content
stringlengths 20
64.1k
⌀ |
---|
नेपालमा थप सहयोग गर्न अर्थमन्त्रीको आग्रह काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको प्राथमिकताअनुसार विकासको गतिलाई अगाडि बढाउन विश्व बैंकको सहायता राशीमा उल्लेखनीय वृद्धि गर्नु जरुरी रहेको बताएका छन्।
अर्थमन्त्री डा खतिवडाले भने, “नेपालको चरम गरीबी केही वर्षभित्रमा हटाउने र आम जनताको औसत आयु एशिया प्रशान्त क्षेत्रको औसत आयु बराबर पुर्याई गुणस्तरीय जीवनयापन गर्न सक्ने बनाउन विश्व बैंकले सहायता राशीमा वृद्धि गर्नु जरुरी छ।”
अर्थमन्त्री डा खतिवडासहित नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र प्रतिनिधिमण्डलका अन्य सदस्यले संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एशिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा सहभागिता जनाउँदै उनले सो आग्रह गरेका हुन्।
विश्व बैंकले नेपालमा सहायता गरेको पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले बैंकले नेपालमा सहायता परिचालन गर्दा विगतमा लिएका कतिपय रणानीति प्राथमिकताको विषयमा समेत खुलेर चर्चा गरे।
बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋण माथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपाल सरकारले लिएको बताउँदै अर्थमन्त्री डा खतिवडाले सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाए।
विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफर र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षले बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गत वर्ष नेपाल दक्षिण एशियाकै राम्रो प्रगति गर्ने मुलुक हुन सफल भएकोमा धन्यवादसमेत दिनुभएको अर्थमन्त्रालयले जनाएको छ।
नेपालसँग बैंकको अझै धेरै क्षेत्रमा साझेदारी गर्न बाँकी रहेको उनीहरुको भनाइ थियो। वित्तीय सङ्घीयताको कार्यान्वयनको अनुभव आदानप्रदान गर्ने कार्यक्रममा विश्व बैंकका उपाध्यक्ष सेफरले नेपालले छोटो सयममा वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सफल भएकोमा प्रशंसा गरे।
सो कार्यक्रमको अध्यक्षता गर्दै अर्थमन्त्री डा खतिवडाले वित्तीय सङ्घीयताको कार्यान्वयनका विविध पक्षका बारेमा जानकारी दिएका थिए। यस्तै अन्तरसरकारी वित्त हस्तान्तरण तथा राजश्व बाँडफाँडलगायतको विषयमा सचिव बैकुण्ठ अर्यालले प्रस्तुतीकरण गरेका थिए।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आएको अवसरमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका अर्थमन्त्रीहरुको १४औँ अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा खतिवडाले यस क्षेत्रको आर्थिक वृद्धिका लागि व्यापार सहजीकरण जरुरी रहको बताए।
अन्तरदेशीय सडकलगायत हवाई सञ्जालको पर्याप्त विकास हुन सकेमा यसले आर्थिक वृद्धिमा योगदान पुर्याउने उनको भनाइ थियो।
|
अल्टिमेट आकाशको नेपाल संस्करण लोकार्पण काठमाडौं । युवा साहित्यकार सन्तोष लामिछानेद्वारा लिखित उपन्यास ‘अल्टिमेट आकाश’ को नेपाल संस्करण लोकार्पण भएको छ।
उपन्यास काठमाडाैंकाे बागबजारमा रहेको हार्दिक होटलको सद्भाव हलमा गरिएको थियो । लोकार्पण कार्यक्रमको आयोजना उपन्यासको प्रकाशक जनमत प्रकाशन काभ्रेले गरेको थियो।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कुलपति द्वय नारायणभक्त श्रेष्ठ (रायन) संगीत तथा नाट्य प्रतिष्ठान र के के कर्माचार्य (ललितकला प्रज्ञा प्रतिष्ठान) जीवेन्द्र देव गिरी (बरिष्ठ समालोचक तथा पुर्व सचिव नेपाल प्रज्ञा प्रतिष्ठान) प्रा. डा. उषा ठाकुर (प्राज्ञ र माया ठकुरी) प्राज्ञको बिशेष आतिथ्य रहेको थियो।
जनमत प्रकाशनका अध्यक्ष तथा बरिष्ठ साहित्यकार मोहन दुवालको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लेखकका पिता सामाजिक अभियन्ता डा. भरतप्रसाद लामिछानेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।
त्यस लगत्तै अतिथीहरूद्वारा उपन्यासको संयुक्त रुपमा लोकार्पण गरिएको थियो। त्यसपछि प्रा.डा. जीवेन्द्रदेव गिरीले पुस्तकको सविस्तार समिक्षा तथा समालोचना गरेका थिए।
अमेरिका जान खोज्ने जो कोही र सन्तान अमेरिका पठाउन खोज्ने अभिभावकहरूलाइ उपयोगी होस् भनेर उक्त कृतिको रचना गरेको उपन्यासकार सन्तोष लामिछानेले प्रकाश पारे।
कार्यक्रममा लेखकलाई के के कर्माचार्य र माया ठकुरीले शुभकामना मन्तव्य राखेपछि कुलपति गङ्गा उप्रेतीले अल्टिमेट आकाश जस्तो उपयोगी उपन्यास प्रकाशित हुनु खुसीको कुरो भएको उल्लेख गरे।
करिब २००को संख्यामा विशिष्ठ साहित्यकारहरू र साहित्य अनुरागीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम साहित्यकार यादव भट्टराईले संचालन गरेका थिए। सभाध्यक्ष दुवालले बिट मारेपछि खाजापान गरेर कार्यक्रम समापन भएको थियो।
|
कर विवाद सम्बन्धि मुद्दामा क्षेत्रधिकार मिचेर आदेश दिएकाे भन्दै न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त काठमाडौं । न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादर शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ।
परिषद्को आज बसेको बैठकले गोरखा बु्रअरी कर विवाद सम्बन्धि मुद्दामा क्षेत्रधिकार मिचेर आदेश गरेको आरोप लागेका न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।
परिषद्ले सो विवादमा छानबिन समिति गठन गरेको थियो। छानबिनपछि सोही विवादमा परेका न्यायाधीशद्वय रामचन्द्र यादव र जीवनहरि अधिकारीले राजिनामा दिइसकेका छन्।
बैठकले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भूर्तेल सुन काण्ड विवादमा परिषदमा काजमा तानिएपछि विराटनगरको मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। रासस
|
कात्तिक १५ गतेदेखि नारायणी महोत्सव हुने चितवन । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ आगामी कात्तिक १५ गतेदेखि नारायणगढमा ‘नारायणी महोत्सव २०७६’ हुने भएको छ। अपाङ्गता भएका बालबालिकाहरुको लागि काम गर्दै आएको संस्था रेविका बाल प्रतिष्ठानले आयोजना गरेको महोत्सव कात्तिक २५ गतेसम्म नारायणी नदी किनारमा हुनेछ।
भरतपुर २ क्षेत्रपुरमा रहेको प्रतिष्ठानमा रहेका अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ महोत्सव गर्न लागिएको आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। संस्थाका व्यवस्थापक रोशन राजकर्णिकारका अनुसार महोत्सवमा तीन सय वटा व्यवसायिक स्टलसहित पिङ, डुङ्गालगायतका मनोरञ्जनात्मक खेलहरु समेत समावेश गरिनेछ।
महोत्सवलाई थप आकर्षक बनाउनका लागि बद्रि पङ्गेनी, प्रमोद खरेल, प्रकाश सपुत, शिव परियार, ज्योति मगर, प्रिती आले, रामजी खाँण, दुर्गेश थापा, कुलेन्द्र विश्वकर्मा, रमेशराज भट्टराईसहित ३५ जना भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने राजकर्णिकारले बताए।
महोत्सवलाई पूर्ण रुपमा सुरक्षित बनाउनका लागि महोत्सव परिसरमा सिसि क्यामेरा जडानसहित सम्पूर्ण व्यवसायिक स्टलको वीमा गरिएको राजकर्णिकारको भनाइ छ।
महोत्सवबाट एक करोड रुपैयाँ आम्दानी गर्ने तथा महोत्सव सञ्चालनका लागि ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको रेविका बाल प्रतिष्ठानका अध्यक्ष रुवि थापाले बताइन्।
महोत्सवको स्टलहरु बुकिङ खुला गरिएको उल्लेख गर्दै थापाले महोत्सवको दैनिक १० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने बताइन्। शारीरिक रुपमा असक्त भएका २५ जना बालबालिकाहरु प्रतिष्ठानमा राखिएको उल्लेख गर्दै महोत्सवबाट भएको बचतबाट उनीहरुको शिक्षा, दीक्षामा खर्च गर्ने थापाले बताइन्।
महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने प्याकेजमा टिकट खरिद गर्नेलाई विशेष छुट रहेको थापाले बताइन्।
|
नेपाल चेम्बर र पीएचडी चेम्बरबीच व्यापार तथा लगानी अभिवृद्धि सम्बन्धमा नयाँदिल्लीमा छलफल काठमाडौं । भारत भ्रमणको अवसरमा नयाँ दिल्ली स्थित पि.एच..डी. चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले द्धिपक्षिय व्यापारमा पारवहन ढुवानी लागत घटाउनुपर्ने, सिमावर्ती क्षेत्रका चेम्बरहरु बीच सहकार्य गराउनुपर्ने, व्यापार मेलारप्रर्दशनीमा सहभागिता जनाउनुपर्ने र चेम्बरले आउँदो २०७६ फागुनमा आयोजना गर्ने नेपाल चेम्बर एक्पोमा भारतीय उद्योगी व्यवसायीको सहभागिता जनाउन अनुरोध गरे।
साथै दुई मुलुक बीच प्राविधिक सीप एंव दक्षताको आदान प्रदान हुनुपर्नेमा जोड दिदै यसबाट लगानी अभिवृद्धि भई सुखि नेपाली समृद्ध नेपालको सपना साकार हुने विश्वास व्यक्त गरे।
साथै पर्यटन प्रबद्र्धनको सन्दर्भमा नेपाल भ्रमण वर्ष २०२० मा भारतबाट उल्लेख्य पर्यटक आउने अपेक्षा रहेको, कृषि क्षेत्र हर्बल, शिक्षा र स्वास्थ्यको क्षेत्रमा आपसी सहयोग वृद्धि गर्ने क्षेत्रहरु रहेको बताए।
नेपालका लागि भारतीय महामहिम राजदूत मन्जिभ सिंह पुरीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको सो कार्यक्रमा नेपालका लागि पूर्व राजदूत तथा इन्डिया नेपाल सेन्टर, पी.एच.डी,का अध्यक्ष के.भी. राजनले नेपालसँग भारतको घनिष्ट सम्बन्ध रहेको र यसबाट लगानी र व्यापार एंव आर्थिक क्रियाकलापमा वृद्धि गर्न यस्ता कार्यक्रमले ठोस सहयोग पु¥याउने बताए। साथै उनले इन्डिया नेपाल सेन्टरको स्थापनामा चेम्बर सह संयोजक भई कार्य गरिरहेको र यसमा आगामी दिनहरुमा थप तीब्रता आउने आशा एंव विश्वास राखे।
उक्त अवसरमा पी.एच.डी. चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजका अध्यक्ष डा.डि.के. अग्रवालले भारतको नेपालसँग परापूर्वकालदेखि साँस्कृतिक, आर्थिक एंव व्यापारिक सम्बन्ध रहेको र दुई चेम्बरबीच सहकार्य गरी यो सम्बन्ध अघि बढी मजबुत गर्न लगानी, पर्यटन व्यापारमा जोड दिन आफू र आफ्नो संस्था इन्डिया नेपाल सेन्टर मार्फत र द्धिपक्षिय रुपमा समेत तयार रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले दुबै देश बीच आर्थिक एंवव्यापारिक सम्बन्ध लगानी अभिवृद्धि एंव पर्यटन प्रबद्र्धनमा आवश्यक सहयोग गर्न आफू सदा तत्पर रहेको बताए।
|
आदिवासी-जनजाति-मधेशीको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आदिवासी, जनजाति, मधेशी समूदायको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग गरेका छन्।
प्रवक्ता शर्माले सबै समूदायको समान अधिकार स्थापित हुने गरी संविधान संशोधन गर्न आफ्नो पार्टीले सरकारलाई आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
उनले संविधान प्रतिकूल हुने खालका कुनै पनि गतिविधि नगर्न पनि सरकारलाई सचेत गराए। शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल आदिवासी जनजातिहरुको प्रथम अन्तराष्ट्रिय सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै उनले नेपालको समृद्धिमा योगदान गर्न पनि बाह्य मुलुकमा रहेका सबै समूदायलाई आग्रह गरे।
उनले नयाँ पुस्तामा नेपालको भाषा र संस्कृतिका बारेमा जानकारी गराउन पनि जनजाति समूदायको ध्यानाकर्षण गराए। सबै समूदायले आफ्ना भेषभूषाको संरक्षण गर्ने काममा लाग्न सकेमात्रै नेपाली पहिचानलाई विश्वमा कायम गराउन सकिने पनि प्रवक्ता शर्माको भनाई छ।
प्रवक्ता शर्माले सबै समूदायले आफ्नो पहिचानलाई स्थापित गराउन लागि पर्नुपर्ने पनि बताए।
|
‘राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाएपछि मात्र सत्यमान लामाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ’ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपालाई सशक्त, प्रभावशाली र बलियो राष्ट्रवादी शक्तिको रुपमा देख्ने सपना पुरा नहुँदै स्वर्गवास भएका पार्टीका संस्थापक एवं केन्द्रीय सदस्य सत्यमान लामाको सपना सार्थक बनाउनतर्फ अग्रसर हुन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
स्व. सत्यमान लामाको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सैद्धान्तिक विमती नरहेका राप्रपा र राप्रपा संयुक्तको एकिकरणले पार्टी मजवुद बनाउनेतर्फ बाटो खोल्ने भएकोले पार्टी एकतालाई सार्थक बनाउन राप्रपा संयुक्तलाई आह्वान समेत गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीले वि.सं. २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरी तदनुरुप अघि बढीरहेकोले संगठन विस्तार र पार्टी एकीकरण गर्दै पार्टीलाई बलियो राष्ट्रवादी शक्तिको रुपमा स्थापीत गराएरै छाड्ने प्रण गर्दै अध्यक्ष थापाले यी कार्यहरु पुरा गरेपछिमात्र पार्टीको हितको निम्ति अहोरात्र चिन्तित हुने नेता स्व. सत्यमान लामाप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।
स्व. लामाको निधनले पार्टीलाई अपुरणीय क्षती भएको बताउँदै अध्यक्ष थापाले पार्टीप्रति उनको निष्ठा, इमानदारीता, समर्पण भावलाई राप्रपाले कहिल्यै भुल्न नसक्ने र पार्टीका सम्पूण नेता तथा कार्यकर्ताहरुले उनीबाट यही पाठ सिकेर कार्य गर्दा सफलता प्राप्त गर्नबाट कसैले रोक्न नसक्ने ठोकुवा गरे।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता दिपक वोहराले विकास निर्माणमै दत्तचित्तहुने नेता सत्यमान लामालाई गुमाउनुपर्दा विशेषगरी काभ्रेपलाञ्चोकका जनता र सिंगो राप्रपालाई ठूलो क्षती पुगेको बताउँदै राष्ट्रवादी पार्टीहरु एक भएर मुलुक हाँक्ने स्व लामाको सपना साकार पार्न सबै एकजुट हुनुपर्ने विचार व्यक्त गरे।
सम्बोधनकै क्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले समान विचार भएका पार्टीहरुसँग एकता गरी राप्रपालाई अग्रणी शक्तिको रुपमा पुर्याउने स्व. सत्यमान लामाको इच्छालाई पुरा गरेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने र त्यसतर्फ अग्रसर हुन सम्बन्धित सबैमा आग्रह गरे।
कार्यक्रममा पार्टीका महामन्त्री भास्कर भद्राले स्व. सत्यमान लामाको संक्षीप्त जीवनी बारे प्रकाश पार्दै पार्टी र राष्ट्रलाई स्व. लामाले पुर्याएको योगदानबारे चर्चा गरेका थिए।
उक्त श्रद्धाञ्जली कार्यक्रममा राप्रपा संयुक्तका कार्य सम्पादन समिति सदस्य एवं पूर्व प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधान, राप्रपा जिल्ला कार्य समिति काभैका अध्यक्ष टुल्कु लामा लगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए।
२०३६ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गरेका सत्यमान लामा २०३८ र २०४३ सालमा काभ्रेबाट अत्यधिक बहुमत प्राप्त गरी निर्वाचित भएका थिए। २०४२ सालमा लामाले सञ्चार सहायक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। ७४ वर्षको उमेरमा गत असोज ८ गते उनको स्वर्गारोहण भएको थियो।
|
निर्वाचितपछि कुमार पन्तको घाेषणा : नेपालमा वार्षिक रुपमा १० अर्बको लगानी भित्र्याउने काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
नवनिर्वाचित अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने पनि बताए। उनले एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने घोषणा पनि गरे।
एनआरएनएका सदस्यहरुको हितका लागि ‘श्रमिक कल्याणकारी कोष’लाई तेब्बर बनाउने पनि उनको योजना छ । शुक्रबार अध्यक्ष पदमा निर्वाचित भएपछि उनले सञ्चारकर्मीमाझ एनआरएनएलाई राजनीतिबाट मुक्त गराउन लागिपर्ने पनि बताए।
पन्तले निर्वाचनका बेला आफूले निःशुल्क सदस्यता वितरण गर्ने प्रतिवद्धता गरेको उल्लेख गर्दै त्यसलाई पूरा गने अठोट पनि गरे।
|
अन्नपूर्णको भुरुङ तातोपानीमा स्नान गर्नेको घुइँचो पोखरा । अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने तातोपानीको ताल र धारामा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ।
चिसो बढेसँगै मुस्ताङ जाने–आउने पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउन थालेको कुण्डका व्यवस्थापक बाबुराम गर्बुजाले बताए ।
उनका अनुसार हाल दैनिक ५०० भन्दा बढीले तातोपानीको धारा र कुण्डमा स्नान गर्ने गरेका छन् । प्राकृतिक तातोपानीमा स्नान गर्दा थकान मेटिने र शारीरिक स्फूर्ति बढ्छ।
उपल्लो मुस्ताङको चार दिनको भ्रमण गरेर फर्कने क्रममा तातोपानी कुण्डमा स्नान गर्दै गरेका काठमाडौँका प्रदीप शाक्य थकान मेटिएको बताउँछन् । यहाँ दुई पोखरी निर्माण गरिएको छ।
धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ ।
बिहान ६ः०० देखि साँझ ८ः०० बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि आन्तरिक पर्यटकलाई रु ५० तथा बाह्य पर्यटकलाई रु १५० प्रवेशशूल्क तोकिएको छ ।
कुण्डमा प्रवेशशूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले यस वर्ष रु ५८ लाखमा ठेक्का लगाएको छ । गत वर्ष रु ५३ लाख आम्दानी भएको थियो।
कुण्डबाट हुने आम्दानी तातोपानीस्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए ।
कुण्डको सहयोगमा कक्षा ११ र १२ सञ्चालन गरिएको सर्वोदय मावि व्यवस्थापन समितिका अध्यक्ष बुद्धी पुनले बताए ।
हिमालय आधारभूत विद्यालयलाई पनि सहयोग गरिएको छ । कुण्डको सहयोगमा तातोपानी स्वास्थ्यचौकीमा एक प्राविधिकको तलब व्यवस्थापन गरी प्रयोगशाला सञ्चालन गरिएको छ।
कुण्डबाट गत वर्ष विद्यालय र स्वास्थ्यचौकीलाई रु ३० लाख सहयोग भएको थियो । कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणको काम गरिँदै आएको छ।
पर्यटकको आवास सुविधाका लागि तातोपानी बजारमा १० भन्दा बढी सुविधासम्पन्न होटल सञ्चालनमा छन् । यहाँ ३०० जनाभन्दा बढी बास बस्न मिल्छ ।
पुराना होटलको क्षमता र सुविधा विस्तार तथा नयाँ होटल थपिने क्रम बढेको हिमालयन होटलका सञ्चालक आत्मा तुलाचनले बताए । रासस
|
राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्कीमा कार्की पोखरा । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्की जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुशजङ्ग कार्कीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेकोे छ।
समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष बराल, महिला उपाध्यक्षमा सुष्मा विसी, महासचिवमा ऋषिराम दाहाल, सचिवमा कपिल श्रेष्ठ, कोषाध्यक्षमा विष्णु बराल, सदस्यमा समीर रामदास, रेजिना विसी, पवित्रा परियार, सपना सुनार र दीपेन्द्र परियार चयन भएका छन्।
साधारणसभामा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीले २०६१ सालमा स्थापना भएको सङ्घको ४८ जिल्ला र विदेशमा पाँच सङ्घ स्थापना गरिएको जानकारी दिए ।
सङ्गीत विकास बोर्ड गठन गरिनुपर्ने र सबै क्षेत्रका कलाकारले योगदानको आधारमा रोयल्टी वितरण गर्नुपर्ने भन्दै उनले कलाकारलाई कसैका गहनाका रुपमा नभई राज्यको अभिन्न अङ्गको रूपमा लिनुपर्ने उल्लेख गरे ।
सङ्घका पूर्व केन्द्रीय सहसचिव लोकनाथ सापकोटाले कलाकारलाई प्रयोग मात्रै गर्ने नभई उनीहरुको भविष्य सुनिश्चितता गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा दरबारथोक एड्भरटाइजिङ एजेन्सीका सञ्चालक पत्रकार कृष्ण रानाभाट, लोक तथा दोहोरी गायक कृष्णप्रसाद गौतमलगायतले सङ्घले सबैलाई समेटेर लैजानुपर्ने बताए ।
|
पार्क भिलेज रिसोर्टले गर्यो ‘फोहार व्यवस्थापन प्लान्ट’ निर्माण काठमाडौं । पार्क भिलेज रिसोर्टले गर्यो फोहार व्यवस्थापन प्लान्ट (एसटीपी) निर्माण गरेको छ।
जल तथा बातावरण संरक्षणको महत्वलाई बुझेर पार्क भिलेजले बुढानिलकण्ठमा हरित मरुधान निर्माण गरेको छ। जहाँ जातका बनस्पतिहरु लगाएर चराहरुलाई वासस्थान उपलब्ध गराउने तथा होटलका पाहुनाहरुलाई आनन्दित बनाउने वातावरण सिर्जना गरेको छ।
रिसोर्टलाई पहिलो वातावरण मैत्री रिसोर्ट बनाउने लक्ष्य एसटीपीको माध्यमबाट निरन्तर पुरा भईरहेको सञ्चालकले बताएका छन्।
एसटीपीमा फोहोर पानीबाट दुषित पदार्थ हटाउने प्रक्रियालाई पनि समावेश गरिएको छ। ती दुषित पदार्थहरु हटाउन भौतिक, जैविक तथा जेन्टल रसायनिक प्रक्रियाहरु प्रयोग भएका छन्।
यो प्रक्रियाको परिणामस्वरुप वातावरणमैत्री सुरक्षित ग्रे वाटर र अर्गानिक फोहोर उत्पादन हुन्छ। जुन पुनः वातावरणमै प्रयोग गर्दा उचित हुन्छ। रिसोर्टले उक्त प्लान्ट भारतको एसजे इन्भाइरोमेन्ट सोल्युसनबाट इन्सटल्ड गराएको हो।
पार्क भिलेजले त्यस्ता सुरक्षित पानी तथा अर्गानक फोहोरलाई आफ्नो खुल्ला मैदानलाई हरित, मलिलो र ओसिलो बनाउन प्रयोग गर्दै आईरहेको छ।
साथै आफूहरुले त्यस्तो पानी आफ्नो अर्गानिक भेजिटेबल गार्डेनमा पनि प्रयोग गर्ने गरेको रिसोर्टका अधिकारीले बताए। अब चाढै प्रसोधनपछि आएको सफा पानीलाई लण्ड्रीमा पनि प्रयोग गर्ने रिसोर्टको तयारी छ।
रिसोर्टका अधिकारी भन्छन् ‘यो आकारको होटलले पाहुनाहरुको आवश्यकता पुरा गर्न धेरै पानीको आवश्यकता पर्छ। हामीले रिड्युस, रियुज र रिसाइकलको सिदान्तमा रहेर हाम्रो पर्यावरणमैत्री नीति, योजना र अभ्यासलाई निरन्तरता दिईरहेका छौं।’
|
चितवनको प्रहरी कार्यालय भित्र रक्सीका बोतल, तस्बिर खिच्ने पत्रकार नियन्त्रणमा चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी हाता भित्र जथाभावी रुपमा फालेका मदिराका बोत्तल खिचेको भन्दै पत्रकारमाथि दुब्र्यवहार भएको छ।
आज दिउँसो प्रहरी कार्यालय पुगेका नारायणी अनलाइन तथा न्युज २४ मा आबद्ध पत्रकार केदार शर्मा र भण्डाफोर अभियानका पत्रकार सूर्य बरालमाथि दुव्र्यवहार भएको हो।
जिल्ला प्रहरी कार्यालय संवेदनशील क्षेत्र भएको भन्दै छरपस्ट फालिएका मदिराको बोत्तल खिच्न प्रहरीको अनुमति चाहिने हुनाले अनुमति बिना तस्बिर खिचेकोले नियन्त्रणमा लिएको चितवन प्रहरीको भनाइ छ । पत्रकारलाई प्रहरी कन्ट्रोलमा आधा घण्टासम्म बन्धक बनाइएको थियो।
पत्रकारद्वय शर्मा र बराललाई प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद सिलवालले नियन्त्रणमा लिएका थिए । पत्रकारहरुले मदिराका बोत्तल छरपस्ट देखेपछि समाचार संकलनको लागि खिच्छौ भनेको भए अनुमति नपाइने भएकोले खिचिएको बताएका छन्।
अनुमति बिना मदिराको बोत्तल खिचेको भन्दै समातेर कन्ट्रोल रुममा राखेको पत्रकार शर्मा र बरालको भनाइ छ । जिल्ला प्रहरी कार्यलय चितवनको क्यानटिनसँगै रहेको शौचालबाट फर्किने क्रममा यत्रतत्र छरिएको मदिराका बोत्तलहरु खिचेको भन्दै नियन्त्रणमा लिन परेको प्रहरी नायब उपरीक्षक शालिकराम पौडेलले बताए । पौडेलले प्रहरी कार्यलयभित्र जस्तो सुकै अनैतिक गतिविधि भए पनि अनुमतिबिना फोटो तथा भिडियो लिन नपाइने बताए ।
प्रहरी कार्यालयभित्र ड्युटी समय भन्दा बाहिर रहे पनि मदिरा पिउन पाइँदैन् तर जिल्ला प्रहरी कार्यालय चितवनमा भने मदिराका बोत्तलहरु छरपस्टै देख्न सकिन्छ । अझ यस विषयमा डीएसपी पौडेलले भने ड्युटी समयभन्दा बाहिर प्रहरीले पनि अन्य नागरिकले सरह मदिरा पिउने आशय व्यक्त गरे ।
प्रहरीको हाताभित्र रहेको स्थानमा ओल्ड दरबार, रुसलान भोडका, टुबोर्क क्यान बियरलगायतका महंगा मदिराका बोत्तलहरु छरपस्ट छन् । त्यति मात्र होइन कार्यालय भित्रबाट निस्केको फोहोर समेत भित्रै जलाइने गरिएको छ । कार्यालय भित्र मदिरा सेवन गरेर अन्य फोहोरसँगसँगै ल्याएर मदिराका बोत्तल फालिको फोहोर देख्दै प्रस्ट हुन्छ ।
प्रहरी कार्यलयभित्र कसले कहँबाट महंगा महंगा ब्राण्डका मदिरा सेवन गरेको भन्ने विषयमा भने कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्ल आफू जानकार नरहेको भन्दै पन्छिन खोजे ।
|
१३ हजार घुससहित प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरी अख्तियारको नियन्त्रणमा काठमाडौं । अख्तियार दुरुपोग अनुसन्धान आयोगले अस्थायी प्रहरी पोष्ट, कठुरधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीलाई १३ हजार घुस रकमसहित आज नियन्त्रणमा लिएको छ।
नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट कार्यालयबाट खटिएको टोलीले निज चौधरीलाई नियन्त्रणमा लिएको हो।
घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएका चौधरीको अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसैगरी अख्तियारले नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्भेक्षकद्वय सिद्धराज जोशी र वीरभद्र जोशी उपर आरोपपत्र दायर गरेको छ।
जोशीले जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्डमा जाँच गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा आयोग टङ्गालबाट खटिएको टोलीले निज सर्भेक्षक जोशीलाई आठ हजार घुसबापतको रकमसहित नियन्त्रणमा लिएको हो।
उनीहरुलाई भ्रष्टाचार ऐनबमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
त्यस्तै सब डिभिजन वन कार्यालय, प्रतापपुर नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का सहायक वन अधिकृत पर्शुराम चौधरी उक्त वन कार्यालय रहेका घरधनी मनोजकुमार शर्मा उपर आरोपपत्र दायर गरिएको छ।
अभियुक्तद्वयलाई सेवाग्राहीसँग रु ६५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो। भ्रष्टाचार ऐनबमोजिम जरिवाना र कैद सजायको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ।रासस
|
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ कैलाली । आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी गौरीगंगा नगरपालिका ३ बस्ने ५० वर्षीया अनिता देवी बिष्ट र २५ वर्षीया निरुता बिष्टलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
आत्महत्या दुरुत्साहन मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका उनीहरुको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
|
म्यानमारसँगको सम्बन्ध अझ प्रगाढ हुने राष्ट्रपति भण्डारीको विश्वास काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्तले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको ऐतिहासिक म्यानमार भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ माथि उठाउने बताएका छन्।
राष्ट्रपति भण्डारी र प्रतिनिधिमण्डलको सम्मानमा आज राजधानी नेपितस्थित प्रिन्सिडेन्सियल हाउसमा आयोजित राजकीय भोजमा म्यान्माली राष्ट्रपतिले यस भ्रमणबाट आपसी विश्वास, समझदारी तथा धार्मिक सांस्कृतिक सामिप्यता झन् बढ्ने विश्वास व्यक्त गरे।
दुई देशबीचको निकट ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक समानता र आपसी समझदारीले दुई देशबीचको मित्रताको परम्परागत सम्बन्ध कायम राखिरहेको पनि उनले बताए।
उनले आफूले सन् २०१८ को राजकीय भ्रमण र गौतम बुद्धको जन्मभूमि भ्रमण गरेको पनि स्मरण गरे।
आफूहरुको संयुक्त प्रयासले व्यापार, लगानी, पर्यटन, यातायात, उद्योग र संस्कृतिका क्षेत्रमा उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।
क्षेत्रीय तथा बहुपक्षीय क्षेत्र जस्तै बिम्स्टेक, द एशिया कोअपरेशन डायलग, संयुक्त राष्ट्र सङ्घका क्षेत्रमा निकट समन्वय र सहयोग बढिरहेको बताउँदै उनले नेपालसँग क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले नेपाली मूलका बर्मेलीहरु स्थानीय समुदायसँग मिलेर बसेको तथा सामाजिक आर्थिक विकासमा योगदान गरिरहेको बताए।
उनले म्यानमारको बगानका प्राचीन मन्दिर र यङ्गोनको आकर्षक स्वेदागोन पेगोडाले नेपाली प्रतिनिधिमण्डललाई म्यान्मा र नेपालका लुम्बिनी जस्ता बौद्ध तीर्थस्थलहरुबीच सम्बन्ध गाँस्न नयाँ विचार उत्पन्न हुने विश्वास गरे।
नेपाल र म्यानमारबीचको सम्बन्धको ६० औँ वार्षिकोत्सव र नेपाल भ्रमण वर्ष २०२०को सफलताको कामना पनि उनले गरे।
राष्ट्रपति भण्डारीले प्रत्युत्तर मन्तव्यका क्रममा आफूले गौतम बुद्धको जन्मभूमिबाट न्यानो माया र शुभकामना लिएर आएको बताउँदै बुद्धका सन्देशले मानिसको जीवन पद्धतिलाई नै मार्गनिर्देशन गरेको स्पष्ट गरे।
बौद्धदर्शनको उद्गमस्थल लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्त (म्यान्मा) को योगदानको प्रशंसा गर्दै उनले लुम्बिनीप्रति म्यानमारको सहयोग र सद्भाव रहने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरिन्।
राष्ट्रपति भण्डारीले दुई देशका विकासका आकाङ्क्षा र चुनौती समान रहेकाले दुई देशबीच सहयोग आदानप्रदान हुनुपर्नेमा जोड दिइन्।
उनले व्यापार, पर्यटन, लगानी र संस्कृतिका क्षेत्रमा सहकार्य गरेमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्दै बिम्स्टेकमा अझ बढी सहकार्य गर्न सकिने बताइन्।
उनले जलवायु परिवर्तनमा अनुकूलन प्राप्त गर्न दुवै देशले काम गर्नुपर्ने बताउँदै सन् २०२० अप्रिलमा नेपालमा हुने सगरमाथा संवादमा म्यानमारबाट उच्चस्तरीय सहभागिताको आशा व्यक्त गरिन्।
राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यान्मालीको योगदानप्रति प्रशंसा गर्दै तिनको संरक्षण गरेकामा म्यान्मा सरकारप्रति कृतज्ञता व्यक्त गरिन्।
सो अवसरमा दुवै राष्ट्रपतिबीच उपहार आदानप्रदान गरिनाका साथै सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो।
दुवै राष्ट्रपतिले प्रदर्शनमा सहभागीलाई फूलको माला दिएर सम्मान गरेका थिए। रासस
|
दिउँसै गोली प्रहार गरी रकम लुट्ने एक जना पक्राउ रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका–३ बैकुण्ठपुरमा एक महीना अघि दिउँसौ गोली प्रहार गरी रकम लुट्ने समूहको एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।
लुटेरा समूहका व्यक्ति भारतबाट नेपाल प्रवेश गर्न लाग्दा विशेष सुराकीको आधारमा बुधबार बेलुका करीब ८ बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तर्फबाट प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले आज जारी गरेको प्रेस नोटमा जनाइएको छ।
रुपन्देही शिद्धार्थनगर नगरपालिकाको–८ स्थित हिमालयन बैंकबाट गत भदौ २९ गते पाँच लाख रकम निकालेर घरतर्फ जाँदै गरेका ओमसतिया गाउँपालिका पटखौली निवासी महेन्द्रकुमार कुर्मीलाई गोली हानी रकम लुट्ने समूहका व्यक्तिलाई प्रहरीले नेपाल भारत सीमाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
हत्या गरिएका पछि उक्त दिन पत्नी लक्ष्मी पाशी र सानो दूधे बालकसहित लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा चढी आफ्नो घर ओमसतियातर्फ जाने क्रममा रोहिणी गाउँपालिका–३ बैकुण्ठपुर हुलाकी सडकमा मोटरसाइलमा पिछा गर्दै आएका लुटेराहरुको समूहले करीब दिउँसो २ बजेको समयमा गोली हानी उक्त रकम लुटेर लगेको थियो।
प्रहरीले उक्त हत्या तथा लुटपाटको घटनामा सङ्लग्न रहेका व्यक्तिहरू भारतबाट नेपालतर्फ प्रवेश गर्दैछन् भन्ने विशेष सूचनाका आधारमा बुधबार बेलुका ८ बजेको समयमा विशेष अनुसन्धान टोली जिल्लाको सिद्धार्थनगर नगरपालिका–२ स्थित मेउडिहवा फुलपुर भन्ने स्थानमा जाँच गर्ने क्रममा सेतो रङ्गको हेलमेट लगाई युपी ५३ डिबि ९९८३ नम्बरको कालो रङ्गको पल्सर मोटरसाइकल आएका भारतको गोरखपुर थाना कम्पियरगञ्ज मछरी गाउँ बस्ने वर्ष ४० को मनिष हरिजन (चमार) नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनापछि गरेको अनुसन्धानबाट निज उक्त घटनामा सङ्लग्न रहेको भन्ने पहिचानका आधारमा उक्त व्यक्तिलाई पक्राउ गरेकोसमेत जनाएको छ। घटनामा संलग्न अन्य दुई जना पनि पहिचान भइसकेको र उनीहरु पनि भारतीय नागरिक नै रहेकोसमेत प्रहरी प्रवक्ता खत्रीले जानकारी दिए।
|
चलचित्र ‘सेल्फि किङ’को सेटमा दुर्घटना, प्राबिधिक घाइते काठमाडौं । चलचित्र ‘सेल्फि किङ’को छायाँकनका क्रममा स्कुटर दुर्घटना सहायक प्रोडक्सन म्यानेजन बिदुर मानन्धर घाइते भएका छन् ।
घाइते मानन्धरको खुट्टामा गम्भिर चोट लागेको छ । दाइने खुट्टाको घुडामा चोट लाग्दा उनको हड्डी फुट्न पुगेको छ। छायाँकन स्थल थानकोटमा मानन्धरले चलाएको बा ६१ प ६३६६ नम्बरको स्कुटर दुर्घटनामा परेको थियो । सडकमा भएको खाण्डोमा परेर दुर्घटना भएको हो।
घट्ना लगत्तै मानन्धरलाई ट्रमा सेन्टरमा उपचार गराईएको छ । डाक्टरले अप्रेसन गरेर फुटेको हड्डीलाई बाध्नुपर्ने जनाएपछि आउने मंगलबार उनको अप्रेसन गर्ने तयारी भइरहेको छ ।
अप्रेसनपछि मानन्धरले कम्तिमा ७ हप्ता बेड रेष्ट गर्नुपर्नेछ । निर्माण पक्षले छायाँकनको क्रममा मानन्धरको दुर्घटना भएका कारण उपचार खर्च आफूले बेहोर्ने जनाएको छ ।
दशैं लगत्तै दोस्रो सेड्युलको छायाँकन थालेको चलचित्रको यतिबेला राजधानीका बिभिन्न स्थानमा छायाँकन जारी छ । दिनेश राउत र सुभाष थापाको संयुक्त निर्माण रहेको चलचित्र ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको हो ।
‘सेल्फी किङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रले भन्नेछ । चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् ।
चलचित्रको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहने छ । विपिनका अलवा चलचित्रमालक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, गीता अधिकारी, राजेश बिसुराल, अमितेश शाहलगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन्।
चलचित्रमा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मललामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।
चलचित्रमा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने, सुलभ थापा रहेका छन् । चलचित्रका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।
|
नेपाल र म्यान्मा संस्कृति, पर्यटन विषयमा मिलेर अघि बढ्ने छन्ः परराष्ट्रमन्त्री काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो समयदेखि नेपालबाट राष्ट्र प्रमुख तहबाट म्यान्माको राजकीय भ्रमण नभएका परिप्रेक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको म्यान्मा भ्रमणबाट दुई देशका जनस्तर तथा सांस्कृतिक सम्बन्ध एवं ६० वर्ष लामो दौत्य सम्बन्ध प्रगाढ बनाउने उद्देश्य रहेको बताएका छन्।
राष्ट्रपति भण्डारीको गणतन्त्र म्यान्मा सङ्घका राष्ट्रपति विन मिन्त र स्टेट काउन्सिलर आङ सान सु चीसँगको भेटपछि रासस, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनका प्रतिनिधिसँग कुरा गर्दै मन्त्री ज्ञवालीले यस भ्रमणले सम्बन्धलाई अझ उच्च बनाउने विश्वास व्यक्त गरे।
म्यान्माली राष्ट्रपति र स्टेट काउन्सिलरसँग भेटमा जलवायु परिवर्तन, पर्यटन, अन्तरराष्ट्रिय मञ्चहरुमा सहकार्य, व्यापार र लगानी विषयमा छलफल भएको जानकारी दिँदै मन्त्री ज्ञवालीले विकासको उस्तै गतिबाट गुज्रेका दुई देशबीच सहकार्यका अनेकौँ विषय हुन सक्ने भएकाले आगामी दिनमा मिलेर अगाडि बढ्ने समझदारी भएको स्पष्ट गरे।
“सांस्कृतिक विषयमा आदानप्रदान गर्ने, दुवै देशका सांस्कृतिक सम्पदा विश्वमा परिचित गराउने, भ्रमण टोलीहरुको आदानप्रदान गर्ने तथा संस्कृतिहरुको रक्षाका लागि मिलेर काम गर्ने विषयमा छलफल भयो”, उनले भने।
संस्कृति, पर्यटन जस्ता विषयमा सहकार्य अझ बढ्ने विश्वास पनि उनले व्यक्त गरे। नेपाली मूलका म्यान्माली उल्लेखनीय रुपमा म्यान्मामा रहेको र तिनले म्यान्माको अर्थतन्त्र तथा अन्य बहुपक्षीय विषयमा सम्बद्र्धन गर्न योगदान गरेको पनि उनले स्मरण गरे।
वर्षेनी करीब ४५ हजार म्यान्मालीले नेपाल भ्रमण गरेको र लुम्बिनी पनि तिनको गन्तव्य बनेकामा सन्तोष व्यक्त गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माण पूरा भएपछि म्यान्मालीको पहिलो गन्तव्य बुद्ध जन्मभूमि लुम्बिनी बन्ने विश्वास व्यक्त गरे।
म्यान्माली राष्ट्रपति र स्टेट काउन्सिलरले नेपाल भ्रमण वर्षलाई सघाउन सकभर नियमित र त्यसो हुन नसकेमा व्यावसायिक तथा धेरैभन्दा धेरै चार्टर उडान गरिने विश्वास दिलाएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।
|
छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल : महासचिव पौडेल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले वर्तमान सरकार छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल भएको बताएका छन्।
उनले नेपाल–भारत तथा नेपाल र चीन दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको बताए।
रुपन्देही उद्योग सङ्घको ४१औँ साधारणसभा तथा २१औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै महासचिव पौडेलले सरकारले नेपाल र नेपालीको हित तथा नेपालको विकासमा चीन र भारतको दह्रो साथ समर्थन जुटाएको बताए।
उनले चिनियाँ राष्ट्रपतिको गृह नगर सियान शहर र बुटवल उपमहानगरपालिकाबीच भएको भगिनी सम्बन्ध र चीनसँगको सम्बन्धले बुटवलको विकासमा समेत सहयोग पुर्याउने बताए।
महासचिव पौडेलले निजी क्षेत्रको सहकार्य र लगानीबिना समृद्ध राष्ट्र निर्माण सम्भव नभएको भन्दै उनले उत्साहका साथ ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।
महासचिव पौडेलले उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि सरकार लागि परेको र देशको अर्थतन्त्रलाई बलियो बनाउन लगानी बढाउन निजी क्षेत्रलाई सरकारले अभिपे्ररित गर्ने बताए।
उनले हरेक वर्ष जोखिमपूर्ण बनेको बुटवल–पाल्पाको सिद्वबाबाको सडकलाई सुरक्षित बनाउन सुरुङ मार्गका लागि सरकारले बजेटको व्यवस्था गरेको उल्लेख गर्दै चालू आवमा नै सुरुङ मार्गको काम शुरु हुने जानकारी दिए।
बहुचर्चित कालीगण्डकी तीनाउ डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणको काम भइरहेको बताउँदै उनले यस सम्बन्धमा देखिएका सबैखाले समस्या समाधान गरेर काम अघि बढाइने स्पष्ट पारे।
रुपन्देहीलाई व्यवस्थित औद्योगिक क्षेत्र भएको जिल्लाको रुपमा अगाडि बढाउन खोजिएको बताउँदै नेता पौडेलले सरकारले घोषणा गरेको मोतिपुर औद्योगिक क्षेत्रलाई आधुनिक र व्यवस्थित औद्योगिक क्षेत्र बनाइने आश्वासन दिए।
कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशमा लगानी मैत्री बाताबरण बनेकाले लगानी गर्न उद्योगि व्यवसायीलाई आह्वान गरे।
उनले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्यका लागि तयार रहेको उनको भनाइ थियो। उनले प्रदेशको स्थायी राजधानी नतोकिँदा बजेट कार्यान्वयनमा समस्या भएको बताए।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिसकुमार मौरले नागरिक अधिकार प्राप्त भए पनि अधिकार कार्यान्वयनका लागि आर्थिक समृद्धि आवश्यक रहेको र आर्थिक समृद्धिका लागि औद्योगिक क्रान्ति गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताए।
सो अवसरमा सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीले मुलुकको औद्योगिक विकासका लागि निजी क्षेत्रबाट प्रयास भए पनि औद्योगिक वातावरण निर्माण गर्न आग्रह गरे।
यस्तै नेता पौडेलले आजै बुटवलमा एक अर्को कार्यक्रममा पाल्पा–नुवाकोट पुस्तकको लोकापर्ण गरे। पाल्पाको ऐतिहासिक नुवाकोटगढीको ऐतिहासिकता झल्काउने उद्देश्यले इतिहासकार निर्मल श्रेष्ठले लेखेको पुस्तकको महासचिव पौडेलले लोकार्पण गरेको हो।
उक्त पुस्तकमा नुवाकोटगढीको ऐतिहासिक एवम पाल्पाको प्राचीन चिनारीलाई समावेश गरिएको लेखक श्रेष्ठले जानकारी गराए।
लोकापर्ण कार्यक्रममा बोल्दै महासचिव पौडेलले नुवाकोट र जितगढिको धेरै महत्व रहेको बताए। उनले नुवाकोटगढीले विरताको र स्वधानिताको गहकिलो पाठ अहिले सिकाएको बताए।
उक्त पुस्तकमाथि प्रा डा सूर्यबहादुर जिसी र प्रगतिशिल लेखक सङ्घ रुपन्देहीका अध्यक्ष दलबहादुर गुरुङले टिप्पणी गरेका थिए। नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले नुवाकोटको समग्र विकासको थालनी भएको बताए।रासस
|
‘नेपाल-इन्डोनेसिया विजनेश फोरम’ बैठक काठमाडाैँमा हुने काठमाडौं । आगामी कार्तिक १९ गते ‘नेपाल–इन्डोनेसिया विजनेश फोरम’ को बैठक काठमाडाैँमा हुने भएको छ।
इन्डोनेशियामा जारी ३४ औं व्यापार मेलामा विहिबार आयोजित व्यापारिक अन्तरक्रियामा बैठकबारे जानकारी गराईएको हो। नेपालमा पहिलो पटक हुन लागेको नेपाल–इण्डोनेसिया बिजेनश फोरकमा बैठकमा दुवै देशका व्यवसायी, उद्योगी, आयात निर्यातकर्ताको सहभागिता हुनेछ।
इन्डोनेशियामा हाम्रा संवाददातासंग कुरा गर्दै नेपालका लागि इण्डोनेसियाका राजदूत रीना सोमेरानोले काठमाण्डौमा हुने बैठकले नेपाल र इण्डोनेसियाका व्यवसायीलाई व्यापारिक साझेदारी र लगानीका लागि ढोका खुल्ने बताए।
नेपालबाट मेलामा सहभागी हुन गएका आइएमई ग्रुपका उपेन्द्र घिमिरेले खाद्यवस्तु, तयारी कपडा, चिया, कफि, इलेक्ट्रिक सवारी साधन उत्पादन गर्ने उद्योग व्यवसायीहरु काठमाडौंमा हुने बैठकमा सहभागी हुन आउने बताए।
कार्यक्रममा सहभागी इण्डोनेसियाली व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक देखिएका छन्। पछिल्लो समय इण्डोनेसियामा नेपालीहरु पर्यटकको रुपमा घुम्न जाने क्रम बाक्लिएसंगै व्यवसायीहरुको नेपालप्रतिको चासो बढेको देखिन्छ।
नेपाल र इण्डोनेसियाबीचको सम्बन्धमा नेपाल भन्दा इण्डोनेसिया एक कदम अगाडि देखिन्छ। इण्डोनेसियाले नेपाली राहदानी वाहकलाई अन अराइभल भिसा निशुल्क दिँदै आएको छ।
नेपालले अन अराईभल भिसा दिए पनि शुल्क लिने गरेको छ। एशियामा उदाउँदो अर्थतन्त्र भएको इण्डोनेसिया (जी२०) राष्ट्रहरुको फोरममा आशियान मुलुकहरु मध्य एक्लो हो।
|
दिपायलमा आयोजना हुँदै ‘डोटी प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ दिपायल । दिपायलमा ‘डोटी प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ।
बिहिबार दिपायलमा पत्रकार सम्मेलनको गरी आयोजक नयाँ समाज नेपालले दुई लाख ११ हजार एक सय ११ राशी पुरुस्कारको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको जनाएको हो।
आयोजक संस्थाका अध्यक्ष रोशन कठायतका अनुसार कार्तिक ४ गतेबाट प्रतियोगिता आयोजना हुन लागेको हो।
उनले भने, ‘त्यसको निरन्तरता पनि रहोस् र क्रिकेट क्षेत्रमा बिशिष्ठ प्रतियोगिताको पनि शुरुवात गरौ भनेर यो प्रतियोगिता आयोजना गर्न लागेका हौ।’
प्रतियोगितामा देशभरीकै टीमहरु सहभागि हुनसक्ने आयोजकले जनाएको छ। जसमा कम्तिमा १२ वटा टिमहरु आउनसक्ने आयोजकको अपेक्षा छ।
‘हाम्रा अपेक्षा देशका विभिन्न ठाउँका टिमहरु आईदिउन र बिगतबर्षहरुमा जस्तै राष्ट्रिय टिममा रहेर खेलिरहेका खेलाडीहरु दिपायलको मैदानमा उत्रिउन् भन्ने हो,’ अध्यक्ष कठायतले भने।
प्रतियोगिता दिपायलस्थित खप्तड रंगशालामा आयोजना हुनेछ। प्रतियोगिताका खेलहरु टी–ट्वान्टी फर्मेटमा हुने आयोजकले जनाएको छ।
शुरुवाती खेलहरु लिगमा हुने र क्वार्टरफाईनपछि नकआउट चरणमा खेल हुने जनाईएको छ।
प्रतियोगितामा ‘प्लेयर अफ द सिरिज’, ‘वेष्ट बलर’ र ‘वेष्ट व्याट्सम्यान’लाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ।
यस्तै क्वार्टर फाईनलपछिका खेलहरुमा ‘म्यान अफ द म्याच’को पनि व्यवस्था रहेको जनाईएको छ। प्रतियोगितालाई डोटीका स्थानीय तहहरुले प्रायोजन गरेका छन्।
|
राष्ट्रपति भण्डारीको राजकीय भ्रमण : म्यान्माली राष्ट्रप्रमुख र सेना प्रमुखसंग भेट (फोटोफिचर) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका राष्ट्रपति, सेना प्रमुखलगायतसंग आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गरेका छन्।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदासलगायत छन्।
राष्ट्रपति भण्डारी असोज २९ देखि कात्तिक ३ गतेसम्मका लागि म्यान्माको राजकीय भ्रमणमा छन्।
फाेटाे : रासस, एफपी, एपी
|
सरकारका प्रवक्ता भन्छन्, ‘ट्रम्प र पुटिन आए भव्य स्वागत गर्छौं’ काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल भ्रमणमा आएमा सरकारले भव्य स्वागत गर्ने बताएका छन्।
बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा विश्वका शक्ति राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई आमन्त्रण गर्ने सरकारको नीति रहेको बताए । उनले भने, ‘मिति तोक्न सक्दैनौं समयअनुकुलतामा मिति तोकिन्छन्। शक्ति राष्ट्रका प्रमुखहरुलाई हामीले भव्य स्वागत तथा सम्मान गर्न सक्छौं भन्ने चिनियाँ राष्ट्रपतिको भ्रमणबाट पुष्टि भएको छ।’ उनले अगाडि भने, ‘उहाँहरुलाई हामीले दिने भनेकै सम्मान हो, उहाँहरुलाई हामीले अरु के दिन सक्छौं ररु अरु जे दिनुहुन्छ उहाँहरुले दिनुहुन्छ।
मन्त्री बाँस्कोटाले संसारकै सर्बोच्च शिखर सगरमाथा वार्ताका लागि विश्वका नेताहरुलार्इं नेपाल बोलाउने तयारी भइरहेको बताए ।
शक्तिशाली राष्ट्रका प्रमुखलाई नेपालमा स्वागत गर्न पाउनु हाम्रा लागि खुशीको कुरा भएको उनले बताए।
|
प्रधानमन्त्री ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्नुहुन्छ : दिनानाथ शर्मा काठमाडौं । सत्तारुढ दल नेकपाका राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने बताएका छन्।
नेता शर्माले सरकारको नेतृत्व पूरै कार्यकाल ओलीले गर्ने भएकाले त्यसमा आलोपालो नहुने पनि बताए। सरकारको नेतृत्वमा ओली र पुष्पकमल दाहालबीच आलोपालो हुने चर्चा भईरहेका बेला नेता शर्माले ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने दावी गरे।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो काम गरिरहेकाले पनि ओलीलाई नै पूरा कार्यकाल सरकारको नेतृत्वमा राख्नु पर्ने तर्क पनि गरे।
नेता शर्माले मन्त्रीपरिषद पुनर्गठन हुने विषयमा प्रधानमन्त्रीले पार्टीका शीर्ष तहमा छलफल गरिरहेको पनि बताए। उनले सरकारले अन्तराष्ट्रिय रुपमा विश्वास आर्जन गरेकाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सम्भव भएको पनि स्पष्ट पारे।
|
रिक्त रहेको सभामुख पद काँग्रेसले पाउनुपर्छ : मोहन बस्नेत काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।
काँग्रे्रस केन्द्रीय सदस्य बस्नेतले सभामुख र उपसभामुख पद फरक÷फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै रिक्त सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गरेका हुन्।
संसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका थिए।
सोही पदमा आफ्नो पार्टीको दावी रहेको बस्नेतको भनाई छ । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधानमै सभामुख र उपसभामुख पद मध्ये एक पद प्रमुख प्रतिपक्ष दलले पाउने उल्लेख गरिएको दावी पनि गरे।
काँग्रेस केन्द्रीय सदस्य बस्नेतले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका सहमति कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुने पनि बताए।
|
जोखिममा रहेका ३७६ बालबालिकाको उद्धार वीरेन्द्रनगर । एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ। जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो।
उद्धार गरिएका बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको पाइएको छ । महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्ध काम गर्दै आएको गैरसरकारी संस्था आवाजका अनुसार उद्धार गरिएकामध्ये २४८ जना बालिका रहेका छन् भने १२८ बालकको उद्धार गरिएको छ।
आवाज संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा जोखिमपूर्ण अवस्थामा उद्धार गरिएका बालबालिकाको तथ्याङ्क हेर्दा सबैभन्दा बढी ७२ जना बालबालिकाको उद्धार गरिएको छ। जसमध्ये ७१ जना बालिकालाई उद्धार, यस वर्ष शारीरिक तथा मानसिक यातनामा रहेका ५६ जना बालबालिकाको उद्धार गरिएको र जसमध्ये बालिकाको सङ्ख्या ३७ जना रहेको छ ।
त्यसैगरी हराएका र बेवारीसे अवस्थामा रहेका ४९, कठिन परिस्थितिमा रहेका ४५, यौन शोषण र दुव्र्यबहारमा परेका ४३ जनाको उद्धार गरिएको छ।संस्थाको तथ्याङ्कअनुसार ३६ जना सडक बालबालिका, जोखिमपूर्ण तथा प्राकृतिक प्रकोपमा परेका १६ जना, संस्थाको तथ्याङ्क अनुसार बेचबिखन र ओसारपसारमा परेका २४, जबरजस्ती करणीमा परेका १८ जना बालबालिकाको उद्धार गरिएको छ।
यसरी जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकामध्ये ३४१ जना बालबालिकाको परिवारसँग पुनःमिलन गराइएको छ भने ३५ जना बालबालिकालाई आपतकालिन गृहमा राख्नुका साथै संस्थागत पुनःस्थापना गराइएको संस्थाका कार्यक्रम संयोजक पवित्रा शाहीले बताए।
शाहीका अनुसार कुपोषण, कक्षा छाड्ने, यौन शोषण, दुव्र्यवहार, बलात्कार, अपमानित, कुटपिटजस्ता कारणले गर्दा बालबालिका जोखिममा पर्ने गरेका छन् । उनले बाल हेल्पलाइन तथा सरोकारवाला निकायसँगको समन्वयले समस्यामा परेका बालबालिकाको उद्धार, संरक्षण, कानूनी सहयोग र पुनःस्थापनामा सहजता भएको बताए । त्यसैगरी विभिन्न कारणले परिवार छाडेर बेवारीसे अवस्थामा रहेका बालबालिकाको पुनःस्थापनामा समस्या आएको छ।
पछिल्लो समय विभिन्न कारणले गर्दा सडक बालबालिकाको सङ्ख्या बढ्दो पाइएको छ । बढ्दो बैदेशिक रोजगारको कारण र बाबुआमा बिहीन भई परिवारबाट अलग्गिएका बालबालिका सडकमा देखिएका छन्। यस वर्ष मात्र ४१ जना सडक बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको शाहीले बताए । रासस
|
जनावरले बढ्दै सवारी दुर्घटना निजगढ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत बाराको अम्लेखगञ्जदेखि रौतहटको चपुर खण्डमा पर्ने पथलैया जङ्गलमा जङ्गली जनावरका कारण दुर्घटनाको जोखिम बढेको छ ।
दैनिक हजारौँ सवारीसाधन हिड्डुुल गर्ने सडकमा जङ्गली जनावरले एक्कासी सडक वारपार गर्दा जोखिम बढेको हो । बासस्थान र आहाराको खोजीमा राजमार्गमा दिनको समयमा बादर, हरिण, निलगाई, बदेल तथा रातको समयमा हात्ती लगायतका जङ्गली जनावर निस्कदा यात्रा असुरक्षित हुन थालेको सवारी चालकहरुले बताएका छन् ।
वन जङ्गलमा पाइने कन्दमूल र फलफूलका बिरुवा मासिँदै जादा आहारको अभावमा वन्यजन्तुहरु राजमार्गमा आउने गरेको जानकारहरु बताउँछन् । राजमार्गमा हिड्ने यात्रुहरुले रमाइलोका लागि बादरलाई खानेकुरा दिँदा सडकमा बादरको सङ्ख्या बढ्ने गरेको छ ।
सवारीसाधनको चाप रहेको सडकखण्डमा बादरको चापका कारण सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक विश्वविजय ढकालले बताए ।
पूर्व–पश्चिम राजमार्गमा सवारीको चाप दैनिक एकैनासको हुने र जङ्गली जनावरले अचानक सडक वारपार गर्दा दुर्घटनाको जोखिम दैनिक बढ्ने गरेको ट्राफिक प्रहरी निरीक्षक ढकालको भनाइ थियो ।
अमलेखगञ्जदेखि चपुरसम्मको ५१ किलोमिटरमध्ये ४७ किलोमिटर सडक जङ्गल क्षेत्र रहेको छ । जङ्गलमा कन्दमूल र फलफूल पाइने भएपनि विभिन्न सवारी साधनमा यात्रारत् यात्रुले विभिन्न खाने कुरा दिने गरेका कारण जङ्गली जनावर सडकको छेउछाउमा आउने गरेका छन् । ठूलो जङ्गल भएका कारणपनि एक भागबाट अर्काे भागमा वारपार गर्ने गर्दछन् ।
त्यहाँको ४७ किलोमिटर मध्ये चार किलोमिटर एकतर्फी र बाँकी ४३ किलो मिटर दुवैतर्फ जङ्गल छ ।रासस
|
सवारी दुर्घटनामा २ जनाको मृत्यु काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका ८ तिनकुनेस्थित सडकमा को १ ख १९३० नम्बरको बसले को २१ प २३६१ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका १९ बस्ने ६१ वर्षीया कालीमाया राईको घटनास्थलमै मृत्यु भएको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नुवाकोट, विदुर नगरपालिका ४ बट्टार बजारमा बा ४ ख ७५०४ नम्बरको बसले बुधबार बिहान ठक्कर दिँदा नुवाकोट तारकेश्वर गाउँपालिका ५ गोर्स्याङ बस्ने बाबु तामाङको ११ वर्षीय छोरा युनिक तामाङको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
|
कलङ्की–महाराजगञ्ज सडकमा दुई ‘अण्डर पास’ काठमाडौँ । चक्रपथको दोस्रो चरणको विस्तारका रुपमा रहेको कलङ्की–महाराजगञ्ज सडकमा दुई वटा ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने भएको छ। झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले आगामी चैतमा सडक हस्तान्तरण गर्ने भएको छ ।
पहिलो चरणको विस्तार (कोटेश्वर–कलङ्की) सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए।
पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । उनले भने, “पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएको गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।”
बालाजु चोक र महाराजगञ्ज चोकमा गरी दुई स्थानमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ। आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ ।
महाराजगञ्ज चोकमा कलङ्की चोकमा जस्तै अण्डर पास हुनेछ । यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको प्रमुख थापाले जानकारी दिए। बालाजुमा निर्माण हुने ‘अण्डरपास’ मा भने ‘क्रसिङ’ तल हुनेछ ।
पैदल यात्रुलाई सडक पार गर्न प्रत्येक एक/एक किलोमिटर एउटा आकाशे पुल निर्माण हुने थापाले जानकारी दिए। जम्मा नौ आकाशे पुल निर्माण हुने गरी डिजाइन भइरहेको छ । सडक बिस्तारका लागि चीन सरकारलाई हस्तान्तरण गर्न सरकारले अहिले सडकको अधिकार क्षेत्र खाली गराउन शुरु गरेको प्रमुख थापाले बताए।
यस सडकमा रुख काट्ने, पोल सार्नेलगायतका तयारी भइरहेको छ । केही महीनामै काम सम्पन्न गर्ने उनले बताए। सम्पूर्ण तयारी सकिए पनि सरकारले चीन सरकारलाई सडक निर्माणका लागि हस्तान्तरण गर्नेछ । चीन सरकारले झण्डै पाँच/छ महीना तयारीको काम गरेर निर्माण शुरु गर्ने उनले बताए ।
सडकको अधिकार क्षेत्रमा घरटहरालगायतका संरचना हटाउनु पहिलो चरणमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको छ। स्वयम्भू, ठूलो भ¥याङ, महाराजगञ्ज चोकलगायतका स्थानमा सडक छेउमा संरचना हटाउनु समस्या रहेको छ। स्वयम्भूमा बुद्धको ठूलो मूर्ति रहेकामा त्यसलाई समेत सार्नुपर्ने उनले बताए।
पहिलो चरणमा समस्या देखिएका कुरामा सुधार भए पनि अरू कुरामा दोस्रो चरण पनि झण्डै पहिलो जस्तै हुने विभागले जनाएको छ। मुख्य सडकबीचमा रहनेछ भने त्यसको दुवैतर्फ दुई/दुई लेनको सहायक सडक हुनेछ।
सहायक सडकमा प्रवेश गर्नका लागि सडकको दुवैतर्फ एक/एक लेनको सर्भिस ट्र्याक रहने गरी डिजाइन भएको छ। सवारी चालकले पहिले सर्भिस ट्र्याकबाट सहायक सडकमा प्रवेश गरेर मात्रै मुख्य सडकमा प्रवेश गर्न पाउँछन्। त्यस्तै सहायक सडकबाट एउटा चोकमा पुगेर मात्रै मुख्य सडक वा मुख्य सडकबाट सहायक सडक गर्न पाउने गरी डिजाइन भइरहेको छ।
पहिलो चरणमा आकाशे पुल र सर्भिस ट्र्याक
गत वर्ष पुसमा नै चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि अहिले कोटेश्वर–कलङ्की सडकमा आकाशे पुल निर्माण र ‘सर्भिस ट्र्याक’ निर्माण भइरहेको छ। दश किलोमिटरको सो सडकमा चीन सरकारले सम्झौताअनुसार तीन स्थानमा आकाशे पुलको निर्माण गरेको थियो।
आकाशे पुल पर्याप्त नभएको टिप्पणीपछि अहिले थप छ स्थानमा पुल निर्माण भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ। त्यस्तै चक्रपथको बाहिर र भित्र गरी दुवैतर्फ ‘सर्भिस ट्र्याक’ निर्माण भइरहेको छ। विभिन्न स्थानमा सडक छेउमा रहेका घरटहरा समयमै हटाउन नसक्दा ‘सर्भिस ट्र्याक’ निर्माणमा ढिलाइ भएको हो।
नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साता शिलान्यास
नागढुङ्गा–नौबिसे सुरुङमार्गको आगामी साता शिल्यान्यास हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गर्ने गरी तयारी भइरहेको सडक विभागले जनाएको छ। शिलान्यास हुने स्थानमा किसानको धान भएकाले त्यो हटाएर मात्रै शिलान्यास गरिने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए।
विभागले आगामी ४ गतेका लागि योजना बनाए पनि तय भइनसकेको उनले जानकारी दिए। उनले भने, “किसानलाई हामीले खाली गर्न भनेका छौँ, खाली भएपछि काम हुनेछ।”
सो सुरुङमार्ग निर्माणका लागि गत ६ गते जापानको हाजमा आङ्दो कर्पाेरेशनसँग ठेक्का सम्झौता भएको थियो। ४२ महीनामा सो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
मुआब्जा रकमसमेत गरेर सो सुरुङमार्गको जम्मा लागत रु २२ अर्ब हुने बताइएको छ। जम्मा रकममध्ये नेपाल सरकारले रु छ अर्ब जग्गाको मुआब्जा वितरणमा खर्च गर्ने भएको छ। अहिलेसम्म चार अर्ब मुआब्जाबापतको रकम बाँडिसकिएको छ।
सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर सडकसमेत निर्माण हुनेछ। सुरुङमार्गकै मुखमा र सतुङ्गलमा गरेर दुई स्थानमा फ्लाई ओभरसमेत निर्माण हुने सम्झौता भएको उनले जानकारी दिए। उनले भने, “फ्लाई ओभरको निर्माण सम्पन्न भएपछि यो नै नेपालको पहिलो फ्लाई ओभर हुनेछ।”
जापान सरकारको ०.०१ प्रतिशत सहुलियत ऋणमा सुरुङमार्ग निर्माण हुन लागेको हो। सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने उनले जानकारी दिए। अहिले सुरुङमार्ग निर्माण गर्न लागेकै कम्पनीले माइतीघर–सूर्यविनायक सडक निर्माण गरेको थियो।रासस
|
राष्ट्रपति भण्डारीलाई म्यान्मारमा भव्य स्वागत (फोटोफिचर) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा पुगेकी भण्डारीलाई भव्य स्वागत गरेको छ।
उनलाई म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा ऊ आङ को र नेपित नगरका प्रमुख डा म्यो आङले स्वागत गरेका थिए।
नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदासले पनि राष्ट्रपतिको स्वागत गरेका थिए। राष्ट्रपति भण्डारीलाई नेपित शहरका बालबालिकाले पनि पुष्पहार चढाई स्वागत गरेका थिए।
राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन्।
राष्ट्रपति भण्डारीले असोज २९ देखि कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमण गर्नेछिन्। राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच बिहीबार बिहान प्रेसिडेन्सियल हाउसमा भेटवार्ता हुनेछ।
राष्ट्रपतिसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सुचीले पनि सोही हाउसमा भेट गर्नेछिन्। सोही दिन म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।
राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यान्माका डिफेन्स सर्भिसका कमान्डर इन चिफले भेट गर्नेछन्। त्यस्तै जेम्स म्युजियमको पनि नेपाली प्रतिनिधिमण्डलले अवलोकन गर्ने कार्यक्रम छ।
यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन्।
|
चियापानमा कार्यकर्ता : ‘जनतासँग जोडिन जिम्मेवारी देऊ’ काठमाडौं । संविधान जारीपछिको निर्वाचनबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षाका साथ अग्रसर भएपनि पार्टी एकतापछि आम कार्यकर्ताले पूर्ण जिम्मेवारी पाइसकेका छैनन्।
सरकार र पार्टीको पर्याप्त समन्वय भई आफूहरुले उचित जिम्मेवारी पाएमा जनताका बीचमा पुगेर सरकार र पार्टीको सन्देशजवाहक हुन तयार ती कार्यकर्ताले पार्टीको नेतृत्वलाई एकता प्रक्रियाको बाँकी कामलाई चाँडो पूर्णता दिन पटकपटक सुझाउँदै आएका छन्।
नेकपाले दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडबाडका अवसरमा आज काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको चियापान तथा शुुभकामना आदानप्रदान कार्यक्रममा सहभागी कार्यकर्ताले पार्टी एकीकरणको बाँकी काम पूरा गरेर सर्वसाधारणले अनुभूत गर्ने गरी काम गर्न सुझाएका छन्।
चियापानका क्रममा भेटिएका नेकपा कार्यकर्ताले केही सकारात्मकता, केही गुनासो र केही आलोचनात्मक टिप्पणीसहित नेतृत्वलाई गलत प्रवृत्तिको साथ नदिन र राम्रा कामको प्रोत्साहन गर्न आग्रह पनि गरेका छन्। उनीहरुले आपसी खिचातानीलाई थाती राखेर अगाडि बढ्नुपर्नेसमेत बताए ।
पार्टी एकीकरण समयमै नटुङ्गिनुमा पनि नेताहरुको व्यक्तिगत स्वार्थ मूल कारण भएको कार्यकर्ताको बुझाइ छ। तेरो र मेरो भन्ने भावनाले काम गर्दा एकीकरणले पूर्णता नपाएको भन्दै कार्यकर्ताले आक्रोस पोखेका छन्।
विसं २०७४ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्र बीचको एकतापछि गठित नेकपाले ढिलो गरी केन्द्रीय नेताहरुको कार्य विभाजन, प्रदेश, जिल्ला र भ्रातृ सङ्गठनका इञ्चार्ज÷सहइञ्चार्ज तोकेकाले सबै जिल्ला, पालिका र भ्रातृ सङ्गठनका तल्लोस्तरसम्मको एकताले पूर्णता पाएको छैन।
नेकपा गुल्मीका सङ्गठित सदस्य वासुदेव केसीले अल्झन नगरी पहिले पार्टी एकीकरण टुङ्ग्याएर विकासको मार्गलाई तीव्रता दिन र जनतासँग जोडिने गरी कार्यकर्तालाई जिम्मेवारी दिन पार्टी नेतृत्वलाई आग्रह गरे। केसीले भने, “दुई तिहाइको सरकार भएर पनि तल्लो तहमा महसुस गर्ने गरी काम हुन सकेको छैन, विसं २०५१ को सरकार कति लोकप्रिय बनेको थियो, अहिले त्यति ठूलो शक्तिको सरकार बनेको छ, मन छुने काम गरेको देखिँदैन।”
यद्यपि सरकारले रेल, सुरुङमार्ग, सडक निर्माणमा चालेको कदमलाई सकारात्मकरुपमा लिँदै उहाँले सँगसँगै जनताले दैनिकरुपमा भोगिरहने समस्यामा ध्यान दिन नेतृत्वलाई आग्रह गरे।
महङ्गी, भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीजस्ता गतिविधि रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन जरुरी रहेको औँल्याउँदै कार्यकर्ताले सरकारको लगाम नेकपा भएकाले त्यहीअनुसार परिचालन गर्न सक्नुपर्नेमा जोड दिएका छन्।
कार्यकर्ताले नेताहरुको आपसी खिचातानी र गुटउपगुटका कारण पार्टी सङ्गठन कमजोर हुने भन्दै राष्ट्रिय भावनाका साथ पार्टी बलियो बनाएर जनताको मन जित्न नेताहरुलाई आग्रह गरेका छन्। स्थानीय तहमा समेत नेतृत्वले काम गर्ने तौरतरिका सच्याउनुपर्नेमा कार्यकर्ताको जोड छ।
सिन्धुपाल्चोकका नेकपाका अर्का कार्यकर्ता केशवलाल श्रेष्ठले राजनीतिक नेतृत्वले देश र जनताका लागि भलो हुने काम गर्नुपर्नेमा जोड दिँदै भने, “मुलुकमा विकास हुनुपर्छ, महङ्गी नियन्त्रण हुनुपर्छ, दुःखकष्टमा पिल्सिएका जनताको घाउमा मलम लगाउन सक्नुपर्छ, यस्ता कुरामा नेतृत्वले ध्यान दिनुपर्छ।”
उनले अहिले नेता र सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै राजनीतिक दल नै तँछाडमछाडमा लागेको बताए। राष्ट्रियहित र साझा विषयमा सबै पार्टी एक हुनुपर्र्नेमा उनको जोड थियो।
नेकपाका शुभेच्छुक काठमाडौँका ७० वर्षीय वृद्ध अच्युतराम सत्यालले पछिलो समयमा परिवर्तनको लहर देखिन शुरु गरेको बताउँदै पार्टी एकीकरण टुङ्ग्याएर जनताले थाहा पाउने गरी विकास र समृद्धिमा जान नेकपाका नेतालाई सुझाव दिए।
नेतासँगै कार्यकर्ताको मानसिकता परम्परागतबाट माथि उठ्न नसकेको जिकिर गर्दै उनले हिजोको सोच बदल्न सुझाव दिए।
नेकपाको हुम्लाका सदस्य भुवनबहादुर शाही दुई तिहाइको सरकार हुँदा जुन अपेक्षाअनुसार काम गर्न सक्थ्यो, त्यसरी जान नसकेको उल्लेख गर्र्दै जबसम्म रोजगारीका लागि नेपाली युवा विदेश जाने परम्परा रोकिँदैन तबसम्म सरकारले राम्रो काम गरेको नठहरिने तर्क प्रस्तुत गरे।
हुम्लाकै शुभेच्छुक पार्वती थापाले जनताका दैनिक जीवनमा आइपर्ने समस्या ज्यूँकात्यूँ रहेको बताए। चियापान समारोहमा देशैभरबाट नेकपाका नेता कार्यकर्ताको सहभागिता थियो।
सो क्रममा विभिन्न राजनीतिक दलहरुलेसमेत सहभागिता जनाएका थिए। मध्याह्न १२ बजेदेखि शुरु भएको चियापान समारोह साँझ ५ बजे सकिएको थियो।
चियापान समारोहमा राजनीतिक नेताहरुले साझा विषयमा अझै सबै दलहरुको एकता आवश्यक रहेकामा जोड दिँदै चाडबाडमा हुने यस्ता कार्यक्रमले आपसी सद्भाव कायम गर्न र राजनीतिक नेताहरुबीच नजिक हुने अवसर मिल्ने बताएका थिए।रासस
|
इण्डोनेसियाको व्यापारमेला सुरु काठमाडौं । इण्डोनेसियाको ३४ औ व्यापारमेला बुधबारदेखि सुरु भएको छ ।
इण्डोनेसियन सम्मेलन केन्द्र बिएसडिमा बुधबार सुरु भएको मेलाको उपराष्ट्रपति युसुफ कालाले ट्रेड एक्स्पो २०१९ को उद्घाटन गरेका हुन्।
व्यापार मेलामा इण्डोनेसियामा उत्पादन गरिएका हस्तकला, घरयासी प्रयोगका लागि चाहिने सामाग्रीदेखि ठूला ठूला गाडी र रेल निर्माता कम्पनीको पनि सहभागिता रहेको छ।
मेलामा १० वटा विभिन्न युनिटका झण्डै १ हजार २ सय स्टलहरु रहेका छन् भने १ हजार २ सय १५ उद्योगी, व्यवसायीहरुले भाग लिएका छन्।
उद्घाटन समारोहलाई उपराष्ट्रपति काला र व्यापारमन्त्री इन्जरतिस्टो लुकिशले सम्बोधन गरेका थिए। मेलामा १ सय ३० देशका विदेशी वायरहरुको पनि सहभागिता रहेको छ।
मेलामा सहभागी नेपालका लागि इण्डोनेसियाकी राजदुत रीना सोेरानोले नेपालले पनि आफ्नो मौलिक उत्पादनको बजारीकरण गर्न यस्ता मेलामा सहभागीता जनाउनुपर्ने बताए।
इण्डोनेसियाका लागि नेपाली अवैतानिक महावाणिज्यदुत चन्द्र ढकालले मेलामा सहभागिता जनाएर नेपालले पनि पर्यटन प्रवद्र्धनको क्षेत्रमा ठूलो लाभ लिन सक्ने बताए।
नेपाली व्यवसायीहरुले इण्डोनेसियाबाट कपर, सुन, रबर, कोकोनटओइल, प्लाउउड, सवारी साधन लगायतको आयात गर्ने गरेको तर निर्यात अत्यन्तै न्यून रहेकाले पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकता दिनुपर्ने बताए।
सो अवसरमा निकासीमा उत्कृष्ट भूमिका निर्वाह गरेका व्यवसायीलाई उत्कृष्ट निर्यात अवार्ड २०१९ बाट सम्मानित गरिएको थियो। मेला कात्तिक ३ गतेसम्म चल्ने छ।
|
राजनीतिमा नैतिकताको संकट देखियो : रामचन्द्र पौडेल काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा नैतिकताको संकट देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
वरिष्ठ नेता पौडेलले राजनीतिमा देखिएको नैतिक संकटलगायतका विकृति र विसंगतिलाई अन्त्य गर्न राजनीतिलाई सैद्धान्तिक बहसको बाटोबाट अघि बढाउनुपर्नेमा पनि जोड दिए।
सत्तारुढ नेकपाले बुधबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले संंघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि पनि सिद्धान्त र निष्ठाको राजनीतिलाई जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।
वरिष्ठ नेता पौडेलले लोकतन्त्रको रक्षाका लागि पनि राजनीतिक दलहरुले निष्ठाको राजनीतिलाई अघि बढाउनुपर्ने बताए।
वरिष्ठ नेता पौडेलले लोकतन्त्रमा दलहरुबीच फरक मत भएपनि मुलुकलाई अघि बढाउने विषयमा साझा धारणा बनाएर अघि बढनुपर्ने स्पष्ट पारे।
|
मन्त्रीपरिषद पुनर्गठन हुन सक्छ : ईश्वर पोखरेल काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीपरिषद पुनर्गठन हुन सक्ने संकेत गरेका छन्।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल मन्त्रीपरिषद पुनर्गठन हुन नसक्ने प्रतिक्रिया दिईरहेका बेला उपप्रधानमन्त्री पोखरेलको यस्तो भनाई बाहिर आएको हो।
नेकपाा सचिवालयका सदस्य समेत रहेका उनले मन्त्रीपरिषद पुनर्गठन गर्ने कि नगर्ने भन्ने विषय प्रधानमन्त्रीको स्वविवेकीय अधिकार भएकाले त्यसमा अन्यथा टिप्पणी गरिरहन जरुरी नभएको पनि स्पष्ट पारे।
बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले आफ्ना दलका नेताहरुसँग परामर्श गरेर मन्त्रीपरिषद पुनर्गठन गर्न सक्ने पनि बताए।
‘मन्त्रीहरु परिवर्तन हुन सक्छन,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘त्यो प्रधानमन्त्रीको स्वविवेकको कुरा हो, त्यसकारण यसमा अन्यथा टिप्पणी गर्नुपर्ने जरुरी छैन ।’
उपप्रधानमन्त्री पोखरेलले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको विश्वास पनि व्यक्त गरे।
|
समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्छ : कमल थापा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनताको समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताएका छन्।
अध्यक्ष थापाले मुलुकको राष्ट्रियताको सम्वद्र्धन र संरक्षणका लागि पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढनुको विकल्प नभएको पनि स्पष्ट पारे।
सत्तारुढ नेकपाले दसैं, तिहार, नेपाल संवतलगायतका चाडपर्वको अवसर पारेर बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमपछि संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले मुलुक, प्रजातन्त्र र जनताको हितका निम्ति पनि राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने पनि बताए।
अध्यक्ष थापाले दसंै, तिहारको अवसर पारेर सबै राजनीतिक दलहरुलाई शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गरेको भन्दै सत्तारुढ नेकपाप्रति आभार पनि व्यक्त गरे।
|
‘दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँछ’ काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले दसैं, तिहारजस्ता चाडपर्वको अवसर पारेर आयोजना हुने चियापान कार्यक्रमलाई आफूले पार्टीहरुबीचको सम्बन्धलाई नजिक ल्याउने अवसरको रुपमा लिएको पनि बताए।
सत्तारुढ नेकपाले बुधबार दसैं, तिहार, नेपाल संवत, छठ पर्वको अवसर पारेर काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले विपी कोइरालाले दसैंको अवसर पारेर सुरु गरेको चियापान कार्यक्रम नेकपा लगायतका सबै राजनीतिक पार्टीहरुले पनि आयोजना गर्न लागेकोमा आभार पनि व्यक्त गरे।
सभापति देउवाले नेताहरुबीच शुभकामना आदानप्रदान गर्ने अवसरको रुपमा पनि चाडपर्वहरुलाई लिनुपर्ने बताए।
|
बिपी कोइराला क्यान्सर अस्पतालमा मङ्सिर १ गतेदेखि ईएचएस सुरु काठमाडौं । पछिल्लो समय सुधार हुँदै गएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यही मङ्सिर १ गतेबाट विस्तारित स्वास्थ्य सेवा (ईएचएस) शुरु गरिने भएको छ। शुरुमा साँझको समयबाट सेवा शुरु गर्न लागिएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार साँझ ४ः३० बजेबाट विस्तारित स्वास्थ्य सेवा उपलब्ध गराइने छ। काठमाडौँका सिभिल र गङ्गालाल अस्पताजस्तै नमूना सेवा प्रदान गरिने आचार्यले जानकारी दिए।
जसबाट बिरामीले पालो कुर्न नपर्ने र कम खर्चमा सेवा पाउने जनाइएको छ।रेडियोलोजी र प्याथोलोजीको सेवा अन्य समयकै दर रेटमा उपलब्ध गराइने भएपनि अरु सेवामा केहि बढी शुल्क लाग्ने छ।
यद्यपि निजीको तुलनामा निकै सस्तोमा बिरामीले उपचार पाउने आचार्यको भनाइ छ। अस्पताल स्थापनाका समयमा चिकित्सक कर्मचारीलाई आकर्षक भत्ता उपलब्ध गराइ बाहिर काम गर्न नपाउने व्यवस्था गरिएको थियो।
पछि भत्तामा केही कम गरी बाहिर काम गर्न छुट दिइएको थियो। त्यसकै नाममा अस्पतालका चिकित्सक र कर्मचारीले बिरामी बाहिर पठाउने गरेको आरोप लाग्ने गरेको थियो। आचार्यले विस्तारित सेवा अस्पतालमा शुरु भएपछि साँझमा पनि बिरामी बाहिर जानुनपर्ने बताए।
विस्तारित सेवामा काम गर्ने चिकित्सक कर्मचारीले अतिरिक्त रकम पाउने छन्। बिरामीबाट लिइने सेवा शुल्कले चिकित्सक कर्मचारीलाई भत्ता उपलब्ध गराइने छ। झण्डै तीन वर्षअघि अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो।
पछिल्ला समयमा सेवा विस्तारसँगै उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ। २० वर्षअघि चीन सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा देशभरका र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने गर्दछन्।
गत आर्थिक वर्षमा अस्पतालवाट एक लाख ४२ हजार ३७७ जनाले सेवा लिएका छन्। जसमध्ये सात हजार ८९३ जनाको क्यान्सर पहिचान भई उपचार भइरहेको छ।
एक सय शैयबाट शुरु भएको अस्पतालमा हाल ४५० शैया रहेको छ।
|
कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति पुनलाई काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारको राजकीय भ्रमणमा गएकाले कार्यबाहक राष्ट्रपतिको रुपमा उप–राष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिइएको छ।
राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी उनलाई तोकिएको जनाइएको छ।
नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले आफ्नो अनुपस्थितिमा उपराष्ट्रपति पुनबाट सम्पादन हुनेगरी तोकेकी हुन्।
|
जनअपेक्षाअनुसार प्रभावकारी ढङ्गले काम अगाडि बढाउनुपर्छ : वरिष्ठ नेता खनाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन्।
पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले भने, “जुन लोकप्रिय र प्रभावकारी रुपमा कार्य गर्नुपर्ने हो, त्यो हुन सकेको छैन, आकासे खेती जसरी काम गरेर गन्तव्यमा पुगिँदैन।” तीव्र गतिमा कार्य सम्पादन गरी ठोस ढङ्गले अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा उनले सचिवालय बैठकमा मन्त्रिमण्डल पुनःगठनका बारे छलफल नभएको बताउँदै राष्ट्रिय आवश्यकताअनुसार यस विषयमा सरकार अगाडि बढ्ने र आसन्न उपनिर्वाचनमा पार्टीले कसरी सफलता प्राप्त गर्ने भन्नेबारे छलफल भएको बताए। सभामुख पदको निर्वाचनका बारे उपयुक्त समयमा उचित निर्णय लिइने उनको भनाइ थियो।रासस
|
दुई दशकदेखि थुनिएरै कोठामा लमजुङ। यहाँस्थित सुन्दरबजार नगरपालिकाका एक युवा दुई दशकदेखि आफ्नै घरको कोठामा बन्दी अवस्थाको जीवन बिताउँदै आएका छन्। सुन्दरबजार नगरपालिका–२ हाँडेटारका ३४ वर्षीय राजु विकको मानसिक सन्तुलन गुमेपछि दुई दशकदेखि कोठामै बन्दी अवस्थामा रहँदै आएका हुन्।
उनको मानसिक सन्तुलन गुमेपछि जसलाई जतिबेला पनि हातपात र आक्रमण गर्ने भएकाले परिवारले घर नजिकै छुट्टै कोठा बनाएर राख्दै आएको छ।
राजुलाई झण्डै १४ वर्षको उमेरबाट कोठामा राख्दै आएको परिवारले जनाएको छ। उनको स्वभाव निकै आक्रमक भएकाले बाहिर छाडेपछि जो कसैलाई आक्रमण गरिहाल्ने समस्याले परिवारजन थप मर्कामा परेका छन्।
“उसले आमाबाबु कोही भन्दैन जसलाई पनि जे भेट्छ त्यसले हान्छ”, राजुकी आमा लुरीमायाले भनिन्, “केहीदिन अघि मात्रै बिहान खाना पुर्याउन गएको मलाई टाउकोमा चिर्पटले हान्यो, बाबाले रोक्न खोज्दा उहाँलाई पनि नाकमै बजायो, हामी रगताम्य हुँदै भागेर बाँच्यौँ।”
राजुले चिर्पटले हानेर घाउ लागेपछि टाउकोमा १० ओटा टाँका लगाउनु परेकोसमेत लुरीमायाले बताइन्। “खाना दिने बेलामा कहिले त भाग्ने गर्छ र केही दिनसम्म त घरमै आउँदैन। छोरालाई कसैले पिटेर हो कि कतै लडेर हो शरीरभरि घाउ बनाएर घर फर्किन्छ”, बुबा पूर्णबहादुर विक (कामी)ले भने।
यति मात्रै होइन कोठाबाट भागेर छोराले छिमेकीलाई समेत कुट्ने गरेको बताउँदै कति चोटि गाउँलेलाई जरिवानासमेत तिर्दैै आएको उनको भनाइ छ। छोरालाई कोठाबाट बाहिर निस्किन नदे भन्दै स्थानीयले भन्ने गरेको र छोराले विध्वंश पार्ने डरले कोठामै राख्नुपरेको आमा लुरीमायाले बताइन्।
राजुको मानसिक सन्तुलन मात्रै गुमेको छैन, छारे रोगसमेत रहेको परिवारले जनाएको छ । छोराको उपचारका लागि वडा कार्यालयदेखि जिल्ला समन्वय समिति लगायतमा कुरा राखे पनि समस्याको समाधन केही हुन नसकेको बुबा विकको भनाइ छ ।
गाउँकै महेन्द्र मन्दिर माविमा ४ कक्षामा पढ्दै गर्दादेखि उसको मानसिक सन्तुलन बिग्रँदै गएको आमाको भनाइ छ । स्कुलमा साथीहरुलाई कुट्ने, पिट्ने र जथाभावी गर्ने जस्ता गतिविधि गर्न थालेपछि विद्यालय छुटाएर घरमै कोठामा राख्ने गरिएको आमाले बताइन्।
उनको परिवारको आर्थिक अवस्था कमजोर भएकाले खाना लाउनै धौधौ छ। राजुको उपचारका लागि परिवारले पर्याप्त खर्च गर्न नसक्दा उनी लामो समयदेखि कष्टकर जीवन विताउन बाध्य छन्।
“पैसा भएको भए राम्रो अस्पतालमा लगेर स्वास्थ्य जाँच गर्न पाए ठिक हुने थियो होला, कसैले सहयोग गर्दिए म धेरै भाग्यमानी र खुसी हुने थिएँ”, आमा लुरीमायाले भनिन्, “उपचार गर्न नसके पनि कतै छोरालाई खाना र बस्ने ठाउँको व्यवस्था भए त्यहीँ पठाउनुहुन्थ्यो, छोरालाई पनि राम्रो अनि हामी आमा बाबुलाई पनि ढुक्क हुन्थ्यो ।” लुरीमायाको चार छोरा र दुई छोरी छन्। मानसिक सन्तुलन ठिक नभएको राजु माइलो छोरो हुन्।
राजु बाहेक सबैजनाले विवाह गरेर कोही कतै कोही कतै पुगेका छन् । घरमा आमा लुरीमाया, बाबा पूर्णबहादुर र राजु मात्रै छन्। बुढाबुढीले कामकाज गर्दै परिवार चलाउँदै आएको बुबा पूर्णबहादुरले बताए।
|
‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’ काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आन्तरिक द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको मौलिक विधि र सफलता विश्वका लागि उदाहरणीय भएको बताएका छन्।
सर्बियाको बेलग्रेडमा जारी अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १४१ औँ सम्मेलनअन्तर्गत ‘अन्तर्राष्ट्रिय कानूनको सबलीकरणः संसदको भूमिका र संयन्त्र तथा क्षेत्रीय सहकार्यको योगदान’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले दशवर्षे द्वन्द्व समाधान गरी जनप्रतिनिधिमूलक संस्था संविधानसभाबाट संविधान निर्माण गर्दै स्थायित्वको मार्गमा अगाडि बढेको बताए।
अन्तर्राष्ट्रिय कानूनले अन्तर्राष्ट्रिय सरोकार र नीति निर्माणका विषयमा सहयोग गर्ने उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले विश्वमा आपसी सञ्चार र समझदारी अभिवृद्धिको सफल माध्यम बनेको बताए।
‘अन्तर्राष्ट्रिय कानूनको सबलीकरणले आ–आफ्नो मुलुकमा क्षेत्रीय र विश्वको समानान्तर रुपले उन्नति एवं प्रगति गर्ने विश्वास लिएको छु,’ उनले भने।
नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागी रहेको अध्यक्ष तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिए।
यही अक्टोबर १३ देखि शुरु भएको सम्मेलन १७ अक्टोबरसम्म चल्नेछ। नेपाललगायत १७१ राष्ट्रका सांसद र अन्य ११ एसोसिएट सदस्य राष्ट्र सम्मेलनमा सहभागी छन्। रासस
|
आबुधावी डायलग : मन्त्री विष्टले सम्बोधन गर्ने काठमाडौं । श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम आबुधावी डायलगमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सम्बोधन गर्ने भएको छ।
बुधबार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने पाँचौ मन्त्रीस्तरीय बैठकमा उनले सम्बोधन गर्ने श्रम मन्त्रालयले जनाएको छ।
नेपाल आबुधावी डायलगको सदस्य मुलुक हो। बैठकमा सहभागी हुन मन्त्री विष्ट आजै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन्। प्रतिनिधिमण्डलमा मन्त्रालयका सचिव विनोद केसी र सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुङ्गाना हुन्।
उक्त छलफल श्रमिक आपूर्ति प्रक्रियालाई थप पारदर्शी बनाउने विषयमा केन्द्रित हुने बताइएको छ। त्यस्तै अवैध कामदारको आयात र निर्यातको रोकथाम, श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा पनि छलफल हुनेछ।
डायलगमा श्रमिक पठाउने देशहरु नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, म्यानमा, थाइल्याण्ड, फिलिपिन्स, बङ्गलादेश र भियतनाम सहभागी हुने बताइएको छ। त्यस्तै श्रमिक लिने देश यूएई, मलेसिया, कतार, कुवेत, साउदी अरब, बहराइन र यमन पनि सहभागी हुनेछन्।रासस
|
हुण्डी कारोवारको १३ लाख बरामद काठमाडौं । विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ ढाटबाट एक भारतीय नागरिकबाट अवैध रुपमा ल्याएको दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले आज पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनीको झोला जाँचका क्रममा उक्त रकम फेला परेको हो।
यसैगरी प्रहरीले गोप्य सूचनाको आधारमा विराटनगर महानगरपालिका–४ स्थित कञ्चनबारी चोकमा अवैध हुण्डी कारोवार गर्ने सुनसरीको बर्जु गाउँपालिका–३ बस्ने २४ वर्षीय उमाकान्त रायले बोकेको झोला जाँच गर्दा १० लाखसहित विभिन्न बैंकको चेकबुकसहित सोमबार साँझ पक्राउ गरेको छ।
दुवै जनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीको इटहरीमा बुझाइएको छ।
|
सीको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा : मुख्यमन्त्री पोखरेल काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणबाट नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्।
उनले चिनियाँ राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढङ्गले अघि बढ्ने बताए।
चीनको छेन्दूमा विकास र सहकार्यका लागि बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले नेपाल र चीनबीचको लामो मैत्रीपूर्ण सम्बन्धले आपसी हित र सहकार्यमा फाइदा पुगेको र आगामी दिनमा सहकार्य अझ फराकिलो हुने विश्वास व्यक्त गरे।
“दुई मुलुकबीच भाइभाइको सम्बन्ध छ, त्यहीअनुसार सहकार्य र सहयोग गर्दै आएका छौँ”, उनले भने, “हिमाल र नदीले जोडिएका दुई मुलुकबीचको सम्बन्ध राष्ट्रपतिको भ्रमणले अझ बलियो भएको छ।”
उनले छिमेकको विकासलाई साथसाथै अघि बढाउन चीनले अघि सारेको बीआरआईप्रति नेपालले समर्थन गरिसकेको स्मरण गर्दै विकास र सहकार्यका लागि बीआरआई महत्वपूर्ण रहेको बताए।
सम्मेलनमा सहभागीहरुलाई मुख्यमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्न चाहेको बताउँदै बौद्ध दर्शनको उद्भवस्थल लुम्बिनी भ्रमणका लागि अनुरोध गरे।
सिचुवान प्रान्त र प्रदेश ५ बीचको भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको र यो सम्बन्धले अनुभव आदानप्रदान र धेरै क्षेत्रमा ढोका खोलेको उनले बताए।
सिचुवान र प्रदेश ५ बीच तीन महीनाअघि भगिनी सम्बन्ध कायम गर्ने समझदारीमा हस्ताक्षर भएको हो।
|
बमकाण्डका आरोपी मोहम्मद आलमको म्याद ७ दिन थप काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ।
अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद प्रदान गरेको हो।
विसं २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा यही असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो।
निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत पुर्याएका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताए।
अदालत परिसरबाट बाहिरिँदै गर्दा आलमले घटनाको ‘दूधको दूध र पानीको पानी’ चाँडै छुट्टिने प्रतिक्रिया दिए। उनले आफूले अदालतको सम्मान गर्ने र मुद्दाका विषयमा पछि कुरा गर्ने बताए। म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट पुर्याइएको छ।
यता आलम पक्राउ परेपछि पीडित परिवारलाई न्याय पाउने आश पलाएको छ। जाहेरीकर्ता तथा मृतक त्रिलोकप्रताप सिंहका बुबा ७९ वर्षका श्रीनारायण सिंहले घटनाको १२ वर्षपछि न्याय पाउने आश पलाएको बताए।
ठूलो मान्छेले अपराध गर्दा सजाय हुन्छ कि हुँदैन भन्ने कुरा अब अदालतको निर्णयपछि थाहा हुने उनको भनाइ छ। भोलिका दिनमा कसैले यस्तो जघन्य अपराध नगरुन् भन्नका लागि पनि न्यायालयले दोषीलाई कारवाही गर्नुपर्ने उनको माग छ।रासस
|
गैरआवासीय नेपालीको निर्वाचनमा उम्मेदवारी शुल्क दश लाख काठमाडौं । गैरआवासीय नेपाली सङ्घको निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ।
सङ्घको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क रु एक लाखदेखि १० लाखसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए।
गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क रु सात लाख ५० हजार रहेको थियो। गत महाधिवेशनभन्दा यसवर्ष रु दुई लाख ५० हजार बढाएर रु १० लाख पुर्याइएको हो।
अध्यक्षको दर्ता शुल्क रु १० लाख तोकिएको छ भने अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी सदस्य) को रु एक लाख तोकिएको छ।
उनले सङ्घको भवन बनाउन र गोरखाको लाप्राक नमूना बस्ती बनाउन पैसा आवश्यक भएकाले उम्मेदवारको शुल्क बढाइएको बताए।
निर्वाचन प्रमुख आयुक्त रिजालका अनुसार उपाध्यक्षको सात लाख, महासचिवको छ लाख, सचिव र कोषाध्यक्षको पाँच लाख, सहकोषाध्यक्षको चार लाख, महिला तथा युवा संयोजकको तीन लाख ५० हजार, क्षेत्रीय संयोजकको तीन लाख ५० हजार, क्षेत्रीय उपसंयोजकको दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकको रु दुई लाख ५० हजार र आईसीसी सदस्यहरुको रु एक लाख उम्मेदवार दर्ता शुल्क तोकिएको छ ।
सङ्घको नवौँ नेपाली विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरु भएको छ। ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्।
तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन्।
नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ। सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुने गर्दछ।
कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ।
निर्वाचनका लागि आज राति ९ बजेदेखि भोलि बिहान १०ः३० बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकिएको छ। उनले निर्वाचनमा करीब २ हजार ४०० मतदाता सहभागी हुनेछन्।रासस
|
जब प्रज्ञा प्रतिष्ठानको पर्दा खुल्यो… काठमाडौं । हिउँदको शुरुआतसँगै पाँच बज्दा नबज्दै सूर्यास्त हुने तरखरमा थियो। राजधानीमा हल्का चिसोको महसुस हुन थालिसकेको थियो। यता नेपाल प्रज्ञा प्रतिष्ठानमा भने कला संस्कृतिका माध्यमबाट साहित्यप्रेमीको मन तताउने तयारी हुँदै थियो।
कला, साहित्य तथा संस्कृतिमा गहिरो लगाब भएका मूर्धन्य व्यक्तित्वको प्रतिष्ठान परिसरमा बाक्लै उपस्थिति थियो।
तिनै साहित्यप्रेमीको मन तताउन प्रतिष्ठानमा सांस्कृतिक कार्यक्रमको तयारी तीव्र भइरहेको थियो। दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन, २०७६ मा सहभागी हुन नेपाल आएका विदेशी साहित्य अनुरागी पनि नेपाली कला संस्कृतिको अवलोकन गर्न व्यग्र प्रतिक्षामा थिए।
नेपाल प्रज्ञा प्रतिष्ठानले सम्मेलनमा सहभागी हुन काठमाडौँ आएको स्वदेशी तथा विदेशी साहित्यकर्मीको स्वागतमा आज साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। साँझ ५ बजेका लागि कार्यक्रम आयोजना गरिए पनि तयारी स्वरुप केही समय ढिला भएको थियो।
प्रतिष्ठान परिसरमा उपस्थित साहित्य अनुरागीभित्र हलमा प्रवेश गर्दा पर्दा बन्द थियो। साहित्यप्रेमी कतिबेला पर्दा खुल्छ र कला संस्कृतिमा रम्न पाइन्छ भनेर व्यग्र प्रतिक्षामा थिए। झण्डै आधा घन्टा ढिला गरी हलको पर्दा खुल्यो, पर्दाभित्र समग्र नेपालको ग्रामीण भेगको वस्तुस्थित झल्कने गरी घरको स्वरुप दिइएको थियो। लाग्थ्यो प्रतिष्ठानको हलभित्रै ग्रामीण भेग हुने घर टपक्कै टिपेर ल्याइएको छ।
खरको छाना। पिँढीको खाँबो, झ्याल र ढोकामा ‘खोटो’ दलिएको, छानामाथि नाङ्ग्लामा गुन्द्रक, खुर्सानी सुकाइएको, पिँढीको ‘बलो’मा मकैको झुत्ता झुण्डयाइएको, अनि उज्यालोका लागि ‘लालटिन’ बालिएको, पिँढीमा जाँतो, डोको…यस्तैयस्तै।
विदेशीका माझ ती ग्रामीण पर्यटन प्रवद्र्धनको उत्कृष्ट नमूना नै थिए। तीनै घरको पिँढीमा कलाकार बाद्यवादनको साधनसहित तम्तयारी अवस्थमा बसेका थिए।
प्रतिष्ठानको सिङ्गो टोली अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवद्र्धन गर्दै नेपाली कला, संस्कृति विदेशी साहित्यकारलाई देखाउन आतुर थियो।
प्रतिष्ठानकै आयोजनामा गरिएको सो सांस्कृतिक कार्यक्रममा सांस्कृतिक संस्थान (नाचघर)का कलाकारले नेपालको कला संस्कृति झल्कने कलाकृति र नृत्य प्रस्तुत गरेका थिए। नेपालको सांस्कृतिक वैभव पस्केका थिए।
पश्चिमा संस्कृतिको गलत प्रभाव चिरेर एशियाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो।
मादल, ढोलक, बाँसुरीलगायत परम्परागत नेपाल लोकबाजाका साथको प्रस्तुतिबाट नेपालीसहित विदेशी साहित्यप्रेमी मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा प्रस्तुत गरिएका गीत, संगीत तथा नृत्यले विदेशी पाहुँनामाझ नेपाल कला संस्कृतिकमा निकै धनी भएको प्रतीत गरेको थियो।
पूर्वी, पश्चिमी, हिमाल, पहाड, तराई तथा उपत्यकाका जनजाति विदेशका गीत सङ्गीतले प्रतिष्ठान गुन्जायमान बनेको थियो। सास्कृतिक कार्यक्रममा मञ्जुश्री नाच, झागन, सेब्रु, कौडा, टप्पा, धिमे, साकेला, भुम्रा र हुड्केली गीत तथा नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रममा प्रस्तुत गरिएका नेपाली कला संस्कृतिले साहित्यिक पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने साहित्य अनुरागीको भनाइ थियो।
कार्यत्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले यस्ता सांस्कृतिक कार्यक्रममले एशियाली मुलुकबीच सद्भाव, सहिष्णुता, समन्वय, सहअस्तिस्व र शान्तिको भावना जागृत गराउने विश्वास व्यक्त गरे।
सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता हुनेछ। आगामी कात्तिक ३ गतेसम्मे चल्ने सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत हुनेछ।
सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवं पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धनसमेत गरिने कार्यक्रम छ। असोज ३० गते चन्द्रागिरि तथा आगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवम सांस्कृतिकस्थलको भ्रमण गराइनेछ।
यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो। साँझ छिप्पिसकेको थियो। हुड्केली नृत्यले तातेका साहित्यप्रेमी प्रतिष्ठानको हलबाट बाहिरिँदै गर्दा भन्दै थिए, “बाहिर कस्तो चिसो भइसके छ।” रासस
|
डिन अग्रवालमाथि कालोमोसो दल्ने विजय थापा आत्मसमर्पण गर्ने तयारीमा काठमाडौं । शैक्षिक अभियन्ता विजय थापाले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र (डिन) कार्यालयका डिन डा. जगदिश अग्रवालमाथि कालो मोसो दलेको घटनाको सम्पूर्ण जिम्मा आफूले लिने बताउँदै आजै प्रहरी प्रशासनमा आत्मसमर्पण गर्ने घोषणा गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै थापाले डिन अग्रवालमाथि दलिएको कालो मोसोको सम्पूर्ण जिम्मेवारी आफूले लिएको बताए । उनले भने, ‘भ्रष्टहरु विरुद्धको यो लडाई लड्दै गर्दा देशमा कानून छ, यसको पालना गर्नुपर्छ । कानूनको सम्मान र रक्षा पनि गर्नुपर्छ भन्नेमा म सजग छु । कानूनको सम्मान र पालना गर्नुपर्छ भनेर नै म यस प्रेस विज्ञप्तीसहित आज तपाईहरुको सामू उपस्थित् भएको छु ।’
थापाले कालोमोसो दल्न रहर नभएको बताउँदै भने, ‘यो समय र अवस्थाले निम्त्याएको बाध्यता थियो । अरु विकल्प सोच्न र खोज्न तत्कालिन् अवस्थामा सम्भव थिएन् ।’ थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘शिक्षा, स्वास्थ, रोजगार हाम्रो मौलिक अधिकार भन्ने नाराका साथमा हामी निरन्तर संघर्षरत रहेको सर्वविदितै छ । शिक्षा र स्वास्थ सेवालाई निःशुल्क, सर्बसुलभ, गुणस्तरीय, मर्यादित बनाई नेपाली जनताले यसलाई मौलिक अधिकारका रूपमा प्रत्यक्ष अनुभव गर्नसक्ने वातावरणको निर्माणार्थ केन्द्रित छौँ।’
स्वास्थ, शिक्षा र रोजगारलाई मौलिक अधिकारका रूपमा सुनिश्चितता सहितको प्रत्याभूति सरकारले नदिलाएसम्म आफूहरु निरन्तर रचनात्मक तवरमा दबाबमुलक, शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु निरन्तर अगाडि बढाईरहनेपनि थापाको जिकिर छ । उनले आफूले संघर्षकै क्रममा दुईपटक आफ्नो ज्यानको बाजी राखेर (सत्याग्रह) आमरण अनशनमा बसेको पनि बताए ।
थापाले आफूले अघि सारेका मागहरू पनि सार्वजनिक गरेका छन् । उनकाअनुसार शिक्षा, स्वास्थ्य, रोजगारलाई मौलिक अधिकारका रूपमा सुनिश्चितता गरि प्रत्यक्ष रूपमा अधिकारको उपयोग गर्नसक्ने ग्यारेन्टीको प्रत्याभूति दिलाईनुपर्ने, काठमाडौं उपत्यकाबाहिर तत्काल् मेडिकल कलेज खोल्ने खुलाउने बाताबरणको निर्माण गरि सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुले नेपालमै चिकित्सा शिक्षा अध्ययन गर्न सक्ने बाताबरण को निर्माण गरिनुपर्ने, बाङ्लादेशबाट डाक्टर पढेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेर मृत्यु भएका (१८) अठार जना डाक्टरहरुको परिवारलाई सरकारी तवरबाट क्षतिपूर्तिको ब्यबस्था गरिनुपर्ने लगायत छन् ।
त्यस्तै, उनले सरकारी तलबभत्ता, सेवासुबिधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीहरूलाई सरकारी सेवाबाट बर्खास्त गरि कडाभन्दा कडा कारबाही गरिनुपर्ने पनि आफूहरुको अर्को मुख्य माग रहेको सुनाए । आन्दोलन र अनशनका नाममा अनेकौं नाटक मन्चन गरि स्वास्थ संस्थाजस्तो अत्यन्तै संवेदशनी क्षेत्रलाईनै ठप्प पारी बन्धक बनाएर बार्गेनिङ गर्ने डाक्टर गोबिन्द केसी र भ्रष्ट डिन जगदीश अग्रवालसहितको अराजक झुंडहरुलाई तत्काल सरकारी सेवाबाट बर्खास्त गरि कडा कारबाही गरिनुपर्ने उनको माग छ ।
उनले अघि सारेका मागहरुमा प्लस टु माथीको उच्च शिक्षा नेपाल मै अध्ययन गर्ने बाताबरणको ब्यवस्था गरि अध्ययन का नाममा वर्षैनि देशबाहिर बिदेशीने गरेको (७०)सत्तरी अर्ब रुपैयाँ स्वदेशमै रहने बाताबरणको निर्माण गरिनुपर्ने, स्वदेशमै लगानी गरि रोजगारी सिर्जना गरेर यो देशको रास्ट्रिय पुँजी निर्माणार्थ सहयोग टेवा पुर्याउन दृढ़ संकल्पित उद्योगी, व्यावसायिहरुलाई प्राथमिकता राखेर लगानी गर्ने वातावरणको निर्माण गरि लगानी सुरक्षित गरिदिने वातावरणको निर्माण गरिनुपर्ने पनि रहेका छन्।
केही समय पहिले विद्यार्थीहरुले विभिन्न आठ बुँदे माग राखी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्यन संस्थान (आइओएम)को डिन कार्यलय र परिक्षा नियन्त्रण शाखामा लगाएको तालाबन्दी, विभिन्न मेडिकल कलेजबाट पीडित विद्यार्थीहरुको आन्दोलनप्रति विद्यार्थीहरुको सम्पुर्ण संघर्षका कार्यक्रमहरुप्रति पनि आफूहरुको प्रत्यक्ष सहभागिता र समर्थन सहितको एक्यवद्धता रहेको थापाले जनाए ।
उनले भने,‘ती आन्दोलनमा हाम्रो समर्थन र साथ थियो । अहिलेपनि छ र यो रहिरहने छ । हामीले बिगतदेखिनै चिकित्साशिक्षा ऐनले ब्यवस्था गरेको ७५५ प्रतिशत छात्रवृत्तिको प्राबधान लागु हुनुपर्छ, मेडिकल कलेजहरुले विभिन्न शिर्षकमा उठाउदै आएको मनोमानी शुल्क फिर्ता गरि उक्त मेडिकल कलेज उपर कारबाही हुनुपर्छ, तत्काल शक्तिशाली स्वतन्त्र चिकित्सा शिक्षा आयोगले पूर्णता पाउनुपर्छ, नेपालमा पहिलोपटक डिन जगदीश अग्रवालकै पालामा एमबिबिएस परीक्षाको प्रश्नपत्र परीक्षाअगावै पैसाको चलखेलमा बेचिएको घट्नामा डिन अग्रवालमाथी छानबिन हुनुपर्छ ।’
डिन जगदीश अग्रवालको शैक्षिक प्रमाणपत्र र सम्पत्ति छानबिन गर्नुपर्ने आफूहरुको पूर्ववत माग अहिलेपनि यथावत रहेको थापाको जिकिर छ। उनले भने, ‘डिन जगदीश अग्रवालको नागरिकता छानबिन हुनुपर्छ । हामीले यो मागसहित निरन्तर रूपमा सरकारलाई शान्तिपुर्ण तवरमा दबाब दिँदै आइरहेका थियौ । तर, हाम्रो आवाज यहाँपनि सुनिएन। पटकपटक सरोकारवाला निकाय (त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्यन संस्थान् (आइओएम) का डिन अग्रवाललाई विद्यार्थीहरुको समस्याहरुको विषयमा, डिन जगदीश अग्रवालमाथि नै उब्जिएका विभिन्न गम्भीर प्रकारका नैतिक प्रश्नहरुका विषयमा यिनै (आइओएम) डिनलाई नै हामीले ज्ञापनपत्र बुझाउदा च्यातेर फ्यालिदिनेसम्मका हर्कत देखाउनुभयो। जगदीश अग्रवाज्ञापनपत्र उहाँले कागजमात्रै सोच्नुभयो ।’
उनले हिजोमात्रै सरकारी सेवाबाट अनिवार्य अवकाश प्राप्त गरेका डा. गोविन्द केसीलाई ठगको संज्ञा दिए । केसीले नेपाली विद्यार्थीहरुलाई विदेश पढ्न पठाउन बाध्य गरेको उनको आरोप छ । उनले भने,‘नेपालमा मेडिकल कलेज खोल्न नदिने, आमरण अनशनको नाटक मञ्चन गर्नेहरुविरुद्ध हामी निरन्तर संघर्ष गर्छौं । यसको लागि बरु परे पटक पटक जेल जान्छौं । भ्रष्टहरुको दिनगिन्ती सुरु गरिसकेका छौं ।’
|
शुभेच्छा थापाको चलचित्र ‘लक्ष्मी रानी’ कार्तिक १ बाट देशभर प्रदर्शन हुँदै काठमाडौं । शुभेच्छा थापा द्वारा निर्देशित चलचित्रत्र ‘लक्ष्मी रानी’ कात्तिक १ गतेदेखि देशभर एकैसाथ प्रर्दशन हुन लागेको छ।
नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ दर्शकहरुको रोजाइमा पर्नेमा निर्माण पक्ष ढुक्क छ। शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’का परिकल्पनाकार पत्रकार विनोद त्रिपाठी हुन्।
यहि कात्तिक १ गते तिहारमा प्रर्दशन हुन लागेको ‘लक्ष्मी रानी’ चलचित्रले सबैको मन जित्ने कलाकारहरुको अपेक्षा रहेको छ।
नारी विषयलाई केन्द्र विन्दुमा राखेर निर्माण गरिएको सामाजिक कथामा आधारित चलचित्र ‘लक्ष्मी रानी’ले नेपाली चलचित्र उधोगमा नयाँ आयाम थप्नेमा निर्माण पक्ष ढुक्क भएको छ।
शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र देशका दुर्गमदेखि सुगम क्षेत्रमा छायाँकन गरिएको फिल्म हो। चर्चित पत्रकार विनोद त्रिपाठी यो चलचित्रका परिकल्पनाकार हुन्।
यो चलचित्र बिशुद्ध नेपाली नारीको अबस्था र सामाजिक परिवेशमा आधारित छ। ‘लक्ष्मी रानी’ चलचित्र नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो। उनले यस अघि दर्जन भन्दा बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भूमिका निर्वाह गरिसकेकी छिन्।
यो चलचित्रमा एउटा नारीले कसरी गाउँले जिवनयापनदेखि शहरिया शैलीलाई पछ्याएर जिन्दगी बिताउनका लागि संघर्ष गर्नुपरेको छ भन्ने देखाउने प्रयास गरिएको छ।
द्धन्द्ध, मनमुटाव, संघर्ष, गरिबी, शिक्षा र सफलतालाई यो चलचित्रको कथामा मुख्य जोड दिइएको निर्देशक थापाले जानकारी दिइन्। चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वंय थापाले गरेकी हुन्।
‘लक्ष्मी रानी’ मा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ। नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भुमिका छ।
अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी लगायत रहेका छन्। चलचित्रमा ‘लक्ष्मी रानी लाई ‘।’ भन्ने वोलको शीर्ष गीत रहेको छ ।
यसमा गायिका तथा गायकमा जुनु रिजाल–दौलत राई र गितकार लोक राई रहेका छन् । अर्को ‘फुल्यो सयपत्री‘।’ भन्ने वोलको गितमा गायक गायिका ध्रुबराज अधिकारीरसंगिता तिमिल्सेना र गितकार शंकर अधिकारी ‘घायल’ रहेका छन्।
दुवै गीतमा चर्चित युवा संगीतकार बबुल गिरीको संगित रहेको छ। चलचित्रलाई रामेश्वर हुमागाईं, दुर्गा वान्तवा राई र बासु न्यौपानेले छायाँकन गरेका छन्।
सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ। चलचित्र बितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रालिले जिम्मा लिएको छ।
चलचित्रको यतिबेला धमाधम डबिङको काम भइरहेको र यहि २०७६ सालको तिहारमा प्रर्दशनमा आउने तयारी थालिएको निर्माण पक्षले जनाएको छ।
‘लक्ष्मी रानी’ चलचित्रको सुदुरपश्चिमको दार्चुला, नेपालगञ्ज, चितवनको सौराहा, भैरहवा, काभ्रेको पनौती र काठमाडौंमा सुटिङ गरिएको थियो। यो चलचित्रमा हाम्रो समाजमा नारीहरुले जिवन जिउनका लागि कसरी संघर्ष गर्नु परेको छ भन्ने देखाउन खोजिएकोले सम्पुर्ण नेपाली दर्शकलाई ‘लक्ष्मी रानी’ मनपर्ने निर्देशक थापाले दाबी गरिन्।
नेपाली चलचित्र क्षेत्रमा यो फिल्मले ब्रेक थ्रु गर्नेछ, उनले भनिन्। यहि तिहारमा प्रर्दशनमा आउने ‘लक्ष्मी रानी’ चलचित्र हेर्न सम्पूर्ण नेपालीलाई निर्देशक थापाले आग्रह समेत गरेकी छिन्।
|
विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।
संयुक्त राज्य अमेरिकाको वाशिङटन डीसीमा आयोजना हुने बैठकका अतिरिक्त विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्राकोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारका लागि प्राप्त हुँदैआएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावनाबारे विस्तृत छलफल गर्ने कार्यक्रम तय भएको छ।
उनले सङ्घीयता कार्यान्वयनको क्रममा नेपालले हासिल गरेका अनुभवको आदानप्रदान गर्ने कार्यक्रममा समेत सहभागिता जनाउने भएका छन्। साथै विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थासँग नेपालको सहकार्य ५० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्।
नेपाललाई सहयोग गरिरहेका अन्य दातृ मुलुक तथा संस्थाका उच्च पदाधिकारीहरुसँग पनि उनले द्विपक्षीय भेट गर्नेछन्।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षता हाल नेपालले गरिरहेको परिप्रेक्ष्यमा सार्कका अर्थमन्त्रीहरु सम्मिलित अनौपचारिक बैठकको अध्यक्षतासमेत अर्थमन्त्री डा खतिवडाले गर्ने कार्यक्रम तय भएको छ।
प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालसमेत सहभागी हुनेछन्। अर्थमन्त्री डा खतिवडा कात्तिक ६ गते स्वदेश फर्किने कार्यक्रम छ। रासस
|
महराको अदालत देखि अस्पतालसम्मका दृश्य (भिडियो) काठमाडौं। जिल्ला अदालत काठमाडौंको परिसरमा गाडीबाट झर्दै गरेका कृष्णबहादुर महरालाई हेर्नेको भिड थियो। यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज मङ्गलबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको थियो। गाडिबाट ओर्लिंदा पत्रकारका क्यामेरा छल्न उनले प्रयास गरेका थिए। सुरक्षाकर्मीको घेरामा महराको अदालत देखि अस्पताल पुग्दाका दृश्य कैद गर्न पत्रकारलाई हम्मे परेको थियो।
अदालतले ३ दिन थुनामा राख्न आदेश दिएपछि उनी जसरी अदालत पुगेका थिए उस्तै सुरक्षा घेरा सहित महरा गाडी चढेर अदालतबाट बाहिरिएका थिए।
भिडियोमा हेर्नुस्ः
|
रारादेखि छायाँनाथ धामसम्म हेलिकोप्टर सेवा शुरु मुगु । दुई महिना अघि सुरु गरिने भनिएको रारादेखि छायानाथ धामहवाई प्याकेजको मंगलवार परीक्षण उडान गरिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षितगरी मंगलवार सदरमुकाम गमगढीदेखि छायानाथसम्म सिम्रिक एयरको नाईन एनएएलपिकल साईन हेलिकप्टरबाट परीक्षण उडान सम्पन्न गरिएको हो ।
परीक्षण उडानका क्रममा प्रतिनिधिसभा संसदका सदस्य गोपालबहादुर बम, कर्णाली प्रदेश पर्यटन प्रर्बद्धन समितिका संयोजक राजु कार्की, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लको टोली रारा छायानाथ प्याकेजको परीक्षण उडानमा सहभागि भएका थिए।
परीक्षण उडानपछि गमगढीमा संक्षिप्त प्रतिक्रियादिदै प्रतिनिधिसभा सदस्य बमले अबमुगुको पर्यटकीय स्थल रारा मात्रै नभएर धार्मिक स्थल छायानाथ माथिल्लो मुगु पनि पर्यटकीय गन्तव्यका रुपमा सुचिकृत हुन सक्ने बताए ।
रारा घुम्न आउने पर्यटकले रारामा स्नान गरि पवित्र तीर्थस्थल छायानाथ घुम्न चाहेमा हेलिकप्टर प्याकेज सञ्चालन गरिनु पर्यटन प्रर्बद्धनमा निकै सहयोग मिल्ने बमको भनाई छ। विशेष गरि छायानाथ धामबौद्ध धर्मालम्वी र हिन्दु धर्मालम्वीहरुले आ–आफ्नै शैलीमा पुज्ने भएकाले पनि धार्मिक पर्यटनको निकै सम्भावना भएको उनले बताए ।
नेपाल भ्रमण वर्षमा रारा छायानाथ प्याकेज मात्रै नभई से–फोक्सुण्डो रारा, रिभर टु रिभर, कान्जिरोवा–सैपाल माउण्टेन फ्लाईट, रारा सिमिकोट हिल्सा टुर्सलगायतका कर्णाली प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलमा विभिन्न कार्यक्रम सञ्चालन गरिने कर्णाली प्रदेश पर्यटन प्रर्बद्धन समितिका संयोजक राजु कार्कीले बताए। यस्ता प्याकेजले समग्र कर्णालीको पर्यटनको प्रर्बद्धनमा सहयोग पुग्ने दावी गरे।
दुई महिना अघि साउनबाट प्याकेज सञ्चालनगर्ने भनिएपनिप्रतिकुलमौसमकाकारण प्याकेज सञ्चालन हुन नसकेको उपयुक्त मौसम असोजदेखि जेठसम्म हवाई प्याकेज उपयुक्त देखिएको कार्कीको भनाई छ।राराबाट छायानाथ पुगेर पुनः रारा फर्किन एक पटकमा चारदेखि पाँचजना हेलिकप्टरमा जान सक्ने देखिएको सिम्रिक एयरका चालक हरेराम थापाले बताए ।
प्याकेज शुल्क
राराबाट छायाँनाथ र छायाँनाथबाट रारा पुग्न ३० मिनेटको समय लाग्ने गर्दछ भने प्याकेजका लागि २५ देखि ३५ हजार खर्च लाग्ने जनाईएको छ। छायाँनाथ पुग्दा सम्म मुगुकमारोङ्ग गाउँपालिका र छायाँनाथ रारा नगरपालिका मनोरम रमणीय स्थलकोे पनि अवलोकन गर्न सकिने बताईएको छ ।
छायाँनाथ धामको धार्मिक कथन
छायाँनाथ धाम कर्णाली अञ्चलको मुगु जिल्लाको पूर्वी क्षेत्र डोल्फु गाविसमा पर्ने छायानाथ धाम पुस्तौंदेखि नै दुई धर्मालम्बीको संगमस्थल बनेको छ । छायानाथको स्थापना, त्यसको धार्मिक तथा पौराणिक महत्वका विषयमा बौद्ध धर्म र हिन्दु धर्मालम्वीले आ–आफनै विश्लेषण र तर्क गरिरहेका छन् ।
मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि तीनदिनको पैदल यात्रापछि पुगिने छायानाथ धाम समुन्द्री सतहदेखि पाँचहजार मिटर माथिको उचाइमा अवस्थित छ। केदार नाथ, बद्रिनाथ, पशुपतिनाथभन्दा छायानाथलाई जेठो धामका रुपमा मानिन्छ भने यसको अर्को स्वरुप मानसरोवर पनि हो ।
छायानाथबाट रारा ताल हेर्न सकिन्छ भने कान्जिरोवालगायतका हिमालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । महादेवले शति देवीको शव बोकेर राराको बाटो हुँदै छायानाथ गएकाले छायानाथ धाम र हिमालको प्रतिबिम्ब रारामा पर्ने भएकाले कतिपयले रारालाई समेत तीर्थ स्थलका रुपमामान्ने गर्दछन् ।
हरेक १२ वर्षमाबाँदर वर्षका रुपमाबौद्ध धर्मालम्वीले छायाँनाथको जन्मवर्ष मनाउने गर्दछन्। यो वेला परम्परागत पहिरन लगाएर बुढा पाकादेखि बालबच्चा सबै छायानाथ जाने गर्दछन् ।
छायाँनाथमा पुगेर नाचगान पुजा पाठ गर्ने पनि गर्दछन्। यताहिन्दु धर्मालम्बीले पनि जनै पूर्णिमाका बेला नै छायानाथमा पुगेर, शिव, महादेवको रुप मानेर पुजापाठ गर्ने, आ–आफ्ना कुल देवताका मूर्तिहरू नुहाएर शुद्ध पार्ने काम समेत गर्दछन्
छायानाथको पानीलाई शुद्ध तथा जल मानेर ल्याउने र फलफूलका रुखमा छर्ने, छायानाथ पुग्न नसकेककाहरूलाई जलदिने गर्दछन् । देवी देवताका मूर्तिहरू छायानाथबाट शुद्ध पारेर ल्याएपछि जनै पूर्णिमाको विहान आफ्नो गाउँमा पुगेर देवी देवताको पूजापाठ र धामी नाच्ने बैदिक परम्परा छ ।
धार्मिक ग्रन्थ किवंदन्तीअनुसार महादेवले शति देवीको मृत शरीरलाई बोकेर डुल्दै जाने क्रममा शति देवीको अन्तिम शेष पतन भएको स्थान नै छायानाथ धाम हुन पुगेकाले हिन्दुको पवित्र धाम मानिएको विश्वास गरिदै आएको छ ।
छायानाथ दर्शन गर्दा मनले सोचेको कुरा पुरा हुने, देवी देवता पाइने र पुण्य कमाउने भन्दै हजारौं तीर्थ यात्री छायानाथ पुग्ने गर्दछन् ।
भारतको काशीजानु पहिले छायानाथको दर्शन गर्नु पर्ने हिन्दुहरूको मान्यता छ। कासी दर्शन गर्न जाँदात्यहाका पण्डितले छायानाथ गएको छ की छैन भनेर सोध्ने र नगएको भए बालुवाको थुप्रोले छायानाथको प्रति कबनाएर दर्शन गराएपछि मात्र कासीको दर्शन गराउने गरेको ब्राह्माणको भनाई छ ।
|
चिनियाँ राष्ट्रपतिको सुरक्षा व्यवस्था मजबुत बनाएको भन्दै एआइजिपीद्वारा धन्यवाद व्यक्त काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका महामहिम राष्ट्रपतिको २ दिने नेपाल भ्रमणको सिलसिलामा सुरक्षा व्यवस्थापनलाई मजबुत बनाई उत्कृष्ट रुपमा आ–आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले सम्पन्न गरेकोमा सम्पूर्ण सकल दर्जाका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा धन्यवाद दिएका छन्।
प्रधानमन्त्री, गृहमन्त्री एवम् चीन सरकारबाट समेत नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा भएको उल्लेख गर्दै निमित्त प्रहरी महानिरीक्षक कार्कीले भने, ‘यसको हकदार संगठन प्रमुखदेखि सबै दर्जाका प्रहरी कर्मचारीहरु रहेका छन्।’
सुरक्षामा सफल व्यवस्थापनको प्राप्त अनुभवबाट आगामी दिनमा अझै उत्कृष्ट तरीकाले अगाडि बढ्न निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक कार्कीले भने, ‘सबल टिम, सामूहिक भावना र आ–आफ्नो भूमिका पुरा गर्नमा नै सफलता छ, त्यो सबैले बुझ्नुपर्छ।’
संगठनलाई उत्कृष्ट बनाउन व्यवसायिकताका साथ झन बढी जिम्मेवार भएर राज्यले दिएको दायित्व रचनात्मक रुपमा सम्पादन गर्न अग्रसर हुनुपर्ने उनले बताए।
स्पष्ट र स्वच्छ तरीकाले नागरिक सेवा दिने कार्य समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समेटेको उल्लेख गर्दै उनले यस कार्यक्रमलाई सक्रिय रुपमा अगाडि लैजानुपर्ने बताए।
अपराध विरुद्ध कठोरतापूर्वक प्रस्तुत हुनपर्नेमा जोड दिँदै समाजमा हुने आवाञ्छित गतिबिधि नियन्त्रणमा कानूनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाई अगाडि बढ्न उनले निर्देशन समेत दिए।
साथै नजिकिंदै गरेका महान चाड शुभ दीपावली, छठ पर्व एवम् नेपाल संवतको सबैलाई शुभकामना दिँदै उक्त समयमा कुनै पनि अपराधिक गतिबिधि हुन नदिन थप सक्रिय रुपमा जिम्मेवारी वहन गर्नुपर्ने उनले बताए।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरुलगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।
|
विश्व खाद्य दिवस भव्यताका साथ मनाउने सरकारको तयारी काठमाडौं । सरकारले ३९ औं विश्व खाद्य दिवस भव्यताका साथ मनाउने भएको छ ।
कृषि विभागले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भोली असोज २९ गते (अक्टोबर १६ तारिक) का दिन विश्वभर मनाइने सो दिवसमा नेपालमा पनि भव्य रुपमा मनाउने जानकारी गराएको हो।
‘पहलः स्वस्थ आहार, भोकमुक्त संसार’ भन्ने मूल नाराका साथ भोली ३९ औं विश्व खाद्य दिवसमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलले जानकारी दिए।
कार्यक्रम अनुसार भोली (बुधबार) बिहान सो दिवसको अवसर पारेर बिहान ८ बजेदेखि १० बजेसम्म ललितपुरको हरिहर भवनदेखि जावलाखेल र जावलाखेलदेखि हरिहरभवनसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिनेछ ।
त्यसैगरी १० बजेदेखि २ बजेसम्म कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालको प्रमुख आतिथ्यमा विश्व खाद्य सम्बन्धि औपचारिक कार्यक्रम आयोजना हुने पनि विभागका महानिर्देशक पौडेलले बताए।
नेपालले खाद्य सुरक्षाको महत्व उजागर गर्ने उद्देश्यका साथ सन् १९८१ देखि सो दिवसमा राष्ट्रिय रुपमा मनाउँदै आएको छ।
|
‘चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशको सम्बन्ध सगरमाथाझैं उचाई र सागरझैं गहिराईमा पुर्याएको छ’ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सगरमाथाझैं उच्च र सागरझैं गहिराईमा पुर्याएको बताएका छन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असाधारण रुपले सफल रहेको उल्लेख गर्दै त्यसलाई तत्काल हुने लाभहानीको रुपमा हेर्न नहुने पनि स्पष्ट पारे।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले दुई मुलुकको बीचको सम्बन्धलाई सगरमाथाको उचाईमा पु¥याएको पनि बताए।
त्यसबाट सिंगो नेपाल र नेपाली जनता अत्यन्तै खुसी भएको मन्त्री बास्कोटाको भनाई छ । मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति र चीनको उचाईबाट भएको यो भ्रमणले नेपालको अन्तराष्ट्रिय स्तरमा ईज्जत, मान र प्रतिष्ठा पनि बढाएको उल्लेख गरे।
उनले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न सबैलाई आग्रहसमेत गरेका छन्।
मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणलाई नेपालको भलो चिताउने सो कसैले पनि हार्दिकताका साथ स्वागत गरेको पनि बताए।
|
नेपालकाे जलविद्युतमा लगानी गर्न एनआरएनलाई अर्थमन्त्री खतिवडाको आग्रह काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।
अर्थमन्त्री खतिवडाले गैर आवासीय नेपालीहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने आश्वासन पनि दिए।
गैर आवासीय नेपाली संघको मंगलबारबाट काठमाडौंमा सुरु भएको नवौं विश्व सम्मेलनको पहिलो सत्रलाई सम्बोधन गर्दै उनले सरकार एक्लैले मुलुकलाई समृद्ध बनाउन आवश्यक लगानी जुटाउन सम्भव नभएको उल्लेख गर्दै गैर आवासीय नेपालीहरुबाट जलविद्युत क्षेत्रको विकासका लागि वार्षिक रुपमा करिव ७० अर्व लगानीको अपेक्षा गरिएको पनि बताए।
अर्थमन्त्री खतिवडाले १० वर्षमा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि बाह्य लगानीको आवश्यक्तामा सरकारले जोड दिएको पनि स्पष्ट पारे।
त्यस अवसरमा अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासमा गैर आवासीय नेपालीहरुले गर्दै आएको सहयोगको खुलेर प्रशंशा पनि गरे।
कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालको आर्थिक विकासमा उत्प्रेरकको भूमिका निर्वाह गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरे।
उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन पूर्वाधार विकासमा जोड दिन सरकारलाई पनि सुझाव दिए।
काँग्रेस नेता महतले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले संस्थागत क्षमता विकासको कामलाई पनि तीव्रता दिनुपर्ने आवश्यक्ता औंल्याए।
|
२५ सय अमेरिकी डलरको अनेसास पुरस्कार डा. लुइँटेललाई काठमाडौँ । यस वर्षको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज राम लामा ‘अविनाशी’ विशिष्ट प्रतिभा पुरस्कार त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेललाई प्रदान गरिने भएको छ। तीन सदस्यीय पुरस्कार छनोट समितिको केही दिनअगाडि अमेरिकामा बसेको बैठकले साहित्यकार प्रा. डा. लुइँटेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त पुरस्कारको राशि दुई हजार ५०० अमेरिकी डलर छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा, साहित्यको विकास र अन्तरराष्ट्रिय करणका साथै अनेसासको वृहत्तर विकासमा विशिष्ट योगदान गरेका व्यक्तिलाई हरेक दुई वर्षमा उक्त पुरस्कार दिँदै आएको छ ।
नेपाली भाषा साहित्यको विकासमा अनवरत रुपमा लागेर आप्रवासमा नेपाली भाषा, साहित्यको विस्तार, संवद्र्धन र संरक्षणमा दिएको योगदान र नेपाली भाषाको अन्तर्राष्ट्रियकरणमा गरेको भूमिकाका आधारमा यस्तो निर्णय गरिएको उक्त समितिले जनाएको छ ।
अमेरिकाको क्यालफोर्निया निवासी लामाले स्थापना गरेको सो पुरस्कार यसअघि सन् २०१७ मा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो । आगामी नोबेम्बर १० मा अमेरिकाको वासिङ्टन डिसीमा आयोजित समारोहमा उक्त पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। रासस
|
मेस्सीबिनै अर्जेन्टिनाको आधा दर्जन गोल एजेन्सी। स्टार खेलाडी लियोनल मेस्सी र सर्जियो अग्युरोबिना मैदान उत्रिएको अर्जेन्टिनाले फिफाको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।
दुवै हाफमा ३-३ गोल गरेको अर्जेन्टिनाका लागि लुकास अलारियोले २० औं मिनेटमा गरेको गोलले नै टोलीलाई अग्रता दिलायो। इक्वेडरका जोन एस्पिनोजाले खेलको २७ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि अर्जेन्टिनाले २-० को अग्रता लियो । ३२औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएपछि लियान्ड्रो पारेडेसले टिमको लागि अर्को गोल जोडे।
दोस्रो हाफमा इक्वेडरका एन्जल मीनाले ४९ औं मिनेटमा गोल फर्काए । ६६ औ मिनेटमा जर्मन पेजेलाले अर्जेन्टिनाका लागि चौथो गोल गरे । निकोलास डोमिन्मुएजले ८२ औ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ५–१ ले अघि बढाए । खेल सकिन ४ मिनेट बाकीँ रहँदा लुकास ओकाम्पोसले गोल गर्दै अर्जेन्टिनालाई ६–१ गोलको फराकिलो जित दिलाए।
कप्तान लिओनेल मेस्सी प्रतिबन्धमा रहेको कारण राष्ट्रिय टोलीबाट खेलिरहेका छैनन्। कोपा अमेरिकाको दौरानमा कप्तान मेस्सी तिन महिनाका लागि प्रतिबन्धमा परेका थिए । उनी अर्को महिनाबाट टोलीमा फर्कने विश्वास गरिएको छ।
|
भारतमा आजदेखि नेपाल र भारतका ऊर्जा सचिवको बैठक शुरु हुँदै काठमाडौं। नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुँदैछ। बैठक दुई दिनसम्म चल्ने सो बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए।
बैठकमा नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन’ निर्माणलगायतका विषयमा सहमति जुटाउने लक्ष्य राखेको छ। ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइन निर्माण भई सञ्चालनमा समेत आइसकेको सन्दर्भमा दोस्रो अन्तर्देशीय प्रसारणलाइन निर्माणको ढाँचा उक्त बैठकले तय गर्ने नेपाली अधिकारीले विश्वास राखेका छन्। समितिको अघिल्ल्लो बैठक गत माघ ९ र १० मा पोखरामा सम्पन्न भएको थियो।
बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव घिमिरे र भारतका ऊर्जा सचिव एससी गर्गले नेतृत्व गर्ने तय भएको छ। यस्तै सहसचिवस्तरीय संयन्त्रको नेतृत्वका नेपालका तर्फबाट ऊर्जा हेर्ने सहसचिव प्रवीणराज अर्याल र भारतका सहसचिव एसकेजी रहातेले गर्ने कार्यक्रम छ। मन्त्रिपरिषद्को यही असोज १७ गते बसेको बैठकले संयुक्त निर्देशक समितिको बैठकमा भाग लिन तालुकदार मन्त्रालयका सचिवलगायतका अधिकारीलाई स्वीकृति दिएको थियो।
नेपाल पूर्वाधार सम्मेलनमा सहभागी हुन गत भदौ २६ गते यहाँ आएका भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग गरेको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रसारण लाइनको ढाँचा, निर्माण लागतलगायतका विषयलाई शीघ्र टुङ्गोमा पु–याइ निर्माण शुरु गर्ने सहमति भएको थियो ।
संयुक्त निर्देशक समितिको बैठकमासमेत सहभागी हुन जाने तयारीमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव घिमिरेका अनुसार दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषयलाई केन्द्रमा राखेर छलफल हुने र सहमति हुने विश्वास छ।
सो प्रसारणलाइन पनि ४०० केभी क्षमतामा नै निर्माण गर्ने तयारी छ। सो प्रसारण लाइनको निर्माणका विषयमा दुई देशबीच सैद्धान्तिक सहमति भए पनि कुन विधि र ढाँचामा निर्माण गर्ने भन्ने विषयमा थप परामर्श जरुरी रहेको भन्दै सहमति हुन सकेको थिएन।
|
सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण गरिने रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकलाई विस्तृत सूचना दिन सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण गर्नेभएको छ।
निकुञ्जको वार्षिक कार्यक्रमअनुसार सौराहामा रहेको सम्पर्क कार्यालयमा डिजिटल डिसप्लेसहित आधुनिक सूचना केन्द्र स्थापना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए।
केन्द्र निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रु एक करोड विनियोजन गरेको छ । सूचना अधिकारी घिमिरेकाअनुसार रु ६० लाखमा भवन निर्माण गरिने छ भने रु ४० लाखमा आठ वटा डिजिटल डिसप्ले, पुस्तक, ब्रुसर र अन्य उपयोगी सामग्री राखिने छ ।
नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । भ्रमण वर्ष आउन केही समय रहेकाले केन्द्र निर्माण गर्न निकुञ्जले सक्रियता बढाएको छ ।
केन्द्रमा निकुञ्जभित्र प्रवेश सम्पूर्ण अवस्थाको बारेमा अध्ययन गर्न सकिने छ । छोटो भ्रमणमा आउनेहरुले आफू जान नसकेका ठाउँहरुको बारेमा पनि जानकारी लिन सक्ने छन् ।
केन्द्रले निकुञ्जमा भएको वन, वन्यजन्तु, वनस्पति र जनवारको विषेशताको बारेमा पर्यटकलाई जानकारी दिएसँगै यसको विश्वव्यापी प्रचारप्रसार हुने निकुञ्जको विश्वास छ।रासस
|
राष्ट्रपति सीको राजकीय भ्रमण सम्पन्न, नेपाल-चीन सम्बन्ध नयाँ युगमा प्रवेश काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको दुईदिने राजकीय भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ।
यो भ्रमण दुई मुलुकबीच मैत्रीपूर्ण सहयोगको इतिहासमा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको दुवै देशले ठहर गरेका छन्।
भ्रमण सम्पन्न भएपछि दुई मुलुकले आज जारी गरेको एक संयुक्त विज्ञप्तिमा यस अवधिमा राष्ट्रपति सीले नेपाली समकक्षी विद्या भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको, राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सरिक भएको र न्यानो तथा सौहार्दपूर्ण वातावरणमा दुई मुलुकका नेताहरु आपसी सम्बन्ध तथा चासोका क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दामा गहन दृष्टिकोण आदान प्रदान गरी व्यापक समझदारीमा पुगेको उल्लेख गरिएको छ।
“दुई मुलुकबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यस सम्बन्धले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन भोगेको, निरन्तर तथा स्वस्थ्य ढङ्गले विकास प्राप्त गरेको र विभिन्न आकारका दुई मुलुकबीच शान्तिपूर्ण सहअस्तित्वका नमूना प्रस्तुत गरेको भनी दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्। दुवै पक्षले दुई मुलुकबीच दुई पक्षीय सम्बन्ध समानता, सौहाद्र्रपूर्ण, सहअस्तित्व र निरन्तर मित्रता र एकीकृत सहयोगका रुपमा चित्रित गर्न सकिने भनी स्वीकार गरेका छन्”, विज्ञप्तिमा भनिएको छ।
नेपाल तथा चीनले क्षेत्र तथा मार्ग प्रयास (बेल्ट एण्ड रोड इनिसिएटिभ) लाई सबै क्षेत्रमा एकीकृत रुपमा आपसी फाइदाका सहयोगलाई गहन बनाउने, साझा समृद्धि प्राप्त गर्न संयुक्त रुपमा प्रयास गर्ने तथा यस क्षेत्रमा शान्ति, स्थायित्व तथा विकास कायम गर्न आफूलाई लागि पराउने महत्वपूर्ण अवसरको रुपमा लिएका छन्।
नेपाल र चीनबीच दुई पक्षीय सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको छ। दुबै पक्षले शान्तिपूर्ण सह अस्तित्वको पाँच सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको घोषणापत्र, असल छिमेकका सिद्धान्तका साथै निरन्तर मित्रताका आधारमा विकास तथा समृद्धिका लागि नेपाल चीनबीच रणनीतिक र एकीकृत साझेदारी कायम गर्ने निर्णय गरेका छन्।
“दुवै पक्षले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्ने तथा एकअर्काको चासो एवं मूल अभिरुचिलाई सम्मान गर्ने कुरामा सहमति व्यक्त गरेका छन्। दुवै पक्षले असल छिमेकका नीतिलाई पालना गर्दै आपसी फाइदा प्राप्त गर्न तथा मिलेरै स्थिरता तथा विकासका लागि प्रयास गर्न सहविजेताका रुपमा समग्र सहयोगलाई गहन बनाउने छन्”, विज्ञप्तिमा भनिएको छ।
नेपाली पक्षले एक चीन नीतिप्रति दृढ वचनबद्धता तथा ताइवान चिनियाँ क्षेत्रको अविच्छिन्न भाग भएको, तिब्बत मामिला चीनको आन्तरिक विषय भएको र आफ्नो भूमिमा चीन विरोधी गतिविधि हुन नदिने दृढता दोहोर्याएको छ।
चिनियाँ पक्षले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता कायम गर्न नेपाललाई दृढ सहयोग गर्ने तथा नेपालको राष्ट्रिय परिस्थितिमा स्वतन्त्रतापूर्ण छनोट गरिएको नेपालको सामाजिक प्रणाली तथा विकासका मार्गलाई दृढ सहयोग तथा सम्मान गर्ने दृढता दोहोर्याएको छ।
“चिनियाँ पक्षले नेपाललाई ऐतिहासिक तथा युगान्तकारी राजनीतिक सङ्क्रमण तथा उसको दु्रत आर्थिक तथा सामाजिक विकासका लागि बधाई व्यक्त गरेको छ। उसले नेपाली जनता एकबद्ध भएर ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार गर्नेतर्फ अगाडि बढ्नेछन् र यसबाट राजनीतिक स्थिरता, सामाजिक समन्वय तथा द्रुत आर्थिक विकास प्राप्त हुने विश्वास गरेको छ। शासन व्यवस्थाका अनुभवमा नेपाली पक्षसँग निरन्तर अन्तरक्रिया गर्न चिनियाँ पक्षले चाहना व्यक्त गरेको छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाली पक्षले जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा बधाई ज्ञापन गरेको छ। बितेका ७० वर्षको अवधिमा विकासका क्षेत्रमा चीनले हासिल गरेको आश्चर्यजनक प्रगतिको सराहना गरेको छ।
नेपालले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चिनियाँ प्रकृतिको समाजवादमार्फत नयाँ युगमा प्रवेश होस् र चिनियाँ जनताले दुई शताब्दीको विकास लक्ष्य प्राप्त गर्न प्रयास गरी चीनलाई महान्, आधुनिक–सामाजिक, समृद्ध, बलियो, प्रजातान्त्रिक, सांस्कृतिकरुपमा आधुनिक, समन्वयपूर्ण तथा सुन्दर मुलुक बनाउन सकुन् भन्ने हार्दिक कामना गरेको छ।
“दुवै पक्षले दुईपक्षीय सम्बन्ध विकासका लागि उच्चस्तरीय सम्पर्क विशेष महत्वपूर्ण भएको बुझेका छन्। दुवै पक्षले उच्चस्तरीय भ्रमणको गति कायम गर्न, आपसी विश्वास गहन बनाउन, मन्त्रालय, विभाग, संसद् तथा राजनीतिक दलका सबै तहमा भ्रमण आदानप्रदान तथा सहयोग विस्तार गर्न सहमति व्यक्त गरेका छन्”, विज्ञप्तिमा भनिएको छ।
नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गरी सन् २०३० सम्ममा मध्य आययुक्त मुलुक बनाउने तथा दिगो विकासका लक्ष्य प्राप्त गर्ने नेपालको विकासका ‘एजेण्डा’लाई महत्वपूर्णरुपमा सहयोग गर्न हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल संरचनाभित्र बन्दरगाह, सडक, रेलमार्ग, हवाई यातायात तथा सञ्चारजस्ता महत्वपूर्ण संरचना विस्तार गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका लागि सझदारीपत्रलाई गहनरुपमा कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका छन्।
सन् २०१८ को जुन २१ मा दुई मुलुकबीच हस्ताक्षर भएको ‘रेलमार्ग परियोजनामा सहयोग’ विषयक सहमतिपत्रलाई स्मरण गर्दै दुवै पक्षले अन्तरसीमा रेलमार्ग निर्माण गर्ने कार्य आरम्भ गर्न महत्वपूर्ण जग राख्ने सन् २०१९ को अक्टोबर १३ मा भएको सहमतिपत्रमा उल्लेख गरिएको सम्भाव्यता अध्ययन गर्ने सहमति व्यक्त गरेका छन्। दुवै पक्षले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग परियोजनामा सहयोग विस्तार गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याएका छन्।
दुवै पक्षले झाङ्मु÷खासा बन्दरगाहको ढुवानी कार्यलाई पुनःखोल्ने तथा पुनःस्थापना गर्ने कामलाई स्वागत गर्दै जिलोङ÷केरुङ बन्दरगाहको कामलाई अधिकतम बनाउनेछन् तथा लिजी÷नेचुङ बन्दरगाहलाई सकेसम्म छिटो समयमा खुला गर्नेछन् र सीमाको नेपाली भागमा आवश्यक आधारभूत संरचना निर्माण गर्नेछन्।
“दुवै पक्षले माल ढुवानीका लागि चीनको तिब्बतमा नेपालले राजमार्ग उपयोग गर्नेसम्बन्धी प्रोटोकल तथा पारगमन यातायातसम्बन्धी समझौताको प्रोटोकल कार्यान्वयनलाई निरन्तर दिनेछन्। अरनिको राजमार्गको दीर्घकालीन सञ्चालनलाई कायम राख्ने आधारमा दुवै पक्षले चरणबद्धरुपमा प्राथमिकताका आधारमा राजमार्गको सुधारीकरण तथा पुनःनिर्माणमा सहयोग गर्ने सहमति गरेका छन्। स्याफ्रुबेंसी–रसुवागढी राजमार्ग मर्मत आरम्भ गर्न चिनियाँ पक्षले आफ्नो तत्परता व्यक्त गरेको छ”, विज्ञप्तिमा भनिएको छ।
दुई मुलुकबीच सम्पर्कको स्तर विस्तार गर्नुपर्ने महत्व अनुभव गर्दै दुवै पक्षले जिलोङ÷केरुङदेखि काठमाडौँसम्मको मार्गमा सुरुङ निर्माण गर्ने सम्भाव्यता अध्ययन गर्ने कुरामा सक्रियतापूर्वक सहयोग गर्न सहमति जनाएका छन्।
“कोशी राजमार्गको किमाथाङ्का–लेगुवाघाट भागको निर्माणका लागि नेपाली पक्षले गरेको अनुरोधलाई चिनियाँ पक्षले नोट लिएको छ तथा भविष्यको सहयोग योजनामा यस परियोजनामा विचार गर्न सहमति व्यक्त गरेको छ र नेपाली पक्षलाई यसको विस्तृत प्रस्ताव प्रस्तुत गर्न आग्रह गरेको छ”, विज्ञप्तिमा भनिएको छ।
दुवै पक्षले रोजगारी सिर्जना गर्न, स्थानीय जीविका सुधार गर्न तथा आर्थिक वृद्धि तथा विकासका लागि कोशी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर तथा कर्णाली आर्थिक करिडोरका रुपमा रहेको उत्तर–दक्षिण करिडोरको विकास गर्न सन् २०१८ को जुन २१ मा बेइजिङमा जारी भएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको विषयमा सम्भाव्यता अध्ययन गर्ने कार्यलाई अगाडि बढाउने कुरा दोहो¥याएका छन्।
चिनियाँ पक्षले रेलमार्ग, सडक तथा सुरुङ इञ्जिनीयरिङका साथै आन्तरिक जलमार्ग तथा ‘सिपिङ’का क्षेत्रमा नेपाली प्राविधिक मानवीय स्रोतलाई तालीमका लागि सहयोग उपलब्ध गराउनेछ। थप प्रत्यक्ष हवाई सेवा आरम्भ र सञ्चालनका लागि अभिप्रेरित गर्न दुवै पक्षका वायुसेवाका लागि संरचनाभित्र आफ्ना हवाई अधिकार विस्तार गर्ने विषयमा दुवै मुलुकका नागरिक उड्डयन अधिकारीहरुले मतैक्यता व्यक्त गरेकामा दुवै पक्षले स्वागत गरेका छन्। छिटो समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सकियोस् भनी यसको निर्माणलाई गति दिन दुवै पक्षले नजिकमा समन्वय गर्नेछन्।
नेपाल चीन सीमापार अप्टिकल फाइबर केबलको सफल व्यापारिक सञ्चालन भएकामा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् र आपसी फाइदाका लागि सूचना तथा सञ्चारका क्षेत्रमा सहयोग थप बलियो बनाउन सहमति व्यक्त गरेका छन्।
आपसी विकास प्रवद्र्धन गर्न व्यापार, पर्यटन, लगानी, उत्पादनको क्षमता तथा जनताको जीवनस्तर सुधार्न अर्थतन्त्रका विभिन्न क्षेत्रमा सहयोग बलियो बनाउन दुवै पक्ष सहमत भएका छन्।
दुईपक्षीय लगानी तथा व्यापारमा सहयोग गर्न अर्थतन्त्र तथा व्यापारका क्षेत्रमा नेपाल–चीन संयुक्त आयोगको संरचनाभित्र दुवै पक्षले लगानी सहयोग तथा व्यापारमा सचिव÷उपमन्त्रीस्तरका अधिकारी वा उनीहरुले तोकेका अधिकारीको नेतृत्वमा एक÷एक कार्य समूह गठन गर्नेछन्।
चिनियाँ पक्षले नेपाली पक्षलाई सन् २०१९ को नोभेम्बरमा साङ्घाइमा आयोजना हुने दोस्रो चीन अन्तर्राष्ट्रिय आयातसम्बन्धी राष्ट्रिय प्रदर्शनीमा भाग लिन स्वागत गरेको छ।
दुई मुलुकबीच व्यापार सम्बन्ध बलियो बनाउने दृष्टिकोणले दुवै पक्षले एकीकृत छलफल आयोजना गर्नेछन्। चीनमा नेपाली निर्यातलाई विस्तार गर्न चिनियाँ पक्षले सकारात्मक उपाय अवलम्बन गर्नेछ।
नेपालमा बहुउपयोगी प्रयोगशाला स्थापना गर्न प्राविधिक सहयोग उपलब्ध गराउन तथा तातोपानी लार्चास्थित सीमा निरीक्षण केन्द्रलाई काम गर्नसक्ने बनाउन चिनियाँ पक्षले विचार गर्नेछ।
नेपालले दुई मुलुकबीच व्यापार तथा लगानीलाई सहयोग उपलब्ध गराउने दृष्टिकोणले नेपालमा चिनियाँ बैंकका शाखा तथा अन्य वित्तीय सेवा खोल्न सहयोग गर्नेछ।
पारवहन यातायात सम्झौताको प्रोटोकललाई सकेसम्म छिटो कार्यान्वयन गर्न दुवै पक्षले आफ्नो आन्तरिक प्रक्रिया पूरा गर्नेछन् र यसलाई सकेसम्म छिटो कार्यान्वयन गर्न प्रयास गर्नेछन्।
दुवै देशले नेपालका अमिलो वर्गका फलफूल चीन निर्यात गर्नेसम्बन्धी फाइटोस्यानेटरी (वनस्पति स्वच्छता)को आवश्यकतासम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएकोमा स्वागत गरेका छन्।
साथै दुवै पक्षले चाँडोभन्दा चाँडो खाद्यसुरक्षासम्बन्धी आयातनिर्यात सहयोग समझदारीलाई निष्कर्षमा पुर्याउन सहमति जनाएका छन्।
दुवै पक्षले उत्पादन क्षमता तथा लगानी उद्योग उपक्रम प्रमुखताका सिद्धान्तका आधारमा निरन्तरता दिन तथा व्यापारका सिद्धान्तको पूर्णपालना र अन्तर्राष्ट्रिय साझा अभ्यास, बजार प्रवद्र्धनका सिद्धान्तको परिपालनालाई निरन्तरता दिनेछन्।
नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र चीनको राष्ट्रिय ऊर्जा प्रशासनबीच सन् २०१८ को जुन २१ तारिखमा भएको ऊर्जा सहयोगसम्बन्धी समझदारीपत्रका आधारमा जलविद्युत्, वायुऊर्जा, सौर्यऊर्जा, जैविक इन्धन र सबै किसिमका नयाँ ऊर्जा ग्रीड प्रणालीमा सहयोग आदानप्रदान गर्न दुवै पक्षले नेपाल–चीन ऊर्जा सहायतासम्बन्धी संयुक्त कार्यान्वयन संयन्त्रलाई पूर्णरुपमा सक्रिय तुल्याउने भएका छन्।
दुवै देश नेपाल–चीन विद्युत् ऊर्जा सहयोग योजनालाई एक वर्षभित्र संयुक्तरुपमा पूरा गर्न सहमत भएका छन्। यो योजनालाई दुईपक्षीय विद्युतीय ऊर्जा सहयोग प्रवद्र्धन तथा कार्यान्वयनका निम्ति मार्गदर्शकका रुपमा स्वीकार गर्न पनि दुवै पक्ष सहमत भएका छन्।
नेपालको विकास प्रयासमा चिनियाँ पक्षले गरेको सहयोगको सराहना तथा २०७२ सालको भूकम्पपछि तत्काल खुला हृदयले स्वस्फूर्तरुपमा गरेको सहयोगको नेपाली पक्षले मुक्तकण्ठले प्रशंसा गरेको छ।
नेपालको सामाजिक–आर्थिक विकासका लागि आफ्नो क्षमताअनुसार चीन सरकारले निरन्तर सहयोग गर्नेछ। उक्त सहयोगले नेपाली जनताको जीवनयापन सुधारका क्षेत्रमा जोड दिनेछ।
स्वर्गीय जननेता मदन भण्डारीको सम्मानमा बहुविषय अध्यापन हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी नेपालको आकाङ्क्षालाई चिनियाँ पक्षले उच्च महत्व दिएको छ।
उक्त विश्वविद्यालयका लागि नेपाल सरकारले उपयुक्त स्थान निर्धारण गरेपछि चीनले चाँडोभन्दा चाँडो सहयोग गर्नेछ। विश्वविद्यालय निर्माणसम्बन्धी चिनियाँ कार्यदलको प्रतिवेदशनका आधारमा दुवै देशले विचारविमर्श गर्नेछन्।
काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिको गुणस्तर सुधार्ने परियोजनालाई दु्रतगतिमा अघि बढाउन चिनियाँ पक्षले तत्परता देखाएको छ।
नेपालको हिमाली क्षेत्रमा छरिएर रहेका बस्तीलाई एकीकृतरुपमा विकास गर्ने नेपालको प्रस्तावलाई चिनियाँ पक्षले भावी योजना कार्यान्वयन गर्ने सन्दर्भमा जानकारीमा लिएको छ। नेपालको उक्त प्रस्तावप्रति चीनले आफ्ना अनुभव आदानप्रदान र सहयोग गर्ने इच्छा प्रकट गरेको छ।
नेपाल र चीनबीचको अनन्तकालसम्म रहिरहने मैत्रीको प्रतीकका रुपमा रहेको सगरमाथा शिखरलाई स्वीकार गर्दै दुवै पक्षले जलवायु परिर्वतन तथा पर्यावरण संरक्षणका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने भएका छन्। दुवै देशले सगरमाथाको वैज्ञानिक अनुसन्धान गरेर त्यसको उचाई संयुक्तरुपमा घोषणा गर्नेछन्।
सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकामा दुवै देशले सन्तोष व्यक्त गरेका छन्। यसबाट दुवै देशबीच सीमा व्यवस्थापन सहयोग गर्र्न मद्दत पुग्नेछ।
आपराधिक गतिविधिसम्बन्धी पारस्परिक कानूनी सहायतासम्बन्धी सन्धिमा हस्ताक्षर भएकामा पनि दुवै देशले सन्तोष व्यक्त गरेका छन्। साथै दुवै पक्षले उक्त सन्धिबाट चाँडोभन्दा चाँडो प्रत्यर्पण सन्धि टुङ्ग्याउन मार्गप्रशस्त हुने आशा व्यक्त गरेका छन्।
कानून कार्यान्वयन निकायबीच सूचना आदानप्रदान, क्षमता अभिवृद्धि तथा प्रशिक्षणमा सहयोग सुदृढ गर्न नेपाल र चीनले सहमति जनाएका छन्। आगामी तीन वर्षसम्म चीनले १०० जना नेपाली कानून कार्यान्वयन गर्ने अधिकारीलाई प्रशिक्षणको अवसर प्रदान गर्नेछ।
उक्त प्रशिक्षणमा वर्षेनी १०० जना नेपाली सहभागी हुनेछन्। सुरक्षा क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने सन्दर्भमा दुवै देशका सुरक्षा अधिकारीबीच भ्रमणको आदानप्रदान, संयुक्त अभ्यास तथा तालीम, विपत्ति रोकथाम तथा न्यूनीकरण र कर्मचारी तालीम आयोजना हुनेछन्।
दुवै पक्ष शिक्षा, संस्कृति, पर्यटन, परम्परागत उपचार पद्धति, आमसञ्चार विद्वत्वर्ग, युवा आदानप्रदानका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्न सहमत भएका छन्।
चिनियाँ पक्षले १०० जना नेपालीलाई कन्फ्युसस प्रतिष्ठानमा छात्रवृत्ति प्रदान गर्नेछ। नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन चीनले सहयोग गर्नुका साथै नेपाली पक्षलाई चीनमा आयोजना हुने यात्रा मेलामा स्वागत गर्ने तत्परता व्यक्त गरेको छ।
चीनले आफ्नो भूमिमा नेपालको पर्यटन प्रवद्र्धनमा सहजकर्ताको भूमिका निर्वाह गर्नेछ। चिनियाँ पक्षले नवौँ चीन महोत्सव तथा चौथो काठमाडौँ सांस्कृतिक मञ्च आयोजना गरेर नेपालमा चिनियाँ सांस्कृतिक केन्द्र र कन्फ्युसस प्रतिष्ठानले नेपाल–चीन संस्कृति प्रवद्र्धनमा प्रोत्साहन गर्नेछन्।
नेपालको काठमाडौँ र चीनको नान्जिङ तथा बुटवल उपमहानगरपालिका र चीनको सियाननगरले मैत्रीपूर्ण सम्बन्ध स्थापना गरेकामा दुवै पक्षले त्यसको स्वागत गरेका छन्।
सिचुवान प्रान्तको छेन्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्ने नेपालको प्रस्तावप्रति चिनियाँ पक्षले सहमति जनाएको छ।
नेपाल–चीनबीच विद्यमान विभिन्न संयन्त्रहरुलाई पुनर्गति दिन तथा पारस्परिक लाभ र सहयोगका क्षेत्रलाई थप सुदृढ तुल्याउन दुवै पक्षले सहमति जनाएका छन्।
संयुक्त राष्ट्रसङ्घ तथा अन्य बहुपक्षीय मञ्चहरुमा सहकार्य गर्न तथा विकासोन्मुख देशका साझा चासोका विषयको रक्षा गर्न दुवै देश सहमत भएका छन्।
क्षेत्रीय मुद्दाहरुमा सहकार्य र सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा दुवै पक्षले फलदायी विचार आदानप्रदान गरेका थिए। दुवै देशले बहुपक्षीय व्यापार प्रणाली तथा आर्थिक भूमण्डलीकरणका साझा लाभ तथा समावेशी एवं सन्तुलित हुनुपर्नेमा दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
चीन स्थापनाको ७०औँ वार्षिकोत्सवको ऐतिहासिक अवसरमा राष्ट्रपति सीबाट भएको नेपालको राजकीय भ्रमणलाई दुवै पक्षले उच्च स्थान दिएका छन् भने यो भ्रमणबाट नेपाल–चीन सम्बन्ध नवयुगमा प्रवेश गरेको छ।
राष्ट्रपतिको यो भ्रमणबाट दुई देशबीचको मैत्रीपूर्ण सहकार्यमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। चिनियाँ पक्षले नेपाल सरकार र यहाँका जनताप्रति न्यानो आतिथ्य र मैत्रीपूर्ण स्वागतका निम्ति हार्दिक आभार व्यक्त गरेको छ।
राष्ट्रपति सीले नेपालको नेतृत्व वर्गलाई नेपाल र चीनलाई अनुकूल हुने समयमा पुनःचीन भ्रमण गर्न हार्दिक निमन्त्रणा गरेका छन्। त्यस निम्ति नेपाल र चीन कूटनीतिक माध्यमबाट निरन्तर सम्पर्कमा रहनेछन्।रासस
|
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना सर्बिया प्रस्थान काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १४१औँ सम्मेलनमा भाग लिन आज सर्बियाको बेलग्रेड प्रस्थान गरेका छन्।
अध्यक्ष तिमिल्सिना नेतृत्वको सङ्घीय संसद्को प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यद्वय खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागीका लागि प्रस्थान गरेका हुन्।
नेपाललगायत १७१ राष्ट्रका संसद् र अन्य ११ एसोसियट सदस्य रह्को आइपियुको १४१औं सम्मेलन अक्टोबर १३ देखि १७ सम्म चल्नेछ।
उक्त सम्मेलनमा सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँल र अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेल सहभागी हुनेछन्।रासस
|
शीर्ष राजनीतिक भेटघाटले समस्या समाधानमा सहज हुन्छ : सभापति देउवा काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चियापनजस्ता कार्यक्रममा हुने शीर्ष राजनीतिक भेटघाटले मुलुकका ठूला समस्यालाई वार्ता, छलफल र सहमतिद्वारा समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्ता भेटघाटले राजनीतिक रुपमा जतिसुकै मतभेद भएता पनि भेटघाट गर्ने शुभकामना आदानप्रदान गर्ने संस्कृत विकास भएको बताए।
सञ्चाकर्मीको जिज्ञासामा सभापति देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध अझ घनिष्ठ भएको बताउँदै राष्ट्रपति सीसँगको आफ्नो भेटमा काङ्ग्रेसले सदैव एक चीन नीति स्वीकार गरेको तथा चीनको खिलापमा नेपालको भूमि प्रयोग हुन नदिने विषयमा नेपाल प्रतिबद्ध रहेको आफूले सुनाएको उल्लेख गरे।
भेटमा नेपालको विकासमा चीनले प्रदान गरेको सहयोगको प्रशंसा गर्दै निरन्तरताको अपेक्षा गरेको सुनाउँदै सभापति देउवाले राष्ट्रपति सीले आफूलाई चीन भ्रमणको निमन्त्रणा गरेको र समय मिलाएर चीन भ्रमणमा जाने उल्लेख गरे।
विसं २०३३ मा काङ्ग्रेस संस्थापक एवम् जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ। रासस
|
भक्तपुरकाे नवदुर्गा गणमा राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोजाग्रत पूर्णिमाका अवसरमा आईतबार भक्तपुरस्थित नवदुर्गा गणको दर्शन गरेकी छन्।
दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुखबाट गरिदै आएको पुजाको निरन्तरता स्वरुप उनले भक्तपुर नगरपालिका वडा नम्वर ९ स्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पुजा गरि नवदुर्गा गणको दर्शन गरेकी हुन्।
सो अवसरमा पहिलो पटक ‘देवता प्रर्दशन’ कार्यक्रम समेत गरिएको थियो । राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणको दर्शन, पुजा र प्रसाद ग्रहण गर्न आउने अवसर पारेर ‘देवता प्रर्दशन’को कार्यक्रम गरिएको हो ।
राष्ट्रपति भण्डारीको सम्मानमा उनको सामु प्रदर्शनी गरिएको द्यो ब्वोय्केगु अर्थात् ‘देवता प्रर्दशन’ कार्यक्रममा बनकालाहरुले विभिन्न देखाएका थिए । झण्डै एकघण्टा सम्म बाजागाजा सहितको नाच कार्यक्रम चलेको थियो।
देवगणको पूजामा वहान (सुँगुरको पाठो)को बली दिने चलन छ। सो कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले १ लाख १५ हजार रुपैयाँ र संस्थानले २५ हजार रुपैया उपलब्ध गराएको थियो ।
|
काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुन्छ : अध्यक्ष दाहाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुने गरेको बताएका छन्।
काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले काङ्ग्रेसलाई आफूले नेपालको परिवर्तनको सहयात्री दलका रुपमा लिएको बताए।
उनले भने, “हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ, मलाई विश्वास छ, हाम्रो सहयात्रा जारी रहनेछ । हाम्रो एकता र शान्तिप्रतिको सङ्कल्प जारी रहनेछ।”
चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको सुरुआत काङ्ग्रेसबाटै भएको बताउँदै उनले अहिले यो एउटा राष्ट्रिय राजनीतिक संस्कृति जस्तै गरी स्थापित भएको छ भने।
“अहिले सबैले शुभकामना आदानप्रदान कार्यक्रम हाम्रो ऐतिहासिकता, संस्कृति र राजनीतिक सहकार्यको चरित्रलाई अक्षुण राख्ने माध्यम बन्न गएको छ”, अध्यक्ष दाहालले भने। राजनीतिमा असम्भव भन्ने कुरा केही नभएको उनको भनाइ थियो।
“असम्भव देखिने कुरा पनि राजनीतिक पार्टी र नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउने कुराको ठूलो दृष्टान्त पछिल्लो चरणमा काङ्ग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइराला र मेरोबीचमा हस्ताक्षर भएको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा सहकार्यको सहयात्राले प्रमाणित गरेको छ”, अध्यक्ष दाहालले भने।
सो अवसरमा अध्यक्ष दाहालले यस प्रकारका शुभकामना आदानप्रदान गर्दै गर्दा त्यो महाअभियान, त्यतिबेला लिएका सङ्कल्प र प्रतिबद्धता प्रति दृढ रहँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत देशको राष्ट्रिय स्वाधिनता तथा जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्ने कुरा नै मुख्य हो भने।
विसं २०३३ मा काङ्ग्रेस संस्थापक एवम् जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह आयोजना गर्दै आएको छ। रासस
|
राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान… काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिएका थिए।
नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उनको मुद्रा खुसी देखिन्थ्यो । आज स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनको बिदाइ स्वरुप आयोजना गरिएको मौलिक नृत्यमा उनी केही बेर टक्क अडिए। नृत्य अवलोकनका समय उनको मुहारमा मन्द मुस्कान झल्किएको थियो।
उनका सामु कलाकारले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कौरा, थारु नाच, सुर्खेती झ्याउरे, साकेला, तराईको झिंझिया, काठमाडौँको नेवारी र कर्णालीको हुड्केली नाच प्रस्तुत गरेका थिए।
त्यसो त नेपाली मौलिक पोशाकमा सजिएर उनको बिदाइमा लामबद्ध विद्यार्थी र बालबालिकासँग औधी रमाउँदै उनले केही बेर भलाकुसारीसमेत गरे।
बालबालिकाले चिनियाँ भाषाको प्रयोग गरेर नेपाल भ्रमण गरेकोमा यहाँलाई धेरैधेरै धन्यवाद भन्दै भेट्न पाएकोमा खुसी व्यक्त गर्दा र बिदाइको हात हल्लाउँदा चिनियाँ भाषामै उनले बालबालिकालाई धन्यवाद फर्काएका थिए।
विमानस्थलको विशिष्ट कक्षमा बालबालिका र विद्यार्थीले नेपाली र चिनियाँ झण्डा फहराएर शनिबार उनको स्वागत र आइतबार बिदाइ गरेका थिए।
स्वागतका क्रममा बालबालिकासँग निक्कै खुसी देखिएका राष्ट्रपति सी बिदाइका क्रममा नेपालको सातै प्रदेशको पहिचान झल्कने मौलिक पोशाक लगाएर कलाकारले प्रस्तुत गरेको नृत्यमा भरपुर मनोरञ्जन लिए।
एक जना बालिका भिन्तुना श्रेष्ठ चीनका राष्ट्रपति सीलाई नजिकबाट देख्न र आफ्नो मौलिक पहिचान देखाउन पाउँदा निक्कै खुसी लागेको प्रतिक्रिया दिए। सीको शारीरिक हाउभाउले नै नेपालीको न्यानो स्वागत र मौलिक नृत्यबाट प्रभावित भएको प्रष्टिन्थ्यो। त्यसो त शनिबारको रात्रीभोजका क्रममा उनले नेपालीको सामाजिक सद्भाव देख्दा हर्षित भएको प्रतिक्रिया दिए।
त्यसो त दुईदिने भ्रमणका क्रममा आउँदा र जाँदा नै विमानस्थलदेखि राष्ट्रपति भवन र निवास होटल सोल्टीको सडकसम्मै सजाइएको दृष्यले उनलाई प्रफुल्लित बनाएको विश्वास गर्न सकिन्छ।
राष्ट्रपति सीले विमानस्थलमा प्रवेश गर्नुअघि विशिष्ट कक्षको अन्तिम द्वारमा पुगेपछि पुनः फर्किएर हात हल्लाउँदै सबैलाई अभिभावदन गर्दा विशिष्ट कक्ष बिदाइका स्वरले गुञ्जिएको थियो।
सो क्रममा कलाकार र बालबालिकाले पुष्पगुच्छा र दुवै देशको झण्डा फहराएर बाईबाई गरेका थिए। आज राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेर बिदाइ गरेका थिए।
यसैगरी चिनियाँ विशिष्ट अतिथिलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलेले बिदाइ गरेका थिए।
चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारी र सरकारी अधिकारीको उपस्थिति थियो।
उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी तथा सम्मान गारत प्रदान गरेको थियो । भ्रमणका क्रममा सर्वसाधारण, सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुले उनलाई सडकमै बसेर स्वागत गरेका थिए। उनको स्वागत तथा सम्मानका लागि काठमाडौँका विभिन्न क्षेत्र चिटिक्क पारिएको थियो।
शनिबार अपराह्न ४ः४५ बजे विमानस्थल टेक्नुभएका सीले झण्डै २२ घण्टा नेपालमा रही आज अपराह्न २ः४४ मा स्वदेश फर्किए।
उनको बिदाइ र स्वागतमा विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचसमेत प्रदर्शन गरिएको थियो। कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डल, बबरमहल, नयाँबानेश्वर, तीनकुने र विमानस्थलद्वारसम्म उहाँको बिदाइका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।
राष्ट्रपति सीलाई स्वागतका लागि स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ फूलसमेत राखिएको थियो। ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’, लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए।
भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता र प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेका थिए। चिनियाँ विशिष्ट पाहुनाको स्वागतमा राष्ट्रपति भण्डारीले शनिबार आयोजना गरेको राजकीय भोजमा सरिक हुँदै सीले दुई देशको मित्रता अझै प्रगाढ बनेर जाने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रपति भण्डारीले पनि दुई देशको सम्बन्ध सगरमाथा जस्तै उच्च र सागर जस्तै गहिरो रहेको भन्दै भ्रमणले सम्बन्धमा अझै उचाइमा थपेको उल्लेख गरेका थिए।
भ्रमणका क्रममा आज सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षरसमेत भएको छ।
यसअघि उनले बिहान नेपाल कम्युष्निट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए भने अन्य नेताहरुसँग भेटघाट गरी दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न आग्रह गरेका थिए।
शनिबार साँझ उनले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।रासस
|
काँग्रेसको चियापानमा प्रधानमन्त्रीले भने, ‘देउवा र पौडेलसंग ४५ वर्षदेखिको सम्बन्ध छ’ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसंग आफ्नो ४५ वर्षदेखिकै सम्बन्ध रहेको बताएका छन्।
नेपाली कांग्रेसले आईतबार सानेपास्थित पार्टी कार्यालयमा गरेको चियापान समारोहमा उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलसंगको सम्बन्ध ४५ वर्षदेखिकै हो । यस्ता चाडपर्वले हाम्रो सम्बन्धलाई अझै राम्रो बनाउने विश्वास लिएको छु।’
बिजया दशमी, दीपावली तथा छठको शुभकामना दिदै उनले सांस्कृतिक परम्पराहरुले समाजमा अनुशासन कायम राख्दै सबैको सम्मान र सत्यको जीतको सन्देश बोकेकाले राम्रा कुरालाई निरन्तरता दिनुपर्ने बताए।
‘संस्कृतिका नाममा विद्यमान गलत परम्परालाई परित्याग गर्दे राम्रा कुरालाई अगाल्नुपर्छ।’ उनले भने, ‘समाजको सुसम्बन्ध र सुव्यवस्था बनाई राख्न तथा सत्यको जीत र असत्य पराजित हुन्छ भन्ने सन्देश हाम्रा परम्परा र संस्कृतिले दिने गरेको छ। यस्ता कुरामा सबैले निरन्तरता दिने अभ्यासमा जुट्नुपर्छ।’
सरकारको लोकतन्त्र प्रतिको निष्ठामा कांग्रेसले प्रश्न उठाएको छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने “शुभकामना आदानप्रदानका बेला धुलो चकमक लगाउने काम नगरौं।”
|
सोमबारदेखि भारतमा नेपाल र भारतका ऊर्जा सचिवको बैठक काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुने भएको छ।
बैठक दुई दिनसम्म चल्ने सो बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए।
बैठकमा नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन’ निर्माणलगायतका विषयमा सहमति जुटाउने लक्ष्य राखेको छ।
ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइन निर्माण भई सञ्चालनमा समेत आइसकेको सन्दर्भमा दोस्रो अन्तर्देशीय प्रसारणलाइन निर्माणको ढाँचा उक्त बैठकले तय गर्ने नेपाली अधिकारीले विश्वास राखेका छन्। समितिको अघिल्ल्लो बैठक गत माघ ९ र १० मा पोखरामा सम्पन्न भएको थियो।
बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव घिमिरे र भारतका ऊर्जा सचिव एससी गर्गले नेतृत्व गर्ने तय भएको छ। यस्तै सहसचिवस्तरीय संयन्त्रको नेतृत्वका नेपालका तर्फबाट ऊर्जा हेर्ने सहसचिव प्रवीणराज अर्याल र भारतका सहसचिव एसकेजी रहातेले गर्ने कार्यक्रम छ।
मन्त्रिपरिषद्को यही असोज १७ गते बसेको बैठकले संयुक्त निर्देशक समितिको बैठकमा भाग लिन तालुकदार मन्त्रालयका सचिवलगायतका अधिकारीलाई स्वीकृति दिएको थियो।
नेपाल पूर्वाधार सम्मेलनमा सहभागी हुन गत भदौ २६ गते यहाँ आएका भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग गरेको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रसारण लाइनको ढाँचा, निर्माण लागतलगायतका विषयलाई शीघ्र टुङ्गोमा पु¥याइ निर्माण शुरु गर्ने सहमति भएको थियो।
संयुक्त निर्देशक समितिको बैठकमासमेत सहभागी हुन जाने तयारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव घिमिरेका अनुसार दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषयलाई केन्द्रमा राखेर छलफल हुने र सहमति हुने विश्वास छ।
सो प्रसारणलाइन पनि ४०० केभी क्षमतामा नै निर्माण गर्ने तयारी छ। सो प्रसारण लाइनको निर्माणका विषयमा दुई देशबीच सैद्धान्तिक सहमति भए पनि कुन विधि र ढाँचामा निर्माण गर्ने भन्ने विषयमा थप परामर्श जरुरी रहेको भन्दै सहमति हुन सकेको थिएन।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन र भारतका ऊर्जा राज्यमन्त्री सिंहबीच गत भदौमा भएको छलफलका क्रममा सो प्रसारण लाइनका विषयमा देखिएका विवादलाई समाधान गरी निर्माण शुरु गर्ने र सम्बद्ध निकायले आवश्यक तयारी गर्ने सहमति भएको थियो।
गत माघमा पोखरामा सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकमा समेत सो विषयमा छलफल भए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेको थिएन। त्यतिबेला राजनीतिकस्तरमा सहमति भएपछि अन्य प्राविधिक विषय टुङ्गो लगाउन सकिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ थियो।
नेपाल र भारतका उच्च अधिकारीका यसअघिका बैठकमा प्रसारणलाइन निर्माण र कार्यान्वयन ढाँचा तयार गरी सचिवस्तरीय बैठकमा पेश गर्न नेपाल विद्युत् प्राधिकरणलाई जिम्मा दिइएको थियो।
अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एससीसी)सँग सम्बन्धित आयोजनामा न्यू बुटवल गोरखपुर प्रसारण लाइनसमेत जोडिएकाले त्यसलाई सरकारले ठूलो महत्वमा राखेको छ। सो प्रसारणलाइन निर्माणका लागि संयुक्त कम्पनी बनाएर जान सकिनेमा नेपालको जोड रहँदै आएको थियो।
सो प्रसारणलाइनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। प्राधिकरणको बुटवलमा रहेको सब–स्टेशनपूर्व रोहिणी खोलानजिक अर्को सबस्टेशन बनाउने र नेपालबाट भारत निर्यात गर्न तथा भारतबाट विद्युत् आयात गर्नसमेत सहज हुने गरी प्रस्ताव गरिएको छ।
सो प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) सन् २०१५ मा तयार भएको थियो। यो प्रसारणलाइन आयोजना निर्माण गर्न दुवै देश सहमत भए पनि निर्माण ढाँचा टुङ्ग्याउन बाँकी छ । त्यो ढाँचासमेत तय भई सहमति हुने विश्वास सचिव घिमिरेले जानकारी दिए।
कूल १४० किलोमिटर लामो प्रसारणलाइनको २० किलोमिटर नेपालमा र बाँकी १२० किलोमिटर नेपाल–भारत सिमानादेखि भारतको गोरखपुर पु¥याउने योजना तय भएको छ।
बूढीगण्डकी र मस्र्याङ्दी करिडोरलगायत स्थानमा उत्पादन भएको विद्युत् बढी हुँदा भारत निर्यात गर्न सो प्रसारण लाइन सहज हुने विश्वासका साथ दुवै मुलुकले उक्त परियोजनालाई प्राथमिकतामा राखेका हुन्।
सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका सन्दर्भमा सोही प्रसारण लाइनमार्फत करीब दुई हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ।
विद्युत्को मुख्य माग हुने भैरहवा, बुटवल, नारायणगढ, पोखरा, दाङलगायतका शहरसमेत उक्त प्रसारण लाइनको नजिकपर्ने भएकाले सरकारले प्राथमिकतामा राखेको हो।
सरकारले प्रस्ताव गरेको प्रसारणलाइन गुरुयोजनामा पनि अन्तरदेशीय प्रसारण लाइनको निर्माण, आन्तरिक प्रसारण लाइनको विकास तथा विस्तारलाई जोड दिइएको छ। हाल दुई देशबीच ११ स्थानमा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरिएको छ।
इनर्जी बैंकिङ प्राथमिकतामा
यस्तै सचिव घिमिरेका अनुसार उक्त बैठकमा इनर्जी बैंकिङका बारेसमेत छलफल हुने एजेण्डा तय भएको छ। नेपाल विद्युत् प्राधिकरणले गत साउनको अन्तिम सातादेखि एकसाता २५० मेगावाट विद्युत् भारत निर्यात गरेर इनर्जी बैंकिङको अभ्यास गरेको थियो।
यस्तै, रक्सोल–गोरखपुर प्रसारण लाइनमार्फत प्राधिकरणले ४५ मेगावाट विद्युत् विहारमा निर्यात गरिरहेको छ। भारतले इनर्जी बैंकिङका विषयमा नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ।
चालू आवको अन्तिमसम्ममा माथिल्लो तामाकोशी (४५६ मेगावाट), रसुवागढीलगायत सरकारी लगानीका र निजी क्षेत्रले निर्माण गरेका विभिन्न आयोजनाबाट एक हजार ३०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएकाले आन्तरिक खपतसँगै भारत निर्यात गर्नुपर्ने बाध्यता रहेको छ।
बैठकमा सो विषयलाई नेपालले प्राथमिकताका साथ उठाउने र सहमति खोज्ने प्रयास गर्ने प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए। प्राधिकरणले वर्षायाममा बढी भएको विद्युत् भारत पठाउने र हिँउदको समयमा आयात गर्ने लक्ष्य राखेको छ।
पोखरा बैठकले दुई देशबीच इनर्जी बैंकिङमा सैद्धान्तिक सहमति भएको थियो। बैठकले प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले तयार पारेको इनर्जी बैंकिङसम्बन्धी प्रस्तावलाई स्वीकार गरेको थियो।
भारतीय पक्षले सो व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानूनी प्रबन्ध गर्ने विश्वास दिलाएको थियो।
यस्तै बैठकमा नेपालले रक्सोल–परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय १३२ केभी प्रसारण लाइनको क्षमता वृद्धिका विषयमा समेत छलफल गर्ने एजेण्डा तय गरेको छ। ती प्रसारणलाइनको ‘सिङ्¬गल सर्किट’ यसअघि नै सञ्चालनमा आइसकेको छ।
त्यसमा अर्को सर्किट थपेर डबल सर्किट बनाउने नेपालको तयारी छ। त्यसो हुँदा विद्युत् आयात तथा निर्यातमा समेत थप मार्ग प्रशस्त हुने विश्वास छ। ती प्रसारणलाइनबाट नेपालले आवश्यकताका आधारमा विद्युत् आयात गरिरहेको छ।
|
नेपाली काँग्रेसको चियापान कार्यक्रम (भिडियोसहित) काठमाडौं । नेपाली कांग्रेसले बिजया दशमी, दीपावली तथा छठको अवसरमा आईतबार चियापान कार्यक्रम गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा भएको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव कुमार नेपाल, डाक्टर बाबुराम भट्टराई सहभागी भएका थिए।
त्यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु सुवास नेम्वाङ्ग, अमृत बोहरा, देव गुरुङ्ग, राजपाका नेता महन्थ ठाकुर, पूर्व प्रधानसेनापति रुकमाङ्गगत कटवाल, विभिन्न दलका नेता कार्यकर्ताहरु, माअवधिकारकर्मी, संचारकर्मी लगायतको उपस्थिति थियो ।
चियापान समारोहमा विभिन्न पेशागत संघसंस्थाका पदाधिकारी, बुद्धिजीवीहरु, नागरिक समाजका अगुवा, गैह् आवासीय नेपालीहरु, विशिष्ट महानुभावहरु तथा नेपाली कांग्रेसका विभिन्न भातृ संगठनका पदाधिकारी र शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति थियो । चियापानमा खाने परिकारमा जेरी, समोसा, निम्की र चिया राखिएको थियो ।
२०३३ सालमा स्वर्गीय विपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ साल देखि हरेक बर्ष कोजाग्रहत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दे आएको छ ।
|
‘चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकबीच सम्बन्ध नयाँ युगमा’ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चीनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छन्।
राष्ट्रपति भण्डारीले आज गरेको एक ट्वीट सन्देशमा चिनियाँ समकक्षीले नेपाल र नेपालीप्रति दर्शाएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता व्यक्त गरेकी छन्।
चिनियाँ राष्ट्रपति सी राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्केका छन्।रासस
|
यी हुन् नेपाल र चीनबीचका भएका बीस बुँदे सम्झौता काठमाडौं । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ।
नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान प्रदान गरे। हस्ताक्षर भई आदानप्रदान भएका दस्तावेजः
१. नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणाली सम्झौता
२. नेपाल र जनवादी गणतन्त्र चीनबीच शासकीय क्षमता अभिवृद्धि तथा आदानप्रदानका लागि सम्बन्धी समझदारीपत्र
३. नेपाल र जनवादी गणतन्त्र चीनबीच आपराधिक गतिविधि नियन्त्रणसम्बन्धी कानुनी सहायता सन्धि
४. नेपाल र जनवादी गणतन्त्र चीनबीच सगरमाथा क्षेत्रको पर्यावरणीय संरक्षणसम्बन्धी समझदारी पत्र
५. नेपाल र जनवादी गणतन्त्र चीनबीच राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानी तथा सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्र
६. नेपाल र जनवादी गणतन्त्र चीनबीच सिचुआन प्रान्तको राजधानी छन्दुमा नेपालको महावाणिज्यदूतावास स्थापना गर्नेसम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)
७. नेपालको भौतिक तथा यातायात मन्त्रालय तथा जनवादी गणतन्त्र चीनको यातायात मन्त्रालयबीच चीन नेपाल सीमापार रेलपरियोजनाको सम्भाव्यता अध्ययन सम्बन्धी समझदारीपत्र
८. नेपालको काठमाडौँ महानगरपालिका र जनवादी गणतन्त्र चीनको नान्जिङ शहरबीच भगिनीसम्बन्ध स्थापनाको सम्झौता
९. नेपालको बुटवल उपमहानगरपालिका र जनवादी गणतन्त्र चीनको सियान नगरबीच भगिनीसम्बन्ध स्थापनाको सम्झौता
१०. नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जनवादी गणतन्त्र चीनको परम्परागत औषधि व्यवस्थापन राष्ट्रिय प्रशासनबीच परम्परागत उपचार पद्धतिमा सहयोगसम्बन्धी समझदारीपत्र
११. नेपालको गृह मन्त्रालय र जनवादी गणतन्त्र चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालय मन्त्रालयबीच दैवी विपत्ति न्यूनीकरण तथा आपत्कालीन द्रुत उद्धारका लागि सहयोगसम्बन्धी समझदारीपत्र
१२. नेपालको महान्यायाधिवक्ताको कार्यालय र जनवादी गणतन्त्र चीनको सर्वोच्च महान्यायाधिवक्ताको कार्यालयबीच सहयोगसम्बन्धी समझदारीपत्र
१३. नेपालको त्रिभुवन विश्वविद्यालय र कन्फ्युसियस अध्ययन संस्थानको मुख्यालयबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस अध्ययन संस्थान स्थापन गर्नेसम्बन्धी सम्झौता
१४. नेपालको कृषि विभाग र जनवादी गणतन्त्र चीनको सामान्य भन्सार प्रशासनबीच अमिला वर्गका फलफूल चीन निर्यात गर्नेसम्बन्धी फाइटोस्यानेटरी आवश्यकतासम्बन्धी प्रोटोकल
१५. नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारसम्बन्धी संयुक्त कार्यदल गठनको समझदारीपत्र
१६. चिनियाँ सहयोगमा नेपालमा भूकम्प अनुगमन सञ्जाल परियोजना आपूर्ति तथा स्वीकार प्रमाणपत्र
१७. नेपालको अर्थ मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल गठनसम्बन्धी समझदारीपत्र
१८. नेपालको अर्थमन्त्रालय र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोगबीच सुरुङ निर्माण सहयोगसम्बन्धी समझदारीपत्र
१९. सीमा सुरक्षा तथा कार्यालय उपकरणका लागि ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)
२०. चीनको सहयोगमा काठमाडौँ उपत्यकाका नगर क्षेत्रमा खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी बैठकका निर्णय
|
जर्मनी टर्कीलाई हतियार विक्री नगर्ने बर्लिन (रासस/सिन्ह्वा) । टर्कीले सिरियाली कुर्दिस समूहमाथि विगत चार दिन यता गरेको अन्धाधुन्ध हवाई आक्रमणलाई लिएर जर्मनीले टर्कीलाई हतियार बिक्री गर्न रोक्ने बताएको छ।
बर्लिनले भनेको छ, “टर्कीले जर्मनीबाट आपूर्ति भएको हतियार सिरियाली कुर्दिस समुदायमाथि लक्षित गरिएको र यसबाट सर्वसाधारण जनताको मृत्यु भएका खबरहरूपछि जर्मनीले उक्त निर्णय लिन लागेको हो।”
उत्तरपूर्वी सिरियामा टर्कीको सैन्य आक्रमणका कारण विगत चार दिनमा २७ जना सर्वसाधारणको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समाचार आएका थिए।
बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन संस्थाले शनिबार पनि हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको दावी गरेको छ।
बाइल्डको आइतबारका लागि तयार समाचारमा जर्मनीका विदेशमन्त्री हेइको मासलाई उद्धृत गरी भनिएको छ, “सरकारले टर्कीलाई सैन्य हतियार बिक्रीका लागि कुनै नयाँ स्वीकृति दिने छैन।”
|
‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको चीनसँग भएका सम्झौता तथा समझदारीबाट नेपालले तेस्रो मुलुकसम्म सरल पहुँच प्राप्त गर्नसक्ने थप आधार विकास भएको बताएकी छन्।
राष्ट्रपति भण्डारीले आफ्नो मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि आउनुभएका चिनियाँ समकक्षी सी चीनपिङलाई आज राष्ट्रपतिको कार्यालय शीतल निवासमा स्वागतपछि आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा आफ्नो चीनको राजकीय भ्रमणका क्रममा भएको दोस्रो ‘क्षेत्र तथा मार्ग मञ्च’ (बिआरआइ) को सफलतापूर्वक समापन भएकामा प्रशंसा गर्दै मञ्चको निर्णयमा हिमालपार अन्तरसीमा बहुआयामिक सम्पर्क सञ्जालको उल्लेख भएको र त्यसबाट रेलमार्ग, सडक, सुरुङजस्ता पूर्वाधार विकास हुने विश्वास व्यक्त गरिन्।
जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्रपति सी तथा चिनियाँ जनतालाई बधाई व्यक्त गर्दै उनले चीनको युगान्तकारी परिवर्तन, प्रगतिशील सुधार र प्रभावकारी सुशासन हासिल गरेको बताए।
राष्ट्रपति भण्डारीले नेपालमा निर्वाचनपछि स्थायी सरकारको स्थापना भएको र वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न प्रयास गरिरहेको जानकारी दिँदै नेपाललाई सन् २०३० भित्रै अतिकम विकसित मुलुकबाट मुक्त गरी मध्यम आय भएको अर्थतन्त्रयुक्त मुलुक बनाउने सरकारको प्रयास भइरहेको उल्लेख गरिन्।
राष्ट्रपति भण्डारीले भूकम्पबाट प्रभावित नेपालमा चिनियाँ सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपाल भ्रमण वर्ष २०२० मा चिनियाँ पर्यटकको आगमनका साथै नेपालको जनशक्ति विकासमा चिनियाँ सहयोगको अपेक्षा व्यक्त गरिन्।
उनले नेपालमा चिनियाँ लगानी सहज र सुरक्षित बनाउन नेपाल सरकार सदा तत्पर रहेको बताइन्।
नेपाललाई ३.५ अर्ब आरएमबी दिइने
त्यस अवसरमा चिनियाँ राष्ट्रपति सीले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तार गर्न चीन तयार रहेको बताउँदै नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी उपलब्ध गराइने जानकारी दिए।
नेपालमा कम्युनिष्ट पार्टीले शासन सम्हालेपछि गरेको विकासका लागि हार्दिक बधाई व्यक्त गर्दै चीनले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको बताए।
उनले गरीबी निवारणका क्षेत्रमा चिनियाँ अनुभव सिक्न सकिने बताउँदै चीनमा यस्तो कार्य उद्देश्य अनुरुप भएको र ८० करोड मानिसलाई गरीबीबाट मुक्त गरिएको तथा सन् २०२० मा गरीबी पूर्ण उन्मूलन गर्ने लक्ष्य लिइएको जानकारी दिए।
उनले हिमालपार रेलमार्ग निर्माण गर्न कठिन भए पनि यसको निर्माणका लागि काम गरिने स्पष्ट पारे। उनले चीनले रेल निर्माणका क्षेत्रमा विश्वमै अग्रणी भूमिका खेलेको बताउँदै यसमा चरणबद्ध रुपमा काम गर्न सकिने बताए।
उनले नेपालले जलवायु परिवर्तनबाट भोगेको समस्याबारे चीनले जानकारी पाएको र समस्या समाधान गर्न संयुक्त रुपमा काम गर्न सकिने बताउँदै हिमाली क्षेत्रका बासिन्दालाई सरलरुपमा पुनःस्थापना गरी उनीहरुको जीवनस्तर उकास्न सकिनाका साथै सगरमाथाको उचाइ मापन संयुक्त रुपमा गर्न सकिने उल्लेख गरे।
उनले नेपाल भ्रमण वर्ष प्रवद्र्धन गर्न अभिप्रेरणा प्रदान गर्ने, राजनीतिज्ञ, सांसद र आमसञ्चारमा आदानप्रदान गर्न सकिने तथा सांस्कृतिक आदानप्रदान गरिने जानकारी पनि दिए।
राष्ट्रपति सीले चीनको धेरै मुलुकसँग व्यापार असन्तुलन भएका स्थितिमा यसलाई समाधान गर्न सकिने विश्वास दिलाउँदै नेपालले प्रतिस्पर्धात्मक वस्तु निर्यात गर्न सक्ने बताए।
उनले नेपाललाई अन्तरराष्ट्रिय व्यापार एक्सपोमा सहभागी हुन आग्रह गर्दै चीनका व्यापारीलाई नेपालमा ठूला र गुणस्तरीय लगानी गर्न अभिप्रेरित गरिरहेको बताए। उनले संरक्षणवादको विपक्षमा मिलेर काम गर्न सकिने बताउँदै एशियाली आधारभूत संरचना लगानी बैँकबाट सहयोग लिन सकिने धारणा व्यक्त गरे।
सो अवसरमा चिनियाँ राष्ट्रपतिले आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे। त्यस अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, खानेपानी तथा सरसफाइमन्त्री तथा नेपाल र चीन सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।
चिनियाँ राष्ट्रपति सी दुईदिने राजकीय भ्रमणका लागि आज अपराह्न काठमाडौँ आएका हुन्।
|
चिनियाँ राष्ट्रपति सी चिनफिङ रात्रिभोजमा (फोटोफिचर) काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विशिष्ट व्यक्तित्वहरु सरिक भएका छन्।
आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा आज साँझ यहाँ आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै राष्ट्रपति विद्यादेबी भण्डारीले पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताइन्।
भण्डारीले भनिन्, “पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ।”
उनले नेपाल र चीनबीचको सम्बन्ध हिमाल तथा नदीहरुद्वारा जोडिएको, दुई देशबीच शदियौँदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षु, फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएको स्मरण गरिन्।
|
चिनियाँ राष्ट्रपतिको सम्मानमा सांंस्कृतिक झाँकी प्रदर्शन काठमाडौं । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागत तथा सम्मानमा नेपालका विभिन्न जातजाति तथा संस्कृति झल्कने सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन्।
राष्ट्रपति सीको सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष, सिनामङ्गल, तीनकुने, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोडलगायत स्थानमा झाँकी प्रदर्शन गरिएको संयोजक सांस्कृतिक संस्थानको संस्थानका सूचना अधिकारी पवित्रा पँगेनीले जानकारी दिइन्।
यसैगरी राष्ट्रपति सीको सम्मानमा होटल सोल्टीमा विशेष सांस्कतिक प्रस्तुति तथा नेपाली र चिनियाँ नृत्य प्रस्तुत गरिने संस्थानका सङ्गीत प्रबन्धक खर्कबहादुर मगरले जानकारी दिइन्।
उक्त सांस्कृतिक प्रस्तुतिमा २५ कलाकारको सहभागिता रहने छ। नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए।
विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको थियो। विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका सर्वसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए।
विशेषगरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि राष्ट्रपतिको आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिँगारिएको थियो।
विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो । राष्ट्रपति भण्डारी र उनका समकक्षी सीबीच आजै राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता हुनेछ।
चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले आजै साँझ राजकीय भोजको आयोजना गरेकी छन्। तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो। रासस
|
सीको भ्रमणले नेपाल–चीन सम्बन्ध अझै दरिलो र कसिलो बनाउँछ : पूर्वमन्त्री पाण्डे काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले चिनियाँ राष्ट्रपतिको दुई दिने भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझै दरिलो र कसिलो बनाउने सुनाए ।
काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘चीन हाम्रो छिमेकी, अत्यन्तै घनिष्ठ र भरपर्दो मित्र हो, चीनको राष्ट्रपतिको भ्रमण हुँदैछ, यो खुशीको कुरा हो ।’
चीनबाट २३ वर्षसम्म यो स्तरको नेपाल भ्रमण हुन नसक्नुको कारण नेपालमा राजनीतिक स्थायित्व नहुनु नै प्रमुख कारण रहेको उनको संकेत छ । उनले भने,‘अब यसको कुरा गर्दा भ्रमण गर्ने र गराउने मुलुकको अवस्था र तयारी पनि हुन्छ ।
हामी संविधान निर्माणमा धेरै व्यस्त रह्यौं । राजनीतकि अस्थिरता रह्यो । हामीले संविधान निर्माणलाई नै प्राथमिकता दियौं । सबै दल मिलेर एक ढिक्का भएर वर्तमान संविधान निर्माण गरेका छौं । अहिले राजनीतिक रुपमा नेपालमा स्थिरता आयो । यो कुरा पूरा विश्वले हेरको छ।’
उनले चिनियाँ राष्ट्रपति सीको भ्रमणको लक्ष्य भनेको नै मित्रताको गाँठोलाई अरु कसिलो, दरिलो बनाउने र सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने रहेको स्पष्ट पारे। उनले भने,‘नेपाल र चीनबीच एक–आपसमा पारस्परिक लाभका आधारमा सम्बन्ध गर्नुपर्छ । भाषण गरेर सम्बन्ध सुदृढ हुँदैन्। व्यवहारमा जानुपर्छ । हामीले चीनलाई के सहयोग गर्ने र हामीलाई चीनले के सहयोग गर्ने भन्ने कुरामा पारस्परिक लाभ हेर्नुपर्छ। कनेक्टिभिटी भनेको रोडमात्रै होईन, यसका धेरै आयाम छन् । अहिले हाम्रो ध्यान गएको छ ।’
उनले आफूहरुलाई नेपालको विकास र समृद्धिलाई ध्यानमा राखेर अर्थतन्त्रलाई अगाडि बढाउन चाहेको पनि सुनाए । उनले भने,‘चीन आज लगानीको हिसवाले नम्बर एक र अर्थतन्त्रको हिसवाले विश्वमै दोस्रो हो । नेपालको परराष्ट्र नीति, राष्ट्रिय चासो हामीले संविधानमा उल्लेख गरेका छौं । स्वाधिनता, स्वाभिमान, सार्वभौमसत्तालाई हामीले राष्ट्रिय स्वार्थमा परिभाषित गर्छौं ।’
चिनियाँ प्रविधि नेपालमा कसरी लागु गर्न सक्छौं भन्नेबारे नेपालले सोच्नुपर्ने उनको भनाई छ । उनले भने,‘शिक्षा र स्वास्थ्य क्षेत्रमा उसको प्रविधिको उपयोग गर्नुपर्छ । हाम्रा उत्पादन वस्तुहरुलाई चिनियाँ बजारमा कसरी पुर्ुयाउन सक्छौं भन्नेबारे सोच्नुपर्छ । यो गर्न सकियो भने व्यापार घाटा सन्तुलन गर्न सक्छौं ।’
बिआरआई र आईपिएस विल्कुल भिन्न भएको उनको भनाई । पाण्डेले भने, ‘कन्टेन्ट हेर्नुपर्छ । दुईवटै कुरामा सैनिक रणनीति छ भने हामी स्विकार्दैनौं । कुटनीतिक रुपमा हामीले यो पक्षमा असंलग्न राष्ट्र, शान्तिकामी, बुद्धका नागरिक, हामी यो हतियारको राजनीतितिर हामी जान चाहँदैनौं भनेर भन्नुपर्छ । अबको दुनियाँलाई परिवर्तन गर्ने र विचारलाई परिवर्तन गर्ने बलबाट होईन विचारले गर्ने हो ।’
चिनियाँ राष्ट्रपति सीको भ्रमणमा रसुवा–काठमाडौको बाटो नम्बर एक प्राथमिकतामा परेको पनि उनले सुनाए । ‘यो बाटोलाई उन्नती गर्ने, सुरुगमार्ग पनि बनाउन्ुपर्छ ।’–उनले भने,‘ किमाथांका नाका, कोरिडोर खुल्ला गर्नुपर्छ । नेपाल शीर ठाडो छ । सगरमाथाजतिकै शीर ठाडो गरेर राष्ट्रको सर्वाभौमिकतालाई जोगाउनुपर्छ । मित्रराष्ट्रहरुसँग हातेमालो गरेर समृद्धि गर्ने हो । आफ्नो हितअनुसार अघि जाने हो ।’
सीको यो भ्रमणमा रेलवे ल्याउनेबारे छलफल हुने र सहमति हुनेपनि उनले विश्वास दिलाए । उनले थपे,‘केरुङ–काठमाडौं रेलवेबारे हामी भर्खर फिजिविलटी अध्ययन गर्ने अवस्थामा छौं । त्यसपछि डिपिआर तयार हुन्छ । अनिमात्रै खर्चको कुरा हुन्छ । कहाँबाट जुटाउँछौं । स्रोतको विषयमा कुरा हुन्छ । नेपालको अर्थतन्त्रको बारेमा मित्रराष्ट्रहरुले पनि बुझेका छन् ।, नेपाललाई सहयोग गर्दा अलिक बढि ग्रान्ट वा सफ्ट लोन दिनुपर्छ भनेर उहाँहरुले बुझ्न्भएको छ। अनि नेपालले आफने आन्तिरक स्रोत र साधनलाई प्रयोग गर्नुपर्छ ।
चीनबाट मात्रै होईन, भारतबाट पनि रेल ल्याउनुपर्छ । रक्सौलदेखि काठमाडौंसम्म पनि रेल आउँदैछ । यो बारेमा डिपिआर, फिजिविलीटी गर्ने कुरा छ ।’ उनले नेपाल अब ल्याण्डलिंक्टमा जोडिने स्पष्ट पारे ।
उनले भारत र चीनलाई फरक फरक आँखाले हेर्न नहुने पनि तर्क गरे । उनले भने,‘चिनियाँ राष्ट्रपतिको यो भ्रमण चीन र नेपाल दुवैको हितमा हुन्छ । सफल रुपले सम्पन्न हुन्छ । आउने दिनमा विकास निर्माणका ढोकाहरु खुल्नेछन् ।’ भ्रमणको क्रममा के–के भाईवल हुन्छ, ती प्राथमिकताका आधारमा हस्ताक्षर हुनेपनि उनले जनाए ।
|
तीनकुनेमा उद्यान निर्माण सम्पन्न काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी काठमाडौँ महानगरपालिकाले तीनकुनेमा पार्क निर्माण सम्पन्न गरेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीनकुने हुँदै आउँदा आकर्षक र हरियाली वातावरण भएको उक्त पार्कमा विभिन्न फूल सजाइएको छ ।
निकै मेहनत गरी चिटिक्क बनाइएको पार्कले सर्वसाधारणलाई समेत मनोरञ्जन दिइरहेको छ । यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण हुँदैछ । चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको भ्रमणले देशको अर्थ तथा कूटनीतिक क्षेत्रमा अर्थपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ ।
महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले राष्ट्रपति सीको भ्रमणका क्रममा सडकका दायाँबायाँ भागको पोलमा दुवै देशका झण्डाको व्यवस्थापनसमेत गरिएको जानकारी दिँदै त्रिपुरेश्वरदेखि रत्नपार्कसम्मका पर्खाल र फलामे बारमा सरसफाइ गरी रङरोगन लगाएर राम्रो बनाइएको बताए ।
उनले महानगरपालिकाले लिएको जिम्मेवारी पूरा गरेको जानकारी दिए। सडकका किनारामा दुवै मुलुकका प्रमुखका तस्वीर अङ्कित ‘फ्लेक्स’ तथा स्वागतद्वारसमेत निर्माण गरिएको छ भने सडक मर्मतका कार्य सडक विभागले गरेको छ। रासस
|
चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले बहुआयामिक लाभ लिन्छ : दाहाल चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताएका छन्।
नेकपा चितवनले आज माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ विमोचन तथा दिवाकर भुसालको पूर्णकदको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रपति सी चीनफिङको भ्रमण नेपालका लागि उच्च महत्वको हुने बताए।
नेपाल, चीन र भारतमा यति बेला सशक्त र शक्तिशाली सरकार रहेको र यस्तो परिस्थितिमा हुन लागेको भ्रमण केवल केही समय आउने र जानेमा मात्र सीमित नहुने विश्वास व्यक्त गरे।
फरक प्रसङ्गमा उनले माडी क्षेत्रको विकासका लागि आफूले सरकार, निकुञ्ज र कर्मचारीसँंग छलफल गरिरहेको उनको भनाइ थियो । यस क्षेत्रको विकास संवेदनशील, महत्वपूर्ण र चुनौतीपूर्ण छ भन्दै उनले भने, “यस क्षेत्रको विकासका लागि जति चुनौती छ त्यति नै महत्वपूर्ण रहेको छ जसका लागि म निरन्तर लागिरहेको छु।” अध्यक्ष दाहालले पार्टीले छिट्टै महाभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताउँदै सम्पूर्ण नेता कार्यकर्ता र शुभचिन्तकलाई त्यसमा जुट्न आग्रह गरे।
कार्यक्रममा पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले भुसाल एक आदर्श नेता मात्र नभएर कम्युनिष्टका धरोहर रहेको बताउँदै उनको आदर्श पूरा गर्न सिङ्गो पार्टी लाग्नुपर्नेमा जोड दिए।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भुसालले समाज र पार्टीलाई छाडेर गएको आदर्शलाई व्यवहारमा उतार्दै अगाडि बढ्दा मात्र उनीप्रति सच्चा सम्मान हुने बताए।
पार्टीको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ भन्दै उनले अब एकीकृत पार्टीका सारा शक्ति र सरकार राष्ट्र निर्माण लगाइने बताए।
कार्यक्रममा नेकपाका जिल्ला इञ्चार्ज कृष्ण खनाल, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाललगायतले भुसालको योगदानबारे चर्चा गरेका थिए।
जिल्ला अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्मृति ग्रन्थ तयारीमा लागेका पत्रकार नारायणप्रसाद सापकोटा र शालिक निर्माणमा लागेका महानुभावलाई सम्मान गरिएको थियो।
यसअघि अध्यक्ष दाहालले माडीको बघौडामा रहेको बघौडा अस्पतालको शल्यक्रिया भवन उद्घाटन गरेका थिए। सो अवसरमा उनले अस्पताललाई १५ श्ययाबाट ५० श्ययाको बनाउन पहल गरिने प्रतिबद्धता जनाए।
|
एडिबीले सार्वजनिक गर्यो पञ्चवर्षीय रणनीति काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको अर्थतन्त्र सुदृढ एवं समावेशी तुल्याउने पञ्चवर्षीय रणनीति साझेदारी सार्वजनिक गरेको छ।
रणनीतिअनुसार आगामी दुई वर्षमा औषतमा नेपाललाई ५० देखि ६० करोड अमेरिकी डलर ऋण प्रवाह हुने अपेक्षा गरेको छ।
नेपालको दिगो आर्थिक विकासमा सघाउँदै नेपाली जनताको जीवनस्तर उकास्न तथा विकास–निर्माणका प्रयासमा मद्दत गर्ने उक्त रणनीतिक साझेदारीको दस्तावेज मनिलास्थित बैंकको प्रधानकार्यालयमा सार्वजनिक गरिएको हो।
बैंक सञ्चालक समितिको आजको बैठकले अनुमोदन गरेको नेपाल देशीय साझेदारी रणनीतिले निजी क्षेत्रको नेतृत्वमा उत्पादकत्व वृद्धिमा योगदान गर्ने भौतिक पूर्वाधार निर्माण, प्रभावकारी सेवा प्रवाहमा सर्वसाधारणको पहुँ्चमा सुधार र वातावरणीय दिगोपन कायम गर्दै प्राकृतिक विपत्तिमा पनि क्षति नहुने पूर्वाधार निर्माणजस्ता तीनवटा क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ।
राजनीतिक स्थायित्व कायम भएसँगै सङ्घीय शासन प्रणालीमा गएको नेपाल आर्थिक–सामाजिक उन्नयनको मार्गमा अग्रसर भएको सन्दर्भमा नयाँ देशीय साझेदारी रणनीति उच्च आर्थिक वृद्धि हासिल गर्ने तथा गरीबी घटाउने नेपाल सरकारको लक्ष्यलाई टेवा दिनमा नै केन्द्रित रहेको नेपालका लागि बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले जानकारी दिए।
बितेको दशकमा नेपालले गरिबी घटाउनका साथै साक्षरता दर बढाएको, सङ्घीयताको निर्वाध कार्यान्वयन अघिबढेको, अत्यावश्यक भौतिक पूर्वाधारमा लगानी, निजी क्षेत्रका निम्ति लगानीको आकर्षक वातावरण बनाउने विषयलाई रणनीतिले समेटेको उनले बताए।
जलविद्युत् र नवीकरणीय ऊर्जाको विकास, सडक तथा हवाई यातायात, घरेलु, क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्पर्क सञ्जालका निम्ति व्यापार सहजीकरण, उत्पादकत्वको लागत कम गर्नें, वाणिज्य–व्यापार विस्तार, निजी लगानी आकर्षणलाई पनि रणनीतिमा विशेष जोड दिइएको छ।
शहरी क्षेत्रका नगरपालिकासहित नगरहरूको विकास, गुणस्तरीय शिक्षा, रोजगारीमूलक सीप विकास तथा ग्रामीण भेगका जनताको आय बढाउन कृषि क्षेत्रको उत्पादकत्व वृद्धि र व्यावसायिकतालाई पनि रणनीतिले अधिक जोड दिएको छ।
सामाजिक–आर्थिक विकासको प्रतिफलबाट वञ्चित रहेका महिला तथा अन्य सुविधाहीन सामाजिक समूहको विकासमा रणनीति लक्षीत छ।
केन्द्र, प्रदेश र स्थानीयत तहका सरकारी निकाय, नेपालको विकासका अन्तर्राष्ट्रिय साझेदार, नागरिक समाज र निजी क्षेत्रसँगको परामर्शमा तयार गरिएको रणनीतिक साझेदारीमा विकासका सबै कार्यक्रम र परियोजनामा एडिबीले लैङ्गिक समानता, सामाजिक समावेशितालाई आफ्नो मूल मन्त्र बनाएको छ।
आधारभूत सेवामा सर्वसाधारणको पहुँचको सुनिश्चितता, बेलाबेलामा हुने प्राकृतिक विपत्तिमा पनि क्षति नहुने भौतिक संरचना, प्राकृतिक स्रोत र साधनको दिगो उपयोग, सार्वजनिक वित्तको पारदर्शिता, कृषि, हवाई यातायात, कृषि क्षेत्रमा नीतिगत सुधार, ज्ञान र प्रविधिको विकास तथा उपक्षेत्रीयस्तरमा संस्थागत विकासलाई रणनीतिले विशेष महत्व दिएको छ। रासस
|
काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ घाइते काभ्रे । काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। पन्ध्र जना घाइते भएका छन्।
महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो।
मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान र वकिल बोम्जन रहेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।
मोक्तान र बोम्जनको घटनास्थलमै मुत्यु भएको हो। दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन्।रासस
|
साउदी फण्ड फर डेभलप्मेन्टले नेपाललाई ३४० करोड सहुलियत ऋण प्रदान गर्ने काठमाडौं । साउदी फण्ड फर डेभलप्मेन्टले नेपाललाई ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गरेको छ ।
साउदी फण्ड फर डेभलप्मेन्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निमाणका लागि नेपाललाई सहुलियत ऋण उपलब्ध गराएको हो।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा यस सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ।
अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा भएको सम्झौतामा अर्थसचिव डा. राजन खनाल र फण्डका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक डा. खालेद विन सुलेइमान अल्खुडायरीले हस्ताक्षर गरे।
अर्थसचिव डा.खनालले साउदी सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले भूकम्पपीडितहरुको मुहारमा थप खुशी ल्याउने विश्वास व्यक्त गरे।
फण्डका उपाध्यक्ष अल्खुडायरीले भूकम्पबाट ठूलो क्षति व्यहोरेको नेपाललाई सघाउनु मित्रराष्ट्र तथा संस्थाहरुको दायित्व हुने उल्लेख गर्दै नेपाल सरकारको पुनर्निर्माण प्रयासमा थोरै भए पनि सघाउन पाएकोमा खुशी व्यक्त गरे।
|
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि काठमाडौं झिलीमिली (फोटोफिचर) काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको स्वागतका लागि काठमाडौंका विभिन्न स्थानहरु सिंगारिएका छन्।
उनको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्म सडकमा व्यानर तथा गेटहरु निर्माण गरिएका छन्।
राष्ट्रपति विद्यादेबी भण्डारीको निमन्त्रणामा २ दिने राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपति सी भोलि शनिवार दिउँसो ४ बजे काठमाडौमा विमानस्थलमा अवतरण गर्नेछन्।
२१ घण्टाको नेपाल बसाईपछि आइतबार दिउँसो १ बजे चीन फिर्ता हुने कार्यक्रम छ। २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार अपरान्ह काठमाडौं उत्रिदैंछन्।
राष्ट्रपतिको भ्रमणलाई मध्यनजर गर्दै सरकारले राजधानी काठमाडौंलाई बेहुली जस्तै सिङ्गारेको छ। चिनियाँ राष्ट्रपति सीको नेपाल बसाइ करिब २१ घण्टा हुनेछ। राष्ट्रपति सीको स्वागतार्थ सरकारले उनको कार्गेट चलाइने सडकलाई चिटिक्क पारेको छ।
जहाँ जहाँ राष्ट्रपतिको कार्गेट चलाइन्छ त्यहाँको सडक हेर्दा लाग्छ गरे के हुँदैन। तीनकुनेको खुल्ला चौर होस् वा अस्तव्यस्त कालीमाटी–सोल्टीमोड सडक, यी रातारात भएको विकासको ‘नमूना’ हो।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले चिनिया राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक भएको बताएका छन्।
नेपाल चाइना हिमालयन फ्रेण्डसिप सोसाईटीले भ्रमणबारे शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा नेताहरुले २३ बर्ष पछि हुन लागेको उच्चस्तरीय भ्रमण ऐतिहासिक हुनुको साथै यसले नेपालको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताएका हुन्।
नेता सुवास नेम्वाङ्गले लामो समयको अन्तरालमा हुन लागेको उच्चस्तरीय भ्रमणबाट आफुहरु उत्साहित बनेको भन्दै भ्रमणले नेपालको हितमा हुने बताए।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण भव्य सफल हुने विश्वास दिलाएकी छिन् ।
उनले भनिन्, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैहुनुुहुन्छ, हामी हर्षित छौं । यो सबै नेपालीहरुको लागि खुशीको कुरा हो । हामी नेपाली जनता उहाँलाई भव्य स्वागत गर्न चाहन्छौं ।’ सीको नेपाल भ्रमणले देशको उचाई ठूलो हुने उनको विश्वास छ ।
उनले भनिन्,‘संसारभरि नै नेपाललाई हेर्ने दृष्टिकोणमा फरक आउँछ । सीको नेपाल भ्रमणको ठूलो अर्थ र महत्व रहेको उनको भनाई छ ।
|
आबुधाबिमा साहित्यिक कार्यक्रम हुँदै, दुई श्रष्टालाई सम्मान गरिने युएई । सगरमाथा साहित्य प्रतिष्ठानले दुई जना साहित्यकर्मिलाई सम्मान गर्ने भएको छ।
यहि अक्टोबर १८ तारिखमा युएईको आबुधाबिमा एक कार्यक्रमको आयोजना गरि उहाँहरुलाई सम्मान गर्न लागिएको प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र समरसले जानकारी दिए।
सम्मानित हुन लाग्नु भएका साहित्यकर्मी युएईमा रहनु भएका गजलकार टक गुरुङ र झापामा कार्यरत कवि एबम् सञ्चारकर्मी मायामितु न्यौपाने छन्। कार्यक्रममा भाग लिन न्यौपाने युएई आएका छन्।
नेपाली भाषा र साहित्यमा उनीहरुले पुर्याएको योगदान स्वरुप यो सम्मान गर्न लागिएको सगरमाथा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण बिश्वकर्माले बताए।
युएईको आबुधाबीमा हुन लागेको यस कार्यक्रमको सह–आयोजक सृजना बाचन डबली हो। डबलीले बिगत तीन बर्षदेखि युएईमा साहित्यिक कार्यक्रम गर्दै साहित्यकर्मीलाई एकताबद्ध गर्दै आईरहेको छ।
कार्यक्रममा प्रमुख अतिथि मायामितु न्यौपानेले आफ्ना चर्चित कविता र गजल बाचन गर्नु हुनेछ भने विशेष अतिथिको रुपमा टक गुरुङ्ले गजल बाचन गर्नेछन्। कार्यक्रममा युएईमा रहेका पचास भन्दा बढी श्रष्टाले आफ्ना कविता र गजल बाचन गर्नेछन्।
कार्यक्रम आबुधाबी स्थित भावना रेस्टुरेन्टको सभाहलमा हुनेछ।
रचना बाचन र साहित्यकर्मिलाई सम्मान गर्ने काम आगामी दिनहरुमा पनि निरन्तर रहने र यस्ता गतिबिधिले युएई र समस्त नेपाली साहित्यलाई टेवा पुग्न सक्ने आयोजक सगरमाथा साहित्य प्रतिष्ठानका महासचिब अमन एकलले बताए।
नेपाली साहित्यकर्मिलाई गोलबद्ध गर्दै नेपाली साहित्य र भाषालाई अझ माथी पुराउन योगदान दिने उदेश्यका साथ २०६९ सालमा स्थापित सगरमाथा साहित्य प्रतिष्ठानले स्थापनाकालदेखि नै रचनात्मक साहित्यिक गतिबिधी गर्दै आईरहेको छ।
|
चिनियाँ राष्ट्रपति सीलाई न्यानो स्वागत र अभिवादन गर्छौं : राप्रपा (संयुक्त) काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने राजकीय भ्रमणलाई सुखद् अवसरको सङ्ज्ञा दिँदै न्यानो स्वागत र अभिवादन गर्ने जनाएको छ।
पार्टीका अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र चीन भौगोलिकरूपमा जति निकटस्थ छन् भावना र व्यवहारमा पनि त्यतिकै नजिक रहेको उल्लेख गरेका छन्।
पार्टीले राष्ट्रपति सी भ्रमणले दक्षिण एशियामा स्थायित्व, शान्ति र विकासमा थप योगदान पुग्नाका साथै नेपाल–चीन सम्बन्धले थप नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।
उक्त पार्टीले भनेको छ, ‘राष्ट्रपति सीको भ्रमणको पूर्ण सफलताको कामनासहित स्वागत र अभिवादन गर्दछौँ।’
|
सिन्धुपाल्चोक बस दुर्घटना : काँग्रेसद्वारा दुःख व्यक्त काठमाडौं । सिन्धुपाल्चोकमा भएको बस दुर्घटना बारे नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ।
शुक्रबार मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौँ तर्फ आउँदै गरेको हेलम्वु यातायातको बा २ ख २७१५ नम्बरको बस इन्द्रवती गा.पा. १०, बडहरे मोडमा आज विहान दुर्घटना हुँदा ११ जनाको मृत्यु र ४० भन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।’
विज्ञप्तिमा सभापति देउवाले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको बताइएको छ।
‘घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्नु भएको छ । पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउन सरकारको ध्यान आकृष्ट समेत गर्नु भएको छ ।’ विज्ञप्तिमा भनिएको छ।
‘बसमा क्षमताभन्दा बढी यात्रु सवार हुन दिनु, त्यसको नियन्त्रण नगर्नु र सवारी साधन संचालन गर्नु भन्दा अगाडि त्यसको चेकजाँच नगर्नु दुःखद विषय हो।’ विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता घटना पुनः नदोहरिन दिन सरकारले यथाशीघ्र आवश्यक कदम चाल्न नेपाली कांग्रेस आग्रह गर्दछ ।’
|
‘चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालले एउटा नयाँ मोड लिन्छ, म उत्साहित छु’ : सुजाता कोइराला काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण भव्य सफल हुने विश्वास दिलाएकी छिन् ।
उनले भनिन्, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैहुनुुहुन्छ, हामी हर्षित छौं । यो सबै नेपालीहरुको लागि खुशीको कुरा हो । हामी नेपाली जनता उहाँलाई भव्य स्वागत गर्न चाहन्छौं ।’ सीको नेपाल भ्रमणले देशको उचाई ठूलो हुने उनको विश्वास छ । उनले भनिन्,‘संसारभरि नै नेपाललाई हेर्ने दृष्टिकोणमा फरक आउँछ । सीको नेपाल भ्रमणको ठूलो अर्थ र महत्व रहेको उनको भनाई छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले सीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा उनले सी भारत हुँदै नेपाल आउन लागेको बताईन् । उनले भनिन्,‘चिनियाँ राष्ट्रपति यतिवेला भारतमा हुनुहुन्छ, मोदीसँग उहाँको कुराकानी भैरहेको छ । सी र मोदीबीच राम्रो कुरा भयो भने त्यसले नेपाललाई पनि ठूलो फाईदा हुन्छ । यसले नेपाललाई पनि सफल राष्ट्र बनाउन सक्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले गिरिजा प्रसाद कोइरालाले भारत र चीनबीच राम्रो सम्बन्ध भयो भने त्यसले नेपाललाई हित र राम्रो हुन्छ भन्ने गरेको सुनाउँदै भनिन्, ‘गिरिजाबाबु भन्नुहुन्थ्यो भारत र चीनबीच मित्रता भयो भने नेपाललाई पनि फाईदा हुन्छ । नेपालको उन्नति हुन्छ भन्नुहुन्थ्यो । र, मेरो सोचमा हामी अगाडि गयौं भने यो रिजनलाई नै फाईदा हुन्छ । एशियालाई नै फाईदा हुन्छ । त्यसैले अहिले भारतमा भैरहेको मोदी र सीको वार्ताको पनि ठूलो महत्व छ । मेरो त त्यो वार्ताको बारेमा पनि उत्सुकता छ ।’
उनले चिनियाँ राष्ट्रपति सी नेपाल आउनु धेरै रम्रो भएको बताउँदै विपीको पालादेखि चीनसँग मित्रता भएको सुनाईन् । उनले भनिन्, ‘चीनलाई हामीले बढि महत्वको साथ हेरेका छौं । हाम्रो राम्रो सम्बन्ध रहँदै आयो । चीनले नेपालाई संकट पर्दा सहयोग गर्दै आएको छ । हरेक नेपालीहरुको मुखमा अहिले दशैं छ, ठूलो चाडपर्व छ । तर, उनीहरुले अब नेपाल विकास हुन्छ भनिरहेका छन् । उनीहरु अहिले केरुङ, किमाथांका नाका, बाटो, सुरुङमार्गको कुरा गर्छन् । नेपालले अब एउटा ठूलो फड्को मार्छ । अब विकास हुन्छ । स्थायित्व र शान्ति आउँछ भन्ने कुरा नेपालीको मनमा रैछ । यो उत्साहजनक कुरा हो ।’
सीको भ्रमणको पूर्वसन्ध्यामा नेपालीहरुले सबै कुरा बिर्सिएर विकासको कुरा गर्नु भनेको यसले एउटा ठूलो परिवर्तन ल्याउँदैछ भन्ने संकेत भएको पनि नेतृ कोइरालाको टिप्पणी छ । उनले भनिन्,‘ जनताले चाहेको नै विकास हो । स्थायित्व र शान्तिले नै देशमा विकास हुन्छ । सीको भ्रमणबाट नेपालले केही पाएपनि वा नपाएपनि उहाँ नेपाल आउनुनै एउटा महत्वपूर्ण कुरा हो । हामी सबै पूराना तिता कुराहरु बिर्सिएर विकासको कुरामा मात्रै लागिरहेका छौं । यो नै एउटा ठूलो उपलब्धि हो भन्ने मलाई लागेको छ । एउटा नयाँ बाटोमा हामी हिँड्न लागेका छौं । देशले एउटा नयाँ मोड लिन्छ भनेर म उत्साहित छु ।’
गिरिजाबाबुले जहिल्यैपनि ‘एक चीन नीति’ लाई नै समर्थन गर्दै आएको सुनाउँदै कोइरालाले भनिन्,‘उहाँ प्रधानमन्त्री हुँद्या स्टेट भिजिटमा जानुभयो । पार्टीको सभापति हुँदापनि उहाँ पार्टी–पार्टी सम्बन्ध बनाउनको लागि दुई चोटी प्रतिनिधिमण्डल लिएर चीन जानुभयो । एकचोटी उहाँसँग म पनि गएको थिएँ ।
छिमेकीसँग पिपुल–टु–पिपुल रिलेशनपनि हुन्छ । पार्टी–टु–पार्टी रिलेशनपनि हुन्छ । यसलाई गलत हिसाबले हामीले सोच्नुहुँदैन् । गिरिजाबाबुले सिपिसी पार्टीलाई नेपालमा आमन्त्रित गर्नुभएको थियो । उनीहरु पनि नेपाल आएका थिए । यो गर्नुपर्छ । हामीले पनि यसलाई निरन्तरता दिन्छौं ।’
उनले नेपालमा रेल ल्याउने कुरा खुशीको कुरा भएको बताईन् । उनले भनिन्, ‘ट्रेन, कनेक्टिभिटी भनेको यसको धेरै महत्व छ । पूर्वाधार विकासको लागि बाटो हो । विकासको पूर्वाधार नै बाटो हो । सुरुमा मलाई पनि ट्रेनको कुरा गर्दा अर्के लाग्दथ्यो, तर धेरै अध्ययन गरेपछि ट्रेन चाहिन्छ भन्ने निश्कर्षमा म पनि पुगेको छु । भारतबाट र चीनबाट पनि काठमाठौं ट्रेन आउँछ । यो भयो भने दुवै देशबाट नेपालमा लाखौंको संख्यामा पर्यटकहरु आउँछन् । उनीहरुलाई नेपाल आवागमनमा सहजता हुन्छ । यो आवश्यकत्ता छ । सुरुवात हुन्छ भनेको सुन्छु । हामी स्वागत गर्छौं ।’
चीनसँग नाका खोल्ने कुरापनि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले गरेको उनको जिकिर छ । उनले भनिन्,‘चीनसँग नाका खोल्ने कुरा नेपाली कांग्रेसले गरेको हो । चीन अहिले आर्थिक रुपमा दोस्रो ठूलो शक्ति हो । चीन बलियो भएको छ । अहिले नाका खोल्नेबारे महत्व दिएको छ । परिस्थिति परिवर्तन भएको छ । नाका खुल्छ । यो खुशीको कुरा हो ।’
चीनको बिआरआई परियोजना राम्रो भएको सुनाउँदै यसबाट नेपालले पनि ठूलो लाभ लिनसक्ने उनको तर्क छ । उनले थपिन्, ‘हामीले योमार्फत धेरै परियोजना ल्याउन सक्छौं । लगानी ल्याउन सक्छौं ।’
त्यस्तै, उनले रेलवे ल्याउने कुरामा पनि सबै कुरामा नेपालले अनुदानमात्रै खोज्न नहुने तर्क गरिन् । उनले भनिन्, ‘केरुङ–काठमाडौं रेलको जो कुरा छ, हामी सबै अनुदान नै खोज्छौं । हामी नेपालीहरुको बानी बिग्रिएको छ । हामीले पनि मेहनत गर्नुपर्छ । मगन्तेजस्तो सबै कुरा लिनु राम्रो होईन । निःशुल्क देउ भन्नुहुँदैन् । हामीले ऋण लिनुपर्छ । सहुलियत व्याजमा ऋण पाउनुपर्छ । रेल होस वा अरु कुनै परियोजना बनाउँदा त्यसमा हामीले आफ्नो अपनत्व लिनुपर्छ । सस्तो व्याजमा ऋण लिनुपर्छ । नेपाल सार्वभौम र स्वतन्त्र देश हो । हामीले थोरै भएपनि ईनपुट दिनुपर्छ, त्यसो गर्न सकियो भने कसैको दास भएको हुँदैन् । नेपालीले बनाएको हो । यो रेल हाम्रो हो भन्ने भावना हुन्छ । आत्मसम्मान हुन्छ । केही थोरै भएपनि हाम्रो ईनपुट दिनुपर्छ ।’
नेतृ कोइरालाले चीनबाट लगानी ल्याउनु्पर्नेमा जोड दिईन् । उनले नेपाल विपत्तमा पर्दा पनि चीनले ठूलो सहयोग गरेको सुनाईन् । उनले भनिन्,‘भुकम्प, बाढी, पहिरोले नेपालले धेरै दुःख पायो । प्रकृतिले पनि हामीलाई सहयोग गरेन् । चीनमा प्रविधि एकदम आधुनिक छ । उनीहरुले नयाँ नयाँ आविष्कार गरेका छन् । बाटो चाँडो र बलियो बनाउने उनीहरुको प्रविधि छ । हाम्रा ठेकेदारलाई पनि तालिम दिनुपर्छ । चीनबाट हामीले धेरै कुरा सिक्नुपर्छ ।’
|
यस्तो छ चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमणको तालिका काठमाडौं । दुई दिने भारत भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको चेन्नई पुगेका छन्।
उनलाई चेन्नई विमानस्थलमा तमिलनाडुका गर्भनर बनवारीलाल पुरोहित, मुख्यमन्त्री इडापाड्डी के पलनिस्वामीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सीबीच दोस्रो अनौपचारिक शिखर सम्मेलन भारतको तमिलनाडुको महाबलीपुरमा हुँदैछ।
यस्तो छ भ्रमण तालिका
(आज शुक्रबार)
१२:३० प्रधानमन्त्री मोदी चेन्नई पुग्ने।
१२ः५५ मा हेलिकोप्टरबाट महाबलीपुरमा गए।
१ः३० मा चिनियां राष्ट्रपति सी चेन्नई पुग्ने।
१ः४५ मा एयरपोर्टबाट होटल आईटिसी ग्रैण्ड जाने र आराम गर्ने त्यहीबाट महाबलीपुरमा जाने।
५:०० महाबलीपुरमा मोदीसंगै अर्जुनकी तपस्यास्थल,पंचरथ र शोरे मन्दिरको भ्रमण गर्ने।
६:०० बजे सांस्कृतिक कार्यक्रम
६ः४५ बाट ८ बजेसम्म मोदी र राष्ट्रपति सीबीच डिनर
(भाेलि शनिवार)
१०-१०ः४० सम्म दुवै नेताबीच भेटवार्ता
१०ः५० देखि ११ः४० बीच द्धिपक्षीय वार्ता
११ः४५ देखि १२ः४५ सम्म दिवाभोज
२:०० बजे नेपालका लागि प्रस्थान
|
सी जिनपिङको नेपाल भ्रमणबारे यस्तो भन्छन् नेकपाका नेताहरु काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले चिनिया राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक भएको बताएका छन् ।
नेपाल चाइना हिमालयन फ्रेण्डसिप सोसाईटीले भ्रमणबारे शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा नेताहरुले २३ बर्ष पछि हुन लागेको उच्चस्तरीय भ्रमण ऐतिहासिक हुनुको साथै यसले नेपालको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताएका हुन्।
नेता सुवास नेम्वाङ्गले लामो समयको अन्तरालमा हुन लागेको उच्चस्तरीय भ्रमणबाट आफुहरु उत्साहित बनेको भन्दै भ्रमणले नेपालको हितमा हुने बताए।
नेपाल दुई छमेकी चीन र भारतलाई जोड्ने पुल बन्न चाहेको पनि स्पष्ट पारे। उनले सरकार तथा नेकपाले देशको सार्वभौमसत्ता र सम्मानलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता पनि जनाए।
चिनियाँ राष्ट्रपति सीको ऐतिहासिक भ्रमणलाई सरकार तथा नेपाल कम्युनिष्ट पार्टीले नेपाल र चीनको हितमा सदुपयोग गर्न चाहेको पनि स्पष्ट पारे।
नेता देव गुरुङ्गले नेपालले चीनसंग लिने ऋणका बारेमा नकारात्मक टिप्पणी गर्नु आवश्यक नभएको बताए। उनले विश्वका सबै मुलुकले ऋण लिने गरेको दृष्टान्त दिदै ऋणलाई सही ढंगले उपयोग गर्नुपर्ने धारणा राखे। उनले अनुदान हुन सकेन भने निरपैक्ष ऋण लिनै हुदैन भन्न नहुने तर्क गरे।
चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा हुने आर्थिक सहयोग सम्बन्धी सम्झौतालाई लिएर विभिन्न टिका टिप्पणी हुँदै आएका छन्। विशेष गरेर रेल सेवा विस्तार ऋणमा नभई चिनले अनुदानमा बनाईदिनुपर्ने तर्क हुदै आएको छ।
|
चीनको सहयोगमा नौतले दरबार पुनर्निर्माण तीव्र गतिमा काठमाडौं । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको काम तीव्र गतिमा अघि बढेको छ।
चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो। सन् २०२२ मा सक्ने गरी सम्झौता भए पनि ८० प्रतिशत काम सकिएको पुनःनिर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ।
पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरीवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको छ।
विभागका निमित्त महानिर्देशक दामोदर गौतम दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटो गतिमा भइरहेको बताउँछन्।
विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानोस्वरूपलाई नबिगारी क्षतिग्रस्त भागको प्रबलीकरण एवं संरक्षणको काम भइरहेको उनले सुनाए।
करीब रु १६ करोड लागतमा दरबार पुनःनिर्माण भइरहेको हो। दरबार पुनःनिर्माणका लागि विसं २०७४ साउन ३२ गते शिलान्यास भएको थियो।
नेपाल भ्रमणमा रहनुभएका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्तरूपमा दरबार पुनःनिर्माणको शिलान्यास गरेका थिए। दरबार विसं १८२६ मा पृथ्वीनारायण शाहले निर्माण गराएका थिए।
नुवाकोट दरबार पुनःनिर्माणमा पनि चीनको सहयोग
चीनले नुवाकोटको साततले दरबारको पुनःनिर्माणमा पनि सहयोग गरेको छ । नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणका लागि हाल अध्ययन भइरहेको छ।
अध्ययनसँगै पुनःनिर्माणको काम पनि शुरु भएको विभागका निमित्त महानिर्देशक गौतमले बताए।
नुवाकोट दरबार क्षेत्रका तलेजु भवानी मन्दिर, गारदघर, रङ्गमहललगायत सबै संरचना चीन सरकारले नै पुनःनिर्माण गरिदिने छ।
नुवाकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत हुने गरी प्रक्रिया अघि बढेकाले चीन सरकारले पुरानोस्वरूपमै निर्माण गर्न लागेको विभागले जनाएको छ।रासस
|
राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित तीन विधेयक आज प्रमाणीकरण गरेकी छन्।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
|
चीनमा हुने सातौँ विश्व सैनिक खेलकूदमा भाग लिने खेलाडीको बिदाइ काठमाडौं । नेपाली सेनाले चीनको हुवेइ प्रान्तको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिने खेलाडी तथा प्रशिक्षकलाई औपचारिकरुपमा आज बिदाइ गरेको छ।
सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा खेलाडी तथा प्रशिक्षकलाई सङ्गठनको तर्फबाट बिदाइ गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले उच्च आत्मबलका साथ नेपाली सेना अनुशासनको हिमायती हो भन्ने ढङ्गबाट प्रतियोगितामा प्रस्तुत हुन निर्देशन दिए।
इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल ९सिआइएसएम०ले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो।
प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिने छ। नेपालले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ खेललाई रोजेको छ।
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उक्त प्रतियोगिताका लागि सेनाले छनोट गरेको छ। प्रतियोगितामा भाग लिने ४० जना खेलाडी र प्रशिक्षकसहितको नेपाली प्रतिनिधिमण्डलले भाग लिने छ।
प्रधानसेनापति थापाले भने, “नेपाली सेना र नेपालीको गौरव प्रवद्र्धन गर्न आत्मअनुशासन रही प्रतियोगीता जित्छु भन्ने अठोटका साथ खेलाडीले ठिक समयमा अनुभव, खेल कौशल र क्षमता प्रदर्शन गर्न सक्नुपर्छ, खेलाडीले प्राप्त गर्न उत्कृष्ट नतिजाले सङ्गठनको मात्र होइन, मुलुकै गौरवमाथि उठ्ने छ, डराउनु पर्दैन ढुक्क भएर खेल्नुस्, खुवी देखाएर प्रतियोगिता जित्ने कोसिस गर्नुस्।
ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने यो प्रतियोगितामा विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । उक्त प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछ ।
सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख महासेनानी शशीकिरण रायमाझीले समारोहमा उक्त प्रतियोगिताको तयारीको समग्र अवस्थाका बारे जानकारी गराउँदै पहिलोपटक भाग लिए पनि अनुभवी खेलाडी भएका कारण निकै राम्रो नतिजाको अपेक्षा गरिएको जानकारी दिए।
विशिष्ट पाहुनाको रुपमा उक्त खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सहभागी हुनेछन्। नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुल पनि सदस्य राष्ट्र पाहुनाका रुपमा सहभागी हुनेछन्।
उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिता सञ्चालन हुने सबै स्थानमा मोटरबाट ४० मिनेटभित्रै पुग्न सकिने दूरीमा रहने छन्।रासस
|
महरा प्रकरण : पत्रकार सिवाकोटीबिरुद्ध साइबर क्राइमको मुद्धा हाल्ने रोशनीको चेतावनी (पत्रसहित) काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा अनावश्यक घटनालाई जोडी समाचार लेखेको भन्दै रोशनी शाहीले पत्रकार अजयबाबु सिवाकोटी बिरुद्ध बेइजती तथा साइबर क्राइमको मुद्धा दर्ता गराउने चेतावनी दिएकी छन्।
शुक्रबार पत्रकारलाई जानकारीका लागि पत्र लेख्दै महरा आफ्नो कोठामा नआएको, नभएकै कुरालाई अनावश्यक रुपमा बेज्जत गराएको भन्दै पत्रकार सिवाकोटीलगायत युट्युवे पत्रकारविरुद्ध मुद्धा हाल्ने पत्रमा लेखेकी छन्।
गत आइतबार यसै समाचारलाई लिएर कृष्णबहादुर महराले सभामुख पदबाट राजिनामा दिएर प्रहरीले पक्राउ गरी हिरासतमा उनको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
हेर्नुहोस् रोशनीको पत्र
|
च्याङ्ग्रे ‘भ्यू’ टावरको डीपीआर सम्पन्न भोजपुर । पौवादुङ्मा गाउँपालिकामा च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भएको छ । प्रसिद्ध धार्मिकस्थल सन्तानेश्वर मन्दिर र पर्यटकीय क्षेत्र अरुण डाँडालाई पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने कार्य अगाडि बढाइएको छ ।
गाउँपालिका उपाध्यक्ष सम्झना राईका अनुसार ती दुई गाउँपालिकामा निर्माण गर्न लागिएको पर्यटकीय संरचनाको डीपीआर पनि तयार भएको छ । उनका अनुसार च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माणको लागि रु ९२ लाख, सन्तानेश्वर मन्दिर निर्माणको लागि रु दुई करोड सात लाख र अरुणमा भवन निर्र्माण तथा अन्य संरचना निर्माणको लागि रु चार करोड ५० लाखको लागत डीपीआर तयार भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए।
अध्यक्ष राईले भने, “गाउँपालिकाले यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि काम बढाएको छ, त्यसका लागि तीन ठाउँको डीपीआर सम्पन्न गरिसकेका छौं ।’’ अध्यक्ष राईका अनुसार डीपीआर भएका सबै संरचनाको निर्माण कार्य तीन वर्षमा सक्ने लक्ष्य रहेको छ । गाउँपालिकाले तीन ओटै संरचनाको डीपीआरका लागि रु २० लाखका दरले रु ६० लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै गाउँपालिकाले पर्यटनसँगै खेल क्षेत्रका विकास गर्ने उद्देश्यले कबड हल निर्माण गरिसकेको छ भने अन्तर्राष्ट्रियस्तरको रङ्गशालासमेत निर्माण गरिहेको छ । त्यसका लागि रु एक करोड ३५ लाख लागतमा काम भइरहेको छ ।
|
खुर्पा प्रहारबाट पाँच घाइते भोजपुर । भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरूलाई घाइते बनाएको हो ।
घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय बलराम पाठक र शुभन सुन्दास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सख्त घाइते दुई जनालाई उपचारका लागि सुनसरीको धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान र अर्का एक जनालाई कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
|
पोलिस, अस्ट्रियाली लेखकलाई नोबेल पुरस्कार स्टकहोम (रासस/एपी) । सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोल्याण्डकी लेखिका ओल्गा टोकारजुक र सन् २०१९ को नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ ।
सन् २०१८ मा एक विवादास्पद यौनकाण्डका कारण साहित्य तर्फको नोबेल पुरस्कार वितरण गरिएको थिएन । स्वीडिस एकेडेमीका सचिव म्याट्स माल्मले स्टकहोममा दुबै पुरस्कारको घोषणा गरेकाे थियो ।
पुरस्कारका लागि आठ जनाको नाम प्रारम्भिक छनौटमा परेको र त्यसमध्ये दुई जनालाई सन् २०१८ र २०१९ का लागि पुरस्कृत गर्ने निर्णय भएको नोेबेल कमिटीका अध्यक्ष एन्डर्स ओल्सोनले बताए।
पुरस्कृत व्यक्तित्वहरुले जनही ९ लाख १८ हजार अमेरिकी डलर र स्वर्ण पदक एवं प्रमाणपत्र प्राप्त गर्नेछन्। उक्त पुरस्कार आगामी डिसेम्बर १० मा स्टकहोममा विशेष समारोहबीच प्रदान गरिनेछ।
यसअघि नै रसायनशास्त्र, चिकित्साशास्त्र र भौतिकशास्त्र तर्फको पुरस्कार घोषणा गरिसकिएको छ।
|
दुई लाख नगदसहित सुर्खेतबाट १४ जना जुवाडे पक्राउ सुर्खेत । सुर्खेत प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा १४ जनालाई पक्राउ गर्नुका साथै रु दुई लाख भन्दा बढी नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकाबाट सात-सातजनालाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले विजयादशमीको अघिल्लो दिन भेरीगङ्गा नगरपालिका–११ को काठेघारी सामुदायिक वन क्षेत्रबाट रु एक लाख ९१ हजार ५९५ नगदसहित सात जनालाई पक्राउ गरेको जानकारी दिए ।
उनका अनुसार भेरीगङ्गा नगरपालिका–१२ का कर्णबहादुर चन्द, दीपक थापा, भेरीगङ्गा–२ का दीपक वली,–४ का भानु खड्का, वीरेन्द्रनगर नगरपालिका–६ का सन्दीप श्रेष्ठ, वीरेन्द्रनगर–१० का धीरज अधिकारी र–११ का चिरञ्जीवी वली पक्राउ परेका छन् ।
प्रहरीले वीरेन्द्रनगरबाट रु २५ हजार ४५० नगदसहित सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१० का चेत भट्टराई, लोकबहादुर ठाडा, खगेन्द्र शाही, वीरेन्द्रनगर–३ का भोजकुमार डाँगी, दीपेन्द्र गिरी, वीरेन्द्रनगर–५ का दिल पुलामी र अम्मर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता रवी रावलले जानकारी दिए ।
पक्राउ परेकाको अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको उनको भनाइ छ ।रासस
|
‘चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई फराकिलो बनाउँछ, अन्तर्राष्ट्रिय जगतमा राम्रोसँग चिनाउँछ’ काठमाडौं । चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले निसन्देह नेपालको निम्ति दिर्घकालिन असर गर्नेगरि दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउने र अन्तर्राष्ट्रिय जगतमा नेपाललाई अझै राम्रोसँग चिनाउने स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले सीको भ्रमणको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै पूर्वराजदुत कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन् । उनले भने,‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुनु सुखद समाचार हो । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ । २३ वर्ष अगाडि र पछाडि यो बीचको दरबियानमा बाग्मतीमा धेरै पानी बगे । प्रशान्त महासागरमा पनि पानीका छालहरु धेरै आए ।
उतारचढाव भए । हामी अहिले नयाँ परिवेश र नयाँ युगमा छौं । चीन र नेपाल दुवै यतिवेला नयाँ युगमा छन् । परिवर्तनको एउटा संघारमा हामी उभिएका छौं । यतिखेर चीनजस्तो अहिलेको दुनियाँको एउटा उदयीमान राष्ट्रका सर्वोच्च नेता राष्ट्रपति नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । स्वयम नेपालको निम्ति आफैंमा एउटा गर्वको विषय हो । आफैंमा एउटा नेपालको प्रतिष्ठाको एउटा सम्मान पनि हो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले उक्त भ्रमणको बारेमा नेपाली राजनीतिक वृत्तमा विचारधारात्मक रुपमा आन्तरिक रुपमा विभाजित भएपनि राष्ट्रपति सीको नेपाल भ्रमणबारे सबै एकमत रहेको दाबी गरे । उनले भने, ‘सीको नेपाल भ्रमणबारे नेपाल एक ढिक्को छ । भ्रमणको पूर्ण सफलताको कामना पनि छ ।
योगदानको बारेमा राजनीतिक वृत्तमा एउटै अवधारणा छ। नेपालको हितमा प्रयोग गरिनुपर्छ । बढिभन्दा बढि नेपालको हितमा परिलक्षित गर्नुपर्ने मत छ ।’
उनले नेपालका राजनीतिक दलहरु र नेपालीहरु अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक सम्बन्धका मामिलामा सधैंभरि एक ढिक्का भएको पनि सुनाए । उनले भने, ‘यहाँ आईपर्ने आपत्तविपत्तमा पनि हामी एक ढिक्का भएर सामना गरेका छौं । प्रजातन्त्रको पूर्नस्थापनामा पनि र हामीले एकजुट भएर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका हौं ।’
चिनियाँ राष्ट्रपति सी भारत भ्रमण गरेर नेपाल आउने सुनाउँदै कार्कीले भने,‘उहाँ भारत भ्रमण गरेर नेपाल आउँदै हुनुहुन्छ । चीन र भारतको सम्बन्धलाई प्रस्तुत गर्दा प्रतिद्धन्द्धीतमा प्रस्तुत गर्ने गरिन्छ, तर उनीहरुको प्रतिद्धन्द्धिताको आयाम चाहीँ साँघुरो छ । सहयोगात्मक क्षेत्र फराकिलो छ । आपसी हितमा उनीहरुको साझा एजेण्डा छन् । भित्रभित्र उनीहरुबीच सहयोग छ । नेपालले छिमेकीको हितमा, उनीहरुको बीचमा सद्भावका आधारमा आफ्नो सम्बन्ध स्थापित गर्नुपर्छ । त्यसो गर्दा नै हाम्रो हित हुन्छ ।’
उनले सीको नेपाल भ्रमणलाई सफल बनाउनको लागि कुनै कसर बाँकी राख्न नहुने पनि सुनाए । उनले भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम दिने, अझ गहन बनाउने, अझ सुदृढ बनाउने र अझ गहकिलो बनाउने पनि विश्वास दिलाए । उनले भने, ‘दुई देशबीचको आपसी सम्बन्धलाई फराकिलो बनाउने । अपासी विश्वास र समझदारीलाई अझ उँचो बनाउन यो भ्रमण फलदायी हुनेछ ।’
त्यस्तै, उनले आर्थिक क्षेत्रको उपलब्धिको दिशा के हो ? भन्नेबारे नेपालले आफ्नो आर्थिक क्षेत्रका अपेक्षाहरु चीनसमक्ष यसअघि नै राखिसकेको पनि सुनाए । उनले भने,‘केपी शर्मा ओली अघिल्लोपटक चीन जाँदा हामीले ऐतिहाँसिक महत्व राख्ने सन्धि, सम्झौता गरेका छौं । मूलतः तीनै सन्धि, सम्झौताको घेराभित्र रहेर त्यसलाई कसरी प्रभावकारी र ठोस रुपमा अघि बढाउने भन्ने नै हो । सीको भ्रमणको क्रममा यसबारेमा विशेष ध्यान दिनुपर्छ ।’
पूर्वाधार विकासमा चिनियाँ सहयोग र नेपालको औद्योगीकरणको निम्ति चिनियाँ विदेशी पुँजी नेपालमा भित्र्याउने बारेमा अलिक बढि फोकस गर्नुपर्ने उनको सुझाव छ । उनले भने,‘शपिङ लिष्ट होईन, हामीले मुख्य कुरामा ध्यान दिनुपर्छ ।’ नेपालले छानेको र प्राथमिकता दिएको परियोजनामा आफूहरु मद्दत गर्न तयार रहेकोबारे चिनियाँ विदेशमन्त्रीले हालै गरेको नेपाल भ्रमणको क्रममा आफ्नो पोजिशन राखेको पनि उनले सुनाए ।
उनले भने, ‘बल अब हाम्रो कोर्टमा छ । नेपालले आफ्ना परियोजना के हो ? मेरो जुत्ताको साईज कत्रो हो भनेर पहिचान गर्न सक्नुपर्छ । थोरै अवधिमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सुनिशिचत भएको छ । हामी सबैले यसलाई सफल तुल्याउनको लागि योगदान गर्नुपर्छ ।’
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई केन्द्रमा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र पूर्व राजदुतहरुको छलफलमा पनि भ्रमणलाई सफल बनाउनेबारे कुराकानी भएको उनले सुनाए । उनले भने, ‘आजैमात्रै पनि कांग्रेसका साथीहरु, भूतपूर्व प्रम, पूर्व राजदुतहरुको बालुवाटारमा बैठक भएको थियो । यो भ्रमणले निसन्देह नेपालको निम्ति दिर्घकालिन असर गर्नेगरि दुइै देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउने र अन्तर्राष्ट्रिय जगतमा अझै राम्रोसँग चिनाउने काम गर्नेछ ।’ उनले नेपालले स्वतन्त्र विदेश नीतिमा आफ्नो छबि प्रस्तुत गर्ने कुरामा कुनै द्धिविधा नरहेको पनि जिकिर गरे ।
|
भूकम्पले क्षति पुगेका छपन्न हजार घर पुनर्निर्माण नुवाकोट । नुवाकोटमा भूकम्पले क्षति पुगेका छपन्न हजार भन्दा बढी घरको पुनःनिर्माण सम्पन्न भएको छ ।
जिल्लास्थित अनुदान ‘व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय’को अनुसार हालसम्म ५६ हजार १०७ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदान लिएर भूकम्पले लडाएका घरको पुनःनिर्माण गरेका छन्।
पीडितलाई घर पुनःनिर्माणका लागि नेपाल सरकार र सरकारबाट अनुमति लिएका सामाजिक संस्थाले तीन किस्तामा रु तीन लाख अनुदान उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाको कूल लाभग्राहीमध्ये ७३ प्रतिशतले घर निर्माण गरेर नयाँ घरमा बसोवास गर्न थालेका छन्।
विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले नुवाकोटमा ७६ हजार ८०९ घरमा पूर्ण क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख शम्भुकुमार शाहले जानकारी दिए।
उनको अनुसार तोकिएको मापदण्ड पूरा गरेर घर निर्माण गरेका धनीलाई स्थानीयस्तरमा खटिएका प्राविधिकको सिफारिसमा सरकारी अनुदान र तीन लाख उपलब्ध गराइएको हो।
भूकम्प पीडितमध्ये ६७ हजार ९५५ लाभग्राही (८८.४७ प्रतिशत) ले आवास निर्माणको लागि घरको जग बसालेर अनुदानको दोस्रो किस्ताबापत एक लाख पचास हजार लिएर घर निर्माण अन्तिम चरणमा पुर्याएका छन्।
कुल लाभग्राहीमध्ये ७३ हजार ५१ (९५.११ प्रतिशत) ले भूकम्प प्रतिरोधि आवास बनाउनका लागि सम्बन्धित वडा कार्यालयमा सम्झौता गरेका छन्।
तोकिएको मापदण्डअनुसार नयाँ घर निर्माण गर्ने प्रतिबद्धता जनाएका लाभग्राहीलाई सम्झौता पश्चात रु पचास हजार अनुदान उपलब्ध गराइसकेको कार्यालयका सूचना अधिकारी विशाल सापकोटाले जानकारी दिए।
उनको अनुसार घर निर्माणको लागि सम्झौता गरेर पहिलो किस्ता लिएका अधिकांश लाभग्राहीले पुनःनिर्माण अघि बढाएका छन्।
“अनुदान रकम लिएकामध्ये थोरैले मात्र घर बनाउन बाँकी छ, तिनीहरुको लागि कार्यालयले ताकेता गरिरहेको छ”, सापकोटाले भने, “अहिलेको प्रगतिको आधारमा पुनःनिर्माण जारी रहेमा तोकिएको अवधिमा भूकम्पले लडाएका घरको पुनःनिर्माण सम्पन्न गराउनसक्ने आशा जगाएको छ।”
सरकारले भूकम्पपीडित लाभग्राहीलाई आवास पुनःनिर्माणको लागि तोकिएको मापदण्डअनुसार घर बनाउँदा सम्झौता गर्ने वित्तिकै पहिलो किस्ताबापत रु पचास हजार, घरको जग तहसम्म निर्माण गरेपश्चात दोस्रो किस्ताबापत रु एक लाख पचास हजार र घर निर्माण सम्पन्न गरेपछि अन्तिम तथा तेस्रो किस्ताबापत रु एक लाख गरेर तीन चरणमा तीन लाख अनुदान उपलब्ध गराउँदै आएको छ।
विनाशकारी भूकम्पले लडाएको निजी आवासको पुनःनिर्माण यो वर्ष भित्रै पूरा गर्ने सरकारी लक्ष्य छ। रासस
|
पर्यटक माथिको दुर्व्यवहारप्रति दुःख व्यक्त पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले नेपाल भारत सिमास्थित बेलहिया नाकामा यही असोज १९ गते भएको भारतीय पर्यटकमाथिको दुव्र्यवहारप्रति दुःख व्यक्त गरेको छ।
सङ्घका अध्यक्ष विकल तुलाचनद्वारा आज जारी विज्ञप्तिमा नेपाल प्रवेश गर्दै गरेका भारतीय पर्यटकमाथि नेपाली पक्षबाट दुव्र्यवहार भएको भनी विभिन्न सञ्चारमाध्यममा आएको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
पशुपति दर्शनका लागि लखनउबाट आएका झण्डै एक दर्जन भारतीय पर्यटकले सीमामा आफ्नो सवारीसाधन पार्किङ गरेबापत दुई सय रुपैया तिरेको तर त्यसबापत नेपाली व्यवसायीसँग रसिद माग्दा उल्टो पर्यटकलाई दुव्र्यवहार गरिएको र प्रहरीचौकी छिर्दासमेत आक्रमण गरिएको भन्ने समाचार अहिले केही भारतीय प्रिन्ट र अनलाइन सञ्चार माध्यमले प्रकाशित गरेका छन्
भारतीय टेलिभिजन च्यानल दूरदर्शनसँग सम्बन्धित पाहुनासमेत संलग्न पर्यटक समूहमाथि भएको घटना सम्बन्धमा सत्यतथ्य जाँचबुझ गरी दोषीलाई तत्काल कारवाही गर्न सङ्घले सरकारसँग माग गरेको छ।
बीस लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्यकासाथ घोषित नेपाल भ्रमण वर्ष २०२० शुरु हुन तीन महीना पनि बाँकी नहुँदा भारतीय पाहुनामाथि भएको यस्तो व्यवहारले पर्यटन र दुई पक्षीय सम्बन्धमा नै नकारात्मक असर पर्ने बताउँदै सङ्घले पाहुनामाथि हुने कुनै पनि दुव्र्यवहार मान्य नहुने बताएको छ।
लखनउलगायत उत्तर भारतका थुप्रै शहरमा सङ्घले विगत १२ वर्ष अघिदेखि भारतीय पर्यटक नेपाल भित्र्याउन सञ्चालित चलिए पोखरा अभियानको सकारात्मक प्रभाव परिरहेको उल्लेख गर्दै सङ्घले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
भविष्यमा यस प्रकारका घटना नदोहोर्याउन सचेत रहनसमेत सङ्घले सम्बन्धित सबैसँग आग्रह गरेको छ। रासस
|
किन मनाइन्छ ‘विश्व दृष्ट्रि दिवस’ ? World Sight Day अर्थात विश्व दृष्ट्रि दिवस प्रत्येक वर्ष अक्टोवर महिनाको दोस्रो हप्ताको विहिवार मनाउने गरिन्छ। तसर्थ यस वर्ष अक्टोवर १० अर्थात आश्विन २३ गते परेको छ।
आजको दिनमा संसार भर अन्धोपन र अन्धोपन हूनूको कारण चित्र आकरण गर्ने छौं। आज भने “Vision First” अर्थात् “दृष्टि पहिलो प्राथमिकता” नाराको साथ विश्व दृष्टि दिवस मनाउँदै छौं।
विश्व दृष्टि दिवस पहिलो पटक लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले सन् २००० सालमा सूरु गरेको थियो। अहिले विश्व दृष्टि दिवस International Agency for Prevention of Blindness (Vision २०२०) को संलग्नतामा सहकार्य गर्दै मनाउँदै आएको छ ।
विश्व दृष्टि दिवसका उद्देश्यहरुः
आज नेपाल सरकारको स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखालगायत नेपालका विभिन्न आँखा अस्पतालहरुमा यस दिवसलाई विशेष पर्वको रुपमा मनाइदै छ।
यस दिवसमा Nepalese Association of Optometrists (NAO) र विद्यार्थीहरुको पनि विशेष भूमिका रहेको देखिएको छ।
Nepal Optometry Student’s Society (NOSS) ले र्याली, जनचेतनाका विभिन्न कार्यक्रमहरु जस्ता क्रियाकलापहरुमा सहभागिता जनाएको छ।
कपिल गौतम
अध्यक्ष (NOSS)
[email protected]
9843239292
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.