content
stringlengths
20
64.1k
लण्डनमा एक नेपालीको उद्धार लण्डन । घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले भने, ‘‘मालिकसँग झगडा परेर घर छाडी हिँडेका उनलाई पुनः मालिकको घर फर्काउने वातावरण गराएता पनि सो दिन उनी नफर्की त्यहीँ रहेको खबर पाएपछि भोलिपल्ट बिहान उद्धार गरियो।” आफू कुन पार्कमा छु भन्नेसम्म थाहा नभएपछि दूतावासले ट्याक्सीमा राखी पार्कबाट ल्याएको थियो । दूतावासकै आग्रहमा अहिले एक नेपाली व्यवसायीले उनको खानबस्ने प्रबन्ध गरेको जनाइएको छ। उद्धार गरिएका व्यक्तिको प्रवेषाज्ञा सकिएको तर कोरोनाका कारण अहिले यहाँको अध्यागमनले जुलाई ३१ सम्म स्वतः थपिदिने प्रावधान मिलाएको छ। अब कोरोनाको प्रकोप कम भई यहाँका विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि उनलाई नेपाल पठाउने दूतावासले जनाएको छ। रासस
थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२ काठमाडौं । नेपालमा शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्। संक्रमित हुनेमा झापाका २८, सप्तरी ४, बारा ४ र पर्साका १ जना रहेको छन्। यसैगरी पाटन अस्पतालमा रहेका १ जनासहित सर्लाहीमा थप ५ जनामा कोरोना पुष्टि भएको छ। यस्तै बाँकेमा १० जनामा थप संक्रमण देखिएको छ भने कपिलवस्तुमा ५१ जनामा कोरोना देखिएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जना तथा रौतहटका ५६ जनामा पनि कोरोना पुष्टि भएको छ। यस्तै रुपन्देहिमा १ जना दाङमा २ जना तथा म्याग्दिमा १ जनामा संक्रमण देखिएको छ। ती मध्ये १६५ जना पुरुष र ५ जना महिला छन्। यो संगै संक्रमितको संख्या १२१२ पुगेको छ। यस्तै शुक्रबार थप १९ जना निको भएका छन्। निको हुनेको संख्या २०६ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ।
एकै दिन १७ मा कोरोनाः कन्ट्याक्ट ट्रेसिङमा जोड महाेत्तरी। महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेशन स्थापना गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको केन्द्रको शुक्रबार बैठकले क्वारेन्टिनमा बसेकाहरुको कोभिड पोजेटिभ केसको कन्ट्याक्ट ट्रेसिङ्ग तथा ट्राभेल हिस्ट्री स्थानीय तहले स्वास्थ्यकर्मीबाट तथा बाहिर रहेकाहरुको जिल्ला स्वास्थ्य कार्यालयबाट लिने निर्णय गरेको छ। बैठकले कोभिड–१९ रोगको संक्रमण नियन्त्रणका लागि हरेक स्थानीय तहले डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरी सोको जानकारी डिसिसिएमसी महोत्तरीलाई गराउन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ। त्यस्तै जलेश्वर, भंगहा र मनरासिस्वा नगरपालिकाका क्वारेन्टिनमा कोभिड पोजेटिभ केस देखिएकाहरुको स्वाब संकलनका लागि आवश्यक पर्ने कम्तीमा २०० थान भिटिएमलगायत स्वास्थ्य सामग्री तथा जनशक्तिको व्यवस्था गर्न सामाजिक विकास मन्त्रालय प्रदेश नं २ जनकपुरधामलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
गण्डकी प्रदेशमा काेराेना सङ्क्रमित १९ पुगे कास्की। गणडकी प्रदेशमा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या १९ पुगेको छ। शुक्रबार बिहान नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्ला देवचुली नगरपालिका घर भइ सोही नगरपालिकाको क्वारेन्टिनमा रहेका दुई जनाको कोभिड–१९ पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। सङ्क्रमित वर्ष १९ र २१ का दुई पुरुष रहेको दुवै जनालाई मध्यविन्दु अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। बिहीबार साँझ म्याग्दीको मालिका गाउँपालिका घर भइ बेनी नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष ३० का एक पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ। गण्डकीमा हालसम्म बाग्लुङमा आठ, स्याङ्जामा पाँच र नवलपरासी पाँच तथा म्याग्दीमा एक सङ्क्रमित छन्। बाग्लुङका दुई भने यसअघि नै उपचार गराएर निको भएपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्याङ्जाको वालिङमा बिहीबार सङ्क्रमण पुष्टि भएका तीनमध्ये ३९ वर्षीया महिलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएर आइसोलेसन कक्षमा राखेर उपचार शुरु गरिएको हो। स्याङ्जामा महिलाका लागि छुट्टै आइसोलेसनकक्ष नभएकाले उनलाई पोखरा ल्याइएको बताइन्छ । अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले सङ्क्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा राखेर उपचार शुरु गरिएको जानकारी दिए। निर्देशक आचार्यले पहिलोपटक सङ्क्रमित बिरामीको उपचार शुरु भएसँगै अस्पतालका अन्य सेवा भने प्रभावित हुने बताए। अस्पतालमा भीडभाड कम गर्न र सम्भावित सङ्क्रमण रोक्न बहिरङ्ग विभाग (ओपिडी) को सेवा बन्द गरिने जानकारी दिए।
सीमाको प्रश्नमा सप्लाईको जवाफ दिएर भारतले के भन्न खोजेको हो ? काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रबक्ता अनुराग श्रीबास्तवले महामारीको समयमा पनि नेपालसंगको व्यपार र अत्याबश्यक बस्तुको सप्लाई गर्ने काम नरोकिएको बताएका छन्। बिहीबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नेपालसंगको वर्तमान सीमा विवादका विषयमा बोल्ने क्रममा उनले अत्यावश्यक बस्तुको सप्लाईको प्रसंग जोडेका थिए। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएलगत्तै भारत सरकारले नेपालका लागि अत्याबश्यक सामग्रीहरुसमेत रोकेर अघोषित नाकाबन्दी गरिदिएको थियो। सीमाको प्रसंगमा कुटनैतिक धम्कीका रुपमा अर्थ लाग्ने गरी अत्यावश्यक सामग्रीसमबन्धी कुरा जोडेर जवाफ दिइएको छ। प्रवक्ताले भनेका छन्, “अहिलेको कोभिड १९ को अवस्थामा पनि भारतले नेपालसंगको व्यपार र औषधिजस्ता अत्यावश्यक बस्तुहरुको सप्लाईलाई जारी राखेको छ। भारतले नेपाललाई औषधिजन्य सहयोग पनि गरेको छ।” भारतले नेपालसँगको गहिरो ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई अत्यन्त महत्व दिएको बताउँदै प्रबक्ताले पछिल्ला बर्षहरुमा दुई देशका बीचको सम्बन्ध अझै विस्तृत र विविधतायुक्त भएको बताएका छन्। उनले भारत सरकारको दुई पक्षीय विकास र कनेक्टिभिटी सहयोग बढेको छ र यसअन्तर्गत नेपालमा केही निकै महत्व राख्ने ठूला आकारका परियोजना समयमा सम्पन्न भएको बताएका छन् । भारतले अहिलेको पछिल्लो सीमासम्बन्धी विषयमा निरन्तररुपमा नेपालको अवस्था अनुगमन गरिरहेका जनाएको छ । उसले आपसी सम्मान, संबेदनशीलता लगायतका आधारमा सबै छिमेकीसंग इन्गेज हुन खुल्ला रहेको भन्दै यसमा रचनात्मक र सकारात्मक प्रयत्नको जरुरी पर्ने कुरा पनि जनाएको छ।
राष्ट्रपति भण्डारीद्वारा २३३ कैदीलाई माफी मिनाहा काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गगरेकी छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी सो जानकारी दिएकी हुनु । यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा कपिलदेव साह कानुसमेतका आठ व्यक्तिलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्वलगायतको सजाय माफी भएको विज्ञप्तिमा जनाइएको छ। रासस
ललितपुरमा कोरोनाका कारण १ जनाको मृत्यु, मृतककाे संख्या ५ पुग्याे काठमाडौं । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा ललितपुर महानगरपालिका – २२ का ५७ वर्षिया पुरुषकाे मृत्यु भएकाे हाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार किस्ट अस्पतालमा भर्ना भएका उनको सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको थियो । उनले डिसी नेपालसँग कुरा गर्दै भने, ‘उहाँ पाटन अस्पतालमा उपचारका लागि जानु भएको थियो। कलेजो सम्बन्धी समस्याबाट ग्रसित उहाँलाई जेठ ११ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।’ जुनसुकै विरामीको पनि कोरोना परीक्षण अनिवार्य भएकाले उहाँको परीक्षणमा पनि कोरोनाको लक्षण पोजेटिभ देखिएको उनले बताए । उनले भने, ‘अहिलेअस्पतालमा उपचारका लागि आउने सबैको कोरोना परीक्षण अनिवार्य भएको छ। उहाँ पनि कोरोनाको लागि अस्पताल आउनु भएको हैन्। अन्य समस्या भएर आउनु भएको हो। तर, आज आएको रिपोर्टमा कोरोना पुष्टि भएको छ।’ डा. गेलालका अनुसार, अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर, आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर औपचारिक घोषणा गर्न बाँकी । उनले भने, ‘किस्ट अस्पतालका अन्यको सुरक्षाका लागि आवतजावतमा रोक लगाएका छौं, प्रशासन संग कुरा गरेर सिल गर्ने कि भन्नेबारे छलफल भइरहेको छ। तर, उहाँको उपचारमा संलग्न डाक्टर र अन्य कर्मचारीलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिइसकेको छु। उहाँहरुको चाडै परीक्षण पनि गरिने छ।
सीमा समस्या अन्त्यका लागि नेपाल पक्षको कार्यभार काठमाडौँ । लिपुलेक, कालापानी र लिम्पिायाधुरा नेपालको भूभाग हो । दशकौँदेखि भारतले नियन्त्रणमा लिएको उक्त भूभागलाई फिर्ता लिने कुराको बहसले आज राष्ट्रिय महत्व पाएको छ । साथै राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वधिनताको रक्षाका लागि सबै नेपाली एकै ठाउँमा उभिने बलियो आधार पनि तयार भएको छ। धेरै पहिलेदेखि नै तत्कालीन पञ्चायत शासकहरुले के कति कारणले यस विषयलाई मुद्दाको रुपमा उठाएनन् । यो इतिहासले नै मूल्यांकन गर्ला तर २०४६ सालको परिवर्तनपछि निर्माण भएको प्रजातान्त्रिक सरकारले सीमा विवादको विषयमा दुई देशबीच कूटनीतिक वार्ताका माध्यमबाट सल्टाउने प्रयास गरेतापनि यस विषयले सार्थक परिणाम दिन सकेन । पाँच वर्षअघि अर्थात सन् २०१५ मा लिपुलेकलाई व्यापारिक नाकाका रुपमा प्रयोग गर्न नेपाल सरकारलाई नसोधि भारत र चीन सरकारले सुटुक्क सहमति गरेका थिए । त्यसपछि भारतले सन् २०१९ नोभेम्बरमा दार्चुलाको उत्तर पश्चिम क्षेत्रमा पर्ने उक्त भू–भागलाई आफ्नोतर्फ पार्दै नयाँ राजनीतिक नक्सा जारी गरे पश्चायत उत्पन्न समस्यालाई समाधान नै नगरिकन कोरोनाको महामारीको बेलामा फेरि चीनसँग जोड्ने मानसरोवरसम्म जाने सडकमार्ग बनाउन पुग्यो । यसरी भारतले आफैँ सिर्जना गरेको सीमा विवादलाई समाधान गर्न आज सबै राजनीतिक दल एवं नागरिक समाज एउदै राष्ट्रियताको बलियो जगमा उभिएका छन् । नेपालको कूटनीतिक असक्षमता, राजनीतिक नेतृत्वको अनिच्छा र लापारवाही कारणले भारतले नेपालमा अनवरत रुपमा कायम रहेको उक्त भूमि माथि कब्जा गरेको टिकाटिप्पणी जताततै उठ्न थालेपछि सरकारले उक्त भूमिलाई समेटेर नक्सा सार्वजनिक गरिसकेको छ । देशको चिन्ह छापसमेत परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव पनि संसद्मा दर्ता भइसकको छ । तर भारतले विभिन्न मिडियामार्फत उक्त भूमि आफ्नै भएको दाबी गर्दै आएको छ । त्यसैले फेरि प्रजातन्त्रवादी राष्ट्रवादी र परिवर्तनकारी धार पुनः नेपाली माटो रक्षा गर्न एक पटक एउटै ठाउँमा गोलबद्ध हुन आवश्यक छ । विश्वशक्ति राष्ट्र बन्ने आकांशा बोकेको छिमेकी देश भारतले जबरजस्त अर्को देशको सीमा मिचिरहनु र सीमा विवादलाई वार्ताद्वारा हल गर्न तत्पर नहुनुले पनि नेपाली भूमिमाथि बल मिचाई गर्ने एवं हडप्ने प्रवृति स्पष्ट नै देखिन्छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला पनि दुई मुलुकको सीमा विवादको समस्यालाई परराष्ट्र सचिवस्तरीय संयन्त्रमार्फत वार्ता गरी समाधान गर्ने सहमति भए पनि त्यसमा खासै प्रगति भएन । पछिल्लो पटक पनि भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि दुई पटक सचिवस्तरीय कूटनीतिक वार्ताका लागि कुटनितिक पत्र पठाए पनि प्रति उत्तर आएन । त्यसैले सीमा विवाद भारतले आफैँ सिर्जना गरेको विवाद हो । यसलाई समाधान गर्नुको साटो बारम्बार पन्छिरहने र विवाद सिर्जना गर्ने कार्यले भारतको नियतमाथि शंका गर्नु नै पर्दछ । कुनै पनि देश भूगोल वा विकासको दृष्टिकोणले सानो ठूलो होला, धनीगरिब होला तर राष्ट्रियताको हिसाबले सानो ठूलो हुँदैन । आफ्नो मातृभूमि सबैलाई स्वर्गभन्दा प्यारो नै हुन्छ । त्यसलै भारतले कूटनीतिक वार्ताबाट पञ्छिन खोजी अन्तिम विकल्प नेपालको सामु अन्तराष्ट्रियकरण गर्ने ढोका सदा नै खुल्ला छ । सन् १८१६ को सुगौली सन्धिलगायत उपलब्ध अधिकांश ऐतिहासिक आधार प्रमाण एवं दस्तावेजका अनुसार महाँकाली नदीवारीको कालापानी क्षेत्र नेपाली भूभाग हो भन्ने कुरामा कुनै शंका छैन । नेपाल र भारतबीचको पश्चिमी सीमा महाकाली नदीले छुट्याउँदछ जुन नदीको उद्गम विन्दू लिम्पियाधुरा नै हो तर भारतले अतिक्रमण गरेको कारण उक्त क्षेत्रबाट उसलाई हटाउन हामीले सबै यथेष्ट प्रमाण जुटाउनु पर्दछ। जस्तो सुगौली सन्धि, तत्कालीन नेपाल सरकाले गरेको जनगणना, त्यस भेगका जनताले नेपाललाई तिरो तिरेको रसिद, २०१५ सालको आमनिर्वाचनमा मतदाता सूचीमा भएको नामावली, सुगौली सन्धि अनुरुप भारतको तर्फबाट प्रकाशित भएका विभिन्न नक्साहरु र पश्चिम नेपालका गब्र्याङ गुन्जी र बुदिसहितका गाउँका मुखियाहरुले तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरलाई लेखेको पत्र आदि उक्त भूभाग नेपालको भूमि हो भन्ने बलियो प्रमाण हुन्। जस्तो सुगौली सन्धि, तत्कालीन नेपाल सरकाले गरेको जनगणना, त्यस भेगका जनताले नेपाललाई तिरो तिरेको रसिद, २०१५ सालको आमनिर्वाचनमा मतदाता सूचीमा भएको नामावली, सुगौली सन्धि अनुरुप भारतको तर्फबाट प्रकाशित भएका विभिन्न नक्साहरु र पश्चिम नेपालका गब्र्याङ गुन्जी र बुदिसहितका गाउँका मुखियाहरुले तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरलाई लेखेको पत्र आदि उक्त भूभाग नेपालको भूमि हो भन्ने बलियो प्रमाण हुन्। यसका साथै राष्ट्रसंघलगायत बेलायत जस्ता मुलुकका संग्रहालय तथा पुस्तकालयमा पनि कति प्रमाण छन् । त्यसको खोजी गरिनुपर्दछ । यससम्बन्धी विज्ञ एवं सीमाविद्हरुसँग पनि सरसल्लाह लिन जरुरी छ । राष्ट्रिय स्वार्थको यस विषयलाई सबैले व्यक्तिगत एवं दलगत स्वार्थभन्दा माथि उठी परिणाममुखी नतिजा ल्याउन अग्रसर हुनुपर्दछ । सरकारले पनि को बढी राष्ट्रवादी बन्ने भन्ने प्रवृत्तिलाई तिलान्जली दिँदै खुल्ला दिलले सहयोग लिन सधैँ तत्पर हुनुपर्दछ। हाम्रो स्वाभिमानी इतिहासलाई सम्झेर बीपीले भनेको जस्तो संकटको घडीमा “एक मुठी माटो हातमा ल्याउ त्यसले जे भन्छ त्यही गर” भन्नुभएको थियो । आज हामी नयाँ इतिहास रच्दै छौँ । त्यसैले सार्थक परिणाममुखी नतिजा प्राप्त गर्न नक्सा वा मानचित्रमा मात्र होइन अर्थात्मा राजनीतिक भूगोलमा पनि उक्त भूभागलाई फिर्ता लिनको लागि निम्न रणनीति उपायहरु अवलम्बन गरिनुपर्दछ । १) संविधानको संशोधन : नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्यिाधुरासहितको भूभाग समावेश गरी मुलुकको नक्सा प्रचलनमा ल्याएपछि नक्साको सुधारको लागि संविधान संशोधनको प्रक्रिया अगाडि बढाएको छ । संविधानको अनुसूचि–३ मा रहेको नेपालको निशानछाप राखिएको मुलुकको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्र छुटेको हुनाले यी क्षेत्रहरु समेत समावेश भएको नक्सा संविधानमा राख्न संविधान संशोशनको प्रस्ताव संसद्मा दर्ता भएको छ । राष्ट्रियताको सवालमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरुले एकता साथ संविधान संशोधनको प्रस्तावलाई पारित गर्नुपर्दछ । २) तथ्य तथा प्रमाणहरुको संकलन : मिचिएको भूमि फिर्ता लिन विभिन्न प्रमाणहरु जुटाउनुपर्दछ । उक्त भूमि फिर्ता लिने पहिलो आधार सन् १८१६ मार्च ४ को नेपाल सरकार र इष्टइन्डिया कम्पनीबीच भएको सुगौली सन्धि नै हो । उक्त सन्धिमा पश्चिम काली पूर्वमा मेचीलाई मुलुकको सिमानाको रुपमा उल्लेख गरिएको छ तर उक्त सन्धिमा पश्चिमको राप्तीदेखि पूर्वको कोसी नदीसम्मका तराईका जिल्ला उल्लेख नभएकाले त्यसको नौ महिनापछि अर्थात् डिमेम्बर ८ मा सुगौली सन्धि कै पुरक सन्धि भयो । दोस्रो प्रमाणको रुपमा नेपालको कोशीदेखि राप्तीसम्मको समतल भूभाग नेपाललाई फिर्ता गर्न चाहने भन्दै अंग्रेज सरकारले नेपाल सरकारलाई पठाएको पत्रको आधारमा सुगौली सन्धि कै पुरक सन्धि भएको थियो । त्यसमा लिम्पियाधुरा नेपालको नक्सामा रहेको देखिन्छ । तेस्रो प्रमाण सन् १९६० नभेम्बर १ मा तत्कालीन श्री ३ जंगबहादुर राणा र जर्ज -याम्सेबीच भएको सझौताअनुसार बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरिएको छ । त्यस बेला तयार पारिएको नक्सामा पनि लिम्पियाधुरा देखिन्छ । चौथौ प्रमाण सन् १८७५ जनवारी ७ मा दाङको डुडुवा क्षेत्रको सिमांकन गर्दा नेपाल र अंगे्रज सरकारको तर्फबाट कमिस्नर लेफ्टिनेट जर्नलको संयुक्त आयोगले गरेको नक्साङ्कनमा पनि लिम्पियाधुरा देखिन्छ । पाँचौँ सन् १९९५ मा तत्कालीन नेपाल सरकारलाई लिम्पियाधुरा क्षेत्रका बासीले तिरो तिरेको रसिदको प्रमाण मुख्य आधार हुन सक्दछ । छैटौँ प्रमाणको रुपमा २०१५ सालको आमनिर्वाचनको मतदाता नामावली र २०१८ सालको जनगणनाको तथाङ्क पनि लिनुपर्दछ । सातौँ सन् १८१९ देखि १८९४ सम्म भारतबाटै जारी पाँच नक्साले कालीनदीको मुहान लिम्पियाधुराको शिरलाई स्पष्ट किटान गरेको पाइएको छ । आठौँ पश्चिम नेपालका गब्र्याङ, गुञ्जी र बुदिसहितका गाउँका मुखियाहरुले ११६ वर्षअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेर जबरालाई लेखेको पत्र आदि हुन् । ३) राष्ट्रिय र अन्तरराष्ट्रिय वातावरणको निर्माण: सीमा विवाद समाधानको लागि सरकारले नेतृत्वदायी भूमिका खेल्नु नै पर्दछ । त्यसका लागि सरकारले सरोकारवाला समूहसँग समन्वय गरी सुझाव र सहयोग पनि लिन सक्नुपर्छ । यस्तै छिमेकी मुलुक चीनलाई समेत शुवेच्छुक मित्रको भूमिका निर्भाह गर्न आग्रह गर्नुपर्दछ । अन्य सार्क देश एवं त्यसअन्तर्गतका निकाय, अन्तरराष्ट्रिय संघसंस्थाका साथै जनस्तरमा व्यापक रुपमा नागरिक विज्ञहरु समेतलाई परिचालन गरी उचित वातावरणको सिर्जना गरिनुपर्दछ । ४) वार्ताको प्रयास र दबाव: भारतले मिचेको भूभागलाई फिर्ता लिन दुई देशबीच कूटनीतिक एवं राजनीतिक वार्तालाई पहिलो प्राथमिकता दिनुपर्दछ । यसमा त्रिपक्षीय वार्ताको पनि आवश्यक परे दोस्रो छिमेकी मुलुक चीनलाई समेत संलग्न गराउनुपर्दछ । अब यस्तो वार्ता परराष्ट्र मन्त्रीस्तरीय वा दुवै देशका प्रधानमन्त्रीबीच वान टु वान वार्ता हुन जरुरी छ । ५) अन्तर्राष्ट्रियकरण: वार्ताको प्रक्रियाले सफता पाएन भने सीमा विवादलाई अन्तर्राष्ट्रिकरण गर्न पनि पछि हट्न हुँदैन । किनभने अन्तर्राष्ट्रिय कानूनमा कुनै पनि विवादित भूमि माथि एकलौटी नियन्त्रण गर्न मिल्दैन । भारतको हेपाह प्रवृतिबाट अजित भई सकेको नेपालले अन्तिम विकल्पको रुपमा अन्तर्राष्ट्रियकरणलाई लिनुपर्दछ । ६) भूमिमाथि नियन्त्रण: सन् १९६२ मा चीनसँगको युद्धको दौरानमा भारतले कालीनदी तरेर नेपाली भूमि माथि अतिक्रमण गर्दै लिपुलेक आएर त्यहाँबाट बगेको खोलालाई एकतर्फि रुपमा कालीनदी भनेर घोषणा ग-यो । ती सिमानामा भारतीय सेनासमेत तैनाथ ग-यो । आज त्यहाँ धमाधम निर्माण कार्य र प्रशासनिक कार्यालयसमेत स्थापना गरी अड्डा जमाएर बसेको छ । तत्काल यी सबै निकायलाई नेपाल सरकारको मातहतमा ल्याई भारतीय सेना हटाउँदै नेपाली सेना तैनाथ गरिनुपर्दछ । (लेखक संग्रौला ‌काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य हुन्)
सरकारले कात्रोमा पनि भ्रष्टाचार गर्‍यो : विश्वप्रकाश शर्मा काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले कोरोना महामारीका बेला सरकारले कात्रोमा भ्रष्टाचार गरेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियनको स्थापना दिवको अवसरमा गरिएको भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै उनले महामारीका बेला सरकारले भ्रष्टाचार र सत्ताको खेलमा लागेको आरोप लगाए । शर्माले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित नगरेको स्वास्थ्य सामाग्री ल्याएर जनाताको स्वास्थ्यमा खेलवाड गरेको आरोप लगाए । उनले भने, ‘कात्रोमा पनि भ्रष्टाचार ? स्वास्थ्य सामग्री समयमा आएन त्याहाँ गल्ति त भयोभयो, पारदर्शि ‘टेण्डर’ भएन त्याहाँ गल्ति त भयोभयो, कमसल खालको चिज ल्याएर आउने ? परीक्षणको किट पनि डब्लुएचओले ‘सर्टिफाइ’ नगरेको ल्याएर नागरिको जीवनमा माथि खेलवाड गर्ने? यतिले पुगेन मूल्य भन्दा बढीको रकम राज्यकोषबाट निकासा गराएर भ्रष्टाचार गर्ने।’ ‘नेपालमा आमा मर्दा ६ दिनसम्म अर्काको भूमिमा सेतो कपडा ओडेर बस्नु पर्ने नेपालीको वाध्यता यस भन्दा पहिला आएन।’ शर्माले भने, ‘यो भन्दा अमानवीय दृष्य के हुनसक्छ।’
भारतबाट ठूलो परिमाणमा लागुऔषधसहित नेपाल छिरेका युवा पक्राउ लहान । प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ निवासी ४५ वर्षीय विजयलाल पासवानलाई सोमबार पक्राउ गरेको हो। पक्राउ परेका पासवानको साथबाट लागुऔषध डिलेक्सटीम डिसी १०० एमएलको ४४ बोतल, रिपलिन १०० एमएलको ३६ बोतल, नाइट्रेजेपेम ट्याब्लेट १२० थान, एसपास्मोस प्रोसेभोम ४४ थान र राजनिवास बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। रासस
चिनियाँ राष्ट्रपतिकी पत्नीको डब्लुएचओसँग के छ कनेक्सन ? समस्यामा पर्न सक्छ संगठन काठमाडौं। कोरोना भाइरसका विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) माथि कैयौं देशहरुले प्रश्न उठाइरहेका छन् । यही बीचमा एक रिपोर्टमा यो कुराको खुलासा गरिएको छ कि विश्व स्वास्थ्य संगठनको वेबसाइटमा उसकी गुडविल एम्बासडर पेंग लियुआनको पूरा परिचय खुलाइएकै छैन । वेबसाइटमा पेंगको जुन परिचय दिइएको छ त्यसमा उनी चीनका राष्ट्रपनि शी जिनपिंगकी पत्नी हुन् भन्ने कुरा कहीँ कतै उल्लेख छैन । डब्लुएचओले आफ्नो वेबसाइटमा गुडविल एम्बासडरको रुपमा ९ जनालाई सूचीकृत गरेको छ र उनहिरुको फोटोसहित संक्षिप्त परिचय प्रकाशित गरिएको छ । यो पदको लागि चिनियाँ राष्ट्रपति पत्नी पेंगलाई जहिले चुनिएको थियो त्यतिबेला तत्कालीन डब्लुएचओ प्रमुख मार्गरेट चेनले भनेका थिए ‘पेंग विश्वकी प्रसिद्ध आवाज र सच्चा मनकी महिला हुन् ।’ पहिलो पटक पेंगलाई २०११ मा चयन गरिएको थियो । पछि नयाँ डब्लुएचओ प्रमुख टेड्रोस एडनह्याम घेब्रियेसुसले उनलाई दोस्रो पटक नियुक्त गरेका थिए । बेलायती अखबार डेलीमेलमा प्रकाशित समाचार अनुसार बेलायतका सांसद तथा विदेश मामिलासम्बन्धी कमिटीका अध्यक्ष टम टीले भने ‘यस्तो लाग्छ गुडविलको परिभाषा लामो बनाइएको छ । डब्लुएचओले यस्ता व्यक्तिहरुलाई छान्नुपर्छ जो वास्तवमा मानिसहरुको अधिकारको लागि काम गर्छन् न कि उनीहरु जसको कामको विषयमा सन्देह कायमै छ ।’ १९८७ मा पेंगको बिहे जिनपिंगसँग भएको थियो । त्यतिबेला जिनपिंग चीनको झियामेनका डिप्टी मेयर थिए र उनको पहिलो पत्नीसँग सम्बन्धविच्छेद भइसकेको थियो । पेंगको बारेमा डब्लुएचओको वेबसाइटमा लेखिएको छ ‘संगठनका महानिर्देशक (तत्कालीन) मार्गरेट चान प्रसिद्ध चिनियाँ गायिका तथा अभिनेत्री पेंग लियुआनलाई क्षयरोग र एचआइभी एड्सको लागि डब्लुएचओको गुडविल एम्बेसेडर नियुक्त गर्नुहुन्छ । पेंग पिपुल्स लिबरेशन आर्मीको जनरल पोलिटिकल डिपार्टमेन्टको चिनियाँ गीत र डान्स समूहकी प्रमुख हुनुहुन्छ । सार्वजनिक सेवामा पहिलो र मिलिट्रीमा उहाँलाई मेजर जनरलको दर्जा हासिल छ ।’ वेबसाइटमा अगाडि लेखिएको छ ‘पेंग स्वास्थ्य, क्षयरोग र एचआइभीमाथि नियन्त्रणको धेरै वकालत गर्नुहुन्छ । २००६ मा पेंग चीनमा एचआइभी एड्सबाट सुरक्षाका विषयमा मिनिस्टर अफ हेल्थ एम्बासडर बनाइनुभएको थियो र २००७ मा टिबी कन्ट्रोल एण्ड प्रिभेन्सनको नेशनल एम्बासडर पनि बनाइनुभयो ।’ अमेरिकासहित कैयौं देश यो आरोप लगाइरहेका छन् कि डब्लुएचओले विश्वलाई कोरोना भाइरसका विषयमा समयमा सतर्क गराएन र यस्तो चीनका कारणले गरियो । अमेरिका र जर्मनीका खुफिया एजेन्सीहरुको हवाला दिँदै यस्ता रिपोर्टहरु पनि आएका छन् कि चिनियाँ राष्ट्रपतिले डब्लुएचओ प्रमुखलाई कोरोनासँग सम्बन्धित जानकारी रोक्न भनेका थिए । तर, डब्लुएचओले यस्ता रिपोर्ट खारेज गरेको थियो । अब पेंगको डब्लुएचओसँग कनेक्सनका कारण संगठन फेरि प्रश्नको घेरामा आउन सक्छ ।
अमेरिकाको डालासमा ‘एन इभनिङ इन नेपाल’ टेक्सास । अमेरिकाको टेक्सासस्थित डालास शहरका नेपालीहरुलाई प्रविधिमार्फत सहभागी गराएर एउटा फरक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । डालासको एभरेष्ट लायन्स क्लवले मे २४, आइतबार बेलुकी ‘एन इभनिङ इन नेपाल’ नाम दिएर सो शहरमा रहेका नेपाली समुदायमा आपसी एकता र मनोरन्जनको सन्देश दिने प्रयास गरेको थियो । कार्यक्रममा कलाकारहरुले जुम प्रविधिको प्रयोग गरी आफ्नो प्रस्तुति दिएका थिए भने सहभागीहरुले फेसबुक लाइभमार्फत मनोरन्जन लिएका थिए । यो वर्ष कोभिड-१९ ले ल्याएको विषम परिस्थिति का कारण यसरी एकै थलोमा कार्यक्रम गर्न संभव नभएकोले इन्टरनेटमार्फत प्रविधि प्रयोग गर्नु परेको क्लवका पूर्व अध्यक्ष एवम् कार्यक्रम सँचालक राधाकृष्ण काफ्लेले बताए । कार्यक्रम नेपाली राष्ट्रगान र अमेरिका को राष्टगान बाट शुरू गरिएको थियो । टेक्सास नेपाली कला समूहका  कलाकारहरू क्रमशः चर्चित हाँस्यब्यँग्य कलाकार नारायण त्रिपाठीले समसामयिक व्यंग्य र वरिष्ठ संगीतकार एवम् गायक केशव पौडेल, गायक भीम चापागाईं र लोकगायक भीम थापाका अलावा नेपालबाट चर्चित लोक दोहोरी गायक पुरूषोत्तम न्यौपानेले दुई चरणमा गायन प्रस्तुत गरेका थिए।बीचबीचमा लियो क्लबका भाइबैनीहरुले नृत्य र वाध्यवादन प्रस्तुत गरेका थिए। कार्यक्रममा क्लवका अध्यक्ष सुरेश बस्यालले स्वागत मन्तव्य , स्टेट रिप्रिजेन्टेटिभ टेरी मेजा, लायन्सका नेताहरु विनोद माथुर, राजेन थापा लगायत लायन्स एस्मेराल्ड, भोलानाथ पन्त, थलराज पन्त, राज श्रेष्ठ, फ्रेड कंगनरले लायनिजम्का बारेमा मन्तव्य पनि राखेका थिए । क्लवकी सचिव डा .माया उपाध्यायले यो वर्ष क्लवले गरेका कार्यक्रमहरू प्रस्तुत गरेकी थिइन् भने क्लवकी प्रेसिडेन्ट इलेक्ट मीना क्षेत्रीले धन्यवाद ज्ञापन गरेका थिए । त्यसैगरी क्वलका सदस्य यशोदा अधिकारी, सरोज खतिवडा, लियो एकता उपाध्याय, मन्जिता क्षेत्री, बुनु पन्त, विनय उपाध्याय र कृतिका तिमल्सिनाले पनि विविध प्रस्तुति दिएका थिए । इभेन्ट कोअर्डिनेटको जिम्मा केदार तिमल्सिनालाई दिइएको थियो भने डिसे सुशान्तले माइ एलाइट इभेन्ट को स्टेज डेकोरेशनबाट लाइभ प्रस्तुति दिएका थिए ।
नेपालमा थप १२ जनामा कोरोना पुष्टि काठमाडौँ । सुर्खेतमा आज १२ जनामा कोराना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको सामाजिक विकास मन्त्रालय कर्णालीले पुष्टि गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै, वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका ११ जना पुरुष र एक जना महिलामा कोरोना संक्रमित भएको जनाएको हो। संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै संक्रमितहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९४ पुगेको छ । जसमध्ये १५५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ४ जनाको ज्यान गएको छ । यद्यपी संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।
मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थित गर्न आग्रह काठमाडौं । प्रतिनिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले देशभर निर्माण भएका र निर्माणाधीन क्वारेन्टिन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । समितिका सभापति कृष्णभक्त पोखेरलको अध्यक्षमा बसेको बस्ने व्यक्तिलाई खाना, स्वास्थ्य, सरसफाइ र सुरक्षाको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले असहाय, एकल तथा विधवा महिला र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरिदैँ आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न यससम्बन्धी संशोधन विधेयक सङ्घीय संसदको चालु अधिवेशनमा पेश गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमणको पहिचान गर्न गरिने पिसीआर परीक्षण समुदायस्तरसम्म व्यापकरुपमा गर्ने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समितिले ध्यानाकर्षण गराउने निर्णय गरेको छ । समितिले कोरोना भाइरसको महामारीका कारणले बन्दाबन्दीको समयमा घटेका जातीय विभेद, छुवाछुत, बलात्कार, हत्याजस्ता घटनाका दोषीउपर कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देश गर्ने निर्णय गरेको हो ।
अनौतिक सम्बन्ध राख्न नमानेको भन्दै महिलामाथि दुव्यर्वहार लहान। आफूसँग अनैतिक सम्बन्ध राख्न अस्वीकार गरेको भन्दै एक दलित महिलामाथि दुव्यर्वहार भएको छ। श्रीमान बैदेसिक रोजगारीका क्रममा रहेका बेला सप्तरी घर भई सिराहाको कल्याणपुर नगरपालिका–११ मा बस्ने गान्धी साहले सोही ठाउँ बस्ने एक दलित महिलालाई टेलिफोन गर्दै आफूसँग अनैतिक सम्बन्ध राख्न दबाव दिएको पीडित महिलाले बताइन्। उनको दबाव अस्वीकार गरेपछि साहले कल्याणपुर नगरपालिका अगाडि दुव्यर्वहार गरेको पीडित महिलाले बताइ। पीडित महिलाका अनुसार साहले उनलाई पाँच सय रुपैयाँ दिने प्रलोभन देखाएर अनैतिक सम्बन्ध राख्न प्रस्ताव गरेका थिए। श्रीमान विदेशमा भएको मौका छोपी यौन सम्बन्ध राख्न प्रस्ताव गरेपछि पीडित महिलाले अस्वीकार गरेकी थिइन्। आफ्नो प्रस्ताव अस्वीकार गरेको भन्दै साहले पीडित महिलालाई मरणासन्न हुने गरी कुटपिट गरेको बताइन्। कल्याणपुर इलाका प्रहरी कार्यालय प्रमुख प्रमोद साहलाई घटनाबारे जानकारी गराएपनि अभियुक्त गान्धी साहलाई नियन्त्रमा लिइएको छैन। पीडित महिलाको हाल मिर्चैया अस्पतालमा उपचार भइरहेको छ। दलित अधिकारकर्मी संजय महराले महिलामाथि दुव्यर्वहार गर्ने दोषीलाई कारवाही गर्न माग गरेका छन्।
लकडाउनमा रोकिएन अन्तरराष्ट्रिय विमानस्थल निर्माण काठमाडौं । राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको शुरुका नौ महिनाको प्रगति निकै अगाडि रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले तयार पारेको प्रतिवेदनअनुसार चालू आवको साउनदेखि चैत मसान्तसम्मको नौ महिनाको अवधिमा मन्त्रालय मातहतको निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति उल्लेख्य रहेको हो । पर्यटन मन्त्रालयअन्तर्गत पाँचवटा राष्ट्रिय गौरवका आयोजना पर्छन् । यो अवधिमा गौतमबुद्ध विमानस्थको १५ प्रतिशत कार्य प्रगति भएको छ भने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति १४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्तसम्ममा ७५ प्रतिशत काम सम्पन्न भएको गौतमबुद्ध विमानस्थलकोे भौतिक प्रगति चालू आर्थिक वर्षको नौ महिनामा १५ प्रतिशत बढेर ९० प्रतिशत पुगेको छ । त्यस्तै गत आर्थिक वर्षको अन्त्यसम्ममा ४२ प्रतिशत काम पूरा भएकोे पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको चालू आर्थिक वर्षको नौ महिनामा १४ प्रतिशत बढेर ५६ प्रतिशत पुगेको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले आयोजनाका प्रमुखसँग गत वैशाख १८ र २२ गते अनलाइन छलफल गरी पछिल्लो प्रतिवेदन तयार पारेको जनाएको छ । आयोगको उक्त प्रतिवेदनका अनुसार, राष्ट्रिय गौरवका अरू आयोजनाहरुमा चालू आर्थिक वर्षको चैतसम्ममा मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९७.५ प्रतिशत सकिए पनि गत असारयता २.३८ प्रतिशत मात्र भौतिक प्रगति भएको देखिन्छ । हुलाकी राजमार्ग भौतिक प्रगति ४८ प्रतिशत र असारयता चार प्रतिशत मात्र छ भने उत्तर दक्षिण लोकमार्गको काम असारयता ०.१ प्रतिशत मात्र प्रगति भएको देखिएको छ । असार अघिसम्म २० प्रतिशत काम पूरा भएकामा चालू आवको चैतसम्ममा २०.१ प्रतिशत मात्र काम भएको छ । त्यस्तै भेरी डाइभर्सन काम ४०.६१ प्रतिशत सम्पन्न भए पनि असारयता २.२१ प्रतिशतमात्र काम भएको देखिएको छ । त्यस्तै बबई सिँचाइ आयोजना ४७.७८ प्रतिशत काम सम्पन्न भए पनि असारयता १.३८ प्रतिशत बढेको छ । बन्दाबन्दीमा विमानस्थलको निर्माण नियमित बन्दाबन्दीका बेला पनि पर्यटन मन्त्रालयअन्तर्गत पर्ने दुई क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम एक दिन पनि रोकिएको छैन । “अवस्था सामान्य भइदिएको भए पर्यटन मन्त्रालय अन्तर्गतका आयोजनाको प्रगति अवस्था निकै राम्रो हुने थियो”, पर्यटनमन्त्री योगेशकुमार भट्टराईले भने, “लकडाउनकै समयमा पनि हामीले भ्याएसम्म साधन स्रोतको प्रयोग गरेर काम गरिरहेका छौँ ।” लकडाउन खुलेर अवस्था सामान्य भएपछि गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडै नै सम्पन्न हुने र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको काम यही अवस्थाबीच पनि तोकिएकै समयमा सम्पन्न हुने मन्त्री भट्टराईले बताए । गौतम बुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा अहिले पनि २९ चाइनिजसहित १५० जनाले काम गरी रहेको सो विमानस्थल आयोजनामा प्रमुख प्रवेश अधिकारीले बताए । सन् २०२० को मार्चसम्ममा निमार्ण सम्पन्न गरिसक्ने गरी सन् २०१४ नोभेम्बरबाट निर्माण थालिएको यस विमानस्थलको काम विश्व महामारीको रुप लिएको कोभिड–१९ का कारण केही समय पर धकेलिए पनि महामारीकै बीच पनि उपलब्ध साधन स्रोतको उच्चतम प्रयोगका साथ भइरहेको आयोजना प्रमुख अधिकारीले बताए। तीन महिनामा सबै काम पूरा हुने कोभिडको महामारी शुरु हुनुअघि भौतिक प्रगति ८५ प्रतिशत तथा आर्थिक प्रगति ५५ प्रतिशत रहेको यो विमानस्थलको काम अहिलेसम्म भौतिकतर्फ ९० प्रतिशत तथा आर्थिकतर्फ ६३ प्रतिशत प्रगति भइसकेको आयोजना प्रमुख अधिकारीले बताए । मार्चमम्ममा काम सकिने भने पनि जनवरीबाटै चीनवाट आउनुपर्ने सामग्री रोकिएपछि काम प्रभावित भएको हो । अहिले पनि कतिपय सामग्रीबीच बाटो (ल्हासा)मा आएर रोकिएका छन् भने कतिपय सामग्री प्याकिङ नै नभएको अधिकारीले जानकारी दिए । उनले भने, “हामीले चिनियाँ पक्षलाई आउनुपर्ने सामग्री चीनको सीमासम्म ल्याउने पहल गरिदिन आग्रह गरिरहेका छौँ । त्यहाँसम्म ल्याउने अवस्था भयो भने यताबाट हाम्रै पहलमा ल्याएर भने पनि कामलाई गति दिने थियौँ ।” सबै निर्माण सामग्री आएको खण्डमा तीन महिनामा निर्माणको सबै काम पूरा हुने उनको भनाइ छ । अहिलेसम्म विमानस्थलमा तीन किलोमिटर धावनमार्ग निर्माणको काम सम्पन्न भइसकेको छ भने ट्याक्सी वे र एप्रोन निर्माणको काम पनि सकिएको छ । कार्गो टर्मिनलभवनको काम पनि करीब ५० प्रतिशत सकिएको छ । कार्गो टर्मिनल भवन आगामी कात्तिक १२ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सेक्युरिटी भवन निर्माणको काम करिब ९० प्रतिशत सकिएको छ । त्यस्तै, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा २५० चिनियाँ र नेपाली १०० गरी ३५० जनाले काम गरिरहेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । उनले केही सामग्री केरुङ नाका र कलकता बन्दरगाहमा रोकिए पनि स्टक सामग्री भएकाले अहिलेसम्म काममा बाधा नआएको बताए । मुनकर्मीले भने, “अझै पनि स्टक सामान एक महिनाका लागि छ, केरुङमा रोकिएका सामान मात्र ल्याउन सकियो भने तीन महिनालाई काम गर्न पुग्छ ।” आगामी जुलाईसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि काम प्रगतिका आधारमा लक्ष्यभन्दा छ महिना अगाडि नै योजना सम्पन्न हुने अपेक्षा गरिएको थियो । अहिले पनि बाहिरबाट सामग्री ल्याउन लकडाउनले असर नपारेको अवस्थामा तोकिएकै समयमा काम पूरा हुने पनि आयोजना प्रमुख मुनकर्मीले बताए ।रासस
उहान ल्याबका प्रमुख भन्छन्, हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन न्यूयोर्क । कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गरेका छन्। निर्देशक वाङ यीले आइतबार राज्यसंचालित संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “इन्स्टिच्यूटलाई यो भाइरसबारे यसअघि न त कुनै ज्ञान थियो न हामीले सामना गरेका थियौं, न अनुसन्धान गरिएको वा यो भाइरस हामीले राखेका थियौं। हामीलाई भाइरसको अस्तित्वको बारेमा पनि थाहा थिएन । हामीसँगै हुँदै नभएको कुरा कसरी हाम्रो ल्याबबाट बाहिरियो ?” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मंत्री माइक पोम्पेओले उहानमा भेटिएको भाइरस उहान प्रयोगशालाबाटै कुनै तरिकामा बाहिर छाडिएको भन्दै निरन्तर दाबी गरिरहनु भएको छ। धेरैजसो वैज्ञानिकहरूले ५४ लाख व्यक्तिमा संक्रमित भइसकेको तथा ३ लाख ४४ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको यो कोरोनाभाइरस चमेरोबाट मानिसमा संक्रमित भएको दाबी गरिरहेका छन् । यो भाइरस उहानमा जथाभावी बेचिने वन्यजन्तुको मासुबाट मानिसमा सरेको हुनसक्ने उनीहरुको भनाई छ। पछिल्ला दिनहरुमा यस भाइरसले एसिया र विश्वका अन्य भागहरूमा प्रभाव सिर्जना गर्न थालेको छ। चीनमा आइतबार तीन जनामा संक्रमण देखिएको छ भने चीनमा कोविड–१९ को उपचार गराइरहेका बिरामीको संख्या ७९ जना मात्र छ। दी न्युयोर्क टाइम्सले आइतवारको पूरै पहिलो पृष्ठमा महामारीमा ज्यान गुमाउने व्यक्तिहरूको नामको लामो सूची छापेको छ। अमेरिकामा करिब एक लाखको मृत्यु हुन लागेको र यो एक अपूर्व नोक्सान हो भन्दै उक्त अखबारले विशेष महत्वका साथ कतिपय निधन भएका व्यक्तिको जीवनी छापेको छ। “यो फगत नामावली मात्र होइन । उनीहरु हामीजस्तै मानव थिए,” उपशीर्षकमा भनिएको छ। अष्ट्रेलियामा अधिकारीहरूले ६० लाख बासिन्दाहरूले मोबाइल एप डाउनलोड गरेका बताएका छन् । यस एपको मद्दतबाट स्वास्थ्य अधिकारीहरूलाई कोरोनाभाइरस संक्रमण पत्ता लगाउन सहयोग पुग्नेछ । संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले कोविड–सेफ एपको अनुप्रयोगले अस्ट्रेलियामा कोरोनाभाइरस नियन्त्रणमा निकै महत्वपूर्ण भूमिका खेल्ने बताए । संयुक्तराज्य अमेरिकामा सावधानीपूर्वक राज्यहरु एकपछि अर्को खोल्नेक्रमलाई निरन्तरता दिइएको छ । वासिङ्टनको स्पोकेनमा रहेको एउटा पास्ता कम्पनीले आफ्नो प्लान्टमा कोरोना फैलिएको जनाएको छ भने अलास्का बेसबल लिगले आफ्नो ग्रीष्मकालीन प्रतियोगिता रद्द गरेको छ। मेमोरियल डे सप्ताहान्तका अवसरमा ट्रम्पले शनिबार गल्फ खेल्नु भएको थियो । उनले अमेरिकी राज्यहरूलाई लकडाउनलाई सहज बनाउन आग्रह गरेका छन् । यद्यपि धेरै अमेरिकीहरू कोविड–१९ बाट सतर्क देखिएका छन् किनभने राष्ट्रव्यापी पुष्टि भएका घटनाहरूको संख्या १६ लाख नाघिसकेको छ। क्यालिफोर्नियामा धेरै व्यवसाय र मनोरन्जन गतिविधिहरू फेरि खुल्न थालेका छन् भने लस एन्जलस काउन्टीका अधिकारीहरूले जुलाई ४ तारिखसम्म कडा प्रतिबन्ध कायम राख्ने बताएका छन्। न्यूयोर्कमा पहिलोपटक धेरै हप्तापछि कोरोनाभाइरसबाट दैनिक मृत्यु सबैभन्दा कम अर्थात् ८४ जनाको मृत्यु भएको छ। एकपटक अप्रिल ८ मा यस राज्यमा एकै दिन ७९९ जनासम्मको ज्यान गएको थियो। करिब एक लाख ५५ हजार संक्रमित देखिएको टर्कीले रमजानको दिनमा पनि कडा लकडाउन जारी राखेको छ। यमनका हुथी विद्रोहीहरूले धार्मिक कार्यमा मास्कको प्रयोग गर्न र घरभित्र बस्न आग्रह गरेका छन्। कोरोनाभाइरस नियन्त्रणमा प्रशंसनीय कार्य गरेको जर्मनीको उत्तरपश्चिममा रहेको एउटा रेष्टुरेन्टमा सात जनामा संक्रमण भएको देखिएको छ। दुई हप्ता अघि रेष्टुरेन्टहरू खोलिएपछि यो पहिलो घटना हो। ल्याटिन अमेरिका भाइरसको नयाँ केन्द्रबिन्दुका रुपमा प्रकट भएको छ । विज्ञहरूले सरकारी कार्यको सीमितताका कारण संक्रमण व्यापक रुपमा फैलिएको बताएका छन्। यी मुलुकमा लाखौं मानिस अनौपचारिक रोजगारीमा छन् र उनीहरु सबैलाई नियन्त्रणमा राख्नु प्रहरीका लागि फलामको च्युरा चपाएसरह हो। ब्राजिल र मेक्सिकोमा यस हप्ता लगभग दैनिक संक्रमण र मृत्युको रेकर्ड संख्या देखिएको छ। लकडाउनप्रति खासै चासो नदिएको भन्दै यी दुबै मुलुकका राष्ट्रपतिमाथि चौतर्फी आलोचना भइरहेको छ। पेरू, चिली र इक्वेडरको स्वास्थ्य सेवामा ठूलो समस्या देखिएको छ। भारतमा दैनिक ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भेटिएसँगै यहाँ चिन्ता बढेको छ। भारतमा दुई महिनादेखि जारी लकडाउन खुकुलो बनाएसँगै संक्रमितको संख्या नाटकीय रुपमा बढेको छ। केही देशमा संक्रमणको दोस्रो लहर देखिँदैछ । युरोपमा पछिल्लो पटक नराम्रोसँग प्रभावित रूसले भाइरस प्रसार रोक्न विशेष कदम चालिरहेको छ तर शनिबार एकै दिन ९ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ। रासस
सोमबार सार्वजनिक बिदा काठमाडाैं। सरकारले मुस्लिम समुदायका इद उल फित्रका अवसरमा सोमबारका लागि सार्वजनिक बिदा दिएको छ। नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। मन्त्रिपरिषद्को जेठ ९ गतेको निर्णयानुसार मुस्लिम सुमदायको इद उल फित्रका अवसरमा आज आइतबारका लागि सार्वजनिक बिदा घोषणा गरिएको थियो। बिदा सच्याउन मुस्लिम आयोगबाट अनुरोध भइआएको हुँदा जेठ ११ को सट्टा १२ गते सोमबारका दिन सार्वजनिक बिदा कायम गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यसै लिपुलेक क्षेत्रमा नेपाली सेना पठाइएको हो र ? काठमाडौं। नेपालले आफ्नो वर्षौं पुरानो नक्सालाई पुन प्रकाशित गरेपछि एकाएक उत्तेजित भएको भारतले एउटा विज्ञप्ति जारी गरेर त्यसको विरोधमात्र गरेन, दुई देशबीच उत्पन्न समस्या समाधानमा नेपाली नेताहरुले उपयुक्त वातावरण बनाउने कुरा समेत उल्लेख गर्यो। तर, के गर्दा भारतका लागि उपयुक्त वातावरण बन्छ भन्ने कुराचाहिँ भारतले उल्लेख गरेन। हो, नेपाल र भारतबीच वातावरण धमिलो भएको छ। र, धमिलो वातावरणमा मौका छोप्नेहरुका लागि माछामार्ने उपयुक्त वातावरण पनि हो। तर, वातावरण धमिलो कसले बनाएको छ त? घटनाक्रमहरुलाई हेरौःं धेरै वर्षअघिको कुरा गर्नुको अर्थ अहिले छैन। भारतको सत्तामा नरेन्द्र मोदी आइसकेपछिका घटनाक्रमहरुलाई हेर्ने हो भने उनले नेपालप्रति सधैं बक्र दृष्टिमात्र राख्दै आएका छन्। उनको बक्रताको पराकाष्ठा नेपालले नयाँ संविधान जारी गर्ने ताका देखियो। नेपालले आफूले भनेजस्तो संविधान बनाओस् र नेपाललाई बहुराष्ट्रिय राज्यको रुपमा विभाजित गरेर एउटा बफरजोनका रुपमा सधैं डोमिनेट गर्न सकियोस् भन्ने मोदीको महत्वाकांक्षा त्यसबेला पूरा हुन सकेन। उनले तत्कालीन विदेश सचिवलाई नेपाली नेताहरुलाई भेटेर दवाव दिन विशेष दूत बनाएर काठमाडौं पठाएका थिए। तर, मोदीका विशेष दूतको कुरालाई तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीले ठाडै अस्वीकार गरिदिएका थिए। त्यसैगरी तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पनि भारतको कुरा सुनेनन् र नेपालको नयाँ संविधान जारी हुन सक्यो। त्यसबेलाका विशेष दूत भएर आएका व्यक्ति नै अहिले भारतको विदेशमन्त्री भएका छन्। त्यसपछि भारतले लगाएको नाकाबन्दी कुनै पनि नेपालीजनले बिर्सेका छैनन्। नेपाली जनतालाई भोकभोकै पार्ने र तत्कालीन सरकारविरुद्ध उतारेर आफू अनुकूलको सरकार बनाई संविधान संशोधन गरी स्वार्थ सिद्ध गर्ने भारतीय प्रयास पनि सफल हुन सकेन। ओली सरकारले पत्राचार गर्यो, विरोध पत्र दियो, वार्ताका लागि पटक पटक मिति प्रस्ताव गरेर पठायो, दुईपक्षीय कुटनीतिक संयन्त्रमार्फत समाधानका प्रयासका लागि भारतलाई बारम्बार आग्रह गर्यो। यो कुरा नेपाली जनता र भारतीय जनता दुबैका सामु छर्लंगै छ। यति हुँदा हुँदै पनि भारतले आफ्नो हेपाहा प्रवृत्तिलाई छोड्न चाहेन, लिपुलेकमा सडक बनाएर उद्घाटन गर्यो जुन नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथिको ठाडो र निर्लज्ज हस्तक्षेप थियो। किनकि, नेपाली जनताले भारतीय नाकाबन्दीका विरुद्ध दह्रो उभिन तत्कालीन सरकारलाई आँट दिए, समर्थन दिए र नेपाल देश नै एकजुट बन्ने आवस्था आयो जसले गर्दा भारत नेपाल नीतिमा असफल भयो। यस्तो दुःखको घडीमा उत्तरको छिमेकी मुलुकले सहयोग गर्ने बचनचाहिँ दियो। तर, मसक्क आँट गरेर इन्धन लगायत अत्यावश्क सामग्री सहयोग गर्न सकेन। उसले पनि दुईपक्षीय सन्धि सम्झौता नभएको भन्दै नेपाललाई कागजमा अल्झाएर केही फाइदा लिन सकिन्छ कि भन्ने स्वार्थ राखेको जस्तो देखियो। तै पनि बचनकै सहयोग भए पनि नेपाली जनताले ठूलो भरोसा गर्नु पर्ने अवस्था भने आएको थियो। नेपाल नीतिमा कारारी हार व्यहोरे पनि भारतले आफ्नो दम्भ जारी राख्न छाडेन। यो वा त्यो प्रकारले दुःख दिने र नेपालको व्यापारलाई अप्ठेरो बनाउने र मधेशमा रहेका जनताको दैनिक हुने भारतसँगको नियमित व्यपार व्यवसायमा समेत अप्ठेरो हुने गरी कतिपय नेपाली उत्पादनहरुलाई रोक्ने नीतिहरु अवलम्बन गर्ने काम जारी राख्यो। यसले मधेशमा पनि जनस्तरमा भारतविरोधी भावना बढ्न पुग्यो र भारतीय इशारामा चल्ने कतिपय नेताहरुलाई निकै अप्ठेरो पनि परेको थियो। यसरी बारम्बार दुःख दिइरहेको परिणामस्वरुप नेपालले चीनसँग व्यापार र पारवाहन सन्धि गर्न पुग्यो र चीनका बन्दरगाहहरु नेपालले प्रयोग गर्न सक्ने गरी सम्झौता सम्पन्न हुन पुग्यो। यो घटनाले भारतलाई आक्रोशित त बनायो तर उसले प्रतिक्रियास्वरुप केही गर्न सकेन। यस्तो सम्झौता गर्ने केपी ओली नेतृत्वको सरकार गिराउने भारतको पटक पटकको प्रयत्न सफल हुन सकेको छैन। तर, पार्टीभित्र ओलीलाई आछ्छु आछ्छु बनाउने गरी समस्यामा पार्न भने भारतीय रणनीति सफल हुँदै आएको थियो। तर, यो पनि पूरा हुन पाएन। मधेशी पार्टी विभाजनको अस्वाभाविक चक्रव्यूह बनाएर ओलीलाई फँसाउने भारतीय योजना पूरा नहुँदै असफल हुन पुग्यो। यही सेरोफेरोमा आफ्नो नक्सा पुन प्रकाशन गर्ने नाममा भारतले जबर्जस्ती नेपाली भूमिलाई पनि आफ्नो भनी नक्सा जारी गर्न पुग्यो पाँच महिनअघि। त्यसको विरोध नेपालमा चर्कै भए पनि प्रधानमन्त्री ओलीले वार्ताबाट समस्या समाधान गर्छु भनेर नेपाली जनतालाई कन्भिन्स गराउने कोसिस गरे। ओली सरकारले पत्राचार गर्यो, विरोध पत्र दियो, वार्ताका लागि पटक पटक मिति प्रस्ताव गरेर पठायो, दुईपक्षीय कुटनीतिक संयन्त्रमार्फत समाधानका प्रयासका लागि भारतलाई बारम्बार आग्रह गर्यो। यो कुरा नेपाली जनता र भारतीय जनता दुबैका सामु छर्लंगै छ। यति हुँदा हुँदै पनि भारतले आफ्नो हेपाहा प्रवृत्तिलाई छोड्न चाहेन, लिपुलेकमा सडक बनाएर उद्घाटन गर्यो जुन नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथिको ठाडो र निर्लज्ज हस्तक्षेप थियो। नेपालमा राजनीतिक अस्थिरता पैदा गरेर आफ्नो दीर्घकालीन स्वार्थ पूरा गर्ने भारतीय षड्यन्त्र यसपल्ट पनि पूरा हुन सकेको छैन। र, वार्ता गरौं, बार्ता गरौं भनेर भन्दा भन्दा थाकेको नेपालका लागि अव आफ्नै हिसावले अघि बढ्नुको विकल्पमा अरु केही बाँकी राख्न दिएन भारतले। अर्थात् भारतले हेप्दा हेप्दा थिल्थिलो भएको अवस्थामा अब प्रतिकार नै नगरी नहुने अवस्थामा पुगेर नेपालले आफ्नो भूमि समेटेर नक्सा सार्वजानिक गर्नु पर्ने अवस्था आइलागेको स्पष्ट छ। र, सडक खन्ने नाममा नेपालले पनि लिपुलेकको क्षेत्रमा नेपाली सेना खटाउन शुरु गर्नु पर्ने अवस्था आइलागेको छ, सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको पोष्ट खडा गरी खटाउनु पर्ने अवस्था आइलागेको छ। नेपाली सेनाले सो क्षेत्रमा आफ्नो टोलीे बिहीबारदेखि हेलिकोप्टरमार्फत पुर्याउन शुरु गरिसकेको छ। कति सेना त्यहाँ राखिने हो त्यो गोप्य हुने भए पनि भारतले वाध्यात्मक अवस्थामा पुर्याएकाले सीमामा घुमाउरो पारामा नै सही सेना खटाउनु पर्ने भएको हो। यो परिस्थितिमा भारतको विदेश मन्त्रालयले विज्ञप्तिमा भनिएअनुसार अव के गर्दाचाहिँ नेपालले वार्ताको वातावरण बनाउन सक्छ त? यसको कुनै जवाफ छ भारतसँग? अवस्य छैन। अव वातावरण बनाउने जिम्मा भारतको हो। भारतले कालापानी क्षेत्रबाट आफ्न सैनिक फिर्ता गर्ने घोषणा गरेर दुईदेशबीचको सीमा विवादमा वार्ताको उचित बातावरण बनाउनु उपयुक्त हुन्छ। लिम्पियाधुरा हो र सो भागदेखि सिंगै लिपुलेकको भूभाग भारतले सैनिक क्याम्प राखेर कब्जा गर्दै आएको सन् १९६२ को चीन र भारतबीचको युद्धदेखि नै हो। भारतको सत्ता र त्यसका उच्चपदस्थहरु नेपालसँग थप के चाहान्छन् ? के नेपाल चीनको पोल्टामा गएको प्रचार गर्दा भारतलाई फाइदा छ ? तर, भारतको संस्थापन यो सरल समाधानको पक्षमा देखिँदैन बरु नेपाललाई चीनले संचालन गरेको आरोप लगाएर भ्रम छरी अन्तर्राष्ट्रिय दवाव दिन सकिन्छ कि भन्ने अर्को गलत रणनीतिमा लागेको देखिन्छ। यसैको परिणामस्वरुप भारतको सत्तापक्ष र त्यस निकट मिडियाहरु नेपाललाई चीनले खेलाएको भन्दै चर्को प्रतिक्रिया जनाइरहेका छन्। त्यसका पछि उनीहरुको एउटै कारण छ नेपालले आफ्नो देशको वास्तविक नक्सा जारी गर्नु। झण्डै ७० वर्षपछि नेपालले आफ्नो वास्तविक नक्सा जारी गर्ने अवस्था आउनु यसको उत्तरी छिमेकी मुलुक चीनको उक्साहट हो भन्ने भारतको संस्थापन पक्षको ठहर छ। र, यो ठहरलाई भारतले उसका शक्तिशाली सेनापति मनोज नरभानेमार्फत सार्वजानिक पनि गरेको छ। भारतीय सेनापतिले नेपाललाई चीनले उकासेकोले लिपुलेकको सीमा विवाद उठाएको बताउँदै नेपालका राजदूतले कालीनदी पूर्वमात्रै नेपालको भूभाग रहेको आफूहरुलाई बताएको र भारतीय सेनाले काली नदी पश्चिममा मात्र चीनसँग जोड्ने बाटो बनाएको स्पष्टीकरण पनि दिएका छन्। तर, तथ्यहरुले भारतले भन्दै आएको काली नदी र नेपालले आफ्नो सीमाको काली नदीका बीचमा धेरै भूमिको अन्तर भएको कुरालाई उनले बुझ पचाएका छन्। नेपालले बर्षौदेखि भन्दै आएको काली नदीको उद्गमस्थल लिम्पियाधुरा हो र सो भागदेखि सिंगै लिपुलेकको भूभाग भारतले सैनिक क्याम्प राखेर कब्जा गर्दै आएको सन् १९६२ को चीन र भारतबीचको युद्धदेखि नै हो। भारतको सत्ता र त्यसका उच्चपदस्थहरु नेपालसँग थप के चाहान्छन् ? के नेपाल चीनको पोल्टामा गएको प्रचार गर्दा भारतलाई फाइदा छ ? अवश्य छैन बरु यसले झन् भारतप्रति नेपालमा घृणाभाव नै फैलाउन मद्धत गर्छ। जानीजानी अझै कति गलत तरिकाले नेपालप्रति व्यबहार गर्ने हो? अनेकौं असफलता हात पर्दा पनि हेपेरै तह लागउन सक्छु भन्ने दम्भ भएसम्म कसरी समस्याको समाधान निकाल्न सकिएला र? दम्भलाई गंगामा बगाएर पवित्र काली नदीमाथिको दावी छोड्न तयार हुनुको विकल्प भारतसँग छैन।
स्मार्ट लाईसेन्सको छपाइ जारी काठमाडौँ । बन्दाबन्दीको समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ । सरकारले बन्दाबन्दी जारी राख्दा यो अवधिमा एक लाख ४० हजार अनुमतिपत्र छपाइ भइसकेको छ । आवश्यक स्वास्थ्य सावधानी र सामाजिक दूरी कायम गरेर छपाइ अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले गत चैत ११ गतेबाट बन्दाबन्दी (लकडाउन) लागू गरेपछि १० दिनसम्म छपाइ ठप्प थियो । चैत २० गतेदेखि अहिलेसम्म नियमितरुपमा अनुमतिपत्र छापिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, “अहिले सामान्य अवस्थामा जति नै छपाइ भइरहेको छ ।” बन्दाबन्दीको समयमा अहिले ‘मास प्रिन्टर’ बाट छपाइ भइरहेको छ । बन्दाबन्दी पहिले साना क्षमताका प्रिन्टर भने अहिले प्रयोगमा छैन । साना प्रिन्टरले थोरै सङ्ख्यामा छाप्ने तर त्यसको सञ्चालनका लागि थप जनशक्ति चाहिने भएकाले अहिले त्यसलाई प्रयोग नगरिएको विभागले जनाएको छ । कोभिड–१९ को जोखिमबाट बचेर काम गर्नका लागि थोरै जनशक्तिबाट काम भइरहेको महानिर्देशक हमालले बताए । दैनिक तीन चरणमा ‘मास प्रिन्टर’ सञ्चालनका लागि दुई/दुईजना कर्मचारी कार्यालय आउने गरेका छन् । उनले भने, “एउटा सिफ्टको कर्मचारी गएको एक घण्टापछि मात्रै अर्को कर्मचारी आउनेगरी मिलाइएको छ ।” विभागले मास्क, पञ्जालगायतका आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर काम गरिरहेको छ । बन्दाबन्दी पहिले झण्डै साढे चार लाख अनुमतिपत्र छाप्न बाँकी रहेकामा अझै तीन लाख छाप्न बाँकी छ । बाँकी अनुमतिपत्र आगामी असारभित्रमा छापिसक्ने योजना रहेको विभागले जनाएको छ । छापिएका अनुमतिपत्र अहिले विभागमै रहेका छन् । बन्दाबन्दी सकिएपछि विभागले प्रदेश सरकारअन्तर्गतको अनुमतिपत्र यातायात व्यवस्था कार्यालय लैजानेछ र कार्यालयले सेवाग्राहीलाई वितरण गर्नेछ । अहिले दैनिक छपाइ भइरहे पनि कर्मचारी आउन÷जान कठिनलगायत समस्या छन् । उनले भने, “विभिन्न स्थानमा प्रहरीले कर्मचारीलाई पनि रोक्ने गरेका छन् ।” सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेदेखि नै सेवाग्राहीले राजश्व तिरेको लामो समयपछि मात्रै अनुमतिपत्र पाउने गरेका थिए । नयाँ संविधानअनुसार यातायातको जिम्मेवारी प्रदेश सरकारमा गयो र यातायात कार्यालयहरु सङ्घीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेको थियो । अनुमतिपत्र छपाइको काम भने नेपाल सरकारले नै गर्दै आएको छ । सरकारले झण्डै आठ लाख चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहँदा गत असोजमा ‘मास प्रिन्टर’ ल्याइएको थियो । त्यो आइपुगेको दुई महिनासम्म पनि जडान गर्ने र तथ्याङ्क सार्नेलगायत काम भएपछि पुसदेखि सञ्चालनमा आएको हो । पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकामा दुुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ । मास प्रिन्टरको क्षमता अरु प्रिन्टरभन्दा कँयौँ गुणा बढी भएकाले छाप्न बाँकी अनुमतिपत्र चाँडै छापिसक्ने महानिर्देशक हमालले बताउनुभयो । सामान्य प्रिन्टरले एक महिनामा तीन हजार छाप्ने भए पनि ‘मास पिन्टर’ को क्षमता दैनिक पाँच हजार छाप्ने रहेको छ । विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आवेदन आइरहेको छ । हस्तलिखित अनुमतिपत्र विस्थापित गर्न परीक्षा पास भएका र नवीकरण गर्ने दुवै सेवाग्राहीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गरिँदै आइएको छ । यातायात कार्यालयहरु प्रदेश सरकारमा हस्तान्तरण भइसके पनि ती कार्यालयबाट आएका आवेदनबाट विभागले अनुमतिपत्र छापिरहेको छ । कतिपय प्रदेश सरकारले विगतमा अनुमतिपत्र छपाइमा ढिलाइ हुँदा आफैँ छाप्ने बताए पनि अहिलेसम्म कुनैले पनि गरिसकेका छैनन् । विभागमा गत वर्षहरुमा उपकरणको क्षमताभन्दा माग बढी रहेको थियो । त्यस्तै, छपाइ गर्न कार्ड पनि पर्याप्त नभएको विभागले बताउँदै आएको थियो । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ सँगै १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । सबै कार्ड आइसकेकाले अहिले त्यो समस्या पूरै हटिसकेको विभागले जनाएको छ ।रासस
वृद्धभत्ता लिन लाइनमा उभिएका वृद्धको मृत्यु धादिङ । गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोस भएर मृत्यु भएको छ। गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए। बैंकमा लाम बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिए । रासस
नेपाललाई चीनले उकासेको भन्दै आफ्नो गलत नीति ढाकछोप गर्ने प्रयासमा मोदी ग्रुप काठमाडौं । नेपालले नयां नक्सा जारी गरेपछि भारतीय मिडियामा नेपाललाई चीनले उकासेको भन्दै बास्तवितालाई ढाकछोप गर्ने कामम तछाडमछाड शुरु भएको छ । साथसाथै विगतमा भारतले गलत नेपाल नीति अबलम्बन गरेको बहश शुरु गरिएको छ । आफू सत्तामा आएपछि लगातार नेपालविरोधी काम गर्दै आएका भारतीय प्रधानमन्त्री मोदीको नीतिको बचाऊ गर्दै उनका समर्थकहरुले नेपाल नीतिमा गल्तीचाहिं भएको तर सो गल्ती पहिलेकै सरकारले गरेको दावी गर्न थालेका छन् । भारतको सत्तारुढ पार्टीका नेता र सम्बद्ध रक्षा विशेषज्ञहरु नेपालको नक्सा जारी हुनुमा चीनको हात रहेको भन्दै हरेक मिडियामार्फत चीनबिरुद्ध खनिन थालेका छन् । यो संगसंगै अहिलेको अवस्था आउनुमा विगतमा भारतको गलत नीति जिम्मेवार रहेको भन्दै कांग्रेस आईको पूर्व सरकारबिरुद्ध पनि विजेपी समर्थकहरुले अभियान शुरु गरेका छन् । विगत छ बर्षदेखि सत्ताका रहेको भारतीय जनता पार्टीले नेपालविरुद्ध हेपाहा नीति लिएको र पटक पटक वार्तालाई समेत इन्कार गर्दै आएको कुरालाई नजरअन्दाज गर्दै नेपालको सद्भाव गुमाउनुमा कांग्रेस आईको पुरानो सरकार दोषी रहेको प्रचारबाजी विजेपी र यससंग सम्बन्धित थिंक ट्यांकहरुले शुरु गरेका छन् । भारतीय सेनाका पूर्व जर्नेल जीडी बक्सीले आईवीपी न्यूज च्यानलसनँग कुरा गर्दै भारतले नेपालको माओवादीलाई समर्थन गर्नु नै गल्ती भएको बताए । उनले नेपालमा हिन्दूराष्ट्रलाई भारत आफैंले नष्ट गरेको भन्दै भारतको नेपालनीतिको चर्को आलोचना गरे । विगत छ बर्षदेखि सत्ताका रहेको भारतीय जनता पार्टीले नेपालविरुद्ध हेपाहा नीति लिएको र पटक पटक वार्तालाई समेत इन्कार गर्दै आएको कुरालाई नजरअन्दाज गर्दै नेपालको सद्भाव गुमाउनुमा कांग्रेस आईको पुरानो सरकार दोषी रहेको प्रचारबाजी विजेपी र यससंग सम्बन्धित थिंक ट्यांकहरुले शुरु गरेका छन् । उनको आरोप लगाउँदै भने, “भारतले आफैंले गरेको गल्तीको परिणाम हो यो, कांग्रेसको जमानमा माओवादीलाई उकासिएको थियो हो त्यसैको परिणाम हो । छत्तिसगढमा माओवादीसंग लडिरहंदा नेपालमा भने माओवादीलाई समर्थन गऱ्यौं । हाम्रै गल्तीको सजाय भोगिरहेका छौं ।” उनले नेपालले नक्सा प्रकाशन गर्नु चीनको उक्साहट भएको आरोप लगाए । “नेपालको राजनीतिमा चीनले धेरै नै हस्तक्षेप गरिरहेको छ”, उनले भने । त्यसैगरी बिजेपीका नेता प्रेम शुक्लाले पनि सोही कार्यक्रममा प्रतिक्रिया दिंदै प्रचण्डलाई जेएनयूमा पालेर राजनीतिक रुपले प्रबलता दिएर भारतले नेपाल नीतिमा गल्ती गरेको आरोप लगाए । यी दुबैले भारतले नै माओवादीलाई हुर्काउने,बढाउने र नेपालको शक्तिमा पुऱ्याउने काम गरेको स्वीकार गर्दै आफैंले पालित पोसित गरेकाहरुबाट अहिले धोका भएको बताएका छन् । विजेपी नेता शुक्लले नेपालसँग भारतले सौहार्दपूर्ण सम्बन्ध राख्न चाहेको र भारतीय सम्प्रभुतालाई सम्मान गर्दै नेपालसंग दुईपक्षीय बार्ताबाट विवाद समाधान गरिने बताएका छन् । विवाद बढेपछि गोर्खा सैनिकको सम्झना नेपालको राष्टियताको विषय आउने वित्तिकै संसरभरकै नेपालीहरु संबेदनशील हुन्छन् भन्ने कुरालाई भारतीयहरुले नबुझेका छैनन् । त्यसमाथि पनि भारतीय फौजमा भर्ती भएर भारतको सीमा रक्षामा अग्रभागमा लड्दै आएको गोर्खा फौजका ५० हजारभन्दा बढी नेपालीहरु यो विषयमा झन् बढी संबेदनशील हुन्छिन् । भारतले नेपालविरुद्ध हस्तक्षेप गर्दा गोर्खा फौजमा उत्पन्न हुने निराशा स्वयं भारतका लागि खतरा हुनसक्नेतर्फ सैनिक रणनीतिकारहरु संधैं सतर्क हुने गर्छन् । सन् २०१५ मा मोदी सरकारले लगाएको नाकाबन्दीताका पनि यो कुरा उठेको र तत्कालीन भारतीय सेनाका सेनापतिले समस्या समाधानमा पहल गरेको कुरा प्रकाशमा आएको थियो। जनरल बक्सीले सो टीभीको कार्यक्रममा नेपालसंग रगतको नाता भएको भन्दै गोर्खा सैनिकले भारतका विभिन्न लडाईंमा अग्रमोर्चामा लडेको बताएर गोर्खा सैनिकमा उत्पन्न हुन सक्ने निराशालाई कम गर्ने प्रयास गरेका छन्। उनले सन् १९४७, ४८, ६२, ६५, ७१ र कार्गिल युद्धमा भारतको सीमा रक्षाका लडेको प्रसंग उप्काउंदै नेपालीसंग रगतको नाता भएको र नेपालसंग युद्ध नगर्ने बताए। उनले भारतका लागि यसरी रगत बगाइदिने नेपालीहरुको सीमा जानीजानी मिच्ने र हेप्ने काम गरिएकोप्रति भने कुनै टिप्पणी गरेनन् बरु चीनले उकासेको भन्दै आफ्नो गल्तीको ढाकछोपको प्रयत्न गरे। मनिषा कोइरालाबिरुद्ध आक्रामक बिजेपीका नेता प्रेम शुक्लले अभिनेत्री मनिषा कोइरालाको बयान महत्वहीन र दुभाग्र्यपूर्ण भएको भन्दै आक्रोश पोखे । बलिउड अभिनेतृ मनिषा कोइरालाले नेपालले नयां नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै सीमा मिचिनु नहुने र लिपुलेकको सीमा विवाद भारत, चीन र नेपालले मिलेर समाधान गर्नु पर्ने उल्लेख गर्दै जेठ ७ गते एउटा ट्वीट गरेकी थिइन् । यसैलाई लिएर भारतीय मिडियामा मनिषाविरुद्ध तल्लोस्तरमा गाली गर्ने र अपमान गर्ने प्रयास हुँदै आएको छ । मनिषाको परिवार कांग्रेस पार्टी नजिक भएको र सो पार्टी चीन निकट भएको आरोप लगाउँदै शुक्लले नेपाल भारतको मामिलामा चीनलाई ल्याउनु उचित नहुने बताएका थिए।
पत्रकारको परिचय–पत्र बोकेर चोरी गर्ने पक्राउ काठमाडौं । काठमाडौं प्रहरीले पत्रकारको परिचय पत्र बोकेर चोरी गर्दै हिड्ने १ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखा टेकु, र महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको संयुक्त प्रहरीटोलीले चोरीमा संलग्न २ जनालाई पक्राउ गरेको हो । प्रहरी उपरिक्षक ईश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालीका १४ सुन्सरी घर भइ हाल धुम्बारही बस्ने वर्ष २१ का हिमाल रसाइली, बटुकी फूलवारी गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौं ओमबहाल बस्ने वर्ष २८ अलि आलम मिया रहेका छन्। चाबहिलको भत्केको पुलबाट पक्राउ परेका उनीहरुले गत चैत्र ३ गते सिनामंगल स्थित होस्टेलबाट विभिन्न समयमा ४ थान ल्यापटप तथा चैत्र २४ गते चावहिल भत्केको पुलस्थित डा. सुविन मानन्धरको घरबाट एपल कम्पनीको म्याक बुक प्रो, एपल आइप्याड चोरी गरेका थिए । सिसिटिभीको फुटेज अध्ययन गर्दा चोरीमा संलग्न भएको बा २७ प ९४९० नम्बरको एभेन्जर मोटरसाइकल सोकि सोधपुछ गर्दा एपी१ टेलिभिजनको प्रेसकार्ड देखाइ आफुलाई पत्रकार हो भनि बताएको प्रहरीले जनाएको छ । प्रहरीले निजको साथबाट एप्पल कम्पनीको ल्यापटप १, एप्पल कम्पनिको आइप्याड २ थान, मोवाईल बिभिन्न ब्राण्डका ६ थान, धारिलो हतियार ३ थान, प्रोजेक्टर २ थान, क्यानाेन कम्पनीकाे क्यामेरा १ थान, बा.२७ प.९४९० नम्बरको एभेन्जर माेटरसाइकल १ थान, AP1 को प्रेस कार्ड बरामद गरेको छ।
काठमाडाैंकाे गोकर्णेश्वरमा भेटिए पहिलो कोरोना सङ्क्रमित काठमाडाैं। गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ। अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी चलाएर भैरहवाबाट काठमाडौँ आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानले बताए। मङ्गलबार राति प्राप्त पिसिआरको प्रतिवेदनमा उनलाई सङ्क्रमणको पुष्टि भएको थियो। सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न किसिगाल क्षेत्रलाई सिल गरिएको नगरपालिकाले जनाएको छ। नगर क्षेत्रमा पहिलोपटक कोरोना सङ्क्रमण प्रमाणित भएको हो। नगर स्वास्थ्य समितिको आजै बैठक बसी सङ्क्रमितको परिवारका सदस्यलाई पिसिआर परीक्षण गर्ने तयारी भएको नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए। सङ्क्रमितको सम्पर्कमा आएका परिवार बाहिरकाको भने आरडिटी परीक्षण गरिने जनाइएको छ। नगरपालिकामा सङ्क्रमण फेला परेसँगै यो क्षेत्र सुनसान बनेको छ । कोरोना सर्ने त्रासले मानिस बाहिर निस्किएका छैनन्। नगरपालिकाका सबै वडाले विज्ञप्ति प्रकाशित गरी अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आह्वान गरेका छन्।
दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्री कोरोना पोजेटिभ काठमाडौँ । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र रक्षामन्त्री समेत रहेकी उनकी पत्नी एजेलिना टोनी कोरोना भाइरस संक्रमित भएका छन् । माशर ६० वर्ष नाघिसकेका छन्। कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोनाको संक्रमण देखिएपछि उनको १३ मे मा कोरोनाभाइरसको परीक्षण गरिएको थियो। दक्षिण सूडानमा हालसम्म २ सय ९० संक्रमित छन् भने ४ जनाको ज्यान गएको छ। बीबीसी
नेपालमा थप १० जनामा कोरोना पुष्टि काठमाडौँ । आज नेपालमा कोरोना भाइृर (कोभिड १९) का १० बिरामी थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा नेपालको रौतहटका १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ पुष्टि भएका १० जना रौतहटको राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरु रहेका छन् । यस्तै, रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । हिजो नेपालमा कोरोनाको संक्रमणबाट एक महिलाको ज्यान गएको छ । संक्रमित मध्ये हालसम्म ३६ जना उपचारपछि घर फर्किसकेका छन् ।
थप क्वारेन्टाइन निर्माणमा गरिँदै भजनी । टीकापुर नगरपालिका थप क्वारेन्टाइन निर्माणमा जुटेको छ । भारतले लकडाउन खुकुलो बनाउनाका साथै रेल सेवा सञ्चालनमा ल्याएसँगै त्यहाँबाट नेपाली नागरिक आउन सक्ने भन्दै थप क्वारेन्टाइन निर्माणका लागि नगरपालिकाले पहल शुरु गरेको हो । यसका लागि नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग छलफलसमेत गरेको छ । राम्रो भौतिक संरचना रहेका १७ वटा विद्यालयका प्रधानाध्यापकसँग नगरपालिकाले विद्यालयलाई आवश्यक परे क्वारेन्टाइन निर्माण गर्नेबारे छलफल भएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए । उनले हाल चारवटा क्वारेन्टाइन तयारी अवस्थामा रहेको र ती क्वारेन्टाइनमा ४०० जनासम्म राख्न सकिने बताए । उनले भारतबाट स्थानीयवासी आएपश्चात् क्वारेन्टाइन व्यवस्थापन गर्न कठिनाइ हुनसक्ने भन्दै पूर्व तयारीका लागि छलफल गरिएको बताए । “सबै विद्यालय क्वारेन्टाइनका लागि दिन तयार छन् ।” नगर प्रमुख रावलले भने, “सबै मावि तहका उपयुक्त विद्यालयलाई क्वारेन्टाइनका लागि पूर्वतयारी गरेका छौँ ।” हाल नगरपालिकामा आठजना क्वारेन्टाइनमा रहेका छन् भने टीकापुरमा अस्थायी बसोबास गर्दै आएका २६ जना भारतीय नागरिकलाई नगरपालिकाले भारतको पलिया पु¥याएको छ भने पलियाबाट १८ जना स्थानीयलाई ल्याउने तयारी भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए। उनले भारतको निघासनमा १५० जनाभन्दा बढीलाई भारतले क्वारेन्टाइनबाट पठाइसकेका कारण उनीहरु जुनसुकै बेला पनि नेपाल प्रवेश गर्न सक्ने भएको हुँदा क्वारेन्टाइनको व्यवस्थापनका लागि नगरपालिकाले पूर्वतयारी थालेको बताए । हालसम्म टीकापुर नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा रु ११ लाखभन्दा बढी खर्च गरिसकेको छ । नगर प्रमुखका स्वकीय सचिव निर्मला चौधरीले रु चार लाख सङ्घीय सरकारबाट क्वारेन्टाइन व्यवस्थापनका लागि आएको र बाँकी रु सात लाखभन्दा बढी नगरपालिकाले खर्च गरिसकेको जानकारी दिए । उनले क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारमा बढी खर्च भएको बताए । भारतले नेपाली नागरिकलाई क्वारेन्टाइनबाट छोड्न थालेपछि लुकीछिपी नेपाल प्रवेश गर्नेसमेत बढेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले लुकीछिपी आएका तीनजनालाई क्वारेन्टाइनमा राखेको छ भने भजनी नगरपालिकाको लालबोझीबाट प्रवेश गरेका थप तीनजनालाई पनि प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ ।
एकसय केजी चरेससहित २ जना प्रहरीको नियन्त्रणमा धादिङ । लागुऔषध चरेस करिव १ सय केजी सहित २ जनालाई धादिङ प्रहरीेले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका ८ विरहखर्क बस्ने वर्ष ३७ का टेकबहादुर तामाङ र सोही गाउँपालिका महादेवखर्क बस्ने वर्ष २६ का विशाल तामाङ रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त टोलीले गजुरी गाउँपालिका वडा नं ६– दरियालखोला पुल नजिक किरानचोक जाने कची सडकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा.९७ प ४९९ र प्रदेश नं।३–०२–००१ प ७४५८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ४ वटा प्लास्टिकको बोरामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध चरेस सहित फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य ब्यक्तिहरुको बारेमा खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागुऔषध चरेस सहित पक्राउ परेका दुवै जनालाई म्याद थप अनुसन्धान कार्वाहीको लागि जिल्ला सरकारी कार्यालय धादिङ हुदै जिल्ला अदालत धादिङमा पेश भएको र अदालतबाट लागुऔषध सम्बन्धी कसुर मुद्दामा १० दिनको म्याद प्राप्त भएको हुँदा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रबिन्द्र रेग्मीले पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको हो ।
सुत्केरी बोकेको एम्बुलेन्स खोलामा गएपछि… कोहोलपुर । बाँके जिल्लाको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए। कोहलपुर मेडिकल कलेजबाट चारदिने सुत्केरी लिएर गइरहेकोे एम्बुलेन्स कोहलपुर नगरपालिका वडा नं १२ स्थित सडकदेखि झण्डै सय मिटर तल रोहिणी खोलामा खसेको प्रहरीले जनाएको छ । एम्बुुलेन्समा सुत्केरी प्रमिला परियारसहितकी नवजात, उनका पति, ससुरा, एम्बुलेन्स चालकसहित ६ जना सवार थिए । दुर्घटनामा परी घाइते भएकाहरुकोे मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र ती खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु झापा । झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। झापाको दमक नगरपालिका–५ हरीओम कोलोनी भित्री सडकमा को.१ ख ५५२४ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री दमक नगरपालिका–१ बस्ने १६ वर्षीय शोभित दर्जीको बुधबार बिहान घट्नास्थलमै मृत्यु भएको हो । टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु सिन्धुली । कमलामाई नगरपालिका–८ डुमरियास्थित सडकमा मे.१ ज १५४३ नम्बरको बलेरो गाडीको ठक्करबाट सोही ठाउँ बसतपुर बस्ने पैदलयात्री५२ वर्षीय रणवहादुर सुनुवारको मृत्यु भएको छ । मंगलबार बिहान उक्त गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका रण बहादुरलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममाबाटोमै मृत्यु भएको हो । गाडी र चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक बनाएकोप्रति नेपाल सरकारकाे आपत्ति (विज्ञप्ति सहित) काठमाडौं। भारतले हालै कैलाश मानसरोवरसम्म जोड्ने सडक निर्माणका क्रममा नेपाली भूमि लिम्पियाधुरा हुँदै सडक बनाएको विषयमा परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सुगौली सन्धिअनुसार काली (महाकाली) पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका सबै क्षेत्र नेपाली भूभागभित्र पर्ने प्रस्ट भएको र नेपाल यस कुरामा अडिग रहेको जनाएको छ । विज्ञप्तिमा यो कुरा नेपाल रकारले विगतका वर्षहरुदेखि नै उठाउँदै आएको र पछिल्लो समय भारतले आफ्नो नयाँ राजनैतिक नक्सा जारी गरेपछि २० नोभेम्बर २०१९ मा नेपालले भारत सरकारलाई पठाइएको कूटनैतिक नोटमा समेत यो कुरा उल्लेख भएको विज्ञप्तिमा जनाइएको छ । यो एकतर्फ कदम दुई देशबीच प्रधानमन्त्री तहमा सीमाको विषय छलफलबाट समाधान गर्ने भनी भएको समझदारी विपरित भएको विज्ञप्तिमा जनाइएको छ । नेपाल सरकार अझै पनि यस प्रकारका समस्यालाई दुई देशबीचको मैत्री सम्बन्ध कायम राख्दै ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्साका आधारमा कूटनैतिक रुपमा समाधान गर्ने पक्षमा रहेको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो घटना प्रकाशमा आएसँगै नेपाल सरकारले नेपालको भूभागभित्र यस्ता गतिविधिहरु रोक्न आग्रह गरेको विज्ञप्तिमा जनाइएको छ । परराष्ट्रको विज्ञप्तिमा लिपुलेकबारे चीन र भारतले गरेको एकलौटी सहमतिको पनि चर्चा गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘२०१५ मे १५ मा भारत र चीनद्वारा जारी गरिएको सयुक्त वक्तव्यमा नेपालको सहमतिविनै लिपुलेक पासलाई द्विपक्षीय व्यापार मार्गका रुपमा समावेश गर्ने सहमति गरिएपछि नेपालले छुट्टै नोट जारी गर्दै यसमा आफ्नो असहमति जनाएको थियो ।’ विज्ञप्तिमा नेपालले यसअघि पनि दुई पटकसम्म परराष्ट्र मन्त्रालय स्तरबाट यस विषयमा समाधानको लागि भारतलाई आह्वान गरेको र भारतीय पक्षको जवाफ अझै प्रतिक्षा गरिरहेको उल्लेख गरिएको छ ।
छाेराले बन्चरो प्रहार गरी बाबुआमाको हत्या गरे तेह्रथुम। यहाँको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन्। इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन्। सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्। कञ्चनले आफूले बाबुआमाको हत्या गरेको भनि १०० नं फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी चौकीदेखि चार किलोमिटर दुरीमा पर्छ। कञ्चनले १०० नंमा फोनसँगै प्रहरीले उसको पिछा गरिरहेको र भाग्दै गरेका अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले निन्त्रणयमा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए। घटनास्थलमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सुरक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताए। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली आज त्यसतर्फ जाने र मृतकको शव परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ। मृतकका सात महिनाकी छोरी छिन् । नाबालक छोरी मृतकका दाजु देवबहादुर फोम्वोसँग रहेका वडाध्यक्ष टेकबहादुर घिसिङले बताए।
लकडाउनमा पत्रकारदेखि सेना प्रहरीसमेतको पोशाक दुरुपयोग भक्तपुर। देश बन्दाबन्दी (लकडाउन) छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले वैशाख २५ गतेसम्म जारी गरेको बन्दाबन्दीको समयमा व्यापकरुपमा सवारी साधनमा म्याद गुज्रेका सवारी पास र विभिन्न निकायको पोशाकको व्यापक दुरुपयोग भएको पाइएको छ । सवारी पास लिएका चारपाङ्ग्रे सवारी साधनको अगाडि सिसामा टाँसेको पास टाढैबाट देखेपछि रोकेर त्यसको म्यादसम्म नहेरी प्रहरीले पठाउने गरेपछि म्याद गुज्रेका पासको दुरुपयोग गर्दै गाडी गुड्ने गरेका छन् । बुधबार बिहान ९ बजे जडीबुटी र लोकन्थलीको सिमानामा रहेको मनोहरा खोला पुलमा नेपाल रेडक्रस सोसाइटीले सवारी साधनमा किटनाशक औषधि छर्कने लाइन छिचोल्दै प्रेस ज्योकेट लगाएका व्यक्ति सवार ट्याक्सी आयो । पछाडि सिटमा महिला पुरुष गरी चारजना थिए । प्रहरी हवल्दारले निकै केरकार गर्दा पनि प्रेसको ज्याकेट र कार्ड देखाउँदै अगाडि बढ्यो । रिसाउँदै हवल्दारले भने, “सरकारले लगाएको नियम पनि यी प्रेसलाई नलाग्ने रैछ, खै कुन युट्युव च्यानलको पत्रकार रे, बनेपा जान लागेको भनेर थर्काएर गयो, हैन यिनलाई कानून लाग्दैन कि क्याहो ?” ड्यिुटीमा खटिएका अर्का प्रहरी कराउँदै थिए, “कसैलाई छोड्यो भने पनि पहुँचवालालाई छाड्यो भनेर समाचार लेख्छन्, रोक्न खोजे पनि प्रेसलाई रोक्यो भन्छन्, हामीलाई जसरी पनि सुख छैन ।” आधाघण्टाको अवधिमा पहेँलो ज्याकेट लगाएका ११ वटा मोटरसाइकल गए । सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)ले भने, “हैन, पत्रकार पनि घरमै बसेर काम गर्छन् भन्या हैन, यो सडकमा आधा त पहेँलो ज्याकेट लगाएका मात्रै कुद्छन्, के हो ?” सडकमा प्रेस नलेखिएका तर पहेँला ज्याकेट लगाएका अन्य सवारी साधन पनि प्रेसकै भेषमा कुँदिरहेका देखिन्थे । कतिपय गैरपत्रकारले पनि प्रेस लेखिएको ज्याकेट लगाए कुद्ने गरेको लोकन्थलीमा ड्युटीमा रहेका प्रहरी गुनासो गर्दै थिए । प्रेस लेखेको ज्याकेट लगाउँछन्, न परिचय पत्र छ, न हातमा क्यामरा, न त कापीकलम नै बोक्छन् । ज्याकेट लगायो हिँड्यो हामीलाई गाह्रो छ । सञ्चारकर्मीको पोशाक सबभन्दा धेरै द्ुरुपयोग भएको ड्युटीमा रहेका प्रहरीको गुनासो थियो । अत्यावश्यक समाचार सङ्कलनबाहेक अधिकांश सञ्चारमाध्यमका समाचारदाता घरबाटै समाचार बनाइरहेको अहिलेको अवस्थामा सञ्चारगृहका क्यामराम्यान र समाचारवाचक मात्रै सडकमा कुद्नुपर्ने भए पनि पहेँलो ज्याकेट लगाएर दैनिक करिब १३० भन्दा बढी मोटरसाइकल भक्तपुरको ६ लेन सडकमा गुड्ने गरेको प्रहरीको भनाइ छ । पत्रकारको मात्रै होइन नेपाली सेना र प्रहरीको पोशाकसमेत दुरुपयोग हुने गरेको पाइएको छ । विशेषगरी अवकाश लिइसकेका नेपाली सेना र प्रहरीले आफ्नो पुरानो पोशाक लगाएर विभिन्न काम गर्ने गरेको पाइएको छ । नेपाली सेनाबाट आठ वर्षअघि नै अवकाश लिएर बसेका सुवर्ण बस्नेत दैनिक ललितपुबाट भक्तपुर हुँदै बनेपासम्म जाने आउने गर्छन् । सेनामा रहँदाको आफ्नो पुरानो पोशाक लगाएर जडीबुटी मनोहराबाट दैनिक निस्कने बस्नेत जडीबुटी, थिमि, सूर्यविनायक, जगाती हुँदै ओहोरदोहोर गर्छन् भने व्यक्तिगत कारोवार र ठेक्कापट्टाको कामका लागि बनेपासम्म पुग्ने गर्छन् । जडीबुटीदेखि जगातीसम्ममा जडीबुटी पुल, कौशल्टार, गठ्ठाघर, थिमि शङ्खधरचोक, राधेराधे, सल्लाघारी, सूर्यविनायक र जगातीसम्मको चेकप्वाइन्ट सजिलै पार गरेर जाने आउने गर्छन् । नेपाली सेना र प्रहरीको पोशाक लगाएको देखेपछि कुनै पनि चेकप्वाइन्टमा प्रहरीले रोक्दैन, न त परिचयपत्र नै हेरिन्छ । यो एउटा उदाहरण मात्रै हो, पोशाक लगाएर सेना, प्रहरी र पत्रकारको नाममा व्यापक बन्दाबन्दीको उल्लङ्घन हुँदा पनि उनीहरुलाई रोकेर प्रहरीले परिचयपत्र नमाग्ने गर्दा व्यापकरुपमा पोशाकको दुरुपयोग हुने गरेको गुनासो बढेको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीका सुवास न्यौपानेले प्रहरी र सेनाबाट अवकाश पाइसकेका व्यक्तिसमेत आफ्नो पुरानो पोशाक लगाएर हिँड्ने गरेको बताउँदै सेना र प्रहरीको पोशाक लगाएर मोटरसाइकलमा हिँड्नेको पनि परिचयपत्र खोज्नुपर्ने बताए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पोशाकको दुरुपयोग हुने गरेको गुनासो आएको बताइन् । जुन सञ्चारगृहमा काम गर्ने हो, सोही सञ्चारगृहको नाममा सूचना विभागबाट परिचयपत्र लिएका पत्रकारलाई ओहोरदोहोर गर्न दिने माथिल्लो निकायबाट परिपत्र भएको जानकारी दिइन् । प्रजिअ पाण्डेले भनिन्, “पत्रकारको ज्याकेट लाएर गैरपत्रकारले दुरुपयोग गरेको व्यापक गुनासो आएको छ । ज्याकेटको दुरुपयोग रोक्न पत्रकार महासङ्घ आफैँ पनि लाग्नुपर्ने हो । अब माथिल्लो निकायबाट आएको परिपत्रअनुसार सूचना विभागको परिचयपत्र हेर्ने गरी कडाइ गर्नेछौँ ।” उनले नेपाली सेना र प्रहरीको पोशाक लगाएर ओहोरदोहोर गर्नेहरुलाई पनि परिचयपत्र हेर्न प्रहरीलाई आजैबाट निर्देशन दिने बताइन् । उनले भनिन्, “पत्रकारको मात्रै हैन, सेना र प्रहरीको पोशाकको पनि लकडाउनमा दुरुपयोग भएको सुन्याँै आजै तीनवटै सुरक्षा निकायको प्रमुखसँग छलफल गरेर पोशाक लगाउनेको पनि परिचयपत्र जाँच गर्ने र परिचयपत्र नहुनलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।” प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले पत्रकारको मात्रै नभई नेपाली सेना र नेपाल प्रहरीको पोशाक लगाएर मोटरसाइकलमा हिँड्नेहरुको समेत परिचयपत्र हेर्न आजैबाट निर्देशन दिने बताए। सेना प्रहरीको पोशाक दुरुपयोग गरेको पाइए कारवाही गर्ने उनले बताए ।रासस
भारतबाट आएको खाली ट्रकबाट एक करोडभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ काठमाडौं । नेपाल भारत सीमा क्षेत्र सिलबन्दी भएको बेला भारतबाट आएको खाली ट्रकमा स्रोत नखुलेको एक करोड भन्दा बढी भारतीय रुपैयाँ फेला परेको छ । मोरङको रानी नाकामा सशस्त्र प्रहरीले चेक गर्दा डब्लू बि ७३ इ ७६७५ नम्वरको खाली ट्रकमा पाँच सय दरका १ करोड ९ लाख ७९ हजार रुपैयाँ फेला पारेको हो। शंका लागेर चेक गर्दा भारतिय नोट फेला परेको हो। थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल मोरगका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिए । उक्त ट्रक अत्यआवश्यक सामाग्री लिन भन्दै नेपाल प्रवेश गरेको अनुसन्धानमा देखिएको छ। ट्रकमा भारतिय ५ सय दरका नोट भेटिएको हो। प्रहरीले ट्रकका चालक रविकुमार र सहचालक पप्पु कुमारलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको छ।उनीहरुले प्रहरीसँगको प्रारम्‍भिक बयानमा नेपालबाट डाइपर लिएर सिलगुडी जान लागेको बताएका छन्। ट्रक भारतको सुपौलबाट आएको खुलेको छ। उनीहरुले सो रकम किन र कहाँ लैजाान ल्याएको भन्ने बारेमा केही खुलेको छैन । उनीहरुले भारतबाट सो रकम कस्ले पठाएको भन्ने बारेमा पनि केही नबताएको सशस्त्र प्रहरी बलका एसपी कार्कीले बताए । एसपी कार्कीका अनुसार पक्राउ परेका दुवै जनालाई प्रहरी मार्फत राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ ।
एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको धनगढी–१० का आशाराम चौधरीले चलाएको से१च १८२८ नंको एम्बुलेन्सले विपरीत दिशातर्फ आइरहेको घोडाघोडी नगरपालिका–१० का भरत बोहराले चलाएको म२प ५३०३ नंको मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको हो। मोटरसाइकलमा सवार गौरीगङ्गा नगरपालिका–८ घर भई सशस्त्र प्रहरी बेसक्याम्प पहलमानपुरमा कार्यरत ३५ वर्षीय हवल्दार गोरख ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । दुर्घटनामा घाइते भएका मृतक ऐरको उपचारका क्रममा घोडाघोडी अस्पताल सुख्खडमा मृत्यु भएको बताइएको छ । एम्बुलेन्ससहित चालकलाई प्रहरी नियन्त्रणमा लिइएको र मोटरसाइकल चालक बोहराको अवस्था भने सामान्य रहेको बताइएको छ ।
न्यूयोर्क टाइम्सको डरलाग्दो खुलासा, अमेरिकामा आगामी महिनादेखि दोब्बर मानिस मर्न सक्ने वासिंगटन डिसी । अमेरिकामा आउँदा दिनहरुमा प्रतिदिन ३ हजार मानिसहरुको मृत्यु हुने प्रक्षेपण ट्रम्प प्रशासनले गरेको समाचार सार्वजानिक भएको छ । अमेरिकाका राज्यहरुलाई लकडाउन खुलाउन दवाव दिँदै आएको राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले आन्तरिकरुपमा भने यस्तो डरलाग्दो अवस्था आउने आंकलन गरेको न्यूयोर्क टाइम्सले मे ४ तारिकमा प्रकाशित समाचारमा उल्लेख छ । आन्तरिकरुपले तयार गरिएको प्रतिवेदनमा आगामी जुन १ सम्ममा प्रतिदिन कोरोना भाइरसको संक्रमणका कारण प्रतिदिन ३ हजारका दरले अमेरिकीहरुको मृत्यु हुने उल्लेख गरिएको न्यूयोर्क टाइम्सले दावी गरेको छ। हाल अमेरिकामा कोरोनाका कारण दैनिक १७ सय ५० जनाको मृत्यु भइरहेको छ । सो प्रतिवेदनको तथ्यांकअनुसार, आगामी महिना अमेरिकामा प्रतिदिन झण्डै दोब्बर मानिसको मृत्यु हुने देखिएको छ । ट्रम्प प्रशासनले सेन्टर फर डिजिज कन्टोल एण्ड प्रिभेन्सन(सीडीसी) र फेडेरल इमर्जेन्सी म्यानेजमेण्ट(फिमा) को भविष्यवाणीा आधारमा तयार गरेको प्रतिवेदनअनुसार, आगामी दिनदेखि प्रतिदिन २ लाख मानिसहरु नयां संक्रमित हुनेछन् । हाल प्रतिदिन नयां संक्रमितहरुको संख्या २५ हजार छ । न्यूयोर्क टाइम्सको समाचारअनुसार, अमेरिकामा बजारहरु खुल्ला गरिएपछि स्थिति अझ नाजुक हुनेछ ।
कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य र रक्षालाई साढे तीन अर्ब काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले साढे तीन अर्व रुपैयाँ निकासा गरेको छ। सोमबार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य र रक्षा मन्त्रालयलाई उक्त रकम निकासा गरिएको जानकारी दिए। अर्थले स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयमार्फत उपकरण खरिदका लागि २ अर्ब ३४ करोड रुपैयाँ दिएको छ। बैठकमा मन्त्री खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि बजेट अभाव हुन नदिने पनि बताए। संघीय सरकारले निर्माण गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा दुई अर्व २० करोड रुपैयाँ जम्मा भएको र यसलाई आवश्यक्ता अनुसार खर्च गर्दै जाने मन्त्री खतिवडाले जानकारी दिए। मन्त्री खतिवडाले कोरोना संक्रमण रोक्न अन्तर्राष्ट्रिय सीमा बन्द गर्दा राजश्वमा दवाव परेको बताए।  ‘चालु वर्षको सुरुदेखि नै हामी अलिकति दबाबमा थियौँ, कोरोना रोकथामका लागि लकडाउन गरेपछि हामी झनै पछाडि परेका छौं’ उनले भने, ‘चैत मसान्तसम्ममा राजस्व लक्ष्यको ८० प्रतिशत मात्रै संकलन गर्न सफल भएको छौं।’ भन्सारसँगै अन्तःशुल्क र मूल्यअभिवृद्धि करमा पनि दबाब परेको भन्दै खतिवडाले अन्तर्राष्ट्रिय सहायता परिचालनमा सरकारले जोड दिएको बताए। अहिलेसम्म सरकारले कोरोनासँग सम्बन्धित काममा खर्च गर्न र आर्थिक उत्थानका लागि डेढ खर्ब रुपैयाँ बराबरको रकम सम्झौता गरेको खतिवडाले जानकारी दिए। मन्त्री खतिवडाले सरकारी राहत दुरुपयोग रोक्नका लागि श्रमसँग जोडेको स्पष्ट पारे।
गाई चराउन गएकी किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ दाङ । किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी छन् । शान्तिनगर गाउँपालिका वडा नंं ४ निवासी एक किशोरीमाथि बलात्कारका अभियुक्त चौधरीलाई गाउँमै लुकिछिपी बसेका अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। तुलसीपुर उपमहानगरपालिका वडा नं २ कुइरेपानीस्थित जंगलमा गाई चराउन गएको अवस्थामा ती किशोरीलाई उनले जबर्जस्ती करणी गरेको आरोप लागेको छ । बालापुर प्रहरी चौकीबाट खटिएको टोलीले अभियुक्तलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन २०७४ को करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको छ ।
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु कैलाली । कैलाली जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले मृतकको शव घटनास्थल नजिकै सोही नदीमा फेला पारेको छ। यसैगरी धनगढी उपमहानगरपालिका–१४ को पञ्चोदय माध्यमिक विद्यालय परिसरमा माछापोखरी निर्माणको काममा प्रयोग भइरहेको जेसिबीका चालक दाङ जिल्ला भालुवाङ स्थायी ठेगाना भएका ३१ वर्षीय तिलक बुढामगर मृत फेला परेका छन्। माछापोखरी निर्माणकोे कामको ठेक्का पाएको देवसिंह सेवा निर्माण कम्पनीको उक्त जेसिबीका चालक बुढामगर शुक्रबार राति खाना खाएर सोही विद्यालयको कोठामा सुतेकामा बिहान मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । जेसिबीका सहचालक हरिदत्त भट्टले प्रहरीलाई खबर गरेपछि गएको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको छ। सहचालक भट्ट पनि सोही विद्यालयमा बस्दै आएको बताइएको छ। रासस
ग्रीनकार्ड नहुनेले अमेरिकी सरकारको राहत रकम पाएनन् वासिंगटन डिसी । ग्रीनकार्ड नभए पनि कोरोना महामारीको संकटका बेला अमेरिकी संसदले घोषणा गरेको राहत रकम कुरेर बसेका आप्रवासीहरु निराश हुने भएका छन् । केही हप्ताअघि अमेरिकी संसदबाट पारित भई लागू भएको प्रतिब्यक्ति १२ सय अमेरिकी डलर पाउने कोरोना महामारीको राहत प्याकेज वितरणका लागि बनेको नियममा स्थायी बसोवास अनुमति पत्र नभएकाहरु यो सुविधाबाट बञ्चित हुने उल्लेख छ । सो रकम वितरणको जिम्मेवारी पाएको आई आर एसको आधिकारिक वेभसाइटमा उल्लेख भएअनुसार, ग्रीनकार्ड नहुनेहरुले रकम नपाउने सूचना दिइएको छ । को को व्यक्ति तथा परिवारले यो सुविधा लिन पाउंदैनन् ? भन्ने शीर्षकमा दिइएको सूचनाको सातौं नम्बरमा सो कुरा उल्लेख छ । ग्रीनकार्ड नहुनेहरु बाहेक सोसल सेक्युरिटी नभएका व्यक्तिहरु पनि यो सुविधा लिन पाउंदैनन् । यसवाहेक अविवाहित एकव्यक्तिको कूल वार्षिक आय ९९ हजार अमेरिकी डलर भए वा परिवारको मुलीका रुपमा आम्दानी १ लाख ३६ हजार ५ सय भन्दा बढी भएकाले पनि यो सुविधा पाएका छैनन् । त्यसैगरी विवाहित र संयुक्त ट्याक्स फारम भर्दा १ लाख ९८ हजार र सोभन्दा बढी आम्दानी भएकाे देखाइएको छ भने पनि यो रकम पाएका छैनन् । डिसी मेट्रो क्षेत्रका चर्चित सीपीए हरि शर्माका अनुसार, अनइम्प्योइमेण्ट इन्स्योरेन्सको दावी चाहिं सबै प्रकारका कामदारले पाउंछन् तर सरकारको स्टीमुलस प्याकेजको रकम चाहिं ट्याक्स पेयरको पैसा हो र त्यो रकम अमेरिकी नागरिक र ग्रीनकार्ड वाहक र निश्चित शर्तहरु पूरा गरेको आप्रवासी व्यक्तिलाई मात्र दिने नीति अमेरिकी सरकारले बनाएको छ । शर्मा भन्छन्, “यसमा कसैलाई पनि भ्रम हुनु हुंदैन । जोसंग नागरिकता वा ग्रीनकार्ड छैन वा तोकिएका शर्त पूरा गरेको अप्रवासी हैन भने उसले फेडरल सरकारले दिने भनेको आम्दानी हेरी १२ सय डलरसम्मको प्रतिव्यक्ति सहयोग रकम पाउंदैन ।”
गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो कोहलपुर । बाँके जिल्लाको कोहलपुरमा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक महिला घाइते भएकी छन् । कोहलपुर नगरपालिका वडा नं ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह६३४१ नंको गाडीले ठक्कर दिँदा भे४ प७६२० नंको मोटरसाइकलमा सवार कोहलपुर –२ का २४ वर्षीय किरण भुसालको निधन भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । बाँकेको नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको नेपाली सेनाको गाडी र मोटरसाइकलले एनटिभी रोड क्रस गर्दैगर्दा जुधेका थिए । साँग्रिला डेभलपमेन्ट बंैक नेपालगञ्जमा २७ वर्षीया दिदी प्रतीक्षालाई लिन गएका किरणको मृत्यु भएको र घाइते प्रतीक्षाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
नेकपा सचिवालय बैठक शुरु काठमाडौं । आन्तरिक द्वन्दमा रुमलिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय वैठक वालुवाटारमा सुरु भएको छ । पार्टी भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक भर्खरै प्रारम्भ भएको हो । पार्टीका आन्तरिक असमाञ्जस्यता र अप्ठ्यारालाई किनारा लगाउन निर्णायक ठानिएको बैठकले स्थायी कमिटी बैठक आह्वान गर्नेनगर्नेलगायत विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ । बैठकमा सचिवालयका सबै सदस्य उपस्थित छन् ।
प्रहरीद्वारा २ जना हुण्डी कारोवारीलाई पक्राउ काठमाडौं । प्रहरीले काठमाडौंबाट २ जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोवारमा संलग्न उनीहरुलाई काठमाडौंको अलग–अलग स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भइ हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेश कुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बाग्लुङ घर भएका ३५ वर्षीय सागर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१३ टंकेश्वर ‍र काठमाडौं महानगरपालिका–१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेका उनीहरुलाई नगद २४ लाख २१ हजार रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। उक्त रकममध्ये गुप्ताको साथबाट ६ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ बरामद भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सगुनले लगानीकर्ताहरु बीच वेविनार गर्दै मानव सभ्यतामाथि नै संकट मडारिइरहेको हालको प्रतिकूल अवस्थामा विश्वका सबै राष्ट्रहरु आफ्ना नागरिकहरुलाई बचाउने र संयुक्तरुपमा मिलेर यसको स्थायी उपचार पत्ता लगाउने महाअभियानमा जुटिरहेका छन् । अधिकांश मानिसहरु आफू जोगिन र अरुलाई जोगाउन काम, व्यवशाय छोडेर घरभित्र बस्नु परिरहेको छ । यस्तो अवस्थामा विभिन्न व्यवशाय वा कम्पनीहरुमा आफूले गरेका लगानीका बारेमा चिन्ता हुनु स्वाभाविक नै हो । यसै कुरालाई ध्यानमा राखेर सगुनले यसको वर्तमान अवस्था र यसमा गरिएको लगानीका बारेमा विश्वभरिका आफ्ना लगानीकर्ताहरुलाई जानकारी गराउने क्रम थालेको छ । यसै सिलसिलामा यही मे महिनामा अमेरिकाका लगानीकर्ताहरु बीच पुग्ने सगुनको योजना रहेको सगुनले जनाएको छ । सगुनले निम्नानुसारको जानकारी उपलब्ध गराएको छः –      सामाजिक सञ्जाल र इकमर्शको क्षेत्रमा नयाँ सोच लिएर अघि बढिरहेको सगुनले नयाँ दूरी पार गरेको छ । सन् २०१७ मा एन्ड्रोइड एप शुरु गर्दा ६ लाख प्रयोगकर्ता भएको सगुन अहिले ५४ लाख प्रयोगकर्तालाई आकर्षण् गर्न सफल भएको छ । त्यस्तै स्थापनाकालमा दुई मिलियनबाट शुरु भएको कम्पनीलाई अमेरिकी सरकारको सेक्युरिटी एक्सचेञ्ज कमिशन (एस्ईसी) ले १२६ मिलियनको मूल्याङ्कनलाई मान्यता दिएको छ । लगानीकर्ताहरुका लागि यो खुशीको कुरो हो । –      सगुनले पहिलो मिनि आइपीओपश्चात ७०० प्रतिशतभन्दा बढी युजर ग्रोथ गरेको जनाएको छ । अमेरिका, भारत र नेपालमा दर्ता भएको यस कम्पनीले कम्पनी बाहिरको लागि ६० भन्दा बढी देशहरुका ४००० भन्दा बढि लगनाीकर्ताहरुले लगानीको अवसरलाइ ग्रहण गरेका थिए । –      व्यक्तिका रुचिका आधारमा छुट्टाछुट्टै शीर्षकहरु उपलब्ध भएको सगुनमा प्रयोगकर्ताहरुले यसलाई ज्ञानमा आधारित सामाजिक सञ्जालकारुपमा रुचाइएको पाइएको छ । आबश्यकता र मागका आधारमा नयाँ शीर्षक थपिदैं जाने सिलसिलामा हाल विश्वमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड–१९) का सम्वन्धमा जानकारी र सजगताकालागि कोरोना इन्फो शीर्षक राखिएको छ । सगुनले आफ्नो साइटमा जनाएअनुसार यसको एपमा ५१ मिलियन भन्दा बढी सगुनमा पोष्ट गरिएका कन्टेन्ट हेरिइएका छन् भने युजरले १ घण्टा ४४ मिनेट औसत समय बिताउँछन् र औसत प्रयोगकर्ताहरुले प्रत्येक दिन २३ पटक एप खोल्ने गरेका छन् । ठूला मिडियामा समय विताउने औसत समय १ मिनेट देखि ५८ मिनेटसम्म हुने देखिन्छ । आफ्ना प्रयोगकर्ताले सगुनमा लगानी गरेको आफ्नो समयबापत प्रत्येक प्रयोगकर्तालाई मुनाफा शेयर गर्ने अवधारणा बोकेको सगुन अन्य सोसियल तथा अनलाइन मिडिया व्यवशायभन्दा फरक छ । यही मुनाफा शेयर गर्ने अवधारणालाई सगुनले प्रयोगमा ल्याउन शुरु गरिसकेको छ । जसअनुसार सगुन प्रयोग गर्ने हरेक प्रयोगकर्ताहरुले उनीहरुले सगुनमा विताएको समयका आधारमा सोसियल स्मार्ट कार्ड मार्फत स्मार्ट क्वाइन प्राप्त गर्न सक्छन् । यसरी प्राप्त गरेको डिजिटल क्वाइनलाई आफैंले अथवा आफ्नो परिवार वा साथीसंगीलाइ पठाउन सक्छन्, सगुनकै एपमार्फत । यसरी जम्मा गरिएको क्वाइनलाई सगुनका पार्टनर कम्पनीहरु मार्फत विभिन्न वस्तु तथा सेवा खरिद गर्न प्रयोग गर्न सक्छन् । यसलाई अहिले नेपाल र भारतका केही शहरहरुमा परिक्षणका रुपमा सञ्चालन गरिंदै आइरहेको छ । यी सबै प्रगतिका कुराहरु लिएर अमेरिकामा रहेका लगानीकर्ताहरु तथा शुभचिन्तकहरुका बीचमा सगुनका बारेमा जानकारी गराउने उद्धेश्यले यही मे २, २०२० दिन वेविनार सञ्चालन गर्न लागेको सगुनले जनाएको छ । सगुनले जनाएअनुसार यस वेविनारमा सगुनका एटर्नी, सीपीए फर्मका अडिटर, लगानीकर्ताहरुको लगानी व्यवस्थापन गर्ने कम्पनी कम्यूटर शेयरका म्यानेजर लगायतले सगुनका बारेमा जानकारी र प्रस्तुती दिनेछन् । त्यसैगरी सगुनका संस्थापकहरुले बिगत, बर्तमान र अगाडिका नीतिका बारेमा बताउने छन् र सगुनका प्राविधिक तथा मार्केटिङ्ग टिमले सगुनमा थपिने फिचर्स तथा मार्केटिङ्ग योजनाका बारेमा बताउने छन् । यसरी यस वेविनारमा सगुनको भिजन, हालसम्मको अवस्था, प्रगति, यसको कानूनी अवस्था, आर्थिक व्यवस्थापन, शेयर व्यवस्थापन तथा आइपीओमा जानेबारेको तयारीका बारेमा जानकारी गराइने छ । सगुनका सह संस्थापक कविन्द्र सिटौलाका अनुसार, यो वेविनारमा सहभागी हुन सबै लगानीकर्ताहरुलाई इमेलबाट जानकारी गराइसकिएको छ । यदि कुनै कारणबस इमेल प्राप्त गर्न नसकेका लगानीकर्ताहरु लगायत सगुनका बारेमा जानकारी लिन इच्छुक शुभचिन्कहरुले यस वेविनारमा भाग लिन चाहेमा सम्पर्क गर्न समेत सगुनले अनुरोध गरेको छ । वेविनारका लागि सगुनको फेसबुक पेज Click here for registration मा गएर रजिष्ट्रेशन गर्न सकिने छ । वेविनार हुने मितिः शनिवार मे २, २०२० समय विहान ११ बजे (न्यूयोर्क समय) सम्पर्कः फोनः 703-291-1212 Email: [email protected]
घुस लिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी झगडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख धामीलाई पक्राउ गरेको छ । आयोगका अनुसार गौरीगंगा नगरापालिका १० का धामीले घरायसी झगडासम्बन्धी इलाका प्रहरी कार्यालय मसुरियामा दर्ता भएको मुद्दा मिलाइदिने भनी एक सेवाग्राहीसँग ५० हजार घुस लिएको पाइएको छ । आयोगले आरोपी धामीलाई बिहिबार पक्राउ गरेको भए पनि छानबिन जारी रहेकाले आज सार्वजनिक गरिएको जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी धामीमाथि अनुसन्धान भइरहेको छ ।
null
null
रोल्पामा बम विस्फोटमा परेर ४ बालबालिकाको मृत्यु काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बिहीबार अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए । उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेका छन्। घटनास्थलमा बम पनि रहेकाले डिस्फोजका लागि दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्ष त्रिवेणी २ का वडाअध्यक्ष कविराज बुढाले जानकारी दिए। घटना भएको प्रहरीले पुष्टी गरेको छ । घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताए । के कति कारणले घटना भयो केही समयपछि थाहा हुने उनले जानकारी दिए ।
लागुऔषधसहित चार पक्राउ काठमाडौं । लागुऔषधसहित चार जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली, टीकापुर नगरपालिका –१ का २८ वर्षीय राजन रावल र ३३ वर्षीय रमेश न्यौपाने तथा लम्की चुवा नगरपालिकाका २९ वर्षीय रोशन कडायत र दैलेख, दुल्लु नगरपालिका –७ का २७ वर्षीय आकाश शाह छन् । प्रहरी कार्यालयको मूल ढोका अगाडि उनीहरु सवार बा १२ च ६२९९ नं को गाडी तलासी गर्दा स्टेरिङभित्र प्लाष्टिकमा पोको पारिएको ४६ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक योगेन्द्रबहादुर खड्काले बताए।
आफ्नै बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ भक्तपुर । आफ्नै १४ वर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका–९ बोडेस्थित जस्ताको टहरोमा बस्दै आएका सिन्धुपाल्चोक घर भएका २३ वर्षीय पुरूषलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै सहोदर किशोरी बहिनीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने पीडितको किटानी जाहेरीको आधारमा उनलाई सोही दिन प्रहरीले पक्राउ गरेको हो । निज उपर भक्तपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
युवतीको हत्या आरोपमा दुई किशोर पक्राउ रुकुमपूर्व । रुकुम (पूर्व) मा एक युवतीको हत्या आरोपमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ खराङकी २२ वर्षीया दिलकुमारी सेनको हत्याको आरोपमा शनिबार सोही ठाउँका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अभियुक्तले दाउराका लागि रुख ढाल्ने क्रममा वनबाट दाउरा लिएर घर फर्कँदै गरेकी सेनलाई च्यापेको थियो । शनिबार साँझ जिल्ला अस्पताल रुकुमकोटमा उपचारका क्रममा सेनको मृत्यु भएपछि अनुसन्धानका लागि दुई किशोरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले बताए। घटनाको अनुसन्धानका लागि उनीहरुलाई आइतबार जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए । १८ वर्षमुनिका भएकाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । उनीहरुको मुद्दा बाल इजालसमा सुनुवाइ हुने प्रहरीले जनाएको छ ।
दैनिक ३० करोड घाटा हेटौँडा । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँस्थित औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक रु ३० करोड घाटा भइरहेको छ । हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला गरी १११ उद्योग छन् । औद्योगिक क्षेत्रमा पाँच हजार कर्मचारीसहित मजदुर कार्यरत रहेका छन् । लकडाउनका कारणले सो उद्योग बन्द भएपछि अहिले उद्योगको अवस्था दयनीय छ भने मजदुरको समेत रोजगारी गुमेको छ । लकडाउन हुनुभन्दा अगाडि प्रत्येक उद्योगको करिब रु तीन करोडभन्दा बढीको कारोवार हुने गरेको थियो । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयका अनुसार अतिआवश्यक वस्तुहरु उत्पादन गर्ने २०÷२१ उद्योग मात्र सञ्चालनमा रहेको छ । समाजिक दूरी तथा स्वास्थ्य जाँचको समेत व्यवस्था गरिएको ती उद्योगसमेत आंशिकरूपमा चलेको बताइन्छ । उद्योगमा कच्चा पदार्थ, मजदुर अभाव, दुवानी र बिक्री वितरणको समस्याले आंशिकरूपमा चलेको छ । कार्यालय प्रमुख राजेन्द्र कँडेलका अनुसार अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगमा दुग्ध उद्योग, खानेपानी उद्योग, बेकरी तथा बिस्कुट उद्योग, मैदा उद्योग, पशुपक्षी दान उद्योग, प्लास्टिक उद्योगलगायतका उद्योग सञ्चालनमा रहेका छन् । सञ्चालित उद्योग पनि मझौला उद्योगहरु हुन् । उद्योग बन्दले घाटा खानुपरेकाले बैंकको ऋण तिर्न समस्या परेको तथा कर्मचारीको तलब दिनुपर्नेलगायतका थुप्रे समस्या आएको उद्योग सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष लेखराज पोखरेलको अनुसार उद्योगीको व्यापक गुनासो रहेको उल्लेख गरे । उद्योग बाहिर बस्ने मजदुरलाई काम गर्न जाँदा बाटोमा प्रहरीले अप्ठ्यारो पार्ने गरेको मजदुरको गुनासो छ । त्यस्तै हेटौडा सिमेन्ट उद्योग, शिवम सिमेन्ट उद्योग, रिद्धिसिद्धि सिमेन्ट उद्योग र एशियन पेन्टस उद्योगलगायतका अन्य ठूला उद्योग बन्द छन् । त्यसैगरी हेटौँडा उपमहानगर क्षेत्रमा रहेका कावार खानामा कावार संलग्न गर्ने मजदुर पनि बेरोजगार छन् । लोहा, टिना प्लास्टिक तथा सिसाको बोतल र टुटफुट भएका सामान सङ्कलन गर्ने व्यवसायी एवं मजदुरी गर्ने कारोवार ठप्प छ । हेटौँडमा विभिन्न टोलमा गरी चार दर्जनभन्दा बढी कावारखाना रहेको र ५०० भन्दा बढी मजदुर आश्रित रहेको हेटौँडा–४ कबरखानाका सञ्चालक राम एकवाल गुप्ताले जानकारी दिए । सर्लाही सुदरमुकामका बासिन्दा रहेका हेटौँडामा कावार सङ्कलन गर्ने दिनेश साहले मासिक रु २५ हजार कमाउने गर्थे तर लकडाउनले खानपन आपत परेको गुनासो गरेको पाइएको छ । त्यस्तै ग्रिल र फर्निचर उद्योगमा कार्यरत मजदुर उद्योगीको समेत समस्या भएको गुनासो छ । वाग्मती प्रदेश नेपाली काँग्रेस प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले मजदुरको समस्याप्रति सरकार गम्भीर नभएको आरोप लागाएका छन् । उनले भने,“यस्तो अवस्थामा सबै दलबीच समन्वय जरुरी छ । ”रासस
बेल्जियमबाट कतार एयरमा नेपाल आएकी युवती सङ्क्रमणमुक्त बागलुङ । कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएकी छन् । धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्किएकी छन् । लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले जानकारी दिए । “उनको स्वास्थ्य अवस्था राम्रो छ, दुई हप्ता घरमा पनि अलग्गिएर बस्न लगाएका छौँ”, प्रमुख चिकित्सक पोखरेलले भने । अस्पतालबाट घर फर्कने क्रममा सापकोटाले आफ्नो आत्मबल र चिकित्सक, स्वास्थ्यकर्मीको स्याहारले कोरोनालाई जित्न सफल भएको बताईन् । “म खुसी छु, मलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु”, उनले भनिन्, “अस्पतालमा बस्दा राम्रो हेरचाह पाएँ, परिवार र आफन्तले माया दिनुभयो ।” सापकोटाका बुबा ऋषिरामले छोरीमा सङ्क्रमण भएको थाहा पाउँदा पीडा भए पनि निको भएर फर्कदाँ सिङ्गो परिवारमा खुशी छाएको बताए । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी सापकोटामा चैत १५ गते कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । २८ दिनको अस्पताल बसाइपछि उनी घर फर्किएकी हुन् । उनीसँगै एउटै विमानमा बेल्जियमबाट आएकी सोही नगरपालिका–३ की सङ्क्रमित ६५ वर्षीया मनकुमारी पौडेल निको भएर अघिल्लो शनिबार नै घर फर्किसकेकी छन्। पौडेलमा गत चैत १५ गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । सापकोटा नेपालको पाँचौँ र बागलुङको पहिलो सङ्क्रमित छन् भने पौडेल नेपालको छैटौँ र बागलुङको दोस्रो सङ्क्रमित हुन् । दुवै सङ्क्रमित निको भएपछि हाललाई बागलुङ कोरोनाका बिरामीमुक्त जिल्ला भएको छ।
कोरोनाका बिरामीलाई घोप्टो पार्दा कसरी ज्यान जोगिन सक्छ? बीबीसी । संसारभरि कोभिड-१९ का बिरामीहरू बढ्दै गर्दा अस्पतालमा उनीहरूको उपचारको दृश्य सञ्चारमाध्यममा अचेल निकै देखिन्छ। तर कतिपय त्यस्ता दृश्यमा सघन उपचारमा रहेका बिरामीहरूलाई अत्याधुनिक भेन्टिलेटरमा राखिएको तर उनीहरूलाई घोप्टो पारिएको देखिन्छ। यो पुरानै विधि हो जसलाई ‘प्रोनिङ’ भनिन्छ र यसले श्वासप्रश्वाससम्बन्धी बिरामीलाई केही फाइदा पुर्‍याउने गरेको पाइन्छ। यसो गर्दा फोक्सोमा धेरै परिमाणमा अक्सिजन पुग्छ। तर यो विधिका केही जोखिम पनि छन्। बिरामीहरूलाई कैयौँ घण्टासम्म घोप्टो पारेर राख्न सकिन्छ जसले गर्दा श्वासप्रश्वासमा अप्ठेरो पार्नेगरी फोक्सोमा जम्मा भएका हुन सक्ने तरल पदार्थ निस्किन्छ। यो विधिलाई कोभिड–१९ का गम्भीर बिरामीहरूमा प्रयोग गरिएको छ। ‘कोभिड–१९ भएका कैयौँ बिरामीहरूको फोक्सोमा पर्याप्त अक्सिजन पुगेको हुँदैन र त्यसले हानि पुग्छ,’ अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका सहायक प्राध्यापक एवं श्वासप्रश्वास रोगका विज्ञ डा. प्यानागिस गालियात्सातोसले बताए। ‘उनीहरूलाई अक्सिजन दिएर मात्र कहिलेकाहीँ पुग्दैन। त्यस्तो बेला हामी उनीहरूलाई घोप्टो पार्छौँ ताकि फोक्सो फैलिन पाउँछ।’ डा. गालियात्सातोसका अनुसार फोक्सोको सबभन्दा गह्रुङ्गो भाग हाम्रो पछिल्तिर हुन्छ। त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ। त्यसको साटो घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्छ अनि फोक्सोको विभिन्न भाग सक्रिय हुन पाउँछ। ‘यसले उल्लेख्य परिवर्तन गराएको देखिन्छ। हामीले कैयौँ बिरामीमा यसले काम गरेको देखेका छौँ,’ डा. गालियात्सातोसले बताए। मार्चमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पनि घोप्टो पार्न सुझाएको छ। उसले गम्भीर श्वासप्रश्वासका अप्ठेरा बेहोरेका वयस्क कोभिड–१९ बिरामीहरूलाई दिनको १२ देखि १६ घण्टासम्म घोप्टो पार्न सुझाएको छ। बालबालिकाको हकमा यो विधि उपयोग गर्न विचार गर्न सकिने तर त्यसको निम्ति थप विज्ञतासहितका प्रशिक्षित स्वास्थ्यकर्मी आवश्यक हुने डब्ल्यूएचओले बताएको छ। अमेरिकन थोर्‍यासिक सोसाइटीले फेब्रुअरीमा चीनको वुहान जिन्यिन्तान अस्पतालमा रहेका १२ जना कोभिड(१९ का बिरामीमा गरेको अध्ययन मा घोप्टो पारिएका बिरामीहरूको तुलनामा नपारिएका बिरामीहरूमा फोक्सोको फैलिने क्षमता कम पाइएको उल्लेख छ। हेर्दा सामान्य लागेपनि घोप्टो पार्ने विधि जोखिमपूर्ण मानिन्छ। बिरामीलाई त्यसरी मिलाएर घोप्टो पार्न समय र प्रशिक्षित विज्ञ आवश्यक हुन्छ। ‘यो सजिलो छ‌ैन। प्रभावकारी रूपमा गर्न चारदेखि पाँच जना आवश्यक पर्छ,’ डा. गालियात्सातोसले भने। स्वास्थ्यकर्मीको अभाव भएको र ठूलो सङ्ख्यामा कोभिड–१९ का बिरामी ओइरिएका अस्पतालहरूमा यो विधिको उपयोग गर्न चुनौतीपूर्ण हुन्छ। डा. गालियात्सातोसका अनुसार जोन्स हप्किन्स अस्पतालले घोप्टो पार्नका लागि एउटा टोली नै खटाएको छ। ‘त्यसैले यदि कोही कोभिड–१९ का बिरामी सघन उपचार कक्षमा छन् जहाँका स्वास्थ्यकर्मीमा यो अनुभव छैन उनीहरूले हाम्रा विज्ञ टोलीलाई बोलाउन सक्छन्।’ बिरामीलाई घोप्टो पार्दा अन्य जटिलता पनि उत्पन्न हुन्छ। ‘हाम्रो एउटा प्रमुख चिन्ता मोटोपना हो। साथै छातीमा चोट लागेका व्यक्ति वा भेन्टिलेशन ट्यूब वा क्याथिटर ट्यूब लगाएका बिरामीहरूलाई घोप्टो पार्दा अत्यन्त सावधानी अपनाउनुपर्छ।’ यो विधिलाई हृदयाघातसँग पनि जोडेर हेरिन्छ भने कतिपय अवस्थामा यसो गर्दा सास फेर्ने नलीमा बाधापनि पुग्छ। घोप्टो पार्ने विधिको फाइदा सुरुमा सन् १९७० ताका देखिएको थियो। तर सन् १९८६ पछि मात्र यसलाई विश्वभरिका अस्पतालहरूले धेरै प्रयोगमा ल्याएको विज्ञहरू बताउँछन्। यो विधिलाई सुरुमा अध्ययन गर्ने र उपयोगमा ल्याउने डाक्टर लुसियानो गाट्टिनोनी हुन्। उनी हाल इटलीको मिलानको यूनिभर्सिटा स्टाटालमा प्राध्यापक हुन्। प्राध्यापक गाट्टिनोनीले बीबीसीलाई बताएअनुसार सुरुसुरुमा यो विधिबारे निकै आपत्ति जनाइएको थियो। ‘तर अचेल यो व्यापक प्रयोग हुन्छ,’ उनले भने।फोक्सोमा धेरै अक्सिजन पुग्नु मात्र यसको फाइदा नभएको उनले बताए। ‘बिरामीहरूलाई घोप्टो पार्दा, फोक्सोमा पर्ने चाप सबै भागमा बराबर फैलिन्छ,’ प्राध्यापक गाट्टिनोनीले बताए। ‘भेन्टिलेटरको मेकानिकल ऊर्जा फोक्सोमा पठाइएको दृश्य एक पटक कल्पना गर्नुहोस्। त्यो भनेको लगातार मुक्का प्रहार गरिएको जस्तै हो। यदि त्यो शक्ति बराबर रूपमा फोक्सोको सबै भागमा फैलियो भने त्यसले पुर्‍याउने हानि पनि कम हुन्छ।’ यो शताब्दीको सुरुमा यो विधिका फाइदाबारे अन्य अध्ययनहरूले पनि समर्थन जनाए। ‘फ्रान्समा सन् २००० मा गरिएको एक अध्ययनमा घोप्टो पारिएका बिरामीहरूमा राम्ररी अक्सिजन प्रवाह भएको र उनीहरूको बाँच्ने सम्भावना बढेको देखिएको थियो।’ मुख्य कुरा यो एउटा यस्तो विधि हो जसले हालसम्म कुनै उपचार नभएको रोगसँग लड्न एउटा उपाय दिन्छ। ‘अहिलेको लागि हामीले यस्ता विधिको प्रयोग गर्नु उचित नै हुन्छ,’ डा. गालियात्सातोसले बताए।
एसईईका लागि जेठपछि मात्रै विकल्प खोजिने काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ। कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने तयारी पनि गरिएको छ। स्थगित परीक्षाबारे बुधबार राष्ट्रिय परीक्षा बोर्डले सरोकारवालासँग गरेको छलफलमा जेठभित्र परीक्षा लिन सकेको अवस्थामा पनि शैक्षिक सत्रमा कुनै प्रभाव नपारी विद्यार्थीको पठनपाठन अगाडि बढाउन सकिने औँल्याइएको छ। बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार सहभागीले पनि हालकै प्रणालीबाट परीक्षा लिन जेठभित्रसम्म कुर्न आग्रह गरेको जानकारी दिए। जेठमा परीक्षा लिन सकेको अवस्थामा पनि उत्तरपुस्तिका सङ्कलन, परीक्षण, नजिता प्रकाशन लगायतका कामलाई दु्रत गतिमा गरेर विद्यार्थीको शैक्षिक सत्रमा प्रभाव नपार्ने गरी कक्षा ११ मा भर्ना लिन सकिने उनको भनाइ छ। बोर्डले विगतका वर्षमा साउनबाट मात्रै कक्षा ११ को शैक्षिक सत्र सुरु गर्ने गरेको थियो। यसका साथै भदौमा एसईईको मौका परीक्षा सञ्चालन गरेर ती विद्यार्थीलाई समेत भर्ना गर्दा दशैँको हाराहारी पनि विद्यार्थी कक्षा ११ मा भर्ना हुने गरेका थिए। यस हिसाबले हेर्दा विद्यार्थीको पढाइमा धेरै असर नपारेको परीक्षा नियन्त्रक खकुरेलले स्पष्ट पारे। सङ्क्रमण लम्बिए विकल्प कोराना सङ्क्रमण लामो समयसम्म कायम रहेको अवस्थामा माध्यमिक तहको परीक्षा लिने प्रणालीमा नै परिवर्तन गरी विकल्प खोजिने भएको छ । हाल बोर्डले नै एसईईका साथै कक्षा ११ र १२ को वार्षिक परीक्षा लिने कानुनी प्रावधान छ । यो प्रावधानलाई परिवर्तन गरेर प्रदेश, जिल्ला या विद्यालय तहलाई नै जिम्मा दिने खालको विकल्प हुन सक्ने जनाइएको छ तर यसबारेमा छलफल मात्रै सुरु गरिएको बताइएको छ । बोर्डले नयाँ कानुनी प्रावधान परिवर्तन गर्नुपरेको अवस्थामा मन्त्रालयलाई लिखित विकल्प सुझाउने जनाइएको छ । छलफलमा सहभागी नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले स्थगित एसईई परीक्षा सञ्चालनका लागि जेठसम्म कुर्न सबैले सुझाव दिएको बताए। कक्षा ११ र १२ को परीक्षा भने भदौभित्र हुन सके पनि फरक नपार्ने आकलन गरिएको छ। महासङ्घले कक्षा १० को परीक्षा विद्यालयले नै गर्ने गरी जिम्मा दिन तथा शिक्षक, प्रधानाध्यापकलाई विश्वास गर्न सुझाव दिएको छ । यसका साथै परिस्थिति हेरेर हिमाल, पहाड र तराईमा अलग–अलग समयमा परीक्षा गर्ने हिसाबले समेत सोच्नुपर्ने सुझाव महासङ्घको छ । महासङ्घले यसका लागि कानुनी हिसाबले तयारी गर्न समेत केन्द्रलाई सुझाव दिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्ने देखिएपछि सरकारले चैत ५ गते एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । चैत ६ गतेबाट एसईई सुरु गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको थियो । यसका साथै वैशाख ८ देखि कक्षा १२ र वैशाख २१ देखि कक्षा ११ को परीक्षा गर्ने तयारीसमेत बोर्डले गरेको थियो । गाेरखापत्र दैनिक
प्रज्ञा–प्रतिष्ठानद्वारा महोत्सवका लागि कविता आव्हान काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ । इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन सक्ने प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बताए। उनले गत वर्षदेखि वाचनसहितको मूल्याङ्कन गरिएकाले महोत्सव हुने समयसम्म कोरोनाको जोखिम कायम रहेमा कार्यक्रम पर सानुपर्ने हुन सक्ने जनाए । महोत्सवका लागि बुझाइने कविता पूर्णतः मौलिक हुनुपर्ने र महोत्सव सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यममा प्रकाशन एवम् प्रसारण गर्न नपाइने प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले जानकारी दिए । महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदकसहित नगद रु. ३० हजार, द्वितीय हुनेलाई रजत पदकसहित नगद रु. २५ हजार र तृतीय हुने तीन जनालाई जनही काँस्यपदकसहित नगद रु. २० हजारका दरले सम्मानपत्रसहित पुरस्कार प्रदान गरिनेछ ।
इरानद्वारा सैन्य भूउपग्रह सफलतापूर्वक प्रक्षेपण तेहरान । इरानी क्रान्तिकारी सैनिक गार्डले खाडी क्षेत्रमा अमेरिकी सेनासँगको तनावकै बीच बुधबार देशको पहिलो सैन्य भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको घोषणा गरेको छ । संयुक्तराज्य अमेरिकाले भूउपग्रह कार्यक्रमको आवरणमा इरानले क्षेप्यास्त्रहरूको विकास गरिरहेको आरोप लगाउँदै आएको छ । इरानले आफ्ना भूउपग्रह गतिविधिहरू अन्तर्राष्ट्रिय मान्यताहरुलाई ध्यानमा राखेर गरिएको बताएको छ । दुई मुलुकबीचको तनाव गत साता पनि खाडी क्षेत्रमा अनुभव गरिएको थियो । अमेरिकी रक्षा मन्त्रालयले खाडी क्षेत्रमा आफ्ना जहाजहरुलाई इरानी सैनिक जहाजले दुःख दिन खोजेको जनाएको छ । इस्लामिक क्रान्तिकारी गार्डले भूउपग्रह प्रक्षेपणलाई “ठूलो सफलता” को रूपमा स्वागत गरेको छ । “इरानको पहिलो उपग्रह सफलतापूर्वक अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको छ,” गार्डद्वारा संचालित सेपनाह न्यूज वेबसाइटले जनाएको छ । दुई महिनाअघि पनि इरानले यस्तै भूउपग्रह प्रक्षेपण गरेको भएपनि त्यो सफल हुन सकेको थिएन । अमेरिकी सख्त आर्थिक नाकाबन्दीका साथै कोरोनाभाइरसको महामारीबाट आक्रान्त बनेको इरानले विश्व समुदायसँग नाकाबन्दी खुकुलो बनाउन र आपतकालीन सहयोग गर्न आग्रह गरिरहेको छ । इरानमा कोराना संक्रमणबाट ५ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।
भारतीय नागरिकको शवलाई भारत प्रवेश निषेध, काठमाडौं नै फर्काइयो काठमाडौं । भारतको सिमा सुरक्षा बल एसएसबीले काठमाडौंबाट लगिएको एक भारतीय नागरिकको शवलाई भारत छिरिसकेपछि रोकेर फेरि काठमाडौं नै फिर्ता पठाइदिएको छ । भारतीय सीमा सुरक्षा बलले नेपाल भारत सीमा बन्द गरिएको भन्दै जे सुकै परे पनि भारत छिर्न नदिने अड्डी कसेको थियो । नेपाल प्रहरीको टोलीले माथिल्लो निकायमा गरेको रिपोर्टअनुसार, रञ्जन यादव नाम गरेका मृतकको शव लिएर उनका आफन्तहरु रातिको १० बजे धनुषा जिल्लाको नगराई नाका पुगेका थिए । घटना बैशाख ८ गते सोमबारको हो । काठमाडौंको पाटन अस्तपालमा अचानक मृत्यु भएका ३२ बर्षिय युवा यादवको शव लिएर उनका आफन्तहरु एउटा एम्बुलेन्स रिजर्भ गरी यादवकै घर भएको भारतको दरवंगा हिडेका थिए । प्रहरीका अनुसार, यादव भारतको दरवंगा जिल्लाको खुटारा ११ निवासी हुन् । ज १ च १६९५ नम्बरको एम्बुलेन्समा यादवको शव लिएर अन्तिम संस्कार गर्न आफ्नो घर हिंडेका यादवका आफन्तहरुलाई शुरुमा नेपाल भारत सिमामा खटिएको सश्स्त्र प्रहरीले रोकेको थियो । तर, अफन्तहरुले पारिवारिक जटिलतासमेत दर्शाउँदै सशस्त्रलाई शव भारत लैजान अनुरोध गरेपछि सशस्त्र प्रहरीले भारतको सीमा सुरक्षा बलका स्थानीय अधिकारीहरुसंग कुरा समेत गरेका थिए । प्रहरी रिपोर्टका अनुसार, नेपालीपक्षको कुरा सुनेपछि भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले मृतकका आफन्तसंग पनि कुरा गरेका थिए । मानवीय संबेदनाको कुरा भएको भन्दै भारतीय सुरक्षा अधिकारीहरुले शुरुमा शवलाई भारत जान अनुमति दिए । नेपाली नम्बर प्लेटको एम्बुलेन्स भारत प्रवेश गरी केही किलोमिटर गुडिसकेको पनि थियो । तर, मृतकको घर पुग्न नपाउंदै शवलाई फेरि बीच बाटोमा रोकियो र नेपालको सीमाबाट आउने केहीलाई पनि प्रवेश नदिनू भन्ने कडा आदेश माथिबाट आएको भन्दै शव बोकेको एम्बुलेन्सलाई नेपालतिरै फर्काइएको थियो । फर्केको एम्बुलेन्सलाई नेपालको सशस्त्र प्रहरीले फेरि रोक्ने कोसिस त गरेको थियो तर आफन्तहरुको बेहाल देखेपछि उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको थियो । प्रहरीका अनुसार, भारतीय सीमा सुरक्षा बलले जहां मृत्यु भएको हो त्यहीं जलाउन भन्दै अमानवीय व्यवहार गरेर फेरि सीमा कटाएपछि लास लिएर सो एम्बुलेन्स काठमाडौं नै फकिएको थियो ।
बालिका बलात्कार आरोपित पक्राउ सप्तरी । बारह वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । यादवमाथि पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित बालिकाको दाजुले दिएको उजुरी दर्ता गरी आरोपित यादवलाई पक्राउ गरेको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । पीडित बालिकाको बयान लिएको पनि उनले बताए। वैशाख ३ गते राति पिसाब फेर्न घर बाहिर निस्किएका बेला आरोपितले जबर्जस्ती नियन्त्रणमा लिई नजिकैको चौरमा लगी बलात्कार गरेको पीडितले बयान दिएकी छन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ ।
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ सप्तरी । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । यादवमाथि पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित बालिकाको दाजुले दिएको उजुरी दर्ता गरी आरोपित यादवलाई पक्राउ गरेको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । पीडित बालिकाको बयान लिएको पनि उनले बताए । वैशाख ३ गते राति पिसाब फेर्न घर बाहिर निस्किएका बेला आरोपितले जबर्जस्ती नियन्त्रणमा लिई नजिकैको चौरमा लगी बलात्कार गरेको पीडितले बयान दिएकी छन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ ।
अब पोखरामा न्यायिक उजूरी अनलाइनबाटै पोखरा । पोखरा महानगरपालिकामा अब अनलाइनमार्फत न्यायिक उजूरी दिन सकिने भएको छ। कोरोना भाइरसको सङ्क्रमणका कारण परिस्थिति असहज भएपछि न्यायिक समितिसमक्ष अनलाइनमार्फत उजूरी दर्ता गराउन सकिने व्यवस्था गरिएको महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बताए । पोमपा, न्यायिक समिति संयोजक गुरुङका अनुसार अनलाइनमा … मार्फत उजूरी दर्ता गर्न सकिन्छ । कोरोना रोकथाम तथा नियन्त्रण मूल समितिको बैठकले अनलाइनमार्फत उजुरी लिने निर्णय गरेको थियो। महानगर न्यायिक समितिको सोमबार बसेको बैठकले न्यायिक समितिसमक्ष अनलाइनमार्फत दर्ता उजूरीको सम्बोधन गर्ने निर्णय गरेको गुरुङले जानकारी दिए । उनका अनुसार लकडाउनका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था भएकाले न्यायमा सहज पहुँच बनाउन समितिले अनलाइनमार्फत उजूरी दर्ता गर्ने व्यवस्था मिलाएको हो। स्थानीय तहका विवाद तलै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमै समितिको व्यवस्था गरिएको छ। संविधानमा समितिमा महानगरका उपप्रमुख संयोजक र दुई सदस्य रहने व्यवस्था छ। समितिलाई १३ विवादको निरुपण र ११ वटाको मेलमिलाप गराउने पाउने अधिकार छ। रासस
बालिका बलात्कार आरोपमा पक्राउ नुवाकोट । एक बालिकालाई बलात्कार गरेको आरोपमा लिखु गाउँपालिका–४ चौघडाका ६० वर्षीय कृष्ण पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । शिवपुरी गापा घर भई हाल लिखु गापास्थित मामाघरमा आएकी बालिकालाई यही वैशाख ५ गते विभिन्न प्रलोभन देखाई बलात्कार गरेको आरोपको उजूरी जिल्ला प्रहरी कार्यालयमा आइतबार दर्ता भएपछि प्रहरीले पण्डितलाई पक्राउ गरेको प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए । अभियुक्तलाई आइतबार नै अदालतबाट १५ दिनको अनुसन्धानका लागि म्याद लिएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
लकडाउनः व्यस्त सडकमा ‘ओभर ले’ काठमाडौं । अरु समयमा उच्च सवारी चापका कारण काम गर्न कठिन हुने काठमाडौँका मुख्य सडकमा ‘लकडाउन’ को मौका छोपी निर्माण शुरु भएको छ । त्रिपुरेश्वर, पुतलीसडक, गौशालालगायत स्थानका सडकमा आवधिक मर्मत र ह्युमपाइप राख्ने काम शुरु भएको हो । काठमाडौँका विभिन्न स्थानमा गरी झण्डै १२ किलोमिटर सडकमा आवधिक मर्मत (ओभर ले) गर्न लागिएको हो । विभिन्न सडकमा ह्युमपाइप राख्नका लागि खन्न थालिएको छ । ती स्थानमा ह्युमपाइप राखिएपछि कालोपत्र गरिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । निर्माण सामग्री उपलब्ध हुन सके आगामी १५/२० दिनमा उपत्यकामा बाँकी काम गर्न सकिने डिभिजन प्रमुख कुबेर नेपालीले बताए । उनका अनुसार गौशाला–विमानस्थल सडकमा ‘ओभर ले’ शुरु भइसकेको छ । त्रिपुरेश्वलगायतका सडकमा ह्युमपाइपका लागि खन्न शुरु गरिएको छ । गौशाला–चावहिल सडकमा भने खानेपानीको पाइप राख्ने र सडक निर्माण दुवै काम एउटै ठेक्काबाट अघि बढेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र डिभिजनले एउटै ठेक्कामा दुवै काम गरिरहेको हो । उनले भने, “पुराना पाइपहरुमा चुहावट देखिएकाले सकिन अझै केही समय लाग्न सक्छ ।” काठमाडौँका व्यस्त सडकमा अरु समयमा काम गर्न गाह्रो हुने र अहिले पनि कामदार निर्माणस्थलमै रहेको भन्दै सडक विभागले गत साता विपद् व्यवस्थापन समितिलाई निर्माणका लागि अनुमति मागेको थियो । समितिले अनुमति दिएपछि नै जिल्ला प्रशासन कार्यालयले निर्माणका लागि आवश्यक सहयोग गरिरहेको छ । निर्माण सामग्री ल्याउनका लागि सवारी पास उपलब्ध भएकोे डिभिजन कार्यालयले जनाएको छ । डिभिजनले लकडाउन पहिले नै यी सडक निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको थियो । ती निर्माण व्यवसायी अहिले सम्पर्कमा आइरहेको उनले बताए । उनले भने, “निर्माण व्यवसायीले पनि आवश्यक सामग्री उपलब्ध हुँदा काम गर्ने बताइरहनुभएको छ ।” यी सडक निर्माणका लागि निर्माण कम्पनीसँग जनशक्ति पर्याप्त भएको प्रमुख नेपालीले बताउनुभयो । मजदूर अन्यत्रबाट ल्याउन नपर्ने भए पनि केही प्राविधिक जनशक्ति भने थप आवश्यक पर्न सक्छ । आवश्यक निर्माण सामग्री भने पाइने÷नपाइने टुङ्गो छैन । अहिले बाँकी रहेको निर्माण सामग्रीबाट चारपाँच दिन मात्रै काम गर्न सकिने उनले बताए । काठमाडौँका निर्माणाधीन सडकका लागि आवश्यक निर्माण सामग्री लिन ट्रकहरु खोला र क्रसतर्फ गएको डिभिजन प्रमुख नेपालीले बताए । काभ्रेको रोशी खोला र ललितपुरको टीकाभैरव खोलाबाट निर्माण सामग्री ल्याइनेछ । त्यहाँका स्थानीय तहले निर्माण सामग्री ल्याउनका लागि अनुमति दिँदा मात्रै निर्माण सामग्री ल्याउन सकिने उनले बताए। उनले भने, “हामीले त्यसका लागि पनि सक्ने समन्वय गरिरहेका छौँ ।” चालु आवमा अहिलेसम्म झण्डै २८ किमी सडकमा ‘ओभर ले’ भइसकेको छ । ‘ओभर ले’ भएको सडकमा चिह्नसमेत लगाइएको थियो । सडक चिह्न लगाउँदा कम जनशक्तिले सामाजिक दूरी कायम गरेर काम गर्न सकिन्छ भन्ने देखिएकैले डिभिजन कार्यालयले ‘ओभर ले’ पनि गर्न लागेको हो । लकडाउनका कारण सबै विकास निर्माण ठप्प हुँदा काठमाडौँका मुख्य र सहायक सडकमा चिह्न लगाइएको थियो । ती सबै स्थानमा सामाजिक दूरी कायम गरेर काम भएको डिभिजन कार्यालयले जनाएको छ । धेरै जनशक्ति र उपकरण नचाहिने हुँदा यो समयमा समेत काम गरिएको हो । कतिपय सडकमा एकातर्फको लेनमा ‘ओभर ले’ भए पनि अर्कातर्फ हुन सकेको थिएन । काम शुरु नगर्दै लकडाउन घोषणा भएकाले निर्माण व्यवसायीले काम अघि नबढाएका हुन् । डिभिजनले सडकका दुवै लेनमा ‘ओभर ले’ भएका सडकमा मात्रै सडक चिह्न लगाएको प्रमुख नेपालीले बताए । लकडाउनका समयमा भएको सडक चिह्न लगाउने कामका कारण उपत्यकाका सडक चिटिक्क देखिएका छन् । एकातर्फ सवारी साधनको चाप कम र अर्कातिर भर्खर कालोपत्र भएका सडकमा पोतिएका सडक चिह्नले उपत्यकाको मुहार नै फेरिएको छ । लकडाउनमा काम गर्दा कतै अवरोध आउँछ कि भन्ने अन्योल भए पनि अहिले यो कामले धेरैको प्रशंसा पाइरहेको छ । सडक चिह्नका कारण यात्रु र चालकसँगै ट्राफिक प्रहरीलाई समेत सडक व्यवस्थापन गर्न सजिलो हन्छ । काठमाडौँ उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न सडक र पुलमा समेत सडक निर्माण भइरहेको छ । उपत्यका बाहिर महेन्द्र राजमार्ग, त्रिभुवन राजमार्ग, कोशी राजमार्गलगायत अरु विभिन्न सडकमा निर्माणको काम लकडाउनमा समेत रोकिएको छैन ।
इटालीमा कोरोना उपचारको एउटा अस्पताल बन्द गरियो इटाली ।कोरोना भाइरस संक्रमितको उपचारका लागि इटालीको मिलान सहरको न्यूग्वार्दामा रहेको अस्पताल बन्द भएको छ। लोम्बार्दिआमा कोरोनाका कारण गम्भीर अवस्थामा रहेका बिरामीहरुको संख्यामा कमी आएसंगै सो अस्पताल बन्द गरिएको हो। अस्पतालको २७ जनासम्मको उपचार गर्न सक्ने क्षमता रहेको थियो । अस्पतालले लगभग दुइ महिनादेखि कोरोना भाइरसका गम्भीर अवस्थाका बिरामीहरुको उपचार गर्दै आएको थियोे । आइतबारदेखि बन्द गरिएको अस्पताल मिलान शहरमा रहेको कोरोमा सन्क्रमितहरुको लागि तोकिएको पाँचअस्पतालमध्ये एक हो। इटालीमा लोम्बार्दियाको लोदी सहरबाट कोरोना संक्रमण देखिएसंगै यी पाँच अस्पताल कोरोना सन्क्रमितहरु को उपचारका लागि तोकिएका थिए । बन्द अस्पताललाई सेनेटाइज र सरसफाई गरी अन्य रोगका बिरामीहरूको उपचार सुरु गरिने छ। आइतबारसम्म इटालीमा १ लाख ७८ हजार ९७२ सन्क्रमित छन।२३ हजार ६६० को मृत्यु भैसकेको छ भने निको हुने हरुको संख्या ४७ हजार ५५ छ। एक्टिभ केस १लाख ८हजार २९७ छ।
दुर्घटनामा एकको मृत्यु धादिङ । धादिङको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जीप पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ की २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। दुर्घटनामा घाइते भएका अन्य आठजनालाई तीनवटा एम्बुलेन्सबाट राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारका लागि भर्ना गरिएको छ । मलेखुबाट तरकारी बेच्न आएका किसानलाई लिएर बेनिघाट रोराङ गाउँपालिका–४ खहरे जाँदै गरेको बा१ख ८६३६ नंको उक्त बोलेरो जीप आज सडकबाट एकसय मिटर तल खस्दा दुर्घटना भएको थियो ।
मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु बुटवल । पूर्वपश्चिम राजमार्गको सैनामैना नगरपालिका सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३० प ३८०४ नंको मोटरसाइकल वडा नं ८ स्थित बाँसगढीमा भएको दुर्घटनामा सैनामैना–४ मुर्गिया निवासी २७ वर्षीय सागर थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए । मोटरसाइकल नियन्त्रण हुन नसक्दा दुर्घटनामा परी गम्भीर घाइते भएका थापाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोरु काटेको अभियोगमा ७ जना पक्राउ खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ मयांखुबाट गोरु काटेको अभियोगमा सोही ठाउँ बस्ने लिला बहादुर खड्का समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काटिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कोरोना संक्रमणः म्यान्मारमा २५ हजार कैदी मुक्त गरिने याङ्गुन । म्यान्मारका कारागारमा रहेका कूल कैदीबन्दीमध्ये झण्डै एक तिहाईलाई मुक्त गर्न लागिएको म्यान्मारको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ । कोरोनाभाइरसको संक्रमणबाट कारागारमा स्वास्थ्य संकट उत्पन्न हुन सक्ने भन्दै उक्त निर्णय गरिएको हो । म्यान्मारमा कारागारको क्षमताभन्दा ठूलो संख्यामा कैन्दीबन्दी थुनामा रहेका छन् । सामान्यतया अप्रिलको नयाँ वर्षका अवसरमा म्यान्मारमा ठूलो संख्यामा कैदीबन्दीको बाँकी कैद मिनाहा गरी रिहा गर्ने प्रचलन छ । तर, यसपटक कोरोनाभाइरसका कारण अहिलेसम्मकै ठूलो संख्यालाई एकैपटक मुक्त गर्न लागिएको हो । जेलभित्र कोरोना संक्रमण फैलन सक्ने भन्दै संयुक्तराज्य अमेरिका, युरोपका केही मुलुक, कोलम्बिया समेतका धेरै मुलुकले बन्दीहरुलाई रिहा गरिरहेका छन् । म्यान्मारको सरकारी विवरणमा हालसम्म कोविड–१९ बाट ८५ जनामा कोराना संक्रमण देखिएको र चार जनाको मृत्यु भएको उल्लेख छ । तर स्वास्थ्य परीक्षणको अवस्था नाजूक रहेकाले योभन्दा बढी संख्यामा मानिसहरु कोरोनाभाइरसबाट संक्रमित रहेको विज्ञहरुको दाबी छ । कोरोना संक्रमण फैलिन नदिन हाल देशव्यापी लकडाउन जारी छ र ह्युमन राइट्स वाच (एचआरडब्लु) ले निकै भिड देखिने म्यान्मारका कारागारमा थुनिएका कैदीबन्दीलाई तत्काल रिहा गर्न आग्रह गरेको छ । म्यान्मारको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नयाँ वर्षको अवसरमा राष्ट्रपतिले विभिन्न जेलमा रहेका २४ हजार ८९६ जनालाई रिहा गर्न आदेश दिइएको उल्लेख छ । विज्ञप्तिमा आममाफी पाएका ८७ जना विदेशी नागरिकलाई उनीहरुकै देश फिर्ता गरिने जनाइएको छ । कैदीबन्दीको रिहाई तत्कालै शुरु हुने कारागार विभागका एक जना वरिष्ट अधिकारीले एएफपीलाई बताए ।म्यान्मारका जेलमा हाल झण्डै एक लाख कैदीबन्दी छन् । एचआरडब्लुका अनुसार म्यान्मारका जेलको क्षमता करिब ६२ हजार मात्र छ ।
३ सय १२ विद्यार्थीलाई अमेरिकामा सहयोग गर्यौं—एनआरएनए टाक्स फोर्स वासिंगटन डिसी । गैर आवासीय नेपाली संघ, स्टुडेन्ट टाक्स फोर्स तथा स्टुडेण्ट रेस्पोन्स टीम, अमेरिकाले ३ सय १२ विद्यार्थीहरुलाई सहयोग गरेको जनाएको छ । डिसी नेपालमा अप्रिल १५ तारिकमा एनआरएनए अमेरिकाको २५ डलर सहयोग शीर्षकमा प्रकाशित समाचारमा प्रतिक्रिया जनाउंदै उसले सो जनाकारी दिएको हो । खण्डन पत्रमा उसले लेखेको छ, “तपाईको जानकारीका लागि हामीले हिजोसम्म अमेरिकाको विभिन्न भागमा रहेका ३१२ विद्यार्थीहरुलाई एनआरएनए एनसीसी अमेरिका, यसका च्याप्टरहरु र अन्य विभिन्न स्थानीय संस्थासंग मिलेर सहयोग गरेका छौं । त्यसैगरी ५ सय विद्यार्थीहरुलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपले लजिष्टिकलाई उपलब्ध गराउने, मेडिकल काउन्सिलिंग र कानुनी सल्लाह उलब्ध गराएका छौं । त्यसैले समाचारमा उल्लेख गरेका सूचनाहरु तथ्यमा आधारित छैनन् ।” टाक्स फ़ोर्सका त्रिभुवन पाण्डेले विद्यार्थीलाई कुनै फर्म नभराइएको बताए । टाक्स फोर्सका तर्फबाट प्रसित पत्रमा सकारात्मक समाचार प्रवाहका लागि डिसी नेपाललाई सल्लाह दिंदै पार्चुगलको एनआरएनएले ७२ जनालाई गरेको सहयोगको समाचार बनाइएको तर एनआएरएनए अमरिकाको विद्यार्थी क्षेत्रको कामको नकारात्मक समाचार आएको उल्लेख गरिएको छ । (सम्पादकको भनाइ— समाचारमा विद्यार्थीहरुलाई सहयोग गरेको उल्लेख त भएकै छ, त्यो सहयोग अत्यन्त न्यून रकम (कतिपयलाई २५ डलर) का दरले विद्यार्थीहरुलाई नाममात्रको आर्थिक सहयोग गरेकोतर्फ समाचारमा एनआरएनए अमेरिकाको ध्यानाध्यानाकर्षण गराइएको हो । टाक्स फोर्सले पठाएको खण्डन पत्रमा समेत प्रतिविद्यार्थी कतिसम्म रकमको ग्रोसरी लगायतका समाग्री खरिद गरियो भन्ने कुनै उल्लेख नहुनुले नै समाचारको सत्यता प्रमाणित गरेको छ । )
खुकुरी प्रहार गरी श्रीमान्को हत्या गर्ने महिला पक्राउ खोटाङ । आफ्नै श्रीमान्लाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । खोटाङको बराहपोखरी गाउँपालिका–१ खुर्सानेका ५० वर्षीय श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन् । मेनुकाले सोमबार खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए । राईको शव परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको छ । मेनुकाले श्रीमान्को टाउको, ढाड लगायत विभिन्न ठाउँमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी मेनुकाविरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेर कारवाही थालिएको प्रहरीले जनाएको छ ।
कैलालीकी कोरोना सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा अत्तरिया । कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका ३१ गरी कूल ५२ जनालाई क्वारेन्टाइनमा राखिएको हो । सङ्क्रमित महिला क्वारेन्टाइनबाट घर फर्किएपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार ५२ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । कोरोना पुष्टि भएकी ती महिलासँगै वीरगञ्जबाट २६ जना कैलाली आएको उनको भनाइ छ । सङ्क्रमितको सम्पर्कमा रहेका अन्य व्यक्तिको पनि खोजी भर्ईरहेको प्रहरीको भनाइ छ । सङ्क्रमित महिलासँग दाङ, सुर्खेत, अर्घाखाँची, दैलेखका गरी ८ जनाको पनि पहिचान भइसकेको र उनीहरुलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । वीरगञ्जबाट कैलाली पुगेका २६ मध्ये २१ जना सङ्क्रमित महिलाको आफन्त रहेको उनले जानकारी दिए । कैलालीमा सङ्क्रमित महिला भेटिएसंगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ५ पुगेको छ । ती सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
बेलायतमा कोरोना भाइरसबाट फेरि अर्का नेपालीकाे निधन लण्डन । यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ । सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ। लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो। उपचारका क्रममा रेडिङको अस्पतालमा मृत्यु भएको समाजसेवी कमल गुरुङले बताएका छन् । गत दुई सातादेखि अस्पतालमा राखिएका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकले अब ठीक हुँदैछ भनेर भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा मृत्यु भएको कमल गुरुङको भनाइ छ। पुख्र्यौली घर कास्कीको घान्द्रुक भएका उनको पछिल्लो समय पोखराको दीपमा पनि घर थियो । घान्द्रुक समाज रेडिङमा समेत उनी केही वर्ष पहिला अध्यक्ष थिए । कमलका अनुसार धुमपान र मद्यपान केही नगर्ने उनको स्वास्थ्यसमेत निकै राम्रो थियो । अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली नौ पुगेका छन् । तीमध्ये छ जना पूर्वगोरखा सैनिक छन्। रासस
ट्र्याक्टर दुर्घटनामा आठ बालबालिका घाइते दैलेख । आठबीस नगरपालिका–१ मा पर्ने सात्तला झुँजको धनवीरे गडा नजीक कर्णाली प्रदेश ०२००१ त.००५९ नंको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार ८ बालबालिका घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था चिन्ताजनक छ । ट्र्याक्टर साँझ करीब ५ बजे दुर्घटना भएको थियो । ट्र्याक्टर सडकबाट करीब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर वलीले जानकारी दिनुभयो । घाइते चारजना बालबालिका बेहोस छन्, दुई जनाको होस आएको र अन्य दुईजना बोल्न सक्ने अवस्थामा रहेको प्रत्यक्षदर्शी वीरबहादुर नेपालीले जानकारी दिए। आठबीस नगरपालिका–१ को भानु आधारभूत विद्यालयको भवन निर्माणका लागि बालुवा पु¥याएर सिमगाउँबाट फर्किने क्रममा ट्र्याक्टर दुर्घटना भएको नेपालीले बताए। आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले दुर्घटनामा घाइते बालबालिकाको उपचारका लागि नगरपालिकाको एम्बुलेन्समार्फत सुर्खेत पठाउने तयारी भएको बताए । सबै घाइते एम्बुलेन्समा नअटेपछि थप अर्को जीपमा घाइते बालबालिकालाई सुर्खेत पठाउने तयारी गरेको उपाध्यायको भनाइ छ । आठबीस नगरपालिकाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पुग्न करीब ४ घण्टा लाग्दछ । बालबालिकालाई स्थानीय सात्तला स्वास्थ्यचौकीमा सामान्य उपचार गराइएको छ ।
वाग्मती प्रदेश र प्रदेश २ का मुख्यमन्त्रीबीच टेलिफोन वार्ता हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच सोमबार टेलिफोन वार्ता भएको छ । वार्तामा मुख्यमन्त्री पौडेलले कोरोना भाइरसविरुद्ध प्रदेश २ लाई सबै तवरले सहयोग गर्न वाग्मती प्रदेश सरकार तयार रहेको बताएको जनाइएको छ । टेलिफोन वार्तामा मुख्यमन्त्री पौडेलले प्रदेश २ को समस्या नेपालको साझा समस्या भएकाले त्यसको मिलेर समाधान गरिने बताएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । स्वकीय सचिव पौडेलका अनुसार मुख्यमन्त्री पौडेलले प्रदेश २ मा धेरैभन्दा धेरैलाई कोरोना परीक्षण गर्नुपर्ने देखिएकाले परीक्षणमा वाग्मती प्रदेशले पूर्णरुपमा सघाउने बताउँदै उक्त प्रदेशबाट पायक पर्ने जति नमूना हेटौँडाको ल्याबमा पठाउन अनुरोध गरे । सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश २ मा लकडाउनलाई कडा बनाउन सल्लाह दिए । कोरोनाविरुद्ध सबैभन्दा प्रभावकारी तरिका लकडाउन मात्रै हुने भएकाले लकडाउनलाई कडा बनाउनुको विकल्प नभएको उनले सुझाउनु भएको स्वकीय सचिव पौडेलले जानकारी दिए । उनले यो वा त्यो प्रदेश भनेर आफू नबस्ने बताउँदै देशलाई नै महामारीबाट बचाउन लाग्नुपर्ने धारणा राखे । सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश २ प्रति देखाएको चासो र सहयोगको प्रतिबद्धताप्रति पौडेललाई धन्यवाद व्यक्त गर्दै नेपाल भारतबीचको खुल्ला सिमानाका कारण कोरोना माहामारी नियन्त्रणमा समस्या पर्नसक्ने बताएको जनाइएको छ । मुख्यमन्त्री राउतले नागरिकका आनीबानी तथा शैक्षिक अवस्थाका कारणसमेत समस्या निम्तिन सक्ने बताएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
लकडाउनमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ । गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो । इ–पास लिनका लागि epass.moha.gov.np/ मा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै इ–पास वितरण गर्नेछ । सो सेवाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट शुरु गरेको जानकारी दिए । यो प्रणाली मङ्गलबारदेखि शुरु हुनेछ । मन्त्री थापाले फाराम भर्ने सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनका लागि इ–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।
आँधीबाट अमेरिकामा ६ जनाको मृत्यु ज्याक्सन।  संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको बिशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३०० वटा घर र अन्य भवनमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् । मिसिसिपी आपतकालीन व्यवस्थापन संस्थाका निर्देशक ग्रेग मिसेलले वाल्थाल काउन्टीमा एक जना, लरेन्स काउन्टीमा दुई जना र जेफरसन डेभिस काउन्टीमा तीन जनाको मृत्यु भएको जानकारी दिए। अमेरिकी राष्ट्रिय जलवायू विभागले मिसिसिपी राज्यका अन्य क्षेत्रमा पनि तिब्र वेगका साथ हावाहुरी आउने बताएको छ । मेरिडियनको उत्तर अलाबामा राज्यको सीमा नजिक चक्रवात आउने सम्भावना रहेको विभागले जनाएको छ । मिसिसिपी राज्यका गभर्नर टेट रीभ्सले राज्यमा हावाहुरीले धेरै क्षति पु–याएको भन्दै आइतबार नै आपतकालीन स्थितिको घोषणा गरेका छन्। “इस्टर पर्वकै दिन भिषण हावाहुरी आएर जनधनको नोक्सानी हुनु निकै दुःखदायी कुरा हो,” गभर्नर रीभ्सले ट्वीट गर्दै भनेका छन्। “कोरोनाभाइरसको महामारी चलिरहेकै बखत आँधीले दुःख दिए पनि हामी सबै मिलेर यस्ता दुःख निवारण गर्न सक्षम हुनुपर्छ ।” उत्तर पश्चिम लुजियानामा पनि स्थानीय अधिकारीहरुले राज्यका डीसोटो र वेब्स्टर क्षेत्रमा दर्जनौं घरमा क्षति पुगेको बताएका छन् । अमेरिकी जलवायू विज्ञान विभागले पछिल्लो आँधीले मिसिसिपी, अलाबामा र पश्चिम जर्जियामा समस्या निम्त्याउने जनाएको छ । अमेरिकाका दक्षिणी क्षेत्रका धेरै राज्यमा आँधीले नोक्सान गर्ने सम्भावना देखिएको पनि विभागको भनाई छ ।
अन्तर्राष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएकाकाे शव ल्याउन समस्या खाेटाङ। ‘लकडाउन’का कारण अन्तर्राष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुई खोटाङेको शव स्वदेश फर्काउन समस्या भएको छ। भ्रमणका लागि युएई पुगेका समयमा ज्यान गुमाएका ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुदीप तामाङ र रोजगारीका सिलसिलामा मलेसियामा ज्यान गुमाएका साकेला गाउँपालिका–३ खिदिमाका कुलबहादुर खत्रीको शव स्वदेश फर्काउन समस्या परेको छ। भ्रमण प्रवेशाज्ञामा दुबई पुगेका २२ वर्षीय तामाङको गत फागुन ३० र रोजगारीका सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका खत्रीको गत चैत २५ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। तामाङको शव हाल दुबईस्थित रसिदिया अस्पतालमा राखिएको जनाइएको छ। हृदयाघातका कारण ज्यान गुमाएका तामाङको नेपालमा समेत ‘लकडाउन’ शुरु भएपछि मात्र मृत्यु भएको जानकारी प्राप्त भएकाले स्वदेश फर्काउन नसकिएको खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल गुरुङले बताए। यस्तै कोरोना भाइरसको महामारी विश्वभर फैलिएपछि अन्तरराष्ट्रिय उडान नहुँदा खत्रीको शव मलेसियाकै कुवाला पिला अस्पतालमा राखिएको जनाइएको छ। sbजताततै लकडाउन भएकाले शव नेपाल पठाउन समस्या भएको मलेसियामै रहनुभएका उनका भतिजा तिलाबहादुरले जानकारी दिएका छन्। कमाएर खुवाउने घरमूलीको रोजगारीका सिलसिलामा विदेशै ज्यान गएपछि आश्रित परिवारको बिचल्ली भएको साकेला गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए। मृतकका परिवारलाई शव ल्याउन तथा परिवार व्यवस्थापनका लागि गाउँपालिकाका तर्फबाट आवश्यक सहयोग गरिने आश्वासन उनले दिए।
छोराले गरे बुबाको हत्या भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार छोराले बुबाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार घरायसी विवादमा छोराले बुबाको हत्या गरेको प्रारम्भिक जानकारीमा आएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पनि घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेल घटनास्थलतर्फ जाँदैछन् । बुबाको हत्या गर्ने छोरालाई इप्रका झलारीले झलारीले नियन्त्रणमा लिइसकेको छ ।
वीरगंन्जका सबै मस्जिदहरु सिल गर्ने तयारी काठमाडौं । पर्साको जमातिमा रहेका तीन भारतीय नागरिकलाई कोरोना संक्रमण देखिएपछि वीरगन्जमा रहेका सबै मस्जिदहरु सिल गर्न लागिएको छ । वीरगंजको छपकैयास्थित मस्जिदमा केही हप्तादेखि आश्रय लिइरहेका तीन जना कोरोना संक्रमण भएको पुष्टि भएपछि उक्त क्षेत्रलाई सिल गर्न लागिएको हो । पर्सा प्रहरी प्रमुख गंगा पन्तले मस्जिद क्षेत्रलाई निगरानी बढाइएको र सिल गर्न लागिएको बताइन । विरगंजको छपकैयास्थित उक्त मस्जिदमा फागुनदेखि नै बस्दै आएका उनीहरुको स्वाब जाँचका लागि नारायणी अस्पतालले हेटौंडा पठाएको थियो । त्यहाँको रिपोर्टले संक्रमित देखिएपछि थप पुष्टिका लागि काठमाडौंस्थित टेकु अस्पताल पठाइएकोमा आइतबार त्यहीँबाट पनि पोजेटिभ रिपोर्ट आएपछि मस्जिद क्षेत्रमा सिल गर्न प्रहरी परिचालन गरिसकिएको छ । हेटौंडा अस्पतालले ३३ जनाको स्वाब जाँच गर्दा तीन जनाको रिपोर्टमा संक्रमण पुष्टि भएको हो । उक्त रिपोर्ट सार्वजनिक भएलगत्तै उनीहरु बस्ने मस्जिदका २६ जनालाई तत्काल नजिकै रहेको सिदार्थ माविमा सञ्चालित क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई अब अस्पताल भर्ना गर्ने तयारी भैरहेको पनि प्रहरीले जनाएको छ । साथै उनीहरुको सम्पर्क रहेका सबैलाई क्वारेन्टाइनमा राख्न प्रहरी जुटिरहेको छ ।
जग्गाको बिषयमा वादविवाद हुँदा छिमेकीलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ झापा । छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। झापाको अर्जुनधारा नगरपालिका-५ बस्ने ३५ वर्षीय पुन्य प्रसाद खनाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। जग्गाको बिषयमा वादविवाद हुँदा खनालले छिमेकी ३२ वर्षीया सुभद्रा गेलाल समेत ३ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेहरुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बोक्सीको आरोपमा बुहारीमाथि बञ्चरो प्रहार रुपन्देही । कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार छोराबुहारी २८ वर्षीया लीलामाथि बञ्चरो प्रहार गरी घाइते बनाएका हुन् । घरको भान्साकोठा सफा गरिरहेका समयमा पौडेलले एक्कासि हानेको बञ्चराबाट गम्भीर घाइते भएकी लीलाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरीले जानकारी दिए । लीलाको टाउकामा गहिरो चोट लागेका कारण स्वास्थ्यावस्था गम्भीर रहेको बताइएको छ । लामो समयदेखि रुद्रपुरमा मणि किराना पसल सञ्चालन गर्दै आएका चन्द्रमणिले आफ्नी बुहारीलाई बन्चराले हानेपछि कान्छीआमाका घरमा जान्छु भन्दै हिँडेका बेला बाटाबाटै स्थानीयवासीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रुद्रपुरको जिम्मा लगाएका थिए । पौडेलले बुहारीमाथि पटकपटक दुव्र्यवहार गर्दै आएको छिमेकी बताउँछन् । “लीलाका श्रीमान्(छोरा) कोठामा भएको बेला बाहिरबाट ढोकाको चुकुल लगाई चन्द्रमणिले भान्सामा गएर लीलालाई बञ्चरोले हिर्काएछन् । हामीले थाहा पाएर जाँदा उनी रगताम्य भएर भुइँमा ढलेकी थिइन् । हतारहतार अस्पताल पु¥यायौँ, अहिलेसम्म होश आएको छैन”, छिमेकी पुष्प शर्माले भने । घटनापछि लीलाका श्रीमान् तिलकरामले आफ्ना बुवाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत इलाका प्रहरी कार्यालय सालझण्डीमा मुद्दा दायर गरेको प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए । “पारिवारिक बेमेलका कारण घटना भएको देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ”, उनले भने ।
बेलायती प्रधानमंत्री बोरिस जोन्सनलाई सघन उपचार कक्षबाट सामान्य वार्डमा सारियो लण्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनलाई आज सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिएकोछ। कोरोना संक्रमणका बिगत तीन दिनदेखि उनीलाई लण्डनको सेन्ट थोमस हस्पिटलको सघन उपचार कक्षमा राखिएको थियो। आज प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिबाट गरिएको विज्ञप्तिमा प्रधानमन्त्री बोरिस जोन्स अब सामान्य वार्डमा सारे पछि उनको उपचार संलग्न चिसिक्सक टोलीले निकट रहेर निरक्षण गरिरहने बताइएकोछ। जोन्सन अस्पताल भर्ना भएपछि सेक्रटरी अफ स्टेट फर फरनको भूमिकामा रहेका डोमिनिक रावलाई आवश्यक ठाउँमा भुमिका निर्वाह गर्नु भनेका थिए तर त्यसको अर्थ उनी प्रमबाट हट्न चाहेको भने होइन। रावले आजै बसेको क्रोबा बैठकको अध्यक्षतासमेत गरेका थिए भने आजको बैठकले हाल गरिआएको लकडाउन अझ आवश्यक रहेको हुँदा यसलाई निरन्तरता दिने निर्णय गरेकोछ।
कारोनाका कारण लण्डनमा अर्का एक नेपालीको मृत्यु भएको पुष्टि लण्डन । लण्डनदेखि बाहिर नटिटन शहरमा बस्दै आइरहेका एक भूपूगोर्खा सैनिकको कोरोनाका कारण मृत्यु भएकोछ। पर्वत भोक्सिङ स्थाई घर भई लामो सयमदेखि बेलायत बस्दै आइरहेका भूपूगोर्खा मेखबहादुर गुरुङको मंगलबार निधन भएको हो ।केही दिनदेखि आइसोलेनमा बस्दै आइरहेका एक्कासि ज्वरो बढेपछि अस्पताल लगिएको र उपचारकै क्रममा मृत्य भएको जनाएको छ। लण्डनस्थिति नेपाली दूताबासका प्रवक्ताले उनको मृत्य कोरोनाका कारण भएको जनाएका छन्। हालसम्म यहाँ कोरोनाका कारण पाँच जना नेपालीको मृत्य भइसकेको छ।
जापानको क्योटो प्रान्तमा पनि आपतकाल घोषणा गर्ने तयारी क्योटो ।जापानको क्योतो प्रिफेक्चर सरकारले केन्द्र सरकारलाई आपतकालिन स्थितिको घोषणा गर्न आग्रह गरेको छ । कोरोना भाईरस संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेको जनाउँदै प्रिफेक्चरका मेयर र गर्भनरले संयुक्त प्रेस सम्मेलन आयोजना गरेर यस्तो आग्रह गरेका हुन् । गर्भनर निसिवाका र मेयर कादोकावाले बिहिबार एकसाथ विद्यमान कानुमा आधारित रहेर आपतकाल घोषणा गर्न भाग गरेका हुन् । क्योतो प्रिफेक्चरमा बिहिबार मध्यरातसम्ममा कोरोना भाइरसबाट संक्रमितको संख्या १ सय ६५ पुगेको छ ।
विष सेवन गराई छोराको हत्या गर्ने आमा गम्भिर गौशाला । घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । मङ्गलबार दिउँसो सोनमा गाउँपालिका–२ की २६ वर्षीया ममतादेवी रामले घरायसी विवादका कारण छोरासहित आफूले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । विष सेवनले दुई वर्षीय छोरा राहुलकुमार रामको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा मङ्गलबार मृत्यु भएको थियो । त्यस्तै, विष सेवनका कारण ममताको स्वास्थ्य अवस्था गम्भीर भएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार महिलाका श्रीमान् घरमै रहँदै आएका र पछिल्लो केही समययता श्रीमान श्रीमतीबीच दिनहुँ घरायसी विषयमा विवाद कायम रहेको समयमा महिलाले तनावमा आई यस्तो कदम उठाएको देखिएको छ । बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए।
प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन शुरु काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम रोक्न सरकारले लिएको कदम, जारी लकडाउनमा नागरिकको साथ, स्वास्थ्य सेवा, परीक्षण र उपचारबारे सम्बोधन गर्दै छन् । उनले सिङ्गो विश्वको मानव जगत्मा ७४ हजारभन्दा बढीको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेकामा निधन भएका सबै नेपाली र विश्वका नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उपचारतहरुको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले नेपालमा साझा प्रयत्नले सङ्क्रमितको सङ्ख्या नौ जना मात्र भए पनि जोखिम कायमै रहेको उल्लेख गर्दै लकडाउनका कारण प्रभावित मजदुर, विद्यार्थी र व्यावसायीलाई सहानुभूति व्यक्त गरेका छन् । उक्त सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिएको छ। यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए।
बेलायती प्रधानमन्त्रीलाई आइसीयूमा सारियो लण्डन । कोरोना भाईरसका कारण १० दिन घरमै सेल्फ आईसोलेशनमा रहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आईसीयुमा सारिएका छन् । हिजो आइतबार स्वास्थ्य परिक्षणका लागि उनी अस्पताल पुगेका थिए। स्वास्थ्य स्थिति बिग्रदोँ भएपछि हिजै सेन्ट थोमस अस्पतालमा भर्ना भएका थिए। आज उनको अवस्था झन गम्भिर देखिएपछि बेलायतको सात बजे उनलाई सेन्ट थोमस अस्पतालको आइसीयू कक्षमा सारिएको छ। उनी अचेत अवस्थामा भने छैनन् किनकि उनले परराष्ट्र सचिव डोमिनिक र्याबसगँ कुरा गरेका थिए। प्रधानमन्त्रीको कार्यलय टेड डाउनिङकानुसार प्रम आइतबार साँझदेखि अस्पताल भर्ना भएपछि उनको स्वस्थ अवस्था जटिल बन्दै गएका कारण त्यहाँका चिकित्सकहरूको समुहको निग्रानीमा थिए। आज दिउसोदेखि स्वास्थ्य झन खराब भए पछि स्वास्थ टोलीको सल्लाह बमोजिम आईसीयूमा सारिएको हो।
कोरोना उपचारका लागि तीन देशबाट स्वास्थ्य सामाग्री खरिद गर्ने तयारी काठमाडौं । कोरोनाभाइरसको सम्भावित जोखिम रोकथाम तथा उपचारका लागि नेपाली सेनाले ३ वटा देशबाट स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ। नेपाली सेना स्रोतले दिएको जानकारी अनुसार सिंगापुर, चीन, र दक्षिण कोरियाबाट सामान ल्याउने तयारी गरेको हो । जीटुजी सम्बन्ध कायम गरेर खरिद गर्ने स्वास्थ्य उपकरणसहित औषधि लगायतका सामाग्रीका लागि तीन देशसँग प्रस्ताव गर्ने तयारी गरेको हो । ‘हामीले सिंगापुर, चीन र दक्षिण कोरियासँग आवश्यक सामाग्रीका लागि प्रस्ताव गर्ने तयारी गरेका छौ आज भोली नै राजदूतावास मार्फत पत्रचार गर्नेछौ’, सेना स्रोतले भन्यो । सरकारले स्वास्थ्य मन्त्रालय मार्फत चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री महंगो भएको तथा अपुरो रहेको भन्दै विवाद भएपछि नेपाली सेना र स्वास्थ्य मन्त्रालयको संयुक्त टोलीले तीन देशसँग प्रस्ताव गर्ने तयारी गरेको स्रोतले जनाएको छ । कोरोना रोकथाम र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण र औषधिहरुको सूची स्वास्थ्य मन्त्रालयले सेनालाई दिइसकेको छ । सेनाले नेपालमा उपलब्ध हुनसक्ने सामग्री प्रतिस्पर्धाबाट स्वदेशमै खरिद गर्ने र नेपालमा उपलब्ध नभएका सामग्री मात्रै विदेशबाट खरिद गर्ने भएको छ । सेनाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल सरकारले मान्यता दिएका स्वास्थ्य सामग्री उपलब्ध गराउने विषयमा आवश्यक परामर्श गर्ने भएको छ । आइतबार मात्रै नेपाली सेनाका प्रवक्ता सहायक रथि विज्ञानदेव पाण्डेले स्वास्थ्य मन्त्रायलसँग समन्वय गरी रक्षा मन्त्रायलले नेपाली सेनामार्फत जीटुजी प्रक्रियाबाट खरिद गर्ने जनाएका थिए । शुरुमा सेनाले मात्रै खरिद गर्न सरकारले पत्रचार गरेको थियो । त्यसको सार्वजनिक रुपमै टिका टिप्पणी भए पछि सरकारले स्वास्थ्य मन्त्रालयलाई समेत सहभागी गराएको थियो । कोरोना संकट व्यवस्थापन टोली (क्राइसिस म्यानेजमेण्ट टिम)मा रहेका नपाली सेनाका अधिकारी स्वास्थ्य मन्त्रालयका अधिकारीहरु सहितले विशेषज्ञहरुले स्वास्थ्य उपकरण र औषधिहरुको सूची तयार गरेपछि खरिद प्रकृया अघि बढ्ने छ ।
कोरोना विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक छः मन्त्री ढकाल काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताए । “कोरोना महामारी विरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ”, उनले भने, “हामी सबै यस अभियानमा जुट्नुपर्छ ।” रोग फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए । “अब हामीले आजदेखि कोरोना विरुद्धको अभियानको दायरा फराकिलो बनाएका छौँ”, मन्त्री ढकालले भने, “उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षालाई ध्यानमा राखी उपचार प्रक्रिया अघि बढाएका छौँ।” कैलालीमा विदेशमा नगएको व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाले सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको उनको भनाइ थियो। सो अवसरमा नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनका प्रतिनिधिले मन्त्री ढाकाललाई रु ६० लाख बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेका थिए । फाउन्डेसनले थ्री एम एन९५ मास्क दुई हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान तथा मेडिकल कम्प्लिट सेट एक हजार थान मन्त्रालयलाई उपलब्ध गराएको हो। नर्भिक अस्पतालले चैत मसान्तसम्म उक्त अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट दिने सो अवसरमा फाउन्डेसनले मन्त्री ढकाललाई जानकारी गराएको थियो। फिभर क्लिनिक र आइसोलेसन कक्षमा उपचार गराउने विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको सो अस्पतालले जनाएको छ। सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउन्डेसनले यसअघि नै रु ५० लाख उपलब्ध गराइसकेको छ। रासस
बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ मेलम्ची । बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी रहेका छन्। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा बजार मूल्यभन्दा बढी प्रतिलिटर ११० का दरले पेट्रोल बेचिरहेको अवस्थामा उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । पेट्रोलपम्पमा कार्यरत कर्मचारीले बिल नदिई बजार मूल्यभन्दा बढी रकम लिएर पेट्रोल बेच्दै आइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।
बलात्कारको आरोपमा दुई जना पक्राउ नुवाकोट । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिए । आरोपित राईले बेलकोटगढी, दुईपिपलकी युवतीलाई ललाईफकाई गत सोमबार राति त्रिशूली नदीको किनारमा लगी बलात्कार गरेको भन्दै पीडित पक्षले बिहीबार उजुरी दिएपछि पक्राउ गरिएको थियो । घोडाघोडी– कैलालीको घोडाघोडी नगरपालिकामा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । घोडाघोडी–९ का २४ वर्षीय भुवन रावललाई सोही स्थानकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । बिहीबार राति करीब १ बजेतिर घरमा सुतिरहेका अवस्थामा घरको कोठामै आएर आफूलाई जबर्जस्ती करणी गरेको युवतीले जाहेरी दिएपछि अनुसन्धानका लागि रावललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए।
भारतमा दुई हजार ३०१ जना कोरोना भाइरस सङ्क्रमित, ५६ को मृत्यु नयाँ दिल्ली । भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट शुक्रबारसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये १५६ जना निको भएर घर फर्किएका छन् । अरु दुई हजार ८८ अस्पतालमा उपचाररत रहेका छन् भारतको महाराष्ट्रबाट ३३५ व्यक्ति सङ्क्रमित भएका छन् भने १६ जनाको मृत्यु भएको छ । त्यसैगरी तामिल नाडुका ३०९ व्यक्ति सङ्क्रमित रहेका र छ जनाको मृत्यु भएको छ । भारतको केरला राज्यको २८६ व्यक्ति सङ्क्रमति रहेका छन् भने दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय राजधानी नयाँ दिल्लीमा २१९ जना सङ्क्रमित भएका छन् भने चारको मृत्यु भएको छ । नयाँ दिल्लीका आठ जना उपचारपछि घर फर्किएका छन् । आन्ध्र प्रदेशमा १२३, कर्नाटकमा १२४, राजस्थानमा १३३, तेलाङ्गानामा १०७, चन्डीगढमा १८, जम्मु र काश्मिरमा ७०, लदाखमा १४ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएको समाचारमा जनाइएको छ । त्यसैगरी भारतको उत्तरपूर्वी राज्य मिजोरम र आसाममा एक, एक जना र मणिपुरमा दुई जनाको कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
महामारीका कारण लण्डनको हिथ्रु एयरपोर्ट बन्द हुने बेलायतको सबैभन्दा ठूलो र अति व्यस्त रहने हिथ्रु एयरपोट आउँदो सोमबारदेखि बन्द हुने भएकोछ। कोरोनाका कारण बेलायतमा गत केही दिनदेखि मर्नेहरूको संख्या निकै बढ्दो छ भने हिजो र आज दुई दिनमा मात्रै एक हजारभन्दा बढीको ज्यान गइसकेकोछ। सामाजिक दुरी कायम गर्न सरकारले अत्यावश्यकबाहेक अधिकाशं पसलहरू बन्द गर्न भनेपछि अहिले बेलायत सुनसान छ। विमानस्थलमा काम गर्ने कर्मचारी एवं यात्रुहरूको सुरक्षाका कारण यो कदम चाल्नु परेको हिथ्रु विमानस्थल व्यवस्थापन समितिले बताएकोछ। शुरुमा केवल एउटा मात्र रनवे बन्द गरेर अर्को रनवे बाट यात्रुहरूलाई सेवा दिने भनेर घोषणा गरे पनि केही घण्टा पछि फेरि दुबै बन्द गर्ने निर्यण लिएका थिए। केही महिनाअगाडि मात्र यो विमानस्थलको तेस्रो रनवेको काम थालनी भएको थियो।
इटालीमा संक्रमितभन्दा लकडाउन उल्लंघन गरी सजाय पाउने बढ़ी इटाली । इटालीमा सन्क्रमितभन्दा लक डाउनको अवज्ञा गरी जरिवानामा पर्नेहरु को संख्या बढी छ। मार्च ११ देखि अप्रिल १ सम्मको अवधिमा ३६ लाख ८० हजार २४२ जना मानिसहरु चेक जाँचमा परेका थिए । जसमा १ लाख ५५ हजार ३ सय ५९ जना जरिवानामा परेका छन। त्यस्तै साेही समयमा १६ लाख ६० हजार ९ सय ६७ ब्यापार व्यवसाय चेक जाँच मा परेका थिए जसमा ३ हजार ९ सय १४ जरिवानामा परेका छन ।केही पसलहरुको लाइसेन्स पनि खारेज गरिएको इटालीको गृहमन्त्रालयले जनाएको छ। इटालीमा बिहिबारसम्म १ लाख १५ हजार २४२ जना सन्क्रमित छन भने १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ। इटालीमा लक डाउन को समय १३ अप्रिलसम्म थप गरिएको छ। गत ११ मार्चदेखि इटाली पुर्णरुपमा लक डाउनमा छ। सरकारी कार्यलयमा हुने कामहरु बन्द गरिएका छन। हुलाक ,फ़ार्मेसी, दैनिक उपभोग्य सामाग्री पाइने स्थानहरु भने खुला छन। सरकार ले सरकारी कार्यलयहरु बन्द गरे पनि ३१ जनवरिदेखि १५ अप्रिलसम्म म्याद सकिने सबै खालका कागजातहरु को म्याद ५ जुन सम्म रहने जनाएको छ। इटालीमा रहेका सबै नेपालीहरु सुरक्षित छन। कोरोना भाइरसका कारण सन्क्रमित को संख्या धेरै भए पनि नेपालीहरु आफूलाई सुरक्षित राख्न सफल भएका छन। धेरैजसो नेपाली लक डाउनको बेला घर मै भए पनि इटालीको पार्मा कोलेकिओ भन्ने सहर मा रहेका करिब १४० नेपालीहरु निरन्तर काममै छन। दूध,टमाटर ,पास्ताजस्ता खाद्यान्न समाग्री बन्ने कम्पनीमा काम गर्ने हुँदा सबै नेपाली काममै छौँ। यस्तो बेला काममा जान डर हुने भए पनि सबै सुरक्षित रहेर काम गरिरहेको प्रदीप रानाभाटले बताए । लक डाउनको बेला बाटोमा हिडेका मानिसको फोटो भिडियोहरु सामाजिक संजालमा राखिएको पाइएमा पनि कार्बाही हुने भएको छ।मानिसको गोपनीयता भङ्ग हुने भन्दै इटालीमा सामाजिक संजालमा सेयर हुने तेस्ता फोटो,भिडियोमा लाइक,कमेन्ट गर्ने पनि कारबाहीमा पर्न सक्ने छन।कुन कामको लागि मानिस बाहिर निक्लेको हुन्छ सबैलाई थाहा नहुने हुदा सेयर हुने त्यस्ता फोटो,भिडियोहरु सामाजिक संजालमा नराख्न भनिएको छ। बिहिबारसम्म इटालीमा ६९ जना स्वास्थकर्मीको मृत्यु भइसकेको छ भने १० हजारभन्दा बढी सन्क्रमित छन् ।
कर्णाली राजमार्गमा मिनी ट्रक दुर्घटना हुँदा चार घाइते दैलेख । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा बिहीबार राति ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट क्वारेन्टाइनका सामग्री लिएर ठाटीकाँध गाउँपालिका जाँदै गरेको भे १ ख २७३० नम्बर को मिनी ट्रक कर्णाली राजमार्गअन्तर्गत दुल्लु सडकखण्डको दुल्लु नगरपालिका –३ सियालामा दुर्घटनामा परेको थियो । ट्रक सडकभन्दा तीन सय मिटर तल खसेको थियो । घाइते हुनेमा ठाटीकाँध –६ का २३ वर्षीय चालक सागर शाही, दुल्लु –२ की २२ वर्षीया लक्ष्मी थापा, सोही वडाकी १७ वर्षीया रमिला थापा र जुम्ला जिल्ला सिंजा गाउँपालिका – ६ का १८ वर्षीय कर्णबहादुर बुढा छन् । घाइतेको उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपनिरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।
एनआरएनए युरोप ६० लाखको आपतकालीन राहत कोष स्थापना गरेर कोरोना विरुद्ध लड्दै काठमाडौँ । संसारलाई आतंकित बनाइरहेको कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध लड्न गैरआवासीय नेपाली संघ, युरोप क्षेत्रीय समितिले ६० लाख बराबरको आवतकालीन राहत कोष स्थापना गर्ने भएको छ । संघको केन्द्रीय समितिले आहन गरेनुसार युरोप संयोजक नारायण आचार्यको अध्यक्षतामा बसेको युरोपियन क्षेत्रको बैठकले कोरोनाको महामारीका बिरुद्ध लड्न युरोपका सम्पूर्ण एनसीसीहरु एक भएर लाग्ने निणर्य गरेको हो । बैठकले ५० हजार युरोको एक आपतकालीन कोषको स्थापना गर्दे अति अत्यावश्यक सहयोगको लागि कोरोना प्रभाभिव स्थानहरुमा परिचालन गर्ने सहमती गरेको हो । स्काईपको माध्यमबाट सम्पन्न उक्त अनलाइन बैठकमा विशेष आमन्त्रितको रुपमा संघका महासचिव डा. हेमराज शर्मा र कोषाध्यक्ष महेश श्रेष्ठसमेतको सहभागिता थियो । बैठकलाई सम्बोधन गर्दे उनीहरुले एनआरएनए केन्द्रले कोरोना विरुद्ध लड्न चालेका कदमहरुका बारेमा जानकारी गराएका थिए । यूरोप उपसंयोजक कृष्ण प्रसाद तिमिल्सिनाका अनुसार बैठकले संयोजक नारायण आचार्यको अध्यक्षतामा तिनै जना उपसंयोजकहरु, यूरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण आईसीसी सदस्यहरु, युरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने मानार्थ परिषद सदस्यहरु, एनसीसी अध्यक्ष तथा महासचिबहरु र युरोपक्षेत्र महिला तथा युवा संयोजक समेत रहेको एक ‘एनआरएनए युरोप कोमिड–१९’ सहयोग समिति समेत गठन गरिएको छ । जसको ११ सदस्यीय सचिवालयमा संयोजक नारायण आचार्य, उपसंयोजक त्रय मुक्त बहादुर गुरुङ, कृष्ण प्रसाद तिमिल्सिना र शुक्र राज न्यौपाने, आईससी सदस्यहरु रामशरण सिमखडा(यूके), सुभाष जोशी (बेल्जियम), सुनिल रानाभाट (स्पेन), बिजय मोक्तान (जर्मन), र चिन्तामणी सापकोटा (स्पेन) रहेका छन्। सोही बैठकले केन्द्रमा गठित स्वास्थ कार्यदलसँगको निकट सहकार्यमा यूरोप क्षेत्रमा रहेको स्वास्थ्य विज्ञहरु रहने गरी डा बोधराज सुबेदी संयोजक रहेको एक उपसमिति समेत गठन गरेको छ। समितिले तत्कालै कामको थालनी गर्दै कोरोनाको चरम प्रभाव रहेका युरोपका देशहरुमा नेपाली समुदायले भोग्नु परेका समस्याको अध्ययन गरी विवरण राख्न शुरु गर्नेछ । त्यस्तै सहयोगको आधार तथा प्रकार अल्पकालिन तथा दिर्घकालिनरुपमा गर्न सकिने सहयोगको पहिचान गरेर मुल समितिमा १ हप्ताभित्र प्रतिबेदनसमेत पेश गर्ने बताइएको छ । गैरआवासीय नेपाली संघ केन्द्रमा रहेको उच्चस्तरीय समितिको मातहत तथा समन्वयमा युरोप क्षेत्रमा काम गर्ने तथा केन्द्रसंघ आपसी सहयोगको लागी आह्वान समेत गर्ने बैठकले निर्णय गरेको बैठकमा सहभागी आईसीसी सदस्य रामशरण सिमखडाले डिसी नेपाललाई बताए ।
कोरोनाको जोखिम रोक्न झोलुङ्गे पुल बन्द राजापुर । मानिसहरुको आवागमनका कारण कोरोना भाइरसको सम्भावित जोखिम हुने भएकाले बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएको छ। मधुवन नगरपालिका भारतीय सिमानासँग जाडिएको र व्यापार व्यवसाय गर्न तथा आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा आउने क्रम बढ्न थालेपछि बारबर्दिया –४ का वडाध्यक्ष मान बहादुर थारुले झोलुङ्गे पुलमा ताला लगाइएको जानकारी दिए । पुलको वारी र पारी जालीबाँधेर ताला लगाइएको छ । स्थानीय टोल सुधार समिति, प्रहरी, सरोकारवाला लगायतका निकायसँग समन्वय गरी ताला लगाउने निर्णय गरिएको थारुले बताए ।
एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा एम्बुलेन्सको ठक्करबाट बुधबार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–६ मधेशाकी ३५ वर्षीया रत्ना श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोपाली टोलमा को १ च ९६०५ नं को एम्बुलेन्सले को १६ प २०६४ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार श्रेष्ठको ज्यान गएको प्रहरी नायव उपरीक्षक शर्माले बताए । मृतक श्रेष्ठ मधेशा स्वास्थ्य चौकीमा कार्यरत रहेको बताइएको छ । ठक्कर दिने एम्बुलेन्स र चालक मोरङ सुन्दरहरैचाका ४० वर्षीय चन्द्र राई प्रहरी नियन्त्रणमा रहेका छन् ।
संकटमा किन संयम गुमाउँदैछन् मन्त्रीहरु ? सोमबार र मंगलबारका नेपाली मिडिया एवं सामाजिक सञ्जालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीविरुद्धको ठूलो आक्रोश पोखिएको छ। उनले सरकारका आलोचकहरु (मिडिया तथा विपक्षीलाईसमेत) कतै गिद्ध त कतै कुकुरको संज्ञा दिएपछि सामाजिक सञ्जाल उनीमाथि खनिएको हो। उनीप्रतिको मानिसहरुको मुख्य टिप्पणी छ ‘सत्ताबाहिर हुँदा तुलनात्मक सालिन र नरम देखिने उनी किन यति यो असहिष्णुताको पराकाष्ठामा ओर्लिए? तर उनको जवाफ किन आएको छैन भने अघिपछि जस्तो ‘आफूले नबोलेकोे’ भन्ने सुविधा अहिले उनीसँग छैन । किनभने उनी आफैले बोलाएर सरकारी सञ्चारमाध्यम राससलाई र त्यो पनि आफैले नियुक्त गरेका अध्यक्षलाई अन्तर्वार्ता दिएका छन्। त्यसैले उनीसँगको यतिखेरको सजिलो सुविधा भनेको ती अध्यक्ष वर्खास्त गर्नु हो यदि उनले नभनेको कुरा राससमा आएको भए। भनेकै हो भने उनीजस्तो शान्त प्रवृत्तिको नेताका लागि यो सुहाउँदो कुरा कदापि हुन सक्दैन। विशेष सम्पादकीय मंगलबारै एक नेपालीलाई नांगेझार पारेर बजार घुमाएको तस्बिरले बर्तमान सरकार झन् धेरै आलोचना भएको छ। ती नेपालीको अपराध –विदेशी भूमिमा महामारी फैलिएपछि ज्यान जोगाउन महाकाली नदी तरेरै स्वदेशी भूमि छिर्नु थियो। खालीखुट्टासितै र नांगो रहेका उनलाई तीन जना प्रहरीले बजार घुमाएका छन् र तीनका पछि अरु केही मान्छे पनि छन्। तस्वीरमा हेर्दा त ती नागरिक नांगो देखिन्छन् तर सारमा त्यसले यो देशको राज्य व्यवस्था तथा सत्तामा बस्ने शासकहरुलाई नै बढी नंग्याएको छ। निहत्था नागरिकलाई नांगेझार पारेर यसरी शहर डुलाएर गणतन्त्रका शासकहरुले काठमाडौँमा न्यानो कपडाका साथ बस्नुको कुनै अर्थ छैन। सत्ताको मात छोडेर एकपल्ट निहाल्नुहोस् त मन्त्रीज्यूहरु यो मार्मिक तस्वीरले कसको इज्जतको हुर्मत लिएको छ? देशको सीमापारि भारतीय भूमिमा ४/५ सय नेपाली उताको महामारीबाट ज्यान जोगाउन आफ्नो देश छिर्न चाहन्छन्। उनीहरु भोकभोकै र अलपत्र अवस्थामा रहेकै आज नौं दिन भैसक्यो। त्यसो त नेपालले पनि महामारीकै डरले सीमा बन्द पनि गरेको हो। तर आफ्ना नागरिक अलपत्र पर्दा के गर्ने भन्ने योजना बनाएको देखिएको छैन। निहत्था नागरिकलाई नांगेझार पारेर यसरी शहर डुलाएर गणतन्त्रका शासकहरुले काठमाडौँमा न्यानो कपडाका साथ बस्नुको कुनै अर्थ छैन। सत्ताको मात छोडेर एकपल्ट निहाल्नुहोस् त मन्त्रीज्यूहरु यो मार्मिक तस्वीरले कसको इज्जतको हुर्मत लिएको छ? यो सहज अवस्था होइन, महामारीको बेला हो। यस्तो बेलामा विदेशमा महामारीमा परेका आफ्ना नागरिकलाई त सरकारले बचाउनुपर्छ भने उनीहरु ढोकामै आएर बसिरहेका छन्। नेपाली र भारतीय मिडियाले नेपाली भोकभोकै सीमा क्षेत्र र अन्य भारतीय शहरका सडकमा सुतिरहेका देखाइरहँदा हाम्रो सरकार उल्टै आफ्ना आलोचकलाई कतै गिद्ध त कतै कुकुरको संज्ञा दिएर आत्मरति देखाइरहेको छ। उता, निकै मिजासिला ठानिदै आएका स्वास्थ्यमन्त्रीको व्यवहारमा अचानक परिवर्तनहरु देखिन थालेका छन्। हो, उनी संसारले खेपेको महामारीलाई आफ्नो मुलुकमा पार लगाउनु पर्ने मूल जिम्मेवारीमा छन्। यो जिम्मेवारीले उनमा तनाव पनि बढेको होला। तर, नेतृत्व त समस्याकै बेला पहिचान हुने त हो। चीनसँग खरिद गरेका मेडिकल सामग्रीबारे प्रश्न उठाउँदा उनको जवाफ ‘संकटका बेला ल्याइएका सामग्रीको खरिद प्रक्रियाबारे कसैलाई जवाफ दिन आवश्यक ठान्दिन’ भन्ने आएको छ। आफ्नै मन्त्रालयका सचिवले पत्रकार सम्मेलन गरेर ‘केही महंगो पर्यो होला’ नै भनेको सबैले सुनेका छन्। लोकतान्त्रिक शासन व्यबस्थामा जननिर्वाचित मन्त्रीलाई आफूले गरेको काममा कहीं कतैबाट प्रश्न उठ्छ भने त्यसको सालिनापूर्वक जवाफ दिनु नै जनताप्रतिको जवाफदेहिता हो। गलतै मनसायले कसैले प्रश्न उठाएको रहेछ भने तपाईंको सालिन जवाफले जनता कन्भिन्स हुन पनि सक्छन्। लोकतन्त्रको सुन्दर पक्ष हैन र यो? यसको साटो जवाफ दिन आवश्यक नै नठान्नुले त तपाईंको कामप्रति थप शंका गर्न मद्धत पुगेन र ? देश यतिबेला महामारीमा छ। लकडाउनका कारण जनता घरमै थुनिएको आज नौ दिन भैसक्यो। दैनिक ज्याला मजदुरी नगरी चुलो नबल्ने नागरिकका दैनिकी कसरी कट्दैछन् त्यो सहजै अनुमान लगाउन सकिन्छ। संसारमै महामारी फैलिएकोले विदेशमा रहेका आफन्तको चिन्ता झन् कति होला ? यो जनतालाई सान्त्वता दिने, राहात दिने बेला हो । हामीभन्दा बढी महामारीमा परेका विदेशीले समेत करोडौँ रुपैयाँ तिरेर आफ्ना नागरिक नेपालबाट लगेका समाचार मन्त्रीहरुलाई थाहै होला । यो विपक्षी, मिडिया, आम नागरिकको विश्वास जितेर उनीहरुका साथमा रहेर काम गर्ने बेला हो। यस्तो बेलामा पनि मन्त्रीहरुका उन्मादपूर्ण अभिव्यक्ति आउने त्यसको ढाकछोपमा प्रधानमन्त्री स्वयंले ‘अनियमिता भएको छैन’ भनिदिनुपर्ने बाध्यात्मक अवस्था आएको देखिन्छ। यस्तो संकटको बेलामा मन्त्रीहरुले किन संयम गुमाउँदै छन् ? वास्तवमा भन्ने हो भने महामारीको सामना गर्न संसारमा सम्पन्न देशहरु पनि तयारी अवस्थामा देखिएनन्। त्यसैले कोरोना भाइरसका कारण आणविक अस्त्र सम्पन्न धनी देशहरु झन् धेरै चपेटामा परेका छन्। हजारौं हजार जनताले ती देशहरुमा संक्रमणका कारण ज्यान गुमाएका छन् । नेपालको सन्दर्भमा अहिलेसम्म त्यस्तो दर्दनाक अवस्था आएको छैन । समयमै लक डाउन गर्ने निर्णय गरेर नेपाल सरकारले धेरैको ज्यान जोगाएको अनुभूति सबैतिर भएको पनि छ । काम गर्दा केही कमी कमजोरी अवश्य हुन्छन् तर तिनको पहिचान भइसकेकोपछि उचित समाधन गर्न खोज्नुचाहिँ संकटका बेला नेतृत्वको दायित्व हो। हामी र हाम्रालागि सरकार प्रयत्नशील छ भन्ने अनुभूति गराउन सक्नु नै सफलता हो । तर, हजार राम्रा काम भएका बेला मन्त्रीज्यूहरुका दुर्बचन र असहिष्णुतापूर्ण अभिव्यक्तिहरुले ती सबैलाई छायामा पारिदिएको छ । मन्त्रीज्यूहरुबाट सुझबुझपूर्ण जिम्मेवार बोली व्यवहारको अपेक्ष गर्नु के अस्वाभाविक होला र ?