content
stringlengths
20
64.1k
नौ करोड बिगो बराबरको राजस्व छली गर्ने विरुद्ध मुद्दा काठमाडौं । मूल्य अभिवृद्धि करसम्बन्धी झुठो तथा नक्कली बीजकको प्रयोग गरी नौ करोड ३९ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा पाँच जनाविरुद्ध आज मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले कारोवारको सिलसिलामा झुठो नक्कली बीजक तयार गरी कर छलेको भन्दै उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । कर छली गरेको आरोपमा काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने एसपी इन्टरप्राइजेज र हिमाल कन्सट्रक्सनका प्रोपाइटर शिवप्रसाद गौतमले रु तीन करोड ८१ लाख र रामेछाप घर भई काठमाडौँमा हार्डवेयर सञ्चालन गर्दै आएका देवबहादुर खत्रीले झण्डै तीन करोड बिगो बराबरको राजस्व छलेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । यस्तै काभ्रेपलाञ्चको पाँचखाल ७ घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने वाटरमार्क इन्टरप्राइजेजका प्रोप्राइटर शिवराम न्यौपानेले रु एक करोड ५९ लाख, काठमाडौँ महानगरपालिका ११ बस्ने हिमालयन इन्टरप्राइजेजका प्रोपाइटर लक्ष्मण चौलागाईंले रु ६९ लाख ३९ हजार र भक्तपुर बस्ने न्यू युनिभर्सल इन्टरप्राइजेका सञ्चालक सुदर्शन चौलागाईंले रु ३० लाख ३२ हजार बिगो बराबरको कर छली गरेको आरोपमा विभागले उनीहरुविरुद्ध पनि आजै मुद्दा दर्ता गरेको छ । रासस
स्थानीय तहको ४८ पदका लागि २८१ को उम्मेदवारी काठमाडाैं । आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ । स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका उपनिर्वाचन हुँदैछ । उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ । मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको सङ्ख्या २६ छ । रासस
महोत्तरीमा ४६ जनाको उम्मेदवारी दर्ता महोत्तरी । तीन स्थानीय तहका चार पदका लागि महोत्तरीमा ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा एवं मटिहानी नगरपालिकाका तीन वटा वडाध्यक्षसहित जम्मा चार पदका लागि ४६ जनाको मनोनयनपत्र दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । पिपरा गाउँपालिकाको अध्यक्ष पदमा २० जनाको मनोनयनपत्र दर्ता (उम्मेदवारी) दर्ता भएको छ । त्यसैगरी बलवा नगरपालिकाका वडा नं २ र ८ एवं मटिहानी–८ का वडाध्यक्ष पदमा समेत २६ जनाले उम्मेदवारी दर्ता गराएका जिल्लाका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए । पिपरा गाउँपालिकामा ११ राजनीतिक दलका र नौ जना स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी बलवा–२ को वडाध्यक्षमा आठ जना, बलवा–८ को वडाध्यक्षमा १२ जना र मटिहानी–८ को वडाध्यक्षमा छ जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उमेगाउँपालिको अध्यक्ष पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् । बलवा नगरपालिका– २ को वडाध्यक्षका लागि आठ जना, वडा नं ८ का लागि १२ जना र मटिहानी नगरपालिका– ६ को वडाध्यक्ष पदका लागि छ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । पिपराका निर्वाचित अध्यक्ष विनोदकुमार चौधरी, बलवा–२ र ८ का वडाध्यक्ष क्रमशः राजकुमार साह र लोकेन्द्र महतोको मृत्यु भएर एवं मटिहानी–८ का वडाअध्यक्ष सञ्जयकुमार मण्डलले राजिनामा दिएर रिक्त भएको पदका लागि उपनिर्वाचन हुन लागेको हो । जिल्लाका तीन स्थानीयतहमा हुने उपनिर्वाचनमा १९ मतदानस्थल र २९ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीेले जनाएको छ । यो उपनिर्वाचनमा महोत्तरीका २२ हजार ९२० मतदाताले मताधिकार प्रयोग गर्न पाउने जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख (जिल्ला निर्वाचन अधिकारी) पुष्पा झाले जानकारी दिए । आउने मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाइएको र सबैले निर्धक्क भएर मतदान गर्नसक्ने जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । (रासस)
सीमा अतिक्रमणबारे प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री भट्ट धनगढी । नेपाली काङ्ग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले सीमा अतिक्रमणलगायत समसामयिक विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ । काङ्ग्रेसले आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले सीमा अतिक्रमणबारे प्रदेश सरकार गम्भीर रहेको बताए । उनले सीमा अतिक्रमणका घटना दृढताका साथ रोक्न नेपालको सङ्घीय सरकारदेखि प्रदेश र स्थानीय सरकार तथा सम्पूर्ण जनता एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री भट्टले कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि फिर्ता र स्थानीय जनताको सुरक्षाका लागि भारतसँग कूटनीतिक छलफल गरी समस्याको समाधान खोजिनुपर्ने धारणा व्यक्त गरे । काङ्ग्रेसले दार्चुलाको कालापानी, लिपुलेक र कालापानीमा भएको अतिक्रमण रोक्न पहल गर्नलगायत प्रदेश संसद् बैठक अह्वान गर्न र चालू वर्षका योजना कार्यान्वयनमा तदारुकता दिन मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण पत्र बुझाइएको काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बताए । रासस
मन्दिर निर्माण गर्न श्रीमद्भागवत महायज्ञ काठमाडौं । यही कार्तिक ३० गते शनिबार सन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नम्बर १ जलविरे दोबाटेस्थित् प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल पवित्र पुण्य (देवपतन) भूमिमा श्री कपिलेश्वर महादेव मन्दिर निर्मार्णाथ श्री पशुपतिनाथ क्षेत्रको उमाकुण्ड परिसरमा श्रीमद्भागवत ज्ञानमहायज्ञ हुने भएको छ । आयोजक जागृति समूह हगाम–नेपाल परिवारले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त महायज्ञबारे जानकारी गराईएको हो । महायज्ञको प्रमुख वाचक पं. रामशरण सापकोटाबाट शुभारम्भ हुने पनि आयोजक संस्थाका अध्यक्ष पूर्ण श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले उक्त महायज्ञमा सहभागी भई धार्मिक लाभ प्राप्त गरी जीवन सार्थक बनाउन आग्रह गरेका छन् । त्यसैगरि देवघाट, बराहक्षेत्र चतराधाम, स्वर्गद्धाराी र कपिलेश्वर धामममा गरिने जानकारी गराईने पनि उनले जनाए । उनकाअनुसार २०७६ कार्तिक ३० गते शनिबार बिहान ११ बजे कलश यात्रा चन्द्रविनायक गणेश मन्दिर चाबहिलबाट शुभारम्भ हुनेछ । कथा प्रारम्भ भने २०७६ मंसिर १ गते आइतबार विहान ११ बजे हुनेछ । कार्यक्रममा उक्त श्रीमद्भागवत ज्ञानमहायज्ञ सफल बनाउनको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा उक्त संस्थाका सल्लाहकार आरके ढकालले महायज्ञमा सहभागी हुन सबैलाई आग्रह गरे ।
सत्तारुढ दल नेकपाले धमिलो पानीमा माछा मार्न खोज्याे : रिपब्लिक पार्टी काठमाडौं । नेपाल रिपब्लिक पार्टीले नेपालले आफ्नो भूमि रक्षाको लागि भारत र चीन दुवैसँग गम्भिर भएर तत्काल कुटनीतिक कदम चाल्नुपर्ने माग गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले भारत र चीन दुवै मित्रराष्ट्रसँग नेपाल सरकारले कुटनीतिक रुपमा सीमा विवादको समाधान गर्नुपर्ने बताएको हो । पार्टीका प्रेसिडेन्ट सिदार्थ गौतमले नेपालको सुदूर पश्चिमी भूभाग कालापानी–लिपुलेक, भारत सरकारद्वारा हालै प्रकाशित भारतको नक्शामा समावेश भएकोबारे आफ्नो पार्टीको गम्भिर ध्यानाकार्षण भएको बताए । उनले आफ्नो पार्टीले उक्त क्षेत्र र अन्यत्रको समेत सीमा विवाद उच्चस्तरीय द्धिपक्षीय कूटनीतिक, राजनीतिक अग्रसरताद्वारा शिघ्रातिशीघ्र समाधान होस भन्ने जोडदार माग गरेको सुनाए । प्रेसिडेन्ट गौतमको नाममा जारी विज्ञप्तीमा भनिएको छ, ‘पञ्चशीलमा विश्वास गर्ने नेपाल कुनै पनि देशको भूमि अखण्डित रुपमा कायम रहिरहनुपर्छ भन्ने मान्यता राख्दछ र हाम्रो पार्टी पनि सो मान्यतामा अडिग छ । कुनैपनि क्षेत्रको सीमा विवादले नेपाल–भारतबीच शदियौंदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धमा खलल नपरोस र त्यस्तो विवादले विशेषगरि नेपाली जनमानसमा मित्रदेश भारतप्रति नकारात्मक भावना विकसित हुन नपुगोस् भन्नेमा दुवै मुलुकका सरकारहरु संवेदनशील हुनुपर्छ । र, यो समस्या पहिलो प्राथमिकताका साथ समाधान गर्न अग्रसर हुनुपर्छ ।’ गौतमले भारतीय नक्सामा दशकौंदेखि कालापानी र लिपुलेक समावेश रहँदै आएको र पछिल्लो पटक प्रकाशित भारतीय नक्शामा नेपालसँगको सीमा त्यसभन्दा फरक नभएको वस्तुतथ्य थाहा नपाएजस्तो गरी उक्त मामिलालाई अनावश्यक रुपमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवृत्तिलाई आफ्नो पार्टीले सतर्कतापूर्वक अवलोकन गरिरहेको बताए । उनले भने, ‘यसबारेमा यति लामो समयसम्म मौन धारण गर्नु र अहिलेमात्र यो मामिला उछाल्नुले यसको पछाडि रहस्यमय कारण रहेको हाम्रो पार्टीको आकलन छ ।’ उनले शान्त र गम्भिर कूटनीतिक प्रयासबाट समाधान गर्नुपर्ने सीमा क्षेत्रको मामिला सत्तारुढ दल नेकपा र उसका समर्थक पक्षहरुद्वारा सडकमा उछालिनु कूटनीतिक अपरिपक्वतामात्र नभएर पोखरीको पानी धमिल्याई माछा मार्ने निहित स्वार्थी अभिप्रायको खेल भएको पनि आरोप लगाए । उनले भने, ‘राष्ट्रहितमा गम्भिर असर पार्ने यस्तो खेल बन्द गर्न नेपाल रिपब्लिक पार्टी सत्तारुढ दल नेकपा र उसका समर्थकलाई चेतावनी दिन चाहन्छ ।’ त्यस्तै, उनले उत्तरी छिमेकी कम्युनिष्ट मुलुक चीनले पनि नेपाली भूमी ११ ठाउँमा सीमा मिचेको र आधा दर्जन सीमास्तम्भ उखेलिएको आधाधिकारिक तथ्यांक सार्वजनिक भएको सुनाए । विज्ञप्तीमा थप भनिएको छ, ‘सरकारी अभिलेखमा रहेको उक्त तथ्यांकले कम्युनिष्ट चीनको मिचाहा प्रवृत्ति मात्र उजागर गरेको छैन, यसबारे नेपालको कम्युनिष्ट पार्टीको सरकारले चुईंक्कसम्म नबोलेको घट्नाले उसले चीनको बलमिचाई र प्रभुत्व सहर्ष स्वीकार्ने तथ्यपनि उजागर गरेको छ ।’ प्रेसिडेन्ट गौतमले चीनले आधा सगरमाथा नेपालबाट पहिल्यै खोसिसकेको आरोप लगाए । उनले भनेका छन्, ‘आधा सगरमाथा नेपालबाट पहिल्यै खोसिकेको चीनले कालापानीको भूभागमा भारतसँग सम्झौता गरेर त्यसको जानाकारीसम्म नेपाललाई नदिएको घट्नाले उसको मित्रताको मखुण्डो फुस्केर असली अनुहार उदांग भइसकेको हाम्रो पार्टीको ठहर छ । यसबारे नेपाल सरकार र खासगरी परराष्ट्र मन्त्रालयको ध्यानाकार्षण गर्दै तत्काल आवश्यक कदम चाल्न नेपाल रिपब्लिक पार्टी जोडदार आग्रह गर्दछ । अन्यथा चीनले मिचेको नेपाली भूमि फिर्ता लिन नेपाली जनता उठ्नुपर्ने नेपाल रिपब्लिक पार्टीको निश्कर्ष छ । र, समस्त राष्ट्रप्रेमी पक्ष र जनतालाई हामी यसका निम्ति तयार रहन हार्दिक अपिल गर्दछौं ।’
उपनिर्वाचन २०७६ : धरानमा नगर प्रमुखको उम्मेदवारी दर्ता सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का वडाध्यक्ष पदका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजासहित आएका नेकपा तथा नेपाली काङ्ग्रेससहितका विभिन्न दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पञ्चेबाजासहित दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएको नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापति युवराज दाहालले बताए । धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र काङ्ग्रेसका तर्फबाट तिलक राईले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी प्रमुख पदकै लागि चार स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर इजम, राप्रपा संयुक्तबाट कुमार बराइली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्र रुपबाट उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयले नेपाली काङ्ग्रेसलाई ११ देखि १२ बजेसम्मको र नेकपालाई १२ बजेपछिको समय दिएको थियो । सोही समय सीमामा रहेर नेकपा र नेपाली काङ्ग्रेसका उम्मेदवारले उमेदवारी दर्ता गराएको स्थानीयवासीले बताएका छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारको विषयमा समय दिएको थिएन । त्यसैगरी ७ नं वडाध्यक्षमा नेपाली काङ्ग्रेसका तर्फबाट सुवर्णमोहन पालिखे र नेकपाका तर्फबाट जीवन सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । गत निर्वाचनमा धरान उपमहानरपालिकामा प्रमुख पदमा नेकपाका तर्फबाट तारा सुब्बा विजयी भएका थिए । उनको बिरामीका कारण काठमाडौंमा उपचारका क्रममा निधन भएपछि प्रमुख पद खाली भएको थियो । वडा नं ७ मा नेकपाका तर्फबाट भुवनसिंह मोक्तान विजयी भएका थिए । उनको पनि बिरामी भएका कारण निधन भएपछि सो पद खाली भएको थियो । रासस
वडाध्यक्षमा चार जनाको उम्मेदवारी डोटी । डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि चार जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि डोटीमा वडा अध्यक्षको लागि मात्र निर्वाचन हुने भएको छ जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राप्रपा र एक जना स्वतन्त्र गरी चार जनाको उम्मेदवारी परेको हो । जसमा नेकपाका तर्फबाट रामबहादुर बोहरा, नेपाली काङ्ग्रेसका तर्फबाट महादेव साउद, राप्रपाका काशिराम ओझा र स्वतन्त्र उम्मेदवार भूमिसिँह खड्काको मनोनयन परेको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले बताए । २ हजार ४ सय उनसाठी मतदाता रहेको सो वडामा तीनवटा मतदान स्थल रहेको समेत अधिकृत काफ्लेले बताए । कुल मतदाता मध्य १ हजार ४३ प्रुष र १ हजार ४ सय सोह्र जना महिला रहेका छन् । यसअघि तत्कालिन नेकपा एमालेबाट निवार्चित वडाध्यक्ष प्रेम बोहराको सडक दुर्घटनामा परि मृत्यु भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन हुन लागेको हो।
प्रधानमन्त्री ओली र बङ्गलादेशका राष्ट्रपति हमिदबीच शिष्टाचार भेट काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबीचको घनिष्ट र परम्परागत सम्बन्धलाई आर्थिक साझेदारिको क्षेत्रमा विभिन्न ढङ्गले विस्तार गर्ने विषयमा घनिभूत रुपमा छफल भएको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बङ्गलादेशका राष्ट्रपतिले समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई साकार पार्न आफ्नोतर्फबाट हरसम्भव सहयोग गर्ने बचन दिएका छन् । दुबै देशबीच वाणिज्य विस्तार, कनेक्टिभिटी, ऊर्जा, व्यापार, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा साझेदारी गर्नेबारे कुराकानी भएको छ । नेपाललाई बंगलादेशले उपलब्ध गराउँदै आएका विभिन्न बन्दरगाहको सदुपयोग गर्दै नेपाली उत्पादनलाई बंगलादेशको बजारमा पुर्याउने विषयमा पनि छलफल भएको छ । व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाई मार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो । जलवायु परिवर्तनसहित अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउने बारेमा पनि विचार आदानप्रदान भएको मन्त्री ज्ञवालीले बताए । यि सबै कुराको निम्ति प्रधानमन्त्रीले बंगलादेशका राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गरेका थिए । बङ्गलादेशका राष्ट्रपतिले आफ्नो मुलुकको स्वतन्त्रता सङ्ग्राम र त्यसलाई मान्यता दिएकामा नेपाल सरकार र नेपाली जनतालाई धन्यवाद समेत ज्ञापन गरेका छन् । रासस
भिआईपीको लागि तोकिएको मापदण्ड पूर्ण पालना गर्न मन्त्री भट्टराईको निर्देशन काठमाडौं । सरकारले भिआईपी सुविधा प्रयोगका लागि तोकिएका मापदण्डको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई निर्देशन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठान्न पनि सांसद, मन्त्रीहरुलाई आग्रह गरे । बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा सांसदहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुले आफूहरुमाथि हेपाहा प्रवृत्ति देखाएको गुनासो गरेका थिए । त्यसको जवाफ दिने क्रममा मन्त्री भट्टराईले सांसद, मन्त्रीहरुले पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीलाई थर्काउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न आग्रह गरे । उनले सो विमानस्थलको भिआईपी कक्षको प्रयोगको विषयलाई आफ्नो प्रतिष्ठासँग जोडेर सांसदहरुले हेर्न नहुने पनि स्पष्ट पारे । मन्त्री भट्टराईले आफूले मन्त्री हुनु अघि कहिल्यै पनि सो विमानस्थलको भिआईपी कक्षको प्रयोग नगरेको दृष्टान्त पनि समितिको बैठकमा प्रस्तुत गरे । बैठकमा सांसदहरुले विमानस्थलका कर्मचारीहरुले आफूहरुलाई हेपाहा प्रवृत्ति देखाएको गुनासो गरेका थिए । आफूहरुमाथि विमानस्थलका कर्मचारीहरुले पियनको जस्तो व्यवहार गर्ने गरेको भन्दै सांसदहरुले आक्रोश पनि व्यक्त गरेका थिए । राष्ट्रिय जनता पार्टी, नेपालकी सांसद अग्रहरीले विमानस्थलमा अभद्र व्यवहार गरेको भन्दै पार्टीका सांसद प्रमोदकुमार यादवमाथि मुद्दा चलाइएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरेका थिए ।
खानेपानी मन्त्रीद्वारा पनौतीमा प्रशोधित पानीको प्लान्ट निरीक्षण काभ्रे । खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानको काभ्रे पनौतिस्थित प्रशोधित पानी उत्पादन केन्द्र प्लान्टको बुधबार निरीक्षण गरेकी छन् । संस्थानले आफैं लगानी गरेर प्रशोधित पानी उत्पादन गरी जार तथा बोतल मार्फत आम उपभोक्ता समक्ष पुर्याउने लक्ष्य लिई पनौति नगरपालिका क्षेत्रमा प्लान्टको स्थापना गरेको हो । उक्त प्लान्टको निरीक्षण गर्न खानेपानी मन्त्री मगर पनौती पुगेकी हुन् । प्रशोधित पानीको प्लान्ट निरीक्षण गर्दै मन्त्री मगरले बजारमा प्रतिस्पर्धा गरेर संस्थानले गुणस्तरीय पानी आम उपभोक्ता माझ पुर्याउने गरी योजना बनाउन निर्देशन दिइन् । ‘संस्थानको यो पहिलो उत्पादन केन्द्र हो । अन्य स्थानीय तहहरुमा यसरी नै पानी प्रशोधन गर्ने प्लान्ट राख्ने गरी योजना बनाउन जरुरी छ ।’ उनले भनिन् । उनले भनिन्, ‘यो एउटा उदाहरण मात्र हो । अन्तर्राष्ट्रिय बजारमा हाम्रा मिनरल वाटर निर्यात गर्न सक्ने गरी योजना बनाउनुपर्छ । संस्थानले काम गर्न सक्छ भन्ने कुरा प्रमाणित गर्न सकोस् ।’ नेपालका विभिन्न ठाउँहरुमा यस्तै पानी प्रशोधन प्लान्टहरु कहाँ कहाँ राख्न सकिन्छ त्यस बारेमा सम्भावना खोजी गर्न मन्त्री मगरले संस्थानलाई निर्देशन दिइन् । उनले संस्थानलाई आफ्नो क्षमता अघि बढाउन निर्देशन समेत दिइन् । सगरमाथा लगायतका हिमालहरुबाट बग्ने पानीको प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने सम्बन्धमा सम्भावनाको खोजी भईरहेको उनको भनाइ छ । संस्थानका महाप्रबन्धक डा। भूपेन्द्र प्रसादले संस्थान अब खुला बजार प्रतिस्पर्धाका लागि तयार भईसकेको बताइन् । महाप्रबन्धक प्रसादले पनौती जस्तै अन्य नगरपालिकाहरुमा समेत मिनरल वाटर प्लान्ट राख्ने तयारी भईरहेको जानकारी दिइन् । पनौती नगरपालिकाका नगर प्रमुख मेयर भीम न्यौपानेले संस्थानलाई पानीको प्लान्ट क्षमता विस्तार गर्नका लागि आफूहरुले पुरा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । संस्थानको उक्त प्लान्ट २०७४ भदौदेखि सञ्चालनमा आएको हो । यसको पानी उत्पादन क्षमता प्रति घण्टा २ हजार लिटर रहेको छ । संस्थानले यस प्लान्टबाट दैनिक ३८ हजारदेखि ४० हजार लिटर सम्म पानी उत्पादन गर्न सकिने जनाएको छ । अहिले दैनिक २ सय ६५ जार पानी उत्पादन हुँदै आएकोमा आगामी दिनमा यसको क्षमता विस्तार गरिने महाप्रबन्धक प्रसादको भनाइ छ । उत्पादनसँगै जारको संख्या बढाएर बजारमा प्रतिस्पर्धा गर्ने र बिक्री बढाउने रणनीति संस्थानले लिएको उनको भनाइ छ ।
जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ चितवन । माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ। घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि विकलाई माडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले उनलाई चितवन जिल्ला अदालतमा जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गर्न पाँच दिनको समय माग गरी अनुसन्धान थालिएको बताए।
ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ लहान । ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा नगरपालिका–२ का ४० वर्षीय जिबछ यादव र सिरहा नगरपालिका–३ का २० वर्षीय सतिषकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुबै जनालाई आ-आफ्नो घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरेको उनले बताए । रासस
null
चोरीको घटनामा संलग्न रहेको आरोपमा चार पक्राउ गोरखा । गोरखा सदरमुकाम र आससापका क्षेत्रमा लगातार भइरहेको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। चाडपर्वका मौकछोपी गरगहना, टिभी, मोबाइललगायत चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ का २३ वर्षीय बाघे भनिने सुमन बराम, गोरखा नगरपालिका–५ का २१ वर्षीय राजकुमार नेपाली, २० वर्षीय राजकुमार मग्राती, गोरखा नगरपालिका–१ ताप्लेका भुवन नेपाली रहेको गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए। उनका अनुसार बाघे भनिने बरामलाई प्रहरीले पिछा गरी जिल्लाको भीमसेन थापा गाउँपालिकाको ध्याम्पेसालबाट पक्राउ गरिएको होे। त्यस्तै अन्य दुई अभियुक्त नेपाली र मग्रातीलाई गोरखा सदरमुकामको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । अर्का अभियुक्त भुवन नेपालीलाई गोरखा नगरपालिका–८ आहालेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुले कात्तिक २० गते गोरखा नगरपालिका–६ स्थित धु्रवकुमार भट्टको घरबाट सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ। त्यस्तै अर्का अभिभयक्त नेपालीले गोरखा नगरपालिका–६ स्थित हिमालय केवल नेटवर्क प्रालिमा चोरी गरेको खुल्न आएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । पक्राउ परेको अभियुक्तहरुको साथबाट औठी, रानीहार, तिलहरी, सिरबन्दी, चन्द्रमा एक/एक थान बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । त्यस्तै सुनको झुम्का भने स्वरुप परिवर्तन गरिसकेको अवस्थामा बरामद भएको उनले बताए । पक्राउ परेको अभियुक्तहरुको साथबाट चाँदीको धातुजस्तो देखिने ब्रासलेट र सिक्रीसमेत एक/एक थान बरामद गरेको उनले जानकारी दिए ।
आफ्नै छोराको कुटाइबाट बाबुको मृत्यु महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले मटिहानी नगरपालिका–८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु उनका छोरा वीरेन्द्रको कुटाइबाट भएको आशङ्कामा निजलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए। गएराति दुवै बाबुछोराबीच झैझगडा हुँदा छोराले कुटपिट गर्दै धक्का दिएर भुइँमा लडाएपछि उनको मृत्यु भएको थियो। शवपरीक्षणको प्रतिवेदनपछि मात्रै घटनाका बारेमा स्पष्ट भन्न सकिने प्रनाउ बुढाथोकीले बताए । प्रहरीले शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगेको छ। रासस
निजगढ–काठमाडौँ द्रुतमार्ग नयाँ अवधारणामा बन्ने काठमाडौं । निजगढ–काठमाडौँ द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएपछि अलमलमा परेको नेपाली सेनाले अब नयाँ अवधारणाअनुसार निर्माण कार्य अघि बढाउने भएको छ । नयाँ अवधारणाअनुसार सेना आफैँले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्र, नाला, कल्भर्ट, पर्खाल र अन्य पुल आफै निर्माण गर्ने भएको हो । द्रुतमार्गको सडक फिलिङ र कटिङ सकिएको २५ किलोमिटर क्षेत्र कालोपत्र तत्काल थालिने र सँगै नाला, पर्खाल बनाइनेछ । अब दु्रत गतिमा कालोपत्र, स–साना पुल, कल्भर्ट र पर्खाल बनाउने योजना अघि बढाइएको आयोजनाका संयोजक भरत खड्काले बताए । सेनाले निजगढदेखि ८ दशमलव ५ किलोमिटर उत्तरतर्फ सडक कालोपत्र, कल्भर्ट र पुल निर्माण थाल्ने भएको छ । सिस्नेरीको कठिन स्थानमा निर्माण कम्पनीले पहाड फोड्नेदेखि सम्याउने काम सकेपछि सेनाले चार लेनलाई चिरा पारेर दुई लेनको बनाउने तथा फेरी चार लेनसँगै जोड्ने साथै चोभारदेखि बाग्मतीसम्म फिलिङ, कटिङसँगै कालोपत्र गर्ने खडकाले बताए । चार वर्षभित्र निर्माणको सम्पूर्ण काम सक्ने सर्तमा २०७४ साउन २७ मा द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिइएको थियो । सर्तअनुसार सेनाले २०७८ साउन २७ भित्र द्रुतमार्ग निर्माणको सम्पूर्ण काम सक्नुपर्नेछ । अहिले ५४ दशमलव ५१ किमी सडकमा फिलिङ, कटिङ, पर्खाल र जमिन बाँध्ने काम भइरहेको छ । रासस
जुलुस गरेर जमीन फिर्ता हुन्न : देउवा काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताएका छन् । नेपाली काङ्ग्रेस प्रदेश नं ३ को ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले यसका लागि कूटनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गरे । उनले कालापानी सदियौँकालबाट नेपालको भूभाग भएको बताए । कालापानीको विषयमा आफूले यसअघि पनि बोलेको भन्दै उनले कालापानीको भूभाग एक इन्च पनि नछाड्ने प्रतिबद्धता व्यक्त गरे । सभापति देउवाले ऋण लिएर रेल चढ्ने कुराको काङ्ग्रेसले समर्थन नगर्ने बताए । भारत या चीन दुवैले रेलमा अनुदान दिने भएमात्र रेल बन्नसक्ने उनको भनाइ थियो । उनले भने, ‘भारत होस् कि चीन, ऋण लिएर रेल बनाउने काममा समर्थन हुन्न, प्रत्येक वर्ष ब्याज तिर्दै रेल चढ्ने कुरालाई समर्थन छैन ।’ नेपाली काङ्ग्रेसलाई बलियो बनाउन पार्टीमा आन्तरिक एकता आवश्यक रहेकोसमेत उनको भनाइ थियो । पार्टीमा एकता भएको अवस्थामा चुनावमा समेत विजयी हुने उनले बताए । कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेसले अब नेपालको कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नुपर्ने बताए । कम्युनिष्टहरुको विचारनै नभएको र बहुदलमा विश्वास गर्ने चरित्रसमेत नरहेको उनको आरोप थियो । कार्यक्रममा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधि, केन्द्रीय नेताहरु डा शशाङ्क कोइराला, डा रामशरण महतलगायतले बोलेका थिए । भोलिसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश नं ३ का ६ जिल्लाका २९० महाधिवेशन प्रतिनिधिहरुको सहभागिता छ । रासस
अफ्रिकामा बन्धक बनाइएका युवाको उद्धार काठमाडौं । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले पर्वत, दाङ र पूर्वी रुकुमका छ युवालाई अमेरिका लैजान्छु भनेर अफ्रिकाको मलावीमा लगेर बन्धक बनाउने कार्यमा संलग्न भारतीय नागरिक नाजिर अहमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले विगत एक वर्षदेखि अमेरिका लैजाने भनी भियतनाम, इथियोपिया, मडागास्कार, जोर्डन, दुबई, अजरबैजान हुँदै अफ्रिकाको मलावी पुर्याएर बन्धक बनाएको जानकारी दिए । ‘ब्यूरोको टोली र मलावीको सीआईडी पुलिसको समन्वयमा मलावीको गाउँबाट उद्धार गरी स्वदेश फर्काउन सफल भएका छौँ,’ उनले भने । उद्धार गरिएका मध्ये पर्वतका चार युवालाई स्वदेश ल्याइसकिएको र बाँकी दुईलाई ल्याउने क्रममा रहेको ब्यूरोले जनाएको छ । मानव तस्कर गिरोहले अजरबैजान लाने क्रममा नेपालबाट भियतनाम लगेर २० दिन राखेको, इथियोपियामा चार महिना, मडागास्कारमा २५ दिन, जोर्डनमा एक महिना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेको अनुसन्धानमा खुलेको छ । मानव ओसारपसार तथा बन्धक बनाउने अन्तर्राष्ट्रिय गिरोहको मलावी प्रहरी तथा मानव बेचविखन अनुसन्धान ब्यूरोबाट अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही हुने प्रवक्ता थपलियाले बताए । रासस
‘अघोरी बाबा’की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा काठमाडौं । आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत काठमाडौँबाट आज म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । विदेश लगिदिन्छु भन्दै विश्वासमा लिएर धोका दिई ठगी गरेको भनी एक महिलाले कारवाहीको माग गर्दै सोमबार जाहेरी दिएकी थिइन् । त्यही जाहेरीको आधारमा प्रहरीले पाण्डेलाई सोमबार पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २४९ मा कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकामा सो बमोजिम नगरी वा फकाइ, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानी, नोक्सानी वा क्षति पुर्याएमा वा आफ्नो वा अरु कसैका लागि कुनै लाभ प्राप्त गरेमा निजले आपराधिक लाभसम्बन्धी कसुर (ठगी) गरेको मानिने उल्लेख छ । भ्रष्टाचारसम्बन्धी र सरकारी संस्थाबाहेक यसरी ठगी गरेको प्रमाणित भएमा सात वर्ष जेल र रु ७० हजार जरिवाना गरिने व्यवस्था छ । रासस
भारतले नक्सा सच्याउनु पर्छ : उपसभापति गच्छदार काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुुमार गच्छदारले भारतले जारी गरेको नेपालको भूमिसहितको नक्सा अविलम्व सच्याउनु पर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले कालापानी, लिपुुलेक र लिम्पियाधुरा नेपालको भू–भाग भएकाले भारत सरकारले तत्काल नक्सा सच्याई अतिक्रमण गरिएको नेपाली भू–भागबाट तत्काल फिर्ता गर्नुुुपर्नेमा जोड दिए । ‘नेपालको एक इन्च भू–भाग पनि अतिक्रमण गर्ने कुुरा नेपाली जनतालाई सह्य हुँदैन्’, उनले भने । आफ्नो देशको भूमि अतिक्रमण गर्दा जनताले विरोध गर्नु स्वभाविक भएको उनले प्रष्ट पारे । अतिक्रमण भएको भू–भाग र्फिता गराउने विषयमा सबै राजनीतिक दल एक भएकाले यस सम्बन्धमा सरकारले कूटनीतिक पहल गरी भारत सरकारसँग ठोस वार्ता एवं छलफल गर्नुपर्ने उपसभापति गच्छदारको भनाइ थियो । सरकारले प्रतिपक्षसँग सहमति, साझेदारी एवं विश्वासको आधारमा राज्य सञ्चालन गरे मुलुक समृद्ध हुने उनले बताए । उपसभापति गच्छदारले आगामी मङ्सिरको पहिलो हप्ताभित्र फोरम लोकतान्त्रिक र काङ्ग्रेसबीच ११ केन्द्रीय सदस्यलगायत अन्य समायोजन प्रक्रिया टुङ्गिने जानकारी दिए । रासस
देशको राष्ट्रवादी शक्ति राप्रपा : अध्यक्ष थापा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले देशमा राष्ट्रवादी शक्ति राप्रपा भएको दावी गरेका छन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रचारप्रसारका सन्दर्भमा पार्टीद्वारा पोखराको बिरौटामा आज आयोजित चुनावी सभामा उहाँले देशमा राष्ट्रवादी शक्ति आवश्यक भएको बताए । नेकपा र काङ्ग्रेसको विकल्प पार्टी राप्रपा भएको बताउँदै उनले विदेशी दबाबमा हिन्दू धर्म परिवर्तन गराउने सोच कदापि पूरा हुन नसक्ने उल्लेख गरे । नेपालको पहिचान सङ्कटमा परेको बताउँदै अध्यक्ष थापाले राप्रपा सत्ता नभई जनता केन्द्रित पार्टी भएको र देशको विकासका लागि लड्न कहिल्यै पछि नहट्ने स्पष्ट पारे । हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था राप्रपाको एजेन्डा भएको बताउँदै उनले राष्ट्रिय स्वतन्त्रता, एकता र अखण्डताको संरक्षण, सुशासन, पूर्ण धार्मिक स्वतन्त्रतासहित धर्म सापेक्ष सनातन हिन्दू राष्ट्र कायमका लागि राप्रपा सधैँ लडिरहने उल्लेख गरे । कार्यक्रममा प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री तोरणबहादुर गुरुङ, सहायक महामन्त्री मदनबहादुर कार्की लगायतले बोलेका थिए । रासस
राजश्व छली गर्ने भारतीयविरुद्ध मुद्दा काठमाडौं । झुट्टा तथा नक्कली बीजक प्रयोग गरी करोडौँ रुपैयाँ राजश्व छली गर्ने भारतीय नागरिकसहित तीन जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । ‘हस्पी केयर इन्टरनेशनल’ र ‘श्री श्याम ट्रेडर्स त्रिपुरेश्वर काठमाडौँ’मार्फत राजश्व चुहावट गरेको अभियोगमा भारत स्थायी ठेगाना भई हाल काठमाडौँ, बाफल बस्ने केशव बङ्शल, रामसुन्दर राय र प्रोप्राइटर राकेश पाण्डेयविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरुले रु ११ करोड १९ लाख ८४ हजार बिगो बराबरको राजश्व छली गरेकाले बिगो कायम गरी त्यसको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैदको माग दाबीसहित मुद्दा चलाइएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त कर छलीका मुख्य अभियुक्त भने बङ्शल हुन् । हस्पी केयर इन्टरनेशनल र श्री श्याम ट्रेडर्सले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजश्व चुहावटको कसूर गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनले राजश्व छली गरी आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारी साधन नेपाली नागरिकको नाममा दर्ता गरी भोगचलन गर्ने गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ । अभियुक्त बङ्शलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत गरेको देखिएकाले आवश्यक छानबिन तथा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पत्राचार गरिएको विभागले जनाएको छ । रासस
तोकिएको समयमा काम सम्पन्न गर्न मन्त्री जम्मकट्टेलको निर्देशन काठमाडौं । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको इलाका प्रहरी कार्यालय र प्रहरी चौकीका भवनहरु समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । काभ्रेपलाञ्चोकको जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आज भएका अन्तरक्रियामा उनले निर्माण व्यवसायीहरुलाई तोकिएको समयमा काम गर्न निर्देशन दिए । उनले भने, ‘बजेट भएपनि माग्न नआएका कारण यसअघि रकम फ्रिज हुने गरेको छ, यस वर्ष त्यस्तो नहोस् ।’ मन्त्री जम्मट्टेलले पाउनुपर्ने पैसामा कुनै समस्या नपर्ने उल्लेख गर्दै काम समयमा सम्पन्न भएन भने दिनुपर्ने पैसासमेत रोकिने भएकाले त्यसमा सचेत भएर काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । निर्माण कम्पनीहरुकै कारण देश डुबेको उल्लेख गर्दै उनले ठेक्का सम्झौता गर्ने अनि वर्षौंसम्म भाग्ने दिन अब गएको बताए । “मन्त्री फेरिसकेपछि हतारहतार चाकरी गर्न कुद्ने अनि जनतामाथि अत्याचार गर्न अब पाइँदैन’, उनले भने, ‘माथिको संस्कारले गर्दा सबै बिगारेको छ, अबको दिनमा त्यस्तो गर्नेलाई कसैलाई पनि छुट छैन ।’ प्रदेश नं ३ का प्रदेशसभा सदस्य रत्न ढकाल र पूर्वऊर्जा राज्यमन्त्री सूर्यमान दोङले जिल्लाका अन्य प्रहरी कार्यालय र चौकीहरुको भौतिक संरचना र आवश्यक जनशक्ति समस्याका बारेमा मन्त्रीसमक्ष जानकारी गराएका थिए । प्रदेश नं ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेतले प्रदेश सरकारले अगाडि बढाएका काम सम्पन्न हुनुपर्ने बताए । काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख जयराज सापकोटाले प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकी गरी आठवटा निर्माणाधीन अवस्थामा रहेको बताए । जसअन्तर्गत इलाका प्रहरी कार्यालय बनेपा, बनखु र गोकुले त्यस्तै प्रहरी चौकी फलाँटे, तेमालबेँसी, तालढुङ्गा, फोक्सिङटार र फलामेसाँघु रहेको छ । त्यसका लागि निर्माण गर्न आर्थिक वर्ष २०७५÷७६ मा रु १३ करोड ८१ हजार रकम प्राप्त भएको र त्यसलाई सम्पन्न गर्न १७ करोड ७९ लाख ४० हजार २९६ आवश्यक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्माण कम्पनीले निर्माण गर्नुपर्ने कतिपय ठाउँमा मोटरबाटो नपुगेका कारण त्यहाँसम्म पुग्ने बाटो निर्माणमा सहयोग गर्न, जग्गा नमिलेको ठाउँमा छिट्टै मिलाइदिन र ठेक्का सम्झौता भएपछि पाउनुपर्ने अग्रिम रकम उपलब्ध गर्नुपर्ने माग गरेको थियो । जिल्लामा निर्माण भइरहेको भवनहरु खानी घिसिङ ब्राइट जेभी र किराँतेश्वर आरएमसी जेभीले ठेक्का सम्झौता गरी काम शुरु गरिरहेको छ । रासस
बोकाको मुल्य दुई लाख ९० हजार म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले रु दुई लाख ९० हजारमा बोयर जातको बोका विक्री गरेका छन् । शुद्ध बोयर जातको ८० किलोको बोकालाई नश्ल सुधारको लागि स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले खरिद गरेका छन् । तस्वीर : कमल खत्री (रासस)
पाटे बाघ बढेसँगै मानव र बाघबीच द्वन्द्वमा वृद्धि बाँके । पाटेबाघको आक्रमणबाट बाँकेमा फेरि एक महिलाको मृत्यु भएको छ । पाटेबाघको आक्रमणमा परी राप्ती सोनारी गाउँपालिका–८ बालापुरकी ६० वर्षीया ठगी खड्काको आज दिउँसो मृत्यु भएको हो । राप्ती सोनारी–८ स्थित शिवशक्ति सामुदायिक वनमा पर्ने डप्का खोलामा घाँस काट्न गएकी खड्कालाई बाघले आक्रमण गरी छातीको भाग खाएको अवस्थामा फेला परको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । आज बिहान ९ बजे जङ्गलमा घाँस काट्न गएको उनको श्रीमान् तिलक खड्काले जानकारी गराएपछि प्रहरी टोली त्यसतर्फ गएर अनुसन्धान अगाडि बढाएको शाहीले बताए । पाटेबाघको आक्रमणमा परी यही कात्तिक २४ गते पनि एक महिलाको ज्यान गएको थियो । कोहलपुर नगरपालिका–१३, नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतलाई पाटेबाघले आक्रमण गरी ज्यान गएको हो । दिउँसो ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने परेवा बस्ने ढिक भन्ने स्थानमा दाउरा लिन गएको बेला बस्नेतलाई पाटेबाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बस्नेत घर नफर्किएपछि खोज्न जाँदा पाटेबाघको आक्रमणमा परेर मृत भेटिएको कोहलपुर–१३, नयाँबस्तीका स्थानीयवासी निरकबहादुर शाहीले बताए । बाँके, बर्दियामा गरी १३ जना मानिस पाटेबाघको आक्रमणमा परेका छन् । विसं २०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँकेमा दुई र बर्दियामा २०७० देखि हालसम्म ११ आक्रमणमा परेको ११ जनामध्ये बर्दियामा छ जनाको मृत्यु भइसकेको छ भने पाँचजना घाइते भएका छन् । बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन् । ‘बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको उद्देश्य बाघ देख्ने हुन्छ, कोही आक्रमणमा पर्छन्’, संरक्षण अधिकृतले अणनाथ बरालले भने, ‘पाहुनाले बाघ देखेको कुरा सुन्न पाउँदा धेरै खुशी लाग्छ तर यस्ता आक्रमणका घटनाबाट हामी दुखित छौँ ।’ बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटेबाघको आक्रमणबाट यही कात्तिक १९ गते मङ्गलबार दिउँसो एक माहुतेको मृत्यु भएको छ । निकुञ्जभित्र गैँडा मचान नजीक पाटेबाघको आक्रमणबाट बर्दिया ठाकुरबाबा नगरपालिका–७ मोहनपुर गाउँका ४५ वर्षीय निकुञ्जका माहुते कर्मचारी मंग्रु थारूको ज्यान गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए । बाघको सङ्ख्यामा वृद्धि प्रजनन गर्न सक्ने वयस्क बाघको गणना हुने भएकाले निकुन्ञ्जमा सयको हाराहारीमा बाघ रहेको निकुञ्ज कर्मचारीको दाबी छ । बाघ संरक्षणकै लागि विगतदेखि संवेदनशील क्षेत्रमा नेपाली सेनाको पोष्ट थपेर सुरक्षा रणनीति अपनाएको निकुञ्ज प्रशासनले जनाएको छ । पर्यटकीय मार्ग बनेपछि यस क्षेत्रलगायत बर्दिया जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने विषयमा महत्वपूर्ण योगदान हेर्दा ८७ वटा बाघ, ३७ वटा एकसिङ्गे गैँडा, सयभन्दा बढी हात्ती र अन्य जनवार रहेको यस क्षेत्र प्रकृतिसँग रमाउन खोज्ने पर्यटकका लागि मुख्य आकर्षणको थलो बन्न थालेको छ । एक दशकअघिसम्म ओझेलमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज निकुञ्जको परिचय अहिले फेरिएको छ । पाटेबाघकै कारण अन्तर्राष्ट्रिय जगत्मा बर्दिया चिनिएको छ । हलिउडका स्टार लियोनार्दो डिक्याप्रियोसँग आएका फोटोग्राफरले निकुञ्जमा खिचेको फोटो सार्वजनिक भएपछि बर्दिया राष्ट्रिय निकुञ्ज बाघको मुख्य थलो रहेको थाहा भएको हो । स्टारसँग रहेका फोटोग्राफरले समूहमा रहेका बाघको फोटो सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय जगत्मा बाघको बैभव भनेर बर्दिया जिल्ला चिनिन थालेको छ । सन् २००८ को गणनाअनुसार बर्दिया निकुञ्जमा १४ वटा बाघ रहेकामा सन् २०१३ को गणनामा ३७ वटा पुगेको थियो । सन् २०१८ मा सार्वजनिक गरेको गणनामा बाघको सङ्ख्या ८७ पुगेको छ । आगामी गणनामा बाघको सङ्ख्या एक सय पुग्ने निकुञ्ज प्रशासनले दाबी गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको बाँके राष्ट्रिय निकुञ्जलाई सरकारले विस्तार गरेपछि यहाँ बाघको सङ्ख्या बढेको छ । बाँके राष्ट्रिय निकुञ्ज विस्तार भएपछि बाघ बढेको बासस्थान बढेको निकुञ्ज बाँके निकुञ्जको सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले बताए । निर्बाध रुपमा हिँड्न बाघको क्षेत्र बढेपछि बर्दिया र बाँके निकुञ्जमा बाघको सङ्ख्या बढेको छ । बाँके निकुञ्जमा बाघ सङ्ख्या २१ वटा पुगेको छ । पछिल्लो समयमा निकुन्जभित्र बाघको सङ्ख्या बढ्दै गएपछि पूर्वपश्चिम राजमार्गको अम्रेनी र चीसापानी पोष्ट नजिक बाटोमा भाले बाघ आएर बस्ने गरेका छन् । कहिलेकाहीँ पूर्व–पश्चिम राजमार्गमा पर्ने सडकमा बाघ निस्कँदा यातायात नै अवरुद्ध हुने गरेको छ । स्थानीय स्तरमा गठन गरिएका चोरी सिकारी नियन्त्रण युवा दस्ता, नेपाली सेना र निकुन्ज प्रशासनको सक्रियताले गर्दा बाघको सङ्ख्या बढेको निकुञ्जको भनाइ छ । वयस्क बाघले बासस्थान र बघिनीले बाघबाट डमरु बचाउन हिँडडुल गर्नुपर्ने बाध्यता भएकाले जताततै बाघ देखिने गरेको र मान्छेलाई समेत आक्रमण गरेको उनले बताए । बाघको सङ्ख्या बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका पर्या–पर्यटन विकास मञ्चका अध्यक्ष मोहन थारु बताउँछन् । ‘पहिले बाघ देखाउनका लागि एक सातासम्म रातभर जङ्गलमा बस्नु पथ्र्यो तर अहिले त्यसो गरिरहनु पर्दैन, सजिलै समूहमा बाघ देख्न सकिन्छ ।’ राजस्वमा वृद्धि आव २०७४/७५ मा बर्दियामा बाघ हेर्न २० हजार २८४ पर्यटक भित्रिँदा दुई करोड ९८ लाख ६ हजार ४८ राजश्व प्राप्त भएको थियो भने २०७५/७६ मा २४ हजार ५५८ जना पर्यटक भित्रँदा रु तीन करोड ७६ लाख ६० हजार ३४५ राजश्व सङ्कलन भएको निकुञ्जको रेञ्जर पुष्पदीप श्रेष्ठले बताए । बाँके राष्ट्रिय निकुञ्जमा आव २०७५/७६ मा २६२ जना पर्यटक भित्रिँदा रु ९६ हजार ४३ राजश्व सङ्कलन भएको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिए। पाटेबाघ भारत, नेपाल, भुटान र बङ्गलादेशका सिमित क्षेत्रमा पाइन्छ । प्राकृतिक बासस्थानमा सबैभन्दा बढी भारतमा पाटे बाघ पाइन्छ । भारतमा पाटेवाघको संङ्ख्या २ हजार २२६ रहेको बताइन्छ । यस्तै नेपालमा २३५, बङ्गलादेश १०६ र भुटानमा १०३ वटा पाटेबाघ रहेको तथ्याङ्क छ ।
घुस लिएको आरोपमा मालपोत कार्यालयका खरिदारविरुछ मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनहरि भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार खरिदार पौडेलले लेखापढी व्यवसायीसँग रु १२ हजार घुस लिएको आरोप लागेको छ । सेवाग्राहीसँग जग्गा नामसारी गर्ने बहानामा खरिदार पौडेलले घुस लिएको आरोपमा आज मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
लिटिल फ्लावर प्रिमियर लिगको उपाधि आयोजकलाई कैलाली । यहाँ सम्पन्न ‘निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतयोगिता’को चौथो संस्करणको उपाधि लिटिल फ्लावर स्कुलले जितेको छ । यहाँ आज भएको फाइनल खेलमा हिमालय ह्वाइट हाउस काठमाडौँलाई नौ विकेटले हराउँदै आयोजक लिटिल फ्लावर च्याम्पियन बनेको हो । लिटिल फ्लावर तेस्रो संस्करणको समेत विजेता हो । उपाधिसँगै लिटिल फ्लावरले रु दुई लाख तथा उपविजेता हिमालय ह्वाइट हाउसले रु एक लाख पुरस्कार पाए । टस जितेर ब्याटिङ गरेको हिमालय ह्वाइट हाउसले १३७ रन बनायो । एक सय ३८ रनको विजयी लक्ष्य लिटिल फ्लावरले ११ बल बाँकी छुँदै पूरा गर्यो । उसका लागि सुवाश ऐर र कप्तान विपिन रावलले उत्कृष्ट प्रदर्शन गरे । सुवाशले ५४ बलमा तीन छक्का र नौ चौकाको मद्दतमा अविजित ६८ तथा विपिनले ३८ बलमा तीन छक्का र चार चौकासहित ४७ रन बनाए । यस्तै नरेन भट्टले अविजित १२ रन जोडे । यस अघि हिमालय ह्वाइट हाउसले २० ओभरमा १३७ रन बनाएको थियो । उसका लागि ओपनरद्वय दीपक बोहोराले ३४ तथा सुदीप बस्स्नेतले १८ रन बनाएका थिए । सुमित श्रेष्ठले २५ रनको योगदान दिए । बलिङतर्फ लिटिल फ्लावरका दीपक रोकाया र अनुराग सिंहले दुई÷दुई तथा विपिन रावलले एक विकेट लिए । लिटिल फ्लावरका सुवाश ऐर म्यान अफ द म्याच भए । । कात्तिक १६ गतेदेखि शुरु भएको उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडी हिमालय ह्वाइट हाउसका आरियो पौडेल भए । उनले रु १५ हजार पुरस्कार पाए । शारदा विद्या निकेतनका वीरेन्द्र नाथ उत्कृष्ट ब्याट्सम्यान, लिटिल फ्लावरका दिपक रोकाया उत्कृष्ट बलर तथा लिटिल फ्लावरकै अनुराग सिंह उदीयमान खेलाडी घोषित भए । उनीहरुले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे । विजयी टोली तथा खेलाडीलाई आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाही, निष्ट कलेजका संस्थापक प्रिन्सिपल डा माधव बराललगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १२ विद्यालय सहभागी थिए । रासस
उत्तरी अफगानिस्तानमा सडक दुर्घटना, २८ जनाको मृत्यु अफगानिस्तान (रासस/सिन्ह्वा) । उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुई वटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार उत्तरी बाघलान प्रान्तमा मङ्गलबार बिहानै भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका थिए । जिल्ला प्रमुख लुतफुल्लाह हातिफले बिकट गाउँको धुलौटे बाटोमा गुडिरहेको मिनिबस खोंचमा झरेको बताए । घाइतेहरुको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । गत सोमबार साँझ यस्तै किसिमको दुर्घटनामा ११ जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन् । बाल्खाब जिल्लाको पहाडी सडकमा गुडिरहेको मिनिबस अनियन्त्रित भई नदीमा खसेको स्थानीय अधिकारीहरुले बताएका छन् । सडकको दुरवस्था र चालकको लापरवाहीका कारण अफगानिस्तानमा बारम्बार गम्भीर सडक दुर्घटना हुने गरेको छ ।
बङ्लादेशमा रेल दुर्घटना : १५ जनाको मृत्यु, ५८ घाइते ढाका (रासस/एएफपी) । बङ्लादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन् । देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । ‘दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरु ५८ भन्दा बढी घाइते भएका छन्,’ स्थानीय प्रहरी प्रमुख अनिसुर रहमदलेसँग भने । उनले घाइतेहरुलाई उपचारका लागि फरक फरक अस्पतालमा लगिएको एएफपीलाई जानकारी दिए । घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको रेलमार्ग अधिकरीले जानकारी दिएका छन् । ‘अहिलेसम्म उद्धार तथा उपचारमा केन्द्रीत भएका छौँ,’ अनुसन्धानको प्रक्रिया पनि सुरु भइसकेको छ, ती अधिकारीले भने । बङ्लादेशमा रेल दुर्घटना बेला बेलामा भइरहने गरेको छ भने वर्षेनी कैयौँको दुर्घटना हुने गरेको छ ।
श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार काठमाडौं । नेपाल र बहराइनबीच भएको श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार भएको छ । नेपालका लागि बहराइनका गैरआवासीय राजदूत अब्दुल रहमान मोहम्मद अहमद अल गाउदले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज गरेको शिष्टाचार भेटमा नेपाली श्रमिकको हकहित र कल्याणका लागि विगतको श्रम सम्झौता परमार्जन गर्न बहराइन प्रतिबद्ध रहेको बताए । नेपाली श्रमिक अनुशासित र कामप्रति प्रतिबद्ध भएको भन्दै राजदूत गाउदले पछिल्लो समय बहराइनमा नेपाली श्रमिकको माग उच्च रहेको बताए । बहराइन सरकारले थप नेपाली श्रमिकलाई रोजगारीको अवसर दिन चाहेको उनले बताए । भेटमा मन्त्री विष्टले बहराइनमा रहेका नेपाली श्रमिकको सामाजिक सुरक्षा र कल्याणमा दुवै देशले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै नेपाल र बहराइनबीच भएको श्रम समझदारीलाई समयानुकूल बनाउनुपर्ने आवश्यकता रहेको बताएका थिए । उनले नेपाली श्रमिकका समस्या समाधान गर्न बहराइन सरकारको सकारात्मक भूमिकाको अपेक्षा गरेका थिए । बहराइनमा रोजगारीका लागि जाने नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न नेपाल सरकार सकारात्मक रहेको बताउँदै उनले श्रम, आप्रवासनको क्षेत्रमा भएका अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसात् गरी द्विपक्षीय श्रम सम्बन्धलाई सुदृढ बनाउन आग्रह गर्नुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए । रासस
महोत्सवमा काउली बुढीको प्रस्तुतिले ह्वात्तै बढे दर्शक चितवन । दर्शकहरुको उपस्थितिलाई मध्यनजर गर्दै पाँच दिन थप गरिएको महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तरगत मंगलबार ‘काउली बुढी’ले दर्शकलाई हँसाएकी छिन् । महोत्सव थपिएपछि पहिलो दिन सांस्कृतिक कार्यक्रममा आएकी उनले दर्शकलाई प्रहसन मार्फत हँसाएकी हुन् । गत कात्तिक १५ गतेदेखि सञ्चालित यस महोत्सव आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए । महोत्सवमा मंगलबार करिब पाँच हजार दर्शकले अवलोकन गरेका राजकर्णिकारले जानकारी दिए । महोत्सव पाँच दिन थप गरिए पनि चितवनवासीसमक्ष जानकारी नभएका कारण पनि महोत्सवमा दर्शको उपस्थिति न्यून भएको हुनसक्ने राजकर्णिकारको भनाइ छ । महोत्सव थपिएपछि बुधबार भने पप गायक कमल खत्रीले सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति राख्ने सह आयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए । युवा पुष्तामाझ लोकप्रिय बनेका गायक खत्रीले आफ्ना चर्चित गीतहरु गाउने अधिकारीको भनाइ छ । महोत्सवमा दुर्गेश थापा, कमला घिमिरे तथा पशुपति शर्मासहितका कलाकारहरु आउने तयार भएको अधिकारीले बताए । मंगलबार भने काउली बुढीको प्रस्तुति रहने अधिकारीले बताए । महोत्सवको आम्दानीबाट अपाङ्गता भएका बालबालिकाहरुको लागि खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानमा हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुले शिक्षादीक्षा सँगै निशुल्क रुपमा औषधिउपचार समेत गर्दै आइरहेका छन् । विभिन्न व्यवसायिक स्टलहरुका साथै बाल उद्यान समेत राखिएको महोत्सवमा ¥याफ्टिङ गर्ने सुविधा समेत रहेको छ । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।
श्रमिकमैत्री नीति कार्यान्वयन गर्न सरकारलाई उपराष्ट्रपतिको आग्रह काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमिक मैत्री नीति कार्यान्वयनको सुनिश्चित गर्न सम्बन्धित सबै राष्ट्रलाई आग्रह गरेका छन् । उपराष्ट्रपति पुनले आप्रवासी श्रमिकहरुको अधिकार र स्वतन्त्रताको हनन् गर्ने अधिकार २१ औं शताब्दीमा कसैलाई नरहेको पनि स्पष्ट पारे । मंगलबारबाट काठमाडौंमा सुरु भएको ‘आप्रवासी श्रमिकहरुको अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले हरेक गन्तव्य मुलुकले श्रमिकहरुको स्वतन्त्रता र अधिकारको संरक्षण गर्ने दायित्वबाट विमुख हुन नपाउने पनि स्पष्ट पारे । उपराष्ट्रपति पुनले आप्रवासी श्रमिकहरुले अझै पनि श्रम शोषण तथा यौन शोषण जस्ता मारलाई सहन गरिरहनु परेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सम्बन्धित राष्ट्रहरुबीच बलियो सहकार्यको आवश्यक्तामा पनि जोड दिए । कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । उनले नेपालस्थित कूटनीतिक नियोगहरुले आप्रवासी नेपाली श्रमिकहरुको अधिकार सुनिश्चित हुने गरी काम गरिरहेको दावी पनि गरे । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चित गर्न आप्रवासनको क्षेत्रका कार्यरत राष्ट्रहरुले मिलेर काम गर्नुपर्ने बताए । राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको सो अन्तराष्ट्रिय सम्मेलनमा २२ देशका मानव अधिकार आयोगका पदाधिकारी, नीति निर्माता तथा आप्रवासनको क्षेत्रका कार्यरत विज्ञहरुको सहभागिता रहेको छ । ३ दिनसम्म चल्ने सो अन्तराष्ट्रिय सम्मेलनमा आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणसम्बन्धि ५ वटा कार्यपत्र समेत प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको पनि आयोगले जनाएको छ ।
मध्यपूर्वमा प्रभाव बढाउँदै ईरान लण्डन (बीबीसी) । लण्डनस्थित इन्टरनेशल इन्स्टिट्यूट फर स्ट्राटिजिक स्टडीज (आईआईएसएस) ले आफ्नो एक अध्ययनमा मध्यपूर्वको पूरा क्षेत्रमा आफ्नो प्रभुत्व बढाउने मामिलामा ईरान साउदी अरबसमेत अन्य सबै प्रतिद्वन्दीभन्दा निकै अगाडि बढेको बताएको छ । यो अध्ययनअनुसार यस क्षेत्रमा मौजुद ईरानका प्रतिस्पर्धी देश पश्चिमा हतियार खरिद गर्न करोडौं डलर खर्च गरिरहेका छन् र धेरैजसो हतियार बेलायतबाट किन्छन् । उता कडा प्रतिबन्धको सामना गरिरहेको ईरान यो भन्दा निकै कम मुल्यमा सफलतापूर्वक आफै रणनीतिक रुपमा मध्यपूर्वमा निकै प्रभावकारी देखिएको छ । सिरिया, लेबनान, इराक र यमन जस्ता देशसँग सम्बन्धित महत्वपूर्ण मुद्दामा उ अन्य देशलाई प्रभाव पार्ने अवस्थामा छ । खासमा ईरान विस्तारै मध्यपूर्वमा सरकार विरोधी गुटहरुको एक नेटवर्क तयार गर्न सफल भएको छ । १९७९ मा इरानमा आयतोल्लाह रुहोल्लाह खोमैनी आएपछि इरानको इस्लामिक गणतन्त्रले लेबनानको हिजबुल्लाहको क्रान्तिकारी विचारधारा र यसको विद्रोही गुटको शक्तिलाई लेबनानको सीमाभन्दा बाहिर पनि फैलाउन प्रयास गरिरहेको छ ।  आईआईएसएसले आफ्नो २१७ पृष्ठको यो प्रतिबेदन ‘ईरान्स नेटवक्र्स अफ इंफ्लूएन्स इन द मिडल ईस्ट’ मा यो क्षेत्रमा ईरानको बढ्दो प्रभाव र अभियानबारे महत्वपूर्ण जानकारी दिइएको छ । यो प्रतिवेदनअनुसार ईरानको इस्लामिक गणतन्त्रले मध्यपूर्वमा मौजुद निर्णायक शक्तिलाई आफुतर्फ झुकाएको छ । यो प्रतिवेदनका लेखक भन्छन्, ‘ईरानले यसका लागि आफ्नो अभियानमा पारम्पारिक शक्तिलाई पछाडि पारिदिएको छ । र यसका लागि विद्रोही शक्तिको उपयोग गरिएको छ ।’ ईरानले उपयोग गरेका प्रमुख विद्रोही शक्तिहरुमा कुड्स फोर्स एक हो । जो रिभोल्यूशनरी गार्डसको एक शाखा हो । जसले देशबाहिरका अभियानलाई कार्यान्वयन गर्छ । कुड्स सेना र यसका प्रमुख मेजर जनरल कासिम सुलेमानी देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईप्रति जवाफदेही हुन्छन् । यो सेना ईरानको परम्परागत सैन्य ढाँचाभन्दा फरक छ र यसै कारण एक किसिमले स्वतन्त्र शाखा बनेको छ । २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेपछि इरानले कुड्स सेनालाई सक्रिय बनाएको हो । कुड्स सेनाले अन्य देशका विद्रोहीलाई हतियार र आर्थिक सहयोग गरिरहेको बताइन्छ । र कुड्स सेनाले युद्धको गैरपरम्परागत तरिकालाई पनि अपनाउन शुरु गरेको थियो । जसको नतिजा परम्परागत हतियारमा निर्भर रहेका आफ्नो विरोधीमाथि ईरानलाई सफलता प्राप्त भयो । यो प्रविधिमा स्वार्म प्रविधि (ठूलो सैन्य टुकुडीसँगै अलग अलग स्थानमा युद्ध गर्नु), ड्रोनको प्रयोग र साइबर आक्रमण महत्वपूर्ण छन् । यसैवर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको रिभोल्यूशनरी गाड्र्ससमेत कुड्स फोर्सलाई ‘विदेशी आतंकवादी संगठन’ भनेका थिए । यसको जवाफमा ईरानले खाडी क्षेत्रमा अमेरिकी सेना आफै कुनै आतंकवादी गुटभन्दा कम नरहेको प्रतिक्रिया दिएको थियो । सन् २००१ देखि २००६ को अवधिमा बेलायतका विदेशमन्त्री रहेको ज्याक स्ट्रले कैयौं पटक ईरानको भ्रमण गरेका छन् । उनी जनरल कासिम सुलेमानीको भूमिका मात्र एक सैन्य कमाण्डरभन्दा धेरै रहेको बताउँछन् । आईआईएसएसको प्रतिवेदनबारे लण्डनस्थित ईरानी दूतावासका एक प्रवक्ताले भने, ‘यदि यो प्रतिवेदनमा मध्यपूर्वमा ईरानको भूमिकाको सम्मान हुनुपर्छ भनिएको छ भने, हामी यसलाई स्वागत गर्छौ ।’ उनले ईरानलाई नजरअन्दाज गर्ने नीतिले काम नगरेको भन्दै ईरानले यसको विरोध गरेको बताए । उनले अमेरिकी प्रतिबन्धका बावजुद ईरानले त्यसबाट हुने घाटालाई निन्त्रणमा राखेकोसमेत बताए । प्रतिबन्धका कारण ईरानलाई नोक्शान भएपनि ईरान आर्थिक रुपमा एक भयानक स्तरमा छ । तर, कुड्स फोर्सले आफ्ना सहयोगीसँग मिलेर एक यस्तो प्रणालीको विकास गरेको छ, जसको लागत कम हुन्छ भने आवश्यक परे प्रभाव भने निकै धेरै हुन्छ । यो प्रतिवेदनअनुसार यस नेटवर्कका कारण रणनीतिक रुपमा ईरान ठूलो शक्ति बनिसकेको छ ।
राष्ट्रका लागि युवाद्वारा ‘लिपुलेक, कालापानी नेपालको हो’ हस्ताक्षर अभियान सुरु काठमाडौं । राष्ट्रका लागि युवाको आयोजनामा ‘लिपुलेक, कालापानी नेपालको हो’ र ‘देश बचाउने जिम्मेवारी हाम्रो’ हो भन्ने मूल नारा लिएर हस्ताक्षर अभियान सुरु गरेको छ । उक्त हस्ताक्षर अभियान देशभरि सञ्चालन गरिने आयोजकले जनाएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराईएको छ । निकोलस भुषालको नेतृत्वमा राष्ट्रका लागि युवाले पहिल्यैदेखि विविध सामाजिक तथा वातावरणीय कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । ८ देखि दश लाख हस्ताक्षर संकलन भैसकेपछि नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित् राष्ट्रसंघको मुख्यालयमा पठाउने पनि आयोजकले जनाएको छ । हस्ताक्षर संकलन र निःशुल्क स्वास्थ्य शिविर तथा पर्यटन प्रर्वद्धनको लागि स्वर्गको टुक्रा दार्चुलाको कालापानी र लिपुलेक जाने कार्यक्रम पनि रहेको आयोजकले बतायो । कार्यक्रममा सामाजिक अभियन्ता आशिका तामाङ, हिमाल सरसफाई अभियान्ता पिके शेर्पा, बरिष्ठ समाजसेवी उर्मिला डंगोल, सामाजिक अभियन्ता पुण्यप्रसाद गौतम, सामाजिक अभियन्ता रुपक अधिकारी, प्राध्यापक डा. विष्णु पाठकलगायतले लिपुलेक र कालापानी र लिपुलेक नेपालको भएको बताउँदै यसको लागि आफूहरु सशक्त भएर लाग्ने बताए । उनीहरुले नेपालको आफ्नो भू–भाग जसरीपनि फिर्ता लिनुपर्ने बताएका छन् । उनीहरुले यसका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा उपस्थिति सबैले आफूहरुको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गर्न अपिल गरेका छन् । आजको कार्यक्रमको सञ्चालन लेनिन विष्टले गरेका थिए ।
तोकिएकै मितिभित्र निजी मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्नुपर्छ : प्रवक्ता शर्मा काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बढी शुल्क लिने निजी मेडिकल कलेजहरुले सरकारले तोकेको मितिभित्रै बढि शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता शर्माले मन्त्रालयले मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग लिएको बढी रकम फिर्ता वा समायोजन गर्नेसम्बन्धी सूचनासमेत प्रकाशित गरेको सुनाए । तोकिएकोभन्दा बढि रकम विद्यार्थीहरुसँग लिएको भए सुचना प्रकाशित भएको १५ दिनभित्र निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग लिएको बढी रकम फिर्ता वा समायोजन गर्न गराउन आग्रह गरिएको उनले जनाए । त्यतिमात्रै नभएर आफूहरुले दिएको समयावधिभित्र निजी मेडिकल कलेजहरुले बढी रकम फिर्ता नगरे विद्यार्थीहरुले आफ्नो प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनसमेत आग्रह गरिएको उनले सुनाए । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अनशनरत चिकित्सक डा. गोविन्द केसीका मागहरु आफ्नो मन्त्रालयसँग सम्बन्धित नभएको स्पष्ट पारे । प्रवक्ता शर्माले चिकित्सा शिक्षा आयोगलाई सबैले काम गर्न दिनुपर्ने धारणा समेत राखे । उनले सबै विज्ञहरु राखेर वैज्ञानिक शूल्क निर्धारण गरिनुपर्ने पनि बताए । त्यस्तै, उनले अनशनरत डा. केसीसँग वार्ता गर्नुपर्छ वा पर्दैन भन्ने सवालमा आफू सम्बन्धित व्यक्ति नभएको भन्दै उक्त प्रश्नबाट पन्छिए ।
डा. केसीसँग तत्काल वार्ता गर्न सरकारलाई काँग्रेसको आग्रह काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । डडेलधुरामा अनसनरत वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको समाचार आईरहेका बेला नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पत्रकार सम्मेलन गरी तत्काल वार्ता गरी उनका जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका हुन् । उनको जीवन रक्षा गर्ने कर्तव्यबाट विमुख नहुन सरकारलाई काँग्रेस प्रवक्ता शर्माको अपिल छ । ‘उहाँको स्वास्थ्यस्थिति प्रतिकूल बन्दै गएको खवर डडेलधुराबाट प्राप्त भईरहेको छ,’ प्रवक्ता शर्माले भने, त्यसबारे गहिरो संवेदनशीलता राख्न, तत्काल वार्ता टोली गठन गरेर जायज माग सम्बोधन गर्न र उनको जीवन रक्षा गर्न आफ्नो पार्टी सरकारलाई अपिल गर्दछ ।’ उनले मापदण्ड भन्दा बढि शुल्क लिने मेडिकल कलेजहरुलाई कार्वाही गर्न र पीडित विद्यार्थीहरुको माग सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए । प्रवक्ता शर्माले भारतसँगको सीमा समस्या समाधानका लागि परिणामुखि पहल गर्न पनि सरकारलाई दवाव दिए । राष्ट्रिय एकता निर्माण भएको यो सवालमा भारतसँगको सीमा समस्या समाधानका लागि परिणाममुखि पहल गर्ने काम सरकारको रहेको उनको भनाई थियो ।
गोविन्द केसीका सबै माग पूरा भैसके, ममाथि अन्याय भयो : दुर्गा प्रसाई काठमाडौं । बि.एण्ड.सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले अनशनरत डा. गोविन्द केसीले अघि सारेका अहिलेका मागहरु कुनैपनि जायज नभएको जिकिर गरेका छन् । यसअघि केसीले अघि सारेका सबै माग पूरा भैसकेको उनको दाबी छ । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘पूर्व मेची अञ्चलमा एउटा पनि मेडिकल कलेज थिएन् । मैले खोलें । २९ लाख मेचीवासीहरुको हितको लागि मैले कलेज खोलेको हुँ । कोशीमा तीन वटा मेडिकल कलेज छन् । बाग्मतीमा मात्रै दश वटा छन् । सुलभ स्वास्थ्य पाउनु मेचीवासीको अधिकार होईन् ? डा. केसीका माग डिनबाट सुरु भएको हो । शक्तिशाली चिकित्सा शिक्षा आयोग पनि बनिसक्यो । उहाँका सबै माग पूरा भएका छन् । मेरो पीडा कसले बुझ्ने ?’ उनले निजी मेडिकल कलेजले कसले के कति शुल्क लिएका छन् ? त्यसको अनुगमन होस भन्ने पक्षमा आफू पनि भएको सुनाए । उनले भने, ‘लगानीको आधारमा शुल्क लिएका छन् ।’ उनले आफूलाई सरकारले २०६८ साल माघ २४ गते आशयपत्र दिएको पनि सुनाए । तर, आज ८ वर्ष बितिसक्दा पनि अनुमति नदिएको उनको गुनासो छ । उनले भने, ‘मैले मेडिकल कलेज पर्खिएर बसेको आज यत्तिका वर्ष भैसक्यो । मेरो पीडा कसले बुझ्ने ?’ प्रसाईले गत वर्षमात्रै आफूले राज्यलाई १७ करोड कर तिरेको सुनाए । त्यतिमात्रै नभएर उनले करिब एक हजारलाई प्रत्यक्ष रोजगारी दिएको पनि बताए । उनले भने,‘म सुरेन्द्र भण्डारीजीलाई भन्छु खोई त मेरो लागि तपाईहरुले बोल्नुभएको हो ? तपाईहरुको पनि त दायित्व भन्ने कुरा होला नि । मैले के सबैभन्दा राम्रो क्यान्सर अस्पताल बनाएको छु, यो बनाउनु के अपराध हो त ?’ उनले अनशनरत डा. केसीका कुन माग राम्रा छन्? भन्दै देखाउन चूनौति दिए । उनले भने, ‘म माफिया होईन, गोविन्द केसीलाई अनशन बस्न धलगाउनेहरु माफिया हुन् । हामीले त डा. केसीलाई साथ दिएकै हो नि । उहाँले सुदुर पुर्व जान भन्नुभयो, मैले बि.एण्ड.सी. खोलें ।’ उनले आफूमाथि उल्टै अन्याय र अत्याचार भएको आरोप लगाए । उनले देशमा सबैभन्दा राम्रो हस्पिटल र मेडिकल कलेजपनि आफ्नै भएको दाबी गरे । नेपालको सबै पैसा पढाईको नाममा बाहिर गएको पनि उनको आरोप छ ।
टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थि अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नंको टिपर र बा१०च २१५४ नंको बोलेरोले च्यापिँदा अनटेष्ट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मुत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रहेका भक्तपुर नगरपालिका–९ च्यामासिङस्थित बागेश्वरी कलेजमा अध्ययनरत विद्यार्थी २० वर्षीय विमल कुटुजु रहेको प्रहरीले जनाएको छ । सो घटनामा परी सोही कलेजमा अध्ययनरत भक्तपुर–८ का मोटरसाइकल चालक कृष्ण दाहाल गम्भीर घाइते भएका छन् । उनको बनेपास्थित करुणा अस्पतालमा उपचारपश्चात भक्तपुरस्थित मध्यपुरथिमि अस्पतालमा सिफारिश गरिएको प्रहरीले जनाएको छ ।
टिपरबाट खस्दा सहचालकको मृत्यु चितवन । पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सडकमा ना३ख ३७७८ नंको टिपरको ढोकाबाट खस्दा गम्भीर घाइते थारूको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यसरी फसिन अघोरी बाबाकी पत्नी काठमाडौं। आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। उनलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । उनको विषयमा पूर्ण जाहेरी नपरेकाले जाहेरी परेपछि त्यसैको आधारमा अनुसन्धान अघि बढ्ने बौद्ध प्रहरीले जनाएको छ । पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् । उनीहरुको बिहे भएको भनेर लिइएको अन्तरवार्ताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । गाडी र घरका सिसा तोडफोडमा संलग्न पक्राउ पार्किङ गरी राखिएको सवारी साधन तथा घरको सिसा तोडफोड गरेको आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–११ प्रगति चोक बस्ने रामेछाप रामपुर नगरपालिका–५ घर भएका २० वर्षीय प्रकाश तामाङ र सोही ठाउँ बस्ने सुनसरी धरान उपमहानगरपालिका–११ का २० वर्षीय निमा शेर्पा रहेका छन् । काठमाडौँ महानगरपालिका–६ सरस्वती नगरदेखि बूढानीलकण्ठ नगरपालिका–११ कपन पयौंँटारसम्म पार्किङ गरी राखेका सवारी साधन र सोही क्षेत्रमा रहेको घरका सिसा तोडफोड गर्दै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए। उनीहरुलाई सोमबारै अहिले महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ । रासस
भारतीय सेनाका जवान तामाङको हत्या गर्ने २ जना १७ वर्षपछि पक्राउ काठमाडौं। भारतीय सेनामा कार्यरत धादिङका परशुराम तामाङको हत्या आरोपी १७ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङ्ले २ जना हत्या आरोपीलाई यही २४ गते केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा काठमाडौंबाट पक्राउ गरेको हो। २०५९ कात्तिक २९ गते बेलुकी धादिङ साविक दार्खा गाविस वडा नं २ देउरालीका २४ वर्षीय भारतीय सेनामा कार्यरत पशुराम तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। उनीमाथि खुकुरी‚ नाईनस्टिक‚ ढुङ्गा समेतले प्रहार गरी कर्तव्य गरी मारी भागेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ जिल्ला दार्खा गाविस वडा नं २ हाल खनियावास गापावडा नं ३ देउराली बस्ने जस बहादुर लामाको छोरा बर्ष ४२ को गोम लामा तामाङ र सोही स्थानका बुधराम तामाङको छोरा वर्ष ३७ को सुक लामा तामाङलाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ। पक्राउ परेका आरोपीलाई जिल्ला अदालतले थुनामा राखी अनुसन्धान गर्न अनुमति दिइसकेको छ।
प्रतिबन्धित लागुऔषधसहित ३ युवक पक्राउ लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १८ वर्षीय मोहम्मद रियाजलाई पक्राउ गरेको हो। प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले बिआर ३२ यू ४७९९ नंकोे मोटरसाइकललाई जाँच गर्दा तीनै जनाको साथबाट नाइट्रोभेट १४ पत्ता, स्पास्मो पाँच पत्ता र गाँजा १० ग्राम फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । अदालतबाट सजाय पाएर फरार एक पक्राउ बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक युवकलाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ। बहुविवाह मुद्दामा जिल्ला अदालत सिरहाबाट ११ महिना २० दिनको कैद सजाय पाएर फरार सिरहाको भगवानपुर गाउँपालिका– २ नहरा निवासी ३५ वर्षीय रामविलास साहलाई प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको गस्ती टोलीले साहलाई घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइने प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । रासस
ट्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्याक्टर र टिपरले ठक्कर दिँदा एकैदिन आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको हो। उनका अनुसार जलेश्वर नपा–२ बस्ने विनोद मुखियाका छोरा नौ वर्षीय राजकुमार मुखियालाई शनिबार साँझ जलेश्वर–२ मै रहेको नेपाल रेडक्रस सोसाइटी अगाडि सडकमा लु२त ७६९९ नंको ट्याक्टरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल, अञ्चल अस्पताल हुँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा आइतबार बिहान ७ बजे उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। त्यस्तै आइतबार दिउँसो १ बजे जिल्लाको पिपरा गाउँपालिका– २ अलिपट्टी बस्ने ६० वर्षीय मजिद नदाफलाई जलेश्वर नपा–२ स्थित बुद्धिजीविचोकमा बर्दिवासबाट बालुवा बोकेर आएको ना१क ९६८३ नंको टिपरले ठक्कर दिँदा दाँहिने खुट्टा नै शरीरबाट अलग हुने भएर उनी गम्भीर घाइते भएपछि उनलाई पनि जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि जनकपुरमा अवस्थित जानकी हेल्थकेयर एण्ड रिसर्च सेन्टरमा लगिएकामा आइतबार अबेर साँझ उनको पनि सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए। यसरी महोत्तरीको जलेश्वरमा एकै दिन सवारी दुर्घटनामा परेका एक बालक र एक वृद्ध गरी दुई जनाको मृत्यु भएको हो।
विप्लब सक्रेटरी थोकरविरुद्ध एनसेल टावर आगजनीको आरोप काभ्रेपलाञ्चोक । प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लब’ (माओवादी) का काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ। थोकरलाई २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल (बिटिएस्) टावरमा आगजनी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेको हो। ‘थोकरविरुद्ध एनसेल टावरमा आगजनी तथा केही स्थानमा बम विस्फोटको आरोपमा अनुसन्धान गर्दैछौँ’, जिल्ला प्रहरीप्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले भने । बत्तीस वर्षीया थोकरलाई यही कात्तिक ६ गते राति पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै प्रहरीले पक्रेको थियो। गत असोज अन्तिम साता मात्रै विप्लव माओवादीको जिल्ला फर्मेशनमा जिल्ला सक्रेटरी भएलगत्तै थोकरलाई केही दिनपछि गिरफ्तार गरेको हो । प्रहरीले थोकरको अनुसन्धान नसकिएको जनाउँदै जिल्ला अदालतबाट दुईपटक म्याद थप गरेको छ। यसैबीच नमोबुद्ध नपा–८ दाप्चामा भएको श्रेष्ठ दम्पत्तिको हत्याको छानविन गर्न आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली खटाइएको छ । हत्याको एक हप्तापछि ब्युरोका प्रहरी नायब उपरीक्षक हरि बस्नेतको नेतृत्वमा पाँच जनाको टोली अनुसन्धानमा खटाइएको हो। गत सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मङ्गलबार बिहान ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र उनकी पत्नी रुकुमायाको शव क्षत्विक्षत अवस्थामा घरमै भेटिएको थियो। घटनापछि अनुसन्धानका क्रममा प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको थियो। हाल तीन जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख सापकोटाले बताए । उनले भने, “अन्य तारेखमा छुटेका छन्, थप अनुसन्धानमा मद्दत गर्न सिआइबी टोली घटनास्थल पुगेको छ।” रासस
कोशी ब्यारेजमा प्रहरी देखेपछि ५ किलो गाँजा फालेर तस्कर फरार हनुमाननगर । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट आइतबार पाँच किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको टोलीले सो गाँजा बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरीलाई देखेपछि गाँजा बोकेको तस्कर फरार भएका छन् । बरामद प्रतिबन्धित लागुऔषध गाँजा आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय, भारदहमा बुझाइएको छ। रासस
घुस लिएको अभियोगमा अदालतमा कार्यरत नासु पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले रु १५ हजार घुस लिएको अभियोगमा जिल्ला अदालत पश्चिम रुकुममा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको छ । नायब सुब्बा खड्कामाथि अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई एक सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगको सुर्खेतबाट गएको टोलीले यही कात्तिक २२ गते खड्कालाई रु १५ हजार घुससहित मुसिकोट नगरपालिका– १ खलङ्गास्थित राप्ती होटलबाट पक्राउ गरिएको हो । आयोगले अनुसन्धान कार्य जारी रहेका कारण उल्लेख गर्दै खड्काको पक्राउबारे आज सार्वजनिक रुपमा जानकारी दिएको हो ।
मुलुक निर्माणको प्रक्रियामा अघि बढ्यो : मुख्यमन्त्री राई झापा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुक विकास निर्माणको प्रक्रियामा अगाडि बढीरहेको बताएका छन् । झापाको सुरुङ्गा र झापा बजार जोड्ने अमरपथ सडकखण्डको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘मुलुक निर्माणमा तीन तहकै सरकार कटिबद्ध भएर लागेको छ ।’ मुख्यमन्त्री राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाल निर्माणको महाअभियानलाई साकार पार्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । सरकारले प्रदेश नं १ मा चीन र भारतका धेरै नाकाहरु खोल्ने तयारी गरिरहेको उनले बताए । मुख्यमन्त्री राईले झापाको सुरुङ्गादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर सडकको शिलान्यास गरेका हुन् । पूर्वाधार विकास कार्यालयबाट निर्माण हुन लागेको सडकको लागत रू एक अर्ब ४ करोड रहेको छ । दुई खण्डमा निर्माण हुन लागेको पहिलो खण्ड ७.८ किलोमिटरको रू ४७ करोडमा कनकाई आशिष जेभी र दोस्रो १८ किलोमिटर सडकखण्डको तुँदी रोशन मैनाचुली जेभीले रू ५७ करोडमा लिएको छ । उक्त सडकको ती वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । रासस
विद्यापतिको ठूलो भूमिका छ : उपसभापति निधि काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले मैथिली भाषा साहित्यलाई समृद्ध गर्न विद्यापतिको तुलना अरुसँग कसैसँग गर्न नमिल्ने बताएका छन् । मैथिली भाषाका प्रसिद्ध साहित्यकार विद्यापतिको स्मरणमा विद्यापति स्मारक संरक्षण समितिले आज जनकपुरमा आयोजना गरेको ‘विद्यापति स्मृति पर्व’ को उद्घाटनमा निधिले जीवन, व्यवहार र सामाजिक प्रणाली सञ्चालनमा विद्यापतिको ठूलो भूमिका रहेको उल्लेख गरे । निधिले भने, ‘विद्यापतिद्वारा लिखित मैथिली साहित्यको मैथिली भाषी मात्र नभएर नेपाली साहित्यकारसमेत प्रशंसक छन् । विद्यापतिले मैथिली भाषा संवद्र्धन र प्रवद्र्धनका लागि दिएको योगदानको तुलना गर्न सकिन्न् ।’ मैथिली भाषाको प्राचीन इतिहास रहेको भन्दै उपसभापति निधिले प्रदेश नं २ को नामाकरण मिथिला र राजधानी जनकपुर हुनुपर्नेमा पुनः जोड दिए ।
बलात्कृत बालिकाको उपचार खर्च सरकारले व्यहोर्छ : मन्त्री थापा महिला, बालबालिका तथा ज्येष्ठ नागिरकमन्त्री थममाया थापाले बलात्कारबाट गर्भवती भएकी अछामकी १२ वर्षीया बालिकाको उपचार खर्च सरकारले व्यहोर्ने बताएकी छन् । बलात्कारका कारण गर्भवती भएकी बालिकालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि मन्त्री थापाले उनको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएकी हुन् । ‘बालिकाको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यर्होछ र बलात्कारीको पहिचान गरी कडाभन्दा कडा कारवाही हुनेछ’, थापाथलीस्थित प्रसूतिगृहमा बालिकालाई भेटेपछि मन्त्री थापाले भनिन् । बौद्विक अपाङ्गता भएकी अछाम रामारोशनकी ती बालिका घाँस, दाउरा काट्न गएको बेला जबर्जस्ती करणी परी गर्भ रहन गएको आफन्तले बताएका छन् । कुकुरले टोकेर सुई लगाउन अस्पताल लैजाँदा दुई हप्ताअघि गर्भवती भएको थाहा भएपछि थापाथलीस्थित प्रसूति बालिकाको पाँच महिनाको गर्भपतन गराइएको थियो । अस्पतालका निर्देशक डा जागेश्वर गौतमका अनुसार सानै उमेरमा गर्भवती भएका कारण उनको गर्भपतन गराएको हो । बालिकालाई केही समय आराम गर्नुपरेकाले र मनोपरामर्शको पनि आवश्यकता पर्ने भएकाले केही समय काठमाडौँमै राखेर उपचार गरिने मन्त्री थापाको भनाइ छ । रासस
बङ्गलादेशमा बुलबुलका कारण आइतबार चारको मृत्यु, जनजीवन प्रभावित ढाका (रासस/एएनआई) । बङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण आइतबार चारको मृत्यु भएको पुगेको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी आएको थियो । आँधीका कारण करीब तीन लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीबाट पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरू सुरक्षित स्थानमा सारिएको बंगलादेशी विपद व्यवस्थापन मन्त्रालयले जानकारी दिएको हो । यद्यपि आइतबार परेको बर्षापछि बुलबुलको प्रभाव शान्न बन्दै गएको छ । मन्त्रालयले कुल १८ लाख मानिस बुलबुलको कारण प्रभावित बन्नसक्ने भन्दै उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको थियो । बंगलादेशको भोला, बरगुना, पटुवाखाली, बरिसाल, पिरोजपुर, जलकाठी, बागेरहाट, खुलना र सातखिरा जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सारिएको हो । बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी डाक्टर अबुल कलाम मलिकले बुलबुल आँधीले आइतथबार नै बंगलादेशको दक्षिण पश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनाए । पश्चिम बङ्गाल–खुल्ना तट पार गरिसकेको बुलबुल आँधी करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा बंगलादेशको उत्तरपूर्वी क्षेत्र तर्फ अघि बढिरहेको अधिकारीले जनाएका छन् । बुलबुलका कारण पश्चिम बङ्गालका विभिन्न स्थानमा छ जनाको मृत्यु भएको थियो ।
सीमा सुरक्षाका लागि सबै नेपाली एक हुनुपर्छ : अध्यक्ष राणा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले भारतले गरेको नेपालको सीमा अतिक्रमणविरुद्ध सबै नेपाली जनता एक भएर आवाज उठाउनुपर्ने बताएका छन् । सरकारले कूटनीतिक पहल गर्छु भनेको उल्लेख गर्दै उनले व्यवहारिक रुपमा यस विवादलाई टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिए । अध्यक्ष राणाले कालापानी क्षेत्रमा पर्ने लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको बताए । रफत सञ्चार क्लबले आज आयोजना गरेको अन्तरक्रियामा उनले कालापानी, लिपुलेक, लिम्पियाधुरामा भारतले गरेको हस्तक्षेपबारे वर्तमान दुई तिहाइको सरकारको अग्नि परीक्षा शुरु भएको बताए ।
विज्ञानलाई जनस्तरबाट अघि बढाउनुपर्छ : मन्त्री पोखरेल काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञानलाई जनस्तरबाट अघि उठाउन आवश्यक रहेको बताएका हुन् । ‘कसैलाई पछाडि नछाडि विज्ञान सबैलाई खुला गर’ भन्ने मूल नाराका साथ मन्त्रालयले आज यहाँ विश्व विज्ञान दिवसको अवसरमा आयोजना गरेको ‘शान्त्ति र विकासका लागि विश्व विज्ञान दिवस’ का अवसरमा मन्त्री पोखरेलले विज्ञानको क्षेत्र झन फराकिलो बनाउँदै अघि बढाउन आवश्यक रहेको औँल्याए । उनले भने, ‘विज्ञानलाई केवल विद्यालय र क्याम्पसस्तरका बालबालिकामा मात्र सीमित नराखेर हेरक टोल, गाउँ, क्षेर र बस्तीबस्तीमा पुर्याउन जरुरी रहेको छ ।’ विज्ञान विना खुसी नेपाली समृद्ध नेपालीको परिकल्पना साकार हुन नसक्ने मन्त्री पोखरेलले दाबी थियो । कृषि उत्पादन, उद्योगलगायत अन्य आवश्यकमा स्थानमा नयाँ प्रविधिको प्रयोग गर्न अति नै आवश्यक रहेको मन्त्री पोखरेलले औँल्याए । नेपालका विभिन्न उच्चस्तरमा रहेका मानिस प्रति विज्ञानको थप जोड हुनुपर्ने मन्त्री पोखरेलले बताए । उनले भने, ‘विदेश पलायन भएका जनशक्तिलाई स्वदेशमा फर्काउन आवश्यक भएको छ ।’ दक्षिण कोरिया, चीन र जापानले विज्ञानलाई बढावा दिएका कारण आज उनीहरुले निकै विकास गरेको मन्त्री पोखरेलले जानकारी दिए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले आफ्नो कार्यालयलाई थप बढावा दिन आवश्यक रहेको बताए । उनले भने, ‘मुलुकका लागि आवश्यक अनुसन्धानमा नाष्टले जोड दिएर अघि बढेको छ ।’
भारतीय नक्सा विवाद : भारतविरुद्ध राप्रविसंको प्रदर्शन काठमाडौं । भारत सरकारले हालै जारी गरेको नयाँ राजनैतिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका भूमि जबर्जस्ती भारतमा पारेपछि नेपालमा चौतर्फी आक्रोश बढीरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पनि आज उक्त भारतीय कदमको विरोध गर्दै सडक प्रदर्शन गरेको छ । राजधानीको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस परिसरबाट सुरु भएको जुलुस पद्मोदय मोड, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै शान्तिवाटीकामा पुगेर समापन भएको उक्त संगठनका उपाध्यक्ष शसी भण्डारीले जानकारी दिए । राप्रविसंले छिट्टै बैठक गरेर बृहत् संघर्षका कार्यक्रम तय गर्ने भण्डारीले बताएका छन् ।
उपनिर्वाचन २०७६ : निष्पक्ष र धाँधलीरहित काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताएका छन् । खाँदबारीमा जिल्ला निर्वाचन कार्यालयले आज आयोजना गरेको विवाद निरुपणसम्बन्धी कार्यक्रममा थपलियाले विवादरहित र उपनिर्वाचन नमूनाको बनाउने दाबी गरे । यसका लागि सबै तयारी सकिएको थपलियाको भनाइ छ । प्रमुख आयुक्त थपलियाले प्रचारप्रसारको अवधि योपटक घटाएको बताउँदै उनले प्रचार अवधि लम्बिँदा उम्मेदवार र निर्वाचन आयोगको खर्च बढ्ने भएकाले थोरै अवधिमा निर्वाचन गर्न लागेको बताए । मकालु गाउँपालिकाका लागि अध्यक्ष र खाँदबारी नगरपालिका–३ का वडाध्यक्षका लागि मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ । रासस
सीमा विवादको समाधानका लागि राष्ट्रिय सहमति भइसक्यो : भीम रावल काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरुले भारतसँग कालापानीलगायतका सीमा समस्या समाधान गर्न सरकारलाई उपयुक्त अवसर प्राप्त भएको बताएका छन् । सत्तारुढ नेकपाका नेता भीम रावल, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता रमेश लेखक, राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले कालापानीलगायतका नेपाली भूमि भारतले मिचेको यथेष्ट प्रमाण नेपालसँग रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारलाई उपयुक्त अवसर प्राप्त भएको बताएका हुन् । आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेकपामा नेता रावलले सरकारलाई यो समस्या समाधानका लागि राष्ट्रिय सहमति प्राप्त भएको पनि स्मरण गराए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस नेता एवम् पूर्वमन्त्री लेखकले नेपाली भूमि कालापानीमा भारतीय सुरक्षा बल हटाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि सरकारले उपयुक्त अवसर प्राप्त भएको बताए । उनले नेपालले ती समस्या समाधानका लागि प्रधानमन्त्री स्तरमा तत्काल छलफल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । राष्ट्रिय जनता पार्टी, नेपालका नेता यादवले उच्च स्तरीय राजनीतिक नेतृत्वबीचको वार्ताद्धारा नेपाल भारतबीचको सीमा समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले नेपालसँग आफ्नो मिचिएको भूमि भारतबाट फिर्ता लिन यथेष्ट प्रमाण रहेको पनि उल्लेख गरे । नेता यादवले दुई मुलुकबीचको सीमा समस्या विगतदेखिनै रहेको उल्लेख गर्दै दुई तिहाई मत सहितको बलियो सरकारले ती समस्याको दीर्घकालीन समाधान गर्ने विश्वास पनि व्यक्त गरे ।
प्रख्यात रूसी प्राध्यापककाे झोलामा मृतक महिलाको हात भेटिएपछि… बिबिसी । सेन्ट पिटर्सवर्गको प्रहरीले एकजना प्रख्यात रूसी इतिहासकारको झोलामा महिलाको हात भेटेपछि हत्याको शङ्कामा पक्राउ गरेको छ । मदिराको नशामा रहेका ‌ओलेग सोकोलभ खोलामा मृत महिलाको शरीरका अङ्ग फ्याक्ने क्रममा खोलामा खसेको स्थानीय समाचार माध्यमहरूले लेखेका छन् । प्रहरीले उनको घरमा छापा मारेर उनको एक २४ वर्षीय पूर्वविद्यार्थीको क्षतविक्षत शरीर भेटेको थियो । प्राध्यापक सोकोलभ फ्रान्सेली शासक नेपोलियन बोनापार्टसम्बन्धी विज्ञ थिए । उनले फ्रान्सको सबैभन्दा सर्वोच्च पदक प्राप्त गरेका थिए । हत्या गरिएकी महिला सोकोलभको एक प्रकाशनमा सहलेखक रहेकी अनास्तिसिया यस्चेन्कोको भएको बताइएको छ । प्रहरी विज्ञप्तिमा मोइका नदीबाट एक ६३ वर्षीय पुरुषलाई उद्धार गरिएको र हत्याको आशङ्कामा पक्राउ गरिएको बताइएको थियो । प्रहरी अधिकृतहरूले समाचार संस्था एएफपीलाई ती व्यक्ति प्राध्यापक सोकोलभ भएको पुष्टि गरेका छन् । सोकोलभले नेपोलियनमाथि थुप्रै पुस्तकहरू लेख्नुका साथै केही फिल्महरूमा इतिहास सल्लाहकारका रूपमा काम गरेका छन् । फ्रान्सको इन्स्टिच्युट अफ सोसल साइन्स, इकोनोमिक्स र पोलीटिक्सका सदस्य रहेका सोकोलभलाई शनिवार सो संस्थाबाट हटाइएको विज्ञप्तिमा भनिएको छ।
भारतविरुद्ध प्रदर्शनमा उत्रिएका विप्लव समूहका २ दर्जन विद्यार्थी नेताहरू पक्राउ काठमाडौं । भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गरेको विरोधमा प्रर्दशनमा उत्रिएका नेत्र विक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी) मा आवद्ध दुई दर्जन बढी विद्यार्थी नेताहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । आईतबार काठमाडौंको माईतीघर मण्डलामा विद्यालय तहका विद्यार्थीहरुसँगै व्यानरसहित विरोध प्रर्दशनमा उत्रिएका चन्द नेतृत्वको नेकपामा आवद्ध अखिल (क्रान्तिकारी) का नेता, कार्यकर्तालाई प्रहरीले विरोध प्रर्दशनस्थलबाटै पक्राउ गरेको हो । उनीहरुले भारतको विरोधमा प्रर्दशन गरिरहेका विभिन्न समूहहरुको बीचमा रहेर सरकारविरुद्ध समेत चर्का नाराबाजी गरिरहेका थिए । त्यसैबेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई नेपाल पुलिस क्लव र महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । सरकारले चन्द नेतृत्वको नेकपालाई आतंकवादी समूह घोषणा गर्दै उनीहरुको गतिविधिमाथि प्रतिबन्ध लगाएको छ ।
भक्तपुरमा दुर्घटनामा परेर एक जनाको मृत्यु, ४ घाईते चाँगुनारायण । छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो। उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए । यस्तै नगरकोटबाट ताथलीतर्फ आउँदै गरेको बा१५च ३५६७ नंको बोलेरो जीपले सोही दिशाबाट आउँदै गरेको बा८३प ८७३४ नंको स्कुटरलाई चाँगुनारायण–८ जितपुरमा ठक्कर दिँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा स्कुटर चालक काठमाडौँ–१६ बस्ने १८ वर्षीया सुनिता जिमी राई, बोलेरो जीपका चालक काभ्रे मण्डनदेउपुर नपा–२ का ३५ वर्षीय मङ्गलबहादुर तामाङ र १८ वर्षीय सुवास तामाङ तथा मण्डनदेउपुर नपा–५ का ५५ वर्षीय गोकुल ढकाल घाइते भएका छन्। रासस
सार्वजनिक विद्यालयले अभिभावकसँग शुल्क उठाउनु गैरकानूनी बझाङ । बित्थरचिर गाउँपालिकाले सार्वजनिक विद्यालयमा शिक्षक अनुदान र अन्य भौतिक पूर्वाधारमा लगानी गरेपछि माध्यमिक तहसम्म अभिभावकले चन्दा वा सहयोगका नाममा कुनै पनि शुल्क तिर्नु पर्दैन। संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रबन्ध भई निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ ले निःशुल्क शिक्षाका लागि सुनिश्चितता गरे पनि बजेट अभावमा कतिपय विद्यालयहरुले अभिभावकसँग सहयोग शुल्कका नाममा शुल्क लिँदै आएका छन्। यसरी शुल्क लिनु गैरकानूनी हो तर बित्थरचिर गाउँपालिकाले विद्यार्थीको उक्त मौलिक हकको संवेदनशीलता बुझेर अभिभावकसँग लिन नहुने नीति यहाँका ३२ वटै विद्यालयमा कार्यान्वयन गरेको छ । सो गाउँपालिकाले आफू मातहतका कुनै सार्वजनिक विद्यालयले कुनै पनि बहानामा शुल्क लिएको पाइए उजुरी गर्न अभिभावक र विद्यार्थीलाई आह्वान गरेको छ। गाउँपालिकाले ती विद्यालयले निजी स्रोत (आफैँ रकम जुटाएर तलब खुवाइएका) शिक्षकका लागि आवश्यक पर्ने न्यूनतम तलबका लागि नियमित रकम दिइरहेको छ। बित्थरचिर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बोहराका अनुसार सबै विद्यालयमा गरी १०६ निजी स्रोतका शिक्षकका लागि वार्षिक रु एक करोड ५५ लाख २० हजार बजेट विनियोजन गरिएको छ । उनले भने, “हामीले कक्षा १२ सम्म अभिभावक र विद्यार्थीसँग भर्ना, परीक्षा वा कुनै पनि शुल्क नलिन भनेका छौँ । गुणस्तरीय शिक्षाका लागि रकम अपुग भएमा वा समस्या हामीलाई जानकारी दिन पनि निर्देश गरेका छौँ । अब हामीलाई परिणाम चाहिएको छ, त्यो शिक्षकहरुले दिनुपर्छ ।” ती निजी स्रोतका शिक्षकले मासिक रु १५ हजारसम्म पारिश्रमिक पाउँछन् । कतिपय विद्यालयले त्यसमा आफ्नो स्रोतबाट थपेर रु २२ हजारसम्म पारिश्रमिक दिने गरेका छन्। गाउँपालिकाभित्रका विद्यालयका निजी स्रोतका स्वयंसेवक शिक्षकको पोशाक भत्ताका लागि रु सात लाख, परीक्षा सञ्चालनका लागि रु १३ लाख, क्याम्पस सञ्चालनका लागि रु आठ लाख, सुन्ने किताबका लागि रु ११ लाख, प्रतिभा पहिचानका लागि रु तीन लाख, खेल सामग्रीका लागि रु दुई लाख ५० हजार, दिवाखाजाका लागि रु दुई लाख ८० हजार रकम विनियोजन गरेको छ । यसैगरी पूर्वाधार, शिक्षक डायरी, शैक्षिक क्यालेण्डर, प्रअ र शिक्षक बैठक, बालमैत्री सामग्री आदिमा रकम विनियोजन गरिएको छ । गाउँपालिकाको कूल बजेट रु २३ करोड छ। सो गाउँपालिकाको देवेश्वरी मावि, देउलेखका प्रधानाध्यापक करवीर महरले गाउँपालिकाले अपुग बजेटको प्रबन्ध गरेपछि आफूहरुले अभिभावकसँग कुनै पनि प्रकारको शुल्क नलिएको बताए। सो विद्यालयमा ५६० विद्यार्थी र १८ शिक्षक छन् । विद्यालयमा फर्निचरको भने अझै समस्या रहेको र त्यसका लागि गाउँपालिकालाई आग्रह गरिएको व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर खत्रीले जनाए। गाउँपालिकाले शिक्षामा गरेको लगानी सुधारको प्रयासलाई प्रभावकारी र व्यवस्थित गर्दै शिक्षण सिकाइमा सुधार ल्याउन विद्यालयमै गुनासो सुनुवाइ संयन्त्रको कार्यान्वयन गरेको छ। शैक्षिक लगानीअनुसारको प्रतिफल प्राप्त भए÷नभएको तथा विद्यालयमा हुने कमीकमजोरीबारे विद्यार्थी तथा अभिभावकका गुनासो सम्बोधन गर्न थालेपछि निःशुल्क र गुणस्तरीय शिक्षाको अभियानलाई बल पुगेको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख मदन बमले बताए । उनका अनुसार गाउँपालिकाले प्रत्येक दुई महिनामा प्रधानाध्यापकसँग समीक्षा गर्नाका साथै भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको अवस्था बुझ्न विद्यालयमा स्थलगत अनुगमन गरी अपुग रकम अनुदान दिन थालेको हो। कतिपय विद्यालयमा शौचालाय भए पनि पानीको अभावमा सही प्रयोगमा नआएकामा त्यसको विकल्प खोज्ने काम पनि भइरहेको छ। गाउँपालिकाले ती विद्यालयमा विद्यार्थीको गुनासो सुनुवाइ संयन्त्र प्रभावकारी बनाउनाका साथै विद्यालय शान्ति क्षेत्रका रुपमा विकसित गर्न पहल गरिरहेको छ। युनिसेफको सहयोगमा ‘एजुकेसन पेजेज’ ले सुदूरपश्चिम प्रदेशका पाँच स्थानीय तहमा विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र र विद्यालय शान्ति क्षेत्रको कार्यान्वयनका लागि सहजीकरण गर्दै आएको छ। गाउँपालिकामा शनिबार गाउँपालिका अध्यक्ष बोहरा, कार्यापालिकाका सदस्य, सुदूरपश्चिम प्रदेश शिक्षा निर्देशनालयका निर्देशक दुर्गादत्त जोशी, विद्यालयका प्रधानाध्यापक र गुनासो सुनुवाइ सम्पर्क व्यक्तिसँग समीक्षा गरिएको थियो। रासस
पाल्पामा विभत्स अवस्थामा एक युवकको शव फेला तानसेन । पाल्पामा पर्ने कालिगण्डकी नदी किनारमा विभत्स अवस्थामा एक युवकको शव फेला परेको छ । पाल्पाको बगनासकालि गाउँपालिका-७ स्थित पर्ने कालिगण्डकी नदी किनारमा पहिचान नखुलेको अन्दाजी २५-२६ वर्षको यूवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। हाल उक्त शव पोष्मार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरीले जनाएको छ।
भरतपुरमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु चितवन । भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते हुनेमा रत्ननगर नगरपालिका–६ की २० वर्षीया पुजा सुनार हुन् । प्रहरीका अनुसार गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५९प ३३७० नंको स्कुटर तेह्रसालचोकमा अनियन्त्रित भई पल्टिएको थियो। स्कुटर पल्टिएसँगै घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। पछाडि सवार घाइते सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटना बिहान ३ः५० बजे भएको थियो। रासस
राष्ट्रिय सहमति मिल्यो, तत्काल कूटनीतिक पहल हुन्छ : प्रधानमन्त्री काठमाडौं । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ ।राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको भन्दै सरकारले उक्त पहल गर्ने बताएको हो । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, विषयविज्ञहरु सहभागी सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा समस्या समाधानका लागि बलियो सरकार र राष्ट्रिय सहमति कायम भएको बताए । राष्ट्रिय सहमति र एकताको यो बलियो आधारमा सरकारले भारत सरकारसँग प्रभावकारी कूटनीतिक वार्ता अगाडि बढाउने प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । कालापानी क्षेत्रलगायतका विषयमा सरकारले अघि बढाउने कदममा जिम्मेवार सबै पक्षबाट बलियो साथ र भरोसा पाएको भनी प्रधानमन्त्री ओलीले त्यसप्रति धन्यवाद व्यक्त गरेका छन् । मुलुकमा बलियो सरकार रहेको र यो राष्ट्रिय एकतालाई आधार बनाएर भारतसँग तत्काल वार्ता अगाडि बढाइने उनको भनाइ थियो । भारतसँग मित्रता सुदृढ गर्ने आफूहरुको चाहना रहेको भन्दै उनले कूटनीतिक माध्यमबाट यो समस्या समाधान गर्न सकिन्छ भन्ने कुरामा सरकार विश्वस्त रहेको उल्लेख गरे । प्रधानमन्त्रीले भने, “सबै राजनीतिक दल, जानकार उपस्थित भएर सरकारलाई जुन प्रकारको आड र भरोसा दिनुभएको छ, यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ ।” सर्वदलीय बैठकको निष्कर्षका आधारमा सरकारले आन्तरिक छलफल गरी समस्या समाधानका लागि तत्काल पहल गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । उनले नेपाल–भारत सीमाका विषयमा नेपाल–भारत संयुक्त सीमा कार्यदलले काम गरिरहेको छ भने परराष्ट्र सचिवस्तरीय संयन्त्रले पनि कालापानी र सुस्ताका विषयमा छलफल गरिरहेको जानकारी दिए । यस्तै दुई देशबीच सीमालगायतका विषयमा परराष्ट्रमन्त्रीस्तरमा संयुक्त आयोगसमेत क्रियाशील रहेको जानकारी दिँदै उनले उक्त आयोगको केही समय पहिले बैठकसमेत बसेको स्मरण गरे । मन्त्री ज्ञवालीले सो संयन्त्रमार्फत पनि दुई देशबीचका सीमा समस्याको विषयमा छलफल गर्न सकिने र आवश्यक पर्दा प्रधानमन्त्रीले आफ्ना भारतीय समकक्षीसँग वार्ता गर्न सक्ने बताए । उनले कुन उपाय अवलम्बन गरेर अगाडि बढ्ने भन्नेबारेमा आन्तरिक छलफल गरी सरकारले आवश्यक पहल गर्ने उल्लेख गरे । सर्वदलीय बैठकले विभिन्न स्थानमा नेपाली जनता राष्ट्रिय हितको पक्षमा उभिएकामा त्यसलाई ठूलो ऊर्जाको रुपमा लिँदै सबैलाई संयम हुन आग्रहसमेत गरेको छ । सरकारले नेपाल–भारत सम्बन्धलाई प्रतिकूल प्रभाव पार्ने खालको उत्तेजना र बहकावमा नआउन आग्रह गर्दै आफ्नो राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेको छ । बैठकमा सहभागी पूर्वप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीहरुले नेपाल–भारतबीचको सीमा समस्या तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहलमार्फत समाधान गर्न सरकारलाई सुझाव दिएका थिए । कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका क्षेत्र नेपालको हो भन्ने कुरामा कुनै दुविधा नरहेको भन्दै उनीहरुले भारतीय पक्षसँग उच्चस्तरीय संवादमार्फत तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । केही दिन पहिले भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूमि आफ्नो भू–भागमा समेटेपछि उत्पन्न परिस्थितिबारे सर्वदलीय सहमति खोज्ने उद्देश्यले प्रधानमन्त्री ओलीले आज आफ्नै सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठकको आयोजना गरेका हुन् । बैठकमा सहभागी पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री एवं सीमा क्षेत्रका जानकारहरुले एकै स्वरमा कालापानी नेपालको रहेको र सरकारलाई ऐतिहासिक तथ्य र प्रमाणका आधारमा भारतसँग अविलम्ब संवाद गर्न सुझाव दिएका थिए । राजनीतिक विषयमा फरक–फरक राजनीतिक दलका फरक–फरक मूल्य–मान्यता भए पनि राष्ट्रियता र सीमा सुरक्षाका विषयमा समान धारणा रहेको, कोही पक्ष वा विपक्षमा नभई एउटै स्वर भएको सहभागीहरुले बताएका थिए । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी नेपालको भूमि हो भन्ने कुरामा कुनै विवाद नभएको बताए । उनले भने, “कालापानी क्षेत्रमा भारतीय सुरक्षा बल रहेको भाग नेपालको भू–भाग हो, भारतीय सुरक्षा बल रहेको पश्चिमतर्फको महाकाली नदी पूर्वको सबै भू–भाग नेपालको हो । नेपालको भू–भाग फिर्ता लिन सरकारले उच्च प्राथमिकता र कूटनीतिक प्रयत्न गर्नुपर्छ ।” सोही पार्टीका नेता रमेश लेखकले कालापानीलगायत नेपालको भू–भागलाई फिर्ता गर्न सरकारले उच्च कूटनीतिक र राजनीतिक पहल गरोस् भन्ने काङ्ग्रेसले सरकारलाई सुझाव दिएको बताए । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पनि समस्या समाधानका लागि ठोस पहल गर्न आफूले सुझाव दिएको सञ्चारकर्मीलाई जानकारी दिए । उनले भारतमा पनि भारतीय जनता पार्टीको दुईतिहाइ जनमतप्राप्त सरकार रहेको र नेपालमा पनि दुईतिहाइ जनमतप्राप्त सरकार रहेकाले समस्या समाधानका लागि अहिलेको उपयुक्त अवसरलाई गुमाउन नहुने बताए । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता भीमबहादुर रावल सहभागी थिए । यस्तै प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, राजकिशोर यादव र महेन्द्रराय यादव, पूर्वपरराष्ट्रमन्त्री पाण्डे र कमल थापा, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायत सहभागी थिए । यस्तै सीमाका विषयमा जानकार सूर्यनाथ उपाध्याय, वरिष्ठ पत्रकार भैरव रिसाललगायत सहभागी थिए ।
अवैध लागूऔषध सहित ७ जना पक्राउ काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ वेशीगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका ११ घर भएका २० वर्षीय सन्तोष मोक्तानलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका १६ बाट नियन्त्रित लागूऔषध डाइजेल्याब २० एम्पुल, लुप्रिजेसिक २० एम्पुल, एभिल २० एम्पुल र फेनारगन २० एम्पुल सहित सुनसरी ईटहरी उपमहानगरपालिका ४ बस्ने २० वर्षीय दिपेश महरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका ५ स्थित मेची पुलबाट नियन्त्रित लागूऔषध लुप्रिजेसिक ४९ एम्पुल, डाइजेपाम ४९ एम्पुल र प्रोमिथेजाइन हाईड्रो क्लोराइड ४९ एम्पुल सहित मोरङ बेलबारी नगरपालिका ७ कुस्मे टोल बस्ने २२ वर्षीय बिशाल गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका ७ भन्सार रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब ४ ग्राम २५ मिलिग्राम सहित गुलरिया नगरपालिका ७ कृष्णरसार टोल बस्ने २७ वर्षीय रोजन पुरी र मधुवन नगरपालिका २ ओरालीबजार बस्ने १९ वर्षीय दिनेश नेपालीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भे ८ प ७८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी बर्दिया, गुलरिया नगरपालिका ८ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब १० ग्राम, नगद ९ हजार रुपैयाँ र चक्कु १ थान सहित मधुवन नगरपालिका ५ बस्ने २० वर्षीय खगेन्द्र शाही र २२ वर्षीय सन्तोष थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भे ७ प १७८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरमा आज ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । भे१त २९०१ नंको काठ बोेकेको ट्र्याक्टरले म२प ७०३४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्तीसोनारी–७ फत्तेपुरका २४ वर्षीय सुमनकुमार थारू र सोही ठाउँका १५ वर्षीय सञ्जीत थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए । उनीहरुको उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । ठक्कर दिने ट्र्याक्टरका चालक फरार छन् । रासस
महोत्सवबाट भ्रमण वर्षलाई सहयोग पुग्छ : मन्त्री भट्ट कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले महोत्सव आयोजनाबाट सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने बताएका छन् । पञ्चेश्वर गाउँपालिकामा जारी ‘राष्ट्र निर्माण महामहोत्सव’मा मन्त्री भट्टले सुदूरपश्चिममा थुप्रै धार्मिक तथा पर्यटकीय स्थल रहेका भए पनि प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको बताए । उनले भने, ‘महोत्सवले प्रचारप्रसारमा सहयोग पुग्छ ।’ जिल्लाको पाँच स्थानमा पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटकीय सडकको प्रस्ताव अगाडि बढाएको मन्त्री भट्टले जानकारी दिए । ‘औद्योगिक ग्राम खोल्ने तयारी छ’, उनले भने । सो अवसरमा मन्त्री भट्टलाई गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पञ्चेश्वरमा हुन सक्ने औद्योगिक क्षेत्रको नाम र गाउँपालिकभित्र रहेका धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजन, गापामा रहेका सामुदायिक वनको संरक्षण संवद्र्धनका लागी विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका थिए । धार्मिक, पर्यटकीय क्षेत्रको विकास एवं प्रचारप्रसारका लागि महामहोत्सव आयोजना गरिएको अध्यक्ष चन्दले बताए ।
सिक्टा सिँचाई समयमै सम्पन्न हुनुपर्छ : उपसभामुख तुम्बाहाम्फे काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न हुनुपर्ने बताएकी छन् । उपसभामुख तुम्बाहाम्फे सिक्टा सिँचाइ आयोजनाको ढकेरीदेखि अगैयासम्मको नहरको स्थलगत अनुगमनपश्चात् निर्धारित समयमै सम्पन्न गरी जनतालाई सिँचाइ सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । सिक्टा सिँचाइ आयोजना २०७७ असार मसान्तभित्र काम सम्पन्न गर्ने म्याद रहेको छ । तर अहिलेसम्म ६० प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न भएको छ । उपसभामुख तुम्बाहाम्फेलाई बाँके निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराजले सिक्टा नहर सञ्चालन र सिक्टाबाट बाँकेका जनताले प्राप्त गर्ने लाभका बारेमा जानकारी गराएकी थिइन् । सिक्टा सिँचाइ आयोजना प्रमुख कृष्ण नेपालले सिक्टा परियोजनाको प्रगति र समस्याहरुका बारेमा उपसभामुखलाई जानकारी गराउँदै आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको बताए । उनका अनुसार राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ सम्पन्न भएपश्चात अगैयादेखि पूर्वी नहरबाट नौ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ भने पश्चिमी नहरबाट ३३ हजार ७६६ हेक्टर जमीनमा सिँचाइ सुविधा पुग्ने लक्ष्य रहेको छ ।
नारूहितोको गद्दी आरोहणको खुशियालीमा राष्ट्रिय उत्सवको आयोजना टोकियो (रासस/एएफपी) । जापानका सम्राट नारूहितोको गद्दी आरोहणको खुशियाली मनाउन शनिबार टोकियोस्थित ‘इम्पेरियल प्यालेस प्लाजा’ मा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा नर्तकी तथा प्रसिद्ध गायकगायिककाहरूले खुशियाली व्यक्त गर्दै आफ्ना प्रस्तुती गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रम हेर्नका लागि करिब २० हजार पाहुनालाई आमन्त्रण गरिएको थियो भने १० हजार नागरिकले टिकट लिएका थिए । जापानका सम्राट नारूहितोको अक्टोबर २२ मा भएको गद्दी आरोहणपछि जापानी परम्परा अनुसार उक्त सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । जापानी झण्डा फहराउँदै सम्राट नारूहितालाई प्रत्यक्ष अभिनन्दन गरिरहेका दर्शकलाई सम्बोधन गर्दै आफूलाई वधाई दिन जम्मा भएका सवैप्रति आभार प्रकट गरेका थिए । कार्यक्रमलाई प्रधानमन्त्री सिन्जो आवे लगायतका उच्च अधिकारीहरूले सम्बोधन गरेका थिए । जे–पप ग्रुप आरसीले कार्यक्रमका लागि तयार पारेका प्रस्तुतीद्वारा दर्शकलाई मनोरञ्जन दिनुका साथै सम्राट नारूहितोको सफलताका लागि कामना गरिएको थियो । त्यस्तै जापानी संस्कृति झल्किने नाच तथा सांस्कृतिक प्रस्तुतीले हलमा रहेका करीब ३० हजार दर्शकलाई कार्यक्रमस्थलमा मनोरन्जन प्रदान गरिएको थियो । जापानी राजदम्पत्तीले आइतबार दरबारदेखि आफ्नो निवाससम्म करीब ४.६ किलोमिटर लामो दूरीमा हुने परेडमा सहभागिता जनाउनेछन् । अक्टोबर २२ मा राजगद्दी आरोहणसँगै गरिने गरी तय भएको परेडको कार्यक्रम जापानमा ८० जनाको ज्यान लिनेगरी आएकोे आँधी हगिबिसका कारण स्थगित भएको थियो ।
चुरेको दोहनले पर्यावरणीय सङ्कट : पूर्वराष्ट्रपति यादव काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले चुरेमा लोकराजमार्ग बनाउने योजनाबारे पुनः चिन्तन गर्नुपर्ने खाँचौँ औँल्याएका छन् । नेपाल साहित्य महोत्सवअन्तर्गत आज जनकपुरधाममा आयोजित ‘चुरेको चिन्ता’ विषयक संवाद कार्यक्रममा उनले चुरेको दोहनले भइरहेको पर्यावरणीय सङ्कटतर्फ सबैको ध्यानु जरुरी भएको बताए । पूर्वराष्ट्रपति डा यादवले चुरे भएर राजमार्ग बनाउने र स्काभेटर लगायतका यन्त्र प्रयोग गरी दोहन गर्ने क्रियाकलापले पानीको मुहान सुक्दै गएको, पशुपन्छी पलायन तथा लोपको अवस्था सिर्जना भएको प्रसङ्ग उल्लेख गरे। नेपालको ६० प्रतिशत जनसङ्ख्या र अन्न भण्डार भएको क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै विकास योजना कार्यान्वयन गर्नुपर्दछ भन्दै उनले तराई मधेशलाई डुबान पार्ने क्रियाकलाप तुरुन्त बन्द गर्नुपर्ने बताए । वैज्ञानिक अध्ययन नगरी निजगढमा विमानस्थल निर्माण कार्य गर्नु विडम्बना हो भन्दै पूर्वराष्ट्रपति डा यादवले सखुवाका रूखलाई कटान गरी विमानस्थल बनाउने योजनाको पुनः मूल्याङ्कन गर्नु आवश्यक रहेको धारणा राखे । ‘जङ्गल नष्ट गरी रेलको विस्तार गर्ने योजनाबारे पनि पुनः चिन्तन गर्नुपर्दछ’, उनले भने। पूर्वराष्ट्रपति डा यादवले चुरेबाट निस्केको नदीको व्यवस्थापन हुने गरी विज्ञद्वारा चुरे संरक्षणका लागि बनाइएको गुरुयोजनाअनुरूप छुट्टै ऐन बनाउनु आवश्यक भएको बताए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा अल्पदृष्टि एवम चिन्तन राखी योजना बनाउने प्रवृत्तिका कारण सङ्कट बढ्दै गएको भन्दै सिङ्गो देशकै गुरुयोजना बनाउनु पर्नेमा उनको जोड छ । लहरे भरमा कार्य गर्न खोज्दा गहन सङ्कट देखिएको चर्चा गर्दै उनले देशमा तीन राजमार्ग आवश्यक भएको यथार्थभन्दा टाढा गई एउटै निकायको सोचका आधारमा राजमार्ग बनाउने योजना अघि सारिएका कारण जटिलता उत्पन्न भएको चर्चा गरे । प्रकृतिसँग खेलबाड गर्ने नाममा अपूरणीय क्षति गर्ने होइन भन्दै उनले निजगढ विमान निर्माणस्थलका सन्दर्भमा मूल वनमा असर नपर्ने गरी निर्माण योजना बनाउनु आवश्यक भएको बताए । पूर्वप्रधानमन्त्री नेपालले चुरेको संरक्षणका लागि सबैको ध्यान जानु जरुरी भएको बताउँदै यसका लागि प्रणालीमा नै सुधारको आवश्यकता भएको बताए । रासस
समृद्धिका लागि सरकार प्रतिबद्ध : प्रवक्ता श्रेष्ठ काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायसहितको समृद्धिलाई गुणात्मक रुपले वृद्धि गर्न नेकपाको सरकार लागिपरेको बताएका छन् । नयाँ संविधानको कार्यान्वयनसँगै वर्तमान राज्य व्यवस्थालाई सुदृढ तुल्याउन सरकार गम्भीर बनेको उनले बताए । नेपाल प्रेस सङ्गठन,ताप्लेजुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रियताको मुद्दामा वर्तमान सरकार दृढतापूर्वक अघि बढेको दाबी गरे । यस्तै पश्चिमी सीमा मिचिएको सन्दर्भमा सरकारले पहिलेदेखि नै अडान राख्दै आएको र सीमा मिच्न नदिने उनको भनाइ छ । मित्र राष्ट्रहरुसँग मैत्रीपूर्ण सम्बन्ध राख्दै सहयोग जुटाउने कार्यमा वर्तमान सरकार लागिपरेको उनको भनाइ थियो । नेता श्रेष्ठ जिल्लास्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन ताप्लेजुङ आएका हुन् ।
तस्बिरमा हेर्नुहोस्, बालुवाटारमा बसेको सर्वदलीय बैठकमा नेताहरुको जमघट काठमाडौं । नेपाल–भारत सीमा समस्यालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, समाजबादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, राप्रपाका कमल थापाल, रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेता भीमबहादुर रावललगायतको सहभागिता रहेको छ । भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भूभाग पारेको भन्दै नागरिक स्तरबाट विरोध भइरहेको छ । सत्तारूढ नेकपा निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस निकटको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले सीमाका बारेमा भारतले सार्वजनिक गरेको नक्साको विरोध गरिरहेका छन् ।
सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण : नेता खनाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताएका छन् । नेकपा काठमाडौँ महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर आज वसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सीमा सुरक्षा गर्न नसक्दा नै नेपालको भूमि अतिक्रमणको चपेटामा परेको बताए । हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी क्षेत्रलाई भारतीय भू–भागमा समेटिएको सन्दर्भमा उनले नेपाली भूमिको अतिक्रमण कुनै पनि नेपालीले सहन नसक्ने उल्लेख गरे । ‘लिम्पियाधुराबाट शुरु भएको महाकाली नदी नेपालको पश्चिमी सिमाना हो’, उनले भने, ‘यसलाई एकपक्षीयरूपमा परिवर्तन गर्ने अधिकार भारत सरकारलाई छैन ।’ भारतको एक इन्च भूमि नेपाललाई नचाहिने र नेपालको एक इन्च भूमि पनि नछाडिने उनले प्रष्ट पारे । नयाँ सरकार बनेको एक वर्षको अवधिमा संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्दा जनताको आकाङ्क्षाअनुसार काम हुन नसकेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले अब विकास निर्माणले गति लिने विश्वास व्यक्त गरे । उनले कमी कमजोरीलाई सच्याएर प्रभावकारी ढङ्गबाट सरकारका कामकारवाही अगाडि बढाउन सुझाव दिए । नेपाल संवत् सिङ्गो देशको संवत भएको उल्लेख गर्दै नेता खनालले नेपाल संवत नेपाली जनताको साझा सम्पत्तिका रुपमा रहेको बताए । ‘नेपाल संवतलाई सरकारले राष्ट्रिय संवतका रुपमा मानेको छ’, उनले भने, ‘यसलाई दैनिक जनजीवनमा प्रयोगमा ल्याउने अभियान चलाउनुपर्छ ।’ कार्यक्रममा महानगर कमिटी इन्चार्ज जीवनराम श्रेष्ठले नेपाल संवत्को व्यवहारिक कार्यान्वयनमा वर्तमान सरकार र नेकपाको पूर्ण साथ तथा सहयोग रहेको बताए । नेकपाका सचिवालय सदस्य वामदेव गौतम, कामपाका प्रमुख विद्यासुन्दर शाक्यलगायत नेकपाका नेता कार्यकर्ताको उपस्थिति थियो । सो अवसरमा नेपाली कला, संस्कृति झल्कने बाजागाजा, नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो ।र ासस
निष्ट कलेज एलपिएल : नोवेल र शारदा विद्या निकेतन सेमिफाईनलमा कैलाली । निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगमा नोवेल एकेडेमी कञ्चनपुर र शारदा विद्या निकेतन धनगढी सेमिफाईनलमा प्रवेश गरेका छन् । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा शुक्रवार भएको पहिलो क्वाटरफाईनलमा एवीसी स्कुल नेपालगञ्जलाई हराउँदै नोवेल अन्तिम आठमा पुगेको हो । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा भईरहेको प्रतियोगिताको शनिवारको दोस्रो खेलमा शारदा विद्या निकेतनले लिटिल वुद्ध एकेडेमीलाई ८२ रनले हरायो । पहिले व्याटिग गर्दै शारदाले २० ओभरमा ७ विकेट क्षतिमा एक सय ७२ रन बनायो ।
प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा शुरु काठमाडौं । नेपाल–भारत सीमा समस्यालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वपक्षीय बैठक प्रारम्भ भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा नेता भीमबहादुर रावलको सहभागिता छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, कमल थापालगायत सहभागी छन् । सर्वदलीय बैठकको प्रारम्भ गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले एकतर्फी रुपमा सार्वजनिक गरेको नक्साले नेपाली जनताको भावनामा चोट पुगेको बताए । उनले सर्वदलीय बैठक आयोजना गर्नुको विषयमा प्रस्ट पार्दै सीमालगायतका विषयमा साझा धारणा बनाउनु आवश्यक रहेको बताए । भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतको नेपाली भूभाग पारेको भन्दै नागरिक स्तरबाट विरोध भइरहेको छ । सत्तारूढ नेकपा निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस निकटको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले सीमाका बारेमा भारतले सार्वजनिक गरेको नक्साको विरोध गरिरहेका छन् । परराष्ट्र मन्त्रालयले कात्तिक २० गते प्रेस विज्ञप्तिमार्फत कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पारिसकेको छ । रासस
१३ औं साग निर्धारित मितिमै हुन्छ, पूर्वाधारको कुनै समस्या छैन् : मन्त्री विश्वकर्मा काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको पनि उनले विश्वास दिलाए । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले साग प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नेगरि आफूहरुले दिनरात काम गरिरहेको जनाए । उनले भने, ‘सागको लागि करिब करिब तयारी पूरा हुने दिशामा छ । यो गेम भव्य रुपमा र सफलतापूर्वक सम्पन्न हुने विश्वास दिलाउन चाहन्छु ।’ उनले साग राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकोले खेलप्रेमी र सरोकारवाला सबैले गम्भिरतापूर्वक आ–आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्नुपर्ने सुझाए । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले सामाजिक सञ्जालमा साग प्रतियोगिता समयमै नहुने हो कि भनेर अन्यौलतासँग जोडेर गरिएका टिकाटिप्पणीप्रति भने असन्तुष्टी पोखे । १२ औं साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भैसकेपछि १३ औं प्रतियोगिता २०७२ सालमा गर्ने अभिभारा नेपालको काँधमा आएपछि समयमै साग हुन नसक्नु दुःखद् भएको उनको गुनासो छ । आफूहरु सरकारमा आएपछि उक्त प्रतियोगिता समयमै गर्नेगरि अभिभारा र अवसरको रुपमा लिएको र सोहीअनुसार काम गरेको पनि उनले सुनाए । आफूहरुले ७÷८ महिनामै पोखरा रंगशाला निर्माण काम सम्पन्न गर्न गैरहेको पनि मन्त्रीको भनाई छ । उनले भने, ‘मंसिर पहिलो हप्ताभित्र निर्माण काम सम्पन्न हुन्छ । दशरथ रंगशालाको पनि निर्माण सम्पन्न हुँदैछ । सातदोबाटोमा पनि सम्पन्न हुँदैछ । तेक्वान्दो, कराँते र लङ टेनिशलगायतका नयाँ पूर्वाधारपनि सातदोबाटोमा निर्माण गरेका छौं ।’ साग आयोजना गर्नको लागि निकै जोखिम र चूनौतिहरु रहेपनि आफूहरुले ती सबै चूनौति र जोखिमहरुको सामना गरेर अघि बढेको उनले सुनाए । उनले भने,‘म हिरोईज्ममा विश्वास गर्दिन् । काममा विश्वास गर्ने मान्छे हुँ । खुरु खुरु काम गरिरहेको छु ।’ कतिपयले अहिले धमाधम भौतिक पूर्वाधार निर्माणमा जुटेको देख्दा ‘जब राति तब बुढी ताती’ भनेर पनि टिप्पणी गर्ने गरेको सुनाउँदै उनले साग मुखमै आईसकेकोले यसको लागि आफूहरुले रातोदिन काम गरेको स्पष्ट पारे । उनले थपे, ‘हिजो राति त मैले झिमिक्क आँखा पनि झिम्क्याएको छैन् । दशरथ रंगशालामा भिआईपी छानो हाल्ने काम थियो । त्यो काम राति नै गर्नुपरेकोले हिजो रातभरि काम गरियो ।’ मन्त्री विश्वकर्माले रातदिन काम गर्नु के अपराध हो ? भन्दै प्रश्न गरे । उनले मंसिर १५ गतेको साग गेमको मिति तलमाथि नहुने दाबी दोहोर्याए । उनले भने, ‘मैले स्यावासी र प्रशंसा खोजेको होईन् ।’ उनले दशरथ रंगशालाको प्याफिट मंसिर पहिलो हप्ताभित्रै सम्पन्न भैसक्ने स्पष्ट पारे । उनले भने,‘परिस्थिति हाम्रो काबुमा छ । पूर्वाधारको कुनै समस्या छैन् । अहिलेको कामको प्रगति हेर्दा विश्वासको आधार तय भएको छ ।’ सागको लागि नेपाली खेलाडीहरुलाई प्रशिक्षणदेखि व्यवस्थापकीय सबै काम भैरहेको पनि उनले सुनाए । त्यस्तै, सागकोलागि विदेशी पाहुनाहरुलाई आमन्त्रण गर्ने काम पनि भैसकेको उनले जनाए । उनले दक्षिण एसियाली ओलम्पिक कमिटीको शनिबार काठमाडौँमा बैठक बसेको पनि बताए । उनकाअनुसार उक्त बैठकमा सातवटै देशका ओलम्पिक कमिटीका अध्यक्षको सहभागिता रहेको थियो । १३ औँ सागका खेलहरु काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा हुँदैछ । मन्त्री विश्वकर्माले हिटिङ र स्विमिङ पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेकोले कुनै समस्या नहुने दाबी गरे । आफूहरुले थोरैभन्दा थोरै लगानीमा धेरै उपलब्धि हाँसिल गर्नेगरि काम गरिरहेको उनले सुनाए ।
व्यवसायीक कृषि उत्पादनमा जोड काठमाडौं । प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको व्यावसायिक र आधुनिक कृषिमा प्राथमिकता दिने नीतिका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि हुँदै गएको छ । विगतमा चारदेखि पाँच हजार लिटरसम्म उत्पादन हुने दूधको उत्पादन बढेर हाल १० हजार लिटर पुगेको जनाइएको छ । त्यस्तै केरा तथा तरकारीको उत्पादनमा समेत वृद्धि भएको गाउँपालिका कार्यालयले जनाएको छ । कृषिमार्फत समृद्धि हुने ठानेर पालिकाले कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए। “हामी जसरी भए पनि किसानलाई प्रोत्साहन गरेर कृषि उत्पादन वृद्धि गराउने तथा स्वरोजगारको सिर्जना गर्ने अभियानमा छौ”, उनले भने पालिकाले प्रदेश सरकारको सहयोगमा माटो तथा गोबर परीक्षण केन्द्र सञ्चालनको तयारी गरेको तथा पशु आहाराका लागि दाना उद्योग सञ्चानको तयारी गरिहेको उनको भनाइ थियो । व्यावसायिक दूध उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको मकवानपुरगढी गाउँपालिकामा सहकारीमार्फत मात्रै दैनिक दश हजार लिटर दूध सङ्कलन हुने जनाइएको छ जुन यहाँको कूल उत्पादनको आधा भन्दा पनि कम रहेको दुग्ध सङ्कलक बताउँछन् । सहकारीमार्फत सङ्कलन हुने दूधमार्फत मात्रै यस गाउँपालिकामा मासिक १ करोड ५५ लाख भित्रिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिए । गाउँपालिकामा हाल ३० वटा ठूला गाईपालन केन्द्र सञ्चालनमा रहेको जनाइएको छ । थोरै गाई तथा भैँसीपालन गर्ने किसानहरु धेरै रहेको तर उनीहरुको अभिलेख नभएको बुझिएको छ । मकवानपुरगढी गाउँपालिकाको दोस्रो ठूलो उत्पादन यहाँको मालभोग प्रजातिको केरा रहेको छ । त्यस्तै आधुनिक खेती प्रणालीमार्फत मकवानपुर गढीमा दैनिक लाखौंको तरकारी, केराजस्ता उत्पादन बाहिरिने स्थानीय अगुवा किसान बताउँछन् । राज्मा, बोडी, मास, सिमी, भटमासजस्ता मौसमी गेडागुडी तथा विभिन्न प्रकारका मौसमी एवं बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने अधिकृत परियारले बताए ।
null
नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना, एकको मृत्यु भरतपुर । चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग१४प ७१६८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टेको हो। दुर्घटनामा घाइते मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका– १४ का २४ वर्षीय बुद्धि पन्तको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार व्यास– १३ का २५ वर्षीय सुरेश हड्खले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।
लिटिल फ्लावर प्रिमियर लिग : फ्लावर स्कुल सेमिफाइनलमा कैलाली । यहाँ जारी ‘निष्ट कजेल लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा लिटिल फ्लावर स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटरफाइनल खेलमा भक्तपुर निष्ट स्कुललाई दुई विकेटले पराजित गर्दै लिटिल फ्लावरले अन्तिम चारमा स्थान बनाएको हो । भक्तपुर निष्ट स्कुलले दिएको १०४ रनको लक्ष्य लिटिल फ्लावरले आठ विकेट गुमाएर तीन बल बाँकी छँदै पुरा गर्यो । अन्तिम ओभरमा जितका लागि सात रन चाहिएको अवस्थामा लिटिल फ्लावरका किशोर सिंहले दुई चौका प्रहार गर्दै आफ्नो टिमलाई सेमिफाइनल पुर्याए । लिटिल फ्लावरका सुवोध ऐरले २८, आयुव चन्दले १९ तथा विपीन रावल र महेश अधिकारीले समान १३ रन बनाए । भक्तपुर निष्टका लागि सोहन यादवले चार तथा दीपेन्द्र ऐरी र धनन्जय शाहले एक÷एक विकेट लिए । यस अघि टस हारेर ब्याटिङ गरेको भक्तपुर निष्टले १८ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै १०३ रन बनायो । निष्टका लागि सोहन यादवले २१, दीपेन्द्र ऐरीले १६ तथा सुदीप खड्काले १५ रन बनाए । लिटिल फ्लावरका लागि दिपक रोकायाले चार तथा किशोर सिंह र प्रकाश बडूले तीन÷तीन विकेट लिए । लिटिल फ्लावरका किशोर सिंह म्यान अफ द म्याच भए । शनिबार नोबेल एकेडेमी र एबीसी स्कुल तथा लिटल बुद्ध र शारदा माविबीच खेल हुने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।
परिवारद्वारा शरीफलाई उपचारका लागि विदेश जाने अनुमति खोज्दै इस्लामावाद, पाकिस्तान (रासस/एएफपी) । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको परिवारले उनलाई विदेश भ्रमणमा लगाइएको रोकलाई उपचारका लागि खुला गर्न भ्रष्टाचार आरोपमा जेल विताइरहेका समय गत महिना हृदयघात भएपछि उनलाई पाकिस्तानमा उपचार गरिएको थियो । तीन पटक पाकिस्तानी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शरीफ ‘अटोइम्युन ब्लड डिसअर्डर’ का कारण विरामी छन् । ‘शरीफका परिवारले बिहीबार पाकिस्तानी गृहमन्त्रीलाई भेट गरी उपचारका लागि पूर्व प्रधानमन्त्रीलाई विदेश लानु परेको भन्दै उनीमाथि विदेश भ्रमणमा लगाइएको रोक फुकुवा गर्न बिहीबार अनुरोध गरिएको थियो,’ नाम उल्लेख नगर्ने शर्तमा शरीफका एक सहयोगीले एएफपीलाई बताए। उनका एक चिकित्सकले भने, ‘पूर्व प्रधानमन्त्री शरीफलाई उच्च रक्तचाप रहेको, मृगौलामा खराबी देखिएको र ‘अटोइम्युन ब्लड डिसअर्डर’ को समस्या भएकोले उनी जीवनमरणका लागि सङ्घर्षरत हुनुहुन्छ ।’ उनले हाल पाकिस्तानको पूर्वी शहर लहोरस्थिति एक अस्पतालमा उपचार गराइरहेका छन् । यद्यपि अधिकारीहरूले यस सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन तयार भएनन् । तर एक अधिकारीले पूर्व प्रधानमन्त्रीको अनुरोधलाई मन्त्रीपरिषद्मा पठाइएको बताए । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार शरीफको अनुरोधलाई सरकारले स्वीकार्ने सम्भावना रहेको छ । पाकिस्तानी मुस्लिम लिग–नवाज (पिएमएल–एन) को एक स्रोतले भन्यो, सरकारबाट अनुमति आएमा शरीफलाई आगामी हप्ता लण्डन लग्ने तयारी रहेको छ ।
अदालतले ३४० जरिवाना तोकेका वन मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ बारा । वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका २ बस्ने ५० वर्षीय रुस्तम लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। वन मुद्दामा नारायणी अञ्चल अदालतको २०४७ फागुन ८ गतेको फैसलाले २ महिना कैद र ३ सय ४० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी पक्राउ गरेको हो। लामालाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानएको छ ।
प्रधानमन्त्री ओलीलाई प्रवासी नेपालीको मन छुने पत्र प्रधानमन्त्री केपी ओली ज्यू, नमस्कार । भारतले नयाँ नक्सा सार्वजनिक गरेको आज एक साता वितिसक्यो । त्यो नक्सामा नेपालको दार्चुला जिल्लाको साविकको व्यास गाविसमा पर्ने लिपुलेक भारतले आफ्नो देशको बनाएको छ । त्यसको विरोधमा सच्चा नेपालीहरु सुरुकै दिनदेखि विरोध प्रदर्शनमा उत्रिएका छन् । तर देशको सम्माननीय स्थानमा बसेको मान्छेबाट कुनै आवाज नसुन्दा एकदमै दुःखी भएका छौं । हामी फेरि पनि प्रधानमन्त्रीले चाँसो देखाइदिउन भन्ने आशावादी छौं । जुनबेला भारतले नाकाबन्दी गर्यो त्यो बेलामा तपाँईले राष्ट्रियताको विषयमा अडान लिएर वाह् वाह् पाउनु भएको थियो । त्यसरी नै हामी देश विदेशमा बस्ने नेपालीले साथ सहयोग गरेका थियौं र तपाँईको राष्ट्रियता उचाइमा पुगेको थियो । तर, आज पनि तपाईले त्यसरी अडान लिनु, कुटनीतिक पहल चाल्नु भएको भए हामीलाई विचल्लीमा परेजस्तो अवस्था आउने थिएन । हामी हाम्रो लिपुलेक, कालापानी र लिम्पियाधुराले रत्तिभर न्याय नपाउँदा त्यति नै दुखी छौं की जति दुखी तपाईको निजी स्वास्थ्यमा हुनुहुन्छ । हुन त प्रधानमन्त्री ज्यूको निजी स्वास्थ्यको विषयमा नबोल्नु पर्ने हो तर प्रशंग उस्तै आउँछ । प्रधानमन्त्री ज्यूले मिर्गौला गुमाएको पीडा भन्दा अनगिन्ती गुणा ठूलो पीडा आज हामी देश विदेशमा बस्ने नेपालीलाई भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा चाहिँ आम नेपालीको साझा मिर्गौला हो बुझिदिनुस् । राष्ट्रको कार्यकारी प्रमुख पदमा बस्नु भएको हुँदा यहाँले यति ठूलो सम्वेदनशील विषयलालाई नजरअन्दाज गरि मौनधारण गर्नु कायरताको पराकाष्ठा हो । यदि प्रधानमन्त्री ज्यूसंग कहिँ कतै इतिहास रच्न सक्ने साहस छ भने मौका परेको बेला चौका हान्न नविर्सिनुस् । हामीले देखेका छौं, सुनेका छौं । राष्ट्रियताको नाममा आफ्नै फोटो प्रदर्शनले केही हुँदैन । काठमाडौंको सडक गाडेका पोलहरुमा तस्वीर झुण्ड्याउँदैमा नयाँ युगको सुरुवात भएको हामी कदापी मान्न सक्दैनौं । नयाँ युगको सुरुवात त तब हुन्छ जब कालापानी र लिम्पियाधुराको विषयमा बोल्न तपाँँँँइको नाकाबन्दी ताकाको राष्ट्रवाद ब्युतनुपर्छ । भारतले शनिवार सार्वजनिक गरेको आफ्नो राजनैतिक नक्सामा हाम्रो कालापानी र लिम्पियाधुरा समावेश गरेपछि उक्त विषयमा केही दिन अघि मात्रै नेपालको परराष्ट्र मन्त्रालयको विज्ञप्ति सार्वजनिक भयो । विज्ञप्ति पनि एकदम निर्धो न आफैमा वजन छ नत साहस नै । हाम्रो सार्वभौमसत्ता र राष्ट्रिय भौगोलिक अखण्डताका खातिर ब्रिटिस साम्राज्यवाद र भारतीय विस्तारवादविरुद्ध हिजो रचिएको हाम्रा वीर पुर्खाहरुको वीरतालाइ झल्काउन नसक्नेले किन विज्ञप्ति जारी गर्नु? समय अझै प्रशस्त छ हामीसंग । प्रधानमन्त्री ज्यू जनताले तिरेको करको केही प्रतिशत रकमले त देश जोगाइदिनुस् । बाँकी अतिक्रमित क्षेत्रमै गएर यी पौरखी पाखुराहरु बजार्ने र परि आए जीवन उत्सर्ग गर्ने नेपाली त छँदै छौं नी हामी । तपाइले कुटनैतिक तवरबाटै यस विषयलाई हल गर्नु भो भने इतिहासको एउटा पाना तपाइकै नाम छापिने छ। तर हिजो आज झै मौन बस्नु भो भने त केही भन्न सकिन्न । किनकी हामी बुझ्नेछौं मौनम् स्वीकृति लक्षणम् ११ तपाईको शुभचिन्तक पुष्पराज रोकाया ठेगाना : बझाङ्ग हाल : भारत
निर्वाचनलाई प्रभावमा पार्नुहुँदैन : अध्यक्ष बिजुक्छे काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कुनै पनि निर्वाचनलाई प्रभाव र प्रलोभनमा पार्न नहुने बताएका छन् । आगामी मङ्सिर १४ गते भक्तपुरको क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ‘क’ मा हुने उपनिर्वाचनको सन्दर्भमा आज आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा उनले निर्वाचनमा मादक पदार्थ र भोज भत्तेर गरेर मतदातालाई झुक्याउने तथा कुनै पनि प्रभाव र प्रलोभनमा पार्ने प्रति कार्यकर्ता सचेत हुनुपर्नेमा जोड दिए । निर्वाचनलाई विचारको सङ्घर्षको रूपमा उपयोग गर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले सङ्घीय व्यवस्थाबारे आधारभूत ज्ञानसमेत नभएका प्रतिनिधि कुनै पनि संसद्मा पुग्दा सङ्घीय व्यवस्था थप भद्रगोल हुने बताए । उपनिर्वाचनलाई ठूला दलका गलत काम र पूँजीवादी व्यवस्थाका विकृतिबारे जनतासम्म पु¥याउने राजनीतिक अभियानको रूपमा पार्टीले लिएको उनको भनाइ थियो । लिम्पियाधुराको समस्याबारे नेमकिपाले यसअघिका सरकारलाई पटक पटक सचेत पार्दै आएको चर्चा गर्दै उनले तिब्बत् पुग्ने बाटो भएकाले भारतले सो क्षेत्रलाई रणनीतिकरूपमा उपयोग गर्न खोजेको बताए । नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले विगतका निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन हुँदै आएको बताउँदै उनले जनतालाई भोजभत्तेर खुवाएर, पैसा बाँडेर, सामान बाँडेर चुनाव जित्ने विकृतिका विरुद्धमा सबै एक हुनुपर्ने बताए ।रासस
जर्जिया पठाई दिने भन्दै ठगी गर्ने पक्राउ काठमाडौं । जर्जिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मोरङ पथरी नगरपालिका १ उर्लावारी बस्ने ४३ वर्षीय रामकृष्ण राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने दोलखा गौरीशंकर गाउँपालिका ६ घर भएका पुरुषलाई राईले जर्जियामा क्लिनरको जागिर लगाईदिने र उक्त कम्पनीले मासिक ९० हजार रुपैयाँ तलव, खान बस्न समेत दिने प्रलोभन देखाई ७ लाख ५० हजार रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएको भन्ने जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजतलास गर्दै जाने क्रममा मोरङ जिल्लाको उर्लावारीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा निज राईले राजन राईबाट ३ लाख ५० हजार र ईन्द्र लिम्बुबाट ५ लाख रुपैयाँ लिई ठगी गरेको खुल्न आएको उक्त महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भारतीय नक्साको सुर्खेतमा पनि विरोध प्रर्दशन सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ने.क.पा क्रान्तिकारि माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले विरोध र्यालीसहित कोणसभा गरेको छ । नेपाली भू–भागलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेकोले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले शुक्रबार व्यापक विरोध सुरु गरेको हो । ने.क.पा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका कार्यकर्ताले कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो भारतीय विस्तारवाद मुर्दावाद लगायतका नारा लगाउँदै स्थानीय वीरेन्द्रचोकमा कोणसभाको आयोजना समेत गरेका छन् । कोणसभामा बोल्दैे भारतले मिचेको भूमि फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । गणेशचोक, नेताचोक तथा बुद्दपथ चोक हुदै विरेन्द्रचोकमा पुगेर कोण सभा टुग्याएको थियो । र्याली बजार परिक्रमापछि आयोजित कोषसभामा बोल्दै देशभक्त जनगगणतान्त्रिक मोचाका कर्णा्लि प्रदेश सचिव तथा केन्द्रीय सदस्य सिपी शर्माले राष्ट्रिय स्वाधीनताका लागि रगतको खोलो बगाउन हामी तयार रहेको बताएका छन् ।
संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राजपासँग पार्टी एकीकरण गर्न बाबुरामको जोड काठमाडौं । समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राष्ट्रिय जनता पार्टी, नेपालसँग पार्टी एकीकरण गर्न जोड दिइएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जनजाति आन्दोलनमा आवद्ध पार्टीहरु र राष्ट्रिय जनता पार्टी, नेपालसँग पार्टी एकता गरेर मुलुकलाई भरपर्दो विकल्प दिन आफ्नो पार्टी लागि परेको दावी पनि गरे । पार्टीका अध्यक्ष उपेन्द्र यादवद्धारा लिखित पुस्तक ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ को शुक्रबार काठमाडौंमा विमोचन गर्दै उनले पश्चागामी सोच भएका राजनीतिक दलहरुले शासन संचालन गरिरहेको भन्दै त्यसबाट मुलुकको संघीयतालाई बलियो बनाउन नसकिने दावी पनि गरे । भट्टराईले यादवद्धारा लिखित पुस्तक मुलुकको संघीयतालाई बलियो बनाउन भरपर्दो सन्दर्भ सामग्री हुने विश्वास पनि व्यक्त गरे ।
पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी पक्राउ त्रिपोली (रासस/सिन्ह्वा) । पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन् । उनीहरु बिहीबार पक्राउ परेका अधिकारीहरुले जानकारी दिएका छन् । उक्त नगरको सुरक्षा विभागले दिएको जानकारीअनुसार ती आप्रवासीहरुको कुनै कागजात नभएको र अवैध रुपमा उनीहरुले यात्रा गरिरहेको पाएपछि नियन्त्रणमा लिइएको हो । उनीहरु अवैध रुपमा अथवा विना कुनै कागजात सो क्षेत्रमा हिँड्डुल गरेको थाहा पाएपछि नियन्त्रणमा लिनु परेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । प्रहरीले बिहीबारै प्रकाशन गरेको विज्ञप्तिमा ती नागरिकहरु बङ्गलादेशका रहेका पनि खुलेको छ । उनीहरुलाई शरणार्थी शिविरमा राखिएको छ । यही मार्ग भएर दशौँ हजार व्यक्ति हरेक वर्ष शरणार्थीका रुपमा युरोप छिर्ने प्रयास गरिरहेका हुन्छन् । त्यसै क्रममा उनीहरु लिबियिाको उक्त पश्चिमी क्षेत्रका साथै अन्य शहरहरुबाट पनि पक्राउ पर्ने गरेका छन् । तर पनि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोगले विगत लामो समयदेखि नै यात्राका लागि लिबियाको बाटो सुरक्षित नभएको बताउँदै आएको छ । उक्त देश सन् २०११ देखि नै असुरक्षित हुदै आएको बताइएको छ । जसका कारण सो देशबाट दशौँ हजार जना विदेशी नागरिक पक्राउ परेका छन् । सन् २०११ मा भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा यहाँका नेता कर्णेल माउमर गद्दाफी मारिएपछि लिबियाको सुरक्षा व्यवस्था अत्यन्त कमजोर भएको छ ।
भारतीय विवादित नक्साबारे संसदीय समितिले प्रधानमन्त्री ओलीसँग छलफल गर्ने काठमाडौं । भारतले आइतबार सार्वजनिक गरेको भनिएको नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्वन्धमा छलफल गर्न प्रधानमन्त्रीलाई बोलाइएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आगामी सोमबार बस्ने समितिको बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन प्रधानमन्त्रीलाई बोलाएको हो । नेपाल–भारतबीच कालापानीका सम्वन्धमा पछिल्लो समय उठेका प्रश्नबारे प्रधानमन्त्रीसँगै छलफल गर्नुपर्ने भएकाले समितिले उनलाई आगामी सोमबारको बैठकमा बोलाउने कार्यसूची तयार गरेको हो । त्यस्तै प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्वन्ध समितिले पनि कालापानीका विषयमा उठेका प्रश्नबारे छलफल गर्न सोही दिन बस्ने बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आमन्त्रण गरेको समितिका सचिव सुरजकुमार दुराले राससलाई जानकारी दिए। यद्यपि नेपाल सरकारले यसअघि नै कालापानी क्षेत्र नेपालको भूभाग भएको भनि स्पष्ट गरिसकेको छ । भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएकोे बुधबार नै स्पष्ट गरेको थियो । नेपाल तथा भारतका परराष्ट्रमन्त्रिस्तरीय संयुक्त आयोगका बैठकबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याको समाधानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवले काम गर्ने गरी जिम्मेवारी दिइएको बताउँदै मन्त्रालयले द्विपक्षीय सम्बन्धका कुनै पनि एकपक्षीय निर्णय अमान्य हुने जनाउ दिइसकेको छ । अन्तरराष्ट्रिय सिमाना रक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्रालयले दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको बताउँदै आएको छ ।रासस
‘नेपालको भू–भाग फिर्ता गराउन कुटनीतिक कौशल देखाउनुपर्छ, तर यो सरकारसँग कौशल छ जस्तो लाग्दैन्’ काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले लिपुलेक र कालापानी नेपालकै भूभाग रहेकोले यो नेपालमा रहनुपर्ने बताएका छन् । उनले भने, ‘यो समस्याको जटिलता बुझ्न ईतिहासमा जानुपर्छ । १९६२ देखि हिन्तुस्तान र चीनबीच लडाई हुँदा यो समस्या भएको थियो । म १९६५ मा नेपाल फर्किएँ । त्यतिवेला के भएको हो भनेर म एकिनका साथ भन्न सक्दिन् ।’ उनले एक कार्यक्रममा बोल्दै अहिलेसम्म बनेका नेपालका कुनै पनि सरकारले यसबारेमा समाधानको लागि यथेष्ट पहल गर्न नसकेको गुनासो पोखे । उनले भने, ‘पञ्चायत, बहुदलदेखि अहिलेसम्म आईपुग्दा कहिल्यै पनि ठोस कदम लिएको देखिएन । सरकारले विषयको उठान गरेर बैठानमा पुरयाउन सकेको छैन् । अहिले भारतले आफ्नो म्याप प्रकाशन गरेपछि यो कुरा उठ्न थालेको छ । हाम्रो सरकारले कुटनीतिक कौशल देखाउन सक्नुपर्छ । यो साधारण तरिकाले हुँदैन् । सरकारले खोजे हामीले सल्लाह दिनुपर्छ ।’ नेपालको आफ्नो भू–भाग फिर्ता गराउनको लागि सरकारले कुटनीतिक कौशल प्रदर्शन गर्नुपर्ने पनि उनको भनाई छ । उनले भने, ‘वर्तमान सरकारमा त्यो कौशलता त्यति छ जस्तो मलाई लाग्दैन् ।’ त्यस्तै, उनले आफ्नो पार्टीले यही कात्तिक २८ गतेदेखि ७ दिने धार्मिक यात्रा सुरु गर्न लागेको पनि जनाए । उनले भने, ‘सीताको जन्मस्थलदेखि बुद्धको जन्मस्थल लुम्बिनीसम्म हामी धार्मिक यात्रा चलाउँछौं । यो मुलुक संवैधानिक रुपमा हिन्दूराष्ट्र हुनुपर्छ । यसको लागि हाम्रो धार्मिक यात्राले जागरण उठाउनु हो ।’ नेपाल हिन्दूराष्ट्र हुँदा सबै धार्मिक स्वतन्त्रता रहेको त्यही परिस्थिति अहिले नेपालमा स्थापित हुनुपर्छ भन्ने आफूहरुको भनाई रहेको उनले सुनाए । उनले भने,‘विदेशी चलखेलको आधारमा अन्तरिम संविधान बनाउँदा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे । अहिलेसम्म यसबारेमा नेपाली जनताले आफ्नो मत व्यक्त गर्ने मौका प्राप्त गरेको छैनन् । नेपाल हिन्दूराष्ट्र थियो । संसारको एक्लो हिन्दूराष्ट्रको रुपमा नेपाल परिचित थियो । अन्तरिम संविधानको बेला नेपाललाई धर्मनिरपेक्षता घोषणा गरेर मौलिक पहिचान मेटाईयो । यो अपराध हो ।’ ९४ प्रतिशत ओमकार परिवकारका सबै धर्मालम्बीहरु एक हुनुपर्ने उनको आह्वान छ । उनले भने, ‘नेपाल विश्वमै एक्लो हिन्दूराष्ट थियो। एक्लो हिन्दूराष्ट्रको पहिचान पूर्नस्थापित हुनुपर्छ । नेपालले आफ्नो परिचय देखाउनुपर्छ । विश्वमा अहिले एक अर्व ७० करोड हिन्दूधर्मालम्बीहरु छन् । त्यसको आधा प्रतिशतमात्रै नेपाल आए भने नेपालको पर्यटन राम्रो हुन्छ ।’
सडकमा विरोध गरेर विवाद समाधान हुँदैन्, कुटनीतिक रुपमा समस्या हल गरिनुपर्छ : लेखराज भट्ट काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले लिपुलेक र कालापानी नेपालकै भएको कुरा ऐतिहासिक तथ्यांकले पनि पुष्टि गरेको सुनाउँदै भारतसँगको विवाद कुटनीतिक तवरले हल गरिनुपर्ने धारणा राखेका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘भारतले नयाँ नक्शा प्रकाशनमा ल्याएपछि यो अहिलेको जल्दोबल्दो बहसको विषय बनेको छ । अहिले सडक तातिएको छ । लिपुलेक र कालापानी नेपालकै हो । अहिलेसम्म सरकारको नेतृत्व गरेकाहरुले यो कुरा भारतसँग अडानका साथ राख्न सकेनन् । भारतसँग नेपालले कुटनीतिक पहल गर्नुपर्छ ।’ उनले उक्त विषयमा नेपालको परराष्ट्र मन्त्रालयले भारतीय राजदुतलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने पनि माग गरे । उनले भने,‘यो विवाद कुटनीतिक संयन्त्रबाट हल गरिनुपर्छ । नेपालले कुटनीतिक टेबुलमा आफ्नो ऐतिहासिक तथ्यांक पेश गर्नुपर्छ । सरकारले कुटनीतिक कौशलता पेश गर्नुपर्छ । २०७२ सालमा भारत र चीनबीच लिपुलेकबारे भएको समझदारीको विरोधमा पहिले मैले बोलेको थिएँ । हामीले कमजोरीबाट पाठ सिक्नुपर्छ । नागरिक समाज, राजनीतिक दल, सरकार एकजुट भएर कुटनीतिक पहलबाट समस्याको समाधान गर्नुपर्छ । सिमा विवाद समाधान गर्नुपर्छ । सडकमा आएर उफ्रिएर हुँदैन् ।’ भट्टले कालापानी र लिपुलेकको ऐतिहासिक पक्षलाई अध्ययन गर्नुपर्ने धारणा राख्दै ईतिहासमा कहा– कहाँ कमजोरी गरेको हो भन्ने कुराको समिक्षा गर्न जरुरी रहेको बताए । उनले भारत र चीनबीच युद्ध हुँदा कालापानीमा भारतले सेना राख्दा नेपालले पनि आफ्नो सेना राख्न सक्नुपर्ने्थियो भन्ने अभिव्यक्ति दिए । लामो समयदेखिको उक्त विवाद हल गर्नको लागि यसअघिका सरकारहरुले पहल नगरेको र आफूहरु सरकारमा हुँदा पनि त्यो काम नगरेको उनले स्वीकारे । लिपुलेक, कालापानी नेपालकै भ–ूभाग भएको र यसको प्रमाण नेपालका ऐतिहासिक दस्तावेज, नक्साहरु, ब्रिटिश पुस्ताकालय, कयौं नक्साहरु र कञ्चनपुर मालपोत कार्यालयमा रहेको पनि उनले सुनाए । उनले भने, ‘हाम्रो पक्ष दरोसँग उभिनुभयो । तयारीका साथ द्धिपक्षीय संयन्त्रसँग जानुभयो । समाधान यी–यी हुन हाम्रा भनेर जानुपर्छ ।’ भारतको विरोध गर्दै सडकमा आउनुको अर्थ नभएको उनको तर्क छ । भट्टले भने, ‘हामी आफैं सत्तामा छौं । पार्टी च्यानलको माध्यमबाट जानुपर्छ । प्रधानमन्त्री–प्रधानमन्त्रीबीच हटलाईनमा कुरा हुनुपर्यो । विशेष दुत पठाउनुपर्यो । त्यहाँको राजदुतलाई सक्रिय बनाउनुपर्यो । भारतीय राजदुतलाई स्पष्टीकरण लिनुपर्छ । हिम्मत गर्नुपर्यो ।’ नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयबाट जारी गरिएको विज्ञप्तीमा मन्त्रालयको प्रवक्ताको नाम र हस्ताक्षर हुनुपर्ने थियो भन्ने अभिव्यक्ति पनि उनले राखे । उनले भने, ‘नाम, हस्ताक्षर र छाप किन भएन ? यसबारेमा समिक्षा गर्नुपर्छ । प्रधानमन्त्रीले त्यो सम्बन्धमा आवश्यक निर्देशन दिनुपर्छ । अहिले सडकभन्दापनि नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्छ ।’ भट्टले नेपाल सरकारले कुटनीतिक कौशलता देखाउनुपर्ने र राजनीतिक नेताहरुमा त्यो दम रहेको पनि सुनाए । उनले भने, ‘हाम्रो सरकार र नेताहरुले भारतीय पक्ष र त्यहाँको प्रधानमन्त्रीसँग यो विषय गम्भिर रुपमा राख्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’ आफूले २०७२ सालमै लिपुलेकबारे मोदी र सी चिनफिङबीच भएको समझदारीबारे पार्टी नेतृत्वको ध्यानाकार्षण गराएको भट्टले सुनाए । राष्ट्रिय एकता कायम गर्नुपर्ने उनको भनाई छ । उनले भने, ‘सडक तताएर समस्याको हल हुँदैन् । हामीले लामो समयदेखि राष्ट्रियताको बारेमा बोल्दै आयौं । तर, समस्याको हल भएन । अब कुटनीतिक टेबुलमा छलफल गर्नुपर्छ । सडकबाट दबाब दिनु र ध्यानाकार्षण गर्नु एउटा ठाउँमा छ । तर, अहिले सबै दल एकजुट हुनुपर्छ । कुटनीतिक पहलबाट समस्याको हल गरिनुपर्छ ।’
‘भारतसँग सबै दल एकमत भएर प्रस्तुत हुनुपर्छ, कुटनीतिक टेबुलमा आफ्नो कुरा राख्नुपर्छ’ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एन.पी.साउदले कालापानी र लिपुलेक विवादबारे नेपाल सरकारले भारतसँग कुटनीतिक रुपमा कुरा राख्नुपर्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता साउदले अहिले भारतले आफ्नो नक्शामा नेपालका भू–भाग कालापानी र लिपुलेक राखेपछि नेपालभित्र र दक्षिण एशियाका अन्य देशहरुभित्र एक किसिमको बहस सुरु भएको सुनाए । उनले भने,‘हामी नेपालीको सरोकार के हो ? भन्ने कुरा स्पष्ट हुन जरुरी छ । लिपुलेकको विवाद अहिलेको सन्दर्भ होईन । विगत लामो समयदेखि नेपाल–भारत सम्बन्धमा, द्धिपक्षीय र बहुपक्षीय रुपमा पनि यो कुनै न कुनै रुपमा जोडिँदै आएको छ । आजभन्दा धेरै वर्ष अगाडि नेपालको जनगणना हुँदा नेपाली गौचरनको रुपमा त्यो कालापानी पहाड त्यहाँ विद्यमान थियो । पञ्चायतकालमा व्यास गाउपञ्चायतमा थियो, यो दार्चुलामा अवस्थित् थियो । भारतीय सेनाले त्यो भुभाग अतिक्रमण गर्यो ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले ईष्ट ईण्डिया कम्पनी र नेपालबीच सुगौली सन्धि हुँदा त्यतिवेला पुर्वमा मेची र पश्चिममा महाकाली कायम गरिएको सुनाए । उनले भने, ‘नेपाल पुर्वमा तिष्टा र पश्चिममा काँकडासम्म फैलिएको थियो । ईष्ट ईण्डिया कम्पनीसँग सम्झौता भएर मेची र काली कायम गरिएको हो । महाकाली उद्धगम अघि बढिरहेको छ। महाकाली प्राकृतिक नदी हो । यसको उद्धगम भौगोलिक दृष्टिकोणले निर्धारण गर्ने कुरा हो । सिमाविदहरुले कोरेका रेखांकन छन् । ब्रिटिश लाईव्रेरीदेखि लिएर अन्य ठाउँमा अनुशन्धान गर्दा पत्ता लाग्छ । त्यतातिर सरकारले दरिलोसँग आफ्नो दृष्टिकोण राख्न सकेको छैन् । मुलुकमा धेरै प्रधानमन्त्रीहरु भए । तर, उहाँहरुबाट आफ्नो दृष्टिकोण राख्ने काम भएन ।’ नेपाल–भारत सिमा विवादहरु द्धिपक्षीय सचिवस्तरीय वार्ता संयन्त्रबाट टुँगो लगाउने सहमति भएको भएपनि त्यो टुँगोमा नपुग्नु दुःखद् भएको सुनाए । उनले भने,‘सचिवस्तरीय संयन्त्रबाट सहमति नहुनु दुःखद् हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपतिबीचको सहमतिमा कालापानी र लिम्पियाधुरा नाका स्विकार गर्नु गलत हो । यसले नेपाललाई गम्भिर रुपमा प्रभाव परेको छ ।’ उनले सिमा विवादबारे आफ्नो पार्टीले विगत लामो समयदेखि बोल्दै आएको पनि सुनाए । उनले भने, ‘नेपाली राजनीतिक दल, यसका नेताहरुले बोल्दा एकमत हुनुपर्छ । हाम्रो पार्टी सभापतिले पार्टीगत रुपमा अग्रसरता लिनुभएको छ । झुठो र नक्कली राष्ट्रवादको कुरा गरेर जनतालाई अर्गाल्याएर मत लिने काममा यो सरकार लाग्यो । जब राष्ट्रियताको बारेमा बोल्नुपर्ने हुन्छ, देशको, सिमाको बारेमा बोल्नुपर्दा प्रधानमन्त्री चुक्नुहुन्छ । सरकारको वक्तव्य हेर्दा सरकार लाचार भैसकेको छ। कर्मचारीले नाम र पद लेख्दैनन् । पूरा दस्ताखत पनि गर्दैनन् । हाम्रो देशको राष्ट्रियता कहाँ छ ? देशको परराष्ट्र नीतिको हविगत के छ ? सरकार अहिलेपनि जिम्मेवार छैन् । खाली डिफेन्सको लागि देखाउने मात्रै हो । सरकार र हामी सबै दलहरुको दृष्टिकोण एकै हुनुपर्छ । सहयोग गर्न कांग्रेस पछि हट्दैन् ।’ परराष्ट्र मन्त्रालयको तर्फबाट यसबारेमा कुटनीतिक पहलको खाँचो रहेको उनले औंल्याए । उनले भने,‘हामी सरकारलाई सघाउनको लागि पूर्ण प्रतिबद्ध छौं । पत्रकार, नागरिक समाज, राजनीतिक दल, सरकार सबै एकजुट हुनुपर्छ । हामीले राजनीतिक र कुटनीतिक तवरले यो समस्याको समाधान दिनुपर्ने हो । सरकारले यो ठाउँ हाम्रो हो भनेर किटानी गर्नुपर्छ । वार्ताको प्रक्रियाबाट प्रमाण र तथ्यको आधारमा समाधान गर्नुपर्छ । सरकारले समाधान खोज्नुपर्छ ।’
दक्षिणी क्यालिफोर्नियामा सानो विमान दुर्घटना, जहाज चालकको निधन लस एन्जलस (रासस/सिन्ह्वा) । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ । उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ । उक्त विमान आवासीय भवनको छतमा खसेको थियो । विमान छतमा खस्नासाथ घरमा आगो लाग्ने त्रासले अग्निनियन्त्रकहरु सो क्षेत्रमा तत्कालै पुगेका थिए । उक्त विमान अपल्याण्डको केबल विमानस्थलबाट उडेको थियो । प्रत्यक्षदर्शीहरुले उक्त विमान निकै होचोगरी उडेको र बस्तीको एक घरको छतमा ठोक्किन पुगेको बताएका छन् । त्यस घरमा एकजना पुरुष र उनको छोरा बसेका थिए । विमान छतमा ठोक्किएपछि उनीहरु भने भाग्न सफल भएको स्थानीय टेलिभिजनले जनाएको छ । एकमात्र इन्जिन भएको सो विमान एसआर २२ नामको सानो विमान हो । उक्त विमानको दुर्घटनाको कारण भने पत्ता लागेको छैन ।
टोखामा ९९.२१ प्रतिशत राजश्व सङ्कलन काठमाडौं । टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ । नगरपालिकाले आव २०७५/७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु १५ करोड १८ लाख ७० हजार ५६७ राजश्व सङ्कलन गरेको राजश्व शाखा प्रमुख दामोदर भण्डारीले जानकारी दिए । करदातालाई करको दायरामा ल्याउन वडा–वडामा विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गर्दै आइरहेको जनाएको छ । नगरपालिकाका अनुसार आव २०७५/७६ मा निवेदन दस्तुरबाट रु ७८ हजार ३००, नक्सापास दस्तुरवापत रु ४२ लाख ३९ हजार २७४, ‘घ’ वर्ग अनुमति दस्तुरबाट रु ४३ हजार ४१०, व्यक्तिगत घटना दर्ता जरिवनाबाट रु ७५ हजार, विभिन्न सिफारिश दस्तुरबाट रु १२ लाख ४२ हजार ५०० र अन्य आम्दानीबाट रु ६ लाख ९५ हजार ७१ राजश्व सङ्कलन गरिएको छ । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा नगरपािलकाले रु ८८ लाख ५७ हजार ५०१ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ९२ लाख ५४ हजार ९३१ राजश्व सङ्कलन भएको थियो । आव २०७४/७५ मा घरजग्गा र सम्पत्ति करबाट रु ५० लाख ३४ हजार ६२५, मालपोत तथा भूमि करबाट रु २५ हजार ७३७, बहाल करबाट रु २८ हजार २७ लाख ६८६, व्यवसाय दर्ता करबाट रु १० लाख ८९ हजार ६८२, विज्ञापन करबाट ४८ हजार ५०१ र बहाल विटौरी करबाट ४५ हजार ३०६ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । नगरपालिकाले वडा नं १ र २ मा ग्रामीण क्षेत्र भएकाले त्यहाँका बासिन्दालाई करमा ४० प्रतिशत छुट दिइएको प्रमुख भण्डारीले जानकारी दिए । यस्तै भूकम्पपीडितलाई ७५ प्रतिशत छुट र सम्पत्तिकरमा साउन, भदौँ, असोज तथा कात्तिक महीनाभित्र कर बुझाउनेलाई १० प्रतिशत छुट दिइएको नगरपालिकाले जनाएको छ । रासस
प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित डिउटीमा खटिएको प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् । ठमेलमा डिउटीमा रहेका प्रहरीलाई उदयपुर त्रियुगा नगरपालिका-३ घर भएका २९ वर्षीय देव कुमार राईले घुस दिन खोजेपछि उनी पक्राउ परेका हुन् । राईलाई अहिले प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ राँझा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगञ्ज उपमहानगरपालिका–९ बाट स्थानीयवासी राजु भन्ने नरेश खटिकलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो। खटिकका साथमा रहेका भारतीय नागरिक बहराइचका रोहन अन्सारी भारततर्फ भाग्ने क्रममा सीमा क्षेत्र जमुनाहबाट उनलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए। अन्सारीले भारतबाट ब्राउनसुगर लिएर आउने र खटिकको मद्दतले नेपालगञ्ज र आसपासमा कारोवार गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक थापाको भनाइ छ। बिहीबार नै प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट पाँच ग्राम ६१० मिलिग्राम ब्राउनसुगरसहित नेपालगञ्ज उपमहानगरपालिका–४ का समीर अन्सारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जना लागुऔषध कारोवारी भएको पाइएकाले थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए । रासस
चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु चितवन । भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा बिहीबार राति स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका अनुसार भरतपुरबाट मङ्गलपुरतर्फ जाँदै गरेको ना३६प ९३२४ नंको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको थियो। स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनको सनाखत हुन सकेको छैन। पैदलयात्रीलाई ठक्कर दिने स्कुटरका चालक पनि घाइते भएका छन्। घाइते हुनेमा गैँडाकोट नगरपालिका–१० भेडावारी बस्ने २३ वर्षीय जनक कँडेल रहेको र उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
तिनाउमा सत्यवती मेला भर्न सार्वजनिक बिदा पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकाले कात्तिक २६ गतेका लागि स्थानीय बिदा घोषणा गरेको छ । तिनाउ गाउँपालिकाको महत्वपूर्ण सत्यवती मेलालाई लक्षित गरी बिदा घोषणा गरेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिए । तिनाउ गाउँपालिका–४ सत्यवती ताल क्षेत्रमा रहेको बहिरी बजैसँग चिच्याएर बर माग्ने चलन रहेको छ । कात्तिक २४ गतेदेखि २६ गतेसम्म सत्यवती ताल क्षेत्रमा कानले नसुन्ने बजैसँग बर माग्नका लागि धार्मिक मेला हुन भएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए । २६ गते कात्तिक पूर्णिमा कात्तिक महिनानै परेको योग परेको भन्दै भक्तजनको विशेष आकर्षण हुने स्थानीय बासिन्दाको दाबी छ ।
मुख्यमन्त्री भट्ट भन्छन्, ‘भारतले लिपुलेक नक्सामा राख्दैमा नेपाली भूमि गुम्दैन’ कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको भूमि भारतले आफ्नो नक्सामा राख्दैमा भारतको नहुने बताएका छन् । धनगढीस्थित आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा सङ्गठन र अनेरास्ववियुले भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि राखेकाले फिर्ताका निम्ति पहल गरिनुपर्ने माग गरेको थियो । ज्ञापनपत्र बुझ्दै उहाँले नक्सामा राख्दैमा नेपाली भूमि नगुम्ने आश्वासन दिए । मुख्यमन्त्री भट्टले कुनै पनि सार्वभौम देशको भूमिलाई भारतले आफ्नो नक्सामा राखेर गलत गरेको उल्लेख गरे । उनले सुदूरपश्चिम प्रदेशकै भूगोल भारतीय नक्सामा देखिएकाले उक्त विषयलाई टुङ्गोमा पु¥याउनका लागि हामी सङ्घीय सरकारसँग आग्रह गरिरहेको जानकारी दिए । युवा र विद्यार्थी सङ्गठनले स्वतन्त्र र सार्वभौम देश नेपाललाई निरन्तर हेप्ने, राष्ट्रियतामाथि खेलवाड गर्ने कार्य भारतबाट हुँदै आएकाले नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने माग राखेका छन् । रासस
निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन हुन्छ : अध्यक्ष दाहाल पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नुपर्ने विषयमा जोड दिएका छन् । नेकपा कास्की–प्रचारप्रसार उपसमिति, निर्वाचन परिचालन उपसमितिद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट लोकतान्त्रिक अभ्यासको रुपमा निर्वाचन सम्पन्न हुनुपर्ने बताएका हुन् । अध्यक्ष दाहालले राजनीतिक स्थिरता र समृद्ध नेपालको निर्माणका लागि यो उपनिर्वाचन खुड्किलो हुने उल्लेख गरे । उपनिर्वाचनका लागि मुलुकका विभिन्न स्थानमा उत्साहवद्र्धक ढङ्गले मनोनयन दर्ता भएकाले निर्वाचन पनि उत्साहका शान्तिपूर्ण ढङ्गले सम्पन्न हुने उनले विश्वास व्यक्त गरे । फरक प्रशंगमा भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो नक्साभित्र पारेको सन्दर्भमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भौगोलिक अखण्डाको विषयमा नेपाली एकजुट रहेको र लिपुलेक हाम्रो भएकाले यस विषय सह्य हुन नसक्ने दृढता प्रकट गरे । उनले विषयमा सरकारको पनि धारणा आइसकेकाले कूटनीतिक माध्यमबाट यसलाई सच्याउनुपर्ने विषयमा जोड दिए । उनले भने, “भारत भ्रमणको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष लिपुलेकको विषयमा कुरा उठाएको थिए र अहिले भारतले नक्सामा पारेको विषयमा हाम्रो गम्भीर आपत्ति छ ।” प्रदेश प्रमुखलाई हटाइएको सन्दर्भमा अध्यक्ष दाहालले नयाँ सरकार गठन भएपछि नैतिकरुपमा राजीनामा गर्नुपर्ने नगरिएको एवं राजनीतिक संस्कार प्रदर्शन गर्नुपर्ने नगरिएको उल्लेख गर्दै दुई तिहाइको सरकारले उदार र लचिलो भएको कारणले दुई वर्ष परिवर्तन नगरेको स्पष्ट पारे ।
श्रीलङ्कामा एक्कासी बढेको वायु प्रदुषणपछि अनुसन्धानका लागि डब्लुएचओलाई आग्रह कोलम्बो (रासस/सिन्ह्वा) । श्रीलङ्काको राज्य सञ्चालित केन्द्रीय वातावरण प्राधिकरणले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई राजधानी कोलम्बोलगायतका भागहरूमा एक्कासी तथा अनपेक्षित प्रदुषण बढ्नुको कारण पत्ता लगाउन अनुरोध गरेको छ । मङ्गलबारदेखि श्रीलङ्काको वातावरणमा एक्कासी अत्यधिक धुलोका कण (वायु प्रदुषण) वृद्धि भएको भन्दै बिहीबार गरिएको पत्राचारमार्फत आफूहरूले श्रीलङ्काको मौसम विज्ञान विभाग तथा डब्लुएचओलाई प्राधिकरणका उप–महानिर्देशक के एच एम आराच्चीले जानकारी गराए । बुधबार मध्यान्न श्रीलङ्काको वायुको गुणात्मक अवस्था ९एक्यूआई० प्रदुषणको घेराभन्दा माथि अर्थात् ११२ अङ्कमा पुगेको राष्ट्रिय भवन तथा अनुसन्धान संगठन (एनबिआरओ)ले देखाएपछि स्थानीय पत्रपत्रिका तथा सामाजिक सञ्जालमा यसको चर्चा चुलिएको थियो । एनबिआरओका वातावरण अध्ययन एकाईका वरिष्ठ वैज्ञानिक सारथ प्रेमसिरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले मुलुकका कैयौँ भागमा एक्यूआईको तह १७३ अङ्कभन्दा माथि पुगेको र मध्यान्नमा १६५ मा झरेको उल्लेख गरी समाचार संपे्रषण गरेका थिए । एक्यूआई सामान्य रहँदा उक्त घेरा ५० अङ्कभन्दा तल रहने गर्छ । नयाँ दिल्लीमा बढेको वायु प्रदुषणको प्रभाब श्रीलङ्कामा परेको हुनसक्ने भएपनि एक्कासी देखिएको प्रदुषण अनुसन्धानको बिषय हुनुपर्ने र कारणहरू खोजिभइरहेका प्रेमसिरीले बताए ।