content
stringlengths
20
64.1k
चुरेमा डढेलो, पानी अभावले निभाउन मुस्किल दोधारा चाँदनी। कञ्चनपुरको चुरेक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन। डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न वनमा लागेको डढेलो नियन्त्रणमा आए पनि चुरेक्षेत्रमा लागेको डढेलो अझै नियन्त्रण बाहिर छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले भौगोलिक विकटताका कारण चुरेक्षेत्रको डढेलो नियन्त्रण गर्न नसकिएको जानकारी दिए। “विभिन्न क्षेत्रमा गरी एक सय दश हेक्टरमा डढेलो निभाइसकेका छौँ।” उनले भने–“चुरे क्षेत्रमा डढेलो नियन्त्रण गर्न चुनौतीपूर्ण छ जान सकिने अवस्था छैन।” चुरेमा दुई/तीन घण्टा पैदल जानुपर्ने र त्यहाँ पानीको समेत अभाव भएकाले डढेलो निकै चुनौतीपूर्ण रहेको अवस्थीले बताए। “आमी डढेलो नियन्त्रण गर्ने प्रयासमै छौँ।” उनले भने–“चुरे क्षेत्रको करिब ५० हेक्टरमा डढेलो लागेको छ।” डिभिजन वन कार्यालयका अनुसार भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा अहिले डढेलो छ। यहाँको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिकाको उत्तरी क्षेत्र, लालझाडी गाउँपालिका र कृष्णपुर नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा आइसकेको छ। डढेलोका कारण हालसम्म एक सय १० हेक्टर वनक्षेत्रमा असर परेको छ।
खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान बेदकोट। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेचेनन्। उत्पादित ५३ क्विन्टल गहुँ उनले गाउँमै बिक्री गरे। खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्यलाई गहुँ बिक्री नगरिएको कृषक चौधरीले बताए। “गाउँमै गहुँको राम्रो मूल्य पाइयो, “हामीले रु चारहजारदेखि रु चार हजार दुईसय प्रतिक्विन्टलका दरले गाउँमै गहुँ बेचिरहेका छौँँ”, कृषक चौधरीले भने, “खाद्यले गहुँको मूल्य चलनचल्तीभन्दा धेरै कम निर्धारण गरेको छ।” खाद्यले यस वर्ष गहुँको मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ। ग्रामीण भेगमा गहुँ प्रतिक्विन्टल रु चार हजारदेखि रु चार हजार दुई सयसम्ममा खरिद बिक्री भइरहेको छ। “विगत वर्षभन्दा यसवर्ष गहुँको उत्पादन राम्रो भएको छ, गाउँमै किसानले मूल्य पनि पाएका छन्” किसान चौधरीले भने, “त्यसैले गहुँ बिक्रीका लागि खाद्यसम्म पुगेका छैनन्, गहुँको मूल्य अझै बढ्नसक्छ।” किसानले गाउँमै गहुँको मोल पाउन थालेपछि खाद्यलाई बिक्री नगरेर गाउँमै बिक्री गरिरहेका छन्। गहुँ खरिद गर्ने सरकारी निकाय खाद्यले गहुँको मूल्य बजारमा चलनचल्तीभन्दा कम निर्धारण गरेकोले हालसम्म गहुँ खरिद नै गर्न सकेको छैन। उक्त संस्थाले गत चैत १४ मा मूल्य निर्धारण गरेर १६ गते देखि गहुँ खरिद गर्ने निर्णय गरेकामा हालसम्म गहुँ खरिद नै नभएको कम्पनीका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले बताए। “हाम्रोभन्दा बढी मूल्य बजारमा छ, त्यही भएर हामीकहाँ गहुँ आएको छैन”, उनले भने, “त्यसैले यो निर्णय पुनःविचार गर्न आग्रह गरेका छौँ, गहुँको चलनचल्तीको मूल्य रु चार हजार उल्लेख गरेर पठाएका छौँ।” कञ्चनपुरमा यसवर्ष ३२ हजार दुई सय १० हेक्टर जमिनमा गहुँखेती गरिएको छ। यसपटक जिल्लामा गहुँको उत्पादन बढ्ने अनुमान गरिएको छ। समयमै खेती, सिँचाइ र उन्नत बिउँबिजनको प्रयोगले यसपटक गहुँको उत्पादन बढ्ने अनुमान रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए। “यसपटक तुसारो पनि परेन, बालीलाई त्यस्तो क्षति गरेको छैन”, उनले भने, “समयमै सिँचाइ र उन्नत बीउँको प्रयोग भएकाले यसपटक उत्पादन बढ्ने अनुमान गरेका छौँ।”यसवर्ष तीनदेखि साढे तीन मेट्रिकटन प्रतिहेक्टर गहुँ उत्पादन हुने केन्द्रको अनुमान छ। कञ्चनपुरमा ३१ हजार दुई सय १० हेक्टर जमिनमा गहुँ खेती हुने गरेको छ। गतवर्षको औसत उत्पादन तीन मेट्रिक टन प्रतिहेक्टर रहेकामा ९४ हजार मेट्रिकटन गहुँ उत्पादन भएको थियो। जिल्लाको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा गहुँखेती हुने गरेको छ।
लुम्बिनीमा बुद्धजयन्तीको तयारी रुपन्देही। बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ। प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ। यसपटक वैशाख २२ गते परेको २५६७र्औं बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मुल व्यवस्थान समिति र विभिन्न उपसमिति गठन गरिसकेको छ। बुद्धजयन्तीको तयारीका लागि विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा मूलसमिति गठन गरिएको छ। विकास कोषका कोषाध्यक्ष सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयमसेवक उपसमिति गठन गरिएको छ। त्यस्तै कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमिति गठन गरिएको छ। यस्तै पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति, पूजा परित्राण उपसमिति, बिहार गुम्बा समन्वय उपसमिति, देवदह, रामग्राम, कपिलवस्तु समन्वय उपसमिति, सुरक्षा, छात्रवृत्ति, खेलकुद, यातायात, भोजन तथा प्रसाद, शोभा यात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ। विश्व शान्तिको प्रमुख केन्द्र लुम्बिनीमा हुने बुद्धजयन्तीको औपचारिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन कार्यक्रम भएकाले उक्त अवसरलाई प्रभावकारी बनाउन भव्य तयारी भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। सो अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ। बुद्ध जयन्तीको अवसरमा गरिने कार्यक्रमका लागि लागि रु एक करोड बजेट विनियोजन गरिएको विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए। गौतमबुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ। इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो। पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्परा अनुसार मायादेवी आफनो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो। राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनुभएको थियो। वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गरेका थिए। वैशाख शुक्ल पुर्णिमाकै दिन उहाँको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्धजयन्ती मनाउन थालिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्। राजकीय बुद्ध बिहार लुम्बिनीका प्रमुख संरक्षक भिक्षु सागर धम्मका अनुसार सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गरेका थिए। जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेको थियो। बुद्धले आर्य अष्टाङिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन्। बुद्ध दर्शनअनुसार मध्यम मार्ग भनेकै आर्यअष्टाङ्कि मार्ग हो र यो मार्ग नै दुःख मुक्तिको उपयुक्त मार्ग हो। यसमा सम्मिलित ८ मार्गको इमान्दारीपूर्ण अभ्यासबाट नै दुःखलाई अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिने भिक्षु धम्मको भनाइ छ। आर्य अष्टाङ्कि मार्गमा सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन्। यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन्। मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ। हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ। यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन्। विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो। विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो। विश्वशान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ। बुद्धजयन्तीका अवसरमा लुम्बिनीसहित विभिन्न जिल्लामा रहेका बौद्ध विहार तथा गुम्बामा बुद्ध पूजा र शोभा यात्राको तयारी गरिएको छ। लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ बुद्धजयन्ती नजिकिँदै गर्दा लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ अभियान चलाइएको छ। विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा विशेष सरसफाइ गरिरहेका छन्। शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित- ४ नं र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाइ गरेर अभियानको सुरुवात गरेको हो। ग्रीन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले अभियान सुरु गरिएको हो। विकास कोषका योजना प्रमुख तथा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमितिका संयोजक सरोज भट्टराईले बुद्धजयन्तीको अवसरमा विकास कोषभित्रको फोहर सङ्कलन गरेको बताए। “संकलन गरिएको फोहोर कहाँ फाल्ने भन्ने समस्या छ। दिगो समाधानका लागि उपाय पनि खोज्दै छौँ”, उनले भने। नियमित रुपमा सफाइ गर्दै आए पनि ४ नम्बर र ५ नम्बर गेट नजिकै स्थानीयले फोहर फाल्ने गरेकाले सचेतनाका लागि कोषका पदाधिकारी, कर्मचारी, नेपाली सेना, प्रहरी, स्थानीय अगुवाको सहभागितामा जनचेतनाका लागि सरसफाइ गरिएको उनले बताए। फोहर व्यवस्थापनको दिगो समाधान नहुँदा स्थानीय केही होटल व्यवसायी विकास कोषको परिसरलाई नै डम्पिङ साइट बनाएका छन् जसले गर्दा महिलबार क्षेत्रमा प्रदूषण बढेको छ। लुम्बिनीमा वृक्षरोपण गरिने बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा पाँच सय ६७ बिरुवा रोपिने भएको छ। विकास कोषभित्र विभिन्न फलफूलका बिरुवा रोप्ने तयारी गरिएको विकास कोषका योजना प्रमुख तथा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमितिका संयोजक भट्टराईले जानकारी दिए। विकास कोष परिसरमा आँप, लिचि, अम्बा लगायतका विभिन्न जातका फलफूलका बिरुवा रोपिने विकास कोषले जनाएको छ।
आरती देवीको हत्या भएको माइती पक्षको आरोप, श्रीमान पक्राउ महोत्तरी। महोत्तरीको गौशालामा विष सेवनको क्रममा मृत्यु भएको भनिएकी आरती देवीलाई श्रीमानले नै हत्या गरेको माइती पक्षले आरोप लगाएका छन्। माइती पक्षको उजुरीका आधारमा प्रहरीले उनका श्रीमान उमेश साहलाई आइतबार बिहान पक्राउ गरेको छ। मलहनिया पोखरी बस्ने उमेशले आत्महत्या दुरूत्साहन गरेको बताउँदै परिवारसहितको मिलोमतोमा आफ्नी छोरीलाई आत्महत्याको नाममा हत्या गरेको मृतकका बुबा वली साहले बताए। ‘अनुहार राम्रो भएन भन्दै मेरी छोरीलाई ज्वाइले दैनिक कुटपिट गरिरहन्थे,’ उनले भने, ‘सबै मिलेर हत्या गरेको नै हामीलाई आशंका छ।’ ज्वाइँ र छोरीको विवाद निकै बढेपछी केही दिन अगाडि वली छोरीको घरमा आएका थिए। वलीको अगाडि नै छोरीलाई कुटपिट गरेको पनि स्थानीय प्रत्यक्षदर्शीले बताए। स्थानीय निरन्जन साहका अनुसार उनीहरुबीच लामो समयदेखि नै झगडा हुँदै आएको थियो । ‘झगडाको कारण वास्तविक थाहा नभए पनि झगडा भइरहन्थ्यो,’ उनले भने। मृतक आरतीदेविले श्रीमानको दिएको यातनाको बिषयमा पटक-पटक हारगुहारसमेत गरेकी थिइन्। स्थानीय पत्रकारसमेत रहेका निरन्जन साहले भने, ‘उनले झगडा मिलाइदिन र यातनाबाट मुक्त बनाइदिन हामीसगँ दर्जनौँपटक अनुरोध पनि गरेकी थिइन्। गत मंसिरमा आरतीदेवी बहिनीको विवाहमा जनकपुरस्थित बेलामा गएकी थिइन्। घरमा बस्दा श्रीमान र सासुको यातना भोगिरहेकी आरती २ महिनाजति माइतमा नै बसिन्। घर फर्केपछि यही विषयलाई लिएर श्रीमान र सासुले यातना दिन सुरु गरेको उनले टेलिफोनमार्फत आफ्नो भाइ र बुबालाई सुनाउदै आएकी माइतीपक्षको भनाइ छ। भाइ गोविन्द साहका अनुसार दिदी आरतीलाई सवैभन्दा बढी यातना सासु र नन्दले पनि दिने गरेका थिए। घटना भएको दुई दिन अगाडि आरतीकी नन्द आशा कुमारी साह घरवाट आएकी थिइन्। उनी आएकै समयमा विष खुवाएर आफ्नी छोरीको हत्या गरेको आरतीका हजुरबुबा बुझाउन साहले बताए। मृतक आरतीको शवलाई बर्दिबासस्थित इलाका प्रहरीले मुचुल्का गरेको छ। उता गौशाला इलाका प्रहरी कार्यालयले भने घटना वादविवादवाट सुरु भए पनि अन्य विषयमा भने अनुसन्धान भइरहेको जनाएको छ। मृतकका जेठाजु विनोद साहले घरझगडा भए पनि माइत पक्षले आरोप लगाएजस्तो नभएको जिकीर गरे। ‘उनीहरुको झगडा हुन्थ्यो। तर, आरोप लगाएजस्तो भने हैन,’ उनले भने। के भन्छन् चिकित्सक? उपचारको लागि बर्दिबासस्थित ट्रमा सेन्टरमा ल्याइपु¥याएका आरती साहको उपचारको क्रममा नै मृत्यु भएको थियो। ‘आरतीलाई ल्याउँदा उनको श्वास चले पनि ब्लड प्रेसर शून्य थियो,’ उपचारमा सग्लन चिकित्सक डा. सन्तोष यादवले भने , ‘ल्याउनेबित्तिकै उपचार सुरु गरेको र उपचार सुरु गरेको १५ मिनेटभित्र नै उनको मृत्यु भयो। मृतक आरतीले मुसाको विष सेवन गरेको हुनसक्ने उनको अनुमान छ । ‘पोष्टमार्टमपछि थप कुरा खुल्ला । तर, हामीले ज्यानको निलडामको विषयमा खासै याद गरेनाैँ,’ उनले भने। आरतीलाई उनकै श्रीमान उमेश साहले अस्पताल ल्याएको पनि अस्पताल प्रशासनले जनाएको छ। ‘उनका श्रीमान उपचारकै क्रममा पनि निकै आत्तिएका थिए । उनी रोइरहेका थिए, चिच्याउदै थिए,’ अस्पतालका व्यवस्थापक शम्भुप्रसाद साहले भने। मृतक आरतीका तीन वर्षकी छोरी र ९ वर्षीय छोरा छन् । मृतकका श्रीमानलाई हिरासतमा नै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण काठमाडौं । निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत हुने गरी उहाँलाई के-कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो रु भनी स्पष्टीकरण सोधेको हो । “तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन रु तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकामा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?”, आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ । आयोगका उपसचिव कमल ज्ञवालीले मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको जानकारी दिए।
बारपाक–लाप्राक सडक स्तरोन्नतिमा ढिलाइ गोरखा।  पर्यटकीय क्षेत्र बारपाक र लाप्राक जोड्ने बारपाक–लाप्राक सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ। पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा/विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको भए पनि उक्त सडक स्तरोन्नतिको काम अहिलेसम्म ४८ प्रतिशतमात्र सम्पन्न भएको कार्यालयले जनाएको छ। सडक निर्माणको काम निर्धारित समयमा सम्पन्न नहुने देखिएपछि कार्यालयले ठेकेदार कम्पनीलाई यहीँ आउँदो जेठ २२ गतेसम्म निर्माण सक्ने गरी पहिलोपटक म्याद थप गरिदिएको थियो। म्याद सकिन करिब डेढ महिनामात्र बाँकी रहँदासमेत सडक स्तरोन्नतिको आधा काम पनि सम्पन्न नभएको इञ्जीनियर दीपक बस्नेतले जानकारी दिए। “अहिलेको अवस्थालाई हेर्दा ठेकेदार कम्पनीले तोकिएको समयमा काम सक्ने अवस्था देखिँदैन”, उनले भने, “पहिलोपटक थपिएको म्याद २०८० जेठ २१ गतेसम्म मात्र छ।” ठेकेदार कम्पनीले सुस्त गतिमा काम गरेका कारण सम्झौता अवधिभित्र काम सम्पन्न गर्न नसक्ने देखिएको उनले बताए। करिब १३ दशमलव १४ किलोमिटर सडक स्तरोन्नति गर्ने गरी कार्यालयले रु ३४ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक ग्राभेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउनेलगायतको जिम्मेवारी पाएको छ। दुर्गम ठाउँ भएको, चिसोको समयमा हिउँ पर्ने, वर्षात्का बेला निर्माण सामग्री लैजान समस्या हुने कारण देखाएर ठेकेदार कम्पनीले काम ढिलाइ हुँदै आएको दाबी गरेको छ। समयमै सडक स्तरोन्नति नहुँदा अहिले बारपाकबाट लाप्राक, गुम्दा जाने सर्वसाधारणले महँगो भाडा तिरेर जिपमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ। समयमै सडक स्तरोन्नति नहुँदा लाप्राक, गुम्दासम्म खाद्यान्न पुर्‍याउन, बिरामी ल्याउन लैजान कठिनाइ भोग्नुपरेको धार्चे गाउँपालिका वडा नं ४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिए। “बाटो अवरुद्ध भएर दुई–तीन घन्टा बाटोमै रोक्नुपर्‍यो भने सुत्केरी हुन नसकेका बिरामी तथा विपद्मा परेका, दुर्घटनामा परेका गम्भीर घाइतेको त ज्यानै जान सक्ने सम्भावना हुन्छ”, उनले भने, “त्यसैले हामीले ठेकेदार कम्पनीलाई पटक–पटक बाटो छिट्टै निर्माण सम्पन्न गर्न अनुरोध गर्‍यौँ तर सुनुवाइ नै भएन।” म्याद सकिनलाग्दा अहिले भने ठेकेदार कम्पनीले विहानको ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरेर काम गर्दै आएको छ। आवासीय नेपाली सङ्घ (एनआरएनए)ले गुप्सीपाखामा निर्माण गरेको सुन्दर एकीकृत नमूना बस्ती हेर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत सडक यात्रा सहज नहुँदा बारपाकबाटै फर्कने गरेका छन्।
परेन पानी, फुलेन गुराँस फुङ्लिङ। चैत-वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो। यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन्। चैत-वैशाख ढकमक्क फुल्ने गुराँस यस वर्ष फुलेको देखिएन। पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ। तर गुराँस हो कि होइन भने ठम्याउन निकै मुस्किल छ। किनकि अन्य बोटभन्दा त्यति भिन्नता देखिँदैन। पाथीभरा मन्दिरमा प्रत्येक दिन पूजापाठ गर्न जाने आउने तीर्थयात्री एकैछिन उभिएर यसो हेर्ने गर्दछन्। अनि भन्ने गर्दछन् “गुराँस किन फुलेन।” विगतका दिनमा पाथिभरा क्षेत्रमा फुलेको गुराँसको रस चुस्न झुम्मिएका अनेक थरिका चरा अनि मौरी। ती चराको आवाजले सङ्गीतमय यात्रा हुने गर्दथ्यो । गुराँसका रस चुस्ने अनेक थरिका चराचुरूंगी र आफ्नो आहारा बटुल्न आउने ती मौरी अहिले कहाँ केको रस चुस्तै होलान्? विगतको समयमा पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगुराँसका फूलले सजिएको हुन्थ्यो। निकै लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रापछि गाडीबाट ओर्लिनेबित्तिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँसको स्वागतले तीर्थयात्रीमा एक प्रकारको ऊर्जा प्राप्त हुने गथ्र्यो। पाथीभरा क्षेत्रका वनपाखा रंगीन बन्थ्यो। लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दथ्र्यो। ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द लिन तथा पाथीभरा देवीको दर्शन गर्ने अवसर मिल्यो। तर यस वर्ष भने गुराँस फुल्न सकेन। गुराँसका रुख छन् तर अरु रुखभन्दा त्यति भिन्नता छैन। सिदिङवा गाउँपालिका-४ साब्लाखुकी फूलमाया लिम्बू ढकमक्क गुराँस फुल्दाको आनन्द लिन र पाथीभराको दर्शन गर्न जाने सोच निकै अगाडिदेखि नै थियो। गत बुधबार भने लिम्बूको साइत जुर्‍यो। बिहान ४ बजे नै ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट पाथीभरा क्षेत्र प्रस्थान गरिन्। दुई घन्टा यातायातको साधनमार्फत काफ्लेपाटी पुगिन्। काफ्लेपाटीबाट पाँच किलोमिटर उकालो पदमार्गको प्रयोग गरेर पाथीभरा मन्दिर पग्नु सकिन्छ। पदमार्गको दायाँ-बायाँ फुलेको गुराँसको आनन्द लिँदै कहीँकतै गुराँसको थुंगासँग तस्बिर लिने सोच बनाउँदै रंगीन सोच बनाएर उकालो लागिन्। तर लिम्बूका ती रंगीन सोच लामो समय टिक्न सकेन। न त कतै गुराँस फुलेको देख्न पाइयो न त चराचुरुंगीको आवाज नै सुन्न पाइन्। “किन गुराँस फुलेन”, लिम्बूले भनिन्, “गुराँस फुलेको हेर्न पाइन्छ भने आइयो तर गुराँस फुलेन छ।” मधेसमा गुराँस पाइँदैन। मधेसमा जन्मेहुर्केकालाई गुराँस हेर्नका लागि पहाड उक्लिनै पर्दछ। गुराँस हेर्न र पाथीभराका दर्शन गर्न साप्तरीका शिव यादवले भने ढकमक्क गुराँस फुलेको हेर्ने इच्छा पूरा नभएको बताउइन्। प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने याममा गुराँस फुल्न नसकेको स्थानीय इन्द्रनारायण भट्टराईले बताए। विगतका वर्षमा पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यावलोकन गर्न ठूलो सङ्ख्यामा तीर्थयात्री आउने गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। विश्वमा दुर्लभ वन्यजन्तु रेडपान्डाको बासस्थान पाथीभरा क्षेत्रमा पर्दछ। कालो भालु, मृग, घोरल साथै नेपालमा मात्र पाइने काँडेभ्याकुर, कालिज, नेपालको राष्ट्रिय पक्षी डाँफेलगायत वन्यजन्तु तथा पक्षी पाइने गर्दछन्। पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ। यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन्। यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन्। यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङजस्ता प्रजातिसमेत रहेका छन्। स्थानीय व्यवसायी गुराँस फुलेको समयमा पर्यटन व्यवसाय फस्टाउने आशमा हुन्छन्। हिमाली र पहाडी भेगमा ढकमक्क गुराँस फुलेको हुन्छ। फागुनदेखि जेठसम्म गुराँस फुल्छ। गुराँसलाई विम्ब बनाएर धेरै गीत, गजल र कविता लेखिएका छन्। यतिबेला सामाजिक सञ्जालमा गुराँसछेउ उभिएको, हत्केलामा गुराँस राखिएको, कानमा सिउरिएका तस्बिर बढी लोकप्रिय हुन्छन्। यतिबेला गुराँस बगैँचामा रमाउने र पदायात्रा गर्नेहरू धेरै भेटिन्छन्। तस्बिरमा देखेकाहरू प्रत्यक्षरूपमा गुराँस देख्दा धेरै रमाउँछन्। हरेक वर्ष देवतालाई गुराँस चढाइन्छ। यसका पात, बोक्रा र फूल मानिस तथा घरपालुवा जनावरका लागि औषधिका रूपमा प्रयोग गरिन्छ। अचार, सर्वत र रक्सी बनाउन पनि यो झनै उपयोगी हुन्छ। तर यस वर्ष भने विगतमा फुलेझैँ गुराँस नफुलेको स्थानीय बताउँछन्। किन फुलेन गुराँस जलवायु परिवर्तन कारणले गुराँस फुल्न नसकेको कञ्चनजंघा संरक्षण क्षेत्रका वार्डेन दिपेन्द्र पोखरेले बताउँछन्। यस वर्ष विगतको जस्तो असोजदेखि अहिलेसम्म खासै वर्षा हुन सकेन। हिमाली भेगमा हिमपात नभई हिउँ पर्ने समय गएको छ। विगतमा चाँदीजस्तै सेताम्य हुने हिमाल कालो चट्टानजस्तै देखिन थालेको छ। हिउँ पग्लेर हिमरेखाभन्दा माथि जान थालेको पोखरेलले बताए। हिमालमा समयमै हिमपात र वर्षा कमी हुनुले पनि जैविक विविधतामा असर पुगेको वार्डेन पाखरेलको भनाइ छ। त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागमा प्राध्यापन गर्ने वनस्पतिविद् विजया पन्त जमिनमा पानीको मात्रा कम भएकाले यसपालि गुराँस नफुलेको बताउँछन्। “त्यही ठाउँमा अघिल्लो वर्ष फुल्ने यस वर्ष नफुल्ने भनेको सुक्खापनले गर्दा नै हुनुपर्छ”, उन भन्छन्, “पानीलाई सोसेर गुराँस फुल्ने भएकाले फुल्नुअघि पानी नपर्दा गुराँस फुल्न सकेन।” उनका अनुसार सुक्खा हुनेबित्तिकै सुक्ष्म जीवाणु र ढुसीले माटो मलिलो र रसिलो बनाउने प्रक्रिया बन्द हुने भएकाले कोपिला लागे पनि गुराँसको फूल फक्रिन नसकेको हुनुपर्छ। बिरुवा फुल्नु-नफुल्नु, फल-लाग्नु नलाग्नुमा जलवायु परिवर्तनजस्ता अरू थुप्रै कारण पनि उत्तिकै जिम्मेवार हुने उनले बताए।
बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी दमाैली। तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो। लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिए। उनका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ। “अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ, दुईवटा सामान बोक्ने र छवटा रेष्ट्रो क्याविन आउन बाँकी छ”, उनले भने। केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि सुरु गर्ने तयारी छ। “केबलकारका टावर, तार सबै जोडिसकिएको छ, डिब्बा जडानको काम अब द्रुतगतिमा अगाडि बढ्छ”, उनले भने। केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारीसमेत गरिएको छ। साँझ ५ बजेपछि केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालन हुनेछ। “केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ”, अध्यक्ष शर्माले भने। उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ। विसं २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो। विसं २०८० मङ्सिरभित्र पाँचतारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। जेठभित्र भ्यूजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ। बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँचतारे होटलको निर्माण पनि तीव्रगतिमा भइरहेको छ। केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ। पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ। केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ। यस अगाडि केबलकारको क्षमता प्रतिघन्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पुर्‍याइएको छ। होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्‍याइएको छ। दश तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ। होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको छ। यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ। बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी, बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ। यस गार्डेनभित्र बटम स्टेशनको पाँच तलामाथिबाट पानीको आकर्षक झरना बनाइनेछ। यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताए। यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ। बन्दीपुर-४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ। केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ। ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ। केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ। केबलकारको साधारण सेयरको सार्वजनिक निष्काशन (आइपिओ) खुला गर्न सम्झौता भइसकेको छ। लिमिटेडको प्रतिसेयर अङ्कित मूल्य रु एक सय दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्काशन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ। रु तीन अर्ब ४९ करोड कुल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब १५ करोड रहेको अध्यक्ष शर्माले जानकारी दिए। त्यसमध्ये चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् रु चार करोड ३० लाख परियोजना प्रभावित स्थानीयवासीलाई छुट्याइनेछ। चुक्ता पुँजीको १० प्रतिशत रु २१ करोड ५० लाख सर्वसाधारणलाई छुट्याइने शर्माले बताए। आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको काम भइरहेको छ। लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता छन्। रासस
उपनिर्वाचनः आज तनहुस्थित पृथ्वी राजमार्गसहित स्थानीय सडक बन्द रहने तनहुँ। आज हुने उपनिर्वाचन प्रयोजनका लागि तनहुस्थित पृथ्वी राजमार्गलगायत स्थानीय सडकखण्ड बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्री सडकखण्डमा सवारी साधन पुर्णरुपमा बन्द रहने भएको हो। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको सूचना अनुसार पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट मादी नदीको पुलको पश्चिम भागसम्म, डुम्रे-बेंसीसहर सडकखण्ड, आँबुखैरेनी गोरखा सडकखण्ड, दमौली दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडक बन्द रहनेछन्। ‘दमकल, एम्बुलेन्स, खानेपानीका ट्यांकर, दुध बोक्ने सवारी साधन, शववाहन, फोहरमैला ओसार्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेको सवारी साधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी साधन बाहेक सबै प्रकारका सवारी साधनहरु पूर्ण रूपमा बन्द रहने छ,’ जारी सूचनामा उल्लेख गरिएको छ।
रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न सकेन : सभामुख घिमिरे भक्तपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद्को समयमा खोज तथा उद्धारदेखि विपद्को क्षति न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न नसकेको बताएका छन् । आज नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले सामाजिक कार्यमा अगाडि बढ्ने रेडक्रस पारदर्शीकै कुरालाई लिएर चर्को विवादमा आउनु दुःखद् भएको बताएका हुन् । रेडक्रसमा पारदर्शी ढङ्गले काम नभएको, विभिन्न खालको स्वार्थमा रुमल्लिएको भन्दै उनले छिट्टै यस्ता समस्याको समाधान गरी अगाडि बढ्न नसके अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको छवि बिग्रने बताए । सभामुख घिमिरेले रेडक्रसको विवादबारे अध्ययन र अनुसन्धान गर्न विदेशी टोली नेपाल आएर काम गरिरहेको अवस्थामा रेडक्रसकर्मी सबैले विवादलाई हल गर्न एकजुट भएर सघाउनुपर्नेमा जोड दिए । कार्यक्रममा भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवालले रेडक्रसजस्तो सामाजिक संस्थामा भ्रष्टाचार, अनियमतिता र करोडौँ चलखेल हुनु दुःखद् भएको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कमिटीका उपमन्त्री एवं भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले रेडक्रसलाई प्रजातान्त्रिक ढङ्गले चल्न दिनुपर्नेमा पटक–पटक हस्तक्षेप भइरहेको बताए । कुल रु ५५ लाख १७ हजार एक सय दुईको लागतमा रेडक्रसको भवन निर्माण सम्पन्न भएसँगै आज उद्घाटन गरिएको हो । भवन निर्माणका लागि चाँगुनारायण नगरपालिका–३ बाट दुई आर्थिक वर्षमा विनियोजित रु २३ लाख, रेडक्रस भक्तपुर शाखाबाट रु दुई लाख, विभिन्न संस्था र व्यक्तिगत सहयोग दाताबाट रु १५ लाख ६१ हजार आठ सय ७६ गरी कुल रु ३९ लाख ५८ हजार एक सय १४ को आर्थिक सहयोग प्राप्त भएको थियो ।
पशुपति क्षेत्र सफाइ अभियानमा उत्साहजनक उपस्थिति काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुरु गरेको तीनमहिने पशुपति क्षेत्र सरसफाइ अभियानमा उत्साहजनक उपस्थिति देखिएको छ । प्रत्येक शनिबार बिहानको समयमा गरिने सरसफाइ अभियान गत फागुन २८ गतेदेखि सुरु गरिएको थियो । पशुपति क्षेत्र सरसफाइ अभियानका क्रममा आज पाँच सयभन्दा धेरै आभियन्ताको उपस्थिति भएको अभियानका सदस्यसचिव डा सुरेश सुरस श्रेष्ठले बताए । सफाइ अभियानमा पर्यटनमन्त्री सुदन किराती र पर्यटनराज्यमन्त्री सुशीला सिर्पाली ठकुरी हरेक शनिबार पशुपति सफाइकार्यमा सहभागी हुँदै आएका छन् । शनिबार बिहान ८ बजेदेखि १० बजेसम्मको समयलाई पशुपति क्षेत्र सरसफाइ अभियानको समय बनाइएको छ । पर्यटनमन्त्री किरातीको अध्यक्षतामा पशुपति क्षेत्र सरसफाइ अभियान बनाइएको हो । अभियानमा मन्त्रालयअन्तर्गतका सबै विभागका प्रमुख, मन्त्रालयका शाखा, महाशाखाका सहसचिव, स्थानीय सामाजिक सङ्घसंस्थाका सदस्य एवं प्रतिनिधि छन् । पशुपति क्षेत्र सरसफाइ अभियानका क्रममा पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण समिति सदस्य, कर्मचारी, नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, पुरातत्व विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पशुपति विकास क्षेत्रको सेरोफेरोमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थालगायत गरी प्रत्येक शनिबार सयाँै अभियन्ताको उपस्थिति रहने गरेको डा श्रेष्ठले बताए । पशुपति विकास कोषका सदस्यसचिव डा मिलन थापाका अनुसार पशुपति क्षेत्र सरसफाइ अभियानको आज सातौँ हप्तासम्म पशुपतिको मृगस्थली, गुहेश्वरी, गौरीघाट, समाधिघाट, कैलाशपर्वत हुँदै घाटपारिको राम मन्दिर क्षेत्रमा सरसफाइ गरिएको छ ।
गुल्मीमा तीन महिनामा ५१ स्थानमा आगलागीका घटना, चार जनाको मृत्यु काठमाडौं । गुल्मी जिल्लामा मात्रै तीन महिनामा ५१ स्थानमा आगलागीका घटनामा परि चार जनाको मृत्यु भएको छ । पछिल्लो समय गत बिहीबारदेखि लागेको आगोमा परि घाईते भएका धुर्कोट गाउँपालिका वडा नम्बर–३ का धनबहादुर जोगी कुँवरको शनिवार बिहान मृत्यु भएको छ । गुल्मीको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा उनी घाइते भएपछि थप उपचारका लागि काठमाडौं लौजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । धुर्कोट गाउँपालिका ३, गुल्मीका ५५ वर्षीय धनबहादुर जोगी आफ्नो घर नजिकै हाडहाडे बर्दबास जंगलमा आगो फैलिदै आएपछि स्थानीयसंगै त्यसलाई निभाउने प्रयासमा लागेका बेला घाइते भएका थिए । वडा नम्बर दुई खोला पारीतिरबाट राति साँढे दश बजेको समयमा गत बिहीबार लागेको डढेलो फैलिएर वडा तीनमा खोलावारी धनबहादुरको घर छेउ आगो पुग्न लागेपछि त्यसलाई निभाउन जााँदा उनको पूरै शरीर आगोले डढेको थियो । लुम्बिनी प्रादेशिक अस्पताल, वुटवलमा उपचार सम्भव नभएपछि शुक्रवार राति उपचारको लागि काठमाडौं लैजाने क्रममा शनीवार बिहान पाँच बजेतिर पूर्वी नवलपरासीमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविन कुमार प्रधानले बताए । उनले भने ‘मृतकको पोस्ट मार्टम पछि शव परिवारलाई बुझाइएको छ ।’ सोहि डढेलोमा परी सोही वडाका १३ वर्षीय बालक दीपक मुखियाको पनि उपचारको क्रममा शुक्रबार साँढे एक बजे मृत्यु भएको थियो । गत तीन महिनामा मात्रै गुल्मीमा ५१ वटा आगलागीको घटनामा चार जनाले ज्यान गुमाइसकेका छन् भने पशु चौपाया र धनमालको ठूलो क्षति भएको छ । जिल्ला प्रहरी प्रमुख उपरीक्षक (एसपी) नवीन कुमार प्रधानले गत फागुन महिनादेखि बैशाख ८ गते सम्म जिल्लाका विभिन्न ५१ स्थानमा आगलागीको घटना भएको बताए । ‘जिल्लामा घर र गोठहरुमा १८ स्थानमा आगलागी भएको छ । त्यस्तै २३ वटा सामुदायिक वन र निजी १० वटा वनमा गरी यो तीन महिनाको अवधिमा ५१ स्थानमा आगलागीका घटना भएका छन् ।’ प्रधानले भने । उनले संयुक्त सुरक्षा कार्यनिती अनुसार शसस्त्र प्रहरी, नेपाल प्रहरी तथा नेपाली सेनासंग मिलेर आगो नियन्त्रणमा लिने कार्य गरिरहेको बताए । त्यस्तै, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले मृतकका परिवारलाई दुई लाखका दरले राहत प्रदान गर्ने बताए । ‘गृह मन्त्रालयले स्वीकृत गरेको मापद्दण्ड अनुसार आगलागीमा परेको व्यक्तिको परिवारले दुई लाख पाउने व्यवस्था छ । हामीले समयमै जतिसक्दो चाँडो पीडितलाई राहत वितरण गर्नुपर्ने हुन्छ ।’ पाठकले भने । यता, धुर्कोट गाउँपालिकाले मृतकका परिवारलाई चालिस हजारका दरले क्रिया खर्च उपलब्ध गराउने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले घोषणा गरिसकेका छन् । सुख्खा मैसमका कारण एकातिर पानी पर्न सकेको छैन् भने अर्कातिर देशैभरका जङ्गलमा डढेलो लागेकाले यतिबेला धेरै स्थानमा वायु प्रदूषण उच्च बनेको छ ।
विद्यार्थीका हात–हातमा पुस्तक हुनु सरकारको मुख्य उपलब्धि : नेता पौडेल गलकोट । नेकपा (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिकसत्रको सुरुमै विद्यार्थीका हात–हातमा पुस्तक हुनु सरकारको मुख्य उपलब्धि रहेको बताए । आफू शिक्षामन्त्री भएको नौ महिनामा नेपालका धेरै विद्यालयमा पूर्वाधार निर्माण भएको भन्दै अबको आवश्यकता शैक्षिक सुधार रहेको बताए । आज बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डे जोड्ने रिठ्ठेखोला झोलुङ्गे पुलको उद्घाटनपछि बोल्दै पौडेलले समग्र बागलुङको विकासका लागि आफू खटिएको बताए । उनले शैक्षिकसत्र सुरु भएको छ महिना बित्दासमेत विद्यार्थीका हातमा पुस्तक नपुग्ने समस्या सधैका लागि अन्त्य भएको बताउँदै जनक शिक्षा सामग्रीलाई परिमार्जन गर्नुको विकल्प नभएको बताए । “हाम्रै पार्टीको सरकार छ, अहिले शैक्षिकसत्र अगावै विद्यार्थीका हातमा पुस्तक पुग्नु सरकारको उपलब्धि हो”, सङ्घीय सांसदसमेत रहेका पौडेलले भने, “आफू शिक्षामन्त्री हुँदा जनक शिक्षा सामग्रीमा नयाँ छपाइ औजार ल्याएकाले सम्भव देखिएको हो ।” नेता पौडेलले अहिलेको सरकारले सुशासन, रोजगारी सिर्जना र भौतिक संरचनालाई प्राथमिकता दिएर बजेट निर्माणको तयारीमा लागेको बताए । सामुदायिक विद्यालय सुधार योजना अहिले कार्यान्वयन भइरहेको बताउँदै पूर्वमन्त्री पौडेलले अब भौतिक पूर्वाधारपछि गुणस्तरीय शिक्षाको विकासमा अहिलेको सरकार लाग्नुपर्ने आफूले सुझाव दिएको बताए । बागलुङको प्रतिनिधि भएर दोस्रोपटक संसद् छिरेको भन्दै पौडेलले बागलुङका अधिकांश ठूला सडकका योजना अगाडि बढेको जानकारी दिएका थिए । झोलुङ्गे पुलको जिल्लामा बागलुङ नगरपालिकाको तित्याङबाट भकुण्डे पुग्ने अर्को नयाँ झोलुङ्गे पुल थपिँदा स्थानीयलाई राहत भएको बताए ।
तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो खलङ्गा । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो । महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् । उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै गरेको ब्याँस गाउपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए । नेपालतर्फ सडक सुविधा नहुँदा जसोदा भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन । “जसोदाले समान लिन तुइन चढेर भारततर्फ आउन छोरा सिङ्दलसिंहलाई बोलाएकी जानकारीमा आएको छ’’, बुढाथोकीले भने– “तुइन प्रयोग गर्ने क्रममा उनी महाकालीमा बगेको आशंका गरिएको छ ।” सिङ्दलसिंहको शव भारतीय भू–भागमा फेला परेकाले भारतीय सीमा सुरक्षा बलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । मृतक भण्डारीका घरमा दुई छोरा र एक छोरी रहेकी छिन् । उनकी श्रीमतीको भने चार वर्ष अघि निधन भएको बताइएको छ
पदम लिम्बुको शवयात्राको क्रममा बिराटनगर तनावग्रस्त, प्रहरीले छाडयो अश्रुग्याँस इटहरी। कोशी प्रदेश नामाकरणको माग गर्दै भएको आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुको शवयात्राको क्रममा झडप भएको छ। शवयात्राको क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो। बिराटनगरको रोडशेष तनावग्रस्त बने पछि स्थीतिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्याँस छाडेको छ। एक महिनाअघि सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका सहिद लिम्बूको आज अत्येष्टि गर्न बिराटनगरमा शवयात्रा गरिएको हो। ‘पहिचानवादी आन्दोलन’ मा मृत्यु भएका लिम्बूलाई सरकारले राजपत्रमा प्रकाशित गर्दै सहिद घोषणा गरिसकेको छ। संघीय लिम्बुवान राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए अनुसार झन्डै एक महिना देखी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको शवलाई याक्थुङ लिम्बू परम्पराअनुसार शनिवार अन्त्येष्टि गर्न लागिएको हो। उनका अनुसार शनिबार बिहान ९ बजे धरानमा शवयात्रा गरिएको र भानुचोकमा श्रद्धाञ्जली अर्पण कार्यक्रम गरिएको छ भने लिम्बूको स्थायी घर मोरङको उर्लाबारीस्थित लालभित्तीमा पुर्‍याएर अन्त्येष्टि गरिदैँछ ।
दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता दार्चुला । दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए । दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना भएको वडाध्यक्ष बुढाथोकीले बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको बताए। “दुम्लिङबाट प्रहरी टोली घट्नास्थलमा गएको छ, खोजी कार्य जारी छ’’, उनले भने।
ओखलढुंगामा डढेलोले एक हजार हेक्टर वन नष्ट ओखलढुंगा। ओखलढुङ्गामा यस वर्षको डढेलोले करिब एक हजार हेक्टर वन डढेको छ । यस वर्षको हिउँदको समयमा जिल्लाका विभिन्न ठाउँमा लागेको डढेलोबाट करिब एक हजार हेक्टर वन नष्ट भएको हो । जिल्लामा हिउँदयाम लागेसँगै भएका डढेलोका घटनाबाट नौ सय २५ हेक्टरभन्दा बढी जङ्गलमा क्षति भएको विवरण प्राप्त भएको र थप विवरण आउनेक्रम जारी रहेकाले करिब एक हजार हेक्टरमा क्षति पुगेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सत्यनारायण यादवले बताए। जिल्लाका छ सब डिभिजन वन कार्यालयअन्तर्गतका जङ्गलमा लागेको आगोका कारण वन्यजन्तु, काठपात, घाँस, बुट्यान, जडीबुटीलगायत क्षति पुग्दा लाखौँको क्षति भएको उनको भनाइ छ । “स्थानीयका अनुसार नयाँ घाँस पलाउने आशा र हेलचेक्र्याइँले वनमा आगो लगाएको पाइन्छ, तर त्यो आगो लगाउने व्यक्तिको पहिचान नहुँदा कारबाहीको दायरामा ल्याउन सकिन्न, यस वर्ष पनि करिब नौ सय २५ त हाम्रो तथ्याङ्कले देखाउँछ, केही विवरण छुटेको हुनसक्छ त्योसमेत गर्दा हजार हेक्टर वन डढ्यो”, उहाँले भन्नुभयो, “आगलागीका घटना न्यूनीकरण गर्न अपिल गर्दागर्दै पनि गाउँगाउँका वनमा आगो लगाउने क्रम रोकिएन, त्यसरी वनमा आगो लगाउने व्यक्तिको पहिचान भएका खण्डमा कडा कानुनी कारवाही गर्छौं ।” आगलागी सुरु हुनासाथ नियन्त्रणको प्रयास गरिए पनि कतिपय वनमा लागेको आगो एक सातासम्म नियन्त्रणमा आउन नसक्दा ठूलो क्षति भएको उनको भनाइ छ । जिल्ला सदरमुकाम नै जोखिममा पर्ने गरी लागेको आगो नियन्त्रणमा आएको छ । सिद्धिचरण नगरपालिका–१२ को बकुन्दे सामुदायिक वनमा लागेको आगो एक सातापछि नियन्त्रणमा आएको हो । यही वैशाख ३ गते सिद्धिचरण–९ को ज्यामिरे सामुदायिक वनबाट लागेको आगो अनियन्त्रित हुँदै सदरमुकाम नजिकैको बकुन्दे सामुदायिक वनसम्म आइपुगेको थियो । नेपाली सेनाको अरिदमन गणका सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानीय नागरिक र ओखलढुङ्गा युथ फाउन्डेसनका युवाको संयुक्त प्रयासमा आज बिहानदेखि डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको सिद्धिचरण–१२ का वडाध्यक्ष उमङ्ग श्रेष्ठले बताए। आगोका कारण सदरमुकाम बजार जोखिममा रहेको थियो । सबैको प्रयासमा आगो नियन्त्रणमा आएकाले ठूलो जनधनको क्षति हुनबाट बचेको उनको भनाइ छ । शुक्रबार साँझ पानी परेकाले पनि आगो पूर्णरुपमा निभाउन सजिलो भएको थियो । जिल्लाका अन्य सात स्थानमा लागेको आगो पनि नियन्त्रणमा आएको छ । जिल्लामा भौगोलिक कठिनाइ, आगो नियन्त्रणमा आवश्यक पर्ने स्रोतसाधनको अभाव, सबै स्थानीय तहमा दमकल नहुनु, भएका ठाउँमा पनि सबै स्थानमा दमकल नपुग्नु र आगो नियन्त्रणमा सबै नजुट्नुले आगलागी नियन्त्रणमा चुनौती देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपकबहादुर केसीको भनाइ छ ।
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा काठमाडौं। प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ।
इस्लाम धर्मावलम्वीहरुले आज इदुलफित्र पर्व मनाउँदै काठमाडौं। इस्लाम धर्मावलम्वीको महान पर्व इदुलफित्र आज हुने भएको छ। यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए। जसलाई रोजा भनिन्छ। एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका मानिसहरु दिनमा निराहार बस्छन्। बिहानको समयमा सेहरी हलुका खानेकुरा खाएर दिनभर निराहार बसी सूर्यास्त भएपछि ‘एफतार मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ। रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ। दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजानामा ब्रत बस्ने र साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन रहँदै आएको छ।
ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत रामपुर (पाल्पा)। दाँतको समस्याले पीडित पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारी यतिबेला निःशुल्क कृत्रिम दाँत राख्न पाएपछि फुर्तिलो देखिएका छन्। दाँत नहुँदा अनुहारको चमक हराएको, गाला चाउरी परेको र खान पनि समस्या भएको भन्दै उनले कृत्रिम दाँत राखेपछि निकै सहज भएको अनुभव सुनाए। उनको अनुहारमा देखिएको यो खुसी भने गाउँमा आयोजना गरिएको दन्तरोग विशेषज्ञ निःशुल्क शिविरका कारण उनले पाएका हुन्। पाल्पाको बगनासकाली गाउँपालिका– १ बस्ने तुलसा खनाल पनि रामपुरमा निःशुल्क कृत्रिम दाँत शिविर आयोजनामा नयाँ दाँत राख्न पाएपछि खुसी भएकी छन्। शिविरमा लामो यात्रा गरी आइपुगेकी उनी नयाँ दाँत राखेपछि उमेर नै घटेको जस्तो भान भएको बताए। पाल्पाको रामपुरमा कालीगण्डकी फाउण्डेशन नेपालले ट्राभल डेन्टिष्ट्री नेपालको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क कृत्रिम दन्त शिविरबाट यहाँका ज्येष्ठ नागरिकले सुविधा पाएका छन्। रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले शिविरमा सहभागीलाई दाँत हस्तान्तरण गर्दै नयाँ दाँतले सुरुमा केही अप्ठ्यारो अनुभुती भएपनि नियमित प्रयोग गर्दै गएपछि सहज हुने बताए। नयाँ दाँत राख्न महङ्गो पर्ने भएपछि ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क शिविर आयोजना गरिएको कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले बताए। एक महिनामा ६० जनाको नयाँ दाँत राखिएको ट्राभल डेन्टिष्ट्री नेपालका अध्यक्ष डाक्टर शङ्कर श्रेष्ठले जानकारी दिए। नयाँ दाँत राख्न डराउने, छाला, हड्डीसम्बन्धी समस्या भएका बिरामीलाई उपचार गरी दाँतको महत्वबारे परामर्श लिएर कृत्रिम दाँत राख्न उप्रेरणा गरेको उनको भनाइ छ। शिविरमा २१ जना दन्त रोग विशेषज्ञ डाक्टरसहित ३१ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए। एक जनाको पूरै दाँत राखेको न्यूनतम रु ३० हजारदेखि रु ४० हजारसम्म खर्च हुने गरेको छ। शिविरमा रामपुर नगरपालिका, निस्दी, बगनासकाली र रम्भा गाउँपालिकाका नागरिकले सेवा लिएका छन्।
‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै कामपा काठमाडौं । यही शैक्षिकसत्रदेखि काठमाडौँ महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अब विद्यार्थीले शुक्रबार किताब बोकेर विद्यालय जाँदैनन् । नियमित समयमै विद्यालय जान्छन् तर अन्य अतिरिक्त क्रियाकलाप गरेर व्यावहारिक ज्ञान लिएर घर फर्कन्छन् । कक्षा सञ्चालन सुरु भएसँगै प्रत्येक सामुदायिक विद्यालयले उक्त कार्यक्रम लागू गर्ने कामपाको भनाइ छ । अहिले विद्यालयमा धमाधम भर्ना अभियान सञ्चालन भइरहेको छ । कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि कामपाको प्रत्येक सामुदायिक विद्यालयलाई पत्राचार गरिसकेको छ । यसअघि केही विद्यालयले शुक्रबार १ बजे पछि मात्रै केही अतिरिक्त क्रियाकलाप गर्ने गरेका थिए । यसलाई पूरा दिन र सबै शुक्रबार किताबको ज्ञानभन्दा केही फरक कार्यकम गर्न लागिएको हो । विद्यार्थी भाइबहिनीका लागि जीवनोपयोगी, जिन्दगी पढ्ने शिक्षा दिन खोजिएको महानगरले बताएको छ । अब हरेक शुक्रबार १० देखि ४ बजेसम्म नै अतिरिक्त कार्यक्रम सञ्चालन हुन्छ । सुरुआती चरणमा सामुदायिक विद्यालयमा मात्रै कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षदेखि निजी विद्यालयमा पनि विस्तार गरिने कामपाको तयारी छ । कार्यक्रम सञ्चालन गर्न कामपाले प्रत्येक माध्यमिक विद्यालयलाई रु एक लाखका दरले बजेट वितरण गरिसकेको छ । “आगामी वर्ष बढाएर कम्तीमा रु दुई लाख बचाउने तयारी छ”, प्रमुख सुवेदीले भने । आज ‘हाफटाइम’ अघि सम्बन्धित कक्षामा अध्ययन गराइने सम्बन्धित किताबसँग आधारीत रहेर अतिरिक्त क्रियाकलाप हाजिरी जवाफ, कविता लेखन र वाचन, निबन्ध लेखन र वाचनलगायत समूहगत छलफलका क्रियाकलाप गर्दैै रमाउँदै कार्यक्रम सञ्चालन गरिनेछ । प्रमुख सुवेदीले भने, “क्रियाकलाप थप महत्वपूर्ण हुन्छ जुन सीपसँग सम्बन्धित छन् जहाँ खाना पकाउने, व्यक्तिगत र घर सरसफाइका भाषण गर्ने कलासहित अन्य व्यावहारिक ज्ञानका विषय यसमा समावेश गरिन्छ ।” कार्यतालिका बनाएर शुक्रबार नै खेतबारीको स्थलगत अवलोकन पनि गराइनेछ । उक्त कार्यक्रम कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई सञ्चालन गरिन्छ । कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।
चट्याङ पर्दा बेहोस भएका तीन जनाको होस खुल्यो लमजुङ । लमजुङको घलेगाउँमा शुक्रबार दिउँसो चट्याङ पर्दा बेहोस भएका तीन जना घाइते होसमा आएका छन् । तीनै जनाको बेंसीसहरस्थि लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो साँढे ३ बजेतिर परेको चट्याङले घलेगाउँको खेलमैदान र विद्यालय नजिकै पाखो चौरमा रहेका उनीहरु बेहोस भएर घाइते भएका थिए । मेघ गर्जनसहित पानी परिरहेको बेला चट्याङ पर्दा क्व्होलासोंथार गाउँपालिका ३, बगुमका ३५ वर्षीय डिलेश्वर गुरुङ, मर्स्याङ्दी गाउँपालिका १ घनपोखराका १९ वर्षीय चेतकुमारी गुरुङ र मर्स्याङ्दी गाउँपालिका ८ आमबोटेका १५ वर्षीय आकाश घले बेहोस भएका हुन् ।
रुसले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउने काठमाडौं । रुसले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउने भएको छ । रुसको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्कोबीच भएको भेटमा नेपाल र रुसबीचको सीधा हवाई सेवा सञ्चालन गर्ने, रुसमा नेपाली विद्यार्थीको शिक्षाको लागि कोटा बढाउने, सबवे, रेलमार्ग, मोटरवे र जलविद्युत आयोजना निर्माणमा पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल सचिवालयले जानकारी दिएको छ । नेपालमा उर्जा, पर्यटन, व्यापार क्षेत्रमा लगानी अभिवृद्धि र यातायात क्षेत्रको पूर्वाधार विकासमा सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पूर्वाधार र उर्जा क्षेत्रमा रुसी लगानी भित्रने अध्यक्ष तिमिल्सिनाको विश्वास छ ।
पाल्पामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु पाल्पा । पाल्पामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका–४ बस्ने ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । शुक्रबार दिउँसो तिनाउ गाउँपालिका–३ फुलगैरामा गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा न्यौपाने गम्भीर घाइते भएका थिए । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना गराउने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भक्तपुरमा बढ्न थाल्यो पर्यटकको चहलपहल भक्तपुर। भक्तपुर घुम्ने विदेशी पर्यटकको संख्या क्रमशः बढ्ने क्रममा रहेको छ। नयाँ वर्ष २०८० को पहिलो दिन भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूले भरिभराउ थिए। आर्थिक वर्ष २०७९/८० को साउनदेखि चैत्रसम्म (९ महिना अवधि) मा जम्मा १ लाख १६ हजार ८ सय १२ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका छन्। जसमा ६७ हजार ७ सय जना गैरसार्क र ४९ हजार १ सय १२ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू)  रहेका छन्। गत आ.व.को तुलनामा ९ महिनाको अवधिमा ९३,६४५ जना (गैरसार्क ५६,२६० जना र सार्क राष्ट्र र चीनका पर्यटकबाट ३७,३८५ जना) पर्यटकको आगमन वृद्धि र ११ करोड १४ लाख ३१ हजार पाँच सय रुपैयाँ बरबरको पर्यटन शुल्क वृद्धि भएको हो। यो आर्थिक वर्षमा पर्यटन शुल्कबाट १३ करोड ४४ लाख ५५ हजार रुपैयाँ संकलन भएको छ। जसमा गैरसार्क पर्यटकबाट १० करोड ९८ लाख ९९ हजार र सार्क राष्ट्र र चीनका पर्यटकबाट २ करोड ४५ लाख ५६ हजार पर्यटन शुल्क उठेको छ। गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांक हेर्ने हो भने साउनदेखि चैत्रसम्मको अवधिमा जम्मा २३ हजार १ सय ६७ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए। जसमा गैरसार्कअन्तर्गत ११ हजार ४ सय ४० जना र सार्क राष्ट्र र चीनका ११ हजार ७ सय २७ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्यांक छ। आ.व. २०७८।७९ मा जम्मा २ करोड ३० लाख २३ हजार ५ सय रुपैयाँ पर्यटन शुल्क उठेको थियो। भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग एक ५०० लाई एक हजार ८०० कायम गरी शुल्क संकलन गर्दै आएको हो। भक्तपुर नगरपालिकाले पर्यटकहरूबाट उठेको शुल्कबाटै भक्तपुरको सम्पदाहरू संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको छ। भक्तपुर नपामा हाल दैनिक ५/६ सयको हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्यांकले देखाउँछ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले पर्यटन क्षेत्रमा नराम्रोसँग असर पारेकोमा हाल भने विदेशीहरूको आगमनसँगै अब आशा पलाएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत यहाँका सम्पदाहरूको अवलोकन गर्न विदेशी पर्यटकहरूको आगमन बढेसँगै भक्तपुरका पर्यटन व्यवसायीहरू पनि खुशी देखिन्छन्। पर्यटकहरूको आगमनसँगै भक्तपुरको पर्यटन व्यवसायमा पनि चहलपहल बढ्दो छ। भक्तपुर घुम्न आउनेमा प्रायः भारतीय, चीन, अमेरिका, जापान, कोरिया र युरोपेली मुलुकका देशहरूको पर्यटकहरूको आगमन बढ्न थालेको हो। भक्तपुर अहिले आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र भएको छ। पर्यटकहरूको चहलपहल बढेसँगै यहाँका विभिन्न पेशा व्यवसायीहरूमा पनि आर्थिक गतिविधिहरू बढ्न थालेको बताइन्छ। भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा दोस्रो कार्यकालमा १४ वटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य सम्पन्न गर्यो भने दर्जनौं सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य जारी छ। गएको पहिलो पदावधिमा १२४ वटा सम्पदाहरू जनताको आर्थिक, भौतिक र नैतिक सहयोगमा नगरपालिकाको लगानीमा निर्माण सम्पन्न गरिएको थियो। त्यस्तै समय समयमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा, प्रभातकालिन सम्पदा पदयात्रा, स्थानीय पथप्रदर्शकहरुलाई तालिम तथा परिचालन, पर्यटन व्यवसायीहरुसँग छलफललगायतका कार्यमा जोड दिँदै आएको छ। दोस्रो कार्यकालमा पर्यटन गतिविधि बढाउन सांस्कृतिक कार्यक्रमसहित योम्हारी उत्सव, भजन प्रतियोगिता, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न घरेलु उत्पादन मेला, गाईजात्रामा सांस्कृतिक प्रतियोगितालगायतका गतिविधिहरू नगरपालिकाले सम्पन्न गर्यो। नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्र कार्यान्वयनको सिलसिलामा विगतदेखि गर्दै आएको काममा भक्तपुर नपाले निरन्तरता दिँदै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न प्रयास गर्दै आएको छ।
सरकारी विद्यालय अब्बल भएपछि बर्दिवासमा निजी स्कुल छाड्ने बढे महोत्तरी । विद्यालयको शैक्षिक गुणस्तरलाई ध्यान दिए रोकेर हैन, निजि विद्यालय छाडेर आफै सामुदायिक विद्यालय आउछन भन्ने उनकै वडाको एउटा सामुदायिक विद्यालयले प्रमाणित गरेको छ । बर्दिवास नगरपालिका वडा न.३ मा रहेको जनता माध्यामिक विद्यालय गौरिडाडामा वरपरका मात्र हैन ३ जिल्लाका विद्यार्थीहरुको आकर्षक गन्तव्य यतिवेला यही विद्यालय वनेको छ । `धनुषा, सर्लाही, सिन्धुलीका विद्यार्थीहरुको हाम्रो विद्यालयमा निक्कै चाप छ,´ विद्यालयका प्रधानध्यापक दिपकराज वरालले भने , ` ६ देखि ९ सम्म ३०० जना र १ देखि ५ सम्म झण्डै २५० जनाले प्रवेश परीक्षा पास गरिसकेका छन ।´ व्यवस्थापन समितिको निर्णय अनुसार एउटा कक्षामा ५५ जनामात्र पढाउने निर्णय भए तापनी त्यो संख्या वढन सक्ने विद्यालयको अनुमान छ । अहिले प्रायः कक्षाहरुको २ वटासम्म सेक्सन छुट्याइएको छ । जनता माध्यामिक विद्यालयमा नै आफ्ना बोर्डिङ्ग पढीरहेका छोरीहरुले वल्ल नाम निकालेको भन्दै बर्दिबास-७ का विजय यादवले  खुसी ब्यक्त गरे । `यहाँ पढाउन त निक्कै कष्ट पो गर्नुपर्छ ।´ उनले भने । विद्यार्थी भर्नाको यति चाप छ कि विद्यालयले कोटा निर्धारण गरेभन्दा प्रवेश परीक्षा दिनेहरु चौव्वर वनेको विद्यालय प्रशासनले जनाएको छ । जनजागृती माध्यमिक विद्यालयलाई लक्षित गरि विद्यार्थी वढाउने अभियान अन्तर्गत अध्यक्ष विराट बिष्टले निजि विद्यालयका गाडीहरु प्रवेशमा गरेको निषेध आफैमा गलत हो भन्ने उन्कै वरपर रहेका विद्यालयले प्रमाणित गरिदिएका छन । यो विद्यालयवाट ४ किलोमीटर मात्र दुरीमा रहेको  विद्यालयमा सोही गाउँका विद्यार्थी पनि बाक्लै भर्ना हुन आएको विद्यालय प्रशासनको भनाइ छ । विद्यार्थी तथा अभिभावकको आकर्षणलाई वढाउन गाडी रोक्ने जस्तो गैरजिम्मेवार निर्णय हैन, जनप्रतिनिधिहरुले गुणस्तरमा ध्यान दिनुपर्ने सरोकारवालाहरुले सुझाव दिए । जनप्रतिनिधिहरुलाइ जिम्मेवारीवोध गराउनसक्ने  जनता माध्यामिक विद्यालय मात्र एक्लो उदाहरण भने हैन बर्दिबासमा नै अन्य धेरै  सामुदायिक विद्यालयले पनि फडको मारेका छन । बर्दिबास कै भित्री वस्तीमा रहेको जनहित नन्दलाल माध्यामिक विद्यालयको पनि सरकारको भर्ना अभियान कै क्रममा निक्कै आकर्षण वढेको छ । निजि विद्यालय छाडेर यो विद्यालयमा पढन आउनेहरुको संख्या अधिक वनिरहेको विद्यालयले जनाएको छ  । अहिले पनि यो विद्यालयमा मधेश प्रदेश र वागमती प्रदेश गरि ७ जिल्लाका विद्यार्थी अध्यण गरिरहेका छन । विद्यालयका प्रधानध्यापक कुमार घिमिरेको अनुसार निजि विद्यालयवाट  अध्ययन गर्न आएका विद्यार्थीहरुको गुणस्तरलाइ मापन गरी सोही अनुसार अध्यापन भैइरहेको छ ।
सामुदायिक विद्यालयले थाले विद्यार्थी खोज्न घरदैलो अभियान कञ्चनपुर । कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । जिल्लामा सबै विद्यालयका व्यवस्थापन समिति र शिक्षक/शिक्षिका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकको घरदैलोमा पुगेर विद्यार्थीलाई आग्रह गरेका छन् । जिल्लाको शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने राष्ट्रिय अभियान साकार पार्न विद्यालयका शिक्षकहरु घरदैलो अभियानमा लागेको बताए। “हामी विद्यालयको विद्यार्थीको सङ्ख्या बढाउने लक्ष्यका साथ भर्ना अभियानमा लागेका छौँ”, उनले भने, “निःशुल्क र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरी रहेका छौँ ।” उनले कक्षा ८ सम्म आफ्नो विद्यालयमा गत वर्ष एक सय ६० विद्यार्थी रहेको बताए। उनले यस वर्ष दुई सय २० विद्यार्थी भर्ना गर्ने लक्ष्यअनुसार घरदैलो अभियानमा लागेको जानकारी दिए । त्यसैगरी जिल्लाका केही सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यम अपनाएर विद्यार्र्थी आकर्षित गर्न थालेका छन् । अभिभावक तथा विद्यार्थीहरुमा बोर्डिङ स्कुलको आकर्षण रहेका बेला सामुदायिक विद्यालयहरुले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने सुरु गरेर विद्यार्थी आकर्षित गर्न थालेका छन् । सामुदायिक विद्यालयमा पनि बोर्डिङ स्कुलको जस्तै गुणस्तरीय शिक्षा दिनका लागि सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन थालेको भृकुटी माविका शिक्षिका बिमला भट्टले जानकारी दिए। “सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोसाक र झोलासमेत उपलब्ध गराउँदैछौँ”, उनले भने, “हामीले विद्यालयको गुणस्तर वृद्धि गरेर तल्लो कक्षामा अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालन गर्ने गरेका छौं ।” उहाँले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या बढ्न थालेको बताए। यहाँको महेन्द्रनगर माविले पनि यसै शैक्षिक सत्रदेखि नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालयका शिक्षक नवराज जोशीले पाँच सय विद्यार्थी थप्ने लक्ष्यसहित यस वर्षदेखि अङ्ग्रजी माध्यमबाट पनि कक्षा सुरु गरिन लागेको बताए। “हामीले नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क पढाइ गर्ने भएका छौँ”, जोशीले भन्नुभयो, “अहिले यसबारे जानकारी दिन विद्यालयको टोली अभिभावको घरदैलोमा पुग्ने गरेका छौँ ।” उहाँले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक शिक्षिकाहरु विद्यार्थी भर्ना अभियानमा जुटेको बताए। कञ्चनपुरमा दुई सय ५९ सामुदायिक विद्यालयमा ८० हजार एक सय १५ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका सूचना अधिकारी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
कञ्चनपुरमा ‘रेबिज’ रोगको जोखिम बढ्दै कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ। निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका हुन्। स्यालले घरपालुवा कुकुरलाई टोक्ने र स्यालले टोकेको कुकुर बहुलाएर स्थानीय बासिन्दासँगै घरपालुवा जनावरलाई टोक्दा रेबिज सर्ने गरेको जनाइएको छ। दैनिक कुकुरको टोकाइबाट रेबिज विरुद्धको सुई लगाउन अस्पताल जाने स्थानीय बासिन्दाको सङ्ख्या बढ्दै गएको छ। महाकाली अस्पतालका स्वास्थ्यकर्मीका अनुसार दैनिक रेबिजविरुद्धको सुई लगाउन आउने बिरामीको सङ्ख्या तीनदेखि पाँच जनासम्म हुने गरेको छ। पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेश जोशीका अनुसार हालसम्म रेबिजका २१ नमूना परीक्षण गरिएकामा तीमध्ये २० नमूनाको नतिजा पोजेटिभ आएको छ। प्रयोगशालामा आएका नमूनामध्ये अधिकांश कञ्चनपुर, कैलालीका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं ३, १२, १३, पुर्नवास नगरपालिकाको वडा नं १, लालझाडी गाउँपालिकाको वडा नं ३, कृष्णपुर नरपालिकाको वडा नं १, शुक्लाफाँटा नगरपालिकाको वडा नं १० मा हालसम्म परीक्षण गरिएका नमूनामा रेबिजका जिवाणु फेला परेको छ। यसैगरी कैलालीको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकाबाट प्राप्त नमूनामा रेबिजका जिवाणु फेला परेको उनले बताए। “रोगी जनावरले टोकेको अवस्थामा ¥यालको माध्यमबाट यो रोग सर्ने गर्दछ”, उनले भने, “रेबिज रोगको जिवाणुले स्नायु प्रणालीमा असर गर्दछ।” अधिकांश व्यक्तिमा रेबिज रोग कुकुरको टोकाइबाट सर्ने गरेको पाइएको छ। कुकुरसँंगै बिरालो, न्याउरी मुसा, स्याल, ब्वाँसो, फ्याउरोलगायतका जनावरको टोकाइबाट रेबिज सर्ने गर्दछ। रेबिजका लक्षण देखिएका रोगीको उपचार सम्भव नहुने चिकित्सक जोशीको भनाइ छ। “यो रोग शतप्रतिशत प्राणघातक रोग हो”, उनले भने, “यसको भरपर्दो उपचार पद्धति अहिलेसम्म विकसित भएको छैन।” रेबिज रोकथाम गर्न पशु चिकित्सकको सिफारिसअनुसार घरपालुवा कुकुर र बिरालोलाई नियमित खोप लगाउने कार्य गर्नुपर्ने उनको सुझाव छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा पानसिंह ठगुन्नाले हालसम्म कञ्चनपुरमा २० बढी घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण देखापरेको बताए। “हिजोमात्रै कृष्णपुर नगरपालिकाको वडा नं २ मा मरेको स्यालको नमूना परीक्षण गर्दा रेबिजको सङ्क्रमण देखापरेको छ”, उनले भने, “पहिला कुकुरले टोकेरमात्रै रेबिज सरेको पाइने गरेको थियो, हाल बहुलाएको स्यालले स्थानीय बासिन्दाका गोठमा बाँधेका घरपालुवा जनावरलाई टोकेर रेबिज सार्ने गरेको पाइएको छ।” स्याललले घरपालुवा जनावरको मुखमै टोक्ने भएकाले रेबिज सर्ने सम्भावना शतप्रतिशत हुने गरेको उनको भनाइ छ। स्याल, कुकुरलगायतले टोकेका घरपालुवा जनावरलाई भ्याक्सिन लगाउने कार्य हुँदै आएको उनले बताए। “रेबिजको जोखिम बढ्न थालेपछि छाडा कुकुरलाई नियन्त्रण गर्न स्थानीय तहसँंग छलफल कार्यक्रमलाई अगाडि बढाउने योजना बनाएका छौँ”, उनले भने, “छाडा कुकुर नियन्त्रण गर्न परिवार नियोजन गर्ने र घरपालुवा कुकुरलाई नियमित खोप लगाउने कार्य गर्नुपर्ने हुन्छ, त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउनका लागि स्थानीय तहलाई गुहार्दैछौँं, प्राविधिक सेवा विज्ञ केन्द्रबाट उपलब्ध गराउँछौँ।” स्थानीय तहको स्वीकृतिमा दर्ता गरेरमात्रै कुकुर पाल्न पाइने नियम लागू गरिनुपर्ने उनको भनाइ छ।
पोखरामा खानेपानीको समस्या, मुहान सुक्न लागे कास्की । पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा पनि परेको छ । मर्दीखोला पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत हो । खोलामा पानीको सतह घटेपछि पोखरामा खानेपानी वितरणमा समस्या परेको छ। नेपाल खानेपानी संस्थान पोखरा कार्यालयले खानेपानी पु¥याउन गाह्रो परेको सूचना जारी गरिसकेको छ । खडेरीका कारण हाल भइरहेको पानी उत्पादनमा कमी आएकाले पोखरा महानगरभित्र कतिपय स्थानमा पानी वितरणमा समस्या आएको सूचनामार्फत जानकारी दिइएको छ । हाल उत्पादन भइरहेको पानी आपूर्ति नभएका क्षेत्रमा आलोपालो गरी वितरणका लागि संस्थान प्रयासरत रहेकाले अनावश्यक पानी खर्च नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ । पोखरामा ल्याउने पानीको सतह घटेको संस्थानका वितरण प्रमुख सबइञ्जीनियर लक्ष्मण पाण्डेले जानकारी दिए। “गर्मी सुरु भयो, खोलाको पानी ८० प्रतिशत घटेको छ”, उनले भने, “हाम्रो पानीको स्रोत भनेको ८० प्रतिशत मर्दी नै हो । त्यसपछि भोटीखोला, कालीखोला, बालधारा र बोरिङ हो । यी स्रोतमा पानी घटेका कारण हामीलाई समस्या भएको हो ।” खानेपानीको समस्याबारे जानकारी गराउन बिहीबार संस्थानको कार्यालय नै पुग्नुभएका पोखरा महानगरपालिका–१३ का भीमबहादुर गुरुङ पनि हैरानीमा छन्। “मैले घर बनाएको पाँच वर्ष भयो, पानीको समस्या त पहिलादेखि नै हो । मैले महिनामा एक हजार लिटर पानी ट्याङ्करबाट मगाउँथे”, उनले भने, “पछिल्लो दुई हप्तादेखि पानी नै आएको छैन, अहिले त झनै समस्या परेको छ ।” खानेपानीको समस्या समाधान गरिदिन भन्दै दिनहुँ सयौँ सेवाग्राहीको फोन आउने गरेको संस्थानको वितरण शाखाका कर्मचारी राजेश थापाले बताए। घरमा पानी नआएको गुनासोसहित दैनिक तीन सयभन्दा बढी फोन आउने गरेको उनले सुनाए। “खानेपानीको समस्या प¥यो भन्दै पहिला पनि समस्या नआएको होइन, तर पछिल्ला दिनमा अधिक फोन आउने गरेको छ”, उनले भने। मुहानमा पानीको सतह घट्नु एउटा कारण भए पनि खानेपानीको नयाँ प्रोजेक्ट परीक्षणको कामले पनि खानेपानी वितरणमा समस्या भएको सबइञ्जीनियर पाण्डेले बताए। “हामी सात–आठ दिनअघि सूचना जारी गरेरै पोखरा आउने १६ र २० इन्चको पाइप पूर्णरूपमा बन्द गरेका थियौँ”, उनले भने, “किनभने जापान सहयोग नियोग (जाइका)ले बनाएको ग्रिड च्याम्बर र ट्याङ्कीमा पानी जम्मा गर्न हाम्रो पाइपको कनेक्सन टुटाएर त्यता जोडिएको थियो ।” सोही कामका लागि सोमबार पुनः पानी पाइप बन्द गरिने उनले बताए। सोमबारदेखि पनि पानी वितरणमा समस्या हुने भएकाले उपभोक्तालाई अनावश्यक पानी खर्च नगर्न आग्रह गरिएको छ । आफूलाई जस्तै पानीको महत्व अरुलाई पनि छ भन्ने महसुस गरी अनावश्यकरूपमा धारा खुला नराखीदिन, मोटर प्रयोग नगरिदिन पानीको सही सदुपयोग गरिदिन संस्थानले आग्रह गरेको छ । हाल पोखरामा दैनिक साढे सात करोड लिटर पानी आवश्यक रहेको कार्यालय प्रमुख आशिष कार्कीले जानकारी दिए । जसमा अहिले दैनिक साढे पाँच करोड लिटर आपूर्ति भइरहेको छ । पोखरामा संस्थानका छवटा खानेपानी ट्याङ्की छन् । जसमध्ये विन्ध्यवासिनीमा ४० लाख लिटर, माटेपानीमा साढे चार लाख लिटर, बालधारामा एक लाख २० हजार लिटर, खहरेमा एक लाख लिटर क्षमताका ट्याङ्की छन् । यीबाहेक अमला बिसौनी र लभ्लीडाँडाको ट्याङ्कीबाट पनि पानी वितरण भइरहेको छ । पोखरामा संस्थानबाट करिब ४८ हजार धारा जडान भएका छन् । पोखरामा बढ्दो सहरीकरणसँगै खानेपानीको समस्या रहेको प्रमुख कार्कीको भनाइ छ । उनका अनुसार पोखरामा वार्षिक तीन हजार नयाँ धारा जडान हुने गरेका छन् । नयाँ धारा जडान आधारमा हरेक वर्ष थप ३० लाख लिटर पानी आवश्यक पर्ने उनले बताए । अबको पाँच वर्षमा अहिले बनिरहेको जाइकाको आयोजना सकिएपछि पनि खानेपानी पुर्‍याउन समस्या पर्ने कार्कीको आकलन छ । भविष्यमा हुनसक्ने खानेपानीको समस्याका विषयमा अहिले नै सोच्नुपर्ने प्रमुख कार्कीले बताए। खानेपानीको समस्या हल गर्न यही वर्ष पोखरा–७ र १४ मा थप दुई नयाँ बोरिङको काम भइरहेको छ । पोखरामा अहिले आठ ठाउँमा बोरिङबाट पनि पानी वितरण हुँदै आएको छ ।
मुख्यमन्त्री शाहसमक्ष हवाई सेवा सञ्चालनको माग बैतडी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह समक्ष बैतडीका बासिन्दाले पाटनस्थित विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका छन्। जिल्लाको भ्रमणका क्रममा बिहीबार यहाँ आइपुगेका मुख्यमन्त्री शाहसित भेटघाट गर्दै पाटन नगरपालिका–८, ९ र १० का बासिन्दाले तत्काल पाटन विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका हुन्। मुख्यमन्त्री शाहलाई पाटन नगरपालिकाले नगरको समग्र विकासका लागि भन्दै ११ बुँदे ज्ञापनपत्रसमेत बुझाइएको छ। ज्ञापनपत्रमा पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत पाटन–लोर्खा खण्ड मर्मतका लागि बजेट माग, नगरपालिकाको वडा नं ५ र ६ मा उपत्यका कृषि तथा फलफूल विशेष उत्पादन क्षेत्र परियोजना सञ्चालनका लागि बजेटको व्यवस्था गर्नुपर्ने उल्लेख छ। यस्तै पाटन–१, २, ३, ४, ७, ८, ९ र १० मा आलु, मकै, लसुन, प्याज, ओखरजस्ता बाली अत्यधिक मात्रामा उत्पादन हुने भएकाले यहाँ शीतभण्डार तथा बजारीकरणका लागि आवश्यक बजेट विनियोजन गरिदिन माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ। यसैगरी पाटन नगर क्षेत्रभित्रका रामेश्वरधाम, स्वर्गेनी पिपलधाम, महारुद्रधाम, विश्वनाथ वनारसीधाम, पाताल भुवनेश्वरधाम, टुणे शिवलिङ्गधाम, समैजी सदाफलधाम, सिद्धनाथ उदयदेवधाम हुँदै पुनः रामेश्वरधाम जोड्ने सडक निर्माणका लागि बजेट माग गरिएको सिद्धेस्वर खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनसिंह विष्टले बताए। त्यस्तै पाटनस्थित आँखा अस्पतालको स्तरोन्नति, बन्द अवस्थामा रहेको शिक्षा तालिम केन्द्र सञ्चालन, पाटन–पञ्चेश्वर सडकका मजदुरको ज्याला उपलब्ध गराउन, नगरपालिकामा दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थापन गर्नेलगायत माग मुख्यमन्त्री शाह समक्ष गरिएको विष्टले जानकारी दिए। मुख्यमन्त्री शाहका साथमा बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य विक्रमसिंह धामीलगायत रहेका थिए।
उपनिर्वाचनका लागि सीमानाका तीन दिन बन्द हुने बारा।  यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी आज राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ। उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए। यस्तै मतदानकार्य सम्पन्न नभएसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ। बारा क्षेत्र नं २ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूण राजमार्गमा वैशाख ९ गते राति १२ बजेदेखि वैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गरिएको प्रजिअ सापकोटाले जानकारी दिए।
पर्यटकको रोजाइमा जलविरे झरना मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिका-६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ। यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ। मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले गर्मी सुरु भएसँगै दैनिक झरनामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको बताए। “दैनिक दुई सयको हाराहारीमा पयर्टक यहाँ आउने गरेका छन्”, उनले भने। शनिबार र सार्वजनिक बिदाका दिन भने यहाँ अत्यधिक घुइँचो लाग्छ। नयाँ वर्षको पहिलो दिन एक हजार एक सय ५० जनाले टिकट काटेको तथ्यांक छ। कोरोना महामारीपछि यहाँ पर्यटक आउने क्रम बढेको हो। झरना रहेको वडा नं ६ का बासिन्दालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। “यहाँ झरना अवलोकनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन्”, अध्यक्ष गुरुङ बताउँछन्। पर्यटक लोभ्याउनका लागि यहाँ भौतिक पूर्वाधारसमेत निर्माण गरिएका छन्। केन्द्र, प्रदेश सरकार र गाउँपालिकाले विभिन्न संचरना निर्माण गरेका हुन्। झरनासम्म सडक ढलान तथा कालोपत्र गरिएको छ। सिँढी, रेलिङ, गोलघर, प्रवेशद्वार, टिकट घर, धारा, शौचालयलगायत संरचना निर्माण गरिएका छन्। इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उक्त झरना आन्तरिक आयतर्फ गाउँपालिकाले सबैभन्दा बढी आम्दानी गर्ने पर्यटकीय गन्तव्यमा पर्छ। पछिल्लो छ महिनामा गाउँपालिकाले झरना आउने पर्यटकबाट प्रवेश शुल्कवापत रु १४ लाखभन्दा बढी आम्दानी गरेको गुरुङले बताए। यहाँ प्रवेश गर्न आन्तरिक पर्यटकले रु ५० र विदेशीले रु १०० शुल्क तिर्नुपर्छ। “आन्तरिक पर्यटकलाई लक्षित गर्दै झरनालाई थप आकर्षित गर्न विभिन्न योजना बनाउँदैछौँ”, उनले भने। झरना नारायणगढ-मुग्लिन सडकबाट नजिकै रहेका कारण पर्यटक सजिलै पुग्न सक्छन्। चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्यमध्ये जलविरे लामो झरना उत्कृष्ट गन्तव्यभित्र पर्छ। यसले पर्यटकको मन लोभ्याएको छ। यहाँ पर्यटक स्वफूर्तरूपमा आउँछन्। सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगाबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ। चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि पनि यो झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ। पूर्वाधार थपिएकाले पछिल्लो समय झरना आसपासको क्षेत्र व्यवस्थित बन्दै गएको छ।
डुम्रे-बेसीशहर सडकखण्ड आजदेखि दैनिक १२ घण्टा बन्द हुने लमजुङ। लमजुङको सदरमुकाम बेसीशहर जोड्ने एक मात्र डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ। बेसीशहर नगरपालिका १ उदीपुरस्थित देउराली डाँडामा सडक निर्माण कार्य गर्नु पर्ने भएकोले आजबाट एक महिनाको लागि दैनिक १२ घण्टा सडक बन्द हुने भएको हो। पहिरो रोकथाम तथा सडक निर्माण कार्य अन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण कार्य गर्नु पर्ने भएकोले शुक्रवार देखि जेठको पहिलो सातासम्म उक्त सडक बन्द हुने भएको हो। यस अवधिमा यात्रुबहाक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डी प्रसादगण डाईभर्सन बाटो प्रयोगमा ल्याइने छ भने मालबबाहक सवारी भने उदीपुर बजारमै पूर्ण रुपमा रोक लागाइने छ। बर्षातको समयमा लामो समय अवरुद्ध बनेको सो सडकमा अस्थायी व्यवस्थापन गरी यातायात सञ्चालन गरेपनि विगत केही महिनादेखि सुख्खा पहिरो खस्दा यातायात प्रभावित भएको हो। सुख्खा पहिरोका कारण दैनिक जसो अवरुद्ध हुँदै आएको उदिपुर पहिरो पछिल्लो समय थप जोखिम भएको छ। पहिरोका कारण दैनिकजसो यातायात समेत अवरुद्ध हुने गरेको छ। बर्षातका बेला ठूलो पहिरोका कारण अवरुद्ध बनेको सडक यसअघि निर्वाचनका बेला अस्थायी व्यवस्थापन गरी यातायात सुचारु गरिएको थियो। निर्वाचन पछि पनि पुनः केहि दिन यातायात बन्द गरी थप व्यवस्थित बनाइएको थियो। हाल सवारी साधान आवात जावत गर्नका लागि सडक बनेपनि सुख्खा पहिरो खस्नेक्रम शुरु भएकोले दैनिक जसो यातायात अवरुद्ध हुँदै आएको छ।
आज रातिबाट बारास्थित नेपाल-भारत सीमा बन्द बारा। वैशाख १० हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजवाट नेपाल भारत सीमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजसम्म जिल्लाका नेपाल-भारत सिमाना बन्द रहने जनाएको हो। यसैगरी, मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाईएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
कपिलवस्तुको विजयनगरमा २६ घरगोठ जलेर नष्ट चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट भएका छन् । गाउँपालिको वडा नं ५ सिसवामा आज बिहान ११ बजेदेखि सुरु भएको आगो तीन घन्टापछि नियन्त्रणमा आएको वडाध्यक्ष अनवर मुसलमानले बताए । फुसका नौवटा घर पूर्ण, १७ वटा आंशिक गरी २६ वटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्रलगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । आगलागीमा परी एउटा पाडो जलेर मरेको बताइएको छ । मानवीय क्षति नभएको प्रहरी निरीक्षक रानाले बताए । स्थानीय कुसुम पासीको घरबाट सुरु भएको आगोले गाउँमा भएका फुसका घरगोठ जलेका हुन् । आगलागीका कारण रु एक करोडभन्दा बढीको क्षति भएको वडाध्यक्ष मुसलमानले बताए । आगलागीका कारण अहिले खुल्न सकेको छैन । शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रहरी सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा तीन घन्टापछि आगो नियन्त्रण आएको हो । आगलागीस्थलमा लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकी यादव पुगेर अग्निपीडितका लागि राहत व्यवस्थापन गर्ने जनाइन् । गाउँपालिकाका अध्यक्ष गोपाल थापाले पालिकाले पीडितहरूलाई राहतको व्यवस्थापन गर्ने बताए ।
ओमन पुर्‍याएर मानवबेचबिखन गरेको अभियोगमा २ जना पक्राउ काठमाडौं । वैदेशिक रोजगारका लागि ओमन पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम फाकफोकथुम गाउँपालिका–६ घर भई काठमाडौं गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बु र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका भैसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ रहेका छन् । उनीहरुले पीडित व्यक्तिलाई वैदेशिक रोजगारको लागि ओमनमा फ्रि भिषा फ्रि टिकटमा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमन पुर्‍याई ३ हजार ५०० ओमनी रियलमा ओमनका नागरिकलाई बेचेका थिए । ती ओमानका मालिकले शारिरीक तथा मानसिक यातना दिई आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अवस्थामा अचानक बेहोश भई पुनः फिर्ता गरेपछि यो रहस्य खुलेको हो । पीडित नेपाली राजदूतावासको सहयोगमा नेपाल फर्किएका छन् । उनलाई बिक्रि गर्नेहरुमाथि मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थपको अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।
भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु रुकुम पश्चिम । भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा मृत्यु हुने दुई पुगेका छन् । दुवै मृतक भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतको बहराइच जिल्लाका अन्दाजी ४० वर्षीय पुर्षोतम राजकुमार र अन्दाजी ४० वर्षिय धर्मेन्द्र गौतम छन् । दुर्घटनमा परी ३ जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी निमराज भट्टराईले बताए । घाइते मध्धे चार जनाको अवस्था सामान्य छ । गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टर कोहोलपुर मेडिकल कलेज लगिएको छ । उक्त पुलमा नौ जना कामदार खटिएका थिए । जसमध्ये ८ जना भारत बहराइच जिल्ला मधुवापुरका र १ जना नेपालको नवलपरासीका छन् । गम्भीर घाइते हुनेमा भारत बहराइच मधुवापुरका ३२ वर्षिय सञ्जयकुमार गौतम, ६० वर्षीय राजकुमार हरिजन चमार र बर्दिया नगरपालिका– १० का ३८ वर्षीय गोपाल चमार भन्ने हरिजन छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी भट्टराईले बताए । भारत बहराइच मधुवापुरका ३२ वर्षिय गोरख नाथ, सोही ठाउँका ५० वर्षिय मैकु गौतम र १९ वर्षिय सोनु चुमार र नवलपरासीका क्रेन चालक २५ वर्षिय निरजकुमार चौधरीको अवस्था समान्य छ । उनीहरूको उपचार जाजरकोटकको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा भइरहेको छ ।
धरान उपमहानगर प्रमुख हर्क साम्पाङले मागे वडा अध्यक्षहरुको राजीनामा काठमाडौँ । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राईले कर्तव्य पूरा नगरेको आरोप लगाउँदै वडा अध्यक्षहरुको राजीनामा माग गरेका छन् । बिहीबार जारी गरिएको विज्ञप्तिमा कार्यपालिकाको बैठकमा नबस्ने तथा काम कारबाहीको जानकारी नगराउनेलाई नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिइएको छ । प्रमुख साम्पाङले संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक अधिकार दिन नमानेको देखिएकोले वडाहरुमा के कति काम भइरहेको छ सार्वजनिक गर्न विज्ञप्ति मार्फत निर्देशन दिएका छन् । बैठकमा आउन आग्रह गर्दै उनले लेखेका छन, ‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो । यो कसैको अधिकार, रहर या चाहनाको कुरा होइन यो वाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु । ’ कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन भन्दै विज्ञिप्तिमा भनिएको छ ‘जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाई आम धरानवासी जनताका साथै लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’ ‘विगत केही महिना देखि विना कुनै खास कारण पटक÷पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनु पर्ने अधिकारमाथि खेलवाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको अवस्था अवगत गराउन यो विज्ञप्ति जारी गर्न बाध्य भएको छु’, प्रमुख साम्पाङले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
२ करोड ३३ लाख बराबरको कोकिनसहित दुई विदेशी नागरिक पक्राउ काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले लागु औषध कोकिन सहित दुई बिदेशी नागरिक पक्राउ गरेको छ ।. बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्युरोले लागू औषध कोकिन १ के.जी. ८० ग्राम सहित भारतीय नागरिक रविन्द्र कुमार र केन्याका नागरिक पिलिसिया वान्जालाई पक्राउ गरेको जनाएको हो । काठमाडौं वडा नंवर १७ मा रहेको एक होटलमा रहेका भारतीय नागरिकको साथमा रहेको कालो रंगको कपडाको झोलाभित्र लागु औषध कोकिन फेला परेको थियो । घटनाको थप अनुसन्धान गर्दा इथोपियाबाट काठमाडौंसम्म ल्याई भारतीय नागरिकलाई कोकिन दिने केन्याका नागरिकलाई एक हजार अमेरिकी डलरसहित अर्को होटलबाट पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । बरामद लागु औषध कोकिनको अन्दाजी अवैध बजार मुल्य दुई करोड तेत्तिस लाख रहेको उनले बताए । काठमाण्डौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको व्युरोले जनाएको छ ।
सिरहामा नगरपालिकाको भवन तोडफोड, पाँचजना प्रहरी घाइते सिरहा। सिरहाको मिर्चैया नगरपालिकाले सडक विस्तारका लागि घर तथा पसलहरु भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्। बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरुको घर नगरपालिकाले भत्काइदिएपछि आन्दोलनमा उत्रिएका हुन्। संघर्ष समितिले बिहीबार नगरपालिका घेराउ कार्यक्रम राखेको थियो। सयौंको संख्यामा आएका आन्दोलनकारीहरुले नगरपालिका भवनमा तोडफोडसँगै नगर प्रमुख चढ्ने गाडीमा समेत तोडफोड गरेका छन्। उनीहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी प्रदर्शन गरहेका थिए। तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयहरुले मिर्चैया नगरपालिकाको गेट तोडफोड गर्न थालेपछि प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न १० सेल अश्रुग्याँस र ७ राउन्ड  हवाई फायरिङ गरेका छन्। प्रहरी र आन्दोलनकारीबीच  भएको झडपमा ५ जना प्रहरी घाइते भएको र उनीहरुको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्रराज पाण्डेकले जनाएको छ। उनले भने, ‘घाइते प्रहरीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र अहिले अबस्था समान्य छ।’ मिर्चैया नगरपालिकाले संरचना निर्माण र नगर सुन्दर बनाउने नाममा बजार क्षेत्रका घर भत्काएपछि स्थानीयहरु आक्रोशित भएका छन्।
म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’ गलेश्वर। म्याग्दीको बेनी नगरपालिका– ९ घतानको एक घरको दुर्लभ मानिएको ‘किङ कोब्रा’ (राज नाग) भेटिएको छ। बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरको पिँढीमा अचानक कोब्रा देखापरेको हो । कोब्रा हेर्नेको भीड लागेको बेनी–९ घतानका चक्रबहादुर केसीले बताए। विगत नौ वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लागेका त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र विषयमा स्नातकोत्तर तह उत्रिण केशव चोखालले खड्काको घरमा भेटिएको नाग दुर्लभ ‘किङ कोब्रा’ भएको पुष्टी गरेका छन्। उनका अनुसार २०७६ जेठमा पनि घतानकै कोशीपानीको जङ्गलमा उनले सोही प्रकारको कोब्रा फेला पारेका थिए। नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो कोब्रा पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको प्राणी शास्त्रका अध्यता चोखालले बताए। उनका अनुसार यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्न आवश्यक छ। नेपालीमा राजनाग, कालिनाग भनिने यो सर्पको वैज्ञानिक नाम ‘ओपिओपगुस हन्नह’ हो। यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने कोब्रा भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्यपहाडी क्षेत्रमा बसाइँ सरेको हुनसक्ने अध्येता चोखालको भनाइ छ। यो अत्यन्त विषालु प्रजातिको कोब्रा भए पनि नेपालमा भने यसको टोकेको जानकारी भने नरहेको उनले बताए। यो कोब्रालाई नचलाउने ,नजिस्काउने र यसको नजिकमा नजाने हो भने यसबाट बच्न सकिने अध्येता चोखालको भनाइ छ। म्याग्दीमा २०७६ मा भेटिएको सो नाग ‘किङ कोब्रा’ अर्थात् नै भएको किङ कोब्राका विशेषज्ञ एवम् हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले पुष्टि गरेका थिए। अहिले पनि सोही कोब्रा पुनः खड्काको घरमा भेटिएको प्राणी शास्त्रका जानकार चोखालले बताए। उनका अनुसार नेपालमा पाइने ८२ प्रजातीका सर्पमध्ये किङ कोब्राको स्ङ्ख्या अत्यन्त न्यून रहेको छ। यो सर्प नेपालको मात्रै नभएर विश्वकै सबैभन्दा ठूलो विषालु सर्प हो। यो सर्प दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका १६ देशमा मात्रै पाइन्छ। थाइल्याण्डको जङ्गली क्षेत्रमा बाहेक अरु ठाउँमा यो अत्यन्त दुर्लभ प्रजातीमा रहेको उनले जानकारी दिए। उनका अनुसार यसले आहाराको रुपमा अन्य सर्पलाई नै खाने गर्दछ। कहिलेकाँही आफ्नै प्रजातीका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको उनको भनाइ छ। यसलाई विश्व संरक्षण सङ्घको रातो सूचीमा अति संवेदनशील भनेर सूचीकृत गरिएको जनाइएको छ। त्यसैगरी नेपालको कानुनले पनि संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। उनका अनुसार यो सर्प विश्वव्यापिरुपमा नै अति कमलाई मात्र जानकारी भएको सर्प हो।
प्रहरी प्रशासनकै आडमा सिरहाको सीमानामा खुलेआम तस्करी सिरहा। भारतीय बजारसँगै जोडिएको हुनाले सिरहाका सीमानाकाहरूबाट पछिलो समय तस्करी निकै मौलाउँदै गएको छ ।जिल्लास्थित सीमानाकामा तैनाथ गरिएका सशस्त्र प्रहरी बल, सीमा सुरक्षामा खटाइएको प्रहरी र प्रशासनहरूकै सेटिङमा तस्करी बढिरहेको छ । पूर्वीनाकाहरू ठाडी, झाझपट्टी, बरहरी, वरियारपटी, औरही र खैरटोका (माडर)मा गरि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भन्सारका कर्मचारीहरूकै आर्थिक सेटिङमा तस्करहरूले चौविसैघण्टा खुलेआम रुपमा तस्करी गरिरहेको स्थानीहरू आरोप लगाउँछन् । सशस्त्र प्रहरीवलको ७ वटा बिओपी र नेपाल प्रहरीको सोही सीमानाका क्षेत्रमा ७ वटा इलाका प्रहरी कार्यालय रहे पनि तस्करहरूले लाइन क्लियर गर्न इलाका प्रमुखदेखि जिल्ला प्रमुख समेतलाई मोटो रकम तिरेर तस्करको राज नै चलाएको आरोप छ । बुधबार मात्र माडरको बीच बाटोबाटै सशस्त्र प्रहरी बलले यात्रुबाहक सवारीसाधन विङ्गरमा चोहर्वा तर्फ ल्याइरहेको अवस्थामा २० बोरा चिनी नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल नेपाल नः७ गण हेक्वा सिरहाका प्रमुख प्रमोद भारतीले जानकारी दिए । माडरबाट चोहर्वातर्फ आइरहेको विङ्गरमा ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले ५० केजी दरको २० वटा बोरा बरामद गरेको हो । यात्रुबाहक गाडीमा लोड गरी ल्याएको चिनीको जिम्मा कसैले नलिएको भन्दै सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ । नियन्त्रणमा लिएको चिनी आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको सशस्त्र प्रहरी बल प्रमुख भारतीले जानकारी दिए । तस्करीमा प्रयोग भएको सवारीसाधान नियन्त्रणमा नलिनुको कारणबारे जिज्ञासा राख्दा उनले यो आन्तरिक मामिला भएकोले तत्काल बताउन नसकिने बताए । उनले ‘अहिले तत्कालै सबैकुरा बताउन सकिन्नँ थप सूचना चाहिए हेडक्वाटरमा सम्पर्क गर्नुस्’ भन्दै गैरजिम्मेवार जवाफ दिएर फोन काटे ।प्रहरीले बेवारीसे भनेको चिनी र चिनी बोकेको सवारीसाधन गोलजार नगरपालिका ८ चोहर्वाका लाल नाम गरेको व्यवसायीको रहेको स्रोतको दाबी छ । अस्ति मंगलबार बिहान पनि तस्करी भइरहेको गुनासोपछि सिरहा नगरपालिका ९ गुलरियाबाट  भन्सार छली ल्याएका १५ बोरा मैदा प्रहरीले नियन्त्रणमा लियो । मडरबाट चोहर्वातर्फ ज १ ज ३१५ नम्बरको म्याजिकमा ल्याइरहेको सूचनाको आधारमा प्रहरीले मैदा नियन्त्रणमा लिएको हो । सिरहा प्रहरीले मैदासहितको सवारीसाधन नियन्त्रणमा लिए पनि केहीबेरमै तस्करी गरी लाइएका सवारीसाधन भाडाको रहेको भन्दै छोडेको थियो । सीमावर्ती क्षेत्र माडरबाट नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय अगाडिबाटै ज १ ज ३१५ नम्बरको म्याजिकमा भालकसहित दुईजना सवारलाई नियन्त्रणमा लिए पनि प्रहरीले मोटो रकमको चलखेलगरी पक्राउ गरिएको केहीबेरमै सवार व्यक्ति र म्याजिकलाई छोडिएको स्रोतको दावी छ । स्थानीयको गुनासोपछि म्याजिकसहित नियनत्रणमा लिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । तर, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्रराज पाण्डेका अनुसार ३० हजार मूल्य बरावरको १५ बोरा मैदा बेवारिसे रहेको अवस्थामा प्रहरीले बरामद गरेको उनले बताए । बरामद गरेको मैदा भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ । प्रहरी प्रशासनकै निरीहताका कारण जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटो प्रयोग गरी यस क्षेत्रमा व्यापक चोरी तस्करी बढेपछि भन्सार कार्यालय माडरको राजश्व असुली अवस्था निरन्तर खस्किँदै गइरहेको तथ्यांकले देखाउँछ । भन्सार कार्यालय माडर खैरटोकाले ९ महिनामा लिएको वार्षिक लक्ष्य जम्मा १९ करोड ९५ लाख ४६ हजारमा कुल रकमको ३१ प्रतिशत अर्थात ६ करोड २४ लाख ३४ हजार रुपैया राजस्व मात्र असुली भएको सिरहा भन्सार कार्यालय माडर खैरटोकाका सूचना अधिकारी नायब सुब्बा गोपाल महतोले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत्र मसान्तसम्मको नौ महिनाको तथ्यांकले नै सिरहा जिल्लामा तस्करी भइरहेको पुष्टि गर्छ।  तस्करहरूले सिमानाकामा बस्ने प्रहरी जवानदेखि सशस्त्र एसपी, नेपाल प्रहरीका एसपी, भन्सार प्रमुख लगायतका कर्मचारीहरूलाई एकमुष्ठ रुपमा मोटो रकम तिरेर नाकाहरूको वरिपरि राखिएको गोदाममा भण्डारण गर्ने र रातभरी निर्धक रुपमा प्रहरी प्रशासनकै आँखा अगाडिबाट तस्करी गर्ने गरेको स्थानियहरू बताउँछन् । सीमानाका तस्करीको विशेष निगरानी गर्न खटाइएका सशस्त्र प्रहरी, नेपाल प्रहरीहरूले नै नजराना लिएर  आफूहरुको संरक्षण गर्ने गरेका नाम उल्लेख नगर्ने सर्तमा एकजना तस्करले बताए । उनले भने, ‘प्रहरी प्रशासनलाई मासिक रुपमा आफूहरूले लाखौं रुपैयाँ बुझाएर मात्र मालसमान ओसार पसार गर्ने गरेका छौँ ।’ माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटोहरू प्रयोग गरी तस्करहरूले रातिको समयमा चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्याँस चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ(रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल) भित्र्याउने र वारि (नेपाल)बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामाग्रीहरू पारि (भारतीय बजार) पुर्‍याउने गरेको स्थानीयले बताए । नाम उल्लेख नगर्ने सर्तमा ती स्थानीय भन्छन्, ‘यस क्षेत्रबाट रातभरी प्रहरी प्रशासनकै सेटिङमा भारतीय बजारबाट मालसमान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकलमार्फत सिरहा सदरमुकाम लगायतका बजारहरू  मिर्चैया ,गोलबजार,लाहान, लगायतको वजार सम्म ल्याइन्छ ।’  सुरक्षाकर्मीले नै तस्करहरूलाई ‘लाइन क्लियर’ रहेको संकेत गरेपछि उनीहरूले सामान ढुवानी गर्न सुरु गर्ने उनले बताए । यसबारे कसैले प्रहरीलाई खबर गरेर बेवास्ता गरिदिने उनको भनाइ छ । यता भारतीय वजारबाट भन्सार छली गरी ल्याइएका सामान भण्डारण गरिने लहान, सिरहा, मिर्चैया र गोलबजारका गोदामबारे स्थानीयबासी जानकार रहेपनि  प्रहरी प्रशासन  वेखवर झै गुमनाम भएर बसेका छन् । राज्यले नै आर्थिक संकट झेलिरहेको अवस्थामा राजश्व छली गरी भारतीय बजारसँगै जोडिएका सीमानाकामा विगत लामो समयदेखि तस्करी भइरहँदा र सुरक्षा निकायका प्रमुखदेखि भन्सार कर्मचारीले मोटो रकम असुली गरिरहँदा पनि सरोकारवाला निकाय मौन भएर बसेका छन् ।न्युजकारखाना
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना संक्रमण महेन्द्रनगर। पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना संक्रमण दर वृद्धि भइरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोेभिड सम्पर्क व्यक्ति हेमराज जोशीले सीमानाकामा कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि हुने क्रम दुई सातायता बढ्दै गइरहेको बताए। यहाँ कञ्चनपुरको गड्डाचौकी नाका, कैलालीको त्रिनगर र खक्रौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट फर्किनेको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको उनले जानकारी दिए। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा पीसीआर विधिमा तीन र एन्टिजेनमा २७ गरी ३० जनामा सङ्क्रमण देखिएको छ। यहाँ बुधबार चार सय ११ जनालाई एन्टिजेन र २२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो। जसमध्ये कञ्चनपुरका मात्रै बुधबार दश जनाको कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले यहाँ दश जनामा सङ्क्रमण देखिएको बताए। उनका अनुसार गड्डाचौकीमा चार, बेलौरीमा चार र दोधारा चाँदनी र कृष्णपुर नगरपालिकामा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी कैलालीको धनगढीस्थित त्रिनगर हेल्थ डेस्कमा परीक्षण गर्दा तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति जोशीले जानकारी दिए। बुधबार मात्रै सिमाना गड्डाचौकीमा दुई सय आठ, बैतडीको झुलाघाटमा १९, टीकापुर खक्रौला नाकामा ४२, त्रिनगर भन्सारमा एक सय ९७ र दार्चुलाको पुलघाटमा नौ जनाको कोरोना परीक्षण गरिएको थियो। “कोभिडको खोप लगाएका छौँ भनेर मात्रै पुग्दैन”, जोशीले भने, “स्वास्थ्य मापदण्डको पनि ख्याल गर्दै स्वास्थ्यप्रति सजग रहन आवश्यक छ।” उनले सीमानाकामा एन्टिजेन र प्रादेशिक एवं जिल्ला अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको जानकारी दिए।
शुक्रबार रातिदेखि नेपाल-भारत सीमानाका बन्द हुने बारा। बाराकाे क्षेत्र नं. २ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो। यस्तै मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ। बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सूचनामा बारा क्षेत्र नं.२ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूण राजमार्ग ९ वैशाख राति १२ बजेबाट १० गते साँझ ७ बजे सम्मकालागि सम्पूर्ण आवागमन बन्द गर्ने भनिएको छ। एम्बुलेन्स, दुध तथा औषधि बोकेका सवारी, खानेपानीका ट्यांकर, दमकल, दूरसंचार सेव, शव वहान, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा, कुटनितिक नियोगका सवारी र अनुमति प्राप्तबाहेकका सावारी सञ्चालमा रोक लगाइएको छ। उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति शुरक्षालाई दुष्टिगत गरि स्थानीय प्रशासन ऐन २०२८ को प्रावधान अनुसारको आदेश गरिएको हो।
घान्द्रुकमा तुवाँलोका कारण पर्यटक आवागमनमा समस्या पोखरा । कास्कीमा तुवाँलोे लाग्न थालेको एक साताभन्दा बढी भयो । यसले गर्दा यहाँबाट देखिने हिमशृङ्खला राम्रोसँग नदेखिएको त्यति नै समय भयो । यस क्षेत्रमा घुम्न आउने पर्यटकको रोजाइ हिमालको दृश्य नजिकबाट नियाल्नु पनि हो तर, नयाँ वर्षदेखि यहाँका डाँडा तुवाँलोेले डम्मै छेकेको छ । यही कारण पर्यटकको आवागमनमा समस्या भएको छ । नयाँ वर्षमा पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुगेकी चितवनकी पवित्रा सापकोटा हिमाल देख्न नपाएको गुनासो गर्दै थिए। रमणीय गाउँबाट हिमाल हेर्न नपाउँदा खल्लो महसुस भएको उनको भनाइ थियो । “चितवनबाट जे सोचेर घान्द्रुक घुम्न आयौं । त्योभन्दा राम्रो लाग्यो”, पवित्राले भनिन्, “तर, यहाँबाट हिमाल नजिकै देखिन्छ भन्ने सुनेका थियौँ । हुस्सुले गर्दा हिमालको दर्शन नै पाइएन । अलि खल्लो मससुस भयो ।” घान्द्रुकका होटल व्यवसायी किसम गुरुङ पनि पाहुनालाई हिमाल देखाउँन नपाउँदा नरमाइलो लागेको बताउँछन्। घान्द्रुकबाट हिमालको स्पर्श नजिकबाट लिन पाउनु यहाँको विशेषता भए पनि नयाँ वर्षयता घान्द्रुक पुग्नुभएका पर्यटक त्यसै फर्कनुपरेको उनले बताए। “घान्द्रुक सौन्दर्य र संस्कृतिमा धनी छ । यसैका लागि धेरै पर्यटक यहाँ आउनुहुन्छ”, गुरुङले भने, “तर, नयाँ वर्षमा घुम्न आउनुहुने पाहुना हिमाल नहेरी फर्कनुभएको छ ।” केही दिनदेखि लागेको कुहिरोका कारण घान्द्रुक पुग्ने पर्यटक कम भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए। घान्द्रुकमा नयाँ वर्षको दिन दुई हजार एक सय पर्यटक पुगेको उनले बताए। अहिले त्यो सङ्ख्या घटेर दैनिक तीन सयमा झरेको छ । कुहिरोको प्रभाव पोखरामा पनि परेको छ । कोरोनापछि थला परेको पर्यटन क्षेत्रमा नयाँ वर्षले केही आशा जगाए पनि कुहिरोले मारमा पारेको छ । चैतको अन्तिम साता लेकसाइड क्षेत्रको होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतको हाराहारीमा रहेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । तर, त्यो घटेर ३० प्रतिशतमा झरेको अध्यक्ष सुवेदीको भनाइ छ । तुवाँलोेका कारण पर्यटन क्षेत्रमा निकै नोक्सान खेप्नुपरेको उनले बताए। पाहुना आउने अपेक्षा भइरहँदा तुवाँलोका कारण विमानस्थलमा उडान अवरोध हुँदा त्यसको मार पर्यटन क्षेत्रले खेप्नुपरेको उनले जानकारी दिए। “यो बेला धेरै आन्तरिक पाहुना पोखरा आउने तयारीमा थिए । हाम्रो अनुमानमा कम्तिमा पाँचहजार पर्यटक एकसातामा प्रभावित भए । हवाई उडान प्रभावित हुँदा सबैतिर डामाडोल बनायो”, सुवेदीले भने, “पर्यटन क्षेत्रले तुवाँलोका कारण मात्र करोडौं रुपैयाँ नोक्सान खेप्नुपरेको छ ।’ अहिले पोखरा–मुग्लिन बाटो स्तरोन्नतिको चरणमा छ । सोही कारण धुलो र लामो समय लाग्ने झन्झटले पाहुना हवाई माध्यमबाट पोखरा आउन चाहन्छन् तर, कुहिरोले उडान नहुँदा यात्रु अलपत्र परेको सुवेदीले बताउनुभयो । “होटल बुकिङ गरेका पाहुना बेलैमा पोखरा आउन सकेनन्, त्यसले गर्दा होटलका कोठा नै रित्तै छन्”, सुवेदीले भने। बाक्लो तुवाँलोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतमले जानकारी दिए । एकसातामा एकदिन (गत सोमबार) मात्र तोकिएका सबै उडान भएका थिए । “भिजिबिलिटी कम भएर उडान र अवतरण नभएको हो । पोखरामा मात्रै होइन, धनगढीमा प्रभाव थियो, इटहरीमा र सिमरामा पनि प्रभाव थियो”, प्रमुख गौतमले भने । पोखरा विमानस्थलमा उडान हुनका लागि तीन हजार सात सय मिटर भिजिबिलिटी आवश्यक पर्ने विमानस्थल प्रमुख गौतमले सुनाए ।
अव्यवस्थित घरटहरा भत्काउन सुरु रामपुर। पाल्पा दरबार क्षेत्रका अव्यवस्थित घरटहरा भत्काउन सुरु गरिएको छ। बुधबार बिहानदेखि नै ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको सौन्दर्यकरण गर्न त्यस वरिपरिका अव्यवस्थित घरटहरा तानसेन नगरपालिकाद्वारा डोजर लगाएर हटाउने कार्य सुरु भएको हो। सङ्ग्रहालय क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाई पर्यटकीयस्थलको रूपमा विकास गर्न त्यस क्षेत्रमा रहेका अव्यवस्थित घरटहरा हटाउन थालिएको हो। दरबारको सुन्दरता कायम गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले यहाँका सरकारी संरचनामा बनेका घरटहरा नगरपालिकाले डोजर लगाएर हटाउन थालेको छ। तानसेन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरीसहित गएको डोजरले घरटहरा तथा पसल भत्काउन सुरु गरेको छ। शित्तलपाटी मूलढोका र दरबार क्षेत्र वरपर रहेका ५७ घर संरचना भत्काउन लागिएको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले बताए। अव्यवस्थित संरचना हटाउन दुईवटा डोजर परिचालन गरेर काम सुरु गरिएको प्रवक्ता कार्की बताउँछन्। नगरपालिकाको स्वामित्वमा तानसेन–४ मा रहेका १३ वटा घरटहरासहित घरेलु शिल्पकलाका १३, नेपाल रेडक्रसको तीन, कर्मचारी मिलन केन्द्रको तीन, बाल सङ्गठनको एक तथा अर्को व्यवस्था नभएसम्मको लागि भन्दै दिएका २४ घरटहरा भत्काइने तानसेन नगरपालिकाले जनाएको छ। सटरमा पसल तथा कार्यालय चलाइरहेकालाई नगरपालिकाले वैशाख ६ गतेसम्म सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो। सटर भत्काउने समय सीमा दिएपछि यहाँका व्यवसायीले मङ्गलबार नै रातारात सटर खाली गराएका छन्। यहाँका अधिकांश पसलको भाडासमेत वर्षौंदेखि नगरपालिकाले पाएको छैन। यसरी अव्यवस्थित तरिकाले बनेका घरटहरा हटाउने कार्यले यहाँको बजार व्यवस्थित बन्नेछ। लुम्बिनी र पोखराको बीच भागमा रहेको पाल्पाको तानसेन पर्यटकीय सहरको रुपमा विकास भइरहेको छ। यहाँ दुई ठूला पर्यटकिय सहरको बीचमा रहेकाले पनि बाह्य पर्यटक भित्रिने गरेका छन्। ऐतिहासिक, पुरातात्विक, पर्यटकीय, धार्मिक सम्पदाका कारण विभिन्न जिल्ला तथा देशबाट पर्यटक तानसेन आउने गर्दछन्।
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु दमाैली। तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो। जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ। बन्दीपुर गाउँपालिकाले बुधबारदेखि यो काम सुरु गरेको छ। गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङका अनुसार मन्त्रालयको परिपत्रअनुसारनै उक्त काम सुरु गरिएको हो। वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने गुरुङले बताए। “यसअघि अन्यत्रै गएर यस सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ”, उनले भने। श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ। सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने गुरुङले बताए। सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनुपूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बीमाका लागि तिर्नुपर्ने रकम आफूहरुले मोबाइल बैंकिङबाट तिरेर सहजीकरण गरिदिने गरेको उनको भनाइ छ। “मोबाइल बैंकिङ हुने र जान्नेले आफैँ तिर्नु भए पनि हुन्छ, नभए हामीहरुले सहजीकरण गरिदिएर उहाँहरुसँग उक्त रकम लिने गरेका छौं”, उनले भने। उनका अनुसार कल्याणकारी कोषका लागि रु एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि न्यूनतम रु दुई हजार र बीमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ। उक्त सबै काम भए पनि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र उनीहरुलाई स्वीकृति भएको मोबाइलमा पठाइदिने व्यवस्था मिलाइएको छ। “पहिला पहिला श्रम स्वीकृतिका लागि पोखरा जानुपथ्र्यो, एजेण्ट लगाउनुपथ्र्यो। पैसा पनि बढी तिर्नुपर्ने गुनासो आउने गरेको थियो, अब स्थानीय तहबाटै सेवा लिन पाउँदा उहाँहरुलाई झण्झट हुँदैन”, उनले भने। उनका अनुसार एजेण्ट लगाउँदा ठगिने गरेको गुनासो पनि आउने गरेको थियो। आँबुखैरेनी गाउँपालिकाले पनि पालिकाबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ। वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।
शुक्लाफाँटा निकुञ्जमा डढेलो कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । एक सातादेखि निकुञ्जको आधा दर्जन क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । निकुञ्जको मालुमेला, मङ्गलसेरा, साइलेन्ट सफारीको बाटोमा डढेलो लागेको सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बताए । “बस्ती नजिकबाटै डढेलो सुरु भएको थियो, अझै नियन्त्रणमा आएको छैन, गर्मी बढेसँगै वनमा तीव्र गतिमा डढेलो फैलिरहेको छ”, उनले भने, “डढेलो नियन्त्रणको प्रयास गरिरहेका छौँ ।” डढेलो नियन्त्रणका लागि निकुञ्जले नियमितरुपमा अनुगमन तथा फायर लाइन बनाउने र सफा गर्ने काम गरिरहेको उनले बताए । उनका अनुसार डढेलोका कारण सात÷आठ हेक्टर वन क्षेत्र प्रभावित भएको छ । निकुञ्जले पहिलो चरणमा काठे पुल, मचानलगायतका भौतिक संरचनालाई डढेलोबाट जोगाउने प्रयास गरिरहेको छ । डढेलोका कारण निकुञ्ज आसपास तथा महेन्द्रनगर बजार क्षेत्रमा समेत तुवाँलो लागेको छ । बस्तीसँगै जोडिएका क्षेत्रमा डढेलो लागेपछि निकुञ्ज किनारमा तुवाँलोको असर देखिन थालेको हो ।
लुकीछिपी यार्सा संकलन गर्न जाने पक्राउ जाजरकोट। डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् । यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामबाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए। उनीहरु सबै निकुञ्जको तोइजुमपोष्टबाट पक्राउ परेको भण्डारीले बताए। डोल्पामा प्रत्येक वर्ष सर्वदलीय निर्णय गरेर मात्र यार्सा सङ्कलन पाटन खुलाउने गरिन्छ । त्यसैगरी, कुनासा र पुनिखा पाटनमा अवैध रुपमा छिरेका ४० जनाको हाराहारीमा रहेको समूहलाई निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले निगरानी गरेको संरक्षण अधिकृत भण्डारीले जानकारी दिए। यस वर्षको यार्सा संकलन गर्ने समय नजिकिँदै गर्दा एक सातादेखि निकुञ्जका कर्मचारी र सेनाले निकुञ्ज क्षेत्रमा पर्ने यार्सा पाटनमा संयुक्त गस्ती गरिरहेको निकुञ्जले जनाएको छ । यार्सा संकलन गर्ने समय अगाडि नै लुकीछिपी पाटन नछिर्न निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ । नियमित गस्तीका क्रममा पाटनमा कोही भेटिएमा पक्राउ गरी नियमानुसार कारबाही गरिनेसमेत निकुञ्जले जनाएको छ ।
नेपालमा सुरक्षित गर्भपतन : कानुन छ, सहज पहुँच छैन रुपन्देही। बुटवल उपमहानगरपालिका–१९ की १९ वर्षीया अविवाहिता किशोरीको अहिले ३४ हप्ताकोे गर्भ छ। सामाजिक लाञ्छनाका कारण समयमै गर्भपतनका लागि जाने आँट नगर्दा किशोरीले अनइच्छित गर्भलाई निरन्तरता दिनुपर्ने बाध्यता आइलाग्यो। स्याङ्जाका एक युवकसँगको प्रेमसम्बन्धमा परेकी किशोरीलाई सुरुमा गर्भ रहेको पत्तै भएन। गर्भ रहेको थाहा भएपछि पनि घरपरिवारलाई भन्ने हिम्मत भएन। करिब ६ महिनापछि मात्रै परिवारलाई भनेर दिदीसँगै सुरक्षित गर्भपतनका लागि अस्पताल गएकी किशोरीको २८ हप्ता नाघिसकेका कारण गर्भपतन हुन सकेन। किशोरी अहिले कदम नेपालको सुरक्षा आवास गृहमा छिन्। सुरक्षा आवास गृहका इन्चार्ज सुष्मा चौधरीका अनुसार आफन्त र समाजको लाञ्छनाका डरले घरमा बस्ने अवस्था नभएपछि डेढ महिनादेखि उनी गृहमै रहेकी छन्। यो त एउटा उदाहरण मात्र हो। समाजमा महिलाले चाहेमा जुनसुकै समयमा पनि गर्भपतन गराउन पाउनुपर्ने कानुनी व्यवस्था नहुँदा कति महिलाहरु अनइच्छित गर्भधारण गर्न बाध्य छन्। नेपालको संवैधानिक इतिहासमा पहिलो पटक नेपालको अन्तरिम संविधान, २०६३ ले प्रजनन स्वास्थ्यलाई महिलाको मौलिक हकका रुपमा प्रत्याभूत गरेको थियो। हाल २०७२ सालमा जारी भएको नेपालको संविधानको धारा ३८(२) ले पनि प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ। प्रत्याभूत गरिएका मौलिक अधिकारहरूको कार्यान्वयनका लागि नेपालले २०७५ साल असोज २ मा एक छाता ऐनका रुपमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन ल्याएको छ। यसका साथै २०७७ साल असोज २६ गते सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावलीसमेत कार्यान्वयनमा ल्याएको छ। नेपालको कानुनअनुसार योग्यता पुगेका इजाजतप्राप्त स्वास्थ्यकर्मीसँग महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गर्न सक्ने, जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भपतन गर्न सक्ने व्यवस्था छ भने विशेष अवस्थामा गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गर्न पाउने कानुनी व्यवस्था रहेको महिला, कानुन र विकास मञ्चका अधिवक्ता नवीनकुमार श्रेष्ठ बताउँछन्। सामान्यतः गर्भपतन गर्भवतीको स्वेच्छिक मञ्जुरीले भएको अवस्थामा महिलाको अधिकार र गर्भवतीको इच्छा बेगर/बलपूर्ण भएमा महिला विरुद्धको हिंसाका रुपमा लिइन्छ। तर नेपालमा सबै अवस्थाहरूको गर्भपतनलाई फौजदारी कानुनका रुपमा मुलुकी ऐनको ज्यानसम्बन्धी महलमा व्यवस्था गरेको छ उनको भनाइ छ। “फौजदारी कानुनअन्तर्गत गर्भपतनसम्बन्धी व्यवस्था रहँदा महिलाको गर्भपतनको अधिकार सुनिश्चित हुन सकेको छैन। गर्भवती महिलाले आफ्नो स्वेच्छाले गर्भपतन गर्दा वा अन्य कुनै कारणले गर्भपतन हुँदासमेत गर्भवतीलाई नै कारबाही हुने र कसुर कायम गर्ने गरेको देखिन्छ”, उनी भन्छन्। नेपाल सरकारले आर्थिक वर्ष ०७३/७४ बाट सरकारी स्वास्थ्य संस्थामा गर्भपतन सेवालाई निःशुल्क गर्ने व्यस्था गरेको हो । सन् २०१४ मा कृपाले गरेको अध्ययनअनुसार नेपालमा बर्सेनि तीन लाख २३ हजार गर्भपतन हुने गरेको छ। जसमा कानुनी रुपले ४२ प्रतिशत र गैरकानुनी रुपमा ५८ प्रतिशत गर्भपतन हुने गरेको छ। नेपालमा कानुनी रुपमा गर्भपतनले मान्यता पाए पनि पहुँचमा पुर्‍याउन अझै मेहनत गर्नुपर्ने देखिएको छ भन्छिन्, आइसपासका नीति तथा सुशासनविज्ञ माधवी बज्राचार्य। कानुनअनुसार २८ हप्तापछिको गर्भपतन अवैध हुने भएकाले संशोधन गरी महिलाले चाहेमा जहिलेसुकै पनि सुरक्षित रुपमा गर्भपतन गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने उनी बताउँछिन्। गर्भपतन सेवा अझै पनि सीमित स्वास्थ्य संस्थामा उपलब्ध हुनु, सेवा प्रदान गर्न सूचीकरणमा ढिलाइ हुनु, कार्यक्रमप्रति जवाफदेहिता र अनुगमनमा कमी, गर्भपतनसम्बन्धी सामाजिक लाञ्छनामा कमी जस्ता कारणले गर्भपतन सेवामा महिलाको पहुँच पुग्न नसकेको विज्ञ बज्राचार्यको भनाइ छ। सुरक्षित गर्भपतन प्रदान गर्ने स्वास्थ्य संस्था सहरी क्षेत्रमा मात्र केन्द्रित हुनु, ग्रामीण क्षेत्रमा सेवा केन्द्र पर्याप्त मात्रामा नहुनु, स्वास्थ्य संस्थामा सूचीकृत स्वास्थ्यकर्मीको अभाव, आवश्यक स्वास्थ्य उपकरणको उपलब्धता नहुनु, अपाङ्ग महिलामैत्री भौतिक संरचना तथा व्यवहार नहुनु, सेवा शुल्क उच्च हुनु र असमान हुनु, गर्भपतनसँग जोडिएको लाञ्छना तथा हेयभावको दृष्टिकोण, गोपनीयताको अभाव, गर्भपतनको निर्णयमा पुरुषको प्रभाव रहनुलगायत कारणले पनि महिलाको सुरक्षित गर्भपतन सेवामा सहज पहुँच हुन सकेको छैन। सुरक्षित गर्भपतनसम्बन्धी कानुनको ज्ञानमा कमी, सेवामा सर्वसुलभ र सहज पहुँचमा बाधा–अड्चनका साथै गर्भपतनविरुद्ध रहेका नकारात्मक धारणा र विभेदको कारण महिलाहरू प्रायः असुरक्षित गर्भपतनको बाटो रोज्न बाध्य हुन्छन्। यसकारण उनीहरू प्रजननसम्बन्धी विभिन्न जटिलता तथा रोगबाट पीडित हुनाका साथै कतिपय अवस्थामा आफ्नो ज्यानसमेत जोखिम हुने र दीर्घकालीन स्वास्थ्य समस्याले ग्रसित हुन्छन्। तसर्थ, महिलाहरू आफ्नो प्रजननसम्बन्धी विषयमा आफैँ निर्णय गर्न पाउने अधिकारबाट वञ्चित हुन्छन्। नेपालमा गर्भपतनसम्बन्धी छुट्टै कानुनको अभावले महिलाको अधिकार र स्वास्थ्य संरक्षणको पूर्वाधार विकास नहुनाले संवैधानिक रुपमा सुनिश्चित गरिएको प्रजनन अधिकार स्वतः हनन भइरहेको छ भन्छिन्, अधिकारकर्मी सुमित्रा शर्मा। प्रजनन स्वास्थ्य तथा प्रजननसम्बन्धी हकलाई मौलिक हकका रूपमा संविधानमै व्यवस्था गरिएको छ। संविधानको धारा र उपधारामा विनियोजन गरिएको यो मौलिक हकको उपभोग कसरी भइरहेको छ भन्ने लेखाजोखा जरुरी रहेकाले आइपासको सहयोगमा महिला, कानुन र विकास मञ्चले प्रदेशस्तरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको अधिवक्ता नगेन्द्र बस्याल बताउँछन्। त्यसो त सरकारी र विभिन्न गैरसरकारी संस्थाले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा कार्यक्रम गरिरहेको पाइन्छ तर सेवामा सहज पहुँचका लागि सेवा प्रदायक निकाय अझै जिम्मेवार बन्नुपर्ने देखिन्छ। प्रजनन स्वास्थ्य अधिकार मानव अधिकारको विषय हो। यसमा तिनै तहका सरकार प्रतिबद्ध हुनुपर्छ भन्छन्, अधिवक्ता लोकनाथ पन्थ।
सवारी दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु महोत्तरी। महोत्तरीमा दुर्घटनामा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बुधबार यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो। बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश-०१-००४-६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको मृत्यु भएको प्रहरीले जनाएको छ। गौशाला नगरपालिका-२ बस्ने अमित कुमार मण्डल, सिरहा कल्याणपुर विवाह गरेर गएकी मण्डलकी बहिनी अन्जु मण्डल र उन्की ४ बर्षीया छोरी अन्सु मण्डलको उपचारको क्रममा मृत्यु भएको हो। अमित र अन्शुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा र अन्जुको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बारामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक बारा। आगामी १० वैशाखमा बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा शान्ति सुरक्षाका लागि भन्दै बारा जिल्लाभरमा मदिरा बिक्री वितरण तथा ओसार पसारमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय बाराले वैशाख १० गतेसम्मका लागि जिल्लाभरीमा मदिरा बिक्री वितरण तथा ओसारपसार गर्न रोक लगाएको हो। मदिराका कारण आसन्न निर्वाचनमा असरपर्ने देखिएकाले मदिरा बिक्री वितरण तथा ओसारपसारमा पूर्ण रुपमा बन्द गरिएको बाराका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डले जानकारी दिए। उनले भने, ‘चुनावको समयमा मदिरा बिक्री वितरण तथा सेवनले विभिन्न किसिमका झै-झगडा लगायतका अन्य घटना हुनसक्ने भएकाले हामीले मदिरा बिक्री वितरणको कार्य बन्द गरेका हौँ।’ त्यस्तै मदिरा बिक्री वितरण गरेमा वा मदिरा सेवन गरेर कसैले सार्वजनिक स्थानमा होहल्ला गरेमा तत्कालै पक्राउ गर्न र कानुनी कारबाही गर्न प्रहरीलाई निर्देशन दिईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पर्यटक लोभ्याउँदै कुपिन्डे दह दाङ। सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको संख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँकोसंख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको छ। चारैतिर वनजङ्गलको बीचमा अवस्थित दह देखेपछि त्यहाँ पुग्ने जो कोही पनि दङ्ग पदैँ रमाउने गर्दछन्। एक हप्ताअघि उक्त दहमा भेटिएकी तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी सुशिला भटृराई त्यहाँको वातावरण देखेर निकै खुसी भईन्। उनले भनिन्,“यति राम्रो प्राकृतिक दृश्य देख्दा पाइएको आनन्दबाट धेरै सन्तुष्टी मिलेको छ।” आफ्नी बहिनी र छोराछोरीसँगै पुगेकी भटृराईले चार घण्टा दह क्षेत्रमा बिताउन पाउँदा जति आनन्दको अनुभूति गर्न पाए त्यहाँको सुन्दरता स्वर्गको वर्णन गरेजस्तै देखिने बताइन्। “कुपिन्डे दहलाई स्वदेश तथा विदेशमा चिनाउनका लागि प्रचार प्रसार गर्न र नेपालकै प्रमुख पर्यटकीय केन्द्रको रूपमा विकास गराउन सके यसले कर्णाली जिल्लाको सल्यानका साथै आसपास जिल्लाका गाउँको विकासमा समेत टेवा पुग्नसक्ने देखिन्छ,” उनले थपिन्, “सल्यान जिल्लाका विभिन्न धार्मिक मठ मन्दिरमा दर्शन तथा पूजा आरधना गर्न गएको समयमा कुपिन्डे दह र त्यहाँको बराह मन्दिरसम्म पुगेकी हुँ। सो दह निकै सुन्दर रहेछ देख्दा निकै मनमोहक लाग्यो।” बाँकेको कोहलपुरबाट उक्त दह हेर्नकै लागि साथीहरुसँगै पुगेकी कालिका रेग्मी पनि यहाँको वातावरण देख्दा निकै खुसी थिइन्। उनले दहमा ढुङ्गा चढेर जलविहार गर्नाका साथै फोटो खिची टिकटक बनाउन पाउँदा निकै आनन्द भएको बताइन्। अहिले गर्मीको समयमा चारैतिर जङ्गल र सोही जङ्गको बीचमा यति ठूलो र निलो देखिने दह देख्दा यात्राको थकान मेटिनाका साथै शीतलताको अनुभूति भएको उनको भनाइ थियो। तुलसीपुर उपमहानगरपालिका वडा नं ५की निरा ढुङ्गानाले पनि यो दह अद्वितीय सम्पदा भएकाले यसको संरक्षणका लागि सबैजना लाग्नु पर्नेमा जोड दिइन्। दहसम्म पुग्ने मोटरबाटो कालोपत्रे गर्न र दहदेखी केही टाढा चमेना गृह तथा होटल सञ्चालन गरिएमा पर्यकटलाई सुविधा हुनाका साथै पर्यटकहरुको संख्या पनि दिन प्रतिदिन बढ्छ त्यसैले आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिन उनले आग्रह गरिन्। सास्ती खेपेर यहाँ आइपुगे पनि त्यहाँको वातावरणले सबै थकान मेटाउने रहेछ ढुङ्गानाले भनिन्। कुपिन्डे दहमा डुङ्गा चलाउँदै आएका हरिशचन्द्र पुरीले यस दहको पानीले वर्षमा तीन पटकसम्म रङ्ग बदल्ने गरेको जानकारी गराए। प्राय निलो देखिने दहको पानी माघ–फागुन महिनामा रङ्ग खैरो र रातो बन्छ भने वर्षाको समयमा बाढी पस्दा पनि पानी कहिल्यै धमिलो नहुने उनले बताए। गर्मी महिनामा दहको अवलोकन गर्न र ढुङ्गा चढेर सयर गर्न टाढा टाढाबाट आउने पर्यटकहरूको संख्या बढ्ने गरेको डुङ्गा चालक पुरीले उल्लेख गरे। डुङ्गा चढेर पुरै दह अबलोकन गरेवापत रु दुई सय शुल्क लिने गरिएको र मासिक कम्तीमा पनि रु २० हजारभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ थियो। कुपिन्डे दह संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले २०६७ सालदेखि मात्रै यो दहको चर्चा सुरू भएको बताए। उनका अनुसार उक्त दहको छुटृै विशेषता छ। वरिपरि घना जङ्गल भए पनि यसमा एउटा पनि पात भेटिँदैन। पात खस्नासाथ आफैँ किनारमा पुग्छन्। नभए यहाँका चराहरूले छेउसम्म धकेल्छन् भन्ने मान्यता पनि छ यो दह चखेवा, पानी हाँस र स्थानीय गरेलो र बुधना माछाको बासस्थान पनि हो। कुपिन्डे दहको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार २ सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर रहेकोे छ। दहले कति क्षेत्रफल ओगटेको छ भन्ने बारेमा एकिन जानकारी नभएको बताइन्छ। दहमा पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने पनि स्पष्ट जानकारी यहाँका बासिन्दामा छैन। यो दहको देखिने मुहान पनि छैन र निकास पनि छैन तर वर्षामा दहमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो विस्तारै घट्दै जाने गरेको अध्यक्ष कुँवरले बताए। यसको देखिने निकास नभए पनि पश्चिमतर्फको भागबाट जङ्गलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान गरिएको छ। दहमा स्वदेशी तथा विदेशी पर्यटकलाई धेरै संख्यामा भित्र्याउन सके जिल्लाको मुहार नै फेर्न सकिने कुपिन्डे दह संरक्षण समितिका पदाधिकारी बताउँछन्। त्यसका लागि दह क्षेत्रमा पुग्ने बाटो कालोपत्रे हुनुपर्ने, पर्यटकहरुका लागि बास बस्ने होटल तथा चमेना गृह तथा भौतिक पूर्वाधारको विकास हुनुपर्ने र दह क्षेत्रमा सुरक्षाकालागि उचित व्यवस्था हुनुपर्नेमा सरोकारवालाले जोड दिए।
चार करोड ४८ लाखको लागतमा रेचेघाटमा पक्की पुल निर्माण पाल्पा। पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ। जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल रु चार करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो। पुलको लम्बाइ ४६ मिटर रहेको छ। पैदलमार्गसहित दुईतर्फी पुल सञ्चालनमा आएसँगै पूर्वखोला तथा निस्दी क्षेत्रका बासिन्दालाई सहज भएको स्थानीय होम राई मगरले बताए। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास, खानेपानी तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले मङ्गलबार सो पुलको उद्घाटन गरे। उक्त खोलामा पक्की पुल नहुँदा यहाँका बासिन्दाले वर्षायाममा खोला वारपार गर्न समस्या भोग्दै आएका थिए। कृषकले उत्पादन गरेको सामग्री बजारमा पठाउन समस्या भएको थियो। पुल बनेपछि दैनिक जीवनयापनमा टेवा पुगेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताउँछन्। निस्दी र पूर्वखोला गाउँपालिकालाई जोड्ने मोटरेबल पुल निर्माण भएपछि यहाँका बस्ती अन्य गाउँसित जोडिएका छन्।
लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने लमजुङ। लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको यही वैशाख १५ गते पोखरामा आयोजना हुने स्थापना दिवसको अवसरमा लोक गायिका गुरुङलाई सम्मान गरिने भएको हो । प्रतिष्ठानको सोमबार बसेको बैठकले गुरुङलाई लोकसंगीत सम्मान सहित कम्तीमा ५० हजार रुपैयाँ राशीको पुरस्कार दिइने प्रतिष्ठानका उपकूलपति गोरे गुरुङले बताए। गायिका गुरुङलाई ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा उनले स्थापना गरेका हुन् । लमजुङको बेंसीसहर नगरपालिका ५, नाल्माका लोक गायिका माया गुरुङ वि.सं. २०३० सालदेखि लोक गीतसंगीत प्रति अनावरत रुपमा लागि पर्दै आएकी छन् । लोकगायिका माया गुरुङले गाएकाे  ‘गाउँसहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन, भैसक्यो मेरो घरबार’ बोलको गीत एकताका निकै चर्चित थियो । लोककला क्षेत्रमा तीनदशक भन्दा बढी समयदेखि विभिन्न समस्यासँग जुध्दै लोकसंस्कृतिको संरक्षण र संवद्र्धनमा लागेको भन्दै उहाँलाई सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । २०४५ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा यही गीत गाएर प्रथम हुनुभएका उनले ‘सैलुङ्गे डाँडा नाल्माको…, माया सरर…, खुर्पेटो डोकोले….’ लगायत एकल र युगल तथा सामूहिक गरी करिब २ सय गीत गाएकि छन् । उनले ११ वटा गीति एल्बम समेत निकालीसकेकी छन् ।
मुख्य प्रशासकीय अधिकृतमाथि उपप्रमुखले अभद्र व्यवहार गरेको भन्दै नगरका कर्मचारी आन्दोलित महोत्तरी। महोत्तरीको बलबा  नगरपालिकामा कर्मचारीहरु आन्दोलित भएका छन्। बैठक बसिरहेको बेला नगरपालिकाका उपप्रमुख राम दुलारी देवीले प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुरमाथि अभद्र व्यवहार गरेको भन्दै विराेधमा कर्मचारीहरू आन्दोलित भएका हुन्। ४ बैशाखमा बसिरहेको बैठकमा केही मान्छेहरूसहित प्रवेश गरेकी उपप्रमुख राम दुलारी देवीले आफ्नो जिम्मेवारीलाई हस्तक्षेप गरेको बताउँदै बोतल प्रहार गरेको कर्मचारीहरूकाे भनाइ छ। व्यक्तिगत स्वार्थलाई विषयवस्तु बनाई उपप्रमुखले गालीगलौज र अभद्र व्यवहार गरेकाे आरोप लगाउँदै कर्मचारीहरुले घटनामा संलग्न व्यक्तिहरु र उपप्रमुखलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्। उपप्रमुख र सग्लन व्यक्तिहरुलाई कारबाही नभएसम्म वडासम्मका सम्पूर्ण काम ठप्प बनाउने पनि उनीहरूले घोषणा गरेका छन्।
चितवनमा अनुमति लिएर राखिएका ३२ थान मध्ये दुई जनाले मात्रै बुझाए हतियार चितवन । निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका हतियारमध्ये चितवनमा दुई थान हतियारमात्र बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि फिर्ता लगिएका दुई हतियार बुझाइएको हो । जिल्लामा अनुमति लिएर राखिएका ३२ थान हतियार छन् । जिल्ला प्रशासन कार्यालयले गत चैत २४ गते सूचना जारी गर्दै चैत मसान्तभित्र हतियार बुझाउन गरेको आह्वानका क्रममा लगिएका हतियार पुनः स्थानीय प्रशासनलाई बुझाइएको हो । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा ती हतियार बुझाइएको पण्डितले जानकारी दिए। यही वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन इजाजतप्राप्त हतियार बुझाउन अनुरोध गरिएको हो। जिल्लामा अनुमति लिएर राखिएका १२ बोरको १४ थान, १३ बोरको एक थान, राइफल १० थान, एकनाले बन्दुक एक थान, दुईनाले बन्दुक एक थान र अन्य हतियार छन् । इजाजतप्राप्त हतियार बुझाउन आनाकानी गरेको पाइएमा हतियार बरामद गरिने पण्डितले बताए। निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि स्थानीय प्रशासनले निर्वाचन विशेष एकीकृत सुरक्षा योजनासमेत लागू गरेको छ । उपनिर्वाचनका लागि मनोनयन दर्ता भएसँंगै यो योजना कार्यान्वयनमा ल्याइएको हो ।
मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु गलेश्वर। म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ। बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नंको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो। सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसित ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए। चितुवाको टाउको ठोक्किएको थियो। करिब ४० किलोको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको रानाभाट बताउँछन्। मोटरसाइकल चालक खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वनजंगलमा लागेको डढेलोका कारण अहिले चितुवाको बासस्थान खलबलिएको प्रमुख रानाभाटको भनाइ छ।
विभागले नै ताला लगाएको सल्लेरीको एक फार्मेसीमा खुलेआम औषधि बिक्री सोलुखुम्बु । औषधि व्यवस्था विभाग विराटनगरले ताला लगाएको सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित एक औषधि पसलले खुलेआम औषधि बिक्री गरिरहेको पाइएको छ । विभागले गत चैत २३ गते गरेको अनुगमनका क्रममा विभिन्न कमजोरी औँल्याई तत्काललाई औषधि बिक्री गर्न रोक लगाउँदै ताला लगाएको थियो । उक्त फार्मेसीले अहिले निर्वाधरूपमा औषधि बिक्री गरिरहेको पाइएको हो । अनुगमनका क्रममा करिब चार वर्षदेखि फार्मेसी नवीकरण नगरेको तथा औषधि पसलबाटै निर्माण सामग्रीदेखि किराना सामान राखेर बिक्री गरेको पाइएकाले औषधि पसलमा विभागले ताला लगाएको थियो । सबै सामग्री एकै ठाउँमा राखेर बिक्री गर्न नपाउने प्रावधान भए पनि सल्लेरी मेडिकल हलले त्यसको पटकपटक अवज्ञा गर्दै एकै स्थानबाट सबै सामग्री बिक्री गरिरहेको पाइएको विभागले जनाएको छ । उक्त कमजोरी सुधार गर्न पटकपटक समय दिँदासमेत अटेर गरेकाले विभागमा नै उपस्थित हुन सात दिने अल्टिमेटमसहित चैत २६ गते औषधि पसलतर्फको द्वारमा ताला लगाइएको फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले बताए । उक्त फार्मेसीले विसं २०७५ पछि दर्ता नवीकरण नगरेको पाइएको विभागले जनाएको छ । औषधि पसलतर्फको ढोकामा ताला लगाए पनि अर्को तर्फको ढोका प्रयोग गरी उक्त फार्मेसीले औषधि बिक्री गरिरहेको पाइएको हो । विभागले भने उक्त फार्मेसी सम्पर्कमा नआएको बताएको छ । फार्मेसीको नवीकरण फेल भइसकेको र आफूले पसल सञ्चालक भगवती गुरुङ (बज्राचार्य) लाई पटकपटक ताकेता गर्दा सम्पर्कमा नआएको औषधि व्यवस्था विभागका प्रमुख टेकेन्द्र मिश्रले बताए । नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने छुट कसैलाई नभएको भन्दै प्रहरीको सहायता लिएर सञ्चालकलाई नै पक्राउ गर्न लगाउनुको विकल्प नरहेको उनको भनाइ छ ।
नक्कली लाइसेन्समा बस चलाउने दुई चालक पक्राउ काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र बोकेर भाडाको बस चलाउने चालक पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौंको मनमैजु  बस्दै आएका २३ वर्षीय श्रीकृष्ण भुर्तेल र सिन्धुली घर भइ काठमाडौंको स्वयम्भु बस्ने २७ वर्षीय भीम बहादुर स्याङतानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । सवारी चालक अनुमतिपत्र विद्युतीय माध्यमबाट जाँच गर्दा कुनै पनि विवरण फेला नपरेकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि सवारी चालक अनुमतिपत्रसहित प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।
रवि लामिछानेका चालक थापालाई थप उपचारका लागि काठमाडौं ल्याइयो काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका निजी चालक शम्भु भनिने दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । मंगलबार शम्भुको बारेमा फेसबुकमार्फत अवस्था सार्वजनिक गर्दै सभापति लामिछानेले थापाको अवस्था स्थिर तर सुधारोन्मुख रहेको र चिकित्सक, परिवारजन एवं साथीभाईको सल्लाहमा थप उपचारका लागि काठमाडौं पठाइएको उल्लेख गरेका छन् । चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) मा करिब ३६ घण्टा गरिएको उपचारपछि एयर लिफट् गरी थापालाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा लगिएको पनि लामिछानेले जनाएका छन् । लामिछानेले थापाको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको टोलीप्रति आभार व्यक्त गर्दै थापाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सोमबार बिहान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थापाको घाँटीको हड्डी भाँचिएको जानकारी चिकित्सकहरुले दिएका छ्न । उनको अझै होस खुल्न सकेको छैन् । चितवन क्षेत्र नम्बर दुईमा बैशाख १० गते हुने उपनिर्वाचनमा लामिछाने उम्मेद्वार छन् । सोमबारको घटना हुन अघि उनीहरु तनहुँको उपनिर्वाचनमा पुगेका फर्किएका थिए ।
झुक्याएर दाजुसँग विवाह, देवरले गरे बारम्बार बलात्कार काठमाडौं । धनुषामा बालिकालाई झुक्याएर दाजुसँग विवाह गरिदिएको र वंश धान्न भन्दै देवरले बारम्बार बलात्कार गरेको घटना संसदमा जानकारी गराइएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रोशन कार्कीले धनुषा–४ मा एक १७ वर्षीया बालिकालाई भाइको फोटो देखाएर दाजुसँग विवाह गरिदिएको र पछि यौनशोषण भएको घटनाबारे जानकारी गराएकी हुन् । विवाह गरिसकेपछि वंश धान्न भन्दै देवरले पटक पटक बलात्कार गरेका र पछि प्रहरीले पीडिकलाई उन्मुक्ति दिने गरी मिलापत्र गराएको घटनाप्रति उनले सरकारको ध्यानाकर्षण गराएकी छन् । ‘धनुषा–४ मा १७ वर्षीया बालिकालाई भाइको फोटो देखाएर दाजुसँग विवाह गरिदिएछन् । दाजुले तीन तीनपटक विवाह गरेर सम्बन्धविच्छेद गरिसकेका छन्,’ उनले भनिन्, ‘विवाह त गरिदिए । तर, घरपरिवारले वंश अगाडि बढाउनका लागि ती बालिकालाई देवरसँग यौनसम्बन्ध राख्न बाध्य पारिएछ । योजस्तो जघन्य अपराध के हो ?’ बैठकमा घटनाबारे सांसद कार्कीले थप भनिन्, ‘देवरसँग शारीरिक सम्बन्ध राख्न नमानेपछि बालिकामाथि कुटपिट भयो । शारीरिक यातना दिइयो । त्यसपछि देवरले बारम्बार बलात्कार गरे । दिक्क भएर बालिका प्रहरीसमक्ष गइन् । प्रहरीसमक्ष गएपछि ‘विवाह दर्ता गरिदिने, नागरिकता दिने, अब कुटपिट नगर्ने र देवरसँगै विवाह गराइदिने शर्तमा मिलापत्र गराइएछ । यो कस्तो न्याय हो ? नागरिकता उनले बुबाको नामबाट पाउँदिन थिइन् ? ज्यानको सुरक्षा नहुने ठाउँको विवाह दर्ता के काम तिनीलाई ? अब नकुट्ने रे, प्रहरी त्यहाँ गएर तिनीलाई निगरानी गर्छ ? म गृहमन्त्रीज्यूलाई, अपराधीहरुलाई तुरुन्त कडा कारबाही गरियोस् माग गर्छु ।
पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्‍यो प्याराग्लाइडिङ पोखरा। नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन्। साहसिक खेलका रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्र्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले स्वागत गरेका थिए। सो अवसरमा मुख्यमन्त्री अधिकारीले विभिन्न कारणले सुस्ताइरहेको पोखराको पर्यटनमा चिनियाँ टोेलीको आगमन र प्याराग्लाइडिङ लगायतका गतिविधिले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे। उनले प्याराग्लाइडिङसँगै पोखरामा भएका अन्य साहसिक गतिविधिमा पनि पर्यटकलाई जोड्न सके साहसिक पर्यटनमार्फत पर्यटन भित्र्याउन सकिने विश्वास व्यक्त गरे। पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएको जनाउँदै राज्य र निजी क्षेत्रको सहकार्यबाट पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेका उनको भनाइ थियो। नार्कका अध्यक्ष सुनिलबहादुर भट्टराईले पोखराको सराङकोटबाट मान्द्रेढुङ्गा सारिएको प्याराग्लाइडिङमा पहिलोपल्ट यति धेरै चिनियाँ पर्यटकबाट प्याराग्लाइडिङ हुनु निकै सकारात्मक सन्देश भएको बताए। उनले भने, “हामी निकै खुसी छौँ, सुस्ताइरहेको पर्यटन र प्याराग्लाइडिङ क्षेत्रमा यति धेरै विदेशी पाहुनाले प्याराग्लाइडिङ गर्नुभएको छ , यसले नयाँ ठाउँलाई प्रवद्र्धनमा पनि सघाउ पुर्‍याउने छ।” उनले चीनको ‘आउटबाउण्ड’ गन्तव्यको सूचीमा नेपाल परेको चिनियाँ पर्यटकको आगमनले पर्यटन प्रवद्र्धनका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। नाका महासचिव खेमराज आचार्यले पोखरा र आसपासका सुन्दर हिमशृङ्खला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न सकिने बताए। उनले साहसिक खेलप्रेमीका लागि प्याराग्लाइडिङबाट सुन्दर दृश्यवलोकनका लागि मान्द्रेढुङ्गा उत्कृष्ट गन्तव्य हुनेमा आशावादी रहेको बताए। उनका अनुसार चिनियाँ ९० जनासहित दुई सय ५० जनाले मान्द्रेढङगाबाट प्याराग्लाइडिङ गरेका थिए। पहिलो पटक नेपाल आएकी यु हुङगुनले पोखराको आकाशमा उड्न पाउँदा निकै आनन्द लागेको बताइन्। पहिलो पटक नेपाल आएको सुनाउँदै उनले यहाँको प्राकृतिक सुन्दरता र आतिथ्यता निकै लोभलाग्दो भएको प्रतिक्रिया दिइन्। उनले अन्य साथीलाई नेपाल घुम्नका लागि सुझाव दिने बताइन्। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा एक सय ८१ जना चिनियाँ पर्यटक हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका थिए। नाकाका पूर्वअध्यक्ष कृष्ण भण्डारीले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै माघ १ देखि मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान भए पनि पर्यटकको आगमन बढन नसकेको अवस्थामा चिनियाँ टोलीको उडानले उत्साह थपेको बताए। साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ। प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडान सुरु गरिएको हो। यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुङ्ङगाबाट भने एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुन्छ। हाल पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन्। त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन्। पोखराको प्याराग्लाइडिङमा रू एक अर्ब बराबरको लगानी छ।
गाउँपालिकाद्वारा ३८ जना शिक्षक बर्खास्त झापा।  झापाको कचनकवल गाउँपालिकाले करारमा रहेका ३८ जना शिक्षकलाई बर्खास्त गरेको छ। अघिल्लो स्थानीय सरकारले मापदण्डविपरीत नियुक्त गरेको भन्दै मंगलबार ३८ जना शिक्षकलाई करार अवधि नथपेर बर्खास्त गरेको हो। गाउँपालिकामा   कार्यरत अनुदानका निजी शिक्षक शिक्षिका तथा बाल शिक्षक शिक्षिका, कम्प्युटरका मावि शिक्षकलाई निष्काशन गर्ने गत २२ पुसको बैठकको निर्णयअनुसार उनीहरुलाई मंगलबारदेखि हटाइएको गाउँपालिका  अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जानकारी दिए। तत्कालीन गाउँपालिका अध्यक्ष अन्जर आलमको कार्यकालमा नियुक्त भएका करार शिक्षकहरुले शिक्षणका लागि अनुमति नलिएका, अयोग्य तथा नियमविपरीत नियुक्ति  शिक्षक शिक्षिकालाई हटाइएको गाउँपालिकाले जनाएको छ। गत वर्ष मात्र पनि कचनकवलमा गाउँपालिकाले ११ जना कर्मचारी निष्कासन गरेको थियो।
उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा दमौली। तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि एक सय ५२ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरेको हो। नियुक्त भएका मतदान र सहायक मतदान अधिकृतका लागि आज वैशाख ५ र ६ गते अभिमुखीकरण प्रदान गरिने निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। अभिमुखीकरण पश्चात् ७ गतेबाट मतदान अधिकृतलाई आवश्यक सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा खटाइने ढकालले बताए। “सदरमुकामबाट टाढा दूरीमा रहेका मतदान केन्द्रमा ७ गतेबाटै आवश्यक सबै सामग्री दिएर कर्मचारी खटाउँछौ,” ढकालले भने। कुल एक सय ५२ मतदान केन्द्रमध्ये १६ मतदान केन्द्रमा महिलालाई जिम्मेवारी दिइएको छ। भानु नगरपालिकामा कार्यरत भगवती शर्मालाई भानु–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यरत पार्वती पौडेललाई भानु–३ स्थित मस्र्याङ्दी आधारभूत विद्यालय, कृषि विकास बैंकमा कार्यरत रसिला श्रेष्ठलाई भानु–६ स्थित पड्केपसल आधारभूत विद्यालय (ख), शुक्लागण्डकीमा कार्यरत दुर्गा अधिकारी तिमिल्सिनालाई व्यास–२ स्थित सत्यवती माध्यमिक विद्यालय (ख), तनहुँ अदालतमा कार्यरत देवी भण्डारी चापागाईँलाई सत्यवती माध्यमिक विद्यालय (ग) मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मा दिइएको छ। शुक्लागण्डकीमा कार्यरत मञ्जु सुवेदीलाई व्यास–४ स्थित मदर्शा आधारभूत विद्यालय (ग), सडक डिभिजन कार्यालयमा कार्यरत बबिता शर्मालाई व्यास–७ स्थित पञ्चज्योति आधारभूत विद्यालय (ख), शुक्लागण्डकीमा कार्यरत अस्मिता सुवेदीलाई पञ्चज्योति आधारभूत विद्यालय (ग), व्यासमा कार्यरत कल्पना खनाललाई आँबुखैरेनी–३ स्थित रामशाह माध्यमिक विद्यालय (ख), भानुमा कार्यरत सरस्वती गुरुङ ढकाललाई बन्दीपुर–१ स्थित विष्णु माध्यमिक विद्यालय (ख) केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी दिइएको छ। आँबुखैरेनीमा कार्यरत निर्मला कँवरलाई बन्दीपुर–१ स्थित पवित्रा माध्यमिक विद्यालय (ख), तनहुँ अदालतमा कार्यरत लक्ष्मी रिमाल पराजुलीलाई बन्दीपुरस्थित भानु माध्यमिक विद्यालय (ख), भिमादमा कार्यरत टेकावती ढकाललाई बन्दीपुरस्थित दिल आधारभूत विद्यालय (ख), व्यासमा कार्यरत सावित्री आचार्य कोइरालालाई बन्दीपुरस्थित जगदीश्वर आधारभूत विद्यालय (ख), व्यासमा कार्यरत लक्ष्मी गुरुङलाई बन्दीपुरस्थित चन्द्रोदय आधारभूत विद्यालय (ख) र देवघाटमा कार्यरत पुष्पादेवी बरामलाई व्यासस्थित जलदेवी माध्यमिक विद्यालय (ङ) केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी दिइएको छ। तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति बन्नुभएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि विसं २०८० वैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।
कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण काेहलपुर। बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ। कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरेको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ। कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ व्यावसायिक सटरसहितका सबै संरचना निर्माण भइसकेको जानकारी दिए। उनले बसपार्कमा तीन प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्यचौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने प्रबन्ध मिलाइएको बताए। मुख्य राजमार्गमा कोहलपुर चौराहाको छेउमै निर्माण गरिएको सो बसपार्कमा तीन दर्जनभन्दा बढी लामो दूरीका सवारीसाधन राख्न सकिने क्षमता छ। केही दिनमै निर्माण व्यवसायीले सम्पूर्ण काम सकेर कोहलपुर नगरपालिकालाई हस्तान्तरण गर्ने र त्यसपछि सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत ढकालले उल्लेख गरे। सो अत्याधुनिक बसपार्कमा व्यावसायिक सटर भाडामा लगाउन नगरपालिकाले बोलपत्रको सूचना प्रकाशन गरेको छ। कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बसपार्क सञ्चालनमा आएपछि नेपालगन्ज र कोहलपुरबाट देशभर यातायात सञ्चालन हुने र व्यवसायीलाई सहज र यात्रुलाई पनि सुविधा मिल्ने बताए। बसपार्क सञ्चालनका लागि कोहलपुर बसपार्क व्यवस्थापन कार्यविधि, २०७९ समेत स्वीकृत भएको छ। बसपार्कबाट देशको पूर्व-पश्चिम र उत्तर- दक्षिणका विभिन्न स्थानमा लामो दूरीका यातायातका साधन चल्नेछन्। उक्त बसपार्क सञ्चालनका लागि नगरपालिकाका प्रमुखको अध्यक्षतामा पाँच सदस्यीय बसपार्क व्यवस्थापन समिति गठन गरिएको छ। बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ। बसपार्कमा करिब रु १६ करोडको लगानी रहेको छ। वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता भएको नगरपालिकाले जनाएको छ। सो आधुनिक बसपार्क पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको छ। रासस
राजनीतिक प्रतिशोध साँध्न दुस्प्रचार गरेकोप्रति मिर्चैया नगरपालिकाको आपत्ति सिराहा । मिर्चैया नगरपालिकाले वडा नम्बर ५ मा रहेको कित्ता नं २५६ सम्बन्धमा पछिल्लो केही दिनदेखि भइरहेकाे दुस्प्रचारप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको विषयमा राजनीतिक उक्साहटमा नगरलाई बदनाम गर्ने नियतले दुस्प्रचार गरेकाे भन्दै नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाएकाे हाे। मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले जग्गा सम्बन्धमा अदालतबाट भएको आदेश र पर्याप्त कानुनी प्रमाणको आधारमा  मात्र अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको बताएका छ्न्।  घरटहरा हटाउन नगरपालिकाले जारी गरिएको सूचनालाई अटेरी गरिएको कारणले अनधिकृत रुपमा सार्वजनिक जग्गामा निर्माण गरिएको घर टहरा हटाइएको उनले बताए । तर, कानुन र विधिअनुसार गरिएकाे कार्यलाई राजनीतिक प्रतिशोध शाँध्न केही नेताहरुको बहकाउमा आफ्नाविरुद्ध नारा जुलुस र दुसप्रचार गरिएको मेयर यादवकाे भनाइ छ । उनले सो जग्गा व्यक्तिकाे नाममा दर्ता गराउन लागिएको विषयमा पनि कुनै सत्यता नरहेको दाबी गरेका छन् । बरु मिर्चैयाको गुदरी बजारमा रहेको बजारलाई व्यवस्थापनको लागि सम्बन्धित् निकायमा पत्राचार गरिएको जानकारी दिए । ‘मिर्चैया नगरपालिका ५ साविक २ क को कित्ता नम्बर २५६ को ३–१२–१७ क्षेत्रपफ्ल र वडा नम्बर २ ख को कित्ता नम्बर ६० को ०–२–५–० जग्गा नेपाल सरकारको नाममा रहेको र कुनै पनि व्यक्ति वा संस्थाको नाममा नापी नगरिदिन भनी नगरले नापी कार्यालय सिरहाको नाममा पत्र लेखी पठाइएको साथै सो को जानकारी विशेष नापी कार्यालय मिर्चैया लगायत सम्बन्धित निकायमा जानकारी गराईसकेकोले कुनै किसिमको गलत प्रचारको पछाडि नलागिदिनुहुन नगरले अनुरोध गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएकाे छ ।
दार्चुलामा यसवर्ष विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक दार्चुला । विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । शैक्षिक सत्रको सुरुवातमै भर्ना भएसँगै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा खुशी लागेको शैल्यशिखर नगरपालिका-६ को मालिकार्जुन माध्यमिक विद्यालय मिलमिलीका छात्रा निशा धामीले बताए। गत वर्ष शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक नपाएको भन्दै यहाँका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका थिए । विद्यालयमा भर्ना हुने समयमा विद्यार्थीको हातमा पुस्तक दिन पाउँदा आफू पनि निकै खुशी भएको विद्यालयका निमित्त प्रधानाध्यापक रामसिंह धामीले बताए। “विद्यार्थीले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पुस्तक भएन भनेर गुनासो गर्थे हामीलाई पनि पढाउदा समस्या हुन्थ्यो यो वर्ष भर्ना भएसँगै विद्यार्थीको हातमा पुस्तक दिन पाउँदा हर्षित भएका छौँ, उनले भने। विद्यालयमा दुई सय ५० विद्यार्थी अध्यनरत छन् । मङ्गलबार मात्रै विद्यालयमा भर्ना भएका एक सय ५० विद्यार्थीलाई पुस्तक वितरण गरिएको धामीले जानकारी दिनुभयो । विद्यालयमा सुरुदेखि नै झोलाभरी कापी र किताब बोकेर विद्यालय जान पाउँदा विद्यार्थीमा समेत पढाइप्रतिको उत्साह थपिएको अविभावकहरुको बुझाइ छ । त्यस्तै शैल्यशिखर नगरपालिकाको-६ मा रहेको शैल्यशिखर आधारभूत विद्यालय दुई सय ४० विद्यार्थी अध्ययनरत छन् । भर्नासँगै पुस्तक वितरण हुने भएपछि विद्यार्थी भर्ना सङ्ख्या बढेको विद्यालयका प्रधानाध्यापक शारदा धामीले बताए। गत वर्ष शैक्षिक सत्रको अन्त्यसम्म पनि पाठ्यपुस्तक नहुँदाको समस्यालाई मध्यनजर गर्दै यस वर्ष जिल्लाका सबै विद्यालयमा समयमै पाठ्यपुस्तक उपलव्ध गराइएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए।
बजेट अभावले अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ भोजपुर। भोजपुरको अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ। निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो। आयोजनाको कुल लागत रु १९ करोड रहे पनि क्रमागत योजना भएकाले बर्सेनि कम बजेट आउँदा निर्माणमा ढिलाइ भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ। हाल आयोजनाको मुख्य लाइनमा पाइप बिछ्याउने काम भइरहेको भए पनि अन्य काममा भने बजेट अभाव भएको निर्माण उपभोक्ता समितिले जनाएको छ। यहाँको करिब पाँच हजार मिटर पाइप बिछ्याउने र मुख्य ट्याङ्की निर्माणको काम अन्तिम चरणमा पुगेको समितिको भनाइ छ। निर्माणका क्रममा देखिएको समस्या समाधान गर्दै काम तीव्रगतिमा अघि बढाउन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले पहल थालेको छ। यहाँ देखिएका समस्याका विषयमा उपभोक्ता समिति तथा स्थानीयवासीसँग कार्यालयले छलफलसमेत गरेको छ। उपभोक्ता समितिबाट आएका काममा बाधा पुगेका समस्याको हल गर्न कार्यालयले भूमिका खेल्ने कार्यालयका प्रमुख देवनाथ सिंहले बताए। “यहाँको काममा सोचेअनुरुपको उपलब्धि हासिल हुनसकेको छैन”, उनले भने, “मुख्य समस्या भनेको प्रदेश सरकारबाट कम मात्र बजेट विनियोजन हुनु हो। यसैगरी बर्सेनि रु ३०–४० लाखमात्र बजेट आउने हो भने आयोजना सक्न वर्षौँ लाग्ने देखिन्छ। हामीले पनि यो विषयमा जानकारी गराएका छौँ । स्थानीयले पनि बजेट विनियोजनमा पहल गर्न आवश्यक छ।” कार्यालयको तर्फबाट कामलाई तीव्रता दिन उच्च प्राथमिकता दिने प्रमुख सिंहको भनाइ छ। प्रत्येक वर्ष विनियोजन भएको बजेटबाट उपभोक्ता समितिले गरेको कामको प्रगति तथा भावी योजनाको विषयमा कार्यालयले जानकारी लिने गरेको उनको भनाइ छ। “कामलाई चाँडो सम्पन्न गराएर पानीको समस्या अन्त्य गर्न हामी लागेका छौँ”, उनले भने, “उपभोक्ता समितिलाई सक्रिय बनाउन म कार्यालय प्रमुख भएर आएदेखि नै पहल गरिरहेको छु। सरकारबाट आवश्यक बजेट विनियोजन भए कामलाई समयमा सम्पन्न गराउन कुनै समस्या छैन।” बजेट अभाव हुँदा कामलाई तीव्रता दिन कठिनाइ भएको उपभोक्ता समितिका अध्यक्ष सविनकुमार राईले बताए। बजेट अभावमा काममा ढिलाइ हुँदा स्थानीयमा निराशा बढेको उनको भनाइ छ। हालसम्म आएको बजेटले मुख्य लाइनमा ट्याङकी बनाउने र पाँच हजार मिटर पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ। “न्यून बजेट विनियोजन हुँदा काममा गति दिन सकिएको छैन”, उनले भने, “यति ठूलो योजनामा वर्षमा रु ३० लाख बजेट आउँछ, यही अवस्था हुने भने योजना नै अलपत्र बन्ने हो कि भन्ने चिन्ता हामीमा बढेको छ। सरकारले चाँडो योजना सम्पन्न गराउनमा पहल गर्न आवश्यक छ। पर्याप्त बजेट आएमा हामीलाई काम गर्न कुनै समस्या छैन।” सदरमुकामबाट पूर्व क्षेत्रमा रहेको अरुण गाउँपालिकाका सुक्खाग्रस्त क्षेत्रलाई लक्षित गरेर वडा नं ६ जरायोटार र वडा नं ७ सिक्रेटारका नागरिकलाई पानी खुवाउन आर्थिक वर्ष २०७६/७७ बाट सञ्चालन गरिएको हो। यहाँका सात सय ३३ परिवारलाई लक्षित गरेर योजनाको काम थालिएको हो। चार वर्षसम्म पनि योजनाले पूर्णता नपाउँदा स्थानीय निराश बनेका छन्। योजनाको कामलाई चाँडो सम्पन्न गराउन राज्यले ध्यान दिनुपर्ने स्थानीयवासी सुरेन्द्र श्रेष्ठको माग छ। “खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ”, उनले भने, “पानी खाने आशमा बसेका हामी निराश बन्नुपर्ने अवस्था छ। कामलाई तीव्रगतिमा अघि बढाउन राज्यले ध्यान दिन आवश्यक छ । पानीको कारण मानिसले बस्ती छोडनुपर्ने अवस्था छ।” निर्माणको कामलाई चाँडो सम्पन्न गराएर यहाँको पानीको समस्या हटाउन भूमिका खेलिरहेको गाउँपालिकाको भनाइ छ। प्रदेशबाट पर्याप्त बजेट विनियोजन नहुँदा लामो समयमसम्म पनि सोचेअनुरुप प्रगति नदेखिएको गाउँपालिकाले जनाएको छ। आवश्यक बजेट व्यवस्थापन गरेर काम चाँडो सम्पन्न गराउन प्रदेश सरकारसँग पहल गरिरहेको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताए। “योजनाको काममा ढिलाइ भइरहेको छ”, उनले भने, “काम चाँडो सम्पन्न गराउन आवश्यक बजेट विनियोजन गरिदिन प्रदेश सरकारसँग अनुरोध गरिहेका छौँ । तर पनि आवश्यक बजेट आउन नसकेको अवस्था छ।” वर्षौँबाट पानीको आशमा बसेका स्थानीय नागरिकमा निराशा छाएको वडा नं ७ का वडाध्यक्ष कुमार थापाले बताए। पानीको कारण वडामा सराइँसराइको दरसमेत बढ्दै गएको उनको भनाइ छ। “आयोजनाको काममा तीव्रता दिन आवश्यक छ”, उहाँले भन्नुभयो, “मानिसले पानीको अभावमा बस्नुपरेको अवस्था छ। पानीको राम्रो प्रबन्ध भइदिए स्थानीयमा सहजता हुने थियो । पानी खुवाउनमा हामीले पनि पहल गरिरहेका छौँ।” बजेट अभावमा पानी तान्ने ठाउँमा पम्प जडान तथा विद्युत् जडानको काम हुन नसकेको उपभोक्ता समितिले जनाएको छ। विद्युत् जडान भए तल्लो भेगका केही स्थानीयलाई पानी खुवाउन सकिने अवस्था रहेको उपभोक्ता समितिको भनाइ छ।
कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण नेपालगन्ज। बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ व्यावसायिक सटरसहितका सबै संरचना निर्माण भइसकेको जानकारी दिए। उनले बसपार्कमा तीन प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्यचौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने प्रबन्ध मिलाइएको बताए । मुख्य राजमार्गमा कोहलपुर चौराहाको छेउमै निर्माण गरिएको सो बसपार्कमा तीन दर्जनभन्दा बढी लामो दूरीका सवारीसाधन राख्न सकिने क्षमता छ । केही दिनमै निर्माण व्यवसायीले सम्पूर्ण काम सकेर कोहलपुर नगरपालिकालाई हस्तान्तरण गर्ने र त्यसपछि सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत ढकालले उल्लेख गर्नुभयो । सो अत्याधुनिक बसपार्कमा व्यावसायिक सटर भाडामा लगाउन नगरपालिकाले बोलपत्रको सूचना प्रकाशन गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बसपार्क सञ्चालनमा आएपछि नेपालगन्ज र कोहलपुरबाट देशभर यातायात सञ्चालन हुने र व्यवसायीलाई सहज र यात्रुलाई पनि सुविधा मिल्ने जानकारी दिनुभयो । बसपार्क सञ्चालनका लागि कोहलपुर बसपार्क व्यवस्थापन कार्यविधि, २०७९ समेत स्वीकृत भएको छ । बसपार्कबाट देशको पूर्व–पश्चिम र उत्तर– दक्षिणका विभिन्न स्थानमा लामो दूरीका यातायातका साधन चल्नेछन् । उक्त बसपार्क सञ्चालनका लागि नगरपालिकाका प्रमुखको अध्यक्षतामा पाँच सदस्यीय बसपार्क व्यवस्थापन समिति गठन गरिएको छ । बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । बसपार्कमा करिब रु १६ करोडको लगानी रहेको छ । वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता भएको नगरपालिकाले जनाएको छ । सो आधुनिक बसपार्क पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ ।
सात वर्षमा पनि सम्पन्न भएन हापुरखोला पुल तुलसीपुर। तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो। तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ। पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको छ। विसं २०७५ चैत १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते भ्याटबाहेक रु १० करोड ५० लाख २१ हजार चार सयमा उक्त पुल निर्माणको ठेक्का सम्झौता भएको थियो। सोहीअनुसार पुल निर्माणको काम सुरु हुँदा खुसी भएका स्थानीयवासी भने अहिले निराश बनेका छन्। “निर्माण सुरु भएको सात वर्ष भयो”, उनले भने, “तर अहिलेसम्म पनि निर्माण पूरा भएको छैन, कहिले निर्माण हुने हो, हामीलाई निकै गाह्रो भयो।” सुरुको दिनमा व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माणमा विवाद भएको थियो। अहिले निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै म्याद थप्दै आएको छ। यसरी लामो समय पुल नबन्दा वर्षात्को समयमा सवारीसाधन वारपार गर्न समस्या हुने अटोचालक सुरेश परियारले बताए। “वर्षात्मा झनै समस्या हुने गरेको छ, पानीको बहाव बढ्ने गरेकाले वारपार गर्न पनि सकिँदैन”, उनले गुनासो गरे। पुल नबन्दा सास्ती भएपछि नागरिकले स्थानीय सरकारलाई पनि झक्झक्याउने गरेका छन्। वडा कार्यालय पनि पुल नबन्दा नागरिकले सास्ती पाएको भन्दै निर्माण कम्पनीलाई चाँडो पुल निर्माण गर्न आग्रह गर्दै आएको तुलसीपुर–१५ का कार्यवाहक वडाध्यक्ष मङ्गल चौधरीले बताए। हाल २०८० असार मसान्तसम्म म्याद थप भएको छ। तोकिएको समयमा निर्माण नभएमा म्याद थप नहुने र निर्माण कम्पनीलाई कारबाही गर्ने सडक डिभिजन कार्यालय दाङका इञ्जीनियर विके लाखेले बताए। पुल निर्माणका लागि पटक–पटक स्थानीयले दबाब दिने गरेका छन्। तर कुनै पनि निकायले त्यसमा चासो दिएका छैनन्। पुल निर्माण अधुरो हुँदा नागरिकले सास्ती भोग्दै आएका छन्।
दोगडाकेदारमा हत्या प्रकरण : हत्या आरोपमा दुई जना पक्राउ बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीया धनमती भण्डारी रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। मृतक जोशीका दाई पुष्पराज जोशीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा विष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो। जोशीको शनिबार राति धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। महेन्द्रले चक्कु प्रहार गरी वासुदेवको हत्या गरेको र धनमतीले वासुदेवको हत्या भएको पहिलो खबर घरपरिवारलाई गरेकी बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बेनी-जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द म्याग्दी। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समयतालिका बनाइएको हो। प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले २०८० वैशाख ४ देखि २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माण गरिने जानकारी दिए। यसअघि २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा सोही समयमा यातायात बन्द गरिएको थियो। पहिराले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको काम सँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समयतालिका बनाइएको सडक आयोजनाले जनाएको छ। निर्माण व्यवसायीले बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए। म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारीसाधनले सडक बन्द हुने समयअगावै रुप्से खण्ड पार गर्नुपर्नेछ। एम्बुलेन्स र अत्यावश्यक सवारीसाधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी-जोमसोम–कोरला सडक आयोजनामार्फत पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ।
बाजुरामा भूकम्पको धक्का बाजुरा। बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ। बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको कम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो। गत माघ १० गतेपछि बाजुरामा पटक-पटक भूकम्प जाने गरेको छ।
ताप्लेजुङका विद्यालयमा पाठ्यपुस्तक पुग्यो ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङका आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघिदेखि पाठ्यपुस्तक जान थालेसँगै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको हो । यस वर्ष समयमा नै सामुदायिक विद्यालयमा पुस्तक पुगेपछि शिक्षक, विद्यार्थी साथै अभिभावक हर्षित भएका छन् । कुनै बेला प्रथम त्रैमासिक परीक्षाको समयमा पाठ्यपुस्तक नपुगेर समस्या खेप्नुपर्ने अवस्था हुने गरेकोमा यो वर्ष समयमै पुस्तक विद्यालय–विद्यालय पुगेपछि विद्यार्थी, शिक्षक र अभिभावक खुसी भएको फक्ताङलुङ गाउँपालिका–६ महेन्द्र निम्न माध्यमिक विद्यालयका शिक्षक विवश केदेमले बताए । यस वर्ष अन्य जिल्लाभन्दा पहिले चैत २० गते नै ताप्लेजुङलाई पाठ्यपुस्तक उपलब्ध गराएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरले जनाएको छ । शैक्षिक सत्र सुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक प्राप्त भएपछि सोहीअनुसार विद्यालयलाई बिक्री वितरण सुरु गरिएको जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जनाएको छ । ताप्लेजुङका दुर्गम तथा हिमाली क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको महासङ्घका जिल्ला अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताए । सिदिङ्वा गाउँपालिकाका विद्यालयले पाठ्यपुस्तक लगिसकेको अध्यक्ष मिश्रले जानकारी दिए । यसैगरी सदरमुकामस्थित फुङ्लिङ नगरपालिका, सिरिजङ्घा गाउँपालिका, पाथीभरा याङ्वरकलगायत पालिकाका विद्यालयमा पाठ्यपुस्तक पुग्न थालेको महासङ्घका जिल्ला उपाध्यक्ष केशवप्रसाद भट्टराईले जानकारी दिए । अन्तिम (फाइनल) परीक्षा सम्पन्न भएपछि बिदा भएका अधिकांश विद्यालय आइतबारदेखि मात्र खुल्दै छन् । फुङ्लिङ नगरपालिका–४ अम्बिटारस्थित भानजन माध्यमिक विद्यालय आइतबारदेखि खुल्ने र सोही दिनदेखि नयाँ विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरणको कार्य सुरु गरिने प्रधानाध्यापक किशोरकुमार राईले बताए । प्रधानाध्यापक राईले यस वर्ष समयमै पुस्तक आएकाले समस्या नरहेको र विद्यालय खुलेसँगै विद्यार्थीले पुस्तक पाउने भएको बताए । फुङलिङ नगरपालिका–८ दोखुस्थित शिवालय आधारभूत विद्यालयका प्रधानाध्यापक कमलप्रसाद भट्टराईले पनि यस वर्ष समयमै पाठ्यपुस्तक पाएको जानकारी दिए । आइतबारदेखि नै विद्यालय खुल्ने र विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न थाल्ने भट्टराईले बताए । पाठ्यपुस्तक समयमा नपाउँदा विगतमा जस्तो विद्यालय सञ्चालन र पठनपाठन तथा शिक्षण सिकाइमा अवरोध हुँदै आएको अवस्थाको अन्त्य भएको शिक्षक बताउँछन् । ताप्लेजुङमा तीन सय ३५ सामुदायिक विद्यालय सञ्चालनमा छन् । केही विद्यालयले भने धमाधम पाठ्यपुस्तक गइरहेको व्यवसायी महासङ्घका अध्यक्ष मिश्रले जानकारी दिए ।
बाजुरामा भूकम्पको धक्का बाजुरा। बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ। बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको कम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो। गत माघ १० गतेपछि बाजुरामा पटक-पटक भूकम्प जाने गरेको छ।
विभिन्न देशमा २७५ नेपालीलाई उद्दार गरेको दुर्गा प्रसाईँको दाबी काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले अव्यवस्थित राज्यका कारण नेपाली युवा युवतीले दुख पाएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बाध्यताले विदेशमा गएका ५ हजार भन्दाबढी युवा युवतीको विजोग भएको बताए । सरकारकै कारण उनीहरुको दुःख पाएको तर आफूहरुले उनीहरुको उद्दार गरिरहेको उनको दाबी छ । ‘व्यवस्थित राज्य नभएर विदेशमा ५ हजार भन्दाबढी युवाहरु जेलमा छन् । अहिले सम्म २७५ जना अलपत्र परेका र ४२ जना जेल परेकालाई नेपाल ल्याइसकेका छौं । नेपालमा सामन्तिहरुको कारणले हाम्रो युवाहरुलाई गुमाउनु परेको छ ।’ युवाहरुलाई यहि देशमा काम गर्ने वातावरण निर्माण गर्न राज्य चुकेको भन्दै उने वर्तमान नेताहरुकै कारण देश पछाडि परेको बताए । देश विकासको लागि युवाहरुलाई परिचालन गर्ने उनको भनाई छ ।
कर्णाली प्रदेशसभाको बैठक स्थगित सुर्खेत । कर्णाली प्रदेशसभाको सोमबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । यसअघि सोमबार बसेको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभाको बैठक सार्ने प्रस्ताव पेस गरेका थिए । आइतबार पनि कांग्रेस र माओवादी केन्द्रबीच सत्ता सहकार्यका बारेमा आधिकारिक निर्णय भएसँगै मन्त्री छान्ने तयारी गर्न कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मासग सदन पर सार्नेबारे सहमति गरेका थिए । प्रदेशसभाको स्थगित बैठक अब ७ वैशाख  बिहीबार अपरान्ह ३  बजे बस्ने भएको छ । उक्त दिन मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत लिने सम्भावना छ ।
आन्तरिक पर्यटक बढेसगैँ बढ्यो प्लास्टिकजन्य फोहर चौतारा। आन्तरिक पर्यटक बढेसगैँ सिन्धुपाल्चोकको पर्यटकीयस्थल पाँचपोखरीमा प्लास्टिकजन्य फोहर बढेको छ। पर्यटक वृद्धिसँगै होटल प्रतिस्पर्धामा सञ्चालन हुन थालेपछि प्लास्टिकजन्य फोहर बढ्न थालेको हो। व्यवसायीले भिरको कुनामा फोहर थुपार्न थालेपछि गाउँपालिकाले चेतानामूलक सरसफाइ अभियान गरी फोहर सङ्कलन गरिरहेको गाउँपालिका अध्यक्ष टाँसी लामाह्योल्मोले जानकारी दिए। पोखरी आसपास सफा देखिएको छ। तर व्यवसायीले भिरमा अव्यस्थितरुपमा फोहर फालिएको उनले बताए। दोबाटो होमस्टेका सञ्चालक मङ्गले तामाङ होटल बाट निस्कीएको फोहोर व्यवस्थीत गर्ने ठाँउ नहुँदा भिरमा फोहोर फालेको बताउँछन्। उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले सरसफाइलाई विशेष ध्यान दिई विभिन्न सङ्घ संस्थासँग समन्वय र सहकार्य गरेको छ। फोहरमैला व्यवस्थापन गर्न चार वटा वडामा सङ्कलन केन्द्र निर्माण गरी काम अगाडि बढाएको ग्रामीण समाज कल्याणका कार्यक्रम संयोजक हर्क तामाङ बताउँछन्। घरैबाट कुहिने र नकुहिने फोहर छुट्याई सङ्कलन केन्द्रमा सङ्कलन गरिन्छ। कुहिने फोहरलाई कम्पोष्ट बनाउने प्रविधि सिकाइ पुनः प्रयोग गर्न सकिने फोहरलाई नयाँ सामग्री बनाइ बजारमा बिक्री गरी आयआर्जन गर्ने प्रयास गरिरहेको तामाङको भनाइ छ।
वक्यौता नतिरेको भन्दै रोल्पा सिमेन्ट उद्योगको विद्युत लाइन काटियो रोल्पा। रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ। उद्योगले विद्युत महसुलवापत रु आठ करोड ४४ लाख ६ सय ९७ वक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो। रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित उक्त उद्योगले वक्यौता नबुझाएको पाइएपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण विद्युत वितरण केन्द्र रोल्पाले जनाएको छ। “पटक–पटक ताकेता गर्दा पनि अटेर गरी महसुल नबुझाएपछि आइतबार लाइन काट्न बाध्य भयौ”, वितरण केन्द्रका कार्यालय प्रमुख आषेश्वर साहले भने। सिमेन्ट उद्यागेले २०७० साल यता महशुल नबुझाएको रोल्पा वितरण केन्द्रले जनाएको छ। वक्यौता नतिरेसम्म लाइन पुनः जडान नहुने उनको भनाइ छ। रोल्पा सिमेन्ट प्रालि रोल्पामा सञ्चालित सबैभन्दा ठूलो उद्योग हो।
तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा म्याग्दी। म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन्। विसं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो। नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुंगा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताए। पर्यटकलाई घोडेपानीमा होटल व्यवसायी, टोल सुधार समिति, आमा समूह र युवा क्वबले स्वागत गरेका छन्। घोडेपानी र पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा अवस्थित छ। अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानी, पुनहिल, घान्द्रुक भ्रमणमा पर्यटक आएका हुन्। घोडेपानीबाट टाढापानी हुँदै कास्कीको घान्द्रुक भएर पोखरा फर्कने नेपाल बिग माउन्टेन ट्राभल्सका पथ प्रर्दशक सुजित रेग्मीले बताए। उनका अनुसार यो पदमार्गमा थप तीन वटा चिनियाँ पर्यटकको समूह भ्रमणमा आउँदैछन्। सात दिनको नेपाल भ्रमणमा आएका उनीहरुले सोमबार बिहान समुन्द्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न पुगेका छन्। घोडेपानी–पुनहिलमा अनुकूल मौसम र ढकमक्क फुलेका गुराँसले ढाकिएसँगै बाह्य तथा आन्तरिक पर्यटक बढेका छन्। पछिल्लो एक महिनायता प्रतिदिन पाँच सय जना हाराहारीमा पर्यटक भित्रिएका व्यवसायीले बताएका छन्। ‘कोरोना महामारीले ठप्प पर्यटन व्यवसाय यस वर्षको चैत लागेपछि चहलपहल छाएको छ । पुरानो चहलपहल त फर्केको होइन तर दुई–तीन सय विदेशी पाहुना आउँदा सबै होटलमा दुई-चार जना पाहुना भइरहन्छन्,’ स्थानीय डमबहादुर पुनले भने। कोरोनापछि नेपाली आउने क्रम भने बढेको छ। नेपालीहरू अक्सर दुई–तीन दिन बिदा हुँदा र शैक्षिक भ्रमणमा आउने बढी छन् ।” घोडेपानीमा साना ठूला गरी ३० होटल छन्। पुनहिल प्रवेश तथा पुनहिलमा टि एन्ड कफी सप सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाबाट स्थानीय बालकृष्ण राना र रनबहादुर पुनले भ्याटसहित ५६ लाख ६० हजारमा ठेक्का लिएका छन्। पुनहिल प्रवेश गर्दा नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशी पर्यटकलाई प्रतिव्यक्ति रु एक सय ५० शुल्क तोकिएको छ । पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ। सुर्योदयको दृष्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विषेशता हो। घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ। वसन्त ऋतुको आगमनसँगै लालीगुराँस फुलेर पाखा रङ्गीन बनेका छन्। पहाडको उच्च स्थानमा रहेको घोडेपानी पुनहिल क्षेत्रको जङ्गल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ। अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी-उल्लेरी, छोम्रोङ-घान्द्रुक-टाडापानी हुँदै र नागी-महरे हुँदै गरी चारवटा नाकाबाट दैनिक करिब तीन सय विदेशी पर्यटक घोरेपानी भित्रिने गरेको पर्यटन प्रहरी कार्यालय घोडेपानीका प्रहरी हवल्दार बमबहादुर थापाले बताए। भारतीय र नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधन भएर पुग्न सकिन्छ। घोडेपानीमा बास बस्ने पर्यटक बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन्। रासस
भर्नासँगै हात-हातमा पाठ्यपुस्तक बझाङ। अघिल्लो शैक्षिक सत्रमा साइपालको धलौन माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको केही साताअघि मात्रै पाठ्यपुस्तक पुग्यो। विद्यार्थीले पुस्तक नपढेरै परीक्षा दिए। गत शैक्षिक सत्रमा पनि त्यो क्रम जारी रह्यो। पाठ्यपुस्तकको अभावले विद्यार्थीको सङ्ख्या पनि घट्यो। भर्ना सङ्ख्या र कक्षा हाजिरी हेर्दा विद्यार्थीको उपस्थिति निकै कम देखियो। जनप्रतिनिधिदेखि शिक्षाका सबै कर्मचारीले पाठ्यपुस्तककै अभावको कारण देखाए। माध्यमिक तहसम्मका विद्यार्थीले सोचेअनुरूप नतिजा पनि ल्याउन सकेनन्। माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा पनि उत्तीर्णसम्म मात्रै आउन सक्ने अनुमान गरियो। शिक्षक जीवन बोहराका अनुसार यस नयाँ वर्षमा भने पाठ्यपुस्तकका लागि सरकारले विद्यालयलाई ‘सरप्राइज’ दियो, पाठ्यपुस्तक। “राजधानीको जस्तै शैक्षिक सत्रको सुरूआतमै जिल्ला सदरमुकाम चैनपुरमा पाठ्यपुस्तक पुगेपछि शिक्षक विद्यार्थी उत्साहित नहुने कुरै भएन”, उनले भने, “अब राज्यले शिक्षा सुधारका लागि ठोस निर्णय गरेको देखियो। हाम्रो साइपालमा त इतिहासमै पहिलोपटक वैशाखको पहिलो सातामै पाठ्यपुस्तक पुग्दैछ।” सत्यवादी माध्यमिक विद्यालयमा अध्ययनरत हिमेश जोशी भन्छन्, “कुनै वर्ष पनि शैक्षिक सत्रको पहिलो महिनामा नपुगेका पुस्तक यो पटक वितरण हुने भएका छन्”, जोशीका अनुसार विद्यार्थीले अघिल्लो वर्ष त्रैमासिक, अर्धवार्षिक परीक्षा पनि पुस्तकबिनै दिएका थिए। “गत वर्ष पनि केही पुस्तक शैक्षिक सत्रको आठ महिनापछि पाएका थियौँ”, उनले भने, “जिल्ला सदरमुकाममा त यति ढिलाइ हुन्थ्यो भने, अरू पालिकामा झन पुस्तक नपाएरै वार्षिक परीक्षासमेत दिएको गुनासो सुनिन्थ्यो। यो वर्ष भने सबैको समस्याको समाधान हुने भयो।” जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आठ स्थानीय तहका लागि आइतबार साँझसम्म पुस्तक पुगेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जयपृथ्वी, बुङ्गल, थलारा, छविस, मष्टा, सुर्मा, साइपाल, वित्थडचिर गाउँपालिकाका लागि पाठ्यपुस्तक सम्बन्धित पालिकामा पुगेको बताए। उनका अनुसार यो साताभित्र जिल्लाका सबै विद्यालयमा विद्यार्थीको हातहातमा पुस्तक पुगिसक्ने छन्। शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको निर्णयबमोजिम विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक जिल्लामा पुगेको जिल्ला शिक्षा तथा समन्वय एकाइ बझाङका प्रमुख सुरेन्द्र कठायतले जानकारी दिए। उनले जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै पुस्तक छापेकाले नयाँ वर्षको पहिलो सातामै पुस्तक जिल्लामा पुगेको बताए। “विद्यालयले सिधै केन्द्रसँग समन्वय गरेर ल्याउँदा पाठ्यपुस्तक छिटो पनि पुगेका छन्”, कठायतले भने, “बझाङमै पनि वित्थडचिर गाउँपालिकाका छ विद्यालयले केन्द्रसँग समन्वय गरेर बिहीबार नै दुई हजार सेट पुस्तक ल्याइसकेको छ।” सबैको समन्वयमा केही दिन ढिलाइ हुन सक्ने विद्यालयले पनि केन्द्रसँग समन्वय गरिरहेका छन्। साइपालमा बुधबार वितरण गरिने साइपाल गाउँपालिकाका शिक्षा शाखा प्रमुख खडक बुढाका अनुसार साइपाल गाउँपालिकाका ११ वटै सामुदायिक विद्यालयमा बुधबार पाठ्यपुस्तक वितरण गरिनेछ। आइतबार साँझसम्म ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक पुगेको र १ देखि ५ सम्मका पुस्तक सोमबार बिहान पुग्ने हुँदा एकमुष्टै बुधबार पालिकामा वितरण गर्ने उनले बताए। “विद्यार्थी भर्ना गर्दै हातहातमा पुस्तक दिने तयारी गरेका छौँ”, उनले भने। बुढाका अनुसार विगतका दिनमा पुस्तककै हाहाकार हुन्थ्यो। “यो शैक्षिक सत्रमा भने विद्यार्थीको पठनपाठनमा सुधार हुने आशा गरेका छौँ”, उनले भने, “साइपाल आफैँमा मुलुककै सबैभन्दा दुर्गम गाउँपालिका हो। यहाँ सबै अभावै अभाव हुन्छ। पाठ्यपुस्तक पुग्न त झण्डै शैक्षिक सत्रको दश महिनासम्म पनि कुर्नुपथ्र्यो। यो पटक भने आजसम्मकै छिटो पुगेको हो।” वैशाखमै कसरी सम्भव भयो ? गत माघ ३ गते शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेकै दिन शैक्षिक गुणस्तरका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने बताए। उनले भनेका थिए, “लामो समयदेखि सार्वजनिक शिक्षा बलियो हुनुपर्छ भनेर आफैँ अभियानमा लागेको भएर पहिलो प्राथमिकता भनेको सिकाइ उपलब्धिलाई कसरी अगाडि बढाउने भन्ने चिन्तनबाट शिक्षा मन्त्रालयको नेतृत्व गर्छु।” उनले तल्ला कक्षामा दरबन्दी समायोजन गर्नुपर्ने, विश्वविद्यालय सुधार गर्नुपर्ने, पाठ्यपुस्तक नपाउने समस्या निर्मूल पार्ने, शैक्षिक सत्र सुरु हुँदै पाठ्यपुस्तक हातमा पुर्‍याउने योजना सुनाएका थिए। उनको योजनासँगै मन्त्रालयले कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दियो। शैक्षिक सत्र २०८० का लागि देशभर कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्य सामग्री निजी क्षेत्रका मुद्रक तथा वितरकबाट छपाइ गरी बिक्री-वितरण गर्ने निर्णय गर्‍यो। मन्त्रालयले यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाइको जिम्मा निजीलाई दिएको थियो। जनक शिक्षा सामग्री केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा निजीले पाठ्यपुस्तक छापेसँगै देशभर एकैपटक पुस्तक पुगेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले जानकारी दिए।
रवि लामिछानेका गाडी चालक घरको तीन तलाबाट खसेर गम्भीर घाइते काठमाडौं। चितवनको चुनाव प्रसार प्रसारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा आज विहान ४  बजे छतबाट खसेर गम्भीर घाइते भएका छन्। चितवन भरतपुर ११ मा रहेको एक घरको तीन तलाबाट खसेर उनी गम्भीर घाइते भएका  हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले भरतपुर मेडिकल कलेजेमा थापाको उपचार भैरहेको छ। प्रहरीका अनुसार उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ। उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले बताएका छन्। उनको अवस्था गम्भिर रहेको र अहिले टाउकाको अप्रेसनका लागि अप्रेसन कक्षमा लगिएको छ ।
शिक्षकको तलब सिधै खातामा जम्मा गर्ने व्यवस्था खोटाङ।  खोटाङको ऐसेलुखर्क गाउँपालिकाले शिक्षकको तलब सिधै खातामा हाल्दिने व्यवस्था कार्यान्यवनमा ल्याएको छ। यसअघिसम्म सम्वन्धित विद्यालयको खातामा शिक्षकको तलब जम्मा गरिदिँदै आएको गाउँपालिकाले शिक्षकको तलव मासिक रुपमा सिधै खातामा निकासा दिन थालेको हो। तलव वितरणलाई पारदर्शी र जवाफदेही बनाउनका लागि  ‘सूत्र’मार्फत शिक्षकलाई सिधै खातामा तलव हालिदिने व्यवस्था कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका लेखा प्रमुख पंकज आचार्यले बताए। तलबी विवरणलाई ‘सूत्र’मार्फत कार्यान्वयन गर्ने पालिका प्रदेशमै ऐसेलुखर्क गाउँपालिका र इलामको सुर्योद्धय नगरपालिका मात्र रहेको दावी गरिएको छ। यसअघि शिक्षकको तलब सम्बन्धित् विद्यालयको खातामा जम्मा गर्ने र विद्यालयले सम्बन्धित् शिक्षकको खातामा जम्मा गरिदिने व्यवस्था थियो। तलबका लागि विद्यालयका प्रअ गाउँपालिका पुग्नुपर्ने, प्रअले विद्यालय छाड्दा प्रशासन र पठन–पाठनमा असर पुग्ने र कतिपय प्रअले भनेको बेला शिक्षकको तलब जम्मा नगरिदिने समस्या हल गर्नका लागि सिधै शिक्षकको खातामा तलब निकासा दिन थालिएको हो । गाउँपालिकामा करिब दुई सयको हाराहारीमा शिक्षक कार्यरत छन्। गाउँपालिकाले सिधै शिक्षकको खातामा तलब जम्मा गर्न थालेपछि प्रअको समय बचत भएको छ भने गाउँपालिका धाउने समयलाई विद्यालयको शैक्षिक क्रियाकलापमा खर्च गर्ने वातावरण बनेको आचार्यले बताए। ‘छिटो र छरितो काम हुन्छ। शिक्षकको ग्रेड वृद्धि वारे थाहा हुन्छ। कर कट्टी कति गर्नुपर्ने भन्ने थाहा हुन्छ, शिक्षकको अवकाश मिति थाहा हुन्छ,’ आचार्यले भने, ‘कतिपय प्रअले चार/पाँच दिनसम्म शिक्षकलाई तलव दिएन भन्ने गुनासो सुनिन्थ्यो। अव तलवका लागि प्रअले पालिका धाइरहनुपर्दैन । त्यो समयलाई प्रअले पनि पठन–पाठनमा उपयोग गर्न सक्नुहुन्छ।’ २०७६ सालदेखि ‘सूत्र’ कार्यान्वयनमा ल्याएको गाउँपालिकाले २०७९ सालबाट चेकको सट्टा इएफटी (इलेक्ट्रोनिक्स फण्ड ट्रान्सफर) कार्यान्वयनमा ल्याएको जनाएको छ। चेकलाई विस्थापित गर्दै ‘रियल टाईम, रियल एक्स्पेन्डीचर’ भन्ने नारालाई कार्यान्वयनमा ल्याइएको आचार्यले बताए।
भू-माफियाले गिद्धे नजर लगाएपछि मर्धर सिमसार क्षेत्र बचाऊ संघर्ष समिति गठन राैतहट। रौतहटको चन्द्रपुर नगरपालिका-८ मा रहेको मर्धर सिमसार क्षेत्रको जमिन भू-माफियाले हत्याएपछि मर्धर सिमसार बचाउ संघर्ष समिति गठन भएको छ। मर्धर सिमसार क्षेत्रमा बसेको स्थानीयहरुको भेलाले शिवप्रसाद आचार्यको संयोजकत्वमा १७ सदस्यीय सिमसार क्षेत्र बचाउ संघर्ष समिति गठन गरेको स्थानीय युवा सुदिप गिरीले जानकारी दिएका छन्। समितिको सहसंयोजकमा राजन कार्की र सचिवमा सरोज बछार रहेका छन्। यसैगरी समितिको सदस्यहरुमा सुदिपराज गिरी, थिर कुमारी कार्की, सबिता आचार्य, राजु पराजुली, धुब्र घिमिरे, अमृत सापकोटा, जोखन बिक, शेरबहादुर तामाङ, थलराज भारती, तेजबहादुर महत, जंगबहादुर थापा, कुमार पहाडी, बिनोद कार्की, र बिद्या सापकोटा रहेका छन्। समितिले सिमसार क्षेत्रको संरक्षणको लागी सोमबारदेखि नै नगर प्रमुख लगायतका जनप्रतिनिधिहरुसँग छलफल गरेर काम अगाडि बढाउने संघर्ष समितिका संयोजक आचार्यले जानकारी दिएका छन्। समितिले सोमबार १० बजे चन्द्रपुर नगरपालिकाका नगर प्रमुख लगायत जनप्रतिनिधिहरुसँग छलफल तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिका संयोजक आचार्यले बताए। जिल्लाकै ऐतिहासिक र्मधर सिमसार क्षेत्रलाई भू-माफियालले आफ्नो नाममा गरेपछि स्थानीय नागरिकहरु आन्दोलनमा उत्रिन बाध्य भएका हुन्। भू-माफियाले मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा १० कठ्ठाका दरले २० टुक्रा गरेका छन्। मरधर सिमसार क्षेत्र माफियाको नाममा गएपछि मरधरको विकासका लागि प्रदेश सरकारले दिएको एक करोड ५० लाख रुपैया फिर्ता भएको चन्द्रपुर नगरपालिकाले जनाएको छ। सिमसारको सुख्खा स्थान कब्जा भएकोमा पछिल्लो समय माफियाले पानी भएको क्षेत्र समेत बिभिन्न २० जनाको नाममा नामसारी गरेका छन्।
महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान विराटनगर। विराटनगर महानगरपालिकाले ‘पार्किङस्थल’लाई व्यवस्थित बनाउने क्रममा ‘सिसी क्यामेरा’ जडान गरेको छ। पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको महानगरले जनाएको छ। व्यापारीले पार्किङस्थललाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्दै आएका थिए। पार्किङस्थललाई व्यवस्थित बनाउन व्यापारीहरूकै आग्रहमा केही दिनका लागि सडकको नो पार्किङको निर्णयलाई महानगरले स्थगन गरेको थियो। अब व्यवस्थित र सुरक्षित भइसकेकाले पूर्ववत् अवस्थामै सडकलाई पार्किङ निषेध गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए। सिसी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय र महानगरको नगर प्रहरी शाखामा रहनेछ। प्रमुख कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले कन्ट्रोल रुममा जडान गरिएको सिसी क्यामेरामार्फत पार्किङस्थलको अवलोकनसमेत गरे। सिसी क्यामेरा जडानसहित पार्किङस्थलमा गिट्टी राखेर सम्याउने, बत्ती जडान गर्ने, पार्किङस्थलमा जाने नालीमाथि स्लाब राख्नेलगायतका कार्य सकिएको महानगरको प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए। महानगरले जलजला चोक पूर्व (साविक जुत्ता मेला लागेको ठाउँ) ग्रिनक्रस अस्पताल पछाडि, शनिमन्दिर दक्षिण तथा महावीर रोड उत्तर, पुरानो गुद्री, बुधहाटचोकस्थित वी प्लट, महावीर रोड र वी प्टलको बीचमा रहेको खाली जग्गा, आन्तरिक राजस्व कार्यालय अगाडिबाट पूर्व, सन्सारीमाईस्थान, हिमालय रोडस्थित मैनाली पुस्तक पसल अगाडिको बर्सना कम्प्लेक्सको अन्डरग्राउण्डलाई पार्किङका लागि तयारी गरिसकेको छ। पार्किङस्थलमा समस्या नरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए। शनिमन्दिरदेखि अस्पताल चोक, जलजलाचोकदेखि ट्राफिकचोक हुँदै सन्सारीमाईस्थान, महावीर रोड, गुद्री रोड, शनिमन्दिरदेखि महावीर रोड, कलेज रोड र हिमालयरोडलाई पार्किङ निषेध महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ। विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा साथ दिन महानगरप्रमुख कोइरालाले आग्रह गर्दै आएका छन्।
सरकारी विद्यालयमा गुणस्तर बढाउने भन्दै नीजि विद्यालयका गाडी गाउँ प्रवेश गर्न निषेध महोत्तरी। सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनुपर्ने भन्दै वडा अध्यक्षले नीजि विद्यालयका गाडी निषेध गर्ने निर्णय गरेका छन्। बर्दिबास नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष बिराट विष्टले पाटु गाउँमा विद्यार्थी बोक्न जाने निजि विद्यालयका गाडीलाइ निषेध गर्ने निर्णय गरेका हुन्। २१ फाल्गुन २०७९ मा शिक्षक अभिभावक संघको भेलाले गरेको निर्णयलाइ ऐक्यबद्धता जनाउँदै वडाले गाडी निषेध गर्ने निर्णय गरेको अध्यक्ष विष्टले जानकारी दिए। तर विद्यालयको शैक्षिक गुणस्तर सुधार नगरी निजि विद्यालयको गाडीलाई निषेध गर्नुले बालबालिकाको पढन पाउने अधिकार हनन गर्न खोजेको उनीमाथि आरोप लागेको छ। नजिकमा रहेको जनजागृत माध्यामिक विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न नसकेपछि पाटुका धेरै अभिभावकहरुले निजि विद्यालयमा नै पढाउँदै आएका छन्। बर्दिबासमा नै रहेको नीजि विद्यालय सनसाइन इङलिस बोर्डिङ्ग स्कुल, एभरेस्ट पब्लिक एकेडेमी, नोवेल बोर्डिङ स्कुल र बर्दिबास बोर्डिङ्ग स्कुलले त्यहाँबाट विद्यार्थी बोक्दै आएका छन्। यसैको कारणले पनि जन जागृत माध्यामिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको केही स्थानिय र जनप्रतिनिधिको ठहर छ। ‘घारी टोल, तल्लो पाटु, माथिल्लो पाटु लगायतका ठाउँहरुवाट विद्यार्थीहरु निजि विद्यालयमा जाने भएकाले उक्त ठाउँमा सवारीसाधन आउन निषेध गर्ने निर्णय गरेका हौं,’ अभिभावक संघका अध्यक्ष रमेश खत्रीले भने। वडाले निषेध गर्ने निर्णय गरेको पत्र सामाजिक संजालमा सार्वजनिक गरेपछी वडा अध्यक्षमाथि बाक्लै आलोचना भएका छन्। देउराली उच्च माध्यामिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक प्रदीप कार्कीले यो निर्णय त्रुटिपूर्ण भएको बताए। नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष विष्टको निर्णयलाई लिएर उनकै पार्टीका स्थानीय नेताले समेत आपत्ति जनाएका छन्। जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्छ भन्ने मान्यता विपरित पूर्वाग्राही निर्णय गरिएको नेकपा एमालेका स्थानीय युवा अमिश रिसालको तर्क छ। यता नीजि विद्यालयका सञ्चालकले बैसाख-५ गतेपछि निषेध गरिएको क्षेत्रमा निर्वाधरुपमा गाडी चल्ने बताए। एभरेस्ट पव्लिक एकेडेमीका संचालक अरुण कार्कीले कानुन हातमा लिएर तनासाही निर्णय गरेको आरोप लगाए। वैसाख-५ गतेपछी पाटु गाउँ आवतजावत गर्ने गाडीलाइ रोकेर देखाउन पनि उनले वडा अध्यक्ष विष्टलाई चुनौती दिएका छन्।
अट्ठाइस लाखको आलु बिक्री गर्दै सकियो महोत्सव कास्की। आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा आयोजना भएको राष्ट्रिय आलु महोत्सवमा रु २८ लाख बराबरकोे बिक्री भएको छ। स्थानीय विष्णु पादुका युवा क्लबले ‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ को नारासहित गत चैत २६ गतेदेखि महोत्सव सञ्चालन गरेको थियो। महोत्सव आज सकिएको हो। महोत्सवस्थलमा आलुको पहाड निर्माण गरिएको थियो। सोही पहाडमा बिक्री गरिएको हो। महोत्सवस्थलबाट ८० टन आलुको बिक्री भएको आलु सङ्कलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले बताए। महोत्सवमा प्रतिकेजी रु ३५ मा बिक्री गरिएको थियो। कृषक तिमिल्सिनाले हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले उपभोक्ताको माग बढी भएको बताए। उनका अनुसार यहाँको आलुको माग पोखराभन्दा बाहिर पनि बढी हुने गरेको छ। हेमजा आलुसहित तरकारी उत्पादनमा समेत अग्रणी स्थानमा रहेको छ। हेमजाले पोखरा बजारलाई २५ देखि ३० प्रतिशत ताजा तरकारी आपूर्तिमा योगदान गरेको छ। महोत्सवमा कूल रु पाँच करोड बराबरको कारोबार भएको बताइन्छ। महोत्सव समापनका अवसरमा अग्रज कृषकहरुलाई सम्मान गरिएको छ। पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको हो। हेमजाका आलु उत्पादक कृषकहरु देवीरमण पौडेल, अमृत पौडेल, वीरबहादुर कार्की, सुनिता श्रेष्ठ, शिलशोभा नेपाली र निरज तिमिल्सिना सम्मानित भए। कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले क्लबले आगामी वर्षदेखि आलु महोत्सवलाई रातो किताब नै व्यवस्था गरी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। एक वडा एक उत्पादनका लक्ष्यसहित महानगर अगाडि बढिरहेको प्रमुअ आचार्यले बताए। उनले भने, “कृषिलाई आयआर्जनसँग जोड्न सकेमात्रै समृद्धि हासिल हुनसक्छ।” महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बीउ बिजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी गरिएको थियो। कोरोना भाइसरका कारण विगत ३ वर्षसम्म हुन नसकेको महोत्सवलाई यस वर्षदेखि क्लबले निरन्तरता दिएको हो।
मुगुमा पहिलो पटक अदालती विवाह मुगु। मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ। यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो। सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षिय जानकी रोकायाबीच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो। आफूहरुबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताए। विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गरे। न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिए। काफ्लेकि श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद गरेकी थिइन्। दुवै जनाको सहमति र साक्षीहरुको उपस्थितीमा अदालती विवाह सम्पन्न भएको जिल्ला अदालत मुगुका श्रेष्तेदार गोविन्द आचार्यले बताए। सत्तरी वर्षको उमेरमा अदालती विवाह गरेपछि गमगढी बजारमा नयाँ जोडी हेर्नेको भिड लागेको थियो।
दार्चुलाका विद्यालयमा समयमै पाठ्यपुस्तक खलङ्गा। दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन्। विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो। यस वर्ष भने उनीहरुले समयमै किताब पाउने भएका छन्। धेरैजसो स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्तले जानकारी दिए। जिल्लाका दुर्गम गाउँका विद्यालयमा पनि विद्यार्थी भर्ना भएसँगै पुस्तक वितरण गरिने उनले बताए। समयमा नै पुस्तक पुगेपछि यहाँका विद्यार्थी, शिक्षक तथा अभिभावकमा खुसी छाएको छ। “यस वर्ष समयमै पाठ्यपुस्तक पुग्दा खुशी छौँ, यसरी नै हरेक वर्ष पाठ्यपुस्तक समयमै पुगे पठनपाठनमा सजिलो हुन्थ्यो”, अपिहिमाल गाउँपालिकास्थित खण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक खडक बोहराले भने। मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकामा वैशाख २ गते नै पाठ्यपुस्तक पठाइएको इकाइ प्रमुख पन्तले बताए। त्यस्तै दुँहु र ब्याँस गाउँपालिकाका लागि पनि पाठ्यपुस्तक जिल्ला सदरमुकाम खलङ्गास्थित न्यु चौलानी पुस्तक पसल र ज्ञानजोती पुस्तक पसलबाट ढुवानी भइसकेको न्यु चौलानी पुस्तक पसलका सञ्चालक मनोहर डाँगाले जानकारी दिए। शैल्यशिखर नगरपालिकामा पनि पाठ्यपुस्तक विद्यालयमा पठाउन थालिएको छ। नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा आइतबारदेखि पाठ्यपुस्तक पठाउन सुरु गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए। गत वर्ष विद्यार्थीले पुस्तकबिना परीक्षा दिएका थिए। यस वर्ष सरकारले भर्नासँगै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने व्यवस्था गरेकामा खुशी लागेको शैल्यशिखर नगरपालिका–६ का अभिभावक मदन धामीले बताए। नौ स्थानीय तह रहेको दार्चुलामा अपि हिमाल, दुँहु र ब्यास गाउँपालिका बाहेकका स्थानीय तहमा यातायातको सहज सुविधा रहेकोले पाठ्यपुस्तक ढुवानीमा समस्या छैन। यातायातको समस्या रहेका तीन गाउँपालिकामा पनि पाठ्यपुस्तक पुगिसकेको इकाइ प्रमुख पन्तले बताए। विगत वर्षमा वार्षिक परीक्षा सकिदासमेत पुस्तक नपाएका जिल्लाका विद्यार्थी यस वर्ष समयमै पुस्तक पाउने भएपछि खुशि भएका छन्। यही वैशाख ३ देखि ८ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको पन्तले जानकारी दिए। केही दिन अघि शिक्षा विकास तथा समन्वय इकाइमा बसेको विद्यालयका प्रधानाध्यापक र स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले जिल्लामा वैशाख पहिलो हप्तासम्म पाठ्यपुस्तक उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिएको थियो। – रासस
भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा भक्तपुर। नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का: । जात्रा भक्तपुरका बासिन्दाले चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म बिस्काः जात्रा मनाउँदै आएका छन्। चैत २७ गते र वैशाख ५ गते भैरवको रथ तान्नु, चैत मसान्तको दिन ल्यासिंखेलमा लिङ्गो उठाउनु र वैशाख १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढाल्ने मुख्य जात्रा हुन्। सुरूमा बिस्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो भने पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने प्रचलन संस्कृतविद् ओम धौभडेल बताउँछन्। भैरव भद्रकालीको रथ जुधाउने जात्रा  भक्तपुरको प्रसिद्घ बिस्केट जात्राअन्तर्गत भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा पनि एक हो। धार्मिक तथा सांस्कृतिकरूपले अत्यन्त महत्वपूर्ण मानिने रथ जुधाउने जात्रा वैशाख १ गते लिङ्गो ढालेपछि भैरव र भद्रकालीको रथलाई गःहिटी ल्याएर जुधाएर मनाइन्छ। भैरवनाथ र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो जात्रालाई स्थानीय भाषामा द्योः ल्वाकिगु भनिन्छ। जात्रामा रथ जुधाउनुअधि बेताल देवतालाई गंहिटीमा ल्याएपछि झ्यालबाट कुखुराको बलि चढाएर रथ जुधाउने परम्परा छ। भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गर्ने परम्परा रहेको धौभडेल बताउँछन्। बाराही जात्रा शक्तिकी देवी अष्टमातृकामध्येकै देवी बाराही तिसा जात्रा बिस्केट जात्राकै अवसरमा मनाइने जात्रा हो। चैत मसान्तको दिन लिङ्गो उभ्याएपछि तेखाचो टोलस्थित द्योः छे अर्थात देवघरमा रहेको बाराहीको मूर्तिलाई प्यागोडा शैलीमा निर्माण गरी सजाइएको खटमा राखेर जात्रा मनाउने गरिन्छ। वंशगोपालको बाराही द्यौः छेदेखि सुरु हुने बाराही खटजात्रा सूर्यविनायक लैजाने प्रचलन छ। जात्रा मनाउँदा यहाँका घरघरबाट हातमा सुकुन्दा तथा चिराग बालेर जात्रासँगै जाने गर्दछन् । खटलाई बाराही मन्दिरमा राखेर पूजा गरिन्छ। भोलिपल्ट लिङ्गो ढालेपछि खटलाई टोलटोलमा लगेर पूजा गरी पुन द्योः छे मै ल्याएर विराजमान गराई जात्रा मनाउने गरिन्छ। ईन्द्रायणी देवीको त्वारिवा जात्रा अष्टमातृकामध्येकै ईन्द्रयणी देवीको जात्रा पनि यहाँ मनाइन्छ। बिस्केट जात्रामा ईन्द्रायणी देवीको खटलाई सिंगारेर ईन्द्रायणी द्यो: छेबाट देवीको मूर्तिीलाई खटमा राखेर दाफा भजनले गुन्जायमान गर्दै टोलटोलमा परिक्रमा गराएर जात्रा मनाइन्छ। जात्रामा स्थानीयवासीले घरघरबाट पूजाका सामग्री ल्याएर पूजा गर्ने गर्दछन्। महाकाली, महालक्ष्मीको जात्रा बिस्केट जात्राकै अवसरमा वैशाख २ गते महाकाली, महालक्ष्मी जात्रा भक्तपुरमा हर्षोल्लासका साथ मनाउने गरिन्छ। भोलाछेंस्थित महाकालीको द्योः छेमा सिंगारिएको विमान आकारको खटमा महाकालीको मूर्तिलाई विराजमान गराई जात्रा सुरु हुने गर्दछ। त्यस्तै महालक्ष्मी द्योः छेबाट पनि विमान आकारकै सिंगारिएको खटमा महालक्ष्मीको मूिर्तलाई विराजमान जात्रा सुरु गरिन्छ। यो जात्रा सञ्चालन गर्दा एकातिरकाले पहेँलो र अर्को तर्फकाले रातो टोपी लगाउने प्रचलन छ। जात्रा सञ्चालन गर्दा बीचमा यो दुबै रथ एकैस्थानमा भेट भएपछि रथलाई जुधाएर जात्रा मनाउने प्रचलन रहेको छ। ब्रम्हायणी, महेश्वरी जात्रा वैशाख ३ गते बिस्केट जात्राकै अवसरमा अष्टमातृकामध्येको शक्तिदेवी ब्रम्हायणी, महेश्वरी जात्रा भक्तपुरको सूर्यमढीस्थित द्योः छेबाट ब्रम्हायणीको मूर्तिीलाई खटमा राखेर खट जात्रा सुरु हुनेगर्दछ। त्यसैगरी इनाचोमा रहेको महेश्वरी द्योः छेबाट महेश्वरीको मूर्तिलाईलाई पनि सिंगारिएको खटमा राखेर जात्रा सुरु गरिन्छ। जात्रा सुरु हुँदा दबै तर्फका जात्रालुले हातहातमा चिराग लिएर खटजात्रा गरेर जात्रा मनाउने गर्दछन्। जब दुबै दत्तात्रय आइपुगेपछि दुबै रथ जुधाउने र प्रसाद तथा चिराग समेत साटासाट गरेर जात्रा मनाउने गरिन्छ। बटुक भैरव, ज्याठा गणेश जात्रा बिस्केट जात्राकै अवसरमा भक्तपुरको बुलुचा टोलको बटुक भैरव र कुमाले टोलको ज्याठा गणेश जात्रा मनाउने गरिन्छ। आ–आफ्नो टोलमा सिंगारिएको खटमा देवतालाई विराजमान गराई जात्रा सुरु गरिन्छ। जात्रा मनाउने क्रममा यी दुवै खट जहाँ भेटिन्छ, त्यही खट जुधाइन्छ । यो जात्रा टोलटोलमा सञ्चालन गर्ने गरिन्छ। छुमा गणेश जात्रा भक्तपुरकै चोंछे टोलबाट छुमा गणेश जात्रा वैशाख ४ गते मनाउने गरिन्छ। द्योः छेबाट छुमा गणेशको मूर्तिलाई खटमा रोखर चोछें टोलमा घुमाइन्छ । यहाँका बासिन्दाले पूजा गरी प्रसाद चढाएर जात्रा मनाउने गर्दछन्। सगुन जात्रा अर्थात द्यः सँग पूजा: यो जात्रालाई महत्वपूर्ण जात्राको रुपमा चिनिन्छ। यो जात्रालाई स्वङ्ग पूजाको रुपमा पनि चिनिन्छ। यो जात्रा भक्तपुरका सबै शक्ति पिठ तथा जात्रा सञ्चालनमा रहेको देवीदेवतालाई आ-आफ्नो द्यो छेंबाट बाहिर निकालेर द्योः छें प्राङ्गन, पाटी, सत्तलमा राखिन्छ । त्यसपछि घरघरबाट पूजा गरेर विभिन्न परिकार तथा सगुन चढाएर यो जात्रा मनाइन्छ । अन्तिम रथ तान्ने जात्रा चैत २७ गतेजस्तै वैशाख छ गते जात्राको अन्तिम दिन गःहिटीमा रहेको भैरवको रथलाई तानेर जात्रा मनाउने गरिन्छ। त्यसदिन रथलाई तानेर टौमढीमा पुर्याएपछि राति रथबाट भैरवको मूर्तिलाई झिकेर देवघरमा लगेर विराजमान गराएसँगै बिस्केट जात्राका सबै जात्रा सम्पन्न हुने प्रचलन रहेको छ। – रासस
कोरोनाका कारण चितवनमा एकको मृत्यु चितवन। जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङक्रमणका कारण उनको शनिबार मृत्यु भएको हो। जिल्लामा अहिले दशजना सक्रिय सङ्क्रमित छन्। कार्यालयको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक/एक रहेका छन्। सङ्क्रमित सबै होम आइसोलेशनमा छन्।
गुल्मीमा सोमबार मह दिवस मनाइँदै, महमा आत्मनिर्भर बनाउने लक्ष्य रेसुंगा । गुल्मीको मुसिकोट नगरपालिका–८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ । मौरी स्मार्टमा हाल ५१ किसान सङ्गठित रहेको अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिइन्। मौरी स्मार्टले पहिलो वर्षलाई आधार वर्षको रूपमा लिएको र सोअन्तर्गत सङ्गठित किसान, मौरी पालन र महको बजारीकरणलाई आधार बनाइएको थियो । दोस्रो वर्ष वृद्धि वर्षको रूपमा मौरी पालन बढाइएको थियो । तेस्रो वर्ष अहिले मह दिवस मनाउन थालिएको र आगामी वर्ष निर्यात वर्षको रूपमा रहनेछ । पहिलो वर्षमा रु ३२ लाख र दोस्रो वर्षमा रु ३७ लाख ५० हजार लुम्बिनी प्रदेश सरकारको मौरी स्मार्टमा लगानी भएको छ । जसमा मौरीका लागि आवश्यक सामग्री, मह बनाउने तालिम र घार निर्माणका लगानी गरिएकोे अध्यक्ष घर्तीमगरले बताइन्। “मौरीको व्यवसायीकरण, प्रवद्र्र्धन र निर्यात सहजताका लागि दिवस मनाउन लागिएको हो” उनले भनिन्, “मह दिवसले मौरी पालन गर्न थप आकर्षित गर्नेछ ।”
कैलालीमा एक कोरोना संक्रमितको मृत्यु धनगढी। कैलालीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ। धनगढी स्थित सेती  प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध  महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका वरिष्ट जनरल फिजिसियन डा. शेरबहादुर कमरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो। चैत २६ गते कारोना संक्रमण पुष्टि भएकी ती महिलालई आईसियुमा राखिएको थियो।उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन्।
फोहरबाट दैनिक दश हजार आम्दानी गर्दैै कुश्मा पर्वत। सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहर व्यवस्थापनमा चुनौती थपिन थालेको छ। कतिपय पालिकालाई फोहर व्यवस्थापन गर्न धौधौ परेको छ भने कतिपयले व्यवस्थितरूपमा विसर्जनमात्र होइन, यसबाट आम्दानीसमेत गरिरहेका छन्। यसमध्ये कुश्मा नगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनबाट दैनिक रु १० हजार आम्दानी गर्दै आएको छ। बजार क्षेत्रको फोहर व्यवस्थापनमा लामो समयदेखि समस्या झेल्दै आएको कुश्माले फोहर वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको तीन वर्ष पुगेको छ। नगरभित्रको फोहरलाई कुहिने र नकुहिने गरी व्यवस्थापन सुरु गरेको कुश्माले दुई वर्षदेखि फोहरबाट आम्दानी गर्न थालेको हो। कुश्मा–४ छमर्केस्थित घुम्तीमा फोहर व्यवस्थापन गरिँदै आएको पालिकाले जनाएको छ। जग्गा छनोटमा तीन वर्षसम्म सङ्घर्ष गरेको कुश्माले विसं २०७६ फागुनमा मध्यपहाडी लोकमार्गको छमर्के घुम्तीबाट पाँच सय मिटर तल जङ्गलभित्रको खाली जग्गा फेला पारेको थियो। बत्तीस रोपनी जग्गा पालिकाले १० वर्षका लागि लक्ष्मीनारायण गुठी तथा अन्य चार व्यक्तिसँग भाडामा लिएर फोहर व्यवस्थापन सुरु गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताए। उनका अनुसार सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र (सेक्रेट नेपाल)सँगको साझेदारीमा पाँचवर्षे सम्झौता गरी फोहरको व्यवस्थापन भइरहेको छ। नगरपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ वडाभित्रको फोहर सङ्कलन गरी व्यवस्थापन सुरु गरेको छ। केही समय गुप्तेश्वर बहुमुखी क्याम्पसको छेवैमा पोखरा–बाग्लुङ सडक र बडागाउँको डिलबाट फोहर विसर्जन गर्दा स्थानीय र सरोकारवालाले विरोध गरेपछि नगरले विकल्प खोजेको थियो। त्यसरी फालेको फोहर सिधैं कालीगण्डकीमा मिसिने र त्यसले वातावरणमा गम्भीर असर पर्ने गरेको जनाउँदै पुनरावेदन अदालत बागलुङमा रिट निवेदन परेपछि जग्गा भाडामै लिएर व्यवस्थापन गरिँदै आइएको थियो। यसपछि आम्दानीसमेत हुन थालेको नगरपालिकाले जनाएको छ। कुश्माले कुहिने फोहरलाई खाडलमा थुपारेर कम्पोस्ट मलका रूपमा बिक्री गरिरहेको छ। सेक्रेट नेपालका कार्यक्रम संयोजक टीकाराम भुसालका अनुसार कुहिनेभन्दा नकुहिने फोहरबाट राम्रो आम्दानी हुने गरेको छ। अहिले सेक्रेटले फोहर वर्गीकरणमा मात्रै १२ कामदार खटाएको छ। व्यवस्थित वर्गीकरण सुरु भएपछि दैनिक १० हजारसम्म आम्दानी भइरहेको छ। आवश्यक मात्रामा जग्गा नहुँदा व्यवस्थापनमा केही समस्या भएको भुसालले जनाए। फोहर व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक पूर्वाधार र गाडीको व्यवस्थापन गरेको छ। फोहर व्यवस्थापन कार्यक्रम सुरु भएपछि कुश्माबजार सफा र चिटिक्क देखिएको छ। नगरभित्रका विभिन्न होटल व्यवसाय तथा स–साना उद्योग कलकारखानाबाट निस्किने सिसा र प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा जिल्लाको फलेवास नगरपालिकालाई समस्या देखिएको छ। अधिकांश ग्रामीण क्षेत्रका बासिन्दाले प्लाष्टिकजन्य फोहर जलाउने गरेको भए पनि सिसाजन्य फोहर व्यवस्थापनमा समस्या भएको नगरका प्रवक्ता अच्युत तिवारीले बताए। मदिरा तथा सर्वसाधारणले प्रयोग गर्ने औषधिका बोतल व्यवस्थापन सहज नहुँदा नगरभित्र वातावरणीय प्रदूषण बढ्दो छ। फलेवासले गत वर्ष सिसाजन्य फोहर सङ्कलन गरी खाडल खनेर दबाएको जनाएको छ। तर उक्त प्रक्रिया पनि दिगो र भरपर्दो हुने नदेखिएपछि चालु वर्ष उक्त कार्यक्रम सञ्चालन गरेको छैन। पर्वतको जलजला र पैंयु गाउँपालिकाले पनि फोहर वर्गीकरण गरेर सङ्कलन तथा व्यवस्थापन गर्न थालेका छन्। मोदी गाउँपालिकाले फोहर व्यवस्थापन नगर्दा मध्यपहाडी लोकमार्गमा पर्ने पातीचौर बजार, नजिकै रहेको मोदीखोला र पातीखोला दुर्गन्धित बन्दै गएका छन्। फोहर व्यवस्थापन योजना कार्यान्वयनको चरणमा रहेको मोदीका उपाध्यक्ष विमल लामिछानेले बताए।
‘जिउलोमा खेती गर्नुभन्दा पाटनमा यार्सा टिप्न सहज’ जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा मार्सी धानको खेती घट्दै गइरहेको छ। विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने छुमचौर जिउलोमा अहिले मार्सी धानखेती विस्तारै घटेको पातारासी गाउँपालिका–३ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए। यहाँका कतिपय किसानले जौँ, गहुँ, मकै, आलु रोप्ने गर्छन्। कतिपयले खेत बाँझै राख्ने गरेका छन्। खेतमा कालीमार्सी धान रोप्दा रोग–कीरा लाग्ने र बाली निकै कम हुने भएपछि कालीमार्सीको खेती गर्न छाडिएको जनाइएको छ। उनले भने, “धानखेतीका लागि प्रशस्त पानी छ। सिँचाइ कुला पनि खेतसम्मै पुगेका छन्। तर महिनौँदेखि मेहनत गरेर रोपिएको कालीमार्सी धान घर भित्र्याउने समयमा रोग–कीराको सङ्क्रमण हुने र असिना पानीले झारिने गर्दा यहाँका किसान कालीमार्सी धान रोप्ने चासो नदिएका हौँ।” पछिल्लो समय उत्पादनमा गिरावट आउन थालेपछि कालीमार्सी खेती गर्न छाडिएको छ। कालीमार्सी धानको आफ्नै पहिचान छ। तर पहिचानले खान लाउन पुग्दैन। धान लगाउन पर्याप्त धान उत्पादन पनि हुन जरुरी रहेको पातारासी–२ का ६२ वर्षीय गोर्खे बुढाले बताए। समुद्री सतहबाट दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा मार्सी धानखेती हुने गरेको पातारासी गाउँपालिका कृषि शाखाका प्रमुख रुपक बुढाले जानकारी दिए। कालीमार्सी धानखेती संरक्षण गर्नका लागि पालिकाले आवश्यक सहयोग गरेको छ। किसानलाई उत्पादनमूलक क्षेत्रमा जोड्नका लागि विभिन्न क्षमता अभिवृद्धिका तालिमसमेत दिएको छ। किसानले उत्पादन गरेको धान बजारीकरण हुनसकेको छैन। केही किसानले खेतमा धानको सट्टा अर्को बाली लगाउँदै आएका छन्। यो वर्षबाट पूरै छुमचौर जिउलोमा धानखेती गरिने कृषि शाखाका प्रमुख बुढाको भनाइ छ। कृषि शाखाले पनि सो जिउलोको धानखेतीमा लगानी गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ। किसानका अनुसार धान उब्जनी कम हुन थालेपछि धान सिजनमा यहाँका अधिकांश बालबालिका र युवायुवती यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन्। जिउलोमा धान पाक्न आठ महिना लाग्छ तर त्यसको सट्टामा पाटनमा यार्सा टिप्न जाँदा एक महिनामै तेब्बर आम्दानी हुन्छ। यार्सा टिप्न गएपछि पाटनमा एक घर परिवारले एक महिनामा न्यूनतम रु ५० हजारदेखि एक लाखसम्म कमाउँछन्। एक महिनाको कमाइले वर्षभरको रोजीरोटी सहजै व्यवस्था हुने देखिएपछि जिउलोमा मेहनत गर्नुभन्दा पाटनमा गएर यार्सा टिप्नु नै सहज हुने पातारासीका किसान बताउँछन्। कृषि अनुसन्धान केन्द्र जुम्लाले पनि कालीमार्सी धान निकै पुरानो भएकाले रोग प्रतिरोधी मार्सी धानको अनुसन्धान भइरहेको जनाएको छ। जिल्लाका आठवटै स्थानीय तहमा यहीँ जेठ महिनाको पहिलो सातादेखि खेतमा मार्सी धानको रोपाइँ हुने गरेको छ। यो याममा खेतमा किसानले जौं खेती गरेका छन्।
बैतडीको दोगडाकेदारमा युवकको हत्या बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका एक युवकको हत्या भएको छ। अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो। उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ। थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।
सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव पाँचथर। करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी स–साना पोखरी। सबैका आ-आफ्नै विशेषता र बनावट। वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जंगल। थरिथरिका गुराँसले मन तानिरहने। बीच-बीचमा चौँरी र गाईको चरन रहेका हरिया फाँट। चौँरी र गाईका गोठबाट निस्कने धुँवा र घन्टीको आवाजको माधुर्यता पनि उस्तै। जताजता र जति घुमे पनि उत्तिकै आनन्द लागिरहने पोखरी, गुराँस, जंगल र चौरहरूको संगम हो याङवरक गाउँपालिका-१ स्थित लामपोखरी सुकाधाप क्षेत्र। नेपाल–भारत सीमावर्ती क्षेत्रभन्दा करिब पाँच किलोमिटरमुनि रहेको यो क्षेत्र पर्यटकले भ्रमण नगरेको बताइएको छ। यहाँ लामपोखरी, सुकापोखरी, हिलेपोखरी, जलजले पोखरी, गुन्टेपोखरी र झ्याउपोखरी गरी छवटा पोखरी रहेका छन्। प्रशस्तै खोज र अनुसन्धान नभए पनि ३२ प्रकारका लालीगुराँस पाइएको बताइने यो क्षेत्र दुर्लभ वन्यजन्तु रातोहाब्रे (रेडपाण्डा)सहित भिरमौरी, चरीबाघ, कस्तुरी, मृगलगायतको बासस्थानका रूपमा परिचित छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको याङवरक गाउँपालिकास्थित च्याङथापू बजारबाट कच्ची सडक वा पैदलयात्राबाट पुग्न सकिने यो स्थान अहिले थरिथरिका गुराँस फुलेर निकै आकर्षक बनेको छ। कतिपयले गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रसँग तुलना गर्ने यो स्थान प्रचार–प्रसारको अभाव तथा पूर्वाधारको कमीका कारण पर्यटकको नजरमा पर्न सकेको छैन। महोत्सवको निरन्तरता धेरै गुराँस पाइने भएका कारण एक दशकअघिबाट यस क्षेत्रमा लालीगुराँस महोत्सव आयोजना गर्न थालिएको थियो। लामपोखरी क्षेत्रको विकास र संरक्षणमा सक्रिय संस्थाले आयोजना गर्ने महोत्सवले निरन्तरता नपाएसँगै चर्चामा आउन लागेको यो स्थान पुनः गुमनाम हुँदै गएको थियो। तर यस वर्षबाट याङवरक-१ को कार्यालयले महोत्सव आयोजना गर्न थालेको छ। नयाँ वर्ष २०८० को अवसर पारेर शुक्रबार आयोजित महोत्सवमा जिल्लाको याङवरक र फालेलुङबाट उल्लेख्य सङ्ख्यामा पर्यटक पुगेका थिए। आन्तरिक पर्यटक विशेषतः प्राकृतिक सुन्दरता, गुराँस, चिमल र चाँप फुलेको नियाल्न तथा पोखरीमा रमाउन यहाँ पुगेको भेटिन्थे। महोत्सवलाई निरन्तरता दिइएकामा उनीहरू उत्साहित र खुसी थिए। महोत्सवको अवसर पारेर वडा कार्यालयले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका स्थानीय नेता, गाउँपालिकाभित्रका सरोकारवालालाई यस क्षेत्रको स्थलगत भ्रमण गराएको छ। झन्डै तीन घन्टामा पोखरीको एकसरो भ्रमण सकिने यहाँ पर्यटन विकासमा ठूलो लगानी आवश्यक नरहेकाले आवश्यक सहयोग गर्न तथा सहयोग जुटाउन गाउँपालिकालाई माग गरिएको वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताए। महोत्सवका अवसरमा उक्त क्षेत्रको अवलोकनपछि याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या, उपाध्यक्ष बाबा मेन्याङ्बोसहितका जनप्रतिनिधिले यस क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। हजारौँ रोपनी क्षेत्रफलमा रहेको घना जंगल, गुराँस, चिमल र चाँपका प्रजाति, वन्यजन्तु तथा जडीबुटी आदिको अध्ययन गर्ने, यहाँ रहेका पोखरीलाई संरक्षण गर्ने र समग्र क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी तथा वडाले राखेको मागलाई कार्यान्वयन गर्ने अध्यक्ष योङ्याले प्रतिबद्धता व्यक्त गरे। “वातावरणीय र जैविक विविधताका हिसाबले यो क्षेत्रमा निरन्तर क्षति भइरहेको, पोखरी सुकिरहेको पाइयो”, अध्यक्ष योङ्याले भने, “यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाई स्थानीयवासीको आम्दानीको स्रोत बनाउनेमा हाम्रो ध्यान जानेछ।” लामपोखरी-सुकाधाप क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरी प्रचार-प्रसार गर्ने, यहाँसम्म पुग्ने सडकको स्तरोन्नति तथा फाक्लुङ-फालोट मोटरबाटो निर्माण गर्ने यहाँको वातावरण, पर्यावरण, भूगोल र जैविक विविधताको अध्ययन गरी स्थानीय पाठ्यक्रममा यी विषयलाई समावेश गर्ने, उक्त क्षेत्रलाई संरक्षित बनाउने, याङवरक-६ कालापानीबाट चरिभञ्ज्याङ-सातथुम्की-सुकाधाप–लामपोखरी-तोरीफूले-चिवाभञ्ज्याङ पदमार्ग निर्माण गरी पर्यटन सर्किट घोषणा गर्ने, होमस्टे तथा गोठस्टे निर्माण गर्ने, चौँरी, गाई र भेडापालक कृषकलाई पर्यटनमा जोड्ने, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको यस क्षेत्रका नागरिक अगुवा नरबहादुर गुरुङको भनाइ छ। रासस
कानुन बालमैत्री हुनुपर्छ : सभामुख घिमिरे काठमाडौं । सभामुख देवराज घिमिरेले कानुनहरु बालमैत्री हुनुपर्नेमा जोड दिएका छन् । राष्टसंघीय बाल अधिकार सम्बन्धी महासन्धी १९८९ माथि बालबालिकाहरुको नेतृत्वमा तयार गरिने प्रतिवेदन २०२३ सम्वन्धी बालबालिकासँंगको राष्टिय कार्यशाला गोष्ठीको शनिबार राजधानीमा उदघाटन गर्दै यो विषयम जोड दिएका हुन् । सभामुख घिमिरेले देशको कानुन बनाउने संस्था संसदको आफू सभामुख भएकोले यो विषयमा आफू सचेत रहेको बताए । ‘कुनै पनि कानुन बनाउँंदा भोलिका कर्णधार बालवालिकाहरुको भविष्यसँंग जोडेर हेर्नुपर्छ’, उनले भने । कार्यशालामा नेपालका बालबालिकाहरुको अवस्था, समस्या र सुधार गर्नुपर्ने कामहरुबारेको प्रतिवेदन तयार पारिने छ । तयार प्रतिवेदन संयुक्त राष्टसंंघलाई बुझाइने जनाइएको छ । बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्र्सोटियम नेपाल) प्रगतिनगर शंखमुल काठमाडौंले बालबालिकाहरुबाटै प्रतिवेदन तयार पार्न लगाइ बुझाउने भएको कार्यक्रममा बताइयो । यसका लागि देशभरका बालबालिकाहरु राजधानीमा भेला भई प्रतिवेदन कार्यशालामा तयार गर्दै छन् । प्रत्येक प्रदेशबाट न्युनतम दुईदुई जना गरी सातै प्रदेश र उपत्यकाका बालबालिकाहरु मिलेर प्रतिवेदन तयारीको कामहरु भइरहेको छ । कन्र्सोटियम नेपालका अध्यक्ष मोहन दंगालले आइतरभित्र प्रतिवेदन तयार भइसक्ने जनाए । यसपछि बालबालिकाहरुबाटै तयार भएको प्रतिवेदन हामीले राष्टसँंघलाई बुझाउने हो, उनले भने । कन्र्सोटियम नेपालका उपाध्यक्ष सन्तोष महर्जनले यसअघि हाल काठमाडौंमा बसेर प्रतिवेदन बनाइरहेका बालबालिकाहरु आआफनो प्रदेशमा बनेको प्रतिवेदन बुझेर काठमाडौं आएको बताए । अहिले सातवटै प्रदेशका बालबालिहरुले लिएर आएको प्रतिवेदनलाई मिलाएर नयाँं प्रतिवेदन तयार हुन्छ, उनले भने । संस्थाका महासचिव प्रदीपकुमार लामिछानेका अनुसार यसअघि ती बालबालिकाहरुले समुदायस्तरमा पुगेर नेपाली बालबालिकाहरुको अवस्था समस्याबारे बुझेर प्रदेशस्तरमा प्रतिवेदन बनाएका थिए । प्रदेशस्तरमा प्रतिवेदन बनाएका ती बालबालिकाहरुकै प्रतिनिधित्व गरी अहिले एउटा प्रदेशबाट घटीमा दुई जना बालबालिकाहरु प्रतिवेदन लिएर काठमाडौं आएका हुन् । यस्तो प्रतिवेदन पहिलो पटक सन् २०१४ मा पनि बुझाइएको कार्यक्रममा जनाइयो । शुक्रबारदेखि सुरु भएको तीनदिने कार्यशाला आइतबार सम्पन्न हुने जनाइएको छ ।
अन्नपूर्णमा आरोहण सुरु म्याग्दी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट टे«कका पासाङ नुर्वु शेर्पाको टोलीले शनिबार दिउँसो ११ः३५ मा अन्नपूर्णको सफल आरोहण गरेको हो । सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागार्इंले तीन जना नेपाली, एक जना पाकिस्तानी र एक जना अस्टे«लियन अन्नपूर्णको चुचुरोमा पुगेको जानकारी दिए । नुर्वुको टोलीले बनाएको बाटो प्रयोग गरेर अन्य आरोहीहरुको टोली पनि अन्नपूर्णको चुचुरोमा पुग्ने क्रममा छन् । यसवर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो । अन्नपूर्ण आरोहणका लागि विभिन्न कम्पनीबाट पुगेका आरोही र पर्यटकको आधार शिविरमा चहलपहल छ । इलाइट टे«किङ कम्पनीमार्फत कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि गत फागुन २३ गते म्याग्दीमा आएकी थिइन् । आल्थानीको आरोहण टोलीको नेतृत्व कीर्तिमानी आरोही निर्मल पुर्जाले गरेका छन् । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए