content
stringlengths 20
64.1k
⌀ |
---|
तनहुँबाट कांग्रेस महामन्त्रीद्वयको गठबन्धन सरकारलाई पाँच वर्ष टिकाउने सन्देश दमौली। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन सरकारलाई पाँच वर्ष टिकाएर जानसके जनतामा सकारात्मक सन्देश प्रवाह हुने बताए।
उनले पाँच वर्ष सरकारलाई निरन्तरता दिएर जनताका पक्षमा काम गर्नुपर्ने बताउँदै भने, “जनतालाई परिणाम दिनुपर्छ, तर जुन गतिमा हामी हिँडिरहेका छौँ त्यो गतिले देशको समृद्धिको लक्ष्य पूरा गर्न सकिँदैन।” महामन्त्री थापाले अहिलेको परिस्थितिका कारण एउटै दलको बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको धारणा राखे।
देशको विकासका लागि प्रधानमन्त्री, मन्त्रीदेखि तल्लो तहका सरकारसम्मका प्रतिनिधिले देशमा महाविपत्ति आइरहेको छ भन्ने सोचेर काम गर्नुपर्ने उनले सुझाव दिए।
“रातदिन काम गर्नुपर्ने अवस्था आएको छ, छिटो छिटो परिणाम दिने गरी काम गर्नुपर्छ, केन्द्र, प्रदेश र स्थानीय तहको सरकारको लय मिल्नुपर्छ। तबमात्र परिणाम आउँछ”, थापाले भने।
खर्च घटाउँदै आम्दानी बढाउने स्रोतको खोजी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको महामन्त्री थापाले बताए। उनले जनतामा विश्वास जागृत गराउनुपर्ने उल्लेख गर्दै मिटरब्याज पीडितको समस्या सम्बोधन, समयमै मल ल्याउने व्यवस्था सरकारले गर्नुपर्ने बताए।
वैशाख १० गते हुने उपनिर्वाचनले सरकार गठन प्रक्रियामा केही प्रभाव नपर्ने भए पनि राजनीतिमा कस्तो व्यक्ति पुरस्कृत हुने भन्ने सन्देश दिनुपर्ने उनको भनाइ थियो।
मङ्सिरमा सम्पन्न निर्वाचनमा तनहुँका जनताले दिएको मतका कारण आज तनहुँले राष्ट्रपति पाएको भन्दै महामन्त्री थापाले राष्ट्रपतिले संवैधानिक दायित्व सफलतापूर्वक पूरा गर्नुपर्ने बताए।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांगे्रसलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको काँधमा रहेकाले त्यो जिम्मेवारी पूरा गर्ने बताए। कांग्रेसबाट नै अवसर र पहिचान बनाएकाले आज कांगे्रसलाई गाली गर्ने दिन आएको महामन्त्री शर्माको भनाइ थियो।
गोविन्द भट्टराईलाई उम्मेदवार बनाएर कांग्रेसले न्याय गरेको भन्दै धेरै युवा उनलाई मतदान गर्न आतुर रहेको आफूले पाएको उनले बताए। तनहुँको भूगोल बुझेको उम्मेदवार गोविन्द भट्टराई भएकाले उनको जित अनिवार्य रहेको महामन्त्री शर्माले बताए।
देशमा केही हुँदैन, देश बन्दैन भन्ने भ्रम फैलाइएको उल्लेख गर्दै महामन्त्री शर्माले देशलाई सतीले सरापेको देश भनेर प्रचार गर्दैमा जिम्मेवारी पूरा नहुने बताए। “देशमा सबै कुरा भएको छ हामी भन्दैनौँ तर देशलाई बनाउँछौँ भन्ने दृढ सङ्कल्प बोकेका छौँ, “महामन्त्री शर्माले भने। आवेगमा गरिएको राजनीतिले परिवर्तन नहुने, राजनीतिमा धैर्य आवश्यक रहेको महामन्त्री शर्माको भनाइ थियो।
राजनीतिमा सफाइ आवश्यक भएको चर्चा गर्दैै उनले राजनीतिलाई स्वच्छ र स्वस्थ बनाउन आवश्यक रहेको बताए। पार्टीभित्र पनि आफूहरूले रुपान्तरणको मुद्दा उठाइरहेको उनले बताए।
नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले परिवर्तनको रक्षाका लागि वर्तमान गठबन्धनले जित्नुपर्ने बताए।
नेपालमा भएका हरेक किसिमका परिवर्तनको रक्षाका लागि वर्तमान गठबन्धनको विजय आवश्यक रहेको उनको भनाइ थियो।
“नेपालमा अहिले वैचारिक र राजनीतिकरूपले दुई धार देखिएको छ, मुलुकको अगाडि देखिएका चुनौतीको समाधानका लागि वर्तमान गठबन्धनको विजय आवश्यक पर्दछ”, उनले भने, “लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजय अपरिहार्य छ।”
वर्तमान व्यवस्थालाई विस्थापित गर्ने प्रयत्न भएको बताउँदै महासचिव गुरुङले अहिलेको उपनिर्वाचनको मात्र प्रश्न नभएको उल्लेख गरे। “यो चुनावको कुरा मात्र होइन, नेपालमा देखिएका चुनौतीको समाधान गर्ने कुरा पनि हो”, गुरुङले भने, “प्रतिगामी दिशातर्फ अगाडि लैजान खोज्ने प्रवृत्तिलाई उपनिर्वाचनमा पराजित गर्नुपर्छ।”
महासचिव गुरुङले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पनि गठबन्धन आवश्यक परेको बताउँदै अस्थिरता सिर्जना गरेर राष्ट्रिय स्वाधीनता कमजोर बनाउने प्रयास भइरहेकाले सचेत हुन आग्रह गरे।
कुशासन र भ्रष्टाचार विकासमा बाधक भएकाले भ्रष्टाचारलाई शून्यमा झारेर सुशासन दिनुको विकल्प नभएको उनको भनाइ थियो। “यसका लागि पनि गठबन्धनले जित्नु आवश्यक छ, वर्तमान सरकार भ्रष्टाचारलाई शून्यमा पु¥याएर सुशासन कायम गर्न प्रतिबद्ध छ”, गुरुङले भने।
महासचिव गुरुङले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गरिने उल्लेख गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताए। “दलाल पूँजीवादका कारण अर्थतन्त्रमा समस्या आएको छ, युवाशक्ति वैदेशिक रोजगारमा जाने समस्या व्यापक छ, यसको समाधानका लागि पनि गठबन्धन आवश्यक छ”, गुरुङले भने।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले तनहुँ क्षेत्र नम्बर १ का लागि गोविन्द भट्टराई उपयुक्त उम्मेदवार भएको बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने र आर्थिक विकासका आधार तयार गरिने बताए। उनले गठबन्धनलाई स्थिरताको खुड्किलाका रूपमा अगाडि बढाइने उल्लेख गरे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले विकासमा तिर्खाएको तनहुँवासीको तिर्खा मेटाउने योजना रहेको बताए।
गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोलगायतको विकासको सपना पूरा गर्ने योजनासहित उम्मेदवार बनेको उनले बताए। पाँच वर्षभित्र यस क्षेत्रमा आम्दानीका अवसरलाई दोब्बर बढाउने योजना रहेको उनको भनाइ थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले वर्तमान गठबन्धनले नै देशको विकास गर्ने भएकाले गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरे। नेपाली कांगे्रसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले अहिले देशमा चुनौती रहे पनि सबै चुनौती गठबन्धनबाट समाधान गरिने उल्लेख गरिन्।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले सङ्घीयताको स्थायित्व र लोकतन्त्रको संरक्षणका लागि गठबन्धन गरिएको भन्दै गठबन्धनको जित अपरिहार्य रहेको बताए।
नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमानले उपनिर्वाचनमा गलत प्रवृत्ति र तत्व हावी भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताए।
|
अभ्यास र उपलब्धिका हिसाबले आशा लाग्दो संसद् अधिवेशन काठमाडौं। प्रमुख राजनीतिक दलका नेताले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पनि सरकार गठनलगायत विषयमा देखिएको राजनीतिक तरलताबीच सङ्घीय संसद्को चालु अधिवेशन संसदीय अभ्यास र उपलब्धिका हिसाबले आशा लाग्दो रहेको प्रतिक्रिया दिएका छन्।
सदनको अभिभावक सभामुख र सरकारको नेतृत्व प्रधानमन्त्री चयनदेखि संसद् सञ्चालन नियमावली निर्माण, संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेसजस्ता विषय संसदीय अभ्यासका हिसाबले निकै महत्वपूर्ण रहेको राजनीतिक दलका नेताहरूले प्रतिक्रिया दिएका हुन्।
मुलुकको शान्ति प्रक्रियासँग जोडिएको सङ्क्रमणकालीन न्यायसहित संवैधानिक परिषद्, सम्पति शुद्धीकरण, राष्ट्रिय मर्यादा कायमजस्ता विधेयक सदनमा प्रवेश र छलफल हुनु महत्वपूर्ण सवाल भएको नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले बताए।
उनले भने, “निर्वाचनपछि सरकार एउटा प्रक्रियाबाट अघि बढेकामा बीचमै अर्को गठबन्धन बनेर अघि बढ्नुपर्ने परिस्थितिमा समेत संसदीय गतिविधिका काम ठीकै ढङ्गले अघि बढिरहेको छ। अपेक्षा गरेअनुरुप भने हुन सकेन, कार्य जिम्मेवारी, उपलब्धि र अभ्यासका हिसाबले आशा लाग्ने नै छ।”
मुख्य सचेतक पाण्डेले सदनलाई प्रभावकारी तुल्याउनेलगायत कपिपय विषयमा सहमतिका साथ अघि बढ्ने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्ष दलका शीर्ष तहमा छलफल भइरहेकाले विभिन्न अल्झन खुल्दै जाने विश्वास व्यक्त गरे।
संवैधानिक परिषद्, सम्पति शुद्धीकरण तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी अत्यन्त महत्वपूर्ण विधेयक अहिले हाउसमा प्रवेश गरी प्रक्रियामा रहेका महत्वपूर्ण विधेयक हुन्।
मुलुकको सङ्घीयता कार्यान्वयसँग सम्बन्धित महत्वपूर्ण मानिएको सङ्घीय निजामती विधेयक तथा अघिल्लो अधिवेशनमै प्राथमिकता र चर्चामा रहेको नेपाल नागरिकतासम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई छिटो निष्कर्षमा पुर्याउन सरकारले भगिरथ प्रयास गरिरहेको छ।
सत्तापक्ष र प्रतिपक्षकाबीच लामो समयसम्म भएको संवादहिनताको अवस्था सभामुखको पहलमा पछिल्ला दिनमा अन्त्य भएकाले शीर्ष तहमा हुने छलफलबाट संवैधानिक परिषद्को बैठकलगायत महत्वपूर्ण कार्यसूचीले निकास पाउने अपेक्षा गरिएको छ।
चालु अधिवेशन राष्ट्रियसभामा एक र प्रतिनिधिसभामा तीन वटा विधेयक टेबुल भएका थिए। गत पुस २५ गतेदेखि सुरु भएको संसद्को चालु अधिवेशनमा हालसम्म प्रतिनिधिसभाका २४ र राष्ट्रियसभाका १७ बैठकमा सांसदहरूले देशको आर्थिक अवस्था, राजनीतिक परिस्थिति र समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।
यस अधिवेशनमै प्रधानमन्त्रीले दुई पटक विश्वासको मत लिनुपर्ने अवस्था बन्न पुग्यो। अधिवेशन अन्त्यसम्म आइपुग्दा सरकारले अझै पनि पूर्णता पाउन नसकको परिस्थितिले पनि सदनले प्रभावकारीरूपमा विधेयक अघि बढाउन नसकेको अवस्था विद्यमान छ।
नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले चालु विधेयक अधिवेशन भए पनि सदनको जिम्मेवारी क्षेत्रको राष्ट्रपति उपराष्ट्रपति, सभामुख, उपसभामुख चयन र सरकार निर्माणजस्ता काममा बढी समय खर्चनुपरेको बताए।
उनले भने, “विधेकलाई अघि बढाउने सन्दर्भमा संसद्ले जति गर्न पथ्र्यो, त्यो पर्याप्त गर्न सकिएन भन्ने लाग्छ। संसद्लाई प्रभावकारी तुल्याउन ‘विजनेस’ दिने काम सरकारको हो। प्रतिपक्षले त्यसमा सहयोग गर्ने हो, त्यो हामी जिम्मेवार बोधका साथ तयार छौँ।”
सरकार संसद्लाई ‘विजनेस’ दिनुपर्छ भन्नेमा दृढ नभएको आरोप लगाउँदै सचेतक बर्तौलाले राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त भएका विधेयकलाई विषयगत समितिमा दफावार छलफलका लागि पठाउन पर्नेमा त्यो नभएको प्रतिक्रिया दिए।
राजनीतिक दलहरूबीच लामो समयसम्मको संवादहीनताका कारण हालसम्म विषयगत समिति गठन हुन सकेको छैन। विषयगत समितिमा रहने सदस्यको राप्रपा, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमुक्ति पार्टी नेपाललगायत साना दलले नाम सचिवालयलाई उपलब्ध गराए पनि ठूला राजनीतिक दलको भने अझै बाँकी रहेको छ।
सचेतक बर्तौलाले भने, “विषयगत समितिमा दलको उपस्थितिअनुरूप सदस्य पठाउनुपर्नेमा नामावली केही दिनमै दिन्छौँ। देश र जनतालाई केन्द्रविन्दुमा राखेर परिपक्व ऐन बनाउनुपर्छ। त्यसका लागि सबै जिम्मेवार बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो, समिति यसै अधिवेशनमा गठन हुनुपर्छ।”
नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले प्रधामन्त्रीले दुई पटक विश्वासको मत लिने घटनामै सदन अल्झन पर्ने कारणले विजनेस दिन नसकेको अवस्था रहेको बताए। उनले भने, “ऐन र कानुन निर्माण गर्ने कुरा जुन गति लिनुपर्ने थियो, त्यो नभएको जस्तो देखिएको छ, संसदीय समिति गठन भएका छैनन्, त्यो नहुँदा कानून बनाउने काम प्रभावित हुन पुग्यो।”
विषयगत समिति गठनमा ढिलाइका कारण यति विधेयक पारित भए भन्ने परिणाम नदेखिएपछि अधिवेशन उपलब्धिमूलक हुन सकेन भन्नु स्वभाविक भएको उनको प्रतिक्रिया छ।
–नारायण न्यौपाने\रासस
|
प्रधानमन्त्रीसँग राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं एसिया तथा प्यासिफक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव अर्मिदा सलसिह अलिसझावनाले आज शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरुबीच नेपाल र एस्क्यापबीच साझेदारीका विभिन्न विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै उनीहरुबीच अतिकम विकसित राष्ट्रको सूचीबाट नेपाल सन् २०२६ मा विकासिल राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भमा पनि छलफल भएको थियो ।
|
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो ।
अब हरेक मंगलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
|
जनयुद्धबाट प्राप्त उपलब्धि उल्ट्याउन खोज्ने कुनै पनि गतिविधिलाई छुट हुँदैनः गृहमन्त्री श्रेष्ठ काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउन खोज्ने कुनै पनि गतिविधिलाई छुट दिन नसक्ने बताएका छन्।
मंगलबार सिंहदरबारमा पत्रकारसँगको छलफलका क्रममा श्रेष्ठले सरकार संविधानको रक्षा, सुदृढीकरणको पक्षमा रहेको भन्दै उपलब्धि उल्ट्याउन खोज्ने कुनै पनि गतिविधिलाई छुट दिन नसक्ने बताएका हुन्।
उनले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत संक्रमणकालीन न्यायका बाँकी काम छिटोभन्दा छिटो पुरा गर्नुपर्ने बाटोमा सरकार लागेको जिकिर गरे।
राजनीतिलाई आफ्नो मुक्तियात्राको महत्वपूर्ण अंगको रुपमा परिभाषित आफुले गरेको भन्दै श्रेष्ठले राजनीतिलाई जनता र देशलाई सेवा गर्ने माध्यम बनाएको बताए।
उनले नेपालको सुरक्षा निकायको मनोवललाई उच्च राख्दै निष्पक्षताका आधारमा सरुवा वढुवाको काम गर्ने धारणा राखे। गृह प्रशासनलाई शक्ति केन्द्र वा राजनीतिक दबाब र अवाञ्छीत चलखेलबाट मुक्त गर्ने प्रतिवद्धता पुरा गर्ने उनको भनाइ छ।
उनले सुरक्षाकर्मीको सेवा सुविधामा पुर्नविचार गर्न सरकार तयार रहेको बताए। त्यस्तै उनले मिटरब्याजपीडित जनताको न्यायका लागि आफूले कुनै कसर बाँकी नराख्ने भन्दै सरकारले गठन गरेको आयोगमार्फत जनतालाई न्याय दिने स्पष्ट पारे।
उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले संविधान बमोजिम नै नागरिकता पाउनुपर्नेहरुलाई छिटो दिलाउन सरकार प्रतिवद्ध रहेको र नागरिकता संवेदनशील विषय भएकाले राष्ट्रिय सहमति खोज्न चाहेको जानकारी दिए।
|
५० वर्ष पुराना संरचनाबारे भारतसंग कुरा उठाउन ढिला नगर्न बिनोद चौधरीको आग्रह काठमाडौं । प्रतिनिधिसभा सदस्य बिनोद चौधरीले नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार समस्यामा परेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५० औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार र हजारौं बिघा खेत डुबानमा पर्ने गरेको बताए ।
उनले भने ‘सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५० औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार र हजारौं बिघा खेत डुबानमा परेको छ । अर्बौको नाश हुन्छ । ’
भारत र नेपालका ५० वर्ष पुराना जीर्ण संरचनाहरुको पुननिर्माण गर्ने बारेमा पनि सोच्ने बेला भएको सांसद चौधरीको भनाइ थियो ।
उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो अत्यन्तै महत्वपूर्ण एजेण्डाको रुपमा प्रवेश गरोस र ५० वर्षदेखि थुप्रेर बसेका समस्या समाधानको स्पष्ट खाका बाहिर आओस ’
सांसद चौधरीले सीमा क्षेत्रको समस्यालाई तत्काल सम्बोधन गर्ने गरे यस्ले दीर्घकालीन समस्या नल्याउने धारण पनि राखे ।
|
मिटरब्याज पीडितको माग पुरा नगरे आन्दोलनको अग्रमोर्चामा उभिने राप्रपाको चेतावनी काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेको भन्दै निन्दा र भत्र्सना गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा लिङ्देनले ब्याज पीडितको मागलाई समयमा नै सम्बोधन गर्नुपर्ने माग समेत गरे। तराई–मधेसका विभिन्न जिल्लामा हरुवा चरुवाले उठाउँदै आएका माग सम्बोधन गर्न लिङ्देनले आग्रह गरे।
उनले सरकारले उनीहरुको माग पुरा नगरे राप्रपा आन्दोलनको अग्रमोर्चामा उभिने चेतावनी दिए।
त्यस्तै सांसद प्रेम सुवालले मिटर ब्याज पीडितमाथि सोमबार भएको आक्रमणबारे प्रधानमन्त्री र गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले खेतीयोग्य जमिन बाटोलाई आधार बनाएर मूल्याङ्कन गरिँदा नागरिकले राजश्वसमेत तिर्न नसक्ने अवस्था आएको भन्दै यसमा सरकारले बिशेष ध्यान दिनुपर्ने बताए।
|
रविसँग नोकझोंक गरेका मतदातालाई सहानुभूति दिँदै सापकोटा काठमाडौं। आसन्न बैशाख १० को उपनिर्वाचन नजिँकिएसँगै चितवन-२ मा उम्मेदवारको मतदातासमक्ष मत माग्न व्यस्त छन्।
त्रिपक्षीय प्रतिस्पर्धा देखिएको चितवन-२ मा यसपाली दलहरु परिणाम आफ्नो पक्षमा पार्न भगिरथ प्रयत्न जारी राखेका छन्।
चितवन-२ को उपनिर्वाचनमा यसअघि विजयी भएका रास्वपाका सभापति रवि लामिछानेको सर्वोच्च अदालतको आदेशले नागरिकता अवैध ठहर भएसँगै फेरि उपनिर्वाचन हुन लागेको हो।
यसपटक रास्वपाका सभापति रवि लामिछाने, सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
चुनावी प्रचार गर्ने क्रममा दलका उम्मेदवारहरुसँग मतदाताले जिज्ञासा र आक्रोश व्यक्त गरेको समेत मिडियामार्फत उजागर भइरहेको छ।
केही दिनअघि चुनावी प्रचारका क्रममा रास्वपाका सभापति रवि लामिछानेले एक मतदातासँग नोकझोक गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
यही क्रममा चुनावी प्रचारको क्रममा रास्वपाका सभापति रविलामिछानेमाथि प्रतिप्रश्न गर्ने एक मतदाता समक्ष पुगेर सहानुभूति व्यक्त गर्दै मत मागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
उपनिर्वाचन हुन लागेको निर्वाचन क्षेत्र चितवन-२ को इच्छाकामना गाउँपालिका-६ खानी खोलामा रहेका किराना पसले सुदर्शन विष्टसँग उम्मेदवार रवि लामिछानेको सवाल जवाफ भएको थियो।
रास्वपाका सभापति लामिछानेकै कारण उपनिर्वाचन हुन लागेको भन्दै मतदाता विष्टले लामिछानेसँग सवाल गरेका थिए। त्यसको जवाफ दिने क्रममा लामिछानेले प्रक्रियागत त्रुटि भएको स्वीकार गर्दै मतदातासँग विष्टलाई बुझाउने प्रयत्न गरेका थिए।
तर, लामिछानेमाथि प्रश्नको वर्षा गरेपछि उनले पसलमा राखिएको पफ देखाउँद उक्त खाद्य सामग्री कम्पनीले प्रयोगको समयावधि उल्लेख नगरिएको बताएका थिए।
उनले सो बिक्री गर्न राखिएको पफ बेचबिखनमा प्रक्रियागत कमजोरी रहेको हुँदा कानूनको भागिदार बन्नुपर्ने आक्रोशित भएर विष्टलाई सचेत बनाएका थिए।
त्यसपछि जवाफमा पसलेसमेत रहेका मतदाता विस्टले यसमा आफ्नो कमजोरी नभएको बताउँदै राज्यको नियमनकारी निकायले अनुगमन गरेर उत्पादक कम्पनीलाई सचेत बनाउनुपर्ने त्यसको जिम्मेवारी राज्यको रहेको र पूर्वगृहमन्त्री हैसियतले लामिछानेको पनि जिम्मेवारी रहेको बताएपछि लामिछाने आक्रोशित भएर पफ मिल्काएर हिँडेका थिए।
उनले अन्तिममा विष्टको प्रश्नको जवाफ आक्रोशित हुँदै पफ बजारेर हिँडेको दृष्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनमा सहनशीलता र जवाफदेहीता नभएको भन्दै सर्वत्र आलोचना भएको थियो।
सोही इच्छाकामना गाउँपालिका-६ स्थित किराना पसले विष्टको निवासमा मंगलबार एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने पुगेर उनलाई सहानुभूति दिँदै मत तान्ने प्रयत्न गरेका छन्।
न्यौपानेसहित निर्वाचनको प्रचारको क्रममा रहेको टोलीले सोही लामिछानेले फ्याकेको पसलमा पुगर पफ खाएर उनको समर्थन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उनीसहित गएको निर्वाचन प्रचार टोलीले प्रश्न गर्न पाइने र जनप्रतिनिधि जवाफदेही बन्नुपर्ने भन्दै किराना पसले विष्टको पक्षमा रहेको बताएका छन्।
पछिल्लो परिघटना उम्मेदवारहरुर्ले मत आकर्षित गर्ने प्रपञ्चका रुपमा सामान्य घटनामा सहानुभूति बटुल्दै मत तान्ने प्रयत्न गरेको भन्दै सामाजिक सञ्जालमा समर्थन र विरोधको रोइलो सुरु भएको छ।
|
एकीकृत समाजवादीले संगठन सुदृढिकरण अभियान दुई महिना थप गर्ने काठमाडाैं। नेकपा एकीकृत समाजवादीले संगठन सुदृढिकरण विशेष अभियान दुई महिना थप गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको सचिवालय बैठकले संगठन सुदृढिकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
सचिवालयको निर्णय अनुसार पार्टी संगठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि बढ्ने उनले बताए।
बैठकमा वैशाख ९ र १० गते मनाउने नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको तयारीका बिषयमा छलफल भएको थियो।
|
फास्ट ट्रयाककाे अनुगमन गर्न प्रधानमन्त्री प्रचण्ड निजगढमा काठमाडौं। काठमाडौं-मधेश जोड्ने ‘फास्ट ट्रयाक’ अनुगमनका लागि प्रधानमन्त्री प्रचण्ड आज बाराको निजगढ पुगेका छन्।
नेपाली सेनाले निर्माण गरिरहेकाे फास्ट ट्रयाक अवलाेकन गर्न प्रधानमन्त्री प्रचण्ड निजगढ पुगेका हुन्। अनुगमन सकेर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
|
राजनीतिक प्रतिशोध साँध्न दुस्प्रचार गरेकोप्रति मिर्चैया नगरपालिकाको आपत्ति सिराहा । मिर्चैया नगरपालिकाले वडा नम्बर ५ मा रहेको कित्ता नं २५६ सम्बन्धमा पछिल्लो केही दिनदेखि भइरहेकाे दुस्प्रचारप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको विषयमा राजनीतिक उक्साहटमा नगरलाई बदनाम गर्ने नियतले दुस्प्रचार गरेकाे भन्दै नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाएकाे हाे।
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले जग्गा सम्बन्धमा अदालतबाट भएको आदेश र पर्याप्त कानुनी प्रमाणको आधारमा मात्र अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको बताएका छ्न्। घरटहरा हटाउन नगरपालिकाले जारी गरिएको सूचनालाई अटेरी गरिएको कारणले अनधिकृत रुपमा सार्वजनिक जग्गामा निर्माण गरिएको घर टहरा हटाइएको उनले बताए ।
तर, कानुन र विधिअनुसार गरिएकाे कार्यलाई राजनीतिक प्रतिशोध शाँध्न केही नेताहरुको बहकाउमा आफ्नाविरुद्ध नारा जुलुस र दुसप्रचार गरिएको मेयर यादवकाे भनाइ छ ।
उनले सो जग्गा व्यक्तिकाे नाममा दर्ता गराउन लागिएको विषयमा पनि कुनै सत्यता नरहेको दाबी गरेका छन् । बरु मिर्चैयाको गुदरी बजारमा रहेको बजारलाई व्यवस्थापनको लागि सम्बन्धित् निकायमा पत्राचार गरिएको जानकारी दिए ।
‘मिर्चैया नगरपालिका ५ साविक २ क को कित्ता नम्बर २५६ को ३–१२–१७ क्षेत्रपफ्ल र वडा नम्बर २ ख को कित्ता नम्बर ६० को ०–२–५–० जग्गा नेपाल सरकारको नाममा रहेको र कुनै पनि व्यक्ति वा संस्थाको नाममा नापी नगरिदिन भनी नगरले नापी कार्यालय सिरहाको नाममा पत्र लेखी पठाइएको साथै सो को जानकारी विशेष नापी कार्यालय मिर्चैया लगायत सम्बन्धित निकायमा जानकारी गराईसकेकोले कुनै किसिमको गलत प्रचारको पछाडि नलागिदिनुहुन नगरले अनुरोध गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएकाे छ ।
|
राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित काठमाडौं। राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिइएको छ ।
मंगलबार दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
मंगलबार दिउँसो बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले स्थगित गरिएको र अर्काे बैठक अर्काे सूचना जारी गरेर दिन र समय तोकिने संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
|
फाेहोर नउठाउने बालेन साहविरुद्ध परेको रिटको पेसी हरिकृष्ण कार्कीको इजलासमा काठमाडौं। सिंहदरबार, बालुवाटार, शीतल निवासलगायत प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध दायर रिटको सुनुवाइका लागि इजलास तोकिएको छ।
उक्त मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा हुने भएको हो।
रिटमा फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने उल्लेख छ। केन्द्र सरकार र स्थानीय सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई पनि रिटमा विपक्षी बनाइएको छ। काठमाडौं महानगरले ती स्थानमा फोहोर नउठाएको १० दिन बितिसकेको छ।
अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दैै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका माग गर्दैै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा आज सुनवाई हुन लागेको हो।
|
प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आह्वान काठमाडौं। सोमबार सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार विहान बस्ने गरि संवैधानिक परिषदको बैठक आह्वान गरेका हुन्।
सोमबार सभामुखसहित तीन दलका शीर्ष नेताको बैठकमा संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको थियो।
सो बैठकमा प्रधानमन्त्री प्रचण्डले लामोसमयदेखि न्यायलय नेतृत्वविहीन हुँदा न्याय निरुपणमा प्रभाव परेको भन्दै संवैधानिक परिषदको बैठक बोलाउन सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए। बैठक बोलाउन ओली सहमत भएपछि प्रधानमन्त्रीले शुक्रबार विहान नौ बजेका लागि बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बैठक बोलाइएको भए पनि प्रधानन्यायाधीश नियुक्तिका विषयमा प्रयाप्त छलफल आवश्यक रहेको एमालेका एक नेताले बताए।
‘अहिले न्यायपालिकाप्रति जनताको वितृष्णा बढेको छ। न्यायलयले निष्पक्ष न्याय दिन नसकेको गुनासा आइरहेका छन्। यी विषयलगायत समग्र न्यायपालिकाको शुद्धिकरणका विषयमा पनि छलफल हुनुपर्छ,’ एमालेका ती नेताले भने।
लामो समयदेखि सर्वोच्च अदालत कामुको भरमा चल्दै आएको छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लागेसँगै सर्वोच्च अदालत कायममुकायमको भरमा चल्दै आएको छ।
अघि न्यायपरिषदले तीन जना वरिष्ठतम् न्यायाधीश नियुक्तीका लागि संवैधानिक परिषदमा सिफारिस गर्नुपर्छ। हाल कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र ईश्वरी खतिवडाको नाम सिफारिस गर्नुपर्छ।
हाल सर्वोच्च अदालतमा मात्रै पाँच जना न्यायाधीश पद रिक्त छ। सर्वोच्चमा २१ जना न्यायाधीश हुनुपर्नेमा हाल १६ जना मात्रै कार्यरत छन्।
गत वर्ष फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणमाथि महाभियोग लागेपछि सर्वोच्च कामुको भरमा चल्दै आएको छ।
संसदीय सुनुवाई समिति समेत गठन भएको छैन। प्रधानन्यायाधीश र अरु न्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नयाँ नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलको नेता र उपसभामुख सदस्य हुन्छन्।
अहिले प्रधानन्यायाधीश नियुक्तीका लागि सिफारिस गर्दा कामु प्रधानन्यायाधीश कार्कीको नाम अनुमोदन हुने संभावना नरहेको स्रोतले जनाएको छ।
कामु प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा रहेको संवैधानिक इजलासले रास्वपाका अध्यक्ष रवि लामिछानेको नागरिकता खारेज गरेपछि रास्वपा र एमाले असन्तुष्ट बनेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदबाट सर्वोच्चको उक्त फैसलापछि असन्तुष्टि जनाएका थिए।
संवैधानिक परिषदमा एमालेबाट निर्वाचित सभामुख र राष्ट्रियसभा अध्यक्ष तथा रास्वपाबाट निर्वाचित उपसभामुखले समर्थन नगर्दा कार्की प्रधानन्यायाधीश बन्नबाट बञ्चित हुन सक्ने स्रोतको भनाइ छ।
|
नयाँ संविधान आए पनि संस्कृतिमा पुरानो जरा कायमै छ : मन्त्री किराती काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ संविधान आए पनि संस्कृतिमा पुरानो जरा कायम रहेको टिप्पणी गरेका छन् ।
सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३९ औ प्राज्ञ सभा समुद्घाटन कार्यक्रममा मन्त्री किरातीले राजनीति व्यवस्था फेरियो, संविधान नयाँ आयो तर संस्कृतिले पुरानै जरा कायम गरेको बताए ।
उनले भने, ‘अहिले हामी यस्तो परिस्थितिमा छाँै । राजनितिक व्यवस्था फेरिएको छ । संविधान नयाँ आएको छ । हाम्रो संस्कृतिमा पुरानो जरा कायम छ । नयाँ संस्कृती जन्मन प्रसव पिडा समाजले खेपिरहेको छ । त्यो सँघारमा हामी छौ । आज हामी युगीन परिस्थितिमा छौँ । हामी व्यक्तिको परीक्षामा छैनौँ । हामी युग र व्यवस्था फेल हुने परिस्थितिमा छौँ ।’
उनले आफु आम व्यक्तिको संरक्षक भएको नाताले युगिन परीक्षामा रहेको बताए । पशुपति क्षेत्र विकास कोषमा परीक्षण गर्दा मालामा , दाउरामा , लाशमा भ्रष्ट्राचार र ठेक्कामा कमिसन, दोहोरो संस्थामा सुविधा, पशुपति विकास कोष भित्र सुविधा मात्र नभइ दादागिरि हुने गरेको पाएको उनको भनाई छ ।
|
लुम्बिनी प्रदेश मुख्यमन्त्रीले ११ गते विश्वासको मत लिने लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते विश्वासको मत लिने भएका छन् ।
लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले आज सूचना जारी गरी सभामुखले प्रदेशसभा नियमावली, २०७९ नियम १२ को उपनियम ३ बमोजिम वैशाख ११ गते बैठक आह्वान गरिएको जनाएका छन् ।
सोही बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने सरकारका प्रवक्ता तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले जानकारी दिए । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।
राष्ट्रपतिको चुनावसँगै केन्द्रमा बदलिएको सत्ता समीकरणका कारण नेकपा (माओवादी केन्द्र) लगायतका दलले गत चैत १२ गते मुख्यमन्त्री गिरी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।
लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेशसभाका १० दलमध्ये आठ दल र एक जना स्वतन्त्रसमेत ५३ प्रदेशसभा सदस्यले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।
लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ सदस्यको मत चाहिन्छ । प्रदेशसभामा रहेको ८७ सदस्यमध्ये अहिले नेकपा (एमाले) का २९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार सदस्यले मात्रै सरकारलाई समर्थन गरेका छन् ।
एमालेले भने विश्वासको मत नपाए पनि ठूलो दलका हिसाबले संविधानको धारा १६८(३) अनुसार सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको सरकारका प्रवक्ता मन्त्री आचार्यले बताए ।
विपक्षी गठबन्धनले भने १६८ (२) अनुसार बहुमत सांसदको समर्थन प्राप्त भएकाले नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् ।
|
सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै सर्वोच्चमा रिट काठमाडौं। सर्वोच्च अदालतमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ आज अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा रिट निवेदनमा उक्त माग गरिएको छ।
काठमाडौँ महानगरपालिकाले फोहर नउठाउने निर्णय गरेपछि फोहर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलिने भएकाले तत्काल फोहर उठाउन अन्तरिम आदेश माग रिट निवेदनमा गरिएको छ।
रिट निवेदनमा भनिएको छ, “काठमाडौं महानगरपालिकाले काठमाडौंको सिंहदरबार क्षेत्रभित्र, राष्ट्रपतिको कार्यलयको क्षेत्रभित्र, प्रधानमन्त्रीको आवास क्षेत्रभित्रको फोहरमैला सङ्कलन नगर्ने कुनै निर्णय गरेको भए उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गरी पाऊँ।”
रिट निवेदनमा स्थानीय सरकार र सङ्घीय सरकारका बीचमा समन्वय हुनुपर्ने र मिलेर फोहर व्यवस्थापनको काम गर्नुपर्ने उल्लेख छ। काठमाडौं महानगरपालिकाको कार्यालय स्थानीय निकाय भएकाले नेपालको संविधानको धारा ३० मा प्रत्येक व्यतिm स्वच्छ र स्वस्थ्य वातावरणमा बाच्न पाउने हक भएको छ।
फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३ र ४ बमोजिम स्वच्छ वातावरण कायम गर्नको लागि आफ्नो क्षेत्रभित्र फोहर सङ्कलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानुन विपरित आजसम्म फोहर सङ्कलन नगरेकाले उक्त क्षेत्रको वातावरण प्रदूषित भई वातावरणमा असर पर्ने भएकाले तत्काल सङ्कलन गरी ल्याण्डफिल्ड साइडमा लानु र नियमित फोहर सङ्कलन र विसर्जन गर्ने कार्य गर्न गराउनु आदेश रिट निवेदनमा माग गरिएको छ।
|
राष्ट्रिय सभामा सांसदको प्रश्न : बुढीगण्डकी र निजगढ विमानस्थलको मोडालिटी कहिले बन्छ ? काठमाडौं । राष्ट्रिय सभा बैठकमा अन्योलमय बनेका राष्ट्रिय गौरवका आयोजना निजगढ विमानस्थल र बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि सांसदहरुले सरकारको स्पष्ट धारणा मागेका छन् ।
राष्ट्रिय सभा सदस्य सोनमग्येल्जेन शेर्पाले सरकारको स्पष्ट धारणा माग गरे । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले भने ‘निजगढ विमानस्थलको बारेमा हामीले वर्षौ वर्ष कुरा गरिसक्यौ यसमा सरकारको स्पष्ट धारणा आउन सकेको छैन्।’
सर्वोच्च अदालतले वातावरणीय प्रभाव मुल्यांकन गरी विमानस्थल निर्माण प्रकृया अगाडि बढाउने फैसला गरेको थियो । तर, सरकारले यो बारेमा केही धारणा नल्याएको भन्दै उनले विमानस्थल कहाँ बनाउने, कसरी बनाउने भन्ने कुरामा सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय गौरवको आयोजनामा मुआब्जा व्यवस्थापनको प्रकृया व्यवस्थित नभएकोले आयोजना प्रभावित भएको बताएका उनले बनेका आयोजनालाई पनि सरकारले व्यवस्थापन गरेर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
छलफलमा सहभागि अर्का सांसद गोपी बहादुर सार्की आछामिले पनि निजगढ विमानस्थल निर्माणको मोडालिटी स्पस्ट हुनुपर्ने र रुख कटानको विषयलाई सरकारले विशेष ध्यान दिनुपर्ने माग गरे । उनले काठमाडौं तराई फस्ट्रयाकको मुआब्जाको विषयलाई सरकारले हल गर्न नसकेको तथा आयोजना विवादित बन्दै गएकाले निर्माण कार्यमा समस्या आएको भन्दै त्यसलाई छिटो समाधान गर्नुपर्ने बताए ।
सांसद अछामीले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि सरकारको ध्यानाकर्षण गराए । ‘बुढीगण्डकीको अहिलेसम्म मोडालिटिको विषय नटुङ्गिएर समस्या परेको छ ।त्यसमा सरकारको विशेष ध्यान जाओस।’ उनले भने ।
सोमबार राष्ट्रिय सभामा पेस गरिएको राष्ट्रिय सरोकार तथा समन्वयन समितिको आर्थिक वर्ष २०७५/७६,०७६/०७७, ०७७/०७८को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मुल्यांकन प्रतिवेदन २०७९ माथि छलफलमा सहभागि सांसदले संसदमा पेस गरेको अनुगमन प्रतिवेदन प्रति सरकार जिम्मेवार नभएको उनीहरुको गुनासो छ।
|
चालक घरबाट खसेको विषयमा रविको आग्रह- यस्तो बेला राजनीतिकरण नगर्नु होला काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चालक शम्भु भनिने दिलबहादुर थापाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन्।
लामिछानेका चालक थापा तीन तलाको घरको छतबाट खसेर अहिले उपचाररत अवस्थामा छन्।
भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट थापा खसेको अवस्थामा भेटिएका थिए। उक्त विषयमा प्रहरीले अनुसन्धान जारी सुरु गरेको र थापा खसेको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ।
सोही विषयलाई लिएर सोमबार अपरान्ह सभापति लामिछानेले उक्त घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका हुन्। साथै उनले यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउन पनि आग्रह गरेका छन्।
|
बारा-२ उपनिर्वाचनः जनमत, रास्वपा, जसपा र एमालेबीच रोचक प्रतिस्पर्धा बारा। बारा जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको बारा क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ।
१३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेको यस क्षेत्रमा विगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार २ सय ९८ पुगेको छ।
यस क्षेत्रमा कोल्हवी नगरपालिका वडा नम्बर ८, पचारौता र महागढीमाई गरी २ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएपछि प्रतिनिधिसभाको वैशाख १० गते हुन लागेको हो।
गत निर्वाचनमा एमालेसँगको तालमेलमा बारा–२ मा जसपाका रामसहाय प्रसाद यादवले चुनाव जितेका थिए ।
यस उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन्। हेभिवेटको प्रतिष्ठा सँगै जोडिएको कारण यस क्षेत्र सर्वाधिक चासोको रुपमा छ।
सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट उम्मेदवार शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रमेश खरेल, आम जनता पार्टीबाट उमेदवार अरुण ज्ञवाली र नेकपा एमालेका पुरुषोत्तम पौडेल सहितका चर्चित अनुहार प्रतिस्पधीका रुपमा छन्।
यसअघि मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका कारण अवसर खोज्दै बारा आएका उपेन्द्र यादवलाई यो पटक समेत सिके राउतको पार्टी भारी पर्ने देखिन्छ।
यादव त्यहीँ कारण अहिले मतदाताको घर देखि बारी सम्म भोट माग्दै गरेको देखिन्छ। मधेशका मुद्धाका कारण सँधै जनताको साथ पाएका यादवले पद र सत्तमा मधेशका मुद्धा भुल्दा यादवको बहुलिएता भएको यस क्षेत्रमा समेत उपेन्द्र यादवलाई सजिलै विश्वास गर्ने वतावरण भने छैन। तर यादव भने आफुलाई जनताले मत दिनेमा आफू विश्वश्त रहेको दाबी गर्छन्।
यिनै यादवले गत निर्वाचनमा सप्तरी बाट १६ हजार ९ सय ७९ मत प्राप्त गर्दा सिके राउतले दोब्बर मत भन्दा बढी ३५ हजार ४२ मत प्राप्त गरेर बिजयी भएका थिए।
मधेशमा पछिल्लो समय उदाएको सिके राउतको पार्टी जनमतबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहाले यस पटक जसपाका अध्यक्ष उपेन्द्र यादवको मत आफूतर्फ आर्कषित गर्ने रणनीति लिएको देखिन्छ सोही कारण कुशवाहाले राउतलाई सँगै लिएर चुनावी प्रचारमा छन्। सिके राउतको पछिल्लो क्रेजलाई उनले आफ्नो मतमा परिवर्तन गर्ने प्रयासमा छन्।
शिवचन्द्र कुशवाहासमेत पराजित अनुहार हुन्। नेकपा माओवादी केन्द्रबाट आफ्नो पार्टीमा भित्राउँदै डा। राउतले यादवविरुद्ध उम्मेदवार खडा गरेका हुन्। मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका शिवचन्द्र कुशवाहा माओवादी केन्द्रबाट टिकट नपाउने निश्चित भएपछि जनमत पार्टी प्रवेश गरेका हुन्। कुशवाहाले गत निर्वाचनमा बारा २ मा १३ हजार ४ सय ६८ मत पाएका थिए।
यस्तै गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौं–१ उम्मेदवार भएका पूर्व प्रहरी रमेश खरेलले हाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चाका कारण यस क्षेत्रमा होमिएको देखिन्छ। कमजोर पार्टी संगठन र कार्यकताका करणका बाबजुद उम्मेदवारी दिएका खरेल कमजोर देखिए पनि उनि तिव्र चुनाबी प्रचारप्रसारमा छन्।
यता पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका एमालेका पुरुषोत्तम पौडेल ‘हेभिवेट भिडन्त’ मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिन्छन्। २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलबाहेक अन्य चर्चित अनुहार भने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका पराजित अनुहार हुन्।
बारा– २ मा १ लाख ५ हजार २९८ जना मतदाता रहेको यस क्षेत्रमा मुख्य गरी जसपा, नेकपा एमाले र जनमत पार्टीका उमेदवारबीचमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
|
सुराकी खर्च खारेज, व्यवस्थित सरुवा-बढुवादेखि मिटरब्याजी पीडितसँगको सम्झौतासम्म काठमाडौं। वर्ष २०७९ मा गृह मन्त्रालयअन्तर्गत केही महत्वपूर्ण कार्य सम्पन्न भएको छ।
मुख्यगरी विसं २०७९ साल चुनावी वर्ष नै बन्न पुगेको छ। वैशाख ३० गते स्थानीय तहको निर्वाचन, मङ्सिर ४ मा संघ र प्रदेशकको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो भने त्यसपछि फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन भयो।
ती निर्वाचनमा शान्ति र सुरक्षाको जिम्मा पाएको गृह मन्त्रालयले भयररिहत वातावरणमा निर्वाचन सम्पन्न गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। गृहचिव विनोदप्रकाश सिंह सफतापूर्वक सबै चुनाव सम्पन्न गर्नाका साथै अन्य धेरै काम गृहले २०७९ मा गरेको बताउँछन्।
उनी मिटरव्याज पीडितको अबस्था अध्ययनपछि पीडितसँग सम्झौता गरी आयोग नै गठन गरिएको र उक्त कार्य कसुर हुने गरी कानून संसोधनको प्रक्रियामा जानु महत्वपूर्ण र ऐतिहासिक कार्य भएको बताउँछन्।
यो समस्या लामो समयदेखि जकडिएर रहेको थियो। पीडितहरु घरबारविहीन अबस्थामा पुगेका थिए। गएको वर्ष गृहमन्त्रालयको तदारुकताले मिटब्याज पीडितसँग ऐतिहासिक सम्झौता भएको र सम्झौता अहिले कार्यान्वयनको चरणमा छ।
मिटरब्याजमा रकम लगानी गरी अनियमितता गर्ने व्यक्ति तथा संस्थाको छानबिन तथा पीडितको न्यायका लागि आवश्यक कानुनको मस्यौदा तयार भएको छ। समस्या समाधानका लागि आयोग गठन गरेर काम अघि बढाइएको छ।
गृहमन्त्री र गृह सचिवले तीन दशक अघिदेखि विशेष सुत्र वा सुराकी परिचालनसम्बन्धी खर्चको व्यवस्थालाई सरकारले खारेज गरेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रीको कार्यभार सम्हालेपछि उक्त व्यवस्था खारेज गर्न पहिलो निर्णय गरेका थिए।
सोही निर्णयको आधारमा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले अघिल्लो महिना उक्त प्रावधान खारेज गरेको हो। यसअघि तीन दकदेखि गृहसचिवले दैनिक रु २० हजारसम्म र गृहमन्त्रीले रु ५० हजारसम्म खर्च गर्न पाउने व्यवस्था थियो। महालेखालेसमेत यो विषयमा प्रश्न उठाउँदै आएको थियो।
यस्तै बहिर्गमित माओवादी लडाकुका लागि रु दुई लाखका दरले राहत दिने सरकारले निर्णय गरेको छ। उक्त निर्णय अहिले कार्यान्वयनको चरणमा रहेको गृहसचिव सिंह जानकारी दिन्छन्। विसं २०७३ देखि नै राहत दिने उक्त विषय अड्किएर बसेकामा यसपाली गाँठो फुकाएर दिन लागिएको हो।
अर्काे महत्वपूर्ण निर्णय भने सरुवा र बढुवालाई व्यवस्थित गरिएको छ। मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरुवाका लागि सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी पहिलोपटक कार्यविधि बनाई लागू गरेको छ। यो कार्यविधि पहिलो हो।
सबैलाई सबै ठाउँमा अवसर र अनुभव प्राप्त हुने गरी मन्त्रालयले ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाजमा गर्न खटाउनेसम्बन्धी कार्यविधि २०७९’ तयार पारी लागू गरेको हो।
उक्त कार्यविधिअनुसार अब भने कुनै पनि प्रजिअले आफ्नो गृहजिल्लामा सरुवा हुन पाउने छैनन्। यसले विगतमा हुँदै आएको भनसुन दबाव र प्रभाव रोक्ने विश्वास गरिएको छ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोह तथा नक्कली कागजात पेश गरेर सक्कली नागरिकता लिने गिरोहलाई कानूनी कारबाहीमा ल्याइएको छ।
यस्तै नेपालमा बसेर विदेशी नागरिकलाई ठगी गर्ने तथा नेपालभित्रै बसेर अनलाइन ठगी तथा कल सेन्टर खोलेर ठगी गर्ने गिरोहसमेतलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ।
पृथ्वीबहादुर शाहजस्ता ठगीमा संलग्न रहेका आरोपीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउँदा यसले समाजमा महत्वपूर्ण सन्देश प्रवाह गरेको गृहको निष्कर्ष छ।
वर्ष २०७९ मा गृहले केही महत्वपूर्ण कानूनी व्यवस्थासमेत गरेको छ। फौजदारी कसुर (कैद कट्टा) नियमावली २०७९, सामाजिक सुरक्षा (दोस्रो संसोधन) नियावली २०७९, कारागार ऐन २०७९, कारागार (पन्ध्रौँ संसोधन) नियमावली २०७९, स्वीकृत भइ कार्यान्वयनमा गएको छ।
यसपटक अर्काे महत्वपूर्ण उलब्धीका रुपमा ससस्त्र द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनमा घाइते अपाङ्, द्वन्द्वमा आमाबाबुविहीन भएका १८ वर्ष मुनिका ३४ बालबालिका गरी एक हजार ७७ जनालाई रु १२ करोड १६ लाख ५९ हजार राहत रकम वितरण गरिएको छ ।
प्रशासनिक कार्यहरु
असहज रहेको राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई ७७ वटै जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट विवरण दर्ता गर्न थालिएको छ। त्यसका लागि ८३० स्टेशन स्थापना भइ काम जारी रहेकाले सेवा प्रभावकारी भएको जनाइएको छ।
हालसम्म एक करोड १५ लाख नागरिकको विवरण संकलन भएको छ भने ४६ जिल्लामा अभियान सम्पन्न भइ अन्य १७ जिल्लामा जारी रहेको छ।
अहिले विगतमा जस्तो राष्ट्रिय परिचयपत्रका लागि ठूलो भिडभाडमा बसेर नागरिकले सास्ती व्यहोर्न परेको छैन। प्रशासन कार्यालयले टाइम कार्ड लागू गरेर विभिन्न सेवा प्रवाह गरिरहेका छन्।
गुनासो सुनुवाइलाई प्रभावकारी बनाउन टोल फ्री नम्बर १११२ मा थप चार लाइन जडान गरी गुनासो पोर्टल सञ्चालन गरिएको छ। विद्युतीय शुसासनका लागि गृह र अन्तर्गतका जिल्ला, इलाका र सीमा प्रशासन कार्यालयमा इन्ट्रानेट लिज लाइनमार्फत आफ्नै आइसिटी नेटवर्क स्थापना गरी सञ्चालन गरिएको छ।
अध्यागमन विभागबाट जारी हुने सबै प्रकारका हस्तलिखित भिसाको सट्टा क्युआर कोडसहितको सिष्टम जेनेरेटेड भिसा लागू गरिएको छ। सबै अध्ययागमन विन्दु (पशुपतिनगर, हिल्साबाहेक)बाट आगमन र प्रस्थान हुने यात्रुहरुको जैविक विवरण लिने व्यवस्था मिलाइएको छ।
बीस वटा कारागार कार्यालयका २२ सय कैदीबन्दीलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको गृहमन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सर्वाेच्च अदालतको फैसला बमोजिम बिगो जफत हुने ठहर भएका प्रतिवादीको नाममा विभिन्न बैंक खातामा रहेको रु दुई करोड ३५ लाख ६० हजार कसुरजन्य सम्पति व्यावस्थापन कोषमा स्थानान्तरण पनि यही वर्ष गरिएको छ।
नारायण ढुंगाना/रासस
|
मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको भन्ने समाचारका विषयमा तत्काल छानबिन गर्न निर्देशन दिएकी छन्।
उनले मन्त्रालयका सचिव डा दामोदर रेग्मी तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सोतीलाई मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गर्ने गरेका विषयमा आएका समाचारका बारेमा तत्काल छानबिन गर्न निर्देशन दिएको मन्त्री श्रेष्ठका स्वकीय सचिव रमेश विकले जानकारी दिए।
केही दिनअघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको समाचार बाहिरिएको थियो। सोही घटनाको विषयमा थप सत्यतथ्य छानबिन गरी दोषी देखिएकालाई विभागीय कारबाही गर्नसमेत मन्त्री श्रेष्ठले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
|
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख दलबीच सहमति काठमाडौं। सभामुखसहित प्रमुख तीन दलको बैठकले चाँडो संवैधानिक परिषदको बैठक बोलाउने सहमति गरेको छ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा संवैधानिक परिषदको बैठक चाँडै बोलाउने सहमति भएको नेपाली कांग्रेकास नेता रमेश लेखकले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामोसमयदेखि सर्वोच्च अदालत कामुको भरमा सञ्चालन हुँदा न्याय निरुपण प्रभावकारी हुन नसकेको भन्दै चाँडो संवैधानिक परिषद बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्ती गर्नुपर्ने बताएका थिए।
प्रधानमन्त्रीले प्रधानन्यायाधीशको नियुक्तीका लागि संवैधानिक परिषदको बैठक बोलाउन गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष ओलीले सकारात्मक प्रतिक्रिया जनाएपछि संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको नेता लेखकले जानकारी दिए।
बैठकमा संक्रणमकालीन न्याय सम्बम्बधी विधेयक र संसदीय समिति गठनलगायतका विषयमा पनि छलफल भएको र ती विषयमा छलफल गर्न फेरि छलफल गर्दै जाने सहमति भएको लेखकले जानकारी दिए।
|
ओलीलाई भेट्न प्रचण्ड, देउवा र सभामुख घिमिरे बालकोटमा काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्।
प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा भने एउटै गाडी चढेर ओली निवास बालकोट पुगेका हुन्।
भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न उनीहरु बालकोटस्थित ओली निवास गएका हुन्।
नेताहरूबीच बालकाेटमा संसदमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गर्ने बताइएकाे छ। छलफलका लागि तीन प्रमुख दलका सचेतकहरुपनि बालकोट पुगेका छन्।
सरकारले संसदमा ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेको छ। सोही विधेयक सदनमा सर्वसम्मत टुंगो लगाएर द्वन्द्वकालीन मुद्दालाई किनारा लगाउने उद्देश्यले प्रधानमन्त्रीले सभामुखसहित प्रतिपक्षी एमालेसँग सहमति जुटाउन गृहकार्य गरिरहेका छन्।
|
सत्य निरुपणसम्बन्धी विधेयकमा मुख्य पीडितलाई सम्बोधन गरिएन : अध्यक्ष लिङ्देन ताप्लेजुङ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको आरोप लगाएका छन्।
आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त विधेयकमा द्वन्द्वका मुख्य पक्षलाई मात्रै उल्लेख गरेको छ भने। विधेयकले विद्रोही पक्षलाई मात्र उन्मुक्ति दिन खोजेको र द्वन्द्वको चपेटामा परेका नागरिकका विषय ओझेलमा पार्न खोजेको उनले बताए।
उनले भने, “द्वन्द्वमा विद्रोही पक्ष र राज्य पक्ष मात्रै थिएन, सबभन्दा ठूलो पीडित पक्ष आमजनता थिए, जो द्वन्द्वको दुवै पक्षमा थिएनन्, तर उसले सबभन्दा बढी क्षति बेहोर्नुपर्यो, त्यस्ता मानिसलाई कसरी न्याय दिने भन्ने विषय अहिले आएको विधेयकमा उल्लेख छैन।” यस्तै द्वन्द्वका समयमा पीडित बनेका राज्य पक्षका सेना, प्रहरी र उनका परिवारलाई समेत उचित सम्बोधन गर्न आवश्यक रहेको बताएका छन्।
अध्यक्ष लिङ्देनले फरक प्रसंगमा सङ्घीयताको नाममा तीन तहको सरकार आवश्यक नरहेको बताएका छन्। स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर प्रदेश खारेज भएमा आर्थिक भार कम हुने र मुलुक आर्थिक सङ्कटको चपेटामा नपर्ने उनको धारणा थियो।
केन्द्रको अधिकार तल्लो तहसम्म जानुपर्छ भन्ने विषयमा आफ्नाको कुनै आपत्ति नभएको तर अधिकारविहीन बनाएर आर्थिक भार थप्न राखिएको प्रदेश संरचनाका विरुद्धमा आफ्नो पार्टी उभिएको उनको भनाइ थियो। पार्टी सङ्गठन तथा कार्यकर्ता भेटघाटलगायतका क्रममा लिङ्देन ताप्लेजुङ आएका राप्रपाले जनाएको छ।
|
यही व्यवस्थाबाट रुपान्तरण हुन्छ भनेर पत्याइरहँदा मुलुक झन् बर्बाद हुनेछ:राप्रपा अध्यक्ष लिङ्देन फिदिम। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनता मुलुकको सुधार परिवर्तन गर्छौं भनेर झुक्याउने ‘नक्कली’को फेला पर्दा मुलुक पतनको दिशामा गएको टिप्पणी गरेका छन्।
जनतालाई कुनै राहत नदिई सत्ता स्वार्थमा लागेका दलका पछि जनता लाग्दा मुलुक गम्भीर संकटको डिलमा पुगेको लिङ्देनको भनाइ छ।
राप्रपा, जिल्ला कार्यसमिति पाँचथरले आइतबार फिदिम स्थित जिससको शहीद मञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री लिङ्देनले जनता पुनः नक्कलीको फेला पर्न नहुने बताए।
आफ्नो पैतृक थलो पाँचथर आएका लिङ्देन उक्त कार्यक्रममा विभिन्न दलबाट ठूलो संख्यामा युवाहरु प्रवेश गरेपछि उत्साहित देखिएका थिए। मुलुकमा अहिलेकै ब्यवस्था र प्रवृत्ति ठीक छ भन्ने र ठीक छैन् भन्ने दुई कित्तावीच संघर्ष चलिरहेको बताउँदै लिङ्देनले अहिलेको ब्यवस्थाले जनताको अवस्थामा परिवर्तन गर्दैन भन्ने निश्कर्ष राप्रपाको रहेको र सो कुरा बारम्बार पुष्टि भइरहेको दाबी पनि गरे।
आम क्षेत्रमा समस्या भोग्नु परेपछि जनतामा विकल्प नखोजी भएन भन्ने छटपटि रहेको तर त्यो छटपटिले उपयुक्त विकल्प नभेट्टाउँदा ‘तावाबाट उम्केको माछा भुँग्रोमा पर्छ’ भने झैं भएको लिङ्देनको भनाइ छ।
संवैधानिक राजतन्त्र, संघीयताको खारेजी तथा सनातन हिन्दू राष्ट्रको पक्षधर राप्रपा अध्यक्ष लिङ्देनले वर्तमान ब्यवस्थाका पक्षधर दलहरुलाई ‘नक्कली’को संज्ञा दिनुभएको हो। “ठिक ढंगले पहिचान गर्न नसक्दा जनता नक्कलीको फेला परे”, उनले भने, “जनता पटक-पटक नक्कलीका फेला परेका छन्। फेरि नक्कलीको फेला पर्नु हुँदैन। ”
कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनलाई संकेत गर्दै अध्यक्ष लिङ्देनले जनतालाई जातअनुसारको राज्य दिन्छु भन्नेहरु सत्ताको नेतृत्वमा हुँदा पूर्वका लिम्बूहरु लिम्बुवानको लडाईं लडिराख्नु परेको बताउँदै यस्तो लडाईं लड्नुपर्ने दिन किन आयो? भन्ने प्रश्न गरे।
यही ब्यवस्थाबाट मुलुकमा सुधार हुन्छ भन्नु र प्रश्न उठाउँदा प्रतिगमन हुन लाग्यो भन्नु हास्यास्पद भएको उनको टिप्पणी छ। अध्यक्ष लिङ्देनले ऋण काढेर कर्मचारी र जनप्रतिनिधि पाल्नुपर्ने तथा चालु खर्च चलाउन ऋण उठाउनुपर्ने स्थिति सामान्य नभएको बताए।
“सरकार स्वयंले संकलित राजश्वले कर्मचारीलाई तलव खुवाउन नसकिएको बताउँछ। अर्थतन्त्रमा सुधार गर्न नसक्नु, अर्थतन्त्र सञ्जिती घट्दै जानु, ब्यवसायी पलायन हुनुपर्ने अवस्था ठूला राजनीतिक दलका कारण सिर्जना भएको हो। ठूला दल सत्तालाई पहिलो र प्राथमिक विषय बनाएर हिँडेका कारण यो स्थिति सिर्जना भएको हो”, उनले भने।
शिक्षा, स्वास्थ्य, न्यायालय, प्रशासन सबैमा भद्रगोलको स्थिति सिर्जना भएको, संस्थानहरु समेत बजारमा पैसा पठाउनुको सट्टा ब्याजमा लगाएर गफ हानेर बसेको, ऋणीहरुले ऋण नपाएको अवस्थाप्रति गम्भीर हुन उनले आग्रह गरे।
“हामीले ठिक ढंगले दबाव सिर्जना गर्न सकेनौं भने देश पतनको बाटोमा जान्छ। पतनबाट रोक्न जनता जाग्न जरुरी छ”, लिङ्देनले भने, “संकट समाधान गर्न ब्यवस्था परिवर्तन आवश्यक छ । हाम्रो दबाव ब्यवस्था परिवर्तनका लागि हुन्छ।”
सामान्य रुपमा देशको अवस्था ठिकठाक देखिएको, विकास र पूर्वाधार निर्माण भएको देखिएको तर देश ठीक अवस्थामा अघि बढ्न नसकेको, देश ओरालो लाग्ने क्रम निरन्तर रहेको बताउँदै लिङ्देनले देशले कुन समयमा घुँडा टेक्छ भन्ने टु्गाे नभएको बताएका छन्।
|
बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै काठमाडौं। प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ। भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो।
बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए।
“विगत केही दिनदेखि संबैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीच छलफल भइरहेको छ,” उनले भने, “यो बीचमा तीन दिन यता पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भई छलफल अवरुद्ध हुन पुगेकोले आज बिहान ९ बजे सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत ओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको छ।”
सरकारले संसदमा ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेको छ । सोही विधेयक सदनमा सर्वसम्मत टुंगो लगाएर द्वन्द्वकालीन मुद्दालाई किनारा लगाउने उद्देश्यले प्रधानमन्त्रीले सभामुखसहित प्रतिपक्षी एमालेसँग सहमति जुटाउन गृहकार्य गरिरहेका छन्।
|
आज राष्ट्रिय सभाको बैठक बस्दै काठमाडौं।। राष्ट्रिय सभाको बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ।
यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो। उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो।
|
कास्की मालपोतको घटना तत्काल छानविन गर्न मन्त्री श्रेष्ठको निर्देशन काठमाडौं। भूमि व्यवस्था, सहकारि तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको विषय तत्काल छानविन गर्न निर्देशन दिएकी छिन्।
आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सोतीलाई निर्देशन दिएकी हुन्।
केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको सार्वजनिक भएको थियो।
सोही घटनाको बिषयमा थप सत्यतथ्य छानविन गरि विभागीय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी हुन्।
‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तर्गत हुने कुनै पनि अनियमितता, भ्रष्टचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिन। जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सन्जालमा भाइरल भइरहेको छ त्यस बिषयमा तत्काल छानविन गरि रिपोर्ट बुझाउनु होला’, मन्त्री श्रेष्ठले महानिर्देशकलाई भनिन्।
मन्त्री श्रेष्ठले कास्की मात्रै नभइ अन्य जिल्लाको मालपोत तथा नापी कार्यालयहरुको अबस्था र समस्याका बिषयमा अध्ययन गरि रिपोर्ट पेश गर्न निर्देशन दिइन्। मालपोत र नापी कार्यालयहरुमा सेटिङमा हुने अनियमितताको जालो आफ्नो नेतृत्वमा न्युनीकरण गर्ने उनले बताइन्।
|
अर्थतन्त्रमा उत्पन्न परिस्थिति सामान्य होइनः राजेन्द्र लिङ्देन पाँचथर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अर्थतन्त्रमा उत्पन्न विषम परिस्थितिलाई सामान्य रूपमा लिन नसकिने बताए।
ऋण काढेर कर्मचारीले तलब तथा जनप्रतिनिधिले सेवा सुविधा लिनुपर्ने परिस्थिति रहेको भनी सरकारी अधिकारीले नै बताउनुले मुलुक गम्भीर सङ्कटतर्फ गएको पुष्टि भएको लिङ्देनको भनाइ छ।
आज राप्रपा पाँचथरले फिदिममा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चालु खर्च चलाउन ऋण उठाउनुपर्ने स्थिति सामान्य कुरा नरहेको र यो अवस्था सहजै समाधान गर्न कठिन हुने बताए।
राप्रपा अरुलाई गाली गरेर नभई सुस्पष्ट नीति र कार्यक्रम लिएर देशको अवस्था सुधार गर्न लागि परेको बताउँदै उनले आफ्नो दलसँग रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्यलाई अधिकारका रूपमा दिने दृष्टिकोण रहेको दाबी गरे।
सरकारमा सहभागिता जनाएर ४० दिनको अवधिमा भ्रष्टाचार नगर्ने सङ्कल्पलाई पुष्टि गर्नुका साथै कर्मचारीतन्त्र खराब छ भन्ने अफवाहलाई गलत सावित गरेको उनको भनाइ छ।
राप्रपाका प्रवक्ता सगुनसुन्दर लावतीले मुलुकमा राजनीतिक सङ्कट आएपछि जनता जाग्ने गरेको इतिहास रहेको बताउँदै मुलुकलाई समस्यामा जानबाट रोक्न जनता जागरुक हुनुपर्ने बताए।
राप्रपाका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङ, राप्रपाका नेता मानदेव केरुङ, राजकुमार जोशी लगायतले आफ्ना धारणा राखेका थिए।
राप्रपाबाट वडाध्यक्ष निर्वाचित फिदिम नगरपालिका–४ र १० का वडाध्यक्षद्वय उपेन्द्र लावती र ओमराज थाम्सुहाङ तथा अन्य वडा सदस्यलाई सम्मान गरिएको थियो।
|
प्रदेश संरचना आवश्यक छैन, देश टाट पल्टाउने सेतो हात्ती पाल्नुहुन्नः कमल थापा काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले डरलाग्दो रुपमा धरासायी हुने तर्फ गइरहेको मुलुकको आर्थिक अवस्थाप्रति सत्तासिन दलहरु उदासिन भएको आरोप लगाएका छन्।
गम्भीर रुपमा बहस र छलफल हुनुपर्ने विषयमा भन्दा सत्ता केन्द्रित फोहोरी खेलमा मात्र दलहरु लिप्त हुनु दुर्भाग्यपूर्ण भएको थापाको ठहर छ।
आइतबार केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो आरोप लगाएका हुन्। प्रदेश संरचना आर्थिक रुपमा खर्चिलो र बोझ भएको भन्दै यस्तो सेतो हात्ती मुलुकलाई आवश्यक नभएको उनको जिकिर छ।
थापाले भने, ‘मुलुकलाई विदेशीले ऋण पनि नपत्याउने स्थिति छ, तलब भत्ता खान ऋण लिनुपर्ने भयो, यस्तो अवस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुँदैन, खारेज गर्नुपर्छ।’
मुलुकमा सबै क्षेत्रमा बेथिति र विसङ्गति हाबी भएको भन्दै थापाले सस्तो लोकप्रियता र ताली भन्दा यथार्थमा गएर मुलुकको चुनौती समाधान गर्न सबै राष्ट्रवादी प्रजातान्त्रिक र हिन्दुवादी शक्ति एक हुनुपर्नेमा थापाले जोड दिए।
पार्टीलाई स्थापित गर्न धैर्यता, मेहनत र सक्रियताको आवश्यकता भएकोले उच्च मनोबलसहित संगठन केन्द्रित हुनुपर्नेमा थापाले जोड दिए।
बैठकमा महामन्त्री त्रय भाष्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले सचिवालय, प्रशिक्षण र संगठनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए भने जिल्ला अध्यक्षहरुले जिल्लाको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए।
|
कर्णालीमा भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी सुर्खेत। माओवादी र कांग्रेसको सत्ता समिकरण भएसँगै कर्णालीमा फेरी आठ वटा मन्त्रालय बनाउने सहमति नजिक पुगेको छ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमति अनुसार गठन भएको कर्णाली प्रदेश सरकारले सातवटा मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो। उक्त सहमतिको हनिमुन’ पिरियड नसकिँदै माओवादी र कांग्रेस बीचमा सहमति पछि अगाडीको निर्णय उल्टिने निश्चित भएको छ।
एमालेसँग माओवादीले चार बुँदे सहमतिमा कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय गाभ्ने उल्लेख थियो। कांग्रेसले सभामुख सहित तीन मन्त्रालय माग गर्दै आएको छ। स्रोतले दाबी गरेअनुसार काँग्रेस र माओवादीमा भइरहेको छलफल यहि विषयमा केन्दीत रहेको बुझिएको छ।
सोमबार प्रदेशसभाको बैठक बस्ने भएकोले विश्वासको मत सँगै सरकार विस्तार हुने सम्भावना बढेको छ। नेताहरु आज दिनभरी छलफलमा रहेका छन्।
यही छलफलमा केन्द्रीत हुनुपर्ने भएका कारण जाजरकोटमा माओवादीको समिक्षा छाडेर प्रदेश इन्चार्ज कालिबहादुर मल्ल सुर्खेत आएका थिए। उर्जामन्त्री शक्ति बस्नेत समेत छलफलमा आउने भनिएपनि अन्तिममा आएर स्थगित भएको थियो।
|
देश बनाउन सबै दलबीच सहमति आवश्यक छः रवि लामिछाने दमौली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताएका छन्। तनहुँको दमौली बजारमा आज आयोजित चुनावी सभामा सभापति लामिछानेले सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेको उल्लेख गरे।
“देश बनाउने सङ्कल्प बोकेर अगाडि बढेका छाँै, यो मुद्दामा सबै राजनीतिक दलबीच सहमति आवश्यक छ,” उनले भने। सभापति लामिछानेले योग्य र सक्षम मानिस ल्याएर देशलाई समृद्ध बनाएरै छाड्ने दाबी गरे।
देशको भ्रष्टाचारका सूचक हेर्ने हो भने भ्रष्टाचारलाई जीवनशैली मान्न थालिएको उल्लेख गर्दै उनले भने, “मुलुकमा भ्रष्टाचारको सफाइ आवश्यक छ। भ्रष्टाचार रोग बनिसकेको छ, यसले नेपाललाई धराशयी बनाउँछ। यसको विरुद्धमा उभिनैपर्छ भनेर यसको विरुद्धमा उभिएका छाँै।”
सभापति लामिछानेले आफूहरु गालीगलौजको राजनीति नगर्ने बताउँदै निर्वाचनका बेला रास्वपामाथि अनेक किसिमका आरोप लगाइएको बताए।
पैसाको बार्गेनिङ गरेको आरोपमा प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेर इमान हुनुपर्छ भन्ने सन्देश दिएको उनको भनाइ थियो। मन्त्री बन्न पैसाको बार्गेनिङ गरेको सञ्चारमाध्यममार्फत सार्वजनिक भएलगत्तै आफूले ७२ घण्टाभित्र कारबाही गर्छु भनेरे बोलेका कुरा पूरा गरेको लामिछानेले बताए।
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले राजनीति सङ्ल्याउने र अर्थतन्त्र उकास्ने मूल कार्यसूची लिएर चुनावी मैदानमा उत्रिएको बताए। डा वाग्लेले जिल्लामा विकासका आयोजनाको काम सुरु भए पनि अलपत्र अवस्थामा रहेकाले त्यसलाई पूर्णता दिने प्रतिबद्धता जनाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा मुकुल ढकालले देशलाई समृद्धि बनाउने अभियानसहित रास्वपाको उदय भएको बताए। काठमाडौँ–८ का प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले निर्वाचनका बेला जनता लोभमा प्रभावित हुन नहुने बताए।
काठमाडौँ–६ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शिशिर खनालले विदेशमा पढेर आएकाहरु राजनीतिमा आउनहुन्न भन्ने गलत भ्रम फैलाइएको बताए। काठमाडौँ–२ का प्रतिनिधिसभा सदस्य सोविता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी जनताको भरोसाको पार्टीका रुपमा विकास भएको बताइन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाइँले विश्वले चिनेको स्वर्णिम वाग्लेलाई आज संसद्ले खोजेको बताए।
|
एकीकृत समाजवादीकी नन्दा चपाईंले लिइन् यातायात राज्यमन्त्रीको शपथ काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद् आइतबार विस्तार गरिएको छ। नेपाली कांग्रेसका एनपी साउदले परराष्ट्रमन्त्री र नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको शपथ खुवाइएर मन्त्रिपरिषद् विस्तार गरिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई परराष्ट्र मन्त्रालयको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
साथै राष्ट्रपति पौडेलको प्रधानमन्त्री प्रचण्डले चपाईंलाई राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरुलाई शपथ ग्रहण गराइएको हो।
राज्यमन्त्री बनेकी चपाईं नेकपा एकीकृत समाजवादीकी नेतृ हुन् ।
|
पदभार ग्रहण गर्दै पराराष्ट्रमन्त्री साउद भने- छिमेकी देशसँगको सम्बन्धलाई प्रगाढ बनाउँछु काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गरेका छन्।
आइतबार नवनियुक्त परराष्ट्रमन्त्री साउदले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन्। सपथ ग्रहणपछि मन्त्री साउदले आइतबार नै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहण गर्दै मन्त्री साउदले छिमेकी लगायत विश्वभरकै देशसँगको सम्बन्धलाई प्रगाढ बनाउदै लैजाने बताए। उहाले प्रधानमन्त्रीको भारत भ्रमणका बिषय लगायतका बिषयमा सचिवहरुसँग जानकारी लिने बताए।
साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी नेकपा एकीकृत समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य नन्दा चापाईले पनि आइतबार नै पद तथा गोपिनीयताको सपथ लिएकी हुन्।
|
परराष्ट्रमन्त्रीमा एनपी साउदले लिए पद तथा गोपनीयताको शपथ काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति समक्ष नव नियुक्त परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन्।
साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्। उनी नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एवम् पूर्वमन्त्री पनि हुन्।
त्यसैगरी प्रधानमन्त्री प्रचण्डले चन्दा चपाईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राज्यमन्त्री पदमा नियुक्त गरेका छन्। उनले आइतबार राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री प्रचण्डसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन्।
|
भीम रावल र एमाले वार्ता टोलीबीचको छलफल सकारात्मक, एमालेमै रहने रावलको प्रष्टोक्ति काठमाडौं। नेकपा(एमाले)ले विद्रोही नेता भीम रावलसँग वार्ता गर्न गठित समितिमार्फत छलफल थालेकोे छ । आइतबार दिउँसो एमाले पार्टी मुख्यालय च्यासलमा एमालेबाट रावलसँग वार्ता गर्न गठित समिति र रावलबीच छलफल भएको हो ।
वार्ता टोलीका संयोजक उपाध्यक्ष विष्णु पौडेलसहित अर्का सदस्य नेता कर्णबहादुर थापा र विद्रोही नेता रावलबीचको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।
लामो समयदेखि एमाले नेता रावल पार्टीभित्र असन्तुष्ट रहँदै अध्यक्ष केपी शर्मा ओलीको कायशैलीको खराे आलोचना गर्दै आएका थिए ।
आइतबार दुबै पक्षबीच भएको छलफलमा असहमतिहरुलाई सम्बोधन गर्दै पार्टीलाई थप सुदृढ गर्ने सहमति भएको वार्ता टोलीका सदस्य कर्णबहादुर थापाले डिसी नेपाललाई जानकारी दिए ।
उनले नेता रावलका असन्तुष्टि र पार्टीका कमजोरीलाई छलफल गरेर टुंगोमा पुर्याउने दुबै पक्षबीच सहमति भएको बताए ।
वार्ता टोलीका सदस्य रहेका एमाले नेता थापाले भने, ‘छलफल सकारात्मक भएको छ । दुबै पक्षबाट भएका कमीकमजोरीलाई सच्याएर जान सहमत भएका छौं।’
उनले दुबै पक्षका कमीकमजोरीलाई औंल्याएर आत्माआलोचित हुँदै आगामी दिनमा सुधार गर्न तयार रहेको बताए । नेता रावलले एमालेमै रहेर पार्टीलाई थप सुदृढ गर्न सहमत भएको थापाको भनाइ छ ।
आइतबारदेखि सम्वाद थालेको वार्ता समितिले आगामी दिनमा छलफललाई निरन्तरता दिँदै निष्कर्षमा पुर्याउने एमाले नेता थापाले जिकिर गरे।
एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएका रावल पराजित भएपछि पार्टी नेतृत्वको आलोचना गर्दै आएका थिए।
सोही समयदेखि पार्टीमा भूमिकाविहीन देखिएका रावलसँग वार्ता गर्न एमालेले गएको चैत १८ गते विष्णु पौडेलको संयोजकत्वमा लेखराज भट्ट र कर्णबहादुर थापा सदस्य रहेको तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।
महाधिवेशनपछि पार्टीमा उचित जिम्मेवारी नपाएका रावललाई एमालेले केन्द्रीय सल्लाहकार समिति सदस्यमा मनोनित गरेको थियो । तथापि उनले उक्त जिम्मेवारी सार्वजनिक रुपमा अस्वीकार गर्दै आएका थिए ।
|
बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने सांसद परियारको दावी {भिडियो} काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले दलहरुबीच आपसी छलफल गरेर बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने बताए ।
मन्त्री चयनका बिषयमा कांग्रेसभित्र कुनै विवाद नभएको दावी गर्दै उनले पार्टी सभापतिले प्रधानमन्त्रीसंग आवश्यक कुराकानी गरिरहेको जिकिर गरे। त्यस्तै उनले दलहरुबीच भएको सहमति अनुसार वर्तमान सरकार पुरै कार्यकाल सञ्चालन हुने बताए। फरक प्रसंगमा उहाले रास्वपाका सांसदलाई दलले छानविन वा कारवाही गर्नु नौलो नभएको र कुनै व्यक्तिमाथि आरोप लागेपछि कारवाही गर्ने अधिकार दललाई रहेको पनि बताए।
त्यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सांसदलाई कारवाही गरिएको पत्र सभामुख समक्ष पठाइसकेको भन्दै आवश्यक प्रक्रिया अघि बढ्ने जिकिर गरे। उनले बिगतमा पनि अन्य दलमा यस्ता अभ्यास भएकाले थप अध्ययनका लागि सभामुखलाई सहयोग गर्न पार्टी तयार रहेको बताएका छन् ।
हेर्नुहोस् भिडियो:
|
वर्तमान सरकारसंग संसद चलाउने योजना नै छैनः योगेश भट्टराई {भिडियो} काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकारसंग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले संसदलाई सरकारले बिजनेज दिने भएपनि अहिलेको सरकारसंग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका हुन् ।
उनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयलाई पनि सदनमा नल्याई बाहिरैबाहिरैबाट टुङ्ग्याउन खोजिएको बताए । शान्तिप्रक्रिया प्रचण्डको मागिखाने भाडो मात्रै भएको भन्दै उहाले सरकारमा गएपछि यसलाई प्रचण्डले प्राथमिकता दिन नसकेको जिकिर गरे। उनले बिभिन्न ऐनहरु अघि वढ्न नसक्दा प्रशासनिक संयन्त्रलाई अप्ठेरो अवस्थामा परेको र सरकार उत्तरदायी नदेखिएको धारणा राखे।
हेर्नुहोस् भिडियो:
|
रघुजी पन्तको कटाक्ष: ‘प्रधानमन्त्री हराएको सूचना’ काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री नदेखिएको भन्दै हराएको सूचना पढेर कटाक्ष गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद पन्तले पछिल्लोपटक संसदमा प्रधानमन्त्री देखिनै छाडेको भन्दै प्रधानमन्त्री हराएको सूचना सुनाउदै कटाक्ष गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अन्तिमपटक बालुवाटारको छेउछाउ देखिएकोले संसदमा बुझाउन समेत आग्रह गरे।
त्यस्तै बैठकमा एमाले सांसद ठाकुर गैरेले अहिलेको व्यवस्थामा संकट देखापर्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग गरे। उनले के र कुन कारणले व्यवस्थामा संकट परेको हो भन्ने बिषयमा संसदमा नै प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने धारणा राखे। गैरेले सवै चूनौती सामना गर्न संसद तयार हुनुपर्ने बताए।
त्यस्तै नेमकिपा सांसद प्रेम सुवालले अहिलेको व्यवस्थामा संकट देखापर्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले जनतामा भ्रम सिर्जना भएको बताए । उनले आफ्नो असक्षमतालाई ढाकछोप गर्नका लागि प्रधानमन्त्रीले झुटा तर्क गरिरहेको जिकिर गरे।
प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेश्रो संशोधन विधेयक २०७७ र भ्रष्टचार निवारण पहिलो संशोधन विधेयक २०७७ का सम्बन्धमा प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिएको थियो भने राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक बैंशाख ५ गते बोलाइएको छ ।
हेर्नुहोस् भिडियो:
|
संसद बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण काठमाडाैं। प्रतिनिधिसभा बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसद विद्या भट्टराईले कास्कीको सेती नदीको जोखिम क्षेत्रमा सर्वसाधारण दुर्घटनामा पर्ने क्रम बढेकाले नदी किनार वरपर तारबार गर्न माग गरिन्।
सांसद लेखनाथ दाहालले बिपी राजमार्गमा गत चैत २९ गते जीप दुर्घटना हुँदा चार भारतीय नागरिकको निधन भएको उल्लेख गर्दै उक्त राजमार्ग दैनिक चार हजार सवारीसाधन गुड्नका लागि बनाइएकामा दैनिक १० हजार गुड्दा समस्या आएकाले समाधान गर्न सरकारसँग माग गरे। राजमार्गको ३२ किलोमिटर क्षेत्रमा आठ किमीको सुरुङ बनाएर छिटो एवम् कम खर्चमा यात्रा हुने भएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
सांसद डा तोसिमा कार्कीले चिकित्सा शिक्षामा योग्यताअनुसारको भर्ना क्रमलाई पन्छाएर स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाउँदा समस्या आएकाले सुधार गर्न माग गरिन्। स्वास्थ्य संयन्त्रलाई क्षति हुनबाट बचाउन पनि योग्यता क्रमअनुसारको कार्यविधि हुनुपर्नेमा उनको जोड थियो।
सासंद ठाकुर गैह्रेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्भन्दा बाहिर ‘व्यवस्था उल्ट्याउन खोजेको’ भनी भाषण गरेकाेमा आपत्ति जनाए। यस्तो विषय संसद्मा आएर राख्न उनले प्रधानमन्त्री दाहाललाई सुझाव दिए।
सांसद मेटमणि चौधरीले मानव बेचबिखनमा संलग्नलाई कारबाही गर्नुपर्नेमा जोड दिए। सांसद प्रेम सुवालले काठमाडौं विश्वमै फोहर शहरमा परिणत हुँदा क्यान्सरलगायत रोगका बिरामी बढेकाले राजधानीमा प्रदुषणको समस्या समाधान गर्न माग गरे।
सांसद रोशन कार्कीले पाँचखालकी मृगौला पीडित सत्यदेवी थापाले कुमारी बैंकबाट लिएको ऋणको ब्याज तिर्दातिर्दै घर लिलामी गरिएकाले रोक्न माग गरिन्।
सांसद हरि ढकालले गत चैत २९ गते १६२ सांसदले संसद्मा हाजिर गरेकामा अन्तिममा ६१ सांसदमात्र रहेको उल्लेख गर्दै थिति बसाल्ने ठाउँमै यस्तो हुँदा के सन्देश जाला ? भनी प्रश्न गरे। बेलुकी संसद् सकिएपछिमात्र सांसदले हाजिर गर्ने व्यवस्था गर्न उनले माग गरे।
सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्र रुजु गर्ने जिम्मा निजी विदेशी कम्पनीलाई दिने निर्णय आपत्तिजनक भएको बताए। सात दिनभित्र बोलपत्र गरेर गरिएको निजी कम्पनीलाई दिने निर्णय अवैध रहेको भन्दै उनले नयाँ पार्टीले पनि पुरानै शैलीमा काम गरेको बताए।
सांसद श्यामकुमार घिमिरेले सिन्धुली सदरमुकामबाट कटारी निस्कने सडकको ठेक्का भएको तीन वर्ष बिते पनि वनका कारण काम रोकिएको उल्लेख गर्दै एक लाख नागरिकलाई समस्या भइरहेकाले समस्या समाधान गर्न माग गरे। वन ऐनलाई सार्वजनिक हितमा उपयोग गर्दा सहज हुने गरी संशोधन गर्न उनले माग गरे।
|
भीम रावलसँग एमालेको वार्ता टोलीको छलफल जारी काठमाडौं । नेकपा(एमाले)को भीम रावलसँग वार्ता गर्न गठित समितिले छलफल थालेको छ । एमालेको वार्ता टोली र रावलबीच अहिले केन्द्रीय कार्यालय च्यासलमा वार्ता जारी छ ।
एमालेको वार्ताटोली र रावलबीच जारी वार्तामा रावलका असन्तुष्टिको सम्बोधन गर्नेगरि दुबै पक्षबीच छलफल भइरहेको एमालेका एक नेताले बताए ।
एमालेको चितवनमा भएकाे दशौें महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएर पराजय व्यहोरेका रावल त्यसयता पार्टीको उचित जिम्मेवारी पाएका छैनन्।
एमालेले सल्लाहकार समितिको सदस्यमा मनोनित गरेपनि रावलले सार्वजनिक रुपमा उक्त पद अस्वीकार गर्दै आएका छन् ।
रावलको असन्तुष्टिको सम्बोधान गर्ने भन्दै एमालेले उपाध्यक्ष विष्णु पौडलेका संयोजकत्वमा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट र कर्णबहादुर थापा सदस्य रहेको तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
सोही वार्ता टोलीले रावलसँग औपचारिक रुपमा वार्ता थालेको हो ।
|
बालकोट जान किन तयार भएनन् प्रचण्ड ? काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहान नौ बजे बोलाइएको तीन दलको बैठकमा सहभागी भएनन् ।
प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बालकोटमा बस्ने तय भएकाे बैठकमा प्रधानमन्त्री अन्तिम समयमा अनुपस्थित भएका हुन्।
संक्रमणकालीन न्यायनिरुपण सम्बन्धि विधेयकलाई टुंगो लगाउने बारे छलफल गर्न प्रधानमन्त्रीको आग्रहमा तय गरिएको बैठकमा स्वयम् प्रधानमन्त्री प्रचण्ड नै सहभागी नभएपछि बैठक स्थगित भएको छ ।
प्रधानमन्त्रीले कार्य व्यस्तताको कारण बैठकमा सहभागी नहुने जानकारी दिएपछि बैठक स्थगित भएको एमालेका सांसद महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल गर्नेगरी बैठक तय भएको थियो ।
सरकारले संसदमा ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेको छ । सोही विधेयक सदनमा सर्वसम्मत टुंगो लगाएर द्वन्द्वकालीन मुद्दालाई किनारा लगाउने उद्देश्यले प्रधानमन्त्रीले सभामुखसहित प्रतिपक्षी एमालेसँग सहमति जुटाउन गृहकार्य गरिरहेका छन् ।
प्रतिपक्षी एमालेले संशोधन विधेयक पारित गर्न अवरोध गर्नसक्ने आशयले उक्त संशोधन विधेयकमा सहमति जुटाउन प्रधानमन्त्रीले केही दिनयता सभामुखसहित एमाले अध्यक्ष ओलीसँग छलफल गर्न दौडधुपमा ब्यस्त छन् ।
|
प्रधानमन्त्रीको भारत भ्रमणको लालसाले परराष्ट्रमन्त्री नियुक्तिमा हतारो काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौं पटक मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका छन्।
उनले गएको चैत १७ गते सत्ता गठबन्धनका दलहरुलाई समेटेर सातौं पटक मन्त्रिमण्डल पुनर्गठन गरेका थिए। कांग्रेसले आफूले पाएको सबै मन्त्रीहरुलाई सरकारमा सामेल गराउन नसक्दा सरकारले पूर्णता पाउन सकेको थिएन। त्यसैले ६ मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले राखेका छन्।
आज(आइतबार) कांग्रेसले परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएर एनपी साउदलाई सरकारमा सहभागी गराएपछि मन्त्रिमण्डल आठौं पठक पुनर्गठन हुन लागेको हो।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा पक्षका चार जनामात्रै सरकारमा सहभागीता जनाउँदा अर्को शेखर कोइराला समूहले दाबी गरे अनुरुप मन्त्रालय पार्टीमा मन्त्रालय नपाएपछि असन्तुष्ट हुँदै सरकारमा सहभागी भएका छैनन्।
कांग्रेसको आन्तरिक शक्ति सन्तुलनको विवादले प्रचण्ड सरकारले पूर्णता पाउन नसक्दा महत्वपूर्ण मन्त्रालय प्रधानमन्त्री स्वयमंले राखेका छन्।
खासगरि वैदेशिक सम्बन्ध, परराष्ट्र नीति र कुटनीतिक सम्बन्धको नीतिगत मन्त्रालय मानिने हाम्रो जस्तो भूराजनीतिक जटिलता भएको देशमा परराष्ट्र मन्त्रालयको महत्वपूर्ण भूमिका हुन्छ।
तथापि नयाँ सरकार बनेको करिब चार महिना पुग्नै लाग्दा परराष्ट्र मन्त्रालय मन्त्रीविहीन छ। यसअघि एमालेसहितको गठबन्धनबाट परराष्ट्र मन्त्री नियुक्त भएकी डा.विमला रार्ई पौड्याल अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने तयारीमा रहेकै बेला सत्ता गठबन्धनमा आएको परिवर्तनले सरकारकोतर्फबाट सहभागी हुन प्रधानमन्त्रीले रोका लगाएका थिए।
त्यसपछि सत्ता राजनीतिमा आएको बदलावले एमाले सरकारबाट बाहिरिएर कांग्रेससँग प्रधानमन्त्री प्रचण्डले सत्ता सहकार्य बढाएपछि परराष्ट्रमन्त्री नियुक्त हुन सकेको थिएन। सत्ता साझेदारीमा कांग्रेसले पाएको उक्त मन्त्रालय आन्तरिक किचलोले मन्त्री चयन हुन सकेको थिएन।
प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्ध र मुख्यतया भारतसँग सम्बन्ध सुमधुर बनाउने हेतुले कांग्रेसलाई परराष्ट्रान्त्रीको चयन गरेर सरकारमा पठाउन दबाव दिएपछि आइतबार एनपी साउद नियुक्त हुन लागेका हुन्।
कांग्रेसले हाल सरकारमा सहभागी भएका बाहेक अन्य चार जना मन्त्री चयन नगरेरै आइतबार साउललाई मात्रै सरकारमा पठाउन लागेको छ। अन्य मन्त्री पठाउनेबारे कांग्रेसले टुंगो लगाउन सकेको छैन।
यद्यपि कांग्रेसभित्र आन्तरिक सहमति भएर कोइराला समूहले मागेजति तीन मन्त्रालय दिन सभापति देउवा राजी भएको बताइएको छ।
प्रधानमन्त्रीले निकट समयमै छिमेकी मुलुक भारतको भ्रमण गर्ने तयारीमा छन्।
उनले प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको रुपमा भारत जान लागेका हुन्। स्रोतका अनुसार वैशाखको तेस्रो साता प्रधानमन्त्रीले भारत जाने आन्तरिक तयारी थालेका छन्।
सोही भारत भ्रमणको तारतम्य मिलाउन हतारिएर अन्य पाँच मन्त्रालय आफूसँगै राखेर भएपनि प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्री नियुक्त गर्न तदारुकता देखाएका हुन्।
केही दिनअघि बाघ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीले आफूसँगै रहेको वन तथा वातावरण मन्त्रीको हैसियतमा उर्जामन्त्री शक्ति बस्नेतलाई भारतमा पठाएका थिए। सो सम्मेलनमा सहभागी भएका मन्त्री बस्नेतले भारतीय संस्थापन र अन्य राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका थिए।
स्रोतका अनुसार उर्जा मन्त्रीको भारत भ्रमणमा द्विपक्षीय भेटवार्ता र प्रधानमन्त्री भ्रमणका लागि परराष्ट्रमन्त्रीमार्फत सम्बाद गर्न सुझाएकाले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको पूर्वतयारीमा साउदलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।
प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको आन्तरिक किचलोले मन्त्रिमण्डल विस्तार गर्न नसकिरहेको अवस्थामा परराष्ट्रमन्त्री नियुक्तिमा गरेको हतारो भारत भ्रमण गर्ने मनशायले गरेको स्रोतले जनाएको छ।
देशको भूराजनीतिक बाध्यताले छिमेकी मुलुक भारतप्रति लचककता नबढाए सरकारलाई असहज हुने बुझेरै चीनको बोआओ सम्मेलनमा सहभागी नभएर पहिलो विदेश भ्रमण भारतबाटै गर्ने र आवश्यक परे भारतको हित अनुकूल सम्झौता गरेर सत्ता टिकाउने आकांक्षा ब्यक्त गरेको स्रोतको दाबी छ।
|
प्रचण्डको सत्ता जोगियो, भारतसँग गोप्य सम्झौता काठमाडौं। अन्ततः वैशाख तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुने तय भएको छ। प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गर्ने बताउँदै आएका प्रचण्ड वैशाख तेस्रो साता भारत भ्रमणमा जाने तय भएको हो।
त्यसको तयारी गर्न प्रधानमन्त्री प्रचण्डले आज (आइतबार) परराष्ट्रमन्त्री नियुक्त गर्दैछन्। नेपाली कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा कांग्रेसले एनपी साउदलाई परराष्ट्र मन्त्री बनाउँदै छ। उनले आजै सपथ लिने कार्यक्रम छ।
स्रोतका अनुसार शुक्रबार प्रचण्ड भारत जाने सहमति भएको थियो। त्यसका लागि प्रधानमन्त्री प्रचण्डले भारतसँग गोप्य सम्झौता गरेका छन्। सो सम्झौताका विषयमा केही पनि खुलाइएको छैन।
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालको नक्साबाट हटाउन लिएको अडानबाट भारत पछि हट्दै त्यसलाई विवादित भूमि मान्ने र द्विपक्षीय वार्ताको माध्यमबाट समाधान गर्ने भन्ने शब्द प्रयोग गर्न भारत तयार भएको बताइएको छ।
यद्यपि नेपाली नक्सामा समावेश गरिएको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई ‘विवादित’ भूमि मान्दै यस्ता विवादित विषयमा द्विपक्षीय वार्ताको माध्यमबाट हल गर्ने भन्ने विषय समावेश गर्ने सहमति भएको छ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालको नक्साबाट हटाउन लिएको अडानबाट भारत पछि हट्दै त्यसलाई विवादित भूमि मान्ने र द्विपक्षीय वार्ताको माध्यमबाट समाधान गर्ने भन्ने शब्द प्रयोग गर्न भारत तयार भएको बताइएको छ।
प्रचण्डको भारत भ्रमण तय भएसँगै तत्कालका लागि सत्ता जोगिएको छ। प्रधानमन्त्रीका रुपमा भारत भ्रमण जाने भन्दै प्रचण्डले चीनको बोआओ सम्मेलनमा भाग लिन गरेको निमन्त्रणलाई अस्वीकार गरेका थिए। शुक्रबार भारतीय पक्षसँग गोप्य सम्झौता गरेपछि प्रचण्डको भारत भ्रमण तय भएको छ भने तत्कालका लागि उनको सत्ता पनि जोगिएको छ।
प्रचण्डको भारत भ्रमण तय भए पनि उनले दिल्लीमा गएर के सम्झौता गर्ने हुन् भन्नेमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस सशंकित छ। आन्तरिक सुरक्षा चुनौतीको सामना गरिरहेको भारतले प्रचण्डको भारत भ्रमणका बेला भारतीय सुरक्षा छाताभित्र नेपाललाई पनि राख्ने सम्झौता त गर्ने होइनन् भन्ने चिन्ता कांग्रेसलगायत सत्ता सहयात्री दलहरुमा देखिएको छ।
आन्तरिक सुरक्षा चुनौतीको सामना गरिरहेको भारतले प्रचण्डको भारत भ्रमणका बेला भारतीय सुरक्षा छाताभित्र नेपाललाई पनि राख्ने सम्झौता त गर्ने होइनन्?
प्रधानमन्त्रीका रुपमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र संवैधानिक परिषदसम्बन्धी विधेयक अगाडि बढाउन नसक्ने भएपछि प्रचण्डले आफ्नो कार्यकालमा भारत भ्रमण गर्ने चाहना राखेका हुन्।
सुरुमा चैत अन्तिमसम्म भारत भ्रमण गर्ने तयारी भएको बताएका प्रचण्डलाई भारतीय पक्षले चासो नदिँदा भारत भ्रमण हुन सकेको थिएन। यो बीचमा उनले विभिन्न च्यानलमार्फत भारतीय पक्षसँग सम्पर्क गरिरहेका थिए। अन्ततः भारत प्रचण्डलाई दिल्लीमा स्वागत गर्न तयार भएको छ।
|
चितवन उपनिर्वाचन : रास्वपा, कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा चितवन। चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ। केन्द्रीय ध्यान यहाँ खिचिएको छ। केन्द्रीय नेताहरू भोट माग्दै टोल-टोलमा पुगेका छन्।
नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो। निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको हो।
कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन्। रास्वपाले गत मङ्सिर ४ गते प्राप्त गरेको मतको सुरक्षाका लागि उपसभापतिसहितका शीर्षनेता केन्द्रित भएका छन्।
दलहरूका लागि पेचिलो बन्दै गएको यस क्षेत्रमा कांग्रेसले आठ केन्द्रीय सदस्यसहितका प्रतिनिधिलाई जिल्लामा खटाएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले बताए। उनका अनुसार केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री, प्रदेश सांसद, पूर्व जिल्ला सभापतिलाई प्रतिनिधिका रूपमा खटाएको हो।
उनका अनुसार उपनिर्वाचन लक्षित गर्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा दुईपटक चितवन आएर फर्किएका छन्।
उनी फेरि आउने कार्यक्रम छ भने आज अर्का महामन्त्री गगनकुमार थापा चितवन आउँदै छन्। सहमहामन्त्री बद्री पाण्डे कार्यक्रममा सहभागी भएर फर्किएका छन्। सहमहामन्त्री जीवन परियार आउँदै छन्।
केन्द्रीय सदस्य मधु आचार्य, डिला सङ्ग्रौला, नैनसिंह महर, सरिता प्रसाईँ, दिलमान पाख्रिन, रामहरि खतिवडा, चिनकाजी श्रेष्ठ र अव्दुल सतार यहाँ खटिएका छन्।
जिल्ला सभापति राजेश्वर खनालका अनुसार बाहिरी जिल्लाबाट आएकालाई संगठित गर्ने काममा समेत केन्द्रीय नेता जुटेका छन्। केन्द्रीय नेता नै टोल-टोलमा पुगेर भोट माग्ने काममा खटिएका छन्।
लोकतान्त्रिक-वाम गठबन्धनका अन्य घटक नेकपा ( माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) र जिल्लाका नेता पनि चुनावी अभियानमा जुटेको सभापति खनालले बताए।
एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटा विगत एक महिनाभन्दा बढी समयदेखि जिल्लामा खटिएका छन्। ‘मिसन ग्रास रुट’को जिल्लाको नेतृत्व गरेर आएका उनी चुनावी अभियानमा टोल-टोलमा पुगेका छन्।
एमाले नेता कृष्णभक्त पोख्रेलका अनुसार पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य शान्ता चौधरी, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङलगायतका नेता यहाँ खटिएका छन्।
सचिव गोकर्ण विष्ट आउँदै छन् भने यही वैशाख ६ गते पार्टीका अध्यक्ष केपी शर्मा ओली चितवनमा आउने कार्यक्रममा रहेको उनले बताए। अन्य नेता पनि चुनावी अभियानका लागि यहाँ आउने जानेक्रम भइरहेको छ।
रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डिपी अर्यालसहितका केन्द्रीय नेता यहाँ चुनावी अभियानमा जुटेका छन्।
सभापति रवि लामिछानेका निजी सचिव प्रकाश सिग्देलका अनुसार पार्टीका नेता एवं सांसद विराजभक्त श्रेष्ठ, शिव नेपाली, सोबिता गौतम, हरि ढकाल, दीपक बोहोरा, ध्रुव गिरी, वसुमाया तामाङ, गणेश पराजुली, हरि भट्टलगायतका नेता यहाँ चुनावी अभियानमा जुटेका छन्। निजी सचिव सिग्देलका अनुसार अन्य नेता पनि आउने जाने भइरहेको छ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल, उपाध्यक्ष विक्रम पाण्डेलगायतका केन्द्रीय नेताको उपस्थितिमा चुनावी कार्यक्रम भएको छ। सो पार्टीका केन्द्रीय नेतासमेत चुनावी अभियानमा रहेका छन्।
उपनिर्वाचमा चितवन-२ मा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन्। उनीहरूले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन्।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त रहेको थियो।
रिक्त पदमा वैशाख १० गते निर्वाचन हुन लागेको हो। यहाँ लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका सभापति रवि लामिछानेसहित २२ उम्मेदवार रहेका छन्।
|
बारा-२ मा एमालेको जित सुनिश्चत छ : पुरूषोत्तम पौडेल बारा। नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ मा नेकपा एमालेको जित सुनिश्चित रहेको बताएका छन्।
चुनावी अभियान अन्तर्गत बाराको पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले बारा २ का जनता एमाले जिताउन आतुर रहेको बताए।
पचरौतामा आयोजित नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले मधेसको मुद्दा उठाएर चुनाव जित्नेहरुको दिन अब सकिएको बताए। उनले बारा २ मा अब एमालेले नेतृत्व गर्ने र क्षेत्रको विकासलाई द्रुत गतिमा अघि बढाउने बताएका छन्।
‘बारा २ का जनता एमालेलाई मतदान गर्न आतुर रहेको पाए, यो सबै यसअघि जितेकाहरुले काम नगर्दाको परिणाम हो’ उम्मेदवार पौडेलले भने ‘अब एमालेले चुनाव जितेपछि विकास भनेको के हो देखाउनेछ।’
बारा २ का मतदातालाई सत्तामा पुग्ने खुड्किलोको रुपमा प्रयोग गर्न केही नेताहरु चुनावी मैदानमा देखिएको भन्दै उम्मेदवार पौडेलले अब यस क्षेत्रका मतदाताले त्यस्तो हुन नदिने दाबी गरे। उनले बारा २ का जनता सचेत रहेको र क्षेत्रको विकासका लागि काम गर्ने नेता चयन गर्न योग्य रहेको समेत बताए।
यसैगरी तेतरियामा आयोजित सभामा बोल्दै उम्मेदवार पौडेलले बारा २ नेकपा एमालेको क्षेत्र रहेको बताए। बारा २ कम्युनिष्ट नेता सोहन चौधरीले चुनाव जितेको क्षेत्र रहेको स्मरण गराउदै उम्मेदवार पौडेलले अब पुनः एमालेको झण्डै फहरिने बताए। उनले एमालेले जितले मात्रै बारा २ को मुहार फेरिने बताएका छन्।
|
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छः राष्ट्रपति काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन्। इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्।
नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै राष्ट्रपति पौडेलले नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गरे।
उनले नेपालमा विभिन्न परिवारका समुदायको सम्मिश्रित संस्कृति रहेको बताउँंदै यी सबैको मिलनबाट नै नेपालीबीचको एकता बलियो भएको बताए। उनले संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान पनि गरे।
राष्ट्रपति पौडेलले नेपालीहरु विश्वका कुना-कुनामा पुगेको बताउँंदै विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकामा उक्त फाउण्डेशनको प्रशंसा गरे। नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्वसामू चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउण्डेशनलाई राष्ट्रपति पौडेलको सुझाव थियो।
नेपाली नपुगेको दुनियाँमा ठाउँ नरहेको र नेपालीहरु जहाँ रहेका भए पनि नेपाली पहिचान र नेपालीपन जोगाएरै बसेका उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, ‘विश्वका नेपालीलाई भाषा र संस्कृतिका माध्यमबाट एकाकार बनाउन इन्ट्रा फाउन्डेसनले सञ्चालन गरेको विश्वव्यापी अभियानप्रति आभार व्यक्त गर्दछु। यस अभियानले संसारमा नेपाल चिनाउन ठूलो योगदान पुर्याउने विश्वास पनि लिएको छु।’
फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपाली जातिलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट जोड्नका लागि संसारबाट प्रतिभाहरु छानेर नेपालमै ल्याइ यस प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए।
फाउन्डेसनमार्फत् आफूहरुले संसारभरिका नेपाली जातिबीच सांस्कृतिक एकताको महाभियान सुरु गरेको र सो अभियानलाई राष्ट्रपतिबाट प्राप्त भएको हौसलाले अझ गम्भीर भएर लाग्न मद्दत पुगेको विश्वास लिएको भन्दै अध्यक्ष अधिकारीले संसारभरका नेपालीबीच विभेद नगरी राज्यले सबैलाई समान व्यवहार गर्नुपर्ने बताए।
फाउण्डेशनले आफ्रिका बाहेकका विश्वका छ महादेशका ५२ भन्दा बढी देशबाट मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रममार्फत नेपाली प्रतिभाहरु प्रारम्भिक छनोट गरी काठमाडौँ ल्याएको छ। ती प्रतिभाबीच हाल यहाँ गायन र नृत्यका साइटलेस अडिसन जारी छ।
गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै समूह नृत्य प्रतियोगिता पनि रहेको छ। नेपालमा आयोजना गरिएको यस्तो शो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो।
|
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची काठमाडौं। प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ। नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ।
|
एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आजै सपथ काठमाडौं। निर्वाचन आचारसंहितकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणलाई सहज बनाउन आज परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
नेपाली कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन्। उनले आजै सपथ लिने बताइएको छ। साउदले आज दिउँसो तीन बजे परराष्ट्रमन्त्रीको सपथ लिने बताइएको छ।
मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको हो।
सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो।
परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ। कांग्रेसको भागका अन्य चार मन्त्रीको शपथग्रहण भने उपचुनावपछि हुने बताइएको छ।
|
सरकारले सुझबुझपूर्ण ढङ्गले काम नगरे मुलुक झनै सङ्कटमा पर्दै जान्छः गगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल हुने बताएका छन्।
नेपाली कांग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसले जेठभित्र नीति अधिवेशन गर्ने तयारी गरिरहेको बताउँदै उक्त अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धिकरणका बारेमा व्यापक छलफल हुने बताए।
“विसं २०८० कांग्रेसलाई सुदृढीकरण र शुद्धीकरण गर्ने वर्ष हुनेछ, पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल गर्नुपर्छ”, उनले भने। उनले कांग्रेसभित्र पुरानो नेताको अनुभव र नयाँ युवाको जोसलाई कांग्रेसले अगाडि बढाउनुपर्ने बताए।
महामन्त्री थापाले मुलुक सङ्कट परेको बेलामा सरकारले सुझबुझका साथ काम गर्नुपर्ने बताए। सरकारले जनतालाई महसुस दिने गरी काम गर्नुपर्ने उनको भनाइ थियो। उनले सुझबुझपूर्ण ढङ्गले काम नगरे मुलुक झनै सङ्कटमा पर्दै जाने बताए।
सरकारले राम्रो काम गर्दै गए तीन÷चार महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो। महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताए।
|
रास्वपाले सांसद श्रेष्ठलाई गरेको कारबाहीबारे संसद् सचिवालयले अध्ययन गर्ने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ।
सो पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई गएको चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार सङ्घीय सचिवालयले रास्वपाले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर अध्ययन गर्न लागेको जनाइएको छ।
सचिवालयले आइतबारदेखि अध्ययन गरेर सो बारेको यथार्थ सभामुखलाई जानकारी गराउने सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले बताए।
उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐनले जे–जे व्यवस्था गरेको छ, साधारण सदस्यबाट निष्कासन गर्नका लागि जुनविधि प्रक्रिया अपनाउनुपर्छ भनिएको छ, सो सम्बन्धी प्रक्रिया पूरा गरेको छ कि छैन भनेर अध्ययन गरिनेछ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४, ३५ र ३६ मा संसद् सदस्यले दल त्याग गरेमा वा निष्कासन गरेमा त्यसको सूचना संसद्मा दिनुपर्ने र सो सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले प्रतिनिधि सभाको बैठकमा वाचन गरेर जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ।
संसद् नचलेको बेला छ सभामुखले सूचना पार्टीमा सूचना टाँस गरेर जानकारी गराउनुपर्नेछ। गत चैत ३० गते ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको पत्र रास्वपाले आयोगमा पठाएको थियो।
आगामी वैशाख १४ गतेभित्र उनीमाथि गरिएको कारबाही प्रक्रियागत रुपमा ठिक भए सभामुखले स्थान रिक्तताको जानकारी गराउने सङ्घीय सचिवालयले जनाएको छ।
सभामुखले सदनमा स्थान रिक्तताको जानकारी गराएपछि निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका कुनै एक उम्मेदवारलाई प्राथमिकता क्रम अनुसार छनौट भएका व्यक्तिलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने बताइएको छ।
रास्वपाले भने समानुपातिक सूचीमा रहेका विन्दवासिनी कङ्साकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रु दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो।
|
कांग्रेसका कार्यकर्ता एक ढिक्का हुनुपर्छः शेखर कोइराला मोरङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान अवस्थामा नेकांका नेता एवं कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताएका छन्।
कांग्रेस मोरङद्वारा आज आयोजित नववर्ष २०८० को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातान्त्रिक पार्टीभित्र रहेको विगतका तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकर्ता एवं नेतृत्वले बिर्सी एक ढिक्का भएको विचार राखे।
नेता डा कोइरालाले कांग्रेसका कार्यताले आगामी दिनमा बहुमत सरकारको निर्माण गर्ने उद्देश्यले आगाडि बढ्नसमेत आग्रह गरे। उनले वर्तमान उपनिर्वाचनमा कांग्रेसका दुई उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिँदै कार्यकर्ताले ‘साथीलाई होइन पार्टीलाई’ आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरे।
कांग्रेसका पूर्व उपाध्यक्ष विजयकुमार गच्छदारले कानुनी राज्य, संसदीय प्रजातन्त्रलाई स्थायित्व र राजनीतिकस्थिरता कायमका लागि नकांको काँधमा ठूलो जिम्मेवारी रहेको बताए।
उनले लामो इतिहास बोकेको कांग्रेससमक्ष रहेको विभिन्न प्रकारका चुनौती समाधान लागि वर्तमान अवस्थामा युवा पिँढीको साथमा सहयोग आवश्यक रहेको विचार व्यक्त गरे।
|
सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल, भोलि मन्त्रिपरिषद् विस्तार हुने काठमाडौं। मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।
हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ वटा मन्त्रालयको समेत कार्यभार छ। तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरुप प्रधानमन्त्रीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन्।
बैठकमा कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललगायतको उपस्थिति रहेको प्रेसविज्ञ तिमिल्सिनाले जानकारी दिए।
सो अवसरमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका थिए। सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि सरकारको पूर्णता जरुरी रहेको भन्दै प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेतालाई आग्रह गरेको बुझिएको छ।
काँग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन। काँग्रेसबाट थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन्।
विवादको कारण नेपाली काँंग्रेसले थप मन्त्रीहरुको नाम पठाउन नसकिरहेको अवस्थामा नारायणप्रसाद एनपी साउद भने परराष्ट्र मन्त्री बन्ने भएका छन्।
देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको काँग्रेसका एक नेताले बताए। प्रधानमन्त्री प्रचण्डले साउदको नाम राष्ट्रपति कार्यालयलाई बुझाइसकेका छन्।
आइतबार ३ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई पद तथा गोपनीयताको सपथ दिलाउने कार्यक्रम पनि तय भइसकेको छ।
कांँग्रेसले अन्य मन्त्रीको नाम भने पछि पठाउने भएको छ। शेखर कोइराला र गगन थापा समूहले सरकारको सहभागितामा सम्मानजनक स्थान खोजेपछि काँग्रेसको तर्फबाट नाम पठाउन ढिलाई भएको हो।
|
लोकतन्त्रको नयाँ परिभाषा गर्न जरुरी छ : महासचिव गुरुङ काठमाडौं । माओवादी केन्द्रका महासचिव देव गुरुङले लोकतन्त्रको रक्षाका लागि राष्ट्रियतालाई संगै लिएर लोकतन्त्रको नयाँ परिभाषा गर्न जरुरी रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित दिशा निर्देश प्रेस क्लबको २० औं बार्षिकोत्सव समारोहमा उनले लोकतन्त्र र राष्ट्रियता एक सिक्काको दुई पाटा भएको बताए । लोकतन्त्रको संस्थागत विकाससंग राष्ट्रियता जोडिएको र यी दुवै विषय अलग अलग नभएर एक आपसमा अन्तरसम्बन्धित भएकाले दुवैलाई संगै लिएर अगाडि बढ्नुपर्ने महाससचिव गुरुङको धारणा छ ।
‘लोकतन्त्र रक्षाका साथै राष्ट्रियताको रक्षालाई पनि संगै जोडेर लैजान जरुरी छ । राष्ट्रियताको पाटो रक्षा हुन सकेन भने लोकतन्त्रको रक्षा पनि हुँदैन् ।’ गुरुङले भने ।
महासचिव गुरुङले लोकतन्त्रको रक्षा भए मात्रै व्यक्तिको रक्षा हुनसक्ने बताउँदै लोकतन्त्र माथि गरिएको प्रश्न राष्ट्रियता, स्वाधीनता र व्यक्तिको स्वतन्त्रतासंग अन्तरसम्बन्धित भएको जिकिर गरे । धेरै शक्ति राष्ट्रहरु स्वाधीनतामा खुम्चिदै र कुण्ठित बन्दै गएकोे बताएका उनले सिंगो राष्ट्रको अधिकार र स्वाधीनताको लागि लोकतन्त्र र राष्ट्रियता घनिष्ट रुपमा एकअर्कामा जोडिएको बताए ।
उनले भने ‘राष्ट्रको अधिकारको प्रश्न खुम्चिनु भनेको आत्मनिर्णयको अधिकार खुम्चिनु हो । जनताको आत्मनिर्णयको अधिकार खुम्चिनु भनेको मुलुकको स्वाधीनता र अस्मिता समाप्त हुनु हो ।’ लोकतन्त्रको परिभाषा गर्दा नागरिकको स्वतन्त्रलाई परिभाषित गर्ने गरिए जस्तै राष्ट्रियताको स्वाधीनता र स्वतन्त्रताको लागि पनि परिभाषित गरेर अगाडि बढ्नुपर्ने समय आएको गुरुङको भनाइ छ ।
|
एनपी साउद परराष्ट्रमन्त्री बन्ने, भोलि सपथ काठमाडौं । विवादको कारण नेपाली काँंग्रेसले थप मन्त्रीहरुको नाम पठाउन नसकिरहेको अवस्थामा नारायणप्रसाद एनपी साउद भने परराष्ट्र मन्त्री बन्ने भएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको काँग्रेसका एक नेताले बताए । प्रधानमन्त्री प्रचण्डले साउदको नाम राष्ट्रपति कार्यालयलाई बुझाइसकेका छन् ।
भोलि आइतबार ३ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई पद तथा गोपनीयताको सपथ दिलाउने कार्यक्रम पनि तय भइसकेको छ ।
कांँग्रेसले अन्य मन्त्रीको नाम भने पछि पठाउने भएको छ । शेखर कोइराला र गगन थापा समूहले सरकारको सहभागितामा सम्मानजनक स्थान खोजेपछि काँग्रेसको तर्फबाट नाम पठाउन ढिलाई भएको हो ।
|
रास्वपा मयुरको प्वाँख टाँसेको कौवा होः महेश बस्नेत काठमाडौं। नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आजको राजनीतिको मूल कार्यभार समाज परिवर्तनको लागि संघर्ष गर्नु भएको बताएका छन्।
पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशनको समिक्षा एवं अन्तरक्रियाका लागि रिपोर्टर्स क्लब नेपालमा शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा संघ समाज परिवर्तनका लागि स्थापना कालदेखि नै निरन्तर क्रियाशील रहेको बताएका हुन्।
‘समाज परिवर्तनका लागि लाग्नु नै आजको राजनीतिक आन्दोलनको मूल कार्यभार हो भन्ने कुरा युवाहरुको छनोट हो। त्यसकारणले न्यायप्रेमीहरु युवा संघमा, सामाजिक परिवर्तन युवाहरुको काँधमा भन्ने नाराका रुपमा स्थापना कालदेखि नै युवा संघले आफूलाई उभ्याएको थियो। त्यसमा नै यो आजसम्म पनि अडिएको छ,’ साक्षात्कारमा बोल्दै उनले भने।
अहिले नेपाली राजनीतिमा दलाल पुँजीवादी शक्ति हाबी भएको उनको दाबी छ। दलाल पुँजीवादी शक्तिको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको बस्नेतको आरोप छ। साथै, कांग्रेस भ्रष्टीकरणको नेतृत्वकर्ता भएको उनको भनाई छ।
‘आजको समाजमा दलाल पुँजीवादीहरु हाबी भएको छ। आजको समाजमा नवउद्दारवादी शक्तिहरु हाबी भएका छन्। पुँजीवादी शक्तिहरुले राज्यको स्रोतसाधनको दुरूपयोग गरेको छ । नेपाली कांग्रेसले त्यसको लिड गरेको छ। कांग्रेस भ्रष्टीकरणको नेतृत्व गर्ने पार्टी हो भन्ने निश्कर्ष राष्ट्रिय युवा संघ नेपालले निकालेको छ,’ बस्नेतले भने ।
त्यसैगरी, नेकपा (माओवादी केन्द्र) ले भड्किला सपना देखाएर जनयुद्धको माध्यमबाट समाज परिवर्तनको प्रयास गरेको उनको आरोप छ। संघीयताको गलत व्याख्या र जातीय राज्य माओवादीको अतिवादी चिन्तन भएको उनको भनाई छ। माओवादी र केही मधेशवादी दलहरुले कम्युनिष्ट पार्टीका नाममा अधिनायकवादी चरित्रको विकास गरेको बस्नेतको आरोप छ।
‘क्रान्तिका भड्किला सपना देखाएर जनयुद्धको माध्यमबाट समाज परिवर्तन गर्ने, नयाँ नेपाल निर्माण गर्ने, क्रान्तिको रुपान्तरण गर्ने, संघीयताको गलत ढंगले व्याख्या गर्दै आत्मनिर्णयका अधिकारसहित राज्य छुट्याउन सकिने, जातीय राज्य निर्माण गर्ने अतिवादी चिन्तन बोकेको माओवादी र केही मधेशवादी दलहरु जसले कम्युनिष्ट पार्टीका नाममा अधिनायकवादी चरित्रको विकास गर्न खोजे। यो प्रवृत्तिका कारण आज समाजवादउन्मुख अर्थतन्त्र विकासको अभियानमा बाधा पुगेको छ भन्ने निष्कर्ष राष्ट्रिय युवा संघ नेपालको हो,’ उनले भने।
धर्म र राजतन्त्रको आश्वासन बाँडेर सकिएको सामन्तवादको अवशेष अहिले जुर्मुराईरहेको उनको भनाई छ। अहिलेको व्यवस्थाविरोधी शक्ति पनि परिवर्तनको बाधक हो भन्ने युवा संघ नेपालको नवौं महाधिवेशनको निष्कर्ष रहेको बस्नेतले बताए। युवाहरुलाई रचनात्मक क्षेत्रमा र सामाजिक न्यायको क्षेत्रमा जोड्ने कार्यभार राष्ट्रिय युवा संघको काम भएकोसमेत उनले बताए।
साथै, उनले प्रचण्ड प्रवृत्तिले अधिनायकवादी चरित्र र अपराधी इतिहास बोकेर अन्तर्राष्ट्रिय शक्तिको चाकडी गरिरहेको गम्भीर आरोपसमेत लगाएका छन्। माओवादीले सत्ताको आडमा गम्भीर मानवअधिकार उल्लङ्घनका घटनालाईसमेत छाँयामा पार्न खोजेको उनको आरोप छ।
‘अधिनायकवादी चेताव बोकेको, अपराधी इतिहास बोकेको जसले शान्ति प्रकृयाको सारा कार्यक्रमहरुलाई अवरोध गर्दै, वृहत शान्ति सम्झौतालाई १६ वर्षसम्म स्थगन गर्दै आज हत्या, हिंसा र अपराधका कर्महरुलाई गायब गर्दै, गम्भीर मानवअधिकार उल्लङ्घनका कुराहरुलाई छाँयाँ पार्दै र अन्तराष्ट्रिय शक्तिहरुको चाकडी गर्दै अगाडि बढ्न खोजेको प्रचण्ड प्रवृत्ति आजको नेपाली राजनीतिमा गलत प्रवृत्ति हो,’ बस्नेतले भने।
अहिलेको कांग्रेसमा भ्रष्टाचार प्रवृत्ति मौलाइरहेको बस्नेतको आरोप छ। कांग्रेस कांग्रेसजस्तो भन्दापनि भाउजु प्रवृत्ति, आरजु प्रवृत्ति र भ्रष्टाचारीलाई संरक्षण गर्ने दल बनेको उनको आरोप छ। कांग्रेसका कारणले गर्दा देश श्रीलङ्काको अवस्थामा पुग्ने बेला आएको बस्नेतको गम्भीर आरोप छ।
‘नेपाली कांग्रेस, कांग्रेसभन्दा पनि भाउजु प्रवृत्ति, आरजु प्रवृत्ति। जसले भ्रष्टाचारलाई संरक्षण गर्छ। प्रहरी प्रशासनको बढुवामा घुसको अवधारणा बनाउन खोज्छ। घुस खाएर सरुवा÷बढुवा गर्छ। ठूलठूला आयोजनाहरु सेटिङमा मिलाउँछ र करोडौं कमिसन बाँड्ने गर्छ,’ उनले भने।
कांग्रेसका कारणले नै आज नेपालको उद्योग÷धन्दा चौपट भएको उनको टिप्पणी छ। ती तत्वहरुलाई कमजोर बनाउन आवश्यक रहेको उनले बताए। साथै, उनले आफ्नो पार्टी अहिले सत्ताको फोहोरी खेलमा सहभागी नहुनेसमेत स्पष्ट पारे।
फरक प्रसंगमा उनले काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले आलोचनालाई पनि स्थान दिन आवश्यक रहेको सुझाव दिए। ‘बालेनजी नयाँ जोस र जाँगर बोकेर आएको नयाँ पुस्ताको नेतृत्व हो भनेर काठमाडौं महानगरले स्विकारेपछि हामी कसैले पनि हिच्किचाउन पर्ने अवस्था छैन। मेरो बालेनजीप्रतिको टिप्पणी आलोचनालाई पनि तपाईँले स्थान दिनुस् भन्ने हो। कहिलेकाही उहाँले गरेका काममा आएका टिप्पणी र अनुभवी साथीहरुले दिएका सुझावहरुलाई आत्मसात् गर्नुस् भन्ने मेरो सुझाव हो,’ बस्नेतले भने।
बस्नेतले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मयुरको प्वाँख टाँसेको कौवा भएको टिप्पणी गरेका छन्। रास्वपाले नक्कली राष्ट्रवादको खेती गरिरहेको उनको आरोप छ।
यही बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार रवि लामिछानेले तेस्रो स्थानमा मत पाउने उनको दाबी छ। चितवन–२ मा एमाले र कांग्रेसबीच प्रतिष्पर्धा हुने र अन्ततः एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको जीत निश्चित् रहेको बस्नेतको दाबी छ।
‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो। यो कुरा भन्न हामी हिच्किचाउन हुन्न। चितवन–२ का जनता यसपटक नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन्।
‘त्यहाँ नेकपा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ । रविजी त्यसलाई पछ्याउनुहुन्छ। राजनीतिमा जनताले कौवाले जिताए भने फेरि जनतालाई सम्झाउनुपर्छ। चितवनको जनता सचेत छन्। चितवनका जनता त्यति मुर्ख छन्जस्तो मलाई लाग्दैन,’ उनले भने।
|
एकीकृत समाजवादीका मन्त्रीलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कार्यकर्ताहरूसँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ ।
सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले सो व्यवस्था मिलाउन समय निर्धारण गरिएको उपमहासचिव गङ्गालाल तुलाधरले बताए । सबै नेता तथा कार्यकर्ताको सिंहदरबारमा जान पहुँच नपुग्ने हुँदा यस किसिमको वैकल्पिक व्यवस्था गरिएको हो । आइतबार र बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल तथा सोमबार र शुक्रबार सोही समयमा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट्ने समय मिलाइएको छ ।
यसअघि नेकपा (माओवादी केन्द्र) ले पनि प्रधानमन्त्री र पार्टीबाट सरकारमा गएका मन्त्रीलाई पार्टी कार्यालयमै कार्यकर्तासँग भेट्ने व्यवस्थाको गरिसकेको छ ।
|
संस्कृत विद्या वैज्ञानिक छः मोहन वैद्य देउखुरी। नेकपा (माओवादी क्रान्तिकारी)का महासचिव मोहन वैद्यले आर्दशवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको बताएका छन्।
उनले भने, “संस्कृत विद्याभन्दा सबै कर्मकाण्डी भन्ने भ्रम छ। यो अकाट्य कर्मकाण्डा हो भन्ने बुझाइ छ, त्यो बिल्कुलै गलत हो। संस्कृत भनेको आदर्शवाद हो भौतिकवाद पनि हो। यसको महत्व र गरिमा नबुझ्दा धेरैलाई गलत भ्रम परेको हो।”
नेपाल समाजमा परम्पराका निरन्तरता रहेको हुँदा यसमा नवीनता तिर पनि जानुपर्ने अवस्था रहेको आवश्यकता औँल्याए।
आफ्नी आमा जानका वैद्य पोखरेलको शत वर्ष प्रवेशको अवसरमा आयोजित अभिनन्दन कार्यक्रमलाई शुक्रबार घोराहीमा सम्बोधन गर्दै उनले संस्कृत विद्याका बारेमा बुझाइ स्पष्ट नहुँदा धेरैलाई कर्मकाण्डी भन्ने भ्रम रहेको जिकिर गरे।
देश र समाज रुपान्तरणको अभियानमा लामो समयदेखि होमिने तागत र हौसला ९७ वर्षीया आमा जानका वैद्यबाट आफूले पाएको बताउँदै महासचिव वैद्यले संस्कृत विद्यामा धेरै कुरा प्रमाणित र वैज्ञानिक रहेको विश्वास व्यक्त गरे।
उनले संस्कृत भाषाका बारेमा राम्रो ज्ञान नहुँदा पनि बुझाइमा समस्या भएको बताउँदै यसका जानकारले पनि गलत प्रयोग गर्न खोज्दा समस्या भएको हुन सक्ने तर्क गरे।
“हामीले बोल्ने अङ्ग्रेजी, हिन्दी, उर्दु, मैथिली भाषामा पनि थुप्रै विद्या हुन्छन्। यसमा ज्ञान हुन्छन्। त्यसैगरी, संस्कृत विद्यामा पनि विज्ञान छ, ज्योतिष छ, गणित छ, सबै चिज छ। त्यसैले संस्कृत विद्या वैज्ञानिक छ”, उनले भने, “हिजोको पूर्खाले गरेको काम आजको भौतिकवादी कुरा हो। तर, यसमा कतिपय संस्कृतका विद्वानले संस्कृत कुराका पुराना कुरालाई मात्रै उठान गरेर गलत अभ्यास गरे। यसमा पनि नवीन कुरा छ। विज्ञान छ, आदर्शवाद छ। भौतिकवाद, द्वन्द्ववाद छ भन्ने कुरा बुझाउन जरुरी छ।”
उनले नेपालमा युग सुहाउँदो संस्कृति रुपान्तरणको अभियानमा सबै सकारात्मक रुपमा अघि बढ्नुपर्ने बेला आएको बताए। जीवित रहँदासम्म आफ्ना आमाबुवालाई राम्ररी हेरचाह, रेखदेख नगर्ने, मरेपछि श्राद्ध गर्नुभन्दा बाँच्दासम्म सम्मान गर्न जरुरी रहेको उनको भनाइ छ।
उनले आफ्ना पितृलाई सम्मान गरेर नयाँ संस्कृतिको जग बसाल्न खोजेको बताउँदै परम्परागत संस्कृतिले विकृति निम्त्याएको हुँदा नवीन संस्कृतिको अभ्यासको थालनी आफूहरुले गरेको बताए। ठूलो मान्छे होइन असल मान्छे बनाउन आफ्ना सन्तानलाई सिकाउने काम जानका वैद्यले गरेको कार्यक्रमका वक्ताको भनाइ थियो।
सामाजिक, सांस्कृतिक शैक्षिक आन्दोलनका लागि छोराहरूलाई शिक्षाको ओज दिएर आमाले दायित्व पूरा गरेको उनीहरूको भनाइ थियो। साबिक ढिकपुर–७ अस्परी निवासी हाल घोराही–१५ रतनपुर निवासी जानका वैद्य पोख्रेलका ७ भाइ छोरा र १ छोरी छन्। जसमध्ये मोहन वैद्य जेठा छोरा हुन्।
|
दुईपटक संसद ‘कोल्याप्स’ गर्ने र विखण्डनको नारा बोक्ने दल लोकतन्त्रको लागि घातक हुन्ः उपेन्द्र यादव बारा। बारा क्षेत्र नं. २ का उम्मेदबार तथा जसपा अध्यक्ष उपेन्द्र यादवले दुई पटक संसद विघटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रको लागि निकै घातक रहेको टिप्पणी गरेका छन्।
बाराको पचरौता पालिकामा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘आफ्नो नीहित स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले दुई पटक संसद विघटन गर्यो, अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेश विखण्डन नै रहेको छ, यी दुवै दल लोकतन्त्र र सिंगो मुलुकको अत्यन्तै घातक छन्।’
यी दुवै दललाई परास्त नगरेसम्म लोकतन्त्र र मुलुक सुरक्षित हुन नसक्ने अध्यक्ष यादवको दाबी छ।
कुनैपनि विधेयक संसदबाट पारित भईसकेको अवस्थामा त्यसलाई रोक्ने अधिकार कसैको नरहेको र नागरिकता विधेयक रोकेर पूर्वराष्ट्रपतिले लाखौ युवालाई अवसरबाट बञ्चित गराएको उनले आरोप लगाए।
बारा जिल्ला इतिहास निर्माण गर्ने किल्ला रहेको टिप्पणी गर्दै काठमाडौंलाई बसोबास योग्य बनाउने बाराबासी नै रहेको जानकारी गराउँदै अध्यक्ष यादवले बाराकै नागरिक हरिसिंह देवले काठमाडौको सभ्यता र संस्कृति स्थापित गराएको दाबी गरे।
मधेश जनविद्रोहमा बाराबासीको ठूलो योगदान रहेको चर्चा गर्दै त्यही योगदानको प्रतिफल स्वरुप आज मधेश प्रदेशको मुख्यमन्त्री तथा मुलुककै दोस्रो शीर्ष स्थान उपराष्ट्रपति पनि बाराबासीले पाएको उनले उल्लेख गरे।
प्रतिगमनकारी शक्ति विरूद्ध र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठबन्धन बनेको जिकिर गर्दै उनले विभिन्न कुतत्वहरूले संघियता र लोकतन्त्र माथि प्रहार गरिरहेको जिकिर गर्दै अध्यक्ष यादवले मुलुकको हित र लोकतन्त्रको रक्षाको लागि गठबन्धनको साझा उम्मेदवारहरुको विजय अपरिहार्य रहेको तर्क गरे।
जनतामा एकता र गठबन्धन मजबुत रहेसम्म लोकतन्त्र माथि कुनै पनि प्रकारको खतरा आउन नसकने ठहर गर्दै अध्यक्ष यादवले जात जातिकोे कुरा गरेर जनता भाँड्ने भिडाउने कार्य गरी लोकतन्त्रलाई सखाप पार्न अनेक तत्वहरु लागिपरेको जिकिर गरे।
|
काठमाडौं महानगरमा आजदेखि अनलाईन नक्सा पास सुरु : विचौलियाका दिन गएको मेयर साहको दाबी काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले, अब विचौलिया प्रवृति अन्त्य हुने दाबी गरेका छन् ।
शुक्रबार एक सन्देश जारी गर्दै मेयर साहले, महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेको जानकारी दिँदै अब विचौलिया प्रवृति सकिएको घोषणा गरेका हुन्।
भिडियो सन्देशमा उनले भनेका छन् ‘ काठमाडौँ महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेका छौँ । यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ । त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ । यसले पहिले २–३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने छ । यसका लागि सर्भरको स्तरोन्नतिसहीत सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको छ । यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ ।’
|
देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रुपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताएका छन् ।
प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा उनले सचरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सकेमात्र प्रणाली र व्यवस्था परिवर्तनको जनताले महशुस गर्न सक्ने बताए । ।
“राजनैतिक प्रणाली र व्यवस्था परिवर्तनले मात्र पुग्दैन । आजको प्रदूषित राजनीतिलाई सफा गर्न जरुरी छ,” उपप्रधानमन्त्री श्रेष्ठले भने, “चरित्रवान, स्वच्छ र निस्वार्थ व्यक्तिलाई राजनीतिमा स्थापित गरेर र राजनीतिलाई सफा गरेर मात्र समाजको रुपान्तरण र समृद्ध नेपाल बनाउन सक्छौँ ।” उनले नेतृत्वको चरित्र निर्माणका लागि बौद्धशिक्षा महत्त्वपूर्ण हुने बताए ।
उनले गृह मन्त्रालयअन्र्तगत ध्यानको शिविर नियमितरुपमा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । उनले भिक्षुणी धम्मवती गुरुमाको धार्मिक तथा सामाजिक योगदान प्रशंसनीय भएको बताउँदै भने, “उहाँको योगदानका आधारमा उहाँ नेपालको अन्तर्राष्ट्रिय धर्मदूत हुनुहुन्छ ।”
धम्मपूजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डङ्गोलले धम्मवती गुरुमाको बुद्धधर्मको प्रचारप्रसार र सामाजिक क्षेत्रमा योगदानबारे चर्चा गरिन् । उनले भनिन्, “झण्डै २० वर्षअघि मैले उहाँको शिष्य बन्ने अवसर पाएको थिए । म राजनीतिमा प्रवेश गर्नुको प्रेरणा पनि उहाँ नै हो ।” उपमेयर डङ्गोलले महानगर धर्मकीर्ति विहारको स्थापना र सञ्चालनमा सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् ।
विक्रम संवत् १९९१ मा ललितपुरमा जन्मीएकी भिक्षुणी धम्मवतीको रुपमा बौद्धज्ञान बाड्दै आएकी छन् । धम्मवती गुरुमाले नेपालमा बौद्ध शिक्षाबारे सबैलाई जानकार गराउनुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा धर्मकीर्ति विहार संरक्षण कोषले ‘धम्मवती धम्म प्रशिक्षण परियोजना’को धोषणा गरेको छ ।
|
पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानको नाम हटाउने एकीकृत समाजवादीको निर्णय काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानको नाम हटाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टी सचिवालय बैठकले पार्टी परित्याग गरेका पार्टीका नेता न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
यसअघि पार्टीमा नै रहेका बेला न्यौपानेको कुरालाई प्रतिवाद गर्नुपर्छ भन्ने नलागेको उनले बताए । खतिवडाले न्यौपानेले लगाएका आरोपहरु खण्डन गर्न पनि लायक नरहेको जिकिर गरे । न्यौपानेले पेश गरेको प्रस्ताव पार्टीको नेतृत्व र भावनाबिपरित रहेको उनको भनाइ छ । त्यस्तै सचिवालय बैठकले आगामी बैंशाख ९ गते देशव्यापी रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए ।
उनले काठमाडौंमा केन्द्रीय कार्यक्रम गर्ने र प्रत्येक प्रदेश र जिल्लामा आफ्नो अनुकुलतामा कार्यक्रम गर्न निर्देशन दिने निर्णय भएको बताए ।
|
पार्टी सरकारमा रहेपनि आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा बाँकी नै छ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा बाँकी नै रहेको टिप्पणी गरेका छन् ।
पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुक्रबार पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘संविधान सभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, विर्तक गरेर यसलाई कसरी असफल र उल्ट्याउन सकिन्छ र यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ ? भन्ने कसरत ठूलै छ । त्यो ठूलै छ ।’
संविधान सभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई समेत अहिले उल्ट्याउने खेल भइरहेको उनको टिप्पणी छ । विभिन्न तर्क, वितर्क गरेर असफल बनाउने र उपलब्धि उल्ट्याउन प्रयास भइरहेको बताएका उनले सजग रहन सबैलाई आग्रह गरे ।
उनले भने ‘अहिले हामी सरकारको नेतृत्वमा छौं, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, मैले सबै कमरेडहरुलाई बुझिनेगरी भन्न चाहन्छु, यो स्थिति सहज छैन । हामीले बुद्धि नपु¥याउने, जिम्मेवारी बोध नगर्ने हो, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ । त्यसकारण पनि पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाईमा उठाउन जरुरी छ । सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौति छ । त्यसैले योजनावद्ध गर्नेकुरा सोचिएको हो । यसलाई कार्यान्वयन गर्दै जानुपर्छ ।’
प्रचण्डले आगामी दिनमा नेकपा माओवादी केन्द्रले नेताहरुको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने भन्दै बलियो पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
|
चन्द्र भण्डारीको भिडियो शुभकामना सन्देश : चाँडै नेपालमै स्वास्थ्य उपचार गर्नेछु काठमाडौं । दुई महिनादेखि भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गरेका छन् ।
गत ३ फागुनमा खाना पकाउने ग्यास लिएर भएर भएको आगलागीमा परेर जलेपछि भारतमा उपचार गराइरहेका सांसद भण्डारीले भिडियो सन्देशमार्फत नयाँ वर्षको सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
सबैको माया सद्भाव, प्रेम र प्रार्थना कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउँदै उनले चाँडै नेपालमै आएर स्वास्थ्य उपचार गर्ने बताएका छन् ।
|
प्रचण्डको अक्षमता लुकाउन व्यवस्थामाथि संकटको दोषारोपण काठमाडौं। नेपालको लोकतान्त्रिक गाणतान्त्रिक व्यवस्थाका सूत्रधार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थामाथि नै संकटको सांकेतिक उद्घोष गरेका छन्।
उनले शुक्रबार नयाँ वर्षको शुभारम्भ भएको दिनमा गरेको वर्तमान व्यवस्थामाथिको संकटको संकेतले राजनीतिक वृत्तमा फेरि आशंकाको बिजारोपण गरेको छ।
पार्टी कार्यालयमा नेता तथा कार्यकर्तासँगको भेटमा अहिलेको परिवर्तन उल्ट्याउन व्यापक चलखेल भएको र वर्तमान राजनीतिक व्यवस्था असहज अवस्थामा रहेको उनले औंल्याएका छन्।
उनले पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा भने, ‘पार्टीले सरकारको नेतृत्व गरेको छ। हामी मन्त्री प्रधानमन्त्री छौं। परिवर्तन उल्टिँदैन जस्तो लागेको होला तर पस्थिति सहज छैन। व्यवस्था असफल बनाएर परिवर्तन उल्ट्याउने व्यापक चलखेल छ।’। उनका अनुसार वर्तमान व्यवस्था खतरामुक्त छैन।
तत्कालीन नेकपा(माओवादी) द्वारा प्रचण्डको नेतृत्त्वमा सञ्चालित दश वर्षे जनय्द्धको उपज वर्तमान व्यवस्था हो तर सोही व्यवयस्थाका सूत्रधार प्रचण्डले नै व्यवस्थामाथि संकटपूर्ण अवस्थाको सांकेतिक सम्भावना दर्शाउनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।
उहाँको पृष्ठभूमि भूमिगत राजनीति भएकाले हरेकलाई षड्यन्त्र देख्नु उहाँको विशेषता हो। आफ्नो चौतर्फी असफलता र सरकारको कामकारबाहीको सुस्तताको बचाउमा विषयान्तर गर्नुभएको हो।
उनले लामो समयदेखि वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक संघीय प्रणालीसहितको वर्तमान व्यवस्थाको वकालत गर्दै यसको सबैले अपनत्वबोध गराउने बताउँदै आएका थिए।
माओवादीले उनकै नेतृत्वमा सञ्चालन गरेको जनयुद्ध नै वर्तमान व्यवस्थाको उपज भएको भन्दै त्यसको स्वामित्व आफूले लिने बताउँदै आएका उनले द्वन्द्वकालीन विषयका सकारात्मक र नकारात्मक दुबै परिणामको भागिदार आफू रहेको उनको दाबी थियो।
द्वन्द्वकालीन घटनासँग सम्बन्धित विषयलाई लिएर उनीमाथि व्यक्तिगत तवरले मुद्दासमेत सर्वोच्चमा दर्ता गरिएको थियो। सोही कारणले विभाजित माओवादी घटकहरु एक ठाउँमा देखिएका थिए।
तथापि द्वन्द्वकालीन मुद्दा राजनीतिक रुपमा टुंगोमा लगाउने गृहकार्यमा दलहरु जुटिरहेका छन्। विगत १६ वर्षयता नेपालको शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको नेकपा (माओवादी) आज अनेकौं घटकमा विभाजित बनेको छ। शक्तिक्षिण हुँदै गएको कारणले समेत पहिलेभन्दा संसदीय अंकगाण्तिमा पछि परेपनि यसपाली सरकारको नेतृत्व गर्ने अवसर पाएको छ।
यद्यपि प्रचण्ड सरकारको नेतृत्व गरेपनि व्यवस्थामाथि नै संकट आएको उनको स्वीकारोक्तिले उनी प्रधानमन्त्री रहेपनि शक्तिशाली नरहेको दर्शाउँछ।
उनको पछिल्लो अभिव्यक्तिले व्यवस्था नै संकटमा पर्न लागेको आशय प्रकट गरेकाे छ । साेही आशंकाले राजनीतिक वृत्तमा तरंग पैदा गरेकाे छ। यसका सम्भावित परिदृश्यसमेत केही समय अघिदेखि नेपाली राजनीतिमा देखिएको रुपमा अथ्र्याइएको छ।
माओवादी आफैंले राजतन्त्रविरुद्ध सुरु गरेको जनयुद्धले वर्तमान व्यवस्थाको आधार तय गरेको हो। तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरकुंश कदमले संसदीय पार्टीहरु रुष्ट रहेको अवस्थामा माओवादीले उनीहरुसँग सहकार्य गरी बाह्र बुँदे हुँदै शान्तिसम्झौतामार्फत अहिलेको व्यवस्थाको उदय भएको हो।
२०६३ मंसिर ५ मा भएको तत्कालीन सरकार विद्रोही माओवादी दुबै पक्षबीच भएको शान्ति सम्झौताको जगमा २०६४मा सम्पन्न संविधानसभाको निर्वाचनपछिको २०६५ जेठ १५ गतेको पहिलो बैठकले नेपालबाट संवैधानिक राजतन्त्रको अन्त्य गरेको थियो।
त्यसपछि राजनीतिक व्यवस्थालाई संस्थागत मान्यता २०७० मा सम्पन्न भएको दोस्रो संविधानसभाले निर्माण गरेको नेपालको संविधान २०७२ मा लिपिवद्ध गरेपछि नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक संघीय शासनव्यवस्थामा प्रवेश गरेको हो।
देशमा गणतन्त्र आएको लामोसमय बितिसकेपछि पनि जनताले आधारभूत रुपमा त्यसको प्रत्यक्ष अनुभूत गर्न नपाउँदा असन्तुष्टिका स्वरहरु विस्तारै बढ्दै गएको छ। वर्तमान दल र व्यवस्थाप्रति वितृष्णा पैदा हुँदै गएको अवस्थामा पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताले समेत दलहरु सशंकित रहेको बताइन्छ।
शासनसत्ताबाट बहिर्गमन भएको लामो समयपछि पूर्व राजाको सक्रियता बढेको छ। उनले केही समय अगाडि सार्वजनिक कार्यक्रममा उपस्थित भएर आफ्नो अस्तित्व प्रकट गरिसकेका छन्। त्यतिमात्रै होइन उनले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै राजसंस्था र दलहरु सहकार्य गनुपर्ने टड्कारो अवस्था आएको बताएका थिए।
उनले नेपालको राजनीतिमा राजसंस्थाको योगदानको बयान गर्दै गाण्तान्त्रिक व्यवस्थाका कमजोरीलाई छरपष्ट पारेका थिए। उनले देशको वर्तमान संकटको निराकरण गर्न दल र राजसंस्था मिल्नुको विकल्प नरहेको प्रष्ट ढंगले शुभकामना सन्देशमा व्यक्त गरेका थिए।
पूर्वराजा शाहले गणतन्त्रकालमा सुधारका संकेत नदेखिएकाले व्यवस्थाको विकल्पमा दलहरुले आफूसँग सहकार्य गर्नुपर्ने उनको भनाइ थियो।
सोही कारणले समेत दलहरु व्यवस्थामाथि नै खतरा रहेको औंल्याउन थालेको समेत चर्चा छ। तर, वामपंथी राजनीतिका जानकार नागरिक अगुवा श्याम श्रेष्ठ व्यवस्थामाथि कुनै खतरा रहेको स्वीकार गर्दैनन्।
उनले दल र तीनका नेताहरुको क्रियाकलापले व्यवस्थामा असर परेको औल्याउँदै डिसी नेपालसँग भने, ‘व्यवस्थामाथि कतैबाट खतरा छैन तर नेताका क्रियाकलापले असन्तुष्टि बढेको छ। नेता संकटमा परेका छन्। व्यवस्था होइन।’
उनले राजनीतिक दलका क्रियाकलापले जनताहरु आर्जित भएकाले त्यसको प्रभावले वर्तमान व्यवस्थामा वितृष्णा बढेको बताए। प्रचण्डको पछिल्लो व्यवस्था उल्टयाउने गतिबिधि भइरहेको आशयको अभिब्यक्ति आफ्नो कमजोरी लुकाउने र ध्यान अन्यत्र विकेन्द्रीत गर्ने चेष्टा भएको श्रेष्ठको ठहर छ।
उनले व्यवस्थामाथि खतरा नरहेको दाबी गर्दै नेताहरुले सहानुभूति बटुल्ने अभिप्रायले कमजोरी ढाकछोप गर्न प्रचण्डले विषयान्तर गरेको आरोप लगाए। उनले पूर्वराजाबाट वर्तमान व्यवस्थामा कुनै खतरा नरहेको प्रष्ट्याए।
वाम राजनीतिका जानकार श्रेष्ठको भनाइमा अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य सहमत छन्। उनले प्रधानमन्त्री रहेका प्रचण्डले कार्यसम्पादनमा आशातीत प्रगति गर्न नसकेर व्यवस्थामाथि संकटको दोषारोपण गरेको आरोप लगाए।
प्रधानमन्त्री प्रचण्डले आफ्नो अक्षमता लुकाउन राजनीतिक व्यवस्थाविरुद्ध चलखेल भएको बताएको विश्लेषक आचार्यको ठहर छ।
आचार्यले डिसी नेपालसँग भने, ‘उहाँको पृष्ठभूमि भूमिगत राजनीति भएकाले हरेकलाई षड्यन्त्र देख्नु उहाँको विशेषता हो।’ उनले अगाडि थपे, ‘आफ्नो चौतर्फी असफलता र सरकारको कामकारबाहीको सुस्तताको बचाउमा विषयान्तर गर्नुभएको हो।’
उनले वर्तमान व्यवस्थामाथि कतैबाट पनि संकट नरहेको प्रष्ट पारे। व्यवस्थामाथिको संकट देखाएर प्रधानमन्त्रीले आफ्नो अक्षमता लुकाएको उनको टिप्पणी छ।
|
नेपाल शिक्षक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सोमनाथ गिरी निर्वाचित काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् ।
गोकर्णबहादुर बानियाँलाई सात मतले उछिनेर गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष चयनका लागि भएको मतदानमा ६०७ मत खसेको थियो। जसमध्ये गिरीले ३०५ मत ल्याएर निर्वाचित हुँदा बानियाँले २९८ मत ल्याएर पराजिजत हुन पुगेका हुन् ।
महाअधिवेशनले वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही र उपाध्यक्ष महिलामा धनकला भण्डारी निवाचित गरेको छ । यसैगरी कोशी प्रदेश तर्फ उपाध्यक्षमा वीरेन्द्रकुमार खड्का, मधेश प्रदेशतर्फ उपाध्यक्षमा छोटेलालप्रसाद तेली शाह, बागमती उपाध्यक्षमा सुन्दर पन्त, गण्डकी उपाध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनी उपाध्यक्षमा प्रेमनारायण भण्डारी, कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का निर्वाचित भएका छन्।
महासचिव ज्ञानेन्द्रबहादुर रावल, महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमिल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल चयन भएका छन् ।
|
‘नेपालका लागि उदाहरण बन्न सक्छ कोरियाको समृद्धिको पाठ’ काठमाडौं। सन् १९६० को दशकतिर हालको दक्षिण कोरिया विश्वका सबैभन्दा गरिब राष्ट्रमध्ये एक थियो। नेपालसँग त्यतिबेला समान आयस्तर भएको दक्षिण कोरियाले साढे पाँच दशकमै यति धेरै आर्थिक विकासको फड्को मार्दै एसिया र विश्वकै ठूलो अर्थतन्त्र हुने राष्ट्र भएको छ।
नेपालीको प्रतिव्यक्ति आयभन्दा कोरियाली जनताको आय कैयौँ गुणा बढी छ। आर्थिक विकासमा फड्को मार्नुको मुख्य कारण राजनीतिक नेतृत्वको दूरदर्शिता, कामप्रति जनताको निष्ठा र राष्ट्रिय भाव नै भएको दक्षिण कोरियाका पूर्वमन्त्री डा ली नाम की बताउँछन्।
कोरियन सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायमा झन्डै चार दशक कार्य गरेका पूर्वमन्त्री लीले देशको विकास हुन त्यहाँको बलियो र दूरदर्शी नेताको मुख्य भूमिका हुने र कोरिया पनि त्यही कारण आज विश्वको विकसित राष्ट्र बन्न सकेको बताउँछन्।
नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्र्याउन सकिने डा लीको भनाइ छ। हाल कोरिया–एसिया इकोनमिक कोअपरेसन एसोसिएसनका अध्यक्षसमेत रहेका लीले आफ्नो देशले पनि पहिले वैदेशिक सहायता, प्रविधि र लगानी ल्याएर विकास गरेको स्मरण गर्छन्।
नेपालको विकासका लागि पूर्वाधार, यातायात र विद्युतीकरणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनी सीमित स्रोतलाई परियोजना लक्षित लगानीमा जोड दिनुपर्नेमा जोड दिन्छन्। प्रस्तुत छ, गैरअवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को समन्वयमा साताव्यापी नेपाल भ्रमणमा आएका पूर्वमन्त्री लीसँग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गरेको कुराकानीको अंश :
छोटो अवधिमै कोरिया समृद्ध हुनुको रहस्य के होला ?
उत्तर र दक्षिण कोरियाबीच सन् १९५० देखि १९५३ सम्म लगातार तीन वर्षसम्म चलेको युद्धबाट धेरै स्रोत साधन नष्ट भए भने धेरैको ज्यान गयो । पैँतीस वर्षसम्म जापानको उपनिवेशमा रहँदा जापानी सेनाको चरम दमन र शोषण सहनुपरेको थियो । १९४५ मा जापानबाट स्वतन्त्र हुँदा छाएको खुसी १९४८ मा उत्तर र दक्षिण कोरिया विभाजनसँगै फेरि हाम्रा दुःखका दिन सुरु भएका थिए ।
युद्धपश्चात् व्याप्त गरिबी, अभाव र भोकमरीबाट हाम्रा पुर्खाले नराम्ररी दुःख भोग्नुपरेको थियो । त्यतिबेला अमेरिकाले दिएको मकैको पीठोलाई पानीमा उमालेर खाई भोक टार्नुपरेको थियो । सन् १९५५ ताका नेपालले कोरियालाई खाद्यान्नलगायत सहयोग गरेको सम्झन चाहन्छु ।
यस्तो अवस्थाबाट कोरियालाई आजको अवस्थामा लैजान तत्कालीन राष्ट्रपति पार्क जङ हीको ठूलो योगदान छ । जनतालाई जसरी पनि भोको राख्ने छैन भन्ने उहाँको अठोट थियो । स्वतन्त्र र स्वाभिमानपूर्वक बाँच्नका लागि आर्थिक अवस्थामा सुधार ल्याउनुपर्छ भन्ने उहाँको दूरदर्शिता नेतृत्व क्षमता र दृढ इच्छाशक्तिले नै कोरियालाई आधुनिक र विकसित राष्ट्रतिर दोहर्याउन सफल भयो ।
देश विकासका लागि राजनीतिक स्थिरता, कुशल र दूरदर्शी राजनीतिक नेतृत्व चाहिन्छ भन्ने कुरा कोरियाले आज पुष्टि गरेको छ । त्यतिबेला उहाँले योजना विभाग बनाएर देशको आवश्यकताअनुसारको योजना तर्जुमा, बजेट व्यवस्था र प्रभावकारी कार्यान्वयनका लागि अनुगमन प्रणालीमा जोड दिए। मैले त्यही आयोगमा रहेर काम गर्ने अवसर पाएँ । त्यतिबेला हामीहरू चौबिसै घण्टा अफिसमा बसेर विभिन्न योजना बनाउने काम गर्थ्याैँ ।
देश विकास गर्न निर्यातमा जोड दिनुपर्छ भन्ने उहाँको सोच थियो । यसका लागि सडक सञ्जाल विस्तार गर्नुपर्थ्यो । उहाँकै निर्देशनमा पुसानदेखि सोलसम्मको झन्डै चार सय किमीको सडक डेढ वर्षमा तयार भयो । त्यतिबेला त्यो सडक निर्माण गर्न करिब चार हजार लाख डलर चाहिन्थ्यो तर राज्यसँग थिएन । उहाँले २० हजार नर्सलाई जर्मनमा काम गर्न पठाएर ऋण ल्याई सडक बनाइएको थियो । यसपछि सरकारी र निजी कम्पनीले निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न थाले ।
राष्ट्रपतिले हरेक महिना बैठक राखेर निर्देशन दिनुहुन्थ्यो । निर्यात गर्ने उद्योगलाई सस्ते ब्याज, कर छुट र विभिन्न सहुलियत दिइएकाले धेरै कम्पनी स्थापना भए । १९७० को दशकमा टेक्सटाइल्सजस्ता साना उद्योगबाट सुरु भएको कोरियाको व्यापार व्यवसाय असीको दशकमा आउँदा फलाम स्टिल, अटोमोबाइल, मेसिनरी सामान र सेमी कन्डक्टर्सका सामानहरूको उत्पादन गरी निर्यात गर्ने सम्म पुगिसकेको थियो भने नब्बेको दशकमा स्टिल, अटोमोबाइल मेसिनरी सामान, सेमी कन्डक्टर्सका सामानहरूका साथै पानीजहाज, इलेक्ट्रोनिक्स, सूचना प्रविधिसम्बन्धी सामग्री निर्यात गर्न थालेको छ ।
राष्ट्रपति पार्क जङ हीपछिका राष्ट्रपति र सरकारहरूले पनि उहाँका नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएका छन् । कृषिप्रधान देशबाट औद्योगिक राष्ट्र बन्न पुग्यो । यसरी कोरियाले छोटो अवधिमै आफूलाई माथि उठाउन सम्भव भएको हो । राष्ट्रप्रति संवेदनशील एउटा कुशल र दूरदर्शी नेतृत्वले कसरी देशको भविष्य बदल्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण कोरियाले दिन सकेको छ ।
कोरियाको अनुभवका आधारमा नेपालमा आर्थिक विकासको सम्भावना कत्तिको देख्नुहुन्छ ?
प्राकृतिक स्रोत साधनका दृष्टिले नेपाल कोरियाभन्दा पनि अथाह सम्भावना भएको मुलुक हो । तर त्यसको उपयोग हुन नसक्दा एकातिर स्रोत साधन खेर जाने र अर्कोतिर तिनैबाट बनेका सामग्रीहरू अन्यत्रबाट आयात गर्नुपर्ने हुँदा दोहोरो नोक्सानी भएको छ । विकासका लागि पूर्वाधार, यातायात र विद्युतीकरणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । यसका लागि सरकारले बाह्य लगानी भित्र्याउन नीतिगत व्यवस्था गर्नाका साथै निजी क्षेत्रलाई सहजीकरण गर्नु जरुरी हुन्छ ।
नेपालमा कोरियाली लगानी भित्र्याउन सकिने सम्भावना कस्तो रहेको छ ?
नेपाल कोरियाको एक असल र पुरानो मित्रराष्ट्र हो । नेपालले कोरियाका जनता भोक भोकै भएको बेला खाद्यान्न पठाएर ठूलो गुन लगाएको छ । नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्र्याएर विकासमा फड्को मार्न सक्नेछ । हरेक हिसाबले सम्भावना भएको नेपालले विकासमा छलाङ लगाउन सक्नेछ । तर यसका लागि उपयुक्त लगानीमैत्री वातावरणको सुनिश्चित हुनुपर्यो ।
नेपाल विगतमा कमजोर नभए पनि पछिल्ला केही दशकमा राजनीतिक अस्थिरताले गर्दा आर्थिक र विकासमा पछि परेको हो भन्ने मलाई लागेको छ । बजेटलाई साना साना योजनामा छर्नु हुँदैन । मुख्य प्राथमिकताको योजनामा एकमुष्ट लगानी गरी जतिसक्दो छिटो त्यसलाई सम्पन्न गरेपछि त्यसबाट देशले प्रतिफल पाउँछ । कोरियाले पनि यही नीतिअनुसार निर्यातजन्य उद्योगधन्दाहरूमा लगानी गर्यो । निजी कम्पनीहरूलाई राज्यले नै ग्यारेन्टी बसेर पनि विदेशमा काम गर्न पठायो ।
अर्को कुरा विकासका लागि राजनीतिक स्थिरता जरुरत पर्छ । छिटो छिटो राजनीतिक परिवर्तन हुँदा नीतिगत अस्पष्टता रहन्छ र विदेशी लगानी भित्र्याउन गाह्रो हुन्छ । राज्यले योजनामा प्राथमिकीकरण गर्न जान्नुपर्छ । सबै उद्योगलाई राज्यले सेवा सुविधा दिन सक्दैन । आयातलाई प्रतिस्थापन गर्ने र निर्यातजन्य उद्योगलाई प्राथमिकता दिनुपर्छ ।
कोरियाले जस्तै नेपालले पनि समयसापेक्ष कृषिमा आधुनिकीकरण गर्नु जरुरी छ । कृषिमा व्यापक आधुनिकीकरण गरिएकै कारण अहिले कोरिया २.३ प्रतिशत कृषककै उत्पादनले खाद्यान्नमा आत्मनिर्भर बनेको छ ।
नेपाल भ्रमणमा रहँदा राष्ट्रिय योजना आयोग, लगानी बोर्ड तथा विभिन्न बैंकका प्रमुखहरूसँग भेटवार्ता गर्नुभयो । उहाँहरूसँगको कुराकानीबाट तपाईँ नेपालमा लगानी गर्ने सम्भावना कस्तो देख्नुभयो त ?
यसपटकको साताव्यापी नेपाल भ्रमणका क्रममा अर्थमन्त्री, लगानी बोर्डका पदाधिकारीलगायत उच्च सरकारी अधिकारीहरूसँग लगानीका सम्भावनाका बारेमा भेटवार्ता गर्ने अवसर मिल्यो । सो अवसरमा नेपालका लागि कुन कुन क्षेत्रमा के कस्तो सहयोग चाहिएको छ, त्यसका लागि अनुमति दिनुहोस् हामीले विश्वको लगानी र प्रविधिको समन्वय गरेर विकास गर्छौँ भनेर भनेको छु ।
नेपालमा कोरियन प्रविधि र विश्वभर विकसित राष्ट्रले अवलम्बन गरेका विकासको नमूनालाई नेपालमा पनि भित्र्याएर छिट्टै विकास गर्न सकिने सम्भावना रहेको छ । नेपाललाई मोनोरेल, साना किसिमका सहरी रेलका माध्यमबाट पर्यटन र जल तथा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी गर्न सकिन्छ । लगानीको पूर्ण सुरक्षाको पूर्ण सुनिश्चितता भएमा न्यूनतम २० अर्बदेखि माथिको लगानी ल्याउन सकिन्छ ।
नेपालबाट हजारौँ युवा कोरियालगायत विश्वका विभिन्न देशमा रोजगारीमा गएका छन्, उनीहरूले पठाएको विप्रेषणबाट देश धनी हुन सक्छ ?
सुरुमा कोरियाले पनि यसरी नै आफ्ना देशका युवाहरूलाई विदेश पठाएर नै विदेशी पैसा आर्जन गरेको हो । कोरियनहरू सस्तो श्रमिकका रूपमा साउदी अरब, अफ्रिका तथा तत्कालीन पश्चिम जर्मनीका तेल तथा कोइला खानीहरूमा काम गर्न जाने गर्दथे । त्यहाँ कोरियनहरूलाई औसतभन्दा कम पारिश्रमिक दिइने र थ्री डी काममा लगाइन्थ्यो ।
एकातिर देशमा स्रोत साधन र उद्योगधन्दा नभएर रोजगारीका अवसरहरू नहुँदा कोरियन युवाहरू बिदेसिन बाध्य थिए भने अर्कोतिर कोरियनहरूले विदेशमा अत्यन्त कठिन र जोखिमपूर्ण काम गर्नुपरेको थियो ।
त्यतिबेला उनीहरूले पठाएको पैसाले देशमा बिस्तारै उद्योगधन्दा स्थापना गरी आज उल्टै विदेशका लाखौँ कामदारलाई ल्याएर रोजगारी दिन सकेका छौँ । भियतनाम युद्धमा अमेरिकाले कोरियालाई सेना पठाउन आग्रह गर्यो । हामीले ३० हजार सेना पठायौँ तर उनीहरूको तलब अमेरिकाले नै दियो । त्यो रकमले पनि धेरै योजना सम्पन्न भएका थिए । यसरी छोटो अवधिमा रेमिट्यान्सबाट चलेको देशमा रोजगारीका लागि बिदेसिएका युवाहरूलाई फिर्ता बोलाएर तिनीहरूलाई स्वदेशमै रोजगारी दिन सफल भएको हो ।
आज नेपालबाट पनि झन्डै ४० हजारभन्दा बढी कामदार कोरियामा गएका छन् । कोरियामा जाने नेपाली कामदारको सङ्ख्या तेस्रो स्थानमा छ । उनीहरूले कमाएर पठाएको पैसाको सदुपयोग भएको देखिँदैन ।
राज्यले नै त्यो पैसालाई एकीकृत गरी कुनै उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भने ती कामदारहरूले पनि राम्रो प्रतिफल पाउन सक्छन् । अन्यथा जति नै रेमिट्यान्स आए पनि देश धनी हुन सक्दैन ।
|
राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान (फोटो फिचर) काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाइए विभूषण प्रदान गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन्। नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो।
विभूषण सुशोभन समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो।
|
मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत हुँदैछः प्रधानमन्त्री दाहाल (भिडियो) काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको बताएका छन् । पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आोजित कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति प्रक्रिया लगाएत समग्र मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको बताएका हुन् । अहिले माओवादीको नेतृत्वका सरकार रहेका कारण परिवर्तनहरु उल्टिन नसक्ने जस्तो लागेपनि स्थिति सहज भने नरहेको उनले बताए । उनले समयमा नै जिम्मेवारी बोध नगर्ने र संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्ने धारणा राखे ।
प्रचण्डले सरकारको नेतृत्व गरेपछि धेरै काम सुरु भएको र त्यसमा केहि पुरा नभएको र केहि पुरा हुन बाँकी रहेको भन्दै कामको स्वामित्व लिने भन्दा पनि जनतामा भ्रम छर्ने प्रवृति हावी देखिएको उल्लेख गरेका छन्। उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताए।
प्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौति भएपनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूहरुले संकल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
हेर्नुहोस् भिडियो:
|
संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष प्रेरणादायी बन्न सकोस्ः सभापति देउवा काठमाडौं । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्ने आकांक्षा ब्यक्त गरेका छन्।
नयाँ वर्ष २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले सो कुरा बताएका हुन् ।
पूर्वप्रधानमन्त्री देउवाले सन्देशमा भन्नुभएको छ, “सात दशकभन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष सबै राजनीतिक दलबीच हार्दिक एकता कायम गर्न प्रेरणदायी बन्न सकोस् ।”
|
राप्रपाको युवा संगठनद्वारा नयाँ वर्षमा रक्तदानको आयोजना, अध्यक्ष लिङ्देनले गरे ८४ पटक रक्तदान काठमाडौं। राप्रपासँग आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान एवं रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रक्तदान गरि कार्यक्रमको शुभारम्भ गरेका छन्। अध्यक्ष लिङ्देनले शुक्रबार ८४ औं पटक रक्तदान गरेका हुन् ।
रक्तदान जस्तो पवित्र कार्यबाट वर्षको शुरुआत गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्दै अध्यक्ष लिङ्देनले नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना समेत व्यक्त गरे ।
युवा संगठनद्वारा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देन, महामन्त्री डा.धवल शमशेर राणा, प्रवक्ता मोहन श्रेष्ठ, सांसद बिना लामा, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, युवा संगठन अध्यक्ष सुजित केसी, युवा मोर्चा अध्यक्ष कैलाश कटुवाल लगायत ५७ जनाले रक्तदान गरेको संगठनका संयोजक सुजित केसीले जानकारी दिएका छन् ।
|
नयाँ वर्षमा समृद्ध प्रदेश,आत्मनिर्भर लुम्बिनीः मुख्यमन्त्री गिरी देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले नयाँ वर्ष २०८० मा लुम्बिनी प्रदेश समृद्ध र आत्मनिर्भर बन्ने बताएका छन्। नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएकाले परिवर्तनको जगमा स्थापित मौलिक विशेषता बोकेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सञ्चालन गरिरहेका उल्लेख गरे।
सङ्घीय शासन व्यवस्थामार्फत नागरिकका चुलिएका जनआकांक्षा पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री गिरीको सन्देशमा उल्लेख छ । संविधान कार्यान्वयन र सङ्घीय शासनको आधार तयार पार्नेजस्ता महत्वपूर्ण र ऐतिहासिक कार्य गर्दै सरकार अगाडि बढेको उनको भनाइ छ ।
“पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैँ यतिबेला स्थायी राजधानीस्थल राप्ती उपत्यका देउखुरीबाट उसैगरी शून्यबाट राजधानी व्यवस्थापनको कार्यको थालनी गरेका छौँ । जनताको नजिकको सरकारका रूपमा रहेको प्रदेश सरकार जनआकाङ्क्षा पूरा गर्न प्रतिबद्ध छ । ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्य बोकेर अघि बढेको प्रदेश सरकार प्रदेशको विकास र समृद्धिको बाटोबाट उक्त लक्ष्य पूरा गर्न सार्थक योगदानका लागि सङ्कल्पित छ”, शुभकामना सन्देशमा उल्लेख छ ।
|
युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छः शेखर कोइराला काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताएका छन्।
नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै नेता कोइरालाले बढ्दो बेरोजगारीलाई सम्बोधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्ने बताए ।
“विसं २०७९ चुनावी वर्ष रह्यो, नेपालको संविधानअनुसार झन्डै ३६ हजार जनप्रतिनिधि शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेका छन्, यो वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्छ”, कोइरालाद्वारा जारी सन्देशमा उल्लेख छ ।
मुलुकमा भ्रष्टाचार, कुशासन र महँगी अनियन्त्रित भएकाले राजनीतिक दल र तिनका नेताप्रति आम नागरिकको भरोसा र विश्वासमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै नेता कोइरालाले अब पनि शासन, प्रशासन र राजनीतिक दलहरू नागरिकमैत्री हुन ढिलो भए सात दशक लगाएर जारी गरिएको नेपालको संविधान प्राप्तिको रटानले मात्र नागरिकको चित्त बुझाउन नसकिने बताए।
बितेको दशक विविध उतारचढाव आएको जिकिर गर्दै उनले भूकम्प, नाकाबन्दी, कोरोना महामारीले देशको आर्थिक विकास र सामाजिक सम्बन्धमा निराशा छाएकाले अब पुनःस्थापनामा लाग्न नयाँ वर्ष २०८० मा प्रेरणा मिल्ने नेता कोइरालाले बताए।
उनले नयाँ वर्षको उल्लासमय समयमा देशमा विद्यमान चुनौतीलाई सम्बोधन गर्न सबै राजनीतिक दल र तिनका नेतामा विवेकको प्रयोग गर्दै साझा सङ्कल्प गर्ने अठोट कायम होस् भन्ने कामना गर्नुभएको छ ।
|
प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ ।
प्रधानमन्त्री दाहालले प्रत्येक शुक्रबार पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेट गर्ने उनको सचिवालयले जनाएको छ । सोहीअुनसार प्रधानमन्त्री दाहाल बिहान ८ बजे नै पार्टी केन्द्रीय कार्यालय पुगिसकेका छन्।
कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई काममा व्यवधान नआओस् भनेर माओवादी केन्द्रले कार्यालय समय बाहिर पार्टी कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेटघाटको व्यवस्था मिलाएको हो ।
|
नेतृत्वले योजना बनाएर काम गर्नु जरुरी छ : सभामुख घिमिरे काठमाडौं- सभामुख देवराज घिमिरेले राजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरेर कार्यारम्भ गर्न जरुरी रहेको बताएका छन्।
नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र आरोग्यताको शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउँदै जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने अभियानलाई तीव्रता दिनैपर्ने बेला भएको उल्लेख गरेका छन्। नयाँ वर्ष प्रवेश गरिरहँदा आर्थिक क्षेत्रमा सकारात्मक सङ्केतहरू देखिन थालेको उनको भनाइ छ।
“राज्यका तीन अङ्गमध्ये कानुन निर्माण गर्ने मुख्य थलो संसद् हो, प्रतिनिधिसभाले विधेयकमाथिको छलफल सुरु गरेको छ, संसद्लाई अझै प्रभावकारी र गतिशील बनाउन सबै राजनीतिक दलसँग छलफल भइरहेको छ”, सन्देशमा भनिएको छ।
उनले जनसहभागिता, राजनीतिक सहमति, सहकार्यका आधारमा संसद्ले बनाउने कानुनले आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको लिँदै जनताको सार्वभौमसत्ता प्रयोग हुने संसद्लाई प्रभावकारी बनाउँदै जनमुखी र प्रगतिशील कानुन निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
नयाँ वर्षमा प्रवेश गरिरहँदा हामीले विगतको वर्षको समीक्षा गर्नु आवश्यक रहेको उहाँको भनाइ छ। विसं २०७९ मा तीनवटा निर्वाचन सम्पन्न भएर मुलुक नयाँ जनप्रतिनिधिको काँधमा आएको उल्लेख गर्दै उनले राजनीतिक रूपमा अघिल्लो वर्ष परिवर्तनको वर्ष भए पनि आर्थिक र पूर्वाधार विकासमा भने उल्लेख्य प्रगति हुन नसकेको उल्लेख गरेका छन्।
“नयाँ वर्षले हामी सबै नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप, भाइचारा र सौहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्ने विश्वाससहित हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ।
|
एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं : राष्ट्रपति पौडेल काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरेका छन्।
उनले भनेका छन्, “सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्नेमा मेरो प्रतिबद्धता छ।”
राष्ट्रपति पौडेलले संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरे मात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई समाजवादतर्फ उन्मुख हुने विश्वाससमेत व्यक्त गरेका छन्।
“तर, जो कसैको पनि स्थापित विधि विपरीतको सक्रियता तथा कुनै निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत हुँदैन, त्यसतर्फ हामी सबै सचेत हुनुपर्दछ। पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ हुन, यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुनेछ भन्ने मेरो दृढ विश्वास छ”, शुभकामना सन्देशमा भनिएको छ।
नेपालका तल्लो तहका उत्पीडित र थिचिएका जनतासम्म अधिकार निक्षेपित गर्ने काम भएको बताउँदै त्यसको सान्दर्भिकताका साथै गहिराइ बुझ्ने, अनुभूति गर्ने र आत्मसात् गर्नेमा कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने उनको भनाइ छ।
राष्ट्रपति पौडेलले भनेका छन्, “चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली-नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पुर्याउन सक्नेछ र त्यसले क्रमशः मुलुकमा स्थापित लोकतान्त्रिक पद्धति फलित र सुवासित हुँदै जानेछ भन्ने मलाई लाग्दछ।”
आर्थिकरूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता सबैको भए पनि केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने उनको भनाइ छ।
राष्ट्रपति पौडेलले मानव समाजमाझ बढिरहेको पदार्थवादी महत्वाकांक्षा र प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविकीय विविधताको ह्रास साथै बढ्दो प्रदूषण आज चुनौतीका रूपमा हामी सामुन्ने देखापरेका भन्दै त्यस चुनौतीबाट हाम्रो मुलुक पनि अछुतो नरहेको उल्लेख गरे।
“हाम्रो हिमाली भेग, उच्च पहाडका साथै चुरे र तराईका फाँटहरूसम्म पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव टड्कारो रूपमा पाइन्छन्, त्यस भौगोलिक क्षेत्रमा नै खानेपानीको मुहानका रूपमा रहेको हिमाली क्षेत्र अहिले संकटपूर्ण अवस्थामा रहेको यथार्थ यहाँ दोहोर्याउन चाहन्छु”, सन्देशमा उल्लेख छ।
वातावरणीय चुनौती, आर्थिक मन्दी तथा राजनीतिक सङ्क्रमणबीच नेपाल आगामी तीन वर्षभित्र अति–कम विकसित देशबाट विकासोन्मुख देशको श्रेणीमा स्तरोन्नति हुने चरणमा प्रस्ट पार्दै उनले ती सबै कठिन परिवेशमाझ हरेक प्रकारले सजग रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहयोग र सद्भाव लिई हाम्रा कदमहरू अगाडि बढ्ने विश्वस्त व्यक्त गरेका छन्।
उनले भनेका छन्, “नव वर्ष २०८० सालको आरम्भमा यहाँहरूको सुख, शान्ति, समृद्धि एवं हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु, नयाँ वर्षले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई पनि स्वस्थ जीवन र खुसी प्रदान गर्न सकोस्, विधातासँग यही मेरो प्रार्थना छ।”
|
सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ : मन्त्री शर्मा काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको बताएकी छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले तीव्र गतिका साथ काम गरिरहेको बताइन् । सेवा प्रवाह, कानून निर्माण र अर्थतन्त्र सुधारका क्षेत्रमा सरकारले उल्लेखनीय काम भएको उनको भनाइ छ ।
“भर्खरै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छौँ, नयाँ गठबन्धन बन्ने तथा मन्त्रिपरिषद् पुनः गठनका कारण केहीलाई त्यस्तो लागेको हुनसक्छ”, उनले भनिन्, “सरकारले गति लिएको छ, धेरै राम्रा काम भएका छन्, जनतालाई आशा जगाउन सक्नु ठूलो काम हो ।”
सत्ता गठबन्धनभित्र कुनै पनि समस्या नरहेको उनको भनाइ थियो । “गठबन्धनका दलहरुबीच संवादहिनताको अवस्था छैन, हामी निरन्तर संवादमै छौँ”, उनले भनिन् ।
सरकारको काम कारबाहीलाई लिएर सदन तथा बाहिर खबरदारी गर्ने राम्रो कुरा हो भन्दै मन्त्री शर्माले सत्ता पक्ष होस् वा प्रतिपक्षले सरकारलाई खबरदारी गरेको विषयलाई सकारात्मकरुपमा लिनुपर्ने बताइन् ।
|
स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्छ : महामन्त्री थापा काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्ने बताएका छन् ।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेस रुपान्तरणको एजेण्डा ः के र कसरी ?’ कार्यक्रममा उनले नयाँ युगमा पार्टीलाई नयाँ ढङ्गले सञ्चालन गर्नुपर्ने बताएका हुन् । “पार्टीलाई व्यवस्थित ढङ्गबाट अगाडि बढाउन आत्मसमीक्षा, शुद्धिकरण, आत्मपरीक्षण र आत्मसम्मान जरुरी छ”, उनले भने ।
महामन्त्री थापाले पार्टीका भ्रातृ संस्था र विभागले चाँडै पूर्णता पाउने बताए । भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टीबीच कस्तो सम्बन्ध रहन्छ भन्नेबारे नीति अधिवेशनमा छलफल गर्नुपर्ने उनको भनाइ थियो । उनले कांग्रेसको अबको विचार, अबको बाटो, सङ्गठन सञ्चालनको अवस्थालगायतका बारेमा नीति अधिवेशनमा छलफल हुने बताए । पार्टीभित्र महाधिवेशनको समयमा नभइ अरु बेलामा क्रियाशील सदस्यता खुलाउने गरी तयारी भइरहेको उनको भनाइ थियो ।
महामन्त्री थापाले आठ लाख क्रियाशिल सदस्य भएको कांग्रेसभित्र सबै व्यक्तिलाई पद नहुँदा आक्रोश र कुण्ठा रहेको उल्लेख गर्दै उक्त आक्रोश र कुण्ठालाई सही ढङ्गले व्यवस्थापन हुनुपर्ने बताए । उनले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार र राजनीतिक दल गम्भीर बन्नुपर्ने बेला आएको उल्लेख गरे ।
उनले नयाँ स्थापना भएका पार्टीभित्र नयाँ युवा आउनु र पुरानो पार्टीभित्र पुराना नेता हुनु स्वभाविक भएको जनाउँदै नयाँ र पुराना पुस्तालाई मिलाएर कांग्रेस अगाडि बढ्नुपर्ने धारणा राखे । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका अध्यक्ष मधु आचार्यले विधान प्रणाली, सदस्यता प्रणाली, प्रतिनिधित्व प्रणाली र उम्मेदवार निर्धारण प्रणाली सही ढङ्गले अगाडि बढ्न सके कांग्रेस रुपान्तरणमा सहयोग पुग्ने बताए ।
उहाँले कांग्रेससँग जनताले ठूलो अपेक्षा राखेको जनाउँदै उक्त अपेक्षालाई पूरा गर्न नेतृत्व लाग्नुपर्ने बताए । कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र देखिएको गुट, उपगुटको अन्त्य हुनुपर्ने उनको भनाइ थियो । अध्यक्ष आचार्यले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनका लागि नीति अधिवेशन, महासमिति बैठक तत्काल बोलाउन जरुरी रहेको उल्लेख गरे ।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका उपाध्यक्ष डा विष्णुशङ्कर पौडेलले कांग्रेसले युवा महामन्त्रीसँग पार्टी रुपान्तरणको आश राखेको बताए । उनले युवाले नयाँ एजेण्डा खोजेकाले त्यसलाई पूरा गर्न वर्तमान नेतृत्व लाग्नुपर्ने बताए । सोही कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेश सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष एवं सदस्यको सहभागिता रहेको थियो ।
|
प्रधानमन्त्री प्रचण्डको सर्वाेच्चलाई जवाफ : सशस्त्र द्वन्द्वमा मारिएका ५ हजारको जिम्मेवारी आफूले नलिने काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका मध्ये ५ हजारको जिम्मेवारी आफूले नलिएको दावी गरेका छन् । सर्वोच्च अदालतलाई लिखित जवाफ दिदैं उनले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार व्यक्तिको मृत्युको जिम्मेवारी आफूले नलिएको बताएका छन् ।
सर्वोच्च अदालतलाई चैत २७ गते पठाइएको लिखित जवाफमा प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते पाँच हजार व्यक्ति मारेको भनी नैतिक जिम्मेवारी लिने साविती बयान दिएको र सो आधारमा तत्काल प्रचलित कानूनी बमोजिम पक्राउ गरी सजाय गर्नुपर्ने भनी रिट निवेदकले लिनुभएको जिकिर सम्बन्धमा प्रथमतः निवेदनमा उल्लेख भए जस्तो पाँच हजार व्यक्तिको मृत्युको जिम्मेवारी लिएको अवस्था नभएको उल्लेख गरेका छन् ।
वारेस लोकमणि पोखरेल मार्फत पठाइएको लिखित जवाफमा प्रसंगवश व्यक्त भएको अभिव्यक्ति विशुद्ध राजनीतिक प्रसंग भएको र त्यसलाई न्यायिक प्रक्रियाबाहिरको विचार वा अभिव्यक्ति मान्नुपर्ने जिकिर पनि गरिएको छ।
ज्ञानेन्द्रराज आरण र चिरञ्जीवी गिरिलगायतले आफ्ना परिवारका सदस्यसहित पाँच हजार व्यक्तिको हत्याको जिम्मेवारी लिएकाले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक प्रक्रिया अघि बढाउन आदेश माग गर्दै रिट दायर गरेका थिए ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले लगायतको रिटमाथि सुनुवाइ गर्दै गत फागुन २६ गते कारण देखाउ आदेश दिएको थियो।
अग्राधिकार दिइएको आदेशमा प्रधानमन्त्री प्रचण्डलाई १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिए पनि दाहालले एक महिनापछि चैत २७ गते मात्र जवाफ पठाएका थिए । जवाफ पठाउन ढिलाइ हुनुमा उनले कार्यव्यस्तताको कारण भएको स्पष्टीकरण पनि दिएका छन् ।
२०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित थारु समुदायको माघी महोत्सवमा दाहालले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार मध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले बताएका थिए ।
|
मधेश जनविद्रोहको बाँकी अधिकार प्राप्तिका लागि मेरो उम्मेदवारी– उपेन्द्र यादव बारा । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले सामाजिक एकता र सद्भाव भड्काउने तत्व सक्रिय भएर लागेकोले जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन आग्रह गरेका छन् ।
बाराको करैयामा बिहिबार आयोजित जनता दर्शन कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले जातिय र साम्प्रदायिक नारा लगाएर समाजमा हिंसा भड्काउन खोज्ने तत्वहरुलाई भोट मार्फत् जवाफ दिन आग्रह गरे ।
अध्यक्ष यादवले भने,– ‘जातीयताको कुरा गरेर जनतालाई भड्काउने र सामाजिक एकता र सद्भाव विथोल्नेहरुबाट सावधान रहनुपर्छ, यसले न त त्यस्ता व्यक्तिको हित गर्छ न त समाजलाई ।’
परिवर्तनकारी शक्तिहरुको कठोर संघर्ष तथा मधेश विद्रोहकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएकोले यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनले बताए । संघीयता विरोधी शक्तिहरु विभिन्न नाममा सल्बलाई रहेकोले आमजनता सचेत रहनुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले भने ‘प्राप्त उपलब्धिहरुको रक्षा गर्न तथा बाँकी अधिकारहरुको सुनिश्चितताका लागि संघर्ष गर्नु आवश्यक छ, त्यसैले झुठा भ्रम फैलाएर मिठा सपना बाँड्ने तत्वहरुको पहिचान गरौं ।’
आफ्नै देशमा अपमानित भएर बाँच्नु परेको अवस्थाबारे स्मरण गर्दै उनले मधेश विद्रोहकै प्रतिफलले गर्दा देशमा संघीयता आएको र विभिन्न नाममा मधेशी जनतासँग गरिने विभेदहरुको अन्त्य भएको चर्चा गरे । देशमै पहिचानको आधारमा आज मधेश प्रदेश नै बनेको र गर्वले मधेशी भन्न पाएको बताउँदै उनले लडाई लड्न अझैं बाँकी रहेकोले थप अधिकार प्राप्तिका लागि सडक र सदन दुबै आवश्यक रहेको दावी गरे ।
‘तत्कालिन सरकार र मधेशी जनअधिकार फोरम नेपालसँग भएको सम्झौताकै आधारमा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख गरी ३१ लाख सर्वसाधारण जनताले नागरिकता पाएको हो प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादवले भने ‘मधेशी, महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, अल्पसंख्यक लगायतका आरक्षणको सुनिश्चितता भएको हो, त्यही भएर आज विभेदमा पारिएका र पछाडि पारिएका समुदायले पनि सरकारी सेवा लगायत क्षेत्रमा प्रवेशको सुनिश्चितता पाएको हो ।’
देश र मधेशका लागि कसले के गरे ? कतिको संघर्ष गरे ? कसको कति योगदान छ ? कसको संघर्षले के परिवर्तन आएको हो ? यसको लेखाजोखा न्यायप्रेमी जनताले गर्नुपर्नेमा जोड दिँदै उनले भने ‘हावादारी कुरा गरी भ्रम फैलाउनेहरुले जनताको मुक्तिकालागि के गरेका छन् ? जनताले के पाएको हो ? हाम्रा भावी सन्ततीलाई कहाँ लग्दैछ ?, एकतावद्ध समाजलाई विभाजन गरेर कहाँ लान खोज्दैछ ? देशमा आज मधेश विद्रोह नभएको भए हामी कहाँ हुन्थ्यौ ?, मधेश विद्रोहको नेतृत्व कसले गरेको थियो ? आज कसरी षडयन्त्र हुँदैछ ? यसको भावी परिणामबारे समेत आममतदाताले सोच्नु जरुरी छ ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, प्रतिनिधि सभा सदस्य प्रदिप यादव, संविधानसभा सदस्यद्वय कलावती पासवान, जसपा नेता प्रमोद गुप्ता लगायतका नेताहरु समेत जनता दर्शन कार्यक्रममा सहभागी थिए ।
|
जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न बालेन शाहलाई संघीय सरकारको सुझाव काठमाडौं । संघीय सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न सुझाव दिएको छ ।
गत मंगबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारको प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न मेयर शाहलाई सुझाव दिएकी हुन् ।
संविधानको अनुसूची ८ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुने स्पष्ट व्यवस्था रहेको स्मरण गराउँदै उनले कुनै उद्देश्यपूर्तिका निमित्त र अर्को काम सल्ट्याउनका निमित्त हड्तालको विषय बनाउनु नहुने बताइन् । आफूले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नपाइने भन्दै मन्त्री शर्माले स्थानीय सरकार कानुनानुसार चल्नुपर्ने बताइन् ।
काठमाडौं महानगरपालिकाका शाहले दिएको सिंहदरवारसहित केही स्थानको फोहोर नउठाउने र सिंहदरवारका नेतालाई डम्पिङ गर्नुपर्ने अभिव्यक्तिलाई गैरजिम्मेवार भनेको थियो । साथै बिहीबार मन्त्री शर्माले उनको अभिव्यक्ति र निर्णयले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको बताएकी हुन् ।
|
२०७९ लाई फर्केर हेर्दा : चुनावी वर्ष, दलहरुको सम्बन्धमा उतारचढावपूर्ण आयाम काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिदेखि राष्ट्रप्रमुखसम्मको निर्वाचन सम्पन्न भएको वर्ष-२०७९ राजनीतिक दलको सम्बन्ध पनि उतारचढावपूर्ण वर्षका रूपमा रह्यो ।
वर्ष-२०७९ बिदा हुँदै गर्दा आउँदो २०८० वैशाख १० गते प्रतिनिधिसभाका रिक्त तीन ओटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन तयारी भइरहेको छ । गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट आरम्भ भएको चुनावीयात्रा यस वर्षका लागि चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनसँगै सकिएको थियो ।
नेपालको संविधानको प्रस्तावनामा उल्लिखित प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, मानवअधिकार, नागरिक स्वतन्त्रता, वालिग मताधिकार र आवधिक निर्वाचनलाई संस्थागत गर्न निर्वाचन एक महत्वपूर्ण आधारस्तम्भ मानिन्छ ।
नेपालको संविधान एवं कानूनले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारबाट जनप्रतिनिधि छनोट गर्ने अधिकार सुनिश्चित गरेको सन्दर्भमा प्रत्येक वालिग नेपाली नागरिकलाई निर्वाचन प्रक्रियामा सहभागी हुने, मतदान गर्ने, निर्वाचनसम्बन्धी सूचना प्राप्त गर्ने तथा हरेक नागरिकले छान्ने र छानिने अधिकारको प्रत्याभूति गर्न निर्वाचन वर्ष सार्थक रह्यो ।
निर्वाचनलाई समग्र सञ्चालन र व्यवस्थापनमा निर्वाचन आयोग क्रियाशील रहँदै आएको छ भने विभिन्न तहका सरकार, राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि, सुरक्षाकर्मी, मतदाता, सञ्चार क्षेत्र, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदायलगायत सबैको निर्वाचनमा सकारात्मक साथ र समन्वय रहेको पाइयो ।
त्यही सहयोग र समन्वयका कारण वैशाख ३० गतेको स्थानीय तह र मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन मुलुकभर एकै चरणमा सम्पन्न भए। नेपालको निर्वाचन इतिहासमा विसं २०५६ पछि एकै चरणमा निर्वाचन भएको यो नै पहिलो मानिएको छ ।
निर्वाचनबाट तोकिएका पदमा जनप्रतिनिधि निर्वाचित कार्यभार सम्हालेसँगै राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा नयाँपन देखिएको छ । यसै वर्ष माघ २५ गते लुम्बिनी प्रदेशको रिक्त एक सदस्यका लागि राष्ट्रियसभाको उपनिर्वाचन भयो भने फागुन २५ गते राष्ट्रपतिको निर्वाचन भई नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन भई रामसहायप्रसाद यादव निर्वाचित भए ।
त्यसो त यही वर्ष विश्वविद्यालयहरूमा स्वतन्त्र विद्यार्थी निर्वाचन, नेपाल उद्योग वाणिज्य महासङ्घको अधिवेशन र अन्य नागरिक क्षेत्रका राष्ट्रिय संस्थाका आफ्ना नियमित अधिवेशन भई नयाँ नेतृत्व चयन भएका छन् ।
स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनमा आवद्ध (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत) दलको चुनावी तालमेल भयो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पनि सत्ता गठबन्धनमा विवाद भइ जनता समाजवादी पार्टीले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग गठबन्धन गर्न पुग्यो ।
निर्वाचनमा कुनै पनि दलको बहुमत नआएपछि दलहरूबीच कुन गठबन्धनबाट को प्रधानमन्त्री बन्ने भन्ने होड चल्यो । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनमा सहमति नजुटेपछि एकाएक एमाले र माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र निर्वाचनमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धनमा गत पुस १० गते विभिन्न दलको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भए ।
यही गठबन्धनअनुसार प्रदेश सरकारमा सरकार गठन भए । यही गठबन्धनले प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरेलाई निर्वाचित गर्यो तर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आइपुग्दा यो गठबन्धन कायम रहेन सकेन । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि कांग्रेस-माओवादीसहितको १० दलीय गठबन्धनले सरकार विस्तारको क्रम जारी छ ।
आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा पनि मूलतःयही गठबन्धनका उम्मेदवारबीच तालमेल भएको छ भने सत्ता गठबन्धनमै रहेको जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले उपराष्ट्रपतिको निर्वाचनमा फरक उम्मेदवारलाई उठायो र वैशाख १० मा हुने उपनिर्वाचनमा पनि बारा-२ मा फरक उम्मेदवार उठाएको छ ।
प्रधानमन्त्री दाहाललाई दोस्रो पटक विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी उपनिर्वाचनमा एक्लै भिड्दैछ भने उत्तल दल सरकारमा पुनः सामेल हुने नहुने स्पष्ट भइसकेको छैन ।
निर्वाचनमा सहभागिता र मौलिक अभ्यास
नेपाल सरकारबाट २०७९ साल साउन २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मिति २०७९ मङ्सिर ४ गते आइतवार देशैभर एकै चरणमा सम्पन्न गर्ने गरी मिति घोषणा भएको थियो । निर्वाचन सम्पन्न गर्न सामान्यत ः १२० दिनको अवधि आवश्यक हुनेमा उपलव्ध १०७ दिनको समयसीमा उपलब्ध भएको थियो ।
यस निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ पहिले हुने निर्विचत हुने निर्वाचन प्रणालीतर्फ १६५ सदस्य र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य गरी कुल २७५ सदस्य निर्वाचित भएका छन् । प्रदेश सभातर्फ पहिलो हुने निर्विचत हुने निर्वाचन प्रणाली अन्तर्गत ३३० सदस्य निर्वाचित भएका छन् भने समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत २२० सदस्य गरी कुल ५५० सदस्य निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनको लागि राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन पेश गरी दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम दल दर्ताका लागि निवेदन पेश गर्न २०७९ भदौ १७ गतेभित्र जम्मा ८६ वटा राजनीतिक दलले निवेदन पेश गरेका थिए ।
प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ राजनीतिक दलले भाग लिएका थिए भने समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ दलले बन्दसूची पेश गरेका थिए । निर्वाचन सम्पन्न भए पश्चात् १२ राजनीतिक दलले प्रतिनिधिसभामा विजय हासिल गरेका छन् ।
आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका र २०७९ साल मङ्सिर ३ गते १८ वर्ष उमेर पुगेका मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० नामावली स्वीकृत गरेको थियो । उक्त नामावलीमा ८८ लाख ४७ हजार ५७९ (४९।१८ प्रतिशत) जना महिला ९१ लाख ४० हजार ८०६ )५०.८२ प्रतिशत) पुरुष र १८५ (०.०१ प्रतिशत) अन्य मतदाता दर्ता भएका थिए । आयोगले २०७९ भदौ ३१ गते १०८९२ मतदान स्थल र २२२२७ मतदान केन्द्र रहने गरी निर्णय गरेको थियो ।
त्यसैगरी अस्थायी मतदानका लागि आयोगले १४१ अस्थायी मतदान केन्द्र तोकेको थियो भने चार लाख ५० हजार अस्थायी मतदाता स्वीकृत गरिएको थियो । निर्वाचनमा मतदाता नामावलीलाई अनलाइनबाट दर्ता, मतदानस्थलको पुनरावलोकन, निर्वाचन खर्चको वैज्ञानिक सीमा निर्धारण, निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकारलगायत दिने मौलिक काम भएका थिए ।
निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले सरकारी पेश्की, बेरुजु तीर्न बुझाउन बाँकी नरहेको, कुनै जिन्सी वा नगद बुझाउन बाँकी नरहेको, प्रचलित कानून बमोजिम कुनै सरकारी निकायलाई बुझाउनुपर्ने कर, राजस्व, शुल्क, दस्तुर तिर्न बुझाउन बाँकी नरहेको भनी स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ दशमलव ४१ प्रतिशत मतदान र ५ दशमलव शून्य ६ प्रतिशत बदर भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६१ दशमलव ८५ प्रतिशत मतदान भएकामा ५ दशमलव शून्य ९ प्रतिशत बदर भएको देखिएको छ । मतदानको प्रतिशत अपेक्षा गरिएभन्दा कम हुनु र पाँच प्रतिशतको हाराहारीमा मत बदर हुनुलाई शासन पद्दति र निर्वाचनप्रतिको मतदाताको सहभागिता र मतदाता शिक्षा सञ्चालनका सम्बन्धमा चुनौती देखिएका निर्वाचन समीक्षाका क्रममा उठाइएको छ ।
आयोगले मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन परिणाम मङ्सिर २८ गते सार्वजनिक गरेको थियो भने मङ्सिर २९ गते मतपरिणामसहितको निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको थियो ।
यसैगरी पुस ४ गते सात वटै प्रदेशका माननीय प्रमुखसमक्ष प्रदेशगत निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको थियो । यही बीचमा माघ २९ गते आयोगले आफ्नो १२औँ वार्षिक प्रतिवेदन, २०७९ राष्ट्रपतिसमक्ष बुझाइसकेको छ ।
निर्वाचनको समीक्षासँगै कानुनी संशोधनको पहल
निर्वाचन सकिएपछि निर्वाचनको नियमित चक्र सञ्चालनमा निर्वाचन आयोग लागिसकेको छ । निर्वाचनको समीक्षा गरी प्राप्त पृष्ठपोषणलाई कार्यान्वयन गराउँदै आगामी निर्वाचनको व्यवस्थापनका लागि स्थानीय तहसँगको सहकार्यलाई आयोग जोड दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनप्रतिनिधिको कार्यकाल र निर्वाचनको अवधिका सम्बन्धमा आयोगले नेपाल सरकार र सम्बन्धित पक्षसँग गरेको परामर्शबाट आगामी दिनमा यस्ता विषयमा अन्योल नहुने कानुनी विवादलाई अन्त्य हुने गरी संशोधन संसद्मा पठाइने बताउँछन्।
उनले निर्वाचनसँग सम्बन्धित गतिविधिलाई आममतदाता समक्ष पु¥याउन स्थानीय तहको महत्वपूर्ण भूमिका हुने भएकाले मृत्यु भएका व्यक्तिको विवरण स्थानीय तहले मात्र उपलब्ध गराउन सक्ने भएकाले आयोगलाई हरेक स्थानीय तहले मृत्यु भएकाको विवरण नियमितरूपमा उपलब्ध गराइनु र निर्वाचनका बारेमा जानकारीमूलक सन्देश एवं सूचना नियमित प्रचारप्रसार गर्ने कार्य गरिनुपर्ने जनाए।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र भ्रष्टाचार निवारण ऐन २०४८ तथा अख्तियार अनुसन्धान दुरुपयोग आयोग ऐन २०४८ को तादाम्यता नभएको, कालो सूचीको लिष्टलाई सम्बन्धित निकायसँग समन्वय गरी आयोगको सूचना प्रविधि शाखामा नराखिएको, निर्वाचन आचारसंहिता उल्लघङ्न उपर परेका उजुरीमा प्रमाण सङ्कलन र स्पष्टीकरण तामेलीका सम्बन्धमा स्पष्ट नभएको जस्ता विषय आयोग एकीकृत निर्वाचन कानूनको मस्यौदामा समेट्ने आयोगको तयारी छ ।प्रकाश सिलवालरासस
|
न्यायालयको इतिहासमा २०७९ साल कामुकै भरमा काठमाडौं । न्यायालयको इतिहासमा २०७९ साल कायम मुकायमकै भरमा बितेको छ । विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कामु प्रधानन्यायीशका रूपमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले अहिलेसम्म कार्यभार सम्हाल्दै आएका छन्।
लामो समयसम्म न्यायालयलाई नेतृत्वविहीन राख्न नहुनेमा चौतर्फी आवाज उठ्दा पनि प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्नसकेको छैन । कानुन व्यवसायीले प्रधानमन्त्री तथा सभामुखसँग भेट गरेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै आइरहेका छन् ।
पूर्वप्रधानन्यायाधीशहरुले पनि न्यायालयलाई लामोसमयसम्म नेतृत्वविहीन नराखी तत्काल प्रक्रिया अघि बढाउन पटक–पटक आवाज उठाइरहेकामा त्यसको पनि सुनुवाइ भएको छैन । दिपायल उच्च अदालतबाहेक सर्वोच्च अदालतका साथै अन्य सबै उच्च अदालत कामुको भरमा सञ्चालन हुँदै आएको र लामो सयमसम्म सबै तहका अदालतमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन ।
नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार यस वर्ष न्यायालय कामुको भरमा रहनु न्याय क्षेत्रका लागि राम्रो विषय बनेन। “अहिलेसम्म पनि नेतृत्व पाउन नसकिएकाले यस वर्ष न्यायालय पूर्णतः कामुकै भरमा सञ्चालन हुने अवस्था आयोे”, उनले भने, “प्रधानन्यायाधीशसहित अन्य न्यायाधीशहरुको नियुक्ति प्रक्रिया अघि बढाउन पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन ।”
बारले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर तत्काल न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको छ ।प्रधानमन्त्री दाहालले संवैधानिक परिषद्का पदाधिकारीसँग परामर्श गरी तत्काल बैठक बोलाएर आवश्यक निर्णय गर्ने प्रतिबद्धता जनाएका छन्।
बारले बुधबार पत्रकार सम्मेलन गरी सातदेखि दस दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन सरकारलाई समयसीमा तोकेको थियो ।
न्यायका क्षेत्रका सरोकारवालाहरूले न्यायपालिकालाई नेतृत्वविहीन अवस्थामा राख्दा र धेरै अदालतमा न्यायाधीशको दरबन्दी रिक्त हुँदा न्याय सम्पादनमा असर पर्ने र पीडित पक्षले न्याय पाउन ढिलाइ हुने चिन्ता व्यक्त गर्दै दूरगामी असर पर्न नदिनका लागि तत्काल न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष हरिशंकर निरौलाले न्यायालयलाई नेतृत्व दिने विषयमा कार्यपालिकाको ध्यान नगएकामा चिन्ता गरेका छन्।
“न्यायालयजस्तो संवेदनशील ठाउँ यति लामो सयमसम्म रिक्त हुनुहुदैन”, उनले थपे, “पटक–पटक सबैले ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नहुनु लाजको विषय भएको छ, तै पनि हामी कानुन व्यवसायीले आवाज उठाउन छाडेका छैनौँ।” संवैधानिक प्रावधानअनुसार सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्ले सिफारिस गर्नुुपर्ने हुन्छ ।
नेपालको संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । उक्त धाराको उपधारा ३ मा परिषद्ले प्रधानन्यायाधीश वा अन्य संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुुनुु एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ।
तर, सर्वोच्च अदालतमा महाअभियोगको प्रस्ताव निर्णयमा नपुग्दै तत्कालीन निलम्बित प्रधानन्यायाधीश राणाको अवकाश भएकाले वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषदबाट सिफारिस हुनुपर्नेमा उक्त परिषद्को बैठक बस्न नसक्दा कामु कार्कीको नाम सिफारिस हुनसकेन ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको दरबन्दी रिक्त छ भने अठार उच्च अदालतमा मुख्य न्यायाधीशसहित ४३ न्यायाधीशको दरबन्दी र जिल्ला अदालतमा ३६ न्यायाधीशको दरबन्दी रिक्त छ । कालिका खड्का /रासस
|
अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय खारेज गर्न शान्ति समाजको माग काठमाडौं, ३० चैत । मानवअधिकार तथा शान्ति समाजले अयोग्य घोषित माओवादी लडाकुलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अयोग्य घोषित माओवादी लडाकुलाई दुई लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
उक्त निर्णय खारेज गर्न समाजले बिहीबार सभामुख देवराज घिमिरेसँग आग्रह गरेको हो । शान्ति प्रक्रियाका क्रममा अनमिनले ४ हजार ८ जना माओवादी लडाकुलाई अयोग्य घोषित गरेको थियो । उनीहरुलाई दुई लाख रुपैयाँका दरले दिने सरकारको निर्णय खारेज गर्न समाजले माग गरेको हो ।
समाजको प्रतिनिधिले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने र ‘जनयुद्ध दिवस’ भनि राष्ट्रिय दिवसका रुपमा मनाउने सरकारको दुवै निर्णय खारेज गर्न माग गरेका हुन् ।
शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार गोविन्द खनाल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनीले सभामुख घिमिरेलाई भेटेर ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेका हुन् ।
|
उपनिर्वाचन : बारा- २ मा चुनावी प्रचारप्रसार तीव्र बारा। बारा क्षेत्र नम्बर-२ मा आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा मतदाता आकर्षित गर्न उम्मेदवारसँगै पार्टीहरुले आफ्ना गतिविधि बढाएका छन् ।
टोल भेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरु खेतखेतमा पुगरे मत माग्ने क्रम बढेको छ । दलहरुले निर्वाचनलाई पार्टीको प्रतिष्ठाको विषय बनाएको बारा क्षेत्र नं.२ अन्तर्गतको करैयामाई निवासी पूर्वजनप्रतिनिधि रामएकवाल चौधरीको भनाइ छ ।
उनका अनुसार जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनता पार्टीले क्षेत्र नं.२ मा चुनावी प्रचारलाई तीव्र पार्दै लगेका छन । यस पटकको चुनावमा दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएको देखिन्छ ।
जनता समाजवादी पार्टीले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । यसअघि गत मंसिरमा सम्पन्न निर्वाचनमा सोही पार्टीका रामसहायप्रसाद यादवले नेकपा एमालेको सहयोगमा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका थिए । उनी उपराष्ट्रपती बनेपछि यहाँ उपचुनाव हुन लागेको हो ।
यसअघि जसपाल नै जितेकाले यसपटक जसपाकै उम्मेदवार यादवले सहजै चुनाव जित्ने अनुमान गरिएको छ । यादव सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । यस क्षेत्रमा अर्को बलियो शक्ति मानिएको कांग्रेसले पनि उनलाई समर्थन गरेको छ । यस दृष्टिकोणबाट हेर्दा यादवको जित सुनिश्चित रहेको दाबी गरिएका छन् ।
एमालेले पूर्व युवा तथा खेलकुद मन्त्री पूरुषोत्त्म पौडेललाई मैदानमा उतारेको छ । एमाले पोलिटब्युरो सदस्य एवं मधेश प्रदेश सहईन्चाज पौडेलको यस क्षेत्रमा आफ्नै खालको क्रेज छ ।
२०४८ र २०५६ मा एमाले जितेको क्षेत्र भएकाले एमाले यहाँ बलियो नै मानिन्छ । पौडेललाई चुनावी अभियानलाई ऊर्जा दिन गएको २२ गते एमाले अध्यक्ष केपी शर्मा ओली बारा आएका थिए । ओलीको आगमनपछि यहाँको माहोल एमालेमय बन्दै गएको महागढीमाई नगरपालिका २ का सर्वजित पटेल दाबी गर्छन् ।
त्यसैगरी बारा क्षेत्र नम्बर ३ की सांसद ज्वालकुमारी साह, क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली र एमाले नेता रघुविर महासेठ लगायतका संघीय सांसदहरु पौडेल जिताउ अभियानमा यतिबेला सक्रिय बनेका छन् ।
यसैगरी नेकपा माओवादीका पूर्वनेता शिवचन्द्र कुशवाह हाल जनमत पार्टीका उम्मेदवार छन् । उनी पनि यस क्षेत्रका प्रभावशाली व्यक्तिका रुपमा परिचित छन् । गत मंसिरको निर्वाचनमा यस क्षेत्रमा २५४ मते रामसहायप्रसाद यादवसँग कुशवाहा पराजित भएका थिए । उनी यसपटक मंसिरको हारको बदला लिन चाहन्छन् । उनलाई कुनै हाललमा जिताउन जनमत पार्टीका अध्यक्ष सिके राउतसमेत क्षेत्रमै खट्दै आएका छन् ।
गत निर्वाचनमा स्वतन्त्र उमेदवार बनेर पराजित अरुण ज्ञवाली यसपटक प्रभु साहको आम जनता पार्टीबाट उम्मेदवार बनेका छन् । उनको अभियानलाई स्वयंं प्रभु साहले अगुवाई गरिरहेका छन् ।
यस्तै राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकको बदला ३ भन्दै चुनावी माहोल बनाउँदै आएका छन् । रास्वपाले पूर्वडिआईजी रमेश खरेललाई उम्मेदवार बनाएको छ ।
|
रविको अस्वाभाविक हर्कत : असहिष्णु राजनीति र भ्रामक अभिव्यक्ति काठमाडौं। नेपालको राजनीतिमा वैकल्पिक राजनीतिको अभिप्रायले गठन भएका नयाँ दलका पछिल्ला क्रियाकलापले ती दलको वास्तविक अन्तर्य थप उदांगो हुँदै गएको छ।
यसले बेथितिको चाङ हटाएर सुशासनको प्रत्याभूति दिनुको साटो पुरानै दलगत प्रवित्तिलाई नै माथ दिएको छ। ती उजागर भएका गतिविधिको ढाकछोप र बचाउमा दलका नेताहरुको पछिल्ला अभिब्यक्तिले थप विवादित र अशोभनीय हर्कत उजागर भएको छ।
नेपालको राजनीतिको बेथिति औंल्याएर त्यसको विकल्प दिने भन्दै गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणले उक्त पार्टीको सुशासन र बेथितिमुक्त राजनीतिको हुर्मत लिएको छ।
वैकल्पिक दलको दावा गर्दै सुशासनको प्रत्याभूति दिलाउने सार्वजनिक घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न पार्टीलाई बुझाउने दुई करोडको डिल गरेको अडियो बाहिरिएपछि राजनीतिक बजार तरंगित बनेको छ। यसले रास्वपामात्रै होइन नेपालका समग्र दल र नेताहरुमाथि नै प्रश्न उठेको छ।
दलहरुको आम्दानीको स्रोत र उनीहरुको जीजनशैलीको अन्तर्य यी र यस्तै अपारदर्शी स्रोतहरुको उपज त होइन ? भन्ने प्रश्नले नागरिकमा थप आशंका बढाएको छ।
पुराना दलहरुको बाबजुद नयाँ र वैकल्पिक भनिएका दलको सांसदले नै यस्तो संदिग्ध आर्थिक गतिविधिमा संलग्न हुँदा देशको विद्यमान राजनीतिक प्रणाली र दलमाथिको वितृष्णा थप मौलाएको छ ।
देशको संसदको सदस्यले कार्यपालिकाको सदस्य बन्न पार्टीमा पैसा बझाउनुपर्ने भन्दै गरिएको बार्गेनिङको अडिओले नयाँ पार्टीको विश्वसनीयता र आर्थिक अपारदर्शीतामाथि प्रश्न उठेर समग्र राजनीतिक दल र राज्यप्रणालीमा बिचौलियाको हालिमुहालीले प्रताडित भएको दृष्टान्त यसले उजागर गरेको छ।
रास्वपाका सांसदको सार्वजनिक अडिओ प्रकरणमा ब्यक्त गरिएको कोर टिमको अझै पहिचान हुन सकेको छैन। उनले पार्टीको कोर टिमलाई रकम बुझाउनुपर्ने भन्दै ब्यवसायी दुर्गा प्रसाईंसँग गरिएको दुई करोड मागले घटनालाई थप रहस्यमय बनाएको छ। अहिले कोर टिमबारे व्यापक चर्चा र अनुमान लगाउने क्रम नेपाली राजनीतिमा चुलिएको छ।
उनले बताएजस्तै ‘कोर टिम’को उजागर कुनै समयमा हुने नै छ। तर, उनको अभिब्यक्तिले पार्टीभित्रैबाट भ्रष्टाचारलाई संस्थागत मान्यतासहित प्रोत्साहन गरिएको र निश्चित बिचौलियाबाट रास्वपा परिचालित भएको आशय प्रकट भएको छ।
संसदको सदस्यले कार्यपालिकाको सदस्य बन्न पार्टीमा पैसा बझाउनुपर्ने भन्दै गरिएको बार्गेनिङको अडिओले नयाँ पार्टीको विश्वसनीयता र आर्थिक अपारदर्शीतामाथि प्रश्न उठेर समग्र राजनीतिक दल र राज्यप्रणालीमा बिचौलियाको हालिमुहालीले प्रताडित भएको दृष्टान्त यसले उजागर गरेको छ।
यसले सभापति लामिछानेमाथि नै शंकाको बिजारोपण गरेको छ। भलै उनको यस प्रकरणमा संलग्नता नहुन सक्छन्। तथापि पार्टीको नेतृत्वदायी तहमा रहेका उनले यसको नैतिक जिम्मेवारी उनले लिनुपर्छ। सरकारी स्तरबाटै अनुसन्धानै क्रममा रहेकाले यसको अन्तर्निहित पाटो र संलग्नताबारे थप उजागर भएर पराकम्पन आउन बाँकी छ।
किनभने ब्यावसायी दुर्गा प्रसाईंले रास्वपाका थप तीन जना सांसदको अडियो आफूसँग रहेको र समयक्रममा ती अडियो सार्वजनिक गर्ने बताएका छन्।
विभिन्न क्षेत्रका विज्ञ र जुझारु युवाको टिमले वैकल्पिक राजनीतिको अनुभूत दिलाउने अभिप्रायले गठन गरिएको रास्वपामा चर्चित अनुहार सभापति लामिछाने नै हुन्। उक्त पार्टीमा लामिछानेका अलावा अन्य क्षमतावान युवा हुँदा पनि सर्वत्र चर्चामा उनै लामिछाने रहेका छन्।
तर उनको अपारदर्शीताका फेहरिस्त विगतदेखि बाहिरिँदै आएकै थिए। उनको ब्यक्तिगत र सार्वजनिक जीवन विवदास्पद रहेको छ। सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा हुँदै उनका कतिपय पारिवारिक विषयसमेत सार्वजनिक भइसकेका हुन्।
यद्यपि पुडासैनी आत्महत्या प्रकरण अदालतले निरुपण गरिसकेको छ। तथापि उनका अन्य सार्वजनिक भएका विषयहरु भने उनी सार्वजनिक पदधारण गरेकाले ती प्रश्न उठ्नु अन्यथा होइन।
विकृत राजनीतिलाई सफा गर्ने अभिप्रयायले नयाँ दल गठन गरेर राजनीतिमा आएको बताउँदै आएका रास्वपाका सभापति रवि लाछिानेले पछिल्लो अडियो प्रकरणमा आउँदा अस्वभाविक टिप्पणी गर्दै आएका छन्।
केही दिनयता उनका अभिब्यक्ति र टिप्पणी अशोभनीय मात्रै होइन अराजक र भ्रामक देखिएको छ।
उनले गएको आइतबार बारा-२ को उपनिर्वाचनको चुनावी सभामा अडिओ प्रकरणमा मुछिएको पुष्टि भएर कारबाही नगरेमा गढीमाईमा बलि दिनु भन्दै मानव बलिलाई प्रश्रय दिने आशयको अभिव्यक्तिले विवादित बन्न पुगे। देशकै चौथो पार्र्टीको सभापति रहेका उनको मानव बलिलाई दुरुत्साहन गर्ने अभिव्यक्ति चौतर्फी निन्दाको विषय बनेको थियो।
यस्तै चितवन-२ को उम्मेदवार रहेका उनले चुनावी प्रचारकै क्रममा अमेरिकामा एक लाख मासिक डलर कमाउँदै आएकोमा सो सेवा सुविधा परित्याग गर्दै नेपालमा फर्किएको समेत बताएका थिए।
जबकि अमेरिकामा सामान्य स्तरका नेपालीले त्यो स्तरको आर्थिक उपार्जन गर्न नसक्ने भन्दै अमेरिका बसोबास गरिरहेका कतिपय नेपाली समुदायले उनको अभिब्यक्ति अफवाह भएको बताइरहेका छन्।
नेपाली जनतालाई भावनात्मक भड्कावमार्फत मत रिझाउने मनोकांक्षाले उनको उक्त अभिव्यक्ति भएको उनीहरुको आरोप छ।
उनका यी र यस्ता अभिव्यक्तिहरु चौतर्फी निसानामा पर्दै आएका छन्। तर, यी विषयमा आत्माआलोचित हुने भन्दा झनै बढावा दिने उन्माद उनमा जागेको छ। बुधबार सार्वजनिक भएको चितवनको एक भिडियोमा उनले मतदाताप्रति गरेको अस्वाभाविक क्रियाकलाप सामाजिक सञ्जालमा भाइरल भएको छ।
अनविज्ञता जनाउँदै चितवनको निर्वाचन क्षेत्र नं.२ मा पर्ने इच्छाकामना ६ खानीखोलाका स्थानीय मतदाता सुदर्शन विष्टले राखेको जिज्ञासाप्रति जवाफदेही बन्नुको साटो असहष्णिु तवरले खनिएका छन्। अघिल्लो निर्वाचनमा आशा गरेर जिताइएकोमा मतदाताको अपेक्षामाथि कुठाराघात भएको आशयको मतदाताको अभिब्यक्तिलाई उनले अस्भाविक रुपमा प्रस्तुत हुँदै अनावश्यक प्रतिशोधपूर्ण ब्यवहार देखाएका छन्। यो उनका लागि शोभनीय क्रियाकलाप किर्माथ होइन।
उनको उक्त अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा फैलिएको छ। यसले उनमा सहनशीलताको अभाव रहेको दर्शाएको छ। नेपाली नागरिकता अवैध ठहर गर्दै गएको माघ १३ गते सर्वोच्च अदालतले उनको सांसद र मन्त्री पद खारेज गरिदिएको थियो।
सोही विषयमा एक सामान्य किराना पसल गरेका मतदाता सुदर्शन विष्टले राखेको जिज्ञासामा उनले देखाएको व्यवहारले आफ्नो विरुद्धमा सिर्जना भएको प्रश्नको जवाफ दिँदा प्रकट गरेको रवाफ उग्रता र असहष्णिुताताकोे पराकाष्टा हो।
जनप्रतिनिधि भएपछि जनताको प्रश्नको जवाफ दिने हिम्मत राख्नुपर्छ। अझै चितवन-२ मा उपनिर्वाचन हुनु लामिछानेकै कमजारीको उपज हो। अमेरिकाको नागरिकताधारी लामिछानेले नेपालमा आएपछि नेपाली नागरिकताको पुनःप्राप्ति नगरेरै गरेको खेलाँचीको उपज फेरि उपनिर्वाचनको बाध्यता आइलागेको हो।
यो विषयमा सामान्य जानकार भएका मतदाताले प्रश्न गर्दा उनले आत्मआलोचित हुँदै आफूबाट भएको कमजोरीले उपनिर्वाचन गर्दा राज्यको आर्थिक ब्ययभार बढेकोमा प्रायश्चित गर्नुको साटो वैकल्पिक राजनीतिका हिमायति बताउँदै आएका उनले मतदातालाई अस्वभाविक हर्कत गर्नु वाञ्छनीय होइन।
बुधबार ढाकाकुमार श्रेष्ठलाई बर्खास्त गर्ने निर्णयपछि रास्वपाले केन्द्रीय समितको केन्द्रीय कार्यालय बसुन्धारामा आयोजित पत्रकार सम्मलेनमा समेत उनले चुनावी प्रचारका क्रममा गरिएका कतिपय अभिव्यक्तिप्रति आफ्नो कमजोरी स्वीकार गरेका छन्।
उनले यस अघि सरकारबाट बाहिँरिदै गर्दा नेपालका मिडियामाथि लगाइएको आरोपबारे कुनै प्रतिक्रिया दिन सकेनन्। उनले त्यतिबेलाको अभिब्यक्ति हालको सन्दर्भ अनुरुप असान्दर्भिक हुने आशयको अभिब्यक्ति दिएका छन्।
सोही पत्रकार सम्मेलनमा कतिपय पत्रकारको प्रश्नको सामना गर्न असमर्थ बनेका उनले विषयान्तर गर्दै प्रश्नकर्ता पत्रकारमाथि खनिएका थिए।
यस्तै गढीमाईमा बलि दिन तयार छु भन्दै मानव बलिलाई प्रश्रय दिने अभिप्रायको अभिब्यक्तिबोर भने मानवीय त्रुटि भएको स्वीकार गरेका छन्। उनले भावावेशमा आएको बताउँदै त्यसबाट पर्न गएको भ्रमप्रति सचेत रहेको बताएका थिए।
यस्तै रास्वपाले बर्खास्त गरिएका सांसद ढाकाकुमार श्रेष्ठले बार्गेनिङ गरेको अडिओ टेपमा व्यक्त गरेको कोर टिमको बारेमा पछि खुलासा गर्ने बताएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।
उनले आफूलाई अफ्ठ्यारो पारिएमा कोर टिमको खुलासा गर्ने आशय श्रेष्ठले ब्यक्त गरेको बताउँदै लामिछानेले समयक्रममा जो सुकैलाई उनले आरोप लगाउन सक्ने भन्दै आफूमाथि भविष्यमा लाग्न सक्ने सम्भावित आक्षेपको उजागर गरेका थिए।
‘हाम्रो पार्टीको विधानमा भ्रष्टाचारमा शून्य सहनशीलता हो। पैसा माग्नु नै त्यसको विपरीत हो। मन्त्री बन्न नै अमूक मान्छेसँग पैसाको बार्गेनिङ गर्नु नै कारबाहीका लागि यथेष्ट प्रमाण हो। उनले कोर टिमबारे ढाकाकुमारकाे भनाइ उद्धृत गर्दै भनेका थिए, ‘म डुबेपछि उहाँ (ढाकाकुमार) ले कोर टिमको खुलासा गर्छु भनेर भन्नु भएको छ।’
लामिछानेको उक्त अभिव्यक्ति नै भविष्यमा आफूमाथि आउनसक्ने सम्भावित आरोपको बचाउमा पूर्वजानकारी गराइएको रुपमा समेत आँकलन गरिएको छ।
|
बालेनको चुनौती – काठमाडौंको हितमा काम नगरे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले देशको संघीय सरकारलाई देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारलाई अन्यत्र सार्न वा राजधानी नै सार्न चुनौती दिएका छन्।
देशको केन्द्रीय सरकारको केन्द्र काठमाडौं महानगरपालिका भित्र रहेर पनि केन्द्र सरकारले काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै आएका मेयर बालेनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत यस्तो चुनौती दिएका हुन् ।
कि काठमाडौंको हितमा काम गर्नुहोस ,
कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।
हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस ।
हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।
— Balen Shah (@ShahBalen) April 13, 2023
उनले लेखेका छन् ‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, सँस्कृती, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’
|
युवा संघको अध्यक्षमा क्षितिज थेबे चयन बाँके। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन्। नेपालगञ्जमा भएको महाधिवेशनले संघको अध्यक्षमा थेबेलाई चयन गरेको हो। महाधिवेशनबाट सात उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन्।
महासचिवमा सुमन पुरीलाई चयन गरेको महाधिवेशनले उप महासचिवमा महेन्द्र गुरुङ र राजन थापालाई चयन गरेको हो । यसैगरी, सचिवमा विनय शाह, मोबिन आलम, जय गुरुङ, खेम शर्मा, अनिता कन्दङ्वा, बिष्णा चन्द, कुबेर अधिकारी, देवानन्द मेहता र पर्वत भण्डारी चयन भएका छन्।
कोषाध्यक्षमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई र उपप्रमुखमा नानीराम तिवारी चयन भएका छन्। अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली चयन हुँदा महाधिवेशनले निर्वाचन आयोग प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपालीलाई चयन गरेको छ।
|
शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन देउवा तयार! काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा शेखर कोइराला समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका छन्।
आफ्नो समूहलाई तीन मन्त्री नदिए सरकारमा सहभागी नहुने अडानमा रहेको शेखर-गगन समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सभापति देउवा तयार भएका हुन्।
बिहीबार विहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन्।
बैठकमा कोइरालाले उपनिर्वाचन लगत्तै सरकारमा सहभागी हुने बताएका थिए। कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर समूहमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ।
गत ११ पुसमा प्रधानमन्त्री बनेको प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन नसक्दा आलोचना हुँदै आएको छ।
|
प्रधानमन्त्रीसँग बार एसोसिएसनका पदाधिकारीहरूको छलफल काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गरेका छन्।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए।
भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे।
छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
|
राष्ट्रिय सभा बैठक स्थगित काठमाडौं। बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ।
बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गाैतमले जानकारी दिए।
उनका अनुसार स्थगित बैठक ४ वैशाख सोमबार दिउँसो १:०१ बजे बस्नेछ ।
|
रास्वपाका अन्य तीन जना सांसदको अडियो सार्वजनिक गर्ने दुर्गा प्रसाईंको चेतावनी [भिडियो] काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूसँग दुई करोड मागेको भिडियो सार्वजनिक गरेका सामाजिक अभियन्ता तथा मेडिकल व्यावसायी दुर्गा प्रसाईंले रास्वपाका अझै तीन जना सांसदको अडियो सार्वजनिक गर्न बाँकी रहेको बताएका छन्।
डिसी नेपालसँगको कुराकानीमा प्रसाईंले रास्वापका संसदमा मिठो भाषण गर्ने तीन जनाको अडियो रेकर्ड आफूसँग रहेको र ती अडियो सार्वजनिक गर्न बाँकी रहेको दाबी गरेका हुन्।
रास्वपाले प्रसाईंसँग दुई करोड मागेको अभियोग लागेका ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज गरिसकेको छ। प्रसाईंले ढाकाकुमार श्रेष्ठको अडियोको तरंग अझै नसकिएको उल्लेख गर्दै भने, ‘त्यसको छाल रोकिएपछि अर्को अडियो सार्वजनिक गर्छु।’
उनले संसदमा मिठो भाषण गर्ने तर भित्री आचरण खराव भएका सांसदको अडिायो आफूसँग रहेको र त्यो उचित समयमा सार्वजनिक गर्ने बताए।
फरक प्रसंगमा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्रले अहिलेका मिटरब्याजी पीडितलाई एक अर्ब रुपैयाँ दिए पीडितलाई राहत हुने र उनीहरुको साथ पूर्व राजालाई हुने जिकिर गरे। नेपालमा नेपालमा राजसंस्थाको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि दैनिक आत्महत्या गर्न बाध्य बैंक तथा लघुवित्त र मिटरब्याजी पीडितलाई बाँच्ने आधार तयार गर्न पूर्व राजाले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
प्रसाईंसँग गरिएकाे भिडियाे संवाद
|
राष्ट्रिय सभाको बैठक बस्दै काठमाडौं। राष्ट्रिय सभाको बैठक बस्दै छ।
नयाँबानेश्वरस्थित संघीय संसदको भवनमा बिहीबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्न लागेको हो।
बैठकमा केही मन्त्रालगत एजेण्डा पेस हुने तथा सदस्यहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने छन्।
|
देश बदल्न अब एजेण्डा बदल्नुपर्छ : उपाध्यक्ष पाण्डे गोरखा । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देश बदल्न अब एजेण्डा बदल्नुपर्ने बेला आएको बताएका छन्।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गोरखाको आयोजनामा गोरखा सदरमुकाममा आयोजित ४४ औँ शिक्षक दिवस कार्यक्रमको उद्घाटन समारोहमा आज उनले साँच्चै राजनीतिक दलहरूले देश बदल्ने हो भने सबैले आ–आफ्नो एजेण्डा बदल्नुपर्ने बेला भएको बताए ।
उनले देशमा गणतन्त्र आइसकेपछि परिस्थिति बदलिएको भन्दै दलले पनि अब पुराना एजेण्डा बोकेर हिँडेर देशलाई नयाँ ठाउँमा पु¥याउन नसक्ने उल्लेख गरे ।
अहिले चर्चामा भएजस्तो नेपालको अर्थतन्त्र खराब अवस्थामा पुगिनसकेको उपाध्यक्ष पाण्डेको भनाइ छ । “अर्थतन्त्रको अवस्था खराब म देख्दिनँ”, उनले भने, “अर्थतन्त्र बिग्रियो भन्नेभन्दा पनि मान्छेको आवश्यकता र चाहना बढेको हो ।”
उपाध्यक्ष पाण्डेले शिक्षा क्षेत्रमा लगानी बढाउन सकेमात्र देशको विकास र समृद्धि छिटो हुने बताए । उपाध्यक्ष पाण्डेले नेपालको राजनीतिक परिवर्तनको आधारशिला शिक्षक भएको भन्दै अब शिक्षकले देशको शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि लाग्नुपर्नेमा जोड दिए ।
“जसले ज्ञानमा लागनी गर्न सक्यो त्यही अगाडि आउने रहेछ”, उनले भने, “शिक्षामा लगानी बढाउने र गुणस्तर बढाउनेतर्फ शिक्षक सङ्गठनका नेताहरू लाग्नुपर्छ ।” उपाध्यक्ष पाण्डेले आफू अर्थमन्त्री रहँदा विद्यालयमा बालिकाहरूका लागि अनिवार्य स्यानिटरी प्याडको व्यवस्था गरेको तथा शिक्षामा १७ प्रतिशत बजेट विनियोजन गरेको बताए ।
|
रास्वपाले ढाकाको ठाउँमा विन्दबासिनी कंशाकारलाई सांसद बनाउने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेपछि उनको ठाउँमा विन्दबासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेका समानुपातिक सांसद श्रेष्ठलाई रास्वपाले साधारण सदस्यसमेत नराख्ने भएपछि उनको सांसद पद खारेज भएको छ।
उनको सांसद पद गएसँगै उनको ठाउँमा रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो।
श्रेष्ठले गत आइतबार मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो।
अडियो सार्वजनिक भएपछि रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो।
समितिले सांसद श्रेष्ठको अडियोसम्बन्धी प्रतिवेदन हिजो नै पार्टी सभापति लामिछानेलाई बुझाएको थियो।
पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आजै श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका थिए।
उनले जनवरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको आरोप समेत लगाएका थिए। उनले आफू यसविरुद्ध न्यायालय पुगेर क्लिन चिट पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने दाबी पनि गरेका थिए।
समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउँछ।
सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए। उनी एसिड आक्रमण पीडित समेत हुन्।
|
राष्ट्रियसभाको बैठक सर्यो काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । भोलि बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस २०८० साल वैशाख ४ गतेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।
“मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम २०८० साल वैशाख ४ गतेको लागि समय निर्धारण गरिएको छ’ आज जारी सूचनामा भनिएको छ ।
|
ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निष्कासित, सांसद पद पनि खारेज काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ।
मेडिकल व्यवसायीसँग २ करोड मागेका समानुपातिक सांसद श्रेष्ठलाई रास्वपाले साधारण सदस्यसमेत नराख्ने भएको छ। उनको पार्टी सदस्यता र सांसद पद खारेज गर्ने पार्टीले निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए।
बुधबार पार्टी कार्यालयमा भएको केन्द्रीय कमिटी बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत खारेज गर्ने निर्णय गरेको हो।
अडियो सार्वजनिक भएपछि रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो।
समितिले सांसद श्रेष्ठको अडियोसम्बन्धी प्रतिवेदन हिजो नै पार्टी सभापति लामिछानेलाई बुझाएको थियो।
पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आजै उनले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका थिए।
उनले जनवरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको आरोप समेत लगाएका थिए। उनले आफू यसविरुद्ध न्यायालय पुगेर क्लिन चिट पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने दाबी पनि गरेका थिए।
|
अडियो इडिटिङ गरेर बनाएको सांसद् श्रेष्ठको दाबी, भन्छन्- न्यायालयबाट क्लिन चिट लिएर आउँछु काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले सार्वजनिक गरिएको अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको दाबी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका हुन्।
उनले जनवरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको आरोप समेत लगाए। उनले आफू यसविरुद्ध न्यायालय पुगेर क्लिन चिट पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने दाबी गरे।
उनले भने, ‘‘उपननिर्वाचन र र मेरो पनि आफ्नो मान र प्रतिष्ठालाई आघात परेको छ। त्यसप्रति म क्षमापार्थी छु। यो अडियो खासगरी अहिले मिडियामा जहाँ पनि जसरी पनि बनाउन सकिन्छ। कहाँकहाँबाट कुराहरु जोडेर मिडियामा आएको छ। म पार्टीबाट निलम्बित भएको सदस्य पनि हो। न्यायालय गएर सम्पूर्ण कुराहरु गरेर क्लिन चिट लिएर म तपाईहरुसँग आउनेछु। मेरो कारणले पार्टी र उपनिर्वाचनलाई जुन अफ्ठ्यारो स्थिति आएको छ, यसप्रति म क्षमाप्रार्थी छु। यो अडियो फसाइएको हो, सुनिश्चित रुपमा। जनवरीको अडियो अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गर्ने षड्यन्त्र भएको छ।’’
|
सांसदहरुले बैठक ‘बङ्क’ गरेपछि सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन काठमाडौं। राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव कार्यसूचीमा समावेश गरिए पनि प्रतिनिधिसभामा गणपुरक सङ्ख्याको अभावमा प्रस्ताव प्रस्तुत हुन सकेन।
प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नुअघि नेकपा (एमाले)का सचेतक महेश बर्तोलाले गणपुरक सङ्ख्याको यकिन गर्न सभामुख समक्ष माग गरे। त्यस लगत्तै सभामुख देवराज घिमिरेले तीन मिनेटको घण्टी बजाएर गणपुरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिएका थिए।
बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा कम्तीमा एक तिहाई अर्थात् ६९ सांसद उपस्थित हुनुपर्नेमा ६१ मात्र रहेको जनाउँदै सभामुख घिमिरेले आजको कार्यसूचीमा रहेका बाँकी सबै कार्यक्रम स्थगित भएको जानकारी दिए।
यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सदनमा उक्त प्रस्तावमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
विधेकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले मुलुकमा सुरक्षण मुद्रणसम्बन्धी कानुन आवश्यक भएकाले उपकरण खरिद र पूर्वाधार निर्माण गरेर अन्तःशुल्कको स्टिकरलगायत सुरक्षण मुद्रणसम्बन्धी सामग्री छपाई सुरु गर्न पहल र प्रयत्न भइरहेको बताइन्।
मन्त्री शर्माले भनिन्, “हामीसँग भएको क्षमतालाई बढाएर सुरक्षण मुद्रण स्थापना गरी सञ्चालन गरिनेछ, सरकारकै निगरानी र मातहतमा राखिनेछ, विधेकमा बाझिएका बुँदा सच्याइनेछ, गुणस्तरमा विशेष ध्यान दिइनेछ ।”
छलफलमा ज्ञानेन्द्रबहादुर कार्की, महेश बर्तौला, रोशन कार्की, रघुजी पन्त, मनिष झा, प्रेम सुवाल, माधव सापकोटा, रामकृष्ण यादव, धु्रवबहादुर प्रधानलगायत १५ सांसदले विधेयकबारे आफ्ना धारणा राखेका थिए।
उक्त विधेयक विसं २०७७ मा राष्ट्रियसभामा उत्पत्ति भई त्यही लामो समयसम्म रहेको थियो। प्रतिनिधिसभाको अर्को बैठक आगामी वैशाख ३ गते आइतबार दिनको १ बजे बस्ने छ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.