content
stringlengths
20
64.1k
९ वर्षमा विश्वका ९ ठूला सहर समुद्रमा डुब्ने जोखिममा काठमाडौं। ग्लोबल वार्मिङका कारण विश्वका कैयौं ठूला सहर २०५० देखि २१०० सम्म डुब्नेछन् । तर, सबेभन्दा धेरै खतरा आगामी ९ वर्षमा विश्वका ९ ठूला सहरहरुलाई छ । यी सहरहरु समुद्री जलस्तर र बाढीका कारण डुब्न सक्छन् । क्लाइमेट सेन्ट्रल नामक परियोजनाले ग्लोबल वार्मिङका कारण बढ्दो खतरामाथि एक रिपोर्ट तयार गरेको छ । यो रिपोर्टमा यी सहरहरु डुब्ने जोखिम औंल्याइएको छ । १. नेदरल्याण्डको एम्सटर्डम नेदरल्याण्डको राजधानी एम्सटर्डम, रटरडम र हग जस्ता सहसहरु कम उचाइमा छन् । यी सहरहरु नर्थ सीको नजिक छन् । यो देश बाढीबाट बचाउ र आफ्नो प्रविधिका लागि विश्वमै प्रसिद्ध छ । तर, जुन हिसाबले समुद्री जलस्तर बढिरहेको छ त्यसलाई हेर्दा यो देशका केही सुन्दर सहर बच्छन् जस्तो देखिँदैन । कुनै पनि बाँध, बेरियर, फ्लडगेटले यी सहरलाई बचाउन सक्ने छैनन् । तर, यिनीहरुको प्रविधिलाई सुधार गरियो र अपग्रेड गरियो भने सहरहरुलाई केही समयको लागि बचाउन सकिन्छ । २. इराकको बसरा इराकको मुख्य बन्दरगाह बसरा शत अल अरब नामको ठूलो नदीको किनारमा छ । शत अल अरब नदीमा पारसको खाडी मिसिन्छ । कैयौं नहरहरु र ब्याक वाटर च्यानलको माध्यमबाट यो सहर खाडीसँग जोडिएको छ । यसका कारण यो सहरको आसपार धेरै दलदल क्षेत्र पनि छ । यदि समुद्रको जलस्तर बढ्यो भने यो सहर खतरामा छ । सबैभन्दा ठूलो समस्या पानीबाट हुने रोगहरुबाट बसरा सहर जुधिरहेको छ । यदि बाढी आयो भने यो सहरमा धेरै नोक्सान हुन सक्छ । यो सहर नक्साबाट हराउन पनि सक्छ । ३. अमेरिकाको न्यू ओरलिन्स अमेरिकाको न्यू ओरलिन्स सहरको बीचबाट नहरहरु र जलीय शाखाहरुको छाल फैलिएको छ । यो जालले यो सहरलाई बाढीबाट बचाउँछ । यसको उत्तरमा लेक मरेपस, दक्षिणमा लेक साल्भाडोर र एउटा सानो ताल छ । यदि यो सुरक्षा जाल भएन भने न्यू ओरलिन्समा भारी विनाश हुन सछ । तर, यसका बावजुद समुद्रको जलस्तर बढ्यो भने यो सहरको लागि खतरा छ । सहरको द बिलोक्सी र जिन लेफिटे वाइडलाइफ प्रिजर्भलाई धेरै खतरा छ । यी आरक्षहरु पानीको सतहबराबर छन् । थोरै पानीको स्तर बढे यिनीहरु डुब्नेछन् । ४. इटलीको भेनिस इटलीको भेनिस सहर पानीको बीचमा बनेको छ । यहाँ हरेक वर्ष हाइ टाइडले बाढी आउँछ । यो सहरमा २ किसिमको खतरा छ । पहिलो समुद्री जलस्तर बढ्ने र दोस्रो यो सहर आफैं डुबिरहेको छ । हरेक वर्ष २ मिलिमिटर तल भासिइरहेको छ । न्यू ओरलिन्समा जस्तै भेनिसमा बाढीबाट बचाउको लागि प्रविधि लगाइएको छ, बाढी प्रतिरोधी व्यवस्था गरिएको छ तर पनि यहाँ हरेक वर्ष बाढी आउँछ । यदि समुद्रको जलस्तर बढ्यो भने २०३० सम्म यो सहर पानीभित्र डुब्नेछ । With sea levels rising worldwide, several major metropolises are at risk of being submerged 🌊https://t.co/WdpqaKBaMy — Time Out London (@TimeOutLondon) November 3, 2021 ५. भियतनामको हो चि मिन्ह भियतनामको पूर्वी क्षेत्रमा रहेको यो सहर पूर्ण रुपमा समतल छ । समुद्र तलबाट यसको उचाइ धेरै छैन । यो सहर थु थियेम नामको दलदली जमिनमा बसेको छ । यसलाई सबैभन्दा ठूलो खतरा मेकोंग डेल्टासँग छ । यो डेल्टाको जलस्तर लगातार बढिरहेको छ । वैज्ञानिकहरुलाई हो चि मिन्ह २०३० सम्म पानीभित्र डुब्ने आशंका छ । यो सहर पनि भेनिस र न्यू ओरलिन्स जस्तै पानीभित्र डुब्न सक्छ । ६. भारतको कोलकाता भारतको पश्चिम बंगालको राजधानी कोलकाता र त्यसको आसपासको जमिन शताब्दीऔंदेखि निकै उर्वर मानिएको छ । तर, यदि क्लाइमेट सेन्ट्रलको नक्सा हेर्ने हो भने यो सहरको लागि पनि समुद्री जलस्तर बढ्ने खतरा निकै धेरै छ । यो सहर पनि हो चि मिन्ह सहरजस्तै मनसुनको वर्षा र हाइ टाइडको समस्यासँग जुधिरहेको छ । यहाँ वर्षाको समयमा बाढी आउँछ । जमिनले बाढीको पानी सोस्दैन । यसको नजिक रहेको ठूलो डेल्टा षेत्र यसको लागि खतरा हुन सक्छ । ७. थाइल्याण्डको बैंकक थाइल्याण्डमा पर्यटनको लागि प्रसिद्ध सहर बैंकक ग्लोबल वार्मिङबाट अत्यन्तै धेरै प्रभावित छ । थाइल्याण्डको यो राजधानी सहर समुद्री जलस्तरबाट केवल १.५ मिटर माथि छ । यो सहर पनि भेनिसजस्तै हरेक वर्ष २ देखि ३ सेन्टिमिटर भासिइरहेको छ । यो पूरै सहर बलौटे माटोमा बनेको छ । २०३० सम्म यसका तटीय क्षेत्र था खाम र समुत प्रकान पूरै पानीभित्र डुब्न सक्छन् । साथमा सुवर्णभूमिमा रहेको यो सहरको विमानस्थल पनि डुब्न सक्छ । ८. गुएनाको जर्जटाउन गुएनाको राजधानी जर्जटाउनले समुद्री बाढीबाट बच्न आफ्नो चारैतिर पर्खाल बनाउको छ । यसको एकातर्फ करिब ४०० किलोमिटर लामो समुद्री क्षेत्र छ जहाँ निकै तीब्र छालहरु उठ्छन् । यसको तटको उचाइ ०.५ मिटरदेखि १ मिटर छ । तर, हाइ टाइडको समयमा यो उचाइको कुनै अर्थ छैन । समुद्रको पानी पर्खाल पार गरेर सहरभित्र आउँछ । गुएनाको ९० प्रतिशत जनसंख्या समुद्र किनारमा बस्छन् । ९. अमेरिकाको सभाना अमेरिकाको जर्जियामा रहेको सभाना सहर हरिकेनको मुख्य केन्द्रविन्दु हो । यहाँ हरेक वर्ष हरिकेन आउँछन् । हरेक वर्ष प्राकृतिक विपत्तिसँग जुध्ने यो सहर चारैतिरबाट समुद्रले घेरिएको छ । सहरभित्र उत्तर दिशामा सभाना नदी छ र दक्षिणतर्फ ओगची नदी छ । जसका कारण यसको आसपास धेरै दलदल षेत्र छ । यो सहर पूरै डुब्न २०५० सम्म लाग्ने अनुमान गरिएको छ तर २०३० सम्म यहाँ धेरै विपत्तिहरु आउनेछन् ।
पहिरोले सडक अवरुद्ध हुँदा नवदुर्गा ३ का स्थानीय सास्ती भोग्दै काठमाडाैं ।गत असोज ३१ गते आएको अविरल वर्षाका कारण डडेलधुरा अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा स्थानीय आवतजावतमा सास्ती भोग्दै आएका छन् । जिल्लाको नवदुर्गा गाउँपालिकाको चिल्फि, कुरगेडी, सकायललगाएतका गाउँ जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ। तर, स्थानीय तहले सडकमा गएको पहिरो नहटाइदिँदा सर्वसाधारणले समस्या भोग्नु परिरहेको हो । दैनिक उपभोग्य खाद्यान्नको अभाव भएर स्थानीयले चर्को मूल्यमा खरिद गर्नु पर्ने अवस्था आए पनि गाउँपालिका बेखबर रहेको स्थानीयको गुनासो छ । बाटो अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले थप सास्ती भोग्ने गरेको स्थानीय दीपेन्द्र विष्टले बताएका छन्। खाद्यान्न खरिद तथा स्थानीय उत्पादन बिक्रीका लागि पैदलयात्रा गर्नुपरेको उनको गुनासो छ । बाटो मर्मत गर्न स्थानीय सरकार र अन्य सरोकारवालाको अझैसम्म ध्यान नगएको स्थानीय बताउँछन् । यता गाउँपालिकाका उपाध्यक्ष डम्बरी ओलीले गाउँपालिकाले सडक सुधारका लागि दुई वटा जेसीवीलगाएको बताएकी छन् । बीचमा जेसीवी बिग्रिएर सडक सुधार गर्न समस्या भएको उनको भनाइ छ। छिट्टै वडाभरिका सबै सडक सञ्चालनमा आउने उनले बताइन् ।
पाल्पामा रुख ढलेर एकको मृत्यु काठमाडाैं ।पाल्पामा रुख ढलेर लाग्दा एकको मृत्यु भएको छ । आज बिहान तानसेन नगरपालिका– १४ बस्ने ५० वर्षीय लक्ष्मणप्रसाद पाण्डेको बरको रुख ढलेर लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घरदेखि तानसेन–१३ छेर्लुङ आफन्तकामा जाँदै गर्दा कालीगण्डकी करीडोरअन्तर्गत कुरुङखोला तर्ने क्रममा अचानक रुख ढल्दा लागेर पाण्डेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु काठमाडाैं ।बिपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गङ्गटे पुल नजिक आज टाटा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–५ का ३३ वर्षीय सुन्धिर मिश्र रहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । सिन्धुलीबाट स१०प ३९९३ नम्बरको मोटरसाइकलमा बर्दिबासतर्फ आउँदै गरेका मिश्रलाई बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ना१ज ५७४७ नम्बरको टाटासुमोले ठक्कर दिएको हो । गम्भीर घाइते मिश्रको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टाटा सुमोका चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा अनुसन्धानका लागि राखिएको छ ।
पोखराको लेकसाइडमा १४औँ भाइटीका महोत्सव हुने गण्डकी । पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आगामी शनिबार १४औँ भाइटिका महोत्सव– २०७८ आयोजना गर्ने भएको छ । पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा महोत्सवको आयोजना गरिने भएको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै कोभिड महामारीबीच पनि पर्यटन क्षेत्रमा आशा छर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्ने तयारी भइरहेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड–१९ का कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले आपसी भाइचारा अभिवृद्धि गर्दै पर्यटन प्रबद्र्धनमा महोत्सवले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रम टीकाको दिन अपरान्ह् २ बजेर ३० मिनेटमा सुरु गरिने जनाएको छ । विगत दुई वर्षदेखि यस्तो महोत्सव हुन नसकेकोमा यस पटक १४औँ भाइटीका महोत्सवको रुपमा विदेशी पर्यटकलाई टीका लगाउने कार्यक्रम राखिएको महोत्सवका संयोजक एवं सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठको भनाइ छ । महोत्सवका २० भन्दा बढी विदेशी पर्यटक सहभागी हुने अपेक्षा राखिएको छ ।
फालिएको नवजात शिशुको उद्धार काठमाडाैं । धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ । सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको हो । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ । शिशु कसको हो भने खुल्न नसकेको बताइएको छ । नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।
पटाकासहित पक्राउ काठमाडौं ।काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित शनी कस्मेटिक पसलका सञ्चालक पक्राउ परेका छन् । भारत मोतिहारीका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई पटाकासहित आज प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उनको पसलबाट करिब २३ किलो कोब्रा पटाकासमेत बरामद गरिएको छ । हाल उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रधानसेनापतिद्वारा चिसापानीगढी संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास काठमाडौं ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको शिलान्यास गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भीमफेदी गाउँपालिकाको संयुक्त लगानीमा निर्माण तथा संरक्षण गर्न लागिएको गढी क्षेत्रको उनले बुधवार शिलान्यास गरेका हुन् । प्रधानसेनापति शर्माले चिसापानीगढी आकर्षक र कलात्मक संरचना निर्माण गर्न लागिएकोमा खुशी व्यक्त गरे । उनले चिसापानीगढीसहित देशभरका गढीले देशको सीमा सुरक्षाको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै यसको संरक्षण गर्न आवश्यक रहेको उल्लेख गरे । लामो समयदेखि राज्यको नरजमा पर्न नसकेको सो गढीको संरक्षणमा अहिले भीमफेदी गाउँपालिकाले सक्रियता देखाएको भन्दै उनले नेपाली सेनाले पनि आवश्यक सहयोग गरेको बताए । राज्यपक्षले यस्ता गढीलाई राष्ट्रिय गौरवको आयोजनाकै रूपमा राखेर प्रविधियुक्त संरचना बनाई भावी पुस्तालाई इतिहास अध्ययनको लागि वातावरण तयार पार्नुपर्ने उनले बताए । उनले ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको गढी अब देशैकै उत्कृष्ट गढीका रूपमा पर्यटकीयरूपमा चर्चामा आउने समेत बताए ।जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले तत्कालीन समयमा व्यापारिक नाकाको रूपमा रहेको यस गढीको संरक्षण र विकासका लागि आफू र आफ्नो बलबुताले भ्याएसम्म सहयोग गर्न तयार रहेको बताए । उनले चिसापानीगढी अब नयाँ पुस्ताको लागि अध्ययनको एउटा राम्रो गन्तव्य बन्ने र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिने उल्लेख गरे । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गाउँपालिका उपाध्यक्ष पावर्ती राना, सुरक्षा निकायका उच्च पदस्थ अधिकारी लगायतको उपस्थिति थियो । गढी निर्माणका लागि चालू आर्थिक वर्षमा मात्रै ५ करोड रुपैयाँ विनियोजना भइसकेको छ । ठेक्का सम्झौतामार्फत विक्रम संवत् २०८० साल भित्रमा संरचना निर्माणको काम सम्पन्न गरिसकिने भीमफेदी गाउँपालिकाले जनाएको छ । चालू आवमा मुख्य प्रवेशद्वारामा कलात्मक गेट निर्माण गरिने, सो क्षेत्रमा कम्पाउण्ड वाल निर्माण गरिने, नेपालको नक्सा तयार गरिने, इनारको पुनः निर्माण गरिने, तथा बटुक भैरव मन्दिरको संरक्षण गरिने गाउँपालिकाको योजना रहेको योजना प्रमुख बद्र्री सापकोटाले जानकारी दिए । सो आयोजनाको लागि २८ लाख रुपैयाँको गुरुयोजना तयार गरी काम अघि बढाइएको उनको भनाइ छ ।
अपराध अनुसन्धानमा उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत काठमाडौं । नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ । यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको केनाइन महाशाखा महाराजगञ्जमा आज आयोजित कार्यक्रममा महाशाखाकी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा देउती गुरुङले कुकुर पुजा एवं पुरस्कृत गरेको हो । यस वर्ष अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुर ‘जम्बो’, हाइजम्पतर्फ उत्कृष्ट हुने कुकुर ‘रिया’, रनिङतर्फ उत्कृष्ट हुने कुकुर ‘कालु’ लाई पुरस्कृत गरिएको छ । सोही अवसरमा यसवर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई समेत एसएसपी गुरुङले पुरस्कार प्रदान गरे । कार्यक्रममा महाशाखाका प्रहरी कर्मचारी र कुकुरले हातहतियार तथा विष्पोटक पदार्थको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार, रिमोट कन्ट्रोल कला र खोजी तथा उद्धारलगायत कार्यको प्रदर्शनी गरिएको थियो । नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र परिणाममुखी बनाउने उद्देश्यले विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोजकार्यमा तालिम प्राप्त कुकुरको प्रयोग हुँदै आएको छ ।
पेस्तोल सहित एक पक्राउ काठमाडौं ।कपिलवस्तुमा एक व्यक्ती पेस्तोल र लागुऔषध सहित पक्राउ परेका छन् । मायादेवी गाउँपालिका–८ स्थित गएराती मायादेवी गाउँपालिका–६ डुमरा घर भएका २२ वर्षीय फेराज अहमद मुसलमानलाई बिजुवा चोकबाट पेस्तोल र लागुऔषध सहित पक्राउ गरेको हो । भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतार्फ आएका फेराजको साथबाट प्रहरीले १ थान पेस्तोल, २८ वटा कार्टिज र लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिए। आरोपीको साथबाट ४२ चक्की स्पास्मो र २१ चक्की नाइट्राजेपाम बरामद गरिएको छ ।
प्रदेशको नामकरण पहिलो प्राथमिकताः मुख्यमन्त्री राई मोरङ । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । मुख्यमन्त्री पदको शपथ ग्रहण समारोहपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले प्रदेशको नामकरण अहिलेसम्म हुने नसकेकाले यो वर्तमान सरकारको पहिलो प्राथमिकता रहने छ भने । मुख्यमन्त्री राईले यही कात्तिक २५ गतेभित्र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी पनि दिए । उनले सरकार सञ्चालनका लागि गठबन्धन दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरिने जानकारी दिदैं गठबन्धन दलबीच छलफल पछि पुनः बजेट ल्याउन सकिने धारणा व्यक्त गरे। मुख्यमन्त्री राईले विकासका कामलाई प्राथमिकता दिन योजना छनोटमा प्रदेश सदस्यको महत्वपूर्ण भूमिका हुनेछ भने ।
१६ वर्ष बित्दा पनि बनेन बेलहिया नाकामा आइसिपी बुटवल । रुपन्देहीको बेलहिया नाकामा एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको प्रक्रिया थालिएको १६ वर्ष पुगेको छ । तर, आइसिपी निर्माण अघि बढ्नुको साटो अलपत्र छ । सीमानाकामा आइसिपी नहुँदा आयात निर्यात सहज हुन सकेको छैन । आयात–निर्यातमा सहजता प्रदान गर्नभन्दै सन् २००५ मा नेपाल–भारतबीच सीमानाकामा आइसिपी निर्माण गर्ने सहमति भएको थियो । सहमति अनुसार भारत सरकारको लगानीमा दुई देशका मुख्य नाकाहरू नेपालगञ्ज, विराटनगर, विरगञ्ज र भैरहवा नाकामा आइसिपी निर्माण भइसक्नु पर्ने हो । विरगञ्ज र विराटनगरमा आइसिपी निर्माण भई सञ्चालनमा आएको छ । नेपालगञ्जमा निर्माण प्रक्रियाअघि बढे पनि भैरहवामा भने भारतीय पक्ष उदासीन बनेको छ । नेपाल सरकारले बेलहिया नाकामा ५२ बिगाहा जमिन अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेको छ । आइसिपीका लागि नेपालतर्फ जमिन बाहेक सम्पूर्ण लगानी भारतीय पक्षले गर्ने सम्झौता छ । नेपालतर्फ अधिग्रहण गरिएकोमध्ये करिब १८ बिगाहा जमिन भैरहवा भन्सारको भौतिक व्यवस्थापनको जिम्मा लिएको ट्रान्स नेपाल फ्रेड सर्भिस प्रालिले सुख्खा बन्दरगाहका रूपमा प्रयोगमा ल्याए पनि बाँकी जमिन गौचरणमा प्रयोग हुँदै आएको छ । भारततर्फ आइसिपी निर्माण गर्ने भनिएको क्षेत्रमा पाँच तल्लासम्मका बाक्ला घर छन् । संघीय आयोजना कार्यान्वयन इकाई भैरहवाका आयोजना प्रमुख राजेन्द्रप्रसाद पाण्डेयका अनुसार भारतले दुई वर्षअघि नै आवश्यक जमिन अधिग्रहण गरेको भनिए पनि त्यसबारे आधिकारिक जानकारी नेपाललाई दिएको छैन भने बाँकी काम पनि अगाडि बढाइएको छैन । ‘भारतीय पक्ष उदासीन हुँदा निर्माणमा ढिलाइ भएको हो’, उनले भने । बेलहिया नाका हुँदै दैनिक ४–५ सय मालवाहक सवारी आउजाउ गर्छन् । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले सवारी चाप बढेपछि जाम हुँदा जाँचपास गराउन समेत धेरै समय लाग्ने गरेको बताए । ‘यसले व्यवसायीलाई डेमरेज र डिटेन्सन चार्ज बढी तिर्नु परेको छ भने त्यसको प्रत्यक्ष मारमा उपभोक्ता छन्’, उनले भने । नियमानुसार भारतमा सामान लोड भएको एक साताभित्र मालवाहक सवारी नेपाल प्रवेश गरिसक्नु पर्ने हुन्छ । सीमा पार नगरे दैनिक एक हजार भारु डिटेन्सन चार्ज र नेपाल आएर एक दिनमा भन्सार पास नभए सवारी लोडका आधारमा तीन सयदेखि एक हजार ६०० रुपैयाँसम्म डेमरेज चार्ज तिर्नुपर्छ । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुलप्रसाद न्यौपानेले अहिले भारतबाट नेपाल प्रवेश गर्न मालवाहक सवारीलाई १०–१५ दिन लाग्ने गरेको बताए । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार सुरुमा आइसिपी निर्माण गर्न भारतीय रुपैयाँ दुई अर्ब ३७ करोड ५३ लाख लागत लाग्ने भनिए पनि अहिले उक्त लागतमा निर्माण असम्भव छ । आइसिपी निर्माणका लागि अहिलेसम्म भारतीय पक्षबाट ड्रोइङ र डिजाइन तयार पारी नेपाल सरकारलाई उपलब्ध गराए पनि डिपिआर भने बनाइएको छैन । नेपाल सरकारलाई उपलब्ध ड्रोइङ र डिजाइनअनुसार आइसिपीभित्र भन्सार, अध्यागमन, पशु र प्लान्ट क्वारेनटाइन, पार्किङ, प्रयोगशाला, अधिकृत कक्ष, सुरक्षा ब्यारेक, विद्युत् शवस्टेसन, पेट्रोल पम्प, प्रवेशद्वार, सुरक्षा पर्खाल, पानी ट्यांकी, सेड र गोदाम, बैङ्कलगायत भवन निर्माण हुने उल्लेख छ ।
यी युवतीहरुका कारण भारत हारेको भन्दै सामाजिक संजालमा बबाल काठमाडौं। टि–२० विश्वकपमा भारतले लगातार २ खेल हारेको छ । आइतबार न्यूजिल्याण्डसँग हारेपछि भारतीय टिम फ्यानहरुको निशानामा परेको छ ।फ्यानहरुले आफ्नो तर्फबाट गजबका तर्क दिइरहेका छन् । यस्तै एउटा तर्क केही युवतीहरुको तस्वीर भाइरल गराएर दिइएको छ । सामाजिक संजालमा यस्ता पोस्टहरु भाइरल भइरहेका छन् जसमा न्यूजिल्याण्डको समर्थनमा उभिएका केही युवतीहरुको तस्वीर शेयर गरिएका छन् । तर, यसको वास्तविकता भने अर्कै छ । खासमा न्यूजिल्याण्डसँग भारत हारेपछि सामाजिक संजालमा जुन तस्वीर भाइरल भइरहेको छ त्यसमा मोडलहरु केन्डल जेनर र जीजी हदीद कालो जर्सीमा देखिएका छन् । यो कालो जर्सी न्यूजिल्याण्डको जर्सीसँग मिल्दोजुल्दो देखिन्छ । कैयौं फेसबुक पेज र ट्वीटर ह्याण्डलमा यी तस्वीरहरु शेयर गरेर भारतको हारको कारण यिनै युवतीहरु भएको बताइएको छ । तर, खासमा यो ट्रोलिङ मात्र हो । केन्डल जेनर र जीजी हदीदको यो तस्वीर धेरै पुरानो हो र यसको भारत–न्यूजिल्याण्ड खेलसँग कुनै सम्बन्ध छैन । उनीहरुले लगाएको जर्सी पनि न्यूजिल्याण्डको होइन, यो जर्सी फ्रान्सको फुटबल क्लव पेरिस सेन्ट जर्मेनको हो । उनीहरु २०१५ मा पिएसजीको खेल हेर्न गएको बेला यी तस्वीर खिचिएको हो ।
उपत्यकाका अपार्टमेन्ट र सपिङ मलहरुमा प्रहरीको निगरानी काठमाडौं । काठमाडौ उपत्याका सबै अपार्टमेण्ट र सपिङमलहरु प्रहरी निगरानीमा परेका छन् । विदेशी नागरिकहरु विना परिचयपत्र आएर अपार्टमेण्टमा बस्ने गरेको भन्दै प्रहरीले निगरानी बढाएको हो । साथै ठूला सपिङमलहरुमा पनि प्रहरीले निगरानी बढाएको छ । गृह मन्त्रालयले गत हप्ता परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर, अपार्टमेन्ट, कोठा वा फ्लाट भाडामा नदिन आग्रह गरेसँगै प्रहरी प्रधानकार्यालयले अपार्टमेण्ट र सपिङमल निगरानी गर्न मातहत प्रहरी कार्यालयलाई परिपत्र गरेको छ । सोही आधारमा अपार्टमेण्टहरु निगरानीमा परेका हुन् । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदेशी नागरिकहरु परिचय लुकाई अनाधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास गरेको बुझिन आएकाले आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको थियो । मन्त्रालयले यदि पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गर्न पनि विज्ञप्तिमार्फत गृहले आग्रह गरेको थियो । गत हप्ता ११ जना अफगानी नागरिक पक्राउ परेपछि मन्त्रालयले सो आग्रह गरेको हो । पक्राउ परेका ११ मध्ये पाँच जनालाई सरकारले डिपोर्ट गरिसकेको छ । द्वन्दग्रस्त मुलुकका नागरिकहरु भागेर शरणार्थीका रुपमा नेपालमा आउन थालेपछि सरकार झस्किएको छ । सुरक्षा निकायले मुलुका सुरक्षा चुनौति बढेको भन्दै सरकारलाई तेस्रो मुलुकबाट आउने नागरिकलाई रोक्ने उपाय लगाउन सुझाव दिएपछि अहिले नेपाल–भारतको सीमाबाट नेपाल आउन परिचयपत्रको व्यवस्था गर्ने तयारी भएको छ । त्यसभन्दा अघि सरकारले काठमाडौ उपत्यकामा विदेश नागरिकको अवैध बसोबास हुनसक्ने आँकलन गर्दै निगरानी थालेको छ । ‘आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरिएको छ, शंकास्पद कोही देखिए प्रहरीलाई खबर गर्नु भनेका छौ र शंकास्पद स्थानहरुमा हाम्रो निगरानी छ’, नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले भने । उनका अनुसार शहरी क्षेत्रका विदेशी नागरिकहरुको बसोबास हुने क्षेत्रलाई बढी ध्यान दिइएको छ । कतिपय विदेशी नागरिकहरु पर्यटक भिषामा आउने गरेको तर नेपाल आएपछि पर्यटकीय क्षेत्रमा नगई अन्तै लुकेर बसी भिषा अवधि सकिदा पनि फेला नपर्ने र धेरैपछि मात्रै भिषा नविकरण गर्न आउने गरेका भन्दै सरकारी निकायले उनीहरुको समेत विवरण तयार गरेर निगरानी गर्ने जनाएको छ । ‘कतिपय विदेशी नागरिकहरु पर्यटक भिषामा आएपनि उनीहरु पर्यटक नभई यतै बस्ने उदेश्य समेत राखेको पाइयो उनीहरुका लागि कडाई गर्नुपर्ने अवस्था आएको छ’, गृहमन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार दक्षिणी अफ्रिकी नागरिकहरुमा यो समस्या रहेको छ । नेपालमा पर्यटक भिषा लगाउन र नकिरण गर्न सहज भएकाले पनि अफ्रिकी महादेशका नागरिकहरु पर्यटक भिषामा नेपाल आउन थालेका छन् । पछिल्लो पटक नेपालमा म्यान्मारबाट रोहिग्या नागरिकहरु पनि शरणार्थीको रुपमा आउने र उनीहरुलाई शरणार्थीको कार्ड बनाइदिने गिरोह नै सक्रिय रहेकाले पनि सरकारले कडाई गर्न थालेको हो । अहिले ६ सयभन्दा बढी रोहिंग्या शरणार्थी नेपालमा रहेका छन् । उनीहरु काठमाडौको कपन क्षेत्रमा बस्दै आएका छन् । उनीहरुलाइ नेपाल ल्याउने एउटा गिरोह नै सक्रिय रहेको छ । रोहिग्यासँगै अफगानी नागरिकपनि भित्रन थालेकाले सरकार र सुरक्षा अंगले सर्तकता अपनाउन थालेका छन् ।
छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण र रेबिजविरुद्धको भ्याक्सिन काठमाडौं।सिद्धिचरण नगरपालिकाले छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ । छाडा कुकुरले खसी बाख्रा खाने र मान्छे टोक्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण सुरु गरेको हो । पशु अधिकारका दृष्टिले मार्न नहुने भएपछि भाले तथा पोथी दुवै खाले छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको सिद्धिचरण नगरपालिकाका पशु शाखा प्रमुख प्रमित मगरले जानकारी दिए । हर्ट नेपालसँगको सहकार्यमा गत वर्षबाटै यो अभियान थालिएको र प्रभावकारी देखिएकाले यो वर्ष पनि छाडा कुकुर बन्ध्याकरण गरिएको उनले बताए । उनले भने, ‘बन्ध्याकरण र खोप लगाएपछि कुकुर सुधो बन्ने, हत्तपत्त नटोक्ने, बच्चा नजन्माउने र जथाभाबी नहिँड्ने भएकाले बन्ध्याकरण तथा खोप लगाउन थालिएको हो ।’ दुई सय छाडा कुकुरलाई हालसम्म बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाइएको छ । छाडा कुकुरले गतवर्ष मात्रै सदरमुकाम आसपासका किसानका दुई दर्जनबढी खसी बाख्रा मारेको थियो । सडकमा हुलै बाँधेर हिँड्ने र मोटरसाइकल तथा पैदल यात्रीलाई लखेटेर टोक्ने भएकाले बिहान बेलुका हिँडडुलमा जोखिम थियो । कुकुरको आतंक कम गर्न बन्ध्याकरणले योगदान पुगेको स्थानीय श्याम श्रेष्ठले बताए । दिनरात हुल बनेर हिँड्ने कुकुर निकै कम भएको उनले सुनाए । मार्न नमिल्ने भएकाले साझेदार संस्था हर्टसँग मिलेर वैकल्पिक उपाय खोजिएको नगरपालिकाले जनाएको छ ।
मानव बेचबिखनमा सङ्लग्न पक्राउ काठमाडौं।मानव बेचबिखन कार्यमा सङ्लग्न एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विसं २०७४ साउनमा एक महिलालाई विभिन्न प्रलोभनमा पारेर भारतको कोठीमा लगेर बेच्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भई काठमाडौँको तारकेश्वर बस्ने ३९ वर्षीय जान्द्रे तामाङ भन्ने रामबहादुर तामाङलाई शनिबार फुटुङबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक अनुरागकुमार द्धिवेदीले पीडितलाई खान, बस्न र तलबको प्रलोभन देखाएर भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५९ भन्ने कोठीमा पु¥याएर बिक्री गरको पीडितको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए । मानव बेचबिखनमा परेकी पीडित पछिल्लो समय बिरामी परेपछि चितवनकी एक महिलाको सहयोगमा विसं २०७७ चैतमा उद्धार गरेर काठमाडौँ ल्याइएको थियो । पीडितले विसं २०७८ वैशाखमा दिएको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रवक्ता द्धिवेदीले बताए । पक्राउ परेका तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारबाही हुने ब्यूरोले जनाएको छ ।
स्कुटर दुर्घटनामा एकको मृत्यु काठमाडौं।दाङको दूधरासमा रा४प ४९७३ नं को स्कुटर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए । स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि अहिले अस्पतालमा राखिएको छ ।
पाकिस्तानमा हिंसा अन्त्य गर्न सरकार र प्रतिबन्धित टीएलपी पार्टीबीच सम्झौता इस्लामावाद । पाकिस्तान सरकारले त्यहाँ जारी हिंसा अन्त्य गर्न प्रतिबन्धित दक्षिणपन्थी पार्टी तेहरिक–इ–लबिक पाकिस्तान (टीएलपी) पार्टीसँग सम्झौता गरेको छ। योसँगै पाकिस्तानमा १० दिनदेखि जारी हिंसात्मक प्रदर्शन अन्त्य भएको छ। विदेशमन्त्री साह महमुद क्वार्शी र धार्मिक नेता मुफ्ती मुनिबुर रेहमानबीच वार्ता भएको थियो। दुई पक्षबीच भएको समझधारी भने सार्वजनिक गरिएको छैन्। ‘वार्ताको विस्तृत विवरण र सकरात्मक नतिजा देशसामू एक साताभित्र आउनेछ,’ वार्तापछि टीएलपीका नेता रेहमानले भने। सरकारले पक्राउ गरेका आफ्ना नेता साद रिजभीको सकुशल रिहाईको माग गर्दै टीएलपीले एक साताअघि लाहोरबाट इस्लामावादसम्म विशाल ह्याली आयोजन गरेको थियो। फ्रान्सविरोधी प्रदर्शन गर्ने क्रममा गत बर्ष रिजभी पक्राउ परेका थिए। फ्रान्सको चर्चित व्यंग्य पत्रिका चार्ली हेब्दोले मुस्लिम धर्मगुरु मोहम्मदको काटूर्न बनाएपछि टीएलपीले फ्रान्सविरुद्ध प्रदर्शन गरेको थियो। टीएलपीले पाकिस्तानका लागि फ्रान्सेली राजदूतलाई देश निकाला गर्नसमेत माग गरेको छ। राजधानीतर्फ बढ्दै गरेको विशाल प्रदर्शन रोक्न सरकारले अर्धसैनिक बल तैनाथ गरेको थियो। ह्यालीलाई रोक्ने प्रयासपछि टीएलपीका समर्थक र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको थियो। हिंसामा सात प्रहरी अधिकारी र चार प्रदर्शनकारीको मृत्यु भएको थियो। फ्रान्सेली राजदूतलाई देश निकाला गरी दूतावास बन्द गर्न टीएलपीले गरेको मागलाई प्रधानमन्त्री इमरान खानले अस्वीकार गरेपछि हिंसा भड्किएको थियो।
टिकापुरमा ढुबानका घर सरसफाइ गरिँदै टिकापुर । कैलालीको सत्तीकी लक्ष्मी सुनारको घर कात्तिक पहिलो साता आएको बाढीले डुबानमा पर्‍यो। यसपछि उनको परिवार तीन दिन विद्यालयमा र बाँकी १० दिन आफन्तको घरमा आश्रय लिएर बस्यो। हाल तिहार अर्थात् भाइटीका नजिकिन थालेपछि उनको परिवार घर फर्किएर घर सरसफाइमा लागेको छ। “घर सफा गर्दै थियौँ, घरभित्र बालुवा र फोहर भरिएको छ। दुई दिनदेखि सरसफाइ गरिरहेका छौँ”, उनले भने, “घर सफा गर्ने क्रममा दुुईवटा सर्प निस्किए, निकै जोगिएर सरसफाइ गरिरहेका छौँ।” भजनीका छहरा धामीको घर पनि बाढीले भत्कायो। बाढीले घरका भित्ता भत्काउनुका साथै घरमा भएको सबै सामान भिजाएपछि छहराको परिवार पनि विस्थापित भयो। उनीहरु पनि विद्यालयमा गएर बसे। तिहार नजिकिएपछि छहराका श्रीमान् कमाउन भारततिर लागे भने छहरा र उनका बालबच्चा घर फर्किएका छन्। घर फर्किएर सरसफाइमा खटेकी छहराको घरमा पनि सर्पले बास गरेको रहेछ। “घर त फोहर किटपतङ्गले भरिएको छ। बस्न सकिएलाजस्तो लाग्दैन तर कति दिन अर्काको घरमा बस्नु भनी सरसफाइ गर्न थालेकी छु”, उनले भने, “छिमेकीको सहयोगमा भत्किएका भित्ता लगाइयो, अब लिपपोत गर्न र घरभित्र भरिएको फोहर सफा गर्दैछु।” बाढीपछि लक्ष्मी, छहराको मात्रै होइन प्रभावित क्षेत्रमा रहेका घर तथा वरपर सर्प, बिच्छी र अन्य किटपतङ्ग घरमा पसेका हुन्छन्। कैलालीमै सर्प तथा अजिङ्गर पाइने वनका नामले चिनिने सत्ती कर्णाली सामुदायिक वनमा समेत बाढी पसेको छ। बाढीले वनमा रहेका अजिङ्गर तथा सर्प बगाएर बस्तीमा पुर्‍याएको हुनसक्ने स्थानीय रमेश टमट्टा बताउछन्। “बाढीले हरेक वर्ष अजिगङ्र बस्तीमा पुर्‍याउँछ। बाढी प्रभावित क्षेत्रमा ज्वरो, रुघाखोकी र पखाला लाग्नेजस्ता समस्या देखिन थालेका छन्”,उनले भने, “स्थानीय सरकार तथा स्वास्थ्य संस्थाले स्वास्थ्य शिविर गर्ने, नियमित उपचारमा सघाउने, बाढीपीडितको निःशुल्क उपचार गरिदिने गर्नुपर्छ।” यस्तो बेला सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ। “बाढीको समयमा जताततै फोहर भएको छ। झारपात बगेर आएर बस्तीमा पसेको छ। फोहरका कारण महामारी फैलनसमेत सक्छ”, टीकापुर अस्पतालका डा लालसिंह टमट्टा भन्छन्, “यस्तो बेलामा उमालेको पानी पिउने, सुत्दा खाटमा सुत्ने, अनिवार्य झुल लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्छ। बाढीले आर्थिकरूपमा समेत रित्तिएकाहरुलाई महामारी फैलिएमा थप समस्या हुनसक्छ।”रासस
सुन सफागर्ने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ काठमाडौं ।जिल्ला प्रहरी कार्यालय उदयपुरले गाउँ गाउँमा सर्वसाधारणको सुन सफा गरी दिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नागरिकले उदयपुरमा सुन ठगी गरेको घटना सार्वजनिक भएको छ । सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारतीय दुई नागरिकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार सहरका ४५ वर्षीय अरुण साह र भारत विहारकै ३० वर्षीय हरिराम साह रहेका छन् । उनीहरूले विभिन्न केमिकल प्रयोग गरी सुन सफा गर्दा सुनको तौल आधा घटने गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । त्रियुगा नगरपालिका–४ बगाहाका ताराबहादुर राईकी छोरी कमला राईको सुन सफा गर्ने क्रममा १ तोला सुनलाई आधी तोला बनाएर फिर्ता गरेको प्रहरीले अनुसन्धानको क्रममा खुलेको छ । विभिन्न प्रलोभनमा पारी कमला राईले लगाइरहेको सुनको एक तोला सिक्रीलाई सफा गरी तत्काल सुन हेर्न हुन्न सुक्न दिनुपर्छ भनी झुक्याएर लुकाई छिपाई सुन घटाएर फिर्ता गरेको पीडितले जनाएको छ । सफा गरी फिर्ता गरेको सुन पहिलाको भन्दा कम परिणामको देखिएपछि पीडितलाई शंका लागि तौल गर्दा आधी तोला मात्र फिर्ता भएपछि प्रहरीमा पीडितले उजुरी गरेका थिए । पीडितको उजुरीका आधारमा उनीहरूलाई खोजतलास र अनुसन्धान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनीहरूको साथबाट पीताम्बर, सुन सफा गर्ने सामाग्रीहरू, एसिड, मट्टितेल र सुनका साना टुक्रासमेत फेला परेको डिएसपी गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरूले अन्य व्यक्तिहरूलाई समेत यसैगरी ठगी गरेको हुन सक्ने भन्दै अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सम्पूर्ण जिल्लावासी नागरिकहरूमा सुन सफा गर्नेहरूसँग सचेत रहनसमेत आग्रह गरेको छ । उनीहरू गाउँ गाउँ डुल्दै आफूहरू पीताम्बरको व्यापारी भएको र सुन पनि सफा गर्ने काम गर्ने बताउँदै हिँडेको अनुसन्धानबाट खुल्न आएको छ ।
करेन्ट लागेर एक युवकको मृत्यु काठमाडौं ।उदयपुरको रौतामाई गाउँपालिका ८ डुम्रीथुम्कामा करेन्ट लागेर ३० वर्षीय कुमार मग्राती मगरको मृत्यु भएको छ । मुर्कुची खमारे डुम्रीथुम्का प्रशारण लाइनमा पर्ने बाँस काट्ने क्रममा आइतबार करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उनको शव पोष्टमार्डमका लागि जिल्ला अस्ताल गाईघाट ल्याइएको छ ।
दुई चिनियाँ नागरिक पक्राउ काठमाडौं ।सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले खाँदबारी–९ तुम्लिङटारस्थित बुद्ध होटलबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिचुवान प्रान्त घर भई हाल खाँदबारी–९ तुम्लिङटार बस्ने सान्दोङ र यू छिनग्लिन रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । विशेष सुराकीका आधारमा प्रहरीले निजहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । आज दिउँसो जिल्ला प्रहरी कार्यालय र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटार प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुद्ध होटलमा लुकाइराखेका अवस्थामा राजश्व छली गरेर ल्याएको पिबिओजी औषधिसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए। प्रहरीले बुद्ध होटलको कोठा नम्बर ५०२ बाट ८०० किलोग्राम पिबिओजी औषधिसमेत बरामद गरेको उनले बताए । चिनियाँ नागरिकबाट बरामद भएको पिबिओजी औषधि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
बिक्रीवितरणमा प्रतिबन्धलगाएको चामल ‘खानयोग्य’ रहेको पुष्टि प्रादेशिक गोदाममा रहेको बास्मती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ । वीरेन्द्रनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त चामलमा कुनै कैफियत नरहेको पुष्टि भएको छ । काठमाडौँ थापाथलीस्थित कम्पनीको गोदामबाट कुहिएको चामललाई ‘रि–पोलिसिङ’ गरीसुर्खेत पठाइएको भन्ने सूचना आएपछि संयुक्त अनुगमन टोलीले यही असोज ६ गते नमूना सङ्कलन गर्नुका साथै बिक्रीवितरणमा प्रतिबन्धलगाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको नेतृत्वमा जिल्ला प्रशासन, उपभोक्ता अधिकार मञ्चलगायत सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले प्रादेशिक गोदाममा रहेको एक हजार ९७५ क्विन्टल बास्मती चामल बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । सरकारी स्वामित्वको खाद्य कम्पनी लिमिटेडले आफ्ना डिपोमार्फत दुर्गम जिल्लाका लागि सहुलियत मूल्यमा चामल, दाल बिक्रीवितरण गर्ने गर्दछ । कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका लेखा सहायक विनोद पौडेलले आजदेखि उक्त चामलको बिक्रीवितरण सुरु भएको जानकारी दिए ।
मोटरसाइकल दुर्घटनामा १८ वर्षीय दासको मृत्यु काठमाडौं ।झापा अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चारआली–शनिश्चरे सडक खण्डमा शनिबार राति मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा चालक अर्जुनधारा–११ का १८ वर्षीय कुशल दासको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ४३७४ नं को मोटरसाइकल शनिबार राति ९ः३० बजे आफैँ अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर खोलामा झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट सालबारीबाट प्रहरीले पानीमा डुबेर बेहोस भएका दासलाई उपचारका लागि मनमोहन अस्पताल विर्तामोड पठाइएकामा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चोरी गर्ने ४ जना सार्वजनिक काठमाडौं ।बेलौरी नगरपालिका–४ बेलौरी बजारको केएम इन्टरप्राइजेज बजाज सोरुमबाट सटरको ताला काटी सिसाको ढोका तोडेर मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका वर्ष २० का विवेक बम, वर्ष १८ का किरन नाथ, सोही नगरपालिकाको वडा नं १२ कालागौंडीका वर्ष १९ का ठग्गी रानालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरिएको छ । यसैगरी सोही चोरीमा संलग्न अर्का पक्राउ पर्नेमा शुक्लाफाँटा–१ वन्साहा बस्ने वर्ष १९ का पारस विष्ट रहेका छन् । पक्राउ परेका चारै जनाको साथबाट प्रहरीले चोरी गरिएका तीन पल्सर मोटरसाइकल बरामद गरेको छ । यही कात्तिक ७ गते राति चारै जनाले सो रुमको सिसीटिभीको तार काटेर सटर तोडी मोटरसाइकल चोरी गरेका थिए । “चोरी भएका मोटरसाइकल तीन दिनको अवधिमै बरामद गरेका छौँ”, प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, “चोरी गर्नेहरुलाई समेत खटिएको अनुसन्धान टोलीले पक्राउ गरेको छ ।” उनका अनुसार पक्राउ परेकामाथि कानुनबमोजिम कारबाही भइरहेको छ ।त्यसैगरी प्रहरीले आज पुर्नवास नगरपालिका–११ डोके बजारबाट बेवारिसे अवस्थाको रु १९ हजार ५०० मूल्य बरावरको अवैध पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको टोलीले भारतबाट ल्याउँदै गरेको पटाका बरामद गरेको छ ।
जबर्जस्ती करणी गरेको अभियोगमा एक पकाउ काठमाडौं ।महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक व्यक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ–१५ डल्लु बस्ने कालिकोट तिलगुफा नगरपालिका–११ का ३१ वर्षीय नारायण शाही रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको हो। उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
बूढानीलकण्ठमा आगलागीः १५ लाख बराबरको धनमाल नष्ट काठमाडौं ।काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ स्थित एक घरमा आगलागी हुँदै रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय पासिकोट शिवमन्दिर नजिक बस्ने ४३ वर्षीय दिलसेन खड्काको घरमा ग्याँस सिलिन्डर पड्किएर गए राति आगलागी भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आज सङ्कलित प्रारम्भिक विवरणमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद रु एक लाख ५० हजारसहित रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
हत्याको आरोपमा एक पक्राउ काठमाडौं ।कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्र्षीय किरण साउँद रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार गए राति साउँद र टीकापुर नगरपालिका–८ कालीमाटीका अनुप साउँदबीच कालीमाटीमा वादविवाद भएको थियो । सो क्रममा झगडा हुँदा किरणले अनुपलाई धारिलो हतियार (चक्कु) प्रहार गरी घाइते बनाएका थिए । घाइते अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । किरणलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ ।
चाँदीका गरगहनासहित एक पक्राउ काठमाडौं ।भारतको रक्सौलबाट अवैधरुपमा वीरगञ्जतर्फ ल्याउँदै गरिएको चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना एक किलो ४५ ग्रामसहित भारतीय बीआर२२एसी ४०९९ नंको पल्सर मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका– १ का ३९ वर्षीय रामबाबु साह सोनारलाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१७ अलौ सिर्सियाबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
बहुविवाहका अभियुक्त ६ वर्षपछि पक्राउ काठमाडौं ।जिल्ला प्रहरी कार्यालय लमजुङले अदालतले कैद फैसला सुनाएको एक अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले साबिक रम्घा गाविस ८ हाल मध्यनेपाल नगरपालिका ४ का ३२ वर्षीय रवीन्द्र ढकाललाई ६ वर्षपछि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार प्रहरीको विशेष टोलीले हेटौंडामा लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । फरार अभियुक्त ढकाललाई २०७३ साल कात्तिक २९ गते जिल्ला अदालत लमजुङले एक वर्ष तीन महिना १४ दिन कैद सजाय तथा १५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । कैद भुक्तानका लागी ढकाललाई शुक्रबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
बोलेरोको ठक्करले महिलाको मृत्यु काठमाडौं ।भरतपुर चनौली सडकखण्डमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५ विकास चोक बस्ने ४६ वर्षीया सुलोचना ढकाल रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मङ्गलपुरबाट चौबीसकोठीतर्फ आउँदै गरेको ग ३ च ४०३८ नम्बरको बोलेरोले सोही दिशाबाट आउँदै गरेको ना ६० प ९९०७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते महिलाको उपचारका क्रममा आज दिउँसो चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । बोलेरो र चालक प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङमा कोरोनाविरुद्ध खोप लगाउने ३५ हजार काठमाडौं ।ताप्लेजुङ जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने हालसम्म ३५ हजार रहेका छन्। जिल्लामा १८ वर्ष पूरा भएका सबै नागरिकलाई पुग्नेगरी खोप आएको बताइएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक छन् । जिल्लामा उक्त संख्या रहे पनि पछिल्लो समय दुई चरणमा सञ्चालित खोप अभियानमा करिब १५ हजार जनाले मात्र खोप लगाएका रायले जानकारी दिए । यस अवधिमा ५० हजारले कोरोनाविरुद्धको खोप लगाउने प्रक्षेपण गरिएको भए पनि करिब ३० प्रतिशतले मात्र खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ । यता अपेक्षाकृत जिल्लाका नागरिकले कोरोनाविरुद्ध खोप नलगाएपछि जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले नागरिकलाई अनिवार्य खोप लगाउन भनेको छ । खोप लगाउनु नागरिकको अधिकार मात्र नभई कर्तव्यसमेत भएकाले खोप अनिवार्य लगाउनुपर्ने समितिको बुझाइ रहेको छ । जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोनाविरुद्ध खोप लगाउन मिल्ने नागरिकले नलगाई संक्रामक रोग निवारण ऐनअनुसार कारबाहीसमेत गर्ने तयारी गरिएको सुनाए। पाण्डेले स्थानीय तहका पदाधिकारीलाई आ–आफ्नो क्षेत्रमा खोप लगाउन बाँकी रहेका नागरिकको सूची तयार गरी अनिवार्य खोप लगाउने वातावरण मिलाउनका लागि आग्रहसमेत गरेका छन् ।
लागूऔषधसहित दुई जना पक्राउ काठमाडौं ।पर्सा प्रहरीले लागूऔषधसहित दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका १३ बस्ने २२ वर्षीय आमस विक र पर्साको वीरगन्ज महानगरपालिका १५ भिस्वाका २४ वर्षीय शेखरकुमार सिंह छन् । भारतबाट ना५०प ४९०१ नम्बरको स्कुटरमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ड्राइपोर्टबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।पर्साको वीरगन्ज महानगरपालिका २५ सिर्सिया सीमा क्षेत्रबाट कात्तिक ११ गते सशस्त्र प्रहरीले १ सय २० वटा नाइट्रोभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो ।
भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन सवारीसाधन अवरुद्ध हुने काठमाडौं ।भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ । हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ देखि कात्तिक १५ गतेसम्म दैनिक तीन दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारीसाधन अवरुद्ध हुने जानकारी गराएको हो । निर्देशनालयका निमित्त निर्देशक डा सहदेव भण्डारीका अनुसार भीमफेदी गाउँपालिका–६ जुरीखेतदेखि चिसापानीगढी बीचको एघार घुम्ती क्षेत्रमा सडक साँघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अष्फाल्ट कङ्क्रिट पेभमेन्ट कार्य हुने भएकाले तीन दिन ४ घण्टा सबै प्रकार (सुमो, मोटरसाइकल, स्कुटर, बस, ट्र्याक्टर आदि) का सवारी साधनमा रोक लगाउने भनिएको छ । साथै निर्देशनालयले जारी गरिएको सूचनामा सम्पूर्ण सवारी साधनहरूको आवतजावत बन्द गर्नका लागि सम्बन्धित निकायहरूमा समन्वय गरी निर्माणमा सहयोग पुर्‍याइदिन सबैलाई आग्रहसमेत गरेको छ ।
काठमाडौँ उपत्यकामा दुईको मृत्यु काठमाडौँ उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै ललितपुर, गोदावरी नगरपालिका–१० चापागाउँस्थित हेमबहादुर तामाङको घरको आँगनमा ललितपुर महानगरपालिका–२२ का ३५ वर्षीय गोविन्द तामाङ मृत अवस्थामा फेला परेका जनाइएको छ । उक्त घटनाका सम्बन्धमा प्र्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नौ दिनपछि बेपत्ता शव भेटियो काठमाडौं ।नौ दिनपछि सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ का २३ वर्षीय लालु मण्डलको शव भेटिएको छ । मण्डललाई यही कात्तिक ३ गते जिता खोलामा आएको बाढीले बगाएको थियो । प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका मण्डलको शव सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपञ्चयात–१० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको हो । भारतीय प्रहरीसँगको समन्वयमा शव नेपाल ल्याइ मृतकका पिता शम्भु मण्डललाई बुझाइएको प्रहरीले जनाएको छ । भारतीय बजार कुनौलीबाट किनमेल गरी फर्किंदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जीर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको हो ।
मोटरसाइकल एकापसमा ठक्कर खाँदा मृत्यु झापा । झापाको गौरादहमा तीव्रगतिका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान ८ बजेतिर गौरादह नगरपालिका–४ स्थित स्कुलचौन–चाप्रामारी धरधरे सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा मे९प २७०३ का मोटरसाइकल चालक गौरादह–५ का अन्दाजी ४० वर्षीय भानु भनिने वेणु अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। अधिकारीले चलाएको मोटरसाइकल र मे६प ५४१६ नंको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीको भनाइ छ। सो दुर्घटनामा परेर ५४१६ नंको मोटरसाइकलका चालक गौरादह–५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र पछाडि सवार १६ वर्षीय ललित शर्मा घाइते भएका छन्। उनीहरु दुवै जनाको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।रासस
हस्तकला व्यापार मेला हायात रिजेन्सी होटेलमा सुरु हुँदै काठमाडौँ ।यही मंसिर ३ गतेदेखि नेपाल हस्तकला महासंघको १८औं हस्तकला व्यापार मेला सुरु हुने भएको छ । यसवर्ष काठमाडौं हायात रिजेन्सी होटेलमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्यै बजारलाई पुनः चलायमान बनाउन यो मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा महासंघले गरेको छ । उक्त मेलालाई नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, विभिन्न संघसंस्थाहरूको पनि सहयोग रहेको छ । उक्त मेलामा हस्तकलालगायत विभिन्न वस्तुहरूको करिब १२० वटा स्टल रहने छ । मेलाको प्रमुख आकर्षणको रूपमा कला प्रतियोगिताअन्तर्गत नेच्यूरल फाइबर (प्राकृतिक रेसा) र फिलगिरी गरी दुई वटा विधामा प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दियो । नेपाली हस्तकला लगायतका अन्य उत्पादित सामानहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्नु मेलाको मुख्य उद्देश्य रहेको महासंघले जनाएको छ । हस्तकलाका सामाग्रीहरूको प्रचार प्रसार तथा उजागर गरी निर्यात व्यापार प्रवर्द्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यावसायिक सम्बन्ध विकास गर्नु आजको आवश्यकता रहेको महासंघको बुझाइछ ।
प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाने काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको निमन्त्रणमा सेनापति शर्मा २३ कात्तिकमा भारत भ्रमणमा जाँदैछन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति शर्माको नेृतत्वमा भारत भ्रमण दल टोलीलाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार बैठकले नेपाली सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
बलात्कृत १४ वर्षीया बालिकाको स्वास्थ्यवस्था गम्भीर सुर्खेत ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ को बाँकेज्युलामा एक बालिका बलात्कृत भएकी छन् । जाजरकोटको नलगाड नगरपालिका १ की अन्दाजी १४ वर्षीया बालिकालाई बाँकेज्युलाका २६ वर्षीय झलक जैसीले बलात्कार गरेको र उनी फरार रहेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको अवस्था गम्भीर भएकाले उपचारका नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । बुधबार घरबाट मेला हेर्न बाँकेज्युलामा आएकी बालिका बुधबार राति ८ बजेतिर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले बताए । बालिका अचेत अवस्थामा फेला परेको र अत्यधिक रक्तस्राव भइरहेको प्रहरी निरीक्षक शर्माले बताए । नगर अस्पतालमा उपचार सम्भव नभएपछि बालिकालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।बालिकाको अवस्था हेर्दा र प्रारम्भिक अनुसन्धानबाट बलात्कार भएको देखिएको प्रहरी निरीक्षक शर्माको बताए । पीडित बालिकाका बुवाले इलाका प्रहरी कार्यालय राडीमा ठाडो उजुरी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
पूर्व न्यायाधीश लम्सालको निधनप्रति सर्वोच्चद्वारा दुःख व्यक्त काठमाडौं।पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको (बिहीबार) बिहान असामयिक निधन भएकामा छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा सम्पूर्ण न्यायाधीशहरुको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व न्यायाधीश लम्सालको निधनबाट न्याय र कानूनको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै स्व लम्सालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै, शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ । उनी स्वास्थ्य समस्याका कारण केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचाररत थिए । अदालतमा सेवारत् रहँदा लम्सालको स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न र न्याय तथा कानूनको क्षेत्रको विकासका लागि अतुलनीय योगदान रहेको र उनको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणादी र मार्गदर्शक रहिरहने सर्वोच्च अदालतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नग्न अवस्थामा समुद्रमा तैरिरहेकी महिलाको उद्धार, १२ घण्टा बगिरहँदा पनि जीवितै थिइन् समुद्रको यात्रामा निस्किएका एक अमेरिकी नाविक त्यतिबेला आश्चर्यमा परे जब उनले पानीमा केही असामान्य चीज देखे । उनी आफ्नो नाउ लिएर नजिकै गएपछि त्यो चीज कुनै मानिसको हात थियो । जब नाविकले त्यसलाई बाहिर निकाले उनी चकित परे । खासमा समुद्रको चिसो पानीमा एक महिला तैरिरहेकी थिइन् । महिनाको शरीरमा एउटा पनि कपडा थिएन । डेलीमेलको रिपोर्टअनुसार २६ अक्टोबरका दिन ६० वर्षका खोस्रो कोज खोसरवानी आफ्ना साथीहरुसँग समुद्रको यात्रामा निस्किएका थिए । बाटोमा उनले डल्फिनको झुण्ड देखे । त्यसपछि उनले नजिकै गएर हेर्ने कोसिस गरे । यद्यपि योभन्दा पहिल्यै उनले केही असामान्य चीज देखे । नजिक जाँदा खोसरवानीले पानीमा तैरिइरहेको मानिसको हात देखे । तर, जब त्यो हातलाई बाहिर ताने उनको होस उड्यो किनकि त्यो हात एक महिलाको थियो । महिला पानीमा पूर्ण नग्न अवस्थामा थिइन् । सौभाग्यवश महिला जीवितै थिइन् । खोसरवानी र उनका साथीहरुले तत्कालै चिसोले कड्याङ्ग्रिएकी महिलालाई कम्बलमा बेरे । महिलाको स्थिति निकै खरबा थियो । उनका ओठ काँपिरहेका थिए । उनी निकै मुस्किलले बोल्न सकिरहेकी थिइन् । उनलाई जीवित बचाउन भने सकिएको छ । सोधपुछपछि थाहा भयो कि ती महिला करिब १२ घण्टादेखि समुद्रको चिसो पानीमा तैरिरहेकी थिइन् । कथित रुपमा उनी पनि यात्रामा निस्किएकी थिइन् तर पानीमा डुबिन् । खासमा महिला एक्लै पौडी खेल्न गएकी थिइन् तर समुद्रको छालले उनलाई किनारबाट साढे २ माइल टाढा बीच समुद्रमा हुत्याइदियो । जतिबेला उनलाई उद्धार गरियो, उनको शरीरमा एउटा पनि कपडा थिएन । उनलाई रोनाल्ड रेगन अस्पतालमा भर्ना गरियो जहाँबाट तीन दिनपछि उनलाई डिस्चार्ज गरियो ।
विश्वकपमा ‘कमजोर’ नामिबियाको घातक ओभर, ब्याट्सम्यान आउँथे, आउट हुन्थे, फर्किन्थे काठमाडौं। विश्वकपमा बुधबार खेलिएको नामिबिया र स्कटल्याण्डबीचको खेलमा नामिबियाका तीब्र गतिका बलर रुबेन ट्रम्पलम्यानले घातक बलिङ गर्दै वहिलो ओभरमै तीन विकेट लिएयसअघि श्रीलंकाका एन्जेलो म्याथ्युजले २००९ को टि–२० विश्वकपमा वेष्ट इण्डिजविरुद्ध यसैगरी पहिलो ओभरमै ३ विकेट लिएका थिए । आइसीसीले ट्रम्पलम्यानको यो बलिङको भिडियो शेयर गरेको छ । आइसीसीले यो ओभरलाई टि–२० विश्वकपको कुनै पनि खेलको सबैभन्दा सनसनीखेज ओभर भनेको छ । नामिबियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ट्रम्पलम्यान पहिलो ओभर बलिङ गर्न आए । उनले जर्ज मुन्से (०) लाई पहिलो बलमै आउट गरे । त्यसपछि तेस्रो बलमा क्यालम म्याकल्योडलाई पनि शुन्यमा आउट गरे । उनले लगत्तै अर्को बलमा पनि रिची बेरिंगटनलाई एलबीडब्लु आउट गरे । रिचीले पनि खाता खोल्न सकेनन् । यो ओभरमा ट्रम्पलम्यानले केवल २ रन दिए । त्यो २ रन पनि ब्याटरले बनाएको नभइ वाइड थियो । सुरुवातमै यस्तो झट्का लागेपछि पूरै खेलमा स्कटल्याण्ड उड्न सकेन । उसले २० ओभरमा १०९ रन मात्र बनाउन सक्यो । जवाफमा नामिबियाले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य हासिल गर्यो । जेजे स्मिटले छक्का हानेर टिमलाई जीत दिलाए । रुबेन ट्रम्पलम्यान म्यान अफ द म्याच घोषित भए ।
बारले माग्यो सेवाग्राहीसँग माफी काठमाडौँ ।नेपाल बार एशोसिएशनले न्यायलयमा देखिएको विवादका कारण सुनुवाइ प्रभावित भएकोप्रति सेवाग्राहीसँग क्षमा मागेको छ । बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनपेक्षित तर अनिवार्य परिस्थिति सृजना भएकाले न्यायका उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमा मागेको हो ।“यस पुनित कार्यमा सहयोग पु¥याउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ, न्यायपालिकाको समग्र सुधारका अभियान सुरु गर्दा केही दिन पेसी सुनुवाइ स्थगित हुन सक्ने अवस्था देखिएको छ”, विज्ञप्तिमा भनिएको छ, “अनपेक्षित तर अनिवार्य परिस्थिति सृजना भएकोले न्यायका उपभोक्ता तथा समस्त सेवाग्राहीमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौँ, केही दिन धैर्यधारण गरी न्यायिक सुधारका कार्यमा सहयोग पु¥याउन पुनः हार्दिक अनुरोध गर्दछौँ ।” बारले न्यायपालिका सुधारका कार्यक्रम लागू गराउने काममा न्याय तथा कानूनी क्षेत्रका व्यक्ति र सेवाग्राहीलगायत आम नागरिकको पनि सहयोग अपेक्षित रहेको जनाएको छ ।न्यायपालिकामा विगत केही वर्षदेखि विकृति, विसङ्गति बढ्दै गएको, सबैलाई समान, सहज र निष्पक्ष न्याय प्राप्त नभएको विषय गम्भीर चासो र सरोकारको विषयलाई सम्बोधन गरी सुधारका गर्नुपर्ने जरुरी रहेको विज्ञप्तिमा छ । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरुले सुनुवाइ गर्न इन्कार गरेका छन्। आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा मात्र सुनुवाइ भयो । अरु न्यायाधीशको इजलास तोकिएता पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरुलाई संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् ।
गरिब तथा न्यून आय भएकोलाई नयाँ विद्युत् महसुल दर निर्धारण काठमाडौं ।गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् नियमन आयोगले महसुल दर निर्धारण गरेको छ । विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क नलाग्ने र न्यूनतम शुल्क रु ३० मात्र लाग्ने गरी महसुल निर्धारण गरिएको आयोगका प्रमुख आयुक्त डिल्लीबहादुर सिंहले जानकारी दिए । उनले भने, “गार्हस्थ्यस्तरमा विद्युत् उपभोग बढाउन तथा उपभोक्तामाझ विद्युत्को उचित मूल्य सुनिश्चित गर्न गार्हस्थ्य वर्गको महसुलमा औसतमा २.८४ प्रतिशतले घटाईएको छ ।” विस्तृत अध्ययन, छलफल, विश्लेषण, सार्वजनिक सुनुवाइ, सरोकारवालाको राय, सुझाव तथा प्रतिक्रियाका आधारमा महसुल निर्धारण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मुलुकमा हाल विद्युत् ग्राहक सङ्ख्या ४९ लाख ८९ हजार ४९४ रहेकामा २० युनिटभन्दा कम खपत गर्ने न्यून आय भएका ग्राहकको सङ्ख्या १९ लाख ८६ हजार ५०७ छ । आयोगका अनुसार सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने पाँच एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महसुल दरमा रु २५ ले कटौती गरी क्रमशः रु १००, रु १२५ र रु १५० कायम गरिएको छ । सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत् खपत गर्ने पाँच एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महसुल दरमा रु २५ ले कटौती गरी क्रमशः रु १५०, रु १७५, रु २०० र रु २५० कायम गरिएको जानकारी दिइयो । यसैगरी सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको इनर्जी शुल्कको हकमा साविकको दरमा प्रतियुनिट ५० पैसा घटार्ई प्रतियुनिट रु ९.५० कायम गरिएको छ ।
माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु लहान । ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । सिरहाको धनगढीमाई नगरपालिकामा ५ जयपुर निवासी प्रकाश कामैतको ११ वर्षीया छोरी करिश्मा कुमारीको डिस्कोले पुरिएर आज दिउँसो मृत्यु भएको हो । दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी करिश्माको डिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घर लिपपोत गर्न गाउँदेखि करिब २०० मिटर दूरीमा रहेको खाल्डोबाट माटो झिक्ने क्रममा ढिस्को खसेर पुरिएको र निकाल्ने प्रयास गरे पनि करिश्मालाई जीवितै उद्धार गर्न नसकिएको स्थानीयवासी सन्तोष साहले जानकारी दिए । ढिस्कोमा परेर करिश्माकी आमा ममतादेवी कामैत, स्थानीयवासी महिन्द्र महतोको ७ वर्षीय छोरी सरिता महतो, राजकुमार यादवकी ७ वर्षीया छोरी सविता यादव, २६ वर्षीया सीतादेवी कामैत र इन्द्रदेव कामैतकी १० वर्षीया छोरी रुवि कामत घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुुबास ढकालले जानकारी दिए।
एक जना मृत फेला, दुई बेपत्ता काठमाडौं । बैतडीको पाटन–६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी आज मृत फेला परेका छन् । पहरी स्थानीय गोइडा खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । बजार जान्छु भनी सोमबार घर निस्केको र साँझ घर नफर्केपछि पहरीको शव मंगलबार बिहान गोइडा खोलामा डुबेको अवस्थामा फेला परेको हो । बाख्रा चराउन गएका गोठालाले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । पहरीको टाउको र शरीरमा चोट लागेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक पहरीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।यसैबीच नदीमा बगेर बेपत्ता भएका बैतडीका दुई जनाको अवस्था अज्ञात रहेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–५ का २९ वर्षीय गोपाल ओडको अवस्था अज्ञात रहेको हो । गोपाल कात्तिक १ गते माछा मार्ने क्रममा चौलानी नदीमा बेपत्ता भएका थिए । बेपत्ता ओडको खोजी कार्य जारी रहेको भए पनि अवस्था अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।जमाडी खोलामा बच्चासहित हाम फालेकी डिलाशैनी–४ मठैराजका गोविन्द विष्टकी श्रीमती २८ वर्षीय जयन्ती विष्ट पनि अझै भेट्टिएकी छैनन् । यही कात्तिक २ गते पाँच वर्षीय छोरा सुभमसहित जयन्तीले जमाडी खोलामा हाम फालेकी हुन् । सुभमको शव भने दोगडाकेदार गाउँपालिका–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको छ । जयन्तीको अवस्था भने अज्ञात रहेको छ । जयन्तीका श्रीमान् घरमै रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
वडाध्यक्षसहित दुई पुर्पक्षका कारागार काठमाडौं । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका पर्साको पकाहमैनपुर गाउँपालिका–१ का वडाध्यक्ष अमेरिका सहनीसहित दुई जनालार्ई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ । पर्सा जिल्ला अदालतको आदेशानुसार वडाध्यक्ष सहनीसहित सोही मुद्दामा पकहामैनपुर गाउँपालिकाकै रामआदेश सहनी पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । सोही मुद्दामै पक्राउ परेका वडासदस्य बलिष्टर सहनीलाई भने जिल्ला अदालतले रु एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतको आदेश पछि वडाध्यक्ष अमेरिका र रामआदेशलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको प्रवक्ता खनालले बताए । गत साउन ३ गते ना१ब ३५९५ नम्बरको सरकारी मोटरसाइकलबाट ब्राउनसुगरसहित वडाध्यक्ष सहनी, वडासदस्य बलिष्टर सहनी र रामआदेश सहनीलाई प्रहरीले पक्राउ गरेको थियो । गत साउन ३ गत राति १०ः३० बजेको समयमा तीनैजनालाई वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले लागुऔषधसहित नियन्त्रणमा लिएको थियो । चेकजाँचको क्रममा प्रहरीले वडाध्यक्ष सहनीले चलाएको ना१ब ३५९५ नम्बरको मोटरसाइकलबाट ७९ ग्राम खैरो हिरोइन बरामद गरेको थियो । यसैगरी उनको पछाडि ना६२प १९४२ नम्बरको अर्को मोटरसाइकलमा आउँदै गरेका वडासदस्य बलिष्टर र पछाडि बसेका रामआदेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गोकर्णेश्वर नगरपालिकामा दुईको मृत्यु काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा एक महिलाको आज सुतेकै अवस्थामा मृत्यु भएको छ । सोही ठाउँमा डेरा गरी बस्ने सङ्खुवासभा मकालु गाउँपालिका–१ घर भएकी ३५ वर्षीया सञ्जु तामाङ सुतेको ठाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुुसन्धान भइरहेको जनाइएको छ । उक्त नगरपालिका–५ जोरपाटीस्थित सडकमा बा६३प ६२०४ नम्बरको स्कुटरलाई बा२ख १३८ नम्बरको ट्याङ्करले आज ठक्कर दिँदा स्कुटर चालक सोही नगरपालिका–४ माकलबारीका ४४ वर्षीय गङ्गाराज राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार उनकी छोरी १९ वर्षीया सुष्मा राईको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
संविधान र कानूनले दिएको जिम्मेवारी पूरा गरेर मात्र म बाहिरिन्छुः प्रधानन्यायाधीश काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान र कानूनले दिएको दायित्व पूरा गरेर मात्र आफू सेवाबाट बाहिरिने बताएका छन् । प्रधानन्यायाधीश र न्यायाधीशहरुको बीचमा आज भएको भेटमा उनले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताएका हुन्। प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको छलफलपछि सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीशले भनेको कुरालाई उद्धृत गर्दै भने, “संविधान र कानूनबमोजिम नियुक्त भएको प्रधानन्यायाधीशले संवैधानिक दायित्व गर्नुपर्छ, म त्यो पूरा गर्न सक्षम छु, संविधान र कानून दिएको जिम्मेवारी पूरा गरेर म बाहिरिन्छु ।” प्रधानन्यायाधीश जबराले आफूले सेवाबाट बाहिरिनुपर्ने हो भने प्रश्न उठाइएका अरु न्यायाधीशले पनि राजीनामा दिनुपर्ने अनि आफूले राजीनामा दिने समेत छलफलमा भने। प्रवक्ता दाहालले प्रधानन्यायाधीशले भनेको कुरा उद्धृत गर्दै भने, “तपाइँहरुले भने जसरी म बाहिरिनु राजी छैन, यदि सेवाबाट मैले राजीनामा दिनुपर्ने हो भने जुन–जुन श्रीमान्का विषयमा प्रश्न उठेको छ उहाँहरुले पनि राजीनामा दिए म पनि राजीनामा दिन तयार छु ।” प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुलाई संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् । सर्वोच्च अदालतमा हिजो र आज पेशी तोकिए पनि बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । जसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।
प्रधानन्यायाधीश जिम्मेवार बन्न ट्रेड युनियनको अपील काठमाडौँ । अदालतभित्र देखिएका विकृतिको अन्त्य गर्ने सम्बन्धमा जिम्मेवार बन्न प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनले आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘‘अशोभनीय गतिविधिले न्यायालय थप संकटतर्फ जाने भएको हुँदा अदालतभित्र देखिएका विकृति विसंगतिको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरु जिम्मेवार भई गम्भीरतापूर्वक अबिलम्ब समूचित समाधान गर्न जोडदार माग गर्दछौं’ । साथै न्यायालयमा देखिएको समस्याको सही समाधानका लागि सम्पूर्ण न्यायकर्मी, कानून व्यवसायी, न्यायका उपभोक्ता, पत्रकार, नागरिक समाज तथा सरोकारवाला जनसमुदायलाई आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न समेत अपील गरेको छ ।
श्वासप्रश्वासको समस्याः विमानस्थलबाटै फर्काइयो बिरामीलाई खलङ्गा । गुठीचौर गाउँपालिकाका रिमाल पाण्डे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले रेफर गरेको कागज देखाउँदै विमानस्थल पुगे। तीन महिनाको छोरालाई एक्कासि श्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा उपचारत थिए । अस्पतालले नर्मल श्वासप्रश्वासको दर ५० देखि ६० हुनुपर्ने भए पनि घटेर ३६ मा पुगेपछि थप उपचारका लागि शनिबार नै रेफर गरेको थियो । निकै गम्भीर प्रकृतिको बिरामी छोरा लिएर उनी विमानस्थल पुगेका थिए। हवाई टिकटका लागि एयरलाइन्सका कर्मचारीदेखि एजेन्सी सबैलाई हारगुहार गरे तर उनले टिकट पाएनन् । एयरलाइन्सका कर्मचारी र एजेन्सीका मान्छेले तीन दिनअघि देखि सिट प्याक भइसकेको जनाउँदै उनलाई फर्काइदिएका थिए । बिरामीले जहाजमा उड्न नपाउनु विडम्बना हो । उनले भने, “हामी अफ्ठयारो गाह्रो पर्दा हारगुहार माग्छौँ । टिकट पाउँदैनौँ । हवाई सेवा पहुँचवालाको मात्र होइन ।” दुई दिनअघि जुम्ला विमानस्थलमा भएको सर्वपक्षीय बैठकले बिरामीलाई पहिलो प्राथमिकतामा राखेर टिकट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको थियो । कुनै पनि बिरामी जहाजमा जान पाउनुपर्ने जनाउँदै बिरामीको विकल्प अरू हुन नसक्ने बैठकको निष्कर्ष थियो । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बिरामीले टिकट नपाउनु सुखद पक्ष नभएको बताए ।
एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ सिरहा । सिरहा नगरपालिका-१८ का वडाध्यक्ष रामसोगारथ यादव लागूऔषधसहित पक्राउ परेका छन्। सरकारी नम्बर प्लेट स१ ब९३८ नम्बरको मोटरसाइकलमा सवार यादव १५ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए। उनी भारतबाट फर्कँदै गर्दा प्रहरीले माडर चोकबाट पक्राउ गरेको हो। यादवमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए।
मिनी ट्रकको ठक्करमा एकको मृत्यु काठमाडौं ।मिनी ट्रकको ठक्करबाट भक्तपुरमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ यति कार्पेट नजिक व्यासीबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०१७ प ७९४२ नं को मोटरसाइकल चोङ्गा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्किदै गरेको प्र.नं ३–०१–००३ क. ५०६५ नंको मिनी ट्रकसँग आज ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार २० वर्षीय सुरज तामाङको मृत्यु भएको छ । घाइते तामाङको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि अन्नपूर्ण न्युरोमा उपचारका क्रममा मृत्यु भएको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मोटरसाइकल चालक मोटरसाइकल चालक चाँगुनारायण नपा–५ छालिङ १९ वर्षीय महेश्वर खड्कालाई सामान्य चोटपटक लागेकाले उपचारपश्चात् डिस्चार्ज भएको छ । मिनी ट्रक चालक भक्तपुर नपा–१० कमलविनायक महालक्ष्मी बस्ने ३३ वर्षीय लक्ष्मीप्रसाद दुवाल र दुर्घटनामा परेको दुईवटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखेर अनुसन्धान सुरु गरिएको प्रनाउ गिरीले जानकारी दिए ।
हत्या गरी आँगनमै पुर्ने दुई पक्राउ काठमाडौं। सिन्धुपाल्चोकमा एक पुरूषको हत्या गरी उनैको घरको आँगनमा गाडेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा  काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसङ्खुपाखर–७ का छिरिङ तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । गत असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पुरिएको अवस्थामा शव फेला परेको थियो । घरअगाडि आँगनमा मानिसको दुवै खुट्टाको औँला मात्र देखिने गरी खाल्डो खनी बालुवाले पुरेको अवस्थामा ६३ वर्षीय दाहालको शव फेला परेको थियो । घरअगाडि शव फेला परेपछि प्रहरीले केनाइन महाशाखा, काठमाडौँमा समन्वय गरी विशेषज्ञसहित कुकुरको टोली झिकाई अनुसन्धान सुरु गरेको थियो । घटनास्थल वरपर रहेका छरछिमेकका मानिसहरुले तीन दिन अघिदेखि मृतकको घरमा दुईजना अपरिचित पुरुष आउनेजाने गर्ने गरेको भन्ने सूचनाका आधारमा थप अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ परेको प्रनाउ बस्नेतले बताए । मृतक दाहालले प्रयोग गर्ने मोबाइल मृतकका साथमा फेला नपरेको तर मोबाइल भने चालु नै रहेकाले सोही मोबाइलको लोकेसनका आधारमा काभ्रेका मगर पक्राउ परेका थिए । मगरलाई सोही दिन साँझ ७ बजे नै मेलम्चीस्थित हेलम्बु बसपार्कबाट पक्राउ गरिएको उनले बताए । मगर पक्राउ परेपछि उनकै बयानका आधारमा सिन्धुपाल्चोकका तामाङलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ नारायणटारबाट असोज २८ गते पक्राउ गरिएको हो । मृतक दाहाल र आरोपीहरुबीच दाहालको घर बनाउन ठेक्का लिने सहमति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आरोपीहरुले असोज १९ गते राति नै दाहालको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बेपत्ता आयोगले जारी गरेको ‘द्वन्द्वपीडित’ परिचय पत्र देखाएर सिंहदरबार प्रवेश पाइने काठमाडौं ।द्वन्द्वपीडित भनेर जारी गरेको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने भएको छ । गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र आयोगका पदाधिकारीबीच आज भएको छलफलमा आयोगले जारी गरेको परिचयपत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति भएको हो । आयोगका अध्यक्ष युवराज सुवेदी, सदस्य विश्वप्रकाश भण्डारी, डा गङ्गाधर अधिकारी, सुनिल रञ्जन सिंह र सरिता थापा तथा सचिव श्यामकुमार भट्टराई अहिलेसम्म गरेका काम र अब गृह मन्त्रालयसँगको समन्वय गर्ने कामबारे मन्त्री खाँणसँग छलफल गरेका थिए । गृह मन्त्रालयका तर्फबाट मन्त्री खाँण, सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए । आयोगका पदाधिकारीले तत्कालका लागि आयोगले परिचयपत्र प्रदान गरेका द्वन्द्वपीडितलाई त्यही परिचयपत्र देखाएर सिंहदरबार छिर्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।
जडीबुटी सङ्कलन गर्न हुम्ला पुगेका मुगुका युवकको मृत्यु सिमकोट । जडीबुटी सङ्कलन गर्न आएका मुगु घर भएका एक युवकको मृत्यु भएको छ । चङ्खेली–३ को मिमीमा रहेको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न गएका मुगु कार्मारोङ गाउँपालिका–४ स्थित कार्तिक गाउँका ३३ वर्षीय छिरिङ लामा कटुकी सङ्कलन गरी घर फर्किने क्रममा हिउँ पहिरामा परी मृत्यु भएको हो । मृतका दाजु ३७ वर्षीय कार्मा सुण्डा लामाको दाहिने हात भाँचिएर घाइते भएको जानकारी प्राप्त भएको छ । दाजु कार्मा सुण्डासहित सातजना दुई दिन लगाएर चङ्खेली–३ मिमी गाउँ हुँदै मुगु फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुले जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गराएको प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जडीबुटी सङ्कलन गर्न गएका छोइटिन लामा, आङजिङ लामा, तोचे लामा, छोइटाङ लामा, सङ्गीता लामा र कार्मा सुण्डा लामा भने घर फर्किएका छन् । चङ्खेली–३ को मिमी गाउँदेखि दुई दिन टाढा रहेकाले कुन ठाउँमा हो यकिन गरी मात्रै खोजी हुने प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माको भनाइ छ । जडीबुटी सङ्कलनमा हिउँ पहिरामा परी मृत्यु भएको छिरिङको शव जङ्गलमै रहेको उनका दाजु कार्माले घर पुगेर रिपोर्ट गरेपछि जानकारी भएको उपरीक्षक शर्माले बताए।
भन्सार छली गरेका तीन लाखभन्दा बढीका कपडा बरामद काठमाडौं ।सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले आज भन्सार छलीका रु तीन लाखभन्दा बढीका कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालको टोलीले गोदावरी नगरपालिका–१ अत्तरिया इलाकामा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु तीन लाख १२ हजार ४७० बराबरको लेडिज र जेन्स आइटमका थान कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ । बरामद गरिएका कपडा आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको जनाइएको छ ।
छ वर्षअघि वन मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाडौं । कैलालीमा वन मुद्दाको फरार प्रतिवादी नारायण साउँदलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला अदालतको फैसलाअनुसार छ वर्षअघि वन मुद्दामा रु एक लाख १३ हजार ४६ जरिवाना तोकिएको फरार प्रतिवादी गौरीगङ्गा नगरपालिका–५ अण्डैयाका साउँदलाई पक्राउ गरिएको हो । साउँदलाई इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो ।  उनीमाथी आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालत धनगढीमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
संरक्षित वन्यजन्तु गैंडाको खागसहित दुई जना पक्राउ काठमाडौं ।गैंडाको खागसहित दुई जना प्रहरीको फन्दामा परेका छन् । सोलुखुम्बुको दूधकोशी गाउँपालिका ६ का १९ वर्षीय तिलकबहादुर बस्नेत र बागलुङको तमनखोला गाउँपालिका १ का २८ वर्षीय दीपक गोतामेलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले ९७० ग्राम तौल भएको १ थान गैँडाको खाग बरामद गरेको छ । अवैध रूपमा ओसारपसार गरी ल्याएको दुर्लभ वन्यजन्तु गैंडाको खागको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका ९ गैरीगाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।
जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते काठमाडौं। सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा परी जिल्लाको बागचौर नगरपालिका निवासी १८ वर्षीय आशीष बस्नेतको ज्यान गएको छ । जिल्लाको वागचौरबाट दाङतर्फ जाँदै गरेको भे१च १८९० नंको जीप कपुरकोट गाउँपालिका–३ स्थित मूलपानी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी वागचौर नगरपालिका–१ निवासी १४ वर्षीय आयुष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका बस्नेतको उपचारका लागि दाङ लिँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । यस्तै दुर्घटनामा परी घाइते हुनेमा वागचौर नगरपालिका–१ का २२ वर्षीय मनोज बस्नेत, सोही नगरपालिका–२ का २७ वर्षीया सीता वली, २८ वर्षीय बबिता रावल, ११ वर्षीया आशिका रेउले र जीप चालक वागचौर नगरपालिका–२ १९ वर्षीय हिक्मत पुन मगर रहेको प्रहरीको भनाइ छ । घाइतेहरूको प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । जीप सडकबाट सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर मृत्यु भएका पीडित परिवारलाई एक लाख २० हजार काठमाडौं। पहिरोमा पुरिएर मृत्यु भएका पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बसेडीका भानु, देवानी र पवित्रा पार्कीका परिवारलाई किरिया खर्चबापत एकमुष्ट रु एक लाख २० हजार उपलब्ध गराएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीका अनुसार,“ मृतकको गाउँमै पुगेर किरिया खर्च उपलब्ध गराएका हौं, सङ्घीय सरकारले दिने राहतबाट कट्टी गर्ने गरी तत्कालका लागि राहत दिएका छौँ ।” सङ्घीय सरकारले बाढीपिहिरोबाट मृत्यु भएकालाई प्रतिव्यक्ति रु दुई लाख १५ हजार र सोही घरका थप अरुको पनि मृत्यु भए जनही रू एक लाख थप राहत दिने निर्णय गरेको थियो । यही कात्तिक २ गते घरमाथिबाट खसेको पहिरोमा पुरिएर तीनै जनाको मृत्यु भएको थियो । यस्तै शिवनाथ गाउँपालिकाले पनि मृतकका परिवारलाई जनही रू ५० हजार राहत दिने निर्णय गरेको अध्यक्ष कर्ण साउदले जानकारी दिए। बैतडीमा पहिरोमा परेर चार जनाको मृत्यु भएकामा सुर्नया गाउँपालिका–५ की परुदेवी महराको पहिरोमै परेर मृत्यु भएको थियो । बाटो बन्द रहेकाले परुदेवीको परिवारसम्म पुग्न नसकिएको र केही दिनभित्रै किरिया खर्च उपलब्ध गराइने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
विश्वकप इतिहासमै सबैभन्दा कम स्कोरमा अलआउट हुने दोस्रो टिम बन्यो वेष्ट इण्डिज काठमाडौं। टि–२० क्रिकेट विश्वकपको डिफेण्डिङ च्याम्पियन वेष्ट इण्डिजले यस पटकको विश्वकपको सुरुवात भने निकै खराब तरिकाले गरेको छ । आज आफ्नो पहिलो खेलमा इङ्ल्याण्डसँग टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले निकै लाजमर्दो रेकर्ड बनाएको छ । टि–२० विश्वकपको इतिहासमा वेष्ट इण्डिज सबैभन्दा सफल टिम पनि हो । अहिलेसम्म उसले मात्रै २ पटक टि–२० विश्वकपको उपाधि जित्न सकेको छ । उसले २०१२ र २०१६ गरी २ पटक विश्वकपको उपाधि जितेको छ । आजको खेलमा वेष्ट इण्डिज केवल ५५ रनको स्कोरमा अलआउट भयो । १४ ओभर २ बल खेलेर अलआउट भएको वेष्ट इण्डिजका लागि क्रिस गेलले १३ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । इङल्याण्डका लागि आदिल राशिदले ४, टाइकल मिल्स र मोइन अलीले २–२ तथा क्रिस वोक्स र क्रिस जोर्डनले १–१ विकेट लिए । यससँगै वेष्ट इण्डिज टि–२० विश्वकपको इतिहासमा सबैभन्दा कम स्कोरमा अलआउट हुने दोस्रो टिम बनेको छ । टि–२० विश्वकपमा सबैभन्दा कम स्कोरमा अलआउट हुने टिम नेदरल्याण्ड हो । नेदरल्याण्डलाई २०१४ मा बंगलादेशमा भएको विश्वकपमा श्रीलंकाले ३९ रनमा अलआउट गरेको थियो । त्यसपछि नेदरल्याण्डलाई अहिलेको जारी विश्वकपमा श्रीलंकाले नै ४४ रनमा अलआउट गरेको थियो । त्यसपछिको कम स्कोर आज वेष्ट इण्डिजले बनाएको ५५ रन हो ।
सेतीमा हाम फालेर सुर्माकी किशोरी बेपत्ता बझाङ । सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । सुर्मा गाँउपालिका- ४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन् । उनी हाल जयपृथ्वी नगरपालिका-१० चैनपुरमा बस्दै आएकी थिइन् । बोहराले आज विहान पौने दश बजेको समयमा रिङरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ । बोहराले किन आत्माहत्या गरेकी हुन् भनेर नखुलेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शुक्रवार पनि जयपृथ्वी नगरपालिका-१० का नविन सुनारले सेती नदीमा हाम फालेर आत्महत्या गरेका थिए ।
सहकारीले नै दुग्ध प्रशोधन केन्द्र चलाउने काठमाडौं । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । दुलेगौँडामा रहेको शुक्ला कृषि पर्यटन सहकारीले किसानले उत्पादन गरेको दुधलाई ब्राण्डिङ गरी बजारीकरण गर्न दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो । दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ गाछेपानीमा प्रशोधन केन्द्र निर्माण हुदैँछ । आगामी साउनसम्म निर्माण सम्पन्न गरी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेगरी सम्झौता भएको हो । ९९ लाख २९ हजार ३०० रुपैयाँको लगानीमा प्रशोधन केन्द्र सञ्चालन गर्ने सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । उनका अनुसार सहकारीले १९ लाख ४० हजार ६ सय ४७ रुपैयाँ लगानी गर्नेछ । राष्ट्रिय शहकारी बैंक दमौली शाखाले ३० लाख २४ हजार ३ रुपैयाँ ऋण लगानी गर्नेछ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाईले ४९ लाख ६४ हजार ६ सय ५० रुपैयाँ अनुदान उपलब्ध गराउने सिग्देलले बताए । गुणस्तरिय दुध, दही, घ्यू, पनिर, आइसक्रिम बनाउने र प्याकेजिङ गर्न आवश्यक यन्त्र उपकरण प्रशोधन केन्द्रमा जडान हुनेछ । कच्चा पदार्थ खरिद, ढुवानी, बजार प्रबद्र्धन र बिमामा परियोजनाको सहयोग रहने जनाइएको छ । सहकारीले पशुपालनका निम्ति बिना धितो कर्जा लगानी गरिरहेको सिग्देल बताउँछन् । सहकारीको सहकार्यमा गाउँ–गाउँमा गाईभैँसी फर्मह सञ्चालनमा छन् । सहकारीले शुक्लागण्डकी नगर क्षेत्रका किसानले उत्पादन गरेको १२ सय लिटर दुध दैनिक बजारमा पुर्‍याइरहेको छ । हाल प्रशोधन बिनै रबरले दुधको पोका बाँधेर बजारमा पठाइरहेको सहकारीका उपाध्यक्ष मुक्तिनाथ तिम्लिसिनाले बताए । ‘अब बजारमा ब्राण्ड बनाएर बेच्नुपर्ने सरकारी नीतिअनुसार प्रशोधन केन्द्र सञ्चालन गर्दैछौँ । प्रशोधित दुध उपभोक्ताको स्वास्थलाई पनि हितकारी हुन्छ’, उनले भने । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका विज्ञ निर्मलप्रसाद चापागाईले गुणस्तरीय दुध उत्पादन गरी किसानलाई आत्मानिर्भर बनाउन परियोजनाले सघाउने बताए । उनका अनुसार कार्यस्थलमा काम सम्पन्न भएपछि मात्रै आयोजनाले दिने अनुदानको भुक्तानी हुनेछ ।
ओलीले भनेः हाम्रो गणना एक नम्बरमा छ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले चौतर्फी हमला भइरहदा पनि एमाले सबै ठाउमा सबैभन्दा मजवुद शक्ति भएको दाबी गरेका छन्। देशभरका वडा अधिवेशन उद्घाटन शत्रलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले संघीय संसददेखि ६ वटा प्रदेशमा सबैभन्दा ठूलो शक्ति भएको भन्दै एमालेकोे गणना एक नम्बरमा हुने बताए। ‘भोलिपनि हामी एक नम्बरमै हुन्छौं । एमाले नेता पार्टी हो । यसले देशलाई मार्गदर्शन गर्नुपर्छ। नमूना काम गर्नुपर्छ। हामीले निर्धारण गरेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्नुपर्छ । यसअनुसार अघि वढ्नुस्,’ सम्वोधनका क्रममा उनले भने। उनले जनताको समर्थनमा जनआधारित पार्टी बनाउने काममा लाग्न अधिवेशनबाट चुनिएर आउने नेतृत्वलाई आग्रह गरेका छन्। उनले केन्द्रीय नेतृत्वलाई सफल बनाउन तल्ला कमिटीको महत्वपूर्ण भूमिका हुने भन्दै क्रियाशिल भएर देश र जनताको बृहत्तर हितमा केन्द्रीत हुन आग्रह गरे।
तीघ्रामा लुकाइएको सात किलो चरेशसहित महिला पक्राउ काठमाडौं । लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिला पक्राउ परेकी छिन्। पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियारलाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको हो । ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेश रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । बरामद भएको चरेशको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल स्काउटद्वारा युवा तथा खेलकुदमन्त्री दीक्षित काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले स्काउट दीक्षा ग्रहण गरेका छन् । नेपाल स्काउटको प्रमुख स्काउटसमेत रहेका मन्त्री गहतराजले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा स्ववाचन गरी दीक्षा ग्रहण गरेका हुन् । दीक्षान्त पश्चात वरिष्ठ स्काउटर प्रा गोविन्दनारायणले प्रमुख स्काउटलाई नेपाल स्काउट स्कार्फ प्रदान गर्नुका साथै निर्देशक रामप्रसाद भट्टराईले माल्यार्पण गरेका थिए । सो अवसरमा मन्त्री गहतराजले नेपाल स्काउट युवालाई नैतिक शिक्षा, अनुशासन र राष्ट्रप्रेम सिकाउने संस्थाको रुपमा सबल बनाउने बताए। उनले नेपाल स्काउटमा राजनीतिक हस्तक्षेप नहोस् भन्नेमा आफु पनि दृढ रहेको बताउँदै राष्ट्रिय अन्तरराष्ट्रियरुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने बताए । समारोहमा वरिष्ठ स्काउटर प्रा गोविन्दनारायणलाई सम्मानसमेत गरिएको थियो । मन्त्री गहतराजले स्काउट कार्यालय परिसरमा स्काउटका प्रर्वतक लर्ड बेडेन पावेल र ओलेभ बेडेन पावेलको प्रतिमामा माल्यार्पण गरी भौतिक सम्पत्तिको बारेमा जानकारी लिंदै अवलोकन गरेका थिए। कार्यक्रममा नेपाल स्काउटका पूर्वराष्ट्रिय पदाधिकारी, प्रदेश संयोजक, उपत्यकाभित्र रहेका वरिष्ठ स्काउटर र स्थानीय तहका संयोजकलगायत स्काउटर तथा रोभर, रेन्जरको उपस्थिति रहेको थियो । नेपालमा सन् १९५२ मा स्थापना भएको स्काउट हालसम्म निरन्तररूपमा सबै जिल्लामा क्रियाशिल रहेको छ । अनुशासन, साहस एवम् सहयोगलाई मूलमन्त्र मानेर अघि बढेको स्काउटको मिसनअनुसार नेपालमा युवालाई जिम्मेवार नागरिक बनाउने, उनीहरुको भौतिक, बौद्धिक, सामाजिक, आध्यात्मिक तथा भावनात्मक विकास गर्ने लक्ष्य लिएको छ । स्काउट विशुद्ध गैरराजनीतिक एवम् सामाजिक अभियानको अभियन्ताको रूपमा आम नेपाली युवायुवती, बालबालिका तथा वृद्धवृद्धालाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिका निम्ति आर्थिक, शैक्षिक, सामाजिक, मानसिक, सांस्कृतिक रूपान्तरण गराउने कार्यमा निरन्तर लागिपरेको छ ।
बाढी, पहिरो र डुबानमा परी हालसम्म १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको हो । साथै १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ११ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ८६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ८८ वटा घर परिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।
आठ वर्षपछि बलात्कार कसुरदार पक्राउ काठमाडौं ।बलात्कारका कसुरदारलाई काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ। बेथानचोक गाउँपालिका ४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो। राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो। कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका ७ बाट पक्राउ गरिएको काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फस्र्योटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ। फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फरार रहेका प्रतिवादी खोजतलासका क्रममा महत पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ।
तोकिएको भाडा दर भन्दा बढी रकम लिने थिङ कारबाहीमा काठमाडौँ । तोकिएको बढी भाडा लिने सुमोलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ । यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिने ना १ ज ६६२४ नं को यात्रुवाहक सुमोलाई नियन्त्रणमा लिई कारबाही गरेको हो । हरेक वर्ष सुमो व्यवसायीहरुले विशेष गरि दशैं र तिहारमा मनोमानि ढङ्गले अत्याधिक भाडदर वृद्धि गर्दै आएका छन् । यो पटक पनि सुमो व्यवसायीले आफ्नै मनोमानि ढङ्गले भाडादर दोब्बर गरेको यात्रुहरुको गुनासो छ । बढी भाडा फिर्ता गरी उक्त सुमो र सुमो चालक जिल्ला मकवानपुर साबिक पदमपोखरी १ बस्ने बर्ष २९ को सुबास थिङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बाढीबाट ३०० परिवार बिचल्लीमा काठमाडाैं। मोहुली नदीको बाँध भत्किँदा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहामा करिब ३०० परिवार बिचल्लीमा परेका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण नदीको बाँध भत्किँदा त्यो बस्तीमा पानी पसेपछि उनीहरू बिच्चलीमा परेका हुन् । स्थानीयवासी महान्नद यादवले वर्षेनि यस्तो समस्या खेप्दै आएका बेला नदी किनारमै रहेका दलित समुदायका बासिन्दालाई कष्टकर अवस्था खेप्नुपर्ने बाध्यता रहेको बताए। राति अचानक ती बस्तीमा बाढी पस्दा साँझमा खाना पकाउनसमेत उनीहरू सकिएको छैनन् र अहिलेसम्म पनि भोकै रहेको पीडितले बताएका छन् । सोही वडाअन्तर्गत रहेको डोम बस्तीमासमेत छिरेको बाढीले करिब २० घर डोम परिवारलाई उठिबास बनाएको छ । डोम बस्तीअन्तर्गत चन्द्र मरिक, उपेन्द्र मरिक, सभापेत मरिक, सञ्जिव मरिक सुरेन्द्र मरिक, विरेन मरिकलगायत २० घर डोम परिवारलाई रूवावासी भएको छ । दुई दिनदेखि भोकै बस्न बाध्य बनेका उनीहरूलाई कतैबाट सहयोग मिल्न नसकिएको बताइएको छ । बाढी प्रभावित बस्तीमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जनार्दन गौतमसहितका टोलीले निरीक्षण गरेको छ । रासस
अविरल वर्षाको कारण चितवनमा ३० % धानबाली क्षति चितवन । अविरल वर्षाको कारण चितवनका धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी धान पनि ठाडो अवस्थामा छैन । कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमाराज अर्यालका अनुसार जिल्लाको पूर्वी क्षेत्र र माडीमा ५० प्रतिशत धान भित्र्याइसकिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा १० प्रतिशत मात्रै भित्र्याइएको छ । भित्र्याउन बाँकीमध्ये महानगरमा ७० प्रतिशत खडा अवस्थामा र २० प्रतिशत हाराहारी काटेको अवस्थामा रहेकामा दुवै धानमा आधाभन्दा बढीमा क्षति पुगेको उनले जानकारी दिए । पूर्वी चितवन र माडीमा ३० प्रतिशत काटेको अवस्था र २० प्रतिशत काट्न बाँकी रहेकामा खडा अवस्थाको धान ढलेको छ भने पाँजा पानीले डुबाएको छ । जसका कारण दुवै धानमा क्षति पुगेको अर्यालको भनाइ छ । उनको भनाइमा पानीमा डुबेको धानबाट राम्रो चामल, चिउरालगायत उत्पादन हुन सक्दैन । काट्न बाँकी र काटिएका धानको पराल काम लाग्ने अवस्थामा नरहेको उनले जानकारी दिए ।
जीप दुर्घटनामा पाँच जनाको मृत्यु काठमाडाैं। भारतको पिथौरागढमा पीएच०१एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भिरबाट खस्दा बैतडीका दुई जना सहित ५ जनाको मृत्यु भएको छ । भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक गाडी भिरबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा बैतडीको पाटन ६ का मोहन जोशी, खिमाली गाउँका दीपक अवस्थी, भारतीय सेनाका अवकासप्राप्त ब्रिग्रेडियर विनोदकुमार चन्द, पिथौरागढकै कल्याण चन्द र रघुवीर सिंहको मृत्यु भएको भारतीय संचार माध्यमहरूले जनाएका छन् । दुर्घटनामा मृत्यु भएका जोशी पाटन बहुमुखी क्याम्पस पाटन बैतडीमा प्राध्यापनरत थिए । गाडी विनोदकुमार चन्द आफैँले चलाइरहेका थिए । उनको गाउँ बुगामा आजै कुलपूजा थियो । पूजाभन्दा अगाडि बैतडीका अवस्थी र जोशीले चन्दलाई स्नानका लागि कर्णप्रयाग जाने सल्लाह दिएका थिए । स्नान गरेर कुलपूजाका लागि फर्किंदै गर्दा दुर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ । अवस्थी र जोशी चन्दका कुल पुजारीसमेत थिए । चन्द राति अनिँदो रहेका र गाडी चलाउँदा निद्रा लागेपछि दुर्घटना भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै संचार माध्यमले जनाएका छन् ।
प्रधानसेनापतिसँग राजदूत भोल्कको भेटवार्ता काठमाडाैं। प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छिन् । सैनिक मुख्यालय जङ्गीअड्डामा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ । भेटवार्ताले दुई देशबीचको सम्बन्ध सुमधुर तुुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिइएको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण आठ सडक अवरुद्ध काठमाडाैं। केही दिनदेखिको अविरल वर्षाका कारण देशरभका आठ सडक अवरुद्ध भएका छन् । बझाङमा खोड्पे–चैनपुर सडक जालिबगर र नारुघाटमा र धनगढी–सहजपुर–वुडर सडक र सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडक  मङ्गलबारदेखि नै अवरुद्ध छ । कालिकोट जिल्लामा सुर्खेत तल्लो डुङगेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक विभिन्न चेनेजमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ । पुष्पलाल राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, राप्ती राजमार्गलगायतका राजमार्गमा बाढी र पहिराका कारण यातायात ठप्प भएको हो । पुष्पलाल राजमार्गअन्तर्गत ओखलढुङ्गाको हिलेपानी–जयरामघाट हलेसीखण्ड र सिन्धुली जिल्लाको खुर्कोट–घुर्मी खण्डको अक्करे भिर तथा सोखुखोलामा सडक अवरुद्ध छ । डुम्रे–बेँसीसहर–चामे सडक मनाङ जिल्लाको विभिन्न खण्डमा अवरुद्ध छ । सो सडक अहिले निगालाघारी, खोत्रो र दानाक्युमा अवरुद्ध रहेको छ । यो महिनाको सुरुदेखि भइरहेको वर्षाका कारण जम्मा १२ सडक अवरुद्ध भएकामा अहिले चार सडक खुलाइसकिएको विभागले जनाएको छ । कोसी राजमार्गअन्तर्गत धनुकटामा लेती खोलामा ४० मिटर सडक कटान भएकामा एकातर्फबाट खुलाइएको छ । राप्ती राजमार्गअन्र्तगत सल्यानमा अरिङ्गलेफेदीमा अवरुद्ध भएकामा एकातर्फबाट चालु भएको छ । सल्यानको कपुरकोट गाउँपालिकाले पहिरो सफा गरेपछि एकातर्फबाट चल्न थालेको हो । विपी राजमार्गअन्तर्गत सिन्धुलीको कमेरे फाँटमा पनि मङगलबार सडक अवरुद्ध भएको थियो । सडक थप खुलाउने काम भइरहेको छ । वर्षाकै कारण अवरुद्ध भएको भालुवाङ–लिवाङ रोल्पा माडीचौर दारबोट सडक प्युठानको गनाहा चकचके खण्डमा अवरुद्ध भएकामा अहिले चालु भइसकेको छ । यो वर्ष जेठबाट नै वर्षा सुरु भएर राष्ट्रिय राजमार्ग विभिन्न खण्डमा अवरुद्ध भइरहेका छन् । वर्षा सुरु भएपछि २३८ सडक अवरुद्ध भएकामा आठ हाल अवरुद्ध छन् भने बाँकी सञ्चाचलनमा छन् । आजसम्ममा १३४ आशिंकरूपमा र ९६ दुवैतर्फ चालु रहेको विभागले जनाएको छ ।
सुनसरीमा बाढीका कारण तीनको मृत्यु, छ बेपत्ता काठमाडाैं। बाढी कारणले सुनसरीमा बुधबार तीन जनाको मृत्यु भएको छ भने छ बेपत्ता भएका छन् । मृत्यु हुनेमा धरान–६ का ७२ वर्षीय विष्णु सुनार, इटहरी–३ का चन्द्रमणि काफ्ले र धरान–११ का भोगेन्द्र राई रहेको छन् । त्यसैगरी बाढीमा परेर छ जना बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बेपत्ता हुनेमा इटहरी–२ का रोशन बुढाथोकी, इटहरी–७ का कैलाश मण्डल, इटहरी–२ का योगेन्द्र तिवारी, इटहरी–३ का राजकुमार राई, इटहरी–९ का विनोद पराजुली र भोक्राहा नरसिंह गाउँपालिका–७ का कलर मण्डल रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। उनीरूको खोजी जारी रहेको छ ।
१३ लाख ठगी गर्ने नक्कली डीएसपी पक्राउ काठमाडाैं।नेपाल प्रहरीको डिएसपी हुँ भन्दै ठगी गर्ने एकजना प्रहरीकै फन्दामा परेका छन् । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेका झापाका निलम भट्टराईलाई मंगलबार सुर्खेत प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक (इन्सपेक्टर) मा जागिर लगाइदिने भन्दै एक महिलासँग १३ लाख रुपैयाँ ठगी गरेको उजुरी आएपछि भट्टराईलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले बताए । ‘भट्टराईका साथबाट नक्कली डीएसपीको परिचयपत्रसमेत बरामद भएको छ,’ उनले भने,‘महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने नक्कली डीएसपी सुर्खेत आसपासका क्षेत्रमा रहेको भन्ने सूचनाका आधारमा भट्टराईलाई पक्राउ गरिएको हो ।’ कालो रंगको गाडीमा हिँड्ने भट्टराईको हाउभाउ हेर्दा जो कोहीले पनि प्रहरीकै डीएसपी होला भनेर सहजै अनुमान गर्ने गरेको ठगिएका पीडितहरूले बताएका छन् । पक्राउ परेका भट्टराईलाई सुर्खेत प्रहरीले आजै हवाईजहाजबाट महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौं पठाएको छ ।
रासायनिक मल चीनबाट आउन सुरु काठमाडाैं। चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ । तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको हो । हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए । किसानहरुले धानबाली भित्र्याई सकेपछि आलु तथा गुहँबाली सुरु गर्ने गर्दछन् । त्यसका लागि मलको अभाव हुन नदिने उद्देश्य राखी कृषि सामग्री कम्पनीले चीनबाट मल झिकाउन समयमै ठेक्का प्रक्रिया पु¥याएको थियोे । यद्यपि चिनियाँ पक्षले समयमै नेपाल पठाउन चासो नदिएपछि मल आउन ढिलाइ भएको हो । नेपाल सरकारले यसअघि पनि साल्ट टे«डिङ कम्पनीमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल मगाएको थियो ।
कुदुबासीको पानीको तिर्खा कहिले मेटिएला ? जाजरकोट । वाम एकता गरि चुनावी मैदान जाँदा तत्कालिन नेकपा (माओवादी केन्द्र) नेता शक्तिबहादुर बस्नेतको नारा थियो भेरी नगरपालिका–१३ कुदुमा यहीँ वर्ष खानेपानी पुर्याउने। उनी सोही नाराले चिर्वाचन जितेर वनमन्त्री पनि भए तर कुदुबासीको तिर्खा जस्ताको तस्तै छ। भेरी करिडोर अन्तर्गत जाजरकोट र रुकुम पश्चिम चौरजहारीको बीचमा पर्ने यो ठाउँ मध्यपहाडी लोकमार्गको मुख्य भागमा पर्छ। महत्वपूर्ण भूभागको बीचमा पर्ने भएकाले सबैलाई चुनावी नारा बनाउन यो ठाउँले साथ दिइरहेको छ। ठाउँको नाम बिक्री गरेर शक्तिबहादुर बस्नेत मन्त्री बने, तर यस ठाउँका नागरिकले भने तिर्खा मेटिनेगरी पानी पिउन पाएका छैनन्। करिब ५० लाख रुपैयाँ खर्चमा डिप बोरिङ गरि निकालिएको पानी पनि तीन सय परिवार कुदुबासीलाई हात्तीको मुखमा जिरा जस्तो भएको छ। तीन सय घरभुरी रहेको यो ठाउँको छेउबाट भेरी नदी बग्ने गर्छ। भेरी नदीको पाल्लो छेउमा नयाँ सहर बन्दै गरेको रुकुम पश्चिमको चौरजहारी छ। जाजरकोट खण्डमा भने पानी नपाएर बिहानैदेखि पालो कुरेर बस्नु पर्दा हैरान हुने गरेको स्थानीय नरबहादुर बस्नेतले बताए। बस्नेत भन्छन्, ‘यहीँ बाटो भएर जाने सर्वसाधारण ठाउँ त राम्रो हो, तर पानी नहुँदा बस्न मुस्किल रहेछ भन्छन्।’ कुदु सडक सन्जालले घेरेको स्थान पनि हो। तर खानेपानी अभावमा यहाँका सर्वसाधारणको जीवन कष्टकर छ । कुदुले जिल्लाभरिलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने क्षमता राख्छ। नजिकै भेदी नदी, समथर भूभाग भए पनि सिंचाइ अभावमा खेतीयोग्य जमिनमा अपेक्षित उत्पादन हुन सकेको छैन। प्रत्येक दिन भेरी नदी किनारमा धमिलो पानी ल्याएर परिवारको तिर्खा मेटाउँदै आएकी पानमती विक पानीको दुःखले दिक्क भइसकेको बताइन्। उनी भन्छिन्, ‘फोहोर पानी पिउँदा हरेक हप्ता परिवारमा कोही न कोही बिरामी हुन्छन्, जानेरै फोहोर पानी पिउन बाध्य छौं।’ आँखाले सङ्लो देखिने पानीलाई सफा भनेर पिउँदै आएका जाजरकोट कुदुका सार्वसाधारणले पानीका लागि धेरै ठाउँमा गुहार मागे । खास परिणाम आउने गरी कतैबाट पनि काम नहुँदा दिक्क लागेको कुदुका श्याम विकले बताए। उनले भने, ‘भेरीको भेलमा हामीले पानी भरेर ल्याएको तपाईंहरूले देख्नुभएको छ, यसको फोटो खिचेर नेताहरूलाई जसरी नि देखाइ दिनुहोला, चिल्ला गाडीमा नेताहरू आउने बाटो यही भए पनि उनीहरुले देख्दैनन्।’ यही गाउँबाट प्रतिनिधित्व गर्ने अधिकांश नेता केन्द्रीय राजनीतिमा छन्। वर्षौंदेखि आफूहरूले राखेको खानेपानी माग पूरा नहुँदा सर्वसाधारण निराश छन्। कुदुमा पानीको समस्या नौलो नभएको बताउँछन् स्थानीय शेरबहादुर बस्नेत। बोरिङ गरेर निकालेको पानी एक घन्टा मात्र आउने हुँदा कुदुबासीलाई छेउ, टुप्पो हुने गरेको छ । कुदुका तीन सय परिवारलाई बोरिङको पानी हात्तीको मुखमा जिरा भएको स्थानीयवासी बताउँछन्। पानी अभावको समस्या लिएर माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, रामदीप आचार्य, एमालेका निरज आचार्य, कांग्रेसका मुक्ति आचार्यको घर समेत गरेको स्थानीय लोकेन्द्र रोकायले बताए । सिंचाइ भए जिल्लालाई खाद्यान्न आपूर्ति हुने कुदुमा खेतीयोग्य जमिन प्रशस्त भए पनि आकाशे पानीको भर पर्नु पर्दा उत्पादन राम्रो हुँदैन। कुदुमा जिल्लाको सबैभन्दा ठूलो खेतीयोग्य फाँट भए पनि आकाशे पानीको भरमा किसानहरू खेती गर्दै आएका छन्। पिउने पानी समेत नभएको ठाउँमा सिँचाइ सुविधा हुनु नयाँ विष त होइन। तर सिंचाइको सुविधा भए एउटै गाउँले सिंगो जिल्लालाई पाल्न सक्ने क्षमता राख्ने स्थानीय हरि बस्नेतले बताए। भेरी नदीबाट पानी निकालेर सिँचाइको व्यवस्था गर्न सके पूरै जिल्लालाई खाद्यान्न आपूर्ति गर्न सकिने किसानहरू बताउँछन्। कुदुमा तिहार लगत्तै खानेपानीको नयाँ आयोजना : बस्नेत पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले कुदुको खानेपानी घोषणा पत्रमा मात्र होइन अब परिणाममा आउन लागेको दावी गरे। उनले भने, ‘पहिलो चरणमा खानेपानीको समस्या समाधान गर्नका लागि करिब दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरी काम सुरु भइसकेको छ। अर्को वृहत योजनाका लागि ३६ करोड बराबरको डिपिआर तयार तिहारलगत्तै बोलपत्र आह्वान गर्न लागेको छ।’ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख नारायण काफ्ले पनि सो कुराको पुष्टि गरे। उनले भने, ‘कुदुको खानेपानी समाधानका लागि तिहारलगत्तै जाजरकोट आएर काम थालनी गरिने छ, म आफैँ आएर फिल्ड अनुगमन गर्ने कार्यक्रम छ।’
शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया आरम्भ गर्न मन्त्रालयका उच्चाधिकारी र शिक्षक सेवा आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । राज्यमन्त्री बोधमाया कुमारी यादवका साथ ब्रिफिङ लिने क्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीलगायतलाई मन्त्री पौडेलले उक्त निर्देशन दिएका हुन् । नियमावलीमा रहेका नियुक्ति प्रक्रिया ऐन, कानून तथा शिक्षक समुदायको सहमतिबमोजिम योग्यता, अध्यापन अनुमतिपत्रलगायत विषयमा सहजीकरणका लागि संशोधन गर्न लागिएको हो । मुलुकभर करिब ५४ हजार शिक्षक दरबन्दी अभाव रहेकामा आयोगले हाल करिब १८ हजार शिक्षकका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।
वर्षासँगै चलेको हावाहुरीले बालीनालीमा क्षति काठमाडौं। दुई दिनदेखि जारी वर्षासँगै चलेको हावाहुरीले खोटाङमा बालीनालीमा क्षति पुर्‍याएको छ । वर्षासँगै चलेको हावाहुरीले पाक्न लागेको धान, कोदो, जुनेलोलगायतका बालीनालीमा क्षति पुर्‍याएको हो । भित्र्याउने बेलाको बालीनालीमा क्षति पुग्दा किसान चिन्तित बनेका छन् । जिल्लाका दुई नगरपालिका र आठवटै गाउँपालिकाका किसानले लगाएको बालीनालीमा पानी र हावाहुरीले क्षति पुर्‍याएको हो । हावाहुरीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । १० नंग्रा खियाएर लगाएको बालीनाली सखाप हुँदा किसानको बेहाल बनाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङका वडा अध्यक्ष ललित राईले बताए । हाल हावाहुरीले निमिट्यान्न बनाएर ढालेको धानको तस्बीर सामाजिक संजालमा छाइरहेको छ । दिक्तेलका स्थानीय नवराज राईले हावाहुरीले लडाएको धानबालीको फोटो फेसबुकमा राखेर ‘धान स्वाहा भयो’ लेखेका छन् । दिक्तेलकै शिक्षक ज्ञानप्रसाद आचार्यले ‘वर्षभरिको कमाइ एकै छाक’ भन्दै हावाहुरीले ढालेको धानबालीको फोटो सामाजिक संजालमा राखेका छन् ।
सामान्य घरयासी झगडाको कारण बुबालाई खुकुरी हानेर छोरा फरार काठमाडौं। गुल्मीमा छोराले वुबालाई खुकुरी प्रहार गरेर फरार भएका छन् । धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराइले जानकारी दिए । खुकुरी प्रहारबाट हरि बहादुरको टाउकोमा चोट लागेको छ । उनको गुल्मी अस्पतालमा उपचार भइरहेको भट्टराइले बताए । सामान्य घरयासी झगडाको कारण छोराले खुकुरी प्रहार गरी घाईते बनाएर भागेको प्रहरीले जनाएको छ । घटनाका आरोपितको खोजी कार्य जारी छ ।
उदयपुरमा बाढीले बगाएर ४० वर्षीय पुरुषको मृत्यु काठमाडौं। दयपुरको त्रियुगा नगरपालिका–५ लालपतास्थित बिलाउनेको कोरिया खोलामा आएको बाढीले ४० वर्षीय पुरुषलाई बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बाढीले बगाएर मृत्यु हुने पुरुष बिलाउनेका ४० वर्षीय टुकबहादुर खड्का रहेको जिप्रका उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए। खड्का आज बेलुकी खोला तरेर पल्लो गाउँ जान खोज्दा खोलाले बगाएको थियो भने खोजी गर्ने क्रममा प्रहरी टोली र स्थानीयले साँझ ६ः३० बजे एक किलोमिटर तल खोलाको बगरमा खड्का मृत फेला परेको प्रहरीले बताएको छ । अहिले जिल्ला प्रहरीको टोली घटनास्थल पुगेर खड्काको शव सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट ल्याउने तयारी भएको जिल्ला प्रहरी उदयपुरले बताएको छ । घटनास्थल जिल्ला सदरमुकाम गाईघाटदेखि २५ किलोमिटर दक्षिण सप्तरी र उदयपुर जिल्लाको सिमानामा रहेको प्रहरीले बताएको छ ।
बाढीमा फसेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो काठमाडौं। सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ । नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जानकारी दिए ।
बझाङको थलारामा पहिराले ७ घर पुरिए, एकै घरका १८ जना बेपत्ता काठमाडौं। बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो गएको छ । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका २३ जना बेपत्ता भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा.वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको स्थानीयले बताएका छन् । उनीहरुले पहिरामा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको बर्षाले बाटो अवरुद्ध भएकाले सो घटनास्थलसम्म जान नसकिएको बताएका छन् ।
पहिरोले घर पुरिँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु काठमाडौं। सुनसरीको धरानमा वर्षासँगै आएको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । धरान १३ स्थित नागेश्वर मार्ग बस्ने निशान राईका सात वर्षीय छोरी निसु र चार वर्षीय छोरा निहान राईको मृत्यु भएको हो । आज दिउँसो पौने २ बजे घरमाथिबाट आएको पहिरोले घरभित्र रहेका दुई बालबालिकालाई बेपत्ता बनाएको थियो । उद्धार टोलीले खोजी गर्दा साढे ३ बजे मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए । उनीहरूका बुबाआमा बाहिर बरन्डामा बसिरहेका बेला पहिरो आएको थियो । बुबाआमाले ज्यान बचाए पनि दुई छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।
पहिरोले बैतडी जोड्ने राजमार्ग अवरुद्ध काठमाडौं। लगातारको बर्षाले बैतडीका विभिन्न ठाउँमा पहिरो जाँदा प्रमुख राजमार्गह अवरुद्ध भएका छन् । महाकाली राजमार्ग अन्तर्गतको सतबाँझ–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा पहिरो जाँदा आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसअघि सल्सेना र धरमघरमा पहिरो गएको पहिरो भने प्रहरीले पन्छाएको जनाएको छ । यसैगरी, जयपृथ्वी राजमार्ग अन्तर्गत मोतीनगरमा पहिरो जाँदा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए ।
बर्सातले घर भत्कियो, दुईजनाको मृत्यु काठमाडौं। शनिबार देखिको लगातारको वर्सातका कारण डोटी जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिए दुईजनाको मृत्यु भएको छ । मृत्युहुनेमा सायल–६ मेल्लेखका सागर र ११ आशिष कुन्जेडा छन् । जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्सातले स्थानीयवासी वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर उनीहरुको मृत्यु भएको हो । च्यापिएका शव निकाल्न तथा थप उद्धारका लागि इलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी निरीक्षक किसन चन्दको नेतृत्वमा प्रहरी टोली परिचालन भएको बताइएको छ । जिल्लामा वर्सातका कारण विभिन्न ठाउँमा क्षति भएका भए पनि सञ्चार सम्पर्क विच्छेद भएका कारण अन्य क्षेत्रको खबर प्रप्त हुन नसकेको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।
वर्ल्ड स्मार्ट सस्टेनेबल सिटी अर्गनाइजेसनको ५ औं साधारण सभा सम्पन्न काठमाडौं। वर्ल्ड स्मार्ट सस्टेनेबल सिटी अर्गनाइजेसनको ५ औं साधारण सभा सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाका कार्यकारी समिति सदस्य निर्वाचित भइ धुलिखेल सन् २०२१ देखि २०२३ सम्मका लागि निर्वाचित भएको हो । १ सय ३६ देशको शहर सदस्य रहेकोमा १७ सदस्य सो कार्यसमितिमा धुलिखेल सहित निर्वाचित भएको छ । धुलिखेलको तर्फबाट उक्त सभामा नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले सम्बोधन गरेका थिए।
वर्षाका कारण कतै राहत, कतै घात काठमाडाैं । आइतबारदेखि परेको अविरल वर्षाका कारण कतै राहत भएको छ भने कतै घात भएको छ । नल र धान छुट्याउनका लागि तयारी हालतमा राखिएको धानका बालाहरू भारी पानीका कारण नलसँगै कुहिन थालेको छ । धानको बोट काटेर बालाबाट गेडाहरू भित्र्याउन ठिक्क पारेको समयमा पानी पर्दा समस्या भएको हो । अर्कोतिर मकै भित्र्याएर गहुँ , तोरी र तरकारी बालीलाई भने फाइला भएको छ । आकाशे पानीको भरमा लगाएको हिउँदेबालीमा पानी पर्दा राहत भएको नलगाड नगरपालिका ८ का वीरबहादुर खत्रीले बताए । पाखो बालीहरू आकाशे पानीकै भरमा लगाइन्छ ।
चार महिनापछि बेसीसहर–चामे सडक पूर्ण रूपमा सञ्चालन काठमाडाैं । गत १ असारको बाढीले अवरुद्ध बेसीसहर–चामे सडक चार महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले आइतबारबाट अवरुद्ध सडक चार महिनापछि सञ्चालनमा आएको हो। बेसिशहरदेखि चामे हुँदै माथिल्लो मनाङको खाङसारसम्म सवारी पुग्ने भएपछि बेसीसहरका व्यापारीसमेत सामान पठाउन सहज भएको भन्दै उत्साहित बनेका छन् । सडक अवरुद्ध हुँदा मनाङ जान तथा आउन हेलिकोप्टरको भर पर्नुपरेको थियो । यसअघि चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिका जोड्ने भ्राताङ भिरको सडक मर्मतपछि माथिल्लो मनाङको सडक पनि सञ्चालनमा आएको थियो । बेसीसहर–चामे सडकखण्डको मनाङकै तलेखुदेखि भ्राताङबीचको सडकखण्ड मर्मत भएपछि आइतबारबाट पूर्ण रूपमा सञ्चालननमा आएको हो । बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्‍याएपछि लामो समयसम्म मनाङ बाहिरी जिल्लासँग सडकसम्पर्क विच्छेद हुन पुगेको थियो । मनसुनको सुरुवातमै आएको बाढीपहिरोले मनाङमा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । ६५ किलोमिटरको बेसीसहर–चामे सडकखण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । सडक विभागले आ.व ०५१/०५२ मा बेसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । ०५२ मा निर्माण सुरु भएको सडक नेपाली सेनाले १९ वर्ष लगाएर ट्र्याक खोलेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल बर्खास्त काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवालको बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको छ । २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका सिलवाल राष्ट्रिय खेलकुद ऐन, २०७७ का कारण एक वर्षमै पदमुक्त भएका थिए । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो ।
नदीले बगाउँदा ३० वर्षीय गणेश आउजी बेपत्ता काठमाडौं। नदीले बगाउँदा कैलालीमा एक जना बेपत्ता भएका छन् । जिल्लाको खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–८ का ३० वर्षीय गणेश आउजी आज बेपत्ता भएको हुन् । खुटीया पुलदेखि एक किलोमिटर उत्तरतर्फ खोलामा ढुङ्गा निकाल्ने क्रममा नदिले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताएका छन् । बेपत्ता आउजीको खोजीका लागि अहिले गोताखोरसहितको टोली घटनास्थलमा गएको बताइएको छ ।
भोलि सार्वजनिक बिदा काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । बैठकले मुस्लिम समुदायलाई भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ मा भिड्दै हिमचितुवा घिमिरे काठमाडाै। अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन्। जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आयोजना हुने ४९ औँ सस्करणको सो अन्तरराष्ट्रिय प्रतियोगितामा उनीसँग जापानका व्यवसायिक किक बक्सर फुजीमुराले रिङ्मा उत्रदैछन्। फुजीमुरा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन्। विश्वका चर्चित बक्सरको मात्र सो प्रतियोगितामा सहभागिता रहने बताइएको छ। शनिबार सामाजिक सञ्जालमा आयोजक सस्था सिमुरा डोजोले प्रतियोगितामा बक्सरद्वय घिमिरे र फुजीमुरा बीचमा हुने भिडन्तको अन्तिम तयारी पुरा भएको जनाएको छ। अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले कोरोना कहरमा बीचमा सो प्रतियागिताका लागि पिताकै विशेष प्रशिक्षणमा पूरा गरेकाे जनाइएको छ। प्रशिक्षक देवकुमारले शनिबार सामाजिक सञ्जाल मार्फत् प्रतियोगिताको आवश्यक अन्तिम तयारी सम्पन्न भएको जनाए। प्रशिक्षक देवले पनि सामाजिक सञ्जालमा भनेका छन्, “युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङ्मा नयाँ उचाइ हासिल गर्नुभएको छ। अविरलले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ चुम्नेमा म विश्वस्त छु । यो प्रतियोगितमा छनौट हुुनु आफैमा प्रतिष्ठाको विषय हो । प्रतियोगिता हेर्न म सबैलाई आग्रह गर्दछु। ” सो प्रतियोगितामा विश्वका चर्चित बक्सरलाई मात्र रिङमा उतारिने गरिन्छ। ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेका थिए। उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए। यसैगरी घिमिरेले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए। सानो उमेरमा उँचो सफलता सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए। नेपालकोतर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका थिए। एक्काइस वर्षीय उनले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो। चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका छन्। पछिल्लो समय उनले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन्। ‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप २०२१’ लाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने बताइएको छ। वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिएको जानकारीअनुसार अबिरलले खेलेका अधिकांश व्यावसायिक किक बक्सिङमा भिडन्तमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्। उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए। रोमाञ्जकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए। उनले हालसम्म हिट –२४ किक बक्सिङ खेलको मिडिल वेटको दुई पटक च्याम्पियन तथा हालसम्म विभिन्न खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल हुनुभएको गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजेश घिमिरे जानकारी दिए। अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आउनुभएको उनले जानकारी दिए। “अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ। उ राष्ट्रिय प्रतिभा हो। सम्मान गरौँ। ” उनले भने। रासस
सवारी दुर्घटनामा दुईको मृत्यु वाग्मती । मकवानपुरको हेटाैँडा–१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुुईजनाको मृत्यु भएको छ। गए राति नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नंंको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ९९७३ नंको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुनेमा हेटाैँडा– १५ का १८ वर्षीय प्रकाश दियाली र हेटौँडा–३ का २२ वर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएको छ। बसको ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा त्यहाँका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको बताइएको छ।
झिझिया नाच हेर्न गएका किशोरको शव इनारमा भेटियो सिरहा । सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ। गोलबजार नपागरपालिका–८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका–३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार विहान फेला परेका हुन्। दसैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका महतो मृत अबस्थामा भेटिएका हुन्। मेलामा राति झगडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। मेलामा राति दुई युवा समूहबीच विवाद भएको स्थानीय राम कृपाल यादवले जानकारी दिए। उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत रहेको बताइएको छ। शव इनारबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे पनि अनुसन्धान भइरहेको जनाएको छ।
नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फाइनलमा काठमाडौं । अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले प्रतियोगिताको १३औं संस्करणमा इतिहास रचेको हो । खेलको आठौं मिनेटमा सुमन रेजाको गोलसँगै पछाडी परेको नेपालले १० जनामा सीमित भएको बंगलादेशविरुद्ध ८८औं मिनेटमा बराबरी गोल फर्काउँदै फाइनल यात्रा तय गर्‍यो । नेपालले गोलका लागि बनाएको क्लियर चान्समा पेनाल्टी एरिया बाहिर आएर फाउल गरेसँगै बंगलादेशका गोलकिपर रहमान जिकोले रातो कार्ड पाएका थिए । त्यससँगै १० जनामा सीमित भएको बंगलादेशका खेलाडीले १८ यार्ड बक्समा अञ्जनमाथि फाउल गरेसँगै नेपालले पेनाल्टी पाएको थियो । माल्दिभ्समा जारी प्रतियोगिताको फाइनल पुग्नका लागि कम्तिमा बराबरी नतिजा निकाल्नु पर्ने बाध्यतामा रहेको नेपालले आठौं मिनेटमा गोल खाएको थियो । मालेस्थित नेसनल फुटबल स्टेडियममा भएको खेलको आठौं मिनेटमा नेपाली डिफेन्डर गौतम श्रेष्ठले विपक्षी खेलाडीमाथि खराब ट्याकले गरेसँगै बंगलादेशले फ्रि(किक पाएको थियो । सोही फ्रि-किकमा कप्तान जमल भुयाको पासमा सुमन रेजाले हेडरमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन् । फ्रि-किक नेपाली खेलाडीको बारमा लागेर ६ यार्ड बक्सभित्र डिफ्लेक्ट भएको थियो । नेपाली डिफेन्डर दिनेश राजवंशीको कमजोरीको फाइदा उठाउँदै सुमन रेजाले गोल गरेका थिए । खेलको दोस्रो मिनेटमै गोलका लागि सुन्दर मौका बनाएको नेपालविरुद्ध बंगलादेशका डिफेन्डर टोपु बर्मानले खराब फाउल गर्दै असफल बनाइदिएका थिए । लास्ट म्यान डिफेन्डर रहेका बर्मानले नेपाली फरवार्ड नवयुग श्रेष्ठलाई पेनाल्टी एरिया ठीक अगाडि तानेर लडाउँदै नेपाललाई गोल गर्न रोकेका थिए । सोही फाउलका कारण उनले दोस्रो मिनेटमै पहेँलो कार्डको सामना गर्नुपरेको थियो । खेलको सुरुआतदेखि नै गोलका लागि प्रयासरत नेपालले केही मौका सृजना गरे पनि सदुपयोग गर्न सकेको छैन । सुरुआतदेखि नै मिसपास र बल पोसेसनमा संघर्ष गरिरहेको नेपालले पहिलो हाफको अन्त्यतिर सम्हालिने प्रयास गरेको थियो । पहिलो हाफको इन्जुरी समयमा रोहित चन्दको क्रसमा आयुष घलानको सुन्दर हेडर फ्रेममा नपर्दा नेपाल बराबरी गर्न दुर्भाग्यशाली रह्यो । त्यसअघि रोहित चन्दले पनि सुन्दर मौका गुमाएका थिए । प्रतियोगिता १३औं संस्करण सम्म आइपुग्दा नेपाल भने एक पटक पनि फाइनल पुग्न सकेको थिएन । प्रतियोगिताको पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलको नतिजामा हराएको थियो । त्यस्तै, तेस्रो खेममा भारतसँग १-० ले पराजित नेपालले बंगलादेशविरुद्ध महत्त्वपूर्ण १ अंक हासिल गर्दै शीर्ष दुईमा स्थान बनाएको हो । राउन्ड रोबिन लिग पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । आजै हुने माल्दिभ्स र भारतबीचको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ ।
राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्तिपीठको दर्शन र पूजा अर्चना काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँ २०७८ को महाष्टमीका अवसरमा आज काठमाडौँस्थित विभिन्न शक्तिपीठमा दर्शन तथा पूजा अर्चना गरेकी छन् । यस क्रममा राष्ट्रपति भण्डारीले मन्दिरमा उपस्थित पूजारी र सर्वसाधारणलाई दशैँको शुभकामना दिनाका साथै उनीहरुका सुझाव ग्रहण गरेकी हुन् । महाअष्टमी पर्व विशेष रूपमा शक्ति स्वरुपा भगवतीको प्रार्थना गर्ने दिनका रूपमा लिइन्छ । राष्ट्रपति भण्डारीले अपरान्ह ४ः३० बजे नक्सालस्थित नक्साल भगवती मन्दिरमा पुगेर काठमाडौँस्थिति देवी मन्दिरको दर्शनारम्भ गरेकी थिइन् । सो अवसरमा मन्दिरमा उपस्थित पूजारी, उनीहरुका परिवार र सर्वसाधारणलाई राष्ट्रपति भण्डारीले विजयादशमी २०७८ का अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरिन् । उक्त मन्दिरका पूजारी खगेन्द्र निरौलाले राष्ट्रपतिलाई नवदुर्गाको प्रसाद र टीका लगाइदिँदै मुलुकको आर्थिक विकासका लागि देशका खनिज पदार्थको उत्खनन् गर्न तथा मुलुकभित्रको अपार स्रोत साधनको सही सदुपयोग गर्न सुझाव दिए । राष्ट्रपति भण्डारीलाई मन्दिरका मूल पूजारी निलिक महर्जनले मन्दिर परिसरस्थित ऐतिहासिक ढुंगेधाराको दुरावस्थाका बारेमा अवगत गराएका थिए । राष्ट्रपति भण्डारीले सदाझैँ मैतीदेवी, गुह्येश्वरी, कालिकास्थान, शोभा भगवतीलगायतका मन्दिरमा दर्शन गरेका थिए । राष्ट्रपति भण्डारीले आज बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा पुगेर पूजाअर्चना गरिन् । धार्मिक मान्यतानुसार शक्तिका लागि भगवतीको आशीर्वाद लिने पर्व नवरात्रको आठौँ दिन पनि काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा चिनिन्छ । वर्षमा चारवटा नवरात्र पर्ने भए पनि शरद ऋतुअन्तर्गत आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र विशेष रूपमा मनाइन्छ । बडादसैँसमेत भनिने शारदीय नवरात्र देशभर भव्य रूपमा मनाइन्छ । देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर जाने गर्छन् । शक्तिपीठमा पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको विशेष महत्व रहेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।