content
stringlengths
20
64.1k
दसैँतिहार नजिकिएसँगै सस्तोमा चामल बेच्दै नेपाल खाद्य संस्थान काठमाडौं। नेपालीहरुको महान पर्व विजयादशमी, दीपावली र छठ नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा संस्थानले बिक्री गर्न थालेको हो । निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दसैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो चामल ३० किलोग्रामको बोरा एक हजार ५१५ मा बिक्री गरिरहेको कार्यालय सहयोगी दानबहादुर निदालले बताए । सामान्यतया अरू समयमा संस्थानले यस चामललाई एक हजार ६२५ मा बिक्री गर्दै आएको थियो । यस्तै मोटा चामल ३० किलोग्रामको बोरालाई एक हजार २१५ पर्ने उनले बताए । दैनिक चार÷पाँच क्विन्टलको अनुपातमा चामल बिक्री हुने गरेको उनले बताए । संस्थानको चामल अलग्गै प्याकेजिङ हुने गरेको छ ।
डुबेर बेपत्ता किशोरको शव फेला काठमाडौं।  पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ । सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बिगु गाउँपालिका–४ लादुकका १८ वर्षीय टीकाराम तामाङको शव आज फेला परेको हो । घर नजिकै शान्ति आर्दश माविसँगै रहेको पोखरीमा तामाङ हिजो दिउँसो साथीसँग पौडी खेल्न गएको र पोखरीमा डुबेर बेपत्ता भएका थिए । डुबेर बेपत्ता भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय सिङगटीको टोली घटनास्थलमा खोजीको लागि पुगेको भए पनि राति खोजी गर्न समस्या भएपछि स्थानीयवासीको सक्रियतामा आज बिहान शव फेला पारेको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए। परीक्षणका लागि शवलाई चरीकोट अस्पतालमा ल्याउने तयारी भइरहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
निःशुल्क सेनेटरी प्याड वितरण काठमाडौं। युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ । यो अभियानबाट सयौँ महिला लाभान्वित भएका छन् । यसअघि सो संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ । संस्थाले क्रमशः देशका प्रमुख सहरका शौचालय, विद्यालय तथा अन्य आवश्यक पर्ने स्थानमा प्याड वितरण गरिँदै लैजाने अभियान रहेको बुद्ध नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।
खातामा पैसा टाँट पल्टदाँ पनि धमाधम चेक काटेपछि काठमाडौं । बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई आजनेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जन्तेढुंगा गाउँपालिका ३ खोटाङ घर भइ हाल काठमाडौं कपन बालुवाखानी बस्‍दै आएका २६ वर्षीय खगेन्द्र खत्री रहेका छन् । उनलाई सोही स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जानकरी दिएको छ । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २८ को फैसलापछि चार दिन कैद र बिगो बमोजिम रु १० लाख ६५ हजार ९०० जरिवनापछि फरार रहेका खत्रीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका खत्रीले आफ्नो ग्लोबल आइएमई बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्याएर चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।
कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने कि नदिनेमा प्रतिनिधिसभामा मतभेद काठमाडौं। कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा प्रतिनिधिसभामा आज मत बाझिएका छन् । आज ‘चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीले पाउने आरक्षण सम्बन्धमा’ गरिएको छलफलमा समिति सदस्यबीच छात्रवृत्ति दिने वा नदिने भन्नेमा मत बिभाजन भएको थियो । सांसद योगेश भट्टराईले कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिन नहुने बताए । उनले कर्मचारी सम्पन्नशाली हुने भएकाले उनीहरुका छोराछोरीलाई छात्रवृत्ति नचाहिने राय व्यक्त गरे । सांसद नबिना लामाले नेता र कर्मचारीका छोराछोरीलाई आरक्षण हुुनै नहुनेमा जोड दिँदै दिए, चीनमा नेता र अमेरिकामा कर्मचारीका छोराछोरी छात्रवृत्तिमा पढिरहेकाले समितिको बैठकमा कुन नेता र कुन कर्मचारीका छोराछोरी छात्रवृत्तिमा पढिरहेको छन् भनेर छलफल गरिनुपर्छ । सांसद गिरिराजमणि पोखरेलले कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिनैपर्नेमा जोड दिए ।
जाे खुट्टा काट्नै पर्ने थाहा पाएपछि धित मर्ने गरी नाचिन् काठमाडौं। चितवन क्यान्सर अस्पताल रिफर गरेपछि मनमा चिसो पसेको थियो। अन्ततः खुट्टा नै काट्नु पर्‍यो।’  चितवन मेघौलीकी सीता सुवेदी आफ्नो २१ वर्ष पहिलाको दशैंको सम्झनामा गर्दै आफूलाई भाग्यमानी भएको बताउछिन्। सीतालाई त्यो बेला आफ्नो खुट्टा भन्दा ज्यान प्यारो भयो। न होस पनि कसरी एउटा खुट्टाका कारण ज्यान जुमाउनु छ। अहिले त पुराना कुरा धेरै बिर्सिन् सीताले। बाबा बालकृष्ण सुवेदी र आमा सरस्वती सुवेदीको जेठो सन्तानको रुपमा चितनको मेघौलीमा जन्म लिएकी सीता १२ वर्षको उमेरसम्म अरु जस्छै छिन्। दुबै खुट्टाले हिँड्डुल गर्दै आमाबुबाको साहार बनेकी उनलाई ५८ सालको दशैंले ठूलो चोट दिएर गयो। दशैंमा अरु जस्तै भाइबहिनीलाई साइकलको अगाडि पछाडि राखेर मामा घर गएकी सीताको खुट्टा विस्तारै सुनिन् थाल्छ। साइकलको जोड परेकोले होला भन्दै दुःख्दै गरेको खुट्टालाई सामान्य औषधि मुलो गर्दै सञ्चो पार्ने प्रयास नभएको भने होइन्। खुट्टा सञ्चो हुनुको साटो झनझ बल्झिँदै गयो। उनी आत्तिइन्। खुट्टाले धेरै दुःख दिनथालेपछि चितवनका अस्पतालहरुमा उपचार गराइन्। सीताले त्यो बेला सम्झँदै भनिन्, ‘त्यहाबाट चितवन क्यान्सर अस्पतालमा उपचारको लागि रिफर ग¥यो। त्यो बेलामा नै मनमा चिसो पसेको थियो। मैले मानेन्।’ चितवन क्यान्सर अस्पताल रिफर भए पनि उनले आलटाल गर्न खोजिन्। त्यस बाहेकका धेरै अस्पताल र मेडिकलहरुमा चेकजाँच गराइयो। सबैले क्यान्सर अस्पताल नै रिफर गर्न थाले अन्ततः चितवन क्यान्सर अस्पताल पुगिन् सीता। ‘त्यो खुट्टा सुनिएकै कारण त्याहाँ पुगेपछि हड्डी चोइटिएको देखियो। हड्डीलाई नै निकालेर चेकजाँच गर्नु पर्ने डाक्टरको सल्लाह अनुसार त्यो काम पनि गरियो। केही दिन पछि नै जे नहुनु पर्ने थियो। जुन कुराले मनमा चिसो पसेको थियो। त्यही भयो। मेरो घुँडामा क्यान्सर देखियो।’ अनुभव सुनाउँदा सीताका आखामा त्यो बेलाको तस्वीर देख्न सकिन्थ्यो। अहिले धेरै बुझ्ने अवस्थामा भएकी उनी खुट्टामा क्यान्सर देखिएका बेला जम्मा १२ वर्षकी थिइन्। १२ वर्षको उमेरमा खुट्टाको क्यान्सर भएपछि र खुट्टा काट्न पर्ने अवस्था आएपछि उनको मनमा के बितेको थियो होला भनेर सहजै अनुमान लगाउन सकिन्छ। जीवनमा रात परेको अनुभूति गरेँ समाजमा अपाङ्गता भएका व्यक्तिहरु प्रतिको धारणा अझै पनि सोचे जति परिस्कृत हुन सकेको छैन। हामीले अझै पनि समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकेका छैनौं भने त्यो बेलाको समाजले कसरी त्यस्ता कुरा स्वीकार गथ्र्यो। घरको जेठी सन्तान सीता अब आमाबुबामाथि भार पर्ने निश्चितनै भयो। उनी पछि भएका भाइबहीनीमा पनि उनको भार पर्ने सर्वत्र आंकलन भयो। ‘बुबा आमाले मलाई खुट्टा काट्ने कुरामा कन्भिन्स गर्न सक्नु भएन।’ सीताले अनुभव तत्कालीन समाजको चित्रण गर्दै भनिन्, ‘मसँग विकल्प थिएन। अंकले दुईवटा विकल्प अघि सार्नु भयो। पहिलो खुट्टा काटे केही वर्ष बाँचिन्छ होला। दोस्रो खुट्टा नकाटेको अवस्थामा ज्यान तलमाथि हुन सक्छ। अझै डर बढ्यो र म खुट्टाकाट्न राजी भएँ।’ सीताले भनिन्, ‘विद्यालय पढ्दै थिएँ। हिजो अस्तिसम्म दुई खुट्टा टेकेर विद्यालय गइरहेकी म। अब खुट्टा काट्नु पर्छ भन्दा भविष्यलाई हेर्न थालेँ। कुनै पनि ठाउँमा उज्यालो देखिन्। मेलै खुट्टा काटेपछि त भविष्य नै अन्धकार हुन्छ। जीवनभरी रात पर्छहोला।’ खुट्टा काट्नु पहिला धित मर्ने गरी नाचेकी हुँ न आउनु पर्ने मोड जीवनमा आएपछि मन बुझाउनुको विकल्प थिएन्। म सानैदेखि नाच्न मन पराउने म अब नाच्न नपाउने भएँ भन्ने धेरै पीर लाग्यो। मैले त्यो बेलामा अब पछि पाइन्छ पाइन्न नाच्छु भने। ‘हुन त पारिजात दिदीको बहिनीसँग भेट भएपछि मेरो नृत्यको मरेको कोपिला फेरि पलाएको थियो। तर, पनि मैले त्यो बेलामा आफूलाई मन भरिने गरी नाचेकी थिएँ।’ विगत सम्झिँदै भनिन् सिताले, ‘वाइबा दिदीसँग भेट भएपछि त म नेपालमा भएका धेरै कार्यक्रममा पुगेकी छु। धेरै ठाउँमा नाचेकी छु। मैले आफूले धेरै ठाउँमा एक खुट्टाले नाचेर परिवारलाई पनि सहयोग गरेकी छु।’ विश्वभरका अपाङ्गता भएका व्यक्तिहरुको भेलामा नेपालको तर्फबाट भाग लिन सीता चीन र कोरिया पुगेकी छिन्। कोरोना महामारीले संगीत क्षेत्रमा परेको असरले सीतालाई पनि दुःखी तुल्याएको छ। तर, अहिले पनि कोरोना महामारी सुरु हुनु पूर्व नाचेर कमाएको पैसाले नै जीवन धानिरहेको सीताको अनुभव छ। अहिले सबैले माया गर्छन खुट्टाको क्यान्सर र उपचारपछिको जीवनको कल्पना गरेर धेरैले सीताको कुरा काटे। ‘आमाबुबाको साहारा भएकी छोरी आमाबुबालाई नै बोझ बन्ने भइ भने’ सीताले सुनाइन, ‘म त्यो बेलामा कति रुन्थेँ। मलाई के के सम्म भनेनन् गाउँलेले। यसरी बचाउनु भन्दा मर्न दिएको भए हुनेसम्म भने। यस्ता शब्दहरु प्रयोग गरे की मैले अहिले यहाँ भन्न पनि सक्दैन।’ ‘विद्यालयमा पनि एकै पटक बैशाखीको भरमा पुगेपछि सबै साथीहरु तर्किए।’ विद्यालय जाँदाको संघर्ष र अनुभवमा सीताले सुनाइन्, ‘क्यान्सर सर्ने रोग हो झैं गरे। शिक्षकहरुले क्याम्पियन नै चलाएर क्यान्सर सरुवा रोग नभैको बुझाउनु भयो। अझै अपाङ्गता भएका व्यक्तिहरुलाई गर्नु पर्ने व्यवहारका बारेमा पनि सुनाउनु भएपछि अल हल्का भयो।’ विस्तारै उनको पढाइले एक अवस्था पार गर्‍यो। उनी एसएलसी पास भइन्। त्यसपछिका दिन पनि धेरै संघर्षपूर्ण र चुनौतीपूर्ण भए। ती संघर्ष र चुनौतीलाई पार गर्दै सीताले कमाउन थालिन्। ‘मैले आफ्नो अघि आएका सबै काम गरेकी छु’ सीताले भनिन्। काम गरेर कमाउन थालेपछि घर परिवारलाई पनि सहयोग भयो। कुनै बेला आफ्नो उपचारको लागि रित्तो बनाएको आमा बुबाको ढुकुटीमा पुनः केही कुरा थपिन थाल्यो। त्यसपछि समाजले पनि अहिले त बुझेर होला माया गर्न थालेका छन्। धेरै पटक मरेर बाँचेकी हुँ रे! म विरामी भएपछि घरलाई ठूलो धक्का लाग्यो। आमा बुबाले पनि गर्ने सबै गर्नु भएको थियो। मध्यम वर्गीय परिवारमा जन्म लिएकी सीताको औषधीमूलो महङ्गो पर्न गयो। जतिसुकै महङ्गो परे आमाबुबाले हार खानु भएन्। मलाई बचाउने उद्येश्यमात्र राखेर मेरो उपचारको लागि नै खटिनु भयो। दुई पटकको किमो थेरापी, अप्रेसनलगायत अस्पतालमा लाग्ने सम्पूर्ण खर्च गरिसक्नु भएको थियो। ‘मेरो तेस्रो पटकको किमो थेरापी भएपछि अलि गाह्रो भयो।’ सीताले आफ्ना अस्पतालको बेडमा भएका दिनहरु स्मरण गर्दै भनिन्, ‘मेरो मनमा लागेको थिएन कि म कमजोर छु। तर, शरिर पूरै शिथिल भयो। मैले धेरै कुरा थाहै पाएन। डाक्टरहरुले त आमाबुबालाई तीन बजेसम्म मात्र छन् सीता तयारी गर्नुस्। ४ बजेसम्म छिन्,… यस्तै यस्तै भनेर भन्नु भएछ। आमाले पछि भन्नु हुन्थ्यो ४ पटकसम्म मरेकी भनेर तयारी गर्न पठाएका हुन् रे। त्यसरी ४ पटक मर्दा पनि बाँचेकी हुँ।’ केही गर्ने हुटहुटीले छोडेन् सबै तिरबाट घरपरिवारलाई अफ्ठेरोमा पारेर, आमाबुबाको आखामा आशुको बलेसी झारेर, मृत्युसँगको लडाइँ जितेपछि सीताले म बाँचेको केही गर्नका लागि हो भन्ने मनमा लिइन्। उनले एसएलसी पछिदेखि नै काम पनि गर्न थालिन्। काठमाडौं आएर पनि लामो समय टुर्स एण्ड ट्राभल्समा काम गरिन्। ‘करिव ८ वर्ष गरेँ हुला,’ उनले भनिन्, ‘त्यो बेलामा पढाइलाई नै माया मारेर काम गरेकी थिएँ। पछि बुझ्दै जाँदा पढाइ त अझै महत्वपूर्ण रहेछ झै लाग्यो। मैले पुनः जागिर छोडेर पढ्न थालेँ। पि के क्याम्पसमा नेपाली र म्यूजिक विषय लिएर पढ्न थाले पछि स्नातक त क्याम्पस प्रथम भएर नै कटाएँ। त्यसपछि मैले नेपालीमा स्नातोत्तर पनि सकेँ। अहिले म्यूजिकमा स्नातोक्तोर गरिरहेकी छु।’ धेरैले आफूसँग नभएको कुरालाई लिएर पीर गर्दै दुःख मान्दै बस्छन्। तर, सीताले त्यही कुरालाई अवसरमा बदलिन। बाहिर धेरै नहिँड्ने भएपछि उनले आफूलाई दुई बिषयमा मास्टर्स गर्न सफल पारिन्। संगीत र नृत्यलाई एक सिक्काका दुई पाटा मान्दै आएकी सीताको जीवनको अर्को पाटो पनि संगीत नै थियो। उनले आफूलाई संगीतभन्दा पर राखेर बस्न सकिनन्। साहित्य सृजनामा आफ्नो कलमलाई निरन्तर दौडाइरहेकी सीताले सृजना गरेको गीत बजारमा पनि छ। प्रताप दासले गाएको उक्त गीत यूट्युवमा पनि देख्न सकिन्छ। ‘अझै पनि अरु गीत रेकडिङ भइरहेका छन्,’ सीताले भनिन्, ‘अहिले प्रताप दास र मीना पोखरेलको स्वरमा रहेको बाबरी फूलको बोट बजारमा छ। अझै पनि अरु गीत रेकर्डिङको अवस्थामा छन्।
कपिलवस्तुमा बससँग विङ्गर ठोक्कियो : ९ घाइते, चार गम्भीर कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ जितपुरमा बस र विङ्गर एकआपसमा ठोक्किएका छन्। रुकुमबाट काठमाडाैं जाँदै गरेको बा४ख२४४८ नम्बरको बस र लु१ज३००६ नम्बरको विङ्गर ठोकिँदा नाै जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । विङ्गर चालक बाणगंगा नगरपालिका-८ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक गम्भीर घाइते भएक छन्। बसमा सवार रुकुमका पवन घर्ती मगर र अर्जुन बुढा मगरकाे अवस्था पनि गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि बुटवल लगिएको छ । बाँकी घाइतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
यस्तो बन्दै छ एमाले महाधिवेशन स्थल (फोटोफिचर) काठमाडौं । एमालेको विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको छ । ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १५–१७ असोजमा हुने विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको प्रचारप्रसार समितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिए । महाधिवेशनमा करिब पाँच हजार सहभागी हुनेछन् । उनीहरूलाई सम्मेलन केन्द्रभित्र र बाहिर राख्ने व्यवस्था मिलाइएको भट्टराईले जानकारी दिए । करिब पाँच हजार व्यक्ति विधान महाधिवेशनमा सहभागी हुनेछन्’, उनले भने, ‘तर, सम्मेलन केन्द्रको हलमा दुई हजार आठ सय ४० जनामात्रै अट्नेछन् । बाँकीलाई बाहिर व्यवस्था गरिएको छ ।’ हल बाहिर स्क्रिन राखेर महाधिवेशन आयोजना गरिने भट्टराईले जानकारी दिए । ‘हलभित्र दुई हजार आठ सय ४० जना रहन्छन्’, उनले भने, ‘हल बाहिर स्क्रिन राखेर दुई साइडमा एक एक हजार राख्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनस्थल सम्मेलन केन्द्रलाई सिंगारिएको छ । विनोद श्रेष्ठको नेतृत्वको टोली मञ्च व्यवस्थापनमा खटिएको छ । महाधिवेशनमा करिब तीन सय स्वयंसेवक खटिने प्रचारप्रसार संयोजक भट्टराईले जानकारी दिए ।
भागेका अफगानी पूर्वराष्ट्रपति अशरफ गनीले तालिबानको समर्थन गरेपछि हंगामा काठमाडौं। अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टबाट तालिबानी शासनको समर्थन गरेका छन् । यतिमात्र होइन उनले अन्तर्राष्ट्रिय समुदायसँग तालिबानसँग वार्ता गर्नको लागि अपिल पनि गरे । यसका साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई तालिबान सरकारलाई मान्यता दिन र समर्थन दिन आह्वान पनि गरे । गनीले विदेशमा फ्रिज गरिएको अफगानिस्तानको सम्पत्तिलाई फुकुवा गरिनु पर्ने पनि बताए । तर, फेसबुकमा यो बयान सार्वजनिक भए लगत्तै उनले ट्वीटमा आफ्नो यो बयानको खण्डन गरे । उनले ट्वीट गर्दै आफ्नो फेसबुक अकाउन्ट ह्याक गरिएको बताए । उनले आफ्नो फेसबुक ह्याक भएकोले हिजोभन्दा पछि गरिएका पोस्टलाई वैध नमान्न आग्रह गरे । यसअघि फेसबुकमा गरिएको जुन पोस्टको उनले खण्डन गरेका थिए त्यो पोस्ट पछि डिलिट गरिएको छ । उत्तर फेसबुक पोस्टमा लेखिएको थियो ‘प्रिय देशवासीहरु, यो एक तीतो सत्य हो कि हामी र हाम्रो क्याबिनेटको अफगानिस्तानमा कत्ति पनि नियन्त्रण छैन । तर यसका बावजुद केही देशले पूर्व राजदूत र विश्वभर फैलिएका हाम्रा प्रतिनिधिहरुहरुलाई एक नयाँ संकट खडा गर्न उक्साइरहेका छन् ।’ ‘उनीहरुले भनेका छन् कि उनीहरु अफगानिस्तान र उसको सरकारको प्रतिनिधित्व गर्न सक्दैनन् । संयुक्त राष्ट्रसंघमा गुलाम मोहम्मद इशाकजाइले अफगानिस्तानमा कुनै शासन नभएको र त्यो शासनलाई जनताको समर्थन प्राप्त नभएको भनेका छन् । अन्तर्राष्ट्रिय समुदाय अफगानिस्तानबाट टाढा रहनुभन्दा अहिलेको सरकारसँग कुरा गर्नुपर्छ । अफगानिस्तानको पैसा जारी गरेर उसलाई सहयोग गर्नुपर्छ । उनीहरुलाई मान्यता दिनुपर्छ । मेरा केही साथी मसँग सहमत नहोलान् तर उनीहरुलाई थाहा छ म सिधा कुरा गर्छु ।’
दशैंको कारण देखाएर सर्‍यो माओवादी केन्द्रकाे महाधिवेशन कार्यतालिका काठमाडौं । माओवादी केन्द्रले आगामी पुसमा हुने राष्ट्रिय महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार स्थानीय तहका अधिवेशनको मिति सारेको हो । माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार आगामी ३० असोजका लागि तय भएको पालिका अधिवेशनको मिति धकेलिएको छ । दशैं परेका कारण कार्यतालिका प्रभावित भएको उनले स्थायी कमिटी बैठकपछि जानकारी दिए । १३ कात्तिकमा वडा सम्मेलन र ४ मंसिरमा पालिका सम्मेलन गर्ने निर्णय स्थायी कमिटीले गरेको छ । माओवादीले आगामी ११ देखि १३ पुसमा राष्ट्रिय सम्मेलन गर्ने गरी यसअघि महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो । माओवादीको केन्द्रीय कमिटी बैठकले भदौ मसान्तसम्म सदस्यता नवीकरण गर्ने भनेकोमा अब यो असोज मसान्तसम्म सारिएको छ । १० असोजमा देशभरका सेल र टोल भेला गर्ने निर्णय गरेको भए पनि कतिपय स्थानमा यो काम सम्पन्न हुन सकेको छैन ।
हेटौँडा सिमेन्टको मूल्य घट्यो काठमाडौं ।  गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए । यसअघि प्रतिबोरा रु ७४७ मा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौंडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँको मूल्य पनि घटाइएको उद्योग प्रशासनले जनाएको छ । अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्नेगरी मूल्य तोकिने बताइएको छ । हेटौँडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा रु ७०० सय र शिवम् सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा रु ६८० कायम गरी बिक्री गर्दै आएका छन् । यस उद्योग गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकी घाटामा परेको महाप्रबन्धक सिंहको भनाइ थियो । प्राप्त जानकारी अनुसार यस उद्योगलाई आर्थिक वर्ष २०७६/७७ मा रु २४ करोड र २०७५/७६ मा रु १६ करोड घाटा परेको थियो । लामो समयदेखि उद्योगको उपकरण जीर्ण भएर पटक–पटक बिग्रिनाका साथै विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकिएको उद्योगका प्राविधिकको भनाइ छ । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न पटक–पटक योजना र कार्यक्रम ल्याइए पनि कार्यान्वयनमा समस्या हुने गरेको उद्योगका प्राविधिकको भनाइ छ । उद्योगले आफ्नै खानीबाट चुनढुङ्गा, रातो माटोलगायत कच्चा पदार्थमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ । रासस
चिल्लो कारमा हिड्नेलाई के थाहा बेनी–जोमसोम सडक खण्डको दर्दनाक अवस्था? ज्यानकै आश मारेर यात्रा गर्नुपर्ने बाध्यता काठमाडौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यहाँ सामान्य वर्षा हुदाँसाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरा खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने अवस्था रहेको छ । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो । सडकखण्डअन्र्तगत अन्नपूर्ण गाउँपालिका– ३ रुप्से छहरा, काभ्रेभीर र बाँदरजुङगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका–६ का कृष्ण बरुवालले बताए । वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । भीरकाटे र बादरजुङे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्राउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम शुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ । यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।
सुत्केरीको मृत्यु, आफन्त भन्छन डाक्टरको लापरवाही काठमाडौं । अत्याधिक रक्तस्रावका कारण कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेको बताइएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शनिबार राति सुुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि सो अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएकोमा आज बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । कल्पनाले जन्म दिएको बच्चालाई सो अस्पतालकै एनआइसीयुमा राखिएको जनाइएको छ ।
नापी कार्यालयको ज्यादतीः कर्मचारीको लापरवाही, सेवाग्राही मर्कामा काठमाडौं । सरकारी काम कहिले जाला घाम उखान त्यसै भनिएको होइन । एउटा सानो कामको लागि पनि बारम्बार दुःख दिने नियती रहेको छ कर्मचारीहरुका । प्रसंग रहेको छ महोत्तरीको जलेश्वरस्थित नापी कार्यालयको । जहाँ जग्गाको कित्ताकाटका लागि विनित चौधरीले २१ दिनदेखि कार्यालयमा धाउँदै आएका छन् । जलेश्वर नगरपालिका–५ का चौधरीले कार्यालयका कर्मचारीले पटक पटक समय दिएर टार्ने गरेकाले शुक्रबार पनि जग्गाको कित्ताकाट नै नगराई उनी रित्तै फर्किएका छन् । “सबै कागजात ठिक्क थियो । फाँटवालाले सिफारिस जग्गा किताकाट नगरिदिँदा रित्तै फर्किनुप¥यो”, उनले बताए, “हामीजस्ता सर्वसाधारणलाई जताबाट पनि मर्का नै छन् ।” आफूलाई त्यहाँका कर्मचारीले पटक–पटक समय दिएर टार्ने गरेको र आजसम्म पनि आफ्नो काम नगरिदिएको उनको गुनासो छ । त्यस्तै पिडा रहेको छ अनिलकुमार साहको पनि । उनी कित्ताकाटकै लागि कार्यालयमा २५ दिनसम्म धाउँदै आएका छन् । जिल्लाकै सोनमा गाउँपालिकाको खैरबन्नीबाट विगत एक महिनादेखि कार्यालय धाउँदै आएका एक ६२ वर्षीय वृद्धको पनि जग्गा लालपूर्जा सम्बन्धी काम हुन सकेको छैन् । करिब ४५ किलोमिटर टाढाबाट जग्गा लालपूर्जा सम्बन्धी काम लिएर सदरमुकाम जलेश्वर आएका ती वृद्धले विगत एक महिनादेखि काम लिएर कार्यालय धाउँदा पनि कर्मचारी काम नगरिदिएको बताए । यी त केही उदाहरण मात्र हुन् । नापी कार्यालयमा काम लिएर आउने अधिकांश सर्वसाधारणको समयमा काम हुन नसकेको गुनासो बढ्दै गएको छ । यहाँका कर्मचारीले विभिन्न वहानामा समयमै काम नगरिदिएर दुःख दिने गरेको का लागि आउने जो कोहीलाई पनि यहाँका कर्मचारीले दुःख दिने गरेको आरोप सेवाग्राहीको छ । कोरोनाको नाउँमा कार्यालयको सबै ढोका बन्द गरेर झ्यालबाट मात्रै काम गर्ने गरेको छ । यहाँका कर्मचारी मनपरी ढङ्गले आफूले चाहेको व्यक्तिको मात्रै काम गर्ने र नचाहेको व्यक्तिलाई सधैँ आजभोलि भन्दै फर्काउने गरेको उनीहरुको आरोप छ । लेखनदासमार्फत काम गराउन आउने सेवाग्राहीको काम छिट्टो गरिदिने र आफै काम गराउन आउने सर्वसाधारणलाई विभिन्न बहाना बनाएर फर्काउने गरेको आरोप सेवाग्राहीको छ । कार्यालयभित्र देखिएको कमिसन र आर्थिक चलखेलका कारण मर्कामा पर्ने गरेको गुनासो सेवाग्राहीको छ ।
अमेरिका, रुस, चीन र पाकिस्तान एकसाथ मिलेर के गर्दैछन् ? काठमाडौं। अफगानिस्तानमा तालिबान शासन पूर्ण रुपमा स्थापित भइसकेको छ । तालिबानले संयुक्त राष्ट्रसंघमा आफ्नो स्थानको लागि अपिल पनि गरेको छ । यही बीच रुसले अफगानिस्तानको अवस्थाबारे निकै महत्वपूर्ण बयान दिएको छ । रुसका विदेशमन्त्री सर्गेइ लावरोभले शनिबार संयुक्त राष्ट्रसंघको महासभामा रुस, अमेरिका, चीन र पाकिस्तान मिलेर अफगानिस्तानको विषयमा काम गरिरहेको बताएका छन् । लावरोभका अनुसार ४ देश मिलेर अफगानिस्तानमा तालिबानले आफूले यसअघि गरेका प्रतिबद्धता पूरा गर्न सक्छ कि सक्दैन र चरमपन्थ फैलिनबाट रोक्न सक्छ कि सक्दैन भन्ने सुनिश्चित गर्ने काममा लागेको बताएका छन् । लावरोभले चार देश यस विषयमा एक अर्कासँग सम्पर्कमा रहेको बताउँदै रुस, चीन र पाकिस्तानका प्रतिनिधिले हालै कतार र काबुलको यात्रा गरेर अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाइ र अब्दुल्ला अब्दुल्लासँग भेट गरेको बताएका छन् । यो यात्रा त्यतिबेला भएको थियो जतिबेला अफगानिस्तानको नियन्त्रण तालिबानको हातमा आइसकेको थियो तर तालिबानको अन्तरिम सरकारको गठन भने भएको थिएन । त्यतिबेला यी दुई पूर्व राष्ट्रपति सरकार गठनका लागि बनेको काउन्सिलको नेतृत्वमा थिए । लावरोभले तालिबानको अन्तरिक सरकारले अफगानिस्तानको समाध, धर्म र राजनैतिक शक्तिलाई प्रतिबिम्बित नगर्ने भएकोले ४ देशहरु यस विषयमा सम्पर्कमा रहेको बताएका छन् । अफगानिस्तानमा तासिलबान २० वर्षपछि पुनः सत्तामा आएको हो । तालिबानले यसअघि १९९६ देखि २००१ को शासनमा उसले जसरी राज गरेको थियो त्यस्तो यस पटक नहुने र यस पटक तालिबान शासन उदार हुने प्रतिबद्धता जनाएको थियो । तर, पछिल्लो समय तालिबानले पुरानै शैलीको शासन सुरु गरेको भन्दै चिन्ता व्यक्ति गरिएको छ । रुसी विदेशमन्त्रीले भने ‘सबैभन्दा जरुरी यो सुनिश्चित गर्नु हो कि उनीहरुले जे प्रतिबद्धता जनाएका थिए तिनीहरु पूरा गरिउन् । हाम्रो लागि यो पहिलो प्राथमिकता हो ।’ विदेशमन्त्री लावरोभले राष्ट्रसंघको महासभामा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने निर्णयका विषयमा जो बाइडेनको आलोचना पनि गरे । उनले भने ‘अमेरिका र नाटोले परिणामबारे चिन्ता नगरी आफ्नो सेना फिर्ता बोलाए ।’ उनले अमेरिका र उसका सहयोगी देशहरुमाथि संयुक्त राष्ट्रसंघलाई बेवास्ता गरेको समेत आरोप लगाए । लावरोभले आफूहरुले अमेरिका र चीनबीच तनाव बढ्दै गएको देखिरहेको बताउँदै बाइडेन सरकारको इण्डो प्यासिफिक रणनीतिको उद्देश्य चीनको विकास रोक्नु भएको आरोप लगाए । उनले भने ‘ठूला शक्तिहरुबीच सम्मानजनक सम्बन्ध हुनुपर्छ । ठूला शक्तिहरुसँग ठूला जिम्मेवारी पनि हुन्छन् ।’ पछिल्लो समय अमेरिकाले इरानमाथि फेरि परमाणु वार्ता गर्न दबाब दिइरहेको बताउँदै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै अमेरिकालाई परमाणु सम्झौताबाट अलग गरेको स्मरण गराए । उनले भने ‘कसैले पनि भन्न सक्छ कि समय समाप्त हुँदैछ तर वाशिङटनले यस्तो गर्न सक्दैन ।’
सम्मेलनपछि ‘आश्चर्यजनक’ साझा वक्तव्य जारी गरेको क्वाडप्रति चीनका मिडिया के भन्दैछन् ? काठमाडौं। अमेरिका, जापान, भारत र अस्ट्रेलियाका सरकार प्रमुखहरुले क्वाड शिखर सम्मेलन अन्तर्गत गत शुक्रबार बैठक गरे । क्वाड समूहका देशमा सरकार प्रमुखहरुको यो पहिले व्यक्तिगत भेटघाट थियो । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले यो बैठकलाई चीनको सन्दर्भमा रेखांकित गरेको छ । ग्लोबल टाइम्सका अनुसार शुक्रबार वाशिङ्टनमा क्याड देशहरुले चीनलाई ‘रोक्न’को लागि आपसी सम्बन्ध बलियो बनाउन बैठक गरे । ग्लोबल टाइम्सले भनेको छ ‘जानकारहरुका अनुसार बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो अनुवाद उपकरणमा खराबी आएको बताएका थिए । यो उदाउँदो ची विरोधी गुटको भविष्यको सूचक पनि थियो । अमेरिकाको घट्दो क्षमता र विश्वव्यापी परिस्थितिहरुमा आएको परिवर्तनका कारण चीनविरोधी यो गुट कुनै पनि किसिमले प्रभावकारी हुँदैन ।’ वाशिङटन पोस्टका अनुसार शुक्रबार भएको क्वाड देशको ये बैठकको उद्घोषण मुख्य रुपले भ्याक्सिन, जलवायु, प्राविधिक र अन्तरिक्ष सहयोगसहित अन्य मुद्दाबारे छलफल भएको थियो । पत्रकारहरुले चीन वा बेइजिङ जस्ता शब्द सुनेनन् तर क्वाड समूहको धेरैजसो एजेन्डाको ‘सब टेक्स्ट’ चीन थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्वाड समूहका देश अहिले कोभिड, जलवायु परिवर्तन र प्रोद्योगिक चुनौतकिो सामना गर्न एक मञ्चमा आएको बताएका थिए । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बाइडेनको टिप्पणीलाई नै दोहोर्याउँदै भनेका थिए ‘हामी एक स्वतन्त्र हिन्द प्रशान्त षेत्रमा विश्वास गर्छौं । किनकि यही एक मजबुत, स्थिर र समृद्ध क्षेत्र प्रदान गर्न सक्छ ।’ जापानका प्रधानमन्त्री योशिहिदे सुगाले क्वाड चार देशहरुको ‘एक अति महत्वपूर्ण पहल’ भएको टिप्पणी गरे । उनले क्वाडका सदस्य देशहरु समान मौलिक मूल्यहरु साझा गर्ने र कानुनको शासनको आधारमा हिन्द प्रशान्त षेत्रमा एक स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय व्यवस्थालाई साकार पार्न सहयोग गर्ने बताए । चाइना फरेन अफेयर्स युनिभर्सिटीमा इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसन्सका प्राध्यापक ली हेडोंगेले ग्लोबल टाइम्ससँग भने ‘यी ४ देशका नेताहरुले चीनका विषयमा केही भनेका छैनन् र उनीहरुले चीनसँग मौजुदा गतिरोधबारे पनि उल्लेख गरेका छैनन् तर यो शिखर सम्मेलनको एजेन्डा चीनमा नै केन्द्रित थियो । यो एक यस्तो पहल हो जसको उद्देश्य विशेष रुपले पश्चिमी प्रशान्त क्षेत्रमा सहयोगको ब्यानरमुनि विवाद र टकरावलाई बढाउनु हो ।’ उनका अनुसार खोप आपूर्तिमा सहयोग र महामारीसँग लड्ने उपायको आडमा क्वाडका अन्य ३ देश आफ्नो वास्तविक उद्देश्य लुकाउन चाहन्छन् । यस्तो गरेर उनीहरु अन्तर्राष्ट्रिय समर्थन हासिल गर्न चाहन्छन् तर चीन र अन्तर्राष्ट्रिय समुदायले यस किसिमको निम्न स्तरीय रणनीति देखेका छन् । लीका अनुसार अमेरिका क्वाडका ४ सदस्य देशहरुबीच एकजुटता र समन्वय देखाउन चाहन्छ किनकि ऊ चीनसँग प्रतिस्पर्धा बढाउने प्रयास गरिरहेको छ । लीले भने ‘चीन र अमेरिकाबीच पहिलेदेखि नै तनावपूर्ण प्रतिस्पर्धा छ । यस्तोमा बाइडेन चीनसँग सम्भावित टकरावबाट बच्न चाहन्छन् र चीनविरुद्ध उक्साउने कारवाही गरिरहेका छन् । तर तथ्य यो हो कि उनी नाजुक स्थितिलाई सम्हाल्न असमर्थ छन् ।’ अमेरिकी मिडियाका अनुसार चार देशका नेताहरुको बीच भएको यो बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन पनि सहभागी भए । लीका अनुसार ब्लिंकनको उपस्थितिले यो देखाएको छ कि क्वाड समूहलाई अगाडि बढाउने ब्लिंकन नै हुन् । शिन्ह्वा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सुरक्षाका फेलो सुन चेंगहाओले ग्लोबल टाइम्ससँग भने ‘चीनको उल्लेख नै नहुनु पनि क्वाड देशहरुबीच गतिरोधलाई देखाउँछ । हुन सक्छ उनीहरु सबै देश चीनको उदय नचाहने समान् विचारका होलान् तर चीनप्रति उनीहरुको नीति एक अर्काभन्दा फरक हुन सक्छन् ।’ शिखर सम्मेलनलाई निकै सार्थक बताइयो तर बैठकका क्रममा बाइडेनले एक कर्मचारीसँग आफ्नो अनुवादक उपकरणले काम नगरेको बताए । उनले यो कुरा माइकमै भने र अन्य नेताहरुले पनि सुने । सुनका अनुसार क्वाड शिखर सम्मेलन बाइडेन प्रशासनको नयाँ कदम हो तर अलग अलग सहयोगीसँग अलग अलग गठबन्धनको प्रभाव राम्रो हुँदैन किनकि अमेरिकाको ध्यान केन्द्रित छैन । यसले उसका सहयोगीमा असन्तोष बढाएको छ । क्वाड शिखर सम्मेलनअघि अमेरिकाले बेलायत र अस्ट्रेलियासँग अकुस सम्झौताको घोषणा गरेको थियो । यो कदमबाट फ्रान्स आक्रोशित छ । विश्लेषकका अनुसार अकुसले क्वाड शिखर सम्मेलनमा निश्चय प्रभाव पारेको छ किनकि जापान र भारत अकुसमा साझेदार छैनन् भने अस्ट्रेलिया साझेदार छ ।
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ काठमाडौं । इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले आज साँझ पक्राउ गरेको छ । गत असार २६ गते हिरासतकक्षको ग्रिल फुटाएर फरार नवराजपुर गाउँपालिका–१ निवासी ३४ वर्षीय रामप्रकाश भन्ने पशुपति यादवलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीको लच्का पुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए। लागुऔषध मुद्दामा यादव गत जेठ २० गते पक्राउ परेका थिए । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान अघि बढाएको उनले बताए ।
टिपर र मोटरसाइकल ठोक्किदाँ सुमन रेग्मीको मृत्यु काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि एक जनाको मृत्यु भएको छ । टिपर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा ३३ वर्षीय सुमन रेग्मीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रबार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश३–०२००७प ४०८८ नंको मोटरसाइकल धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा४ख ६२२० नंको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । घटनामा परी मोटरसाइकल चालक पाँचखाल नगरपालिका–११ का रेग्मी गम्भीर घाइते भई धुलिखेल अस्पतालमा उपचारका क्रममा आज मुत्यु भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए । प्रहरीले गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ । मृतक रेग्मीको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
होम सेन्टरमै सम्पन्न भयो कक्षा १२ को परीक्षा काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ । परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउँदै होम सेन्टरमा सञ्चालन भएको परीक्षा आजदेखि सम्पन्न भएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । कूल चार हजार ३१५ विद्यालयमा भएको परीक्षामा तीन लाख ७४ हजार ४१३ परीक्षार्थी सहभागी भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धरदेखि सांसद शान्ता चौधरीलेसमेत कक्षा १२ को परीक्षा दिएका छन् । बोर्डले यसवर्ष प्रश्नपत्र इमेल गरेर विद्यालयमा पठाएको थियो । बोर्डले इन्टरनेट नपुगेका ११३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाएको थियो । बोर्डले सबै केन्द्रलाई फरक–फरक पासकोर्ड दिएर प्रश्नपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको थियो ।
सार्वजनिक सवारी साधनको भाडा बढ्यो काठमाडौं ।पेट्रोल र डिजलको मूल्य वृद्धि भएपछि आजदेखि लागू हुने गरी सरकारले सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ । विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ । भाडा निर्र्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । भाडादर समायोजन गर्ने निर्णयअनुसार आजदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ । त्यसमा छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ । नयाँ भाडादर अनुसार काठमाडौँबाट इलाम जाने यात्रुले रु एक हजार ६९१ भाडा तिर्नुपर्नेछ । काठमाडौँ काकडभिट्टा जानका लागि रु एक हजार ४७० भाडा लाग्ने भएको छ । विभागले देशभरका कूल २८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारमिा २६ प्रतिशत भाडा वृद्धि गरेको छ ।
आत्मनिर्भर केन्द्रको सामाजिक लेखाजोखा काठमाडौं ।सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले १४ औं सामाजिक लेखाजोखामार्फत वार्षिक कार्यक्रम, उपलव्धि, आम्दानी र खर्च सार्वजनिक गरेको छ । साथै संस्थाले भावी योजनाबारे पनि जानकारी गराएको छ । आत्मनिर्भर केन्द्रले वि.स. २०६४ देखि वार्षिक रूपमा सामाजिक लेखाजोखा गर्दै आएको छ । कार्यक्रमको उद्घाटन राष्ट्रिय मानव अधिकार आयोगका मा सदस्य लिली थापाले गरे । आत्मनिर्भर केन्द्रले आ.व. २०७७/०७८ मा कुल ७ करोड ५१ लाख ८५ हजार ४ सय ४४ रुपियाँ उपयोग गरेको छ । आत्मनिर्भर केन्द्रका निमित्त कार्यकारी निर्देशक कल्पना कार्कीले प्रगती प्रतिवेदन र अपरेशन संयोजक गीता पण्डितले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । हालसम्म संस्थाको सहजीकरणमा ८१,७८० परिवारले ७,६८६ हेक्टर जमिनमा स्वामित्व कायम गरेका छन् । १०,२५५ दम्पतीले २,७८१ हेक्टर जमिनमा संयुक्त पुर्जा बनाई समान अधिकार कायम गरेका छन् । संस्थाबाट सञ्चालित अभियानबाट भूमि सम्बन्धी ऐनमा संशोधन भई भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अब्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउने प्रक्रियाको थालनी भएको छ । सरकारले पहिलो पटक भूमि नीति लागु गरेको छ । भूउपयोग ऐन २०७६ तर्जुमा भएको छ । यी नीति तथा कानुन संशोधन एवम् तर्जुमामा र यसको कार्यान्वयनमा समेत संस्था विभिन्न ढङ्गले संलग्न हुँदै आएको छ । संस्थाले यस वर्ष ७ प्रदेशको १४ स्थानीय तहसँग सहकार्य गरी १७,३३८ भूमिहीन र ७४,१९९ अव्यवस्थित बसोबासीको लगत सङ्कलनमा सहयोग गरेको थियो । संस्थाको सहजीकरणमा दाङ र धनुषाका २७६ भूमिहीन परिवारले २१।५ हेक्टर बाँझो जमिन उपयोग गरी तरकारी तथा खाद्यान्न उत्पादन गरी खाद्य सुरक्षाका साथै आम्दानीमा वृद्धि गरेका छन् । वैकल्पिक उद्यम मोडल प्रवर्धन गर्न झापाको गौरादह, धनुषाको सबैला र दाङको गढवा गाउँका भूमिहीन तथा साना किसानहरूलाई सहकारी र स्थानीय उत्पादनकोे बजारीकरणबारे क्षमता विकास व्यवसायिक योजना तर्जुमामा सघाइएको छ । सिन्धुपाल्चोकको हेलम्बुको तेम्बाथाङ र नोर्बुलिङ एकीकृत वस्तिका ४० परिवारको जीविकोपार्जनमा सहयोग पु¥याएको छ । पाँचपोखरी थाङ्पाल र जुगल गाउँपालिमा भौगर्भिक अध्ययन गी पहिचान भएका अति जोखिमयुक्त ३१ वटा बस्तीमा स्थानीय तहसँगको साझेदारीमा १ करोड १० लाखको लागतमा साना अल्पीकरणका कार्यक्रमहरू सम्पन्न गरेको छ । जुगलको लिदी पहिरोबाट प्रभावित ३० परिवारलाई अस्थायी आवासमा सघाएको छ । मेलम्ची बाढी प्रभावित अति विपन्न २१० परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । हेलम्बुका बाढीबाट विस्थापित अति विपन्न २० घरपरिवारलाई अस्थायी घर निर्माणमा सघाएको छ । संस्थाले कोभिड नियन्त्रण तथा रोकथाम पहलको लागि पनि समुदाय तहमा कामहरू गरेको प्रगती प्रस्तुती गरेको थियो । कोभिड सङ्क्रमित भई अस्पताल भर्ना भई उपचार गराएका विभिन्न जिल्लाका १५ जना भूमि अधिकार मञ्चका अगुवा सदस्यहरूलाई उपचार तथा यातायात खर्चको लागि प्रति व्यक्ति २० हजारका दरले सहयोग गरेको थियो । आइसोलेसन सेण्टर व्यवस्थापन, अक्सिजन प्लान्ट स्थापना लागि ६ स्थानीय तहलाई १ लाख रुपियाँका दरले सहयोग उपलब्ध गराएको थियो भने ५ स्थानीय तहलाई १० वटा अक्सिजन सिलिण्डर र १२ हजार सर्जिकल मास्क सहयोग प्रदान गरिएको थियो । हेलम्बु गाउँपालिकालाई १५ थान स्टे«चर सहयोग गरेको छ । कोभिड आइसोलेसन केन्द्रको व्यवस्थापनका लागि जुगल गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर २ थान र १ थान जेनेरेटर, मेलम्ची नगरपालिलाई अक्सिजन कन्सन्ट्रेटर १ थान, साधारण बेड ५ सेट, आइसियु बेड ३ सेट, अक्सिजन सिलिण्डर १० थान सहयोग गरिएको छ । संस्थाले मोही जग्गा बाँडफाँडको स्थिति र बेदर्ताका मोहीको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन प्रकाशित गरेको छ साथै हरूवा चरुवा समुुदायको गरिबी र जलवायु परिवर्तनबारे धनुषा जिल्लाको धनौजी गाउँपालिकामा अध्ययन गरी प्रतिवेदन प्रकाशित गरेको छ । लेखाजोखाको अवसरमा सहभागी हुँदै, जेसी विष्लेशक सरिता कार्की, युएन–ह्याबिटाटका कार्यक्रम संयोजक राजाराम छतकुली, त्रिभुवन विश्वविद्यालयका मानवशास्त्र विभाग प्रमुख डा।डम्बर चेम्जोङ, शिक्षा अभियान्ता पुनम कुँइकेल, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टाँसी लामा, जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङ, गैरसरकारी संस्था महासंघका अध्यक्ष जीताराम लामा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले आत्मानिर्भर केन्द्रले भूमि अधिकार अभियानको क्षेत्रमा गरेको काम उपलब्धिमूलक रहेको र सामाजिक लेखाजोखा कार्यक्रमले संस्थागत पारर्दिशता र सुशासनको असल अभ्यासको उदाहरण दिएको बताए । आत्मनिर्भर केन्द्रले संस्थागत पारदर्शिता र जवाफदेहीता प्रवर्धन गर्न एवम् संस्थाको कामको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न वार्षिक रुपमा सामाजिक लेखाजोखा गर्दै आइरहेको छ । भूमिहीन एवम् साना किसानको मर्यादित जीवनको दृढ लक्ष्य बोकेर यो संस्था २७ वर्षदेखि निरन्तर भूमि अधिकारको अभियानमा क्रियाशील छ । लेखाजोखामा अन्त्यमा संस्थाका अध्यक्ष गोपाल थापामगरले सहभागी सबैलाई धन्यवाद् व्यक्त गरे ।
स्यानिटरी प्याडमा कर थपिएको छैन: अर्थमन्त्रालय काठमाडौं । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ। अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ। स्यानिटरी प्याड आयातमा आव २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको र कुनै पनि वृद्धि नगरिएको मन्त्रालयले स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले भनेको छ, “वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौँ ।” स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर पाँच प्रतिशत मात्रै कायम गरिएको मन्त्रालयको भनाइ छ । ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानीजानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरूको भ्रममा नपर्न मन्त्रालयले अनुरोध गरेको छ । राजश्व सचिव कृष्णहरि पुस्करले आज नै स्यानिटरी प्याण्डमा कुनै पनि कर वृद्धि नगरिएको स्पष्ट पारेका छन् ।
डा पोखरेललाई भारतमा पत्रकारिता पुरस्कार काठमाडौं । वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेलले पत्रकारिता क्षेत्रमा गरेको योगदानको सम्मानस्वरूप न्यूजपेपर्स एसोसिएशन अफ, इंडियाले ‘कलम के सिपाही’ पुरस्कार प्राप्त गरेका छन् । भारतको आईएमएस गाजियावाद (विश्वविद्यालय कोर्स क्याम्पस) भारतको सहयोगमा न्यूज पेपर्स एसोसिएशन अफ इंडियाले सो पुरस्कार प्रदान गरेको हो । भारतीय जनता पार्टीका पूर्वराष्ट्रिय सचिव तथा उत्तराखन्डका पूर्वमुख्यमन्त्री तीर्थ सिहं रावतले आज नयाँ दिल्लीमा आयोजित कार्यक्रममा अवार्ड हस्तान्तरण गरे । सोही कार्यक्रममा भारतका ४० सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । ईन्टरनेशनल मोटिभेसनल स्पिकरका रुपमा समेत परिचित पोखरेल बिजनेश टेलिभिजन नेपालका कार्यकारी अध्यक्ष समेत हुन् । सिईओ क्लबको सो कार्यक्रममा पोखरेलले ग्लोबल ईकोनोमिक सिफ्ट शिर्षकमा एउटा स्पिच पनि दिएका थिए । त्रिभुवन विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका पोखरेलको नेतृत्वमा नेपालमा बिजनेश टेलिभिजन, ब्ल्याकहोल आईटि, काठमाण्डौं स्कुल अफ बैंकिङ एण्ड ईन्सुरेन्स लगायत दर्जन कम्पनीहरु सञ्चालनमा रहेका छन् ।
प्रदेश लोकसेवा आयोगबाट कार्य प्रारम्भ काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गठन भएको प्रदेश लोकसेवा आयोगले नेपालको संविधान बमोजिम आफ्नो काम प्रारम्भ गरेको छ । प्रदेश लोकसेवा आयोग ऐन बमोजिम आयोगको नियमावली, कार्य सञ्चालन निर्देशिका, आयोगका पदाधिकारी, विषय विज्ञ, विशेषज्ञ र कर्मचारीको आचारसंहिता जारी भइसकेको छ । आयोगलाई योग्यता, निष्पक्षता र स्वच्छताका आधारमा प्रदेशमा रहेका मन्त्रालय र मातहतका कार्यालय/निकायका रिक्त पदमा कर्मचारी पदपूर्तिका लागि परीक्षामार्फत योग्य नागरिक सिफारिस गर्नुपर्ने जिम्मेवारी तोकिएको छ । आयोगका अध्यक्ष यज्ञराज बोहराले पदपूर्तिको प्रयोजनका लागि मन्त्रालय, कार्यालय र निकायवाट कर्मचारीको रिक्त माग पद पठाइदिन पत्राचार भई कार्य प्रारम्भ भएको जानकारी दिए । उनले भने, ‘‘पदपूर्ति गर्ने प्रयोजनका लागि सुदूरपश्चिम प्रदेशका मन्त्रालय, निकाय, कार्यालयबाट रिक्त माग पद पठाइदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको छ ।’’ संविधानको धारा २४४ मा प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग रहने व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशमा २०७७ चैत्र महिनामा प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा पदाधिकारीको नियुक्ति गरिएपछि प्रदेशको राजधानी धनगढीमा आयोगको कार्यालय सञ्चालनमा आएको थियो । यसैबीच सुदूरपश्चिम प्रदेशका प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रमुख गङ्गाप्रसाद यादव समक्ष आज आयोगका अध्यक्ष बोहराले प्रदेश लोकसेवा आयोग ऐन बमोजिम आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेश गरे ।
जुम्लामा १३७ किमी सडकको ट्र्याक तयार काठमाडौँ । जुम्लाको पूर्वाधार विकास कार्यालयले हालसम्ममा १३७ किलोमिटर भन्दा बढी सडकको नयाँ ट्र्याक खुलाएको छ । जिल्लाको हिमा गाउँपालिकाका चिउडी र मसानटाडामा दुई झोलुङ्गे पुल , साविकको ताम्ती गाविस हुँदै जाजरकोट जिल्ला जोड्ने पक्की पुल तथा चन्दननाथ नगरपालिकास्थित दानसाघुमा गुठीचौर गाउँपालिका हुँदै डोल्पा जोड्ने पक्की पुल निर्माण भएको कार्यालय प्रमुख रुपबहादुर रावलले बताए । उनी भन्छन् हालसम्म १३७ किमी नयाँ सडकको ट्र्याक खुलाएका छौँ सडक स्तरोन्नति चौँडा र रिटेनिङगवाल ५६ किमी, सडकको पक्की नाला १९ किमी, ग्राबेल सडक २० किमी र दलान सडक १.३५ किमी बनेको छ । जिल्लाका आठवटै स्थानीय तहमा जनता आवास अन्तर्गत २५० घर निर्माण भएको कार्यालय प्रमुख रावलले बताए। आव २०७७/७८ मा रु ५० करोड विनियोजित बजेटमध्ये रु ४५ करोड खर्च भएको कार्यालयले जनाएको छ । विसं २०७५ पुस १५ मा जिल्लामा सो कार्यालय स्थापना भएकोे थियो ।
सङ्कटमा परेको संस्कृत विषय पाटनमा पहिलोपटक सुरु काठमाडौं । बैतडीको पाटन नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा संस्कृत विषयको पढाइ हुने भएको छ । पाटन जिल्लाका १० वटै स्थानीय तहमध्ये संस्कृत विषय पढाउने पहिलो पालिका हो । चालु शैक्षिक सत्रदेखि ऐच्छिक विषयका रुपमा कक्षा ६ मा पढाइ सुरु हुने शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए । त्यसपछि क्रमागतरुपमा कक्षा ७ र ८ मा पनि पढाइ गरिनेछ । “कक्षा ६ देखि ८ सम्म एउटा विषय स्थानीय अथवा अन्य कुनै विषय पढाउनुपर्ने भएकाले आफूहरुले संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेको हो”, उनले भने, “संस्कृत विषयले भाषागत ज्ञानको विकास गर्ने भएकाले संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेका हौँ ।” संस्कृत विषयको पाठ्यक्रम र पाठ्यपुस्तकसमेत तयारी अवस्थामा पाइने भएकाले संस्कृत पढाउन सहज हुने नगरपालिकाले जनाएको छ । नगरपालिकामा संस्कृत विषय पढाउनका लागि जनशक्ति अभाव नरहेको पठनपाठन गराउने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशनसमेत दिइसकेको छ । पछिल्लो समयमा संस्कृत विषयको पढाइ नहुँदा भाषागत समस्यासमेत आएकाले नैतिक शिक्षा र भाषागत ज्ञानको विकासका लागि पनि संस्कृत विषयले महत्वपूर्ण योगदान पु¥याउने नगरपालिकाले विश्वास गरेको छ ।
मलेसियामा रोजगारी खुल्यो काठमाडाैं। कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् । नेपालस्थित मलेसियाको दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने निर्णय तत्काल देखि लागू हुने प्रस्ट पारेको छ । लामो समयदेखि कोरोनाका कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसियाले श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान बाटो खुलेको हो । कोरोना सङ्क्रमण फैलिन नदिन मलेसिया प्रवेशका लागि विभिन्न प्रावधान भने लागू हुनेछ । मलेसिया जाने श्रमिकले पहिले नै त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्छ । मलेसिया जाने श्रमिकसँग मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको खोपको दुवै मात्रा लगाएको हुनुपर्नेछ । यस्तै कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्छ । मलेसिया पुगेपछि पनि त्यहाँको स्वास्थ्यका मापदण्ड पालना गर्दै क्वारेन्टाइनमा बस्न पर्नेछ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
सशस्त्रका ११ कमाण्डर फेरिए, दुई डिआईजीलाई फेरि कमाण्ड दिइयो काठमाडौं । नेपाल सरकारले सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक(डिआईजी)हरुको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडको निर्णयले बिहीबार सांझ सो सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ । डिआईजी मन्दिप श्रेष्ठलाई गढिमाई वाहिनी हेटौंडाबाट सशस्त्र प्रहरी मुख्यालयमा आईजीपीको सचिवालयमा सरुवा गरिएको छ भने हेटौडामा डिआईजी किशोर प्रधानलाई पठाइएको छ । प्रधान विन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका प्रमुख थिए । एउटा कमाण्डबाट अर्को कमाण्डमा जान पाउने भाग्मानीमध्ये एक परेका छन् डिआईजी प्रधान । डिआईजी कुलबहादुर नेम्बाङ्गलाई प्रधान कार्यालयको मानवस्रोत विभागबाट विन्ध्यावासिनी वाहिनी, रुपन्देही सरुवा गरिएको छ । त्यसैगरी,डिआईजी राजु अर्याललाई पशुपतिनाथ वाहिनी, काठमाडौंको प्रमुखबाट प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा गरिएको छ । पशुपति वाहिनीको प्रमुखमा डिआईजी बंशीराज दाहाललाई लगिएको दाहाल छ । यसअघि दाहाल बराह वाहिनी मुख्यालय सुनसरीका प्रमुख थिए अर्थात् पूर्वाञ्चलका कमाण्डर थिए । दाहाल पनि एउटा कमाण्डबाट अर्को कमाण्डमा जान पाउने भाग्यमानी डिआईजी ठहरिएका छन् । पूर्वाञ्चलको नयां कमाण्डरमा डिआईजी कमल गिरी लगिएका छन् । उनी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मुख्यालयमा कार्यरत थिए । सशस्त्र प्रहरीको पश्चिमाञ्चल पोखराको कमाण्डरबाट डिआईजी नारायणदत्त पौडेललाई सरुवा गरी मुख्यालयको कार्य तथा सीमा सुरक्षा विभागमा लगिएको छ भने पश्चिमाञ्चलको कमाण्डरमा डिआईजी शम्भु सुवेदीलाई खटाइएको छ । सुवेदी राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरवारमा कार्यरत थिए । सुरक्षा परिषद्मा तत्कालका लागि कसैलाई पनि सरुवा गरिएको छैन । यसैगरी दुई नं प्रदेशका कमाण्डर डिआईजी चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभाग मुख्यालयमा सरुवा गरिएको छ । गौतमको ठाउंमा डिआईजी गणेशबहादुर ठाडा मगरलाई लगिएको छ । २ नं प्रदेशको कमाण्ड बनाइएका ठाडा यसअघि मुख्यालयमा कार्य तथा सीमा विभागमा कार्यरत थिए । सशस्त्र प्रहरी मुख्यालयको मानवस्रोत विभागमा कार्यरत डिआईजी दुर्गाप्रसाद भट्टराईलाई सुदुर पश्चिम प्रदेशको कमाण्डर बनाई कैलाली पठाइएको छ ।
नेपाल एक चीन नीतिको पक्षमा सदैव दृढतापूर्वक उभिएको छः राष्ट्रपति काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताएकी छन्। सी चिनफिङले आधुनिक चीनमा क्रान्ति, निर्माण र सुधारका साथै चिनियाँ राष्ट्रको पुनर्जागरणका लागि महत्वपूर्ण योगदान गर्ने माओ जेदोङ तङ स्याओफिङ, जियाङ जेमिनलगायतका अग्रणी नेतृत्वको योगदानलाई निरन्तरता दिँदै ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ निर्माणको अभियानलाई कुशलतापूर्वक नेतृत्व गरिरहेको राष्ट्रपतिले उल्लेख गरिन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित ‘सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ नेपाली संस्करण पुस्तकको लोकार्पण एवं खण्ड ३ को परिचयात्मक समारोहलाई सम्बोधन गर्दै उनले विज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र आविस्कारका क्षेत्रमा चीनले अभूतपूर्व उपलब्धि हासिल गरेको बताइन्। चिनियाँ राष्ट्रपतिले अवलम्बन गरेको वातावरणमैत्री दिगो विकासका माध्यमबाट जलवायु परिवर्तनले उत्पन्न गरेका चुनौती सामना गर्न चीन सक्षम हुनेछ भन्ने आफूले विश्वास लिएको राष्ट्रपति भण्डारीको भनाइ थियो । नेपालका लागि कोभिड–१९ विरूद्धको अभियानमा मित्रराष्ट्र चीनद्वारा उपलब्ध गराइएका खोप, स्वास्थ्य सामग्री र मानवीय सहयोगका लागि नेपाली जनता र नेपाल सरकारकोतर्फबाट मित्र राष्ट्र चीनका जनता र राष्ट्रपतिप्रति उनले कृतज्ञता ज्ञापन गरिन् । आज लोकार्पण गरिएको पुस्तक ‘सी चिन फिङ चीनको शासन व्यवस्था’ को दोस्रो भागको अध्ययनबाट चीनले पछिल्ला दशकमा हासिल गरेका चामत्कारिक सफलतामा राष्ट्रपति सी चिनफिङका वैचारिक–राजनीतिक दृष्टिकोण, नीति, कार्यक्रम र तिनको सफल कार्यान्वनका लागि विकास गरिएका शासकीय प्रबन्धका’ बारेमा पाठकले जानकारी प्राप्त गर्नसक्ने आफूले विश्वास लिएको उनको भनाइ छ ।
प्रधानमन्त्री देउवालाई साक्षी राखेर सेनापतिले भने—सेनाले सुक्ष्म अध्ययन गरिरहेको छ काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवालाई साक्षी राखी मुलुकको स्थायित्वसंग सरोकार राख्ने गतिविधिहरुबारे सेनाले सुक्ष्म अध्ययन र विश्लेषण गरिरहेको बताएका छन् । उनले मुलुकमा उत्पन्न हुंदै आएको अस्थिरतातर्फ संकेत गर्दै सो कुरा बताएका हुन् । अस्थिरताले सुरक्षा चुनौति उत्पन्न हुने र त्यस्ता चुनौति सामना गर्न सेना प्रतिबद्ध रहेको पनि सेनापतिले बताएका थिए । असोज ७ गते सैनिक मुख्यालय जंगी अड्डामा शुरु भएको प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठकका स्वागत मन्तव्य व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् । सो बैठकको उद्घाटन प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले गरेका थिए । सो कार्यक्रममा सन्दर्भमा सेनाद्वारा जारी विज्ञप्तिमा सेनपातिको भनाइ उल्लेख गर्दैै भनिएको छ—“देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्व संग सरोकार राख्ने सबै प्रकारका गतिविधिहरुका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै रहेको र त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतिहरुलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको समेत जानकारी गराउनु भएको थियो ।” कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाली सेनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतिहरुको विश्लेषण गर्दै त्यसबाट मुलुकलाई असर पर्न नदिने रणनीति तय गर्ने विश्वास व्यक्त गरेका छन् । उनले सेनाबाट सञ्चालित विकास निर्माणका परियोजनाहरुलाई आवश्यक स्रोत उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।प्रधानसेनापतिको रुपमा कार्यभार सम्हालेपछि देशभरका उच्चतहका सैनिक कमाण्डरहरुलाई भेला गरी आयोजना गरेको सो बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले सरकारका विधिसम्मत आदेश पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले सेनाको दीर्घकालीन सोच २०७८ को कार्यान्वयनमा सयहोग पुर्याउन मन्त्रालय तयार भएको बताएका थिए । कार्यक्रममा प्रधानमन्त्री एवं रक्षा मन्त्री देउवाको उपस्थितिमा नेपाली सेनाका तर्फबाट प्रधानसेनापति शर्मा र नेपाल सरकार रक्षा मन्त्रालयका तर्फबाट रक्षा सचिव पौड्यालका बीच कार्यसम्पादन सम्झौतासमेत भएको नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा जङ्गी अड्डाका पि.एस.ओज. रथीबृन्द, सबै कमाण्डका कमाण्ड सेनापतिहरु लगायत विभिन्न महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत सहभागिता रहेको सेनाको विज्ञप्तिमा उल्लेख छ ।
वायुसेवा निगमको काम कारबाही प्रभावित काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारीको दुई महिनाभन्दा बढी लामो आन्दोलनले निगमको व्यवसायमा दूरगामी असर पार्ने महत्वपूर्ण काम कारबाही प्रभावित भएको जनाएको छ । निगमका प्रहाप्रबन्धक डिमप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै कर्मचारीको आन्दोलनका कारण संस्थाको दैनिक कामकाज अवरोधका साथै दसैँ तिहारजस्ता ठूला चाडपर्वको सम्मुखमा कर्मचारीलाई तलब वितरणमा समेत समस्या परेको बताएका हुन् । निगमभित्रको पछिल्लो अवस्थाले संस्थागत मर्यादाको उल्लङ्घन मात्र नभएर संस्थाको भविष्यमाथि नै गम्भीर सङ्कट पैदा गरेको भन्दै निगमको सेवालाई अविछिन्न राख्न सबैको भूमिका चाहिने उल्लेख गरेका छन् । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गत असार १८ गतेदेखि निगम केन्द्रीय कार्यालयमा धर्नालगायतका कार्यक्रम गर्दै आएका छन् । निगमले अनुमति पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेण्डलिङ सेवाका लागि आवश्यक तयारीको कार्य आन्दोलनले प्रभावित हुन पुगेको छ । त्यस्तै निगममा आइएफआरएस प्रणाली लागू गर्ने सम्बन्धमा गर्नुपर्ने तयारी, अनलाइन टिकट प्रणालीसमेत हुने गरी पिएसएस लागू गर्ने सम्बन्धमा गरी राखिएको तयारीको काम पनि प्रभावित बनेको छ । ए ३२० को इञ्जिन मर्मतका लागि एमआरओ छान्नेसम्बन्धी सम्पूर्ण प्रक्रिया अवरोध भएको छ भने अर्थ मन्त्रालयको निर्देशनबमोजिम गर्नुपर्ने निगमको अद्यावधिक डिडीएसम्बन्धी काम पनि प्रभावित भएको छ । आव २०७८/७९ को बजेट तथा वार्षिक कार्यक्रम तर्जुमाको काम, महालेखा परीक्षकको प्रतिवेदनउपर छलफल र जवाफ दिने कार्य (आन्दोलनका कारण म्याद गुज्रिन पुगेको), निगमको ऋण दायित्व भुक्तानी गर्न अर्थ मन्त्रालयको समन्वयमा गरिने सम्पूर्ण काम अघि बढ्न सकेको छैन । निगम व्यवस्थापनले तयार गरी सञ्चालक समितिले स्वीकृत गरेको १० वर्षे व्यावसायिक योजना कार्यान्वयन गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि विमान सङ्ख्या थप गर्न नेपाल सरकारसँग समन्वय गर्नेसम्बन्धी सम्पूर्ण कामलगायत काम कारबाही प्रभावित हुन पुगेको निगमले विज्ञप्तिमा जनाएको छ ।
चाडपर्वमा आपूर्ति व्यवस्थापन चुस्त पार्न गृहमन्त्री खाँणको निर्देशन काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले चाडपर्वमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीवार आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाँडले कालोबजारी, म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्रीवितरण हुनसक्नेतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानूनअनुसार कारबाही गर्न पनि निर्देशन दिए । ‘नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु राज्यको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्री खाँडले मातहतका अधिकारीलाई निर्देशन दिँदै भने, ‘म्याद गुज्रेका औषधि र खाद्य सामग्री बिक्रीवितरण गरेको पाइएमा हामी कानूनअनुरुरूप अगाडि बढ्नुपर्छ, त्यस विषयमा ध्यान दिनुहोला ।’ आपूर्ति व्यवस्थापन, बजार अनुगमन र व्यवस्थापन तथा यातायात व्यवस्थापनसम्बन्धी बोलाइएको बैठकमा उपभोक्ता अधिकारकर्मी, यातायात व्यवसायी, उद्योगी व्यवसायी र सरकारी तथा सुरक्षा निकायका अधिकारीको सहभागिता थियो । बैठकमा मन्त्री खाँडले म्याद गुज्रेका सामग्री बेच्दा घुमीफिरी आफ्नै भान्सामा आइपुग्नेतर्फ पनि ध्यान दिन आग्रह गरे । उनले चाडपर्वमा अन्य बेलामा भन्दा कम नाफा लिएर धेरै वस्तु सुपथ मूल्यमा बेच्न पनि व्यवसायीलाई आग्रह गरे । ‘सुपथ मूल्यमा बेचेर उपभोक्तालाई राहत दिनुस् भन्ने मेरो आग्रह छ, बढी मूल्यमा बेचेको पाइएमा सरकारी निकाय कानूनअनुरूप अगाडि बढ्छ,’ मन्त्री खाँडले भने । व्यवसायी, सरकार र उपभोक्ता मिलेर अगाडि बढेमा मात्र चाडपर्व रमाइलो गरी मनाउन पाउने पनि उनको भनाइ थियो । उनले सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर बन्न पनि व्यवसायीलाई आग्रह गरे । रासस
खतरा महसुस हुने वित्तिकै प्रहरीमा खबर गर्नुहोस् काठमाडौँ । विस्तारै मनसुनको समय उत्तराद्र्घतर्फ धकेलिएर नेपालीहरुको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले आज सार्वजनिक अपिल जारी गर्दै घरमा डेरा गरी बस्ने व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर तथा स्थायी ठेगाना स्पष्ट रुपमा राखी सम्भावित खतराबाट जोगिन अनुरोध गरेको छ । विगतमा डेरा गर्ने बहानामा धेरै आपराधिक क्रियाकलाप भएकाले त्यसतर्फ सचेत गराउँदै उक्त अनुरोध गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए । चाडपर्वमा विभिन्न आपराधिक समूह सल्बलाउने, आपराधिक गतिविधि तथा दुर्घटना बढ्ने हुँदा गाउँघर तथा छिमेकमा हुने शङ्कास्पद व्यक्तिबारे सूचना दिएर सहयोग गर्न प्रहरीले नागरिकमा अपिल गरेको छ । सम्भावित घटना रोक्न काठमाडौँ उपत्यकामा विशेष सुरक्षा योजना लागू गरी प्रहरीले निगरानी बढाइसकेको र अन्य जिल्लामासमेत लागू गर्ने क्रममा रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर बताए । उनका अनुसार ७७ जिल्लामा चाडवाडका बेला हुनसक्ने अवाञ्छित गतिविधि रोक्न विशेष योजनाका साथ अघि बढ्न सबै जिल्लामा निर्देशन गइकेको छ । सोहीअनुसार आआफ्नो क्षेत्रमा प्रहरीले विशेष ध्यान दिन थालेको छ । प्रहरीले शान्ति सुरक्षा कायम गरी जनजीवनलाई सहज बनाउन प्रहरी एक्लैको प्रयास पर्याप्त नहुनेतर्फ नागरिकको ध्यानाकर्षण गराउँदै आवश्यक समन्वय गर्न सार्वजनिक अपिल गरेको छ । कुनै पनि खतराको महसुस हुने वित्तिकै नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशानुसार चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागू गरेको काठमाडौँ प्रहरीले नागरिक आफैँले विशेष सावधानी अपनाउँदा पनि धेरै घटनाबाट जोगिन सकिने जनाएको छ ।
नेबिकोले सुरु गर्‍यो पुनः उत्पादन काठमाडौं । आगलागिपछि नेबिको प्रालि आफ्नो उत्पादन पुनः सुरु गरेको छ । उद्योगमा साउन २३ गते भीषण आगलागी भएको थियो । छोटो अवधिमै सो कम्पनीले उद्योगको भवन संरचना पुनःनिर्माण र मेसिनरी मर्मत गरेर पुनः उत्पादन थालेको हो । काठमाडौंको बालाजुस्थित औधोगिक क्षेत्रमा रहेको प्लान्टमा गत साउन २३ गते आगालागी हुँदा प्लान्ट र मेशिनरी सामग्रीहरु जलेर ध्वस्त भएका थिए । आगलागीबाट धेरै क्षति भएपनि छोटो समयमा नै उद्योग पुनः सञ्चालमा ल्याउन सफल भएको कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले बताए ।आगलागिबाट भएको भौतिक क्षतिपछिको ४४ दिनपछि कम्पनी पुनः आफ्नो उत्पादन सुरु गरेको हो । कम्पनीको उत्पादन, पहिलाको उत्पादन क्षमताको ६० देखि ७० प्रतिशत हाराहारीमा रहेको जनाएको छ । केही महिनापछि कम्पनी फेरि पुरानै अवस्थामा आउने जनाइएको छ ।साउन महिनामा आगलागी हुँदा उद्योग भवनमा करिब ७० प्रतिशतसम्म क्षति भएको थियो । जसकारण उद्योग भवनभित्र उत्पादन मेसिनरीदेखि बिस्कुट प्याकेजिङ गर्नेसम्मका मेसिनरी सखाप भएका थिए ।
दसैँको लागि अग्रिम टिकट बुकिङ ११ गतेदेखि खुल्ने काठमाडौं । यो वर्षको दसैँलाई लक्षित गरेर लामो दूरीको यातायातको अग्रिम टिकट बुकिङ ११ असोजभित्र खुल्ने भएको छ । यातायात व्यवस्था विभागले आज यातायात व्यवसायी, ट्राफिक प्रहरी महाशाखाको संयुुक्त छलफलले लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ सञ्चालन गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनी भन्छन्, ‘‘अग्रिम टिकट बुकिङ खुल्नेसम्म सरकारलाई भाडादर समायोजन गर्ने अपेक्षा राखेका छौँ । सडक मर्मतका लागि पनि छलफल भएको छ । सडक मर्मत गरेर गाडि गन्तव्यस्थलसम्म पुर्‍याउने वातावरण त्यतिञ्जेलसम्म होला ।” सिटौलाले नागरिक साहायत कक्षहरु राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिए। उनले अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको शुरुवात गरेका यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सकिने बताए । यातायात व्यवस्था विभागले यसपालिको दसैँमा १० लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ ।
डिआइजीको नाममा पैसा उठाउने महिला पक्राउ काठमाडौं । प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारको नाम लिएर रकम ‘डिल’ गर्ने सर्लाही घर भएकी शुसिला थापा दहाललाई प्रहरीले पक्राउ गरेको छ । थापाले रौतहटको गरुडा नगरपालिकाको विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिन भन्दै पर्सा मणिपुरका उदास कुमार पाण्डेसँग ६ लाख रुपैंया माग गरेको अडियो सार्वजनिक भएको थियो । फोन रेकर्डमा सुनिएको आवाज आफ्नै भएको उनले स्वीकारेकी छिन । इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी भण्डारीले भने ‘घटनाको छानबिनका लागी अहिले उनलाई नियन्त्रणमा राखिएको छ । फोन रेकर्ड गरेर आफूलाई बार्गेनिङ्ग गरेको पक्राउ परेकी महिलाले जनाएकी छिन्। दोस्रो कलमा उनलाई पाण्डेले बैंकमा रसिद जम्मा गरेको फोटो म्यासेन्जरमा पठाइदिने भनेका छन् भने थापाले रसिदको फोटो हेरेर मात्र काम अगाडि बढ्ने जिकिर गरेकी छिन् ।
राष्ट्रिय निकुञ्जबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दिलबहादुर जेठारा र वीरेन्द्रबहादुर कार्की पक्राउ परेका छन् । बझाङ खप्तड छान्ना गाउँपालिका १ का ५९ वर्षीय जेठारा र ३५ वर्षीय कार्कीलाई निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट नेपाली सेनाले एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको सिंहसारदुल गुल्म खप्तडले जनाएको छ । गुल्मका अनुसार उनीहरूलाई खप्तड राष्ट्रिय निकुञ्जको पौवागढीबाट पक्राउ गरिएको हो । पक्राउ परेकाको बयान लिने काम भइरहेको बताउँदै उनले आवश्यक कानुनी कारबाहीका लागि जिल्ला न्यायधिवक्ताको कार्यालयमार्फत अभियोग दर्ता गरिने भएको छ ।
तोडफोड गर्नेलाई कारवाहीको माग काठमाडौं । पेशागत महासङ्घ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला एउटा समूहले कार्यालयमा तोडफोड गरेको थियो । महासङ्घका संयोजक बाबुराम थापाले आज विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । उनले कार्यालयमा लगाइएको ताला खोल्न माग गरेका छन् । सो कदम ट्रेड युनियनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त विपरीत भएको महासङ्घले जनाएको छ ।
कानुन मन्त्रीका गाडीले मात्र बर्षमा २६ सय लिटर तेल खर्च ! काठमाडौँ । सरकारी नियमअनुसार सहसचिवभन्दा तलका कर्मचारीलाई गाडी सुविधा दिइँदैन तर अरुलाई कानुन र नियमको पाठ सिकाउने कानुन मन्त्रालयमा उपसचिव तहका लागि ६ वटा गाडी सुविधाका सरकारी गाडी चढ्दै आएको भेटिएको छ । कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयमा १७ वटा चार पांग्रे गाडी रहेको भेटिएको छ । जसमध्ये मन्त्रीका लागि दुई वटा,सचिवका लागि १,५ सह सचिवका लागि एक एक वटा र उपसचिव ५ जनाका लागि एक एक वटा गाडी छुटटाइएको भेटिन्छ । मन्त्रीका स्वकीयको लागि समेत गाडी छुट्टाइएको छ भने पुलमा एउटा गाडी राखिएको छ । मन्त्रालयका कतिपय उपसचिवले कार्यालय प्रयोजनका लागि खरिद गरिएको गाडी व्यक्तिगत रुपमा समेत चढ्दै आएका छन् । कार्यालय प्रयोजनका लागि खरिद गरिएको गाडी उपसचिवहरुले आफ्नै घरमा लगेर राख्न नमिल्ने भए पनि कतिपय उपसचिवले चालकसहित गाडी घर लैजाले गरेका भेटिएको छ । त्यहाँ ४० वटा बाइक रहेको भेटिएको छ । मन्त्रीका गाडीले मात्र बर्षमा २६ सय लिटर तेल खर्च भएको सो कार्यालयले उपलव्ध गराएको विवरणमा भेटिन्छ । सरकारले खर्च कम गर्न भने पनि अधिकांश कर्मचारीहरुको रोजाईमा कार नै पर्ने गरेको देखिन्छ । सरकारले सिंहदरबारभित्रका कर्मचारीलाई लक्षित गरेर ९ वटा बसमात्र सञ्चालन गरिरहेको भए पनि सिंहदरबारभित्रका अधिकांश कर्मचारीहरु कारमा हुँइकिने गरेका छन् । सञ्चालनमा रहेका ९ वटा बसमध्ये केही खाली गुड्ने गरेको भेटिन्छ । सरकारले सहसचिव भन्दा तलका कार्मचारीलाई व्यक्तिगत सुविधाका लागि गाडी दिने मापदण्ड नभए पनि उपसचिव र अधिकृतलाई आवश्यकता अनुसार दुईपांग्रे सवारी सुविधामा दिइँदै आएको छ। तर सिंहदरबार भित्रका सचिव तथा सहसचिवका चालकले समेत मोटरसाइकल सुविधामा लिने गरेका भेटिन्छ ।
पदक पाउने कस्ता? कालोबजारीमा मुछिएकादेखि राजश्वमारासम्म ! काठमाडौं । सरकारले हरेक बर्ष बाढ्ने मान पदवी अंलकारको गरिमा घट्दै गयो । यस बर्ष नेपाली इतिहासकै सबैभन्दा बढी ९०३ जनाले पदक पाए । पदक पाउने पनि कस्ता कस्ता भने कालोबजारीमा मुछिएकादेखि राजश्वमारासम्म । पदक पाउनेमध्ये एउटै उद्योगका तीन जना भेटिए । यसरी तक्मा पाउने कोही नभई बुटवलको श्रीराम टोबाको कम्पनीका संचालकहरु हुन् । क्रमश कमलकिशोर मालपानी, चुन्नुप्रसाद शर्मा पौडेल र नरिश्वर पौडेलले गृहमन्त्री बालकृष्ण खाणकै सिफारिसमा २०७८ को जनसेवाश्री विभूषणबाट बिभूषित गरिएको हो । यो कम्पनीमाथि सर्वोच्च अदालतले १४ पुस २०७० मा खैनी, चुरोट, गुट्खा, बिडी लगायत सुर्तीजन्य उत्पादनको बट्टाको ७५ प्रतिशत भागमा क्यान्सरले फोक्सो कुहिएको रंगीन चित्र राख्नुपर्ने फैसला सुनाए पनि श्रीराम टोबाकोले त्यसबिपरीत उत्पादन गर्दै बिक्री बितरण गरिरहेको छ । श्रीराम टोबाकोले गुट्खा र खैनीमा राजस्वको स्टीकर नटाँसी करोडौं राजस्व छली गरेको छ । श्रीराम टोबाको कम्पनीले गुट्खा र सुर्ती उत्पादन गरी राजस्व छली गरेको प्रमाण भेटिएपछि राजस्व अनुसन्धान विभागले २०७६ पुसमा काठमाडौं र रुपन्देहीमा मुद्दा दायर गरेको थियो । विभागले बुटवल नगरपालिका–१२ मा रहेको श्रीराम टोबाकोलाई १० करोड ७३ लाख बिगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । कम्पनीका संचालक कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल लगायतले कम्पनीबाट उत्पादन हुने अन्तःशुल्क लाग्ने सुर्तीजन्य पदार्थको उत्पादन कम देखाई विभिन्न बिक्रेताहरुको सहयोगमा स्टीकर र कर बिजक बिना मालवस्तु बिक्री गरेको पाइएको विभागले जनाएको थियो । भोला र करेन्ट ब्रान्डका अलावा कमल किशोर मालपानी र पौडेल बन्धुले नेपाली बजारमा अरु विभिन्न नामका गुट्खा र सुर्ती बिक्री गरी राजस्व मार्ने काम गर्दैआएका छन् । भारतीय राज्य बिहार र उत्तर प्रदेशमा प्लाष्टिकको प्याकेटमा सूर्ती र गुट्खा बिक्री गर्न प्रतिबन्ध लागेपछि मालपानीहरुले नेपालबाट भारततर्फ सुर्ती र गुट्खा तस्करी समेत गर्दैआएका छन् । भारतीय बजारमा गुट्खाको माग बढी छ । श्रीराम टोवाको कम्पनीबाट उत्पादित भोला र करेन्ट गुट्खाको अवैध कारोबार गर्दै करोडौैं राजस्व ठगी गर्दैआएका मालपानी र पौडेलले आफ्नो कर्तुत ढाकछोप गर्नका लागि रुपन्देहीकै गृहमन्त्री खाण भएको बेला उनका आसेपासेलाई आर्थिक प्रलोभन दिई पदक हत्याउन सफल भएका छन् । मासिक दसौं करोडको गुट्खा र खैनी बिक्री गर्ने मालपानी र पौडेल बन्धुहरुले बिभूषण लिन ठूलै रकम गृहमन्त्री खाणका आसेपासेमार्फत् खर्च गरेको चर्चा बुटवलमा छ । राजश्वको स्टीकर नभएका गुट्खामा कुनै कर नलाग्ने र सस्तो पर्ने भएकाले त्यस्ता कर छली गरेका गुट्खा मालपानी र पौडेलहरुले बिक्री गरी रातारात करोडौं करोडका मालिक भएका हुन् । उता यस्तै बदनाम व्यक्तिलाई पदक दिइएको छ । रासायनिक मल समयमा आयात नगरेको आरोप लागेका ठेकेदार र कोरोना महामारीको समयमा बिरामीको उपचार गर्न नसक्ने भन्दै सार्वजनिक सूचना जारी गरेका अस्पताल निर्देशकले पनि सरकारबाट पदक पाउन सफल भएका छन् । मल आयातको जिम्मा लिएर समयमा ल्याउन नसकेका ठेकेदार हुमनाथ कोइरालाले प्रबल जनसेवाश्री र महामारीको समयमा जनतालाई स्वास्थ्य सेवा दिन नसक्ने भन्दै पन्छिएका कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्काले सुर्कीतिमय राष्ट्रदीप पदक पाउने भएका ह्न् । आइतबार संविधान दिवसको अवसरमा घोषणा गरिएको पदकको सूचीमा कोइराला र डा. खड्काको पनि नाम छ । यस्तै,सुर्कीतिमय राष्ट्रदीप पदक पाएका कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्काले कोभिड—१९ महामारीको दोस्रो लहरमा अस्पतालमा अक्सिजन नभएको भन्दै बिरामी भर्ना गर्न नसकिने सार्वजनिक सूचना जारी गरेका थिए। प्रदेशकै सबैभन्दा ठूलो अस्पतालले बिरामी नलिने घोषणा गरेपछि तत्कालीन प्रदेश सरकारले उनीविरुद्ध छानबिन गरी कारबाहीको तयारी गरेको थियो। कर्णाली सरकारका प्रवक्ताले पत्रकार सम्मेलन नै गरेर निर्देशक खड्कामाथि छानबिन सुरु गरिएको र उनलाई कारबाही गरिने बताएका थिए । तर, सत्तारुढ दल नेकपामा विवाद बढेर कर्णाली सरकारमा हेरफेर भएसँगै उनको कारबाही रोकिएको थियो। अस्पतालले जारी गरेको सूचना संविधानको मौलिक हकविपरीत भएको भन्दै डा. खड्काविरुद्ध उच्च अदालत सुर्खेतमा मुद्दासमेत परेको थियो। सो मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ। अस्पतालले बिरामीको उपचार गर्न नसकिने सूचना प्रकाशित गरेपछि सरकारले उक्त अस्पताललाई केन्द्र मातहतमा राख्ने प्रक्रिया पनि सुरु गरेको थियो । सकारले यस वर्षको संविधान दिवसको दिन बाँड्न लागेका पदकमध्ये स्वास्थ्यतर्फ सबैभन्दा ठूलो पदक पाउने चिकित्सक हुन्, डा. खड्का । उनी नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काका भाइ हुन् । उसो त यस बर्ष पदक पाउनेमा प्रचण्ड पत्नी सीता दाहाल पनि छिन । यस अघि प्रचण्डका पुत्र प्रकाशलाई पदक दिलाइएको थियो ।
पाकिस्तानमा रहेको न्यूजिल्याण्डको क्रिकेट टिमलाई भारतबाट धम्की ! काठमाडौं। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीले न्यूजिल्याण्डको क्रिकेट टिमलाई जुन डिभाइसबाट धम्की पठाइएको थियो त्यो डिभाइसको सम्बन्ध भारतसँग भएको आरोप लगाएका छन् । इस्लामाबादमा बुधबार एक पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । फवाद चौधरीले भने ‘यो मामिला त्यतिबेला सुरु भयो जब कसैले तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी)का चरमपन्थी एहसुल्लाह एहसान भएको दावी गर्दै एउटा फर्जी पोस्ट गरे ।’ फवाद चौधरीका अनुसार अगष्टमा एहसानको नामबाट एक फर्जी पोस्ट गरिएको थियो जसमा न्यूजिल्याण्ड सरकारलाई पाकिस्तानमा खेलाडीहरुलाई निशाना बनाउन सकिने भन्दै आफ्नो टिम पाकिस्तान नपठाउन भनिएको थियो । चौधरीका अनुसार यो पोस्टपछि भारतीय समाचार वेबसाइट द सन्डे गार्डियनका ब्युरो चिफ अभिनन्दन मिश्राले एउटा समाचार प्रकाशित गरेका थिए जसमा न्यूजिल्याण्ड टिममाथि पाकिस्तानमा आतंकवादी आक्रमण हुन सक्ने दावी गरिएको थियो । फवाद चौधरीले भने ‘रोचक कुरा त के भने अभिनन्दन मिश्राको अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहसँग बलियो सम्बन्ध छ ।’ चौधरीका अनुसार २४ अगष्टमा न्यूजिल्याण्डका ओपनर मार्टिन गुप्टिलकी पत्नीलाई एउटा धम्कीपूर्ण इमेल पठाइएको थियो । फवाद चोधरीका अनुसार जाँचमा धम्की पठाउने इमेलबाट कुनै पनि सामाजिक संजालमा खाता नबनाइएको र त्यो आइडीबाट पठाइएको यो एकमात्र इमेल भएको खुलासा भयो । चौधरीका अनुसार यो इमेल प्रोटोनमेल नामको एक सुरक्षित सेवामार्फत पठाइएको थियो । चौधरीले यो इमेलका बारेमा थप अनुसन्धानको लागि इन्टरपोलसँग सहयोग मागिएको बताए ।
भीरबाट लडेर एक पुरुषको मृत्यु काठमाडौं । मलेखु बजारबाट घर जाने क्रममा बुधबार साँझ धादिङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको गजुरी गाँउपालिका–२ मलेखु बजार नजिकैको भीरबाट लडेर स्थानीय रामबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्काले बताए । बेनिघाट रोराङ गाँउपालिका–२ महादेवस्थान निवासी ६३ वर्षीय गुरुङको शव सडकबाट करिव ६० फिट तल भेटिएको डिएसपी खड्काले बताए । मृतक गुरुङको शव घटनास्थलबाट निकालेर पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको डिएसपी खड्काले बताए ।
सरस्वती प्रधान १ लाख १५ हजार धरौटीमा रिहा काठमाडौं । सञ्चारकर्मी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधान धरौटीमा रिहा भएकी छन्। बबरमहलकी प्रधानले तनहुँकी रुपा सुनुवारलाई दलित भएको बताएपछि कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन् । उनलाई जातीय विभेद तथा छुवाछुतजन्य कसूर गरेको भन्दै मुद्दा दायर भएको थियो । बुधबार मुद्दाको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले घरबेटी प्रधानलाई एक लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश जारी गरेको हो। सञ्चारकर्मी रुपा सुनारले गत असार १ गते आफू दलित भएकै कारण प्रधानले कोठा भाडामा नदिएको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् । उनले घरबेटी प्रधानलाई जातीय भेदभाव तथा छुवाछुत कसूर तथा सजाय ऐन २०६८ अनुसार कारबाही माग गरेकी थिइन् । त्यसपछि पक्राउ परेकी प्रधानमाथि अनुसन्धान नसक्दै प्रहरीले रिहा गरेको थियो । उनलाई रिहा गराउन तत्कालिन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ प्रहरी कार्यालय नै पुगेकामा आलोचना भएको थियो ।
सरकारले तोक्यो धानको न्यूनतम मूल्य काठमाडौं । सरकारले यसवर्षको धानको न्यूनतम मूल्य तोकेको छ। आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्वन महाशाखाले एक सूचना जारी गर्दै महाशाखाले मोटा धानको न्यूनतम समर्थन मूल्य रु २७५२ प्रति क्विण्टल र मध्यम धानको न्यूनतम समर्थन मूल्य रु २९०२ प्रति क्विण्टल तोकेको छ । यस्तै तोकिएको नयाँ मूल्य गत आर्थिक बर्षको तुलनामा दुबै किसिमको धानमा रु १७ प्रति क्विण्टलले वढी रहेको जनाएको छ । भदौ २९ गतेको निर्णयअनुसार धानको न्यूनतम समर्थन मूल्य तोकेको जनाएको छ । समयमा नै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्ने भन्दै सरकारले प्रत्येक वर्ष मोटा र मध्यम किसिमका धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।
झापामा महिलाको शरीर टुक्रा टुक्रामा गिँडियो काठमाडौँ । झापा गाउँपालिका–१ सानो माई खोलामा टुक्रा–टुक्रा पारी महिलाको शवलाई खोलामा बगाइदिने ४ जनालाई झापा प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । स्थानीय सानो माइखोलामा गत भदौ २५ गते धोन्नी टुडुको अर्ध शरीरको टाउको, घाँटी, पेट र कम्मरभन्दा माथिको भाग तथा घुँडाभन्दा मुनीको भाग नभएको अवस्थामा शव फेला परेको थियो । जग्गाको विषयमा पारिवारिक विवाद हुँदै आएकोमा भदौ २५ गते आफन्तले टुडुलाई माइखोला किनारमा लगि शरीरको विभिन्न भाग काटेर खोलामा फालेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव झापा गाउँपालिका १ माइती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५० वर्षीया डोली भन्ने धोन्नी टुडु रहेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । हत्या आरोपमा प्रहरीले मृतकको भान्जा भारत देश किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने वर्ष २३ को ऐतवार सोरेन, मृतकको सौताको भाई झापा गाउँपालिका १ बस्ने वर्ष ३७ को लखन टुडु सतारलाई पक्राउ गरेको छ । मृतक महिलाको बाल बच्चा नभएको र सौताका नातेदारले षड्यन्त्र गरि उनको हत्या गराएको प्रहरीको आशंका छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वरिष्ठ पत्रकार कोइरालासहित पुरस्कृत काठमाडौँ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्वसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने पत्रकारलाई पुरस्कार प्रदान गरेकी छिन् । वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई रु एक लाख ५१ हजार राशिको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो । सो अवसरमा वरिष्ठ पत्रकार बद्रीविनोद खनाल (प्रतिक)लाई रु एक लाख १० हजार राशिको ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ प्रदान गरियो । ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ हिमालय टाइम्स दैनिक (उज्ज्वल शर्मा)लाई तथा ‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार’ विमल गौतम र दुर्गालाल केसीलाई प्रदान गरिएको छ । ती पुरस्कार क्रमशः रु ५० हजार र २० हजार राशिका हुन् । ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ लोकबहादुर चौधरी (लक्की), ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ वासुदेव शर्मा, माधव नेपाल, विन्दुकान्त घिमिरे, गोविन्दप्रसाद चौलागाईं, रामानन्द गुप्ता, सुशील अर्याल र रमेश ढुङ्गेललाई प्रदान गरियो । उनीहरुलाई जनही रु २० हजार नगद राशिसहित पुरस्कार प्रदान गरिएको हो । ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ घनश्याम खड्का, उर्वशी बस्नेत न्यौपाने, एलपी देवकोटा, जीवन सेजुवाल, मेघराज खड्का, कृष्णचन्द्र लामिछाने, देवेन्द्र बस्नेत, देवचन्द्र भट्ट, चूडामणि लिम्बू, चन्द्रकला क्षेत्री (भगवती थापा), शिवकुमार रिजाल, रमेश खतिवडा, जगन्नाथ दुलाल र तीर्थ जैसीलाई प्रदान गरियो । उक्त पुरस्कार जनही रु १५ हजार नगद राशिसहितको हो । समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुष्ठ अर्याल र काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायत सहभागी थिए ।
डा. भक्तमानको अपहरणमा संलग्‍न पण्डित पक्राउ काठमाडौँ । चितवनका चिकित्सक (बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ परेका छन् । प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२ मुलाबारीबाट स्थानीय ४५ वर्षीय राजेन्द्र पण्डितलाई पक्राउ गरेको हो । अपहरण तथा शरीर बन्धक कसुरमा उच्च अदालत हेटौँडा इजलासको २०७० माघ २१ को फैसलाले उनलाई नौ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । तत्कालीन मुलिकी ऐन, (२०२०) को अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं बमोजिम सात वर्ष कैद र सोही महलको ७ नं बमोजिम दुई वर्ष थप कैद गरी जम्मा नौ वर्ष कैद तोकिएको थियो । त्यसपछि पण्डित फरार हुँदै कहिले नेपाल त कहिले भारतमा लुकेर बसेका थिए । पछिल्लो समयमा नेपाल प्रवेश गरेको सूचना पाएपछि केही अघिदेखि सिआइवीको टोलीले उनको खोजी थालेकोमा मङ्गलबार पक्राउ परेका हुन् । उनलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । अपहरणमा संलग्न नुवाकोटका बद्रिप्रसाद ढुंगाना, काठमाडौंका गौतम योञ्जन, भारतका रोहित पालिवाललगायत पक्राउ परिसकेका छन् । मुख्य अभियुक्त भनिएका नुवाकोटका भीमसेन पण्डित अझै फरार छन् । भारतमा रहेका उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । राजेन्द्र भने भीमसेनका नजिकका मान्छे हुन् । उनी डा श्रेष्ठको अपहरणपछि राख्ने ठाउँको व्यवस्थापनमा संलग्न रहेको प्रहरीले जनाएको छ । २०६७ जेठ ४ मा चितवनको भरतपुर महानगरपालिका–१०, साबिकको भरतपुर नगरपालिका–१० चौबिसकोटीस्थित चितवन अस्पतालबाट घर फर्कँदै गर्दा स्थानीय हाकिमचोक नजिकको भित्री सडकबाट डा श्रेष्ठलाई अपहरण गरिएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार अपहरणपछि उनलाई काठमाडौँ र नुवाकोटका विभिन्न ठाउँमा बन्धक बनाई राखिएको थियो । अपहरण भएको १८ दिनपछि फिरौती लिएर डा श्रेष्ठलाई अपहरणकारीले छाडेका थिए । अपहरणको चार दिनपछि उनको ब्रिफकेस चितवनको मुग्लिन नजिक घोप्टेभिरमा फेला परेको थियो । अपहरणकारीलाई उनका परिवारले फिरौतीबापत भारतमा साढे तीन किलो सुन ९तत्कालीन मूल्यअनुसार एक करोड १० लाख रुपैयाँ पर्ने० बुझाएपछि डा श्रेष्ठ २०६७ जेठ २२ गते धादिङको माझिकोटबाट अपहरणमुक्त भएका थिए । त्यो बेला उनीहरुले कल बाइपास गरेर परिवारसँग सम्पर्क गर्ने गरेका थिए । यसअघि काठमाडौँ महानगरपालिका–४ बस्ने ४१ वर्षीय गौतम योञ्जनलाई पनि सिआइवीको टोलीले नै काठमाडौंबाट पक्राउ गरेको थियो । रासस
भिरबाट खसेको ढुङ्गाले लाग्दा आमाछोरीको मृत्यु काठमाडौं । रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीय सङ्गीता पुन र उनकी दुई वर्षीय छोरी कृतिकाको भिरबाट खसेको ढुङ्गा लाग्दा मृत्यु भएको छ । घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुङ्गाले लागेको प्रहरीले बताएको छ। भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षकको टोलीले घटनास्थलबाट शवपरीक्षणका लागि जिल्ला अस्पताल लगेको प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।
इन्टरनेट र टेलि‍फोनको पहुँच नहुँदा हुम्लाका गणकलाई फाराम भर्न समस्या काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणमा अघिल्लो बुधबार सुरु भएको घर तथा घरपरिवार सूचीकरण कार्यमा सात प्रश्‍न लिएर सुपरिवेक्षक घरदैलो गरिरहेका छन् । केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर देशभरि ८ हजार ५ सय सुपरिवेक्षक खटाइएका छन् । हुम्लाका सातवटै गाउँपालिकाका ४४ वडामा राष्ट्रिय जनगणना २०७८ अन्तर्गत सुपरीवेक्षक परिचालन गरिएको छ । जनगणना कार्यालयका प्रमुख विनोद भट्टले भने “ गाउँगाउँका सुपरीवेक्षक परिचालन भएका छन् । गणना कार्य जारी छ । ”उनले भने, “हुम्ला भौगोलिक हिसाबले विकट त छँदैथियो, योसँगै टेलिफोन र इन्टरनेटको समस्याका कारण गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलनमा थप समस्या भएको छ ।” भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको उनले गुनासो गरे ।
अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाई भोलि (बुधबार)देखि समूहगतरूपमा छलफल हुने केन्द्रीय सदस्य गरिमा शाहले जानकारी दिए । नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति तरल अवस्थामा रहेको उल्लेख गरिएको छ । केन्द्रीय कमिटीको पूर्णता, जिल्ला इञ्चार्ज तोक्ने, प्रदेश कमिटी अध्यक्ष चयन र आगामी कार्ययोजनालगायतका एजेण्डा बैठकमा राखिएका छन् । बैठक भोलि ११ बजे पुनः बस्ने उनले जानकारी दिए । क्रान्तिका उपलब्धिको रक्षा गर्दै शान्तिपूर्ण सङ्घर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरणसहित राष्ट्रिय पूँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्ने पार्टीको तत्कालीन लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहेको उल्लेख गर्दै माक्र्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवं समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त रहेको प्रतिवेदनमा बताइएको छ ।
डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सत्तारुढ गठबन्धनमा सहमति काठमाडौं । लामो समयसम्म सरकार विस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गरेका छन् । संयुक्त्त राष्ट्रसंघकाे महासभामा नेपालले प्रतिनिघिसमेत छन्न नसकेकाे बेला  रुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्रमन्त्री नियुक्तिकाे तत्काल अावश्यकता परेकाेबारे सहमति जुटेकाे बताइएकाे छ । दलका नेताहरूबीच साे मन्त्रालय नेपाली कांग्रेसकाे भागमा पार्नेबारे पनि सहमति भएकाे स्राेतले बताएकाे छ । साे पदमा देउवाले निकटस्थ मानिएका सांसद नारायण खड्का लाइ नियुक्त गर्ने तयारी गरेका छन् । याे कुराकाे जानकारी देउवाले दलहरूबीचकाे बैठकमै पनि दिएकाे बताइएकाे छ । देउवाकाे हताराे हेर्दा खड्काकाे नियुक्ति तत्काल हुने देखिएकाे स्राेतकाे दावी छ । कांग्रेसमा कुनै गडबढी भएन भने खड्काकाे शपथ ग्रहणा भाेलि नै पनि हुन सक्छ । सरकार विस्तारका लागि मन्त्रालय भागवण्डाबारे थप छलफल अावश्यक रहेकाे भन्दै  भोलि पनि शीर्ष नेताहरूकाे बैठक बस्दै छ ।
४० किलो चाँदीसहित रौतहटबाट एकजना पक्राउ काठमाडौँ । रौतहटको गौरबाट प्रहरीले ४० किलो चाँदी सहित सर्लाहीको मलंगवा घर भएका ३५ वर्षीय विद्यानन्द माझीलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेक जाँच गर्ने क्रममा बस काउण्टरबाट दुबै हातमा कालो रंगको झोला बोकी पश्चिम तर्फ आउँदै गरेका सोनारलाई चेक जाँच गर्दा दुबै झोलामा कार्टुन भित्र सिलबन्दी गरिएको सेतो रंगको प्लाष्टिक भित्र चाँदीका स–साना टुक्राहरु फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए। गौरस्थित नयाँ बसपार्कमा प्रहरीले चेकजाँच गर्दा उनको साथमा ४० केजी चाँदी फेला परेको थियो । सोको आजको मूल्य ३९ लाख ४४ हजार रहेको प्रहरीले जानकारी दिएको छ ।
सर्पको टोकेपछि एक बालकको मृत्यु काठमाडौँ । बागलुङको बरेङ गाउँपालिका–३ नयाँ बजारका अनुप खत्रीलाई सर्पले डसेर मृत्यु भएको छ । सर्पले टोकेर घाईते खत्रीलाई उपचार गर्न गुल्मी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । पठनपाठनको लागि विद्यालय गएका मृतक खत्रीलाई कक्षा कोठामा सर्पले टोकेको प्रहरी सहायक निरीक्षक अमृत कुँवरले जानकारी दिए । सुरुमा केले टोक्यो भन्ने थाहा भएन । कक्षा कोठाबाट सर्प बाहिर निस्केपछि मात्र सर्पले टोकेको पहिचान भएको थियो । बिरामी जटिल हुँदै गएपछि नजिकको स्वास्थ्य चौकीमा जाँदा खत्रीको शरीरमा अक्सिजनको मात्रा कमी देखिएको थियो । गुल्मी शान्तिपुरको एक अस्पतालमा लगे पनि उपचार हुन नसकेपछि मृत्यु भएको हो । रिमबहादुर खत्रीको पाँच वर्षीय छोरा  जनता प्राविको कक्षा एकमा अध्ययनरत विद्यार्थी हुन ।
प्रक्रिया पूरा नगरी दुई कर्मचारी भर्ना काठमाडौँ । मालपोत कार्यालय सुर्खेतले विज्ञापन र प्रतिस्पर्धा नगराई कम्प्युटर अपरेटरमा प्रकाश शर्मा र कार्यालय सहयोगीमा कमलबहादुर शाहीलाई नियुक्त गरेको छ । शर्मा यसअघि करार सेवामा कम्प्युटर अपरेटरको रुपमा मालपोत कार्यालयमा कार्यरत थिए । शर्मासहित सुनीता चन्द, सुमित्रा चपाइँ र लेखा ज्ञवाली गत फागुनमा करार सेवामा कम्प्युटर अपरेटरमा नियुक्त भएका थिए । चारै जनाको करार अवधि असार मसान्तमा सकिएको थियो । शर्मा निमित्त कार्यालय प्रमुखको भाइ पर्ने व्यक्ति हुन् भने शाही लेखापाल राजबहादुर हमालको गाउँका हुन् । विगतमा विज्ञापन गरेर कर्मचारी राख्दा राजनीतिक दबाब आएको भन्दै उनले यस पटक विज्ञापन नगरिएको  निमित्त प्रमुख हमालले भने ।
विश्वकै उत्कृष्ट १० मा पर्यो चाँगुनारायण नगरपालिका, अन्य कहाँका ? काठमाडौँ  । संयुक्त राज्य अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको छ । अन्तर्राष्ट्रिय जगत्मा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो भएको नपाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिए । ओपन सिटी इन्क्युबेटरमा सहभागी भएर यो उपाधि जित्ने चाँगुनारायण नगरपालिका नेपालकै पहिलो नगरपालिका भएको उनको भनाइ छ । नेपालको नगरपालिकाबाट सहभागिता जनाउने न्यौपाने यस कार्यक्रमको लागि पहिलो सहभागीसमेत हुन् । नगरपालिकाको तथ्याङ्क व्यवस्थापन एवं खुला तथ्याङ्क प्रणालीकोे क्षेत्रमा संसारका उत्कृष्ट १० सहरको छनोटमा चाँगुनारायण नगरपालिका परेको र नगरपालिकाको तर्फबाट सूचना प्रविधि अधिकृत न्यौपाने सहभागिता जनाउने गरी छनोटमा परेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । चाँगुनारायण नगरपालिकाले विकास गरेको नेपालकै पहिलो ओपन डाटा प्लेटफार्मको कारण यो उपाधि हासिल गरेको उनले जानकारी दिए । चाँगुनारायण नगरपालिकासँगै अमेरिकाको सिटी अफ न्यूयोर्क, क्यानडाको सिटी अफ विन्निपेग, इजराइलको वियर सिभा, अमेरिकाको सिटी अफ अल्बिकियु, अमेरिकाको सिटी अफ स्यरक्यूस, रोमानियाको तिमिसोअरा, अर्जेन्टिनाको मिनडोजा सिटी, अमेरिकाको मिसोउरी, इक्वेटरको सिटी अफ ग्युएक्युल उत्कृष्ट १० मा पर्न सफल भएका छन् । ओपन सिटी इन्क्युबेटर कार्यक्रममा छनोट हुने सहरले आगामी छ महिनासम्म संसारका विश्व प्रसिद्ध डाटा विज्ञबाट दिइने तालिममा समेत सहभागी भई आफ्ना डाटासम्बन्धी गतिविधि एवं कार्यक्रमलाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार तयार पार्नेछ । कार्यक्रममा छनोट भएका सहरको घोषणा सोमबार न्युयोर्कस्थित एक भर्चुअल कार्यक्रममार्फत गरिएको नपाका सूचना प्रविधि अधिकृत न्यौपानेले जानकारी दिए । नेपालजस्तो विकासोन्मुख राष्ट्रको एउटा चाँगुनारायण नगरपालिकाले खुला तथ्याङ्क प्रविधिको क्षेत्रमा राखेको सोच एवं गतिविधिले यस क्षेत्रमा कार्य गर्ने सम्पूर्णमा उत्साहित बनाएको ओपन सिटी इन्क्युबेटरका कार्यक्रम सञ्चालक एन्ड्रिइन्नी स्हमोकरले बताएको उनले जानकारी दिए । सूचना प्रविधि अधिकृत न्यौपानेले भने, “माइक्रोसफ्ट, मास्टरकार्ड सिटी पोसिबल, लुमिइन्ट, एनवाइयु सियुएसपी, द पब्लिक सेक्टर नेटवर्कजस्ता विश्व विख्यात कम्पनीद्वारा सञ्चालित कार्यक्रम हो, यो ।” ओपन सिटी इन्क्युबेटर विश्वभरका सहरबाट उत्कृष्ट डाटा आविष्कार सफलता र मापनलाई समर्थन गर्ने महत्वपूर्ण कार्यक्रम भएको उनको भनाइ छ । उनका अनुसार यस कार्यक्रममा छनोट हुने सहरका १० अधिकारी एवं सल्लाहकारलाई प्रशिक्षण एवं अन्तर्राष्ट्रियस्तरमा आफ्नो विचारको लागि पहुँचको उपयोग गर्ने, विभिन्न सहरी चुनौतीको सामना गर्न, अत्याधुनिक काममा सक्षम बनाउनेछ र अधिकारीलाई डाटा सहयोगी, डाटा साझेदारी सम्झौता एवं अन्य प्रणाली विकास गर्न सशक्त बनाउने छ ।
सरकारकै संरक्षणमा गुण्डागर्दी मौलायो काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको आरोेप लगाएका छन् । अनेरास्ववियूको नयाँ नेतृत्वको शपथग्रहणका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिए। ओलीले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको र त्यसविरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको बताए । ओलीले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरूले आपत्ति जनाउनुपरेको बताए ।
१९ वर्ष जेल बसेर छुटेपछि फेरि चरेस कारोबार काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हस्तकलाका सामग्रीभित्र लागुऔषध चरेस राखेर ओसारपसार गर्दै आएको नौ जनालाई पक्राउ गरेको छ। ब्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेस राखेर ओसारपसार गर्दै आएकाहरुलाई सार्वजनिक गरेको छ। उनीहरूको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरी राखेको सात केजी ६ सय १४ ग्राम चरेस बरामद गरिएको ब्युरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए। म्याग्दीका श्यामप्रसाद रोका, वीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माइला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र वीरबहादुर तामाङलाई ब्युरोले सार्वजनिक गरेको हो। हाते कागजका डायरीहरूमा चरेस बरामद गरेर कतारलगायतका मुलुकमा सो गिरोहले पठाउने गरेको पाइएको ब्युरोले जनाएको छ। यसअघि उनीहरूले यसरी नै अचारको भाँडोमा समेत चरेस राखेर भारत हुँदै हङकङ, थाइल्यान्ड, टर्कीलगायतका देशहरूमा लागुऔषधहरू ओसारपसार गर्दै आएको पाइएको एसएसपी थापाले बताए। पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यती एयरको २३ वर्ष पूरा काठमाडौं । सन् १९९८ को सेप्टेम्बर २१ बाट निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनी यति एयरलाइन्सले उडानको २३ वर्ष पूरा गरेको छ। स्थापनाको सुरुमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधी, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० अनोज रिमालले जानकारी दिए। ‘यती र तारा एयरका साहसी पाइलट एवं आत्मविश्वासी चालकदल, दक्ष प्राविधिक, कर्मठ कर्मचारी, साझेदार सङ्घसंस्थाहरुको लगन, मेहनत, इमान्दारी तथा यात्रुहरुको विश्वासले एयरलाइन्सले गौरवमय २३ वर्ष पुरा गर्न सफल भएको छ,’ सिइओ रिमालले भने। यती एयरलाइन्सले २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै आजबाट कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ।
कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ काठमाडौं । कञ्चनपुरमा सोमबार (हिजो) साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई नेपाली प्रशासनको समन्वयमा भारतीय प्रहरीले पक्राउ गरेको हो । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ ।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको बताए । गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए । घाइते बीओपी दोधाराचाँदनीमा कार्यरत सुदीप सुनारसहितका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
ढुङ्गा प्रहार गरी बेहोस बनाएर सुन लुटियो काठमाडौं । पोखरा–३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङमाथि घाँस काट्न जाने क्रममा ढुङ्गा प्रहार गरी बेहोस बनाएर सुन लुटिएको छ । उनका श्रीमान् धनमान गुरुङका अनुसार घरबाट करिब एक सय मिटरको दुरीमा रहेको बारीमा घाँस काट्न गएकी मरियमको छातीमा ढुङ्गाले प्रहार गरी बेहोस बनाइएर उनले कानमा लगाएको एक तोलाको सुनको मुन्द्रा लुटिएको हो । ढुङ्गा प्रहारबाट बेहोस भएकी मरियमलाई स्थानीयले देखेपछि परिवारलाई खबर गरेका थिए । उनको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यता, मरियमले लुटेराको हातमा चक्कु पनि देखेको बयान दिएको प्रहरीले जनाएको छ । उनले लुटेराले रातोमा सेतो धर्का भएको सर्ट लगाएको बताएकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
कुलमानलाई काम गर्ने बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएपछि हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका थिए। कुलमान आउनुअघि शाक्य प्राधिकरणको कार्यकारी निर्देशक थिए।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो। ८ भदौमा मिसिल झिकाउने आदेश दिएका उनले मंगलबार कारण देखाउ र अन्तरिम आदेश जारी नहुने आदेश सुनाएका हुन् । यससँगै यो मुद्दाको टुंगो नलागेसम्म कार्यकारी निर्देशक कुलमानलाई काम गर्ने बाटो खुलेको छ ।
‘न्यायाधीशलाई मानपदवी नदेऊ’ काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले न्यायपालिकालाई प्रभावित गर्ने गरी कुनै पनि प्रकारका मान–पदवी दिने गरी सिफारिस र घोषणा नगर्न÷नगराउन सरकारलाई आग्रह गरेको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे आज जारी गरेको प्रेस विज्ञप्तिमा सो आग्रह गरिएको हो । विज्ञप्तिमा भनिएको छ, “न्यायपालिकालाई प्रभावित गर्ने गरी यस्ता प्रकारका मान–पदवी दिने गरी सिफारिस र घोषणा नगर्न÷नगराउन नेपाल सरकारको सम्बन्धित निकायसमक्ष यो बार आग्रह गर्दछ ।” संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न विभूषण, अलङ्कार र पदक प्राप्त गर्ने व्यक्तिको सूचीमा सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित सर्वोच्च अदालतका न्यायाधीशहरूको नामसमेत समावेश गरेको भन्दै सर्वोच्च बारले विरोध जनाएको छ । विज्ञप्तिमा बहालवाला न्यायाधीशहरूले सरकारको कुनै निकाय वा संस्थाबाट मान–पदवी ग्रहण गर्दा विभिन्न किसिमको टीकाटिप्पणी हुने र उसले सम्पादन गर्ने न्यायमा प्रभाव पर्न सक्ने, न्यायिक स्वतन्त्रताको मूल्य मान्यतामा आँच आउन सक्ने हुँदा त्यस प्रकारका मान–पदवीहरू बहालवाला न्यायाधीशले ग्रहण गर्ने वा नगर्ने भन्ने विषयमा गम्भीर हुनुपर्ने देखिएको उल्लेख छ । न्यायपालिकाले गर्ने फैसलाबाट सरकार नै परिवर्तन हुन सक्ने अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रदान गरिने मान–पदवी बहालवाला न्यायाधीशलाई प्रदान गर्दा न्यायपालिकाको स्वतन्त्रतामै गम्भीर रूपमा असर पर्ने बताइएको छ । विज्ञप्तिमा भनिएको छ, “कतिपय मुद्दामा गरेका फैसलाबाट सरकारसमेत परिवर्तन हुने गरेका छन्, यस्तो अवस्थामा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रदान गरिने मान–पदवी, पुरस्कार बहालवाला न्यायाधीशलाई प्रदान गर्दा न्यायपालिकाको स्वतन्त्रतामा गम्भीर रुपमा असर पुग्न सक्छ ।”
एमालेको विधान महाधिवेशनका लागि तीनवटा प्रतिवेदनमाथि छलफल, केन्द्रीय कमिटीमा लैजाने काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको हिजो आइतबारदेखि सुरु भएको स्थायी कमिटी बैठक सोमबार साँझ सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठकमा विधान महाधिवेशनका लागि स्थायी कमिटी सदस्यहरुले लिखित र मौखिकरुपमा सुझावहरु राख्ने काम सम्पन्न भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । असोज १५, १६ र १७ गते आयोजना हुन गइरहेको एमाले विधान महाधिवेशनका लागि विधान संशोधन सम्बन्धको प्रस्ताव, सांगठानिक प्रस्ताव र राजनीतिक प्रतिवेदनसम्बन्धि प्रस्तावमाथि प्रस्तुत भएका सुझावहरुसहितको प्रतिवेदन एमालेको असोज ८ र ९ गतेको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने भट्टराईले बताए । एमाले स्थायी कमिटीको बैठकले विधान महाधिवेशन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरिएको उनको भनाइ छ । आगामी विधान महाधिवेशनमा संघीय संरचना अनुरुपको व्यवस्थापन गरिनुपर्ने, केन्द्रीय कमिटी, अध्यक्षलगायतको अधिवेशन गर्नुपर्ने विषयमा छलफल भएको भट्टराईले जानकारी दिए।
कालीगण्डकीमा हाम फालेर पुरुष बेपत्ता काठमाडौं । कालीगण्डकीको पुट्टारघाट पुलबाट हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् । तनहुँ घिरिङ गाउँपालिका–१ पुट्टार निवासी अन्दाजी ४८ वर्षीय विष्णुभक्त सिग्देल आज दिउँसो करिब ३ बजेको समयमा पुलबाट हाम फालेर बेपत्ता भएका हुन् । पाल्पा रामपुर बेझाड बजारमा होटल व्यवसाय गर्दै आएका सिग्देल आइतबारमात्रै पुट्टारस्थित घरमा गएको पारिवारिक स्रोतले जनाएको छ । पुट्टारघाटको झोलुङ्गे पुलपारि (तनहुँतिरको भागमा) आफूले प्रयोग गरेको मोटरसाइकल, चाबी, बिलबुक, पर्ससमेत फेला परेको प्रहरी चौकी पुट्टारका प्रमुख पदमबहादुर कुमालले जानकारी दिए । नदीमा बेपत्ता भएका सिग्देलको खोजी जारी रहेको स्थानीयवासी नारायण सिग्देलले बताए ।
रसुवा कारागारबाट पाँच जनाले आममाफी पाए काठमाडौं । संविधान दिवसका अवसर पारेर रसुवा कारागारमा रहेका ५ जना कैदीको सजाय मिनाहा गरिएको छ। रसुवाका ५ जना कैदीको सजाय मिनाहा भएको जिल्ला कारागार रसुवाले जानकारी दिए। निमित्त जेलर साङतेम्वा तामाङका अनुसार बहुविवाह,चोरी,कर्तव्य ज्यानका कारण जेल जीवन बिताइरहेका ५ जनालाई संविधान दिवसको अवसरमा आममाफी दिएका हुन् । रिहा हुनेहरूमा थुमी ७ गोरखाका कर्तव्य ज्यान मुद्दाका ३८ वर्षीय भरत खत्री, पाँचखाल ७ काभ्रेका चोरी मुद्दाका ३३ वर्षीय सरोज तिमिल्सिना, नुवाकोटको भद्रुटारका कर्तव्य ज्यान मुद्दाका ४० वर्षीय फुलमान तामाङ, सोही ठेगाना भई सोही मुद्दाका दोषी ४१ वर्षीय रामबहादुर तामाङ, र खैरहनी–३ चितवन घई भई बहुविवाहको मुद्दामा वन्दी जीवन बिताइरहेकी २६ वर्षिया प्रियंका सुवेदी रहेकी छन् ।
मान्छे ओसार्ने बसमा लागुऔषध काठमाडौं । नियन्त्रित लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट नियन्त्रित लागूऔषध डाईजोपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र नुफिन ८ एम्पुल सहित सिरहा लहान नगरपालिका ४ बस्ने २६ वर्षीय आनन्द प्रसाद दासलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । सिरहाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८८६९ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
रेडपाण्डाको दुई थान छालासहित पक्राउ काठमाडौं । प्रहरीले रेडपाण्डाको दुई थान छालासहित पक्राउ एक जनालाई पक्राउ गरेको छ। नलगाड नगरपालिका ५ कालिमाटीस्थित होटलबाट रेडपाण्डाको जस्तो देखिने २ थान छालासहित बारेकोट गाउँपालिका ५ नायकबाडा बस्ने १९ वर्षीय लोकेश परियारलाई प्रहरीले पक्राउ गरेको हो । उक्त होटलमा रेडपाण्डा जस्तो देखिने जनावरको छाला रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले होटलको १ सय २ नम्बर कोठा तालसी गर्दा परियारलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो। बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले होटलको १ सय २ नम्बर कोठा तालसी गर्दा परियारलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको बताइएको छ ।
डा. केसी प्रदर्शनमा सहभागी हुन अमेरिका पुगे काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता प्रा.डा. गोविन्द केसी अमेरिकामा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका पुगेका छन्। विश्व शान्ति दिवसका अवसरमा डा.केसी आज अमेरिका प्रस्थान गरेका हुन् । सोलिड्यारिटी फर डा.केसी एलाइन्स फर अमेरिकाका संयोजक सामाजिक अभियन्ता शिव प्रकाशका साथ उनी अमेरिकाको बोस्टन शहर पुगेका हुन् । २१, सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभा बस्ने दिन विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको केसीले विज्ञप्ति मार्फत जनाएका छन् । विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिदैं शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउँने उदेश्यले डा केसीको अगुवाइमा सेप्टेम्बर २० र २१ तारिखको १ देखि ४ बजेसम्म संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्क, अमेरिकामा शान्तिपूर्ण प्रदर्शन हुने भएको छ।
कैलालीमा ६ जना कैदीको सजाय मिनाहा काठमाडौं ।संविधान दिवसका अवसर पारेर कैलाली कारागारमा रहेका ६ जना कैदीको सजाय मिनाहा गरिएको छ। कैलालीका  ६ जना कैदीको सजाय मिनाहा भएको जिल्ला कारागार कैलालीले जानकारी दिए। संविधान दिवसको अवसरमा देशभरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन्। सोहीअनुसार कैलाली कारागारमा रहेका ६ जनाको कैद मिनाह गरिएको हो। कैलाली कारागारमा रहेका खेमा कुमारी अर्याल देवकोटा, चक्रबहादुर चौधरी, प्रेम सिंह साउँद, रामप्रसाद राना, कृष्ण कुमार चौधरी र कृष्ण शर्मा तिवारीको कैद सजाय मिनाहा भएको जिल्ला कारागार कैलालीका निमित्त जेलर बिरेन्द्र बहादुर बोहराले बताए। ५० प्रतिशत कैद भुक्तान गरेका ६ जनाको बाँकी कैद मिनाहा गरिएको उनले बताए।
नेपाल निजामती कर्मचारी संगठनमा गौतम काठमााडौं । नेपाल निजामती कर्मचारी सङ्गठनले रेवन्त गौतमको नेतृत्वमा १३९ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको छ । यही असोज २ गते काठमाडौंमा बसेको राष्ट्रिय भेलाले ११६ केन्द्रीय सदस्य, १७ पदाधिकारी, जिल्ला विभागका साथै लेखा, अनुशासनलगायत आयोग गठन गर्ने निर्णय गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष गौतमले विधमान उपलब्धिको रक्षा गर्दै कर्मचारीको अधिकारका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । सङ्गठनका नवनिर्वाचित महासचिव शरणकुमार गुरुङले तत्कालीन सरकारले गरेको कर्मचारी समायोजनलाई सच्याउन माग गर्दै सेवा प्रवाहलाई चुस्तदुरुस्त, निष्पक्ष, तटस्थरुपबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए । भेलाले सङ्घ, प्रदेश तथ स्थानीय तहमा ट्रेड युनियन अधिकारको सुनिश्चितताका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने, सङ्घीय निजामती ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन तत्काल जारी गराउन पहल गर्ने, कर्मचारीको पिरमर्का र गुनासो सम्बन्धित पक्षसम्म पुर्‍याउने निर्णय गरेको छ । भेलाले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल र सदस्य छत्रबहादुर शाह उपसचिव भई उक्त पद रिक्त भएकाले सो पदमा युनियनको विधान, २०६९ बमोजिम मोहनकुमार घिमिरेलाई अध्यक्ष र जयदेव जोशीलाई सदस्य पदमा प्रतिनिधित्व गर्न पठाउने निर्णय गरेको छ ।
“असोज तीन, कालो दिन !” काठमाडौं । संविधान दिवसको अवसरमा आइतबार नागरिक आन्दोलनले माइतीघर मण्डलदेखि संघीय संसद् भवन नयाँ बानेश्वरसम्म मार्च गरेको हो। संविधानका केही धारा विभेदकारी रहेको जनाउँदै नागरिक आन्दोलनले संशोधन गर्नुपर्ने माग गरेको छ। सभामा विभिन्न समुदायबाट प्रतिनिधित्व गर्दै विभिन्न वक्ताहरूले बोलेका थिए। उनीहरूले अहिलेको संविधान कसरी विभेदकारी छ भन्नेबारे बताएका थिए। सभामा सहभागीहरूले ‘असोज तीन, कालो दिन’, नश्लीय संविधान मुर्दावादलगायतका नारा लगाएका थिए। प्रदर्शनकारीहरूले यस्ता विभिन्न नारा लेखिएका प्ले कार्डहरू पनि बोकेका थिए।
आरोपीलाई पक्राउ गर्न खोज्दा झडप, ५ प्रहरी घाइते काठमाडौं । पूर्वी चितवनको राप्तीमा शुक्रबार राति ५९ वर्षीय कान्छा लामाको हत्या भएको छ । राप्ती नगरपालिका ९ शीतलपानीका लामाको हत्या आरोपित छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपमा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँचजना प्रहरी र दुईजना स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले बताए । शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेका लामालाई मल्लले रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पुरानो रिसईबीका कारण मदिरा सेवन गरी मल्लले लामाको हत्या गरेको एसपी अधिकारीले बताए । हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याँस प्रहार गर्नु परेको अधिकारीको भनाइ छ । घाइते प्रहरी निरीक्षक खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । राति नै अभियुक्त मल्ल र शवलाई भरतपुर ल्याइएको छ ।
ट्रेकिङ गाइडका लागि सहुलियतपूर्ण ऋण लिन आवेदन खुल्यो काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिडका कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । बोर्डले सूचना सार्वजनिक गर्दै रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुका लागि सहुलियतपूर्ण ऋण लिन ७ दिनको समय तोकी आवेदन खुल्ला गरेको हो। पत्रयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी खाता सञ्चालन, व्यवस्थापन तथा ऋण परिचालन समितिको सचिवालय नेपाल पर्यटन बोर्डले गाइडहरुले ऋण लिनुपूर्व पुरा गर्नुपर्ने शर्तहरु तोकेको छ । जस अनुसार ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने, कोभिड १९ महामारीपूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कायर्रत रहेको हुनुपर्ने, गाइडले संचालन गर्ने व्यसायको परियोजना प्रस्ताव पेश गर्नुपर्ने छ । गाइडहरुले ऋण लिनुपूर्व पुरा गर्नुपर्ने शर्तहरु निम्नानुसार हुनेछन् : (१) ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने (२) कोभिड-१९ महामारीपूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कायर्रत रहेको हुनुपर्ने। (३) गाइडले संचालन गर्ने व्यसायको परियोजना प्रस्ताव पेश गर्नुपर्ने ।
संविधान कार्यान्वयनको पक्षमा केही उदासिनता देखिएको छः डा. महतो काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले वर्तमान संविधानलाई संशोधन गर्नुपर्ने भएपनि यसको विकल्प खोज्न नहुने टिप्पणी गरेका छन् । उनले भने,‘यो रगतको छिटामा यो संविधान जारी भएको हो । यो कुरा हामीलाई थाहा नै छ । समानुपातिक–समावेशीताको सवालमा केही समेट्न खोजिएको हो। जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पनि राखिएको छ, मधेशवादी दलहरुले संविधानमाथि पूर्ण अपनत्व देखाएका छैनन् । अहिले उहाँहरुबाट कालो दिवस मनाउने क्रम जारी छ ।’ नेपालको संविधान–२०७२ युगानतकारी रहेको उनको भनाई छ । उनले भने,‘संघीयता र गणतन्त्रको मामिलामा युगान्तकारी छ । संविधानसभामा रहेका दलहरुले जनतालाई धेरै विश्वास दिलाएका थिए । राजनीतिक समस्या समाधान भयो, अब जनताका जनजिविकाको कुरा उठाउने भनेर । प्रदेशहरु असफल भएका छन् । संघपनि असफल भएको छ । ईमानदारितापूर्वक प्रदेश र स्थानीय तह बलियो होस भनेर संघले अधिकार प्रत्यायोजना गरेको छैन् ।’ उनले संविधानको कार्यान्वयनको पक्षमा केही उदासिनता देखिएको बताए । उनले भने,‘कार्यान्वयन गर्ने निकाय उदार हुनुभएन । देशको भन्दापनि दलगत स्वार्थ, दलभित्रपनि व्यक्तिगत स्वार्थ र दलमा पनि आफ्नो गुटको स्वार्थमा लाग्नुभएको हो । दलहरु विस्तारै गुट र गिरोहमा रुपान्तरण हुने क्रमको प्रारम्भ भएको छ । अहिले पनि धेरै समय बाँकी छ । अलिहेको सन्दर्भमा, न्यायापालिकाको साख पनि तिव्र गतिमा ह्रास हुँदै आएको छ ।’ उनले संविधानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए । तर, संविधानलाई विकल्पको रुपमा हेर्न नहुने उनको तर्क छ । उनले भने,‘अहिले जनतामा नैराश्यता छाएको छ। मधेशवादी दलहरुको मागलाई सम्बोधन गर्नुपर्छ । यो संविधान अहिलेपनि पूर्ण छैन् । संशोधन गर्ने ठाउँ छ । सुधार गर्दै जाने हो । दलका नेताहरुले व्यवहार र सोच मात्रै पनि परिवर्तन गर्ने हो भने, जनहितलाई केन्द्रमा राख्ने हो भने संविधान सफल हुन्छ ।’
सेवामैत्री कर्मचारी प्रशासन नै आजको आवश्यकता हो : कर्मचारी सङ्गठन काठमाडौं । सङ्गठनको कुनै पनि हैसियतमा नरहेका व्यक्तिहरुले अनधिकृतरूपमा हल्ला गरेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आपत्ति प्रकट गरेको छ । सङ्गठनका अध्यक्ष हरिबहादुर रावलले सङ्गठनको हितविपरीत काम गरेपछि गत चैत १६ गते नै कारबाहीमा परेका व्यक्तिले सङ्गठनको एकता र प्रवेशको प्रचार गरेको बताए । सङ्गठनले ट्रेड युनियनको मूल्य र मान्यताविपरीत गएर पद र सङ्ख्याको हल्ला गरेको, जिम्मेवारीमा नै नरहेकाले त्यस्तो प्रचार गराउनुको कुनै तुकसमेत नभएको अध्यक्ष रावलले जानकारी दिए । सङ्गठनको जिम्मेवारी र पदीय आचरणविपरीत काम गरेको भन्दै उपाध्यक्ष अम्बिका धमला र प्रभातप्रसाद साहसहितलाई गत चैत १६ गते नै कारबाही गरिएको अध्यक्ष रावलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक प्रशासनमा रहेको अर्थवादी ट्रेड युनियन प्रवृत्तिलाई विस्थापित गरी सामाजिक चेतनायुक्त आजको समस्या समाधान गर्ने कर्मचारी एवं सेवामैत्री कर्मचारी प्रशासन नै आजको प्रमुख कार्यभार रहेको उनको भनाइ छ । “हाम्रो सङ्गठनसँग असम्बन्धित व्यक्तिको नाम जोडेर भ्रम सिर्जना गर्ने काम कोही कसैबाट पनि नहोस्”, अध्यक्ष रावलले भने ।
लोकप्रिय गायिका विष्णु माझीलाई विभुषण प्रदान गरिदैँ काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका विष्णु माझीलाई सरकारले विभुषण प्रदान गर्ने भएको छ । सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ । उक्त विभुषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने तय भएको छ । विभुषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र नायिकामा भने केकी अधिकारीलाई पनि विभुषण प्रदान गरिने भएको छ । यसपटक विभुषित हुने सम्भवतः उनी एक्ली गायिका हुन् ।
दोलखामा बसको ठक्करबाट एकको मृत्यु काठमाडौं । दोलखाको भीमेश्वर नगरापालिका वडा नम्बर ७ मकैबारीमा भएको सवारी दुर्घटनामा २४ वर्षीय सन्तोष थामी ज्यान गएको छ। दोलखाको भिमेश्वर मन्दिर दर्शन गरी काठमाडौं फर्कन लागेको बा ३ ख ४७३३ नम्बरको बस र मकैबारीबाट आउँदै गरेको बा ९७ प ७९३१ नम्बरको मोटरसाइकल भीमेश्वर नगरपालिका–७ मकैबारीमा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का थामीको मृत्यु भएको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए। दुर्घटनामा परी भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीका ५० वर्षीया शारदा थामी र सोही स्थानका १९ वर्षीया सुजीता थामी घाइते भएका छन्।मोटरसाइकलमा तीन जना सवार रहेको र चालक थामीको मृत्यु भएको छ। घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आधिकारिक ट्रेड यूनियनको अध्यक्षमा घिमिरे काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरे आधिकारिक ट्रेड यूनियनको अध्यक्षमा चयन भएका छन्। तत्कालीन अध्यक्ष पुन्य ढकाल उपसचिवमा बढुवा भएपछि उपाध्यक्ष भोला पोखरेल आधिकारिक ट्रेड युनियनको कार्यवाहक अध्यक्ष थिए । त्यस्तै नेपाल निजामती कर्मचारी संगठनका निवर्तमान महासचिव रेवन्त गौतम संगठन अध्यक्ष चयन भएका छन्।
रेडपाण्डाको छालासहित चार पक्राउ काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत खजुरास्थित मानसरोवर होटलबाट एकथान रेडपाण्डाको छालासहित चार जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा, दैलखको ठाँटीकाध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए। तत्काल बयानका क्रममा उनीहरूले आफूहरू छाला पुर्‍याउनमात्र आएको बताएको उनले जानकारी दिए। यसका लागि उनीहरूले ५० हजार रूपैयाँ लिने सहमति गरेको बयानका क्रममा खुलेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए।
हजुरआमाको सुन लुट्न हँसिया प्रहार गरी हत्या, शव घिसार्दै बारीमा पुरे काठमाडौं । बझाङको दुर्गाथली गाउँपालिका–५ मा कानको मुन्द्रा लुट्न नातिले ८५ वर्षीया हजुरआमालाई हँसियाले हानेर हत्या गरेका छन् । रिखीदेवी जप्रेल भदौ २७ गतेदेखि बेपत्ता थिइन्। उनका छोरा सोही वडाका अध्यक्ष रामबहादुरले उक्त कुरा प्रहरीलाई जानकारी दिए। रीखीदेवी रामबहादुर बस्ने घरभन्दा करिब १ सय मिटर टाढा रहेको घरमा २३ वर्षीय नाति सुवाससँग बस्दै आएकी थिइन् । ‘म र मेरी बज्यै (हजुरआमा) सँगै एउटै घरमा बस्थ्यौँ । भदौ २७ गते बिहान ८/९ बजेको समयमा मैले उनलाई हँसियाले हानेको थिएँ । हँसिया प्रहारपछि रगतम्य भएकी बज्यैको कानमा रहेका २ र नाकमा रहेको १ गरी ३ वटा गहना निकालें । मेरो कपडामा पनि रगत लागेको थियो । मैलै त्यो कपडा फुकालेर शौचालयमा राखेर बजार गएँ । दिउँसो बजारमा त्यो सुन बेचेर आएपछि साँझ करिब ७ बजेतिर बज्यैको शवलाई घिसार्दै बारीमा लगे र खाल्डो खनेर पुरें,’ सुवासले प्रहरीसँगको बयानमा भनेका छन् ।
६४ किलो गाँजा बरामद काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुबा टोलबाट प्रहरीले ६४ किलो गाँजा बरामद गरेको छ। सोही ठाउँ बस्ने कोठारी यादवको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भारदहबाट र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले शुक्रबार राति उनको घर तलासी गर्दा प्लाष्टिकको बोरा भित्र बरामद गरेको हो। हाल फरार यादवको प्रहरीले खोजी गरिरहेको छ। सुनसरीको कोसी गाउँपालिका–७ स्थित कोशी नदीको किनारको झारीमा बेवारिसे अवस्थामा रहेको करिब ६० केजी अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ।
मलेसियाबाट एकैदिन ६ श्रमिकको शव र १५ जनाको अस्तु ल्याइयो काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ शव नेपाल ल्याइएको छ । यसैगरी १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । आज शनिबार नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृत्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शवबाहनमा शव पुर्याउने गर्दै आएको छ । जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ। उनले परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए। रायमाझीका अनुसार घर फर्किन विमानस्थल पुगेका उनी त्यही ढलेका थिए। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।
माधव र प्रचण्ड मधु-कैटव हुन्ः ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई मधु -कैटवको संज्ञा दिएका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आगामी चुनावमा प्रचण्ड र माधवकुमार नेपालको पार्टीसँग तालमेल नगर्ने प्रष्ट पारेका हुन् । उनले कतिपयले माधव कमरेड पार्टीमा आउनुस् भन्ने गरेको भन्दै आक्रोश पोखे । ५ सिट पनि नजित्ने माओवादी केन्द्रलाई तालमेल गरेर ३६ सिट जिताउँदाको परिणाम भोगिसकेको भन्दै उनले भने, ‘प्रचण्ड र माधव गुटसँग अब तालमेल हुँदैन ।’
जसपाले संविधान दिवसको कार्यक्रममा भाग नलिने काठमाडौं । संविधान दिवसको पूर्वसन्ध्यानमा शनिबार जसपा अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गरि संविधान दिवसमा सहभागी नहुने जनाएका छन्। “संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि उक्त दिन अर्थात् असोज ३ गते संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरूमा ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तरक्रिया आयोजना गरी उक्त संविधानमा रहेका विभेदकारी प्रावधानहरूको विरोध गर्न आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरूलाई आह्वान गरिन्छ,” अध्यक्ष उपेन्द्र यादवद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ । जसपाले नेपालको संविधान २०७२ ले मधेसी, आदिवासी जनजाति, दलितरशिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यकलगायतले उठाउँदै आएका मुद्दाहरूलाई सम्बोधन नगरेको भन्दै विरोध गर्दै आएको छ । सत्तारुढ दलका नेता यादवले संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायतत्ता, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरू अधुरो र अपूर्ण रहेको जनाएका छन्। नेपालको संविधान २०७२ ले मधेशी, आदिवासी जनजाति, दलितरशिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको जसपाले जनाएको छ।
नक्कली नेपाली नोटसहित दुई पक्राउ काठमाडौं । महोत्तरीबाट २२ हजार नक्कली नेपाली नोटसहित पिन्टुकुमार राय र अर्का एक बालक पक्राउ परेका छन् । पसलमा कारोबार गरिरहेको अवस्थामा सोधपुछ गर्दा वी आर ३० भी ९४८७ नम्बरको स्कुटीमा नक्कली नोट फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । औरही बजारबाट भारत बिहार राज्यको मनपौर ग्राम पञ्चायत बस्ने २१ वर्षीय  राय र अर्का एक बालक पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रदीप बस्यालले बताए । नक्कली नोटसहित पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भरतपुर अस्पताललाई ५० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग काठमाडौँ । भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई झन्डै ५० लाख बराबरको कोभिड १९ सम्बन्धित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालबाट अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी, मेसु डा कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण भएको हो । इसिजी मेसिनसहित कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री महानगरले हस्तान्तरण गरेको हो । सो अवसरमा भरतपुर महानगरप्रमुख दाहालले कोभिड–१९ को उपचारमा भरतपुर अस्पतालले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरिएको बताइन् । काठमाडौँलगायत विभिन्न जिल्लाबाट हेलिकोप्टरबाट कोभिडका बिरामी उपचारका लागि भरतपुर आएको भन्दै कोभिड उपचारमा कुनै कमी हुननदिएको उनको भनाइ थियो । स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्दै सेवालाई अझ बढी प्रभावकारीरूपमा प्रयोग गर्न उनले आग्रह गरिन् । मित्रराष्ट्र चीनको सिगात्से सिटी र बेइजिङ एग्रो बायोटिकले महानगरलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा मेसु डा कृष्णप्रसाद पौडेलले सबैको सल्लाह र सुझावअनुसार नै अस्पताललाई अगाडि बढाउने बताए । अस्पताल विकास समितिका सदस्य मुकुन्द दाहालले अस्पतालको विकासमा भरतपुर महानगरपालिकाको सहयोगले नै अस्पताल यहाँसम्म आइपुगेको बताए । कार्यक्रममा २०७८ सालको भरतपुर अस्पतालको पहिलो अंक बुलेटिनको विमोचनसमेत गरिएको थियो ।
पत्रकार र युवा उद्यमीमाथि निर्घात कुटपिट काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएका पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि आज निर्घात कुटपिट गरिएको छ । सामान्य विवादमा स्थानीयवासी सुरेश खत्रीको समूहले दुवै जनामाथि निर्घात कुटपिट गरेको हो । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको बताइएको छ । युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । कुटपिटबाट पत्रकार धामीको शरीरको भित्री भागमा चोट लागेको छ ।कुटपिटमा संलग्नमाथि कारवाहीको माग गर्दै पीडितद्वयले इलाका प्रहरी कार्यालय बेलडाँडीमा उजुरी दिएका छन् । इप्रका बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले कुटपिटमा सङ्लग्नको खोजी भइरहेको बताए । घटनाबारे छानबिन गरी दोषीलाई कारवाही गरिने उनले बताए । कुटपिटमा संलग्नमध्ये कोही पनि अहिलेसम्म पक्राउ परेका छैनन् ।
त्रिविले गर्यो नतिजा सार्वजनिक काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको छ। परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल चैत्र र २०७८ साल बैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह इन्जिनियरिङ्ग जियोलोजी विषय प्रथम वर्ष प्रथम शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आशिंक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।
हिताधिकारीका जायज माग सम्बोधन गर्न सङ्गठन तयारः प्रधानसेनापति काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले कल्याणकारी कोषमार्फत हिताधिकारीका जायज माग र अपेक्षालाई सम्बोधन गर्न सङ्गठन सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे । उनले द्वन्द्व तथा कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जाका एकल महिलासँग जङ्गी अड्डामा आज भेटघाट गरेर उद्यमशिल कर्जा सुविधाको उपभोग गर्दै स्वरोजगार र आत्मनिर्भर बन्न सुझाव दिए । प्रधानसेनापति शर्माले सङ्गठनको नेतृत्व लिएपछि पहिलो सम्बोधनमा वीरगती प्राप्त परिवार, एकल महिला, घाइते तथा फरक क्षमता भएका हिताधिकारीलाई अवसर र सेवा सुविधाको सीमा बढाउने विषयलाई प्राथमिकतामा दिने घोषणा गरेका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त समूहमा रहेका ८०० एकल महिलालाई सेनाले पारिवारिक निवृत्तिभरणको रुपमा वीरगतीतर्फ मासिक तीन हजार प्रदान गरिने छ । कर्तव्यपालना शीर्षकमा यही असोजदेखि दुई हजार ५०० र वीरगतीतर्फ मासिक रु तीन हजार ५०० प्रदान गरिने सेनाले जनाएको छ ।
‘लागूऔषध प्रयोग र ओसारपसार विश्वकै चुनौती’ काठमाडौं । आसरा सुधार केन्द्र रानीबारीको २५ औँ वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लागूऔषधको अबैध ओसारपसार र प्रयोग विश्वकै साझा चुनौती भएको बताएका छन् । उनले लागूऔषध उत्पादन, खरिद बिक्री, सञ्चय, ओसारपसार र उपभोगको वृद्धि हुँदै जानुले समस्या बढाइरहेको उल्लेख गर्दै कुलतमा फसेका युवालाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताए । लागूऔषध दुव्र्यसनमा फसेका मानिसलाई नयाँ जीवन दिन केन्द्र सफल भएको उनले बताए। सो अवसरमा केन्द्रका परामर्शदाता तथा बाह्य प्रशिक्षक, आसरा सुधार केन्द्र पानवारी धरान र महिला आसरा सुधार केन्द्र तिलगङ्गालाई प्रशंसापत्र प्रदान गरिएको थियो । समारोहमा केन्द्रकी पूर्व अध्यक्ष सीमा अर्याल, पूर्व प्रहरी नायव महानिरीक्षक विमला थापा र केन्द्रकी पूर्व सचिव रम्भा लामालाई सम्मान गरिएको थियो ।
दशैंका लागि नयाँ नोट असाेज ४ गतेदेखि वितरण हुने काठमाण्डौ । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट असोज ४ गतेदेखि वितरण गर्ने भएको छ । हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् । कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।
कांग्रेस डडेल्धुरामा विवादःछलफल गर्न देउवाले बोलाए बालुवाटार काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराको विवादित अधिवेशन विषयमा छलफल गर्न पौडेल समूहका नेताहरुलाई छलफलमा बोलाएका छन्। प्रधानमन्त्री देउवाको आफ्नै गृहजिल्ला डडेल्धुरामा विधान विपरित मनपरि ढंगबाट क्रियाशील सदस्यता बितरण भन्दै जिल्ला सभापति कर्णबहादुर मल्लले अधिवेशन बहिस्कार गरेका छन्। तर निर्वाचन समितिले मल्लको असहमति वाबजुतपनि भदौ २५ गते वडा अधिवेशन गरेपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अलोकतान्त्रिक ढंगबाट सत्ताको चरम दुरुपयोग गरेको भन्दै पुनःअधिवेशन गर्नुपर्ने माग राख्दै आएको छ। यही विषयमा छलफल गर्न प्रधानमन्त्रीले आज पौडेल समूहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन्।सभापतिजी ले प्रहरी परिचालन गरि वडाको अधिवेशन गराउनु भएको छ,लोकतन्त्रमा यस्तो कदम किमार्थ स्वीकाय हुँदैन। त्यहाँको विवाद अन्त्य गरेर पुनःअधिवेशन गर्नुपर्छ।त्यसलै यही विषयमा छलफल गर्न सभापतिले बैठक राख्नु भएको हो।हामी बैठकमा आफ्नो कुरा राख्छौँ।।’पौडेल समुहका एक नेताले भने। बैठक दिउँसो आज ३ बजे डाकिएको छ।
खुले सुपथ मूल्यका पसल, दुर्गममा हेलिकप्टरबाट खाद्यान्य आपूर्ति गरिने काठमाडौं । चाडपर्वलाई लक्षित गरी सरकारले सहुलियत मूल्यका पसल आज(शुक्रबार)देखि सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रादेशिक बिक्री केन्द्र थापाथलीस्थित सहुलियत मूल्य पसलको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले गरेका हुन् । थापाथलीस्थित सहुलियत मूल्य पसलको उद्घाटनसँगै देशैभर सरकारद्वारा संचालित अन्य सुपथ मूल्यका पसलहरु संचालनमा आएका छन् । उद्घाटन कार्यक्रमसँगै सचिव भट्टराईले सुपथ मूल्यका पसलहरु छठको भोलिपल्ट अर्थात् कात्तिक २४ गतेसम्म सञ्चालन गरिने जनाएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङसहितको सहभागितामा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सुपथ मूल्यका पसल सञ्चालनमा आएको सचिव भट्टराईले जानकारी गराए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट आज असोज १ गतेदेखि देशका ३९ जिल्लाका ४३ आउटलेटबाट सहुलियत मूल्यका पसल संचालन गरिएको र आवश्यक परेको खण्डमा थप विस्तार हुने जनाइएको छ । काठमाडौं उपत्यकामा जनताको सुविधाको लागि थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकका बिक्री काउन्टरबाट भौतिक उपस्थितीमा सामान बिक्री हुनेछ । साथै, अनलाईन सेवाबाट पनि छुटसहित निःशुल्क होम डेलिभरीको व्यवस्था मिलाइएको छ । काठमाडौंं उपत्यकामा वडादसैं पर्वमा मासुको मूल्यमा कार्टेलिङ रोक्न मकवानपुर, दाङ जिल्लाका किसानहरुबाट २ हजार गोटा खसिबोका र मुस्ताङबाट १ हजार गोटा च्याङ्ग्रा खरिद गरी ल्याउने तयारी भइरहेको जनाइएको छ । र, घटस्थापनासम्ममा खसिबोका काठमाडौं आइपुग्ने छ । सहुलियत मूल्य पसलमा चामल, दालमा प्रति केजी ५ रुपैयाँ, खाने तेलहरुमा ५ देखि १० रुपैयाँ, कर्णालीको सिमि र फापरको दानामा प्रति केजी १० र जिउदो खसि बोकामा प्रति केजी १० रुपैयाँ छुट दिई बिक्री गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी, दुर्गम जिल्लाहरुमा खाद्यान्न अभाव हुन नदिन हेलिकप्टर, हवाईजहाज र पैदल बाटो प्रयोग गरेर खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइएको सचिव भट्टराईले बताए । तस्बिरहरु : फुर्पा शेर्पा
झापामा ५०० शय्याको अस्पताल निर्माण गरिँदै झापा । जिल्लाकाे कमल गाउँपालिकामा ५०० शय्याको अस्पतालको निर्माण सुरु गरिएको छ। नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान थापाले जानकारी दिए। वडा नं ५, पाडाजुँगी चोकबाट पूर्व आदिवासी रङ्गशाला दक्षिण मूल राजमार्गसँगै जोडिएको तीन बिघा जग्गामा युवा व्यवसायी बुद्धिमान थापा, प्रताप कार्की र नसीम कार्कीले सो अस्पताल सञ्चालन गर्न लागेका हुन्। एक वर्षभित्रमा अस्पताल सञ्चालनमा आउने जनाउँदै अस्पतालका अध्यक्ष थापाले भने, “प्रारम्भिक चरणमा १०० शय्याबाट सुरु हुन्छ, मापदण्डअनुसार विस्तार गरेर ५०० शय्यासम्म पु¥याउँछाैँ।” अस्पतालको भौतिक संरचना निर्माण र स्वास्थ्य उपकरणमा रू एक अर्बभन्दा बढी खर्च हुने जनाउँदै उनले भवन निर्माणको ठेक्का सम्झौता भइसकेको र कुमारी बैंकको वित्तीय सहयोगसमेत लिएर निर्माण सुरु गरिने बताए। थापाले स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार भएको जनााउँदै भने, “झापाको यो मध्य भागमा सुविधासम्पन्न अस्पतालको आवश्यकता खड्किएर हामी यो अभियानमा जुटेका हौँ।” अस्पतालबाट झापालगायत इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमसहित मोरङका नागरिक लाभान्वित हुने विश्वास गरिएको छ। रवि–चिसापानी सडकखण्ड सञ्चालनमा आएपछि पहाडी जिल्लाका नागरिकलाई दूरीका हिसाबले बिर्तामोड पुग्नुभन्दा नजिक हुने अध्यक्ष थापाको भनाइ छ। विपन्न र असहायलाई समेत सहजरूपमा उपचार गर्ने अस्पतालका रूपमा भृकुटी अस्पताललाई स्थापित गराउने लक्ष्य रहेको सुनाउँदै उनले उपचार गर्न नसक्ने विपन्न एवं असाहय वर्गका लागि सक्दो सहुलियत दिने सेवाभावले अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताए। अस्पतालमा डायलायसिस, कार्डियो थेरापी, सर्जरी, न्यूरो सर्जरी, हाड जोर्नी, गाइनो, बालरोग, थेरापी, डेन्टल, रेडियोलोजी, प्याथोलोजीलगायत सबै सेवा उपलब्ध हुनेछ । स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार हो भन्ने कुरालाई मनन गर्दै स्थापना हुँदै गरेको यो अस्पताललाई पूर्वकै सबैभन्दा भरपर्दाे र ठूलो अस्पताल बनाउने आफूहरूको योजना रहेको अर्का सञ्चालक प्रताप कार्कीले बताए।रासस
कर्मचारी सञ्चय कोष : सूचना प्रविधिमा फड्को मार्दै काठमाडौं । कर्मचारी सञ्चय कोष धनगढी शाखाले सेवा प्रवाहलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनाउने रणनीति लिएको छ । कोषको ६०औँ वार्षिकोत्सव मनाउन आज धनगढीमा आयोजित समारोहमा कार्यालय प्रमुख राजेन्द्रविक्रम केसीले सेवा प्रवाहलाई प्रविधिमैत्रीसहित प्रभावकारी बनाउँदै सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि गर्ने रणनीति लिइएको बताए। ‘सहजरूपमा सेवा प्रवाहका लागि कोषले नवीनतम प्रविधिमा जोड दिइरहेको छ’, केसीले भने, ‘हालको सेवा तथा सुविधालाई थप परिष्कृत र दिगो बनाउने दिशामा कोषको आगामी योजना केन्द्रित हुनेछन् ।’ कोषले भावी योजना तय गर्दै प्रविधिमा आधारित सेवामा जोड दिने जनाएको छ । कोषले ‘केवाइसी’ अद्यावधिक गरेका सञ्चयकर्ताले अनलाइनमार्फत विशेष सापटी लिनसक्ने र सबै प्रकारका सापटीको साँवा तथा ब्याज आफ्नो बैंक खाताबाट सोझै सञ्चयकोषमा तिर्नसक्ने व्यवस्था गत वर्षदेखि सुरु गरिसकेको छ । कोषबाट कर्जा लिएका सञ्चयकर्ताको जग्गा रोक्का फुकुवाको कार्य आउने असोजदेखि अनलाइनमार्फत गर्न लागिएको छ । यो सेवासँगै रोक्का फुकुवा र धितो पासका लागि सञ्चयकर्ता मालपोत जानुपर्ने बाध्यता हट्नेछ । आजदेखि घर खरिद कर्जालाई परिमार्जन गर्दै ‘घरजग्गा खरिद कार्यक्रम’ सुरु गरिएको छ । महालेखा नियन्त्रक कार्यालयसँगको सहकार्यमा कोषले विद्युतीय प्रणालीमार्फत फाँटबारी सङ्कलनलाई निरन्तरता दिइरहेको छ । यस्तै सङ्घ र प्रदेश कार्यालयका स्थायी कर्मचारीको तलबी विवरण तयार गर्दा नै अनिवार्यरूपमा कोषको परिचयपत्र नम्बरका आधारमा रुजु गरी सञ्चयकोष रकम पठाउन सकिने व्यवस्था गरिएको छ । डिजिटल परिचयपत्रको सुरुआत, आधुनिक कल सेन्टर सञ्चालन, रियलटाइम रिकन्सिलियसन, हरेक कारोबारको एसएमएस जानकारी दिने व्यवस्था जस्ता कार्य भइरहेको जनाइएको छ । प्रविधिप्रतिको बढ्दो निर्भरताले वित्तीय प्रणालीमा जोखिमसमेत बढेकाले कोषले अत्याधुनिक डाटा सेन्टर स्थापना गरेको कार्यालय प्रमुख केसीले बताए। रु चार खर्ब ४४ अर्बभन्दा बढी स्रोत रहेको कोषले मुलुकको आर्थिक तथा पूर्वाधार विकासमा रकम परिचालन गरी सोको उच्चतम प्रतिफलबाट सञ्चयकर्ता लाभान्वित भइरहेको जनाइएको छ । सरकारी कर्मचारीका लागि लागू भएको योगदानमा आधारित निवृत्तभरण (पेन्सन) फण्डको व्यवस्थापनसमेत कोषमार्फत हुँदै आइरहेको छ । कोषले शाखा कार्यालयमार्फत सञ्चयकर्तालाई सहुलियत दरमा विशेष सापटी, घरजग्गा खरिद तथा निर्माण सापटी, घर मर्मत सापटी, शैक्षिक सापटीलगायत कर्जा प्रदान गरिरहेको छ । सञ्चयकर्ताको सञ्चयकोष तथा निवृत्तिभरण कोषमा छ दशमलव ५० प्रतिशत ब्याजका साथै एक प्रतिशत मुनाफासमेत वितरण गरिरहेको छ । कोषले सञ्चयकर्तालाई साधारण रोग लागी उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्षमा रु एक लाखसम्म र घातक रोगको उपचारको हकमा सेवा अवधिमा अधिकतम रु १० लाखसम्म सोधभर्ना प्रदान गर्ने गरेको छ । यस्तै सुत्केरी तथा शिशु हेरचाह खर्चबापत रु सात हजार ५००, दुर्घटना क्षतिपूर्तिबापत रु दुई लाख, काजकिरिया अनुदानबापत हकवालालाई रु ४० हजार प्रदान गर्ने गरिएको कोषले जनाएको छ । कोषद्वारा सुदूरपश्चिमका सञ्चयकर्तालाई लक्षित गरी धनगढी शाखामार्फत विसं २०६१ देखि सबै प्रकारका सेवा शुरु गरिएको थियो । शाखाको स्थापनापश्चात् कोषको सेवा लिन केन्द्रमा जानुपर्ने सञ्चयकर्ताको झन्झट हटेको छ । धनगढी शाखाबाट सुदूरपश्चिम क्षेत्रका करिब एक लाख सञ्चयकर्ता लाभान्वित भइरहेको बताइन्छ ।
गुण्डा नाइके समीरमानका भतिज अभिमानसिंह बस्नेत पक्राउ काठमाडौँ । गुण्डा नाइके समीरमानसिंह बस्नेतका भतिज अभिमानसिंह बस्नेत पक्राउ परेका छन् । नेपालगन्जका एक युवालाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा बस्नेत पक्राउ परेका हुन् । उनलाई अपराध महाशाखाको टोलीले काठमाडौको सोल्टीमोडबाट पक्राउ गरेको हो । उनले दुई हप्ताअगाडि कालिमाटीमा नेपालगञ्जका हेमराज शाहीमाथि खुकुरी प्रहार गरी घाईते बनाएका थिए । प्रहरीका अनुसार बस्नेतसहित ६ जनाको टोलीले हेमराज शाहीमाथि खुकुरी प्रहार गरेका थिए । शाहीमाथि खुकुरी प्रहार गर्नेमा चार जना युवती छन् । युवतीहरु भने पक्राउ परेका छैनन । समीरमान बस्नेत निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचन हत्या अभियोगमा कारागारमा छन् ।
उत्कृष्ट अनुसन्धान गर्ने पाँच जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत काठमाडौं । संखुवासभा मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको छ । पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक अरूण कुमार वि.सी., नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भिम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लाल ध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक मणिराम थापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ रहेका छन् । अपराध अनुसन्धानमा प्रशंसनीय एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहरुको कार्य सम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी उनीहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी प्रहरी प्रधान कार्यालयले उनीहरूलाई बिहीबार नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो । साथै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतले उक्त घटनाको सफल अनुसन्धानमा इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गर्ने आआफ्ना कार्यालय मातहतका प्रहरी कर्मचारीहरूलाई समेत पुरस्कृत गरेका छन् ।
डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका जाँदै काठमाडौं । डा. गोविन्द केसी विश्व शान्ति दिवसका अवसरमा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिकी प्रस्थान गर्दै छन्। स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि आन्दोलन गर्दै आएका डा. केसी बिहीबार अमेरिका जान लागेका हुन्। दुईदिने सामूहिक सत्याग्रह’ को अवधारणा लिएर डा. केसी बिहीबार न्यूयोर्क जान लागेका हुन् । उनको अगुवाइमा सेप्टेम्बर २० र २१ मा दिनको १ देखि ४ बजेसम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन हुने भएको बताइएको छ । प्रदर्शनीमा संसारभर डरलाग्दो समस्याका रुपमा बढ्दै गरेको जलवायु परिवर्तनलगायत सबैका लागि स्वास्थ र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराइने जनाइएको छ।
राष्ट्रिय विज्ञान दिवस मनाउने सरकारको तयारी काठमाडौं । राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष असोज १ गतेका दिन नेपालभर मनाइने गरिन्छ । देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्नका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले प्रत्येक वर्षको असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाइन्छ । विज्ञान तथा प्रविधिका क्षेत्रमा अहिलेसम्म भए गरेका प्रगतिबारे जनचेतना फैलाउनका साथै देशभित्र विज्ञान, प्रविधि र नवप्रवर्तन भित्र्याउन विज्ञान कूटनीतिमार्फत पहल गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विज्ञान तथा प्रविधिसचिव डा सुरेश आचार्यले विज्ञान तथा प्रविधिका विभिन्न खोज अनुसन्धानकाका साथै आविस्कारबारे जानकारी गराउन दिवस मनाउन लागिएको बताए । सचिव आचार्यका अनुसार दिवसका अवसरमा वैज्ञानिक खोजमा संलग्न नवप्रतिभालाई प्रोत्साहनका साथै यस क्षेत्रमा योगदान गरेकालाई सम्मान तथा पुरस्कार वितरण गरिने छ । युवा जनशक्तिलाई स्वदेशमा रहेर रोजगारीको वातावरण सिर्जना गरी प्रतिभा पलायनको प्रवृत्तिलाई न्यूनीकरण गर्न दिवस उपयोगी हुनेछ । ‘विज्ञान र प्रविधिको उन्नत विकासः प्रकोप र महामारीबाट सहज निकास’ भन्ने मूल नाराका साथ मनाइने दिवसमा विज्ञान पत्रकारिता, एरोनोटिकल प्रविधि, अन्तरिक्ष प्रविधि, विपद् न्यूनीकरणसम्बन्धी प्रविधि र जैविक प्रविधिविधामा पुरस्कार घोषणा गरिने छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो ।
बलात्कारपछि गर्भपतन गराएको आरोपमा युवक पक्राउ काठमाडौं । बालिका बलात्कारको आरोपमा प्रहरीले आकाश झालाई पक्राउ गरेको छ । जलेश्वर नगरपालिका–९ का २४ वर्षका झाले घरमा काम गर्ने १५ वर्षकी बालिका बलात्कार गरेको र बलात्कारबाट रहेको गर्भपतन गराएको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । झालाई उनलाई पीडित पक्षको उजुरीको आधारमा झालाई घर नजिकैबाट पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए । पक्राउ परेका झाविरुद्व अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।