content
stringlengths 20
64.1k
⌀ |
---|
प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। बुधबार बिहान उपचारको क्रममा उनको नर्भिक अस्पतालमा निधन भएको हो।
आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिएका छन्। उनका अनुसार स्वास्थ्य अवस्था गम्भीर बने पछि सीता दाहाललाई विहान अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन पुगेको हो। अस्पतालले उनको निधन कार्डियक अरेष्टका कारण भएको बताएको छ।
उनी लामो समयदेखि अस्वस्थ थिइन्। उनलाई पीसीपी रोग थियो। यो रोगलाई दुर्लभ मानिन्छ। रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन्।
|
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना, केही स्थानमा हावाहुरी चल्ने काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमामा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
राति भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।
|
दुर्गा प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग गर्ने पक्राउ काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्याको धम्की दिँदै फिरौती माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
फिरौती लिन आएको अवस्थामा खोटाङ घर भई काठमाडौंको चुनदेवी बस्ने रमेशकुमार गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले आज महाराजगञ्जबाट पक्राउ गरेको हो ।
अपहरण तथा शरीर बन्धक मुद्दामा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि गुरुङलाई आजै प्रहरी वृत महाराजगञ्ज पठाइएको सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
उनले असार १३ गते प्रवेश लामाको नामबाट फोन गरी ‘हत्या गर्नका लागि योजना बनिसकेको, यदि सुरक्षित हुन चाहनुहुन्छ भने रकम दिनुपर्ने हुन्छ, डिमान्डको रकम उपलब्ध गर्नुभयो भने तपाईंको जीवन बच्न सक्छ’ भनी फोन तथा पटकपटक एसएसमएस गरी रु ३० करोड रकम माग गरेका थिए ।
|
कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइको मृत्यु चन्द्रौटा । कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइको मृत्यु भएको छ । सोमबार राति बुद्धभूमि नगरपालिका–१ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा वर्ष वर्षीय दीपक भुसाल र नौ वर्षीय प्रदीप भुसाल रहेका छन् । दुवै पारिजात बोर्डिङ स्कूल गोरुसिङेमा अध्ययन गर्दै आएका थिए ।
राति मृतक दाजुभाइ हजुरआमासँगै भुइँमा बिस्तारा लगाएर सुतेका थिए । बिहान अचेत अवस्थामा देखिएपछि उपचारका लागि स्थानीय मेडिकलमा पु¥याइएको थियो । उपचार सम्भव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल प¥याइएको थियो । सर्पले टोकेको भन्ने थाहा नहुँदा घर नजिकै रहेको सर्पदंश उपचार केन्द्रमा नलगी बुटवल लगेको स्थानीय पशुपति शर्माले बताए ।
अस्पतालको रिपोर्टमा सर्पदंशका कारण मृत्यु भएको रिपोर्ट भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए । पछिल्लो समय सर्पले टोकेको भन्ने थाहा नहुँदा मानिसको मृत्यु भइरहेकाले यसमा सबै सचेत हुनुपर्ने भण्डारीले बताए ।
|
‘५० प्रतिशत महिलाको सहभागिता गराउन निर्वाचनमा हुने विकृति रोक्नुपर्छ’ काठमाडौं। प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा ५० प्रतिशत महिलाको सहभागिता गराउन निर्वाचनमा हुने विकृति रोक्नुपर्नेमा जोड दिइएको छ । आज बसेको समितिको बैठकमा आमन्त्रित संविधानसभा सदस्य विन्दा पाण्डेसहित समितिका सदस्यले सो विषयमा साझा मत राखेका हुन्।
‘प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयक’ माथिको छलफलमा उनले निर्वाचनमा महिलाले अनावश्यक खर्च कम गर्न खोज्ने तर पैसाको बलमा चुनाव चलाउने विकृतिले महिलाको सहभागितालाई कमजोर बनाएको बताइन्।
बैठकमा संविधानसभा सदस्य पाण्डेले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा थप गरिएका र स्पष्ट पारिएका प्रावधानमा लैङ्गिक दृष्टिकोणबाट एक कार्यपत्र प्रस्तुत गर्दै ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चितका लागि बहस गर्न जरुरी रहेको बताइन्।
मस्यौदामा भएका सकारात्मक प्रावधान, संविधानको दृष्टिकोणबाट सुधार गर्नुपर्ने पक्ष, लैङ्गिक सहभागिता र मौलिक हक, मौलिक हक कार्यान्वयन र संवैधानिक व्यवस्था, मौलिक हकसम्मत बनाउनुपर्ने प्रावधान, संविधानसम्मत बनाउनुपर्ने प्रावधान, तिनै तहको भूमिका र सम्बन्धित निकायको भूमिका विषय कार्यपत्रमा प्रस्तुत गरेका थिए।
समितिका ज्येष्ठ सदस्य सभापति रोशन कार्कीले बन्दै गरेको निर्वाचन विधेयकमा महिला र पुरुषको अवस्थाबारे जानकारी लिनु बैठकको ध्येय रहेकाले विधेयक आउनुपूर्व समितिको सुझाव संसद्मा दिन सान्दर्भिक रहने बताए।
समिति सदस्य तथा सांसद शोभा ज्ञवालीले चुनावमा जनसङ्ख्याको आधारमा ५० प्रतिशत टिकट महिलालाई प्रदान गरी महिलाबीच प्रतिस्पर्धा गराएमा सहभागिता अभिवृद्धि गर्न सकिने बताइन् ।
“चुनवमा एउटा दलबाट महिला सदस्य उठाएमा अर्को दलले पनि महिला नै उठाई उनीहरूबीच प्रतिस्पर्धा गराएमा महिलाको सहभागिता वृद्धि गर्न सकिन्छ”, उनले भनिन्।
समितिका सदस्यले मुलुकको विविधतालाई स्थापित गरी पूर्ण समानुपातिक सहभागिता कायम गर्न निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्नेमा जोड दिँदै कोटा छुट्याइनुपर्ने, प्रत्यक्ष निर्वाचनमा जान महिलासक्षम रहेको तर निर्वाचन खर्चलाई व्यापक नबनाएकै कारण पराजित हुन परेको बताएका थिए।
|
मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन काठमाडौं । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन समिति गठन गरेको हो ।
मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारका प्रवक्ता शर्माले भनिन्, “मेक्सिकोका नागरिकहरू बोकेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ, मन्त्रिपरिषद्ले सबै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानबिन समिति गठन गरिएको छ ।”
आज बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको एयरको ९–एन–एमभी कलसाइन हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा मेक्सिकोका पाँच जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको थियो । दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौँ ल्याइएको छ ।
|
सेफ्टी ट्याङ्कीमा डुबेका बालकको मृत्यु झापा। ‘सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी विद्यालयको शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेका मेचीनगर नगरपालिका–१० का बालकको आज मृत्यु भएको छ ।
सेफ्टी ट्याङ्कीमा डुबेर सोमबार दिउँसो बेहोस भएका आठ वर्षीय तान्छोक लिम्बूलाई उपचारका लागि विर्तामोडस्थित विएन्डसी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बालकको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले उक्त विद्यालयका सञ्चालक तथा प्रिन्सिपल मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको बताए। विद्यालयको लापर्बाहीका कारण बालकको मृत्यु भएको वडा नम्बर–१० का वडाध्यक्ष नारायण खनालको भनाइ छ ।
विद्यालय भवन पछाडिको शौचालयको ढोका छेउमै सेफ्टी ट्याङ्की रहेको र ट्याङ्कीको माथिको प्वाल मक्किएको प्लाइउडको पाताले लापर्बाहीपूर्वक छोपिएको कारण शौचालय जाने क्रममा बालक दुर्घटनामा परेको उनको भनाइ छ ।
हाल ६३ जना अध्ययनरत उक्त विद्यालय विसं २०७० मा गुरुङले स्थापना गर्नुभएको हो । विद्यालयमा पिजी (प्ले ग्रुप)देखि कक्षा १ सम्म पढाइ हुने गरेको छ ।
|
null |
null |
अमेरिकन डलर भनेर कागज दिएर ठग्न खोज्ने एक व्यक्ति पक्राउ काठमाडौं। अमेरिकन डलर भनेर कागजको बिटो दिएर ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भइ काठमाडौं स्वयम्भू बस्ने ६५ वर्षीय पाल्साङ तामाङ छन् ।
तामाङलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले नख्खु खोलाबाट पक्राउ गरेको हो। उनीमाथि ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
तामाङले बाराको निजगढ नगरपालिका–३ घर भइ भक्तपुर थिमी बस्ने हरिचन्द्र बम्जनलाई आफूसँग ५६ हजार ३५० अमेरिकन डलर रहेको भन्दै सटही गर्नुपर्यो र त्यसबापत केही रकम पाउने भन्दै तारन्तार फोन गरेका थिए। त्यसपछि बम्जनले प्रहरीलाई खबर गराएका थिए।
बाहिर अमेरिकन डलर राखेरभित्र कागजको खोस्टाको बिटो बनाइएको अवस्थामा जाली नोट प्रहरीले बरामद गरेको छ।
|
स्कुलमा बच्चा लिन र पुर्याउन जाने महिलाहरुले सिक्री लुट्ने समूह पक्राउ ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरले विभिन्न स्थानमा सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
ललितपुर प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै स्कुलमा बालबालिका लिन र पुर्याउन जाने महिलाहरुले लगाएको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको जनाएको हो ।
पक्राउ पर्नेमा लोलिनकाजी महर्जन, रविन्द्र महर्जन र रोहन नेपाली रहेको प्रहरीले जनाएको छ । ललितपुरमा असार १७ गतेदेखि १९ गतेसम्म भएका सुनको सिक्री लुटपाट घटनामा सिसिटिभि फुटेजका आधारमा अनुसन्धान गर्दा स्कुटर र मोटरसाइलकको प्रयोग गरि लुटपाट गरेको देखिएको र तीन जनालाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए ।
घटनाको मुख्य योजनाकार लोलिनकाजी महर्जन यसअघि पछि चोरी र लागु औषध मुद्दामा पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।
|
सेवाग्राहीसँग घुस लिदैँ गर्दा प्रधानाध्यापकसहित दुई जना पक्राउ काठमाडौँ। शिक्षक छनोट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गर्दा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
कागेश्वरी मनहरा १ गागलफेदीस्थित सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाले सेवाग्राहीसँग १६ हजार घुस लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरु अख्तियारको टोलीकाे नियन्त्रणमा परेका हुन्।
अख्तियारका अनुसार उनीहरु माथी थप अनुसन्धान भईरहेको छ।
|
अवैध रूपमा विदेश लैजान लागेको विभिन्न मुद्रासहित ४९ वर्षीय व्यक्ति पक्राउ काठमाडौँ। अवैध रूपमा विदेश लैजान लागेको विभिन्न मुद्रासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ३ सय ८० थान र श्रीलंकन रूपी ५ हजार दरको ५३ थान,१ हजार दरको ४ थान, ५० दरको ५ थान र २० दरको ५ थान सहित अमेरिकी नागरिक ४९ वर्षीय केभिन वेस्ले फिलिप्सलाई प्रहरीले पक्राउ गरेको हो।
भिस्टारा एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको ऐक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको हो। उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।
|
साइकल चालकमाथि कुटपिट गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ विराटनगर। साइकल चालकमाथि कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
मोरङ विराटनगर–४ दुधफारमस्थित कोशी राजमार्गमा साइकल चालक विराटनगर–६ बस्ने २७ वर्षीय पवन साहलाई कुटपिट गरेको आरोपमा १९ वर्षीय आयुष भेटुवाल पक्राउ गरेको प्रहरीले जनाएको छ।
बा. १५ च ३४४५ नम्बरको कारमा सवार आयुषसहित कुशल भेटुवाल र रोशन कार्कीले साहमाथि कुटपिट गरेको आरोप लागेको छ। कारबाट झरेर साहमाथि मुक्का प्रहार गर्दै घिसारेर घाइते बनाएको उनीहरुमाथि आरोप छ।
आरोपितमध्ये आयुषलाई पक्राउ गरिएको र दुईजना फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ। उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडिड बढाइएको जनाइएको छ।
|
मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार ५ जनाको शव भेटियो, एकको अवस्था अज्ञात काठमाडौं । सोलुखुम्बुबाट काठमाडौ आउँदै गर्दा दुर्घटना भएको मनाङ एयरमा सवार ५ जनाको शव भेटिएको छ । एक जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
हेलिकप्टरमा जम्मा ६ जना सवार थिए । यीमध्ये ५ जना मेक्सिकोका नागरिक थिए । पाइलट भने नेपाली थिए । ६ जनामध्ये ५ जनाको शव भेटिएको भए पनि उनीहरुको पहिचान भने खुल्न सकेको छैन ।
हेलिकप्टर दुर्घटना भएपछि आगो लाग्दा शव जलेका छन् । आगोले जलेका कारण शवको पहिचान गर्न कठिनाइ भएको हो । हेलिकप्टर सोलुखुम्बुको लामजुरा क्षेत्रभन्दा केही तल काँडे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
|
कपनबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ काठमाडौँ। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने ४७ वर्षीय राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ तेन्जिङचोक बस्ने नुवाकोट दुप्तेश्वर गाउँपालिका-१ घर भएका ३६ वर्षीय कृष्ण बहादुर स्याङतान समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।
|
मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो काठमाडौं । सोलुखुम्बुबाट काठमाडौका लागि उडेपछि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुकै लामजुरा क्षेत्रभन्दा केही तल काँडे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।सो हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । यात्रुमध्ये ५ जना विदेशी भएको बताइएको छ ।
दुर्घटना स्थलबाट उद्धारको प्रयास सुरु भएको छ । यात्रुहरुको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । दुर्घटना भएकोे क्षेत्र लिखुपिके गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकाको बीचमा पर्छ ।
|
हराएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा खोजिँदै काठमाडौं । सोलुखुम्बुबाट काठमाडौका लागि उडेपछि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टरको सोलुखुम्बुकै लामजुरा क्षेत्रमा खोजी भइरहेको छ । हेलिकप्टरको खोजीका लागि स्थानीय सुरक्षा बलका साथै काठमाडौंबाट अर्को हेलिकप्टर पनि पठाइएको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । सो हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । यात्रुमध्ये ५ जना विदेशी भएको बताइएको छ ।
हेलिकप्टर लामजुरा क्षेत्रको आकाशमा भएको बेलादेखि सम्पर्कविहीन भएकोले सोही षेत्रमा खोजी केन्द्रित गरिएको हो । यो क्षेत्र लिखुपिके गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकाको बीचमा पर्छ ।
|
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २२ किलो सुन तस्करी काठमाडौं। वैदेशिक रोजगारीबाट नेपाल आउनेहरुबाट हरेक दिन २२ किलो भन्दा बढी सुन तस्करी हुने गरेको छ। सरकारले वैदेशिक रोजगारमा गएका युवालाई ५० ग्राम सुनको गहना ल्याउन दिने सहुलियतको उपयोग गर्दै सो सुन तस्करी हुने गरेको हो।
तस्करहरूले आफ्नो सुन केही रकम र लोभ देखाएर यसरी पठाउने गरेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धानमा दैनिक कतारबाट २०/३० जना युवाले यसरी नै सुन ल्याउने गरेको देखिएको छ।
‘औसतमा २० देखि २२ किलो सुन आएको देखिन्छ ती सबै गिरोहको हातमा पुग्ने गरेको हाम्रो अनुमान छ’, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले भने।
भन्सार विभागले दिएको सहुलियतलाई सदुपयोग गरेर विदेशमा बस्ने सुन तस्करहरुले नेपालमा सुन पठाउने गरेका छन्। तस्करहरुले भन्सार छलेर पठाउन अवस्था नभएपछि भन्सारले दिएको सहुलियतलाई उपयोग गरिरहेका छन्।
एसएसपी केसीका अनुसार कतारबाट सुन तस्करी गरेरै एक दम्पतीले काठमाडौँमा होटल किनेका थिए। सप्तरीको बलानबिहुल गाउँपालिका-२ चनहिपथराहका विनोदकुमार साह र उनकी पत्नी सञ्जुकुमारी साह सुनतस्करीको आरोपमा पक्राउ परेपछि तस्करीको सुन ल्याउने अर्को पक्षलाई दिने गरेका कारण उनले होटल किनेको खुलेको हो।
सुनतस्करी गरेको रकमबाट उनीहरुले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि रहेको होटल हिमालयन स्पायर किनेको अनुसन्धानबाट खुलेको थियो।
प्रहरीका अनुसार कतारमा बस्ने तस्करीका गिरोहले नेपाल पठाएको सुन विनोद र सञ्जुले काठमाडौंमा लिने गरेको सो सुनलाई बेचेर पैसा अर्को ठाउँमा पठाउने गरेको खुलेको थियो। प्रहरीका अनुसार विनोदकी श्रीमती सञ्जुको बैंक खातामा २ करोड १० लाख २७ हजार ४९७ रुपैयाँको कारोबार भएको थियो।
यस्तै उनका पति विनोद पनि विमानस्थलमा सुन बुझ्न जाने गरेको उनको खातामा ४१ करोड ५४ लाख ७६ हजार ८६९ रुपैयाँ ७६ पैसाको कारोबार देखिएको छ। ‘यो सबै रकम सुन बेचर अर्कोलाई पठाउदा जम्मा गरेको देखिन्छ’, कार्यालयका प्रमुख एसएसपी केसीले भने।
विनोदले सुन बेच्ने गरेका निमाइ साह पनि पक्राउ परेका छन्। उनीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ४६ तोला सुन बरामद गरेको छ। सर्लाहीका ५६ वर्षीय साहले काठमाडौंको बागबजारमा सुन पसल सञ्चालन गरेका थिए।
सोही पसलमा लगेर केही सुन बेच्ने गरेको र केही सुन सिराहमा शिवसुन्दर राउतलाई पठाउने गरेको खुलेको छ। उनीहरुले पठाएको सुन र सुन बेचेको रकम लिने शिवसुन्दर राउतको खातामा भने एक अर्ब ९३ करोड ६८ लाख ६१ हजार ४९५ रुपैयाँको पठाएको देखिएको छ।
३३ किलो सुन तस्करी प्रकरणमा मोरङका चुडामणि उप्रेती ‘गोरे’ समूहले प्रहरी-भन्सारका कर्मचारीकै सहयोगमा अवैध जालो बिछ्याएको खुलेपछि अवैध कारोबारीले वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्रयोग गर्न थालेका छैन्।
उनीहरुले सरकारको सुविधालाई उपयोग समेत गरेको पाइन्छ। प्रहरी र त्रिभुवन विमानस्थल भन्सारको सेटिङमा सुन छिराउन असम्भव भएपछि अहिले तस्करीमा संलग्न नयाँ नयाँ विधि प्रयोग गर्न थालेका छन्।
|
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
सो हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । हेलिकप्टरमा भएका यात्रुमध्ये ५ जना विदेशी भएको बताइएको छ ।
|
जेसिबीको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु गलकोट। बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ।
बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।
जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ।
|
गाउँघरमा देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट ढोरपाटन। डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे। स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे। अहिलेको जस्तो ठाउँ–ठाउँमा मिल थिएनन्। जब यहाँका गाउँमा बिजुलीको पहुँच पुग्यो, तब स्थानीयले हरेक गाउँमा दुई–तीनवटा मिल सञ्चालन गर्न थाले।
मिलले कुट्ने र पिस्ने काम गर्न थालेपछि घरका पिँढीमा रहेका ढिकी जाँतोको महत्त्व हराउँदै गयो। अहिले गाउँको कुनै पनि कुनामा ढिकी जाँतो भेट्टाउन सकिन्न । बरु घर–घरमा विद्युतीय मिल भेटिन थालेका छन्।
विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे। ढिकी जाँतो र पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा बिजुलीमार्फत चल्ने मिल पुगेपछि ढिकी दाँतोको प्रयोग घट्दै जानुका साथै लोप हुँदै गएका छन्।
कुनै बेला गाउँलेको कुटानी पिसानी गर्ने प्रमुख माध्यम मानिने ढिकी जाँतो अहिलेका पुस्ताले चिन्नसमेत छोडिसकेका छन्। खोलाको ढुङ्गालाई मिस्त्रीले कलात्मकरूपमा कुँदेर जाँतो बनाउँथे भने काठको टुप्पोमा फलामको काँज लगाई भुइँमा पक्की ढुङ्गाको ओखल बनाई ढिकी बन्थ्यो। ढिकी, जाँतोको विकासपछि पानीघट्ट प्रयोगमा आएको बूढापाकाको भनाइ छ ।
पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो । अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानीघट्ट ठाडो खोलामा बनाइने गरेको पाइन्छ । अहिले यदाकदा पहिलेका घट्ट जीर्ण अवस्थामा देखिन्छन् ।
नयाँ प्रविधिको विकाससँगै मौलिक संस्कृति हराउँदै गएकोप्रति बूढापाका दुःखेसो पोख्छन् । नयाँ पुस्ताले पुराना संस्कृतिको संरक्षण नगर्दा आफूहरूको पालाका ढिकी, जाँतो र ओखल हराउँदै गएको निसीखोला गाउँपालिका–७ का देवबहादुर पुन मगर बताउँछन् । मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्व नष्ट हुने उनको भनाइ छ ।
‘पहिले–पहिले ढिकी जाँतोमा कुटे, पिसेको आँटो, पिठो र चामलको स्वादै फरक हुन्थ्यो, अहिले मिलले कुटेको पिठो आँटो खायो भने त्यत्ति स्वादिष्ट हुँदैन, मिलले चामल, मकैको बाहिरी बोक्रासँगै त्यसभित्र हुने पौष्टिकतत्व पनि नष्ट गरिदिँदो रैछ’, उनले भने, ‘अहिले त खाँदाखाँदै बानी पर्यो, पहिले मिलमा पिसेको आटो र चामल खासै मीठो लाग्दैनथ्यो, सजिलोमात्रै खोजेर हुँदैन रैछ, यसले स्वास्थ्यमा कस्तो प्रभाव पारेको छ भन्ने पनि बुझ्नुपर्छ ।’
अर्का स्थानीय तिलबहादुर सुनारले अहिले गाउँमा कसैको घरमा पनि ढिकी जाँतो नभएको बताउँछन् । अहिलेको पुस्ताले ढिकी कुट्न र जाँतो पिस्न गाह्रो मान्ने हुँदा यस्ता परम्परागत सामग्रीको अस्तित्व सङ्कटमा पर्दै गएको उनले बताए । पहिले आफ्नो परिवार ११ जनाको हुँदा घरमा दुईवटा जाँतो र एउटा ढिकी रहेको स्मरण गर्दै पालैपालो आँटो पिठो पिसेर उपभोग गरेको सुनारले बताउँछन् । अहिले मिलले मान्छेलाई अल्छी बनाउनुका साथै रोगीसमेत बनाएको उनको भनाइ छ ।
उनका अनुसार पहिले ढिकीमा आँटो, पिठो र सातु पिस्ने गरिन्थ्यो भने ढिकीमा चामल, जौँ र गुन्द्रुक बनाउनका लागि मुला कुट्ने गरिन्थ्यो । खासगरी तिहारको बेला ढिकी जाँतो बढी प्रयोग हुने गरेको हुँदाले बताए । तिहारको बेला ढिकीमा कुटेको चामलको पिठोले टीका लगाउने, दयो बनाउने र नुन कुटेर वस्तुभाउलाई खुवाउने गरेको स्मरण गर्दै अहिले त्यो प्रचलनसमेत हराएको सुनारको भनाइ छ ।
मिलले कुटानी पिसानीका लागि सहज बनाइदिनुका साथै समयको बचतसमेत भएको स्थानीय ७३ वर्षीया शोभाकुमारी क्षेत्रीले बताए। पहिले पानीघट्ट तथा जाँतोमा आँटो पिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको भन्दै अहिले सबै मिलमै कुटानी पिसानीको लागि जाने गरेको बताए । पहिले पानीघट्ट सञ्चालन गरेकाहरू अहिले बन्द गरेर बस्न बाध्य भएको उनको भनाइ छ ।
‘घट्ट सञ्चालकले मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट थोरै महसुल उठाउने गर्थे, त्यहीबाट घट्ट सञ्चालकले आफ्नो परिवार चलाउने गरेका थिए, अहिले गाउँले कुटानी पिसानीका लागि मिलमा जान्छन्, घट्टमा कोही पनि आउँदैनन्’, उनले भने, ‘मिलले ढिकी जाँतो र घट्टले भन्दा छिटो कुट्ने पिस्ने काम गरेर होला, पहिले निकै चलको घट्ट अहिले जीर्ण बनेका छन् ।”
रासस
|
आजको मौसमः मुलुकभर वर्षाकाे भारी संभावना, सचेत रहन आग्रह काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
|
बझाङमा एक महिलाको शव फेला बझाङ । बझाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको थलार गाउँपालिका–१ र केदारस्युँ गाउँपालिका–१ को सेती नदीको बिच भागको टापुमा नामथर, वतन नखुलेकि अन्दाजी ४० वर्षीय महिला मृत अवस्थामा सोमबार फेला पारेको बझाङ प्रहरीले जनाएको छ ।
घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बझाङले थप अनुसन्धान गरिरहेको छ ।
|
बुटवलमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ रूपन्देही । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले विभिन्न समयमा समूह बनाएर मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका १९ वर्षीय तरुन राना, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रामग्राम नपा–१४ का ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम–१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई हाल तिलोत्तमा–५ बस्ने २६ वर्षीय सरोज थापा, सोही ठाउँकै २६ वर्षीय दीपक रेग्मी, तिलोत्तमा–६ का २४ वर्षीय दीपेश थापा र तिलोत्तमा–६ का २५ वर्षीय हितेश राना रहेका छन् ।
तिलोत्तमा–४ का १८ वर्षीय आकाश नेपाली, बाग्लुङ, वरेङ गाउँपलिका–५ सुखौराका १९ वर्षीय आशिष सामत, सोही ठाउँकै वर्षीय दीपक सामत, २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा र २२ वर्षीय मिलन खत्री पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
मोटरसाइकल चोरी गर्ने र पार्टपुर्जा बिक्री वितरणमा संलग्नलाई पक्राउ गरिएको उनले बताए । पछिल्लो समय चोरीका घटना अत्यधिक बढेपछि प्रहरी अधिकृतको नेतृत्वमा विशेष अनुसन्धान टोली नै गठन गरेर उनीहरूलाई विभिन्न जिल्लाबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरू उपर चोरीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले आज आयोजित पत्रकार सम्मेलनमा फेला पारिएका १४ वटा मोटरसाइकलसमेत सार्वजनिक गरेको छ । भेटिएका मोटरसाइकल सवारीधनीलाई खोजी गरी जिम्मा लगाउने काम भइरहेको प्रनाउ थापाले बताए ।
|
मापदण्ड बाहिरका संरचनामा पोखरा महानगरको डोजर गण्डकी। पृथ्वी राजमार्गमा सडक अधिकार क्षेत्र मिचेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ। आज महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा सडक विभागका प्रतिनिधि र नगर प्रहरीसहितको टोलीले सडक मापदण्डभित्र पर्ने संरचना हटाएको हो।
पोखरा–९ पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३ मिटर) मापदण्डभित्र पर्ने संरचना हटाइने महानगर प्रमुख आचार्यले बताए। अवैध संरचनासहित अव्यवस्थितरुपमा राखिएका सामग्री पनि हटाइने उनको भनाइ थियो।
“मापदण्डभित्र पर्ने संरचना हटाउन पूर्वसूचना गरिएको थियो, नगर प्रहरीले घरघरै गएर त्यस्ता संरचना हटाउन पनि भनेको थियो, हिजो हामीले माइकिङ पनि गर्यौँ”, महानगर प्रमुख आचार्यले भने, “यति गर्दा पनि व्यवसायी र घरधनीले अटेर गरेपछि महानगर आफैँले संरचना हटाउन सुरु गरेको हो।”
उनले कास्की र तनहुँको सीमा कोत्रेसम्मै पृथ्वी राजमार्गको दायाँबायाँ अतिक्रमण गरेर बनाइएका घरटहरादेखि सबैखाले संरचना हटाइने जनाए। पोखरा–मुग्लिन सडक आयोजनामा पर्ने उक्त खण्डमा रहेका मापदण्डविपरीतका संरचना हटाउन सडक विभाग एक्लैले नसकेपछि महानगरले सहयोग गरेको प्रमुख आचार्यले बताए।
“सडकको ‘राइट अफ् वे क्लियर’ नभएसम्म निर्माण कम्पनीले पनि काम अप्ठ्यारो भएको जनाउँदै आएको थियो, मापदण्डभित्रका संरचना हटाएपछि पोखरातिरबाट सडक विस्तारको काम सुरु हुन्छ”, उनले भने, “यही सडक हेर्न एडिबीको टोली पनि आउँदैछ, सडक विभागको काममा हामी पनि सहजीकरण गर्छौं।”
एशियाली विकास बैंक (एडिबी)को सहयोगमा पोखरा–मुग्लिन सडक विस्तार र स्तरोन्नति गरेर चार लेनको बनाउन लागिएको हो। सडक निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनीले लिएको छ। – रासस
|
सिसुवा भतेरीको बन्जर भूमि राष्ट्रपति पौडेलको परिकल्पनाले उर्वर बन्यो दमौली। प्रजापति सापकोटा हिजो आज ढुक्कले खेती गर्न सक्छन्। तनहुको व्यास नगरपालिका १० दुम्सी निवासी सापकोटा केही वर्ष अघिसम्म बालीनाली छाडा चौपायाले नष्ट गरिदिने हो कि भन्ने चिन्ताले पिरोलिन्थे।
तर अचेल उनको यो चिन्ता घट्दै गएको छ। नगरपालिका क्षेत्रकै छाडा तथा वृद्ध चौपायाको व्यवस्थापन गर्ने हेतुले सिसुवा भतेरी क्षेत्रमा गौशाला बनेपछि बालीनालीको रेखदेखमा सहज मात्र भएको छैन कि त्यहाँ भएका विविध खेतीपाती र संरक्षणका क्रियाकलापले पनि राहत दिएको छ।
कुनैबेला मादी नदीको किनार सिसुवा भतेरी क्षेत्र पहिले बालुवै बालुवा र त्यसै फालिएको बन्जर भूमि जस्तो थियो। तर, बिस्तारै अहिले यो क्षेत्रको स्वरुप फेरिएको छ। नदी किनारमा तटबन्ध थालिएको छ। बालुवा भएको ठाउँमा घाँस उमारेर हरियाली बनाइँदैछ।
गौशाला निर्माण, गिद्ध संरक्षण, माछापालन र खेतीपाती थालिएको छ। जथाभावी छोडिने छाडा तथा वृद्ध चौपाया व्यवस्थापनको कामसँगै सिसुवा भतेरी क्षेत्रमा तटबन्ध निर्माण, माछापालानसहित आयआर्जनका काम अघि बढेको छ।
व्यास-१० का पूर्व वडाअध्यक्ष एंव गौ संरक्षण तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तुलसीराम सापकोटाले सिसुवा भतेरीको स्वरुप नै परिवर्तन लामो समयसम्म यो क्षेत्रका प्रतिनिभिसभा सदस्य बनेका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलका कारण सहज भएको बताए।
“लामो समय यस क्षेत्रकै निर्वाचित सांसद हुनुभएका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको साथ, सहयोग र परिकल्पना अनुरुप यहाँ विकासका काम साकार हुँदै गएका हुन्”, उनले भने।
छाडा चौपायाले सडक दुर्घटना, बालीनाली नष्ट र मानिसले समेत हेला गर्ने भएपछि यहाँ गौशाला स्थापनासहितको काम २०७५ सालमा अघि बढाइएको हो। नदी किनारको करिब तीन सय रोपनीमा तारवार गरी गौशालासहित गिद्ध संरक्षण, घाँसको व्यवस्थापन, घाँस गोदाम, गाई राख्ने ट्रस्ट, कार्यालय भवनसहितका संरचना बनेको छ ।
भूँमिको पहुँच नभएका किसानलाई बगर खेती गरेर आयआर्जनमा लगाउने उद्देश्यले २०७५ सालमा कृषि सहकारी संस्था खोलेर यस क्षेत्रको विकास र व्यवस्थापनको काम थालिएको हो । गौशालामा दुई साँढेसहित एक सय ३५ गाई छन् । केही गाई दुधालु छन् ।
कांग्रेसका तत्कालीन वरिष्ठ नेता पौडेल यस क्षेत्रको भ्रमणमा आउँदा छाडा गाईबस्तुले बालीनाली नष्ट गर्ने, सडकमा जथाभावी हिड्दा सवारी दुर्घटना हुने तथा जोकोहीले रक्ताम्य हुने गरी पशुलाई पिट्दै लखेटन परेको गुनासो यस क्षेत्रका जनताले गरेपछि उहाँकै सहयोग र परिकल्पना अनुरुप गौ संरक्षण केन्द्र स्थापना गरिएको सापकोटाले सुनाए।
‘उहाँकै परिकल्पना अनरुप यस क्षेत्रमा मादी नदी तटबन्ध, सार्वजनिक जग्गा संरक्षण, झोलुङगेपुल निर्माणलगायतका विकासका काम हुँदै छन्’, सापकोटाले भने ।
अघिल्लो वर्ष प्रदेश सरकारको एक करोड ७३ लाख बजेटबाट मादी नदीमा १० र ५ नम्बर वडा जोड्ने दुईसय ७२ मिटर लामो झोलुङ्गे पुल बनेको छ।
मादी नदी अति प्रभावित नगरपालिकाका ३, ५, ७ र १० नम्बर वडाका विभिन्न क्षेत्रमा तटबन्ध बनाउने योजना अन्र्तगत सिसुवा भतेरी क्षेत्रमा तटबन्धको काम भईरहेको छ । गौशाला क्षेत्रमै थप काम विस्तार भईरहेको छ ।
पौडेल र कृषि सचिव गोविन्द शर्माले यस क्षेत्रको स्थलगत अवलोकन गरेपछि पूर्वाधार तथा व्यवस्थापनका लागि थप बजेट परेको अध्यक्ष सापकोटाको भनाइ छ । गौ संरक्षण तथा पूर्वाधार व्यवस्थापनका लागि यस वर्ष बजेट परेको छ ।
यहाँ दमौली बजारबाट ल्याएको सेफटी टयाङ्कीको फोहोर हालेर घाँस लगाइएको छ । फालिने फलफूल, तकारी तथा अन्य फोहोरको व्यवस्थापन गरेर व्यास नगरपालिका र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको करिव १४ लाख खर्चसहित जनसहभागितामा ग्यास निकालिएको छ । काम विस्तार हुँदै गएपछि यहाँको अवलोकन भ्रमणका लागि सर्वसाधारण समूहमा आउने गरेका छन् ।
गाई मरेपछि छाला काढेर गिद्धलाई छोडिदिने गरेपछि यहाँ सात प्रजातिका गिद्ध आउन थालेको र गाईको छालाबाट मादल लगायतका सामाग्री बनाउने गरेको समितिका सचिव भरत केसीले बताए। तर विद्युतको तार र पोलले गिद्धलाई असर गरेपछि यसको संरक्षण गर्न थप काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
सदरमुकाम दमौली बजारबाट झण्डै साँढे पाँच किलोमिटर उत्तरतर्फको यहाँ हडडी पेल्ने मेसीन राख्ने, प्राङगारिक मल उत्पादन गर्ने तथा विस्तारै आवश्यकता बोध भएका अन्य योजना विस्तार गर्ने सोच रहेको पनि सचिव केसीको भनाइ छ।
सचिव केसीले भने- ‘हडडी पेल्ने मेसीन र प्राङगारिक मल उत्पादनका लागि पनि सम्माननीय राष्ट्रपतिज्यूबाट सहयोगको अपेक्षा गरेका छौं।’ छाडा वस्तुको आहारका लागि नगरपालिकाले मासिकरुपमा खर्च व्यवस्थापन गर्दै आएको नगरप्रमुख वैकुण्ठनाथ न्यौपानेले बताए। हालसम्म गौशाला निर्माणको लागि एक करोड खर्च भएको समितिले जनाएको छ।
|
डम्फु बनाएर राम्रो आम्दानी बनेपा। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४स्थित सलान्दुबगरका लीलाबहादुर स्याङ्तान डम्फु बनाउने पेसामा लागेर राम्रो आम्दानी गर्दै आएका छन्। तामाङ जातिको सांस्कृतिक बाजामा डम्फुको माग हुन थालेकाले उनले ‘स्याङ्तान डम्फु उद्योग’ सञ्चालन गरेर सो पेसालाई विगत १५ वर्षदेखि निरन्तरता दिँदै आएका छन्।
घरमा डम्फु उद्योग सञ्चालन गरी आम्दानीको स्रोत बनाउँदै आएका स्याङ्तानले अरुलाई पनि रोजगारी दिँदै आएका छन्। तामाङ समुदायले शुभकार्यमा प्रयोग गर्दै आएको बाजा डम्फुको माग राम्रो भएपछि उद्योग नै स्थापना गरी काम गर्दै आएको उनले बताए।
‘तामाङ समुदायको बिहेमा गीत गाउनका लागि डम्फु अनिवार्य हुन्छ तर एउटा आफन्तको बिहेको निम्तो मान्न जाने बेलामा जरकिन बजाएर गीत गाएको देखेपछि डम्फुको अभाव खड्किन नदिनका लागि मैले डम्फु बनाउने उद्योग सञ्चालन गरेको हुँ”, स्याङ्तानले भने, “पुर्खाले गर्दै आएको पेसा नभएर भावनाले डोहोर्याएकाले यो पेसा सुरु गरेँ।”
भाषणले मात्रै कला, भाषा र संस्कृतिको संरक्षण नहुने उनको भनाइ थियो। “तामाङ समुदायको विवाह, ब्रतबन्ध र मृत्यु संस्कार सबैमा डम्फु बजाएर खुसी र विरहको गीत गाउने चलन रहेकाले त्यसको अभाव पूर्तिका लागि पनि यो पेसा रोजेको हुँ”, उनको भनाइ थियो ।
एउटा डम्फु साइजअनुसार रु दुई हजार पाँच सयदेखि रु पाँच हजारसम्म लिने गरेको उनले बताए। काम गर्ने दौरानमा गाउँमा एक जनालाई मासिक रु २८ हजारका दरले तलब दिएर काम गर्दै आएकामा अहिले विदेशमा समेत जानथालेपछि सबै काम आफैँले गर्दै आएको स्याङ्तानले बताए।
वार्षिकरुपमा करिब तीन सयको हाराहारीमा डम्फु उत्पादन गर्दै आएका उनले देशका पूर्वी क्षेत्रको काँकडभिट्टा, इलाम, झापा पाँचथर, तेह्रथुमल तथा पश्चिम क्षेत्रको लमजुङ, नवलपरासीलगायत जिल्लामा पनि पठाउने गरिएको जानकारी दिए।
तामाङ समुदायको बसोबास रहेको संयुक्त अरब इमिरेट्स (युएई) मलेशिया, जर्मन, इजरायल, संयुक्त राज्य अमेरिकालगायत मुलुकमा पनि डम्फु पठाउने गरिएको छ। निरन्तररुपमा उत्पादन गरेको डम्फुको माग धान्न नसकिएका कारण अरु युवालाई पनि सिकाएर उत्पादन गर्दै आइएको र प्रशस्त माग आउने गरेकाले गाउँका दुई जनालाई सीप सिकाएर डम्फु बनाउने काममा लगाइएको स्याङ्तानले बताए।
“सबै आवश्यक सामान आफैँले उपलब्ध गराएर बनाउन लगाएको छु”, उनले भने, “यसरी उत्पादन गरेको डम्फु आफैँले खरिद गरेर बिक्री गर्दै गरेको छु। आफूले मात्रै गर्ने नभएर युवापुस्तालाई सीप हस्तान्तरण गर्नुपर्छ भनेर सिकाएको सीपले युवालाई रोजगार बनाएको छु।”
“उत्पादन गरिएका सामान बिक्री भएन भन्ने चिन्ता छैन”, स्याङ्तानले थपे, “जति उत्पादन भए पनि मैले नै बजारीकरणको काम गर्ने गरेको छु ।” समुदायसँगै भिजेर काम गरिएका कारण उहाँले डम्फु मात्रै नभएर झाँक्रीले प्रयोग गर्ने ढ्याङ्ग्रो, फुर्बा(थुर्पे)लगायत सामान पनि उत्पादन तथा बिक्री गर्दै आएको जानकारी दिए।
डम्फु बनाउनलाई कोइरालोको काठ आवश्यक हुन्छ। बाख्राको छाला प्रयोग हुने र बाँसको किला प्रयोग गरेर बनाउनुपर्ने भएकाले बनाउन भने समय लाग्ने गरेको छ। सिजनअनुसारको छाला उपलब्ध हुन नसक्ने अवस्था रहेका कारण यस पेसालाई थप व्यवस्थित गर्न चुनौती रहेको स्याङ्तानले बताए।
|
पहिरोको उच्च जोखिम : स्थानीय घर छोड्न बाध्य ढाेरपाटन। गतवर्ष भदौमा रामतोला बस्ती नजिकै ठूलो पहिरो गयो। पहिरोले सिंगाे गाउँनै जोखिममा पर्यो। स्थानीय बासस्थान छोडेर अन्यत्र जान बाध्य भए। बर्खा सकिएपछि पहिराको जोखिममा रहेकै घरमा उनीहरु फर्किए।
यस वर्ष पनि बर्खा सुरु भएपछि बागलुङ नगरपालिका-११ रायडाँडाको तल्लो रामतोलाका स्थानीय बासस्थान छोडेर अन्यत्र आश्रय लिन पुगेका छन्। गाउँमाथिको पहाड खसेपछि जोखिममा परेको रामतोला बस्तीमा यस वर्ष वर्षा लागेसँगै पहिरो झर्न थालेको छ।
पहिरो झर्न थालेपछि स्थानीयलाई कसरी ज्यान जोगाउने चिन्ता बढेको स्थानीय कुलराज शर्माले बताए। उनका अनुसार स्थानीय रातभर जागराम बस्ने गरेका छन्।
यहाँका आठ घर उच्च जोखिममा छन् भने अन्य सात घर पनि पहिराको जोखिममा छन्। यसअघिका पहिराले गाउँमा भएका दुई वटा खानेपानीको ट्याङ्कीसमेत बगाउँदा खानेपानीको समस्या थियो। “केही समय खानेपानीको व्यवस्थापन भए पनि अहिले फेरि उस्तै जोखिम परेको छ। घर, गोठ र जग्गा जमिन पहिराको उच्च जोखिममा परेपछि गाउँका केही स्थानीय बर्खाभरिका लागि गाउँ छोड्न बाध्य भएका छन्”, शर्माले भने।
हिउँदको समय घरमै जसोतसो बसे पनि बर्खामा निकै त्रास हुने उनको भनाइ थियो। उनले हिउँदभरी आफ्नै घरमा बसेको सुनाउँदै असार लाग्नासाथ अरुको घरमा बस्न थालेको बताए। अहिले पनि वस्तुभाउ जोखिमपूर्ण अवस्थामा रहेको गोठमा बाँधेको भन्दै आफ्नो परिवार स्थानीय तोयनाथ पौडेलको घरमा बस्दै आएको शर्माले जानकारी दिए।
बर्खा लागेर पहिरो झर्न थालेपछि ज्यान बचाउन स्थानीय ढालनाथ पौडेल चितवन र तुलबहादुर नेपाली जैमिनीको कुश्मिसेरा बस्न थालेको बताउँछन्। पौडेल र नेपालीको अघिल्लो वर्षमा गएको पहिराले घर गोठमा क्षति पुगेको थियो।
“पोहोर साल पहिरोले भएभरको बारी बगायो। घर, गोठ र शौचालय पनि उच्च जोखिममा छन्, अहिले अरुको घरमा बसेका छौँ”, शर्माले भने, “उनीहरु आएर घर खाली गर्न भने कहाँ जाने, के गर्ने ?, भएको थोरै बारीमा काम गरेर परिवार चलाएको छु। बारी पनि यस वर्ष बगाउँछ जस्तो छ। गाउँ छोडेर अन्यत्र जाउँ भने जान सक्ने अवस्था छैन, निकै समस्यामा परेका छौँ।” चार जनाको परिवारसहित अरुको घरमा बस्दा धेरै समस्या भोग्नु परेको उनको भनाइ थियो।
पहिरोले तहसनहस हुँदा बागलुङ नगरपालिकाले रू २५ हजार र रेडक्रसले एउटा त्रिपाल दिएको भन्दै शर्माले अन्य निकायबाट कुनै पनि सहयोग नपाएको गुनासो पोखे। उनका अनुसार गतवर्ष भासिएको ठाउँमा अहिले पनि पहिरो जानुका साथै जमिन भासिरहेको छ।
सोही गाउँका वीरबहादुर क्षेत्रीले पनि आफ्नो पाँच जनाको परिवारसहित आफन्तकोमा आश्रय लिएका छन्। गत वर्षको पहिरोले क्षेत्रीको खेतबारी बगाइ दिएको थियो।
घर पनि उच्च जोखिममा हुँदा स्थानीय चन्द्रबहादुर केसीको घरमा बस्दै आएको उनले बताए। गतवर्ष बर्खा रोकिएपछि जेठसम्म आफ्नै घरमा बसेको भन्दै असार दोस्रो सातादेखि आफन्तकोमा बस्दै आएको उनले सुनाए।
“यहाँ यति ठूलो पहिरो जान्छ, यति ठूलो क्षति पुर्याउँछ भन्ने सोचेका पनि थिएनौँ, तर एक्कासि पहिरो गयो, धन्नै घरसहित हामीलाई बगाएन, ज्यान बाँच्यो,” क्षेत्रीले भने, “अहिले पनि पोहोरको जस्तै पहिरो गयो भने यो गाउँ रहँदैन। बर्खा सुरु भएसँगै माथिको पहाड झर्न थालेको छ, यो पहाड झर्यो भने हाम्रो गाउँसहित यहाँभन्दा तल रहेका धेरै गाउँहरु बगाउँछ।” रासस
|
आजबाट सोमबारको व्रत सुरु, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर) काठमाडौं। साउनमा बसिने सोमबारको व्रत आजबाट सुरु भएको छ।
महिनाले असार नै भए पनि तिथिअनुसार सोमबारको व्रत आजबाटै सुरु भएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए।
‘तिथिअनुसार सउन महिनामा सोमबारको व्रत बस्न तथा शिवजीको विशेष उपाशना गर्नका लागि आजबाट पहिलो व्रत प्रारम्भ भएको छ,’ उनले भनेका छन्।
व्रत सुरु भएसँगै देशभरका शिवालयमा दर्शनार्थीको भीड लाग्न थालेको छ। काठमाडौंको पशुपतिनाथमा पनि बिहानैदेखि व्रतालु र दर्शनार्थीको घुइँचो लागेको छ।
|
गोदावरीबाट जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ कैलाली। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
गोदावरी नगरपालिका-२ महेन्द्रनगर रोड बस्ने ३९ वर्षीय प्रेम बोहराको सिगाँस होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रेम बोहरा समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
|
भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ नवलपरासी(पश्चिम)। भाउजुको हत्या गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ।
रामग्राम नगरपालिका-१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
जग्गाको विषयलाई लिएर वादविवाद एवम् झैं-झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन्। घाइते भएकी मिरा चौधरीको जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)बाट खटिएको प्रहरीले चन्दनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
|
अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर वीरगञ्ज। अतिक्रमित सार्वजनिक जग्गा खोज्ने अभियान सुरु गरेको वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका २८ सार्वजनिक पोखरी तथा एक सय बिघाभन्दा बढी जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको छ।
महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै वीरगञ्ज महानगरपालिकाले सुरु गरेको सो अभियानका क्रममा विभिन्न वडामा रहेका २८ सार्वजनिक पोखरी तथा १४८ बिघा सार्वजनिक जग्गा महानगरको अधिनमा ल्याउन सफल भएको हो।
अभियानका क्रममा वडा नम्बर १७ मा आठ , वडा नम्बर २६ मा चार , वडा नम्बर १८, २०, २४, २८, २९ र ३० नम्बर वडामा दुई/दुई र वडा नम्बर १९ र २३ मा एक/एकसावर्जनिक पोखरी महानगरपालिकाको नाममा लगत कायम गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडलेले जानकारी दिए।
सार्वजनिक पोखरी रहेको १९ बिघा सात कट्ठा जग्गा पहिचान गरी महानगरपालिकाको अधिनमा ल्याइएको उनले बताए। महानगर क्षेत्रभित्रका सार्वजनिक पोखरी, पार्क, मठ मन्दिरलगायतको क्षेत्रमा व्यापक सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले ठूला ठूला भौतिक संरचनासँगै खेतबारीको रुपमा उपभोग गर्दै आएका छन्।
महानगरको विभिन्न वडामा सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने, खेतबारीको रुपमा उपभोग गर्ने, सार्वजनिक पोखरी व्यक्तिरुपमा उपभोग गर्नेजस्ता प्रवृत्ति बढ्दै गएपछि महानगरले अतिक्रमित जग्गा खोज्न अभियान चलाउँदै आएको छ।
अतिक्रमित जग्गा खोज्न र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याउन महानगरले विभिन्न वडामा प्राविधिक टोली परिचालन गरेको छ।
“महानगरको धेरैजसो स्थानमा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी निजी सम्पत्तिको रुपमा प्रयोग गर्दै आएका छन्”, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भने,‘‘ पहिलो चरणमा प्राविधिक टोलीले सार्वजनिक जग्गा खोज्ने र त्यसपछि पहिचान भएको सार्वजनिक जग्गा खाली गराएर आफ्नो स्वामित्वमा ल्याउने कार्य जारी राखेका छौं।” यसैक्रममा वर्षाैंदेखि स्थानीयले उपभोग गर्दै आएको सार्वजनिक पोखरी हामीले फिर्ता ल्याउन सफल भएका छौं, उनले भने।
विगत तीन महिनादेखि सुरु गरेको सार्वजनिक जग्गा खोज्ने क्रममा अहिलेसम्म करिब एक सय ४८ बिघाभन्दा बढी अतिक्रमित सार्वजनिक जग्गा महानगर आफ्नो अधिकनमा ल्याउन सफल भएको छ।
“हामीले छोटो समयमै थुप्रै अतिक्रमित जग्गा फिर्ता गराएर सफलता प्राप्त गरेका छौं”, नगर प्रमुख सिंहले भने, “अतिक्रमणमा परेको यति धेरै जग्गा हामीले शान्तिपूर्ण रुपमा आफ्नो अधिनमा ल्याउन सक्यौं।”
सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै सम्भावित स्थानमा पुग्न थालेपछि स्थानीयले पनि राम्रो साथ दिइरहेको जनाएको छ।
महानगरले वडा नम्बर ३० बेलबामा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर उपभोग गर्दै आएको ३२ बिघा जग्गा आफ्नो अधिनमा ल्याएर सामूहिक कृषि खेतीका लागि प्रयास गरिरहेको छ।
वडा नम्वर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीयले अतिक्रमण गरी खेतबारी गर्दै आएको १० बिघा १८ कट्ठा जग्गा महानगरले आफ्नो अधिनमा ल्याएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सिंहको सचिवालयका नवराज फुयाँलले जानकारी दिए।
यस्तै वडा नम्बर १९ मा स्थानीयले अतिक्रमण गरी निजी प्रायोजनमा प्रयोग गर्दै आएको करिब सात बिघा र वडा नम्बर १७ अलौँ मन्सी टोलमा सार्वजनिक पोखरी अतिक्रमण गरी बनाइएको संरचना भत्काएर १३ कट्ठा ८ धुर जग्गा महानगरले आफ्नो अधिकनमा ल्याएको उनले बताए।
उनका अनुसार वडा नम्बर ३० लालपर्सामा विपश्यनाको पश्चिमतर्फको एक बिघा १ कट्ठा र वडा नम्बर १६ इनर्वामा अध्यागमन कार्यालयसँगै जोडिएको १९ कट्ठा जग्गाको अतिक्रमण हटाएर महानगरपालिकाको स्वामित्वमा ल्याइएको फुयाँलको भनाइ छ।
त्यस्तै महानगरपालिका वडा नम्बर २७ मा रामजानकी मन्दीरको नाममा रहेको दुई बिघा १३ कट्ठा ८ धुर र वडा नम्बर २२ मनियारीमा ८ कट्ठा जग्गा महानगरको अधिनमा नक्सांकन गरिएको छ।
वडा नम्बर ३१ बेलबामा स्वास्थ्यचौकी नजिकै अतिक्रमण गरी बनाईएको संरचना हटाई साढे चार कट्ठा जग्गा, ड्राइपोर्ट अगाडि मूल सडकसँग जोडिएको अतिक्रमित १० कट्ठा र सोही सडकअन्तर्गत हुलाकी सडकमा पर्ने सिर्सिया खोला पुल नजिकैबाट दुई कट्ठा चार धुर जग्गा महानगरले अधिनमा ल्याएको फुयाँलले बताए।
उनको अनुसार वडा नम्बर ८ स्थित प्रभु अस्पताल नजिकै पर्ने १० धुर जग्गा खाली गराई महानगरपालिकाले आफ्नो अधिनमा ल्याएको छ भने वडा नम्बर १० स्थित घअिर्वा पोखरीको दक्षिण गेट अगाडि रहेको रामजानकी मन्दिरको अतिक्रमण हटाई भक्तजनको लागि मन्दिर खुल्ला गरिएको छ। सार्वजनिक जग्गा खोज्ने क्रममा गुठी संस्थानको नाममा रहेको ८० बिघा जग्गासमेत छुट्टयाईएको महानगरपालिकाले जनाएको छ।
केही दिनअघि वीरगञ्ज महानगरपालिकाले आर्दशनगरस्थित चिल्ड्रेन पार्कको जग्गा अतिक्रमण गरी स्थानीयले निर्माण गरेको संरचनामा डोजर चलाएर जग्गा खाली गराएको थियो।
अतिक्रमित जग्गाको थप खोजी गर्न प्राविधिकको समूह खटाएर पहिचान गर्ने र त्यसको घेरा गरी संरक्षण गरिने कार्यसमेत भइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए।
अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम भइरहेको पौडलको भनाइ छ।
अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि वास्तविक तथ्यांक नरहँदा खोजीमा कठिनाइ भइरहेको भए पनि अभियान सफल पार्न टोली दिनहुँ खटिरहेको उनले बताए। अतिक्रमित जग्गा खोजी अभियानलाई ३२ वटै वडामा सञ्चालन गरिने महानगरले जनाएको छ।
हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखीकरण गरेर राख्न र आवश्यकताअनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए।
वर्षाैंदेखि सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै महानगरले अतिक्रमणमा परेको जग्गा फिर्ता गराउने अभियान सञ्चालन गरेर सकारात्मक सन्देश दिएको स्थानीय बुद्धिजीवीको भनाइ छ। रासस
|
आजको मौसमः मुलुकभर भारी वर्षाकाे संभावना, सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
रातिभने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी र गण्डकी प्रदेश लगायत देशका तराईका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।
|
फुङलिङमा एक महिलाको शव फेला ताप्लेजङ । फुङलिङ नगरपालिकामा एक महिलाको शव फेला परेको छ। वडा नम्बर(७ की ४४ वर्षीय धनकुमारी लिम्बू मृत फेला परेको प्रहरीको भनाइ छ।
फुङलिङ नगरपालिका–३ स्थित सशस्त्र प्रहरीको चेक प्वाइण्ट छेउमा सडकबाट १० फिट तल झरेको अवस्थामा लिम्बूको शव भेटिएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।
|
चितवनमा ५० प्रतिशत रोपाइँ चितवन । जिल्लामा ५० प्रतिशत रोपाइँ भएको छ । समयमा पर्याप्त वर्षा नहुँदा रोपाइँ हुन नसकेको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लाका सात पालिकामा भएको धान रोपाइँ ५० प्रतिशत भएको छ । केन्द्रका निमित्त कार्यालय प्रमुख मीनबहादुर पुनका अनुसार लामो समय खडेरी परेका कारण धान रोप्न समस्या भएको हो । सिँचाइको व्यवस्था भएका केही स्थानमा रोपाइँ भए पनि पानीको अभावका कारण रोपाइँ हुन नसकेको उनले बताए ।
उनले भने, “गत वर्षको तुलनामा यस वर्ष कम क्षेत्रफलमा धान रोपाइँ भएको छ ।” अघिल्लो वर्ष यही समयमा ७० प्रतिशत रोपाइँ सम्पन्न भएकोमा अहिले ५० प्रतिशत मात्र भएको उनले जानकारी दिए । पर्याप्त वर्षा भई पानीको मूल फुट्न नसक्दा रोपाइँ कम भएको उनको भनाइ छ । जिल्लामा २२ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ ।
यहाँ सावा मन्सुली, सावित्री, रामधान, हाइब्रिड, राधाचारजस्ता धान जात रोपिँदै आइएको छ ।
|
११ वर्षीया बालिकालाई बलात्कार गर्ने युवक बुटवलबाट पक्राउ तिलोत्तमा । बुटवलमा नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । ११ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियार पक्राउ परेका हुन् ।
परियारले शनिबार राति बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकालाई उनका बाबु सुतिरहेको मौका छोपी परियारले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
|
मिटरब्याज पीडितलाई भेट्न माइतीघर पुगे गृहमन्त्री काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग भेटवार्ता गरेका छन्।
आइतबार अपराह्न माइतीघरस्थित धर्नास्थल पुगेर मन्त्री श्रेष्ठले पीडितहरूलाई भेटेका हुन्। भेटमा उनले मिटरब्याज पीडितलाई न्याय दिने विषयमा सरकार गम्भीर रहेको बताएका थिए।
माइतीघरमा १९ दिनदेखि मिटरब्याज पीडितहरू धर्ना दिँदै आएका छन्।
|
ललितानिवास जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।
राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । सीआईबीले पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकेको छ ।
राउतले भौतिक मन्त्रालयमा शाखा अधिकृत हँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।
|
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ रोल्पा। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जना पक्राउ गरेको छ।
रोल्पा नगरपालिका-४ लिबाङ डेरा गरी बस्ने ४४ वर्षीय सन्तोष सुनारको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ३३ वर्षीय कौशल खत्री समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
उक्त कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार २ सय ४५ रूपैयाँ र तास १ सय ६५ पिससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
|
आरजुको नाम लिएको अडियो नक्कली शरणार्थी प्रकरणका अभियुक्त शर्मासँग मिल्यो काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाले समेत रकम लिएको आरोप लगाइएको अडियोमा सुनिएको स्वर नक्कली शरणार्थी प्रकरणमा पक्राउ परी थुनामा रहेका अभियुक्त सन्देश शर्माको स्वरसँग मिलेको पाइएको छ ।
दाङका शर्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर अनुसन्धानका लागि थुनामा राखिएका छन् । उनीमाथि प्रहरीले संगठित अपराध कसूर मुद्दामा अनुसन्धान गरिरहेको छ । यो अडियो सार्वजनिक भएपछि आरजु राणाले आफ्नो नाम जोडेर फेक अडियो भाइरल गराइएको भन्दै यसको सत्य तथ्य जाँच गरी दोषीउपर कारवाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।
राणाकै निवेदनको आधारमा यो अडियोको जाँच अगाडि बढेको थियो । तर, जाँचमा यो अडियो शरणार्थी प्रकरणमै संलग्न भएको देखिने पर्याप्त आधार भेटिएर पक्राउ गरी थुनामा राखिएका अभियुक्तसँग मिलेको पाइएको हो । शर्माको स्वरसँग यो अडियो मिलेको पाइएसँगै आरजु राणाको ‘फेक अडियो’ भन्ने दावीको धरातल कमजोर भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले दिएको जानकारी अनुसार यो अडियोको स्वर यही प्रकरणमा अनुसन्धानमा रहेका अभियुक्त शर्मासँग मिलेको पाइएसँगै यो अडियो कहाँबाट र कसरी सामाजिक संजालमा आयो भन्ने विषयमा अनुसन्धान अगाडि बताइएको छ । यसका लागि यो अडियो टिकटकमा कहिले र कसले अपलोड गरेको हो भन्ने बारेमा टिकटकको सिंगापुरस्थित कार्यालयसँग जानकारी मागिएको कडायतले जानकारी दिए ।
|
मिटरब्याजीको आरोपमा सर्वसाधारणलाई पक्राउ बारा। मिटरब्याजीमा संलग्न नै नभएको व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेर दुःख दिएको घटना सार्वजनिक भएको छ । बाराको महागढीमाई नगरपालिका-१०, गन्जभवानीपुरका एक सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेपछि सो घटना सार्वजनिक भएको हो ।
पीडितका बुबा मोतीलालप्रसाद गुप्ताले दिएको जानकारीअनुसार छोरी निशाकुमारीसँग महागढीमाई नगरपालिका-१० गन्जभवानीपुर बस्ने रामाधार साह कानुले ६ लाख रुपैयाँको कपाली तमसुक गरेर रकम लिएका थिए ।
‘अहिले कानुनले निशालाई मिटरब्याजी भनेर उजुरी दिएका छन्,’ उनले भने, ‘तर प्रहरीले संलग्न नै नभएको घटनामा छोरा निरजलाई पक्राउ गरेको छ ।’
उजुरीकर्ता कानुनले २०७५ श्रावण ३१ गते कपाली तमसुक गरेर रकम लिएका थिए । तर, कानुनले प्रहरीलाई विभिन्न प्रलोभनमा पारी संलग्न नै नभएको व्यक्तिलाई पक्राउ गरेको गुप्ताले आरोप लगाए ।
आशंका बुबाले पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय बाराले गरेको ज्यादतिको बारेमा जानकारी दिएका हुन् । कपाली गरी लिएको रकम पटक पटक ताकेता गरि माग्दा पनि नदिएकोले जिल्ला अदालत बारामा आफूहरुले हालेको मुद्दा आफूहरुले जितेको उनले बताए ।
‘तर, सरकारले पछिल्लो समयमा मिटरब्याजीविरुद्ध अध्यादेश ल्याएपछि केही प्रहरीको मिलिमतोमा उल्टै संलग्न नै नभएको व्यक्तिलाई पक्राउ गरिएको छ,’ गुप्ताले सुनाए ।
|
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतर्फ अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
राति भने देशभर आंशिक देखि सामान्य रहनेछ। कोशी प्रदेश सहित देशका तराईका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।
|
जयपृथ्वी राजमार्गः दैनिक पहिरो, यात्रु सास्तीमा बैतडी। बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा दिनहुँ पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । राजमार्गअन्तर्गत बैतडीको श्रीभावर, ज्यापु, ढोल्यामोड, मोतीनगरसहित विभिन्न ठाउँमा पहिरो खस्ने गरेको छ ।
बझाङ जिल्ला जोड्ने र बैतडीका पनि सिगास, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिका पनि यही राजमार्ग भएर जानुपर्दछ । यही असार १० गतेदेखि हालसम्म उक्त राजमार्ग पाँचपटक बन्द भइसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । दिनमा सयौँ गाडी आवतजावत गर्ने राजमार्ग बेला–बेलामा अवरुद्ध हुने गर्नाले समस्या हुने गरेको यात्रुहरूले बताएका छन् ।
यो राजमार्गको घुम्ती कटिङ गरेर स्तरोन्नतिको काम सञ्चालन भएकाले झनै समस्या भएको छ । घुम्ती कटिङ गरेका स्थानमा पानी परेपछि पहिरो गएका छन् ।
प्रहरी निरीक्षक जोशीले भने, “घुम्ती कटिङ र स्तरोन्नतिको काम भएकाले बेला–बेला राजमार्ग अवरुद्ध हुने गरेको छ, हामीले बन्द भएको जानकारी पाउनसाथ खुलाउने प्रयास गर्छौं । जेसिबी पनि राजमार्गमै तयारी अवस्थामा राखेका छौँ ।”
बेला–बेलामा पहिराले राजमार्ग अवरुद्ध हुँदा सास्ती हुने गरेको सिगास गाउँपालिका–९ जालहाल्लाका लक्ष्मी चन्दले बताए। उनले भने, “गत वर्षहरूमा पनि बर्सातको समयमा पहिरो बेला–बेला जाने गरेको थियो, यो वर्ष घुम्ती कटिङको काम चलिरहेकोले झनै गइरहेका छन् ।”
पहिराले घन्टौँसम्म सडक अवरुद्ध हुँदा आकस्मिकरूपमा यात्रा गरिरहेका यात्रुलाई बढी समस्या हुने गरेको छ । उनले भने, “बर्सातमा सधैँ पहिरो जाने हुँदा यात्रा गर्दा निकै डर लाग्ने गरेको छ । बिरामी र आकस्मिक यात्रा गर्नेलाई झनै समस्या हुन्छ ।”
लगातारको वर्षाका कारण राजमार्गअन्तर्गत ज्यापुमा सडक माथिबाट ठूलो ढुङ्गा खसेपछि असार १७ गते राति बन्द भएको सडक १८ गते बिहानदेखि सञ्चालन भएको थियो । यसअघि असार १७ गते पनि सोही राजमार्गको सुर्नगा गाउँपालिका–८ ढोल्यामोड र सुर्नया गाउँपालिका–६ मोतीनगरमा पहिरो खसेर अवरुद्ध भएको थियो ।
असार १६ गते पनि सो राजमार्गअन्तर्गत बैतडीको सुर्नया–८ आलुगैरामा, असार १४ गते पाटन नगरपालिका–८ ज्यापुमा, असार १० गते सिगास गाउँपालिका–९ श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो ।
वर्षाको समयमा यात्रा गर्न समेत डर लाग्ने गरेको बझाङ बित्थडचिर–१ का राम बोहराले बताए। उनले भने, “साँघुरो सडक त्यसैमा बेला–बेला पहिरो खसिरहनाले घन्टौँ बीच बाटोमै बस्नुपर्छ, यात्रा गर्न निकै डर लाग्छ ।” बेला–बेलामा खस्ने पहिराको दीर्घकालीन समाधानका उपाय खोज्न यात्रुको माग छ ।
सडक अवरुद्ध भएमा तुरुन्तै सञ्चालनका लागि डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको र दीर्घकालीन समाधान घुम्ती सुधार गरी स्तरोन्नतिको काम सम्पन्न भएपछि मात्रै हुने सडक डिभिजन कार्यालय पाटनले जनाएको छ ।
|
पोखरामा ट्रेकिङ गाइड तालिम सुुरु गण्डकी। ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम)को प्राविधिक सहकार्यमा पाँचहप्ते ट्रेकिङ गाइड तालिम पोखरामा सुरु भएको छ ।
पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका तालिम सुरु गरिएको हो । आवश्यक मापदण्ड पूरा गरी अन्तर्वार्तामार्फत छनोट भएका तीन सय प्रशिक्षार्थी तालिममा सहभागी छन् ।
लेकसाइडस्थित तालवाराही माविमा विभिन्न छवटा सेक्सनमा विभाजन गरी तालिम दिइने संयोजक गोपालकृष्ण सङ्ग्रौलाले जानकारी दिए । विगत ३० वषयता विभिन्न समयमा गरी करिब एक हजार नौ सयलाई तालिम प्रदान गरिसकेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए ।
देशको राजनीतिक उतारचढाव, प्राकृतिक प्रकोपसँगै कोरोना महामारीलगायतका कारण पर्यटन क्षेत्रका मजदुर पलायन हुँदै गएका अवस्थामा हुन तालिम महत्त्वपूर्ण हुनेमा उनले विश्वास व्यक्त गरे । तालिमले दक्ष जनशक्ति उत्पादन मात्र नभई व्यवसाय गर्न इच्छुकका लागि पनि यो पहिलो खुड्किलो भएको उनले बताए ।
नाथमका प्राचार्य रामकैलाश विच्छाले टानसँगको सहकार्यमा सुरु गरिएको तालिम महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै सहभागीलाई अधिकतम ज्ञान, सीप हासिल गर्न आग्रह गरे। तालिममा सहभागीलाई नाथमका निर्देशक तथा तालिम संयोजक रतन साउदले अभिमुखीकरण गराएका थिए।
पोखरा आसपासका क्षेत्रमा विश्वकै १० उत्कृष्टमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, धवलागिरि चक्रीय पदमार्ग, सहस्राब्दी (मिलेनियम) पदमार्ग, पुनहिललगायतमा पछिल्लो समयमा पदयात्रा पर्यटनतर्फ आकर्षण बढिरहेको छ ।
|
मन्त्री किरातीसँगै वृक्षरोपणमा कलाकर्मी काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीसहित कलाकारले आज बिहान सानो हात्तीवनमा वृक्षरोपण गरेका छन्।
ललितपुरको सानो हात्तीवनस्थित किरात माङहिम परिसरमा गरिएको वृक्षरोपणमा गायक राजेशपायल राई, अभिनेता आर्यन सिग्देल, लोकदोहोरी कलाकार रीता थापामगर, दुर्गा रायमाझी, दीपक खड्का, पूर्णकला विसी, शिरिष देवकोटा, दामोदर भण्डारीलगायत सहभागी थिए ।
“आजको सुरुआत वृक्षरोपणबाट भयो । यिनको संरक्षणमा ध्यान दिनु आवश्यक छ”, अभिनेता सिग्देलले भने । किरात समाज महालक्ष्मी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ज्याकारान्डा, धुपीलगायत जातका बिरुवा रोपिएको थियो ।
|
कांग्रेस सभापति देउवाद्वारा भैरवसिंह रावल स्मृतिग्रन्थ विमोचन काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गरेका छन्।
भैरवसिह स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उनले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पु¥याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गरेका हुन्।
सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले अछामलगायत समग्र सुदूरपश्चिम क्षेत्रमा विकासमा एकताबद्ध भएर काम गरौँ भनी स्व रावलले भन्ने गरेको घटना स्मरण गरेयो ।
उनले भने, “रावलजीको अछामलाई वेग्लै जिल्लाका रूपमा स्थापित गराउन ठूलो योगदान छ, सुदूरपश्चिम क्षेत्र विकासमा पछि परेकाले सबै मिलेर काम गरी अघि बढाउनुपर्छ भनी प्रेरित गरिरहनुभयो ।”
मुलुकमा लोकतन्त्रका लागि भएको राजनीतिक आन्दोलन र परिवर्तनमा उनले खेलेको भूमिका उच्च रहेको बताउँदै सभापति देउवाले देश र जनहितका लागि रावलले देखाएको बाटोमा अघि बढन सम्पूर्ण पार्टी कार्यकतालाई आह्वान गरे ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजनीति स्थिरता, स्पष्ट दृष्टिकोण, शान्ति र आवश्यक संशाधन भएमा देशले छोटो समयमै विकास र समृद्धिमा सफलता हासिल गर्न सक्ने बताए ।
उनले भने, “अहिले राजनीतिमा जसले जति अवसर पायो त्यति नै असन्तुष्ट रहेको देखिएको छ, कसले कति प्राप्त गर्ने र आकांक्षा कति राख्ने भन्ने विषय पनि चोटिलो बन्न पुगेको छ, यस्तो बेला स्व रावलबाट हामीले प्रेरणा लिनुपर्छ ।”
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्व रावलले लोकतन्त्रका लागि गरेको सङ्घर्षबाट जिल्ला र क्षेत्र मात्र नभई समग्र मुलुकले लाभ प्राप्त गरेकाले देशका लागि उनी गर्व गर्न लायक र अनुकरणीय व्यक्तित्वका रूपमा स्थापित रहेको बताए।
पुस्तकका सम्पादक धनञ्जय तिमिल्सिना र वरिष्ठ पत्रकार एवं समालोचक पुरुषोत्तम दाहालले ताप्लेजुङदेखि डोटीसम्मका व्यक्तिले स्व रावलबारे लेखिएका पाठ्यसामग्री समेटिएको कृतिमा उनले राजनीतिक परिवर्तनका अतिरिक्त विद्यालय, बाटो जस्ता सामाजिक सुधारका माध्यमबाट पुर्याएको योगदानसमेत समेटिएको बताए।
उनीहरूले लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तमा अडिग स्व रावल लोकतन्त्र भनेको संस्कृति हो भन्ने दृष्टिकोणमा सुस्पष्ट रहेको धारणा व्यक्त गरे ।
प्रदेशसभा सदस्य मानबहादुर रावलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा सक्रियताका साथ योगदान पुर्याएका स्व रावलले अछामलाई बेग्लै जिल्ला स्थापना गर्दै त्यस क्षेत्रको विकास निर्माणमा खेलेको भूमिकाका विभिन्न पक्षमा धारणा राखे ।
लामो समयसम्म अछाम जिल्लामा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिकामा रही काम गरेका रावलको जन्म विसं १९८२ पुस २५ गते स्थानीय सात सय दरामा तथा निधन विसं २०६९ पुस ११ गते भएको हो ।
तीन सय पृष्ठको पुस्तकमा एक साहसी एवं धर्यवान् व्यक्तित्व, भैरवसिंह रावलः लोकतन्त्रका…, अन्तिम अन्तर्वार्ता, मान्छे मरी जाँदो वासना रै जाँदो, एक हार्दिक व्यक्तित्वलगायत शीर्षकमा लेख, अनुभव र विचार तथा तीन वटा अन्तर्वार्ता समेटिएको छ ।
|
दुई साताभित्र सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइन्छः स्वास्थ्यमन्त्री बस्नेत काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताएका छन् ।
सेवामूलक गैरसरकारी संस्था विजेन नेपालनवौँ वर्षमा प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइने जानकारी दिए ।
मन्त्री बस्नेतले भने, “आगामी साउन १ गतेबाट वीर अस्पतालबाट यो सेवा लागू गर्छौ । अस्पताल समयमा पनि चिकित्सक नभेटिने समस्यालाई यसले केही हदसम्म निरुत्साहन गर्नेछ । चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि काम गर्ने वातावरण बनाउन पनि मन्त्रालय दृढ छ ।”
मेडिकल कलेज सञ्चालनको स्वीकृति लिने बेलामा १० प्रतिशत शय्या निःशुल्क हुनुपर्छ भन्ने सम्झौता हुने गरेको र त्यसको कार्यान्वयनमा कडाइ गरिएको बताउँदै उनले यसबाट हजाराँै सङ्ख्यामा लक्षित समुदायलाई उपचारमा लाभ मिलेको छ भने ।
जनतालाई निःशुल्क र प्रभावकारी उपचार गराउन र त्यससम्बन्धी अनुभूति दिलाउन आफू लागिपरेको बताउँदै मन्त्री बस्नेतले उपचार सेवालाई सहज, सरल र सुलभ तुल्याउन अनलाइनका माध्यमबाट टिकट लिने व्यवस्था गर्न लागिएको उल्लेख गरे ।
उनले भने, “संविधानमा स्वास्थ्योपचारलाई मौलिक हकका रूपमा उल्लेख गरेको छ । व्यवहारमा त्यो छैन, अहिले पनि धेरै मानिसलाई अस्पताल पुग्न चुनौती छ, उपचार महँगो छ, औषधि पाइन्न । पाए पनि किन्न सकिन्न । पैसा नभएर उपचार नगरी घर फर्कनुपर्ने बाध्यता पनि छ ।”
नशा र जोर्नीसम्बन्धी उपचारमा थेरापी पद्धतिलाई गाउँ–गाउँमा पुर्याए औषधि नै प्रयोग गर्नपर्ने अवस्था भए विजेन नेपाल धेरैको भाग्यविधाता बन्न सक्ने बताउँदै उनले प्रत्येक व्यक्तिलाई स्वास्थ्य हुन एक घन्टा शारीरिक व्यायाम गर्न सुझाव दिए।
संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले करिब तीन सय कर्मचारीको सहायतामा संस्कार र मुस्कानसहित दैनिक १२ हजारभन्दा बढी बिरामीलाई थेरापीका माध्यमबाट उपचार प्रदान गरिरहेको जानकारी दिए।
‘पैसा होइन, मानवता प्राथमिकता’ भन्ने नाराका साथ संस्थाले काम गरिरहेको बताउँदै उनले यो पद्धतिले समाजलाई अनुशासन, सभ्यता र संस्कार पनि सिकाइरहेको उल्लेख गरे ।
संस्थाका कार्यकारी निर्देशक ज्ञानु लामिछानेले कोरियाबाट सुरु भई अमेरिका, चीन र भियतनाममा समेत ख्याति कमाएको वैकल्पिक उपचार पद्धतिका रूपमा रहेको निःशुल्क कोरियन थर्मल थेरापी पद्धतिले स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धिका हिसाबले अब्बल सावित भएको बताए।
मुलुकमा स्वास्थ्योपचार महँगो भइरहेका बेला बहुउपयोगी पद्धति र उपकरणमार्फत मुलुकका ५८ केन्द्रबाट सेवा प्रवाह भइरहेको सो अवसरमा जानकारी दिइयो । उक्त थर्मल थेरापी पद्धति खासगरी नशा र हाडजोर्नीका बिरामीलाई निकै लाभदायी ठहरिएको संस्थाको दाबी छ ।
|
गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला काठमाडौं। गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला लाग्ने गरेको एक अध्ययनले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र लिड्स नेपालले गरेको अध्ययनमा खाना पकाउँदा दाउरा प्रयोग गर्नेभन्दा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा ३० प्रतिशत बढी झाडापखला लाग्ने देखिएको हो ।
परिषद् र लिड्स नेपालले काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, धुलिखेल नगरपालिका र भुम्लु गाउँपालिकामा पाँच वर्षमुनिका बालबालिकामा गरिएको अध्ययनमा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला लाग्ने गरेको पाइएको हो ।
गोबर ग्यास प्रयोग गर्ने आमाले बच्चालाई दूध खुवाउँदा सरसफाइ नगर्ने, गोबर प्रयोगपछि साबुन पानीले राम्ररी हात नधुने, लुगा परिवर्तन नगर्ने जस्ता कारणले बालबालिकालाई झाडापखाला बढी लाग्ने गरेको अनुसन्धानमा संलग्न धीरज पोखरेलले जानकारी दिए।
उनका अनुसार गोबरमा रहेको जीवाणुले नै बालबालिकालाई झाडापखला लाग्ने र झाडापखालका कारणले बालबालिकाको वृद्धि विकासमा असर पर्ने बताए । झाडापखलाका कारण बालबालिकामा पुड्कोपनाको समस्या देखिन्छ । उक्त अध्ययनमा पाँच सय ५० बालबालिकामा गरिएको थियो ।
ती बालबालिकामध्ये ५० प्रतिशत गोबर ग्यास प्रयोगकर्ता परिवारका र ५० प्रतिशत दाउरा प्रयोग गर्ने परिवारका बालबालिका थिए । दुई वर्षमा गरिएको अध्ययनमा बालबालिकालाई के कस्ता खानेकुरा आएको, किन ज्वरो आएको जस्ता कुरा सोधिएको थियो ।
|
रोट्र्याक क्लबका युवा चुरे संरक्षण र हरित अभियानमा महोत्तरी। वन विनाश र चुरे दोहनको चपेटामा परेको बर्दिबासमा युवा हरित अभियानमा जुटेका छन् ।
चुरे काक्षमा रहेको बर्दिबासमा वर्षातभरीको समयमा सामुदायिक र सार्वजनिक जंगल क्षेत्रमा रोट्र्याक क्लव बर्दिबासले वृक्षारोपण अभियान चलाएको हो ।
नगरभित्र रहेका सामुदायिक वन र सार्वजनिक क्षेत्रहरुमा वृक्षारोपण गर्ने रोट्र्याक कलवका अध्यक्ष रविन पोखरेलले जानकारी दिए ।
‘यसकालागी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र पदाधिकारीहरुसंग छलफल भइरहेको छ,’ अध्यक्ष पोखरेलले भने ।
२३ असारदेखि सुरु गरिएको उक्त अभियानको पहिलो दिन कामी डाडा सामुदायिक वन क्षेत्रमा लगभग ४ सय बास र फलफूलका विरुवा रोपिएको रोट्र्याक क्लवले जनाएको छ ।
वनविनासका कारण विभिन्न प्राकृतिक प्रकोप सिर्जना भईरहेको अवस्थामा युवा कलवका सदस्यलाई चलाएको हरित अभियान प्रसंसायोग्य रहेको उधोग वाणिज्य संघ बर्दिबासका अध्यक्ष बिष्णु खडकाले बताए ।
त्यस्तै चुरे तथा नदी प्रणाली संरक्षणका अध्यक्ष निरज अधिकारीले यो जागरुकतामा अन्य युवा कलवहरुको समेत ऐक्यबद्धता रहनुपर्ने धारणा ब्यक्त गरे ।
|
सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध मुग्लिन। नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना-६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ ।
अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए । पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए ।
|
त्रिभुवन विमानस्थलमा विदेशबाट आउने यात्रुहरुको चेकजाँचमा कर्मचारीको लापरवाही काठमाडौं । त्रिभुवन विमानस्थलमा अध्यामगन विभाग तथा भन्सार विभागको मात्रै चेकजाँच रहेको स्थानमा प्रहरीको चेकजाँच रहनेगरी गृहमन्त्रालयले तयारी थालेको छ।
प्रहरीले विमानस्थलको सुरक्षा जाँच पास मागेको लामो समयपछि गृहमन्त्रालयले अर्थमन्त्रालय र निजामति कर्मचारीको नियन्त्रण र कार्यक्षेत्र रहेको अध्यागमन विभाग र भन्सार विभागसँग प्रहरीसहितको सुरक्षा जाँचपासबारे तयारी थालेको हो ।
‘विदेशबाट आउने यात्रुहरुको चेकजाँचमा लापारवाही देखिएको छ त्यसकारण पनि यी दुवै स्थानमा प्रहरीको उपस्थितिबारे मन्त्रालयले बहस थालेको छ, भन्सार चेकजाँचमा पनि प्रहरीको उपस्थिति रहनेगरी अर्थमन्त्रालयसँग कुराकानी गरिएको छ’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने ।
उनका अनुसार भन्सारबाट हुने कमजोरी र भन्सारकै कर्मचारी संलग्न भएर अपराधी छुट्ने अवस्थालाई रोक्न पनि प्रहरीको आवश्यकता महशुस गरिएको हो।
खासगरी ई–सिगरेट (विद्युतीय चुरोट)भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी घटनाभएपछि मन्त्रालयले भन्सार कार्यालयको चेकजाँचमा प्रश्न उठाएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सो बारे अनुसन्धान गरिरहेको छ ।
सो सुन चोरी गर्ने मूख्य योजनाकार भन्सार एजेन्ट दिनेश बस्नेत भएको खुलिसकेको छ। विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासँग मिलेर उनले नौ किलो सुन चोरी गरी बिक्री गरेका थिए ।भन्सार एजेन्ट बस्नेत र नासु खड्कालाई पक्राउ गरेको एक महिना हुँदा पनि चोरी भएको सुन भने बरामद हुन सकेको छैन ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूसहित चारजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर, सुन बरामद हुन सकेको छैन भने गिरोहमा संलग्न अन्य व्यक्तिहरूसमेत फरार छन् ।
‘भन्सारका कर्मचारीले सुन बरामद गरेपछि मानिसलाई त्यतिकै छाडेको देखिन्छ तर त्यहाँ प्रहरी भएको भए त्यो मानिसलाई पक्राउ गरी अनुसन्धान हुन्थ्यो’, मन्त्रालयका एक कर्मचारीले भने ‘यो विषय निकै गम्भीर भएकाले अर्थमन्त्रालयसँग भन्सार चेकजाँचपास बारे प्रश्न गरिएको छ मन्त्रीज्यूले पनि यो विषयमा कुराकानी गरेर प्रहरीलाई पनि चेकजाँजपासमा राख्नुपर्ने भन्दै अर्थमन्त्रालयसँग कुरा गरिसक्नु भएको छ’, गृहमन्त्रालयका एक कर्मचारीले भने । यो घटना गत पुस १०मा भएको थियो ।
सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले यो विषयमा अनुसन्धान भैरहेको धेरै कुरा बताउन नमिल्ने बताएकी छिन् । ‘यो विषयमा अनुसन्धान नै सकिएको छैन धेरै कुरा खुल्न बाँकी छ संगठित अपराध मुद्दामा हामीले पक्राउ परेका अभियुक्तविरुद्ध अनुसन्धान अघि बढाएका छौ’, एआइजी बज्राचार्यले भनिन्।
सो सुन विदेशबाट तस्करी गरी ल्याउने र चोरेर बेच्ने समूह फरक–फरक छन् । सुन बिक्री गर्ने केही पक्राउ परे पनि तस्करी गरेर ल्याउने गिरोहसम्म प्रहरी पुग्न सकेको छैन । घटना योजनाबद्ध र जटिल देखिएपछि प्रहरीले यसलाई संगठित अपराध कसुरमा पनि अनुसन्धान थालेको छ ।
त्यतिबेला के भएको थियो ?
गत १० पुसमा विमानस्थलस्थित भन्सार कार्यालयले विदेशबाट आएका एक यात्रुको दुई सुटकेस शंका लागेपछि रोकेको थियो । एक चिनियाँ नागरिकले ठूलो मात्रामा ई–सिगरेट ल्याएकामा शंका लागेर भन्सारले रोकेको थियो । एकै व्यक्तिले धेरै ई–सिटरेट ल्याएकाले त्यसमा आरसी (रिचेक) ट्याग लगाएर नियन्त्रणमा लिइएको थियो । भन्सार स्रोतका अनुसार एक्सरेको क्रममा सुनजस्तो शंकास्पद वस्तु पनि देखिएको थियो ।
त्यसरी शंकास्पद देखिएकामा सम्बन्धित व्यक्तिलाई पनि नियन्त्रणमा लिनुपर्ने हुन्छ । तर, ती सुटकेस लिएर आएका चिनियाँलाई त्यत्तिकै छाडिएपछि लामो समय सो सुटकेश भन्सारमै रह्यो । तस्करहरुले विद्युतीय चुरोट भनेर भन्सारबाट लिलाम गर्न लगाउने र नौ किलो सुन तस्करी गर्ने योजना रहेको थियो ।
स्रोतका अनुसार त्यसका लागि सेटिङ पनि मिलिसकेको थियो । लिलामीको अन्तिम तयारी हुँदा उनीहरूले सुटकेस चेक गर्दा त्यतिवेलासम्म ई–सिगरेटलाई अर्को स्थानमा पुर्याएर नयाँ कुनै इसिगरेट राखिएको थियो । सुटकेसको हेरचाह गर्ने जिम्मेवारी नासु खड्कालाई थियो । भन्सार एजेण्ट बस्नेतले नै अरू ई–सिटरेट किनेर खड्कालाई दिई साटफेर गरिएका थिए र सुन बाहिर लगिएको थियो । जसबापत खड्काले ६५ लाख रुपैयाँ लिएका थिए ।
स्रोतका अनुसार उनले करिब नौ करोड पर्ने सुन करिब ६ करोड रुपैयाँमा बिक्री गरेको खुलेको छ । यति ठूलो घट्नामा भन्सारकै कर्मचारी र भन्सार एजेण्ट संलग्न हुनुले प्रहरी अनुसन्धानको क्रममा विमानस्थलभित्र रहेको भन्सार चेकजाँचपासमा पनि प्रहरी राख्नुपर्ने आवश्यकता महशुस भएको गृहमन्त्रालयका कर्मचारीहरुले दावी गरेका छन् ।
यो पनि पढ्नुस्
लगेजको तौल बढाएर यात्रु ठग्दै त्रिभुवन विमानस्थलका कर्मचारी
|
ओखलढुंगामा मोटरसाइकल दुर्घटना, दुई जना घाइते ओखलढुंगा। जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन्। आज बिहान करीब साँढे १० बजेतिर स ७ प ८६८४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा परी मोटरसाइकल चालक मानेभञ्ज्याङ गाउँपालिका ५ का ३५ वर्षीय उत्तम राई र मोटरसाइकलको पछाडि बसेका सोही स्थानका ३९ वर्षका दान बहादुर श्रेष्ठ घाइते भएका छन्। उनीहरुको टाउको र अनुहारलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
मानेभञ्ज्याङ गाउँपालिका ५ को हिट्टी भन्ने स्थानको दक्षिण तर्फबाट उत्तर तर्फ आउने क्रममा मोटरसाइकल आफै अनियन्त्रित भै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिए।
घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु, ओखलढुङ्गा पठाइएको छ। हाल उनीहरुको उपचार भइरहेकाे र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।
|
लम्पिस्किनले गोरु मरेपछि किसानलाई हाते ट्याक्टर वितरण लमजुङ। दोर्दी गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । पालिकाले ७५ प्रतिशत अनुदानमा पालिका भित्रका ६० जना किसानलाई हाते ट्याक्टर वितरण गरेको हो।
धान रोपाईको समयमा लम्पि स्किन रोगका कारण गोरु मरेपछि मारमा परेका १३ किसान र यस अघि नै हाते ट्याट्क्टर माग आवेदन पेश गरेका ४७ जनालाई हातेट्याक्तर वितरण गरिएको छ । दोर्दी गाउँपालिका कृषि शाखाका कृषि प्रसार अधिकृति नरहरी घिमिरेका अनुसार लम्पीस्किन रोगले गोरु परेपछि रोपाइनै प्रभावित भएका १३ जना किसानलाई गाउँपालिकाको विपद व्यवस्थापन कोष मार्फत हातेट्याक्तर वितरण गरिएको हो । सो कृषि शाखाको चालु वर्षको कार्यक्रम अन्र्तगत ४७ जनालाई अनुदानमा हातेट्याक्टर वितरण गरिएको छ ।
कृषकहरुलाई ६ हर्ज पावरको ५५ वटा र ७ हर्ज पावरको ५ वटा हातेट्याक्टर वितरण गरिरेको कृषि शाखाले जनाएको छ । गाउँपालिकाले ६ हर्ज पावरको प्रति हाते ट्याक्टर ५७ हजारमा खरिद गरि पालिकाको ७५ प्रतिशत लागत र किसानहरुको २५ प्रतिशत १४ हजार रुपैयाँ पर्ने गरी उपलव्ध गराएको हो । यसैगरी ६८ हजार मुल्य बरावरको ७ हर्ज पावरको हाते ट्याक्टर किसानको २४ हजार २ सय ५० रुपैया पर्ने गरी उपलव्ध गराएको कृषि प्रसार अधिकृत घिमिरेले बताए ।
आफुले पालेका पशुमा रोग सक्रमणले मारमा परेका किसानलाई ट्याक्टर वितरणले केहि राहत मिलेको बताउदै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले हाते ट्याक्टरको प्रयोगले कम लागत, थोरै समयमा सहज रुपमा धेरै काम गर्न सकिने बताए।
पछिल्लो समय किसानहरुले गोरु पाल्ने क्रम निकै कम भएको छ । केहि किसानले पालेका गोरुहरु पनि लम्पी स्किन रोग संक्रमण भएपछि चिन्तित बनेका वेला पालिकाले अनुदानमा हाते ट्याक्टर उपलव्ध गराएपछि ठूलो राहत मिलेको किसानहरुले बताएका छन् । दोर्दी गाउँपलिकामा मात्र लप्पी स्किन संक्रमणका कारण १५ भन्दा बढी गोरु मरेको पशु शाखाले जनाएको छ ।
|
वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ कास्की। गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा शुक्रबार वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
प्रहरीले लोकसेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजात जाँच गर्ने क्रममा तीन जना नक्कली परीक्षार्थी प्रकाउ गरेको हो।
परीक्षार्थीको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक जना प्रकाउ परेका हुन् ।
|
घर भत्किँदा डोटीमा एक महिलाको मृत्यु डोटी। डोटीमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो।
शनिबार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमाण्डमा गएको १० जनाको टोलीले उद्धारको कार्य गर्दा बिहान ५ बजे मलासीको शव निकालेको थियो।
घटनाको आवश्यक अनुसन्धान भइरहेको र त्यसका लागि प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा ६ जनाको टोली खटिएको छ।
भत्किएको घरमा मृतक एक्लै रहेको उनका आफन्त तथा दिपायल सिलगढी नगरपालिका-६ का वडाध्यक्ष नरेश मलासीले जानकारी दिए। उनका श्रीमान् नेपाल प्रहरीमा कार्यरत छन्। उनी कैलालीबाट आउँदै गरेको मलासी बताउँछन्।
|
ककनीको पानी हङकङ र मकाउ निर्यात काठमाडौं। ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्।
गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताए।
हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको उनले जानकारी दिए।
“हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल रु ९० देखि रु एक सय पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास छ”, उनले भने।यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च जोडेपछि मात्रै पानीको बिक्री मूल्य कति राख्ने भन्ने निर्णय हुने कम्पनीको भनाइ छ।
“कम्पनी हङकङ र मकाउमा पानी निर्यातका लागि स्वीकृत पाइसकेको छ”, उनले भने, “पहिलो चरणमा एक कन्टेनरमा ११ सय कार्टुन पानी हङकङ निर्यात भइसकेको छ ।” उनका अनुसार तत्कालका लागि हङकङ र मकाउमा मात्रै मासिक १० कन्टेनर बराबरको पानी निर्यात गर्न सकिने सम्भावना छ ।
सामान्यतयाः यहाँबाट ४० दिनमा हङकङमा पानी निर्यात गर्न सकिन्छ । अन्य देशमा पनि माग भएमा मासिक आठदेखि १० कन्टेनर अर्थात् करिब एक लाख लिटर पानी निर्यात गर्न सकिने क्षमता कम्पनीसँग रहेको उनले जानकारी दिए। यद्यपि माग बढेको अवस्थामा क्षमता विस्तार गर्नेसमेत योजना रहेको उनले सुनाए। सञ्चालक खत्रीका अनुसार कम्पनीसँग हाल दैनिक औसतमा एक लाख लिटर पानी फिल्टरिङ र प्याकिङ गर्न सक्ने क्षमता छ ।
“हङकङ र मकाउपछि बङ्गलादेशमा पानी निर्यातका लागि प्रक्रिया निकै अगाडि बढेको छ”, उनले भने, “त्यसबाहेक कतार, साउदी अरब र अष्ट्रेलियमा पनि पानी निर्यातका लागि काम भइरहेको छ।”
कम्पनीले काठमाडौँको तारकेश्वर नगरपालिका–३ मा करिब रु १२ करोड लगानीमा चार रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरेको छ। कम्पनी सञ्चालकमा विकास खत्री, शालिग्राम ढुङ्गाना पुनकाजी महर्जन र राजु रिमाल छन्। चार जना मिलेर सन् २०१७ देखि वेभ नेपाल प्रालि सञ्चालन गरेका थिए । यसअघि उहाँहरु छुट्टाछुट्टै प्रोसेस पानीको व्यापार गर्दै आएका थिए।
कम्पनीले पानी शुद्धीकरणका लागि अमेरिकन प्रविधि ‘अल्ट्रा फिल्टरेसन’ प्रयोग गरेको छ । पानी शुद्धीकरणमा ‘ह्युमन ह्याण्ड’ कतै पनि प्रयोग नहुने र प्रोसेस सकिएपछि प्रत्येक बोतल र जारमा भरिने पानीको ल्याबमा परीक्षणसमेत गरिने उनको भनाइ छ ।
“एक कन्टेनर पानी हङकङ निर्यातका लागि प्रतिकन्टेनर २८ सयदेखि तीन हजार डलर पर्ने अनुमान छ । बीस फिटको कन्टेनरमा ११ सय कार्टुन पानी अट्ने गर्छ । विदेशमा पानी निर्यात गर्दा तीन सय, पाँच सय र एक लिटरको बोतलमा हाल निर्यात भइरहेको छ”, उनले भने।
कम्पनीको प्रयोग गर्ने पानीको स्रोत छ हजार छ सय ७० फिट उचाइमा रहेको ककनीमा पर्छ । स्प्रिङ वाटरको महत्व बुझाउन सक्ने हो भने भारतमा मात्रै पनि ठूलो परिमाणमा पानी निर्यात गर्न सकिने सम्भावना रहेको कम्पनीको बुझाइ छ । कम्पनीले हाल निर्यात गरिरहेको पानी ट्राउट जातको माछापालनका लागि पनि योग्य मानिन्छ ।
उनका अनुसार नेपालमा बिक्री गर्ने पानीको तुलनामा हङकङमा निर्यात गर्ने पानीको मूल्य बढी पर्छ । “हङकङ निर्यातका लागि सोहीअनुसारको बोतल आवश्यक पर्छ, जसले पानीको मूल्य बढी पर्छ”, उनले भने। कम्पनीमा हाल प्र्रत्यक्ष ३३ र अप्रत्यक्ष करिब पाँच सय जनालाई रोजगारी पाइरहेको उनको भनाइ छ ।रासस
|
आजको मौसमः मुलुकभर पानी पर्ने संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूका साथै बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्यासहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
साथै देशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
तसर्थ हावाहुरी भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
|
मेघ गर्जनसहित भारी वर्षाको सम्भावना काठमाडौं। मुलुकमा जारी मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन\चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । तराई भू–भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
भोलि शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै देशका कतिपय स्थानमा मेघ गर्जन\चट्याङसहित भारी वर्षा र हुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकाले सम्भावित जोखिमबाट बच्न सबैमा आग्रह गरिएको छ ।
|
null |
सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या जनकपुरधाम । सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका–५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश भन्ने अर्जुन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
अर्जुनले आज दिउँसो घरायसी झगडाको कारण श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
घाँटीमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
|
नेपाल प्रहरीको कार्ययोजना-२०८० तयार, आगामी साउन १ देखि लागू हुने (पूर्णपाठ) काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ ।
मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा कार्ययोजना तयार पारी लागू गर्न लागिएको हो ।
उक्त योजना आगामी साउन १ गतेदेखि लागू गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्ययोजनाले समयानुकूल साङ्गठानिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उनले आज उक्त कार्ययोजना सार्वजनिक गर्दै सेवा प्रवाहमा यसले सही ढङ्गले कार्यसम्पादन गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरी कार्ययोजना–२०८०, नेपाल प्रहरी कार्ययोजना–२०७९ को समीक्षा, कार्यान्वयन प्रक्रिया एवं कार्ययोजना बेन्चमार्क गतिविधिसम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
सो क्रममा प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले अहोरात्र जनताको जीउधनको सुरक्षामा खटिनुपर्ने जिम्मेवारी बहन गर्न उच्च मनोवलयुक्त प्रहरी कर्मचारीबाट मात्र सम्भव भएकोले आन्तरिक शुद्धिकरण, वैज्ञानिक र विशिष्टिकृत अपराध अनुसन्धान प्रणाली, प्रहरी कर्मचारीका आधारभूत आवश्यकताको परिपूर्ति, वृत्ति विकास र कल्याणकारी योजना यस कार्ययोजनाको मुख्य लक्ष्यमा परेको उल्लेख गरे ।
प्रचलित कानुनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढीकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने कार्ययोजनाको उद्देश्य रहेको छ ।
कार्ययोजनामा १३ वटा मुख्य लक्ष्य, ४० वटा लक्ष्य अनुरूपको कार्यगत उद्देश्य र एक सय ८३ वटा क्रियाकलाप समेटिएका छन् । नेपाल प्रहरीको आन्तरिक सुदृढिकरण योजनातर्फ पाँच वटा र नागरिक केन्द्रित प्रहरी सेवातर्फ चारवटा गरी प्राथमिकताको आधारमा जम्मा नौ वटा बेन्चमार्क गतिविधि निर्धारण गरिएको छ ।
प्रहरी कर्मचारीको सङ्घीय संरचना अनुरुप समायोजन गर्नेलगायत १३ वटा मुख्य लक्ष्य रहेको उक्त कार्ययोजनामा नेपाल सरकारको न्यूनतम साझा कार्यक्रम, आव २०८०\८१ को स्वीकृत नीति कार्यक्रम, गृह प्रशासन सुधार योजना २०७८, गृह मन्त्रालयको वर्तमान प्राथमिकताका क्षेत्र, नेपाल प्रहरीको रणनीतिक योजना, नेपाल प्रहरीद्वारा कार्यान्वयन गरिएका विगतका कार्ययोजनाको अध्ययनको साथै नेपाल प्रहरीको प्राथमिकतागत क्षेत्रहरूको पहिचान, वर्तमान समस्या तथा चुनौती दृष्टिगत गर्दै कार्ययोजनाका गतिविधि निर्धारण गरिएको छ ।
|
पोखरामा २८ सय रोपनी जग्गा दर्ता गराइदिने भन्दै करोडौँ ठगी गरेका पन्त पक्राउ काठमाडौं। छुट जग्गा दर्ता गराइदिने भन्दै झूठो काम गरेको र ठगी आरोपमा प्रफुल्ल राणा भनिने प्रमोदराज पन्त पक्राउ परेका छन्।
दुई करोड ८८ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। उनी यसअघि पनि पक्राउ परेका थिए।
उनले दीपेशचन्द्र बज्राचार्यलाई दुई करोड ८८ लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाई छ। पोखरामा दुई हजार आठ सय रोपनी जग्गा दर्ता गरिदिने भन्दै उनले ठगी गरेको प्रहरीको दाबी छ।
काम नगरेपछि पैसा फिर्ता माग्दा उनले उजुरी नगर्न धम्की दिँदै आएका थिए। उच्च प्रहरी अधिकारीसँग चिनजान भएकाले उजुरी गरे पनि कसैले पक्राउ गर्न नसक्ने भन्दै उनले पीडितलाई धम्क्याउने गरेका थिए। ठगीमा उनलाई सघाउने सोजेनमान मालाकारलाई पनि प्रहरीले पक्राउ गरेको छ।
ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणालाई धम्क्याएको आरोपमा प्रहरीले आठ वर्षअघि उनलाई पक्राउ गरेको थियो। छुटेपछि पनि उनको धम्की र ठगीको धन्दा चलिरहेको प्रहरीको दाबी छ।
|
कैलालीको घोडाघोडीमा फेला परेको बम सेनाद्वारा निष्क्रिय सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको इलाका प्रहरी कार्यालय पछाडि बन्दै गरेको नालामा फेला परेको प्लास्टिक ग्रेनेड बमलाई नेपाली सेनाको टोलीले आज दिउँसो निष्क्रिय पारेको छ ।
बिहान कामदारले नाली खन्ने क्रममा विस्फोटक पदार्थ ९बम० देखेपछि इलाका प्रहरी कार्यालय सुखडलाई खबर गरेका थिए ।
खबर लगत्तै बढैपुरबाट आएको सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र वीर विश्वकर्मा जानकारी दिए । प्लास्टिक ग्रेनेड बम द्वन्द्व कालको समयमा लुकाइए छिपाई राखिएको हुन सक्ने आशङ्का गरीएको छ ।
|
बैतडी एक नाबालिकमाथि बलात्कार धनगढी । बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।
पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोट घर भएका राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन् । कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ ।
अभियुक्त कुँवरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।
|
गैँडा मारेर २५ वर्षदेखि फरार रहेका भीमबहादुर पक्राउ भरतपुर । गैँडा मारेर खाग बिक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।
निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थमा खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार चितवन कालिका नगरपालिका–२ का ५६ वर्षीय मिने साइला भन्ने भीमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको हो ।
विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थापालाई बिहीबार साँझ पक्राउ गरी आजै कारागार कार्यालय भरतपुरमा चलान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जको २०५७ माघ २५ गते फैसला अनुसार भीमबहादुरलाई १० वर्ष कैद र रु एक लाख जरिवाना सजाय सुनाइएको थियो । त्यसयता भीमबहादुर फरार थिए ।
भीमबहादुरलाई २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा गैँडा मारेर खाग लगेको अभियोगमा दोषी ठहर गरिएको थियो । सो घटनामा १७ जना प्रतिवादीहरु संलग्न रहेको खुलेको थियो ।
|
तीन सातादेखि फक्ताङलुङमा मोबाइल सेवा अवरुद्ध फुङ्लिङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ। गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको हो।
मोबाइल सेवा बन्द हुँदा सूचना आदन–प्रदान ठप्प भएको स्थानीय रोशन लिम्बूले बताए। “अहिले बाढीपहिरोको गइरहेको छ, यस्तो अवस्थामा नेटवर्क नहुँदा सञ्चार सेवा नचल्दा समस्या भएको छ”, उनले भने।
उनका अनुसार गाउँमा सञ्चार सेवा अवरुद्ध भएको तीन साता भइसकेको छ। “साँझ बिहान पानी परिहेको छ। बाढी पहिराले कहाँ, कति क्षति गर्यो, कहाँ–कहाँ जोखिम बस्ती रहेको छ भन्ने विषयमा सूचना समेत पाउन नसकेको अवस्था छ”, उनले भने।
फक्ताङलुङ गाउँपालिकामा बाहेक अन्यत्रका टावर भने सञ्चालनमै रहेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए। “ताप्लेजुङका टावर सबै राम्रो अवस्थामा छन्। फक्ताङलुङको मुरिङलामा रहेको टावरमा मात्रै समस्या देखिएको हो, टावरमा देखिएको समस्या समाधानका इलाम कार्यालयबाट प्राविधिक टोली आउनुपर्ने हुन्छ”, उनले भने। उनका अनुसार पाँचथरको हेवाखोलामा पुल निर्माण भएपछि इलामबाट प्राविधिक आउने जानकारी प्राप्त भएको छ।
हेवाखोलामा कहिले बन्छ बेलीब्रिज ?
पाँचथरको हेवाखोलामा रहेको मोटरेबल पुल तीन साताअघि बाढीपहिराले बगाएसँगै मेची राजर्माग अवरुद्ध छ। गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिराले मेची राजमार्ग अवरुद्ध भएको थियो। जसका कारण ताप्लेजुङसँग अन्य जिल्लाको सडक सञ्जाल विच्छेद भएको छ।
पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालिकासँग सडक सम्पर्क विच्छेद भएको हो। बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलीब्रिज अझै सकिएको छैन।
पुल बगाएकै दिन सरकारले तत्काल बेलीब्रिज हाल्ने निर्णय गरेको थियो। पुल नहुँदा ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्नलगायका सामग्री अभाव हुन सुरु गरेको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले बताए। लामो समय राजर्माग अवरुद्ध हुँदा ताप्लेजुङमा खाद्यवस्तु तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसकेको संघले जानएको छ। – रासस
|
शंकास्पद बिलबिजक भएको १७ लाखभन्दा बढीको ईलेक्ट्रोनिक सामान बरामद बारा। शंकास्पद बिलबिजक भएको १७ लाख भन्दा बढीको ईलेक्ट्रोनिक सामान प्रहरीले बरामद गरेको छ।
बारा जिल्लाको निजगढ नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजकार्गको बकैया पुल ईलाकाबाट प्रहरीले शंकास्पद बिलबिजक भएको १७ लाख ६६ हजार ८ सय ३८ रुपैयाँ बराबरको ईलेक्ट्रोनिक सामान बरामद गरेको हो।
विपद् व्यवस्थापन सुरक्षा बेस निजगढले उल्लेखित मूल्य बराबरको १६ वटा कार्टुन ईलेक्ट्रोनिक सामान बरामद गरेको हो। महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०७४४ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा ईलेक्ट्रोनिक सामानको बिलबिजक शंकास्पद देखिएपछि बरामद गरिएको हो।
बरामद ईलेक्ट्रोनिक सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।
|
स्रोत नखुलेको नगदसहित २० वर्षीय भारतीय युवक पक्राउ महोत्तरी। स्रोत नखुलेको नगदसहित प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी-५ बस्ने २० वर्षीय चन्दन कुमार साफी रहेका छन्।
जलेश्वर नगरपालिका-३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित साफीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बिआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
|
एलओडीका सञ्चालक रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ काठमाडौँ। काठमाडौं ठमेलमा सञ्चालित चर्चित नाइट क्लब एलओडीका रुदिल बल्लव श्रेष्ठ पक्राउ परेका छन्।
नाबालिगलाई प्रवेश गराएको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको हो। यसअघि बिहीबार सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ गरिएको थियो।
ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर ललितपुर प्रहरी परिसरले उनीहरुलाई पक्राउ गरेको हो ।
गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन्। सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले पक्राउ गरेको हो।
उनीहरुविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ उल्लंघन गरेको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।
|
पानीमा क्याराभानले गरेको पिच भत्काउन निर्देशन जाजरकोट। नयाँ सहर आयोजनाले रुकुमपश्चिमको चौरजहारी नगर पालिकाको मुख्य बजार लाइनमा गरिएको कालो पत्रे उप्काउन निर्देशन दिएको छ।
रुकुमपश्चिम नगरपालिका–२ स्थित नयाँ बजारमा बुधबार बेलुका गरिएको कालोपत्रे उतारेर नयाँ कालोपत्रे गर्न निर्देशन दिइएको हो। चौरजहारी नयाँ सहर आयोजना कार्यालय अन्तर्गत क्याराभान कन्स्ट्रक्सनले कालोपत्रे गर्ने ठेक्का पाएको थियो। पानी परेको र सडकमा भल बगिरहेको बेला कालोपत्रे गरिएपछि आयोजनाले पुनः कालोपत्रे गर्न निर्देशन दिइएको हो।
कमसल कालोपत्रे गरिएको भन्दै स्थानीयवासी र सरोकार निकायले चासो दिएपछि बिहीबार आयोजना कार्यालयले अनुगमन गरेको थियो। आयोजना प्रमुख सुशील आचार्यका अनुसार पानी परिरहेको र सडकमा समेत पानी जम्मा भइरहेको बेला कालोपत्रे हाल्ने काम भएको पाइएकाले तत्काल सो काम सुधार गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ।
पानीका बीचमा गरिएको कालोपत्रे निकाल्ने र बिग्रेको काम सुधार गर्न ठेकेदार कम्पनी सहमत भएको छ। चौरजहारी नगरपालिका प्रमुख पुष्प वादी, नयाँ सहर आयोजना प्रमुख सुशील आचार्य, क्याराभान कन्स्ट्रक्सनका प्रतिनिधि यमराज थकाली, इन्जिनियर,स्थानीयवासीसहितको छलफलले बिग्रेको काम सुधार्न सहमति निकालेको हो। चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले झरी कै बिच कालोपत्रे भइरहेको खबर पाएलगत्तै तत्काल काम रोक्न र बिग्रेको काम सुधारेर गुणस्तरीय बनाउन निर्देशन दिइएको बताए।
ठेकेदार कम्पनीका प्रतिनिधि यमराज थकालीले कालोपत्रेको काम गर्दै गर्दा पानी परकाले समस्य भएको बताए। स्थानीय क्षितिज विष्टले स्थानीयले गरेको गुनासो सरोकारवाला निकायले सुनुवाइ गरेको बताए।
उनले झरी परिरहेको र भल बगिरहेको बेला पनि लापरबाहीपूर्ण तरिकाले कालोपत्रे गरिरहेकाले आफूहरूले सामाजिक सञ्जाल समेतमा त्यस कार्यको विरोध गरेको बताए। जता पनि कामहरु लथालिंग बनाउनेमा क्याराभानको नाम पहिलो नाममा रहेको छ। भेरी करिडोर भित्र ६ वटा पुल अलपत्र परेको क्याराभान सत्ता र शक्तिको भरमा जथाभावी गर्दै आएको छ।
|
खानीगाउँमा घरैपिच्छे बाख्रापालन गलेश्वर। दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाले।
उनले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गरे। बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाएका छन्। सुरुआतमा १७ स्थानीय र चार अस्ट्रेलियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गरेका उनले अहिले एक सय २० बाख्रा पालेका छन्।
बुढाथोकीले मात्रै होइन २६ परिवारको बसोबास रहेको खानीगाउँका सबै व्यावसायिकरुपमा बाख्रापालनमा होमिएका छन्। गाउँको नाम नै खानीगाउँबाट ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ। हरेकका घरमा बाख्राको व्यवस्थित खोर बनाइएको छ। तीन वर्षयता बुढाथोकीले बाख्रा र बोका बिक्री गरेर वार्षिक रु १० लाख आम्दानी गरेको बताए।
“विदेशबाट फर्किएपछि रु ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म खोले”, उनले भने। बाख्रापालन मात्रै होइन बुढाथोकीले अहिले व्यावसायिक तरकारी खेतीसमेत गर्दै आएका छन्। उनले सुन्तलाका तीन सय बिरुवासमेत लगाएका छन्। “वार्षिक रु १५ लाख आम्दानी गर्ने लक्ष्य छ”, उनले भने।
विदेशमा सिकेको सीपको सदुपयोग गर्दै बाख्रापालन व्यवसाय र कृषि उद्यम थालेको ४८ वर्षीय बुढाथोकीले बताए। “मेरै बाटो पछ्याएर गाउँका अरुले बाख्रापालन थालेका हुन्, तरकारी खेती र बाख्रापालनले गाउँको परिचय नै फेरिएको छ”, उनले भने। सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा परिवर्तन आएको उनको अनुभव छ।
बुढाथोकीको सिको गरी गुप्तेश्वर कृषक समूह नै गठन गरेर समुदाय नै बाख्रापालनमा लागेको छ। “चरनको समस्या छैन”, बाख्रापालक कृषक राजन राम्जालीले भने। विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदानसहितका कार्यक्रममा समेत सिंगो गाउँमा वितरण गर्ने, समूह बनाएर सीप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन गरिँदै आएको छ।
विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जंगलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ। “मिलेर बाख्रापालन गरेका छौँ”, राम्जालीले भने।
बाख्रापालन, कृषिका साथै सुन्तला खेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँच वर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफूल खेतीबाट लाखौँ भित्रिने स्थानीय बताउँछन्। खानीगाउँका कृषकले खेर गएको जमिनमा सुन्तला खेतीसहित कृषि खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राइखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाएका छन्।
मंगला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ। गुप्तेश्वर कृषक समूहमा हाल ३४ कृषक आबद्ध छन्। उनीहरुले ६ सयभन्दा बढी बोका, बाख्रा र पाठापाठी पालेका छन्।
गाउँपालिकाले उनीहरुलाई रु २२ लाख अनुदानसमेत दिएको गाउँपालिकाका प्रवक्ता एवं कुहुँका वडाध्यक्ष एकजित रोकाले बताए। मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकालाई कृषि र पशुपालनमा नमूना गाउँ बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएको बताए। – रासस
|
इलाममा श्रीमतीको हत्या गरी आत्महत्या मंगलबारे। इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्।
माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए। राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ।
गए राति करिब १०ः३० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको उनले बताए। राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीचौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ।
गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको एसपी घिमिरेले जानकारी दिए। पिताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन्। अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
|
अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला काठमाडाैं। अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन्।
३१ वर्षीय ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार साँझ मृत भेटिएका हुन्। उनी बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएकाे छ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ। कलाकार तथा फिल्म इन्डस्ट्रिजहरूले सारुकप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
सारुकले ‘इन्टु मिन्टु लन्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’लगायत फिल्ममा अभिनय गरेका छन्। हाल छायांकन भइरहेको ‘ह्यासट्याग माया’ अभिनय गरिरहेका उनी अपरान्ह सुटिङबाट घर फर्किएको बताइएको छ। सारुक पाका अभिनेता सानु ताम्राकारका छोरा हुन्।
|
आजको मौसमः मुलुकभर वर्षा हुने, सडक र हवाइ यातायाता प्रभावति हुन सक्ने काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। देशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ-गर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।
|
अष्ट्रेलियन राजदूत भोल्कद्धारा वनमन्त्री महतोसँग भेटवार्ता, नेपाल र अष्ट्रेलियाको वन क्षेत्रमा सहकार्यबारे छलफल काठमाडौं। नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र महतोसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । वन मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र अष्ट्रेलियाबीच नेपालको वन क्षेत्रमा भएको काम र सहयोगबारे छलफल भएको छ ।
सो अवसरमा नेपालको खासगरी मध्य पहाडी क्षेत्रमा अष्ट्रेलिया सरकारको सहयोगमा संचालित नेपाल अष्ट्रेलिया सामुदायिक वन विकास कार्यक्रमदेखि हालसम्मको सहयोग र सहकार्यका साथै हाल संचालित वनसम्बन्धी परियोजनाको बारेमा छलफल भएको जनाईएको छ।
मन्त्री महतो र राजदूतबीच नेपालका स्थानीय तहहरुमा जलवायु वित्त परिचालन गर्ने, क्षेत्रीयस्तरमा सञ्चालन हुने जलवायु बित्तमा पहुँचसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम, नेपालमा संचालन भैरहेको इनलिफ्ट कार्यक्रम र अष्ट्रेलियन अवार्ड छात्रवृत्तिलगायतका बिषयमा विचार आदानप्रदान भएको थियो ।
उनीहरुबीच वन विकास तथा व्यवस्थापनमा प्रविधिको प्रयोग, वन डढेलो नियन्त्रण तथा रोकथाम र प्रदुषण नियन्त्रण, जडिबुटी तथा सुगन्धित तेलजन्य वनस्पतिको सम्भावना, मानव वन्यजन्तुबिच द्वन्द व्यवस्थापन र अनुसन्धान र विकास बिषयमा छलफल भएको थियो ।
साथै, आगामी दिनमा नेपाल र अष्ट्रेलियाको वन क्षेत्रमा सहकार्य जारी रहने जनाइएको छ ।
|
‘नारी’ टेलिभिजन प्रसारणमा काठमाडौं। नेपालको पहिलो महिला टेलिभिजन च्यानलका रुपमा ‘नारी’ टेलिभिजनको एचडी प्रशारण प्रारम्भ भएको छ ।
नारीका नसुनिएका कथा, उत्पीडनको व्यथा, भूमिका र महत्व, समाज परिवर्तनमा अग्रसरतालगायतका कुरालाई टिभीले समेट्ने उदेश्य राखिएको अध्यक्ष निकिता पौडेलले जानकारी दिए ।
उनले भने, “महिलाका हकहित, अधिकारका निमित्त टिभी सदैव क्रियाशिल रहने छ, नारीहरुको आवाजका रुपमा पहिलो महिलासम्बन्धी टेलिभिजन प्रसारणमा ल्याउन पाउनु अवसर हो ।”
प्रसारण प्रारभ्म भएसँगै ‘माइती घर’ र ‘आजको नारी’ नामक कार्यक्रम र समाचार पनि प्रसारणमा गरिएको छ । बाजुराको बूढीगङ्गा नगरपालिका–१० मा एक कार्यक्रमको आयोजना गरी टेलिभिजन औपचारिकरुपमा प्रसारणमा ल्याइएको हो ।
|
बाराको एक घरबाट १ सय ६८ किलो गाँजा बरामद बारा । बाराको कोल्हवी नगरपालिका ५ सोनाभार टोलमा बस्ने जितेन्द्र चौधरीको घरबाट प्रहरीले लागूऔषध गाँजा १ सय ६८ किलो फेला पारेको छ ।
अवैध लागूऔषध गाँजा लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा गएको प्रहरी टोलीले उक्त परिणामको गाँजा फेला पारेको हो ।
चौधरीको घरमा कोही मानिसहरु नभएकोले स्थानीय जनप्रतिनिधी तथा स्थानीय मानिसहरूको रोहवरमा घर खानतलासी गर्दा घरको कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा १६८ किलो फेला परेको प्रहरीले जनाएको छ ।
उक्त गाँजा रितपूर्वक बरामद गरी ईलाका प्रहरी कार्यालय कोल्हबी बारामा राखिएको छ । घरधनी जितेन्द्र चौधरी लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोज तलास लगायतको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
|
सवारीसाधनमा चोरी गर्ने चार जना पक्राउ ललितपुर । ललितपुरको ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट सात हजार ४७ डलर (नौ लाख २३ हजार एक सय ५७) रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
चोरी भएको जाहेरी परेपछि खोजतलासका क्रममा दुई लाख नगदसहित सञ्जीव तामाङ, आइतमान तामाङ, सविना तामाङ र मङ्गललक्ष्मी श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरी थप कारबाहीका लागि ललितपुर प्रहरीमा बुझाएको छ ।
उनीहरूको साथबाट दुई लाख नगदसहित मोबाइल बरामद गरिएको छ । उक्त डलर साट्ने कार्यमा भने मङ्गललक्ष्मी श्रेष्ठ रहेको फेला पारेपछि उनलाई पनि पत्राउ गरिएको छ । उनीहरूलाई चोरीसम्बन्धी कसुरमा थप आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल बुझाइएको रेग्मीले बताए ।
|
यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ धनगढी। डडेल्धुरामा यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ परेका छन् । आलितालबाट बाल यौन दुर्व्यवहार गरेको आरोपमा विक्रमबहादुर विष्ट पक्राउ परेका हुन् ।
आलिताल गाँउपालिका वडा नम्बर ६ रन्तोलाका २६ वर्षिय विष्टलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो । उनी विवाहित पुरुष हुन् । उनले १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । उनले बुधबार अपरान्न बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा निवेदन परेको थियो ।
घटनामाथि थप अनुसन्धान जारी रहेको डडेल्धुरा प्रहरीले बताएको छ ।
|
एलओडीका सञ्चालक राजु सिंह सुवाल पक्राउ काठमाडौं। उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स)का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् ।
एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो ।
उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको ललितपुरका प्रहरीले जनाएको छ ।
|
एसईई नतिजाः माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे काठमाडौं। माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ ।
प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो ।
अघिल्ला वर्षमा कोभिड– १९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा हाल नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिपिए शून्य दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन् । संवत् २०७८ को परीक्षाको परीक्षाफलमा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए ।
जिपिए एक दशमलव २० देखि एक दशमलव ६० सम्ममा यसवर्ष ३८ हजार सात सय ७७ अर्थात् सात दशमलव ९९ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष नौ प्रतिशत थिए ।
जिपिए एक दशमलव ६० देखि दुईसम्म प्राप्त गर्ने यसवर्ष ८८ हजार चार सय ४७ अर्थात् १८ दशमलव २४ विद्यार्थी छन् भने गतवर्ष २० दशमलव ३० प्रतिशत थिए ।
जिपिए दुईदेखि दुई दशमलव ४० सम्म यसवर्ष एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१ दशमलव ०९ विद्यार्थी छन् भने गत वर्ष २३ प्रतिशत थिए ।
जिपिए दुई दशमलव ४० देखि दुई दशमलव ८० सम्म ल्याउनेमा यसपटक ८९ हजार तीन सय ३१ अर्थात् १८ दशमलव ४२ छन् भने गतवर्ष १८ दशमलव ३१ प्रतिशत थिए ।
जिपिए दुई दशमलव ८० देखि ३ दशमलव २० सम्ममा ७२ हजार तीन सय ६२ अर्थात् १४ दशमलव ९२ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष १४ दशमलव १९ प्रतिशत थिए ।
जिपिए तीन दशमलव २० देखि तीन दशमलव ६० ग्रेड ल्याउने ५५ हजार ६९ अर्थात् ११ दशमलव ३६ प्रतिशत छन् भने गत वर्ष ८ दशमलव ४० प्रतिशत थिए ।
जिपिए ३ दशमलव ६० देखि चार प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यसवर्ष २२ हजार चार सय ७५ अर्थात् चार दशमलव ६३ प्रतिशत छ भने गतवर्ष एक दशमलव ९४ प्रतिशत विद्यार्थी थिए । यसवर्ष ननग्रेडेड हुनेमा १३ हजार नौ सय ९२ अर्थात् दुई दशमलव ८९ प्रतिशत विद्यार्थी छन् ।
परीक्षामा चार लाख ८४ हजार नौ सय ३९ नौ विद्यार्थी रहेकामा चार सय ३१ विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने दुई सय ९० विद्यार्थीको परीक्षाफल स्थगन गरिएको बोर्डले जनाएको छ ।
अक्षराङ्कन पद्धतिबमोजिम ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम अङ्क प्राप्त गर्नेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताकङ् हुनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम प्राप्ताकङ् हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताकङ् हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताकङ् हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताकङ् हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताकङ् हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताकङ् हुनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षा प्रणालीको सुधार र कक्षाकोठाको वातावरणमा सुधार आएमा नतिजामा सुधार आउने भन्दै समग्र नतिजाको मूल्याकङ्कनबारे विस्तृत अध्ययनपछि के आधारमा सुधार आयो भन्न सकिने बताए।
उनले सामुदायिक र संस्थागत विद्यालयका आधारमा नतिजालाई तुलना गरेर विद्यार्थीबीच विभेद सिर्जना नगरिने स्पष्ट पारे ।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले समग्रमा गत वर्षभन्दा यसवर्षको नतिजा सकारात्मक रहेको बताएका हुन् । अक्षराकङ्न पद्धतिमा नतिजा प्रकाशन गर्दै आएको बोर्डले विषयगत र प्रदेशगत परीक्षाफलको नतिजा पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
बोर्डले मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गर्नेछ ।
प्रकाश सिलवाल\रासस
|
एसईई नतिजा : २२ हजार ४७५ जनाले ल्याए ३.६ देखि ४ जिपिए काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा बिहिबार सार्वजनिक गरेको छ। प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५ छ। यो एसईईमा सहभागी कुल विद्यार्थी सङ्ख्याको चार दशमलव ६३ प्रतिशत हो ।
त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।
सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।
|
एसईईको नतिजा सार्वजनिक काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरिएको छ।
बिहीबार बोर्डको बैठकपछि गत चैत १७ गतेदेखि २९ गतेसम्म चलेको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो।
२ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो।
२०७२ सालको प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ।
नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ।
|
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु पोखरा। कास्कीको पोखरा महानगरपालिका १४ चाउथेमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। पछाडि सवार युवक भने घाइते भएका छन्।
मृत्यु हुनेमा पोखरा महानगरपालिका २७ तालचोकका ३४ वर्षीय प्रज्वल गुरुङ रहेका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गुरुङको बिहीबार बिहान सवा ५ बजे मृत्यु भएको हो। घाइते भएका स्कुटरमा सवार पोखरा २७ अर्घौं अर्चलेका २७ वर्षीय विमल गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ।
चाउथेबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जिपले विपरित दिशाबाट आउँदै ग ८ प ५८३८ नम्बरको स्कुटरलाई आज बिहान साढे ४ बजे ठक्कर दिएको थियो। जिपसहित चालक वडा प्रहरी कार्यालय रामबजारले नियन्त्रणमा लिएको छ।
|
एसईईको नतिजा आजै सार्वजनिक गर्ने परीक्षा बोर्डको निर्णय काठमाडौं । शैक्षिकसत्र २०७९ को माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गर्ने निर्णय गरिएको छ ।
बिहीबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यद्यपि, यसबारे बोर्डले औपचारिक रुपमा जानकारी गराइसकेको छैन ।
जारी बैठकले नतिजा बिहीबार नै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । यसबारे थप छलफल चलिरहेकाले निर्णय सार्वजनिक गरिएको छैन ।
गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।
|
वैदेशिक रोजगारीले गाउँघर युवाविहीन, भेटाउनै मुस्किल नवलपुर। वैदेशिक रोजगारीका लागि विदेश जाने युवा जनशक्ति बढेसँगै गाउँघर युवाविहीन बन्दै गइरहेका छन् । युवावर्ग शिक्षा तथा वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्दै जाँदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिकमात्रै देखिन थालेका छन् ।
नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाको ग्रामीण क्षेत्रबाट प्रतिपरिवार कम्तीमा एकजना वैदेशिक रोजगारमा गएका स्थानीयवासी बताउँछन् । मध्यविन्दु–३ का अगुवा गुणराज पौडेलले स्थानीय युवा १८ वर्ष पुगेपछि राहदानी बनाएर विदेश जाने तयारीमा लाग्ने गरेका बताए।
“यहाँका युवाहरु १८ वर्ष पुग्ने वित्तिकै वैदेशिक रोजगारमा जानका लागि पासपोर्ट बनाउँछन्” उनले भने, “सक्ने १२ पास गरेपछि अध्ययनका लागि भन्दै विदेश जान्छन्, नसक्नेहरु पासपोर्ट बनाएर मेलेसिया, कतारलगायत खाडी मुलुकतिर जाने गरेका छन् ।”
कुनै आकस्मिक काम परेर युवा खोज्दा गाउँमा युवा भेटाउनै मुस्किल हुने गरेको पौडेलले गुनासो गरे।
“नगरपालिकाभित्र पर्ने भए पनि पिछडिएको क्षेत्र भएकाले यहाँबाट कमाउनका लागि विदेश जाने युवा धेरै छन्” उनले भने, “वैदेशिक रोजगारमा जाने क्रम रोकिएन भने गाउँमा मलामी जाने युवाको समेत अभाव हुने सम्भावना देखिएको छ ।”
वैदेशिक रोजगारमा नगएका युवा पनि अध्ययन तथा अवसरको खोजीमा जिल्ला बाहिरका सहरमा जाने गरेकाले गाउँमा युवाहरु भेटाउनै मुस्किल हुने गरेको पौडेलले बताए।
स्थानीय ६० वर्षीय फणिन्द्रदेवी उपाध्यायका दुई छोरामध्ये दुवै वैदेशिक रोजगारमा छन्। अहिले आफूसहित घरमा एउटी बुहारी र साना नातिनातिना मात्रै बस्ने गरेको उनले बताइन्।
“एउटा छोरा साउँदीमा छ, अर्को थाइल्याण्डतिर व्यवसाय गरेर बसेको छ” उनले भनिन्, “स्वदेश फर्किएर केही गर् भन्दा नेपालमा केही गर्ने वातावरण नै छैन भनेर फर्किएका छैनन् ।”
“बूढेसकालको साहारा बन्लान् भनेर छोराछोरी पाल्यो, हुर्कायो, बढायो तर उनीहरु घर बाहिरै गएर रमाउने भए” उपाध्ययले भनिन्, “दुई तीन वर्षमा आउँछन्। आउने वित्तिकै जान हतार हुन्छ, गइहाल्छन् ।” उनका अनुसार गाउँबाट एउटै परिवारका तीन–चार जनासम्म युवा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक गएका छन्।
गाउँबाट रोजगारीका लागि भारतमा जाने युवाको सङ्ख्या कति छ भनेर कुनै तथ्याङ्क नै नभएको स्थानीय बताउँछन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार यस नगरपालिकाबाट सात हजार भन्दा बढी मानिसहरु वैदेशिक रोजगारका लागि गएका छन् । मध्यविन्दु नगरपालिकामा १५ हजार चार ३० परिवार रहेकामा सात हजार ६ सय ३९ जना मानिस वैदेशिक रोजगारमा गएका तथ्याङ्कले देखाएको छ । राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार पनि औषतमा प्रति दुई परिवारमा एक जना वैदेशिक रोजगारमा जाने गरेको देखिएको छ ।
वैदेशिक रोजगारमा जाने मानिसमध्ये १५ वर्षदेखि २४ वर्ष उमेर समूहका मानिस धेरै देखिएका छन् । यस उमेर समूहका तीन हजार पाँच सय ९८ युवा रोजगारीको सिलसिलामा नेपाल बाहिर रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । युवा उमेर मानिने १५ वर्षदेखि ४४ वर्ष उमेर समूहका छ हजार नौ सय ९७ जना युवा मध्यविन्दु नगरपालिकाबाट वैदेशिक रोजगारमा गएका विभागले जनाएको छ ।
युवाहरु विदेश पलायन हुँदा मुलुकको चौतर्फी विकासमा असर पर्ने मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले बताए। “अहिले मुलुक नवनिर्माणको अभियानमा छ । यसबेला देशमा दक्ष र प्राविधिक जनशक्तिको खाँचो छ” उनले भने, “तर, प्रतिभा पलायनले गर्दा दक्ष जनशक्तिको अभाव छ । मुलुक निर्माणको महाअभियानमा युवालाई विकासको साझेदार बनाउनुपर्छ ।”
युवाको ज्ञान, सीप, सिर्जनशीलता र ऊर्जा राष्ट्र निर्माणमा लगाउन सके मात्र विकास सम्भव भएको नगरप्रमुख अधिकारीले बताए। हरेक वर्ष ठूलो सङ्ख्यामा यसवा शक्ति वैदेशिक रोजगारीमा जानु दुःखद् भएको उनको भनाइ थियो ।
“युवा विदेश जाने बढ्दो क्रम रोक्न स्वदेशमै रोजगारीको ग्यारेन्टी, सबै खालका श्रमको सम्मान र समाजिक सुरक्षाअन्तर्गत बेरोजगारलाई बाँच्न पुग्ने भत्ताको व्यवस्था गर्नु आवश्यक छ” नगरप्रमुख अधिकारीले भने, “यसका लागि तीनै तहको सरकारका साथै मुलुकका उद्योगी व्यवसायीको सहकार्य आवश्यक छ ।”
पालिकाले वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्थानीयस्तरमै स्वरोजगार बनाउनका लागि सहुलित ऋण उपलब्ध गराउनुका साथै आवश्यक तालिम प्रदान गरिरहेको उनले बताए।
|
बजारमा नेपाली आँपकै एकछत्र राज काठमाडौँ। फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ। फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ।
अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले महँगाईमा उकालो लाग्न थालेको छ। नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार यसपालि सिजनको मुख्य समयमा ४० देखि ५० प्रतिकिलोसम्म थोक मूल्यमा आँप बिक्री भएको छ। गत साल यही समयमा आँपको थोक मूल्य ८० देखि ९० रहेको थियो। आजको मितिमा भने आँपको मूल्य थोकमै ६० माथि पुगिसकेको छ।
जातअनुसार केही आँप अलि महँगो र केही आँप अली सस्तोमा बिक्री हुन्छ। सबैभन्दा बढी माग र बिक्री हुने आँप मालदह हो। यो आँप खुद्रा भने प्रतिकिलो १०० को हाराहारीमा बिक्री भइरहेको छ। दशहरी केही महँगो छ भने अन्य आँप डेढ किलोको १०० मा समेत बिक्री भइरहेको छ।
उत्पादनको मुख्य समयमा त्यसबेला कुलेश्वरबाट दैनिक १०० टन र अझै त्यो भन्दा माथि पनि आँप गएको थियो । अहिले ५० टनको हाराहारीमा आँप काठमाडौँ उपत्यकामा गइरहेको छ। विस्तारै यो घट्दो क्रममा छ भने मूल्य बढ्न थालेको छ।
“यसपालि बजारमा धेरै आँप आयो, त्यसैले आँप सस्तिएको हो”, बाँनियाले भने, “पछिल्लो दशक होइन २०/२५ वर्षको मेरो यो व्यापारकै अनुभवमा यसपालि आँप सबैभन्दा सस्तो भएको छ, नेपाली आँप उत्पादन पनि राम्रो भयो।” उनले मण्डीबाट रु ३० करोड बराबरको आँप बिक्री हुने अनुमान गरे। नेपालमा व्यापारीहरुले फरकफरक ठाउँमा आँप पठाउने भएकाले एकीकृत कारोबार र वार्षिक कारोबार कति भनेर यकिन गर्न नसकिने बाँनिया बताउँछन्।
कृषि विभागका अनुसार पनि यसपालि आँपको उत्पादन बढेको छ। विभागका सूचना अधिकारी, वरिष्ठ कृषि अर्थविज्ञ सुनिलकुमार सिंह यसपटक आँप उत्पादनको सिजन पनि भएकाले उत्पादन बढेको बताए। उनका अनुसार उत्पादन क्रमश बढ्दो क्रममा रहेको देखिन्छ।
आव २०७७/७८ मा ४३ हजार ६८९ हेक्टरमा आँप उत्पादन भएको थियो। त्यहाँबाट चार लाख ६६ हजार २६७ मेट्रिक टन उत्पादन भएको थियो। आव २०७८/७९ मा भने ३९ हजार ५७९ हेक्टर क्षेत्रफलमा चार लाख ९८ हजार ८५९ टन आँप उत्पादन भएको तथ्यांक छ। यो वर्ष झन् राम्रो उत्पादन भएको छ । उत्पादकत्व पनि प्रतिहेक्टर १०.६७ बाट बढेर १२.६१ मेट्रिक टनले बढेको छ।
नेपालको कुनै पनि फलफूल अन्य देशको तुलनामा गुणस्तरको रहेको बताए। नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार आँप कै कुरा गर्ने हो भने नेपाली आँप हेर्दा पनि राम्रो, र स्वादिलो भएकाले यो समयमा अरु कुनै फलफूलले स्थान नै पाउँदैन। माग पनि नेपाली आँपकै हुन्छ। नेपाली आँप भएसम्म विदेशी आँपले बजार पाउँदैन, त्यसैले नेपालमा उत्पादन सकिएपछि मात्रै बाह्य आँप आउँछ।
बेमौसममा पनि यसैगरी आँप निकाल्न सकियो भने र व्यावसायिक रुपमा अघि बढाउन सकियो भने नेपाली उत्पादनले बजार लिनेमा उनी ढुक्क छन्। तर बिडम्बना बाहिरबाट अन्य फुलफूल आइसक्दा पनि नेपालका जिल्लाहरुमा उत्पादन भएका फलुफूल काठमाडौँ आउनै सक्दैन। आएको पनि बिग्रिसकेको, पाकिसकेको अवस्थामा आइपुग्छ, जसले बजार पाउँदैन।
त्यसकारण सरकारले बजार, प्याकेजिङ, ग्रेडिङमा ध्यान दिनुपर्ने व्यवसायीहरुको सुझाव छ। उनले भने, “महाराष्ट्रको केरा पाँच दिनमा ल्याउँदा पनि यहाँ केही नहुने र हाम्रो कैलालीको केरा ल्याउँदा ग्यास भरिसक्ने किन त ? भनेको प्याकेजिङ र ग्रेडिङको समस्या हो।”
आँपको मुख्यमा भने खास एक रुपता हुँदैन। बढी पाकेको आँप सस्तोमा बिक्री हुन्छ भने कम पाकेको आँप राम्रो देखिने महँगोमा बिक्री हुँदै आएको छ। व्यापारीहरुल ले बगान नै किन्ने गरेकाले पनि किसानले घाटा नाफा के पायो भनेर आँकलन गर्न पनि मुस्किहुने बताइएको छ।
चैततिरै किसानको बगानमै पुगेर व्यापारीहरुले अग्रिम पैसा दिएर बगान नै किनेको हुन्छ। नाफा घाटा सबै व्यापारीको नै हुन्छ । किसानले उत्पादन गरेको मूल्य कति हो र यहाँ व्यापारिक मूल्य कति हो भनेर छुट्याउन गहे हुने व्यवसायीहरु बताउँछन्।
किसानको बगानमा जति तिरे पनि बजारले मूल्य निर्धारण गर्ने भएकाले घाटा नाफा व्यापारीकै हुने गरेको छ। उनीहरुले कुनैबेला ठूलै नाफा पनि लिन सक्छन्। कुनै बेला घाटा पनि हुनसक्छ। यसपाली आँपको मूल्य सस्तो भएकाले नाफा कमाउन मुस्किल रहेको एक व्यापारीले बताए।
कालीमाटीको अवस्था
काठमाडौँ उपत्यकामा अधिकांश फलफूल कुलेश्वर मण्डीबाट बिक्री हुन्छ। कालीमाटीबाट नगन्य मात्रामा फलफूल बिक्री हुन्छ। कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार पनि काठमाडौँमा यहाँबाट १० प्रतिशत पनि फलफूल बिक्री हुन्न।
उनका अनुसार वैशाखदेखि असार १७ गतेसम्म एक हजार ३८२ टन मात्रै फलफूल बिक्री भएको छ। त्यसमा ७९३ अर्थात ५० प्रतिशतभन्दा बढी सिरहाको आँप आएको छ। सप्तरीको ११९ टन, सर्लाहीको १३० टन आएको छ। कूल भित्रिएकोमध्ये १६३ टन अर्थात १२ प्रतिशतको हाराहारीमा भने भारतबाट भित्रिएको छ।
सिजनको सुरुआती चरण र अन्तिम तथा बेमौसममा भारतीय आँप आउने गरे पनि मौसममा भने नेपालकै आँप प्रसस्त हुने उनले बताए। सुरुमा आँप अलि महँगो भएर आउँछ। आँपको सिजन जेठ र असार हो। यो समयमा नेपाली आँपले नै भरिन्छ। आएका आँपमध्ये ९० प्रतिशत आँप मालदह हुने गरेको पनि उनले बताए। उनको अनुसार यहाँबाट जेठको पहिलो साता प्रतिकिलो २२८ रुपैयाँले थोकमा आँप बिक्री भएको थियो। दोस्रो साता १९१, तेस्रो साता १११ चौथो साता ८६ ले बिक्री भएको थियो।
असारको पहिलो साता ६२, दोस्रो साता ७३, तेस्रो साता ७५ हाराहारीमा बिक्री भइरहेको छ। यही १७ गते कालिमाटीमा ६० देखि ७० रुपैयाँ किलोमा थोकमा बिक्री भइरहेको छ। आजको मूल्य भने मालदह ७० देखि ८० प्रतिकिलोमा थोक बिक्री भइरहेको छ। कुलेश्वर फलफूल मण्डीमा भन्दा यहाँबाट अली महँगोमा फलफूल बिक्री भइरहेको छ। दुई चार दिन राख्न मिल्ने आँप अलि महँगोमा जान्छ, पाकिसकेको आँप सस्तोमा जान्छ त्यसैले आँप यति नै कारोबारमा हुन्छ भनेर भन्न नसकिने श्रेष्ठले भने।
नेपालमा २४ जिल्लामा हुन्छ आँपको खेती
नेपालमा कूल फलफूल उत्पादनको क्षेत्रमध्ये आँपले ३० देखि ३५ प्रतिशत ओगटेको छ । नेपालमा सबैभन्दा बढी मधेश प्रदेशमा आँप उत्पादन हुन्छ। व्यावसायिक रुपमा आँप खेती हुने २४ जिल्ला छन्।
हाल झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धादिङ्ग, नवलपरासी पश्चिम, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुरलगायतका जिल्लामा व्यावसायिक रुपमा आँपको खेती भइरहेको छ।
फलफूल खेतीमा प्रचुर सम्भावना र अवसर हुँदाहुंँदै पनि फलफूल खेतीको आशातीत विस्तार हुन सकेको छैन। बढ्दो जनसङ्ख्या, मानिसमा स्वास्थ्यप्रतिको सचेतना आदि कारण फलफूलको माग वर्षैपिच्छे बढ्दै गएको पाइन्छ। नेपाल सरकारले फलफूल उत्पादनका कार्यक्रम लागू गरे पनि पर्याप्त भएको छैन।
फरकफरक समयमा फरकफरक जानका आँप उत्पादन हुन्छ। अगौटे जातहरुमा बम्बई ग्रिन, गोपाल भोग, सुकतारा, गुलाबखास आदि छन्,¬ मध्येजातहरुमा दशहरी, मालदह, मल्लिका, आम्रपाली पर्छन्। पछौटे जातहरुमा चौसा, कलमतिया, सिपिया, अबेहायात आदि रहेका छन्।
फलफूल व्यवसायको व्यापक विस्तार गरी १० वर्षभित्र प्रमुख फलफूलहरूमा देशलाई आत्मनिर्भर बनाएर निर्यात प्रवद्र्धन गर्ने उद्देश्यका लागि आव २०७३/७४ देखि २०८२/८३ सम्मलाई फलफूल दशकको रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको छन्।
हावापानीको दृष्टिकोणले तराईदेखिमध्ये पहाडको बेसीसम्म खेती गर्न सकिने आँपलाई फलफूलको राजा पनि भनिन्छ। आँपमा वर्ष बिराएर फल्ने प्रवृति भएकाले कहिलेकाहीँ तीन/चार वर्षमा एक वर्ष मात्र राम्रो बाली प्राप्त हुने गर्दछ।
पहाडी भेगका गर्मी ठाउँहरुमा लगाइएका आँपको बोटको वृद्धि तराई क्षेत्रमा गरिएको खेतीभन्दा कम हुनुको साथै उत्पादन तथा फलको गुणस्तर पनि कम हुन्छ। उष्णप्रदेशीय फलफूलहरुमध्ये आँपलाई प्रमुख फलको रुपमा मानिन्छ। पाकेको आँपमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ । पाकेको फलमा अम्ल र प्रोटिनको मात्रा थोरै भएता पनि चिनीको मात्रा भने धेरै हुन्छ। दशहरी, मालदह, लङ्ग्रा, जर्दा, अल्फान्सा, अम्रपाली, मल्लिका, रत्ना, चौसा, कलकत्तीया, निलम, फजलीलगायतका आँपका जात छन्।
आँप उष्णप्रदेशीय सदाबहार बहुवर्षीय फलफूल बाली हो। भौगोलिक अवस्था अनुसार समुन्द्र सतहदेखि २००–६०० मिटरसम्मको उचाईमा व्यवसायिक रुपमा आँप खेती गर्न सकिन्छ। यसले तुषारो र सुख्खा सहन सक्दैन । जाडो र बसन्त ऋतुमा तुषारो पर्ने ठाउँ आँप बगैंचा बनाउन उपयुक्त हुँदैन। एउटै बिरुवाले कयौं दशकसम्म (३०–४० वर्ष) फल दिने हुनाले यसको लागि दीर्घकालीन सोच र सावधानीपूर्ण योजना बनाउनु जरुरी हुने फलफूल विज्ञको भनाइ छ।
|
एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी काठमाडौं। काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। क्लबमा बलिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।
पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको छ। गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन्।
सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले खोजिरहेको हो।
|
गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु सुर्खेत। सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित दाङ तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तारमा छुइँदा करेन्ट लागेर दुईजनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
मृतक दुईजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी सुचना तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार बसमा २० जना सवार रहेकोमा दुईजनाको मृत्यु र एक जना घाइते भएका छन भने अन्य यात्रु सकुशल रहेको छन् ।
घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।
|
मादीमा पहिराले दुई परिवार विस्थापित, चार घर जोखिममा कास्की। कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिराले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन्। चार घर जोखिममा परेका छन्।
मादीको वडा नं ६ का पाँच र वडा नं २ मा एक परिवार पहिराको जोखिममा परेको गाउँपालिकाले जनाएको छ। यही असार १९ गतेको अविरल वर्षाले मादी–६ को काहुँखोला–दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घरलाई पहिराले जोखिम पुर्याएको हो।
अविरल वर्षापछि घरसँगैको सडक पहिराले लैजाँदा स्थानीय कमलापति बरालको दुई घर र दीपक बरालको एक घर एक गोठमा क्षति पुगेको छ। यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको सोही वडाका वडाध्यक्ष डिलबहादुर क्षेत्रीले बताए।
त्यसैगरी स्थानीय शमसेर पाण्डेको एक घर, भगवानसिंह गुरुङको एक घर एक गोठ र विष्णुमाया घर्तीको एक घर र एक गोठ जोखिममा परेको वडाध्यक्ष क्षेत्रीले घर जोखिममा परेकालाई उचित व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरिएको जानकारी दिए।
वडाध्यक्ष क्षेत्रीले भने, “पहिराले विस्थापित परिवारलाई आफन्त तथा समाजघरमा राखिएको छ। प्रभावितको व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरेका छौँ।” गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले पहिराले पीडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान गरिने बताए।
उनले विस्थापितलाई वैकल्पिक बसोबासका लागि पहल भइरहेको जानकारी दिए। अध्यक्ष गुरुङले भने, “विस्थापित परिवारलाई पालिकाबाट राहत दिन्छौँ । प्रदेश तथा सङ्घीय सरकारसँग समेत समन्वय गरी एकै दिन एउटै कार्यक्रम गरेर नियमानुसार उचित राहत प्रदान गर्नेछौँ।”
अविरल वर्षा तथा पहिराका कारण मादीका अन्य वडामा समेत क्षति पुगेको बताइन्छ। विशेष गरी ग्रामीण सडकमा पहिराले क्षति गराएको छ।
|
एसईईको नतिजा आज सार्वजनिक गरिँदै भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए।
उनले भने, “एसइईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ। प्राविधिक समस्या आए मात्रै भोलि पुग्ने हो अन्यथा नतिजा आजै सार्वजनिक हुन्छ, त्यसकै तयारीमा हामी जुटेका छौँ।”
बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ। विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ। विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ।
नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ। नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ। यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो। परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन्। प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए।
यसरी हेर्न सकिन्छ नतिजा :
एसइईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन्।
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। यसका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने उनले बताए।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ। त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उनले बताए।
एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ। नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.neb.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif\.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ । – रासस
|
कारागारभित्र कैदीले गरे आत्महत्या जानकी। बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन्।
जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए। मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए।
घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअधि आर्चायले बताए। – रासस
|
पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ जानकी। बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन्।
प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र ६ किलो ८ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन्।
डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो। छालाको लम्बाइ नौ फिट आठ इञ्च रहेको छ। घाँटीमा दुई ठाउँमा गोलीको प्वाल फेला परेको छ। बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा रु पाँच लाखदेखि रु १० लाखसम्मको जरिवाना अथवा दुवै सजाय हुनसक्ने वन अधिकृत कर्णले बताए। चारै जनाबारे थप अनुसन्धन डिभिजन वन कार्यालय गरिरहेको छ। – रासस
|
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, काेशी र मधेसमा हावाहुरीकाे संभावना काठमाडाैं। काठमाडौं, २१ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
तसर्थ भारी वर्षा, मेघ-गर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
|
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि… बैतडी। दोहोरो नागरिकताको आरोपमा प्रहरीले श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिकाकी किस्मती चन्द र गम्भीर चन्द रहेका छन् ।
किस्मतीले बैतडी र कञ्चनपुरबाट नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो । श्रीमतीलाई दोहोरो नागरिकता बनाउन लगाएको उजुरीको आरोपमा गम्भीरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बैतडीबाट लिएको पहिलो नागरिकतामा नाम किस्मतीदेवी चन्द, ना.प्र.न.७३३०१३\४३४, जारी मिति २०६३\१०\८ बैतडी, जन्ममिति २०४६\५\२५ र पतिको नाम वीरेन्द्र चन्द उल्लेख गरिएको छ ।
यसैगरी कञ्चपुरबाट लिएको दोस्रो नागरिकतामा नाम कलावती चन्द, जन्म मिति २०३९\११\१०, ना.प्र.न. ७५१००१\१३१२६, जारी मिति २०६७\४\२० कञ्चनपुर र पतिको नाम गम्भीर चन्द तथा ठेगाना भीमदत्त नगरपालिका–५ कञ्चनपुर उल्लेख गरिएको छ ।
दोस्रो विवाह गरेकी किस्मतीका पति गम्भीर चन्दले जबर्जस्ती पुरानै श्रीमतीको विवरण राखेर नागरिकता बनाएको खुल्न आएको छ । गम्भीरले आफ्नो पहिलो श्रीमती कलावतीलाई घर निकाला गरेर नयाँ श्रीमतीका रूपमा किस्मतीलाई भित्र्याएको र पहिलाकै श्रीमती कलावतीको नामबाटै किस्मतीको कञ्चनपुरबाट नयाँ नागरिकता बनाएका हुन् ।
ती कलावतीलाई दैनिक कुटपिट गर्ने गरेको र चार छोरा आफैँसँग राखेर घर निकाला गरेका हुन् । अहिले दोहोरो नागरिकता लिने र लिन बाध्य पार्ने दुवै जनामाथि अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उनले भने, “दुवैजनालाई पक्राउ गर्न भनेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खबर आएको र त्यसपछि हामीले उनीहरूको खोजतलास गरेका थियौँ । अहिले उनीहरू कञ्चनपुर प्रहरीको नियन्त्रणमा रहेका छन् ।”
बैतडीको भन्दा कञ्चनपुरको नागरिकतामा सात वर्ष उमेर बढाएर बनाएको पाइएको र निजको नाम र श्रीमान्को नाम पनि फरक रहेकाले प्रहरीले मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जनाएको छ ।
|
बूढानीलकण्ठ धर्मशालाको उद्घाटन काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-३ मा निर्मित बूढानीलकण्ठ धर्मशाला (अतिथि गृह)को उद्घाटन गरेका छन् ।
भारत सरकारको करिब पाँच करोड अनुदान सहयोगमा सो धर्मशालाको निर्माण भएको हो ।
सो अवसरमा उनले भूकम्पपछिको पुनःनिर्माणमा भारत सरकारले पुर्याएको सहयोगको सराहना गरे।
समारोहमा प्रतिनिधिसभा सदस्यद्वय गगनकुमार थापा र प्रदीप पौडेल, बूढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, भारतीय राजदूतावास, काठमाडौंका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा शिवराज पण्डित, बूढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकारका र भारतीय राजदूतावासका पदाधिकारीको उपस्थिति थियो ।
नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण अनुदानअन्तर्गत यो परियोजनाको निर्माण भएको हो । विसं २०७२ को भूकम्पले क्षति पुर्याएका सम्पदाको संरक्षण एवं पुनःनिर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिकाबमोजिम बूढानीलकण्ठ मन्दिरको पुनःनिर्माण भएको हो ।
केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) र सहरी विकास तथा भवन निर्माण विभागले यस परियोजनाको कार्यान्वयन गरेको हो । नवनिर्मित साढे तीनतले धर्मशालाले बूढानीलकण्ठ मन्दिरमा आउने तीर्थयात्रीलाई सेवा दिनेछ ।
भारत सरकारले नेपालको सात जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रतिबद्धता गरेको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनःनिर्माण अनुदानअन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी घर पुनःनिर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा एक सय ३२ वटा स्वास्थ्य सुविधा पुनःनिर्माणका लागि सहयोग प्रदान गरेको छ ।
|
मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ काठमाडौं । मकाउ पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-८ स्थायी घर भई ललितपुरको गोदावरी-१४ बस्ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ठैबबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
उनले पीडितलाई जित बहादुर थामा मगरलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिन्छु भन्दै ६ लाख ६० हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको भनाई छ ।
|
दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ कञ्चनपुर । कञ्चनपुरमा दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका–५ कि ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धि उनीहरू विरुद्ध जाहेरी दर्ता भएको थियो ।
प्रहरीको अनुसन्धान पछि उनीहरूले दोहोरो नागरिकता लिएको खुलेको हो। उनीहरु कञ्चनपुरमा सोमबार पक्राउ परेका हुन् । उनीहरू विरुद्ध प्रहरीले थप अनुसन्धान गरिहेको जनाएको छ ।
|
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ: उपसभामुख राना काठमाडौं। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले बालबालिकाको अधिकार सुनिक्षित र सुरक्षित गर्नका लागि आफू राजनीतिमा आएको बताएकी छन् ।
आज यहाँ नेपाली चलचित्र ‘बगान’ द्वारा एकल आमालाई गरिएको सम्मान ग्रहण गर्दै उनले बालबालिकाको अधिकारका लागि विधेयक बन्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्, “बालबालिकासम्बन्धी कुनै विधेयक बनेको छैन । उनीहरूको अधिकार सुरक्षित र सुनिश्चित हुनुपर्छ ।” समारोहमा उपसभामुख रानाले छोरी भएको दुई वर्षमै दाम्पत्य जीवनको अन्त्य गर्न बाध्य भएको बताइन् । “एकल महिलाको सङ्घर्ष र समाजले हेर्ने दृष्टिकोण सच्चिन जरुरी छ, किनकि आमाको शक्ति आमा बनेपछि मात्र महसुस गर्न सकिन्छ ।”
सोही कार्यक्रममा एकल आम भएर आफ्नो सन्तान हुर्काउने सिएनएन हिरो अनुराधा कोइराला, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमलकुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान गरिएको थियो ।
उनीहरूलाई अभिनेत्रीत्रय भुवन चन्द, चैत्य देवी र वसुन्धरा भुसालले सम्मान गरेका थिए।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.