content
stringlengths
20
64.1k
सरकारको निर्देशन अवज्ञा गर्दै एनआरएनए, तोकिएकै मितिमा निर्वाचन गर्ने वक्तव्य (विज्ञप्तिसहित) काठमाडौँ। नेपाल सरकारको निर्देशनलाई चुनौती दिँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय निर्वाचन समितिले तोकिएकै मितिमा निर्वाचन गर्ने घोषणा गरेको छ। प्रतिनिधि छनौटसम्बन्धी विवादमा उजुरी परेपछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले एक पत्र पठाउँदै निर्वाचनसम्बन्धी कुनै पनि काम अघि नबढाउन निर्देशन दिएको थियो। तर, सरकारको निर्देशनको एकहप्ता पूरा नहुँदै एनआरएनएको निर्वाचनसमितिले एक विज्ञप्ति जारी गर्दै निर्वाचन तोकिएको समयमै हुने जनाएर सरकारसँग पौठेजोरी खेल्न खोजेको छ। शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै समितिले परराष्ट्र मन्त्रालयबाट संघको अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचन संबन्धमा पठाएको पत्रको जवाफ संघको नेतृत्वले दिनासाथै निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गर्ने जनाएको हो। समितिले आगामी अक्टोबर २० तारिखमा चुनाव गर्ने तयारी भै रहेको पनि जनाएको छ। संघद्वारा हालै प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा व्यापक धाँधली गरिएको लिखित उजुरी परेपछि मन्त्रालयले एक छानबिन समिति गठन गरी संघको संस्थापन पक्ष र उजुरकर्ता दुवै पक्षसँग सोधपुछ गरिरहेको छ। मन्त्रालयले सहसचिव भरतकुमार रेग्मीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। सो समितिले छानविन सम्पन्न नहुन्जेलसम्मलाई निर्वाचनको काम रोग्न निर्देशन पनि जारी गरेको अवस्थामा छानविनको प्रक्रिया प्रारम्भमात्र भएको बेला एनआरएनए निर्वाचन समितिले काम अघि बढाउनुले सरकार र एनआरएनएबीच सिधा टकराव उत्पन्न हुने देखिएको छ। मन्त्रालयको छानबिनको रिपोर्ट आउनुभन्दा पहिले र आइतबार संघका अध्यक्ष पन्तसंग मन्त्रालयले थप स्पष्टीकरण माग्ने तय गरिएको पूर्व सन्ध्यामा समितिले सूचना प्रकाशन गरी चुनावको मिति नै तोक्ने कामले समितिको नियतबारे शंका उब्जाएको छ। यसअघि मतदाता नामावली उपलब्ध नगराएको भन्दै निर्वाचन समितिले संघका महासचिव हेम राज शर्मा र अन्य पदाधिकारीहरुलाई मौखिक तथा लिखित रुपमै ताकेता गरेको थियो। सबै एनसीसीहरूबाट १५ अगष्ट भित्रै नामावली माग गरेता पनि संघको केन्द्रीय सचिवालयले अहिलेसम्म मतदाता नामावली निर्वाचन समितिलाई बुझाएको छैन। तर समितिले मतदाता नामावली पठाउन भैरहेको ढिलाइका सम्बन्धमा भने विज्ञप्तिमा केही उल्लेख गरेको छैन। न त मतदाता सूचीमै व्यापक हेरफेर गरिएको भन्ने उजुरीबारे केही बोलेको छ। बरु निर्वाचन समितिले “निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको र हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको“ दावी गरेको छ। त्यस्तै संघको सदस्यता सूचना प्रणाली (एमआइएस सिस्टम) को विश्वसनीयताबारे नै गम्भीर प्रश्नहरु उठिरहेको बेला निर्वाचन समितिले   “आइटी विज्ञहरु सहितको उपसमिति बनाएर आवश्यक सरसल्लाह लिँदै आफ्नो तयारी र काम अगाडि बढाइराखेको“  दावी गरेको छ। जापान, चिली, बेल्जियम, जर्मनीलगायतका मुलुकमा अनलाइन माध्यमद्वारा हालै गराइएको एनसीसी चुनावमा संघका महासचिव हेमराज शर्मा र सचिव गौरीराज जोशीको नियन्त्रण र निर्देशनमा रहेको संघको केन्द्रीय एमआइएस प्रणालीको व्यापक दुरुपयोग गरिएको उजुरी परराष्ट्र मन्त्रालयमा परेको छ। एउटा स्वतन्त्र छानबिन समितिले जापानको चुनावमा ग्रुप इमेल प्रयोग गरी झन्डै ३,००० फर्जी मत खसालिएको रिपोर्ट सार्वजनिक गरिसकेको छ। उक्त धांधलीविरुद्ध नेपाल प्रहरीको साइबर क्राइम ब्युरोले अनुसन्धान गरिरहेको छ। तर विवादास्पद एमआइएस प्रणालीको बचाउ गर्दै निर्वाचन समितिले मतदाताहरुका सेल्फी फोटो तथा वैध भिसा जनाउने कागजात माग गर्नुले संवेदनशील व्यक्तिगत सूचनाहरु दुरुपयोग हुन सक्ने आइटी विज्ञहरुले आशंका व्यक्त गरेका छन्। “संस्थापन पक्षले संस्थागत रुपमा चुनावमा धाँधली गर्न कुनै कसर बाँकी नराखेको तर यो संस्थागत बदनियतको विरोधमा आवाज उठाउँदा निर्वाचन समितिले उल्टो उनीहरुको बचाउ गर्ने गरी चुनावको मिति सार्वजनिक गर्नु र सचिवालयले अहिलेसम्म गरेका विवादास्पद तथा गैरकानूनी कामको ढाकछोप गर्न खोज्नु दुर्भाग्यपूर्ण छ, “ संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले भने। उनले समितिले आफ्नो विज्ञप्ति सच्याई परराष्ट्र मन्त्रालयको छानबिन समितिले रिपोर्ट नबुझाउँदासम्म कुनै पनि विवादास्पद सूचना ननिकाल्न आग्रह पनि गरे। हेर्नुहोस् निर्वाचन समितिको विज्ञप्ति जस्ताको तस्तैः गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्नका संघले अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा गत जुलाई देखि नै जुटिरहेको छ। जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरुलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको छ। निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ। हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको छ। गैरआवासीय नेपाली संघको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुँदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भैसकेको छ। प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ। अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नु पर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनु पर्ने हुन्छ। सबै मतदाताहरुलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ। अहिले सोही अनुसार फोटो संकलनको काम जारी छ। निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बन्चित हुने अवस्था आउन सक्छ। यस तर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समिति अनुरोध गर्दछ। गैरआवासीय नेपालीको अवस्था प्रष्ट देखिनका लागि भिसा सहितको आइडि कार्ड पनि आवश्यक भएको हुनाले यदि सदस्यता बनि सकेपछि पछाडि नविकरण गरिएका भिसा तथा आइडि कार्ड भए membership@nrna=org मा पठाइ दिन हुन समेत सूचित गरिन्छ। आसन्न निर्वाचन सम्पन्न गर्नका लागि यसअघि नै ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहनुभएको छ। निर्वाचन समितिका सदस्यहरुमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिीवि ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कतार), डा. गणेश गुरुङ्ग (नेपाल) हुनुहुन्छ। निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समितिले आइटी विज्ञहरु सहितको उपसमिति बनाएर आवश्यक सरसल्लाह लिंदै आफ्नो तयारी र काम अगाडि बढाइराखेको छ। निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्ना साथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ। निर्वाचनका बाँकी आवश्यक प्रकृयाका लागि समयको अभाव नभएकाले निर्वाचन समिति तोकिएको समयमा निर्वाचन गराउन प्रतिबध्द रहेको विश्वास दिलाउँदछ। महाधिवेशन प्रतिनिधिहरुले आफ्नो मताधिकारलाई सुरक्षित राख्न तोकिएका मापदण्डहरुको पालना गर्दै आवश्यक सूचनाहरुका लागि निर्वाचन समिति, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालय र आफ्नो देशको राष्ट्रिय समन्वय परिषदको इमेल र सूचनाहरु हेर्दै आवश्यक सहयोग गरिदिनुहुने विश्वास निर्वाचन समितिको छ। निर्वाचन समिति, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद १७ सेप्टेम्बर २०२१
राजनितिक दलको निर्देशनमा एनआरएनएमा परराष्ट्रको हस्तक्षेप : अध्यक्ष पन्त काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले सत्तारूढ प्रमुख दलको ठाडो निर्देशनमा परराष्ट्रमार्फत निर्वाचन प्रकृया अघि नबढाउन भन्दै हस्तक्षेप हुनु दुर्भाग्य भएको बताएका छन्। डीसी नेपालसँग कुरा गर्दै उनले एनआरएनएको आफ्नै विधान व्याख्या समिति र संरक्षक परिषद् हुँदाहुँदै सत्ताधारी दलका हेब्बी वेट का नेता र उनका परिवारबाट परराष्ट्रमा दवाव आएकोले सो पत्र काट्नुपरेको जानकारी आफुले पाएको बताए। निर्वाचनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली मात्र न सार्वजनिक भएको परिस्थितिमा दावी विरोधको समय हुँदाहुँदै दावी–विरोधमाथि छानविन नभई परराष्ट्रले हतासमा निर्वाचन प्रक्रिया रोक्नु भनेर पत्र काट्नु अशोभनीय राजनीतिक हस्तक्षेप भएको उनको जिकिर छ। “यो सरासर राजनीतिक हस्तक्षेप नै हो, दावी विरोेधबारे छानविन नै शुरु नभई एक्कासी लगाइएको आरोपको पछि नलाग्न म अनुरोध गर्दछु। समस्या भएपनि समाधान गर्ने निकाय परराष्ट्र होइन।” एनआरएनएको वर्तमान कार्यसमितिले संस्थागत सुधारको लागि विशेष अधिवेशन गरेर नयाँ विधान संसोधन गरेको बताउँदै त्यही विधानको आधारमा चुनाव हुन लागेको समेत जानकारी दिए। मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीसँग पत्र आउनु अघि केही समय कुरा हुँदा उनले यो विषयमा केहि नबताउनु भएकाले पनि यसमा स्वार्थ समुहको योजना अनुसार राजनीतिक हस्तक्षेप भएको बुझ्न सकिने पन्तको दावी छ।  एनआरएनको निर्वाचन तोकिएको समय अक्टोवर तेस्रो सातामा नै हुने बटमलाइनका साथ कुरा गर्न काठमाडौं उड्न लागेको जानकारी दिदैँ पन्तले १० औं अन्तर्राष्ट्रिय महाधिवेशन कुनै पनि हालतमा नरोकिने बताए। एनआरएनएको नियामक निकाय परराष्ट्र मन्त्रालय भएता पनि आन्तरिक विषयमा अनावश्यक चासो राखेर सत्ताको दुरुपयोग गर्दै स्वार्थ समूहको चंगुलमा संस्था बुझाउने षडयन्त्र विरुद्ध एकजुट हुन अध्यक्ष पन्तले आग्रह गरे। एनआरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न पत्रमार्फत निर्देशन दिएको थियो। भदौ २५ गतेको पत्रमा यस सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले समिति गठन गरेको जानकारी समेत छ।
अमेरिकाको ओहायोस्थित घरमा आगलागी हुँदा ५ नेपालीभाषी भुटानीको मृत्यु, कारण अस्पष्ट वासिंगटन डिसी । अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा बसोबास गर्ने ५ नेपालीभाषी भुटानीको घरमा आगलागीका कारण मृत्यु भएको छ। सेप्टेम्बर १२ तारिक आइतवार राति भएको सो घटनामा मृत्यु हुने ५ जनामा ३ जना बालबच्चा परेका छन्। एक्रोन नर्थहिल क्षेत्रको लिन्डेन एभेन्यु ११०० ठेगानामा रहेको घरमा राति आगलागी भएको थियो । द समिट काउन्टी मेडिकल एक्जामिनर अफिसले रातिको आगलागीमा ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ। स्थानीय संचारमाध्यम न्यूज फाइभ क्लिभल्याण्डसँग कुरा गर्दै याम सुब्बाले सो आगलागीमा परी आफ्ना बुबा, कान्छी आमा र तीनजना बच्चाहरुको मृत्यु भएको बताएका छन्। उनले सो संचारमाध्यमसंग मृतक परिवारको फोटो पनि शेयर गरेका छन् । आगलागीमा परी अरु ४ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ। सुब्बाको घरमा आगो दनदनी भएको छिमेकीले देखेपछि छिमेकीले नै अपतकालीन सेवा ९११ लाई फोन गरेका थिए। समाचारअनुसार, घटनास्थलमा रातिको १ बजे अग्नि नियन्त्रकहरु आइपुगेको र त्यसबेलासम्म सुब्बाको घर जलेको र छिमेकको घरमा पनि सामान्य क्षति पुगेको बताइएको छ। समाचारअनुसार, एकै परिवारका चारजना बस्ने गरेकोमा केही दिनदेखि छोरी ज्वाईं नाताका ४ जनाको परिवार पनि सो घरमा बस्न पुगेको थियो। राति एक्कासि आगलागी भएपछि सो घरमा बस्ने अर्का एकजना लोग्ने मान्छे भने झ्यालबाट हाम्फालेर बाँच्न सफल भएका थिए भने छोरी ज्वाईंको परिवारका ४ जनामध्ये ३ जना बाँच्न सफल भएका छन्। आगलागीको कारण के थियो र सो घरमा घटना भएको रात कति मानिसहरु थिए भन्ने स्पष्ट भइसकेको छैन । आगलागीको घटना थाहा पाएपछि स्थानीय भुट्नीज कम्युनिटी एशोसिएसन अफ एक्रोन इन्क भन्ने सामाजिक संस्थाका अध्यक्ष मनोरथ खनाल र अन्य नेपालीभाषी समुदाय घटनास्थल पुगेका थिए। खनालका अनुसार, के कारणले आगलागी भएको भन्ने स्पष्ट भएको छैन। उनले डिसी नेपालसंग भने,“नेपाली भाषी समुदायका लागि यो ज्यादै दुःखदायी घटना भएको छ, सरकारले यसको अनुसन्धान गरी तथ्य पत्ता लगाइदिन्छ भन्ने आशा छ। कुनै षड्यन्त्र रहेछ भने पनि पत्ता लगाएर परिवारलाई न्याय होस्।”
सुदूरपश्चिमकाे संस्कृति प्रवर्धन गर्न अमेरिकामा छायाङ्कन भयाे देउडा गीत काठमाडाैं । अमेरिकाको ल्याक्सिङटनमा रहेका सुदूरपश्चिमी नेपालीहरुले आफ्नो संस्कृतिलाई प्रवर्धन गर्न देउडा गीतको भिडियो छायाँकन गरेका छन्। उनीहरुले त्यहाँ गौरा पर्वको अबसर पारेर यो पर्व मनाउँदै देउडा गीतको छायाँकन गरेका हुन्। अमेरिकामा रहेर पनि भिडियो निर्देशनमा सक्रिय रहेका युवा चलचित्र निर्देशक सुमन दाहालको निर्देशनमा देउडा गीतको छायाँकन सम्पन्न भएको छ। सोही भिडियो छायाँकनमा सहभागी भएका सुदूरपश्चिमका नेपालीहरुले सुदुर पश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि श्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा ‘सुदूरपश्चिम समाज ल्याक्सिङटन’ गठन गरेका छन्। अमेरिकाको केन्टकी राज्य स्थित ल्याक्सिङटन शहरमा रहेका सुदुर पश्चिमका नेपालीहरु आफ्नो हक हितका लागि यसरी संस्थागत रुपमा एकीकृत भएका हुन्। उद्धवराज उप्रेतीको नेतृत्वमा गठित सुदुर पश्चिम समाज ल्याक्सिनटनको उपाध्यक्षमा चुडामणि अवस्थी, महिला उपाध्यक्षमा रेखा जोशी, सचिबमा मानबहादुर शाह (मानव), सह सचिबमा गोविन्द अवस्थी, कोषाध्यक्षमा विनोद पन्त रहेका छन्। यस्तै सो समाजको कार्यसमिति सदस्यहरुमा प्रकाश पाण्डेय, निराजन चौधरी, अर्चना शाही, प्रकाश थापा, त्रिलोक सिंह ऐर, टेक प्रसाद न्यौपाने र विवेक ढकाल रहेका छन्। अध्यक्ष उप्रेतीले आफुहरु यस अघि नै संगठित भए पनि यसपटक आधिकारिक रुपमा सुदूरपश्चिम समाज ल्याक्सिङटन नै गठन गरेको बताएका छन्। उनका अनुसार अब यो समाजले सुदूरपश्चिमबाट अमेरिका पुगेर विभिन्न पेशमा रहेकाहरुलाई एकिकृत गरेर सुदूरपश्चिमको भाषा, संस्कृत, गीत संगीतको प्रवर्धन गर्ने छ। चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहालले पनि यसरी सुदूरपश्चिमका साथीहरुले समाज गठन गरेर एकीकृत हुन राम्रो कार्य भएको बताएका छन्। यो समाजका पदाधिकारीले धेरै भन्दा धेरै सुदूरपश्चिमका नेपालीलाई समेटेर आफ्नो कला संस्कृति, भेषभुषा, गीतसँगीतको प्रवर्धनसँगै सामाजिक कार्यमा योगदान दिने विश्वास आफुले लिएको निर्देशक दाहालले बताएका छन्।
अमेरिकाको केन्टकीमा नेपाली युवाहरुलाई प्रोत्साहन र सम्मान केन्टकी, अमेरिका । गैरआवासीय नेपाली संघ, केन्टकीले स्थानीय अरु नेपाली संस्थाहरुसँग मिलेर अमेरिकामा हुर्कदैँ गरेको दोस्रो पुस्ताका नेपाली युवा युवतीलाई प्रोत्साहित गरेको छ। एएनकेए, एनएएसके र इनास केन्टकीसमेतको सहभागितामा नेपाली समुदायबाट हाइइस्कुल ग्राजुएट गर्ने ५० जना विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीको प्रमुख आतिथ्यमा सेप्टेम्बर १२ आइतबार सम्पन्न सो कार्यक्रममा केन्टकीमा एनआरएनएका गतिविधि शुरुवात गर्ने अग्रजद्वय पुरुषोत्तम बोहोरा, शशी अधिकारी, एनआरएनएका पहिलो दोस्रो कार्यकालका अध्यक्ष दिलु पराजुलीलाई एनआरएनए मुभमेण्ट सम्मानले सम्मानित गरिएको थियो। अमेरिकाको केन्टकी राज्यको लेक्सिनटनमा सम्पन्न सो कार्यक्रममा चलचित्र निर्देशक सुमन दाहाललाई कलाकारितामा हौशला र प्रोत्सान गरेकोमा, अति राम्रो नृत्य गरेकोमा बाल प्रतिभा बारुणी पाण्डेलाई प्रोत्साहन सम्मान, सौरभ खड्का,सफल डुम्रे, सार्थक रिजाललाई युथ भोलेन्टियर अवार्ड, निशान बुढाथोकी, विशेष पौडेललाई युथ अवार्ड दिइएको थियो। सम्मानितहरुलाई सम्मान गर्दै प्रमुख अतिथि त्रिपाठीले एनआरएनएले युवा पुस्तालाई प्रोत्साहित गर्न नसके, उनीहरुलाई एनआरएनए अभियानमा सक्रिय बनाउन नसके एनआरएनए अहिलेको पुस्तामा मात्र सिमित हुने बताए। उनले केन्टकी च्याप्टर र अरु संस्थाहरुको सहभागितामा स्थानीय नेपाली मुलका युवाहरुलाई प्रोत्साहित गर्दै अभियानमा सरिक गराउने कामको सह्राना पनि गरे। उनले गुट, उपगुटमा विभाजित भएर स्वार्थमा एनआरएनए अभियानलाई डुवाउनु नहुनेमा सबै सचेत हुनुपर्ने धारणा राखेका थिए। अर्जुनकिशोर न्यौपाने र डमरु पौडेलले संचालन गरेको केशवराज लोहनीको अध्यक्षतामा भएको सो कार्यक्रममा पुरुषोत्तम बोहोरा र दिलु पराजुली विशेष अतिथि थिए।
अमेरिकामा छोरो मारिएकै ठाउँमा पुगेर सागरका पिताले गरे श्राद्ध (तस्वीरहरु सहित) मेरिल्याण्ड,अमेरिका । चार महिनाअघि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा एका विहानै बन्दुकधारी व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार गर्ने क्रममा मारिएका आफ्ना छोराको मोक्ष प्राप्तिका लागि उनी मारिएकै स्थानमा पुगेर उनका पिताले श्राद्ध गरेका छन्। हिन्दू नारीहरुको चाड तीजको ऋषि पञ्चमीका दिन नेपालको संखुवासभा जिल्लाको खांदबारी अस्पतालमा जन्मिएका सागर घिमिरेको पञ्चमासिक श्राद्ध त्यही ऋषि पञ्चमीकै दिन सेप्टेम्बर ११ तारिकमा उनका पिता जगतविक्रम घिमिरे र आफन्तहरुले उनी मारिएको ठाउँमै पुगेर सम्पन्न गरेका छन्। मे ८ तारिक, २०२१ को दिन एकाविहानै साढे ६ बजेको आसपासमा ५६ बर्षजतिका एभरटन ब्राउन भन्ने व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेर बाल्टिमोरको उडलन कम्प्लेक्स क्षेत्रमा चारजनाको हत्या गरेका थिए। तिनै चारजनामध्येमा एक परेका थिए सागर घिमिरे । “आफ्ना छोराको जहाँ रगत बगेको हो त्यही ठाउँमा आएर आज ५ महिनाको मासिक श्राद्ध कर्म गरेको छु”, सागरका पिता जगतविक्रमले डिसी नेपालसंग भने, “रगत भिजेको ठाउँमा आएर वैदिक परम्पराअनुसार मेरो छोरोको स्वर्गको वासको कामना गरेँ। तर, अमेरिकी सरकार र प्रशासनसमक्ष मेरा धेरै प्रश्न छन् र अनुरोध छ अव आइन्दा कुनै पनि व्यक्तिले मेरो छोरोको जस्तो नियति भोग्न नपरोस्।” चारजनाको हत्यापछि स्थानीय प्रहरीद्वारा मारिएका ब्राउनलाई पछि मानसिक रोगी भएको भनिएको थियो। ब्राउनले आफ्नै घरमा आगो लगाई छिमेक तिर स्वचालित हतियारले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। सो घटनामा परी मृत्यु भएका घिमिरे उडलन कम्प्लेक्समा एकजना नेपालीको घरमा डेला लिई एकहप्ताअघि मात्र सरेका थिए। एकाविहानै बड्याङबुडुङको आवाजले शुरुमा भूईचालो आयो भनेर घरबाट निस्किएका २४ बर्षिय घिमिरेलाई घर अगाडिको पार्किंगस्थलमा गोली लागेको र उनको त्यहीं मृत्यु भएको थियो। घिमिरेसँगै बस्दै आएका अर्का एक नेपाली युवालाई पनि गोली लागेको थियो तर उनी भने बाँच्न सफल भएका थिए। “मृत आत्माले विधिपूर्वक संस्कार पाएन भने उसको आत्मा घुमि नै रहन्छ भन्ने मैंले महसुस गरेको छु” पिता जगतविक्रमले मारिएकै स्थानमा आएर श्राद्ध तर्पण गर्नुको कारण खुलाउंदै भने, “उसलाई यहाँ श्रद्धाञ्जली अर्पण गरेपछि उसको आत्माको शान्तिको कामना विधिपूर्वक गरेपछि आफूले पनि शान्ति महसुस गरेको छु।” “मृत आत्माले विधिपूर्वक संस्कार पाएन भने उसको आत्मा घुमि नै रहन्छ भन्ने मैंले महसुस गरेको छु” पिता जगतविक्रमले मारिएकै स्थानमा आएर श्राद्ध तर्पण गर्नुको कारण खुलाउंदै भने, “उसलाई यहाँ श्रद्धाञ्जली अर्पण गरेपछि उसको आत्माको शान्तिको कामना विधिपूर्वक गरेपछि आफूले पनि शान्ति महसुस गरेको छु।” साउथ क्यारोलिनाको एउटा विश्वविद्यालयबाट उच्च अंकसहित ग्रजुयेट भएको केही दिनमा सागर र उनका साथी बाल्टिमोर आएका थिए। नेपालमा रहँदा पनि मेधावी विद्यार्थी रहेका सागर युथ एसियाको टप सेभेन डिबेटर थिए भने तत्कालीन राष्टपति डा.रामबरण यादवको हातबाट दुई वटा स्वर्णपदक पनि प्राप्त गरेका थिए। आफ्नो छोरोको पार्थिव शरीर त उनले देख्न पाएनन्। घटनाको समयमा कोरोनाको महामारी पनि उत्तिकै थियो र दुबैतिर लकडाउनको स्थिति पनि थियो। सागरको हत्यापछि पोष्टमार्टमको प्रक्रिया र अन्तिम संस्कारको प्रक्रियासमेत पूरा गर्न झण्डै १ महिना लागेको थियो। “एक महिनासम्म उसको आत्मा वाकसमा रह्यो त्यो झन् दुखदायी थियो। पार्थिव शरीर छुन नपाए पनि आज घटनास्थलमै आएर विधिपूर्वक श्राद्ध गरेको छु अव उसको अस्तुलाई आर्यघाटमा लगेर जलाउने र सेलाउने इच्छा छ, सागरका पिताले भने, “सागर स्मृति कोष खोल्ने भित्री इच्छा छ हेरौं के हुन्छ।” मानसिक रोगी भनिएका हत्याराको हातमा स्वचालित बन्दुक कसरी पुग्यो? यसमा कमी कमजोरी कस्को हो? मानसिक रोगी थियो भने घटना घट्नु अघि हतियार भए नभएको किन निगरानी गरिएन? जस्ता थुप्रै प्रश्नहरु अमेरिकी सरकार र प्रशासनसमक्ष गर्न उनलाई मन लागेको छ। आफूले मात्र होइन नेपाल देशले मात्र होइन, पूरै विश्वले एउटा अत्यन्त प्रतिभाशाली युवा गुमाएको अवस्थामा अव यस्ता दर्दनाक घटनाहरु अरु नदोहोरिउन् भन्नका लागि उनले अमेरिकी सरकारसँग यी प्रश्नहरु राख्न चाहेको बताएका छन्। मृतकको आत्म शान्तिका लागि मात्र नभई बाँच्नेहरुका लागि पनि यी प्रश्नहरुको उत्तर आउनु जरुरी छ भन्ने सागरका पितालाई लागेको छ। “सगरमाथाको छहारी र बुद्धको भूमिका जन्मेका सागर अमेरिकी नागरिकको हातबाट मृत्युबरण गर्न पुगे। यस्तो कसैले भोग्नु नपरोस्”, सागरका पिताले भने। युवाहरुका मार्गदर्शक बनिसकेका सागरको सपना पूरा गर्न हजारौं सागर जन्मिउन् र सागरको सपना पूरा गरुन् भन्ने आफूलाई लागेको पनि उनले बताए। घटनास्थलमै पुगेर स्वर्गीय आत्माप्रति वैदिक विधिपूर्वक श्रद्धाञ्जली व्यक्त गर्न सागरका पिताका साथमा सागरकी दिदी कृपा घिमिरे, काका कप्तान घिमिरे र काकाका छोरा भाइ करन घिमिरे पनि बाल्टिमोर आइपुगेका छन्। उनीहरुलाई स्थानीय नेपाली समुदायले सहयोग गरेको छ। मेरिल्याण्ड विधानसभामा निर्वाचित एकमात्र नेपाली मुलका अमेरिकी जनप्रतिनिधि डेलिगेट ह्यारी भण्डारीको सहयोगले यहाँका प्रहरी प्रमुख र एटर्नी जनरलसँग सागरका पिताले कुरा गरेका छन्। र, हत्याबारेको रिपोर्ट माग पनि गरेका छन्। काका कप्तान घिमिरेका अनुसार, डेलिगेट भण्डारीले राम्रो सहयोग गर्नु भएको छ भने अन्य नेपाली समुदायको सहयोग पनि अत्यन्तै राम्रो छ। “घटनापछि दाइको नेपालदेखिकै इच्छा घटनास्थल पुगेर आफ्नै हातबाट आफ्नै संस्कारबमोजिम पूजा गर्ने थियो” अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने कप्तानले भने, “उहाँलाई यहाँ ल्याएर त्यो पूरा गराउन पाएँ।”
एनआरएनए आईसीसी निर्वाचनमा मतदानसम्बन्धी सिष्टममै कम्युनिष्टहरुबाट धाँधलीको आशंका, विज्ञ परीक्षण गर्न माग काठमाडौं । विश्वभरका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी)को चुनाव लागिरहेका बेला अध्यक्षका एकजना प्रत्यासीले अनलाइन भोटिङको विश्वसनीयतामा प्रश्न उठाएका छन्। अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका बेलायतबासी कुल आचार्यले अनलाइन भोटिङ सिष्टमबारे स्वतन्त्र विज्ञ नियुक्त गरेर परीक्षण गराउनु पर्ने र हालसम्म गरिएका विवादास्पद भोटिङको छानविन गर्नुपर्ने माग राखेका छन्। उनले आईसीसी अध्यक्ष कुमार पन्तलाई एक पत्र लेख्दै सो माग गरेका हुन्। एनआरएनए आईसीसीमा यसपटकको निर्वाचनमा पूर्वकम्युनिष्टहरुको समूह र पूर्व नेपाली कांग्रेससमबद्ध समूहकाबीच प्रतिष्पर्धा हुँदै छ। उजुरकर्ता नेपाली कांग्रेससम्बद्ध प्रवासी नेपालीहरुको संगठनको जनसम्पर्क समितिका तर्फबाट अध्यक्ष पदका आधिकारिक उम्मेद्वार हुन्। अनलाइन भोटिङका लागि तयार गरिएको एमआईएस सिष्टममा उनले प्रश्न उठाएका हुन्। यो सिस्टम तयार गर्ने कार्यको नेतृत्व हाल आईसीसी सचिव रहेका गौरीराज जोशीले गरेका थिए। जोशी अमेरिकामा आईटीसम्बन्धी व्यापार गर्छन्। र आफैं पनि उम्मेद्वार बनेका छन्। जोशी गैरकांग्रेसी समूहका तर्फबाट उम्मेद्वार भएकाले र उनको नेतृत्वमा बनेको सिष्टम अपरेटरले दुरुपयोग गर्न सक्ने प्राविधिक छिद्र देखापरेकाले सोही प्राविधिक छिद्रका माध्यमबाट निर्वाचनमा धाँधली हुन सक्ने भन्दै त्यसबारे स्वतन्त्र परीक्षण र अनुगमनको माग गरिएको बताइएको छ। जोशी नेतृत्वमा बनेको एमआईएस सिष्टमले जापान लगायतका देशमा व्यापक धाँधली भएको र त्यहाँ वामपक्षीय उम्मेद्वारहरुलाई जवर्जस्ती जिताइएको आरोप लोकतान्त्रिक समूहले लगाउंदै आएको छ र यो प्रकरण अहिले नेपालको परराष्ट मन्त्रालयमा उजुरीको तहमा पुगेको छ। जापानको धाँधलीले जोशी नेतृत्वको आईटी सिष्टमप्रति अविश्वास बढाएपछि अध्यक्षका प्रत्यासी आचार्यले त्यसको निश्पक्षतामा प्रश्न उठाएका हुन्। डिसी नेपाललाई प्राप्त आचार्यले अध्यक्ष पन्तलाई लेखेको पत्रमा निश्पक्ष आइटी विज्ञलाई सिष्टमको प्राविधिक समूहमा सहभागी गराउन माग गरिएको छ। त्यसैगरी सो सिष्टमको प्रयोग गरी हालसम्म भएका गरिएका कामहरु सार्वजानिक गर्न, आईसीसी निर्वाचनका लागि प्रतिनिधि छनौटको निर्वाचन सकेपछि पनि एमआईएस सिष्टममा नयाँ नामहरु धेरै थप गरेकोबारे यकिन विवरण सार्वजानिक गर्न, डेलिगेट छनौटको भेरिफिकेसन गर्न एनसीसीका प्रतिनिधि र आईटी विवज्ञको भेरिफिकेसन टोली गठन गर्न पनि माग गरिएको छ।
टेक्सासकी नेपाली व्यवसायी यमुनाले सगुनमा ५ लाख डलर लगानी गरिन् अमेरिका । संयुक्त राज्य अमेरिकाको टेक्सास, ड्यालसमा बसोबास गर्ने नेपाली व्यवसायी यमुना भट्टराईले नेपालीहरूले शुरू गरेको इकमर्श कम्पनी सगुनमा ५ लाख अमेरिकी डलर लगानी गरेकी छिन्। सगुनमा गरेको लगानीबारे सोधिएको प्रश्नको जवाफ दिंदै भट्टराईले भनिन्,‘मैले एउटा स्टार्ट अप कम्पनीमा लगानी गरुंला भनेर कहिल्यै सोचेकी थिइन, तर सगुनको दीर्घकालिन भिजन, बलियो टिम, विशिष्ट प्राविधिक नवप्रवर्तन, हालै भएका उपलब्धिहरु र भरपर्दो भावी व्यापार योजना देख्दा म सगुन सफल हुनेमा पूर्ण विश्वस्त छु ।’ उनले सगुनसंग जोडिन पाएकोमा खुसीसमेत व्यक्त गरिन् । सगुनले भट्टराईलाई आफ्नो अभियानमा जोड्न पाउँदा खुसी व्यक्त गरेको छ । सगुनका संस्थापक गोविन्द गिरीले भने, “श्रीमती भट्टराईले हाम्रो यात्रालाई लामो समयदेखि नियालिरहनु भएको थियो ।” उनले भट्टराईले सगुनमा गरेको लगानीबाट आफूहरु थप उत्साहित भएको पनि बताए र भने, “उहाँजस्ता प्रवासमा बस्ने धेरै नेपाली तथा दक्षिण एसियाली उद्यमीहरुले सगुनजस्ता स्टार्टअप कम्पनीहरुले प्रदान गर्ने अवसरबारे जानकारी राख्नु निकै उत्साहजनक कुरा हो ।” अमेरिकामा व्यवसाय गरेर सफलता प्राप्त गरिरहेकी व्यबसायी भट्टराईको व्यवसायिक यात्रा निकै प्रेरणादायी भएको बताउंदै सगुनका सहसंस्थापक, कबिन सिटौलाले भने, “उहाँ एक मेहनती, सफलता पछ्याउने र महत्वाकांक्षी महिला व्यवसायी हुनुहुन्छ जसले सफल उद्यमी बन्न चाहने कुनै पनि महिला वा जो कोहीलाई उत्प्रेरित गर्न चाहनु हुन्छ। उहाँको लामो व्यावसायिक अनुभवले सगुनलाई अर्को चरणको वृद्धि तथा विस्तारमा सघाउ पुर्याउने हामीले विश्वास लिएका छौं । साथै उहाँले प्रविधिमा आधारित एउटा विश्वव्यापी कम्पनीको विकास यात्रामा सहभागी हुने विशेष अनुभव पनि प्राप्त गर्नु हुने छ ।” सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन् । सगुन एप गुगल प्लेस्टोर र एप स्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिन्छ । सगुनको प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्छन्, आफ्ना साथीहरुसंग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट कोइन’ हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन् । प्रयोगकर्ताहरुले अहिले सम्म १ अर्ब ७० करोडभन्दा बढी ’ स्मार्ट क्वोइन’ हरु आर्जन गरिसकेका छन् जसमध्ये ५३ करोड ३० लाख ’स्मार्ट क्वोइन’ हरु परिवार तथा साथीहरुलाई उपहार दिन वा किनमेल गर्न खर्च गरिसकेका छन् । हालसम्म सगुनले सगुन स्टोरी, न्युज हेडलाइन्स, मुड टक, सोसियल स्मार्ट कार्ड बजारमा ल्याइसकेको छ । अब चाडै सपिंग तथा “भ्वाइस स्टोरी” फिचरहरु पनि बजारमा आउंदै छन् ।
भर्जिनियामा नेपाली मेला, रामकृष्ण ढकाल र ‘१९७४ एडी’को प्रस्तुति वासिंगटन डिसी । अमेरिकाको भर्जिनियामा प्रख्यात नेपाली कलाकारहरुको प्रस्तुतिसहितको नेपाली मेला हुने भएको छ । सो मेलालाई “नेपाललय नेपाली मेला” नाम दिइएको छ । एभरेष्ट लायन्स फ्रेन्ससिप एशोसिएसन र आशिष संग्रैलाको संयुक्त आयोजनामा सेप्टेम्बर १८ तारिक शनिवार हुन लागेको सो मेलामा नेपालका प्रसिद्ध गायक रामकृष्ण ढकालले आफ्नो प्रस्तुति दिने भएका छन् । आयोजक संस्थाले दिएको जानकारीअनुसार, यो मेलामा नेपालीहरुका विभिन्न खाद्य परिकारहरुका स्टल पनि राखिनेछन्। भर्जिनियाको नर्दन भर्जिनिया कम्युनिटी कलेज, एन्नानडेल क्याम्पसमा हुने सो मेलामा ‘१९७४ एडी’का कलाकारहरु फिरोज स्याङ्दान,प्रज्वल बज्राचार्य र रेन्जी शेर्पाले प्रस्तुति दिनेछन्। साँझ ५ बजेपछि शुरु हुने सो कार्यक्रममा भर्जिनियाको सथानीय नेपालीहरुको सांगितिक व्याण्ड सोनिक चैन्सको पनि प्रस्तुति रहने छ भने पार्टीपछि डिजे सोलक्रिसको डिजे नाइट शुरु हुने आयोजकले जनाएको छ ।
नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार काठमाडौं । नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएकी छिन् । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, विक्की पुलामी, ऐटना कार्की, राजेन्द्र राई, महासचिवमा सङ्गीता थापा, सचिवमा मधुकुमार गिरी, कोषाध्यक्षअख पुष्कर बराल, सहकोषाध्यक्षअख पूजा न्यौपाने र युथ कोर्डिनेटरमा दिलीपकुमार श्रीष निर्वाचित भएकाे प्रमुख निर्वाचन अधिकृत सोमनाथ घिमिरेले जानकारी दिए। यस्तै बोर्ड सदस्यमा चिनियालाल श्रेष्ठ, बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, नवीन श्रेष्ठ र माया राई निर्विरोध निर्वाचित भएका छन्। उक्त कार्यक्रममा महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नेपाली कला क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउनका लागि नेपाली अमेरिकन कलाकार सङ्घले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा सङ्घका प्रमुख संरक्षक अभय ढुङ्गेल, वरिष्ठ कलाकार डा महेशराज ठाकुर, न्हुच्छेनारायण डङ्गोल, नरबहादुर दाहाल, आङ गेलु शेर्पा, गोमा योन्जन गुरुङ, नरवीर गुरुङ, सन्जोक लामा योन्जन, नायक विक्रान्त बस्नेत, पत्रकार दिवाकर बागचन्दलगायतको उपस्थिति रहेको थियो।
अमेरीकामा कलाकारहरुको अधिवेशन सम्पन्न न्यूयोर्क । उत्तर अमेरीकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरीकन कलाकार संघको साधारण सभा तथा ५ औ महाधिवेशन सम्पन्न भएको छ। न्युयोर्कको क्विन्समा हिजो सम्पन भएको महधिवेशनले आगामी नयाँ कार्यसमिति अनेक बाधा बिरोध र अड्चनका बाबजुत पनि निर्विरोध चयन गरेको छ । नयाँ अध्यक्षमा लोक गायिका निसा सुनार निर्विरोध निर्वाचित भएका छिन। हिजो न्यूयोर्कमा सम्पन्न संघको अधिबशन बाट निसा सुनार अध्यक्षमा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएकी हुन् । यो कार्य समितिको कार्यकाल २ बर्षको रहने समितिले जनाएको छ । १७ संदसिय कार्यसमितीमा प्रमुख संरक्षक अभए ढुङ्गेल सहित सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । ३ जनाको निर्वाचन समिति रहेको निर्वाचन समितीमा समाजसेवी जिपिके फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे , तमु परीवारका अध्यक्ष मनिता गुरुङ, समाजसेवी बिष्णु राना मगर थिए । निर्वाचन प्रमुख सोमनाथ घिमिरेले सम्पूर्ण पदको लागी उमेद्वार दर्ता गर्न ३० मिनेट र उमेद्वारी दिन र फिर्ता गर्न दिईएको समय ५ मिनेटको समयमा सबै पदहरुको लागी पद सँख्या बराबर मात्रा उमेद्वारी परेको हुँदा उमेद्वारी दिनुहुने सबैजना निर्विरोध तथा स सम्मातित रुपमा विजयी भएको घोषणा गरेका थिए । कार्यक्रमका प्रमुख अथिति न्युयोर्कका कार्यवहाक महाबाणिज्यदुत बिष्णु प्रसाद गौतम तथा बिशेष अथिति फिप्नाका अध्यक्ष लोक चेम्जोङ, पर्यवेक्षक केशबराम राईको संम्योजकत्वमा समाजसेवी नवराज केसी गोमा योन्जन , सुमन टि लिम्बु रहेका थिए । सोहि अबशरमा नब निर्वाचित पधादिकारी हरुलाई आ-आफ्नो पदको शपतग्रहण प्रमुख निर्वाचन आयुक्त द्वारा गरिएको थियो । नव निर्वाचित कार्यसमितिमा अध्यक्ष निसा सुनार, वरिष्ठ उपाध्यक्ष बसन्ति राई , उपाध्यक्ष बिमल डॉगी, उपाध्यक्ष बिक्की पुलामी मगर, उपाध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष ईत्ना कार्की, महासचिव संगीता थापा मगर, सचिव मधुर गिरी, कोषाध्यक्षमा पुष्कर बराल सह-कोषाध्यक्ष पुजा न्यौपाने, र समितीको बोर्ड सदस्यहरुमा नविन श्रेष्ठ ,चिनिया लाल श्रेष्ठ , बुद्दीमान घिसिङ, पुष्पा बस्नेत, माया राई रहेका छन् । अधिवेशन कार्यक्रममा न्युयोर्कका समाजसेवी साहित्यकार पत्रकार कलाकर्मी र बिभिन्न संघसंस्थाका प्रतिनिघिहरुको उपस्थिती थियो । नेपाली अमेरीकी कालाकार सँघले अहिलेको जस्तो बिसम परिस्थितिमा पनि सबैलाई उदाहरण प्रस्तुत गर्दै हामी नेपाली भनेको कर्ममा विश्वास गर्ने फ़ुटेर होईन जुटेर अघि बढ्नु पर्दछ भन्दै हामीले प्रजातांत्रिक पद्धतिबाट कर्मको विश्वास गर्दै न कुनै भोटिङ् न कुनै बिबाद न कुनै गुट उप-गुट, बिना नयाँ कार्यसमिति गठन गरेकोमा यसले सबैमा एउटा गतिलो पाठ सिक्न मद्धत गर्नेछ र आजको हाम्रो आवश्यकता पनि हो भन्ने कलाकारहरुले संदेश दिएका छन् ।
एमसीसीबारे नेपालमा उत्तेजना बढेकोमा अमेरिकी सरकारको चासो, राजदूतसँग छलफल काठमाडौं। नेपालमा एमसीसीबारे बढेका उत्तेजनात्मक कार्यहरुबारे अमेरिकी सरकारले वासिंगटन डिसीमा गम्भीर चासो व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, अमेरिकी विदेश मन्त्रालयले यसबारे अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडासँग कुराकानी गरेका छन्। सेप्टेम्बर ३ तारिक शुक्रबार अमेरिकी विदेश मन्त्रालयमा उपसहायक विदेश मन्त्री लौरा स्टोनले राजदूत डा. खतिवडासँग नेपालमा एमसीसी परियोजनाबारे चलेका गतिविधि र अफवाहहरुबारे चासो राखेकी थिइन्। विगत केही दिनदेखि एमसीसीबारे नकारात्मक प्रचार गर्दै आक्रोशित हुनेहरुको प्रदर्शन बढेको र त्यस्तो प्रदर्शनले वास्तविताविपरीत अमेरिकी सहयोगबारे गलत तथ्य नेपाली जनतामा प्रवाह भएकोमा अमेरिकी उपसहायक विदेश मन्त्रीले चासो व्यक्त गरेकी थिइन्। त्यस्ता प्रदर्शनहरुलाई नियन्त्रण गर्न नेपाल सरकार गृहमन्त्रालय सार्वजानिकरुपमै विज्ञप्ति निकालेर सचेत र सतर्क गराएकोबारे अमेरिकी अधिकारीहरुलाई नेपालका तर्फबाट जानकारी दिइएको परराष्ट्र मन्त्रालय स्रोतले जनायो। विज्ञप्तिमा गृहमन्त्रायले मित्रराष्ट्रहरुसँग सम्बन्धमा नै आँच आउने कुनै गतिविधि नगर्न अनुरोध गरिएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले विदेशस्थित नेपाली राजदूतको काम नै सम्बन्धित देशका विदेश मन्त्रालयका पदाधिकारीसँग भेट गर्नु रहेको भन्दै त्यस्ता भेटघाट सामान्य रहेको बताइन्। उनले विस्तृत रूपमा भने बुझ्न बाँकी नै रहेकाे बताइन्। नेपाली राजदूत डा.खतिवडासँगको भेटमा अमेरिकी मन्त्रीले अमेरिकाले दिने भनेको विकास सहायतासम्बन्धी एमसीसी परियोजना स्वीकार गर्ने वा नगर्ने नेपालकै भएको कुरा दोहोर्‍याएका थिए। परराष्ट्र स्रोतका अनुसार, अमेरिकाले दिने विकासको परियोजना अस्वीकार गरे दातृ निकायहरुले नेपाललाई दिने सहयोगमा भने असर पर्न सक्नेबारे पनि अमेरिकाले पटक पटक सचेत गराउँदै आएको छ। अर्थमन्त्री शर्माको ब्रुक्ससँग वार्ता सत्ता बाहिर हुँदा एमसीसी परियोजनाको चर्को विरोधमा रहेको हालको सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाका एकजना उच्चस्तरका अधिकृत जोनाथन ब्रुक्ससँग भिडियो वार्ता गरेका छन्। गत साता भएको कुराकानीपछि अर्थ मन्त्रालयले स्पष्ट पार्ने केही विषयबारे तयारी गरेको थियो। र, सोहीवमोजिम अर्थले एमसीएमार्फत अमेरिकी सरकारलाई ११ बुँदे पत्र पठाएको छ। तर, तीमध्ये धेरै बुँदाहरु सम्झौतामै प्रष्ट लेखिएका कुरा भएको र वांकी केही अप्रासांगित र राजनीति प्रेरित कुरा रहेकोतर्फ सरकारले ध्यान नदिएको टिप्पणी पनि हुन थालेको छ। यसैबीच अव धेरै समयसम्म यो परियोजनाको विषय अनिर्णयको बन्दी बन्नु नहुने भन्दै चाडो निर्णय नभए अमेरिकाले परियोजना फिर्ता गर्न सक्नेतर्फ पनि नेपाल अमेरिकाले सरकारलाई सचेत गराएको बताइएको छ
आईसीसीको कोषाध्यक्षमा राजन त्रिपाठीको उम्मेद्वारी घोषणा वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को कोषाध्यक्ष पदमा अमेरिकाबाट राजन त्रिपाठीले उम्मेद्वारी घोषणा गरेका छन्। हाल अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजकसमेत रहेका त्रिपाठीले हालसम्म हासिल गरेको अनुभव, ज्ञान र सिपलाई गैरआवासीय नेपालीहरुको हक हीत र जन्मभूमिका लागि अर्पण गर्न आफू आईसीसीको कोषाध्यक्षको उम्मेद्वार बनेको बताएका छन्। सेप्टेम्बर ५ मा अमेरिकाबाट उम्मेद्वारी घोषणा गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा उनले संसारभरि रहेका गैरआवासीय नेपाली समुदायका साझा मुद्दालाई नेपाल सरकार र विश्वभरका सम्बन्धित निकायहरुमा दह्रो आवाज उठाउन आफूले उम्मेद्वारी दिएको बताएका छन्। उनले भनेका छन्, ‘कोषाध्यक्षका रुपमा म संस्थामा आर्थिक पारदर्शिता मेरो पहिलो एजेण्डा हुनेछ। गैरआवासीय नेपाली संघले विगतमा संचालन गरेका विभिन्न परियोजनाहरुका बारेका उठेका प्रश्नहरुबाट शिक्षा लिन हामीले चुक्नु हुंदैन भन्ने मेरो विश्वास छ । निर्णय प्रक्रियामा हुने पारदर्शिताले संस्थाको हिसाव कितावलाई पनि पारदर्शी बनाउँछ। त्यसैले संघका सबै निर्णयहरु पारदर्शी र गैरआवासीय नेपालीहरुले स्वामित्व लिनसक्ने बनाउने र यसका लागि दरिलो आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दछु।’ त्रिपाठी आफ्नो मातृभूमिको सिमा मिचिदा संयुक्त राष्ट्र संघको सचिवाल न्यूयोर्कसम्म पुगेर मुलुकका पक्षमा लविङ गरेको, महामारीमा नेपाली समुदायका लागि आवश्यक सहयोग जुटाउन अहोरात्र मेहनत गरेको, युवा महिलासहित सबै बर्ग, तह र तक्पालाई साझा अभियानमा समान हैसियतमा अघि बढाउन आवाज बुलन्द गरेको, असंगठितरुमा बसेका नेपाली समुदायलाई आफ्नो कार्यक्षेत्रको दायराभित्र बसेर संगठित गरेको र सामाजिक संस्थाको मूल्य मान्यताअनुसार विधिसम्मतरुपले संस्था चलाउन आवाज उठाउँदै आएको कुरालाई आफ्ना अनुभव र उपलब्धीका रुपमा व्याख्या गरेका छन्। उनले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै तल उल्लेख गरिएको छ।
रक्तदानलाई न्यूयोर्कबाट हैटीसम्म ‘रक्तदान गर्नु राम्रो हो’ धेरै जनाले भन्ने गर्छन् । तर एकदमै कमले मात्र रक्तदान गर्ने गरेका छन् । साइन्स अलर्टमा कार्ली क्यास्सेलाले ‘सन् २०१७ मा संसारभर करीब ३० करोड युनिट रगत चाहिनेमा २७ करोड युनिटमात्र आपूर्ति हुन सक्यो’ भनेर लेखेकी थिइन् । किन हो कुन्नि १ यस्ता समाचारहरुले मलाई बेचैन बनाउँछ । अनि म तुरुन्तै त्यस्ता रगत आबश्यक परेका ठाउँमा पुग्छु रक्तदान गर्छु । रक्तदानको लागि उत्प्रेरणा जगाउने प्रयत्न गर्छु । भन्नासाथ पृथ्वीको परसम्म गएर रक्तदान गर्न समय र साधन श्रोतका हिसाबले मलाई धेरै महँगो हुने गरेको छ । तर त्यस कार्यबाट त्यहाँका युवाहरुलाई रक्तदान गर्न प्रेरणा मिल्ने हुँदा म सन्तोष मान्दछु । भबिष्यमा ती युवाहरुले नियमितरुपमा रक्तदान गर्न सके भने धेरै जनाको जीवन बच्ने छ भन्ने मेरो आशा एवं विश्वास छ । यही भावनाले म यसपटक क्यारेवियन मुलुक हैटी पुगें । केही हप्ताअघि आएको विनासकारी भूकम्पमा परेर त्यहाँ सयौंको ज्यान गइसकेको छ र सयौं घाइते एवं अंगभंग हुने अवस्थामा पुगेका छन् । स्वाभाविकरुपमा प्राकृतिक विपत्तिलाई रोक्न नसकिए पनि त्यसको असरलाई कम गर्न सकिन्छ । र, पीडितहरुलाई सहयोग गर्न सकिन्छ भन्ने मलाई लाग्छ । त्यसैले मैले सेप्टेम्बर ४, २०२१ का दिन हैटीको नेशनल ब्लड ट्रन्स्फुजन सेन्टर पुगेर त्यहाँका निर्देशक डा अन्स्ट नोएल, चेम्बर अफ कमर्सकी कार्यकारी निर्देशक मिस एरिका रोसेन्थल लगायत रक्तदाताहरु बीच रक्तदान गरेँ । यो मेरो २०० औ पटक रक्तदान थियो । ‘आफ्नो समय साधनश्रोत प्रयोग गरेर, तपाईं यहाँसम्म आएर रक्तदान गर्नुहुनेछ भन्नेमा हामीलाई विश्वास लागेको थिएन’ भन्दै डा।नोएलले ’रक्तदानको लागि तपाईं प्रतिबद्ध र राम्रो उत्प्रेरक हुनुहुँदो रहेछ’ भने । हैटीमा वार्षिक करीब ८० हजार युनिट रगत चाहिनेमा करीब ३० हजार युनिट जति मात्रै रगत संकलन हुँदो रहेछ । रक्तदाताहरुलाई संगठित गरेर रक्तदान अभियानमा सहभागी गराउने प्रायोजनको लागि मैले ५०० डलर पनि सहयोग गरेँ । हैटीमा केहीहप्ता अगाडि भुकम्पका कारण करीब १,७०० जनाको मृत्यु भएको थियो । ७००० जनाभन्दा बढी घाइते भएका छन । अब सेप्टेम्बरमा कङ्गो र अप्रिलमा जापानका युवाहरुलाई रक्तदान गर्न हौशला प्रदान गर्न एक एक दिनको लागि जाने योजनामा छु । यो एउटा विश्वब्यापी रक्तदान अभियान हो । सजिलो छैन । तर गर्न सक्छु भन्ने दृढ विश्वास छ । के तपाईंहरु पनि मलाईसाथ दिन सक्नुहुन्छ त ?
नेपालकाे निर्माणाधीन बाल अस्पताललाई अमेरिकाबाट सहयोग वाशिंटन। नेपालमा गैर नाफामुलक संस्थाको रूपमा निर्माण भइरहेको “काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ” (KIOCH) लाई युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यु इंग्ल्याण्ड च्याप्टरले आर्थिक सहयोग गरेको छ। मुटु रोग बिषेसज्ञ डा. भगवान कोइरालाको अध्यक्षतामा नेपालका बालवालिकाहरुलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यका साथ अस्पताल निर्माण भइरहेकाे छ। हालै न्यु हेम्प्शायर नेपाली कम्युनिटीद्वारा आयोजना गरिएको भर्च्युएल कार्यक्रममा डा. कोइरालाले हाल नेपालमा एक मात्र सरकारी बाल अस्पताल भएको र त्यो नेपाल भरीको बालबालिकाको उपचारको लागि पर्याप्त न भएकोले काठमाडौँ र झापाको दमकमा बाल अस्पताल निर्माण भइ रहेको र यसलाई ७ वटै प्रदेशमा बिस्तार गरिने बताए। उनले बिभिन्न तथ्यांक प्रस्तुत गर्दै अहिले बाल मृत्यु दरको संख्या ठूलो रहेको र यो अस्पताल पछि यो संख्या घट्ने बताए। उनको भर्च्युएल मन्तब्यबाट प्रभावित भइ अर्गनाइजेसनले सहयोग संकलन गरेको अर्गनाइजेसनका महासचिव शेखर राईले बताए। राईका अनुसार बिभिन्न १४ जना व्यक्ति हरुबाट अमेरिकी डलर $६९०७ (नेपाली रू ८ लाख १७ हजार) संकलन गरिएको र यो रकम सिधै काठमाडाै प्राप्त हुनेगरी हस्तान्तरण गरिएको थियो। अर्गनाइजेसनका च्याप्टर अध्यक्ष मुक्ति नारायण राई र एन आर एन अमेरिकाका भू.पू. अध्यक्ष शिव कुमार राईबाट संयुक्त रुपमा न्यु हेम्प्शायार नेपाली कम्युनिटीका पुर्व अध्यक्ष तथा उक्त बाल अस्पताल सम्बन्धी सरोकार राख्ने समाजसेवी मीन गौतमलाई डमी चेक हस्तान्तरण गरिएको थियो। सोही समारोहमा हालसालै साँस्कृतिक परम्परा अनुसार प्रणय बन्धनमा बॉधिएका अतिथी लुमन केसी र रेखा गुरुङ लाई सुखी र सफल दाम्पत्य जीवनको निम्ति अर्गनाइजेसनले बधाई तथा शुभकामना दिएको थियो। स्मरण रहोस,यस च्याप्टरका पूर्व कोषाध्यक्ष धनकुटा जिल्ला चुङ्गमांग घर भइ हाल ब्यारिंगटन न्युहेम्पशायर बस्नु हुने राजन कुथुमी राईले आफ्नो स्वर्गीय धर्मपत्नी अरूणा कुथुमी राईको स्मृतिमा रु. २५ लाख यस अघि नै यस बाल अस्पताल लाई सहयोग गरिसकेका छन्।
समस्यामा एकअर्का नेपालीलाई सहयोग गर्न एएनए र एनआरएनए, अमेरिकाको आग्रह वासिंगटन डिसी । आंधी र त्यसको प्रभावले बाढी पहिरो गएका कारण अमेरिकाका समस्याग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई सुरक्षित बासस्थानमा जान एसोसिएसन अफ नेप्लिज इन द अमेरिका(एनएनए) ले आग्रह गरेको छ एएनएका अध्यक्ष विजयराज भट्टराईले शुक्रबार दिउंसो एक विज्ञप्ति प्रकाशित गर्दै आवश्यक परेको खण्डमा सरकार र स्थानीय निकायहरुले तयार गरेको सुरक्षित सेल्टरमा गएर बस्न आग्रह गरेका छन् । अध्यक्ष भट्टराईले समस्या परेका साथी भाइ, आफन्त वा जो कोही भए पनि नेपालीले नेपालीलाई सहयोग गर्न आह्वान पनि गरेका छन् । विगत केही दिनदेखि अमेरिकाको न्यूयोर्क, न्यूजर्सी र लुजियानालगायतका राज्यहरुमा भारी बर्षा, आंधीबेहरी र बाढीले जनजीवन प्रभावित पारेको छ । यी राज्यका कतिपय ठाउंमा बसोवास गर्ने नेपालीहरु अत्यावश्यक पिउने पानी, ग्यांस, विजुली बत्तीजस्ता चीजहरुको सप्लाई बन्द भएकाले समस्यामा परेको जानकारीहरु सामाजिक सञ्जालमा देखिन थालेको सन्दर्भलाई समेत उल्लेख गर्दै एएनएले सहयोगको अपिल जारी गरेको हो । न्यूयोर्कमा आएको भिषण बाढी र बर्षात्का कारण नेपालको सोलुखुम्बु घर भएका हाल न्यूयोर्क निवासी आङ्गगेलु शेर्पा, उनकी पत्नी मिङ्मा शेर्पा र उनीहरुको १९ महिने छोरा लोप्साङ्ग शेर्पाको मृत्यु भएको छ । यो घटनामा परी ज्यान गुमाउनेहरुप्रति पनि एएनएले समवेदन प्रकट गरेको छ । यसैगरी गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्धिसागर सुबेदीले पनि एक विज्ञप्ति जारी गर्दै न्यूयोर्कको घटनामा परी दिवंगत भएका नेपालीजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले परिवारका सदस्यहरुको सल्लाहमा आवश्यक सहयोगको तयारी गर्न एनआरएनएको न्यूयोर्क च्याप्टरले काम गरिरहेको पनि जानकारी गराएका छन् ।
बाढीको पानीमा करेन्ट प्रवाह भएपछि न्यूयोर्कमा तीन नेपालीको मृत्यु न्यूयोर्क। अमेरिकाका केही राज्यलाई प्रभावित पार्ने गरी आएको समुद्री आँधी आइडाका कारण आएको बाढीमा परेर ३ जना नेपालीहरुको ज्यान गएको छ। न्यूयोर्क शहरको उडसाइड क्विन्समा बस्दै आएका एकै परिवारका ३ जनाले आफू बसेको भूंईं तलामा पानी भरिंदा त्यहां करेन्टसमेत प्रवाह भए पछि ज्यान गुमाएको बताइएको छ। जनजाति महासंघ, अमेरिकाका अध्यक्ष लोक चेम्जोङ्गले डिसी नेपालसँग भने,‘ पानीको वहावसंगै करेन्ट पनि प्रवाह भएपछि उहाँहरु भाग्न असमर्थ हुनुभएछ।’ आफू बसेको बेसमेण्टमा पानी भरिएपछि निस्कने प्रयास असफल हुँदा ज्यान गुमाउनेहरु नेपालको सोलुखुम्बु जिल्लाबाट अमेरिका आएका ५० बर्षीय आङ्ग गेलु लामा, उनकी श्रीमति मिङ्मा याङ्जी लामा र १९ महिनाका बालक लोप्साङ्ग लामा रहेका छन्। यो घटनाको विस्तृत विवरण अझै आइसकेको छैन। आइडा आँधीका कारण न्यूयोर्कमा मात्रै १२ जनाको ज्यान गएको छ भने न्यूजर्सीमा २३ जनाको ज्यान गएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन्। यीमध्ये ३ जना नेपाली मुलका व्यक्ति पनि परेका हुन्। प्राकृतिक विपत्तिमा परेका ज्यान गुमाउने परिवारप्रति अमेरिकामा रहेका विभिन्न संघ संघठनहरुले समवेदना व्यक्त गर्दै शोक बक्तव्यहरु जारी गरेका छन्।
आइडा आँधीका कारण न्यूयोर्क र न्यूजर्सीमा कम्तीमा आठको मृत्यु, सङ्कटकालीन अवस्थाको घोषणा न्यूयोर्क । अमेरिकाको न्यूयोर्क र न्यूजर्सी राज्यमा आइडा नामक आँधी,मुसलधारे बर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । खराब मौसम र यसले निम्त्याएका परिणामका कारण न्युजर्सीमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । न्युयोर्क सहरको प्रहरी तथा न्यू जर्सीका अधिकारीले ७ जना न्युयोर्कमा र १ जनाको न्यूजर्सीमा आँधीका कारण ज्यान गएको बताएका छन् । आँधीपछि न्युयोर्कमा पछिल्लो ९० बर्षमै विशाल मात्रामा वर्षा भएको जनाएको छ । सेप्टेम्बर १ का दिन दुई राज्यमा इतिहास मै सर्वाधिक वर्षा भएको छ । त्यसको साथै न्यूजर्सीमा आँधीले कैयौँ घरहरूलाई तहस नहस बनाएको छ । न्यूयोर्कले पनि पहिलो पटक बाढीको खतरा भएकोले आकस्मिक वर्षाको चेतावनी जारी गरेको छ ।
अमेरिकी सेनासमेत संलग्न भएको भन्दै गर्व गरेको काम रोक्न गौरी जोशीको पत्र (पत्रसहित) काठमाडौं। अमेरिकी सेनाले नेपाली जनताका लागि कोभिड महामारीमा सहयोग पुगोस् भनेर एक लाख डलरभन्दा बढी लाग्ने ढुवानी खर्च मिनाहा गरिदिएर नेपाल पुर्‍याइदिएको स्वास्थ्य सामग्रीमा घिनलाग्दो राजनीति भयो भन्ने थाहा पाउँदा सहयोग गर्नेहरुको मन कति दुख्यो होला। त्यसमा पनि अमेरिकाबासी नेपालीहरुले गाँस काटेर सहयोग गरेको स्वस्थ्य सामाग्रीहरु नेपाली भूमिमा पुगेपछि पनि घृणित राजनीतिको शिकार भयो भन्ने खबरले पीडाबोध नहुने कुरै हुँदैन। अगष्ट २७ तारिक अमेरिकाको युटा विमानास्थलबाट अमेरिकी एयर फोर्सको जहाज उडेर अगष्ट ३१ तारिक नेपाल पुगेको थियो। सो जहाजमा झण्डै १० हजार पाउण्ड अर्थात् ४ टन अत्याबश्यक स्वास्थ्य सामाग्री पठाइएको थियो। अमेरिकामा भएका नेपालीहरुले दान गरेको रकम, सामान, विभिन्न सामाजिक संघ संस्थाहरुले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु गैरआवासीय नेपाली संघ, एनआरएनए अमेरिकाले संयोजन गरेर नेपाल पठाइएको थियो। र, हस्तान्तरण गर्न एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी काठमाडौं पुगेका थिए। अमेरिकाबाट नेपाली र परोपकारी संघ संस्थाका सहायता स्वास्थ्य सामग्रीहरु लिएर नेपाललाई हस्तान्तरण गर्न पाएकोमा नेपालस्थित अमेरिकी दूतावास, राजदूत र्याण्डी वेरी, अमेरिकाको युटास्थित युटा नेशनल गार्डसमेतले ट्वीट गरेर गर्व महसुस गरेका थिए, खुसी व्यक्त गरेका थिए। (हेर्नुहोस् ट्वीट) । युटा नेशनल गार्डले सामान नेपाल पुगेपछि खुसी व्यक्त गर्दै गरेको ट्वीटमा नेपाली जनतालाई सहयोग गर्ने मिसनको एउटा भाग हुन पाएकोमा युटा नेशनल गार्ड र युटा एयर गार्डले सम्मानित महसुस भएको उल्लेख गरेको छ। त्यसैगरी सामान नेपालमा पुगेकै दिन नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले हालसम्म अमेरिकी जनताका तर्फबाट ९० मिलियन अमेरिकी डलरभन्दा बढीको सहयोग कोभिड १९ विरुद्ध लड्न दिइएको उल्लेख गर्दै गैर सरकारी संस्थाहरुले दिएको जीवन बचाउने सामग्रीहरु ल्याउन पाएकोमा खुसी व्यक्त गरेका थिए। तर, समस्यामा परेका नेपालीका लागि प्रवासमा बसेर पनि सहयोग पुर्‍याएकोमा अमेरिकाबासी नेपालीहरुले गौरव गर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्नेमा ती सामग्रीहरु हस्तान्तरमै राजनीति गर्नु, भाँजो हाल्न खोज्नु र त्यसका लागि पत्रै लेख्नु ज्यादै दुखको कुरा हो। गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव गौरीराज जोशीले यसरी पत्रै लेखेर ती स्वास्थ्य सामग्री हस्तन्तरण कार्यक्रम रोक्न भनेका छन्। उनले आईसीसीका अध्यक्ष कुमार पन्तलाई एक पत्र लेख्दै हस्तान्तरण कार्यक्रम रोक्न आईसीसीको आपतकालीन बैठक नै बोलाउनु पर्ने पनि उनले माग गरेका छन्।(हेर्नुहोस पत्र) । आईसीसीको आगामी चुनावमा उम्मेद्वारलाई प्रमोट गर्ने नियतले हस्तान्तरण कार्यक्रम आयोजना गरेको देखिएको उनको पत्रमा आरोप लगाएका छन् । उनी आगामी अक्टोवरमा हुन लागेको आईसीसीको निर्वाचनमा महासचिवमा उम्मेद्वारी पनि घोषणा गरेका व्यक्ति हुन्। उनले आईसीसीको आसन्न निर्वाचनको प्रसंग जोडेर यस्तो कार्यक्रमले उम्मेद्वारको प्रचार प्रमोसन हुने भएकाले सो कार्यक्रम हुनु नहुने जिकिर गरेका छन्। एनआरएनएको काठमाडौंस्थित सचिवालयमा अध्यक्षलाई लेखिएको यस्तो पत्र पुगेपछि केही व्यक्तिहरु हस्तान्तरण कार्यक्रम रोक्ने प्रयासमा पनि लागेका थिए। एनआरएनएकै केही नेताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई कार्यक्रममा सहभागी नहुन वा कुनै हस्तान्तरण नै नगर्न लविङ गरेका थिए । तर, अमेरिकाबासी नेपालीहरु र संघ संस्थाले मातृभूमि र नेपाली जनतालाई साथ दिएको कुरालाई वेवास्ता गर्नु नहुने धारणा राख्दै मन्त्री श्रेष्ठले मन्त्रलायमै सेप्टेम्बर एक तारिमा एक कार्यक्रमको आयोजना गर्न लगाएका थिए। हस्तान्तरण कार्यक्रममा एनआरएनए आईसीसीका अमेरिकाबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष सोनाम लामा तथा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा.केशव पौडेल र एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीसहितको उपस्थिति थियो। यीमध्ये डा.केशव पौडेल आगामी आईसीसी निर्वाचनमा महासचिवका उम्मेद्वार हुन्। ‘सामान हस्तान्तरण रोक्न खोजेको होइन’, गौरी जोशीले डिसी नेपालसंग भने, ‘सामान हस्तान्तरण गर्दा कुनै उम्मेद्वारलाई प्रमोट गर्न खोजेकोले सहायता सामाग्रीमा राजनीति मात्र रोक्न खोजेको हुँ।’ उम्मेद्वारलाई प्रमुख अतिथि बनाउनु उचित होइन,’ उनले थपे। सो कार्यक्रमको अतिथि आईसीसी उपाध्यक्ष सोनाम लामा थिए। उनले हालसम्म कुनै पदमा उम्मेद्वारी घोषणा गरेका छैनन्। आईसीसी सचिवालय स्रोतका अनुसार,हस्तान्तरण कार्यक्रममा सहभागिताका लागि आईसीसीका पदाधिकारीहरुलाई निमन्त्रणा पनि गरिएको थियो। पदाधिकारीमा आईसीसी सचिवका हिसावले जोशी पनि पर्छन्।
मनिषाको ‘टक फ्र्याङ्क्ली’ डिसी नेपालमा अमेरिका । नेपालको टेलिभिजन पत्रकारितामा स्थापित संचारकर्मी मनिषा घिमिरेले ‘टक फ्र्याङ्क्ली’ नामक नयाँ टक शो सञ्चालन गर्ने भएकी छन्। नेपाल टेलिभिजनमा १८ बर्षभन्दा बढी समाचार वाचन गरेकी संचारकर्मी घिमिरेले अमेरिकाको कोलोराडोबाट यो नयाँ टक शो सञ्चालन गर्ने भएकी हुन्। सेप्टेम्बर २ तारिकमा उनको पहिलो कार्यक्रम प्रसारण हुने भनेको छ। नेपाल टेलिभिजनको समाचारवाचिका, रिपोर्टर र सम्पादकका रुपमा काम गरिसकेकेकी घिमिरेले ‘सिनेमा सिनेमा’ र ‘जीवन यात्रा’ जस्ता चर्चित कार्यक्रमहरु संचालन गरिसकेकी छन्। उनको सो कार्यक्रम डिसी नेपालमार्फत प्रसारण हुने छ। अमेरिका, नेपाल, भारत, जापान, कोरिया, खाडी मुलुकहरु र युरोपसहित संसारका धेरै देशहरुमा नेटवर्क रहेको डिसी नेपालले सो टक शो महिनामा दुईपटक अर्थात् हरेक १५ दिनमा प्रसारण हुने जनाएको छ। विदेशमा बसेर पनि नेपाल र नेपालीको गौरव बढाइरहेका व्यक्तित्वहरु, विभिन्न पेशा र व्यवसायमा संघर्षरत तथा सफलता हासिल गरेकाहरुका प्रेरणादायी कुराहरु खुल्ला र स्पष्टरुपमा संसारभरका नेपाली भाषी समुदायलाई पुर्याउने र उनीहरुका उपलब्धीहरुको उत्सव मनाउने कार्यक्रमका रुपमा ‘टक फ्र्याङ्क्ली’ शो को डिजाइन गरिएको छ। पत्रकारितमा स्नातकोत्तर गरेकी र नेपाल प्रेस इन्टिच्युटबाट समेत पत्रकारिता अध्ययन गरेकी घिमिरे इनिसिएटिभ्स अफ मिडिया ओमेनकी अध्यक्षसमेत हुन्। डिसी नेपालको फेसबुक पेज र युट्युव पेजबाट प्रसारण हुने उनको पहिलो शो भर्खरै रेकर्ड भएको छ।
अरु चुनाव प्रचारमा राजन कामको प्रचारमा : देशको सीमा भारतले मिच्दा अमेरिकामा आवाज उठाएकोमा गर्व छ : राजन वाशिंटन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा विश्वभरका एनआरएन नेताहरु भोट माग्न जुटिरहेका बेला अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी भने आफूलाई भोट माग्नुभन्दा पनि आफूले गरेका कामहरुबारे गैरआवासीय नेपालीहरु बताउँदै हिंडेका छन्। सामाजिक सञ्जालका नेटवर्कहरुमार्फत उनले आफ्नो कार्यकालभर गरेका कामहरुबारे बताउंदै प्रतिकुलतामा पनि केही गर्न सकिने विश्वास जागेको बताउन थालेका हुन्। आफ्नो कार्यकालमा आफ्नो मातृभूमि नेपालको सीमा मिचरे भारतले जवर्जस्ती गरेकोमा अन्तर्राष्ट्रिय क्षेत्रमा आवाज उठाउने क्रममा अमेरिकामा नेतृत्वदायी भूमिका खेलेकोमा उनले गर्व गरेका छन्। लिम्पियाधुरा,कालापानी, लिपुलेकलगायतका नेपाली भूमि मिचिँदा मर्माहत भएका अमेरिकावासी नेपालीको भावना र सक्रियताको नेतृत्व गर्दै प्रदर्शनहरुमात्र होइन संयुक्त राष्ट्र संघ मुख्यालयमा गएर युएनका लागि अमेरिकी राजदूतमार्फत प्रमाणहरु सहितका दस्तावेजहरु बुझाएको सन्दर्भलाई मातृभूमिप्रतिको आफ्नो जिम्मेवारीका रुपमा राजनले व्याख्या गरेका छन्। त्यसैगरी गैरआवासीय नेपालीलाई विना शर्त नागरिकता दिन विशेषज्ञहरुको साथ लिएर विभिन्न कार्यक्रमहरुमार्फत नेपाल सरकारलाई दवाव दिएको, कोरोना महामारीका बेला अमेरिकाज् क्षेत्रका नेपाली समुदाय र नेपाल देशका लागि आईसीसीको निर्देशिकावमोजिम सहयोगका कार्यको नेतृत्व र समन्वय गरेको, आईसीसी र एनसीसीहरुबाट नेपाललाई महामारीविरुद्ध लड्न सहायता सामग्री पठाउन समन्वयात्मक कार्य गरेकोमा आफूलाई आत्म गौरब हुने गरेको उनले डिसी नेपाललाई बताए। “चुनावी कुरा गर्दै गरौंला”, सबैले उम्मेद्वारी घोषणा गरे पनि तपाईंले चाहिं किन नगर्नुभएको भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, “यो नियमित लोकतान्त्रिक प्रक्रिया हो तर नेपाली समाजमा गर्व गर्न लायक काम के के भए भन्ने समीक्षा हुनु चाहिं महत्वपूर्ण छ।” गैरआवासीय नेपाली संघ, अमेरिकाको अत्यन्त विवादित २०९३ संख्याको फर्जी मतदाताबारे छानविन समितिको नेतृत्व गरी यथार्थ विवरण प्रतिवेदन आईसीसीलाई बुझाएको, अमेरिकाज क्षेत्रको दोस्रो ज्ञान सम्मेलन र क्षेत्रीय अधिबेशनलाई सफलतापूर्वक सम्पन्न गरेको, आईसीसी र एनसीसीका बीच बढ्दो तनावलाई कम गर्न अधिकतम प्रयास गरेको, सबैपक्षलाई नियम र विधानअनुसार काम गर्न अनुरोधात्मक दवाव दिँदै आएको, गैरआवासीय नेपालीहरुका मुद्धाहरुलाई विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मन्चहरुमा प्रभावकारीरुपमा उठाएको, एनसीसी र आईसीसीका परियोजनाहरु सफल बनाउन उल्लेख्य भूमिका खेलेको, युवा तथा महिलाका विषयमा युवा उद्यमशिलता तथा महिला  अभियन्ताहरुसँग मिलेर सशक्तिकरण तथा हिंसाविरोधी कार्यक्रमहरुलाई अघि बढाएकोमा आफूलाई सन्तुष्टि मिलेको त्रिपाठीको भनाइ छ । उनकै नेतृत्वमा दक्षिण अमेरिकाका तीन देशहरु चिली, मेक्सिको र केष्टारिकामा एनआरएनएको गठनसमेत भएको छ।
सगुनले प्रवासका नेपाली संघ संस्थाहरूसंग सहकार्य गर्ने वाशिंगटन डीसी। सामाजिक संजालमा आधारित इ—कमर्स कम्पनी सगुनले प्रवासका नेपाली संघ संस्थासंग सहकार्य गर्ने जनाएको छ। हालसालै सगुनले विश्वव्यापी नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग भर्चुअल अन्तक्रिया सम्पन्न गरेको छ। सो वेबिनारमा विश्वव्यापी गैर आवासीय नेपाली संघका नव निर्वाचित पदाधिकारीहरु, प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। उक्त अवसरमा सगुनका सह संस्थापक कबिन सिटौलाले सगुनले कम्पनीको वृद्धिसँगै विश्वका प्रवासी नेपाली समुदायको पनि सेवा गर्ने उद्देश्यले सगुन फाउन्डेशनको स्थापना गरेको बताए। सगुन फाउन्डेशनले समुदायलाई प्रत्यक्ष लाभ हुने खालका गतिविधिमा सामाजिक संघ संस्थासंग मिलेर काम गर्ने र यसै सिलसिलामा नेपालमा कल्याणकारी परियोजनाहरु संचालन गर्दा सहकार्य गर्ने उद्देश्यले सगुनले हालै गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग एउटा समझदारी पत्रमा हस्ताक्षर भएको कुरा जानकारी गराए। समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कामका लागि प्रवासमा रहेका सबै नेपाली संघसँस्थाहरूसँग सगुनले यस्ता सहकार्य गर्दै जाने नीति लिएको सिटौलाले उक्त अन्तरक्रिया कार्यक्रममा जानकारी गराए। सगुन फाउन्डेशनका अध्यक्ष तथा सगुनका ग्लोबलका कोअर्डिनेटर सूर्य गुरुङ्गले कर्पोरेट सामाजिक जिम्मेवारी अन्तर्गत डायस्पोरामा रहेका नेपाली संघ संस्थालाई र बिश्वका सामाजिक कल्याणकारी कार्यमा सहयोग गर्नु पर्छ भन्ने उद्देश्यले सगुनले १० लाख डलर बराबरको शेयर छुट्याएर सगुन फाउन्डेशनको स्थापना गरेको जानकारी दिए। अध्यक्ष गुरुङले संसारभर रहेका संघ संस्थालाई बढ्दोक्रममा रहेको सगुन सबै नेपाली समुदायको भएको र अहिलेको अवस्थामा सगुनलाई सबैको साथ चाहिएकोले सहकार्य गर्न आह्वान गरे, पछि सगुनले समुदायको हितका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवशरमा सगुनका टेक्निकल प्रोडक्ट कोअर्डिनेटर यूवा सेडाईले सगुनक प्रोडक्टहरूको लाइव डेमो गरेर संस्थाका प्रतिनिधिहरूलाई देखाउनुको साथै नवीनतम फिÞचर्सहरू चाडै बजारमा आउन लागेको जानकारी गराए। त्यस्तैगरी सगुनका प्रोजेक्ट कोअर्डीनेटर डा.हरि दाहालले सगुनले “सगुन आइडिया ल्याब” विकास गर्ने योजना बनाइएको जानकारी दिए। सगुनजस्ता नवीनतम आइडिया लिएर आउने ब्यक्ति वा संस्थाहरूलाई आफÞनो श्रोतअनुसार भविष्यमा सहयोग र सहकार्य गर्ने कÞुरा ड़ा.दाहालले जानकारी दिए। सगुनका ग्लोबल फन्ड रेजिंग कोअर्डिनेटर तथा अस्ट्रेलिया कोअर्डिनेटर खेमराज पंगेनीले सगुन प्रगतिपथमा जोडतोडका साथ अगाडि बढिरहेको बताए । पंगेनीले एक्ज्याम्प्लर कम्पनीसँग सहकार्य शुरू गरेको जानकारी गराउदै अब सर्वसाधारणले लगानी गर्न पाउने अवसर बन्द हुन लागेको कुरा सबैलाई प्रकाश पारेका थिए। उक्त अवसरमा सगुनका वित्तीय विश्लेषक एवम् सगुनका सल्लाहकार बोर्डका अध्यक्ष झकेन्द्र शर्माले सगुनको आर्थिकÞ अवस्था मजÞबुत रहेको जानकारी गराउदै भावी योजनाको बारेमा मार्ग चित्र देखाएका थिए र सहभागीहरुका जिज्ञासाहरूमाथि प्रकाश पारेका थिए। सन् २०१५ मा औपचारिकरुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु रहेका छन्। सगुनको प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियोहरू शेयर गर्न सक्छन्। आफ्ना साथीहरुसँग कुराकानी गर्छन्। सो गर्दा स्मार्ट क्वाइन प्राप्त गर्न सक्छन्। सो ‘स्मार्ट कोइनलाई परिवार र साथीहरुलाई उपहार किन्न खर्च फोनमार्फत नै पठाउन सक्दछन्। सगुन एपलाई गुगल प्लेस्टोर र एप स्टोरमा गएर सजिलै निशुल्क डाउनलोड गर्न सकिन्छ। प्रयोगकर्ताहरुले अहिले सम्म १ अर्ब ७० करोडभन्दा बढी स्मार्ट क्वोइन आर्जन गरिसकेका छन्। जसमध्ये ५३ करोड ३० लाख स्मार्ट क्वाइनपरिवार तथा साथीहरुलाई उपहार दिने र किनमेल गर्न खर्च गरिसकेका छन्। हालसम्म सगुनले सगुन स्टोरी, न्युज हेड लाइन्स, मुड टक, सोसियल स्मार्ट कार्ड बजारमा ल्याइसकेको छ । अब चाडै शपिंग तथा भ्वाइस स्टोरी फिचरहरु पनि बजारमा आउँदै छन्। यसैबीच सगुनले अमेरिकामा रेग ए प्लस ‘मिनी आइपिओ’ अन्तर्गत उपलब्ध गराइएका शेयरहरु ३१ अगष्ट २०२१ ९न्यूयोर्क समय मध्यरात १२ बजेसम्म खरिद गर्न सकिने जानकारी गराएको छ। इच्छुक लगानीकर्ताहरुले ‘सी’ क्लासको शेयर, प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डलरको शेयर खरिद गर्न सक्नेछन्। गत जुलाई महिनाको अन्त्यसम्ममा संसारभरिका ४,५०० भन्दा बढी लगानीकर्ताहरुले सगुनका शेयरहरु किनेका छन्। रेग ए प्लस ‘मिनी आइपिओ’ स्वीकृत भएका कम्पनीहरुमा विश्वभरिका लगानीकर्ताहरुले शेयर खरीद गर्न सक्छन्। सगुनले संसारका धेरै मुलुकहरुलाई हालसम्म यो अवसर दिँदै आएको छ ।  लगानीकाे अन्तिम अवसर २०२१ अगष्ट ३१ तारिक मध्यरातिसम्म रहकाे सगुनले जनाएकाे छ । नेपाल सरकारको नियमअनुसार नेपालभित्र बसोबास गर्ने नेपालीहरुले शेयर खरिद गर्न नपाएता पनि संसारभरि रहेका गैर आवासीय नेपालीहरु लगायत अन्य देशका नागरिकहरूले सगुनको शेयर किन्न सक्नेछन्।
आईसीसीको भण्डाफोर गर्ने भन्दै अमेरिका, बेलायत र अष्ट्रेलियाका एनसीसीको चेतावनी काठमाडौं। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद(आईसीसी) को निर्वाचन सम्मुखमा रहेको बेला आईसीसी सचिवालयका नेता र धेरै सदस्य हुने तीन देशका राष्ट्रिय समन्वय परिषद्(एनसीसी) का बीच चर्को द्वन्द उत्पन्न भएको छ। अमेरिका, बेलायत र अष्ट्रेलियाका एनसीसीहरुले आफूहरुलाई दुख दिए आईसीसीको भण्डाफोर गरेर अघि बढ्ने बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) को दसौँ विश्व सम्मेलनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) को नाममा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) र बढी सदस्य हुने राष्ट्रिय समन्वय परिषद्हरू बीच चर्को द्वन्द देखिएको हो। अगष्ट २६ तारिख तीन देशका एनसीसी अध्यक्षहरुले पत्रकारहरुसँग कुरा गर्दै विधि, विधान र प्रक्रियागत ढङ्गले पठाएका प्रतिनिधिको नाम कुनै पनि वहानामा अस्वीकृत गर्ने वा तलमाथि गर्ने काम भएमा संयुक्तरूपमा प्रतिवाद गर्ने बताएका थिए। संस्थापनइतर पक्षका राष्ट्रिय समन्वय परिषद्हरू अमेरिका, बेलायत र अष्ट्रेलियाका प्रतिनिधिहरूको सूचीमा वैधानिकबारे आइसीसीको सचिवालयबाट पदाधिकारीहरूले प्रश्न उठाएका हुन्। एनसीसीहरुले विधिवत प्रतिनिधि छनौट गरी आइसीसीमा नामावली पठाइसकेको दावी गर्दै आएका छन् भने आइसीसीका महासचिव हेमराज शर्माले कतिपय एनसीसीहरुलाई पुनः निर्वाचन गरी प्रतिनिधि पठाउन पत्राचार गरेका छन्। उनले एनसीसीहरुले पठाएका नामावली मान्य नहुने प्रस्ताव आइसीसीको पदाधिकारी बैठकमा राखेका थिए। समाचारअनुसार, महासचिव शर्मा र सचिव गौरी जोशीले एनसीसीहरुको नामै तोकेर अमेरिका, बेलायत र अष्ट्रेलियाले पठाएको सूची स्वीकार गर्न नसकिने बताएपछि गत साता बसेको आइसीसी पदाधिकारी बैठकमा पदाधिकारीहरु बीच नै भनाभन चलेको थियो। एनआरएनएको संशोधित विधानअनुसार नै चयन गरिएको दावी पेश गर्दै आफूले छानेका प्रतिनिधिहरुलाई समेत आइसीसीले मान्यता नदिने भन्दै पुन निर्वाचन गर्न र प्रमाण पेस गर्न पत्राचार गरेकोमा अमेरिका, बेलायत र अष्ट्रलियाका एनसीसीहरु केन्द्रसँग रुष्ट भएपछि द्वन्द चर्किएको छ। अमेरिका, अस्ट्रेलिया र बेलायत सबैभन्दा बढी सदस्यहरू भएका एनसीसी हुन्। आईसीसीको नेतृत्व र महत्वपूर्ण पदका लागि अगाडि बढिरहेका यी देशमा डेलिगेट्सको विषयमा आफूहरुबीच अन्तरद्वन्द चर्काउन आईसीसीले प्रयोजित ढङ्गले यस्तो विवाद ल्याएको तीन देशका एनसीसी अध्यक्षहरुको आरोप रहेको छ। संशोधित विधानअनुसार अघिल्ला कार्य समितिमा रही काम गरिसकेकाहरूबाट ६५ प्रतिशत, पञ्जीकृत सदस्यहरूमध्येबाट २५ प्रतिशत र योगदान दिएका तर, छुटेकाहरू मध्येबाट १० महाधिवेशन प्रतिनिधि छनौट गर्नुपर्छ। सोही प्रावधान अनुसार चयन गरिएकामध्ये २५ र १० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको नाममा किचलो उठेको हो। यी देशका एनसीसी अध्यक्षहरु प्रक्रिया पुर्‍याएर पठाइएको नामावली संशोधन गर्न नसकिने अडानमा छन् भने आइसीसीका महासचिव शर्माले नाम संशोधन गर्नै पर्ने निर्देशन जारी गर्दै आएका छन्। एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीका अनुसार एनसीसी अमेरिकाले २५ प्रतिशत अन्तर्गत ४७ जना पठाउन पाउँछ। सोही अनुसार निर्वाचन आयोगमार्फत निर्वाचन प्रक्रिया पुर्‍याएर ४७ जनाको नामावली आइसीसीलाई पठाइसकेपछि आइसीसीका महासचिव शर्माले एनसीसीका महासचिवलाई इमेल गरेर पुनः निर्वाचन वा निर्वाचन प्रक्रियाको पूर्ण विवरण पठाउन परिपत्र गरेकोमा असन्तुष्टि प्रकट गरे।  उनले भने, ‘हामीले आईसीसी र एनसीसीको ‘बाइ लज’ अनुसार नै गरेका हौं। यो भन्दा बेटर उपाय हामीसँग केही पनि छैन।’ यता, बेलायतले पनि विधानअनुसार नयाँ कार्यसमिति आइसकेपछि नयाँ समितिले पठाएका प्रतिनिधिहरू नै आधिकारिक हुने जवाफ आइसीसीलाई दिएको छ। अघिल्लो समितिले पठाएको ६५ प्रतिशत अन्तर्गतको नामावली मापदण्ड मिलाएर परिमार्जन गरिएको एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले बताए। ‘सरोकार नै नभएका व्यक्तिहरूले समेत एनसीसीको लेटरप्याड प्रयोग गरेर नामावली पठाएका रहेछन्,’ गाहा मगरले भने, ‘हामीले त्यसलाई करेक्सन गरेका छौँ, विधानमा तोकिएको मापदण्डअनुसार नै हामीले नामावली पठाएका छौँ।’ बेलायतमा निर्वाचन समितिको नाममा पनि अनधिकृत चलखेल गर्न खोजिएको एनसीसी यूकेका उपाध्यक्ष नारायण कंडेलले बताए । ‘निर्वाचन समितिको काम निर्वाचन गराउने हो। प्रतिनिधि छनोट गर्ने होइन,’ उनले भने। आईसीसीका केही नेताले आफूलाई मन परेका व्यक्तिहरूलाई जिताउनका लागि मात्रै किचलो झिकेको बताउँदै आइसीसीको रवैया यस्तै रहे कानुनी उपचार खोज्ने उनले चेतावनी दिए। अष्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङले १६ हजार मतदातामध्येबाट प्रतिनिधि चयन गरी तिनै प्रतिनिधिमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको दावी गरे। ‘अस्ट्रेलियामा १६ हजार मतदाता रहेका छन् उनीहरूले ४५ जना छान्न गाह्रो हुने भएकाले हामीले निर्वाचित प्रतिनिधिहरूले मात्रै मतदान गरेर छानेका हौँ,’ उनले भने। ‘यो विषयमा हामीले निर्वाचन समितिसँग सल्लाह गरेका थियौँ । यसमा हामीले १४ जनाको सिट पहिला नै रिजर्भ गरेका थियौँ भने ३१ जनाको चुनाव गरेका हौँ।’ विधानमा के छ ? गैर आवासीय नेपाली सङ्घको विधान २००३ को संशोधन २०२१ को धारा १३ को उपधारा ७ मा प्रतिनिधि चयनसम्बन्धी व्यवस्था गरिएको छ। त्यसको ९ (क) मा राष्ट्रिय महाधिवेशन, एनसीसीको महाधिवेशनबाट २५ प्रतिशत प्रतिनिधिहरू निर्वाचित हुने व्यवस्था छ। त्यसै गरी ९ (ख) मा त्यो निर्वाचनबाट यदि महिला, युवाहरू र गैर आवासीय नेपाली सङ्घमा विशेष योगदान गरेकाहरु छुटेका छन् भने गैर आवासीय नेपाली सङ्घको राष्ट्रिय परिषदले सिफारिस गरेर पठाउने १० प्रतिशत प्रतिनिधिहरूको व्यवस्था गरेको छ। यसरी ३५ प्रतिशतको छनोट हुनुपूर्व यही विधानको अनुसूची ६ (क) अनुसार गैर आवासीय नेपाली सङ्घको विभिन्न समितिमा रहेर काम गरिसकेका व्यक्तिहरू राष्ट्रिय समन्व्य परिषदले छनोट गरेर पठाउनु पर्ने व्यवस्था छ। अनुसूची ६ का अनुसार राष्ट्रिय महाधिवेशन हुनुभन्दा अगाडि नै आईसीसीमा पठाइसकिएको हुनुपर्छ । २५ प्रतिशत राष्ट्रिय महाधिवेशनमार्फत पठाउनु पर्छ। १० प्रतिशत कार्यसमितिले पछाडि पठाउने हो। एनसीसीहरुले यही प्रावधान अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको नामावली पठाए पनि आइसीसीका पदाधिकारीहरूले विवाद झिकेको एनसीसी यूकेका उपाध्यक्ष नारायण कँडेलको दाबी छ। युकेको निर्वाचनका विषयमा आईसीसीमा रहेका व्यक्तिहरूले सोँचे भन्दा फरक नतिजा देखेपछि विवाद झिकेको कँडेलले बताए । आइसीसीकै पदाधिकारीहरूले केही विश्वासपात्रमार्फत छुट्टै नामावली मगाएकाले विवाद बढाएको आरोप पनि उनले लगाए। तीनै देशका एनसीसी अध्यक्षहरुले प्रतिनिधि चयनका नाममा आईसीसीले प्रायोजित रूपमा विवाद गरेको भन्दै एक भएर सामना गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन् । पत्रकार भेटघाट कार्यक्रममा एनआरएनए अमेरिका र अष्ट्रेलियाका महासचिव द्वय अन्जन कुमार चौलागाई र राजु अधिकारीले एनसीसीले पठाएको डेलिगेट्स लिष्ट तलमाथि वा अस्वीकृत गरिएमा आईसीसीको नाजायज हस्तक्षेपको भण्डाफोर गर्दै संसारभरका सबै एनसीसी एकजुट भएर अगाडि बढ्ने बताएका थिए।
डेलिगेटको अर्को चुनाव नगर्ने भन्दै एनआरएन अमेरिकाले आईसीसीलाई पत्र पठायो वासिंगटन डिसी । गैरआवसीय नेपाली संघ(एनआरएनए) अमेरिकाले डेलिगेट निर्वाचन पुन गरिरहनु नपर्ने र नगर्ने भन्दै अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी) लाई पत्र पठाएको छ। अगष्ट २८ तारिकमा आईसीसी पठाएको पत्रमा यसअघि नै सबै प्रक्रियाहरु पूरा गरेर एनआरएनए अमेरिकाले निर्वाचन गरेकोले नयां निर्वाचन गरिरहनु नपर्ने भन्दै पत्र लेखको हो। उसले पत्रमा आफूले अगष्ट १३ तारिकमै सम्पन्न गरेको निर्वाचन आईसीसीको विधान र एनसीसीको विधान र अमेरिकाको कानुनसम्मत भएको दावी पनि आईसीसी समक्ष बुंदागतरुपमा प्रस्तुत गरेको छ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी)को आगामी अक्टोबरमा हुने निर्वाचनका लागि २५ प्रतिशत अर्थात् ४७ जना मतदाता प्रतिनिधि छान्ने क्रममा अमेरिकामा विवाद भएको थियो। विवादका कारण एकपटक आईसीसीले निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको थियो। तर, निर्वाचन गर्न अगष्ट १० मा आईसीसीले पुन पत्राचार गरेपछि एनसीसीले पुरानै प्रक्रियालाई निरन्तरता दिंदै २९ वटा राज्यबाट २९ जना मनोनित गरी बाँकी १८ जनाको १८ जनाको निर्वाचन गराएको थियो। यो निर्वाचनलाई आईसीसी अस्वीकार गर्दै विधिसम्मत प्रतिनिधि पठाउन फेरि पत्राचार गरेको थियो। यही पत्रको जवाफ दिँदै एनआरएनए अमेरिकाले आफूले सबै विधि र प्रक्रिया पूरा गरी निर्वाचन सम्पन्न गरेकोले अर्को निर्वाचन गराइरहनु नपर्ने र निर्वाचित व्यक्तिहरु नै आईसीसीको लागि अमेरिकाका डेलिगेट भएको दावी गरेर पत्रचार गरेको हो। समाचारअनुसार, अगष्ट १३ कै निर्वाचनलाई सदर गर्नेबारे एनसीसी अमेरिकाको बोर्ड बैठकमा कोषाध्यक्ष राजीव श्रेष्ठले प्रस्ताव पेश गरेका थिए। जम्मा ३१ सदस्यीय बोर्डमा उनको प्रस्तावलाई सदर गर्ने पक्षमा २० जनाले समर्थन गरेका थिए भने विधिसम्मत पुन निर्वाचन गर्नुपर्ने पक्षमा बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थसहित ६ जनाले फरक मत राखेका थिए। पन्थसहित विकास उप्रेती, दीक्षा बस्नेत,सुनिता कंडेल, आशीष संग्रौला र ज्ञानेन्द्र गुरुङ्गले पुन निर्वाचन हुनुपर्ने अडान राख्दै फरक मत राखेका थिए। कार्यसमितिको अगष्ट २५ तारिक सम्पन्न सो बैठकमा बोर्ड सदस्य बालाराज घिमिरेले अर्को प्रस्ताव पेश गरेका थिए। आईसीसीका अध्यक्ष र एनसीसीका अध्यक्षले मिलेर यो समस्याको समाधान गर्नुपर्ने भन्ने उनको प्रस्ताव थियो। यो प्रस्तावका पक्षमा घिमिरे, शान्ति पौडेल वाग्ले र किरण बस्नेतसमेत ३ जनाले समर्थन गरेका थिए। एनसीसी अमेरिकाको बोर्डको बहुमतले निर्णय गरेको भन्दै अगष्ट १३ कै डेलिगेट निर्णय विधिसम्मत भएको विवरण खुलाएर आईसीसीलाई पत्र पठाइएको एनआरएनए अमेरिकाका प्रवक्ता तोया दाहालले डिसी नेपाललाई बताए। उनले भने,‘यसबारे आईसीसीलाई एनसीसीको तर्फबाट पत्र  पठाइसकिएको छ।’ २५ प्रतिशत डेलिगेट विवादमा असन्तुष्ट समूहले डा.राजन पन्तको संयोजकत्वमा अर्को निर्वाचन समिति बनाई छुट्टै निर्विरोध छनौट गरेको भन्दै ४७ जनाको नाम सार्वजानिक गरेको थियो।
गैरआवासीय नेपाली संघ टेक्सस च्याप्टरको पदस्थापन काठमाडौं । गैरआवासीय नेपाली संघ (टेक्सस) च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। शनिबार अर्भिंग सिटीमा आयोजना भएको कार्यक्रममा च्याप्टरका निवर्तमान अध्यक्ष राजेश अर्यालले नव निर्वाचित अध्यक्ष शोफीन थापालाई पद हस्तान्तरण गरेका हुन्। नवनिर्वाचित सच्याप्टरको उपाध्यक्षमा गंगादत्त शर्मा, सचिवमा चण्डी भण्डारी, सहसतिवमा राजन भट्टराई र कोषाध्यक्षमा दिलिप कुमार बस्नेत रहेका छन्। महिला संयोजकमा मनिता मानन्धर, युवा संयोजकमा बासुदेव केसरी रहेका छन् भने सदस्यहरुमा रोहित विक्रम केसरी, टंकमणि घिमिरे, भवन सुवेदी, निश्चल चापागाईँ, छविलाल हुमागाईँ, सन्तोष लम्साल रहेका छन्। पदस्थापन कार्यक्रममा न्यूयोर्कमा भएको भलिबल प्रतियोगितामा प्रथम भएको टेक्सस टिमलाई सम्मन पनि गरिएको थियो। कार्यक्रममा एनआरएनए आईसीसीका सचिव गौरीराज जोशी, क्षेत्रीय उपसंयोजक राम सी पोखरेल, एनआरएनए अमेरिकाका उपाध्यक्ष विकास उप्रेती, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष सुनिल साह, नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने, एएनएका अध्यक्ष विजयराज भट्टराई लगायतले नवनियुक्त समितिलाई शूभकामनासमेत दिएको थिए ।
बानाको मैत्रीपूर्ण फुटवल खेलमा नेपाली दूतावास विजयी (तस्वीरसहित) वासिंगटन डिसी। अमेरिकास्थित नेपाली दूतावास र बाल्टिमोरमा बस्ने नेपालीहरुको संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका(बाना) का बीचमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले मैदानको बीचबाट फुटवल हानेर उद्घाटन गरेको सो खेलमा नेपाली दूतावासले बानालाई ९ गोल लगाई पराजित गरेको थियो । बानाले जम्मा ४ गोल फर्काएको थियो। दूतावासका तर्फबाट नियोग उपप्रमुख सहसचिव कुमार खरेल टिम क्याप्टेन थिए भने बानका तर्फबाट खेलकुद विभागका प्रमुख दमनविक्रम शाह क्याप्टेन थिए। बाल्टिमोर काउण्टीको मिडोउड रिजनल पार्कको खेल मैदानमा सम्पन्न सो मैत्रीपूर्ण खेलमा विजयी टिमलाई राजदूत डा. खतिवडाले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै बाल्टिमोरस्थित नेपालीहरुको संस्था बानाले मैत्रीपूर्ण खेलमार्फत नेपाली दूतावास र यहां रहेका नेपालीहरुबीच सुमधुरता कायम गरेकोमा राजदूत खतिवडाले बानाको प्रसंसा गरेका थिए। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अमेकिाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले बानाले बाल्टिमोरवासी नेपाली समुदायलाई विभिन्न कार्यक्रमहरुका माध्यमबाट जोड्ने काम गरेकोप्रति खुसी व्यक्त गर्दै एनआरएनएका तर्फबाट साथ सहयोग रहने बताएका थिए। बानका अध्यक्ष सुवोधविलास पन्तको अध्यक्षतामा भएको समापन समारोहमा मेरिल्याण्डमा रहेका नेपालीहरुमा थुप्रै संघसंगठनका प्रतिनिधिहरुको पनि उपस्थिति थियो।
अमेरिकी सेनाको जहाजमा एनआरएनए अमेरिकाको सामग्री नेपाल पठाइयो वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाले नेपाली जनताका लागि सहयोग भनेर १० हजार पाउण्ड अर्थात् ४ टन स्वास्थ्य सामग्री नेपाल पठाएको छ। अमेरिकी सेना एयर फार्सको विमानमार्फत अमेरिकाको युटा शहरबाट ती सामग्रीहरु अगष्ट २७ तारिक शुक्रबार दिउँसो नेपालका लागि उडाइएको छ। गैरआवासीय नेपाली संघका प्रबक्ता तोया दाहालका अनुसार, ३ लाख ६० हजारभन्दा बढी अमेरिकी डलर अर्थात् ४ करोड ८ लाखजति नेपाली रुपैयाँ बराबरका सामग्रीहरु नेपाल पठाइएको छ। यी सामग्री नेपाल पठाउन एनआरएनए,अमेरिकाका कोषाध्यक्ष राजीव श्रेष्ठ आफैं युटा विमानास्थल पुगेका थिए। उनले दुई दिनसम्म त्यहीँ बसी सामान नेपाल पठाउन अमेरिकी सैनिक अधिकारीहरुसंग समन्वय गरेका थिए। अमेरिकी सेनाको तर्फबाट मेजर जनरल विलियम के वेसिन्जरले समन्वयको काम गरेका थिए। गैरआवासीय नेपाली संघ, अमेरिकाको कार्यसमिति भित्रैबाट प्राप्त सहयोग, विभिन्न संघसंस्था र साधारण सदस्यहरु समेतबाट उठेको सहयोगबाट खरिद गरिएका सामग्रीहरु नेपाल सरकारलाई पठाइएको हो। यी सामग्रीहरु अगष्ट ३१ तारिकका दिन काठमाडौं पुग्ने समय तालिका अमेरिकी सेनाले एनआरएनए, अमेरिकालाई दिएको छ। अमेरिकावासी नेपालीहरुका तर्फबाट कोरोना महामारीले पीडित बनेका मातृभूमि नेपालका दाजुभाइ दिदी बहिनीहरुलाई राहत पुर्याउन अहोरात्र खटेर पठाइएका यी सामग्रीहरु हस्तान्तरण गर्न एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी पनि काठमाडौं जाने भएका छन्। यी सामग्रीहरु सिधै नेपाल सरकारलाई हस्तान्तरण गरिने एनआरएन अमेरिकाले जनाएको छ। हेल्प नेपाल मिसन अन्तर्गत यी सामग्रीहरु नेपाल पठाउन निशुल्क सैनिक जहाजको व्यबस्थालगायतका काममा खटिने एनआरएनए अमेरिकाका कोषाध्यक्ष राजीव श्रेष्ठले संस्थाको आधिकारिक फेसवुक पोष्टामार्फत यो कार्यमा सहयोग गर्नेमा अमेरिकी सरकार, युटाका गभर्नर र जनता, अमेरिकास्थित नेपाली दूतावास र त्यसका अधिकृत होमकान्त भण्डारी, अवैतनिक महावाणिज्यदूत ऋषि ढकाललाई धन्यवाद दिएका छन्। उनले डाइरेक्ट रिलिफ, सेवा इन्टरनेशनल,गुरुङ्ग समाज लसएन्जेलस, सिख गुरुद्वारा सानहोजे, एनआरएनएका च्याप्टरहरु र अन्य सहयोगी संघ संस्थालाई पनि यो कार्यमा सहयोग गरेवापत धन्यवाद दिएका छन्। समाचारअनुसार, अक्सिजन कन्सन्टेटरलगायतका स्वास्थ्य सामग्रीहरु तयार गरेर पठाउन जहाज खर्चमात्रै एक लाख डलर खर्च हुने भएपछि एनआरएनएले अमेरिकी सेनालाई सहयोगका लागि केही महिनाअघि नै अपिल गरेको थियो। पूर्व अध्यक्ष सुनील साहको पालामा डेन्टन प्रोग्रामअन्तर्गत यी सामग्रीहरु पठाउने प्रयास गरिए पनि अमेरिकी सेनाले सो प्रोग्रम अन्तर्गत सहयाता गर्नुपर्ने लिष्टमा नेपाल नपरेकाले त्यतिबेला आफ्नो जहाजबाट निशुल्क ढुवानी गर्न नसक्ने जानकारी गराएको थियो। तर, एनआरएनए अमेरिकाको नयां कार्यसमितिले अमेरिकी सेनाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ अन्तर्गत निशुल्क ढुवानी गराइदिन फेरि आग्रह गर्यो। यो प्रोग्रम अन्तर्गत ढुवानी गर्न मिल्ने देखिएपछि अमेरिकी सेनाले यी सामग्रीहरु नेपाल लगिदिन तयार भएको हो।
दिनदहाडै अमेरिकाको ओहायोमा यसरी लुटियो नारायणको सुन पसल (लुट्दै गरेको भिडियोसहित) वासिंगटन डिसी। उनका ग्राहक प्रायजसो नेपाली भाषी नै हुन्थे, नेपालीहरु आउँथे, आफूलाई चाहिएको सामान किनेर लैजान्थे, यी वाहेक फाट्ट फुट्टमात्र अरु मानिसहरु उनको पसलमा पुग्थे। तर, त्यसदिन अचम्म भयो, टाउकोमा फेटा बाँधेका चारवटी महिला र एशियन मूलका (तर,नेपाली होइनन्) दुईजना लोग्ने मान्छे ज्वेलरी किंग युएसए नामको सुन पसलमा पसे। उनीहरुको अंग्रेजी भाषा पनि कमजोर अर्थात् स्पष्ट थिएन। एकछिन पसलभित्र यो हेर्ने, त्यो हेर्ने, यो देखाऊ, त्यो देखाऊ भनेर सबै थोक किन्न खोजेजस्तो गरेर उनीहरुले आफ्नो हाउभाउ देखाए। यसैबीचमा एकसय डलर मूल्य पर्ने सुनको नत्थी र २० डलर पर्ने चाँदीको औंठी पनि किने। ६ जनाको समूहमा पसेका उनीहरुले सुन पसलमा पसेर पत्तै नपाउने गरी अल्मल्याएर एकलाख अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने एक किलो सुनका गहना चोरेर लगिदिए। र, नारायण रसाइली एवं उनकी पत्नी तारालाई जीवनमा कल्पनै नगरेको पीडा दिए। घटना अगष्ट २३ तारिक सोमबारको हो। अमेरिकाको ओहायो राज्यको कोलम्बिया शहरमा सन् २०१९ देखि आफ्नै गहना पसल खोलेर बसेका नेपाली भाषी नारायण रसाइली र उनको परिवार यी अनौठा लाग्ने लुटेराहरुका कारण चिन्तित भएको छ। भर्खर भर्खर उभोलाग्दै गरेको गहना व्यापारलाई अझ फस्टाउने बनाउन नारायणले केही समयअघि मात्रै एक किलो सुनका सिक्री र २ किलो सुनका ब्रासलेट होलसेल पसलबाट ऋणपान गरेर आफ्नो कोलम्बसस्थित पसलमा ल्याएका थिए। उनले ती सामानहरु सिकागोको होलसेल पसलबाट मगाएका थिए। नेपाली र नेपाली भाषी भुटानी अमेरिकनहरुको ओहायोका विभिन्न शहरमा बाक्लो बस्ती बनिसकेको छ। चाड बाड नजिकिएको अवस्था र सुनका गहनाको बढ्दो माग एवं आफैं पनि गहना बनाउन सक्ने खुवी भएका कारण नारायणको गहना पसलमा चहल पहल पनि थियो। दिउँसो साढे चारजस्तो बजेको थियो, घटनाबारे डिसी नेपालसँग कुराकानी गर्दै नारायणले भने, “म नानीलाई लिन स्कूल गएको थिएँ, मेरी पत्नी पसलमा थिइनँ। फेटा बाँधेका र मास्क लगाएका छ जनाको हुल पसलमा पसेछ। गहनाहरु हेर्न खोजेछन्। उनले गहनाहरु देखाइन्। त्यसमध्ये एउटा नत्थी र एउटा चाँदीको औठी खरिद पनि गरेछन्। ग्राहकले सामान किनेर लगेकोमात्र उनले तत्काल सोचिछन्। जव अर्को ग्राहक आएर झुम्का हेर्न खोज्दा पो त्यो र्‍यागमा राखेको सुनका सिक्रीहरुको ट्रे नै हराएको थाहा पाइछन्।” “त्यसदिन मेरी पत्नीको जन्म दिनको दिन थियो। म भने छोरीलाई स्कूलबाट रिसिभ गरेर श्रीमतीका लागि जन्म दिनको उपहार केही किन्छु भनेर केही परको सपिङ्ग मलतिर पुगेको थिएँ”, नारायणले घटनाबारे जानकारी दिँदै थपे, उनले सिक्रीको ट्रे नै नदेखेपछि आत्तिदै र चिन्तित हुँदै छिटो आउनु कि छिटो आउनु भनेर फोन गरिन् म पनि आत्तिदै पसलमा फर्किएँ । पसलमा सिसी टिभी राखिएको थियो तर त्यसको रेकर्ड हुने कोठाको चावी भने मसँग थियो त्यसैले उनले सामान हराए पनि कसरी हरायो भनेर पत्तो लगाउन सकिनन्। जव म हत्तारिँदै पसल पुगेर सिसी टिभीको रेकर्ड हेर्न थालेँ अनि त लुटेरा प्रष्ट देखिए। सिक्रीले भरेर राखेको ट्रे यता उता हेर्दै तिनै छ जनामध्येको एकले आफ्नो झोलामा भरेर लगेको सिसी टिभीमा देखियो। (हेर्नहोस् भिडियो) यस्तो देखेपछि प्रहरीलाई तत्काल खवर गरियो तर प्रहरीले कुनै रेस्पोन्स गरेन। जति फोन गरेपनि भ्वाइस म्यासेजतिर पठाइदियो, भ्वाइस म्यासेस छोडेपछि पनि धेरै समयसम्म कुनै सम्पर्क नै हुन सकेन। यसरी सम्पर्कै नभएपछि वा प्रहरीले रेस्पोन्स नै नगरेपछि मैंले तत्काल भिडियोलाई फेसबुकमा सार्वजानिक गरेँ तै ती लुटेराहरु अरु नेपाली र नेपाली भाषीको पसलमा नपसुन् र थप नोक्सान नगरुन् भन्ने मलाई लाग्यो। मलाई के पनि लाग्यो भने तिनले लगाएका लुगा फेरेनन् भने मेरो भिडियो हेर्नेले कतै देखेर स्थानीय प्रहरीलाई खवर पो गरिदिन्छ कि। तर, त्यस्तो केही भएन, भोलिपल्ट विहान ११ बजेतिर पो प्रहरी मेरो पसलमा आइपुग्यो। उसले सिसी टिभी फुटेजहरु लिएर गएको छ र हाम्रो उजुरी पनि दर्ज गरेको छ तर यस्तो चोरी प्रहरीको प्राथमिकतामा पर्दोरहेनछ वा यो इमर्जेन्सी उद्धार गर्नुपर्ने खालको घटना होइन रहेछ शायद त्यसैले उनीहरु तत्काल आएनन्।” श्रीमतीलाई उपहारसमेत दिएर साँझ जन्म दिन मनाउँला भनेर उनले केही आफन्त र साथी भाइलाई पनि बोलाएका थिए तर यो अकल्पनीय घटनाले उनीहरुको खुसी पनि लुटिदियो। बरु भोलिपल्ट कतै तिनलाई देखिन्छ कि भनेर कन्टकीसम्म पनि केही साथीहरु लिएर पुगे। उनको भिडियो हेरेका एक नेपालीले केन्टकीमा आफ्नो पसलमा ती व्यक्ति आएकोजस्तो लागेको भन्दै जानकारी गराएपछि तै फेरि देखिन्छन् कि भनेर केही साथी लिएर उनको खोजीमा केन्टकी पुगेका थिए। तर, फेरि तिनीहरुलाई फेला पार्न सकेनन्। प्रहरीले ती लुटेरा पत्ता लगाएर आफ्नो लुटिएको धन फिर्ता आउला कि भन्ने आशा भने नारायणले मारेका छैनन्। हुन त उनले पसलको विमा पनि गरेका छन्। विमा कम्पनीले पनि आफ्नो बास्तविकता बुझेर सहायता गर्ला भन्ने उनलाई लागेको छ। लुटेराहरु धेरै नै चलाखजस्तो लागेको छ उनलाई किनकि सिसी टिभी फुटेज हेर्दा लुटेराले हातमा पञ्जासमेत लगाएका देखिन्छन् भने पन्जाबाट पनि आफ्नो फिन्गरप्रिन्ट कतै नबसोस बनेर अर्कोले एउटा कपडाले बारम्बार हातले छोएको ठाउँ पुस्ने गरेको देखिएको छ। सामान हेर्ने भनेर ताला लगाइएको साइडमा पहिला खोल्न लगाए, केहीबेर त्यहाँको महँगा सामान पनि हेरे अनि अर्को साइडमा रहेको सामान किन्न खोजेर तीमध्येकै केही व्यक्तिले उनकी पत्नी ताराले अर्को कुनामा नदेखुन् भनेर छेकिदिएका छन्। सामान देखाउने क्रममा चावी खोलेको र फेरि हेर्न खोज्लान् भनेर बन्द नगरेको अवस्थाको फाइदा उठाएर सिक्रीको ट्रे नै उठाएर झोलामा हालेछन् र थाहा नपाउन् भनेर अरु ट्रे हरु मिलाएर राखिदिएको सिसी टिभी फुटेजमा देखिएको छ।
एनआरएनए महासचिवमा अमेरिकाबाट डा.पौडेलको उम्मेदवारी घोषणा काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय महासचिव पदका लागि अमेरिकामा बसोबास गर्दै आएका चिकित्सा क्षेत्रमा संलग्न डा.केशव पौडेलले उम्मेदवारी दिएका छन् । १०औँ महाधिवेशनमार्फत चुनिने एनआरएनए २०२१–२०२३ को कार्यकालका लागि उनले महासचिव पदमा उम्मेवारी घोषणा गरेका हुन् । नेपालको तनहुँमा जन्मिएर हुर्केका उनी अमेरिकामा चिकित्सा क्षेत्रमा अर्थात् अमेरिकाको एक अस्पतालमा राम्रो स्थान बनाएर बसेका छन् । अमेरिकाको न्युम्याक्सिकोमा रहेको लभलेज मेडिकल ग्रुपका निर्देशक बनेर चिकित्सा क्षेत्रमा जमेका डा.पौडेल सामाजिक अभियन्ता पनि हुन्। एनआरएनए अमेरिकाको दुई कार्यकाल अध्यक्ष बनेका डा.पौडेलले एनआरएनए एनसीसीमा रहेर थुप्रै उदाहरणीय काम गरेका छन् । उनले आफ्नो कार्यकालमा सदस्यता संख्यालाई बढाएर अमेरिकी एनसीसीलाई विश्वकै सबैभन्दा ठूलो एनसीसी बनाएका थिए । त्यस्तै, नलेज सेयरिङ्ग कन्फ्रेन्सको आयोजना गर्ने तथा नेपालमा भूकम्प पीडितलाई घटनास्थलमै पुगेर प्रत्यक्ष सहयोग गर्ने र साह्रो गाह्रो पर्दा सहयोग गर्ने डेस्क स्थापना गर्ने चलन पनि उनकै पालामा सुरु भएको थियो, जसको श्रेय उनैलाई जान्छ । डा.पौडेलले अमेरिकामा आफ्नो एनसीसीको दुई कार्यकाल सफल भएको दाबी गर्दै अब आइसीसीमा गएर विश्वभरका एनआरएनएसँगसँगै मिलेर काम गर्ने उद्देश्य रहेको बताएका छन् । एनसीसीमा के के गर्नु भयो र आइसीसीमा निर्वाचित हुनु भएको खण्डमा के कस्ता प्रभावकारी काम गर्नु हुन्छ?, भन्ने डिसी नेपालका अर्जुन दाहालको प्रश्नमा डा.पौडेलले भने, ‘संसारभरि बसेका एनआरएनएहरुलाई कसरी एकतावद्ध बनाएर नेपाल र नेपालीहरुको लागि काम गर्न सकिन्छ । अर्थात् नेपाल र नेपालीहरुको साझा मुद्दा पत्ता लगाएर नेपाल र नेपालीको हितको लागि राम्रोसँग काम गरौं भन्ने नै हो ।’ उनले अगाडि थपे, ‘चुनाव आयो भने हामी(एनआरएनए सदस्य) विभाजित हुन्छौं तर संस्थापक कुराहरु आयो भने एकिकृत हुन सक्छौं । विदेशमा बस्ने नेपाली नागरिकहरुले गैरआवासीय नागरिकता बनाउने कुरा लगायतका प्रमुख मुद्दाहरुमा एनआरएनए एकीकृत भएको छ । र, म सधैं एकिकृत बनाउने र एकिकृत हुने कामलाई निरन्तरता दिन्छु ।’ डा.पौडेलका अनुसार उनले आफ्नो कार्यकालमा एनआरएनए अमेरिकाको सदस्य संख्यामा वृद्धि गर्नुका साथसाथै धेरै विकासका कार्यहरु भएका छन् । साथै, सदस्य संख्या वृद्धिसँगै एनआरएनए अमेरिकाको आर्थिक पाटो पनि दह्रो बनाएको उनले बताए । पौडेलले आगामी आइसीसी निर्वाचनमा महासचिवको लागि उम्मेदवार बनेको र निर्वाचित भएमा एनआरएनएका साझा मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउने तथा नेपाल र नेपालीको लागि हितकारी कार्य गर्न प्रतिवद्धता डिसी नेपालका अर्जुन दाहालसँग गरेका छन्।
टेक्सासमा सञ्चालित नेपाली पाठशालाका कक्षा आगामी हप्ता देखि शुरु हुने टेक्सास । नेपाली समाज टेक्सासले सञ्चालन गर्दै आएको Fall Session कक्षा आगामी हप्ता(अगष्ट २८) बाट शुरु हुने भएकाे छ । Fall Session कक्षामा भर्ना हुन सम्पूर्ण नेपालीहरुलाई नेपाली पाठशालाका प्रिन्सिपल विजयराज भट्टराइले अनुरोध गरेका छन्। पाठशाला अनलाइन सञ्चालन हुँदै आइरहेको छ। यस स्कूलमा बाल-बालिकाहरुलाई बिभिन्न ६ बिषयमा ७ शिक्षकहरुले अनलाइन पढाउने गरि तयारी गरिएको जानकारी स्कूलका प्रिन्सिपल विजयराज भट्टराइले गराए। बिगतका सेसनहरु झैँ यसपटक पनि यो अनलाइन स्कूल संसार भरिका जो सुकै नेपाली बालबालिकाहरु पनि सहभागी हुनसक्ने व्यवस्था गरिएको छ। स्कूल भर्ना गर्नको निमित्त याे लिङ्कमा क्लिक गरेर फर्म भरेर, प्रति बिषय, प्रति बिद्यार्थी $२५ . ०० शुल्क तिर्नुपर्नेछ।
नेपाललाई टिपिएसको लागि पुन: नियुक्त ‘रिडेजिग्नेट’ गर्न ४४ जना कँग्रेसका सदस्यहरुको बाइडेन प्रशासनलाई आग्रह वाशिङ्टन, डिसी । अमेरिकी जनप्रतिनिधिहरूले अमेरिकामा टीपीएस स्टाटसमा बसिरहेका नेपालीहरूका पक्षमा एक पत्र लेख्दै अमेरिकी सरकारलाइ  घच्धच्याएका छन्। नेपालीहरूसमेत आप्रवासीहरूकाे हितमा कार्यरत संस्था अधिकारकाे पहलमा ४४ जना जनप्रतिनिधिहरूले टीपीएस स्टाटसमा रहेका नेपालीहरूका पक्षमा सरकारलाइ पत्र लेखेका हुन्। हाउस रेप्रेजेन्टेटिभ निडिया भेलास्क्वेज (न्यू योर्क – ७) र सेनेटर चक शुमर (न्यू योर्क) को नेतृत्वमा शुक्रबार, अगस्ट २० तारिख ४४ जना कँग्रेसका सदस्यहरुले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटीका सक्रेटेरी आलेक्जान्डर मायोर्कास  र स्टेट डिपार्टमेन्टका सेक्रेटेरी एन्थोनी ब्लिन्किनलाई एक पत्र लेखेर नेपाललाई १८ महिनाको लागि टिपिएस (Temporary Protected Status) को लागि नवीकरण र पुन: नियुक्त (“रिडेजिग्नेशन” – २०१५ पछि आएकाहरु पनि समावेश हुने) गर्न आग्रह गरेका छन्। टिपिएसले संयुक्त राज्य अमेरिकामा रहेका, र सुरक्षित रुपमा आफ्नो देश फर्कन नसक्ने कागजपत्र विहिन लगायत अन्य गैर नागरिकहरुको जीवन बचाउने महत्वपूर्ण सुरक्षाहरु दिन्छ। अधिकारको नेतृत्व द्वारा बृहत अभियानको एक हिस्सा स्वरुप हाउसका रेप्रेजेन्टेटिभहरु चु, मेङ्, ओकेजियो कोर्टेज, जयापाल, र सेनेटर भ्यान होल्लनले सह नेतृत्व लिनु भएको सो “डियर कोल्लिग्स” पत्रमा नेपालको हालको स्थितिलाई हेरेर नेपाललाई टिपिएस को लागि पुन: नियुक्त गराउन अत्यन्तै जरुरी भएको जनाईएको छ। नेपाललाई टिपिएसको लागि पुन: नियुक्त गर्न प्रशासनलाई तुरुन्त निर्णय लिन आग्रह गर्दै राष्ट्रव्यापी १०१ वटा संघ संस्थाहरुले हस्ताक्षर गरेको संस्थागत समर्थनको पत्र र देशभरिका हजारौं व्यक्तिहरुले हस्ताक्षर गरेका पेटिशन पनि सो पत्र सँगै पठाईएको छ। करिब ९ हजार जनाको ज्यान लगेको, र दशौं हजारौंलाई घाईते बनाएर देशको राष्ट्रिय संरचनालाई नै भत्काउने ७.८ स्केलको भूकम्प पश्चातको परिस्थितिलाई नेपालीहरुले अत्यन्तै साहसका साथ सामना गरेता पनि त्यो भूकम्पको असर हामीले अझै पनि बेहोरिरहेका छौं भन्दै अधिकारद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ,  हाल यथावत रहेको विश्वव्यापी संक्रमण को साथै राजनैतिक अस्थिरता, र उत्तरी भारत र नेपालला झन्डै ४० लाखलाई बाडीहरुले थप बिस्थापित गर्दा नेपालले एक पछि अर्को संकटको सामना गर्नु परिरहेको छ। अमेरिकी स्टेट डिपार्टमेन्टले जुन १६, २०२१ को मिति सम्म लागु हुने गरि कोभिड-१९ को उच्च जोखिम र राजनैतिक हिंसाको कारण नेपालमा यात्रा गर्न सबभन्दा उच्च स्तरको जोखिम रहेको सुझाव दिंदै यात्रुहरुलाई नेपाल भ्रमण नगर्न निर्देशन दिएको थियो। नेपालको हालको परिस्थिति बारे थप जानकारी पाउन यहाँ हेर्नुहोस्। हाल टिपिएसमा रहेका १० हजार भन्दा धेरै नेपालीहरुको भविष्य संघीय कानुनी मुद्दा निलसन विरुद्ध रामोस/निलसन विरुद्ध भट्टराई सम्बन्धि जारी रहेको सम्झौता प्रकृयामा निर्भर छ। शरणार्थीको दर्जा दर्ता गर्न अयोग्य रहेका, अनि आफ्नो देश फर्कन पनि जोखिमपूर्ण परिस्थितिहरु सामना गर्नु पर्नेहरुको लागि टिपिएसले लामो समय देखि सुरक्षा प्रदान गर्दै आएको छ। हालको २०१५ भन्दा अगाडि आएको हुनु पर्ने योग्यताको कारण अहिले टिपिएस पाउन नसकेका अमेरिकामा रहेका ३६ हजार भन्दा धेरै नेपालीहरुलाई अहिले नेपाल फर्कनको लागि पर्याप्त सुरक्षा छैन। यस प्रशासनले नेपाललाई टिपिएस को लागि पुन: नियुक्त गरेर महत्वपूर्ण मानवीय सुरक्षाको खाँचो भएकाहरुलाई सुरक्षा प्रदान गर्न जरुरी छ। अधिकारका अनुसार यी जनप्रतिनिधिहरू र अभियन्ताहरूले नेपालीकाे समर्थनमा निम्म कुरा भनेका छन् संयुक्त राज्य अमेरिकाको कँग्रेस (तल्लो सदन) की सदस्य निडिया भेलाज्क्वेज (न्यू योर्क – ७): “गएको एक वर्षमा नेपालले कोरिनाको संक्रमण, राजनैतिक हिंसा, र वाडी-पहिरोहरुको सामना गर्नु पर्यो, जसले गर्दा देश भरि नै थुप्रै मानिसहरु विस्थापित भएका थिए। गत वर्षको यि संकटहरुको कारण अझै पनि निकै दु:खहरु भोग्नु परि रहेको हुनाले हाल अमेरिकामा बसोबास गरि रहेका, तर सन् २०१५ पछि अमेरिका आएको कारणले टिपिएस पाउन नसकेकाहरुलाई नेपाल फिर्ता जान सक्ने स्थिति छैन।यही कारणले गर्दा सेनेटर शुमर संग मिलेर मैले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्रेटेरी आलेहान्ड्रो मायोर्कास र सेक्रेटेरी अफ स्टेट एन्थोनी ब्लिन्कीनलाई नेपाललाई १८ महिनाको लागि टिपिएस नविकरण गरेर पुन: नियुक्ति गर्न आग्रह गर्दै एउटा पत्र लेख्ने नेतृत्व लिएको छु। हाल सुरक्षाको खाँचो भएकाहरुलाई तत्काल सुरक्षा दिन संयुक्त राज्य अमेरिका सँधै तत्पर रहन पर्छ। हजारौं नेपालीहरु अहिले आफ्नो देश फर्कन डराई रहेका छन्। टिपिएस जीवन बचाउने सुरक्षाहरु दिने एउटा मानवीय उपकरण हो, र नेपालीहरुको लागि तुरुन्त केहि गर्नको लागि बाईडन प्रशासनलाई म आग्रह गर्दछु।” संयुक्त राज्य अमेरिकाको सेनेटर र सेनेटको बहुमत पार्टीको नेता चक शुमर (न्यू योर्क): “केही वर्ष देखि नेपाली समुदायलाई सुरक्षा दिन मैले धेरै लडाई गर्दै आएको छु। त्यसैले पनि हामीले नेपाली नागरिकहरुको “टेम्पोरेरी प्रोटेक्टेड स्टेटस” (TPS) पुन: प्रदान गरेर लम्ब्याईनु पर्छ।  दुर्भाग्यवश नेपालले भूकम्प, राजनैतिक उत्पात, र मानव अधिकारको उल्लङ्घनहरु सामना गर्नु परेको छ। त्यस माथि कोभिड-१९ को संक्रमणले स्थिति झनै गम्भीर बनाएको छ। परिवारहरुलाई नछुटाउनको लागि पनि नयाँ मानिसहरुलाई टिपिएसको लागि योग्य बनाउन महत्वपूर्ण छ। हाम्रो समुदायका मानिसहरुलाई अहिलेको अवस्थामा नेपाल फर्काउनु गलत हुनेछ।” पवित्रा खाती बेन्जामिन, कार्यकारी निर्देशक, अधिकार: “ यो हाम्रो लागि अमेरिकामा रहेका झन्डै ३७ हजार नेपाली आप्रवासीहरुलाई सुरक्षा दिने महत्वपूर्ण अवसर हो। २०१५ मा नेपालले टिपिएस पाए पछि हाल टिपिएस मा रहेका १० हजार भन्दा धेरै नेपालीहरुले स्वास्थ्य बीमा र काम गर्ने अनुमति पत्र जस्ता सुरक्षाहरुको फाईदा लिन पाई रहेका छन्। नेपाललाई टिपिएस पुन: नियुक्त गर्न प्रशासनलाई आग्रह गर्नको लागि हामीलाई समर्थन जनाउनु भएका कँग्रेसका सदस्यहरु, समर्थन पत्रमा हस्ताक्षर गरेका संघ-संस्थाहरु, र पेटिशनमा हस्ताक्षर गर्नु भएका हजारौं व्यक्तिहरु प्रति हामी आभारी छौं। अधिकारले २०१५ देखि नै टिपिएसको लागि लड्दै आएको छ, र हाम्रो समुदायको लागि यस योजनाको फाईदाहरु हामीले राम्ररी बुझेका छौं। हामी आशा गर्दछौं कि हाल टिपिएस मा रहेका १० हजार भन्दा धेरै नेपालीहरुको आउन लागेको टिपिएसको अन्तिम मितिलाई ध्यानमा राखेर बाईडन-ह्यारिस प्रशासनले हाम्रो आवाजलाई सुनेर समय मै यसको लागि केहि गर्नु हुनेछ।” एन. ह्योल्मो, नेपाली टिपिएस वाहक र अधिकारको सदस्य भन्नुहुन्छ: “केहि महिना अगाडि मात्रै कोभिडको कारणले मेरी हजुर आमा बित्नु भयो। नेपालले सामना गर्नु परेको हरेक संकटले मेरो परिवारलाई प्रत्यक्ष असर पारेको छ। मेरो संयुक्त राज्य अमेरिकामा स्थिर आवसनको व्यवस्थाको चाहना नेपाल फर्कनको डरले मात्र होईन – नेपाल फर्कने कुरा मेरो लागि अहिले अव्यवहारिक पनि छ। अमेरिकामा ६ वर्ष देखि कति दु:ख बेहोरेर आफ्नो जीवनी यहीं व्यवस्थित बनाईसके पछि मैले पीडा भोगेको, र मेरो परिवारले अहिले पनि पीडा भोगि रहेको देश फर्कन पर्ने परिस्थिति म कल्पना पनि गर्न सक्दिन।
भुटानी अमेरिकनहरुले ओहायोमा मनाए जनैपूर्णिमा ओहायो, अमेरिका। अमेरिकाको ओहायोमा स्थायी बसोवास गरिरहेका नेपाली भाषी भुटानी अमेरिकनहरुले शनिवार जनै पूर्णिमा तथा रक्षा बन्धन भव्यताका साथ मनाएका छन्। ओहायोको रेनल्ड्सवर्ग नजिक रहेको एउटा खोलामा भेला भई झण्डै दुईसयभन्दा बढी नेपाली भाषी भुटानी अमेरिकनहरुले आफ्नो सांस्कृतिक पर्व सामुहिकरुपमा मनाएका हुन्। रेनोल्ड्सवर्ग शहरका काउन्सिलम्यान भुवन प्याकुरेलले दिएको जानकारीअनुसार, शनिवार विहानको सो कार्यक्रम ओहायोस्थित लक्ष्मीनारायण मन्दिरको आयोजनामा सम्पन्न भएको हो। सन् २०११ देखि लगातार नै सो मन्दिरको आयोजनामा सो समुदायका मानिसहरु नजिकको खोलामा भेला भई जनैपूर्णिमा मनाउने गर्दै आएका छन्। यो कार्यक्रम गतबर्ष भने कोरोनाको महामारीका कारण सामुहिकरुपमा सम्पन्न हुन सकेको थिएन । यसपटक भने परम्परालाई निरन्तरता दिंदै मन्त्रोत्चारणसहित सामुहिक स्नान गरी जनै धारण गर्ने पर्व उत्साहका साथ मनाइएको छ।
अमेरिकामा आदिवासी चलचित्र महोत्सब शुरु न्युयोर्क, अमेरिका। तेश्रो नेपाल आदिवासी चलचित्र महोत्सव २०२१ शनिबारबाट न्युयोर्कमा शुरु भएको छ। २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले आयोजना गरेको महोत्सवमा विभिन्न आदिवासी जनजाति समुदायका सातवटा चलचित्रहरु प्रदर्शन गरिने भएको छ। महोत्सबको आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले एक समारोहकावीच उद्घाटन गरे। महोत्सवले आदिवासी जनजातिको भाषा, भेषभुषा, संस्कृतिको संरक्षण र संवद्र्धनमा सहयोग पुग्ने बताए। न्यूयोर्कको ज्याक्सनहाइटमा शुरु भएको दुईदिने महोत्सबमा पहिलो दिन लिम्बु जातिको के, मगर जातिको ट्याङचालक, ह्योल्मो जातिको मेटोक, राई जातिको सायाबुङ र तामाङ जातिको प्रङ्ना प्रदर्शन हुने महोत्सबका संयोजक एवं फिप्ना अमेरिकाका महासचिव नरेन्द्र थापाले जानकारी दिए । यसैगरी महोत्वसको दोस्रो दिन नेवार जातिको जा मनःगुभाजु र गुरुङ जातिको मि होर्वै ट प्रदर्शन हुने बताइएको छ। महोत्सबको अवार्ड वितरण भने साँझ हुने छ । सो क्रममा विभिन्न दशवटा विधामा निफ अवार्ड प्रदान गरिने महोत्सव संयोजक थापाले जानकारी दिए । अवार्डका विधाहरुमा वेष्ट फिल्म, वेष्ट एक्टर, वेष्ट एक्टे«स, वेष्ट स्टोरी, वेष्ट पब्लिक च्वाइस, वेष्ट कस्टम, वेष्ट डाइरेक्टर, वेष्ट सिनेम्याटोग्राफ, वेष्ट स्क्रिन र वेष्ट म्युजिक रहेका छन्। चलचित्र महोत्सवको लागि विभिन्न १५ वटा आदिवासी चलचित्रहरु सहभागी भएकोमा प्रदर्शनको लागि सात वटा छनौट भएको आयोजकले जनाएको छ।
नेपाली युवाको शवमाथि एनआरएनए अमेरिकाको राजनीति वासिंगटन डिसी। अमेरिकाको विसकन्सिनमा अचानक मृत्यु भएका एकजना नेपाली युवाको शव नेपाल पठाउन गैरआवासीय नेपाली संघ अमेरिकाले एक दिन टिकट नै रद्ध गरिदिएको खुलेको छ। नेपालमा मृतक युवाका अभिभावकहरु आफ्नो एकमात्र सन्तानको शोकमा रहेको र अन्तिम संस्कार गरेर धार्मिक सांस्कृतिक दायित्वसमेत पूरा गर्न रातोदिन कुरेर बसेको अवस्थामा श्रद्धाञ्जली सभाका लागि टिकट नै रद्ध गरिएको थियो। एनआरएनएले सभा गर्‍याे भन्ने विज्ञप्ति र प्रचारका लागि तय भइसकेको उडान सार्नुले शवमाथि एनआरएनएले राजनीति गर्न खोजेको देखिएको छ। विसकन्सिनको एउटा स्टोरमा कार्यरत रहेकै अवस्थामा बेहोस भएर ढली अस्पताल पुर्याएका काठमाडौं दक्षिणकाली घर भएका २२ वर्यीय युवा श्रृजन कुंबरको शव नेपाल पठाउन अगष्ट १७ तारिकको टिकट तय भएको थियो। भ्याली फ्युनरल होम, एप्पलटनले कतार एयरवेजमार्फट अमेरिकाको शिकागो शहरबाट उड्ने गरी १७ तारिकको टिकट तय गरेको भए पनि गैरआवासीय नेपाली संघले श्रद्धाञ्जली कार्यक्रम गर्नका लागि टिकट रद्ध गरेर अर्को दिन सार्न लगाएको थियो। डेलिगेट ह्यारी भण्डारीले व्यवस्था गरिदिएको फ्युनरल होमले १० दिनसम्म शव राखेको रकम नलिने व्यवस्था गरिदियो। र, उनले नै कागजपत्रहरु बनाएर कतार एयरमा १७ तारिकका लागि नेपाल पठाउन टिकट बुक गर्‍याे। यसैबीचमा अचानक एनआरएनएले श्रद्धाञ्जलि सभा गर्ने कार्यक्रम तय गर्‍याे। यत्रो दिनसम्म फ्युनरल होममा शब राख्दा सभा गर्नु नपरेका नेताहरुले शव नेपाल पठाउने तय भएकै दिन टिकट रार्न लगाएर कार्यक्रम गर्ने भने। एनआरएनए अमेरिकाका अध्यक्ष र केही पदाधिकारी उपस्थित भएर फूलमाला लगाई श्रद्धाञ्जली कार्यक्रम गरी फोटोहरु समेत खिचाएर एनआरएनए अमेरिकाले विज्ञप्तिसमेत जारी गरेको थियो। प्रबक्ता तोया दाहालले जारी गरेको विज्ञप्तिमा नेपालस्थित अमेरिकी दूतावासले मृतक कुँबरका अभिभावकलाई अमेरिका आउन भिसा नदिएकाले गोफण्ड खोलेर रकम संकलन गरी उनको शबलाई नेपाल पठाउन एनआरएनए सफल भएको विवरण उल्लेख गरिएको थियो। भएको चाहिँ यस्तो थियो डिभी परेर सन् २०१९ मा अमेरिका आएका दक्षिणकालीका श्रृजन कुँवर विसकन्सिनमा बस्दै आएका थिए। उनी नेपालीको स्टोरमा कार्यरत पनि थिए। जुलाई २८ तारिकका दिन उनी स्टोरमा कार्यरत रहकै अवस्थामा फोनमा कुराकानी गर्दागर्दै अकस्मात् भूईंमा लडेका थिए। पसलमा आएका ग्राहकले तत्कालै प्रहरीलाई खवर गरी एम्बुलेन्समा राखेर उनलाई अस्पताल लगिएको थियो। उनको फोनसमेत अनुसन्धानका लागि प्रहरीले नै लगेकाले फोनमा कोसँग उनको कुरा हुँदै थियो भन्नेबारे भने नेपाली समुदायलाई जानकारी हुन सकेको छैन। व्यक्तिगत कुराहरु आधिकारिक व्यक्ति आफन्तवाहेक व्यक्तिगत गोप्यताका कारण प्रहरीले शेयर नगर्ने भएकाले यसबारे थप जानकारी आउन नसकेको हो। उनलाई शुरुमा विएभर दम अस्पताल लगिएकोमा त्यहाँ उनको उपचार हुन नसक्ने भएपछि उनलाई युडब्लु माडिसन अस्पताल पठाइएको थियो। उनलाई बचाउन हरसम्भव प्रयास गरे पनि सम्भव नभएपछि सो अस्पतालमा उनी जुन २८ तारिकमा मृत घोषित गरिएका थिए। उनलाई बचाउन सम्भव नभएपछि उनको परिवार, आफन्तलाई बज्रपात परेकै थियो उनलाई नजिकबाट चिन्ने जान्ने नेपाली समुदाय पनि शोकमग्न भए। उनको अन्त्येष्टि कसरी गर्ने भन्ने कुरामा नेपालमा अभिभावकसंग कुरा गर्ने र सकेसम्म उहांहरुलाई अमेरिका नै बोलाएर यतै अन्तेष्टिको प्रयास गरिएको थियो। भिसाका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिए पनि दूतावासले भिसा दिन अस्वीकार गरिदियो। त्यसपछि परिवारको इच्छाअनुरुप नै उनको शवलाई नेपाल पठाउने काम शुरु भएको थियो। यसका लागि नेपालको परराष्ट्र मन्त्रालयबाट स्वीकृतिपत्र लिनु पर्ने भयो। तत्काल पत्र बनाउनका लागि गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा.बद्रि केसीले सहयोग गरेका थिए। उनले परराष्ट्रमा कुरा गरी त्यहाँबाट पत्र पठाइदिएपछि अमेरिकास्थित नेपाली दूतावासका अधिकारीहरु उत्तम घिमिरे र होमकान्त भण्डारीले अमेरिकाको प्रक्रिया पूरा गर्न तत्काल नै मद्दत गरे। नेपाल शव पठाउन फ्युनरल होमबाट प्रक्रिया पूरा गर्नुपर्ने र त्यस्तो फ्युनरल होममा लग्दा धेरै खर्च लाग्ने भएकाले के गर्ने भन्ने समस्या परिरहेका बेला मेरिल्याण्ड राज्यसभामा निर्वाचित नेपाली मूलका डेलिगेट ह्यारी भण्डारीले ठूलो मद्दत गरे। उनले फ्युनरल होम पत्ता लगाएर कुराकानीमात्र गरिदिएनन् शब नेपाल पठाउन सो होमका तर्फबाट कागजी प्रक्रिया शुरु गर्ने काममा पनि ठूलो मद्दत पुर्‍याए। एनआरएनए विसकन्सिन च्याप्टरले गोफण्ड खोलिदियो। सामाजिक संस्थाले गो फण्ड खोलिदिंदा नेपालमा अभिभावकलाई खर्च पठाउन सजिलो पर्ने भएकाले एनआरएनए स्थानीय च्याप्टरको तर्फबाट खोजिएको गो फण्डले मद्दत गरेका थियो। तर, एनआरएनएका सबै नेता र केन्द्रमा उम्मेदारी घोषणा गर्ने व्यापारीहरुले खासै सहयोग गरेनन्। सर्वसाधारण नेपालीहरु र एनआरएनए अमेरिकामा अध्यक्ष बुद्धि सुवेदीसमेतको सहयोगमा २५ हजार डलर उठाउन सम्भव भएको थियो। नेपाली दूतावाससंगको समन्वयमा विसकन्सिन निवासी स्थानीय व्यवसायी रघु विष्ट र ओहायो निवासी डा.दामोदर पौडेलले समेत उल्लेख्य भूमिका खेलेका थिए। मृतक कुंबर व्यवसायी विष्टकै स्टोरमा काम गर्ने गर्दथे। समाचारअनुसार, डेलिगेट ह्यारी भण्डारीले व्यवस्था गरिदिएको फ्युनरल होमले १० दिनसम्म शव राखेको रकम नलिने व्यवस्था गरिदियो। र, उनले नै कागजपत्रहरु बनाएर कतार एयरमा १७ तारिकका लागि नेपाल पठाउन टिकट बुक गर्‍याे। यसैबीचमा अचानक एनआरएनएले श्रद्धाञ्जलि सभा गर्ने कार्यक्रम तय गर्‍याे। यत्रो दिनसम्म फ्युनरल होममा शब राख्दा सभा गर्नु नपरेका नेताहरुले शव नेपाल पठाउने तय भएकै दिन टिकट रार्न लगाएर कार्यक्रम गर्ने भने। उनीहरुले १७ तारिकमै कार्यक्रम गर्ने भनेर फ्युनरल होमलाई १८ तरिकमा टिकट सार्न भनियो। यही कारण १८ तारिकमा टिकटको व्यबस्था गर्नुपरेको थियो। मृतक कुँवरको शव अगष्ट २० तारिक शुक्रबार नेपाल पुगेको र त्यसै साँझ परम्पराअनुसार पशुपति आर्घघाटमा उनको अन्त्येष्टि गरिएको बुझिएको छ।
बेलायती खुद्रा बिक्रेता विल्को धराशायी, १२ हजार रोजगारी जोखिममा लण्डन । उच्च मुद्रास्फीति र ब्याज दरले उपभोक्ता र व्यवसायलाई असर पु¥याएको जनाउँदै बेलायती घरेलु सामान कम्पनी विल्कोले बिहीबार आफू धराशायी हुने खतरा रहेको घोषणा गरेको छ । समूहले लगभग ४०० केन्द्रहरू र अनलाइन सेवामार्फत साना घरेलू सामानहरूसहित सरसफाई र बगैंचा निर्माणका लागि आवश्यक सामानहरू बिक्री गर्दै आएको छ । तत्कालका लागि समूहमा कार्यरत पूरानो नेतृत्वको स्थानमा नयाँ प्रशासकहरू नियुक्त गर्ने र सेवालाई सुसङ्गठित गर्ने आफ्नो योजना रहेको घोषणा गरेको छ, यद्यपि, विल्कोका कर्मचारीहरू भने नयाँ नेतृत्वले व्यवसायलाई पुनः जीवित गर्न सफल हुनेमा शङ्का व्यक्त गरेका छन् । नयाँ नेतृत्वले आर्थिकरूपमा सङ्कटग्रस्त कम्पनीले व्यवसायको सेवालाई बचाउन बाह्य विशेषज्ञतालाई आह्वान गर्नसकिने पनि बताएको छ । विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले एक विज्ञप्ति जारी गर्दै नयाँ प्रशासकहरूलाई नियुक्त गरिने निर्णय भएको बताए । “हामीले सामना गरिरहेको बढ्दो नगद दबावलाई ध्यानमा राख्दै संस्थाको उद्धारका लागि उपलब्ध समयमा आवश्यक तरलतालाई प्रत्याभूत गर्न नेतृत्व प्रतिवद्ध रहने छ,”उनले भने ।
पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त, जिल्ला अदालतले हिरासतमा राख्न दिएन अनुमति काठमाडौं । केही समुदायका विवाह संस्कारका विषयमा दिएको विवादास्पद अभिव्यक्तिका आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छिन्। जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उनलाई थुनामुक्त गरेको हो। उनलाई दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा बुधबार पक्राउ गरेको थियो । पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए ।पाण्डेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शनसमेत गरेका थिए।
मातृ मृत्यु घटाउन सबैको सहयोग आवश्यक छः मुख्य सचिव काठमाडौं। मातृ मृत्यु घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको मुख्य सचिव डा. वैकुण्ठ अर्यालले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपालमा मातृ मृत्युदरको अवस्था र सरोकारवालाको भूमिका विषय उच्चस्तरीय नीति संवाद’मा उनले सबैको सहयोगले मातृ मृत्यु घटाउन सकिने बताएका छन्। उनले विगतको तुलनामा मातृ मृत्युदर निकै राम्रो उपलब्धि हासिल भएको भए पनि सन् २०३० सम्म प्रतिलाख ७० जनामा पुर्याउन क्षेत्रगतरुपमा विशेष पहल गर्नुपर्ने, स्थानीय तहको क्षमता अभिवृद्धि तथा सहयोग गरिनुपर्ने बताए । मुख्यसचिव अर्यालले मातृ मृत्यु दर घटाउन स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। मन्त्रालयले तयार परेको मातृ मृत्यु अध्ययनको मुख्य सार समेटिएको राष्ट्रिय तथा प्रादेशिक तथ्यगत सारको पनि उनले सार्वजनिक गरे। कार्यक्रममा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मातृ मृत्यु घटाउन मन्त्रालयको प्रयास रहने भन्दै सम्बन्धित निकायसँग समन्वय र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा थप प्रयत्नशील रहेने प्रतिबद्धता व्यक्त गरे । मन्त्रालयका अतिरिक्त सचिव डा. सङ्गीता कौशल मिश्राले मातृ मृत्यु अध्ययनको औचित्य, उद्देश्य, विधि तथा अध्ययनको मुख्य नतिजामाथि प्रकाश पारेकी छिन् । जसमा नेपालको मातृ मृत्युदर सन् २०२१ मा प्रतिलाख एक सय ५१ जनामा रहेको र दिगो विकास लक्ष्य प्राप्त गर्न सन् २०३० मा प्रतिलाख ७० जनामा झार्नुपर्ने छ ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले मातृ मृत्युदर मन्त्रालयले गुणस्तरीय स्वास्थ्यमा ध्यान दिएको बताए । कार्यक्रममा सहभागीले सरकारको १६औँ आवधिक योजना तर्जुमा गर्दा मातृमृत्युका बृहत् निर्धारकलाई उचित सम्बोधन गर्ने गरी रणनीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने, राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई एम्बुलेन्स कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिनुपर्ने, दक्ष जनशक्तिको उचित र शीघ्र व्यवस्थापन गरिनुपर्ने, सेवाको गुणस्तरमा थप पहल गरिनुपर्ने, विकासका सबै पहलमा स्वास्थ्यलाई केन्द्रविन्दुमा राखिनुपर्ने धारणा राख्नुभएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्।
ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो ललितपुर। ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन् । उनका अनुसार सङ्क्रमण बढ्दो क्रममा रहेको छ । केन्द्रले थप क्षति नहोस् भनेर सजकता अपनाएको जानकारी दिँदै उनले जिल्लाभरमा आठ हजार तीन सय गाईभैँसीलाई ‘लम्पी स्किन’ विरुद्घको खोप लगाइसकेको बताएकी छिन् । गोदावरी नगरपालिकामा मात्र पाँच हजार गाईभैँसीलाई खोप लगाएको छ भने यहाँ सङ्क्रमित सङ्ख्या दुई सय ९६ पुगेको छ । “उपत्यकामा कूल सङ्क्रमित पशुको सङ्ख्या १२ हजार आठ सय ७३ पगेको छ”, डा. निशाले भनिन्, “गाईभैँसी सङ्क्रमणमुक्त एक हजार १७ छन् भने मर्नेको सङ्ख्या एक सय ७४ पुगेको छ ।” उपत्यकाभरका १७ हजार नौ सय ८८ गाईभैँसीलाई खोप लगाइसकेको उनले बताएकी छन्।
कृषि मन्त्री भुसालसँग भारतीय राजदूत श्रीवास्तवको भेट काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय चासो र हितका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री भुसालले हालै भएको आफ्नो भारत भ्रमणका क्रममा भारत सरकारबाट भएको स्वागतप्रति धन्यवाद व्यक्त गर्दै भ्रमणका बेला भएका सहमतिलाई कार्यान्वयन तहमा लैजानुपर्नेमा जोड दिए । उनले भारत भ्रमणका क्रममा कृषिवस्तुको निकासीमा सहजीकरण, रासायनिक मल ढुवानीको क्रममा विशाखपटनममा गरिदिनुपर्ने सहजीकरण, लम्पी स्किन नियन्त्रणमा गरेका प्रतिबद्धता कार्यान्वयनबारे स्मरण गराउनुभएको मन्त्री भुसालको सचिवालयले जनाएको छ । उक्त अवसरमा भारतीय राजदूत श्रीवास्तवले भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनका लागि नेपालको तर्फबाट तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने कामको प्राथमिकता पठाउन अग्रह गरे । राजदूत श्रीवास्तवले रासायनिक मल ढुवानी र नेपालमै कारखाना स्थापना गर्न भारतले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल र भारतको भैगोलिक अवस्था समान रहेकाले दुवै देशको बालीनाली एउटै हुने हुँदा मिलेरै सहकार्य गर्नुपर्नेमा उनको भनाइ थियो । राजदूत श्रीवास्तवले नेपाललाई गाई, च्याङ्ग्राको उच्च नश्लका लागि सहयोग गर्ने र कफीको उन्नत जातको बिरुवामा सघाउने प्रतिबद्धता व्यक्त गरे ।
बारामा प्रहरी र स्थानीयबीच हवाइ फायर, दुई प्रहरी घाइते बारा। बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त भएको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट आज बिहान ६ बजे हतियार रहेको आंशकामा छापामारी पक्राउ गरेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भिडन्त भएको हो । करिब तीन सयको संख्यामा आएका स्थानीयले १५ जनाको सख्यामा रहेका प्रहरीटोली माथि ढुङगा मुढा गरी हतियार सहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन सफल भएका छन् । दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । शाहीको बाँया हातमा चोट लागेर घाईते बनेका छन भने गिरीको बाँया कुम्भ र बाँया हातमा चोट लागेर घाईते भएका हुन् । स्थानीय प्रहरीविरुद्ध खनिएपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको छ । ठुला हतियार रहेको गोप्य सुचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो । छापामारी पछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताएका छन्। उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ वटा र नङ्ग्रा ३ वटा बरामद गरेको बोगटीले बताएका छन्। लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको जनाउदै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्ड काठमाडौं। प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राज्यको सीमित स्रोत र साधनका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको काम अगाडि बढाउन निर्देशित गरे । ‘‘राज्यको साधन स्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजुद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले धेरैहदसम्म सुधार गर्नसकिने शैक्षिक जगतमा प्रशस्त दृष्टान्त छन्”, उनले भने। प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका पदाधिकारीले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के–कस्ता काम गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्न निर्देशन दिए। विश्वविद्यालयले स्थापनाको छोटो अवधिमै नेपालको उच्चशिक्षाको विकासमा प्रशंसनीय भूमिका निर्वाह गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्रीले उच्चशिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समयसापेक्ष रुपमा अगाडि बढ्नुपर्ने बताए। सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तहका कार्यक्रमलाई सुव्यवस्थित बनाउँदै दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रम सञ्चालन गरी अनुसन्धानमूलक गतिविधिलाई प्राथमिकता दिइनु आफैमा महत्वपूर्ण र प्रशंसनीय रहेको उनको भनाइ छ । विश्वविद्यालयले आफूलाई नेपालको उच्चशिक्षाको थलोको रूपमा स्थापित गरी देशको आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानुपर्ने उनको भनाइ छ । अनुसन्धान कार्यलाई आर्थिक तथा सामाजिक विकाससँग जोडी विज्ञान तथा प्रविधिका विषयलाई उच्च प्राथमिकतामा राखेर दक्षजनशक्ति उत्पादन गरी देशको बेरोजगारी र गरीबी न्यूनीकरण गर्नेतर्फ पनि विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । विश्वविद्यालय विकासको प्रारम्भिक अवस्थामै रहेकाले जनशक्ति, भौतिक संरचनाको अभावसँगै स्रोत साधनसम्बन्धी प्रशस्त समस्या रहेकामा आफू जानकार रहेको उल्लेख गर्दै उनले समस्या पहिचान गरी समाधान गर्न गम्भीर प्रयत्न गर्नुपर्ने बताए । विद्यमान समस्या समाधान गर्न सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक हुने भएकाले विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारी तथा समुदायसँग छलफल गरी यस शैक्षिक संस्थाको उन्नति, विकास र सहयोगका लागि सरकार सदैव गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ छ । सुदूरपश्चिम प्रदेशभित्रका १५ वटा क्याम्पसलाई आङ्गिक क्याम्पसका रूपमा विश्वविद्यालमा समायोजन गर्ने कार्यलाई पूर्णता दिन गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरी थप ११ वटा क्याम्पसलाई पनि समायोजन गर्नका लागि सरकारका तर्फबाट गर्नुपर्ने काम अगाडि बढाइने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले भने, “दक्ष र अर्धदक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने अवस्था रहेको कटु यथार्थ हाम्रो सामू छ । अब हाम्रो शिक्षा नीति र विश्वविद्यालयहरूले रोजगारीका लागि विदेशिनुपर्ने यस अवस्थाको अन्त्य गर्ने योजनाहरू अगाडि बढाउनुपर्दछ । यसरी युवा विदेशिनुको मुख्य कारण शिक्षाको कमजोर गुणस्तर र गरिबी नै हुन् ।” उनले शिक्षाको गुणस्तरमाथि उकास्न सके र देशभित्र रोजगारीको अवसर सिर्जना भए युवा विदेशिने क्रमलाई रोक्न सकिने प्रधानमन्त्रीको भनाइ छ । विश्वविद्यालयमा पढ्दै र कमाउँदै कार्यक्रम लागू गर्न सकिए बीचमै विश्वविद्यालयको पढाइ छोडेर विद्यार्थी विदेशिने समस्या एक हदसम्म समाधान हुने सम्भावना आफूले देखेको उनको भनाइ छ । “कुन क्षेत्रमा कुन किसिमको कति जनशक्ति आवश्यक पर्दछ भन्ने कुरा अध्ययन गरी त्यसैअनुसार सम्बन्धित विषयमा कोटा निर्धारण गरी विश्वविद्यालयले विद्यार्थी भर्ना लिने र उत्पादित जनशक्तिले प्राप्त गरेको ज्ञान र सीपअनुसार देशभित्र काम पाउने वातावरण निर्माण गर्न सकिए शैक्षिक बेरोजगारीको समस्या व्यवस्थापन गर्न सकिन्छ”, प्रधानमन्त्री प्रचण्डले भने “विश्वविद्यालयले देशलाई कुन किसिमको जनशक्तिको आवश्यकता छ त्यसैअनुसार जनशक्ति उत्पादन गर्ने कार्यक्रम सञ्चालन गर्नतिर ध्यन दिनुपर्ने देखिन्छ ।” शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएर आधुनिक र मर्यादित तुल्याउन सकिए मात्र २१औँ शताब्दीको आजको विश्वमा प्रतिस्पर्धा गर्न योग्य एवं समाज र राष्ट्रका निम्ति कर्मठ र लगनशील नागरिक उत्पादन गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उच्चशिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी अनुसन्धानमा आधारित बनाउनुपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले त्यस्ता अनुसन्धान देशको सर्वाङ्गीण विकासमा केन्द्रीत हुनुपर्ने बताए । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, विश्वविद्यालयका पदाधिकारीको सहभागिता थियो ।
रामपुरको अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण पाल्पा। रामपुर नगरपालिका पाल्पाले अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ । नगरपालिकाभित्र सात सय दुई घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको छ । तत्कालीन समयमा रामपुर गाउँ पञ्चायत, गाउँ विकास समिति, रामतुलसी मावि, दरैठाँटी मावि, आधारभूत मावि, नवदुर्गा मावि, सहिद बहुमुखी क्याम्पसलगायतका शैक्षिक सङ्घसंस्थाले विद्यालय तथा क्याम्पस सञ्चालनका लागि घरघडेरी बिक्री गरेका हुन् । सो संस्थाले बिक्री गरेका घरघडेरीको सोमबार ८७ जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएसँगै अव्यवस्थित बसोबासीलाई पुर्जा वितरणको काम रामपुरमा सम्पन्न भएको छ । नगरभित्रका सात सय ८३ मध्ये पहिलो चरणमा २०७९ पुस ८ गते एक सय ६४, दोस्रो चरणमा माघ १० गते ९८, तेस्रो चरणमा २०८० जेठ ५ गते तीन सय ५४, साउन १५ गते ८७ घरघडेरीलाई पुर्जा वितरण गरिएको छ । पाँच दशकअघिदेखिको समस्याका रूपमा रहेको अव्यवस्थित घरघडेरीलाई निकै चुनौतीका बाबजुद जग्गाधनी प्रमाण पुर्जा दिन सफल भएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए। नगरपालिकाका वडा नं ५, ६ र ७ का सात सय ८३ घरघडेरीमध्ये ९७ प्रतिशत काम सम्पन्न भई प्रमाण पुर्जा प्रदान गरिएको उनको जानकारी दिए। “नगर सरकारले आन्तरिक खर्च व्यवस्थापन गरी छिटो–छरितो काम सम्पन्न गरेर रसिदको भरमा भोगचलन गरेका स्थानीयलाई जग्गाधनी प्रमाण पुर्जा दिन सफल भएको छ”, उनले भने, “जग्गाधनी प्रमाण पुर्जा पाएपछि बैंक तथा वित्तीय संस्थामा पुर्जा राखेर विभिन्न व्यावसाय सञ्चालनका लागि ऋण लिन सहज हुने भयो ।” राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरे र रामपुर नगरपालिकाका प्रमुख थापाले मालपोत तथा नापी कार्यालय रामपुरलाई जग्गाधनी प्रमाण पुर्जाको सोमबार नक्सा, श्रेस्ता हस्तान्तरण गरे। एक सय १४ रोपनी ११ आना बराबरको घरघडेरीवापत रु ११ करोड ७७ लाख ९३ हजार बराबरको राजस्व नेपाल सरकारको खातामा जग्मा भएको छ । हातमा प्रमाण पुर्जा नहुँदा आफूले दुःखले बनाएको घरघडेरी आफ्नो हो भन्ने ढुक्क नहुनु र पुर्जा बैंक तथा वित्तीय संस्थामा राखेर विभिन्न व्यापार–व्यावसायका लागि ऋण निकाल्न पाउँदा स्थानीयले निकै सास्ती भोग्नुपरेको थियो । पुर्जा पाएपछि यहाँका स्थानीय खुसी छन् । विसं २०२५र२६ देखि तत्कालीन गाउँ विकास समिति, स्कुल, क्याम्पसले रसिदको भरमा बिक्री गरेका घरघडेरीले जग्गाधनी पुर्जा नपाउँदा स्थानीयले धेरै चुनौती खेप्दै आइरहेका थिए । लामो समयपश्चात् रामपुर नगर सरकार र राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पा, राजनीतिक दल, सरोकारवालाको जोडबलमा जग्गाधनी प्रमाण पुर्जा वितरणको काम भएको हो । राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष गैरेले पुर्जा तयार भएर पनि ४१ वटाको एकल दर्ता ९श्रीमान् श्रीमती घरमा सँगै नहुँदा० भएकाले वितरण गर्न बाँकी, १३ वटा घरघडेरीको राजस्व नबुझाउँदा पुर्जा वितरण रोकिएको, एक वटाको घरघडेरी विवादित रहेको, नौवटाको तत्काल काम गर्ने प्रक्रियामा नरहेको ९वन क्षेत्रभित्र र प्रकृतिले नछुट्याइएको जग्गा०, १७ कित्ता गाँभिएको ९एउटै निवेदकको दुई घडेरी जोडिएकाले कारणले गाँभिएको० जानकारी दिनुभएको छ । अव्यवस्थित बसोबासीका लागि पुर्जा वितरणको काम सम्पन्न गर्ने रामपुर नगरपालिका नेपालको पहिलो रहेको बताउदै अध्यक्ष गैरले जिल्लामा दलित, भूमिहीन, सुकुम्बासीको समस्या समाधानमा पहिलो प्राथमिकता दिएर काम गर्ने बताएका छन्। अहिलेसम्म राष्ट्रिय भूमि आयोगले देशका ७७ जिल्लामध्ये जग्गाधनी प्रमाण पुर्जा वितरण भएको आँकडा हेर्ने हो भने दुई हजार चार सय बढी नागरिकले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् । रामपुर नगरपालिकाभित्र सात सय दुई जग्गाधनीले आफ्नो घर तथा घडेरीको पुर्जा प्राप्त गर्न सफल भएका छन् ।
उपराष्ट्रपति यादव जनकपुर प्रस्थान काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव जनकपुर प्रस्थान गरेका छन्। महोत्तरीमा आयोजित झण्डा महोत्सव उद्घाटनका लागि आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। उपराष्ट्रपति महोत्तरीको कार्यक्रम समापनपछि आजै दिउँसो पौने ३ बजे बुद्ध एअरको उडान नम्बर बीएचए ५०६ मा राजधानी फिर्ता हुने कार्यक्रम रहेको छ ।
सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी बन्नुपर्छ : सचिव रेग्मी काठमाडौं।  सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता भए नभएका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सघन अनुगमन गर्ने भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीले खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता नभएकोलगायतका पक्षमा ध्यान दिन सार्वजनिक निकायको ध्यानाकर्षण गर्ने जानकारी दिए । उनले भने, “सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था हुँदाहुँदै सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता नभएका कारणले पूँजीगत खर्चको प्रभावकारिता हुन सकेको छैन ।” कार्यालयले सबै सार्वजनिक निकायको खरिद योजना, खरिद विधि र समयमै खरिद कार्य अघि बढाउन सार्वजनिक निकायले अपनाएका तत्परता योजनाका बारेमा खरिद इकाइ प्रमुख र योजना शाखा प्रमुखसँग नियमित अन्तरक्रिया गर्ने उनले बताए। खरिद कानुनलाई समसामयिक बनाउन तयार गरिएको खरिद कानुनको मस्यौदामा छिटै सरोकारवालासँग छलफल गरी अन्तिम रुप दिइने सचिव डा. रेग्मीले जानकारी दिएका छन्। सार्वजनिक खरिद महत्वपूर्ण विधा भएकाले यसको सशक्तीकरण गर्दै संस्थागत साख अभिवृद्धिमा ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ । यसैबीच कार्यालयले निर्माण व्यवसायीको मागका सम्बन्धमा हरेक विषयलाई छलफल गरी कानुनसम्मतरुपमा समाधान खोजिने सचिव रेग्मीले बताएका छन्।
साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ काठमाडौं। साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए। देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये हालसम्म १० लाख ५३ हजार चार सय चार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ । यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको थियो । कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ३३ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुई लाख ३१ हजार एक सय १२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको केन्द्रले जनाएको छ । मधेस प्रदेशमा हालसम्म ५९ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा सो प्रदेशमा ८९ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो । मधेस प्रदेशमा तीन लाख ५४ हजार तीन सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । हालसम्म सो प्रदेशमा दुई लाख नौ हजार ८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । बागमती प्रदेशमा हालसम्म ७२ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष साउन १२ गतेसम्म बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको थियो । यो प्रदेशमा एक लाख १३ हजार ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । यसमध्ये हालसम्म ८१ हजार चार सय २० हेक्वटर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ । गण्डकी प्रदेशमा हालसम्म ८२ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । गत वर्ष साउन १२ गतेसम्म यो प्रदेशमा ९६ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो । गण्डकी प्रदेशमा एक लाख चार हजार छ सय २२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये हालसम्म ८५ हजार सात सय ९० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ । लुम्बिनी प्रदेशमा ८१ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८५ प्रतिशत धान रोपाइँ सकिएको थियो । लुम्बिनी प्रदेशमा तीन लाख तीन सय ९२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये हालसम्म दुई लाख ४३ हजार तीन सय १८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । कर्णाली प्रदेशमा हालसम्म ८५ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको केन्द्रका प्रमुख सञ्जेलले बताउनुभयो । गत वर्ष यही समयमा सो प्रदेशमा ७८ प्रतिशतमात्र रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा ३८ हजार सात सय २७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । सो प्रदेशमा हालसम्म ३२ हजार नौ सय १८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म ९९ प्रतिशत धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष पनि यही समयमा ९९ प्रतिशत नै रोपाइँ सकिएको थियो । सुदूरपश्चिम प्रदेशमा एक लाख ७१ हजार चार सय ७६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ । सो प्रदेशमा हालसम्म एक लाख ६९ हजार सात सय ६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ ।
null
अमेरिकामा ९ घण्टा उडानमा आमाछोरी माथी निरन्तर यौन दुर्ब्यबहार न्यूयोर्क। अमेरिकामा डेल्टा एयरलाइन्समा यात्रा गर्दा एउटी महिला र उनकी १६ वर्षीया छोरीका लागि कष्टदायी समय बनेको रिपोर्ट बाहिर आएको छ । ९ घण्टाको लामो उडानमा आमा छोरीको छेउमा बसेका यात्रुले यौन दुर्ब्यबहार गरेको आरोप छ । यस सम्बन्धमा परेको मुद्दामा डेल्टा एयरलाइन्सको विमानमा सवार यात्रुले कम्तीमा १० पटक मदिरा (भोड्का) सेवन गरेको र पूर्ण मादक पदार्थ सेवन गरेको दाबी गरिएको छ । यस क्रममा उनले ती आमा छोरीलाई धेरै पटक गलत तरिकाले छोएका थिए । उक्त व्यक्तिको यस्तो अभद्र व्यवहारका कारण युवती डराए र उनलाई घाँटी दुख्न थालेको आरोप छ । उडान परिचरले उनको गुनासो बेवास्ता गरेका थिए । जेएफके एयरपोर्टबाट झण्डै नौ घण्टाको कष्टपूर्ण यात्राको क्रममा आमा छोरी जोडीले दुर्व्यवहार गर्ने सहयात्रीलाई रक्सी नखान आग्रह गरे । ब्रुकलिन फेडरल कोर्टमा दायर गरिएको मुकदमा कागजातहरू अनुसार परिचारकले उनीहरूको अनुरोधलाई बेवास्ता गरेका थिए । यो घटना पुरानो हो, जो अदालतमा बहस भइरहेको छ । २६ जुलाई २०२२ मा परिवारका वकिल इभान ब्रस्टेनले यात्राको बारेमा भने, ‘उनीहरूलाई उडान गर्न आदेश दिने डर केवल एक दुःस्वप्न थियो, जुन पूर्ण रूपमा रोक्न सकिने थियो तर रोकिएन ।’ जेएफके एयरपोर्टबाट करिब नौ घण्टाको यात्रामा उडान परिचारकले सहायताको लागि दुईको अनुरोधलाई ‘स्पष्ट रूपमा बेवास्ता’ गर्‍यो, जसमा दुरुपयोगकर्तालाई मदिरा दिने समावेश थियो । फ्लाइट स्टाफलाई कथित रूपमा एक व्यक्तिलाई भोड्का खुवाएको आरोप लगाइएको छ जुन पहिले नै मादक देखिन्थ्यो।
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ कञ्चनपुर । अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गरेको आरोपमा भीमदत्त नगरपालिका–१८ क्याम्पस रोडबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले आज प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ पर्नेमा भारतको नयाँ दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, दोधारा चाँदनी नगरपालिका–७ का ४० वर्षीय प्रवीण खड्का र भीमदत्त नगरपालिका–१० जिमुवाका ४७ वर्षीय दीपक बोहरा रहेको जनाएको छ । गैरकानुनीरूपमा अवैध गतिविधि भइरहेको गोप्य सूचनाका आधारमा ब्यूरोको टोली, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले छापा मारेर तीन जनालाई पक्राउ गरेको जनाएको छ । चार महिनादेखि भारतीय र नेपाली नागरिक मिलेर भाडाको घरमा नेपाल टेलिकमको एसआइपी पिविएक्स कनेक्सन गरी कल वाइपास गर्दै आएका थिए । कल वाइपास गर्ने उपकरणसहित पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ । पक्राउ परेकाबाट कल वाइपास गर्ने कार्यमा प्रयुक्त ल्यापटप दुई थान, कम्प्युटर मोनिटर, लाइन केबुल दुई थान, मोबाइल सेट तीन थान, युपिएस र ब्याट्री नेपाल टेलिकमको ल्यान्डलाइन नम्बर ०९९५९७००० को ६० लाइन क्षमता भएको एसआइपी पिविएक्स कनेक्सन लाइन एक, गेटवे सर्भर सिपियु एक थान, एनटिसी एफटिटीएच वाइफाइ राउटर एक थान, वर्डलिङ्क वाइफाइ राउटर एक थानलगायत बरामद गरेको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाएको छ । ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक थापाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार तीनै जनालाई साउन १० गते पक्राउ गरिएको हो ।
पहिलोभन्दा फरक बन्दैछ चक्रपथको दोस्रो खण्ड काठमाडौं । चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ । चक्रपथ विस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अण्डरपास र ओभरपासको सङ्ख्यालगायत फरक किशिमको हुने सडक विभागको भनाइ छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीका अनुसार पहिले मुख्य सडकको बीचमा डिभाइडर नभएकामा अहिले बीचमा डिभाइडर राख्न लागिएको छ । पहिलो खण्डमा मुख्य लेन र सहायक लेनको बीचमा मात्रै डिभाइडर रहेको थियो । उनले भने, “मुख्य सडकको बीचमा हुने डिभाइडरले नै दुबैतर्फको सडक छुट्टाउनेछ ।” पहिले बीचको चार लेनमध्ये दुई लेनबाट आउने, दुई लेनबाट जाने छेउछेउको लेनबाट पनि एकातर्फबाट आउने अर्कोतर्फबाट जाने थियो । यो खण्डमा मुख्य लेन र सहायक लेनभन्दा पनि मुख्य सडकको बीचबाट दुईतर्फको लेन छट्टिनेछ । सडकमा पानी जम्न नदिनका लागि विशेष खालको लामो ड्रेन राख्न लागिएको प्रमुख डा जैसीले बताए । चक्रपथको पहिलो खण्डमा ठाउँठाउँमा पानी जम्ने समस्या भएकामा त्यो समाधान गर्न लागिएको विभागले जनाएको छ । विभागले दुईतीन ठाउँका चोकमा ‘अण्डरपास’ र ‘ओभरपास’ लगायत संरचना निर्माणका लागि पहल गरेको छ । चोकमा हुने सडकको चाप व्यवस्थापन गर्न यी संरचनाका लागि अनुरोध गरिएको उनले बताए । प्रमुख डा जैसीले भने,“त्यो अनुरोध उनीहरुले मौखिक रुपमा स्वकीकार गरेका छन् । के हुन्छ भन्ने विस्तृत डिजाइन आएपछि थाहा हुन्छ ।” सन् २०१८ मा ऋण स्वीकार गर्दा नै एउटा खाका बनेको थियो । त्यो बेला अण्डपास निर्माण गर्ने कुरा उल्लेख थिएन । पहिले नभएको नक्सा परिवर्तन गर्न गाहे हुने उल्लेख गर्दै उनले भने, “भौतिक पूर्वाधारमन्त्री आफैँले पनि कोसिस गर्ने भन्नुभएको छ ।” चक्रपथको पहिलो खण्डमा चिनियाँ कम्पनीले तीन वटा मात्रै आकाशे पुल बनाएको थियो । त्यो मात्रै पर्याप्त नभएकाले सरकार आफैँले थप छ स्थानमा आकाशे पुल निर्माण गरेको थियो । यो खण्डमा भने यात्रुले सडक पार गर्न के बनाउने भनी अध्ययन गरेर तय गरिने चिनिँया पक्षको योजना रहेको प्रमुख डा जैसीले जानकारी दिए । उनले भने, “ट्राफिक सर्वेक्षणअनुसार कहाँबाट मानिस हिँड्छन् भन्ने हेरेर गरिनेछ ।” पहिलो चरणको सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ पक्षले कलङ्कीदेखि अगाडिसम्मको सडक निर्माण गर्न इच्छा देखाएको थियो । सडक निर्माणका क्रममा काम गर्ने स्थान खाली गरिदिनुपर्ने भए पनि निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्धारित समयभन्दा केही ढिला सम्पन्न भएको थियो । पाइपलाइन, विद्युतका खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्दा काममा ढिलाइ भइरहेको थियो । चिनिँया पक्षले सडक हस्तान्तरण गर्दासमेत नेपाल सरकारले निर्माण गर्ने भनिएको छेउको लेनमा घरटहरा हट्न सकेको थिएन । सोही अनुभवका आधारमा अहिले पहिले नै निर्माणस्थल खाली गरेर मात्रै निर्माण सुरु गरिएको विभागले बताउँदै आएको छ । कोटेश्वर–कलङ्की सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो । सरकारले मुख्य सडकभन्दा बाहिरपट्टी दुबैतर्फ सर्भिस ट्याक निर्माण गर्दा यो सडक १० लेनको बनेको थियो । चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाडौँ गरी दुबै जिल्लामा परेको थियो । दोस्रो खण्ड भने काठमाडौँमा मात्रै रहेको छ । चिनिँया पक्षसँग पहिले चावहिल धोबीखोलासम्म सडक विस्तार गर्ने गरी छलफल भएको थियो । स्वयम्भु, महाराजगञ्जलगायत स्थानमा निर्माण स्थल खाली गराउँदा बिभिन्न अवरोध आएपछि कलङ्कीबाट बसुन्धारासम्म सडक विस्तार गर्न लागिएको हो ।रासस
काभ्रेका उद्योगका खाद्यवस्तु न्यून गुणस्तर र दुषित काभ्रे। काभ्रेपलाञ्चोकको धुलिखलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले विभिन्न स्थानमा उत्पादन भई बिक्रीवितरण भएका खाद्यवस्तु न्यून गुणस्तर र दूषित भएको प्रतिवेदन सार्वजनिक गरेको छ। कार्यालयद्वारा गत आर्थिक वर्ष २०७९/८० मा गरेको अनुगमन निरीक्षणका आधारमा सार्वजनिक वार्षिक प्रतिवेदनमा जिल्लाका विभिन्न स्थानका उद्योगबाट उत्पादित खाद्य सामग्री न्यून गुणस्तर भएको, दूषित देखिएको तथा अनुज्ञापत्रसमेत नलिइ उत्पादन तथा बिक्री वितरण र उत्पादन गरेको उल्लेख गरिएको छ। प्रतिवेदनमा केही उद्योगलाई काभ्रेपलाञ्चोकमा तथा केही उद्योगलाई सम्बन्धित जिल्लामा मुद्दाका लागि मिसिल पठाएको जनाइएको छ। कार्यालय प्रमुख मनिषा चापागाईंले विभिन्न स्थानमा गरिएको अनुगमन निरीक्षण्का क्रममा काभ्रेपलाञ्चोकलगायत विभिन्न छ जिल्लामा उत्पादित खाद्यसमग्री मापदण्डविपरीत रहेको पाइएपछि मुद्दा दायर गरिएको छ। प्रतिवेदनमा बनेपा नगरपालिका–८ स्थित शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रालिले उत्पादन गरेको खाद्यवस्तु न्यून गुणस्तर रहेको पाइएको छ। साथै बटरफ्लाई फ्रुट क्यानिङ कम्पनी बत्तिसपुतली, काठमाडौँबाट उत्पादित ‘मिक्स पिकल’, तुलसीपुर दाङमा रहेको स्वर्गद्धारी वि कन्र्सन प्रालिद्वारा उत्पादित मह, ललितपुर ठेचेमा रहेको सगुन ओइल एण्ड घी प्याकिङ इण्ड्रस्ट्रिज प्रालिद्वारा उत्पादित तोरीको तेल पनि न्यून गुणस्तर भएको प्रमाणित भएसँगै सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ। कार्यालयका अनुसार मनोहरा–१४ काठमाडौस्थित बद्रिनाथ घि प्याकिङ उद्योगबाट उत्पादित बेकरी सर्टेनिङ, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालि वीरगञ्जबाट उत्पादित वनस्पती घ्यू, पतञ्जली आयुर्वेद प्रालि बाराद्वारा उत्पादित महविरुछ पनि मुद्दा दायर गरिएको छ। चापागाईंका अनुसार दाना पदार्थ, दुग्ध पदार्थ र होटल व्यवसायमा गरिएको अनुगमन र त्यहाँबाट संकलित खाद्य सामग्रीको नमुनाका आधारमा जिल्ला बाहिरका छ उद्योगबाट उत्पादिन खाद्य सामग्री पनि मापदण्ड विपरीत रहेको पुष्टी भएको हो। यस्तै गत आवमा ५४ किसिमका खाद्य वस्तु न्यून गुणस्तर तथा दूषित भएको प्रमाणित भएपछि जफत गरी नष्ट गरिएको छ। चापागाईंले वार्षिक समीक्षा कार्यक्रममा उक्त अवधिमा १३ उद्योग अनुज्ञापत्र माग गरिएको थियो भने। अनुज्ञापत्र बिना सञ्चालन भएका केही उद्योगलाई कारबाही गरिएको बताए। कारबाही गरिएकामा काभ्रेपलाञ्चोकको बनेपा–८ को शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रालि, बनेपा–६ स्थित तिमल्सिना प्याकेजिङ एण्ड फुड प्रडक्स प्रालि, बनेपा–८ को चण्डेश्वरी स्पेसल ताजा गुदपाक भण्डार तथा गाईभैँसीको मास दानामा प्रयोग गरिने सामग्री र उत्पादित दाना दूषित भएकोमा बनेपा–८ का जेएम दाना उद्योग र बिना लेवल खाद्य पदार्थ बिक्री गरेको अभियोगमा एभर फ्रेस बेकरीलगायत रहेका छन्।
ललिता निवास प्रकरणः पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप काठमाडौं। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। सिआइवीले उनीहरूसँग अहिले बयान लिने काम जारी राखेको छ । उक्त घटनामा प्रहरीले विगत एक महिनादेखि अनुसन्धान गरिरहेको छ । कीर्ते तथा सङ्गठितरूपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वसरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत २२ जना पक्राउ परेका थिए । विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ । ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएपछि ब्यूरोले पुनः अनुसन्धान थालेको हो ।
null
माओवादी केन्द्र: साउन १७ बस्ने केन्द्रीय समिति बैठकको तयारीमा (भिडियोसहित) काठमाडौं। नेकपा माओवादी केन्द्र आगामी साउन १७ बस्ने केन्द्रीय समिति बैठकको तयारीमा जुटेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाका बारेमा छलफल भएको हो । पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय समिति बैठकको सम्भावित एजेण्डाका बारेमा छलफल भएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए। निरन्तर पदाधिकारी बैठक बसेर केन्द्रीय समितिको प्रारम्भीक एजण्डा तय गर्ने उनले बताए। केन्द्रीय समिति बैठकमा पार्टीको दुई महिने अभियानको समीक्षा प्रतिवेदन तथा स्थानीय, प्रदेश र केन्द्रीय चुनावको समीक्षा लगाएतमा छलफल गर्ने माओवादीको तयारी छ । हेर्नुहोस् भिडियो:
पानी अभावले रोपाइँ ढिला डुम्रे। असार महिना विशेषगरी धान रोप्ने समय हो। असारको अन्तिम सातासम्म प्रायःजसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो। तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ। पानी पर्याप्त नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको भानु नगरपालिका-२ का देवबहादुर कमली बताउँछन्। उनी भन्छन्, “यस वर्ष त रोपाइँ नै ढिला भयो, विगतमा असारको २२/२३ गतेसम्ममा रोपाइँ सकिन्थ्यो, अहिले साउनको आधी समय घर्किन लागिसक्यो, रोपाइँ सकिएको छैन।” रोपाइँ गर्ने बेलामा पानी नपर्दा किसानलाई सास्ती नै सास्ती छ। पानीको जोहो होला र अनी धान रोपौँला भनेर किसान पर्खेर बसेका छन्। व्यास नगरपालिका-७ कलेस्तीका शिवलाल प्रधानले पानी अभावले आधा खेतमा मात्रै रोपाइँ गरिएको बताए। “बल्लतत्ल आधी खेलमा रोपाइँ सकियो, यसपाली राम्रो उब्जनी हुँदैन भन्ने डर छ”, उनले भने। कुवा, पधेँरो, खोला र खोल्सीको पानीले खेती गरिने खेतमा पानीको अभावले धान रोपाइँ गर्न सकिएको छैन। “पहिला त जेठदेखि नै पर्याप्त पानी पथ्र्यो, यसपाली त न पानी पर्यो, न खेत रोप्न सकिएको छ, किसानलाई जताबाट पनि सास्ती नै सास्ती छ”, प्रधानले भने। पर्याप्त वर्षा भएपछि कुवा, पधेँरो, खोला, खोल्सीको पानीको मुहान बढेर आएपछि सबैजसो खेतमा धान रोपिने गरेको व्यास-७ का प्रदीप घिमिरे बताउँछन्। “यस वर्ष पानी नपर्दा खेतीयोग्य जमिन बाँझिदैछन्”, उनले भने। कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले समयमा पर्याप्त वर्षा नहुँदा खेतीयोग्य जमिन बाँझिने क्रम बढेको जानकारी दिए। “समयमा वर्षा भएको भए सबै खेतमा रोपाइँ हुने थियो, यस वर्ष १५ प्रतिशत खेतीयोग्य भूमि बाँझै रहने देखिन्छ”, उनले भने- “विगतका वर्षमा असार मसान्तमा अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो, तर यस वर्ष किसान वर्षाको पर्खाइमा छन्।” यस वर्ष साउन ९ गतेसम्ममा ७५ प्रतिशतमात्रै रोपाइँ सकिएको प्रमुख तिवारीले जानकारी दिनुभयो । “केही वर्षा भएकाले यस वर्ष ८५ प्रतिशत रोपाइँ हुने देखिएको छ”, उनले भने। वर्षा नहुँदा खेती हुने फाँटमै पानी नपुगेर रोपाइँ नभएको पाइएको उनले बताए। जिल्लामा कुल ११ हजार हेक्टरमा बर्खे धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त जग्गामा तनहुँमा २४ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्यांक छ। जिल्लामा रामधान, सावित्री, हर्दिनाथ १, हर्दीनाथ हाइब्रिड १ लगायतका धान लगाउने गरिएको छ। सिँचाइ सुविधा भएका चुँदीफाँट, कलेस्ती फाँट, माझफाँट, साँगे फाँट, पुट्टार फाँट, रिस्ती फाँटलगायत फाँटमा पर्याप्त मात्रामा धान फल्छ। रासस
रास्वपा बझाङका संयोजक खड्का निलम्बित काठमाडौं । पत्रकारमाथि हातपात गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई पार्टीबाट निलम्बन गरेको छ। जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेपछि निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए। घछनाबारे पार्टीको अनुशासन समितिले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन्।
वीर अस्पतालमा भिआईपी र भिभिआईपी उपचार कक्ष सञ्चालनमा {भिडियोसहित} काठमाडौं। वीर अस्पतालले विशिष्ठ व्यक्तिहरुका लागि आवश्यक सुविधा सहित थप भिआईपी र भिभिआईपी उपचार कक्ष सञ्चालनमा ल्याएको छ । वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भिआईपी र भिभिआईपीका लागि दुई शैया छुट्याइएकोमा अहिले नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर कुल ५ शैयासहितको सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । वीर अस्पतालमा सञ्चालनमा आएको भिआईपी र भिभिआईपी उपचार कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले निरिक्षण गरेका थिए। स्वास्थ्य मन्त्री बस्नेतले भिआईपी र भिभिआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भिआईपी र भिभिआईपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए। मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमि हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिए । त्यस्तै उनले वीरमा बिहान ८ बजेदेखि नै बहिरंग सेवा सुरु गर्ने निर्णय प्रभावकारी देखिएको बताए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय केन्द्रीत रहेको जानकारी दिए। वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र नीजि क्षेत्रका गरि १५ सदस्यिय विशेषज्ञ चिकित्सकको टीम बनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विशिष्ठ व्यक्ति उपचार कक्षमा आवश्यक उपकरण सहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतिक्षालय सहित किचेन समेतको सुविधा छ । हेर्नुहोस् भिडियो:
null
नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी काठमाडौं। गत आर्थिक वर्ष २०७९\८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल रू १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख बराबरको व्यापार घाटा व्यहोरेको देखिएको हो । अघिल्लो वर्षको तुलनामा भने व्यापारघाटा १५ दशमलव ४५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८\७९ मा नेपालले कुल रू १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको समग्र वैदेशिक व्यापारसमेत १६ दशमलव ५८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा रू २१ खर्ब २० अर्ब ४७ करोड ७३ लाख बराबरको वैदेशिक व्यापार भएकोमा गत वर्ष भने रू १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाखमा सीमित भएको देखिएको हो । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष मुलुकले कुल रू १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख बराबरको मालवस्तु आयात गर्दा रू एक खर्ब ५७ अर्ब १४ करोड छ लाख बराबरको मात्रै निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आयात १६ दशमलव ०८ र निर्यात २१ दशमलव ४४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १२ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८८ प्रतिशत बराबर छ । अर्थात् नेपालले गरेको कूल निर्यातको तुलनामा कूल आयात १० दशमलव २६ गुणाले बढी हो । गत वर्ष आयातित वस्तुबाट कूल रू तीन खर्ब ७७ अर्ब २६ करोड चार लाख बराबरको भन्सार राजस्व उठेको छ । बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा देखिएको छ । गत वर्ष नेपालले सबैभन्दा धेरै रू एक खर्ब ५३ अर्ब ७७ करोड बराबरको डिजेल मात्रै आयात गरेको छ । त्यस्तै, रू ६६ अर्ब ८४ करोड ४८ करोड बराबरको पेट्रोल र रू ५८ अर्ब १५ करोड ४१ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ । फलामजन्य वस्तुको आयातमा रू ४३ अर्ब ६० करोड, कच्चा सोयाबिन तेल आयातमा रू ३५ अर्ब ५८ करोड, कोइला आयातमा रू २७ अर्ब १२ करोड र कच्चा पाम तेल आयातमा रू २५ अर्ब ९१ करोड बराबर बाहिरिएको देखिन्छ । बढी निर्यात भएका वस्तुमा कार्पेट पहिलो नम्बरमा छ । गत आर्थिक वर्ष नेपालले रू ११ अर्ब ५० करोड ६६ लाख बराबरको कार्पेट निर्यात गरेको छ । त्यस्तै, रू १० अर्ब ७१ करोड बराबरको प्रशोधित पाम तेल, रू आठ अर्ब ४७ करोड बराबरको सोयाबिन तेल र रू आठ अर्ब २७ करोड बराबरको अलैँची निर्यात गरेको छ ।
null
null
साउने दोस्रो सोमबार डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो (भिडियोसहित) भक्तपुर । सौरमासअनुसार साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । साउने सोमबारका दिन भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ । साउन १ गतेबाहेकका सबै सोमबार भने अधिकमासभित्र परेका छन् । प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । हेर्नुहोस् भिडियो:
null
राजनीतिक फेरवदलको प्रभाव प्रदेशसभामा पर्न दिनुहुँदैनः सभामुख (भिडियोसहित) काठमाडौं। संघीय संसद तथा प्रदेश सभाका सभामुख र उपसभामुखबीचको सम्मेलनले राजनीतिक फेरवदलका कारण प्रदेश सभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्नुपर्ने निष्कर्ष निकालेको छ । संघीय संसद सचिवालयले आयोजना गरेको सम्मेलनका निष्कर्ष सार्वजनिक गर्न आइतबार संसद भवन नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय शासन प्रणालीमा संघ र प्रदेश स्वतन्त्र रहने भएकाले राजनीतिक फेरवदलका कारण प्रदेश सभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्दै केन्द्रिय प्रभावबाट मुक्त हुने वातावरणको लागि पहल गर्ने निष्कर्ष निकालेको जानकारी दिए । उहाले कोशी प्रदेशसभाको बिषयमा पनि सम्मेलनमा छलफल भएको अदालतलाई प्रभाव पार्ने गरि कुनै निष्कर्ष ननिकालेको जिकिर गरे । सभामुख घिमिरेले व्यवस्थापिकालाई आवश्यक पर्ने बजेट उपलव्ध गराउनु सरकारको दायित्व भएकाले आर्थिक स्वायत्तताको प्रत्याभूति गर्न र कुनैपनि कारणबाट बजेटको अभाव हुन नदिने गरी व्यवस्थापन गर्न सरकारलाई ध्यानाकर्षण गराउने जिकिर गरे। उनले अहिलेको मर्यादाक्रममा केहि प्रश्न उठेको अवस्थामा सरकारले मर्यादाक्रम तोक्दा तलमाथि गर्ने काम हुने गरेकाले यसमा पनि बैज्ञानिक तवरले छलफल गर्नुपर्नेमा सम्मेलनले जोड दिएको बताए । सम्मेलनले संघीय शासन प्रणालीको भावना अनुकूल प्रदेश सभाका सभामुख र उपसभामुखको मर्यादाक्रममा पुनर्बिचार गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उनको भनाइ छ । त्यस्तै सम्मेलनले सभा तथा समितिबाट दिइएका निर्देशनहरुको कार्यान्वयनको अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्ने कार्यलाई थप परिणाममुखी बनाउने निष्कर्ष निकालेको छ भने संसदको अधिवेशन आह्वान, अन्त्य, अधिवेशनमा पेशहुने विधेयकहरु लगायत सरकारी कार्यसूचीमा रहने विषयहरुको सम्वन्धमा सरकारले सभाध्यक्षसँग परामर्श गर्ने पद्धतिको अवलम्बन गर्ने, सभाको बिजनेसको जानकारी अधिवेशन अगावै सभाध्यक्षलाई दिन सरकारको ध्यानाकर्षण गराउने लगाएतका निर्णय गरेको छ । हेर्नुहोस् भिडियो:
स्मार्ट कार्डका विषयमा आएका गुनासाहरुप्रति मन्त्रालय गम्भीर (भिडियोसहित) काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक परिचयपत्र (स्मार्ट कार्ड) का विषयमा आएका गुनासाहरुप्रति मन्त्रालय गम्भीर रहेको बताएका छन्। यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको पोशाक तथा परिचयपत्र वितरण कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले स्मार्टकार्ड नआएसम्म अस्थायी सवारी चालक परिचयपत्र वितरण गर्ने तयारी भएको समेत बताए। उनले इम्बोस्ड नम्बरको जडान सरकारको एउटा महत्वपूर्ण आयोजना भएकाले यसलाई सबैले सहयोग गर्नुपर्ने बताएका थिए । त्यस्तै मन्त्री ज्वालाले सरसफाइका साथै सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक तथा सहचालकको बोली र व्यवहारमा पनि परिवर्तन हुनेपर्ने बताए। उनले मन्त्रालय र महासङ्घ नेपालले आयोजना गरेको सरसफाइ कार्यक्रमलाई सधैँका लागि निरन्तरता दिनुपर्नेमा जोड दिए। हेर्नुहोस् भिडियो:
null
कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सक्न विद्युत् प्राधिकरणको ताकेता काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ। आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो। निर्माणमा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायका विषयमा छलफल गरेका छन्। छलफलबाट प्रसारण लाइनको निर्माण यही साउनभित्रमा सम्पन्न गर्ने नयाँ तालिका तय गरिएको छ। छलफलमा कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि कालीगण्डकी करिडोर प्रसारण लाइन अत्यन्तै महत्वपूर्ण र संवेदशील रहेकाले जुनसुकै अवस्थामा पनि साउनभित्र सम्पन्न गर्न निर्देशन दिए। उनले यो लाइन बनेपछि म्याग्दी, पर्वत, कास्की र लमजुङ जिल्लामा निर्माण भएका जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाह गर्न सजिलो हुने उल्लेख गरे। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९  किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। पहिलो खण्डमानै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन्। दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ। यस खण्डमा पर्ने २३५ वटा टावरहरुमध्ये २३४ वटा निर्माण सम्पन्न भइसकेका छन्। रुपन्देहीको देवदह क्षेत्रमा एउटा टावर निर्माणाधीन छ। पर्वत, पाल्पा र रुपन्देहीमा गरी गरिब ७ किलोमिटर तार नान्न बाँकी छ। आयोजनाअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावरहरु निर्माण सम्पन्न गरी करिब ८ किलोमिटर डबल सर्किट तार तानिएको छ। कालीगण्डकी रयसका सहायक नदीहरुमा  निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो। प्रसारण लाइनबाट करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ। नयाँ बुटबल–बर्दघाट प्रसारण लाइन पुसभित्र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिको निर्णय प्रक्रियामा भएको ढिलाइका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो। अहिले आयोजनाले रुख कटानका लागि अनुमति पाइसकेको छ। प्रसारण लाइनका टावर र मार्गधिकार (राइट अफ वे) लागि ५०.३१ हेक्टर वन क्षेत्रको जग्गा र त्यहाँ रहेका ५ हजार ८ सय रुख हटाउनु पर्ने छ। आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाएवापत २७ करोड ९९ लाख ४९ हजार रुपैयाँ वन विकास कोषमा जम्मा गर्नु पर्ने छ। यसमध्ये आयोजनाले पहिलो किस्तावापत ३ करोड ५१ लाख रुपैयाँ कोषमा गरेपछि जग्गा प्रयोग र रुख कटानको स्वीकृति प्रक्रिया अगाडि बढेको थियो। २१ किलोमिटर प्रसारण लाइनका लागि ५६ वटा टावर निर्माण गर्नु पर्ने छ। यसमध्ये २१ वटाको जग हालिएको छ। ५ वटा टावर खडा गरिएको छ। प्रसारण लाइनका अधिकांश उपकरणहरु आयोजना स्थलमा आपूर्ति भइसकेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा रहेको समस्या समाधान भइसकेकाले जनशक्ति थप गरी आगामी पुसभित्र निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए। उनले नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनमध्ये आयोजनाले तान्नु पर्ने डबल सर्किट तार तान्न सुरु गर्न निर्देशन दिए। आयोजनाअन्तर्गत भुमहीमा २२०/१३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ।
निर्माण व्यसायीहरुको समस्यमा सरकार गम्भीर नभएको गुनासो (भिडियोसहित) काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यसायीहरुको समस्यमा सरकार गम्भीर नभएको गुनासो गरेका छन्। शुक्रबार काठमाडौंमा महासंघको राष्ट्रिय भेलामा सिंहले माईल स्टोनको व्यवस्था, भुक्तानीको समस्या तथा मूल्य समायोजन लगाएतका बिषयमा सरकार गम्भीर हुन नसकेको गुनासो गरेका हुन्। उनले सरकारले एकतर्फी रुपमा लगाएको माइलस्टोन पुरा गर्न नसक्दा लक्ष्य पुरा गर्न नसकेको र भुक्तानी पनि हुन नसकेको जिकिर गरे। माइलस्टोन अव्यवहारिक भएको बिषय प्रधानमन्त्री लगाएत सरोकारवाला सवैलाई जानकारी गराउदा पनि कुनै सम्बोधन नभएको उनको भनाइ छ । सिंहले मुल्यबृद्धिको समेत मारमा परेकाले निर्माण कार्यलाई सहज रुपमा अघि बढाउन कठिन भएको पनि बताए। भेलामा सहभागी निर्माण व्यवसायीहरुले सम्पन्न भएका आयोजनाहरुको भुक्तानी समयमा नहुँदा समस्या उत्पन्न भएको धारणा राखेका थिए । हेर्नुहोस् भिडियो:
सुन प्रकरणको छानविनलाई निष्कर्षमा पुराउन गृहमन्त्रीको निर्देशन (भिडियोसहित) काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको छानविनलाई निष्कर्षमा पुराउन निर्देशन दिएका छन्। शुक्रबार त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको अनुगमन गर्दै श्रेष्ठले छानबिन र अनुसन्धानको प्रक्रियालाई जरैसम्म पुग्नेगरि निष्कर्षमा पुराउन छानविन समितिलाई निर्देशन दिएका हुन्। भन्सार जाँचका सवै प्रक्रिया पुरा गरेर करिव १ क्वीन्टल सुन भन्सार निस्कनु सामान्य घटना नभएको भन्दै उनले जस्तोसुकै वा जो सुकै भएपनि जरैसम्म पुग्ने गरि कारवाहीको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको समेत निर्देशन प्राप्त भएको जिकिर गरे । उनले आवश्यकता परे नेपाल प्रहरीले राजस्व अनुसन्धान विभागलाई सहयोग गर्ने र अहिले राजस्वको छानविन समितिलाई नै सहयोग गर्ने प्रतिवद्धता जनाए । श्रेष्ठले बिमानस्थलको आगमनका प्रहरीको उपस्थीति नरहने भएकाले अव भने प्रहरीको उपस्थीति गराउने गरि छलफल अघि बढाउने जानकारी दिए । उनले भ्रष्टाचार विरोधी अभियान र सुशासनको अभियानलाई दिगभ्रमित गर्ने कामबाट बिचलित नहुने स्पष्ट पारेका छन्। उनले भ्रष्टाचार अपराधका कुरामा कुनै दल नहेर्ने जिकिर गरे । करिब १ सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेपछि गृहमन्त्री श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरले भन्सार कार्यालयको अनुगमन गरेका हुन्। हेर्नुहोस् भिडियो:
त्रिभुवन विमानस्थलबाट अवैध विदेशी मुद्रासहित चारजना पक्राउ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७, बहराइन दिनार ३ सय ८ सहित रूपन्देही तिलोत्तमा नगरपालिका–९ तुल्सिपुर घर भएका २४ वर्षीय अनिस थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । हिमालयन एयर लाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्‍यापिङ गरी चाउचाउको बिचमा लुकाई लैजान लागेको अवस्थामा उक्त विदेशी मुद्रा फेला परेको हो । थप अनुसन्धान एवम् सोधपुछको क्रममा मुद्राहरु रूपन्देही तिलोत्तमा नगरपालिका–९ घर भएका ३८ वर्षीय दिपेश राना लगायतका व्यक्तिहरुले दिएको भन्ने खुल्न आएपछि दिपेश राना लगायत ३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश–०१–०२७ च ६२६६ नम्बरको गाडीमा बसिरहेको अवस्थामा फेला पारी उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको छ ।
null
null
गिटी बालुवा उत्खनन गर्ने जेसिबी र टिप्परसहित चालक प्रहरी नियन्त्रणमा बारा। बकैया खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खनन गर्दैगरेको अवस्थामा निजगढबाट प्रहरीले नियन्त्रणमा लिएको एउटा जेसिबी र दुईवटा टिप्परलाई जिल्ला समन्वय समिति बाराले  १ लाख रुपैया जरिवाना तिराएको छ। निजगढ काठमाडौँ द्रूतमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीले निजगढ ४ स्थित बकैया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दैगरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढले नम्बर नभएको एउटा अनटेष्ट जेसिबी, प्रदेश २–०३–००१ ख २८३२ र प्रदेश २–०३–००१ ख ४९५७ नम्बरको दुईवटा टिप्परका चालक निजगढ नगरपािलका वडा नम्बर ४ बस्ने वर्ष ४३ का रोहित चौधरी र वर्ष ४४ का वीरवल थारुलाई सोमबार बिहान २ बजे नियन्त्रणमा लिएर जिल्ला समन्वय समिति बारामा बुझाएको थियो। जेसिबी चालक अन्दाजी वर्ष ४७ का चीनिया नागरिकको भने नाम थर खुल्न नसकेको निजगढ प्रहरीले जानकारी दिएको छ। फास्टट्याक निर्माणको ठेक्का लिएको चीनिया कम्पनीले निषेधित अवधिमा अवैध रुपमा राति उत्खनन गरेको पाइएपछि साधन र त्यसका चालकलाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा बुझाएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। चिनियाँ कम्पनीले भने फास्टट्याकको सर्भिस लेनमा भएको हिलो पुर्न खोलाबाट गिटीबालुवा निकालिएको दाबी गरेको प्रहरीले बताएको छ। वर्षायाममा गरिने उत्खननले बाढी पहिरोको जोखिम बढने भन्दै सरकारले केही वर्ष अघिदेखि असार १ गतेदेखि भदौ मसान्तसम्म खोलाबाट नदीजन्य पदार्थको उत्खनन गर्न रोक लगाउदै आएको छ।
null
खेल र पर्यटनको विकास हुन सके देश समृद्धितिर अघि बढ्छ : मन्त्री लिम्बू सुन्दरहरैँचा । नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले अन्तर्राष्ट्रियस्तरको खेलमैदान कम भएकाले खेलकुद क्षेत्रको सोचे जस्तो विकास हुन नसकेको बताए । सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको नेपाल प्रेस युनियन मोरङ शाखाको ११आँै अधिवेशन तथा साधारणसभामा उनले खेल र पर्यटनको विकास हुन सके देश समृद्धितिर अघि बढ्ने बताउँदै युवालाई राष्ट्रियस्तरमा पु¥याएर दक्ष जनशक्ति उत्पादन गरी विकासको मार्गमा लान आवश्यक रहेको उल्लेख गरे । नेपाल प्रेस युनियन मोरङ शाखाको ११औँ अधिवेशनमा नेपाली कांग्रेस जिल्ला कार्यवाहक अध्यक्ष भक्ति माझी, नेका महासमिति सदस्य भगवती पौडेल, नेका जिल्ला सचिव ललितबहादुर श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अधिवेशनमा बोल्ने अधिकांश वक्ताले प्रेस युनियन मोरङको सफलताको शुभकामना व्यक्त गर्दै पत्रकारिताको माध्यमबाट राष्ट्रिय, लोकतन्त्र, समाजवाद र नागरिक स्वतन्त्रता रक्षाका लागि सधैँ कटिबद्ध रहन जरूरी रहेको उल्लेख गरे । प्रेस युनियन मोरङ शाखाको ११आँै अधिवेशन तथा साधारणसभाको अवसरमा गिरिजाप्रसाद कोइराला, शैलजा आचार्य स्मृति तथा रमाप्रसाद÷मायादेवी पत्रकारिता पुरस्कारबाट पत्रकार लीलावल्लव घिमिरे, विनोद भण्डारी, विक्रम निरौला, तेजन खड्का तथा करूणा बस्नेतलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
संसद्‌मा डरलाग्दा विधेयक प्रस्तुत भए : सांसद गौतम काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा केही डर लाग्दा वियक प्रस्तुत भएको आरोप लगाएकी छन्। उनले संसदमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले देवानी, फौजदारी, प्रशासनिक फरक–फरक प्रकारका कानुन हालेर सरकारले ठूलो कमजोरी गरिरहेको बताइन्। प्रतिनिधिसभाको आइतबारको बैठका बोल्दै सांसद गौतमले यो विधेयकमा सार्वभौमिकता, अखण्डता र शान्ति सुरक्षालाई चुनौति दिने दफाहरू पनि प्रस्तुत भएकाले यसप्रति आशंकाहरू उब्जिएका बताइन्। ‘सरकारले देवानी प्रकृतिका, फौजदारी प्रकृतिका, प्रशासनिक प्रकृतिका लगायत नितान्त फरक–फरक प्रकारका कानुनहरु पनि एउटै विधेयकमा हालेर सरकारको कार्यशैलीमा कति बचपना छ भन्नेकुरा देखाएको भान हुन्छ। डरलाग्दा नेपालको सार्वभौमिकता, अखण्डता र शान्ति सुरक्षालाई चुनौती दिने दफाहरु पनि प्रस्तुत गरेका छन्,’ उनले भनिन्। सरकारले डरलाग्दा कानुन पास गराउनु श‌ंकाको विषय भएको बताइन्। नियतवश नै यस्ता प्रकारका कानुनहरु एउटै विधेयकमा हालेर लिएर आएको हो कि भन्नेपनि आशंका उब्जिएको उनको भनाइ छ।
मलेसियाको म्याक्स मनीसँग रेमिट्यान्स कारोबार नगर्न राष्ट्र बैंकले फेरि दियो निर्देशन काठमाडौं । नेपाल राष्ट्र बैंकले मलेसियाको रेमिट्यान्स कम्पनी म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्न पुनः निर्देशन दिएको छ। यसअघि १२ मंसिर २०७५ र २ फागुन २०७५ मा पनि उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध खोल्दा तोकेका शर्त पुरा नगरेकाले उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार नगर्न पुनः प्रतिबन्ध लगाइएको राष्ट्र बैंकले एक सूचना जारी गर्दै जनाएको छ। म्याक्स मनीले विप्रेषण कारोबार बापतको रकम नेपाली इजाजतपत्रप्राप्त निकायलाई भुक्तानी नगरेको राष्ट्र बैंकको भनाइ छ। कुल बक्यौता रकममध्ये आंशिक रकम भुक्तानी गरेपछि ५ माघ २०७६ को उक्त प्रतिबन्ध राष्ट्र बैंकले फुकुवा गरेकोमा प्रतिबन्धका सम्बन्धमा जारी भएका परिपत्र ५ माघ २०७६ मा खारेज भए पनि कम्पनीले प्रतिबन्ध फुकुवा गर्दा तोकिएका शर्त पालना नगरेको राष्ट्र बैंकले जनाएको छ। सोही कारण अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी, अन्य इजाजतपत्र प्राप्त निकायहरू, सरोकारवाला व्यक्ति तथा निकायले म्याक्स मनीसँग बाँकी वक्यौताको भुक्तानी लिने बाहेक कुनै पनि कारोबार नगर्न निर्देशन दिएको सूचनामा उल्लेख छ। यस्तै नेपालीहरूसँग मलेसियामा रकम संकलन गरी अन्य तेस्रो पक्षमार्फत त्यस्तो रकम नेपाल पठाउने कार्यका लागि तेस्रो पक्षबाट हुने प्रक्रियाको रकम समेत स्वीकार गर्ने तथा भुक्तानी गर्ने व्यवस्था नहुने गरी उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार नहुने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग उक्त निर्देशन जारी गरेको राष्ट्र बैंकदले जनाएको छ।
भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा १३ जनाविरुद्ध मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा झाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगले झाविरुद्ध रु सात लाख एक हजार तीन सय ८० जरिवाना र बिगोसमेत असुल उपरको माग गरेको छ । साथै आयोगले झालाई भ्रष्टाचार गर्न सहयोग गर्ने नैँशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीविरुद्ध पनि मुद्दा दायर गरेको छ । सरकारलाई हानी पुुर्‍याउने गरी झुठा बिल भरपाई तयार गरेको आरोपमा कुमारीविरुद्ध विगो रु तीन लाख ६७ हजार आठ सय ८० कायम गरी मुद्दा दायर गरिएको हो । साथै आयोगले आजै थप ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको सात किलोमिटर सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा विभिन्न ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले भ्रष्टाचारको आरोपमा गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दङ्गाल, इञ्जिनियर अभिषेक दास र सव इञ्जिनियर विज्ञान चम्लागार्इंविरुद्ध रु २२ लाख नौ हजार आठ सय २३ दशमलव ४० रकम बढी भुक्तानी दिएको आरोपसहित मुद्दा दायर गरेको छ । आयोगले लक्ष्मीमार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र कोषाध्यक्ष शन्तमाया सुब्बा लिम्बूले कार्यसम्पन्न भएको झुट्टा बिल पेस गरी रु २२ लाख नौ हजार आठ सय २३ दशमव ४० पैसा भुक्तानी लिइ भ्रष्टाचार गरेको आरोपमा बिगोसमेत जफत गर्न माग गरेको छ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले उपभोक्ता समितिलाई वास्तविकभन्दा बढी भुक्तानी दिने बदनियतले गलत सिफारिस गरेकाले कानुनबमोजिम कैद र जरिवानाको गरिएको छ । गाउँपालिकाका तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजक रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लेखित योजना सम्पन्न भइसकेको भनी निर्णय गरी प्राविधिक मूल्याङ्कन अनुसारको रकम उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको आरोपमा कानुन बमोजिम कैद र जरिवाना हुन मागदाबी गरिएको छ । आयोगले गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हरिबहादुर बाँनिया, वडा–७ का तत्कालीन वडाध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा–३ का तत्कालीन वडाध्यक्ष मोतिलाल गणेश अनुगमन तथा सुपरीवेक्षण समितिको सदस्य रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लिखित योजना सम्पन्न भइसकेको भनी निर्णय गरेको साथै योजनाको भुक्तानीको लागि सिफारिस गरेको आरोप लगाएको छ । उनीहरुविरुद्ध कानुन बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ ।
null
बेलायती राजदूत पिप्पा बर्ड र स्वास्थ्यमन्त्री बस्नेतबीच शिष्टाचार भेटवार्ता (भिडियोसहित) काठमाडौं। बेलायती राजदूतावासका कार्यबाहक राजदूत पिप्पा बर्डले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसंग शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार मन्त्रालयमा भएको भेटवार्तामा स्वास्थ्य क्षेत्रमा भएको दुईपक्षिय सहयोग र सम्झौताका बिषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास अपेक्षा रहेको बताए । सो क्रममा कार्यबाहक राजदूत बर्डले नेपाल र बेलायतबीच पुरानो दौत्यसम्बन्ध भएको बताएका थिए । त्यस्तै उनले नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरण गर्दै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्विमा सहयोग गर्न बेलायत सरकार प्रतिबद्ध रहेको उल्लेख गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हेर्नुहोस् भिडियो:
null
उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रहार सियोल। दक्षिण कोरियासँगको तनावका बीच उत्तर कोरियाले बुधबार बिहान फेरि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले उत्तर कोरियाले उत्तेजकताको रूपमा पूर्वी सागरतर्फ एक अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएका छन्। दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले ब्यालेस्टिक मिसाइल प्रक्षेपण पत्ता लगाएको घोषणा गरेको छ। प्रतिवेदनमा प्रक्षेपणको बारेमा धेरै जानकारी दिइएको छैन। उत्तर कोरियाले अमेरिकी जासुसी विमान सञ्चालनको आरोप लगाएपछि उत्पन्न तनावबीच प्योङयाङले यस हप्ताको सुरुमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। यसअघि उत्तर कोरियाले १५ जुनमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको योनहाप समाचार संस्थाले जनाएको छ। राज्य मिडिया कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले मंगलबार रिपोर्ट गरेको छ कि उत्तर कोरियाले संयुक्त राज्य अमेरिकाले आफ्नो आर्थिक क्षेत्रमा गैरकानूनी रूपमा आठ पटक उडान गरेको आरोप लगाएको छ र बदला लिने चेतावनीसमेत दिएको छ। तर, पेन्टागनले भने पहिले हवाई क्षेत्र उल्लंघनको प्योङयाङको आरोपलाई अस्वीकार गरेको थियो र अमेरिकी सेनाले अन्तर्राष्ट्रिय कानूनको पालना गरेको बताएको थियो। “संयुक्त राज्य अमेरिका सधैं झैं आफ्ना सहयोगी र साझेदारहरूसँग उडान, डुंगा र अन्तर्राष्ट्रिय कानूनले अनुमति दिएको कुनै पनि ठाउँमा सुरक्षित र जिम्मेवारीपूर्वक सञ्चालन गर्न उभिनेछ,” ट्यागनका उप प्रेस सचिव सबरीना सिंहले एक मिडिया ब्रीफिंगमा भनिन्। उनले अगाडी भनिन्, “उत्तर कोरियाबाट आएका ती टिप्पणी वा धम्कीहरूबारे मसँग थप केही भन्नु छैन। हामी जिम्मेवारीपूर्वक र सुरक्षित रूपमा अन्तर्राष्ट्रिय जलमार्ग र हवाई क्षेत्रमा सम्भव भएसम्म काम गर्छौं।”
रुसी राष्ट्रपति पुटिन र वाग्नर समूहका प्रमुख बिच भेटवार्ता मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग भेट गरेका छन् । क्रेमलिनले यसको पुष्टि गरेको छ। हालै प्रिगोजिनले पुटिनविरुद्ध विद्रोहको घोषणा गरेका थिए । तर, बेलारुसको मध्यस्थतामा डेढ दिनपछि दुवैबीच सहमति भएको थियो । त्यसपछि यी दुईबीचको यो पहिलो भेट हो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘मस्कोमा भएको बैठकमा निमन्त्रणा गरिएका ३५ वाग्नर कमाण्डरहरूसहित प्रमुख प्रिगोजिन सहभागी थिए। तर, उनीहरू बिचमा के कुराकानी भयो ? त्यो भने खुल्न सकेको छैन् ।’ विगतका महिनाहरूमा प्रिगोजिनले बारम्बार रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई युक्रेनमा रहेका आफ्ना सेनाहरूलाई जानाजानी कम आपूर्ति गरेको आरोप लगाएका छन्। त्यसपछि रुसी रक्षा मन्त्रालयले युक्रेनका स्वयम्सेवी लडाकुहरूले जुनको अन्त्यसम्ममा उनीहरूसँग सम्झौता गर्नुपर्ने बताएका थिए । मन्त्रालयले गरेको घोषणामा वाग्नर समूहको नाम भने राखिएको छैन। तर यो कदम वाग्नर समूहलाई नियन्त्रण गर्ने प्रयासको रूपमा हेरिएको थियो। यस पछि प्रिगोजिनले एक विज्ञप्तिमा घोषणा गरे कि उनका लडाकुहरूले यो सम्झौता बहिष्कार गर्नेछन्। वाग्नर समूहका प्रमुख प्रिगोजिनले आफ्ना सेनाले रुसी विमानमा आक्रमण गरेको बताए । उनले दावी गरे कि रुसी विमानले आफ्नो सेनालाई रोक्न रकेट र बमले मस्कोतर्फ बढिरहेको थियो। उनले रुसी विमान खसाल्नु परेकोमा दुःख व्यक्त गरे ।
जापान एयरलाइन्सको नयाँ सेवा, अब यात्रुले आफ्ना कपडा बोकेर जानु नपर्ने काठमाडौं । जापान एयरलाइन्स (जेएएल) ले नयाँ ‘लुगा भाडा कार्यक्रम’ सुरु गरेको छ। जसका कारण जापान जानेहरुले आफूसँग कपडा लैजानु पर्दैन । अर्थात्, देशमा पुगेपछि यात्रुहरूले यहाँबाट लुगा भाडामा लिन सक्छन् र जापानमा जति दिन बस्छन् त्यही कपडा प्रयोग गरेर फर्कन सक्छन्। यसले बारम्बार जापान आउने यात्रुहरूलाई सजिलो हुनेछ र उनीहरूले सामान बोक्नुपर्ने छैन। जापान एयरलाइन्स र जापानको एक प्रसिद्ध कम्पनी, सुमितोमो कर्पोरेसनले जेएएल उडानहरू प्रयोग गर्ने र सेवा प्रयोग गर्नु पछाडिको “वातावरणीय मूल्य” बुझ्नेहरूका लागि “एनी वेयर एनी ह्वेयर” परीक्षण कार्यक्रम सुरु गरेको छ। जेएएलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को महामारीपछि धेरै मानिसले फेरि उडान प्रयोग गर्न थालेका छन् । यात्रुहरू आफ्नो आवास, यातायात, सामान आदिको लागि थप दिगो विकल्पहरू छनौट गर्न चाहन्छन्। अधिकांश यात्रुहरू विदेशमा आएर रेस्टुरेन्टमा खाना खान र होटलमा बस्न रुचाउँछन्, तर तिनीहरू प्राय: आफ्नै लुगाहरू घरबाट ल्याउँछन्। जेएएलका अनुसार, यो योजना यस्तो वातावरण सिर्जना गर्न डिजाइन गरिएको हो जहाँ यात्रुहरूले कपडा, खाना र आवास जस्ता सबै कुराको लागि स्थानीय विकल्पहरू प्रयोग गर्ने अवसर पाउनेछन्, जसले गर्दा यात्राहरूलाई थप दिगो अनुभवहरूमा परिणत गर्न सकिन्छ। एयरलाइन्सले भाडामा उपलब्ध कपडाको स्टक राख्नेछ। एयरलाइन्सले भन्यो कि “यात्रुहरूको चेक-इन गरिएको सामानको वजनमा भएको परिवर्तनको अनुगमन गरिनेछ र परीक्षणको प्रभावलाई हेरिनेछ। सेवाले हवाइजहाजको वजनमा कमीबाट कार्बन डाइअक्साइड उत्सर्जनमा कमीलाई प्रमाणित गर्नेछ। जापान जाने यात्रुहरूले आफ्नो यात्राको मितिभन्दा एक महिनाअघि नै ‘एनिवेयर एनिह्वेयर’ बुकिङ साइटमार्फत आफ्ना लुगाहरू बुक गर्न सक्छन्। आगन्तुकहरूले उपलब्ध स्टकबाट उत्तम लुगाहरू छनौट गर्न सक्छन् जुन उनीहरूको भ्रमणको उद्देश्य र मौसम अनुरूप छ। एयरलाइन्सका अनुसार कपडा पिकअप मितिको दुई हप्ता भित्र फिर्ता गरिसक्नुपर्नेछ। त्यसपछि यात्रुहरूले आफ्नो उडान बुकिङ नम्बर, पिकअप र फिर्ताको मितिहरू, आफ्नो गन्तव्य बताउन (जहाँ उनीहरूले लुगा लिनेछन्) र भुक्तानी गर्न आवश्यक छ। यात्रुहरूले हल्का सामान लिएर यात्रा गर्न सकून् भनेर एयरलाइन्सहरूले आफ्ना होटेलहरूबाट कपडाको डेलिभरी र पिकअप सुनिश्चित गर्नेछन्। एयरलाइन्सका अनुसार ट्रायल कार्यक्रम अबदेखि ३१ अगस्ट २०२४ सम्म अर्थात १४ महिनासम्म चल्नेछ । यस अन्तर्गत यात्रुहरूले सबै मौसममा पुरुष र महिलाका लागि क्याजुअल र स्मार्ट क्याजुअल बुक गर्न सक्छन्। लुगा भाडा मूल्य लगभग २८ डलरबाट सुरु हुन्छ।
प्रिगोजिनको विद्रोहले पुटिन कमजोर, यस्ता छन् नयाँ राष्ट्रपति बन्नका लागि सम्भावित दावेदार काठमाडौं । रसियामा सत्ता कायम राख्नका लागि विपक्षीहरूलाई कुचल्नु नै एक मात्र उपाय हो। हालै वाग्नर प्रमुख येभजेनी प्रिगोजिनको विद्रोहपछि रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनपछि उनको ठाउँमा कसले नेतृत्व लिन सक्छ भन्ने चर्चा भइरहेको छ ? प्रिगोजिनको विद्रोह असफल भएको भए पनि, पुटिनका आलोचकहरूले रूसमा शक्तिका साथ जे पनि सम्भव छ भन्ने आशाको किरण फेला पारेका छन्। पूर्व तेल व्यवसायी र पुटिनको विरोधको लागि निर्वासनमा बस्ने प्रजातन्त्र समर्थक कार्यकर्ता मिखाइल खोडोरकोभस्कीले पुटिनको साम्राज्य पतनको संघारमा रहेको घोषणा गरेका छन्, तर नयाँ रूसको निर्माण मतपेटिका वा शान्तिपूर्ण माध्यमबाट हुने छैन। कार्यकर्ताहरूका अनुसार पुटिनको पतनपछि रुसमा सशस्त्र विद्रोह हुनेछ । पुटिनपछि शीर्ष पदमा पुग्न सक्ने ६ जना रुसका व्यक्ति रहेको एक रिपोर्टले दाबी गरेको छ । तर, पुटिनलाई कुनै पनि कारणले केही भएमा, वर्तमान प्रधानमन्त्री मिखाइल मिशुस्टिन स्वतः रुसको संविधान अनुसार कार्यवाहक राष्ट्रपति बन्नेछन्। पुटिनको स्थान लिन सक्ने ती ६ रुसी नेता… १. अलेक्जेंडर बोर्टनिकोभ, एफएसबी प्रमुख अलेक्जेन्डर बोर्टनिकोभ रुसको संघीय सुरक्षा सेवा (एफएसबी) का प्रमुख हुन्। ७१ वर्षीय बोर्टनिकोभ पनि सेनाका जनरल हुन्। उनी पुटिनको भित्री सर्कलको सिलोभिकी गुटका सबैभन्दा शक्तिशाली सदस्य हुन्। यदि बोर्टनिकोभले विद्रोह गरे भने, पुटिनले सत्ता कायम राख्न संघर्ष गर्नुपर्नेछ। २. सर्गेई शोइगु, रूसी रक्षा मंत्री प्रिगोजिनको विद्रोहको अन्त्यको सबैभन्दा ठूलो लाभार्थी रूसी रक्षामन्त्री सर्गेई शोइगु हुन्। ६८ वर्षीय शोइगु पुटिनका साथी हुन् । उनीसँग सत्ताको घेरामा बसेको लामो अनुभव छ । उनले एक दर्जन प्रधानमन्त्रीसँग काम गरिसकेका छन् । उनको सबैभन्दा ठूलो बल भनेको उनको सैन्य पृष्ठभूमि छैन। ३. एलेक्सी नाभाल्नी, रूसका विपक्षी नेता कट्टर पुटिन विरोधी नेता ४७ वर्षीय एलेक्सी नाभाल्नी हाल जेलमा छन्। नभाल्नी ठगी र अदालतको अवहेलना गरेको अभियोगमा सात वर्षको जेल सजाय भोगिरहेका छन् । नयाँ मुद्दामा ३० वर्षको सजाय सम्भव छ। विपक्षीको सबैभन्दा ठूलो अनुहार भएकाले उनी पुटिनका लागि चुनौती बनेका छन् । ४. रमजान कादिरोभ, चेचन सेना प्रमुख ४६ वर्षीय चेचन पार्टीका प्रमुख रमजान कादिरोभ पुटिनका सबैभन्दा भरपर्दो व्यक्ति हुन्। उनी पहिलो पटक प्रिगोजिन विरुद्ध मोर्चा खोल्ने सार्वजनिक रूपमा घोषणा गर्ने पहिलो व्यक्ति थिए। कादिरोभ, प्रिगोजिन जस्तै पुटिनले सृजना गरेका एक अनियन्त्रित योद्धा हुन् जो अन्य धेरै देशहरूसँगै रूस र पुटिन आफैंका लागि खतरा छन् । ५. सर्गेई सुरोविकिन, एयरोस्पेस कमाण्डर यदि कुनै रुसी जनरल युद्धबाट सबैभन्दा शक्तिशाली बनेको छ भने त्यो सुरोविकिन हो । उनी रूसी सैनिकहरू बीच धेरै लोकप्रिय छन्। ५६ वर्षीय सुरोविकिन भर्खरै बेपत्ता भएका छन् र उनलाई पक्राउ गरिएको मानिन्छ। रिपोर्टले दावी गर्‍यो कि सुरोविकिन वाग्नरका भीआईपी सदस्य थिए। उनलाई प्रिगोजिनको विद्रोहको बारेमा पहिले नै थाहा थियो। ६. भिक्टर जोलोटोभ, रूसी नेशनल गार्ड प्रमुख ६९ वर्षीय जोलोटोभ पुटिनका अंगरक्षक पनि रहेका छन् । नेशनल गार्डमा २ लाखभन्दा बढी सैनिक छन्, जो ट्याङ्कसहित आधुनिक हतियारले सुसज्जित छन्। जोलोटोभले पुटिनलाई सिधै रिपोर्ट गर्छन् । जोलोटोभले जति धेरै शक्तिहरू प्रयोग गर्छन् उति खतरनाक हुन्छन्।
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार १ सय ५० रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
गठबन्धनको बैठक बालुवाटारमा काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको उक्त बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सरकारमा सहभागी गराउनेदेखि कोशी प्रदेशमा सरकार गठनको विषयसम्ममा पनि छलफल हुनेछ ।
राष्ट्रियसभा: विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा छलफल (भिडियोसहित) काठमाडौं। प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक, २०८० माथि राष्ट्रियसभामा सोमबारबाट छलफल सुरु भएको छ । सोमबार बसेको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये वन मन्त्रालय, महिला, बालबालिका मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग मन्त्रालयको बजेटमाथि छलफल भएको हो । बैठकमा उक्त मन्त्रालयमाथि विनियोजित बजेटमा सांसदहरु इन्दिरादेवी गौतम, भगवती न्यौपाने, सोनाम गेल्जेन शेर्पा, सुमित्रा बिसी लगाएतले खर्च कटौतीका प्रस्ताव पेस गरेका थिए। खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद इन्दिरादेवी गौतमले स्थानीय र प्रदेशस्तरबाट गर्न सकिने साना साना आयोजनाहरुलाई बजेट विनियोजन गरेर राष्ट्रिय महत्वका आयोजनाहरुलाई ध्यान नपुराएको बताएकी छिन् । उनले प्रत्येक बर्ष एउटै शीर्षकमा अध्ययन अनुसन्धानका लागि बजेट छुट्टाएपछि त्यसको प्रतिफल न्यून रहेकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताएकी छिन्। त्यस्तै सांसद भगवती न्यौपानेले सरकारको बजेट र नीति तथा कार्यक्रमबीच तालमेल हुन नसकेको आरोप लगाएकी छिन्। उनले महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाका क्षेत्रमा प्रयाप्त बजेट छुट्टाउन नसकेको बताएकी छिन्। त्यस्तै सांसद सोनाम गेल्जेन शेर्पाले पछि परेको क्षेत्र भन्दा पनि बिभिन्न बहाना गर्दै पहुँचका भरमा बजेट वितरण गर्ने प्रवृति यस बर्ष पनि देखिएको बताए । उनले अहिले स्थानीय तह र प्रदेश तहलाई गएको बजेट हेर्दा मुलुकमा साच्चिकै संघीयताको आवश्यकताको पुष्टि भएको जिकिर गरे। त्यस्तै खर्च कटौतीको प्रस्ताव राख्दै सांसद सुमित्रा बिसीले साधारण न्यून खर्च गर्दै बिकास खर्च बढाउनुपर्नेमा त्यसको ठिक विपरित भएकाले खर्च कटौतीको प्रस्ताव राखेको बताएकी छिन्। । उनले बजेट छरेर कुनै आयोजना पुरा नगर्नु भन्दा कुनै बिशेष आयोजनालाई सम्पन्न गर्ने गरि योजना बनाउनुपर्नेमा जोड दिएकी छिन्। हेर्नुहोस् भिडियो:
मानिसको दिमाग १० प्रतिशतभन्दा धेरै खुम्चियो काठमाडौं । मानिसको मस्तिष्क निरन्तर संकुचन भइरहेको छ। आकार घट्दै छ। कारण जलवायु परिवर्तन हो। जसरी जलवायु परिवर्तनको दर बढ्दै जानेछ मानिसको मस्तिष्क सानो हुँदै जान्छ । यो डरलाग्दो तथ्य नयाँ अध्ययनमा बाहिर आएको छ । मानवसँग जलवायु परिवर्तन र त्यससँगै मानव शरीरमा हुने परिवर्तनको ५० हजार वर्ष पुरानो रेकर्ड छ । क्यालिफोर्नियास्थित प्राकृतिक इतिहास संग्रहालयका वैज्ञानिक जेफ मोर्गन स्टिबलले परिवर्तनशील मौसमको तनावलाई मानिसले कसरी सहन सक्छ भन्ने अध्ययन गरे। आफ्नो अध्ययन पत्रमा उनले लेखेका छन् कि अहिले विश्वभर जसरी मौसम बदलीरहेको छ, तापक्रम बढिरहेको छ यस्तो अवस्थामा जलवायु परिवर्तनले मानव मस्तिष्कमा पार्ने प्रभावलाई बुझ्न सहज छैन । तर यसका कारण मानिसको दिमाग संकुचित हुँदै गइरहेको छ । यसले उनको व्यवहारमा पनि असर गरिरहेको छ । अध्ययनमा, जेफ मोर्गनले २९८ मानिसको मस्तिष्कको आकारको अध्ययन गरे। यी स्पेसिमेनहरू हुन् अर्थात पुराना मान्छेको जीवाश्म मस्तिष्क। जुन ५० हजार वर्ष पुरानादेखि नयाँसम्मका छन् । अध्ययनले विश्वव्यापी तापक्रम, आर्द्रता र वर्षाको तथ्याङ्कलाई पनि हेरेको थियो। तर एउटा डरलाग्दो नतिजाको खुलासा भयो। जतिबेला हावापानी तातो हुन्छ । मस्तिष्कको औसत आकार घट्न थाल्छ। जबकि, जाडोमा यसको विस्तार हुन्छ। जेफ मोर्गन भन्छन् कि यो मेरो पुरानो अध्ययनमा पनि प्रकट भएको थियो। तर म यसको जरासम्म जान चाहन्थेँ। मानिसको मन समय-समयमा परिवर्तन हुँदै गयो। तर यसको अध्ययन निकै कम भएको छ । जेफले विगत केही मिलियन वर्षमा धेरै प्रजातिका जीवहरूको मस्तिष्क बढेको बताए। तर मानिसमा उल्टो भइरहेको छ। जेफले ५० हजार वर्ष पुरानो २९८ मानव खोपडीको ३७३ मापन जाँच गरे। यससँगै खप्पर भेटिएको भौगोलिक स्थानको मौसमबारे पनि अनुसन्धान गरिएको छ । ताकि हावापानी थाहा पाउन सकियोस् । जीवाश्महरू तिनीहरूको उमेर अनुसार विभाजित गरिएको थियो। जेफले जीवाश्महरूलाई १०० वर्ष, ५००० वर्ष, १०००० हजार वर्ष र १५ हजार वर्ष वा सोभन्दा बढी वर्गमा विभाजन गरे। ताकि मस्तिष्कको आकार चार फरक समयमा फरक-फरक मौसम अनुसार गणना गर्न सकिन्छ। यो आयोजनाले ८ लाख वर्षअघिको सतहको तापक्रमको रेकर्ड राख्छ। पछिल्लो ५० हजार वर्ष ग्लेशियल अधिकतम थियो। जसका कारण औसत तापक्रम चिसो बढेको छ । तर यो लेट प्लेस्टोसिन सम्म मात्र। यसपछि होलोसिन अर्थात् आधुनिक मानव संसारमा तापक्रम बढ्न थाल्यो, त्यसपछि रोकिएन । आज पनि रोकिएको छैन । होलोसिन सुरु भएदेखि अर्थात् करिब १२ हजार वर्षअघिसम्म मानव मस्तिष्कको आकारमा १०.७ प्रतिशतले कमी आएको छ । जेफ भन्छन् कि अन्तिम हिमनदी अधिकतम १७ हजार वर्ष पहिले थियो। त्यसयता लगातार तापक्रम परिवर्तन भइरहेको छ । मौसम बदलिँदै छ । जसका कारण मानिसको दिमाग सानो हुँदै गएको छ । मानव मस्तिष्क ५ देखि १७ हजार वर्षको बीचमा बढी संकुचित भएको छ । यसको कारण ग्लोबल वार्मिङ हो। यो निरन्तर बढिरहेको छ । जसको असर मानव दिमागमा लामो समयसम्म नराम्रो हुन्छ । आकार सानो हुनेछ। सानो मस्तिष्कले शरीरलाई असर गर्छ। व्यवहार प्रभावित हुनेछ। कस्तो परिवर्तन आउँछ, यो अध्ययनको विषय हो । जेफ भन्छन्, ‘मेरो अध्ययनमा तापक्रममा वृद्धि, बदलिँदो मौसम र जलवायु परिवर्तनका कारण मानव मस्तिष्क संकुचित हुँदै गएको पुष्टि भएको छ । साइज सानो हुँदैछ। भविष्यले अझ खतरनाक परिस्थितिहरू सिर्जना गर्न गइरहेको छ। यो अध्ययन ब्रेन, बिहेभियर एन्ड इभोलुसन जर्नलमा प्रकाशित भएको छ ।
ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानून व्यवसायी बीचको विवाद चर्कदै (भिडियोसहित) ललितपुर। ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानून व्यवसायीबीच भएको विवाद चर्कदै गएको छ । अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम रोकेपछि कानून व्यवसायीहरुले पनि बहस पैरवी छाडेर घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार ललितपुर जिल्ला अदालतको प्राङ्गणमा कानून व्यवसायीमाथिको आक्रमण, झुठा मुद्दा, अदालतमा भएका विकृति विसंगति, घुसखोरी र भ्रष्टाचारको विरुद्धमा भन्दै विरोध सभा गरेका हुन् । उनीहरुले उक्त घटनाको छानबिन हुनु पर्ने, दोषीलाई कारबाही गर्नु पर्ने र कानुन व्यवसायी अमिर लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका हुन् । त्यस्तै कानून व्यवसायीहरुले सेवा लिन गएका कानुन व्यवसायीमाथि कर्मचारीबाट हातपात भएकाले सिसिटिभि देखाउन चूनौति समेत दिएका छन् । विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले आफुहरुको अभियान अदालतको कर्मचारी र न्यायाधिश विरुद्धको अभियान नभएको र भ्रष्टाचारविरोधीको अभियान भएको बताए । उनले कानून व्यवसायी पनि घुसखोर छ भने निर्मम भएर लाग्ने जिकिर गर्नुभयो । घिमिरेले उक्त घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरे । उनले अदालतभित्र हुने भ्रष्टाचारीलाई कसैले पनि जोगाउन नसक्ने स्पष्ट पारे। गत असार १३ गते बुधबार जिल्ला अदालत ललितपुरमामा कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबीचको विवाद भएको थियो । अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको बताउदै आएका छन्। १३ गते नै अदालत परिसरबाट पक्राउ परेका लामिछाने आइतबार मात्रै प्रहरी हिरासतबाट साधारण तारेखमा रिहा भएका छन् । कर्मचारी तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा पनि निवेदन दिए । दुईपक्षको विवादका कारण अदालतको कामकारवाही नै प्रभावित भएको छ । हेर्नुहोस् भिडियो:
पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ : प्रधानमन्त्री कास्की। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन्। पोखरामा आज बिहान माओवादी केन्द्रका उपलब्ध केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पदाधिकारीसँग अन्तरक्रिया गर्दै उनले माओवादी कमजोर हुँदा परिर्वतनका मुद्दासमेत कमजोर हुने भएकाले एकताको पहल गरिएको हो भने। उनले भने, “माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ।” प्रधानमन्त्री दाहालले जनताले माओवादी नेतृत्वको सरकारमाथि धेरै आशा र भरोसा राखेकाकाले सबै मिलेर देश निर्माणका पक्षमा लाग्नुपर्नेमा जोड दिए। “हामीभित्र मात्र थपघट गरेर पार्टी पुनःनिर्माण हुँदैन। यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ”, उनले भने, “यसका लागि नयाँ ढंगले सोच्दैछौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। देश निर्माणका लागि फेरि नयाँ फड्को जरुरी छ। सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ। यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ। सरकार यसमा दृढ छ।” देशमा उपलब्ध प्राकृतिक साधनस्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को हान्ने आफ्नो योजना रहेको प्रधानमन्त्रीले सुनाए। उनले भने, “यसका लागि के–कसरी काम गर्न सकिन्छ, यतातर्फ पनि सबैले सोचौँ। पार्टीका सबै नेता–कार्यकर्ताले देशको समृद्धिको पक्षमा काम गर्ने संकल्प गरौँ।” हालै गठन गरिएको समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने उनले जानकारी दिए। मोर्चाको बैठक बसेर कार्यक्रम तय गरिने प्रधानमन्त्रीले जानकारी दिए। सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै अघि बढाइने प्रधानमन्त्रीले बताए। उनले भने, “हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौं। समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ। पूर्वमाओवादी पनि छलफलमा छौँ। फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।”
संक्रमणकाल देखाएर कोही पनि जिम्मेवारीबाट भाग्नु हुँदैन : प्रधानमन्त्री पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताएका छन्। शुक्रबार दिउँसो पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको र अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण गर्नु भएको बताउँदै संक्रमणकाल देखाएर जिम्मेवारीबाट नभाग्न सबैमा आग्रह गरे। ‘हामीले निकै लामो समय राजनीतिक सङ्क्रमणमा नै बितायौं। जसले गर्दा देशको समग्र आर्थिक सामाजिक विकासका कार्यसूची ओझेलमा पर्दै गए। तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको छ। त्यसैले अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण हो। तीन तहका सरकारबीचको समन्वय र सहकार्य नभई यो लक्ष्य पूरा हुन सक्दैन। संविधानले तीन तहका सरकारहरूको कार्य र अधिकारको सूची स्पष्ट गरेको छ। उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गर्दै ती कार्यभार पूरा गर्नेतर्फ हामी सबैले प्रयत्न गर्नुपर्दछ। सरकार आउने जाने भइरहन्छ, तर व्यवस्था संस्थागत भइसकेको र राजनीतिक सङ्क्रमणको अन्त्य भइसकेकाले अब पनि सङ्क्रमणको नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट हामी कसैलाई छैन,’ उनले भने ।
अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ: कृषिमन्त्री भुसाल (भिडियोसहित) काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। राष्ट्रिय कृषि अनुसन्धान परिषदले शुक्रबार ललितपुरमा आयोजना गरेको २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भुसाले एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको भन्दै अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने बताएका हुन्। उनले नेपालीको जीवनयापन परिवर्तन हुदै जाँदा उत्पादनमा ध्यान दिन नसकिएको र जमिन बाँझो रहन पुगेको धारणा राखे । भुसालले उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पुर्याएर उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए । उनले बाझो जमिन उत्पादनका निम्ती यस पटक मन्त्रालयले केहि बजेट छुट्टाइएको जानकारी दिए। राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको उनले बताए । त्यस्तै मन्त्री भुसालले कृषि सामग्री संस्थानका ४१ डिपोसँग र साल्ट ट्रेडिङ सँग मल पर्याप्त मौज्दात रहेको भन्दै यस वर्ष मलको अभाव नहुने स्पष्ट पारे । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले खाद्य सुरक्षा, आयआर्जनका दृष्टिकोणले धान उत्पादनमा वृद्धि गर्नुपर्ने धारणा राखे। यस वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइएको हो । हेर्नुहोस् भिडियो:
मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत नदिने विराटनगर। नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। बिहीबार बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो। मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा माओवादीले सो निर्णय गरेको हो। मुख्यमन्त्री कार्कीले विश्वासको मत दिन आग्रह गर्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पत्राचार गरेका छन्। तर, यही बेला बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो। यसअघि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।
मण्डपबाटै पक्राउ परेका बेहुलालाई पाँच दिन थुनामा राख्न अनुमति काठमाडौं। काठमाडौं जिल्ला अदालतले मागेजति दाइजो नदिएकाले विवाह तोड्ने धम्की दिएको भन्दै मण्डपबाटै नियन्त्रणमा लिइएका बेहुलालाई थुनामा राख्न पाँच दिन म्याद दिएको छ । सुनसरीका ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले मंगलबार नक्सालस्थित एक पार्टी प्यालेसबाट पक्राउ गरेको थियो । विवाह भइरहेकै बेला बेहुली र उनको परिवारसँग ५० लाख रुपैयाँ दाइजो मागेपछि उनी प्रहरी नियन्त्रणमा पुगेका हुन् । रौनियार अमेरिकी ग्रिनकार्ड होल्डर हुन् ।
null
जसपा विधान अधिवेशन: एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी विधान अधिवेशनमा समूहगत छलफल सुरु भएको छ। प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको अधिवेशनको उद्घाटन सत्रपछि अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गरेका थिए। अध्यक्ष यादवले पेस गरेकाे प्रस्तावित विधानको मस्यौदामा ७० वर्षे उमेर हदको प्रस्ताव गरिएको छ। प्रस्तावित विधानको दफा ८६ मा भनिएको छ, “७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैन।” विधान मस्यौदामा पार्टीको केन्द्रीय समिति एक सय ५१ सदस्यीय हुने र एक व्यक्ति एकै पदमा दुई पटकभन्दा बढी रहन नपाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ। नयाँ विधानबमोजिम जसपामा अब अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव तीन र कोषाध्यक्ष एक गरी १३ सदस्यीय पदाधिकारी चयन हुनेछन्। पदाधिकारी तथा सदस्यहरुको निर्वाचन गर्दा तीन जना निर्वाचित हुने पदमा एक जना महिलासहित सामाजिक समूहहरुको समावेशी हुनुपर्ने उल्लेख छ। अब यो विधान पारित भएर लागू भएपछि पार्टीमा एकै व्यक्ति दुई कार्यकालभन्दा बढी समय नेतृत्वमा रहन पाउने छैनन् भने ७० वर्षको उमेर हदसमेत लाग्नेछ। उक्त पार्टीको विधान मस्यौदाको प्रस्तुति साेमबार मात्र सम्पन्न भएको थियो। प्रस्तुत मस्यौदामाथि छलफलका लागि १० वटा समूह बनाइएको र विधान मस्यौदामाथि ती समूहले छलफल गरी मंषलबार प्रत्येक समूहको एक–एक जना नेताले विधानको बारेमा आफ्ना धारणा राख्ने कार्यतालिका रहेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार समूहका नेताबाट आएको सुझावका आधारमा विधानलाई संशोधन गरी पारित गरेर विधान अधिवेशन सकिने कार्यतालिका रहेको छ। जसपाले नयाँ विधानमा ७० वर्ष उमेर हद तोकेको र ७० वर्ष उमेर पुगेका व्यक्ति पार्टीको केन्द्रीय सदस्य हुन नपाउने प्रावधान विधानको मस्यौदामा रहेको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए। उनले भने, “७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिको पदाधिकारी पदमा निर्वाचित वा मनोनित हुन पाउने छैनन्, पार्टीको निर्वाचित जिल्ला समिति, प्रदेश/राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य गरिसकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन पाउने छैन।” यसैगरी जातीय/सामुदायिक समूहहरुबाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरु निर्वाचित हुने छन् । निर्वाचित गर्दा कम्तीमा एक तिहाइ महिला र ४० प्रतिशत युवा हुनुपर्ने, एक व्यक्ति एक प्रमुख जिम्मेवारीको नीति लिनेछ। पदेनबाहेक माथिल्लो समितिका व्यक्तिहरु तल्लो समिति र तल्लो समितिका व्यक्ति माथिल्लो समितिमा रहन नपाउनेसमेत विधानमा राखिएको छ। राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिन तथा केन्द्रीय समितिको सदस्यको उम्मेदवार हुनका लागि कम्तीमा १० वर्ष संगठित पार्टी सदस्य भएर काम गरेको हुनुपर्ने प्रावधान रहेको छ। तर, जातीय/सामुदायिक समावेशी र महिलाको हकमा सात वर्ष मात्र तोकिएको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए। उनका अनुसार अन्य पार्टी परित्याग गरी पार्टीमा प्रवेश गरेका व्यक्तिको हकमा पहिलो पटकका लागि महाधिवेशन वा अधिवेशनको प्रतिनिधि हुन कुनै पनि समिति र निकायको पदका लागि पार्टी सदस्यताको अवधिसम्बन्धी बाध्यात्मक व्यवस्था लागू नहुने विधानको मस्यौदामा उल्लेख छ। केन्द्रीय समितिको सदस्यको योग्यता पुगेको र आर्थिक प्रशासन तथा लेखा परीक्षणका विषयमा व्यावहारिक ज्ञान भएको व्यक्ति केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यका लागि योग्य हुने विधानको मस्यौदामा उल्लेख गरिएको छ। निर्वाचनसम्बन्धी कानुनी तथा व्यावहारिक ज्ञान भएको केन्द्रीय समिति सदस्यको योग्यता पुगेको व्यक्ति केन्द्रीय निर्वाचन आयोगको पदाधिकारी एवं सदस्यका लागि योग्य हुने भनिएको छ। प्रदेश तथा राष्ट्रिय समितिको सदस्य हुन कम्तीमा पाँच वर्ष संगठित पार्टी सदस्य भई काम गरेका र जिल्ला वा सोभन्दा माथिल्लो समिति वा प्रादेशिक विभागको सदस्य वा जनवर्गीय संगठनको प्रदेश पदाधिकारी भई काम गरेको हुनुपर्ने भनिएको छ। तर महिला र दलितको हकमा संगठित पार्टी सदस्य भई कुनै पनि पार्टी संगठन र जिल्ला समिति वा प्रदेश वा सोभन्दा माथिल्लो विभाग वा जनवर्गीय संगठनमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने भनिएको छ। केन्द्रीय विभागको सदस्य हुन कम्तीमा जिल्ला समितिमा एक कार्यकाल काम गरेको वा प्रदेश सदस्यको योग्यता पुगेको वा सम्बन्धित विषयको विज्ञ हुनुपर्ने प्रावधान राखिएको छ। निर्वाचित केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिहरूले आफ्नो समितिका निर्वाचित सदस्यहरूको कूल सङ्ख्याको १५ प्रतिशतभन्दा बढी नहुने गरी अध्यक्षको प्रस्तावमा समितिले मनोनयन गर्नसक्ने प्रावधान पनि राखिएको छ। अन्य राजनीतिक दल वा समूहबाट पार्टीमा प्रवेश गर्ने वा समाहित हुन आउने व्यक्तिलाई पार्टीको कुनै तहको समितिमा मनोनयन गर्नसक्ने प्रावधान विधानको मस्यौदामा उल्लेख छ। तर यस्तो सङ्ख्या कार्यकाल अवधिभरमा आफ्नो समितिको सङ्ख्याको १५ प्रतिशतभन्दा बढी नहुने भनिएको छ। आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेताले जवाफ दिने कार्यक्रम रहेको छ। आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिका अनुसार आज सकिँदैछ।
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ । यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि बढाउने पनि तयारी सुरू गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवा तथा पदस्थापनलाई आगामी दिनमा प्रणालीगत गराइने स्पष्ट गरे । मन्त्री मोदीले कर्मचारीको सरुवा र काज र पदस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन कार्यदल गठन जानकारी दिए । उनले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दिने कार्यलाई निरुत्साहित गरिएको बताए । हाल एक सय ४२ तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । हिमाली तथा तराईका जिल्लाका पालिकामा दिनैपर्ने विशेष परिस्थितिमा मात्रै स्थानीय तहको कार्यपालिकाको निर्णय र सिफारिसबमोजिम स्थानीय तहमा कार्यरत सबैभन्दा ज्येष्ठ कर्मचारीलाई मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने गरिएको उनले जानकारी दिए । यसैगरी बढुवा तथा खुला प्रतियोगिताबाट आउने उपसचिव तथा सहसचिवको पहिलो पदस्थापन स्थानीय तहमा हुने व्यवस्था मिलाइएको छ । मन्त्रालयले आगामी साउनदेखि स्वचालित र पूर्वअनुमानयोग्य सरुवा प्रणाली लागू गर्न कार्यदल पनि गठन गरेको छ ।
पाँच वर्षसम्म यो गठबन्धनले नै नेतृत्व गर्छ : प्रधानमन्त्री दाहाल काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताएका छन्। धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन्। प्रधानमन्त्री दाहालले भने, ‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ। पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ।’ १८ औं सताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ? नसोचि तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ! भनेको स्मरण गर्दै दुनियाँले के भन्छ? त्यतातिर भन्दा पनि राम्रो गर्दै जाने तिर आफ्नो ध्यान रहेको प्रधानमन्त्रीले बताए। भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफुले राम्रो गरेको भएपनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाइ थियो। आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै जनतापक्षमा गरेका कामको जनताले नै फैसला गर्ने उनले विश्वास समेत व्यक्त गरे।
विहे गरेकाे ६ घण्टापछि बेहुलीकाे निधन नवाड। बिहारबाट एउटा हृदयविदारक खबर आएको छ जसले सबैलाई भित्रबाट दुःखी बनाएको छ। विवाह भएको केही घण्टा मै नवविवाहित दुलहीको मृत्यु भएको घटनाले सबैलाई दुःखी बनाएको हो। यो घटना बिहारको नवादा जिल्लाको हो। बेहुलीको मृत्यु हुनासाथ खुशीको माहोल शोकमा परिणत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जिल्लाको काउकोल थानाको महापुर गाउँमा भएको घटनाले इलाकाका सबैलाई दुखी बनाएको हो। समाचार अनुसार महापुर गाउँमा विवाह भएको पाँच छ घण्टा नबित्दै नवविवाहित युवतीको मृत्यु भएको छ। महापुर गाउँका सुबोध मिस्त्रीका छोरा रोहित शर्माको झारखण्ड राज्यअन्तर्गत कोडरमाको लालगढ गाउँकी युवतीसँग नवादाको शोभनाथ मन्दिरमा विवाह भइरहेको थियो। जहाँ विवाह समारोहकै क्रममा युवती बेहोस भइन्। त्यसपछि कुनै न कुनै प्रकारले विवाह समारोह सकिएपछि शुक्रबार साँझ करिब ७ बजे नवविवाहित जोडी महापुर गाउँमा आएका थिए। घर ल्याए पछि फेरी दुलही बेहोस भइन । यसपछि आफन्तले हतारमा नवविवाहित युवतीलाई नजिकैको अलीगञ्ज बजारमा रहेको निजी क्लिनिकमा लगे, जहाँबाट उनलाई नवादा रिफर गरियो तर नवविवाहित महिलाको बाटोमै मृत्यु भयो । जसले सो गाउँलाई पुरै शोकमा पारिदियो।
एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक सुदूरपश्चिम । यही असार १५ गते धनगढीमा आयोजना हुने ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ को वर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा सञ्जीवनी अस्पताल वर्ष खेलाडी पुरुष र हिमालयन गौरीशङ्कर डेन्टल क्लिनिक वर्ष खेलाडी महिला विधाको मनोनयन सार्वजनिक गरेको हो । सञ्जीवनी अस्पताल वर्षको उत्कृष्ट खेलाडी पुरुषतर्फ एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कबड्डीका प्रकाश गिरी मनोनयनमा परेका छन् । पार्कीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एक सय मिटरमा २३ वर्ष पुरानो कीर्तिमान भङ्ग गर्दै तीन स्वर्ण र एक रजत पदक जितेका थिए । नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फका उत्कृष्ट खेलाडी बनेका पार्कीले एक सय मिटर, दुई सय मिटर र चार गुणा रिलेमा स्वर्ण पदक जितेका थिए । दीपेन्द्रसिंह ऐरीले नेपाली क्रिकेट टोलीलाई विश्वकप क्वालिफायरमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । वर्ष २०७९ मा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी बनेका ऐरीले एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्दा एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका थिए । कबड्डीका गिरीले जुनियर कबड्डी च्याम्पियनसीपमा नेपालले ऐतिहासिक कास्य पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । सुदूरपश्चिमका तीन खेलाडीमध्ये नेपाललाई सेमिफाइनलसम्म पुर्याउन उनले सानदार प्रदर्शन गरेका थिए । हिमालयन–गौरीशङ्कर डेन्टल क्लिनिक वर्ष खेलाडी महिला विधामा क्रिकेटकी विन्दु रावल, एथलेटिक्सकी राजपुरा पछाईं र फुटबलकी वर्षा ओली मनोनयनमा परेका छन् । रावलको कप्तानीले सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । नेपालमा भएको क्रसकन्ट्री म्याराथनमा राजपुराले रजत पदक जितेकी थिइन् । वर्षाले नेपाललाई पहिलोपटक साफ यु–१५ महिला च्याम्पियनसीपको विजेता बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । यसअघि चार विधाको मनोनय सार्वजनिक गरिसकिएको छ । वर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारत्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् । वर्ष युवा खेलाडीमा भारत्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन् । सुदूरपश्चिम आइकन पुरुष विधामा फेस्निङ्गका जलेन्द्र शाही, करातेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा पर्दा सुदूरपश्चिम आइकन महिला विधामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दीपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेका छन् । छ विधाको मनोनयन सार्वजनिक गरेको मञ्चले बाँकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रममै सम्मान गर्ने जनाएको छ । लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डमा मनोनयन नहुने भएकोले कार्यक्रमकै दिन विजेताको घोषणा गरिने भएको आयोजकको भनाइ छ । चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गर्न लागिएको छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई जनही रु ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई रु ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई जनही रु २५ हजारबाट पुरस्कृत गरिने जनाइएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।