content
stringlengths 20
64.1k
⌀ |
---|
भोको पेट र थकित शरीरमा विद्यार्थीकाे अध्ययन बनेपा । बिहान झिसमिसमा नै उठेर घरधन्दा गरी किताब काखी च्यापेर विद्यालय जाने र बेलुका फर्केपछि भ्याइञ्जेल घरको काममा सघाउने सुशीला ग्लानको दैनिकी छ । खानीखोला गाउँपालिका–३ जुरे देखि डेढघण्टाको ओरालो हिँडेर कुपिन्टारको विद्यालय जाने र बेलुका उकालो चढेर घर फर्कनुपर्ने बाध्यता रहेको बताउने उनी गृहकार्यसमेत गर्न भ्याउदिनन्।
“हिँड्दा हिँड्दै थकित हुन्छु, कहिले त गृहकार्य गर्न पनि भ्याउँदैन”, उनले भनिन्, “इच्छा हुँदाहुँदै पनि राम्रोसँग पढ्न पाउने अवसर नै छैन ।” कैयौँ पटक त गृहकार्यविना नै किताब बोकेर विद्यालय आउने जानेमा नै गर्नुपर्ने अवस्था व्यहोरेको उनले बताइन।
सुशीला मात्रै होइन, छिमेकी गाउँपालिका महाभारत वडा नं २ रातमाटेका ल्होङसाल तामाङ गाउँको विद्यालयमा प्राथमिक तहको पढाइ सकेपछि कक्षा ६ देखि घरबाट एक घण्टाको पैदल हिँढेर पढ्न थालेको चार वर्ष भयो । उनी शुरुमा बाल उज्ज्वल प्राथमिक विद्यालयमा अध्ययन गरी हाल माध्यमिक तह अध्ययनका लागि कालीदेवी मावि कुपिन्टारमा कक्षा १० मा अध्ययनरत छन् । गाउँ नजीकै विद्यालय नभएका कारण त्यसरी पढ्न बाध्य भएको उनको भनाइ छ ।
सोही वडाका जोरसाँगा घर भएका अर्का विद्यार्थी मुना वाइबा बिहान घरको काम सघाएर विद्यालय जान्छिन । घरदेखि विद्यालय पुग्न डेढ घण्टाको बाटो हिँड्नुपर्ने उनि जस्तै गाउँका छसात जनालाई दैनिकी त्यसरी नै पढाइका लागि दिन गुजार्नुपर्ने बाध्यता छ । “बिहान उठेर घरको काममा सघाएपछि बेलुका फर्कँदा भने घरको काम गर्नुपर्दैन”, कक्षा १० मा अध्ययनरत वाइबाले भनिन्।
सोही ठाउँका कक्षा १० मा अध्ययनरत विनेक वाइबाले भने गाउँबाट विद्यालय आउन धेरै टाढा भएका कारण यसै शैक्षिक सत्रदेखि विद्यालय नजिकै कोठा लिएर बस्दै आएको बताउनछन् । “घरबाट हिँडेर आउन पौने दुई घण्टा लाग्छ, त्यसैले यसपालिदेखि विद्यालय नजीकै कोठा लिएर बसेको छु”, उनले भने, “तरकारी यतै गाउँतिर पाइन्छ, भातको लागि कहिले घरबाट ल्याउने, कहिले किन्ने गरेर पढिरहेको छु ।” “यस पटक पसलबाट चामल मगाएको छु ”, उनले भने। प्र्राथमिक तह गाउँकै जोरसाँगामा अध्ययन गरेका उनले कक्षा ६ देखि सो विद्यालयमा अध्ययन गर्दै आइरहेका छन्। “गाउँमा अहिले पनि मावि तह चलेको छैन, त्यहाँका सबै बालबालिका पढ्न आउने यही हो ”, उनले भने, “गाउँको गोरेटो बाटो, अचेल गाउँमा मोटरबाटो खनेका कारण पानी पर्दा माथिबाट ढुङ्गा झर्ने गरेकाले हिँड्डुल गर्न जोखिम छ ।”
अर्का विद्यार्थी मानध्वज वाईबाले विद्यालय आउने वेलामा खाजा बोकेर नै आउने गरेको बताए। “आजभोलि कोचिङ कक्षा चलिरहेको छ, त्यसैले विहान साँढे चार÷पाँच बजे उठेर खाना पकाएर खाई हिड्नुपर्छ”, उनले भने, “बिहानै घरबाट निस्केदेखि बेलुका साढे ६ बजेतिर मात्रै पुग्ने भएकाले खाजा बोकेर आउने गरेको छु । ” जिल्लाकै विकट डाँडापारिको महाभारत र खानीखोला गाउँपालिकाको सिमानामा पर्ने कुपिन्टार उक्त भेगमै एक मात्र मावि तहको विद्यालय हो । त्यसैले पनि गाउँ नजीकै भएको प्राथमिक तह सकेपछि कि त विद्यालय छाड्ने कि त घण्टौँको बाटो हिँडेर भोकै पढ्नुको विकल्प छैन । सरकारले स्वास्थ्य, शिक्षा र रोजगार मौलिक अधिकारभित्र रहेको उल्लेख गरे पनि विकट डाँडापारिका बालबालिकाको पढ्ने पाउने अधिकारलाई सहज र सुलभ ढङ्गले उपलब्ध गराउन सकेको छैन ।
कुपिन्टारका जनकबहादुर मोक्तानले भएको विद्यालयको भौतिक संरचना जीर्ण भएको र नजीकका घर पनि पर्याप्त नभएका कारण विद्यार्थीलाई पढ्न र बस्न समस्या भइरहेको बताए। “विद्यालयमा छात्रावासको व्यवस्था गरेको खण्डमा यहाँका विद्यार्थीको धेरै राम्रो हुनेछ”, उनले भने, “हिँडेर आउँदा प्रेसर बढ्ने, तिर्खा लाग्ने र गर्मीमा तापाक्रम बढ्ने भएर बेहोश भएर ढल्ने तथा थकित हुने भएर पढाइमा भन्दा पनि आरामको लागि बढी ध्यान जाने अवस्था देखेको छु, त्यसको लागि स्थानीय सरकारले सोचेर आवश्यक व्यवस्थापन गरेमा राम्रो हुनेछ ।”
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने छात्रावासको व्यवस्था गर्नका लागि स्थानीय सरकारले मात्रै सम्भव नहुने बताउछन्। “विषय अत्यन्तै महत्वपूर्ण भएकाले हामीले मात्रै सोचेर सम्भव छैन, यसको लागि प्रदेश र सङ्घ सरकारले पनि यहाँका बालबालिकाको शिक्षा पाउने अधिकारलाई सुनिश्चित गर्न बृहत्तर योजना तयार गर्न आवश्यक छ”, गाउँपालिका अध्यक्ष जिम्बाले भने ।
गाउँको विकट क्षेत्र बस्ती छरिएर रहेका कारण सबै बालबालिकाको पहुँचसम्म माध्यमिक तहको शिक्षा प्रदान गर्न निकै कठिन भएको छ । विद्यार्थी दुई तीन घण्टासम्मको बाटो हिँडेर पढ्न बाध्य छन् । स्थानीय सरकारको पहलमा मात्रै ती सबै समस्या समाधन गर्न नसकिने जिम्बाको भनाइ छ । प्रदेशसभा सदस्य रत्न ढकालले विकासको अभावबाट निकै पीडामा रहेका जनताका लागि बिजुली, सडक र स्वास्थ्य क्षेत्रमा धेरै काम अघि बढिसकेको बताए। गुणस्तरीय शिक्षामार्फत शैक्षिक जनशक्ति उत्पदान गर्ने अभियानमा सरकार लागिरहेको उनको जिकिर छ । ‘एक विद्यालय एक नर्स’ राख्ने अभियान सञ्चालन गर्न खोजिरहेको र त्यसमा पनि टाढाटाढाका विद्यार्थीका लागि व्यवस्थित गर्न सबै तहका सरकार उत्तिकै जिम्मेवार भएर लागिरहेको उनको भनाइ छ । रासस
|
अर्घाखाँची बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १८ पुग्यो अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो ।
दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिए । मृत्यु हुनेमा ११ पुरुष र सात महिला रहेको सहायक प्रजिअ बेल्वासेले बताए ।
दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए ।
|
अर्घाखाँची बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १५ पुग्यो काठमाडौं । अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
सन्धीखर्क नगरपालिका ६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको हाे ।
दुर्घटनामा अन्य १४ जना घाइतेलाई अस्पताल पठाएको प्रहरीले जनाएको छ । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको बताइएको छ ।
मृत्यु भएकाहरुको सनाखत भएको छैन । घटनाबारे उद्धार तथा अनुसन्धान भैरहेको छ ।
|
अर्घाखाँचीमा बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु, उद्धार कार्य जारी अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् । अहिलेसम्म १० जनाको घटनास्थलमा नै मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए।
घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ । घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए। घाइतेको उद्धार जारी रहेको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । रासस
|
सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान दिँदैन : अर्थमन्त्री खतिवडा काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान नदिने बताएका छन् ।
सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकीकृत (दोश्रो संशोधन) कार्यविधि, २०७६ को प्रभावकारी कार्यान्वयनका लागि बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले अनुदानको प्रभावकारिता नभएको बताएका हुन् ।
उनले कृषि, उद्योग तथा व्यवसायमा सिधै अनुदान दिँदा कुनै उपलब्धि नभएको बताउँदै उत्पादनका साधनमा मात्र अनुदान दिने बताए । त्यसका लागि सरकारले अनुदान सम्बन्धि नीतिमा पुनरावलोकन गर्न लागेको समेत जानकारी दिए ।
अर्थमन्त्री खतिवडाले युवालाई स्वरोजगार बनाउन बैंक मार्फत ब्याज अनुदानमा कर्जा उपलब्ध गराइएको उल्लेख गर्दै त्यसको सही सदुपयोग गर्न समेत आग्रह गरे । प्रकृया पुगेपछि पनि बैंहरुले कर्जा नदिए त्यसको उजुरी अर्थमन्त्रालयमा गर्न उनको आग्रह थियो ।
कार्यक्रममा बैंकहरुले सरकारले कर्जाको सुरक्षा हुनेगरी व्यवस्था गरे सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन कुनै समस्या नरहेको बताएका छन् । कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेलले युवाहरुलाई सहुलियत पूर्ण कर्जा समयमै तिरी असल ऋणी र उद्यमी बन्न प्रेरित गर्न सकेमात्र यस्तो कर्जाको प्रभावकारिता बढ्ने बताए ।
यसअघि सरकारले विभिन्न ७ शीर्षकका कर्जामा ५ देखि ६ प्रतिशतसम्म अनुदान दिने व्यवास्था गरेको थियो । तर सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत (कार्यविधि, २०७६) को दोश्रो संशोधनमा थप २ शीर्षक कपडा उद्योग र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिने तालिमका लागि समेत सहुलियत ब्याज अनुदानमा कर्जा दिने व्यवास्था गरेको छ ।
|
लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्छ : मन्त्री अर्याल काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्ने बताएकी छन् ।
सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा बुधबार सीमा बचाऊ अभियानका तर्फबाट ध्यानाकर्षण पत्र बुझ्दै सीमा सुरक्षाको सन्र्दभमा सरकार कटिबद्ध रहेको बताएकी हुन् । लिपुलेक र कालापानीका बारेमा आवश्यक पहल भईरहेको र लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर अघि बढ्ने सोचमा सरकार रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले आव्हान गरेको सवैपक्षीय सर्वदलीय विज्ञहरुको बैठकमा सीमा सुरक्षाको सन्र्दभमा सबैको एकमत कायम भएको उल्लेख गर्दे उनले त्यसले सरकारलाई थप बल प्रदान गरेको बताए ।
लिम्पियाधुराका बारेमा प्रमाण जुटाउने सवालमा सरकारलाई सहयोग गर्न पनि उनले नागरिक समाजलाई आग्रह गरे । समय समयमा प्रकाशित नक्साहरुमा एकरुपता नदेखिएबाट नै सीमा सुरक्षा सुगौली सन्धिदेखिकै भएको स्पष्ट भएको भन्दै उनले सरकार यथेष्ट प्रमाण जुटाउने क्रममा रहेको बताए ।
लिम्पियाधुरा सम्म नेपालको सीमा कायम गर्न माग गर्दै सीमा बचाउ अभियानका अगुवाहरुले मन्त्रीलाई ज्ञापनपत्र सहित नक्सा पनि हस्तान्तरण गरेका थिए । उनीहरुले सुगौली सन्धिको आधारमा लिम्पियाधुरासम्म सीमा रहेको ऐतिहासिक तथ्य प्रमाणसहितको तत्काल नक्सा सहित श्वेत पत्र जारी गर्न मन्त्रीको ध्यानाकर्षण गराए ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सबै भन्दा पहिला सीमा अकुपाई गरेर नेपालले आफ्नो प्रभुत्व देखाउनुपर्ने बताए ।
सीमा बचाऊ अभियान, नक्सा समितिका सदस्य सीमा विज्ञ कोमल चन्द्र बरालले सीमा विवाद समाधान गर्न सर्वपक्षीय प्रतिनिधित्व हुने गरि विज्ञहरुको टोली गठन गर्न, लिम्पियाधुरा देखि कालापानी, लिपुलेक सम्मकमा क्षेत्रमा राज्यको उपस्थिति देखिने गरी नेपालको तर्फबाट सुरक्षा चौकीहरु स्थापना गर्न माग गरिन् ।
सीमा बचाऊ अभियानका तर्फबाट बुद्धिजिवी तथा विज्ञहरुको समुहले मन्त्री अर्याललाई ९ बुँदे सार्वजनिक अपिल बुझाएको थियो ।
|
कूटनीतिक उपस्थितिमा अमेरिकालाई उछिन्दै चीन पहिलो बीबीसी। पहिलो पटक चीनको संसारमा सबैभन्दा धेरै कूटनीतिक उपस्थिति भएको एक अस्ट्रेलियाली संस्थाले जनाएको छ। लोयी इन्स्टिट्युटका अनुसार सन् २०१९ मा संसारभर चीनको राजदूतावास र अन्य कूटनीतिक कार्यालयहरूको सङ्ख्या २७६ पुगेको छ, जुन अमेरिकाको भन्दा धैरै हो।
अमेरिकाको संसारभर २७३ त्यस्ता कार्यालय छन् भने त्यसपछि क्रमश: फ्रान्स, जापान र रुस छन्। यूके एघारौँ स्थानमा छ। सो प्रतिवेदनमा राजदूतावास, उच्च आयोग र वाणिज्य दूतावासहरू गणना गरिएका छन् र यसका अध्ययनकर्ताहरूले यो अङ्कले भूराजनीतिक पहुँचको शक्ति र कमजोरी देखाउने बताएका छन्।
चीनको कूटनीतिक उपस्थिति हालैका वर्षहरूमा तीव्र गतिमा बढेको हो। सन् २०१६ मा अमेरिका र फ्रान्सपछि तेस्रो स्थानमा रहेको चीन सन् २०१७ मा दोस्रो स्थानमा पुगेको थियो।
अमेरिकाको पनि सन् २०१६ यता दुई स्थानमा कूटनीतिक उपस्थिति थपिएको छ। यूकेको भने यो अवधिमा कूटनीतिक उपस्थिति कम भएको छ। सन् २०१६ मा २१६ स्थानमा रहेको यूकेको उपस्थिति अहिले २०५ स्थानमा मात्रै छ। दक्षिण एशियाली मुलुकहरूमा भने सबैभन्दा बढी कूटनीतिक उपस्थिति भारतको छ, जसको विश्वमा १८६ स्थानमा कुटनीति कार्यालय छन्।
पाकिस्तानको ११७ स्थानमा, बाङ्ग्लादेशको ७५ र श्रीलङ्काको ६७ स्थानमा कूटनीतिक उपस्थिति छ। प्रतिवेदनका अनुसार नेपालको ३९ स्थानमा कूटनीतिक उपस्थिति छ जुन सन् २०१६ भन्दा तीनवटा बढी हो।
|
चुनाव प्रचारको अन्तिम दिन भक्तपुरमा नेकपा, कांग्रेस र नेमकिपाको चुनावी प्रचारप्रसार (फोटो फिचर) काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचन नजिकिएसँगै देशैभरको राजनैतिक माहोल गरमागरम भएको छ। देशभर ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तह प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ।
प्रदेशसभा सदस्यका लागि भक्तपुर १ (क) मा हुने उपनिर्वाचनमा १९ जनाले उम्मेद्वारी दर्ता गराएको भएपनि मूख्य प्रतिस्पर्धाभने नेकपाका देवी प्रसाद ढकाल, नेपाली कांग्रेसका कृष्णलाल भंडेल र नेमकिपाका निरज लवजुबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
निर्वाचन नजिकिएसँगै दलहरुले चुनावी प्रचारपनि तिब्र पारेका छन् । आज राति मध्यान्ह १२ बजेबाट मौन अबधी सुरु हुँदैछ ।
भक्तपुर उपनिर्वाचन : १९ जना चुनाबी मैदानमा, नेकपा, कांग्रेस र नेमकिपाबीच कडा टक्कर
|
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु काठमाडौं । दाङ, गुल्मी, म्याग्दी र बाँकेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।
दाङ, बंगलाचुली गाउँपालिका–६ बचेनीस्थित सडकमा घोराहीदेखी प्युठानको ढिकावाङतर्फ जाँदै गरेको ना.३ ख ६५४२ नम्बरको बस सडकदेखी अन्दाजी ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बसमा सवार प्युठान माण्डवि गाउँपालिका–२ बस्ने १६ वर्षीया नेहा ओलीको घट्नास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका बसका चालक सहित अन्य ६ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।
गुल्मी, सत्यवती गाउँपालिका–३ ठुलो लुम्पेकस्थित सडकमा लु.१ ज २७८४ नम्बरको जिप अनियन्त्रीत भई सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा जिपमा सवार सत्यवती गाउँपालिका–२ थुम्का बस्ने ६८ वर्षीया ललिती देवी सिंजालीको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ।
म्याग्दी, बेनी नगरपालिका–६ स्थित सडकमा ध.१ च २३५ नम्बरको बोलेरो जिप र ध.१ प ३५४९ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो एक–आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रघुगंगा गाउँपालिका–६ पाखापानी बस्ने २३ वर्षीय सन्तोष थजालीको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाँके, कोहलपुर नगरपालिका–८ बाबानगरस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा मंगलबार राति बाटोमै मृत्यु भएको छ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
|
बालिकालाई फकाएर लैजाँदै गर्दा एक भारतीय पक्राउ राजविराज । बालिकाको चोरी गरिरहेको आरोपमा एकजना भारतीय नागरिकलाई प्रहरीले मंगलबार राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यको सिलिगुरी ठेगाना बताउने ५० वर्षीय विनोद साह रहेको प्रहरीले जनाएको छ ।
बङ्गाली भाषामात्र बोल्न जान्ने भएकाले अनुसन्धानका क्रममा बङ्गाली भाषा बुभ्mने स्थानीय एकजनाको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। पक्राउ परेका व्यक्ति साहले मानसिक सन्तुलन गुमाएको जस्तै व्यवहार देखाइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी समेत दिए।
प्रहरी नायब उपरीक्षक भारतीका अनुसार घटनाबाट जोगिन मानसिक सन्तुलन गुमाएको नाटक गरको हुन् वा वास्तवमै बच्चा चोरी गर्ने काम गर्छभन्नेबारे यकिन गर्न अनुसन्धान भइरहेको बताए । प्रहरीले उनका साथबाट एक थान मोबाइल र पूजामा प्रयोग हुने एक थान घण्टीसमेत बरामद गरेको छ ।
आज बिहान राजविराजस्थित पब्लिक बिन्देश्वरी माविमा कक्षा ३ मा पढ्ने ५ वर्षीय बालिका निशा चौधरीलाई लिएर जाँदै गरेको अवस्थामा स्थानीयवासीलाई शङ्का लागेपछि उनलाई नियन्त्रणमा लिई प्रहरीसमक्ष बुझाएका थिए ।
सप्तरीको विष्णुपुर गाउँपालिका–७ निवासी मनिकलाल चौधरीकी ५ वर्षीया छोरी निशालाई विद्यालय जान लाग्दा बाटोमै चकलेट र १०० रुपैयाँको भारतीय नोट दिएर फकाएर लैजाँदै गर्दा सरस्वती टोल निजकैबाट स्थानीयवासीको सहयोगमा ती भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको वडा नं ५ का अध्यक्ष समीर झाले जानकारी दिए।
यता हाल प्रहरी हिरासतमा रहेका साहसँग आवश्यक सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो । बालिकालाई आजै पविमाविका प्रधानाध्यापक अरुणकुमार झाको रोहवरमा उनको अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यसअघि गत कात्तिक १४ गते पनि हनुमाननगर कङ्कालिनी नगरपालिका–४ स्थित आफ्नो मामाको घर आँगनमा खेल्दै गरेकी एक ६ वर्षीया बालिकालाई चकलेट र बिस्कुटको प्रलोभन दिई साइकलमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका थिए । पक्राउ परेका भारत विहार राज्यको सुपौल जिल्ला निवासी २० वर्षीय आनन्द गोश्वामी र २२ वर्षीय अमीर झा अहिले पनि अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ । रासस
|
पारवहन सन्धि पुनरावलोकन गर्न भारतीय पक्ष सकारात्मक काठमाडौं । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन गर्न भारत सकारात्मक देखिएको छ । मंगलबारदेखि राजधानीमा शुरु भएको नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठकमा भारतीय पक्ष सन्धि पुनरावलोकनका लागि तयार भएको हो । तेस्रो मुलुकसँग नेपालको व्यापार पहुँच विस्तार तथा सहजीकरण गर्न दुवै देशका अधिकारीबीच बैठक बसेको हो ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले पारवहन सन्धि पुनरावलोकनका विषयमा दुई पक्षबीच छलफल भएको बताए। ‘बल्क कार्गो’ ढुवानीका लागि दुई थप नाका दिन भारतीय पक्ष सकारात्मक भएको उनले जानकारी दिए।
त्यस्तै जल यातायातका लागि केही नाका थप गरिएको छ । कलकता–कालुघाट–रक्सौल, कलकता–साहिवगञ्ज–रक्सौल, कलकता–साहिवगञ्ज–विराटनगर र कलकता–वणारसी–सुनौली नाका हुँदै जल यातायात सञ्चालन गर्ने विषयमा सकारात्मक ढङ्गबाट छलफल भएको उनले जानकारी दिए। दुई दिनसम्म चल्ने बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग मन्त्रालयका सहसचिव ढकाल र भारतीय पक्षको नेतृत्व त्यहाँका वाणिज्य विभागका अतिरिक्त सचिव भूपिन्द्रर सिंह भल्लाले गरेका छन्।रासस
|
तटस्थता र विश्वसनीयतामा बस्ने आयोगको निर्णय काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्वकालीन मुद्दा सम्बोधन गर्न बनाइएका दुई आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिमा तटस्थता र विश्वसनीयतासहित बसेर काम गर्ने निर्णय गरेको छ ।
आयोगको मंगलबार बसेको बैठकले सिफारिस समितिको तटस्थता, निष्पक्षता, पारदर्शिता एवं विश्वसनीयता कायम रहने गरी काम गर्न सकिने निर्णय गरेको आयोगका प्रवक्ता वेद भट्टराइले जानकारी दिए।
“सङ्क्रमणकालीन न्यायका सम्बन्धमा आयोगको २०७६ साल भदौ ५ गतेको प्रेस विज्ञप्तिलाई स्मरण गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनमा सर्वोच्च अदालतको आदेश तथा अन्तर्राष्ट्रिय मान्यताअनुरूप संशोधन, द्वन्द्वपीडितहरुको भावना, सिफारिस समितिको तटस्थता, निष्पक्षता, पारदर्शिता एवं विश्वसनीयता कायम रहने गरी मात्र सिफारिस समितिअन्तर्गत रही कार्य गर्ने आयोगको धारणा रहेको सार्वजनिक गर्ने निर्णय गरेको छ” आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नाम सिफारिस गर्न गत चैतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति बनेको थियो ।
सो समितिले यही मङ्सिर २ गते दुई आयोगका पदाधिकारीका लागि इच्छुक ६१ जनाको नाम सार्वजनिक गरेको थियो । त्यसमा पुरानै पदाधिकारीको नाम दोहोरिएको छ । सार्वजनिक भएका नामहरुप्रति प्रतिक्रियाका लागि छ दिनका लागि प्रतिक्रिया दिन सूचनामा भनिएको थियो । त्यसमा दुई जनाको निवेदन परेको थियो ।रासस
|
महिला मन्त्रालयमा महिलानै मन्त्री हुनुपर्ने मान्यता सही होइन : मन्त्री गुरुङ काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला मन्त्रालयमा महिलानै मन्त्री हुनुपर्ने मान्यता सही नभएको बताएका छन् ।
मंगलबार राष्ट्रिय बाल अधिकार परिषद अध्यक्षको पदभार ग्रहण गर्दै सो कुरा बताएका हुन् । मन्त्री गुरुङले सडक बालबालिका नदेखिने र नभेटिने गरी काम गर्न पनि सो परिषदको पुनसंरचना गर्न आफू लागिपर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सडक बालबालिका नदेखिने, नभेटिने व्यवस्था गर्ने संकल्प लिएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा ल्याउने गरी काम गर्न परिषदका कर्मचारीहरुलाई सचेत पनि गराए ।
मन्त्री गुरुङले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई गर्व गर्न लायक मन्त्रालय बनाउने पनि दोहो¥याए ।
|
खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्रीको दाबी काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले खेलकुद पूर्वाधार निर्माणमा जोड दिएको बताएका छन् ।
बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार काठमाडौंमा सम्मान गर्दै उनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि उचित बजेट विनियोजन गरिएको दावी पनि गरे ।
मन्त्री खतिवडाले सबै प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने, अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम छिट्टै सम्पन्न गर्ने तथा सबै स्थानीय तहमा खेल ग्रामको स्थापनाका लागि आवश्यक बजेटको विनियोजना गरिएको उल्लेख गर्दै सो कामलाई तीव्रता दिन पनि सम्बन्धित निकायलाई आग्रह गरे ।
अर्थमन्त्री खतिवडाले खेलकुद अर्थशास्त्रको माध्यमबाट देशको अर्थतन्त्रमा सहयोग पुग्ने भएकाले खेल पूर्वाधार निर्माणमा लगानी बढाउन आवश्यक भएको पनि बताए ।
|
प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : सघन कक्षमा उपचार, अवस्था स्थिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सघन कक्षमा उपचार भैरहेको र उनको स्वास्थ्य अवस्था स्थिर छ ।
मंगलबार दिउँसो मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाईटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेका साँझ साढे ७ बजे अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएको बताए । उनले संक्रमण हुन नदिन प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै चिकित्सकहरुको निगरानी राख्नुपर्ने अवस्था रहेको पनि बताए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उनको स्वास्थ्यमा अरु पुराना कुनै पनि रोगको समस्या नभएको पनि स्पष्ट पारे । अहिले प्रधानमन्त्री ओली सघन उपचार कक्षमा चिकित्सकहरुको निगरानी छन् ।
मंगलबार विहान प्रधानमन्त्री ओलीलाई पेट दुखेपछि अस्पताल पुर्याइएको थियो । प्रधानमन्त्री ओलीको चिकित्सकहरु अरुण सायमी, रमेशसिंह भण्डारी, दिव्या सिंहलगायतका चिकित्सकहरुले एपेन्डिसाईटिसको शल्यक्रिया गरेका थिए ।
|
‘रसुवागढी–काठमाडौं रेलवे’ अध्ययन प्रतिवेदनको काम सुरु गर्ने सहमति काठमाडौं । चीनले रसुवागढी–काठमाडौं रेल वे सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने काम सुरु गर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको नेशनल रेल वे एडमिनिस्ट्रेशनको मंगलबार काठमाडौंमा बसेको पाँचौ बैठकले सो रेल सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने कामलाई सुरु गर्ने सहमति गरेको हो ।
सो रेल सेवाको विस्तृत अध्ययन प्रतिवेदनको कामलाई तत्काल सुरु गर्ने सहमति चिनिया पक्षसँग गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए ।
यता, नेपाली पक्षले भने त्यसका लागि आवश्यक सुरक्षा र वातावरणीय प्रभाव मूल्यांकनको काममा सहयोग पु¥याउने पनि सहमति पत्रमा उल्लेख गरिएको छ । चीनले अव रेल वे निर्माणका लागि सर्भे, भौगर्भिक अध्ययनलगायतका कामलाई तत्काल अघि बढाउने पनि सचिव कार्कीले बताए ।
यस अघि चिनिया राष्ट्रपति सी जिन फिङको नेपाल भ्रमणको क्रममा सो रेल वे निर्माणको कामलाई अघि बढाउने औपचारिक समझदारी भएको थियो ।
|
रसियाली लगानी प्रवाह भएमा नेपालको अर्थतन्त्रलाई उकास्न सिकन्छ : परराष्ट्रमन्त्री काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आपसी विश्वास, राजनीतिक समझदारी विस्तार, आर्थिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध प्रवद्र्धनका साथै साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा रसियासँग सुदृढ सहकार्य गर्न आफू मस्को पुगेको बताएका छन्।
रुसी महासंघको औपचारिक भ्रमणमा रहनुभएका मन्त्री ज्ञवालीले मंगलबार मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेशन्समा प्रवचन दिँदै बहुआयामिक नेपाल–रसिया सम्बन्धका विविध पक्षबारे चर्चा गरे।
परराष्ट्र मन्त्रालयका अनुसार उनले नेपाल–रसिया सम्बन्ध, परिवर्तित सन्दर्भमा नेपालको परराष्ट्र नीति, नेपालको विकास प्रयास र भावी योजना तथा प्राथमिकता, नेपालको शान्ति प्रक्रिया र त्यसपछिका अवधिमा प्राप्त राजनीतिक उपलब्धि, सामाजिक–आर्थिक रुपान्तरणका प्रयत्नबारे विस्तृत रुपमा जानकारी गराएका छन्।
नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६३औँ वार्षिकोत्सवको सन्दर्भमा भएको आफ्नो रसिया भ्रमणले दुई देशबीच विद्यमान राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको उनको विश्वास छ। नेपाल र रुसी महासंघबीच व्यापार–वाणिज्यका क्षेत्रमा उल्लेख्य साझेदारी हुन नसकेको यथार्थ औँल्याउँदै मन्त्री ज्ञवालीले नेपालमा उपलब्ध लगानीका अवसरको भरपूर उपयोग गर्न रुसी महासंघलाई आग्रह समेत गरे।
उनले भने,“दुवै देशका सरकार, निजी क्षेत्र, विद्वत् वर्ग, सबै तह र तप्काका जनताले व्यापार, लगानी र पर्यटन प्रवद्र्धनलगायत सबै क्षेत्रमा अर्थपूर्ण साझेदारीका निम्ति अब विलम्ब नगरौँ ।” मन्त्री ज्ञवालीले कृषि, पर्यटन, खनिज पदार्थ उत्खनन, भौतिक पूर्वाधार निर्माण र सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी गर्न सकिने र त्यसमा उच्च प्रतिफल प्राप्त हुने जानकारी दिए । जलस्रोतका क्षेत्रमा गरिने लगानीले अझ उच्च प्रतिफल दिने भएकाले ढुक्क भएर लगानी गर्न समेत मन्त्री ज्ञवालीले आग्रह गरे।
नेपालमा उत्पादित ऊर्जा बिक्रीका निम्ति बजारको समस्या नभएको पनि उहाँले स्पष्ट पार्दै उनले लगानी र व्यवसायको वातावरण बनाउन नेपाल सरकारले नीतिगत एवं संरचनागत सुधार गरेको, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, विशेष आर्थिक क्षेत्र, एकद्वार सेवा प्रवाह प्रणाली कार्यान्वयनमा ल्याएको बताए।
सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन्दर्भमा रुसी महासंघका मित्रहरुबाट हुने नेपाल भ्रमणले नेपाल भ्रमण वर्षको हाम्रो अभियानमा टेवा पुग्ने बताउँदै परराष्ट्रमन्त्रीले आकर्षक प्रतिफल प्रदान गर्ने पर्यटकीय पूर्वाधारमा रसियाली लगानी प्रवाह भएमा नेपालको अर्थतन्त्रलाई उकास्न ठूलो योगदान पुग्ने बताएका छन्।
नेपाल भ्रमण वर्षलाई सफल पार्न मस्कोस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली सङ्गठन, द्विदेशीय उद्योग–वाणिज्य तथा मैत्री संघसंस्थाहरुसँग निकट सम्पर्कमा रहेर काम गर्ने बताउँदै उनले अनुकूल रुपमा सन् २०२० मा नेपालको भ्रमण गर्न कार्यक्रममा उपस्थित सबै रुसी नागरिकलाई निमन्त्रणा पनि गरेका छन् ।
|
बानेश्वरमा डाँक्टरलाइ ठक्कर दिएको बस रामेछापमा भेटियाे काठमाडौं । नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक प्रभु जोशीलाई ठक्कर दिएर भागेको गाडीलाई नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको छ ।
प्रहरीका अनुसार सीसी टीभी फुटेजको हेर्दा डाक्टरसँग क्रस भएको बा४ख ६१४ नम्बरको बस रोमछापबाट चालक सहित नियन्त्रणमा लिएको जनाएको छ।
आइतबार बिहान मर्निङ वाकमा हिँड्ने क्रममा अज्ञात सवारी साधनको ठक्करबाट जोशीको मृत्यु भएको थियो ।
|
राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष कसजूको निधन काठमाडौँ । राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार विनयकुरमार कसजूको निधन भएको छ ।
निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित कसजूको उपचारको क्रममा राजधानीको मेडिसिटी अस्पतालमा मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
कसजूले राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य, अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा समेत सेवा गरेका थिए।
|
शुल्क विवाद : मेडिकल कलेज सञ्चालकले बुझाए शिक्षामन्त्रीलाई प्रतिवद्धता काठमाडौं । सरकारले अतिरित्तल शुल्क फिर्ता गर्न दिएको समयसीमा सकिनै लाग्दा मंगलबार साँझ विस्तारै शुल्क समायोजन गर्दै जाने बताएका छन्। निजी मेडिकल कलेज सञ्चालकहरुको मंगलबार भएको बैठकले सरकारले तोकेको भन्दा बढ लिएको शुल्क समायोजन गर्ने प्रतिवद्धता गरेका हुन् ।
नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक सुरेशकुमार कनौडियाले डिसी नेपालसँग कुरा गर्दै भने, ‘एकैचोटी सबै फिर्ता गर्न सक्दैनौं, विस्तारै फिर्ता गर्छौँ।’ उनले कलेज पनि बन्द नहुने र सरकारलाई पनि सजिलो हुनेगरी काम हुनुपर्ने बताए । उनले भने, ‘संस्था पनि मर्नु भएन, विद्यार्थीले पनि पढ्न पाउनु पर्यो, सरकारलाई पनि ओनर्सिप हुनु पर्यो।’ उनले अन्तिम निर्णय भने भइनसकेको बताए। उनले अझै छलफल जारी रहेको बताए।
सकारले एमबीबीएस अध्ययनका लागि राजधानी बाहिर साढे ४२ लाख र राजधानीमा साढे ३८ लाख रुपैयाँ शुल्क तोकेको थियो। त्यतिबेला कलेज सञ्चालकहरुले पनि सरकारी शुल्कमा सहमति जनाएका थिए । तर, घुमाउरो ढंगले विद्यार्थीलाई चेपुवामा पारेर ६० लाख रुपैयाँसम्म अशुलेको सार्वजनिक भएको छ। विद्यार्थीहरुले सरकारले तोकेको भन्दौ अधिक शुल्क फिर्ता गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्।
यही बीचमा सोमबार सरकारले २४ घण्टा भित्र शुल्क फिर्ता गर्न अल्टिमेटम दिएको थियो। सरकारले अधिक शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने चेतावनीसमेत दिएको थियो। सरकारले चेतावनी दिएपछि मंगलबार निजी मेडिकल कलेज सञ्चालकहरुको बैठक बसेको हो। बैठकले विस्तारै शुल्क समायोजन गर्ने निश्कर्ष निकालेको हो।
|
महिनावारीलाई पाप-धर्मको रुपमा लिनु हुदैन : मन्त्री मगर काठमाडौं । खानेपानीमन्त्री बिना मगरले महिनावारीलाई पाप वा धर्मको रुपमा लिन नहुने बताएकी छन् ।
मन्त्री मगरले महिनावारीलाई धर्मसँग जोडने दृष्टिकोणलाई परिवर्तन गर्न महिलासँग सम्बन्धित सबै सामाजिक संघ, संस्था र स्थानीय तहले अभियाननै सञ्चालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याइन् । महिनावारीलाई पाप र अछुतो भन्दा पनि सम्मानसँग जोडेर हेर्नुपर्ने मन्त्री मगरको भनाई छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मगरले सार्वजनिक विद्यालयहरुमा सेनेटेरी प्याड वितरण गर्ने सरकारको कार्यक्रमले महिनावारीलाई हेयको दृष्टिकोणले हेर्न नहुने सन्देश दिएको पनि स्पष्ट पारिन् ।
मन्त्री मगरले महिनावारी बार्ने चलन सामाजिक कुरितीको रुपमा रहेको उल्लेख गर्दै त्यसमा परिवर्तन ल्याउन जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने पनि बताइन् ।
|
तीन वर्षभित्र चीनबाट पाईपलाईनमा तेल ल्याउँछौं : उद्योगमन्त्री भट्ट काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्याउने गरि आफूले काम गर्ने बताएका छन् ।
आगामी तीन वर्षभित्र चीनबाट पाईपलाईनमा नेपालमा तेल ल्याउने पनि उनको दाबी छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्नको लागि आफू सक्रिय भएर लाग्ने बताउँदै उनले भने, ‘यो नारामा ठूलो कुरा लुकेको छ, हामी यसलाई साकार पार्नको लागि दत्तचित्त भएर लागिरहेका छौं । जबसम्म जनता सुखी हुँदैनन्, तबसम्म मुलुक समृद्ध हुँदैनन् । मुलुक समृद्ध नभएसम्म फेरी जनता सुखी हुँदैनन् । यसमा द्वन्द्वात्मक सम्बन्ध छ ।’
मुलुक औद्योगीकरणको बाटोमा गैसकेको उनको भनाई छ । उनले भने, ‘कृषि, पर्यटन सबैलाई उद्योगको रुपमा विकास गर्छौं । हामी कृषिमा आत्मनिर्भर हुँदैछौं । त्यहीअनुसार कृषि मन्त्रालयले योजना र तयारी गरिरहेको छ ।’
काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले अहिले सञ्चालनमा रहेका केही सरकारी रुग्ण उद्योगहरुलाई गतिका साथ सञ्चालनमा ल्याउने तयारीमा आफूहरु लागेको पनि सुनाए । ‘सरकारी उद्योगहरुले मुनाफा हासिल गर्न सकेका छैनन् । अब यसलाई मुनाफातर्फ लैजानको लागि हामी छलफल गरिरहेका छौं ।’–उनले भने ।
त्यस्तै, निजी क्षेत्रको लागि पनि औद्योगीकरणको वातावरण बनाउनको लागि आफूले आवश्यक पहल गरिरहेको मन्त्री भट्टले सुनाए । उनले भने, ‘औद्योगीकरणको लागि वातावरण बनाउनको लागि आवश्यक पहल भैरहेको छु । कतिपय ऐन, कानूनहरु बनिसकेका छन् । कतिपय कार्यविधिहरु बन्ने प्रक्रियामा छन् ।’
आफू भर्खरै मन्त्रालयमा आएकोले अहिले छलफलको क्रममा नै रहेको पनि उनले सुनाए । उनले भने, ‘अब सुस्त गतिमा हिँडेर काम छैन्, हामी गतिमा काम गर्नेगरि अघि बढ्छौं ।’
पछिल्लो समय मुलुकको व्यापार घाटा कम भैरहेको सुनाउँदै यत्तिमा नै आफूहरुले सन्तोष मान्नुपर्ने स्थिति भने नभएको उनको भनाई छ । उनले भने, ‘कृषिमा हामी आत्मनिर्भर हुँदैछौं । कृषि मन्त्रालयसँग हामी समन्वय गर्दै अघि बढ्छौं । अरु, मन्त्रालयसँगपनि हामी समन्वय र छलफल गर्दै अघि बढ्छौं । आपूर्तिले नेपालमा आन्तरिकतर्फ ध्यान दिएर काम गर्छ भने वाणिज्यले भने बाह्य मुलुकसँगको व्यापारको लागि काम गर्छ ।’
उनले मुलुकमा औद्योगीकमैत्री वातावरण बनाउनको लागि आफ्नो पहिलो काम हुनेपनि विश्वास दिलाए । उनले भने, ‘औद्योगिकमैत्री वातावरण बनाउन सकियो भने मुलुकमा आन्तरिक र बाहृय पुँजी आकर्षण हुन्छ । म त्यो काममा लागिरहेको छु । पछिल्लो समय बाहृय पुँजीपनि देशमा आकर्षण भैरहेको छ ।’ उनले स्थानीय तहमा छरिएर रहेका ग्रामोद्योगलाई अब एकै ठाउँमा ल्याएर व्यवस्थित् गर्ने आफ्नो योजना रहेको पनि सुनाए ।
त्यस्तै, उनले केही नयाँ औद्योगिक क्षेत्रपनि घोषणा भएका र केही घोषणा हुने क्रममा रहेको सुनाए । उनले भने, ‘केही क्षेत्रहरु घोषणा भैसकेका छन् । कतिपयहरु घोषणा हुने क्रममा छन् । कतिपयको डिपिआर र आई.ई.ए. भैरहेको छ ।’ मन्त्री भट्टले दुई मुलुकसँग बन्दरगाहा र नाका खोल्ने काम पनि भएको सुनाए । उनले भने, ‘हाम्रो राज्यमन्त्री औद्योगिक क्षेत्रकै व्यक्तित्व हुनुहुन्छ, हामी सामूहिक छलफल र निर्णयमा जान्छौं । हिजोमात्रै पनि मैले उहाँसँग छलफल गरेको छु ।’
उनले जनताका चाहना पूरा गर्नतर्फ आफ्नो मन्त्रालय दत्तचित्त भएर अघि बढ्नेपनि विश्वास दिलाए । उनले भने, ‘सरकारले लिएको लक्ष्य पूरा गर्न हामी गम्भिर छौं । प्रधानमन्त्रीज्यूको उद्देश्यअनुसार नै हामी अघि बढ्छौं । जनताका सबै आकांक्षा र सपना पूरा गर्नेतर्फ हाम्रो सक्रिय सहभागिता र प्रभावकारी काम हुनेछ ।’
राज्यमन्त्री मोतिलाल दुगडको बारेमा आएका कुरा आफूलाई त्यति ठूलो नलागेको पनि उनको प्रतिक्रिया छ । उनले भने, ‘उहाँसँग मैले दुई तीन पटक छलफल गरेको छु । हामी सहकार्य गरेर जान्छौं । उहाँको बारेमा आएका कुरा धेरै ठूलो हो भन्ने मलाई लाग्दैन् । अब मैले नबुझेको कुरामा टिप्पणी गर्नुपनि राम्रो हुँदैन् ।’
उनले आफू धेरै कुरा गर्नेभन्दा पनि काम गर्ने व्यक्ति भएकोले सोहीअनुसार अघि बढ्ने विश्वास दिलाए । उनले भने, ‘अरुले जस्तै म ठूलो कुरा गर्ने मान्छे होईन् । म त काम गर्ने मान्छे हुँ । म मेरो क्षमता र तागदअनुसार यो देशलाई समृद्ध बनाउने दिशातर्फ अघि बढ्छु । म पूरा ईमानदारीपूर्वक आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्छु ।’
उनले निजी क्षेत्रका उद्योगहरु नाफामा गएका तर सरकारी उद्योगहरु घाटामा जानुको कारणबारे पनि आफूहरुले अध्ययन तथा अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘निजी क्षेत्रको व्यवस्थापन चुस्तदुरुस्त छ । सरकारी उद्योगहरु हाम्रो हो भन्ने भावना नै भएन् । व्यवस्थापनमा बसेकाहरुको व्यक्तिगत स्वार्थ लुकेको देखियो । अब त्यस्तो हुँदैन् । व्यवस्थापनमा बसेकाहरुले सरकारी उद्योगपनि हाम्रो हो भन्ने भावनासहित अघि बढ्नुपर्छ । यसको लागि योग्य व्यवस्थापक दिनुपर्छ । काम गर्ने कार्यशैली र सोचन बदल्नुपर्छ । सरकारले त्यसतर्फ पर्याप्त ध्यान पुर्याउँछ ।’
नेपाललाई कृषिलगायत अत्यावश्यक वस्तुमा आत्मनिर्भर बनाउनको लागि पर्याप्त पहल भैरहेको पनि उनले सुनाए । उनले भने, ‘कृषि मन्त्रालयले कृषि उत्पादनमा आत्मनिर्भर बन्नको लागि आफ्नो रणनीति र योजनाहरु सार्वजनिक गरिसकेको छ । अहिले हामीले चामल धेरै आयात गरेका छौं । चामलमा आत्मनिर्भर हुनको लागि धान जोन अघि सारिएको छ । यो कुरा प्रदेशका कृषि मन्त्रालयहरुले पनि प्रभावकारी रुपमा कार्यान्वयनमा लागेका छन् । धानजस्तै मकै, आलु, प्याजलगायतमा पनि आत्मनिर्भर हुने योजना छ । अब हामी यी वस्तु निर्यात गर्ने अवस्थामा पुग्नुपर्छ भन्ने पक्षमा छौं । सोहीअनुसार काम गर्नेछौं ।’
उनले तरकारीमा धेरैजसो आत्मनिर्भर भैसकेको पनि दाबी गरे । उनले भने, ‘अहिले डडेलधुराबाट भारतको नयाँ दिल्ली तरकार निर्यात हुन्छ । सल्यानबाट काठमाडौं र भारतसम्म तरकारी निर्यात भैरहेको छ ।’
नेपालमा केही पनि हुँदैन् भन्ने मनोविज्ञान अब बदल्न जरुरी रहेको उनको टिप्पणी छ । उनले भने, ‘त्यो चिन्तन बदल्नुपर्छ । देशलाई आत्मनिर्भर बनाउनेगरि काम गर्नुपर्छ । सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्छ ।’ यद्धपी कतिपयले विदेशमा सिकेका सपी र अनुभवलाई स्वदेशमा लगाई देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेको पनि उनले सुनाए ।
मन्त्री भट्टले आफूले घरमा भैंसी पालेको सुनाए । उनले भने, ‘मेरो घरमा मैले भैंसी पालेको छु । घरमा दुध किन्नुपर्दैन् । सबैले गाई, भैंसी पाल्नुपर्छ । यसो गर्न सकियो भने दुद्यमा हामी आत्मनिर्भर हुनेछौं ।’
उनकाअनुसार नेपाल अहिलेपनि सिमेन्ट, विजुली, माछा, मासु र छडमा आत्मनिर्भर भैसकेको छ । नेपालमै फलामी खानी रहेको कुरामा अनुशन्धान भैरहेको र यसको गुणस्तर परीक्षणको लागि चीन पठाईएको पनि उनले सुनाए । उनले भने, ‘हामी फलामी खानीको उत्खननको लागि संयन्त्र बनाउनेतर्फ छलफल गरिरहेका छौं ।’
केही वस्तुमा आत्मनिर्भर हुनासाथ मुलुकको अर्थतन्त्रमा ठूलो र सकारात्मक योगदान पुग्ने उनको विश्वास छ । उनले भने, ‘म त निमित्त मात्रै हुँ, सबैले सकारात्मक भएर आफ्नो ठाउँबाट योगदान दिनुपर्छ । मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’ उनले बजार अनुगमनको लागि पनि आफूले कडा कदम चाल्ने विश्वास दिलाए । उनले भने, ‘बजार अनुगमन गर्ने हो । तर, अनुशासन स्थापित गर्ने कुरामा सबैले ईमानदारीपूर्वक लाग्नुपर्छ । स्व–अनुशासनको पनि कुरा हुन्छ । राज्यले सधैं अनुगमन गरेरमात्रै पुग्दैन् । हामी व्यवसायीहरुलाई जनता र देशप्रति उत्तरदायी बनाउने दिशामा लाग्नेछौं ।’ आफूले समस्या समाधानको लागि कडा कानुन ल्याउने तयारी गर्न लागेको पनि उनको भनाई छ ।
अहिलेको अर्थतन्त्र खुल्ला भएकोले खुल्ला बजारलाई अनुगमन र नियमनको लागि के–कसरी अघि बढ्ने भन्नेबारे आफू अहिले छलफलमा केन्द्रित रहेको पनि उनले सुनाए । उनले भने, ‘बजारमा हुने अनियमितता, कालोबजारी र महँगी रोक्ने काममा हामी सफल हुनेछौं । तर, कमि कमजोरी सच्याउनको लागि हामी आग्रह गर्दछौं ।’ उनले आफ्नो कार्यकालमा उद्योगको क्षेत्रबाट मुलुकको कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा बढि र ठूलो योगदान पुर्याउने पनि दाबी गरे ।
अहिले अत्यावाश्यक वस्तुमा मृल्य वृद्धि हुनुको कारण भने उत्पादनमै कमी भएको पनि उनले सुनाए । उनले भने, ‘अहिले प्याज लगाउने सिजन छ । प्याजमा आत्मनिर्भर हुनको लागि हामी सबैले आफूलाई पुग्ने उत्पादन गरौं ।’
किसानहरुको उत्पादनलाई उचित मूल्य दिनेगरि आफूहरु छलफलमा जुटेको र सोहीअनुसारको संयन्त्र बनाउने पनि उनको भनाई छ । उनले भने, ‘किसानको उत्पादनलाई उचित मूल्य दिनेगरी नीति र योजना ल्याउँछौं ।’ उनले आगामी तीन वर्षसम्म नेपालमा चीनबाट पाईपलाईनमा तेल ल्याउने पनि दाबी गरे ।
उनले भने, ‘प्रधानमन्त्रीले विश्वास गर्नुभयो भने म तीन वर्ष अझै मन्त्रीको रुपमा रहन्छु, चीनबाट पाईपलाईनमा तेल ल्याउँछौं । यो सपना हामी पूरा गरेर छोड्छौं । यसको लागि हामी सबै सामूहिक दायित्वबाट जानुपर्छ ।’ उनले आफू उभिनु भनेको नै कालाबजारीहरु सतर्क हुनु भएको टिप्पणी गरे ।
|
सहकारी मार्फत् गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ : मन्त्री अर्याल काठमाडौं । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताएकी छन् ।
स्याङ्जाको वालिङ १० भकुण्डेस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री अर्यालले परनिर्भरताको अन्त्यका लागि सहकारीमार्फत् आत्मनिर्भर तथा स्वाभिमान बनाउने तर्फ सरकार लागि परेको बताएकी हुन् ।
‘हिजोका दिनमा परनिर्भरतामा रहेका महिला दिदीबहिनी आज आत्मनिर्भर बन्दै अगाडि बढ्न सक्ने भएकी छन्’ मन्त्री अर्यालले भनिन्, ‘यो सुखद पक्ष हो यसलाई जोगाइ राख्न आवश्यक छ ।’
उनले बचत तथा ऋण सहकारी संस्थाले बचत र ऋणको मात्रै कारोबार नगरी उत्पादनसँग जोडिएर जनमैत्री सहकारी कानुन निर्माण गरी उत्पादनमा जोडिन पाउने ऐन बनाउने तयारीमा सरकार रहेको जानकारी दिँदै भनिन्, ‘सरकारले कार्यक्रम दिन्छ, नीति दिन्छ, जीवन बदल्ने कार्यक्रम सहकारीमार्फत सुरु गर्ने तयारीमा सरकार रहेको छ ।’ रासस
|
बाजुरामा हेलिकप्टर नमगाउँदा सुत्केरीको मृत्यु बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका–५ गोत्री सामुदायिक एकाइ केन्द्रमा सोमबार दिउँसो एक सुत्केरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावल रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए।
घरमै सुत्केरी भएकी रावलको साल अट्किएपछि अत्यधिक रक्तश्रावका कारण बेहोस अवस्थामा स्वास्थ्य केन्द्र गोत्री पुर्याइएको स्वास्थ्य एकाइमा कार्यरत स्वास्थ्य सहायक अमर बुढाले बताए।
“एकाइमा पुर्याउँदा बेहोस नै हुनुहुन्थ्यो, साल निकालेपछि रगत पनि रोकियो, घाम ताप्दै बिस्कुट र चिया खानुभएको थियो, तरपछि एक्कासि मृत्यु भयो”, स्वास्थ्य सहायक बुढाले भने ।
हेलिकप्टरको लागि प्रयास गर्ने क्रममा सुत्केरीको अवस्था सुध्रेको पाइएपछि प्रमुख जिल्ला अधिकारीलाई त्यही सूचना पठाइएपनि एकाएक उनको मृत्यु भएको डा. विश्वकर्माको भनाइ थियो।
बाजुरामा यसअघि पाँच सुत्केरीको हेलिकप्टरमार्फत राष्ट्रपति उद्धार सहयोग कार्यक्रमबाट उद्धार गरिएको थिया।
|
मोटरसाइकल दुर्घटनामा परी नेकपा नेताको मृत्यु सुर्खेत । सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंको मोटरसाइकल गए राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका–४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए ।
उनका अनुसार गए राति करीब ८ः०० बजेतिर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौतमको घटनास्थलमै मृत्यु भएको थियो।
गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका स्थानीय नेता हुन् ।
|
सवारी दुर्घटनामा एक जनाकाे मृत्यु काठमाडाैं । गोकर्णेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा ड्याम बनाउने क्रममा आइतबार बा३क ६३८ नम्बरको रोलर सडकबाट तल खस्दा गम्भीर घाइते भएका महोत्तरीका ४५ वर्षीय यर्कमान भुजेलको मृत्यु भएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो । मृतक भुजेल लामो समयदेखि रोलर चलाउँदै आएका थिए ।
|
२ वर्षको कैद सजाय पाएका फरार अभियुक्त पक्राउ धादिङ । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाइ धादिङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत धादिङले २ बर्षको कैद हुनेगरी फैसला सुनाइएका गजुरी गाउँपालिका ५ बस्ने ३७ बर्षिया रामेश्वर सुवेदीलाइ पक्राउ गरिएको प्रहरी निरिक्षक सरोज राइले जानकारी दिए ।
फरार अभियुक्तलाइ धादिङ प्रहरीले मंसिर ८ गते पक्राउ गरी जिल्ला अदालत धादिङमा पेस गरेको र अदालतले कारागार चलान गरिसकेको धादिङ प्रहरीले जनाएको छ ।
|
बालबालिकालाई सचेतनालेमात्र बचाउन सकिन्छ : प्रदेश प्रमुख विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले बालबालिकालाई दूरगामी असरबाट बचाउन सचेत गराउँदै लैजानुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघ बाल अधिकारसम्बन्धी महासन्धिको ३०औँ वार्षिकोत्सव एवं सिविन नेपालको ३२औँ वार्षिकोत्सव समारोहको सोमबार उद्घाटन गर्दै उनले बालबालिकाको समस्या समाधान गर्नु सबैको दायित्वभित्र बताएका हुन् ।
प्रदेश प्रमुख प्यासीले सामन्तवादी चिन्तनले बालबालिका जोखिममा पर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै बालबालिकाले आमाको गर्भदेखि समाजका हरेक क्षेत्रमा सास्ती भोगिरहेको चर्चा गरे ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा काम गर्ने सरोकारवालाहरुसँग छलफल गरेर बालबालिका संरक्षण ऐन ल्याउन लागेको जानकारी दिँदै बाल संरचनाहरु विद्यालयमा मात्र होइन समुदायमा पनि केन्द्रित हुनुपर्ने बताएका छन्।
कार्यक्रममा उपसभामुख सरस्वती पोखरेलले बालबालिकाको अधिकारका लागि स्थापना भएको संघसंस्थाले सरकारसँग हातेमालो गरेर हिँड्नुपर्ने बताइन् । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेश योजना आयोगले विसं २०८१ भित्रमा बालश्रममुक्त प्रदेश बनाउन विभिन्न योजना बनाएको जानकारी दिए
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले संविधानले बालअधिकारको पूर्ण रक्षा गरेकाले यसको व्याख्या स्थानीय तहसम्म हुनुपर्ने बताएका छन् । मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले बालबालिकाको उच्चतम हित र संरक्षणमा नेपाल प्रहरी सदैव तयार रहेको जानकारी दिए।
सिविनका अध्यक्ष माधव मानन्धर र कार्यकारी निर्देशक सुम्निामा तुलाधरले यो संस्थाले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको हित र संरक्षणमा लागि गरेको बताएका छन्।
कार्यक्रममा पूर्वाञ्चल अनाथ आश्रमका सीता पोखरेल, बाल संरक्षण समूह बूढीगङ्गाका सुस्मिता क्रृषिदेव र सिविनका सदस्य डा गोविन्द सुवेदीले बालबालिका अधिकार स्थापित नहुन्जेल मुलुकमा समृद्धि नआउने धारणा राखेका थिए।रासस
|
धुलिखेलबाट ९ लाख रुपैयाँसहित २३ जुवाडे पक्राउ काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ ।
पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गए राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले रु नौ लाख ५७ हजार ८७० नगद तथा एक सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३७ वर्षीय घरधनी रानाभाटसहित धुलिखेल नपा–३ का ४१ वर्षीय भीमसेन तामाङ र ३६ वर्षीय कृष्णकुमार तामाङ, नमोबुद्ध नपा–२ का ४२ वर्षीय नेमा लामा, नमोबुद्ध नपा–३ का ३६ वर्षीय अर्जुन तिवारी, नमोबुद्ध नपा–४ का ३५ वर्षीय रमेश तिवारी, रोशी गाउँपालिका–७ का २६ वर्षीय पुष्कर दर्जी, बनेपा नपा–११ का ४२ वर्षीय सुमन अधिकारी, बेथानचोक गाउँपालिकाका ३२ वर्षीय जयराम तिमल्सिना, चौँरीदेउराली गाउँपालिका–५ का ३७ वर्षीय रामप्रसाद चौलागाईँ, पाँचखाल नपा–७ का अच्युत चौलागार्इं, महाभारत गाउँपालिका–३ का २४ वर्षीय सुजन लामा, बनेपा नपा–६ का सुजन केसी रहेको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
यस्तै, पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–५ का ३१ वर्षीय अमृत बानियाँ, नुवाकोटको शिवपुरी गाउँपालिका–७ का २८ वर्षीय सन्तोष पाण्डे र सोही गाउँपालिका–७ का २५ वर्षीय प्रवीण पाण्डे, नुवाकोटकै लिखु गाउँपालिका–१ का २८ वर्षीय नवराज थिङ, दोलखाको मेलुङ गाउँपालिका–३ का २२ वर्षका दीपक थोकर, दोलखाको विगु गाउँपालिका–४ का ३८ वर्षीय राजन शर्मा, झापाको कमल गाउँपालिका–५ का २८ वर्षीय जितेन्द्र तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नपा–२ का ३८ वर्षीय नवीन गुरुङ, मकवानपुरको थाहा नपा–६ का २८ वर्षीय भुवन बलामी र सोही नपा–७ का ३५ वर्षीय बसुन्धरा केसी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको राती नै मेडिकल जाँच गरी प्रहरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । उनका अनुसार उनीहरुलाई आजै म्याद थप गरी थप अनुसन्धान गरिनेछ ।
अनुसन्धानपश्चात पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाई कारवाही थालिन जनाइएको छ ।
यसअघि काभ्रेपलाञ्चोक प्रहरीले गत साउनमा बनेपा नपा–८ खसीबजारस्थित चतुरमान तामाङको डेराबाट सात जुवाडेलाई नियन्त्रणमा लिई रु एक लाख २३ हजार बरामद गरेको थियो भने सोही दिन बनेपा नपा–६ रामन्दिर नजिकको दमाईसिं वाइवाको घरमा तास खेलिरहेका छ जनालाई पक्राउ गरी उनीहरुबाट रु एक लाख ४७ हजार बरामद गरेको थियो ।
|
नयाँ दिल्लीको कोठीमा बेचिन लागेका दुई नेपाली महिलाको उद्धार काठमाडौँ । माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ।
राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोकका २५ वर्षीया रीता ९नाम परिवर्तन० र झापाका २५ वर्षीया सविना ९नाम परिवर्तन०को उद्धार गरिएको हो।
माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो।
उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले बताए ।
चोरीमा संलग्न चार जना पक्राउ
नेपाल प्रहरीले रु १२ लाख मूल्य बराबरको ह्याण्डी क्राफ्ट ९काँस तथा पित्तल० का सामाग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई गएराति पक्राउ गरेको हो।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले काठमाडौँ महानगरपालिका–१५ चमतीमा काभ्रेपलाञ्चोका २९ वर्षीय रमेश रसाइलीले सञ्चालन गरेको कारखानाबाट सामान चोरी गरेको अनुसन्धानका क्रममा खुलेपछि चारैजनालाई पक्राउ गरिएको जानकारी दिए ।
“चोरी गरिएका सामग्री वनस्थलीस्थित रोशन लामाको कोठामा लुकाएर राखेको भेटियो”, उनले भने ।
वृत्तले काँसको जस्तो देखिने घण्टी ४४५ थान, काँस र पित्तलजस्तो देखिने नौ सिङ्गे दोर्जे १५० थान, चारसिङ्गे एण्डी ११५ थान र घण्टीमा जोड्न प्रयोग गरिने विभिन्न पाटपुर्जा ६०५ थान बरामद गरेको छ।
|
प्रहरीले पक्राउ गरेका व्यक्तिको रहस्यमय मृत्यु दिपायल । मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा आज अपराह्न जोरायल गाउँपालिका १ गैरास्थित प्रहरी चौकी गैरा डोटीले पक्राउ गरेका एक चालकको रहस्यमय मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा गैरा बस्ने २१ वर्षीय गणेश पाली छन् ।
पालीले मापसे गरी गैराबाट डडेल्धुराको गाङ्खेत जाने कच्ची सडकमा अन्य जीपलाई जान नदिई आफूले चलाउँदै आएको से १ ज २९२ नम्बरको महेन्द्रा जीप लगी बाटो छेकेको र बाटो छेकेको जानकारी प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अभियुक्त पालीले आफूलाई पिसाब लागेको भन्दै शौचालयमा गएर नाम नखुलेको दुई क्याप्सुल औषधि खाई शौचालय बाहिर निस्किँदा आगनमा ढलेको अवस्थामा प्रहरीले उठाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अहिले गैरा क्षेत्रमा मृतकका आफन्तले घटना रहस्यमय तरिकाले भएको भन्दै नाराबाजी गरिरहेका छन् । त्यहाँको स्थिति नियन्त्रण गर्नका लागि प्रहरीको सङ्ख्या थप गरिएको बताइएको छ ।
पालीले कुन औषधि खाएका हुन् भन्ने विषयमा उनको शव परीक्षण प्रतिवेदन आएपछि मात्रै भन्न सकिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख देउवाले जानकारी दिए । शव परीक्षणका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ । रासस
|
पाटे बाघको छालासहित ६ जना धादिङबाट पक्राउ धादिङ । पाटे बाघको छालासहित ६ जना धादिङबाट पक्राउ परेका छन् ।
जिल्लाको गजुरी गाउँपालिका २ चालिसे भन्ने ठाउँमा (पृथ्वीलोकमार्गबाट अं ८०० मिटर माथि दक्षिण) पाटे बाघको छाला बेचबिखन गर्ने उद्देश्यले ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ३ बस्ने ३८ वर्षीय भाईराम प्रजा, सोही ठाउँका ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका २ का ५७ वर्षीय सन्त तामाङ र सोही ठाउँका २१ वर्षीय राजकुमार तामाङ रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरोज राई र ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको संयुक्त प्रहरी टोलीले वालसिंङ भन्ने ठाउँबाट हाईवे तर्फ बोकी ल्याई रहेको अवस्थामा पक्राउ गरेको हो ।
३ वटा मोटरसाईकलमा सवार उनीहरुलाई प्रहरीले खानतलासी गर्दा बा. १८ प ९६९३ नम्बरको मोटरसाईकल चालक भाईराम प्रजा र सो मोटरसाइकलको पछाडि सवार राजेन्द्र तामाङले बोकेको जेब्रा झोलाभित्र बोरामा लुकाई छिपाई राखेको अवस्थामा ७ फिट २ ईन्च लम्बाई‚ १ फिट ३ ईन्च चौडाई भएको पाटे बाघको छाला थान १ फेला परेको प्रहरीले जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए ।
राईका अनुसार अन्य ग ७ प ५९६३ र ग ६ प १६४५ नं को मोटरसाइकलमा सवार ४ जना व्यक्तिहरु समेतको मिलेमतोमा बेचबिखन गर्न हिडेको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा बुझिन आएको हुँदा उनीहरुलाई पक्राउ गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाईएको छ ।
|
अपाङ्गमैत्री ऐन बनाएर समस्या समाधान गर्छौँः मन्त्री गुरुङ काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गमैत्री ऐन बनाएर अपाङ्गता भएका समुदायको समस्या समाधान गरिने बताएका छन् ।
राष्ट्रिय अपाङ्ग महासङ्घले आइतबार भृकुटीमण्डपस्थित कार्यालय परिसरमा आयोजना गरेको शुभकामना तथा बधाईकार्यक्रममा उनले समाजको संवेदनशील क्षेत्र अपाङ्गता समुदायको समस्याको समाधान तथा उनीहरुको हकहितका पक्षमा मन्त्रालय हातेमालोका साथ अघि बढ्ने वचन दिएका हुन ।
संस्था जन्मनु र हकअधिकारका पक्षमा वकालत गर्नु राम्रो कुरा भए पनि गाउँ कुनासम्म पुगेर पीडितको पहिचान र अधिकारका पक्षमा आवाज उठ्छन कि उठ्दैनन् भन्ने महत्वपूर्ण कुरा हो भन्दै मन्त्री गुरुङले संस्था र मन्त्रालय दुवै इमान्दार र जिम्मेवारपूर्वक लाग्नुपर्नेमा जोड दिए।
मन्त्री गुरुङ्गले भने, “सामाजिक संस्थामा कहिलेकाहीँ केही विकृति र अवसरवादी चरित्रले सरकारलाई पनि भुक्याउने र अलमल्याउने गरेका छन् । संस्था र मन्त्रालय दुवैले भुक्याउने छैनन् इमान्दारिता र नैतिकता देखाएर सामाजिक सेवाको भावना दर्शाउन मन्त्रालय प्रतिबद्ध छ ।”
मन्त्री गुरुङले मन्त्रालयबाट अपाङ्गता भएका व्यक्तिको गुनासो सुन्न र सेवा प्रवाहमा कुनै पनि कर्मचारीले अटेरी र असहयोग गरे गोप्यरुपमा आफूलाई जानकारी दिन आग्रह गर्दै यदि त्यस्तो कमीकमजोरी पाइएको खण्डमा तत्कालै सुधार गरेर लैजाने वचन समेत दिएकाछन् ।
महासंघका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता अधिकार ऐन, २०७४ जारी भएको लामो समय बितिसक्दा पनि नियमावली जारी हुन नसकेको र त्यसका लागि मन्त्रालय धाइरहनुपरेको गुनासो सुनाए । उनले समग्र अपाङ्ग समुदायको हकहित र भावनालाई कदर गर्दै राष्ट्रिय निर्देशक समिति गठन गर्न मन्त्रीसमक्ष माग गरे ।
महासंघले २०५० सालमा समाजकल्याण परिषद्सँग सम्झौता गरी भाडामा बस्दै आएको हालसम्म कार्यालयको भाडा ५६ लाख पुगेको र उक्त रकम तिर्न नसकेकाले अनुदान उपलब्ध गराउन तथा संस्थाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन पहल गरिदिन पनि मन्त्रीसमक्ष आग्रह गरेको छ ।
सो अवसरमा मन्त्री गुरुङले भृकुटीमण्डपमा रहेको राष्ट्रिय अपाङ्ग कोष, अपाङ्गता पुनःस्थापना केन्द्रको अवलोकन गरी त्यहाँको अवस्था र समस्याबारे कर्मचारीसँग जानकारी लिएका थिए ।
कोषका सदस्य सचिव यामनाथ मैनालीसहितका पदाधिकारी र कर्मचारीले मन्त्रीसमक्ष आफ्ना समस्या राखेका थिए । मन्त्री गुरुङले कोषको समस्याप्रति आफ्नो सक्दो सहयोग रहने भन्दै जिम्मेवार भएर काम गर्न आग्रह समेत गरे। रासस
|
निर्माण व्यवसायी आन्दोलित : प्रधानमन्त्री निवास अगाडी धर्ना बस्ने काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली २०७६ को आठौं संशोधनको विरोध गर्दै बालुवाटार स्थित प्रधानमन्त्री निवास अगाडी धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ ।
महासंघले सोमबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बस्ने, आफ्नो कार्यालय र सबै निर्माण उपकरणमा कालो झण्डा राख्ने र कालोपट्टी बाँधेर काम गर्ने लगायतका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
आइतबार पत्रकार सममेलन गर्दै महासंघले म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग राखी सरकारलाई दवाव दिन आन्दोलन गर्नुपरेको जनाएको छ । महासंघका अध्यक्ष रबी सिंहले सरकारले २ खर्ब रुपैयाँ बराबरको २ सय भन्दा बढी आयोजनाहरुको म्याद थप नगरेको आरोप समेत लगाए ।
अध्यक्ष सिंहले टेण्डर प्रकृयामा भाग लिंदा बैंक क्रेडिट लाइन राख्नुपर्ने व्यवस्था गर्दा बैंकलाई बढी शुल्क तिर्नुपरेको भन्दै त्यसलाई हटाउन समेत माग गरे । व्यवसायीहरुका माग सम्बोधन नभए कुनै पनि निर्माण प्रक्रियामा भाग लिन नसक्ने अध्यक्ष सिंहले बताए ।
व्यवसायीहरुले सरकारको टेण्डर प्रकृयामा सहभागि हुन नसक्ने गरी नियमावली संशोधन भएकाले त्यसलाई सच्याउन माग गरेका हुन् ।
महासंघले दोस्रो चरण अन्तर्गत माइतीघर मण्डलामा कालोझण्डा सहित प्रदर्शन गर्ने, आयोजनाको इजाजत पत्र सरकारलाई बुझाउने, ठूला इक्युप्मेन्टलाई सडकमा प्रदर्शन गर्ने, टेण्डर बहिस्कार गर्ने, विकास निर्माणका कार्यहरु पूर्ण रुपमा ठप्प पार्नेलगायतका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ ।
|
काम गर्न नसक्ने विगागीय प्रमुखलाई बर्खास्त गर्ने सञ्चारमन्त्रीको चेतावनी काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारको लक्ष्य अनुसार काम गर्न नसक्ने विगागीय प्रमुखलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
आईतबार मन्त्रालयको समिक्षात्मक बैठकमा मन्त्री बाँस्कोटाले अन्तिम समयमा विभिन्न बहाना देखाउने पुरानै शैली सरकारलाई स्वीकार्य नहुने भन्दै लक्ष्य अनुसारको कार्य प्रगति देखाउन सचिव, सहसचिव तथा विभागिय प्रमुखलाई निर्देशन दिएका हुन् ।
उनले भौतिक, वित्तिय र पूँजीगत प्रगति हासिल गर्न नसकेका सचिव, सहसचिव र विभागीय प्रमुखलाई सरकारले लिखित स्पष्टिकरण सोध्ने चेतावनी दिए । उनले काम नगरि धेरै घुम्ने काम बन्द गर्न पनि निर्देशन दिए ।
उनले भने, ‘भोली प्रधानमन्त्रीकोमा जे पेस हुन्छ त्यसपछि कुरा यसरी आउदैन । लिखित आउँछ । निर्देशन लिखित आउँछ । तपाईको जवाफ पनि लिखित चाहिन्छ ।’
उनले प्रतिवेदन बुझाएपछि काम सकियो भनि ढुक्क नबन्न पनि सचेत गराए । उनले दोश्रो चौमासिक समिक्षामा बैठकमा ६६ प्रतिशत काम नसकाएका विभागीय प्रमुखहरु अयोग्य सावित हुने बताए । उनले भने, ‘६६ प्रतिशत काम नसकाएका विभागिय प्रमुखले थाहा पाउनुहोस् कि म अयोग्य छु ।’
बैठकमा सञ्चार मन्त्रालय मातहतका निकायले आफ्नो कार्यप्रगति विवरण पेश गरेका थिए ।
|
प्रधानमन्त्री ओली फेरि ग्राण्डी अस्पतालमा काठमाडौं । नियमित स्वास्थ्य परीक्षण गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओली पुनः ग्राण्डी अस्पताल पुगेका छन् ।
नियमित मिर्गौलाको डायलासिस गराउँदै आएका प्रधानमन्त्री ओली आइतबार ग्राण्डी अस्पताल पुगेर स्वास्थ्य परीक्षण पश्चात् निवासमा फर्किने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणको लागि केही समयअघि ग्राण्डी अस्पतालमा पुग्नुभएको छ । उहाँको परीक्षणपछि आजै निवास फर्किने योजना रहेको छ ।’
१३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले यसबीचमा दुईपटक सिंगापुर पुगेर उपचार गराइसकेका छन् ।
|
छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना : ४ जनाको मृत्यु काठमाडौं । आइतबार छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
आइतबार धादिङ गल्छी गाउँपालिका–६ बैरेनीबजारमा बा.२ ख ६२६८ नम्बरको बस आइतबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार नुवाकोट घर भएकी १३ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा १० महिला, ४ पुरुष, २ बालक र १ बालिका गरी १७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि स्थानीय मेडिकल गल्छी पठाएकोमा १३ जना थप उपचारको लागि वीर अस्पताल ट्रमा सेन्टर काठमाडौं रिफर भएका छन् भने ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै उदयपुरको कटारी नगरपालिका ८ स्थित सडकमा स ११ प ३२२८ नम्बरको मोटरसाइकल र ना.७ ख ४६१५ नम्बरको ट्रक शनिबार बेलुका आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–३ बस्ने ३७ वर्षीय सन्तोष कार्कीको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र मोटरसाइकल सहित दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहाको कल्याणपुर नगरपालिका–११ लवका टोलमा अनटेष्ट लेखेको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय ईनरजित यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवको आरके मेडिसिटी मुसरनियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–१ बाघखोर भन्ने स्थानमा ना.६ त ३१४६ नम्बरको ट्याक्टर शनिबार राति अनियन्त्रित भई पल्टँदा उक्त ट्याक्टर चलाएका सोही गाउँपालिका–२ बस्ने २१ वर्षीय छिरिङ राईको घटनास्थलमै मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने १९ वर्षीय सुमन शंकरले चलाई ल्याएको उक्त ट्याक्टर र छिरिङले चलाई ल्याएको प्रदेश–१–०३–०१–०२२ च ०३१८३ नम्बरको बलेरो जिप उनीहरुले सोही ठाउँस्थित बाघखोरमा एकअर्काले साटेर चलाई नेचातर्फ जाने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा हुँदा छिरिङको मृत्यु भएको खुल्न आएको छ ।
बलेरो जिप सहित सुमन शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिका–२९ दासढुङ्गास्थित सडकमा आइतबार बिहान ना ६ ख १८९६ नम्बरको आईचर ट्रकको ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
|
उद्योग समितिले गर्याे बजार अनुगमन गर्न समिति गठन काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजार अनुगमन गर्न उपसमिति गठन गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको बैठकले बजारमा कालोबजारी बढेको निष्कर्ष निकाल्दै बजार अनुगमन गर्ने निर्णय गरेको जनाएको छ ।
समिति सदस्य नरबहादुर धामीको संयोजकत्वमा गठन भएको समितिले ७ सदस्यीय टोली गठन गरेर बजार अनुगमन गर्ने भएको छ ।
उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्न समिति सदस्य उपभोक्ता हित अनुगमन उपसमिति गठन गरेको हो ।
उपसमितिले दूध, पानी, दाल, चामल, तेल, औषधिलगायतका उपभोग्य वस्तुहरुमा भइरहेको कालोबजारी, मुल्यवृद्धि, कार्टेलिङ, सिन्डिकेट, गुणस्तरलगायतको अनुगमन गर्ने छ ।
उपसमितिले एक महिनाभित्र बजार अनुगमन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, प्रकाश रसाईली, लालप्रसाद साँवा लिम्बु, सुजाता परियार सदस्य छन् ।
एकजना सदस्य संयोजकले तोक्न पाउने व्यवस्था समेत गरेको छ । यसैबीच समितिले यसअघि बसेका बैठकमा नेपालको हवाई उडान, विमानस्थलमा रहेका समस्या समाधान, भ्रमण वर्ष २०२० को तयारी र वैदेशिक रोजगारीमा गई कुवेतमा अलपत्र परेका २१ जना कामदारहरुलाई नेपाल फर्काउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको समेत जानकारी गराएको छ ।
|
भारतले अतिक्रमण गरेको भूभाग समेटिएको नेपाली नक्सा जारी काठमाडौं। सीमा बचाऔं अभियानले लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले अतिक्रमण गरेको सबै भूभाग नेपालभित्रै समेटिएको नेपालको नक्सा जारी गरेको छ । आज रिपोर्टर्स क्लवमा एक कार्यक्रमको आयोजना गरी अभियन्ताहरुले नेपालको नयाँ नक्सा सार्वजनिक गरेका हुन् ।
नयाँ नक्सा जारी गर्दै समितिका संयोजक भैरव रिसालले यो नक्सा सुगौली सन्धिले निर्धारण गरेको आधिकारिक नक्सा भएको बताए । अर्का अभियन्ता हिरण्यलाल श्रेष्ठले यो नक्सा भारतले जारी गरेको नक्साको काउन्टर भएको बताए । उनले सबै नेपालीलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे ।
नापी विभागका पूर्व महानिर्देशक पुण्य सुवेदीले केही वर्षअघि आफूहरुले पनि अध्ययन गरेर यस्तै नक्सा सरकारलाई पेश गरेको जानकारी दिए । समितिका सहसंयोजक द्वारिकानाथ ढुंगेलले यो मुद्दा अहिले उठाउँदा कसैले सरकारलाई धम्की दिएको समेत आफूले जानकारी पाएको बताए ।
|
न्युजिल्याण्डमा ५.९ म्याग्नीच्युडको भूकम्प, हजारौ विस्थापित न्युजिल्याण्ड । न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प आएको छ।
देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन् । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजार भन्दा बढी विस्थापित भएका थिए।
भूकम्पका कारण कति जनाको मृत्यु भयो र अन्य के कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय समयानुसार आइतबार विहान ५.३४ बजेतिर भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी गरेको बताइएको छ।
सुरुमा ५.३ म्याग्नीच्युड र त्यसपछि सवै भन्दा ठूलो ५.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले बताएका छन्। सो भूकम्प केन्द्रविन्दु समून्द्रको १ सय १५ किलोमिटर तल रहेको जनाइएको छ।
|
बानेश्वरमा गाडीको ठक्करबाट मर्निङवाकमा हिँडेका डाक्टरको मृत्यु काठमाडौँ । आज बिहान ५ः३० बजेतिर बानेश्वरमा गाडीको ठक्करबाट एक डाक्टरको ज्यान गएको छ।
बसुन्धारामा रहेका इशान बाल तथा महिला अस्पतालमा कार्यरत ७२ वर्षीय डाक्टर प्रभु जोशीको मर्निङवाक हिँडेका बेला बानेश्वरमा गाडीको ठक्करबाट ज्यान गएको हो ।
संसद भवनको दक्षिण गेट अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिँदा डाक्टर जोशीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
डाक्टर जोशीलाई ठक्कर दिएर फरार चालक र गाडीको सीसीटिभी फुटेजका आधारमा खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ।
|
प्रतिबन्धित लागुऔषधसहित २ युवक पक्राउ लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गएराति दुई युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल गाउँपालिका–१ मलहनिया निवासी २१ वर्षीय अमरेश यादव र २१ वर्षीय पङ्कज यादवलाई पक्राउ गरेको हो।
भारतीय बजारतर्फबाट स१०प ६१९ नंको मोटरसाइकलमा आउँदै गरेका दुवै जनालाई जाँच गर्दा लागुऔषध नोफिन १० एम्पुल, डाइजिल्याप १० एम्पुल, प्रोमेथाजिन १० एम्पुल बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
यसैगरी अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा सिरहा प्रहरीले सिरहा नगरपालिका–६ बसबिट्टाबाट चार पशुचौपाया बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका चार गोरु बरामद गरेको हो।
त्यसैगरी सिरहा प्रहरीले जिल्लाका विभिन्न स्थानमा करीब तीन हजार गाँजा बोट नष्ट गरेको छ। प्रहरी चौकी सन्हैठाले सिरहा नगरपालिका–२२ सन्हैठामा स्थानीयवासीले लगाएको दुई हजार ५०० बोट तथा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–२२ डाँडाटोलमा १०० बोट गाँजा फडानी गरी नष्ट गरेको जनाएको छ। रासस
|
दासढुङ्गामा ट्रकको ठक्करबाट एक अपरिचित व्यक्तिको मृत्यु चितवन । भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आज बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौँडातर्फ जान आउँदै गरेको ना६ख १८९६ नंको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो।
ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ६ः२५ बजे मृत्यु भएको हो। पुरुषलाई ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ। दुर्घटना बिहान ५ः५४ बजे भएको हो।
|
कर्तव्य ज्यान मुद्दामा फरार ४ जना साढे ८ वर्षपछि पक्राउ रुकुमपूर्व । कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन् । उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका–४ काँडाका श्रीमान् भनिने ३१ वर्षीय समर्पन बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजित भनिने ३५ वर्षका आकाश बुढा र ३२ वर्षका दीपक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ।
कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका उनीहरुमाथि विसं २०६७ मा मुद्दा दर्ता भएको थियो। साविकको सिङ्गो रुकुम जिल्ला हुँदा रुकुम जिल्ला अदालत खलङ्गाले उनीहरुलाई विसं २०६८ मा कैद सजाय र जरिवाना सुनाएको थियो।
रुकुम जिल्ला अदालतले समर्पनलाई पाँच महिना २१ दिन, ओमप्रकाश र आकाशलाई पाँच महिना २२ दिन र दीपकलाई पाँच महिना २४ दिन कैद र जनही रु २०÷२० जरिवाना तोकेको थियो।
त्यतिबेला फरार भएका उनीहरुलाई लामो समयपछि प्रहरीको विशेष टोली परिचालन गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरबहादुर सुनारले बताए ।
उनका अनुसार शुक्रबार पक्राउ परेका उनीहरुमध्ये श्रीमान् भनिने समर्पन बुढालाई शुक्रबार रुकुमपश्चिम कारागारमा पठाइएको छ।
समय अभाव र शनिबार परेकाले बाँकी तीन जनालाई आज कारागार चलानका लागि जिल्ला कारागार रुकुमपश्चिममा पठाइने बताइएको छ।
|
कोहलपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते बाँके । बाँकेको कोहलपुरमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
कोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे८प ९६७८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका अर्जुन खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए।
उनका अनुसार, मृतक २६ वर्षीय खत्री कोहलपुरका स्थानीय बासिन्दा हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका–११ बस्ने १८ वर्षीय निराजन खत्री घाइते भएका छन्। उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।
|
नेपाल पुलिस क्लब सेमिफाइनलमा काठमाडौं । नेपाल पुलिस क्लब चन्द्रागिरि मेयर गोल्ड कप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भ्याली च्यासल युथ क्लबलाई १–० गोलले हराउँदै पुलिस क्लबले अन्तिम चारमा स्थान बनाएको हो ।
चन्द्रागिरि खेल मैदानमा आज भएको खेलमा पुलिस क्लबका लागि पहिलो हाफमा सुमन लामाले गरेको गोल नै निर्णायक सावित भयो ।
खेलको १७औँ मिनेटमा लामाले गोल गरेका थिए । लामा खेलको म्यान अफ द म्याच घोषित भए ।
उनलाई चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले रु पाँच हजार पुरस्कार प्रदान गरे । आइतबार एपीएफ क्लब र सरस्वती क्लबबीच क्वाटरफाइनलको खेल हुनेछ । रासस
|
बीडीसीए कप क्रिकेटमा दीपकको नयाँ रेकर्ड काठमाडौं । दीपक बोहराले यहाँ जारी बीडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने रेकर्ड कायम गरेका छन् । निङ्गलाशैनी क्रिकेट क्लब, देहिमाडौँंको टोलीबाट १९औँ संस्करण खेल्दै उनले व्यक्तिगत १४५ रन बनाएर नयाँ रेकर्ड कायम गरेका हुन् ।
घरेलु मैदानमा बोहराले ५६ बल खेल्दै सात छक्का र २० चौका प्रहार गरे । उनले ४१ बलमा शतक बनाए । यसअघि बीडीसीए कपमा सर्वाधिक रन बनाउने रेडर्क निङ्गलाशैनी क्रिकेट क्लबकै गजेन्द्र बोहराको नाममा थियो ।
गजेन्द्रले बीडीसीए कपको १७औँं संस्करणमा ५५ बलमा १४३ रन बनाएका थिए । जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष खेमराज भट्टका अनुसार दीपकले विद्यालयस्तरीय यू–१६ राष्ट्रिय प्रतियोगिता, सुदूरपश्चिममा सम्पन्न मुख्यमन्त्री कप र आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता खेलिसकेका छन् ।
उनी तीन वर्षदेखि काठमाडौंँस्थित हिमालयन क्रिकेट एकेडेमीमा आवद्ध छन् । पन्ध्र वषीय दीपक दाँया हाते ब्याट्सम्यान हुन् । आज सुम्पन्न खेलमा निङ्गलाशैनीले ६ विकेटको क्षतिमा २० ओभरमा ३०६ रन बनायो । उसका लागि प्रकाश नाथ र खडक बोहराले ४०/४० रन तथा वीरेन्द्र नाथले २९ रन बनाए ।
तीन सय सात रनको लक्ष्य पछ्याएको जनसेवा क्रिकेट क्लबले १८ दशमलव चार ओभरमा ११६ रन मात्र बनायो । दीपकले बनाएको रेकर्डले यहाँका अन्य खेलाडीसमेत उत्साहित भएको क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । जिल्ला क्रिकेट सङ्घले २०५८ सालदेखि निरन्तर बीडीसीए कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ । रासस
|
बंगलादेशमा ‘सामुद्रिक डाँकू’द्वारा आत्मसमर्पण बंगलादेश (रासस/एएफपी) । बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा भएको एक औपचारिक कार्यक्रममा झण्डै १०० ‘सामुद्रिक डाँकू’ले शान्त जीवन जीउने प्रतिवद्धतासहित शनिबार आत्मसमर्पण गरेका यहाँको प्रहरीले जनाएको छ ।
उनीहरूले १५५ थान घरेलु बन्दूकसहित त्यसका लागि प्रयोग हुने ३०० राउण्ड गोली र बन्दूक बनाउने उपकरणसहित प्रहरी प्रशासनसँग आत्मसमर्पण गरेका बताइएको छ ।
‘आत्मसमर्पणपछि प्रहरीले उनीहरूलाई नयाँ जीवन सुरू गर्न पुनःवास कार्यक्रम अन्तर्गत प्रतिव्यक्ति ५० हजार टाका (५९० अमेरिकी डलर) उपलब्ध गराएका छौँ,’ प्रहरी प्रमुख मसुद होसैनले भने ।
सामुद्रिक डाँकूहरूले बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा हत्या, अपहरण, बलात्कार, जहाज तथा डुङ्गा अपहरण गरी यात्रुहरूलाई लुट्ने गरेका प्रहरीले जनाएको छ ।
उनीहरूलाई आम माफी नहुने तर सजायमा केही छुट हुनसक्ने होसैनले बताए । आत्मसमर्पणका लागि प्रशासनले गरेको कार्यक्रममा उनीहरूले आफूहरूलाई दुःख दिने गरेको स्थानीय माझीहरूले बताएका थिए ।
आत्मसमर्पण गरेका उनीहरूले सार्वजनिक कार्यक्रममा पूरानो काममा नफर्किने वाचा गरेका थिए ।
|
सिरियामा विस्फाेटमा परी १० को मृत्यु, कैयौँ घाइते दमास्कस, सिरिया (रासस/सिन्ह्वा) : सिरियाली विद्रोहीको प्रभाव क्षेत्र राका प्रान्तमा भएको वम विस्फाेटमा परी कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएका छन् । विस्फाेटमा परी २५ जनाभन्दा बढी घाइते भएका बताइएको छ ।
राकाको ग्रामीण इलाका ताल अब्याद टर्कीको सिमानामा रहेको टर्कीको सहयोग प्राप्त विद्रोहीको प्रभाव क्षेत्र हो ।
सिरियाली मानवअधिकार अनुगमन संस्थाका अनुसार घटनामा कम्तीमा पाँच जना सर्वसाधारण परेका र पाँच विद्रोही रहेको बताइएको छ । उक्त घटनामा २२ जना सख्त घाइते भएका छन् । केहीलाई सामान्य चोट लागेको बताइएको छ ।
घाइतेमध्ये केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतकको संख्या थप वृद्धि हुनसक्ने बेलायतस्थित उक्त संस्थाले जनाएको छ ।
गत महिना टर्कीले आफ्नो सीमा क्षेत्रमा रहेका कुर्दिस नियन्त्रित क्षेत्रमा आक्रमण गरेपछि उनीहरू (विद्रोही लडाकू) तेल अब्यादमा प्रवेश गरेका थिए ।
|
जब ‘चिनियाँ जासुस’ले मागे अस्ट्रेलियामा शरण बिबिसी । आफू चिनियाँ जासुस भएको दाबी गरेका एक व्यक्तिले अस्ट्रेलियामा शरणका लागि निवेदन दिएको विवरण सार्वजनिक भएका छन् ।
वाङ ‘विलियम’ लिकिआङले हङ्कङ, ताइवान र अस्ट्रेलियामा गरिएका जासुसीबारे अधिकारीहरूलाई जानकारी दिएको र जासुसी कार्यमा उनी ‘व्यक्तिगत रूपमा’ संलग्न भएको बताइएको छ ।
अहिले उनी आफ्ना बच्चा र श्रीमतीसहित सिड्नीमा छन् । घर फर्किए मारिन सक्ने उनलाई डर छ । वाङको पहिचान र उनले लगाएका आरोपहरूको पुष्टि हुन सकेको छैन ।
जासुसीको डरले चिनियाँ कम्पनीलाई प्रतिबन्ध
तर अस्ट्रेलियाका अर्थमन्त्री जोश फ्राइडनबर्गले वाङको विषय अहिले ‘कानुन कार्यान्वयन गराउने उपयुक्त निकायहरूको हातमा परेको’ पत्रकारहरूलाई बताए ।
उनले लगाएका आरोपहरू ‘चिन्ताको विषय’ भएको फ्राइडनबर्गको भनाइ थियो । विपक्षी लेबर पार्टीका नेता एन्थोनी एल्बानिजले शरणका लागि वाङको दाबी ‘जायज हुन सक्ने’ बताएका छन्।
नाम उल्लेख नगर्ने शर्तमा एक वरिष्ठ अधिकारीले गुप्तचर निकायहरूले अनुसन्धान गर्दा ‘तथ्यलाई कल्पनाबाट अलग गर्नुपर्ने’ अस्ट्रेलियाली प्रसारक एबीसीलाई बताएका छन् ।
को हुन् वाङ लिकिआङ ?
वाङका असाधारण खाले आरोपहरू अस्ट्रेलियाली सञ्चारमाध्यममा शनिवार पहिलो पटक आएका हुन् । ‘सिक्स्टी मिनट्स’ नामक कार्यक्रममा उनको अन्तर्वार्ता आइतवार राति टेलिभिजनमा प्रसारण गरिनेछ ।
अस्ट्रेलियाको गुप्तचर निकाय एएसआईओलाई उनले अक्टोबर महिनामा १७ पृष्ठ लामो बयान दिएको बताइएको छ । त्यसमा उनले गरेका काम र वरिष्ठ गुप्तचर अधिकारीहरूले गर्ने कामकारबाहीबारे उल्लेख गरिएको बताइएको छ ।
बढ्दो चिन्ताका माझ उनी आफ्नी श्रीमती अध्ययन गर्दै गरेको देश अस्ट्रेलिया गए जहाँ उनीहरू हालसालै जन्मेका आफ्ना छोरासँग बसिरहेका छन् । ‘घर गएँ भने म मर्छु’, अन्तर्वार्तामा उनले भनेका छन् ।
वाङका दाबी के छन् ?
द सिड्नी मर्निङ हेराल्डका अनुसार सन् २०१५ मा अपहरण र पाँचजना पुस्तक विक्रेताको पक्राउ गर्ने काममा आफैँ संलग्न रहेको उनले बताएका छन् ।मानिसहरूलाई अपहरण गराएको भन्ने दाबी चीनले अस्वीकार गरेको छ । कानुन कार्यान्वयन गराउने चिनियाँ निकायको क्षेत्राधिकार हङ्कङमा पर्दैन ।
गत वर्षको सन्दिग्ध अपराधीलाई चीन पठाउन अनुमति दिने एउटा विधेयक हङ्कङमा ल्याइएपछि त्यसले व्यापक विरोध निम्त्यायो । त्यसयता हङ्कङमा पूर्ण प्रजातन्त्रको मागसहित व्यापक प्रदर्शन हुँदै आएका छन् ।
चीनले हङ्कङको प्रदर्शनमा ‘विदेशी शक्तिहरूको हात रहेको आरोप लगाउँदै आएको छ । हङ्कङ चीनकै एउटा हिस्सा भए पनि त्यहाँका नागरिकले चीनमा भन्दा बढी र फरक अधिकारको उपभोग गर्दै आएका छन्।
|
पुजा सुनुवारको दोस्रो एल्बम ‘रहर’ सार्वजनिक (भिडियोसहित) काठमाडौं । गायिका पूजा सुनुवारको दोस्रो एल्बम ‘रहर’ सार्वजनिक भएको छ । राजधानीमा गत शुक्रबार एक कार्यक्रमबीच संगीतकार तथा संगीतकार संघ नेपालका (पूर्व) अध्यक्ष लक्ष्मण शेषलगायतले एल्बम सार्वजनिक गरे ।
डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बममा ‘हुन्छ भनन’, ‘बेहुली’, ‘यो मौसम’, ‘वान साइड लभ’ र ‘नामसेवाइ’ बोलका गीत छन् ।
गीतमा दीपक शर्मा, डीपी खनाल, रामगोपाल आशुतोष, खलानको मान्छे र कृष्ण सुनुवारको शब्द छ भने दीपक शर्मा, शंकर थापा स्माइल, अनिष श्रेष्ठ, शिव साम्पाङ र पुष्कर सुनुवारको संगीत छ । एल्बमको ‘हुन्छ भनन’ मा गायक डेभिड शंकर र ‘यो मौसम’मा गायक राजेशपायल राईको स्वर पनि सुन्न सकिन्छ ।
कार्यक्रममा ‘हुन्छ भनन’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । अनुप चापागाईंको निर्देशन रहेको भिडियोमा वर्षा राउत र प्रकाश सपुतको अभिनय हेर्न पाइन्छ । भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।
नेपाली बाहेक, नेपाल भाषा, सुनुवार, थारू, तामाङ, कुमाउनी, संगीत तथा देउडालगायत विभिन्न भाषा भाषिकाका २ सय गीतमा स्वर दिइसकेकी गायिका सुनुवारको यस अघि २०७३ सालमा ‘नजर’ एल्बम सार्वजनिक भएको थियो ।
भिडियो
|
सिके राउतको काठमाडौंमा शक्ति प्रदर्शन (फाेटाेफिचर) काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले रंगभेदविरुद्धको एकता दिवसको नाममा राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
शनिबार काठमाडौंको प्रर्दशनी मार्गस्थित भृकुटीमण्डपमा शक्ति प्रर्दशन गरेको हो । प्रत्येक वर्ष मंसिर १० गते मनाउँदै आएको रंगभेदविरुद्धको एकता दिवस उपनिर्वाचनका कारण यस वर्ष ७ गते नै मनाएको जनमत पार्टीले जनाएको छ ।
अगाडी राजधानीका विभिन्न स्थान गौशाला, महाराजगञ्ज, कीर्तिपुरलगायतका स्थानबाट झाँक्री सहितको र्याली भृकुटीमण्डप पुगी सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. सिके राउतले मधेसी, थारु, आदिबासी जनजातिसँग भईरहेको रंगभेद अन्त्य गर्नुपर्ने बताए । उनले रंगभेद अन्त्य नभएसम्म जनताले परिर्वतनको महसुस गर्न नसक्नुको साथै मुलुकको समुन्नत विकास नहुने बताए ।
|
समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई हासिल गर्न शान्ति आवश्यक : गृहमन्त्री थापा काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षालाई हासिल गर्न शान्ति आवश्यक रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजना गरिएको अन्तर्राष्ट्रिय बाैद्ध एकता सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशमा अशान्ति फैलाउने तत्व देखिए पनि सरकार शान्ति सुव्यवस्था कायम गर्न सक्षम रहेको बताएका हुन् ।
नेपाली जनताको एकतालाई अझ सुदृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई टुंग्याउने गरी काम गरिरहेको गृहमन्त्री थापाले बताएका छन् । उनले सरकारले सुशासन र राष्ट्रिय एकतालाई जोड दिएकाले यसलाई प्राप्त गर्न भगवान बुद्धका सन्देशलाई आत्मसाथ गर्नुपर्ने बताए ।
सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले बुद्धका सन्देशहरुलाई सरकार तथा राजनीतिक दलहरूले आत्मसाथ गर्न सके मुलुकमा शान्ति कायम रहने बताए । दुइ दिनसम्म चल्ने उक्त सम्मेलनमा विभिन्न देशबाट बौद्ध भिच्छु लामाहरूको सहभागिता रहेको छ ।
|
अफगानिस्तानमा दश आइएस लडाकुद्वारा आत्मसमर्पण अफगानिस्तान । (रासस/सिन्ह्वा) । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका दश सदस्यले आत्म समर्पण गरेका अफगान विशेषबलका कमाण्डरले बताएका छन् ।
नान्गार्हार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा १० आइएस लडाकू समूहले आफू हतियारसहित अफगान विशेष सेनालाई आत्मसमर्पण गरेका छन् ।
अफगानसेनाद्वारा जारी विज्ञप्ति बाँकी आईएस सदस्यहरूले पनि आत्मसमर्पण गर्ने वाहेक अन्य विकल्प नभएको बताइएको छ ।
महिला र बालबालिकाहरू लगायत ६ सय भन्दा बढी आईएसका लडाकूहरू र उनीहरूका परिवारले पछिल्लो हप्तायता सुरक्षा बलसमक्ष आत्म समर्पण गरेका छन् ।
|
चिलीमा हिंसात्मक प्रदर्शन : ज्यान गुमाउनेको सङ्ख्या २३ पुग्यो, २ हजार घाइते सान्टियागो । (रासस /एएफपी) । चिलीमा जारी हिंसात्मक प्रदर्शनबाट ज्यान गुमाउनेको सङख्या शुक्रबारसम्म २३ पुगेको छ । चिलीमा करिब पाँच हप्तादेखि सो प्रदर्शन शुरु भएको थियो । दक्षिण अमेरिकी यस देश भरीका शहरहरूमा लुटपाट र प्रदर्शनहरू भएका छन् ।
चिलीका प्रदर्शनकारीहरुले गत अक्टोबर १८ देखि सामाजिक र आर्थिक असमानताको विरोध गर्दै आएका छन् । चिलीमा लोकतन्त्रको तीन दशकमा भएका संकटहरुमा यो सबैभन्दा खराब समय भएको र यस आन्दोलनको क्रममा २३ व्यक्तिले ज्यान गुमाउनुको साथै २ हजार व्यक्ति घाइते भएका छन् ।
चिलीमा जारी यस हिसात्मक प्रदर्शनका क्रममा भएको पछिल्लो घटनाको रुपमा १३ वर्षीय एक केटोको मृत्यु भएको गृह मन्त्रालयका एक अधिकारीहरुले जानकारी दिएका छन् ।
सान्टियागो एक प्रदर्शन केन्द्रमा शुक्रबार हजारौं मानिस फेरि भेला भएर प्रदर्शन शुरु गरेका जनाइएको छ । प्रदर्शनकारी मध्येका एक युवती क्लाउडिया ओर्टोलानीले एएफपीलाई भनिन् ‘हामीले आफ्नो अभिव्यक्ति जारी राख्नै पर्छ किनभने हामीले केही हासिल गरेका छैनौं किनभने दमन जारी छ । सरकारले शान्ति सम्झौता जस्तै नक्कली सम्झौताहरूमा हस्ताक्षर गरिरहेको छ।’
चिलीमा मेट्रो टिकटको मूल्य वृद्धि भएको विरोधमा करिब पाँच हप्ता अघिबाट हिंसात्मक आन्दोलन शुरु भएको थियो । मानिसहरु पुनः सडकमा भेला हुन थालेपछि चिलीका राष्ट्रपति सेबास्टीअन पिनेराको सरकारले जनतालाई शान्त हुनको लागि आग्रह गरेका छन् ।
त्यसैगरी सबै गृहमन्त्री गोन्जालो ब्लुमेलले अशान्ति अन्त्य गर्न सवै राजनितिक शक्तिहरुलाई अपिल गरेका छन् ।
|
‘मानिस सफल र सवल हुन तनावरहित हुनुपर्छ’ काठमाडौं । राष्ट्रिय सरोकार समन्वय समितिका सभापति पार्वती रावलले मानिस सफल र सवल हुनको लागि तनाब रहित जिउनुपर्ने बताएकी छन् ।
आज बालकुमारी माद्यमिक विद्यालय नारायणगढको स्वर्ण महोत्सवको अवसरमा तनाव व्यवस्थापन विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै रावलले यस्तो बताएकी हुन् ।
योग्य नागरिक बन्न र दिक्षित हुन बालकुमारी माद्यमिक विद्यालयले गरेको योगदान अविस्मरणीय रहेको रावलको भनाई रहेको छ । तनाव लिएर हिड्ने व्यक्तिले सिकाउन र सिक्न नसक्ने भएकाले शिक्षक र विद्यार्थी दुवै तनावमुक्त हुनुपर्ने बताइन् ।
कार्यक्रममा ब्रह्मकुमार विजयराज सिग्देलले विद्यालयका शिक्षक व्यवस्थापन समिति अभिभावक तथा विद्यार्थीहरुलाई जीवन जिउने सजिलो तरिकाबारे सिकाएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापा, नरेन्द्र केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापकहरु, शिक्षक अभिभावक संघका अध्यक्ष उद्योग कुमार पिया, वालमाविद् अल्मुनाई एशोसियसनका अध्यक्ष बद्रीलाल प्रधानलगायत शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शिक्षक विश्वराज अर्यालले सहजिकरण गरेका थिए ।
|
‘साप्ताहिक सञ्जाल’ चितवनको अध्यक्षमा तिमिल्सिना निर्वाचित चितवन । साप्ताहिक सञ्जाल नेपाल चितवनको अध्यक्षमा टीकादत्त तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।
आज (शनिबार) भरतपुरको आँपटारीमा रहेको जलदेवी सामुदायिक वनको वनभोज स्थलमा भएको सञ्जालको तेस्रो अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको सदस्यहरुमा राजेन्द्र आचार्य, सूर्य बराल, शान्ता अधिकारी, हरिप्रसाद उप्रेती, सन्तोषसिंह देवकोटा, हरि कार्की, दीपक पौडेल र नविनबाबु मरहठ्ठा रहेका छन् । सञ्जालको नयाँ कार्यसमितिले आजको २५ दिन भित्र पहिलो बैठक बसी कार्यसमितिको कार्यविभाजन गर्ने निवर्तमान महासचिव राजेन्द्र आचार्यले जानकारी दिए ।
त्यस्तै, अबको २५ दिनभित्र सञ्जाल दर्ता गर्ने, आज सम्मान गरिएका अग्रज पत्रकार गणशेखर शर्मा र युवा पत्रकार आनन्द पोखरेललाई भव्य समारोहका बीच सम्मान पत्र सहित विशेष सम्मान गर्ने निर्णय भएको आचार्यले जानकारी दिए ।
अधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले साप्ताहिक पत्रिकाहरु समयसँगै परिवर्तनशील हुनुपर्ने बताए । पहिले मिसन पत्रकारिताको रुपमा सुरुआत भएको साप्ताहिक पत्रिका अबको दिनमा समृद्धि र विकास निर्माणसँग जोडिनुपर्ने बताए ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सृजना अर्याल, प्रेस संगठनका केन्द्रीय सदस्य सुरेशचन्द्र अधिकारी, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश सदस्य कोमचन्द्र भगत, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्षद्वय नारायण अधिकारी, शान्ता अधिकारी, प्रेस संगठन चितवनका नेता प्रकाशमणी ज्ञवाली, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, क्रान्तिकारी पत्रकार संगठन चितवनका अध्यक्ष होमनाथ न्यौपाने, नारायणी आवासीय घर जग्गा व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी, जलदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशवबहादुर थापा, स्याउली बजार टोल सुधार समितिका अध्यक्ष राकेशमान श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा महासचिव राजेन्द्र आचार्यले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष हरि कार्कीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नवराज ढकालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष टीकादत्त तिमिल्सिनाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने उपाध्यक्ष सूर्य बरालले स्वागत मन्तव्य राखेका थिए ।
|
दुर्घटनामा एक जनाको मृत्यु ललितपुर । ललितपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिबार ललितपुर महानगरपालिका–११ युएनपार्कस्थित सडकमा बा९१प १३०१ र बा७७प ६७९३ नंको मोटरसाइकल एकापसमा ठोकिदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा बा७७प ६७९३ नंको मोटरसाइकल चालक काठमाडौँको चाबहिलका २२ वर्षीय सत्यम भट्टराईको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बा९१प १३०१ नंको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस
|
लागुऔषधसहित तीन जना पक्राउ काठमाडौं। नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले पाँच हजार १९४ एम्पुल लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलबाट मकवानपुरका २४ वर्षीय धनबहादुर वाइबा, ३६ वर्षीया सुनिता गोले र रत्नपार्कबाट ५५ वर्षीय रमेश शिवभक्तिलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले उपत्यकाका विभिन्न स्थानमा अवैध रुपमा लागऔषध कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले पक्राउ गरेका शिवशक्तिबाट डाइजेपाम १९४ एम्पुल, नुर्फिन १९० एम्पुल र फेनारगन १८९ एम्पुल तथा वाइबा र गोलेसँग डाइजेपाम एक हजार ४८७ एम्पुल, नुर्फिन एक हजार ५६४ एम्पुल, फेनारगन एक हजार ५७० एम्पुल र लागुऔषध नाइट्रोजेपाम पाँच हजार ५५० ट्याब्लेट बरामद गरेको हो ।
पक्राउ परेका शिवभक्ति र वाइवा यसअघि लागऔषध कारोबारमा संलग्न रहेको पाइएको ब्यूरोले जनाएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारवाही गरिने लामाले बताए।
|
लिम्पियाधुरादेखि कालापानी र लिपुलेकमा सुरक्षा चौकी स्थापनाको गर्न माग काठमाडौं । नागरिक समाजका अगुवाले लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा तत्काल सुरक्षा चौकी स्थापनाको माग गरेका छन् । उनीहरुले राज्यको तत्काल उपस्थिति प्रष्ट देखिने गरी सरकारलाई सुरक्षा चौकी स्थापनाका लागि तत्काल कदम चाल्न आग्रह गरेका हुन् ।
रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नागरिक समाजका २६ जना अगुवाहरुले सीमा रक्षार्थ सजग र सचेत रहन भन्दै १० बुँदे सार्वजनिक आव्हान समेत गरेका छन् । ‘सार्वजनिक आव्हानमा भनिएको छ, लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा राज्यको उपस्थिति प्रस्ट देखिने गरी नेपालको तर्फबाट सुरक्षा चौकिहरु तत्काल स्थापना गरियोस ।’
भारतबाट नेपालबाट भूमि अतिक्रमित भएको भन्दै भारत सरकारका तर्फबाट प्रस्तुत नक्साको कारणबाट उत्पन्न समस्या समाधान नहुन्जेल आम नेपाली जनतालाई एकतावद्ध भई समस्या समाधान गर्न सरकारलाई निरन्तर दवाव दिइरहन समेत भनिएको छ ।
पत्रकार सम्मेलनमा सरकारलाई भारतसँग वार्ता गर्नका लागि सहायोग पु¥याउन सर्वपक्षीय प्रतिनिधित्व रहेको विज्ञ टोली अविलम्व गठन गर्न माग गरिएको छ । प्रधानमन्त्रीको पहलमा द्विपक्षीय वार्ता गराई या समस्या समाधानका लगत्तै नेपाल–भारत–चीन बीच त्रिपक्षीय वार्ता गरेर त्रिविन्दु समेत निर्धारण गर्न भनिएको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले कालापानी नेपालको भूभाग रहेको सबै ऐतिहासिक प्रमाण सुरक्षित रहेको बताए । उनले २०१८ सालमा आफै त्यस क्षेत्रमा पुगेर जनगणना गरेको खुलाए । लिम्पियाधुरादेखि कालापानी र लिपुलेक सम्मको क्षेत्रबाट भारतीय सेना फिर्ता गराउन तत्काल कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरे ।
पूर्व सचिव डा. द्धारिकानाथ ढुंगेलले जलाधार, नक्शा र ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिम्पियाधुरा नै काली नदीको मुहान रहेको र नेपालको पश्चिमी सीमा लिम्पियाधुरासम्म रहेको बताए । नेपाल सरकारले उक्त क्षेत्रसम्मको आधिकारिक नक्शा सार्वजनिक गरी भारतलाई जवाफ दिनुपर्ने बताए ।
भूगोलविद् प्राध्यापक डा. नरेन्द्रराज खनालले १८५६ भन्दा अगाडिका सबै नक्शाहरुमा लिम्पियाधुराबाट आउने नदीलाई नै महाकाली नदी देखाइएकाले त्यही नक्शाका आधारमा सरकारले भारतसँग सप्रमाण वार्ता अगाडि बढाउनुपर्ने बताए ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठले अलमोडा गजेटमा ब्रिटिशहरुले नेपालको सीमाना लिम्पियाधुरासम्म रहेको स्वीकारेकाले त्यसलाई आधार मानेर तत्काल भारत सरकारसँग वार्ता अगाडि बढाउन आग्रह गरे ।
जलाधार विज्ञ जगत भुषालले नदीको तीनवटा मूल सिद्धान्तका आधारमा सबैभन्दा लामो, धेरै शाखा मिसिएको र जलाधार धेरै भएको नदी नै सीमा नदी उल्लेख गरिएकाले लिम्पियाधुराबाट आउने नदी नै काली नदीको मुहान भएकोले सीमाको व्याख्या अनुसार सोही क्षेत्र नेपालको भूभागमा पर्ने बताए ।
सार्वजनिक आव्हान गर्नेहरुमा राष्ट्रकवि माधवप्रसाद माधवप्रसाद घिमिरे, शताब्दीपुरुष सत्य मोहन जोशी, डा. गौरीशंकर लाल दास, पूर्व गर्भनर हिमालय शम्शेर ज.ब.रा, भैरव रिसाल, प्राध्यापक उपेन्द्रमान मल्ल, त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्व न्यायाधीश गौरी बहादुर कार्की, कृष्णराज बर्मा, सामाजिक चिन्तक डा. चैतन्य मिश्र, डा. तुलसीराम वैद्य, पूर्व सचिव, द्वारिकानाथ ढुंगेल, प्रा.डा. नरेन्द्रराज खनाल, डा. पिताम्बर शर्मा, बैरागी काँईला, शान्ता श्रेष्ठ, सन्त बहादुर पुन, स्वनाम साथी, हिरण्य लाल श्रेष्ठ, प्रा.डा. त्रिरत्न मानन्धर, राजेन्द्र सुवेदी, शान्ता मानवी, पूर्व प्रधानन्याधीश सुशिला कार्की, सीमाविद् बुद्धि नारायण श्रेष्ठ, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ र डा. जगत कुमार भुषाल रहेका छन् ।
यसैगरी, नागरिक समाजका तर्फबाट सीमा बचाऊ अभियान, नक्शा समितिले सीमाविद् कोमल चन्द्र बरालले एक हप्ताभित्र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्शा तयार पारी विश्वव्यापी रुपमा उक्त नक्शा सार्वजनिक गर्ने जानकारी दिइएको छ ।
|
राप्रपा अध्यक्ष थापासँग अमेरिकाका विभिन्न सहरमा अन्तरक्रिया हुने वाशिंगटन डिसी । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा यतिखेर अमेरिका भ्रमणमा छन् ।
अमेरिकाको राजधानी वाशिंटन डिसीमा हुन गईरहेको ईन्टरनेशनल डेमोक्रेटिक युनियनको राजनैतिक सम्मेलनमा सहभागी हुन आएका राप्रपा अध्यक्ष थापासँग अमेरिकाका बिभिन्न सहरहरुमा अन्तरक्रिया कार्यक्रमहरु आयोजना हुने भएको छ।
राप्रपाको प्रवास संगठन प्रवासी नेपाली एकता समाजको डिसेम्बर १ तारिखमा बाल्टिमोरमा हुन गईरहेको अधिवेशनको अध्यक्ष थापाले उद्घाटन गर्नेछन् ।
डिसेम्बर २ तारिखमा टेक्सासको डल्लासमा अध्यक्ष थापासँग अन्तरक्रिया कार्यक्रममा राखिएको छ । डिसेम्बर ४ र ५ तारिख दुई दिन वाशिंगटन डिसीमा हुने ईन्टरनेशनल डेमोक्रेटिक युनियनको राजनैतिक संमेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी भएर अन्तर्राष्ट्रिय सम्मेलनलाई थापाले सम्बोधन गर्नेछन् ।
प्रतिनिधि मण्डलमा राप्रपाका सहायक महामन्त्री तथा प्रवास संघका प्रमुख प्रेमकुमार श्रेष्ठ र प्रवासी नेपाली एकता समाजका अध्यक्ष लोकनाथ तिवारी समाबेस छन् ।
अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुनकुमार कार्कीले पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापालाई वाशिंगटन डिसी स्थित राजदुत निवासमा सुटुक्क स्वागत गर्ने योजना रहेको कुरा दुतावास श्रोतले सुटुक्कै बतायो ।
यस अघि, वाशिंगटन डिसी नजिकै म्यारिल्याण्डको बेथेस्दा शहरको पाँचतारे होटलमा आयोजित एक भव्य समारोहमा राप्रपाको प्रवास संगठन तत्कालिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नै उद्घाटन गरेका थिए र सम्मेलनले लोकनाथ तिवारीलाई केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको थियो ।
|
हजारौं जनसमुदायको बीचमा भ्रमण वर्षको शुभारम्भ गर्ने मन्त्री भट्टराईको घोषणा काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औं हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आगामी जनवरी १ का दिन काठमाडौंमा ५० औं हजार जनसमुदायबीच सो भ्रमण वर्षको शुभारम्भ गर्ने घोषणा गरेका हुन् ।
सो भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न सात वटै प्रदेशमा पनि सो भ्रमण वर्षको शुभारम्भमा भव्य कार्यक्रम आयोजना गर्नेगरी तयारी भईरहेको पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दे मन्त्री भट्टराईले नेपालमा आउने पर्यटकहरुको संख्यालाई हेरेर सो भ्रमण वर्षको शुभारम्भ गर्न करिव ४० देशका पर्यटन मन्त्रीहरुलाई नियन्त्रणा गरिएको पनि स्पष्ट पारे ।
मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन आवश्यक तयारीको काममा सरकार केन्द्रित रहेको पनि बताए । सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन पनि सबैलाई आह्वान गर्दै आएको छ ।
|
टी–१०ः सुपर लिगको अन्तिम खेलमा आज पारस र सन्दीपको टिम भिड्दै काठमाडौं । युएईमा जारी टी–१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्का रहेको टिमबीच प्रतिस्पर्धा हुँदैछ ।
आबु धाबीस्थित शेख जायद स्टेडियममा सन्दीपको टिम कर्नाटका टस्कर्स र पारसको आबु धाबीबीच खेल हुनेछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।
प्रतिस्पर्धाका लागि मैदान उत्रँदा दुवै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । किनकी सुपर लिगमा दुवै टिमको प्रदर्शन खराब रहदै आएको छ । सन्दीपको टिम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । पारसको आबु धाबी भने ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
आबु धाबीविरुद्ध कर्नाटकाले सन्दीपलाई प्लेईङ सेटमा राख्ने प्रबल सम्भावना रहेको छ । किनकी सन्दीपले हरेक खेलमा उत्कृष्ट खेल्दै आएका छन् । यता, पारस भने सुरुवाती दुई खेलपछि टिम बाहिर रहदै आएका छन् । तर, कर्नाटकाविरुद्ध पारसले मौका पाउने सम्भावना रहेको छ ।
|
पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै हत्या गर्नेलाई जन्मकैद ओखलढुङ्गा । जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ ।
बिहीबार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए ।
दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै ०७५ साल भदौ ५ गते अपराह्न ४ बजे मोलुङ गाउँपालिका–३ स्थित कार्कीकै घरमा गएर खुकुरी प्रहार गरी उनलाई हत्या गरेका थिए ।
कार्कीको खुकुरी प्रहारबाट शरीरभरि चोट लागेको र अत्यधिक रगत बगेको अवस्थामा घरभित्रै शव फेला परेको थियो । हत्या गरेर भागेका आरोपितलाई प्रहरीले ०७५ साल भदौ १२ गते निजकै घरछेउ दाङको भालुवाङबाट पक्राउ गरेको थियो । भदौ १३ गते ओखलढुङ्गा प्रहरीले बुझेर १४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।
प्रहरीले क्रूर अमानवीय तवरले यातना दिएर हत्या गरेको कसुरमा आजीवन कारावासको सजाय माग दाबी गरे पनि क्रूर तरिकाले यातना दिएर हत्या नगरेको, आरोपितले अभियोग स्वीकार गरेको देखिएकाले जन्मकैद (२५ वर्ष) कर्तव्य ज्यानमा कसुर ठहर भई सजाय तोकिएको अदालतले जनाएको छ । अनुसन्धानका क्रममा थापाले अभियोग स्वीकार गरेका थिए भने आवेशमा हत्या गरेको बयान दिएका थिए ।
|
जनताको सेवक बन्छु : विद्या भट्टराई पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ मा मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले आफू सामन्तवादको पृष्ठपोषक नभई जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
चुनावी घरदैलोका क्रममा पोखरा–३३ ठूलढुङ्गा, कसेरी, आपुभञ्ज्याङ, मालागिरी क्षेत्रमा भएको छुट्टाछुट्टै चुनावीसभामा उनले जनताको सुख दुःखसँगै रहने बताइन् । समाजका पिछडिएका वर्गलाई आर्थिकरुपमा सवल बनाउन सकेमात्र समृद्धि सम्भव हुने उनको भनाइ थियो ।
स्व. रवीन्द्र अधिकारीका अपूरा सपनालाई पूरा गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको स्मरण गर्दै उनले पार्टी र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औँल्याइन् ।
राजनीतिक एजेण्डामा तार्किक बहस गरेर देश विकासमा साझेदारी गर्ने राजनीतिक संस्कारको अहिले आवश्यकता भएको भट्टराईले उल्लेख गरिन् ।
उनले सबैको विचार र अधिकारलाई सम्मान गर्दै आफु राजनीतिमा अघि बढ्ने उल्लेख गरिन् । सो अवसरमा नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले नेकपाको सरकारले दण्डहीनता, अनियमितता र भ्रष्टाचारविरुद्ध कुनै सम्झौता नगर्ने बताए ।
कास्की–२ मा पोखरा–४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडामा भूमिहिनको बसोबास रहेको नेकपा कास्कीका सदस्य ओम पौडेलले जानकारी दिए । रासस
|
गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार डोल्पा । उपल्लो डोल्पाबाट गर्भवतीको आज हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।
शे–फोक्सुण्डो गाँउपालिका–८ रिग्मोकी ३० वर्षीया टसीमिन्डित रोकायाको उद्धार गरिएको हो ।
सुत्केरी हुन नसकेपछि रोकायाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत क्षेत्रीय अस्पताल लगिएको स्थानीयवासी आङबहादुर लामाले जानकारी दिए ।
तीन दिनदेखि सुत्केरी ब्यथाले थला परेकी रोकायाको बच्चा जन्माउन नसक्ने अवस्था देखिएपछि सुविधा सम्पन्न अस्पताल लैजान हेलिकप्टरको सहारा लिनुपरेको उनका श्रीमान् पूर्वातुण्डुप बैजीले बताए ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट उनको उद्धार गरिएको हो । यस साता फोक्सुण्डोको रिग्मोबाट दुई गर्भवतीको उद्धार गरिएको थियो । रासस
|
अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको छ : प्रधानमन्त्री ओली काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग नेपालको सीमा विवाद शदियौँदेखि रहेकाले सीमा विवाद समाधान गर्नतिर सरकार लागेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज यहाँ मन्त्रिपरिषद्का सदस्य र सचिवलाई निर्देशन दिँदै उनले भारतसँग मिचिएको भूमि संवाद गरी फिर्ता लिइने बताए ।
‘अहिले नयाँ शिराबाट कालापानी, लिपुलेक, लिम्पियाधुराका कुरा उठेका छन्’, उनले भने, ‘त्यो हाम्रो भूमि हो । तथ्य प्रमाणले हाम्रो भूमि भनेर देखाउँछ ।’ उनले सयौँ वर्षदेखि त्यसमा ध्यान नजाँदा नेपालको त्यो भूमि भारतले दाबी गरेको बताए ।
‘हामी कहिले सिमानामा चिप्लियौँ । हामी आफैँ पनि चिप्लियौं, कहिले हामी आफैँ पनि नक्सामा चिप्लियौँ । कहिले बोल्न नसक्ने हीनगन्थ्रीबाट ग्रस्त भयौँ । यस्ता अवस्थाबाट अहिले देश माथि उठेको छ’, उनले भने, ‘अब यसलाई गम्भीर वार्ताको माध्यमबाट हामी हाम्रा छिमेकीसँग कुरा गरेर हामीले हाम्रो अधिकार स्थापना गर्छौं । हामी हाम्रो भूमि फिर्ता लिन सक्छौँ ।’
उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तासम्बन्धी विवादको समाधानबाट नेपाल र भारतजस्ता दुई पुराना ऐतिहासिक छिमेकीको सम्बन्ध सुमधुर र राम्रो हुने भनाइ राखे । उनले न्यायसंगत र न्यायको स्वीकारोक्तिसँग सम्बन्धित भएकाले पनि उक्त भूमि नेपालको रहेकाले पाइने बताए ।
‘यो विवाद समाधान गरेर दुवै देशको इज्जत, प्रतिष्ठा माथि उठ्ने छ, भारत ठूलो देश भएकाले सानो देशलाई मिच्यो हेप्यो भन्ने अफवाहबाट मुक्त हुने छ, भारत साँच्चिकै महान् रहेछ भन्ने देखाउने छ’, उनले भने, ‘हामीले साँच्चै आफ्नो भूमि फिर्ता पायौँ भने हामी पनि खुशी हुने छौँ । मलाई विश्वास छ हामीले संवादको माध्यमबाट भूमि फिर्ता लिन सक्छौँ ।’
उनले नयाँ शिराबाट सीमा विवाद उठेकाले राम्रो भएको भन्दै लिम्पियाधुराबाट निस्केको महाकाली नदी नै वास्तविक सीमा रहेको बताए । उनले भने, ‘महाकालीको उद्गम लिम्पियाधुरा हो । पानी र सम्बन्धित सिद्धान्तले त्यही भन्छ । हामीले विगतमा गरेको जनगणना र जग्गाको नापजाँच पासले पनि त्यो भू–भाग हाम्रो हो । बीचमा हाम्रो भू–भाग छुटेको मात्र हो ।’
उनले छुटेको उक्त भूमि वार्ताका माध्यमबाट र तथ्यका आधारमा फिर्ता लिनका लागि कूटनीतिक प्रयास अगाडि बढाइएको समेत बताए ।
चार दिनभित्र प्रतिवेदन माग
उनले विकास निर्माणका काममा मन्त्रालयबीच समन्वय र सहकार्य हुनुपर्छ भन्दै मन्त्रीमन्त्रीबीच झगडा नभई राम्रो सम्बन्ध हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयलाई आफ्नो मातहतका कामको स्थितिबारे चार दिनभित्र प्रतिवेदनसमेत तयार गर्न निर्देशन दिए ।
‘पहिले सडक पिच गर्ने, अनि पोल गाड्ने, अर्को निकाय सडक भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने, अब यस्तो चल्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘भत्काउनु अघि कहिलेसम्म निर्माण भइ सक्छ, स्पष्ट योजना बनाउनुपर्यो । अब हरेक मन्त्रीले विकासमा सहकार्य मात्रै होइन सहउपयोगको नीति अपनाउनुपर्यो ।’ उनले मन्त्री र सचिवबीचको तालमेलसमेत नमिलेकाले मिलाउन आग्रह गरे ।
अब विकासका निम्ति व्यवधान भएका पद्धति अन्त्य भएको उल्लेख गर्दै उनले आफूहरुले अनुगमन गरिरहेकोले तलमाथि भए कारवाहीसमेत गर्ने जानकारी दिए । उनले पहिलो चौमासिकको पूँजीगत खर्चमा गत वर्षभन्दा राम्रो प्रगति नभएकाले सुधार गर्नुपर्ने बताए ।
‘हामी गत वर्षको अनुभवबाट अझ अगाडि बढ्नुपर्नेमा पहिलो चौमासिक खर्च हेर्दा झन् पछाडि धकेलिएका छौँ’, उनले भने, अब दोस्रो चौमासिकमा पहिलो जस्तो हुनुहुँदैन । दोस्रो चौमासिक लक्ष्य, योजनालाई हेरेर पहिलो चौमासिकले पूरा गर्न नसकेका काम पूरा गर्नुपर्छ ।’
उनले आगामी फागुनमा गरिने दोस्रो चौमासिकमा पहिलो चौमासिकका कमजोरीलाई हटाउँदै न्यूनतम ५० प्रतिशत पूँजीगत खर्च हुने गरी अगाडि बढ्न जरुरी रहेको धारणा राखे । ‘दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौँ उपत्यकाका कुनै पनि सडक बन्न बाँकी छन्, कतै खाल्डा छन् भन्ने देखिनु हुँदैन’, उनको भनाइ थियो, ‘विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्नु स्वभाविक हो, जहाँ निर्माण कार्य भइरहेको छैन, त्यहाँ धुलो उड्नु हुँदैन ।’
विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्यो भनेर गाली गर्ने प्रवृत्ति काम अघि बढ्दा स्वतः हट्ने प्रधानमन्त्रीको भनाइ थियो । निर्माणाधीन प्रधानमन्त्री निवासको भवनतर्फ लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले म आफैँ धुलो उड्ने ठाउँमा बसेको छु, निर्माण भइरहेका बेला धुलो उड्छ भन्ने मलाई थाहा छ तर जहाँ निर्माण कार्य भइरहेको छैन त्यहाँ धुलो उड्नु भएन, प्रधानमन्त्री बसेको ठाउँ होस् वा अरु कोही बसेको ठाउँ होस् ।’
उनले हाम्रा देशभक्ति र गरिमाको रक्षा, हाम्रा लोकतन्त्रसम्बन्धी प्रयास, सामाजिक न्याय र समानताका पक्षका नीति, दृष्टिकोण, भावी योजना र विकासका प्रतिबद्धता हामीले लिएको बाटाले गर्दा हामीले अन्तर्राष्ट्रियस्तरमा पहिचान र प्रतिष्ठान वृद्धि गरेको बताए ।
उनले मुलुकलाई आधुनिक र विकसित स्थितिमा पुर्र्याउन जरुरी रहेको औँल्याउँदै जनताका काम अविलम्ब रुपमा पूरा गर्नुपर्नेमा जोड दिए । हामी जनताका सेवक भएकाले सेवा प्रवाहलाई प्रभावकारी रुपमा लैजानुपर्ने उनले बताए ।
जनतामा भ्रम फिँजाउँदा र सरकारका कामप्रति जनतालाई जानकारी नगराउँदा असन्तुष्टि जन्मिएको हो भन्दै त्यस्ता भ्रम र अन्योललाई मन्त्रीहरुले चिर्नुपर्नेमा जोड दिए । रासस
|
सिरहामा दुई थान पेस्तोलसहित पक्राउ सिरहा । कल्याणपुर नगरपालिका २ चतरीघाटबाट स्वचालित पेस्तोल २ थान र खाली म्याग्जिन २ थान सहित सोही नगरपालिका ३ बस्ने २१ वर्षीय अहमद मियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा ७ एमएम र ९ एमएम गरी २ थान स्वचालित पेस्तोल र सोही पेस्तोलमा लाग्ने म्याग्जिन २ थान सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
|
नेपाली भू-भाग भारतलाई सुम्पन नदिन सबै गम्भीर भएर लाग्नुपर्छ : बिजुक्छे काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कुनै पनि हालतमा नेपाली भूभाग भारतलाई सुम्पन नदिन सबै गम्भीर भएर लाग्नुपर्ने बेला आएको बताएका छन् ।
नेमकिपाले मङ्सिर १४ गते हुने उपनिर्वाचनको प्रचारप्रसारको क्रममा आज चाँगुनारायण नगरपालिका–३ न्यौपाने गाउँ झौखेलमा आयोजना गरेको चुनावीसभामा उनले नेपाली भूमि फिर्ता गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।
आगामी उपनिर्वाचनमा देशद्रोहीलाई परास्त गर्नुपर्छ भन्दै अध्यक्ष बिजुक्छेले नेपाललाई टुक्र्याउन भारतले विगतमा माओवादीलाई ‘ट्रोजनहर्स’को रूपमा तयार पारेकोसमेत आरोप लगाए ।
नेमकिपालाई दिएको मत कहिल्यै खेर जाँदैन भन्दै उनले प्रमुख प्रतिपक्षको भूमिका फितलो रहेका कारण देश अप्ठ्यारो स्थितिमा पुगेको जिकिर गरे । कार्यक्रममा नेमकिपा केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले सुगौली सन्धिबाट नेपालको सीमा लिम्पियाधुरासम्म स्पष्टरूपमा कायम भएको बताउँदै देशको ९६१ ठाउँमा सीमा अतिक्रमण भएको बताए ।
नेमकिपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद अनुराधा थापामगर, प्रदेश नं ३ का प्रदेशसभा सदस्यद्वय सुरेन्द्रराज गोसाईं र सिर्जना सैंजूले झुटको पुलिन्दा बोकेर तथा आश्वासनका पोका बाँडेर चुनाव जित्ने सोच बनाइरहेकालाई मतदानबाट जनताले परास्त गर्नुपर्ने धारणा राखे ।
नेमकिपाको तर्फबाट भक्तपुर प्रदेश १ ‘क’ का उम्मेदवार नीरज लवजूले निर्वाचनमा बाँड्ने झुटो आश्वासन र प्रलोभनमा भन्दा पनि वास्तविकता बुझेर जनताले मतदान गर्नुपर्ने बताए । रासस
|
महिला हिंसा र बालविवाह अन्त्यका लागि काम गर्छु : मन्त्री गुरुङ काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा, बाल विवाहजस्ता सामाजिक विकृतिका अन्त्यका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उनले महिला हिंसा र बालविवाह रोक्न सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने खालका कार्यक्रमलाई आफूले प्राथमिकता दिने योजना ल्याउने बताए ।
उनले पदभार सम्हालेलगत्तै बालविवाह अन्त्य हुने गरी दुई महिनाभित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रस्ताव पनि स्वीकृत गरे । महिला र बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न सो प्रस्तावलाई अघि बढाउने गरी कार्ययोजना तय गर्न सो प्रस्ताव स्वीकृत गरेका हुन् ।
मन्त्री गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानूनको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
|
जनताले बोकाइदिएको भारी सही ठाउँमा पुर्याएर बिसाउँछु : खेमराज पौडेल पोखरा । कास्की क्षेत्र नं २ का नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले जनताले बोकाइदिएको भारी उचित ठाउँमा पुर्याएर बिसाउने बताएका हुन् ।
पोखरा–१६ मा आज आयोजित सभामा जनताकै लागि ६० वर्ष राजनीति गरेको भन्दै उनले अबको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने दाबी गरे । आफूलाई लोभ, लालसा र मोह केही नभएको भन्दै उम्मेदवार पौडेलले देश र जनता सबैभन्दा माथि हुने बताए ।
उक्त अवसरमा नेता धनराज गुरुङले त्यागी, इमान्दर र निष्ठावान व्यक्तित्व खेमराज पौडेललाई जिताउँदा पोखरेलीको इज्जतमा बढोत्तरी हुने धारणा प्रकट गरे ।
यसैबीच, उम्मेदवार पौडेल, नेता गुरुङलगायतले पोखरा–१६, जोगिमणीस्थित रनबहादुर गुरूङको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् । रणबहादुर गुरुङको ९७ वर्षको उमेरमा केही दिन अघि निधन भएको थियो ।
स्व. रणबहादुरका छोराहरू योगबहादुर र रुनबहादुर गुरुङका साथै परिवारजनलाई भेटेर पौडेलले समवेदना प्रकट गरेका हुन् । रासस
|
पीडितलाई न्याय दिन ढिलाइ गर्ने पक्षमा छैन : प्रचण्ड काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायलाई छिटै निष्कर्षमा पुर्याउने बताएका छन् ।
द्वन्द्वपीडित साझा चौतारीले आज विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले शान्ति प्रक्रियाको अन्तिम चरणको काम छिटै नै टुङ्ग्याउने स्पष्ट पारे ।
‘जनयुद्वको नेतृत्व मैले नै गरेको हुँ, राम्रो काम र नराम्रो कामको जिम्मा मैले नै लिनुपर्छ’, अध्यक्ष प्रचण्डले भने, ‘द्वन्द्वमा गम्भीर प्रकृतिका अपराध गर्नेलाई कारवाही गर्नुपर्छ, म पनि त्यो जिम्मेवारीबाट पन्छिन पाउँदिन, पीडितले मलाई मरेपछि पनि छाड्ने छैनन् ।’
उनले शान्ति प्र्रक्रियालाई लम्ब्याइरहन आफूलाई पनि मन नभएको उल्लेख गर्दै विस्तृत शान्ति सम्झौतामा छ महिनामा निष्कर्षमा पुर्याउने भनिए पनि संविधान लेखन र तत्कालीन माओवादीका सेना समायोजन कार्य मुख्य भएर आउदा पीडितलाई न्याय दिने काममा ढिलाइ भएको स्वीकार गरे ।
अध्यक्ष प्रचण्डले नेपालमा काम गर्दा काम गर्न ढिलाइ भए पनि कामहरु पूर्णरूपमा सम्पन्न गर्ने गरी गरेको र द्वन्द्वको एउटा काम पीडितलाई न्याय दिनेमा ढिलाइ नहुने बताए ।
‘शान्ति प्रक्रियाको अन्तिम कामलाई लम्ब्याउनुपर्छ भन्ने लागेको छैन, त्यो सोचेको पनि छैन’, उनले भने, ‘यो कुराले मलाई घोचेको छ, चिमोटेको छ, तन्काउने रहर छैन, अबको मुख्य काम यही हो ।’ अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको आदेशानुसार ऐन संशोधन गर्ने र ऐन संशोधन गर्दा सातै प्रदेशमा गएर पीडितहरुसँग सुझाव लिने तयारी रहेको सुनाए ।
उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले छ महिनाभित्र काम सक्ने प्रतिवेदन बुझाएको हुनाले केही पदाधिकारी दोहोरिन सक्ने भए पनि सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूरै नयाँ पदाधिकारी ल्याउने वचन दिए । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संक्रमणकालीन न्यायलाई छिटो टुङ्ग्याउनुपर्ने बताए ।
नेकपाका अध्यक्ष प्रचण्डलाई देखाउँदै नेता नेपालले भने, ‘यस प्रक्रियालाई निष्कर्षमा पुर्याउन तपाईँ ताप्के हो, तात्नुस्, म सहयोग गर्न तयार छु ।’ उनले द्वन्द्वको अन्तिम चरणको कामलाई छिटो टुङ्ग्याउँदा नै मुलुकको हित हुने उल्लेख गरे ।
नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले द्वन्द्वकालीन समस्या समाधान गर्नु दलहरुको मात्र नभई राष्ट्रको सामूहिक दायित्व भएको हुँदा सामूहिक प्रयास र प्रयत्नबाट निष्कर्षमा पुर्याउनुपर्ने बताए । उनले मुलुकमा राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि दलहरु क्रियाशील र एकजुट भएजस्तै सबैले मिलेर द्वन्द्वको पीडा समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मानवअधिकारवादी तथा द्वन्द्वपीडितहरुले द्वन्द्वको घाउले लामो समयसम्म पिरोलिरहेको हुँदा चाँडो न्याय दिन दलहरु तत्पर रहनुपर्नेमा जोड दिएका थिए । रासस
|
जिल्ला समन्वय समितिका प्रमुखको निधन पाल्पा । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको आज निधन भएको छ ।
उनको काठमाडौँस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।
युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार गराइरहेका बस्यालको फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।
विसं २००९ मा बगनासकाली गाउँपालिका–६ यम्घा थामडाँडामा जन्मेका बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेश कमिटी सदस्यसमेत रहेका बामपन्थी नेता बस्याल नेकपा जिल्ला कमिटीका प्रमुख र किसान सङ्घका केन्द्रीय सदस्यसमेत बनेका थिए ।
बस्यालको शुक्रबार पाल्पामा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् । रासस
|
सरकार जनताभन्दा कम्युनिष्टका कार्यकर्ताप्रति वफादार देखियो : महर काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं नेबिसंघका पूर्व अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार आम जनताका भन्दा पनि कम्युनिष्ट पार्टीका संगठित सदस्यहरुप्रति वफादार भएको बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुरले नगरकोटको तेल्कोटमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै महरले भने, ‘जनताका दैनिक उपभोग्य सामग्रीहरुमा तीन सय प्रतिशत बढी मूल्य बृद्धि भएर जनता आजित भैसकेका छन् ।’
महरले सुन काण्ड, निर्मला काण्ड, सिण्डिकेट काण्ड, वाईडवडी जहाज काण्ड, वालुवाटार जग्गा काण्ड हुँदै सभामुख काण्डसम्ममा नेकपा पार्टी र ओली नेतृत्वको सरकार निर्लज्ज तरिकाले संलग्न भएको आरोप लगाए ।
उनले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत थुप्रै स्थानमा दुवै छिमेकी राष्ट्रले भूमि मिच्दा समेत कम्युनिस्ट सरकारले ठोस कदम नचाली मुक दर्शक देखिनु राष्ट्रिय अस्मितामाथिको खेलबाड भएको बताए ।
|
मतदाताको भावनाअनुसार काम गर्छु : रजनी केसी कास्की । कास्की क्षेत्र नं २ का साझा पार्टीका उम्मेदवार रजनी केसीले मतदाताको भावनाअनुसार आफूले काम गर्ने बताएकी छन् ।
बुधबारदेखि पोखरा–१५ मा उपनिर्वाचनलाई लक्षित गर्दै भइरहेको घरदैलो कार्यक्रममा ‘मत बदलौँ, मन बदलौँ’ भन्दै केसीले जनभावनाअनुरूप आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
घरदैलो कार्यक्रम लिएर कास्की–२ को विभिन्न वडामा पुग्दा मतदाताले निकै उत्साह थपेको उनको भनाइ थियो । परिवर्तनको संवाहक बनेर देशका लागि अब वैकल्पिक शक्तिको रूपमा साझा पार्टी रहेको उनले बताइन् ।
पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले जनताले विकल्प खोजेको भन्दै अब साझा पार्टीबाट देश विकास सम्भव हुने धारणा राखे । उनले साझा पार्टी भ्रष्टाचारविरुद्ध देश विकास र राष्ट्र हाँक्ने नेतृत्व लिन चुनावी मैदानमा होमिएको प्रष्ट पारे ।
चुनावको समयमा प्रलोभनमा पारेर मत बदल्ने चलखेल गर्ने परिपाटी रहेकाले स्वतन्त्र भएर मत खसाल्न उनको आग्रह थियो । आज पोखरा–१७ मा घरदैलो कार्यक्रम गरिने पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले जानकारी दिए ।
|
सरकारद्वारा भारत–चीन दुवै मुलुकमा सीमा निरीक्षण समिति गठन काठमाडौं । सरकारले भारत र चीन दुवै मुलुकमा रहेका सीमा विवाद हल गर्न सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रीपरिषद बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दुवै मुलकमा रहेका सीमा विवाद हल गर्ने ‘नेपाल–भारत’ तथा ‘नेपाल–चीन’ सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।
त्यसैगरी सरकारले कलंकी–थानकोट–नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाहरुको सुरुङ मार्गको फ्लाईओभरका लागि आवश्यक पर्ने ११ दशमलव ८ रोपनी जग्गा र ४७ वटा घर टहरा अधिग्रहण गर्न स्वीकृति पनि दिएको सरकारका प्रवक्ता बास्कोटाले बताए ।
त्यसैगरी मंसिर ३ गते बसेको मन्त्रीपरिषद बैठकले नेपाल सरकार र रुसी महासंघबीच आपतकालीन पूर्व तयारी तथा प्रतिकार्यको क्षेत्रमा सहकार्य सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति पनि दिएको छ ।
|
उपनिर्वाचन २०७६ : साँझ ६ बजेपछि चुनाव प्रचार गर्न नपाइने चितवन । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा साँझ ६ बजेपछि प्रचारप्रसार गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनको अह्वानमा बसेको सर्वपक्षीय बैठकले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मात्र प्रचारप्रसार गर्न दिने निर्णय गरेको हो ।
सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको अध्यक्षतामा बसेको बैठकले उपनिर्वाचनलाई सुरक्षित र भयरहित बनाउनका लागि प्रचारप्रसारको समयावधि निर्धाण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बस्नेतले उपनिर्वाचनका लागि लागू भएको निर्वाचन आचारसंहितालाई सबै पक्षले पूर्णरूपमा परिपालना गर्ने र गराउने निर्णय भएको बताए ।
यस्तै बैठकले उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारमाध्यमलगायत सबै पक्षबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने निर्णय गरेको प्रजिअ अधिकारी बस्नेतले जानकारी दिए ।
जिल्ला सुरक्षा समितिले निर्वाचन सम्पन्न हुने वडाहरुको उम्मेदवार, मतदानस्थल, मतदान सामग्रीको सुरक्षा एवं मतदाताको मताधिकार सुरक्षणका लागि आवश्यक पर्ने सबै किसिमका सुरक्षा व्यवस्था मिलाई भयरहित वातावरण निर्माण गर्ने जनाएको छ ।
चितवनमा भरतपुर महानगरपालिका वडा नं १६, खैरहनी नगरपालिका वडा नंं ४ र ५ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचनमा पाँच राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा रहेका छन् । रासस
|
समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : मन्त्री ढकाल काठमाडौं । नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पुर्याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताएका छन् ।
आज मन्त्रालयमा पदभार ग्रहण गर्दै गुणस्तरीय स्वास्थ्य सेवा जनतालाई सुलभरूपमा प्रदान गर्न अझ ध्यान दिएर काम कर्मचारीलाई निर्देशन दिए ।
उनले आफूले मन्त्रालयको जानकारी लिएपछि अस्पतालका बारेमा स्थलगतरूपमा जानकारी लिने जानकारीसमेत दिए ।
यसअघि उनी कानून न्याय तथा संसदीय मामिलामन्त्री थिए । बुधबार मन्त्रिपरिषद् पुनर्गठित हुँदा यसअघिका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्राललयको जिम्मेवारी पाएका छन् ।
आज नै नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले आफ्नो पदभार ग्रहण गरे ।
सो अवसरमा मन्त्रालयका सचिव खगराज बरालले नवनियुक्त मन्त्री ढकाल र राज्यमन्त्री रावतलाई स्वागत गर्दै मन्त्रालयको समग्र नीति तथा कार्यक्रमका बारेमा संक्षिप्त जानकारी दिएका थिए ।
|
दिगो र सुरक्षित निर्माण गर्न विज्ञको सुझाव काठमाडौं । समयमै र गुणस्तरीय निर्माण हुन नसकेकोमा आक्रोश बढिरहेका बेला नेपालसहित अन्य १३ मुलुकका विज्ञहरुको सम्मेलनले १२ बुँदे काठमाडौं घोषणा पत्र जारी गरेको छ ।
स्क्याफले तीन दिनसम्म काठमाडौंमा आयोजना गरेको उज्जवल भवियका लागि उत्थानशिल निर्माण विषयक सम्मेलनमा सहभागि विज्ञहरुहरुले खुल्ला प्रतिस्पर्धाका नाममा अति न्यून रकममा ठेक्का दिने व्यवस्था कानूनतः अन्त्य गर्न सुझाव दिएका छन् ।
उनीहरुले काम गर्नसक्ने दररेटमा प्रतिस्पर्धा गर्नुपर्ने र व्यवसायीक संस्थाहरुले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत कम्तिमा एक प्रतिशत रकम उत्थानशिल संरचना निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।
विज्ञहरुले निर्माण क्षेत्रमा दक्ष कामदारको उत्पादन, निर्माणका प्रत्येक चरणमा सबै सरोकारवालाको सार्थक सहभागिता र नेपालका ठूला आयोजनामा नेपाली परामर्शदाता तथा निर्माण व्यवसायीलाई संलग्न गराउनसके उत्थानशील संरचना निर्माण हुनसक्ने दावी गरेका छन् ।
नेपालले गोर्खा भूकम्पपछि सिकेका अनुभवलाई विश्व समुदायसम्म पुर्याउन आवश्यक रहेको सम्मेलनका सहभागिहरुको जोड दिइरहेका बेला राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीले धरहरा पुर्ननिर्माणसँगै भूकम्प संग्रहालय बनाउने तयारी गरिरहेको जानकारी दिए ।
उनले विश्वविद्यालय तहमा छुट्टै अनुसन्धान केन्द्रको स्थापना समेत गर्न लागिएको बताए ।
तीन दिनको सम्मेलन उत्थानशिल संरचना निर्माण, यसका चुनौति, जारी प्रयत्न, नविनतम प्रविधि र पुरातत्व संरक्षण लगायतका विषयमा केन्द्रित रहेर विज्ञहरुका कार्यपत्र प्रस्तुति रहेको स्क्याफका महासचिव कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।
स्क्याफको २९ औं बार्षिकोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकास्थित नेपाली इन्जिनियरहरुको संस्था र सिईएआईसँग स्क्याफले छुट्टा छुट्टै सम्झौता गरेको सम्मेलन व्यवस्थापक ठाकुर प्रसाद शर्माले जानकारी दिए ।
सम्मेलनको समापनमा समारोहमा स्क्याफका अध्यक्ष राजेश थापाले घोषणापत्रको कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुने अपेक्षा गरे । सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गरेका थिए ।
|
निजामती क्षेत्रमा नीतिगत र संरचनागत समस्या छ : मन्त्री त्रिपाठी काठमाडौं । नवनियुक्त सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती क्षेत्रमा नीतिगत र संरचनागत समस्या रहेकाले त्यसलाई हल गर्दै कर्मचारी प्रशासनलाई चलायमान बनाउने बताएका छन् ।
आफ्नो मन्त्रालयमा आज कार्यभार सम्हाल्दै मन्त्री त्रिपाठीले कर्मचारी समायोजनमा मनोवैज्ञानिक समस्या रहेको बताउनुभयो । मन्त्री त्रिपाठीले भने, ‘निजामती ऐन विचाराधीन छ, त्यो टुङ्गिएपछि धेरै कुरालाई निर्धारण गर्छ, विशेष गरी तीन तहको सरकारको बीचको अन्तरसम्बन्धका केही विषय जोडिएको छ, केही कानूनी झमेला छ र केही कानून संशोधन गर्नुपर्ने छ, सबैलाई तारतम्य मिलाएर अगाडि बढ्नुपर्छ ।’
सहमतिमा विश्वास गर्ने भएकाले आफूले अन्य राजनीतिक दलसँग पनि छलफल गरेर उचित निर्णय लिने मन्त्री त्रिपाठीले बताए । उनले एउटै सरकारको निरन्तरता भएकाले मन्त्री परिवर्तन भएर केही फरक नपर्ने विचार व्यक्त गर्दै विगतदेखि सांसदको हैसियतमा पनि मन्त्रालयका गतिविधि नियालिरहेको बताए ।
आर्थिक अनुशासनसँग जोडिएको महत्वपूर्ण पक्ष स्थानीय तहका महालेखाको प्रतिवेदन कसरी निकाल्ने भन्ने व्यवधान रहेको उनको भनाइ थियो ।
स्थानीय सरकारमा जनप्रतिनिधि नयाँ भएका र कार्यालय सञ्चालनमा पनि अनुभव कम भएका कर्मचारी रहेकाले केही समस्या देखिएको जिकिर गर्दै उनले जबरर्जस्ती गएका आधा मनले काम गर्ने अवस्था रहँदा अनुशासन अनुकूल काम नभएको बताए ।
‘यसमा कोही पनि दोषी चाही छैन, पारदर्शीतालाई संस्थागत र संरचना रुपमा लैजानुपर्छ, केन्द्रले स्थानीय तहलाई थिच्न खोज्यो भन्ने होइन’, मन्त्री त्रिपाठीले थपे । हाल उक्त मन्त्रालयले ७५३ वटै पालिका भवन निर्माणका लागि कार्यविधि बनाएको र पालिकाबाट पालिका जोड्ने सडक योजनासमेत अघि सारेको जनाएको छ ।
मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले चार हजार किलोमिटर सडक निर्माण गर्नुपर्ने अवस्था रहेको मन्त्री त्रिपाठीलाई जानकारी दिएका थिए । कर्मचारीको समायोजन पूर्ण नभएको, पालिकामा कर्मचारी सबै स्थानमा नगइसकेकाले त्यो चुनौती कायम रहेकाले त्यसलाई हल गर्न सकिए मन्त्रालय सहज रुपमा अघि बढ्ने सचिव कोइरालाले बताए । रासस
|
मन्त्री नेम्वाङले भौतिक पूर्वाधारलाई तीव्रता दिने काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध नेपाल निर्माणसँग जोडिएको आफ्नो मन्त्रालयका काम कारवाहीलाई गति प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
आजदेखि कार्यभार सम्हालेका मन्त्री नेम्वाङले विगतका कमिकमजोरीलाई सच्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मन्त्रालयले जोड दिने बताए ।
मन्त्रालयमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै उनले उपयुक्त नीति बनाउने, भएका नीति तथा कार्यक्रमलाई अगाडि बढाउने र समस्याको समाधानमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौँलगायत विभिन्न क्षेत्रमा धुलो उड्ने, कालोपत्र उप्कनेलगायतका विविध समस्या यथावत रहेको आफूलाई जानकारी रहेकाले छिट्टै तिनको समाधानमा लाग्ने जनाउँदै मन्त्री नेम्वाङले सडक, रेल र यातायात विभागले गरेका काम कारवाहीका विषयमा अध्ययन गरेर उचित निर्णय लिने धारणा व्यक्त गरे ।
उनले भने, ‘जलमार्गका केही नीति बनिसकेका छैनन्, रेलमार्गका कुरा केही बन्दै गरेको छन् । राष्ट्रिय महत्वका योजना छन्, यी सबै काम द्रुत गतिमा लैजानु जरुरी छ ।’ मन्त्री नेम्वाङले विगतभन्दा धेरै कुराहरु सुधार आएको दाबी गर्दै त्यसलाई अझै तीब्रता दिने बताए ।
मन्त्रालयले धेरै रेकर्ड तोडेको छ : महासेठ
मन्त्रालयमा आज आयोजित कार्यक्रममा निवर्तमान मन्त्री रघुवीर महासेठले २० महिना आफूले मन्त्रीको हैसियतमा काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै मन्त्रालयले धेरै रेकर्ड तोडेको दाबी गरे ।
विगतमा एक वर्षमा ७२ वटाभन्दा बढी पक्की पुल बन्न नसकेकामा २०७४/७५ मा ८६ वटा बनेको जानकारी दिँदै उनले गत २०७५/७६ को असार १८ गतेसम्ममा २४३ वटा पुल बनिसकेको जानकारी दिए ।
महासेठले यस वर्ष ३०० वटा पुल निर्माणको लक्ष्य रहेको बताए । उनले मन्त्री नेम्वाङको कार्यकालमा आफूले बनाएको रेकर्ड तोड्ने विश्वास व्यक्त गरे ।
पहिले एक वर्षमा ६०० किलोमिटर मात्रै कालोपत्र हुने गरेकामा आव २०७४/७५ मा ९४५ किलोमिटर बनाएको र अहिले ९८८ किलोमिटर बनाउने योजना रहेकामा असारसम्ममा एक हजार किलोमिटर कालोपत्र भइसकेको बताए ।
उनले रेल्वे फागुन ७ गते सञ्चालन गर्ने सोच बनाइसकेको जानकारी गराउँदै नयाँ मन्त्रीले त्यो काम अघि बढाउने विश्वास व्यक्त गरे ।
पानीजहाजमा पनि नयाँ फड्को मार्ने क्रममा रहेको उनले बताए । यो वर्ष काठमाडौँ उपत्यकालाई केन्द्रित गरेर कार्यक्रम अघि बढाएको जानकारी उनले दिए । रासस
|
आयात प्रतिस्थापनका उद्योग विकास र प्रवद्र्धनका लागि प्रतिवद्ध छु : मन्त्री भट्ट काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पुर्याउने उद्योगको विकास र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्रालयमा आज आयोजित स्वागत कार्यक्रममा मन्त्री भट्टले पार्टीको घोषणा पत्रमा उल्लेख गरिएका विषयवस्तुलाई कार्यान्वयनका लागि प्राथमिकता दिने बताउँदै मुलुकको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महत्वपुर्ण हुने बताए ।
जनतासँग जोडिएका सेवालाई छिटो, छरितो र गुणस्तरीय रुपमा उपलब्ध गराउनुपर्ने जोड दिँदै उनले जनअपेक्षालाई दृष्टिगत गरी कार्यसम्पादन गर्न निर्देशन दिए । राष्ट्रिय गौरबका रणनीतिक आयोजनालाई छिटो अगाडि बढाउने उहाँको भनाइ थियो ।
सोही मन्त्रालयका नवनियुक्त राज्यमन्त्री मोतिलाल दुगडले देशमा उद्योगको अवस्था खस्किदै गएको अहिलेको अवस्थामा उद्योगको विकास गरी आयात कम गरी व्यापार घाटा कम गर्नुपर्ने विचार व्यक्त गरे । रासस
|
चैत्र तेस्रो साता काठमाडौंमा ‘सगरमाथा संवाद’ कार्यक्रम हुने काठमाडौं । आगामी चैत्रको तेस्रो साता नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने भएको छ ।
‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयक शीर्षकमा नेपालमा पहिलो पटक आगामी चैत्र २०, २१ र २२ गते सो अन्तराष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सो कार्यक्रमबारे औपचारिक जानकारी दिँदै विश्वका उच्च राजनीतिक नेतृत्व, मुलुक र विज्ञहरुबीच जलवायु परिवर्तनको संकट समाधानका लागि यो अन्तरगत संवाद कार्यक्रम गर्न लागिएको स्पष्ट पारे ।
सो संवाद कार्यक्रमले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारण बनाउन सहयोग पुग्ने पनि सरकारले अपेक्षा लिएको मन्त्री ज्ञवालीको भनाई छ ।
सरकारले सो संवाद कार्यक्रमलाई सम्पन्न गर्न ‘सगरमाथा संवाद सचिवालय’ को पनि बुधबार नै स्थापना गरेको छ । सो संवाद कार्यक्रमलाई सफल बनाउन परराष्ट्रमन्त्री ज्ञवालीको अध्यक्षतामा २० सदस्यीय आयोजक समिति पनि गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री ज्ञवालीले संवाद आयोजनाका लागि सगरमाथा संवाद विशेष कार्य दल पनि गठन गरिएको बताए ।
|
‘राइड थ्रु सिन्धुलीगढी’ साइकल यात्रामा २०४ जना सहभागी हुने काठमाडौं । काठमाडौंबाट शुक्रबार सुरु हुने ‘राइड थ्रु सिन्धुलीगढी’ साइकल यात्राको तयारी पूरा भएको छ ।
साइकल यात्राको शुक्रबार बिहान पर्यटनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर परिषरबाट उद्घाटन गर्ने कार्यक्रम छ । समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष उल्लेख्य सहभागिता हुने भएको छ ।
राइड थ्रु सिन्धुलीगढीकी संयोजक दीपिका ज्ञवालीका अनुसार १६७ जना साइकलयात्री सहभागी हुने भएका छन् । त्यसमा पुरुष १ सय ४८ जना र महिला १८ जना हुनेछन् ।
यात्रामा सहयोगीसहित २ सय ४ जना सहभागी हुने उनले बताइन् । यस वर्ष संयुक्त राष्ट्र संघ र ब्रिटिस काउन्सिलले महिला साइकल यात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य भएको उनले बताइन् ।
संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको सम्पूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लिलानाथ घिमिरेले जानकारी दिए ।
समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रवद्र्धन गर्न चार वर्षदेखि राइड थु्र सिन्धुलीगढी आयोजना गर्दै आएको छ । राइड थ्रु सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए ।
यस वर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकल यात्रासँग जोडिएका छन् । आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष घिमिरेले भने, ‘हाम्रो साइकल यात्राले अन्तर्राष्ट्रिय पहिचान पाएको छ ।
यो नेपालीहरुका लागि गौरवको कुरा हो । संयुक्त राष्ट्र संघले लैङ्गिक विभेद बिरुद्धको १६ दिने अभियानकै सन्दर्भ पारेर यात्रामा महिला सहभागिता बढाउन साइकल यात्रीलाई प्रायोजन गरेको उनले बताए ।
यस वर्ष मंसिर ९ गते (नोभेम्बर २५) देखि लैंगिक विभेदविरुद्धको अभियान सुरु हुँदैछ । पहिलो वर्ष सिन्धुलीगढीसम्म लगिएको साइकल यात्रा दुई वर्षदेखि जनकपुरसम्म विस्तार गरिएको छ । यस वर्षको साइकल यात्रा मंसिर ६ गतेदेखि ९ सम्म ४ दिन हुने छ ।
साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सह–आयोजक रहनेछन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रवद्र्धनमा सघाउँदै आएको छ । साइकल यात्रामा अभियानले प्रदेश नम्बर ३ सँग सहकार्य गरेको छ ।
राइड थ्रु सिन्धुलीगढी साइकल यात्रालाई विश्व साइकलयात्री पुस्कर शाह र अर्का यात्री देवेन्द्र बस्नेतले नेतृत्व गर्नेछन् ।
अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु हुने साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, नेपाली सेना, नेपाल प्रहरी, विद्यालयहरुले साइकल यात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविरलगायतको व्यवस्था गरेर भव्य स्वागत गर्ने तयारी गरेका छन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिकाले मंसिर ७ गते साइकल यात्रीको स्वागतमा सुनकोशी महोत्सव गर्ने भएको छ । साइकल यात्री पहिलो दिन सिन्धुलीको मुलकोटमा बास बस्ने छन् । बास बसेको ठाउँमा सांस्कृतिक कार्यक्रम हुने छ । दोस्रो दिन साइकल यात्रीको स्वागतमा जुनार उत्पादन क्षेत्र सिन्धुलीको खनियाँखर्कमा जुनार महोत्सव हुने छ ।
त्यहाँ प्रदेश नम्बर ३ का पर्यटनमन्त्री अरुण नेपालले साइकल यात्रीको स्वागत गर्नुका साथै जुनार महोत्सवको उद्घाटन गर्नेछन् । त्यसपछि साइकल यात्रीले ऐतिहासिक सिन्धुलीगढी पुगेर त्यहाँका सम्पदाको अवलोकन गर्नेछन् ।
त्यहाँबाट सिन्धुलीमाढी झरेर साइकल यात्रीहरु सिन्धुली कला घरले गर्ने सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । तेस्रो दिन साइकलयात्री मिथिलाको सांस्कृतिक सहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोक संस्कृतिसहितको सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ २ नम्बर प्रदेश सरकारका उच्च अधिकारीहरुले साइकल यात्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
चौथो दिन बिहान जनकपुरमा स्थानीयसमेत १ हजार ५ सय साइकलयात्रीले नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ । काठमाडौंबाट झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर साइकल यात्री जनकपुरसम्म पुग्ने छन् ।
अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी हुँदै जोड्ने छ । राइड थ्रु सिन्धुलीगढीले पहाडलाई तराईंसँग र २ नम्बर प्रदेशलाई २ नम्बर प्रदेशसँग भावनात्मक रुपले जोड्ने विश्वास लिएको छ ।
तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रवद्र्धन गर्ने अभियानको योजना छ ।
|
ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका– १ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी भोटखोला गाउँपालिका–५ का २२ वर्षीय ट्र्याक्टर चालक मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ग १ त ४१६४ नं को ट्र्याक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको र घटनास्थलमै चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताए ।
तामाङको शब परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
|
विमानस्थलमा रहेको विमान नजिकै चट्याङ परेपछि… बीबीसी । न्यूजील्यान्डको क्राइस्टचर्च विमानस्थलको धावनमार्गमा रोकेर राखिएको एउटा विमाननजिकै चट्याङ परेको दृश्य एक प्रत्यक्षदर्शीले खिचेका छन्।
एमिरेट्स विमानसेवाको एअरबस ए ३८० अगाडि र चट्याङ पछाडि देखिने उक्त तस्बिर विमानस्थलमै रहेको एउटा हेलिकप्टरका चालकले स्थानीय समयानुसार अपराह्ण ३ः३० बजे खिचेका थिए।
उक्त कम्पनीले आफ्नो फेसबुक पेजमा आफ्नो झ्यालबाहिर त्यस्तो दृश्य देखिएको उल्लेख गर्दै तस्बिर प्रेषित गरेको छ। उसका अनुसार उक्त विमान हावाहुरी चलेका कारण धावनमार्गमै रोकिएको थियो।
न्यूजील्यान्डको मौसम हेर्ने निकायले उक्त क्षेत्रमा चट्याङसहित हावाहुरी आउन सक्ने चेतावनी दिएको थियो। क्यान्टबरीका कतिपय क्षेत्रमा ठूलो हवाहुरी र अण्डाजत्रा असिना परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्थानीय सांसद एन्ड्र्यू फ्यालूनले आफ्नो कार्यलयबाहिर परेको असिनाको भिडिओ खिचेकाट्विटरमा प्रेषित गरेका छन्। न्यूजील्यान्डको मेटसर्भिसले दुई घण्टाको अवधिमा उक्त क्षेत्रमा सात सयवटा चट्याङ परेको जनाएको छ। तर मौसमसम्बन्धी चेतावनी अहिले हटाइसकिएको अधिकारीहरूले जनाएका छन्।
|
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु राजापुर । बर्दियाको गुलरिया नगरपालिका–३ पुरानो सरजु नदी हुलाकी सडकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुलरिया नगरपालिका–१ का ३५ वर्षीय राजेश यादव रहेका छन् । खैरापुरदेखि गुलरियातर्फ गइरहेको भे४प ७२१७ नंको मोटरसाइकल नालामा पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
|
गोदावरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु गोदावरी । कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जिपकोे ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ बस्ने ३४ वर्षीय देवराम टमटा रहेको छ।
कञ्चनपुरको झलारीबाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नंको महिन्द्रा जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका टमटाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
टाउको र शरीरमा गम्भीर चोट लागेका टमटाको अत्तरियास्थित पद्मा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
घटनाबारे अनुसन्धान भइरहेको तथा ठक्कर दिने जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताए। रासस
|
कपडा धोइरहेकी महिलाको दुवै स्तन काटेर फरार भोजपुर । अज्ञात समूहले षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तन काटिदिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बुधबार बिहान करिब ११ बजे स्थानीय खोलामा लुगाकपडा धुन गएकी ती महिलाको मकुण्डोधारी अज्ञात समूहले स्तन काटेर भागेको प्रहरी जनाएको छ ।
कपडा धोइरहेकी महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । घाइते महिलाको दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।
|
जर्मनीको कम्युनिष्ट पार्टीसँगको सम्बन्ध घनिष्ट बनाइन्छ : प्रवक्ता श्रेष्ठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल र जर्मनीको कम्युनिष्ट पार्टीबीच लामो र घनिष्ट सम्बन्ध रहेको बताएका छन् ।
नेकपाको विदेश विभागको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जर्मनीको कम्युनिष्ट पार्टी द लेफ्ट (दि लिङ्के) का प्रतिनिधिबीच आज काठमाडौँमा भएको अनुभव आदानप्रदानसम्बन्धी कार्यक्रममा उनले अहिलेको सम्बन्धलाई अझै राजनीतिक र वैचारिकरुपमा प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रवक्ता श्रेष्ठले मुलुक समाजवादको नयाँ मोडलका साथ अघि बढेको उल्लेख गर्दै यसले विश्वमा नै नमूना दिने प्रयास थालेको बताए ।
डेमोक्रेटिकको नाममा देखाउने प्रजातान्त्रिक पार्टी रहेको बताउँदै उनले नेपालमा नयाँ संविधान जारी भएर तीनै तहको सरकार गठन भई सङ्घीयता कार्यान्वयनको चरणमा गएको उल्लेख गरे । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका साथ मुलुक आर्थिक विकासको चरणमा अघि बढेकोसमेत उनले बताए ।
नेकपा र जर्मनीको कम्युनिष्ट पार्टीबीच छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले कार्यक्रमको उद्देश्यबारे प्रष्ट्याएका थिए ।
जर्मनीको कम्युनिष्ट पार्टी द लेफ्ट (दि लिङ्के) ले त्यहाँको संसद्मा रहेका ७०९ सदस्यमध्ये ६९ सिट जितेको छ । जर्मनीको छ वटा पार्टीमध्ये यसको स्थान पाँचौँ रहेको रिजालले जानकारी दिए । उसले चुनावमा नौ प्रतिशत मत हासिल गरेको जनाइएको छ । रासस
|
१६ महिनादेखि बेपत्ता भएका पत्रकार खड्काको सामान भेटियो बाजुरा । गत वर्ष बाजुराको बुढीनन्दा दर्शन गर्न गएको बेला बेपत्ता भएका पत्रकार तेजु खड्काको केही सामान भेटिएको छ ।
गत वर्षको भदौ ९ देखि बेपत्ता भएका खड्काको १४ महिनापछि पर्स, झोला, जकेट, मोबायल लगायतका सामानहरु भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीयले लौरी विनायक भन्ने स्थानमा सामान भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय कोल्टीलाई जानकारी गराएका थिए ।
त्यसपछि प्रहरीको टोली सो ठाउँमा खोजी कार्यका लागि गएको थियो । सामान भेटिएको ठाउँमा मानव कंकाल भेटिएकाले खड्काको मृत्यु भएको आशंका गरिएको स्थानीयले बताएका छन् ।
भेटिएको पर्समा पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स पनि भेटिएको थियो । अवशेषको पहिचान गर्नका लागि पत्रकार र केही स्थानीयसहितको प्रहरी टोली सोमबार नै घटनास्थलतर्फ गएका थिए ।
|
कपडा पसलमा आगलागी, ४० लाख बराबरको क्षति धम्बोजी । आज बिहान जिल्ला बर्दिया मोतीपुरबाँसगढी नगरपालिका वडा नं ५ बाँसगढी बजारको पुण्यप्रसाद बजगाईँको कपडा पसलमा विद्युत्को तार सर्ट भई आगलागी हुँदा रु ४० लाख बराबरको क्षति भएको छ ।
रु ४० लाखभन्दा बढीको कपडा नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । इलाका प्रहरी, स्थानीयवासी सहयोगमा आगलागी नियन्त्रणमा लिएकाले मानवीय क्षति हुनबाट बचाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
|
विकास निर्माणमा राजनीतिक गर्नुहुँदैन : मन्त्री महासेठ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास निर्माणमा राजनीति नगर्न सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।
चन्द्रागिरि नगरपालिकाको बलम्बु–दहचोक जोड्ने पुलको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणमा सबै दल हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । ‘विकास भयो भने जनता आर्थिक वृद्धिदरतर्फ जानेछन्, देशलाई समृद्धितर्फ लान सबैको भूमिका आवश्यक छ’, उनले भने ।
मन्त्री महासेठले आफू मन्त्री भएपछि सरकारले दुई आर्थिक वर्षमा दुई हजार किलोमिटर सडक कालोपत्र र २४३ वटा पुल निर्माण गरिसकेको बताए । सरकारले रेलमार्ग तथा जलमार्गलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो ।
काठमाडौँ क्षेत्र नं ९ का सांसद कृष्णगोपाल श्रेष्ठले विकास र समृद्धिका लागि जनाताको हितका लागि वर्तमान सरकारले काम गरिरहेको बताए । उनले दिगो विकासमा सबैको हातेमालो हुनु आवश्यक रहेको उल्लेख गरे ।
चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले दहचोक–बलम्बु जोड्ने पुल बाढीका कारण क्षति पुगेकाले आवतजावतमा निकै समस्या परेको बताउनुभयो । उक्त पुल निमार्णका लागि नगरपालिकाबाट रु १५ लाख आर्थिक सहयोग गरेको थियो । रासस
|
प्रधानमन्त्री निवास भत्काउन शुरु काठमाडौं । प्रधानमन्त्री निवासअन्तर्गत हाल प्रधानमन्त्री बस्दै आएको भवन नवनिर्माणका लागि आज साँझदेखि भत्काउन शुरु गरिएको छ ।
पञ्चायतकालमा निर्माण गरिएको सो भवन निकै पुरानो भएकाले नयाँ बनाउने क्रममा भत्काउन लागिएको हो ।
नयाँ घर नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवासभित्र दक्षिणतर्फ रहेको एक भवनमा अस्थायी रुपमा बस्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सो भवन सहरी विकास तथा भवन निर्माण विभागले बनाउने भएको छ । कन्टेक प्रालिले सो भवन निर्माणको ठेक्का पाएको छ ।
गत भदौ १५ गतेदेखि शुरु भएको भवन निर्माणको कार्य २०७८ भदौ ११ गते निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
सो भवनको लागत रु ३३ करोड ८० लाख रहेको छ । आयोजनाको नाम प्रधानमन्त्री आवास भवन निर्माण रहेको छ ।
|
कोही पनि भूमिहीन र सुकुम्बासी हुनुपर्दैन : मन्त्री अर्याल काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशमा अब कोही पनि भूमिहीन बन्नु नपर्ने बताएकी छन् ।
कास्कीको प्रतिनिधिसभा उपनिर्वाचनका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुकुम्बासी निर्वाचन परिचालन उपसमितिले आज आयोजना गरेको छलफल कार्यक्रममा उनले भूमि विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट सर्वसम्मत पारित भएकाले त्यसकै आधारमा सरकारले भूमिहीन र सुकुम्बासीलाई जमीन उपलब्ध गराउने स्पष्ट पारिन् ।
संविधानले नै सबै नागरिकलाई आवासको हकको व्यवस्था गरेकाले वर्तमान सरकारको पाँचवर्षे कार्यकालभित्रमा नै सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या दीर्घकालीन समाधान गरेर उनीहरुलाई जमीनको मालिक बनाउने मन्त्री अर्यालले उल्लेख गरिन् ।
उनले भनिन्, ‘सुकुम्बासी व्यवस्थापन देशको वर्षौंदेखिको समस्या हो, यसको समाधानबिना समृद्ध नेपालको सपना पूरा हुन सक्दैन । त्यसका लागि सरकारले कानून निर्माण गरी प्राथमिकतामा राखेको छ ।’
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य श्रीनाथ बरालले कम्युनिष्ट सरकारले मात्र आम जनताका चाहना पूरा गर्ने भएकाले सबै समस्याको समाधान गर्ने बताए ।
अखिल नेपाल सुकुम्बासी सङ्घका केन्द्रीय सचिव अर्जुन मल्लले आफ्नो नाममा जमीन नभएका तथा १० वर्षदेखि बसोबास गर्दै आएकालाई सरकारले सोही ठाउँमा उनीहरुको श्रेस्ता कायम गर्नुपर्ने माग गरे ।
उपसमिति संयोजक लक्ष्मीप्रसाद अधिकारी र सहसंयोजक ओमबहादुर पौडेलले सहभागीलाई कम्युनिष्ट सरकारप्रति भरोसा गर्न आग्रह गरेका थिए । रासस
|
प्रधानमन्त्रीको निर्देशनलगत्तै नगरकोट सडक अनुगमन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलगत्तै भत्केको पाटी नगरकोट सिपाघाट सडकको अनुगमन गरिएको छ ।
प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालको संयोजकत्वमा उपसचिव आनन्द काफ्लेसहित सडक आयोजना प्रमुख जगत प्रजापति, चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले उक्त सडकको आज अनुगमन एवं निरीक्षण गरेको हो ।
टोलीले भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्मको सडक निर्माणको काम कहाँ पुग्यो, के के काम भएका छन्, के के बाँकी छ भन्नेबारेमा यथार्थ रुपमा अवलोकन गरेको नगरपालिकाका प्रशासकीय अधिकृत तिम्सिनाले जानकारी दिए ।
सडक निर्माणका क्रममा आइपरेका समस्या, ठेकेदारको कमजोरी, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमको खम्बा हटाउने कार्यको अवस्था, रूख कटानको अवस्थादेखि यहाँका सम्पूर्ण अवस्थाबारे टोलीले जानकारी लिएको उनले बताए ।
टोलीले सडकको निरीक्षणसँगै स्थानीय बासिन्दा, सङ्घर्ष समितिका व्यक्तिहरु र सरोकारवालाहरुबीच छलफल गरेको, समस्याको पहिचान गरेको, समस्या समाधानका लागि आएको सुझावहरुसमेत सङ्कलन गरेको उहाँले जानकारी दिए ।
भक्तपुरको भत्केको पाटी नगरकोट सडकको अनुगमन निरीक्षणमा देखिएका विषयलाई रिपोर्ट बनाएर प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिने अनुगमनका संयोजक एवं प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालले जानकारी दिए । रासस
|
भरतपुरमा नेटफ्रेस हस्पिटल सञ्चालनमा चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ सृष्टि चोकमा प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ ।
माटो, पानी, जडिबुटीसहितका प्राकृतिक तत्वबाट बिरामीको उपचार गर्ने उद्देश्यले नेटफ्रेस हस्पिटल प्राली सञ्चालनमा आएको हो ।
हस्पिटलले बुधबार पत्रकार सम्मेलन गर्दै सेवा शुभारम्भ गरिएको जानकारी दिएको छ । दुई करोड रुपैयाँको लागतमा नेपालमा नै नभएका प्रविधि भित्र्याएर बिरामीको उपचार गर्न सुरु गरिएको हस्पिटलका प्रमुख गोविन्द हुमागाईले बताए ।
१० शैयाको अस्पताल सञ्चालनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग अनुमति मागिएको हुमागाईले बताए । गरिब तथा असहाय बिरामीको लागि ऐनअनुसार निशुल्क गर्ने उल्लेख गर्दै हुमागाईले बिरामीहरु आवासीय रुपमा नै बसेर उपचार गर्न सक्ने व्यवस्था गरिएको बताए ।
चार सय रुपैयाँको टिकट काटेर चिकित्सकसँग परामर्श लिन सकिने अस्पतालले जनाएको छ । डाक्टर सङ्ग्राम पुरीकाअनुसार पञ्चकर्म विधि तथा विभिन्न थेरापीको माध्यमबाट उपचार गरिनेछ ।
अस्पतालमा जनरल बेड, क्याबिन तथा विशिष्ट व्यक्तिका लागि समेत दुई वटा बेड छुट्याइएको पुरीले बताए । अन्य प्राकृतिक चिकित्सालयको भन्दा न्यून शुल्कमा बिरामीको उपचार गरिने उल्लेख गर्दै पुरीले बिरामीलाई चिकित्सकको निर्देशन अनुसार शुद्ध अर्गानिक खाद्यान्न खुवाइने बताए ।
११ जना सञ्चालकहरु रहेको सो अस्पतालमा तीन जना चिकित्सक कार्यरत छन् । नेपालको नमूना अस्पताल बनाउने तयारीका साथ सञ्चालन गरिएको नेटफ्रेस अस्पतालले करिब तीन बिघा क्षेत्रफलमा एक सय ६७ प्रकारको जडिबुटी समेत लगाएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक डा भगवानचन्द्र ज्ञवालीले अस्पतालमा मानसिक र दीर्घ रोगका बिरामीहरु बढी आउने गरेको बताए । अस्पतालले बिरामीलाई परामर्शका साथै योग शिक्षा समेत प्रदान गर्ने ज्ञवालीले बताए ।
बिरामीहरुको अप्रेशन विना नै प्राकृतिक तथा अन्य विविधबाट उपचार, दीर्घ रोगीको उपचार, चर्मरोगहरुको उपचार सुरु गरिएको ज्ञवालीको भनाइ छ ।
अस्पतालले प्राकृतिक आहारसहितको अन्तरंग सेवा, विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण तथा परामर्श, प्राकृतिक चिकित्सा, अकुपंचर अकुप्रेसर थेरापी, तनाव व्यवस्थापनलगायतका सेवा प्रदान गरिरहेको छ ।
|
बैतडीमा वडाध्यक्षको शव फेला बैतडी । बैतडीमा एक वडा अध्यक्षको रहस्यमय मृत्यु भएको छ ।
हिजो मंगलबार राती जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राजबहादुर चन्दको रहस्यमय मृत्यु भएको बताइएको छ ।
मंगलबार राती करिब १० बजेतिर पसलबाट आफ्नो घर जानेबलामा घरभन्दा करिब २ किलोमिटर अगाडि नै बाटोभन्दा तल भिरालो ठाउँमा उनको शव बुधबार फेला परेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले बताए ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चन्द मंगलबार स्थानीय कैलपाल मन्दिरमा धुरामेला हेर्न गएका थिए । मेला हेरी घर फर्किने क्रममा भिरबाट लडेर वडा अध्यक्ष राजबहादुर चन्दको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ।
अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
|
बिहीबारदेखि एयर ट्राफिक कन्ट्रोलर सम्मेलन हुने काठमाडौं । एयर ट्राफिक कन्ट्रोलर सम्बन्धी ३६औं एसिया प्यासिफिक रिजनल सम्मेलन भोली बिहीबारदेखि राजधानी काठमाडौंमा हुने भएको छ ।
नेपाल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनले बुधबार पत्रकार सम्मेलन गरी सम्मेलन बारे जानकारी जानकारी गराएको हो । इन्टरनेशनल फेडेरेशन अफ एयर ट्राफिक कन्ट्रोलर एशोसिएसनमा आवद्ध एसिया प्यासिफिक क्षेत्रका १९ मुलुकका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुनेछन् ।
सम्मेलन उड्डयन पेशेवर र एयर ट्राफिक कन्ट्रोलरहरुको लागि अन्तरक्रिया गर्न उपयुक्त हुने बताइएको छ । नेपाल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनका अध्यक्ष रामकृष्ण भट्टले सम्मेलनमा मानव र प्रविधिबीचको सम्बन्धका प्रचलित अभ्यासहरुका विषयमा ट्राफिक कन्ट्रोलरहरुले आफ्ना चासोहरुमाथि छलफल गर्ने बताए ।
सम्मेलनमा उड्डयन क्षेत्रका चुनौती र अवसरहरु, समानता, विधिकरण र नैतिकता, विकसित एयर ट्राफिक व्यवस्थापन, सूचना र सुरक्षा लगायत विभिन्न पाँचवटा एजेण्डामाथि छलफल हुने छ । सम्मेलन ३ दिन सम्म चल्ने छ ।
|
प्रहरीमा भनसुन चल्दैन : सर्वेन्द्र खनाल काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा ‘भनसुन’ नचल्ने बताएका छन् ।
प्रहरी महानिरीक्षक खनालले कसैको भनसुनमा नपरी नेपाल प्रहरी कानुनी शासन स्थापना गर्न दृढतापूर्वक लागि परेको दावी पनि गरे ।
बुधबार काठमाडौंमा ‘समुदाय प्रहरी साझेदारी तथा समुदायमा सरकारी वकील कार्यक्रम’ को उद्घाटन समारोहमा बोल्दै उनले अपराध अनुसन्धानको कामलाई निष्ठाका साथ अघि बढाउन प्रहरीले सरकारी वकीलहरुसँग पनि सहकार्यको कामलाई अघि बढाएको पनि स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन प्रहरी र सरकारी वकीलको कार्यालयबीच साझेदारी कार्यक्रम शुभारम्भ गरिएको बताए ।
उनले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाएर पीडितलाई न्याय दिन प्रहरी र सरकारी वकीलहरुको साझेदारी कार्यक्रमले सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे ।
बुधबारबाट शुभारम्भ गरिएको सो साझेदारी कार्यक्रम ७७ वटै जिल्लामा सञ्चालन हुनेछ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.