content
stringlengths
20
64.1k
बलात्कारको आरोपमा मालपोतका प्रमुख पक्राउ कञ्चनपुर । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन्। स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। “महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ।” इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ।” उनले मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै कुनै खाले जाहेरी नआएको बताए। “अहिलेसम्म मुद्दा दर्ता भएको छैन।” चन्दले भने, “घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौँ।”रासस
‘चिनियाँ राष्ट्रपतिलाई सी जिनपिङलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नुहुनेछ’ काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले राष्ट्रपति विद्या भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने बताएका छन्। बिहीबार एक कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले राष्ट्रपति भण्डारीकै मंैत्रीपूर्ण निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउन लाग्नु भएका चिनियाँ राष्ट्रपति सीलाई स्वागत पनि राष्ट्रपतिले गर्ने जानकारी दिएका हुन्। ‘कसले स्वागत गर्ने भन्दा राष्ट्रपति ज्यूको मैंत्रीपूर्ण निमन्त्रणामा उहाँ आउँदै हुनुहुन्छ भनेपछि उहाँले नै स्वागत गर्नु हुन्छ,’ बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय जानकारी गराउन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो धेरै बहसको विषय रहेन्, त्यो धेरै क्यूरिसिटीको विषय पनि भएन ।’ मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमण पूर्ण रुपमा सफल हुने पनि बताए। त्यसका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको पनि संचारमन्त्री बास्कोटाको भनाई छ । उनले चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र विज्ञहरुसँग छलफल गरेको पनि बतए। ‘चिनियाँ राष्ट्रपतिको भ्रमणलाई पूर्ण रुपमा सफल बनाउने, ऐतिहासिक बनाउने कुरामा हामी पूर्ण रुपले सचेत छौं,’ संचारमन्त्री बास्कोटाको भनाई थियो, ‘दुवै देशले त्यसलाई गम्भिरतापूर्वक लिएको छ ।’ चिनियाँ राष्ट्रपति सीको यही शनिबार र आईतबार दुई दिने नेपालको राजकीय भ्रमण हुँदैछ। संचारमन्त्री बास्कोटाले सो भ्रमणमा नेपालले दुई मुलुकबीचको कनेक्टिभीटीमा जोड दिने पनि बताए।
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख ६ निर्णय काठमाडाैँ । साप्ताहिक रुपमा सरकारले सार्वजनिक गर्ने निर्णय बिहीबार पनि सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गर्दै विश्व वैंकले विद्यालय क्षेत्र विकासमा दिने करिब ३ अर्ब स्वीकार गर्नलगायतका निर्णयहरु सार्वजनिक गरेका छन्। १. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने २ अर्व ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ । २. विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ। ३. आर्थिक वर्ष ०७६/७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ। ४. सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ। ५. नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ। ६. नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ।
मध्यपश्चिममा तीन गुणाले बढ्याे पेट्रोलियम खपत नेपालगञ्ज । पछिल्ला पाँच वर्षमा साविकको मध्यपश्चिम विकास क्षेत्रमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ। नेपाल आयल निगम नेपालगञ्ज डिपोका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा पेट्रोलियम पदार्थको खपत झण्डै तीन गुणाले बढेको छ। नेपालगञ्ज डिपोका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ९७ हजार ३९० किलोलिटर पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन) खपत भएकोमा गत आव २०७५/७६ मा पेट्रोलियम पदार्थ खपत दुई लाख ४८ हजार ६०६ किलोलिटर पुगेको छ। जसमा सबैभन्दा धेरै पेट्रोल र डिजलको खपत बढेको देखिन्छ। निगमको यो तथ्याङ्कलाई आधार मान्दा पछिल्ला पाँच आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपत ४० प्रतिशतले प्रतिशतले बढेको छ। निगमका अनुसार यस अवधिमा पेट्रोलको खपत सबैभन्दा धेरै भएको देखिन्छ। आव २०७१/७२ मा तीन हजार २३२ किलोलिटर पेट्रोल खपत भएकोमा आव २०७५/७६ मा बढेर ३८ हजार ४१८ किलोलिटर पुगेको छ। त्यस्तै आव २०७१/७२ मा ७३ हजार १६५ किलोलिटर खपत भएको डिजल आव २०७५/७६ मा एक लाख ६५ हजार ९४७ किलोलिटर पुगेको छ। त्यस्तै आव २०७१÷७२ मा तीन हजार २०० किलोलिटर खपत भएको हवाई इन्धन आव २०७५/७६ मा बढेर सात हजार ८१९ किलोलिटर हवाई इन्धन पुगेको छ। आव २०७१/७२ मा १७ हजार ४८४ मेट्रिक टन र आव २०७५/७६ मा ३४ हजार ८४५ मेट्रिक टन खाना पकाउने ग्यास खपत भएको नेपाल आयल निगम नेपालगञ्ज डिपोको तथ्याङ्क छ। यस अवधिमा मट्टितेलको खपत भने शुरुआतमा केही बढेको देखिए पनि पछिल्लो तीन आवमा खपत दर स्थीर रहेको छ। आव २०७१/७२ मा ३०९ किलोलिटर खपत भएको मट्टितेल आव २०७२/७३ मा झण्डै ६ गुणाले बढेर एक हजार ८३० किलोलिटर पुगेको छ। त्यसयता खपत दर करीब स्थीर छ। आव २०७३/७४ मा एक हजार ७०३ किलोलिटर, आव २०७४/७५ मा एक हजार ८८० किलोलिटर र आव २०७५/०७६ मा एक हजार ९३७ किलोलिटर खपत भएको छ। विगतमा भन्दा पछिल्लो समयमा मट्टितेलको खपत विस्तारै खुम्चिँदै गएको नेपाल आयल निगम नेपालगञ्ज डिपोका प्रमुख नवविनोद पोखरेलले जानकारी दिए। सडक निर्माण र अन्य विकासका गतिविधि बढेसँगै मट्टितेल खपत घट्दै गएको र अन्य पेट्रोलियम पदार्थको खपत दर बढ्दै गएको उनको भनाइ छ। “इन्धन क्षेत्र आयातमुखी र खपत उन्मुख भएका कारण मट्टितेलबाहेक पेट्रोलियम पदार्थको वृद्धिदर उच्च भएको छ। आर्थिक गतिविधि र विकासका काम बढेका छन्, सवारी आयातमा उच्च वृद्धि भएको छ, हामीसँग भने पेट्रोलियमको कुनै स्रोत छैन। त्यसैले पनि खपत दर उच्चरुपमा बढेको छ”, डिपो प्रमुख पोखरेलले भने। पेट्रोलियमको स्रोत नभए पनि विद्युत्, वैकल्पिक ऊर्जाका स्रोतमार्फत पेट्रोलियम आयात घटाउन सकिए पनि त्यसो नहुँदा आयात बढेको उनको भनाइ छ। पेट्रोल र डिजलको खपत दर बढेसँगै नेपालगञ्ज डिपोमा रहेका मट्टितेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल भण्डारणका लागि स्थानान्तरण गरिँदैछ। हाल नेपालगञ्ज डिपोमा पेट्रोल भण्डारण क्षमता २१० किलोलिटर मात्रै छ। जुन दुई दिनका लागि मात्रै पुग्छ। मट्टितेल भण्डारण क्षमता ७६० किलोलिटर रहेको छ,जुन १२६ दिनलाई पुग्छ। त्यसैले पनि निगमलाई पेट्रोल भण्डारण क्षमता बढाउनै पर्ने बाध्यकारी अवस्था देखिएको छ। अहिले निगमलाई सबैभन्दा ठूलो चुनौती भण्डारणको छ। कुनै कारणले तीन/चार दिन आपूर्ति असहज भएमा त्यसको व्यवस्थापन गर्न निगमलाई धौधौ पर्छ। यही आवश्यकतालाई ध्यानमा राखेर निगमले ८० किलोलिटर मट्टितेल भण्डारण क्षमता राखेर पेट्रोल भण्डारण क्षमता ८९० किलोलिटर पुर्याउने भएको छ। “मट्टितेललाई घटाएर पेट्रोलको भण्डारण क्षमता विस्तारका लागि प्रक्रिया शुरु भइसकेको छ”, डिपो प्रमुख पोखरेलले भने, “पेट्रोल भण्डारण क्षमता विस्तार नगर्ने हो भने हालको भण्डारणले माग धान्न पनि धौधौ पर्नेछ। त्यसका लागि भण्डारण क्षमता विस्तार अत्यावश्यक नै रहेको छ। त्यो प्रक्रिया शुरु भइसक्यो।” मट्टितेलको खपत न्यून भएपछि निगमले मट्टितेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल ट्याङ्कीमा स्थानान्तरण गर्न शुरु गरिसकेको उनको भनाइ छ। डिपो प्रमुख पोखरेलले भने, “अब मट्टितेललाई पेट्रोलमा स्थानान्तरण गरिएपछि करीब १० दिनसम्म पुग्ने पेट्रोल भण्डारण हुनेछ।” मट्टितेलको माग घट्दै गएपछि मट्टितेल बोक्ने ट्याङ्कर पनि पेट्रोलमा रुपान्तरण हुनेछन्। निगमका अनुसार छुट्टै पेट्रोल ट्ययाङ्की राख्न धेरै रकम आवश्यक पर्ने भएपछि कम लागतमा मट्टितेल ट्याङ्कीलाई पेट्रोल ट्याङ्कीमा स्थानान्तरण गर्न लागिएको हो। पेट्रोल भण्डारण क्षमता बढेपछि उपभोक्ताका लागि अझै सहजरुपमा इन्धन आपूर्ति गर्न सकिने डिपो प्रमुख पोखरेलले बताए। “अहिले मट्टितेलभन्दा पेट्रोलको माग निकै बढ्दो क्रममा रहेको छ”, उनले भने, “सवारीको चापलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल भण्डारण क्षमता विस्तार शुरु गरेको हो।” हाल नेपालगञ्ज डिपोमा डिजेल दुई हजार २८० किलोलिटर, हवाई इन्धन २८० किलोलिटर भण्डार गर्ने क्षमताका ट्याङ्की रहेका छन्। त्यस्तै बाँके र दाङ्मा ७०८ मेट्रिक टन क्षमतामा खाना पकाउने ग्यास भण्डारण हुँदै आएको छ। बाँकेका दुई वटा भेरी ग्यास उद्योगमा ५१० र मनकामना ग्यास उद्योगमा ९०मेट्रिक टन तथा दाङमा रहेको राप्ती ग्यास उद्योगमा १०८ मेट्रिक टन ग्यास भण्डारण गर्ने क्षमता रहेको निगमका नेपालगञ्ज डिपो प्रमुख पोखरेलले बताए। निगमको नेपालगञ्ज डिपोको तथ्याङ्कअनुसार खाना पकाउने ग्यास बाहेक बाँकेमा ९८ र दाङमा २८ गरी १२६ जना विक्रेता रहेका छन्। त्यस्तै ५४ जना इन्धन ढुवानीकर्ता रहेका छन् भने २० किलोलिटर क्षमताका १०८ वटा र १२ किलोलिटर क्षमताका चार वटा गरी ११२ वटा ट्याङ्करले पेट्रोलियम पदार्थ ढुवानी गरिरहेका छन्। निगमका अनुसार हवाई इन्धनका लागि २० किलोलिटर क्षमताका ९ वटा ट्याङ्कर सञ्चालनमा रहेका छन्। नेपालगञ्ज डिपोले साविकको मध्यपश्चिमका बाँके, बर्दिया, सुर्खेत, दैलेख, दाङ, सल्यान, प्यूठान, रुकुम, रोल्पा, जुम्ला र जाजरकोट गरी ११ जिल्लामा इन्धन ढुवानी गर्दै आइरहेको छ। निगमले वर्षात् शुरु भएसँगै बजारमा इन्धनको खपत घट्ने गरेका पनि जनाएको छ। वर्षात्मा सडक अवरुद्ध, यात्रुको आवागमन कम हुने र विकास निर्माणका काम घट्ने भएपछि इन्धन खपत घट्ने गरेको गरेको छ। खाना पकाउने ग्यासबाहेक पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको खपत वर्षात्मा घट्ने गरेको निगमको भनाइ छ। वर्षात्मा बजारमा माग कम भएपछि आयात पनि घट्ने गरेको निगमले जनाएको छ। यस क्षेत्रका लागि निगमले पेट्रोल, डिजल र मट्टिलेतको आयात भारतको गोण्डाबाट गर्दै आएको छ भने हवाई इन्धन इलाहावाद र खाना पकाउने ग्यास मथुराबाट आयात गर्दै आएको छ। निगमले इण्डियन आयल कर्पोरेसन (आइओसी)मार्फत इन्धन आयात गर्दै आएको छ।रासस
टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित काठमाडौं । ओमनमा भइरहेको पाँच देश सम्मिलित टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमनसामु ६५ रनको झिनो लक्ष्य पस्केको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमनले उक्त लक्ष्य ११.५ ओभरमा ४ विकेट जाँदा पूरा गर्यो । ओमनकालागि सुरज कुमारले ३० बलमा ४२ रन बनाए। पाँच देश सम्मिलित उक्त सिरिजको नेपालले सुरूवाती दुई खेलमा हङकङ र नेदरल्याण्ड्स दुबैलाई चार विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने आयरल्याण्डसँग १३ रनले पराजित भएको थियो। यो संगै सिरिजको चार खेलमध्ये चारवटै खेल जितेको ओमन ८ अंकसहित अंकतालिकाको शीर्ष स्थामा रहेको छ। तीन खेल जितेको आयरल्याण्ड ६ अंकसहित दोस्रोमा र नेपाल ४ अंकसहित तेस्रोमा स्थामा रहेका छन्। एकखेल जितेको नेदरल्यान्डस् चौथोमा छ भने चारै खेलमा पराजित भएको हङकङ अंकतालिकाको पुच्छारमा रहेको छ।
बढी भाडा लिने चालकलाई कारवाही काठमाडौं । चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ। यात्रुको गुनासो तथा ट्राफिक प्रहरीको जाँचको आधारमा बढी भाडा असुल्ने चालकलाई कारवाही गरिएको हो। ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीका अनुसार काठमाडौँदेखि पोखरा तथा मुग्लिङदेखि पोखरासम्म चल्ने बसका चालकले बढी भाडा लिएको गुनासो आएपछि कारवाही गरिएको हो। “साविकभन्दा बढी भाडा लिएको पाइएपछि चालकलाई जनही एक हजार जरीवाना गरिएको हो”, उनले भने। यस्तै काठमाडौँदेखि पोखरासम्म चल्ने माइक्रोबसका चालकले यात्रुको सामान छतमा राखेबापत् एक हजारसम्म भाडा लिएको गुनासो आएपछि प्रहरीले चार माइक्रोबसका चालकलाई कारवाही गरेको छ। “चालकलाई जनही एक हजार पाँच सय जरिवाना गरेका छौँ”, उनले भने। चाडपर्वको बेला यात्रुको बाध्यतालाई चालकले मौकाको फाइदाका रुपमा लिँदै बढी भाडा असुल्ने गरेका छन्। बढी भाडा लिए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरेर जानकारी गराउन अधिकारीले यात्रुलाई आग्रह गरे।
मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६८ प ६८८७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज६प ५८५३ नंको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। सो दुर्घटनमा बा ६८ प ६८८७ नंको मोटरसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका १ पिपरा बस्ने २७ वर्षीय अरविन्द चौधरीको मृत्यु भएको छ भने ज ६ प ५८५३ नम्बरको मोटरसाइकलमा सवार अर्का खड्क नगरपालिका–६ बिसनपुर बस्ने २८ वर्षीय अनबारुल अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। सो दुर्घटनामा घाइते भएका चौधरी र अन्सारीको उपचारका लागि राउ स्मारक अस्पताल लहान सिरहामा भर्ना गरेपनि उपचारका क्रममा उनीहरुको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए। त्यस्तै सोही मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन्। उक्त दुर्घटनमा परी घाइते हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका १ पिपरा बस्ने १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका ६ बिसनपुर बस्ने ४० वर्षीय मोहम्मद किसुधीन रहेका छन्। उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। यता दुवै मोटरसाइकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
ओमानविरुद्ध नेपालको खराब प्रदर्शन काठमाडौं । सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्ड्सलाई पराजित गरेको नेपाली टोली घरेलु टोली ओमानसंग नेपाल मात्र ६४ रनमा अलआउट हुन पुगेको छ । टस जितेर पहिले बलिङ्ग गरेको ओमानले खेलको ११ ओभरमा नै नेपाललाई अलआउट बनायो। नेपालका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंक जोड्न सफल भए । आरिफ शेखले सर्वाधिक २० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ११ रन जोडे । ४ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिएका ओमनका अमिर कालिम नेपालका लागि खरो साबित भए भने बिलाल खानले २ विकेट लिए । ओमन ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ, भने नेपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ। ओमनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : भौतिक पूर्वाधार विशेष प्राथमिकतामा काठमाडौं । दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ। चीनका राष्ट्रपति सी चिनफिङ यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउने तय भएपछि दुवै देशले भ्रमणको तयारीलाई तिव्रता दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आयोजना गरेकाे छलफल कार्यक्रममा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौँ रेलमार्ग निर्माणको लगानीको ढाँचाबारेमा समेत छलफल गरिने बताएका छन्। नेपाल राजनीतिक स्थिरतामा प्रवेश गरेको र लामो समयपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुई तिहाइको सरकारले आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर नीति तथा योजना अगाडि सारेको सन्दर्भमा भौतिक पूर्वाधार तथा विकासलाई नै केन्द्रमा राखेको छ। राष्ट्रिय हितलाई केन्द्रमा राखेर सरकारले सडक पूर्वाधार, रेलमार्गलाई प्रमुख प्राथमिकतामा राखेको हो। पूर्वसम्भाव्यता अध्ययन भइसकेको र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीका क्रममा रहेको काठमाडौँ–रसुवागढी रेलमार्ग निर्माणका विषयमा समेत चिनियाँ राष्ट्रपतिको भ्रमणमा केही न केही महत्वपूर्ण समझदारी हुने विश्वास गरिएको छ। चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई गत मङ्सिरमा बुझाएको थियो। त्यसयता एकपटक नेपाल र चीनका अधिकारीबीच सो विषयमा छलफल भयो। सम्भाव्यता अध्ययन प्रतिवेदनले कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त गरेको थियो। केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने देखिएको छ। सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब रु तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ। यस्तै काठमाडौँ–पोखरा रेलमार्गको विषयमा यसअघि नै चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको छ। सो रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ५ देखि १० गतेसम्म गर्नुभएको चीन भ्रमणका क्रममा सो रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो। सो सहमतिलगत्तै चिनियाँ अधिकारीले रेलमार्गको स्थलगत अध्ययनसमेत गरेको थियो। काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थासहितको सम्भाव्यता अध्ययन भइसकेको छ। सो रेलमार्गमा सुरुङलाई विशेष प्राथमिकता दिन लागिएको छ। गत असारमा दुई देशका अधिकारीबीच सो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल भएपनि उपयुक्त निर्णय हुन सकेको थिएन। चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा डिपिआर तयारीलगायतका विषयमा महत्वपूर्ण समझदारी हुन सकिने सरकारी अधिकारीको भनाइ छ। प्रधानमन्त्री ओलीले आज आयोजना गर्नुभएको छलफलमा सहभागी त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख खड्ग केसीले केरुङ काठमाडौँ रेलमार्ग निर्माणका लागि आवश्यक अध्ययन पूरा गरी लगानीको ढाँचाका सम्बन्धमा थप केही न केही सम्झौता हुनसक्ने बताए। गत चैत १५ र १६ गते सम्पन्न लगानी सम्मेलनमा सहभागी भएका चिनियाँ अधिकारीले उक्त रेलमार्ग निर्माणका विषयमा उच्चस्तरको सहमति जरुरी रहेको बताएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख १९ मा गरेकाे चीन भ्रमणका क्रममा समेत सो रेलमार्गको विषयमा महत्वपूर्ण सहमति भएको थियो। चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई)मा समेत सो रेलमार्गलाई समावेश गरेको छ। सो रेलमार्गको निर्माण अवधि नौ वर्षको हुने जानकारहरुको भनाइ छ। उच्च स्तरको सहमति भएको खण्डमा प्रारम्भिक अध्ययनका आधारमा रेलमार्गको विषयमा विस्तृत अध्ययन हुनेछ। सो अध्ययनसँगै लगानीको ढाँचालगायत विषयमा आवश्यक निर्णय गर्नु आवश्यक छ। सामान्यतया विस्तृत अध्ययनका लागि डेढ वर्षदेखि दुई वर्षसम्म लाग्ने जानकारहरुको भनाइ छ। डिपिआरका लागि रु एक अर्ब ७० करोड जति खर्च लाग्ने अनुमान गरिएको छ। लाओस, भियतनामलगायत देशमा चिनियाँ लगानी ७० प्रतिशत र ती देशको लगानी ३० प्रतिशत हुने गरी ढाँचा तयार गरिएको छ। कूल तीन खर्बलागत अनुमान गरिएको रेलमार्गमा सोही आधारमा लगानीको ढाँचा तयार पार्दा खासै ठूलो लगानी एकैपटक नपर्ने पनि देखिन्छ। यस्तै प्रधानमन्त्रीले आयोजना गरेकाे छलफलमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चीनसँग सडक र पूर्वाधारमा कनेक्टिभिटीका विषयमा मुख्य छलफल हुने जनाउँदै किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन, टोखा–छहरे सुरुङमार्ग निर्माण, अरनिको राजमार्गको स्तरोन्नति आदि विषययमा चीनसँग वार्ता हुने र विस्तृत तयारी नेपाल सरकारले गर्ने बताए। प्रधानमन्त्रीले सन्तुलनका तीन आधार राष्ट्रिय हित, न्यायोचितता, अन्तर्राष्ट्रिय विश्वसनीयता रहेको भन्दै भारतसँग जलमार्ग, चीनसँग रेलमार्गसँग जोडी अन्तरदेशीय व्यापार र अन्तर्राष्ट्रिय सम्बन्ध विकसित गर्ने पूर्वप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसँगको छलफलमा बताएका थिए। उनले सन्दर्भ र सामथ्र्य परिवर्तित भएको चीनसँगको सुम्बन्धलाई नयाँ उचाइमा लगिने जानकारी दिएका थिए। सोही रेलमार्गसँग सँगै रसुवागढी–रातमाटे ४०० केभी अन्तरदेशीय प्रसारण लाइनसमेत निर्माण गर्ने तयारी भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले सो प्रसारण लाइनको सम्भाव्यता अध्ययनलाई करीब करीब अन्तिम चरणमा पुर्याएको छ। चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा सो आयोजनाका बारेमा समेत केही न केही सहमति गर्ने तयारीमा सरकार रहेको छ।रासस
स्वास्थ्यमा समस्या आएपछि कृष्णबहादुर महरा अस्पताल भर्ना काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। सोमबारदेखि हिरासतमा रहेका महरालाई नर्भिक अस्पतालमा भर्ना गरेको प्रहरी स्रोतले जनाएको छ। हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको जनाएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको हो।
नेपालविरुद्ध अस्ट्रेलियाको पहिलो हाफमा नै तीन गोलको अग्रता काठमाडौँ । विश्वकप छनौट अन्तरगतको तेस्रो खेलमा अस्ट्रेलियाले नेपालविरुद्ध पहिलो हाफमा नै तीन गोलको अग्रता लिएको छ । खेलको छैटौँ मिनेटमा नै जेमी म्याकलेरनले अस्ट्रेलियालाई सुरुवाती अग्रता दिलाए । म्याकलेरनले नै १९औं मिनेटमा अस्ट्रेलियाका लागि दोस्रो गोल थपे । त्यसपछि ह्यारी साउटरले २३औं मिनेटमा गोल गर्दै अस्ट्रेलियाको अग्रतालाई अझ बलियो बनाए। सन् २०२२ मा कतारमा हुने विश्वकपको एसिया छनौट अन्तरगत समूह ‘बी’ मा रहेको नेपालले हालसम्मका दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।
युवतीलाई अपहरण गरेको आरोपमा तीन जना पक्राउ लहान । युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लगेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको हो। लहानस्थित दुर्गा मन्दिरमा मेला तथा सांस्कृतिक कार्यक्रम हेरेर आज बिहान ३ बजेतिर फर्किरहेकी ती युवतीलाई बाटोबाटै अपहरण गरेको आरोपमा सिरहा नगरपालिका–९ निवासी २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र सिरहा नगरपालिका–८ निवासी २२ वर्षीय नथुनी भन्ने चतुरानन्द यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । उक्त गाडीमा रहेका अन्य दुई जना भाग्न सफल भएको र उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। अपहरण गरी लग्दै गर्दा बाटो छेउमै रहेको नालामा स्कारपियो फसेपछि ती युवतीले दिसा गर्न जान्छु भन्दै बहाना बनाई अपहरणकारीको कब्जाबाट भाग्न सफल भएको प्रहरी नायब उपरीक्षक बोहराले बताए। अपहरणकारीको कब्जाबाट भाग्न सफल भएकी युवतीकै सूचनाको आधारमा प्रहरीको टोलीले गाडीसहित तीनै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाको साथबाट लागुऔषध नेट्रोभेट ट्याब्लेट ३०० पिस, आठ राउण्ड गोली, पर्स एक थान र रामप्रकाश गोइतको सवारी चालक अनुमतिपत्र ९लाइसन्स० र मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ। यस्तै सिरहा प्रहरीले एसएलआर राइफलको गोलीसहित आजै एक युवकलाई पक्राउ गरेको छ । भारतबाट स ९ प १७२९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आइरहेको अवस्थामा प्रहरीचौकी बरियारपट्टिबाट खटिएको प्रहरी टोलीले एक थान एसएलआर राइफलको गोलीसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी २० वर्षीय रामविनय साहलाई पक्राउ गरेको हो।
मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६८ प ६८८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ६ प ५८५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। सो दुर्घटनमा बा ६८ प ६८८७ नम्बरको मोटरसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपरा बस्ने २७ वर्षीय अरविन्द चौधरीको मृत्यु भएको छ भने ज ६ प ५८५३ नम्बरको मोटरसाइकलमा सवार अर्का खड्क नगरपालिका–६ बिसनपुर बस्ने २८ वर्षीय अनबारुल अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। दुर्घटनामा घाइते भएका चौधरी र अन्सारीको उपचारका लागि राउ स्मारक अस्पताल लहान सिरहामा भर्ना गरेपनि उपचारका क्रममा उनीहरुको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए। त्यस्तै सोही मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपरा बस्ने १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका– ६ बिसनपुर बस्ने ४० वर्षीय मोहम्मद किसुधीन रहेका छन् । उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
स्याङ्जामा एक युवकको हत्या वालिङ । स्याङ्जाको हरिनास गाउँपालिका– ५ बलिथुममा गएराति एक युवकको हत्या भएको छ । छ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए। इलाका प्रहरी कार्यालय चिसापानीबाट राति नै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले हत्यामा संलग्नमध्ये पाँच जनालाई पक्राउ गरिसकेको र एक जनाको खोजीकार्य भइरहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए । घटनाको कारण भने खुल्न सकेको छैन ।
फर्कने यात्रु बढ्दै कास्की । बडादशैँको मुख्य दिन आश्विन शुक्ल दशमी (विजया दशमी) सकिएसँगै यतिखेर पोखराबाट आआफ्ना कार्यस्थल जाने व्यक्तिका कारण सवारीसाधनमा चाप देखिएको छ । सामान्यतः दशैँको टीका विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरिए पनि कास्की र आसपासका जिल्लामा सकेसम्म विजयादशमीकै दिनमा नै टीका लगाउने प्रचलन भएकाले उक्त दिन टीका लगाएर सर्वसाधारण आ आफ्ना कार्यस्थलमा फर्कने गर्दछन् । दशैँका कारण केही दिन भने पनि चहलपहल भएका गाउँ बस्ती पुनः पूर्ववत् सुनसान हुँदै जान थालेका छन् भने शहरमा देशका विभिन्न भागका लागि बाहिरिने सवारीसाधनको चाप बढेको छ । हिजोदेखि नै फर्कने यात्रुको सङ्ख्या बढ्दै गएको पृथ्वी राजमार्ग बस कम्पनी लिमिटेडका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । पोखराबाट पूर्व र पश्चिमतर्फ ४९ वटा रात्रि बस नियमित सञ्चालन भएकोमा दशैँको टीका लगाई फर्कने यात्रुका कारण सवारीसाधन थपेर ७० वटा बनाइएको उनले बताए । उनका अनुसार काठमाडौँलगायतका स्थानमा जाने माइक्रो बस भने बिहानैदेखि खचाखच भरिएर गएका छन् । दशैँमा फर्कने यात्रुको सुविधा, सुरक्षा एवं जथाभावी भाडा बढी लिने क्रमलाई नियन्त्रण गर्ने लक्ष्यका साथ ठाउँठाउँमा गस्ती एवं सुरक्षा जाँच भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरिक्षक बाबुराम केसीले जानकारी दिनुभयो । फूलपातीदेखि बिदा भएका सरकारी कार्यालय आजदेखि खुलेका कारण पनि बजार क्षेत्र एवं कार्यालयमा चहलपहल बढेको छ । रासस
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि राखिएका ब्यानर च्यातेपछि… काठमाडौं । चिनिया राष्ट्रपति सि चिनफिङको स्वागतका लागि सजाइएका व्यानर च्यातिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार चिनिया राष्ट्रपतिको स्वागतका लागि सजाइएका बानेश्वर नजिकैको बिजुलीबजारमा सजाइएका ब्यानर च्यातेको अभियोगमा उदयपुरका गोपाल सार्की र रौतहटका राजकुमार ठाकुर पक्राउ परेका छन्। उनीहरुलाई आवश्यक कार्बाही र अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा यही असोज २५ गते शनिबार चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल भ्रमणमा आउँदैछन्। सरकारले सीको सुरक्षाका लागि चार घेराको सुरक्षा प्रबन्ध गरेको छ। जसमा सबैभन्दा अगाडि सेना र त्यसपछि क्रमैसँग सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचरको टोली रहने जनाइएको छ ।
शनि सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह एजेन्सी । हाम्रो सूर्यमण्डलले उपग्रहहरूको सङ्ख्याको आधारमा नयाँ विजेता ग्रह पाएको छ । वैज्ञानिकहरूले शनिको थप २० वटा चन्द्रमाहरू पत्ता लगाएसँगै अब शनिको चन्द्रमाहरूको सङ्ख्या ८२ पुगेको छ, जसले वृहस्पति र यसका ७९ चन्द्रमाहरूलाई पछि पारेको छ । हाम्रो सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह वृहस्पति आफ्नो चन्द्रमाहरूको सङ्ख्याका आधारमा शनिभन्दा पछाडि परेतापनि बृहस्पतिसँग सबैभन्दा ठुलो चन्द्रमा(उपग्रह) छ । बृहस्पतिको ‘ग्यानिमीड’ नामक उपग्रह करिब पृथ्वीको आधा आकारको रहेको छ ।
अर्जेन्टिनासँग जर्मनीले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा एजेन्सी। फिफाको मैत्रीपूर्ण खेलमा पूर्व डिफेन्डिङ च्याम्पीयन जर्मनी र अर्जेन्टिनाको खेल बराबरीमा रोकिएको छ । जर्मनीको डर्टमुण्डमा भएको खेलमा घरेलु टिमले पहिलो हाफमा नै लिएको २–० अग्रता अन्तिममा जोगाउन सकेन । पहिलो हाफमा २-० ले पछाडि परेपनि दोश्रो हाफमा अर्जेन्टिनाले पुनरागमन गरेको हो ।  खेलको १५ औँ मिनेटमा नै नाब्रीको गोलमा जर्मनीले अग्रता बनाएको थियो । त्यसपछि २२ औं मिनेटमा हाभेर्जले गोल गरेर टिमलाई २–० ले अगाडि राखे । लुकास अलारियोले ६६औं मिनेट र खेल सकिन ५ मिनेट बाँकी रहँदा लुकास ओकाम्पसले अलारियोको उत्कृष्ट मुभलाई गोलमा परिणत गर्दै अर्जेन्टिनालाई बराबरीमा ल्याएका थिए। त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो । उक्त खेलमा मेस्सी आफ्नो टिममा थिएनन्। मैत्रीपूर्ण फुटबलकै अर्को खेलमा अजरबैजानले बहराइनलाई ३–२ ले हराएको छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमणको मिति सार्वजनिकसँगै तयारी व्यापक काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ । बडादशैँकै बीचमा पनि भ्रमणका अवसरमा द्विपक्षीय वार्ता र सम्झौताको तयारीका लागि नेपाल सरकारका सम्बन्धित निकाय एकातिर जुटेका छन् भने अर्कातिर राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ। विगतदेखि सडक विस्तारको काम भइरहेको अवस्थामा छिटोछिटो काम सकाउन र रङरोगन गर्न अहिले मुख्य सडकमा चापाचाप देखिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम आज परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो। भ्रमणका क्रममा चिनियाँ विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नेछन्। राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा द्विपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने छ। राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीका यसअघिका चीन भ्रमणमा भएको केरुङ–काठमाडौँ रेल, कनेक्टिभिटी, ऊर्जा र अन्य क्षेत्रमा भएका द्विपक्षीय सम्झौता र छलफलले सीको भ्रमणमा सार्थकता पाउने अपेक्षा गरिएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। नेपाल र छिमेकी चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको तथा पछिल्लो समयमा आपसी मित्रता र सहकार्य थप अभिवृद्धि गर्न दुवै मुलुकको नेतृत्व तयार देखिएकाले राष्ट्रपति सीको राजकीय भ्रमणले जनस्तरमा समेत सकारात्मक प्रभाव पार्ने देखिएको छ। ‘अतिथिदेवो भवः’ को आदर्शलाई व्यवहारत अपनाइरहेको नेपालले विशिष्ट पाहुनाको भ्रमणमा जनस्तरबाट समेत स्वागत हँुदै आएको छ। तेइस वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रसहित चिल्लो बनाइएको तथा ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राख्न थालिएको छ। मुख्यमुख्य स्थानमा राष्ट्रपति सीको स्वागतका लागि द्वार बनाउन थालिएको छ। बबरमहल र टेकुस्थित पुलमा विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका राष्ट्रिय सम्पदा र विभिन्न पर्यटकीय महत्वका तस्वीर फ्लेक्स बनाइराखिएको छ जसले एकै हेराइमा पनि नेपालको पहिचानलाई बुझाइदिनेछ। नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा यो भ्रमण र नेपालको तयारीले विश्वजगत्मा नेपालको थप पर्यटन प्रवद्र्धन हुने ठानिएको छ। यतिबेला त्रिभुवन अन्तरराष्ट्रय विमानस्थल, तीनकुने, पुरानो बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भद्रकाली, गौशाला, केशरमहल, दरबारमार्ग, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, कालीमाटी, सोल्टीमोडलगायत क्षेत्रका सडक मर्मत र रङरोगन गरेर चिटिक्क बनाइएको छ । काठमाडौँ शहरको सौन्दर्य अभिवृद्धिमा कार्यरत काठमाडौँ महानगरपालिका तीनकुनेस्थित खुलास्थललाई कृत्रिम उद्यान (आइल्याण्ड) बनाई हरियाली तुल्याउँदै छ । कतिपय स्थानमा अस्थायी संरचना बनाई आकर्षक बनाएको छ। महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले शहरलाई सुन्दर, हराभरा र स्वच्छ राख्न आफूहरुले काम गरिरहेको बताउँदै विभिन्न आइल्याण्ड, उद्यान निर्माण र सडकका बारहरुमा रङ्रोगन भइरहेको बताए । स्वागतका झण्डा राखिने खम्बाहरु पनि महानगरपालिकाले सजाउँदैछ । प्रवक्ता डङगोलले भने, “हामीले जिम्मा पाएअनुसार सरसफाइको काम व्यापक भइरहेको छ । शहरलाई सफा र हरियाली बनाइनेछ । सडक बत्तीहरुको व्यवस्थापनको काममा पनि हामी लागेका छौँ ।” राष्ट्रपति सी आउँदा त्रिभुवन विमानस्थलदेखि मुख्य सडकका दायाँबायाँ दुई देशको झण्डा फहराएर विद्यार्थी बस्नेछन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले आफूहरुलाई पनि विद्यार्थी पठाइदिन सरकारले आग्रह गरेको जानकारी दिए । सडक अनुगमनमा भौतिकमन्त्री काठमाडौँका विभिन्न स्थानको सडक मर्मतको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोलीले अनुगमन गरेको छ। अनुगमनका क्रममा सोल्टीमोडस्थित सडकमा भेटिनुभएका मन्त्री महासेठले रासससँग कुरा गर्दै मर्मत र निर्माणमा गुणस्तरीयता कायम गर्न आफूले निर्माण पक्षलाई निर्देशन दिएको बताए। सोहीस्थलमा मन्त्रीका साथ पुग्नुभएका सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले काठमाडौँ उपत्यकाको सडक मर्मत हरेक वर्ष मनसुनपछि नियमित हुने गरेको र हाल विशिष्ट पाहुनाको भ्रमण हुने भएकाले थप ध्यान दिइएको बताए। काठमाडौँ उपत्यकाको सडक मर्मतको जिम्मेवारी सिएम कन्स्ट्रक्सनले लिएको छ।
दुई लाख नगदसहित ११ जना जुवाडे पक्राउ काठमाडौं । नेपाल प्रहरीले दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोँगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा आज साँझ उनीहरुलाई पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए। प्रहरीले पक्राउ परेकासँग तास र नगद रु दुई लाख १४ हजार बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ। रासस
दशैँमा समेत मुख्यमन्त्री पौडेल किसानको खेतबारीमा काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडलले प्रदेशको कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सबैभन्दा धेरै लगानी गरेको बताएका छन्। आज हेटौँडाको विभिन्न कृषि फारम तथा कृषि बालीको अनुगमन तथा अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले आगामी दिनमा समेत लगानी वृद्धि गर्दै जाने धारणा राखे। उनले युवाहरुलाई कृषितर्फ आकर्षित गर्न प्रदेश सरकारले थुप्रै कार्यक्रमहरु ल्याएको भन्दै कृषिमा थुप्रै सम्भावना भएको धारणा राखे। उनले कृषकहरुका थुप्रै समस्याहरु सुनिने गरेको बताउँदै मल, बीउ, सिँचाइलगायतका समस्या समाधान गर्न तथा उत्पादन वृद्धि गराउने आधुनिक प्रविधि भित्र्याउन पहल गरिने उल्लेख गरे। प्रदेश सरकारको पहिलो प्राथमिकता कृषि नै भएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कृषि प्रवद्र्धनमार्फत उत्पादन वृद्धि गरेमा मात्रै प्रदेशसँगै सिङ्गो राष्ट्र समृद्ध हुने बताए। उनले कृषिमा उपलब्धी हासिल गरेका कृषकहरुले नयाँ र कृषि क्षेत्रमा केही गर्न चाहने युवाहरुलाई अनुभव तथा सीप हस्तान्तरण गर्नुपर्ने धारणा राखे। मुख्यमन्त्री पौडेलले आज हेटौँडाको विभिन्न कृषि क्षेत्रको अवलोकन गरेका हुन्। दशैँमा समेत किसानको खेतबारीमा पुगेपछि व्यावसायिक किसानहरु खुशी भएका छन्। मुख्यमन्त्रीको अनुगमन तथा अवलोकनले किसानहरु खुशी भएको मञ्जुश्री आधुनिक फूल तथा तरकारी खेतीका सञ्चालक बालकृष्ण चौलागाईँले बताए। मुख्यमन्त्रीले यस क्षेत्रको कृषिमा ठूलो चासो राखेको तथा हौसला प्रदान गरेको चौलागाईँको भनाइ छ। उनले यस क्षेत्रमा सिँचाइको समस्या रहेको बारे मुख्यमन्त्रीलाई जानकारी गराएको र मुख्यमन्त्रीले भूमिगत सिँचाइका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका जानकारी दिए।
जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ खैरेनीटारमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिकोट पञ्चाल झरना गाउँपालिका–५ निवासी २२ वर्षीय कृष्णप्रसाद आचार्य रहेका छन्। पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा १२ च १८१२ नं को जीपले ठक्कर दिँदा घाइते भएका आचार्यको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। पैदलयात्रीलाई ठक्कर दिने जीप र चालक प्रहरी नियन्त्रणमा छन्। यसैगरी पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरोको ठक्करबाट आज स्कुटरमा सवार तीन जना घाइते भएका छन्। मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८ च ५३१६ नं को बोलेरोले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नं ३–००–०१प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जना घाइते भएका हुन्। प्रहरीका अनुसार घाइते हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका–११ बस्ने ३६ वर्षीय सुरज धिताल, निजकी श्रीमती ३० वर्षीया शोभा धिताल र उनीहरुका छोरा नौ वर्षीय अर्पण धिताल रहेका छन्। घाइतेमध्ये सुरजको हातमा सामान्य चोट लागेको छ भने शोभा र अर्पणको टाउको र बायाँ खुट्टामा चोट लागेको र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते दुई जनालाई नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ। राहत प्रदान चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ। मङ्गलबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँका परिवारलाई कार्यालयले आज किरिया खर्चस्वरुप रु ५० हजार उपलब्ध गराएको हो। मृतक बालकको घरमा पुगेर डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराल र भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले उक्त रकम मृतकका काका रामचन्द्र बानियाँलाई हस्तान्तरण गरेका छन्। चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई रु १० लाख राहत उपलब्ध गराइने डिभिजन प्रमुख बरालले जानकारी दिए। बरालका अनुसार थप राहतका लागि प्रक्रियाअनुसार जाँदा केही समय लाग्नेछ। नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा एक लाखसम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था रहेको छ। घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थियो। बालकको घर वरपर अत्यधिक झाडी रहेकाले झाडीमा लुकेर बसेको चितुवाले एक्कासी आक्रमण गरेको थियो। घर नजिकै झाडी भएको ठाउँमा र साँझको बेला चितुवाले बालबालिकालाई आक्रमण गरेकाले चितुवाको आक्रमणबाट बच्न सचेत हुनुपर्ने भानु नगरपालिकाका प्रमुख गौलीले बताए। “घर वरपरको झाडी सरसफाइमा विशेष ध्यान दिनुपर्ने र साँझको बेला घर बाहिर बत्तीको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ”, नगरप्रमुख गौलीले भने, “साँझको बेला परिवारले बालबालिकाको विशेष ख्याल गर्नुपर्छ।” डिभिजन वन प्रमुख बरालले भानु नगरपालिकाका बस्ती जङ्गलसँग जोडिएको रहेकाले जोखिम बढेको बताए। बरालले घर नजिकै रहेका झाडी फँडानी गर्न सकिए चितुवाको आक्रमणबाट बच्न सकिने भएकाले सर्वसाधारण यसप्रति सचेत हुनुपर्ने बताए। सामुदायिक वनमा खोर राखिने भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिकालाई आक्रमण गर्न थालेपछि चितुवा नियन्त्रणका लागि केही खोर राखिएको थियो। भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा राखिएको खोरमा असोज १५ गते एउटा चितुवा परेको थियो। उक्त खोर प्रभावकारी देखिएपछि भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा खोर थपिने भएको छ। स्थानीयवासीको सहयोग र भानु नगरपालिकाको आर्थिक लगानीमा खोर निर्माण गरी चितुवा नियन्त्रणका लागि सामुदायिक वनमा राखिने डिभिजन नगरप्रमुख गौलीले जानकारी दिए। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहभागितामा सर्च अभियानसमेत सञ्चालन गरिनेछ।बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि जिल्ला सुरक्षा समितिले गोली हान्ने आदेश दिइसकेको छ। चितुवाको आक्रमणबाट मृत्यु हुने पाँच पुगे भानु नगरपालिकामा चितुवाको आक्रमणबाट मृत्यु हुने बालबालिकाको सङ्ख्या पाँच पुगेको छ। यसअघि विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो। चितुवाको आक्रमणबाट मृत्यु भएका चार जना बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप रु १०÷१० लाख उपलब्ध गराइसकिएको छ।रासस
जर्मनीको हेलमा गोली चल्यो, २ जनाको मृत्यु बर्लिन (रासस/एएफपी) । जर्मनीको हेल नगरमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्यलाई तिब्र बनाएको छ। प्रहरीले ट्वीट गर्दै गोली चलाउने व्यक्तिहरु कारमा चढेर फरार भएका र उनीहरुको खोजी कार्य तिब्र बनाइएको जनाएको छ। हेल नगरको रेलवे स्टेसन बन्द गरिएको छ भने मानिसहरुलाई घरबाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ। उक्त घटनाको कुनै पनि व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन। बिल्ड दैनिक अखबारका अनुसार पालस जिल्लाको एक यहुथी प्रार्थनागृह अघिल्तिर उक्त गोलीकाण्ड भएको छ। यहुदीको समाधिस्थलतर्फ एउटा हाते ग्रिनेड पनि फालिएको अखबारले स्थानीयको भनाई उद्धृत गर्दै जनाएको छ।रासस
रसायनशास्त्र तर्फको नोबेल पुरस्कार ३ जना वैज्ञानिकलाई प्रदान स्टकहोम (रासस/एपी) । यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ। उनीहरुलाई लिथियम–आयन ब्याट्री निर्माणमा उत्कृष्ट कार्य गरेबापत नोबेल पुरस्कार प्रदान गर्न लागिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ। यो पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकाको टेक्सास विश्वविद्यालयका इन्जिनियरिङ विषयका प्राध्यापक ९७ वर्षीय जोन बी गुडइनफ, अमेरिकाकै न्यूयोर्क विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक ७७ वर्षीय एम स्टान्ले ह्वीटिङ्घाम र जापानको मिजो विश्वविद्यालयका प्राध्यापक ७१ वर्षीय अकिरा योशिनो छन्। यी वैज्ञानिकको खोजले ऊर्जा भण्डारणका क्षेत्रमा नाटकीय परिवर्तन गरी कार, मोबाइल फोन तथा अरु धेरै किसिमका उपकरण चलाउन धेरै ठूलो सहयोग पुगेको समितिको ठहर छ। नोबेल पुरस्कार प्राप्त गर्ने प्राध्यापक गुडइनफ अहिलेसम्मकै सबैभन्दा बढी उमेरका व्यक्ति हुन्। उनीहरुले गरेको अनुसन्धान र खोजले व्यावसायिक रिचार्जवेल ब्याट्री निर्माण र विकासमा आधार तयार गरेका छन्। सन् १९७० को दशकमा तेलको विश्वव्यापी संकट उत्पन्न भएकै समयमा प्राध्यापक ह्वीटिङ्घामले जैविक इन्धनको विकल्पको खोजीका क्रममा लिथियम–आयन ब्याट्री निर्माण गर्न सकिने अवधारणाको खोजी थालेका थिए। रसायनशास्त्र तर्फ नोबेल पुरस्कारको राशि नौ लाख १८ हजार अमेरिकी डलर रहेको छ। यो पुरस्कार तीनै जना वैज्ञानिकलाई दामासाहीले बाँडिने नोबेल पुरस्कार छनौट समितिले जनाएको छ। यो पुरस्कार आगामी डिसेम्बर १० का दिन स्वीडेनको स्टकहोममा प्रदान गरिनेछ।
हराएका ४८८ महिला तथा बालबालिका फेला दमौली । जिल्लामा तीन वर्षको अवधिमा हराएका ४८८ जना महिला तथा बालबालिका फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयमा ५१३ महिला तथा बालबालिका हराएको निवेदन परेपछि प्रहरीको सहयोगमा ४८८ महिला तथा बालबालिका फेला परेका हुन्। आर्थिक वर्ष २०७४/७५ मा २५६, ०७५/७६ मा २२८ र चालू आर्थिक वर्ष ०७६/७७ मा २९ जना महिला तथा बालबालिका हराएको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। प्रहरी उपरीक्षक सिलवालका अनुसार आव ०७४/७५ मा २५६, ०७५/७६ मा २२२ र ०७६/७७ मा १० जना महिला तथा बालबालिका फेला परेका छन्। सिलवालका अनुसार ०७४/७५ मा हराएकामध्ये छ र ०७६/७७ मा हराएकामध्ये १९ जना अझै पनि फेला पर्न सकेका छैनन्। “विसं ०७४/७५ मा हराएको निवेदन परेकामध्ये सबैलाई फेला पार्न सक्यौँ, हराइरहेका अन्य महिला तथा बालबालिकाको भने खोजी कार्य जारी छ”, प्रहरी उपरीक्षक सिलवालले भने। कतिपयले हराएको निवेदन दिए पनि फेला परेपछि कार्यालयमा जानकारी नगराउने भएकाले तथ्याङ्कमा महिला तथा बालबालिका फेला नपरेको देखिएको हुनसक्ने प्रहरी उपरीक्षक सिलवालले बताए। प्रहरी कार्यालयका अनुसार चालू आवमा २१ महिला, चार बालिका र चार ज्येष्ठ नागरिक हराएको निवेदन परेको छ। त्यसमध्ये पाँच महिला, तीन बालिका र दुई ज्येष्ठ नागरिक गरी १० जना फेला परिसकेका छन् भने १६ महिला, एक बालिका र दुई ज्येष्ठ नागरिकको खोजी भइरहेको छ। मुद्दा दर्ता बढ्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा वर्षेनी मुद्दा दर्ताको चाप बढ्दै गएको छ। प्रहरी कार्यालयको त्रिवर्षीय मुद्दा दर्ताको विवरणले जिल्लामा वर्षेनी मुद्दा दर्ताको सङ्ख्यामा वृद्धि भएको देखाएको छ। आव २०७३/७४ मा ३७९ मुद्दा दर्ता भएको कार्यालयमा ०७४/७५ मा ३७८ र ०७५/७६ मा ४३२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक सिलवालका अनुसार चालू आव ०७६/७७ मा पनि ८४ वटा मुद्दा दर्ता भइसकेको छ। दर्ता भएका मुद्दामध्ये आव ०७३/७४ मा ३७८ फछ्र्यौट भई १, ०७४/७५ मा ३०७ फछ्र्यौट भई ७१ र ०७५/७६ मा ३६७ फछ्र्यौट भई ५६ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ भने चालू आवमा ५४ फछ्र्यौट भई ३० मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ। कार्यालयमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, जबर्जस्ती चोरी, लागुऔषधलगायतका मुद्दा बढिरहेको सिलवालले बताए। गत आर्थिक वर्षमा प्रहरी कार्यालयमा दर्ता भएकामध्ये सबैभन्दा बढी मुद्दा सवारी ज्यान र लागुऔषधको रहेको छ। उक्त अवधिमा सवारी ज्यानको ५१ र लागुऔषधको ४४ मुद्दा दर्ता भएको थियो। उक्त दुवै मुद्दा फछ्र्यौट भइसकेको सिलवालले जानकारी दिए। त्यस्तै सोही अवधिमा जबर्जस्ती करणीको २२, जबर्जस्ती करणी उद्योगको छ, कर्तव्य ज्यानको १०, नकबजनी चोरीको १५, अभद्र व्यवहारको ३८, सार्वजनिक उपद्रयाइको २० मुद्दा दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ। कार्यालयले जिल्लाका विभिन्न ठाउँमा उम्रिएका गाँजा फँडानी, विद्यालयमा सचेतना अभियान, लागुऔषध नियन्त्रण लगायतलाई प्राथमिकता दिएको छ। साथै समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत जिल्लास्तर समिति बैठक, पालिकास्तरीय बैठक, अभिमुखीकरण लगायतका कार्यक्रम सम्पन्न भएको प्रहरीले जनाएको छ।रासस
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग एनआरएन कुनै पनि देशको संबिधान त्यो देशको मुल कानुन मानिन्छ । तर संबिधानमा सबै कुरा बिस्तृत रुपमा लेखिएको हुदैन । त्यसैले संबिधान कार्यान्वनको लागी संबिधानको मर्म अनुरुप कानुनहरु निर्माण गरिन्छ। यदी कुनै कानुन संबिधानको भावना बिपरित हुन गएमा बिपरित भएको जती खण्ड स्वत अमान्य गराउन सकिन्छ। नेपालको संबिधान २०७२ भाग २ नागरिकता सम्बन्धी धारा १४ मा दक्षिण यशियाली मुलुक बाहेकका मुलुकमा बस्ने साबिकमा नेपालको नागरिक रहेको र पछी बिदेशको नागरिकता लिएको हकमा तिनलाइ नेपालको संघीय कानून बमोजिम आर्थिक्, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैर आवाशीय नागरिक्ता दिन सकिने व्यवस्था गरिएको छ। हाल संसदमा अंगीकृत नागरिकता र अन्य नागरिकता बारे छलफल चलिरहेको छ। कानूनहरु निर्माणाधिन अवस्थामा नै रहेको छ। तर अमेरिकाको नागरिक लिईसकेकाको एन आर एनलाई भने दुई नाउमा खुट्टा राख्ने दोहोरो नागरिकता पाउन चट्टारो परिसकेको छ। नेपालको संसदमा दुई तिहाई बहुमत बिना संबिधान संशोधन गर्न सकिदैन। अहिले नेकपाको १७४ सांसद र फोरमको १७ मिलाउदा १९१ सांसद हुन्छ जुन दुइतिहाई भन्दा बढी हुन्छ। तराई केन्दृत दलहरु सबिधान संशोधनको लागि ताकेता गरिरहेका छ्न्। तर नेकपाका कतिपय सांसदहरु संशोधन प्रती उदासिन देखिएका छ्न्। अलिकति संशोधनको पाईलो चाल्दा अरु धेरै संशोधन गर्न अनिवार्य हुन जान्छ। त्यसैले अहिले नेकपाको दुइतिहाईको स्थिति भएपनि उनीहरु संबिधानलाइ हलचल नै मचाउने कुनै संशोधन गर्न इच्छुक देखिदैनन्। साथै नेपाल खोजिरहेको छ एनआरएनबाट लगानी। तर एनआरएन खोजिरहेको छ दोहोरो नागरिकता। अनि मिडिया र नागरिक समाज हरु चाही दोहोरो नागरिकताबाट एनआरएनलाई त फाईदा होला। तर नेपाललाइ फाईदा के भनी प्रश्न गरिरहेका छ्न्। एनआरएनमा कसैले नागरिकताको निरन्तरता खोजिरहेका छ्न्। कसैले राजनितिक अधिकार सहितको नागरिकता खोजिरहेका छ्न्। कसैलाइ सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार मात्रको नागरिकता भए पुग्ने भएको छ। यसरी एनआरएनमा नागरिकताको रुपमै एकरुपता छैन। राजनीतिक गुटबन्दीको कारण एनआरएनको चुनाव डोर्याएको छ। नेपाल र नेपालीको लागि यो संस्थाले तातो भुत्लो केही गरेको देखिदैन। यिनिहरुको सधैको खिचौलो कुरो सिर्फ यिनिहरु बिच सिमित राख्न फेसबूक्मा एक बकस खडा गर्नु उचित हुने देखिएको छ। गत सेप्टेम्बर ३० मा एनआरएन न्यूयोर्क च्याप्टरले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग गरेको अन्तर्कृया कार्यक्रममा “मन्त्री ताक्ने मुडो, एन आर एन ताक्ने घुँडो” भन्ने उखान चरितार्थ भएको छ। मन्त्रीले नेकपा सरकार नेपालमा आर्थिक स्मृघी ल्याउन कटिबध्ध रहेको र त्यसकालागी बिदेशी लगानी भित्र्याउन लगानी बिकास बोर्ड खडा गरी बिभिन प्रयास गरिरहेको बारे उल्लेख गर्नु भयो। सरकारले सोचे बमोजिम उपलब्धी हाशिल गर्न कती बजेट आवस्यक पर्ने र त्यसका लागी कती रकम बिदेशी लगानी कर्ताहरुबाट प्राप्त हुने बचन प्राप्त भएको बारे बताए । अनि कती रकम अझै नपुग हुने र त्यसका लागी एन आर एनलाइ लगानी गर्न सुबर्ण अवसर भएको बारे उल्लेख गरे । साथै एन आर एनलाइ दोहोर नागरिक्ता प्रदान गर्ने बिषय हाल कुन अवस्थामा पुगेको छ भन्ने बारे पनि बिस्तृत बिवरण सुनाए । एन आर एनलाइ दोहोरो नागरिकता दिने बारे देशको संबिधानले नै ब्यवस्था गरी सकेको हुनाले यो कुनै कानुले हटाउन नसक्ने र अहिले यो नागरिकता प्रदान गर्ने प्रकृया पुरा गर्न कानुन सदनमा निर्माण भैइरहेको बारे बिस्तृत उल्लेख गर्नु भयो । सिर्फ अन्य बिबिध कारणले मात्र अलि ढिला हुना गएको हो तर यो ढिलो वा चाडो आउने निस्चित भएको स्पस्ट पार्नु भयो। मन्त्रीज्युले आफनो बिस्तृत भनाइ राखी सकेपछी आफु एउटा त्यस्तो योजनाको खोजिमा रहेको जसले धेरै लगानी बटुलेर्, धेरैलाइ जोडेर्, उत्पादन र रोजगार बढाएर देशको कायापल्ट गर्न सकियोस, भन्ने आफ्नो सोचाई रहेको अति प्रभावकारी सोच ब्यक्ती गरे। नेपालमा आफ्नो मुटु नै टाँस्सिएको भन्न ईच्छुक एन आर एन अमेरिकाले बिकास र लगानी सम्बन्धी प्रतिबध्धता जाहेर गर्ला कि भनी स्पस्ट त्यसको आशा एव्ंम अपेक्षा पनि नेकपा सरकारले गरेको बताए। दोहोरो नागरिकताको प्राप्तिको लागी निरन्तर लागिरहेका कानुनबिद खगेन्द्र जिसि ले मन्त्रीज्युले बताएको संपुर्ण कुरा बारंबार फेसबूकमा पोस्ट गरी सबैलाइ अवगत गराई आएकाछ्न्। त्यसकारण यसबारे अरु सोध्नु पर्ने केहि कुरो थिएन। कसैलाइ केही कुरो सोध्न मन लागे गुलमेली मन्त्रीले दाजु भनेका गुलमेली जिसिले नै बताई दिन सक्छ्न।उनि कानुनका ज्ञाता भएकाले यो उनको लागी साधारण कुरो हो। अब दोहोरो नागरिकता चाहिएकाहरुले सिर्फ सयंमपुर्वक धैर्य गर्दै पर्खन जान्नु पर्यो । त्यो बाहेक अर्को बिक्ल्प छैन। जिसिले नागरिकता सम्बन्धी बिस्तृत कुरा राखी सके पछी र मन्त्रीज्युको ईमन्दारितापुर्ण बिस्तृत जवाफ सुने पस्चात त्यसैको आधारमा वहालाइ केही जानकारी दिने सोच बोकेका कतिपय कांग्रेसी र अन्य बिकास र लगानी सम्बन्धी ज्ञाताहरु पनि कार्यक्रममा थिए। एन्करले मन्त्री ज्युले जिज्ञासा र चासो देखाएका बिकास र लगानीमा मात्र केन्दृत भएर प्रश्न राख्न सबैलाइ सुरुमै भनिएको थियो। तर यसको बिपरित बिकास र लगानी बाहेकका अनेक प्रश्न राख्ने बामपन्थी गुट पहिले नै सेट भैसकेको रहेछ। अनि त आयोजक प्रमुखले आफ्नो दुई फुट अगाडी उभिएको सहभागिलाई पनि नदेखेको जस्तो गर्न थाले र एन्करले नाम भन्न जादा वास्ता गरेनन। पुर्व सेट्टिङ गुट्बाट नेपालले दशै अगाडि नै दोह्रोरो नागरिक्ता दिने भन्ने कुरो भएको थियो सो किन आएन भन्ने नै मुल प्रश्न सबैको मन्त्रीसग रह्यो। मानिलिउ मन्त्रीले युन एनको कार्यक्रममा भाग लिन आउदा अमेरिकामा बाँडन नेपालको दोहोरो नागरिकता खल्ती मै बोकेर आएका छ्न र त्यो कहिले दिने भन्ने खालका प्रस्न सुनियो। तर बिकास र लगानिको कुरो नसुनिएपछी मन्त्रीज्युको आशामा तुषारापात भएको सहजै बुझ्न सकिन्थियो। आयोजकले यो एक बाम भेट्घाट कार्यक्रमलाइ, ूमन्त्री र एन आर एन अन्तरकृयाू, नामाकरण गरी मान्छे बटुलेर मन्त्रीलाइ देखाउने मात्र कार्य गरेका रहेछ्न। अनि पुर्व निर्थारित बामे मण्डलकालाइ मात्र मन्त्रीसंग प्रश्न राख्ने वा सुझाव दिने चाजोपाजो मिलाएका रहेछ्न्। पछि पुझ्दा त अमेरिकाको नागरिक लिएकाहरुलाइ दोहोरो नागरिक चाहिएकोले राजनीतिक कार्यक्रम भनेर आयोजक प्रमुखले जवाफ दिए। कतिपय बामपन्थी ईतरकाले मन्त्रीसग प्रश्न गर्न वा नेपालको बिकास र स्मृधिको लागी केही सल्लाह सुझाव दिन चाहनेलाइ अवसर दिईएन। यसबाट उनिहरुलाइ त केही घाटा भएन। तर नेपालको बिकास र लगानी सम्बन्धी मन्त्री ज्युले केही कुरो सुन्न नपाए पछी नेपाललाइ उपलब्धी हिन कार्यक्रममा आएर घाटा चाही अवस्य भएको अनुमान गर्न सकिन्थियो । सांरासमा यो कार्यक्रम उपलब्धिहिन मन्त्री भेटघाट कार्यक्राम भएको धेरैको अनुभुव रह्यो। धेरैले समय त्यसै खेर गएको महशुस गरे। अनेसास न्यूयोर्क च्याप्टरको पुस्तक बिमोचन कार्यक्रम तर लगतै पस्चात अनेसास न्यूयोर्क च्याप्टरलेले श्रीमती मन्त्री ज्ञवालीको ”लालटिनको उज्यालो” पुस्तक बिमोचन कार्यक्रम राखेको रहेछ । जसमा फेरी मन्त्री ज्ञवालीलाइ श्रीमतीको बिमोचन कार्यक्रमको प्रमुख अतिथी बनाइ च्यापटरका सभापति राजेन्द्र श्रेष्ठले खादा ओढाएर स्वागत गरे। सञ्चालिका शकुन ज्ञवाली र समिक्षिकाले पुस्तकका बारे उल्लेख गरेको बिवरण सुन्दा मन्त्री ज्ञवाली दम्पतिको आदर्श्, पंचायतकालिन पिडा, यातना, महिलाको बिवस्ता, दयनिय अवस्थाका दिनहरु, बाम बिचारमा अटुट अस्था अनि आफुले हेडेको मार्गबाट कुनै दिन सोचेको गन्तब्यमा पुगिने अटुट बिस्वास इत्यादी बारे सुन्दा श्रोता निकै भावबिह्वल भैइ पाच मिनेट भनेको कार्यक्रम एक घण्टा ध्यान मग्न भई सुनेका थिए। यसका लागि राजेन्द्र श्रेष्ठ र शकुन ज्ञवाली धन्यबादका पात्र हुनु भएको छ।
सिन्धुपाल्चोकमा भव्य रुपमा मनाइयो दही छ्याप्ने जात्रा सिन्धुपाल्चोक । एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका ५ स्थित तौथलीमा सम्पन्न भएको छ । विजया दशमीको भोलिपल्ट असोज २२ गते दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरा सुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइने जात्रा आज सम्पन्न भएको हो। तेह्रौँ शताब्दीको मल्लकालदेखि शुरु भएको उक्त जात्रा यहाँबाहेक अन्यत्र कतै नभएको र तौथलीको त्रिपुरासुन्दरी माईको मन्दिरमा प्रत्येक वर्ष लाग्दै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए। आसपासका गाउँका गाईभैँसीले सधैँ दूध दिइरहुन् भन्ने विश्वासमा देवीलाई दही चढाउने परम्परा रहँदै आएको छ। एकले अर्कालाई दही छ्यापाछ्याप गर्दा सहभागीको अनुहारसमेत चिन्न मुस्किल पर्ने र छ्यापेको दही बगेर पैदल हिँड्नसमेत असहज हुने स्थानीय बासिन्दा बताउँछन्। जात्रामा करीब आठ/१० वर्षअघिसम्म प्रशस्त दही जम्मा भई जात्रामा खोलो नै बग्ने गर्दथ्यो। तर गाउँमा चौपाया पाल्ने किसानको कमी हुन थालेपछि दही आउन पनि कम हुँदै गयो। त्यसलाई दृष्टिगत गरी यस वर्ष दही खरीद गर्न पालिकाले रु दुई लाख र चन्दा सङ्कलनबाट रु दुई लाख गरी रु चार लाख जम्मा भएकाले पुनःपहिलेकै अवस्थामा दहीको खोलो बगाउने योजना रहेको अध्यक्ष श्रेष्ठ बताउँछन्। द्वापरयुगमा कौरव र पाण्डवको कलहका कारण पाण्डव जुवा हारेपछि १२ वर्ष वनबास र एक वर्ष गुप्तबास बसेको महाभारतमा उल्लेख छ। उनीहरु गुप्तबास बसेको ठाउँ दोलखा भएको अनुमान गरिएको छ। गुप्तबास बस्दा अरुबाट चिनिने डरले उनीहरूले पाल्छी भाषा अर्थात् कोड भाषा प्रयोग गरेका थिए। दोलखा र तौथली डाँडाबारी र पारी पर्ने हुँदा दुवै स्थानका नेवारले बोल्ने भाषा प्रायः मिल्दो जुल्दो छ। दोलखाका नेवार समुदायले बोल्ने भाषा तौथलीबाहेक नेपालका कुनै पनि स्थानमा बोल्दैनन् र बुझ्न पनि कठिन पर्दछ। दोलखामा जस्तै तौथलीमा पनि भिमसेनको मन्दिर रहेको छ। रासस
बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन रसुवा । उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार भ्रमणका क्रममा हराइरहेका दक्षिण कोरियाली ४२ वर्षीय सिसुङ राहदानी नम्वर एम ओ ८११८३५५ को खोजी भइरहेको हो। दुई दिनदेखि नेपाल प्रहरीका साथै भिरपाखोमा सहजरूपले हिँड्न सक्ने १० थप दक्ष जनशक्ति र स्थानीय बासिन्दासमेत परिचालन गरिएको छ। उनको खोजी अहिले गोसाइँकुण्ड गाउँपालिका वडा नं १ थुमन गाउँको उत्तर रसुवागढीबाट १० किमी दक्षिण पश्चिम रिछर जङ्गल इलाकामा भइरहेको प्रहरी प्रमुख ढकालले जानकारी दिए। पर्यटकीय पदमार्गको वृद्धिम, टिमुरे तथा लाङ्टाङ समेतका क्षेत्रमा दर्जनौँ सुरक्षाकर्मी यही असोज ९ गतेदेखि परिचालन गरी पछिल्लो चरणमा भने थुमन इलाका क्षेत्रमा खोजीमा केन्द्रित गरिएको प्रहरीले बताएको छ। पर्यटक प्रहरीचौकी स्याफ्रुबेंसीको अभिलेखअनुसार उनी गत महीनाको भदौ २७ गते रसुवाको स्याफ्रुबेंसीमा बास बसी असोज २८ गतेदेखि तामाङ सम्पदा पदमार्गको भ्रमणमा गएका थिए।रासस
एनआरएनएको नवौं महाधिवेशन : कोषाध्यक्ष र सचिवका उम्मेद्वारले उठाए दोहोरो नागरिकता पाउनुपर्ने माग काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुले दोहोरो नागरिकता पाउनुपर्ने मागलाई जोडतोडका साथ उठाएका छन् । संघको नवौं महाधिवेशनमा भाग लिन विश्वभरिबाट गैरआवासीय नेपालीहरु काठमाडौं आईसकेका छन्। कतिपयले उम्मेद्धवारी समेत घोषणा गरिसकेका छन्। नवौं महाधिवेशनमा अध्यक्षका लागि कुमार पन्त र कुल आचार्यको भीडन्त हुने निश्चित् भैसकेको छ। नवौं महाधिवेशनमा कोषाध्यक्षका लागि उम्मेद्धवारी घोषणा गरेका सोम सापकोटा, महेश कुमार श्रेष्ठ र सुदन थापाले पनि गैरआवासीय नेपालहरुले दोहोरो नागरिकता पाउनुपर्ने कुरा उठाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले संघको नवौं महाधिवेशनको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै कोषाध्यक्षका उम्मेद्धवार सोम सापकोटाले आफू कोषाध्यक्षमा निर्वाचित भए संघको कोषलाई पारदर्शी रुपमा चलाउने विश्वास दिलाए । त्यस्तै, सापकोटाले स्वरोजगार कल्याणकारी कोषलाई चलायमान बनाउँदै गैरआवासीय नेपालीहरुको समस्या समाधान गर्नको लागि उपयोग गर्ने बताए । आफूले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुसँग साक्षात्कार गरेको र उनीहरुको सल्लाह र सुझावकै आधारमा कोषाध्यक्षको उम्मेद्धवार बनेको सुनाउँदै आफ्नो जीत सुनिश्चित् रहेको पनि सापकोटाको दाबी छ । उनले प्यानल बनाएर चुनाव लड्नुभन्दा संस्था बलियो हुनुपर्छ भन्ने पक्षमा रहेको सुनाए । यद्धपी प्यानलबाटै चुनाव लड्नुपर्ने अवस्था आए अध्यक्षका उम्मेद्धवारी कुल आचार्यसँग आफू नजिक रहेकोले सोहीअनुसार निर्णय लिने पनि उनले स्पष्ट पारे। सापकोटा अहिले संघका सह–कोषाध्यक्ष हुन् । संघलाई कसरी आर्थिक रुपमा बलियो बनाउन सकिन्छ भन्नेबारे आफूसँग विगत १३ वर्ष लामो अनुभव रहेकोले अब उक्त अनुभवलाई व्यवहारमा उतार्ने बेला आएको सुनाउँदै कोषाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको सापकोटाको भनाई छ । संघमा आवद्ध भएदेखिको १३ वर्षको अवधिमा आफू संसारभरि रहेका राष्ट्रिय समन्वय परिषदमा आफू पुगेको पनि उनले सुनाए । वैदेशिक रोजगारीका समस्यालाई हल गर्नको लागि पनि आफूले पहलकदमी लिने उनले सुनाए । ‘म कल्याणकारी समितिको सदस्य पनि हुँ, आगामी दिनमा वैदेशिक रोजगारीको समस्या जो छन्, ती सबै हल गर्नको लागि पनि म पहल गर्नेछु ।’–उनले भने । उनले २ करोड रहेको वैदेशिक रोजगार कल्याणकारी कोषलाई कम्तिमा पनि पाँच करोडको कोष बनाउने जनाए । विभिन्न कालखण्डमा आफूहरुले गरेका सञ्चालनमा रहेका परियोजनाहरुको लेखाजोखा गर्नुपर्ने बताए । राष्ट्रिय समन्वय परिषदलाई पनि आर्थिक रुपमा पारदर्शी बनाउनुपर्ने उनको धारणा छ । उनले आफू निर्विरोध कोषाध्यक्ष हुने सम्भावना सुनाए । तर, चुनावी प्रतिष्पर्धा भएपनि आफू नै विजयी हुने उनले सुनाए । उनले संघको नेतृत्वमा उम्मेद्धवारी दिएका कुमार पन्त र कुल आचार्यबीच समझदारी बन्नेमा आफू विश्वस्त रहेको पनि सुनाए । उनले भने,‘हामीसँग अझै एक हप्ता समय छ, हामी सर्वसम्मतीमा नेतृत्व चयन गर्नेबारे प्रयासरत छौं ।’ कोषाध्यक्षका अर्का उम्मेद्धवार महेशकुमार श्रेष्ठले आफ्नो फाईनान्सियल अनुभवलाई संघमा उपयोग गर्ने सोचका आधारमा नै कोषाध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेको सुनाए । आफू विगत लामो समयदेखि संघका विभिन्न समितिमा बसेर काम गरिसकेको व्यक्ति भएको पनि उनले सुनाए । श्रेष्ठले भने,‘मैले संघको विधान र लगानी समितिमा बसेर काम गरिसकेको छु । संघमा मैले लामो योगदान गरेको छु ।’ त्यस्तै, उनले सरकारले गठन गरेको ईन्भेष्टमेन्ट कमिटीमा पनि आफूले लामो समय काम गरेको बताए । संघको कोषलाई कसरी सवलीकरण गर्न सकिन्छ भन्नेबारे आफूसँग ठोस योजना रहेको पनि उनले सुनाए । उनले भने, ‘हाम्रो संघको कोष सेफ सन्टेनेवल हुन आवश्यक छ। त्यो अहिले भैरहेको छैन्, हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’ उनले कोषलाई सवलीकरण गर्नेबारे आफ्नो तत्काल, अल्पकालिन र दिर्घकालिन योजना पनि सुनाए । उनकाअनुसार तत्काल गर्न सकिने योजनामा ८ करोड जम्मा गर्न सकिने योजना सुनाए । उनले भने,‘म रेमिट्यान्स सेक्टरमा काम गरेको व्यक्ति हुँ, मलाई के थाहा छ भने विश्वभरिबाट अहिले ८ खर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । रेमिट्यान्स भित्र्याएबापत राष्ट्र बैंकले ३० पैसा ईनसेन्टिभ गर्छ । त्यसको एक पैसामात्रै श्रमिकहरुको लागि कलेक्सन गर्न सकियो भने ८ करोड हुन जान्छ ।’ यसबारेमा आफूले राष्ट्रबैंकका अधिकारीसँग छलफल अघि बढाईएको पनि उनले सुनाए । संघको वार्षिक आर्थिक नीति बनाउनुपर्ने आफ्नो धारणा रहेको पनि उनले स्पष्ट पारे । आगामी दिनमा संघका परियोजना र घोषणाहरु आर्थिक योजनामा आधारित हुनेपनि आफूले विश्वास लिएको उनको भनाई छ । संगठनमा हुने खर्चहरु पारदर्शी हुनुपर्ने आफ्नो मान्यता रहेको श्रेष्ठको भनाई छ । उनले कोषलाई अनुशासित, मर्यादित र पारदर्शी रुपमा चलाउने प्रतिबद्धता व्यक्त गरे । संघको सांगठानिक संरचनालाई मजबुद बनाउँदै अघि बढाउने पनि उनले विश्वास दिलाए । संघभित्र पार्टीको राजनीति हावी हुन नदिने पनि उनले स्पष्ट पारे । कोषाध्यक्षका अर्का उम्मेद्धवार सुदन थापाले संस्थालाई आर्थिक रुपमा बलियो र सशक्त बनाउनको लागि आर्थिक पाटो स्पष्ट हुनुपर्ने बताए । उनले भने, ‘नेपालमा विदेशी लगानी भित्र्याउनको लागि पनि मेरो उम्मेद्धवारी हो । सन् २००८ देखि कार्यसमितिमा रहेर कार्यरत छु । लाखौं नेपालीहरुको लागि कल्याणकारी कोषको आवश्कत्ता छ ।’ उनले आफू जापानको अध्यक्ष बन्दै गर्दा नेपालीहरुको ठूलो समस्यालाई मध्यनेजर गर्दै कल्याणकारी कोष खडा गरेको सुनाए । उनले भने, ‘वैदेशिक रोजगारमा रहेका साथीहरु अंगभंग हुँदा हामीले सहयोग गर्न नसकेको अवस्था थियो । ती अवस्थालाई देखेर, बुझेर र सिकेर तीनिहरुलाई सहयोग गर्नको लागि पाँच करोडको आपतकालिन कोष जापानमा खडा गरेको थिएँ । त्यो कोष धेरै उपयोगी भएको थियो ।’ उनले आफ्नो समग्र उम्मेद्धवारी देशसँग जोड्नको लागि पनि भएको जिकिर गरे । उनले भने, ‘१४ वर्षको अनुभवलाई अब उपयोग गर्नको लागि पनि कोषाध्यक्षमा उम्मेद्धवारी दिन लागेको हुँ।’ आईसिसीको युवा संयोजक भएर काम गरेको सुनाउँदै थापाले गैरआवासीय नेपाली युवाहरुको वृद्धिविकासमा पनि आफूले ध्यान दिने बताए । उनले भने, ‘नेपालमा हालै सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हाम्रा साथीहरुले भाग लिनुभएको थियो । उहाँहरुलाई खेल्ने वातावरण सिर्जना गरेका थियौं ।’ उनले सबैलाई समेटेर जाने पनि प्रतिबद्धता व्यक्त गरे ।
भोजपुरमा टेम्पो दुर्घटनामा हुँदा एक जनाको मृत्यु काठमाडौं । हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आज अपराह्न १ बजे हतुवागढी गाउँपालिका वडा नम्बर ५ होम्ताङको भित्री सडकमा दुर्घटना भएको हो। दुर्घटना सोही गाउँपालिका वडा नम्बर ४ खैराङका मिलन राईकी आठ वर्षीया छोरी गुराँसको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए। घोडेटारबाट होम्ताङतर्फ जाँदै गरेको को २ ह ७६८६ नम्बरको टेम्पो अनियन्त्रित भई सडकदेखि अन्दाजी ६० मिटर तल झरेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मिलनकै चार वर्षीया छोरी रितु, २१ वर्षीया रिका, १२ वर्षीय अनिम राई र चालक २४ वर्षीय विजय राई घाइते भएका हुन्। घाइतेमध्ये चालक विजय राई र ४ वर्षीया बालिका रितुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ।रासस
‘चिनियाँ लगानी आमन्त्रण गर्नुपर्छ, तर ऋणमा रेल बनाउनुहुँदैन्’ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने बताएका छन्। उनले भने, ‘चिनियाँ राष्ट्रपतिको नेपाल आउनु खुशीको कुरा हो। हामी उहाँलाई स्वागत गर्न चाहन्छौं।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले आफू परराष्ट्रमन्त्री भएकै बेला नेपाल भ्रमणको लागि निमन्त्रणा गरिएको सुनाउँदै ढिलै भएपनि नेपाल आउनु खुशीको कुरा भएको स्पष्ट पारे। उनले भने, ‘म परराष्ट्रमन्त्री भएको बेला नेपाल भ्रमणको लागि निमन्त्रणा दिएका थियौं, उहाँले त्यतिवेला पनि उपयुक्त समयमा आउने कुरा गर्नुभएको थियो । उहाँ अब आउँदैहुनुहुन्छ, यो हामी सबैको लागि खुशीको कुरा हो ।’ एक कार्यक्रममा बोल्दै उनले चीन नेपालको छिमेकी मित्रराष्ट्र मात्रै नभएर एउटा नजिकको मित्र भएको सुनाए। उनले भने, ‘चीनको समृद्धि अहिले दिनानुदिन बढिरहेको छ। विश्वमै चीन शक्तिशाली देशको रुपमा स्थापित भैसकेको छ। हामीले चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ।’ आफ्नो पार्टीले विपी कोइरालाको पालादेखि नै चीनसँग सुमधुर सम्बन्ध राखेको पनि महतले स्पष्ट पारे। उनले आफूहरुले कुन देशसँग कुन राजनीतिक पद्धती वा प्रणाली छ भनेर सम्बन्ध राख्ने भन्दापनि एउटा देशको अर्को देशसँग आपसी हितमा केन्द्रित रहेर सम्बन्ध राख्नुपर्ने बताए। र, अहिले सोहीअनुसार आफूहरु अघि बढिरहेको पनि महतको जिकिर छ। चीनसँगपनि सुमधुर सम्बन्ध राख्दै अघि बढ्नुपर्ने बताउँदै महतले एक–अर्काको जायज चासो र चिन्ताप्रति गम्भिर हुनुपर्ने बताए। नेपालले आफ्नो राष्ट्रिय आवश्यकत्ता प्राप्त गर्ने केही अधिकार क्षेत्र रहेको सुनाउँदै सोहीअनुसार सम्बन्ध अघि बढाउनुपर्नेमा महतले जोड दिए। उनले भने, ‘नेपालले आफ्नो राष्ट्रिय आवश्यकत्तालाई ध्यानमा राखेर आफ्नो एजेण्डा अघि सार्नुपर्छ।’ आफू नै परराष्ट्रमन्त्री हुँदा बिआरआई परियोजनाबारे सम्झौता भएको सुनाउँदै अहिलेको सरकारले त्यसलाई कुशलतापूर्वक कार्यान्वयनमा ध्यान दिनुपर्ने महतको भनाई छ। उनले चिनियाँ लगानी नेपालमा आमन्त्रण गर्नुपर्ने पनि सुझाए। उनले भने, ‘नेपालमा चिनियाँ लगानी भित्र्याउन सक्यौं भने दुई देशबीच रहेको व्यापार घाटा घटाउन सकिनेछ। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा हुने उच्चस्तरीय छलफलमा यो विषयमा कुराकानी हुनुपर्छ। नेपालबाट चीन निर्यात हुने वस्तुमा शुन्य भन्सार लागत कायम गर्नेबारे पनि कुराकानी हुनुपर्छ।’ त्यस्तै, उनले नेपालले चीनसँगको सम्बन्धमा सडक सञ्जाल अघि बढाउनेबारे ध्यान दिनुपर्ने पनि सरकारलाई सुझाव दिए। उनले भने, ‘चीनसँग हामीले १२ महिनै चल्ने सडक सञ्जाल बनाउनुपर्छ। त्यस्तै, अरु नाकाहरुपनि खोल्नुपर्छ।’ पछिल्लो समय नेपालमा रेलवेबारे धेरै बहस भएको सुनाउँदै महतले रेलमा लगानी गर्दा समयमै प्रतिफल नआउनेतर्फ सरकारको ध्यानाकार्षण गराए। भारत र चीनबीच जबसम्म नेपाल भएर व्यापार हुँदैन्, तबसम्म रेलमा लगानी गर्नु नेपालको लागि घाटा हुनेपनि उनको संकेत छ। उनले भने, ‘ऋण लिएर रेलवेमा लगानी गर्दा यसले प्रतिफल दिँदैन्। हामीले लगानी मुल्य त परै जाओस्, सञ्चालन मूल्यपनि उठाउन सक्दैनौं।’ महतले नेपालले आन्तरिक सडक सञ्जालको विकासमा नै बढि जोड दिनुपर्ने सुझाव पेश गरे। तर, ऋणमा नभई अनुदानमा रेल बनाउने कुरा भए त्यो भने स्विकार्य हुने उनको तर्क छ। चीनबाट काठमाडौं आउने रेलमात्रै नभएर भारतबाट काठमाडौं आउने रेलपनि अनुदानमा नै बनाउनुपर्ने उनको धारणा छ। उनले भने, ‘हामीले आफैं बनाउन सक्ने अवस्था छैन्। त्यसैले ऋणमा पनि बनाउनुहुँदैन्। बरु, अनुदानमा नै बनाउनुपर्छ।’ नेपालको आफ्नो साधन र स्रोतलाई ध्यान दिएर अघि बढ्नु नै आजको आवश्यकत्ता रहेको महतको भनाई छ। ऋणको बोझमा बस्नुभन्दा पहिले यसको आर्थिक प्रतिफल के आउँछ ? र कहिलेसम्म आउँछ भन्ने कुरामा बढि ध्यान दिनुपर्ने पनि उनको भनाई छ। उनले भने, ‘रेलको कुरा गरेर बढि सेन्टिमेन्टल हुन जरुरी छैन्।’ महतले नेपालले छहरे–टोखा सुरुङमार्गको बारेमा सोच्नुपर्ने बताए। उनले भने, ‘सुरुङमार्गको विकास गर्न सकियो भने चीनसँगको सडकमार्ग एकदमै छोटो हुन्छ।’ महतले चीनको एक चीन नीतिको चासोमा नेपाल सधैं प्रतिबद्ध रहेको पनि सुनाए। उनले भने, ‘नेपालको भूमि कसैको खिलाफमा पनि प्रयोग हुन दिँदैनौं। नेपाल यसप्रति सजग छ। हामी हाम्रो राष्ट्रिय स्वार्थका आधारमा र आपसी हितको आधारमा अघि बढ्छौं।’ चीनसँग सरकारले सुपुर्दुगी सन्धी गर्न लागेको छ भनेर बाहिर चर्चा छ नि भनेर सोधिएको एक प्रश्नमा उनले भने,‘यसबारेमा नेपालले थप छलफल गर्नुपर्छ। यसबारेमा समान दृष्टिकोण हुनुपर्छ।’
काठमाडौंको असनमा खडग जात्राको रमझम काठमाडौं । काठमाडौंको असनबासीले हर्षोल्लासका साथ खडग जात्रा मनाएका छन्। दसैंको विजया दशमीको भोलीपल्ट एकादशीका दिन बुधबार काठमाडौंका असनबासीले दसैंको टीका लगाएर खड्ग जात्रा मनाएका हुन्। टोलका सबैभन्दा सानो बालकलाई खडग बोकाएर यो जात्रा मनाउने गरिन्छ। टोलबासीको एकताका लागि पनि यो पर्व मनाउने गरिएको स्थानीय माणिकरत्न तुलाधरले जानकारी दिए। सबैभन्दा कम उमेरका नानीलाई खडग बोकाएर टोल परिक्रम गरे टोलकै सुरक्षा हुने मान्यता अनुसार यो पर्व मनाउने गरिएको स्थानीयको भनाई छ। ११ सय वर्ष अघिदेखि मनाउँदै आएको यो पर्वमा खडगले कुभिण्डो काटेर दूर्गा भवानीलाई बलि दिने प्रचलन छ। जात्रामा स्थानीयले खडग लिएका सानो नानीलाई पूजा गर्ने, दक्षिण दिने र नेवारी परम्परा अनुसारको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो।
चिनियाँ राष्ट्रपतिको भ्रमण : सुरक्षा व्यवस्था कडा काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए। “चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौँ, उहाँको सुरक्षामा कुनै कमी हुन दिँदैनौँ”, उनले भने । प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ । चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ ।
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु रुपन्देही । कञ्चन गाउँपालिका–१ राताडाँडास्थित सडकमा बा ९० प ५४०६ नम्बरको स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मंगलबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँका २९ वर्षीय कृष्ण भुर्तेल उपचारको क्रममा प्रादेशिक लुम्बिनी अस्पतालमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका स्कुटरमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय टिकाराम भुर्तेल र पन्चरत्न भुर्तेलको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिवार नेपाल आउने पक्का काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको औपचारिक मिति सार्वजनिक भएको छ ।  परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने तय भएको  हो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति सीले अक्टोबर १२ र १३ (असोज २५–२६) गते नेपाल भ्रमण गर्नेछन् । चिनीयाँ राष्ट्रपति अक्टोबर ११ मा भारतको चेन्नाई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ । भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले मल्लापुरममा दोस्रो शिखर बैठक गर्नेछन् । विश्व सम्पदा सूचीमा रहेको मल्लापुरममा मोदीसँगै सांस्कृतिक कार्यक्रममा समेत सी सहभागि हुनेछन् ।
गुण्डुमा पाथिभरा माताको मन्दिर काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुमा आज पाथिभरा माताको मन्दिर स्थापना गरिएको छ। गुण्डुको पाँच रोपनी क्षेत्रफलमा प्रसिद्ध पाथिभरा माताको ३५० केजीको अष्ट धातुबाट निर्माण गरिएको मन्दिरको आज प्राणप्रतिष्ठा गरिएको हो। पाँच महीना लगाएर ११ लाखमा निर्माण गरिएको पाथिभराको मन्दिरको निर्माणसँगै भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने आयोजकले जनाएका छन्। मन्दिर निर्माणका लागि श्रीमद्देवी भागवत ज्ञान महायज्ञको समेत आयोजना गरिएको छ। पण्डितहरुले पाथिभरा वैष्णोदेवी मन्दिरको प्राण प्रतिष्ठा गरेका थिए। सांसद महेश बस्नेतले मन्दिरको उद्घाटन गरे।
कञ्चनपुरमा नृत्य टोलीसँगै बडा दशैँको टीका कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका वडघर रामप्रसाद चौधरीले कोसेलीसहितको नृत्य टोलीसँगै देशबन्धिया गुरुवाको घरमा पुगेर दशैँको अवसरमा टीका थापे। थारु समुदायमा देशबन्धिया गुरुवाको स्थान उच्च रहने गर्छ। सधैँ सखिया नृत्य टोलीसँग टीका थाप्नका लागि आइपुग्थे। उनले भने, “यस पटक झुम्रा नृत्य टोलीसँगै पुगेर टीका थापे।” गुरुवासँग टीका थापेर आर्शिवाद लिएपछि झुम्रा नृत्यसँग सखिया नृत्यको सबै गाउँलेसँग बसेर मनोरञ्जन मात्रै लिएनन् सधैँ कामको सिलसिलामा गाउँभन्दा बाहिर बस्नेहरुको हालचाल बुझ्नाका साथै भलाकुसारी गर्नसमेत भ्याए। थारु समुदायको बडादशैँको टीका थाप्न जाँदा नृत्यसहित पहुरा (कोसेली) लिएर जानुपर्ने परम्परागत चलन रहेको छ । कोशेलीका रुपमा टीका, जमरा, बेवरी, चामल र मदिरा लिएर जाने चलन रहेको छ। गुरुवासँगै गाउँका मान्यजन वडाध्यक्ष, सदस्य, वडघर, केसौका र चौकिदारको घरमा कोसेलीसहित पुगेर टीका थाप्नुपर्ने पुरानो चलन छ। शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्षको घरमा पुगेरसमेत पिपलाडी र जोनापुरको सखिया, झुम्रा नृत्य टोलीसहित गाउँका सबैले टीकासमेत थापे। यस पटक वडा कार्यालयले दशैँका अवसरमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख दिलबहादुर ऐरले मान्यजनबाट टीका थापे भने आफूभन्दा सानालाई टीका लगाएर आशीर्वादसमेत दिए। पालो पर्खंदै पहुरा ९कोसेली० लिएर थारु समुदायका बालबालिका, बूढापाका, महिला र तन्नेरी टीका थाप्नका लागि मान्यजन कहाँ जाने गरेका छन्। टीका थाप्न गाउँ गाउँबाट सखिया, छोक्रा, लठुवा र छोक्रा नाचसँगै पहुरारुपसहित मान्यजनकहाँ जाने चलन रहेको स्थानीयवासी परदेशी चौधरीले बताए। गाउँका मान्यजनका रुपमा समाजले सामाजिक र सांस्कृतिक कार्य गर्न चुनेका बडघर, गुरुवा र केशौकाबाट पहिलो टीका थापेर आशीर्वाद लिनुपर्ने परम्परागत चलन रहेको उनले बताए। “हाल जनप्रतिनिधिकहाँ पुगेरसमेत टीका थाप्न थालेका छौँ”, उनले भने। बडघरपछि गुरुवा, केसौका जनप्रतिनिधि र मान्यजनबाट पालो पालो सामूहिक रुपमै थारु समुदायले टीका थाप्ने गरेका छन्। टीका थाप्नेहरुका लागि टीका लगाउने बडघर र गुरुवाको घरमा चामलको पिठोबाट बनेको ढिक्री, दालभात, माछा मासु र तरकारी खुवाउने व्यवस्था मिलाएको हुन्छ। आज दिनभर सखिया नाचको रौनक हुने भएकाले थारु गाउँमा उमङ्ग थपिएको छ। रासस
चितुवाको आक्रमणबाट बालकको ज्यान गयो काठमाडौं । चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा आज एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भानु नगरपालिका–१ जामुनेगैह्रा बस्ने विष्णु बानियाँका छोरा चार वर्षीय आशिष बानियाँ रहेका छन्। घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिए। “दशैँको दिन टीका लगाएर घर नजिकै पिङ खेल्ने क्रममा चितुवाले आक्रमण गरेको रहेछ”, प्रहरी नायब उपरिक्षक लामिछानेले भने, “भानु नगरपालिकामा चितुवाको त्रास रहेकाले बालबालिकालाई एक्लै नछाड्न आग्रह गर्दछु।” भानु नगरपालिकामा यसअघि पनि चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट यसअघि दुई बालक र दुई बालिकाको मृत्यु भएको थियो। विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो। यसअघि असोज १५ गते भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा निर्माण गरिएको खोरमा एउटा चितुवा नियन्त्रणमा लिइएको थियो। पुनः चितुवाले आक्रमण गरेपछि भानु नगरपालिकामा अन्य चितुवा पनि रहेको अनुमान गरिएको छ। चितुवाले पुनः आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्।रासस
सप्तरीमा आफ्नै श्रीमती र छोराले गरे बुवाको हत्या सप्तरी । सप्तरीमा एक ज्येष्ठ नागरिकको हत्या आरोपमा उनकी श्रीमती र छोरा आज पक्राउ परेका छन्। कुटपिटबाट मृत्यु भएपश्चात् फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ। आइतबार राति मदिरा सेवन गरेका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मो.गफुर पमरियाको मृत्यु भएको बताइएको छ। गफुरलाई उनकै श्रीमती जमुनी र कान्छा छोरा नइमले कुटपिट गरी हत्या गरेको भन्दै मृतकका भाइ मो. इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए। आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।रासस
चरेश कारोवार मुद्दाका फरार अभियुक्त पक्राउ काठमाडौं । लागुऔषध (चरेश) कारोवार मुद्दामा फरार रहेका पनौती नगरपालिका–९ का २३ वर्षीय राजीव थापालाई आज प्रहरीले पक्राउ गरेको छ। थापा दशैँमा टीका लगाउन घर आउने क्रममा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार फरार रहेका थापा पर्सा जिल्ला अदालतबाट तीन वर्ष कैद र रु दुई लाख जरिवाना सुनाइएका व्यक्ति हुन्। “जिल्ला अदालत पर्साले कैद फैसला सुनाएका राजीव थापा दशैँमा टीका लगाउन पनौती घर आएका बेला पक्राउ परेका हुन्”, प्रहरी प्रमुख सापकोटाले भने, “पक्राउ परेका थापालाई दशैँ बिदा सकिएलगत्तै जिल्ला अदालतमा बुझाउँछौँ।”
सौराहामा विदेशी पर्यटकले मनाए दशैँ काठमाडौं । तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकले पनि दशैँ मनाएका छन्। पर्यटकले सौराहाको सपना भिलेजमा टीका लगाएर दशैँ मनाएका हुन्। ब्राजिलदेखि सौराहा घुम्न आएका ४३ वर्षीय पर्यटक रिमाडो टिकोलीले यस पटक टीका र जमरासँगै नेपालीहरुको दशैँ मनाउन पाउँदा निकै खुशी देखिन्थे। “मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैँ मनाएको छु, धन्यवाद नेपालीहरु”, उनले भने। अर्का पर्यटक जोसिलो कोस्टा पनि निकै हर्षित देखिन्थे। उनले आगामी वर्ष पनि नेपालमा आएर दशैँ मनाउने बताए। सौराहाको सपना भिलेजले हरेक वर्ष जस्तै यो वर्ष पनि दुर्गा पूजा गर्दै पर्यटकलाई समेत दशैँ मनाउने परम्परालाई निरन्तरता दिएको सपनाका प्रबन्ध निर्देशक ध्रुव गिरीले बताए। उनले भने, “पर्यटकलाई हाम्रो संस्कृतिसमेत पहिचान गराउनुपर्छ भनेर शुरु गरेका हौँ, दशैँमा नेपाल घुम्न आउने पर्यटकलाई संस्कृति सिक्ने प्याकेज बनाउन चाहान्छौँ।” “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु”, विदेशी पर्यटक मेरिकोलले भने। चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम शुरु भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशैँ मनाउने परम्परा बनाएका छन्। पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन्। विदेशीलाई दशैँको माहोल विशेष लाग्ने गर्छ। जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन्। रासस
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई लगाइदिइन् दशैँको टीका र जमरा काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैँको टीका लगाइदिएकी छिन्। राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन सितल निवास पुगेका प्रधानमन्त्री ओलीलाई बडा दसैंको टीका, जमरा र जमराको माला लगाई दिएकी हुन् । त्यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिएकी छिन्। उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पनि दशैँको टीका लगाइदिएकी छिन्। अहिले राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन सितल निवासमा सर्वसाधारणलाई पनि टीका लगाई रहेकी छिन् । यस अघि उनले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमf आमा मिथिला पाण्डेबाट दशैँको टीका ग्रहण गरेकी थिइन्।
उपराष्ट्रपति पुनले लगाए आफन्तहरुलाई विजया दशमीकाे टीका काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तहरुलाई टीका लगाई दिँदै।
आफन्तलाई दशैँको टीका लगाउँदै राष्ट्रपति विद्यादेवी भण्डारी  (फोटो फिचर) काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति कार्यालयमा आफन्तलाई टीका लगाइदिँदै।
दशैँको टीका ग्रहण गर्दै राष्ट्रपति भण्डारी काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको टिका लगाएकी छन् । उनले मंगलबार दिउँसो पुजारी र आफन्तबाट दशैंको टिका लगाएकी हुन् ।
मिनिबस र मोटरसाइकल ठक्कर खाँदा एक युवकको मृत्यु भादगाउँ। काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नम्बरको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रामेछाप लिखु गाउँपालिका–४ घर भई हाल भक्तपुर सूर्यविनायक–९ नलिञ्चोक बस्ने ३५ वर्षीय रामबहादुर भुजेल रहेका छन् । मोटरसाइकल चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भई हाल नलिञ्चोक बस्ने २९ वर्षीय अर्जुन थामीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भुजेलको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए। घाइते भुजेललाई उपचारका लागि तत्काल उद्धार गरी सल्लाघारीस्थित डा इवामुरा अस्पताल लगिएकोमा थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। घटनामा संलग्न दुवै सवारीसाधन र बस चालक दोलखा भीमेश्वर नगरपालिका–८ भीरकोट बस्ने २६ वर्षीय विनोद खत्रीलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रनाउ पोखरेलले जानकारी दिए।
आज विजयादशमी, मान्यजनका हातबाट टीका जमरा लगाएर आर्शिवाद थापिँदै काठमाडौं। दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १०ः३५ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए। विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले जानकारी दिए। “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, अध्यक्ष गौतमले भने। मङ्गलबार चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइने मानिस पूर्व फर्कनुपर्छ। टीका लगाइदिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले सुनाए। आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ। जमराले विभिन्न रोगव्याधिमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ। घटस्थापनाका दिन स्थापित पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो। असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंँकै सबैभन्दा महत्वपूर्ण दिन हो। त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ। आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ। आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ।
नागरिकको जीवनमा परिवर्तन देखिएको छ : प्रधानमन्त्री ओली दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। वडादशैँ, शुभ दीपावली तथा छठ पर्वका अवसरमा आज आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा आयोजित ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा उनले आफूले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्नेलाई छुटसमेत नहुने बताए। प्रधानमन्त्री ओलीले नियम र कानून हरेक नागरिकका लागि समान रहेको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकारले कुनै पनि सम्झौता नगर्ने दृढता व्यक्त गरे। वर्तमान सरकार गठनपछि विपन्न नागरिकको जीवनमा परिवर्तन शुरु भएको बताउँदै उनले हुनेखानेको भन्दा पनि हुँदा खानेको जीवनमा परिवर्तन देखिएको भने। प्रधानमन्त्री ओलीले भने, “वास्तविकरुपमा जो सर्वहारा छन्, विपन्न छन्, उनीहरुमा सरकारको अनुभूति पुगेको छ ।” कतिपयले धर्मको नाममा र जातको नाममा राजनीति गर्न खोजेपनि त्यस्ता कुराले समाजमा गलत प्रभाव मात्र पार्ने छ भन्दै उनले भौतिक पूर्वाधारदेखि विकासका हरेक पक्षमा सरकारले प्राथमिकताका साथ लागि परेकाले परिवर्तनको प्रभाव देख्न धैर्यता गर्नुपर्नेमा जोड दिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले हरेक वर्षको दशैँंमा नवमीको दिन पारेर गृह जिल्लामा शुभकामना आदनप्रदान कार्यक्रम गर्दै आएका छन्। यस अघिका वर्षमा उनले झापाको विर्तामोडमा यो कार्यक्रम गर्दै आएका थिए । यस वर्ष भने उनले आफ्ने गृहनगर दमकमा कार्यक्रमको आयोजना गरेका हुन्। कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली समाजको सद्भाव र एकतालाई बलियो पार्न हरेक चाडवर्पको भूमिका महत्वपूर्ण रहेको बताए । नेकपाका प्रदेश नं. १ का ईन्चार्ज भिम आचार्यले सुशासन र विकास निर्माणमा सरकार र पार्टी प्रतिवद्धरुपमा लागि परेको भन्दै केही भ्रमलाई चिर्न सवै एक हुनुपर्नेमा जोड दिए। स्थानीय कस्मिक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का प्रमुख डाक्टर गोविन्द तुम्बाहाङ्गले चाडपर्वलाई सांस्कृतिसंगै मौलिकताका रुपमा मनाउनुपर्ने बताए। कार्यक्रममा झापाका आदिवासी सन्थाल जातिको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। प्रधानमन्त्री ओली आजै काठमाडाँै फर्किनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले वताए।
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा इच्छाकामना गाँउपालिका–६ की ७० वर्षीया इजली मिया रहेका छन्। इच्छाकामना गाँउपालिका–६ पाँचकिलोमा मुग्लिनबाट नारायणगढतर्फ आउँँदै गरेको ग ७ प १९९६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी मियाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
‘समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षाका पूरा गर्न विजया दशमीले प्रेरित गरोस्’ काठमाडौं । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। विजया दशमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भागौलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो संविधानले सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको स्मरण गराएका छन्। हाम्रो देशमा मनाइने सबै चाडपर्वले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आईरहेका छन् भन्दै उपराष्ट्रपतिले सन्देशमा विजया दशमीको माध्यामबाट त्यो अक्षुण्ण रहने र अझ उन्नत हुँदै जाने विश्वास व्यक्त गरेका छन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका साथ समृद्धिको मार्गमा अग्रसर रहेको राष्ट्रिय एकता, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणको लागि सबै नेपालीहरुलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न विजया दशमीले प्रेरित गर्ने अपेक्षासंविधान कार्यान्वयनका बाँकी कार्यहरु यथाशीघ्र पूरा गर्दै देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउन विजया दशमीले सबैलाई थप प्रेरित गरोस् भन्ने कामना उपराष्ट्रपतिले सन्देशमा लेखेका छन्।
दशै पनि नभनी गौतमबुद्ध विमानस्थलको प्रगति हेर्दै मन्त्री भट्टराई काठमाडौं । नेपालीको महत्वपूर्ण चाड दशैँले सबैलाई छोएको छ । शहरमा बस्ने गाउँघर तिर गएका छन् । विदेशमा भएका स्वदेश फर्किएका छन् । आज दशैँको नवौ दिन अर्थात् महानवमी । यस्तो दिनमा समेत चाडबाड नभनी मुलुक निर्माणको अभियानमा केन्द्रीत गर्नेहरु पनि यही बेला सक्रिय छन् । चाडबाड पनि नभनी आफ्नो मन्त्रालय मातहतको आयोजनाको अवस्था के छ भनेर बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आज दिनभर भैरहवा आसपासमा सक्रिय रहे। निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र अन्तरराष्ट्रिय बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हलको स्थलगत निरीक्षणमा उनी व्यस्त भए। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो विमानस्थललाई सकेसम्म चाँडै सम्पन्न गर्ने सरकारको लक्ष्य छ । विमानस्थलको काम के भइरहेको छ, अवस्था के छ भन्ने कुराको जानकारी लिन मन्त्री भट्टराई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, इन्जिनियर प्रदीप अधिकारीसहितको टोली लिएर आज निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए। मध्य दशैँमा पनि विमानस्थल निर्माणको काम चलीरहेको छ, अरु दिन जस्तै । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल साघुरो भएका कारण विकल्पका रुपमा गौतमबुद्ध विमानस्थल निर्माण शुरु गरिएको हो । पूरानो तालिका अनुसार यही असोज महिना भित्रै पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि काम गर्दै जाँदा थप केही समय लागेको छ, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न गर्न । विशेष गरी शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउन चाहने पर्यटकलाई केन्द्रमा राखेर सो विमानस्थल निर्माण गरिएको हो । यही असोज ५ गते बसेको राष्ट्रिय समस्या समाधान समितिको ४६ औँ बैठकमा पेश भएको विवरणअनुसार सो विमानस्थलको कूल भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा पुगेको छ । तोकिएको समयमा नै काम भएको खण्डमा राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा पहिले पूरा हुने आयोजनाको रुपमा सोही आयोजना देखिएको छ । आगामी पुसभित्र निर्माण सक्ने लक्ष्यमा मन्त्रालय छ । सोही लक्ष्यअनुसार काम भइरहेको छ । आगामी चैतदेखि त व्यवसायिक उडान नै गर्ने लक्ष्य तय गरिएको छ । विमानस्थलको भौतिक निर्माणका काम करिब करिब अन्तिम चरणमा पुगेका छन् । यस्तै सूचना तथा सञ्चारसँग जोडिएका उपकरण आउने क्रममा नै छन् । ब्यागेज ह्यान्डिलिङ सिस्टमको डीएचएस र लिफ्टका सामान सिंगापुरबाट आउने चरणमा छन् । चीनबाट ल्याउनुपर्ने केही सामान आइसकेको छ । सेन्ट्रल एसी र लाइटको सामान चीनबाट आयात भई जडानको क्रममा छन् । यस्तै धावनमार्गमा राखिने बत्तीको काम भइरहेको छ । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ले काम गरिरहेको छ । लामो समय विवादको घेरामा परेको सो विमानस्थल निर्माणलाई पूर्वमन्त्री रविन्द्र अधिकारीले एउटा ‘ट्रयाक’मा ल्याएका थिए। नियमित अनुगमन, परामर्श एवम् सक्रियताले आयोजनाको कामले गति लिएको हो । अधिकांश ठूला आयोजना समस्यामा परेको बेला सरकारको सकारात्मक प्रयासले उक्त विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग पनि निर्माण भइसकेको छ । निर्माणाधिन विमानस्थलमा छ वटा जहाज पार्किङ गर्न सकिने एप्रोन निर्माण सकिएको छ । जहाज धावनमार्गतर्फ निस्कने तीनवटा ट्याक्सी वे, छ तले कन्ट्रोल टावर, यात्रु आवतजावत गर्ने टर्मिनल भवन र विमानस्थलको प्रशासनिक भवन निर्माण करिब सकिनै लागेको छ । बाँकी रहेको कामलाई सम्पन्न गर्न, साजसज्जा तथा अन्य भित्री काम गर्न, उडान तथा अवतरणको निम्ति आवश्यक उपकरण जडानसहितको एरोनटिकल इलेक्ट्रिकको काम केही बाँकी रहेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा यो विमानस्थल दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनामार्फत निर्माण गरिएको हो । कूल सात करोड अमेरिकी डलर लागतको सो विमानस्थल निर्माणका लागि एडीबीले ४० दशमलव ५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ । ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ३० दशमलव ५ प्रतिशत ऋण र प्राधिकरणको ११ प्रतिशत लगानी रहेको छ । सो विमानस्थल सञ्चालनका लागि ‘जि टु जि’को अवधारणा अगाडि सारिएको छ । सोहीअनुसार जर्मनी कम्पनी म्युनिखलाई दिने तयारी गरिएको छ । यसै सन्दर्भमा आफ्ना मन्त्रालय मातहतका आयोजनाको अवस्था के छ? कसरी काम भइरहेका छन्? तोकिएको समयमा पूरा हुन्छ कि हुँदैन ? समस्या के के छन् ? ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ ? भन्ने चासोका साथ आफू भैरहवा पुगेको मन्त्री भट्टराईको भनाइ छ । उनले काम सकिन लागेपछि केही नयाँ नयाँ खालका समस्या देखापरेको र त्यसलाई समाधान गर्न आफूले निर्देशन दिएको जानकारी दिए। उनले भने ‘मैले विभिन्न १९ वटा विषयमा के कसो भएको हो, समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा कार्यालय खुलेको तीन दिनभित्र मन्त्रालयमा पेश गर्न निर्देशन दिएको छु ।’ विमानस्थलको भौतिक निर्माण सकिन लागेको भएपनि केही सामान भन्सारमा आएर रोकिएका छन् भने केही आउने क्रममा रहेका छन् । केही नयाँ सामान पनि आएकाले त्यसलाई कसरी भन्सारमा मूल्यांकन गर्ने भन्ने बारेमा उच्च सरकारी स्तरमा नै निर्णय गर्नुपर्ने देखिएको छ । दशैँको विदासमेतको परवाह नगरी के नेपाली, के विदेशी सबैले उत्तिकै मेहनत गरेर काम गरिरहेकोमा आफूलाई असाध्यै खुसी लागेको मन्त्री भट्टराईको भनाइ छ । यस्तै मन्त्री भट्टराईले नवमीका दिन पनि काम भएकोमा खुसी व्यक्त गरे। उनले आजै लुम्बिनीमा निर्माणाधीन अन्तरराष्ट्रिय बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हलको पनि निरीक्षण गरे। मध्य दशैँमा पनि १०० जनाभन्दा बढी श्रमिक काममा व्यस्त रहेको पाएपछि प्रसन्नता व्यक्त गर्दै मन्त्री भट्टराईले सबै क्षेत्रमा यसरी नै काम हुनसके देश बन्न धेरै समय नलाग्ने विश्वास व्यक्त गरे। एकै साथ पाँच हजार मानिसले ध्यान गर्न मिल्ने भवनको आगामी बुद्ध जयन्तीमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।रासस
सभापति देउवाद्वारा विजया दशमीको शुभकामना व्यक्त सभापति देउवाद्वारा विजया दशमीको शुभंकामना व्यक्त काठमाडौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले विजया दशमीको शुभकामना व्यक्त गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘आज विजया दशमीको पावन दिनमा म सम्पूर्ण दाजुभाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’ यस्तो छ उनको विज्ञप्ति विजया दशमी हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ । नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषताको रुपमा परिचायक पनि हो । विजया दशमीले हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ । नेपाली कांग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको छ । लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कृयाशील र संस्थागत गर्न सक्यौं भने मात्र मुलुकलाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सक्छौँ भन्ने मैले ठानेको छु । संसारभरि शान्तिको सन्देश फैलाउने देशको रुपमा नेपाललाई चिनिन्छ । एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजया दशमी पर्वले हामी बीचमा केही मतभेदहरु छन् भने तिनीहरुलाई विर्सेर, देशको सर्वांगीण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्व अझ बढ्नेछ । विजया दशमीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु। आजको यो पुनीत अवसरमा म आफु र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी–बहिनीहरुमा सदा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । जय नेपाल ! शेरबहादुर देउवा (सभापति) नेपाली काँग्रेस
अर्घाखाँची जीप दुर्घटना: ज्यान गुमाएका दुईको सनाखत, घाईते ४ जनालाई बुटवल रिफर काठमाडौँ । दशैंको मुखैमा अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। मृत्यु हुनेमा अर्घाखाँची ढाकाबाङबाट हाल लमही नगरपालिका ५ मिलन चोक दाङमा बसाई सरेका बर्ष ५१ का घनश्याम खनाल र निजको श्रीमती ४६ वर्षीय श्यामकला खनाल रहेको र बाँकी एक जनाको भने अहिलेसम्म सनाखत भैनसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले डिसी नेपाललाई बताए। दुर्घटनामा परि घाईते भएका  ६ जना मध्ये ४ जनालाई अर्घाखाँची अस्पतालबाट बुटवल रिफर गरिएको छ । बुटवल रिफर गरिएका घाइतेहरूमा भूमिकास्थान नगपालिका–१० का ३० वर्षीय उमेश रेग्मी, अर्घाखाँची ढाकाबाङबाट हाल लमही नगरपालिका ५ मिलन चोक दाङमा बसाई सरेका १६ वर्षीया बिन्दु खनाल र उनकी १२ वर्षीया बहिनी अनिता खनाल, गाडीका चालक गोरुसिङ्गे कपिलवस्तुका २४ वर्षीय विरेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै भूमिकास्थान नगपालिका–१० की १९ वर्षीया सिमा रेग्मी र उनकी १ वर्षीया छोरी आदित्या रेग्मीको भने सन्धिखर्कमै उपचार भैरहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिएका छन्। मृतक घनश्याम र श्यामकला घाईते बिन्दु र अनिता खनालको वुवा आमा रहेको बुझिएको छ। कृष्णनगरबाट अर्घाखाँची सन्धिखर्कका लागि छुटेको लु १ ज ४३२९ नम्बरको यात्रुबाहक जीप सोमबार दिउँसो नरपानीमा ब्रेक फेल भएर दुर्घटना भएको थियो ।
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ घाईते काठमाडौँ । अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। मृत्यु हुनेमा २ पुरूष र १ महिला रहेका छन् । मृतकको पहिचान खुलेको छैन्। घाइतेहरूलाई उपचारको  लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा लगिएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले डिसी नेपाललाई बताएअनुसार कृष्णनगरबाट अर्घाखाँची सन्धिखर्कका लागि छुटेको लु १ ज ४३२९ नम्बरको यात्रुबाहक जीप सन्धिखर्क नगरपालिका–६ नरपानीमा दुर्घटना भएको  हो। उनकाअनुसार गाडी सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको  विष्टले बताए।
महोत्तरीका बस्तीमा बँदेल आतङ्क महोत्तरी । बडादशैँ पर्वमा रमाउने बेलामै जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान हैरान भएका छन् । पर्वको तयारीमा घरतिर व्यस्त रहेको बेलामा जङ्गली बँदेलको हुल नै खेतबारी पसेर बाली सखाप पारेपछि यहाँका किसान हैरान भएका हुन् । दशैँकै बेला जिल्लाका भङ्गाहा, गौशाला र बर्दिवास नगरपालिकाका बस्तीमा बँदेल आतङ्क बढेको छ। पछिल्ला तीन दिनयता १०÷१२ को सङ्ख्यामा बारी पसेका बँदेलले चार कट्ठाभन्दा बढीको कोभी तरकारीका हुर्कदो बिरुवा उखेलेर र माडेर मैदान बनाएको भङ्गाहा–४ का किसान चन्देश्वर राय दनुवारले बताए । भङ्गाहा नगरपालिकाको रामनगर, थारुटोलबनरा, प्रेमनगर, सीतापुर धतियाटोल र राजपुरमा जङ्गली बँदेलको बिगबिगी बढेको छ। त्यसैगरी बर्दिवासको मनहरीपुर, फुलबारीटोल र पशुपतिनगरमा पनि जङ्गली बँदेलले तरकारी बाली र केराका थाम उखेलेको किसानले बताएका छन्। पछिल्लोपटक बँदेलसँगै दुम्सी पनि बस्ती नजिकका उखुघारीमा बढेका पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले बताए। जिल्लाको गौशाला नगरपालिकाको भरतपुर खोर, बटुवा, लक्ष्मीनियाँ र इँटाटार बस्तीमा बँदेलले बाली निकै नोक्सान गरेको किसानको गुनासो छ। यसबाहेक पूर्वपश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रका बर्दिवास नगरपालिकाका कृष्णपुर, खजुरियाटोल र करमटोकीमा पनि बँदेल बाक्लै पसेका छन्। उखु र तरकारीखेती गरिने जिल्लाको उत्तरी क्षेत्रमा बँदेल दिनभरि उखुबारीमा लुकेर प्रत्येक रातजसो तरकारी नोक्सान गर्न समूहमा आउने गरेको किसान बताउँछन्। मिरमिरे उज्यालो नभएसम्म कोभी फाँडेर बँदेल घारी पस्ने गरेको पशुपतिनगरकी किसान शैल महतोले गुनासो गरे। आफ्नो बस्तीमा दशैँ शुरु भएयतामात्र तीन÷चार बिघाको कोभी खेती नोक्सान गरेको बर्दिवास–९ पशुपतिनगरका वडाध्यक्ष टेकवीर रखालको भनाइ छ। बँदेलले बारीमा सबैभन्दा बढी कोभी, लौका र काँक्रा नोक्सान गर्ने गरेको किसानको भनाइ छ। बँदेलले झम्टने डरले किसान बाली रुँग्न पनि डराउने गरेका छन्। वन क्षेत्रबाट बस्तीतिर पसेका बँदेल, दुम्सी र नीलगाई औरही नगरपालिकाको चेप्कोट, औरहीबजार नजिकको जङ्घा नदी किनार र गौशाला नगरपालिकाको भाण्टाबारी, रजखोर, रामनगर, कुष्माढी र बेलगाछीमा छ्यापछ्याप्ती देखिने गरेका छन्। करीब मध्यरातदेखि बिहान ४ बजेसम्मको समयमा बँदेल आतङ्क बढेको सर्वसाधारणको भनाइ छ।रासस
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट काठमाडौं । काठमाडौं महानगरपालिका ८ जय बागेश्वरीस्थित रौतहट घर भएका ४० वर्षीय राम बहादुर मिश्रको प्लाष्टिकको भाँडाहरुको गोदाममा आइतबार बिहान आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। रौतहट, राजपुर नगरपालिका २ बस्ने रामबिश्वाश मुखियाको गोठमा बिद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्याङजा, भिरकोट नगरपालिका ५ गढी भञ्ज्याङ बस्ने राम उचाईको कटेज रेष्टुरेन्टमा ग्याँस सिलिण्डर पड्कन गई आइतबार बिहान आगलागी हुँदा कटेज पूर्णरुपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
झरनामा खसेको छावाको उद्धार गर्न जाँदा जङ्गली हात्तीको बथानको एकै चिहान बिबिसी । थाईल्यान्डमा एउटा विकट झरनामा आफ्नो बथानको एउटा सदस्य खसेपछि उद्धार गर्न गएका अन्य पाँचसहित छवटा जङ्गली हात्तीको मृत्यु भएको छ। काओ आई निकुञ्जका अधिकारीहरुका अनुसार एउटा छावा चिप्लिएर झरनामा खसेको थियो। त्यसपछि उद्धार गर्न एकपछि अर्को गर्दै हात्तीहरू तल झरनाको खोँचमा ओर्लिएका र त्यहीँ फसेका थिए। तीमध्ये अधिकांशको मृत्यु भयो भने नजिकैबाट दुईवटा हात्तीलाई जीवितै उद्धार गरिएको छ। हाएउ नारोक वा ‘हेल्स फल’ भनेर चिनिने त्यो झरनामा पहिला पनि त्यस्ता दुःखद घटना भएका थिए। सन् १९९२ मा त्यही स्थानमा आठवटा हात्ती मरेका थिए। त्यो घटनाको देशका सञ्चारमाध्यमहरूले ठूलो चर्चा गरेका थिए। झरनातिर जाने बाटो हात्तीको बथानले अवरुद्ध भएको देखिएपछि शनिवार स्थानीय समयानुसार ३ बजे अधिकारीहरूलाई बोलाइएको थियो। तीनवर्षे छावाको मृत शरीर तीन घण्टा पछि फेला पर्‍यो। लगत्तै पाँचवटा हात्तीका शव पनि फेला परे। उद्धार गरिएका अन्य दुईवटा हात्तीको स्थिति आफूहरूले अनुगमन गरिरहेको निकुञ्जका प्रमुखले बीबीसीलाई बताएका छन्। वाइल्ड लाइफ फ्रेन्ड्स फाउन्डेशन थाईल्यान्डका संस्थापक एड्विन विएकका अनुसार हात्तीको सुरक्षा र आहार खोज्नका लागि ठूलो बथानको आवश्यकता पर्ने हुँदा ती दुई हात्तीलाई पछि जीवित रहन कठिन हुन सक्छ। उक्त घटनाले ती हात्तीमा भावनात्मक असर पनि पर्न सक्छ। हात्तीहरू आफ्नो बथानका सदस्यको मृत्यु हुँदा शोकमग्न हुने गर्छन्। ‘यो घटना तपाईँले आधा परिवार गुमाए जस्तै हो’, विएकले बीबीसीलाई बताए। थाईल्यान्ड झन्डै सात हजारवटा एशियाली हात्ती छन्। तीमध्ये आधा हात्तीलाई मानिसले पालेका छन्।
कञ्चनपुरमा एक बृद्धले वडा कार्यालयलाई गरे जग्गा दान भीमदत्तनगर । वडा कार्यालय भवन निर्माणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बाराकुण्डाका एक वृद्धले जग्गादान गरेका छन्। वडा कार्यालय भवन निर्माणका लागि स्थानीय ८५ वर्षीय वृद्ध गणेश विष्टले निःशुल्क जमीन दिएको वडाध्यक्ष आसेफ कुवँरले बताए। उनले ५२ लाख पर्ने बजार मुल्य बराबरको जग्गा दान गरेका छन्। सदरमुकाम भीमदत्तनगरदेखि उत्तर करीब पाँच किलोमिटरको दूरीमा वडा भवन बनाउन सहयोग गरेकोप्रति वडाध्यक्ष कुवँरले धन्यवाद ज्ञापन गरे। स्थानीय तहको निर्वाचनपछि कुँवरले वडा कार्यालय शहरी स्वास्थ्य कार्यालय भवनमा सञ्चालन हुँदै आएको बताए। ‘स्वास्थ्य संस्थामा वडा कार्यालय हुँदा काम गर्न अलि असहज थियो’, वडाध्यक्ष कुवँरले भने, ‘अब आफ्नै भवनमा भएपछि जनताको सेवा गर्न पनि सहज हुनेछ।’ दान दिइएको उक्त जग्गा दशैँपछि नामसारी हुनेछ। वडाध्यक्ष कँुवरले पनि विगत दुई वर्षदेखि लगाताररूपमा आफूले पाउने तलब सुविधा गाउँकै ज्येष्ठ र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आए।
दक्षिण अफ्रिकामा सडक दुर्घटनाबाट बर्सेनी १४ हजारको मृत्यु केप टाउन (रासस/सिन्ह्वा) । दक्षिण अफ्रिकामा सडक दुर्घटनाका कारण हरेक वर्ष करिब १४ हजारको मृत्यु हुने गरेको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बताएका छन्। उनले विश्वमै सडक दुर्घटनाबाट यतिठूलो संख्यामा मानिसको ज्यान जाने मुलुक दक्षिण अफ्रिका भएकामा चिन्ता व्यक्त गरे। सडक दुर्घटनाका कारण मानिसको ज्यान जाने मात्र होइन सम्पत्तिको पनि उत्तिकै क्षति हुने गरेको अध्ययनले देखाएको छ। अफ्रिकाको गाउटेन प्रान्तमा आयोजित सडक सुरक्षासम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति रामाफोसाले हरेक वर्ष करिब ९ अर्ब ८० करोड बराबरको सम्पत्ति नोक्सान हुने गरेको जानकारी दिए। उनले मानिसको जीवन रक्षाका लागि सरकारी प्रयत्न कमी रहेकामा चिन्ता व्यक्त गर्दै सरकारले सडक सुरक्षाका लागि तत्काल जनचेतनामूलक अभियानका साथै ट्राफिक नियममा कडाई गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए। उक्त कार्यक्रममा सडक दुर्घटनाका पीडितहरुले आफ्नो जीवनका दुःखद क्षण र भोगाई बारे बताएका थिए।रासस
कारबाहीमा करिब ९० तालिबान मारिए काबुल (रासस/एएनआइ) । अफगानिस्तानको तहार प्रान्तमा तालिबान लडाकूविरुद्ध गत २४ घण्टाभित्र भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ८९ तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले शनिबार जानकारी दिएको छ। ‘तालिवानको बिरूद्ध अफगानिस्तानमा चलिरहेको सुरक्षा कारबाहीमा धेरै इलाकाहरुबाट तालिबान पछि हट्न बाध्य भएका छन्। विगत २४ घण्टामा तहार प्रान्त मात्र ८९ तालिबानी मारिए र ६७ जना घाइते भएका मन्त्रालयका प्रवक्ता रोहउल्लाह अहमदजाई एक पत्रकार सम्मेलनमा बताएका छन्। अफगानिस्तान लामो समयदेखि अस्थिर सुरक्षा अवस्थाबाट पीडित रहेको छ। तालिबान लडाकू समूह अफगान सरकारसँग युद्धरत रहेका छन्।
मध्यदशैँमा कृष्णबहादुर महरामा पर्न गएको मार… काठमाडौं । धेरैका लागि अकल्पनीय तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपष्ट ‘बलात्कार प्रयासको मुद्दा’ मा पूर्वसभामुख कृष्णबहादुर महरा अनुसन्धानका लागि बडा दशैँको अष्टमीका दिन प्रहरी हिरासतमा राखिएका छन्। महरालाई उनले यसअघि सभामुख हुँदा प्रयोग गर्नुभएको बालुवाटारस्थित सरकारी निवासबाट आज साँझ करीब ६ः३० बजे सादा पोशाकमा गएका प्रहरीले पक्राउ गरी उहाँको निजी सवारीसाधनमा राखेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा ल्याएका थिए। उक्त वृत्तमा समाचार सङ्कलनमा लागि साँझ पुगेका केही सञ्चारकर्मीलाई ‘सोमबार बिहान आउनु’ फर्काइएको थियो। वृत्त परिसर बाहिर उहाँका कार्यकर्ता वा शुभेच्छुक देखिएका थिएनन्। प्रहरीले महरालाई पक्राउका लागि आजै जिल्ला अदालत, काठमाडौँबाट अनुमति लिएको थियो। महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार हाल महरालाई बलात्कार प्रयासको मुद्दामा थप अनुसन्धानका लागि अन्य आरोपीसरह हिरासतमा राखिएको छ। मुलुकमा बलात्कार, यौन दुव्र्यवहार र महिला हिंसाका घटना सार्वजनिक र कारवाही हुने क्रम बढे पनि उपल्लो तहका राजनीतिक पदाधिकारी जोडिएको यो पहिलो घटना हो। यही असोज १२ गते काठमाडौँको शान्तिनगरस्थित ‘डिप्रेसन’ को औषधि सेवा गर्दै आएकी संसद् सचिवालयमा कार्यरत एक महिलाको निवासमा भएको भनिएको सो घटनामा पीडित महिलाले सार्वजनिकरूपमा परस्पर विवादित प्रतिक्रिया दिए पनि प्रहरीलाई किटानी जाहेरी दिएकाले थप अनुसन्धानका लागि महरालाई प्रहरी हिरासतमा राखिएको हो। ती महिलाको सार्वजनिक पहिलो भिडियोमा आफू महराबाट बलात्कृत भएको उल्लेख छ भने दोस्रो भिडियोमा महरासँग लामो पारिवारिक सम्बन्ध रहेको र बाबुसमान व्यक्तिबाट त्यस्तो घटनाको कल्पना गर्न नसकिने उल्लेख छ। आरोप सार्वजनिक भएपछि तत्कालीन सभामुख महराको सचिवालयले पीडित भनिएकी महिलाको निवासमा त्यस दिन महरा नगएको र उक्त आरोप आधारहीन एवं षडयन्त्रपूर्ण भएको जिकिर गरेको थियो। दशैँ बिदाका क्रममा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने भएकाले घटनाबारे अनुसन्धान जारी रहे पनि सुनुवाइ रोकिने हुँदा त्यसबीचमा महरा हिरासतमै रहनुपर्नेछ। पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनमा शोक मनाउन सर्वोच्च अदालतले यही असोज २७ गते मुलुकका सबै अदालतमा बिदा दिने निर्णय गरेकाले २८ गतेमात्र अदालत नियमित खुल्नेछ। अन्य घटनामा जस्तै यस घटनामा पनि प्रहरीले थप अनुसन्धान गरी प्रतिवेदन तयार गर्नेछ। उक्त प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र तयार गरी अदालतमा पेश गर्नेछ। यस प्रकारको घटनाको अध्ययनमा संलग्न अधिवक्ता स्वागत नेपालले पीडितले वक्तव्य वा बयान फेर्नु वा नफेर्नुले अनुसन्धानमा खास असर नपर्ने जनाउँदै पीडितको मानसिकता त्यही घटना दोहोरिरहने हुनाले बयान फेर्न सक्ने गरेका अन्य घटना पनि भएको र पीडकलाई अदालतले कारवाही गराएका उदाहरण रहेको टिप्पणी गरे। तर उच्च तहका पदाधिकारी (हाइ प्रोफाइल) का व्यक्तिहरुले कतिपय यस्ता घटना छिपाएर राख्ने गरेको पनि अधिवक्त नेपालको भनाइ छ । घटनाबारे पक्ष विपक्षमा टीका टिप्पणी भएपछि यही असोज १४ गतेको सम्पन्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले महरालाई प्रतिनिधिसभाको सभामुख र सांसद पदबाट राजनीमा दिई अनुसन्धानलाई सघाउन आग्रह गरेको थियो। महराले असोज १५ गते आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी सभामुख पदबाट नैतिकताका आधारमा राजीनामा दिएका थिए। सोही दिन उपसभामुख डा शिवमाया तुम्बाहाम्फेको आदेशमा संसद् सचिवालयले सूचना टाँस गरी राजीनामा बारे जानकारी दिएको थियो। प्रतिनिधिसभा नियमावली, २०७५ को २११ अनुसार त्यसरी राजीनामा दिएको सूचना टाँस गरेपछि पद रिक्त भएको मानिनेछ। उनले सांसद पदबाट भने राजीनामा दिनुभएको थिएन। प्रहरीले अदालतमा मुद्दा दायर गरेमा सांसद पद निलम्बित हुनेछ। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– १८ करणी सम्बन्धी कसुरमा उक्त मुद्दा चल्ने देखिएको छ। सो परिच्छेदको दफा २१९ मा ‘जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी’ सजाय तोकिनेछ। सो दफाको उपदफा २ ९ङ० मा ‘अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म’ सजाय हुने व्यवस्था छ। उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ भनिएको छ।रासस
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु काठमाडौं । काठमाडौं, सिन्धुपाल्चोक, उदयपुर, बर्दिया, सोलुखुम्बु र सुर्खेतका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित सडकमा बा १९ च ३५५५ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका हाल वतन नखुलेका अन्दाजी ६५ वर्षीय कृष्ण राज ढकालको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ। जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका ५ स्थित सडकमा बा २ ख ६५८५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका सोही नगरपालिका घलेगाउँ बस्ने भिम बहादुर घलेको छोरी ३ वर्षीया प्रेरणा घलेको जिल्ला अस्पताल चौतारा मा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उदयपुर, कटारी नगरपालिका २ स्थित सडकमा को १ ज ३४०० नम्बरको जिपले ज ५ प ७५५७ नम्बरको मोटरसाइकलसालाई शनिबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका ९ लदाह भिर बस्ने ३४ वर्षीय रूपेन कुमरको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बर्दिया, बाँसगढी नगरपालिका ८ स्थित सडकमा भे ५ प ३१८० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ४७ वर्षीय बालकृष्ण थारुको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट घाइते भएकी मृतकको श्रीमती ४५ वर्षीया सिता प्यारी थारुको सोही अस्पतालमा उपचार भइरहेको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक बाँसगढी नगरपालिका ७ देउडा बस्ने २३ वर्षीय दिनेश थारुको मेडिकल कलेज कोहपुरमा उपचार भइरहेको छ। सोलुखुम्बु, दुधकुण्ड नगरपालिका ११ बरडाँडास्थित सडकमा बा १५ च ९४२० नम्बरको बलेरो जीप शनिबार राति अनियन्त्रित भई सडकबाट खसेर ना १ ज ५३४२ नम्बरको टाटा सुमो जीप माथि खस्दा बलेरो जीप चालक नेचा सल्यान गाउँपालिका २ बस्ने २१ वर्षीय लेख बहादुर खडकाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ना १ ज ५३४२ नम्बरको टाटा सुमो जीपका चालक समेत ९ जनालाई उपचारको लागि जिल्ला अस्पतालतर्फ पठाइएको छ। सुर्खेत, बिरेन्द्रनगर नगरपालिका १४ राता नाग्लास्थित सडकमा भे १ ज १०८४ नम्बरको जिप अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार जुम्ला गोठीचौर गाउँपालिका ४ बस्ने २५ वर्षीय सुरेन्द्र शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका चालक समेत अन्य ९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
धुलो रोक्ने महानगरको अभियानमा अवरोध काठमाडौं । काठमाडौँ खुलामञ्चस्थित अस्थायी बसपार्कमा अत्यधिक धुलो उडेपछि त्यसलाई रोक्न शुरु भएको कालोपत्रे र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध गरिएको छ। नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधान, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीकै उपस्थितिमा काममा अवरोध गरिएको हो। दुई पक्षीय विवादका कारण अहिले यहाँको काम रोकिएको छ भने ढलान गरिएको ठाउँमा गाडी कुदाएर क्षति पुर्याइएको छ। धुलो रोक्ने उद्देश्यले गत बुधबारको महानगरको निर्णयअनुसार गाडीको चाप हुने ठाउँमा ढलान र अन्य क्षेत्रमा कालोपत्रे गरेर धुलो रोक्न जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सलाई जिम्मा दिइएको महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको तयारीका क्रममा काठमाडौँका मुख्य क्षेत्रमा सजावट र कालोपत्रेलगायतको काम जारी छ। सोही क्रममा खुलामञ्चबाट धुलो उडेर आसपास क्षेत्र प्रभावित हुने भएकाले अस्थायी समाधानका लागि यहाँ काम गर्न लागिएको थियो तर जनप्रतिनिधिकै उपस्थितिमा उक्त काममा अवरोध गरिएको हो। सो विषयमा महानगरका उपप्रमुख खड्गीले कालोपत्रे मात्रै गर्ने भनिए पनि रड नै राखेर ढलान गरिएकाले स्थानीय जनता विरोधमा उत्रिएपछि आज बिहान आफू त्यहाँ पुगेको र असन्तोष देखिएकाले तत्कालका लागि ढलान रोक्न भनिएको बताइन्। ‘हामीलाई पनि यो विषयमा जानकारी थिएन, कुराकानीका क्रममा मेयर ज्यूले कालोपत्रे गर्न लागिएको छ भनेर जानकारी दिनुभएको थियो, हेर्न जाँदा ढलान नै गरेको देखिएपछि स्थानीयले अवरोध गरेका हुन्’, खड्गीले रासससँग भनिन्। उनले कालोपत्रे मात्रै गरिएको भए समस्या नआउने भन्दै ढलान गर्न खोज्दा समस्या आएको बताइन्। यस क्रममा आज बिहान यहाँ लगाइएको बारसमेत भत्काइएको छ भने भर्खरै ढलान गरिएको स्थानमा गाडी गुडाएर क्षति पुर्याइएको छ। महानगरपालिका–२८ का अध्यक्ष भाइराम खड्गीले आफ्नै वडामा हुन लागेको कामको विषयमा आफूलाई नै जानकारी नभएको बताउँदै स्थायीरूपमै सिमेन्ट ढलान गर्न लागिएको पाइएकाले अवरोध भएको बताए। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले कालोपत्रे गर्ने ठाउँमा डण्डी राखेर ढलान गरेको भन्दै विवाद निस्किएको देखिएको बताएका छन्। प्रहरीका अनुसार अवरोधका क्रममा खुलामञ्चमा जनप्रतिनिधिसहित सम्पदा संरक्षण अभियानका प्रतिनिधि सहभागी भएका थिए। रासस
२७ सय ग्राम चरेशसहित डडेल्धुराबाट दुई पक्राउ डडेल्धुरा । डडेल्धुरामा दुई किलो ७०० ग्राम चरेशसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। डडेल्धुरा जिल्ला प्रहरी कार्यालयको लागुऔषध नियन्त्रण अभियान र दशैँ तिहार सुरक्षा योजनाअनुरूप परिचालित प्रहरीद्वारा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका–७ खोस्रेखानमा सवारीसाधन चेक जाँच गर्ने क्रममा सोही नगरपालिका वडा नं ७ भाटगाउँ बस्ने वर्ष २६ का शेरबहादुर भण्डारीले चलाइराखेको से ३ प ४५३१ नामको मोटरसाइकल बैतडीबाट डडेल्धुरा आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा निजको झोलाबाट ७०० ग्राम चरेश बरामद गरेको थियो। साथै अमरगढी–६ भालुमारे बस्ने वर्ष ३८ को वीरबहादुर बोहरालाई निजको घरबाट दुई किलोग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उक्त लागुऔषध (चरेश) बरामद गरी दुवै जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। रासस
सुर्खेतमा भएको जीप दुर्घटना १ को मृत्यु, ९ जना घाइते सुर्खेत । नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको सो दुर्घटनामा मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको हो भने चालकसहित नौजना घाइतेको उद्धार गरिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते जुम्ला गोठीचौर गाउँपालिका–४ का ३२ वर्षीय धनानन्द पाण्डे र २९ वर्षीय धर्मदत्त देवकोटाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिए। भे १ ज १०८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकदेखि करीब एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ। घाइते हुनेमा जुम्लाको चन्दनाथ नगरपालिका–७ का १८ वर्षीय नन्दा रावल, १७ वर्षीय निर्मल रावल, १८ वर्षीय प्रकाश रावल, गोठीचौर गाउँपालिका–४ का २६ वर्षीय लोकेन्द्र जैशी, ३५ वर्षीय हरिचन्द्र न्यौपाने, ६३ वर्षीय भवानीप्रसाद पाण्डे र सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ छिन्चुका ३१ वर्षीय गोविन्द सिंह रहेका छन्। घाइतेको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ ।रासस
लालपुर्जा देखाई ठगी गर्ने ४ जना पक्राउ ललितपुर । मालपोत कार्यालय ललितपुरबाट जारी भएको भनी विभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई ठगी गर्ने कार्यमा संलग्न ४ जनालाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यबिनायक नगरपालिका १ सिरुटार बस्ने ३७ वर्षीया सुष्मा श्रेष्ठ, काठमाडौं महानगरपालिका २५ बाङ्गेमुडा बस्ने ४७ वर्षीया निर्मला श्रेष्ठ, काठमाडौं सितापाइला बस्ने काठमाडौं महानगरपालिका १७ ठहिटि घर भएका ३६ वर्षीया निलिमा श्रेष्ठ र ललितपुर महालक्ष्मी नगरपालिका १ ईमाडोल बस्ने ४२ वर्षीय निरज ताम्राकार रहेका छन्। उनीहरुको साथबाट कम्प्युटर सेट ,मोबाइल, बल्यु प्रिन्ट, ट्रेस नक्सा, जग्गा धनि प्रमाणपत्रमा प्रयोग हुने बाहिरी रातो कवर १० थान, रबर स्टयाम ४ थान, स्याम प्याड र बिभिन्न व्यक्तिको नाममा रहेको १५ थान किर्ते लालपुर्जाहरु समेत बरामद भएको उक्त परिसरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सदरमुकाम सुनसान : गाउँमा दशैँको चहलपहल डोटी । दशैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा स्थानीयवासीको चहलपहल बढेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल भने सुनसान बन्दै गएको छ। यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा बिदा पछि कर्मचारीसमेत बाहिरिएपछि सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल सुनसान बनेको हो। रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बहिरिएका चाडबाडका लागि गाउँ फर्केपछि यहाँका ग्रामीण वस्तीमा भने निकै चहलपहल छाएको सायल गाउँपालिकाका स्थानीय सिद्धराज जोशीले बताए। उनले भने, ‘कामको सिलसिलामा गाउँ छोडेर गएका अहिले धमाधम गाउँ फर्किन थालेपछि यहाँका गाउँमा दशैँको निकै चहलपहल बढेको छ, तर शहर बजार भने खाली हुँदै गएका छन्।’ शनिबारदेखि सदरमुकामका बजार करीब करीब सुनसान बनेको दिपायल पिपल्लास्थित अमरपुस्तक पसलका सर्वजित देउवाले बताए। उनले भने, ‘सबै मान्छे आ–आफना गाउँ फर्किन थालेका छन्, बजारमा व्यापारसमेत घटेको छ।’ बजारमा व्यापार आधाभन्दा बढी घटेको पिपल्लाका अर्का व्यवसायी सन्तोष नेपालीले बताए। उनले भने, ‘बजारमा खासै मान्छे देखिदैनन्, ग्राहक नहुँदा बजारसमेत सुनसान बन्दै गएको छ।’ यहाँका बजारमा व्यापार व्यवसाय गर्ने आधाभन्दा बढी ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट आएका छन् भने कतिपय जिल्ला बाहिरबाट आएर व्यापार व्यवसाय गरीरहेका छन्। उनीहरूसमेत अधिकांश पसल बन्द गरेर गाउँ फर्केपछि यहाँको बजार अहिले सुनसान हुन थालेको हो। बजारभरिमा सुरक्षाकर्मी मात्रै देखिने गरेका छन्। सदरमुकाम बाहिरका गाउँमा भने चहलपहल निकै बढेको छ। ग्रामीण क्षेत्रका दर्जनौ गाउँमा चर्खे र लिङ्गे पिङले रमाइलो बढाएको केआईसिंह गाउँपालिका–५ रानागाउँका स्थानीय सुरेन्द्रविक्रम शाहीले बताए। उनले भने, ‘गाउँमा निकै रमाइलो भएको छ, गाउँबाट बाहिरीएका सबै गाउँघर फर्किदैछन्, अहिले त यहाँका गाउँ बजार भन्दा कम छैनन्।’ त्यस्तै यहाँका ग्रामीण क्षेत्रका पसलमा व्यापार व्यवसाय पनि निकै फष्टाएको स्थानीयबासी बताउँछन्। त्यस्तै यहाँका ग्रामीण क्षेत्रमा रहेका पुराना दरवार, कोट तथा भगवतीका मन्दिरमा दैनिक हुने पूजापाठसमेतले गाउँको रौनक छुट्टै बनाएको छ। यहाँका निरौलीकोट, धुर्कोकोट, जोरायल, गड्सेरा, बोगटान, बडिकेदारमा रहेका कोट तथा भगवतीका मन्दिरमा घटस्थापनादेखि नै पूजापाठ गर्नेको भीड लाग्ने गरेको छ। सबै कोटमा एक सातासम्म पूजापाठ गरेर नवमीका दिन पञ्चवलि दिइने चलन रहेको छ। पहिला सधैं सुनसान लाग्ने यहाँका गाउँमा अहिले निकै रमाइलो र चहलपहल बढेको स्थानीयबासी बताउँछन्। सदरमुकामको तुलनामा ग्रामीण बजारमा व्यापार व्यवसायसमेत बढ्दो क्रममा रहेको जोरायल गाउँपालिका–१ गैराका स्थानीय छपेस मल्लले बताए। सडक सुविधाले गाउँमै खोजेरोजे अनुसारका सबै सामग्री पाइने भएपछि गाउँका बजारमा दिनहुँ भीड लाग्ने गरेको उनले बताए। अधिकांश गाउँलाई सडक यातायातले छोएका कारण पनि स्थानीय अहिले धमाधम आफना गाउँघर फर्किन थालेका हुन्। पिपल्ला, अत्तरिया, सिलगढीमा नै दशैंको किनमेल गर्नेले अहिले जिल्लाकै ग्रामीण बजारमा किनमेल गर्ने गरेका छन्। यहाँका ग्रामीण क्षेत्रका बजारमा दशैँको किनमेल गर्नेको भीड बढेको व्यवसायी बताउँछन्। दशैँसँगै गाउँमा सांस्कृतिक कार्यक्रमको रौनकसमेत बढ्दै गएको छ। स्थानीय युवा क्लब र काठमाडौँमा बस्ने गरेका यहाँका कलाकारले गाउँ फर्केका बेला रमाइलो गर्ने उद्देश्यले एक दर्जन गाउँमा दशैँको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजनासमेत गरिरहेका छन्।रासस
आत्मीयता र सामीप्यता हराउँदै गएकामा चिन्ता काठमाडौं । बडा दशैँ शुरु भएसँगै लाहुरेको जिल्ला भनेर परिचय पाएको म्याग्दीका गाउँहरूमा रौनक छाएको छ। दशैँ मनाउन परदेश र स्वदेशका विभिन्न ठाउँमा मानिसहरू गाउँमा आएपछि विगतमा युवाविहीन भएका रित्ता गाउँहरू केही समयका लागि भए पनि भरिन थालेका छन्। सदरमुकाम बेनीबजारलगायत गलेश्वर, बाबियाचौर र दरवाङ आदि ग्रामीण बजारहरूमा मानिसको चहलपहल कम भएको छ। अध्ययन, जागिर, छोरीछोरी पढाउन आदि कारणले बजारमा बस्दै आएका व्यक्तिहरू आ–आफ्नो गाउँ फर्किएपछि बेनी बजार सुनसान जस्तै बनेको छ। आफन्तहरू विदेश वा शहरबाट गाउँमा आएपनि दशैँ केवल औपचारिकतामा सीमित हुन थालेकामा बूढापाकाहरूको गुनासो रहेको छ। बल्ल बल्ल घरमा आएका छोराछोरी, नातिनातिना र आफन्तजनहरू पनि मोबाइल र इन्टरनेटमा व्यस्त हुने हुँदा मन खोलेर कुराकानी गर्न नपाइने बाबियाचौरका दधिराम शर्माले बताए। ‘एक ठाउँमा बस्दा पनि सामीप्यताको अनुभूति नै हुँदैन, सबै आ–आफ्नो तालमा व्यस्त हुन्छ, सोधेको कुरा मात्रै संक्षेपमा भन्छन् बढी कुरा गर्ने समय नै हुँदैन’, शर्माले भने ‘प्रविधिले सामिप्यता र आत्मियतामाथि नै अतिक्रमण गरेको छ। दशैं मनाउने शैलीमा परिवर्तन करिव चार दशकअघिको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता आइसकेको स्थानीय बृद्धबृद्धाहरूले बताएका छन्। युवा विदेश पलायन, सामाजिक संस्कारमा आएको विचलन र प्रविधिको विकासले दशैंलाई फरक बनाउँदै लगेको उनीहरूको भनाइ रहेको छ। त्यसैगरी भौतिक पूर्वाधारमा आएको विकासका कारण अव घर सिंगारपटार, लिपपोत गर्ने चलन हराउँदै गएको छ। लिंगे पीङ र चमच्चा गाउँघरमा देखिन छोडेका छन् भने युवा र बालबालिकाहरू मोवाइल, ल्यापटप लगायतका प्रविधिमा व्यस्त हुने गरेका म्याग्दीका साजिक विकास विज्ञ हरिकृष्ण आचार्यले बताए। गुञ्जिनै छोड्यो मालाश्री धुन दशैंमा गाउँका घरघरमा पुगेर क्लाँटा बाजा बजाउँदै मालाश्री धून बजाउने चलन हट्दै गएको छ। अहिले त्यो धुन रेडियो, टेलिभिजनमा प्रशस्त सुन्न पाइन्छ। मालाश्री धुन कस्तो हुन्छ? अहिलेका पुस्तालाई थाहा नै नभएको बेनी नगरपालिका २ का ८३ वर्षिय बेदप्रसाद शर्माले बताए। संचारमाध्यमहरूमा दशैंको समयमा व्यापकरूपमा मालाश्री धुन वज्ने भएपनि म्याग्दीका नेवार समुदायलाई बाहेक अन्यलाई मालाश्री धुनको वारेमा केही जानकारी नै छैन भन्दा अत्युक्ति हुँदैन। शान्त रसमा करुणाको सञ्चार प्रवाह गराउने मालाश्री धुनको सट्टामा अहिले गाउँघरमा पनि आधुनिक र आयातित गीत सङ्गीत बजाएर दशैं मेला आयोजना गरिएका छन्। न गरिन्छ चण्डी पाठ, न बढाइन्छ श्रमदानमा हात दर्शैंलाई नवरात्र पनि भनिन्छ। नवरात्र अवधिभर घरघरमा शक्ति स्वरुपा दुर्गाका ९ ओटा स्वरुपको वर्णन गर्दै दुर्गासप्तशति (चण्डी) पाठ गर्ने गरिन्थ्यो। तर, अव चण्डी पाठ एकादेशका कथामा परिणत भैसकेको स्थानीय बूढापाकाहरूको भनाइ रहेको छ। ‘दशैंको पहिलो दिन घटस्थापना (जमरा राखेपछि) गरेपछि साँझ विहान घरघरमा दुर्गा सप्तशति पाठ गर्ने गरिन्थ्यो’, बेनपा २ का ८३ वर्षिय बेदप्रसाद शर्माले भने ‘तर अहिले दुर्गा सप्तशतिको पाठ गर्नु त परको कुरा दुर्गा सप्तशतिको पुस्तक समेत देख्न पाइदैन।’ त्यसैगरी दशैंमा सार्वजनिक स्थल (बाटो,मठ मन्दिर,विद्यालय,चौतारी आदि) को मर्मत तथा सरसफाइका लागि श्रमदान गर्ने चलन थियो। तर पछिल्लो समय त्यो चलन पनि हटेर गएको बूढापाकाहरूको भनाइ रहेको छ। रासस
क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग काठमाडौं । लामो समयदेखि कलेजोको क्यान्सर भएकी बालिकालाई आर्थिक सहयोग गरिएको छ। महाङ्काल खेलकूद विकास समितिले लामो समयदेखि कलेजको क्यान्सरबाट पीडित चन्द्रागिरि नगरपालिका–७ बस्ने आयुषा बजगाईंलाई ४२ हजार १०५ आर्थिक सहयोग गरेको हो। विजया दशमी तथा शुभ दीपावलीका अवसरमा शुरु भएको ब्याटमिन्टन प्रतियोगिताको अवसर पारेर समितिका अध्यक्ष देवेन्द्र महतले क्यान्सर पीडित आयुषाका बुबा साधुराम बजगाईंलाई आज बिहान उक्त रकम हस्तान्तरण गरेका हुन्। सो अवसरमा अध्यक्ष महतले मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि समितिका तर्फबाट सहयोग गरेको बताए। ‘आगामी दिनमा पनि समितिले गरीब, दुःखीका लागि यस्तो सहयोग गर्नेछौँ’, उनले भने। महाङ्काल खेलकूद समितीले विभिन्न अवसर पारेर खेलकूद र सामाजिक कार्य गर्दै आइरहेको छ। उक्त समितिको अगुवाइमा हाल एक करोड बराबर लागतमा चन्द्रागिरिमा कभर्ड हल निर्माण गर्न लागिएको छ। रासस
राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा-अर्चना (फोटो फिचर) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गरेकी छन्। उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी हुन्। राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा गरी स्थानीय जनप्रतिनिधिसँग मन्दिरको पुनःनिर्माणबारे चासो राखेका थिए। साथै, आजकै दिन दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गर्ने चलन पनि रहँदै आएको छ । बडादशैँको नवरात्रिभर दूर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्त्रोत पाठ गरिन्छ ।रासस
जीप दुर्घटना हुँदा एकको मृत्यु सुर्खेत । नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको सो दुर्घटनामा मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको हो भने चालकसहित नौजना घाइतेको उद्धार गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते जुम्ला गोठीचौर गाउँपालिका–४ का ३२ वर्षीय धनानन्द पाण्डे र २९ वर्षीय धर्मदत्त देवकोटाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) रवि रावलले जानकारी दिए। भे १ ज १०८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकदेखि करीब एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइते हुनेमा जुम्लाको चन्दनाथ नगरपालिका–७ का १८ वर्षीय नन्दा रावल, १७ वर्षीय निर्मल रावल, १८ वर्षीय प्रकाश रावल, गोठीचौर गाउँपालिका–४ का २६ वर्षीय लोकेन्द्र जैशी, ३५ वर्षीय हरिचन्द्र न्यौपाने, ६३ वर्षीय भवानीप्रसाद पाण्डे र सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ छिन्चुका ३१ वर्षीय गोविन्द सिंह रहेका छन् । घाइतेको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ । रासस
फेसबुकको लिब्रालाई झड्का, पेपल बाहिरियो सान फ्रान्सिस्को (रासस/सिन्ह्वा) । संयुक्तराज्य अमेरिकाको निकै लोकप्रिय अनलाइन भुक्तानी कम्पनी पेपल होल्डिङ्सले फेसबुकको अग्रसरतामा गठन भएको लिब्रा एसोसिएसनबाट बाहिरिने घोषणा गरेको छ। फेसबुकको अग्रसरतामा रहेको डिजिटल मुद्रा परियोजनाका २८ वटा सदस्यमध्ये पेपल एक थियो। पेपलले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी विश्वव्यापी यस क्रिप्टोकरेन्सी क्लबबाट बाहिरिने घोषणा गरेको हो। यस क्लबमा भिसा, उबर, लिफ्ट र मास्टरकार्ड समेतका कम्पनीहरु सदस्य छन्। अमेरिकाको सान जोजेमा मुख्यालय रहेको पेपलले जारी गरेको विज्ञप्तिमा कम्पनीले हालकै संरचना र विधिबाट बढीभन्दा बढी प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो सेवा प्रवाह गर्ने जनाएको छ। गत जुन २०१९ मा औपचारिक रुपमा घोषणा गरिएको लिब्राबाट संस्थापक सदस्य बाहिरिएको यो पहिलो कम्पनी हो। अरु सदस्यको साझेदारीमा आगामी सन् २०२० को जुनमा लिब्रालाई प्रयोगमा ल्याउने घोषणा गरिएको थियो। तर पेपलले फेसबुकसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ। अमेरिकी अखबार वालस्ट्रिट जर्नलले लिब्राको सदस्यबाट भिसा र मास्टरकार्ड समेतका अरु कम्पनीले पनि संस्थापक सदस्य त्याग्न लागेको खबर छापेसँगै पेपलले यस्तो निर्णय गरेको छ।रासस
राष्ट्र र जनताका अपेक्षा पूरा गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र र जनताको अपेक्षा पूरा गर्नका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताएका छन्। नेकपा कास्कीद्वारा विजया दशमीलगायत विभिन्न चाडपर्वको अवसरमा आज पोखरामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भई संविधानसमेत कार्यान्वयन भइसकेको बताए। समृद्ध नेपाल सुखी नेपाली सबैको साझा अभियान भएको बताउँदै उनले संविधानतः निर्दिष्ट गरिएका अधिकारलाई आपसी समन्वयसमेतका आधारमा उपयोग गर्नुपर्नेमा जोड दिए। नेकपा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्जसमेत रहेका उनले सङ्घीयताको मर्मअनुसार अघि बढ्न सके संविधान कार्यान्वयनले पनि सही गति लिनुका साथै राष्ट्र र जनताका आवश्यकतालाई सम्बोधन गरी अघि बढ्नुको विकल्प नभएको बताए। विजया दशमीलगायतका विभिन्न चाडपर्वले देशमा भ्रष्टाचार निर्मूल भई सुशासनयुक्त समृद्ध राष्ट्र निर्माण गर्न प्रेरणा दिने विश्वास लिइएको उनको भनाइ छ। नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले कास्की निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिए। पार्टी कास्की जिल्ला कमिटीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले विकासका लागि जनप्रतिनिधि र कार्यकर्ता एकजुट भएर लाग्नुको विकल्प नरहेको बताए।
दक्षिण एशियाली मुलुकको विकासका लागि सबै देशहरुबीच सुुमधुर सम्बन्ध हुनुपर्ने काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा दक्षिण एशियाली मुलुकको आर्थिक परिदृश्य विषयमा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि देशहरु बीच एक आपसमा गहिरो आवद्धता, यातायात, उर्जा, सञ्चारलगायतमा वढी कनेक्टिभिटी र वित्तीय एकीकरण हुनुपर्नेमा जोड दिए। उनले आर्थिक विकासको चरण, मानव स्रोत तथा प्राकृतिक स्रोतले दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत ७ प्रतिशतको हाराहारीमा भइरहन सक्ने उल्लेख गर्दै यस क्षेत्रका वस्तु र सेवाको बाह्यमागले समेत यसमा असर पार्ने बताए। दक्षिण एशियाली मुलुकबाट वैदेशिक रोजगारीमा कामदार जाने गरेका र यसबाट प्राप्त रेमिट्यान्स र पर्यटनमा विश्व अर्थतन्त्रमा आएको सुस्तताले असर गर्न सक्ने बताए। अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली व्यापारका क्षेत्रमा दक्षिण एशियाली राष्ट्रहरुविच एक अर्कामा प्रतिष्पर्धा गर्ने क्षेत्र धेरै भएपनि पर्यटन क्षेत्रमा भने प्रतिष्पर्धा होइन परिपूरक भूमिका रहन सक्ने बताए। यस क्षेत्रमा पर्यटनको विकासबाट रोजगारी सिर्जना र आम्दानीको पुनर्वितरणमा सहयोग हुने बताउँदै उनले दक्षिण एसियाली मुलकहरुको सहकार्यबाट पर्यटन विस्तार भई आर्थिक वृद्धिलाई सहयोग पुग्ने कुरा बताए। गौतम वुद्धको जन्मस्थल लुम्विनी र सगरमाथाको देश नेपालले पर्यटकहरुलाई धेरै कुरा दिनसक्ने बताउँदै उनले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउने भएकोले नेपाल भ्रमण गर्नका लागि सहभागीहरुलाई आव्हान गरे। सम्बोधनका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालले पूर्वाधार क्षेत्रमा वित्तीय अभाव वाँष्लबलअष्लन न्बउ पुरा गर्न सार्वजनिक निजी साझेदारी, समिश्रित वित्त तथा सम्भाव्यता न्यून परिपूर्ति कोष (ख्न्ँ) लगायतका लगानीका विभिन्न माध्यम अपनाएको जानकारी गराए। भारत र चीन नेपालमा धेरै वैदेशिक लगानी गर्ने देश भएको उल्लेख गर्दै उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको बताए। उनले नेपालमा सार्वजनिक ऋणको अंशकुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत भएको उल्लेख गर्दै ऋणको उपयोग गरी लगानी वढाउने र आर्थिक वृद्धि गर्ने ँष्कअब िक्उबअभ भएको बताए। माननीय अर्थमन्त्री डा. खतिवडाले अमेरिकाका वाणिज्य मन्त्रीविलवर रोस, भारतका वाणिज्यमन्त्री पियुस गोयल तथा विभिन्न देशका अर्थमन्त्री र वरिष्ठ अर्थशास्त्री सम्मिलित अनौपचारिक भेटघाटको सेसनमा पनि आफ्नो भनाई राखे। उक्त सेसनमा अन्तर्राष्ट्रिय व्यापारमा देखिएका चुनौती, द्विपक्षीय तथा बहुपक्षीय व्यापारका विविध पक्ष, वैदेशिक लगानी, रोजगारी सिर्जना, विश्व व्यापार संगठनको प्रभावकारिताका लागि चाल्नुपर्ने कदम, विश्व अर्थतन्त्रमा दक्षिण एशियाली मुलुकको भूमिकालगायत समसामयिक विषयमा छलफल भएको थियो । कार्यक्रमको समयमा अर्थमन्त्री डा.युवराज खतिवडा र विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड बीच द्धिपक्षीय भेटघाट भएको छ। भेटका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधारलगायतका विषयमा जानकारी गराएका थिए। विश्व आर्थिक मञ्चका अध्यक्ष बर्जले पछिल्ला वर्षमा नेपालको उत्साहजनक आर्थिक वृद्धि भएकोमा खुशी व्यक्त गर्दै दुई ठूला देश चीन र भारतको बीचमा नेपाल अवस्थित भएकोले यी देशबाट नेपालले आर्थिक लाभलिन सक्नुपर्ने बताए। विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुनआएको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडा र भारत सरकारका समकक्षी वित्तमन्त्री निर्मला सीतारमण बीच भारतको वित्त मन्त्रालयमा शिष्टाचार भेट भई उनीहरु बीचद्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल भएको थियो।
किराँत राई सोसाइटी पोर्चुगलद्वारा क्यान्सरपीडितलाई सहयोग काठमाडौं । किराँत राई सोसाइटी पोर्चुगलले क्यान्सर पीडित १५ वर्षीया ज्योति राईको उपचारका लागि आर्थिक सहयोग गरेको छ। भर्ला बोटे इलाम घर भएकी उनी हाल भक्तपुर क्यान्सर अस्पतालमा जिब्रोको अर्बुदरोगको उपचारत छिन्। सानो सहयोगले गर्दा कसैको ज्यान बचाउन सकिन्छ भन्ने उद्देश्यले (५२६.११ युरो) ६५ हजार नेपाली रकम भक्तपुर क्यान्सर अस्पतालमा पुगेर गायक शम्भु राई र प्राबन राईले पीडितकी आमालाई सहयोग रकम हस्तान्तरण गरे। पीडित राईको आर्थिक स्थिति निकै कमजोर भएको र उपचारका लागि निकै कठिनाइ भएको जानकारी आएलगत्तै पोर्चुगलमा रहेका सहयोगी मनसँंग आह्वान गरी सङ्कलित रकम पीडित उपचारका लागि पठाइएको सोसाइटीका अध्यक्ष राजकुमार राईले बताए।
चिनियाँ राष्ट्रपतिको भ्रमणपछि पर्यटनको विकास अझै हुन्छ : पूर्वपरराष्ट्रमन्त्री पाण्डे चीनका राष्ट्रपति सी चीन पिङ निकट भविष्यमै नेपालको भ्रमणमा आउनुहुने भएको छ। यसै सन्दर्भमा नेपाल चीन सम्बन्ध, बिआरआई र यसबाट नेपालले लिनसक्ने लाभ सम्बन्धमा नेपालका पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग सञ्चिता घिमिरे र शरद शर्माले लिएको अन्तर्वार्ताको सम्पादित अंश। १. नेपाल र चीनबीचको सम्बन्ध विगतदेखि अहिलेसम्म कस्तो रहेको पाइन्छ ? – नेपाल र चीनबीचको सम्बन्ध प्राचीनकालदेखि शुरु भएको हो । स्रङचङ गम्पो, भृकुटी अंशुवर्माका समयदेखि नै दुई देशबीचको सम्बन्ध विकास भएको हो। भृकुटीको विवाह भयो, जुन विवाह राजनीतिक किसिमको विवाह हो । दौत्य सम्बन्ध सुधार गर्न यो विवाह भएको पनि भनिन्छ। यसले पनि दुई देशबीचको सम्बन्धलाई कसिलो बनाउने काम गरेको छ। लिच्छविकाल र मल्लकालमा आइपुग्दा पनि दुई देशबीचको सम्बन्ध उत्तिकै सौहार्दतापूर्ण थियो। नेपाल र चीनबीच त्यतिबेलादेखि नै आर्थिक सम्बन्ध पनि रहेको छ । भोटबाट नुनलगायत सामान ल्याउने गरिएको थियो । केही समय पहिलेसम्म भोटबाट यहाँ राडीसम्म पनि आउने गरेको थियो। विसं २०१६ मा सगरमाथा विवाद उत्पन्न भएको थियो जुन अहिले समाधान भइसकेको छ। यो समस्या नेपाल र चीन सरकारका प्रतिनिधि बसेर समाधान गरिएको थियो। अहिले आएर दुई देशबीचको सम्बन्ध अझै कसिलो हुँदै गएको छ। २. नेपालले चीनसँगको सम्बन्धबाट किन पर्याप्त फाइदा लिन सकिएको छैन? –चीनसँगको सम्बन्धमा हामीले प्रविधिलगायतका क्षेत्रमा चीनमा भएको विकासबाट सिक्नुपर्छ । उनीहरुले मारेर दिएको माछा खाने होइन, माछा मार्ने सीप हामीले उनीहरुसँग सिक्नुपर्छ। नेपालमा पहिले चीन र रुसको सहयोगमा कलकारखाना खुलेका थिए तर उदारवादी नीति भन्दै उद्योग कलकारखाना बन्द भएर गए । चीनले तिब्बतको पनि विकास गरिरहेको छ तर हामी भने सुविधाका मात्रै कुरा गर्दा पछि परेका छौँ । चीन आफ्नो विकासमा पनि अवरोध नआओस् र छिमेकीहरुसँग सम्बन्ध पनि सुदृढ र सुमधुर होस् भन्ने चाहन्छ। नेपाल र चीनका बीच पारस्परिक सम्बन्ध एकअर्कालाई सम्मान गर्ने हिसाबले अघि बढेको पाइन्छ। ३. बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाबाट नेपालले लिन सक्ने फाइदा के के हुन सक्छन् ? – अहिले पनि नेपालमा उत्तरी र दक्षिणी छिमेकी विकासमा अघि बढेका छन् त्यसको फाइदा लिनुपर्छ भनिन्छ। भाषण गरेर वा माला जपेर फाइदा लिने होइन, फाइदा लिने हो भने कार्यक्रम बनाउनुपर्यो। हामीले उत्पादन बढाउनुपर्छ, उनीहरुको प्रविधि लिनुपर्छ, उनीहरुबाट हामीले सिक्नुपर्छ। हाम्रो शिक्षा, स्वास्थ्य अघि बढ्नुपर्छ, राष्ट्रिय योजना आयोगले योजना बनाउनुपर्छ। जनतालाई सुदृढ बनाउने गरी अघि बढाउनुपर्छ। ‘बिआरआई’ पहिलेको सिल्क रोडमा आधारित भएर चीनले ल्याएको नयाँ अवधारणा हो।बिआरआई अहिलेसम्म हेर्दा यसमा सेना प्रयोग भएको छैन। नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य भएका नाताले हामी कुनै पनि सैनिक गतिविधिमा संलग्न हुँदैनौँ। यो परियोजनामा सबैभन्दा ठूलो कुरा अर्थतन्त्र र सौहार्द सम्बन्ध विकास गर्ने कुरा रहेको छ। सम्बन्ध सुधार गर्ने र विश्वका सबै मुलुकसँगको ‘कनेक्टिभिटी’ स्थापना गर्ने रहेको छ । हामीले शुरुदेखि नै यससम्बन्धी सहमतिमा सही पनि गर्यौँ। अहिले हामी ‘कनेक्टिभिटी’मा लागेका छौँ। चिनियाँ परराष्ट्रमन्त्री नेपाल आउँदा तीनचार नाकाबारे छलफल भएको थियो। राष्ट्रपतिको भ्रमणका क्रममा कतिपय सहमतिहरु हुन्छन्। आन्तरिक रुपमा पनि टनेल बनाउने, बाटो सुधार तथा विस्तार गर्ने कुरा पनि आएका छन्। काठमाडौँ उपत्यकाभित्र र बाहिर चीनसँग जोडिने सडकहरुमा उसको चासो छ र हाम्रो आवश्यकता पनि छ। यसलाई नकारात्मक टीकाटिप्पणी गर्न आवश्यक छैन। हामीले हाम्रो राष्ट्रिय हित, सामाजिक परिवर्तन, शिक्षा, विज्ञान, प्रविधिलगायतका कुरामा अरू मुलुुकबाट सिक्नुपर्छ। ४. बिआरआइका लागि हाम्रो तयारी कस्तो पाउनुभएको छ ? – सरकार यसमा लागेको छ भन्नेमा म विश्वस्त छु। चिनियाँ राष्ट्रपति आउनुभन्दा अगाडि हाम्रो तालुक मन्त्रालयले तयारी गरिरहेको छ। सबैले आफ्नो क्षमता योग्यताअनुसार गर्नुपर्छ। सरकारका निकाय क्रियाशील रहेका छन्। ५.चीनमा भएजस्तो विकासलाई नेपालले किन पछ्याउन नसकेको हो? – हामीले चीनले प्रगति गरेको क्षेत्रमा ध्यान दिएनौँ। हामीले चीनतिर के–के अन्वेषण भएको छ त्यतातिर ध्यान दिन सकेनौँ। हामी आफैँ पनि अन्वेषण गर्नुपर्दछ भनेर अझै योजनाबद्ध तरिकाले लागेका छैनौँ। हामी अहिले बहस र छलफलमा रहेका छौँ। अनुसन्धान राजनीतिक नेता र कर्मचारीतन्त्रले गर्ने नभई विश्वविद्यालयका प्राध्यापकले चीनबाट हामीले के फाइदा लिन सक्दछौँ भनेर अनुसन्धान गर्नुपर्दछ। राष्ट्रिय–अन्तरराष्ट्रिय तहमा भएको अनुसन्धानमा भएका निष्कर्ष के हुन् भनेर त्यसको सन्दर्भ नेपालका लागि के कति उपयुक्त हुन्छ, ती उपयुक्त हुने कुरा लागू गर्नुपर्दछ। यो कुरामा हामी भर्खर लागेका छौँ। नेपाली नागरिकको चेतनामा हाल वृद्धि भएको छ। अब चाहिँ हामीले भारत, चीन, अमेरिका, युरोपमा भएका अध्ययन–अनुसन्धानका कुरालाई समेटेर आफैँ अन्वेषण गर्ने हो। ६. चीनसँग रेल, सुरुङ, सडकको स्तरोन्नति, ट्रान्समिशन लाइन, नाका खुलाउनेबाहेक अरू कुन कुन सम्झौता/परियोजनामा सहकार्य गर्न सकिन्छ ? – संसारमा नेपालजस्तो भौगोलिक अवस्थाको अर्को मुलुक छैन । संसारमा पाइने सबै प्रकारको हावापानी हाम्रो नेपालमा पाइन्छ । काठ, जडीबुटी, फलफूल, खाद्यान्न खेती सबै यहाँ हुन्छ । यी क्षेत्रका बारेमा हामीले कहीँकतै कहिल्यै अनुसन्धान गरेनौँ । यी कुरामा हामी चीनसँग अनुसन्धानमा सहभागी हुन सक्दछाँै । उहाँहरुलाई हामीले सहभागी गराएर कृषि, उत्पादनको क्षेत्रमा हामी अनुसन्धान गर्ने र त्यहीअनुसार उत्पादन बढाउनका लागि चिनियाँ सहयोग लिन सक्दछौँ । अर्को, हाम्रो कृषि स्रोत–साधनमा आधारित भएका उद्योग–कलकारखानामा सहयोग लिन सक्दछौँ । त्यो उद्योगबाट उत्पादन भएका सामग्री चीन र अरू मुलुकमा निर्यात गर्न सक्दछौँ। ऊर्जाको क्षेत्रमा पनि हामीले सहयोग लिएर विद्युत् उत्पादन गर्ने र त्यो ऊर्जा बेच्न सक्दछौँ। चीनमा हामी चिकित्सक, इन्जिनीयरिङ पढ्न पठाउँछौँ तर ती विषय पढे पनि अनुसन्धानमूलक भएनन् । त्यहाँ अनुसन्धानात्मक पढाइ गरेर त्यसलाई हामीले यहाँ प्रयोग गर्नुपर्दछ । प्रविधि, सामाजिक परिवर्तनका बारेमा पनि चीनबाट सहयोग लिन सकिन्छ । चीनले जनतालाई एक ढङ्गले सिकाएर राष्ट्रप्रति बफादार नागरिक उत्पादन गरेको छ । त्यो पनि हामीले सिक्न सक्दछौँ । राष्ट्रलाई सुदृढ गर्नका लागि जनताको चिन्तन प्रणालीमा सुधार गर्नुपर्दछ, त्यो पनि हामीले चीनबाट सिक्न सक्दछौँ । ७. तपाँई मन्त्री भएको बेला नेपाल र चीनबीच सम्बन्ध बढाउन के के काम भएका थिए ? – म मन्त्री भएको बेला हामी संविधान निर्माणको चरणमा रहेका थियौँ । संविधान निर्माण गर्ने भएकाले कतिपय धेरै कुरा चाहेर पनि गर्न सकेनौँ । म परराष्ट्रमन्त्री भएको समयमा सार्क सम्मेलनको तयारीमा जुट्यौँ र सार्क सम्मेलन गर्यौँ। सार्क सम्मेलनमा चीन पनि पर्यवेक्षण गर्न आएको थियो। सहभागी बनेर चीनले सार्कलाई सुदृढ गर्नका लागि आफ्नो स्रोतबाट यसलाई सहयोग गर्ने वचनबद्धता दिएको छ। सार्क विश्वविद्यालय चलाउनमा पनि चीनको सकारात्मक दृष्टिकोण पाइएको छ। चीनका परराष्ट्रमन्त्रीसँग व्यापारका विषयमा द्विपक्षीय वार्ता भएको थियो। त्यस वार्तामा व्यापारलाई कसरी बराबरी गर्ने, दुई देशबीचको सम्बन्धलाई कसरी सुदृढ गर्ने विषयमा छलफल भएको थियो तर हाम्रो सम्पूर्ण ध्यान संविधान निर्माण गर्नुपर्नेमा रहेको थियो। एकपटक विघटन भइसकेको संविधानसभा पुनः विघटन नहोस् भनेर सकेसम्म अरूतिर ध्यान नजाओस् भनेर हामीले अरू केही गर्न सकेनौँ। संविधान घोषणा भइसकेपछि चीनले धेरै कुरामा सहयोग गरेको छ। यतिखेर शान्तिपूर्ण रुपमा विकास र अर्थतन्त्रमार्फत समाजलाई परिवर्तन गरेर जाने र विज्ञान प्रविधिलाई विकास गरेर जाने क्षेत्रमा हामीले चीन, भारत, अमेरिकासँग हात बढाउन सक्छौँ। ८. अहिले चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेको छ। यसबाट नेपालले के अपेक्षा राख्न सक्छ? – जहाँ जहाँ चीनका राष्ट्रपतिको भ्रमण भएको छ त्यस त्यस ठाउँमा पर्यटनको विकास राम्रोसँग भएको छ। माल्दिभ्समा उहाँ जानुभयो त्यहाँ चिनियाँ पर्यटकको आकर्षण बढ्यो। यस्तै श्रीलङ्का, बङ्गलादेशमा पनि बढेको छ। भारतसँग पनि उहाँहरुबीचको सम्बन्ध सुदृढ हुँदै गएको छ। व्यापार व्यवसाय दुईवटै देशको राम्रो भएको छ। पर्यटक पनि जान्छन्। चिनियाँ बौद्धिक व्यक्तित्वहरु पनि अहिले भारत जाने गरेका छन्। भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि उहाँ धेरै पटक चीन जानुभएको छ। मलाई नै चिनियाँहरुले तपाईहरुको देशमा पर्यटक आउन कुनै गाह्रो छैन, दश लाख पर्यटक चीनबाट आउने ठूलो कुरा होइन भनेका छन्। तपाँईहरु बस्न, खानका लागि पूर्वाधार तयार पार्नुहोस् भनेका छन्। एउटा त पर्यटनको क्षेत्रमा यसले योगदान गर्दछ। अर्को आफ्नो देशलाई सुरक्षित गर्दा छिमेकीहरुलाई विस्तारै उन्नतिमा लैजान सक्यो भने उन्नति भएको छिमेकीले पनि सहयोग गरेर आफूहरु समृद्ध हुन्छौँ भन्नेमा चिनियाँहरु रहेका छन्। राष्ट्रपतिको भ्रमण भइसकेपछि आर्थिक, पर्यटनको क्षेत्रमा स्रोतसाधनलाई पहिचान गरेर उपयोग गर्न सकिन्छ। शिक्षा, स्वास्थ्यको क्षेत्रमा यो भ्रमणले योगदान गर्दछ। चीनका राष्ट्रपतिले नेपालको भ्रमण गरिसकेपछि अरू मित्रराष्ट्रको आँखामा पनि नेपाल पर्दछ। त्यसले गर्दा अरू देशको पनि हामीप्रति सौहार्द सम्बन्ध र सहयोग बढ्छ। त्यसमा हामीले सहयोग लिन जान्नुपर्दछ। उनीहरुको नभई हाम्रो चाहनामा काम हुनुपर्दछ । चीनको राष्ट्रपतिको नेपाल भ्रमणपछि अरू मित्रराष्ट्रको पनि सहयोग नेपाललाई हुन्छ। राष्ट्रपतिको भ्रमणपछि चीनसँगको सम्बन्ध अझै सुदृढ हुन्छ। तत्कालका लागि होइन भविष्यसम्मका लागि हामीले सकारात्मक सम्बन्ध बनाउने, सहयोगी बनाउने र सौहार्द वातावरणमा अन्तरराष्ट्रिय सङ्घसंस्था संयुक्त राष्ट्र सङ्घ, क्षेत्रीय सहयोग सङ्गठन, जी–२० जस्ता संस्थाबाट हामीले अपेक्षा गरेअनुसार ढङ्ग पुर्यायौँ भने मुलुकमा सहयोग आउने र हाम्रो अर्थतन्त्रमा सुधार आउनेछ। यसले गर्दा सन् २०२२ मा विकासशील मुलुक हुने, सन् २०३० सम्म दिगो लक्ष्यका उपलब्धि हासिल गर्ने जस्ता कुरामा हामी सहज रुपमा जान सक्दछौँ।रासस
विप्लव समूहका सेक्रेटरीसहित दुई पक्राउ, विष्फोटक पदार्थ बरामद काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा मोरङको बूढीगङ्गा गाउँपालिका–३ बस्ने विप्लव समूहका सेक्रेटरी आभाष भन्ने कुमार खतिवडालाई विराटनगर–४ को इक्राइबाट को २०प ५८८८ नंको मोटरसाइकल साथ प्रहरीले बिहीबार साँझ ५ बजे पक्राउ गरेको जनाएको छ। निजले दिएको जानकारीबाट बूढीगङ्गा गाउँपालिका–७ धरहरा बस्ने कुमार डाँगीलाई विष्फोटक पदार्थ र त्यसमा प्रयोग हुने सामग्री तीन फिट माटोमुनि प्लाष्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको छ। प्रहरीले निओजल ९० लेखिएको (जिलेटिन) विष्फोटक पदार्थ ४३ थान, एरियलसहितको सेतो रिमोट एक, तार जोडिएको बक्स एक, रातो टेप र तारसहितको डेटकार्ड एक, केप दुई, मसिनो तार एक र मोबाइल एक प्रहरीले बरामद गरेको हो। यसैगरी निजहरुका साथबाट विप्लव समूहका विभिन्न दस्तावेज, प्रेस विज्ञप्ति, झण्डा, आर्थिक सहयोग पत्र, सहयोग रसिद दुई ठेलीलगायतका अन्य सामग्री बरामद गरेको पत्रकार सम्मेलनमा जनाइएको छ। प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले चन्दा माग्ने समूह आउना साथ प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै मोरङमा सो समूहका २० जना अदालतको आदेशमा जेलमा रहेको र २६ अनुसन्धानमा रहेको जानकारी दिए। उनले खुला सीमाका कारण विष्फोटक पदार्थ भित्रिने भएकाले त्यसका लागि सुरक्षा व्यवस्था कडा पारिएको र मोरङ जिल्लामा शान्ति सुरक्षा सुदृढ रहेको विश्वास दिलाए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले विप्लव समूहका गतिविधि मोरङमा निस्तेज गरिएको बताउँदै चन्दा सङ्कलन र विष्फोटनका गतिविधि गरिने भएकाले त्यसलाई नियन्त्रण गर्न समयमा सूचनाका लागि आग्रह गरे।रासस
नेपाली सेनाद्धारा टुँडिखेलमा फूलपातीको हर्षबढाइँ काठमाडौँ । बडादशैंकाे सातौँ दिन शनिबार काठमाडौँको सैनिक मंच टुँडिखेलमा फूलपातीको हर्षबढाइँ गरिएको छ । काठमाडौंको बसन्तपुरस्थित दशैँघरमा बडा दशैँको सातौँ दिन फूलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा एक विशेष समारोहका बीच फूलपातीको हर्षबढाइँ गरिएको हो। समारोहमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो। समारोहमा नेपाली सेनाले बढाईका विभिन्न कौशल प्रर्दशन गरेको थियो भने नेपाली सेनाको हेलिकप्टरद्धारा पुष्प वृष्टि तथा तोप बढाई पनि गरिएको थियो। नेपाली सेनाले दशैँको फूलपातीको दिन हरेक वर्ष एक विशेष समारोहका बीच फुलपातीको हर्षबढाइँ गर्दछ। यसै अवसरमा जमरा राखिएका घरहरुमा पनि विधिपूर्वक फूलपाती भित्र्याउने गरिन्छ।
सप्तरीमा गाडिको ठक्करबाट एक वृद्धाको ज्यान गयो सप्तरी । कञ्चनरुप–फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा आज भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठ बस्ने ७२ वर्षीया टंककुमारी खतिवडा रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ। कञ्चनरुपबाट फत्तेपुर जाँदै गरेको स १ च १३६० नम्बरको पिकअप गाडीले दिएको ठक्करले घटनास्थलमै उनको मृत्यु भएको छिमेकी चित्रबहादुर कटवालले जानकारी दिए। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शव परीक्षण भएको छ।
भाइको हत्या गरेको अभियोगमा दाई पक्राउ भक्तपुर । आफ्नै भाइ ४० वर्षीय नेत्र बहादुर अछामीलाई भर्याचङबाट धकेलेर हत्या गरेको अभियोगमा चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाइट बस्ने गोरखा पालुङ्टार नगरपालिका २ घर भएका खिला अछामीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। खिलाले भर्यातङबाट धकेल्दा लडेर गम्भीर घाइते भएका नेत्रको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै खिलाका २२ वर्षीय छोरा वेसन अछामी समेतलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
‘गुजारामुखी नभई समृद्धिका लागि कृषि’ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रविधियुक्त कृषि प्रणालीले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन्। बर्दिवास नगरपालिकाअन्तर्गतको कृषि विकास बोर्डले नमूना कृषि गाउँ (मोडल एग्रो भिलेज) मा आयोजना गरेको वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै उनले अबको कृषि गुजारामुखी नभई विकास र समृद्धि प्राप्त गर्ने उद्देश्यको हुनुपर्ने बताए। ‘अब केही मन कोदो, केही धान वा केही अन्य बाली उब्जाएर गुजारा गर्ने कुराले दिन चल्दैन”, मन्त्री पोखरेलले भने, ‘विकास र समृद्धिको यात्रामा अघि बढ्न किसानले अब अत्याधुनिक कृषि प्रविधि अपनाउनुपर्छ।’ स्थानीय, प्रदेश र सङ्घीय सरकारका सारा प्रयत्न अहिले विकास र समृद्धिसँग जोडेर अघि बढाइएको उनको भनाइ छ। उनले प्रत्येक काममा जनसहभागिता बढाउन नगरपालिका नेतृत्वसँग आग्रह गरे। ‘जनताको सहभागिता नभएका कार्यक्रम जतिसुकै राम्रा भनेर प्रचार गरिए पनि फ्लप हुन्छन्’, मन्त्री पोखरेलले भने, ‘त्यसैले योजना छनोट गर्दा होस् वा कार्यसञ्चालनमा होस् जनसहभागिता जुटाउन भरमग्दुर प्रयत्न गर्नुहोस्।’ वडा नं ६ किसाननगरमा पर्ने पश्चिमी रातु नदी उकास जग्गामा नगरपालिकाले कृषि कार्यक्रमअन्तर्गत नमूना कृषि गाउँ निर्माणको काम थालेको छ। सो गाउँमा दुई हजार २०० आँप र लिचीका बिरुवा रोपिएका छन्। आज रोपिएका बिरुवामा रोप्नेको नाउँ लेखेर टाँसिएको छ। जुनसुकै बेला नमूना कृषि गाउँमा आइपुग्दा आफूले रोपेको बिरुवा रोप्ने आफैँले हेरचाह गर्न पाउन् भन्ने उद्देश्यले त्यस्तो गरिएको बर्दिवास कृषि विकास बोर्डका अध्यक्षसमेत रहेका नगरप्रमुख बिदुरकुमार कार्कीले बताए।रासस
दशैंका यात्रु बोकेर गएको मिनि बस दुर्घटना, ३ जनाको मृत्यु, २५ घाइते, ५ को अवस्था गम्भिर काठमाडौं । काठमाडौंबाट सिराहा जादै गरेको बा ३ ख २३५९ नम्बरको मिनि बस काभ्रे र सिन्धुलीको सिमानामा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्। सुनकोसी गाँउपालिका १ स्थित विपी राजमार्गको दुम्जामा उक्त मिनि बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। सिन्धुली प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते भएकालाई उपचारका लागि धुलिखेल पठाइएका प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ। मृतकको पहिचान हुन सकेको छैन। घटनाका पूर्ण विवरण आउन बाँकी छ।
काठमाडाैंमा खसी/बाेका व्यापारीहरु मारमा काठमाडौं । सरकारले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर खसी/बोकाको मूल्य तोकिदिएपछि व्यापारीहरु मारमा परेका छन्। सरकारले दसैंका लागि प्रतिकेजी ५५० रुपैयाँ खसी/बोकाको मूल्य तोकि दिएपछि काठमाडौं आएका व्यापारीहरु लाखौंको घाटा व्यहोर्न बाध्य भएका हुन्। फूलपातीको दिन काठमाडौंको भृकटीमण्डवमा भेटिएका काभ्रेका व्यापारी दीपक प्रसाद वन्तले सरकारले आफूखुसी मूल्य तोकिदिँदा आफूहरुले लाखौंको घाटा व्यहोर्नु परेको भन्दै आक्रोश व्यक्त गरे। उनले किसानसँग प्रतिकेजी ६०० रुपैयाँ हालेर ल्याएको खसी/बोका ५५० मा विक्री गर्दा भएको घाटा कसले व्यहार्ने पनि प्रश्न पनि गरे। ‘आफूले ७ लाख हालेर ल्याएको खसी/बोकाको मूल्य ४ लाख पनि उठेन,’ खसी व्यापारी वन्तले प्रधानमन्त्री ओलीप्रति आक्रोश व्यक्त गर्दै भने,‘मैले व्यहोरेको ३ लाख घाटा कसले पूरा गरि दिन्छ?’ दसैंका बेला घाटामा गएपछि व्यापारीहरुले सरकारले आफैले पालेजसरी खसी/बोकाको मूल्य तोकेर किसानहरुलाई मारमा पारेको दुःखेको पनि व्यक्त गरे। व्यापारीहरु फूलपातीको दिन भएको खसी व्यापारबाट निराश छन्। अष्टमीको दिन केही होलाकी भन्ने आशामा आफूहरु रहेको अर्का व्यापारी रामकृष्ण लोभोमीले बताए। उनले भारतबाट पनि खसी/बोका आयात भएकाले पनि आफूहरु मारमा परेको गुनासो गरे। दसैंका लागि खसी/बोका भारतबाट आयात नगर्ने सरकारले बताएपनि त्यसमा प्रतिबन्ध लगाउन नसकेकोमा व्यापारीहरुको आपत्ति छ। दसैंमा खसी/बोकाको व्यापारमा घाटा खाएका व्यापारीहरुले सरकारले चिनीको मूल्य भने प्रतिकेजी ७० रुपैयाँ बढाएर १०० रुपैयाँ बनाउने तर मासुको मूल्य भने गत वर्षको जत्तिनै राखेकोमा असन्तुष्टि व्यक्त गरे। केही नाफा हुने आसमा खसी/बोका लिएर काठमाडौं आएका व्यापारीहरु निराश भएर फर्कने तयारीमा रहेका छन्। अष्टमीको दिन केही आशातित व्यापार हुने उनीहरुको अपेक्षा छ। खसी/बोकाको मूल्य तोकेर काठमाडौंमा सुपथ मूल्य पसल नै संचालन गरेको सरकारले व्यापारीहरुले खाएको घाटालाई कसरी सम्बोधन गर्ने हो? त्यो भने हेर्न बाँकी छ।
यौन दुर्व्यवहार गरेको आरोपमा रोशनीले दिइन् महराविरुद्ध उजुरी काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध ‘पीडित’ भनिएकी रोशनी शाहीले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन्। जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित भनिएकी रोशनीले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जाहेरी दिएको प्रहरीले जनाएको छ। गत आइतबार आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी रोशनीले ६ दिनपछि उजुरी दर्ता गरेकी हुन्। रोशनीको जाहेरीपछि महरालाई प्रहरीले पक्राउ गर्ने प्रहरी श्रोतले जनाएको छ।
निशुल्क प्राथमिक उपचार तालिमको अभियान लिएर नेपालका ३८ जिल्लामा पुगे उप्रेती काठमाडौँ । युएईमा सिकेको सीप नेपाली जनताहरूलाई निशुल्क सिकाउने लक्ष्यका साथमा युएईका व्यावसायी तथा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले सञ्चालन गर्दै आएको निशुल्क प्राथमिक उपचार तालिमको अभियान अहिलेसम्म नेपालका ३८ वटा जिल्लामा सम्पन्न भएको छ। आफ्नो अभियानको चौथो चरणको तालिम सुदूर पश्चिमका १२ जिल्लाहरूमा सम्पन्न गरेसँगै यो अभियान आधा नेपालमा पुर्याउन सकेको अभियन्ता ओमप्रसाद उप्रेतीले बताएका छन्। ‘राष्ट्रको लागि योगदान’ भन्ने मूल नारा रहेको यो प्राथमिक उपचार तालिममा प्राकृतिक विपत्ति, आकस्मिक अवस्था, दुर्घटनामा हरेक मानिसलाई कसरी जोगाउने भन्ने आधुनिक विधि र पद्धतिबारे सिकाइने गरिन्छ। मानव जीवनमा अति उपयोगी यो अभियान नेपालका ७७ वटै जिल्लामा आयोजना गरिदैछ। अहिलेसम्म चार चरणमा ३८ वटा जिल्लामा सम्पन्न भएको यो अभियान अब बाँकी जिल्लाहरूमा आगामी दिनहरूमा निरन्तरता दिइने डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रबन्ध निर्देशक समेत रहेका यो अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक उप्रेतीले बताए। सुदूर पश्चिमका १२ जिल्लामा चौथो चरणको तालिम सम्पन्न असोज ५ देखि १७ गतेसम्म सुदुर पश्चिमका विकट जिल्लाहरूमा तालिम कार्यक्रमको संयोजन हेमन्त पौडेलले गरेका थिए, भने सरु दुलालले व्यवस्थापनमा सहयोग गरेकी थिइन्। गत असोज ५ देखि १७ सम्ममा सुदुर पश्चिमका १२ जिल्लामा भइरहेको तालिम अभियान असोज १७ मा दाङमा समापन भएको हो। गत असोज ५ गते आइतबार  दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको कार्यलयमा  तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अभियान सहयोगी दामोदर सिंहले बताएका छन्। दोश्रो दिन असोज ६ गते, सोमबारमा  बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसमा सोही तालिम आयोजना गरिएको र उक्त तालिममा जिल्ला प्रहरी कार्यालय बैतडीका इन्चार्ज डीएसपी डिल्लीनारायण पाण्डेको सहकार्यमा रहेको अभियन्ता उप्रेतीले बताएका छन्। अभियानको तेस्रो दिन असोज ७ गते, मंगलबार बझाङ जिल्लाको शिक्षोदय मावि, बाघथलामा  तालिम आयोजना भएको थियो। चौथो चरणको चौथो दिन असोज ८ गते, बुधबार डडेल्धुरा जिल्लाको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ गन्यापुरमा रहेको सरस्वती माविमा सोही तालिम आयोजना गर्ने योजना गरिएको अभियान सहकर्मी तथा संयोजक हेमन्त पौडेलले जानकारी दिएका छन्। अभियानको पाचाैँ दिन असोज ९ गते, बिहीवार डोटीको पवित्र माविमा प्रधानाध्यापक टीना थापाको सहजिकरणमा तालिम सम्पन्न भएको थियो। यसैगरी, असोज १० गते, शुक्रबार  अछाममा तालिम आयोजना  गरिएको सम्पर्क व्यक्ति भवानी जोशीले बताए। अभियानको साताैँ दिन असोज ११ गते, शनिबार बाजुरामा तालिम सञ्चालन गरिएको सम्पर्क व्यक्ति उमेश शाही हिक्मत थापा र महेश कार्कीले जानकारी दिए। यही तालिम असोज १३ गते, सोमबार कंचनपुर जिल्लामा भव्यताका साथमा सम्पन्न भएको सम्पर्क व्यक्ति पदम बिस्ट र कर्ण चन्दले जनाएका छन्। असोज १४ गते, मंगलबार स्  कैलाली जिल्लाको सामुदायिक प्रहरी भवन, हसनपुर, पिपल चौतारा, धनगढीमा यो तालिम आयोजना भएको सम्पर्क ब्याक्ति धनीराम भण्डारी र चेतन थापाले जनाएका छन्। असोज १५ गते, बुधबार बर्दियामा यो तालिम आयोजना गरिएको थियो भने असोज १६ गते, बिहीवार बाँके जिल्लाको स्वस्तिक होटल, न्युरोड, नेपालगन्जमा निशुल्क प्राथमिक उपचार तालिम भब्य रूपमा उत्साहजनक उपस्थितिका बीचमा आयोजना गरिएको सम्पर्क व्यक्ति राहुल कौशलले जानकारी दिएका छन्। चौथो चरणको समापन कार्यक्रम असोज १७ गते, शुक्रबार दाङ जिल्लामा भएको थियो । लमही उध्योग बाणिज्य संघको सभाहलमा आयोजना भएको सम्पर्क व्यक्ति शान्त गिरी र ताराप्रसाद खनालले बताए। समापन कार्यक्रम आयोजना गरिएको र उल्लेख्य उपस्थिति रहेको दाङ–देउखुरी सेवा समाज युएईले समन्वय गरेको दाङ–देउखुरी सेवा समाज युएईका अध्यक्ष कमल गिरीले जानकारी दिएका छन् ।
मर्माहित हुँदै बाबुराम भट्टराईले महरालाई लेखे यस्तो पत्र काठमाडौं। समाजवादी नेपाल, पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यौन काण्डमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरालाई पत्र लेखेका छन्। उनले सामाजिक संजाल फेसबुक मार्फत महरालाई पत्र लेखेका हुन्। पत्रमा भट्टराईले हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत पनि तरंगित भएको भन्दै त्यसबाट आफू अत्यन्त मर्माहत भएको बताएका छन्। यस्तो छ भट्टराइले फेसबुकमा लेखेको पत्र प्रिय महराजी, हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रीय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु ! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसंग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु! १.माओवादी नेतृत्व तहमा हामी (विशेषतस् प्रचण्ड र म ) सुरेश वाग्ले र तपाईंलाई उच्च नैतिकवान् र इमान्दार पात्र मान्थ्यौं ! हामी वीच विवाद पर्दा तपाईं दुइ जनाको कुरालाई हामीले विशेष महत्व दिन्थ्यौं! प्रचण्ड र मेरो वीचमा २०५५-५६ मा पहिलो ठुलो वैचारिक-सांगठनिक वहस हुँदा २०५६ साउनरभदौमा पन्जाबको रोपडमा भएको पोलिटब्युरो बैठकमा तपाईं दुइजनाको सुझाव मानेर हामीले विवाद हल गरेका थियौं! (दुर्भाग्यवश त्यो बैठक सकेर फर्कने वित्तिकै भदौ २३ गते गोरखामा सुरेश वाग्लेले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको थियो!) पछि पोष्टबहादुर बोगटी र तपाईँ पार्टीका आदर्श पात्र मानिन थाल्नुभयो! २०७१सालमा बोगटीजीको दुस्खद निधन र पार्टीको क्रमशस् ओरालो लाग्दो नैतिक धरातलले आम जनतालाई समेत माओवादी आन्दोलनप्रति वितृष्ण बनाउँदै लग्यो! कांग्रेस-एमाले पहिले नै भ्रष्टाचार र सुरासुन्दरी काण्डले बदनाम भैसकेका थिए! तपाईंको यो पछिल्लो प्रकरण त्यसैले तपाईंको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक-राजनीतिक र नैतिक संकटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ।यसलाई तपाईं हामी सबैले स्वीकार्नैपर्छ! २. माओवादी आन्दोलन यो रसातलको बिन्दुसम्म कसरी पुग्यो रु त्यसको सांगोपांगो विश्लेषण र संश्लेषण छुट्टै गरौंला।हामीले नेपाली क्रान्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको शिखरसम्म पुर्याएकै हो।यसमा हामीले सामुहिक गर्व गर्नुपर्छ! तर रोजा लक्जेम्बर्गले भने झैं क्रान्ति स्थीर भएर बस्दैनस कि त त्यो अघि बढाइनुरबढ्नु पर्छ, नत्र त्यो पछाडि हट्छ।त्यस्तै अर्को भनाइ छ- शिखर चढ्न सजिलो हुन्छ तर त्यहाँ टिक्न गाह्रो हुन्छ! अझै अर्को भनाइ छ- क्रान्ति सम्पन्न भएको भोलिपल्ट हिजोका क्रान्तिकारीहरू प्रन्तिक्रान्तिकारीमा बदलिन्छन्! यहींनेर हामी चुक्यौं!मैले यो एउटा शिखर चढेपछि अर्को शिखर चढ्न नयाँ बाटो खोजौं भनेको थिएँ। तर मैले साथीहरूलाई मनाउन सकिनँ! साथीहरू पुरानै शिखरमा बसिराख्न खोज्नुभयो तर वैज्ञानिक रूपमा त्यो सम्भव थिएन! त्यसैले अब क्रमशस् साथीहरू पुरानो शिखरबाट खुर्मुरिइरहनुभएको छ! तपाईं (महराजी) को पछिल्लो प्रकरण त्यसैको एउटा नमूना हो ! ३.यो प्रकरणमा तपाईं दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिनँ! सत्य कि तपाईंलाई थाहा छ कि सम्बन्धित महिलालाई थाहा छ! तर अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई तपाईंतिर सोझिन्छ!हामीले SLC मा पुष्कर शमशेरको “परिबन्द” कथा पढ्थ्यौं! त्यहाँ परिबन्दले निर्दोष व्यक्ति दोषी ठहरिन्छ! यौन मामिलामा महान् व्यक्तित्वहरू पनि कसरी चुक्छन् भन्नेवारे स्कूलमा पढ्दा गुरूले सुनाएको यो संस्कृत श्लोक सम्झिन्छुस् ‘विश्वामित्र परासर प्रभृत्तयो वाताम्बु पर्णाशना। तेपिस्त्री मुखपंकजं सुललितम् दृष्ट्वैव मोहम् गता।। साल्यान्नम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानबास्। तस्याम् इन्द्रीय निग्रहो यदि भवेत् विन्ध्यस्तरेत् सागरम्।।’ तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन!अझै गम्भीर कुरा त महिलालाई उपभोग्या वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको वलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानूनी दृष्टिले समेत दण्डनीय हुन्छ! हाम्रो जस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीड़ित हुने भए पनि कहिलेकाहिं पुरूष पनि उत्पीडन वा प्रतिशोधरषड्यन्त्रको जालमा पर्नसक्छ। तपाईंको हकमा पनि अन्यथा भएको हुनसक्छ। त्यसनिम्ति पनि तपाईंले सत्यतथ्य बाहिर ल्याएर कानून बमोजिम न्यायको निरूपण गर्न र आफुलाई निर्दोष सावित गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्नुपर्छ र त्यसलाई सघाउनुपर्छ१ त्यसले तपाईंको प्रतिष्ठा घटाउने हैन बढाउनेछ! यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु र प्रायश्चित्त गर्नु नै तपाईं स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ।भनिन्छ( गल्ती गर्नु अपराध हैनस गल्ती नसच्याउनु अपराध हो! तपाईंको शुभेच्छुक, बाबुराम
बडादशैँको आज सातौँ दिन घर-घरमा फूलपाती भित्र्याइँदै काठमाडौं। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ। नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए। “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद्अर्थात् सहायक हुन्”, उनले भने। देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ। फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा गौतमले जानकारी दिए। हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिड जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ। जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ। राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ। यस वर्षको फूलपाती शनिबार अपराह्न ३ बजे भित्र्याइने कार्यक्रम रहेको दशैँ पर्वको संयोजन गरिरहेका समितिका कर्मचारी मिठाराम पुडासैनीले बताए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ। आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ। आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ। फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ।
सुर्खेतमा ५ हजार १६१ लिटर घरेलु मदिरा नष्ट सुर्खेत । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा आज प्रहरीले बरामद गरिएको पाँच हजार १६१ लिटर मदिरा नष्ट गरेको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले कार्यालयकै हाताभित्र खाडल खनेर अवैध घरेलु मदिरा र गाँजा नष्ट गरेको जानकारी दिए । उनका अनुसार तयारी अवस्थाको एक हजार ३५४ र कच्चा पदार्थका रूपमा रहेको तीन हजार ८०७ लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको हो। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहका जनप्रतिनिधि, आमा समूहको सक्रियतामा जिल्लाका विभिन्न स्थानबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ । सबैभन्दा बढी वीरेन्द्रनगर नगरपालिकाबाट बरामद गरिएको थियो। मदिरासहित बरामद गरिएका भाडाकुँडा प्रहरी कार्यालयमै राखिएको छ। जिल्ला प्रहरी प्रवक्ता रावलले पहिलोपटक सचेत गराउने र दोस्रोपटक अवैध मदिरा उत्पादन गरेको पाइएमा सङ्कलित प्रमाणसहित आन्तरिक राजश्व कार्यालयमा पठाइने बताए। गाउँघरमा छ्याप्छ्याप्ती पाइने घरेलु मदिराका कारण दशैँ तिहारमा हिंसात्मक घटना हुनसक्ने भएकाले प्रहरीले केही दिन अघि जिल्लाका सबै स्थानीय तहमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरी अवैध मदिरा बरामद गरेको थियो। त्यस्तै, प्रहरीले एक हजार १५५ गाँजाका बोटसमेत नष्ट गरेको छ ।रासस
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १ चाइनागेटस्थित पूर्वपश्चिम सडकमा ना ८ ख ३८७२ नम्बरको ट्याङकरले ना ५६ प ३९३५ नम्बरको मोटरसाकललाई शुक्रबार बिहान ठक्कर दिंदा मोटरसाइकलमा सवार ३५ वर्षीया सीता न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय शशी न्यौपानेको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ। ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङ, सुन्दरहरैंचा नगरपालिका ७ ठडिया चोकस्थित पूर्वपश्चिम राजमार्गमा को १ ज ३१६८ नम्बरको पिकअप भेन र को ३५ प १४२२ नम्बरको मोटरसाइकल शुक्रवार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका २ बस्ने २० वर्षीय योगेश निरौलाको बिराटनगर न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय सुसन कार्कीको सोही अस्पतालमा उपचार भइरहेको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नक्कली चाँदीसहित एक जना पक्राउ काठमाडौं । नेपाल प्रहरीले १५ किलोग्राम नक्कली चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नक्कली चाँदीसहित धादिङ घर भई ललितपुरको महालक्ष्मीस्थान–११ इमाडोल बस्ने ३३ वर्षीय राज सापकोटालाई आज पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक उमेश लम्सालले नक्कली चाँदिलाई सक्कली चाँदी भनेर बेच्न हिँडेको अवस्थामा धुम्बाराहीबाट सापकोटालाई पक्राउ गरिएको जानकारी दिए। उक्त चाँदीको मूल्य रु १० लाख ५० हजार बराबर रहेको छ। घटनाबारे अनुसन्धान भइरहेको छ। रासस
चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउँछ : प्रदेश प्रमुख कुँवर पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले दशैँ, दीपावली, छठपर्व तथा नेपाल सम्वत्को अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार शुभकामना सन्देश दिँदै उनले गण्डकी प्रदेशवासी सबै दिदीबहिनी दाजुभाइप्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व र अपनत्व एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्। वडादशैँले मौलिक, परम्परा र सांस्कृतिक महत्व बोकेको बताउँदै प्रमुख कुँवरले बहुजातीय बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएको उल्लेख गरेका छन्। दशैँले विविध धर्म र संस्कृति मान्ने प्रदेशवासी तथा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा भातृत्व र अपनत्व, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ भन्ने विश्वास उनले सन्देशमा व्यक्त गरेका छन्।
नारायणी नदीको किनारामा एक महिलाको शव फेला नवलपुर । नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । नदीको गैँडाकोटतर्फको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए। बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१५ कि ५५ वर्षीया देवी भट्टराईको शव फेला परेको हो। आज बिहान नदी किनारमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनको शव नारायणी नदीको पुलबाट करीब एक किलोमिटर दक्षिणमा भेटिएको प्रहरीले जनाएको छ । शवको मुचुल्का उठाएर स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको प्रहरी निरीक्षक कार्कीले बताए। नवलपुरको गैँडाकोट नगरपालिका–१ मा उनको छोरीज्वाइँ बस्ने भए पनि बाराबाट गैँडाकोट आएकोबारे कसैलाई जानकारी नभएको उनले बताए। घटनाको प्रारम्भिक अनुसन्धानबाट भट्टराईले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। भट्टराईले बोकेको झोला नारायणीको पुलमुनि किनारमा भेटिएपछि प्रहरीले परिवारलाई घटनाको बारेमा जानकारी गराएको छ। रासस
सल्यानमा विवाह मण्डपबाटै दुलाहा दुलहीसहित ७ जना पक्राउ सल्यान । सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिद्धकुमाख गाउपालिका– ४ चाँदेकरेञ्जीका बेहुला १९ वर्षीय रत्नबहादुर बोहरा र सोही ठाउँकी बेहुली १९ वर्षीया भुमाकुमारी रावत रहेका छन्। बेहुला लोकबाहादुर बोहराको घरमा विवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बेहुलाका बुबा ४१ वर्षीय लोकबहादुर बोहरा र उहाँकी श्रीमती माया बोहरा, बेहुलीकी आमा ४० वर्षीया कलौटी रावत र बुबा ४२ वर्षीय रत्नबहादुर रावत तथा बालविवाह गराउने पण्डित कुशे नगरपालिका–९ जाजरकोट घर भएका २५ वर्षीय नवीन आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार बाल विवाह भइरहेको भन्ने प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले उनीहरुलाई मण्डपबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ। पक्राउ परेका सबैलाई अनुसन्धान गरी मुद्दा दायर गरिने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए। सल्यान जिल्लामा बालविवाहको दर उच्च रहेकाले यसको न्यूनीकरणमा प्रहरीले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ। रासस
धर्म संस्कृतिप्रति सरकार उदासिन हुँदा बिकृति बढ्यो : कमल थापा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृतिप्रति उदासिन हुँदा बिकृति बढेको बताएका छन्। उनले भने, ‘समाजमा भगवानको अस्तित्व स्विकार नगर्ने बढदो प्रवृत्ति तथा धर्मप्रतिको आस्था कमजोर हुँदै गएका कारण व्यभिचार, बलात्कार, भ्रष्टाचार र अत्याचार बढदै गएको हो। त्यसर्थ, ‘सनातन धर्म र संस्कृतिको रक्षा गरौं’ भन्ने मुल नाराका साथ काठमाडौं जिल्ला कमिटीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले धर्म संस्कृतिले मानिसलाई मर्यादा, आचारण, अनुशासन र जिम्मेवारीबोध गराउन ठूलो भूमिका खेल्ने विचार व्यक्त गरे। भगवानसंग डर नहुदा अन्याय, अत्याचार र बढेको भन्दै थापाले चाडपर्वहरुलाई मितव्ययी ढंगले आपसी सद्भाव, प्रेम र आत्मियता अभिबृद्धी हुने गरि मनाउनु पर्नेमा जोड दिए। धर्म, सस्कृति र पहिचान जोगाउन आवश्यक भएको कुरा जनतामा बुझाउने काममा दशै बिदालाई सदुपयोग गर्न समेत नेता कार्यकर्तालाई थापाले आग्रह गरे। गत निर्वाचनमा पार्टीको पराजयलाई ‘इख’को रुपमा लियर काम गर्नुपर्नेमा जोड दिदै थापाले आफन्त, परिवारजन र जनतामा रहेको भ्रमहरु चिर्नेगरी मेहनत गर्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिए।
मध्यपुरथिमिमा जलवायु कूटनीति सप्ताह शुरु काठमाडौं । मध्यपुरथिमि नगरपालिकामा हरियाली मध्यपुर अभियान शुरु भएको छ। मध्यपुरथिमि नगरपालिकाको आयोजनामा ‘मानिस, पार्क र ग्रह’ शीर्षकमा रहेर यो अभियान शुरु भएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए। सेप्टेम्बर २४ देखि ६ अक्टुबरसम्मलाई जलवायु कूटनीतिको सप्ताहका रुपमा विभिन्न कार्यक्रम गरी मनाउने क्रममा युरोपेली युनियन (इयु)ले मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा अभियान शुरु गरेको उनले जानकारी दिए। इयूले विश्वभरनै जलवायु कूटनीति सप्ताह मनाउन शुरु गरेकोमा मध्यपुरथिमिसँगको सहकार्यमा वृक्षरोपण गरेर नेपालमा यो अभियान शुरु गरेको हो। नेपालस्थित इयू दूतावासका भेरेनिका कोडीले बिरुवा रोपेर मध्यपुरथिमि नगरलाई हरियाली बनाउने अभियान शुरु गर्नुभएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए। नगरप्रमुख श्रेष्ठले इयूसँगको सहकार्यमा खाली क्षेत्रमा पर्यावरण संरक्षणको कार्य शुरु भएको बताउँदै आगामी दिनमा विकास निर्माणलगायतका मानवीय कार्यमा समेत सहकार्य गरेर अघि बढ्ने बताए। बेवारिसे सडक मानवमुक्त बनाउने अभियान शुरु भक्तपुरलाई बेवारिसे सडक मानवमुक्त बनाउने अभियान सुरु भएको छ। अभियानका क्रममा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले मानव कल्याण समाज (सेवा घर)लाई आर्थिक तथा लत्ताकपडासहित सहयोग हस्तान्तरण गरे। भक्तपुरलाई सडक मानवमुक्त बनाउने मुख्य उद्देश्यका साथ चाँगुनारायण नगरपालिकामा सञ्चालनमा रहेको उक्त सेवा घरलाई सांसद बस्नेतले आफ्नो तर्फबाट दशैँ खर्चस्वरुप रु १० हजार, इजरायलमा बसोवास गर्ने नेपालीको संस्था सलोम नेपाल मुभमेन्ट सोसाइटीद्वारा उक्त सेवा घरलाई रु एक लाख ३५ हजारको चेक संस्थाकी अध्यक्ष सुमित्रा चौलागाईंलाई हस्तान्तरण गरेका हुन्। नेकपाकी नेतृ तथा अखिल नेपाल महिला सङ्घ भक्तपुर क्षेत्र नं २ की अध्यक्ष हीरामाया शेर्पाले सेवाघरमा रहेको अनाथ, असाह्य मानवका लागि लत्ताकपडासहितको सहयोग प्रदान गरिन्। कार्यक्रममा सांसद बस्नेतले भक्तपुरमा मानवताको विजारोपण मानव सेवा घरले नै गरेको चर्चा गर्दै भक्तपुरलाई अब सडक मानवमुक्त जिल्ला घोषणा गर्न कुनै समस्या नहुने बताए। उनले भक्तपुरमा सडक मानवमुक्त बनाउने पहिलो अभियानकर्ता संस्थाको रुपमा मानव कल्याण सेवा घर भएको बताउँदै उक्त संस्थाले सडक मानवको सवालमा गरेका कार्य अतुलनीय रहेको बताए। संस्थाका अध्यक्ष चौलागाईंले विगत २६ औँ दिनदेखि नियमित रुपमा सडक मानवलाई प्रत्येक राति उद्धारका कार्य गर्दै आइरहेको बताउँदै आगामी २५ गते सामूहिक दशैँको टीका लगाउने कार्यक्रम रहेको जानकारी गराए। स्थापनाको करीब डेढ वर्षमा सेवा घरले भक्तपुर जिल्लाभित्रका १५० जनालाई उद्धार गरी पारिवारिक स्नेहसहितको सेवा र ६० जनालाई पारिवारिक पुनर्मिलनसमेत गराइसकेको छ। सेवा घरले भक्तपुरको सडकमा रहेको करीब ९५ प्रतिशत बेवारिसे मानवको उद्धार गरिसहेको दाबी गरेको छ भने हाल सेवा घरमा ७० जनाले सेवा पाइरहेका छन्।रासस
‘सीको भ्रमणले हिमाली क्षेत्रको जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने विश्वास छ’ काठमाडौं । चीनका राष्ट्रपति सी चीन पिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल–चीनको सम्बन्धका बारेमा दश वर्षदेखि निरन्तर रुपमा क्रियाशील भएर नेपाल–चीन हिमालयमैत्री समाज स्थापना गरी काम गर्दै आउनुभएका समाजका संरक्षक तथा पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसँग गरेकाे कुराकानीको सम्पादित अंश। १. नेपाल–चीन सम्बन्धलाई यहाँले कसरी लिनुभएको छ ? नेपाल–चीन सम्बन्धलाई दुई ढङ्गले परिभाषित गर्नुपर्छ, एउटा जनता र जनताबीचको सम्बन्ध छ जुन पाँचौँ शताब्दीमा बुद्धभद्रदेखि शुरु भएको छ । चीनका भिक्षु हुएन साङ, फाहियानमार्फत लुम्बिनीमा गौतम बुद्ध नेपालमा जन्मिएको भनेर प्रमाणित गर्ने आधार पनि बनेको छ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि विवादरहित सम्बन्ध रहेको छ । हिमाली क्षेत्रमा लामो सीमा जोडिएको भए पनि कुनै पनि सीमा विवाद छैन । दुई देशबीच अत्यन्त राम्रो र सौहार्दपूर्ण सम्बन्ध रहिआएको छ । २. दुई देशबीचको सम्बन्धको महत्व के छ? नेपाल भूपरिवेष्ठित राष्ट्र हो। लामो समयदेखि हामी भारतवेष्ठित भएर रह्यौँ। त्यही कारणले धेरै पटक नाकाबन्दी पनि नेपालले व्यहोर्नुपर्यो। विसं २०७२ मा नाकाबन्दी व्यहोरेपछि हामी उत्तरी छिमेकीसँग पनि टे«ड एण्ड ट्रान्जिट सम्झौता गर्ने अवस्थामा पुग्यौँ । भर्खरै हामीले सातबुँदे सम्झौतामा हस्ताक्षर गरेका छौँ, जसले गर्दा निर्बाधरुपमा चीनका चार वटा बन्दरगाहमा पुग्ने अवसर प्राप्त भएको छ। सुख्खा बन्दरगाहको पहुँच पनि पुगेको छ। चीनबाट पाइपलाइनमार्फत नेपालमा तेल ल्याउने र ट्रान्समिसन लाइन बनाउने कुरा पनि भएको छ । यसरी नेपाल चाहिँ जमीनबाटै जोडिएको देशका रुपमा विकास भएको छ। नेपालले दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाएको छ। नेपाली जनताको यो ऐतिहासिक उपलब्धि हो । यसबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ र अझ विश्वासिलो बनाउन सहयोग पुगेको छ। नेपालले एक चीन नीतिलाई समर्थन गरेको छ, नेपाली माटोमा कुनै पनि विदेशीलाई चीन विरोधी गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गरेको छ। नेपालले पूर्णरुपमा असंलग्न परराष्ट्र नीतिलाई आत्मसात् गरेर दुई देशको सम्बन्धलाई अघि बढाएको छ जसले गर्दा नेपालको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकास र सांस्कृतिक विकासमा ठूलो सहयोग पुग्ने अनुभूति सबै नेपालीले गरेका छन्। ३. नेपाल–चीनबीचको वर्तमान सम्बन्ध कस्तो छ ? नेपाल–चीन सम्बन्धको चर्चा गर्दा २३ वर्षपछि महामहिम राष्ट्रपति सी चीन पिङ नेपाल आउने अवस्था सिर्जना भएको छ। यसले प्रष्ट हुन्छ कि चीनले नेपाललाई महत्व दिएको छ। दुई देशको सम्बन्ध प्रगाढ र हार्दिकतापूर्ण छ। चीनले नेपाललाई भरपर्दो मित्रका रुपमा लिएको छ। भूराजनीतिक दृष्टिकोणले पनि चीनले नेपाललाई महत्व दिएको छ। नेपालको उत्तरी हिमाली जिल्लाका तिब्बत र चीनका जनताबीच संस्कृति र परम्परा मिल्छ, बिहेवारी पनि चल्छ। चरन क्षेत्र, खोला, झरना, संस्कृति, हिमाल, हिउँको बाँडेर मिलेर साझेदारी रुपमा प्रयोग गरेका छौँ। दुई देशबीचको सम्बन्ध अत्यन्त व्यवस्थित, आत्मीय, उच्च सद्भाव र विश्वासका साथ अगाडि बढेको महसुस गरेका छौँ। ४. यो सम्बन्धलाई अझै सुदृढ बनाउन के गर्नुपर्ला? चीनका राष्ट्रपति सीले आफ्ना छिमेकी मुलुकका सम्बन्धलाई प्रगाढ बनाउन छिमेकी पहिले भन्ने नीति अगाडि सार्नुभएको छ जसले गर्दा विशाल चीनसँग जोडिएका धेरै मुलुक सन् २०१३ मा अगाडि सारेको बिआरआई (बेल्ट एण्ड रोड) एउटा व्यापारिक मार्ग हो। यसले भौतिक विकासको सम्बन्धलाई र भौतिक विकास तथा आर्थिक एकीकरण जस्ता कुरालाई अगाडि सारेर विश्वव्यापीरुपमा सम्बन्ध बढाउने नीति ल्याएको छ। उपलब्ध समृद्धिलाई सिङ्गो मानव समुदायमा केन्द्रित गर्ने भनेर अघि सारेको छ। नेपाल पनि बिआरआईभित्र प्रवेश गरेको छ। नेपालमा सबैभन्दा ठूलो विदेशी लगानी गर्ने मुलुक चीन भएको छ। ठूलो लगानी नेपालमा भित्रिएको छ। ठूला विकास निर्माण गर्ने चीनले प्रतिबद्धता गरेको छ। ५. चीनका राष्ट्रपतिले अघि सार्नुभएको बिआरआई योजनाबाट नेपालले कसरी लाभ लिन सक्छ? अहिलेको विश्वव्यापी सम्बन्धलाई बिआरआइ नेपाल मात्र होइन विश्वव्यापीरुपमा चर्चा र छलफलको विषय भएको छ। विश्वलाई ग्लोबल होम बनाउने सोच छ। त्यो सोचअनुसार बिआरआइमा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको दुई वर्ष भयो। यसमा संलग्न राष्ट्रहरु श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्सलगायतका मुलुकले यसबाट काम शुरु गरेर निकै फाइदा लिइसकेका छन्। नेपालले चाहिँ अहिलेसम्म प्राथमिकता तोकेर काम शुरु गर्न सकेको छैन। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी बिआरआइको दोस्रो परिषद् बैठकमा भाग लिन चीन भ्रमणमा जानुभएको थियो । त्यस बेलामा बिआरआइको ३५ बुँदे घोषणा जारी भएको छ । त्यसको २३ औँ बुँदामा बिआरआइमा ट्रान्स हिमालय रेलवे कनेक्टिभिटी तथा सातौँ कनेक्टिभिटी तयार गर्दैछ भन्ने कुरा लेखिएको छ । सातौँ कनेक्टिभिटीमा दक्षिण एशियाका साथै नेपालमा रसुवा–काठमाडौँ–पोखरा–लुम्बिनी रुटका रुपमा विकास हुनेछ। दक्षिण एशियाकै विकासका क्रममा नेपाल एउटा गेटवे हुन्छ । निर्बाधरुपमा दुई देश आउन जान पाउनुपर्छ भन्ने सरकार र नेपाली जनताको चाहना हो । त्यो चाहनालाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन घोषणापत्रमा र पटकपटक चिनियाँ मित्रलाई अनुरोध गरिरहनुभएको छ। चीनले पनि बिआरआई दोस्रो परिषद् बैठकबाट सैद्धान्तिकरुपमा सम्बोधन गरेको छ। सातौँ कोरिडोरको रुपमा विकास गर्न सके यो ऐतिहासिक कुरा हुन्छ। चीनका धेरै शहरमा नेपालका जहाजहरु जाने सम्भावना भएको छ । नेपालका जहाज बेइजिङ, कुन्मिङ, गोन्जाउ, छेन्दुजस्ता शहरमा जाने स्थिति तयार भएको छ। व्यापारदेखि व्यापारसम्म र जनतादेखि जनतासम्म सम्बन्धको काम पनि शुरु भएको छ । नेपाल चीनबीच पर्यटन प्रवद्र्धनको काम पनि शुरु भएको छ। भौतिक पूर्वाधारको क्षेत्रमा काठमाडौँ–तातोपानी–खासाको बाटोलाई चार लेनको बनाउने, रसुवा–केरुङ गल्छी सडकलाई चार लेनको बनाउने, टोखा–छहरे सुरुङमार्ग बनाउने जस्ता कुरा पनि यसमा आएका छन्। अरु आर्थिक कोरिडोर बनाउने र सुख्खा बन्दरगाह बनाउने पनि योजना छन् । चीनले यसमा महत्वपूर्ण सहयोग पुर्याइरहेको छ । नेपालको आर्थिक वृद्धिका लागि पनि ठूलो भर हुनेछ । ६. बिआरआइमा नेपालको प्रतिबद्धता र तयारी कत्तिको सन्तोषजनक छ? यसबारेमा सापेक्षतामा लिनुपर्छ । बिआरआइसँगको चर्चा भइरहँदा संसारभरका आँखा नेपालमा छन् । नेपालले स्वतन्त्र ढङ्गले मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय हितका पक्षमा र स्वाभिमानको संरक्षण गर्ने र नेपालको हितमा हुने गरी निर्णय गर्छ । बिआरआइको पक्ष राष्ट्र भएको हुनाले नेपाली जनता र सरकारको विकासको आकाङ्क्षा पनि पूरा हुन्छ भन्ने अवसरको रुपमा लिनुपर्छ । सरकारले त्यहीअनुसार काम अघि बढाउनुपर्छ। ७. राष्ट्रपति सीको भ्रमणले नेपाल–चीन सुदृढ बनाउन कत्तिको सहयोग पुग्ला? दुई देशबीच सम्बन्ध सुदृढ छ । सातबुँदे सम्झौतामा हस्ताक्षर गरेका छौँ । त्यसको चार नम्बरमा हिमाली क्षेत्रको जनताको जीविका रक्षा गरी जीवनस्तर उकास्ने विषयमा लेखिएको छ । नेपालका १५ वटा हिमाली जिल्ला तिब्बतसँग जोडिएका छन्। नेपालको उत्तरी छिमेकीमा जुन खालको समृद्धि छ, त्यसको दक्षिण भागमाहिमाली जिल्ला तिब्बतसँग जोडिएका छन् । नेपालको उत्तरी छिमेकीमा जुन खालको समृद्धि छ।
कृष्णबहादुर-रोशनी प्रकरण : घटना अनुगमन गर्न उच्च स्तरीय टोली गठन काठमाडौं । यौन काण्डमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीबीच भएको घटनाबारे अनुगमन गर्न उच्च स्तरीय छानविन टोली गठन भएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा घटनाको सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न टोली गठन गरिएको बताइएको छ। मानव अधिकार आयोगका निर्देशकको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ जनाएको छ।
११ किलो चाँदीसहित भारतीय युवक पक्राउ महोत्तरी । महोत्तरीको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन्। पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको हनुमाननगर ग्राम पञ्चायत वडा नं १ बस्ने राजेन्द्र साहका छोरा २५ वर्षीय सीताराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। १२ प ७३३ नंम्बरको मोटरसाइकलमा चढी जलेश्वरबाट भिठ्ठामोडतर्फ जाँदै गरेका साहलाई खैराचौकमा खटिएका प्रहरीको टोलीले शङ्का लागि चेकजाँच गरेका थियो । चेकजाँचको क्रममा उनको साथबाट १० किलो ९०० ग्राम चाँदी बरामद भएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। युवक साहले नेपालबाट चाँदी तस्करी गरी भारतमा लैजान लागेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । चाँदीसहित पक्राउ परेका युवक साहलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिँदै काठमाडौं। नेपालीहरुको महान् चार्ड बडादशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज, कात्यायनी देवीकोे पूजाआजा गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरिन्छ। आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीकोे पूजा हुन लागेको हो। आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रही आएको छ। धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख गरिको छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।
छुट्टाछुट्टै ठाउँमा १० जना मृत अवस्थामा फेला काठमाडौं । बारा, फेटा गाउँपालिका-४ बतरा बस्ने ३५ वर्षीय जोगा मुखियाको घरमा रहेको खाली सुख्खा सेफटी ट्यांकीमा बुधबार बिहान ५ जना मृत अवस्थामा शव फेला परेका छन् । मृत फेला पर्नेहरुमा जोगा मुखिया, उनकी ३० वर्षीया श्रीमती लालमणी बिन, १२ वर्षीया छोरी सुमनी बिन, ३० वर्षीय महेन्द्र मुखिया बिन र हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय बाबा भनि बोलाउने पुरुष रहेका छन् । सुनसरी, ईटहरी उपमहानगरपालिका-१२ खनार डेरा गरी बस्ने रसुवा घर भएका २४ वर्षीय राम तामाङ सुतेकै स्थानमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् । महोत्तरी, गौशाला नगरपालिका-१० थापाटोल बस्ने बोल्न नसक्ने २२ वर्षीया शर्मिला दनुवार बिहीबार बिहान सोही ठाउँस्थित खेतमा मृत अवस्थामा फेला परेकी छन् । ललितपुर, ललितपुर महानगरपालिका-१३ कुसुन्ती डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगा चोक घर भएका ४४ वर्षीय सोम तामाङ खाना खाई सुतेकोमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् । दोलखा, शैलुङ गाउँपालिका-६ फस्कु बस्ने ७० वर्षीय खड्क माया बिक घरदेखि करिब ५ सय मिटर पर खोल्सामा बिहीबार बिहान मृत अवस्थामा फेला परेकी छन् । ताप्लेजुङ, मैवाखोला गाउँपालिका-४ चौरेनी वाङगेलाम बस्ने २९ वर्षीय सुरेन्द्र तामाङ सोही गाउँपालिका-३ तालखर्कस्थित खोल्सामा बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।  यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।