content
stringlengths
20
64.1k
सर्लाही र पर्सामा आगलागी हुँदा ६ लाख बराबरको क्षति काठमाडौं । सर्लाही र पर्सामा आगलागी हुँदा करिब ६ लाख बराबरको क्षति भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका १ बस्ने किरण घिमिरेको घरको भान्सा कोठामा बुधबार बिहान करेण्ट सर्ट भई आगलागी हुँदा फ्रिज, सोफा, वासिङ्ग मेशिन, टेलिभिजन लगायतका समान जलेर करिब ३ लाख ९४ हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । त्यस्तै पर्साको बहुदरमाई नगरपालिका २ बैरिया बस्ने बिनोद साहको घरमा बुधबार बिहान करेन्ट सर्ट भई आगलागी हुँदा कच्ची घर, घरभित्र रहेको अन्नपात लगायत जलेर करिब २ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
दोलखामा बसले किचेर एक बृद्धाको मृत्यु दोलखा । भिमेश्वर नगरपालिका ८ चरंगेखोलास्थित सडकमा बा.३ ख २९९७ नम्बरको बसले किच्दा बैतेश्वर गाउँपालिका २ मृगे बस्ने ७० वर्षीया कुमारी तामाङको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस रोकी राखेको अवस्थामा अचानक पछाडि गुड्न जाँदा बसमा सवारमध्ये उनको भाग्ने क्रममा बसले किचेर मृत्यु भएको हो । बसमा सवार सोही ठाउँ बस्ने मिरा तामाङ बसबाट हामफाली भाग्ने क्रममा उनको छोरा २ महिनाका छिरिङ लामा घाइते भएकाले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट पठाइएको छ । हाल फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उपनिर्वाचन २०७६ : दाङमा एक्लो महिला उम्मेदवार राससदाङ । यतिखेर पश्चिम दाङका विभिन्न गाउँमा चुनावी चहलपहल निकै बढेको छ । केही समय पहिले सुनसान रहेका गाउँमा अहिले भीडभाड बढेको हो । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनले दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा पर्ने गाउँमा चुनावी प्रचारप्रसार बढेको छ । सो क्षेत्र तुलसीपुर बजारदेखि केही टाढा रहेको छ । अहिले त्यहाँका घरघरमा उम्मेदवार मत माग्नका लागि घरदैलो गरिरहेका छन् । उम्मेदवार बिहानैदेखि बेलुकासम्म आआफ्ना नेता तथा कार्यकर्ता सँगसँगै आफ्नो पक्षमा मत माग्न मतदाताको घरघरमा पुग्ने गरेका छन् । तुलसीपुर बजारका चिया पसल तथा बजारका चोकचोकमा उपचुनावको चर्चा परिचर्चा निकै चल्ने गरेको छ । प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा दलबाट १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवार रहेका छन् । प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका १४ जनामध्ये एक महिलाले मात्र उम्मेदवारी दिएकी छिन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मात्र महिलालाई उम्मेदवार बनाएको छ । नेकपाले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि खाली रहेको सो स्थानमा उनकी पत्नी विमला वलीलाई उम्मेदवार बनाएको छ । पार्टीबाट उम्मेदवारको रुपमा टिकट पाएलगत्तै अहिले विमला नेकपाका नेता कार्यकर्ताको साथमा बिहानदेखि साँझसम्म चुनावी अभियानमा व्यस्त भएकी छन् । चुनावअघिको समयमा कोही कसैको अगाडि बोल्दा पनि आफ्नो पतिको नाम आउने बित्तिकै आँसु झार्ने विमला अहिले क्रमशः बलियो बन्दै गएको उनको भनाइबाट पनि प्रष्ट हुन्छ । विकासप्रेमी नेताको पत्नी भएको नाताले पति कै कामलाई निरन्तरता दिने उनको सोच छ । ‘अरु नेताजस्ता महिला बोलक्ड नहोलान्, ठूलाठूला सपना देखाउन नजानेका होलान् तर इमान्दार भएर काम गर्न जानेका छन्’, उनले भनिन्, ‘महिलाले जनताको भावना बुझ्न जानेका हुन्छन् तर भ्रष्टाचार गर्न जान्दैनन् ।’ आफ्नो श्रीमानको अपूरा सपना पूरा गर्न चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउँदै उनले आफू विजयी हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गरिन् । नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवार भएका केशव आचार्यले आफूले विगत ३० वर्षदेखि यही क्षेत्रमा पार्टीको भूमिका निर्वाह गर्दै यहाँका जनताको दुःख सुखमा साथ दिएकाले आफ्नो जित सुनिश्चित रहेको बताए । उनले आफूलाई सबैले पुरानो र त्यागी नेताका रूपमा चिन्ने गरेकाले यसपटक पार्टीभित्र गुट–उपगुट पनि नहुने हुँदा आफ्नो जित सुनिश्चित रहेको बताए । यसैगरी राप्रपाबाट भुपाल रावत, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा (संयुक्त) बाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी पनि चुनावी मैदानमा छन् । त्यस्तै नेपाली काँग्रेस (बिपी) बाट दीपककुमार धिताल, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, मङ्गोल नेशनल पार्टीबाट घनश्याम चौधरी, साझा पार्टीका शिवकुमार चौधरी पनि चुनावी मैदानमा हुनुहुन्छ भने स्वतन्त्रबाट गोविन्द केसी र टीकाराम आचार्य पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चौध उम्मेदवार भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वली र नेपाली काँग्रेसबाट आचार्यबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसअघिको निर्वाचनमा नेकपाका प्रदेशसभा सदस्य स्व उत्तरकुमार वलीले २३ हजार ९७० मत प्राप्त गरी विजय भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५३५ मत प्राप्त गरेका थिए । दाङ क्षेत्र नं ३ को २ मा कूल ६८ हजार ७१९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । तीमध्ये पुरुष ३३ हजार ७७८ र महिला ३९ हजार ६६० र एक जना तेस्रोलिङ्गी रहेका छन् । दाङ निर्वाचन क्षेत्र नं ३ को ९२० मा तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, २, १० र ११ सँगै शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिका पर्दछन् । यहाँ हुने उपनिर्वाचनका लागि ३२ मतदानस्थल र ७७ मतदान केन्द्र निर्धारण गरिएको छ । यसैबीच निर्वाचनलाई मध्यनजर गरी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।
स्याङ्जामा एक हजार र पाँच सयका नक्कली नोट फेला वालिङ । स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ। वालिङमा भेटिएका शङ्कास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको राष्ट्रिय सहकारी बैंक वालिङका शाखा प्रमुख सुवास आचार्यले बताए । वालिङस्थित विभिन्न तीनवटा सहकारी संस्थाबाट राष्ट्रिय सहकारी बैंक वालिङ शाखामा जम्मा गर्न ल्याइएका नोट नक्कली पाइएको आचार्यले बताए। पछिल्लो एक हप्ताको अवधिमा पाँच सयका चार वटा र एक हजारको एउटा गरी पाँचवटा नक्कली नोट भेटिएको प्रमुख आचार्यले बताए । “गएको सोमबारबारदेखि बिहीबारसम्मको अवधिमा निरन्तर एक/एक वटाको दरले नक्कली नोट जम्मा गर्न ल्याएको पाइएको थियो”, शाखा प्रमुख आचार्यले भने, “चार/पाँच दिन निरन्तर नक्कली नोट भेटिएको तर अहिले देखिएको छैन, फेरि आउनसक्ने भएकाले सचेत हुन आवश्यक रहेको छ।” राष्ट्रिय सहकारी बैंकमा जम्मा भएको शङ्कास्पद नोटलाई मेसिनबाट परीक्षण गर्दा नक्कली भएको पत्ता लागेको र वालिङस्थित अन्य बैंकमा पनि उक्त नोटलाई मेसिनमा राखेर परीक्षण गर्दा नक्कली भएको खुलेको थियो। सहकारी संस्थामा नक्कली नोट परीक्षण गर्ने मेसिन नभएको हुँदा नक्कली नोटको कारोबार हुनसक्ने भएकाले यसप्रकारको मेसिन राख्न पनि शाखा प्रमुख आचार्यले सुझाव दिएका छन् ।
वडा सदस्यलाई साइकल वितरण सप्तरी । विष्णुपुर गाउँपालिकाले गाउँपालिकाका २९ वटै वडा सदस्यलाई एक–एक थान साइकल वितरण गरेको छ। जनताको काम गर्न सहज होस् भनेर वडा सदस्यलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लिलाम्वर यादवले बताए । गाउँपालिकामा मङ्गलबार आयोजित साइकल वितरण कार्यक्रममा उनले साइकलको दुरुपयोग नगरी गाउँपालिकाको मर्यादा बढाउन वडा सदस्यलाई आग्रह गरे । तेस्रो गाउँसभाले वडा सदस्यलाई साइकल प्रदान गर्ने निर्णय गरेको थियो। अध्यक्ष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाषप्रसाद मण्डल, वडा नं ७ का वडाध्यक्ष विन्देश्वर साहलगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, वडा नं ६ का वडाध्यक्ष बहादुर सदा एवं वडा सदस्यहरुको सहभागिता थियो। रासस
इरानमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, दमनप्रति राष्ट्रसङ्घद्वारा चाँसो व्यक्त जेनेभा (रासस/एएफपी) । पेट्रोलको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्ने क्रममा दर्जनौँ इरानी मारिएको समाचारप्रति मङ्गलबार राष्ट्रसङ्घले गहिरो चाँसो व्यक्त गरेको छ । पेट्रोलको मूल्यवृद्धिविरूद्ध इरानमा शनिबारदेखि प्रदर्शनहरू हुँदै आएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विरोधका क्रममा दर्जनौँ व्यक्तिको मृत्यु भएको र एक हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ । स्लामिक गणतन्त्र इरानले गत बिहीबार पेट्रोलको मूल्य २०० प्रतिशतले वृद्धि भएको घोषणा गरेपछि नागरिकहरू आन्दोलित भएका हुन् । इरानमा अमेरिकी नाकावन्दीका कारण आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ । पेट्रोलका लागि धनी मानिने इरानले सोही वस्तुमा गरेको मूल्यवृद्धिपछि नागरिकहरू आन्दोलित बनेका हुन् । ‘खासगरी तेलको मूल्य वृद्धिप्रति असन्तुष्टि प्रकट गर्दै विरोधमा उत्रिएका नागरिकमाथि सरकारी सुरक्षाकर्मीले गरेको दमन र यसका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालय गम्भीर बनेको छ,’ प्रवक्ता रूपर्ट कोलभिलले पत्रकारलाई बताए । इरानमा प्रदर्शन शुरू भएपछि इन्टरनेट सेवा प्रयोगमा कडाई गरिएको छ जसका कारण यहाँका गतिविधि बाहिर आउन कठिनाई भएको छ ।कोलभिलले इन्टरनेट सेवामा गरिएको नियन्त्रणका कारण प्रदर्शनमा भएका मानवीय क्षतिलाई पुष्टि गर्न कठिनाई भइरहेको बताए । उनले भने, ‘केही इरानी सञ्चारमाध्यम र अन्य स्रोतहरूले दिएको जानकारी अनुसार दर्जनौँ व्यक्ति मारिएका र एक हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।’ ‘हामीले इरानी अधिकारी तथा सुरक्षाकर्मीलाई शान्तिपूर्ण विरोधमा बल प्रयोग नगर्न आग्रह गर्छौ ।’ प्रदर्शनकारीले पेट्रोलको मूल्यवृद्धि फिर्ता गर्न भन्दै गरेका विरोध कार्यक्रमका शिलशिलामा कैयौँ पेट्रोल स्टेसन, बैङ्क तथा सार्वजनिक कार्यालय तथा तीनका सम्पत्तिलाई तोडफोड गरेका समाचारहरू बाहिरिएका छन् । कोलभिलले प्रदर्शनकारीलाई आफ्ना विरोधका कार्यक्रमलाई शान्तिपूर्ण बनाउनसमेत आग्रह गरेका छन् ।
मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको नोभेम्बर २८ मा फैसला हुने इस्लामावाद (रासस/एएनआई) । पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको सुनुवाई थप एक हप्ताका लागि लम्बिएको छ । इस्लामावादस्थित पाकिस्तानी उच्च अदालतले दिएको जानकारीमा उक्त मुद्दाको फैसला यही नोभेम्बर २८ मा हुने बताइएको छ । उच्च अदालतका न्यायाधीश वाकर अहमद सेठको नेतृत्वमा बसेको तीन सदस्यीय वेन्चले मुशर्रफका कानूनी परामर्शदाताहरूलाई मुद्दाबारे मुशर्रफका धारणा (तर्क) हरूलाई लिखितरूपमा नोभेम्बर २६ मा पेश गर्न निर्देशन दिएको पाकिस्तानी पत्रिका ‘डन’ले उल्लेख गरेको छ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) को सरकारले सन् २०१३ मा मुशर्रफविरूद्द उच्च देशद्रोहको मुद्दा दाखिल गरेको थियो । पूर्व सैनिक प्रमुखसमेत रहेका पूर्व राष्ट्रपतिमाथि पाकिस्तानको संविधानलाई सेनाको बलमा गैरकानूनी रूपमा निलम्बन गरी सङ्कटकाल लागू गरेको आरोप लगाइएको छ । मुशर्रफलाई सन् २०१४ को मार्च ३१ मा ‘देशद्रोह’ को अभियोग लगाई अभियोजनकर्ताहरूले सोही बर्षको सेप्टेम्बरमा सम्पूर्ण तथ्य विशेष अदालतमा पेश गरेका थिए । तर सन् २०१६ मा उपचारका लागि मुशर्रफ दुबई गएपछि उक्त मुद्दामाथिको सुनुवाई रोकिएको थियो ।
समाजसेवामा रोटरी इन्टरनेशनलको भूमिका महत्वपूर्ण : मन्त्री ज्ञवाली काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समाजसेवामा रोटरी इन्टरनेशनलले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ ले आज यहाँ आयोजना गरेको कुटनीतिक नियोगका प्रमुखको छलफलमा उनले रोटरी इन्टरनेशनलले सरकार र निजी क्षेत्रको आँखा नपुगेको ठाउँमा सामाजिक संस्थाको रुपमा काम गरेको उल्लेख गरे । ‘विद्यालय, अस्पताल, भूकम्पपछिको पुनःनिर्माण, ब्लड बैंक स्थापनालगायत क्षेत्रमा काम गरेको छ,’ उनले भने । रोटरी इन्टरनेशनललाई नेपालमा काम गर्ने वातावरण सरकारले तयार गर्ने मन्त्री ज्ञवालीको भनाइ थियो । विभिन्न देशका राजदूत स्वयं रोटरीमा आवद्ध भएका कारण पनि रोटरीमार्फत राजदूतावासबाट नेपालमा धेरै काम भएको उहाँले उल्लेख गरे । डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले नेपालको विकासका लागि रोटरी इन्टरनेशनलले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले रोटरी इन्टरनेशनलले भूकम्पले क्षति पुर्याएको २७ विद्यालय पुनःनिर्माण गरेको बताए । नेपाल सरकारका पूर्वमुख्यसचिव रोटरीयन तीर्थमान शाक्यले विश्वभर ३५ हजार ८९३ क्लबमा झण्डै १२ लाख रोटरीयन आवद्ध रहेको उल्लेख गरे । रोटरी इन्टरनेशनलले ट्राफिक जनचेतना, सडक सुरक्षा, बालबालिकाको स्वास्थ्यलगायतका क्षेत्रमा समेत काम गरेको उनको भनाइ छ । नेपाल सरकारका पूर्वसचिव रोटरीयन केदारभक्त श्रेष्ठले रोटरी इन्टरनेशनलले दिगो विकासको लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । नेपालमा सन् १९५९ देखि रोटरी इन्टरनेशनलले शाखा स्थापना गरी सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ । रासस
मुलुक आर्थिक समृद्धितर्फ अग्रसर : प्रचण्ड काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक आर्थिक समृद्धितर्फ अघि बढिरहेको बताएका छन् । पश्चिम नवलपरासीको परासीमा आजदेखि सुरु भएको नवलपरासी औद्योगीक व्यापार मेला उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रसँग सहकार्य गरी सरकार अघि बढ्ने विश्वास दिलाए । पूर्वप्रधानमन्त्री प्रचण्डले अब देश आर्थिकसहित सबै क्षेत्रमा समृद्धितर्फ अघि बढिरहेको दाबी गरे । सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडा देश आर्थिक रुपमा विकासको गतिमा अघि बढिरहेको बताए । उनले निजी क्षेत्रसँग हातेमाले गर्न सरकार तत्पर रहेको बताए । महोत्सवमा कृषि, पर्यटन, व्यापार, सूचना प्रविधि अटोमोबाइल्यस गरी विभिन्न २०० वटा कक्ष रहनेछन् । यही मंसिर १५ गतेसम्म चल्ने महोत्सवको करिब एक लाख दर्शकले अवलोकन गर्ने र करिब पाँच करोड रुपैयाँ बराबरको आर्थिक करोवार हुने लक्ष्य लिएको आयोजक उद्योग वाणिज्य सङ्घ नवलपरासीले जनाएको छ । रासस
नेकपा सचिवालय बैठक बुधबार बिहान ९ बजे बस्दै काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न थालेको उनले जानकारी दिए । एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो । रासस
महागढीमाई नगरपालिकामा १० दिनसम्म विद्यालय बन्द हुने कलैया । महागढीमाई नगरपालिका–१ स्थित गढीमाईको मेलालाई लक्ष्य गरी १० दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । मेला भर्नका लागि नेपाल र भारतबाट आउने लाखौँ भक्तजनको सुविधाका लागि नगरभित्रका सबै सरकारी विद्यालय बन्द गर्ने निर्णय भएको नगर शिक्षा समितिका सदस्य परमहंस यादवले जानकारी दिए । समितिका संयोजक महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा बसेको सो समितिको बैठकले मङ्सिर १० देखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मेला मङ्सिर ३० गतेसम्म चल्नेछ । भौतिक पूर्वाधार अभावका कारण विद्यालयमा नै सुरक्षाकर्मीको व्यवस्थापन, स्वयंसेवक परिचालन तथा मेलाका अन्य तयारीसमेत विद्यालयमा नै गर्नुपर्ने बाध्यताका कारण बिदा दिनुपरेको प्रमुख यादवले बताए । मेला व्यवस्थापन मूल समितिका महासचिव मोतिलाल कुशवाहले ७२ सदस्यीय मूल मेला समिति र १४ उपसमिति गठन गरिएको बताए । सुरक्षाका लागि करिब एक हजारभन्दा बढी सुरक्षकर्मी परिचालन गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिए । मेलामा ६० सीसी क्यामरा जडान गरिनेछ । पाँच वर्षमा लाग्ने गढीमाई मेलाको चहलपहल बढेको छ । रासस
मतदातालाई कम्बल वितरण गरेको भन्दै काँग्रेसको आपत्ति कास्की । नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा–१५, पट्नेरीका स्थानीयवासीलाई कम्बल वितरण गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस कास्कीले आज विज्ञप्ति जारी गर्दै उक्त वडाका वडाध्यक्ष प्रकाश पौडेलले पट्नेरीका १२ जनालाई कम्बल वितरण गरेको भन्दै उक्त कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध हुने बताए । ‘निर्वाचनको मुखमा मतदातालाई प्रभावित पार्ने मनसायले गरिएको यस प्रकारको कार्यको घोर निन्दा र भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई सचेत गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ । निर्वाचन कार्यालयले अनुगमन गरी आचारसंहिता विपरीत कार्य गर्नेमाथि कारवाही गर्न काङ्ग्रेसले माग गरेको छ । यसैबीच निर्वाचन आचारसंहिता विपरीत वडा कार्यालयले कम्बल वितरण गरेको भन्दै नेपाली काँग्रेस कास्कीले आज निर्वाचन आयोगमा उजुरी दिएको छ । निर्वाचन क्षेत्रभित्र मतदातालाई प्रलोभनमा पार्ने काम वडा कार्यालयबाटै भएको भन्दै वडाध्यक्षलगायत त्यस कार्यमा संलग्नलाई कारवाहीको मागसहित उजुरी दिइएको काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए । रासस
नमुना जिल्ला बनाउन गुरुयोजना बनाउँछौँ : मुख्यमन्त्री राई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरलाई नमुना जिल्ला बनाउन गुरुयोजना तयार गरिने बताएका छन् । उनले जिल्लाका सम्पूर्ण समस्याबारे आफू जानकार रहेकाले यहाँको हरेक क्षेत्रको विकासका लागि ६ महिनाभित्र गुरुयोजना बनाएर काम शुरु गर्ने बताए । प्रदेश सरकारअन्तर्गत बन्न लागेको पिखुवा खोलाको पक्की पुल र भोजपुर रङ्गशालाको शिलान्यास गर्न आउनु भएका मुख्यमन्त्री राईले बजेटका कारण कुनै पनि विकासका काम प्रभावित नहुने उल्लेख गरे । ‘गुणस्तरीय ढङ्गले काम सञ्चालन गर्न आवश्यक छ, यसमा जनताको खबरदारीको आवश्यक छ’, उनले भने । विकास निर्माणको कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्र गठनको तयारी भइरहेको बताउँदै उनले कमिसन र भष्ट्रचारमा शून्य सहनशीलता कायम गर्ने बताए । मुख्यमन्त्री राईले भने, ‘कमिसन र भष्टाचारमा मैले शून्य सहनशीलताको नीति लिएको छु ।’ सङ्घीयता कार्यान्वयनसँगै जनताले विकासको अनुभूति गर्न पाएको भन्दै उनले सबै जनतालाई राज्यको सुविधामा जोड्ने बताए । रासस
अर्काको नाममा ट्रायल दिने तीन नक्कली परीक्षार्थी पक्राउ काठमाडौं । ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने तीन नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ट्रायल सेन्टरमा अर्काको नाममा मोटरसाइकलको लाइसेन्सको ट्रायल दिन आएका तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्मीका रेशम बस्नेत, पर्साका सुमन भन्ने जयराम श्रेष्ठ र कैलालीका कर्णबहादुर विक रहेका छन् । पक्राउ परेका बस्नेतले गुल्मीका थमन बस्नेत, श्रेष्ठले रामेछापका रमेश थापा र विकले लमजुङका चन्द्रबहादुर गुरुङको लाइसेन्सका लागि ट्रायल दिन आएका थिए । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भक्तपुर, सुकेधारा र एकान्तकुना ट्रायल सेन्टरबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
दिगो र सुरक्षित संरचना समयमै बनाऊँ : उपराष्ट्रपति पुन काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माण आयोजनाहरु समयमै सम्पन्न नहुँदा मुलुकले ठूलो क्षति बेहोर्नुपरेको बताएका छन् । इन्जिनीयर तथा आर्किटेक्चर संस्थाहरुको सङ्गठन (स्क्याफ)ले आयोजना गरेको ‘उज्ज्वल भविष्यका लागि उत्थानशील पूर्वाधार’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मुलुक बनाउन सरकार, इन्जिनीयर र निर्माण व्यवसायी तिनै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले भने, ‘निर्माण सम्पन्न भएको केही दिनमै संरचना किन भत्किन्छन् ? कसलाई खुसी पार्न निर्माणमा सम्झौता गरिएको हो ? यसरी मुलुकको विकास हुँदैन, भोलिको पुस्तालाई विकास दिने हो भने अब सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’ उपराष्ट्रपति पुनले भूकम्पपछिको पुनर्निर्माणले लक्षित गति लिन नसकेकोप्रति चिन्ता व्यक्त गरे । उनले जनता अझै अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै मुलुकको पहिचान बोकेका सम्पदा पुनर्निर्माणका लागि विदेशी सहयोग कतिको उपयुक्त हुने हो भन्ने प्रश्नसमेत गरे । तीन दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ‘रेजिलियन्ट इन्फ्रास्ट्रक्चर’ को महत्व र यसका विविध पक्षका बारेमा प्रस्तुति राखेका थिए । कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले विभिन्न कठिन परिस्थितिका बाबजुद पनि अन्य मुलुकको तुलनामा नेपालले पुनर्निर्माणमा सन्तोषजनक प्रगति गरेको दाबी गरेका छन् । उनले अझै सिक्न अर्को विपद् कुर्न नहुने भन्दै विपद् प्रतिरोधी संरचना बनाउनु अहिलेको प्रमुख जिम्मेवारी भएको बताए । स्क्याफका अध्यक्ष राजेश थापाले भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको नेपालले अब विपद् जोखिम न्यूनीकरण र पुनर्लाभका अनुभव अन्तर्राष्ट्रिय समुदायलाई दिनसक्ने अवस्थामा रहेको बताए । उनले दिगो र सुरक्षित संरचना निर्माणका लागि राष्ट्रिय अनुभव दिन र अन्तर्राष्ट्रिय नवीनतम् प्रविधि भित्र्याउन सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे । सम्मेलनमा नेपालसहित भारत, चीन, कोरिया, श्रीलङ्कालगायत १० देशका इन्जिनीयर, व्यवसायी, सरकारी अधिकारी तथा विज्ञहरुको सहभागिता रहेको स्क्याफका महासचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए । रासस
कर्णालीको पर्यटन विकासमा पूर्वाधार मुख्य बाधक सुर्खेत । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन तथा विकास हुन नसक्नुमा पूर्वाधार मुख्य बाधक भएको औँल्याइएको छ । कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाको अध्यक्षतामा आज बसेको बैठकमा समितिका सदस्यहरुले यहाँको पर्यटन विकासले अपेक्षित गति लिन नसक्नुमा पूर्वाधार प्रमुख चुनौती भएको बताए । ‘कर्णालीमा न सडक राम्रो छ नत हवाईसेवा नै नियमित’ समितिका सदस्य तथा होटेल व्यवसायी नुर्वु लामाले भने । उनले भने, ‘कर्णाली राजमार्गको अवस्था अहिले पनि विकराल छ । सरकार हवाई यातायात सेवा सुचारु गर्नै सक्दैन । गरिबले बिरामी हुँदा अकालमै ज्यान गुमाउनु पर्छ ।’ सडक तथा हवाई यात्रा निकै कठिन हुने भएकाले एक पटक कर्णाली आएको पर्यटक फेरी फर्कने अवस्था नरहेको उनको तर्क थियो । प्रदेश पर्यटन प्रवद्र्धन समितिका सह–संयोजक राजु कार्कीले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट यहाँका कुनै पनि जिल्लामा नेपाल एयर लाइन्सको सिधा सेवा नभएको बताए । ‘निजी एयर लाइन्सले पनि सुर्खेतबाट सधैँ नियमित उडान भर्छन भन्ने छैन,’ उनले भने । मन्त्री बुढाले नेपाल एयर लाइन्सका लागि पटकपटक सङ्घीय सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा धाउँदा पनि सुनुवाइ नभएको बताए । अब प्रधानमन्त्रीसम्म पुगेर राजधानी सुर्खेतबाट यस प्रदेशका विभिन्न जिल्लामा सिधा हवाई यातायात सेवा सुचारु गर्न आग्रह गर्ने उहाँले उल्लेख गरे । मन्त्री बुढाले भने, ‘नेपाल भ्रमण वर्ष २०२० सफल पार्न र कर्णालीमा अधिकतम पर्यटक भित्र्याउन यातायात, होटल, उद्योग, पर्यटन व्यवसायीले आगन्तुकलाई सहुलियत दिएर सहयोग गर्नुहोस् । यसका लागि सरकार तपाई सम्पूर्ण निजी क्षेत्रलाई अपिल गर्दछ ।’ मूलतः प्रदेश सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भलाई भव्य बनाउन प्रचारप्रसार, व्यवस्थापन, समन्वय तथा सरसफाइ, आर्थिक, मानव संसाधन तथा सांस्कृतिक समिति गठन गरेर आजैदेखि क्षेत्रगत कार्यका लागि निर्देश गरेको छ । कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन समितिका सम्पूर्ण सदस्यलाई मन्त्री बुढाले आजै मनोनयनपत्र प्रदान गरे । बैठकमा पर्यटन विज्ञ रामचन्द्र सेडाईँले कर्णालीको पाँचवर्षे कार्ययोजनासहितको १० वर्षे दूरदृष्टि समावेश गरिएको पर्यटन गुरुयोजना प्रस्तुत गरे । उक्त गुरुयोजनाले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउने उल्लेख छ । रासस
सरकार राष्ट्रिय स्वार्थ र अखण्डताप्रति गम्भिर छैन् : डा. महत काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीन र भारतको सीमा विवादको कुरा जसरी आएका छन्। यसमा सरकारकै कमजोरी मुख्य कारण भएको आफूहरुको ठहर रहेको सुनाए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महतले भने, ‘जहाँसम्म हाम्रा छिमेकी देशहरुसँगको सम्बन्धको विषय छ, यो अत्यन्तै संवेदनशील र महत्वपूर्ण छ । हामीले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ । तर, वर्तमान सरकारले गर्न नसकेको कुरा घामजस्तै छर्लङ छ । उहाँहरु कामभन्दा बढि कुरा गर्नुहुन्छ । काम गर्नुहुन्न । जहाँ कुरा राख्नुपर्ने हो, त्यहाँ राख्नुहुन्न । बाहिर चाहीँ त्यसबारेमा बढाईचढाँई गर्नुहुन्छ । त्यसले गर्दा यो सम्बन्धहरुमा अहिले जटिलता थपिएका छन् ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कालापानी, महाकालीको विषय पूरानो भएको सुनाए । उनले भने, ‘नेपाली कांग्रेसको सरकार हुँदा, सुशील कोइरालाजीले पनि र शेरबहादुर देउवाजीले पनि जहाँनिर यो विषय उठाउनुपर्ने थियो, यो उठाउनु भएकै हो । म परराष्ट्रमन्त्री हुँदा हामीले द्धिपक्षीय सीमा संयन्त्र बनायौं, यसले चाँडोभन्दा चाँडो सीमा विवादको समस्या हल गर्ने कुरा टुँगो लगाउने सहमति भएको हो । त्योअनुसार यो संयन्त्रले काम पनि अघि बढाएको हो ।’ महतले वर्तमान सरकार बहुमतको सरकार रहेको बताउँदै सत्तामा नहुँदा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुले राष्ट्रियता ‘हाम्रै काँधमा उभिएको छ’ झैं गरि कुरा गरेको टिप्पणी गरे । उनले भने,‘तर, सत्तामा आएपछि उहाँहरुले यी विषय उठाएको हामीले पाएका छैनौं । सत्तामा आएपछि द्धिपक्षीय पटक–पटक बैठकहरु भए, भेटवार्ता भए, कहीँकतै यी विषय उठाएको हामीले पाएनौं । यो सरकार हाम्रो राष्ट्रिय स्वार्थ र अखण्डताप्रति गम्भिर नभएको स्पष्टनै छ ।’ उनले नेपालको जमिन चीनले पनि अतिक्रमण गरेको भन्ने कुरा पत्रपत्रिकामा आएको उल्लेख गर्दै भने, ‘चिनियाँ सरकारको जहाँसम्म सवाल छ, अहिले पत्रपत्रिकामा धेरै ठाउँमा अतिक्रमण भयो भन्ने छ, त्यही महाकालीको सम्बन्धमा पनि भारतसँग सम्झौता गरेको अवस्था छ, यस विषयमा पनि सरकार पटक्कै बोल्दैन् । बरु ढुङो बोल्ला तर सरकार बोल्दैन् । त्यसकारण हामी के भन्छौं भने भारतसँगपनि यो महाकाली लिपुलेकको सम्बन्धमा चाँडोभन्दा चाँडो कुटनीतिक तहमा उच्चस्तरीय वार्तामार्फत तथ्य, तथ्यांक र आधारसहित नेपाल सरकार प्रस्तुत हुनुपर्छ ।’ त्यस्तै उनले नेपाल र चीनको सीमा विवादको सवालमा पनि सरकारले सत्य, तथ्य बाहिर ल्याउनुपर्ने माग गरे । उनले भने, ‘नेपाल र चीनको सीमा छ, त्यहाँपनि धेरै ठाउँमा अतिक्रमण भएको छ भन्ने कुरा पत्रपत्रिकामा आएको छ । हामीलाई थाहा छैन् । चिनियाँ सरकारले होईन भनिरहेको छ । यो विषयमा पनि छानबिन गरी सरकारले सत्थ–तथ्य बाहिर ल्याउनुपर्छ । र, अतिक्रमण भएको छ भने त्यो विषयमा चिनियाँ सरकारसँग कुरा उठाउनुपर्छ । तर, वर्तमान सरकार गम्भिर छैन् । गम्भिरताका साथ यी कुराहरु सम्बन्धित ठाउँमा नउठाउनाले यी जटिलताहरु थपिरहेको हामीले महशुस गरिराखेका छौं । यो जमिन नेपालकै रहनुपर्छ । तथ्य र प्रमाणलेपनि यही भन्छ ।’ महतले मंसिर १४ गते हुने उपनिर्वाचनले वर्तमान सरकारलाई सशक्त सन्देश दिने बताए । उनले थपे, ‘यो सरकार गठन भएको झण्डै दुई वर्ष भयो, यो अवधिमा सरकारलाई जनताले हेरेका छन् । सरकारमा बस्ने पार्टीका नेताहरुले जनतालाई जुन आश्वासन दिएका थिए । जुन सपना कम्युनिष्ट पार्टीका नेताहरुले बाँडेका थिए, ती कुनैपनि पूरा भएनन् । जनता अहिले निराश छन् ।’ उनले मुलुकमा यतिवेला मुल्यवृद्धि संस्थागत भइरहेको बताए । कर बढिरहेको र आस्थाका आधारमा सेवासुविधामा भेदभाव भैरहेको पनि उनको टिप्पणी छ । उनले भने, ‘जनताका पिर मार्काप्रति सरकार पुरै उदासिन छ । राज्य संयन्त्र, संवैधानिक निकायलाई र पुलिस प्रशासनलाई सरकारले आफ्नो छायाँमा राख्ने कोशिस गरिरहेको छ । त्यतिमात्रै होईन, यही उपनिर्वाचनमा पनि निर्वाचन घोषणा भएर आचारसंहिता लागु भैसकेपछि पनि आफूअनुरुप काम गराउनको लागि सुरुवा बढुवादेखि ठूलो चलखेल भैरहेको छ । जुकसुकै मूल्यमा पनि चुनाव जित्नुपर्छ सरकारले साम, दाम, दण्डभेद प्रयोग गर्ने मनशायमा छ ।’ तर, सरकार पक्षका उम्मेद्धवारलाई पराजित गर्नुपर्छ भन्ने जनभावना आफूहरुले पाएको उनको दाबी छ । उनले भने, ‘यो उपनिर्वाचनको परीणाम हाम्रो पक्षमा आउँछ । वडा सदस्यदेखि केन्द्रिय निर्वाचन पोखरासम्म नेपाली कांग्रेसको पक्षमा ठूलो उत्साह छ । समर्थन छ । हामी सबै एकतावद्ध भएर लागेका छौं । तर, यो सरकार हुने हदसम्म धाँधली गरेर भएपनि आफ्नो पक्षमा परीणाम ल्याउने कोशिसमा छ । सञ्चारकर्मीहरुले खबरदारी गर्नुपर्छ । यो निर्वाचनमा परिवर्तनको पक्षमा परीणाम आउदा सरकारलाई सशक्त सन्देश जान्छ ।’ महतले वर्तमान सरकार पुरै असफल भएको दाबी गरे । ‘यो हामीले भनिरहेको होईन, आम जनता सबै निराश छन् । जनताको कुरा छोडौं, कम्युनिष्ट पार्टीकै स्थानीय तहका नेता तथा कार्यकर्ताहरुले नै असन्तुष्ट छन् । उहाँहरु यही उपनिर्वाचनको क्रममा नेपाली कांग्रेसको पक्षमा र समर्थनमा उत्रिनुभएको छ । सबै मोर्चामा यो सरकार असफल छ। भ्रष्टाचार संस्थागत भैरहेको छ । राजश्वको व्यापक दुरुपयोग भैरहेको छ । सरकारले आफैं उपभोक्ता समिति बनाउने अनि आफ्नो मान्छेमार्फत बजेट प्रवाह गर्ने काम भैरहेको छ । समग्र रुपमा सरकार ठीक बाटोमा छैन् । परराष्ट्र सम्बन्धमा पनि सरकारको विश्वसनियता एकदमै कमजोर भैरहेको छ । लगानी आउन सकेको छैन् । हाम्रा छिमेकी राष्ट्रहरुदेखि अरु राष्ट्रहरुसँग हामीले हाम्रो स्वार्थलाई केन्द्रमा राखेर सम्बन्ध विकसित गर्न सकेका छैनौं ।’ उनले चीन र भारतको सीमा विवादको कुरा जसरी आएका छन्् यसमा सरकारकै कमजोरीको कारणले भएको आफूहरुको ठहर रहेको सुनाए ।
लागुऔषध मुद्दाका फरार प्रतिवादी २ महिला पक्राउ धादिङ । धादिङमा लागुऔषध मुद्दाका फरार प्रतिवादी २ जना महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अदालतबाट १ वर्ष कैद र ५ हजार जरिवाना तोकिएकी ५० वर्षीया सरिता भन्ने दूर्गा तामाङ र १ वर्ष ६ महिना कैद र १० हजार जरिवाना तोकिएकी गल्छी गाउँपालिका ७ की ३२ वर्षीया गंगा श्रेष्ठ रहेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराएर तोकिएको कैद भुक्तानको लागि मंगलबार नै कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।
शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी गर्न गृहमन्त्रीको निर्देशन काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मंगलबार गृहमन्त्रालयमा बिपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठमा मन्त्री थापाले विपदको समयमा सक्रिय हुने सबै निकायलाई पूर्वतयारीको लागि निर्देशन दिएका हुन् । बैठकमा मन्त्री थापाले जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरुले शीतलहरको प्रभावबाट सुरक्षित राख्ने उपायहरुको सम्बन्धमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघ संस्थाहरु समेतलाई आमन्त्रण गरी पूर्वतयारी र पूर्व प्रवन्ध गर्न निर्देशन दिएका छन् । विपद् व्यवस्थापनको क्षेत्रमा सम्वन्धित जिल्लामा रहेका गैर सरकारी संघ संस्थाहरुलाई समेत हिमपात, चिसो तथा शीतलहर सम्बन्धी पूर्वतयारीमा सहभागी गराउने गरि समन्वय गर्न जिल्ला प्रशासन कार्यालयलाई पनि निर्देशन दिएको छ । चिसो हिमपात तथा शीतलहरका कारण २०७४ सालमा ४८ जनाको मृत्यु भएको थियो । गत वर्ष सरकारले चिसो हिमपात तथा शीतलहरबाट प्रभावित हुन सक्ने जनतालाई इन्धन, दाउरा, कम्वल बाडेको थियो । कार्यकारी समितिको बैठकले सम्बन्धित गाउँपालिका र नगरपालिका अन्तर्गत हिमपात, चिसो तथा शीतलहरबाट प्रभावित हुन सक्ने क्षेत्र र गाउँरटोलका गरीब तथा विपन्न परिवारहरुको पहिचान गरी कार्यक्रम बनाउन आग्रह पनि गरेको छ ।
बझाङको पौवागढीमा केन्द्र बनाएर गयाे शक्तिशाली भूकम्प काठमाडौं । बझाङको खप्तड छान्ना गाउँपालिका पौवागढीमा केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार साँझ ७ बजेर १६ मिनेट जाँदा ५.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
‘अधिकारको रक्षा गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक’ विराटनगर । ‘समृद्ध नेपाल र सुखी नेपाली’को निम्ति मानव अधिकार पूर्णरुपमा संरक्षण हुनुपर्ने धारणा आज यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले राखेका छन् । राष्ट्रिय मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षामा नेपालबाट प्रस्तुत हुने मानव अधिकार क्षेत्रका विभिन्न बुँदाबारे छलफल गर्न यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले सो धारणा राखेका हुन् । संयुक्त राष्ट्रसङ्घको स्थापनापछि मानव अधिकारको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नका लागि संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकार कानून र सो सम्बन्धी विभिन्न प्रकारका संयन्त्रहरुको विकास गर्दै आइरहेको छ । सो सन्दर्भमा सदस्य राष्ट्रहरुलाई बढी जिम्मेवार र उत्तरदायी बनाउने एवं मानव अधिकारप्रतिको प्रतिबद्धताको पालना गराउने उद्देश्यसाथ स्थापना भएको मानव अधिकार परिषद्को अगामी सन् २०२० मा नेपालले गरेको प्रगतिका विषयमा छलफल गर्न सो कार्यक्रम आयोजना गरिएको हो । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सर्वसम्मत बनेको नेपालको संविधान २०७२ ले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताए । उनले महिला, बालबालिका र फरक क्षमता भएका मानिसहरुको अधिकारलाई रक्षा गर्न संविधानको पूर्ण कार्यान्वयनको आवश्यकता औँल्याए । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मानव अधिकारको पहिलो रक्षक राज्य भएकाले यसतर्फ राज्यको पूर्ण ध्यान जानुपर्नेमा जोड दिए । प्रदेशका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले मानव अधिकारको क्षेत्रमा नेपालको संविधान, कानून र जागरणको हिसाबले अगाडि छ भने । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले मानव, पृथ्वी, समुन्नति, सुरक्षा र सुशासनलाई बलियो बनाउन सकियो भने मानव अधिकारमा प्रश्न उठ्न नसक्ने दाबी गरे । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले मानव अधिकारका क्षेत्रमा शाक्तिशाली राष्ट्रहरु पनि कमजोर देखिएकाले यसको समीक्षा हुनु जरुरी भएको बताए । प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले मानव अधिकार संरक्षणको सन्दर्भमा नेपाल प्रहरीले कानुनअनुसार काम गरिरहेको चर्चा गरे । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले राज्य संयन्त्र मानव अधिकारको क्षेत्रमा कमजोर भएको महसुस भइरहेको चर्चा गरे । कार्यक्रममा सुनसरी, मोरङ र झापाका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मानव अधिकार क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता थियो । रासस
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सम्हाले कार्यभार काठमाडौं । प्रधानमन्त्री केपी शर्माका प्रेस सल्लाहकार सूर्य थापाले कार्यभार सम्हालेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले मंगलबार दिउँसो पत्रकारहरु भेला पारेर कार्यभार सम्हालेका हुन् । त्यस अवसरमा उनले प्रधानमन्त्री कार्यालयबाट प्राप्त हुने सबै सूचनामा पत्रकारहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्रेस नोटमार्फत् अन्य मन्त्रालयका लोकप्रिय कार्यक्रमबारे पनि आफूले समाचार माध्यामहरुलाई जानकारी दिन पहल गर्ने पनि बताए । तर संचार माध्यामहरुले अनुमानको आधारमा समाचार भने बनाउन नहुने पनि उनले पटकपटक दोहोर्याए । आफू सूचना लुकाउने संस्कृतिबाट नआएको थापाको भनाई थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जनताबीच सरकारको सत्य, तथ्य र यथार्थपरक जानकारी मिडियामार्फत सार्वजनिक गराउन आफू सदा तत्पर हुने पनि बताए । झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारको भूमिका निर्वाह गरिसकेका उनले आफूले सूचना लुकाउन दिनु हुँदैन भन्ने मान्यताको आधारमा प्रेस नोट जारी गर्ने प्रचलन सुरु गरेको दावी समेत गरे ।
विश्व बैंकको आर्थिक सर्वेक्षण : आर्थिक वृद्धिदर २.५ प्रतिशतले घट्ने काठमाडौं । विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । दक्षिण एसियाको आर्थिक वृद्धिदर केही घटे पनि त्यसले नेपालको आर्थिक वृद्धिदरमा भने कुनै फरक नपार्ने बैंकले मंगलबार काठमाडौंमा सार्वजनिक गरेकोे प्रतिवेदनमा उल्लेख गरिएको छ । विप्रेषणलगायतका कारण नेपालको आर्थिक वृद्धिदर भने चालू आर्थिक वर्षभित्र ७ दशमलव १ प्रतिशत पुग्न कुनै समस्या नरहेको विश्व बैंकको अध्ययन प्रतिवेदनले देखाएको अर्थविद् विश्व पौडेलले जानकारी दिए । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरलाई निरन्तरता दिन उद्योग स्थापनामा जोड दिनुपर्ने र कर असुलीलगायतका अधिकार स्थानीय तहलाई दिन उपयुक्त हुने सुझाव पनि दिएको छ । बजारका अवरोध हटाउने तर स्थानीय तहले नै कर उठाउने लगायतका काम गर्दा नेपालको आर्थिक वृद्धिदर झनै बढेर जाने विश्व बैंकको निष्कर्ष रहेको पनि अर्थविद् पौडेलले बताए । प्रतिवेदनमा उत्पादन घटेका कारण दक्षिण एसियामा भने आर्थिक वृद्धिदर केही घट्न गएको पनि स्पष्ट पारिएको छ ।
वर्षेनी बालअधिकार हननका घटना बढ्दै, हराए २३ सय ३० बालबालिका काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा बाल अधिकार हनन्को घटना बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले नेपालमा वर्षेनी बाल अधिकार हनन्को घटना बढदै गएको जानकारी दिएकी हुन् । उनले हाल २ हजार ३ सय ३० जना बालबालिका हराईरहेको उल्लेख गर्दै उनीहरुको अवस्थाबारे सरकार समेत बेखवर रहेको पनि स्पष्ट पारिन् । ‘नेपालमा हाल २ हजार ३ सय ३० जना बालबालिका हराईरहेको हाम्रो अध्ययनले देखाएको छ,’ मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘तर यसबारे सरकार पूरै बेखवर छ ।’ यसबारे गैर सरकारी संस्थाहरुले पनि वास्ता नगरेको आयोगको निष्कर्ष छ । आयोगले बाल अधिकार हनन्को घटना हुन नदिन अर्बौैको डलर देश भित्र्याएको सरकार उनीहरुको दयनीय अवस्थाबारे बेखर हुनु दुःखद् भएको टिप्पणी पनि गरेको छ । आयोगकी प्रवक्ता अन्सारीले सरकारसँग बाल अधिकार हनन्का घटनाबारे कुनै जानकारी नै नभएको पनि बताइन् ।
निर्मला हत्याकाण्ड : पत्रकार भण्डारी १ घण्टा जेल बसेर छुटे काठमाडौं । जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई दिएको ‘तुच्छ सजाय’ अन्तर्गत कारगार पठाएको छ । मगलवार अदालतमा उपस्थित भएका पत्रकार भण्डारीलाई एक रुपैयाँ जरिवाना सहित एक घण्टा कारागार पठाएको हो । पत्रकार भण्डारी ३ बजेर ५५ मिनेटदेखि ४ बजेर ५५ मिनेटसम्म कारागारमा छन् । जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै दायर गरेको थियो । मुद्दामा जिल्ला अदालतले भण्डारीविरुद्ध एक घण्टा जेल र एक रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । गत साउनमा न्यायाधीश डाक्टर राजेन्द्र आचार्यको एकल इजलासले यस्तो फैसला गरेको थियो। त्यसमा केही सर्तहरू राखिएका थिए । सर्त पूरा नगरेको खण्डमा मात्र अदालतले दिएको सजाय भोग्नु पर्ने हुन्छ । त्यति मात्र होइन, सर्त पूरा गर्न तीन दिनको समय समेत छुट्ट्याइएको थियो । विचाराधीन विषयमा अदालतलाई प्रभावित गर्ने गरी समाचार लेखेको भन्दै कञ्चनपुर जिल्ला बारले मुद्दा दायर गरेको थियो । निर्मला पन्त हत्या तथा बलात्कार प्रकरणमा जोडिएका आठ प्रहरी विरुद्धको मुद्दामा हद म्याद लगायतका प्राविधिक विषयमा अदालतले एमिकस क्यूरी गठन गरेको थियो । सो विषयलाई मानस खण्ड दैनिक पत्रिकाका सम्पादक भण्डारीले ‘निर्मला हत्याकाण्ड : न्यायिक प्रक्रिया नै बिथोल्ने यस्तो डिजाइन !’ शीर्षकमा समाचार छापेका थिए । समाचारमा ‘एमीकसका रूपमा पठाइएका अधिवक्ता हरेन्द्रराज विष्ट अभियुक्त तथा वर्खास्तीमा परेका एसपी डिल्लीराज विष्टका नातासम्बन्धी भएको दाबी गरिएको थियो । न्यायिक प्रक्रिया नै बिथोल्ने डिजाइन भएको शीर्षकमा दाबी गरिए पनि समाचारमा ‘दैनिक मानसखण्डको संक्षिप्त अनुसन्धानले अधिवक्ता र पूर्व एसपी विष्ट नाता सम्बन्धमा पर्ने देखाए पनि ठोस जानकारी प्राप्त हुन सकेको छैन’ लेखिएको थियो । पत्रकार भण्डारीले फेसबुक तथा पत्रिकामा अदालतको मानहानी हुने गरी लेखेको फैसलाको पूर्णपाठमा उल्लेख गरिएको थियो । अदालतको फैसलामा पत्रकार खेम भण्डारीलाई ‘तुच्छ सजाय’ दिनुको कारण समेत स्पष्ट खुलाइएको थियो । फैसलामा लेखिएको थियो । ‘यसबाट न्यायालयले यो मान्दछ कि तँ यति तुच्छ छस् कि सजाय पनि तेरो लागि अनुपयुक्त छ भन्ने हुन्छ । यस्तो अवस्था कहिलेकाहीँ क्षतिपूर्ति भराउने सम्बन्धमा पनि देखा पर्दछ। वादीले मुद्दा नगरेको भए हुने थियो तर गरिहाल्यो भनेर यस्तो प्रकृतिको क्षतिपूर्ति पनि भराउने हुन्छ । यस्तो क्षतिपूर्ति पायो भने दावीकर्तालाई संदेश प्रवाह हुन्छ कि (अधिकार भन्दैमा सस्तो लोकप्रियताका लागि दावी गर्ने भन्ने हुँदैन । विचार गर । त्यसैगरी सजाय पाउनेलाई तेरो लागि सजायको प्रकृति पनि शोभनीय छैनस् । तँ त्यति तुच्छ होस् भन्ने हुन्छ ।’ भण्डारीको फैसलामा भनिएको थियो । ‘यस्तो प्रकृतिको सजाय निकै खतरनाक हुन्छ । बरु १ वर्ष कैद बस्न उपयुक्त हुन्छ । सहि, सद्धे मानिसलाई १ मिनेटको कैद वा १ दामको जरिवाना सामाजिक एवम् मानसिक रूपमा पीडादायक हुन्छ ।’
छुट्टाछुट्टै ठाउँमा ४ जना मृत अवस्थामा फेला काठमाडौं । मंगलबार देशका विभिन्न ठाउँमा ४ जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा रोल्पाको रुन्टिगढी गाउँपालिका ८ गोलखडास्थित भिरमा सल्यान कपुरकोट गाउँपालिका १ उनबाङ बस्ने २२ वर्षीय गोपाल राना मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका ६ स्थित ईन्द्रावती खोलामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ गंगोरटोल बस्ने २८ वर्षीय लाक्पा तामाङ मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नुवाकोटको विदुर नगरपालिका १ पाण्डे गाउँ बस्ने ४० वर्षीय राम बहादुर तामाङ सोही ठाउँस्थित खोल्सामा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । धादिङको गजुरी गाउँपालिका २ फुर्केखोलास्थित त्रिशुली नदीको किनारमा भक्तपुर सूर्यबिनायक नगरपालिका ५ बस्ने ३८ वर्षीय विकल श्रेष्ठ मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । गत कात्तिक ३० गते गजुरी गाउँपालिका २ चम्बासस्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सागका लागि राष्ट्रिय टिमको तयारी पूरा काठमाडौं । आसन्न १३ औ दक्षिण एसियाली खेलकुद (साग)मा सहभागि हुने खेलाडीको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मंगलबार पत्रकार सम्मेलन गरे मंसिर १५ देखी २४ गते सम्म नेपालमा आयोजना हुने खेलकुदमा नेपालले पदकका हिसावले सागलाई ऐतिहासिक सफल बनाउने दावी पनि गरेको छ । संयोजक रानाभाटले राखेपको लक्ष्य अनुरुप सागमा नेपालले ५० भन्दावढी स्वर्ण जित्नका लागि राम्रो तयारी गरेको बताए । सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कुल ३१ स्वर्ण जितेको थियो । सागमा त्यतिबेला १२ खेल समावेश गरिएको थियो । रानाभाटका अनुसार सागमा नेपालले २८ खेलमा पुरुषतर्फ तीनसय १२, महिलामा दुई सय ८७ गरी कुल पाँचसय ९९ खेलाडीको सहभागिता रहनेछ । सागमा एक सय २३ प्रशिक्षक र ५० जना ब्यवस्थापकको पनि सहभागिता रहने छ । प्याराग्लाङडिङको सहभागिता लगभग सकिएको पनि रानाभाटले थपे । खेल र खेलाडीको अन्तिम सहभागिताको विषयमा नेपाल ओलम्पिक कमिटीले एक दुईदिनमा निक्र्योल गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए । साग तयारीका लािग वैदेशिक प्रशिक्षणका लागि मात्र ४५ करोड रुपैयाँ छुट्याएको बताए । प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई पहिलो चरणमा जनही १४ सय, दोस्रो चरणको दुई हजार, तेस्रो चरणमा २२ सय र चौथो चरणमा २५ सय रुपैयाँ भत्ता उपलब्ध गराएको छ । त्यो विगतको भन्दा दोब्बर भएको पनि टिम तयारी समितिले जनाएको छ । मंसिर १४ गतेसम्म सञ्चालन हुने सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरका हुनेछ ।
नियन्त्रित लागूऔषधसहित ३ जना पक्राउ काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध डाइजेल्याप १२ एम्पुल, नुर्फिन १२ एम्पुल र फेनारगन १२ एम्पुल सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवापुर हेटौंडा उपमहानगरपालिका–११ बस्ने ३१ वर्षीय सोमनाथ फुईया, लमजुङ शुवडीपल नगरपालिका–९ बस्ने २४ वर्षीय गणेश भण्डारी र सोही ठाउँ बस्ने सुरज गुरुङ रहेका छन् । प्रहरी चौकी ईनरुवा पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । धनुषा, धनौजी गाउँपालिका–४ भडहरीयाबाट नियन्त्रित लागूऔषध नाईट्रोभ्याट १ हजार ५ सय ट्यावलेट सहित जनकपुर उपमहानगरपालिका–२ कदमचोक बस्ने धनुषाधाम नगरपालिका–५ घर भएका २३ वर्षीय चन्देश्वर महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याउँदै गरेको उक्त ट्यावलेट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भ्रमण वर्ष २०२० को स्टिकर टाँस्न सबै सवारी साधनलाई अनुरोध काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर आ–आफ्नो सवारी साधनमा टाँस्न सबै यातायात व्यवसायीलाई आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार काठमाडौंमा सम्बन्धित पक्षसँगको छलफलमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर अनिवार्य रुपमा आफ्ना सवारी साधन टाँस्न सबै यातायात व्यवसायीहरुलाई आग्रह गरेको हो । महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि सो स्टिकर सबै सवारी साधनमा अनिवार्य रुपमा टाँस्न अनुरोध गरे । उनले पर्यटकहरु आकर्षित हुने गरी सवारी साधनको सफाई र ममर्त संहारमा ध्यान दिन विशेष गरी काठमाडौं उपत्यकाका सञ्चालन हुने भाडाका सवारी साधनलाई पनि सचेत गराए । सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्यसको स्टिकर सबै सवारी साधनमा टाँस गर्ने निर्णय गरेको थियो । सरकारको सोही निर्णय पूर्ण रुपमा पालना गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सबै यातायात व्यवसायीलाई सचेत गराएको हो । महाशाखाले सवारी साधनको सरसफाई र मर्मत संहारमा ध्यान दिए दुर्घटना न्यूनिकरणमा पनि सघाउने पुग्ने तर्फ पनि यातायात व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ । कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपाल भ्रमण वर्ष २०२० को स्टिकर सबै सवारी साधनमा टाँस गरेर सो भ्रमण वर्षलाई सफल बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । साथै महासचिव सिटौलाले सरकारले सडकको उचित व्यवस्थापन गर्नुपर्ने आग्रह गरे । सडकमा खाल्डाखुल्डी भएकाले सवारी साधनको जति सफाई गरे पनि नहुने अवस्था भएकाले सरकारले सडकको उचित व्यवस्था गर्नुपर्ने महासचिव सिटौलाले बताए । महासंघले यस अघि पनि पटक पटक सडकको खाल्डाखुल्डी पुरेर सवारी साधानको उचित व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न सरकारसँग माग गर्दै आएको छ ।
सेनाका जवान मृत्यु प्रकरण : ढकाललाई पाँच दिन हिरासतमा राखिने चितवन। नेपाली सेनाका एक जवानको मृत्यु प्रकरणमा मुछिएका प्रहरी जवान ठाकुर ढकाललाई जिल्ला अदालत चितवनले सोमबार पाँच दिनका लागि म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लका अनुसार ढकाललाई आज थप अनुसन्धानका लागि पाँच दिन समय थप गरिएको हो । मृतक राम कँडेलका परिवारको किटानी जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धानलाई असहज हुने भन्दै मुद्दा प्रक्रिया टुङ्गो नलागेसम्म निलम्बन गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट पाँच दिनका लागि समय थप गरिएको हो । ढकालविरुद्ध मृतक कँडेलका परिवारले हत्याको अभियोगमा आइतबार उजूरी दर्ता गराएको थियो । ईच्छाकामना गाउँपालिका–३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हामफालेर मृत्यु भएका भनिएका नेपाली सेनाका जवान कँडेलका परिवारको किटानी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको थियो । ईच्छकामना–५ निवासी २८ वर्षीय फिस्लिङमा रहेको अस्थायी प्रहरीचौकीमा राखिएका समयमा आइतबार बिहान बरण्डाबाट हामफालेर घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कँडेल नेपालीको बर्दबहादुर गणमा कार्यरत जवान हुन । उनको हत्या भएको भन्दै परिवार स्थानीयवासीले हिजो र आज पृथ्वी राजमार्ग बन्द गराएका थिए । घटना शङ्कास्पद भएपछि उनको शव परीक्षणका लागि काठमाडौंँ लगिएको छ । रासस
गिटी–बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार दमक । झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन्। बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति–५ का ३५ वर्षीय रामकुमार थारू चौधरी घाइते भएका हुन् । उनको बाँया हातमा चोट लागेको छ । मेचीनगर–९ का ३६ वर्षीय दीपक तामाङ र निखिल भन्ने सुरज तामाङलगायत ४/५ जनाको समूहले चौधरीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । घाइते चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल विर्तामोड पठाइएको र खुकुरी प्रहारमा संलग्न मेचीनगर–९ का १७ वर्षीय सुमन सुन्दास, सोही स्थानका १७ वर्षीय अमस लिम्बू, १८ वर्षीय सञ्जु तामाङ, २२ वर्षीय हर्कराज राई, २० वर्षीय दिप्सन नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। खुकुरी प्रहार गर्ने दीपक तामाङ र सुरज तामाङ हाल फरार रहेका छन् । उनीहरुको खोजी कार्य तीव्र बनाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।
८४ पूजाको खर्च नगरी विद्यालयलाई ११ रोपनी जग्गादान अर्घाखाँची । अर्घाखाँचीको पोखराथोकका एक वृद्ध दलितले चौरासी पूजा नगरी विद्यालयलाई ११ रोपनी जग्गादान गरेका छन् । चौरासी पूजामा गरिने फजुल खर्चभन्दा विद्यालयमा गरिने दानले भविष्यका बालबालिकालाई समेत शिक्षाको ज्योति फैलाउने भन्दै पाणिनी गाउँपालिका–२ पोखराथोक रयलेका ८४ वर्षीय रविलाल सार्कीले विद्यालयलाई जग्गादान गरेका हुन् । उनले पाणिनी गाउँपालिका–३ खिदीममा रहेको ११ रोपनी जग्गा र नगद रु पाँच हजार पाणिनी–२ पोखराथोकको रयलेमा रहेको चित्ररम्भा आधारभूत विद्यालयलाई प्रदान गरे । चौरासी पूजामा खर्च नगरी जग्गानै विद्यालयलाई दिएको र उक्त जग्गाले विद्यालयको श्रीवृद्धिमा काम गर्ने भएकाले उक्त जग्गादान गरेको ८४ वर्षीय वृद्ध सार्कीले बताए । आफूले गरेको काम सबैका लागि प्रेरणा हुने सार्कीको भनाइ छ। विद्यालयमा एक कार्यक्रमका बीच उक्त जग्गाको लालपुर्जा वृद्ध सार्कीले वडाध्यक्ष नेत्रप्रसाद भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणनिधि गैरेलाई हस्तान्तरण गरे । “एक दलित परिवारको वृद्ध भएर पनि मन ठूलो बनाएर विद्यालयलाई जग्गा दान गरी समाजकै उदाहरणीय काम गरेका छन् । यसबाट हामी सबैले सिक्न जरुरी छ”, वडाध्यक्ष भट्टराईले भने । विद्यालयको विकासमा यो जग्गादानले उल्लेखनीय भूमिका खेल्नेछ । कार्यक्रममा शिक्षक अविभावक सङ्घका अध्यक्ष माधव गौतम, समाजसेवी रामचन्द्र गौतम विद्यालयका प्रधानाध्याक रामकुमार छिनालले दाता सार्कीको कार्यको प्रसंशा गरेका थिए।
धौलागिरि हिमालको आधार शिविरमा सूचना केन्द्र म्याग्दी । म्याग्दीस्थित संसारको सातौँ (८,१६७) मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ। धौलागिरि गाउँपालिकाले पर्यटकको तथ्याङ्क र विवरण राख्न, आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन र सूचना उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गर्न लागेको हो। गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयको रु ३१ लाखको सहयोगमा तीन कोठे भवन निर्माण भएको गाउँपालिकाका प्राविधिक बालकृष्ण पौडेलले बताए । भवनमा रङरोगन र फर्निचर व्यवस्थापन गरेर आगामी यामदेखि सूचना केन्द्र सञ्चालन गर्ने तयारी गरेको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । सूचना केन्द्रबाट हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकको तथ्याङ्क राख्ने, सूचना प्रदान र प्राथमिक उपचार सेवा उपलब्ध गराइने उनले बताए। “मुस्ताङ र म्याग्दी भएर धौलागिरि आधार शिविरमा आउने जाने पर्यटकको तथ्याङ्क राख्न लागिएको हो”, अध्यक्ष पुनले भने, “आधार शिविरमा पुगेका पर्यटक र सहयोगीलाई प्राथमिक उपचार सेवा उपलब्ध गराउँछौँ।” सूचना केन्द्रमा एक जना स्वास्थ्यकर्मी खटाइने छ । चिसोका कारण आधार शिविरमा बिरामी हुन्छन् । उनीहरुलाई स्वास्थ्य परीक्षण, परामर्श र औषधोपचार उपलब्ध गराउने योजना छ। पर्यटक तथा पर्यटन व्यवसायी र स्थानीयवासीको मागको आधारमा चेकपोष्ट राख्न लागिएको हो । आधार शिविरमा बिरामी हुँदा हेलिकप्टर बोलाएर अस्पताल पुर्याउने गरिएको छ । चेकपोष्ट राखिएपछि पर्यटकको विवरण राख्न र उनीहरुलाई अप्ठ्यारो परेको अवस्थामा सहयोग पुग्ने स्थानीय होटल व्यवसायी हरिप्रसाद तिलीजाले बताए। धौलागिरि हिमाल आरोहण र पदयात्राका लागि वार्षिक करिब ३०० जना पर्यटक आउने गरेका छन् । यसैगरी आधार शिविरसम्म मोबाइल सेवा विस्तारको तयारी भएको छ । नेपाल टेलिकमसँगको साझेदारीमा बगर गाउँदेखि चार घण्टा पैदल उकालो हिँडेर पुगिने देउरालीमा बिटिएस टावर स्थापना गर्न लागिएको वडासदस्य बमबहादुर पुनले बताए । गाउँपालिकाले बिटिएस टावर स्थापना गर्न भवन बनाउन बजेट विनियोजन गरेको छ। गुर्जा र आधार शिविरलाई लक्षित गरेर बगरको देउरालीमा टावर राख्न लागिएको हो। यस्तै बगर तातोपानी कुण्डको पानीलाई पदमार्गअन्तर्गत जेल्तुङमा ल्याएर स्नानगृह सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले बताए । रासस
करणीको आरोप लागेपछि कार्यालय प्रमुख फरार सुर्खेत । यहाँका एक सरकारी कार्यालयका प्रमुखलाई जबरजस्ती करणीको आरोप लागेको छ । स्थानीय एक युवतीले वीरेन्द्रनगरस्थित साल्ट टेड्रिङ कर्पोरेशनका प्रमुख रामबाबु गुप्ताविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जाहेरी दर्ता लगत्तै कार्यालय प्रमुख गुप्ता फरार छन् । गुप्ताले कार्यालयमै बोलाएर पटकपटक यौनशोषण गरेको ती युवतीको आरोप छ । प्रहरीले एक सातादेखि फरार गुप्ताको खोजी भइरहेको बताएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले युवतीको जाहेरीका आधारमा गुप्ताविरुद्ध जबरजस्ती करणीसम्बन्धी अभियोगमा मुद्दाको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
५८ केजी अवैध लागूऔषध चरेश र नगद सहित ५ जना पक्राउ बर्दिया । गुलरिया नगरपालिका ७ भन्सार रोडबाट अवैध लागूऔषध चरेश ५८ केजी, मोबाइल ५ थान र नगद ३२ हजार ५ सय ९८ रुपैयाँ सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका बस्नेहरु रुकुम (पूर्व) खबाङका ३४ वर्षीय राजकुमार पुनमगर, रुकुम (पश्चिम) मुसिकोट नगरपालिका १ का २७ वर्षीया जुनतारा पुन, रुकुम (पूर्व) भुमे गाउँपालिकाका ३४ वर्षीया सुनथामी बुढामगर, रोल्पा दुईखोली गाउँपालिका ८ का २९ वर्षीय खीम प्रसाद रोकामगर र रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका बस्ने २६ वर्षीया अस्मिता रामजाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
एक वर्षमा पुनर्वास क्षेत्रमा सडक कालोपत्रे हुन्छ : मन्त्री मगर कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको पुनर्वास लगायत अन्य क्षेत्रहरुको विकासमा पहिलो प्राथमिकता दिने बताएकी छन् । कञ्चनपुरमा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री मगरले कञ्चनपुरको दक्षिणी भेग पुनर्बास स्थित दोदा नदीको अवलोकनका क्रममा अब पुनर्वास र अन्य क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताएकी हुन् । सदरमुकाम भन्दा टाढा रहेको यस क्षेत्रलाई विगतका दिनमा सरकारले खासै ध्यान नदिएको बताउँदै उनले यस क्षेत्रको विकासमा गम्भीर भएर लागेको बताइन् । ‘सरकारले गर्ने विकास सधैं बजार केन्द्रित बन्यो ।’ उनले भनिन्, ‘जसका कारण अहिले सम्म यहाँका जनता धेरै सेवा सुविधाबाट बञ्चित बने । अब विकासले यस क्षेत्रलाई पनि छुनेछ । स्तरीय बाटोघाटो नहुँदा यस क्षेत्रका जनताको सदरमुकामबाट सम्बन्ध टुटेको छ ।’ उनले पुनर्बास नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ९ लाई जोड्ने लोकतान्त्रिक सडक कालोपत्रेका लागि पहल गर्ने बताइन् । यो सडक भित्री सडक भएपनि यस क्षेत्रका जनताका लागि महत्वपूर्ण भएकाले यसको कालोपत्रे गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने उनको भनाइ छ । ‘यस सडकको कालोपत्रे भएपछि यो सडक पुनर्वासका जनतालाई धनगढीको सदरमुकामसँग जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ, उनले भनिन्, ‘यसै आर्थिक बर्षभित्र कालोपत्रे निर्माणका लागि भौतिक मन्त्रालयमा पहल गर्नेछु ।’ मन्त्री मगरले पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापासँग भेट गरी सडक कालोपत्रे गर्ने विषयमा कुराकानी गरिन् । भेटमा मेयर थापाले सडक कालोपत्रेका लागि नगरपालिकासँग बजेट अपुग भएकाले केन्द्र सरकारसँग बजेट थप गरिदिन मन्त्री मगरलाई आग्रह गरे । पुनर्वास नगरपालिकाकै पहलमा सडकको डिपिआर भने तयार भईसकेको छ ।
अमेरिकी, दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यास स्थगित बैंकक (रासस/एएफपी) । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले गर्न लागेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताएका छन् । उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्तालाई सहजीकरण गर्न उक्त संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी भनाई छ ।उत्तर कोरियाले आफ्नो मुलुकमाथि आक्रमण गर्ने नियोजित षडयन्त्र स्वरुप संयुक्त सैन्य अभ्यास गरिएको भन्दै विरोध गर्दै आएको थियो । उत्तर कोरियाले अमेरिकालाई यस वर्षको अन्त्यसम्ममा दुबै मुलुकलाई स्वीकार्य स्पष्ट योजना सहित अघि आउन आग्रह गरिआएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अनबीच सिंगापुरमा भएको पहिलो शिखर वार्तापछि अमेरिका र दक्षिण कोरियाले गत वर्ष पनि धेरैवटा संयुक्त सैन्य अभ्यास रद्द गरेका थिए । तर यसै महिनाको अन्त्यतिर संयुक्त हवाई अभ्यास गर्ने तयारी गरिएको थियो । अमेरिकी रक्षामन्त्री एस्परले संयुक्त सैन्य अभ्यास स्थगित गरिएको जानकारी दिए । उनले भने – कोरियाली द्वीपमा शान्ति स्थापना गर्ने र उपयुक्त वातावरण निर्माण गर्ने उद्देश्यले यो मित्रवत निर्णय गरिएको हो । थाइल्याण्डको राजधानी बैंककमा एसिया प्रशान्त क्षेत्रका रक्षामन्त्रीहरुको बैठकका क्रममा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी रक्षामन्त्री एस्परले उत्तर कोरिया पनि वार्ताको टेबलमा चाँडै आउने विश्वास व्यक्त गरे । उनले संयुक्त सैन्य अभ्यासमा गरिएको ढिलाईले दुबै मुलुकका कुटनीतिज्ञबीच जारी वार्ता फलदायी हुन सहज बनाउने बताए । स्वीडेनमा गत अक्टोबरमा शुरु भएको दुबै मुलुकबीचको वार्ता एकाएक भङ्ग भएको थियो । वार्तामा उत्तर कोरियाली प्रतिनिधिमण्डलले अमेरिकाबाट पुरानै प्रस्ताव आएको भन्दै असन्तोष प्रकट गरेका थिए ।
मोरक्कोमा ५.३ म्याग्नीच्युडको भूकम्प राबात (रासस/सिन्ह्वा) । उत्तर अफ्रिकी मुलुक मोरक्कोको मध्यक्षेत्रमा आइतबार ५.३ म्याग्नीच्युडको भूकम्प गएको छ । मोरक्कोको भौगर्भिक इन्स्टिच्यूटले प्रकाशन गरेको विज्ञप्तिमा उक्त भूकम्प मिडेल्ट प्रान्तमा गएको उल्लेख छ । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ४ किलोमिटर गहिराईमा थियो । भूकम्पको धक्का फेस र मेकनेसमा समेत अनुभव गरिएको थियो ।
सिरियामा रुसी आक्रमणबाट नौ जनाको मृत्यु बेरुत (रासस/एएफपी) । सिरियाली सरकारको समर्थन गरिरहेको रुसी सेनाले गरेको एक हवाई कारबाहीमा कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली द्वन्द्वको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले रुसी फौजले सिरियाको उत्तरपश्चिमस्थित इडलिबमा जिहादी अतिवादी समूहलाई लक्षित गरी हवाई हमला गरेको जनाएको छ । अब्टरभेटरीले इडलिबको दक्षिणी अल–मालाजा गाउँमा पाँच जनाको मृत्यु भएको तथा पूर्वी साराकेब नगरमा चार जना मारिएको उल्लेख गरेको छ । यी दुबै आक्रमणमा थुप्रै सर्वसाधारण घाइते भएका छन् भने केहीको अवस्था निकै गम्भीर रहेको छ । अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले इडलिब क्षेत्र पूर्व अल–कायदा लडाकू आबद्ध विभिन्न समूहले नियन्त्रणमा लिइरहेको बताए । सिरियाको आठ वर्षे गृहयुद्धका क्रममा ठूलो संख्यामा यहाँ आन्तरिक रुपमा विस्थापित मानिसहरु पनि बसोबास गरिरहेका छन् । इडलिब क्षेत्र सिरियाली राष्ट्रपति बसार अल–अस्सादप्रति बफादार सिरियाली सेनाका लागि अझै पनि टाउको दुखाईको विषय बनेको छ । इडलिबमा शान्तिपूर्ण तबरबाट समाधान निकाल्न रुसले गत अगस्टदेखि युद्धविराम पनि गरेको छ । तर अब्जरभेटरीको भनाईमा यही नोभेम्बर महिनाको शुरुदेखि हालसम्म रुसी हवाई कारबाहीमा ४८ जना सर्वसाधारणको ज्यान गइसकेको छ । सन् २०११ देखि शुरु भएको सिरियाली गृहयुद्धमा हालसम्म कम्तीमा तीन लाख ७० हजारको मृत्यु भएको छ भने लाखौं मानिस विस्थापित भएका छन् ।
चीनले पनि नेपालको भूमि मिचेको छ, हतारमा विज्ञप्ति निकालेर गलत गर्‍याे : झा राजपा नेपालका महामन्त्री केशब झाले चीनले नेपालको ११ ठाउँमा जमिन मिचेको आरोप लगाएका छन् । तर, चीनले यसबारेमा हतार गरेर आफ्नो विज्ञप्ति निकालेको भन्दै उनले आपत्ति जनाए । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘चीनले हतारमा विज्ञप्ति निकाल्नु ठीक होईन् । चीनले कुटनीतिक मर्यादा देखाएन् ।’ उनले भारत र चीन दुवै देशसँग कुटनीतिक रुपमा सीमा विवाद हल गरिनुपर्नेमा जोड दिए । झाले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सीमा विवादबारे सबैको एक स्वर रहेको सुनाउँदै कुटनीतिक रुपमा आफ्नो पहलकदमी चाल्नुपर्ने बताए । उनले भने, ‘बालुवाटार बैठकमा हामीले पनि यो विषयमा सहमति जनाएका छौं । कसैको पनि फरक मत छैन् । हामी सबैको राष्ट्रिय एकता बनेको छ ।’ उनले सीमा विवादको बारेमा काठमाडौंमा भएका दैनिक प्रदर्शनप्रति पनि आफ्नो आपत्ति जनाए । उनले भने, ‘राष्ट्रवादी बन्नलाई काठमाडौंमा प्रदर्शन गर्नुको कुनै अर्थ छैन् । यसले समस्याको समाधान हुँदैन् । यसको लागि त कुटनीतिक पहल गरिनुपर्छ । जुन सरकारले गर्छु भनेर बोलिसकेको छ ।’ कालापानी र लिपुलेकको विवादबारे सरकारले निकालेको विज्ञप्तिमा आफूहरुको पनि समर्थन रहेको उनले सुनाए । झाले राजा महेन्द्रले पञ्चायत जोगाउनको लागि भारतसँग लिपुलेकबारे सम्झौता गरेको भन्ने कुरापनि आईरहेको सुनाए । उनले भने, ‘राजा महेन्द्रले भारतसँग सम्झौता गरेको हो त ? के हो बास्तविकता ? सरकारले यसको तथ्य र प्रमाण बाहिर ल्याउनुपर्छ ।’ भारतीय पक्षले १९६२ देखि नै आफ्नो राजनीतिक नक्शामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो पक्षमा राख्दै आएको पनि सुनाए । नेपालको संविधान २०७२ मा पनि ती भूभाग नेपालले छोडेको सुनाउँदै त्यसको जवाफ सरकारले दिनुपर्ने उनको माग छ । झाले सीमा विवादको समस्या समाधानको लागि वार्ता तथा सम्वादलाई नै बढावा दिनुपर्नेमा जोड दिए । उनले भने, ‘हाम्रो त प्रष्ट धारणा छ, सरकराले अब आफ्नो प्रतिनिधि पठाउनुपर्छ । भारतसँग कुरा गर्नुपर्छ । कर्मचारीको लेभलमा, राजनीतिक लेभलमा र सरकारको तर्फबाट पनि डेलिगेट्स पठाईएको छ । बाहिर होहल्ला गरेर केहीपनि हुँदैन् ।’ भारत सरकारले पनि यो विषयालाई ठूलो ईस्यु बनाउन नहुने भन्दै वार्ता तथा सम्वादमार्फत समस्याको हल खोजिनुपर्ने कुरा उठाएको सुनाउँदै सरकारले सोहीअनुसार आफ्नो कदम चाल्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘यस्तो होहल्ला हामीले विगत लामो समयदेखि सुन्दै आएका छौं । तर, यो त राजनीतिक हत्कण्डामात्रै हो । समस्या अहिलेपनि ज्यूँको त्युँ छ ।’ उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध कसैले चाहेरपनि बिर्गान नसक्ने ठोकुवा गरे । उनले भने, ‘हामीबीच जनस्तरमा बलियो सम्बन्ध छ । हामी त बोर्डरको मान्छे हो । भुक्ने कुकुरले टोक्दैन भन्छन् नि, सीमामा हामीले भोगेका छौं समस्या । हामीले हाम्रो भूमीको रक्षा गरिरहेका छौं । काठमाडौंमा होहल्ला गरेर केही हुँदैन् ।’ उनले वर्तमान सरकारलाई असफलको संज्ञा दिए । उनले भने, ‘यो सरकार पूरै असफल भैसकेको छ । आज सुनकाण्ड भएको यतिका दिन भयो, खोई सुन कहाँ छ ? बालुवाटारको जग्गा फिर्ता ल्याउन सकेको छैन् । आफ्नो पार्टीको शीर्ष नेता मुछिएकोले हो कि किन हो ? यसबारेमा कुनै कदम चालेको छैन् ।’ वाईडबडीमा पनि भ्रष्टाचार भएको भनेर संसदीय समितिले भनेकोमा अहिलेसम्म दोषीलाई कारबाही नहुनु भ्रष्टाचार कति भएको छ ? भन्ने कुराको ज्वलन्त उदाहरण भएको उनको भनाई छ । झाले वर्तमान सरकारलाई पुरै फेल भएको संज्ञा दिँदै अंक दिँदा आफूहरुले शून्य अंक दिने बताए । उनले भने, ‘अहिले देशमा आर्थिक गतिबिधि जिरो छ । शेयर बजारमा उथलपुथल छ । भ्रष्टाचारलाई सरकारले आफैंले पक्षपोषण गरेको छ । कालोबजारी बढेको छ । अहिले हरियो सागसब्जी किनेर खानसक्ने अवस्था छैन् । तर, सरकार ढोंगमा विश्वास गर्छ ।’ उनले मन्त्रीहरु परिवर्तन गर्दा केही राम्रो काम हुन्थ्यो कि भन्ने आशा आफूहरुमा पनि रहेको सुनाए । फरक प्रसँगमा उनले समाजवादी पार्टीसँग आफ्नो पार्टीको एकताको लागि छलफल चलिरहेको सुनाउँदै एकता हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने,‘हामी दुई पार्टीबीच अहिले नेक–टु–नेकको अवस्था छ, हामी एकताको नजिक छौं ।’
नेताहरुको सत्ता स्वार्थले देश सुरक्षित हुन सकेन : डा. भण्डारी काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देशका नेताहरुको सत्ता स्वार्थले गर्दा देश सुरक्षित हुन नसकेको टिप्पणी गरेका छन् । उनले भने, ‘देश भनेको सबैको साझा हो । देशप्रति जनता ईमानदारिता छन् । तर, नेताहरु ईमानदार भएनन् ।’ सरकारमा बसेका नेताहरुभन्दा जनता ईमानदार रहेको उनको भनाई छ । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले नेपालको सुरक्षा निकाय पनि देशको सीमाप्रति संवेदनशील नभएको गुनासो पोखे । उनले भने, ‘सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी कोहीपनि सीमानामा देखिएनन् । सरकारले उनीहरुलाई सीमा सुरक्षाको लागि कतैपनि पठाएको छैन् । यो गम्भिर प्रश्न हो । तराई जाउँ वा उत्तरपट्टिको कोरला नाकाको कुरा होस्, पीडा छन् ।’ तराईका जनताले पनि धेरै दुःख पाएको उनको भनाई छ । उनले भने, ‘नेपालको सुरक्षा सरकारले वा नेपालका नेताले गरेका होईनन् । हाम्रो सीमाको सुरक्षा त नेपाली जनताले गरेका हुन् ।’ उनले सुस्ता, सप्तरी, सर्लाही, कञ्चनपुर, कोरला नाका सबैतिर समस्या रहेको सुनाए । उनले भने, ‘कोरला नाकामा चीनले आफ्नोतर्फ बलियो उपस्थिति बनाएको छ । उसको सेनाको बलियो उपस्थिति छ । तर, नेपालतर्फ सुनसान छ । हाम्रोतर्फ ठगहरुको सलबलाहट छ । त्यही भएर सीमा मिचिएको छ।’ भण्डारीले मुलुकमा धेरै सरकार गठन भएको र धेरै प्रधानमन्त्री भएपनि नेतामात्रै धनी भएको तर देश र जनताको अवस्था दयनीय रहेको टिप्पणी गरे । नेपालको सरकार कमजोर हुँदा ठूला छिमेकीलाई फाईदा पुगेको उनको भनाई छ । उनले भारत र चीन दुवैसँग सीमाको विवाद कुटनीतिक रुपमा हल गरिनुपर्ने सुझाव दिए । उनले भने,‘नियम, कानून र पूर्वीय दर्शनको थिमअनुसार आफ्नो कुरा राखेर धैर्यतापूर्वक शिष्टाचार भएर कुटनीतिक आधारमा आफ्नो कुरा राख्नुपर्छ ।’ उनले नेपालका शासकहरुबाट देशको सीमाको सुरक्षा नभएको बताए । देशको सीमा समस्याको समाधानको लागि पछिल्लो समय मुलुकमा राष्ट्रिय सहमति बनेको सुनाउँदै यो खुशीको कुरा भएको उनले बताए । उनले भने, ‘हामीले अब संयम र सक्षम कुटनीतिक पहल कादम चाल्नुपर्छ । नेताहरु ईमानदार हुनुपर्छ । सरकारले अब पहल गर्नुपर्छ । देशलाई अहिले संकट परेको छ । यस्तो बेलामा घोचपेच गर्नुहुँदैन् ।’ भण्डारीले पछिल्लो समय देशमा भ्रष्टाचार मौलाएको पनि टिप्पणी गरे । उनले भने, ‘सबै मिलेर खाएका छन् । यो देशका वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सिभिल हस्पिटल छन्, यी सबै अस्पतालहरुमा एक एक अर्ब ईक्युवमेन्ट ल्याईदिएको भए कोहीपनि विदेश उपचार गर्न जानुपर्दैन थियो । डा. प्रेम ज्ञवालीले कोही पनि विदेशी उपचार गर्न जानुपर्दैन् भनेर भनिरहेका छन् । हामीले अब नेपालका अस्पतालहरुलाई सुविधा दिनुपर्छ । यहाँ पनि सक्षम चिकित्सकहरु छन् ।’ एनसेलमा पनि सबै मिलेर भ्रषटाचार गरेको उनको आरोप छ । ठेक्कापट्टामा पनि मिलेर नै खाएको उनको भनाई छ । उनले भने, ‘तर, जनताका छोराहरुलाई बोरामा हालेर अरब पठाउने मात्रै काम भयो । अब करेक्शन गर्नुपर्छ । जनता असल र ईमानदार छन् । वाईडबडी, एनसेल, सुनकाण्ड सबै मिडियाले बाहिर ल्याएका हुन् । त्यसैले मिडियालाई धन्यवाद दिनुपर्छ ।’ उनले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको सुनाए । तर, भारतको विदेश नीति हस्तक्षेपकारी र चीनको साईलेन्स भएको सुनाउँदै नेपालले भारत र चीन दुवै राष्ट्रसँग कुरा गर्नुपर्छ । उनले भने, ‘नेपाल त पूर्वीय दर्शनको लिड गरेको देश हो । त्यसैले हामीले लिड गर्नुपर्छ ।’ उनले नेपालका नेताहरु धेरै जना जेल जान लायक रहेका पनि उनको भनाई छ । उनले भने,‘सबै नेताहरुको छानबिन गरिनुपर्छ । यहाँ महरा, आलम जेल जान हुने अनि शारदा अधिकारी र हरिनारायण रौनियारलाई किन थुन्न सक्दैन् । किनकी यो सरकार माफियाहरुसँग डराएको छ ।’
चोरी मुद्दाका फरार कैदी ३४ वर्षपछि पक्राउ धादिङ । चोरी मुद्दाका एक जना फरार कैदी ३४ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत साविकको धुँवाकोट गाविस ५ का ६९ वर्षीय राम बहादुर भन्ने सुब्बा वस्तीलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्दामा जिल्ला अदालत धादिङले २०४१ जेठ ०८ गते फैसला गर्दै ३ वर्ष ११ महिना ७ दिन कैद तोकेको थियो । त्यो बेला नै सुब्बा वस्ती कारागार कार्यालय धादिङमा थुनामा रहेकै बेलामा २०४१ मंसिर ६ गते कारागार कार्यालय धादिङबाट भागी फरार भएका थिए । त्यो बेलामा भागेको भन्दै अदालतबाट २०४२ मंसिर १७ गते फैसला हुँदा उनलाई ५ वर्ष ५ दिन थप कैद हुने ठहर भई उनको नाममा ८ वर्ष ११ महिना १२ दिन कैद बेरुजु गरको थियो । उनै फरार रहेका वस्तीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा हिजो शनिवार जिल्लाको निलकण्ठ नगरपालिका १ खाल्टे स्थितमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । पक्राउ परेका वस्तीलाई आइतबार जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानको लागि कारागार पठाएको जनाएको प्रहरीले जनाएको छ ।
भवितव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ धादिङ ।  भवितव्य ज्यान मुद्धाका एक फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत दिपेश मिजारलाई पक्राउ गरेको धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । सम्मानित धादिङ जिल्ला अदालतबाट मिति २०५६ साल असोज १९ गतेको फैसलाले ६ महिना कैद र ५ सय जरिवाना भइ भवितव्य ज्यान मुद्दाका फरार जिल्ला धादिङ धुनिबेशी नगरपालिका ४ बस्ने ४१ वर्षीय दिपक मिजार भन्ने दिपेश मिजारलाई प्रहरीले आइतबार सोही ठाउँबाट पक्राउ गरेको डिएसपी खड्काले बताए । पक्राउ परेका मिजारलाई आइतबार नै धादिङ जिल्ला अदालतमा पेश गरेर सो कैद भुक्तानको लागि कारागार कार्यालय धादिङ चलान गरेको प्रहरीले जनाएको छ ।
भारतीय नयाँ नक्साको विरोधमा नेविसंघ आन्दोलित काठमाडौं । लिपुलेक, कालापानीलगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेविसंघले राजधानीमा निकालेको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको छ । प्रहरीको कुटाइबाट घाइते भएका विद्यार्थी नेता कृष्ण पुडासैनीको टाउकोमा सात टाँका लगाइएको छ । पक्राउ पर्ने विद्यार्थी नेताहरुमा नवराज त्रिपाठी, मनिस सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे, दिपेश ओली रहेको नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए । पक्राउ परेकालाई तत्काल रिहा नगरे प्रहरी प्रशासन विरुद्ध शशक्त आन्दोलन गर्ने चेतावनी काफ्लेले दिए । राष्ट्रियताको सवालमा नेविसंघले कसैसँग कहिल्यै सम्झौता नगर्ने भन्दै काफ्लेले भारतीय विस्तारवाद विरुद्धको आन्दोलन जारी रहने बताए ।
भारतसँगको सीमा विवाद समाधान गर्न सरकार सचेत छ : नेता पाण्डे काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले भारतसँगको सीमा विवाद समाधान गर्न सरकार सचेत रहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका पाण्डेले भारत सरकारले सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरिरहेको पनि स्पष्ट पारे । आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले नेपालको एक इन्च भूमि पनि गुम्न नदिने दावी गरे । कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले भारत र चीन दुवै मुलुकसँग सीमा विवाद रहेको उल्लेख गर्दै समाधानका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिए । उनले सरकार र मुलुकको सुरक्षा निकाय देशको भूगोलको रक्षा गर्न गम्भिर नभएको आरोप पनि लगाए । समाजवादी पार्टी, नेपालका नेता डा. शिवजी यादव र राष्ट्रिय जनता पार्टी, नेपालका महामन्त्री केशव झाले नेपाली भूमि भारत र चीन दुवै मुलुकले अतिक्रमण गरेको दावी गर्दै ती समस्या समाधानका लागि सरकारले उचित पहलकदमी लिन नसकेको आरोप लगाए ।
राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने तयारीमा दिगो विकास समिति काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले विभिन्न ४ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने भएको छ । समितिको आईतबार बसेको बैठकले राष्ट्रपति चुरे तराई मधेश संरक्षण, काठमाडाैं तराई दु्रतमार्ग, नलगाढ जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो । समितिले सप्तरी, धनुषा, दैलेख, जाजरकोट, कञ्चनपुर र दार्चुलामा भौतिक पूर्वाधार एवं सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम संञ्चालन गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी सिंहदरबारभित्र बनाईएको दिगो विकास श्रोत केन्द्रको मंसिर ८ गते उद्घाटन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नेपाली भूमि अतिक्रमणविरुद्ध काठमाडौंमा पदयात्रा काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा काठमाडौंमा पदयात्रा पनि निकालिएको छ । ‘सीमा बचाऔं–नेपाल’ नामक अभियानको आह्वानमा आईतबार दिउँसो काठमाडौंको भृकुटीमण्डप, पुतलीसडक, बाघबजार हुँदै रत्नपार्कसम्म भारतीय सीमा अतिक्रमणको विरुद्धमा पदयात्रा निकालिएको हो । पदयात्रामा सहभागी भएकाहरुले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेख नेपाली भूमि हो,’ ‘तत्काल सीमा अतिक्रमण बन्द गर’ लगायतका नाराबाजी गर्दै भारतको चर्को विरोध गरेका थिए । उनीहरुले पदयात्राका क्रममा नेपालको एक इन्च भूमि पनि नछाडने चेतावनीसहितको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए । यसै गरी आईतबार स्रष्टाहरुले पनि भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा आपत्ति जनाउँदै काठमाडौंमा प्रर्दशन गरेका थिए ।
उपनिर्वाचनको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उपनिर्वाचनको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष दाहालले सरकारको लोकप्रियता बढेको छ भन्ने सावित गर्ने गरी सो उपनिर्वाचनमा पार्टीलाई विजयी गराउने गरी प्रचार अभियानमा खटिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् । पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारको लोकप्रियता घट्यो भन्नेहरुलाई गलत सावित गराउन तथा पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि सो उपनिर्वाचनमा पार्टीको पक्षमा परिमाण आउने गरी निर्वाचन अभियानमा होमिनुपर्ने बेला आएको पनि बताए । ‘यो उपनिर्वाचन सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि हाम्रो पार्टीका लागि अग्नी परीक्षा भएको छ,’ अध्यक्ष दाहालले भने, ‘त्यसका लागि फिल्डमै गएर प्रचार अभियानमा तीव्रता दिई पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पार्टीका नेता, कार्यकर्ता डटेर अघि बढनु पर्दछ ।’ अध्यक्ष दाहालले उपनिर्वाचनमा पार्टीले अन्य पार्टीले जितेको ८० प्रतिशत क्षेत्रमा पनि विजयी हासिल गर्ने रिर्पोटहरु आईरहेको पनि बताए । उनले यो उपनिर्वाचनमा सबै क्षेत्रमा विजयी भएर पार्टीले आगामी ३ वर्षपछि हुने आम निर्वाचनमा पार्टीलाई झनै शक्तिशाली बनाउने आधार तयार पार्नुपर्ने आवश्यक्ता पनि औंल्याए । अध्यक्ष दाहालले पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाललाई विकास, निर्माण र समृद्धिको विशाल फौजको रुपमा रुपान्तरण गर्न आफूले चाहेको पनि बताए । उनले युवा रोजगारीका विभिन्न कार्यक्रम सञ्चालन गर्न पनि राष्ट्रिय युवा संघ, नेपाललाई निर्देशन दिए । पार्टीकै नेतृत्वको सरकार रहेका बेला युवा रोजगारीको अवसर सञ्चालन हुने गरी विभिन्न कार्यक्रम सञ्चालन गरे त्यसमा सरकारले पनि साथ दिने अध्यक्ष दाहालले राष्ट्रिय युवा संघ, नेपाललाई आश्वासन दिए । अध्यक्ष दाहालले दुई पार्टीबीचको एकता प्रधानमन्त्री, राष्ट्रपति नभई सिंगो देश र जनताको हितको लागि भएको पनि दोहोर्‍याए ।
देशलाई समृद्ध बनाउन नेकपाबाहेकको विकल्प छैन : प्रवक्ता श्रेष्ठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले देशलाई समृद्ध बनाउन नेकपाबाहेक अन्य कुनै विकल्प नभएको बताएका छन् । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ (क) का नेकपा उम्मेदवार डिपी ढकाललाई भोट माग्न आज जनताको घरदैलोमा पुगेका नेता श्रेष्ठले देशलाई समृद्ध बनाउने अभियानस्वरुप भक्तपुरको विकास गर्न र यहाँको मुहार फेर्न नेकपाका उम्मेदवार डिपी ढकाललाई विजयी गराउनुपर्ने बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगारको साथमा समृद्ध भक्तपुर र सुखी भक्तपुरका जनता बनाउन नेकपाको अर्को विकल्प नभएको उल्लेख गरे । प्रवक्ता श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि पनि नेकपालाई निर्वाचित गराउनु पर्ने उनको धारणा थियो । उम्मेदवार ढकाललाई जिताउन मतदातासँग आग्रह गर्दै श्रेष्ठले भने, ‘नेपालको कालापानीलगायतको मिचिएको भू–भाग नेकपाले मात्र फिर्ता गराउन सक्छ ।’ नेकपाको सरकारले स्पष्टरुपमा कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको उनले दाबी गरे ।
व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको व्यवस्थापन काठमाडौँ । सरकार व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको उचित व्यवस्थापनमा अग्रसर देखिएको छ । कर प्रणालीलाई समय सापेक्ष व्यवस्थापन गर्दै मोबाइलबाटै कर तिर्न सक्ने गरी प्रविधिमैत्री बनाउन लागि परेको सरकारले जनाएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले चालु आर्थिक वर्षमा वित्तीय सङ्घीयता कार्यान्वयनसम्बन्धी र करसँग सम्बन्धित सबै कानुनको व्यवस्थापन गरिसक्ने जानकारी दिँदै भने, ‘व्यावसायिक वातावरण नबिग्रने गरी नै हामी काम गर्छौँ, अझै मोबाइलबाटै कर तिर्ने व्यवस्थातर्फ सरकार अग्रसर छ ।’ करदातालाई सरकारले कहिल्यै अँधेरोमा नराख्नेसमेत उनले प्रष्ट्याए । पछिल्लो समयमा सरकारले आयातलाई छाडेर आन्तरिक उत्पादनमा आधारित कर प्रणालीलाई प्रोत्साहन गरिरहेको छ । आवश्यक वस्तुको आयातमा सहजीकरण र प्रोत्साहित गर्ने, अरुलाई आफ्नो उत्पादनले प्रतिस्थापन गर्ने र केही आयातलाई भन्सार र मूल्याङ्कनको विधिबाट व्यवस्थापन गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको छ । अर्थमन्त्री डा. खतिवडाले सङ्घीयतामा धेरै तहका सरकार हुने र सोहीअनुसारको कर प्रणाली हुँदा व्यावसायिक लागत बढ्छ भन्ने कुरालाई सरकारले व्यवस्थापन गरिसकेको भन्दै ‘डुइङ विजनेस इन्डेक्स’ले त्यो कुरा देखाइसकेको उनले बताए । गत वर्ष उक्त इन्डेक्समा नेपाल ११० औँ स्थानमा थियो भने अहिले ९४ आएको छ । ‘राजस्व प्रणालीमा करका कुरा नगर्ने हो भने ऋणको बाटो जाँदा कुनै न कुनै दिन मुलुक सङ्कटमा पर्छ, हामीले अल्पकालीन लोकप्रियताको कुरा गरेर हुन्न दीर्घकालीन सोच राख्नुपर्छ, भोलिको लागि पनि जवाफदेही भएर बस्नुपर्छ, शुरुका दिनमा अप्ठ्यारो भएको होला तर पछि हामी सहज व्यावसायिक वातावरण बनाउँछौँ,’ उनले भने । करमैत्री वातावरण हुनुपर्यो भनेर व्यवसायीले राखेको जिज्ञासामा मन्त्री खतिवडाले व्यवसायीको कुरा सुनेर नै सरकारले व्यावसायिक क्षेत्रका समस्या रोक्न दरमा केही परिवर्तन गरिएको जानकारी दिए । स्वाधीन अर्थतन्त्र बनाउने बाटोमा क्षमताअनुसारको कर लगाएर हिँड्ने या आजबाट करमुक्त भयो भनेर हामी सबैभन्दा बढी ऋणयुक्त मुलुकको बनेर हिँड्ने दुई बाटोमध्ये पहिलो बाटोमा अहिले सरकार लागेको उनले बताए । उनले राजस्व प्रणालीबाट खर्चको ठूलो अंश धानेकाले नेपाल दक्षिण एसियामा सबैभन्दा कम ऋण भएको मुलुुक बनेको दाबी गरे । आठौँ राष्ट्रिय कर दिवसका अवसरमा आज राजधानीमा आयोजित समारोहमा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सामान्य विषयमा फौज्दारी मुद्दा लगाउँदा व्यावसायीमा त्रास फैलिएको भन्ने प्रसङ्गलाई सङ्केत गर्दै अर्थमन्त्री डा खतिवडाले अहिले दण्ड जरिवानाको नभई जवाफदेही बनाउने कानुन मात्रै थपिएको प्रष्ट्याए । उनले राजस्व चुहावटसम्बन्धी ऐन संशोधन गरेर थुनछेक र जेल जानुपर्ने र कैद सजायको व्यवस्था झन् घटाइएको बताए । विश्वव्यापी कानुनको विधिलाई आधार मानेर नै कानुन बनेकाले नमिलेका कानुन मिलाएर जाने उनले प्रतिबद्धता व्यक्त गरे । तीन तहको कानुनमा धेरै कुरा बाँझिएकाले कर उठाउने जिम्मेवारीमा अन्योल सिर्जना भएको स्वीकार गर्दै उनले धेरै समस्या समाधान भइसकेको जानकारी दिए । ‘रोयल्टी र बहाल करको विषयमा केही कुरा यथावतै छ, प्राकृतिक श्रोत साधनमाथिको करको विषयमा केही समस्या छ, यसको समाधानतर्फ गएका छौँ’, अर्थमन्त्रीले भने । उनले कतिपय आफ्नै नीतिका कारण स्वदेशमै रोजगारी बढाउन खोज्दा विप्रेषण घट्न गई कर प्रभावित भएको उल्लेख गर्दै त्यसलाई स्वीकार गरेर चुनौती सामना गर्नुपर्ने बताए । कर प्रणालीमा देखिएको समस्या सम्बोधन गर्दै सामाजिक सुरक्षामा आउन चाहने श्रमिक र रोजगारदातालाई करमा देखिएको द्विविधा व्यवस्थापन गर्न मन्त्रिपरिषद्ले प्रस्ताव अघि बढाइसेको जानकारी दिए । कार्यक्रममा अर्थसचिव डा राजन खनालले कर प्रणालीमा आमूल परिवर्तन भएको तर अझै प्रविधिको प्रयोगमा कमजोर भएकाले सरकारको ध्यान त्यसतर्फ गएको बताए । अर्थमन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले विद्युतीय कारोबारलाई करको दायरामा ल्याउने सरकारी योजना सुनाए । कार्यक्रममा नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कर प्रणालीमा केही सुधार भए पनि अझै दीर्घकालीन रणनीतिको आवश्यकता रहेको औँल्याए । धेरै कर तिर्ने १५ करदाता सम्मानित करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागले यसपटक पनि उत्कृष्ट १५ करदातालाई सम्मान गरेको छ । आठौँ राष्ट्रिय कर दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले विभिन्न विधामा बढी कर तिर्ने उनीहरुलाई सम्मान गरेका हुन् । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सम्मानित भएको छ । यसअघि पनि तीन पटकसम्म सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा थियो । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सिद्धार्थशमशेर जबरा सम्मानित भएका हुन् । सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा उनी यसअघि पाँच पटक सम्मानित भइसकेका हुन् । यस्तै डाबर नेपाल, जगदम्बा स्टिल, अन्नपूर्ण एग्रो छिमेकी लघुवित्त बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल लाइफ इन्स्योरेन्स, मणिपाल मेडिकल कलेज, वल्ड लिङ्क र अग्नि इन्कर्पोरेटले आ–आफ्नो विधामा बढी कर तिर्नेको सूचीमा परेर सम्मानित भएको छ । तारागाउँ रिजेन्सी (हयत) होटल र मध्यमस्तरीय करदाताको तर्फबाट कामना सेवा विकास बैंक, आन्तरिक राजस्वको कार्यालयको कार्यक्षेत्रमा रही धेरै आयकर तिर्नेमा भिएस सर्भिसेस मोरिसस प्रालि सम्मानित भएको हो । समयमै कर बुझाउने तथा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तर्नेमा भने घोराही सिमेन्ट सम्मानित भएको छ । यसपटक सम्मान प्राप्त गर्नेमध्ये सूर्य नेपाल, सिद्धार्थ शमशेर जबरा, घोराही सिमेन्ट, ताराजागउँ रिजेन्सी, छिमेकी लघुवित्त, डाबर नेपाल भने दोहोरिए । रासस
ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ। नम्बर नभएको (अनटेस्ट) पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना३ख १४२४ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए। मोटरसाइकल ट्रकमा ठोक्किएपछि सख्त घाइते भएका दुवैलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइए पनि उपचारका क्रममा दुवैको मृत्यु भएको हो। मृतक दुवैको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। रासस
भीमफेदी कारागारबाट कैदी फरार हेटौँडा । मकवानपुरको भीमफेदी कारागारबाट गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन्। कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन्। कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन कसैको सहयोग रहेको आशङ्का गर्दै कारागार वरिपरि १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेकाले अनुसन्धान भइरहेको जानकारी दिए । यद्यपि पर्खालको केही सानो भागमा ग्याप रहेको र त्यहाँ तार तानिएको भेटिएकाले धामी त्यहीबाट भागेको हुनसक्ने अनुमान रहेको उनले बताए । धामीको खोजीका लागि उनको स्थायी घर चितवन र पुरानो ठेगाना सुनसरीमा समेत ‘अर्लट’ गरिएको जेलर खनालले बताए । कारागारमा रहेका कैदीहरूको आन्तरिक प्रशासनले राति पौने १० बजे आफूलाई खबर गरेपछि तत्कालै खोजीकार्य अघि बढाइएको उनले जानकारी दिए । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले पाँच वर्षदेखि सजाय काटिरहेका थिए। रासस
रोशीमा स्कुटर दुर्घटनामा परी युवतीको मृत्यु बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नंको स्कुटर खाल्टो छलाउने क्रममा आफैँ अनियन्त्रित भई शनिबार दुर्घटना हुँदा स्कुटरमा सवार दुवै घाइते भएको र धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौँ पठाएकोमा उपचारका क्रममा आज बिहान ३ः०० बजेतिर मृत्यु भएको हो। मुत्यु हुनेमा स्कुटरको पछाडि सवार कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका-६ घर भई पुरानो बानेश्वर काठमाडौँ कोठा गरी बस्ने वर्ष १९ की अनुपमाकुमारी राउत रहेको प्रहरीले जनाएको छ। सो दुर्घटनामा परी घाइते भएका स्कुटर चालक रामेछाप मन्थली नगरपालिका-९ घर भई हाल मध्यबनेश्वर काठमाडौँ कोठा गरी बस्ने अन्दाजी वर्ष २२ को गोपाल बोहराको दाहिने हातको औँला र बायाँ खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
तीन वर्षभित्र प्रत्येक घरघरमा खानेपानी : कार्यवाहक मुख्यमन्त्री गुरुङ गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले तीन वर्षभित्र प्रत्येक घरधुरीमा खानेपानी पुर्याइने बताएका छन् । तनहुँको भानु नगरपालिका–३ चाम्बास बृहत् लिफ्टिङ खानेपानी योजनाको आज शिलान्यास गर्दै उनले खानेपानी सुविधा नपुगेका हरेक घरमा खानेपानी सुविधा पु¥याउन प्रदेश सरकार लागिपरेको बताए । कार्यवाहक मुख्यमन्त्री गुरुङले स्थानीय तहसँग मिलेर घरघरमा खानेपानी सुविधा पु¥याउन प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने बताउँदै अझै पनि प्रदेशका धेरै जिल्लामा खानेपानीको सुविधा पुग्न सकेको छैन भने । उनले भने, ‘ती सबै घरधुरीमा तीन वर्षभित्र खानेपानी पुर्याइन्छ ।’ रु चार करोड ९९ लाख ९२ हजार १४० को लागतमा सो खानेपानी आयोजना निर्माण हुन लागेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए । तीमध्ये करीब ५० लाख स्थानीयवासीको लागत सहभागिता रहने उनले जानकारी दिए । खानेपानी योजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको चाम्बास बृहत् लिफ्टिङ खानेपानीका अध्यक्ष पूर्णबहादुर तामाङले जानकारी दिए । मस्र्याङ्दी नदीको पानीलाई डेढ किलोमिटर माथि तानेर २७६ घरधुरीमा खानेपानी सुविधा पुर्याइने बताए । खानेपानीको असुविधा रहेको यस ठाउँमा खानेपानी आयोजना शिलान्यास भएसँगै खुशी छाएको स्थानीयवासी हरिमाया थापाले जानकारी दिए ।
पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् । उनले गुटउपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्र्ने उल्लेख गरे । सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा आज आयोजित कार्यकर्ता भेलामा नेता गच्छदारले आफू पार्टीभित्र कुनै गुटको राजनीतिमा नलाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिले पार्टीमा रहेको गुटउपगुटलाई मिलाउनका लागि आफूले सक्दो पहल गरिरहेको बताए। वर्तमान सरकारबाट जनता आजित भएको उपसभापति गच्छदारको भनाइ थियो । रासस
भ्रमण वर्षमा ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पुर्याइदिन आग्रह गरेका छन् । नवौँ विश्व रेन्जर सम्मेलनको आज सौराहामा समापन गर्दै उनले आफ्ना परिवार, इष्टमित्र र साथीभाईलाई भ्रमण वर्षको निम्तो पुर्याइदिन उनले आग्रह गरेका हुन् । नेपाल जैविक, प्राकृतिक र सांस्कृतिक दृष्टिले असाध्यै धनि देश भएको सम्मेलनका क्रममा सहभागीले जानकारी पाएकोमा आफू विश्वस्त भएको भन्दै मन्त्री भट्टराईले यहाँको पर्यटकीय महत्वलाई विश्वभर पुर्याउन भ्रमण वर्ष फलदायी हुने बताए । नेपालको भूबनोट तराईदेखि हिमालसम्म फैलिएको उनको भनाइ थियो । संरक्षण क्षेत्रमा काम गर्नेहरुकै कारण आज विश्वमा वन र वन्य जन्तु संरक्षण हुन सकेको भन्दै उनले सबै सहभागी संरक्षणकर्मीप्रति आभार प्रकट गरे । विश्वका विभिन्न देशबाट यहाँ भेला भएर गरिएको सो सम्मेलन संरक्षण क्षेत्रमा फलदायी हुने कुरामा आफू विश्वस्त भएको मन्त्री भट्टराईको भनाइ थियो । समुदायमा आधारित भएर गरिने संरक्षण कार्यमा नेपाल उदाहरणीय रहेको उनले बताए । सो अवसरमा अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) का नवनियुक्त अध्यक्ष क्रिश गिल्सले सम्मेलनमा भएका छलफल र निचोडलाई आत्मसात गर्दै महासङ्घलाई अघि वढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले सम्मेलनका लागि नेपाल रोजेकामा सबैलाई धन्यवाद दिँदै सफलतापूर्वक सम्मेलन सम्पन्न भएकोमा खुसी व्यक्त गरे । क्षेत्रीय होटल सङ्घ चितवन सौराहा च्याप्टरका अध्यक्ष दीपक भट्टराईले भ्रमण वर्षको निम्तो आ–आफ्नो देशमा पुर्याइदिन आग्रह गरे । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार दक्षिण अफ्रिकाका गिल्सको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति गठन भएको छ । आउँदो सम्मेलनका लागि पोर्चुगल र पेरुले प्रस्ताव गरेका छन् । नयाँ कार्यसमितिले ती दुई देशलाई सन २०२२ र २०२५ का लागि छनोट गरी निर्णय गर्ने थपलियाले जानकारी दिए । सम्मेलनले चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणमा विश्वभर सहकार्य गरेर पृथ्वीको उपहार वन्यजन्तु भावि पुस्ताका लागि संरक्षण गर्न जरुरी भएको भन्दै चितवन घोषणा पत्र २०१९ जारी गरेको छ । थपलियाका अनुसार घोषणा पत्रमा रेन्जरका हकहित, रेन्जर र समुदायबीचको सम्बन्ध, संरक्षणमा आदिवासी रैथाने समुदायको भूमिका, रेन्जरको क्षमता विकास, संरक्षणमा प्रविधि, महिला रेन्जरको भूमिका र भावी दिनमा रेन्जरले गर्नुपर्ने कार्य समावेश गरिएको घोषणापत्र जारी भएको छ । चितवनको पर्यटकीय नगरी सौराहामा कात्तिक २६ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका थिए । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा एशियामै पहिलो पटक नेपालमा उक्त सम्मेलन आयोजना गरिएको हो । सन् १९९५ देखि शुरु भएको सम्मेलन हरेक तीन/तीन वर्षमा आयोजना गरिँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन २०१६ मा अमेरिकामा भएको थियो । सम्मेलनमा नेपालसहित ७२ देशका ५२६ प्रतिनिधि सहभागी थिए । विदेशी प्रतिनिधिको सङ्ख्या ४८४ रहेको थियो । नेपालले चोरी शिकार नियन्त्रणमा गरेको उल्लेख्य प्रगतिका साथै पाँच पटक गैँडाको शून्य चोरीशिकार वर्षसहित संरक्षण प्रयासमा देखाएको उत्कृष्टताका कारण नेपाललाई चयन गरिएको थियो । विश्वव्यापी ‘टिएक्स २’ लक्ष्यको एक हिस्साका रुपमा नेपालले आफ्नो बाघ संख्या पनि झण्डै दोब्बर गरेको छ । रासस
उपनिर्वाचन २०७६ : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्ष पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । कूल ४८ पदका लागि २७३ उम्मेदवारको नामावली टुङ्गो लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । कूल २८२ उम्मेदवारको मनोनयपत्र दर्ता भएकामा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए ।
आर्थिक प्रतिष्ठानमा ३६ हजारलाई रोजगारी तनहुँ । तनहुँ जिल्लामा सञ्चालनमा रहेका १२ हजार ४३३ प्रतिष्ठानमा ३६ हजारभन्दा बढीले रोजगारी पाएका छन् । केन्द्रीय तथ्याङ्क विभागले गत वर्ष सङ्कलन गरेको आर्थिक गणनाअनुसार जिल्लामा आर्थिक क्रियाकलापमा संलग्न १२ हजार ४३३ प्रतिष्ठानमा ३६ हजार ६८६ ले रोजगारी पाएका हुन् । त्यसमध्ये पुरुषको सङ्ख्या १९ हजार ६५२ र महिलाको सङ्ख्या १७ हजार ३४ रहेका छन् । कूल आर्थिक प्रतिष्ठानमध्ये छ हजार ९१५ दर्ता भएर र पाँच हजार ५१८ प्रतिष्ठान बिनादर्ता सञ्चालनमा रहेको तथ्याङ्क कार्यालय कास्कीका निर्देशक जगुलाल बस्यालले जानकारी दिए । कृषि, वन तथा माछापालन व्यवसायमा ९७२, खानी तथा उत्खननमा ३२४, औद्योगिक उत्पादनमा चार हजार २०२, विद्युत्, ग्यास, बाफ तथा बातानुकूलित आपूर्तिमा १९१, पानी आपूर्ति, ढल, फोहर व्यवस्थापन तथा प्रशोधन क्रियाकलापमा २०४, निर्माणमा ६२ र थोक तथा खु्रदा व्यापार, मोटरगाडी, मोटरसाइकल मर्मतमा १२ हजार ३३६ जनाले रोजगारी पाएका छन् । यसैगरी यातायात तथा गोदाममा ८९, आवास सुविधा तथा खाना व्यवस्थामा चार हजार ३८८, सूचना तथा सञ्चारमा ३००, वित्तीय तथा बीमामा तीन हजार २४८, पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा २२९, प्रशासनिक तथा सहयोगी क्रियाकलापमा ४२, शिक्षामा सात हजार २०९, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलापमा एक हजार ८१४, कला, मनोरञ्जन तथा मनोविनोद क्रियाकलापमा ३३ र अन्य सेवा क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानमा एक हजार ४३ जनाले रोजगारी पाएका छन् । प्रतिवेदनअनुसार जिल्लाको स्थानीय तहमध्ये सबैभन्दा बढी व्यास नगरपालिकामा तीन हजार ४०८ र सबैभन्दा कम घिरिङ गाउँपालिकामा प्रतिष्ठान सञ्चालनमा रहेका छन् । कूल प्रतिष्ठानमध्ये व्यासमा २७.४ र घिरिङमा २।३ प्रतिशत प्रतिष्ठान रहेको छ । भानु नगरपालिकामा एक हजार ३५२, म्याग्दे गाउँपालिकामा ७५३, शुक्लागण्डकी नगरपालिकामा दुई हजार ४७२, भीमाद नगरपालिकामा एक हजार ११, ऋषिङ गाउँपालिकामा ५६९, देवघाट गाउँपालिकामा ३५३, बन्दीपुर गाउँपालिकामा एक हजार १८२ र आँबुखैरेनी गाउँपालिकामा एक हजार ३७ प्रतिष्ठान सञ्चालनमा रहेको छ । जिल्लामा कृषि, वन तथा माछापालन व्यवसाय, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित आपूर्ति, पानी आपूर्ति, ढल, फोहर व्यवस्थापन तथा प्रशोधन, निर्माणलगायतका क्षेत्रानुसारका प्रतिष्ठान रहेका छन् । यस्तै थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकल मर्मत, यातायात तथा गोदाम, आवास सुविधा तथा खाना व्यवस्थापन, सूचना तथा सञ्चार, वित्तीय तथा बीमा, घरजग्गा कारोवार, पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप, प्रशासनिक तथा सहयोगी क्रियाकलाप, शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलाप, कला, मनोरञ्जन तथा मनोविनोद क्रियाकलाप र अन्य सेवा क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठान जिल्लामा रहेका छन् । प्रतिवेदनअनुसार जिल्लामा सबैभन्दा बढी थोक तथा खुद्रा व्यापार, मोटरगाडी, मोटरसाइकलको मर्मत गर्ने प्रतिष्ठान १२ हजार ३३६ रहेको छ । जिल्लामा रहेका प्रतिष्ठानमध्ये आठ हजार २१ ले लेखाश्रेस्ता राख्ने र चार हजार ८८ ले लेखाश्रेस्ता राख्ने नगरेको पाइएको छ । उक्त प्रतिष्ठानमध्ये व्यावसायिक उद्देश्यका लागि ऋण लिएका प्रतिष्ठान सङ्ख्या तीन हजार ९२९, वित्तीय संस्था दुई हजार ४८५ र वित्तीय संस्थाबाहेकका एक हजार ४४८ प्रतिष्ठान जिल्लामा छन् । आफ्नै भवन वा कोठामा सञ्चालन हुने प्रतिष्ठानको सङ्ख्या छ हजार ९१०, भाडाको भवन वा कोठामा सञ्चालन हुने प्रतिष्ठानको सङ्ख्या चार हजार ८०३, भाडा वा ठेक्काको भवन वा कोठामा सञ्चालन हुने प्रतिष्ठानको सङ्ख्या ५४ र अन्य प्रकारको स्वामित्व स्थिति भएका भवन वा कोठामा सञ्चालन हुने प्रतिष्ठानको सङ्ख्या १८९ छ । तथ्याङ्क विभागले गत वर्ष वैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म आर्थिक गणनाका लागि जिल्लामा गणक खटाएको थियो । आर्थिक तथ्याङ्कको आधार खडा गर्न र प्रतिष्ठान तथा व्यवसायको व्यावसायिक क्रियाकलापसम्बन्धी वर्तमान अवस्थाका आधारभूत तथ्याङ्क उपलब्ध गराउन सरकारले आर्थिक गणना गरेको थियो । नेपालको तथ्याङ्कीय इतिहासमा पहिलोपटक आर्थिक गणनामा कागजी प्रश्नावली फारामका साथै अनलाइन सर्वेक्षणमार्फत उत्तरदाताले आफ्नो प्रतिष्ठानको विवरण आफैँ भर्नसक्ने र गणकमार्फत पनि गणना गर्न सकिने विधि अपनाइएको थियो । गण्डकी प्रदेशमा तेस्रो आर्थिक प्रतिष्ठान धेरै हुने जिल्लामध्ये तनहुँ गण्डकी प्रदेशको तेस्रो स्थानमा रहेको छ । तथ्याङ्क कार्यालय कास्कीका अनुसार गण्डकी प्रदेशमा कूल एक लाख ६८४ आर्थिक प्रतिष्ठान छन् । ती प्रतिष्ठानमा तीन लाख ३२ हजार ४७२ जनशक्ति संलग्न छन् । आर्थिक प्रतिष्ठान बढी हुने पहिलो जिल्ला कास्कीमा ३० हजार ७४५ प्रतिष्ठान छन् । त्यस्तै दोस्रो नवलपुरमा १२ हजार ७४५, तेस्रो तनहुँमा १२ हजार ४३३, चौथो गोरखामा १० हजार ९७२, पाँचाैँ बागलुङमा आठ हजार ९२३, छैटौँ स्याङ्जामा सात हजार ४१०, सातौँ लमजुङमा छ हजार ४११, आठौँ म्याग्दीमा पाँच हजार ६३, नवौँ पर्वतमा चार हजार ७२०, दशौँ मनाङमा ४८७ र एघारौँ मुस्ताङमा ७७५ आर्थिक प्रतिष्ठान छन् । रासस
असल समाज निर्माणका लागि आशावादी रहन नेता नेपालको आग्रह काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निराश नहुन सबै नागरिकलाई आग्रह गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले असल समाज निर्माणका लागि आशावादी हुनैपर्ने पनि स्पष्ट पारे । उनले साहित्यकारहरुलाई सुन्दर समाज निर्माणका लागि प्रेरित गर्नेखालका साहित्यिक कृतिहरुको रचना गर्न पनि सचेत गराए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार संविदा वाग्लेद्धारा लिखित ‘नवपल्लव’ र अर्की साहित्यकार उषा थपलियाद्धारा लिखित ‘नारी, तिमी हारेकी छैनौं’ नामक पुस्तकको एकसाथ लोकार्पण गर्दै उनले सुन्दर समाज निर्माणका लागि साहित्यिक रचनाहरुले पनि प्रेरित गर्नुपर्ने आवश्यक्ता औंल्याए । त्यस अवसरमा वरिष्ठ नेता नेपालले समाजमा सकारात्मक योगदान पुर्याउने गरी साहित्यिक कृतिहरुको सृजना गरेको भन्दै साहित्यकारद्धय संविदा वाग्ले र उषा थपलियाप्रति आभार पनि व्यक्त गरे । नेता नेपालले समाजमा विध्वंश मच्चाउने खालका कुनै पनि गतिविधि हुन नदिन साहित्यिक रचनाहरुले उत्पेरक तत्वको भूमिका निर्वाह गर्नुपर्ने पनि बताए ।
सागमा कम्तिमा ५० स्वर्ण जित्ने नेपालकाे लक्ष्य काठमाडौं । नेपालले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कम्तिमा ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ । १३ औं साग मुल आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरि दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा कम्तिमा ५० स्वर्ण जित्ने लक्ष्य राखिएको जनाएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले प्रतियोगिता आयोजनासंगै प्रर्दशन र नतिजाको हिसाबले पनि राम्रो तयारी भएकाले धेरै स्वर्ण पदक जित्ने सम्भावना बढेको बताएका हुन् । परिषद्ले २१ जना खेलाडीलाई बैदेशिक प्रशिक्षणमा पठाएको छ भने नेपालमै रहेका अधिकांश खेलमा पनि विदेशी प्रशिक्षक ल्याएर तयारी गरिरहेको छ । सदस्य सचिव सिलवालले स्वर्ण पदक हासिल गर्नका लागि तयारी राम्रो भएको र खेलाडी तथा प्रशिक्षकलाई हौसला प्रदान गर्नका लागि एकसाता भित्र छुट्टै कार्यक्रम गरी प्रधानमन्त्रीले सम्बोधन गर्ने पनि जानकारी दिएका छन् । उनले पुर्वाधारका बाँकी कामहरु पनि सम्पन्न हुने क्रममा रहेको बताए । पत्रकार सम्मेलनमा साग मुल आयोजक समिति अन्र्तगत प्रचार प्रसार तथा प्रकाशन समितिका संयोजक शिव कोइरालाले विगतको तुलनामा तयारी राम्रो, भत्तामा वृद्धिलगायतले खेलाडीको हौसला बढेकाले उत्साहजनक खेल हुनुको साथै अहिलेसम्मकै राम्रो नतिजा हासिल गर्ने अपेक्षा आफूहरुले लिएको बताए । सात देशका ३ हजार बढी खेलाडी र अफिसियल गरि सागमा ५ हजार विदेशी पाहुना सहभागी हुने बताईएको छ । काठमाडौंमा २१, पोखरामा ९ र जनकपुरमा १ खेलको आयोजना हुने छ । फुटबल, भलिबल, क्रिकेटका खेलहरु पोखरा र काठमाण्डौ दुवै स्थानमा हुनेछन् । प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कास्य गरि कुल १ हजार १ सय ३५ पदका लागि प्रतिस्पर्धा हुनेछ । सरकारले साग प्रतियोगिता गर्नका लागि आवश्यक पुर्वाधार निर्माणको लागि १ अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाको लागि ३ अर्ब ६५ करोड रुपैयाँको बजेट निकासा गरेको छ ।
कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउनुपर्छ : मुख्यमन्त्री पौडेल प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउने तयारीमा रहेको बताएका छन् । जिल्ला समन्वय समिति चितवनको तेस्रो जिल्लासभालाई आज सम्बोधन गर्दै उनले मुलुकलाई समृद्धि बनाउनेतर्फ केन्द्रित भएर विकासका योजना निर्माण गर्न सबै स्थानीय तहलाई आग्रह गरे । मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिने तयारीमा प्रदेश सरकार रहेको उल्लेख गर्दै निष्कृय बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिने तयारी गरेको छ भने । जिल्ला समन्वय समितिको काम समन्वय गर्ने भएकाले हरेक स्थानीय तहसँग समन्वय गरेर विकास निर्माणमा अग्रसरता लिन आग्रह गर्दै उनले भने, ‘विकास निर्माणका कार्यलाई अनुगमन गर्दै समृद्धिको यात्रामा सहयोग पुर्याउनु पर्दछ ।’ समग्र चितवनवासीको एउटै ‘चिन्तन, सफा सुन्दर र समृद्ध चितवन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको तेस्रो जिल्लासभामा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले चालू आवका लागि आन्तरिकतर्फ रु ३९ करोड ६५ लाख ५६ हजार ६६८ र बाह्य स्रोततर्फ रु दुई करोड छ लाख ६९ हजार ९७३ को बजेट पेश गरेका थिए । सो अवसरमा डल्लाकोटीले आगामी वर्षमा जिल्लामा गरिने पाँच वटा विशेष प्रस्तावसमेत पेश गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, नेकपाका नेता तेजेन्द्र खड्का, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, धुर्मुश सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुनाकुमारी श्रेष्ठ लगायतले जिल्लाको सम्रग विकासका विविध पक्षमाथि प्रकाश पारे ।
अरनिको राजमार्गमा तेल ट्याङ्कर दुर्घटना, चालक र सहचालकको मृत्यु बनेपा । धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार मकवानपुर जिल्ला हेटौँडा घर भएका ३० वर्षीय चालक लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारका लागि नर्भिक अस्पताल लैजाँदै गर्दा शुक्रबार राति बाटोमा नै मृत्यु भएको हो। चालक लामाको शव धुलिखेल अस्पतालमा र सहचालक लामाको शव नर्भिक अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ। धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना७ख ३७६० नंको डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो। ट्याङ्कर दुर्घटना हुँदा घटनास्थल नजीकै बिग्रेको बा२ख ६२५६ नंको यात्रुवाहक बसमा काम गर्ने उदयपुर आँपटार गाविस–१ का सहचालक सोभितबहादुर कटुवाल भने घाइते भई धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। कटुवाल दुर्घटना भएको ठाउँको डिलमा उभिएर बसेको अवस्थामा ट्याङ्करले सोहोरेर लगी घाइते भएको प्रहरीले जनाएको छ। रासस
भरतपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो। मोटरसाइकल पल्टिएपछि घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना राति १२ बजे भएको थियो।
बसको ठक्करबाट एक जनाको मृत्यु जनकपुर । बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुर–११ का ४१ वर्षीय गोविन्द साह रहेका छन् । लक्ष्मीनिया गाउँपालिका–६ निकाल सडकखण्डमा जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना ७ ख ३६९३ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ५४६१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार साहको मृत्यु भएको प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएका धिरेश साहको उपचार भइरहेको छ । बस चालकलाई महेन्द्रनगर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । रासस
अफगानिस्तानमा चार जिल्ला स्तरीय प्रहरी अधिकृत मारिए अफगानिस्तान । (रासस/सिन्ह्वा) । अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन् । तालिबानी लडाकूहरुले राखेको विद्युतीय धरापमा परी उनीहरुको शुक्रबार विहान मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । ‘तखार प्रान्तमा पर्ने वार्साज जिल्लाका प्रहरी प्रमुख अफ्जाल हकिमी र उहाँका अरु तीन जना सहकर्मीको मृत्यु भएको छ,’ तखार प्रान्तको प्रान्तीय सरकारका प्रवक्ता जवाद हिजीरीले सिन्ह्वासँग भने । घटना भएको ठाउँ प्रहरी प्रमुख हकिमीको गृह जिल्ला जाने बाटोमा पर्दछ । त्यो क्षेत्र तालिबान लडाकूहरुको बढी प्रभाव रहेको क्षेत्र मानिन्छ ।
क्यालिफोर्नियामा स्कुलभित्र गोली प्रहार, दुई विद्यार्थीको मृत्यु सान्ता क्लारिटा (रासस/एएफपी) । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा अरु तीन जना विद्यार्थी पनि घाइते भएका छन् । साथीहरुमाथि पेस्तोल प्रहार गरेपछि आत्महत्या गर्न आफैंमाथि गोली चलाएका ती किशोरलाई प्रहरीले गम्भीर अवस्थामा गिरफ्तार गरेको छ । ती विद्यार्थीको स्वास्थ्य अवस्था अत्यन्त नाजूक रहेको प्रहरीले जनाएको छ । सान्टा क्लारिटाको सघस माध्यमिक विद्यालयमा गोली चलेको आवाज आएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । विगत दुई दशकमा अमेरिकी स्कुलहरुमा भएका ‘मास सुटिङ’ मा ३०० भन्दा बढी विद्यार्थी र किशोर किशोरीको मृत्यु भइसकेको छ । अमेरिकी संसदमा सर्वसाधारणलाई बन्दुक राख्न दिने कानुनमा कडाई गर्न लामो समयदेखि बहस जारी छ, तर अमेरिकाका मुख्य दुई दल रिपब्लीकन पार्टी र डेमोक्र्याटिक पार्टीबीच सहमति हुन सकेको छैन । रिपब्लीकन पार्टीबाट प्रतिनिधित्व गर्नुहुने राष्ट्रपति डोनाल्ड ट्रम्प पनि बन्दुकमाथि धेरै कडाई गर्न नहुने पक्षमा हुनुहुन्छ, तर डेमोक्र्याट पार्टी कडा नियमको पक्षमा छ । प्रहरी अधिकृत केन्ट वेगेनरले एसियाली मूलका एक किशोरले आफ्नो झोलाबाट बन्दुक झिकेर साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएको र अन्त्यमा आत्महत्या गर्ने मनशायले आफैंलाई गोली हानेको जानकारी दिए । स्कुलमा गोली चलाउनुपर्ने कारणबारे केही खुलेको छैन । मृत्यु हुनेहरुमा १६ वर्षकी एक किशोरी र १४ वर्षका बालक रहेका छन् । घाइते हुनेहरुमा एक जना १४ वर्षीय बालक र दुईजना १५ वर्षका बालिकाहरु रहेका छन् । यस विद्यालयमा करिब दुई हजार ३०० विद्यार्थी अध्ययनरत छन् । अमेरिकी राष्ट्रपति, सभामुख, सिनेटरहरु तथा क्यालिफोर्नियाका गभर्नर समेतले पछिल्लो घटनाबाट आफूहरु अत्यन्त दुःखी भएको बताएका छन् ।
स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उम्मेदवारको नामावली आज प्रकाशन गरेको छ । आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथि छानबिन गर्ने तथा नामावली प्रकाशन गर्ने कार्य आज सम्पन्न भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–१० का वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार देवराज भारतीको विरोधमा स्वतन्त्र उम्मेदवार शिवभक्त ठाकुर (नाउ)को उजुरी परेको थियो । यस्तै पाँचथरको फिदिम नगरपालिका–१ का वडाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)का उम्मेदवार जानुका थाम्सुहाङको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मिलन गिरीको उजुरी दर्ता गरनाउनुभए पनि ती उजुरी बदर गरेको र मनोनयपत्र पत्र सदर गरिएको आयोगको भनाइ छ । रासस
आर्थिक अनुशासन कायम राख्न आन्तरिक लेखा परीक्षण : अर्थमन्त्री काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक अनुशासन कायम गर्न आन्तरिक लेखा परीक्षणलाई प्रभावकारी एवं जिम्मेवार बनाउनुपर्ने बताए । महालेखा नियन्त्रक कार्यालयले पेश गरेको आर्थिक वर्ष २०७५/७६ को आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन बुझ्दै उनले आन्तरिक लेखा परीक्षणलाई बढी जिम्मेवार बनाउनुपर्ने बताए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा महालेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखा परीक्षण प्रतिवेदनको एकीकृत वार्षिक प्रतिवेदन तयार गरी प्रत्येक वर्षको कात्तिक मसान्तसम्म अर्थमन्त्रीसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम नै उक्त ऐन लागू भएपछि पहिलोपटक प्रतिवेदन पेश भएको हो । प्रतिवेदन बुझ्दै अर्थमन्त्री डा खतिवडाले सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पाटो वित्तीय उत्तरदायित्व, पारदर्शिता र आर्थिक अनुशासनको पालना भएको उल्लेख गरेको अर्थमन्त्री खतिवडाको सचिवालयले जनाएको छ । अर्थमन्त्रीले प्रतिवेदनले अन्तिम लेखा परीक्षण गर्दा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वित्तीय सङ्घीयता सफल र प्रभावकारी हुन लेखासँग सम्बन्धित काम स्वतः पारदर्शी र स्वच्छ हुनुपर्नेमा जोड दिए । बेरुजुलाई शून्यमा झार्न सार्वजनिक खरीद प्रक्रियामा सुधार गर्दै आवश्यक ऐन कानून समयसापेक्ष संशोधन, अग्रिम भुक्तानी प्रक्रियामा रोक, कामको प्रगतिका आधारमा भुक्तानीजस्ता विषयमा सुधार हुनुपर्ने उल्लेख गरे । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७५/७६ को निकासा, खर्च रु ११ खर्ब नौ अर्ब भएकोमा आन्तरिक लेखापरीक्षणबाट बेरुजु रु १७ अर्ब २१ करोड र म्याद ननाघेको पेश्की ३० अर्ब ४१ करोड देखिएको छ । उक्त बेरुजु रकम कूल निकासा खर्चको १.५५ प्रतिशत हुन आउँछ । आव २०७५/७६ को विनियोजन, राजश्व, धरौटी र कार्य सञ्चालन कोषको आन्तरिक लेखापरीक्षण कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सम्पन्न गरी देखिएका बेरुजु एकल खाता कोष प्रणालीमा प्रविष्टि गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । रासस
शान्ति, सुशासान र स्थिरताको पक्षमा मतदान गरौं : नेता नेपाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शान्ति, सुशासन र स्थिरताको पक्षमा मतदान गर्न मतदातालाई अपिल गरेका छन् । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि पार्टीद्वारा यहाँका बलवा, मटिहानी र पिपरा गाउँपालिकामा आयोजित कार्यक्रममा उनले जनताको मुख्य चासो र चाहना भ्रष्टाचारमुक्त जनमुखी प्रशासन रहेको औँल्याए । ‘ठूला कुरा नगरौँ, अहिले जनताले खोजेको र चाहेको मुख्य कुरा नै स्वच्छ प्रशासन हो’, नेता नेपालले भने, ‘मतदाताले यि माग सम्बोधन गर्नसक्ने दललाई मतदान गर्नुपर्छ ।’ मुलुकमा स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको स्पष्ट पार्दै उनले स्थिर सरकार दिनसक्ने दल जनताले ठम्याउनु पर्ने उल्लेख गरे । पिपराको अध्यक्ष, बलेवा–२ र ८ तथा मटिहानी–६ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रिय अखण्डता र सीमा सुरक्षाका कुरामा जनताको चासो बढेको उल्लेख गरे । सरकारले जनचासोका विषयबारे स्पष्ट अडानसाथ मित्रराष्ट्रसँग कुटनीतिक पहल गरी समस्याको निदान खोज्नु पर्ने बताए ।
कैलालीमा इमर्जिङ कप फुटसल प्रतियोगिता शुरु कैलाली । ‘गन्तव्य एजुकेशन फाउण्डेसन कैलाली’को आयोजनामा यहाँ गन्तव्य इमर्जिङ कप फुटसल प्रतियोगिता शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त अन्तर माध्यमिक विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पहिलो दिन आज सात खेल सम्पन्न भएका छन् । पहिलो खेलमा पञ्चोदय माविले कैलाली मोडेल स्कुललाई ९–० गोलले पराजित गरेको छ । पञ्चोदयका लागि सुशिल विकले दोहोरो ह्याट्रिक गरे । रोशन विकले दुई तथा हिमाल सिंहले एक गोल गरे । दोस्रो खेलमा आइएचआइटी कलेजले लाइफ लाइन कलेजलाई ३–१ गोलले हरायो । आइएचआइटीका लागि वासुदेव बोहोराले दुई तथा उत्तम मगरले एक गोल गरे । लाइफ लाइनका लागि विनोद थापाले एक गोल गरे । तेस्रो खेलमा ऐश्वर्य विद्या निकेतनले सहारा होटेल म्यानेजमेन्टलाई ५–० गोलले जित्यो । ऐश्वर्यका लागि जिरत सेख, विनोद बम, अवदेश खड्का, सुभम श्रेष्ठ र विजयविक्रम भण्डारीले एक÷एक गोल गरे । यस्तै चौथो खेलमा टेम्पल होटेल म्यानेजमेन्टले एक्सीस विद्याश्रमलाई ११–३ गोलले हरायो । टेम्पलका लागि विनोद खत्रीले दोहोरो ह्याट्रिक गर्दा डवल मन्नी र रोहित चौधरीले दुई÷दुई तथा महेश कलेलले एक गोल गरे । एक्सीसका लागि आदेश चौधरीले दुई तथा सुनिल बोहोराले एक गोल गरे । पाँचौँ खेलमा त्रिनगर माविले लिटिल फ्लावरलाई ५–२ गालले पराजित गर्यो । त्रिनगरका लागि लक्ष्मण दमाईले चार तथा हरि पार्कीले एक गोल गरे । लिटिल फ्लावरका लागि दीपेन्द्र जोशी र सलोन तामाङले एक÷एक गोल गरे । छैटौँ खेलमा नेक्सस एजुकेशनले आयोजक गन्तव्य एजुकेशन फाउण्डेसनलाई ७–० गोलले हरायो । नेक्ससका लागि सुरज रावल र योगेश रावलले ह्याट्रिक गरे भने कुवेर शाहीले एक गोल गरे । सातौँ खेलमा हिलवल्र्ड स्कुलले बाई पायो । आयोजक गन्तव्य एजुकेशन फाउण्डेसनका खेल संयोजक मुकुन्दबहादुर सिंहका अनुसार प्रतियोगितामा १३ विद्यालय सहभागी छन् । विजेताले रु २२ हजार २२२ तथा उपविजेताले रु ११ हजार १११ पुरस्कार प्राप्त गर्नेछ ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नेकपाका नेता सूर्य थापा नियुक्त काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डा कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो । नेता थापाले यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी कुशलतापर्वक निर्वाह गरेका थिए । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादकसमेत हुन् । थापाका विभिन्न पुस्तकसमेत प्रकाशित छन् ।
मेगा बैंकबाट ११.७५ प्रतिशत नगद लाभांश पारित काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको छ । काठमाडौँमा शुक्रबार सम्पन्न मेगा बैंकको नवौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश पारित गरेको हो । आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४ सय ५४ रुपैयाँको ११ दशमलव ७५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैँया ८१ पैसालाई नगद लाभांश स्वरुप शेयरधनीलाई वितरणका लागि पारित गरेको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । साधारण सभामा अध्यक्ष शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि प्रस्ताव पेश गरेका थिए । सो सम्बन्धी प्रस्तावलाई पारित गर्दै साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । अध्यक्ष शाहले मेगा बैंकलाई देशकै अग्रणी र अलगै पहिचान सहितको बैंक बनाउने उद्देश्यले मर्जर तथा एक्वीजिशनलाई पनि प्राथमिकता दिएको साधारण सभालाई जानकारी दिए । ‘आफ्नो पुँजी तथा व्यवसायको आकारमा वृद्धि गर्दै उत्कृष्ट वाणिज्य बैंकको रुपमा स्थापित गर्ने उद्देश्यलाई बढावा दिन पोखरामा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको “ख” वर्गको वित्तीय संस्थाको रुपमा सञ्चालित गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न असोज ८ गते समझदारीपत्रमा हस्ताक्षर गरी सैद्दान्तिक सहमति समेत गरिसकेका छौँ,’ उनले भने । उक्त प्राप्ति प्रक्रिया सम्बन्धी कार्यहरु सम्पन्न भएपश्चात स्वीकृतिको लागि साधारण सभामा प्रस्ताव पेश गरिनेछ’, अध्यक्ष शाहले भने, ‘गण्डकी विकास बैंक प्राप्तिपश्चात मेगा बैंकको शाखा सञ्जाल देशव्यापी रुपमा २१० वटा भन्दा बढी रहन गई व्यवसायको आकारको आधारमा हालको १० ठूला वाणिज्य बैंक मध्येको बैंकको रुपमा मेगा बैंक स्थापित हुन सफल हुनेछ ।’ स्थापनाको एक दशक नबित्दै समकालिन बैंकहरुमा उत्कृष्ट बन्न सफल भएकोमा गौरवान्वित भएको अध्यक्ष शाहले बताए । साधारण सभामा सिइओ अनुपमा खुञ्जेलीले ग्राहकहरुको विश्वास जित्दै अघि बढ्न सफल भएकाले बैंकको सञ्जाल, व्यवसाय र मुनाफाको आकारमा उल्लेख्य प्रगति भएको बताए । स्थापनाकालदेखि नै गरिबीको रेखामुनी रहेका र मध्यमवर्गीय नेपालीहरुलाई प्राथमिकता दिँदै नवीनतम र अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको उनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित बैंकको छवि बनाउन सफल भएकै कारण बैंकले यस वर्ष साना तथा मझौला व्यवसाय र लघुवित्त कर्जा गरी दुई विधामा उत्कृष्ट बैंकको रुपमा अन्तर्राष्ट्रियस्तरको ‘एशिया मनी अवार्ड’ जित्न सफल भएको सिइओ खुञ्जेलीले बताए । बैंकको उपलब्धिका लागि सबै सरोकारवाला, संस्थापक, सर्वसाधारण शेयरधनी, नियमक निकाय र ग्राहकवर्गलाई उनले धन्यवाद दिए । गत आर्थिक बर्षमा २३ दशमलव ७१ प्रतिशत मुनाफा बृद्धि गर्न सफल भएको जानकारी दिँदै सिइओ खुञ्जेलीले मुनाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि बैंकले उत्तिकै प्राथमिकता दिएको बताए । सोही बमोजिम देशभरका प्रत्येक शाखाबाट एक–एक जना गरी १ सय २ जना असहाय छात्राहरुलगायत डोल्पा जिल्लास्थित उत्पीडित जनजाति समुदायको तर्फबाट एसईई परिक्षामा एक प्लस ग्रेड हासिल गर्न सफल विद्यार्थी छिरिङ दावा बुढामगरलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरी कक्षा १ देखि १२ सम्मको पठनपाठनका लागि शैक्षिक सामाग्रीलगायत छात्रवृत्तिको व्यवस्था गरेको उनले जानकारी दिए । ‘छात्रवृत्ति अभियानबाट आर्थिक अभावमा बालिकाहरुले बीचमै पढाई छाड्नुपर्ने बाध्यताको अन्त्य हुने हामीले विश्वास लिएका छौँ । गरिब, असहाय बालिकाहरुको उज्जवल भविष्यका लागि यो छात्रवृत्ति महत्वपूर्ण सावित हुनेछ ।’– सिइओ खुञ्जेलीले भने । मेगा बैंकका अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, १११ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु रहेका छन् । बैंकको आफ्नै विप्रेषण प्रविधि “मेगारेमिट” को देशभर लगभग २,५०० भन्दा अधिक प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २१ पुगेको छ । बैंकले आप्mनो व्यावसायिक दायरा वृद्धि गर्न मर्चेन्ट बैंकिङ्ग व्यवसायको लागि बैंकको सहायक कम्पनी ‘मेगा क्यापिटल मार्केट्स् लिमिटेड’ ले सञ्चालन अनुमति प्राप्त गरी २०७६ बैशाखबाट कारोबार सञ्चालन गरिसकेको छ । यसका अलवा धितोपत्र व्यवसायी÷शेयर दलालको कार्य गर्न बैंकको शत प्रतिशत स्वामित्व रहने गरी ‘मेगा स्टक मार्केटस् लिमिटेड’ को नाममा सहायक कम्पनी दर्ता भई सञ्चालन अनुमतिको प्रक्रियामा रहेको छ । मेगा बैंकले बैंकको आन्तरिक जीवनलाई मजबुत एवं सहयोगात्मक र भरपर्दो बनाउन मेगा बैंकका कर्मचारीका लागि आफ्नै ‘मेगा लर्निङ, रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर’ सुरुवात गरेको छ । यसका साथै, ग्राहकको चाहना र आधुनिक प्रविधिलाई मध्यनजर राख्दै अत्याधुनिक डिजिटल सूचना प्रविधि प्रणाली संचालनमा ल्याएको मेगा बैंकले जनाएको छ । जसले कारोबार सुरक्षित हुनुका साथै ग्राहकमैत्री सेवा विस्तार गर्न मद्दत पुग्ने बैंकको विश्वास छ । ग्राहक तथा शेयरहोल्डर सेवा अन्तरगत मेगा बैंकले अस्पताल, एयरलायन्स, डिपार्टमेन्ट स्टोर, होटल, शिक्षालय तथा अन्य क्षेत्रमा मेगा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष सहुलियतको प्रबन्ध गर्ने प्रतिबद्धता अन्तरगत यस वर्ष ग्रान्डी अस्पताल, स्टार अस्पताललगायतका अस्पताल र कतार एयरलायन्समा छुटको व्यवस्था गरेको छ ।
हिन्दू अधिराज्य स्थापना गर्न मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह काठमाडौं । नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउनको लागि स्वतन्त्र नागरिक समाजले आगामी मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गर्ने भएको छ । उक्त सत्याग्रहमा समाजका संयोजक हेमविक्रम सिलवाल बस्ने भएका हुन् । सत्याग्रह विहान ८ बजे काठमाडौंको शान्तिवाटिकामा सुरु हुनेछ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले खबरदारीको कारण सरकार सुध्रिने कुनै लक्षण नदेखिएको र जनताको आवाजलाई बेवास्ता गरिएको आरोप लगाएको छ । समाजद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो देशलाई यस भयानक आर्थिक–राजनीतिक संकटको दलदल र असफल राष्ट्र हुनबाट समयमै जोगाउन हामी यही २०७६ साल मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गर्न बाध्य हुनुको विकल्प नरहेको कुरा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जानकारी दिँदै स्वतन्त्र नागरिक समाज सारा स्वदेश तथा विदेशमा रहेका भएका आम नेपाली जनतालाई यो देशको धर्म, संस्कृति, मूल्य मान्यता अनि परम्परा जोगाउन, देशमा संवैधानिक राजतन्त्र तथा हिन्दू अधिराज्य स्थापना गर्न पहिला सबै नेपाली भएर सोचौं र यस सत्याग्रहमा बृहत्त सहभागी जनाई आफ्नो दायित्व निर्वाह गरी सफल पारिदिनु हुन हार्दिृक अनुरोध तथा आह्वान गर्दछौं ।’ समाजले आफ्नो स्थापनाकालदेखि नै जनताको मौलिक हकहितका कुरा, भ्रष्टाचार विरोधी, प्रेस तथा वाक स्वतन्त्रता, गरिबी निवारण, देशमा राजनीतिक स्थिरता र राष्ट्रिय एकताको लागि राजसंस्था र नेपाललाई हिन्दू अधिराज्य स्थापना गर्ने सम्बन्धमा आवाज उठाई आएको जनाएको छ । नेपाली जनताले लगभग ७० वर्ष प्रजातान्त्रिक आन्दोनलमा समय व्यतित गरेको उल्लेख गर्दै समाजले यो अवधिमा जनताले केही पनि उपलब्धि हााँसिल गर्न नसकेको दाबी गरेको छ । नागरिकको तर्फबाट हेर्दा जनताले भएको पनि गुमाएको समाजको ठहर छ । समाजले थप भनेको छ, ‘आज देश भ्रष्टाचार, दण्डहीनता, कूटनीतिक रणभूमिको दलदलमा फस्दै गएको छ । प्रजातन्त्र भनेपनि हाम्रो देशमा निषेधको राजनीति मौलायो । मानव सभ्यताको सृष्टिकालदेखि नै १६ औं शताब्दी होस वा १८ औं शताब्दीकालमा विश्व साम्राज्यवादीहरुको हैकमबाद विस्तार हुँदा विश्वलाई उपनिवेश बनाउँदा पनि नेपाल एक स्वतन्त्र, सार्वभौम, स्वाधिन र अभिभाज्य राष्ट्र थियो । अहिले हामी २१ औं शताब्दीमा आएर आफ्नो कला, संस्कृति, मूल्य र मान्यतालाई बिर्सने र समाजलाई धर्मनिरपेक्षताको नाममा नाष्तिक बनाउँदै लैजाने र भविष्यमा मूलुकको विश्व मानचित्रमा नेपालको नाम निशानै मेटाउने खालका अलोकतान्त्रिक गतिविधि हुनु हामी नेपाली आफैंमा विवेकहीनता र लाजशर्मको कुरा हो ।’ ‘समाजका संयोजक हेमविक्रम सिलवालले फाष्टट्रयाकको नाममा २०७२ सालको संविधान जारी गरिएकोले उक्त संविधानलाई मुलुकले नचिनेको आरोप लगाए । त्यतिमात्रै होईन’, उनले उक्त संविधानले नेपाली जनताको हकअधिकार पनि सुरक्षित नगरेको दाबी गरे । उनले वर्तमान दुई तिहाई बहुमत प्राप्त सरकार स्वेच्छाचारी हुँदै गएको आरोप लगाए । समाजले वर्तमान सरकार गठन भएपछि देशमा बेरोजगारीको समस्या विकराल भएको, लुटपाट, बलात्कार र हत्याहिंसाकाजस्ता जघन्य अपराध बढ्दै गएको, मानवअधिकार हनन् भएको, न्यायलयमा हस्तक्षेप बढेको, राज्यबाटै संस्थागत भ्रष्टाचार भएको, शीर्ष नेतृत्वबाटे अनैतिक काम भएको आरोप लगाए । उनले मुलुकको समग्र विकासको लागि राष्ट्रियता र राष्ट्रि एकता, क्षेत्रिय सुरक्षा आजको आवश्यकत्ता भएको पनि औंल्याए । उनले ०६८ सालको जनगणनाले पनि नेपाल ९४ प्रतिशत हिन्दूहरुको देश भएको तथ्य सुनाए । उनले २०७२ सालको संविधान जारी गरेपछि देशको पहिचान नै समाप्त भएको पटक पटक आरोप लगाए । उनले भने, ‘संविधानको प्रस्तावनाले नै मुलुकलाई चिन्दैन् । पाँच हजार वर्षको ईतिहास भएको देश हो नेपाल । नेपाल विश्वकै एकमात्रै हिन्दूराज्य थियो । यसको पूर्नस्थापना हुनुपर्छ । संवैधानिक रुपमा शाहवंशिय हुनुपर्छ ।’ पत्रकार प्रेम कैदीले मुलुकको अर्थतन्त्र अहिले डामाडोल भएको सुनाउँदै भारतसँगमात्रै १६/१७ खर्ब व्यापार घाटा रहेको सुनाए । विगतमा कांग्रेस सरकारमा हुँदा चार सयभन्दा बढि कलकारखाना सखाप पारेको पनि उनको आरोप छ । उनले भारतसँगको नेपालको सीमाबारे १८५० सालमै तत्कालिन् लेफ्टिनेन्ट लालसिंह खत्रीले बेलायतको प्रसिद्ध टाईम्स पत्रिकाका सम्पादकलाई चिठ्ठी लेखेको स्मरण गराए । उनले सीमा विवादलाई लिएर पाकिस्तान संयुक्त राष्ट्र संघमा र अन्तर्राष्ट्रिय अदालतमा जान हुने अनि नेपाल चाहीँ किन जान नहुने ? भन्दै प्रश्न तेर्साए । चीनले सीमा विवादबारे लेखेर दिए सहयोग गर्न तयार छु भनेर बोलिसक्दापनि नेपालको परराष्ट्र मन्त्रालय किन नबोलेको भन्दै उनले अर्को प्रश्न गरे । उनले भने, ‘हाम्रो चेत र होश छैन त? कि कुहिएको मुर्दा भएर बस्ने ? जनतालाई अत्याचार भएको छ । रौतहटमा हेर्नुहोस त आलम प्रकरण, त्रासदीपूर्ण राजनीति गरेर जनतामाथि अत्याचार गरिएको छ।’ उनले नेपाल हिन्दूराष्ट्र हुनुपर्ने बताए । त्यस्तै, उनले जनताले चाहे राजा आउन सक्ने बताए । अहिलेको गणतन्त्र देश र जनताको लागि महँगो सावित भएको उनको टिप्पणी छ । उनले स्वतन्त्र नागरिक समाजको माग र सत्याग्रहप्रति आफ्नो साथ रहेको पनि बताए । भारतीय प्रसिद्ध पत्रिका टाईम्स अफ ईण्डियाका पत्रकार सुजीत ताम्बडेले नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएका छन् । मित्रराष्ट्रबीचको सम्बन्धमा कुनैपनि किसिमको कटुता हुन नहुने उनको भनाई छ । उनले भने, ‘नेपाल र भारतबीच रहँदै आएको भाईचारा सम्बन्ध आगामी दिनमा पनि कायम रहोस् । हामीबीचको मित्रता सधैं सुमधुर रहोस् ।’ बौद्धिक मञ्चका अध्यक्ष डा. केबी रोकायले नेपाललाई हिन्दू अधिराज्य बनाउनुपर्ने माग गरे । उनले भने,‘आज नेपाललाई हिन्दूराष्ट्र चाहिएको छ । धर्म र नैतिकता हराएको छ । हाम्रो समाज अहिले अनैतिक र भ्रष्ट, ध्वस्त भएको छ ।’ उनले पृथ्बीनारायण शाहको वंश फेरि आफूहरुलाई यो देशको राजा चाहिएको बताए । रोकायले नेपाललाई हिन्दूराष्ट्र पनि बनाउनुपर्ने आफूहरुको माग रहेको बताए । समाजले अघि सारेको माग र सुरु गर्न लागेको सत्याग्रहप्रति आफ्नो पूर्ण साथ, समर्थन र सहयोग रहने पनि उनले विश्वास दिलाए । दोस्रो विश्व युद्धताका संसार प्रजातन्त्र, विकास, मानव अधिकार र धर्मनिरपेक्षताको पछि लागेपनि अहिले त्यो अवस्था नरहेको उनले सुनाए । फ्रान्सबाट सुरु भएको धर्मनिरपेक्षताको हावा नेपालसम्म आईपुगेको उनले बताए । उनले अहिले विश्वभरि राष्ट्र र राष्ट्रियताको प्रभाव बढेको सुनाउँदै त्यसैकारण अमेरिकामा ट्रम्प विजयी भएको सुनाए । भारतमा हिन्दू धार्मिक पार्टी सत्तामा रहेको पनि उनले सुनाए । त्यतिमात्रै होईन, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सोभियत संघको बेला ध्वस्त बनाईएका चर्चहरु फिर्ता लिएको र बन्द सबै चर्चहरु सुचारु गरेको सुनाए । उनले भने, ‘पुटिनले त चर्चबिनाको रसिया कल्पना गर्न सकिँदैन भनेका छन् ।’ युवा राजनीतिक विश्लेषक अग्निशम्शेर शाहीले मुलुक यतिवेला संवेदनशील घडीमा उभिएको बताउँदै सबै राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्ने जोड दिए । नेपाली जनताले विगत लामो समयदेखि विकास र आफ्नो हकअधिकारको नाममा विभिन्न कालखण्डमा आन्दोलन तथा संघर्ष गरेपनि उपलब्धि केही पनि हाँसिल नभएको उनको टिप्पणी छ । उनले नेपालको भूमी छिमेकीले मिचेको भन्दै अब पनि यसैगरि हेरेर बस्न नसक्ने अभिव्यक्ति दिए । आफ्नो देशको भूमी मिचिँदापनि राजनीतिक दल र यसका नेताहरु चुप लागेर बस्नु भनेको सबैले मिलेर खाएको उनको आरोप छ । उनले नेपालका नेताहरुलाई हिजडाको संज्ञा दिए । उनले समाजले गर्ने सत्याग्रह देशमा अन्तिम लडाई हुने पनि धारणा राखे । उनले भारतले मात्रै नभएर चीनले पनि नेपालको भूमी मिचेको टिप्पणी गरे । भारत र चीनले अतिक्रमण गरेको नेपाली भूमी फिर्ता लिनको लागि सबै एकजुट हुनुपर्ने बेला आएको उनको भनाई छ । उनले नेपालमा धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता नेताहरुले विदेशीको भरिया भएर ल्याएको आरोप लगाउँदै भरियाहरु बाँकी रहन्जेलसम्म देशको मौलिक पहिचान बाँकी नहुने बताए । उनले सबै नेपालीहरुलाई विशुद्ध नेपाली भएर उठ्नको लागि आग्रह गरे । कार्यक्रममा राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष बिक्रम बहादुर बमले नेपालको मूल समस्याको जड नै गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता भएको सुनाए । नेपालको संविधान २०७२ मा सबै नेपाली जनताको अपनत्व नभएको पनि उनले टिप्पणी गरे । उनले समाजको सत्याग्रह गणतन्त्र फाल्ने सुरुवात भएको घोषणा गरे । उनले भने,‘समाजले सुरु गर्ने ७२ घण्टे सत्याग्रहमा हाम्रो साथ छ ।’ राष्ट्रिय शिवसेना पार्टीका सह–अध्यक्ष सिर्जना वाग्लेले ‘नेपाली हामी रहँला कहाँ, नेपाल नै नरहे’ भन्दै राष्ट्र र राष्ट्रियताको रक्षाको लागि सबै एकजुट हुनुपर्ने बताईन् । उनले गणतन्त्रले नेपाली जनतालाई समेट्न नसक्ने बताईन् । उनले भारतले नेपालको लिपुलेक, कालापानीको सीमा मिच्दा आज नेपालीहरुको मन दुःखीरहेको पनि सुनाईन् । तर, सरकारले यसबारेमा अहिलेसम्म आधिकारिक धारणा बाहिर नल्याएको उनको गुनासो थियो । उनले भनिन्,‘सरकारले अहिलेसम्म सीमा विवाद भएको ठाउँमा सुरक्षाकर्मी पठाएको छैन् । देश अभिभावकविहीन भएको छ ।’
मेलम्चीपछि सिस्नेरी आयोजनाको काम पनि सुरु गर्छौं : मन्त्री मगर मकवानपुर (सिस्नेरी) । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा उपत्यकाको ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन थालिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) ले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्व सम्भाव्यता अध्ययन थालेको हो । शुक्रबार खानेपानी मन्त्री बीना मगरको नेतृत्वमा बोर्डका पदाधिकारी सहितको टोलीले उक्त खोलाको अवलोकन र निरीक्षण गरेको छ । यो आयोजनालाई मेलम्चीको विकल्पका रुपमा हेरिएको छ । खानेपानी मन्त्री मगरले ललितपुरका धेरै ठाउँहरुमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सिस्नेरी आयोजना अघि बढाउन लागिएको जानकारी दिए । उनले यस आयोजनालाई दीर्घकालीन महत्वको आयोजना भएको टिप्पणी गरे । ‘भोलिका दिनमा मेलम्चीमा कुनै समस्या आए त्यसले काठमाडौं उपत्यकाको खानेपानीमा समस्या आउन सक्छ ।’ मन्त्री मगरले भनिन्, ‘त्यसको विकल्पका रुपमा दीर्घकालीन रुपले हामीले सिस्नेरी आयोजनाको अध्ययन थालेका हौं ।’ सन् २०३० सम्म काठमाडौं उपत्यकाको जनसंख्यालाई हेर्दा मेलम्चीले धान्न सक्ला तर जनसंख्या बढ्दै गएपछि त्यसको विकल्प पनि हेर्नुपर्ने उनले बताइन् । ‘ललितपुर क्षेत्रका लागि सिस्नेरी खोला आयोजनाको सम्भाव्यता अध्ययन अघि बढेको हो । चाँडै नै सिस्नेरी खोलाको डिपीआर पनि अघि बढाउँछौं ।’ उनले भनिन् । उनले ललितपुरका लागि सिस्नेरी जस्तै भक्तपुरका लागि खानेपानी आपूर्ति गर्न महादेव खोलाको काम अघि बढाईएको जानकारी दिइन् । भ्याली बोर्डका कार्यकारी निर्देशक डा. संजिव विक्रम राणाले सिस्नेरीमा बाँध बाँधेर खोलाको पानी संकलन गर्ने र उपत्यकामा पठाइने बताए ।कार्यकारी निर्देशक राणाले दैनिक १३ देखि १४ करोड लिटर पानी ललितपुरको सैंबु जलाशयमा पठाई ललितपुर क्षेत्रभित्र वितरण गर्न सकिने बताए । अहिले पूर्व सम्भाव्यता अध्ययन गर्दा करिब २६ अर्ब लगानी आवश्यक पर्ने उनको भनाई छ । ‘मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी भईरहेको छ, उनले भने, ‘यो उपत्यकाका लागि मेलम्चीको विकल्पका रुपमा दोस्रो ठूलो आयोजना हुनेछ ।’ आयोजनास्थल फर्पिङ पम्पिङ स्टेशनबाट १४ किलोमिटर दक्षिणमा पर्दछ । जुन कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर जिल्ला हुँदै बगेको बागमती नदीको नजिक पर्दछ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानीको शाखा हो भने कुलेखानी बागमती नदीको शाखा हो । यस आयोजना अन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा संकलन गरिनेछ र संकलित पानीलाई पम्प गरी सैंबु जलाशयमा पठाई ललितपुर महानगर क्षेत्रभित्र वितरण गरिनेछ । सिस्नेरीमा बनाईने बाँधको लम्बाई १९० मिटर र चौडाई ७५ मिटर रहने कार्यकारी निर्देशक राणाले जानकारी दिए । सिस्नेरी बाँध स्थलदेखि सैंबु पानी प्रशोधन केन्द्रसम्म कूल १९ किलोमिटर रहेको छ । निर्माणाधिन काठमाडौं निजगढ द्रुत मार्ग हुँदै सिस्नेरीदेखि सैंबुसम्म पाईप लाईन निर्माण गरेर पानी लैजान सकिने राणाले बताए ।
नेकपा र काँग्रेसका नेता बलात्कार आरोपमा जेल चलान काठमाडौं । बलात्कार आरोपमा नेकपा र काँग्रेसका दुई युवा नेताहरु जेल चलान भएका छन्। नेकपा निकट युवा संघका नेता दाङका सन्देश शर्मा पोखरेल र काँग्रेस निकट विद्यार्थी संगठनका नेता नुवाकोटका ज्ञानेन्द्र गजुरेललाई जिल्ला अदालत ललितपुरले शुक्रबार पूर्पक्षका लागि जेल चलान गरेको हो। दुबैजनालाई नख्खु कारकागार पठाइएको ललितपुर प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर, जावलाखेलले दुबै जनालाई गएको कात्तिक ३ पक्राउ गरेको थियो। दुवै जनाले मिलेर २९ असोजमा ललितपुरमा १९ वर्षीय युवतीमाथि बलात्कार गरेको आरोप छ।
स्वदेश फर्किए बंगलादेशका राष्ट्रपति हमिद काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपाल भ्रमण सकेर स्वदेश फर्केका छन् । बंगलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्केका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरेकी हुन् । उनलाई विदाई गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत मन्त्रीहरु विमानस्थल पुगेका थिए । त्यसैगरी उच्च पदस्थ अधिकारीहरु पनि विदाईमा सहभागी भएका थिए । राष्ट्रपति हमिदको विदाईको अवसरमा अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । मंगलबार नेपाल भ्रमणका लागि काठमाडौं आएका राष्ट्रपति हमिदले बुधबार समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसंग उच्च स्तरीय राजनीतिक भेटघाट गरेका छन् । त्यसैगरी उनले विहिबार पर्यटकीय नगरी पोखराको अवलोकन भ्रमण गरेका थिए भने मंगलबार नै भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । शुक्रबार बिहान चन्द्रागिरी हिल्स अवलोकन गर्ने कार्यक्रम राखिए पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
सीमा विवादको समाधान गर्न प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्छ : नारायणकाजी श्रेष्ठ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँगको सीमा विवाद समाधान गर्न तत्काल प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्ने बताएका छन् । प्रवक्ता श्रेष्ठले लिम्पियाधुरा, कालापानीलगायतका नेपाली भूमि भारतले अतिक्रमण गरेको उल्लेख गर्दै यो समस्याको समाधान गर्न उच्चस्तरीय राजनीतिक कूटनीतिक संवादको विकल्प नरहेको आफ्नो पार्टीको निष्कर्ष रहेको पनि स्पष्ट पारे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतसँगको सीमा समस्या समाधान गर्न वर्तमान सरकार सफल हुने दावी गरे । ‘केपी ओली नेतृत्वको अघिल्लो सरकारले भारतबाट हुने नाकाबन्दीको अन्त्य गरेर भारतलाई झुकाउन सफल भएको थियो, प्रवक्ता श्रेष्ठले भने, ‘अव दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न पनि वर्तमान सरकारबाट सम्भव छ ।’ त्यसका लागि सरकारलाई सबै राजनीतिक दलहरुको सहमति र जनताको समेत साथ र सहयोग रहेको पनि प्रवक्ता श्रेष्ठको भनाई छ । कार्यक्रममा बोल्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि नागरिक अगुवाहरुलाई निरन्तर सरकारलाई दवाव दिन पनि आग्रह गरे । उनले जनताको सचेत दवावले सरकारलाई सो समस्या समाधान गर्न सघाउ पुर्याउने पनि स्पष्ट पारे । परराष्ट्रविद श्रेष्ठले भारतसँगको सीमा समस्या समाधान गर्ने उपयुक्त अवसर आएकाले त्यसको सदुपयोग हुने गरी उच्चस्तरीय राजनीतिक कूटनीतिक पहलकदमी लिन सरकारलाई आग्रह गरे ।
उपनिर्वाचनमा आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगलाई काँग्रेसको आग्रह काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगसँग आग्रह गरेको छ । नेपाली काँग्रेस निर्वाचन आचारसंहिता अनुगमन समितिले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँग भेटगरी सो उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगको गम्भिर ध्यानाकर्षण गराएको हो । काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका काँग्रेस नेता एवम् सो अनुगमन समितिका संयोजक रमेश लेखकले निर्वाचन कानुन र निर्वाचन आचारसंहिता विपरित सांसदहरुको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ को योजना छनौटका लागि भईरहेका परामर्श बैठकहरु तत्काल स्थगित गराउन पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग आग्रह गरेका हुन् । त्यसैगरी काँग्रेस अनुगमन समितिले उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन प्रभावित हुने गरी मतदाताहरुलाई प्रलोभनमा पार्ने गरी मन्त्रीहरुले विकास, निर्माणका योजनाहरु छनौट गर्ने गरेको दावी गर्दै त्यस्ता निर्वाचन आचारसंहिता विपरितका गतिविधि पनि तत्काल रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । निर्वाचन कानुन र निर्वाचन आचारसंहिता विपरितका कुनै पनि गतिविधि सांसद, मन्त्रीलगायतका कोहीबाट पनि हुन नदिन निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण गराइएको समितिका संयोजक एवम् काँग्रेस नेता लेखकले जानकारी दिए । आगामी मंसिर १४ गते ३७ जिल्लामा रिक्त रहेका प्रतिनिधिसभा सदस्य १ तथा प्रदेश सभा र स्थानीय तहको विभिन्न ५२ वटा पदका लागि निर्वाचन हुँदैछ । नेपाली काँग्रेसले सोही उपनिर्वाचन निर्वाचन हुने पाँचथर, बाग्लुङ, संखुवासभालगायतका जिल्लाहरुमा निर्वाचन आचारसंहिता विपरित सांसद कोषको योजना तर्जुमा गर्ने तथा मन्त्रीहरुले विकास निर्माणका विभिन्न कार्यक्रम घोषणा गर्ने काम गरिरहेको दावी गर्दै आएको छ ।
एभिसी भलिबल प्रतियोगितामा उपाधि विजेता महिला टोलीलाई विमानस्थलमा भव्य स्वागत काठमाडौं । बंगलादेशमा सम्पन्न पहिलो संस्करणको भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएको छ । बंगलादेशमा सम्पन्न सो प्रतियोगितामा विजेता नेपाली महिला भलिवल टोली शुक्रबार अपरान्ह स्वदेश फर्किएको हो । त्यस अवसरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपाधि विजेता खेलाडीहरुलाई नेपाल भलिबल संघ र राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरुले भव्य स्वागत गरेका थिए । बिहीबार बंगलादेशको ढाकामा भएको फाईनल खेलमा माल्दिभ्सलाई ३–० सो सोझो सेटमा हराउँदै नेपालले ऐतिहासिक उपाधि हात पार्न सफल भएको थियो । महिला भलिबल टिमले जितेको सो उपाधिको नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो । टिमकी कप्तान अरुणा शाहीले सो प्रतियोगिताबाट विजयी भएपछि आगामी दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि उपाधि जित हासिल गर्ने आँट र साहस दुवै बढेको प्रतिक्रिया दिइन् । उनले प्रतियोगितामा आफूहरुलाई विजेता बनाउन हौसला प्रदान गर्ने सबैप्रति पनि आभार व्यक्त गरिन् । प्रतियोगितामा नेपाली टोलीकी प्रतिभा माली उत्कृष्ट स्पाईकर भएकी थिइन् ।
काँग्रेसको एजेन्डा ‘निःशुल्क शिक्षा र स्वास्थ्य’ बन्नुपर्छ : नेता महर काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले निशुल्क शिक्षा र स्वास्थ्य नेपाली काङ्ग्रेसको एजेन्डा बन्नुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको नेपाल शिक्षक संघको प्रदेश कार्यसमितिको प्रथम प्रतिनिधि सभालाई सम्बोधन गर्दै नेता महरले शिक्षा र स्वास्थ्य पूर्णरुपले जनताको स्वामित्वमा ल्याए मात्रै उक्त बिषय जनताको पँहुचमा आउने र त्यो नै काग्रेसको मुख्य एजेण्डा बन्नुपर्ने बताएका हुन् । ‘काँग्रेस प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने पार्टी भएकाले गरिबका छोराछोरीले पनि डाक्टर पढ्न पाउनुपर्छ भन्ने एजेण्डा बोकेर अगाडी बढेको छ,’ नेता महरले भने, ‘गरिब, विपन्नले पनि निशुःल्क र सहज रुपमा सेवा पाउनुपर्छ भन्ने एजेण्डा कांग्रेसको हो र बन्नुपर्छ ।’ नेता महरले सम्बोधनका क्रममा स्थायी, अस्थायी र करार गरी देशभर ४ लाखको हाराहारीमा रहेका शिक्षकहरुको सेवा सुविधामा सरकार गम्भीर हुनुपर्ने र शिक्षकहरु पनि विद्यार्थीको मुख्य अभिभावक भएकाले जिम्मेवार बन्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा नेता महरले नेपाली भूमि मिचिएकोबारे सरकार गम्भीर नबनेको भन्दैं आक्रोश पोखेका हुन् । नेता महरले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन मर्न र मार्न परेपनि कांग्रेस पछि नहट्ने उद्घोष गरे ।
अवैध जुवातासविरुद्ध नेपाल प्रहरीको कारबाही तीब्र काठमाडौं । नेपाल प्रहरीले जुवातास खेल्नेहरुविरुद्ध कारबाहीको दायरा बढाएको छ । देशका विभिन्न स्थानमा नेपाल प्रहरीले अनुसन्धान गर्दै दोषीलाई कडा कारबाही गर्ने अप्रेसन नै चलाएको छ । २०७६ सालको तिहार संघारमै आइसकेको थियो । काठमाडौं महानगरपालिका ३ महाराजगंज पिपलमार्ग बस्ने ३० वर्षीय विक्रम गौतमको घरमा जुवातास खेलिरहेको सूचना प्राप्त भयो । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले गौतमको घरमा तास खेलिरहेका गौतमसमेत २५ जनालाई कात्तिक १० गते पक्राउ गर्यो । उनीहरुको साथबाट नगद २ करोड ६७ लाख रुपैयाँ र ३ लाख रुपैयाँ बराबरको बैंक चेक बरामद भयो । नेपालीहरुको महान चाड तिहारको समयमा पक्राउ परेका उनीहरुको तिहार प्रहरी हिरासतमै गुज्रियो । कास्की, पोखरा महानगरपालिका(६ पहारीमार्गस्थित होटल क्रिष्टल प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक २९ वर्षीय छवी पौडेल समेत ९ जनालाई कात्तिक ९ गते प्रहरीले पक्राउ गर्यो । उनीहरुबाट नगद १० लाख, ५८ हजार ५ सय १० रुपैयाँ बरामद भयो । तिहारको समयमा जुवातास खेलिरहेको अवस्थामा एकै स्थानबाट ठूलो रकमसहित धेरै जना मानिस पक्राउ परेका यी प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । काठमाडौं उपत्यकाभित्र र बाहिरका यी प्रतिनिधि घटनाले जुवा नियन्त्रणमा देशभरी नै प्रहरी सक्रिय छ र प्रहरीले आफ्ना कारबाही तीव्र पारेको छ भन्ने पुष्टी हुन्छ । यस वर्ष प्रहरीले तिहारको समय कात्तिक ३ देखि १३ गतेसम्मको अवधिमा जुवातासविरुद्धको कारवाहीमा देशभरका विभिन्न ४३ स्थानबाट ३ महिलासहित जम्मा ४ सय ६५ जना पक्राउ गर्यो । उनीहरुबाट ३ करोड ३० लाख रुपैयाँ बरामद भयो । देशका विभिन्न भागमा गैरकानुनी रुपमा जुवातास खेल्ने, खेलाउनेविरुद्ध कडा कारवाही गर्ने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा थालिएको विशेष अभियानको क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सर्वसाधारणदेखि विभिन्न जिम्मेवार पदमा रहेका व्यक्तिहरुसमेत छन् । विशेष गरी चाडबाडको नाममा पछिल्लो समयमा जुवातास खेल्ने क्रम मौलाएपछि प्रहरीले जुवातास रोक्न विशेष जोड दिएको हो । चाडबाड शुरु भएलगत्तै प्रहरीले शंकास्पद ठाउँको निगरानी राखेकै कारण जुवाडेहरु पक्राउ गर्न सहज भएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत गरिएको सचेतनामूलक कार्यक्रमको प्रभावले नागरिकबाट सूचना प्राप्त भएकोले पनि यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीलाई सहज भएको हो । जुवातास नियन्त्रणमा प्रहरीको सक्रियता र अनुसन्धानबारे नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी भन्छन्, ‘प्रहरीको सक्रियता, नागरिक समाज र पीडित परिवारको स्रोतबाट आउने गोप्य सूचनाको आधारमा जुवातास खेल्ने व्यक्तिहरु पक्राउ पर्ने गरेका छन् ।’ मुलुकी अपराध (संहिता) ऐन, २०७४ अन्तर्गत कारवाही मात्रै होइन, उनीहरुबाट बरामद रकमको स्रोततर्फ समेत प्रहरीको ध्यान केन्द्रीत भएको छ । ‘आवश्यक परे सम्पत्ति शुद्धिकरण मार्फत पनि अनुसन्धान हुन्छ ।’ प्रहरीले जनाएको छ । जुवातासका कारण सामाजिक समस्या निम्तिन्छ । यस्तो नहोस् भन्नका खातिर नेपाल प्रहरी वर्षैभरि देशभरिका कुना कन्दरासम्म जुवातासजस्ता विकृति विसंगति नियन्त्रण गर्न लागिपर्दै आएको हो । यस क्रममा गोप्य सूचनाको आधारमा पनि धेरै मानिसहरु पक्राउ पर्ने गरेका छन् । पक्राउ संख्या खासगरी दशैं तिहार जस्ता चाडपर्वको समयमा ह्वा्त्तै बढ्ने गरेको छ । विगत ३ वर्षको अवधिमा जम्मा ७ हजार १ सय ९७ जना पक्राउ परेका छन् । तथ्यांक अनुसार आ.व. २०७५÷०७६ मा जम्मा ३ सय ९१ मुद्दा दर्ता भएका थिए भने जम्मा २ हजार ८ सय ६९ जना पक्राउ परेका थिए । त्यस्तै आ.व. २०७४÷०७५ मा ३ सय ५९ मुद्दा दर्ता भएका थिए भने २ हजार ८ सय २४ जना पक्राउ परेका थिए । यसैगरी आ.व. २०७३÷०७४ मा २ सय ६ वटा मुद्दा दर्ता भएका थिए भने १ हजार ५ सय ४ जना पक्राउ परेका थिए । जुवातास खेलमा संलग्न व्यक्तिहरुलाई गर्ने कारवाहीमा नेपाल प्रहरीले तीव्रता ल्याएको कारण पछिल्लो समय ठूलो संख्यामा यस्ता व्यक्तिहरु पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीको भनाइ छ । व्यक्तिका नीजि घरकोठा, होटल, रेष्टुरेण्ट, गेष्टहाउस, रिसोर्टलगायतका स्थानहरुमा मानिसहरु जुवातास खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । कतिपय एकान्तस्थल पनि जुवाडेका लागि उपयुक्त छनौटस्थल भएको मानिन्छ । प्रायः तास र कुनै स्थानमा कौडा समेत खेल्ने गरेको पाइन्छ । विविध व्यवसाय, जागिर लगायत विभिन्न पेशामा संलग्न व्यक्तिहरु जुवा खेलमा संलग्न भेटिन्छन् । एउटै जुवा खालबाट एकै पटक यति ठूलो परिमाणमा रकमसहित मानिस पक्राउ गर्न सफल महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्साल भन्छन्, ‘विशेष सूचनाको आधारमा अनुसन्धानमा खटियौं । सुक्ष्म अनुसन्धान र खोजी गर्ने क्रममा उनीहरु पक्राउ परे । उनीहरुमध्ये केही व्यक्तिहरु आपराधिक पृष्ठभूमिबाट आएका र पटके अपराधी समेत भएको खुल्न आएको छ । उनीहरुउपर सम्पत्ति शुद्धिकरण विभागमा पत्राचार समेत गरी थप अनुसन्धान भइरहेको छ ।’ मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद(५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर अन्तर्गत जुवा खेल्न र सट्टाबाजी गर्न नहुने उल्लेख छ । जसअनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । दोस्रो पटक जुवा खेल्ने वा खेलाउनेलाई १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप ३ महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । जुवाकै कारण पाण्डबहरु १२ वर्ष वनबास र एक वर्ष गुप्तबास बस्नु परेको पौराणिक कथामा उल्लेख छ । कथामाझैं जुवातास खेलेर दुर्गति भोग्नेहरुका लागि यो यथार्थ पाठ भएपनि कतिपय व्यक्तिहरु अझै सचेत हुन नसकेको देखिन्छ । जुवा सामाजिक रुपमा निन्दनीय र कानुनी रुपमा दण्डनीय छ । जुवाको कारण समाजमा आपराधिक घटना बढ्न सक्छन् । मानिसको सामाजिक प्रतिष्ठा गुम्छ । जीवन व्यर्थ र बर्बाद बन्छ । जीवनलाई मूल्यहीन बनाउने यस्तो कुकर्म नगरेकै राम्रो ।
पत्रकार शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ काठमाडौं । पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो । हाम्रा कुरा डट कमका संस्थापक प्रधानसम्पादक रहेका उनले संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गर्ने तत्कालीन सभामुख कृष्णबहादुर महराबारेको समाचार आफ्नो अनलाईनमार्फत् सार्वजनिक गरेका थिए । इन्जाले सोही साहसिक कामको सम्मान गर्दै सो पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले सत्ता र राजनीतिक दलहरुले प्रेसलाई शक्तिका लागि दुरुपयोग गर्ने गरेको उल्लेख गर्दै त्यसबाट बचेर आफ्नो पेशालाई अघि बढाउन पत्रकारहरुलाई आग्रह गरे । प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीले तत्कालीन सभामुख महराको सो समाचार सार्वजनिक गरेपछि आफूमाथि सुरक्षा थ्रेट आएको भन्दै सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । सो पुरस्कारबाट सम्मानित हुने पत्रकार शिवाकोटीले २०५४ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भई ईमेज टिभी, नेपाल वान टिभी, रेडियो नेपाललगायतका संचार माध्याममा रहेर काम गरिसकेका छन् ।
नागरिकता कसुरका आरोपी धरौटीमा रिहा वालिङ । झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जनही रु तीन लाख धरौटीमा रिहा भएका छन् । स्याङ्जा जिल्ला अदालतले नागरिकतासम्बन्धी मुद्दाका प्रतिवादी स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजित सुनार र फेदीखोला गाउँपालिका–४ बडाचौरका ६१ वर्षीय चेतनाथ पौडेलले रु तीन÷तीन लाख धरौटी दाखिला गरी तारेखमा छुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए । सर्वजित सुनारले कास्कीको पोखरा महानगरपालिका–३० बस्ने डिलबहादुर श्रेष्ठका ३३ वर्षीय छोरा शङ्कर श्रेष्ठलाई आफ्नो छोरा भएको झुट्टा विवरण पेश गरेको र तत्कालीन वडाध्यक्ष चेतनाथ पौडेलले सिफारिश गरेपछि २०६० माघ २० मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिकता दिएको थियो ।
समृद्ध नेपाल निर्माणमा सघाउन राष्ट्रपतिको आग्रह काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा साकार पार्ने दिशामा हरसम्भव सहयोग उपलब्ध गराउन अवैतानिक वाणिज्यदूतहरूलाई आग्रह गरेकी छन् । नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन र वाणिज्यदूतहरूको विश्व सङ्गठन (एफआइसिएसी) को क्षेत्रीय सम्मेलन भाग लिन आएका अवैतनिक वाणिज्यदूतहरूसँग आज अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको सामूहिक भेटमा उनले नेपालको प्रतिष्ठा वृद्धिमा वाणिज्यदूतहरूले निर्वाह गरेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरिन् । अवैतनिक वाणिज्यदूतहरू नेपालका विद्वत्वर्गमात्र नभएर नेपाल भ्रमण वर्ष २०२० का सद्भावनादूतसमेत भएकाले उक्त राष्ट्रिय महायज्ञलाई सफल पार्न अनुरोध गरेको एचसिसीएनका डीन प्रदीपकुमार श्रेष्ठले बताए । राष्ट्रपतिले एचसिसीएनका सदस्यहरूको परिचय समेटेर प्रकाशन गरिएको ‘ह्याण्डबुक’ को विमोचन गरिन् । डीन श्रेष्ठले एचसिसीएनका गतिविधिबारे जानकारी गराएका थिए ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु काठमाडौं । प्युठान, सल्यान, सप्तरी र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । प्युठान, स्वर्गद्वारी नगरपालिका ४ मनखोला भिरस्थित सडकमा भिगृबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको ग २ च ५२४९ नम्बरको बलेरो गाडी सडकदेखि अन्दाजी ३ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा गाडीमा सवार हाल नाम, थर, वतन नखुलेकी १ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत अन्य ४ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र भिगृ हुँदै थप उपचारको लागि भैरहवातर्फ पठाइएको छ । सल्यान, त्रिवेणी गाउँपालिका ४ बडागाँउमा रा १ ज ४३२ नम्बरको जिप अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार सोही गाउँपालिका फालावाङ बस्ने ६० वर्षीया कृष्णा देवी परियार र ५९ वर्षीया यज्ञी थापाको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । सप्तरी, बोदेबर्साईन नगरपालिका २ बैरियास्थित सडकमा को २३ प ५४० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय रामप्रसाद साहको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बिहीबार दिउँसो बाटोमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारा, कलैया उपमहानगरपालिका(२३ मोतिसर चोकमा ना ७ त २६६ नम्बरको ट्याक्टरले ना ३ प ५१३७ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका ३ बस्ने २५ वर्षीय बिनोद साहको घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सन्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
घुस लिएको आरोपमा यातायात कार्यालयका शाखा अधिकृतसहित ४ जना पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँका शाखा अधिकृतसहित चार जनालाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत रु तीन हजार घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । आयोगले शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र घुस दिने रिकन्डिसन हाउसका किरण देउला, उत्तम विक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकीलाई पक्राउ गरेको हो । आयोगको टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेपनि आज सार्वजनिक गरेको हो । यस्तै आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरीले जग्गाको नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु छ हजार घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाको नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उनीहरुले घुस मागेको आरोप छ । रासस
उपराष्ट्रपतिद्वारा महिला भलिबल टिमलाई बधाई काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’को उपाधि जित्न सफल भएकामा नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बधाइ दिँदै खुसी व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले महिला भलिबलमा देशले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि हासिल गरेकामा राष्ट्रिय महिला भलिबल टिम, प्रशिक्षक, नेपाली खेलाडी र सम्पूर्ण नेपालीलाई बधाई दिएका हुन् । उनले बङ्गलादेशमा आज सम्पन्न एभिसी सेन्ट्रल जोनमा इतिहास रचेर सारा नेपालीलाई खुसी दिएकामा नेपाल भलिबल सङ्घ, राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, कप्तान अरुणा शाही र सदस्यहरुप्रति विशेष धन्यवादसहित सम्मान व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले प्रतियोगिताको उत्कृष्ट स्पाइकर चुनिएका प्रतिभा माली र व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडीलाई बधाइसहित धन्यवाद दिएका हुन् । उनले सीमित साधन स्रोतको बाबजुद राष्ट्रिय महिला भलिबल टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीलाई खुसी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा भएको बताए । निकट भविष्यमा घरेलु मैदानमा आयोजना हुन लागेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा नेपालले भलिबललगायत सबै विधामा उत्कृष्ट प्रदर्शनसहित उपाधि जित्ने उनले विश्वास व्यक्त गरे । उपराष्ट्रपति पुनले खेलकूदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै लगानी वृद्धि गर्न सबै पक्षको ध्यानाकर्षणसमेत गराएको उपराष्ट्रपति पुनको सचिवालयले जनाएको छ । रासस
सोमालियामा सैनिक कारबाहीमा ५ लडाकू मारिए नैरोबी (रासस/सिन्ह्वा) । सोमालियाको सेनाले बुधबार गरेको कारबाहीमा विद्रोही अल–सबाबका पाँच लडाकू मारिएको सेनाले जनाएको छ । सैनिक प्रवक्ताका अनुसार सोमालियाको मध्यक्षेत्र हिरानमा सैनिक कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् । सैनिक प्रवक्ता मोहम्मद अब्दुल्लाहीले लडाकूहरुले स्थानीयबासीसँग कर संकलन गरिरहेको भन्ने सूचनाका आधारमा कारबाही गरिएको बताए । सेनाले भिडन्तका क्रममा केही हातहतियारका साथै उनीहरुले संकलन गरेका ठूलो संख्याका गाईबस्तु कब्जामा लिएको पनि प्रवक्ता अब्दुल्लाहीले जानकारी दिए । सोमालियाको दक्षिण र मध्य क्षेत्रमा केन्द्रित भएका अल–सबाबका लडाकूसँग सेनाको नियमितझैं भिडन्त हुने गरेको छ । सन् २०११ मा राजधानी मोगादिसुलाई कब्जा गरेका अल–सबाबका लडाकूलाई अफ्रिकी युनियन आबद्ध सेना समेतको सहयोगमा राजधानीबाट लखेटिएको थियो ।
लुम्बिनीमा त्रिपिटक वाचन शुरु काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन आजदेखि शुरू भएको छ । त्रिपिटक वाचन कार्यक्रमको प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, सांसद सुजिता शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, थाइल्याण्डका पूर्वमन्त्री कुनिन सुधारतले संयुक्तरूपमा दीप प्रज्वलन गरी शुभारम्भ गरे । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनीको विकास र पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले योजनाबद्ध कार्यक्रम तय गरेको बताए । उनले प्रदेशको समृद्धिका लागि पर्यटनलाई प्राथमिकतामा राखेर सरकारले काम अघि बढाएको बताए । मुख्यमन्त्री पोखरेलले कपिलवस्तुको तिलौराकोट उत्खननको काम अघि बढेको र निग्लिहवामा कनकमुनि बुद्ध, गोटिहवामा क्रकु्च्छन्द बुद्धका प्रतिमा राख्ने र नवलपरासीको रामग्राममा बुद्ध सङ्ग्रहालय निर्माणको योजना बनेको बताए । उनले त्रिपिटक वाचन कार्यक्रमले लुम्बिनीको गरिमा बढाएको उल्लेख गरे । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीले विश्वभर एकतार भाइचाराको सन्देश फैलाएको धारणा राखे । आयोजक समितिका संयोजक भिक्षु मैत्री महास्थवीरले सरकारीस्तरबाटै लुम्बिनीमा आध्यात्मिक गतिविधि सञ्चालन गनुपर्ने बताए । त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाइ बिहारको सहयोगमा दोस्रो पटक आयोजना गरिएको त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलङ्का, जापान, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, म्यान्मा, चीनलगायत २५ देशका भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागी छन् । आगामी शनिबारसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्र्तगतका विनयपिटक, सूत्रपिटक र अभिधम्मपिटकको वाचन हुनेछ । पहिलो दिन नेपाली भिक्षुहरुले सूत्रपिटक अन्तर्गतको दीर्घनिकायको ब्रह्मजालसूत्र वाचन गरेर त्रिपिटक वाचनको शुरुआत गरेका छन् । दोस्रो दिन म्यान्माका भिक्षुहरुले अभिधम्मपिटक वाचनको नेतृत्व गर्नेछन् भने तेस्रो दिन थाई भिक्षुुहरुले विनयपिटक वाचन कार्यक्रमको नेतृत्व गर्ने कार्यक्रम रहेको छ । त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । यसलाई सबै बौद्ध सम्प्रदायले मान्छन् । यसमाा भगवान बुद्धको उपदेश सङ्ग्रहीत छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ भने विभिन्न भाषाहरुमा अनुवाद भएको छ । यस ग्रन्थमा भगवान बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरिनिर्वाण हुनुअघिसम्म दिएका प्रवचनहरु सङ्ग्रह गरिएका छन् । रासस
सरकारको विरोध गर्ने नाममा व्यवस्थाको विरोध गर्नुहुँदैन : जम्मकट्टेल काठमाडौं । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सरकारको विरोध गर्ने नाममा व्यवस्थाकै विरोध गर्न नहुने बताएका छन् । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षका कारण प्राप्त वर्तमान राजनीतिक व्यवस्थालाई नै नकारात्मक असर पर्ने गरी सञ्चारमाध्यमले समाचार तथा विचार सम्प्रेषण गर्न नहुने उनको धारणा थियो । फ्रिडम फोरमले आज हेटौँडामा आयोजना गरेको ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयको कार्यक्रममा मन्त्री जम्मकट्टेलले राज्यका विभिन्न निकायसम्म पहुँच नपुगेका नागरिकको आवाज बोल्नुपर्ने बताए । मन्त्री जम्मकट्टेलले स्वतन्त्रता, न्याय र समानताको कुरा बुलन्द गरेर समाजवाद निर्माणको यात्रा तय गर्नुपर्ने धारणा राखे । उनले पहुँच नपुगेका र तल्लोस्तरका जनताको अवस्था सारै कमजोर भएको बताए । यस्तै अवस्था कतिपय पत्रकारभित्र पनि रहेको र यो विभेदको अन्त्य जरुरी भएको मन्त्री जम्मकट्टेलको धारणा थियो । यस्तो अवस्था आउनुमा विगतदेखिको सोच र नबदलिएको मानसिकता र प्रणालीको दोष भएको उनले बताए । मन्त्री जम्मकट्टेलले पत्रकारको सुरक्षाप्रति प्रदेश सरकार संवेदनशील रहेको र प्रेस स्वतन्त्रता तथा पत्रकारको उचित बेतनका लागि आफू विगतदेखि नै लागि परिरहेको उल्लेख गरे । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले पत्रकारलाई समाचार सङ्कलनका लागि संवेदनशील क्षेत्रमा जाँदा प्रशासनलाई जानकारी गराएर जान अनुरोध गरे । प्रशासन वा प्रहरीसँग समन्वय गरेर जाँदा सुरक्षाका कारण उत्पन्न हुने जोखिम कम हुने उनको धारणा थियो । प्रदेश नं ३ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले पत्रकारलगायत आमनागरिकको सुरक्षाको सवालमा प्रहरी सङ्गठन सदा सकारात्मक रहेको बताए । पत्रकार महासङ्घ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्टले पत्रकारले किन सुरक्षा ‘थ्रेट’ को सामना गरेका छन् भन्ने गहिरो मूल्याङ्कन हुनुपर्ने उनको धारणा थियो । पत्रकारलाई धम्की आउँदा किन आएको हो भन्ने छुट्याउनै समस्या भएको तथा पत्रकारकै पक्षमा बोल्ने वा नबोल्ने भनेर परिभाषित गर्नै समस्या भएको विष्टले बताए । सञ्चारिका समूह प्रदेश नं ३ का अध्यक्ष तथा पत्रकार महासङ्घ मकवानपुर उपाध्यक्ष सरिता दाहालले महिला पत्रकारको सुरक्षा कमजोर भएको बताए । महिलालाई यौनजन्य कुरा जोडेर हतोत्साहित पार्ने, परिवारको सर्थन नपाएर महिला पत्रकारले पेशा परिवर्तन गर्नुपर्ने बध्यता आएको उनको धारणा थियो । कार्यक्रममा फ्रिडम फोरमका मकवानपुर संयोजक राममणि दाहालले देशमा हालसम्म ९७ पत्रकारमाथि प्रेस विरोधी गतिविधि भएको पाइएको बताए । दाहालले प्रदेश ३ मा मात्रै ३७ घटना भएको तथ्याङ्क सार्वजनिक गरेका थिए । रासस
सत्तारुढ नेकपा भविष्यमा उठ्नै नसक्ने गरी पतन हुने डा. भट्टराईको दावी काठमाडौं । सत्ता साझेदार समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भविष्यमा फेरी उठ्नै नसक्ने गरी पतन हुने दावी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सत्तारुढ नेकपा दार्शनिक, वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भईसकेको निष्कर्ष निकाल्दै आउँदा केही वर्ष भित्र फेरी उठनै नसक्ने गरी पतन हुने बताएका हुन् । बिहीबार काठमाडौंमा आयोजित पार्टी संघीय परिषद बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै नेकपाका ठूल्ठूला नेताहरुको भ्रष्टाचार तथा नैतिक पतनका घटना लज्जाजनक ढंगले उदांगिदै आएको पनि उल्लेख गरे । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस भने आफ्नो असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको अवस्थामा रहेको भट्टराईको विश्लेषण छ । संघीय परिषदका अध्यक्ष भट्टराईले सरकारमा पार्टीको संलग्नताबारे गम्भिर समिक्षा गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् । उनले महत्वपूर्ण निर्णय लिँदा सत्ता साझेदार आफ्नो दलसँग सामान्य सरसल्लाहकार समेत नगरेकोमा असन्तुष्टि जनाउँदै अव पनि संविधान संशोधन गर्न सर्त पालना नभए सरकारबाट बाहिरिनुपर्ने अवस्था आउने पनि बताए । भट्टराईले संविधान संशोधनका लागि सत्तारुढ नेकपासँग पुनः पहल गर्ने र त्यसको प्रक्रियालाई अघि बढाउन नचाहेमा सरकारबाट बाहिरिनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढनुपर्ने धारणा पनि राखे ।
स्थायी राजधानी र प्रदेश नामकरण १५ दिनभित्र टुङ्ग्याउँछ : मुख्यमन्त्री पौडेल काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन् । आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा आज हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले ‘राजधानी र नामाकरणको विषयको चर्चा धेरै भयो, अबको १५ दिनभित्र टुङ्ग्याउँछु’, भने । कर तिर्नु सबैको दायित्व हो भन्दै जनताले कर तिरेर सरकारको कामलाई सहयोग गर्नुपर्नेमा उनले आग्रह गरे । ‘देश ऋण र अनुदानबाट होइन, जनताले मेहनत गरेर बुझाएको करबाट राज्य सञ्चालन हुनुपर्छ’, मुख्यमन्त्री पौडेलले भने, ‘कर तिर्ने पद्धतिको विकास गर्नुपर्छ ।’ उनले भने, ‘जनताले तिरेको कर सदुपयोग भएको छ कि छैन, त्यो जनताको अधिकार हो, त्यसमा सजग र सतर्क हुनुपर्छ ।’ सिस्नुपानी नेपालले सरकारको करमैत्री कार्यक्रममार्फत सहयोग गरेको काम सराहनीय भएकोमा मुख्यमन्त्री पौडेलले प्रशंसा गरे । आन्तरिक राजश्व कार्यालय हेटौँडाका प्रमुख सन्तबहादुर ढकालको सभाध्यक्षतामा भएको सो कार्यक्रममा कलाकार मनोज गजुरेल, धीरेन्द्र प्रेमर्षिलगायतले कर तिर्ने सम्बन्धमा मनोजञ्जनात्मक प्रस्तुति दिएका थिए । रासस
चन्द्रकोट हत्याकाण्डका अभियुक्त पक्राउ गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र सोही ठाउँका माधव सुनार रहेको प्रहरीले जनाएको छ । तीन जनाको सामूहिक हत्या गरेपछि फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घले र केन्द्रिय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले बुधवार राति पोखराको हेम्जाबाट पक्राउ गर्न सफल भएको हो । हत्यामा संलग्न एक जना भने अझै फरार रहेको हुँदा निजको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ । हत्यामा संलग्न व्यक्तिहरु दुई सातापछि पक्राउ परेका हुन् । मृतकको पहिचान चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा हत्या भएका तीनै जनाको शवको पहिचान खुलेको छ । मृतकहरुमा मोरङ जिल्ला कानेपोखरी–३ हरकपुर घर भई हाल पोखरा उपमहानगरपालिका–२५ लामाचौतारामा डेरा गरी बस्ने ३२ वर्षकी सरिता लिम्बू र निजका जुम्ल्याहा छोरीहरु सात वर्षीया गङ्गा मगर र जमुना मगर रहेको बताइएको छ । तीनै जना गत कात्तिक १६ गते चन्द्रकोट–३ अन्र्तगत हर्राचौरको आलुखरिया जङ्गलमा मृत अवस्थामा फेला परेका थिए । उनीहरुको हालसम्म कुनै नाम थर र वतन नखुलेका कारण शवको पहिचान हुन नसेकेपछि पाल्पा अस्पतालको चिस्यान केन्द्रमा राखिएको छ । हत्यामा संलग्न भएकाहरुलाई पोखराबाट जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइँदै छ । उनीहरुलाई ल्याइसकेपछि मात्र पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए ।
शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड’ काठमाडौं । शिवम् सिमेन्ट उद्योगले सरकारले प्रदान गर्ने ‘एनएस क्वालिटी अवार्ड’ हात पारेको छ । शिवम् सिमेन्ट उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने सो अवार्ड हात पार्न सफल भएको हो । सो अवार्ड नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरुमध्ये खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी प्रथम हुने कम्पनीलाई वितरण गर्ने गरिन्छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ड अर्यालले सो सिमेन्ट उद्योगका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई एनएस क्वालिटी अवार्ड प्रदान गरेका थिए । निरन्तर सर्वोत्कृष्ट बस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परीक्षण गरी उच्च गुणस्तरको उत्पादन गरेकाले शिवम सिमेन्टलाई सो अवार्ड हस्तान्तरण गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । शिवम सिमेन्टले क्वालिटीको मामलामा नो कम्प्रोमाईज मुख्य नारासहित राष्ट्रको विकास, निर्माणको महत्वपूर्ण योगदान दिँदै आएको छ । कार्यक्रममा सचिव अर्यालले गुणस्तरीय उत्पादनको माध्यामबाट मुलुकको विकास, निर्माणको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको भन्दै शिवम सिमेन्टप्रति आभार पनि व्यक्त गरेका थिए ।
नयाँ खरिद गरेका ‘वाटर क्यानोन’को परीक्षण (फाेटाेफिचर) काठमाडौं । नेपाल प्रहरीको लागि नयाँ खरिद भएका ५ वटा ‘वाटर क्यानोन’को प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा बिहीबार परीक्षण एवम् प्रदर्शनी भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उक्त प्रदर्शनीको अवलोकन गरे । उक्त अवसरमा ‘वाटर क्यानोन’द्वारा सेल्फ स्प्रे प्रदर्शन, ५५ मिटर दुरी तथा ३० मिटर दुरीमा पानीको फोहरा प्रदर्शन र भिडमा सहभागीको पहिचान हुन सहज होस् भन्न प्रयोग गरिने विभिन्न रङयुक्त फोहरा प्रयोग प्रदर्शन भएको थियो । नेपाल प्रहरीका लागि हाल ५ वटा नयाँ ‘वाटर क्यानोन’ खरिद भएका छन् । यसअघि १ वटा ‘वाटर क्यानोन’ रहेको थियो । उत्तेजित भिड तथा अग्नी नियन्त्रणमा प्रयोग हुने प्रत्येक नयाँ ‘वाटर क्यानोन’मा १८ वटा अश्रु ग्याँस सेल र ७ हजार ४ सय लिटर पानी अट्ने क्षमता रहेको छ । ‘वाटर क्यानोन’मा ‘अपर क्यान’ र ‘लोअर क्यान’ रहेका छन् । ‘अपर क्यान’मा ५५ मिटरको दुरीसम्म र ‘लोअर क्यान’मा ३० मिटरको दुरीसम्म पानीको फोहरा फाल्न सक्ने क्षमता रहेको छ ।
एक वर्षभित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मन्त्री भट्टराईको घोषणा काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्ष भित्र निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्षभित्र सञ्चालनमा आउने गरी काम भईरहेको दावी गरे । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपालको आर्थिक विकासको गतिलाई तीव्रता दिन सरकारले विमानस्थलहरुको निर्माण र स्तरोन्नतिको कामलाई जोड दिनुपर्ने बताए । मन्त्री भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधारको कामलाई पनि तीव्रता दिइएको बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबारे नकारात्मक टिप्पणी आउने गरेकाले त्यसको सुधारमा केन्द्रित हुनु परेको पनि मन्त्री भट्टराईको भनाई छ ।
चन्दननाथ नगरपालिकाले संकलन गर्यो ४ महिनामा १६ लाख राजश्व जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा रु १६ लाख ६१ हजार ५७१ राजश्व सङ्कलन गरेको छ । नगरपालिकाले साउनदेखि कात्तिकको अन्तिमसम्म विभिन्न शीर्षकमा राजश्व उठाएको राजश्व फाँटका प्रमुख कमल भण्डारीले बताए । कृषि समूह नवीकरणबाट दुई हजार ५००, फ्रेस हाउस नवीकरणबाट ५००, अन्य दस्तुरमा सात लाख ५९ हजार २००, पार्किङ महसुलतर्फ १७ हजार २५०, मूल्याङ्कन दस्तुरमा ३७०, सिफारिस दस्तुर तीन हजार ८००, (घ) वर्ग इजाजतपत्र नवीकरणतर्फ रु एक लाख ७६ हजार, घर करमा रु दुई लाख ७३ हजार ५०० राजश्व सङ्कलन भएको छ । घर बहाल कर ८३ हजार ४०३, संस्था नवीकरण ३७ हजार ५००, टहरा भाडा ११ हजार ६२४, डोजरबाट ५६ हजार ४४९, जग्गाको मालपोत रु एक लाख ४० हजार ४९९, बिक्री कर चार हजार ३००, इजाजतपत्र दर्ता छ हजार, संस्था दर्तातर्फ १० हजार, चार किल्ला सिफारिस प्रमाणितमा एक हजार र स्याउ ढुवानी सिफारिसबाट रु ९७ हजार ६७५ राजश्व उठेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा रु ५४ लाख ९७ हजार राजश्व सङ्कलन भएको भण्डारीले बताए । रासस
प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ वर्षीय रमेश पुन पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले निस्कोट र रुमको बीचमा रहेको खोलाबाट उनलाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । घटनाको विस्तृत अनुसन्धान थालिएको पनि उनले बताए । बाटोमा हिँडिरहेकै अवस्थामा खुकुरी प्रहारबाट गम्भीर घाइते बनेकी प्रअ पुनलाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । घाइते भएकी पुनको कान, टाउको र हातमा गम्भीर चोट लागेको छ । अहिले घाइते पुनको अवस्थामा सुधार आएको र उनि बोल्न र मान्छे चिन्न सक्ने अवस्थामा रहेको बताइएको छ ।
कूटनीतिक संवादबाट मिचिएको भूमि फिर्ता गर्न माग काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनले दार्चुलाको लिपुलेक, कालापानीलगायत क्षेत्रलाई समावेश गरी हालै भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साप्रति आपत्ति जनाउँदै खारेज गर्न माग गरेको छ । सङ्गठनले आज विज्ञप्ति जारी भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताविरुद्ध नेपालको भूगोल समेटेर जारी गरिएको उक्त नक्सा तत्काल खारेज गर्न भारत सरकारसमक्ष माग गरेको हो । सङ्गठनका संयोजक डा दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्णराज केसीद्वारा जारी विज्ञप्तिमा असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकीसँग पारस्परिक सम्बन्ध स्थापित गर्नुपर्ने भन्दै त्यस विपरीत कुनै पनि राष्ट्रले स्वतन्त्र राष्ट्रको स्वाभिमानमाथि गर्ने हस्तक्षेप मान्य नहुने जनाइएको छ । ‘हाम्रो सङ्गठन भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवादमार्फत मिचिएको नेपाली भूमि फिर्ता गर्न, सीमा क्षेत्रमा यथोचित सुरक्षाको प्रबन्ध गर्न, सीमा क्षेत्रका नेपाली नागरिकको सम्पत्ति र स्वाभिमानको पूर्ण प्रत्याभूति गर्न र नेपालका तर्फबाट लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको सम्पूर्ण भू–भाग समेटिएको आधिकारिक राजनीतिक नक्सा सार्वजनिक गर्न जोडदार माग गर्दछ ।’ विज्ञप्ति भनिएको छ, ‘राष्ट्रिय स्वाभिमानका पक्षमा देशभित्र देखिएको अभूतपूर्व राष्ट्रिय एकताले गुमेको नेपाली भूमि फिर्ता गर्ने ऐतिहासिक अवसर सिर्जना भएको तथ्यलाई मनन गर्दै भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानका पक्षमा एकताबद्ध हुन सम्पूर्ण देशभक्त, प्रगतिशील शक्ति एवं आम जनसमुदायमा अपिल गर्दछौँ ।’ रासस
कोहलपुरबाट हराएका चार बालकको उद्धार बाँके । एक सातादेखि घरबाट हराएका चारजना बालकको बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले आज उद्धार गरेको छ । गत कात्तिक २० गतेदेखि कोहलपुर नगरपालिकाबाट हराएका १२ वर्षीय प्रकाश बिक, ११ वर्षीय दीपक तिरुवा, १३ वर्षीय श्याम बिक र बिक्की विकलाई फेला पारी आजै घरपरिवारलाई बुझाएको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । चारैजना बालक हराएपछि उनका परिवारले निवेदन दिने बित्तिकै प्रहरीले खोजी अभियान थालेको थियो । खोजीकै क्रममा उनीहरुलाई भारततर्फ जाँदै गर्दा नेपालगन्ञ्ज—१३ चौलिकामा फेला पारिएको शाहीले बताए । केही दिनअघि पनि नेपालगञ्ज–२० बाट हराएका चारजना बालकलाई बर्दियाको जमुनीमा फेला पारी कोहलपुर प्रहरीले उनका आफन्तहरुलाई बुझाएको थियो । रासस