायतको उच्च पदाधिकारीहरसंगको भेटमा उनले नेपालको पूँजी बजार सानो भएकाले यसको दायरा फराकिलो बनाउन आवस्यक भएको विषयमा जोड दिदै वचत र लगानी वीचको ठूलो अन्तर घटाउन विदेशी पूँजी परिचालन जरुरी भएको बताए।
उनले दक्षिण एसियामा सडक सुरक्षा सम्बन्धी एक कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागिता जनाउँदै सडक सुरक्षाका लागि सडक निर्माण भन्दा अगाडि अपनाउनुपर्ने डिजाइन तथा इन्जिनियरिङ्गपक्ष, सवारी साधनको भारवहन क्षमता, सडक प्रयोगकर्ताको ज्ञानकोस्तर, सवारीसाधनको परीक्षण र यातायात क्षेत्रको नियमनजस्ता विषयमा ध्यान पुर्याउनुपर्ने बताए।
युरोमनी पत्रिकासंगको एक अन्तवार्ताको क्रममा उनले निजी लगानीकर्तालाई नेपालमा लगानी गर्दा जोमको यथार्थ विष्लेषण गर्न सहयोग पुर्याउन र लगानीमा जोखिम वापत वढी प्रिमियम नलिने अवस्था सिर्जना गर्न नेपालको क्रेडिट रेटिङ्ग गर्ने कार्य सुरु गरी सकेको जानकारी गराए।
त्यस्तै विश्वव्यापी आर्थिक शिथिलताले नेपालको वैदेशिक श्रमबजार, पर्यटन, विदेशी लगानी र व्यापारको क्षेत्रमा पार्न सक्ने संभावित प्रतिकुलता सामना गर्नुपर्ने तर्फ सजग रहेको जानकारी दिए। अहिलेको विश्वव्यापी आर्थिक समस्या आर्थिक र मौद्रिक नीतिबाट मात्रै हल नहुने हुँदा अन्तराष्टियतहमा अर्थ राजनीतिक समझदारी आवश्यक रहेकोमा जोड दिए।
सो क्रममा उनले व्रिटेन उड्स वाहिरका वहुपक्षीय संस्थाहरु जस्तै ध्त्इ तथा ग्ल्ऋत्ब्म् संग मिलेर काम गरेमा मात्र खुला व्यापार तथा लगानीमा देखिएका विद्यमान समस्याहरु हल हुने उल्लेख गरे। एक अर्को प्रसंगमा उनले दुई पक्षीय व्पापार र लगानीका सम्झौताहरुले क्षेत्रीय र अन्तर्राष्ट्रिय व्यापार तथा लगानी सम्वन्धी भैरहेका समझदारी र सम्वन्धित वहुपक्षीय संस्थाहरुलाई कमजोर पार्न नहुने उल्लेख गरे।
साथै, दुई पक्षीय पहलहरु क्षेत्रीय र अन्तर्राष्ट्रिय आर्थिक सहयोगको परिपुरक भूमिकामा देखिनु पर्दछ भन्ने कुरामा उनले जोड दिए। माननीय अर्थमन्त्रीले अन्तराष्टिय मुद्राकोष एसिया प्रशान्त विभागले आयोजना गरेको एक उच्च स्तरीय कार्यक्रममा सहभागी हुँदै दक्षिण एसियाली मुलुकहरुले जनसांख्यिक लाभ लिन थप रोजगारीको सिर्जना र श्रमको उत्पादकत्व बढाउन आवश्यक भएको कुरा उल्लेख गरे।
त्यस्तै एसियाली विकास बैंकका उपाध्यक्षलगायतको उच्च स्तरीय पदाधिकारीहरुसंगको भेटमा उनले नेपालको समग्र विकास प्रयासमा बैंकले गरेको सहयोगको समिक्षा गर्दै आगामी वर्षहरुमा बैंकसंगको सहयोग विस्तारका संभावना र नेपाल सरकारको विकास प्राथमिकताको बारेमा छलफल गरे।
बेलायती सहयोग संस्थाका स्थायी सचिवसंगको भेटमा बेलायत सरकारको सहयोगमा सञ्चिालित कार्यक्रमहरुको समिक्षा गर्दै आगामी दिनमा परिचालन हुने थप सहयोगका क्षेत्रहरुमा चर्चा भएको थियो । विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविक सेफरसहितको उच्च तहका पदाधिकारी सम्मिलित बैठकमा नेपालमा बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रगति समिक्षा भयो।
साथै पोर्ट फोलीयो कार्यान्वयनको गुणस्तर वढाउन आयोजना कार्यान्वयनमा थप जोड दिनुपर्ने तथा उर्जा, यातायात, रोजगारी, कृषि उद्यम, पर्यटन, सहरी पुर्वाधार विकास र सघीयता कार्यान्वयनका क्षेत्रमा थप सहायता परिचालन गर्न बैंक सकारात्मक भएको बताइएको थियो ।
त्यस्तै गरी क्षेत्रगत नीति सुधारमा आधारित बजेट सहायता परिचालन बढाउन उर्जा, वित्तीय क्षेत्र सुधार र संघीयतामा आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउने गरी थप तीन क्षेत्रमा बजेट सहायता परिचालन गर्न बैक समूहले काम सुरु गर्ने समझदारी भयो।
|
नेपाल अब कुनैपनि देशकाे दबाब र प्रभावमा छैन: परराष्ट्रमन्त्री काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यान्मा गणतन्त्र सङ्घको राजकीय भ्रमणका सम्बन्धमा जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सञ्चारकर्मीसँगको भेटमा उनले नेपालमाथि कुनै पनि विषयमा कुनै पनि देशले दबाब नदिएको बताए।
हालै चीनका राष्ट्रपति सि चिनफिङले गरेको नेपालको राजकीय भ्रमणका बेला चीनसँग प्रत्यर्पण सन्धि बाह्य दबाबका कारण हुन नसकेको भन्ने जिज्ञासा र छापाहरूमा सार्वजनिक भएका टीकाटिप्पणीबारे प्रष्ट पार्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल दबाब र प्रभावमुक्त रहेको बताए।
“अन्तरदेशीय आपराधिक गतिविधि बढेका सन्दर्भमा पारस्परिक कानूनी सहायता सन्धि हुनु सामान्य हो उपयुक्त समयमा हामी चीनसँग प्रत्यर्पण सन्धि गर्छौं,” उनले भने। नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन नेपालमा आयोजना गरिने प्रवद्र्धनात्मक कार्यक्रममा सहभागी हुन म्यान्माका स्टेट काउन्सेलर आङ सान सुची काठमाडौँ आउने जानकारी दिँदै उनले म्यान्माका नागरिकले लुम्बिनी वा काठमाडौँ र म्यान्माबीच सिधा हवाई सम्पर्क कायम हुनुपर्नेमा जोड दिएका बताए।
म्यान्माका नागरिकले लुम्बिनी भ्रमणलाई उच्च प्राथमिकतामा राखेका र निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सञ्चालन हुन लागेकाले उताबाट बढी धार्मिक पर्यटकले नेपाल भ्रमण गर्नेमा आफू आशावादी रहेको मन्त्री ज्ञवालीले बताए।
नेपाल शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिको पक्षराष्ट्र नभए पनि तिब्बती र भुटानी शरणार्थीलाई मानवीय आधारमा सहयोग भइरहेको यथार्थ सुनाउँदै उनले शरणार्थी समस्याप्रति नेपालको गहिरो चासो रहेको र उनीहरू आफ्ना देश स–सम्मान फर्कन पाउनुपर्छ भन्ने अडानमा नेपाल दृढ रहेको दोहोर्याए।
भारत–पाकिस्तान द्वन्द्वले क्षेत्रीय स्थायित्व र शान्तिमा असर गर्ने भएकाले दुवै देशले अधिकतम संयमता अपनाउँदै आपसी तनाव घटाउन र स्थितिलाई सामान्य बनाउनेतर्फ लाग्नुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिए।
महिला हिंसाका घटनाप्रति नेपाल सरकार संवेदनशील रहेको र दोषीलाई कारवाही गर्न दृढ रहेको दृष्टान्त प्रस्तुत गर्दै परराष्ट्रमन्त्रीले संसारभरका महिला कार्यस्थल र घरमा सुरक्षित नरहेका वास्तविकतालाई बिर्सेर असान्दर्भिक विषय उठाएर नेपाललाई महिला हिंसामा मुछिएकामा आश्चर्य प्रकट गरे।
नेपालको कानूनले महिलाविरुद्धका हिंसालाई गम्भीर फौजदारी अपराध मानेर त्यसैअनुरुप कठोर कारवाहीको व्यवस्था गरेको उनले स्मरण पनि गराए।
असंलग्न आन्दोलन (नाम)को १८औँ शिखर सम्मेलनमा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न नेपाललगायत देशमा अन्तर्राष्ट्रिय लगानी बढाउनुपर्ने, शस्त्रास्त्रको होडबाजी र सैन्य सामथ्र्यको सुदृढीकरणको सट्टा शिक्षा, स्वास्थ्य, गरीबी निवारण र भोकमरी हटाउन पनि पर्याप्त लगानी गर्न विकसित राष्ट्रहरू लाग्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाउने मन्त्री ज्ञवालीले जानकारी दिए।
त्यसअघि मन्त्री ज्ञवालीले राजनीतिक सुधारका साथ आर्थिक खुलापन बढाउँदै लगेको र दक्षिण पूर्व एशियामा आशलाग्दो आर्थिक विकास गरिरहेको म्यान्मामा भएको नेपालका राष्ट्रपतिको पहिलो राजकीय भ्रमणले दुई देशबीचको समग्र सम्बन्धलाई सुदृढ तुल्याउन मद्दत पुगेको बताउँदै राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा भएका द्विपक्षीय भेटघाट र समझदारीबारे विस्तृत विवरण प्रस्तुत गरेका थिए।रासस
|
त्रिभुवन विश्वविद्यालयमा श्रम शिक्षाको पनि अध्यापन हुने काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि कोर्ष पनि अध्यापन गराउने भएको छ ।
सत्तारुढ दल नेकपा निकट मजदुर संगठन जिफन्टको पहलमा सो विश्वविद्यालय अन्तरगतको मानविकी संकायको स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि छुट्टै कोर्षको अध्यापन आगामी शैक्षिक सत्रबाट सुरु हुने भएको हो ।
सोमबार जिफन्टले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सो विश्वविद्यालयका प्राध्यापक केशवप्रसाद अधिकारीले श्रमिकहरुलाई दक्ष बनाउन तथा उनीहरुलाई सम्मानका साथ स्वदेशमै रोजगारीको अवसर सृजना गर्न श्रम शिक्षा सम्बन्धि छुट्टै कोर्ष आगामी शैक्षिक सत्रबाट अध्यापन गराउने तयारी गरिएको जानकारी दिए।
उनले त्यसका लागि विश्वविद्यालयले छुट्टै विभाग र पाठ्यक्रमको पनि निर्माण गरिसकेको बताए। उनले पाठ्यक्रममा नेपाली श्रमिकहरुको अवस्था, उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि गर्नुपर्ने पहललगायतका विषयबस्तुहरु समावेश गरिएको पनि स्पष्ट पारे।
कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकहरुका लागि सम्मानजनक ढंगले रोजगारीको व्यवस्थापन गर्न विश्वविद्यालयको स्नाकोत्तर तहमा पनि श्रमिक शिक्षा सम्बन्धि छुट्टै अध्यापन गर्न पहल गरिएको बताए। उनले सो विश्वविद्यालयबाट प्राप्त हुने जनशक्ति मुलुकका लागि र सबै श्रमिक संगठनहरुको लागि पनि उपयोगी हुने विश्वास पनि व्यक्त गरे।
जिफन्टले श्रमिकहरुको दक्षता वृद्धिका लागि विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म छुट्टै श्रमिक शिक्षा अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको थियो।
|
‘नेपाल विकासको प्रमुख साझेदार जापान’ काठमाडौं । जापानको औपचारिक भ्रमणमा रहकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताएकी छन्।
राष्ट्रपति भण्डारीको सम्मानमा आज जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपालीलाई दुःख पर्दा असल र भरपर्दो मित्रका रुपमा जापानले सघाएको उल्लेख गरिन्।
उनले गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापनामा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले नेपाल र जापानबीच सन् १९५६ देखि दौत्य सम्बन्ध भएको र सांस्कृतिक सम्बन्ध अझ बलियो भएको उल्लेख गर्दै आपसी भ्रमणको आदान प्रदानले सम्बन्धलाई थप सुदृढ बनाएको बताइन्।
जापानी सम्राट नारुहितोको गद्धी आरोहण समारोहका लागि जापान सरकारले आफूलाई निमन्त्रणा गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै उनले जापानी जनताको अनन्त शान्ति, विकास र प्रगतिको कामना गरिन्।
राष्ट्रपति भण्डारीले हालै जापानमा गएको आँधीमा परी ज्यान गुमाएकाप्रति आफ्नो र नेपाली जनताको तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरिन्।
राष्ट्रपति भण्डारीले वनेपादेखि बर्दिबाससम्मको बिपी राजमार्ग दुई देशबीचको सहयोगको उत्कृष्ट नमूना भएको बताउँदै जापानी सहयोगमा आजै शिलान्यास भएको नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माणले सुरुङ मार्गका क्षेत्रमा नयाँ आयाम थपिएको बताइन्।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति गर्न बाह्य स्रोतको खाँचो रहेको जानकारी दिँदै उनले नेपालको पूर्वाधार, जलस्रोत, पर्यटन, उत्पानदनशील र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आह्वान गर्दै लगानीको सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गर्ने विश्वास दिलाइन्।
राष्ट्रपति भण्डारीले सन् २०२० मा धेरै भन्दा धेरै जापानी नागरिकले नेपाल भ्रमण गर्ने र काठमाडौँ–नारिता सिधा उडान चाँडै हुने विश्वास व्यक्त गरिन्। उनले जापानमा रहेका नेपालीले यहाँको रोजगारी र शिक्षामा पुर्याएको योगदानका लागि धन्यवाद दिइन्।
साठी हजार जापानीले नेपाल भ्रमण गर्ने
कार्यक्रममा जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका महाचिव तोसिहिरो निकाइले नेपाल भ्रमण वर्षमा ६० हजार जापानीलाई नेपालमा भ्रमण गराउने लक्ष्य लिइएको अवगत गराए। तोसिहिरो नेपाल जापान संसदीय ग्रिडका अध्यक्ष पनि छन्।
जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आगामी वर्षमा नेपाल र जापानी प्रधानमन्त्रीको भ्रमण आदान प्रदान गराउने लक्ष्य रहेको जानकारी दिइन् । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत सहभागी थिए।
राष्ट्रपति भण्डारीले मङ्गलबार गद्धी आरोहण समारोहमा भाग लिनुका साथै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नेछिन्।
|
प्रधानमन्त्रीद्वारा सुरुङ मार्गको शिलान्यास (फोटोफिचर) काठमाडौँ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा विशेष कार्यक्रमका बीच शिलान्यास गरे। यो मार्ग नेपालको पहिलो सुरुङ मार्ग हुनेछ। जापानको हामजो निर्माण कम्पनीले ४२ महिना भित्र यसको निर्माण सम्पन्न गरिसक्ने छ।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो।
यसका लागि २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।
प्रवेश मार्गसहित ५.५६ किमी सडक मार्ग मध्ये सुरुङ मार्ग २.६८ किमीको हुनेछ। यो सुरुङ निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। करिब रु छ अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुने छ। यो रकम नेपाल सरकारले व्यहोर्ने छ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ।
धादिङको धुनिवेशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि शुरु गरिनेछ।
यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुन लागेको हो ।
सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो।
सुरुङ मार्गका लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । निर्माण कम्पनीले साँढे तीन वर्षमा काम सक्नेछ । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ।
|
१८ जुवाडे पक्राउ कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले गएराति जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले राति १ः३० बजेको समयमा देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ती जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।
जुवा खेलिरहेका उनीहरुको साथबाट प्रहरीले रु एक लाख ४२ हजार ९४० समेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए ।
चाडपर्वको समयमा जुवातास खेल्ने क्रम धेरै भएपछि प्रहरीले जुवातास रोक्नलाई जोड दिएको छ । प्रहरीले चाडपर्व शुरु भएलगतै जुवाताल खेलाउने स्थानको विशेष निगरानी राख्दै आएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए ।
जुवातासका कारण सामाजिक समस्या निम्तिने हुँदा आफूहरुले यसको नियन्त्रण गर्न लागिपरेको उनले बताए । प्रहरीले पछिल्ला दिनमा नवलपुरका विभिन्न स्थानबाट जुवातास खेल्नेलाई धमाधम पक्राउ गरिरहेको छ ।
|
राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता टोकियो, जापान । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ ।
सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी सहभागी थिए।
जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारीसहितको नेपाली प्रतिनिधिमण्डल आइतबार राजधानी टोक्यो आईपुगेका थिए ।
म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति यहाँ आइपुगेको हो ।
जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेक यही कार्तिक ५ गते स्थानीय समयानुसार अपराह्न १ बजे इम्पेरियल प्यालेसको सेदेन स्टेट हलमा हुँदैछ ।
राज्याभिषेक समारोहमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल यही कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस
|
समृद्ध नेपाल निर्माणका लागि एकता आवश्यक : मुख्यमन्त्री गुरुङ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल निर्माणका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले बडादशैँ, तिहारलगायतका चाडपर्वका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारका नकारात्मक कामको प्रचार बढी र सकारात्मक कामको प्रचार कम भइरहेको बताए।
सङ्घीयता कार्यान्वयनका क्रममा रहेको उल्लेख गर्दै उनले सङ्घीयताको मर्मलाई बल पुग्ने किसिमबाट सकारात्मक तवरले सञ्चारकर्मीले सहयोग गर्नुपर्ने धारणा राखे। उनले सङ्घीय सरकारको केन्द्रिकृत सोचका कारण अझै पनि सङ्घीयता कार्यान्वयन गर्न कठिनाइ भएकोे गुनासो गरे।
सङ्घीयताको कार्यान्वयनका लागि उच्चस्तरीय राजनीतिक कार्यदल बन्नुपर्ने उनको जोड थियो । देशमा कानूनी राज्य स्थापित भएको बताउँदै उनले समाजका विकृति, विसङ्गति र भ्रष्टाचारविरुद्धमा कलम चलाउन आग्रह गरे। मुख्यमन्त्री गुरुङले जग्गा प्राप्तको अधिकार प्रदेश सरकारमा नहुँदा विकास निर्माणमा कठिनाइ भएको बताए।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मागेर कुनै व्यक्तिको जीवन र कुनै देशको प्रगति नहुने बताए । छिमेकी राष्ट्रका कुनै प्रमुख नेपाल आउँदा देशले के पाउने र के दिनेभन्दा पनि उनीहरुसँग हाम्रो सद्भाव, सम्बन्ध कस्तो हुन्छ त्यसतर्पm केन्द्रित हुनुपर्ने उनले बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले विकासका लागि निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक भएको बताउँदै लगानीयोग्य उत्पादनशील योजना सरकारले छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए।
महासङ्घ गण्डकीका कार्यवाहक अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रयी सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेशका विकास समितिका सभापति दीपक कोइराला, सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष स्मिता अधिकारी, गणेश पौडेललगायतले नेपालीका ठूला चाडबाडले एकआपसमा सदभाव, भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।
|
खस भाषाको नाटक ‘पम्फा फूल’ प्रदर्शन खलङ्गा । कर्णालीको कला संस्कृति झल्किने खस भाषाको नाटक ‘पम्फा फूल’ जुम्ला सदरमुकाम खलङ्गामा आज प्रदर्शन गरिएको छ ।
स्थानीय कलाकारको लेखन तथा निर्देशन रहेको नाटक ‘पम्फा फूल’ स्थानीय कलाकार हिराबिजुली नेपालीको लेखन, गोविन्द सुनारको निर्देशनसहित १३ कलाकारको समूहले निर्माण गरेर मञ्चन गरिएको हो।
नाटकले धनकै कारण आमाबुबा, दिदीबहिनी, श्रीमतीसहित परिवारका अन्य सदस्यलाई पीडा दिइरहेको कथा प्रस्तुत गरिएको थियो ।
खस सभ्यताका जानकार रमानन्द आचार्यले नाटकले खस सभ्यता झल्काउने र सामाजिक अवस्थाको चित्रण गरेको बताए। तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले नाटक खस भाषा संरक्षणको आधार भएको प्रतिक्रिया दिए।
नागरिक समाजका संयोजक राजबहादुर महतले स्थानीय कलाकारको मेहनत र नाटकको सन्देश मार्मिक भएको बताए। कला घर जुम्लाको पहिलो प्रस्तुति उक्त नाटक यही कात्तिक ८ गतेसम्म सञ्चालन हुने निर्देशक सुनारले जानकारी दिए।
खस सभ्यता झल्काउने पोषाक, पहिरन तथा भाषाको नाटकले बजार पाउने धेरै दर्शकको प्रतिक्रिया थियो।
|
महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ : उपसभामुख तुम्बाहाङफे ललितपुर । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले समाजमा महिलाको भूमिका परिवर्तन हुँदै गएको अवस्थामा महिलाप्रति हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन नभएको बताएकी छन्।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), सञ्चारीका समूह र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले संयुक्त रुपमा यही कात्तिक १ र २ गते गोदावरीमा आयोजना गरेको दुईदिने ‘पत्रकार महिलाका लागि निर्वाचन र आम सञ्चारमाध्यम विषयक कार्यशाला र महिला राजनीतिज्ञसँगको अन्तरक्रिया’ समापन कार्यक्रममा उपसभामुख तुम्बाहाङ्फेले समाजमा महिलाको काम र भूमिका परिवर्तन हुँदै जाँदा उसलाई हेर्ने दृष्ट्रिकोण अझै उस्तै रहेकोमा चिन्ता व्यक्त गरिन्।
उनले भनिन्, “जुनसुकै क्षेत्रमा लागी परेका महिलाले निरन्तर दरिलो तवरको भूमिका निर्वाह गर्दै जाँदा एक दिन अवश्य सफलता प्राप्त गर्न सक्छाैँ।” महिलाले समाजमा निर्वाह गरेको जिम्मेवारी, पेशालगायत व्यवसायले स्वयं पुरातन सोचको अन्त्य गराउन सक्ने तुम्बाहाङ्फेको बुझाइ रहेको छ ।
हरेक महिलाले विगतका कुराबाट सिक्दै अघि बढ्नु जरुरी भएको तुम्बाहाङ्फले औँल्याइन् । हाल पुरुषहरु रहेको नेतृत्व तहमा यदि महिलाले भूमिका निर्वाह गर्ने अवसर पाउने हो भने उनीहरु पक्कै सफल हुने उनले बताइन्।
कार्यक्रममा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले हरेक तहमा रहेका महिलाले आफूसँग भएको आत्मशक्ति, इच्छा शक्तिलगायतको दक्षतालाई निरन्तरता दिनुपर्ने बताइन् । सुवेदीले भनिन्, “समाजका सबै महिलाबीच एकपटक थप समन्वय र एकता कायम गर्न जरुरी देखिन्छ ।”
सांसद रामकुमारी झाँक्रीले समाजशास्त्र विषयमा समेत महिलालाई पछि पारिएको गुनासो गरिन्। उनले भनिन्, “पुस्तकमा समेत हेपिएका महिलाको विरोध नीति निर्माणको क्रममा केही तलमाथि हुनु कुनै नयाँ कुरा होइन ।”
सांसद विन्दा पाण्डेले विगतमा अन्तरपार्टी महिला सञ्जालले महिलाको राजनीतिक भूमिकाको व्याख्या गर्दै अभिपे्ररणा भरेको भनी धन्यवाद व्यक्त गरिन् । राष्ट्रियसभा सदस्य विमला राई पौडेलले मानिसको चरित्रहत्या गर्ने कुरामा धेरैभन्दा धेरै बुझेर बाहिर ल्याउन आग्रह गरिन् ।
प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले महिलाको राजनीतिक विषयलाई साझा रुपमा विकास गरी माथि पुर्याउन जोड दिनुपर्ने बताइन्। उनले भनिन्, “देशमा राजनीतिक व्यवस्था परिवर्तन भएता पनि पितृसतात्मक मानसिकता भने अझै परिवर्तन भएको छैन ।”
सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले यो कार्यक्रमले सञ्चार क्षेत्रमा लागेका महिला र राजनीतिक तहमा लागिपरेका महिलाबीच पुलको काम गर्न अहम् भूमिका निर्वाह गरेको बताइन्।रासस
|
रकम हिनामिना गरेकाे अभियाेगमा ५६ जना विरुद्ध मुद्दा दायर काठमाडौं । तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायपुर शाखाबाट भएको झण्डै १८ करोड रुपैयाँ हिनामिनामा ५६ जनाविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार उच्च अदालत तुलसीपुरमा बैंकका सञ्चालक, कर्मचारी र खातावाल गरी ५६ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङले दुई महीना अनुसन्धान गरेर प्राप्त प्रमाणलाई शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएपछि कसुरदारविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको हो।
१७ करोड ९९ लाख ९० हजार हिनामिनामा संलग्नको ठूलो जालो रहेको प्रहरीले प्रमाण फेला पारेको छ। बैंक सञ्चालक समितिका छ जना समेतको संलग्नता देखिएको प्रहरीको भनाइ छ।
वेष्टर्न बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ खिमबहादुर डिसीसहित सात जना कर्मचारी पनि रकम हिनामिनामा संलग्न देखिएको भन्दै मुद्दा दायर भएको छ।
रकम हिनामिनामा अन्य ४३ जना खातावालाको समेत संलग्नता देखिएपछि उनीहरु विरुद्ध पनि मुद्दा दायर भएको छ। रकम अपचलनमा दोषी नरहेको भन्दै भदौ २७ गते पक्राउ परेका सूचना प्रविधि अधिकृत विनोद डिसी भने आज छुटेका छन्। त्यसैयरी यसअघि निर्दोष देखिएर छुटेका वसन्त बुढाथोकी फेरि अनुसन्धानमा तानिएका थिए।
बैंकका शाखा प्रमुख समीर बुढाथोकीसहित तीन जना कर्मचारी र आठ जना खातावाल व्यक्ति प्रहरी हिरासतमा छन्। अन्य ४५ जना पक्राउ परेका छैनन्। उनीहरुलाई अब म्यादी पक्राउ पूर्जी जारी हुने छ।
वेष्टर्न बैंकको शाखा नारायणपुरले रु दुई लाखसम्म मात्रै लोन दिन पाउने अधिकार भएको तर शाखाबाट रु १७ करोड ९९ लाख ९० हजार बाहिरिएपछि रकम हिनामिनाको रहस्य खुलेको हो। वेष्टर्न बैंक साउन अन्तिम साता देबःविकास बैंकमा गाभिएलगत्तै घटना बाहिर आएको थियो।रासस
|
नेता वा मन्त्रीको पावरमा मलेसियाको नयाँ डिमाण्ड स्वीकृति नगर्न राजदुत पाण्डेको आग्रह मलेसिया । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेता वा मन्त्रीको पावरमा मलेसियाको नयाँ डिमाण्ड स्वीकृति नगर्ने सबैलाई आग्रह गरेका छन्।
शनिबार मलेसिया स्थित होटल ग्रेण्ड कन्टिनेन्टलमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाद्वारा मलेसियाका लागि नब नियुक्त उपनियोग प्रमुख मोतीराम श्रीस मगरलाई स्वागत कार्यक्रममा राजदुत पाण्डेले सो कुरा बताएका हुन्।
राजदुत पाण्डेले नियम बिपरित कार्य गर्ने कसैलाई छुन नहुने बताए । गतल कार्य गर्ने केही बिचौलियालाई सामान्य कार्वाही गरि चेतावानी दिई छोडि दिएकाछौं र दुतावासकै दुई कर्मचारीलाई जागिरबाटै निकालिएको समेत जनकारी गराए।
‘ब्याक फर गुड’ कार्यक्रममा जसरी दुतावासले कडाई गरेको छ त्यसरी नै मलेसियाबाट नेपाल जाने नयाँ डिमाण्ड स्विकृतिमा पनि कडाई गर्ने बताए।
नयाँ डिमाण्ड नेपाली दुतावासले स्वीकृति नगरी पठाउन नपाउने नेपाल मलेसियाबिच भएको श्रम सम्झौतामा उल्लेख छ। कम्पनीको एच आर आधिकारिक पत्र लिएर आएपछि मात्र दुतावासले डिमाण्ड स्वीकृत गर्छ।
मलेसियालाई नेपालीहरुको बैदेशिक रोजगारकप सुरक्षित र मर्यादित गन्तव्य बनाउने प्रयासमा छौँ। नियम बिपरित एउटा डिमाण्ड पनि स्वीकृत नगर्ने र यदि कसैले गलत तरिकाबाट काम गर्ने चेष्टा गरेमा गर्ने र गराउने दुबैलाई कार्वाहि हुनेछ।
त्यसैले नेपालबाट झोला भिरेर नेता वा मन्त्रीको पावरमा मलेसिया आएर डिमाण्डको स्वीकृति लिन्छु भन्ने भ्रममा नपर्ने सबै म्यानपावर व्यवसायीहरुलाई राजदूत पाण्डेले आग्रह गरे।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राईले नब नियुक्त उप नियोग प्रमुख मगरलाई स्वागत तथा कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।
साथै मलेसियाका लागि नब नियुक्त गप नियोग प्रमुख मगरले नेपाल आदिवासी जनजाति महासंघ मलेसियालाई धन्यबाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा नेपाली मजदुरहरुको लागि राम्रा कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।
कार्यक्रममा अध्यक्ष राईले नब निर्वाचित नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका समितिको जानकारी पत्र पनि राजदुत पाण्डेलाई बुझाएका थिए।
|
‘आमन्त्रण गल्फ’ प्रतियोगिता स्याङबोचेमा कोङ्दे, सोलु । बाह्रखरीको वार्षिक ‘आमन्त्रण गल्फ’ प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा खेलिएको छ । चार हजार दुई सय पचास मिटरमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो।
नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षाका साथ प्रतियोगिता आयोजना गरिएको थियो । सगरमाथा क्षेत्रको चारहजार दुईसय ५० मिटर उचाइमा रहेको कोङ्दे री मा र ती हजार आठसय ८० मिटर उचाइमा रहेको स्याङबोचेमा आइतबार बिहान ‘आमन्त्रण गल्फ’ प्रतियोगिता भएको हो ।
प्रतिकूल मौसमका बाबजूद कोङ्दे री ६ जना कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गरे भने बाँकी आठ जनाले स्याङ्बोचेमा प्रतिष्पर्धा गरेका थिए ।
बाह्रखरी गल्फ विश्वको सबैभन्दा बढी उचाइमा गरिएको बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले जानकारी दिए । उनका अनुसार यो प्रतियोगिता गल्फमा ‘रेकर्ड ब्रेक’ हो । आइतबार बिहानैदेखि त्यस क्षेत्रको मौसममा खराबी आएको भए पनि एनसेल बाह्रखरी गल्फ प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिताले नै ‘रेकर्ड ब्रेक’ गरेको हो ।
प्रतियोगिताको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको भए पनि खराब मौसमका कारण हुन सकेन । कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै एनसेलका सीईओ एण्डी चोङ्गले एनसेलले बाह्रखरीसँग मिलेर यस कार्यक्रमको आयोजना गर्न पाउँदा खुसी लागेको बताए ।
उनले विश्वकै उचाइमा गरिएको यस कार्यक्रमप्रति आयोजकलाई बधाई दिँदै एनसेलले आफ्ना ग्राहकको सपना साकार पार्न मद्दत गर्ने बताए ।व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले पनि एनसेल बाह्रखरी गल्फले नेपालको लागि ठूलो योगदान गरेको बताए ।
प्रतियोगिता दुई चरणमा हुनेछ । बाँकी खेल अक्टुबटर २६ शनिबारका दिन काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछन् । जहाँ बाँकी रहेका १७ होल खेलाइनेछ ।
दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने बाह्रखरी मिडियाका उप–महाप्रबन्धक घिमिरेले जानकारी दिएका छन् । “हाम्रो मुख्य उद्देश्य नै पर्यटन प्रवर्द्धन गर्नु हो,” घिमिरेले भने, “आइतबार बिहान सगरमाथा क्षेत्रमा गल्फ प्रतियोगिता गरेर रेकर्ड ब्रेक गरेका छौं।”
सरकारले आयोजना गरेको भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस प्रतियोगिताको सन्देश विश्वभर पुगेको बताउँदै यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।
अस्टुबर २६ मा हुने फाइनल खेलमा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । एनसेल बाह्रखरी गल्फ नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो गल्फ प्रतियोगिता भएकाले ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने उनले बताए ।
यो प्रतियोगिताको नाम ‘एनसेल प्रिजेन्ट्स बाह्रखरी एभरेस्ट गल्फ २०१९’ रहेको छ। प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भिजिट नेपाल इयर २०२० को सहकार्यमा गरिएको हो ।
प्रतियोगिताको मुख्य प्रायोजक एनसेल रहेको छ भने भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन् । थाई इन्टरनेसनल एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज पार्टनर रहेका छन् भने ग्लोबल आईएमई बैङ्क प्रतियोगिताको बैङ्किङ पार्टनर तथा टाटा मोटर्स भेहिकल तथा होल–ईन–वान पार्टनर रहेको छ ।
बाह्रखरी मिडिया इभेन्टस् प्रतियोगिताको आयोजक हो । प्रतियोगितामा सहभागी खेलाडीहरुले यस प्रतियोगिता अविस्मरणीय रहेको प्रतिक्रिया दिए ।
“मेरा लागि यो अविस्मरणीय क्षण रह्यो । मैले प्रतियोगिताको पहिलो टीअफ गर्ने मौका पाएँ । गल्फ आफैँमा धेरै रोमाञ्चक खेल हो । अहिले बाह्रखरीले कोङ्देमा यो प्रतियोगिता आयोजना गर्नुनै हामी खेलाडीको लागि एतिहासिक क्षण हो । यो नेपालका लागि मात्र होइन विश्वकै इतिहासमा पहिलोपटक अग्लो स्थानमा खेलाइएको प्रतियोगिता हो,” कोङ्दे मा प्रतिष्पर्धा गरेका समीट एयरका सञ्चालक विकाश राणाले भने।
प्रतियोगिताको पहिलो समूहमा प्रतिष्पर्धा गरेकी रेखा घिमिरेले पनि बाह्रखरी गल्फले आफ्नो लागि जीवनभर भुल्न नसकिने अवसर प्रदान गरेको बताइन् ।
“मैले ३० वर्षदेखिन गल्फ खेल्दै आइरहेको छु । मेरो आफ्नै गल्फ खेलको करियरमा नयाँ इतिहास रचेको अनुभव गरेको छु । यस्तो खालको प्रतियोगिता मेरो लागि पहिलो पटक हो । यो प्रतियोगितालाई मैले प्रतिस्पर्धा भन्दा पनि नयाँ अनुभवको रुपमा लिएको छु । हिमालको फेदमानै गल्फ खेल्ने अवसर जुराइदिएकोमा आयोजकप्रति आभारी छु,” कर्पोरेट गल्फर राजेन्द्र श्रेष्ठले भने ।
त्यस्तै प्रतियोगिताकी अर्काे खेलाडी आरती राणाले कोङ्देमा गल्फ खेल्दा एउटा नयाँ खालको उर्जा आएको प्रतिक्रिया दिइन्।
|
४० वर्षीय छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने ६२ वर्षीय बाबु पक्राउ खोटाङ । आफ्नै ४० वर्षीय छोरा गणेश राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा जन्तेढुङ्गा गाउँपालिका–२ डुम्रिबोट बस्ने ६२ वर्षीय जमान सिंह राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
सामान्य बादविवादको क्रममा जमान सिंहले खुकुरी प्रहार गर्दा गणेश घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी देवीस्थानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घाइते गणेशलाई उपचारको लागि धरान घोपा अस्पतालतर्फ पठाइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
|
‘लेडयुक्त पेन्ट’ मापदण्ड पूर्ण पालना गराउन सरकारलाई विज्ञको सुझाब काठमाडौं । विज्ञहरुले लेडयुक्त पेन्टको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
वातावरणविद् रामचरित्र साह, चिकित्सक मेघनाथ धिमालले लेडयुक्त पेन्ट स्वास्थ्यको लागि घातक हुने भएकाले त्यसको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वातावरणविद् साहले नेपाल सरकारले लेडयुक्त पेन्टको मापदण्ड तोकेपनि त्यसको पूर्ण रुपमा परिपालना गराउन नसकेकाले मानव स्वास्थ्यमा समस्या देखा पर्दै आएकाले सो समस्या समाधानका लागि सरकारलाई गम्भिर हुन आग्रह गरे।
वातावरणविद् साहले लेडयुक्त पेन्टमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने बेला आएकाले यसबारे सचेत हुन आम उपभोक्तालाई पनि आग्रह गरे। कार्यक्रममा बोल्दै डा. धितालले मानव स्वास्थ्यका लागि घातकसिद्ध हुने भएकलो लेडयुक्त पेन्ट प्रतिबन्ध लगाउन उपयुक्त हुने सुझाव सरकारलाई दिए।
चिकित्सक धितालले लेडयुक्त पेन्टसम्बन्धि मापदण्ड सरकारले घोषणा गरेपनि त्यसको परिपालना गराउन पहल गर्न नसकेको गुनासो पनि गरे। लेडयुक्त पेन्टका कारण मानिसको मृर्गौंलानै ड्यामेज्ड भएर जाने, नपुंसक हुनेलगायतका सम्भावना रहेको चिकित्सकहरुको भनाई छ।
|
सिटी एक्सप्रेस र एनएस क्यासप्वाइन्ट/लुलु एक्सचेन्जको स्क्राच एण्ड विन प्रमोशनमा टिभी उपहार काठमाडौं । सिटी एक्सप्रेस मनिट्रान्सफर र एनएस क्यासप्वाइन्ट/लुलु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्राच एण्ड विन प्रमोशन अगस्ट १०, २०१९ देखि सुरु भएको थियो ।
यो प्रमोसन केबल एन् एस् क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने व्याक्तिहरुलाई मात्र लागु हुनेछ। जस्मा पैसा पठाए बापत कुपन प्रदान गरिने छ । र सो कुपनमार्फत ग्राहकहरुले ब्याग, वालेट किरिङ्ग, कार्ड होल्डर, मोवाइल, साईकल र टिभी उपहारहरु जित्न सकिन्छ ।
सोही प्रमोसन मार्फत नरेश थकुल्लाले ३२ को टिभी उपहार जितेका छन्। थकुल्लाले एन् एस्क्यास पोइन्टको Port Klang ब्रान्च मार्फत सिटी एक्सप्रेसमा रकम पठाएका थिए। यस्तै बिभिन्न उपहारहरु जित्नको लागिएन् एस् क्यास पोइन्टको शाखामार्फत सिटी एक्सप्रेसमा रकम पठाउन पर्नेछ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७००० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
|
रेशम चौंधरीलाई रिहा गर्न आदिवासी जनजाति महासंघको माग काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।
महासंघका अध्यक्ष जगत बरामले कैद मुक्तान गरिरहेका राष्ट्रिय जनता पार्टी, नेपालका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद चौंधरीको विना सर्त तत्काल रिहा नभए सरकार विरुद्ध आन्दोलन चर्काउने चेतावनी पनि दिएका हुन्।
गत शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न ‘प्रथम नेपाली आदिवासी जनजाति अन्तराष्ट्रिय सम्मेलन’ले जारी गरेको आदिवासी जनजातिहरुको काठमाडौं घोषणा पत्र आईतबार सार्वजनिक गर्दै उहाँले विश्वमा रहेका सबै नेपाली आदिवासी जनजातिहरुलाई पनि निर्वाचनमा मत हाल्न पाउने व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।
अध्यक्ष बरामले सम्मेलनले संविधान संशोधन गरेर आदिवासी जनजातिहरुलाई पनि राज्यका सबै निकाय र तहमा समान प्रतिनिधित्व व्यवस्था गराउन पनि सरकारलाई दवाव दिएको बताए।
सो घोषणा पत्रमा गोर्खा सैनिकमा भर्ती भएका सैनिकका सन्तानहरुलाई वंशजको आधारमा प्राप्त हुने नेपाली नागरिकतालाई पनि निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ। त्यसैगरी घोषणा पत्रमा आदिवासी जनजाति संघ, संस्थाहरुमाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमै एकजुट भएर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरिएको छ।
|
गाडिएको अवस्थामा एक युवकको शव फेला मेलम्ची । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वार नजिकै एक युवाको हत्या भएको छ। हत्यापछि एक स्थानीयवासीको घर नजिकै रहेको मलखाडलमा गाडिएको अवस्थामा शव फेला परेको थियो।
लामोसाँघु–जिरी सडक सुधार आयोजनामा स्काभेटर चलाउँदै आएका बाह्रबिसे नगरपालिका–४ पलातीका ३० वर्षीया जीवन थापाको हत्यापछि मलखाडलमा लगेर शव गाडिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।
शुक्रबार बेलुकीदेखि हराइरहेका थापाको खोजबिनका क्रममा मलखाडलमा गाडेको अवस्थामा शव फेला परेको सुनकोशी गाउँपालिका–७ का वडाध्यक्ष ईश्वर तिमिल्सिनाले जानकारी दिए।
गत मङ्सिरदेखि लामोसाँघु–जिरी सडक निर्माणको जिम्मा पाएको गौरी–पार्वती ठेकेदार कम्पनीमा कार्यरत थापा एक किलोमा रहेको कम्पनीको कार्यालयमा बस्दै आएका थिए।
शुक्रबार बेलुकीदेखि हराएपछि कम्पनीमा कार्यरत साथीहरुले प्रहरीलाई खबर गरेर शनिबार उनको खोजी भएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए।
थापाको हत्याको घटनामा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बाह्रबिसेले सुनकोशी–७ स्वारा निवासी प्रतिमा विश्वकर्मा र जुना कार्कीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो। घर छेउकै जंङ्गलमा लुकिरहेको अवस्थामा प्रतिमालाई प्रहरीले पक्राउ गरेको थियो।
प्रतिमाले बयानका क्रममा आफूले मादक पदार्थ सेवन गरेर सुतेको र राति आफू नजिकै जीवन पनि सुतिरहेको देखेपछि छाम्दा चिसो भइसकेको पाएपछि बिहान घिसारेर नजिकै रहेको जुना कार्कीको घर छेउमा रहेको मलखाडलमा लगेर गाडिदिएको बताएकी छिन्।
जुना कार्कीले भने मृतक जीवन थापालाई घिसारेर लैजाँदै गरेको देखेको र गाडेको देखे पनि प्रहरीलाई खबर नगरेको बयान दिएको इलाका प्रहरी कार्यालय बाह्राबिसेले जानकारी दिएको छ।रासस
|
वुमन्स च्याम्पियन्स लिग : काठमाडौँद्वारा ललितपुर पराजित ललितपुर । राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा क्याट क्विन्स काठमाडौँ पुगेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको हो।
जितसँगै काठमाडौँले चार खेलमा छ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा पुगेको छ। त्यस्तै लगातारको तेस्रो हारसँगै ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ।
ललितपुरले दिएको १०६ रनको लक्ष्यलाई पच्छाएको काठमाडौँले १७ दशमलव २ ओभरमा दुई विकेट गुमाएर भेट्टायो। काठमाडौँको जितमा कप्तान रुबिना क्षेत्रीले अविजित ५९ रनको अर्धशतकीय इनिङ्स खेलिन्।
उनले ५२ बलमा एक छक्का र नौ चौका प्रहार गर्दै सर्वाधिक ५९ रनको योगदान दिएकी हुन्। त्यस्तै रोमा थापाले १८, रश्मी चौलागाईले ९ तथा अप्सरी बेगमले अविजित ७ रन जोडिन्।
बलिङतर्फ ललितपुरकी सम्झना खड्का र अलिसा केसीले एक÷एक विकेट लिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०५ रनको योगफल बनाएको थियो।
उसका लागि रोशनी बोहराले अविजित २९ रन जोडिन् भने नेरी थापाले २२, ममता चौधरीले १५ तथा गीता गोसाईले १३ रन बनाइन्। काठमाडौँकी ईश्वरी बिष्टले दुई विकेट लिँदा सरस्वती चौधरीले एक विकेट झारिन।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले टिभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। रासस
|
धरहरा पुनःनिर्माणले गति लिन सकेन काठमाडाै । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको धरहराको पुनःनिर्माणअन्तर्गत हालसम्म जम्मा २७ प्रतिशत मात्र काम भएको छ । गत २०७५ पुस १२ मा प्रारम्भ गरिएको निर्माण कार्य एक वर्ष बित्नलाग्दा पनि २२ तले धरहराको एक तलासमेत निर्माण भएको छैन ।
दुई वर्षमै निर्माण गरिसक्ने सहमति भए पनि अहिलेको निर्माणको गति हेर्दा अबको पाँच वर्षमासमेत पूर्णता पाउने स्थिति नदेखिएको सरोकारवालालाहरूले बताएका छन् । नेपाल र चिनियाँ निर्माण कम्पनी जीआइइटीसी–रमन जेभीसँग विसं २०७५ असोज १४ गते दुई वर्षमै धरहरा निर्माण गर्ने र विसं २०७७ असोज २१सम्म पार्किङलगायत सम्पूर्ण निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो ।
पुनःनिर्माणका क्रममा हाल धरहरा टावरको पहिलो बेसमेन्टको क्रङक्रिट भरिएको र बिम तथा स्ल्याब उठाउने कार्य शुरु गरिएको छ । त्यस्तै गोश्वारा हुलाक कार्यालय रहेको भवन भत्काएर सफाइ गर्ने काम भइरहेको छ । धरहरा निर्माणका लागि आवश्यक जग्गा गोश्वारा हुलाक कार्यालयले प्राधिकरणलाई हस्तान्तरण गर्न ढिला गरेकाले निर्माणले गति लिन नसकेको हो । हाल हुलाकले हामीलाई ९० प्रतिशत मात्रै जग्गा दिएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार निर्माण कम्पनीले समयमै जग्गा उपलब्ध नगराउँदा निर्माणमा ढिलाई भएको भन्दै आलटाल गरेको छ । “निर्माण कम्पनी र हुलाक कार्यालयका कारण धरहरा पुनःनिर्माणमा ढिलाइ भएको हो”, उनले भने, “अझै हुलाकले १० प्रतिशत जग्गा प्राधिकरणलाई हस्तान्तरण गर्न बाँकी छ । जग्गा दिन ढिला भएकै कारण निर्माण कम्पनीले ढिला गर्ने बहाना बनाएको हो तर सकेसम्म छिटो काम गर्न हामीले निर्देशन दिएका छौँ ।”
तीन अर्ब ८० करोडको लागतमा धरहरा निर्माण र गोश्वारा हुलाक रहेको क्षेत्रको सबै भागमा ३० फिट गहिरो भूमिगत तह खनेर तीनतले पार्किङस्थल निर्माण गर्ने सम्झौता भएको थियो । धरहरा बनाउन सरकारले ४४ रोपनी जग्गासमेत प्रदान गरिसकेकाले पहिला धरहरा रहेको पाँच रोपनी जग्गाबाहेक राष्ट्र बैंकअन्तर्गत रहेको टक्सार विभाग, नेपाल बैंक लिमिटेड र गोश्वारा हुलाक कार्यालयको जग्गामा धरहरा पुनःनिर्माण हुँदैछ ।
ती दुबै कार्यालयलाई अन्यत्रै सारिएको छ । विसं १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा धरहरा बनाउन लगाएका थिए । एघार तले धरहरा विसं १९९० को भूकम्पले भत्काएको दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरले नौ तले धरहरा पुनःनिर्माण गराएका थिए ।
सम्पदा विज्ञ मानन्धरका अनुसार निर्माणतर्फ २७ प्रतिशत काम हुँदा हालसम्म रु ५५ करोड खर्च भइसकेको छ ।
|
आलमलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति काठमाडौं। हत्या आरोपमा पक्राउ परेका काँग्रेस नेता तथा निलम्बित सांसद अफताव आलमलाई अदालतले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला अदालत रौतहटले आइतबार उनलाई थुनामा राख्न अनुमति दिएको हो।
उनी गएको असोज २६ गते रौतहटस्थित आफ्नै घरबाट पक्राउ परेका थिए। आलमको बयान पनि प्रहरीले शुरु गरेको छ। शुरुमा बयान दिन अस्वीकार गरेका आलम आइतबार भने बयान दिन राजी भएका हुन्।
२०६४ को संविधानसभा निर्वाचनको मतदान हुनुभन्दा अघिल्लो दिन चैत २७ भएको एक आकस्मिक बम विस्फोटनका घाइतेलाई ईंटा भट्टामा हालेर जलाएको उनमाथि आरोप छ।
पक्राउ परेसँगै रौतहट २ बाट निर्वाचित सांसद आलम सांसदबाट निलम्बित भइसकेका छन्। आफुले चुनाव जित्न बम विस्फोटको योजना बनाएको र अचानक बम विस्फोट हुँदा रहस्य खुल्ने भयले घाइतेलाई नजिकैको ईंटा भट्टामा हालेर जलाएको उनीमाथि आरोप छ। प्रहरीले उनलाई यो आरोपमा १२ वर्षपछि पक्राउ गरेको हो।
|
सहकार्य र एकताले नै विकास सम्भव छ : मुख्यमन्त्री राउत पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सहकार्य र एकताले नै राष्ट्र विकास सम्भव हुने बताएका छन् । उनले एक अर्काको खुट्टा तान्ने प्रवृत्ति भएको समाजमा उन्नति गर्न नसकिने भएकाले एकता र भाइचाराले नै समाज र राष्ट्र सुखी तथा विकसित हुने बताए।
समाजवादी पार्टीले आज वीरगञ्जमा आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकमा अहिले तीन तहको सरकार रहेको र तीनवटै तहमा हाल समन्वय नभएकै कारण जनताले अपेक्षा गरेअनुसार सरकारले काम गर्न नसकेको बताए।
उनले सङ्घको प्रदेशसँग र प्रदेशको स्थानीय तहसँग समन्वय भए समृद्धिको जनअपेक्षालाई पूरा गर्न सकिने विश्वास व्यक्त गरे।
|
कानूनी शासनमा कसैले उन्मुक्ति पाउँदैनन् : मन्त्री बाँस्कोटा काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन आज बनेपामा आयोजित कार्यक्रममा उनले कानूनी शासनभित्र कसैले उन्मुक्ति नपाउने र कानून सबैलाई बाराबरी लाग्ने बताए।
पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्जसमेत रहेका मन्त्री बाँस्कोटाले भने, “कानून सबैका निम्ति बराबर हो, विधिमा चलेको वर्तमान सरकार सुशासनको पहरेदार बनिरहेको छ, बनिरहन्छ ।” विधिको शासन स्थापित गर्न सरकार दत्तचित्त रहेकोमा कसैलाई शङ्का नगर्न उनले आग्रह गरे।
मन्त्री बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रशासनलाई चुनौती दिने गल्ती गरिरहेको दाबी गरे। “एकातिर सुशासन स्थापनाको माग गर्ने, अर्कोतिर २२ जनालाई जिउँदै भट्टामा हाल्ने आरोप खेपेका मान्छेलाई गिरफ्तार गर्दा राज्यसंयन्त्र प्रयोग गरेर दुःख दियो, सुशासन खोइ भनेर प्रश्न गर्ने तपाईहरुको नैतिकता कहाँ गयो ?” उनले प्रश्न गरे। सुशासनमाथि आक्रमण नगर्न उहाँले चेतावनीसमेत दिए।
मन्त्री बाँस्काटाले गलत विषय समाजमा स्थापित नहुने भएकाले भ्रममा नपर्न काङ्ग्रेसलाई सुझाव दिए। उनले भने, “यो कम्यूनिष्ट पार्टीले निर्माण गरेको सरकार हो सत्ता होइन, त्यसैले यहाँ कानूनी राज चल्छ, यो कानूनी राजभित्र कसैले उन्मुक्ति पाउँदैनन्।”
केही समयअघि सभामुखको घटना आउँदा रमाउने र कानूनी राज ठीक लाग्यो भन्ने काङ्ग्रेस २२ जनाको जीवनलीला समाप्त पार्नेलाई गिरफ्तार गर्दा कानूनी शासन भएन, दमन गरियो, भन्ने लोकतान्त्रिक संस्कार कुन हो भन्दै उनले प्रश्न गरे।
“वर्तमान सरकार, भ्रष्टाचार र अपराधविरुद्ध निर्मम हुन्छ, कोही कसैलाई पनि छुट दिनेछैन” उनले भने। सरकारले बदला र प्रतिशोधको भावनामा राजनीति नगरेकाले न्याय, समानताको स्थान र विधिको शासनप्रति ढुक्क हुन उनले आग्रह गरे। मन्त्री बाँस्कोटाले रेलको प्रसङ्ग कोट्याउँदै छिमेकी देशहरुले ३१ प्रतिशतसम्म ऋण लिएर काम गर्ने गरेको बताए। उनले भने, “हामीले अहिलेसम्म ऋण लिएका छैनौँ, तर हाम्रो क्षमता ३४ प्रतिशतसम्म लिनसक्ने छ।”
मन्त्री बाँस्कोटाले उत्पादनको संघर्ष समाजवादतर्फ जाने बाटो भएको बताए। “सामाजिक र आर्थिक रुपान्तरणबिना समाजवाद स्थापना हुन सक्दैन, समाजवादमा न्याय प्रणाली वितरणको पनि संघर्ष हुन्छ” उनले भने।
पार्टी र सरकार नङ र मासु भएर चल्नुपर्ने भएकाले पार्टीको लडाइँको मोर्चा तिखार्दै उच्च मनोवलका साथ उत्पादनको संघर्षमा लाग्न उनले नेताकार्यतासँग आग्रह गरे।
|
विश्वका कम्युनिष्ट पार्टीको बैठक टर्कीमा काठमाडौँ । विश्वका कम्युनिष्ट तथा श्रमिक पार्टीको २१औँ बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आ–आफ्ना देशका मौलिक विशेषतालाई ख्याल गर्दै कम्युनिष्ट पार्टीलाई लोकप्रिय, जनमुखी र बलियो बनाउन सक्दा मात्रै परिवर्तनको सपनालाई साकार पार्न सकिनेमा जोड दिएको छ।
नेकपाको तर्फबाट केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा यसैमा जोड दिएका कारण नेकपा लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा स्थापित भएको स्मरण गराए।
साठी देशका ७५ कम्युनिष्ट पार्टीको सहभागिता रहेको उक्त बैठकको आयोजना टर्की र ग्रीसका कम्युनिष्ट पार्टीले संयुक्त रुपमा गरेका हुन् । विश्वका सबै खालका कम्युनिष्ट पार्टीको साझा मञ्चका रुपमा रहेको कम्युनिष्ट तथा श्रमिक पार्टीको अन्तर्राष्ट्रिय बैठक (आइएमसीडब्लुपी) नामक उक्त मञ्च सन् १९९८ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ ।
सन् १९१९ मा लेनिनको नेतृत्वमा ‘कम्युनिष्ट इन्टरनेशनल’ स्थापना भएको १०० वर्षको सन्दर्भ पारेर आयोजना गरिएको बैठकको मूल नारा ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय स्थापनाको सयौँ वार्षिकोत्सव शान्ति र समाजवादका लागि लडाइँ जारी छ’ रहेको छ ।
शुक्रबार शुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ । बैठकको शुरुआत आयोजक टर्की कम्युनिष्ट पार्टीका महासचिव केमल ओकुयान र ग्रीस कम्युनिष्ट पार्टीका महासचिव दिमित्रिस कोत्सोम्वसले गरेका थिए। मुख्य बैठक अघि बिहीबार बसेको कार्यकारी समूह (वर्किङ ग्रुप) को बैठकले एजेन्डा तय गर्नुका साथै बैठकपछि जारी गरिने वक्तव्यको मस्यौदामा सहमति जुटाएको थियो ।
विश्वका २५ प्रमुख कम्युनिष्ट पार्टी रहेको वर्किङ ग्रुपमा नेकपा सदस्य छ । निर्वाचनबाट सत्तामा आएको विश्वको एक मात्र कम्युनिष्ट पार्टी भएकाले नेकपालाई विशेष रुपमा लिइन्छ । कम्युनिष्ट प्रणाली भएका चीन, क्युवा, उत्तर कोरिया, भियतनाम र लाओसले पनि आ–आफ्नो देशको मौलिकताअनुसार समाजवाद निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कम्युनिष्ट आन्दोलनका अनुभवबाट शिक्षा लिँदै यसको भविष्यका लागि समय सापेक्ष हुन विश्वका कम्युनिष्ट पार्टीलाई नेपालका तर्फबाट आह्वान गरिएको छ । उपप्रमुख रिजालले भने, “जनताका हरेक सुख दुःखमा सधैँ साथमै रहेकाले नेपाली जनताले हामीलाई दुई तिहाई मत दिएका छन् ।”
आफ्नो पार्टी र सरकारको उद्देश्य सामन्तवादका अवशेष र पुँजीवादका विकृतिलाई समाप्त पार्दै नेपाललाई समाजवादतर्फ लैजाने रहेको उल्लेख गर्दै उनले त्यसैका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ सरकारले काम गरिरहेको जानकारी विश्व समुदायलाई दिए।
|
एशियाली मुलुकहरुलाई पूर्वीय दर्शनबाट एशियाको विकासमा योगदान गर्न परराष्ट्रमन्त्रीको आग्रह म्यान्मा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एशियाका मुलुकहरुले पूर्वीय दर्शनका मूल्यमान्यतामा आधारित रहेर मिलेर काम गरी पूरै एशियाको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने बताएका छन्।
म्यान्मा नेपाल मैत्री सङ्घ र म्यान्मा नेपाल चेम्बर अफ कमर्शद्वारा आज यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित ‘म्यान्मा नेपाल मैत्री र व्यवसायका अवसर’ विषयको विचार गोष्ठीमा उनले म्यान्मा र नेपालले तिनीहरुले संयुक्त राष्ट्र सङ्घ, असङ्लग्न आन्दोलन, जी ७७ जस्ता सङ्गठन र समूहमा रहेर समसामयिक विश्वको चुनौतीको सामना गरी न्यायपूर्ण, निष्पक्ष र विधिमा आधारित अन्तरराष्ट्रिय विश्व प्रणालीको सुनिश्चिता गर्नुपर्नेमा जोड दिए।
उनले एकै वर्षमा व्यापार, लगानी, पर्यटन र संस्कृतिका क्षेत्रमा भएको समझदारीले दुवै देशको आर्थिक एवं सांस्कृतिक सम्बन्ध बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
उनले म्यान्माले लुम्बिनीमा बनाएको चैत्य बौद्ध तीर्थयात्राका लागि महत्वपूर्ण आकर्षण बनेको बताउँदै लुम्बिनीका लागि राष्ट्र सङ्घका महासचिव ऊ थान्त (म्यान्मा)ले अन्तरराष्ट्रिय सहयोग जुटाउन गरेको कामको सराहना गरे।
नेपाल र म्यान्मा दुवै विकासोन्मुख मुलुक भएको र दुवैमा गरी करीब आठ करोड जनसङ्ख्या रहेको बताउँदै उनले दुवै राष्ट्र ठूलो बजार हुन सक्ने औँल्याए।
नेपालका आर्थिक तथा व्यावसायिक नीतिहरु उदार रहेको र प्रवेशाज्ञा प्रणाली पनि सरल भएकाले म्यान्माका उद्योगी व्यवसायीलाई म्यान्मामा लगानी गर्न आग्रह गरे।
नेपालले प्रायः सबै क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि ढोका खुला राखेको बताउँदै उहाँले विकासोन्मुख मुलुक भएकाले केही अन्तरराष्ट्रिय बजारमा केही विशेष सुविधा पाइएको पनि जानकारी दिए।
गैर आवासीय नेपालीको कर समस्या समाधान गर्न संयन्त्र निर्माण गर्ने, प्रवेशाज्ञा प्रणालीलाई सरल बनाउने र गौतम बुद्ध विमानस्थल छिटो निर्माण गरी म्यान्मा नेपाल हवाइ उडान मिलाउन सकिने बताए।
सो अवसरमा उ थान्तका नाति डा थान मिन्तले दुवै देशका सम्पदा र संस्कृति संरक्षण गर्न मिलेर काम गर्न सकिने बताउँदै नेपाल म्यान्मा सीधा हवाई उडान गर्नुपर्नेमा पनि जोड दिए।
उनले विद्यालयहरुमा इतिहास विषय अध्ययनअध्यापन हुनुपर्ने र अन्य धेरै क्षेत्रमा आदानप्रदान गर्नुपर्ने पनि बताए।रासस
|
‘हामीसँग अब टाईम लिङ्गरिङ गर्ने छुट छैन्, १२ अर्ब लगानी भित्र्याउन काम सुरु गरिसक्यौं’ काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले एक स्वरमा नेपाललाई समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धता जनाएका छन् ।
शनिबार नवनिर्वाचित पदाधिकारीलाई रिपोर्टर्स क्लब नेपालले सम्मान तथा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । क्लबका सभापति ऋषि धमलाले नवनिर्वाचित पदाधिकारीहरुलाई खादा तथा माला लगाएर सम्मान गरेका हुन् ।
अध्यक्ष कुमार पन्त, उपाध्यक्षत्रय सोनाम लामा, मन केसी र अर्जुनकुमार श्रेठ, महासचिव डा. हेमराज शर्मा, सचिव आर.के. शर्मा, सह–कोषाध्यक्ष लोक दाहाल, एशिया प्यासिफिक डेपुटी रिजनल कोअर्डिनेटर खगेन्द्र न्यौपाने, अमेरिका क्षेत्रीय महिला संयोजक उमा कार्कीथापालगायतलाई धमलाले सम्मान तथा बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन् ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कुमार पन्तले मुलुक समृद्ध बनाउनको लागि गैरआवासीय नेपालीहरुले अहम भूमिका खेल्दै आएकोले आगामी दिनमा नेपालको विकास र समृद्धिको लागि झन ठूलो योगदान पुर्याउने विश्वास दिलाए । उनले भने,‘हामी यो देशको विकासमा केही गर्छौं भनेर लागिरहेका छौं । नयाँ भिजनसहित हाम्रो फ्रेश टिम निर्वाचित भएर आएको छ ।’
पन्तले आफूहरुसँग अत्यन्त छोटो समय रहेकोले आफ्नो २ वर्षे कार्यकालमा यसअघि गरेका वाचा तथा प्रतिबद्धताहरु पूरा गरेरै छोड्ने पनि स्पष्ट पारे । उनले भने, ‘हामीसँग अब टाईम लिङगरिङ गर्ने छुट छैन् । यो २४ महिनामा हामीले गरेका सबै वाचा तथा प्रतिबद्धताहरु पूरा गर्नुपर्छ । हामी आजैबाट दत्तचित्त भएर लागिपरेका छौं ।’ अध्यक्ष पन्तले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्नको लागि एनआरएनएले ठूलो भूमिका निर्वाह गर्ने पनि बताए ।
उनले भने, ‘गैरआवासीय नेपालीहरुले विदेशमा हाँसिल गरेको ज्ञान, सीप, पुँजी र लगानी नेपाल भित्र्याउनेछौं । हामी यो देशको विकास र समृद्धिको लागि सामूहिक लगानी ल्याउँछौं । पछिल्लो समय हामीले नेपालमा सामूहिक लगानी सुरु गरिसकेका छौं । यसैको उदाहरण हो २७ मेगावाटको तोर्दी खोला हाईड्रोपावर, जुन हामीले निर्माण सम्पन्न गरिसकेका छौं।’ त्यस्तै, नेपाल सरकारसँग १२ अर्व लगानी भित्र्याउने भनेर एम.ओ.यु.पनि गरिसकेको उनले सुनाए ।
उनले भने, ‘हामीले यो प्रतिबद्धता पूरा गर्नको लागि काम पनि सुरु गरिसकेका छौं ।’ उक्त म्युच्युअल फण्डमा ९० प्रतिशत लगानी गैरआवासीय नेपालीको रहने र बाँकी १० प्रतिशतमा ५ प्रतिशत निजी क्षेत्र र अर्को ५ प्रतिशत नेपाल सरकारको रहने पनि उनले जनाए ।
अध्यक्ष पन्तले विदेशबाट ठूलो संख्यामा नेपाल आउने रेमिट्यान्स अनउत्पादनशिल क्षेत्रमा खर्च भैरहेको सुनाउँदै आगामी दिनमा उक्त रेमिट्यान्स उत्पादनको क्षेत्रमा लगानी गर्ने पनि बताए । विदेशमा श्रममा रहेका नेपालीहरुको हित र कल्याणको लागि स्थापना गरिएको श्रमिक कल्याणकारी कोषमा भएको रकम दोब्बर गर्ने भनेर बोलिएअनुसार आजैबाट काम सुरु भएको पनि उनले स्पष्ट पारे ।
उनले भने,‘आज बसेको हाम्रो नवनिर्वाचित कार्यसमितिको बैठकबाट कोषमा एक करोड ५ लाख रकम जम्मा भैसकेको छ ।’ त्यस्तै, उनले श्रमसम्बन्धी समस्या समाधानको लागि कसरी अघि बढ्ने भन्नेबारे आफूले श्रममन्त्री गोकर्ण विष्टसँगपनि छिट्टै छलफल सुरु गर्ने जनाए ।
पन्तले संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा निर्वाचनको भोटिङ मेशिनमा समस्या देखिएको बताए । उनले भने, ‘यसपालि आलोचना हुनुको कारण भनेको भोटिङ सिस्टमले गर्दा हो । हामीले यसअघि रामलक्ष्मण दाजुभाइको कम्पनीबाट भोटिङ मेसिन ल्याएर निर्वाचन गराएका थियौं । त्यो मेसिन अन्य निर्वाचनहरुमा पनि प्रयोग भइरहेको रहेछ । त्यही मेसिन ल्याएर हामीले निर्वाचन सम्पन्न गराउन खोज्यौं । तर, प्राविधिक समस्या सिर्जना भयो ।’
उनले गैरआवासीय नेपालीभन्दा पनि बाहिरका मान्छेले निर्वाचनमा संघलाई बदनाम गराएको टिप्पणी गरे । उनले भने,‘हाम्रो संस्था गैरराजनीतिक संस्था हो । राजनीतिकरण गर्नुहुँदैन् । हामी सबै गैरआवासीय नेपालीहरु एकताबद्ध भएर बस्न चाहन्छौं । विभाजित हुन चाहँदैनौं ।’ उनले राजनीतिको नाममा आफूहरुलाई विभाजित नगरियोस भन्ने धारणा राखे ।
नेपालमा ठूला दलका ठूला नेताहरुले जबरजस्ती राजनीतिकरण गरेर निर्वाचित प्रभावित गरेकोले आगामी महाधिवेशन र निर्वाचन नेपालमा नगर्ने भनेर आफूले बोलेको पनि उनले सुनाए । उनले भने,‘आगामी निर्वाचन हामी नेपालबाहिरै गर्छौं । अनलाईन भोटिङ सिस्टम लागु गर्छौं ।’
यो पटकको निर्वाचनमा पैसाको पनि विकृति देखिएको उनको भनाई छ । उनले भने,‘मेरो दुईवर्षे कार्यकाल पूरा गर्नका लागि मैले केही ठोस योजना तर्जुमा गरेको छु । मैले नम्बर वान के भनेको छु भने विदेशमा बस्ने जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरु हुनुहुन्छ, उहाँहरुलाई पञ्जीकृत शुल्क हटाएर निःशुल्क सदस्यता दिलाउँछु । किनकि पैसाका नाममा हाम्रो अभियानमा केही विकृतिहरु भित्रिएका छन् । यस्ता विकृतिहरुलाई म मेरो कार्यकालमा हटाउन चाहान्छु ।’ यसको लागि आफूहरुको आज बसेको बैठकले एउटा कार्यदल गठन गरेर काम पनि सुरु गरिसकेको पन्तको भनाई छ ।
नेपाल र नेपाली जनताले संघबाट ठूलो आशा र भरोशा गरेकोले परोपकारी काममा संघ बढि केन्द्रित हुनेपनि उनले विश्वास व्यक्त गरे । उनले भने,‘च्यारिटी काम बढि गर्नको लागि फाउण्डेशन बनाएर अघि बढ्छौं ।’ त्यस्तै, उनले महिला उद्यमशिलता बढाउनको लागि आफूहरुले विशेष ध्यान दिएर काम गर्ने बताए । अहिलेको पुस्ता विस्तारै बुढो हुँदै जाने भएकोले आगामी सक्षम युवा पुस्ता तयार पार्नको लागि युथ अन्टरप्रेन्युअरसिप कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिए ।
विश्वभरि छरिएर रहेका ८० लाख गैरआवासी नेपालीहरुले मातृभूमी नेपाल समद्ध र धनी भएको हेर्न चाहेको सुनाउँदै त्यसकै लागि काम गर्ने पनि पन्तले बताए । उनले भने,‘हामी मुलुक समृद्ध बनाउने अभियानमा होमिएका छौं । अहिले स्वर्णिम अवस्था हो । अहिलेको पुस्ताले केही नगरे आउने पुस्ताले हामीलाई धिक्कार्नेछ । हामीले अर्को पुस्ताले वाह भन्ने काम गर्नुपर्छ ।’ नवनिर्वाचित पदाधिकारी उच्च मनोबलका साथ आएकोले नेपाललाई समृद्ध बनाउनेगरि काम गर्ने र नेपालको विकसित हुने भाग्य रहेको पनि उनले बताए ।
|
दोहोरो कर लिएको भन्दै कवाड व्यवसायीहरु आन्दोलित चितवन । चितवनको खैरहनी नगरपालिकाले दोहोरो कर लिएको भन्दै कवाड व्यवसायीहरुले विरोध गरेका छन् ।
आन्तरिक राजस्व कार्यालयलाई १३ प्रतिशत राजस्व तिरिरहेको अवस्थामा खैरहनी नगरपालिकाले समेत प्रत्येक सामानमा कर लिने गरेको भन्दै व्यवसायीहरुले विरोध गरेका हुन् ।
व्यवसायीहरुले दोहोरो कर बन्द गर, व्यवसायिक वातावरण सिर्जना गर जस्ता नारासहितको प्लेकार्ड बोकेर शनिबार विरोध प्रदर्शन गर्दै पर्सा बजार परिक्रमा गरेका छन् ।
चितवन कवाडी व्यवसायी संघका अध्यक्ष शंकर केसीकाअनुसार नगरपालिकाबाट ठेक्का लिएर ठेकेदारले प्रति बोत्तल एक रुपैयाँ, प्रतिकिलो फलाममा दुई रुपैयाँ, प्रति किलो टिनमा एक रुपैयाँ शुल्क लिने गरेका छन् ।
कवाड व्यवसायीले सरकारलाई भ्याट, नगरपालिकालाई व्यवसायिक कर तथा साना तथा घरेलु उद्योग कार्यालयमा पनि कर तिर्दा समेत नगरपालिकालाई थप कर तिर्नुपरेपछि आफूहरुले व्यवसाय गर्ने वातावरण नभएको केसीले बताए ।
नगरपालिकाबाट ठेकेदारले उठाउने शुल्क खारेज हुनुपर्ने केसीको भनाइ छ । व्यवसायी सुधामा साहले ट्रकमा सामान लोड गरेर पठाउँदा आफूले ठेकेदारलाई छुट्टै कर तिरेको गुनासो गरे । १० टन फलाम बिक्री गर्दा १३ प्रतिशत कर राजस्वमा बुझाए पनि नगरपालिकालाई छुट्टै २० हजार रुपैयाँ शुल्क बुझाउन बाध्य भएको साहले बताए ।
आफूहरु दोहोरो करको मारमा परेको भनेर खैरहनी नगरपालिकामा जाँदा समेत हक्काइ खानुपरेको व्यवसायीहरुको भनाइ छ ।
|
पैया गुड्न लाग्या, बम्बै जान्या रेलगाडीका… कञ्चनपुर । कला संस्कृति संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले आज कञ्चनपुरको भीमदत्तनगरमा ‘हमरा गीत’ विशेष साँझमार्फत यहाँका पुराना देउडा भाका पस्किए।
“पैया गुड्न लाग्या, बम्बै जान्या रेलगाडीका पैया गुडन लाग्या”
“अब छुटन लाग्या पहाडका डाँडा काँडा अब छुटन लाग्या”
यही देउडा गीतबाट निकै ख्याति कमाएका देउडा गायक भट्टले यहाँका लोकसंस्कृति र कला संस्कृतको जर्गेनाका लागि भन्दै विशेष साँझको आयोजना गरिएको बताए।
लायन्स क्लब र गुरुभूमि फाउन्डेशनको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा उनले देउडाका पुराना भाका पस्किए। उनलाई गायक नवराज कलौनी र स्थानीय कलाकारहरुले समेत साथ दिएका थिए। कार्यक्रममा वृद्धवद्धाको बाक्लो उपस्थिति थियो।
गायक भट्टका बम्बै जान्या रेल गाडीका पैया गुडन लाग्या, लैजा बुदी लालपिछौडी बौरानी ओडली, का जान्छै बगन्या पानी कैको माया मानी, हिट साली किरमडा खाइजाऔँ जौपात, दुत्या दशैँ तसै गया, काटु कटालैको सेरो र धोका रैछ मायाजाललगायत देउडा गीतबाट सहभागीले भरपुर मनोरञ्जन लिएका थिए।
|
अछाममा विद्यालय स्तरीय संसदीय बहस प्रतियोगिता अछाम । अछाममा विद्यालय स्तरीय संसदीय बहस प्रतियोगिता हुने भएको छ।
शनिवार पत्रकार सम्मेलन गर्दै अछाम जिल्लामा पहिलो पटक माध्यमिक तह सम्मका विद्यालय स्तरीय संसदीय बहस प्रतियोगिता हुने आयोजकले जनाएको छ।
‘तथ्ययुक्त तर्कहरुको वैचारिक लडाइँ’ भन्ने मुल नाराका साथ तर्क युद्ध अछाम, २०७६ प्रतियोगिता हुने नयाँ युवा नयाँ सोच नेपालका अध्यक्ष मुकुन्ददीप मडैले बताए।
जिल्लाको साँफेबगर नगरपालिका, मङ्गलसेन नगरपालिका, चौरपाटी गाउँपालिकालगायत अछामका स्थानीय तहको सहयोग र नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा साँफेबगरमा हुने अध्यक्ष मडैले बताए।
कार्यक्रममा मङ्गलसेन नगरपालिका २०७६ कि ‘नमूना युवा सांसद’ पार्वती विष्टलाई कार्यक्रम संयोजक घोषणा गर्दै कार्यक्रम यहि आउने पौष महिनाको अन्तिम साता आयोजना गरिने जानकारी दिएका अध्यक्ष मडैले बताए।
यस संसदीय बहस कार्यक्रममा अछामका सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट छनौट भइ आएका विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ।
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा प्रमुख निर्णायक बिनोद खत्रीका अनुसार यस प्रतियोगिताले विध्यार्थीहरुलाइ संसदीय पद्धतिको ज्ञान दिने, संसद, कानून निर्माण प्रकृया आदिको व्यवहारिक ज्ञान दिने साथै समसामयिक विषयमा बहस गराइ तर्क कला तथा बहसकला अभिवृद्धि गर्न मद्दत पुग्ने छ।
|
मंगलबजारमा ‘एल कप ब्याटमिन्टन प्रतियोगिता’ सुरु काठमाडौं । ललितपुरको मंगलबजारमा ‘एल कप ब्याटमिन्टन प्रतियोगिता’ सुरु भएको छ ।
पाटन दरबारक्षेत्रस्थित आर्दश कन्या विद्यालयको प्राङगणमा सो प्रतियोगिता सूरु भएको हो । कार्तिक नौं गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा ७२ वटा टोलका १७० जना खेलाडीहरु सहभागी हुनेछन्।
२ वटा कोर्टमा चार ईभेन्टमा खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ। जसमा १५ वर्षमुनिका किशोरहरुको अन्डर १५ सिंगल, पुरुष मेन्स डबल्स, भेट्रान्स मेन्ट डबल्स र मिक्स डबल्स इभेन्ट रहेका छन्।
प्रतियोगितामा १५ वर्षमुनिका किशोरहरुको अन्डर १५ सिंगल इभेन्टमा पहिलो हुनेलाई ८ हजार, दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेलाई २ हजार नगदसहितको पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ।
|
अमेरिकी प्राविधिक कम्पनी सिथोसको आर्टिफिसयल इन्टिलिजेन्स सेवा नेपालमा पनि सुरु काठमाडौं । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी सिथोसले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ। अमेरिकामा केन्द्रिय कार्यालय भएको सिथोसले भारतमा पनि सेवा प्रदान गर्दै आएको छ ।
नेपालको बैंकिङ क्षेत्र मार्फत सूचना प्रविधि तथा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को सेवा प्रदान गर्ने गरी नेपाल भित्रिएको शुक्रबार एक कार्यक्रमबिच घोषणा गरिएको हो ।
कार्यक्रममा सिथोस अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आर्टिफिसियल इन्टिलिजेन्स नेपालमा ज्यादै आवश्वक भएकाले सिथोस नेपाल प्रवेश गरेको बताए । नेपालको बैंकिगं प्रणालीमा रिस्क मेनेजमेण्ट, ह्याकिगं लगायतका समस्या न्युनीकरणमा सिथोसको एआई प्रणालीले सहयोग पुर्याउने विश्वास जिसीको छ ।
कम्पनीले बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्स मार्फत ग्राहकलाइ सेवा प्रदान गर्छ । त्यसका साथै कर्जाको भ्यालुएसन र कर्जा दिन मिल्ने रकमलाइ समेत गणना गरी छिटो छरीतो र प्रभावकारी सेवा प्रदान गर्छ ।
सिथोसले बैकिङ क्षेत्रको नियमन, परिपालना तथा सम्भावीत ठगीलाइ पहिचान तथा नियन्त्रण गर्ने प्रविधिक सेवा प्रदान गर्ने सिथोस नेपालका अध्यक्ष दक्ष पौडेल सुवासले जानकारी दिए । उनले भने, ‘सिथोसले बैंकिङ क्षेत्रमा मात्र नभई आर्टिफिसियल इन्टिलिजेन्सले धेरै क्षेत्रको व्यवसाय व्यवस्थापनलाई सरल र सहज बनाईदिने छ, यसले नेपालको बैंकिङ क्षेत्रको प्राविधिक पक्षलाई पनि झनै मजबुत र अझै सरल बनाउन सहयोग गर्नेछ।’
पौडेलका अनुसार सिथोसले विकास गर्ने एआई बैंकिङ, बिमा, रियलस्टेट, हस्पिटालिटीलगायत विविध क्षेत्र तथा व्यापार व्यवसायमा प्रयोग गरेर खर्च कम गरी आम्दानी वढाउन सकिन्छ । आगामी दिनमा सिथोसले नेपालको सहकारी क्षेत्रमा पनि यो सेवा बिस्तार गर्ने पौडेलले बताए ।
सिथोसले मार्केट रिसर्चका साथै सेन्टीमेन्ट एनालीसिस, जोखिम व्यवस्थापना, लगानी प्रक्षपण लगायतका सेवाहरु प्रविधिको मद्दत मार्फत प्रदान गर्न सकिने एआइको विकास गरेको छ ।
सिथोसको एआई सेवा लिने तथा दिने दुबैलाइ प्रविधिको प्रयोग मार्फत सहज, सरल र प्रभावकारी क्रियाकलापका लागि मद्दत गर्छ ।
यसले औँठा छाप, आवाज, तस्वीर, सन्देश, फोन मार्फत सम्बन्धित व्यक्तिको पहिचान गरी कारोबार गर्नमा सहज गराउने कम्पनीले जनाएको छ । सिथोसले कर्मचारीको उत्पादकत्व वढाउनुका साथै संस्थागत खर्चमा कमी ल्याइ सेवा प्रदान गर्न मुख्य भूमिका निर्वाह गर्ने सिथोस नेपालका विज्ञ के एन मिश्राको भनाई छ ।
भारतमा पनि सिथोसले विकास गरेको एआइलाई बैंकिङ, बिमा, रियलस्टेट, हस्पिटालिटीलगायत क्षेत्रले प्रयोग गरिरहेको छन भने अमेरिकामा यसको प्रयोग अझै वढी छ ।
|
डोटीमा बस दुर्घटनाः ११ यात्रु घाइते, ४ जनाकाे अवस्था गम्भिर डोटी । जोरायल गाउँपालिका–२ गरुडमा आज बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ४ ख ८२३५ नं को बस दुर्घटनामा परेको हो।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। डडेल्धुराको अमरगढी नगरपालिकाका २५ वर्षीय बसका चालक सुरेन्द्र विष्ट, बैतडी पाटनका ३० वर्षीय नरेश चन्द, डडेल्धुरा भागेश्वरका २२ वर्षीय तारा जोशी र दाङ तुलसीपुरका १९ वर्षीया लक्ष्मी विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय फलटुडेका प्रहरी निरीक्षक माधव विकले जानकारी दिए।
उनीहरुलाई उपचारका लागि पद्मा अस्पताल अत्तरिया पुर्याइएको छ। दुर्घटनाको कारणबारे खुलेको छैन। बस सडकबाट झण्डै ५० मिटर तल खसेको थियो। रासस
|
सरकारसँग मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार नै छैन : सिपी मैनाली काठमाडौं । नेकपा (माले)का महासचिव सिपी मैनालीले सरकारसँग मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार नै नभएको दावी गरेका छन्।
महासचिव मैनालीले कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ? भनि सरकारलाई प्रश्न पनि गरे।
शनिबार काठमाडौंमा ‘अम्बिका साँवा स्मृतिग्रन्थ’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले सरकारले ठूल्ठूला कुरा गरेपनि मुलुकलाई सही बाटोमा अघि बढाउन नसकेको आरोप लगाए।
पूर्व उपप्रधानमन्त्री समेत रहेका मैनालीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, मुलुकमा दीगो आर्थिक विकासको ठोस कदम अघि बढाउन नसकेकोभन्दै सरकारको चर्को आलोचना पनि गरे।
|
जुजुभाईको अनुभवः जतिसुकै पीडा होस् तर रगत नबगोस् मध्यपुरठिमी । ‘तिम्ले यो गर्न सक्दैनौँ, तीन दिन भोकै बस्नुपर्छ, एक महीनादेखि तयारी गर्नुपर्छ, सबैलाई भोज खुवाउनुपर्छ’ भनेर गाउँलेले जिब्रो छेड्न डर देखाएका थिए।
त्यसो त झक्तपुर थिमिको बिस्का (बिस्केट) जात्रामा जिब्रो छेड्दा रगत बग्यो भने अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेकोले डर पलाउनु स्वभाविक थियो।
“गाउँलेको कुरा मेरो दिमागमा खेलिरह्यो, डर पनि लाग्यो, जतिसुकै पिडा भए पनि रगत चाहिँ नबगोस् भन्ने चाहना मात्रै हुन्थ्यो, पहिलो पटक जिब्रो छेड्दा रगत नआएपछि त्यसबेला बल्ल आफूले गरेको काम सफल भएको महसुस भयो र खुसी लाग्यो”, जुजुभाई बासँ श्रेष्ठले अनुभव सुनाए।
भक्तपुर थिमिका श्रेष्ठले २०६६ वैशाख २ गते पहिलोपटक जिब्रो छेडेका थिए। जिब्रो छेडेपछि चन्द्राकारको महादीप बोकेर हिँड्नुपर्छ। जिब्रो निकालेर शहरको परिक्रमा गर्नुपर्छ। यसरी जिब्रो छेडेका व्यक्तिलाई सर्वसाधारणले देवता सरह मान्छन्।
मानिसलाई दुःख कष्ट दिने राक्षसलाई समातेर जिब्रो छेडी सहर घुमाए दुःख नाश हुन्छ भन्ने विश्वासमा जात्रा मनाइन्छ। जात्राको आकर्षण नै जिब्रो छेड्ने परम्परा हो। त्यही परम्परा धान्नका लागि जुजुभाईले आठ वर्षसम्म जिब्रो छेडेर २०७३ सालदेखि टुङ्ग्याए, तर अहिले पनि उहाँलाई गुरुको मान प्राप्त छ।
जात्रैजात्राको शहर भक्तपुरको धार्मिक महत्व बोकेको, कला संस्कृति र मठमन्दिरले सिङ्गारिएको मध्यपुरथिमिको पर्याय हो, बिस्का जात्रामा जिब्रो छेड्ने परम्परा। कलाकारसमेत रहेका जुजुभाई आफ्नो मौलिक कला र संस्कृतिलाई बचाउन जिब्रो छेडेर जिम्मेवारी पूरा गरेको महसुस गर्छन्।
भक्तपुरको बोडेमा वर्षेनी जिब्रो छेड्ने बुद्धकृष्ण बाग श्रेष्ठले २०६६ सालमा नछेड्ने भनेर पत्रपत्रिकाबाट खबर सार्वजनिक भयो। त्यसपछि उनले परिवारसँग सल्लाह गरेर जिब्रो छेड्ने निर्णय लिएका हुन्।
जिब्रो छेडिने सुइरोलाई लामो समयदेखि तेलमा डुबाएर राखिन्छ। त्यही सुइरो ल्याएर देवगणको पूजा गरी मौलिक बाजा बजाउंँदै सबैका सामु जिब्रो छेड्ने परम्परा छ। जिब्रो छेडेपछि अर्धचन्द्रको महादीप बालेर काँधमा बोकाइ सहर परिक्रमा गरिन्छ।
बोडेका विभिन्न शक्तिपीठ दर्शन गराएपछि विधिपूर्वक झिकेर सुइरोलाई त्यही राख्ने परम्परा रहेको यहाँका संस्कृति अध्येता प्रदीप श्रेष्ठले बताए।
‘श्रीश्री जुजुभाईकी जय’ भनेर जयजयकार गरेको सम्झना उहाँका सामु अझै ताजा छ। जुजुभाईले रासससँग भने, “हामी साधारण मान्छेलाई देवतुल्य भनेर भन्छन्, आफूलाई त्यस्तो महसुस भएन, तर त्यहाँबाट लोकप्रिय भएँ, गाउँले र अरुले चिन्न थाले, पहिलो आर्ट शिक्षकको रुपमा मात्रै थिएँ, त्यसपछि सबैमाझ परिचित हुने मौका मिल्यो।” आठ पटक जिब्रो छेडेर संस्कृतिलाई बचाउन पाउँदा मनमा शान्ति मिलेको उनले बताए।
पहिलो पटक जिब्रोमा सुइरो रोप्दा
पहिलो पटक सुइरो रोप्दा जुजुभाईलाई डर र खुसीको मिश्रित अनुभव रहयो। जिब्रोको माथिल्लो भागमा मासु हुने भएकाले सजिलै जाने तर तल्लो भागको झिल्ली छेड्न निक्कै गाह्रो भएको उनले सुनाए।
छेड्दा जति दुख्छ त्योभन्दा बढी निकाल्दा दुख्ने जुजुभाईको अनुभव छ। “झण्डै दुई घण्टा छेडेको जिब्रो बाहिर राख्नुपर्छ, र्याल बगिरहेको हुन्छ, जिब्रो कक्क्रक्क भएर सुकिसकेको हुन्छ, त्यसबेला सुइरो निकाल्दा पीडा महसुस हुने रहेछ”, जुजुभाईले भने।
उहाँले २०६६ सालदेखि २०७३ सम्म जिब्रो छेडेर संस्कृतिलाई निरन्तरता दिए। त्यसपछि बुद्धकृष्ण बाग श्रेष्ठले पुनः निरन्तरता दिँदै आएका छन्। तीर्थमायाँ र सानुभाईको पाँचौँ सन्तान (माइला छोरा) जुजुभाईका तीन दाजुभाई र तीन दिदीबहिनी छन्।
जिब्रो छेड्न छाडेपनि गुरुको स्थानबाट पूजाआजामा सरिक हुँदै आएका जुजुभाईले २८ वर्षको उमेरमा पहिलो अनुभव लिएका थिए।
परम्पराअनुसार जिब्रो छेडेमा अनावृष्टि हुँदैन, अनिकाल लाग्दैन, महामारी, महाभूकम्प आउँदैन, पाहुनालाई सजिलोसँग पाल्न सकिन्छ र धर्मप्रति आस्था बढ्छ भन्ने जनविश्वास छ। विधिपूर्वक जिब्रो छेड्नुपर्छ।
सुइरो बनाउने व्यक्तिले पनि व्रत बस्नुपर्छ। जिब्रो छेड्नेले पनि तीन दिन व्रत बस्नुपर्छ। पशुपक्षीलाई छुन हुँदैन, तीन दिन पानी मात्रै खाएर बस्नुपर्छ र विभिन्न अनुष्ठान गरेर बस्नुपर्छ। अर्काको घरमा समेत जान नहुने परम्परा छ।
जुजुभाईको नदेखिएको पाटो
जिब्रो छेडेर चर्चा कमाएका जुजुभाई फाइन आर्टस्का अनुभवी कलाकार हुनुहुन्छ भन्ने कुरा कला क्षेत्रमा बाहेक कमैलाई थाहा होला।
जलरङ र एक्रेलिकबाट चित्रकारिता गर्न मन पराउने जुजुभाई लामो समयदेखि स्कूलका विद्यार्थीलाई चित्रकला पढाउँदै आएका छन्।
फुटबलकासमेत पारखी जुजुभाई भन्छन्, “आर्ट भनेको मेरो मुख्य पेशा हो, जीवनभर गर्ने काम हो, जिब्रो छेड्ने परम्परा सकुञ्जेल मात्रै गर्ने हो।”
कलाकारले फेसबुकको माध्यमबाट शुरु गरेको शनिवारीय स्थलगत चित्रकला कार्यशालाको ‘मध्यपुरथिमि सिरिज’अन्तर्गतको छैठौँ कार्यक्रममा मध्यपुरथिमिस्थित शिवाटोलको महादेव र गणेशको मन्दिरलाई जलरङले आर्ट पेपरमा उन्दै गर्दा भेटिएका जुजुभाई चित्रकलाले संस्कृति र परम्परा संरक्षणमा सहयोग पुग्ने बताउँछन्।
यही भदौ २८ गतेदेखि शुरु उक्त
अभियानअन्तर्गत थिमिको बोडे, नगदेश, निगुपुखु (दुई पोखरी), चपाचो, सिद्धिकाली र लायाकुमा कार्यशाला सम्पन्न भइसकेको छ। थिमिको महत्व र किम्बदन्तीका बारेमा संस्कृति अध्येता प्रदीप श्रेष्ठले पत्रकारहरुलाई जानकारी गराएका थिए।
कार्यक्रम संयोजक दिवेश प्रधान चित्रकलामार्फत थिमिलाई चिनाउनु नै अभियानको मुख्य उद्देश्य हो भन्छन्। यही कात्तिक १० गते कलाकारले बनाएका चित्र दुई पोखरीमा प्रदर्शन गरिँदैछ।
पुरातत्व विभागका पुरातत्व अधिकृत प्रकाश खड्काले ५०० वर्ष पुरानो पूर्वमध्यकालका संरचना र लिच्छविकालिन सभ्यता रहेको थिमिमा नयाँ वर्षको बेला मनाउने बिस्का (सिन्दुर) जात्रा प्रसिद्ध रहेको बताए।रासस
|
राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्वेगादोन पेगोडको अवलोकन काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले आज यङ्गोनस्थित श्वेगादोन पेगोडाको अवलोकन गरेको छ।
पच्चीस वर्ष पुरानो सो चैत्य र त्यसको क्षेत्रमा भ्रमण नगरी म्यान्माको भ्रमण पूरा भएको मानिन्न। त्यहाँ राष्ट्रपति भण्डारीले बुद्धपूजा पनि गरे।
उनलाई त्यहाँ यङ्गोन नगरका प्रमुख माउङ आउन सिओले स्वागत गरेका थिए। सुनौला चैत्य, गुम्बा र विहारहरु रहेको सो पेगोडामा बुद्धका केश रहेको बताइन्छ।
स्तूपको माथिल्लो टुप्पा चार हजारभन्दा बढी हीरा जडित छ जसमा सबभन्दा ठूलो ७२ क्यारेटको छ। वास्तुकला, मूर्तिकला र कलामा अद्भुत मानिने सो चैत्य सोही पेगोडामा आजदेखि लुम्बिनी विकास कोषले आयोजना गरेको ३५ चित्र तथा उत्खननबाट भेटिएको बुद्ध महाभिनिष्क्रमणको मूर्तिको प्रतिकृति पनि राखिएको चित्रकला प्रदर्शनीको पनि आजै राष्ट्रपति भण्डारीले उद्घाटन गरे।
सात दिनसम्म चल्ने प्रदर्शनीमा लुम्बिनी, कपिलवस्तु र रामग्रामसँग सम्बन्धित चित्र राखिएका छन्।
कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले वर्षेनी २५ हजार म्यान्मालीले शाक्यमुनि गौतम बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने बताउँदै नेपाल भ्रमण वर्षमा नेपाल खासगरी लुम्बिनी भ्रमण गर्न म्यान्मालीलाई आग्रह गरे।
उनले युनेस्को, दुरहाम विश्वविद्यालय र पुरातत्व विभागबाट लुम्बिनी र कपिलवस्तुको उत्खनन भइरहेको जानकारी दिए। म्यान्मा बुद्धले प्रवद्र्धन गरेको विपश्यना ध्यानको भूमि पनि मानिन्छ। आजै राष्ट्रपति भण्डारीले यङ्गोनास्थित बोग्योक आङ सन सङ्ग्रहालयको अवलोकन गरेकी छन्।
म्यान्माका राजनीतिज्ञ तथा क्रान्तिकारी नेता सनको घरमा रहेको सङ्ग्रहालयमा उहाँका शयन कक्ष, भोजन कक्ष, अध्यययन कक्ष तथा अन्य तस्वीरहरु राखिएका छन्।
स्वतन्त्रता सेनानी सन म्यान्माका वर्तमान स्टेट काउन्सिलर आङ सान सु चीका पिता हुन्। सङ्ग्रहालमा राष्ट्रपति र प्रतिनिनिधिमण्डललाई यङ्गोन क्षेत्र सरकार र दलका सामाजिक मामिलामन्त्री नैङ न्गान लिनले स्वागत गरेका थिए।
यसअघि आज बिहान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रतिनिधिमण्डलले महाविजय चैत्यको अवलोकन गरेको थियो। सो चैत्यमा तत्कालीन राजा वीरेन्द्रले आफ्नो विसं २०३६ को म्यान्मा भ्रमणका क्रममा प्रदान गरेको सानो बुद्धको मूर्ति पनि राखिएको छ।
सो अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदास तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो।रासस
|
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु काठमाडौं । महोत्तरी, मोरङ र नबलपरासी (बर्दघाट सुस्ता पूर्व) का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।
महोत्तरी, सम्सि गाउँपालिका २ स्थित सडकमा ज।१ क ४६६ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने शेख कलिमको १२ वर्षीय छोरा महमद शेखको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङ, मिक्लाजुङ गाउँपालिका ९ पिपल चौकस्थित सडकमा मे १ त १३२९ नम्बरको ट्याक्टरबाट ओर्लने क्रममा ट्याक्टरको पछाडीपट्टीको चक्काले किच्दा गम्भीर घाइते भएका मिक्लाजुङ्ग गाउँपालिका ६ भण्डारी चौक बस्ने २२ वर्षीय मिलन कार्कीको लाईफ लाईन अस्पताल दमक झापामा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नबलपरासी (बर्दघाट सुस्ता पूर्व), विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिक सडकमा ना ६ ख ८११६ नम्बरको कन्टेनर अनियन्त्रीत भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका कन्टेनरमा सवार नवलपरासी पश्चिम सरावल गाउँपालिका १ बस्ने १८ वर्षीय खेम चौधरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
|
एघार महीनादेखि वाग्मती सौन्दर्यीकरणको काम अलपत्र काठमाडौं । कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मती पीडित किसानले ११ महीनादेखि गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर क्षेत्रमा जारी नदी सौन्दर्यीकरणका काम रोकिएको गुनासो गरेका छन्।
विसं २०२१ को नापीमा किसानका नाममा दर्ता भएको कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका स्थित गोठाटार पुल आसपासका स्थानीयवासीको जग्गा २०५३ सालमा पानी शुद्ध बनाउने भन्दै वाग्मतीमा पारिएको थियो।
हातमा लालपूर्जा भए पनि जग्गा नदीमा परेपछि २२ वर्षदेखि किसानले विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन्।
त्यही जग्गामा किसानलाई मुआब्जा नदिई सौन्दर्यीकरणको काम शुरु भएकाले गत वर्ष मङ्सिर १ गतेदेखि काम रोकिएको वाग्मती पीडित सङ्घर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले राससलाई जानकारी दिए।
स्थानीयवासीले यसअघि २०५३, २०६६, २०६७, २०७४ साल र गत मङ्सिरमा किसानसँग गरिएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्। दुवै नगरपालिकाका दाहाल, पुडासैनी, आचार्य, रिजाल, बराल, तामाङ र श्रेष्ठ बन्धु समाजका किसान वाग्मती पीडित बनेको उनले बताए।
गत वर्ष मङ्सिर १० गते अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष र आयोजना प्रमुखले पीडित किसानलाई मुआब्जा दिएर मात्र सौन्दर्यीकरणको काम अघि बढाउने सम्झौता गरेका थिए।
त्यसअनुसार मङ्सिर १२ गते २२ वर्षको बाली लिन आउनु भनी पीडितका नाममा गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरिएको थियो।
यसलाई गत मङ्सिर १६ गतेको अधिकार सम्पन्न वाग्मती समितिको बोर्ड बैठकले अनुमोदन गरे पनि अहिलेसम्म बाली र मुआब्जा वितरणको प्रक्रिया शुरु हुन नसकेको पीडित किसानको गुनासो छ।
समितिले भने सरोकार भएका निकायसँग छलफल शुरु भएको जनाएको छ। समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकाल छिटोभन्दा छिटो काम शुरु गर्ने गरी पहल भइरहेको बताउँछन्।
एशियाली विकास बैंकको ऋण सहयोगमा वाग्मती सौन्दर्यीकरणको काम भइरहेको हो। करीब नौ महीनादेखि काम गर्न नपाएपछि सहयोगबाट हात झिक्ने बैंकले सार्वजनिक गरिसकेको छ।रासस
|
मिस पूर्वाञ्चलको दसौं संस्करणको आवेदन अनलाइन र एसएमएसबाट धरान । २०१० बाट शुरु भएको पूर्वको पुरानो तथा सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित सौन्दर्य प्रतियोगिता नेपालआईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको तयारी सुरु गरिएको छ।
हरेक वर्ष कम्तीमा १२ कक्षा पढ्दै गरेका पूर्वी नेपालका युवतीहरुलाई सहभागी गराइने कार्यक्रम हरेक वर्ष धरानमा आयोजना हुदै आएको छ।
सिजी ब्रुअरीको मुख्य प्रायोजनमा आयोजना हुने दसौं संस्करणको मिस पूर्वाञ्चलको लागि आवेदन फारम खुल्ला भएको आयोजकले जानकारी दिएको छ ।
आवेदन अनलाइनसंगै एसएमएसबाट समेत आवेदन दिन सकिने छ । मिस पुर्वाञ्चलको अफिसियल फेसबुक पेज धधध।ाबअभययप।अयmरmष्ककउगचधबलअजब ि मा रहेको अनलाइन फर्म जततउकस्ररायचm।वयतायचm।mभरडद्दढटज्ञछघठठढद्धद्धठद्द भरेर अथवा मोबाइलको म्यासेज बक्स मा गई ःए ? कबउअभश्र सहभागीको नाम, उचाइ, उमेर र ठेगाना टाइप गरि ३५००५ मा एसएमएस पठाउनु पर्ने छ।
अनलाइन तथा एसएमएसबाट आएका आवेदनहरूका आधारमा तिहार पछि दसौँ संस्करणको मिस पुर्वाञ्चलको अडिसन सुरु हुने बताइएको छ।
त्यस्तैै पूर्व भरिको कुनैपनि सौन्दर्य प्रतियोगिताको बिजेता तथा उपबिजेताहरुलाई बिना अडिसन सहभागी गराईनेछ भने तिहार लगतै अडिसन मिति र कार्यक्रमको फिनाले मिति समेत सार्वजनिक गरिने छ ।
अडिसनपछि छानिएका प्रतियोगीहरुलाई एक महिना व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ।
बिजेता, फर्स्ट रनर अप, सेकेन्ड रनर अपसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, रमिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सनलगायतका बिभिन्न सबटाइटलको उपाधिसंगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
गत बर्ष पौष १४ गते सम्पन्न नेपाल आइस मिस पूर्वाञ्चल नवौँ संस्करणमा विजेता पूजा श्रेष्ठलाई मिस पूर्वाञ्चल २०१८ को उपाधिसँगै यामाहा फेसिनोको स्कुटर र हंगकंग भ्रमणको अवसर प्रदान गरिएको थियो। त्यस्तै फस्ट र सेकेन्ड रनर अफलाई क्रमशः नगद एक लाख र पचास हजार प्रदान गरिएको थियो।
सिल्भर इन्टरटेन्टमेन्टको आयोजनामा भएको मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा सविना सुब्बा (बिर्तामोड), २०११ मा प्रतिभा श्रेष्ठ (धरान), २०१२ मा अस्मिता गुरुङ (धरान), २०१३ मा नेहा बजाज (धरान), २०१४ मा नेमिता आङबुहाङ (उर्लाबारी), २०१५ मा प्रियङका श्रेष्ठ (बिराटनगर) २०१६ मा कृतिका गिरी (बिर्तामोड) २०१७ मा रुबी लिम्बु (धरान) र २०१८ मा पुजा श्रेष्ठ (भद्रपुर) ले जितेकी थिईन्।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.