content
stringlengths
20
64.1k
सुष्मा विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट काठमाडौं । पोल्याण्डमा आयोजना हुने आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि नेपालबाट सुष्मा तामाङ छनोट भएकी छन् । सातदोबाटोमा आज भएको महिला ४८ किलो तौल समूहको छनोट खेलमा नक्सालकी तामाङले आरडिएसकी रमिसा श्रेष्ठलाई दुईका विरुद्ध तीन अङ्कले पराजित गर्दै विश्व च्याम्पियनसिपका लागि छनोट भएकी हुन् । यस्तै महिला ६० किलो तौल समूहमा बक्समाडौँकी डेचेन शेर्पा फाइनलमा प्रवेश गरेकी छन् । उनले सेमिफाइनलमा झापाकी सुस्मिता राईलाई शुन्यका विरुद्ध पाँच अङ्कले पराजित गरेकी छन् । उनले फाइनलमा बुधबार आरडिएस क्लबकी सुमिना खड्कासित प्रतिस्पर्धा गर्ने बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले जानकारी दिए । खड्का वाई पाएर फाइनलमा प्रवेश गरेकी हुन् । छनोट प्रतियोगिता कार्यक्रममा राखेप तालीम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्ट र दीपक महर्जनलगायतको उपस्थिति रहेको थियो । विश्व बक्सिङ च्याम्पियनसित पोल्याण्डमा आगामी अप्रिल ११ देखि २३ तारिखसम्म सञ्चालन हुनेछ ।
बालिका बलात्कार गरेको आरोपमा आठ वर्ष कैद किमाथाङ्का । शारीरिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा सङ्खुवासभाको जिल्ला अदालत चैनपुरले आठ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत चैनपुरले १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सिलिचोङ गाउँपालिका–१ का पेम्बा शेर्पालाई आठ वर्ष कैद सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत १ गतेको इजलासले कसूर ठहर गर्दै आठ वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाएको अदालतका स्रेस्तेदार कविराज राउतले जानकारी दिए । सोही फैसलाबाट पीडित बालिकाले पाउने गरी क्षतिपूर्ति बापत रु ५० हजार कसुरदारबाट असुल गरी राहत कोषमा जम्मा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार राउतले जानकारी दिए । शेर्पाले गत मङ्सिर १८ गते बलात्कार गरेको भन्दै आफन्तले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितका आफन्तको उजुरीका आधारमा आरोपित शेर्पालाई प्रहरीले सोही दिन पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल खाँदबारीमा गत मङ्सिर २० गते गरिएको थियो । शेर्पालाई प्रहरीले कात्तिक २३ गते जिल्ला अदालत चैनपुरमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो । रासस
बैंकिङ कसूर मुद्दामा फरार व्यक्ति पक्राउ काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको गत माघ २ गतेको फैसलाअनुसार बैंकिङ कसूर मुद्दामा दोषी ठहरिएका तारकेश्वर नगरपालिका–३ जीतपुरका ५७ वर्षीय विजयकुमार श्रेष्ठलाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनले तीन दिन कैद र रु नौ लाख ५० हजार जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई आज काभ्रेस्थलीबाट पक्राउ गरिएको जानकारी दिइन् । “पक्राउ परेका श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा झुक्यानमा पारी कुमारी बैँक लिमिटेड नयाँ बसपार्कको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेको अनुसन्धानमा खुलेको छ”, उनले भनिन् । पक्राउ परेका श्रेष्ठलाई उच्च अदालत पाटनले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला गरेको थियो । रासस
टिप्पर पल्टिँदा चालककाे घटनास्थलमै मृत्यु काठमाडाैं । काठमाडाैंको चन्द्रागिरीमा टिप्पर पल्टिँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ। गएराति चन्द्रागिरी नगरपालिका-२ मसिने भीरमा टिप्पर पल्टिएकाे प्रहरीले जनाएकाे छ। मसिनेबाट ग्राबेल बोकेर बाणभञ्ज्याङका लागि छुटेको प्रदेश २-०३-००१ क ५९९ नम्बरको टिप्पर पल्टिँदा १ जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे। मृत्यु हुनेमा उक्त टिप्परका चालक मकवानपुर भीमफेदी-२ का २५ वर्षका विनोद बलको ज्यान गएको प्रहरीले जनाएको छ।
ढोरपाटन शिकार आरक्षको १ सय ८५ हेक्टर जमिन अतिक्रमण गलकोट । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको संरक्षणमा चुनौती थपिँदै गएको छ। आरक्षणमा नेपाली सेनाको उपस्थितिपछि चोरी शिकारीमा उल्लेख्य कमी आए पनि जग्गा अतिक्रमण भने रोकिएको छैन। ढोरपाटन शिकार आरक्ष कार्यालयले आरक्षको १ सय ८५ हेक्टर जमिन अतिक्रमण भएको जनाएको छ। कार्यालयले निकालेको वार्षिक प्रतिवेदन २०७६/०७७ मा शिकार आरक्षको विभिन्न ३४ स्थानमा करिब १ सय ८५ हेक्टर जमिन अतिक्रमण भएको उल्लेख छ। अतिक्रमित जग्गामा ३ सय ११ घरधुरी रहेको आरक्षले जनाएको छ। कार्यालयले बेलाबेलामा स्थानीयवासीलाई भेला गराई अतिक्रमण नगर्नका लागि आग्रहसमेत गर्दै आएको छ। आरक्षका अनुसार केही वर्षअघि ढोरपाटनको पाखाथर, गाडीखोला, छेन्तुङ, खाल्डेखुल्डी, लामखोरिया, सल्लाथान, उत्तरगङ्गा, नवी, स्यालपाखेलगायतका क्षेत्रमा रहेका ३० घरधुरीले बारबन्देज गरेर रोकी राखेको जग्गाको बारबन्देज हटाइएको थियो। बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्ला गरी कूल १ हजार ३ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शिकार आरक्षमा अतिक्रमण गर्ने दर पछिल्लो समय बढ्दै गएको हो। नेपाल सरकारले विसं २०३९ मा ढोरपाटन शिकार आरक्षको स्थापना गरी १ हजार ३ सय २५ वर्ग किलोमिटर क्षेत्रफललाई शिकार आरक्षको क्षेत्र तोकेको थियो। भौगोलिक विकटताका कारण प्रशासनिक सुविधा नभएको र आरक्ष व्यवस्थापन कानून नहुँदा स्थानीयवासीले मनोमानी ढङ्गले जग्गा अतिक्रमण गर्दै खेतीपाती गर्दै आएका छन्। आरक्षको सबैभन्दा बढी म्याग्दी जिल्लामा अतिक्रमण भएको कार्यालयले जनाएको छ। बागलुङको अधिकारीचौर, बोबाङ, निसी र बोङ्गादोभान, रुकुमको रन्मा, मैकोट, हुकाम, तकसेरा, कोल र काक्री तथा म्याग्दीको लुलाङखोरिया र गुर्जाखानीलगायतका ३४ स्थानमा अतिक्रमण भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ। अतिक्रमित जग्गामा स्थानीयवासीले आलु, स्याउ र अन्य खेतीसमेत गरिरहेका छन्। आरक्षले पटक–पटक अतिक्रमण भएको जग्गा फिर्ता ल्याउन पहल गरे पनि कानूनी जटिलताका कारण समस्या भएकाले आरक्षको सीमा संरक्षण चुनौतीपूर्ण बन्दै गएको पाइएको छ। विकट क्षेत्रका रूपमा रहेको आरक्ष क्षेत्र वरपरको जग्गामा स्थानीयवासीले अतिक्रमण गरी घर टहरा निर्माण, खेतीपाती गर्ने क्रम बढ्दै गएको पाइएको हो। शिकार आरक्षसम्बन्धी नियमावलीको तर्जुमा एवं कार्यान्वयन नहुँदा आरक्ष व्यवस्थापनमा असहजता उत्पन्न भएको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए। “आरक्ष जग्गा अतिक्रमणको समस्या पटक–पटक समाधानको प्रयास भएका थिए, हालसम्म सार्थकता पाउन सकेको छैन, जमिन अतिक्रमण नहोस् भन्नेमा हाम्रो ध्यान रहेकै छ”, प्रमुख संरक्षण अधिकृत कँडेलले भने, “आरक्षको सबै भागमा सेना राख्न असहज हुनु एवं कानूनी जटिलताका कारण आरक्षको संरक्षण र व्यवस्थापनमा थप चुनौती देखिएको छ ।” कँडेलका अनुसार दुई वर्षभन्दा अघि अतिक्रमण भएको जग्गा हटाउन शुरु गरे पनि सार्थकता पाउन सकिएकाे छैन्। केही घर आरक्ष स्थापना हुनुभन्दा अगावै रहेका कारण सरकारले लालपुर्जा दिलाउनुपर्ने या बस्ती स्थानान्तरण गर्नुपर्ने आरक्ष कार्यालयको सुझाव छ। लालपुर्जा वितरण, राहत तथा पुनःस्थापना गर्न सरकारले मन्त्रिपरिषद्को बैठकबाटै टुङ्ग्याउनुपर्ने भएकाले अतिक्रमण हटाउन आरक्ष कार्यालयले नसकेको कँडेलको भनाइ छ। सशस्त्र द्वन्द्वको समयमा आरक्ष कार्यालय विस्थापित भई जिल्ला सदरमुकाम बागलुङ बजारमा सरेपछि स्थानीयवासीले आरक्षको जग्गामा तारबार गरी खेती लगाउन शुरु गरेका थिए। आरक्षले यसअघि आफ्नो जग्गामा स्थानीयवासीले लगाएको तारबार हटाएको थियो। पहिले कर्मचारीको मात्रै भरमा रहेको आरक्षमा २०७३ सालदेखि नेपाली सेनासमेत राखिएको छ। बागलुङ, पूर्वी रुकुम तथा म्याग्दी गरी तीन जिल्ला समेटिएको आरक्षभित्रका सात ब्लकमध्ये आरक्ष कार्यालय ढोरपाटन, देउराली तथा निसेलढोरमा मात्रै सुरक्षा तैनाथ गरिएको छ। विभिन्न समस्या देखाउँदै नेपाली सेना म्याग्दी तथा पूर्वी रुकुमसम्म आरक्षको सुरक्षामा पुग्न नसक्दा आरक्ष संरक्षणमा अझै चुनौती छ। शिकार आरक्ष कार्यालय रहेको ढोरपाटन क्षेत्रमा आरक्ष स्थापना हुनुअगावैदेखि मानिसले भोगचलन गर्दै आएकाले यसलाई अतिक्रमणका रूपमा लिन नमिल्ने ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष हरिबहादुर घर्तीमगरले बताए। यसलाई स्थानीयवासीले तत्कालीन समयदेखि भोगचलन गर्दै आएको उनको जिकिर छ। “लामो समयदेखि भोगचलन गर्दै आएका स्थानीयवासीले कर तिर्न पर्ने भन्दै जग्गा दर्ता नगरेका हुन्”, अध्यक्ष घर्तीले भने “केही क्षेत्र पछिसमेत अतिक्रमण भएको छ, उनीहरुले प्रयोग गर्दै आएको जग्गा राज्यले लिन चाहे स्थानीयवासीको मागलाई सम्बोधन गर्नुपर्ने हुन्छ।” भूमिसम्बन्धी समस्या समाधान आयोग बागलुङका अध्यक्ष कृष्ण पाठकले आरक्षमा देखिएको समस्याबारे अध्ययन गरिने बताए। “आरक्षको जग्गामा बस्न र भोगचलन गर्न स्थानीयवासीले पाउने अवस्था सायद नहुन सक्छ, उनीहरु सुकुम्वासीनै भएको प्रमाणित भएमा अन्यत्र जग्गा व्यवस्थापन गर्न सकिनेछ”, उनले भने।रासस
ओली नेतृत्वको सरकार हटाउन म्याण्डेट दिएका छौँ – रामचन्द्र पौडेल काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा आएको राजनीतिक संकट अन्त्यका लागि ओली नेतृत्वको सरकार हटाउनै पर्ने बताएका छन्। नेपाल प्रेस युनियनले शनिबार बिहान बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन्। उनले राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि सकवर कांग्रेस नेतृत्वमा नभए माओवादी वा जसपाकै नेतृत्व ल्याएर पनि ओली सरकार हटाउनुपर्ने बताए। लामो समयसम्म कांग्रेस प्रतिपक्षमै बस्नुपर्छ भनेर सभापतिलाई रोकेको भएपनि अब अति भएकोले हिजोको बैठकमा जसरी पनि ओली हटाउनुपर्छ भनेर म्यान्डेट दिएको उनले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भित्र्याएको विकृतिमा अदालतले अर्को विकृति थपेको उनको भनाई छ।
आगलागीबाट १२ लाख ६० हजारको क्षति भक्तपुर । भक्तपुरको सूर्यविनायकमा आज पाँच पसलमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोजबहादुर घिसिङले सञ्चालन गरेको मासु पसलबाट शुरु भएको आगलागी अन्य चार पसलमा समेत फैलिँदा करीब रु १२ लाख ६० हजार बराबरको सामान जलेर क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए। अचानक बिजुलीको तार सर्ट भई घिसिङको पसलमा आगलागी भएपछि सँगैका अन्य पसलमा समेत सल्किएर आगलागी भएको उनले जानकारी दिए । आगलागीबाट मासु पसलमा रहेको जिउँदो बोइलर कुखुरा २५ वटा, तयारी मासु र फ्रिज एकथान, रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा७५प ५८२४ नं को मोटरसाइकल जलेर पूर्णरुपमा क्षति भएको उनले बताए । नारायण साडेमियाले सञ्चालन गरेको चियापसलमा रहेको फ्रिज एकथान, टेबुल, कुर्सी नष्ट भएको छ भने विमल घिमिरेले सञ्चालन गरेको फ्रेन्सी पसलमा रहेका कपडा र नरेश कर्माचार्यको कोठामा रहेका दराज, पलङ, कार्पेट, बेड विस्तारा र अन्य सामानसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले जानकारी दिए। त्यसैगरी आजै भक्तपुरको चाँगुनारायण नगरपालिका–६ तेलकोट बेसीस्थित ९२ वर्षीया पाडासैनी तामाङको दुई तले कच्ची घरमा आगलागी हुँदा रु आठ लाख ५४ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरी परिसर भक्तपुरका प्रनाउ गिरीका अनुसार आगलागी पछि नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको सक्रियतामा भक्तपुर, काठमाडौँ, ललितपुरबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको पाइए पनि थप अनुसन्धान भइरहेको बताए । रासस
ग्वार्कोमा ‘फ्लाइ ओभर’ बनाइने काठमाडौं । सडक विभागले चालु आर्थिक वर्षमा ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ । सरकारले चक्रपथका विभिन्न स्थानमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएकामा सबैभन्दा पहिले ग्वार्कोमा ठेक्का सम्झौता हुने विभागले जनाएको छ । ‘फ्लाइ ओभर’ निर्माणका लागि चालु आवमै ठेक्का सम्झौता भए पनि आगामी वर्ष निर्माणको काम हुने विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए । उनका अनुसार अहिले यसको डिजाइनको काम भइरहेको छ । विभागले सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएको छ । यी दुई स्थानमा आगामी वर्ष मात्रै प्रक्रिया शुरु हुने उनले बताए । थापाले भने, “पहिले ग्वार्कोमा निर्माण शुरु भएपछि नै अरु दुई ठाउँमा निर्माणका लागि ठेक्का सम्झौता हुनेछ ।” चीन सरकारले चार वर्ष पहिले विस्तार गरेको कोटेश्वर–कलङ्की सडकको तीन चोकमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाइएको हो । विभागले आगामी वर्षमा सवारी चाप बढी भएका चोकमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएको छ । चक्रपथकै अरु चोकमा र शहरी क्षेत्रका विभिन्न चोकमा ‘फ्लाइ ओभर’ निर्माण गर्दै जाने बताइएको छ । नेपालमा अहिलेसम्म ‘फ्लाइ ओभर’ निर्माण भई नसकेको भए पनि यसअघि बलम्बुमा निर्माण शुरु भएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण गर्दा सोही योजनाअन्तर्गत त्यहाँ ‘फ्लाइ ओभर’ निर्माण गर्न लागिएको हो । आगामी तीन वर्षमा आयोजना सम्पन्न हुँदा ‘फ्लाइ ओभर’ पनि निर्माण भइसक्ने छ । सरकारले आफ्नै लगानी र वैदेशिक लगानी दुवैमार्फत ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएको छ । चीन सरकारले नै निर्माण गर्ने भनिएको कलङ्कीबाट धोबीखोला (गोपीकृष्ण हल अगाडि) सम्मको सडकमा पनि महाराजगञ्ज र बालाजु चोकमा ‘अण्डर पास’ र ‘फ्लाइ ओभर’ निर्माण गर्ने गरी डिजाइन भएको थियो । काठमाडौँ उपत्यकाको बढी सवारी चाप रहेको चोकमा पर्ने थापाथली र जडीबुटी चोकमा पनि ‘फ्लाइ ओभर’ निर्माण गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले चासो देखाएको छ । नियोगले अध्ययन र छलफल गरे पनि ठोसरुपमा कुनै निर्णय भने भइसकेको छैन । उपत्यकामा धेरै ठाउँमा सडक विस्तार गरिए पनि चोकमा सवारी चाप कम नभएकाले ‘फ्लाइ ओभर’ निर्माणको आवश्यकता भएको हो ।
आफूहरुसँग हतियार नभएको विप्लव समूहको प्रष्ट्रिकरण काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले आफूहरुसँग हतियार नभएको बताएका छन्। सरकारसँग तीन बुँदे सहमति भएर सार्वजनिक भएपछि शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफूहरु एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद स्थापनाका लागि लडेका भन्दै सशस्त्र युद्ध नभएको बताएका छन्। तपाईँहरुसँग अत्याधुनिक वा आधुनिक हतियार छैन ? त्यही सुतली बम मात्रै हो ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘हामीसँग हतियार छैन् । हामीले हतियारको कुरा गरेको होईन। हामीले गरेको कुरा एकीकृत जनक्रान्ति हो । रेभोलुसन भनेको वार होईन। रिभोलुसन भनेको निरन्तर प्रक्रिया हो । एकीकृत जनक्रान्ति हो।’ शुक्रबार सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहमतिमा विप्लव समूहले हतियार बुझाउने विषय नपरेको भन्दै प्रश्न गरेको थियो । मुख्य\मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्छ बाँस्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको स्पष्ट पारेका छन् । उनले भने, ‘जनताको मत लिने गरौं। हरेक विषयमा जनतमसंग्रह गरौं भनेका छौं । यसले जनतालाई परिचालित गर्छ । पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक छ । यो प्रकारको लोकतान्त्रिक समाज बनाऔं । अहिले हामी सरकारसँग छलफल गर्छौं । सेट अफ आईडियाज छ । हामी राख्छौं । खाका छ । हामी भन्छौं । नयाँ दिशामा जानुपर्छ ।’ उनले जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको सुनाए । उनले अघि भने, ‘सबै भन्न सम्भव छैन् । खास/खास विषयमा हुन्छ । अहिले हामी सरकारसँग छलफलमा छौं । संसदीय व्यवस्था भन्दा पनि लोकतन्त्र मूल कुरा हो । यसको विकसित कुरा गरेका छौं ।’ उनले आफूहरु मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने पनि जनाए । उनले वार्ताको वातावरण कसरी बन्यो ? भन्नेबारे पनि थप प्रष्ट्याएका छन् । उनले भने,‘राजनीतिक आन्दोलनलाई, समस्यालाई समाधान गर्नको निम्ति हामीले धेरै लामो समयदेखि छलफल गर्दै आएका थियौं । नेपालको संविधानले कतिपय विषयलाई समेट्न सकेको छैन भन्दै आएका थियौं । आर्थिक आधार उपयोगी संरचनाको कुरा गरेका थियौं, अहिलेको व्यवस्था परिवर्तन जरुरी छ भनेर हामीले भनेका थियौं । शान्ति प्रक्रियाको दश वर्ष, यो संविधान बनेको तीनरचार वर्षमा प्रष्ट भएको छ । सरकारले के महशुस गर्यो भने नेपालमा एउटा राजनीतिक परिवर्तनको जरुरी छ । नयाँ बाटोको जरुरी छ भन्यो । त्यही भएर अहिले सहमति भएको हो ।’ अहिलेको संसदीय राजनीतिक व्यवस्थाले मुलुकलाई निकास नदिने उनको भनाई छ । उनले भने, ‘त्यही भएर अहिले संसद् विघटन गर्नुपर्ने अवस्थामा पुग्यो । अहिले दलभित्र तनाब पैदा भएको छ । लडाईँ चलिरहेको छ । अदालतले संसद् पूनःस्थापना गरेको छ। अहिले दलभित्र लडाईँ चलिरहेको छ ।’ उनले गरिब नेपाली जनताको अवस्था अहिलेपनि पनि पहिलेजस्तै रहेको सुनाए । उनले भने,‘गरिब जनताको अवस्था जस्तो पहिले थियो, अहिले पनि त्यस्तै छ । तीन करोड नेपाली जनतामा ६० लाख नेपाली जनता सुकुम्बासी छन् । त्यो ६० लाख नेपाली जनताका छोराछोरी पढ्न पाएका छैनन् । काठमाडौंभित्र पनि हाम्रा जनता यति धेरै पिछडिएका छन् । खासमा दुई करोड जनशक्ति श्रम क्षेत्रमा सहभागिता जनाउने रहेछ । यो स्थिति देशको छ । अनि देश कसरी बन्छ ? दुई तिहाई बुहमत गरेको सरकार, पार्टी छ । तर, स्थिति झगडा गर्नुपर्ने छ । ठोस प्रकारको आर्थिक नीति आवश्यक छ ।’ आफूहरुले पहिले पनि यही राजनीतिक बाटोबाट गए देश अस्थिरतातर्फ नै जान्छ भनेर राजनीतिक विश्लेषण गरेको र अहिले आएर त्यो कुरा पुष्टि भएको बास्तोलाको भनाई छ । उनले सरकार र आफूहरुबीच भएको तीन बुँदे सहमति पालना हुनेमा शंका नगर्न आग्रह गरे । उनले भने,‘सरकारले वार्ता गरौं भन्यो, पछिल्लो चरणमा वार्ताको माध्यमबाट सहमति भयो । हामी निश्कर्षमा पुग्यौं । तीन बुँदे सहमति गरेका छौं । हाम्रो महासचिव र प्रधानमन्त्रीले प्रष्टसँग सहमति कार्यान्वयन हुन्छ भनेर आफ्नो कुरा राख्नुभएको छ । उहाँहरुले ईमानदारीताका साथ सहमति कार्यान्वयन गर्छौं भन्नुभएको छ।’ उनले संसद विघटन सदर भएर चुनाव भएको भए पनि देशले निकास नपाउने थियो भन्ने उनको भनाई छ । उनले भने, ‘यसअघि पनि बहुमत आएकै हो नि । सरकार पनि बनेको थियो । यो स्थिति नयाँ घटना होईन् । पुनःस्थापना भएको छ । फेरि पनि चुनाव हुनुपर्छ । हामीले प्रतिष्पर्धाको कुरा गरेका छौं । समाजलाई कसरी उन्नत बनाउन सकिन्छ ? भन्ने नै हो ।’ उनले आफूलाई पटक–पटक हिरासतमा राखिएपनि कुनै यातनाको अनुभव नभएको सुनाए । उनले भने,‘मलाई त सम्मानपूर्वक व्यवहार गरियो । कतिपय कमरेडेलाइए टर्चर गरिएको कुरा आएको छ। बरु, अस्ति अदालतमा प्रहरीले धरपकड गरेको हो । सरकारसँग भएको सहमतिमै कार्यकर्ता छोड्ने र मुद्दा फिर्ता गने कुरा छ । तीन बुँदे सहमतिको बुँदा नम्बर तीनमा त्यो कुरा उल्लेख छ । त्यो तुरुन्तै हुन्छ ।’
प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई काठमाडौँ । प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जितेका छन्। उनले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन्। सोही स्पर्धामा भारतीय सेनाका तीर्थकुमार पुन दोस्रो भए। उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २७ सेकेण्डमा पूरा गरे । सेनाका सुवेदार होमलाल श्रेष्ठ तृतीय भए। उनले निर्धारित दूरी दुई घण्टा २३ मिनेट ३२ सेकेण्डमा पूरा गरे। पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु तीन लाख, रु दुई लाख र रु एक लाख नगद पुरस्कार प्राप्त गरे। उनीहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रमाणपत्र, ट्रफी र नगद प्रदान गरे। उपाधि विजेता बस्नेतले यमाहा कम्पनीको एक थान मोटरसाइकलसमेत पुरस्कारस्वरुप प्राप्त गरेका छन्। सो पुरस्कारको प्रायोजन मेगा बैंकले गरेको हो। फुल म्याराथनतर्फ खगेन्द्र भाटले चौथो, नवराज साउदले पाँचौँ, ज्ञानप्रसाद भट्टराईले छैटौँ, देवराज महतराले सातौँ, सागर बुढाथोकीले आठौँ, रमेश मगरातीले नवौँ तथा प्रेम बस्नेतले १०औँ स्थान प्राप्त गरे। यसैगरी हाफ म्याराथनको पुरुषतर्फ नेपाली सेनाका राजेन्द्र राई पहिलो भए। उाले २१ किलोमिटर दौड एक घण्टा ६ मिनेट ३० सेकेण्डमा पूरा गरे। यस्तै सेनाकै राजन रोकाय एक घण्टा सात मिनेट ११ सेकेण्डमा उक्त दूरी पूरा गर्दै दोस्रो तथा सेनाका नरेन्द्र रावलले एक घण्टा आठ मिनेट ४८ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो भए। उनीहरुले क्रमश ः रु ७५ हजार, रु ५० हजार तथा रु ३५ हजार नगद पुरस्कार प्राप्त गरे। सो पुरस्कारको प्रायोजन एनआइसी एशिया बैंकले गरेको हो। यस्तै हाफ म्याराथन महिलातर्फको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी पुष्पा भण्डारीले जितिन्। उनले निर्धारित दूरी एक घण्टा १७ मिनेट ३३ सेकेण्डमा पूरा गरिन्। यस्तै नेपाली सेनाकी विश्वरुपा बुढा एक घण्टा २० मिनेट ९ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा एपिएफ क्लबकै विन्द्रा धन्के श्रेष्ठ एक घण्टा २४ मिनेट ४६ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो भइन्। उनीहरुले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार पुरस्कार प्राप्त गरिन्। उक्त पुरस्कारको प्रायोजन ग्लोबल आइएमईले प्रायोजन गरेको हो । उपाधि विजेता भण्डारीलाई एक थान स्कुटरसमेत पुरस्कारस्वरुप प्राप्त गरेकी छन्। यस्तै १० किलोमिटर दौडमा सैनिक अधिकृत महिलातर्फ चण्डीदल गणकी उपसेनानी दुर्गा केसी ४९ मिनेट २९ दशमलव ४५ सेकेण्डका साथ पहिलो, नं १ विपत् व्यवस्थापन गणकी सहसेनानी चन्द्रा बानियाँ ५१ मिनेट २७ दशमलव ३१ सकेण्डका साथ दोस्रो तथा हवाई सुरक्षा तालीम शिक्षालयकी सहसेनानी देवी पुन ५१ मिनेट ५६ दशमलव २८ सकेण्डका साथ तेस्रो भइन्। यसैगरी १० किलोमिटर दौड सैनिक अधिकृत पुरुषतर्फ नं १६ बाहिनी जगदल गणका सहसेनानी दिशान्त विष्ट ३८ मिनेट १२ दशमलव ०३ सेकेण्डका साथ पहिलो, इन्द्रबक्स गणका सहसेनानी डम्बर बुढा ३८ मिनेट ४१ दशमलव ०६ सेकेण्डका साथ दोस्रो तथा युद्धकवच गणका उपसेनानी विशालचन्द्र बाजी ३८ मिनेट ५९ दशमलव ०१ सकेण्डका साथ तेस्रो भए। उनीहरुले क्रमशः रु १० हजार, रु सात हजार तथा रु पाँच हजार पुरस्कार प्राप्त गरे। दश किलोमिटर दौड गैर सैनिक पुरुषतर्फ सुमन न्यौपाने ३३ मिनेट २३ दशमलव ९१ सकेण्डका साथ पहिलो, दिनेश बोगटी ३३ मिनेट ४१ दशमलव ७६ सेकेण्डका साथ दोस्रो तथा महेन्द्र बराल ३७ मिनेट ३० दशमलव १४ सकेण्डका साथ तेस्रो भए। दश किलोमिटर गैर सैनिक महिलातर्फ सरस्वती बोहरा ४२ मिनेट ४१ दशमलव ३२ सेकेण्डका साथ पहिलो, बन्दना राई ४३ मिनेट ४३ दशमलव ५२ सेकेण्डका साथ दोस्रो तथा सचिना सुनुवार ४५ मिनेट सात दशमलव ३० सकेण्डका साथ तेस्रो भइन्। पाँच किलोमिटर दौड विद्यालय छात्रतर्फ विश्वराम कुँवर १८ मिनेट १० दशमलव २३ सेकेण्डका साथ पहिलो, विमलविक्रम थापा १९ मिनेट ५१ दशमलव २५ सेकेण्डका साथ दोस्रो तथा अनिलकुमार बुढा २० मिनेट २६ दशमलव ३० सेकेण्डका साथ तेस्रो भए। यस्तै पाँच किलोमिटर दौड छात्रातर्फ सदीक्षा कार्की २६ मिनेट ११ दशमलव ६४ सेकेण्डका साथ पहिलो, स्वेच्छा बलामीमगर २६ मिनेट ४२ दशमलव ३२ सेकेण्डका साथ दोस्रो तथा मिना डाँगी २७ मिनेट १७ दशमलव २१ सेकेण्डका साथ तेस्रो भए। उनहरुले क्रमश ः रु १० हजार, रु सात हजार तथा रु पाँच हजार पुरस्कार प्राप्त गरे। यसैगरी २१ किलोमिटर भेट्रान्सतर्फ धर्म महर्जन एक घण्टा १४ मिनेट २९ सेकेण्डका साथ पहिलो, भीम गुरुङ एक घण्टा २७ मिनेट २० सेकेण्डका साथ दोस्रो तथा भीमसेन अवाले एक घण्टा २७ मिनेट ३१ सेकेण्डका साथ तेस्रो भए। उनीहरुले क्रमश ः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार प्राप्त गरे। उनीहरुलाई प्रधानसेनापति थापा, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललगायतले प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए। सेनाको मुख्यालय जङ्गीअड्डाबाट शुरू भएको म्याराथन थापाथली, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जगाति, सानोठिमी, पेप्सिकोला हुँदै विमानस्थल, गौशाला, चाबहिल, महाराजगञ्ज, लैनचौर, घण्टाघर हुँदै भद्रकालीमा आएर सकिएको थियो।
महिला, किशोरीलाई आत्मसुरक्षा तालीम नेपालगञ्ज । महिला तथा किशोरीका लागि तीन दिने आत्मसुरक्षा तालीम नेपालगञ्जमा शुरु भएको छ। एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मूल समरोह समितिको आयोजनामा शुक्रबारदेखि महिलाका लागि तीन दिने तालीम शुरु गरिएको हो। तालीमको उद्घाटन समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक किरण रााणाले शारीरिक र मानसिकरुपमा सक्रिय भएमा महिलालाई आत्मसुरक्षामा सहयोग पुग्ने बताए। उनले महिला यस सृष्टिका सबैभन्दा बलवान व्यक्ति भएकाले आफूलाई कहिल्यै पनि पुरुषभन्दा कमजोर नठान्न सहभागीलाई आग्रह गरे। उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले महिला तथा किशोरीलाई आत्मसुरक्षा तालीमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने आशा व्यक्त गरे। उनले राज्यले महिलालाई सुरक्षा, समावेशी, सहभागिताको हिसाबले धेरै व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन गर्न नसकिएको बताए। कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ बाँकेका अध्यक्ष नमस्कार शाह, इन्प्रोकका अध्यक्ष तेजविक्रम शाह, स्वास्थ्य तथा शिक्षा विकास केन्द्रका उपाध्यक्ष गणेशप्रसाद भट्टराईलगायतले धारणा राखेका थिए।रासस
ओली समूहका मुख्य सचेतक विशाल भट्टराईले भने – प्रचण्डको पत्रको कुनै कानुनी आधार छैन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयमा बिहीबार पठाएको पत्रको औचित्य नरहेको प्रष्ट पारेका छन् । भट्टराईले एक विज्ञप्ति जारी गरि दलको विधान बमोजिम विधितव रूपमा निर्वाचित संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलील रहेकाले अरु पत्र र दावी गैरकानुनी रहेको दावी गरेका छन्। ‘दलको विधानमा २०७५ बमोजिम बिधिवत रुपमा चुनिनुभएका संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलील रहनुभएकाे छ। नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैर संवैधानिक र गैर कानुनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानुनी आधार,औचित्य र प्रभाव हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ । भट्टराईले निर्वाचन आयोगको गत माघ ११ गतेको निर्णयअनुसार पार्टीको बैठकको मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेकाे हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनपर्ने उल्लेख भएकाले त्यसविपरीतका कुनै पनि बैठक र पत्राचारले मान्यता नपाउने बताएका छन्। भट्टराईले दलको विधान बमोजिम नेता प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, मुख्य सचेतक भट्टराई र सचेतक शान्ता चौधरीबाहेक अरु पदाधिकारी नरहेको भन्दै संसद सचिवालयलाई कुनै द्विविधामा नपर्न ध्यानाकर्षण समेत गराएका छन्। प्रचण्डको पत्र बिहीबार देव गुरुङ सहितका प्रचण्ड- पक्षीय सांसदहरूले सचिवालयमा दर्ता गरी ओली,उपेनता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई कारबाही गरिएको जनाएका थिए।
कञ्चपुरमा प्रहरी र तस्करबीच दोहोरो भिडन्त, प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु कञ्चनपुर । कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । बेलौरी नगरपालिका ७ मा नेपाल भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको हो । बिहिबार साँझ चार जना तस्कर आइरहेको सूचना प्रहरीले पाएपछि उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा तस्करले आक्रमण गरेपछि प्रहरीले जवाफी फायर गर्दा १ जना तस्कर घाइते भएको घाइतेलाई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमर बहादुर थापाले बताए । उनका अनुसार ३ जना तस्कर भने भाग्न सफल भएका छन् । उनीहरुको साथबाट प्रहरीले नक्कली पैसा र पैसा छाप्ने मेसिनसमेत बरामद गरेको छ। सिमानाकामा तस्कर बढिरहेको सूचना प्रहरीले पाएपछि नेपाल प्रहरीले गस्ती बढाएको थियो ।
गुरु रिम्पोछेको जन्मदिनमा छेच्यु पूजा (फोटोफिचर) हेलम्बु। गुरु रिम्पोछेको जन्मदिनको तिथिमा हेलम्बु क्षेत्रका ह्योल्मो समुदायले ‘छेच्यु पूजा’ गरेको छ। ह्योल्मो समुदायहरुले वर्षेनी सो पूजालाई आफ्नो मुख्य धार्मिक पर्वको रुपमा मनाउने गर्छन्। गत शनिबार हेलम्बु गा.पा.२ सेर्माथाङको साङ्ग फिन्चोक उर्गेन छ्योलिङ गुम्बाको आँगनमा छेच्यु पूजा गरिएको थियो। भूकम्प र पराकम्पनले ध्वस्त बनाएको ६ वर्ष भइसक्दा टहराको छानोमुनी ध्वस्त पाँच शताब्दी पुरानो यो गुम्बाबाट देवीदेवताबीच पदमसंम्भवाको पोशाकको भेषमा लाम गुरु नाच्ने गर्छन्। छेच्युको सुरुमा धार्मिक महत्वका पवित्र पुस्तकहरु (ह्युम)को १६ थान पुस्तकहरू पाँच दिनसम्म पाठ गरिसकेपछि मनाउने चलन छ। वर्षेनी आफ्नो मुख्य धार्मिक पर्वको रुपमा मनाउने छेच्यु पूजा ह्योल्मो समुदायहरुले कोरोना संक्रमणबीच पनि मनाएका छन्। पूजा गर्ने क्रममा भूकम्पले ध्वस्त बनाएको ६ वर्ष भइसक्दा पनि टहराको छानोमुनी ध्वस्त पाँच शताब्दी पुरानो गुम्बाबाट देवीदेवताबीच पदमसंम्भवाको पोशाकको भेषमा लामा गुरु नाच्दै निस्केका थिए। लामा गुरुले शिरमा कलात्मक मयुरप्वाखे पवित्र शिरपोष, हातमा तन्त्रमन्त्र कुदिँएका भयंकर बज्र र घण्टी पहिरिएका थिए। ह्योल्मो धार्मिक पोशाकमा चिटिक्क देखिएका बौद्ध धर्मगुरु रिन्पोछे (पदमसंम्भवा)सँगै रिन्पाछेकै स्वरुप र देवीदेवताको सामुहिक लस्कर निस्किएको थियो। बौद्ध धर्मका एक प्रमुख देव तथा ञिङ्मा सम्प्रदायका प्रवद्र्धक महागुरु रिम्पोछेले हिमाली गुफाहरुमा ध्यान, तपस्या गर्ने गर्छन्। साथै, भविष्यका निम्ति भनेर आफ्नो धार्मिक महत्वका पवित्र निधि(तेर)हरु लुकाएर राखेको ह्योल्मो क्षेत्रमा यस किसिमको धार्मिक कुराले विशेष महत्व राख्दछ। चन्द्रमास पात्रो अनुसार सोनाम ल्होसारको पर्व झंै विभिन्न गाउँहरुमा पञ्चमीदेखि पूर्णिमासम्म मनाउछन्। तर, काठमाडौंमा बसोबास गर्ने ह्योल्मो समुदायहरुले भने त्यसको एक महिना पछि शुक्ल पक्षको दशमीको दिन ह्योल्मो समाज सेवा केन्द्रमा वार्षिक रुपमा मनाउने गर्छन्। गुरु रिम्पोछेको जन्मदिन र धर्मग्रन्थअनुरुप पदमसंम्भवालाई आव्हान गरेर तान्त्रिक नृत्यमार्फत राक्षसमाथि बिजय गरेको छेज्यु पूजामा तान्त्रिक नृत्य देखाइन्छ। सेर्माथाङका ह्योल्मो सांस्कृतिक अनुसन्धानदाता टासी दोङ्बा ह्योल्मोका अनुसार त्यही पौराणिक घटनालाई स्मरण गरेर वार्षिक छेज्यु पर्व ह्योल्मो समुदायले मनाउँदै आएको छ। उनले भने, ‘नृत्यमा देविदेवतालाई बज्रयान तान्त्रिक अभ्यासमार्फत बशमा लिएर बुद्धको वचनमार्फत आर्शिवाद दिइन्छ, स्थानीय देवीदेवता (प्रकृति)को पूजा या ‘साङ’ गरिन्छ, जसबाट नकरात्मक शक्ति मर्ने विश्वास गरिन्छ।’ तीन दिनसम्म धार्मिक पुस्तकहरु वाचन गर्दै मनाइने यस पर्वको प्रमुख दिनको अवसरमा गुरु रिम्पोछेको प्रतिक स्वरुपका साथ अन्य विभिन्न देवी देवताका विभिन्न मुद्राका मुकुण्डोहरु लगाएर धार्मिक पूजा गर्दै नाच्ने गर्दछन्, जसलाई बाछ्याम भनिन्छ। छेच्यु पर्वमा धार्मिक नाचको लागि अध्यात्मिक सिद्धी पाएका लामा मात्रै (न्हाम्सा) पोशाक लगाएर सहभागी हुने गर्छन्। यहाँका सर्वसाधारण यो पूजा साधारण मनोरञ्जनका रुपमा मात्र नभइ पूजामा भाग लिए वापत विशेष आशीर्वाद प्राप्त हुने विश्वास राख्छन्।
नाइजेरियामा बन्दुकधारीले सात जना गाउँलेको हत्या गरे अबुजा । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरी राज्य कडुनाको गाउँमा बन्दुकधारीले आक्रमण गरी सात जना गाउँलेको हत्या गरेका छन् । कडुना राज्यका आन्तरिक सुरक्षा तथा गृह मामिलासम्बन्धी आयुक्त सामुएल अरुवानले कडुनाको कजुरु र इगाबी गाउँमा बन्दुकधारीहरुले आक्रमण गरेर गाउँलेको हत्या गरेको जानकारी दिए । अरुवानले उक्त घटनामा घाइते भएका व्यक्तिको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै स्थानीय सुरक्षा निकायहरुले घटनाको अनुसन्धान गरिरहेको बताए । नाइजेरियाको उत्तरी भूभागमा वर्षौंदेखि हत्या, लुटपाट, अपहरण र अन्य फौजदार अपराधका घटनाहरु भइरहेका छन् । सरकारले उत्तरी नाइजेरियाका गाउँमा हुने यी घटना रोक्न ठूलो संख्यामा सैनिक परिचालन गरेपनि आपराधिक घटनाहरु निरन्तर झैं भइरहेका छन् ।
सिरहामा २२ वर्षीय युवकको शङ्कास्पद मृत्यु लाहान । सिरहा नगरपालिका–१८ इटारीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ । आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारजनले बताएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका अजितलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति बाटोमै मृत्यु भएको मृतकका भाइ नवीनकुमार यादवले जानकारी दिनुभयो । आपसी विवादमा मुनेश्वरलगायतका व्यक्तिले निर्घात कुटपिट गरेकोे र त्यही कारणले मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको मृतकका भाइ नवीनले बताए । यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले कुटपिटका कारण मृत्यु भएको जाहेरी दर्ता गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतकको शव परीक्षणको लागि सिरहा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
कीर्तिपुरमा गाडीले ३ वटा मोटरसाइकललाई ठक्कर दियो काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एउटा गाडीले ३ वटा मोटरसाइकलाई ठक्कर दिएको छ । कीर्तिपुरस्थित नयाँबजारमा दुर्घटना भएको महानगरिय प्रहरी वृत कीर्तिपुरका डिएसपीले जानकारी दिएका छन्। गाडी ३ वटा मोटरसाइकलाई हानेर अनियन्त्रित भइ पल्टिएको स्थानीय वासिन्दाले जनाएका छन् । यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
हुम्लामा ब्रोइलरकाे मासु रोक हुम्ला । सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर मासुमा रोक लगाइएको छ । सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सुर्खेतबाट हवाइमार्ग हुँदै आयात हुने ब्रोइलरको मासु यही फागुन २० गतेसम्मका लागि रोक लगाइएको जानकारी दिए। सिमिकोट गाउँपालिकाको बैठकले नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै ब्रोइलरको मासुमा रोक लगाइएको यहाँस्थित पशु सेवा शाखाले जनाएको छ । बैठकले पशुपंक्षीसमेत बजार अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, उद्योग वाणिज्य सङ्घ वरिष्ठ उपाध्यक्ष छक्कबहादुर रोकायालगायत सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । कर्णाली प्रदेश राजधानी सुर्खेतमा बर्डफ्लु देखापरेपछि हुम्लामा पनि सर्वसाधरणलाई ब्रोइलरको मासु नखान र व्यापारीलाई बेचबिखन नगर्न भनिएको छ ।
सुनकाे मूल्य घट्याे काठमाडाैं। साताको चौथो दिन बुधबार (आज) सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ। मंगलबार एकै दिन एक हजार १ सय रुपैयाँले उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो। बुधबार ३ सय घटेको सुनको मूल्य ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाला सुन मङ्गलबार तोलामा ९० हजार १ सय रुपैयाँमा कारोवार भएको थियो। यस्तै तेजाबी सुन तोलामा ८९ हजार ३ सय ५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। यस्तै बुधबार तोलामा १५ रुपैयाँले घटेको चादीँको मूल्य एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
पर्यटकीयस्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण म्याग्दी । जिल्लाकाे मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने पदमार्ग निर्माण गरेको हो। कार्यालयका संरक्षण अधिकृत शम्भुकुमार मिश्रले एक हजार २७२ मिटर पदमार्ग निर्माण भएको जानकारी दिए। “उकालोमा १.५ मिटर चौडाइमा ढुङ्गा चिनेर र तेर्सोमा ढुङ्गा बिछ्याइएको छ”, उनले भने, “उपभोक्ता समितिले रु ३९ लाख २० हजार भुक्तानी लगेका छन् ।” देउराली भन्ने ठाउँभन्दा केही माथिबाट मालिका धुरीसम्मै पदमार्ग बनाइएको हो। यसैगरी, मालिका धुरी परिसरमा ५१० मिटर सुक्खा पर्खाल निर्माण भएको छ । पदमार्गमा प्रयोग गर्ने ढुङ्गा ओसार्न थप ३०० मिटर माटो काटेर पदमार्ग बनाइएको छ। डेढ सय स्थानीय युवाले एक महिनासम्म जङ्गलमा बास बसेर पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष देवबहादुर पुनले बताए। “नजिकै बस्ती नभएकाले जङ्गलमै बास बसेर पदमार्ग बनायौँ”, उनले भने, “मजदुरलाई शिविर बनाएर राख्नुपर्दा व्यवस्थापनमा पनि खर्च भयो ।” यसअघि उकालो, भिरालो र साँघुरो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने समस्या थियो। पदमार्ग निर्माण भएपछि सुरक्षित र सहजरूपमा यात्रा गर्न सकिने भएको बिमका पलवीर जुग्जालीले बताए। “साँघुरो बाटोमा चिप्लिएर लड्ने जोखिम थियो”, उनले भने, “अब भने ढुक्क भएर हिँड्न सकिन्छ ।” सडक र पदमार्ग बनेपछि मालिकाको यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाले बिम हुँदै मालिका धुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको छ । रु ८३ लाखको लागतमा बाइन्दफाँटदेखि धौलागङ्गा र नागीथलाको बीचसम्म सडक पुर्याइएको बिमका वडाध्यक्ष रेशम जुग्जालीले जानकारी दिए। “बिमबाट अहिले साढे दुईदेखि तीन घण्टामै मालिका पुग्न सकिन्छ”, उनले भने, “पहिलेको तुलनामा आधाभन्दा धेरै यात्रा अवधि घटेको छ ।” मालिका गाउँपालिकाको वडा नं ७ र ६ तथा रघुगङ्गा गाउँपालिकाको वडा नं ६ को सिमानामा अवस्थित मालिका धुरी समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ। रघुगङ्गा गाउँपालिकाले रु १० लाखको लागतमा ठाडाखानीदेखि पहिरेनीसम्म करिब पाँच किलोमिटर सडक र रु चार लाख २० हजारमा बथानडाँडादेखि सरघारीसम्मको उकालो बाटोमा तीन किलोमिटर पैदलमार्ग निर्माण गरेको छ। बीस भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पक्षीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ । दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए। “सन्तान, रोजगारी, शिक्षा, व्यापार, व्यवसायदेखि राजनीतिमा सफलताको कामना पूरा भएकाको जेष्ठी, चण्डी पूर्णिमा र भाइतिहारका दिन बलि चढाउन आउनेको भीड लाग्छ”, उनले भने, “म्याग्दी र छिमेकी जिल्लाका साथै काठमाडौँ, पोखरालगायत ठाउँबाट भक्तजन आउँछन् ।” मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ। लालीगुराँसको जङ्गलको बीचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ। सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत एकै दिन र पैदलयात्रा गर्दा दुई दिनमा पुगिने मालिका क्षेत्रको जङ्गलमा पाइने वन्यजन्तु, पक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हो । गत वर्ष विनियोजन भएको रु १५ लाख बजेटबाट सत्तल र मालिका थान परिसरमा पर्खाल बनाएर रेलिङ निर्माण भएको छ । थप पूर्वाधार बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने काम अन्तिम चरणमा पुगेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। उनका अनुसार खानेपानी व्यवस्थापन र हेलिप्याड निर्माण गर्ने तयारी भएको छ।रासस
तोलामा रु ८०० ले बढ्यो सुनको मूल्य काठमाडाैं। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज रु ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा रु ८७ हजार ७५० मा कारोवार भएकामा आज रु ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ। चाँदी तोलामा रु एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। तोलामा रु एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा रु २५ ले वृद्धि भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति साढे १२ बजेसम्म मात्रै खुल्ने काठमाडौं। मार्च २८ (चैत १५) देखि नेपालको एकमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टामात्र खुल्ने भएको छ। विमानस्थल सञ्चालन घटाएर १८ घण्टा सञ्चालन गर्न लागिएको विमानस्थल कार्यलयका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिए। हाल विमानस्थल प्रत्येक दिन २१ घण्टा सञ्चालन भइरहेकोे छ। राति साढे ३ बजेसम्म सञ्चालन भइरहेको विमानस्थल चैत १५ पछि भने बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्ममात्र खुला हुने छ। महाप्रबन्धक तिवारीका अनुसार कोरोना भाइरस संक्रमण त्रासका कारण मान्छेको आवतजावत सामान्य अवस्थाको भन्दा कम छ। उडान संख्या धेरै नभएको र अनावश्यक खर्चमात्रै बढ्ने देखिए पछि विमानस्थल सञ्चालनको समय कम गर्न लागिएकाे हो। हाल रातिको उक्त तीन घण्टाको अवधिमा करिव ३ ४ वटा विमान मात्रै आवतजावत गर्ने गर्छन्। त्यसलाई पनि दिनको खाली समयमा नै व्यवस्थापन गर्न लागिएको छ।
ग्रीनलाइफको आइपीयोमा १० लाखको हात रित्तो, दुई जना भए डबल लक्की काठमाडौं। ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलले आवेदन दिएका कुल लगानीकर्तामध्ये ३ लाख २५ हजार १ सय ६५ जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको जनाएको छ। कम्पनीको आइपीयो १० कित्ताका दरले बाँडफाँटपश्चात बाँकी रहेको २ कित्ता सेयर बाँकी प्रतिव्यक्ति १ कित्ताका दरले दुई लगानीकर्तामा डबल गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ। ३ लाख २५ हजार १ सय ६३ जना आवेदकले १० कित्ता पाएका छन्, भने २ जनाले ११ कित्ता पाएका छन्।हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९ सय ७१ जना आवेदकले आवेदन दिएका थिए। मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण गरिएको हो।
खुलामञ्चमा राखिएका सामग्री हटाइँदै काठमाडाैं। काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ। गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि सामग्री राखिएको थियो। अहिले स्कुल निर्माण सम्पन्न भइसकेको छ भने अस्पताल पनि निर्माणको अन्तिम चरणमा रहेकाले कामपाले खुलामञ्चमा राखिएका सामग्री हटाउन लागेको हो। पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल सभा, विरोध प्रदर्शन, र्याली, आमसभालगायतले महानगर क्षेत्रभित्रका सडक अस्तव्यस्त बनेकाले छिटो खाली गर्न लागिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणका लागि खुलामञ्चभित्र अस्थायीरूपमा सरेको पुरानो बसपार्कलाई छिट्टै पुरानै लयमा फर्काउने महानगरको योजना छ। अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुञ्जेल खुलामञ्चमा ठूला आमसभा हुने दिन सवारीलाई टुँडिखेल घुमाएर बसपार्कसमेत खुला गर्नेसम्मको तयारी गरिएको छ। अहिले वीर अस्पताल निर्माणको ९० प्रतिशतभन्दा बढी काम सकिएको छ। अब जतिसक्दो छिटो खुलामञ्च खुला गर्न थालिनेछ। बाँकी निर्माण कार्यका लागि निर्माणस्थलमा सामग्री राखेरै काम गर्न सकिनेछ। केही समयदेखि सम्पदा बचाउ अभियानकर्ताले खुलामञ्चलाई तत्काल खुला गर्नुपर्ने माग राख्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई ध्यानाकर्षण गराउँदै आएका थिए। त्यस सम्बन्धमा प्रमुख शाक्यले पुनःनिर्माणको कार्यले गर्दा केही समस्या भएको भन्दै निर्माण सम्पन्न भएसँगै पूर्णरूपमा खुलामञ्च खाली गर्ने बताउँदै आएका थिए। रासस
खुलामञ्चमा राखिएका सामग्री हटाइँदै काठमाडाैं । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ। गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि सामग्री राखिएको थियो। अहिले स्कुल निर्माण सम्पन्न भइसकेको छ भने अस्पताल पनि निर्माणको अन्तिम चरणमा रहेकाले कामपाले खुलामञ्चमा राखिएका सामग्री हटाउन लागेको हो। पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल सभा, विरोध प्रदर्शन, र्याली, आमसभालगायतले महानगर क्षेत्रभित्रका सडक अस्तव्यस्त बनेकाले छिटो खाली गर्न लागिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणका लागि खुलामञ्चभित्र अस्थायीरूपमा सरेको पुरानो बसपार्कलाई छिट्टै पुरानै लयमा फर्काउने महानगरको योजना छ। अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुञ्जेल खुलामञ्चमा ठूला आमसभा हुने दिन सवारीलाई टुँडिखेल घुमाएर बसपार्कसमेत खुला गर्नेसम्मको तयारी गरिएको छ । अहिले वीर अस्पताल निर्माणको ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । अब जतिसक्दो छिटो खुलामञ्च खुला गर्न थालिनेछ । बाँकी निर्माण कार्यका लागि निर्माणस्थलमा सामग्री राखेरै काम गर्न सकिनेछ। केही समयदेखि सम्पदा बचाउ अभियानकर्ताले खुलामञ्चलाई तत्काल खुला गर्नुपर्ने माग राख्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई ध्यानाकर्षण गराउँदै आएका थिए। त्यस सम्बन्धमा प्रमुख शाक्यले पुनःनिर्माणको कार्यले गर्दा केही समस्या भएको भन्दै निर्माण सम्पन्न भएसँगै पूर्णरूपमा खुलामञ्च खाली गर्ने बताउँदै आएका थिए। रासस
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला ! बाग्लुङ। गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ। ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन्। लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु।” त्यसपछि अर्को ह्वाट्सएप नम्बरमार्फत उनीहरुबीच कुराकानी हुन्छ। सो क्रममा ती व्यक्तिले बुढामगरलाई ल्यापटपको प्याकेज र रु ६० हजार डलरको चिठ्ठा परेको सुनाउँछन्। उक्त सामान र नगद पाउन करबापत अग्रिम रकम बुझाउनुपर्ने शर्त राख्छन्। अब भने चिठ्ठा र मूल्यवान सामानको प्रलोभनमा पारेकी २० वर्षीया बुढामगरको ठगिने शृङ्खला शुरु हुन्छ। आइएमई र आइपिएस कनेक्टमार्फत उनले रकम पठाउन थाल्छिन्। पहिलोपटक असोज १४ गते सन्तोष श्रेष्ठका नाममा बुढामगरले रु ५६ हजार पठाउँछिन्। असोज १६ गते पुरुषोत्तम वाग्लेका नाममा रु एक लाख ५० हजार, १९ गते वाग्लेकै नाममा रु दुई लाख र २२ गते प्रदीप सिटौलाको एनआइसी एसिया बैङ्कको खातामा रु तीन लाख ५५ हजार जम्मा गर्छिन्। पटकपटक गरी बुढामगरले रु सात लाख ६१ हजार बुझाउँछिन् तर चिठ्ठाको रकम र ल्यापटप भने हात पर्दैन। प्रलोभन देखाएर ठग्नेहरु भने अझै रकम बुझाउन बुढामगरलाई अनुरोध गरिरहन्छन्। भनेजति पैसा पठाउँदा र लामो समय बित्दासमेत चिठ्ठा र सामान नपाएपछि आफू ठगिएको महसुस बुढामगरलाई हुन्छ। उनले कात्तिक ३ गते प्रहरीमा जाहेरी दिन्छिन्। प्रहरीले अनुसन्धान थाल्छ। उक्त ठगी धन्दामा संलग्न रहेको आरोपमा छ जना प्रतिवादीलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गर्छ। यसरी फेसबुक र ह्वाट्सएपमार्फत अनेक प्रलोभन देखाएर रकम ठगी गर्ने व्यक्तिहरु प्रहरीको फन्दामा पर्छन्। पीडित बुढामगरमा न्यायको आश जाग्छ। जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार उक्त सङ्गठित ठगीको घटनाका आरोपितलाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा तनहुँको देवघाट नगरपालिका–५ का ३७ वर्षीय पुरुषोत्तम वाग्ले, नवलपरासीको गैँडाकोट नगरपालिका–१६ बस्ने वर्ष ४२ को दिनेश पोखरेल, झापाको मेचीनगरका २४ वर्षीय प्रदीप सिटौला र रुकुमपूर्वको भूमे गाउँपालिका–३ का २२ वर्षीय सन्तोष श्रेष्ठ छन्। यस्तै झापाको गौरदह नगरपालिका–५ का २९ वर्षीया मिलन क्षत्री र वाग्लेसँगको बयानका क्रममा पाकिस्तानी नागरिकले प्रयोग गर्ने सम्पर्क नम्बर खुलेपछि अनुसन्धानका क्रममा हाल काठमाडौँ महानगरपालिका–१६ वसन्तुपर गुम्बामा बस्ने पाकिस्तानी नागरिक फक्राउ परेका छन्। सम्बन्धित जिल्लामा रहेका प्रहरी कार्यालय/एकाइसँगको समन्वयमा खोजतलास गरी प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। विदेशी नागरिकसमेतको संलग्नतामा तीनभन्दा बढी व्यक्ति मिलेर ठगी गरेकाले सङ्गठित अपराधको मुद्दा चलाई अनुसन्धान थालिएको जिप्रकाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए। पक्राउ परेकासँग लिइएको बयानका क्रममा उक्त सङ्गठित ठगीको घटनामा थप चार जना संलग्न रहेको पाइएको र उनीहरुको खोजतलास भइरहेको उनको भनाइ छ। “फरारमध्ये दुई जना मलेशिया र दुई जना भारतमा रहेको बुझिएको छ, हामी थप अनुसन्धान गर्दैछौँ”, प्रउ श्रेष्ठले भने। सङ्गठित ठगीको कसुर प्रमाणित भएमा न्यूनतम पाँच वर्षसम्म कैद हुनसक्ने उनको भनाइ छ। पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमार्फत हुने ठगीका घटना बढेको भन्दै प्रउ श्रेष्ठले आम नागरिक सचेत हुन जरुरी रहेको बताए। उनले त्यस्ता कुनै शङ्कास्पद घटना भएमा तुरुन्त प्रहरीकहाँ आउन सुझाव दिए। रासस
इरानले आणविक कूटनीतिको ‘अवसरलाई हल्कारूपमा’ लियो : युरोपेली शक्ति राष्ट्रहरू पेरिस । सन् २०१५ मा विश्व शक्ति राष्ट्रहरू र इरानबीच भएको आणविक सम्झौतालाई मानेर विश्व समुदायबीच सहकार्य गर्ने आफ्नो कुटनीतिक ‘अवसरलाई हल्कारूपमा लिनु’ इरानको भूल भएको युरोपेली शक्तिहरूले शुक्रबार बताएका छन् । इरानले सम्झौताको अन्तिम उल्लङ्घन गर्दै सम्झौता विपरीत युरेनियम धातु उत्पादन गर्न सुरु गरेपछि उनीहरूको यो भनाइ आएको हो । “सम्झौताको अवज्ञा गर्ने क्रममा इरानले सन् २०१५ को आणविक सम्झौताका लागि गरिएको संयुक्त वृहत् कार्ययोजना (जेसीपीओए) का उद्देश्यहरू पूर्ण रूपमा कार्यान्वयन नगरेर कूटनीतिक सम्बन्ध स्थापना गर्ने नयाँ अवसरलाई कम आँकलन गरिरहेको छ,” बेलायत, फ्रान्स र जर्मनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले तेहरानको आणविक कार्यक्रमसम्बन्धी सन् २०१५ मा भएको सम्झौतालाई नयाँ वार्ता र छलफलबाट पुनः जीवन दिने आशा विश्व समुदायले गरिरहेका समय तेहरानले यसका लागि कुटनीतिक पहल अघि बढाउनुको सट्टा एकपछि अर्को गर्दै सम्झौताका शर्तहरूलाई उल्लङ्घन गरेको यी यूरोपेली मुलुकहरूले ठहर गरेका छन् । सन् २०१५ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा विश्वका प्रमुख शक्ति राष्ट्रहरू अमेरिका, चीन, रूस, बेलायत, फ्रान्स, जर्मनीले इरानसँग आणविक हतियार नियन्त्रणका लागि सम्झौता गरेका थिए । सन् २०१८ को जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता आफ्नो मुलुकको हितमा नभएको दावी गर्दै यसबाट फिर्ता भएको घोषणा गरेका थिए । उनले सम्झौताबाट फिर्ता हुँदै इरानमाथि पहिलेभन्दा आर्थिक नाकावन्दीलाई कडा पारेका थिए । अमेरिकी उक्त कदमपछि इरानले अमेरिका सम्झौताबाट फिर्ता भएको अवस्थामा यो सम्झौतालाई आफूले मात्रै मान्न नसक्ने भन्दै क्रमशः सम्झौताका शर्तहरूलाई उल्लङ्घन गर्दै आएको छ ।
वैज्ञानिक वन कार्यविधि खारेजीको निर्णय फिर्ता लिन माग काठमाडौं। नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले विसं २०७१ देखि लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ । नेफेजले सरकारको उक्त निर्णयअघि नै कार्यविधि वा पद्धति आफैमा खराब नहुने र कार्यान्वयनमा देखिने जटिलतालाई त्यहीँ भित्रबाट समाधान गर्नुको सट्टा खारेज गर्नु नहुने जनाएको छ । “वायु प्रदूषण नियन्त्रणका लागि विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने नीति र योजना बनाएर राजनीतिक प्रतिबद्धता जनाउने, यस्ता साधनमा लाग्ने भन्सार र अन्तःशुल्क बढाउने, वनजन्य उद्योग प्रर्वद्धन गरेर रोजगार सिर्जना गर्ने नीति लिने तर वनको वैज्ञानिक व्यवस्थापनविरुद्धको निर्णय गर्ने जस्ता सरकारी निर्णयले वातावरण र प्राकृतिक सम्पदा संरक्षण तथा दिगो उपयोगमा सरकार अनुदार भइरहेको पुष्टि हुन्छ”, नेफेजद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । मुलुकमा वन स्रोतको दिगो उपयोग शुन्य प्रायः रहेको र वर्षौंदेखि हरियो वन नेपालको धनलाई आम नागरिकको जीविकोपार्जन सुधारमा प्रयोग गर्न नसकेको नेफेजको भनाइ छ । अझ वनजन्य उद्योगमार्फत रोजगार सिर्जना गर्ने नारा पनि लगाउने तर ८० वर्ष नाघेका बुढा रुखप्रतिको माया त्याग्न नसकिएको विज्ञप्तिमा उल्लेख छ । मुलुकले वर्षांैदेखि अर्बौं रुपैयाँ बराबरका कम गुणस्तरका काठ आयात गरिरहेको अवस्थामा स्वदेशकै वनमा खेर गइरहेका बुढा रुखको सक्दो सदुपयोग हुनपर्ने र ती रुख काटेपछि अनिवार्यरुपमा नयाँ बिरुवा रोप्नुपर्ने प्रावधानलाई स्थायित्व दिनुपर्ने र वृक्षरोपण मात्र होइन, ती रुख हुर्किए÷नहुर्किएको प्रत्याभूतिका लागि अर्को वैज्ञानिक पद्धति तयार गरेर लागू गर्नुपर्ने नेफेजको आग्रह छ ।
लक्ष्मी र श्री स्टिलले घटाए आफूखुशी बढाएको डण्डीको मूल्य काठमाडौं । व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो रु चार/चार मूल्य घटाएका हुन् । लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मूल्य रु ७७ कायम गरेका छन् । यसअघि उक्त दुई उद्योगले रु ८१ (भ्याट बाहेक) लिँदै आएका थिए । फलामे डण्डीको मूल्य बढाएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विभागले डण्डी व्यवसायीसँग प्रारम्भिक रुपमा छलफल गरेको थियो । उक्त छलफलपछि दुई उद्योगले मूल्य घटाएको जानकारी आएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए । “हामीसँग दुई उद्योगको मात्र मूल्य घटाएको जानकारी आएको छ, अन्य उद्योगली घटाउँछौँ भन्नुभएको छ तर घटायौँ भनेर नयाँ मूल्य आएको छैन”, उनले भने । हाल बजारमा कम्पनी अनुसार फलामे डण्डीको बजार मूल्य फरक/फरक रहेको छ । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको निर्माण कार्य शुरु हुनै लाग्दा व्यवसायीले आफूखुशी फलामे डण्डी र सिमेन्टको मूल्य बढाएको भन्दै विभागमा गुनासो आउने गरेको थियो । विभागमा आएको गुनासोका आधारमा विभागले केही ठूला उद्योगमा अनुगनमसमेत गरेको थियो । अनुगमनका क्रममा व्यवसायीले अन्तर्राष्ट्रिय रुपमा नै निर्माण सामग्रीको मूल्य बढेको बताएका थिए । हाल अन्तर्राष्ट्रिय रुपमा नै बाहिरबाट मूल्य बढेर आउँदा बजारमा डण्डीको मूल्य बढेको तर केही दिनयता मू्ल्य केही घट्दा सामान्य घटाएको व्यवसायीले बताएका छन् । पछिल्लो समय विभागले उपभोक्ताले मूल्य बढेको भन्दै धेरै गुनासो गरेका डण्डी, सिमेन्ट, खाने तेल तथा औषधिजन्य क्षेत्रमा अनुगमन गर्दै आएको छ । यसअघि विभागले खाने तेलको मूल्य बढाएको भन्दै बारामा सञ्चालित दुई उद्योगलाई कारवाही गरेको थियो । बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि अन्नपूर्ण भेजिटेबल प्राली र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप रु तीन/तीन लाख जरिवाना गरिएको थियो ।
राष्ट्रिय योजना आयोगले अघि सार्याे दीर्घकालीन सोच काठमाडौं। राष्ट्रिय योजना आयोगले आउँदो दुई वर्षभित्र विकासोन्मुख र आगामी २३ वर्षमा उच्चआय भएको मुलुक बन्ने लक्ष्यसहितको अवधारणा पारित गरेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको बैठकले २०७९ मा अतिकम विकसित राष्ट्र (एसडीसी) बाट विकासोन्मुख राष्ट्र (डीसी) मा स्तरोन्नति हुने लक्ष्य रोखेको छ। सरकारले आर्थिक वर्ष २०७९ भित्र प्रतिव्यक्ति आय १ हजार ४ सय अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ। हाल नेपालीको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलरमात्र छ। एसडीसीबाट डीसीमा स्तरोन्नति हुनका लागि तीन सूचकांकमध्ये नेपाल दुई सूचकांकमा योग्य भइसकेको छ। स्तरोन्नतिका लागि मानव सम्पत्ति ६६ अंक भए पुग्नेमा हाल ७२ पुगेको छ, भने आर्थिक जोखिम सूचकांक ३२ भन्दा कम हुनुपर्नेमा अहिले २४ छ। यसरी प्राविधिकरूपमा नेपाल स्तरोन्नतिका लागी योग्य भइसके पनि प्रतिव्यक्ति आयमा भने पछाडि छ। पहिलो पन्ध्रौं योजनाको अवधिमा समृद्धि र सुखको आधार निर्माण, दोस्रो सोह्रौं र सत्रौं योजना अवधिमा समृद्धि र सुखको तीव्रता र यही अवधिमा दीगो विकास लक्ष्यको प्राप्ति तथा तेस्रो अठारौं र उन्नाइसौं योजना अवधिमा समृद्धि र सुखको दिगोपना हासिल गर्ने अवधारणापत्रमा उल्लेख छ। आयोगले आठवटा दीर्घकालीन राष्ट्रिय रणनीति, नौवटा रूपान्तरणका संवाहक र आठवटा सहयोगी क्षेत्रको पहिचान गरेको हो। राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकहरूलाई दीर्घकालीन सोचले खण्डीकृत रूपमा उल्लेख गरेको छ। आयोगले सो अवधिमा आर्थिक वृद्धि दर १०.५ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ। आयोगले दीर्घकालीन सोचमा गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष) शून्य र बहुआयामिक गरिबीका रेखामुनि रहेको जनसंख्या तीन प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। सम्पतिमा आधारित गिनी गुणक ०.२५ प्रतिशत श्रम सहभागितामा दर (१५ वर्ष माथि) ७२ प्रतिशत, रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ७० प्रतिशत पु¥याउने महत्वाकांक्षी योजना समावेश गरेको छ। आयोगले जलविद्युत् तथा नवीकरणीय ऊर्जा उत्पादन (जडित क्षमता) ४० हजार मेगावाट, विद्युत्मा पहुँच परिवार शतप्रतिशत, ३० मिनेटको दुरीमा यातायात पहुँच भएको परिवार ९९ प्रतिशत, राष्ट्रिय र प्रादेशिक लोकमार्ग ३६ हजार किलोमिटर, इन्टरनेट प्रयोगकर्ता जनसंख्यामा शतप्रतिशत पु¥याउने लक्ष्य राखेको छ। नेपाली जनताको अपेक्षित आयु ८० वर्ष, मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) २० जना, पाँच वर्षमुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) आठजना, साक्षरता दर (१५ वर्षमाथि) ९९ प्रतिशत, उच्चमध्यम स्तरको खानेपानी सुविधा पुगेको जनसंख्या ९५ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ। त्यसैगरी, आयोगले आधारभूत सामाजिक सुरक्षामा आवद्ध जनसंख्या शतप्रतिशत, लैंगिक विकास सूचकांक १ मा पु¥याउने, मानव विकास सूचकांक ०.७६० पु¥याउने प्रमुख लक्ष्य दीर्घकालीन सोचको अवधारणाले समेटेको आयोगका उपाध्यक्ष कँडेलले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको यात्राले गति प्रारम्भ गरिसकेको भन्दै दीर्घकालीन सोचले निर्धारण गरेका राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकहरू हासिल गर्न सबै पक्षले इमानका साथ काम गर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले नेपाली जनताको समृद्धि र सुखको आकांक्षालाई सम्बोधन गर्ने गरी योजना तर्जुमा गर्न निर्देशन दिएका छन्।
निःशुल्क शिक्षालाई कार्यान्वयन जोड काठमाडौं। राष्ट्रियसभाका सांसदले संविधानमा व्यवस्था गरिएको दलित समुदायको शिक्षासम्बन्धी व्यवस्थालाई व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । कानूनी सहायता तथा अनुसन्धान केन्द्र र ग्रासहुड डेभलभमेन्ट फाउण्डेशनद्वारा आइतबार काठमाडौंमा आयोजित ‘शिक्षामा दलित समुदायको पहुँच र संवैधानिक कानून कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रियामा सांसदले दलित समुदायको निम्ति निःशुल्क शिक्षा भनिए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको गुनासो गरे। सांसद रामलखन हरिजनले ‘संविधानको धारा ४० को उपधारा २ मा दलित समुदायको प्राथमिकदेखि उच्च शिक्षाको व्यवस्था गरिए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन’ भने। उनले भने, “सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई छात्रवृत्ति दिने भनिएको छ तर कतिपय दलित समुदायका बालबालिका बाध्यताले निजी विद्यालयमा भर्ना भएका छन् । उनीहरुले पनि छात्रवृत्ति पाउनुपर्छ, त्यो व्यवस्था हुनुपर्छ ।” सांसद ठगेन्द्रप्रकाश पुरी र प्रमिला कुमारीले दलित समुदायका बालबालिकालाई शिक्षामा निःशुल्क हुने व्यवस्थालाई सरकारले व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने जोड दिए ।
शहरका सिमसार मासिँदै, गाउँका ‘धनसार’ बन्दै सुरुङ्गा । अधिकांश शहरी क्षेत्रका सिमसार मासिँदै गएका छन् । बढ्दो शहरीकरणसँगै सिमसार क्षेत्रको संरक्षण गर्नुको सट्टा अतिक्रमण हुँदा सिमसार क्षेत्र मासिँदै गएका हुन् । भएका सिमसार क्षेत्रको पनि उचित संरक्षण छैन । बरु बचेका सिमसार क्षेत्रमा फोहर फाल्ने गरिन्छ । यसले गर्दा सिमसार क्षेत्र लगभग मासिने अवस्थामा छन् । सिमसार पानी र जमीन मिश्रित दलदल भएको र बाह्रैमास पानी नसुक्ने भूमि हो । यस्तो ठाउँमा दलदल अथवा हिलो सधैँ कायम रहन्छ । अव्यवस्थित शहरीकरण र बस्ती विकासको चपेटामा शहरी क्षेत्रका यस्ता क्षेत्र मासिँदै गएका छन् । व्यक्तिका लागि मात्रै नभएर जीवजन्तु, चराचुरुङ्गी, किरा फट्याङ्गा र वनस्पतिसहितको जैविक विविधताका लागि सिमसार क्षेत्र अति महत्वपूर्ण भए पनि संरक्षण नहुँदा यहाँमा त्यस्ता क्षेत्र मासिनेक्रम बढ्दै गएको छ । विर्तामोड नगरपालिकाभित्र रहेका केही त्यस्ता सिमसार क्षेत्र त नामेट नै भएको सरोकारवालाले जनाउँदै आएका छन् । सिमसार क्षेत्रमा समेत प्लटिङ गरेर कङ्क्रिट महल बनाएकाले जोखिम बढेको बताइन्छ । बिर्तामोडसहित शहरउन्मुख जिल्लाका अन्य बजार आसपासमा रहेका सिमसार क्षेत्रको अवस्था पनि उही छ । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका केही त्यस्ता सिमसार क्षेत्र छन् जो पछिल्लो समय ‘धनसार’मा परिणत भएका छन् । सिमसार क्षेत्रको उचित संरक्षण गरेकै कारण कनकाई नगरपालिका वडा नं २ र ३ मा पर्ने जामुनखाडी सिमसार क्षेत्र ‘धनसार’मा परिणत भएको पाउन सकिन्छ भने अर्जुनधारा नगरपालिकामा पर्ने सुखानी शहीद स्मृति पार्क पनि ‘धनसार’को अर्को रुप हो । जामुनखाडी सिमसार क्षेत्रलाई विसं २०५२ बाट पर्यटकीय क्षेत्र बनाउने अवधारणा अघि सारिएपछि स्थानीयवासीको सक्रियतामा २०५८ बाट ताल उत्खनन् गर्ने काम शुरु भयो । यसयता त्यस ठाउँको विकास र विस्तार हुँदा सो क्षेत्र ‘धनसार’मा परिणत भएको हो । हरेक वर्ष जामुनखाडी सिमसार क्षेत्रमा दुई लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यसका कारण यस सिमसार क्षेत्रले वर्षेनी रु दुई करोडभन्दा बढी आम्दानी गरिरहेको छ । दुर्लभ रहेका वन्यजन्तुलाई समेत संरक्षण गरेर राखेका कारण त्यस क्षेत्रमा आउने पर्यटकको अघिल्ला वर्षसम्म घुइँचो नै लाग्यो । यस वर्षको शुरुआतपूर्व नै कोभिड– १९ को बढ्दो सङ्क्रमणका कारण पर्यटकीय क्षेत्र पूर्णरुपमा बन्द भयो । तर कोभिडको जोखिम कम हुँदै गएपछि पुनःसञ्चालनमा आएको सो क्षेत्र अहिले पनि पर्यटकका लागि पहिलो रोजाइ बन्ने गरेको छ । अहिले पनि दिनहुँ सयौँको सङ्ख्यामा यस क्षेत्रमा पर्यटक आउने गरेका छन् । अझ यस समय वनभोजको समय भएकाले जिल्लावासीको पहिलो रोजाइमा पर्ने गरेको छ जामुनखाडी सिमसार क्षेत्र । जामुनबारी सामुदायिक वनको हाताभित्र रहेको सो सिमसार क्षेत्रमा चार दशमलव ५० हेक्टर जमीनमा ताल फैलिएको छ । जसका कारण नेपालका मात्र नभएर भारतबाट समेत यहाँको मनोरम दृष्य हेर्न पर्यटक जामुनखाडी सिमसार क्षेत्रमा आउने गरेका छन् । पूर्वका सिमसारमध्ये जामुनखाडी सिमसार क्षेत्र प्रदेश नं १ कै नमूना सिमसारका रुपमा परिचित भएसँगै वन समितिलाई दीर्घकालीन आम्दानीको स्रोतसमेत भएको जामुनखाडी सिमसार क्षेत्रका अध्यक्ष ख्याम सिटौला बताउँछन् । उनी भन्छन् “ सिमसार क्षेत्रमा रहेको तालमा डुङ्गा चढ्न र संरक्षित वन्यजन्तु हेर्न आउनेबाट उठाउने शुल्कको आम्दानीले सिमसार क्षेत्र आफैँमा समृद्ध बन्दै गएको छ । सिमसार क्षेत्रको संरक्षण गरेबापत जामुनखाडी सामुदायिक वनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले यसअघि पुरस्कृतसमेत गरेको छ । जैविक विविधताको उत्कृष्ट नमूनाका रुपमा रहेको यस सिमसार क्षेत्रमात्र नभई जिल्लाकै अन्य संरक्षित सिमसार क्षेत्रले पनि मनग्य आम्दानी गरिरहेका छन् । ” प्रकृतिक स्रोत र सम्पदाको संरक्षण स्थानीयले नै गर्न सक्छन् जनाउँदै २०५२ साल असोज २६ गते तत्कालीन जिल्ला वन कार्यालय झापामा जामुनखाडी सामुदायिक समिति दर्ता भएको थियो । सोही समितिले जामुनखाडीलाई व्यवस्थित सिमसार क्षेत्रका रुपमा विकास गरेर लाने अवधारणा अघि सारेको थियो । सामुदायिक वन समितिको सक्रियतामा यस ठाउँलाई सिमसार क्षेत्र घोषणा गर्दै काम अघि बढाएपछि अहिले जिल्लाको मात्रै नभई प्रदेश नं १ कै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै गएको छ यो ठाउँ । यहाँ पारिवारिक घुमघामदेखि वनभोज र शैक्षिक भ्रमणसम्मका लागि आउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । बृहत् क्षेत्रफलमा फैलिएको पोखरीमा डुङ्गा शयर गर्ने यहाँ आउने जो कोही आतुर रहन्छन् । केही समय भए पनि आफूमा भएको थकान मेट्न पानीमा त्यर्नेको सङ्ख्या उल्लेख्य पाउन सकिन्छ । जामुनखाडी सिमसार क्षेत्रभित्रै पछिल्लो समय मिनी भ्यूटावर निर्माण गरिएको छ । यसबाट जामुनखाडीको सबै भूभागको अवलोकन गर्दै मज्जा लिने गरिन्छ । जामुनबारी सामुदायिक वन क्षेत्रमा सामान्य खाडी थियो समितिका पूर्वअध्यक्ष केदारप्रसाद गिरीले भन्छन्, “राँगा आहाल बस्ने ठाउँलाई व्यवस्थित गर्दै अहिलेको यो अवस्थामा ल्याइपुर्याएको हो । दलदल परेको जमीन, फाट्टफुट्ट बिरुवा र करैटे झार भएको यो ठाउँलाई व्यवस्थित गर्दै लगेकै कारण यस ठाउँको मुहार फेरिएको हो ।” लोप भइसकेको पोखरीलाई उत्खनन् गर्दै नयाँ संरचनामा ढालेर जामुनखाडी सिमसार क्षेत्र तयार गरिएको समितिका पूर्वअध्यक्ष पर्शुराम गिरी बताउँछन् । उनी भन्छन्, “त्यस समयमा हामीले आ होस् भन्दै छाडेको भए यो ठाउँ मासिएर जाने थियो । लोपोन्मुख अवस्थामा पुगेको यो ठाउँको विकासका लागि समितिका पदाधिकारी मात्र होइन १०० ठाउँका स्थानीयको पनि ठूलो साथ सहयोग छ ।” विसं २०५८ देखि २०६१ सालसम्म पोखरीको लगातार उत्खनन्पछि यो रुपमा जामुनखाडी सिमसार क्षेत्रलाई ढालेको समितिका पूर्वअध्यक्ष गिरीको भनाइ छ । पोखरीको उत्खनन् गर्दा निस्किएको माटो बाँधका रुपमा परिणत गरेपछि यस क्षेत्रको सुन्दरता थपिएको बताइन्छ । जामुनखाडी ४३४ दशमलव १९ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वन जिल्लाकै नमूना सामुदायिक वन हो । पर्या–पर्यटनलाई समेत अङ्गीकार गरिएकै कारण यहाँको सुन्दरता आफैँमा लोभलाग्दो छ । चालीस वर्षअघिसम्म विशाल तालका रुपमा रहेको यस ठाउँको संरक्षण नहुँदा मासिँदै गएको स्थानीयको भनाइ छ । अतिक्रमणको चपेटामा परेको यो ठाउँको संरक्षणका लागि कनकाइ नगरपालिकाका बासिन्दाले गरेको पहल अरुका लागि पनि आफैँमा अनुकरणीय छ । अहिले यस ठाउँको सिको गर्दै अन्य स्थानीय तहमा पनि सिमसार क्षेत्रको संरक्षण थालिएको छ । मेचीनगरमा रहेको बाँसबारी, अर्जुनधाराको सालबारी, हल्दिबारी गाउँपालिकाको भेलागुडी बाह्रदशी गाउँपालिकाको साधुकुट्टी झिल, गौरादह नगरपालिकाको गौरादह पोखरीलगायत थुप्रै ठाउँका सिमसार क्षेत्रको विकास र विस्तारमा स्थानीय तह जुटेका छन् । स्थानीय तहले आफ्ना ठाउँमा रहेका सिमसार क्षेत्रको पहिचान गर्दै पर्या पर्यटनका लागि बजेट नै विनियोजन गर्दै सिमसार क्षेत्रको संरक्षणमा तदारुकता देखाउनुले ग्रामीण क्षेत्रका सिमसार धनसारमा परिणत भएर जाने निश्चित छ । सुरेन्द्र भण्डारी/रासस
राष्ट्रिय अनुसन्धानका गुप्तचर थापाका हत्या आरोपी पक्राउ काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रविण थापा मगरका हत्या आरोपी पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका–१८ का २७ वर्षीय थापा मगरको हत्यामा माघ २ मा खेतमा शव भेटिएको थियो। उनको हत्या आरोपमा बाँके नेपालगंज उपमहानगरपालिका–६ फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत थापा मगर गत माघ २ गते नेपालगंज उपमहानगरपालिका–१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न परियारलाई भक्तपुर, चाँगुनारायण नगरपालिका–९ ताथलीमा लुकिछिपी रहेको अवस्थामा फेला पारी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको उक्त केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
विभोर होटलमा एक युवकको मृत्यु काठमाडौं। काठमाडौंको धुम्बाराहीस्थित विभोर होटलमा एक युवकको ज्यान गएको छ। युवतीसहित सोमबार बिहान विभोर होटल पुगेका काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेलका ३४ वर्षीय श्रीकृष्ण श्रेष्ठको मृत्यु भएको हो। युवतीसहित सोमबार बिहान होटल पुगेका उनले होटलमै आफूलाई असजिलो महशुस भएको र छाति दुखेको बताएका थिए। कोठा बुक गरेर बसेका उनी अचेत भएपछि सँगै रहेकी युवतीले होटल व्यवस्थापनलाई खबर गरेकी थिइन्। प्रहरीका अनुसार श्रेष्ठ छाती दुखेको भन्दै ओछ्यानमा पल्टिएका थिए। त्यसपछि युवतीले बोलाउँदा श्रेष्ठ नउठेपछि हल्लाखल्ली भएको थियो। मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
कोरोनाविरुद्धको लडाईँः १४ गतेबाट खोप अभियान काठमाडौं। कोरोना महामारीविरुद्धको लडाईँमा नेपालमा पनि खोप अभियान शुरु हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आगामी बुधबार देश व्यापी खोप अभियान शुरु हुने जानकारी दिएका छन्। आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमार्फत मन्त्री त्रिपाठीले खोप अभियानबारे जानकारी दिएका हुन्। उनका अनुसार आगामी बुधबार देशका विभिन्न ६ वटा अस्पताल र १२० खदोप केन्द्रबाट खोप अभियान शुरु हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको भर्चुअल रुपमा उद्घाटन गर्ने भएका छन्। त्यस्तै माघ १८ गतेसम्म देशका ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रबाट खोप दिइने छ। खोप अभियानको पहिलो चरण १० दिनसम्म जारी रहने छ। मन्त्री त्रिपाठीका अनुसार पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ। यसरी पहिलो चरणमा खोप लगाउनेको संख्या ४ लाख ३० रहेको छ। अक्सफोर्ड–एक्ट्राजेनेका र भारतीय कम्पनी सिरम इन्स्टिच्युटले विकास गरेको कोभिशिल्ड नामक खोप लगाउन लागिएको हो। यो खोपको १० लाख डोज भारतले निःशुल्क उपहार दिएको थियो। नेपाल सरकार थप आवश्यक खोपका लागि दाता खोजिरहेको छ। कोभिशिल्ड खोप अहिले भारतमा पनि लगाइएको छ। भारतमा यो खोप लगाएपछि करिब ५ सय जनालाई साइड इफेक्ट देखिएको छ। केही मानिसहरुको मृत्युसमेत भएको छ। तर, भारतीय अधिकारीहरुले खोपका कारण मृत्यु नभएको बताइरहेका छन्। स्वास्थ्य मन्त्री त्रिपाठीले खोपबारेको भ्रममा नपरी अभियानमा सहभागी हुन अपीलसमेत गरेका छन्। नेपालमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ।
निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ। आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ। सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिए। कार्यालयले माघ १५ देखि २१ गते मतदाता नामावली अद्यावधिक, दाबीविरोध, त्रुटि सच्याउने र दाबी गरी विरोध गरेर हटाउने, दोहोरो नाम हटाउने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनका लागि उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरिएको थापाले बताए। जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मतदानमा सहज, सरल तथा निर्वाचनमैत्री बनाउन स्थानीय तहबाट आएका सर्वसम्मतिको सुझावलाई ग्रहण गरी सोहीअनुसारको मतदान केन्द्र वा मतदानस्थल तोक्ने भएको छ। नाम दर्ता अधिकारीको कार्यालय शुक्रबार तथा सार्वजनिक बिदाका दिनमा समेत बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्मका लागि खुला रहने छ । निर्वाचन कार्यालय हुम्लाले सातवटै पालिकामा सहायक नामदर्ता अधिकारी तोकेको छ भने दोहोरो मतदाताको नाम भएमा सहायक नामदर्ता अधिकारी स्वयंले जाँचबुझ गरी नाम हटाउने सम्बन्धमा निर्णय गर्ने, सहायक नामदर्ता अधिकारीले मतदाता नामावली अद्यावधिक कार्यक्रममा प्रयोग भएका सबै कागजात तथा सामग्री प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा बुझाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी थापाले जानकारी दिए। जिल्लाका सात गाउँपालिकाका ४४ वडा रहेको हुम्लामा ५२ मतदान केन्द्र छन्। यो पटक एउटा मदातन केन्द्र थप गर्न माग गरीएकोले स्वीकृत हुने वा नहुनेमा केही जानकारी नभएको बताइएको छ। प्रत्येक गाउँपालिकाबाट कर्मचारी आइसकेका छन्। उनीहरूलाई माघ ११ गते तालीम हुन्छ । फागुन २ गतेदेखि ७ गतेभित्र मतदाताको नामावाली आइपुग्नेछ। नाम्खा गाउँपालिका ११ मतदान केन्द्र सिमकोटका आठ, खार्पुनाथमा पाँच, सर्केगार्डमा ११, चङ्खेली गाउँपालिका सात, अदानचुलीमा छ र ताजाँकोट गाउँपालिकामा छ मतदान केन्द्र निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयमा १३ दल दर्ता भए पनि हालसम्म पाँच दलमात्रै सक्रिय देखिएका छन् । विसं २०७४ को निर्वाचनमा १३ पार्टी दर्ता भए पनि हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी, राप्रपा नेपाल र मजदूर किसान पार्टी सक्रिय रहेका छन्।रासस
यसरी पाइन्छ आम्दानी अनुसारको घर कर्जा काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले घर बनाउने प्रयोजनका निम्ति जग्गा खरिद गर्न, घर निर्माण गर्न, घरको तला थप्नेजस्ता व्यक्तिगत प्रकृतिका घरजग्गामा कर्जा दिँदै आएका छन् । घरजग्गाका लागि ऋण लिनुअघि यस्तो कर्जाको नीतिगत व्यवस्थाबारे सामान्य जानकारी राख्नु जरुरी छ । घर कर्जा प्रदान गर्ने वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले राष्ट्र बैंकको नीतिमा टेकेर घर कर्जासम्बन्धी कार्यविधि बनाउने गर्छन् । बैंकको आन्तरिक कार्यविधि अर्थात् प्रडक्ट पेपर भने केन्द्रीय बैंकको नीतिमा रहेर बैंकलाई अनुकूल हुने गरी बनाइने गरेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । यस्ता खाले प्रडक्ट पेपर बैंकले सञ्चालक समितिबाट स्वीकृति लिएपछि मात्र कार्यान्वयनमा ल्याउने गर्छ । सामान्यतया व्यक्तिगत आवासीय घर कर्जा भन्नाले बैंक तथा वित्तीय संस्थाले ग्राहकको आयस्रोत हेरी सो स्रोतले पर्याप्त धान्ने किस्ता कायम गरी उक्त ग्राहकले आफैं प्रयोग गर्ने वा भाडामा लगाउने उद्देश्यले घर निर्माण, घर÷अपार्टमेन्ट खरिदका लागि प्रवाह गरेको आवासीय घर कर्जा हो । हाल राष्ट्र बैंकले तोकेको नियमअनुसार बैंकहरूले धितो मूल्यांकन ९लोन टु भ्यालू रेसियो० को आधारमा ४० प्रतिशतदेखि ७० प्रतिशतसम्म घर कर्जा उपलब्ध गराउँदै आएका छन् । तर, यस्तो कर्जा भने बढीमा १ करोड ५० लाख रुपैयाँसम्म मात्र लिन सकिन्छ । केन्द्रीय बैंकले धितो मूल्यांकनको आधारलाई पनि क्षेत्रगत रूपमा विभाजन गरेको छ । यसै क्रममा काठमाडौं उपत्यकाभित्रको रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात बढीमा ४० प्रतिशत तोकेको छ । यसबाहेक अन्य स्थानको हकमा भने बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ । तर, निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका निर्माण व्यवसाय कम्पनीहरूलाई आवासीय घर निर्माणका लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था छ । तर, कसैले पहिलो पटक डेढ करोड रुपैंयाँसम्मको आवासीय घर खरिद गर्न यस्तो कर्जा लिन चाहन्छ भने त्यस्तो व्यक्तिलाई धितो मूल्यांकनको बढीमा ७० प्रतिशतसम्म बैंकहरूले दिन सक्नेछन् । यस्तो कर्जा प्राप्त गर्न भने ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा ३ हजार वर्गफिटसम्मको घर तथा अपार्टमेन्ट हुनुपर्नेछ । यसका लागि ग्राहकले भने बैंकबाट यसअघि यस प्रकारको कर्जा नलिएको यकिन दिलाउनुपर्नेछ । यस्तो कर्जा लिँदा घरभाडालाई ऋणीको आम्दानीको स्रोत देखाउन पाइँदैन । कर्जाको ब्याजदर वृद्धि भए पूर्वनिर्धारित मासिक किस्ता वृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउनुपर्नेछ । यो फ्लोटिङ ब्याजदरको हकमा लागू हुन्छ किनभने अहिले स्थिर ब्याजदरमा न्यूनतम ५ वर्षदेखि अधिकतम आवश्यकताअनुसार बैंकहरूले व्यक्तिगत प्रकृतिका घर कर्जा दिन केन्द्रीय बैंकले गरेको निर्देशनअनुसार घोषणा गरिसकेका छन् । यस्तो कर्जा लिन धितो राख्ने सम्पत्ति छ तर आयस्रोत छैन भने कर्जा पाइँदैन । कर्जा प्राप्त गर्न अनिवार्य रूपमा आयस्रोत खुलाउनुपर्नेछ । अझ ऋणीले आयस्रोत खुल्ने कागजात मात्रै पेस गरेर हुँदैन । आम्दानी गरेर पनि कर चुक्ता हुन नसकेको अवस्थामा बैंकलाई आय देखाउन नपाएर हुँदैन । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।
निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न प्रहरी महानिरीक्षकको निर्देशन काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाएर अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालू आर्थिक वर्षका लागि प्रहरी महानिरीक्षकसँग प्रदेश प्रहरी कार्यालयका प्रमुखले गरेका कार्यसम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगतिको समीक्षामा उनले यस्तो निर्देशन दिएका हुन् । प्रहरी महानिरीक्षक थापाले भर्चुअल विधिबार भएको उक्त कार्यक्रममा उनले भने, “अहिलेको अवस्थामा अत्यधिक संयमताका साथ सुरक्षा योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” प्रहरी महानिरीक्षक थापाले प्रहरी प्रधान कार्यालयले स्पष्ट मार्ग निर्देशनसहित सङ्गठनलाई एउटा निश्चित दिशा दिन कार्ययोजना ल्याएको चर्चा गर्दै यसलाई सफल पार्न सबैको सामूहिक प्रयास र कटिबद्धता आवश्यक रहेको बताए । नेपाल सरकारद्वारा घोषित निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै पूर्ण सफल बनाउन तोकिएको जिम्मेवारीलाई मनन गरी गम्भीरतापूर्वक लाग्न प्रदेश प्रहरी प्रमुखसँग आग्रह गरे । कार्यक्रममा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले प्रदेशको शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापनलगायत कार्य प्रगतिबारे भर्चुअल माध्यामबाट जानकारी गराएका थिए । प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले नेपाल प्रहरीको कार्ययोजना, २०७७, कार्य सम्पादन सम्झौता र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना, २०७७ को अर्धवार्षिक कार्य प्रगतिको समीक्षा गरेका थिए ।
दुई दम्पत्तिको शंकास्पद मृत्यु : प्रहरीको अनुसन्धान कहाँ पुग्यो ? काठमाडौं। एक हप्ता अघि काठमाडौको टोखामा उमेश केसी र सुदिक्षा केसी मृत अवस्थामा फेला परे। उनीहरु दम्पत्ति थिए। उनीहरुको मृत्युको कारणबारे महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त महाराजगन्जले सो विषयमा अनुसन्धान गर्यो। ती दुवै निकायले उमेश र सुदिक्षाको मृत्युबारे हत्या र आत्महत्या भएको निष्कर्ष निकालेका छन्। सुदीक्षाले उमेशको हत्या गरेको र त्यसपछि सुदिक्षाले आत्महत्या गरेको आशंका दुवै निकायको छ। यद्यपि प्रकरणलाई प्रहरीले अझै अनुसन्धानकै क्रममा राखेको छ। अपराधको कुनै कारणहरु खुल्न सक्छन वा हत्या आत्महत्याको कुनै कारण पत्ता लाग्न सक्छ कि भन्ने प्रहरीको भनाइ छ। ‘अझै पनि केही तथ्यहरु कारणहरु फेला पर्न सक्छन् उनीहरुको विषयमा अहिले नै फाइल क्लोज गर्ने बेला भएको छैन’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने। उमेश र सुदिक्षाको मृत्यु भएको एक सातापछि ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा घरभित्रै मृत अवस्थामा एक दम्पत्ति फेला परे। सप्तरीको राजविराज स्थायी घर भएका उनीहरु लामो समयदेखि ललितपुरमा बस्दै आएका थिए। ३२ वर्षीय सागर पोखरेल र २२ वर्षीय निर्मला बीच गत वर्षको फागुनमा विवाह भएको थियो। तर उनीहरुले सोमबार मृत्युको बाटो रोजे। उनीहरुको विवाह भएको एक वर्षमै आत्महत्याको बाटो किन रोजे यो प्रश्नले पनि प्रहरीलाई पिरोलो दिइरहेको छ। प्रहरीका अनुसार उनीहरु आमाबुबासँग बस्दै आएको र आमाबुबा आफन्तकोमा गएको बेला आत्महत्याको बाटो रोजेका थिए। ‘गत शुक्रबार बुबाआमा आफन्तकहाँ गएका रहेछन् आइतबार बुबाआमाले फोन सम्पर्क गर्दा फोन नउठाएपछि घरबेटीलाई फोन गरेको देखियो र घरबेटीले कोठाको झ्याल खोलेर हेर्दा अस्वाभाविक अवस्था देखेपछि प्रहरीलाई खबर गरेपछि हाम्रो टोली त्यहाँ गएको थियो’, महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले भनिन्। प्रहरीले दिएको जानकारी अनुसार सागर चार वर्षदेखि सो घरमा बस्दै आएका थिए। उनी भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए। कोठमा प्रहरीले स्लफर नामको विषादीको बट्टा फेला पारेको र विष सेवनबाट नै आत्महत्या गरेका हुनसक्ने प्रहरीको दावी छ। ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौ’, एसएसपी बज्राचार्यले भनिन्। उनका अनुसार उनीहरुको मृत्युको कारण अहिलेसम्म खुलेको छैन। अहिले दुवैको मोवाइल अध्ययन गर्ने कार्य भैरहेको छ।
‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’ लन्डन । सन् २०२० को डिसेम्बरसम्म इङ्यान्डमा १२ प्रतिशत मानिस कोरोनाभाइरसमा संक्रमित भइसकेका एक अध्ययनले पुष्टि गरेको छ । यो सङ्ख्या नोभेम्बरमा नौ प्रतिशत रहेको अर्थात् एक महिनामा तीन प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक सरकारी एन्टिबडी परीक्षण तथ्याङ्कले देखाएको छ । वैल्समा प्रत्येक १० मा एक जना, उत्तरी आयरल्याण्डमा हरेक १३ मा एक र स्कटल्याण्डमा हरेक ११ मा एक जनामा सङ्क्रमण भएको हुनसक्ने बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय ९ओएनएस० को तथ्याङ्कले देखाएको छ । बेलायतमा कोभिड–१९ को तेस्रो लहर छाएको छ र पछिल्लो समय देखिएका नयाँ प्रकारको भाइरस बढी सङ्क्रामक रहेको बताइएको छ । सङ्क्रमण र मृत्युका घटनामा बढ्दो समस्याले थप चुनौती सर्जिना गरेको र मुलुकमा दैनिक कोभिड–१९ सङ्क्रमितको मृत्युको उच्च सङ्ख्या हुनुमा नयाँ प्रकारको कोभिड–१९ को सङ्क्रमण फैलिनु भएको हुनसक्ने भन्दै स्वास्थ्य प्रमुखहरूले अस्पतालका सघन उपचार कक्षहरूलाई सचेत बनाएका छन् । ओएनएसका अनुसार जनवरीको पहिला ८ दिनमा समग्र मृत्युदर पाँच वर्षको औसतभन्दा ४५ प्रतिशत बढी थियो । जबकि केन्द्रीय तथ्याङ्क कार्यालयले छुट्टीको अवधिमा अस्वाभाविक वृद्धि भएकोप्रति पनि सचेत गराएको छ । विशेषगरी पछिल्लो लहरले गम्भीर नतिजा देखाएको लन्डनमा मृत्युको सङ्ख्यामा ८५ प्रतिशतले वृद्धि भएको छ । यो सोही हप्ताको ऐतिहासिक औसतको तुलनामा अस्वभाविकरूपमा बढी हो । क्याम्ब्रिज विश्वविद्यालयको मेडिकल रिसर्च काउन्सिलले गत हप्ता सार्वजनिक रिपोर्टमा लन्डनमा सङ्क्रमित जनसङ्ख्याको अनुपात ३० प्रतिशत रहेको अनुमान गरेको छ । बेलायतले अहिलेसम्म कूल ९० हजारभन्दा बढीको मृत्यु भएको छ र यो महामारीका कारण धेरै प्रभावित मुलुकमध्ये अग्रस्थानमा पर्छ ।
खोपको लाइन नमिच्न डब्लुएचओको धनी देशहरूलाई आग्रह बीबीसी । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड-१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन्। टेड्रोस एडहानोम गेहब्रेयससले ‘मलाई पहिला’ भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने बताए। त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने उनले चेतावनी दिएका छन्। चरम नैतिक सङ्कट डब्लुएचओका महानिर्देशकले असमान खोप वितरणका कारण संसार चरम नैतिक सङ्कटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता हुनुपर्ने बताए। कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताइएको छ। उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको पनि बताएका छन्। सोमवार डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने, “मैले केही खरो बोल्नु पर्ने भएको छ: विश्व नैतिक विफलताको डिलमा पुगेको छ – अनि यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ।” आफूलाई मात्र खोपको जोहो गर्ने शैली प्रति सङ्केत गर्दै उनले भने, “अन्तत: यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ। अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ।” संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए। हालसम्म भारत, चीन, रुस, अमेरिका, यूके अनि केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन्। सबैले आफ्नै जनसङ्ख्यालाई खोप लगाउन प्राथमिकता दिएका छन्। “मेरो मुख्य चुनौती भनेको एप्रिल ७ को आगामी विश्व स्वास्थ्य दिवस अगावै सबै देशहरूमा कोभिड-१९ का खोप लगाउन थालियोस् भन्ने छ। जसले महामारी तथा असमानताविरुद्ध आशा जगाउन सकोस्,” डा टेड्रोसले भने। हालसम्म १८० देशहरू कोभ्याक्समा सामेल भएका छन्। यो सञ्जाललाई डब्लुएचओ तथा केही अन्तर्राष्ट्रिय निकायले सहयोग गरेका छन् ताकि देशहरूलाई एकताबद्ध पारेर औषधि कम्पनीहरूसँग मोलतोल गर्न सकियोस्। यस अन्तर्गत न्यून वा मध्यम आय भएका ९२ देशहरूका निम्ति दाताहरूले खोपको पैसा तिरिदिनेछन्। “हामीले पाँच खोप उत्पादकसँग दुई अर्ब मात्राको खोप आपूर्ति सुनिश्चित गरिसकेका छौँ। थप एक अर्ब मात्राको पनि विकल्प रहेको छ। हामी फेब्रुअरीबाट आपूर्ति सुरु गर्ने लक्ष्यमा छौँ,” डा टेड्रोसले भने। इजरेलको खोप अभियान सबैभन्दा द्रुत विश्वमा सबैभन्दा छिटो आफ्ना जनसङ्ख्यालाई कोरोनाभाइरसको खोप दिलाउँदै आएको इजरेलले खोप निर्माता कम्पनी फाइजरसँग उसको सम्झौताबारे विवरण सार्वजनिक गरेको छ। इजरेली सरकारले देशमा समुदायस्तरमा प्रतिरोध क्षमता वा हर्ड इम्युनिटी कहिलेसम्म भइसक्छ भन्ने आकलन गर्न खोप लगाएका बारे सूचना तत्काल सम्प्रेषण गरिरहेको छ। सञ्चारमाध्यमहरूमा आएका विवरणअनुसार इजरेलले द्रुत गतिमा आपूर्ति सुनिश्चित् गर्न बढी पैसा तिरेको छ। तर यसको आधिकारिक पुष्टि गरिएको छैन। इजरेल सरकारका अनुसार उसले फाइजरलाई दिएको आँकडाले कोभिडबारे विश्वव्यापी अनुसन्धानलाई सघाउ पुग्नेछ तर आलोचकहरूले चाहिँ गोपनियता तथा नैतिकताका चिन्ता व्यक्त गरेका छन्। साथै धनी देशहरूलाई उपलब्ध अनुचित फाइदालाई पनि यसले उजागर गरेको बताइएको छ। हालसम्म इजरेलले २० लाखभन्दा धेरै वा एक चौथाइ जनसङ्ख्यालाई खोप दिलाइसकेको छ। क्यानडाको पनि आलोचना भएको छ। उसले प्रत्येक क्यानडेलीलाई पाँच पटक लगाउन पुग्ने मात्राको खोप अर्डर गरिसकेको बताइएको छ। डिसेम्बरमा प्रतिक्रिया दिँदै क्यानडाकी अन्तर्राष्ट्रिय विकासमन्त्री क्यारिना गुल्डले ती आरोप अस्वीकार गर्दै खोपको आपूर्ति नै नभइकन यस्ता कुरा गर्नु यथार्थपरक नहुने बताएकी थिइन्।
व्यावसायिकरुपमा माछापालन फस्टाउँदै दाङ । दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा पालिने माछा पछिल्लो समयमा व्यावसायिकरुपमा पाल्न थालिएको छ। उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो । जिल्लामा केही वर्ष अगाडिसम्म केही किसानले मात्रै माछापालन गर्दै आएको भए पनि अहिले व्यावसायिकरूपमै माछापालन गर्नेको सङ्ख्या बढ्दै गएको छ। माछापालनका लागि दाङमा उपयुक्त माटो र हावापानीले साथ दिएकाले यसतर्फ युवाको आकर्षण बढेको हो। देउखुरीमा लमही नगरपालिका र गढवा गाउँपालिकामा माछापालन फस्टाएको छ भने घोराही उपहानगरपालिका–५ धर्ना माछापालनका लागि पकेट क्षेत्र घोषणा गरेर माछापालक किसानलाई अनुदान तथा प्राविधिक सहयोग प्रदान हुँदै आएको छ । बजारमा माछाको माग बढेसँगै माछापालनमा आकर्षण बढ्दै गएको माछा उत्पादक किसानको भनाइ छ। थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले यो व्यवसायमा आकर्षण बढ्दै गएको घोराही–५ धर्नाका कृषक दीपक रावत बताउछन्। उनले कृषि फर्म स्थापना गरी १२ वटा पोखरीमा करीब एक लाख माछाबाट वार्षिक रु ३० लाख बराबरको आम्दानी गर्दै आएको बताए। “माछाको हेरचाह र दाना दिनका लागि दुई जनालाई रोजगार दिएको छु”, उनले भने। व्यावसायिकरूपमै माछापालन गर्न थालेकाले व्यवसायमा लगानीसमेत बढ्दै गएको र उत्पादित माछा घोराही र तुलसीपुरका बजारका व्यापारीले खरीद गरेर लैजाने गरेको उनले बताए। माछापालनबाट राम्रो आम्दानी भएका कारण खेतीयोग्य जमीनमा पोखरी बनाई माछापालन व्यवसाय शुरु गरेको रावतले बताए। लमही नगरपालिका–५ का टीकाराम गिरीले तीन बिघा क्षेत्रफलमा पोखरी बनाई माछापालन गर्नुभएको छ । रु २० लाखको लगानीबाट व्यवसाय शुरु गरेका गिरीले अहिले लगानी बढेर रु ८० लाख भएको र वार्षिक रु २५ लाख आम्दानी गर्ने बताउछन। आफूले उत्पादन गरेको माछा दाङको लमही, भालुवाङका साथै छिमेकी जिल्लामा समेत निर्यात हुने गरेको छ । माछापालन व्यवसायबाट आफू सन्तुष्ट भएको उनले बताए। माछामा प्रशस्त भिटामिन ‘डी’ पाइने हुँदा क्याल्सियमका कारणले हड्डी बलियो गराउँछ । नियमित माछा खानाले दिमाग सधैँ तेजिलो रहन्छ । आँखाको भिजन बढाउनका साथै आँखालाई सधैँ स्वस्थ्य राख्छ । उच्च रक्तचापलाई नियन्त्रण गर्न माछाको सेवनले धेरै फाइदा गर्ने चिकित्सकहरु बताउँछन् । रातो मासु पचाउनका लागि झण्डै ३२ देखि ३६ घण्टा लाग्ने गर्छ तर माछा पचाउन दुईदेखि तीन घण्टा मात्र लाग्छ। खासगरी धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराहीका मत्स्य विकास अधिकृत महेन्द्र यादवले बताए। बजारमा भारतबाट ल्याउने माछाको आयात कम गर्न र माछाको उत्पादनले आत्मनिर्भर बनोस् भनेर ‘मत्स्य उत्पादन विशेष कार्यक्रम’ अन्तर्गत कार्यक्रम अगाडि बढाइएको हो । युवालाई माछापालन व्यवसाय गर्न प्रोत्साहन होस् भनेर आवश्यक सीप सिकाउने गरेको उनले बताए। जिल्लामा वर्षेनी माछापालन व्यवसायीको सङ्ख्या बढ्दै गएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको तथ्याङ्कमा उल्लेख छ । मत्स्य विकास अधिकृत यादवका अनुसार हालसम्म रु सात करोड बढी लगानी भएको छ । दुई सय १७ जना कृषकले माछापालन व्यवसाय गर्दै आएकामा ६५ जनाले व्यावसायिकरुपमा माछापालन गर्दै आएको कार्यालयको भनाइ छ। जिल्लामा ५०१ पोखरी तथा ३० घोल तालमा माछापालन गरिँदै आएको छ । हाल १२५ हेक्टर क्षेत्रफलमा माछापालन भएको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना शुरु भएसँगै माछापालक व्यवसायलाई प्रवद्र्धनका लागि अनुदान सहयोग हुन थालेपछि जिल्लामा माछापालन व्यवसाय बढ्दै गएको छ। जिल्लामा हुने माछा उत्पादनले यहाँको माग धान्न सकेको छैन । करीब ७५० मेट्रिक टन माछाको आवश्यकता छ । हाल वर्षिक ५९५ टन माछा उत्पादन हुँदै आएको छ । बाँकी आवश्यक माछा भारतबाट ल्याउने गरिएको छ । बैखा र मङ्गुर माछा भारतबाट ल्याउने गरिएको हो । खासगरी जिल्लामा माछाको याम नभएका समयमा बाहिरबाट आयात गर्नुपरेको छ । वैशाख, जेठ, असार महिनाको समयमा भारतबाट माछा ल्याउने गरिन्छ भने अन्य समयमा जिल्लाको उत्पादनले पुग्ने गर्दछ । दाङमा वैशाखदेखि मङ्सिरसम्म माछा उत्पादन हुने राम्रो समय मानिन्छ। बैखा माछा एक कठ्ठामा चार क्विन्टल उत्पादन हुन्छ भने कार्व जातको माछा दुईदेखि चार क्विन्टल उत्पादन हुने गरेको किसानहरु बताउँछन् । खासगरी बैखा र मङ्गुर जातका माछा भारतमा उत्पादन हुन्छ भने कार्व जातको माछा यहाँ उत्पादन हुन्छ । पछिल्लो समय जिल्लामा माछापालन व्यवसायमा यान्त्रिकीकरण भित्रिँदै गएको छ भने उत्पादन र हेक्टर क्षेत्रफलसमेत बढेको छ । यहाँ उत्पादन भएको माछाले माग धान्ने गरी गतिविधि गरिएका छन् । हाल जिल्लामा उत्पादित माछा नेपालगञ्जलगायत पहाडी जिल्ला रोल्पा, रुकुम, सल्यान र प्यूठानमा निर्यात गरिन्छ। जिल्लामा यसवर्ष माछापालन गतिविधिका लागि बजेट कम आएको मत्स्य विकास अधिकृत यादवले बताए। गत वर्ष कोरोना भाइरसका कारण पोखरी निर्माणलगायतका काम गर्न नसकेका कारण माछाका लागि बजेट कम भएको हो। यस आर्थिक वर्षमा रु १२ लाख आएको छ । गत वर्ष कोरोनाका कारण करीब रु एक करोड बजेट खर्च हुन सकेन । यस्तै यस वर्ष व्यावसायिक फर्म सुदृढीकरण, यान्त्रिकीकरण, पोखरी निर्माण गर्नेका लागि व्याज, अनुदानलगायतका कार्यक्रम रहेका छन्।रासस
पीएम कप क्रिकेटः आर्मीद्वारा गण्डकीलाई २८८ रनको लक्ष्य काठमाडौं । प्रधानमन्त्रीकप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटमा त्रिभूवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २८८ रनको लक्ष्य दिएको छ । शुक्रबार टियू मैदान कीर्तिपुरमा जारी खेलमा पहिले ब्याटिङ गर्दै आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको छ । सुस्त सुरुवात गरेको आर्मीका लागि पहिलो विकेटका लागि राजु रिजाल र हरी कृष्ण झाले ६३ रनको साझेदारी गरेका थिए । उनीहरुले ११२ बलमा ६३ रनको साझेदारी गरेका हुन् । यस्तै पाँचौ विकेटका लागि बिनोद भण्डारी र राजेश पुलामीले ८५ बलमा ७३ रनको साझेदारी गर्दै पारी उकासेका थिए । यस्तै छैठौं विकेटका लागि बिनोद भण्डारी र लोकेश बमले ६० बलमा १०३ रनको साझेदारी गरे । आर्मीका बिनोद भण्डारीले उत्कृट ब्याटिङ गर्दै सतक प्रहार गरे । उनले ७६ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १११ रनमा नट आउट रहे । यस्तै आर्मीका राजु रिजालले ४५ रन बनाए भने लोकेश बमले ४२ रन बनाए । राजेश पुलामीले ३८ रन बनाउँदा हरी कृष्ण झाले रोहित पौडेलले १०तथा भिम शार्कीले १५ रन बनाए । गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २/२ विकेट लिए । यस्तै दिपेश खत्री र चन्द्रकान्त पौडेलले १/१ विकेट लिए ।
क्यापिटल भवन हिंसा : आत्मसमर्पण गर, नत्र तिम्रो ढोकामै पुग्नेछौँ बीबीसी । अमेरिकी न्याय मन्त्रालय र सङ्घीय जाँच ब्युरो (एफबीआई)ले गत साता संसद् भवनमा भएको आक्रमणको घटनामा संलग्नहरूविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाएको छ। अधिकारीहरूले हिंसासँग सम्बन्धित एक लाख डिजिटल प्रमाणहरू नागरिकहरूबाट प्राप्त गरेको जनाएका छन्। वासिङ्टनस्थित संसद् भवन रहेको क्यापिटल भवनमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले हङ्गामा मच्चाएका थिए। त्यसक्रममा पाँचजनाको ज्यान गएको थियो। घटनामा संलग्न भएको आरोपमा १६० जनाभन्दा धेरैविरुद्ध फौजदारी अनुसन्धान सुरु गरिएको बताइएको छ। कोलम्बियाका कार्यवाहक महान्यायाधिवक्ता माइकल शेरवीनले उनीहरूविरुद्ध आक्रमण र विद्रोहको षड्यन्त्र लगायतका अभियोग लगाइन सक्ने जानकारी दिए। ती अभियोगमा २० वर्षसम्म जेल सजाय हुनसक्छ। अभियोग लगाइनेहरूको सङ्ख्या सैयौँ पुग्न सक्ने उनको भनाइ छ। अहिलेसम्म ७० जनालाई अभियोग लगाइसकिएको बताइएको छ। नागरिकहरूबाट प्रमाणको रूपमा घटनासँग सम्बन्धित करिब एक लाख डिजिटल अंशहरू प्राप्त गरेको बताउँदै वासिङ्टन डीसीस्थित एफबीआई कार्यालयका सहनिर्देशक स्टिभन डूआन्टानोले पनि अनुसन्धान र अभियोग दुवै सङ्ख्या बढ्ने ठानिएको जानकारी दिए। एफबीआईले क्यापिट हिंसामा संलग्नलाई कानुन पालना गराउने निकायसमक्ष उपस्थित हुन आग्रह गरेको छ। डूआन्टानोले भने, ‘यदि तिमिले डीसी छाडिसकेका छौ भने पनि स्थानीय कार्यालयका प्रतिनिधिले तिम्रो घरको ढोका ढकढक्याउन आइपुग्नेछन्।’ सिनेटर चक सुमरले घटनाको दिन क्यापिटल भवनमा रहेकाहरूलाई हवाई यात्रा गर्न नपाउने राष्ट्रिय सूचीमा राख्न सङ्घीय सरकारलाई आग्रह गरेका छन्। उनले भने, ‘हामीले त्यस्ता राजद्रोहीलाई जहाजमा पस्न दिनु हुँदैन र थप हिंसा अनि ध्वंस मच्चाउने कारण बन्न दिनु हुँदैन।’ उक्त घटनालाई प्रोत्साहित गरेको आरोप ट्रम्पमाथि लगाउँदै डेमोक्याटहरूले उनलाई पदमुक्त गराउने प्रयास गरिरहेका छन्।
मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित क्वालालम्पुर । मलेसियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरूको सङ्ख्या मङ्गलबार अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । मलेसियाका अधिकारीहरूका अनुसार मङ्गलबार तीन हजार ३०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । यो सङ्ख्या महामारी शुरु भएदेखि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरूले बताएका छन् । मलेसियामा कोरोनाका कारण अहिलेसम्म कूल एक लाख ४१ हजार ५३३ जना सङ्क्रमित भएको पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । मन्त्रालयका महानिर्देशक नुर हिशन अब्दुल्लाहले जारी गरेको प्रेस वक्तव्यमा नयाँ सङ्क्रमितमध्ये छ जना देश बाहिरबाट सङ्क्रमित भएरै आएको र अरू तीन हजार ३०३ जना देश भित्रै एकबाट अर्कोमा सरेको उल्लेख गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये थप चार जनाको मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाको कूल सङ्ख्या ५५९ पुगेको छ । मलेसियामा अहिले पनि ३० हजार ३९० जना सङ्क्रमित अवस्थामै रहेका छन् भने तीमध्ये १९० जना अति सघन उपचार कक्षमा रहेका छन् । त्यसैगरी ८३ जनालाई श्वास प्रश्वासका लागि अक्सीजन दिनु परिरहेको पनि अधिकारीहरूले जनाएका छन् । देशका गृह मन्त्री हम्जाह जैनुदिन पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये उनि तेस्रो मन्त्री भएक छन् । यसअघि आर्थिक मामिला मन्त्री मुस्तपा मोहमद र महिला, परिवार तथा सामुदायिक विकास मन्त्री रिना हरून पनि सङ्क्रमित भएका थिए ।
पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्छः डा महत काठमाडौं । नेपाली कांग्रेसका नेता डा रामशरण महतले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने बताएका छन् । विश्व हिन्दू महासङ्घ नेपालले २९९औँ पृथ्वी जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘नेपालको सनातन धर्म संस्कृति संरक्षणको क्षेत्रमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान’ विषयक विचार गोष्ठीमा उनले नेपाललाई अहिलेको अवस्थामा पु¥याउनका लागि शाहको महत्वपूर्ण योगदान रहेको बताएका हुन् । “पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए नेपाल बेलायतको अधिनमा पुगिसक्थ्यो, उहाँकै योगदानका कारण हामी अहिले नेपाली भएर बाँच्न पाएका छौँ”, डा महतले भने । पूर्वअर्थमन्त्री महतले पृथ्वीनारायण शाहले सामाजिक अर्थनीतिलाई अगाडि बढाएको उल्लेख गरे । जनताको भावनालाई कदर गर्ने व्यक्ति पृथ्वीनारायण शाह भएको उनको भनाइ थियो । डा महतले पृथ्वीनारायण शाहको दिव्यउपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । विश्व हिन्दू महासङ्घ नेपालका अध्यक्ष एवं पूर्वसहायकमन्त्री डा रामचन्द्र अधिकारीले मुलुकमा धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र आवश्यक रहेको उल्लेख गरे । वाचन प्रविण दिनबन्धु पोखरेलले संस्कृतिमा राष्ट्रियता खोज्ने काम पृथ्वीनारायण शाहको पालादेखि शुरुआत भएको बताए । नेपालको पाशुपत क्षेत्र योग र ध्यानको केन्द्र भएकाले विश्वमा नेपालको छुट्टै पहिचान रहेको उनको भनाइ थियो । नेपाली कांग्रेसका युवा नेता विष्णु धितालले हिन्दू राष्ट्र निर्माणका लागि देशभरका सम्पूर्ण ॐ कार परिवार एकजुट हुनुपर्ने उल्लेख गरे । उनले हिन्दू राष्ट्र बनाउने महाअभियानमा जुट्न सबैलाई आग्रह गरे ।
जंगीअड्डामा नेपाली सेनाले मनायो पृथ्वीजयन्ती काठाडमौं । नेपाली सेनाले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ। सेनाको मुख्यालय जंगीअड्डामा एक कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती तथा एकता दिवस मनाएको हो। मुख्यालयभित्र रहेको पृथ्वी नारायण शाहको शालिकमा प्रधान सेनापति पूर्णचन्द्र थापाले माल्यार्पण गरेका थिए। सरकारको औपचारिक कार्यक्रम नभए पनि नेपाली सेनाले हरेकवर्ष पृथ्वीजयन्ति तथा राष्ट्रिय एकतादिवस मनाउँदै आएको छ। आधुनिक नेपालका निर्माणकर्ता पृथ्वीनारायण शाहको जन्म १७७९ पुष २७ गते गोरखा दरवारमा भएको थियो। २० वर्षको उमेरमा राजा भएका शाहले तत्कालिन बाईसे चौबिसे राज्यमा विभाजन भएको नेपाललाई एकीकरण गरेका थिए। मकवानपुरकी राजकुमारीसँग विवाह गरेका शाहले नुवाकोट र कीर्तिपुरमा एक भन्दा बढी युद्ध गरेर जित हासिल गरेका थिए। उनको ५२ वर्षको उमेरमा मृत्यु भएपछि नेपालको एकीकरण यात्रा उनका पनाति गिर्वाणयुद्ध विक्रम शाहको पालामा समाप्त भएको थियो। एकीकरण अभियान करिव ७० वर्षसम्म चलेको थियो।
काठमाडाैंकाे टोखामा दम्पतीको शव भेटियो, अनुसन्धान भइरहेको प्रहरीको भनाई काठमाडौं । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा एक दम्पती मृत फेला परेका छन। शुक्रबार राति सुदीक्षा गिरी र उमेश केसी मृत फेला परेका हुन्। केही समयअघि मात्रै अमेरिकाबाट आएका उनीहरु टोखाको कोलनीमा बस्दै आएका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता डीएसपी प्रमेश विष्टका अनुसार उमेशको शव ग्रिन भिलास्थित आफ्नै कोठाभित्र पल्टिरहेको र उनकी पत्नी सुदीक्षा झुन्डिएको अवस्थामा फेला परेका हुन्। हाल उनीहरु दुवैको शव पोष्टमार्टमका लागि शिक्ष्ण अस्पताल महाराजगन्जमा राखिएको छ। उनीहरु दुवै जना इन्जिनियर भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा सिलौटो फेला परेको छ भने त्यसमा रगत लतपतिएको छ । उमेशको हत्या त्यही सिलौटोले हानेर गरेको हुन सक्ने प्रहरीको अनुमान छ। सुदीक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेपछि आफू झुन्डिएको हुन सक्ने प्रहरीको अनुमान भएपनि पुष्टि हुन सकेको छैन। प्रहरीका अनुसार उमेशको शरीरभर निलोडाम र चोटपटक छ। ढाडमा चुप्पीले रोपेको दाग र शरिरभर रगत छ। सुदीक्षाको शवको अवस्था भने घाँटी थिचेर मारेको जस्तो देखिन्छ । उमेश केही दिनपछि नै अमेरिका उड्ने तयारीमा रहेका थिए।
होबार्ट पराजित, सन्दीपको किफायती बलिङ एजेन्सी । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स पराजित भएको छ । पर्थमा बिहीबार भएको खेलमा होबार्ट सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको हो । सिड्नीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन मात्र बनाउन सक्यो । होबार्टका लागि कप्तान पिटर ह्यान्ड्सकम्पले सर्वाधिक ३० रन जोड्दा बेन म्याकडेरमोटले २२ रन बनाए । यस्तै डाविड मालनले २०, डीअर्सी सर्टले १९ र कोलिन इन्ग्रामले १२ रन बनाए । सिड्नीका क्रिस ग्रीन, तानभिर संघा र नाथन म्याकएन्ड्रयुले २÷२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । सिड्नीका लागि उस्मान ख्वाजाले ४९ रन बनाए । सिड्नीका एलेक्स रोसले अविजित ४४ रन जोड्दा बेन कटिङ ३१ रनमा अविजित रहे । यस्तै एलेक्स हालेसले २१ रन बनाउदा अर्जुन नैरले १५ रन बनाए । होबार्टका डीअर्सी सर्टले ३ विकेट लिए । सिड्नीविरुद्ध सन्दीपले १ विकेट लिए । उनले ४ ओभरमा २३ रन खर्चिएर १ विकेट लिएका हुन् । सन्दीपले लगातार तेस्रो खेलमा विकेट लिएका हुन् । यस अघिका दुई खेलमा उनले ३ विकेट लिईसकेका छन् । जितसँगै सिड्नी २२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । होबार्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
एउटा बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा शुल्क लाग्ने काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई जारी गरिएको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७७ मा संशोधन भएको छ । माघ १ गतेदेखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ। शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ समेत राष्ट्र बैंकले निर्देशन दिएको छ। राष्ट्र बैंकले विहिबार एक सूचना जारी गर्दै अनुमतिपत्रप्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई यस्तो निर्देशन दिएको हो। निर्देशनमा राष्ट्र बैंकले अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो। महिनामा दुई पटक मात्रै प्रयोग गर्नेलाई निःशुल्क गर्नुपर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए। त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था पनि गरिएको छ।
भारतमा देखियो बर्ड फ्लू, हजारौँ पन्छी मारिँदै बीबीसी । भारतका विभिन्न ठाउँमा हाँस र कौवामा एभिअन फ्लूको सङ्क्रमण देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको छ। विभिन्न राज्यहरूमा धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका थिए। भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ। ‘उच्च सतर्कता’ सङ्घीय सरकारले ‘उच्च सतर्कता’ जारी गर्दै फ्लू फैलिन नदिनका लागि आपत्कालीन उपायहरू अपनाउन भनेको छ। मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ। कोरोनाभाइरस महामारीबाट जुझ्नका लागि भारतले आउँदा महिनाहरूमा दशौँ लाखमा खोप लगाउने काम थालिरहँदा त्यहाँ उक्त सङ्कट देखा परेको हो। केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द गरिएका छन् भने अन्डा बिक्रीको काममा समेत रोक लगाइएको छ। कहाँ कस्तो प्रभाव? उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मङ्गोलियाबाट बसाइसराई गर्दै आएका झन्डै २,४०० चराहरू खोया हाँसहरू मरेको पाइएको बीबीसी हिन्दीले जनाएको छ। त्यस्तै केरला राज्यमा समेत १२,००० हाँसहरू मरेपछि राज्यको मापदण्ड अनुसार विभिन्न ३६,००० पन्छीहरू मारिएको छ। मध्य प्रदेशमा पछिल्लो १० दिनमा सयौँ कौवाहरू मरेका पाइएकामा हालै बकुल्ला र सुगाहरू समेत त्यसमा थपिएका छन्। त्यहाँको इन्दोर सहरमा ५० वटा मरेका कौवाहरू भेटिएपछि अधिकारीहरूले आसपासमा रुघाखोकी र ज्वरो आएका मानिसहरू छन् किन भनेर जाँच गरेका थिए। हरियाणा राज्यमा समेत हजारौँ पालिएका पन्छी मरे पनि त्यो बर्ड फ्लू नै भएरनभएको पुष्टि भएको छैन। उसका छिमेकी राज्य गुजरात र राजस्थानलाई समेत उच्च निगरानीमा राखिएको छ।
एउटा बालिका बलात्कार घटना जसले कोरियाको कानुनी कमजोरीलाई उजागर गरिदियो बीबीसी । एक बालिकालाई क्रूर तरिकाले बलात्कार गरेको आरोप लागेका व्यक्तिको सजाय कम र रिहाइको घटनालाई लिएर दक्षिण कोरियाको न्यायिक प्रणालीबारे नयाँ बहस सुरु भएको छ। बाह्र वर्षअघि ११ डिसेम्बर बिहान राजधानी सोलबाट दक्षिण-पश्चिम अन्सानमा एकजना आठ वर्षीया बालिका विद्यालय जान निस्किएकी थिइन्। उनलाई ५६ वर्षीय चो दू सूनले बाटोबाटै अपहरण गरे र नजिकैको चर्चको शौचालयमा लगेर क्रूर ढङ्गले पिट्नुका साथै बलात्कार गरे। काल्पनिक नाम ना-योङ्ग दिइएकी ती बालिका बाँच्न सफल भइन्। तर अहिलेसम्म पनि उनी आक्रमणका कारण शारीरिक रूपमा अशक्त छिन् भने मानसिक आघातबाट गुज्रिरहेकी छन्। उनको बलात्कारीलाई अपराध गरेको अन्सानमा फर्कन अनुमति दिइएपछि उनले अन्यत्रै सर्नुपर्ने भएको छ। चोको नयाँ निवास ना-योङ्गको घरभन्दा एक किलोमिटरभन्दा पनि कम दूरीमा छ। सजाय घटाएर १२ वर्षमा सीमित पारिएर चो रिहा भएको केही दिनपछि पीडितका पिताले भने, “हामी भाग्न चाहँदैन थियौँ तर हामीसँग विकल्प थिएन। म के भन्न चाहन्छु भने सरकारले पीडितलाई लुक्न बाध्य पार्‍यो।” उनले ना-योङ उक्त स्थानबाट अन्यत्र जान नचाहेको पनि बताए। उनी आफ्ना नजिकका साथीहरूलाई गुमाउन चाहन्नन्। त्यो परिवार त्यहाँबाट हिँडेपछि आफ्नो पहिचान खुल्छ कि भनेर पनि डराएका छन्। तर उनीहरूका लागि उक्त स्थान छाड्नुभन्दा अर्को विकल्प थिएन। पीडितका पिताले भने, “धेरै वर्ष गुज्रियो तर अहिलेसम्म केही परिवर्तन भएन। बोझजति अहिले पनि सबै पीडितकै काँधमा आएको छ।” मदिरापान एउटा कानुनी छुट यौन अपराधीप्रति उदार बनेको भन्दै चोको मुद्दाका कारण देशको न्याय प्रणालीले व्यापक आलोचना खेपेको छ। सुरुमा उनलाई १५ वर्षको जेल सजाय भएको थियो। उनले बलात्कार गर्दा आफूले रक्सी खाएको र मातेको दाबी गरेपछि पुनरावेदन गरिएको अदालतले त्यसलाई घटाएर १२ वर्ष बनाइदियो। त्यसको कारण दक्षिण कोरियामा रक्सी खाएर व्यापक प्रभाव परेका बेला गरिएको अपराधमा दिइने सजायमा उदारता अपनाइनु हो। “सिम सिन याक” भनेर चिनिने देशको फौजदारी संहिताको दफा १० (२) ले भन्छ- यदि मानसिक रूपमा अशक्त व्यक्तिले अपराध गरे अदालतले उसको सजाय घटाइदिन सक्छ। साथै अर्को कानुनले ‘मादक पदार्थको सेवन’ले व्यक्तिको मानसिक अवस्थालाई अशक्त बनाइदिने बताउँछ। मानिसहरूले बलात्कारीको सजाय घटाइएपछि त्यसविरुद्ध आवाज बुलन्द गरे। कोरियन इन्स्टिच्युट अफ क्रिमिनोलोजीका यून जङ सूक उक्त मुद्दाले देशव्यापी बहस छेडेको बताउँछन्। उनले भने, “उनको मुद्दाले कोरियाली कानुनलाई परिवर्तन गरिदियो र जसरी हामी मादक पदार्थ सेवनलाई अपराधमा हेर्छौँ त्यसलाई पनि परिवर्तन गर्‍यो।” उनको मुद्दापछि राष्ट्रिय संसद्‌ले उक्त कानुनमा संशोधन गर्‍यो र प्रतिवादीले मदिरा सेवनलाई बचाउका लागि गर्न सक्ने उपयोगलाई थप कठिन बनाइदियो। यद्यपि त्यसलाई हटाउने माग बढिरहेको भए पनि उक्त प्रावधान कायमै छ। र, मदिरापानको निर्णय गर्न अदालतको विवेकमा छाडिएको छ। अक्टोबर २०१९ मा कलेज पढ्ने विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका २६ वर्षीय पुरुषको जेल सजाय चार वर्षबाट तीन वर्षमा घटाइएको थियो। उनका वकिलले उनले त्यसबेला मदिरा सेवन गरेको तर्क गरेका थिए। यसै वर्षको सुरुमा पनि २४ वर्षीय पुरुष सोङ जोङ वू १८ महिना मात्र जेल सजाय पाएर रिहा भएका थिए। उनले विश्वकै सबैभन्दा ठूलो बालबालिकाहरूको अश्लील भिडियो राख्ने वेबसाइट चलाएका थिए। अमेरिकाले माग गरेको उनको सुपुर्दगीलाई स्थानीय अदालतले गत जुलाईमा अस्वीकार गरेको थियो। महिला अधिकारकर्मीहरूले चाहिँ उनको सुपुर्दगी हुन नसक्नुले यौन अपराधीप्रति न्यायिक शिथिलतालाई दर्साउने बताएका छन्। जन आक्रोश चोको रिहाइलाई लिएर जनआक्रोश बढेको छ। छ लाखभन्दा बढी मानिसहरूले हस्ताक्षर गरेर राष्ट्रपतिको ब्लू हाउसको वेबसाइटमा पुनः सुनुवाइको माग गरेका छन्। तर सरकारले त्यसलाई अस्वीकार गरेको छ। ६८ वर्षका चोलाई उनकी पत्नीको घरमा लाने क्रममा पनि मानिसहरूले नारा जुलुस गरेका थिए। उनलाई रिहा गरेर सरकारी गाडीमा लगिएको थियो। रिहाइका क्रममा मानिसहरूले उक्त गाडीमा अण्डा प्रहार पनि गरेका थिए। प्रहरीले उनको पटकपटक चेकजाँच गर्ने बताएको छ र चोको गृहनगरमा थप प्रहरी बुथ स्थापना गरेको छ। उनको निगरानी गर्न ३५ वटा क्यामेराहरू जडान गरिएको छ भने उनले सात वर्षसम्म एउटा विद्युतीय निगरानी उपकरण सधैँ लगाउनै पर्ने नियम बनाइएको छ। प्रहरीले ना-योङको परिवारलाई पनि एउटा स्मार्ट घडी लगाउन आग्रह गरेका थिए। उक्त घडीले चो उनीहरूको आसपास आएमा जनाउ दिने थियो। तर पीडितका पिताले उक्त आग्रहले आफूहरूलाई थप चिन्तित बनाएको भन्दै त्यसलाई अस्वीकार गरेको बताए। ‘पीडितको आवाज खै?’ कानुनका जानकारहरू न्याय प्रणाली परिवर्तन भइरहेको तर पर्याप्त नभएको बताउँछन्। पुसान राष्ट्रिय विश्वविद्यालयका कानुनका प्राध्यापक जुङ् सेउङ-यून सजाय दिने र रिहा गर्ने कार्यमा परिवर्तन हुनु जरुरी देख्छन्। उनी अहिलेको न्यायिक प्रणालीले पीडितको अवस्थालाई कमै ध्यान दिएको ठान्छन्। पीडितका पिता चाहिँ पीडितका लागि थप सहयोगको अपेक्षा राख्छन्। उनी यदि सरकारले कुनै एक अधिकारी वा सामाजिक कार्यकर्तालाई लगातार पीडितसँग सम्पर्कमा रहने व्यवस्था गरिदिए हुन्थ्यो भन्ने चाहन्छन्।
असान्जलाई सुपुर्दगी नगर्ने बेलायती अदालतको निर्णय स्वागतयोग्यः राष्ट्रसंघ जेनेभा । राष्ट्रसंघका यातना सम्बन्धी विशेष प्रतिवेदक निल्स मेल्जरले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्ने भनी बेलायती अदालतले दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन् । बेलायती अदालतले अमेरिका सुपुर्दगी गरिए असान्जमाथि यातना सहित कठोर कारावासमा पठाइने भन्दै असान्जको कमजोर मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखी अमेरिका सुपुर्दगी गर्न अस्वीकार गरेको थियो । मेल्जरले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “संयुक्तराज्य अमेरिकामा असान्जमाथि ठूलो यातना वा अन्य किसिमले क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा यातना दिइने निश्चित थियो ।” अमेरिकाले आफ्ना सुरक्षासँग सम्बन्धी महत्वपूर्ण दस्तावेज चोरी गरेको आरोप लगाउँदै असान्जलाई अमेरिका सुपुर्दगी गर्न बेलायत समक्ष अनुरोध गरेको छ । हाल असाजलाई बेलायतको बल्मार्स कारागारमा राखिएको छ । मेल्जरले यति असान्जलाई अमेरिका पठाइएको भए उनीमाथि १७५ वर्षको जेल सजाय हुने थियो भनेका छन् । तर मेल्जरले असान्जको मुद्दालाई खोज पत्रकारिता गर्न चाहनेहरुको प्रेस स्वतन्त्रता सुरक्षाका सन्दर्भमा पनि व्याख्या गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले भने, “यस फैसलाले प्रेस स्वतन्त्रता, जवाफदेहीता र कानुनी शासनलाई गम्भीर रुपमा बेवास्ता गर्ने गरी एक किसिमको विध्वंसात्मक नजिर कायम गरेको छ ।”
कम्बोडियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण काठमाडौं । कम्बोडिया सरकारले नेपाल सरकारलाई कोभिड–१९ व्यवस्थापनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा कम्बोडियाका स्थायी सचिव आउच बोरिथको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई ती सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । दुई वटा विमानमा चार्टर्ड गरी नेपाल ल्याइएका विभिन्न १२ किसिमका स्वास्थ्य सामग्री कम्बोडियाले हस्तान्तरण गरेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा फेस मास्क २० लाख, फेब्रिक फेस मास्क एक लाख, एन ९५ मास्क २० हजार, चस्मा २० हजार, पीपीई सेट २० हजार, फेस शिल्ड २० हजार, सेफ्टी प्लाष्टिक जुत्ता एक हजार र थर्मल गन ५०० थान रहेका छन् । सो अवसरमा मन्त्री त्रिपाठीले सहयोगका लागि कम्बोडियाको सरकारलाई सहयोगका लागि नेपाल सरकारका तर्फबाट धन्यवाद दिए ।
एअरपोर्टमा भेटिएको पेस्तोलको गोली नेपाल प्रहरीकै काठमाडौं। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा जान लागेका बद्रिहाङ राईको सुरक्षा जाँच गर्दा पेस्तोलमा प्रयोग हुने गोलीको एक डब्बा फेला पर्यो। विमानस्थलमा गोलीसहित मानिस फेला परेपछि प्रहरीले सो विषयलाई गम्भीर रुपमा लिँदै गोलीसहित फेला परेका झापा मेचिनगरका २० वर्षीय बद्रिहाङ राई र उनकी श्रीमती मुनादेवी राईलाई नियन्त्रणमा लियो। श्री एअरलाइन्सको विमानमार्फत झापाको भद्रपुर जान लागेका राईको ज्याकेटमा पेस्तोलमा प्रयोग हुने नाइन एमएमको ५० राउण्ड गोलीको एक डब्बा फेला परेको विमानस्थल सुरक्षा प्रमुख राजेशनाथ बाँस्तोलाले बताए। उनले डिसी नेपालसँग भने, ‘पेस्तोलमा प्रयोग हुने गोलीसहित एक दम्पत्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको गौशाला वृत्तमा पठाएका छौं।’ प्रहरीका अनुसार सो गोली नेपाल प्रहरीले प्रयोग गर्दै आएको गोली हो। गौशाला वृत्तका सई पदम न्यौपानेका अनुसार विमानस्थलमा फेला परेको गोली नेपाल प्रहरीले प्रयोग गर्दै आएको हो। प्रहरीले प्रयोग गर्दै आएको गोली बद्रिहाङसम्म कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको प्रहरीले जनाएको छ। प्रहरीले राई दम्पत्तिलाई थुना राखी अनुसन्धान गर्नका लागि अदालतबाट थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ। सई न्यौपानले सात दिन हिरासमा राख्ने अनुमति मागेर अदालतमा पेश गरिएको बताए। उनले अदालतले अनुमति दिएपछि अनुसन्धान शुरु हुने बताए।
टोखाबाट चरिबाघको छालासहित एक जना पक्राउ काठमाडौं । प्रहरीले काठमाडौँको टोखाबाट चरिबाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले टोखा नगरपालिका–७ धापासीबाट संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार)सहित ताप्लेजुङ फुङलिङका ३१ वर्षीय कमलप्रसाद सुनुवारलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले संरक्षित वन्यजन्तु चरिबाघको छाला बिक्रीवितरणका लागि झोलामा बोकेर हिँडिरहेको अवस्थामा सुनुवारलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ व्यक्तिसँग प्रहरीले दुई थान छालासमेत बरामद गरेको छ । पक्राउ परेका सुनुवारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको ब्यूरोले जनाएको छ । रासस
बागलुङमा तङ्ग्रिदै पर्यटन बाग्लुङ। कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ। बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटन सल्वलाउन थालेका छन्। बागलुङमा पनि तङ्ग्रिदै गरेको पर्यटनको प्रभाव छ। धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको विकासका कामले पनि विस्तारै गति लिन थालेका छन्। महामारीको चपेटामा परेको पर्यटन क्षेत्रको विकासमा स्थानीय, प्रदेश र सङ्घीय सरकारद्वारा विनियोजित कार्यक्रम सञ्चालनको चरणमा प्रवेश गरेका छन्। यस वर्ष जिल्लामा पर्यटकीय क्षेत्रको विकास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले १३ वटा उद्यान निर्माणको काम गर्दैछ । यही पुसको १५ बितिसक्दा जिल्लाभर निर्माण हुने उद्यानमध्ये चार वटाको काम शुरु भएको छ। बाँकी उद्यानको नापजाँच र लगत अनुमान तयार गर्ने काम चलिरहेको डिभिजन वन कार्यालयले जनाएको छ। जिल्लाभर छ वटा स्थानीय तहमा ११ वटा उद्यान र २ वटा विद्यालय तथा क्याम्पसमा हरियाली विकास कार्यक्रम चालू आर्थिक वर्षको लागि विनियोजित छन्। “उद्यान आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य हुन्, अन्य पर्यटकीय पूर्वाधारसँग जोडेर उद्यानको विकास गर्ने योजनामा छ ” गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल भन्छन्, “यो वर्ष पर्यटन क्षेत्रमा विनियोजित सबै बजेटको काम हुनेगरी प्रक्रिया थाल्न निर्देशन दिएका छौं।” ताराखोलामा दुईवटा उद्यान बन्ने छन्। शहीद उद्यान, ताराखोला र मोतीमोर बराह पर्यापर्यटन कार्यक्रमका लागि रु १०÷१० लाख बजेट छ। मोतीमोर बराह पर्यापर्यटनको काम सम्झौता भएर शुरु भइसकेको कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए। जैमिनी नगरपालिकामा दश लाखमा दुईवटा उद्यान बन्ने छन्। पाकोट, हिलपार्क, जैदी र देवल मन्दिर क्षेत्र बिनामारेमा पर्यापर्यटनको कार्यक्रम सञ्चालन हुनेछ। बागलुङ नगरपालिकाको अमलाचौरमा शहीद पार्क, रामरेखामा बिपी स्मृति पार्क, नारायणस्थानमा हरियाली पर्यापर्यटन, रामरेखामा हरियाली उद्यान र कालापानी हरियाली उद्यान निर्माण हुनेछन्। बिपी स्मृति उद्यानका लागि पाँच लाख र अन्यमा दश लाख बजेट छ। ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा हरियाली उद्यान बन्ने अधिकारीले बताए। त्यहाँ रु दश लाख बजेट खर्च हुनेछ। गलकोटमा भगत सर्वजित हरियाली उद्यान निर्माणका लागि ६ लाख ८३ हजार बजेट छ। जिल्लाभरका विद्यालयबाट प्रस्ताव मागेर पाँचवटा विद्यालयमा विद्यालय परिसर हरित प्रवद्र्धन कार्यक्रम र विद्यालय तथा कलेजमा हरियाली उद्यान निर्माणको कार्यक्रम सञ्चालन हुनेछन् । दुवै योजनाका लागि जम्मा रु २० लाख बजेट रहेको उनले बताए। पर्यटकीय गतिविधि बढाउने र युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा समेट्ने योजनाअन्तर्गत प्रदेशले उद्यान विकासका कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री लम्साल बताउँछन्। स्थानीय तहसँगको सहकार्यमा सबै योजनाको काम उपभोक्ता समितिले गर्नेछन्। हालसम्म डिभिजन वन कार्यालयमा रहेको तथ्याङ्कअनुसार चार वटा योजनाको मात्रै सम्झौता भएको छ। बाँकी योजनाको उपभोक्ता समिति गठन र योजना सम्झौताका लागि आवश्यक प्रक्रिया थालेको उनले जानकारी दिए।रासस
जलेश्वर पुगेर प्रभु साहले भने, ‘प्रचण्डलाई जनतामाथि विश्वास छैन’ जलेश्वर । शहरी विकासमन्त्री प्रभु साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतामाथि विश्वास नरहेको बताएका छन् । महोत्तरीको जलेश्वरमा शनिबार आयोजित नेकपा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले प्रचण्डले व्यक्तिगत स्वार्थको कारण संसद् विघटन गराउने अवस्था पैदा गरेको आरोप लगाए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई महाधिवेशनमार्फत पार्टीको अध्यक्ष तथा जनतामार्फत नै देशको प्रधानमन्त्री चुन्न पटक–पटक आग्रह गर्दा नमानेकाले संसद् विघटन गर्नुपरेको जिकिर गरे । यो पनि पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री साह चढेको गाडी सोही भेलालाई सम्बोधन गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रधानमन्त्री ओलीले देशको संविधानमा व्यवस्था भएअनुसार नै संसद् विघटन गगरेको बताए । उनले देशको संविधान, राष्ट्रियता, जनताको हकअधिकार तथा जनादेशको रक्षाका लागि प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको र उनको यस कदमलाई सबैले सकारात्मकरूपमा लिएर सबैलाई चुनावमा जान आग्रह गरे । राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले राष्ट्र र राष्ट्रियताका लागि प्रधानमन्त्री ओली नै देशको सर्वोच्च नेता रहेको बताए । उनले हिमाल, पहाड र तराईको चौतर्फी विकासका लागि केवल ओलीले नै प्रमुख भूमिका खेलेको र राष्ट्र तथा राष्ट्रियता बचाउनका लागि देशी तथा विदेशी शक्तिसँग लड्ने हिम्मत उनले मात्र देखाएको बताए ।
महिलाकाे नौ महिनादेखि ओडारकै बास, खाेज्न काेही आएनन् कर्णाली । जगल्टिएको कपाल, कलेटी परेका ओठ, कठ्याङ्ग्रिएका हात, महिनौँदेखि फोहोर कपडाभित्र लपेटिएको एउटा टिठ लाग्दो जीवन, जसलाई झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटे जस्तो लाग्छ। सायद कुनै समस्याले आज उनलाई त्यो अवस्थामा ल्याई पुर्‍याएको हुन सक्छ। त्यही पात्रको परिचय भने नौ महिनादेखि अहिलेसम्म कसैले पाउन सकेको छैन। चन्दननाथ नगरपालिका–३ जुम्लास्थित नाओडार (खुला ओडार) छ जुन जुम्ला सदरमुकामबाट एक किलोमिटर दूरीमा पर्छ। त्यही खुला ओडारमा नौ महिनादेखि एकजना अपरिचित बूढी महिलाको बास छ। जेठ–भदौसम्म ती महिलाका लागि ओडारको बसोबास सहज भएपनि असोजयता भने सिरेटो बढ्दै अहिले कठ्याउने जाडोले उनको बसाई निकै सकसपूर्ण बन्दै गएको छ। सामान्यतः दैलेख घर बताउने ती महिला त्यहाँ कहिले, कसरी र किन आइन् भन्ने विषयमा कोही जानकार छैन। नाम र घर सोध्दा माता मात्र भन्ने ती महिला कहाँकी हुन् भन्ने राम्रोसँग पत्तो नपाएको चन्दननाथ नगरपालिका–३ जुम्लाका वडाध्यक्ष नन्दबहादुर बुढ्थापाले जानकारी दिए। “महिला को हुन्, कहाँबाट कसरी यहाँसम्म आइपुगिन् ? त्यो हामी कसैलाई थाहा छैन”, अध्यक्ष बुढ्थापाले भने, “धेरै पटक सोध्दा भने उनले दैलेख खड्का बाडा भनेजस्तो गरेपछि उनी दैलेखको हुन सक्छिन् भन्ने हामीले अनुमान गरेका छौँ ।” उनको खोजतलासमा कहीँकतैबाट पनि कोही व्यक्ति नआएको उनले जानकारी दिए। उनलाई घरमा ल्याउन खोज्दा नमानेकोले ओडारमै बस्न दिइएको बरु खानाका लागि यहाँको समुदायले सहयोग गर्दै आएको उनले बताए। ती महिला जङ्गल नजिकको खुला ओडारमा बस्दै आएकाले जङ्गली जनावरबाट खतरा रहेको स्थानीयले बताउँदै आएका छन्। जुम्लामा आजभोलि न्यूनतम तापक्रम माइनस ८.५ डिग्री सेल्सियस छ । यो समयमा मान्छेलाई बाहिर निस्कन नै गाह्रो हुन्छ । चिसोले घरभित्र न्यानो गरेर बस्नेको जीवन कष्टकर भइरहँदा माइनस डिग्रीको तापक्रममा खुला ओडारमा बस्ने ती महिलाको कष्टपूर्ण जीवनको बयान नै गर्न नसकिने अवस्था रहेको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले बताए। तत्काल उनलाई उद्धार गरी पुनःस्थापना गर्नुपर्ने उनको भनाइ थियो। बेबारिसे महिला खुला ओढारमा बस्ने खबर पाएपछि तत्काल चिसोको जोखिम हुनबाट बचाउन भन्दै बिहीबार जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको नेतृत्वमा नन्दबक्स गणका गणपति दिवाकर रायमाझी, जनपथ तथा सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय माधवप्रसाद काफ्ले र गगन श्रेष्ठ, पत्रकार चौलागाईसहितको टोली ती महिला बस्ने ओडारमै पुगेर कम्बल हस्तान्तरण गरेको छ। प्रजिअ थापा नेतृत्वको टोली र नेपाल रेडक्रस, उद्योग बाणिज्य सङ्घ जुम्ला मिलेर महिलालाई भेटेर कम्बलसहित ज्याकेट, चामल र भाँडाकुँडा सहयोग गरेको छ। “महिलामा मानसिक असन्तुलनको समस्या रहेछ । कसैले घरमा लिन खोजेपनि जान नमान्दो रहेछन्”, उनले भने, “तत्काल उनलाई जुम्लामा पुनःस्थापन गर्ने ठाउँ नभएकाले हामीले केही राहतका सामग्री सहयोग फर्केका छौँ।” जिल्ला प्रशासन कार्यालय जुम्लाले सडक मानवको अवस्था अनुगमन गर्दा ती महिलासहित १० जना भेटिएको र उनीहरुलाई चिसोबाट बचाउन तत्काल न्यानो कपडा वितरणसहित आवश्यक राहत प्रदान गरिएको प्रजिअ थापाले बताए। बिहीबार नै जिल्लामा बैठक बसेर सडक मानवको तथ्याङ्क सङ्कलन गर्ने र पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको उनको भनाइ थियो। सडकमा बाध्यात्मक हिसाबले बस्दै आएका मानवको तथ्याङ्क सङ्कलनका लागि भने सामाजिक विकास कार्यालय जुम्लालाई निर्देशन गरिएको प्रशासन जुम्लाले जनाएको छ। रासस
फरार दुई प्रतिवादी पक्राउ कञ्चनपुर । अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो। चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजार जरिवाना फैसला भएका रावतलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा पेश गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। उनका अनुसार लागुऔषध मुद्दामा अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना फैसला भएका फरार रहेका दमाईंलाई पक्राउ गरी कारागार चलान गरिएको छ।
एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै काठमाडौंं। एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ। महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने यस सहकार्यको उद्देश्य रहेको एनसेलले जनाएको छ। ‘एमयूएन एक समावेशी मञ्च हो, जसले नेपाली महिलालाई नेतृत्वदायी भूमिकामा पुग्ने गरी महिला सशक्तीकरणमा सहयोग पुरÞ्याउने विश्वासका साथ काम गरिरहेको छ। यस सहकार्यअन्तर्गत एनसेल ‘कनेक्टेड बाई पार्टनर’को रुपमा आबद्घ भएको छ,’ एनसेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। एनसेलले हालै मात्र महिलाका लागि ‘अघि बढौं’ भन्ने थिमका साथ विषेश रुपमा तयार पारिएको ‘गो सिम’ प्याक ल्याएको थियो। एनसेलको ‘गो’ पहलको दर्शन भनेको प्रगतिशील महिलालाई आफ्ना लक्ष्य प्राप्तिका लागि अघि बढ्न प्रोत्साहन गर्नु हो। नेपालमै पहिलो पटक समावेशी दृष्टिकोणमा आधारित भई अगाडि बढिरहेको एमयूएनको पनि यही दर्शन छ। एनसेलले पुस ११ गते यही सहकार्यअन्तर्गत रही ‘मिस युनिभर्स नेपाल २०२०’ का उत्कृष्ट १८ जनामा आउन सफल प्रतिस्पर्धीसँग डा. रवीना देशराज (डेप्युटी सीईओ, मेगा बैंक), प्रियंका कार्की (कलाकार) र पूजा रिजाल (सोलो ट्राभलर)को अन्र्तक्रिया पनि आयोजना गरिएको थियो। प्रतियोगिताको फाइनल बुधबार साँझ हुनेछ । उत्कृष्ट १८ मा छानिएका मध्येबाट एक प्रतिस्पर्धीले ‘मिस युनिभर्स २०२०’को ताज जित्न सफल हुनेछिन् । ताजसँगै विजयीले रु. २५ लाख बराबरको पुरस्कार पाउनेछन् । आकर्षक नगद पुरस्कारका साथै आयोजकहरूले विजयीलाई विश्वमा हुने यस किसिमका प्रतियोगितामा सहभागी गराउनेछन् । महिलालाई लक्ष्यसम्म पु-याउन थप सहयोग र प्रोत्साहन गर्दै सशक्तीकरणका लागि यस कार्यक्रममार्फत आबद्घ हुन पाएकोमा निकै हर्ष लागेको एनसेलले जनाएको छ । एमयूएनको मञ्चमार्फत विजयी प्रतियोगीले नेपाललाई विश्वमाझ प्रतिनिधित्व गर्ने मौका पाउनेछन् भने सबै प्रतिस्पर्धीले विश्वस्तरीय कोचिङ र गु्रमिङका साथ नेटवर्किङ, बिजनेस तथा जीवनमा चाहिने विभिन्न कलाका बारेमा सिक्ने मौका पाएका छन्।
भारतमा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस, ६ जना संक्रमित काठमाडौं। बेलयातबाट आएका ६ जनाको स्वांब संकलन गर्दा भारतमा नयाँ स्वरुपको कोरोनाका फेला परेकाे छ। भारतीय संचार माध्यामका अनुसार अहिलेसम्म नयाँ स्ट्रेनकाे काेराेना भाइरसबाट ६ जना संक्रमित भएकाे पुष्टि भएकाे छ।भारतका विभिन्न शरहमा बेलायतबाट आएकाहरूकाे परीक्षणा गर्दा छ जनामा नयाँ  स्वरूपकाे काेरोनको नयाँ भाइरस देखिएको हो। भारतीय संचार माध्यामका अनुसार मंगलबार सार्वजनिक रिपोर्टमा नयाँ स्ट्रेनको कोरोना भइरस देखिएको जानकारी गराइएको छ। यूकेबाट फर्केका उनीहरु ३ जना बेङ्लोर, २ जना हैदराबाद र १ जना पुने शरहका बासिन्दा हुन्। जानकारी अनुसार २५ नोबेम्बरदेखि २३ डिसेम्बरसम्म युकेबाट करिव ३३ हजार जना भारत आएका छन्। उनीहरुमध्ये चेकजाँच गरेका १ सय १४ जनामा कोरोना पोजेटिभ भेटिएका थिए। यिनीहरुमध्येका ६ जनामा कोरोनाको नयाँ स्ट्रेनको भाइरस पाइएको हो। उनीहरुलाई भारत सरकारले आइसोलेसनमा राखेको छ भने उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेको छ। र उनीहरु अरु कसको सम्पर्कमा आए भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ। बेलामायतबाट फैलिन सुरु गरेको नयाँ स्ट्रेनको कोरोनाभाइरस ७० प्रतिसत छिटो फैलिनसक्ने बैज्ञानिकहरुले बताएका छन्। चाँडो फैलिने भएका कारण धेरै सतर्क रहन पनि अनुरोध गरिएको छ। यस्तै, वैज्ञानिकहरुका अनुसार भ्याक्सीन निर्माणमा नयाँ स्ट्रेनको भाइरसले फरक पार्ने छैन। हाल भारतमा डिसेम्बर २३ देखि लागुहुने गरी ३१ डिसेम्बरसम्म युकेबाट आउने सबै उडानहरुमा रोक लगाइएको छ। लण्डनबाट फर्केकाहरुको टेस्ट गरिरहेको छ। नयाँ स्ट्रेनको जानकारी भएपछि राष्ट्रिय सुरक्षा समितिको बैठक बसेर अझै धेरै तयारी गरिएको छ।
कमिशन घटेको दिन सेयर बजारमा देखिएन उत्साह, नेप्से ४० अंकले घट्यो काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से झण्डै ४० अकंले घटेको छ। आइतबार नेप्से ३९ दशमलव ९८ अंकले घटेर १९ सय ९८ दशमलव ६५ विन्दुमा बन्द भएको छ। आइतबार कारोबार भएका सबै समूहको सेयर ओरालो लागेको छ। २ सय ४ वटा कम्पनीका ८१ लाख ७७ हजार कित्ता सेयर ४ अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६६ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार सोल्टी होटल र विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन्। नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीले लिने कमिशन आइतबार देखि लागु हने गरि घटाएको छ। तर, यसको प्रभाव भने बजारमा देखिएन।
कोभिड–१९ विरुद्ध अग्रमोर्चामा खटिनेलाई फ्रान्सले नागरिकता दिने बीबीसी । फ्रान्सले कोरोनाभाइरस विरुद्धको अग्रमोर्चामा खटिएका सयौँ आप्रवासीहरूलाई द्रुत प्रक्रियाबाट अङ्गीकृत नागरिकता दिने बताएको छ। आन्तरिक मन्त्रालयले कोभिड–१९ को नियन्त्रण प्रयासमा खटिएका व्यक्तिहरूलाई द्रुत रूपमा उपलब्ध गराइने अङ्गीकृत नागरिकताका लागि निवेदन दिन भनेको हो। अहिलेसम्म ७०० भन्दा बढीले नागरिकता पाएका छन् वा पाउने अन्तिम चरणमा रहेका छन्। त्यसमा स्वास्थ्य क्षेत्रमा काम गर्ने पेसाकर्मी अनि सरसफाइ र पसलमा काम गर्ने कामदार रहेका छन्। चिकित्सक र नर्सजस्ता अग्रमोर्चामा खटिने व्यक्तिहरू उच्च दरमा कोभिड(१९ को सिकार भएका थिए र कतिपयले ज्यान पनि गुमाएका थिए। कोरोनाभाइरसबाट सबैभन्दा खराब अवस्थामा रहेको १० देशमध्ये फ्रान्स पनि एउटा हो। त्यहाँ २५ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने करिब ६२ हजारले ज्यान गुमाएका छन्। गएको सेप्टेम्बरमा फ्रान्सले द्रुत रूपमा नागरिकता दिने अभियान घोषणा गरेका थियो। अहिलेसम्म ७४ जनाले फ्रान्सको राहदानी पाइसकेको र अरू ६९३ जना अन्तिम चरणमा रहेको बताइएको छ। हालसम्म आवेदन दिनेको सङ्ख्या २,८९० रहेको छ। फ्रान्समा अङ्गीकृत नागरिकताका लागि निवेदन दिने व्यक्ति त्यहाँ पाँच वर्ष बसेको हुनुपर्ने, स्थिर आम्दानी हुनुपर्ने र फ्रान्सेली समाजसँग राम्रोसँग भिजेको हुनुपर्ने व्यवस्था छ। सम्मानका लागि नागरिकता तर सरकारले कोभिड नियन्त्रणको क्षेत्रमा काम गरेका व्यक्तिहरूले उनीहरूले ुपुर्‍याएको महान् सेवाु लाई ध्यान दिँदै दुई वर्ष फ्रान्समा बसेकै आधारमा नागरिकताका लागि योग्य हुने उल्लेख गरेको छ। सन् २०१७ मा फ्रान्सको जनसङ्ख्या ६४ लाख रहेको थियो जसमा उत्तर र पश्चिम अफ्रिकामा रहेका उसका पूर्व उपनिवेश भएका ठाउँका मानिसहरूको सङ्ख्या उल्लेख रहेको थियो। फ्रान्समा नागरिकता पाउने प्रक्रिया अप्ठेरो र लामो रहेको ठानिन्छ। सन् २०१९ मा त्यहाँ अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कम मानिसलाई अङ्गीकृत नागरिकता दिइएको थियो। फ्रान्सले बहादुरी र योगदान पुर्‍याए बापत् नागरिकतामार्फत सम्मान गरेको यो पहिलो घटना भने होइन। सन् २०१८ मा मालीका एक जना व्यक्तिलाई प्यारिसमा कौशीबाट खस्न लागेका एक जना सानो बच्चालाई उद्धार गरेपछि फ्रान्सको नागरिकताले सम्मानित गरिएको थियो।
आइतबार सुनको मूल्य स्थिर काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार स्थिर रहँदै छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य पनि स्थिर छ। चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
गुल्मीमा ६७ हजार राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन तम्घास । राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत गुल्मीमा हालसम्म ६७ हजारभन्दा बढीको विवरण सङ्कलन भएको छ । गत कात्तिक २३ गते जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत जिल्लामा हालसम्म ६७ हजार २५१ जनाको विवरण सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । अहिलेसम्म जिल्लामा गुल्मीदरबार, धुर्कोट, मदाने र छत्रकोट गरी चार पालिकामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन गर्ने कार्य भइसकेको छ । ती पालिकामा कूल ४३ हजार ११० जनाको विवरण सङ्कलन भएको दर्ता गर्ने प्राविधिक सुनिता कँडेलले जानकारी दिए । यसैगरी रुरुक्षेत्र, मालिका र मुसिकोट नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ । गुल्मीदरबार गाउँपालिकामा ११ हजार ९०५, धुर्कोट गाउँपालिकामा १० हजार ५८०, छत्रकोट गाउँपालिकामा १० हजार ८४५ तथा मदाने गाउँपालिकामा नौ हजार ७८०, मुसिकोटमा सात हजार ४४२, रुरुक्षेत्रमा आठ हजार २३२ तथा मालिकामा आठ हजार ४६७ जनाको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन भएको बताइएको छ । जिल्लाका अझै ६ स्थानीय तहमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलन गर्ने काम बाँकी छ । बाँकी पालिकामा रेसुङ्गा नगरपालिका तथा इस्मा, कालीगण्डकी, चन्द्रकोट र सत्यवती गाउँपालिका छन् । राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयको मातहतमा ६१ कर्मचारी कार्यरत छन् । हराएको तथा नयाँ नागरिकता प्रमाण पत्र बनाएपछि प्रशासन कार्यालयमै विवरण सङ्कलन गर्ने सुविधासमेत छ । अब करिब एक महिनामा सबै पालिकामा विवरण सङ्कलनको सकिने प्राविधिक कँडेलको भनाइ छ । राष्ट्रिय परिचयपत्रले व्यक्तिगत घटना जन्म, मृत्यु, बसाइँसराइ, विवाह, सम्बन्धविच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापनलगायत पञ्जीकरणसम्बन्धी कार्य गर्न थप सहज हुने बताइएको छ । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुवा र आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकका सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाका नाम, आमाका नाम, पति र पत्नीका नाम, हातका सबै औँठाछाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछन् ।
कोरोनाविरुद्धको खोप भारतबाटै ल्याउने नेपालको तयारी काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप नेपालले दक्षिणी छिमेकी भारतबाटै ल्याउने तयारी गरेको छ। दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्य भारतमा विकसित भइरहेको खोप ल्याउनेबारे छलफलमा जुटेका छन्। उनले २४ डिसेम्बरमा भारतीय नीति आयोगका प्रमुख अमिताभ कान्तलाई यही विषयलाई लिएर भेटेका छन् भने २१ डिसेम्बरमा भारतीय पोख उत्पादक कम्पनी सिरम इन्टिट्यूटका वरिष्ठ अधिकारी प्रकाशि सिंहसँग छलफल गरेका छन्। Ambassador @nilacharya met today Mr Amitabh Kant, CEO, @NITIAayog and discussed production and availability of Covid 19 vaccine. Mr Kant assured that Nepal will be in priority in India’s vaccine cooperation. — Nepal Embassy, India (@EONIndia) December 24, 2020 अमेरिका र यूरोपमा कोरोनाविरुद्धको भ्याक्सिनेशन शुरु भएपछि नेपालमा खोप ल्याउनेबारे बहस भइरहेको छ। यहीबीचमा नेपाल सरकारले विभिन्न ७ वटा देशमा अनुदानका रुपमा कोरोना विरुद्धको खोपका लागि सहयोग गर्न कूटनीतिक नोटसमेत पठाइसकेको छ। तर, ती पत्रको के जवाफ आयो भन्ने विषयमा केही बताइएको छैन। तर, दिल्लीमा नेपाली राजदूतको सक्रियता बढ्नुले नेपाल भारतबाटै खोप ल्याउने तयारीमा लागेको बुझ्न सकिन्छ। भारतबाट नेपालले खरिद गरेर ल्याउने की अनुदानमा भन्ने स्पष्ट भएको छैन। भारतमा हाल तीनवटा खोपको क्लिनकल ट्राइल जारी छ। सिरम इन्टिट्यूटले एस्ट्राजेनेकासँग मिलेर बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको खोप उत्पादन गरिरहेको छ। Addnl. Director, Serum Institute of India Mr Prakash Singh called on Ambassador @nilacharya and shared updates on Covid 19 vaccine production and availability. pic.twitter.com/0wbitJCkbS — Nepal Embassy, India (@EONIndia) December 21, 2020 त्यस्तै यस्तै भारत बायोटेक कम्पनीले कोभ्याक्स नामको खोप विकसित गरिरहेको छ। भारतमा अर्को रुसी खोप स्पुतनिक भी को पनि परीक्षण चलिरहेका छ। तीनवटै खोप हाल क्लिनक ट्रायलमा छन्। र तीनै खोपले भारतमा आपतकालिन प्रयोगका लागि अनुमति मागिसकेका छन्। तर, हालसम्म भारत सरकारले कुनै खोपलाई पनि अनुमति दिइसकेको छैन।
आज पुष ११ गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल आज वि.सं.२०७७ साल पुष ११ गते, शनिबार । सन् २०२० डिसेम्बर २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । द्वादशी तिथि। चन्द्रमा मेष राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मिनेट र सूर्यास्त बेलुकी ५ः१४ मिनेटमा मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सुखसयलमा समय जानेछ। प्रेममा शंकाले तनाव हुनेछ। मनोरञ्जनमा दिन बित्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अनावस्यक काममा खर्च आउनेछ। स्वास्थ्यमा गडबढ हुनेछ। फाइदा अरुलाइ जानेछ। मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) धनको सन्चय बढ्नेछ। लगानीमा फाइदा हुनेछ । पुरानो मित्रको साथ पाईनेछ । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरकारी झमेला हट्नेछ। सामाजिक काममा प्रशंसा मिल्नेछ। राजनीतिमा व्यस्तता बढ्नेछ। सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अधुरा काम सुचारु हुनेछन्। धर्ममा मन जानेछ। सामाजिक योगदान रहनेछ। कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सरकारी झमेला आउनेछ। आर्थिक काममा अपजस मिल्नेछ। नया काममा बाधा हुनेछ। तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) जिम्मेवारीमा अपगाल आउनेछ। आम्दामीमा अचानक घाटा हुनेछ। शरीरमा विसञ्चो देखिनेछ। बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक मेलमिलाप हुनेछ। यात्रामा सास्ती हुनेछ। प्रेममा प्रगति रहनेछ। धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विरोधीहरु आफ्नो बाटो लाग्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। मुद्दामामिला किनारा लाग्नेछन्। मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनकार्य अगाडि बढ्नेछ। आम्दानी वृद्धि हुनेछ। सन्तानको सहयोग रहनेछ। कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) महिलावर्ग संग दुष्मनी बढ्नेछ। ढिला सुस्तीले घाटा हुनेछ। आफन्त विरोधी बन्नेछन्। मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाइको साथले पुरानो काम टुगिनेछ। छोटो यात्रा हुनेछ। घरायसी अधुरा काम बन्नेछन्।
कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई मातृशोक काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेकी माताकोे निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पूर्व सांसद पाण्डेकी माता योगेन्द्रकुमारीकोे आज बिहान ९८ वर्षको उमेरमा निधन भएको हो । कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले आज एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय एवं नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिएकी माता योगेन्द्रकुमारीले आफ्ना सन्ततिलाई सदैव देश र आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु काठमाडौं। भक्तपुरमा भैसि बोकेको ट्रक अनियन्त्रित भई पल्टीदा चाकको मृत्यु भएको छ। भक्तपुरको जगातीमा भएको दुर्घटनामा चालक विरगञ्जका कैमोदिन अन्सारीको मृत्यु भएको हाे। विरगञ्ज महानगरपालिका वर्ष ३० का कैमोदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ। थप अनुसन्धाना भइरहेकाे प्रहरीकाे जनाएकाे छ।
प्रचण्ड–नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक, महासचिवमा पाण्डेकाे नाम प्रस्ताव काठमाडौं। प्रचण्ड–नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी बैठकले रिक्त महासचिवमा सुरेन्द्र पाण्डेको नाम प्रस्ताव गर्ने बताइएको छ। पाण्डेको नाम केही बेरमा बस्ने केन्द्रीय कार्य कमिटीको बैठकले अनुमोदन गर्नेछ। प्रचण्ड–नेपाल समूहका शीर्ष नेताबीच पाण्डेलाई महासचिव बनाउने सहमति भइरहेको छ। यो सँगै बैठकले नेताहरुको कार्याविभाजन समेत गर्ने एक नेताले जानकारी दिए। बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,नेकपा वरिष्ठ नेता माधब कुमार नेपाल ,भिम रावल ,योगेश भट्टराई ,जनार्दन शर्मा, रघुजी पन्त,घनश्याम भुसाल ,अष्टलक्ष्मी शाक्य ,देबेन्द्र पौडेल लगायतको उपस्थिति रहेकाे छ।
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो। टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। गएको मध्यरात करिब १ बजे घटना भएको स्थानीयवासीले बताएका छन्। घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो। घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताए। धनबहादुरले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन्। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।रासस
झापामा लागुऔषधसहित तीन पक्राउ झापा। जिल्लाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। पक्राउ पर्नेमा भद्रपुर–२ का ३६ वर्षीय दीपक राई, सोही स्थानका ३५ वर्षीय शेरबहादुर बस्नेत र विर्तामोड–५ का २१ वर्षीय सञ्जय तामाङ रहेको उनले बताए। विशेष सूचनाका आधारमा प्रहरीचौकी मेचीपारिबाट खटिएको प्रहरी टोलीले राई र बस्नेतलाई बुधबार बेलुका भद्रपुर–३ स्थित झोलुङ्गे पुलबाट मे२प ४३१८ नंको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा स्कुफ सिरप १०, नाइट्रोजन १०४ पिस, उइनपास मोफोट ७२ पिस, लुपिजेसिक आठ एम्पुल, फेनरागन आठ एम्पुल, डाइजेपाम आठ एम्पुल र गाँजा २०० ग्राम बरामद गरेको थियो। प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर बरामद लागुऔषध र मोटरसाइकलसहित आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखेको छ। त्यस्तै विर्तामोड–१ स्थित शान्ति टोलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका मे८प ३४२८ नंको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीको आधारमा जाँच गर्ने क्रममा ब्राउनसुगर बरामद गरेको छ। मोटरसाइकल चालक विर्तामोड–५ का तामाङले शरीरका विभिन्न भागमा लुकाइछिपाई ल्याउँदै गरेको २६ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रनाउ थापाले जानकारी दिए। पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।रासस
टी टेन लीगमा नेपालका तीन क्रिकेटर अनुबन्धित, तर सन्दीपलाई कसैले किनेन काठमाडौं। युएईको आबुधावीमा हुने टी १० क्रिकेट लीगका लागि नेपालबाट १२ खेलाडीहरुले ड्राफ्टका लागि नाम दर्ता गराएकोमा तीनजना खेलाडीमात्र विक्री भएका छन्। नाम दर्ता गराएका मध्ये पाँच खेलाडी ड्राफ्टमा परेका थिए। फास्टबलर सोमपाल कामी, अर्का बलर करण केसी र अलराउण्डर कुशल मल्ललाई फेन्चाइजीले किनेपछि यो सिजनको टी टेन लीगमा तीनजना नेपाली क्रिकेटरले खेल्ने भएका छन्। ड्राफ्टमा पर्ने खेलाडीमा सोमपाल कामी, करण केसी, दिपेन्द्र ऐरी, कुशल मल्ल रहेका थिए। सोमपाल कामीलाई मराठा अरबियन्सले अनुबन्धन गरेको छ। यस्तै कुशल मल्ललाई टिम अबुधाबीले किनेको छ। नेपालका पूर्व कप्तान पारस खड्का हाल टिम अबुधाबीको मेन्टरको भूमिकामा छन्। यस्तै करण केसीलाई पूर्णे डेभिल्सले आफ्नो टिममा समावेस गरेको हो। तर, आश्चार्यजनक रुपमा नेपाली स्पीनर सन्दीप लामिछानेलाई भने कुनै पनि टिमले चासो दिएनन्। सन्दीप हाल बिग बास लीग खेल्न अस्ट्रेलिया गएका छन्। नेपाली खेलाडीहरु टी टेन लीगमा अनुबन्ध भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत बधाईसमेत दिएको छ।
प्रचण्ड–नेपाल समूहमा गएका महासेठ पुरानै घर फर्किए काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको विवादका कारण मंगलबार अलग-अलग बैठक बसे। प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहले बालुवाटार र कार्यकारी अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले बबरमहलमा आफू वैधानिक हौं भन्दै अलग अलग केन्द्रीय कमिटी बैठक बोलाए। केन्द्रीय कमिटीका छुट्टाछुट्टै बैठक पश्चात एउटा परिदृष्यले संचार माध्याममा चर्चा पायो। त्यो परिदृष्य थियो महासेठ दम्पती। ओलीका विश्वास पात्र मानिकाए रघुवीर महासेठ दम्पत्तिका अनुहार अलग अलग भेलामा देखिए। महासेठ प्रचण्ड–नेपाल समूहले बोलाएको स्थायी कमिटी भेलामा थिए भने उनकी पत्नी जुली महतो ओली समूहले बोलाएको केन्द्रीय कमिटीको भेलामा देखिएकी थिइन्। अलग अलग भेलामा अनुहार देखिएपछि संचारमाध्यामले उनीहरुको उपस्थितिलाई महत्वका साथ हेरे। नेकपाको विवादले घरपरिवारमा पनि समस्या पार्छ कि भन्ने कुरामा शशंकित पनि भए। तर, सबैलाई चक्मा दिँदै महासेठ आफ्नै पुरानो घर फर्केका छन्। लामो समयदेखि ओली निकट मानिएका महासेठ पुनः ओलीको समूहमा फर्केपछि उनलाई आफ्नो पुरानो घरमा फर्किएको भनिएको हो। स्रोतका अनुसार महासेठ प्रचण्ड नेपाल समूहको स्थायी कमिटी वैठकमा गएका थिए। तर, केन्द्रीय कमिटीको कार्की प्यालेस बबरमहलमा भएको भेलामा भने उपस्थित थिएनन्। उनले ओलीलाई कारवाही गर्ने निर्णय पुस्तिकामा समेत हस्ताक्षर नगरेको स्रोतले जनाएको छ। उनलाई स्थायी कमिटीमा गएकै कारण प्रचण्ड नेपाल समूहमा रहेको अडकलबाजी गरिएको थियो।
बालअधिकार महासन्धिको ३१ वर्ष पुगेको अवसरमा दक्षिण एशियाली बाल सम्मेलन काठमाडौं। बालअधिकार सम्बन्धी महासन्धीको ३१ वर्ष पूरा भएको अवसरमा मंगलबार बाल सहभागिता सम्मेलन आयोजना गरिएको छ। साइभाक, राष्ट्रिय कार्य कार्यन्वयन समुह (एनएसीजी) नेपाल तथा कन्सोर्टियम नेपालको संयुक्त आयोजनामा दक्षिण एशियास्तरीय बालसहभागीता सम्वन्धी सम्मेलन आयोजना गरिएको हो। उक्त कार्यक्रम साइभाकका महानिर्देशक तथा सीआरसी समितिका सदस्य डा. रिन्चेन छोपेलले सञ्चालन गरेका थिए भने एनएसीजी नेपालका अध्यक्ष कृष्णचन्द्र आचार्यले स्वागत गर्दै नेपालसहित सार्क राष्ट्रमा बालअधिकार सुनिश्चितताका लागि भएका प्रयासहरुको बारेमा प्रकाश पारेका थिए। दक्षिण एशिया अन्तर्गत ५ वटा देशले सहभागिता जनाएको उक्त कार्यक्रममा सबै देशका बालबालिकाहरुले आफ्नो प्रस्तुती दिएका थिए। साइभाक चाइल्ड गभर्निङ बोर्डकी सदस्य प्रेनुशा पाण्डेले सम्मेलनमा सहभागीहरुलाई सम्वोधन गर्दै कोभिड १९ को असरबाट नेपालका बालबालिका पनि अछुतो नरहेको र अझै बालबालिकाको समग्र विकासका निम्ति काम गर्नु पर्ने बताइन्। कार्यक्रममा अफगानिस्तान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकाका बालबालिका, पाँचै देशका एनएसीजीका प्रतिनिधि, अधिकार अभियन्ता तथा प्रतिनिधि, सरकारी निकायका प्रतिनिधिहरु र बालबालिकाहरुले सहभागिता जनाएका थिए। कार्यक्रममा कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले सम्मेलनलाई सम्वोधन गर्दै बाल सहभागिता बालबालिकाहरुको महत्वपूर्ण अधिकार भएकोले बाल सहभागिता प्रत्याभुतिका लागि आगामी दिनमा पनि अभियान आवश्यक भएको बताए। उनले बाल सहभागिता अरु अधिकार भन्दा उपेक्षा गरिएको मुद्दा भएकाले यसमा अझै धेरै काम गर्न बाँकी रहेको बताए। कार्यक्रममा विकास सझेदार संस्थाका प्रतिनिधिहरु र सार्क राष्ट्रिका प्रतिनिधिहरुले पनि सम्वोधन गरेका थिए। कार्यक्रमको समापनका क्रममा साइभाकका महानिर्देशक तथा सीआरसी समितिका सदस्य डा रिन्चेन छोपेलले यस किसिमको सम्मेलनले आगामी दिनहरुमा पनि निरन्तरता पाउने र बालअधिकारका विषयमा छलफल गर्ने, सिकाइ तथा अभ्यासहरुको बारेमा अनुभव आदानप्रदान गरिने प्रतिवद्धता व्यक्त गरे। बालअधिकार सम्वन्धी ५४ वटा धारा भएको उक्त महासन्धि नेपालले सन् १९९० माअनुमोदन गरेको थियो।
नेपालको सगरमाथामा नेपाली सर्भेयर नै पहिलो पाइला पर्न सफल भएँः खिमलाल गौतम (अन्तर्वार्ता) पोखरा । नेपाली र विदेशी सञ्चारमाध्यममा गत मङ्सिर २३ गते एउटा विषयले निकै चर्चा पायो । सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको वैज्ञानिक तवरबाट नयाँ उचाइको घोषणा भएको थियो । नेपाल सरकारले पहिलोपटक आफ्नै स्रोत साधन र नेपाली प्राविधिक जनशक्तिबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरेको थियो । हामीले मान्दै आएको सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर यसअघि विदेशीले मापन गरेका थिए । हिमाल चढ्नु आफैँमा कठिन कार्य, त्यसमाथि सगरमाथाको उचाइलाई मापन गर्नु झन् ठूलो चुनौती र जिम्मेवारी हो । सगरमाथाको उचाइ मापन टोलीको नेतृत्व गर्नुभएका कास्की, माछापुच्छ्रे गाउँपालिका (साविक धिताल गाविस) निवासी ३७ वर्षीय खिमलाल गौतम, जो हाल नापी विभागका कास्कीका प्रमुख छन्, को संयोजकत्वको टोलीले पाएको सफलतासँगै चीन र नेपाल सरकारले सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८,८४८.८६ मिटर पुगेको औपचारिक घोषणा गरे । कर्ममा विश्वास गर्ने र संसारमा असम्भव केही हुँदैन भन्ने मान्यताका साथ अघि बढ्न रुचाउने नापी विभागका उपसचिव(हाल चिफ सर्भे अफिसर, पोखरा) गौतमसँग रासस पोखरा प्रतिनिधिले सगरमाथा मापनको अनुभवमा केन्द्रित रहेर गरेको कुराकानीः एउटा गर्विलो र ऐतिहासिक काम यहाँको संयोजकत्वमा सम्पन्न भयो, सगरमाथा मापनको त्यो क्षण कसरी सम्झनुहुन्छ? मुख्यतः यस कामका लागि हामी नापी विभागका धेरै सर्भेयरहरू खटिएका हौंँ । मेरो संयोजकत्वमा भन्दा पनि उचाइ मापनको सबैभन्दा जटिल र चुनौतीपूर्ण काम मेरो नेतृत्वमा सम्पन्न भएको हो । विभागका तर्फबाट मेरो नेतृत्वमा समिट अब्जर्भेशनको काम सम्पन्न भएको हो । सगरमाथाको इतिहासमा पहिलो पटक सर्भेयरहरू चुचुरामा पुगेर नेपालले एउटा विश्व रेकर्ड कायम गरेको छ, त्यसमा मेरो नेतृत्वमा संलग्न हुन पाउँदा म झनै खुशी छु । खासमा मेरो खुट्टाबाट गोल भएको भए तापनि मभन्दा ठूला त ती हुन् जसले बल पास दिए, डिफेन्डमा बसेर काम गरे, यो कार्यमा मसमेत सहभागी हुने भूमिका तयार गरिदिए । उचाइ मापन भन्ने कुरा सामूहिक काम हो, जसको समग्र संस्थागत नेतृत्व विभागले गरेको हो । हामी सबै नेपालीको शिर, संसारकै गजुरका रुपमा रहेको सगरमाथाको नेपाली उचाइ मापनमा महत्वपूर्ण भूमिकामा रहेर काम गर्न पाउँदा अत्यन्तै खुशी छु । एउटा ऐतिहासिक जिम्मेवारी काँधमा बोकेर सगरमाथाको बेसक्याम्प पुग्दाको पहिलो दिनको अनुभव कस्तो रह्यो ? हामी मिति २०७५ चैत २७ गतेका दिन सम्माननीय प्रधानमन्त्रीको शुभकामना बोकेर सगरमाथातर्फ लाग्दै गर्दा २०७६ साल वैशाख १० गते ९पासाङल्हामु शेर्पा चढेको दिन० सगरमाथाको आधार शिविरमा पुगेका थियौंँ । पहिलो दिन जब आधारशिविरमा टेकँे, तब मैले पहिलाभन्दा अलि भिन्न महसुस गरँे । मैले यसभन्दा अगाडि पनि पटकौंँपटक आधारशिविरमा आएर कयाँैं रात बिताइसकेको थिएँ तर यसपालि पुग्दा अलि अर्कै महसुस भयो । मेरो टोलीका चार सदस्यमध्ये दुई जना मात्रै १० गते आधार शिविर पुग्न सकेका थियौंँ, रवीनजीको स्वास्थ्यमा केही गडबड भएकाले त्यो दिन उनी पुग्न सकेनन् र तल लोबुचेमा नै एक जना साथी सुरजसिंह भण्डारीलाई साथी छाडेर युवराजलाई लिएर म त्यहाँ पुगेको थिएँ । । म अगाडि गएर समग्र व्यवस्थापनको विषयवस्तु बुझ्नुपर्ने र नपुगेको कुरा मिलाउनुपर्नेसमेत मेरो जिम्मेवारी भएको हुँदा बिरामी साथीलाई तलै छाडेर म अगाडि लागेको थिएँ । वैज्ञानिक मापन भनिएको छ, सर्वसाधारणले बुझ्ने भाषामा मापन विधिका बारेमा बताइदिनुहोस् न ? परिशुद्ध तवरबाट गरिने उचाइ मापन आफैँमा एक जटिल र विशुद्ध वैज्ञानिक कार्य हो । अझै यसपालि नेपालले गरेको उचाइ मापनमा यस अगाडि सगरमाथाको मापनमा प्रयोग गरिएका विधिहरूलाई अझै परिष्कृत गरी विभागले कार्य अगाडि बढाएको थियो । कुनै पनि स्थानको उचाइ मापन भन्नाले उक्त उचाइ कहाँबाट नापिएको हो भन्ने कुराले महत्वपूर्ण अर्थ राख्छ, जस्तै कुनै मान्छेको उचाइ भन्नाले मान्छेको पैतालाको तल्लो भागदेखि टुप्पीसम्मको ठाडो भागको मानलाई बुझिन्छ । मापन गर्नुभन्दा अगाडि उचाइ मापन गर्ने निश्चित आधार सतह निर्धारण गरिन्छ, जसलाई आधार सतह भनिन्छ । नापनक्शा विज्ञानमा उचाइ मापन सामान्यतया समुद्री सतहका आधारमा मापन गर्ने गरिन्छ तर हाम्रो देश नेपाल त भूपरिवेष्टित भएकाले हामीसँग समुद्र छैन, त्यसैले नेपालले सबैभन्दा नजीकको समुद्री सतह बङ्गालको खाडीलाई आधार सतह मान्ने गरेको छ । उचाइ मापनमा सामान्यतया दुई विधिहरु हुन्छन्, त्यसलाई हामी सरल भाषामा परम्परागत विधि र आधुनिक विधि भनेर भन्छौं । परम्परागत विधिमा कुनै स्थानको उचाइ मापन गर्नका लागि चुचुरामा पुग्नु आवश्यक हुंँदैन तर आधुनिक विधिबाट काम गर्दा भने चुचुरामा यन्त्र, उपकरणसहित पुग्नुुपर्ने हुन्छ । आधुनिक विधिमा कृत्रिम भूउपग्रहको मद्दतबाट कुनै पनि उचाइ आवश्यक रहेको स्थानमा भूउपग्रहका सूचना सङ्कलन गर्न सक्ने खालको यन्त्र जडान गरिन्छ र उक्त यन्त्रले रेकर्ड गरेको कच्चा तथ्याङ्कहरूलाई अन्य वरिपरि रहेका आधार विन्दुहरूमा राखिएको यस्तै यन्त्रहरूले रेकर्ड गरेको मानका आधारमा उक्त स्थानको अवस्थिति र उचाइ पत्ता लगाइन्छ । यो अत्यन्तै वैज्ञानिक र सहज तवरबाट बुझ्न जटिल प्रकारको हुने हुँदा यति मात्र भन्दा उपयुक्त हुन्छ । सगरमाथाको चुचुरामा कति समय बस्नुभयो, चुनौती के के थिए ? समग्र यो काम एक चुनौती नै चुनौतीले जेलिएको काम थियो । हामी लगभग दुई घण्टा जति चुचुरामा बस्यौंँ । चुनौतीलाई सामना गर्ने लक्ष्यका साथ बसेको कारणले सबै चुनौती याद छैनन्, तथापि हामीलाई लगभग माइनस ४३ डिग्री तापक्रमको त्यो कष्टकर समयमा, अन्धकारमय हुंँदै चुचुरामा यन्त्र, उपकरण सेटअप गर्न सफल भयौंँ । हाम्रा यन्त्र, उपकरण निकै महँगा र संवेदनशील थिए । पातलो पञ्जा लगाएर या खाली हातमा काम गर्नुपर्ने भएकाले निकै चुनौतीपूर्ण थियो । त्यसमा पनि चुचुरामा सामान्यतया १०÷१५ मिनेट मात्र रहन सक्छन् साधारण आरोहीहरू, तर हामीलाई छोटो समय बस्ने छुट थिएन, किनकि छोटो समयको डाटाले हाम्रो नापी विभागको शुद्धतालाई समेट्न सकिँदैनथ्यो, त्यसकारण पनि लामो समय बसेर लामो अवधिको तथ्याङ्क लिन सक्नु अर्को चुनौतीपूर्ण थियो । अनौपचारिक तवरबाट बुझ्दा चिनियाँहरूको समिट अब्जरभेशनको समयावधिभन्दा हाम्रो समयावधि धेरै थियो भन्ने बुझिन आएको छ । उचाइ मापनका लागि जति धेरै अवधिको तथ्याङ्क लिन सकियो, त्यति नै शुद्ध उचाइ गणना गर्न सकिने भएकाले नापी विभागले धेरै परिशुद्ध उचाइ मापन गरेको छ भन्न हामी सक्छौंँ । चुचुरामा धेरै समय बिताउँदा मेरो खुट्टाको एउटा औँला नै हिउँले खाएको थियो । फेरि पनि त्यो ऐतिहासिक कार्यको मैदानमा अरु कुरा गौण बने । मापनका लागि प्रयोग गरिएका उपकरणबाट कुनै समस्या त भएन ? हामीले सोचेभन्दा निकै राम्रो भयो, समस्या भएन, किनकि हामी भाग्यमानी थियौँ जस्तो लाग्छ । सगरमाथाको उचाइ हिउँसहित नापिएको हो कि हिउँविना ? स्थायी हिउँले ढाकिएको एक पहाडको चुलीलाई हिमाल भनिन्छ । अर्थात् सबै हिमालहरु पहाडहरु हुन् तर सबै पहाडहरु हिमाल हैनन् । हाल सगरमाथाको उचाइ भनेको स्थायी हिउँसहितको नाप हो । यसर्थ हिमालको परिभाषाबाट पनि सहजै बुझ्न सकिन्छ कि हिमालको उचाइ भन्नु स्थायी हिउंँ सतहसहितको उचाइ नै हो । यसभन्दा पहिला नाप्दा आठ हजार ८५० आयो रे भन्न कुरा आएको थियो ? अमेरिकाले नाप्दा आठ हजार ८५० मिटर आएको हो । सन् २००५मा चीनले स्थायी हिउँबाहेकको चट्टानी सतहको सगरमाथा नाप्दा आठ हजार ८४४।४३ मिटर उचाइ आएको थियो । अहिलेको कुरा त थाहा भइसकेको छ, दुवै देशबाट मापन गरेर सगरमाथाको उचाइको एउटै अङ्क सार्वजनिक भएको छ । गोरखा भूकम्पका क्रममा इण्डियन प्लेटले तिब्बतियन प्लेटलाई धकेलेपछि उचाइ बढेको हो त ? यो नापी विभागको र मेरो पनि मूल विषय हैन । यसमा अब भूगर्भविद्हरूले अनुसन्धान गर्लान् शायद । यसअघि विभिन्न अन्तरराष्ट्रियस्तरका भूगर्भविद्हरूले विभिन्न कालखण्डमा गरेको अध्ययनअनुसार इन्डियन प्लेट निरन्तर रूपमा दुई सेन्टिमिटरका दरले तिब्बतियन प्लेटभित्र घुसिरहेको र ८ मिलीमिटर दरले उचाइ बढिरहेको भन्ने तथ्य यसअघि नै भूगर्भविद्हरूले सार्वजनिक गरेका थिए । यस तथ्यलाई मनन गर्दा समेत हाल सगरमाथाको उचाइ बढी आउनु वैज्ञानिक कारण छ भन्ने देखिन्छ । चीन र नेपालको मापन गर्ने तरीका एउटै थियो त ? हामीले जुन विधिबाट मापन गरेका थियौंँ, ठीक त्यही विधि अवलम्बन गरेर चीनले पनि उचाइ मापन गरेको कुरा मिडियामा आएको छ, त्यही नै सत्य हो । दुई देशका प्राविधिकबीच कत्तिको सम्पर्क र समन्वय भयो ? हामीले हाम्रातर्फबाट काम गरेका हौंँ, खासमा म त्यो दुई देशको समन्वय र सम्पर्क गर्ने मेरो जिम्माको काम थिएन । तर पनि दुई देशबीचमा प्राविधिक तहमा समेत विभिन्न प्राविधिक समिति बनाई संयुक्त उचाइ सार्वजनिक गर्ने काममा सम्पर्क र समन्वय भएको थियो, जसले गर्दा दुवै देशबाट एउटै उचाइ एकै कार्यक्रममार्फत घोषणा गर्न सम्भव भयो । यहाँ पहिलोचोटि भ्रमण वर्ष २०११ को पर्यटन प्रवद्र्धनका लागि सगरमाथा चढ्नुभयाे, दोस्रो चोटि उचाइ नाप्ने कार्यदलको संयोजकका रुपमा सगरमाथा पुग्नुभयो, यो दुई अवसरलाई कसरी लिनुहुन्छ ? म के कुरामा खुशी छु भने मैले हालसम्म दुई पटक सगरमाथा आरोहण गर्ने नेपालको एक मात्र कर्मचारी हुने सौभाग्य प्राप्त गरेको छु । पहिला पर्यटन प्रवद्र्धन गर्नका लागि मात्र सगरमाथा आरोहणमा जाँदा धेरै चिन्ता, प्रेसर थिएन, काम पनि केवल चढ्नु मात्र थियो, तर हाल यो उचाइ मापनका लागि तथ्याङ्क लिन सगरमाथा आरोहण निकै चुनौतीपूर्ण र ऐतिहासिक पनि रह्यो भन्ने महसुस गरेको छु । दुःख पनि अलि बढी भयो उचाइ मापनका लागि आरोहण गर्दा । हिमाल चढ्नु आफँैंमा कठिन काम हो, त्यसमा कुनै निश्चित वैज्ञानिक कार्य गर्नका लागि आरोहणमा जानु अत्यन्त चुनौतीपूर्ण हुने रहेछ भन्ने महसुस भयो । मलाई लाग्छ, यी दुवै अवसरहरू मेरो जीवनमा कोेसेढुङ्गाका रुपमा रहिरहने छन, मेरो जीवनका सबै सुखदुःखका बहारहरू ल्याउन कतै न कतै यी दुई वटा आरोहणले भूमिका खेलेका छन् जस्तो पनि लाग्छ । अहिलेको मापनचाहिँ पहिलेभन्दा आधिकारिक मानिने कारण ? यसपालि हालसम्म प्रयोग भएका सबै विधि अवलम्बन गरेर मापन गरिएको हो । यसअघि मापन गर्दा कुनै एक स्थानको समुद्री सतहलाई मात्र आधार मानी उचाइ संगणना भएकामा हाल यस सम्बन्धमा अन्तरराष्ट्रिय उचाइ आधार सतहलाई लिई भएको हो, जसले गर्दा उचाइमा द्विविधा हट्न गएको छ । आधुनिक प्रविधिको प्रयोग गरेर मापन गर्दा सर्भेयरहरू स्वयं नै चुचुरामा पुगी मापन गर्नुपर्नेमा यसअघि अमेरिका, चीनलगायतका मुलुकहरूले सगरमाथा मापन गर्दा सर्भेयरहरू पठाउन नसकेको तर हाल नेपालले सर्भेयरहरू नै चुचुरामा पठाई मापन गरेकाले पनि बढी बिश्वसनीय देखिएको हो । नेपालको सगरमाथामा नेपाली सर्भेयरहरूको नै सबैभन्दा पहिलो पाइला पर्न सफल भएको छ, जुन ऐतिहासिक पनि हो संसारभरका सर्भेयरहरूका लागि । नेपालले सन् २०१९ मा सर्भेयरकै नेतृत्वमा समिट उचाइ मापन गर्नका लागि अब्जरभेशन टोली पठाएपछि त्यसको ३७० दिनपछि मात्र चीनले सर्भेयरहरुसमेतको टोली सर्भेका लागि चुचुरामा पठाएको हो । चीनले मापन गरेको तथ्याङ्कसँग तुलना गरेर हेर्दासमेत एउटै उचाइ आउन गई एउटै अङ्क घोषणा हुनुले समेत यसको थप आधिकारिकता पुष्टि हुन गएको छ । यसअघि गरिएका सबै उचाइ मापनमा सबै देशहरूले आआफ्नै तवरबाट मात्र उचाइ घोषणा गरेका थिए, तर अहिले त सबैभन्दा मुख्य कुरा सगरमाथाको चुचुरो भएको देशले नै पहिलोपटक आधिकारिक तवरबाट मापन गरेर उत्तरी भागको स्वामित्व रहेको देशले गरेको सर्भेसँग समेत मेल खान गएको छ, यो जति परिशुद्ध उचाइ हालसम्म मापन गरिएको थिएन र यो नै सबैभन्दा परिशुद्ध उचाइ हो भन्नेमा संसारभर पुष्टि हुन गएको छ । यिनै आधारबाट पनि भन्न सकिन्छ कि यो उचाइ हालसम्मकै सबैभन्दा विश्वसनीय र आधिकारिक हो । यहाँ अध्यात्मप्रति पनि उत्तिकै रूचि राख्नुहुन्छ र अध्ययन पनि गर्नुहुन्छ । हिमाललाई देवात्मा पनि भनिन्छ, किन ? महाकवि कालिदासले आफ्नो शास्त्रीय रचना ‘कुमारसम्भव’मा यसलाई पहाडहरूका राजा भनेर वर्णन गरेका छन् । ‘कुमारसम्भव’ महाकाव्यको पहिलो श्लोकमा नै समग्र हिन्दकुश हिमालयका सम्बन्धमा यसरी व्याख्या गरेका छन्ः अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः । पूर्वापरौ तोयनिधी वगाह्य स्थितः पृथिव्या इव मानदण्डः ।। अर्थात् यस भारतवर्षको उत्तर दिशामा देवताहरूको आत्माको बास भएको पर्वतको राजा हिमालय पर्वत छ, जसले पूर्वदेखि पश्चिमसम्म दुवै दिशाका महासागरहरूलाई छुँदै फैलिइरहेको छ र यसो हेर्दा यसले पृथ्वीलाई नाप्ने कुनै मापदण्ड बनाएको हो कि जस्तो पनि देखिन्छ। पूर्वीय सभ्यतामा हिमालयलाई ईश्वरको रूप समेत मानिएको छ । वैदिककाल र पुराणकालदेखि नै हिमाललाई देवताहरूको आत्माको बास रहेको पुण्यभूमिका रुपमा व्याख्या गरिएको पाइन्छ । हिमाल र यस क्षेत्रका बारेमा ‘स्कन्दपुराण’को ‘हिमवत्खण्ड’मा विस्तृत तवरबाट व्याख्या गरिएको छ, प्रायः सबैजसो पुराणहरूमा समेत हिमालको आध्यात्मिक र दार्शनिक महत्वका बारेमा व्याख्या गरिएको पाइन्छ । यसर्थ मानव सभ्यताको शुरुआत पनि यही हिमालयका काखबाट र त्यसमा पनि हाम्रै नेपालकै भूमिबाट भएको हो भनेर भन्न सकिने समेत कतिपय आधारहरू वैदिक शास्त्रहरूमा भेटिन्छन् । जिम्मेवारी पूरा गरेर अवतरण गरेको पलमा यहाँले विशेष के कुरालाई स्मरण गर्नुभयो ? जब चुचुराको प्राविधिक काम सकियो, त्यसपछि मैले अरू कुनै कुरा सोच्न पाइन, किनकि रेकर्ड गरिएको तथ्याङ्कलाई अब कसरी सुरक्षित तवरबाट तल ल्याउने भन्ने मात्र सोच्न पुगेंँ । हामीलाई २०७६ साल जेठ ९ गते सगरमाथाको लगभग छ हजार ५०० मिटरको उचाइबाट क्याम्प –२ बाट काठमाडौंँ ल्याइयो । मैले खासै धेरै सोच्ने समय पनि पाइन, मनमनै परिवारको त याद आउने नै भयो तर त्यसभन्दा पनि म एक आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सकेकामा खुशी भएको थिएँ । सफलताको खुशीमा काम गर्ने क्रममा लागेका चोटहरूसमेत भुलिसकेको थिएँ, सफलताले कयौँ दुःखहरू पनि भुलिँंदो रहेछ भन्ने कुरा सुनेको थिएँ, मलाई पनि त्यस्तै भयो । सगरमाथाको विस्तृत अध्ययनसहित उचाइ मापनको अनुभवका बारे यहाँले लेख्दै गरेको पुस्तक पाठकले कहिले पढ्न पाउँछन् ? मैले यही लकडाउनको मौका पारेर सगरमाथासम्बन्धी केही अध्ययन गर्ने अवसर जुटाएँ । यही अवसरमा मैले खासगरी सगरमाथाको समग्र इतिहास, यससँग नेपाली जातिको सामिप्यता, भूगोल र इतिहाससमेत समेट्दै मेरा दुई पटकका सगरमाथा यात्राका भोगाइ र अनुभवलाई समेत समेटेर किताब लेखिसकेको छु । अहिले भाषा सम्पादनका क्रममा छ । अनपेक्षित कुनै परिघटना नभएमा अबको तीन महिनाभित्र बजारमा ल्याउने मेरो योजना छ । सगरमाथा मापन आरोहणका क्रममा बाटामा शवहरु पनि देख्नुभयो रु फोहरको कुरा पनि निकै उठ्ने गर्छ, कस्तो पाउनुभयो ? हामी यस अभियानका क्रममा माथि उक्लँदै गर्दा विशेषतः सगरमाथाको क्याम्प –२ मा मैले एक लाश देखेको थिएँ । त्यहाँ पहिलादेखि नै आरोहणमा सहभागी हँुंदै आएका शेर्पा दाजुभाइहरूसँग सोधपुछ गर्दा उक्त लाश एक जना रसियन आरोहीको रहेछ । माथि साउथ कोलमा विसं २०७५ मा आरोहणका क्रममा मृत्यु भएका उनीलाई क्याम्प– २ सम्म ल्याइएको रहेछ । एक वर्षसम्म पनि उक्त लाश हामीले हेर्दा उनको हातको घडी भने चलिरहेको र ठीक समय देखाइरहेको थियो, उनले लगाएको घडी कति ओरिजिनल रहेछ भन्ने सोचेर म अचम्मै भएँ तर पछि हामी समिट अब्जरभेसनको कार्य सकेर फर्कँदै गर्दा उक्त लाश त्यहाँ थिएन, उद्धार र सरसफाइ टोलीले तल झारिसकेको थाहा पायौंँ । माथि क्याम्प –४ (साउथ कोल) तिर केही मानव कङ्कालहरू पनि देखेका थियौंँ तर हामी फर्कँदैं गर्दा सफा गरिसकिएका थिए । पोहोर सालसम्म हामीले हेर्दा बाहिरै देखिएका लाशका कङ्कालहरू लगभग सबै व्यवस्थापन गरिसकिएको छ । सगरमाथाको फोहरको कुरा गर्दा जति बजारमा हल्ला आएको छ, वास्तविक स्थिति त्यस्तो छैन, अहिले धेरै सुधार भइरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिले र संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले सरसफाइका लागि पछिल्ला दिनमा धेरै नै ध्यान दिइरहेका छन् । आजभन्दा १० वर्ष अगाडिको स्थितिलाई हेरी अहिले पनि सगरमाथा फोहोर छ भनेर अलि बढी अतिरञ्जित गरिएको हो कि जस्तो छ । यो महत्वपूर्ण कार्यसम्पादनमा यहाँको पछाडि रहेर पनि धेरे योगदान गर्नेहरु होलान्, उहाँहरुलाई कसरी सम्झनुहुन्छ ? यो वास्तवमै सामूहिक काम हो । विशेषतः यो नेपाल सरकारको काम हो, नेपालको आधिकारिक नापनक्शा गर्ने निकाय नापी विभाग भएकाले समग्र नेतृत्व विभागले गरेको हो । यसमा हाम्रा आदरणीय महानिर्देशक प्रकाश जोशी, सगरमाथा उचाइ मापनको समग्रतामा हेर्ने उपमहानिर्देशक सुशील डङ्गोल, निर्देशक दामोदर ढकाल, तथ्याङ्क प्रशोधनमा दिनरात नभनी खटिएका नापी अधिकृतहरू सुरजबहादुर केसी, महेश थापा, विज्ञान बञ्जारा, शङ्कर केसी, स्टालिन भण्डारीलगायतका सबैसबैको विशिष्ट योगदानविना यो कार्य हुन निकै गाह्रो थियो । यसको शुरुआत गर्ने बेलामा विशिष्ट योगदान गर्ने महानिर्देशकमध्ये गणेशप्रसाद भट्टको नाम नलिँदा पनि यो अपूरो हुन्छ । नापी विभागका विभिन्न तह र तप्कामा रही फिल्डमा डटेर लागेका सर्भेयरहरूको समेत महत्वपूर्ण योगदान बिर्सन हुंँदैन जस्तो लाग्छ । यसमा मन्त्रालयबाट वार्षिक नीति तथा कार्यक्रममा समेट्ने, आवश्यक बजेट व्यवस्था गर्ने सहसचिव जनकराज जोशीसरको समेत विशिष्ट योगदान रहेको छ ।
हुण्डीको रकमसहित एक जना पक्राउ काठमाडौं। प्रहरीले काठमाडौको न्यूरोडबाट एक जना हुण्डी कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। नगद १३ लाखसहित धादिङ खनियाबास गाउँपालिका ३ बस्ने वर्ष २५ का विर्ज तामाङलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी बृत्त जनसेवाले उनलाई स्रोत नखुलेको रमकसहित पक्राउ गरेको थियो। उनले सो रकम कहाँबाट ल्याएको र कसलाई दिन लागिएको भन्नेबारे केही नबताएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। उनले सो रकम भारतीय नागरिकहरुसँगको मिलेमतोमा हुण्डीमार्फत ल्याएको आशंका प्रहरीले गरेको छ।
बादललाई फकाउन सक्रिय प्रचण्ड, आजै फेरि भेटेर फर्के काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादललाई फकाइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड- नेपाल समूहको अलग अलग केन्द्रीय कमिटीका छलफल भइरहेका बेला प्रचण्डले मन्त्री क्वाटर पुगेर बादललाई फकाइरहेको स्रोतको दावी छ। नेकपामा २ वटा धुर्व देखिए पश्चात पनि कतै नढल्कीयका बादललाई प्रचण्डले आफ्नो विश्वासमा लिने काम गरिरहेका छन। प्रचण्ड–नेपाल समूह निकट ७ मन्त्रीहरुले राजीनामा दिए पनि पूर्व माओवादीका तर्फबाट आएका गृहमन्त्री बादल र उद्योगमन्त्री लेखराज भट्टले भने अहिलेसम्म ओलीको साथ छोडेका छैनन्। आजै नेकपाका दुई समूहको केन्द्रीय समितको बैठक २ ठाउँमा बसिरहेको छ। बालुवाटरमा प्रधानमन्त्री ओली निकट सदस्यहरुको भेला भइरहेको छ। ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई कारवाहीका लागि निर्वाचन आयोगमा पहिले नै जानकारी गराइसकेको दावी गरिएको छ। भने, सोमबार बसेको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई अनुसासनको कारवाही गर्ने निर्णय गरी निर्वाचन आयोगमा दर्ता गराइएको छ।
चितवनमा घुमौँ सौराहा अभियान संचालन चितवन । कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु गरिने भएको छ। विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गर्न लागिएको हो। क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा अभियान शुरु गरिँदैछ। संघका अध्यक्ष दीपक भट्टराईले आन्तरिक पर्यटनमार्फत क्रमिकरूपमा चलायमान बन्दै गएको सौराहाको प्रचारका लागि अभियान शुरु गर्न लागिएको जानकारी दिए। आन्तरिक पर्यटकका लागि आकर्षक प्याकेजसहित कार्यक्रम गरिँदैछ। अभियानको क्रममा पुस १० गते विराटनगर, पुस ११ गते जनकपुर र पुस १२ गते वीरगञ्जमा विविध कार्यक्रम आयोजना गर्ने तयारी गरिएको उनले जानकारी दिए। कोरोना भाइरसका कारण पर्यटन व्यवसाय ठप्प भएको भन्दै उनले स्वदेशभित्र घुम्न र पर्यटकलाई आकर्षित गर्न ‘घुमौँ सौराहा अभियान’ शुरू गर्न लागेको जानकारी दिए। चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायत जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन्। सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो। अभियानका संयोजक सुमन घिमिरेले अभियानका क्रममा ती शहरमा सौराहासँग सम्बन्धित प्रस्तुति, भिडियो र वन तथा वन्यजन्तुका तस्बिर प्रदर्शन गरिने बताए। उनले भने, “हामी सौराहा घुम्नका लागि निम्तो दिन्छौँ ।” अभियान पहिलो चरणमा प्रदेश नं १ र २ एवं दोस्रो चरणमा बाँकी प्रदेशमा गरिनेछ। क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्षसमेत रहेका घिमिरेले नेपाल सरकारले सन् २०२१ लाई आन्तरिक भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहँदा यो कार्यक्रमले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे। अभियानलाई नेपाल पर्यटन बोर्ड, जिल्ला समन्वय समिति चितवन र रत्ननगर नगरपालिकाले सहयोग गरेका छन्। गत वर्षहरुमा संघले भारतीय सीमा क्षेत्रका शहरमा पुगेर यसरी नै पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्ने गरेको थियो। कोरोना सङ्क्रमणका कारण यस वर्ष कार्यक्रम नेपालका शहरमा केन्द्रित गरिएको हो। गएको चैत पहिलो साताबाट बन्द भएका सौराहाका होटल, रेष्टुरेन्ट दशैँपछि खुलेका भए पनि पर्यटकको आगमन न्यून रहेको रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए। उनले भने, “अहिलेको अवस्थामा आन्तरिक पर्यटकले पर्यटन उद्योग बचाउनुपर्छ।” सौराहामा १२० होटल र १०० हाराहारी रेष्टुरेन्ट छन्।रासस
ब्रिटेनमा देखियो कोरोनाको नयाँ प्रकार, अध्ययन गर्दै डब्ल्यूएचओ बीबीसी । ब्रिटेनमा देखा परेको कोरोनाभाइरसको नयाँ प्रकार वा नयाँ भेरीअन्टबारे ब्रिटिश अधिकारीहरूसँग छलफल भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बताएको छ। ब्रिटिश सरकारका अनुसार यो नयाँ प्रकार अहिले लन्डनमा देखिएका अधिकांश सङ्क्रमितमा फेला परेको छ। नयाँ प्रकारको कोरोनाभाइरस साविकको भन्दा ७० प्रतिशत धेरै सङ्क्रामक हुने ठानिएपछि त्यसको सङ्क्रमणको गति नियन्त्रण गर्न ब्रिटिश सरकारले राजधानी लन्डन तथा वरपरका क्षेत्रमा कडा लकडाउनको घोषणा गरेको छ। क्रिसमस पर्वको बेला कोभिड नियन्त्रणका लागि गरिने कडाइ खुकुलो पारिने यसअघिको योजना अब उल्ट्याइएको छ। इङ्ग्ल्यान्डका प्रमुख मेडिकल अधिकृत प्राध्यापक क्रिस ह्विटीले नयाँ प्रकारको कोरोनाभाइरस थप घातक भएको चाहिँ कुनै प्रमाण फेला नपरेको बताएका छन्। नयाँ म्यूटन्ट स्ट्रेन अर्थात् उत्परिवर्तित प्रकारको एउटा मामिला आफ्नो देशमा पनि भित्रिएको पाइएपछि नेदरल्यान्ड्सले ब्रिटेनबाट आउने यात्रुवाहक विमानसेवामा रोक लगाएको छ। के भने प्रधानमन्त्री जोन्सनले? प्रधानमन्त्री बोरिस जोन्सनले डाउनिङ स्ट्रीटमा बोल्दै थप कडिकडाउका समाचार निराश पार्ने खालका भएपनि त्यसको विकल्प नभएको बताएका छन्। ‘जब भाइरसले आफ्नो प्रकार बदल्छ तब हामीले पनि आफ्नो रक्षाका तरिका बदल्नुपर्छ,’ उनले भने। अहिले अत्यन्त कठिन समय भएपनि खोपका कारण आगामी वर्षको ईस्टर पर्वको समयमा स्थिति निकै सुध्रिसक्ने उनले बताए। प्रधानमन्त्री जोन्सनले नयाँ विश्लेषणहरूबाट नयाँ प्रकारको भाइरसले सङ्क्रमणको गति नाप्ने आर नम्बर ०.४ को अनुपातले बढाइदिन सक्ने ठानिएको बताए। अझै निकै अनिश्चय बाँकी भएपनि यो नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशत छिटो फैलिन सक्ने ठानिएको पनि उनले बताए। भाइरसमा यस्ता खालका परिवर्तन आउनु सामान्य मानिन्छ। सुरुमा वुहानमा देखा परेयता कोरोनाभाइरसमा हजारौँ परिवर्तन भइसकेको बताइन्छ। लन्डनमा देखिएको पछिल्लो परिवर्तनले सङ्क्रमणलाई बढाइरहेका केही सङ्केत देखा परेको स्वास्थ्य संवाददाता निक ट्रिगलको भनाइ छ। नोभेम्बरको मध्यसम्म लन्डनका २८ प्रतिशत मामिलामा यो नयाँ प्रकारको भाइरस देखिएको थियो भने अहिले त्यो सङ्ख्या ६० प्रतिशत नाघेको छ।
नेदरल्याण्ड सरकारले बेलायतबाट आउने उडानमा प्रतिबन्ध लगायो काठमाडौं। नेदरल्याण्ड सरकारले बेलायतबाट हवाइ यात्रामा प्रतिबन्ध लगाएको छ । बेलायतमा नयाँ स्ट्रेनको कोरोनाभाइरस भेटिएपछि नेदरल्याण्डले यस्तो गरेको हो । बेलायतका केही भागमा तेस्रो पटक लकडाउन लागू गराउने स्थिति ल्याएको यो नयाँ स्ट्रेनको कम्तीमा एक केस आफ्नो देशमा पनि पाइएको नेदरल्याण्ड सरकारको स्वास्थ्य विभागले पुष्टि गरेपछि सरकारले यस्तो कदम उठाएको हो । नेदरल्याण्डको स्वास्थ्य विभागका अनुसार यो केस डिसेम्बर महिनाको सुरुवातमा देखिएको र अहिले यसबारे थप अनुसन्धान भइरहेको बताएको छ । मन्त्रालयले यो नयाँ आएको स्ट्रेनलाई देशमा फैलिनबाट रोक्नको लागि जति सक्दो बेलायतबाट आवागमनमा रोक लगाउनुपर्ने बताएको छ । स्काइन्यूजका अनुसार यो प्रतिबन्ध २० डिसेम्बर स्थानीय समयअनुसार बिहान ६ बजे सुरु भएर १ जनवरी सम्म लागू हुनेछ । सरकारले विदेशमा भाइरस संक्रमणको विकासक्रमलाई नजिकबाट नियालिरहेको र भविष्यमा लागू गराउने अन्य मापदण्डको बारेमा विचार गरिरहेको बताएको छ । आगामी दिनका लागि नेदरल्याण्ड सरकारले युरोपेली संघका सदस्य राष्ट्रहरुसँग सहकार्य गरिरहेको र बेलायतबाट भाइरस आयात हुन नदिनको लागि थप मापदण्ड लागू गराउनजेबारे परामर्श गरिरहेको बताएको छ । भीयूआइ २०२०–०१ नामले चिनिने भाइरसको यो नयाँ स्ट्रेन सुरुवाती स्ट्रेनभन्दा छिटठो फैलिने र यसैका कारण दक्षिण पूर्वी इङल्याण्डमा केसहरु बढिरहेको विश्वास गरिएको छ । शनिबार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यो नयाँ स्ट्रेन सुरुवाती स्ट्रेनभन्दा ७० प्रतिशत छिटो फैलिने चेतावनी दिएका छन् ।
नेकपा विवादः शीर्ष नेताहरू दैनिक छलफलमा काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि शनिबार शीर्ष नेताहरूका बीचमा भेटघाट तथा छलफलले तीव्रता पाएको छ । छलफललाई तीव्रता दिँदै नेताहरूले सहमतिको प्रयास जारी राखेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको संकट समाधान गर्न सहमति गरेरै अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । प्रधानमन्त्री ओलीले सहमतिको मिलनबिन्दु खोज्ने उद्देश्यले शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग दाहालकै निवास खुमलटारमा पुगेर सघन छलफल गरेका छन् । यसअघि दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नै नियमित छलफल हुँदै आइरहेकामा प्रधानमन्त्री ओली शनिबार पहिलोपटक खुमलटार पुगेर अध्यक्ष दाहालसँग छलफल गरेका हुन् । छलफलका क्रममा अध्यक्षद्वय ओली र दाहाल पुरानै अडानमा अडिग भएपछि सहमति भने हुन नसकेको बताइएको छ । भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालसँग आफ्नो राजनीतिक प्रस्ताव फिर्ता लिएर सहमति गरेर अगाडि बढ्नुपर्ने अडान दोहो(याएका छन् तर दाहालले प्रधानमन्त्री ओलीको प्रस्ताव स्वीकार गर्न नसक्ने र बैठकबाटै टुंगो लगाउनुपर्ने बताए । पार्टीभित्रको विवाद समाधान गर्ने उद्देश्यले ओली र दाहालबीच छलफल चल्दै गर्दा उपाध्यक्ष वामदेव गौतमसमेत खुमलटार पुगेपछि तीन नेताका बीचमा केही समय छलफल भएको नेकपा स्रोतले जनाएको छ । उपाध्यक्ष गौतमले पछिल्लो समय पार्टी एकताका लागि दुई अध्यक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । २८ कात्तिकको सचिवालय बैठकमा दाहालले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसपछि १३ मंसिरको बैठकमा ओलीले दाहालमाथि गम्भीर आरोपसहित प्रत्युत्तर दिएका थिए । एकले अर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद थप चर्केको छ । यद्यपि दुई अध्यक्ष ओली र दाहालबीच पछिल्लो समय लगातार वार्ता र संवाद हुँदै आइरहेको आजको राजधानी दैनिकमा खवर छ ।
अमेरिकामा मोर्डनाको खोप प्रयोगका लागि स्वीकृति काठमाडौं। अमेरिकी सरकारले मोर्डनाको खोप प्रयोगका लागि अनुमति दिएको छ। फाइजर÷बायोएनटेकको खोपपछि अमेरिकामा अनुमति पाउने मोर्डना दोस्रो खोप हो। अमेरिकी खाद्य तथा औषधी प्रशासनले अमेरिकामा निर्मित मोर्डनाको खोप प्रयोगका लागि आधिकारिक अनुमति दिएको छ। अमेरिकाले मोर्डनाको २० करोड खोप खरिदका लागि सम्झौता गरेको छ। जसमध्ये ६० लाख खोप आपूर्तिको लागि तयारी अवस्थामा राखिएको छ। एडभाइजरी प्यानलमा भएको मतदानमा २०–० ले मोर्डनालाई अनुमति प्रदान गर्न मत खसेको थियो। १८ वर्ष र सोभन्दा माथिको उमेरका ब्यक्तिमा मोर्डनाको खोप लगाउँदा ९४ प्रतिशत प्रभाबकारि र सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ। कोभिड–१९ को सङ्क्रमणको कारणले अमेरिकामा सबैभन्दा बढी मृत्यु दत्र्ता गरिएको छ। अमेरिकामा तीन लाख १३ हजार ५०० जनाको मृत्यु भएको छ। एक करोड ७५ लाख ब्यक्ति सङ्क्रमित भएका छन्। मोर्डनाको खोप आपूर्ति गर्न माइनस २० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ। जर्मन र अमेरिकी औषधी निर्माता कम्पनी बायोएनटेक र फाइजरको खोपलाई माइनस ७५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ। फाइजर झैं मोर्डनाको खोप समेत दुई डोज दिइनुपर्छ। फाइजरको खोपको दोस्रो डोज २१ दिनपछि दिइदा मोर्डनाको खोप पहिलो डोज दिइएको २८ औं दिनमा दिइन्छ। मोर्डना क्याम्ब्रिज, मासासुटमा अवस्थित छ । र खोपको अधिकांश मात्रा क्याम्ब्रिज, मासासुटमा नै उत्पादन हुनेछ। फाइजरको खोप जर्मनी र बेल्जियम लगायतका अन्य राष्ट्रहरुमा समेत उत्पादन हुँदैछ। क्यानाडाले पाँच करोड ६० लाख मोर्डनाको खोप खरिद गर्ने सम्झौता गरेकोमा २० लाख डोज मार्च सम्ममा पाउनेछ। बेलायतले ७० लाख खोपको सम्झौता गरिसकेको छ। यूरोपेली संघले आठ करोड डोज खरिद गर्ने सम्झौता गरेको छ । जापानले पाँच करोड र दक्षिण कोरियाले दुई करोड मोर्डनाको खोप खरिद गर्ने सम्झौता गरेको छ। स्वीटजरल्याण्डले ७५ लाख खोप खरिद गर्ने समझदारी गरेको छ। गाेरखापत्र दैनिकबाट
४९४ फरार प्रतिवादी पक्राउ कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिकको पहिलो चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ गरेको छ। प्रहरीको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिक महिनासम्म ४९४ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए। “फरार अभियुक्तलाई पक्राउ गर्नु प्रहरीको नियमित काम हो”, उनले भने, “यो अभियान चालु आवको साउनदेखि देशैभरी सञ्चालन भइरहेको छ। कर्णालीमा फरार अभियुक्तको सङ्ख्या धेरै छ।” यो प्रदेशमा खासगरी सामाजिक क्षेत्रसँग सम्बन्धित अपराध बढिरहेको उनले बताए। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले यो चौमासिकमा अपराध नियन्त्रणका क्षेत्रमा राम्रै प्रगति भएको बताए। “हामीले अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिकसम्म ३७६ फरार प्रतिवादीलाई पक्राउ ग¥र्यौ”, उनले भने, “प्रहरीको अनुसन्धानका क्रममा भने ११८ फरार प्रतिवादीलाई पक्राउ गरिएको थियो।” पक्राउपर्ने फरार प्रतिवादीमा सबैभन्दा बढी सुर्खेतका छन्। प्रहरी नायब उपरीक्षक बमका अनुसार पक्राउपर्ने फरार प्रतिवादीमा सुर्खेतका १५७, सल्यानका १३३, दैलेखका ६८, जुम्लाका ३१, मुगुका २८, कालीकोटका २१, जाजरकोटका २०, हुम्लाका १८, रुकुमपश्चिमका १३ र डोल्पाका पाँच जना छन्। उनले भने, “फैसला कार्यान्वयनका सिलसिलामा पक्राउ परेका ३७६ प्रतिवादीलाई जिल्ला अदालतमा बुझाइएको छ। उनीहरुलाई २२७ वर्ष दुई महिना २९ दिन कैद हुनुका साथै रु ८४ लाख तीन हजार ९६७ जरिवाना असुल गरिएको छ।” पुराना मुद्दाका ११८ फरार प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गरेर कारवाहीका लागि सरकारी वकिलमार्फत जिल्ला अदालतमा उपस्थित गराइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।रासस
ओलीलाई स्थायी कमिटी बैठकबाटै कारबाहीको तयारी काठमाडाैं।  आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा विवाद बढाउने काम गरेपछि शीर्ष नेताहरूले पार्टी विभाजनतर्फ उन्मुख भएको बताउन थालेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाका नेताहरूले कडा शब्दमा आपत्ति जनाएका छन्। उनीहरू यो विषयमा स्थायी कमिटी बैठकमा छलफल गर्ने तयारीमा छन्। स्थायी कमिटीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बहुमत छ। मंसिर २८ गते दुई अध्यक्षबीच सहमतिको वातावरण बनाउने भन्दै पुस १ गते  (बुधबार) का लागि स्थायी कमिटी बैठक सारिएको थियो। तर यो बीचमा दुई अध्यक्षबीच सहमतिका लागि छलफल हुन सकेन। प्रधानमन्त्रीसमेत रहेका ओलीले दाहालसँग सल्लाह नगरी संवैधानिक परिषद्को बैठक बोलाए। दाहालसँग सल्लाह नगरी परिषद्को बैठक बोलाएपछि सभामुख अग्नि सापकोटा उपस्थित भएनन्। सभामुख उपस्थित नभएपछि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर संवैधानिक परिषद्को बैठक राखे। ओलीले पूर्णतः पार्टीलाई पन्छाएर आफूलाई केन्द्रमा राखेको आरोप असन्तुष्ट पक्षले लगाएको छ। ‘प्रधानमन्त्री ओलीले नै सहमतिको पहल गर्नुहोला भनेको उल्टै पार्टीलाई विभाजनको संघारमा धकेल्दै हुनुहुन्छ, उहाँका कदमले पार्टी संकटमा पर्न थालेको देखिँदैछ,’ दाहाल निकट एक नेताले भने। ती नेताका अनुसार दाहाल–नेपाल समूह ओली आफूखुसी चल्न थालेपछि उनलाई स्थायी कमिटी बैठकबाटै कारबाही प्रक्रिया अघि बढाउने पक्षमा छ। ‘कि त केपी ओलीले गरेका निर्णय ठीक छन् भनेर उनकै फेरो समातेर हिँड्नुपर्‍यो, होइन भने उनले गरेका निर्णय बेठीक छन् भने प्रधानमन्त्रीबाट हटाउनुपर्‍यो, सधैंभरि यस्तो तमासा गर्नु राम्रो होइन’, स्थायी कमिटीका ती सदस्यले भने। पार्टी विभाजनको संघारमा उभिएका बेला दुवै पक्षले सांसदको हस्ताक्षर संकलन गरेर राखिसकेका छन्। दुवै पक्षले आफ्नो पक्षमा बहुमत सांसद रहेको दाबी गरेका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।
पशुपतिनाथ मन्दिर नौ महिनापछि खुल्दै, दर्शनार्थी खुशी काठमाडौँ । सूर्यविनायक नगरपालिका–९ कटुञ्जे निवासी परशुराम ढुङ्गेलको दैनिकी बिहानको नित्य कर्म सकेपछि पशुपति दर्शनबाट शुरु हुन्थ्यो । पशुपति दर्शनपछि करीब दुई घण्टा मूल मन्दिर परिसरमा भजन गरेर आनन्द लिने उनको दैनिकी टुटेको पनि नौ महिना पूरा भएको छ । “पशुपतिमा नित्य दर्शनपछि भजन एवं नृत्य गर्न छोडेका कारण शरीरका विभिन्न भागमा दुख्न थालेको छ, पशुपतिको दर्शन र भजन गर्न नपाउँदा म अस्वस्थ भएको छु, विसं २०६० देखि नियमित पशुपतिमा दर्शन र भजन जीवनको अङ्ग बनेको थियो”–उनले भने । बिहान करीब तीन घण्टा पशुपतिमा दर्शन एवं भजनमा समय बिताएपछि ढुङ्गेल मैतीदेवीमा रहेको मेटल शपमा जान्थे । सोह्र वर्षदेखि यस्तो जीवनचर्यामा रमाएका उनि कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत ११ गते पशुपतिनाथको मूल मन्दिर बन्द गरिएपछि भित्र छिर्न नपाउँदा बिरामीझैँ अनुभव गरिरहेको गुनासो गर्छन् । पशुपतिनाथलाई महावैद्यका रुपमा मान्ने लेखक एवं साहित्यकार हरिप्रसाद सोडारी मन्दिर क्षेत्रमा १५ मिनेट बस्दा ऊर्जा प्राप्त हुने अनुभव सुनाउँछन् । कोरोना कहरका बेला महाज्योतिर्लिङ्गका रुपमा विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने पशुपतिनाथको दर्शन गराएरै उपचार गर्न सकिने अवसर मन्दिर बन्द हुँदा गुमाउनुपरेको उनको भनाइ छ । आस्था र विश्वाससमेत कुनै रोग उपचारको एउटा प्रक्रिया भएकाले ऊर्जाको केन्द्रका रुपमा पशुपतिनाथ बन्द नगरी व्यवस्थापन गरेको भए राम्रो हुने सोडारीको सुझाव छ । “लेखनका क्रममा केही फुरेन भने कुदेर पशुपतिनाथको दर्शनमा जान्थेँ, पशुपति क्षेत्रका कुनै स्थानमा १५–२० मिनेटसम्म ध्यान गरेपछि प्राप्त हुने ऊर्जाले लेखनमा सहयोग गरेको मेरो अनुभव छ”–उनले भने । राष्ट्रदेवका रुपमा पूजिने पशुपतिनाथ मन्दिरमा नौ महिनादेखि दर्शन गर्न नपाउँदा नित्य दर्शनार्थी छटपटिन थालेपछि बुधबारदेखि मन्दिर खुलाउने तयारी भएको छ । यो तयारीसँगै ढुङ्गेल र सोडारीजस्ता नित्य दर्शनार्थीमा आशाको सञ्चार भएको छ । ऊर्जाको केन्द्र पशुपति क्षेत्र पशुपति क्षेत्रमा कम्तीमा चार जना सिद्ध पुरुषले छोडदैनन् भन्ने भनाई योगी नरहरिनाथ र डा.स्वामी प्रपन्नाचार्यजस्ता साधकले व्यक्त गरेका छन् । पशुपति क्षेत्रका हरेक रुखलाई पूर्व जन्मका ऋषिका रुपमा मानिने भएकाले काट्नुहुँदैन भन्ने मान्यता छ । वाग्मती, गुह्येश्वरी एवं ६४ लिङ्गमध्येका सात शिवलिङ्ग पनि पशुपति क्षेत्रमै पर्ने भएकाले सिद्धस्थलका रुपमा विश्वव्यापी चिनारी बनाउन पशुपति सफल भएको अनुसन्धाता सोडारी बताउँछन् । पशुपति क्षेत्रलाई तन्त्र विद्या अनुसार राम्रोसँग बाँधिएकाले मानसिक तनाव भएकाले शान्ति पाउने विश्वास गरिन्छ । पूर्व जन्मको पाप भएकाले पशुपति क्षेत्रको दर्शन गरेमा पाप नाशिएर पुण्य कमाउने वर्णन विभिन्न ग्रन्थमा गरिएको छ । कैलाश, मृगस्थली र ध्रुवस्थली गरी तीन पर्वत रहेकाले पर्वतको ऊर्जासमेत पशुपति क्षेत्रमा छ । यसैले पनि पशुपति क्षेत्रलाई ऊर्जाको केन्द्र मानिन्छ । नियमित दर्शनार्थी नौ महिनादेखि मन्दिर छिर्न नपाउँदा माइत जान नपाएकी महिलाको अनुभव गरेको लेखक सोडारीजस्ता धेरै दर्शनार्थी बताउँछन् । तीन महिना बन्दाबन्दी भएपछि गत असारमा अन्य क्षेत्र खुले पनि पशुपतिनाथ लगायत मन्दिर एवं धार्मिक स्थल खुलेनन् । साउन शिवजीको महिना भएकाले खुल्ने धेरै भक्तजनको आशा थियो । पशुपति क्षेत्र विकास कोषले मन्दिर खुलाउने तयारी पनि गरेको थियो । तर कोरोना सङ्क्रमण फैलने डर कायमै रहेकाले मन्दिर खुलाइएन । भदौपछि पुनः बन्दाबन्दी भएर भक्तजनले मन्दिर प्रवेशका लागि चार महिना कुर्न बाध्य हुनुप¥यो । दशैँअघि अरु क्षेत्र पुनः खुला गरिएपछि लाखौँ भक्तजन मन्दिर विश्वमै महत्वपूर्ण शक्तिपीठका रुपमा शास्त्रमा वर्णन गरिएको गुह्येश्वरीसमेत रहेको पशुपति क्षेत्र खुल्ने आशामा थिए । तर स्वास्थ्य चुनौती कायमै रहेकाले मन्दिर खुलेन । पूर्वसांसद विदुर पौडेल बिहान संसदीय समितिको बैठक बस्दा पनि पशुपति र गुह्येश्वरीको दर्शन गरेरमात्र संसद् छिर्ने गरेको बताउँछन् । विसं २०४८ देखि राष्ट्रियसभाको सदस्य रहेका पौडेल २०५० मा प्रत्यायोजित व्यवस्थापन तथा अनुगमन समितिको सभापति निर्वाचित भए । “समिति सभापति हुँदा बिहान सात बजे नै बैठक चलाउनुपथ्र्यो, म पशुपति र गुह्येश्वरीको दर्शन गरेरमात्र संसद्मा जान्थेँ, भगवान् हामीभित्र नै भएपनि त्यहाँसम्म हाम्रो सम्पर्क टुटेकाले मन्दिरमा जानुपरेको हो, नौ महिनादेखि मन्दिर प्रवेश गर्न नपाएपनि बाहिर बाहिरै दर्शन गरेर फर्कने गरेको छु”–उनले भने । पूर्वसांसद पौडेल सांसद हुँदा जिल्ला भ्रमण गएका बेला र विसं २०६३ पछि नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति भएर दाङमा बसेका बेला बाहेक राजधानी बसेका बेला नियमित रुपमा पशुपति दर्शन गरेको बताउँछन् । पशुपति दर्शन विधि अनुसार नियमित पशुपतिनाथ मन्दिर दर्शन गर्ने पौडेलजस्ता सयौँ नित्य दर्शनार्थीलाई नौ महिनाको समयमा निकै खल्लो महसुस भएको छ । कोषलाई रु ७० करोड घाटा नौ महिनादेखि पशुपतिनाथ मन्दिर बन्द गरिँदा पशुपति क्षेत्र विकास कोषलाई करोडौं आय घाटा लागेको छ । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा विकास निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट बजेट आउने गरे पनि कोषका कर्मचारीलाई तलब खुवाउन पर्यटकलाई दिने टिकट र भेटीघाटीबाट उठेको स्रोतबाट नै पु¥याउनुपर्ने बाध्यता भएकाले कठिन दिन आएको सुनाउँछन् । पशुपति क्षेत्रमा रहेका फूल प्रसाद बेच्ने पसल नौ महिनादेखि बन्द छ । पसल बन्द हुँदा व्यापारीले कोषलाई भाडा तिरेका छैनन् । पशुपति क्षेत्रमा रहेका पर्यटकीय काउन्टर समेत बन्द छन् । नौ महिनाको अवधिमा कोषलाई करिब रु ७० करोड घाटा लागेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउँछन् । पशुपति क्षेत्रमा घाट सेवा भने नियमित रुपमा सञ्चालनमा छ । कोरोनाबाट निधन भएकाको शवदाह गर्न विद्युतीय शवदाह गृहमा विशेष व्यवस्था गरिएको छ । घाट सेवामा भने कोषले उदाहरणीय काम गरेको प्रतिक्रिया सेवाग्राहीको छ । बन्दाबन्दीको शुरुमा घाटमा कम शव आएपनि पछिल्लो समय सङ्ख्या बढ्न थालेको छ । असोजदेखि नै भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पशुपतिनाथ मन्दिर खोलिनुपर्ने माग गर्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा दर्जनौँ धार्मिक संस्था सहभागी भई पशुपति क्षेत्रमा बिरोध प्रदर्शन शुरु भएको थियो । पछिल्लो समय मन्दिर दक्षिणढोका बाहिर बेलुकी दीप प्रज्ज्वलन गरी मन्दिर खोल्नुपर्ने माग राखी साङ्केतिक प्रदर्शन भइरहेको थियो । कोषका सदस्यसचिव डा प्रदीप ढकाल भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर राष्ट्रदेवको दर्शन गर्न पाउनुपर्ने भक्तजनको मागअनुसार नै पुस १ गते बुधबारदेखि मन्दिर खोल्न लागिएको बताउछन् । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन । “महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौँ”–सदस्य सचिव ढकालले भने । कोरोनापछि अन्य क्षेत्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएपनि पशुपतिनाथलगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै असोजदेखि पशुपति क्षेत्रमा विश्व हिन्दू महासङ्घको नेतृत्वमा साङ्केतिक बिरोध प्रदर्शन भइरहेको थियो । बुधबारदेखि मन्दिर खोल्न लागिएकामा ती संस्थाले पनि मङ्गलबार पशुपति क्षेत्र परिसरमा विशेष पूजा आराधना गर्दैछन् । इतिहासमा पशुपतिनाथ मन्दिर नौ महिनासम्म बन्द रहेको प्रामाणिक तथ्य वंशावलीलगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा विद्यावारिधि शोध गरेको कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । नौमहिने यो अवधिमा धेरै पर्यटक आउने साउन महिना, हरितालिका (तीज) र बाला चतुर्दशी पर्वमा पनि भक्तजनले मन्दिर बाहिरैबाट परिक्रमा गरेर चित्त बुझाउन बाध्य हुनुपरेको थियो । यी पर्वमा लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा आउने गर्थे । भक्तजन नआउने भएपछि पशुपति क्षेत्र वरपरको बजारको व्यापारमा समेत कमी आएको छ । साउन महिना, हरितालिका (तीज) र बाला चतुर्दशी पर्वमा पशुपति क्षेत्रमा विशेषगरी नयाँ बजारसमेत सञ्चालनमा आउने गरेकामा यस वर्ष त्योसमेत प्रभावित भएको छ । पशुपति क्षेत्र वरपर खुलेका ठूला साना होटल पनि यसबीचमा प्रभावित भए । पशुपतिनाथ मन्दिरसँगै विश्वकै प्रसिद्ध शक्तिपीठ गुह्येश्वरी पनि पुस १ गते बुधबारदेखि भक्तजनलाई दर्शनका लागि खुला गरिने भएको छ । पशुपति क्षेत्रका चन्द्रविनायकलगायत मन्दिर, चैत्य पनि बुधबारदेखि नै भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्ने गरी तयारी भएको छ । नौ महिनापछि मन्दिर खुला गर्न लागिएकामा स्थानीयवासीसमेत उत्साहित भएका छन् । पुस १ गतेदेखि विशेषरुपमा साजसज्जा गरी भक्तजनलाई स्वागत गर्ने तयारी भएको छ । तयारीका लागि सोमबार कोषले स्थानीयवासीसँग बैठक गरेको छ । बैठकपछि स्थानीयवासीसँगको सम्बन्ध थप सुमधुर भएको कोषका कर्मचारीहरु बताउँछन् । रासस
सात दिनभित्र माग पूरा नभए कडा आन्दोलनमा जाने स्वास्थ्य क्षेत्रका २३ संघ संगठनहरुको चेतावनी काठमाडौं । स्वास्थ्य क्षेत्रका २३ संघ संगठनहरुको सयुक्त संघर्ष समितिले १८ बुँदे मागबारे सरकारले बेवास्ता गरेको भन्दै कडा आन्दोलनको चेतावनी दिएको छ । समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कोभिडलगायत जटिल रोगको निःशुल्क उपचार, स्वास्थ्यकर्मीहरुको उत्प्रेरणात्तम योजना कार्यान्वयनलगायतको माग समेटेर स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएपनि बेवास्ता भएको भन्दै सात दिनभित्र पूरा नभए कडा आन्दोलनमा जाने चेतावनी दिएको हो । माग पूरा गर्न भन्दै नेपाल चिकित्सक संघ लगायत २३ वटा स्वास्थ्यसम्वद्ध ट्रेड युनियन तथा पेशागत संघका संयुक्त संघर्ष समितिले आफ्नो मागहरु सम्बोधन गर्न सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको हो । संयुक्त संघर्ष समितिले यस अघि आफ्नो मागहरु सम्बोधनको लागि दिएको अल्टीमेटममा कोभिड–१९ को बिषमपुर्ण परिस्थितिलाई ध्यानमा राख्दै मंसिर २९ गते देखि लागु हुनेगरि एक हप्ताको समयवधी थप गरेको जानकारी दिएको हो । समितिका संयोजक समेत रहेका नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले थपिएको समयअवधिमा आफ्ना मागहरु सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले भने,‘ हाम्रा मागहरु जायज छन् र यसलाई पूरा गर्न सरकार गम्भीर नभए चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न वाध्य हुनेछौं ।’ कार्कीले मेडिकल क्षेत्रका मागहरु प्रति सरकार गैरजिम्मेवार बनेको बताए । उनले भने, ‘यो हाम्रो व्यक्तिगत माग होइन्, संगठनको जायज माग हो ।’ कार्कीले कोरोना महामारीको यस्तो बेला अग्रपंक्तिमा खटिएका डाक्टर नर्सहरुले जोखिम लिएर पेशागत धर्म निभाएको तर सरकारले उनीहरुको सुरक्षाका लागि कुनै सार्थक पहल नगरेको बताए । उनले भने, ‘सरकारले स्वास्थ्य सुरक्षाका सामाग्री पनि दिन सकेको छैन् ।’ मंसिर ७ गते १८ बुदेमाग राखेकोमा कुनै सुनुवाई नभएको तैपनि सात दिनका लागि अल्टिमेटमको समय थपेको बताए । उनले भने,‘यदि माग पुरा भएन भने आन्दोलनमा जानेछौं ।’ संघर्ष समितिले सारेका १८ बुँदे मागहरुमा कोभिड लगायत जनताको अन्य जटिल रोगको सम्पुर्ण उपचार राज्यले निशुल्क गर्नुपर्ने, आइसियु, भेन्टिलेटर लगायत उपकरणहरुको सख्या देशै भरका अस्पतालहरुमा वृद्धि गरी सेवा बिस्तार गर्नुपर्ने, कोभिड–१९ को नियन्त्रणका लागि परिक्षण, आइसोलेसन उपचार लगायतको दायरा बढाई सरकार जिम्मेवार हुनुपर्ने, स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउने भनिएको जोखित भत्ता, संचार तथा यातयात खर्च, बिमा, मृत्युपश्चात दिइने खर्च सहज तरिकाले उपलब्ध गराउनु पर्ने, निश्चिन मापदण्डको आधारमा सबै स्वास्थ्यकर्मीहरुका लागि क्वारेन्टिन, आइसोलेन र बिदा व्यवस्थापन हुनुपर्ने, संक्रमित चिकित्सक, नर्सिंग तथा स्वास्थ्य चिकित्सकलाई छुट्टै डेडिकेटेड अस्पताल हुनुपर्नेलगायतका छन् । संयुक्त संघर्ष समितिमा नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल चिकित्स्क संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, मेडिकल ल्याबोेरेटोरी एसोसियसन अफ नेपाल, नेपला जनस्वास्थ्य संघ, नेपाल डेन्टल साइन्स हाईजिनिीट एसोसिएसन संघ, हेल्थ असिस्टेन्ट संघ नेपाल, नेपाल दन्त चिकित्सक संघ, नेपाल फर्मस्युटिकल संघ लगायतका संघसंगठनहरु छन् । मागहरु: -कोभिड लगायत जनताको अन्य जटिल रोगको सम्पुर्ण उपचार राज्यले निशुल्क गर्नुपर्ने -आइसियु, भेन्टिलेटर लगायत उपकरणहरुको सख्या देशै भरका अस्पतालहरुमा बृद्धि गरि सेवा बिस्तार गर्नुपर्ने -कोभिड–१९ को नियन्त्रणका लागि  ट्र्रेसिंग, गरिने कार्यहरु जस्तै परिक्षण, आइसोलेसन उपचार लगायतका सम्पुर्ण कार्यहरुले हाल द्धिविधा उत्पन्न भएको -हुनाले यसको दायरा बढाई सरकार जिम्मेवार हुनुपर्ने -स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउने भनिएको जोखित भत्ता, संचार तथा यातयात खर्च, बिमा, मृत्युपश्चात दिइने खर्च सहज तरिकाले उपलब्ध गराउनु पर्ने । -निश्चिन मापदण्डको आधारमा सबै स्वास्थ्यकर्मीहरुका लागि क्वारेन्टिन, आइसोलेन र बिदा व्यवस्थापन हुनुपर्ने -संक्रमित चिकित्सक, नर्सिंग तथा स्वास्थ्य चिकित्सकलाई छुट्टै डेडिकेटेड अस्पताल हुनुपर्ने -स्वास्थ्य सेवा बिशिष्ठकृत सेवा भएको हुनाले स्वास्थ्य तथा जनसख्या मन्त्रालयको सचिव स्वास्थ्य सेवाबाट नै हुनु पर्ने -स्वास्थ्य सस्था तथा स्वास्थ्य सस्थामा कार्यरत जनशत्तिलाई सुरक्षित वातावरणमा काम गर्न तथा अभद्र व्यवहार नहोस् भन्नका निम्ती घटनामा सम्लग्न -व्यक्तिलाई बिना धरौटी हिरासतमा राखि कारवाही गर्ने कानुनी बनाई लागु गर्नु पर्ने -बिर अस्पताल लगायत देशका बिभिन्न स्थानहरुमा भै राखेका स्वास्थ्यकर्मीहरुको आन्दोलनलाई सम्बोधन गरि जायज मागहरु तत्काल पुरा गर्नुपर्ने ।
भारतीय नोट दुई लाखसहित भारतीय नागरिक पक्राउ काठमाडाैं । भारतीय नोट एक लाख ९९ हजारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१७ इस्लामपुरस्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारत सुन्दर विहार पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द्रलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा भारतीय नोट पाँच सयको ३९० थान र दुई हजारको दुई थान गरी एक लाख ९९ हजारसहित शुक्रबार साँझ पक्राउ गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार नयाँ दिल्ली । कृषिसम्बन्धी कानूनहरूमा संशोधन गर्ने केन्द्रीय सरकारको प्रस्तावलाई भारतका आन्दोलनरत किसानहरूले अस्वीकार गरेका छन् ।आन्दोलनरत किसानहरूको सङ्गठनका अगुवाहरूले कृषिसम्बन्धी विवादास्पद तीन वटै कानूनहरू खारेज नै हुनु पर्ने अडान राखेका छन् । सरकारले ठूलो उपलब्धिका रूपमा व्याख्या गर्दै आइरहेको कानूनहरू किसानहरूले भने खारेज नै गर्नु पर्ने अडान राखेपछि सरकार थप समस्यामा परेको छ । गृहमन्त्री अमित शाहले बोलाएपछि मङ्गलबार किसान अगुवाहरूसँग भएको बैठकपछि सरकारले संशोधनका लागि प्रस्ताव पठाएको हो । “हामीलाई सरकारले पठाएको प्रस्ताव अस्वीकार्य छ,” क्रान्तिकारी किसान युनियनका अध्यक्ष दर्शन पालले भने । केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेश र छिमेकी हरियाणा प्रदेशको सिमानामा पर्ने सिंघुमा आन्दोलनरत सङ्गठनहरूको तर्फबाट संयुक्त रूपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले आन्दोलन अझ सशक्त हुने दाबी गरे । आन्दोलनरत सङ्गठनहरूले यही डिसेम्बर १४ तारिखका दिन सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का कार्यालयहरूमा धर्ना दिने तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम बनाइएको जनाएका छन् । यो कार्यक्रम देशका धेरै ठाउँमा हुने पनि उनले बताए। त्यसैगरी उनीहरूले डिसेम्बर १२ मा दिल्ली–जयपुर राजमार्गमा अवरोध गर्नेगरी आन्दोलनको कार्यक्रम तय गरेका छन् । उनीहरूले देशभरीका किसानहरूलाई आन्दोलनका लागि दिल्ली आउन आह्वान पनि गरेका छन् । मङ्गलबार गृहमन्त्री शाहसँग वार्ता हुनुअघि किसानका प्रतिनिधि र सरकारी अधिकारीहरूका बीचमा पाँच पटक वार्ता भइसकेको थियो । आन्दोलनरत किसानहरूको माग र आन्दोलनप्रति विभिन्न राजनीतिक दलहरूले पनि समर्थन जनाएका छन् ।
अष्ट्रेलियाले दियो भारतलाई १ सय ८७ रनको लक्ष्य काठमाडौं। तेस्रो तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा घरेलु टिम अष्ट्रेलियाले भारतलाई जितका लागि १ सय ८७ रनको लक्ष्य दिएको छ। सिड्नीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनायो । अष्ट्रेलियाका लागि दुई जना खेलडिले अर्धशतकीय पारी खेले । म्याथ्यु वेडले सर्वाधिक ८० रन बनाउँदा ग्लेन म्याक्सवेलले ५४ रन बनाए। यस्तै स्टिभ स्मिथले २४ रन जोडे। भारतका वासिंटन सुन्दरले २ विकेट लिदा टी नटराजन र युजभेन्द्र चाहलले समान १ विकेट लिए। अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन खेलको टी२० सिरिजमा एक खेल अगावै सिरिज जितिसकेको छ । भारतले तेस्रो खेल जित्दै क्लिन स्विप गर्नचाहान्छ। यस्तै अष्ट्रेलिया एक खेल भने प्रतिष्ठाको लागि क्लिन स्विपबाट जोगिन चाहान्छ।
श्रीमतीसँग झगडा भएपछि श्रीमान ४ सय ५० किलोमिटर टाढा पैदल हिँड्दै पुगे काठमाडौं। श्रीमान श्रीमतीमा झगडा हुनु आम कुरा हो । तर, एक दम्पतीको बीचमा यस्तो झगडा भयो कि श्रीमानले आफूलाई शान्त बनाउनको लागि ४५० किलोमिटरको बाटो पैदल नै पूरा गरे । यस क्रममा उनी हप्तौंसम्म पैदल हिँडे । घटना इटलीको हो । इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यी व्यक्ति इटलीको कोमा शहरका हुन् । यो शहर स्विट्जरल्याण्डको सीमा नजिकै छ । ४८ वर्षका यी व्यक्ति श्रीमतीसँग झगडा भएपछि कोमा शहरबाट हिँड्दै हिँड्दै फोनो शहर पुगे । यी दुई शहरबीच ४२६ किलोमिटरको दूरी छ । उनी फोनो शहरबाट पनि हिँड्दै करिब ३० किलोमिटर अगाडि एड्रिएटिक कोस्ट पुगेपछि त्यहाँ पुलिसले उनलाई हिरासतमा लियो । पुलिसलाई सोधपुछको क्रममा उनले यति लामो दूरी पैदल हिँड्नुको कारण बताउँदा कसैले विश्वास नै गर्न सकेनन् । ती व्यक्तिका अनुसार झगडापछि उनलाई यति धेरै रिस उठेको थियो कि उनलाई यति टाढा पुगेको पत्तै भएन । उनले आफूलाई शान्त बनाउनको लागि घरबाट पैदल हिँडेको बताए । ती व्यक्तिका अनुसार यो यात्राको क्रममा उनलाई अञ्जान व्यक्तिहरुले खाना खुवाए । यी व्यक्ति १ दिनमा करिब ६४ किलोमिटर पैदल हिँडेका थिए । पुलिसले यी व्यक्तिको बारेमा थप अनुसन्धान गर्दै जाँदा उनकी पत्नीले एक हप्ताअघि उनी हराएको पुलिसमा रिपोर्ट गरेको खुलासा भयो । रिपोर्टका अनुसार ती व्यक्ति हिँडेर निकै थाकिसकेका थिए र उनको शरीर चिसो भइसकेको थियो ।
भाङ र सिस्नोको परिकारले चम्किएका सन्तोष (भिडियोसहित) जर्मनी। नेपाली युवा सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल यूके २०२० को सेमिफाइनलमा पुगेका छन्। इन्डियन खानामा २० बर्ष भन्दा लामो अनुभव सम्हालेर पोख्त भएका उनी नेपाली खानालाई विश्व बजारमा चिनाउनु पर्छ भन्दै नेपाली खानाकोे प्रवद्र्धन गर्ने उद्देश्यले अहिले प्रतियोगितामा भिडिरहेका छन्। जारी प्रतियोगितामा उनले आधुनिक तवरले नेपाली खानालाई प्रस्तुत गरेपछि निर्णायकहरूको मन छुन पुग्यो। उनले भाङको चटनी, कर्कलोको पातको अचार, सिस्नोका साग, टिम्बुरको अचार, भेडाको पोलेको मासु, खसीको मासुको झोल बेथेको साग, तामाको अचार, गहुँको रोटी आदि पस्केर विदेशी सेफहरुलाइ पछाडि पार्दै सेमिफाइनल प्रवेश गरे। शाह यो प्रतियोगिताका लागि पाँच वर्ष देखि प्रयासररत थिए। सिराहा जिल्लामा पर्ने तत्कालीन कर्जन्हा गाउँमा ३५ वर्ष पहिले जन्मेका सन्तोषका ७ दाजु भाइ दिदी बहिनी छन्। उनी परिवारको कान्छा सदस्य हुन्। ६ वर्षको उमेरमै आफ्ना बुवालाई सदाका लागि गुमाउन पुगेका उनले आफ्नै दाजु भाइको सहारा समेत पाएनन्। बिहाबारी गरेर अन्यत्र जिल्लामा बसाइ सरेर गएका दाजुभाइ सम्पन्न भएपनि उनी र बुढी आमाको दुःखको सहारा हुन कोही पनि अघि बढेनन्। जीवन धान्न र आमालाई पाल्नको लागि उनले पढाइ सँगसँगै प्लाष्टिक टिप्ने र साइकलमा पाउरोटी बेच्ने काम गरे। जेनतेन १० कक्षासम्म पढेका उनले प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गर्न सकेनन्। गाउँमा बसेर जीवन धान्न नसक्ने देखेपछि आमाको आग्रहमा गाउँका एक महासेठ समाजसेवीले अहमदावादमा काम लगाइदिने भएपछि उनी १५ बर्षको कलिलै उमेरमै लागे गुजराततिर। भारु ९ सयमा भाँडा माँझ्ने काम सुरु गरेका उनले त्यसलाई ठूलो सफलतका रुपमा लिए त्यतिबेला। विस्तारै त्यहाँबाट उनको अहिलेको व्यवसायिक जीवनको कथा सुरु हुन्छ। गाउँमा पाउरोटी र प्लाष्टिक बेचेर दिनको नेपाली २०/२२ रुपैयाँ कमाउने सन्तोषका लागि त्यो ९०० भारु धेरै ठुलो रकम लाग्यो। भाँडा माझ्दा माझ्दै एक दिन उनले सेतो पोशाक, चट्ट टोपी लगाएका ३० /४० जना सेफले काम गरेको देखेर अचम्म माने। दु: खमा बाँचेका उनी मासिक १५ हजार भन्दा बढी तलव र त्यस्तो आकर्षक पेशा देखेर मोहित भएपछि उनको सेफको यात्रा अगाडि बढ्छ। बाँकी उनका संघर्ष र सफलताका कथा डिसी नेपालको कार्यक्रम प्रवास वाणीमा दीपक धितालसँगको  भिडियाे संवाद :
६ वर्षपछि बलात्कार अभियुक्त पक्राउ पाँचथर। नेपाल प्रहरी एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गर्न सफल भएको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार थिए । सो अभियोगमा उनलाई जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको छ। गाउँमै लुकीछिपी बसेका अवस्थामा शेर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए।
null
यस वर्षको हिउँदमा गैँडा गणना हुने चितवन । गत दुई वर्ष चाहेर पनि गणना हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ । नेपालमा गँंैडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाका लागि बजेट स्वीकृति भइसकेको छ । गैँडा गणना गर्न विभागले रु ८० लाख बजेट विनियोजन गरेको छ । विसं २०७४ मा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा बगाएपछि त्यसको पछिल्लो वर्ष सन् २०१९ मा गैँडा गणना गर्ने तयारी गरिएको थियो । त्यतिबेला नेपाल सरकारले बजेट विनियोजन नगरेको र दाताको भर पर्दा बजेटको अभावमा गणना हुन सकेको थिएन । गत वर्ष गणनाको तयारी भएको भए पनि कोभिड –१९ को कारण अन्तिम समयमा गएर रोकिएको थियो । सूचना अधिकारी आचार्यले यस वर्ष गणना गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सबै तयारी गत वर्ष नै गरिएको छ । यद्यपि गणकको तालीमलगायत काम पुनःगर्नुपर्ने हुन्छ । जाडो महिना सकिएर घाँस सुकेपछि जङ्गल उजाड भएको समयमा गणनाका लागि उपयुक्त मानिन्छ । गतवर्ष लामो समयसम्म वर्षा भएर घाँस नसुकेका कारण गणनामा ढिलाइ भएको थियो । त्यति नै बेला कोभिड –१९ का कारण लकडाउन भएपछि गणना स्थगित गरिएको थियो । सूचना अधिकारी आचार्यले फागुनदेखि वैशाखसम्मको समयलाई गणनाको लागि उपयुक्त हुने बताए । त्यसपछिको समय हावाहुरी, बढी गर्मीलगायतका कारण उपयुक्त मानिदैन । नेपालका चार राष्ट्रिय निकुञ्ज चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटामा गैँडा रहेका छन् । सन् २०१५ मा गैँडा गणना गरिएको थियो । चितवनमा गैँडा गणना गर्न एक महिना लाग्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । अन्य निकुञ्जमा एक सातादेखि १० दिनसम्म लाग्ने उनको भनाइ छ । चितवनमा गणनाका लागि आवश्यक सामग्री व्यवस्थापनको प्रक्रिया अघि बढेको उनले जानकारी दिए । नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरी ६४५ गैँडा थिए ।
सिमाका भन्सारमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा रहीरहने सम्झौता काठमाडौँ । नेपाल भारत सिमाका भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा रहीरहने भएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग त्रिपुरेश्वर काठमाण्डौ र प्रभु बैंकको समन्वयमा सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरु सरकारी राजश्व संकलनका लागि एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका छन्। भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्व संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका हुन् । नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग त्रिपुरेश्वरका तर्फबाट महानिर्देशक सुमन दहाल र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले आज (बुधबार) नविकरण सम्झौतामा हस्ताक्षर गगरेका हुन् । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीमा सघाउ पुगेको छ । उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने प्रभु बैंकले जनाएको छ।
सरकारको बहुवर्षीय महत्वकांक्षी योजना, स्वास्थ्य क्षेत्रमा ‘कायापलट’ काठमाडौं। सरकारले ३ सय ९ वटा स्थानीय तहमा आधारभुत अस्पताल भवनको शिलान्यास गरेको छ। स्वास्थ्य सेवा स्थानीय स्तरसम्म पुर्याउने उद्येश्यका साथ गत जेठमा संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालहरुको निर्माण गरिने उद्घोष गरकी थिइन्। सोमबार प्रधानमन्त्री, मन्त्री, सांसद, स्थानीय तहका प्रमुख, सरकारका पूर्व पदाधिकारीहरुले देशभरका ३ सय ९ वटा स्थानीय तहमा बन्ने आधारभूत अस्पतालको भवन शिलान्यास गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी रहेका ८७ वटा स्थानीय तहमा जग्गा प्राप्ति गरी मंसिर महिनामै आधारभुत अस्पताल भवनहरुको शिलान्यास हुने छ। स्वास्थ्यमा सरकारको आमुल परिवर्तन हो : स्वास्थ्य राज्यमन्त्री रावत ‘सरकारले बनाउन लागेका अस्पतालहरुमा नगरपालिकामा १५ श्यया र गाउँपालिकामा ५ र १० श्ययाका बन्ने छन्,’ स्वास्थ्य राज्यमन्त्री नवराज रावतले भने, ‘हरेक नागरिकको स्वास्थ्य सुविधा पाउने अधिकार बन्चित नहोस भनेर सरकारले आधारभूत अस्पतालहरु नभएको स्थानीय निकायमा अस्पतालहरु निर्माण गर्न थालेको हो।’ ‘मंसिर १५ गते स्वास्थ्यको इतिहासमा सुनौलो अक्षरले लेखिने छ,’ रावतले भने, ‘स्वास्थ्य सम्बन्धि कामहरु सरकारले गरिरहेको छ र गरिरहने पनि छ। यतिबेला ५ श्ययाका, १० श्ययाका र १५ श्ययाका आधारभूत अस्पतालहरुको भवनको शिलान्यास भयो। स्वास्थ्य क्षेत्रमा भएको आमुल परिवर्तन हो। नेपालले स्वास्थ्य क्षेत्रमा क्रान्ति नै गरेको दिन हो। त्यसैले यो ऐतिहासिक दिन हो।’ ‘हालसम्म नेपालमा एउटामात्र सरुवा रोग अस्पताल थियो। अब सात वटै प्रदेशमा सरुवारोग अस्पताल हुनेछ।’ रावतले भने, ‘हरेक स्थानीय निकायमा आधारभूत अस्पताल हुने छ। जिल्ला अस्पताल स्तरोन्नति हुने छ। हरेक अस्पतालहरुमा जनशक्ति सहितको व्यवस्थापन गर्ने कुरा यो नेपाली जनताका निम्ति इतिहासकै अत्यन्तै महत्वपूर्ण दिन हो।’ सोमबार प्रधानमन्त्री, मन्त्री, सांसद, स्थानीय तहका प्रमुख, सरकारका पूर्व पदाधिकारीहरुले देशभरका ३ सय ९ वटा स्थानीय तहमा बन्ने आधारभूत अस्पतालको भवन शिलान्यास गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बहुबर्षीय योजना भएकाले अस्पताल सञ्चालन सरकारले आगामी दुई वर्ष भित्र गर्ने राज्यमन्त्री रावतले बताए। उनले भने, ‘हामी सेवा प्रवाहका लागि २ वर्ष कुर्दैै कुर्दैनौं। त्यसका निम्ति अहिले नै आवश्यक जनशक्ति सहित, आवस्यक औषधि मुलो सहित, आवश्यक सामग्री सहित, हाम्रो संवैधानिक व्यवस्थामा भएका आधारभूत स्वास्थ्यका लागि पर्ने चिजविज जे छनु सबैको व्यवस्था गरेर अहिलेदेखि नै सञ्चालन गर्छौं।’ यस्तो छ अस्पतालहरुको विवरण २०४८ सालमा गाउँ गाउँमा स्वास्थ्य सेवा विस्तार गर्ने योजना अनुसार सबै गाउँ विकास समितिमा उपस्वास्थ्य चौकीको स्थापना गरियो। इलाकामा स्वास्थ्य चौकी र प्रत्येक निर्वाचन क्षेत्रमा प्राथामिक स्वास्थ्य केन्द्रको स्थापना गरिएको थियो। तत्कालिन अवस्थामा ३ हजार ८सय ८ गाउँ विकास समितिहरु थिए। २०५ निर्वाचन क्षेत्र रहेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभरमा जम्मा ६ हजार २ सय १४ सरकारी र २ हजार ३ सय ३ निजी तथा गैह्रसरकारी अस्पतालहरु रहेका छन्। सरकारी अस्पतालहरुमा प्रदेश १ मा १ हजार ७१, प्रदेश २ मा ९ सय ३७, बाग्मती प्रदेशमा १ हजार १ सय ३९, गण्डकी प्रदेशमा ७ सय ४५, लुम्बिनी प्रदेशमा ९ सय २२, कर्णाली प्रदेशमा ६ सय ८७ र सुदुरपश्चिम प्रदेशमा ७ सय १३ रहेका छन्। यसैगरी निजी तथा गैह्र सरकारी अस्पतालहरु पनि सबै भन्दा बढी बाग्मती प्रदेशमा १ हजार ४ सय ५० वटा रहेका छन्। मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा १ सय ७६, प्रदेश २ मा २ सय १२, गण्डकी प्रदेशमा १ सय ३२, लुम्बिनी प्रदेशमा १ सय ८९, कर्णाली प्रदेशमा ९० र सुदुरपश्चिम प्रदेशमा ५४ निजी तथा गैह्र सरकारी अस्पतालहरु रहेका छन्। सरकारले हाल तय गरेका ३ सय ९६ आधारभूत अस्पतालहरुमा प्रदेश १ मा ८६, प्रदेश २ र गण्डकी प्रदेशमा ५३÷५३, बाग्मति प्रदेशमा ५१ कर्णली प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा ५७ र सुदुरपश्चिम प्रदेशमा ५१ आधारभूत अस्पतालहरु रहेका छन्। जसमध्ये देशभर ५ श्ययाका ५२, १० श्ययाका १ सय ९ र १५ श्ययाका ९६ अस्पतालहरु रहेका छन्। सरकारले सोमबार शिल्यान्यास गरेकासहित स्थानीय तहमा कूल ४ हजार ८ सय ७५ श्यया, ९ सय ७५ चिकित्सकसहित ९७ हजार ६ सय ५२ जनशक्ति रहने स्वास्थ्य राज्यमन्त्री रावतले जानकारी दिए। ५ श्ययाको लागि ८ करोड, १० श्ययाका लागि ११ करोड र १५ श्ययाका लागि १८ करोडका दरले बजेट विनियोजन गरिएको पनि स्वास्थ्य राज्यमन्त्री रावतले जानकारी दिए। उनले सातै प्रदेशमा संचालन गरिने सरुवारोग अस्पतालका लागि ३१ करोडका दरले बजेट विनियोजन भएको समेत जानकारी दिए। अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख स्थानीय तहमा पठाइसकेको छ। नेपालमा अस्पतालहरुको इतिहास नेपालमा सत्रौं शतब्दीमा सिंहदरवार वैद्यखानाको स्थापनासँगै आर्युवेद उपचार प्रद्धतिको विकास भएको पाइन्छ। वि.सं. १९४७मा वीर अस्पतालको स्थापना भएसँगै अधुनिक चिकित्सा पद्धतिको संस्थागत विकास सुरु भएको देखिन्छ। समग्रमा स्वास्थ्य क्षेत्रको योजनाबद्ध विकास भने वि.सं. २०१३ बाट भएको पाइन्छ। विसं. २०३२ मा १५ वर्षे प्रथम दीर्घकालीन स्वास्थ्य योजना लागु भएको र वि.सं. २०५४ मा २० वर्षे दोस्रो दीर्घकालीन स्वास्थ्य योजना लागू भएको थियो। २०४६ को राजनीतिक परिवर्तन पछि नेपाली जनताको परिवर्तनको अपेक्षा अनुसार आएको राष्ट्रिय स्वास्थ्य नीति २०४८ ले गाउँगाउँसम्म प्राथामिक स्वास्थ्य सेवा विस्तार गर्ने गरी सबै गाउँ विकास समितिहरुमा उपस्वास्थ्य चौकी, इलाकाहरुमा स्वास्थ्य चौकी, प्रत्येक निर्वाचन क्षेत्रहरुमा प्राथामिक स्वास्थ्य केन्द्रको स्थापना गरिएको थियो।
कृषि विकास बैंकको ह्याकिङ प्रकरणका आरोपीत पक्राउ काठमाडौँ । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर (ह्याकिङ) गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका धादिङ रुबिभ्याली गाउँपालिका १ बस्ने ५४ वर्षीय खम्ब घलेलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । कृषि विकास बैंक मूख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोडबाट अपराधिक समूहका व्यक्तिहरूले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरूको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पुर्‍याउने कार्यमा संलग्न रही फरार रहेका घलेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । घलेले २०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएका थिए । श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा सिस्टम चेक गर्दा सुनिता समेतका व्यक्तिहरूको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पुर्‍याएको भन्ने सूचना महानगरीय अपराध महाशाखालाई आएको थियो । त्यसैलाई आधार मानेर प्रहरीले अनुसन्धान गर्दा २०७६ असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा समेतलाई पक्राउ गरी उनीहरूलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारबाहीको लागि परिसर पठाइएको थियो । घलेलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने पक्राउ काठमाडौं। पेट्रोल ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने दुई जनालाई बाराबाट प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार उनीहरूलाई काठमाडौं ल्याएको हो। पक्राउ पर्नेमा बारा जिल्ला साविक अमलेखगञ्ज ६ स्थायी ठेगाना भई हाल जितपुर सिमरा र विकेश २१ बस्ने ३५ वर्षीय अजय लामा लामा छन्। इण्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आएका ना ७ ख २९९५ र ना ७ ख ३६९६ नम्बरको ट्यांकरमा फल्स चेम्बर बनाई उनीहरूले इन्धन चोरी तस्करी गरी ठगी गरेको आरोप लागेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिएका छन्।