content
stringlengths
20
64.1k
सामाखुसीमा खोलाले बगाउँदा १३ वर्षीय बालक बेपत्ता काठमाडौँ । काठमाडौँको सामाखुसीमा खोलाले बगाउँदा आज १३ वर्षीय साजन मगर बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक आज फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए । खोलामा खसेर बेपत्ता भएका बालकको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताए ।
महाकाली सिँचाइको नहरमा एक जनाको शव भेटियो कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा एक शव भेटिएको छ। नहरमा बग्दै गरेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। यसैबीच भीमदत्त नगरपालिका–१३ दोधारा चादँनी झोलुङ्गे पुलबाट महाकाली नदीमा हाम फालेका युवकको प्रहरीले खोजी गरिरहेको छ।  कृष्णपुर नगरपालिका–६ का २८ वर्षीय जनक भट्टले गए राति नौ बजे झोलुङ्गे पुलबाट हाम फालेका थिए।
कालीकोटको सरुवा रोग अस्पताल नसार्न अदालतमा रिट मान्म । कालीकोटको सरुवा रोग अस्पताल अन्यत्र नसार्न माग गर्दै आज उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता भएको छ । कालीकोट खाँडाचक्र नगरपालिका–८ निवासी विद्यार्थी हिक्मतबहादुर मल्लले जुम्ला पुगेर रिट दर्ता गरेका हुन् । कालीकोटमा स्थापना भई दरबन्दीसहित सञ्चालनमा आएको उक्त अस्पताल राजनीतिक चलखेलका कारण जिल्ला बाहिर सार्ने षड्यन्त्र भएको भन्दै कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, जिल्ला अस्पताल विकास समिति र सरुवा रोग अस्पताल कालीकोटलाई विपक्षी बनाएर मल्लले निवेदन दर्ता गरेका छन् । न्याय प्रशासन ऐन २०७३ को दफा ८ अन्तर्गत रहेर आफूले रिट निवेदन दर्ता गराएको मल्लले बताए । विसं २०७८ देखि सञ्चालित उक्त अस्पतालका लागि कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा दरबन्दीरत चिकित्सकको सेवा सुविधाका लागि बजेट व्यवस्था नगरेको उनले बताए । अस्पतालमा कालाजार, मलेरिया, एचआइभी एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालका श्वासप्रश्वाससम्बन्धी रोगको उपचार हुँदै आएको अस्पताल व्यवस्थापन समितिका सदस्य रतनबहादुर शाहीले जानकारी दिए । “पन्ध्र शैय्याबाट सञ्चालन गरिएको अस्पताललाई ५० शैय्यामा स्तारोन्नति गरी सञ्चालनको तयारी गरिरहेका बेला रातो किताबमा बजेट व्यवस्था नहुनु दुर्भाग्य हो”, उनले भने, “तत्काल बजेट व्यवस्था गरी अस्पताल कालीकोटमै स्थायी रुपमा सञ्चालनको सुनिश्चितता गरिनुपर्छ ।” उनका अनुसार अस्पतालमा वरिष्ठ जनरल फिजिसियन एक, मेडिकल अधिकृत एक, हाउसकिपर, फार्मेसी सहायकलगायतको दरबन्दी रहेको छ ।
म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न १३ पक्की पुल निर्माण गलेश्वर। म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन्। जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्‍याउने उद्देश्यले गण्डकी प्रदेश र संघ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन्। प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, संघीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए। उनका अनुसार ६ पुल निर्माण सम्पन्न भई यातायातका साधन सञ्चालन भइसकेका छन्। अन्य पुल निर्माण सम्पन्न भए पनि औपचारिक रुपमा सञ्चालनमा आउन बाँकी रहेको अधिकारीले बताए। उनका अनुसार अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण भएको पुल र मराङ बेँसी अर्कला पुल निर्माणसँगै विकट ग्रामीण बस्ती पालिकाका केन्द्र र सदरमुकामसँग जोडिएका छन्। मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा नं ५ अर्मनलाई केन्द्रसँग जोड्न म्याग्दी खोलामा रू ११ करोड २४ लाख २५ हजार ५२ लागतमा निर्माण भएको पुलबाट यातायातका साधन सञ्चालन भइरहेका छन्। विसं २०७५ पुस २५ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको थियो। कोरोना सङ्क्रमणका कारण निर्माण ढिला भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। पुल ८० मिटर लम्बाइको छ। त्यस्तै, रू १० करोड ७२ लाख १२ हजार लागतमा बेनी नगरपालिका–४ सिंगादेखि मंगला गाउँपालिका–३ वरङ्जालाई जोड्ने पक्की पुल निर्माण भएको छ। उक्त पुलको लुम्बिनी प्राकृतिक जेभीले निर्माण गरेको हो। पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका–७ भारबाङघाटमा पक्की पुल निर्माण गरेको छ। भारवाङको पुल निर्माण गर्न देव एण्ड सायर बिएन जेभीसँग रू छ करोड २४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो। पश्चिम म्याग्दीको मालिका–५ र धौलागिरि–७ को सिमाना दाङखोलामा रू एक करोड ९३ लाखमा पक्की पुल निर्माण भएको छ। उक्त पुल निर्माणका लागि इन्द्रेणी फेवा जेभीले ठेक्का सम्झौता लिएको थियो। बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा रू दुई करोड ७२ लाखमा फेवा सावित्री जेभी पोखराले पुल निर्माणको जिम्मा लिएको थियो। म्याग्दीका विभिन्न बस्तीलाई सहरसँग जोड्ने गरी धमाधम पुल निर्माणले गति लिन थालेपछि स्थानीय उत्साहित भएका छन्। अब हामी पनि सहरदेखि टाढा छैनौँ भन्ने महसुस हुन थालेको छ मालिका–६ का प्रेम सिउथानीले बताए। गाउँगाउँमा मोटर गुड्न थालेपछि बल्ल विकास भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्न थालिएको स्थानीयको भनाइ छ। – रासस
सामुदायिक वनका पदाधिकारी नै वन फडानीमा संलग्न सुदूरपश्चिम। कैलालीको चुरे पहाडसँग जोडिएको गोदावरी नगरपालिका–१२ मा रहेको रातोपानी सामुदायिक वनमा पछिल्लो समयमा फडानी गरिएको छ। सामुदायिक वनका अध्यक्ष कैलाश विकसहितका पदाधिकारी, केही वनका कर्मचारीको मिलेमतोमा वन फडानी भएको आरोप स्थानीयवासीले लगाएका छन्। फडानीमा संलग्न भएको आरोपमा वन उपभोक्ता समितिका सदस्य कर्णबहादुर विक र टेकराज ओझालाई स्थानीयले पक्राउ गरी वन कार्यालयमा बुझाएका छन्। यी दुईसहित १२ जनाविरुद्ध वन मुद्दा दर्ता गरिएको डिभिजनल वन कार्यालय कैलालीका सूचना अधिकारी डबलबहादुर बोहराले बताए। “रातोपानी सामुदायिक वन क्षेत्रबाट तीन सय क्युफिट सालको काठ बरामद गरिएको छ, १६ रुख काटिएको फेला परेको छ”, उनले भने, “वनका कर्मचारीको समेत वन फडानीमा मिलेमतो भएको कुरा चलेपछि डिभिजनल वन अधिकृत भीमप्रसाद ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।” काठ तस्करी गर्नेले सालका हरिया र सुकेका रुख काटेर वनभित्रै चिरान गरेर सःमिललाई काठ बेच्ने गरिएको स्थानीयको भनाइ छ। चुरे पहाडी क्षेत्रसँग जोडिएको यो सामुदायिक वन चुरेको महत्त्वपूर्ण भावर हो। यो वनमा भइरहेको फडानी र तस्करी रोक्न स्थानीयले पटक–पटक वन कार्यालयसँग आग्रह गर्दा पनि चासो नराखिएपछि फडानीमा संलग्न हुनेलाई उपभोक्ताले स्वयं पक्राउ गरी वन कार्यालयको जिम्मा लगाएका हुन्। वन फडानीसँगै तस्करले बँदेल, चित्तललगायतका वन्यजन्तुको सिकारसमेत गर्ने गरेको स्थानीयको भनाइ छ। सामुदायिक वनका अध्यक्षको प्रत्यक्ष संलग्नतामा वन फडानी भएको आरोप लगाउँदै स्थानीय उपभोक्ताले उनको राजीनामा समेत माग गरेका छन्। वनका अध्यक्ष विकले वन फडानीको विरोध गर्दै आएका भनिएका समितिका सदस्य केशवराज जोशी र पदमराज जोशीलाई पदबाट हटाएर करन विक र ललिता ओडलाई सदस्य नियुक्त गरेको बताइएको छ। कैलाली जिल्लामा विगतदेखि नै सुकुम्बासी, मुक्तकमैया, बाढीपीडितका नाममा वन क्षेत्रको जग्गा अतिक्रमण हुने गरेको बताइएको छ। “खासगरी जिल्लाका मुख्य सडक र सहायक सडक आसपासको वन क्षेत्र अतिक्रमण गर्ने प्रवृत्ति छ”, सूचना अधिकारी बोहराले भने, “कतिय ठाउँमा वन उपभोक्ता समितिका पदाधिकारी स्वयं अतिक्रमणमा लाग्दा अतिक्रमण रोकथाम गर्न समस्या भइरहेको छ।” सामुदायिक वनको अवधारणा कार्यान्वयनमा आएसँगै विगतमा फडानीले उजाड बनेका धेरैजसो वन क्षेत्र भने उपभोक्ता आफैँ संरक्षणमा अग्रसर हुँदा हराभरा भएका पनि छन्। तर कतिपय वनमा सम्बन्धित उपभोक्ता जागरुक नहुँदा वन संरक्षण हुन नसकिरहेको बताइएको छ। डिभिजनल वन कार्यालयले गोदावरी नगरपालिकाको पूर्वपश्चिम सडक छेउको वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा हटाई वन क्षेत्रको संरक्षण गरेको छ। यस्तै चुरे गाउँपालिका–४ को दुई ठाउँमा भएको अतिक्रमणा पनि हटाएको छ। गएको एक वर्षमा जिल्लाभरिमा एक सय १५ हेक्टर वन क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ। आगामी दिनमा जैविक विविधताका दृष्टिमा जिल्लामा महत्त्वपूर्ण मानिने वसन्ता अन्तर्राष्ट्रिय जैविक मार्गमा भइरहेको अतिक्रमण हटाउने योजना डिभिजनल वन कार्यालयको छ। कैलारी गाउँपालिकाको वडा नं ५ र ७ को वसन्ता वन क्षेत्रमा अतिक्रमण भइरहेको बताइएको छ। यस्तै गोदावरी नगरपालिकाको भ्यागुतेपानी, खाँनीडाँडालगायतका क्षेत्रमा भएको अतिक्रमण हटाउने योजना कार्यालयको छ। एक तथ्यांकका अनुसार जिल्लामा कुल क्षेत्रफलको झन्डै ६३ प्रतिशत भू–भागमा वन क्षेत्र रहेको छ। योमध्ये झन्डै २१ हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा रहेको जनाइएको छ। जिल्लाभरि तीन सय २९ सामुदायिक वन छन्। यसै बीच प्रदेशका पर्यटन, उद्योग वन तथा वातावरणमन्त्री रमेशसिंह धामीको नेतृत्वको टोलीले फडानी भएको रातोपानी सामुदायिक वन क्षेत्रको स्थलगत अनुगमन निरीक्षण गरेको छ। – रासस
कार्यालय सार्नेबारे गरिएको दुष्प्रचारप्रति गोलबजार नगरपालिकाको आपत्ति सिरहा।  सिरहाको गोलबजार नगरपालिकाले आफ्नो कार्यालय सार्न लागेको भनेर गरिएको दुष्प्रचारप्रति आपत्ति जनाएको छ। पछिल्लो केही दिनयता नगरपालिका, जनप्रतिनिधि र कर्मचारीकाबारे गरिएका भ्रामक र चरित्र हत्या हुने सम्प्रेषण भएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नगरपालिकाले जनाएको छ। दवानल अनलाइन पत्रिकाले पछिल्ला केही दिनदेखि जनतालाई भ्रमित पार्ने गरी समाचार सम्प्रेषण गरेको भन्दै नगरपालिकाले त्यस्तो समाचारको भ्रममा नपर्न अनुरोध पनि गरेको छ। मैनावती पूर्वका खास गरी गोलवजार क्षेत्रका जनताले रोक्ने वा प्रतिवाद गर्ने भयले अत्यन्त गोप्य ढंगले कार्यालय सार्ने रणनीति बनाइएको भन्दै गरिएको दुष्प्रचारको विश्वास नगर्न नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । दवानल अनलाइन पत्रिकामा प्रकाशित गोलबजार धमिनिमन्दिर परिसरमा रहेको गोलवजार नगरपालिका नगरकार्यपालिको कार्यालय मैनावती नदीको पश्चिम किनारमा रहेको कोभिड अस्पतालको नाममा निर्माण गरिएको भवनमा सार्ने तयारी भन्ने सम्बन्धको समाचारमा सत्यता नरहेको नगरपालिकाको दाबी छ। कोभिड अस्पतालमा नगरपालिकाको कार्यालय सार्ने निर्णय नभई नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनमा सार्ने पूर्व तयारी भइरहेको गोलबजार नगरपालिकाका प्रवक्ता सञ्जित लामाले जानकारी दिए । घटनालाई सत्यतथ्य रुपमा बुझेर समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे ।
दुई सातादेखि मुगुमा विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित मुगु। मुगुमा करिब दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ। विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी संघसंस्था प्रभावित भएका हुन्। गत असार २७ गतेदेखि गमगाढ साना जलविद्युत् आयोजनको मुहानमा समस्या आउँदा विद्युत् सेवा ठप्प भएको हो। अहिले जिल्ला सदरमुकाम गमगढीलगायत आसपासका ८७ बस्ती अन्धकारमा छन्। विसं २०६८ मा स्थापना भएकोे सो आयोजनामा पटक–पटक समस्या आउने गरेको छ। यसका कारण मुगुका तीन हजार एक सय घरधुरी प्रत्यक्ष मारमा परेका छन्। विद्युत् नहुँदा सरकारी कामकाजका साथै बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा बाधा पुगेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका सहायक प्रबन्धक प्रकाश भाम बताए। विद्युत्गृहको मुहानमा बाढी पस्दा नहरमा बालुवा र लेदोले पुरीदिँदा नहरमा पानी प्रवाह नभएपछि विद्युत् उत्पादन बन्द भएको जनाइएको छ। पटक–पटक बालुवा हटाउन प्रयास गरे पनि सम्भव नभएको र गत वर्षको बाढीका कारण खोलाले धार परिर्वतन गरेपछि वर्षात्को समयमा भलसँगै आउने लेदो र बालुवाले नहर जाम हुने गरेको छ। यसका कारण विद्युत् उत्पादनमा समस्या भएको गमगाढ साना जलविद्युत् आयोजनाका प्राविधिक छिरिङ लामाले जानकारी दिए। चार सय किलोवाट विद्युत् उत्पादन क्षमता भएको आयोजनामा रहेका विद्युत् उत्पादन गर्ने दुई मेसिनमध्ये एक लामो समयदेखि चालु अवस्थामा छैन भने चालु रहेको मेसिनले जेनतेन एक सय ६० किलोवाट विद्युत् उत्पादन गरिरहेको थियो। हरेक वर्ष वर्षाको समयमा गमगाढ वितरण केन्द्रको मुहान, पावरहाउसमा पटक–पटक समस्या आउने र विद्युत् सेवा अवरुद्ध हुने गरेको छ। समस्या समधानका लागि काम त गरिन्छ। त्यो प्रभावकारी र दिगो हुनसकेको छैन। दीर्घकालीन समाधानको योजना विद्युत् प्राधिकरणले नबनाउँदा हरेक वर्ष पानी र हिउँ पर्दा विद्युत् सेवाबाट नागरिकले सास्ती खेप्नु परिरहेको छायाँनाथ रारा नगरपालिका–६ का स्थानीय धनबहादुर भाम बताए। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुगुमा राष्टिय प्रसारण लाइन असारमा पुर्याउने घोषणा गर्नुभएको थियो। विद्युत् सेवा अवरुद्ध भएपछि नहरको बालुवा हटाउन सशस्त्र प्रहरीदेखि प्राधिकरणका कर्मचारी दिनरात काममा खटिँदै आए पनि साँघुरो नहर, एक जनामात्र भित्र पस्न सक्ने अवस्था भएकाले बालुवा र लेदो हटाउन समस्या भएको जनाइएको छ। गमगाढ खोला सिधैँ नहरमा जोडिएकाले पनि प्रत्येक वर्षामा बालुवा तथा लेदो थपिँदै जाने गरेको छ।
जुम्लामा नुनको अभाव छैन, सत्र सय क्विन्टल नुन मौज्दात छ : साल्ट ट्रेडिङ कर्पाेरेशन जुम्ला। जुम्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ। यहाँस्थित डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए। सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख प्रमुख मल्लले भने,“ जिल्लामा नुनको अभाव हुने छैन। अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने छ। वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ। ” गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपझोक्तालाई नुन वितरण भइरहेको समयमा केही व्यक्तिले भाडँभैलो गर्दै डिपोमा तोडफोड समेत गरेका थिए। गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकाम डिपोमा नागरिकको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ। गत आव २०७९/०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार दुई सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ। यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए। तिला गाउँपालिका नौवटै वडामा नुन ल्याउनका लागि कार्यापालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्वबाट वडावाटै नुन वितरण गरिने तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए। वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला–१ का वडाध्यक्ष जंगबहादुर बस्नेतले जानकारी दिए।
‘लम्पी स्किन’बाट काभ्रेमा ६ सय ८१ पशु मरे काभ्रे। लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३ पशु सङ्क्रमित बनेका छन्। यो रोगबाट जिल्लामा छ सय ८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पछिल्ला महिना काभ्रेपलाञ्चोकमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो। केन्द्रका अनुसार उक्त रोगबाट जिल्लाको १३ स्थानीय तहमा हालसम्ममा ६ सय ८१ पशुको मृत्यु भएको छ। उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन्। केन्द्रका अनुसार जिल्लामा ३० हजार सात सय ४३ वटा पशु सङ्क्रमित बनेकामध्ये ३० हजार चार सय ६४ गाई, दुई सय ७९ भैँसी रहेका छन्। केन्द्रका निमित्त प्रमुख डा नितेश कार्कीले प्रभावित पशुचौपायाको सङ्ख्या पनि उत्तिकै रहेको बताए। उनका अनुसार ३३ हजार गाई र तीन सय ९९ भैँसी प्रभावित हुँदा हालसम्म ३२ हजार आठ सय पशुमा रोगविरुद्ध खोप लगाइएको छ। खोप लगाइएका पशुमा रोग देखिएको छैन। जिल्लामा तीन लाख गाईभैँसी रहेका छन्। जिल्लाको बनेपा नगरपालिकामा सबैभन्दा धेरै सङ्क्रमणदर रहेको छ। बनेपाको छवटा वडामा एक सय १८ पशु मरिसकेको तथ्यांकले देखाएको छ। बनेपामा भने गाईको मात्रै मृत्यु भएको नगरको पशु सेवा शाखाले जनाएको छ। बनेपामा ६ हजार १५ वटा पशु सङ्क्रमण भएकामध्ये पाँच हजार गाईमा खोप लगाएको छ। यहाँ प्रभावित पशु सङ्ख्या छ हजार दुई सय छन्। वडा नं १ देखि ५ सम्म र १० नं वडामा सङ्क्रमण फैलिएको जनाइएको छ। केन्द्रका अनुसार पाँचखाल नगरमा एक सय पशु मरिसकेका छन्। धुलिखेल नगरमा ७२, पनौती नगरमा २५, मण्डनदेउपुर नगरमा ६४, नमोबुद्ध नगरमा ४१ तथा तेमाल गाउँपालिकामा ३५, खानीखोलामा ७९, बेथानचोकमा २५, रोशीमा ३१, भुम्लुमा २०, चौँरीदेउरालीमा ४२ र महाभारत गाउँपालिकामा २९ पशु मरेका छन्। चौँरीदेउराली गाउँपालिकाले पीडित कृषकलाई प्रतिपशु मरेवापत रु १० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको छ भने धुलिखेलले बाछी खरिदका लागि साझेदारी गर्ने जनाएको छ जिल्लामा महामारीको रूप लिएको उक्त रोग नियन्त्रण बाहिर गएको बताइन्छ। उक्त रोगका कारण अहिले पशुपालन व्यवसाय नै सङ्कटमा परेको कृषक बताउँछन्। सरोकारवाला निकायले किसानलाई पशुहरूलाई सुरक्षित राख्न समयमै खोप लगाउन तथा घरायसी उपचारमा ध्यान दिन अनुरोध गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि जनाएका छन्। जिल्ला प्रशासन कार्यालयले भने जिल्लामा पशुहरूको ओसार–पसारमा विशेष सतर्कता अपनाउँदै उपचार, राहत, जनचेतना तथा बीमाको रकम भुक्तानीका लागि तीन तहकै सरकारको समन्वय र सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड दिएको छ। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले १३ वटै स्थानीय तहका पशु स्वास्थ्य शाखा तथा सम्पूर्ण कृषकलाई सचेत रहन अनुरोध गर्दै हरेक पालिकाबाट नियमित रिपोर्टिङ गर्न र थप पशु मर्न नदिन खोप लगाउन भनेको बताए। उक्त रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिंगान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठूला गिर्खा तथा फोका देखिन्छ। रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन्। यो रोगको हालसम्म कुनै ठोस उपचार पत्ता लागेको छैन। लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो। सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बंगलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो। काभ्रेपलाञ्चोकमा भने सोही सालको साउनमा पनौतीको एक भैँसीमा देखिएको थियो। – रासस
आजदेखि पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेध पोखरा। आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ गर्न लागेको हो। पोखरा-१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाका अनुसार जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने गरे अनुसार आजदेखि पार्किङमा प्रतिबन्ध लगाउन लागेको हो। उनका अनुसार बसपार्क भित्र भोलीवाट कम्तिमा १ सय ५० सवारी साधान पार्किङ गर्न सकिने गरी ब्यवस्था मिलाइएको छ।
रु ५० लाखसम्मका योजना स्थानीय तहमा पठाइने हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले रु ५० लाखसम्मका साना योजना स्थानीय तहमा पठाइने बताएका छन् । मकवानपुरको बकैया गाउँपालिका–५ का भूमीहीन सुकुम्वासी तथा दलितलाई जग्गाधनी प्रमाणपूर्जा वितरणका क्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले जिल्लाका निश्चित आयोजना र प्रदेश गौरवको आयोजना मात्रै हेर्ने तथा रु ५० लाखभन्दा कम लागतका योजना स्थानीय तहमा पठाइने स्पष्ट पारे । उनले स्थानीय सरकारले पनि शिक्षा, स्वास्थ्य, रोजगारलगायतका क्षेत्रको विकासका लागि योजना बनाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री जम्कट्टेलले भने, “यो जनताको सरकार हो, त्यसैले यो सरकार सम्पूर्ण भूमिहीन सुकुम्बासी र दलितका साथै उत्पीडित समुदायलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न सरकार लागेको छ ।” प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले लालपूर्जा वितरण राम्रो काम भएकाले यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे । उनले सङ्घीयता स्थापना भएपछि भएको निकै महत्वपूर्ण काम भएको दाबी गरे । भ्रष्टाचार रोक्न तथा सुशासन कायम गर्नका लागि वर्तमान सरकारले काम गरिरहेको उनको भनाइ छ । सो अवसरमा मकवानपुरको बकैया गाउँपालिका–५ का ११ दलित परिवारलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको थियो । लालपूर्जा पाउनेमा शुक्रबहादुर भुलुन, निरमाया भुलुन, फुलमाया भुलुन, सुवासकुमार विक, सुशीला विश्वकर्मा, बाबुलाल थिङ, कमलबहादुर थिङ, कान्छीमाया पुलामी, हस्तवहादुर थिङ, लक्ष्मण थापा र विनोद वाईवा छन् । उक्त जग्गा १० वर्षसम्म बिक्री गर्न नपाइने तर ऋण लिनका लागि धितो भने राख्न भने पाइने जनाइएको छ । बकैया गाउँपालिका वडा नं. १, ४, ६, ७ र ११ मा जग्गाको नाप जाँच भइरहेको पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिए । बकैयामा करिब एक सय ५० परिवार दलित र सुकुम्वासीसँग जमिन छैन । एक सय १९ जनाले पाए जग्गाधनी प्रमाणपूर्जा नापी कार्यालय मकवानपुरका प्रमुख एवं राष्ट्रिय भूमि आयोग मकवानपुरका सदस्यसचिव अधिकृत पूर्णहरि सुवेदीका अनुसार जिल्लामा हालसम्म एक सय १९ जनाले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरिसकेका छन् । जसमा हेटौँडा उपमहानगरपालिका वडा नं. १३ का ६९, बागमती गाउँपालिका ३९ र बकैया गाउँपालिकाका ११ परिवार छन् । राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णु दाहालले हेटौँडा, बागमती, बकैया र मनहरीमा भूमिसम्बन्धी समस्या रहेको बताउँदै तीन÷चार महिनाभित्र भूमिहीन दलित र सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने तयारी भइरहेको बताए ।
गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने बढी तम्घास। गत आर्थिक वर्ष २०७९\८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा नागरिकता बनाउनेको सङ्ख्याभन्दा राहदानी बनाउनेको सङ्ख्या करिब पाँच हजारभन्दा बढी छ । गत आवमा वंशज, वैवाहिक र जन्मका आधारमा १० हजार तीन सय ५५ जनाले नागरिकता बनाएका छन् भने राहदानी बनाउनेको सङ्ख्या १५ हजार ८६ जना छन् । कार्यालयका अनुसार जिल्लामा आव २०७८\७९ मा सात हजार चार सय नौ र आव २०७७\७८ मा दुई हजार चार सय २६ र जनाले राहदानी बनाएका छन् । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले प्रशासनमा राहदानी बनाउने प्रयोजन उल्लेख नभए पनि अधिकांशले वैदेशिक रोजगारीकै लागि राहदानी बनाउने गरेको बताए। कार्यालयका अनुसार गत आवमा राहदानी बनाएवापत रु सात करोड ३१ लाख ९० हजार राजस्व सङ्कलन भएको छ । जुन आव २०७८\७९ मा रु तीन करोड ७१ लाख ६७ हजार हजार पाँच सय थियो । साथै राहदानी बनाएवापत कार्यालयले आव २०७७\७८ मा रु एक करोड ४५ लाख ४२ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो ।
लघुवित्त पीडितद्वारा राष्ट्र बैंक घेराउ काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले शनिबार राष्ट्र बैंक घेराउ गरेको छ । लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने लगाएतका माग राख्दै समितिले काठमाडौंको बालुवाटारस्थीत राष्ट्र बैंक घेराउ गरेका हुन् । आफुहरुलाई लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको उनीहरुको आरोप छ । उनीहरुले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगाएतका ५ बुँदे माग अघि सारेका छन् । संघर्ष समितिले आफुहरुको मागका बिषयमा राष्ट्र बैंक पनि गम्भीर बन्नुपर्ने जनाएका छन् ।
बेनीमा खानेपानीको हाहाकार, म्याग्दी नदीको पानी तानेर वितरण गरिँदै म्याग्दी। म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ । खडेरी, मुहान सुक्दा, पाइप फुटेको, पहिराका कारण बेनीमा खानेपानी आपूर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था मिलाइएको हो । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले नियमित र पर्याप्त शुद्ध खानेपानी आपूर्तिका लागि म्याग्दी नदीबाट ‘लिफ्टिङ’ गर्न थालिएको जानकारी दिए। “लिफ्ट खानेपानी योजनाको परीक्षण सफल भएको छ”, उनले भने, “म्याग्दी नदीबाट लिफ्टिङ हुन थालेपछि बेनीमा खानेपानी वितरणका लागि लोडसेडिङ गर्नुपर्ने समस्या हटेको छ ।” संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत विसं २०७८ असोजमा काठमाडौँको एएम प्याराडाइजसँग रु दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको थियो । म्याग्दी नदी किनारमा १० मिटर अग्लो इनार बनाउने, पानी तान्ने सम्पवयल, विद्युत्, पाइपलाइन जडान गर्ने काम सकेर पानी ‘पम्पिङ’ गर्न थालेको निर्माण कम्पनीका आयोजना व्यवस्थापक अजय तिमिल्सिनाले बताए। “आठार महिनाको ठेक्का अवधि हो । पानी शुद्धीकरण गर्ने पलान्ट निर्माणस्थलमा निर्माण सामग्री ढुवानी गर्न असहज र पहिरो खसेकाले छ महिना म्याद थपिएको छ”, उनले भने, “अबको दुई महिनाभित्र बाँकी संरचना निर्माण सकेर हस्तान्तरण गर्छौं ।” बेनी खानेपानी उपभोक्ता संस्थाको पुरानो ट्यांकीमा म्याग्दी नदीबाट तानेको पानी हालेर वितरण गर्न थालेको जनाएको । बेनी–नगरपालिका–२ हाडेभिरमा जमिनको सतहदेखि सात मिटर गहिरो इनारभित्र तीन वटा विद्युत्को सहायताले चल्ने पानी तान्ने समसिवल पम्प राखिएको छ । इनारदेखि एक सय ३० मिटर उचाइमा बेनी बजारको शिरमा रहेको बराहपाखोस्थित रिजर्भ ट्यांकीसम्म पानी पु¥याउन करिब नौ सय मिटर चार इञ्चको जिआइपपाइप जडान गरिएको आयोजनाका इञ्जिनियर नवीन सुवेदीले बताए। “हाल दुई वटा पम्पबाट प्रतिसेकेण्ड १० लिटरका दरले पानी तानिएको छ”, उनले भने, “तीनवटै पम्प चलाउँदा प्रतिसिकेण्ड १५ लिटरका दरले पानी आपूर्ति गर्न सकिन्छ ।” आयोजनामार्फत बराहपाखोमा तीन लाख ४० हजार लिटर क्षमताको रिजर्भ टङ्याकी निर्माण भइसकेको छ । ५।९४ घनलिटर क्षमताको दुई वटा पानी शुद्धी गर्ने गर्ने फिल्टर प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँ प्रविधिको सेडिमेशन र सो सान्डफिल्टर ट्यांकी बनाउन लागिएको हो । आयोजनाले दुई वर्षअघि बेनी खानेपानी आयोजनाको क्षमता विस्तारका लागि रु ४२ लाख ८१ हजार आठ सय २० को लागतमा दुई लाख लिटर क्षमताको ट्याङकी निर्माण गरेको थियो । आयोजनाको हाल एक लाख लिटर क्षमताको एक वटा र दुई लाख लिटर क्षमताको दुई वटा रिजर्भ ट्यांकी छन् । मुहानबाट ट्यांकीमा संकलन हुने पानी शुद्धीकरण गरेर वितरण गर्ने संरचना तयार पार्न लागिएको हो । बेनी नगरपालिकाको ७, ८ र २ नम्बर वडाका एक हजार एक सय घरधुरीलाई रिठाखर्क, पुम्दी र कोप्रेको मुहानबाट प्रतिसेकेण्ड ३३ लिटरका दरले पानी आपूर्ति हुने क्षमता छ । दैनिक पाँच लाख ६० हजार लिटरका दरले खानेपानी वितरण गरिँदै आएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक यामबहादुर विकले बताए। २७ किलोमिटर दूरीको रिठाखर्क र पुम्दीको मुहानबाट आपूर्ति हुने पानी पहिरो र निर्माणाधीन बेनी–जोमसोम सडकका कारण प्रभावित भएको थियो ।
पाइपबाट पानी ल्याएर पश्चिम रुकुमको गाउँमा घट्ट सञ्चालन रुकुम (पश्चिम)। प्रायजसो पानीघट्ट खोला वा नदी किनारामा हुने गर्छन् । बाँफीकोट गाउँपालिकाको एउटा गाउँमा भने साढे तीन किलोमिटर टाढाबाट पाइपमार्फत पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको छ । बाँफीकोट–५ माथिल्लो काँडामा तीन किमी टाढाबाट पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको हो । “गाउँका मान्छेलाई सधैँ घट्टमा पिसानी गर्ने पिरलो हुने गर्दथ्यो, परिवारको एउटा सदस्यले अन्न पिसानी गर्न जाँदा एक दिनकै समय छुट्याउनु पर्ने हाम्रो समस्या थियो”, स्थानीय भक्तबहादुर केसी भने। अब भने दुःखका दिन गएको उनको भनाइ छ । “गाउँमै घट्ट निर्माण भएको छ, गाउँमै निर्माण भएको घट्टमा अन्न पिसाउन पाउँदा गाउँले पनि निकै खुसी छन्”, केसीले भने । गाउँमा घट्ट निर्माण नहुँदासम्म माथिल्लो काँडाका मान्छे अन्न पिसानीकै लागि निकै टाढा डार्ने, तिलिचा खोला, खारखोलालगायत ठाउँमा जाने गर्थे । उनका अनुसार टाढाको ठाउँमा अन्न पिस्न जाँदा पनि त्यहाँ अन्न पिस्न पालो नै नआउने समस्या पनि उत्तिकै हुन्थ्यो । दिनभरको समय नै छुट्याएर घट्ट जाँदाका दुःखका दिन अहिले पनि सङ्गीता केसीलाई सम्झना आउँछ । प्रदेश सरकारको रु १५ लाख, मारपूजा सामुदायिक वन उपभोक्ता समितिको रु दुई लाख र स्थानीयको रु तीन लाख बराबरको लगानीमा गाउँमा घट्ट सञ्चालनका लागि पानी ल्याइएको छ । वडाकै गारकटेरा मुहानबाट गाउँसम्म पाइपमार्फत पानी ल्याइएको स्थानीय धु्रवराज केसीले बताए। घट्ट सञ्चालन गर्ने योजना लामो समयदेखि बनाइए पनि यस वर्ष भने त्यो योजना पूरा भएको उनले बताए। घट्ट निर्माणपछि गाउँका एक सय ६२ घर परिवार लाभान्वित भएका छन् । साथै घट्ट सञ्चालनका लागि ल्याइएको पानीलाई गाउँमा खानेपानीका लागि पनि वितरण गरिएको छ । दिनमा घट्ट सञ्चालन गरिसकेपछि रातिको समयमा गाउँमा पानी वितरण गर्ने ट्याङ्कीमा भण्डारण गर्ने गरिएको छ । त्यही पानी गाउँमा खानका लागि धारामा छाडिन्छ । पाइपबाट आएको पानी पिउन लायक रहेको वडाध्यक्ष मनु शाहीको भनाइ छ।
आरन पेसा बचाउन जुटेको आई.एन.एफ, जसले मुगुमा काम गरिरहेकाे छ मुगु। हिमाली जिल्ला मुगुमा सञ्चालित एक गैर सरकारी संस्था आई.एन.एफ मुगुले दलित समुदायको पहिलो पेशामा रहेको लोपोन्मुख आरन पेसा प्रवर्द्धनका लागि कार्यक्रम सुरु गरि उसलाई बचाउन लागि परेका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं , ६,७ लगायत दर्जनौ दलित समुदायलाई आरन पेशा ब्यवसाय बचाउन सो संस्थाले यो कार्यक्रम थालनी गरेको हो । पछिल्लो समय लोहार जातिले गर्दै आएको आरन पेसा लोप हुँदै गएपछि यसलाई प्रवर्द्धन गर्न अभियान सुरु गरिएको आई.एन.एफ मुगुकी सहायक क्षमता विकास अधिकृत शारदा कुमारी हितानले बताईन । उनले भनिन् ‘पहिलो पटक सोरु गाउपालिकाका दलित समुदायका नागरिकहरुलाई  केही भए पनि आफ्नो जिविको पार्जन गर्नको निम्ति संस्थाले आरन पेशा गर्दा आबश्यक पर्ने सामग्री आफर, रेत, घन, हतौडा, सराँसोलगायत सामान वितरण गरेका छाै‌ ।’ व्यक्तिगत लगानीमा यहाँका दलितलाई आरन पेसा बचाउने सामान वितरण गरिएको उनको भनाइ छ । सोरु गाउपालिकाका लालसिंह कामीलगायत अन्य दलित समुदायका नागरिकहरुलाई आरन पेसामा आवश्यक पर्ने सामान हस्तान्तरण गरेको बताईन । थोरै लगानीमा पनि यहाँका नागरिकहरुले आफ्नो परिवारको घर खर्च धान्नुका साथै जिविकोपार्जनमा उत्तिकै टेवा पुग्ने जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्कीले बताए । उनका अनुसार यस पेशा लाई बचाउन यहाँका स्थानीय सरकार लगायत संघसंस्थाले जोड दिनु पर्ने बताए । लालसिंह कामीले विगतदेखि गर्दै आएको काम विस्तारै हराउँदै गएको सुनाए । पहिला छालाको माध्यमबाट निर्माण हुने खँलातबाट आरन पेसा गरेका थियौँ कामीले भने ‘पछि खँलात पनि पाइन छाडे, अहिले त यो पेसा गर्ने मान्छे नै हराए ।’  साथै, आरन पेसा पुस्तान्तरण नहुँदा हराउँदै गएको उनको भनाइ छ । बीचमा आरन चलाउने कुनै सामान नै थिएन । आई.एन.एफ संस्थाले सहयोग पछि अब यो पेसालाई निरन्तरता दिने सोच रहेको उनले बताए । संस्थाले आरन पेशा मात्र नभएर घरमा हुने नियमित सरसफाईका सामग्री र शिक्षा क्षेत्रमा पनि उत्तिकै पैरवी गर्दै आईरहेको छ ।
पोखराको फेवातालबाट जलकुम्भी निकालियो पोखरा। पोखराको फेवातालमा वर्षासँगै फैलिएको जलकुम्भी झारले ताल कुरुप बनेपछि पर्यटन व्यवसायी झार हटाउन सक्रिय बनेका छन् । प्रत्येक वर्षको वर्षात्को समयमा फेवातालको सिरान पश्चिमी भागबाट पूर्वीभागतर्फ फैलिँदै आउने जलकुम्भी झार हटाउन पोखराका विभिन्न सङ्घसंस्था, सुरक्षाकर्मी र पर्यटन व्यवसायी सक्रिय हुने गरेका छन् । ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेशको संयोजनमा पोखराका पर्यटन व्यवसायी, सुरक्षाकर्मी, पर्यटनसम्बन्धी सङ्घसंस्था र विद्यार्थीद्वारा आज बिहान फेवातालका फैलिएको १० ट्रक जलकुम्भी झार बाहिर निकालिएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए। जलकुम्भी झारकै कारण फेवातालमा पर्यटकलाई डुङ्गा सयर गर्न र तालको मध्यभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जानका लागि समस्या परेपछि प्रत्येक हप्ता विभिन्न सङ्घसंस्थाको संयोजनमा तालको जलकुम्भी झार हटाउने कार्य भइरहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। आज जलकुम्भी झार हटाउने कार्यको शुभारम्भ गर्दै प्रमुख आचार्यले पोखराको सुन्दर र पर्यटकीय आकर्षणको केन्द्र फेवातालमा वर्षात्को समयमा फैलिने जलकुम्भी झारलाई व्यवस्थापन गर्न बायोग्यास कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी भएको जानकारी दिए। नेपाल पर्यटक तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का दुई सय विद्यार्थीले फेवातालको जलकुम्भी झार ताल बाहिर निकालेका थिए । फेवातालमा समस्याका रुपमा जलकुम्भी झार देखापरेको १२ वर्ष भइसकेको छ ।
देशैभरी डेंगु संक्रमितकाे संख्या बढ्याे, सतर्कता अपनाउन मन्त्रालयकाे अनुराेध काठमाडौं। नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन्। पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस यता एक हजार एक सय ९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन्। स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै रहेको महाशाखाको अनुमान छ। पछिल्लो दुई सातामा सबैभन्दा धेरै सुनसरीमा बिरामी थपिएका छन्। सुनसरीमा दैनिक सयभन्दा बढी बिरामी आउन थालेका बताइएको छ। बिरामी थपिँदै गएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै ज्वरो क्लिनिक नै सञ्चालनमा ल्याएको छ। महाशाखाको तथ्यांक अनुसार पुसयता नेपालमा तीन हजारभन्दा बढी संक्रमित थपिएका छन्। हालसम्म सुनसरी १ हजार ५७१, धादिङमा २ सय ५८, दार्चुलामा १ सय ८८, कास्कीमा १ सय ४९, संखुवासभामा ५८ जनामा डेंगु पुष्टि भएको छ। यस्तै काठमाडौंमा ४६, कञ्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५, झापामा ३२ जना डेंगु संक्रमित फेला परेका छन्। डेंगु संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।
लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सकारात्मक काठमाडौं । नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रुपालाबीच भएको छलफलमा लम्की स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो । मन्त्री भुसालले हालै गरेको भारत भ्रमणका क्रममा भएको समझदारीबारे जानकारी दिन आज आयोजित कार्यक्रममा नेपाल र भारतका सीमावर्ती जिल्लामा मिलेरै लम्पी स्किन रोगको भ्यक्सिनेसन गर्ने सहमति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । यस्तै खोरेत रोग उन्मूलनका लागि भारत मिलेर अगाडि बढ्न तयार देखिएको मन्त्री डा भुसालले बताउनुभयो । त्यसका लागि दुवै देशको सरकारी पक्षबाट आवश्यक काम अगाडि बढाउने सहमति भएको छ । भारतले गाई र च्याङ्ग्रााको नश्ल सुधारका लागि उन्नत पशु नेपाललाई दिने भएको छ । गाईको गिर र साइवाल गाईको उन्नत जात नेपाललाई दिने भारतीय पशुपक्षीमन्त्री रुपालाले प्रतिबद्धता जनाउनुभएको जनाइएको छ । सीमावर्ती नाकाबाट गैरकानूनीरूपमा पशुपक्षी र माछा आयात, निर्यातमा कडाइ गर्ने दुवै देशले प्रतिबद्धता जनाएका छन् । तीन दिने भारत भ्रमण गरेका मन्त्री भुसालले भारतका कृषि, पशुपक्षी र रसायन एवं उर्वरक मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । भारतीय कृषिमन्त्री नरेन्द्र सिंह तोमरसँगको छलफलमा नेपाली टमाटरलाई निर्यातको प्रक्रिया यथाशीघ्र गर्नेगरी छलफल भएको छ । क्वारेन्टाइन सूचीमा नेपालमा उत्पादित टमाटर, मुला, मोटरकोसा, किवी, एभोकाडो, अकबरे खुर्सानी राख्न भारत सकारात्मक देखिएको छ । यी कृषिजन्य उत्पादनलाई आफ्नो क्वारेन्टाइन सूचीमा राख्ने भारतले प्रतिबद्धता जनाएको छ । भारतीय कृषि अनुसन्धान परिषद्सँगको छलफलमा उखु र कफीका उन्नत बीउ नेपालमा दिन भारतले सहमति जनाएको छ । कृषि तथा पशुपक्षीको अनुसन्धानमा भारतीय कृषि अनुसन्धान परिषद्ले थप सघाउने र यहाँको क्षमता अभिवृद्धिमा सहजीकरण गर्ने सहमति भएको छ । साथै मन्त्री भुसालले भारतका रसायन एवं उर्वरकमन्त्री डा मनसुख माण्डवियसँगको भेटमा विशाखापट्टनममा इण्डियन पोटास लिमिटेडले ल्याएको रासायनिक मललाई सरलरूपमा सहजीकरण गर्नेबारे कुराकानी भएको थियो । भारतीय मन्त्री माण्डवियले विशाखापट्टनममा पुनःस्वीकृति लिन नपर्ने गरी आफूले मातहतका नियायसँग कुराकानी गर्ने प्रतिबद्धता जनाएका छन् । विशाखापट्टनमा आएको मललाई नेपालमा ल्याउन दुई महिना बढी समय लाग्दै आएको छ । अब यो झन्झट हट्ने विश्वास लिइएको छ । रासायनिक मल करिब दुई हजार पाँच सय मेट्रिक टन मात्र नेपालमा आउने गरेकाले मलको आपूर्ति हुन नसकेको भन्दै यसको क्षमता बढाउन नेपालका तर्फबाट आग्रह गरिएको थियो । उक्त आग्रहबमोजिम भारतले यसमा थप सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।
null
युवतीमाथि एसिड प्रहार गर्ने युवक पक्राउ काठमाडौं । युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने एक जना पक्राउ परेका छन् । शुक्रबार साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ मैकल बजार नजिक युवतीलाई लक्षित गरी एसिड प्रहार गर्न खोज्ने वीरेन्द्रनगर–१४ का १६ वर्षीय आशिष सुनारलाई पक्राउ गरिएको हो । बेलुका पाँच बजेतिर विनपा–१४ को मैकल बजार नजिक बराहताल गाउँपालिका १० की अन्दाजी १७ वर्षीया सोविता बुढालाई उनले एसिड प्रहार गर्न खोजेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। एसिड युवतीलाई हान्न खोजिएपछि निजलाई नलागेर सोही ठाउँका नेत्रबहादुर शाहीको बायाँ हातमा लागेर घाइते भएका छन्। घाइतेको उपचार भइरहेको छ।
सुनसरी–धरान सडकखण्डमा गोली प्रहार गरी युवकको हत्या विराटनगर । सुनसरी–धरान सडकखण्डमा गोली प्रहारबाट घाइते भएका विराटनगरका एक युवकको ज्यान गएको छ। शुक्रबार बेलुका विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीमाथि गोली प्रहार भएकोमा उनको ज्यान गएको हो। उनीमाथि धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो। मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेकोमा चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
जाजरकोट-जुम्ला सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ। पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ। निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले पहिलो चरण काम पूरा भएपछि डिपिआरका लागि दोस्रो चरुणको काम सुरु हुने बताए। हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जुम्ला जोड्ने सडक निर्माण जारी छ। जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो बाटो सुरुङमार्ग नै हुने भएको यसमा जोड दिइएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए। साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै १० किलोमिटर छ। सुरुङका लागि करिब पाँच किलोमिटरभन्दा कम प्वाल बनाउनुपर्ने पूर्वमन्त्री सिंहले बताए। हिँडेर झन्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ भने सुरुङमार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने उनको भनाइ छ। दाङ हुँदै जाजरकोट जुम्लाबाट रारा जोड्नका लागि यो सडक सबैभन्दा छोटो हुने भएकाले काम सुरु गर्न लागिएको छ। अहिले जाजरकोट सदरमुकामबाट बारेकोट–४ को दहसम्म सडकको कच्ची कटान पूरा भएको छ। हलुका सवारी साधनसमेत सञ्चालन भइरहेका छन्। सदरमुकाम खलङ्गाबाट पाँचकाटिया हुँदै सुरुङमार्ग निर्माणस्थलसम्म सडक निर्माण जारी छ। जुम्ला र जाजरकोटसँगै जोडिए पनि अग्ला हिमालहरु पार गर्नुपर्दा धेरै समय खर्चिनुपर्ने अवस्था छ। हिमाली क्षेत्रमा सडक निर्माण गर्दा त्यहाँको पर्यावरणीय सुन्दरता गुम्ने खतरा भएकाले सुरुङमार्ग निर्माणका लागि पहल थालिएको सिंहले बताए। जुम्ला, हुम्ला र मुगु जिल्लाबाट देशका ठूला सहरमा जोडिने सबैभन्दा छोटो रुटका रुपमा यसलाई लिइएको छ। जुम्लाबाट कालीकोट हुँदै नेपालगञ्ज तथा सुर्खेत जाने सडकभन्दा सुरुङमार्ग हुँदै नेपालगञ्ज, सुर्खेत जाँदा र आउँदा सात घण्टा छिटो हुने सडक डिभिजन चौरजहारीका प्रमुख आसुतोश कर्णको भनाइ छ। जुम्लाका जनप्रतिधिका लागिसमेत यो मार्ग महत्वपूर्ण हुँदै आएको पूर्वमन्त्री नरेश भण्डारीले बताए। कन्सलट्यान्टले यसका लागि पाँच महिनाको समय पाएको छ। जसमा दुई महिना बितिसकेको छ। साथै अहिले बर्खायाम भएकाले कागजी काम मात्रै भइरहेको र बर्खा सकिने बित्तिकै फिल्डैमा गएर काम सुरु हुने कम्पनीको भनाइ छ। बर्खामा सुरुङमार्गसम्म जान र आउनका लागि बाटो अप्ठयारो भएकाले काम गर्न मुस्किल भएको निर्माण कम्पनीको भनाइ छ।
जंगली च्याउ खाँदा एकै परिवारका पाँच सिकिस्त बैतडी। जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन्। बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका-३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा दस वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र ७ वर्षीया छोरी शारदा रहेका छन्। स्थानीय जंगलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। उनीहरुलाई उपचारका लागि स्थानीय वासुलिङ्ग स्वास्थ्यचौकी लगिएकामा त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जनाएको छ।
अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन झापा। मेचीनगर नगरपालिकाले सहर तथा ग्रामीण क्षेत्रका अव्यवस्थित तार हटाउन केबुल तथा इन्टरनेट कम्पनीलाई निर्देशन दिएको छ। नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिलाई बोलाएर बिहीबार उक्त निर्देशन दिइएको जानकारी दिए। काँकडभिट्टा, धुलाबारी, इँटाभट्टा, चारआली, धाइजन, बाहुनडाँगी, ज्यामिरगढी, दुहागढी लगायतका स्थानका अव्यवस्थित तार व्यवस्थित गर्न निर्देशन दिइएको उनको भनाइ छ। “सहर, बजार र सडकभरि जताततै केबुल र इन्टरनेट कम्पनीका तार लत्रिएका छन्, यसले मानिस तथा सवारीको आवागमनमा बाधा पुगेको छ”, उनले भने, “आफैँ जानेर व्यवस्थापन गर्नुपर्ने हो। लापरबाहीको हद भएपछि नगरपालिका अब ‘एक्सन’मा उत्रिन परेको हो।” तत्काल तार व्यवस्थित नगरिए नगर प्रहरी प्रयोग गर्ने उनको भनाइ छ। नेपाल टेलिकम काँकडभिट्टाका प्रमुख काजिमान विश्वकर्माले अनुमति र सम्झौता नगरी केबुल तथा इन्टरनेट प्रदायक कम्पनीहरुले नेपाल टेलिकम तथा विद्युत्को खम्बामा जथाभावी तार टाँगेर व्यवसाय सञ्चालन गरिरहेको आरोप लगाए। “केही कम्पनीले सम्झौता मात्रै गरेका छन्, शुल्क बुझाएका छैनन्,” उनले भने, “अधिकांश कम्पनीले आफूखुसी टेलिकम र विद्युत्को पोल प्रयोग गरिरहेका छन्। पटक–पटक पत्राचार गर्दा पनि सम्झौता र रोयल्टी तिर्न अटेर गरेका छन्।” मेचीनगर क्षेत्रमा नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणको खम्बा प्रयोग गरेबापत केबुल तथा इन्टरनेट कम्पनीले वार्षिक रु १८ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको उनको भनाइ छ। गुजुल्टिएका तथा लत्रिएका तारका कारण आगलागी हुने र सहरी सौन्दर्यसमेत बिग्रने हुनाले व्यवस्थित गर्न निर्देशन दिइएको नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताइन्।
कावासोतीका किसान व्यावसायिक कागतीखेतीमा आकर्षित बर्दघाट सुस्तापूर्व। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त छन्। पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै लम्सालले गत वर्षदेखि सुनकागती लगाउन सुरु गरे। “अहिले बारीमा कागती फूल खेल्न थालेका छन्, यसैको रेखदेख र स्याहारमा दिन बित्ने गरेको छ”, लम्सालले भने। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उनले अनुदानमा सुनकागती–१ का बिरुवा लगाएका हुन्। लम्सालले भने, “बिरुवामा ५० र सिँचाइमा ८५ प्रतिशत अनुदान पाएसँगै व्यावसायिकरुपमा कागती खेतीलाई अगाडि बढाउन सहयोग पुगेको छ ।” परियोजनामार्फत पिभिसी ट्याङ्की, ट्याङ्की स्यान्ड, मोटर, पाइपलाइन विस्तार, सुनकागती–१ को ‘ग्राफ्टेड’ बिरुवा, घरेलु झोल मल निर्माणलगायतमा अनुदान प्राप्त भएको उनले बताए। लम्सालका अनुसार कागती खेती लगाउन तथा हेरचाह गर्ने विषयमा पनि परियोजनाले  सहजीकरण गरिरहेको छ । “स्वदेशमा नै व्यवसाय गर्ने सोचलाई परियोजनाले साथ दियो”, उनले भने, “अहिले १७ गट्ठा जग्गामा तीन सय सुनकागतीका बोट हुर्किंदैछन् ।” उक्त परियोजना सञ्चालन भएपछि निर्वाहमुखी खेती गर्दै आएका किसान अहिले व्यावसायिकरुपमा कागतीखेतीमा आकर्षित भएका लम्सालको भनाइ थियो। एकपटक लगानी गरेपछि वर्षौंसम्म आम्दानी लिन सकिने र उत्पादन पनि मनग्य हुने भएकाले अन्य बाली लगाउने किसान पनि कागतीखेतीतर्फ आकर्षित भएका उनले बताए। गोछडाटारकै ४८ वर्षीय प्रेमराज ढुङ्गानाले अहिले धान बाली लगाउन छाडेर कागतीखेती सुरु गरेका छन्। उनले परियोजनाको ५० प्रतिशत अनुदानमा एक सय ५० कागतीका बिरुवा रोपेर व्यावसायिकरुपा खेती सुरु गरेका हुन्। “सुनकागती–१ लगाएका कृषकको बारीमा अवलोकन जाँदा उत्पादन राम्रो भएको देखेर व्यावसायिकरुपमा कागतीखेती गर्ने सोच आयो”, ढुङ्गानाले भने, “धान, मकै, तोरी लगाएर जीविकोपार्जन मात्रै हुने आम्दानीमा वृद्धि नहुने समस्या छ । एकपटकको लगानीले कागतीबाट वर्षौंसम्म आम्दानी लिन सकिने हुँदा यसतर्फ आकर्षित भएको हुँ ।” जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सञ्चालित सुन्तला र फलफूल कार्यक्रममा कृषक आकर्षित भएका छन्। यस परियोजना सञ्चालनमा आएपछि निर्वाहमुखी खेती गर्दै आएका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका परियोजनाले जनाएको छ। परियोजना कार्यान्वयन इकाइका वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माका अनुसार जिल्लामा यस वर्ष ५० नयाँ किसानले कागतीखेती सुरु गरेका छन्। परियोजनाले दिएको अनुदानमा सञ्चालित नर्सरीबाट तयार भएका २५ हजार सुन्तला र कागतीका बिरुवा यस वर्ष किसानलाई बिक्री गरिएको उनले जानकारी दिए। आर्थिक वर्ष २०७५÷७६ देखि गाउँपालिकामा बुलिङटार, बौदिकाली र हुप्सेकोटको वडा नं ५ तथा नगरपालिकामा गैँडाकोट–१८, देवचुली–६, मध्यविन्दु–८ र १५ मा ‘सुन्तला र फलफूल जोन कार्यक्रम’ सुरु भएको कृषि अधिकृत शर्माले जानकारी दिए। उनका अनुसार उक्त कार्यक्रममार्फत खेतीका लागि क्षेत्र विस्तार र नर्सरी निर्माण भइरहेको छ । “परियोजना सुरु हुनुपूर्व जिल्लामा तीन सय ३१ हेक्टरमा सुन्तला र कागतीको खेती हुँदै आएको थियो”, कृषि अधिकृत शर्माले भने, “अहिले आठ सय १८ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ ।” यस वर्ष मात्रै जिल्लामा सुन्तला र कागतीको खेती ६० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । तुलनात्मकरुपमा क्षेत्रफल सुन्तलाको बढी भए पनि किसान कागतीखेतीतर्फ पनि आकर्षित हुँदै गएका उनको भनाइ थियो । शर्माले भने, “यस वर्ष ६० हेक्टरमध्ये ३३ हेक्टर क्षेत्रफलमा सुन्तला र २७ हेक्टरमा कागतीखेती विस्तार भएको छ भने ५० जना नयाँ किसान व्यावसायिक खेतीमा जोडिनुभएको छ ।” शर्माका अनुसार सुनकागतीका बिरुवा तापक्रम बढी भएका ठाउँमा छिटो बढ्ने भएकाले पछिल्लो समय तराईमा सुनकागती लगाउन किसान आकर्षित भएका हुन्। “यस वर्ष व्यक्तिगतरुपमा एक हजारसम्म बिरुवा लगाउने किसान छन्”, उनले भने, “गैँडाकोट–१८ मा किसानले चक्लाबन्दी गरेर एउटै ब्लकमा १० हजार तीन सय बिरुवा लगाएका छन् ।” “पहिलो वालीले नै राम्रो उत्पादन दिन थालेपछि आयमूलक बालीका रुपमा किसानले कागती खेतीलाई लिएकाले साना किसान पनि यसतर्फ आकर्षित भएका हुन्”, शर्माले भने, “सुन्तला र फलफूल जोन कार्यक्रममार्फत क्षेत्र विस्तार गरी नर्सरी निर्माण भइरहेको छ ।” नेवारवारी, राईकोट र रानीटारमा निर्माण गरिएका नर्सरीबाट प्रत्येक वर्ष ५० हजार बिरुवा तयार भइरहेको परियोजनाले जनाएको छ । यस वर्ष तयार भएका बिरुवामध्ये २५ हजार जिल्लाका  कृषकलाई र पाँच हजार डिभिजन वन कार्यालयलाई बिक्री गरिएको छ । कृषि अधिकृत शर्माका अनुसार आगामी वर्षका लागि २० हजार ग्राफ्टेड र विजु बिरुवा जगेडा गरी राखिएका छन् । जिल्लामा ३३ कृषक समूह, पाँच कृषक सहकारी र ३० उद्यमी गरेर ६८ संस्था कागती खेतीमा आबद्ध छन् भने दुई हजार दुई सय ९७ धरधुरी यस खेतीमा संलग्न रहेका उनले जानकारी दिए। परियोजनाले तरकारी खेतीका लागि क्षेत्र विस्तार गर्ने, सुन्तला र फलफूल बालीका लागि नर्सरी निर्माण, सिँचाइको व्यवस्था र मेसिनरी औचार वितरणलगायत सहयोग गर्दै आएको छ। “सिँचाइमा ८५, बीउ, बिरुवामा ५० र मेसिनरी औजारमा ८५ प्रतिशत अनुदान किसानलाई दिँदै आएका छौँ”, कृषि अधिकृत शर्माले भन्नुभयो, “परियोजनाअन्तर्गत जिल्लामा अहिलेसम्म तरकारी, फलफूल र कागती खेतीमा गरी एक सय २१ समूह, ११ कृषक सहकारी, ८० उद्यमी आबद्ध छन भने छ हजार १८ घरधुरी संलग्न रहेका छन् ।”
झोलुंगे पुल बनेपछि एक घन्टाको यात्रा १० मिनेटमै गलकोट। बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुंगे पुल निर्माण भएको छ। दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७दशमलव दुई मिटर लामो झोलुंगे पुल निर्माण गरिएको हो। निर्माण कम्पनीले समयमै काम नसक्दा निर्माण आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुंगे पुल ठेक्का सम्झौता मितिभन्दा ६ महिनाअगावै निर्माण भएको छ। काठमाडौँको सस्पेन्सन वृजि डिभिजन कार्यालयअन्तर्गत स्थानीय पूर्वाधार आयोजना कार्यालय कास्कीसँग विसं २०७९ असार १५ गते बिएलपी कन्ट्रक्सनसँग १८ महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएकामा छ महिनाअगावै निर्माण भएको हो। रु एक करोड २५ लाख लागतमा निर्माण गरिएको पुल असार मसान्तमै सकिएर हस्तान्तरणको तयारीमा पुगेको कास्कीस्थित स्थानीय पूर्वाधार आयोजना कार्यालयका इञ्जिनियर निरज सापकोटाले जानकारी दिए। “अठार महिनामा सक्नुपर्ने काम एक वर्षमै सकियो, समयमै भुक्तानी गर्न सकेको भए अझ पहिलै सकिन्थ्यो, सम्झौताभन्दा अगावै निर्माण सक्नु सकारात्मक पक्ष हो”, उनले भने, “पुल निर्माण भएपछि गौदी हुँदै दुदिलाभाटी बजार र वडा कार्यालय पुग्न सहज हुनेभयो, पुल अन्तिम प्राविधिक मूल्यांकन पछि पुल हस्तान्तरण गरिने छ।” इन्जिनियर सापकोटाका अनुसार ‘डि’ टाइप मोडेलमा निर्माण भएको उक्त झोलुंगे पुलको उचाइ ६० मिटर अग्लो छ। गलकोट नगरपालिकाभित्र दुई सय २७ मिटर लामो झोलुंगे पुल पहिलोपटक निर्माण भएको हो। साविक दुदिलाभाटी गाउँको तीन वटा वडाबासीलाई वडा कार्यालय जान, भाटी बजार पुग्न र वडा कार्यालय र भाटी बजारलाई मध्यपहाडी लोकमार्गमा आउन सहज भएको स्थानीय धना खत्रीले बताए। उनका अनुसार पैदल यात्रुलाई काफलठुटा हुँदै, चाउथेखोला, मान्द्रेखोला तरेर गौदी पुग्न एक घन्टा लाग्नेमा पुल निर्माणपछि १० मिनेटमै पुग्न सकिने भएको छ। पाँच वर्षदेखिको अनवरत प्रयास र पहलपछि पुल निर्माण गर्न सफल भएको गलकोटका समाजसेवी ललिता थापाले जानकारी दिइन्। “मध्यपहाडसँग छुटेको गाउँलाई झोलुंगे पुलले जोडेर सहज भएको छ, जिल्ला सदरमुकाम जानलाई यहाँका बासिन्दाकोे एक घन्टाको यात्रा छोटो भएको छ”, उनले भनिन्, “झोलुंगे पुल निर्माणसँगै स्थानीयवासीलाई स्वास्थ्यचौकी, विद्यालय र वडा कार्यालय आवतजावत गर्न सहज भएको हो।” निर्माण गरिएको पुल साउन दोस्रो हप्ता प्राविधिक मूल्यांकन पछि हस्तान्तरण गरिने निर्माण कम्पनीका तीर्थाराम खड्काले जानकारी दिए। – रासस
मिटरब्याजीद्वारा सर्लाहीमा चार बिघा जमिन पीडितलाई फिर्ता सर्लाही। चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि साहु (मिटरब्याजी) ले जबर्जस्ती हड्पेको सर्वसाधारणको करिब चार बिघा जमिन यहाँ सम्बन्धित व्यक्तिकै नाममा फिर्ता भएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोग र सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयन्त्रको पहलमा जिल्लाका मिरटब्याजी पीडितको तीन बिघा १० कट्ठा १२ धुर जमिन सम्बन्धित व्यक्तिकै नाममा फिर्ता भएको आयोगले जनाएको छ। आयोगले विभिन्न जिल्लामा करिब रु साढे २६ करोडभन्दा बढी रकम उल्लेख गरिएका कपाली तमसुक (कागज) पनि नष्ट गरेको आयोगका अध्यक्ष कार्कीले जानकारी दिए। उनका अनुसार विभिन्न जिल्लामा चर्को ऋणको पासोमा फसेका सर्वसाधारण पटक पटक अन्दोलनमा उत्रिएपछि सरकारले चैत १८ गते आयोग गठन गरेको र आयोगको सक्रियतामा मिटरब्याजी पीडितको रकम तथा जमिनको सवालमा घनिभूत छलफल भइरहेको छ। मिटरब्याजी पीडितले संघर्ष समिति नै गठन गरेर सरकारविरुद्ध दबाब बढाएपछि चैत १८ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयले पाँचबुँदे सहमति गर्दै चर्को ब्याज असुल्नेमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो। त्यसको दुई दिनपछि उपप्रधानमन्त्री श्रेष्ठकै प्रस्तावमा मन्त्रिपरिषद्ले विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्वएआइजी उत्तमराज सुवेदी र पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु रेग्मी सम्मिलित तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। त्यस लगत्तै जनकपुरमा आयोगको कार्यालय खोलेर मिटरब्याजसम्बन्धी उजुरी आह्वान गरिएको थियो। त्यसपछि गरिएको अनुसन्धानका क्रममा चर्को ब्याजमा रकम लगानी गर्ने, साँवाभन्दा ब्याज रकम बढी लिने, रकम तिरिसक्दा पनि तमसुक राखेर ऋणीका जग्गा हडप्ने काम भएका तथ्य/प्रमाण खुलेको आयोगका अध्यक्ष कार्कीले जानकारी दिए। उनका अनुसार त्यसपछि आयोग र प्रशासनले यस्ता अपराध निरुत्साहित गर्न ऋणभन्दा चर्को ब्याजका कारण गुम्न पुगेको जायजेथा मिलापत्रबाटै फिर्ता गर्ने नीतिलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको छ। त्यस क्रममा आठ बिघा छ कट्ठाभन्दा बढी जग्गा ऋणीलाई नै फिर्ता गर्न मिटरब्याजी तयार भएको कार्कीले बताए। मधेस प्रदेशका चार जिल्लाका साथै कोशी प्रदेशको उदयपुरमा मिटरब्याजी र ऋणीबीच मिलापत्र गरेर जग्गा फिर्ता गराउने काम चलिरहेको छ। नागरिकले साहुबाट सामाजिक काम, वैदेशिक रोजगारी, विवाह/व्रतबन्ध, घरायसी खर्च, घरजग्गा निर्माण/खरिद, दैनिक गुजारालगायत शीर्षकमा ऋण लिने गरेको र तमसुकमा लिएको भन्दा अधिक ब्याज असुलिएको अनुसन्धान तथा छानबिनबाट खुलेको आयोगका सदस्य सुवेदीले जानकारी दिए। उहाँका अनुसार महोत्तरीमा तीन बिघा दुई कट्ठा १७ धुर, सप्तरीमा एक कट्ठा पाँच धुर, सिरहामा १८ कट्ठा आठ धुर, उदयपुरमा १२ कट्ठा ११ धुर र रौतहटमा एक कट्ठा जमिन रकम लिने सर्वसाधारणकै नाममा स्रेस्ता कायम हुने गरी फिर्ता गरिएको छ। ऋण तिर्न नसकेपछि साहुले मालपोतबाटै पास गरेर र केही जबर्जस्ती जफत गरेर ती जग्गा आफ्नो बनाएको पाइएको आयोगले जनाएको छ। आयोगमा परेका उजुरीको अनुसन्धान र छानबिनपछि केही जिल्लाका मिटरब्याजी पीडितलाई जग्गा फिर्ता गर्न तयार भएका थिए। हालसम्म सातवटै प्रदेशका ५५ जिल्लाबाट मिटरब्याजीविरुद्ध २३ हजार नौ सय ४८ उजुरी परेका आयोगका अध्यक्ष कार्कीले जानकारी दिए। तीमध्ये करिब एक हजार चार सय उजुरी मिलापत्रमा टुंगिएका छन्। आयोगका अध्यक्ष कार्कीका अनुसार रु २६ करोड ४८ लाख ८१ हजार चार सय ७८ उल्लेख गरिएका तमसुकलाई रु १२ करोड ६८ लाख ४० हजार कायम रहने गरी दुई पक्षबीच मिलापत्र गरिएको छ । आयोगका अनुसार मधेसमा १८ हजार ९१, मन्त्रालयका अनुसार कोशी प्रदेशमा सात सय ८४, बागमतीमा एक हजार दुई सय ६७, गण्डकीमा एक सय ७५, लुम्बिनीमा तीन हजार दुई सय २०, कर्णालीमा एक सय ५१ र सुदूरपश्चिममा दुई सय ८० उजुरी परेका छन्। जिल्लागत रूपमा बारा, सिरहा, महोत्तरी र रौतहटबाट सबैभन्दा बढी उजुरी परेका छन्। प्राप्त उजुरीअनुसार मिटरब्याजीबाट ऋणीले रु ७८ करोड २१ लाख ५७ हजार नौ सय ७३ लिएकामा तमसुक भने रु एक अर्ब ४४ करोड ७९ लाख ३० हजार १७ को गरेको देखिएको आयोगले जनाएको छ। उजुरी छानबिन र सम्बोधन गर्नै बाँकी भएका तथा मिलापत्र हुन नसकेका विषयलाई मात्रै कारबाहीको दायरामा ल्याउने गरी सुझावसहित प्रतिवेदन तयार पारिने आयोगका अध्यक्ष कार्कीले बताए। उजुरी र वास्तविक ऋण केलाएर कसैलाई पनि नोक्सान नहुने गरी मिलापत्रको बाटोमा अघि बढ्ने नीति आयोगको रहेको उनले बताए।
पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्षमा एक हजार ८९ मात्र दर्ता वीरगन्ज। पर्सामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ। जबकि आव २०७८/८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो। आव २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको सङ्ख्या भने बढेको छ। सो कार्यालयका अनुसार आव २०७९/८० मा एक सय ७७ वटा उद्योगको लगतकट्टा गरिएको छ भने अघिल्लो आव २०७८/७९ मा एक सय ५२ उद्योगको लगतकट्टा भएको थियो। विश्वव्यापीरूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायतका कारणले नयाँ उद्योग दर्तामा कमी आएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख धनञ्जयकुमार सिंहले बताए। आव २०७९/८० मा एक हजार दुई सय ७५ उद्योगको नवीकरण, एक सय ६५ वटाको पुँजी वृद्धि, ३३ को ठाउँसारी, ८४ को नामसारी गरिएको सो कार्यालय जनाएको छ। ती शीर्षकबाट आव २०७९/८० मा रु एक करोड छ लाख ३९ हजार दुई सय ५० राजस्व संकलन भएको प्रमुख सिंहले जानकारी दिए। उक्त आवमा छ सय ५४ पुरुष र चार सय ५० महिला गरी एक हजार एक सय चार उद्यमी थपिएका छन् भने तीन हजार दुई सय ४७ पुरुष र एक हजार दुई सय १३ महिला गरी चार हजार चार सय ६० जनाले रोजगारी पाएको प्रमुख सिंहको भनाइ छ। आव २०७९/८० मा उद्यमी सिर्जना तथा सीप विकास, स्केलअप र भगत सर्वजित तालिम कार्यक्रमअन्तर्गत तीन सय ६२ पुरुष र ९८ महिला गरी चार सय ६० जनालाई सीपमूलक तालिम दिइएको प्रमुख सिंहले बताए। यससँगै पर्सा जिल्लामा पछिल्लो ६ वर्षको अवधिमा सात हजार दुई नयाँ उद्योग थपिएका छन्। गत आव २०७४/७५ देखि आव २०७९/८० सम्ममा सेवामूलक उद्योग, कृषि तथा वन्यजन्य, उत्पादन उद्योग र पर्यटन गरी सात हजार दुई नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय वीरगन्ज पर्साले जनाएको छ। गत आव २०७४/७५ देखि आव २०७९/८० सम्मको अवधिमा नयाँ उद्योग दर्ता, उद्योगको नवीरकण र उद्योगको लगतकट्टालगायतका शीर्षकबाट रु छ करोड ९७ लाख ९२ हजार सात सय ८० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सिंहले बताए।
बाँकेकाे नरैनापुर गाँउपालिकाबाट श्रम स्वीकृति सुरु नरैनापुर। बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो। जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ। नरैनापुर गाउँपालिकाले शुक्रबारदेखि यो काम सुरु गरेको छ। गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरीका अनुसार मन्त्रालयको परिपत्रअनुसारनै उक्त काम सुरु गरिएको हो। वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने मुकेरीले बताए। “यसअघि अन्यत्रै गएर यस सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ”, उनले भने। नरैनापुरबाट पहिलो दिनमा ३ जनाले उक्त सेवा लिएका छन्। श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ। सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने मुकेरीले बताए। उनका अनुसार कल्याणकारी कोषका लागि एक हजार पाँच सय, बीमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ भने सामाजिक सुरक्षा कोषको पैसा नलाग्ने संयोजक मुकेरीले बताए। उक्त सबै काम भए पनि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र उनीहरुलाई स्वीकृति भएको मोबाइलमा पठाइदिने व्यवस्था मिलाइएको छ। वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए।
अवैध स्वास्थ्य क्लिनिक सिल, सञ्चालक पक्राउ बैतडी।  बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो। प्रहरीले सो स्वास्थ्य क्लिनिक सञ्चालक खेमराज अवस्थीलाई समेत नियन्त्रणमा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले क्लिनिकका साथै मेडिकल पनि सञ्चालन गरेका थिए। छड्के अनुगमनका क्रममा अवस्थीलाई बिरामी जाँचिरहेको अवस्थामा पक्राउ गरिएको र उक्त पसल सिलसमेत गरिएको हो। उनले भने, “स्वास्थ्यसम्बन्धी कुनै अनुमति नभएका अवस्थी बिरामीलाई स्लाइन चढाइरहेकै अवस्थामा भेटेपछि नियन्त्रणमा लिइएको छ।” क्लिनिक सञ्चालक अवस्थीले विसं २०७१ देखि हिमालय अवस्थीको नामको ‘पान’ नम्बर लिएको तर मेडिकल र क्लिनिकका लागि अनुमति नै नलिएर सञ्चालन गरिरहेका थिए। स्वास्थ्यसम्बन्धी कुनै अनुमतिपत्र नलिएका व्यक्तिले दर्ता नै नभएको मेडिकल र क्लिनिक सञ्चालन गरिरहेको गुनासो आएपछि अनुगमन गरिएको प्रजिअ पन्थीले बताए। उनले भने, “खेमराजले अनुमतिबिना मेडिकल र क्लिनिक सञ्चालन गरिरहेको गुनासो आएको थियो, हामीले पटक–पटक अवैध मेडिकल बन्द गर्नुस् भनेर खबर गर्दा पनि अटेरी गरेपछि छड्के अनुगमन गरेका हौँ। हाम्रो टोली पुग्दा बिरामीलाई स्लाइन चढाएको र जाँचिरहेको भेट्टायौँ। अब कानुनअनुसार कारबाही हुन्छ।” अनुगमनमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र स्वास्थ्य कार्यालय बैतडीका प्रमुख यागेशप्रसाद भट्टलगायतको सहभागिता रहेको थियो।
दाङमा बसभित्र ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार दाङ। दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोप दुई जना पक्राउ परेका छन्। तुलसीपुर-५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र वृद्धालाई सामूहिक बलात्कार गरेको आरोप तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो। वृद्धा कराएपछि स्थानीयले प्रहरीलाई खबर गरे। त्यसपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
लम्पी स्किनको प्रभाव : २६ हजार पशुचौपायाको मृत्यु, ६ लाख संक्रमित महेन्द्रनगर। ‘लम्पी स्किन’ रोगको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन्। प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ। तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन्। पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेशमा छ सय ३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगायएको छ। “तीन वर्षदेखि लम्पी स्किनबाट पशुचौपाया सङ्क्रमित हुँदै आएका छन्”, डा अवस्थीले भने, “यस वर्ष पहाडी जिल्लामा कडा खालको सङ्क्रमण देखियो।” ‘पोक्स’ भाइरसको सङ्क्रमणबाट हुने लम्पी स्किनबाट सबैभन्दा बढी कैलालीमा दुई लाख ३३ हजार पाँच सय पशुचौपाया सङ्क्रमित भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय डोटीका अधिकृत पुष्करराज नाथले जानकारी दिए। कैलालीमा १५ हजार बाच्छाबाच्छी, ८३ हजार तीन सय ९३ गाई, २१ हजार तीन सय ५१ गोरु र एक लाख १३ हजार तीन सय २७ भैँसी यसबाट सङ्क्रमित भएका छन् । कैलालीमा लम्पी स्किनबाट हालसम्म छ सय ५७ पशुचौपाया मरेको तथ्यांक छ। यसैगरी लम्पी स्किनबाट बझाङमा चार हजार छ सय २३ पशुचौपाया मरेका छन् । सबैभन्दा कम कञ्चनपुरमा १८ पशुचौपाया सो रोगबाट मरेको तथ्यांक छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीमा प्रमुख गुमानीदत्त पन्तले रोगको नियन्त्रणका लागि पहल भइरहेको जानकारी दिए। “मन्त्रालय र स्थानीय तहको पहलमा औषधि वितरण गर्ने काम भइरहेको छ। पालिकामार्फत पशुपालक किसानलाई औषधि वितरण गरिँदै छ”, उनले भने। औषधि र खोप अभाव भएको पन्तले बताए। – रासस
डेंगु सङ्क्रमण भदौ र असोजमा उच्च हुने काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ। एक वर्षको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेंगु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिए। उनका अनुसार असोजपछि भने डेंगु सङ्क्रमण क्रमशः कम हुँदै जाने छ। उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढेको बताए। गत वर्ष पनि वैशाखदेखि नै सङ्क्रमण देखिन थालेको र भदौदेखि कात्तिकसम्म उच्च सङ्क्रमण भई देशभरिका ७७ जिल्लामा फैलिएको थियो। “बर्खायाम सुरु भएसँगै पानी पर्न थालेपछि सङ्क्रमण बढ्दै गएको छ”, उनले भने, “निरन्तरको वर्षा र पानीले सङ्क्रमण अझै बढ्ने जोखिम छ।” पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ। महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ सङ्क्रमण भएकामा साउन १ गतेसम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको छ। महाशाखाका निर्देशक डा मरासिनीले कार्ययोजनाअनुसार डेङ्गु रोकथाम र नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहको सरकारका साथै अस्पतालहरूलाई निर्देशन दिइसकेको जानकारी दिए। कार्ययोजनाअनुसार लामखुट्टे नियन्त्रणका लागि भौतिक पूर्वाधार, खानेपानी तथा ढल व्यवस्थापन, सहरी विकास, शिक्षा र सञ्चार निकायसँग समन्वय गरिने छ। यस्तै लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने अभियान र जनस्तरसम्म डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ। वर्षायामसँगै डेङ्गु रोग सार्ने लामखुट्टेको वृद्धि विकास हुने स्थान प्रचुर मात्रामा हुने हुँदा बहुपक्षीय समन्वय र सहकार्यबिना लामखुट्टे नियन्त्रण गर्न कठिन हुने, डेंगु पहिचानका लागि आवश्यक डेंगु किटको अभाव, लामखुट्टेको निगरानी गर्न इन्टोमोलोविष्ट तथा आर्थिक स्रोतको अभाव, स्वास्थ्य मन्त्रालयबाहेक अन्य सरोकारवाला मन्त्रालयको भूमिकालाई पैरवी हुन नसकेको उल्लेख गरिएको छ। घरदैलो कार्यक्रम महाशाखाले डेंगु रोगको रोकथाम र उपचारका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताएको छ। कार्ययोजनामा डेङ्गु सचेतनाका लागि विद्यालय शिक्षा र घरदैलो कार्यक्रम गर्ने पनि उल्लेख गरिएको छ। यसैगरी जोखिम नक्सांकन तथा हट-स्पट पहिचान गर्ने, डेङ्गु सेरोटाइपको पहिचान, लामखुट्टेमा डेंगु भाइरसको आइसोलेसन गर्ने, अस्पतालमा डेंगु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्ने, डेंगु रोगको निदानका लागि आवश्यक किटको व्यवस्था गर्नेसमेत कार्ययोजनमा उल्लेख छ। गत वर्ष ५५ हजारभन्दा बढीलाई सङ्क्रमण र ८८ जनाको सङ्क्रमणको कारणले निधन भएको थियो। डेंगुबाट मृत्यु भएकामध्ये ५० प्रतिशतभन्दा बढी मृत्यु ५५ वर्ष वा सोभन्दा बढी उमेर समूहका रहेको पाइएको छ। मृत्यु भएका व्यक्तिमा डेङ्गुसँगै निमोनिया, स्क्रवटाइफसलगायतका सङ्क्रमणसमेत पाइएको छ। नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ। यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ। रासस
कोशीका एघार जिल्लामा फैलियो डेङ्गु झापा। लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन्छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेङ्गु फोकल पर्सन) विवेचना चम्लागाईँका अनुसार सात महिनायता झापामा २४, मोरङमा २५ र सुनसरीमा दुई सय ४० जना डेङ्गुका बिरामी फेला परेका छन् । उनका अनुसार यो अवधिमा कोशी प्रदेशका ११ जिल्लामा डेङ्गु रोगीको सङ्ख्या तीन सय १२ जना पुगिसकेको छ । मधेस, पहाड र हिमाली जिल्ला सबैतिर डेङ्गु फैलिएको पाइएको छ । गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ । डेङ्गुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् । सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाका अस्पतालमा डेङ्गुका बिरामीको उपचार भइरहेको छ । पछिल्लो सातामात्रै सुनसरीमा ५३, मोरङमा नौ, झापामा चार, तेह्रथुममा पाँच, भोजपुरमा चार, ताप्लेजुङमा एक र खोटाङमा एक जना डेङ्गुका बिरामी फेला परेका छन् । कोशी प्रदेशको सोलुखुम्बु, उदयपुर र पाँचथरबाहेक सबै जिल्लामा डेङ्गुका बिरामी भेटिएका छन् । सबैभन्दा बढी बिरामी सुनसरीमा रहेका छन् । कोशी प्रदेशभर पाइएका डेङ्गुका बिरामीको दुईतिहाइ सङ्ख्या सुनसरीमा नै छन् । स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य निरीक्षक कुलप्रसाद पौडेलले झापामा बिरामी देखिन थालेको बताए । प्रादेशिक अस्पताल भद्रपुरमा डेङ्गुका बिरामीको उपचार भइरहेको र डेङ्गु फैलिन नदिन जनचेतना कार्यक्रम सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए । आम ज्वरोभन्दा निकै तीव्र ज्वरो आउनु डेङ्गुको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेङ्गुका बिरामीमा देखिन्छन् ।
आगामी असोज १ देखि द्रुत बस सेवा काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए । पहिलो चरणमा भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको उनले बताए । उनले भने, “आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिनेछ ।” मन्त्रालयले राम्रो अवस्थाका र क्षमताका निजी कम्पनीका बस छनोट गरी द्रुत बस सेवा सुरु गर्न लागेको हो । तत्कालका लागि द्रुत बस सेवा सवारीसाधनको चाप बढी हुने समय बिहान ९ः०० देखि ११ः०० र साँझ ४ः०० देखि ६ः०० बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताए । द्रुत बस सञ्चालनका लागि सडकको लेन छुट्टै व्यवस्था गरिने मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । बसको आकार र रङ अरुभन्दा फरक हुने गरी द्रुत बस सेवा सञ्चालनको तयारी भइरहेको उनले बताए । द्रुत बस सेवाको सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र सञ्चालन अनुमतिका लागि व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिए । अहिले कार्यालय समयमा सूर्यविनायकबाट रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा झन्डै डेढ घन्टा लाग्ने गरेको छ । द्रुत बस सेवा सञ्चालन भएपछि अत्यधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन हुने यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने । मन्त्री ज्वाला, राज्यमन्त्री नन्दा चपाईँ, सचिव शर्मा, सहसचिव अर्जुन थापा, यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, सडक विभागका उपमहानिर्देशक रामहरी पोखरेल, ट्राफिक प्रहरीका कार्यालयका प्रतिनिधि र यातायात व्यवसायी महासङ्घका पदाधिकारीसहितको बैठकले द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । द्रुत बस सेवाका लागि मोबाइल एप पनि बनाइने भएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्ने गरी बनाउन लागिएको छ । हालका लागि अरु सवारीसाधनमा तोकिएकै भाडादर कायम हुने बताइएको छ ।
बाँकेमा गड्यौलाबाट मलको उत्पादन गरिँदै नेपालगञ्ज। बाँकेमा परीक्षणका रुपमा गड्यौलाबाट मलको उत्पादन गर्न गर्न थालिएको छ। रासायनिक मल समयमा नपाउने, पर्याप्त नपाइने र पाए पनि त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकुल प्रभाव पारेको भन्दै किसान गड्यौला मलप्रति आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले यसपटक परीक्षणका लागि सीमित किसानलाई गड्यौलाबाट मल उत्पादनका लागि सहयोग गरेको जानकारी दिए। “परीक्षण सफल भएमा कार्यक्रम विस्तार गर्ने योजना छ”, उनले भने। यसबाट उत्पादकत्व वृद्धि गर्ने र रासायनिक मलको मागसमेत घटने विश्वास रहेको जनाउँदै अहमदले अबको खेती प्रणालीमा यसको प्रयोग आवश्यक भएको बताए मल उत्पादनका लागि केन्द्रले यस आर्थिक वर्षदेखि रु सात लाख लगानी भएको जनाएको छ। साकारा कृषि सहकारीका कृषि प्रमुख बलबहादुर सुनारले गड्यौलाबाट मल उत्पादन र त्यसको प्रयोगबाट किसानले लाभ प्राप्त गरे कृषि उत्पादनमा परिणाम राम्रो आउने बताए। “गड्यौलाबाट उत्पादित मलको प्रयोग गर्दा रासायनिक मलको माग घटने र माटोको उर्वराशक्ति बढेर उत्पादकत्वसमेत वृद्धि हुन्छ”, उनले भने। ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बाँकेको राप्ती सोनारी गाउँपालिकाका २५, खजुरा गाउँपालिकाका छ र नेपालगन्ज उपमहानगरपालिकाका दुई किसानलाई गड्यौलाबाट मल उत्पादनको तालिम दिएर उत्पादन गर्न प्रेरित गरिएको जानकारी दिए। “उत्पादन भइसकेको छैन, हामी सुरुवाती चरणमा छौँ”, उनले भने। मल उत्पादन कार्यमा बाँकेका करिब ५२ किसान संलग्न छन्। कृषि ज्ञान केन्द्रले प्रतिकिसान चार किलोग्रामका दरले गड्यौला दिएको र एक किसानबाट ५० किलोसम्म मल उत्पादनको अपेक्षा लिएको जनाएको छ। राप्तीसोनारीका किसान जीतबहादुर कार्कीले विश्वासका आधारमा गड्यौलाबाट मल उत्पादन गर्न थालेको बताए। “अब उत्पादन र प्रयोगपछि प्राप्त परिणामले यसको प्रभावकारिता देखिन्छ”, उनले भने। मल उत्पालनका लागि किसानलाई गड्यौलाबाहेक, प्लास्टिकका भाँडालगायत कृषि औजार प्रदान गरिएको छ। – रासस
स्थानीय जातका भैँसीको दूध ‘ब्रान्डिङ’ गर्ने गलकोटका किसानको तयारी बागलुङ। गलकोट नगरपालिका–९ का किसानले स्थानीय जातका भैँसीबाट उत्पादित दूधको आफ्नै ब्रान्ड बनाउने तयारी गरेका छन् । रिस्मी गाउँभरीका किसानले पालेका स्थानीय लिमे र पाराकोटे जातका भैँसीको दूध संकलन केन्द्र बनाएर ब्रान्ड गर्ने तयारी गरेका हुन् । छुट्टै संकलन केन्द्र बनाएर दूध ब्रान्ड गर्ने र प्याकिङ गरेर बजार पठाउने तयारी भएको स्थानीय अग्निधर सापकोटाले बताए। उनले हेर्दा मोटाघाटा र उन्नत जस्ता देखिए पनि रिस्मी गाउँमा अहिलेसम्म स्थानीय भैँसी मात्रै पालिएको उनले जानकारी दिए। घाँसको पर्याप्तताका कारण यहाँका भैँसीले धेरै दूध दिने गरेको किसानले बताएका छन्। किसानले यहाँ उत्पादित दूध दैनिक सात किलोमिटर परको हटिया बजार पठाउने गरेका छन्। रिश्मीसहित गल्याङ, कांडेबास, आँगखेत र मल्मका किसानले उत्पादन गर्ने सयौँं लिटर दूध खुला रुपमा हटियामा बिक्री भइरहेकाले अब ब्रान्ड बनाउने योजना रहेको गलकोट कृषि सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद सापकोटाले बताए। “खुला दूध बिक्री गर्दा गर्मीमा फाट्ने समस्या छ । समयमा बजारसम्म दूध पुर्‍याउन नसके दूध बिग्रन्छ”, उनले भने, “गाउँमै चिस्यान केन्द्र बनाएर दूधको ब्रान्ड गर्दा लामो समयसम्म नबिग्रने भएकाले गत आर्थिक वर्षमा केन्द्र निर्माण गरेका छौँ।” चिस्यान केन्द्रका लागि गलकोट नगरपालिकाले रू नौ लाख सहयोग गरेपछि किसानले श्रमदान गरेर रू तीन लाख ८६ हजार थप रकम जुटाएका अध्यक्ष सापकोटाले बताए। उनका अनुसार कूल रू १२ लाख ८६ हजारमा केन्द्रको भवन बनेको हो । यो भवन सञ्चालनमा ल्याएपछि दैनिक एक हजार लिटरसम्म दूध संकलन गर्ने लक्ष्य राखिएको सापकोटाले बताए। चिस्यान केन्द्रका लागि नगरपालिकाले रू आठ लाख बराबरको उपकरण खरिद गरेको जनाएको छ । पालिकाका अनुसार किसानले उक्त भवन निर्माण सम्पन्न गरेपछि खरिद गरिएका उपकरण हस्तान्तरण हुनेछ । चिस्यान केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेकाले सहकारीमा आवद्ध सबै किसानलाई स्थानीय जातका भँैसी पालेर दूध उत्पादन गर्न भनिएको सहकारीका अध्यक्ष सापकोटाले बताए। “विदेशबाट ल्याइएका गाईभैँसी भन्दा स्थानीय जातका लिमे र पाराकोटेको दूध स्वादिलो छ” उनले भने, “ब्रान्ड बनाएर बिक्री गर्न सकेमा स्थानीय किसानले उत्पादन पनि बढाउनेछन् ।” दूधको आफ्नै ब्रान्ड बनेपछि किसानले बजारमा उचित मूल्य समेत पाउने उनको भनाइ थियो । अहिले किसानले प्रति लिटर रू ७० मात्र पाएका छन् । बजारमा दूध प्रतिलिटर रू एक सय १० मा बिक्री भइरहेको छ । चिस्यान केन्द्र बनाएपछि दूधका अन्य परिकार समेत बनाउने लक्ष्य रहेको स्थानीय अग्निधर खरेलले बताए। रिश्मीमा दैनिक धेरै दूध उत्पादन गर्ने किसानमा खरेल गनिन्छन् । “गाउँमा कसैले पनि गाई पालेका छैनन् । विदेशबाट झिकाइएका गाईभैँसी नपालेकाले उनीहरुले स्थानीयकै ब्रान्ड बनाउन चाहेको हुन्”, उनले भने। “हामीले दाना खुवाएका छैनौँ, घाँसपराल खुवाउने गर्छौ । बेलाबेला चराउने गर्छौँ”, स्थानीय नारायण सापकोटाले भने, “नियमित चर्ने र घाँसपराल खाने भैँसीको दूध पोसिलो हुन्छ ।” भेटेरीनरी तथा पशु विकास विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले लिमे र पाराकोटे भैँसीको दूध पोसिलो हुने बताए। उनले स्थानीय ब्रान्डको दूध उत्पादन गर्न सकेमा आयातित दूधलाई विस्थापित गर्न सकिने बताउँदै किसान स्थानीय जातको भैँसी पाल्न लाई प्रोत्साहन गरिएको जानकारी दिए। ब्रान्डका लागि परीक्षण र प्याकिङका लागि केन्द्रले प्राविधिक सहयोग गर्ने उनको भनाइ थियो । “यहाँ उत्पादित दूध ब्रान्ड गरेपछि केही दिन चिस्यान केन्द्रमा राख्दा बजारको माग पूरा गर्न सकिन्छ”, प्रमुख सापकोटाले भने, “किसानले उचित मूल्य पनि पाउनेछन् ।” उहाँका अनुसार रिश्मीका मात्रै ६० जना किसानले दैनिक हटियामा दूध पु¥याउने गरेका छन् । स्थानीयस्तरमा चिस्यान केन्द्र बन्दा जम्मा भएको दूध गाडीमा पठाउन सकिन्छ । दूध बिक्रीका लागि दैनिक हटिया पुग्दा खर्च बढी भएको तथा बिक्री केन्द्रमा एकजना कर्मचारीको व्यवस्था गर्नु परेपछि किसानले गाउँमै चिस्यान केन्द्र बनाउन थालेका हुन् । “किसानको मेहनत देखेपछि हामीले भवन निर्माणमा सहयोग ग¥र्यौ, अब उपकरण पनि दिने योजना छ”, नगरप्रमुख भरत शर्मा गैरेले भने, “आफ्नै ब्रान्डको दूध उत्पादन भएमा आत्मनिर्भर भएर बाहिर पनि बिक्री गर्न सकिने गरी लाग्न किसानलाई आग्रह गरेका छौँ ।” केन्द्रका अनुसार जिल्लामा एक करोड ५५ लाख लिटर दूध उत्पादन हुन्छ ।
खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो खोटाङ। अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ। दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी ३.१५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो। जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले २०.३५ मेट्रिक टन उत्पादन दिँदा आर्थिक वर्ष २०७९/२०८० मा ३७ हेक्टर क्षेत्रफलमै लगाइएको किबीले २३.५ मेट्रिक टन उत्पादन दिएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषिप्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, जालपा र प्रायः सबै वडामा तथा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, खिदिमा, रतन्छा, दिप्रुङ चुइँचुम्मा गाउँपालिकाको याम्खा, सप्तेश्वर छितापोखरी, छितापोखरी, टेम्मा, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, लिकुवापोखरी, वाप्लुखा, सवाकटहरे, बड्कादियाले, सिमपानीमा किबी खेती गरिन्छ। जन्तेढुंगा गाउँपालिकाको बोपुङ, चिसापानी, बराहपोखरी गाउँपालिकाको सुन्तले, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, जलेश्वरी, महेश्वरी, केपिलासगढी गाउँपालिकाको फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर र रावाबेँसी गाउँपालिकाको हौँचुरका किसानले व्यावसायिक रुपमा किबी खेती गरेका छन्। जिल्लामा हेवार्ड, एलिसन र रातो किबी लगाउने गरिएको किसानले बताएका छन्। ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा कृषि तथा पशुपक्षी फर्म जालपाले रु पाँच लाख ९९ हजार २५०, नमूना कृषि फर्म ऐँसेलुखर्क र नमुना कृषि तथा वन नर्सरी व्यवस्थापन केन्द्र ऐँसेलुखर्कले किबी खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत रु ६/६ लाख अनुदान पाएका छन्। यस्तै, आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा पाँच मेट्रिक टनले लिचीको उत्पादन बढेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ मा एक सय ४८ मेट्रिक टन लिची उत्पादन भएको जिल्लामा २०७९/८० मा एक सय ५३ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ। जिल्लाभर एक सय ५२ हेक्टर क्षेत्रफलमा लिची रोपिए पनि ३० हेक्टर क्षेत्रफलमा लगाइएको लिचीले मात्रै उत्पादन दिँदै आएको जनाइएको छ। जिल्लाको कुभिण्डे, खार्पा, हौँचुर, दुवेकोल, डुम्रेधारापानी, बुइपा, विजयखर्क, महादेवस्थान, धितुङ लगायतका स्थानमा व्यवसायिक रुपमा लिची खेती हुँदै आएको छ। रावाबेँसी गाउँपालिका–१ कुभिण्डेमा गतवर्ष रु एक करोड बढीको लिची उत्पादन भएको थियो। जिल्लामा उत्पादित लिची सदरमुकाम दिक्तेल, धरान, विराटनगर तथा राजधानी काठमाडौँमा समेत निर्यात हुँदै आएको छ। यस्तै, खोटाङमा गत वर्षको तुलनामा यसवर्ष आँपको उत्पादन घटेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ मा एक सय ९० मेट्रिक टन उत्पादन भएको आँप आर्थिक वर्ष २०७९/८० मा उक सय ८५ मेट्रिक टनमा झरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। गत वर्षभन्दा यसवर्ष बढी कीरा लाग्नाले आँपको उत्पादन घटेको किसानले बताएका छन्। जिल्लाभर ९८ हेक्टर क्षेत्रफलमा आँप खेती गरिए पनि ५९ हेक्टर क्षेत्रफलमा लगाइएको आँपले मात्रै उत्पादन दिंदै आएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा फलफूल खेती प्रवद्र्धनका लागि हरेक स्थानीय तहले किसान समूहलाई बर्सेनि फलफूलका बिरुवा निःशुल्क वितरण गर्दै आएको छ। स्थानीय तहले निःशुल्क वितरण गरेको फलफूलका बिरुवाले समेत उत्पादन दिन थालेको पाइएको छ। खाली रहेको जग्गालाई उपयोग गर्दै स्थानीय बासिन्दालाई आफ्नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यका साथ निःशुल्क बिरुवा वितरण गरिएको स्थानीय तहहरुले बताएका छन्। जिल्लामा उत्पादित फलफूललाई जिल्लामै प्रशोधन गरेर उपयोग गर्नेगरी स्थानीय तहले तयारी थालेका छन्। – रासस
बाँकेमा बढ्दैछन् क्यान्सरका रोगी जानकी। “मैले मेरो जेठानीलाई क्षयरोगले दिएको पीडा देखेपछि पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएकी हुँ।” यो भनाइ हो, नेपालगञ्ज उपमहानगरपालिका–१० पासाङल्हामु मार्गकी कुसु दुगडको। क्षयरोग लागेकी जेठानीलाई पीडामा छटपटिएको देखेर क्यान्सर लाग्यो भने त आफूलाई योभन्दा बढी पीडा दिन्छ भन्ने डरले आफूले पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएको उनको भनाइ छ। कुसुमले खोपको सबै मात्रा पूरा गरेकी छन्। कुसुमले मात्र नभई उनका दुई छोरीले पनि पाठेघरविरुद्धको क्यान्सरको खोप लगाइसकेकी छन्। छोरीले नै आफूलाई खोप लगाउन सुझाव दिएको बताउने कुसुमले अरु महिलालाई पनि पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउन सुझाव दिइन्। “क्यान्सर लागेर धेरै पैसा खर्च गर्नुभन्दा क्यान्सरविरुद्धको खोप लगाएर जीवनलाई स्वस्थ राख्नु नै उत्तम हुन्छ”, उनी भन्छन्, “खोप महँगो भए पनि हाम्रो आर्थिक अवस्थाले भ्याउँथ्यो त्यसैले हामी तीन आमा छोरीले नै यो खोप लगाएका छौँ।” कुसुम जस्तै पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएकी प्रस्तुती शर्मा आफैँमा एक डाक्टर पनि छिन्। उनले पनि आफ्नो स्वास्थ्यको ख्याल गरेर पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएकी हुन्। उनका अनुसार सबै डाक्टरले यो खोप लगाउँछन् भन्ने हुँदैन। कतिपयलाई यो खोपका बारेमा जानकारी छैन भने जानकारी भएकालाई पनि खोपको शुल्क महंगो भएको हुनाले पनि उक्त खोप लगाउनबाट बञ्चित रहेको डा शर्माको भनाइ छ। डा. शर्माले नेपालगञ्ज मेडिकल केलेज नेपालगञ्जमा कार्यरत हुँदा आफूसँगै आमा र तीन जना आफन्तलाई पनि पाठेघरविरुद्धको क्यान्सरको खोप लगाउन सल्लाह दिएकी छन्। सरकारले सन् २०१५ देखि २०१६ मा पाठेघरको क्यान्सरविरुद्ध लगाइने खोपको कास्की र चितवनमा आरम्भ गरेको थियो। अहिले उक्त खोपलाई निजी अस्पतालले बिरामीको मागबमोजिम लगाउने गरेका छन्। त्यसरी खोप लगाउनेमध्ये बाँकेको नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पताल पनि एक हो। अस्पतालका बालरोग विशेषज्ञ डा रोमा बोराका अनुसार अहिलेसम्म सात जनाले मात्र उक्त खोप लगाएका छन्। खोप लगाउनको लागि प्रतिव्यक्ति रु १० हजार खर्च हुने भएकाले पनि यो खोप लगाउन जो कोहीको क्षमताले नसक्ने डा बोराले बताइन्। उनले भनिन्, “खोप महँगो छ। लगाउने इच्छा भए पनि खोपको मूूल्यकै कारण लगाउन सकिरहेका छैनन्”, उनले भनिन्, “समयमै लगाउनसके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ भन्ने जनचेतनाको पनि कमीकै कारण हुनसक्छ खोपप्रति यहाँका जनताको चासो खासै देखिएको पाइँदैन।” खोपका बारेमा थाहा पाएर लगाउने इच्छा भएकाहरुलाई बाहिरबाट खोपको व्यवस्था गरी लगाउने गरेको डा बोराको भनाइ छ। उनका अनुसार १० वर्षदेखि ४९ वर्षसम्मका महिला तथा बालबालिकाले यो खोप लगाएका छन्। १५ वर्षभन्दा तलका उमेर समूहले छ महिनाको अन्तरालमा दुई पटक खोप लगाउनुपर्छ भने १५ वर्षभन्दा माथिका महिलाले ६ महिनाकै अन्तरालमा तीनपटक खोप लगाउनुपर्छ। एकपटक खोप लगाएपछि अर्को पटकको खोपलाई व्यवस्थापन गर्न चुनौती नै हुने गरेको डा बोराले बताइन्। परीक्षणको समयमा पाठेघरको क्यान्सर कुन अवस्थामा छ भन्ने जानकारी लिन सकिन्छ। समयमा नै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेमा रोग निको हुन्छ। सानै उमेरमा विवाह गरेमा, असुरक्षित र सानै उमेरमा यौन सम्बन्ध राखेमा, धेरै बच्चा जन्माएमा, धेरै गर्भधारण गरेमा यो रोग लाग्ने बढी खतरा रहने भेरी अस्पतालका स्त्री क्यान्सर रोग विशेषज्ञ कृतिपाल सुवेदीले बताइन्। धुमपान गरेको महिलालाई पनि पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुने उनको भनाइ छ। यस्तै पाँच वर्षभन्दा बढी हर्मोनयुक्त परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेका महिलामा पनि क्यान्सरको जोखिम रहने डा सुवेदीले जानकारी दिइन्। उनका अनुसार भेरी अस्पतालमा दैनिक दुईदेखि तीन जनासम्म पाठेघरका क्यान्सरका बिरामी परीक्षणका लागि आउने गरेका छन्। त्यसैगरी बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालमा पनि पाठेघरको मुखको क्यान्सरका विरामीको सङ्ख्या पछिल्लो समय बढ्दै गएको स्त्रीरोग विभागका प्रमुख एवं क्यान्सर सर्जन डा इन्द्रनील घोषले बताए। “पहिलो, दोस्रो र तेस्रो चरणका सबै प्रकारका क्यान्सरका बिरामी पछिल्लो समय अस्पतालमा परीक्षण र उपचारका लागि आइरहेका छन्”, उनले भने, “धेरैजसो बिरामी त तेस्रो चरणमा आउने गर्छन् । त्यस्त बिरामीका लागि शल्यक्रिया नै अन्तिम विकल्प हुन्छ ।” डा घोष पाठेघरको क्यान्सरविरुद्धको खोपको व्यवस्था नेपाल सरकारले नै गरेको भए महिलाको पाठेघरको क्यान्सरपीडित हुनबाट बच्न सकिने धेरै सम्भावना रहने बताए। खोप महँगो भएकै कारण निःशुल्क गर्न नसके पनि थोरै शुल्कमा यो खोपको व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार खजुरा अस्पतालमा प्रत्येक महिना पाँचदेखि छ जनासम्म पाठेघरको क्यान्सरका लागि उपचारका लागि जाने गर्दछन्। अस्पतालको तथ्यांकअनुसार २४ देखि ६५ वर्षसम्मका क्यान्सर पीडितहरु रहेका छन्। उनले भने, “ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सक्षमणले हुने क्यान्सर हो। यो सङ्क्रमणले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्ने गर्छ।” सङ्क्रमण भएको आठदेखि १० वर्षपछि क्यान्सरमा परिणत हुन्छ। महिलालाई पाठेघरको मुखमा क्यान्सर भए/नभएकाबारे ‘प्याप स्मेयर टेस्ट’ अर्थात् गर्भाशय श्राव परीक्षण गरेर मात्र पत्ता लगाउन सकिन्छ। यो विधि पाठेघरको कोषिकामा सामान्य अवस्थामा रहे नहरेको पत्ता लगाउने एउटा सरल र छरितो विधि भएको डा घोषको भनाइ छ। पहिलो चरणमा नै औषधि उपचार गरे निको हुने पाठेघरको क्यान्सरलाई तेस्रो चरणमा पुर्‍याएर शल्यक्रिया नै गर्नुपर्ने कारण चेतनाको कमी भएको डा घोषको भनाइ छ। पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सङ्क्रमणका कारण हुन्छ। महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा धेरै पाठेघरको मुखको क्यान्सर भएको विश्वस्वास्थ्य संगठनको तथ्यांक छ। संगठनको तथ्यांकअनुसार यो रोगबाट बर्सेनि दुई लाख ७० हजारभन्दा बढी महिलाको अकालमै मृत्यु हुने गरेको छ। नेपालमा वार्षिक १० हजारको हाराहारीमा पाठेघर मुखको क्यान्सरका नयाँ बिरामी थपिने गरेको देखिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले जनाएको छ। यसमा ८५ प्रतिशत कम विकसित अर्थात् नेपाल जस्तो देशहरु पर्दछन्। पाठेघरको मुखमा एचपिभी भाइरस प्रवेश गरेको छ भने यौनसम्पर्क सुरु भएपछि असर देखिन सुरु हुन्छ।
डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित चितवन। चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो। चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए। जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए। भरतपुरमा एक हजार छ सय ४६ जना, रत्ननगर नगरपालिकाका दुई पाँच ६५ र खैरहनी नगरपालिकामा एक सय ८४ जना सङ्क्रमित भएका थिए। यस्तै राप्ती नगरपालिकामा एक सय जना, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकमना गाउँपालिकामा १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए। डेङ्गु एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो। यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा माँसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखा पर्ने चिकित्सक बताउँछन्। डेङ्गुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो। लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँजस्तैः गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले तोक्ने ठाउँमा निस्कँदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्ने उनको भनाइ छ। रासस
ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ पर्सा । वीरगन्ज महानगरपालिकाबाट वितरण हुने छात्रवृति दिलाइ दिने भन्दै ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । मोदी इन्स्टिच्यृट एन्ड ट्रे्निङ सेन्टरका सञ्चालक राहुलकुमार मोदीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको वीरगन्ज महानगरपालिकाले जनाएको छ । नगर प्रमुख राजेशमान सिंहले वीरगन्ज महानगरपालिका –६ स्थित मोदी इन्स्टिच्युट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक मोदीले विभिन्न विद्यालयमा अध्यनरत्त विद्यार्थीलाई  महानगरपालिकाबाट वितरण हुने छात्रवृत्ति उपलब्ध गराइदिने भन्दै रकम असुल गरेको प्रमाण फेला परेको महानगरको भनाइ छ । पैसा माग गरेको अडियो प्रमाण फेला परेपछि कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रमुख सिंहले बताए । नगर प्रमुख सिंहले अनुसन्धानको क्रममा र सोधपुक्ष गर्दा सञ्चालक राहुल भारतीय नागरिक रहेको खुलेको र सो ट्रेनिङ सेन्टर रौतहट गौरकी पूजा पटेलको नाममा दर्ता रहेको खुलेपछि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको टालीले सिलबन्दी गरेको छ ।
हत्या आरोपमा १४ वर्ष कैद सजाय तोकिएका शेरचन पक्राउ काठमाडौं । व्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेस गरेको छ । विसं २०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका मुस्ताङको थसाङ घर भई काठमाडौंको जोरपाटी बस्ने सम्राट शेरचनलाई काठमाडौंको गोकर्णेश्वरस्थित अत्तरखेलबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कर्तव्य ज्यान मुद्दामा २०६७ सालमा मुस्ताङ जिल्ला अदालतबाट एक वर्ष चार महिना कैद ठहर भएको थियो । त्यसपछि पुनरावेदन अदालत बागलुङमा मुद्दा गएको थियो । प्रतिवादी सम्राट शेरचनको हकमा सुरू जिल्ला अदालतको फैसला उल्टी भई उनलाई सर्वस्वसहित जन्मकैद हुने ठहर भएको थियो । फैसलाउपर पुनः पुनरावेदन परेकामा सर्वोच्च अदालतले २०७२ सालमा १४ वर्ष कैद सजाय हुने ठहर गरेको थियो । त्यसपछि फरार रहेका शेरचनलाई अत्तरखेलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको उनले बताए ।
भूजीखोलामाथि बुर्तिबाङ बसपार्क ! बागलुङ। साँघुरो बजार, नमिलेको भूगोल । छेउमै उर्लिएको भूजीखोला । त्यही भूजीखोलामाथि बन्दै छ बुर्तिबाङ बसपार्क । बन्दै गरेको बसपार्क देख्ने कसैले पनि भन्दैनन्, कि यो ठाउँ सुरक्षित। तर नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले यहाँ बसपार्क निर्माण जारी राखेको छ। ढोरपाटन नगरपालिका–२ खप्तरीबाङ बुर्तिबाङ बजार र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको केन्द्रमा पर्ने हुँदा आयोजना कार्यालयले बसपार्क बनाउन यो ठाउँ रोजेको हो। लामो समयदेखि सास्ती खेप्दै आएका यातायात व्यवसायी, यात्रु र बुर्तिबाङ बजारवासीका लागि खप्तरीबाङमा बसपार्क बन्नु सुखद विषय त हो। तर, जोखिमयुक्त ठाउँमा बसपार्क निर्माण हुँदा भोली ठूला दुर्घटना निम्तिने खतरा पनि उत्तिकै छ। डेढदशक अगाडि सडकले बुर्तिबाङ बजार जोडिएसँगै पश्चिम बागलुङको मुहार फेरियो । तर अहिलेसम्म बसपार्क अभावमा अहिलेसम्म सास्तीनै छ । मध्यपहाडी लोकमार्ग नजिकै रहेको बुर्तिबाङ बजार १० नमुना सहर आयोजना अन्तरगत पर्छ। सरकारले नमुना सहर निर्माण गर्न थालेको वर्षौँ वितिसक्दा गत वर्षदेखि बल्ल बसपार्क निर्माणका काम थालनी भएको छ । बढ्दो सहरीकरण र साँघुरो बसपार्कका कारण यातायातका साधान सडकमै पार्किङ गर्नु पर्नेस्थिति छ । जिल्लाकै दोस्रो ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ बजार निसी, भूजी र तमानको सङ्गमस्थल हो । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा अहिले साँघुरो बसपार्क छ । जहाँ १०÷१५ वटाभन्दा बढी गाडी रोक्न मिल्दैन । चालकहरुले जथाभावी रुपमा गाडी रोक्दा बजारनै अस्तव्यस्त बन्ने गरेको छ । त्यसमाथि स्थानीय व्यवसायीहरुले सडक पेटीमै सामानहरु राख्दा पदैल यात्रुलाई झनै समस्या भएको छ । नयाँ सहर आयोजना कार्यालयले ढोरपाटन नगरपालिका–१ खप्तरीबाङ जग्गा खरिद गरि बसपार्क निर्माण गरेपछि सहज हुने अपेक्षा गरेको भए पनि यहाँ पार्किङ गर्नका लागि उचित नहुने स्थानीय चन्द्रलाल अर्यालले बताए। नदी किनारमा बसपार्क बनाउनु उपयुक्त नभएको भन्दै जग्गा खरिदनै खलत ठाउँमा भएको अर्याल बताउनुहुन्छ । जग्गा खरिद गर्ने समयमा स्थानीय तथा सर्वदलीय सर्वपक्षीय छलफल गर्नु पर्ने भए पनि सहरी विकास आयोजना र ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले आफू खुसी जग्गा खरिद गरेको बताए। “अहिले जुन बसपार्क निर्माण भइरहेको ठाउँ छ, त्यो अत्यन्तै जोखिमयुक्त ठाउँमा छ, खोलाको छेउमा अहिले धमाधम संरचना निर्माण भएको त्यो संरचना कति बेला खोलामा बढी आएर बगाउँछ, थाहा छैन, बसपार्क बनेपछि यहाँ गाडी पार्किङ हुनेछन्,” अर्यालले भने – “बर्खाको समयमा त यहाँ पार्किङ कसरी गर्न सकिला र रु, अहिले पनि त्यहाँ पुगेर हेर्ने हो भने भूजीखोला उर्लिएर माथिमाथि आएको छ, कुनै पनि बेला बसपार्कमा पसेर ठूलो क्षति नपु¥याउला भन्न सकिन्न, यसमा बेलामाथि नै ध्यान दिनुपर्ने देखिन्छ, यदि त्यसो गरिएन भने भविष्यमा गम्भीर दुर्घटना नहोला भन्न सकिन्न ।” अहिले बन्दै गरेको बसपार्क उपयुक्त स्थानमा नभएको हुँदा सरोकारवाला निकायले सुरक्षित स्थानमा निर्माण गर्नुपर्ने यातायात व्यवसायी युवराज छन्त्यालले बताए। उनले बजारभन्दा टाढा र खोलाको नजिक हुँदा बर्खामा गाडीको सुरक्षा नहुनुको साथै यात्रु र गाडी चालकलाई बजार पुग्न समस्या हुने बताउँछन्। उनले भने – “हिउँदको समयमा त ठिक हुन्छ, बर्खामा त यहाँ गाडी पार्किङ गर्न कसैले आँट गर्दैन होला, खोला उर्लिएरै माथि पुग्दोरहेछ, असुरक्षित ठाउँमा गाडी किन पार्किङ गर्ने, अर्को कुरा यो बसपार्क अपायक पर्ने ठाउँमा छ, गाउँ–गाउँ र काठामाडौँ पोखराबाट यात्रुलाई बसपार्कमा ल्याउनु प¥यो, बजार टाढा छ, उनीहरुलाई पुग्न गाह्रो हुन्छ, अझ बस्ने र खाजा खाने ठाउँ पनि छैन, सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।” विसं २०६८ सालदेखि सुरु भएको नयाँ सहर आयोजनाले जग्गा व्यवस्थापन गर्न ढिलाई गर्दा बसपार्क निर्माण हुन सकेको थिएन । विसं २०८० असार १५ गतेसम्म बसपार्क निर्माणको सम्पन्न गर्ने गत कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भएको थियो । अहिलेसम्म जम्मा ५० प्रतिशत काम सकिएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिए। बसपार्क निर्माणको जिम्मा गोरखनाथ कन्ट्रक्सन एण्ड मरचेन्टाईजर प्रालिले पाएको छ । विसं २०७५ मा छ रोपनी जग्गा खरिद गरी विभिन्न प्रक्रिया पूरा गरेर बसपार्क बनाउन थालिएको उनको भनाइ छ । अहिले टर्मिनल भवन निर्माण भइसकेको र नदीमाथि तटबन्धन गरी जग्गा संरक्षण गरिरहेको अधिकारीले बताए। बसपार्कमा ३० वटा जीप, २० वटा बस र स–साना दर्जनौँ सवारी साधान अट्ने उनको भनाइ छ । टर्मिनल भवन तीन तलाको बनेको उनले बताए। बसपार्क दुई करोड २६ लाख ४० हजार चार सय ३१ रुपैयाँमा बन्न थालेको हो । अब गाडी पार्किङका लागि ढलान गर्न, गेट निर्माण गर्न बाँकी रहेको अधिकारी बताउँछन्। बसपार्क निर्माणका लागि अघिल्लो वर्ष दुई करोड रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए। “ठाउँमा जग्गा खोज्यौँ, बुर्तिबाङ बजारनै खोलासँग जोडिएको छ, मध्यपहाडी र बजारसँग जोडिएको हुँदा यहाँ बनाउन थालिएको हो, बसपार्क मध्यहाडी लोकमार्गभन्दा टाढा पनि किन्न मिल्दैन, बजारभन्दा टाढा पनि मिल्दैन, त्यसले गर्दा यहाँ बनाउन थालेका हौँ”, अधिकारीले भने, “तटबन्धन गरेका छौँ जोखिम हुँदैन, अबको एक/डेढवर्षमा सञ्चालनमा आउने छ ।”
सदरमुकाममा चामल, गाउँका डिपो रित्तै जाजरकोट। कर्णाली प्रदेशभित्रका जिल्ला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल भए पनि गाउँका डिपो, बिक्री केन्द्र रित्तै भएका छन्। गाउँमा रहेका डिपो तथा बिक्री केन्द्रमा कर्मचारी नभएका कारण ठेकेदारले आफैँ ढुवानी गरेर चामल बिक्री गरिरहेका छन्। सदरमुकाममा डिपोमा मात्र कर्मचारी रहेका अन्य ठाउँमा कर्मचारी नहुँदा ठेकेदारले आफैँ चामल बिक्री गर्ने गरेको कर्णाली प्रदेश खाद्य व्यवस्था तथा व्यापार केन्द्रको लेखा शाखाका कर्मचारी पर्वत सापकोटाले बताए। कर्मचारी अभावका कारण ढुवानीकर्ताले नै चामल बिक्री गरिरहेका उनको भनाइ छ। कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला, कालीकोट, मुगु र जुम्ला जिल्लाले खाद्यान्न अभाव झेल्ने गरेका छन्। यी जिल्लामा उत्पादन हुने खाद्यान्नले वर्षभरि खान नपुग्ने भएकाले बजार तथा कम्पनीको चामलको भरमा यहाँका सर्वसाधारणहरु रहेका छन्। सरकारी तथ्याङ्कअनुसार कालीकोटमा वार्षिक २९ हजार सात सय ३९ मेट्रिकटन खाद्यान्न आवश्यक पर्दछ। तर, यहाँ वार्षिक १७ हजार नौ सय ६४ मेट्रिकटन खाद्यान्न कमी रहेको छ। यस्तै जाजरकोटमा दुई हजार ९७, डोल्पामा दुई हजार सात सय ८७, जुम्लामा सात हजार ३०, हुम्लामा आठ हजार दुई सय ७३ र मुगुमा पाँच हजार चार सय ४४ मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ। कर्णालीमा वार्षिक २३ हजार चार सय २० मेट्रिकटन खाद्यान्न अपुग रहँदै आएको मन्त्रालयले जनाएको छ। कर्णालीका रुकुमपश्चिम, सल्यान, सुर्खेत र दैलेखमात्र खाद्यान्नमा आत्मनिर्भर छन्। रुकुम पश्चिमले आवश्यकता परिपूर्ति गरेर वार्षिक चार हजार एक सय मेट्रिकटन खाद्यान्न सञ्चित गर्दै आएको छ। उता सबैभन्दा बढी खाद्यान्न सञ्चित सल्यानले गर्दछ, जहाँ वार्षिक १३ हजार नौ सय ९६ मेट्रिकटन सञ्चित हुने गर्दछ । अहिले सुर्खेतमा करिब १२ हजार क्विन्टलभन्दा बढी चामल गोदाममा मौज्दात छ। सुर्खेतमा ७७ हजार छ सय ६० मेट्रिकटन खाद्यान्न आवश्यक हुन्छ भने त्यसमध्ये ७८ हजार सात सय ३४ मेट्रिकटन उत्पादन गरेर एक हजार ७४ मेट्रिकटन भण्डार गर्दै आएको छ। बाँकी जिल्लामा भने स्थानीय उत्पादनले वर्षभरि खान पुग्दैन । बाह्र हजार क्विन्टलभन्दा बढी चामल गोदाममा मौज्दात रहेको र साउन २० गतेसम्म नयाँ बोलपत्रको ठेक्का खोल्ने काम हुने सापकोटाले बताए। असार २३ गतेसम्म हुम्लामा चार सय, जुम्लामा आठ सय ८०, मुगुमा एक हजार तीन सय, जाजरकोटमा एक हजार दुई सय, कालीकोटमा चार सय, दैलेखमा पाँच सय, डोल्पामा चार हजार र सुर्खेत जिल्लाका लागि तीन हजार पाँच सय क्विन्टल चामल सदरमुकामस्थित गोदाममा मौज्दात रहेको थियो। कर्णालीमा १६ डिपो छन् भने बिक्री केन्द्रको सङ्ख्या २६ रहेको छ। जाजरकोटमा पाँच डिपो र सातवटा बिक्री केन्द्र छन्। दैलेखका तीन ठाउँमा बिक्री केन्द्र र एक डिपो छ । कालीकोटमा चार डिपो र एक बिक्री केन्द्र रहेको सापकोटाले बताए। जुम्लामा तीनवटा डिपो, मुगुमा चार डिपो र दुई बिक्री केन्द्र छन्। डोल्पामा चार डिपो र चारवटा बिक्री केन्द्र छन्। हुम्लामा तीन डिपो र ६ वटा बिक्री केन्द्र स्थापना भएका छन्। रुकुम पश्चिममा दुई डिपो र एक बिक्री केन्द्र रहेको प्रदेश कार्यालयले जानकारी दिएको छ। कर्णालीका ६ जिल्लामा अनुदानको चामल ढुवानी गर्दा आठ करोड १४ लाख ५२ हजार एक सय ३५ रुपैयाँ लाग्ने गरेको छ। कर्णालीमा खरिदभन्दा ढुवानीमा खर्च बढी हुने गरेको छ। अघिल्लो वर्ष जस्तो यो पटक खाद्यान्न अभाव झेल्नु नपर्ने गरी व्यवस्थापन गरिएको बताइएको छ। कर्णालीका छ जिल्लामा अनुदानको चामल ढुवानी गर्दा आठ करोड १४ लाख ५२ हजार एक सय ३५ रुपैयाँ लाग्ने गरेको छ। हुम्ला र मुगुमा हवाई मार्गबाट समेत ढुवानी हुँदै आएको छ। कर्णालीको हुम्लामा अझैसम्म सडक सञ्जाल नजोडिएका कारण त्यहाँ खाद्यान्न ढुवानी गर्न समस्या हुने गरेको छ।
पूर्वीनाका काँकडभिट्टाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात झापा। पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ। मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ। आव २०७८/७९ मा सोही अवधिमा रु चार अर्ब ७६ लाख ४३ हजार ८९ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४३ केजी अलैँची भारत निकासी भएको थियो। गत आवको तुलनामा आव २०७९/८० मा अलैँचीको निर्यात ४२ प्रतिशतले वृद्धि भएको हो। अर्थात् तुलनात्मक रुपमा रु तीन अर्ब ४७ करोड ७१ लाख २४ हजार मूल्य बराबरको अलैँची निर्यात वृद्धि भएको छ। यसैगरी, गत आवको तुलनामा आव २०७९/८० मा तयारी चियाको निर्यात १६ प्रतिशतले वृद्धि भएको छ। आव २०७९/८० मा रु तीन अर्ब ४२ करोड ६९ लाख ५२ हजार मूल्य बराबरको एक करोड ६० लाख ७८ हजार ६३ केजी चिया निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए। उनले अघिल्लो वर्षको तुलनामा रु ५५ करोड २३ लाख ४२ हजार मूल्य बराबरको चिया निर्यात वृद्धि भएको बताए। आव २०७८/७९ मा रु दुई अर्ब ८७ करोड ४६ लाख १० हजार मूल्य बराबरको एक करोड १७ लाख १३ हजार छ सय ५९ केजी चिया निर्यात भएको थियो। अदुवा र अम्रिसोको निर्यात समेत बढेको छ। आव २०७९/८० मा रु ६३ करोड ९२ लाख २९ हजार मूल्य बराबरको एक करोड ५५ लाख ४२ हजार नौ सय ३० केजी अदुवा निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए। उनका अनुसार अघिल्लो वर्षको तुलनामा रु ३० करोड २३ लाख छ हजार मूल्य बराबरको अदुवा निर्यात वृद्धि भएको छ। आव २०७८/७९ मा रु ३३ करोड ६९ लाख २३ हजार मूल्य बराबरको एक करोड चार लाख ५८ हजार ७० केजी अदुवा निर्यात भएको थियो। अदुवाको निर्यात ४७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, आव २०७९/८० मा रु ८६ करोड ४३ लाख मूल्य बराबरको एक करोड १९ लाख ७३ हजार ९८० केजी अम्रिसो भारततर्फ निकासी भएको छ। प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार अघिल्लो वर्षको तुलनामा रु २३ करोड ५३ लाख १९ हजार मूल्य बराबरको अम्रिसो निर्यात वृद्धि भएको छ। आव २०७८/७९ मा रु ६२ करोड ८९ लाख ८१ हजार मूल्य बराबरको एक करोड २४ लाख ४३ हजार २४५ केजी अदुवा निर्यात भएको थियो। अम्रिसोको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ। प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक पूर्वी नाकाबाट निकासी हुने वस्तुमा प्लाइउड र छुर्पीको योगदान उच्च रहेको छ। गत आवको तुलनामा आर्थिक वर्ष २०७९/८० मा यी दुई वस्तुको निर्यात अत्यन्त उत्साहजनक रहेको छ। मेची भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा रु एक अर्ब ९९ करोड १० लाख ११ हजार मूल्य बराबरको प्लाइउड निकासी भएको छ। जवकी आव २०७८/७९ मा रु १० करोड ८० लाख ५७ हजार मूल्य बराबरको प्लाइउड निकासी भएको थियो। यसैगरी, आव२०७९/८० मा रु एक अर्ब १० करोड ८१ लाख ११ हजार मूल्य बराबरको छुर्पी निकासी भएको छ। जवकि आव २०७८/७९ मा रु आठ करोड ४३ लाख ३५ हजार मूल्य बराबरको छुर्पी निकासी भएको थियो। कोशी प्रदेशका झापा, इलाम, पाँचथर लगायतका विभिन्न जिल्लामा चियाको उत्पादन हुने गरेको छ भने पहाडी भेगका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा अलैँची, अदुवा, अम्रिसो, छुर्पी जस्ता कृषिजन्य बस्तुको उत्पादन हुने गरेको छ। पहाडी जिल्लामा कच्चापदार्थ उत्पादन भए तापनि अलैँची, अदुवा, अम्रिसो र प्लाइउडको प्रशोधन, भण्डारण र ब्राण्डिङ भने झापामा हुँदै आएको छ।
कालीपुल बसपार्कमा निर्मित टर्मिनल भवन सञ्चालन बेनी। म्याग्दी सदरमुकाम बेनी बजारस्थित कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन सञ्चालनमा आएको छ। बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएको टर्मिनल भवन आज बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरेका हुन्। बागलुङस्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको सो भवन नगरपालिकालाई हस्तान्तरण गरेपछि उद्घाटन गरिएको हो। टर्मिनल भवन बनाउन विसं २०७८ पुसमा रु दुई करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता गरिएको थियो। नवनिर्मित भवनमा म्याग्दीबाट विभिन्न ठाउँमा छुट्ने यातायातका टिकट काउण्टर सञ्चालन गरिएको छ। विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो। बसपार्कमा निर्माण गरिएको एकतले भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतिक्षालय छन्। बसपार्कको भवन परिसरमा आरसिसी ढलान गरिएको छ। अपांगतामैत्री भवनमा सुरक्षा निगरानीका लागि सिसि टिभी क्यामेरा जडान गरिएको छ। उद्घाटन समारोहमा प्रमुख केसीले एकैठाउँबाट यात्रुहरुले टिकट काट्न पाउँदा सुविधा हुने बताए। उनले कालीपुल बसपार्क क्षेत्र म्याग्दी र मुस्ताङको प्रवेशद्धार हुनाका साथै यो स्थल स्वच्छ र सफा भएकाले आउने पर्यटकलाई सकरात्मक सन्देश मिल्ने चर्चा गरे। नवनिर्मित भवनमा टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्न फर्निचरको व्यवस्था गरिएको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडानं–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिए। उनका अनुसार बसपार्कलाई सफा र व्यवस्थित गराउन सात कर्मचारी नियुक्त गरिएको र व्यवसायीहरुबाट न्यूनतम सरसफलाई र पार्किङ शुल्क लिने गरिएको छ। बसपार्कबाट हुने आम्दानीलाई स्थानीय बाल मन्दिर माध्यमिक विद्यालय, नगरपालिका र बसपार्क व्यवस्थापनमा परिचालन खर्च गरिने जनाइएकोे छ। विसं २०७४ मा नगरपालिकाले तयार पारेको बसपार्कको गुरुयोजनामा रु २१ करोड लागत अनुमान गरिएको थियो। गुरुयोजना अनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ। – रासस
नेपालगञ्जबाट जुम्लामा तीन सय २० क्विन्टल नुन ढुवानी जानकी। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जमा गत आर्थिक वर्षको ०७९/८० असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ। प्रदेश कार्यालय प्रमुख महेश चौधरीले कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म छ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात छ। प्रदेश कार्यालय नेपालगञ्जमा भारतको गुजरातस्थित खाडाघोडाबाट एक र्‍याकमा २६ हजार क्विन्टलका दरले वर्षमा नौ र्‍याक नुन आयात हुने गर्दछ। कार्यालय प्रमुख चौधरीले दुर्गम क्षेत्रमा सरकारको ढुवानी अनुदानअन्तर्गत प्रत्येक एक वर्ष ३६ देखि ३८ हजार क्विन्टल नुन ढुवानी गरिने जानकारी दिए। जुम्लामा नुनको कमी हुन नदिन सोमबार मात्रै तीन सय २० क्विन्टल नुन ढुवानी गरिएको प्रदेश कार्यालय प्रमुख चौधरीले जानकारी दिए। उनले प्रत्येक नयाँ आर्थिक वर्षका साउनदेखि नयाँ ‘टेन्डर’का लागि आह्वान गरिने भएकाले उक्त नयाँ टेन्डरका लागि सम्पूर्ण कागजात काठमाडौँ पठाई सकिएको बताए।
चितवनमा ३९ जनाले लिए अंगीकृत नागरिकता चितवन। जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अंगीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अंगीकृत ३५ जना र अंगीकृत चार जनाले नागरिकता लिएका हुन्। कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय ३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन्। यस्तै १३ हजार छ सय पाँच जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उनले जानकारी दिए। सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ । एक हजार सात सय पाँच जनाले नाबालक परिचयपत्र बनाएको न्यौपानेले जानकारी दिए कार्यालयको तथ्यांक अनुसार राष्ट्रिय परिचयपत्रका लागि ३६ हजार चार सय ४७ जनाले विवरण बुझाएका छन्। गत आवमा जिल्ला प्रशासन कार्यालयबाट २६ हजार पाँच सय ६५ जनाले राहदानी सिफारिस लिएका छन्। कार्यालयले रु १३ करोड ३३ लाख २२ हजार एक सय नौ राजस्व संकलन गरेको उनले बताए। सबैभन्दा धेरै राहदानीबाट रु १३ करोड सात लाख ९० हजार ससंकलन भएको छ । यस्तै प्रशासनिक दण्ड जरिवानाबाट रु छ लाख ९२ हजार, प्रशासनिक सेवा शुल्कबापत रु १३ लाख ८४ हजार, हात हतियार इजाजत दस्तुरबापत रु चार लाख ४२ हजार तथा बेरुजुबापत रु नौ हजार संकलन भएको न्यौपानेले जानकारी दिए।
हतुवागढीमा पदमार्ग निर्माण गरिँदै भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ। प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो। रु एक करोड ३४ लाख लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ। यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ। आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रुपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत महेश निरौलाले जानकारी दिए। यो आर्थिक वर्षमा यो पदमार्गको थप विकास तथा विस्तारको लागि गाउँपालिका र केन्द्र सरकारको साझेदारीमा रु एक करोड ५० लाख बजेट विनियोजन भएको उनको भनाइ छ। “गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पदमार्ग निर्माण गरिरहेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने, “हालसम्म करिब छ किलोमिटर निर्माण अन्तिम चरणमा रहेको छ। यसको थप विस्तार तथा विकासको लागि बजेट विनियोजन गरेका छौँ। यसलाई गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ।” पदमार्गलाई गाउँपालिकाले गौरवको आयोजनामा राखेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। हतुवागढी भविष्यभक्ता पोखरीलाई आधार मानेर पदमार्ग निर्माण भइरहेको उनको भनाइ छ। दूधकोशी चुहारमा पक्की पुल बनेपछि धरान, इटहरी विराटनगरबाट ६५ किलोमिटर दूरीमा घोडेटार रहेकाले यहाँ आउने पर्यटकको आवगमन बढ्ने उनले जानकारी दिए। “यो पदमार्गलाई हामीले गाउँपालिकाको गौरवको आयोजनाभित्र राखेका छौँ”, उनले भने, “चुहारमा पक्की पुल बनेपछि यो क्षेत्र तराईका जिल्लाबाट ६५ किलोमिटर मात्र छ। भविष्यमा आन्तरिक तथा बाह्य पर्यटनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ।” हरियालीसँगै फाटिला पहाडका चौरले पर्यटकको मन लोभ्याउने गरेको छ। दक्षिणी क्षेत्रबाट तराई जिल्लाबाट नजिक पर्ने भएकाले दूधकोशी नदीमा पक्की निर्माणपछि यहाँ पर्यटकको सङ्ख्या अझ बढ्ने गाउँपालिकाको भनाइ छ। यहाँ आउने पयर्टकलाई प्राकृतिक दृश्यको अवलोकन गर्दै एकदेखि दुई दिन पूर्णरुपमा बिताउन सक्ने गरी पदमार्गलाई विस्तार गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए। किरात राजाहरुले शासन गरेको ऐतिहासिक क्षेत्रमा रहेको यो पदमार्गमार्फत यहाँको विकासमा थप टेवा पुग्ने उनको भनाइ छ। हतुवा क्षेत्रका सम्पूर्ण धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई समेट्ने गरी योजनाबद्ध विकासमा ध्यान दिएको अध्यक्ष राईको भनाइ छ। “हतुवागढी आफैँमा एक ऐतिहासिक क्षेत्र हो”, उनले भने, “यहाँको छुट्टै विशेषता छ। हामीले यो पदमार्गसँगै यहाँका ऐतिहासिक क्षेत्रको विकासमा ध्यान दिएका छौँ। यसलाई पर्यटकीय क्षेत्र बनाएर गाउँपालिकाको आर्थिक पक्षमा जोड्न लागि परेका छौँ।” यो पदमार्गलाई एक ऐतिहासिक पदमार्गको रुपमा विस्तार गर्ने लक्ष्य लिइएको छ। घोडेटार बजार क्षेत्रबाट नजिक रहेको मदमार्गमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको छ। आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाले होमस्टे सञ्चालन गर्ने अध्यक्ष राईको भनाइ छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको यो पदमार्ग प्रचारप्रसारको अभावमा ओझेलमा परेको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले बताए। पदमार्गसँगै हतुवा क्षेत्रको ऐतिहासिक महत्वलाई विश्वभर चिनाएर पदमार्गलाई गाउँपालिकाको आर्थिक स्रोतको रुपमा स्थापित गराउने लक्ष्य रहेको उनको भनाइ छ। हतुवागढीको सबैभन्दा अग्लो शङ्खामचुली डाँडा हुँदै पदमार्ग निर्माण भइरहेको यो पदमार्गबाट तराईका फाँटसँगै विभिन्न हिमशङ्खलासँगै सगरमाथा पनि देख्न सकिने स्थानीयको भनाइ छ। शङ्खामचुली डाँडाको उचाइ समुद्री सतहबाट एक हजार आठ सय ६५ मिटर उचाइमा रहेको छ। पदमार्ग निर्माणले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयवासी प्रकाश बस्नेतले बताए। पदमार्ग निर्माणपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको उनको भनाइ छ। – रासस
कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन टीकापुर। कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसारको राजस्व संकलन हुन सकेको छैन। दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ। कैलाली भन्सार कार्यालयलाई गत आव २०७९/८० मा भन्सार विभागले रु १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो। तर उक्त आवमा रु आठ अर्ब २९ करोड ६३ लाख मात्र राजस्व उठेको छ। यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए। बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याका कारण व्यापारिक वातावरण नहुँदा राजस्व कम संकलन भएको उनले बताए। टीकापुर नगरपालिकाको सीमामा रहेको सत्ती भन्सार कार्यालय खक्रौलाबाट पनि लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन। भन्सार विभागले सत्ती भन्सारलाई आव २०७९/८० मा रु १६ करोड ९४ लाख, ४२ हजार राजस्व उठाउने लक्ष्य तोकेकोे थियो। सो अवधिमा सत्ती भन्सारले रु सात करोड, ३८ लाख, ८९ हजार मात्र राजस्व संकलन गरेको छ। यो लक्ष्यको ४४ प्रतिशत मात्र भएको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले बताए। “आर्थिकमन्दी, भन्सार कार्यालयमा क्वारेन्टाइन र प्लान्ट कार्यालय नहुँदा राजस्व संकलन कम भएको हो”, उनी भन्छन्। कैलालीका भन्सार कार्यालयबाट आयातबाट मात्र राजस्व उठ्ने गर्छ। यी भन्सार भएर पेट्रोलियम पदार्थ, कपडा, मोटर पार्टस, हार्डवेयरका सामान, चामल, गहुँ, पापड, भुजिया, दालमोठ, बिस्कुटलगायत बस्तुको आयात अत्यधिक हुने गरेको छ। तर निर्यात भने न्यून मात्रामा हुने गरेको चौधरीले बताए। स्थानीयवासीले सत्तीमा क्वारेन्टाइन कार्यालय स्थापनाको माग गर्दैआएका छन्। सत्ती भन्सारमा रहेको क्वारेन्टाइन कार्यालय सशस्त्र द्वन्द्वका बेला विस्थापित भएको थियो। “विस्थापित भएका धेरै कार्यालय खुले। तर क्वारेन्टाइन पुनःस्थापना हुन सकेन”, स्थानीय संगम चौधरी भन्छन्, “क्वारेन्टाइन नभएका कारण पनि भन्सारले गति लिन सकेन, यहाँका व्यापारीलाई समेत दुःख भएको छ ।”- रासस
लम्पी स्किनको औषधि र खोप वडा वडामा बलेवा। बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रले औषधि र खोप पठाएको हो। दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा ऋषिराम सापकोटाले बताए। केन्द्रले बागलुङ नगरपालिकाका लागि पाँच सय पशुलाई पुग्ने खोप पठाएको छ। लम्पी स्किनबाट बागलुङमा एक सय ६६ गाईको मृत्यु भएको छ। लम्पी स्किन लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा एक सय चार डिग्रीभन्दा बढी ज्वरो आउने हुन्छ। फार्म नै सञ्चालन गरेका किसानका गाईगोरु यस रोगबाट बढी बिरामी भएको पाइएको छ। वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलोपटक लम्पी स्किनको सङ्क्रमण देखिएको थियो। त्यसपछि क्रमशः अन्यत्र फैलिएको सापकोटाले बताए। पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ। मृत्यु भएका पशुको कारण किसानले लाखौँ क्षति व्यहोरेका छन्। ढोरपाटन नगरपालिकाका एक हजार दुई सय गाईगोरु यसबाट बिरामी छन्। निसीखोलामा पाँच सय १३, गलकोट नगरपालिकामा एक सय ४२, बडिगाड गाउँपालिकामा एक सय ८१ र तमानखोलामा एक सय ८९ गाई बिरामी परेका छन्। बागलुङ नगरपालिकामा पनि दुई सय २१ गाईमा पनि लम्पी स्किन देखिएको छ। सङ्क्रमण बढेपछि स्थानीय तहले खोप किनेर लगाएका थिए। भेटेरिनरी अस्पतालले चार हजार पाँच सय डोज खोप पालिका तहमा पठाएको सापकोटाले बताए। सबैभन्दा धेरै सङ्क्रमण देखिएको ढोरपाटनमा प्राविधिकको अभावमा खोप लगाउन नसकिएको उनले बताए। किर्ना, डाँस, भुसुना र लामखुट्टेबाट पशुमा यो रोग सङ्क्रमण फैलिने तथा गोठ फोहोर हुँदा पनि सङ्क्रमण बढी हुने गरेको पाइएको छ।
महाकालीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा चार पांग्रे सवारी साधन सञ्चालनमा रोक कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।  पानीको बहाव बढेपछि मंगलबार बिहान ११ बजेदेखि चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार साँझ पानीको बहाव १ लाख ४३ हजार ६९८ क्युसेक पुगेको छ। बिहान पानीको बहाव १ लाख ५७ हजार क्युसेक पुगेपछि चारपांग्रे सवारी साधन आवागमन बन्द गरिएको थियो। महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ।
भारतमा १६ वर्षीया नेपाली किशोरी बेपत्ता धनगढी । कैलालीकी एक किशोरी भारतमा बेपत्ता भएकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिकाको व्यवस्थित नगरकी १६ वर्षीया मेनुका खनाल भारतको मुम्बईबाट बेपत्ता भएकी हुन् । उनी भारतको मुम्बईस्थित कान्दिवली पटेल नगरबाट असार ३० गते साँझदेखि बेपत्ता भएको परिवारले जनाएको छ । उनलाई फेला पार्नेले नजिकैको प्रहरी चौकी तथा मोबाइल नम्बर +९१९९३०३६०८७६ र +९१९१६७१७७८१३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
फोहोरका गाडीबाट शुल्क नलिन ककनी गाउँपालिकालाई सर्वोच्चको आदेश काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएका गाडीसँग प्रवेश शुल्क लिने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय कार्यान्वनय नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ। गाउँपालिकाले आफ्नो आर्थिक ऐनमार्फत साउन १ गतदेखि फोहोर बोक्ने ठूला गाडीसँग १५ सय र सानासँग एक हजार लिने निर्णय गरेको थियो। त्यसविरुद्ध फोहोर मैंला व्यवस्थापन संघले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले शुल्क लिने निर्णय कार्यान्वयन नगर्न भनेको हो। रिटको प्रारम्भिक सुनुवाइकै क्रममा सर्वोच्चले शुल्क लिने ककनी गाउँपालिको निर्णय संविधान र कानुन विपरीत रहेको ठहर गरेको छ। यदि त्यसरी शुलक लगाउने हो भने उपत्यकाको फोहोरमैंला व्यवस्थापनमा समस्या हुने सर्वोच्चको भनाइ छ।
तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश काठमाडौं । काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए । उनका अनुसार उक्त प्रकरणमा संलग्न भनिएका अर्का प्रतिवादी अमृत कार्कीलाई भने साधारण तारेखमा छोड्न आदेश भएको छ । प्रहरीले भेपमा सुन तस्करी र चोरी प्रकरणमा प्रतिवादी बनाइ अदालतमा छ जनालाई नै पेस गरेको थियो । गत पुस १० गते ‘फ्लाई दुबई’बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी भेपभित्र सुन तस्करी गरी ल्याएका र व्यापारिक प्रयोजनका लागि अवैध ढङ्गले ल्याएको भनी उक्त ‘भेप’ जफत गरिएको थियो । सोही सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेको भन्दै प्रहरीले छ जनालाई पक्राउ गरेको थियो ।
रानी जमरा कुलरीया सिँचाइ आयोजनामा डुबेर एक युवकको मृत्यु टीकापुर । कैलालीको रानी जमरा कुलरीया सिँचाइ आयोजनामा डुवेर एक युवकको ज्यान गएको छ। लम्कीचुहा–६ तिलखा निवासी धर्म विष्टका छोरा १७ वर्षीय योगेश विष्टको आज दिउँसो साढे २ बजे रानी जमरा कुलरीयामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। उनको शव नदीमा डुबेको तीन घण्टापछि फेला परेको प्रहरीको भनाइ छ।
बसेकै कुर्सीमा एक कर्मचारी मृत फेला बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख मृत अवस्थामा फेला परेका छन्। ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा मृत फेला परेको नगरपालिकाले जनाएको छ। उनी क्वाटर अगाडी कुर्सीमा बसी रहेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी चौकी कोल्टिले जनाएको छ। बुढीनन्दा नगरपालिका–७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिक तर्फका स्थायी कर्मचारी हुन्। लामो समयदेखि रक्तचापको समस्याबाट पीडित दानी समय–समयमा अस्वस्थ भइराख्ने गरेको आफन्तले बताएका छन्।
सेवा ठप्प पारेर सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित बारा। सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित हुँदा  सोमबारदेखि स्वास्थ्य सेवा ठप्प भएको छ। अस्पतालमा  कार्यरत करार र ज्यालादारीमा भर्ना गरिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुले तलबसहित विभिन्न माग राखेर नगर अस्पतालको मुख्य गेटमा  तालाबन्दी गरी धर्नामा बसेका छन्। सिम्रौनगढ नगर अस्पताल प्रमुख डा. जितेन्द्र यादव, श्यामसुन्दर कुशवाहा, रविन हुसेन, पवन पटेल, अयुब मिया अन्सारी, ललिता यादव, नितु गुप्ता, रन्जु कुशवाहा, सन्तोषकुमार कुशवाहा लगायतका २४ जना कर्मचारीहरुले सोमबार बिहान ११ः४५ बजे अस्पतालको मुल ढोकामा ताला लगाएका हुन्। तलब, भत्ता, अतिरिक्त काममा थप भत्ता, चाड पर्वभत्ता र सेवा अवधि थप लगायतका मागहरु यथाशीघ्र पूरा गर्नुपर्ने मागसहित कर्मचारीहरूले अस्पतालमा तालाबन्दी गरेका हुन्। आफ्ना माग पूरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनीहरुले चेतावनी दिएका छन्। यसअघि नगरपालिकाका वडा कार्यालयमा कार्यरत करार सेवाका कर्मचारीहरुले आइतबारबाट वडा कार्यालयमा तालाबन्दी गरेर सेवा ठप्प पार्दै आएका छन्।
आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना ढोरपाटन। बागलुङ नगरपालिकाले आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेको छ। केन्द्रमा एम्बुलेन्सका साथै दमकल, शववाहन, डोजर, ब्याक लोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीका साथै ‘फायर सिलिन्डर’लगायत सामग्री तयारी अवस्थामा राखेको छ। नगरभित्र सडक पुगेका सबै बस्तीमा पुगेर बिरामीको उद्धार गर्ने उद्देश्यले नयाँ आर्थिक वर्षको सुरुवातसँगै केन्द्र स्थापना गरी केन्द्रबाट निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ। आर्थिक वर्ष २०७९/८० मा विनियोजित बजेटबाट नगरपालिकाले वडा नं २ मा आवश्यक उपकरण राख्ने र कर्मचारी बस्ने गरी ट्रस भवन निर्माण गरेको छ। नगर क्षेत्रमा हुने विपद् व्यवस्थापन गर्न पालिकाले पूर्वतयारीका लागि संरचना निर्माण गर्नुका साथै आवश्यक सामग्री तयारी अवस्थामा राखेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए। एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै अब कोही पनि नागरिक एम्बुलेन्स नपाएर अस्पताल नपुग्दै बाटोमै ज्यान गुमाउनु नपर्ने उनले बताए। नगरभित्र हुने जुनसुकै विपद्मा परेकाको तत्काल उद्धार गर्ने गरी सम्यन्त्र तयार पारिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए। दमकलका लागि १२ हजार लिटरसम्मको पानी १२ मिनेटमै भर्ने व्यवस्था गरिएको भन्दै उनले आगलागी, बाढी पहिरो र अन्य विपद्बाट हुने क्षति कम गर्न नगरपालिकाले पूर्वतयारी गरेको बताए। उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी व्यवस्थापन गरिएको हो। “बजार क्षेत्र होस् वा ग्रामीण क्षेत्र जुनसुकै ठाउँमा विपद् आइलाग्न सक्छ, त्यसबाट बच्नका लागि पूर्वतयारी त गर्नैपर्‍यो। सचेत हुँदाहुँदै पनि कहिलेकाहीँ अप्रत्याशित विपद् आइलाग्ने हुँदा हामीले अहिले आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेका छौँ”, नगर प्रमुख श्रेष्ठले भने, “अहिले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छौँ, दमकल र शववाहन पनि केन्द्रमा छन्। शववाहन प्रयोग गरेबापत केही शुल्क उठाउने छौँ, तर अति विपन्न र गरिबलाई भने यो सेवा पनि निःशुल्क हुनेछ।” उपप्रमुख राजु खड्काले केन्द्रबाट चौबिसै घण्टा सेवा प्रदान हुने बताए। आवश्यक साधन र कर्मचारीलाई नवनिर्मित भवनमै व्यवस्थापन गरेको भन्दै उनले नगर क्षेत्रभित्र जहाँ समस्या आइपर्छ, त्यहाँबाट तत्काल टोल फ्री नं १८१०५०००१७० मा सम्पर्क गरेर सेवा लिन सकिने जानकारी दिए। आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनका लागि करिब ४० लाख बढी खर्च भएको खड्काले बताए। बाढी पहिराले सडक अवरुद्ध हुँदा डोजर, बिरामीका लागि एम्बुलेन्स र आगलागी हुँदा दमकल आवश्यक पर्ने हुँदा नगरपालिकाले कर्मचारीसहित आवश्यक सामग्री तयारी अवस्थामा राखेको उनको भनाइ थियो। यो सेवाको अहिले सुरुआती चरण रहेको भन्दै यसलाई थप व्यवस्थित बनाउनका लागि कार्यविधि बनाएर आगाडि बढ्ने योजना रहेको उपप्रमुख खड्काले बताए। – रासस
खुदोले चिनिएको गाउँ ढोडबेँसी र मालेपाटन पोखरा। पोखरा–३२ मालेपाटन निवासी ७५ वर्षीय लालकान्त अधिकारीले उखु खेती गर्न थालेको ५० वर्ष पुगिसक्यो, बाबुबाजेका पालादेखि अँगाल्दै आएको उखु खेती उमेरले नेटो काटिसक्दा पनि उनले छाड्न सकेका छैनन्। ‘चार छोरा, बुहारी र नातिनातिनी छन् तर उनीहरु उखु खेती गर्दैनन्, उखु खेती गर्न दुःख छ, दुईपटक त गोडमेल नै गर्नुपर्छ, रोगका किराबाट जोगाउनु पर्छ, उत्पादन हुन कम्तीमा १० महिना कुर्नुपर्छ, तर आम्दानी भने धानभन्दा दोब्बर हुन्छ, कृषक अधिकारीले भने, “अघिल्लो वर्ष चार रोपनीमा लगाएको उखु र खुदो बिक्रीबाट रु साढे दुई लाख आम्दानी गरेँ।” “पुरानो जमाना त्यतिबेला पैसा देख्न पाइँदैन्थ्यो, खेतमा सिँचाइ पनि थिएन, पुर्खाहरुले धानको विकल्पमा उखु खेती गर्दै आएका रहेछन्, वर्षभरि उखु खेती गरी उत्पादन गरेको खुदो बिक्रीबाट छोराछोरीको शिक्षादीक्षा, पालनपोषण र वर्षभरि लागेको ऋण तिर्ने गरेको इतिहास पोखरा–३२ को मालेपाटन र ढोडबेँसीले बोकेका छन्”, अधिकारीले भने, “युवा पुस्ता उखु खेतीभन्दा पनि विदेश जान रुचाउने गर्छन् ।” ढोडबेँसी र मालेपाटनमा उत्पादित खुदो पोखरा बजारमा प्रख्यात छ, पुस १५ र माघे सङ्क्रान्तिमा घरबाट खुदो खोसाखोस हुने गरेको उखु किसान यज्ञप्रसाद अधिकारीको भनाइ थियो । विगतका दिनहरुमा खुदो बिक्रीका लागि गाग्री र टिनहरुमा बोकेर पोखरा बजार जानुपथ्र्यो तर १५ वर्षयता गाउँबाट नै बिक्री हुने गरेको छ, बाँकी रहेको खुँदो स्थानीय मालेपाटन कृषि सहकारी संस्थाले प्रशोधन गरी बिक्रीका लागि बजारमा लाने गरेको छ । यतिबेला ढोडबेँसीमा तीन सय र मालेपाटनमा एक सय रोपनी जमिनमा उखु खेती गरिँदै आएको छ । उखु खेती प्रतिवर्ष घट्दो क्रममा छ । यहाँका ७० भन्दा बढी किसान व्यावसायिक उखु खेतीमा लागेका छन्। पोखरा महानगरपालिकाको यस वर्ष एक वडा एक पकेट क्षेत्र कार्यक्रमअन्तर्गत पोखरा–३२ को ढोडबेँसी र मालेपाटनलाई उखु पकेट क्षेत्र घोषणा गरी कृषि अनुदान सहयोग सुरु गरेको छ । चार सय रोपनी जमिनमा लगाइएको उखुबाट वार्षिक रु दुई करोडको खुदो उत्पादन हुने गरेको किसान पद्मराज तिवारीले सुनाए। उखु खेतीसँगै उनीहरुले पशुपालनसमेत अगाडि बढाएका छन् । कास्कीमा व्यावसायिक रूपमा उखु खेती गरिने एकमात्र ठाउँ भनेकै ढोडबेँसी र मालेपाटनलाई मानिँदै आइएको छ । स्थानीय किसान मोहन धमालाले भने, “चैत, वैशाखदेखि उखु खेतीको तयारी सुरु गरी पुसमाघसम्म बाली भित्र्याउँछौ।” उखुलाई अन्य बालीमा जस्तो पर्याप्त सिँचाइको आवश्यकता पर्दैन । खेतीयोग्य फाँट भए पनि ढोडबँेसीमा सिँचाइ सुविधा छैन । तराईमा उखुबाट चिनी वा सक्खर बनाइन्छ । पहाडमा भने उखुबाट खुदो नै बनाइन्छ । उखुका लाक्रा पनि बिक्छन् । पहाडमा चाम्रे बनाउँदा पनि खुँदो हाल्ने चलन छ । कोदाको ढिँडोलाई खुँदोमा डुबाएर खाने पनि गरिन्छ । उखुको पकेट क्षेत्र घोषणा गर्दै पोखरा महानगरपालिकाले उखु किसानलाई प्रोत्साहन, रोग तथा किरा नियन्त्रण र प्याकेजिङका लागि गत सोमबार रु १० लाख २० हजार प्रदान गरेको थियो । महानगरपालिकाको कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनोहर कडरियाले उनीहरुलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। उनले उखुसँगै कागती उत्पादनमा पनि उपयुक्त जमिन रहेको जानकारी दिँदै कागती खेतीमा समेत लाग्न किसानलाई सुझाव दिए। “उखुको पात र बारीमा उम्रिएका घाँस तह लगाउन पनि गाईभैँसी पाल्नुपर्ने रहेछ, स्थानीय कृषक लीलादेवी धमलाले भनिन्, “उखुबारी भित्रै पनि घाँस खेती गर्न सकिने भएकाले उखु र पशुपालन एकअर्काका सहायक भएका हुन् ।” बाँदर, दुम्सीलगायत जङ्गली जनाबरबाट उखुखेती जोगाउनुपर्ने भएकाले किसानलाई हैरानी भएको कृषक धमलाले सुनाइन्। यहाँका किसानले बाँसकडा, जीतपुर, ग्यामरालगायत स्थानमाा उखु उत्पादन गर्दै आएका छन् । पोखरा–३२ का वडासदस्य तीर्थराज ओझाले पकेट क्षेत्र घोषणासँगै रोजगारीका लागि विदेश पुगेका युवालाई पनि उखुखेतीतर्फ आकर्षण गर्नुपर्नेमा जोड दिए।
अब कुकुर पाल्न दर्ता अनिवार्य बाग्लुङ। बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ। नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो। नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्यांक संकलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो। नगरभित्र रहेका छाडा कुकुरको व्यवस्थापन गर्न पालिकाले ‘घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि-२०७९’ बनाएर कार्यान्वयनमा ल्याएको छ। कार्यविधि अनुसार घरपालुवा कुकुरको दर्ता गरी रेबिज विरुद्ध खोपको व्यवस्थापन गर्ने, छाडा कुकुर पाल्नका लागि कुकुर होस्टेल निर्माण गर्ने तथा मृत्यु भएका कुकुरको शव व्यवस्थापन गर्ने उल्लेख छ। कार्याविधि कार्यान्वयनअन्तर्गत कुकुर दर्ता गरी खोप कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ।  चालु आर्थिक वर्षमा कुकुर होस्टेल स्थापना गरिने नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए। उनका अनुसार पालिकाले चालु आर्थिक वर्षमा छाडा कुकुर नियन्त्रण तथा होस्टेल निर्माणका लागि रू १५ लाख विनियोजन गरेको छ। नगरपालिकाले आर्थिक वर्षको पहिलो दिनबाटै कुकुर व्यवस्थापनका लागि घरपालुवा कुकुरको दर्ता गर्न थालेको प्रमुख सापकोटाले बताए। घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने उनको भनाइ थियो। उनका अनुसार घरपालुवा कुकुरको दर्तासँगै भिटामिन, रेबिज र अन्य रोगको खोप प्रदान गर्न थालिएको छ भने घरधनीलाई कुकुर दर्ता प्रमाणपत्र प्रदान गर्न थालिएको छ। पशु सेवा शाखा प्रमुख सापकोटाका अनुसार कुकुर दर्ताका लागि रू दुई सय तिर्नुपर्नेछ भने नवीकरणका लागि रू एक सय तिर्नुपर्नेछ। नगरपालिकाले दर्ता भएका कुकुरलाई एक वर्षमा रू एक हजारभन्दा बढी सेवासुविधा दिने उनले बताए। “घरधनीले नगरपालिकामा ल्याएर कुकुरलाई दर्ता गर्नुपर्नेछ। दर्ता गरेको कुकुरलाई एक वर्षसम्म खोप, उपचार र आवश्यक परामर्श निःशुल्क गर्नेर्छौं”, प्रमुख सापकोटाले भने, “नगरपालिकामा दर्ता भइसकेका कुकुरलाई दर्ता नं सहितको बेल्ट घाँटीमा बाँधेर पठाउँने गरेका छौं।” घरपालुवा कुकुर हराएमा खोज्न सजिलो हुनुका साथै हराएको कुकुरले कसैलाई टोकेमा घाँटीमा बाँधिएको बेल्टका आधारमा कुकुरधनी पत्ता लगाउन सहज हुने उनले बताए। सापकोटाका अनुसार घरपालुवा कुकुर स्वास्थ्यका कारण छाडा कुकुर हुन सक्ने सम्भावना रहेकाले पहिचानका लागि दर्ता गर्न थालिएको हो। नगरपालिकाले कुकुरको घाँटीमा बाँधेको पेटीमा गरिएको संकेतका आधारमा कुकुर धनी पत्ता लगाइने उनको भनाइ थियो। जिल्ला सदरमुकाम बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिई कुकुर होस्टेलमा राखेर पालन पोषण तथा उपचार गर्ने नीति नगरपालिकाको रहेको छ। नगरभित्र छाडा कुकुरका कारण दुर्घटना बढ्नुका साथै छाडा कुकुरले टोक्दा रोग फैलिएको घटना बढ्दै गएकाले छाडा कुकुरलाई नियन्त्रण गरी होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेले अनिवार्य दर्ता गरी पाल्न पाउने नीति नगरपालिकाले लिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। “नगरपालिकाले कुकुर व्यवस्थापन कार्य सुरु गरेको छ, नगरबासीको प्रमुख गुनासो कुकुरको समस्या भएकाले कार्यविधि बनाएर कुकुर व्यवस्थापन गर्न थालिएको हो”, उनले भने, “घरपालुवा कुकुर नै रोगी भएर वा मानासिक असन्तुलन भएर छाडा छोड्ने गरेकाले घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्ने व्यवस्था गरेका छौँ ।” उनले यसरी घरपालुवा कुकुर छाडा भएमा कुकुरधनीसँग जानकारी लिन सहज हुने बताए। नगरपालिकाले साउन १ गतेदेखि कुकुर दर्ता गर्न थालिएको बताउँदै पहिलो दिन १२ वटा कुकुर दर्ता गरिएको बागलुङ नगरपालिकाको पशु सेवा शाखाले जानकारी दिएको छ। रासस
रुकुम पश्चिममा पहिलो ब्लड बैंक सञ्चालनमा रुकुम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ। नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो। दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो। अलपत्र परेको ब्लड बैंक निर्माण हाल पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेको भनाइ छ। ब्लड बैंक निर्माणका लागि हालसम्म रु ४० लाख खर्च भइसकेको छ। जसमध्ये भवन निर्माणमा रु २८ लाख र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उनले जानकारी दिए। भवन निर्माणसहित शय्या, फर्निचर, कार्यालय व्यवस्थापन, सोलार, तारबारलगायतका काम सोही बजेटबाट भएकाे उनकाे भनाइ छ। ब्लड बैंक स्थापना भएपछि अब चौरजहारी अस्पताल र जिल्ला अस्पताल सल्लेमा रगत अभाव नहुने विश्वास लिइएको छ। हाल सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत आवश्यक पर्दा विभिन्न व्यक्तिलाई गुहार्नुपर्ने बाध्यता छ।
कसले रोक्यो जहाज दुर्घटना रोक्ने कानुन? काठमाडौं। नेपालमा हुने हवाइ दुर्घटना न्यूनिकरण गर्नका लागि हवाइ सेवा सम्बन्धी सेवा प्रदान गर्ने निकाय छुट्टै र हवाइ सेवालाई नियमन गर्ने निकाय पनि छुट्टै बनाउने गरी तयार गरिएका दुई विधेयक पारित हुन सकेनन्। २०७६ को फागुनमै राष्ट्रिय सभामा दर्ता गरिएका र राष्ट्रिय सभाबाट पारित सकेत भइसकेका यी विधेयकहरु प्रतिनिधि सभाबाट पारित हुन सकेका थिएनन्। यी विधेयक पारित नहुँदै प्रतिनिधि सभाको कार्यकाल समाप्त भएर विघटन भएपछि दुवै विधेयक निष्क्रिय भएका छन्। गएको असार २६ गते मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ५ जना विदेशी र एक नेपाली पाइलट गरी ६ जनाको ज्यान गएपछि आइतबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले यो विषय उठाएकी छिन्। गौतमले प्रतिनिधि सभामा नेपालमा हवाइ यात्रा असुरक्षित हुनु भनेको ‘नियामकीय असक्षमता र टोटल रेगुलेटरी फेलियर’ भएको बताइन्। उनले भनिन्, ‘यात्रुले राज्य छ, हामी यात्रा गर्दा सुरक्षित छौँ भन्ने आश्वस्त भएर यात्रा गरेको हुन्छ। चालक या एयरलाइन्सको गल्ती देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन।’ उनले नेपालमा उड्डयन सेवा प्रदायक र उड्डयन क्षेत्रको नियामक निकाय एउटै भएका कारणले यस्तो समस्या आएकोतर्फ इंगित गर्दै भनिन्, ‘नियामक निकाय अर्थात नागरिक उड्यन प्राधिकरण ठूल्ठूला प्रोजेक्ट बनाउन, ठूल्ठूला टर्मिनल भवन बनाउन, विमानस्थल सञ्चालन व्यवसाय गर्नमा केन्द्रित भएको देखिन्छ। यही नै हो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भनेको।’ नेपालमा हवाइ सुरक्षाको सुनिश्चितताको लागि यसको नियमन गर्ने काम नागरिक उड्डयन प्राधिकरणको हो। र, विमानस्थल सञ्चालन र एयर ट्राफिक कन्ट्रोलरसम्बन्धी सेवा प्रदान गर्ने निकाय पनि नागरिक उड्डयन प्राधिकरण नै हो। यसरी सेवा प्रदान गर्ने र सो सेवाको गुणस्तरको नियमन गर्ने दुवै जिम्मेवारी एउटै निकायमा हुँदा स्वार्थ बाझिएको कुरा धेरै अगाडिदेखि उठ्दै आएको हो। सामान्य भाषामा बुझ्दा नेपाल नागरिक उड्डयन प्राधिकरणले आफैंले गरेको काम ठिक छ कि छैन भनेर जाँच पनि आफैं गर्छ। यसरी आफ्नो गल्ती औंल्याउने जिम्मेवारी पनि आफैंमाथि हुँदा उसले गल्ती औंल्याउँला वा ढाकछोप गर्ला? भन्ने मुख्य चासो हो। नेपाल नागरिक उड्डयन प्राधिकरणको यस्तो दोहोरो भूमिकाबारे अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २००९ मै युनिर्भसल सेफ्टी ओभरसाइट अडिट प्रतिवेदनमा कुरा उठाएको थियो। त्यतिबेलैदेखि आइकाओले सेवा प्रदायक र नियमनकारी निकाय एउटै हुँदा स्वार्थ बाझिने भएकोले सेवा प्रदायक र नियामक निकाय छुट्टाछुट्टै बनाउन सुझाव दिँदै आएको छ। १४ वर्षअघि नै आइकाओले यस्तो सुझाव दिएको भए पनि नेपालमा नियामक र सेवा प्रदायक निकाय छुट्टाछुट्टै बनाउने प्रयास २०७६ सालमा मात्र सुरु भयो। २०७६ को फागुन ११ मा तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राष्ट्रिय सभामा ‘नेपाल हवाइ सेवा प्राधिकरण विधेयक २०७६’ र ‘नेपाल नागरिक उड्डयन विधेयक २०७६’ नामका दुई विधेयकहरु दर्ता गरे। यीमध्ये पहिलो विधेयक सेवा प्रदायक निकाय गठन गर्ने र दोस्रो विधेयक नियामक निकाय गठन गर्ने प्रयोजनका लागि थिए। यी दुवै विधेयक राष्ट्रिय सभाबाट २०७८ साउन १८ मै पारित भएका थिए। तर, यी विधेयकहरु प्रतिनिधि सभाबाट पारित हुन सकेनन् र प्रतिनिधि सभा विघटन भएसँगै निष्क्रिय भए। यी विधेयकहरु प्रतिनिधि सभामा टेबुल गर्ने प्रयास पनि गरिएको थियो तर टेबुल हुन सकेनन्। यी विधेयकहरु प्रतिनिधिसभामा पेश गर्ने बेलामा उड्डयन क्षेत्रसँग सम्बन्धित ट्रेड युनियनहरुले आन्दोलन गरेका थिए। र, यही आन्दोलनका कारण यी विधेयकहरुमाथि प्रतिनिधि सभामा छलफल हुन नसकेको बताइएको थियो। विधेयकहरु रोकिनुको पछाडिको कारण सतहमा ट्रेड युनियनहरुको आन्दोलनलाई देखाइए पनि यी आन्दोलनको पछाडि प्राधिकरणभित्रकै केही शक्तिहरुको हात रहेको बताइन्छ। प्राधिकरणमा हालिमुहाली गरिरहेकाहरुले विमानस्थल संचालन, निर्माण, टर्मिनल भवन निर्माण जस्ता परियोजनाको ठेक्कापट्टाबाट पाउने आर्थिक लाभ आफ्नो हातबाट फुत्किने देखिएपनि यसलाई रोक्न प्रयास गरेको बताइन्छ। यी विधेयकहरु प्रतिनिधि सभामा पेश हुने बेलामा पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी थिए र अधिकारी अहिलेसम्म पनि प्राधिकरणको महानिर्देशक पदमा बहाल छन्। अधिकारीले बेलाबेलामा प्राधिकरण विभाजन आवश्यक नरहेको पक्षमा वकालत गर्दै आएका छन्। प्राधिकरणले भने आफ्नै संगठनभित्र सेवा प्रदायक र नियामकको काम छुट्टाछुट्टै तरिकाले गरिरहेको बताउँछ। प्राधिकरणले केही समयअघि कर्मचारी विनियमावली पनि संशोधन गरेको छ र सेवा प्रदायकतर्फ काम गरेकालाई नियामकतर्फ वा नियामकमा काम गरेकालाई सेवा प्रदायकतर्फ सरुवा गर्न नमिल्ने व्यवस्था गरेको छ। तर, तल्लो तहका कर्मचारी एकअर्का क्षेत्रमा सरुवा नभए पनि प्राधिकरणको नेतृत्व भने एउटै व्यक्तिमा हुन्छ र उनैले दुवैतर्फका निर्णयहरुमाथि नियन्त्रण गर्छन्। आइकाओले पटक पटक नेपाललाई हवाइ सेवा प्रदायक र उड्डयन नियामक निकाय छुट्टाछुट्टै बनाउन सुझाव दिएको भए पनि यसको कार्यान्वयन हुन नसक्दा नेपालको हवाइ सेवाको साख अन्तर्राष्ट्रिय जगतमा गिर्दो छ। यही कारण देखाउँदै अन्तर्राष्ट्रिय दातृ निकायले सहयोग रोकेका पनि छन्।
इलामकाे महाभीर चट्टान बन्याे पूर्वकाे पहिलाे आरोहण रुट (फाेटाेफिचर) इलाम।  इलाम नगरपालिका वडा नं ८ मा रहेको महाभीर चट्टानमा आरोहणको रुट तयार भएको छ। विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाकोे पर्यटन सदभाबना दूत कल्पना महर्जनको संयोजकत्वमा याे रुट तयार भएकाे हाे। साे रुट तयार पारी आरोही महर्जन काठमाडौं फर्किसकेकी छिन्। रुट बनाउनका लागि यसअघि उनी इलाम पुगेकी थिइन्। रुट फिक्सिगको काम लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानीको नेतृत्वमा थालिएको हो। नरबहादुरको साथमा सहयोगीहरु सुजन गुरुग, थोप्टेन लामा र सज्जन घले रहेका थिए। रुटको व्यवस्थापन क्लाम्विग पर्यटकीय क्षेत्र प्रवद्र्धन विकास समितिले इलाम नगरपालिका ८ महभीरको रहेको थियो । इलाम नगरपालिका र पर्यटन वोर्डको आर्थिक व्यस्थापनबाट रुट बनाएको थियो। विश्व कीर्तिमानी सगरमाथा आरोही एवं इलाम पर्यटन सदभावना दूत कल्पना महर्जनले महाभीरमा रहेको चट्टानमा ७ वटा विभिन्न ग्रेडको रुट बनाएको बताइन्। नेपालको पूर्वी क्षेत्रमा बनाइएको यो पहिलो माउण्टेन रुट रहेको बताइएको छ।
अबिरल वर्षाका कारण कल्भर्ट भत्किँदा आवागमन ठप्प कञ्चनपुर।  लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० स्थित बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ। दुई दिनदेखिको अबिरल वर्षाको पानीले कल्भर्टको पूर्वतर्फको भाग भत्काएको हो। एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको कालोपत्र सडकमा पर्ने कल्भर्टको बीच भागबाट टुटेर भत्किएको छ। छब्बीस वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले कल्भर्ट निर्माण गरेको थियो। निर्माण गरिएको लामो समयसम्म मर्मत नगरिँदा कल्भर्ट भत्किएको स्थानीय बासिन्दाको भनाइ छ। “कल्भर्ट जीर्ण बन्दै गएकाले मर्मतसम्भार गर्नुपर्ने वा नयाँ पुल निर्माण गरिनुपर्ने माग ६ वर्ष पहिलेदेखि गर्दै आएका हौँ”, स्थानीय बासिन्दा चुडामणि जोशीले भने, “कुनै पनि निकायले ध्यान दिएन, कल्भर्ट भत्किएपछि आवागमन नै ठप्प भएको छ।” सडक कालोपत्र गर्ने कार्य भइरहेका बेला पुरानो कल्भर्ट जीर्ण भएकाले जुनसुकै बेला पनि भत्किने अवस्थामा रहेकाले नयाँ कल्भर्ट निर्माणका लागि नगरपालिकासँग आग्रह गरिए पनि सुनवाइ हुन नसकेको उनले बताए। “सडकको पानी फाल्नका लागि पूर्वतर्फको भागमा नाली बनाइएको थियो”, स्थानीय गगनबहादुर साहुले भने, “नाली भएकै ठाउँबाट कल्भर्ट भत्किएको छ, पुलमा आवागमन नभएका बेला भत्किएकाले अप्रिय घटना हुन पाएन।” तत्कालीन झलारी गाउँपालिकाका अध्यक्ष टेकबहादुर हमाल विसं २०५४ मा कल्भर्ट निर्माणको कार्य प्रारम्भ भई विसं २०५८ मा सम्पन्न भएको बताउँछन्। “कल्भर्ट निर्माण गर्ने क्रममै खोलामा दलदल हुँदा एकातर्फको भाग भत्किएको थियो”, उनले भने, “भत्किँदा केही महिना कल्भर्ट निर्माणकार्य रोकियो, बजेट थप गरेर पुल पुनःनिर्माण गरिएको हो।” उनका अनुसार त्यो बेला जिल्ला विकास समितिले ठेक्का प्रक्रियाबाट कल्भर्ट रु १२ लाखको लागतमा बनाएको थियो। “पहिला अहिलेजस्तो पाइलिङ गर्ने प्रविधि थिएन”, उनले भने, “इँटाको पिलर बनाएर कल्भर्ट बनाइने गरेको थियो, धेरै वर्षसम्म कल्भर्ट मर्मत नहँुदा भत्किएको छ।” नगरपालिकाले तत्काल पुल निर्माणका लागि काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ। कल्भर्ट भत्किएपछि नगरपालिकाले अप्रिय घटना हुन नदिनका लागि पुलका दुवैतर्फको आवागमन बन्द गरेको छ। स्थानीय बासिन्दाले कल्भर्टको आवागमन रोकिएपछि सात किलोमिटरको यात्रा गर्दै झलारी बजार र नगरपालिका कार्यालय पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ। कल्भर्ट भएर लालवनिया टोलमा लगिएको खानेपानीको पाइपमा क्षति पुगेको छ। पाइपमा क्षति पुग्दा २० घरपरिवार खानेपानीबाट बञ्चित भएका छन्। नगरप्रमुख रणबहादुर महराले बहुवर्षे ठेक्का लगाएर भए पनि खोलामा कल्भर्ट निर्माणकार्य गरिने बताए। “वर्षात्को समय भएकाले तत्काल कल्भर्ट निर्माणकार्य गर्न सकिँदैन” उनले भने, “वर्षा सकिएसँगै कल्भर्ट निर्माणका लागि पहल गर्छौँ, पुल जीर्ण भएकाले नयाँ बनाउनका लागि पहल गरिहेका थियौँ, त्यही बेला पुल भत्किएको छ।” स्थानीय बासिन्दालाई आवतजावतका लागि वैकल्पिक व्यवस्था गरिने उनको भनाइ छ । – रासस
ललिता निवास प्रकरण : भोलि पनि सुनुवाइ हुने काठमाडौं । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो । सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।
लुतो फाली मनाइयो साउने (कर्कट) सङ्क्रान्ति काठमाडौं । असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छाला रोग नलागोस् भन्ने कामनाले आज साँझ घर घरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ । नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ । यसलाई लुतो फाल्ने भनिन्छ । यो विधि साउने सङ्क्रान्तिको बेलुकी सम्पन्न गरिन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइएको हो । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाएका छन् । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताउनुभयो । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गरेको हो । यस अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । आज सौरमासअनुसार साउनको पहिलो सोमबार भएकाले पनि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो ।
अध्यक्षमाथि हातपात गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपाध्यक्ष भण्डारी पालिकादेखि जिल्ला प्रहरी कार्यालयमा आफैँ पुगेकी थिइन् । उपाध्यक्ष भण्डारीमाथि अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेको आरोप छ । गाउँपालिका प्रवक्ता अर्जुन महताराका अनुसार उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रहार गरेकी थिइन् । गाउँपालिका अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएको गाउँपालिका प्रवक्ता महताराले जानकारी दिए । कार्यालय समय सकिएकाले आइतबार जाहेरी दर्ता हुन सकेको थिएन । सोमबार बिदा परेकाले मङ्गलबार कार्यालय खुल्ने वित्तिकै जाहेरी दर्ता हुने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए । अध्यक्ष बुढाले बजेट निर्माणदेखि पालिकामा भइरहेका काम कारबाही चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै उपाध्यक्ष भण्डारीले आफूमाथि हातपात गरेको बताए । उपाध्यक्ष भण्डारीले भने अध्यक्ष बुढाले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकार खोसेको बताइन् । कार्यपालिकाको बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको छ । घटनाबारे उपाध्यक्ष भण्डारीसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।
प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा राख्ने पक्राउ काठमाडौं । नेपाल प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो दुरुपयोग गरेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले प्रधानमन्त्रीको फोटो ‘सम्पादन’ गरी सामाजिक सञ्जालमा राख्ने रुपन्देही देवदह नगरपालिका घर भइ बुटवल बस्ने ४९ वर्षीय शेरबहादुर रानालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले कानुनले प्रतिबन्ध लगाएका भ्रामक, आपत्तिजनक शब्द प्रयोग गरी प्रकाशन तथा प्रदर्शन गरेकाले पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका रानालाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा पक्राउ गरिएको प्रवक्ता रायले बताए । पक्राउ रानालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
सप्तकोशी किनारमा तीन युवतीमाथि कुटपिट, एक जना पक्राउ विराटनगर । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा तीनजना युवतीमाथि भएको निर्घात कुटपिट भएको छ । प्रेमीको कुरा काटेको निहुँमा पाँच जना युवतीको समूहले तीन जना युवतीमाथि निर्घात कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका–९ कि १९ वर्षकी कृति लिम्बुलाई पक्राउ गरेको छ । कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएपछि घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अरू चारजना फरार रहेको र उनीहरूको खोजी भइरहेको छ ।
राप्रपाको मैतीदेवी-पशुपतिनाथ धार्मिक पदयात्रा (फोटोफिचर) काठमाडौं । राप्रपानिकट नेपाल सनातन धर्म संस्कृति संगठनले सोमबार मैतीदेवी–पशुपतिनाथ धार्मिक पदयात्रा गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरु, समान विचार भएका व्यक्ति, समूह, संस्थाहरु समेतको सहभागीतामा मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुशरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियानअन्तर्गत धार्मिक पदयात्रा गरेको उनले जानकारी दिए । आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरुलाई गोलबद्ध गर्दै जाने उद्देश्यबाट धार्मिक पदयात्रा गरिएको आयोजक नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले जानकारी दिए । अघिल्लो वर्षदेखि संगठनले साउनको पहिलो दिन धार्मिक पदयात्रा गर्ने गरेको छ ।
एक्काइस वर्षपछि रेल चढ्न पाउँदा… महोत्तरी। महोत्तरीको भंगाहा-४ पलारकी सियानकीदेवी बाँतरको रेल चढ्ने रहर पूरा भएको छ। सोमबार बिहानै भंगाहा-५ स्थित रेलस्टेसनबाट उनी रेल चढिन्। “हमरा सैद्खन रेल चलके इञ्तिजार छल, आव पूरा भेल (मलाई सधैं रेल कहिले चल्ला भन्ने पखाई थियो, अब पूरा भयो)”, भंगाहा स्टेसनबाट रेल जनकपुरतर्फ गुडेपछि खुसी साँट्दै बाँतरले भनिन्, “आब चल्ली जनकपुर! घुइमफिरक सझुका रेलस घर चैल आयब(अब हिँडे जनकपुर! घुमफिर गरेर साँझ रेल चढेरै घर फर्कौँला)।” विसं २०५९ को बर्खे भेलले बिग्ही नदीको पुल भाँसिएपछि रेल सेवा बन्द भएको थियो। त्यसपछि बाँतरको जनकपुर आवतजावत पातलिएको थियो। आफ्नो ठाउँमा २१ वर्षपछि रेल चलेपछि बाँतरजस्तै भंगाहा-४ कै रामनगर बस्तीकी हेमकुमारी सदा पनि दङग छिन्। “आब त बजार कर आ सब मेलामें जनकपुर सहजे जासकैछि (अब त बजार काम र जुनसुकै मेला हेर्न सजिलै जनकपुर जान सकिन्छ)”, रेल चल्दा खुसी भएकी सदाले भनिन्। आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपाल रेल्वे कम्पनीको जयनगर-बर्दिबास रेल्वेको भंगाहा-कुर्था खण्डको थप १७ किलोमिटर दूरीको सेवा विस्तारको उद्घाटन गरेपछि सोमबारदेखि नियमित रेल सेवा सुरु भएको हो। रेल सेवा सञ्चालनमा आएपछि यहाँका बासिन्दामा खुसीयाली छाएको छ। आफू सानो छँदा आमाले रेलमा चढाएर जनकपुर घुम्न लैगेकाे सम्झदै भङगाहा-४ रामनगरकै ३० वर्षीय  रामईश्वर ठाकुर भन्छन्, “रेल चढ्न फेरि पायौंँ, अब जनकपुरदेखि भारतको जयनगरसित सिधा सम्पर्कमा जोडिएका छौँ।” विसं २०५९ अघि भङ्गाहाको यसै ठाउँमा अवस्थित स्टेसनलाई विजलपुरा भनिन्थ्यो। यहाँबाट दैनिक जनकपुर हुँदै जयनगरसम्म रेल सेवा सञ्चालनमा थियो। बर्खेभेलले बिग्ही नदीको पुल भाँसिएपछि रेल सेवा बन्द हुनपुगेको थियो। त्यतिखेर कोइला/दाउराले इञ्जिनको सानो लिकमा चल्ने रेलको ठाउँमा अब ब्रोडगेज (ठूलो लिक) र डिजलबाट चल्ने भएको छ। इञ्जिन र डब्बा (बोगी) टलक्क टल्कने रेल चढेर स्थानीयवासी पहिलो दिन नै रामजानकी दर्शन गर्न जनकपुर प्रस्थान गरेका थिए। रेल सेवा विस्तार भई अब जयनगर-बर्दिबासम्म चल्ने भएको छ। यसका तीन खण्डमध्ये पहिलो खण्ड (कुर्था–जयनगर) को ३५ किमी दुरीमा यसअघि नै सेवा सञ्चालन भइसकेको छ । सोमबार सेवा विस्तार भएको दोस्रो खण्ड (भंगाहा–कुर्था) को दूरी १७ किमी छ। तेस्रो खण्ड (भंगाहा-बर्दिबास) को १८ किमी दूरीमा भने लिक र अन्य पूर्वाधार निर्माणको काम नथालिँदा यस खण्डमा कहिले रेल चल्ने भन्नेबारे अन्यौल छ। तेस्रो खण्डमा जग्गा मुआब्जा विवाद लम्बिँदा निर्माणमा ढिलाइ भएको छ। किसानले मुआब्जा लिइसकेकाले निर्माण कम्पनीसँग काम अघि बढाउन समन्वय भइरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए। “भंगाहा-कुर्था खण्डमा सेवा विस्तार भएपछि अब रेल ५२ किमीमा नियमित चल्ने भएको छ”, उनले भने, “अब चाँडै तेस्रो खण्डमा काम अघि बढ्ने छ।” भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१४ देखि काम सुरु भएको हो। बर्दिबास (महोत्तरी)-जनकपुरधाम (धनुषा)-जयनगर (भारत) सम्मको ६९ किलोमिटर दुरीमध्ये अब ५२ किमीमा रेल चल्न थालेको छ। रेल सेवा सञ्चालनका तिथिमिति पटक पटक तोकिए पछि रेल नचलेपछि महोत्तरीको भंगाहा, पशुपतिनगर, प्रेमनगर, लोहारपट्टी, सिङ्ग्याही, धमौरा, हरिनमरी, हतिसर्वा, मेघनाथगोरहन्ना, बलवासहितका बासिन्दा तथा धनुषाको खोरिया सीतापुर, धुमासान, भूचक्रपुर र कात्तिककुमारसम्मका बासिन्दा निरास भएका थिए। “अब रेल नियमित बढ्न पाइने आशा छ,” धनुषाको खोरिया सीतापुरकी कौशल्या कापरले खुसी हुँदै भने। “कि कहुँ, पोरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल (के भनौँ, परार नै रेल चल्ने कुरा थियो, तर कुरैमा मात्रै सिमित रह्यो)”, उनले भने- “अब सबै पीर हट्यो, सागसब्जी र दूध सजिलै जनकपुरहुँदै जयनगर बिक्री गर्न सकिने भयो।” रेल सञ्चालनसँगै व्यापार व्यवसायमा पनि टेवा पुग्ने यहाँका बासिन्दा बताउँछन्। अहिले दैनिक एकपटक साँझ भंगाहा आउने र बिहान ७.३० बजे रेल छुट्ने व्यवस्था मिलाइएको महाप्रबन्धक झाको भनाइ छ। पछिल्लो पटक २०७८ चैत १९ गते प्रथम खण्ड (कुर्था-जयनगर) मा सञ्चालनमा आएको रेल सेवा गत मङ्सिरको विवाहपञ्चमीदेखि दुईपटक गरिएको थियो। सो खण्डको सेवा आजदेखि तीन पटक गरिएको कम्पनीले जनाएको छ। सन् २०१० मा नेपाल र भारतबीच भएको सम्झौताअनुरुप भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोग (सम्झौताका बेला उल्लेखित रकम पछि समय लम्बिँदै जाँदा रु १२ अर्ब पुगेको) मा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा सुरु भएको हो। निर्माणको काम भारतीय कम्पनी ‘इरकन’ले गर्दै आएको छ।
झापा र दाङबाट बलात्कार आराेपमा दुईजना पक्राउ काठमाडाैं। झापा र दाङबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन्। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-१ बस्ने ५९ वर्षीय नरेश रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ। रसाईलीले ती बालिकालाई बुवाआमा धान रोप्न खेतमा गएको अवस्थामा फकाई आफ्नै घरको कोठाभित्र लगि ललाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका-८ सौडी बस्ने २६ वर्षीय अनिल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। नेपालीले ती बालिकालाई गत बिहीबार राति रोल्पाबाट ललाई फकाई ल्याई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
देवघाटधाममा स्नान गर्नेको भीड भरतपुर। पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ।आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो। कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाटमा हरेक वर्षको साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने गर्छ। भोलिदेखि मलमास सुरु हुने भएका कारण पनि आज पहिलो सोमबार भक्तजनको भीड लागेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए। उनले मेलामा सुरक्षालगायतका व्यवस्थापनका काम गरिएको बताए। साउने सङ्क्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्व रहेको छ। यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट सङ्क्रान्तिफल सुन्ने चलन छ। गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ। अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ । यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ। औँसी तिथि र सोमबार एकै दिन परेकाले आज सनातन धर्मावलम्बीले सोमबारे औँसीसमेत मनाउँछन्। पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ। मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक मेला प्रभावित हुने भएको हो। देवघाट क्षेत्र विकास समिति र देवघाटमा धार्मिक संघसंस्थाले साउने सङ्क्रान्ति सोमबार परेकाले सङ्क्रान्तिको दिनबाहेक अन्य सोमबार खासै महत्व नभएको बताएका छन्। मलमास सुरु हुनुअगाडि असार र साउनको एक–एक सोमबार र मलमास सकिएपछि भदौको दुईवटा सोमबारमा दर्शन गर्न उत्तम हुने उनीहरूको सुझाव छ। महेश आश्रम देवघाटका अध्यापक सन्तोष गिरीले मलमासमा कामना राखेर गरिने फलको आशा निषेध गरिएकाले साउने सङ्क्रान्तिपछि साउन महिनाका चार सोमबारमा बोलबमका दर्शनार्थीका लागि उचित समय नभएको बताए। चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा बोलबम मेला लाग्ने गरेको छ। साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ। साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ। यस वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु हुँदैछ। – रासस
युवाको व्यावसायिक पशुपालनमा आकर्षण बाँके। बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन्। उनले तयार पारेकाे ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ। बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ। अनि शशीरामले तयार पारी राखेको २५ लिटर जति दूधको भाँडो बिहान जसरी नै उठाएर लैजान्छ। यो क्रम विगत पाँच वर्षदेखि उनको घरमा चल्दै आएको छ। बाँकेको कोहलपुर नगरपालिका-१३ खडकवारका शशीराम १० वर्ष साउदीमा बसेर फर्किएपछि व्यावसायिक रुपमा पशु व्यवसायी बनेका छन्। गुर्वाकोटी पशुपालन फार्म र अमृत पशुपालन फार्म गरी दुई फार्म दर्ता गराएर पशु व्यवसायी बनेका उनलाई हिजोआज भ्याइनभ्याइ छ। बाउबाजेले गर्दै आएको कामलाई व्यावसायिक रुपमा नै गर्न सुरु गरेका शशीरामको फार्ममा अहिले ‘होलस्टेनक्रस’ प्रजातिका सात गाई छन्। सुरुमा दुई गाईबाट व्यवसाय गरेका शशीरामले दूधबाट फाइदा हुन थालेपछि गाईको सङ्ख्या बढाएको बताए। “व्यवसाय सानैबाट गर्नुपर्छ भन्ने जानेर सुरुमा दुई गाई पालेँ। त्यसबाट चित्त बुझ्दो भएपछि पाँच वटा गाई थपेको हुँ ।” उनले भने। अरु व्यवसाय गर्नलाई पढाइलेखाइ कम भएकै कारण पशु पालन सानैबाट गर्दै आएकाले यही पेशालाई अंगालेको उनले बताए। गाईलाई दानापानीमै मासिक ५० हजारको हाराहारीमा खर्च लाग्ने भएकाले आम्दानी ९० हजार भए पनि नाफा भने जम्मा ३० देखि ४० हजारसम्म हुने उनको भनाइ छ। सोँचेजस्तो मनग्य फाइदा नहुँदा पनि यही पेसा नै गर्न मन लाग्ने उनले बताए। “हामीले उत्पादन गरेको दूधको खरिद मूल्य जम्मा रु ६४ हुने अनि बजार भाउअनुसार उपभोक्ताले बिक्री गर्ने मूल्य सय देखि एकसय २० सम्म हुँदा पनि गर्न मन लाग्नुभनेको एक प्रकारको बाध्यता पनि हो।” उनले भने, “पढाइलेखाइ धेरै र हातमा अरु नै सीप भएको भए खासै चित्त नबुझ्दो नाफा हुँदा पनि चित्त बुझाएर बस्दिनथेँ।” शशीरामले झैँ दूध बेचेरै घरखर्च चलाउँदै आएका छन् राम सुहवन यादवले पनि। उनले पनि पुर्खाले पाल्दै आएको पशु पानलाई व्यावसायिकरुपमा अघि बढाउन ‘यादव भैँसीपालन फार्म’ दर्ता गराएका छन्। रु २० लाख खर्च गरेर बनाएको राम सुहवनले उक्त फार्ममा हिजोआज एक सय ३० वटा भैँसी पालेका छन्। उनको फार्ममा तीमध्ये हिजोआजको यो समयमा ३५ वटा भैँसीले दूध दिन्छन् भने बाँकी भैँसी ब्याउने चरणमा छन्। बाँकेका तीन ठाउँमा दैनिक १२ लिटरको हाराहारीमा राम सुहवनले दूध संकलनका लागि पठाउने गर्छन्। त्यसरी दूध संकलन गर्ने दूध डेरीअन्तर्गत साइबाबा दूध डेरी, एस के दूध डेरी र डिडिसी दूध डेरी छन्। खर्च र आम्दानी ठ्याक्कै भन्न नसक्नुभएका राम सुहवनले मासिक नाफा भने रु ५० देखि ६० हजारसम्म हुने गरेको बताए। सरकारले ल्याएको पशु बीमा अन्तर्गत उनले पनि बीमा गराएको बताए तर पशु मृत्युपछि भने बीमाको रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो भएको हुनाले गत वर्षदेखि बीमा गर्न छाडेको उनले बताए। “बीमा गराउनुभन्दा बीमा रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो रहेछ।” उनले भने, “हामी किसानलाई दिनभरि बीमा रकमको लागि दिनैभरि अफिसमा बस्ने कहाँ फुर्सद? हामीले त गत वर्षदेखि नै बीमा गराउन छाडेका छौँ।” शशीराम र राम सुहवनजस्तै व्यावसायिक पशुपालन गरेर विगत सात वर्षदेखि दूध बेच्दै आएका छन् बर्दियाका गोविन्द उपाध्यले पनि। पन्ध्र वटा गाईबाट व्यवसाय गर्न सुरु गरेका उनले अहिले ४४ गाईको रेखदेख गर्दै आई रहेका छन्। विसं २०७३ मा एकता पशुपालन फार्म दर्ता गराएर उहाँले व्यावसायिक रुपमा नै पशुपालन गर्दै आएका हुन्। निर्जीवन बीमा कम्पनीमा कार्यरत ४४ वर्षीय उहाँले कृषिमा पनि केही गर्न सकिन्छ र युवाले नै कृषि पेसालाई अँगालेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यले आफूले गाईपालन गर्न सुरु गरेको बताए। जर्सी र होलस्ट्रेनक्रस प्रजातिका गाईबाट उनले प्रत्येक दिन २३० देखि २३५ लिटरसम्मको दूध उत्पादन गर्छन्। किसानबाट उपभोक्तासम्म रु ३० देखि ४० को फरक पर्दा पनि भोलिका दिनमा दररेट बढ्ने आशामा आफूले फार्म सञ्चालन गरेको उनको भनाइ छ। आफ्नै जग्गामा फार्म सञ्चालन गर्दै आएका गोविन्दको मासिक खर्च रु तीन लाखको हाराहारीमा हुन्छ भने आम्दानी रु तीन लाख ७० हजार हुने गर्दछ। दूधबाट उहाँलाई पनि सरदरमा मासिक रु ४०/४५ हजारको नाफा हुने गर्दछ। पाँच कामदार राखेर फार्म सञ्चालन गर्दै आएका गोविन्दले पशुपालन किसानको मर्कालाई बुझेर उत्पादनमा अनुदानको व्यवस्थालाई कार्यान्वयनमा ल्याई दिन सरकारलाई आग्रह गरेका छन्। रासस
वीरमा आज देखि बिहान ८ बजेदेखि नै ओपीडी सञ्चालन हुने काठमाडौं। वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आज देखी कार्यान्वयनमा आउन लागेको हो। तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्। न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) ले विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेका हुन्। एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ। एफडीएले नयाम्सको निर्णयप्रति असहमति जनाउँदै सच्याउनसमेत आग्रह गरेको छ।
बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य बैतडी । बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको छ । स्वास्थ्य कार्यालयले मुहानको पानी परीक्षण गर्दा आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको हो । यहाँका खानेपानीका मुहानको पानी परीक्षण गर्दा ५० दशमलव आठ प्रतिशत मुहानको पानीमा दिसामा हुने ‘कोलिफर्म’ कीटाणु भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । स्वास्थ्य कार्यालयले जेठ र असारमा गरेको नमूना सङ्कलन तथा परीक्षणमा आधाभन्दा बढी खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो । उनले भने, “खानेपानीका मुहानको पानी परीक्षणका क्रममा दिसामा भेटिने ‘कोलिफर्म’ कीटाणु मुहानको पानीमा भेटिएको छ, जुन पिउनयोग्य छैन ।” जिल्लाका सबै स्थानीय तहका नागरिकले नियमितरूपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको हो । स्थानीय बासिन्दाले नियमित प्रयोग गर्दै आएका दुई सय ६९ पानीका मुहानबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा एक सय ३६ वटा मुहानको पानी पिउनयोग्य नरहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिकामा ३४ वटा मुहानको नमूना सङ्कलन गरी परीक्षण गर्दा ११ वटा खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ । पुर्चौडी नगरपालिकामा ३० मध्ये १२, पाटन नगरपालिकामा २९ मध्ये १३, मेलौली नगरपालिकामा ३१ मध्ये १७ खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो । यस्तै पञ्चेश्वर गाउँपालिकाका १८ मध्ये १४, शिवनाथ गाउँपालिकाका १८ मध्ये १२, सिगास गाउँपालिकाका ३७ मध्ये १०, सुर्नया गाउँपालिकाका २४ मध्ये १७ दोगडाकेदार गाउँपालिकाका २७ मध्ये १८ र डिलाशैनी गाउँपालिकाका २१ खानेपानीका मुहानबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा १२ वटा पानीका मुहानमा कोलिफर्म भेटिएको छ । कोलिफर्म भेटिनु भनेको पानीमा दिसा रहेको, प्रदूषित र पिउनयोग्य नरहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिए । “कोलिफर्म भएको पानी पिउनाले झाडापखाला, टाइफाइड, हैजा र आउँ जस्ता विभिन्न सरुवा रोगको सङ्क्रमण बढ्ने सम्भावना हुन्छ”, उनले भने, “कोलिफर्म भएको पानीले झाडापखाला, टाइफाइड, हैजा र आउँ जस्ता रोग फैलाउँछ ।” कोलिफर्म भेटिएको मुहानको पानी उमालेर, शुद्धीकरण तथा फिल्टर गरेर मात्रै पिउन आग्रह गरिएको छ । यसका साथै खानेपानीका मुहान वरिपरि सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मुहान मिसिन गई दूषित हुने गरेकाले नियमित सरसफाइ गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
लागु औषधसम्बन्धी मुद्दा चार वर्षयताकै बढी कञ्चनपुर । कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चारवर्ष यताकै बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७९/८० को वार्षिक गतिविधि सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी लागु औषधसम्बन्धी १५४ मुद्दा दर्ता भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले लागुऔषध मुद्दामा १४ भारतीय नागरिकसहित दुई सय ८२ जना पक्राउ परेको जानकारी दिए । त्यसैगरी गत आर्थिक वर्षमा लागुऔषधका एक सय ४३ मुद्दा दर्ता भएकामा दुई सय ३९ जना पक्राउ परेका थिए । प्रहरी उपरीक्षक थापाले भने–“यहाँ हरेक दिन लागुऔषध सेवनकर्ता पक्राउ पर्ने गर्छन् ।” खुल्ला सिमानाका कारण भारतबाट विभिन्न लागुऔषध लुकिछिपी ल्याउने गरेको पाइएको छ । चालु आर्थिक वर्षमा कञ्चनपुर प्रहरीले २६ किलोग्राम भन्दा बढी चरेश, ५४७.७९ ग्राम खैरोहिरोइन, ३६ ट्याबलेट नाइट्राभेटलगायत लागुऔषध बरामद गरेको छ । त्यसैगरी चालु आर्थिक वर्षमा प्रहरीले विभिन्न बेवारिसे सामान बरामद गरी रु दुई करोड २१ लाख ३४ हजार बराबरको सामग्री भन्सार चलान गरेको छ । गत वर्ष यहाँ रु एक करोड १७ लाख ५४ हजारको बेवारिसे सामग्री भन्सार पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै चालु आर्थिक वर्षमा यहाँ ७२ फरार अभियुक्त पक्राउ परेका छन् । वर्षभरिमा कूल नौ सय ७५ मुद्दा दर्ता भएकामा छ सय ६७ मुद्दा फछर्यौट गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले भीमदत्त नगरपालिकाका विभिन्न स्थानमा नियमविपरीत औषधि पसल सञ्चालन गर्दै आएका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । यसअघि कञ्चनपुर प्रहरीले यहाँका विभिन्न क्षेत्रबाट ११ भारतीय नागरिकलाई अवैधरुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ ।
वृहत दाङ उपत्यका सिँचाइ आयोजनाले दियो पूर्वाधार निर्माणका कामलाई तीव्रता दाङ। दाङको खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालनमा आएको ‘वृहत दाङ उपत्यका सिँचाइ आयोजना’ले पूर्वाधार निर्माणका कामलाई तीव्रता दिएको छ । विसं २०७३ देखि सञ्चालनमा आएको उक्त आयोजनाले अहिले सिँचाइका पूर्वाधार निर्माणलाई अघि बढाएको हो । “अहिले कार्यालयको उद्देश्य दाङको ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने हो । सोही अनुरुप हामीले काम गर्न थालेका छौँ”, आयोजना प्रमुख विराट ज्ञवालीले भने। हाईड्याम्प, लिफ्ट, भूमिगत सिँचाइ प्रणाली, नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाईभर्सन, सतह सिँचाइ प्रणालीको विकासलगायत ‘कम्पोनेन्ट’मा काम गरिरहेको उनले जानकारी दिए। प्रमुख ज्ञवालीका अनुसार हालसम्म कार्यालयले ४२ वटा ठूला ड्याम (जलाशय) निर्माण गरेको छ । “हामीले अहिले ४२ वटा जलाशय निर्माण गरेका छौँ, यी जलाशयमा अझै पनि सिँचाइका लागि थप पूर्वाधार निर्माण गर्न बाँकी छ । सोही अनुसार काम भइरहेको छ”, उनले भने। उनका अनुसार यहाँ ड्याम निर्माण भएपछि किसान उत्साहित बनेका छन् । वर्षौंदेखि बाँझो रहेका जमिनमा सिँचाइ हुने भन्दै आकाशे पानीको भर पर्नुपर्ने अवस्था हट्ने तुलसीपुर उपमहानगरपालिका–१८ पिर्थली कुइरेसोता जलाशय सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर डाँगीले बताए। “हाम्रो धेरै जग्गा बाँझा थिए, अब ती जग्गामा सिँचाइ हुने अपेक्षा गरिएको छ”, उनले भने “विगतमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता थियो, अहिले वैशाख, जेठमा पनि सिँचाइ पुर्‍याउन सफल भएका छौँ ।” यहाँ सानो सोता थियो डाँगीले भने। उनका अनुसार उक्त सोतालाई करोडौंँ लगानी गरेर ड्याम निर्माण गरिएको हो । निर्माण भएको उक्त ड्याममा वर्षाको समयमा परेको पानी जम्मा हुने र बैशाख, जेठमा पनि सिँचाइको सुविधा पुर्‍याउन सकिने अध्यक्ष डाँगीले बताए। उनका अनुसार उक्त ड्याम निर्माण दुई वर्षअघि सुरु गरिएको थियो । “ड्याम निर्माण भए पनि सिँचाइका लागि अझै धेरै काम बाँकी छ । करिब दुई लाख घनमिटर पानी अट्ने उक्त ड्यामबाट ६० हेक्टर क्षेत्रफलमा सिँचाइ हुनेछ । रू एक करोड ८३ लाख लागतमा उक्त ड्याम बन्दैछ”, उनले भने। सिँचाइका लागि निर्माण गरिएका ड्याम अन्य प्रयोजनका लागि पनि प्रयोग गर्न सकिने स्थानीय उपभोक्ताले परिकल्पना गरेका छन्। घोराही उपमहानगरपालिका–२ र ४ मा पर्ने सरेसोता जलाशयका उपभोक्ता श्यामलाल भण्डारीले भने, “यस ड्यामबाट सिँचाइ हुनुका साथै माछापालन गर्ने, पर्यटक भित्र्याउनका लागि डुङ्गाको व्यवस्था गर्ने गरी सोच बनाएका छौँ ।” करिब ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने सरेसोता ड्याममा तीन लाख घनमिटर पानी अट्न सक्ने क्षमता छ। रू दुई करोडको लगानीमा उक्त ड्याम निर्माण हुँदैछ । निर्माण भएका ड्याम हेर्दा मनोरम देखिन्छन् । कुनै प्राकृतिक ताल भन्दा कम छैनन् । सिँचाइका लागि बनाएका तालले जिल्लाको पर्यटन क्षेत्रको विकास गर्ने पनि अपेक्षा लिइएको स्थानीय विष्णुप्रसाद दुलालले बताए। “यी ड्याम सिँचाइका लागि मात्रै होइन्, पर्यटकीय विकासका लागि पनि प्रयोग गर्न सकिन्छ, पिकनिक स्पट बनाएर पर्यटक तान्न सकिन्छ”, उनले भने, “माछापालन गरेर आम्दानी गर्न सकिन्छ, डुङ्गा सयर गर्ने व्यवस्था गर्न सकियो भने यसले बहुआयामिक फाइदा दिन्छ ।” उनी पिर्थली कुइरेसोता ड्यामका उपभोक्तासमेत हुन् । सोही ड्याम एकसय २७ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सक्ने क्षमता रहेको छ । निर्माणाधीन सबै ड्यामबाट लिफ्टिङमार्फत किसानको खेत–खेतमा सिँचाइ पुर्‍याइने आयोजनाका सूचना अधिकारीे लोकेन्द्र कठायतले बताए। “हामीले ड्यामबाट किसानका खेतखेतमा सिँचाइ पुर्‍याउनका लागि लिफ्टिङ प्रणाली जडान गर्नेछौँ”, उनले भने “केही स्थानमा सोलारबाट र केही स्थानमा विद्युतबाटै लिफ्टिङ गरिनेछ ।” निर्माण पूरा भएको घोराही उपमहानगरपालिका–२ रामपुरस्थित चेपे तालमा वृहत सिँचाइ आयोजनाले पाँच वटा लिफ्टिङ जडान गरेको छ । जसबाट ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको आयोजनाले जनाएको छ । रू ८४ लाखको लागतमा पाँच वटा लिफ्ट जडान भएको हो। आयोजना प्रमुख ज्ञवालीका अनुसार जिल्लामा अन्य १४ वटा ड्याम निर्माण भएका छन् । जिल्लाको एक हजार ९२ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ पुग्नेछ । तुलसीपुरमा तीन, घोराहीमा पाँच, दङ्गीशरणमा पाँच र शान्तिनगरमा एउटा ठूला ड्याम निर्माण भएका छन् । पछिल्लो समय यस्ता ड्यामको माग अत्याधिक भएको भन्दै आयोजनाले ‘मास्टर प्लान’ निर्माण गरिरहेको आयोजना प्रमुख ज्ञवालीले बताए। जिल्लामा करिब दुईसय स्थानमा यस्ता ड्याम निर्माण गर्न सकिने उनको भनाइ थियो । “कुनै बेला सानो ‘सोता’ थिए । खोलो बग्थ्यो । ती खोलाले सीमित किसानले मात्रै सिँचाइको लाभ लिन पाउथे । बिघौँ खेतीयोग्य जग्गा सिँचाइ नहुँदा सुख्खा हुन्थ्यो । सिँचाइको व्यवस्था नहुँदा धेरै युवा बेरोजगार हुन्थे”, ज्ञवालीले भने, “अहिले अवस्था फेरिएको छ । खेतखेतमा सिँचाइ सुविधा पुग्न थालेको छ । धेरै बाँझा खेतहरुमा अहिले लटरम्म अन्न, तरकारीलगायत उत्पादन भइरहेका हुन्छन् ।” लिफ्टिङ उत्तिकै प्रभावकारी ड्यामसँगै लिफ्टििङ निर्माण कार्य पनि उत्तिकै प्रभावकारी देखिएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बबई नदीबाट सोलारमार्फत लिफ्टिङ गरी सिँचाइका लागि पानी ल्याइएको छ । सिँचाइ सुविधा पाएसँगै खेती गर्न सहज भएको किसान बताउँछन् । पहिले स्थानीय कुलोबाट सिँचाइ गर्ने भएका सबै किसानलाई सिँचाइ सुविधा पुग्न नसकेको स्थानीय उपभोक्ता होताराम खत्रीले बताए। उनले अहिले वृहत सिँचाइले लिफ्टिङबाट पानी ल्याएपछि सहज भएको बताए। “पहिले स्थानीय कुलो थियो, त्यसले सबै किसानलाई भ्याउने अवस्था थिएन”, उनले भने, “अहिले लिफ्टिङबाट बबईको पानी तानेपछि सहज भएको छ।” अहिले किसानले दुई बाली लगाउन सहज भएको भन्दै खत्रीले वैशाख, जेठमा मकै, धान र तरकारी लगाउन सकिने तथा पुस, माघमा तरकारी खेती लगाउन सकिने बताए। उनका अनुसार सिँचाइका लागि १५ किलोवाट सोलारबाट बबईको पानी तानिएको छ । जिल्लामा २६ वटा लिफ्ट निर्माण भएका छन् । जसबाट आठ सय ५७ हेक्टरमा सिँचाइ पुगेको छ । तुलसीपुुरमा आठ, घोराहीमा पाँच, दङ्गीशरणमा नौ, शान्तिनगरमा एक र बबईमा तीज लिफ्ट निर्माण भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस अवधिमा जिल्लामा ३५ वटा नयाँ प्रविधिमा आधारित सिँचाइ पोखरी निर्माण भएका छन् । जसबाट छ सय छ हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको छ । अहिले थप २० वटा लिफ्ट निर्माणको काम भइरहेको छ, भने १८ वटा लिफ्ट सिँचाइ प्रणालीको डिपिआर तयार भइसकेको आयोजना प्रमुख ज्ञवालीले बताए। भूमिगत सिँचाइतर्फ यस आर्थिक वर्षमा ४२ वटा डिप ट्युवेलको निर्माण सम्पन्न भएको छ भने १६ वटा डिपबोरिङका लागि बोलपत्र आह्वान गरिएको उनले बताए। उनका अनुसार उपत्यकाको पहाडी भिरालो कृषियोग्य भूमिमा नयाँ प्रविधिको सिँचाइ प्रणाली विकास गर्नका लागि फोहरा सिँचाइ, पाइप सिँचाइ तथा पोखरी सिँचाइ गरी ३८ वटा नयाँ प्रविधिमा आधारित निर्माण भएका छन् । माडी-दाङको अध्ययनको तयारी विभागबाट प्रत्येक वर्ष माडी–दाङका लागि सङ्घीय तथा प्रदेश सरकारले बजेट विनियोजन गरे पनि उल्लेख्य प्रगति हुन नसकेको नागरिकस्तरबाट गुनासो आउने गरेको छ। अहिले उक्त आयोजनाको अध्ययन विभागबाट भइरहेको सूचना अधिकारी कठायतले बताउनुभयो । त्यस्तै शारदा–दाङ डाइभर्सन तथा ग्वारखोला उच्च बाँधको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । विस्तृत इन्जिनियरिङ अध्ययनको सुरुवात भएको छ । डाईभर्सनबाट आउने पानीलाई सिँचाइ क्षेत्रसम्म पुर्‍याउनका लागि उरहरि–जसपुर सिँचाइ प्रणाली र डुरुवा नहर प्रणालीको आधुनिकीकरण गर्ने कार्य सुरु भएको छ । यसैबीच वृहत दाङ उपत्यका सिँचाइ आयोजनाले निर्माण गरेका जलाशय तथा पोखरीको जिल्लास्थित सरकारी निकाय, सरोकारवा, सञ्चारकर्मी, आयोजनाका प्रतिनिधिलगाउतको टोलीले स्थलगत अनुगमन गरेको छ ।
कर्णालीका घरघरमा प्रहरीको स्टिकर सुर्खेत । कर्णाली प्रदेशका घरघरमा स्टिकर टाँस्ने अभियान सुरु भएको छ । सुरक्षित कर्णाली अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले आजदेखि प्रदेशका सबै जिल्लाका घरका मूलढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँसेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सो अभियानको सुरुवात गरेका छन् । अभियानको सुरुआत गर्दै उपप्रधानमन्त्री खड्काले सो कार्यक्रमले प्रहरीलाई जनतासँग नजिक हुन थप मद्दत पुग्ने बताए । आपतविपद् पर्दा आवश्यक पर्ने प्रहरीको सम्पर्क नम्बर घरको मूल ढोकामा राखिएपछि प्रहरीसँग पहुँच बढाउन सकिने भएकोले उक्त अभियानले प्रहरीलाई जनमैत्री हुन सघाउने उनले उल्लेख गरे । उपप्रधानमन्त्री खड्काले उक्त अभियानलाई सहयोग गर्न सबैलाई आह्वान गरे । कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले प्रहरीको सेवालाई नागरिकमैत्री बनाउन यो अभियानले सहयोग पुग्ने बताए । प्रहरीले आफ्नो सेवा सहज बनाउन, जनताको प्रहरीसँग पहुँच बढाउन तथा सुरक्षित प्रदेश बनाउनका लागि घरघरमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस्ने अभियान थालिएको उनले बताए । कर्णाली प्रदेशका तीन लाख ७१ हजारभन्दा बढी घरमा स्टिकर टाँसिने छ । डिआईजी ढकालले तीन महिनासम्म स्टिकर टाँसिने र यसका लागि तीन हजारभन्दा बढी प्रहरी परिचालन गरिने जानकारी दिए । स्टिकर टाँस्दा पारिवारिक तथ्याङ्क पनि लिइनेछ । कर्णालीमा प्रदेश प्रहरीले यसअघि नागरिक सहजकर्ता अभियान पनि सञ्चालन गरिसकेको छ । जसबाट यस प्रदेशका १० वटा जिल्लामा २२ हजार बढी नागरिकले सेवा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले नागरिकलाई जनतासँग जोड्नका लागि यो अभियानले सहयोग पुग्ने बताए । उनले अभियानलाई सार्थक बनाउन प्रहरी तथा नागरिक सबैसँग हातोमालो गर्नुपर्ने जिकिर गरे । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष ललित बसेलले अभियान प्रदेशवासीको भएकाले सार्थक बनाउन सहयोगको आग्रह गरेका छन् । स्टिकरमा जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, दमकल, एम्बुलेन्स र बाल हेल्पलाइनको सम्पर्क नम्बर उल्लेख गरिएको छ ।
ललिता निवास प्रकरण : पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप पाँच दिन हिरातमा राख्न अनुमति दिएको हो ।
पर्सामा तीन ठाउँको सार्वजनिक जग्गा भू-माफियाको कब्जामाः जफर अन्सारी काठमाडौं। राष्ट्रिय सम्पदा संरक्षण अभियानका संयोजक जफर अन्सारीले पर्साको विभिन्न ठाउँमा भू–माफियाहरुले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएका छन् । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले प्रमोद विक्रम साह, इन्दुमती देवी केडिया र हिरादेवी ब्राहमणीले पर्साका विभिन्न ठाउँको जग्गा आफ्नो नाममा बनाएको आरोप लगाएका हुन् । सरकारी जग्गा हड्पिनेहरुका विरुद्धमा आफूले कानुनको साहरा लिन खोजेपनि न्यायलयमा भू–माफियाको पकड र प्रभाव रहेको कारणले सम्भव नभएको उनको दुःखेसो छ । ‘वीरगञ्ज छपकैया वडा नं–२ स्थित घण्टाघरदेखि रक्सौल भारतको मितेरी पुल जाने मेन बाटोमा लगभग चार विघा क्षेत्रफल भएको जग्गा कसरी फिर्ता गराउने भन्ने सन्दर्भमा कानुन विज्ञहरुको सल्लाहअनुसार मैले मुद्दामामिला गर्दा अहिलेको परिस्थितिमा न्याय पाउन धेरै गाह्रो भयो । न्यायालयमा पनि भू–माफियाहरुको पकड र प्रभाव अतिनै मजबुद छ,’– उनले भने । परापूर्वदेखि सार्वजनिक रहिआएको छपकैया पोखरी भू–माफिया प्रमोद विक्रम शाहले किर्ते जालसाजी गरी आफ्नो नाममा जग्गाधनी श्रेस्ता पुर्जा कायम गराएको उनको आरोप छ । भू–माफिया साहको उक्त कार्यविरुद्ध आफूले दायर गरेको मुद्दामा २०६५ साल असार २६ गते जिल्ला अदालत पर्सा र २०६७ साल असार २८ गते पुनरावेदन अदालत हेटौंडाबाट उक्त जग्गा सार्वजनिक नै भएको ठहर भएको उनले बताए । जिल्ला अदालत र उच्च अदालतको उक्त फैसलालाई तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र दीपकराज जोशीको संयुक्त इजलाशले भूमाफिया साहकै हक लाग्ने ठहर गरेको उनले बताए । न्यायाधीशद्वयले प्रलोभनमा परेर उक्त फैसला गरेको उनको ठहर छ । उक्त सरकारी जग्गा व्यक्तिको नामबाट सार्वजनिक गराउन आफूले अहिले पनि मुद्दा अगाडि बढाइरहेको उनले बताए । उनले अहिले उच्च अदालत बीरगञ्जमा उक्त मुद्दा लामो समयदेखि विचाराधीन रहेको बताए । त्यस्तै, पर्साकै छपकैयास्थित कित्ता नं. ११७ र ९७ को नेपाल सरकारको नाममा रहेको जग्गा इन्दुमती देवी केडियाको नाममा दर्ता भएको उनको दाबी छ । वीरगञ्ज महानगर वडा नं. १२ को कित्ता नं.४३ को राम जानकी मन्दीरको जग्गा हिरा देवी ब्राहमणीको नाममा दर्ता भएको उनको आरोप छ । उक्त मुद्दामा आफूले अदालतमा मुद्दा दर्ता गराएपनि प्रलोभनमा परेर अदालतले भू–माफियाकै पक्षमा फैसला गरेको उनको आरोप छ । एउटा साधरण नागरिकले कानुनी प्रक्रिया, कानुनी जटिलता, कानुनी आधार र प्रमाण खोजेर आफ्नो नीजि खर्चबाट सार्वजनिक सम्पत्तिको संरक्षण गर्न खोज्दा राज्यले नै बेवास्ता गरेको उनको दुखेसो छ । न्यायमा सर्वसाधरणहरुको सहज पहुँच हुनुपर्ने भएपनि केही भ्रष्ट न्यायाधीशहरुका कारण नेपालमा त्यो असम्भव भएको उनको दाबी छ । सार्वजनिक सम्पत्ति संरक्षणका लागि आफूलाई सहयोग गर्न उनले सबैसमक्ष आग्रह गरे । कार्यक्रममा सामाजिक अभियन्ता तबरेज आलम र अधिवक्ता पुण्यप्रसाद गौतमले आफ्नो धारणा राख्दै पर्सामा मात्रै नभएर सरकारी जग्गा हड्पिने गिरोह देशभर नै व्याप्त रहेको बताए । उनीहरुले सबै जिम्मेवार नागरिकलाई सरकारी सम्पत्ति संरक्षणमा लाग्नसमेत आह्वान गरे । कार्यक्रम सञ्चालन हरि तामाङले गरेका थिए ।
बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन बैतडी। जिल्लाका स्थानीय तहले चालू आर्थिक वर्षमा रु ८७ करोडभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ। जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर रु ८७ करोड २३ लाख १४ हजार बजेट खर्च हुुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीले बताए। यहाँका सबै स्थानीय तहमा चालू आर्थिक वर्षका लागि रु पाँच अर्ब ६९ करोड १६ लाख ८१ हजार बजेट आएको थियो। सबैभन्दा बढी मेलौली नगरपालिकाबाट चालू र पुँजीगत दुवै गरेर रु १३ करोड ३२ लाख २६ हजार बजेट खर्च गर्न हुन सकेन। उक्त नगरपालिकाबाट रु ६० करोड ४० लाख ७८ हजारमध्ये रु ४७ करोड आठ लाख ५२ हजार बजेट मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। सिगास गाउँपालिकाबाट रु ५० करोड २० लाख ९३ हजार बजेटमध्ये रु आठ करोड ७१ लाख छ हजार खर्च हुन नसकेको उक्त कार्यालयले जनाएको छ। सिगासले रु ४१ करोड ४९ लाख ८७ हजार रकम मात्रै खर्च गरेको छ। सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले रु ६७ करोड ६४ लाख २६ हजार बजेटमध्ये रु ५८ करोड ९३ लाख चार हजार खर्च गरेको छ। उक्त नगरपालिकाले रु आठ करोड ७१ लाख २२ हजार खर्च गर्न बाँकी देखिएको छ। पाटन नगरपालिकाबाट रु ७४ करोड १६ लाख ४१ हजारमध्ये रु ६१ करोड ५८ लाख ५२ हजार मात्रै खर्च गरेको देखिएको छ। उक्त नगरपालिकाले रु १२ करोड ५७ लाख ८९ हजार खर्च गर्न बाँकी रहेको छ। यसैगरी पुर्चाैंडी नगरपालिकाबाट रु ७१ करोड ६३ लाख ९६ हजार बजेटमध्ये ६२ करोड ८६ लाख ३४ हजार मात्रै खर्च भएको छ। उक्त नगरपालिकाले रु आठ करोड ७७ लाख ६२ हजार खर्च गर्न बाँकी देखिएको छ। डिलासैनी गाउँपालिकाले पनि रु ५२ करोड ३६ लाख १६ हजार बजेटमध्ये रु ४४ करोड ४४ लाख १६ हजार मात्रै खर्च गरेको र रु सात करोड ९२ लाख खर्च गर्न बाँकी रहेको छ। दोगडाकेदार गाउँपालिकाले रु ५५ करोड ६९ लाख ६० हजार बजेटमध्ये रु ४७ करोड ९२ लाख ५४ हजार खर्च गरेको छ। उक्त गाउँपालिकाबाट रु सात करोड ७७ लाख छ हजार खर्च बाँकी रहेको छ। पञ्चेश्वर गाउँपालिकाको रु ४७ करोड ३९ लाख ५८ हजार बजेटमध्ये रु ३९ करोड ३९ लाख २९ हजार खर्च भएको र रु आठ करोड २९ हजार खर्च गर्न बाँकी रहेको हो। शिवनाथ गाउँपालिकाको रु ४० करोड ४२ लाख ३२ हजारमध्ये रु ३४ करोड १८ लाख ६२ हजार खर्च भएको र रु छ करोड २३ लाख ७० हजार खर्च गर्न बाँकी देखिएको छ। सुर्नया गाउँपालिकाको रु ४९ करोड २२ लाख ८१ हजार बजेटमध्ये रु ४४ करोड दुर्ई लाख ७७ हजार खर्च भएको र रु पाँच करोड २० लाख चार हजार खर्च गर्न बाँकी रहेको छ। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण समयमै योजना सम्पन्न नहुने गरेकाले बजेट खर्च कम हुने गरेको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए। समयमै योजनाका काम सम्पन्न नहुने तथा असारमा आएर योजना सम्पन्न गर्ने र भुक्तानीको काम हुने गरेका छन्। उनले भने, “पालिकामा कर्मचारी सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण विवाद भएर काम नहुँदा पनि बजेट कम खर्च हुने गरेको छ।”- रासस
कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना बनियानी। झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो। नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए। “मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थ प्रतिबन्ध गर्ने गरी काम थालेका हौँ”, उनले भने, “भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ, सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु।” नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरु लागेको उनको भनाइ छ। चुरोट, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नगर कुरुप बनेको नगरप्रमुख पोखरेलको भनाइ छ। “बाटोमा यत्रतत्र गुट्खाको खोल देखिन्छ”, उनले भने, “यसले नगरको सुन्दरतामा असर पर्नुका साथै फोहर व्यवस्थापनसमेत चुनौती थपिएको छ।” नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्रीवितरणकर्तालाई अधिकतम रू ५० हजार जरिवाना गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए। प्रयोगकर्ताको हकमा भने अधिकतम रू पाँच हजार जरिवाना तोकिएको छ। सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएका छन्।
मधेशको बहुचर्चित मेडिकल कलेजको गाँठो कहाँ अड्कियो ? महोत्तरी। मधेश प्रदेशको बहुचर्चित मानिएको बर्दिबास मेडिकल कलेज जग्गा प्राप्तिमा नै अल्झिएको छ। वन मासिने भन्दै हालिएको रिटलाई सर्वोच्च अदालतले खारेज पनि जग्गा प्राप्ति प्रक्रियाको फाइल संघीय वन मन्त्रालयमा नै थन्किँदा कलेजको प्रारम्भिक कार्य अगाडि बढन नसकेको हो। बर्दिबास मेडिकल कलेज बनाउन आर्थिक वर्ष २०७३÷७४ मा नै नीति तथा कार्यक्रम बनाए पनि ६ वर्षदेखि विभिन्न कारणले कलेज पूर्वाधार निर्माण कार्यमा व्यवधान सिर्जना हुँदै आएको छ। योअवधिमा मात्र मेडिकल कलेजको नाममा सरकारको करिब ८ करोड रुपैयाँ खर्च भइसकेको मेडिकल कलेज पूर्वाधार निर्माण आयोजनाका निर्देशक देवी सुवेदीले जानकारी दिए। बर्दिबास-४ स्थित माइस्थानमा करिब ५४ हेक्टर जग्गा पहिचान गरि वातावरणीय प्रभाव मूल्यांकनदेखि डीपीआरको काम सकिए पनि वन मन्त्रालयमा फाइल थन्किँदा मेडिकल कलेजको काममा अझै अन्यौल सिर्जना भएको हो। ८ कात्तिक २०७७ मा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा सिफारिस भएको उक्त मेडिकल कलेजविरुद्ध ३ माघ २०७८ मा सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। त्यसको १ महिनापछि अर्थात् १८ फाल्गुन २०७८ मा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि बर्दिबास मेडिकल कलेज बन्ने, नबन्ने भन्ने बिषयमा नै थप अन्यौल सिर्जना भयो । एक वर्षपछि २९ जेठ २०८० मा उक्त मुद्दालाई सर्वोच्चले खारेज गरेपछि मेडिकल कलेज बन्ने आशा जागे पनि जग्गा भोगाधीकारको प्रक्रियामा वन मन्त्रालयले फाइल किन अगाडि बढाउन सकेको छैन भन्ने विषय पेचिलो बन्दै गएको छ। सर्वोच्चले जारी गरेको पूर्णपाठको आदेशमा प्रस्तावित वन क्षेत्रमा मेडिकल कलेज निर्माण गर्दा काटिने रुखहरुको सट्टामा बिरुवा लगाउने जग्गा बन्दोबस्त गर्नुपर्ने उल्लेख छ। यसका लागि अघिल्लो स्थानीय सरकारले केही हजार वृक्षारोपण गरिसकेको छ भने अहिलेका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले २० हजार बिरुवा यही बर्षायाममा रोपेर हुर्काउने लिखित प्रतिबद्धता जनाएका छन् । सर्वोच्च अदालतले मेडिकल कलेज बनाउने वाटो खुला गरे पनि जग्गा भोगाधीकारदेखि निकै चुनौती पार गर्नुपर्ने देखिन्छ । बजेटको सुनिश्चिततादेखि बहुवर्षीय ठेक्काको स्वीकृतिसम्म आइपुग्दा एक हजार बेडको संरचना निर्माणमा सरकारले बर्सेनि बजेट बिनियोजित गर्नैपर्ने बाध्यता छ । डीपीआरमा उल्लेख भएको बजेटअनुसार एक हजार बेडको लागि २८ अर्ब ५४ करोड ६० लाख र ६ सय बेडको संरचना निर्माणका लागि २० अर्ब ४२ करोड १६ लाख बजेट लाग्ने अनुमान गरिएको छ।
‘आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो’ जानकी। बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ। प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगन्जको बजारसम्म ल्याउनमै उनको दिन बित्ने गर्दछ। शान्ति तरकारी बोकेर बिहानै नेपालगन्ज आइपुग्छिन्। मौसमअनुसार बारीमा फलाइएका तरकारी बेच्ने शान्तिलाई आफूले कति किलो तरकारी लिएर बिक्री गर्ने गरेको भन्ने थाहा छैन तर बजारसम्म ल्याइएका तरकारी भने सबै बेचेर घर फर्किन्छिन् उनी। “अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ । यी त सबै आफ्नै बारीमा फलाइएका तरकारी हुन्”, उनले भनिन्, “आफ्नै बारीमा फलेको हुनाले टिप्यो बोरामा बाँध्यो अनि बजारमा ल्याएर बेच्यो। कति किलो ल्याइएको हुन्छ भन्ने थाहा नभए पनि बोकेर ल्याइएका सबै तरकारी बेचेर फर्कन्छु।” शान्तिले नेपालगन्जको सडक छेउमा बसेर विगत पाँच वर्षदेखि हिउँदे, बर्खे र बाह्रैमासे तरकारी बेच्दै आएको बताइन्। प्रत्येक बिहान सडक छेउमा तरकारी बेजेर शान्तिले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाउने गरेको बताइन्। उनले यसपटक बर्खे तरकारी बेचेर रु एक लाख ९५ हजार कमाई गरेको बताइन्। “दैनिक आम्दानी थोरै भनेको रु तीन हजार हुन्छ, नत्र त प्रायः चारदेखि पाँच हजारसम्मको भइरहन्छ। हामी बूढाबूढीले अस्ति भर्खरै हिसाब गरेको बर्खे तरकारी बेचेर रु एक लाख ९५ हजारको कमाई भएको रहेछ।” तरकारीबाट कमाएको पैसाले छोरीको पढाइ खर्च र घर खर्च दुवै चलेको उनले बताइन्। शान्तिको चार छोरीसहित ६ जनाको परिवार छन्। शान्तिले झैँ आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत चार वर्षदेखि घर चलाउँदै आएकी छन् शोभारानी थारूले पनि। पचपन्न वर्षीया शोभारानीको आम्दानी दैनिक रु दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्मको हुने गर्दछ। उनले बर्खे बालीभन्दा हिउँदो बालीबाट बढी आम्दानी गर्ने गरेको बताइन्। “हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बालीबाट उत्पादन भएका चना, केराउ, मसुरोको दानासँगै जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको रु पाँच हजार पाँच सयसम्मको आम्दानी गरेको छु”, उनले भनिन्। शोभारानी र शान्ति एउटै गाउँका भएको हुनाले उनीहरू बिहान ७ः०० बजे नै गाउँबाट तरकारी बोकेर बेच्नका लागि नेपालगन्जको धम्बौझीमा आइपुग्छिन्। यो समयमा शोभारानीले कटहर, आलु, प्याज, बर्खे खुर्सानी, भान्टा, कर्मुलाको सागलगायतका हरियो तरकारी बेच्दै आएकी छन्। साथीको देखेर आफूले पनि बारीमा फलेको तरकारीलाई नेपालगन्जको बजारसम्म ल्याएर बेच्न सुरु गरेको शोभारानीले बताइन्। सुरु–सुरुमा लाज लागेको बताउने उनले अहिले त उमेरले साथ दिएसम्म यही व्यापार गर्ने बताइन्। “सडकको छेउमा तरकारीका थुप्रो लगाएर बेच्न मलाई पहिला त लाज लागेको थियो । तर अहिले त आफ्नै व्यापार हो भन्ने बुझेको छु । अब त सकुञ्जेल यही नै गर्ने हो”, शोभारानीले आठ कठ्ठा जग्गामा लगाइएको तरकारीलाई बजारसम्म ल्याएर बिक्री गर्ने गर्छिन्। शान्ति र शोभारानीलाई पछ्याउँदै ३० वर्षीया सुबिनाकुमारी थारूले पनि आफैँले बारीमा फलाएको हरियो तरकारीलाई बजारमा ल्याएर बेच्ने गर्छिन्। उनले यसरी तरकारी बेच्न लागेको तीन वर्ष भएको छ। तरकारी बेच्नुभन्दा पहिला उनले ज्याला मजदुरी गर्थिइन्। आफूले दिनभरि काम गर्दा जम्मा पाँच सय पाउने र तरकारी बेचेर शोभारानी अनि शान्तिले २५ सयदेखि ५५ सयसम्म आम्दानी गरेको थाहा पाएपछि उनले पनि बारीमा फलेका तरकारीलाई बजार भाउ दिन सुरु गरिन्। “पहिला–पहिला त मैले ज्याला मजदुरी गर्थेँ । दिनभरि काम गर्दा जम्मा रु पाँच सयमात्र कमाइ हुन्थ्यो। थकाइ पनि उस्तै। जब मैले छिमेकीहरूले बारीमा फलेको तरकारी बेचेर एकै दिनमा रु पाँच हजारसम्म कमाएको थाहा पाएँ, त्यसपछि मैले पनि उहाँहरूसँगै बारीमा फलेका तरकारी बजार लगेर बेच्न सुरु गरेँ”, सुबिनाले भनिन्यो, “अर्काको काम गर्दा बिहानदेखि बेलुकासम्म नै खटिनुपथ्र्यो। सानै भए पनि यो त आफ्नै व्यापार हो । बिहानभरि तरकारी बेचेर दिउँसो घरको काम गर्न पनि पाइन्छ।” तरकारी बेचेरै सुबिनाले पनि एक बिहान रु तीन हजार पाँच सय हाराहारीमा आम्दानी गर्ने गर्छिन्। उनी दिन बिराएर तरकारी बिक्री गर्न नेपालगन्ज आउने गर्छिन्। तरकारीबाट राम्रो आम्दानी हुन थालेछि सुबिनाले बारीमा व्यावसायिक खेती गर्न सुरु गरेको बताइन्। “पहिला घरमै मात्र खानका लागि तरकारी लगाइन्थ्यो। अहिले तरकारीबाट सोचेको भन्दा राम्रो आम्दानी हुन थालेपछि गोडमेलका लागि दुईदेखि तीन जनासम्म मान्छे लगाएर व्यावसायिकरूपमा तरकारी लगाउने गर्छु।” तरकारी फलाउनमा सुबिनाको श्रीमान्ले सहयोग गर्नुका साथै ज्याला मजदुरको काम पनि गर्छन्। उनका एक छोरा र एक छोरी छन्। चार जनाको परिवारलाई सुबिनाकै तरकारीले पालेको छ। अरुको काम गरेर ज्याला मजदुरीका रूपमा चिनिनुभन्दा सानै भए पनि आफ्नै व्यापार गरेर आत्मसन्तुष्टि भएको सुबिना बताउँछिन्। “अहिले म निकै खुसी छु। अर्कैकामा काम गर्छु भन्नुभन्दा आफ्नै व्यापार गर्छु भन्नुमा छुट्टै मज्जा छ”, उनले भनिन्, “सडककै छेउमा बोरो ओछ्याएर तरकारी बेच्दा पनि यसले हामीलाई आत्मनिर्भर बन्न सिकाएको छ।” नेपलागन्जको धम्बोझी चोक नजिकै प्रत्येक बिहान सडकको छेउमा अग्र्यानिक तरकारी किन्ने ग्राहकको भीड देख्न सकिन्छ। प्रायः मर्निङ वाक गर्नेले तरकारी किनेर लैजाने गर्दछन्। बिहान सडक सुनसान हुने र १०ः०० बजेपछि सरकारी कामसँगै चहलपहल पनि बढ्ने भएकाले पाँच–छदेखि १०ः०० बजेसम्म तरकारी बेच्ने वातावरण मिलाइदिएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताइन्। विगत केही वर्षदेखि नेपालगन्जका सडक छेउमा गाउँघरका अग्र्यानिक मौसमी तरकारीले बजार लिन थालेका छन्।
गाउँमा पुरुष नहुँदा महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच तनहुँ। भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारुनी बनेर तालमा ताल मिलाएर घन्टौँ नाचे। पाउदुरे नाच पुरुषले महिला बनेर नाच्ने प्रचलन छ। तर गाउँमा पुरुष नहुँदा भानु नगरपालिका–४ कुमालगाउँका यी दुई महिला पाउदुरे नाच संरक्षणमा पछिल्लो पाँच वर्षदेखि अहोरात्र खटिएका छन् । “के गर्नु यस्तो पुरानो नाच त्यसै मर्न दिन मनले मानेन”, पाउदुरे नाच्दै गरेकी मनिषाले भनिन्, “त्यसैले गाउँका सबैलाई भेला गरी हामीलाई पनि नाच्न सिकाउनुस् हामी यो नाच बचाउँछौँ भनेर संरक्षणमा कस्सियौँ ।” शुक्रबार विभिन्न क्षेत्रबाट आउनुभएका पाहुनालाई देखाउन भनेरै आफूहरूले पाँच दिनअघिदेखि लगातार मेहनत गरेर पाउदुरे नाच्न सिकेको मनिषाले बताइन्। पाँच वर्ष पहिले नाच सिक्ने क्रममा सुरुका दिनमा गाउँकै केही व्यक्तिले महिलाले पाउदुरे नाच्न हुँदैन भनेर असहमति जनाए पनि अहिले तिनै व्यक्तिले प्रशंसा गरेको देख्दा आनन्द लाग्ने गरेको हीराले बताइन्। “पहिले नाच्न हुँदैन, अनिष्ट हुन्छ भन्नेहरू नै अहिले कति राम्रो ताल समातेको भनेर हौसला दिने गरेका छन्”, उनले भनिन्, “पाउदुरे नाच देखाउन भनेरै पाँच–सात स्थानमा पुगिसकेका छौँ ।” आफूहरूले पाउदुरे नाच्न थालेपछि दिगोरूपमा संरक्षणका लागि आफूहरूले गाउँका अन्य साना बालबालिकालाई समेत नाच्न सिकाउँदै गरेको हीराको भनाइ छ । पाउदुरे जनजातिमाझ लोपोन्मुख नाच हो । विभिन्न जनजातिले आ–आफ्नो तवरले पाउदुरे नाच्दै आएको पाइन्छ । यो नाचमा विजबारे, मारुनी, मादले, गुरुलगायत आवश्यक पर्दछ । यो नाच पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने चलन छ । छेउमा नाच्ने दुई पुरुषलाई ‘मारुनी’ र बीचमा नाच्नेलाई ‘बिजबारे’ भनिन्छ। नाच्दा बिजबारेकै भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्छ। गीत गाउने मुख्य व्यक्तिलाई ‘गुरुबा’ भन्ने चलन छ । गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायतले पनि गीतलाई होमा हो मिलाउने चलन छ। बेला– बेलामा ताल काट्दै मादलेसमेत नाच्ने भएकाले पाउदुरे हेर्दा रमाइलो हुने गर्छ । पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन छ । देवीदेवतासँग सबै जिवात्माको कल्याणको कामना गर्दै यो नाच नाचिन्छ । पैसठ्ठी वर्षीय बाबुराम, सोमबहादुर कुमालले पाउदुरे नाच्दै आए पनि उनीहरुको स्वास्थ्य प्रतिकूल भएपछि विगत १२–१५ वर्षदेखि आफूले पाउदुरे नाच्न छाडेको ६२ वर्षीया भीमबहादुर कुमालले बताए। बोलाएको ठाउँमा एकैपटक दुई–तीन घन्टा पनि नाच्नुपर्ने भएकाले नाच्न नसकेर छाडेको उनको भनाइ छ । “हामीले नाच्न छाडेपछि आठ–दश वर्ष नाच्ने मान्छे नै भएनन्”, भीमबहादुरले भने, “अहिले महिलाहरू नाच्न कस्सिएपछि पुनः पाउदुरेको रौनक गाउँमा ह्वात्तै बढेको छ ।” मनिषा र हीराले पछिल्लो समय आफूलाई नाचेर साथ दिँदै आएकाले खुसी लागेको विगत ३५ वर्षदेखि बीचमा नाच्दै आउनुभएका (बिजबारे) ५८ वर्षीय लालबहादुर कुमालले बताए। महिला पनि पुरुषले जस्तै घन्टौँ खटिन सक्ने गुण देखेको उनले जानकारी दिए। नाच देखाउन आफूहरू गोरखा, दमौली, देवघाट, चितवन, नवलपरासी र लमजुङलगायतको जिल्लामा पुगिसकेको उनले जानकारी दिए। यहाँको पाउदुरे नाचमा ६५ वर्षीय गङ्गाबहादुर कुमाल, ६८ वर्षीय टीकाराम कुमाल र ६६ वर्षीय सन्तबहादुर कुमालले मादल बजाउने गर्दै आएका छन्। कुमालगाउँमा रहेका ९२ घरमध्ये युवा वैदेशिक रोजगारीका क्रममा विदेशमा भएकाले पाउदुरे नाच्ने पाउनै मुस्किल भएको स्थानीय चुदेली कुमाल समाजका अध्यक्ष ३९ वर्षीय विष्णु कुमालले बताए। “गाउँका युवा जति वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन्”, उनले भने, “पाउदुरे नाच्ने पुरुष नहुँदा महिलालाई नचाउनुपरेको छ । गाउँका अन्य महिलाले पनि नाच्नका लागि चासो व्यक्त गरेका छन् ।” महिलाले पाउदुरे नाचेपछि नाच लोप हुने अवस्था भने नरहने आफूले विश्वास व्यक्त गरेको अध्यक्ष कुमालले बताए।
खहरेखोल्सा झोलुंगे पुल : स्थानीयवासीको दिनचर्या सहज बनाउँदै कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा निर्माण गरिएको झोलुंगे पुलले स्थानीयवासीको दिनचर्या सहज बनाएको छ। घाचोकको भुजेलथर खहरेखोल्सा खोलामाथि ६७ मिटर लामो झोलुंगे पुल निर्माणसँगै वारपारका लागि स्थानीयवासीको समय बचत भएको छ। पुल नहुँदा दुई गाउँ वारपार गर्न २० मिनेट समय लाग्ने गरेकामा अहिले एक मिनेटमै वारपार गर्न सकिन्छ। पुलले घाचोकका एक सय ९१ घरधुरीसहित नौ सय ५५ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्। निर्माण उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर भुजेलले झोलुंगे पुल बनेसँगै स्थानीयलाई धेरै नै सहज भएको बताए। उनले भिरको अप्ठ्यारो बाटो हुँदै खहरे तरेर वारपार गर्ने गरिएकामा पुल निर्माणसँगै स्थानीय वासीको दैनिकी सहज भएको बताए। उनले भने, “वारपार गर्न खहरेखोलामा अप्ठ्यारो बाटो झरेर आउने जाने गर्नुपथ्र्यो। समय धेरै लाथ्यो। अब भने मेलापात र घाँस दाउरा गर्न, विद्यार्थीलाई विद्यालय जान र स्वास्थ्यचौकीसम्म पुग्न सहज भएको छ । पुलका वारिपारि दुवैतिरका नागरिक लाभान्वित भएका छन्।” नेपाल सरकार झोलुंगेपुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्वीस सरकारको प्राविधिक सहयोग, प्रादेशिक÷प्राविधिक सहयोग प्रदायक संस्था पिटीएसयु/पिटिएपी पोखरा, स्थानीय उपभोक्ता र नौलो घुम्ती नेपालको गरी रु ३६ लाख ५८ हजार सात सय १० लागतमा पुल निर्माण गरिएको हो। पुल निर्माणका लागि झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको रु २३ लाख २५ हजार नौ सय २०, टिबिएसयुको रु सात लाख ८६ हजार सात सय ७६, गाउँपालिकाको रु चार लाख ७० हजार एक सय ७३, जनश्रमदान रु ७५ हजार आठ सय ४० लगानी भएको छ। पुल निर्माणका लागि विसं २०७७ माघ २७ गते सम्झौता भएर विसं २०८० असार १६ गते निर्माण सम्पन्न भएको हो । झोलुङ्गे पुलको शनिबार गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले एक कार्यक्रमकाबीच शुभारम्भ गरे। सो अवसरमा उहाँले विकट गाउँलाई सहज बनाउनका लागि सम्भव हुने स्थानमा पुल निर्माण गर्ने पालिकाको योजना रहेको बताए। पुल बनाउनका लागि निःशुल्क जग्गादान गरेका जग्गादाता दलबहादुर भुजेल (बायाँ किनारा) र भीमकुमारी लम्साल/जगतबहादुर शाही (दायाँ किनारा)लाई सम्मान गरिएको थियो। पछिल्लो समय नेपाल सरकार झोलुंगे पुल क्षेत्रगत कार्यक्रमबाट जिल्लाका दुर्गम तथा विकट बस्तीमा धमाधम पुल निर्माण भइरहेका छन्। यसबाट विकट गाउँका नागरिकलाई लाभ पुगेको छ। – रासस
बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर बागलुङ। वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ। पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन्। सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका हजारौँ नागरिक प्रभावित बनेका छन्। गाउँ-गाउँसम्म सडक पुगेपछि स्थानीय घोडा खच्चड पाल्न छोडे। गाडीले नै दैलो अगाडि आवश्यक सामान पुर्याइदिएपछि घोडा खच्चडको आवश्यकता पनि किन होस् र? तर बर्खाको समय सामान ढुवानी गर्ने प्रमुख साधान नै घोडा खच्चड बनेका छन्। डेढ दशक अगाडिसम्म अधिकांश ग्रामीण क्षेत्रमा लामबद्धरूपमा खच्चडले भारी बोकेको देखिन्थ्यो। टाढा–टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी सावित भएका खच्चड हिउँदको समय कामविहीन हुन्छन्। स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन्। तर यतिबेला बागलुङ ढोरपाटन, भल्कोटको माथिल्लो क्षेत्र, बोबाङ, निसेलढोरलगायतका ठाउँमा खच्चडले सामान बोकेको देखिन्छन्। हिउँदको समयमा गुमनामजस्तै हुने घोडा खच्चडलाई स्थानीयले बर्खामा बजारदेखि गाउँसम्म सामान ढुवानीका लागि प्रयोग गर्न थालेका छन्। केही दिनदेखिको बर्खाले निसीखोला, तमानखोला र ढोरपाटनका अधिकांश सडक अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका व्यापारीले घोडा खच्चडमार्फत सामान ओसारपसार गरिरहेका छन्। हिउँदभरि घाँस दाना खुवाएर पालेका घोडा खच्चडले बर्खामा काम पाउन थालेपछि खच्चड व्यवसायी पनि खुसी भएका छन्। चौतीस वर्ष खच्चड व्यवसाय गरेका स्थानीय तुलबहादुर विकले १२ वर्ष अगाडिसम्म सामान ढुवानी गर्ने गर्थे। सत्रवटा खच्चडमार्फत साधान ढुवानी गर्दा वर्षमा पाँच लाख बढी आम्दानी गर्ने उनले अहिले रु २० हजार कमाउन मुस्किल पर्ने बताए। गाउँको टोल-टोलमै सडक पुगेपछि घोडा खच्चड कामविहीन बनेको विकले बताए। हिउँदभरि दान, घाँस पानी खुवाएर पाल्न गाह्रो भएको भन्दै आठवटा खच्चड सित्तैमा बेचेको सुनाए। पहिले एउटा खच्चडको रु ५० हजारभन्दा बढी पर्ने गरेको स्मरणसमेत विकले गरे। अहिले मलबाहेक घोडा खच्चडबाट फाइदा नभएको उनले बताए। “म १८-१९ वर्ष हुँदादेखि घोडाको पछि हिँड्न थालेको हुँ, तानसेन, खसौली, तम्घासबाट सामान बोकाएर पाँच-छ दिनमा बुर्तिबाङ आइन्थ्यो, महिनाभरिको कमाइ निकै राम्रो हुन्थ्यो, उतिबेला बुर्तिबाङभन्दा माथिका गाउँमा मोटरबाटो पुगेको थिएन”, उनले भने, “घोडा खच्चडलाई काम भ्याइनभ्याइ हुन्थ्यो, जब मोटरबाटोहरू गाउँमा आए त्यसपछि खच्चडले बोक्ने सामान सबै मोटर गाडीले बोक्न थाले, मोटर गाडीमा सामान दैलोमै आएपछि मान्छेले के-को खच्चड खोजुन्, उही बर्खा लाग्यो भने दुई-चार दिन काम आउँछ, त्यसले दान पनि पुग्दैन।” गाडीको पहुँच नहुँदा यात्रा गर्न, खाद्यान्न सामान, फेन्सी सामान तथा अन्य सामग्रीको ढुवानीका निम्ति घोडा, खच्चडको प्रयोग गर्ने गरेको खच्चड व्यवसायी मङ्गले परियारले बताए। उनले अहिले खच्चडको काम नहुँदा पाल्नसमेत गाह्रो हुन थालेको गुनासो गरे। पहिले घोडा खच्चड हुने मान्छे निकै धनी मानिने गरेको जनाउँदै अहिले गरिबले मात्रै खच्चड पाल्ने गरेको उनले सुनाए। उनले भने, “पहिले यसको तीन-चार ठाउँ पसल हुन्थ्यो, उसैको घोडा खच्चड हुन्थे, गरिबले मात्रै खच्चड पाल्छ, उतिबेला गरिबले घोडा खच्चड किन्न सक्दैनथे, साहु महाजनले मात्रैको हुन्थ्यो, अहिले त फ्रिमा कसैलाई लैजाभन्दा पनि कसैले लग्दैनन्, न काटेर मासु खान मिल्ने, न पालेर फाइदा, मार्न भएन, जसोतसो पाल्नुको विकल्प छैन, बर्खामा दुई दिन भारी बोकेर के आम्दानी हुन्छ?, वर्षभरि नभए पनि छ महिना काम गर्न पाउने भए पनि धेरै सजिलो हुने थियो, काम सबै गाडीले गर्छन्, के को खच्चडलाई काम दिउन्।” बर्खा लागेपछि तमानखोला र निसीखोलाको अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएका ठाउँमा व्यापारीले गोडा खच्चडमार्फत सामान ढुवानी गर्ने गर्छन्। बर्खामा ग्रामीण सडक खुलाउन नसकिने निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए। शाखा सडकका कारण लोकमार्गसमेत बेला-बेलामा अवरुद्ध हुने गरेको उनले बताए। मुख्य सडकलाई जसोतसो अवरुद्ध हुँदा बित्तिकै खुलाए पनि शाखा सडक असोजपछि मात्रै खुलाउने उनको भनाइ छ। “बर्खामा यातायात सञ्चालन हुन समस्या हुन्छ, बाढीपहिराले अहिले पनि हाम्रो पालिकाको सबै ग्रामीण सडक अवरुद्ध छन्, मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा पटक-पटक अवरुद्ध हुने गरेको छ”, उनले भने, “सडक अवरुद्ध हुँदा यात्रा गर्न र सामान ढुवानीमा समस्या हुने गरेको छ, मुख्य सडक त केही समयै खुलाउने गरेका छौँ भने ग्रामीण सडक बर्खामै खुलाउन सकिँदैन, हिउँद नआउँदासम्म खुलाउन असम्भव नै हुन्छ।”
‘रोयल ट्रेक’लाई प्रवर्द्धन गरिँदै गण्डकी। गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’। तत्कालीन बेलायती राजकुमार चाल्र्सले विसं २०३९ मा पदयात्रा गरेको यो पदमार्गसँगै प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि, मर्दी, सहस्राब्दी आदि चर्चित पदमार्ग छन्। तल्कालीन समयमा युवराज चाल्र्सले विजयपुरस्थित चाँपको चौरबाट पदयात्रा थालेका थिए। उनी पहिलो दिन विजयपुरमाथिको चिन्तेको डाँडामा पुगी रात बिताएको जनाए। दोस्रो दिन उनले कालिका, सौरे, लिपयानी, राम्चे हुँदै स्याक्लुङको डाँडामा पुगी दोस्रो रात बिताएका थिए। तेस्रो दिन रुपाकोटको चिसापानीमा बास बसेका चाल्र्स बेगनास तालको जङ्गलमा चौथोे रात बिताएर काठमाडौँ फकेको उल्लेख छ। युवराज चाल्र्सले पदयात्रा गरेको ‘रोयल ट्रेक’को गरिमा र महत्त्वलाई जोगाउनका लागि यसको प्रवर्द्धन र विकासलाई कास्कीको रुपा गाउँपालिकाले प्राथमिकतामा राखेको छ। पछिल्ला समयमा यसको प्रवर्द्धनमा पर्यटनसम्बद्ध सङ्घसंस्थाले पनि जोड दिँदै आएका छन्। हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्य, घरबास आदिको प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो हाइकिङको ३६औँ शृङ्खला रोयल ट्रेक क्षेत्रको पचभैयाँ–रुपाताल हुँदै हात्तीमैतासम्म सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिनुुभयो । संरक्षण र प्रवर्द्धनको अभावमा पदमार्गहरू हराउँदै गएको वास्तविकतामा ऐतिहासिक महत्त्वको रोयल ट्रेकको महत्त्वलाई उजागर गर्ने लक्ष्यका साथ हामीले हाइकिङ सम्पन्न गरेको हौँ। विगत तीन वर्षदेखि क्लबले प्रत्येक महिनाको अन्तिम शनिबार हाइकिङ सञ्चालन गर्दै आएको उनले जानकारी गराए। पोखरामा रही विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध ५० जनाभन्दा बढी व्यक्ति हाइकिङमा सहभागी भएको बताउँदै उनले यसबाट रोयल ट्रेक र यसको महत्त्व सम्बन्धमा सचेतना जगाएको उल्लेख गरे। पचभैयाबाट सुरु गरिएको हाइकिङ रुपाताल, झोलुुङ्गेपुुल, भङ्गरा, जमनकुना, रुपाकोट रिसोर्ट हुँदै हात्तीमैता भ्यूटावरमा पुुगी सम्पन्न भएको थियो। रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाका अनुसार यस पदमार्ग क्षेत्रको प्रवर्द्धन र विकासमा रुपा गाउँपालिकाले जोड दिएको छ। गाउँपालिकाले रुपातालको छेउबाट हात्तीमैतासम्म छ किलोमिटर सिँढीबाटो निर्माण गरेको उनले जानकारी दिए। पदयात्रासँगै धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला आदिको रमणीय दृश्य एकसाथ अवलोकन गर्न सकिने यहाँबाट बेगनास, रुपा हुँदै फेवाताल, पोखरा तथा लेखनाथका दृश्यमा पर्यटक लोभिने गरेका छन्। तत्कालीन द्वन्द्वकालीन समयमा यो पदमार्ग सुनसान बनेको यहाँका स्थानीयवासी बताउँछन्। द्वन्द्वपछिका अवस्थामा पनि देशको राजनीतिक अस्थिरता, कोभिडको महामारी आदिले प्रभावित बनेको यहाँको पदयात्रा पर्यटनलाई बढाउने कुरामा गाउँपालिकाले सक्रियता देखाएको छ। रोयल ट्रेकको महत्त्वलाई उजागर गर्दै पर्यटकको आगमन बढाउन सकिएमा यहाँका स्थानीय उत्पादनले बजार पाउने र होटल तथा अन्य व्यवसायले गति लिने अपेक्षा गरिएको स्थानीय समाजसेवी एवं ध्रुवतारा युवा क्लबका अध्यक्ष त्रिविक्रम केसीले बताए। यहाँको पर्यटकीय सम्भावना देखेर युवाहरूको सक्रियतामा हात्तीमैता भ्यूटावर रेष्टुरेन्ट एन्ड होमस्टे सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। समुद्री सतहबाट एक हजार तीन सय ५० मिटर उचाइ रहेको हात्तीमत्ता भ्यूटावर रहेको स्थानमा टेन्टमा प्रत्येक रात १५ जनासम्म बस्न सक्ने व्यवस्था मिलाइएको र होमस्टेमा अरु १५ बस्न सक्ने व्यवस्था छ। “पदयात्राका लागि आउने पर्यटकलाई गाइडको व्यवस्थासँगै विभिन्न तालिम तथा सेमिनारका लागि हलको पनि व्यवस्था गरेका छौँ”, उनले भने, “वनभोजका लागि आउने पर्यटकका लागि एक सय जना क्षमताको वनभोजस्थलको व्यवस्था पनि छ।” ‘भ्यूटावर’ नजिकै मल्लकालीन समयदेखि पूजाआजा हुँदै आएको कालभैरव मन्दिर यहाँको अर्को धार्मिक महत्त्वको स्थल हो। मनले चिताएको पुुग्ने विश्वासका कारण मन्दिरमा टाढा–टाढाबाट दर्शनार्थीहरू आउने गरेको स्थानीयवासी रमेश गुुरुङले बताए। मन्दिरमा प्रत्येक वर्षको बडादशैँ र चैतेदशैँमा विशेष पूजाआजा हुने उनले जानकारी दिए। रोयल ट्रेकको ऐतिहासिकता र महत्त्वलाई उजागर गर्न सकिएमा पर्यटनबाट यस क्षेत्रको समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ। – रासस
जयनगर-जनकपुरको रेल्वे सेवा विस्तार, आजबाट थप १७ किमी बढी रेल गुड्ने जनकपुर। नेपालको एक मात्र जनकपुर-जयनगर रेल्वे सेवाले आफनो क्षेत्र विस्तार गरेको छ। जसअनुसार आजदेखि उक्त रेल आफनो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म चल्ने भएको छ। जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको उक्त रेल सेवाको उदघाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्दैछन्। आइतवार बिहान साढे १० बजे महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उदघाटन गर्ने कार्यक्रममा सहभागी हुन मन्त्री ज्वाला आज आउँदैछन्। यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो भने आजवाट थप १७ किलोमिटर थप भएपछि अब ५२ किलोमिटर यात्रा विस्तार भएको छ।
घरमै नागरिकता पाउँदा… भाेजपुर। विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ। नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ। भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पौवादुङमा गाउँपालिका-४ र ६ का अपांग, अशक्त र फरक क्षमता भएका नागरिकलाई घर-घरमै गएर नागरिकता वितरण गरेका हुन। वडा नं ४ बास्तिमका तेजकुमार राईलाई ०९-०१-८०–०१३७४ नम्बर, सोही वडाका आसमाया राईलाई ०९-०१–८०-०१३७५ र वडा नं ६ ठूलोदुम्माका अरुणराज राईलाई ०९-०१–८०-०१३७६ नम्बरको नागरिकता प्रमुख जिल्ला अधिकारी घिमिरेले घरमै पुगेर वितरण गरे। नागरिकता नहुँदा सरकारी सेवाबाट पनि बञ्चित हुनुपरेको जानकारी गाउँपालिकाबाट आएपछि आफूहरूले घरमै गएर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए। उनले भने, “नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट समेत अपांगता भएका, अशक्त र फरक क्षमता भएका नागरिक बञ्चित हुनुपरेको अवस्थामा हामीले घरमै पुगेर नागरिकता दिँदा सो सुविधा दिलाउन पनि सफल भएका छौं।” प्रमुख जिल्ला अधिकारीसहित नागरिकता वितरणका क्रममा जिल्ला न्यायाधीश मणिराम न्यौपाने, प्रशासकीय अधिकृत राजु शर्मा, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख शरदकुमार थापा क्षेत्री, सशस्त्र प्रहरीका प्रमुख दिनेश श्रेष्ठ, पालिका अध्यक्ष किरण राई, स्थानीय वडाका जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो। जिल्ला प्रशासन कार्यालय आएर नागरिकता बनाउन नसक्नेका लागि विगतका पनि घरमै गएर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रशासकीय अधिकृत राजु शर्माले बताए। आफ्ना पालिकाभित्रका नागरिक नागरिकता लिनबाट बञ्चित हुन नदिनका लागि पालिकाले स्थानीय प्रशासनसँग समन्वय गरेको पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले बताए। उनले भने, “हामीले जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बनाउन नसक्ने तीन जना अशक्तलाई गाउँमै नागरिकता दिलाउन सफल भएका छौँ, यो क्रम आगामी दिनमा पनि जारी रहन्छ।” रासस
धादिङका दुई तिहाई खेतमा अझै भएन रोपाइँ मलेखु । असारको अन्तिम दिनसम्म धादिङका दुई तिहाइ खेतमा रोपाइँ हुन सकेको छैन । धान बालीको पकेट क्षेत्र मानिएको फाँटहरुमा अघिल्लो बाली पाकिनसकेका कारण रोपाइँ हुन नसकेको हो । यो वर्ष असार मसान्तसम्म ३५ प्रतिशतमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले जानकारी दिए । वर्षात ढिला भएको र चैते धान र मकै पाकिनसकेको कारण रोपाइँ ढिलो भएको शर्माको भनाइ छ । खोलाको पानी लाग्ने खेतमा भर्खर मात्रै रोपाइँको रौनकले छोएपनि टारी खेतमा मकै पाकेकै छैन । “मनसुनका लागि चैते धान रोपाइँ नै ढिलो भयो । त्यसैले मकै ढिला लगाइयो”, कृषि प्रसार अधिकृत शर्मा भन्छन्, “अहिले टारी खेतमा चैते धान र मकै दुवै भित्र्याउने बेला हुँदैछ, त्यसले पनि यो वर्ष रोपाइँ ढिलो भएको हो ।” धादिङमा वार्षिक ५० हजार मेट्रिकटन वर्षे धान र २० हजार मेट्रिकटन चैते धान उत्पादन हुँदै आएको छ । विशेष गरी कम उचाइ भएका ठाउँका किसानले मकवानपुर १, सावीत्री, सुख्खा १, २, ३, ४, ५ रामधान जस्ता धान लगाउने गरेका छन् । बढी उचाइ भएका ठाउँका किसानले खुमल ४, खुमल १०, हर्दिनाथ १, हर्दिनाथ २, सुमलचार, खुमल ११, गोरखनाथ, वायोसिट जातका धान लगाउँदै आएका छन् । जिल्लाको नीलकण्ठ नगरपालिका, सल्यानटार, गजुरी, नौविसे, जीवनपुर, गोगनपानी, कल्लेरी, ज्यामरुङ, सांकोष, त्रिपुरेश्वर, मार्पाक र दार्खा धान खेती हुने पकेट क्षेत्र मानिँदै आएको छ ।
मनहरि गाउँपालिकाका उन्नाइस विद्यालयका प्रअले दिए सामूहिक राजीनामा मनहरी । मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिनुभएको छ । राजीनामा दिनेहरुमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु छन् । प्रधानाध्यापकहरुले दिएको सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्लेख छ । “सहमति विपरितको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ ।” राजीनामा पत्रमा उल्लेख छ । विद्यालयको गुणस्तर सुधारको नाममा गाउँपालिकाले विना कारण प्रधानाध्यापकको सरुवा गर्न खोजेपछि सामूहिक रुपमा राजीनामा दिन बाध्य भएको बताइएको छ । एक प्रअका अनुसार प्रधानाध्यापकबाट राजीनामा दिए पनि पढाउन भने छाड्ने छैनन् । यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिए । उनले शिक्षक महासङ्घका अध्यक्ष नवराज डोटेलले विषयलाई राजनीतिकरण गराएर अनावश्यक बखेडा झिक्न खोजेको दाबी गरे । “अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडिको हो । हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौँ । प्रधानाध्यापकलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौँ । उहाँहरुले नमानेपछि हामीले सरुवा गर्न खोजेका हौँ ।” अध्यक्ष कालाखेतीले स्पष्ट पारे । पालिकाको शिक्षा क्षेत्र सुधारका लागि पालिकाले शिक्षकलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार पुर्याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए । “शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ । यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो । सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौँ । तर कसैले मान्दिन भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौँ ।” अध्यक्ष कालाखेतीले भने ।
सवा अर्बको बजेट ल्याउँदै पर्यटन बोर्ड, यस्ता छन् प्राथमिकता काठमाडौं । वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउने योजनासहित नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु सवा एक अर्बको बजेट ल्याउने तयारी गरेको छ । कोरोना महामारीपछि घटेको विदेशी पर्यटकको सङ्ख्या लयमा फर्कन थालेको समयमा पर्यटन बोर्डले पर्यटन क्षेत्रलाई पूर्णरुपमा चलायमान बनाउनका लागि बोर्डले रु एक अर्ब २५ करोड बराबरभन्दा बढीको बजेट ल्याउने तयारी गरेको हो । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आगामी वर्षका लागि करिब रु एक अर्ब २५ करोडभन्दा बढीको बजेट ल्याउने तयारी गरिएको र उक्त बजेटमध्ये झण्डै ८० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनमा खर्च योजना रहेका बताए । बाँकी रकम आन्तरिक पर्यटन प्रवर्द्धन तथा पूर्वाधारमा खर्चिने बोर्डको योजना छ । “कूल बजेटको ८० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्ने योजना छ । मुख्य रुपमा भारत, चीन तथा सिङ्गापुर, मलेसियालगायत दक्षिणपूर्वी एशियाली मुलुकलाई प्राथमिकतामा राखेर नेपालको पर्यटन प्रवद्र्धन गरिनेछ । पुराना गन्तव्यका रुपमा बेलायत र अमेरिकालाई पनि प्राथमिकता दिइनेछ”, निर्देशक लामिछानेले भने । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले निकट भविष्यमै अष्ट्रेलियामा पनि सिधा उडान गर्ने योजना बनाएकाले बोर्डले अष्ट्रेलिया गन्तव्य प्रवर्द्धनको योजना बनाएको निर्देशक लामिछानेको भनाइ छ । उनले पछिल्लो समय अष्ट्रेलियाबाट पनि पर्यटक आगमन वृद्धि भइरहेकाले बजारीकरणलाई प्राथमिकता दिएको बताए । बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ । बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कूल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । साथै सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार आठ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा दुई लाख ४० हजार नौ सय एक जना विदेशी पर्यटक नेपाल आएका थिए । यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७ दशमलव ७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम हो । अघिल्ला महिनामा पनि भारत, अमेरिका, चीन, बङ्गलादेश, अष्ट्रेलियालगायत मुलुकबाट बढी पर्यटक नेपाल भित्रिएको बोर्डले उल्लेख गरेको छ । यसैबीच बोर्डले आगामी आवको बजेटबारे हालै निजी क्षेत्रसँग छलफल गरेको छ । छलफलमा पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले बोर्डको बजेट डिजिटाइजेशनलाई जोड दिँदै कार्यान्वयन हुने खालको बजेट ल्याउन सुझाव दिएका थिए । होटल सङ्घ नेपाल (हान), प्यासिफक एशोसिएशन अफ ट्रावल एजेन्ट (पाटा) ट्रेकिङ ऐजेन्सिज एशोसिएशन अफ नेपाल (टान) नेपाल एशोसिएशन अफ टुर एण्ड ट्रावल एजेन्सिज (नाटा), नेपाल रफिटिङ एजेन्सिज ९नारा० नेपाल माउण्टेनियरिङ एशोसिएशन (एनएमए) एनटीभिए, एनटीबीए, सोट्टो, लयायतका संस्थाबाट प्राप्त सुझावका आधारमा प्राथमिकता निर्धारण गरिएको बोर्डको भनाइ छ ।
मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको बताएका छन् । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको १८औँ पदस्थापन समारोहमा मुख्यमन्त्री पाण्डेले मुटु रोगका कारण धेरै नागरिकले ज्यान गुमाउनु परेकाले उनहिरुको समयमै उपचार गर्न सरकारले अस्पताल निर्माणको तयारी गरिरहेको बताए । सरकार एक्लैले अस्पताल निर्माण गर्न नसक्ने हुँदा दाताको खोजी भइरहेको उल्लेख गर्दै उहाँले यस कार्यमा विदेशीसँग जोडिएका रोटरियनको पनि सहयोग आवश्यक पर्ने बताए । “गण्डकी प्रदेशको नीति तथा योजनामा प्रदेशमा मुटुरोग अस्पताल निर्माण गर्ने समावेश गरिएको छ । अस्पताल बनाउनका लागि आवश्यक पर्ने रकम प्रदेश सरकारसँग नहुँदा दाता खोजिरहेका छौँ”, मुख्यमन्त्री पाण्डेले भने, “भूकम्प, स्वास्थ्य, शिक्षा, र सीपमूलक कार्यमा सहयोग गर्दै आएको रोटरी क्लबको सहयोग आवश्यक छ ।” मुख्यमन्त्री पण्डेले सबै काम सरकारले गर्छ भन्ने भावना त्यागी समाजसेवा गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन निजी क्षेत्रका साथै विभिन्न सङ्घसंस्थाको संयुक्त प्रयास आवश्यक भएको बताए । “सञ्चार र प्रविधिमा हामी धेरै अगाडि बढ्यौँ तर विकास र समृद्धिमा त्यति प्रगति हुन सकेको छैन”, उनले भए, “नकरात्मक त्यागेर सकारात्मक सोच लिएर अगाडि बढ्न जरुरी छ ।” युवा शक्तिलाई विदेश जान रोक्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो । रोटरी क्लबका संस्थापक अध्यक्ष एवं राजनीतिज्ञ देवराज चालिसेले मुलुकमा अफ्ठयारो परेको बेला क्लबले मानवीय सहयोग गर्दै आएको जिकिर गर्दै गण्डकी प्रदेश सरकारसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले क्लबले शिक्षा, स्वास्थ्य, भूकम्प, बाढीपहिरामा परेका व्यक्तिलाई सहयोग गरिरहेको उल्लेख गर्दै मुटुरोग अस्पताल निर्माणका लागि पनि आवश्यक सहयोग गर्ने आश्वासन दिए । कार्यक्रममा विद्यार्थी पविता नेपालीलाई आर्थिक सहयोग गर्नाका साथै क्लबमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको क्लबका अध्यक्ष तोयाबहादुर भट्टराईले जानकारी दिए ।
लागुपदार्थ सेवन गर्ने एक सय ५९ चालक कारबाहीमा काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने एक सय ४९ जना सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । चालकले लागुऔषध सेवन गरी सवारी साधन चलाएरचलाएको सम्बन्धमा टिएचसी किटको प्रयोग गरी विसं २०७९ साउन ९ गतेदेखि जाँच अभियान सुरु गरिएको उनले जानकारी दिए । लापसे गरी सवारी साधन चलाउने चालकमध्ये भाडाका सवारी साधन चलाउने चालक पनि रहेका भन्दै प्रहरी वरिष्ठ उपरीक्षक भट्टले यात्रु बोक्नेजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने व्यक्तिले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु निन्दनीय कार्य भएको बताए । यसले आफू र यात्रु दुवै ज्यान जोखिममा पु¥याउने उनको भनाइ थियो । लापसे सेवन गरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुको जीवनसमेत जोखिममा पर्ने भएकाले सार्वजनिक यातायातका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नं १०३ वा प्रहरीको हटलाइन नं १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।
दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी दाङ । दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी परेका छन् । शुक्रबार जंगलमा भटाएको च्याउ पकाएर खाँदा बंगलाचुली गाउँपालिका- १ स्युजाका ३८ वर्षीया यमाकुमारी कवर वली र उनका १२ वर्षीय छोरा यकिन वली बिरामी परेका हुन् । खाना खाएसङ्गै पेट दुख्न थालेपछि दुबैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा लगिएको थियो । पछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको बंगलाचुली गाउँपालिका- १ वडाध्यक्षका विष्णु कुवँरले जानकारी दिए । दुवै बिरामीको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
मधेसमा मनाइयाे भानु जयन्ती महोत्तरी। भानुभक्तको जन्मजयन्ती मधेशमा पनि भब्यताका साथ मनाइएकाे छ । शुक्रबार महोत्तरीको गौतम होटलमा ८४ जना बिद्यार्थीहरुले सोही अवसरमा आफ्ना रचनाका माध्यमवाट भानुभक्तलाइ मात्र सम्झिएनन, देशको अवस्थाप्रती तीखो व्यंग्य प्रहार समेत गरे । बर्दिबास हेल्प फाउन्डेसनद्वारा भानुजयन्तिको अवसरमा आयोजित कार्यक्रममा सामाजिक यथार्थवादी कविताहरु प्रस्तुत गर्दै विद्यार्थीहरुले कविता कै माध्यमवाट खवरदारी गरेका हुन् । राष्ट्रिय सरस्वती माध्यामिक विद्यालय कालापानीमा अध्यनरत दुई जना छात्राहरुले त बर्तमान समयमा हराउदै गएको मानविय संवेदनालाइ कविताका माध्यमवाट यथार्थ चित्रण गरेका थिए । बलात्कार र यौन दुर्ववहार शिर्षकमा वाचन गरेका उक्त कवितामा विद्यालय, घर, समाज, बस जस्ता ठाउँमा हुने यौनजन्य दुर्ब्यबहारमाथी प्रश्न उठाए भने कविता कै माध्यमवाट गृष्मा भण्डारी र सुम्निमा भण्डारीले निर्मलाहरुका अपराधीले उन्मुक्ति पाएको प्रति चिन्ता ब्यक्त गरेका थिए । प्रतियोगीको रुपमा विभिन्न विद्यालयमा अध्यणरत ८४ जना छात्र-छात्राहरु सहभागी भएको उक्त कार्यक्रममा सामाजिक, बिकृती, बिसंगती र मौलाउदै गएको मानविय अपराधको बिषयमा आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरे । उक्त प्रतियोगितामा पंचधुरा माध्यामिक विद्यालयका छात्रा जस्मिन पौडेल प्रथम, देउराली माध्यामिक विद्यालय बर्दिबासमा अध्यणरत छात्रा मन्जिता परियार दृतिय, जनता माध्यामिक विद्यालयका छात्र जविर दर्जीले तृतीय स्थान हासिल गरेका थिए । उनिहरुलाइ क्रमशः १५ हजार, १० हजार र ५ हजारको पुरुस्कार राशीले सम्मान गरिएको थियो ।