content
stringlengths
20
64.1k
हजारौँ विद्यार्थीद्वारा लेबनानका सडकमा प्रदर्शन बेरुत (रासस/एएफपी) । चार हप्ता अघिदेखि आन्दोलनमय भएको लेबनानमा बिहीबार हजारौ विद्यार्थीहरूले सडकमा प्रदर्शन गरेका छन् । सरकार विरुद्ध देशभरी नै उनीहरुले सडकमा प्रदर्शन गरेको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् । सुनौलो भविष्य, पर्याप्त रोजगारी, विकृती विसंगतीको अन्त्य, भ्रष्टाचार न्युनीकरण, मूल्य वृद्धि नियन्त्रण, गुणस्तरीय सरकारी सेवालगायतका माग राख्दै लेबनानमा गत चार हप्तादेखि आन्दोलन भइरहेको हो । उनीहरुले अहिलेका शासक खराब रहेको भन्दै सरकार परिवर्तन गर्नु पर्ने माग पनि राखेका छन् । बिहीबारको प्रदर्शनमा सहभागीहरूले विद्यालयको झोला बोकेका थिए भने प्रदर्शनको अग्रपंक्तिमा महिलाहरू रहेका थिए । प्रदर्शनमा सहभागीहरू विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू रहेको समाचारमा जनाइएको छ । उनीहरुले लेबनानको राष्ट्रिय झण्डा फहराएका थिए भने सडक अवरुद्ध गरेका थिए ।
विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ मोरङ । चोरी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका ११ बस्ने २८ वर्षीय भरत मुखियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । २०७४ भदौ २० गतेको फैसलाले १ महिना कैद र ७ हजार ५ सय रुपैयाँ जरिवाना सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सोही महानगरपालिका १२ बाट पक्राउ गरेको हो । यसैगरी सवारी ज्यान मुद्धाका फरार प्रतिवादी मोरङ लेटाङ नगरपालिका ८ बस्नेय भिम बहादुर सार्कीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी वन पैदावर ओसारपसार मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका ९ का ४७ वर्षीय सेमन्त दाहाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वन पैदावर ओसारपसार मुद्दामा जिल्ला अदालत मोरङको २०६९ असार ७ गतेको फैसलाले १ महिना १५ दिन र ८ हजार २ सय ४९ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दाबी भुक्तानीमा विलम्ब नगर्न अर्थमन्त्रीको आग्रह काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले दाबी भुक्तानीमा विलम्ब नगर्न बीमा व्यवसायीहरूसँग आग्रह गरेका छन् । नेपाल पुनर्बिमा कम्पनीको छैटौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले नष्ट भएको धनमालको क्षतिपूर्ति दाबीको भुक्तानीमा ढिलासुस्ती नगर्न सम्बद्ध सबैलाई आग्रह गरे । उनले क्षतिको मूल्याङ्कन यकिन गर्न लाग्ने समय विमितलाई जानकारी दिन र निर्धारित समयभित्रै क्षतिपूर्ति बापतको रकम दिन अनुरोध गर्दै बीमा रकमका निम्ति दुर्घटनाको फर्जी कागतपत्र बनाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । “आफ्नै घरमा आगो लगाएर कृत्रिम क्षतिको बीमा दाबी गर्नेहरूविरुद्ध कडारूपमा प्रस्तुत हुनुहोस्” झूठा दाबी गर्नेहरू नैतिकरूपमा नै पतित भएको भन्दै उनले वास्तविक पीडित भने बीमाको सुविधाबाट वञ्चित हुन नहुनेमा जोड दिए । उनले स्वार्थको द्वन्द्व हुने गरी व्यवसाय नगर्न पनि सम्बद्ध सबैमा आग्रह गरे ।
प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश पारित धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश, २०७६ स्वीकृत गरेको छ । प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा स्थापना गर्ने निर्णय प्रदेशसभाको बैठकले झण्डै एक वर्षअघि नै गरिसकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश समपुरक अनुदानसम्बन्धी पहिलो संशोधन कार्यविधि, २०७६ र प्रदेश अनुदानसम्बन्धी पहिलो संशोधन कार्यविधि, २०७६ स्वीकृत गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । यसैगरी मन्त्रिपरिषद् बैठकले आउँदो मङ्सिर २० गते धनगढीमा सुदूरपश्चिम वित्तीय सम्मेलन आयोजना गर्ने निर्णय गरेको जनाइएको छ ।रासस
पोषणसम्बन्धी छैटौँ विश्व सम्मेलन जापानमा हुने काठमाडौं । पोषणसम्बन्धी सेवाको विस्तारका लागि अगामी छैटौँ विश्व सम्मेलन जापानको टोकियो शहरमा आयोजना हुने भएको छ । ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका साथ यहाँ शुरु भएको पाँचौँ विश्व सम्मेलनको समापनका अवसरमा आज आयोजित कार्यक्रममा सन् २०२० मा सो सम्मेलन टोकियोमा हुने स्थान निर्धारण गरिएको हो । सो चारदिने पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलन दक्षिण एशियामा नै नेपालमा पहिलोपटक आयोजना भएको थियो । हरेक दुईवर्षको अन्तरालमा यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन हुने गर्दछ । सम्मेलनमा सहभागी देशका प्रतिनिधिले दिगो विकास लक्ष्यले निर्धारण गरेका पोषणका लक्ष्यलाई हासिल गर्न पुनः प्रतिबद्धता जनाएका थिए । सन् २०३० सम्ममा भोकमरी शून्यमा झार्दै कुपोषणलाई न्यूनीकरण गर्ने दिगो विकासको दुई नम्बर लक्ष्यमा रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा संयोजन गरिएको सम्मेलनमा नेपालसहित विश्वका ८० देशका एक हजार २०० प्रतिनिधिको सहभागिता रहेको थियो । उच्च राजनीतिक नेतृत्व, नीति निर्माता, गैरसरकारी संस्थाका प्रतिनिधि पोषणसम्बन्धी कुम्भमेलामा सहभागी भएका थिए । पोषणसम्बन्धी क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका तथा समाज कल्याणलगायतका विषयमा २५ अलगअलग कार्यशाला सम्मेलनका क्रममा सम्पन्न भएका थिए । सहभागी देशले पोषणका क्षेत्रमा गरेका उपलब्धि र कुपोषण न्यूनीकरणका लागि आगामी रणनीतिका बारेमा सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै खुलेर छलफलसमेत गरेका थिए । समापन समारोहमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सन् २०३० सम्म नेपाल सरकारले कुपोषण न्यूनीकरण गर्ने लक्ष्य हासिल गर्न आफ्ना नीति तथा कार्यक्रमलाई उच्च प्राथमिकता दिएको जानकारी दिए । अर्थमन्त्री डा युवराज खतिवडाले गरीबी निवारण र कुपोषणका न्यूनीकरणमा नेपाल सरकारको लगानी उच्च रहेको चर्चा गर्दै सरकारी र निजी क्षेत्रको सहकार्यबाट सुपोषित समाज निर्माण गर्न सकिन्छ भने । उनले पोषणका एकीकृत कार्यक्रम वडा तहमा पुगेको चर्चा गर्दै नेपालको संविधानमा खाद्य सुरक्षा मौलिक अधिकारभित्र समावेश भएको जानकारी दिए । नेपाल ‘सन’ अभियानको सक्रिय सदस्य देश हो । सन अभियानको शुरुआतदेखि नेपाल सन सम्मेलनमा सहभागितामा भाग लिँदै आएको छ । सन अभियानका संयोजक एवं संयुक्त राष्ट्रसङ्घका उपमहासचिव गर्दा भरवुङले पोषणसम्बन्धी दिगो विकास लक्ष्यलाई हासिल गर्न लगानी बढाउन सहभागी देशका प्रतिनिधिलाई आह्वान गरे । नेपालस्थित जापानी राजदूत मासामिकी साइगोले आगामी पोषणसम्बन्धी सेवाको विस्तारका लागि आगामी छैटौँ विश्व सम्मेलन आफ्नो देशले गर्न आयोजना गर्न पाउनु गर्वको विषय रहेको बताए । कुपोषणको समस्यालाई सम्बोधन गर्न राष्ट्रिय योजना आयोगले पहिलोपटक सन् २०१३ देखि पाँचवर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याएको थियो । पहिलो योजनाको सफलतासँगै आयोगले अन्तरमन्त्रालय समन्वयमा अहिले दोस्रो चरणको पाँचवर्षे योजना कार्यान्वयन गरिराखेको छ । हाल पोषणको स्थिति कमजोर भएका ६२ जिल्लाका ६१० स्थानीय तहमा ती कार्यक्रम पुगेका छन् । पछिल्लो समय पोषणका कार्यक्रमले समुदायमा सकारात्मक नतिजा ल्याउन सकिरहेका छैनन् । परम्परागत खानपान र पत्रु खाना (जङ्क फुड) प्रति बालबालिका, युवायुवतीको बढ्दो आकर्षणले कुपोषणको समस्या न्यूनीकरणमा सफलता हात परेको छैन । विश्वमा पाँच वर्षमुनिका प्रत्येक तीन जना बालबालिकामध्ये एकजना पुड्कोपन, ख्याउटे, मोटोपनजस्ता कुपोषणले ग्रसित रहेका छन् । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ का अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशत पुड्कोपनका रहेका छन् । सन् २००१ मा पुड्कोपन ५५ प्रतिशत रहेको थियो । यसैगरी सोही उमेर समूहका बालबालिकामध्ये २७ प्रतिशत कम तौलका र १० प्रतिशत ख्याउटे रहेका छन् । पाँच वर्षमुनिका बालबालिका अधिक तौल र मोटोपन १/२ प्रतिशत र प्रजनन उमेरका महिला अधिक तौल र मोटोपन २२ प्रतिशत र सोही उमेरका महिलाको दुब्लोपन १७ प्रतिशत रहेको छ । यसैगरी नेपाल राष्ट्रिय सूक्ष्म पोषकतत्व सर्वेक्षण, २०१६ का अनुसार नेपालका ३२ प्रतिशत किशोरकिशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको छ । अर्कोतर्फ बहुआयामिक गरीबी तथा कुपोषणका कारण बालबालिका विद्यालय जानबाट वञ्चितसमेत रहेका छन् । धनी वर्गका बालबालिकामा पुड्कोपन १६।५ र गरीब वर्गका बालबालिकामा यो दर झण्डै ५० प्रतिशत रहेको छ । सन् २०३० सम्ममा पुड्कोपन १५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । यसैगरी प्रजनन उमेर समूहका २०–४९ उमेर समूहका ४८ प्रतिशत महिलाको २० वर्ष नपुग्दै विवाह हुने गर्दछ । सुत्केरी भएमा आमामध्ये ५० प्रतिशतले मात्र एक घण्टाभित्र शिशुलाई दूध चुसाउँदछन् । सन अभियान के हो ? विभिन्न तहबाट सञ्चालन गरिएका पोषणसम्बन्धी कार्यक्रमलाई विश्वव्यापीरूपमा विस्तार गरी किशोरकिशोारी, महिला तथा बालबालिकामा हुने सबै प्रकारका कुपोषणलाई अन्त्य गर्न सो अभियानको जन्म भएको थियो । संयुक्त राष्ट्रसङ्घको पहल र सदस्य देशको नेतृत्वमा सन् २०१० मा सो अभियान शुरु भएको थियो । स्वीट्जरल्याण्डको जेनेभामा सचिवालय रहेको सो अभियानमा नेपालले सन् २०११ देखि सक्रिय सदस्यका रूपमा योगदान दिँदै आएको छ । हाल सो अभियानमा विश्वका विभिन्न ६१ देश सदस्यका रूपमा जोडिएका छन् । अभियानमा जोडिएका अन्य देशमा अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, इण्डोनेशिया, म्यान्मा, पाकिस्तान, श्रीलङ्का, फिलिपिन्स, ताजकिस्तान, यमन, बुरुण्डीलगायतका रहेका छन् । अभियानले राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, नागरिक समाज, प्राज्ञिक क्षेत्र, सामाजिक अभियानकर्मीलगायतलाई पोषणका क्षेत्रमा काम गर्न अनुकूल वातावरण तयार गर्न समन्वय गर्दै आएको छ । विश्वस्वास्थ्य सङ्गठन, राष्ट्र सङ्घीय बालकोष, विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय निकायले अभियानलाई अनुमोदन गरेका छन् । सो अभियानले सन् २०१६–२०२० का लागि चारवटा रणनीति र मार्गचित्रसमेत तयार पारेको छ । पोषणका लागि अनुकूल राजनीतिक वातावरणको विस्तार र दिगोपन कायम गर्ने, पोषणका लागि योगदान पुर्याउने प्रभावकारी कार्यलाई प्राथमिकता दिने, यसको संस्थागत विकास गर्ने, कुपोषण अन्त्य गर्न साझा रणनीति तयार गर्ने र पोषणको लागि आर्थिक स्रोत व्यवस्थापन गर्ने रहेको अभियानको सचिवालयमा कार्यरत सोविता मल्लले जानकारी दिए । सो अभियानको पहिलो सम्मेलन २०१३ मा अमेरिकाको न्यूयोर्क, दोस्रो सन् २०१४ मा इटलीको रोम, सन् २०१५ इटलीकै मिलान र सन् २०१७ मा अविदजान, कोट डि आइभोरीमा सम्पन्न भएका थिए । रासस
भारतीय नक्सा विवाद : मुगुमा पनि विरोध प्रर्दशन मुगु । भारत सरकारले एक पक्षिय रुपमा ल्याएको राजनैतिक नक्शामा नेपालको कालापानी र लिपुलेख ओघटेको विरोधमा आज यहाँ प्रर्दशन गरिएको छ । मुगु जिल्ला स्थित रारा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको अगुवाईमा विहिबार साँझ ५ बजे भारत विरुद्घ चर्का चर्का नारा लगाउदै सदरमुकाम गमगढी बजार परिक्रमा गदै विरोध प्रर्दशन गरिएको हो । पुर्खाको रगत पसिनाले आर्जन गरेको नेपालको भू–भाग एक ईन्च पनि गुमाउन हामी चाहदैनौ राज्यले आदेश मात्र देओस हामी मर्न पनि तयार छौ । रारा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति चन्द्र प्रकाश मल्लले बताए । कालापानी, लिपुलेख मात्र हाईन नेपालको साविकको नक्सा नै विग्रने गरि भारत र चीनले मिचेका नेपालका अन्य भू–भागको समेत कुटनैतिक तबरबाट पहल गरि फिर्ता ल्याउन पनि आन्दोरत विद्यार्थीहरुले सरकार समक्ष माग गरेका छन् । विरोध र्यालीमा सहभागीहरु नेपाली भू–भाग फिर्ता गर!, सीमा मिच्न पादैन!, यस्तो छिमेकी चाहिदैन!, गोर्खालीका सन्तान हौं!, पछि हामी हटदैनौ!, अघि बढ सरकार हामी तिम्राे साथमा छौंजस्ता नारा लगाउँदै र पलेकाड बोकेर सदरमुकाम गमगढीको कृष्ण चोक, मेयर चोक अदालत चोक हुँदै पुन कृष्ण चोक पुगेर बजार परिक्रमा गरेको थियो । प्रर्दशनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियूका विद्यार्थी कार्यकर्ता र स्वतन्त्र युवाहरुको सहभागिता थियो ।
आलम प्रकरण : थुनछेक बहस शुक्रबार रौतहट । पूर्व मन्त्री नेपाली कां‌ग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको थुनछेक बहस भोलि हुने भएको छ। २०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ । पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, अधिवक्ताहरु पुष्पराज पौडेल, ओमप्रकाश अर्याल दिनेश त्रिपाठी डा। कुमार शर्मा आचार्यले बहस गर्नेछन् । प्रतिवादी आलमको पक्षबाट वकालत गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण) रौतहट आएका छन् । यसअघि बिहीबार नै आलमको बयान सकिएको थियो । आलमलाई जम्मा ५१ बटा प्रश्न सोधिएको थियो ।
विदेशबाट सञ्चालित २ दर्जनबढी कलेज खारेज गर्ने सरकारको तयारी काठमाडौं । सरकारले विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढी कलेजहरुलाई खारेज गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाल सरकारको विधि र प्रक्रियासम्मत ढंगले सञ्चालन नभएका दुई दर्जनबढी विदेशी निकायबाट सम्बन्धन प्राप्त कलेजहरु खारेज गर्ने तयारी गरिएको जानकारी दिएका हुन् । दर्तासमेत नभएका, राजश्व पनि नबुझाएका वाईल्ड इन्सिच्यूड अफ एडभान्स काठमाडौ, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, माल्पी इन्टरनेशनल कलेज काठमाडौंलगायतका कलेजहरुलाई सरकारले खारेज गर्ने तयारी गरेको हो । प्रक्रियागत ढंगले सञ्चालन नभएका ती कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिन समय पनि दिइएको मन्त्री पोखरेलले बताए । सरकारको नीति, नियम र निर्देशिका विपरित चलेपछि ती कलेजहरु खारेज गर्ने निष्कर्षमा पुग्नु परेको पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
हतियारसहित बल्खुबाट ३ जना पक्राउ काठमाडौं । हतियारसहित काठमाडौंमा ३ जना पक्राउ परेका छन् । बिहीबार प्रहरीले बल्खु एरियाबाट ३ जनालाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका १४ बल्खुका ३५ वर्षीय देवेन्द भण्डारी, कीर्तिपुर नगरपालिका ६ चोभारका ५० वर्षीय सुमन खड्का र काठमाडाैँ महानगरपालिका १४ बल्खुका ४७ वर्षीय मनोज कुमार बस्नेत रहेका छन्। काठमाडौं उपत्यकाभित्र गैरकानूनी रुपमा साना हतियार पेस्तोलको कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो। वल्खु एरियाबाट बा. १७ च. ८३६४ नम्वरको महेन्द्रा कम्पनीको गाडी सहित तीनै जनालाई पक्राउ गरी अनुसन्धान गर्दा पेस्तोल र गोलीहरु सुमन खड्काको घर कम्पाउण्डमा लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । घर कम्पाउण्डको कुनामा ईट्टाले छोपीलुकाई राखेको अवस्थामा म्याग्जिन सहितको ७६५७ नं को राउण्ड इन युएसए सप्लाई फर युएसए लेखिएको १ थान पेस्तोल र ४ राउण्ड गोली फेलापारी फेला पारेको प्रहरी उपरीक्षक सुशीलसि‌ं राठाैरले जानकारी दिए ।
‘सरकारले पोषणसम्बन्धि कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ’ काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारले पोषणसम्बन्धि कार्यक्रमलाई उच्च प्राथमिकता दिएको बताएका छन् । उपप्रधानमन्त्री यादवले सबै नागरिकलाई स्वस्थ राख्ने गरी पोषणयुक्त खाद्यान्नको व्यवस्थापन हुने गरी नेपाल सरकारले आवश्यक नीतिगत र कानुनी व्यवस्था गरेको बताएका हुन् । काठमाडौंमा सुरु भएको पोषणसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको बिहीबार समापन गर्दै उनले नेपालको संविधानले नागरिकको स्वास्थ्यसम्बन्धि हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको पनि स्मरण गराए । उपप्रधानमन्त्री यादवले सरकारले गरिवी निवारण र भोकमरीको अन्त्य हुने गरी पोषणयुक्त खाद्यान्नको व्यवस्थापन गर्न सार्क राष्ट्रहरुसँग पनि सहकार्यका साथ काम गरिरहेको बताए । कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पोषणयुक्त खाद्यन्नको व्यवस्थापनमा केन्द्रित हुन निजी क्षेत्रलाई आग्रह गरे । निजी क्षेत्रले खाद्यान्न उत्पादन र वितरण गर्ने भएकाले उनीहरुले पोषणयुक्त खाद्यान्न व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अर्थमन्त्री खतिवडाको भनाई छ । अर्थमन्त्री खतिवडाले नेपाल सरकारले पोषणयुक्त खाद्यान्न उत्पादन र बजारीकरणका लागि आवश्यक नीति लिइरहेको दावी पनि गरे ।
कात्तिक नाचको आज सातौं दिन : देवी नृत्य मञ्चन हुने काठमाडौं । जिल्लाको सबैभन्दा लामो नाट्य महोत्सवअन्तर्गत कात्तिक नाचको आज सातौँ दिन देवी नृत्य मञ्चन गरिने भएको छ। पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि महोत्सव अवधिभर उक्त नाच मञ्चन हुँदै आएको छ । आज उषाहरण लीलामा आधारित नाच मञ्चन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले बताए । उनले भने, “सो नाचअन्तर्गतको देवी नृत्यमा भैरव, महालक्ष्मी र बालकुमारीको नृत्य देखाइनेछ ।” सो नाचको दोस्रो चरणमा कङ्काल, ख्याक, मन्दिरको सरसफाइमा बस्ने र माछा मार्ने मानिसमा आधारित नाटकसहितको नृत्य देखाइने छ । कात्तिक नाचका लागि आठ वर्षदेखि ८० वर्ष उमेर समूहका कलाकार, वाद्यवादक, गायक र सहयोगी गरी करीब १०० कलाकारको सहभागिता रहने भए पनि देवी नृत्यमा १२ कलाकारको विशेष भूमिका रहने समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिए । विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंहले कात्तिक नाच शुरुआत गर्नुभएको इतिहासमा उल्लेख छ । सत्रौँ शताब्दीमा शुरु भएको विष्णु पुराणमा आधारित सो नाचमा विष्णुको अवतार, नृसिंह, राजा हिरण्यकश्यपु र विष्णुभक्त प्रल्हादका कथा छ । ऐतिहासिक रुपमा सांंस्कृतिक एवं तान्त्रिक मूल्य र मान्यता बोकेको सो नाचको महत्व अहिले पनि बढेको पाइन्छ । उक्त नाचलाई महत्व दिन ललितपुर महानगरपालिका, पाटन दरबार सङ्ग्रहालय, ललितपुर उद्योग वाणिज्य सङ्घ, सम्झना ल्याब्रोटरीलगायत इच्छुक व्यक्तिले सक्दो रकम सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यसले अपुग हुने उक्त समितिले जनाएको छ । समितिका सदस्य भन्छन्, “यो नाच सञ्चालन गर्न करीब रु १६ लाख लाग्ने भए पनि यो वर्ष करीब रु छ लाखमा सो कार्यक्रम सक्ने योजना बनाएका छौँ ।” विसं १६५७ मा पहिलोपटक पाँच दिनसम्म आयोजना गरिएको सो नाच विसं १७२३ मा सात दिन थप गरी १२ दिनसम्म मनाइएको थियो भने विसं १७४० मा १५ दिन थप गरी २७ दिनसम्म मनाइएको थियो । विसं २००७ देखि २०३७ सम्म ३० वर्ष (आर्थिक अभाव र राजनीतिक परिवर्तनका कारण) दुई दिन मात्र नाच आयोजना गरिएको थियो । विसं २०३८ मा आठ दिनसम्म मात्र आयोजना गरिएको सो नाच विसं २०७१ देखि १२ दिनसम्म आयोजना हुँदै आएको छ । रासस
नेताहरुको आम्दानी/खर्च नियमन गर्न अफ्रिकामा नयाँ विधेयक केप टाउन (रासस/सिन्ह्वा) । दक्षिण अफ्रिकाको तल्लो सदन राष्ट्रिय सभाले बुधबार राजनीति दलहरुको आम्दानी खर्च नियमन गर्नेसम्बन्धी विधेयकलाई पारित गरेको छ । यो विधेयकसँगै सूचनाको हक सम्बन्धी कानुन (पिएआईए) मा पनि संशोधन भएको छ । दलसम्बन्धी यस विधेयकले प्रत्येक आर्थिक वर्षमा राजनीतिक व्यक्तिहरुले कुनै व्यक्ति वा संस्थाबाट एक लाख रान्ड (६ हजार ७३९ अमेरिकी डलर) भन्दा बढी रकम चन्दा लिएको भए त्यस्तो व्यक्ति वा संस्थाको अभिलेख राख्नुपर्ने र कसैले सूचना माग गरेको अवस्थामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । संसदका प्रवक्ता मोलोटो मोथापोका अनुसार संशोधित विधेयकमा राजनीतिक नेताहरुले आवधिक रुपमा अभिलेख सरकारी निकायलाई उपलब्ध गराउनुपर्ने तथा त्यस्तो अभिलेख पाँच वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ । जुन २१, २०१८ मा दक्षिण अफ्रिकाको संवैधानिक अदालतले सूचनाको हक सम्बन्धी कानुनमा राजनीतिक नेता र स्वतन्त्र उम्मेदवारलाई सूचनाको हकबाट उन्मूक्ति दिने प्रावधान खारेज गरिदिएको थियो । साथै, अदालतले कानुन संशोधनका लागि १८ महिनाको समयावधि तोकेको थियो । यसै वर्षको जुन २४ मा सरकारले संसदमा संशोधित विधेयक प्रस्तुत गरेको थियो । मोथापोले राजनीतिक दलको आर्थिक पारिदर्शिताका सन्दर्भमा विभिन्न क्षेत्रसँग व्यापक परामर्श गरिएको, लिखित सुझाव संकलन गर्नुका साथै सार्वजनिक सुनुवाई गरिएको जानकारी दिए । प्रवक्ता मोथापोले उक्त विधेयक अब माथिल्लो सदनमा प्रस्तुत हुने, र त्यहाँबाट पारित भएपछि कानुनको रुप लिने जानकारी दिए ।
उपनिर्वाचन २०७६ः मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना काठमाडौं । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्ष्य गरी पौवादुङ्मा गाउँपालिका, च्याङ्ग्रेमामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचनको काम बुधबारदेखि सञ्चालन गर्ने गरी कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निमित्त कार्यालय प्रमुख दिव्येश्वरी जोशीले जानकारी दिए । आयोगले जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलनाथ रेग्मीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । कार्यालयको उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रेग्मीले निर्वाचनलाई तटस्थ, निष्पक्ष तथा मतदाताले भयरहित ढङ्गले मत खसाल्नका लागि पार्टी प्रतिनिधि तथा सबैको सहयोग आवश्यक भएको बताए । पौवादुङ्मा १ श्यामशिलामा हुने उपनिर्वाचनमा एक हजार ६१६ मतदाताले भाग लिँदै छन् । निर्वाचनमा महिला ८४२ र पुरुष ७७४ मतदाता छन् । तत्कालीन १ नम्बर वडाका वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निमोनियाका कारण गत साउनमा मृत्यु भएपछि वडाध्यक्ष पद रिक्त थियो । रासस
जनगायक जीवन शर्माका छोराको उपचारका लागि आर्थिक सहयोग काठमाडौं । जनगायक जीवन शर्माको छोराको उपचारका लागि जिल्लाका साहित्यकारहरुले आर्थिक सहयोग गरेका छन् । प्रगतिशील लेखक सङ्घ र शुक्ला साहित्य सङ्गम तनहुँको पहलमा शर्माको छोरा अर्जुन शर्माको उपचारका लागि ४२ हजार ४० सहयोग गरिएको हो । घाँटीको नलीमा जटिल समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माको सहयोगार्थ सञ्चालन गरिएको सहयोग अभियानबाट सङ्कलित उक्त रकम आज ग्लोबल आइएमई बैंकमा रहेको अर्जुनको खातामा पठाइएको प्रगतिशील लेखक सङ्घ तनहुँका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । “शर्मा परिवारमा परेको पीडामा साथ दिन सहयोग अभियान सञ्चालन गरेका थियौ ”, श्रेष्ठले भने, “दुवै संस्थामा आबद्ध तथा अन्य केही व्यक्तिहरुले स्वतस्फूर्त रुपमा सहयोग प्रदान गरे ।” श्रेष्ठका अनुसार सङ्घमार्फत् रु २७ हजार ४९० र सङ्गममार्फत रु १४ हजार ५५० सहयोग सङ्कलन भएको थियो । शर्माको उपचारका लागि अमेरिकाबाट पनि रु ११ हजार २३५ सहयोग प्राप्त भएको छ ।
कृषिको व्यवसायीकरण गर्न सहकारी आवश्यक छ : मन्त्री अर्याल काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले कृषिको व्यवसायीकीकरणका लागि सहकारी आवश्यक भएको बताएकी छन् । सहकारी विभाग काठमाडौँद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित स्थानीय तहका पदाधिकारीबीच ‘सहकारी नियमन तथा प्रवद्र्धन’ विषयक अन्तक्र्रिया गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले समग्र कृषिको विकासमा व्यवसायीकरण गर्न सहकारी आवश्यक भएको बताएकी हुन् । समृद्धिको अभियानमा महत्वपूर्ण खम्बा भनेको सहकारी भएको भन्दै मन्त्री अर्यालले नेपालको सहकारीका माध्यामबाट समृद्धि सम्भव भएको उनले बताइन् । ‘समाज परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको सहकारीलाई थप प्रभावकारी बनाउनु आवश्यक छ, सहकारीका समस्या समधान नगरे भोलिका दिनमा सहकारीका सदस्यमा निरासा आउँछ’, उनले भनिन् । सरकारले सञ्चालन गर्ने हरेक कार्यक्रम र व्यवसायबाट रोजगारमूलक कार्यको सिर्जना हुनुपर्नेमा उनले जोड दिइन् । स्थानीय सरकारले सिक्ने, टिक्ने र विक्ने मन्त्रलाई आत्मासात् गर्नुपर्ने मन्त्री अर्यालले बताइन् । आयातभन्दा निर्यात बढाउन कर्णालीका स्थानीय जनप्रतिनिधिलाई आफ्नो पालिकामा कुनै एक नमूना काम गर्न सुझाब दिइन् । सरकारले भू–उपयोग ऐन ल्याएको जानकारी दिँदै मन्त्री अर्यालले अब कसैले पनि जमीन बाँझो राख्न नमिल्ने बताइन् । सहकारीका माध्यमबाट जमीनको प्रयोग गरेर गरीबी निवारणमा लाग्नुपर्ने उनको भनाइ छ । मन्त्री अर्यालले सरकारले छिट्टै मालपोत र नापीका काम स्थानीयतहलाई हस्तान्तरण गरिने जानकारी दिइन् । नापी र मालपोतका सेवा एकै ठाँउबाट प्रवाह गर्न सबै काम एक ठाउँबाट काम हुने गरी काम भएको उनले बताइन् । सबै स्थानीय तहको जग्गाको डिजिटल अभिलेख तयारी भइरहेको बताउँदै काम सकेर हस्तान्तरण गरिने उनले बताइन् । भूमिसम्बन्धी समस्या समधान गर्न केन्द्र सरकारलाई चुनौती भएको भन्दै अब सबै काम स्थानीय तहलाई दिइने उनको भनाइ छ । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले साझा सूचिका अधिकारबारे केन्द्र सरकारले ऐन नबनाउँदा प्रदेशका कतिपय काम गर्न समस्या भएको बताए । सचिव भारीले ऐनका अभावमा कर्णाली प्रदेशका कतिपय जिल्लामा जनयुद्धकालीन जनसत्तामा पास गरेका जग्गा, गुठी, सुकुम्बासी व्यवस्थापनलगायतका काम गर्न निकै चुनौती भएको धारणा व्यक्त गरे । सहकारी क्षेत्रको समस्यालाई सहजरुपमा समधान गर्न कर्णाली प्रदेशअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिसँग सुझाव लिन कार्यक्रमको आयोजना गरिएको सहकारी विभागका रजिष्टार डाक्टर टोकराज पाण्डेले जानकारी दिए । सहकारीलाई नियमन गर्न, सहकारीका समस्यालाई समधान गर्न तीन तहका सरकारबीच दुई दिनसम्म छलफल कार्यक्रम गरिने पाण्डेले बताए । कार्यक्रममा भूमिसम्बन्धी समस्या, ऐन निर्माणलगायतका कुरामा सुझाव लिइने रजिष्टार पाण्डेले जानकारी दिए । कार्यक्रममा कर्णालीका स्थानीय तहका प्रमुख/उपप्रमुख, कर्मचारी, सहकारी अभियन्ताको सहभागिता रहेको छ । रासस
चन्द समूहको गतिविधि निस्तेज हुँदै गएको निष्कर्ष काठमाडौं । प्रदेश नं ५ मा माओवादी विप्लव समूहको गतिविधि निस्तेज हुँदै गएको प्रदेशको उच्च सुरक्षा तहमा निष्कर्ष निकालिएको छ । दाङ जिल्ला लगायतमा प्रतिबन्धित विप्लव समूहका उच्चस्तरीय नेतृत्वको गिरफ्तारी र प्रहरी प्रशासनको सक्रियताले समूहको अवस्था कमजोर हुँदा विध्वंशात्मक कार्य नियन्त्रणमा सफलता मिल्दै गएको विश्लेषण गरिएको छ । प्रदेश नं ५ का १२ वटै जिल्लाका प्रजिअ र सबै सुरक्षा अङ्गका प्रमुखसहित नेपाल सरकार गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहित दुई दिनसम्म बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भएको छलफलमा प्रदेशका जिल्लाहरुको सुरक्षा अवस्था बारेमा प्रस्तुत रिपोर्टअनुसार विप्लव माओवादीको अवस्थाका बारेमा निष्कर्ष सार्वजनिक गरिएको थियो । यस्तै प्रदेशको समग्र सुरक्षा अवस्थामा खुल्ला सीमाका कारण मुख्य चुनौती रहेको विश्लेषण गरिएको छ । प्रदेश नं ५ को अधिकांश भूभाग भारतीय सीमासँग जोडिएकाले आवतजावत गर्न खुल्ला सीमाका कारण सहज रहेको छ । यो प्रदेशको १२ जिल्लामध्ये ६ जिल्ला भारतसँग सीमा जोडिएको छ । खुल्ला सिमानाका कारण तस्करी, लागुऔषध ओसारपसार र दुवैतर्फ अपराध गरेर भाग्ने गरेको अधिकांश घटना रहेका छन् । आपराधिक क्रियाकलापको तथ्याङ्क हेर्दा प्रदेश अग्रस्थानमा रहेको देखिएकाले यसको नियन्त्रणमा सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छ । बैठकमा सीमा सुरक्षासँगै हत्या, हिंसा, लागुपदार्थ दुव्र्यसनी, महिला हिंसा, जबर्जस्तीकरणी जस्ता आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । यस्तै प्रदेशका पहाडी जिल्लामा राजनीतिक आन्दोलनको नाममा विप्लव माओवादकिो गतिविधि प्रभावकारी रुपले सञ्चालन गर्न खोजिएको तर त्यसलाई सुरक्षा संयन्त्रले निस्तेज पार्न सफल भएको समेत गोष्ठीमा विश्लेषण गरिएको प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शङ्करप्रसाद खरेलले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । यस्तै आसन्न उपनिर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा अवस्था कसरी चुस्त बनाउने र मतदातालाई सहज रुपमा मतदानको वातावरण सिर्जना गर्ने र निर्वाचनमा स्वच्छ तथा मर्यादित रुपमा राजनीतिक प्रचारप्रसारको वातावरण विषयमा विभिन्न जिल्लाका प्रजिअबीच समन्वयको अवसर मिलेको बताइएको छ । यस्तै जिल्लामा प्रजिअ काम गर्ने सन्दर्भमा सङ्घीय सरकार र प्रदेश कुन निकायसँग समन्वय गर्ने भन्ने विषयमा अन्योल रहेको अवस्थामा गोष्ठीमा छलफल भएको थियो । प्रजिअले जिल्लामा रहँदा सङ्घीय र प्रदेश सरकारलाई नियमित रुपमा समन्वय र सहयोगमा काम गर्नुपर्ने विषयमा स्पष्ट गराइएको छ । कार्यक्रममा आन्तरिक मामिला तथा कानून सचिव खरेलले सीमाबाट हुने तस्करी र अपराधका घटनालाई नियन्त्रण गर्न अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । त्यस अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको सक्रियताबाट जघन्य प्रकृतिका अपराधका घटनामा निक्कै कमी आएको र कानून निर्माणपछि प्रहरी समायोजन हुने र सरकारको काममा अझै प्रभावकारी हुने विश्वास ब्यक्त गरे । उनले आसन्न उपनिर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षाका चारवटै निकायलाई परिचालन गरी स्वच्छ र सहज निर्वाचनको वातावरण बनाउन प्रदेश सरकारले रणनीति बनाएको बताए ।रासस
गाउँमा मन्दिर निर्माण गर्न प्रवासमा आर्थिक संकलन समिति गठन भारत । मन्दिर निर्माणका लागि प्रवासी नेपालीहरुले आर्थिक सहयोग संकलन गर्न  समिति गठन गरेकाे छ । अछामको चौरपाटी गाउँपालिका ३ गगुडामा रहेको स्वरस्वती मन्दिर निर्माणका लागि गगुडा गाउँका युवाहरुले भारतमा आर्थिक संकलन समिति गठन गरेका हुन् । मन्दिर निर्माण कार्यका लागि प्रवासमा मुम्बई र पंजाबमा आर्थिक समिति र गाउँमा एक समिति गरि जम्मा तीन समिति गठन गरेको छ। मुम्बई समितिको अध्यक्षमा करन साउद चयन भएका छन् भने उपाध्यक्ष शेर ब साउद संयोजक पदम साउद कोषाध्यक्ष रंग साउद, सचिव हर्क साउद चुनिएका छन् । गाउँमा चयन हुने समितिले काम कार्य पूर्ण रूपमा रेख देख गर्ने छ भने भारतका मुम्बई र पंजाबमा रहेका समितिले आर्थिक सहयोग संकलन गर्ने छन् । चौरपाटी गाउँपालिका मध्यको यो गाउँ जनसंख्याको हिसाबले सबैभन्दा ठूलो गाउँ हो ।
धार्मिक गुरुहरु प्रहरी कार्यालयमा मुगु । जिल्लाको चारै स्थानीय तहका बस्तीमा बालविवाहको संख्यामा बृद्धि हुन थालेपछि बालविवाह न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालयले हिन्दु र लामा समुदायका धार्मिक गुरुहरुलाई सचेतना गराउन लागेको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाका चारै स्थानीयतहका धामी, झाँक्री, बाहुन पुरोहित, ज्योतिष, र लामा सुमुदायका लामा, चुम्मा र मंगल गान गाउने महिलाहरु तथा लामा र हिन्दु समुदायका धार्मिक गुरुहरुलाई भेला गरी बुधबार बालविवाह न्यूनिकरण गर्न सचेतना अभियान शुरु गरिएको हो । उमेर नपुगेका बालबालिकाहरुको विवाह गर्न लगन, साईत तथा चिना हेराउनेदेखि विवाह मण्डपमा पुरोहितको काम गर्ने बाहुन, ज्योतिषि, धामी, झाँग्री, लामा र चुम्मा सहित मंगल गान गाउने महिलाहरुको मुख्य भूमिका हुने गर्छ । बालविवाह न्यूनिकरण गर्ने मुख्य भूमिका यिनै व्यक्तिहरुको भएकाले कानूनले बन्देज गरेका क्रियाकलापमा सहभागी नहुनका साथै उमेर पुगि सकेपछि मात्र विवाह गर्ने सल्लाह दिनका लागि चारै स्थानीय तहका यि व्यक्तिलाई बालविवाह सम्बन्धि सचेतना गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताए । बालविवाह गरेको घट्ना प्रहरीमा अहिलेसम्म गएका छैनन । बालविवाहकै कारण बहुविवाह, घरेलु हिंसालगायत अन्य अपराधिक घटना घट्ने गरेका छन् । १४ वर्षको उमेर बालिका आमा भएका छन तिनै बालिकाले १६÷१७ को उमेरमा सौता खेप्नु परेको धेरै घट्ना गाँउमा छन् । गाउँघरमा बालविवाह गर्नेलाई कानूनी कारर्बाही हुने जानकारी भएको भए पनि बालविवाह गर्नेको संख्या प्रर्याप्त छ । अबदेखि बालविवाह गर्ने स्थानमा आफूहरुलाई बोलाई हाले त्यस्तो स्थानमा आफूहरु नजाने र प्रहरी तथा अन्य सरोकारवाला निकायलाई खबर गरी बालविवाह रोक्ने प्रयास आफूहरुले गर्ने सहभागि ब्रामण र धामी झाँग्रीहरुले प्रतिबद्धता गरेका छन् । आफूहरुसंग विवाह गर्न साईत र लगन हेराउन धेरै आउने गर्छन् । अबदेखि उनीहरुको जन्म दर्ता ल्याए मात्र विवाहको लागि लगन र साईत हेराउने काम गर्ने केटा केटी दुबैको जन्म दर्ता नल्याएर आउँछन् भने आफूहरुले त्यस्ता प्रकृतिका कुनै पनि कार्य नगर्ने ज्यातिषी भीमचन्द्र चौलागाईले बताए । जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी बालविवाह हुने छाँयानाथ रारा नगरपालिका पर्दछ । यो नगरपालिकाको सबै वडामा बालविवाह बढी हुने गरेको पाईएको हो । सोरु, खत्याड र मुगुम कार्मारोङ्गमा पनि बालविवाह हुने गरेकाले यसको विवाहमा सबैभन्दा बढी ब्रामण, धामी, झाँग्री, ज्योतिषी लामा, चुम्मा र मंगलगान गाउने महिलाहरुको सहभागिता हुने भएकाले बालविवाह सम्बन्धि यस्ता व्यक्तिलार्ई सचेतना गराएको हो । प्रहरी कार्यालयले बताएको छ । सचेतना कार्यक्रममा बालविवाह र बहुविवाहका असर, प्रभाव, दण्ड जरिवान र कानूनी प्रावधान बारे मल्टी मिडियाको प्रयोग मार्फत सहभागी धार्मिक तथा सामाजिक अगुवाहरुलाई भिडियो देखाईएको थियो ।
रारा : कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य दिपायल । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारालाई मानिन्छ । स्वर्गको एक टुक्राको रुपले चिनिने रारा वास्तवमा अति सुन्दर एवं रमणीय छ । सबैभन्दा ठूलो ताल हो । ५ किलोमिटर फैलिएको राराको चौडाई ३ किलोमिटर छ । गहिराइ १६७ मिटरको रारा वरिपरि घुम्न ५ घण्टा समय लाग्छ । विश्व मै कहि नपाइने स्नो ट्राउट असलाजातका माछा पाइने रारा जानेको लर्को देखिन्छन् । रारा हामी पुगेको त्यो दिन ३ हजार आन्तरिक तथा बाह्य पर्यटक पुगेको रारा राष्ट्रिय निकुञ्जले बताएको थियो । डिजिटल मौसम रारामा देख्न सकिन्छ । सबै निकुञ्ज भन्दा सानो भए पनि महत्त्व ठूलो रहेछ । गहिराइमा गएर राराको अध्ययन गर्ने भन्दा पनि सेल्फि खिच्नेको भिड देखिन्थे । रारा २०३२ सालमा स्थापना भएको हो । विभिन्न लालिगुराँस, विभिन्न बनस्पति, विभिन्न लोपोउन्मुख जंगली जनावर पाईने रारा यतिखेर सारा विश्वको ध्यान खिच्न सफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राराबाट देशवासिका नाममा सम्बोधन भएपछि रारामा उल्लेखनीय भिड बढेको स्थानीय बताउँछन् । लोप हुन थालेको रेड पाण्डा पनि पाईने रारामा काडे भ्याट काडे भ्याकुर, हिमाली कालेर कालो भालु, घोरल, मृग, कस्तुरी, रतुवा, हिम चितुवा, चिर डाफे, कालिज देखिन्छन् । गृष्म याममा साइवेरियन चरा देखिन्छन् । होमस्टे अथवा होटलमा फाफर, जौ, गौ, रातो चामलको भात, सिमिको दाल, सिस्नोको तरकारी, लोकल कुखुरा स्याउको रक्सी र स्याउका चाना पाइन थालेपछि झन् पर्यटन विकास भएको देखिन्छ । भिर माहुरीको मह तथा स्थानीय मह समेत पाईने रारामा यतिखेर १५ रुपैयाँसम्म स्याउ पाईन्छ भने १० रुपैयाँ केजी सायलको जस्तो लोकल मिठो आलु पाइन्छ । पछिल्लो समय रारा जान सजिलो छ । हवाई तथा सवारीसाधनबाट रारा पुग्न सकिन्छ । हामी दिपायल, सिलगढी, चौखु्टे अछाम भएर गयौं । अछामको बैजनाथ मन्दिर हुँदै दैलेखको राकम बस्यौं । भोलि बिहानै रकमबाट कालिकोटको सदरमुकामका लागि हिन्यौं । साघुरा सडकमा सावधानी अपनाउनु थियो । बाटोमा फेरि देखिन्छन् । काठका दर्जनौं पुल देखिन्छन् । खुला आकास साघुरा सडक यात्रामा मन मिल्ने साथीहरू अनि दशै तिहारको बडो गज्जबको मौसम । नाइटो जस्तो भिरालोमा घर देखेपछि आङ सिरिङ भयो । ती घरमा बस्ने दाजुभाइको अन्य आम्दानीको स्रोत केही नभए पनि सिजनका स्याउ, आलु सदुपयोग गर्दैछन् । सबै वातावरण देखेपछि मलाई लाग्छ ती दाजुभाइले जडिबुटी बेच्नु अनौठो होइन । जुम्लाबाट हामी रारा निकुञ्ज प्रवेशद्वारमा पुगेको बेला सैनिक जवानहरु अनि झन् । मनोरम फाटहरु देखिन थाले । प्रवेश शुल्कप्रति व्यक्ति १ सय रुपैयाँ तिरेपछि हामी रारा एरियामा पुगेको महसुस गर्दै गर्दा सुटिङ गर्न लायक झन् सुन्दर फाटमा भेडा चरिरहेका हुन्छन् । गाईवस्तु एउटै साईजका देखिन्छन् । सल्लेरी बास बस्न सहमत भयौं । लामो यात्रा भएकोले गहिरो निन्द्रा मिल्दै थियो । बिहानै उठ्ने वित्तिक‌ै सल्लेरीमा घोडा ३ सय सवारीसाधन ३ सय दर्जनौं होटलहरु देखिए । १०ः१५ मिनेटमै गाडीको यात्रामा हामी रारा नजिकै पुगे ।केही बेर पदयात्रा पछि रारा पुगियो । रारा पुगेपछि मैले फेसबुक लाइभ जोड्ने कोशिस गरे । नेपाल टेलिकमले काम गर्न थाल्यो । लाईभमा राराबारे संक्षिप्त ५ हजार साथीहरूलाई जानकारी गराए,रारामा मैले सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल र आदर्श गाउँ पालिका अध्यक्ष टेकबहादुर रोकायासंग कुरा गरे । सायल र आदर्श गाउँपालिका पर्यटन क्षेत्र बिस्तार कसरी गर्नु हुन्छ ? राराबाट के पाठ सिक्नु भयो ? उनले रारा जस्तैः विकास डोटी खप्तड सायल र आदर्शमा गर्न सकिन्छ भन्ने भिडियो लिएको छु । जुन युटुबमा राख्न मिल्छ । रारा नजिकैको मुर्माटपबाट सबै देखिन्छन् । समुन्द्री सतहबाट ३७७० मिटर उचाइमा उत्त टप रहेको छ । मुर्मा टपबाट हुम्ला, जुम्ला, बझाङ, डोटी, दार्चुला, बाजुरालगायतका ७ पहाडी जिल्ला देखिन्छन् । बझाङको साईपाल हिमाल दार्चुलाको अपि हिमाल, रुकुमको सिस्ने हिमाल जुम्लाको कान्जिरोवा, मुगुको कोइली हिमाल, चंखेली हिमाल, छायानाथ, खेस्मा हिमाल देखिन्छन् । त्यो मात्रै होइन बाजुराको बडी मालिका, डोटीको खप्तड र तिब्बतको केही भूभाग देखिन्छन् । त्यसकारण पनि रारा हेर्ने दिनप्रति दिन बढेका छन् । छोटकरीमा कर्णाली प्रदेश निकै चनाखो पाए रारा महोत्सव समेत मनाउन सफल भयो । स्थानीय उत्साहित छन् । बजारमा मार्सि चामलको चर्चा पनि पाइन्छ । व्यवस्थापनले गर्दा पर्यटन बढिरहेका देखेपछि अनुभव सबैलाई शब्द मार्फत लेखे । जिल्ला समन्वय डोटीको आयोजनामा गरिएको भ्रमण दलमा डोटीका स्थानीय तहका अध्यक्ष उपाध्यक्ष, लगभग सबै दलका नेताहरु पत्रकार, जिल्ला समन्वय संयोजक, सदस्य, कर्मचारी सहितको भ्रमणमा डोटी चेम्बरलाई पनि निम्तो थियो । लेखक : डोटी चेम्बर सचिव हुन् ।
ललितपुर महानगरद्धारा सम्पदासम्बन्धि अन्तराष्ट्रिय सम्मेलन गर्ने घोषणा काठमाडौं । ललितपुर महानगरपालिकाले सम्पदासम्बन्धि अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै जिल्लामा रहेका कला र संस्कृतिहरुको संरक्षण गर्न आवश्यक सुझाव लिने उद्देश्यले अन्तराष्ट्रिय स्तरको सम्पदा सम्मेलन गर्ने योजना तय गरिएको जानकारी दिए । सिटीनेट नामक महानगरपालिकाहरुको अन्तराष्ट्रिय स्तरको नेटवर्कको कार्यकारी सदस्य समेत रहेको ललितपुर महानगरपालिकाको संयोजनमा ३८ औं कार्यकारी समितिको मिटिङ पनि सुरु भएको छ । मिटिङमा नगर विकासका विभिन्न अवधारणाबारे छलफल भईरहेको पनि मेयर महर्जनले जानकारी दिए । ललितपुर महानगरपालिका सो नेटवर्कको कार्य समितिमा निर्वाचित भएपछि त्यसको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गरिएको हो ।
नेपाली महिला भलिवल टोलीको विदाई काठमाडौं । बंगलादेशमा आयोजना हुने एसिएन भलिबल कन्फेडेरेशन (एभीसी) सेन्टर जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली महिला भलिवल टीमको विदाई गरिएको छ । नेपाल भलिबल संघले बुधबार सो खेल प्रतियोगितामा भाग लिन जान लागेका १२ सदस्यीय टीमलाई विदाई गरेको हो । विदाई समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाललगायतका उपस्थिति रहेको थियो । सो खेल प्रतियोगिताका लागि संघले मंगलबार अरुणा शाहीको कप्तानीमा टिमको घोषणा गरेको थियो । कार्तिक २१ गतेदेखि बंगलादेशको राजधानी ढाकामा सुरु हुने सो प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र तुर्किमिनिस्तानले प्रतिस्पर्धा गर्नेछ ।
मुलुक विधिको शासनमा अघि बढ्दै छ : अध्यक्ष तिमिल्सिना काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुक विधिको शासनबाट अघि बढ्दै गएको बताएका छन्। पर्वतको ‘लाइफलाइन’का रुपमा रहेको लुङ्खुदेउराली–हुवास सडक कालोपत्र निर्माण कार्यको आज शिलान्यास गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा तीनै तहका सरकार बनेपछि संविधानको कार्यान्वयनसमेत प्रभावकारी बनेको बताउँदै राज्यका सबै संयन्त्रहरु संविधानप्रदत्त तवरबाट अघि बढेको बताए । “मुलुक विधिमा चल्नु भनेकै समृद्धिको मुख्य आधार हो”, अध्यक्ष तिमिल्सिनाले भने । उनले संविधानभन्दा कोही पनि माथि हुन नसक्ने बताउँनै कानूनविपरीतका कार्य गर्ने एक दिन कारवाहीको दायरामा आएरै छाड्ने बताए । अध्यक्ष तिमिल्सिनाले वर्तमान सरकारले छोटो समयमै दूरगामी प्रभाव पार्ने काम गरिरहेको बताउँदै सरकारलाई काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्नेमा जोड दिए । अबको समय भनेको पूर्वाधार निर्माणको भएकाले शुरुआत भएका ठूला योजनालाई सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए । उनले पर्वतमा नयाँ सडक खोल्नुपर्ने आवश्यकता नरहेको बताउँदै पुराना सडकलाई स्तरोन्नति गर्दै जानुपर्ने बताए। उनले अबको पाँच वर्षभित्रमा पर्वतका सबै वडासम्म पक्की बाटोको पहुँच पुग्ने बताउँदै यसका लागि आफूले पनि पहल गर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रको विकासविना मुलुकको समृद्धि हुन नसक्ने बताए । शहरबजारको विकास र विस्तारबाट मात्र समृद्धि नआउने बताउँदै गाउँकै विकास गरेर नागरिकलाई गाउँमै बस्ने वातावरण सिर्जना गरेमा मात्र नेपालीको जीवनस्तरमा समृद्धि आउने बताए । उनले विगतमा कालापानी भनेर चिनिने पर्वतका दक्षिण क्षेत्रमा अहिले विकासको लहर छाएको बताउँदै अबको पाँच वर्षभित्रमा सबैभन्दा बढी विकास भएको क्षेत्रका रुपमा देखिने दाबी गरे । लुङ्खु–हुवास सडक १४ दशमलव ९८ किलोमिटर रहेको छ । रु ३६ करोड ९६ लाख ९३ हजारको लागतमा निर्माण हुने उक्त सडक दुई वर्षभित्रमा सम्पन्न हुने भएको छ । विसं २०७८ कात्तिक १४ गतेसम्म सडकको सम्झौता अवधि रहेको छ । सडक निर्माणको जिम्मा श्री हिमदुङ एण्ड थोकर प्रालीले पाएको छ । यो सडक कालोपत्र भएपछि पर्वतको सुदूर दक्षिण पर्वतको हुवासलाई कालोपत्र सडकले जोड्नेछ । जिल्लाको पैँयु र विहादी गाउँपालिकासम्म कालोपत्र सडकमा यात्रा गर्न सकिनेछ ।रासस
नेपालको हवाई क्षेत्रमा सम्बन्ध विस्तार गर्ने इन्डोनेशियाको चाहना काठमाडौं । इन्डोनेशिया सरकार नेपालको हवाई उडानको क्षेत्रमा सम्बन्ध विस्तार गर्न ईच्छुक देखिएको छ । नेपालका लागि इन्डोनेशियाका राजदुत रीना सेमार्नोले इन्डोनिया सरकार नेपालसँग हवाईजहाज र त्यसका पार्टपूर्जा, पर्यटन व्यवसाय, कोइला र खाद्यान्नलगायतका व्यवसायिक सम्बन्ध विस्तार गर्न तत्पर रहेको बताएका हुन् । ‘नेपाल–इन्डोनेशिया विजनेश फोरम’ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालसँग व्यापारिक सम्बन्ध अझै मजदुत बनाउन आफ्नो मुलुक लागि परेको पनि बताए । राजदुत सेमार्नोले नेपालले पनि आफ्नो मुलुकबाट हिन्दु र बौद्धमार्गी धार्मिक पर्यटक तथा हिमाल, पहाड र संस्कृति हेर्न नेपाल आउने पर्यटकहरुबाट फाईदा लिन सक्ने पनि बताए । टापुको देश र हिमालको देश जोडिए त्यसले दुवै देशलाई लाभ दिने राजदुत सेमार्नोको विश्वास थियो । कार्यक्रममा नेपालका लागि इन्डोनेशियाका अवैतनिक दूत तथा व्यवसायी चन्द्र ढकालले विगत एक दशकमा इन्डोनेशियाले गरेको आर्थिक प्रगतिबाट नेपालले सिक्न सक्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा दुवै मुलुकका व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपालका जेलभित्र ‘निरङ्कुशतन्त्र’ जस्तै ‘अर्को सत्ता’ रहेको गृहमन्त्रीको टिप्पणी काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले नेपालका जेल भित्र निरङ्कुश तन्त्र जस्तै अर्को सत्ता रहेको खुलासा गरेका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री थापाले नेपालको जेल भित्र छुट्टै सत्ता रहेको बताएका हुन् । समितिले केहि समय अघि नेपालका जेल तथा हिरासत कक्षको स्थलगत अनुगमन गरेपछि गृहमन्त्री, गृहसचिव, महान्यायधिवक्ता लगायतलाई छलफलको लागि बोलाएको थियो । समितिमा सांसद पम्फा भुसाल र डिला संग्रौलाले जेलको कडा सुरक्षाको घेराभित्र पनि अर्को सत्ता रहेको भन्दै मन्त्रीसँग वास्तविकता केहो भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले नेपालका जेलभित्र निरङ्कुश सत्ता रहेको स्वीकारेका हुन् । सांसदहरुले जेल भित्रका नाइके, भाइ नाइके जस्ता कैदीले अलग्गै सत्ता चलाएको र जेलको सुरक्षामा खटिने प्रहरी समेत निरिह बनेको बताएका थिए । सांसदको जिज्ञासामा मन्त्री थापाले जेल भित्रको आन्तरिक प्रसासनलाई लोकतान्त्रिक बनाउन सरकारले प्रयास थालेको बताए । राज्य ब्यबस्था तथा सुशासन समितिले सभापति शशि श्रेष्ठको नेतृत्वमा देश भित्रका प्रमुख जेल तथा बन्दि गृह र हिरासत कक्षको स्थलगत अनुगमन गरेको थियो । समितिले अनुगमनपछि नेपाल सरकारलाई जेल तथा बन्दी गृह र हिरासत कक्षको सुधारको लागि विभिन्न २८ बुँदामा निर्देशन दिने तयारी गरेको छ ।
एक वर्षभित्र २ अर्ब रुपैयाँ बचत गर्ने वायुसेवा निगमको दाबी काठमाडौं । नेपाल वायुसेवा निगमले एक वर्षभित्र २ अर्व भन्दाबढी रुपैयाँ बचत गर्ने दावी गरेको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विभिन्न उपाय लगाएर एक वर्षभित्र २ अर्व २७ करोड रुपैयाँ बचत गर्ने कार्ययोजना तय गरिएको जानकारी दिएका हुन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले बचतका लागि विमानमा अतिरिक्त इन्धन बोकेर हिडन नपर्ने व्यवस्था गरिएको पनि बताए । उनले विगत ४ महिनायता निगमले करिव ६० करोड बचत गर्न सफल भएको दावी पनि गरे । निगमले जापानको ओसाका उडान गरिएको र त्यो नाफामूलक हुने दावी पनि गरेको छ । निगमले आगामी मार्चसम्म साउदी अरवको रियाद, चीनको ग्वाङझाउ र जापानको नारितामा पनि उडान भर्ने योजना तय गरेको छ । निगमले विमान लिजमा लिने योजना पनि अघि सारेको छ । जहाजहरु खरिद गर्न बुद्धिमत्ता नहुने निष्कर्ष निकाल्दै लिजमा लिने तयारी गरिएको पनि निगमले जनाएको छ । निगमका कार्यकारी अध्यक्ष खरेलले विमान खरिद गर्ने कामले कसैले पनि हित नगर्ने भएकाले अव विमान लिजमा लिएर चलाउने योजना तय गर्नु परेको पनि स्पष्ट पारे । निगमले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पुर्याउन उडान मूल्यलाई अझै सहज बनाउने तयारी पनि गरेको छ ।
स्वीस सरकारद्वारा नेपाललाई २१० करोड अनुदान दिने काठमाडौं । स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब दश करोड अनुदान सहयोग उपलव्ध गराउने भएको छ। अनुदान सहयोगसमम्बन्धी समझदारीपत्रमा नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजावेथ फ पेलर ओस्वाल्ड र अर्थ सचिव राजन खनालले आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे। कार्यक्रममा दिइएको जानकारीअनुसार नेपालका दुर्गभ भेगका आठ हजारभन्दा बढी स्थानामा निर्मित झोलुङ्गे पुलबाट औसतमा दैनिक १४ लाख मानिसको आवागमन सहज भएको छ भने विद्यालयमा उपस्थित हुने बालबालिकाको सङ्ख्यामा १६प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी उपचारका लागि स्वास्थ्य केन्द्रमा पुग्नेको सङ्ख्या २६ प्रतिशतले बढेको छ। ती पुलका कारण एक करोड ८० लाख सर्वसाधारणलाई सुरक्षित रुपमा नदीनाला वारपार गर्न सजिलो भएको छ। आफ्ना नागरिकलाई आधारभूत सेवासम्मको पहुँच सुनिश्चित गर्न नेपाललाई अझै पनि दुई हजार चारसय झोलुङ्गे पुल आवश्यक पर्नेछ।
सरकार समृद्धितर्फ उन्मुख छ : नेता पौडेल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले सरकार समृद्धि ल्याउन लागिपरेको बताएका छन् । ओखलढुङ्गाको लिखु गाउँपालिमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा स्कुल विभागका उपप्रमुखसमेत रहेका पौडेलले वर्तमान सरकार विगतका अधुरा योजना सफल बनाउँदै दीर्घकालीन योजना ल्याउने काममा लागेको बताएका हुन् । विगतमा सरकार मात्रै परिवर्तन हुने भए पनि सङ्घीयतापछि व्यवस्था नै परिवर्तन भएकाले सरकार नतिजा देखाउने गरी काममा जुटेको उनको भनाइ थियो । “विगतमा सरकार मात्रै परिवर्तन हुन्थ्यो, एउटा पार्टी र पात्र मात्रै फेरिन्थे । अहिलेको सरकार त्यस्तो होइन, व्यवस्थानै फरिएपछिको सरकार हामीले चलाइरहेका छौँ”, पौडेलले भने, “राजनीतिक अस्थिरतासहितका अनेकौँ कारण देश दशकौँंपछि परेको जस अपजस वर्तमान सरकारले लिएको छ । त्यो बेलादेखिका अवरुद्ध योजना समेट्दै भावी पुस्ताका लागिसमेत योजना तय गरिरहेको छ ।” नेता पौडेलले वर्तमान सरकार चुनावी वाचा पूरा गर्दै समृद्धिका लागि सबै पक्षसँग समन्वयमा रहेको बताए । उनले नेपालमा अब कम्युनिष्टको विकल्प नभएकोसमेत जिकिर गरे । वर्तमान सरकारले शुरु गरेका योजना र सपना अरु कसैले पूरा गर्न नसक्ने भएकाले जनताले नेकपालाई सधैँ देश बनाउने जिम्मेवारी दिने उनको भनाइ थियो । विपक्षी दल सरकारको कामको विरोध गरेर आफ्नो अस्तित्व बचाउन लागि परेको उनले बताए । प्रशिक्षण कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा केन्द्रीय स्कुल विभागका अर्का उपप्रमुख डा बेदुराम भुसालले सबै मिलेर समृिद्धको बाटोतर्फ लाग्नुपर्नेमा जोड दिए । नेकपाको राष्ट्रिय नीति र सरकारी कार्यक्रम सफल बनाउन सबै कार्यकर्ता जुट्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा केन्द्रिय स्कुल विभागका उपप्रमुखद्वय पौडेल र डा भुसालले पार्टीको सङ्गठन विस्तार र माक्र्सवादी सिद्धान्तको बारेमा सहभागीलाई प्रशिक्षण दिएको नेकपा गाउँपालिका कमिटी अध्यक्ष प्रेमप्रसाद भट्टराईले जानकारी दिए । पालिकास्तरीय अगुवा कार्यककर्ताको प्रशिक्षण कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको थियो । प्रशिक्षण कार्यक्रममा सांसद् यज्ञराज सुनुवार, नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सांसद मोहन खड्का, पूर्व सांसद बालकृष्ण ढुङ्गेल, नेकपा आमन्त्रित स्थायी कमिटी सदस्य पेशलकुमार खतिवडा, नेकपा प्रदेश कमिटी सदस्य नानीबाबु बुढाथोकी, बाबुराम गौतम, नेकपा केन्द्रीय सदस्य किशोर अधिकारी, खड्ग योगीलगायत गाउँपालिकाका नेकपा नेता तथा कार्यकर्ताको सहभागिता थियो । रासस
गेष्ट हाउसको छत भत्किएर एकको मृत्यु, दुई गम्भीर घाइते गुलरिया । गुलरिया नपा–६ मा आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल रहेका छन् भने घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी रहेका छन्। घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए। गुलरिया बजार क्षेत्रमा सडक विस्तारको क्रममा सडक क्षेत्र मिचेर बनाएका घर आंशिकरुपमा भत्काएर पुनःनिर्माणाधीन गर्दा छत भत्किँदा किचिएर मालिक भवीको मृत्यु हुनुको साथै दुई कामदार गम्भीर घाइते भएका हुन्। उनीहरुको प्रहरीले उद्धार गरेको छ।
अर्घाखाँची कार दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुल्यो, घाईतेको उपचार हुँदै अर्घाखाँची । सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार मध्यान्ह सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा रुपन्देहीको मुर्घिया निवासी ७० वर्षीया दुर्गादेवी खड्का, ४० वर्षीय भक्त बहादुर खड्का र ४३ वर्षीय तिलक बहादुर खड्का रहेका छन् । कार चालक गंगाबहादुर खड्का र विनोद खड्का घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
भरतपुरमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु, एक गम्भीर घाईते भरतपुर । चितवनमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस
‘भूतपूर्व गोर्खा सैनिक कडा न्यायिक सङ्घर्षमा अघि बढाउनुपर्छ’ काठमाडौँ । भूतपूर्व बेलायती गोर्खा सैनिकले उठाएको समानता, प्रतिष्ठा र मानवअधिकारको आन्दोलनलाई बौद्धिक ढङ्गले सकारात्मकरूपमा अघि बढाउनुपर्नेमा विज्ञ एवं सरोकारवालाले जोड दिएका छन् । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले यहाँ आयोजना गरेको ‘भूतपूर्व ब्रिटिस गोर्खाको समानता, सम्मान र मानवअधिकारका लागि सत्याग्रह’ विषयक गोष्ठीका वक्ताले लामो समयदेखि बेलायती सरकारको विभेद र उत्पीडनमा परेका भूपूगोर्खा सैनिकको समस्या समाधानका लागि सरकार, नागरिक समाज र भूपूगोर्खाले संयुक्तरूपमा पहल गर्नुपर्ने बताए । साथै उनीहरुले भूपूगोर्खाको समानता र सम्मानका लागि भइरहेको सङ्घर्षलाई बौद्धिक ढङ्गले अघि बढाइने र त्यसका लागि अन्तरराष्ट्रिय अदालतसम्म पुगेर अधिकार स्थापित गरेरै छाड्ने अठोटसमेत व्यक्त गरे। पूर्वमहान्यायाधिवक्ता डा युवराज सङ्ग्रौलाले समानता, सम्मान र आर्थिक शोषणमा परेका गोर्खा सैनिकको न्याय र मानवअधिकारका पक्षमा सरकार, नागरिक समाज र प्रबुद्ध व्यक्ति एवं संस्थाहरु एकताबद्ध भएर सङ्घर्षलाई निर्णायक बनाउनुको विकल्प नभएको उल्लेख गरे। “भूपूगोर्खा सैनिकको सङ्घर्ष समान ज्याला र पेन्सनको मात्र होइन, सम्पूर्ण समुदाय र राष्ट्रको स्वाधीनताका निम्ति लड्नुपर्नेछ, गोर्खाले बेलायती सेनासरह समान पेन्सन र ज्याला पाउनैपर्छ, यो स्वाधीन राष्ट्र र समानताको लडाइँ पनि हो”, उनले भने । वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले भूपूगोर्खाको मानवअधिकार र न्यायका लागि ब्रिटिस सरकारसँग सत्याग्रह नै उपयुक्त विकल्प रहेको भन्दै पीडितको क्षतिपूर्ति मानवअधिकार, समानता र न्यायका पक्षमा सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । पूर्वराज्यमन्त्री दिलमान पाख्रिन र पूर्वसांसद जयन्ती राईले भूपूगोर्खाको मागलाई सम्बोधन गर्न नेपाल सरकारले बेलायती सरकारसँग पहल गर्नुपर्ने धारणा राखे। कार्यक्रममा अधिवक्ता रविनारायण खनाल ‘भूपूब्रिटिस गोर्खा आन्दोलनः एक संवैधानिक नजर’, अधिवक्तात्रय ज्ञानु गौतम, कविलदेव ढकाल र रामचन्द्र गौतम ‘अन्तरराष्ट्रिय कानूनको रोहमा ब्रिटिस सैनिकसम्बन्धी कानूनको व्यवहारिक पक्ष’, प्रा गणेशमान गुरुङ र अधिवक्ता डा. कुमार शर्मा ‘समानता र न्याय प्राप्तिका लागि नेपाली राष्ट्रिय स्वाभिमानको अभियान’ कुमार इङनामले ‘आर्थिक उत्पीडनमा भूपूब्रिटिस गोर्खा’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै वरिष्ठ अधिवक्ता सुनील पोखरेल, डा. कृष्ण अधिकारी, नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा र अध्यता गौरव केसीले टिप्पणी गर्दै गोर्खाको मुद्दाले कानूनी सङ्घर्ष मोडिएको भन्दै यसलाई किनारा लगाउन सरकार, नागरिक समाज सबैको भूमिका चाहिने खाँचो औँल्याए । यसैबीच भूतपूर्वबेलायती गोर्खाको आन्दोलनबारे आगामी रणनीति तय गर्न काठमाडौँमा मङ्गलबार सम्पन्न दुई दिवसीय गोष्ठीले गोर्खा भूपूसैनिकको समानता र सम्मान स्थापित गर्ने प्रयोजनका लागि सात बुँदे काठमाडौँ घोषणपत्र जारी गरेको छ। बेलायत सरकारले गोरखा सैनिकमाथि गर्दै आएको भेदभावका विरुद्ध आन्दोलनमा सक्रिय योगदान गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गर्दै बेलायत सरकारले गैरकानूनी एवं समानताको सिद्धान्त र मानवअधिकारको उल्लङ्घन गरेको निष्कर्ष निकालिएको छ। बेलायती गोर्खा सैनिकमाथि भएको भेदभाव र अन्यायपूर्ण व्यवहारलाई सम्बोधन गर्न नेपाल सरकार तथा बेलायत सरकारका बीचमा तत्काल संवाद शुरु गर्न तथा संसद्को अन्तरर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिवेदन ग्रहण गरी बेलायत सरकारसँग संवाद अगाडि बढाउन सरकारलाई अनुरोध गरेको छ। निवृतिभरण प्राप्त भूतपूर्वगोर्खा सैनिक करीब १५ हजार रहेका छन् भने हाल बेलायती सेनामा झण्डै तीन हजार गोर्खा सैनिक कार्यरत रहेको बताइन्छ। सन् २०१५ मा नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सम्झौता भई बेलायती गोर्खा सैनिकमा नेपाली नागरिक सहभागी भएका थिए। रासस
१३ करोड राजश्व छली: चिनियाँ नागरिकसहित ४ जनाविरुद्ध मुद्दा काठमाडौँ । तेह्र करोड राजश्व छली गरेको आरोपमा एक कन्सट्रक्शन इन्जिनीयर कम्पनीका सञ्चालकविरुद्ध मुद्दा चलाइएको छ। राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै नेपाल दोङ्गहवा कन्सट्रक्शन इन्जिनीयरिङ कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ जुन, वे देगुइ र सुविन श्रेष्ठविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। घटनाका आरोपी तीन जना चिनियाँ नागरिक हुन्। राजश्व चुहावट गरेको अभियोगमा रु १३ करोड १३ लाख ११ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैदको मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरु अहिले प्रहरी हिरासतमा छन् । उक्त कम्पनीले वस्तु तथा सेवा खरीद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक मात्र खरीद गरी राजश्व चुहावटमा संलग्न रहेको अनुसन्धानमा देखिएको उनले बताए । उक्त कम्पनीविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मूल्य अभिवृद्धि करतर्फ चार करोड २१ लाख, आयकरतर्फ सात करोड ७७ लाख र भएको आय लुकाई मुनाफा वितरण गर्दा लाग्ने लाभांश करतर्फ रु एक करोड १४ लाख राजश्व चुहावट गरेको विभागले दाबी गरेको छ। उनीहरुविरुद्ध विभागले गत आठ महिनादेखि अनुसन्धान गरिरहेको थियो।
पोर्चुगलको राजधानी लिसबनमा वेब सम्मेलन–२०१९ सुरू लिसबन (रासस/सिन्ह्वा) । विश्वका १६३ देशका करिब ७० हजार प्रतिनिधि सहभागी हुने वेब सम्मेलन–२०१९ पोर्चुगलको राजधानी लिसबनमा मङ्गलबारदेखि सुरू भएको छ । सम्मेलनलाई उद्घाटन गर्दै पोर्चुगलका अर्थतन्त्रव्यवस्था तथा डिजिटल ट्रान्जिसनमन्त्री पेद्रो सिजा भियराले भने, “यदि आजका दिनबाट १० वर्ष पहिलेलाई नियाल्ने हो भने आगामी दिनमा परिवर्तनको गति यो भन्दा अझै तीब्र हुने हामी विश्वस्त हुनुपर्ने एकमात्र आधार हुनेछ ।” आगामी बर्षहरूमा पाँचौँ पुस्ताको ९फाइभ–जी० प्रबिधिले विश्व मानव जगतमा मुलभूत परिवर्तन ल्याउने कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै चीनको प्रसिद्ध प्रबिधि कम्पनी हुवावेका अध्यक्ष कुओ पिङले बताए । कुओले भने, “हुवावेले ‘स्मार्ट डिभाइस इकोसिस्टम’ (वन प्लस ऐट प्लस एन) ल्याउने र यो योजनाले एआईमा आधारित ट्रयाकिङ प्रबिधि (ट्रयाक एआई) ले बालबालिकामा देखिने अन्धोपनका प्रारम्भिक सङ्केतहरूलाई पहिचान गर्ने लक्ष्य रहेको छ ।” हुवावेको रणनीति मोबाइल यन्त्रलाई क्लाउड (हुवावे मोबाइल प्रणाली) र एआई मोडेल आर्टस प्रणाली गरी दुई वर्गमा विभाजित गरी सेवा प्रदान गरिने उनले बताए। चार दिन लामो सम्मेलनमा करिब एक हजार २०० वक्ताले समूहगत आधारमा आफ्ना धारणा राख्नेछन् । आयरल्याण्डबाट सन् २००९ मा सुरू गरिएको वेब सम्मेलन विश्वकै सवैभन्दा ठूलो प्रबिधि, आविस्कार र उद्यमी कार्यक्रम रहेको मानिन्छ ।
चीनको आर्थिक विकास निरन्तर रहने राष्ट्रपति सीको विश्वास बेइजिङ । चीनका राष्ट्रपति सी चिन फिङले चीनको आर्थिक विकासमा निरन्तरता दिँदै अघि बढ्ने बताएका छन्। मङ्गलबार साङ्घाईमा सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई राष्ट्रिपति सीले चीनको आर्थिक विकास उज्ज्वल रहने विश्वास व्यक्त गरेका हुन्। निरन्तरको आर्थिक विकासबाट चिनियाँ अर्थतन्त्रलाई स्थिर राख्न सकिने बताउँदै यसले विश्व आर्थिक पुनःरूत्थानका लागि ठूलो विश्वास थपिएको पनि सम्बोधनका क्रममा उनले बताए । व्यापार संरक्षणवाद र विश्वव्यापीकरण प्रतिरोध प्रवृत्तिले केही बर्षदेखि विश्वको आर्थिक विकास कमजोर देखिएको भएपनि चीनको आर्थिक विकास स्थिर रूपमा अघि बढेको राष्ट्रपति सीले दावी गरे । उनले भने, “बजारको थप खुलापन, खुला ढाँचामा थप सुधार, व्यापारिक वातावरणको नयाँ बाटो, बहुपक्षीय तथा द्वीपक्षीय सहयोगको गहनता, वेल्ट एन्ड रोडको संयुक्त निर्माणलाई अरू बढाउने भएर चीनले अनेकौँ व्यवहारिक गतिविधि गरी विश्वसँग विकास गर्ने अठोट देखाएकोले विश्व समुदायले चीनलाई विश्वासिलो मित्रका रूपमा लिने गरेका छन् ।” चीन आफ्नो विकाससँगै विभिन्न मुलुकसँगको सहकार्यमा विश्वास गर्ने र यसबाट उनीहरूलाई पनि समृद्धिको बाटोमा लाने विश्वास उक्त अवसरमा राष्ट्रपति सीले गरे ।
कास्की क्षेत्र नं २ बाट तीन महिला भिड्दै देशभरिबाट निकै चाखपूर्ण रुपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा आजसम्म तीन महिलाको उम्मेदवारी रहेको छ । हालसम्म नेकपासहित तीन दलले आफ्नो उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । नेकपाले विद्या भट्टराईलाई उम्मेवार बनाउने घोषणा गरेको छ । भट्टराई २०४७ सालमा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध हुँदै राजनीतिमा सक्रिय हुँदै आएकी छन् । २०४७ सालमा अखिल नेपाल महिला सङ्घ जिल्ला समिति काठमाडौँको कोषाध्यक्षमा निर्वाचित उनी २०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियता पोखरामा सम्पन्न एघारौँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद्मा निर्वाचित भएकी थिइन्। त्यसयता निरन्तर राजनीतिमा सक्रिया उनी २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव बनिन्। २०५६ मा अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य र कार्यालय सचिव तथा २०५७ सालमा बुद्धिजीवी परिषद्को सदस्य बन्न सफल भइन् । २०५६ साल असार २६ गते उनले तत्कालीन विद्यार्थी नेता रवीन्द्र अधिकारीसँग विवाह गरिन् । त्यसयता सक्रिय राजनीतिबाट केही विश्राम लिएर प्राध्यापन पेशामा सक्रिय उनलाई नेकपा जिल्ला कमिटीले विगतको सक्रिय राजनीति पाटो र क्षमतावान् बौद्धिक र तार्किक क्षमता मूल्याङ्कन गर्दै कास्की क्षेत्र नं २ बाट उम्मेदवार बनाएको जिल्ला कमिटीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । त्यसैगरी साझा पार्टीले काङ्ग्रेस परित्याग गरी साझा प्रवेश गरेकी रजनी केसीलाई उम्मेदवार बनाएको छ । सामाजिक अभियन्तासमेत रहेकी रजनी केसी सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायतको नेतृत्व सम्हाल्नुका साथै पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजनीमा दिएर राजनीतिमा सक्रियता बढाउँदै उम्मेदवार बनेकी हुन्। केही समयअघि मात्रै साझा पार्टी प्रवेशसँगै केन्द्रीय सदस्य बनेकी केसीलाई यही कात्तिक ६ गते पार्टीको नेतृत्वले प्रतिनिधिसभा सदस्यका रुपमा केसीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको हो । विवेकशील नेपाली दल पार्टीले आजै पत्रकार सम्मेलन गरेर अधिकारकर्मी जमुना शर्मालाई आफ्नो पार्टी उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ। शर्मा लामो समयदेखि मनोसामाजिक परामर्शदाता रुपमा कार्यरत हुनाका साथै विभिन्न सामाजिक सङ्घसंस्थामा समेत आबद्ध रहेकी छन् । कास्कीमा हालसम्म पाँच दलले उम्मेदवार सार्वजनिक गरेका छन् । समाजवादी पार्टीले धर्मराज गुरुङ र राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ । यद्यपि आजसम्म पनि नेपाली काङ्ग्रेसले जिल्लाबाट १६ जनालाई सिफारिस गरे पनि आजसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । तत्कालीन पर्यटनमन्त्रीको गृह जिल्ला रहेको यस क्षेत्रलाई सबैले चासोपूर्वक नियाँलिरहेका छन् । निर्वाचन आयोगका उपन्यायाधिवक्ता रुद्रप्रसाद सुवेदीका अनुसार हालसम्म निर्वाचन आयोगमा १२८ दल दर्ता छन् । त्यसमा प्रतिनिधिसभा र प्रदेशसभामा भाग लिने दल ९५ र स्थानीय तहमा मात्र भाग लिने दल ७८ रहेका छन् । प्रतिनिधि, प्रदेश र स्थानीय गरी तीनै तहमा भाग लिन पाउने ९२ दल रहेको उहाँले जानकारी दिनुभयो । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभामा ९२ दलले सहभागी रहेको उनको भनाइ छ । यस वर्ष मात्रै निर्वाचन आयोगमा १६ दल दर्ता भएका छन् । कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता रहेको र ३२ स्थल ८२ केन्द्र रहेको छ ।रासस
विद्यालयमा पानी, शौचालय र सफाइका लागि ‘तारा पद्धति’ काठमाडौं । के तपाईं वरिपरिको विद्यालयमा महिनावारी सामग्री व्यवस्थापनका लागि छात्रा शौचालयमा ढकनसहितको ‘डस्टबिन’ राखिएको छ? त्यस विद्यालयमा शुद्ध पिउने पानी र हरियाली वातावरण छ? छ भने त्यस्तो विद्यालयका शिक्षक र विद्यार्थीलाई बधाई दिएर उनीहरुको अशल कामको प्रशंसा गर्न सक्नुहुनेछ र त्यस्तो विद्यालयलाई स्थानीय सरकारले ‘एक तारा’ को उपाधिसहित पुरस्कृत गर्नेछ । सरकारले छात्रालाई निःशुल्क स्यानेटरी प्याड वितरणको तयारीसँगै ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधि, २०७५ (दोस्रो संशोधन) जारी सबै विद्यालयमा आधारभूत खानेपानी, सरसफाइ र स्वच्छताको प्रावधान हुनुपर्ने प्रबन्ध गरेको छ । विद्यालयमा पानी, शौचालय, वातावरणीय सरसफाइ, हरियाली वातावरण, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपना, विपद जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहिताका सूचकसहितको मापदण्ड उक्त कार्यविधिले तोकेको छ । विद्यालयमा विद्यमान खानेपानी सरसफाइ एवं स्वच्छताको अवस्था हेरी तोकिएका मापदण्डका आधारमा विद्यालयलाई उत्कृष्ट, मध्यम र सुधारोन्मुख (एक तारा, दुई तारा र तीन तारा) गरी तीन वर्गमा वर्गीकरण गरिने पनि त्यसमा उल्लेख छ । यो मापदण्डमा महिनावारी सामग्री व्यवस्थापनका लागि छात्रा शौचालयमा ढकनसहितको ‘डस्टबिन’ राखिएको विद्यालयले एक तारा (उत्कृष्ट) को सूचक पाउनेछ । विश्वव्यापी दिगो विकास लक्ष्य नं ४ अन्तर्गत यी विषय पछिल्ला समयमा मापदण्डकैरुपमा थपिएका हुन् । ‘तारा पद्धति’ भन्नाले विद्यालयमा विद्यमान खानेपानी र सरसफाइका सुविधा, स्वच्छता अभ्यासको अवस्था, संस्थागत सुदृढीकरण र दिगोपनासँग सम्बन्धित तोकिएको सूचकहरूका आधारमा विद्यालयले स्वमूल्याङ्कन गरी विद्यालय व्यवस्थापन समितिको सिफारिसमा गाउँ वा नगरस्तरीय शिक्षा समितिले प्रमाणीकरण गरेअनुसार एक, दुई वा तीन तारामा वर्गीकरण गर्दै खानेपानी, सरसफाइ र स्वच्छता प्रवद्र्धनलाई स्तरीकृत गर्दै लैजाने पद्धतिलाई जनाउने कार्यविधिमा जनाइएको छ । यस मापदण्डको अनुगमन शुरु गरिरहेको सरकारले सार्वजनिक विद्यालयमा अध्ययनरत छात्राहरुको महिनावारी स्वास्थ्य र सरसफाइमा आवश्यकपर्ने स्यानेटरी प्याड निःशुःक वितरणलाई प्रभावकारी बनाउन कार्यविधिको मस्यौदा पनि तयार गरेको छ । छात्राहरुको कक्षा छाड्ने दर घटाउन सबै सार्वजनिक ९सामुदायिक० विद्यालयमा स्यानेटरी प्याड निःशुल्क वितरण र व्यवस्थापनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधिको मस्यौदा तयार गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित मन्त्रालयमा सरोकार भएका निकायको छलफलबाट त्यसलाई अन्तिमरुप दिइ स्वीकृत गरेपछि कार्यान्वयन गरिने मन्त्रालयका सहसचिव दीपक शर्माले जानकारी दिनुभयो । मन्त्रालयले कार्यविधि तर्जुमाका लागि सहसचिव वैकुण्ठप्रसाद अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । मन्त्रालयले आज विज्ञप्ति जारी गरी कार्यविधि निर्माण प्रक्रियामै रहेकाले मन्त्री र कतिपय पदाधिकारीलाई जोडेर स्यानेटरी प्याड खरीदमा अनियमितता भएको भनी कतिपय सञ्चारमाध्यममा समाचार आएकामा आपत्ति जनाएको छ । त्यस प्रकारको भ्रममा नपर्न मन्त्रालयले आग्रह गरेको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरिएको उक्त प्याड निःशुल्क उपलब्ध गराउन सःशर्त अनुदानका रुपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्न सरकारले यसअघि निर्णय गरिसकेको छ । उक्त वितरण कार्य कुन मन्त्रालय वा तहबाट हुने भन्ने विवादबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लयमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उच्च अधिकारीबीचको पटकपटकको छलफलबाट शिक्षा मन्त्रालयलाई उक्त जिम्मेवारी दिइएपछि त्यसको तयारी गर्न मन्त्रालयले आफू मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साबिक शिक्षा विभाग)लाई पत्राचार गरिसकेको छ । सरकारले कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राको सङ्ख्याका आधारमा बजेट निर्धारण गरी स्थानीय तहमा रकम पठाउन लागेको हो । केन्द्रका महानिर्देशक बाबुराम पौडेलका अनुसार उक्त कार्यक्रमका लागि रु ९७ लाख केन्द्रमा प्राप्त भएको छ । सबै सामुदायिक विद्यालयमा स्यानेटरी प्याड र छात्रा शौचालयको प्रबन्ध नहुँदा छात्राहरु महिनावारी भएको समयमा विद्यालय जान अप्ठ्यारो मान्छन् । यसले छात्राहरुको कक्षा छाड्ने दर बढाउँदै आएको छ । कतिपयले स्थानीयरुपमा सामग्रीका आधारमा उत्पादन हुने स्यानेटरी प्याडको वितरणमा प्राथमिकता दिन पनि प्रस्ताव गर्दै आएका छन् ।रासस
सिकार गर्ने क्रममा एक जनाको मृत्यु लमजुङ । दोर्दी गाउँपालिका–६ छोटेखोलामा भिरमौरीको सिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। स्थानीयवासी २६ वर्षीय गोपाल गुरुङको मृत्यु भएको हो। गुरुङ भिरबाट लडेर घाइते भएका थिए। उनको एम्बुलेन्समा बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो। भिरमौरीको मह काट्ने क्रममा गुरुङ चिप्लेर करीब ८० मिटर तल खसेको प्रहरी निरीक्षक धनबहादुर थापाले बताए। मृतक गुरुङलगायत १० जना भिरमौरी काट्न गएका थिए। रासस
बैकिङ कसुर मुद्दाका फरार कसुरदारहरु पक्राउ काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार कसुरदारहरु मकवानपुर हेटौंडा उपमहानगरपालिका २ बस्ने ३३ वर्षीय संजय पोख्रेल र सोही ठाउँकी ५८ वर्षीया लक्ष्मी देवी पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ। बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसलाले संजयलाई ३ वर्ष कैद र १ करोड ९५ लाख २६ हजार रुपैयाँ र लक्ष्मी देवीलाई २ वर्ष कैद र ७९ लाख २२ हजार रुपैयाँ जरिवाना ठहर भएकोमा सजाय वेरुजु रही फरार भएका थिए। केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले संजयलाई आइतबार काठमाडौंको गौशला र लक्ष्मी देवीलाई मंगलबार पर्सा वीरगंजबाट पक्राउ गरेको हो। २०६७ फागुन २५ गते क्रिष्टल फाईनान्स थापाथलीबाट जग्गा धितो राखी धितो राखेको जग्गाको आफूखुशी अस्वाभाविक रुपमा मूल्याङकन गराई कर्जा लिई कर्जा दुरुपयोग गरेका थिए। पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत काठमाडौं र पर्सा मार्फत कैद भुक्तानका लागि कारागार पठाइएको उक्त व्यूरोले जनाएको छ ।
५ नम्बर प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न रुपन्देही । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमवीच ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा मंगलबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र ५ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा उक्त गोष्ठी सोमबारदेखि सुरु भएको हो । उक्त अवसरमा गृहमन्त्री थापाले गोष्ठीमा प्रदेशको मात्र नभइ देशकै सुरक्षा स्थितिका बारेमा गम्भीर रुपमा समीक्षा भएको उल्लेख गर्दै सुरक्षा सुदृढ गर्नका लागि आवश्यक रणनीति र योजनाहरुलाई परिमार्जन गर्न प्राप्त सुझावहरु महत्वपूर्ण रहेको बताए । प्रदेशको सुरक्षा सुदृढ गर्न तथा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई प्राप्त गर्न गोष्ठीले महत्वपूर्ण योगदान पुर्याकउने विश्वास व्यक्त गर्दै गृहमन्त्री थापाले रचनात्मक सुझावलाई मन्त्रालयकोतर्फबाट पुरा गर्न गम्भीर रुपमा लिएको उल्लेख गरे । मुलुकमा राजनीतिक, आर्थिक, सांस्कृतिक, प्राकृतिक र सीमा सुरक्षा सम्बन्धि चुनौती रहेको चर्चा गर्दै गृहमन्त्री थापाले यस्ता चुनौतीलाई सरकारले सफलतापुर्वक सामना गर्दै आएको र आगामी दिनमा सुरक्षा नीतिलाई अझ विकास गर्दै मुलुकको शान्ति र स्थिरता सुदृढ बनाउन थप योगदान दिन लाग्नुपर्ने बताए । तस्करी, कालो बजारी, ठगी, राजस्व छलीलाई नियन्त्रण गर्न विशेष संयन्त्र बनाई गम्भीर रुपमा काम गरी अझै गुणात्मक बनाउनु पर्नेमा उनले जोड दिए । अबका दिनमा सबै मिलेर मुलुकलाई समृद्ध बनाउनेतिर सक्रियताकासाथ लाग्न र समाजमा शान्ति सुरक्षा कायम गर्न गोष्ठीका निष्कर्ष फलदायी हुने विचार उनले व्यक्त गरे । उक्त अवसरमा कार्यक्रमका विशिष्ट अतिथि ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्तव्य व्यक्त गर्दै उक्त प्रदेशको सुरक्षा सुदृढिकरणका लागि विभिन्न सुझाव प्रस्तुत गरे । कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विगतमा भन्दा सुरक्षा धेरै राम्रो भएको चर्चा गर्दै गोष्ठीबाट आएका सुझावलाई कार्यान्वयन गरेको खन्डमा धेरै समस्या समाधान गर्न मद्दत पुग्ने धारणा व्यक्त गरे । गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रमलगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो । ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजित राई तथा विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, ५ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदका प्रमुख सचिव तोय नारायण ज्ञवाली, उक्त प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेल, ५ नम्बर प्रदेश हेडक्वाटर नेपाली सेना मध्यपश्चिम पृतना बुटवल रुपन्देहीका पृतनापति उपरथी सीताराम खड्का, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, ५ नम्बर प्रदेशका १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवं १२ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता रहेको थियो । उक्त गोष्ठी पश्चानत् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ५ नम्बर प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुका प्रमुखहरु एवं अन्तर्गतका १२ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई शान्ति सुरक्षा लगायत समसामयिक विषयमा निर्देशन समेत दिएका थिए ।
फुटसल प्रतियोगिता कप सैनिकको पोल्टामा भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालयले हात पारेको छ । आज रोम्बस नेशनल सेकेन्डरी स्कूल र सैनिक आवासीय महाविद्यालयबीच भएको खेलमा २–७ गोलको अन्तरमा सैनिक आवासीय माहाविद्यालयले जीत हासिल गरेको एन्फा भक्तपुरका उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताए । रोम्बस र सनसाइनबीच भएको खेलमा ५–३ ले रोम्बसले जीत हासिल गरेपछि फाइनलमा गएको थियो भने सैनिक आवासीय मावि र जेन्युइनबीच भएको खेलमा ६–३ गोलले सैनिकले जीत हासिल गरेपछि सैनिक आवासीय फाइनलमा गएको थियो ।
उपनिर्वाचनको तयारी तीव्र, मनोनयनपत्र दर्ता बिहीबारदेखि काठमाडौं । आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा र स्थानीय तह को हकमा कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन निर्देशिका, २०७६ को दफा २२ को अनुसूची–५ र स्थानीय तहका लागि स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ५ को अनुसूची–१ बमोजिमको ढाँचामा मनोनयनपत्र दाखिला गर्नुपर्नेछ ।
लुम्बिनी प्रादेशिक अस्पताल परिसरका ७८ सटर भत्काइने रुपन्देही । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि सटर भत्काइने भएको छ । प्रादेशिक अस्पताललाई विशिष्टकृत अस्पतालका रुपमा रुपान्तरण गर्न मङ्सिर महिनापछि अस्पतालको उत्तरपूर्वका सटर भत्काउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । प्रदेशकै सुविधासम्पन्न नमूना अस्पतालका रुपमा विकास गर्नका लागि अस्पताल परिसरमा रहेका सटर हटाएर पर्खाल निर्माण गर्ने सामाजिक विकास मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि मन्त्रालयले सटर भत्काउने भएको हो । अस्पताललाई प्रदेश गौरवको आयोजनाका रुपमा विकास गर्न अस्पतालको उत्तर–पूर्व सडकसँग जोडिएका सटर भत्काइ मापदण्डअनुसार नयाँ पर्खाल निर्माणका गर्न स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए । “हामीले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनाका रूपमा राखेका छौँ, यो अस्पतालको स्तरोन्नतिका भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौँ”, उनले भने । सरकारले दिएको समयसीमाभित्र सटर खाली नगरे डोजर लगाएर भए पनि भत्काउने तयारी गरेको उनले बताए । प्रदेशस्तरमा आवश्यकपर्ने स्वास्थ्य सेवा व्यवस्थापनका लागि अस्पतालको स्तरोन्नति गरिन लागेको प्रदेश सरकारले जनाएको छ । अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरी स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन सामाजिक विकास मन्त्रालयले प्रदेश सरकारसमक्ष सटर हटाएर पर्खाल निर्माणका लागि स्वीकृत दिन प्रस्ताव राखेको थियो । अस्पताल परिसरमा क्लिनिक, कपडा पसल, एग्रोभेट, रेस्टुराँ, पुस्तक पसललगायत ७८ वटा सटर सञ्चालनमा छन् । अस्पतालमा कार्यरत चिकित्सकले निजी क्लिनिकलाई प्राथमिकता दिन अस्पताल आउने बिरामीले राम्रो सेवा नपाएका कारण सटर हटाउनुपर्ने बाध्यता रहेको प्रवक्ता चौधरीको भनाइ छ । “हामीले अस्पतालको सेवा थप प्रभावकारी बनाउन चाहेका छौँ”, प्रवक्ता चौधरी भन्छन्, “अब अस्पतालमा विशेषज्ञ सेवा विस्तार हुनेछ ।” लुम्बिनी प्रादेशिक अस्पतालले साउन ३० गते सटर खाली गर्न तीनमहिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा अस्पतालको हालको क्षमताले थाम्न गाह्रो भएको र सोको व्यवस्थापन गर्न विशेषज्ञ स्वास्थ्य सेवा (क्याथल्याब, न्यूरो सर्जरी, क्यान्सर उपचार, अर्गान ट्रान्सप्लान्टेसनलगायत) विस्तार गरी प्रदेश अस्पताललाई ‘रिफरल’ अस्पतालका रुपमा सञ्चालन गर्न गुरुयोजनाअनुसार आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न जग्गा अभाव देखिएकाले अस्पताल परिसरका सटर र यस अस्पतालको जग्गामा व्यक्ति वा संस्थाले निर्माण गरेका संरचना खाली गर्न अनुरोध गरिएको छ । अस्पतालदेखि उत्तरतर्फका सटरलाई व्यवस्थित गर्नका प्रदेश सरकारले यसअघि नै कार्यदल गठन गरिसकेको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमको संयोजकत्वमा गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएपछि ती सटर के गर्ने भन्ने विषयमा निर्णय हुने प्रवक्ता चौधरीले बताए । मन्त्रिपरिषद् बैठकले सामाजिक विकास डिभिजन कार्यालय स्थापना र सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक विकास मन्त्रालयअन्तर्गत छ जिल्लामा सामाजिक डिभिजन कार्यालय सञ्चालन गर्न स्वीकृति दिएको हो । बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रस्तुत गरेको प्राइभेट फाराम दर्ता नियमावली २०७६ स्वीकृति गरेको छ । मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बाँस्कोटालाई नियुक्ति गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।रासस
गोरखा भूकम्पपछि ५३५ परकम्प गोरखा । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा माथिका ५३५ परकम्प गएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको भूकम्पपछि चार रेक्टरस्केल माथिका ती परकम्प गएका हुन् । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराई नेपाल भूकम्पको उच्च जोखिमको क्षेत्र भएको बताउँछन्। “ठूलो भूकम्पपछि बेलाबेलामा आउने परकम्पका कारण ठूलो भूकम्पको जोखिम कम हुन्छ”, उनले भने। चार रेक्टरस्केलभन्दा साना ५० हजारभन्दा बढी परकम्प गएको भट्टराईले बताए। गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको सो भूकम्पले काठमाडौँ उपत्यका, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, धादिङ, गोरखा, नुवाकोट, रसुवा, दोलखा, मकवानपुर, चितवन, रामेछाप, ओखलढुङ्गालगायत जिल्लामा क्षति पुर्याएको थियो। भूकम्पबाट थुप्रै ऐतिहासिक तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै आठ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो। पछिल्लो समय मुलुकको पश्चिमी क्षेत्रमा चार रेक्टरस्केलभन्दा माथिको भूकम्प गएको केन्द्रले जनाएको छ। रासस
एकैदिन ६ हजारबढीले अवलोकन गरे नारायणी महोत्सवमा चितवन । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ नारायणगढको नदी किनारमा सञ्चालन गरिएको ‘नारायणी महोत्सव २०७६’ को मंगलबार ६ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । कात्तिक १५ गतेदेखि सञ्चालन भएको महोत्सवमा मंगलबार दर्शकहरुको संख्या केही कम देखिएको रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए । भरतपुरको क्षेत्रपुरमा रहेको रेविका बाल प्रतिष्ठानमा रहेका अपाङ्गता भएका बालबालिकाहरुको लागि खर्च गर्नेगरि नारायणी नदी किनारमा महोत्सवको आयोजना गरिएको राजकर्णिकारको भनाइ छ । मंगलबार महोत्सवको विशेष आकर्षणको रुपमा राजनराज सिवाकोटी, प्रताप दास, दीक्षा सुनुवारलगायतका कलाकारहरु रहेका थिए । त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुले समेत आफ्नो प्रस्तुति राखेका थिए । महोत्सव अन्तरगत बुधबार चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विक, दिपक खड्का, दीक्षा सुनुवारलगायतका कलाकारले प्रस्तुति राख्ने सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए । महोत्सवमा शिव परियार, दुर्गेश थापा, कमला घिमिरेलगायतका धेरै कलाकारहरु आउन बाँकी नै रहेको अधिकारीको भनाइ छ । तीन सय व्यवसायिक स्टल रहेको महोत्सवलाई सफल पार्नका लागि दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक प्रस्तुती भइरहेको अधिकारीले बताए । कात्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालकालिकाहरुको शिक्षा दीक्षा तथा औषधिउपचारमा खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानले हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिएर औषधिउपचारका साथै शिक्षा समेत प्रदान गर्दै आइरहेको छ । महोत्सवमा विभिन्न बाल उद्यानका साथै नारायणी नदीमा ¥याफ्टिङ्ग चढ्ने व्यवस्था समेत मिलाइएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थापाले बताइन् । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।
राष्ट्रपतिसमक्ष थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु आयोगको आव २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगको वार्षिक कार्यप्रगति, भावी कार्यक्रम, बजेट, संस्थागत संरचना, जनशक्तिलगायतका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो । नेपालको संविधानको धारा २६३ मा नेपालमा एक थारु आयोग रहने व्यवस्था छ । वर्तमान अध्यक्ष चौधरीको अध्यक्षतामा विसं २०७५ चैत ७ गते आयोगको गठन भएको थियो । गठनपछि आयोगले संवैधानिक व्यवस्थाअनुरूप समावेशी र समानुपातिक सिद्धान्त कार्यान्वयन गर्ने सन्दर्भमा थारु समुदायको हकहित र अधिकारका लागि समुदायबीचमा अन्तरक्रिया गरी सुझाव सङ्कलन गर्दै आएको छ । मुलुकको तराई/मधेशका २४ जिल्लामा थारु समुदायको बाक्लो बसोबास रहिआएको छ । नेपालमा थारु समुदायको जनसङ्ख्या १७ लाख ३७ हजार रहेको आयोगले जनाएको छ । रासस
नेपाल–युएई श्रम समझदारी आजदेखि कार्यान्वयनमा काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी आजदेखि औपचारिक कार्यान्वयनमा आएको छ। कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषय दुई देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठकले टुङ्ग्याएसँगै सो समझदारी कार्यान्वयनमा आएको हो। समझदारीको प्रभावकारी कार्यान्वयनको मार्ग प्रशस्त गर्न आइतबार र सोमबार दुई देशका प्रतिनिधि सम्मिलित प्राविधिक समितिको पहिलो बैठक काठमाडौँमा बसेको थियो। समझदारीलाई व्यवस्थित ढङ्गले कार्यान्वयनमा ल्याउन दुवै पक्षबीच सहमति भएको छ। बैठकले कामदारको भर्ना प्रक्रियाका चरणलाई स्पष्ट पारेको छ। समझदारीअनुसार युएई कामदार पठाउँदा लाग्ने सेवा शुल्क दुईतर्फी हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्कलगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नुपर्नेछ। घरेलु कामदारसम्बन्धी ‘प्रोटोकल’को मस्यौदामा घरेलु कामदारका विशेष सुरक्षा व्यवस्था र थप हकहितका विषयलाई समेट्ने सहमति भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुङ्गानाले जानकारी दिए। “घरेलु कामदारको सन्दर्भ रहेका कानूनी व्यवस्थासमेतमा थप छलफल गरी अघि बढ्ने सहमति भएको छ”, उनले भने। युएईमा घरेलु कामदारको हकहित र संरक्षणको विषय समेटी घरेलु कामदारसम्बन्धी नयाँ कानून लागू भएको छ । घरेलु कामदार आपूर्ति गर्न युएई सरकारले सरकारको प्रत्यक्ष निगरानी तथा सार्वजनिक निजी साझेदारीको अवधारणामा ‘ताड–वियर सेन्टर’ स्थापना गरेको छ । उक्त सेन्टरबाट मात्र घरेलु कामदार आपूर्ति हुने एवं यसले घरेलु कामदारको संरक्षणका सबै विषय जिम्मा लिने बताइएको छ । नेपाल र युएईबीचको श्रम समझदारीलाई प्रभावकारी ढङ्गले अघि बढाउन दैनिक आउने सवाललाई थप सहज ढङ्गले समाधान गर्न दुवै सरकारका सम्पर्क विन्दु तोकिएको सहसचिव ढुङ्गानाले जानकारी दिए । “श्रम समझदारीको कार्यान्वयनको चरणमा दुवै देशका निजी क्षेत्रबीच आपसी समन्वय र सहकार्यलाई थप व्यवस्थित बनाउन, दुवै देशका कानूनी प्रक्रियाबारे थप स्पष्ट हुन निजी क्षेत्रका प्रतिनिधि सम्मिलित सम्मेलन आयोजना गर्ने सहमति भएको छ”, उनले भने, “स्वास्थ्यलगायत रोजगारीका क्षेत्रमा दुवै देशको संयुक्त कार्यक्रमसम्बन्धी सम्भावनाको पहिचान गर्ने विषयमा समेत सहमति भएको छ।” कल्याणकारी र बीमाबाहेक कुनै शुल्क तिर्नु नपर्ने समझदारीमा शून्य लागतको विषयलाई समेटिएको छ । कामदारको भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने समझदारीमा उल्लेख गरिएको छ । कामदारले रोजगारदातासँग भएको सहमति कार्यान्वयन नभएमा कामदारले रोजगारदाता परिवर्तन गर्न पाउने, पारिश्रमिक, अतिरिक्त समय, सुरक्षित कार्य वातावरण तथा न्यायमा सहज पहुँच सुनिश्चित गरिएको छ । गुनासो सुनुवाइलगायत विषयमा अन्य विदेशी कामदार सरह समान व्यवहार, महिला कामदारको सुरक्षामा विशेष व्यवस्था जस्ता कामदारको हकहित र सुरक्षा गर्ने विषयलाई समझदारीले स्पष्ट पारेको छ । अबदेखि नेपाली श्रमिकले वैदेशिक रोजगारीका लागि युएई जाँदा कल्याणकारी शुल्क र बीमा शुल्क मात्र व्यहोर्नुपर्ने छ । बाँकी अन्य सम्पूर्ण खर्च र कामदार पठाउने सम्बन्धित वैदेशिक रोजगार व्यवसायीको सेवा शुल्कसमेत रोजगारदाताले व्यहोर्ने छन् । श्रमिकको स्वास्थ्य परीक्षण शुल्क र सेवा शुल्कको भुक्तानी बैंकिङ माध्यमबाट सम्बन्धित नेपाली वैदेशिक रोजगार व्यवसायीलाई फिर्ता गर्ने छन् । मन्त्रालयले कामदारको सम्पूर्ण खर्च रोजगारदताले व्यहोर्ने विषय समझदारीमा नै स्पष्ट पारिएको उल्लेख गर्दै अब उप्रान्त कामदारसँग कुनै पनि शुल्क नलिन ‘म्यानपावर’ व्यवसायीलाई आग्रह गरेको छ । सन् २००७ पछि श्रम आप्रवासनका क्षेत्रका मूलभूत मान्यता र सिद्धान्तमा आएको परिवर्तनलाई आत्मसात् गरी त्यसअघिको समझदारीलाई समयानुकूल बनाउन नेपाल र युएईबीच गत जेठ ३१ गते नयाँ श्रम समझदारी भएको थियो । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समाराहेमा सहभागी हुने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।रासस
चर्चित सांगितिक व्याण्ड एडीको कन्सर्ट कीर्तिपुरमा हुने काठमाडौं । चर्चित सांगितिक ब्याण्ड १९७४ एडीको सांगितिक कन्सर्ट यही कार्तिक २३ गते काठमाडौंमा हुने भएको छ । मंगलबार कीर्ति ईभेन्टले पत्रकार सम्मेलन गरी सो कन्सर्ट कीर्तिपुरको खेल मैदानमा हुने जानकारी गराएको हो । कन्सर्टमा चर्चित ब्याण्ड कुटुम्ब र चर्चित गायक रोहित जोन क्षेत्रीको पनि सांगितिक प्रस्तुति रहनेछ । कन्सर्टमा टिकटको मूल्य प्रि सेल ३ सय, डोर सेल ५ सय र भिआईपी से १ हजार रहेका छन । कार्यक्रम यही शनिबार अपरान्ह ३ बजेबाट सुरु हुनेछ ।
२२ वर्षपछि प्रकाउ परे धादिङका चन्द्रबहादुर धादिङ । धादिङमा २२ वर्षपछि कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका ३ स्थित बस्ने पेम्बा दोर्जे तामाङलाई ज्यान मार्ने उद्याेकमा सोही ठाउँका ३ जनाले कुटपिट गरेपछि उनीहरुविरुद्ध उजुरी परेको थियो। स्थानीय चन्द्र बहादुर तामाङ‚ मैते तामाङ र धने तामाङविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा २०६९ सालमा ज्यान मार्ने उधोग शीर्षकमा मुद्दा दर्ता भई धादिङ जिल्ला अदालतले १०/१० वर्षको कैद सजायको फैसला गरेको थियो। सोही बेलादेखि फरार सूचीमा रहेका चन्द्र बहादुर तामाङलाई सोमबार पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित धादिङ जिल्ला अदालत समक्ष पेश गरेको प्रहरीले जनाएको छ।
ललितपुरमा ‘मेयर कप’ टेवलटेनिस प्रतियोगिता हुने काठमाडौं । ललितपुरको नागबहालमा ‘दोस्रो मेयर कप’ टेवलटेनिस प्रतियोगिता आयोजना हुने भएको छ । ललितपुर महानगरपालिकाको १६ नम्बर वडाको संयोजनमा यही कार्तिक २३ गते शनिबारदेखि कार्तिक ३० गतेसम्म वडा स्तरीय सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टेवलटेनिस खेलका प्रशिक्षक राजेन्द्र कपालीले स्थानीय वडा तहका करिव ४ सयभन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सो प्रतियोगितामा सहभागिता हुने जानकारी दिए। प्रतियोगितामा सिंगल ईभेन्टमा प्रथम हुने खेलाडीलाई १० हजार, द्धितीय हुने खेलाडीलाई ५ हजार र तृतीय हुने खेलाडीलाई ३ हजार नगदसहितको पुरस्कार दिने पनि घोषणा गरिएको छ । सो खेलकुद प्रतियोगिता सञ्चालनका लागि करिव ८ लाख ५० हजार बजेट लाग्ने अनुमान पनि गरिएको छ ।
सुकुटे बस दुर्घटनाः अझै ५ जना घाइते अस्पतालमै काठमडाौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो। सो क्रममा धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचाररत ४७ मध्ये चारलाई आइतबार नै थप उपचारका लागि काठमाडौँ पठाइएको र बाँकीको उपचार भइरहेकामा ४१ घाइते उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ। अझै तीन जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । उनका अनुसार उपचाररत घाइतेमा जीवन खड्का, प्रवीण आलेमगर र सविता थापा छन् । घाइते सबै दोलखाका रहेको प्रहरीले जनाएको छ। बनेपास्थित शिरमेमोरिय अस्पतालमा विन्दुमाया लामा र खेमध्वज तामाङको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा दुर्घटना हुँदा सडक तल सुनकोशी नदीमा खसेको थियो। रासस
सिआइबीको टोली ग्राहक बनेर जाँदा… काठमाडौँ । विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा आयो । वन्यजन्तुको अङ्ग (आखेटोपहार) को अन्तरराष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप निकै गोप्य हुने भएकाले त्यहीअनुसार सिआइबीले योजना बनायो । कारोवारी पक्राउ गर्न सहज नहुने देखेपछि सिआइबीको टोलीले ग्राहक बनेर जाने निर्णय ग¥यो । सोही योजनाअनुसार पहिले वन्यजन्तुको छाला हेर्ने अनि मोलतोल गर्ने भनेर उनीहरुलाई प्रहरीले कार्भेपलाञ्चोकबाट काठमाडौँ बोलायो । सिआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भने, “उनीहरुलाई हामीले ग्राहक बनी बोलाएर पक्राउ गरेका हौँ, उनीहरुको गतिविधि काभ्रेमा थियो, भेटौँ–हेरौँ अनि कुरा गरौँला भन्ने कुरा भो, त्यसपछि उनीहरु आए ।” सोही क्रममा चरीबाघको छालासहित काठमाडौँको सिनामङ्गलमा भेटेर प्रहरीले आइतबार दुई जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल बस्ने २४ वर्षीय सरोज लम्साल र रामेछापको दोरम्बा बस्ने २५ वर्षका सुरेन्द्र श्रेष्ठ रहेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । उनीहरुलाई थप कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको उनले बताए । प्रहरीले निजहरुको साथबाट वन्यजन्तुको छालासमेत बरामद गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार उनीहरुविरुद्ध कारवाही गरिने जनाइएको छ।
वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि काठमाडौँ । नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३ औँ वर्ष पूरा भएको अवसरमा यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ । तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नारा रहेको सो महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्रका साथै नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा प्रदर्शन गर्नका लागि करीब छ वटा नेपाली भाषाका चलचित्रको छनोट कार्य भइरहेको सङ्घका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । वीरगञ्जको आदर्शनगरस्थित रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्नुहुने उक्त महोत्सवमा चलचित्रसम्बन्धी कार्यशाला, अन्तक्र्रियाका साथै स्थानीय सांस्कृतिक पक्षलाई प्रवद्र्धन गर्न कार्यक्रम गरिनेछ । नेपाली भाषाका चलचित्रले तराईमा बर्चश्व कायम राख्न नसकेको अवस्थामा त्यहाँका दर्शकलाई चलचित्रभित्रका सांस्कृतिक पक्षबारे जानकारी गराउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले जनाएका छन् । बलिउडका कलाकारको समेत सहभागिता रहने महोत्सवमा प्रदेश नं २ सरकार, भ्रमण वर्ष सन् २०२० वीरगञ्ज महानगरपालिका, नेपाल चलचित्र विकास बोर्ड, वीरगञ्ज उद्योग वाणिज्य सङ्घलगायत संस्थाको सहयोग रहेको छ ।रासस
कीर्ते नागरिकता बनाइदिने पक्राउ वालिङ । झुठो विवरण पेश गरी कीर्ते नागरिकता बनाइदिएको कसुरमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजीत सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए । सुनारले २०६० माघ २० गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट कास्की पोखरा महानगरपालिका ३० का डिलबहादुर श्रेष्ठको ३३ वर्षीय छोरा शङ्कर श्रेष्ठलाई आफ्नै छोरा हो भनी झुठो विवरण पेश गरी नागरिकता बनाइ दिएका थिए । झुठो विवरण दिएर नागरिकता बनाइदिएको खुल्न आएपछि प्रहरीले ‘नागरिकतासम्बन्धी कसुर’ मुद्दा दर्ता गरी प्रतिवादी सुनारलाई पक्राउ गरेर स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता भण्डारीले बताए।
पोषणमा लगानी बढाए मात्र दिगो विकासको लक्ष्य हासिल हुन सक्छः राष्ट्रपति भण्डारी काठमाडौं । पोषणसम्बन्धी सेवाको विस्तारका लागि पाँचौँ विश्व सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । सम्मेलनलाई भिडियो सन्देश दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक सामाजिक रुपान्तरणमा पोषणको ठूलो महत्व रहेको बताइन्। राष्ट्रपति भण्डारीले नेपालले बहुक्षेत्रीय षोषण कार्ययोजना कार्यान्वयन गरिरहेको उल्लेख गर्दै आमा र बालबालिकालाई पोषिलो खाना उपलब्ध गराउन राज्यले ध्यान दिनुपर्नेमा जोड दिइन् । आमाको गर्भ सुरक्षित हुँदा मात्र युगको सुरक्षा हुने भन्दै उनले भनिन्, “पोषणमा लगानी बढाए मात्र दिगो विकासको लक्ष्य हासिल हुन सक्छ ।” सम्मेलनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र आइभरीकोष्टका उपराष्ट्रपति ड्यानियल डंकलले संयुक्तरुपमा उद्घाटन गरेका थिए। सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले दिगो विकास लक्ष्यले तय गरेको पोषणको मात्रालाई पूरा गर्न सरकारले विशेष कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको बताए । आर्थिक सामाजिक रुपान्तरणका लागि सरकारले ‘समृद्ध नेपाल, सुखी नेपालीको’ सङ्कल्पसहित काम गरिरहेको उल्लेख गर्दै सामाजिक कारणले पनि महिला बालबालिका कुपोषित भइरहेको बताए। उपप्रधानमन्त्री पोखरेलले गरीबी निवारण कार्यक्रममार्फत पोषण र खाद्य सुरक्षाका कार्यक्रम अगाडि बढाइएको तथा कृषिमा आधुनिकीकरण गरी खाद्य सुरक्षामा जोड दिइएको बताउँदै खाद्य सुरक्षा र पोषणलाई नेपालको संविधानलेसमेत मौलिक हकका रुपमा सुरक्षित गरेको जानकारी गराए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले सन् २०२२ सम्म विकासशील देशमा नेपाललाई रुपान्तरण गर्ने लक्ष्यसहित काम भइरहेको बताउँदै पोषण र खाद्य सुरक्षाका लागि सातै प्रदेशमा कार्यक्रम कार्यान्वयन भइरहेको छ भने। उनले प्रजनन उमेरका महिला तथा बालबालिकालाई एकीकृत गरेर साझा कार्यक्रमका साथ सरकार लागिपरेको बताए। ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका साथ शुरु भएको सो चारदिने अन्तरराष्ट्रिय सम्मेलन दक्षिण एशियामा नै नेपालमा पहिलोपटक आयोजना भएको हो । हरेक दुई वर्षको अन्तरालमा यस प्रकारको अन्तरराष्ट्रिय सम्मेलन हुने गर्दछ । सम्मेलनलाई कुपोषण न्यूनीकरण गर्ने अभियानमा जुटेका देशले उच्च महत्वका साथ लिएका छन् । सम्मेलनमा भाग लिन विभिन्न देशका उच्च व्यक्तित्व आइतबार काठमाडौँ आइपुगेका थिए । राष्ट्रिय योजना आयोगद्वारा संयोजन गरिएको सम्मेलनमा नेपालसहित विश्वका ८० देशका एक हजार २०० प्रतिनिधिको सहभागिता छ । उच्च राजनीतिक नेतृत्व, नीति निर्माता, गैरसरकारी संस्थाका प्रतिनिधि पोषणसम्बन्धी विज्ञहरू सो सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनको पहिलो दिन आज बिहानदेखि पोषणसम्बन्धी सेवाको विस्तार (स्केलिङ अफ न्युट्रिसन) अभियानमा आबद्ध देश, अन्तराराष्ट्रिय दातृ निकाय तथा संयुक्त राष्ट्र सङ्घीय निकायका उच्च नेतृत्वका बीचमा सम्मेलनको तयारी बैठक सम्पन्न भयो । सम्मेलनको आवश्यक तयारी पूरा भएको आयोगले जनाएको छ । पोषणसँग सम्बन्धित क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका तथा समाजकल्याणलगायतका विषयमा २५ अलगअलग कार्यशाला सम्मेलनका क्रममा हुने जनाइएको छ । साथै सहभागी देशले पोषणका क्षेत्रमा गरेका उपलब्धि र कुपोषण न्यूनीकरणका लागि आगामी रणनीतिका बारेमा सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नेछन् । साथै कुपोषण न्यूनीकरणका गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिपूर्ति कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि गम्भीर छलफल गर्दै सम्मेलनले काठमाडौँ घोषणापत्रसमेत जारी गर्नेछ । यसैगरी आगामी सम्मेलनको स्थानसमेत यो सम्मेलनले तोक्ने छ । नेपाल स्केलिङ अफ न्युट्रिसन अभियानको सक्रिय सदस्य देश हो । यो अभियानको सुरुआतदेखि नेपालले यो सम्मेलनमा भाग लिँदै आएको छ । सो अभियानको पहिलो सम्मेलन २०१३ मा अमेरिकाको न्यूयोर्क, दोस्रो सन् २०१४ मा इटलीको रोम, सन् २०१५ इटलीकै मिलान र सन् २०१७ मा अविदजान, कोट डि आइभोरीमा सम्पन्न भएका थिए ।रासस
कात्तिक नाचको चौथो दिन : बाथः प्याखँ अर्थात् सती जाने परम्परा ललितपुर । ललितपुरको लोक प्रसिद्ध परम्परागत तथा ऐतिहासिक ३७९ वर्ष पुरानो कात्तिक नाचको आज चौथो दिन बाथःप्याखँ (तिखिकाँ, छ्योँ ध्वग्गी, सति वनेगु) अर्थात सति जाने परम्परालाई नाचमा देखाइएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ सातबजेदेखि कात्तिक नाच हुँदै आएको छ। सो नाचको कथामा तीन जना बाठा दाजुभाई हुन्छन् । यी तीन मध्ये एक जनाले बाठो भएर अर्को गाउँमा गई एउटी केटी बिहे गरेर ल्याउँछ । बिहे गरेको केही समयपछि सो पुरुषको मुत्यु भई सति गएको कुरालाई नृत्यमा मञ्चन गरी देखाइने पाटनका ७२ वर्षीय वृद्ध सूर्यमान डङ्गोलले जानकारी दिए। आजको नाचमा मुख्य गरी तीन जना दाजुभाईको बठ्याइँलाई उल्लेख गरी परापूर्वकालमा महिलाले पतिको स्वर्गारोहण भएपछि सती जानुपर्ने कुरालाई नाचमा मञ्चन गरिने पाटनका वृद्धवृद्धाको भनाइ छ । सो कथामा पात्रको आउने जाने क्रम रहँदा कूल १६ जना कलाकारको आवश्यकता रहने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले बताए। गत कात्तिक १५ गतेदेखि शुरु भएको कात्तिक नाचको पहिलो दिन सुदामा प्याखँ, दोस्रो दिन भक्त सुरदास प्याखँ र तेस्रो दिन बाथ प्याखँ मञ्चन भइसकेको छ । विगतका वर्ष कात्तिक कृष्ण प्रतिपदादेखि कात्तिक शुक्ल पूर्णिमासम्म देखाइने सो नाच यो वर्ष कात्तिक शुक्लपञ्चमीदेखि शुरु भएर कात्तिक पूर्णिमाको दिनसम्म १२ दिन देखाइने भएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिए । विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले करीब पौने चारसय वर्ष अगाडि कात्तिक नाच शुरुआत गरेका हुन्। शाक्यले भने, “यस नाचको आफ्नै धार्मिकविधि रहेकाले यसलाई ‘कार्तीप्याखाँ’ अर्थात ‘कात्तिकनाच’ भन्ने गरिएको हो।” सत्रौँ शताब्दीमा शुरु भएको कात्तिकनाच विष्णु पुराणमा आधारित भएर विष्णुको अवतार नृसिंह, राजा हिरण्यकश्यपु र विष्णु भक्तप्रल्हादको कथामा आधारित भएर पनि नाचिने गरिन्छ । नाचको माध्यमबाट जीवन उपयोगी विभिन्न धार्मिक नाटकको प्रस्तुतिलाई पनि देखाउने गरेको समितिले जानकारी दिएको छ । उपत्यकाको तीनै सहरबाट साँझमा कात्तिक नाच हेर्ने एक हजार ५०० देखि दुई हजार मानिस भित्रिएका वृद्ध डङ्गोलको भनाइ छ । उनले भने, “विगतका वर्षको तुलनामा यो वर्ष पाटनमा धेरै मानिस भित्रिएका छन् । यो नाच हेर्न स्वदेशी व्यक्तिका साथै विभिन्न मुलुकबाट आएका विदेशी पर्यटकले पनि डबली भरिएको छ ।” पाटनमा कात्तिक नाच हेर्न आउने मानिसको ठूलो भीड लाग्ने गरेको छ ।
पेस्तोल र गोली सहित मोरङबाट एकजना पक्राउ मोरङ । कटहरी गाउँपालिका १ स्थित सिंघीया खोला नजिकबाट सोही गाउँपालिका २ बस्ने २३ वर्षीय सुरज कुमार भन्ने बिक्की कुमार भगतलाई अटोमेटिक पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ थान, म्याग्जिन २ थान र सीमकार्ड ५ वटा सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही खोला नजिकको खुल्ला मैदानमा छठ पूजाको अवसरमा स्थानीय एक युवाक्लबले आयोजना गरेको साँस्कृतिक साँझ तथा नृत्य कार्यक्रममा केही व्यक्तिहरूले ढुंगा प्रहार गरेकोले उक्त स्थानमा खटिएको प्रहरीले शंकास्पदहरूलाई तलासी गर्ने क्रममा भगतलाई उक्त हतियार तथा गोली सहित फेला पारी पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा भगतले उक्त हतियार मोरङ धनपालथान गाउँपालिका ७ कदमहा बस्ने २८ वर्षीय मुकेश कुमार मण्डलबाट प्राप्त गरेको खुल्न आए पश्‍चात् जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मण्डललाई समेत आइतबार साँझ बिराटनगर महानगरपालिका ७ जलजला चोकबाट पक्राउ गरेको छ । उनीहरू अवैध हातहतियारको कारोवार गर्ने केही व्यक्तिहरुसँग विगत केही समयदेखि सम्वन्ध स्थापित गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सुरू रुपन्देही । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर ५ को आयोजनामा ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा सोमबारदेखि सुरू भएको छ। ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा सुरू भएको उक्त गोष्ठीको आजको सत्र सम्पन्न भएको छ। उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, प्रहरीले सम्पादन गरेका समग्र कार्य, हालसम्म प्राप्त उपलब्धीहरु लगायतका विषयमा चर्चा गर्दै दन्डहिनताको अन्त्यका लागि नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए। गौतम वुद्धको जन्मस्थल शान्तिको प्रतीकको रुपमा चिनिएको सन्दर्भमा नेपाल प्रहरीले कानुनको उचित कार्यान्वयन गर्दै शान्ति सुरक्षा कायम गरी शान्तिको प्रतीकलाई थप चिनाउने काम गरेको उनले उल्लेख गरे। प्रहरीका काम कारवाही पारदर्शी हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीलाई बदनाम बनाई मनोबल घटाउन खोज्ने तत्वलाई निस्तेज बनाई मनोबल अझै बढाउन सबै मिलेर जानुपर्ने बताए। उचित व्यक्तिलाई उचित स्थान दिने नीति अवलम्बन गरी काम गर्दै अपराध गरी विदेशमा भागेका र विदेशमा अपराध गरी नेपाल आई लुकेका अपराधीहरुलाई समेत कानुनको दायरामा ल्याउने लगायत काम गरी असम्भवलाई पनि नेपाल प्रहरीले सम्भव बनाएको उनले उल्लेख गरे। प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारले अवलम्बन गरेको सुखी नेपाली समृद्ध नेपालको नीतिप्रति नेपाल प्रहरी कटिवद्ध भई अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे। समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अन्तर्राष्ट्रिय रुपमा लैजानु पर्नेमा जोड दिँदै नागरिकसँगै मिलेर सुरक्षा सुदृढिकरणमा लाग्न साझेदारी कार्यक्रमले मद्दत पुर्‍याएको उनले बताए। विभिन्न बक्ताहरु समेतले आ(आफ्नो मन्तव्य व्यक्त गरेको गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रमलगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो। मंगलबार सम्पन्न हुने उक्त गोष्ठीको आजको सत्रमा गृहमन्त्रीका सल्लाहकार प्रा.डा. ईन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, ५ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदका प्रमुख सचिव तोय नारायण ज्ञवाली, ५ नम्बर प्रदेश हेडक्वाटर नेपाली सेना मध्यपश्चिम पृतना बुटवल रुपन्देहीका पृतनापति उपरथी सीताराम खड्का, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, ५ नम्बर प्रदेशका १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, १२ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता रहेको थियो।
नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । पूर्व सांसद समेत रहेका सुवेदीलाई सोमाबार बिहान हृदयघात भएको उनको पारिवारिक स्रोतले जनाएको छ । आज बिहान काठमाडौँबाट दाङ्ग जाने क्रममा नागढुंगा नपुग्दै गाडीमै बेहोस भएपछी सुवेदीलाई नर्भिक हस्पिटल लगिएको थियो । नर्भिक पुर्याइएका सुवेदीको डाक्टर जेपी जैसवालले सर्जरी गरेका थिए । सामान्य सर्जरी पछि सुवेदीको अवस्था सामान्य रहेको उनका सहयोगी देव चौलागाईंले बताए । २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र न २ का तत्कालिन नेकपा माओवादीका तर्फबाट उम्मेदवार भइ तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई हराएर उनी चर्चित बनेका थिए । सुवेदी हालको नेकपाका केन्द्रीय सम्पर्क मञ्चका सहसंयोजक हुन् । उनलाई दाङको प्रहरी हिरासतमा रहेका छोरा सन्तोष सुवेदी ‘प्रयास’लाई भेट्न जाने क्रममा हृदयघात भएको हो । उनका छोरा सन्तोष सरकारद्वारा प्रतिवन्धित विप्लव नेकपाका रोल्पा इन्चार्ज हुन् । उनी केही समय अघि दाङको राजपुरबाट पक्राउ परेका थिए ।
नेपाल र नर्वेबीच परामर्श संयन्त्र स्थापना काठमाडौं । नेपाल र नर्वेबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री डागइनङ्गे उल्स्टेनको उपस्थितिमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलकुमार काफ्ले र नेपालका लागि नर्वेका राजदूत लास्से जोनासेनले आज परराष्ट्र मन्त्रालयमा हस्ताक्षर गरेका हुन्। त्यसअघि दुई देशका मन्त्रीबीच भएको भेटवार्तामा नेपाल–नर्वे सम्बन्धका सबै पक्षमा विचारविमर्श हुनका साथै ऊर्जा, व्यापार, लगानीलयगायत आपसी सहयोग अभिवृद्धिका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । दुवै देशका मन्त्रीबीचको वार्ता जलवायु परिवर्तन र त्यसले पारेका असर तथा साझा चासोका विषयमा क्षेत्रीय र बहुपक्षीय मञ्चमा सहयोग बढाउनेबारेमा पनि विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चितवनमा सहकारीको गैरकानुनी रुपमा शाखा, बचतकर्ताको रकम जोखिममा चितवन । भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा रहेको मुना बचत तथा ऋण सहकारी संस्था लि. ले गैरकानुनी रुपमा शाखा विस्तार गरेको पाइएको छ । सो सहकारी संस्थाले सम्पर्क कार्यालय भन्दै कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजार र भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा सम्पर्क कार्यालय संचालन गरेको छ । सो सहकारीले २०७५ साल असार २५ गतेबाट खोलेसिमल बजारमा सम्पर्क कार्यालय स्थापना गरी कारोवार सञ्चालन गरेको छ । त्यस्तै शारदानगरमा पनि करिव १ वर्षदेखि सम्पर्क कार्यालयमा कारोवार हुँदै आएको छ । सो सहकारीले खोलेसिमल शाखाबाट करिव ५ सय ग्राहकबाट १ करोड भन्दा बढी रुपैया र शारदानगर शाखाबाट करिव ३ सय ५० ग्राहकको करिव ६० लाख भन्दा बढी रकम संकलन गरेको छ । कुनैपनि सहकारी दर्ता भइसकेपछि शाखा विस्तारका लागि पनि सम्वन्धित निकायबाट अनुमति लिनुपर्ने हुन्छ । एउटै नगरपालिकाभित्र नगरपालिकाबाट र फरक नगरपालिकामा शाखा विस्तार गर्ने भए प्रदेश सरकारबाट अनुमति लिनुपर्ने भएपनि सो सहकारीले अनुमति नै नलिई कारोवार गर्दा सयौँ बचतकर्ता लाखौँ रकम जोखिममा पर्न गएको हो । २०६८ सालमा स्थापना भई भरतपुर १० हाकिमचोकको सरस्वती टावरमा कार्यालय रहेको सो सहकारीको मुख्य कार्यालय पनि आर्थिक रुपमा समस्यामा रहेको छ । सो सहकारीको सम्पर्क कार्यालय संचालनमा रहेको बताउँदै मुना बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष एवम् प्रवन्ध निर्देशक श्रीराम उपाध्यायले सोको दर्ताको लागि प्रदेश सरकार समक्ष निवेदन दिएको बताए ।
‘सेन्टी भाइरस’को पहिलो पोस्टर सार्वजनिक, यस्ता देखिए धुर्मुस काठमाडौं । नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र सिताराम कट्टेल ‘धुर्मुस’ फिचर्ड छन् । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा धुमुर्स र सुन्तली मुख्य भूमिकामा छन् । चलचित्रमा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारको पनि अभिनय छ । ब्यङ्ग्यात्मक कमेडी ‘सेन्टी भाइरस’ फागुन ९ गते प्रदर्शनमा आउने भएको छ । पोस्टर सार्वजनिक सँगै निर्माण युनिटले आज रिलिज डेट पनि तोकेको हो । डुन्डु लामाको निर्माण रहेको चलचित्र कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । सानो पर्दा हुँदै समाज सेवामा केन्द्रित धुर्मुस ‘सेन्टी भाइरस’मार्फत कथानक चलचित्रमा होमिएका हुन् ।
मिस्टर एण्ड मिस स्टारको उपाधि भावना र श्रवणलाई चितवन । क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले जित्न सफल भएका छन् । त्यसै गरि युवती तर्फ रुपा केसी फर्स्ट रनरअप, नविना अधिकारि सेकेन्ड रनरअप र पुरुष तर्फ मनोज तामाङ फर्स्ट रनरअप, किरण दनुवार सेकेन्ड रनरअप भएका छन् । भरतपुरको पानोरोमा गार्डेन रिर्सोटमा शनिबार भएको ग्राण्ड फिनालेमा विजेताहरुले ३० हजार नगदसहित अन्य गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका थिए त्यस्तै उपाधि विजेताहरुले म्युजिक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिताकी अध्यक्ष सरिता आचार्यले जानकारी दिइन् । क्रियटिभ इन्साइट मिडिया प्रालिले १ महिना अघि प्रतियोगिता सुरु गरेको थियो । प्रतियोगिता अवधिभर उत्कृष्ट कला, कौशल प्रदान गर्ने १० जनाले ग्राण्ड फिनालेमा प्रवेश पाएको इभेन्ट म्यानेजर विकास सापकोटाले बताए । प्रतियोगितामा अर्गनाइजर च्वाइस, पब्लिक च्वाइस, वेष्ट ड्रेस, भरतपुरकी सविना गुरुङले जितेकी छिन् । प्रतियोगिताको निर्णायकहरु संचारकर्मी, कलाकार, निर्देशक सूर्य चन्द, मोडल, नायिका अनिता गिरी, गायक विश्वराम कार्की रहेका थिए । मिस्टर एण्ड मिस स्टार चितवन–२०१९को प्रमुख अतिथिमा भरतपुर महानगरपालिका उपमेयर पार्वती शाह ठकुरी तथा विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिकराम पौडेल, समाजसेवी तथा युवा ब्यबसायी राजु बन्जाडे रहेका थिए। उक्त प्रतियोगितालाइ कोरियोग्राफी अस्मिता नेपालीले गरेकी थिइन् भने कार्यक्रम संचालन मोडल निर्देशक तथा भिजे प्रहिल कार्कीले गरेका थिए । कार्यक्रममा हास्यकलाकार तथा जादुगर नमराज पराजुलीको प्रस्तुति रहेको थियो ।
बेलायती संसद्मा नेपाल भ्रमण वर्षको प्रचार गरिँदै काठमाडौं । बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन) मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत पुगिसकेका छन्। मन्त्री भट्टराईसँगै भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डका पदाधिकारीको पनि सहभागिता रहेको छ। प्रत्येक वर्ष हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम) को अवसरमा बेलायतमा आउँदो यही कात्तिक २१ गते हुने नेपाल भ्रमण वर्ष प्रवद्र्धनका लागि विशेष कार्यक्रम राखिएको सचिवालयले जनाएको छ । विश्वकै ठूलो ‘ट्राभल सो’ मानिएको यो मेला आजदेखि शुरु भएको छ । तीन दिनसम्म चल्ने मेलामा नेपालको समग्र पर्यटन प्रवद्र्धनका सामग्री तथा खानाका परिकारको समेत प्रदर्शनी गरिने बोर्डले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षण नेपालको पर्यटन विकास तथा प्रवद्र्धनमा योगदान दिने बेलायती नागरिकहरुलाई ‘दी हिमालयन ट्राभल अवार्ड २०१९’ बाट सम्मान गर्ने कार्यक्रम रहेको छ । बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियानकर्मी जोआन्ना लुम्ले, भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिपकुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने कार्यक्रम रहेको छ । त्यस्तै लामो समयदेखि नेपालमा पर्यटकहरु पठाउने प्रमुख बेलायती टुर अपरेटरहरुलाई कदर पत्र प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ। अवार्ड तथा कदरपत्र मन्त्री भट्टराईले वितरण गर्नेछन् । त्यसैगरी ट्राभल एजेन्ट तथा होटेल व्यवसायी रमेश अरोरा, नेपालको पर्यटनमा अढाई दशकदेखि लागिपरेका मर्कस कट्टन, नेपालको वन्यजन्तु पर्यटनमा काम गर्दै आएका एभी जीम एडवार्ड, नेपालको पर्यटन गन्तव्यको प्रचारप्रसारमा लामो समयदेखि लागिपरेका रोबिन मार्सटन र नेपाल पर्यटनका अग्रणी कोलोनेल जोमलाई दी हिमालयन अवार्ड वितरण गरिनेछ। त्यसैगरी नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुहुने माइकल वेट (म्यानेजिङ डाइरेक्टर, रिभिएरा ट्राभल), आस्ले टफ (सीईओ, की एड्भेन्चर ट्राभल), पटेर बुर्रेल (एमडी, एक्सोडुल ट्राभल), रोबर्ट गुडवीन (प्रोडक्ट एन्ड पर्चेजिङ डाइरेक्टर), जेरल्डिन स्टिन्सन (म्यानेजिङ डाइरेक्टर, मर्करी होलिडेज), आन्डे स्वार्रेल (म्यानेजिङ डाइरेक्टर, टीटान ट्राभल) र स्टेभ बेरी (म्यानेजिङ डाइरेक्टर, माउण्टेन किङडम) लाई प्रशंसापत्र वितरण गरिने भ्रमण वर्ष सचिवालयले उल्लेख गरेको छ ।
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र दैलेख । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । चीनको अन्वेषण टोली तथा अन्य कामदारका लागि यहाँ क्याम्प निर्माण गरिएको छ । डुगेश्वर गाउँपालिका–१ चुप्राबजार नजीक क्याम्प निर्माण भएसँगै सामान ल्याउने क्रम अघि बढेको छ । पहिलो चरणमा सर्वेको काम हुनेछ । सदरमुकाममा सर्वेका लागि कार्यालय स्थापना गरिएको छ । अन्वेषणपछि कुन कुन भूभागमा के कती परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुराको टुङ्गो लाग्ने छ । अन्वेषण कार्य सञ्चालनका लागि त्रिवेणी ओभरसिज प्रालिले विभिन्न पदका लागि आवश्यक जनशक्तिको सूचना प्रकाशन गरेको छ । “जिल्लाकै बासिन्दालाई काममा प्राथमिकता दिइने छ”, प्रालिका सूर्यमणि लामिछानेले भने । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित चीन सरकारको विशेषज्ञ टोलीले औपचारिक उद्घाटन गरेपछि पेट्रोलियम पदार्थ अन्वेषणको काम अघि बढेको हो । पेट्रोलियम पदार्थ भेटिए जिल्लाको मात्र नभई कर्णाली प्रदेश र सिङ्गो नेपालकै लागि महत्वपूर्ण उपलब्धि हुने सांसद रवीन्द्र शर्मा बताउँछन्। उद्योग वाणिज्य सङ्घका महासचिव राजेश हमालले अन्वेषणको काममा सघाउन सबै उद्योगी व्यापारी, सर्वसाधारणलगायतलाई सहयोग गर्न आग्रह गरे।रासस
३ किलोग्राम चरेससहित एकजना पक्राउ काठमाडौँ । नेपाल प्रहरीले तीन किलोग्राम १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा३ख ९६७३ नंको यात्रुवाहक बस चेकजाँचका क्रममा मकवानपुर थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिञ्जालीमगरलाई आइतबार राति पक्राउ गरेको हो। प्रभागका प्रमुख, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले कालो झोलामा चरेस लुकाएर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सिञ्जालीमगरलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको खड्काले बताए। रासस
सहकारीको ४३ करोड रुपैयाँ हिनामिना गर्ने ४ जना कारागार चलान राँझा । सहकारीको ४३ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ। जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतबार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर सुवेदी, बैंङिक प्रबन्धक अरुणकुमार पाठक र सहउपसहायक बलराम यादवलाई थुनामा राख्न आदेश दिएको हो। अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणि बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही रु २० लाख धरौटी मागिएको छ। बज्राचार्य रु २० लाख नगद धरौटी बुझाएर रिहा भएका छन् भने चौधरीले धरौटीमा जायजेथा राखीपाउँ भनेर निवेदन दिएपनि जग्गाको मूल्याङ्कनलगायतका प्रक्रियामा कम्तीमा एक साता लाग्ने भएकाले थुनामै बस्नुपर्ने भएको छ। जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोग पत्र दायर भएको छ। चारजना कर्मचारी र दुईजना लेखा समिति सदस्य गरी छ जना मात्र पक्राउ परेका थिए। ३५ जना अभियुक्त फरार छन्। बाँके प्रहरीले गठन गरेको विज्ञ समूहको सहयोगमा भएको छानबिनमा सहकारीको कूल पूँजी रु ५२ करोडबाट रु ४३ करोड अपचलन भएको दाबी गरिएको छ। सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका छन्। रासस
म्याग्दी बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हुँदै (नामावली सहित) बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ। दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा मालिका गाउँपालिका–७ विमकी ७० वर्षीया सतदेवी भट्टचन, बिमकै ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवी जुग्जाली र गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए । “आइतबार साँझ दुर्घटना भएको र रात परेकाले उद्धारमा केही समस्या भयो”, प्रहरी निरीक्षक शर्माले भने, “उनका अनुसार सख्त घाइते भएका १२ जनालाई बेनी अस्पतालमा रिफर गरिएको छ। घाइतेमध्ये अधिकांश किसानी कृषि प्राविधिक शिक्षालय बिममा अध्ययन गर्ने विद्यार्थी रहेका छन् । उनीहरु दशैँ तिहारको बिदा सकिएपछि विद्यालय फर्किएका विद्यार्थी रहेका जनाइएको छ। दुर्घटनामा परी घाइते भएका बसका चालक मङ्गला गाउँपालिका–१ पैयुपाँटाका टेकबहादुर सार्कीसहित १२ जनालाई बेनी रिफर गरिएको र अन्यको दरवाङस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस सडकदेखि करीब २०० मिटर तल खसेको जनाइएको छ। दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन। १) मालिका गापा ७ बिमका ६० वर्षीय राजमान दर्जी २) मालिका ७ बिमका हुमबहादुर जुग्जाली ३) मालिका ७ बिमका ३८ वर्षीय पलप्रसाद जुग्जाली ४) मालिका ७ बिमकी २६ वर्षीय नरदेवी परियार ५) बेनी नगरपालिका–९ घतानका १६ वर्षीय विसन खत्री ६) बेनी नगरपालिका वडा नम्बर ४ राक्ष बस्ने बर्ष १७ को गौरब पौडेल ७) बाग्लुङ ताराखोला गाउँपालिका ५ बस्ने १७ वर्षीय विजय कँडेल ८) बेनी नगरपालिका–४ राक्ष बस्ने १९ वर्षीय प्रमिस पौडेल ९) मालिका गाउँपालिका–७ का २६ वषीया दिलु शेरपुञ्जा १०) बिमकीे ६ वषीया कृष्टिना जुग्जाली ११) बिमकी ६१ वर्षीया तनदेवी जुग्जाली १२ बिम बस्ने ६० वर्षीया चन्द्रकली दर्जी १३) बिमकी ३८ वर्षीया पलदेवी जुग्जाली १४) बिम बस्ने सुरेश जुग्जाली १५) बिम बस्ने ३१ वर्षीया लिला जुग्जाली १६) धौलागिरि गाउँपालिका–३ दर बस्ने १८ वर्षीयाा रिल माया बूढा १७) बेनी नगरापलिका–३ भकिम्ली बस्ने ३५ वर्षीय केशव शर्मा न्युरे १८) मङ्गला गाउँपालिका–५ छिसवाङ बस्ने २२ वर्षीया रमिला खत्री रहेका छन् ।
उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन निर्देशन काठमाडौँ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचन (प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तह) का सन्दर्भमा आज आयोगमा सम्पन्न उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सो निर्देशन दिएका हुन्। उनले भने, “उप निर्वाचनमा राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा संलग्न हुने सबै तहका जनशक्तिलाई सुरक्षाको प्रत्याभूति हुनुपर्छ ।” बैठकमा निर्वाचन आयुक्त एवं उच्चस्तरीय सुरक्षा समितिका संयोजक ईश्वरीप्रसाद पौड्यालले उपनिर्वाचनमा सुरक्षा निकायबीच समन्वय कायम गरी सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आयोगका सहसचिवको नेतृत्वमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिने जानकारी दिँदै केन्द्रमा चारवटै सुरक्षा निकायका प्रतिनिधि रहने जानकारी दिए । उनले एकीकृत सुरक्षा योजना पनि कार्यान्वयन हुने बताए। बैठकमा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले समग्र सुरक्षा योजना प्रस्तुत गरेको आयोगद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीले आ–आफ्ना निकायबाट तयार गरिएका उपनिर्वाचन सुरक्षा योजनासमेत पेश गरेका थिए। बैठकमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, रक्षा सचिव रेश्मीराज पाण्डे, आयोगका सचिव देवकुमारी गुरागाईं, नेपाली सेनाका रथी गौरब तण्डुल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी लगायतको उपस्थिति थियो ।
बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा बुद्ध लामा पक्राउ काठमाडौं । एघार वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी घर भई हाल सूर्यविनायक नगरपालिका–६ बस्ने ३२ वर्षीय बुद्ध लामा रहेका छन्। प्रहरी वृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ परेका लामालाई आजै म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। लामाले बालिकालाई आफ्नो कोठामा चकलेट दिने बाहनामा बोलाएर दुव्र्यवहार गरेका थिए। उनलाई स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगिएको जोशीले बताए।
म्याग्दीमा बस दुर्घटना, ४ जनाको मृत्यु म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् । दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नं को बस बिमको घुम्तीमा दुर्घटना भएको हो। मृत्यु हुनेमा रवी जुग्जाली र आयुषा जुग्जाली छन्। दुई जनाको सनाखत हुन नसकेको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए। घाइतेलाई प्राथमिक उपचार केन्द्र लगिएको छ। घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा जुटेका छन्।
कञ्चनपुरमा गहुँखेतीका लागि डिएपी मल अभाव कञ्चनपुर । धान भित्र्याएर गहुँ खेती गर्ने तरखर शुरु भएका बेला कञ्चनपुरमा भने मलखादको अभाव भएको छ। अनुदानको मल धान खेती गर्ने समयमा नपाएका यहाँका किसानले गहुँखेती गर्ने बेला पनि डिएपी मल पाउने टुङ्गो छैन । कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी मलको अभाव भएको जनाएको छ। “युरिया मात्रै एक ट्रक जति आएको छ”, कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले भने, “धान खेती गर्दा पनि किसानलाई डिएपी मल वितरण गर्न सकिएन।” गहुँ छर्ने बेला डिएपी मलको प्रयोग हुने भए पनि मल नहुँदा किसान मारमा परेका छन्। “दुई हजार ५०० मेट्रिक टन युरिया र दुई हजार मेट्रिक टन डिएपी मल यहाँ वार्षिक रुपमा खपत हुन्छ”, उनले भने, “डिएपी मल भारतको कलकत्ताबाट ढुवानी गर्न सकिएको छैन ।” मलखादको अभाव मुलुकभर रहेको शाहले बताए। शुक्लाफाँटा नगरपालिकाका किसान जयराम डगौँराले रासायनिक मलको अभाव हुँदा खेती गर्न समस्या भइरहेको दुखेसो पोखे। “धान रोपाँइका बेला पनि मल नहुँदा समस्या भयो”, उनले भने “अनुदानमा मल दिने निकायका गोदाम रित्तै छन ।” उनले हरेक दिन किसान मल अभावका कारण निराश हुनुपरेको डगौँराको भनाइ छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले सुदूरपश्चिम प्रदेशभा डिएपी मल प्रर्याप्त नभएको बताए । “डिएपी मलको अभाव नै भन्न त मिल्दैन”, उनले भने, “दुई महिनामा यहाँ तीन हजार मेट्रिक टन डिएपी मल बिक्री भएको छ ।” सुदूरपश्चिम प्रदेशमा भैरहवाबाट मल आयात हुने गरेको भन्दै उनले आयात हुने ठाउँमै मल अभाव भएको बताए। सुदूरपश्चिमका लागि युरिया १५ हजार मेट्रिक टन र डिएपी १० हजार मेट्रिक टन आवश्यक भएको बोगटीले बताए। “हामीलाई चाहिने जति मल कहिल्यै आएन”, उनले भने, “यस महिनाको अन्तिमसम्ममा डिएपी मल आउँछ।” सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा रासायनिक मल खपत हुन्छ। कञ्चनपुरमा किसानले भारतबाट आयात गरिने मलखाद चर्को मूल्यमा खरीद गर्नुपरेको किसानको दुखेसो छ।
कैलाली दुर्घटना : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो कैलाली । कैलालीको पहलमानपुरमा बसको ठक्करबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । आज साँझ महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको भे १ ख १७३२ नंको यात्रुवाहक बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए। बसले मोटरसाइकललाई ठक्कर दिँदा घोडाघोडी–१० पहलमानपुरका रामबहादुर चौधरीको घटनास्थलमै र सोही ठाउँका मानबहादुर चौधरीको प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि विरोधमा आफन्तले शव नउठाइ राजमार्ग अवरुद्ध पारेका छन्। राजमार्गमा टायर बालेर घटनाको विरोध गर्दै राजमार्ग अवरुद्ध छ। राजमार्गमा भएको शव नउठाउँदा राजमार्ग अवरुद्ध भई छोटो तथा लामो दूरीका कुनै पनि सवारी साधन नचलेपछि यात्रु अलपत्र परेका छन् । बस चालक बाँकेका ३२ वर्षीय डिल्लीबहादुर योगीलाई इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक हरिशरण भट्टले बताए।
सुनकोसी बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १६ पुग्यो, ४७ घाइते, ५ को सनाखत काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ मध्ये पाँचको सनाखत भएको छ। दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक १५ मध्ये नौ महिला, एक बालिका, दुई पुरुष र तीन बालक छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधवप्रसाद काफ्लेका अनुसार सनाखत हुनेमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोककी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी छ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका–३ की ५१ वर्षीया रत्नकुमारी राउत, सोही स्थानका तीन वर्षीय बालक सिसन तामाङ छन्। दिउँसो सवा एक बजे भएको दुर्घटनामा अझैसम्म पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी उद्धारमा जुटिरहेका छन्। नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिए पनि बसभित्र कोही नभेटिएका प्रहरीको भनाइ छ। यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा पुगेको थियो। बसमा ४० बढी यात्रु सवार रहेका बताइएको छ। सिन्धु सहावहार अस्पताल खाडीचौरमा २० को उपचार भइरहेको छ। त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा पनि घाइतेको उपचार भइरहेको छ। गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक काफ्लेका अनुसार ठूलो दुर्घटना भएकाले क्षति बढ्न सक्ने छ।रासस
महिला आयोगमा पदाधिकारी नियुक्तिको माग काठमाडौं । राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्ति नहुँदा कामकाज प्रभावित भएको आज यहाँ आयोजित कार्यक्रमका सहभागीले बताएका छन्। सङ्कल्प नामक संस्थाद्वारा आयोजित आयोगका पदाधिकारी गठन बारेको छलफलमा महिला अधिकारकर्मीले पदाधिकारी नियुक्ति नहुँदा नीति तथा कार्यक्रममा प्रभाव परेको भन्दै जतिसक्दो चाँडो नियुक्ति गर्नुपर्ने माग गरेका हुन्। चालू आर्थिक वर्षमा मात्र ५०० भन्दा बढी उजुरी आयोगमा परेका छन्। पदाधिकारी नहुँदा ती उजुरीबारे निर्णय गर्न सकिएको छैन। राष्ट्रिय महिला आयोग ऐन, २०७४ प्रमाणित भएको दिन २०७४ असोज २९ गतेदेखि नै आयोग पदाधिकारीविहीन छ। महिला अधिकारकर्मी लिली थापाले आयोगको पदाधिकारी नियुक्तिका लागि महिलाले संसद्, सडक र पार्टीभित्रसमेत सकारात्मक दबाब दिनुपर्नेमा जोड दिइन्। आयोगमा एक अध्यक्ष र चार सदस्य रहने व्यवस्था गरिएको छ । महिला आयोग मात्रै होइन पदाधिकारी नहुँदा आदिवासी जनजाति आयोग र अन्य आयोगको पनि हालत उस्तै छ। आयोगका हरेक गतिविधि तथा काम बोर्ड बैठकले पास गर्नुपर्ने व्यवस्था छ । “पदाधिकारी नहुँदा आयोगका काम ठप्प जस्तै छन्”, सांसद शान्ति पाख्रिनले भनिन्। राजनीतिक दलको असहमतिका कारण आयोगमा पदाधिकारी गठन गर्न ढिलाइ भएको भन्दै उनले दबाब सिर्जना गर्नुपर्ने बताइन्।
१३औं संस्करणकाे इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दाे प्रतियाेगिता अमेरिकाकाे मिचिगनमा हुने काठमाडौँ। १३औं संस्करणको इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दाे प्रतियाेगिता अमेरिकाकाे मिचिगनमा हुने भएकाे छ । ज्योति एभरेष्ट तेक्वान्दाेकाे आयोजनामा  सन् २०२० मे १ र २ तारिखमा इस्टर्न मिचिगन युनिभर्सिटीमा उक्त प्रतियाेगिता हुने पक्का भएकाे हाे । इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दाे प्रतियाेगिता(आईओएफटिसी) ले यस्ताे खालकाे प्रतियाेगिता प्रत्येक दुई वर्षमा पालैपालो (एकपटक अमेरिका र अर्काेपटक अमेरिका बाहिर) गर्दै आएकाे छ । जसअनुसार आईओएफटिसीले आफ्नाे प्रमुख कार्यालय रहेकाे पाेर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार, भारत, बेलायत र हङकङमा एक-एक गरि बाह्रवटा संस्करणहरू  सफलतापूर्वक सम्पन्न गरिसकेकाे छ। मिचिगनमा हुने उक्त प्रतियोगितामा नेपालसहित अमेरिका, हङकङ, फिलिपिन्स, अस्ट्रेलिया, क्यानडा, भारत, चिन, पाकिस्तान लगायतका विभिन्न मुलुकका करिब सातसयभन्दा बढी खेलाडीहरू सहभागि हुने आयाेजकले जानकारी गराएको छ । नेपालबाट भने साेही प्रतियाेगिताका लागि गत कार्तिक १ र २ गते चितवनकाे रत्ननगरमा आयाेजित तेस्राे खुल्ला  रत्ननगर तेक्वान्दाे प्रतियोगिताका उत्कृष्ट पाँच खेलाडीहरु छनोट भएका छन् । सितापाईला तेक्वान्दाे डाेजाङका शैलेश राज गिरी, कोटेश्वर तेक्वान्दाे डाेजाङका रञ्जित साउद, मैत्री तेक्वान्दाे डाेजाङका दिनेश सुनार, सितापाईला तेक्वान्दाे डाेजाङकी आयशा तामाङ र  काेटेश्वर तेक्वान्दाे डाेजाङकी सुस्मिता मोक्तान छनाेट भएका हुन् । एक कराेड बीस लाख कुल बजेट भएकाे उक्त प्रतियाेगितामा जम्मा ६५ स्वर्ण, ६५ रजत र १३० कास्य पदकका लागि प्रतिस्पर्धा हुने आयाेजकले बताएकाे छ ।
नारायणी महोत्सवमा तेस्रो दिन सात हजार भन्दा बढी दर्शक चितवन । शुक्रबारदेखि नारायणगढको नदी किनारमा सञ्चालन भएको ‘नारायणी महोत्सव २०७६’ को तेस्रो दिन आइतबार सात हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सव मूल समितिका संयोजक रोशन राजकर्णिकारका अनुसार आइतबार लाइभ कन्सर्ट भएकाले दर्शकको उपस्थिति उल्लेख्य भएको हो । महोत्सवको तेस्रो दिन आइतबार लोकगायक रामजी खाँण, देवी घर्ती, जादुगर बलराम सरकारले आफ्नो प्रस्तुती रखेका छन्। त्यस्तै, तृष्णा गुरुङको लाइभ म्युजिक कन्सर्टका साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवको चौथो दिन सोमबार प्रकाश सपुत, पूर्णकला विसी, कमेडियन राजा राजेन्द्र पोखरेललगायतका व्यक्तिको प्रस्तुती रहने सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले जानकारी दिए । त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुको समेत प्रस्तुती रहने अधिकारीले बताए । तीन सय व्यवसायिक स्टल रहेको महोत्सवलाई सफल पार्नका लागि दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक प्रस्तुती राखिएको राजकर्णिकारले बताए। कात्तिक २५ गतेसम्म हुने महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालकालिकाहरुको लागि काम गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानले हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिएर औषधिउपचारका साथै शिक्षा समेत प्रदान गर्दै आइरहेको छ । महोत्सवमा विभिन्न बाल उद्यानका साथै नारायणी नदीमा ¥याफ्टिङ्ग तथा स्टीमर चढ्ने सुविधा समेत रहेको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थापाले बताइन् । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।
भूतपूर्व सैनिकहरुको राष्ट्रिय गोष्ठी सोमबार र मंगलबार काठमाडौं । यही कार्तिक १८ र १९ गते काठमाडौंमा गोर्खा भूतपूर्व सैनिकहरुको बृहत राष्ट्रिय गोष्ठी आयोजना हुने भएको छ। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको समस्या समाधानका लागि नेपालमा बृहत छलफल गर्न सो गोष्ठी काठमाडौंमा भोलीबाट आयोजना गर्न लागिएको जानकारी गराएको हो। गोष्ठीको पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संयुक्त रुपमा उद्घाटन गर्नेछन्। गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भने सहभागी नगराईने गेसोले जनाएको छ। सरकारले व्रिटिस सरकारसँग गेसोको समस्या समाधानका लागि वार्ता गर्नुपर्ने भएकाले आन्दोलनकारी शक्तिको रुपमा रहेको गेसोको सो गोष्ठीलाई प्रधानमन्त्री ओली र सरकारका कुनै पनि प्रतिनिधिलाई सहभागी नगराउने निर्णयमा पुगिएको सो गोष्ठीे आयोजक समितिका सदस्य समेत रहेका पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्र्रौलाले जानकारी दिए। तर गोष्ठीको निष्कर्ष भने प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाउने पनि गेसोले स्पष्ट पारेको छ। गोष्ठीले भूतपूर्व गोर्खा सैनिकलाई पनि ब्रिटिस सेना सरह सेवा, सुविधा उपलब्ध गराउन ब्रिटिस सरकारलाई बाध्य बनाउने गरी रणनीति तय गर्ने दावी गरिएको छ।
लाओस पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने एक दम्पती पक्राउ काठमाडौं । विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना थिङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। उनका अनुसार उनीहरुले बैँकिङ कारोबार ललितपुरमा गरेको पाइएकाले आरोपिलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ। वैदेशिक रोजगारका सिलसिलामा कामदार भिसामा आकर्षक तलब पाउने प्रलोभन देखाएर लाओस पठाइदिने भनी उनीहरुले पीडितबाट २४ लाख २० हजार ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ। महाशाखा प्रमुख थापाले पीडितलाई लाओस र भारत पुर्याएर अलपत्र पारी उनीहरु फरार भएका थिए। रामेछापका नविनकुमार तामाङसमेत चार जनाले गत असोज ५ गते दिएको जाहेरीका आधारमा महाशाखाको टोलीले उनीहरुलाई यही कात्तिक १५ गते हेटौँडाबाट पक्राउ गरेको थियो। ठगी प्रमाणित भए अधिकतम पाँच वर्ष कैद तथा विगो र जरिवानासमेत हुने व्यवस्था छ।
सुनकोसी बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १४ पुग्यो, ४७ जना घाइते काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सुनकोसी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। आइतबार चौतारा सागाचोकगढी नगरपालिका ९ सुकुटेस्थित अरनिको राजमार्गमा बा २ ख ७२४५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल सुनकोशी खोलामा खस्दा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। मृत्यु हुनेहरुमा ८ जना महिला ४ जना पुरुष र २ जना बालबालिका रहेका छन्। दुर्घटनामा परी ४७ जना घाइते भएका छन्। तत्काल दुर्घटनास्थलमा पुगेको प्रहरीले उद्धार तथा खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बाँस्कोटा नियुक्त काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बास्कोटालाई नियुक्त गरिएको छ। आइबार बसेको मन्त्रिपरिषद् बैठकले डा. धर्मकान्त बाँस्कोटालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्षसमेत रहेका थिए। त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञसमेत रहेका बाँस्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सकसमेत हुन्।
सरकारले लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान गर्ने काठमाडौँ । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले सरकारले ‘लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान’ शुरु गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाको अन्त्य तथा लैङ्गिक समानता, विकास र महिला सशक्तीकरणका लागि हालसम्म प्राप्त उपलब्धिहरु समेट्दै विद्यमान लैङ्गिक हिंसा विभेद असमानता र वञ्चितीकरणका लागि लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिद्वारा लैङ्गिक हिंसामुक्त राष्ट्र निर्माण गर्ने आधार तयार गर्न सो अभियान शुरु गर्ने भएको हो । अभियान सोमबार विराटनगरबाट शुरु गरिनेछ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा मन्त्रालयले सो अभियान सञ्चालन गर्न लागेको हो । लैङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि शुरु भई डिसेम्बर १० सम्म १६ दिन सम्पन्न हुने गरेको छ । अभियान सञ्चालनका लागि केन्द्रमा मन्त्रीको अध्यक्षतामा विभिन्न सरोकारवाला निकाय रहेको मूल समायोजन समिति गठन गरिएको छ भने प्रदेशमा सामाजिक विकासमन्त्री, जिल्लामा जिल्ला समन्वय समिति प्रमुख तथा स्थानीय तहमा स्थानीय कार्ययोजनालाई निकायका प्रमुखको संयोजकत्वमा समिति गठन गर्ने प्रस्ताव गरिएको छ। अभियान मुख्यगरी घरेलु हिंसा, वैदेशिक रोजगारसँग सम्बन्धित हिंसा, मनोरञ्जन क्षेत्रमा कार्यरत महिलासँग सम्बन्धित, यौन हिंसा तथा दुव्र्यहार, कार्यस्थलमा हुने यौनजन्य हिंसा, सामाजिक सञ्जालको दुरुपयोगबाट हुने हिंसा, अन्धविश्वास, कुरीति, कुसंस्कार अन्त्य गर्ने विषयमा केन्द्रित हुने सहसचिव रुद्रादेवी शर्माले जानकारी दिइन्। उनका अनुसार राजनीतिक क्षेत्रमा महिलामाथि हुने हिंसा, सार्वजनिक स्थलमा हुने हिंसा र एसिड आक्रमणबाट हुने हिंसालाई पनि यसमा समावेश गरिएको छ । महिलाको सवालमा विभिन्न समयमा भएका उपलब्धिपूर्ण दिनको स्मरणमा गर्दै २०७६ जेठ ६ गतेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष जेठ १६ का दिन राष्ट्रिय महिला अधिकार दिवस मनाउने र यस वर्ष २०७६÷७७ साललाई लैङ्गिक हिंसाविरुद्धको अभियान वर्षका रुपमा सङ्घ, प्रदेश र स्थानीय तहले अभियान कार्यक्रम सञ्चालन गरी मनाउने निर्णय गरेको थियो । देशव्यापी रुपमा ‘लैङ्गिक हिंसामुक्त देश निर्माण’ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने सङ्कल्पसहित महिलालाई लैङ्गिक भेदभावबिना समानवंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकलगायतका मौलिक हकको प्रत्याभूति गरेको छ । अभियानअन्तर्गत यही कात्तिक १८ गते विराटनगर, २१ गते जनकपुर, २९ गते पोखरा, २६ मा सुर्खेत, २४ धनगढी र मङ्सिरको ९ गते काठमाडौँ, मङ्सिर १ गते बुटवलमा मन्त्रीहरु, प्रदेशमन्त्रीहरु, जनप्रतिनिधि र सरोकारवाला सङ्घ÷संस्थाको सहभागितामा कार्यक्रम आयोजना गरिने भएको छ । विसं २०६३ मा पुनस्र्थापित प्रतिनिधिसभामा ‘आमा वा बाबुमध्ये कसैको नामबाट पनि सन्तानले नागरिकता पाउन सक्ने सुनिश्चित गर्न, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरालाई ध्यानमा राखी हाललाई कम्तीमा एक तिहाइ महिलालाई राज्यको सबै संरचनामा सहभागिताको सुनिश्चित गर्न, विभेदकारी कानूनको खारेजी गर्न, महिलाप्रति हुने गरेका हिंसाको अन्त्य गर्ने’ सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको थियो । यस प्रस्तावलाई २०६३ जेठ १६ का दिन तत्कालीन प्रतिनिधिसभाले सर्वसम्मतरुपमा पारित गरेको पनि थियो । संविधानले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव तथा हिंसा जस्ता जघन्य अपराधलाई दण्डनीय बनाई पीडितलाई क्षतिपूर्ति दिलाउन र शिक्षा स्वास्थ्य रोजगारी तथा सामाजिक सुरक्षामा विशेष अवसरद्वारा लैङ्गिक समानता कायम गर्ने व्यवस्थासमेत गरेको छ । अभियानलाई सफल बनाउनका लागि विभिन्न सङ्घीय मन्त्रालयका सरोकारवाला निकायहरु एवम् लैङ्गिक हिंसाविरुद्धको अभियानमा संलग्न गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, निजी संस्थालगायत अन्य सामाजिक सङ्घसंस्थालाई सहभागी गराई त्यसका बारेमा जानकारीसमेत गराइसकिएको सहसचिव शर्माले जानकारी दिइन्।रासस
सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, काँग्रेसद्वारा शोक व्यक्त मेलम्चि। अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए। उनका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० बढी सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उनले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए। घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए। घटनाको विस्तृृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। यसैबीच दुर्घटनाप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले शोक व्यक्त गरेको छ। काँग्रेस केन्द्रीय कार्यालय मुख्य सचिब कृष्णप्रसाद पौडेलले आइतबार शोक विज्ञप्ति जारी गर्दै शोक तथा समवेदना प्रकट गरेका छन्।
बर्दियामा लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ धम्बोझी । लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ। बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो। तीनै जनालाई लागुऔषध शीर्षकमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
एमसीसी विरुद्ध युवा टिमले बलिङ गर्ने काठमाडौं । नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमले अहिले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ । टियु क्रिकेट मैदानमा एमसीसीविरुद्ध नेपाली युवा टिमले सुरुवातमा बलिङ गरिरहेको छ । कप्तान रित गौतमले टस जितेर पहिले फिल्डिङ रोजेको छन् । र, एमसीसीलाई सुरुवातमा ब्याटिङ गर्न पठाएका छन् । यू–१९ टिमपछि एमसीसीले टिमले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीय पछि एमसीसीले नेपालसँग टी–ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्ने छन् । नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।
वनभोज खाएर फर्किएको बस दुर्घटना, तीन जना घाइते सुर्खेत। सुर्खेको कटकुवाबाट वनभोज खाएर फर्कँदै गरेको बस वीरेन्द्रनगर–६ घण्टाघरचोक नजिक शनिबार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार वनभोज खाएर बाँकेको कोहलपुरतर्फ जाँदै गरेको भे१ख २९१७ नङको बसको ब्रेक फेल गई दुर्घटना भएको हो । दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालिका–१९ कन्ठीपुरका १५ वर्षीया लीला बुढाथोकी, १५ वर्षीय आकाश थापा क्षेत्री र १९ वर्षीय नरेन्द्र उपाध्याय घाइते भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। घाइतेमध्ये उपाध्यायको वीरेन्द्रनगरस्थित माया नर्सिङहोम र अन्य दुईको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । बसको ब्रेक फेल भई सडक किनाराको रुखमा ठोक्किन पुगेको थियो । रासस
नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा चार पक्राउ गुलरिया । नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । ओरेञ्ज ग्लोबल मार्केटिङ प्राली नामक बहुर्राष्ट्रिय कम्पनीमार्फत नेटवर्किङको नाममा ठगी गर्ने मुख्य आरोपित मध्यगुलरिया नगरपालिका–४ बस्ने विवक थारु, सोही नपाको वडा नं ५ का हिमाल भन्ने प्रजय चौधरी, बारबर्दिया नपा–७ का दीपक चौधरी र राजापुर नपा–३ की आशा थारु रहेका छन् । आफूहरु ठगिएको भन्दै स्थानीय पाँच जनाले संयुक्तरुपमा दर्खास्त दिएका आधारमा आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए । नेटवर्किङ व्यापारको अनुसन्धान गर्ने क्रममा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लाका २०० सर्वसाधारणलाई नाकाबाट उद्धार गरिएको पनि प्रहरी उपरीक्षक बाँस्तोलाले बताए । प्रहरीले पक्राउ गरेका चारै जनाविरुद्ध ठगी मुद्दामा जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार बहुर्राष्ट्रिय कम्पनी ओरेञ्ज ग्लोबल मार्केटिङ प्राली नामक कम्पनी सिङ्गापुर, फिलिपिन्स, संयुत्त, अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, श्रीलङ्का, भूटानमा सक्रिय रहेको छ । भारतको चेन्नइमा प्रधान कार्यालय तथा नयाँदिल्लीमा शाखा कार्यालय स्थापना गरी नेपाल–भारत सीमा नजिक लखिनीपुर भन्ने स्थानमा नेचरल वैल इन्टरप्राइज नामक उपशाखा कार्यालयले नेटवर्किङ व्यवसायको नाममा विभिन्न खाद्य वस्तुको उत्पादन गरी सर्वसाधारणलाई ठगी गर्दै आएको छ ।
धुलिखेलवमा टिपर दुर्घटना, घटनास्थलमा नै चालकको मृत्यु बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतस्थित आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिÞल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। उनका अनुसार सडकबाट अन्दाजी १०० मिटर तल खस्दा टिपर चालक सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएको हो। बालुवा लिएर आएको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जनाइएको छ। रासस
दुर्घटनामा विदेशी पर्यटकको मृत्यु दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मस्र्याङ्दी रिसोर्ट नजिक शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा परी एक विदेशी पर्यटकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्रदेश ३–०२००५ प ७६०८ नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक विदेशी पर्यटकको मृत्यु भएको हो । मृत्यु हुनेमा नेदरल्याण्डका नागरिक ६२ वर्षीय ज्याकप स्याक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। मोटरसाइकल दुर्घटनामा घाइते भएका उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
चितवनको सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये आधा पैदलयात्री भरतपुर । जिल्लामा दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। तीमध्ये आधा पैदलयात्री रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म भएका ३५ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको हो। तीनै दुर्घटनामा परी २५ जना गम्भीर र ८१ जना सामान्य घाइते भएका छन्। दुर्घटनामा मृत्यु भएका पाँच जनालाई विभिन्न सवारी साधनले ठक्कर दिएको हो। यसका अतिरिक्त बस दुर्घटनामा एक जना, मोटरसाइकल दुर्घटनामा तीन जना र साइकल दुर्घटनामा एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार पछिल्लो समय दुर्घटनामा पैदलयात्रीको मृत्यु हुनेक्रम बढ्दो रहेको छ। सवारी चालकको तीव्र गति र पैदलयात्रीको लापरवाहीका कारण दुर्घटना हुने गरेको छ। यसरी मृत्यु हुने पैदलयात्री मादक पदार्थ सेवन गरेका धेरै हुने गरेका छन्। उनले बाटोमा हिँड्दा ट्राफिक नियमको पालना नगरेका कारण यस्ता घटना बढी हुने गरेको भन्दै जनचेतनामूलक कार्यक्रम गरिँदै आएको बताए । रासस
ढुङ्गाले हानेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ धरान । धरान–१५ खोरिया बस्तीमा श्रीमान्ले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् । धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । धरान–५ पानवारी माइती बस्दै आएकी बीना हिजो मात्रै घर आएकी थिइन् । एकअर्कामा विश्वासको वातावरण नबन्दा हत्याको रूप लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । सूचना पाएपछि घटनालगत्तै प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमान् अर्जुनलाई गएराति ११ः३० बजे नै सेउतीखोला पुल नजिकबाट नियन्त्रणमा लिएको प्रनाउ न्यौपानेले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।
दुर्घटनामा एकको मृत्यु, दुई घाइते पोखरा । पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बँेसीशहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङलाई मणिपाल शिक्षण अस्पताल लगिएकामा गए राति उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । बा १ य ८७५ नं को स्कारपियो गाडीले गुरुङ सवार ग १२ प ८८०० र अर्को ग ९ प ५४८२ नं को स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका पोखरा–८ का अजित गुरुङ तथा गाडी चालक पोखरा–का ३१ का कैलाश थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारास्थित आहालडाँडामा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ। बा५८प ४९४४ नंको मोटरसाइकल दुर्घटना हुँदा चौतारा सागाचोकगढी नगरपालिका–६ पीपलडाँडाका १९ वर्षीय अनिशकुमार कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए। चौताराबाट इर्खुतर्फ जाँदै गरेको मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना भएको थियो। घाइते कुँवरलाई उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। रासस
बञ्चरो प्रहार गरी छिमेकीको हत्या कैलाली । कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् । स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । घटनापछि घाइते चौधरीलाई तत्कालै टीकापुर अस्पताल पु¥याएपछि उनको मृत्यु भएको उनले बताए । मानसिक सन्तुलन अलि गुमाएका मोतीरामले आफ्नो घरमा झगडा गरिरहेका बेला खुशीरामले सम्झाउन खोज्दा बञ्चरो प्रहार गरेका र घटना पछि उनी फरार रहेको जनाइएको छ ।
एमसीसीको नेपाल भ्रमण तालिका र टिम सार्वजनिक काठमाडौं । नेपाल भ्रमणका लागि इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले भ्रमण तालिका सार्वजनिक गरेको छ ।एमसीसीले सार्वजनिक गरेको तालिका अनुसार सुरुवातमा एमसीसीको टिमले यू–१९ टिमसँग एकदिवसीय खेल खेल्नेछ । यस्तै राष्ट्रिय टिमसँग एक दिवसीय र तीन दिवसीय फस्ट क्लास क्रिकेट खेल्नेछ । त्यस्तै एमसीसी र नेपालको राष्ट्रिय टिम मिश्रित टिमले एक टी–ट्वान्टी खेल खेल्नेछ ।त्यसपछि एमसीसीको टिमले पोखरामा स्थानीय क्लबसँग दुई खेल खेल्नेछ । यस्तै एमसीसीले नेपाल सँग खेल्ने टिमको घोषणा गरेको छ । एमसीसीले नेपाल भ्रमणका लागि जिम्मी एडम्सको कप्तानीमा १३ सदस्सीय टिमको घोषणा गरेको छ । कप्तान एडम्ससँगै टिममा यासिर अराफात, बिली गोड्लीमन, मिल्स हम्मोड, ओलिभर हानोन डाल्बे, कलम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सेर, एलेक्स थोमसन, विल भेन्देरस्पेर, एड योङ, टम वेस्ट्ले र क्रिस राइट् रहेका छन् । टिममा रहेका मध्ये अराफातले पाकिस्तानबाट टेष्ट खेलिसकेका छन् । यस्तै विल रोड्सले इंग्ल्याण्डको यू–१९ टिमबाट खेलिसकेका छन् । टियुमा हुने खेल तालिकाः ३ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल यू–१९ (५० ओभर) ४ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (५० ओभर ) ६ देखि ८ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (तीन दिवसिय) ९ नोभेम्बरः एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू–१९ टिम (टी–ट्वान्टी) पोखरामा हुने खेलः ११ नोभेम्बरः एमसीसीविरुद्ध पोखरा आमन्त्रण–११ (२० ओभर) १२ नोभेम्बरः एमसीसीविरुद्ध मुख्य मन्त्री–११ (२० ओभर)
नेयमार विना पिएसजीको लगातार जित एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा आफ्नो दबदबालाई कायम राखेको छ । आइतबार राति मार्सेलीलाई ४-० गोल अन्तरले पराजित गर्दै पीएसजीले फराकिलो जित निकालेको हो । पहिलो हाफमै ४ गोल गरेको पीएसजीलाई घरेलु मैदानमा जित दिलाउन माउरो इकार्डी र केलियन एमबाप्पेले दुई दुई गोल गरे । खेलको १० औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । खेलको २६ औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए । त्यसपछि एमबाप्पेले ३२ औं र ४४ औं मिनेटमा गोल गर्दै पीएसजीलाई ४-० को सहज जित सुनिश्चित गराए । चोटका कारण नेयमार उपस्थित नरहेको पछिल्ला ३ खेलमा पिएसजीले १३ गोल गरिसकेको छ । जितसँगै पीएसजीले आफ्नो शीर्ष स्थानको अग्रता कायम राखेको छ ।
सरकार विकास र समृद्धितर्फ निरन्तर अगाडि बढ्दैछः अध्यक्ष प्रचण्ड काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताएका छन् । आज नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ।” उनले सरकार पटक–पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको भनाइ राखे । उनले सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताए । अध्यक्ष प्रचण्डले नेपाल संंवत्लाई नेवारहरुको मात्र संवत् हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा संंवत्का रूपमा लैजानुपर्ने औँल्याए । आफू प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको भनाइ राख्दै अध्यक्ष प्रचण्डले शङ्खधर साख्वाःबाट प्रेरित भई आफू प्रधानमन्त्री हुँदा किसानको रु ३० हजारको ऋण मिनाहा गरिदिएको बताए । रासस
नगदसहित छ जुवाडे पक्राउ सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो । केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले छ जना जुवाडेलाई पक्राउ गरी रु ८१ हजार ८९५ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । बीरेन्द्रनगर नगरपालिका– ९ बस्ने ४२ वर्षीय गोपाल गुरुङ, ३८ वर्षीय सरोज बस्नेत, ४१ वर्षीय राजन गिरी, ३७ वर्षीय मनोज पन्त, २९ वर्षीय नानुसिंह ठकुरी र सोही नगरपालिका– ६ सुर्खेतका ४८ वर्षीय मुकुन्द मानन्धरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दिपावलीलाई सभ्य र सुरक्षितरुपले मनाउन ९ बजेसम्म मात्र देउसी भैलो खेल्न, जुवातास तथा लङ्गुर बुर्जा नखेल्न, मादक पदार्थ सेवन नगर्न, जबर्जस्ती रकम नअसुल्न र कानूनद्वारा बर्जित काम नगर्न पनि प्रहरीले सार्वजनिकरुपमा सूचना प्रवाह गरेको छ ।
श्रीमानको हत्याको आरोपमा महिला पक्राउ राजापुर। श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ । दिलमायालाई श्रीमान् ५२ वर्षीय समला दरैको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । हत्यापछि फरार रहेकी दिलमायालाई बाँकेको खजुरा गाउँपालिका–७ गुनानाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए। उनलाई इलाका प्रहरी कार्यालय मोतीपुरमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस
९औं डब्लुडब्लुए अन्तर्राष्ट्रिय सम्मेलन शुरु काठमाडौं । राजधानीमा ९औं डब्लुडब्लुए अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । वल्र्ड विथ एंगर (डब्लुडब्लुए), ग्लोबल पीस फाउन्डेशन (जीपीएफ) नेपाल र समृद्धि कलेज, लोकन्थलीले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनको शुक्रबार उद्घाटन गरिएको छ । दुई दिन संचालनमा आउने उक्त सम्मेलनमा इक्यू फोर पिस विश्वव्यापी इंक, संयुक्त राज्य अमेरिका र नेशनल एसोसिएशन साइक्लोजिकल साईन्स (एनएपीएस्) भारतको अन्तर्राष्ट्रिय साझेदारी रहेको छ । सम्मेलनमा समग्र विषय भावनात्मक खुफिया, व्यवसायिक सफलता, शान्ति, शिक्षा र एक राम्रो जीवनको माध्यमबाट संसारमा शान्त समाज निर्माण गर्ने बारेमा हुनेछन् । उक्त सम्मेलनमा आठवटा राष्ट्र सहभागी भएका छन् । जसमा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, दक्षिण अफ्रिका र संयुक्त राज्य अमेरिकाबाट ३६ वटा अनुसन्धानपत्र प्रस्तुत गरिने छ ।
उपनिर्वाचनका लागि जारी गरिएको आचारसंहिता आजदेखि लागू काठमाडौं। निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहिता आजदेखि कार्यान्वयनमा आएको छ। शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले जनाएको छ। निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले बिहीबार आचारसंहिता जारी थियो। मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ। यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो। आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो। निर्वाचन आचारसंहितामा निर्वाचन सम्पन्न नभएसम्म नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारीसाधन प्रयोग गर्न दिन नहुने, पद सिर्जना गर्न नहुने, सरुवा, बढुवा वा काजमा खटाउन नहुनेलगायतका प्रावधान रहेको छ। राजनीति दल, उम्मेदवार, आम सञ्चारमाध्यम तथा गैरसरकारी संस्था, पर्यवेक्षक तथा कर्मचारी आचारजस्ता क्षेत्रलाई सो आचारसंहितालले समेटेको छ।