content
stringlengths
31
27.4k
स्वास्थ्यचौकी निर्माणका लागि ५ रोपनी जग्गा नि:शुल्क प्रदान गुल्मी । मनकारी दुई दाजुभाइले आफ्नो गाउँमा स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गा निःशुल्क रुपमा प्रदान गरेका छन् । चन्द्रकोट गाउँपालिका–७ अन्तर्गत रुपाकोट निवासी हाल युकेमा कार्यरत दाजुभाइ द्वय तारानाथ भण्डारी र मोतीराज भण्डारीले गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि रु सात लाख मूल्य बरावरको जग्गा निःशुल्क प्रदान गरेका हुन् । गाउँपालिकाअन्तर्गत रुपाकोटमा स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीयस्तरमा कसैले पनि निःशुल्क रुपमा जग्गा प्रदान नगरेपछि भण्डारी दाजुभाइले रु सात लाख लागतमा जग्गा किनेर गाउँपालिकालाई हस्तान्तरण गरेर उदाहरणीय कार्य गरेको गाउँपालिकाका अध्यक्ष दोर्णबहादुर खत्रीले बताए । उक्त गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि जग्गा र भवन नहुँदा यतिबेला बाध्यतावश वडा कार्यालय भवनको तल्लो तलामा स्वास्थ्यचौकी र माथिल्लो तलामा वडा कार्यालय सञ्चालन गर्नुपरेको अध्यक्ष खत्रीले बताए। उनले भण्डारी दाजुभाइको उदार हृदयले सामाजिक क्षेत्रमा गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै अब स्वास्थ्यचौकीको नाममा जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि केन्द्रमा माग गरी चाँडै नै स्वास्थ्यचौकी भवन निर्माण गरिने बताए । विदेशमा बसेर खर्चिएको पसिनाबाट कमाएको केही रकमलाई आफ्नो जन्मठाउँमा सामाजिक कार्यमा पनि खर्चिनुपर्र्छ भन्ने उद्देश्यअनुरुप आफूहरुले उक्त सहयोग गरेको जग्गादाता मोतीराजले बताए । रुपाकोटमा स्वास्थ्य संस्थाको आफ्नै भवन नहुँदा त्यहाँ कार्यरत कर्मचारी र स्वास्थ्य परीक्षणका लागि आउने बिरामीले समेत लामो समयदेखि समस्या भोग्दै आइरहेका छन्। रासस
अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जना पक्राउ काठमाडौं । अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका १० बस्ने ३८ वर्षीय अचुत त्रिपाठी र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका ७ बस्ने ५४ वर्षीय राजेन्द्र प्रसाद पाण्डे रहेका छन्। लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले त्रिपाठीलाई अवैध लागूऔषध गाँजा १ केजी ४ सय ग्राम सहित काठमाडौं महानगरपालिका ९ गैरीगाउँबाट तथा पाण्डेलाई अवैध लागूऔषध गाँजा ३ केजी र लागूऔषध चरेश ७ केजी सहित काठमाडौं महानगरपालिका १६ पकनाजोल सोह्रखुट्टेस्थित डिलाइट होटलबाट पक्राउ गरेको हो। उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ। कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ सिराहा । कुटपिट मुद्दाका फरार प्रतिवादी मुसिरहा नगरपालिका २ महरा टोल बस्ने ५५ वर्षीय धनिकलाल महरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहा र वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको संयुक्त प्रहरीले टोलीले महरालाई उनकै घरबाट पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। अवैध मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरिएको बारा । जितपुर सिमरा उपमहानगरपालिका ७ पहाडी टोलस्थित ४ वटा र सोही उपमहानगरपालिका ३ रामवन टाँडी टोलस्थित ३ वटा गरी जम्मा ७ वटा रक्सी भट्टीमा रहेको करिब ६ हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ। साथै पहाडी टोल बस्ने ५२ वर्षीय खोब बहादुर दर्लामी मगरलगायत ४ जनालाई ३ लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने सानो ठूला गरी २५ वटा आलमुनियमको भाँडा सहित प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय जितपुर र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उक्त कच्चा पदार्थ नष्ट गर्नुका साथै उनीहरुलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
१३ जना त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृतविरुद्ध मुद्दा दायर काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसमेत १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषलाई कतारलगायतका खाडी मुलुकमा ‘भिजिट भिसा’मा प्रस्थान अनुमति प्रदान गरी विचौलियालाई सघाउ पु¥याएको अभियोग उनीहरूमाथि आयोगले लगाएको छ। त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीले कार्यालय समयमा रहेको अवस्थामा कम्प्युटरको नेटवर्क बन्द गरी शङ्कास्पद रूपमा दुई वटा मोबाइल फोनमार्फत लाइनमा रहेका महिला यात्रीलाई बोलाइ कागजातसमेत नहेरी प्रस्थान अनुमति दिएको आरोप छ । पराजुलीले प्रयोग गर्ने मोबाइल नम्बरको आधारमा प्राप्त हुन आएको ‘कल रेकर्ड’ तथा तथ्यहरू अध्ययन गर्दा उनले सोही कार्यालयमा कार्यरत अन्य अध्यागमन अधिकृतबीच ‘म्यासेज’ समेत आदानप्रदान गरेको र २४८ जनालाई प्रस्थान अनुमति दिने कार्यमा मिलेमतो गरेको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। खाडी मुलुकमा घरेलु कामदारलगायत पेशामा जान चाहनेलाई अध्यागमन अधिकृत पराजुलीसमेतका व्यक्तिले विचौलियाको ‘सेटिङ’मा प्रतिव्यक्ति रु १० हजार लिई अनुमति दिएको आयोगका जिकिर छ। आयोगका अनुसार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरू मनहरि बराल, शैलेन्द्र केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदीशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, पद्मप्रसाद बजगाईं, वीरसिंह भण्डारी, कम्प्युटर अपरेटरद्वय रोशन गौतम र भोजप्रसाद न्यौपानेसमेतले अध्यागमन प्रणालीमा अभिलेख नराखी २४८ जनाको प्रतिव्यक्ति रु १० हजारका दरले रु २४ लाख ८० हजार बराबरको रकम उठाएको पाइएको आयोगको आरोपमा उल्लेख छ । उनीहरूविरुद्ध आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको र अन्य संलग्न व्यक्ति माथिसमेत अनुसन्धान जारी रहेको प्रवक्ता कोइरालाले जानकारी दिए । यस्तै आयोगले बारागढी गाउँपालिका–३ बाराका जनजागृति राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक निर्माणका लागि सरकारी स्रोतबाट प्राप्त रकम दुरूपयोग गरेको अभियोगमा तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पोखरेलले पदीय दायित्व निर्वाह नगरी रु एक लाख ३९ हजार ९६२ बढी भुक्तानी गरेको पाइएको छ । आयोगले सरकारी रकम हिनामिना गरी गैरकानुनी लाभ लिएको आरोपमा लेखापाल नवराज भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमनप्रसाद यादव, निमित्त प्रधानाध्यापक राजकिशोर चौधरी, इन्जिनियर वसन्त निधि र सबइन्जिनियर दिलीपकुमार जैसवालविरुद्धसमेत विशेष अदालतमा मुद्दा दायर गरेको छ।रासस
फाइभ-जीका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण बेइजिङ (रासस/सिन्ह्वा) : चीनका प्रमुख तीन टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण सम्पन्न गरेको उनीहरूले जानकारी गराएका छन्। चीनले यस बर्षको पहिलो तीन त्रैमासिक भित्र इन्टरनेट सेवाका लागि पाँचौँ पुस्ताको प्रविधि, फाइभ–जी सेवा सञ्चालनका लागि भौतिक संरचना निर्माणका लागि द्रुत गतिमा काम गरिरहेको छ। टेलिकम क्षेत्रको व्यवसायको आयतनमा जनवरीदेखि अहिलेसम्ममा गत बर्षको तुलनामा २३.९ प्रतिशतले वृद्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले मङ्गलबार जानकारी गराएको तथ्याङ्कमा उल्लेख छ। टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि चिनियाँ कम्पनीहरूले बढाएको रफ्तारसँगै चिनियाँ स्मार्ट फोन निर्माण कम्पनीहरूले पनि फाइभ–जी सेवा चल्ने मोबाइल सेटको निर्माणलाई निकै बिस्तार गरिरहेको जनाएका छन्। चीन सरकारले फाइभ–जी इन्टरनेट सेवाको व्यवसायिक प्रयोग गर्ने ‘ग्रीनलाइट’ जुनमा दिएसँगै टेलिफोन निर्माण कम्पनीले पनि आफ्ना उत्पादनहरूलाई आधुनिक प्रविधिमैत्री बनाएका छन्। सन् २०१९ को पहिला तीन त्रैमासिकमा चीनले विभिन्न १८ नमूनाका फाइभ–जी स्मार्टफोन निर्माण गरेका छन्। उनीहरूले अहिलेसम्म करिब सात लाख ८७ हजार फाइभ–जी मोबाइल सेट बजारमा पठाइसकेको मन्त्रालयअन्तर्गतको एक अनुसन्धानमुलक संस्थाले जानकारी गरायो।
समृद्धि र प्रगतिको पथमा नेपाल अगाडि बढिरहेको छ : मन्त्री बाँस्कोटा काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल समृद्धि र प्रगतिको पथमा अघि बढिरहेको बताएका छन्। रेडियो शैलुङको १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले सरकार प्रतिबद्ध भएर समुन्नत राष्ट्र निर्माण गर्नका लागि प्रगतिको पथमा अगाडि बढिरहेको बताए। हरेक बस्तीमा एक वर्षभित्र सञ्चार सेवा पु¥याउने सरकारको उद्देश्य रहेको बताउँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले लामो समयदेखि रोकिएको फोर जी सेवा विस्तारको काम सात महीनामा नै सम्पन्न गरी ५९ ठाउँमा विस्तार भइसकेको र छिटै ५०० ठाउँमा विस्तार गरिने बताए। नेकपाले निर्वाचन घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धताअनुसार सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले नेपालमा रेल सञ्चालन हुने कुरा अब असम्भव नभएको बताए। मन्त्री बाँस्कोटाले अपराधिक गतिविधिमा संलग्नलाई कारवाही शुरु भएकाले राजनीतिमा अपराधीलाई कुनै स्थान नभएको बताए। उनले भने, ‘सरकारले राजनीतिका नाममा हुने अपराधीकरणलाई रोक्नेछ।’ व्यावसायिकताको बहस गर्नुपर्ने समयमा कतिपय सञ्चारमाध्यम हेडलाइनकारिता तिर लागेको उल्लेख गर्दै उनले भ्रमको खेती नगर्न सञ्चारमाध्यमलाई आग्रह गरे। मन्त्री बाँस्कोटाले पर्यटन र ऊर्जा दोलखाको सम्पत्ति भएको र यसबाट जिल्लाको विकास गर्न सकिनेछ भने। सो अवसरमा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले पार्टी एकताको भावनालाई विभाजित गर्न र आफ्नो राजनीति सिध्याउने उद्देश्यले पुरानो राजनीतिक मुद्दा ब्युँताउन खोजिएको बताए। कार्यक्रममा पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल, पूर्वराज्यमन्त्री देवी खड्का, प्रदेशसभा सदस्य पशुपति चौलागाँई, रचना खड्कालगायतले शुभकामना व्यक्त गरेका थिए। मन्त्री बाँस्कोटाद्वारा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्थलगत अवलोकन गरे। मन्त्री बाँस्कोटाले दोलखाको बिगु गाउँपालिकास्थित लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको आज निरीक्षण गरेका हुन्। सो अवसरमा मन्त्री बाँस्कोटाले आयोजनाको प्रगति, सम्पन्न हुने मिति, लागतलगायतको विषयमा जानकारी लिएका थिए । अवलोकनपश्चात् मन्त्री बाँस्कोटाले समयमा नै काम सम्पन्न गर्नका लागि निर्देशन दिए। निर्माणको अन्तिम चरणमा रहेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हालसम्मको अवस्थाका बारेमा आयोजनाका उपप्रबन्धक विमल गुरुङले जानकारी गराएका थिए। मन्त्रीसहित दोलखा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, पूर्वमन्त्री आनन्द पोखरेल, नेकपाका नेता तथा प्रदेश नं ३ का सदस्य पशुपति चौलागाईलगायतको टोली आज बिहान लामाबगर पुगेको थियो। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा नेपाल टेलिकमले सात अर्ब रुपैयाँ लगानी गरेको छ। रासस
राष्ट्रपति भण्डारी बुधबार स्वदेश फर्कँदै काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापान भ्रमण सम्पन्न गरी बुधबार हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्कँदै छिन्। जापानी सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उनी आइतबार म्यान्माबाट जापान पुगेकी हुन्। समारोहमा भाग लिन विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा प्रतिनिधि पनि आएका थिए। राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी छन्। जापानको तीनदिने औपचारिक भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीको जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग छुट्टाछ्ट्टै भेटवार्ता भएको थियो। नेपाली प्रतिनिधिमण्डलले टोकियोको करीब एक हजार २०० पुरानो आसाकुसा मन्दिर र स्काइ ट्री टावरको पनि भ्रमण गरेको थियो। राष्ट्रपति भण्डारीको स्वागतमा जापानस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गरेको थियो। यसअघि राष्ट्रपति भण्डारीले म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण गरेका थिए। म्यान्मा भ्रमणमा परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि प्रतिनिधिमण्डलका सदस्यका रुपमा सहभागी भएका थिए। उनले गत असोज २९ गतेदेखि आफ्नो भ्रमण शुरु गरेका थिए।रासस
नगरस्तरीय भलिबल प्रतियोगिता शुरु कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा आजदेखि नगरस्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ। तिहारका अवसरमा शुक्लाफाँटा नगरपालिका वडा नं ७ ले उक्त प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिताको सांसद नरबहादुर धामीले उद्घाटन गरे। उनले आफ्नो निर्वाचन क्षेत्रको खेलकूदको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। आयोजक वडाका वडाध्यक्ष जगतबहादुर सिंहका अनुसार प्रतियोगितामा ११ टोली सहभागी छन्। प्रतियोगिताको विजेताले रु ४० हजार पुरस्कार प्राप्त गर्नेछ। “वडास्तरबाटै खेलाडी उत्पादनमा टेवा पुगोस् भनेर हरेक वर्ष खेल गतिविधि सञ्चालन गर्दै आएका छौँ”, वडाध्यक्ष सिंहले भने।रासस
चलचित्र कलाकार संघको उपराष्ट्रपति नन्दबहादुर पुनसंग भेटघाट काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ द्वारा अध्यक्ष रबिन्द्र खड्काको प्रतिनिधित्वमा उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ्ग’संग उनकै कार्यकक्षमा भेटघाट तथा आउदै गरेको शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत ११४० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त अवसरमा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, वरिष्ट अभिनेता शिव श्रेष्ठ, सह–कोषाध्यक्ष पवित्रा आचार्य, सदस्यहरु नायक विशाल विष्ट, उद्धवप्रसाद भट्टराई, धर्मेन्द्र आचार्य, गोपाल ढकाल छन्दे, गीता नेपाल, पवन खतिवडा, रामेश्वर बुर्लाकोटी, प्रेस संयोजक सुर्य चन्द, कलाकार नारायण प्रधान, राजु शाही र राजेश महर्जनलगायतका पदाधिकारीहरुको टोलीले भेट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो। उक्त अवसरमा उपराष्ट्रपति नन्द बहादुर पुनले चलचित्र कलाकार संघका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए भने चलचित्र कलाकार संघलाइ आफूबाट हुने सहयोग समेत गर्ने प्रतिबद्धता जाहेर गरेको थिए। भेटमा नेपाल चलचित्र कलाकार संघद्वारा अध्यक्ष रबिन्द्र खड्काले संघले गर्दै आएको कार्य, उद्देश्य तथा गतिबिधिहरुको बारेमा जानकारी गराएका थिए।
महिला हिंसा अन्त्य गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ : मन्त्री थापा काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले महिला हिंसा अन्त्य गर्न तीनै तहका सरकार जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको बताएकी छन्। बेजिङ्ग सम्मेलनको २५ वर्ष प्लस् राष्ट्रिय समिक्षा कार्यक्रमको अवसरमा आज, वियोण्ड वेजिङ्ग कमिटिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले सो कुरा बताएकी हुन्। उनले स्थानीय तहहरु जनताको नजिकै भएकाले महिलाहरुको अवस्था स्थानीय तहसँग बुझ्ने र स्थानीय सरकारसँग मिलेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार रहेको बताइन्। स्थानीय तहले सरकारले बनाएको योजनाहरु कार्यान्वयन गर्न सक्यो भने महिला हिंसाको घटना न्यूनिकरण गर्न सम्भव रहेको उनको भनाई छ। यस्तै वियोण्ड वेजिङ्ग कमिटिका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले सन् १९९५ मा चीनको भएको बेईजिङ्गमा भएको चौथो विश्व महिला सम्मेलनका कारण महिलाहरुले आफ्नो आवाज राख्ने वातावरण बनेको बताइन्। उनले चौथो विश्व महिला सम्मेलनले विश्वलाई नै लैगिंक समानताको लागि उन्मुख गराएकाले नेपालमा पनि यसले परिवर्तन आएको उनले बताइन्। नेपालले वेईजिङ्ग सम्मेलनले प्रतिपादन गरेका १२ वटा सरोकारका सवालहरुको कार्यान्वयनका लागि राष्टिय कार्यनीति तयार गरी पूर्ण प्रतिवद्धता व्यक्त गरिसकेको छ। जसमा वियोण्ड बेइजिङ्ग कमिटि नेपालले सन् १९९४ देखि नै लैङ्गीकता र महिला तथा बालिकाको अधिकारका लागि काम गर्दै आएको छ।
नेकपालाई कार्यकर्ता समेट्न मुश्किल काठमाडौं । दुई मुख्य वामपन्थी दलको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निश्चित मापदण्डमा कार्यकर्तालाई समेट्नै कठिन परेको छ । नेकपा पाँचथरले आज फिदिममा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा पार्टीका गाउँ÷नगर कमिटीका सदस्यसम्मलाई सहभागी गराइएको थियो। तर विगतमा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेता कार्यकर्तासमेत उक्त मापदण्डमा नसमेटिएपछि कार्यक्रममा सहभागी गराउन नेकपालाई सकस परेको देखियो । जिल्लास्तरमा विभाग तथा आयोग नबनेको तथा भ्रातृ तथा जनवर्गीय सङ्गठन निर्माण नहुँदा धेरै कार्यकर्ता समेट्ने आधार नभएको नेकपाले बताएको छ । तत्कालीन नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी तथा गाउँ÷नगर कमिटीका कतिपय पदाधिकारी तथा सदस्यलेसमेत हालसम्म जिम्मेवारी पाउन सकेका छैनन्। तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका पूर्वमन्त्री श्रीप्रसाद जवेगुले हालसम्म कुनै पनि जिम्मेवारी पाएका छैनन्। अर्का तत्कालीन पोलिटब्युरो सदस्य नरबहादुर दुलालसमेत जिम्मेवारीविहीन हुनुहुन्छ । तत्कालीन एमालेका राष्ट्रिय परिषद् सदस्य गणेशकुमार काम्बाङ, जिल्ला नेता थुमनाथ चापागाईं जिम्मेवारीविहीन हुन्। नेकपा पाँचथरका कार्यालय सचिव पृथ्वी लावतीका अनुसार विगतमा दुई पार्टीका जिल्ला कमिटीका केही सदस्यले गाउँ÷नगर कमिटीमा समेत जिम्मेवारी पाएका छैनन्। यस्तै सक्रिय नेताले कार्यकारी जिम्मेवारी नपाउँदा नेकपामा जिल्लास्तरमा खटपटसमेत देखिने गरेको छ। जिल्लाबाट नेकपाका ११ जना प्रदेश कमिटी सदस्यमध्ये राजकुमार भण्डारी जिल्ला अध्यक्ष, होमबहादुर जवेगु जिल्ला सचिव हुन्। बाँकी नौ जना नेताहरुले कार्यकारी जिम्मेवारी पाएका छैनन्। गाउँ/नगर कमिटीका पदाधिकारी तथा जनप्रतिनिधि बाहेकका सदस्य बेरोजगार जस्तै हुनुपरेको जिल्ला कमिटी सदस्य राजन खतिवडाको गुनासो छ। आजको कार्यक्रममा नेताहरुले अतिथिको रुपमा आमन्त्रण गरिए पनि कतिपय कार्यकर्ताले आफूहरु पार्टी मापदण्डमा नपरेको भन्दै असन्तुष्टि जनाएका थिए। पार्टीले कतिपयलाई स्वयंसेवकका रुपमा कार्यक्रममा सहभागी गराएको थियो भने कतिपय कार्यकर्ता कार्यक्रममै सहभागी नभई बसेका थिए। दुई पार्टीको एकतापछि जिल्लास्तरमा कुनै पनि सार्वजनिक कार्यक्रम नभएको भन्दै कतिपय कार्यकर्ताले आमसभा गरिनुपर्ने मागसमेत गरेका थिए। यस्तै यहाँका तीन स्थानमा उपनिर्वाचन हुन लागेकाले वर्तमान सरकार सञ्चालन गरिरहेको पार्टीको शीर्ष नेतृत्वले स्थानीयका गुनासा सुन्नुपर्ने कार्यकर्ताले माग गरेका थिए। नेकपा जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णुप्रसाद पौडेलसँग जिम्मेवारी नपाएका नेता कार्यकर्ता जिम्मेवारी दिन आग्रह गरे। “लामो समयदेखि जिम्मेवारी नहुँदा नेता कार्यकर्तामा आलस्य पैदा हुँदै गएको छ”, अध्यक्ष भण्डारीले भने, “सबैलाई चाँडोभन्दा चाँडो जिम्मेवारी दिएर पार्टी निर्माणमा जोड्नुपर्ने आवश्यकता छ।” नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको बाँकी काम सम्पन्न गर्न ढिलाइ भए पनि अब लामो समय नलाग्ने बताए। नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले तीन महीनामा सम्पन्न गर्नुपर्ने एकताको काम १७ महीनामा पनि नसकिएको भन्दै आफूहरुलाई आत्मग्लानी भएको बताए। “एक वर्षमा एकता सम्पन्न होला भन्ने थियो। यति लामो समय लम्बिँदा हामीलाई पनि अप्ठ्यारो भएको छ”, पौडेलले भने। महासचिव पौडेलले अब केही दिनमा केन्द्रदेखि जिल्लासम्म अड्किएका एकताको काम सम्पन्न गरिने कार्यकर्तालाई जानकारी गराएका थिए। प्रशिक्षणमा नेकपाका स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले कानूनी शासन स्थापनाको प्रयत्न गरेको बताउँदै अफवाह चिर्न कार्यकर्तालाई आग्रह गरेका थिए। “हामीले हाम्रा नेताहरुले दोषी देखिएको ठाउँमा कानूनी कारवाही हुनुपर्छ भनेर जोड दियौँ। सरकारले कुनै कञ्जुस्याइँ गरेन्”, नेम्वाङको भनाई उद्धृत गर्दै कार्यक्रममा सहभागी नेकपाका जिल्ला सदस्य राजन खतिवडाले भने, “कानूनी राज्य निर्माणमा सक्रियता देखाएकामा आफ्ना नेताहरुको प्रशंसा गर्न नेम्वाङले आग्रह गरे।” रासस
‘महरामाथि लगाइएको आरोपबारे अनुसन्धान नभई सभामुख पदको निर्वाचन गराउन मिल्दैन’ काठमाडौं । सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको आरोपबारे अनुसन्धान नभई सभामुख पदको निर्वाचन गराउन नमिल्ने बताएका छन्। नेता पौडेलले बलात्कारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएको उल्लेख गर्र्दै त्यसको अनुसन्धान भईरहेकै बेला सभामुख पदको निर्वाचन गराउन नमिल्ने बताएका हुन्। उनले मंगलबार काठमाडौंमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै सभामुखको निर्वाचन विधिसम्मत ढंगले गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए। संविधानले फरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था गरेकाले आफ्नो पार्टी सोही अनुसार अघि बढन तयार रहेको नेता पौडेलको भनाई छ । नेता पौडेलले जनमतबाट निर्वाचित सरकारलाई दुई तिहाईको दम्भ देखायो भनेर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जनमतकै अपमान गरिरहेको आरोप पनि लगाए।
मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउन नेता नेपालको सुझाव काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउन सरकारलाई सुझाव दिएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले मुलुकको आर्थिक समृद्धि र विकास नै अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउने मूल कसी भएकाले त्यसैमा केन्द्रित भएर अघि बढन सरकारको ध्यानाकर्षण गराए। उनले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण अत्यन्तै भएको उल्लेख गर्दै छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई बलियो बनाई राख्न सबै राजनीतिक दलहरुबीच समान धारणा बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले ‘सम्मानका साथ बाँच र बाँच्न देऊ’ भन्ने नीतिनै नेपालको परराष्ट्र नीति रहेको पनि स्पष्ट पारे। उनले मुलुकको आर्थिक विकास र समृद्धि अनुकूल हुने गरी सबै नीतिहरु तय गरेर अघि बढनुपर्नेमा पनि जोड दिए। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले मुलकुको विकास र समृद्धिको बाटोलाई झनै सुगम बनाएको पनि नेता नेपालको भनाई थियो। कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अत्यन्तै सकारात्मक भएको उल्लेख गर्दै यसले नेपालको विकास र समृद्धिको अभियानमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई विकास गरेर मुलुकलाई अघि बढाउन पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले आधार तय गरि दिएको पनि बताए। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाललाई एक दशक अघि बढाउने गरी उपलब्धि हासिक गराएको दावी गरे । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल भएको र यसले मुलुकको विकास र समृद्धिको अभियानमा महत्वपूर्ण योगदान दिने पनि बताए । मन्त्री भट्टराईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको अन्तराष्ट्रिय प्रतिष्ठालाई पनि उचो बनाएको बताए।
सरकार असफल, गणतन्त्रमाथि भएको प्रहार चिन्ताजनक छ : यादव काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले आफूहरुले सुरुदेखि नै उठाउँदै आएको मुद्दा संविधान संशोधनप्रति सबै दल जिम्मेवारी बन्नुपर्ने धारणा राखे। काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘संविधान संशोधन गर्नुपर्छ । राज्यको पूनसंरचना हुँदा तीन तहको सरकार बनेको छ । तीन तहको चुनाव भएको छ। यो उपलब्धिलाई रक्षा गर्न कानून, व्यवस्था र जनशिक्तको अभाव रहन्छ । संघीयतामाथि जसरी प्रहार भैरहेको छ, गणतन्त्रमाथि भएको प्रहार छ । यो हाम्रो लागि चिन्ताको विषय हो । राजपा भएको उपलबिधलाई रक्षा गर्नुपर्छ भन्ने पक्षमा छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले नै सर्वदलीय बैठकमा गण्तान्त्रमाथि खतरा छ भनेको पनि उनले उल्लेख गरे । उनले भने, ‘उहाँले बोलाउनुभएको सर्वदलीय बैठकमा यस्तो कुरा गर्नुभयो । यो चिन्ताजनक कुरा हो । सबै दल मिलेर उपलबिध रक्षा गर्नुपर्छ र संविधान संशोधनको मुद्दा सबैले स्विकार गरेको विषय हो । राजनीतकि मुद्दाको सम्बोधन हुनुपर्छ । शान्ति र समृद्धिको लागि पनि यसले राम्रै गर्छ ।’ द्धन्द्धको अवेशष रहँदा संविधान कार्यान्यवनमा समस्या हुन्छ । यो संविधानलाई लामो समयसम्म लैजानकोलागि हामीले उठाएका मुद्दालाई समबोधन गर्नुपर्छ । सहमतिको संविधान बनाउनुर्छ भनेर हामीले जारी गर्ने बेलामा नै भनेको थियौं । सरकारले विगतका सहमति र सम्झौता तोड्ने काम गरेको उनले बताए। उनले मुलुकमा धेरै लामो द्धन्द्ध भएकोले अब पनि द्वन्द्व मुलुकले खेप्न नसक्ने बताए । उनले भने,‘देशले सुशासन र शान्ति खोजेको हो । अहिले दुई तिहाईको सरकार छ, तर यसले राजनीतिक स्थिरता दिन सकेको छैन् । सुशासन हुन सकेको छैन् । देश आजपनि वेदना र पीडाबाट छट्पटाईरहेको छ । यो सरकार असफलतातर्फ छ । सरकारको कामबाट जनता असन्तुष्ट छन् । वर्तमान सरकार आफैं द्वन्द्वमा फसेको छ । आफैंभित्रको नेतृत्वको लुछाचुँडीले गर्नुपर्ने काम भएका छैनन् । नेपाल देशको सार्वभौमको रक्षा गर्न सबै मिलेर अघि बढ्नुपर्छ ।’ पछिल्लो समय मुलुकमा अनुशासनको कमी भएको र जनताले कानूनी राज्यको अनुभुति गर्न नसकेको पनि यादवको टिप्पणी छ । उनले भने,‘यसको मुख्य कारण नै हाम्रो निर्वाचन प्रणाली नै विकृति हो । यो निर्वाचन प्रणाली नै भ्रष्टाचार र अनियमितताको जरो हो । पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ जानुपर्छ । चुनाव धेरै खर्चिलो भएको छ । उनले मुलुक रेमिट्यान्सबाट चलिरहेको बताए । उनले भने, ‘हाम्रो देश आयातमुखी छ । आत्मनिर्भर बनाउनको लागि सरकारसँग ठोस योजना छैन् । देशलाई कृषिमा आधनुनिकरण र व्यवसायीकरण गर्नुपर्छ । सरकारले यसतर्फ ध्यान दिएको छैन् । हिजो र आज पनि कृषिमा बजेट उतिकै छ । सरकार असफल भएको छ । सरकार र प्रतिपक्षीबीच समन्वय गर्नुपर्छ ।’ यादवले सर्लाहीमा कुमार पौडेलको हत्याबारे राष्ट्रिय मानव अधिकार आयोगले गैरन्यायिक हत्या गरेको निश्कर्ष निकालेको सुनाउँयो यो हत्या प्रकरणमा संलग्न दोषी जो कोही भएपनि कानूनी कारबाही गर्नुपर्ने माग गरे । त्यस्तै, उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे। उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने हो भने जनताले यथार्थ थाहा पाउने थिए ।’
जापानी सम्राट नारूहितोको भब्य समारोहबीच राजगद्दि आरोहण टोकियो (रासस/सिन्ह्वा) । जापानी सम्राट नारूहितोले जापानी उच्च धार्मिक विधिपूर्वक मङ्गलबार विहान ९ बजे औपचारिकरूपमा राजगद्दि आरोहण गरेका छन्। जापानको प्राचीनकालीन शैलीमा राजधानी टोकियोस्थित राजदरबारको सेइडेन स्टेट हलमा राज्याभिषेक समारोहको आयोजना भएको हो। विश्वभरबाट निम्त्याइएका करिब दुई हजार अतिथिको अगाडि पूर्व सम्राट तथा आफ्ना पिता अकिहितोको उपस्थितिमा ५९ वर्षीय नारुहितोको राज्य आरोहण भएको हो। सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि ५९ वर्षीय नारुहितो यसै बर्ष मे महिनामा जापानको सम्राट बनेका थिए। विभिन्न परम्परागत विधि सम्पन्न भएपछि मात्रै नारूहितोको औपचारिक राजगद्दी आरोहण भएको हो। जापानी सम्राटले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा (राजगद्दी)मा बसेका थिए। त्यहाँबाट उहाँले एउटा लिखित मन्तव्य वाचन गरे। “राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने शपथ लिएको छु।” सम्राट अकिहितोले आफ्नो ३० बर्ष राजगद्दिमा रहँदा सँधै जापानी जनता र विश्व शान्तिका लागि प्रार्थना गरेको बताउँछन्। सम्राट अकिहितोले जनताको दुःख तथा सुखमा सधैँ सँग रहने गरेको भन्दै अकिहितोको प्रसंशा गरे। सम्राट नारूहितोले सम्वोधनमा भने, “यस अवसरमा मैले जापानी संविधानअनुसार राज्यको प्रतीक र जापानी जनताको एकताका लागि मेरो जिम्मेवारीलाई पूरा गर्ने सपथ खान्छु।” उनले भने, “जनताको खुसी र विश्वमा शान्तिका लागि सधैँ प्रार्थना गर्दै जापानी जनताको विचारप्रति वफादार रहेर उनीहरूको पक्षमा काम गर्ने अठोट प्रकटसमेत यस शुभ-अवसरमा गर्न चाहन्छु।” उनले सम्वोधनको अन्त्यमा समस्त मानवजातीको शान्ति र समृद्धिको प्रार्थनासमेत गरेका थिए। सो अवसरमा उनकी पत्नी साम्राज्ञी मासाको जापानी परम्परागत पहिरनमा सम्राटसँगै रहेको अर्को आसनमा बसेकी थिइन्। उनले लगाएको उक्त वस्त्रमा १२ पत्र रहने जापानी अधिकारीहरूलाई उद्धृत गरी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। जापानी प्रधानमन्त्री सिन्जो आवेले सम्राट नारूहितोको राज्य आरोहणप्रति खुशी व्यक्त गरेका थिए भने सम्राटको दिर्घायूका लागि समारोहका सहभागी सवैले प्रार्थना गरेका थिए । प्रधानमन्त्री शिन्जो आबेले समारोहमा सम्राटलाई बधाई ज्ञापनसमेत गरेका थिए। मङ्गलबार नै सम्राटले विदेशबाट आएका शाही प्रतिनिधिहरूका लागि चियापान आयोजना गर्नेछन्। त्यसपछि प्रधानमन्त्री आवेले सबै अतिथिहरूका लागि रात्रिभोजको आयोजना गरेका छन्। संवैधानिक राजतन्त्र रहेको जापानमा सम्राटको भूमिका प्रायः आलङ्कारिक रहन्छ। उनले नागरिकहरूसँग अन्तक्रिया गर्ने तथा विदेशी पाहुनासँग भेट गर्ने गर्छन्। जापानमा भर्खरै समुद्री आँधी हगिबिसका कारण धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरिएको छ।
‘सरकारका कारण जनतामा वितृष्णा पैदा भयो, गणतन्त्र नै गुम्ने खतरा छ’ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्म निरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको टिप्पणी गरे । उनले भने, ‘कतै यो निराशा, वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने हो कि भन्ने हामीमाथि डर छ । सत्तामा वा प्रतिपक्षमा भएपनि हामी परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नुपर्छ । २०६२–०६३ सालको जनआन्दोलनबाट ल्याएका उपलब्धि बचाउन एक ढिक्का हुनुपर्छ ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘हामीलाई नेपालमा संविधान सभाको चुनावमात्रै गराउन ६५ वर्ष लाग्यो । जनप्रतिनिधिबाट संविधान बनाउनुपर्छ भन्ने मागअनुसार संविधान बनाउनको लागि दुईपटक संविधानसभाको चुनाव भयो । देशमा गणतन्त्र स्थापना भयो । नेपाली जनतालाई भन्ने गरियो, संविधान बनेपछि धेरै समस्या समाधान हुन्छ, चुनाव भएपछि धेरै समस्या समधान हुन्छ । र, संघीयता आएपछि झन धेरै समस्या समाधान हुन्छन् भन्ने कुरा गरियो । गणतन्त्रपनि आयो, संघीयता पनि ल्याईयो । हामीलाई एउटा नेपालले भएन, सात वटा नेपाल बनायौं । ८८५ सांसद बनाउन सफल भयौं । ७५३ सरकार बनायौं । गणतन्त्र स्थापना भयो राम्रै कुरा भयो ।’ मुलुकमा यतिवेला दुई तिहाई बहुमतको सरकार रहेको भएपनि नेपाली जनताले सुशासनको अनुभुति गर्न नपाएको उनको गुनासो छ । ‘तत्कालिन नेकपा एमलो र नेकपा माओवादी केन्द्रबीच एकता भयो । नेकपाले दुई तिहाई मत ल्यायो । राम्रै कुरा भयो । अहिले दुई तिहाई बहुमतको सरकार गठन भएको छ । यत्ति हुँदाहुँदैपनि नेपाली जनताले अहिलेपनि सुशासन पाएनन् । पहिले दशैं आयो । अहिले तिहार आईरहेको छ, गर्नु नगर्नु गरेर अकुत सम्पत्ति कमाउनेको लागि दशैं र तिहार आयो । दैनिक दुई हजारको दरले नेपाली युवाहरु विदेश गैरहेका छन् । अहिलेपनि एयरपोर्ट जाने हो भने खुटटा हाल्ने ठाउँ छैन् ।’ उनले सत्तामा बस्नेहरुले सुशासन कायम गरेको, भ्रष्टाचार घटाएको, सार्वभौमसत्ताको रक्षा गरेको भनेर भन्नु त नौलो कुरा नभएको चित्रण गरे । उनले थपे,‘तर, यथार्थमा जनताको समस्या जटिल छ । यति ठूलो संघीय प्रणाली, जसको लागि नेपालको सामथ्र्य थिएन । यो मुलुकमा संघीयता आएपछि जातीय समस्या समाधान हुन्छ । भाषिक समाधान हुन्छ भनियो । वास्तवमा अहिले समाधान भएको छैन् ।’ आफ्नो पार्टीले सबैसँग मिलेर अघि बढ्ने नीति लिएको पनि उनले सनुाए । उनले भने,‘संविधान जारी गर्ने बेलामा पनि हाम्रो पार्टीले संघीयताको बारेमा मतभेद राख्यो । अहिले नेपाली जनताको मुखमा संघीयता धान्न सकिँदैन् भन्ने आवाज छ । संघीयता र गणतान्त्रिक प्रणाली आएतापनि राजनीति गर्ने मान्छेको प्रवृत्ति बदलिएको छैन् । लुट, भ्रष्टाचार, ठेकेदारी प्रथा कायमै छन् । यी सबैको भण्डाफोर गर्नको लागि हाम्रो पार्टीले देशव्यापी कार्यक्रम बनाएको छ ।’ उनले ७ वटै प्रदेशमा संघर्षका कार्यक्रमहरु लिएर पार्टी जाने पनि जानकारी दिए । अराजकता, भ्रष्टाचार (वर्षौदेखि भएका जनप्रतिनिधिले गरेको जघन्य अपराध) अहिले देखिन थालेको उनको भनाई छ । उनले भने,‘उनीहरुकै काण्ड र कर्तुत बाहिर आईरहेका छन् । यो सरकारले ठूला–ठूला भ्रष्टाचारीलाई कारबाही गर्न नसकेपनि जनप्रतिनिधिको कर्तुत मिडियामा आईरहेका छन् । यसखालका मान्छेलाई कारबाही गर्नुपर्छ । अरु कुरा भ्रष्टाचारको विरुद्धमा सरकारले कारवाही गरेको छ । तर, सानालाई मात्रै । ठूला–ठूला भ्रष्टाचार र अनियमितताका काण्डा ललिता निवास, वाईडबडीका दोषीलाई कारबाही गरेको छैन् । अध्यक्ष केसीले आफूहरुबीच मतभेद जे भएपनि गणतन्त्र र धर्मनिरपेक्षता रक्षाको लागि सबै एकजुट हुनुपर्ने धारणा राखे । उनले भने,‘उपलब्धि गुम्न दिनुहुँदैन् । तल अधिकार दिनु ठीक छ । प्रदेशको कुनै औचित्य छैन् । नेपाली जनताले प्रजातान्त्रिक विकेन्द्रिकरण चाहेको हो । नेपालको भौगोलिक बनावटअनुसार पनि एकात्मक प्रणाली नै उचित छ । ठुलो संयन्त्र पाल्दाखेरि अहिले नेपाली जनताले थाहा पाए । हिजो हामीले भनेको कुरा ख्यालठट्टाजस्तो लाग्दथ्यो । अहिले यो कुरा ठीक रहेछ भन्ने कुरा साधारण मकै पोलेर बेच्नेले पनि थाहा पाए ।’ जनप्रतिनिधिहरुले जनतालाई सेवासुविधा दिने कुरामाभन्दापनि आफ्नो सेवासुविधा बढाउनेतर्फमात्रै सोचेको पनि उनको आरोप छ । उनले भने,‘जनताको ढाट सेक्नेगरि कर असुल्ने । स्थानीय, प्रदेश र केन्द्रका जनप्रतिनिधिले आफ्नो सेवा र सुविधा मात्रै हेरे । त्यही भएर अहिले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको छ। कतै यो निराशा र वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथिनै एउटा खतरा आउने हो कि भन्ने डर छ ।’ उनले सरकारले जनतालाई सुशासन दिनुपर्ने आग्रह गरे । उनले भने,‘जनताको मन जितेरमात्रै प्रणाली बलियो हुन्छ । सत्ता कब्जा गरेर मात्रै केही हुँदैन् ।’
महिलामाथि डोजर चलाएको घटना बारे काँग्रेसको ध्यानाकर्षण काठमाडौं । महिलामाथि डोजर चलाएको घटना बारे निन्दा गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसले जिल्लाको दशरथचन्द नगरपालिकामा नगरपालिकाले सहमति निर्माण गर्ने प्रयत्न गर्दा गर्दै स्थानीय नागरिकलाई विश्वासमा नलिई कार्तिक ४ गते एकपक्षीय रुपमा सडक खन्ने क्रममा भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘विकासका कुनै पनि कार्यबाट सम्बन्धित क्षेत्रका नागरिक लाभान्वित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ तर सम्बन्धित क्षेत्रका नागरिकलाई विश्वासमा नलिने र स्काइभेटर प्रयोग गरी सडक निर्माण गर्ने कार्य अघि बढाउँदा विरोधमा उत्रिएका नागरिकमाथि ‘डोजर’ चलाइएको घटना गम्भीर र अक्षम्य छ।’ नेपाली कांग्रेस यो घटनाको गहिरो छानविन गरी दोषी माथि कडा कार्वाही गर्न र घटनाका घाइतेलाई सम्पूर्ण उपचार गर्न सरकार समक्ष माग गर्दछ। नेपाली कांग्रेसका तर्फबाट घटनास्थलमै पुगेर स्थानीय नागरिक, स्थानीय सरकार, राजनैतिक दलहरु, स्थानीय प्रशासन, संचारकर्मीहरु एवं आवश्यक व्यक्तिहरुसँग संवाद गरी आवश्यक निर्णय लिन र प्रतिवेदन पेश गर्न केन्द्रीय प्रतिनिधिका रुपमा श्री बहादुर सिंह थापालाई बैतडी पठाइएको छ। कञ्चनपुर जिल्लाका पूर्व सभापति समेत रहनु भएका संविधान सभा सदस्य थापाले आजै साँझबाट बैतडीमा आफ्नो जिम्मेवारी प्रारम्भ गर्नु हुने जानकारी पनि सबैमा गराइन्छ। विज्ञप्तिमा भनिएको छ।
अपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि सरकारले कार्वाही गर्छ : टोपबहादुर रायमाझी काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले अपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पनि सरकारले कार्वाही गर्ने बताएका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले विगतका सरकारले ल्याउन नसकेको अपराधिक घटनालाई वर्तमान सरकारले बाहिर ल्याएर कार्वाही प्रक्रियालाई अघि बढाउने आँट गरिरहेको पनि स्पष्ट पारे। मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले कुनै पनि प्रकारको बचाउ नगर्ने दृढता पनि व्यक्त गरे। नेता रायमाझीले गाउँगाउँमा विकास निर्माणको कामको लहर सुरु भएको पनि बताए। ‘सडक, संचार, सिंचाईको सुविधा गाउँगाउँमा पुगेको छ,’ नेता रायमाझीको दावी थियो, ‘इतिहासमा यस अघि यस खालको विकास निर्माणको लहर कहिल्यै चलेको थिएन।’ नेता रायमाझीले अव सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने दावी पनि गरे।
सभामुख पदमा काँग्रेसको दावी रहन्छ : नेता लेखक काठमाडौं । प्रमुख प्रतिदल नेपाली काँग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको बताएका छन्। काँग्रेस नेता लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिए। मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोही अनुसार सभामुख पद प्रमुख प्रतिपक्ष दललाई दिनुपर्ने तर्क पनि गरे। उनले सभामुख र उपसभामुख पद एउटै दलले राखेर संविधान विपरितका गतिविधि अव हुन नदिने पनि बताए। पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानविन आयोग तत्काल गठन गर्न पनि सरकारसँग माग गरे। उनले संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक कानुन संशोधन गर्न ढिलाई नगर्न सरकारलाई सचेत पनि गराए।
पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउन कार्यविधि मस्यौदा तयार चितवन । सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ मकवानपुरले पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउन कार्यविधि मस्यौदा तयार पारेको छ। कार्यालयले आज यहाँ आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, अवस्था र चुनौती विषयक एक दिने गोष्ठीमा सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले कार्यालयले हालसम्म गरेका काम र भावी योजनाका विषयमा तयार गरिएको कार्यविधिको प्रस्तुतीकरण गरेका थिए । अन्य जिल्लामा पनि कार्यविधिमाथि छलफल गरी सुझाव लिएर पारित गर्न प्रस्ताव पेश गरिने उनले जानकारी दिए । कार्यविधिमा प्रदेशको आम सञ्चार तथा सूचना प्रविधिसम्बन्धी अनुसन्धान गर्ने, पत्रकारिता, सञ्चार तथा सूचना प्रविधिमा शोधपत्र तयारीका लागि पत्रकारलाई शोधवृत्ति दिने, कार्य सम्पादनका सिलसिलामा दुर्घटनामा परेका पत्रकारलाई क्षतिको आधारमा रु ३० हजारसम्म सहयोग दिने उल्लेख छ। दुर्घटनामा मृत्यु भएका पत्रकारका परिवारलाई रु ५० हजार तथा पत्रकारलाई घातक रोग लागेमा उपचारका लागि रु ७५ हजारसम्म आर्थिक सहायता दिने, महिला पत्रकारले सञ्चालन गरेका टेलिभिजन, एफएम रेडियो वा दैनिक पत्रिकाका हकमा वार्षिक रु ५० हजार अनुदान दिने, पत्रकारलाई लेखन वृत्ति दिने, खोज अनुसन्धान गरी समाचारमूलक सामग्री लेख्न चाहेमा रु ५० हजारसम्म सहयोग दिने, ज्येष्ठ पत्रकारलाई मासिक वृत्ति दिनेलगायतका विषय कार्यविधिमा उल्लेख छन्। सो अवसरमा सापकोटाले सञ्चार रजिष्ट्रारको कार्यालय र यसका काम, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका चुनौती, स्थानीय सञ्चारमाध्यम र पत्रकार प्रवद्र्धन एवं श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउने उपाय, अपेक्षित उपलब्धि, सञ्चार रजिष्ट्रारको कार्यक्षेत्र, कोष सञ्चालन, सूचना बैंक सञ्चालन, सञ्चारमाध्यममा लगानी, स्वतन्त्र पत्रकारको मापदण्डका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टले सञ्चार रजिष्ट्रारको कार्यालयले पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउनका लागि निकै गृहकार्य गरेर कार्यविधि तयार गरेको भन्दै यसलाई उपयुक्त सुझाव दिन सबैमा आग्रह गरे। श्रमजीवी ऐन लागू गर्न ठूला सञ्चारमाध्यममा बढी समस्या देखिएको उनको भनाइ थियो । कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य सिर्जना अर्याल, कृष्ण गिरी, जिल्ला अध्यक्ष राधेश्याम खतिवडा, प्रदेश नम्बर ३ का महासचिव कृष्ण सारुमगरलगायतले बोलेका थिए। कार्यक्रममा सहभागी पत्रकारले कार्यविधिमाथि सुझाव दिनुका साथै लागेका जिज्ञासा राखेका थिए। रासस
फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा १० रुपैयाँ दिइने मुग्लिन । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ। गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो। गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु दशको नोट” कार्यक्रम ल्याइएको बताए। अध्यक्ष गुरुङले भने, “इच्छाकामनाको भूगोलमा फलफूल खेतीको राम्रो सम्भवना छ, किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न एक फलफूलको बोट रु दशको नोट कार्यक्रम ल्याएका छौँ।” गाउँपालिकाले व्यावसायिक फलफूलखेती गर्नेका लागि दुई सयदेखि पाँच सय बोटसम्म अनुदान दिँदै आइरहेको छ। ती बिरुवा सफलताका साथ हुर्काउने व्यावसायिक किसानलाई प्रति बिरुवा दश रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङको भनाइ थियो। गाउँपालिकामा सुन्तला, कागती, नासपाती, लागयतको फलफूलको उत्पादन राम्रो हुने गरेको छ । साथै बाँझो जमीन भाडामा लिई व्यावसायिकखेती गर्ने किसानलाई रु एक लाख, तीन दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख, व्यावसायिक बाख्रापालक किसानलाई रु ६० हजारसम्मको अनुदान उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा तीन दुहुना भैँसी पाल्ने ८ जनालाई जनही रु एक लाख, व्यवसायिक तरकारीखेती गर्ने आठ जनालाई जनही रु एक लाख, बाख्राखोर सुधारका लागि २० जनालाई जनही रु २५ हजार, ब्याड बोकाका लागि २० जनालाई जनही रु ४० हजार र बङ्गुरपालक दुईजना किसानलाई जनही रु २५ हजार अनुदान प्रदान गारिएको अध्यक्ष गुरुङले जानकारी दिए। अध्यक्ष गुरुङले किसानलाई व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताए। उनले किसानका लागि वडा नं. ४ कुरिनटारमा शीत भण्डार निर्माण गरिएको बताए। साथै वडा नं- ३ फिस्लिङमा तरकारी सङ्कलन केन्द्र निर्माण भइरहेको जानकारी दिए। चितवनको दुर्गम भेगमा रहेको यस ईच्छाकामना गाउँपालिकाका बासिन्दाको तरकारीखेती र पशुपालन नै मुख्य आम्दानीका स्रोत हुन्। अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन्। रासस
ज्योतिषको भेषमा आएका घुमन्तेद्वारा बालिका अपहरणको प्रयास गलकोट । बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ । अपरिचित मानिसले बालिकालाई ललाइफकाई गरी बुर्तिवाङतर्फ लैजाँदै गर्दा प्रहरीले बीच बाटोमै पक्राउ गरेको थियो । बालिकालाई बुर्तिवाङतर्फ ल्याउँदै गरेको स्थानीयवासीले बताएपछि झिवाखोला प्रहरी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको संयुक्त टोलीले बालिका अपहरण गर्न खोज्न क्षेत्रीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुरज खड्काले बताए । खड्काले बालिकालाई पनि सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा ल्याइएको बताए । बुबाआमा काममा गएको मौका पारी घरमै एक्लै खेल्दै गरेकी बालिकालाई नयाँ कपडा किनिदिने तथा रु एक हजार दिने भनी प्रलोभनमा पारेर बुतिवाङतर्फ ल्याउँदै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोधपुछका लागि ल्याइएकी बालिकालाई भने अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । अपहरणमा लागेका ती व्यक्तिलाई विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झिकाइएको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।रासस
अवैध लागूऔषध सहित मोरङ र बझाङमा २ जना पक्राउ काठमाडौं । बझाङ, बित्थडचिर गाउँपालिका ३ स्याडीबाट कैलाली गोदावरी नगरपालिका १० खमौडा बस्ने ३८ वर्षीय लाल बहादुर बुढालाई करिब ५ सय ग्राम लागूऔषध चरेश सहित इतबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी स्याडीबाट खटिएको प्रहरीले चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ५३३३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार बुढालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। मोरङ, विराटनगर महानगरपालिका १५ स्थित १ ढाटबाट बेलबारी नगरपालिका ६ बस्ने ४० वर्षीय सिद्धि गिरीलाई लुकाई छिपाई ल्याएको हेरोईन जस्तो देखिने खैरो पाउडर ५ ग्राम २ सय ५० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गिरीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नक्कली नोट बनाउने मेशिन लगायतका सामान सहित ३ जना पक्राउ काठमाडौं । नक्कली नोट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न समानहरू सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती बिपुल चोक बस्ने दोलखा मेलुङ गाउँपालिका ७ का पृथ्वी राज भन्ने २८ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपाली रहेका छन्। नयाँ बस्ती बिपुल चोकस्थित कोठा भाडामा लिई नक्कली नोटहरू छापीरहेको अवस्थामा नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने सामाग्री सहित उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो। उनीहरुबाट नेपाली रुपैयाँ १ हजार जस्तो देखिने ६५५७१० नम्बर उल्लेख भएको सगरमाथाको चिन्ह, गभर्नरको सहिछाप अंकित भएको र पछाडी भाग सादा भएको कागज पाना १७ थान, अगाडितर्फको भाग खाली अवस्थामा रहेको पछाडितर्फ हात्तीको चिन्ह भएको कागज पाना १५ थान, अगाडि र पछाडीको भाग केही टाँसिएको ६५५७१० नम्बर उल्लेख भएको कागज पाना १ थान, अगाडिको भाग मात्रै रहेको ६५५७१० नम्बर उल्लेख गरेको कागज १ थान गरी जम्मा ३४ थान, विभिन्न दरका सक्कली नेपाली नगद १६ हजार १ सय ९५ रुपैयाँ, पातलो चिप्लो कागज पाना १ सय ४२ थान र काटेको अवस्थाको कागज पाना १ सय ४९ थान, बाक्लो कागज पाना ६० थान, रंगीन फोटोकपी मेसिन, कम्प्युटर २ थान, सियो, क्यामेरा र कैची लगायतका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बेलायतमा राष्ट्रकवि र महाकविको सम्मानमा साहित्य समर्पण बेलायत । बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा राष्ट्रकवि माधब प्रसाद घिमिरेको १०१औँ जन्मोत्सव र ११०औं महाकवि देवकोटा जयन्ती विभिन्न कार्यक्रमका साथ उत्साहबद्र्धक रुपमा मनाइयो। स्थानीय वेष्ट लण्डन स्थित एबीआई कलेज एक्टनमा आयोजित समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेपाली साहित्य विकास परिषद्का संरक्षक महमहिम राजदूत डा.दुर्गा बहादुर सुवेदीले समुन्द्र पारी विदेशमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०१औँ जन्मोत्सव मनाएको ऐतिहासिक भएको चर्चा गरे र साथै दोस्रो चरणको ११० औँ महाकवि देवकोटा जयन्ती समारोहलाई सम्बोधन गर्दै महामहिम राजदूत डा.सुवेदीले महाकवि देवकोटा साहित्य सिर्जनात्मक क्षमता र कृतिहरूको आधारमा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्थान विश्व स्तरका विशिष्ठ साहित्यकारहरूकै पंक्तिमा रहेको छ भनेर गर्वका साथ भन्न सक्ने बताए। महामहिमले नेपाली साहित्य विकास परिषद् यूकेले वेलायती भूमिमा यसरी राष्ट्रका धरोहर राष्ट्रकवि र महाकविको सम्मान र सम्झना गरेर साहित्यिक उर्जा जगाएको धारणा राखे। समारोहमा अर्का विशिष्ट वक्ता परिषद्का वरिष्ठ सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा.राघव प्रसाद धिताल ओबीईले राष्ट्रकवि माधव प्रसाद घिमिरे साहित्यका एक प्रज्वलित नक्षत्र हुन उनको जन्मोत्सव मनाउन पाउँदा खुसी लागेको बताए। साथै दोश्रो चरणको कार्यक्रममा बोल्नु हुदै महाकवि लक्ष्मीप्रसाद देवकोटा सामाजिक चिन्तनका योद्धा कवि हुन्। उनको मुनामदन कृतिले नेपाली समाजमा समानता समावेसीको आवाज उसैवेला उठाएको थियो भने। उनले देवकोटा नेपाली साहित्यका प्रेरणाका श्रोत र गर्वका शिखर भएको बताउँदै नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापना काल सन् १९९५ देखि नै देकोटा जयन्ती भानु जयन्ती लगायतका विभिन्न साहित्यिक गतिविधिहरू गर्दै आएर बेलायतमा धेरै साहित्यकारहरू जन्माउन प्रेरणादायी र नेतृत्वदायी भूमिका खेलेको कुरा चर्चा गरे। सभापतिको आसनबाट सम्वोधन गर्दै परिषदका अध्यक्ष साहित्यकार कोमल मल्लले राष्ट्रकवि माधव प्रसाद घिमिरेको शुभ जन्मोत्सव गत वर्षझैं यस वर्षपनि मनाउन पाउँदा परिषद गर्वित भएको बताए। यसैगरी दोश्रो चरणको कार्यक्रममा बोल्दै नेपाली साहित्यलाई फराकिलो बनाउने र समाजलाई हेर्ने सोच बदल्ने महाकविका कृतिहरूले तत्कालिन अवस्थामा एउटा सामाजिक क्रान्तिको उजागर नै गरेको बताए। समारोहमा परिषद्का पूर्वअध्यक्ष खगेन्द्र नेपालीले महाकवि देवकोटा र राष्ट्रकवि माधव प्रसाद घिमिरे नेपाली माटोका साहित्यिक निधि र प्रेरणाका भएको बताए। उनले नेपाली साहित्य विकास परिषदले साहित्यिक गतिविधिहरू गरेर कवि, राष्ट्रकवि र महाकवि प्रति सच्चा सम्मान पुर्याएको चर्चा गरे। यस अघि समारोहमा परिषद्का सह महासचिव डा. संगीता स्वेच्छाले स्वागत मन्तव्य र महासचिव वीरेन्द्र कुवँरले उद्घोषण गर्दै नेपाली साहित्य आकाशका चम्किला तारा महाकवि देवकोटाको हरेक वर्ष जन्मजयन्ती मनाएर नेपाली साहित्य विकास परिषद्ले प्रवासमा साहित्यको प्रेरणा जगाउने काम गरेको मात्र नभइ नेपाली भाषा साहित्य र राष्ट्रियतालाई समेत फैलाउने कार्य गरेको बताए। समारोहको पहिलो चरणमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको तस्विरमा प्रमुख अतिथि तथा सहभागीहरूबाट माल्यार्पण गरिएको थियो भने दोश्रो चरणमा महाकविको तस्विरमा प्रमुख अतिथि तथा सहभागीहरूबाट माल्यार्ण गरी श्रद्दा सुमन अर्पण गरिएको थियो। समारोहमा कोसेली नेपाली सांस्कृतिक परिवार यूके का संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापाले, प्रमोद शर्मा, वसन्त रायक्षेत्रीले शर्माले मुना मदन, र मालती मंगलेको संगीतवद्ध गीत मार्मिकरूपले प्रस्तुत गरेका थिए। कार्यक्रमको तेश्रो चरणमा कविता वाचन गरिएको थियो। कविता वाचनतर्फ भाग लिने कवि कवयतृहरूमा वसन्त रायक्षेत्री, दिनेश पौडेल, खगेन्द्र नेपाली, हरिसिंह थापा, डा.सुधा श्रेष्ठ, डा. संगीता स्वेच्छा, मनोज अन्जान, मदन थापा, कोमल मल्ल थिए। अन्तमा कार्यक्रम सफल बनाउन आर्थिक एवम् भौतिक सहयोग पुर्याउने हुने डा.राघव प्रसाद धिताल, डा.जनक कुमारी धिताल, डा.सुधा श्रेष्ठ, बसन्त राय क्षेत्री, ध्रुव केसी, विरेन्द्र कुँवर, मनोज अन्जान, कोहिनूर मल्ल तथा सहभागी सबैलाई परिषदको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको थियो।
नेपाल र अष्ट्रियाबीच जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने सम्झौता काठमाडौं । नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन्। नेपाल र अष्ट्रियाबीच गठित ऊर्जा संयन्त्रको पहिलो सचिवस्तरीय बैठकमा दुवै देश सो सहमतिमा पुगेका हुन्। आज यहाँ सम्पन्न संयन्त्रको पहिलो बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र अष्ट्रियाका तर्फबाट त्यहाँको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टिलर सहभागी भएका थिए । सम्झौतापत्रमा नेपालको तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रविणराज अर्याल र अष्ट्रियाबाट सल्लाहकार सोन्जा स्टिलरले हस्ताक्षर गरेका हुन्। संयन्त्रको पहिलो बैठकमा ६३५ मेगावाटको दूधकोशी र १०० मेगावाटको तामाकोशी–५ जलविद्युत् आयोजनामा आवश्यक लगानी सहयोग गर्ने र अन्य जलविद्युत् आयोजनाको हकमा समेत भविष्यमा सहकार्य गर्ने सहमति भएको मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले जानकारी दिए। त्यसैगरी नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको क्षमता अभिवृद्धिका लागिसमेत प्राविधिक सहयोग गर्ने समझदारी भएको छ। नेपाल र अष्ट्रियाबीच जलविद्युत् पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारी पत्रमा गत जेठ ८ गते हस्ताक्षर भएको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्दे्रइस रेईकार्डसँग सो सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। दुई देशबीच ऊर्जाका क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवलाई आदानप्रदान गर्ने सो सहमतिमा उल्लेख थियो। त्यसका साथै परियोजनाको पहिचान गरी संयुक्त कार्य समूह बनाएर काम गर्ने समझदारीसमेत त्यति बेला भएको थियो। समझदारीअनुसार ऊर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाको संयुक्त अध्ययन र तालीममा पनि सहकार्य गरिने समझदारीअनुसार आज दुवै पक्षबीच उक्त सहमति भएको हो। मन्त्री पुनले मन्त्रालयको कार्यभार सम्हालेलगत्तै चीन, बङ्गलादेश र अष्ट्रियासँग ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ। त्यसका साथै भारतसँग इनर्जी बैंकिङ, अन्र्तदेशीय प्रशारण लाइन, पिटिएको गाइड लाइनसमेत संशोधन भएको छ। ऊर्जामन्त्रीसँग अष्ट्रियन प्रतिनिधिमण्डलको भेटवार्ता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग अष्ट्रियाको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टिलर नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ। ऊर्जा संयन्त्रको बैठकमा सहभागी हुन नेपाल आएको उक्त टोलीले मन्त्री पुनसँग आज भेटवार्ता गरेको हो। भेटमा सल्लाहकार स्टिलरले नेपालको जलविद्युत् क्षेत्रका दुई परियोजनामा थप लगानी गर्न दुवै पक्षको सहमत भएको जानकारी दिएका थिए। मन्त्री पुनले ऊर्जा संयन्त्रको पहिलो बैठकले ऐतिहासिक निर्णय गरेको भन्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने अष्ट्रिया सरकारको निर्णयप्रति आभार व्यक्त गरेका थिए। उनले जलविद्युत् क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै अष्ट्रियासँग नेपालले ऊर्जा समझदारीमा हस्ताक्षर गरेको युरोपको पहिलो देश भएको जानकारी दिए। मन्त्री पुनले आगामी दिनमा दुवै देशबीच ऊर्जाका क्षेत्रमा लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवलाई आदानप्रदान गर्न संयन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे।
चितवन मेडिकल कलेज तोडफोड : दोषीमाथि कारवाही गर्न चिकित्सक सङ्घको माग चितवन । नेपाल चिकित्सक सङ्घ चितवन शाखाले चितवन मेडिकल कलेजमा भएको तोडफोड र चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आरोप लगाउनेलाई कारवाही गर्न माग गरेको छ। सङ्घले जिल्ला प्रशासन कार्यालय चितवनमा आज ज्ञापनपत्र बुझाउँदै दोषीलाई कानूनी कारवाहीको माग गरेको हो। सङ्घका अध्यक्ष डा. प्रकाश खतिवडाले हस्ताक्षर गरी बुझाइएको ज्ञापनपत्रमा आइतबार चितवन मेडिकल कलेजमा भएको तोडफोड र चिकित्सक माथि लगाइएको आरोपका कारण काम गर्न नसक्ने जनाइएको छ। सङ्घले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन २०६८ तथा नियमावली २०६९ अनुसार दोषीलाई कारवाही गर्नुपर्नेसहित विभिन्न छ बुँदे माग राख्दै प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा चितवन मेडिकल कलेजका चिकित्सक, विद्यार्थी माथि भएको साङ्घातिक आक्रमणमा संलग्नलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिनुपर्ने, अस्पतालमा भएको क्षतिपूर्तिका सम्बन्धमा व्यक्ति वा समूहबाट भराइनुपर्ने, स्वास्थ्य संस्थालाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने लगायतका रहेका छन्। सङ्घले राखेका माग २४ घण्टाभित्र पूरा नभए जिल्लामा रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्ने सङ्घले चेतावनी दिएको छ। ज्ञापनपत्र बुझाउने क्रममा नेपाल चिकित्सक सङ्घका केन्द्रीय सदस्य डा कृष्ण पौडेल र डा. अनिलविक्रम कार्कीले गुण्डागर्दी शैलीमा भएको यस घटनाका दोसीलाई कारवाही गर्न माग गरे। अराजक भीडका कारण स्वस्थ्य क्षेत्रको बद्नाम भएको भन्दै यस्तो कार्य नरोकिए देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्न सङ्घ बाध्य हुने उनीहरुको भनाइ थियो। चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालले चिकित्सकले प्रयत्न गर्दागर्दै पनि मध्यबिन्दु नगरपालिका ९ कि ३२ वर्षीया आशा ज्ञवालीको निधन भएको जानकारी दिए। बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरिएको थियो। सो क्रममा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। सङ्घको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले शान्ति सुरक्षाको मत्वपूर्ण क्षेत्र स्वास्थ्य संस्था बनेको बताए। स्वास्थ्य संस्थामा अराजकतावाद मौलाउँदै गएको बताउँदै उनले यस्ता घटनालाई प्रशासनले सुष्म रुपमा हेर्दै आएको भन्दै निर्धक्कताका साथ काम गर्न आग्रह गरे।
‘काभ्रेका पर्यटकीय क्षेत्रमा पर्यटकको बढ्दो निकटता’ काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ ३ नं प्रदेशका सदस्य कृष्ण श्रेष्ठले लोभलाग्दो पर्यटकीय क्षेत्रमा पर्यटकहरु बढ्दै गएको सुनाए। काभ्रेपलाञ्चोकका पर्यटकीय क्षेत्रमा एक पटक आएको पर्यटक दोहोर्याइ, तेहर्याइ आएको हुँदा काभ्रेका पर्यटकीय क्षेत्रमा पर्यटकहरुको गहिरो निकटता रहेको श्रेष्ठको बुझाई छ। सरकारले सुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई साकार पार्न काभ्रेका युवा पर्यटन व्यवसायीरु पनि निकै उत्साहित देखिएका छन्। २० लाख मध्ये करिब १० प्रतिशत पर्यटक भित्र्याउन सकिने लक्ष्यका साथ तयारी गरिरहेका व्यवसायी भन्छन्, ‘पर्यटक नै हाम्रा पाहुना हुन्, उनको स्वागतार्थ सधैं उत्प्रेरित छौं।’ ‘२०२० सुरु हुनु अगाबै राजधानी नजिकै पर्ने काभ्रेका विभिन्न पर्यटकीय क्षेत्र आसपासका होटलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु भरिभराउ हुन थालेका छन्।’ श्रेष्ठले भने, ‘काभ्रेका पर्यटकीय क्षेत्रमा जाडो तथा गर्मी मौसम जुनसुकै बेलामा पनि भ्रमणका लागि सहज हुने भएकाले सधैं जसो पर्यटकको चाप आंशिक रुपमा फेरबदल भएपनि वर्षेनी पर्यटकहरु भित्रिएकै हुन्छन्।’ नेपाल भ्रमण वर्ष सुरु हुने भएकोले यो पटक भने अघिल्लो वर्षको भन्दा अझैं पर्यटकको चाप बढ्न सक्ने पर्यटन व्यवसायीको बुझाई छ। बनेपा, धुलिखेल, नमोबुद्धलगायतका पर्यटकको नजरमा चम्किला ठाउँहरु काभ्रे मै भएकोले पनि पर्यटकहरु बढ्दै गएको श्रेष्ठले बताए। १३ वटा स्थानीय तह रहेको काभ्रेपलाञ्चोकमा जिल्लाका क्रियाशिल पर्यटन व्यवसायीहरुले नेपाल सरकारको लक्ष्य भ्रमण वर्षलाई सफल पार्न, काभ्रेलीहरुको आर्थिक स्तर उकास्ने व्यक्तिगत लाभभन्दा माथि उठेर काम गरिरहेको उनले बताए। ‘पर्यटन, उर्जा र औद्योगिक उत्पादनको केन्द्रको रुपमा हेरिएको काभ्रेमा १ सय ३५ वडाका पौने ४ लाख बढी जनसंख्याको जिल्लामा पर्यटनलाई फस्टाउन सवा भाग जनसंख्या नै यो क्षेत्रको जिम्मेवारी बनेको छन्।’ जिल्लाको नेतृत्व तहले पनि पर्यटनलाई कृषि पर्यटन, सांस्कृतिक तथा धार्मिक पर्यटनको प्रर्वद्धन गरिने धारणा सार्वजनिक गरेका छन्। प्रदेश र प्रतिनिधि सभा सदस्यहरुले पनि पर्यटनलाई प्रवद्र्धन गर्न एकजुट भइरहेका छन्। उत्साहित व्यवसायी सरकारले नेपाल भ्रमण वर्षको तयारी गरेपछि युवा व्यवसायीहरुको संख्या पनि पर्यटन व्यवसायमा बढ्दै गएको छ। ‘नेपालमा केही काम छैन’ भन्ने वेरोजगार युवालाई चुनौती दिदै पर्यटन क्षेत्रमा नै सम्भव छ भनेले दुई दर्जन भन्दा बढी युवाहरुले आफ्नो व्यवसाय सुरु गरिसकेका छन्। ‘नेपाल राष्ट्रलाई विश्वमा चिनाउने अवसर पनि यो भ्रमण वर्ष २०२० ले जुराएको छ।’ श्रेष्ठले भने, ‘हामी सम्पूर्ण नेपालीहरु भ्रमण वर्षलाई सभ्य भव्य रुपले मनाउन सहयोग गर्न सबैलाई आग्रह गर्दछौं।’ नेपालको भौगोलिक, साँस्कृतिक, प्राकृतिक सबै पक्षलाई विश्व सामु चिनाउने अवसर भएकोले यो भ्रमण वर्षलाई होटल तथा पर्यटन व्यवसायी संघ काभ्रेले यसलाई गम्भिर तरिकाले लिएको छ। पर्यटकको सभ्य भ्रमण बनाएमा पाहुनाहरु फेरि पनि आउने र अरुलाई पनि नेपाल घुम्न अभिप्रेरित गर्ने भएको हुँदा आएको पाहुनाहरुलाई खुसी बनाएर पठाउन सबै निकायलाई उनले आग्रह गरे। पर्यटन नै सम्बृद्धिको आधार नेपालमा पछिल्लो समयमा पर्यटन क्षेत्रबाट नै आर्थिक डलर भित्र्याउँदै गएको छ। नेपालमा भएका हिमश्रृखला देखाएर मात्रै वर्षेनी नेपालले अर्बौ रकम जम्मा पार्दै आएको छ। ‘विदेशीहरु भित्र्याउन कृषि, संस्कृति, पर्यावरण नै सुन्दर पार्ने हो भने नेपालको सम्बृद्ध पर्यटन देखाएर नै सम्भव हुन सक्ने हाम्रो बुझाई छ।’ उनले भने। कुराकानीका आधारमा
रुकुममा पाँच किलो चरेससहित एक महिला पक्राउ रुकुम । प्रहरीले एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ। पुथाउत्तरगङ्गा गाउँपालिका –१२ को क्युबाङबाट २७ वर्षीया शीला सुनारलाई उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो। सोही ठाउँको गर्खानीबाट क्युवाङतिर लैजाँदै गरेको चरेस गएराति प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी चरेससहित महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए। सुनारलाई आज २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।रासस
अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा के भने अर्थमन्त्री खतिवडाले ? काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक वैठकको दोस्रो दिन वोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी भएका छन्। उनले नेतृत्वको नेपाली प्रतिनिधिमण्डको अन्तर्राष्ट्रिय वित्त निगमका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्षलगायतका उच्च पदाधिकारीहरुसंग भएको भेटमा नेपालको अर्थतन्त्रको संभावनावारे चर्चा गर्दै अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा निजी क्षेत्र मार्फत जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पुर्वाधारलगायतका क्षेत्रमा समेतलगानी गर्न उनले आग्रह गरे। उनले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै निजी क्षेत्रलाई थप सवल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको विविधिकरण गर्नुपर्ने विषयमा जोड दिए। उनले पूर्वाधार विकासको लागि मध्यम तथा दिर्घकालिनअवधिको वित्त परिचालन गर्ने विषयमा निगमको ध्यानाकर्षण गराए। साथै बैंकको ट्रेजरी हेर्ने उपाध्यक्षलगायतको उच्च पदाधिकारीहरसंगको भेटमा उनले नेपालको पूँजी बजार सानो भएकाले यसको दायरा फराकिलो बनाउन आवस्यक भएको विषयमा जोड दिदै वचत र लगानी वीचको ठूलो अन्तर घटाउन विदेशी पूँजी परिचालन जरुरी भएको बताए। उनले दक्षिण एसियामा सडक सुरक्षा सम्बन्धी एक कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागिता जनाउँदै सडक सुरक्षाका लागि सडक निर्माण भन्दा अगाडि अपनाउनुपर्ने डिजाइन तथा इन्जिनियरिङ्गपक्ष, सवारी साधनको भारवहन क्षमता, सडक प्रयोगकर्ताको ज्ञानकोस्तर, सवारीसाधनको परीक्षण र यातायात क्षेत्रको नियमनजस्ता विषयमा ध्यान पुर्याउनुपर्ने बताए। युरोमनी पत्रिकास‌ंगको एक अन्तवार्ताको क्रममा उनले निजी लगानीकर्तालाई नेपालमा लगानी गर्दा जोमको यथार्थ विष्लेषण गर्न सहयोग पुर्याउन र लगानीमा जोखिम वापत वढी प्रिमियम नलिने अवस्था सिर्जना गर्न नेपालको क्रेडिट रेटिङ्ग गर्ने कार्य सुरु गरी सकेको जानकारी गराए। त्यस्तै विश्वव्यापी आर्थिक शिथिलताले नेपालको वैदेशिक श्रमबजार, पर्यटन, विदेशी लगानी र व्यापारको क्षेत्रमा पार्न सक्ने संभावित प्रतिकुलता सामना गर्नुपर्ने तर्फ सजग रहेको जानकारी दिए। अहिलेको विश्वव्यापी आर्थिक समस्या आर्थिक र मौद्रिक नीतिबाट मात्रै हल नहुने हुँदा अन्तराष्टियतहमा अर्थ राजनीतिक समझदारी आवश्यक रहेकोमा जोड दिए। सो क्रममा उनले व्रिटेन उड्स वाहिरका वहुपक्षीय संस्थाहरु जस्तै ध्त्इ तथा ग्ल्ऋत्ब्म् संग मिलेर काम गरेमा मात्र खुला व्यापार तथा लगानीमा देखिएका विद्यमान समस्याहरु हल हुने उल्लेख गरे। एक अर्को प्रसंगमा उनले दुई पक्षीय व्पापार र लगानीका सम्झौताहरुले क्षेत्रीय र अन्तर्राष्ट्रिय व्यापार तथा लगानी सम्वन्धी भैरहेका समझदारी र सम्वन्धित वहुपक्षीय संस्थाहरुलाई कमजोर पार्न नहुने उल्लेख गरे। साथै, दुई पक्षीय पहलहरु क्षेत्रीय र अन्तर्राष्ट्रिय आर्थिक सहयोगको परिपुरक भूमिकामा देखिनु पर्दछ भन्ने कुरामा उनले जोड दिए। माननीय अर्थमन्त्रीले अन्तराष्टिय मुद्राकोष एसिया प्रशान्त विभागले आयोजना गरेको एक उच्च स्तरीय कार्यक्रममा सहभागी हुँदै दक्षिण एसियाली मुलुकहरुले जनसांख्यिक लाभ लिन थप रोजगारीको सिर्जना र श्रमको उत्पादकत्व बढाउन आवश्यक भएको कुरा उल्लेख गरे। त्यस्तै एसियाली विकास बैंकका उपाध्यक्षलगायतको उच्च स्तरीय पदाधिकारीहरुसंगको भेटमा उनले नेपालको समग्र विकास प्रयासमा बैंकले गरेको सहयोगको समिक्षा गर्दै आगामी वर्षहरुमा बैंकसंगको सहयोग विस्तारका संभावना र नेपाल सरकारको विकास प्राथमिकताको बारेमा छलफल गरे। बेलायती सहयोग संस्थाका स्थायी सचिवसंगको भेटमा बेलायत सरकारको सहयोगमा सञ्चिालित कार्यक्रमहरुको समिक्षा गर्दै आगामी दिनमा परिचालन हुने थप सहयोगका क्षेत्रहरुमा चर्चा भएको थियो । विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविक सेफरसहितको उच्च तहका पदाधिकारी सम्मिलित बैठकमा नेपालमा बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रगति समिक्षा भयो। साथै पोर्ट फोलीयो कार्यान्वयनको गुणस्तर वढाउन आयोजना कार्यान्वयनमा थप जोड दिनुपर्ने तथा उर्जा, यातायात, रोजगारी, कृषि उद्यम, पर्यटन, सहरी पुर्वाधार विकास र सघीयता कार्यान्वयनका क्षेत्रमा थप सहायता परिचालन गर्न बैंक सकारात्मक भएको बताइएको थियो । त्यस्तै गरी क्षेत्रगत नीति सुधारमा आधारित बजेट सहायता परिचालन बढाउन उर्जा, वित्तीय क्षेत्र सुधार र स‌ंघीयतामा आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउने गरी थप तीन क्षेत्रमा बजेट सहायता परिचालन गर्न बैक समूहले काम सुरु गर्ने समझदारी भयो।
नेपाल अब कुनैपनि देशकाे दबाब र प्रभावमा छैन: परराष्ट्रमन्त्री काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यान्मा गणतन्त्र सङ्घको राजकीय भ्रमणका सम्बन्धमा जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सञ्चारकर्मीसँगको भेटमा उनले नेपालमाथि कुनै पनि विषयमा कुनै पनि देशले दबाब नदिएको बताए। हालै चीनका राष्ट्रपति सि चिनफिङले गरेको नेपालको राजकीय भ्रमणका बेला चीनसँग प्रत्यर्पण सन्धि बाह्य दबाबका कारण हुन नसकेको भन्ने जिज्ञासा र छापाहरूमा सार्वजनिक भएका टीकाटिप्पणीबारे प्रष्ट पार्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल दबाब र प्रभावमुक्त रहेको बताए। “अन्तरदेशीय आपराधिक गतिविधि बढेका सन्दर्भमा पारस्परिक कानूनी सहायता सन्धि हुनु सामान्य हो उपयुक्त समयमा हामी चीनसँग प्रत्यर्पण सन्धि गर्छौं,” उनले भने। नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन नेपालमा आयोजना गरिने प्रवद्र्धनात्मक कार्यक्रममा सहभागी हुन म्यान्माका स्टेट काउन्सेलर आङ सान सुची काठमाडौँ आउने जानकारी दिँदै उनले म्यान्माका नागरिकले लुम्बिनी वा काठमाडौँ र म्यान्माबीच सिधा हवाई सम्पर्क कायम हुनुपर्नेमा जोड दिएका बताए। म्यान्माका नागरिकले लुम्बिनी भ्रमणलाई उच्च प्राथमिकतामा राखेका र निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सञ्चालन हुन लागेकाले उताबाट बढी धार्मिक पर्यटकले नेपाल भ्रमण गर्नेमा आफू आशावादी रहेको मन्त्री ज्ञवालीले बताए। नेपाल शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिको पक्षराष्ट्र नभए पनि तिब्बती र भुटानी शरणार्थीलाई मानवीय आधारमा सहयोग भइरहेको यथार्थ सुनाउँदै उनले शरणार्थी समस्याप्रति नेपालको गहिरो चासो रहेको र उनीहरू आफ्ना देश स–सम्मान फर्कन पाउनुपर्छ भन्ने अडानमा नेपाल दृढ रहेको दोहोर्याए। भारत–पाकिस्तान द्वन्द्वले क्षेत्रीय स्थायित्व र शान्तिमा असर गर्ने भएकाले दुवै देशले अधिकतम संयमता अपनाउँदै आपसी तनाव घटाउन र स्थितिलाई सामान्य बनाउनेतर्फ लाग्नुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिए। महिला हिंसाका घटनाप्रति नेपाल सरकार संवेदनशील रहेको र दोषीलाई कारवाही गर्न दृढ रहेको दृष्टान्त प्रस्तुत गर्दै परराष्ट्रमन्त्रीले संसारभरका महिला कार्यस्थल र घरमा सुरक्षित नरहेका वास्तविकतालाई बिर्सेर असान्दर्भिक विषय उठाएर नेपाललाई महिला हिंसामा मुछिएकामा आश्चर्य प्रकट गरे। नेपालको कानूनले महिलाविरुद्धका हिंसालाई गम्भीर फौजदारी अपराध मानेर त्यसैअनुरुप कठोर कारवाहीको व्यवस्था गरेको उनले स्मरण पनि गराए। असंलग्न आन्दोलन (नाम)को १८औँ शिखर सम्मेलनमा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न नेपाललगायत देशमा अन्तर्राष्ट्रिय लगानी बढाउनुपर्ने, शस्त्रास्त्रको होडबाजी र सैन्य सामथ्र्यको सुदृढीकरणको सट्टा शिक्षा, स्वास्थ्य, गरीबी निवारण र भोकमरी हटाउन पनि पर्याप्त लगानी गर्न विकसित राष्ट्रहरू लाग्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाउने मन्त्री ज्ञवालीले जानकारी दिए। त्यसअघि मन्त्री ज्ञवालीले राजनीतिक सुधारका साथ आर्थिक खुलापन बढाउँदै लगेको र दक्षिण पूर्व एशियामा आशलाग्दो आर्थिक विकास गरिरहेको म्यान्मामा भएको नेपालका राष्ट्रपतिको पहिलो राजकीय भ्रमणले दुई देशबीचको समग्र सम्बन्धलाई सुदृढ तुल्याउन मद्दत पुगेको बताउँदै राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा भएका द्विपक्षीय भेटघाट र समझदारीबारे विस्तृत विवरण प्रस्तुत गरेका थिए।रासस
त्रिभुवन विश्वविद्यालयमा श्रम शिक्षाको पनि अध्यापन हुने काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि कोर्ष पनि अध्यापन गराउने भएको छ । सत्तारुढ दल नेकपा निकट मजदुर संगठन जिफन्टको पहलमा सो विश्वविद्यालय अन्तरगतको मानविकी संकायको स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि छुट्टै कोर्षको अध्यापन आगामी शैक्षिक सत्रबाट सुरु हुने भएको हो । सोमबार जिफन्टले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सो विश्वविद्यालयका प्राध्यापक केशवप्रसाद अधिकारीले श्रमिकहरुलाई दक्ष बनाउन तथा उनीहरुलाई सम्मानका साथ स्वदेशमै रोजगारीको अवसर सृजना गर्न श्रम शिक्षा सम्बन्धि छुट्टै कोर्ष आगामी शैक्षिक सत्रबाट अध्यापन गराउने तयारी गरिएको जानकारी दिए। उनले त्यसका लागि विश्वविद्यालयले छुट्टै विभाग र पाठ्यक्रमको पनि निर्माण गरिसकेको बताए। उनले पाठ्यक्रममा नेपाली श्रमिकहरुको अवस्था, उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि गर्नुपर्ने पहललगायतका विषयबस्तुहरु समावेश गरिएको पनि स्पष्ट पारे। कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकहरुका लागि सम्मानजनक ढंगले रोजगारीको व्यवस्थापन गर्न विश्वविद्यालयको स्नाकोत्तर तहमा पनि श्रमिक शिक्षा सम्बन्धि छुट्टै अध्यापन गर्न पहल गरिएको बताए। उनले सो विश्वविद्यालयबाट प्राप्त हुने जनशक्ति मुलुकका लागि र सबै श्रमिक संगठनहरुको लागि पनि उपयोगी हुने विश्वास पनि व्यक्त गरे। जिफन्टले श्रमिकहरुको दक्षता वृद्धिका लागि विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म छुट्टै श्रमिक शिक्षा अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको थियो।
‘नेपाल विकासको प्रमुख साझेदार जापान’ काठमाडौं । जापानको औपचारिक भ्रमणमा रहकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताएकी छन्। राष्ट्रपति भण्डारीको सम्मानमा आज जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपालीलाई दुःख पर्दा असल र भरपर्दो मित्रका रुपमा जापानले सघाएको उल्लेख गरिन्। उनले गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापनामा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले नेपाल र जापानबीच सन् १९५६ देखि दौत्य सम्बन्ध भएको र सांस्कृतिक सम्बन्ध अझ बलियो भएको उल्लेख गर्दै आपसी भ्रमणको आदान प्रदानले सम्बन्धलाई थप सुदृढ बनाएको बताइन्। जापानी सम्राट नारुहितोको गद्धी आरोहण समारोहका लागि जापान सरकारले आफूलाई निमन्त्रणा गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै उनले जापानी जनताको अनन्त शान्ति, विकास र प्रगतिको कामना गरिन्। राष्ट्रपति भण्डारीले हालै जापानमा गएको आँधीमा परी ज्यान गुमाएकाप्रति आफ्नो र नेपाली जनताको तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले वनेपादेखि बर्दिबाससम्मको बिपी राजमार्ग दुई देशबीचको सहयोगको उत्कृष्ट नमूना भएको बताउँदै जापानी सहयोगमा आजै शिलान्यास भएको नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माणले सुरुङ मार्गका क्षेत्रमा नयाँ आयाम थपिएको बताइन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति गर्न बाह्य स्रोतको खाँचो रहेको जानकारी दिँदै उनले नेपालको पूर्वाधार, जलस्रोत, पर्यटन, उत्पानदनशील र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आह्वान गर्दै लगानीको सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गर्ने विश्वास दिलाइन्। राष्ट्रपति भण्डारीले सन् २०२० मा धेरै भन्दा धेरै जापानी नागरिकले नेपाल भ्रमण गर्ने र काठमाडौँ–नारिता सिधा उडान चाँडै हुने विश्वास व्यक्त गरिन्। उनले जापानमा रहेका नेपालीले यहाँको रोजगारी र शिक्षामा पुर्याएको योगदानका लागि धन्यवाद दिइन्। साठी हजार जापानीले नेपाल भ्रमण गर्ने कार्यक्रममा जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका महाचिव तोसिहिरो निकाइले नेपाल भ्रमण वर्षमा ६० हजार जापानीलाई नेपालमा भ्रमण गराउने लक्ष्य लिइएको अवगत गराए। तोसिहिरो नेपाल जापान संसदीय ग्रिडका अध्यक्ष पनि छन्। जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आगामी वर्षमा नेपाल र जापानी प्रधानमन्त्रीको भ्रमण आदान प्रदान गराउने लक्ष्य रहेको जानकारी दिइन् । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत सहभागी थिए। राष्ट्रपति भण्डारीले मङ्गलबार गद्धी आरोहण समारोहमा भाग लिनुका साथै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नेछिन्।
प्रधानमन्त्रीद्वारा सुरुङ मार्गको शिलान्यास (फोटोफिचर) काठमाडौँ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा विशेष कार्यक्रमका बीच शिलान्यास गरे। यो मार्ग नेपालको पहिलो सुरुङ मार्ग हुनेछ। जापानको हामजो निर्माण कम्पनीले ४२ महिना भित्र यसको निर्माण सम्पन्न गरिसक्ने छ। जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो। यसका लागि २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ। प्रवेश मार्गसहित ५.५६ किमी सडक मार्ग मध्ये सुरुङ मार्ग २.६८ किमीको हुनेछ। यो सुरुङ निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। करिब रु छ अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुने छ। यो रकम नेपाल सरकारले व्यहोर्ने छ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ। धादिङको धुनिवेशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि शुरु गरिनेछ। यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुन लागेको हो । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो। सुरुङ मार्गका लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । निर्माण कम्पनीले साँढे तीन वर्षमा काम सक्नेछ । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ।
१८ जुवाडे पक्राउ कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले गएराति जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले राति १ः३० बजेको समयमा देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ती जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए । जुवा खेलिरहेका उनीहरुको साथबाट प्रहरीले रु एक लाख ४२ हजार ९४० समेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए । चाडपर्वको समयमा जुवातास खेल्ने क्रम धेरै भएपछि प्रहरीले जुवातास रोक्नलाई जोड दिएको छ । प्रहरीले चाडपर्व शुरु भएलगतै जुवाताल खेलाउने स्थानको विशेष निगरानी राख्दै आएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए । जुवातासका कारण सामाजिक समस्या निम्तिने हुँदा आफूहरुले यसको नियन्त्रण गर्न लागिपरेको उनले बताए । प्रहरीले पछिल्ला दिनमा नवलपुरका विभिन्न स्थानबाट जुवातास खेल्नेलाई धमाधम पक्राउ गरिरहेको छ ।
राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता टोकियो, जापान । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी सहभागी थिए। जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारीसहितको नेपाली प्रतिनिधिमण्डल आइतबार राजधानी टोक्यो आईपुगेका थिए । म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति यहाँ आइपुगेको हो । जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेक यही कार्तिक ५ गते स्थानीय समयानुसार अपराह्न १ बजे इम्पेरियल प्यालेसको सेदेन स्टेट हलमा हुँदैछ । राज्याभिषेक समारोहमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल यही कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस
समृद्ध नेपाल निर्माणका लागि एकता आवश्यक : मुख्यमन्त्री गुरुङ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल निर्माणका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले बडादशैँ, तिहारलगायतका चाडपर्वका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारका नकारात्मक कामको प्रचार बढी र सकारात्मक कामको प्रचार कम भइरहेको बताए। सङ्घीयता कार्यान्वयनका क्रममा रहेको उल्लेख गर्दै उनले सङ्घीयताको मर्मलाई बल पुग्ने किसिमबाट सकारात्मक तवरले सञ्चारकर्मीले सहयोग गर्नुपर्ने धारणा राखे। उनले सङ्घीय सरकारको केन्द्रिकृत सोचका कारण अझै पनि सङ्घीयता कार्यान्वयन गर्न कठिनाइ भएकोे गुनासो गरे। सङ्घीयताको कार्यान्वयनका लागि उच्चस्तरीय राजनीतिक कार्यदल बन्नुपर्ने उनको जोड थियो । देशमा कानूनी राज्य स्थापित भएको बताउँदै उनले समाजका विकृति, विसङ्गति र भ्रष्टाचारविरुद्धमा कलम चलाउन आग्रह गरे। मुख्यमन्त्री गुरुङले जग्गा प्राप्तको अधिकार प्रदेश सरकारमा नहुँदा विकास निर्माणमा कठिनाइ भएको बताए। गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मागेर कुनै व्यक्तिको जीवन र कुनै देशको प्रगति नहुने बताए । छिमेकी राष्ट्रका कुनै प्रमुख नेपाल आउँदा देशले के पाउने र के दिनेभन्दा पनि उनीहरुसँग हाम्रो सद्भाव, सम्बन्ध कस्तो हुन्छ त्यसतर्पm केन्द्रित हुनुपर्ने उनले बताए। नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले विकासका लागि निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक भएको बताउँदै लगानीयोग्य उत्पादनशील योजना सरकारले छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए। महासङ्घ गण्डकीका कार्यवाहक अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रयी सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेशका विकास समितिका सभापति दीपक कोइराला, सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष स्मिता अधिकारी, गणेश पौडेललगायतले नेपालीका ठूला चाडबाडले एकआपसमा सदभाव, भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।
खस भाषाको नाटक ‘पम्फा फूल’ प्रदर्शन खलङ्गा । कर्णालीको कला संस्कृति झल्किने खस भाषाको नाटक ‘पम्फा फूल’ जुम्ला सदरमुकाम खलङ्गामा आज प्रदर्शन गरिएको छ । स्थानीय कलाकारको लेखन तथा निर्देशन रहेको नाटक ‘पम्फा फूल’ स्थानीय कलाकार हिराबिजुली नेपालीको लेखन, गोविन्द सुनारको निर्देशनसहित १३ कलाकारको समूहले निर्माण गरेर मञ्चन गरिएको हो। नाटकले धनकै कारण आमाबुबा, दिदीबहिनी, श्रीमतीसहित परिवारका अन्य सदस्यलाई पीडा दिइरहेको कथा प्रस्तुत गरिएको थियो । खस सभ्यताका जानकार रमानन्द आचार्यले नाटकले खस सभ्यता झल्काउने र सामाजिक अवस्थाको चित्रण गरेको बताए। तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले नाटक खस भाषा संरक्षणको आधार भएको प्रतिक्रिया दिए। नागरिक समाजका संयोजक राजबहादुर महतले स्थानीय कलाकारको मेहनत र नाटकको सन्देश मार्मिक भएको बताए। कला घर जुम्लाको पहिलो प्रस्तुति उक्त नाटक यही कात्तिक ८ गतेसम्म सञ्चालन हुने निर्देशक सुनारले जानकारी दिए। खस सभ्यता झल्काउने पोषाक, पहिरन तथा भाषाको नाटकले बजार पाउने धेरै दर्शकको प्रतिक्रिया थियो।
महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ : उपसभामुख तुम्बाहाङफे ललितपुर । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले समाजमा महिलाको भूमिका परिवर्तन हुँदै गएको अवस्थामा महिलाप्रति हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन नभएको बताएकी छन्। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), सञ्चारीका समूह र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले संयुक्त रुपमा यही कात्तिक १ र २ गते गोदावरीमा आयोजना गरेको दुईदिने ‘पत्रकार महिलाका लागि निर्वाचन र आम सञ्चारमाध्यम विषयक कार्यशाला र महिला राजनीतिज्ञसँगको अन्तरक्रिया’ समापन कार्यक्रममा उपसभामुख तुम्बाहाङ्फेले समाजमा महिलाको काम र भूमिका परिवर्तन हुँदै जाँदा उसलाई हेर्ने दृष्ट्रिकोण अझै उस्तै रहेकोमा चिन्ता व्यक्त गरिन्। उनले भनिन्, “जुनसुकै क्षेत्रमा लागी परेका महिलाले निरन्तर दरिलो तवरको भूमिका निर्वाह गर्दै जाँदा एक दिन अवश्य सफलता प्राप्त गर्न सक्छाैँ।” महिलाले समाजमा निर्वाह गरेको जिम्मेवारी, पेशालगायत व्यवसायले स्वयं पुरातन सोचको अन्त्य गराउन सक्ने तुम्बाहाङ्फेको बुझाइ रहेको छ । हरेक महिलाले विगतका कुराबाट सिक्दै अघि बढ्नु जरुरी भएको तुम्बाहाङ्फले औँल्याइन् । हाल पुरुषहरु रहेको नेतृत्व तहमा यदि महिलाले भूमिका निर्वाह गर्ने अवसर पाउने हो भने उनीहरु पक्कै सफल हुने उनले बताइन्। कार्यक्रममा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले हरेक तहमा रहेका महिलाले आफूसँग भएको आत्मशक्ति, इच्छा शक्तिलगायतको दक्षतालाई निरन्तरता दिनुपर्ने बताइन् । सुवेदीले भनिन्, “समाजका सबै महिलाबीच एकपटक थप समन्वय र एकता कायम गर्न जरुरी देखिन्छ ।” सांसद रामकुमारी झाँक्रीले समाजशास्त्र विषयमा समेत महिलालाई पछि पारिएको गुनासो गरिन्। उनले भनिन्, “पुस्तकमा समेत हेपिएका महिलाको विरोध नीति निर्माणको क्रममा केही तलमाथि हुनु कुनै नयाँ कुरा होइन ।” सांसद विन्दा पाण्डेले विगतमा अन्तरपार्टी महिला सञ्जालले महिलाको राजनीतिक भूमिकाको व्याख्या गर्दै अभिपे्ररणा भरेको भनी धन्यवाद व्यक्त गरिन् । राष्ट्रियसभा सदस्य विमला राई पौडेलले मानिसको चरित्रहत्या गर्ने कुरामा धेरैभन्दा धेरै बुझेर बाहिर ल्याउन आग्रह गरिन् । प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले महिलाको राजनीतिक विषयलाई साझा रुपमा विकास गरी माथि पुर्याउन जोड दिनुपर्ने बताइन्। उनले भनिन्, “देशमा राजनीतिक व्यवस्था परिवर्तन भएता पनि पितृसतात्मक मानसिकता भने अझै परिवर्तन भएको छैन ।” सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले यो कार्यक्रमले सञ्चार क्षेत्रमा लागेका महिला र राजनीतिक तहमा लागिपरेका महिलाबीच पुलको काम गर्न अहम् भूमिका निर्वाह गरेको बताइन्।रासस
रकम हिनामिना गरेकाे अभियाेगमा ५६ जना विरुद्ध मुद्दा दायर काठमाडौं । तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायपुर शाखाबाट भएको झण्डै १८ करोड रुपैयाँ हिनामिनामा ५६ जनाविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार उच्च अदालत तुलसीपुरमा बैंकका सञ्चालक, कर्मचारी र खातावाल गरी ५६ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङले दुई महीना अनुसन्धान गरेर प्राप्त प्रमाणलाई शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएपछि कसुरदारविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको हो। १७ करोड ९९ लाख ९० हजार हिनामिनामा संलग्नको ठूलो जालो रहेको प्रहरीले प्रमाण फेला पारेको छ। बैंक सञ्चालक समितिका छ जना समेतको संलग्नता देखिएको प्रहरीको भनाइ छ। वेष्टर्न बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ खिमबहादुर डिसीसहित सात जना कर्मचारी पनि रकम हिनामिनामा संलग्न देखिएको भन्दै मुद्दा दायर भएको छ। रकम हिनामिनामा अन्य ४३ जना खातावालाको समेत संलग्नता देखिएपछि उनीहरु विरुद्ध पनि मुद्दा दायर भएको छ। रकम अपचलनमा दोषी नरहेको भन्दै भदौ २७ गते पक्राउ परेका सूचना प्रविधि अधिकृत विनोद डिसी भने आज छुटेका छन्। त्यसैयरी यसअघि निर्दोष देखिएर छुटेका वसन्त बुढाथोकी फेरि अनुसन्धानमा तानिएका थिए। बैंकका शाखा प्रमुख समीर बुढाथोकीसहित तीन जना कर्मचारी र आठ जना खातावाल व्यक्ति प्रहरी हिरासतमा छन्। अन्य ४५ जना पक्राउ परेका छैनन्। उनीहरुलाई अब म्यादी पक्राउ पूर्जी जारी हुने छ। वेष्टर्न बैंकको शाखा नारायणपुरले रु दुई लाखसम्म मात्रै लोन दिन पाउने अधिकार भएको तर शाखाबाट रु १७ करोड ९९ लाख ९० हजार बाहिरिएपछि रकम हिनामिनाको रहस्य खुलेको हो। वेष्टर्न बैंक साउन अन्तिम साता देबःविकास बैंकमा गाभिएलगत्तै घटना बाहिर आएको थियो।रासस
नेता वा मन्त्रीको पावरमा मलेसियाको नयाँ डिमाण्ड स्वीकृति नगर्न राजदुत पाण्डेको आग्रह मलेसिया । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेता वा मन्त्रीको पावरमा मलेसियाको नयाँ डिमाण्ड स्वीकृति नगर्ने सबैलाई आग्रह गरेका छन्। शनिबार मलेसिया स्थित होटल ग्रेण्ड कन्टिनेन्टलमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाद्वारा मलेसियाका लागि नब नियुक्त उपनियोग प्रमुख मोतीराम श्रीस मगरलाई स्वागत कार्यक्रममा राजदुत पाण्डेले सो कुरा बताएका हुन्। राजदुत पाण्डेले नियम बिपरित कार्य गर्ने कसैलाई छुन नहुने बताए । गतल कार्य गर्ने केही बिचौलियालाई सामान्य कार्वाही गरि चेतावानी दिई छोडि दिएकाछौं र दुतावासकै दुई कर्मचारीलाई जागिरबाटै निकालिएको समेत जनकारी गराए। ‘ब्याक फर गुड’ कार्यक्रममा जसरी दुतावासले कडाई गरेको छ त्यसरी नै मलेसियाबाट नेपाल जाने नयाँ डिमाण्ड स्विकृतिमा पनि कडाई गर्ने बताए। नयाँ डिमाण्ड नेपाली दुतावासले स्वीकृति नगरी पठाउन नपाउने नेपाल मलेसियाबिच भएको श्रम सम्झौतामा उल्लेख छ। कम्पनीको एच आर आधिकारिक पत्र लिएर आएपछि मात्र दुतावासले डिमाण्ड स्वीकृत गर्छ। मलेसियालाई नेपालीहरुको बैदेशिक रोजगारकप सुरक्षित र मर्यादित गन्तव्य बनाउने प्रयासमा छौँ। नियम बिपरित एउटा डिमाण्ड पनि स्वीकृत नगर्ने र यदि कसैले गलत तरिकाबाट काम गर्ने चेष्टा गरेमा गर्ने र गराउने दुबैलाई कार्वाहि हुनेछ। त्यसैले नेपालबाट झोला भिरेर नेता वा मन्त्रीको पावरमा मलेसिया आएर डिमाण्डको स्वीकृति लिन्छु भन्ने भ्रममा नपर्ने सबै म्यानपावर व्यवसायीहरुलाई राजदूत पाण्डेले आग्रह गरे। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राईले नब नियुक्त उप नियोग प्रमुख मगरलाई स्वागत तथा कार्यकालको शुभकामना ब्यक्त गरेका थिए। साथै मलेसियाका लागि नब नियुक्त गप नियोग प्रमुख मगरले नेपाल आदिवासी जनजाति महासंघ मलेसियालाई धन्यबाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा नेपाली मजदुरहरुको लागि राम्रा कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। कार्यक्रममा अध्यक्ष राईले नब निर्वाचित नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका समितिको जानकारी पत्र पनि राजदुत पाण्डेलाई बुझाएका थिए।
‘आमन्त्रण गल्फ’ प्रतियोगिता स्याङबोचेमा कोङ्दे, सोलु । बाह्रखरीको वार्षिक ‘आमन्त्रण गल्फ’ प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा खेलिएको छ । चार हजार दुई सय पचास मिटरमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो। नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षाका साथ प्रतियोगिता आयोजना गरिएको थियो । सगरमाथा क्षेत्रको चारहजार दुईसय ५० मिटर उचाइमा रहेको कोङ्दे री मा र ती हजार आठसय ८० मिटर उचाइमा रहेको स्याङबोचेमा आइतबार बिहान ‘आमन्त्रण गल्फ’ प्रतियोगिता भएको हो । प्रतिकूल मौसमका बाबजूद कोङ्दे री ६ जना कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गरे भने बाँकी आठ जनाले स्याङ्बोचेमा प्रतिष्पर्धा गरेका थिए । बाह्रखरी गल्फ विश्वको सबैभन्दा बढी उचाइमा गरिएको बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले जानकारी दिए । उनका अनुसार यो प्रतियोगिता गल्फमा ‘रेकर्ड ब्रेक’ हो । आइतबार बिहानैदेखि त्यस क्षेत्रको मौसममा खराबी आएको भए पनि एनसेल बाह्रखरी गल्फ प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिताले नै ‘रेकर्ड ब्रेक’ गरेको हो । प्रतियोगिताको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको भए पनि खराब मौसमका कारण हुन सकेन । कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै एनसेलका सीईओ एण्डी चोङ्गले एनसेलले बाह्रखरीसँग मिलेर यस कार्यक्रमको आयोजना गर्न पाउँदा खुसी लागेको बताए । उनले विश्वकै उचाइमा गरिएको यस कार्यक्रमप्रति आयोजकलाई बधाई दिँदै एनसेलले आफ्ना ग्राहकको सपना साकार पार्न मद्दत गर्ने बताए ।व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले पनि एनसेल बाह्रखरी गल्फले नेपालको लागि ठूलो योगदान गरेको बताए । प्रतियोगिता दुई चरणमा हुनेछ । बाँकी खेल अक्टुबटर २६ शनिबारका दिन काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछन् । जहाँ बाँकी रहेका १७ होल खेलाइनेछ । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने बाह्रखरी मिडियाका उप–महाप्रबन्धक घिमिरेले जानकारी दिएका छन् । “हाम्रो मुख्य उद्देश्य नै पर्यटन प्रवर्द्धन गर्नु हो,” घिमिरेले भने, “आइतबार बिहान सगरमाथा क्षेत्रमा गल्फ प्रतियोगिता गरेर रेकर्ड ब्रेक गरेका छौं।” सरकारले आयोजना गरेको भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस प्रतियोगिताको सन्देश विश्वभर पुगेको बताउँदै यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । अस्टुबर २६ मा हुने फाइनल खेलमा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । एनसेल बाह्रखरी गल्फ नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो गल्फ प्रतियोगिता भएकाले ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने उनले बताए । यो प्रतियोगिताको नाम ‘एनसेल प्रिजेन्ट्स बाह्रखरी एभरेस्ट गल्फ २०१९’ रहेको छ। प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भिजिट नेपाल इयर २०२० को सहकार्यमा गरिएको हो । प्रतियोगिताको मुख्य प्रायोजक एनसेल रहेको छ भने भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन् । थाई इन्टरनेसनल एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज पार्टनर रहेका छन् भने ग्लोबल आईएमई बैङ्क प्रतियोगिताको बैङ्किङ पार्टनर तथा टाटा मोटर्स भेहिकल तथा होल–ईन–वान पार्टनर रहेको छ । बाह्रखरी मिडिया इभेन्टस् प्रतियोगिताको आयोजक हो । प्रतियोगितामा सहभागी खेलाडीहरुले यस प्रतियोगिता अविस्मरणीय रहेको प्रतिक्रिया दिए । “मेरा लागि यो अविस्मरणीय क्षण रह्यो । मैले प्रतियोगिताको पहिलो टीअफ गर्ने मौका पाएँ । गल्फ आफैँमा धेरै रोमाञ्चक खेल हो । अहिले बाह्रखरीले कोङ्देमा यो प्रतियोगिता आयोजना गर्नुनै हामी खेलाडीको लागि एतिहासिक क्षण हो । यो नेपालका लागि मात्र होइन विश्वकै इतिहासमा पहिलोपटक अग्लो स्थानमा खेलाइएको प्रतियोगिता हो,” कोङ्दे मा प्रतिष्पर्धा गरेका समीट एयरका सञ्चालक विकाश राणाले भने। प्रतियोगिताको पहिलो समूहमा प्रतिष्पर्धा गरेकी रेखा घिमिरेले पनि बाह्रखरी गल्फले आफ्नो लागि जीवनभर भुल्न नसकिने अवसर प्रदान गरेको बताइन् । “मैले ३० वर्षदेखिन गल्फ खेल्दै आइरहेको छु । मेरो आफ्नै गल्फ खेलको करियरमा नयाँ इतिहास रचेको अनुभव गरेको छु । यस्तो खालको प्रतियोगिता मेरो लागि पहिलो पटक हो । यो प्रतियोगितालाई मैले प्रतिस्पर्धा भन्दा पनि नयाँ अनुभवको रुपमा लिएको छु । हिमालको फेदमानै गल्फ खेल्ने अवसर जुराइदिएकोमा आयोजकप्रति आभारी छु,” कर्पोरेट गल्फर राजेन्द्र श्रेष्ठले भने । त्यस्तै प्रतियोगिताकी अर्काे खेलाडी आरती राणाले कोङ्देमा गल्फ खेल्दा एउटा नयाँ खालको उर्जा आएको प्रतिक्रिया दिइन्।
४० वर्षीय छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने ६२ वर्षीय बाबु पक्राउ खोटाङ । आफ्नै ४० वर्षीय छोरा गणेश राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा जन्तेढुङ्गा गाउँपालिका–२ डुम्रिबोट बस्ने ६२ वर्षीय जमान सिंह राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। सामान्य बादविवादको क्रममा जमान सिंहले खुकुरी प्रहार गर्दा गणेश घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी देवीस्थानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते गणेशलाई उपचारको लागि धरान घोपा अस्पतालतर्फ पठाइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
‘लेडयुक्त पेन्ट’ मापदण्ड पूर्ण पालना गराउन सरकारलाई विज्ञको सुझाब काठमाडौं । विज्ञहरुले लेडयुक्त पेन्टको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। वातावरणविद् रामचरित्र साह, चिकित्सक मेघनाथ धिमालले लेडयुक्त पेन्ट स्वास्थ्यको लागि घातक हुने भएकाले त्यसको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वातावरणविद् साहले नेपाल सरकारले लेडयुक्त पेन्टको मापदण्ड तोकेपनि त्यसको पूर्ण रुपमा परिपालना गराउन नसकेकाले मानव स्वास्थ्यमा समस्या देखा पर्दै आएकाले सो समस्या समाधानका लागि सरकारलाई गम्भिर हुन आग्रह गरे। वातावरणविद् साहले लेडयुक्त पेन्टमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने बेला आएकाले यसबारे सचेत हुन आम उपभोक्तालाई पनि आग्रह गरे। कार्यक्रममा बोल्दै डा. धितालले मानव स्वास्थ्यका लागि घातकसिद्ध हुने भएकलो लेडयुक्त पेन्ट प्रतिबन्ध लगाउन उपयुक्त हुने सुझाव सरकारलाई दिए। चिकित्सक धितालले लेडयुक्त पेन्टसम्बन्धि मापदण्ड सरकारले घोषणा गरेपनि त्यसको परिपालना गराउन पहल गर्न नसकेको गुनासो पनि गरे। लेडयुक्त पेन्टका कारण मानिसको मृर्गौंलानै ड्यामेज्ड भएर जाने, नपुंसक हुनेलगायतका सम्भावना रहेको चिकित्सकहरुको भनाई छ।
सिटी एक्सप्रेस र एनएस क्यासप्वाइन्ट/लुलु एक्सचेन्जको स्क्राच एण्ड विन प्रमोशनमा टिभी उपहार काठमाडौं । सिटी एक्सप्रेस मनिट्रान्सफर र एनएस क्यासप्वाइन्ट/लुलु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्राच एण्ड विन प्रमोशन अगस्ट १०, २०१९ देखि सुरु भएको थियो । यो प्रमोसन केबल एन् एस् क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने व्याक्तिहरुलाई मात्र लागु हुनेछ। जस्मा पैसा पठाए बापत कुपन प्रदान गरिने छ । र सो कुपनमार्फत ग्राहकहरुले ब्याग, वालेट किरिङ्ग, कार्ड होल्डर, मोवाइल, साईकल र टिभी उपहारहरु जित्न सकिन्छ । सोही प्रमोसन मार्फत नरेश थकुल्लाले ३२ को टिभी उपहार जितेका छन्। थकुल्लाले एन् एस्क्यास पोइन्टको Port Klang ब्रान्च मार्फत सिटी एक्सप्रेसमा रकम पठाएका थिए। यस्तै बिभिन्न उपहारहरु जित्नको लागिएन् एस् क्यास पोइन्टको शाखामार्फत सिटी एक्सप्रेसमा रकम पठाउन पर्नेछ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७००० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
रेशम चौंधरीलाई रिहा गर्न आदिवासी जनजाति महासंघको माग काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघका अध्यक्ष जगत बरामले कैद मुक्तान गरिरहेका राष्ट्रिय जनता पार्टी, नेपालका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद चौंधरीको विना सर्त तत्काल रिहा नभए सरकार विरुद्ध आन्दोलन चर्काउने चेतावनी पनि दिएका हुन्। गत शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न ‘प्रथम नेपाली आदिवासी जनजाति अन्तराष्ट्रिय सम्मेलन’ले जारी गरेको आदिवासी जनजातिहरुको काठमाडौं घोषणा पत्र आईतबार सार्वजनिक गर्दै उहाँले विश्वमा रहेका सबै नेपाली आदिवासी जनजातिहरुलाई पनि निर्वाचनमा मत हाल्न पाउने व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। अध्यक्ष बरामले सम्मेलनले संविधान संशोधन गरेर आदिवासी जनजातिहरुलाई पनि राज्यका सबै निकाय र तहमा समान प्रतिनिधित्व व्यवस्था गराउन पनि सरकारलाई दवाव दिएको बताए। सो घोषणा पत्रमा गोर्खा सैनिकमा भर्ती भएका सैनिकका सन्तानहरुलाई वंशजको आधारमा प्राप्त हुने नेपाली नागरिकतालाई पनि निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ। त्यसैगरी घोषणा पत्रमा आदिवासी जनजाति संघ, संस्थाहरुमाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमै एकजुट भएर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरिएको छ।
गाडिएको अवस्थामा एक युवकको शव फेला मेलम्ची । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वार नजिकै एक युवाको हत्या भएको छ। हत्यापछि एक स्थानीयवासीको घर नजिकै रहेको मलखाडलमा गाडिएको अवस्थामा शव फेला परेको थियो। लामोसाँघु–जिरी सडक सुधार आयोजनामा स्काभेटर चलाउँदै आएका बाह्रबिसे नगरपालिका–४ पलातीका ३० वर्षीया जीवन थापाको हत्यापछि मलखाडलमा लगेर शव गाडिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए। शुक्रबार बेलुकीदेखि हराइरहेका थापाको खोजबिनका क्रममा मलखाडलमा गाडेको अवस्थामा शव फेला परेको सुनकोशी गाउँपालिका–७ का वडाध्यक्ष ईश्वर तिमिल्सिनाले जानकारी दिए। गत मङ्सिरदेखि लामोसाँघु–जिरी सडक निर्माणको जिम्मा पाएको गौरी–पार्वती ठेकेदार कम्पनीमा कार्यरत थापा एक किलोमा रहेको कम्पनीको कार्यालयमा बस्दै आएका थिए। शुक्रबार बेलुकीदेखि हराएपछि कम्पनीमा कार्यरत साथीहरुले प्रहरीलाई खबर गरेर शनिबार उनको खोजी भएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए। थापाको हत्याको घटनामा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बाह्रबिसेले सुनकोशी–७ स्वारा निवासी प्रतिमा विश्वकर्मा र जुना कार्कीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो। घर छेउकै जंङ्गलमा लुकिरहेको अवस्थामा प्रतिमालाई प्रहरीले पक्राउ गरेको थियो। प्रतिमाले बयानका क्रममा आफूले मादक पदार्थ सेवन गरेर सुतेको र राति आफू नजिकै जीवन पनि सुतिरहेको देखेपछि छाम्दा चिसो भइसकेको पाएपछि बिहान घिसारेर नजिकै रहेको जुना कार्कीको घर छेउमा रहेको मलखाडलमा लगेर गाडिदिएको बताएकी छिन्। जुना कार्कीले भने मृतक जीवन थापालाई घिसारेर लैजाँदै गरेको देखेको र गाडेको देखे पनि प्रहरीलाई खबर नगरेको बयान दिएको इलाका प्रहरी कार्यालय बाह्राबिसेले जानकारी दिएको छ।रासस
वुमन्स च्याम्पियन्स लिग : काठमाडौँद्वारा ललितपुर पराजित ललितपुर । राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा क्याट क्विन्स काठमाडौँ पुगेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको हो। जितसँगै काठमाडौँले चार खेलमा छ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा पुगेको छ। त्यस्तै लगातारको तेस्रो हारसँगै ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ। ललितपुरले दिएको १०६ रनको लक्ष्यलाई पच्छाएको काठमाडौँले १७ दशमलव २ ओभरमा दुई विकेट गुमाएर भेट्टायो। काठमाडौँको जितमा कप्तान रुबिना क्षेत्रीले अविजित ५९ रनको अर्धशतकीय इनिङ्स खेलिन्। उनले ५२ बलमा एक छक्का र नौ चौका प्रहार गर्दै सर्वाधिक ५९ रनको योगदान दिएकी हुन्। त्यस्तै रोमा थापाले १८, रश्मी चौलागाईले ९ तथा अप्सरी बेगमले अविजित ७ रन जोडिन्। बलिङतर्फ ललितपुरकी सम्झना खड्का र अलिसा केसीले एक÷एक विकेट लिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०५ रनको योगफल बनाएको थियो। उसका लागि रोशनी बोहराले अविजित २९ रन जोडिन् भने नेरी थापाले २२, ममता चौधरीले १५ तथा गीता गोसाईले १३ रन बनाइन्। काठमाडौँकी ईश्वरी बिष्टले दुई विकेट लिँदा सरस्वती चौधरीले एक विकेट झारिन। क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले टिभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। रासस
धरहरा पुनःनिर्माणले गति लिन सकेन काठमाडाै‌ । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको धरहराको पुनःनिर्माणअन्तर्गत हालसम्म जम्मा २७ प्रतिशत मात्र काम भएको छ । गत २०७५ पुस १२ मा प्रारम्भ गरिएको निर्माण कार्य एक वर्ष बित्नलाग्दा पनि २२ तले धरहराको एक तलासमेत निर्माण भएको छैन । दुई वर्षमै निर्माण गरिसक्ने सहमति भए पनि अहिलेको निर्माणको गति हेर्दा अबको पाँच वर्षमासमेत पूर्णता पाउने स्थिति नदेखिएको सरोकारवालालाहरूले बताएका छन् । नेपाल र चिनियाँ निर्माण कम्पनी जीआइइटीसी–रमन जेभीसँग विसं २०७५ असोज १४ गते दुई वर्षमै धरहरा निर्माण गर्ने र विसं २०७७ असोज २१सम्म पार्किङलगायत सम्पूर्ण निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो । पुनःनिर्माणका क्रममा हाल धरहरा टावरको पहिलो बेसमेन्टको क्रङक्रिट भरिएको र बिम तथा स्ल्याब उठाउने कार्य शुरु गरिएको छ । त्यस्तै गोश्वारा हुलाक कार्यालय रहेको भवन भत्काएर सफाइ गर्ने काम भइरहेको छ । धरहरा निर्माणका लागि आवश्यक जग्गा गोश्वारा हुलाक कार्यालयले प्राधिकरणलाई हस्तान्तरण गर्न ढिला गरेकाले निर्माणले गति लिन नसकेको हो । हाल हुलाकले हामीलाई ९० प्रतिशत मात्रै जग्गा दिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार निर्माण कम्पनीले समयमै जग्गा उपलब्ध नगराउँदा निर्माणमा ढिलाई भएको भन्दै आलटाल गरेको छ । “निर्माण कम्पनी र हुलाक कार्यालयका कारण धरहरा पुनःनिर्माणमा ढिलाइ भएको हो”, उनले भने, “अझै हुलाकले १० प्रतिशत जग्गा प्राधिकरणलाई हस्तान्तरण गर्न बाँकी छ । जग्गा दिन ढिला भएकै कारण निर्माण कम्पनीले ढिला गर्ने बहाना बनाएको हो तर सकेसम्म छिटो काम गर्न हामीले निर्देशन दिएका छौँ ।” तीन अर्ब ८० करोडको लागतमा धरहरा निर्माण र गोश्वारा हुलाक रहेको क्षेत्रको सबै भागमा ३० फिट गहिरो भूमिगत तह खनेर तीनतले पार्किङस्थल निर्माण गर्ने सम्झौता भएको थियो । धरहरा बनाउन सरकारले ४४ रोपनी जग्गासमेत प्रदान गरिसकेकाले पहिला धरहरा रहेको पाँच रोपनी जग्गाबाहेक राष्ट्र बैंकअन्तर्गत रहेको टक्सार विभाग, नेपाल बैंक लिमिटेड र गोश्वारा हुलाक कार्यालयको जग्गामा धरहरा पुनःनिर्माण हुँदैछ । ती दुबै कार्यालयलाई अन्यत्रै सारिएको छ । विसं १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा धरहरा बनाउन लगाएका थिए । एघार तले धरहरा विसं १९९० को भूकम्पले भत्काएको दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरले नौ तले धरहरा पुनःनिर्माण गराएका थिए । सम्पदा विज्ञ मानन्धरका अनुसार निर्माणतर्फ २७ प्रतिशत काम हुँदा हालसम्म रु ५५ करोड खर्च भइसकेको छ ।
आलमलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति काठमाडौं। हत्या आरोपमा पक्राउ परेका काँग्रेस नेता तथा निलम्बित सांसद अफताव आलमलाई अदालतले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला अदालत रौतहटले आइतबार उनलाई थुनामा राख्न अनुमति दिएको हो। उनी गएको असोज २६ गते रौतहटस्थित आफ्नै घरबाट पक्राउ परेका थिए। आलमको बयान पनि प्रहरीले शुरु गरेको छ। शुरुमा बयान दिन अस्वीकार गरेका आलम आइतबार भने बयान दिन राजी भएका हुन्। २०६४ को संविधानसभा निर्वाचनको मतदान हुनुभन्दा अघिल्लो दिन चैत २७ भएको एक आकस्मिक बम विस्फोटनका घाइतेलाई ईंटा भट्टामा हालेर जलाएको उनमाथि आरोप छ। पक्राउ परेसँगै रौतहट २ बाट निर्वाचित सांसद आलम सांसदबाट निलम्बित भइसकेका छन्। आफुले चुनाव जित्न बम विस्फोटको योजना बनाएको र अचानक बम विस्फोट हुँदा रहस्य खुल्ने भयले घाइतेलाई नजिकैको ईंटा भट्टामा हालेर जलाएको उनीमाथि आरोप छ। प्रहरीले उनलाई यो आरोपमा १२ वर्षपछि पक्राउ गरेको हो।
सहकार्य र एकताले नै विकास सम्भव छ : मुख्यमन्त्री राउत पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सहकार्य र एकताले नै राष्ट्र विकास सम्भव हुने बताएका छन् । उनले एक अर्काको खुट्टा तान्ने प्रवृत्ति भएको समाजमा उन्नति गर्न नसकिने भएकाले एकता र भाइचाराले नै समाज र राष्ट्र सुखी तथा विकसित हुने बताए। समाजवादी पार्टीले आज वीरगञ्जमा आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकमा अहिले तीन तहको सरकार रहेको र तीनवटै तहमा हाल समन्वय नभएकै कारण जनताले अपेक्षा गरेअनुसार सरकारले काम गर्न नसकेको बताए। उनले सङ्घको प्रदेशसँग र प्रदेशको स्थानीय तहसँग समन्वय भए समृद्धिको जनअपेक्षालाई पूरा गर्न सकिने विश्वास व्यक्त गरे।
कानूनी शासनमा कसैले उन्मुक्ति पाउँदैनन् : मन्त्री बाँस्कोटा काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन आज बनेपामा आयोजित कार्यक्रममा उनले कानूनी शासनभित्र कसैले उन्मुक्ति नपाउने र कानून सबैलाई बाराबरी लाग्ने बताए। पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्जसमेत रहेका मन्त्री बाँस्कोटाले भने, “कानून सबैका निम्ति बराबर हो, विधिमा चलेको वर्तमान सरकार सुशासनको पहरेदार बनिरहेको छ, बनिरहन्छ ।” विधिको शासन स्थापित गर्न सरकार दत्तचित्त रहेकोमा कसैलाई शङ्का नगर्न उनले आग्रह गरे। मन्त्री बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रशासनलाई चुनौती दिने गल्ती गरिरहेको दाबी गरे। “एकातिर सुशासन स्थापनाको माग गर्ने, अर्कोतिर २२ जनालाई जिउँदै भट्टामा हाल्ने आरोप खेपेका मान्छेलाई गिरफ्तार गर्दा राज्यसंयन्त्र प्रयोग गरेर दुःख दियो, सुशासन खोइ भनेर प्रश्न गर्ने तपाईहरुको नैतिकता कहाँ गयो ?” उनले प्रश्न गरे। सुशासनमाथि आक्रमण नगर्न उहाँले चेतावनीसमेत दिए। मन्त्री बाँस्काटाले गलत विषय समाजमा स्थापित नहुने भएकाले भ्रममा नपर्न काङ्ग्रेसलाई सुझाव दिए। उनले भने, “यो कम्यूनिष्ट पार्टीले निर्माण गरेको सरकार हो सत्ता होइन, त्यसैले यहाँ कानूनी राज चल्छ, यो कानूनी राजभित्र कसैले उन्मुक्ति पाउँदैनन्।” केही समयअघि सभामुखको घटना आउँदा रमाउने र कानूनी राज ठीक लाग्यो भन्ने काङ्ग्रेस २२ जनाको जीवनलीला समाप्त पार्नेलाई गिरफ्तार गर्दा कानूनी शासन भएन, दमन गरियो, भन्ने लोकतान्त्रिक संस्कार कुन हो भन्दै उनले प्रश्न गरे। “वर्तमान सरकार, भ्रष्टाचार र अपराधविरुद्ध निर्मम हुन्छ, कोही कसैलाई पनि छुट दिनेछैन” उनले भने। सरकारले बदला र प्रतिशोधको भावनामा राजनीति नगरेकाले न्याय, समानताको स्थान र विधिको शासनप्रति ढुक्क हुन उनले आग्रह गरे। मन्त्री बाँस्कोटाले रेलको प्रसङ्ग कोट्याउँदै छिमेकी देशहरुले ३१ प्रतिशतसम्म ऋण लिएर काम गर्ने गरेको बताए। उनले भने, “हामीले अहिलेसम्म ऋण लिएका छैनौँ, तर हाम्रो क्षमता ३४ प्रतिशतसम्म लिनसक्ने छ।” मन्त्री बाँस्कोटाले उत्पादनको संघर्ष समाजवादतर्फ जाने बाटो भएको बताए। “सामाजिक र आर्थिक रुपान्तरणबिना समाजवाद स्थापना हुन सक्दैन, समाजवादमा न्याय प्रणाली वितरणको पनि संघर्ष हुन्छ” उनले भने। पार्टी र सरकार नङ र मासु भएर चल्नुपर्ने भएकाले पार्टीको लडाइँको मोर्चा तिखार्दै उच्च मनोवलका साथ उत्पादनको संघर्षमा लाग्न उनले नेताकार्यतासँग आग्रह गरे।
विश्वका कम्युनिष्ट पार्टीको बैठक टर्कीमा काठमाडौँ । विश्वका कम्युनिष्ट तथा श्रमिक पार्टीको २१औँ बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आ–आफ्ना देशका मौलिक विशेषतालाई ख्याल गर्दै कम्युनिष्ट पार्टीलाई लोकप्रिय, जनमुखी र बलियो बनाउन सक्दा मात्रै परिवर्तनको सपनालाई साकार पार्न सकिनेमा जोड दिएको छ। नेकपाको तर्फबाट केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा यसैमा जोड दिएका कारण नेकपा लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा स्थापित भएको स्मरण गराए। साठी देशका ७५ कम्युनिष्ट पार्टीको सहभागिता रहेको उक्त बैठकको आयोजना टर्की र ग्रीसका कम्युनिष्ट पार्टीले संयुक्त रुपमा गरेका हुन् । विश्वका सबै खालका कम्युनिष्ट पार्टीको साझा मञ्चका रुपमा रहेको कम्युनिष्ट तथा श्रमिक पार्टीको अन्तर्राष्ट्रिय बैठक (आइएमसीडब्लुपी) नामक उक्त मञ्च सन् १९९८ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ । सन् १९१९ मा लेनिनको नेतृत्वमा ‘कम्युनिष्ट इन्टरनेशनल’ स्थापना भएको १०० वर्षको सन्दर्भ पारेर आयोजना गरिएको बैठकको मूल नारा ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय स्थापनाको सयौँ वार्षिकोत्सव शान्ति र समाजवादका लागि लडाइँ जारी छ’ रहेको छ । शुक्रबार शुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ । बैठकको शुरुआत आयोजक टर्की कम्युनिष्ट पार्टीका महासचिव केमल ओकुयान र ग्रीस कम्युनिष्ट पार्टीका महासचिव दिमित्रिस कोत्सोम्वसले गरेका थिए। मुख्य बैठक अघि बिहीबार बसेको कार्यकारी समूह (वर्किङ ग्रुप) को बैठकले एजेन्डा तय गर्नुका साथै बैठकपछि जारी गरिने वक्तव्यको मस्यौदामा सहमति जुटाएको थियो । विश्वका २५ प्रमुख कम्युनिष्ट पार्टी रहेको वर्किङ ग्रुपमा नेकपा सदस्य छ । निर्वाचनबाट सत्तामा आएको विश्वको एक मात्र कम्युनिष्ट पार्टी भएकाले नेकपालाई विशेष रुपमा लिइन्छ । कम्युनिष्ट प्रणाली भएका चीन, क्युवा, उत्तर कोरिया, भियतनाम र लाओसले पनि आ–आफ्नो देशको मौलिकताअनुसार समाजवाद निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कम्युनिष्ट आन्दोलनका अनुभवबाट शिक्षा लिँदै यसको भविष्यका लागि समय सापेक्ष हुन विश्वका कम्युनिष्ट पार्टीलाई नेपालका तर्फबाट आह्वान गरिएको छ । उपप्रमुख रिजालले भने, “जनताका हरेक सुख दुःखमा सधैँ साथमै रहेकाले नेपाली जनताले हामीलाई दुई तिहाई मत दिएका छन् ।” आफ्नो पार्टी र सरकारको उद्देश्य सामन्तवादका अवशेष र पुँजीवादका विकृतिलाई समाप्त पार्दै नेपाललाई समाजवादतर्फ लैजाने रहेको उल्लेख गर्दै उनले त्यसैका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ सरकारले काम गरिरहेको जानकारी विश्व समुदायलाई दिए।
एशियाली मुलुकहरुलाई पूर्वीय दर्शनबाट एशियाको विकासमा योगदान गर्न परराष्ट्रमन्त्रीको आग्रह म्यान्मा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एशियाका मुलुकहरुले पूर्वीय दर्शनका मूल्यमान्यतामा आधारित रहेर मिलेर काम गरी पूरै एशियाको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने बताएका छन्। म्यान्मा नेपाल मैत्री सङ्घ र म्यान्मा नेपाल चेम्बर अफ कमर्शद्वारा आज यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित ‘म्यान्मा नेपाल मैत्री र व्यवसायका अवसर’ विषयको विचार गोष्ठीमा उनले म्यान्मा र नेपालले तिनीहरुले संयुक्त राष्ट्र सङ्घ, असङ्लग्न आन्दोलन, जी ७७ जस्ता सङ्गठन र समूहमा रहेर समसामयिक विश्वको चुनौतीको सामना गरी न्यायपूर्ण, निष्पक्ष र विधिमा आधारित अन्तरराष्ट्रिय विश्व प्रणालीको सुनिश्चिता गर्नुपर्नेमा जोड दिए। उनले एकै वर्षमा व्यापार, लगानी, पर्यटन र संस्कृतिका क्षेत्रमा भएको समझदारीले दुवै देशको आर्थिक एवं सांस्कृतिक सम्बन्ध बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले म्यान्माले लुम्बिनीमा बनाएको चैत्य बौद्ध तीर्थयात्राका लागि महत्वपूर्ण आकर्षण बनेको बताउँदै लुम्बिनीका लागि राष्ट्र सङ्घका महासचिव ऊ थान्त (म्यान्मा)ले अन्तरराष्ट्रिय सहयोग जुटाउन गरेको कामको सराहना गरे। नेपाल र म्यान्मा दुवै विकासोन्मुख मुलुक भएको र दुवैमा गरी करीब आठ करोड जनसङ्ख्या रहेको बताउँदै उनले दुवै राष्ट्र ठूलो बजार हुन सक्ने औँल्याए। नेपालका आर्थिक तथा व्यावसायिक नीतिहरु उदार रहेको र प्रवेशाज्ञा प्रणाली पनि सरल भएकाले म्यान्माका उद्योगी व्यवसायीलाई म्यान्मामा लगानी गर्न आग्रह गरे। नेपालले प्रायः सबै क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि ढोका खुला राखेको बताउँदै उहाँले विकासोन्मुख मुलुक भएकाले केही अन्तरराष्ट्रिय बजारमा केही विशेष सुविधा पाइएको पनि जानकारी दिए। गैर आवासीय नेपालीको कर समस्या समाधान गर्न संयन्त्र निर्माण गर्ने, प्रवेशाज्ञा प्रणालीलाई सरल बनाउने र गौतम बुद्ध विमानस्थल छिटो निर्माण गरी म्यान्मा नेपाल हवाइ उडान मिलाउन सकिने बताए। सो अवसरमा उ थान्तका नाति डा थान मिन्तले दुवै देशका सम्पदा र संस्कृति संरक्षण गर्न मिलेर काम गर्न सकिने बताउँदै नेपाल म्यान्मा सीधा हवाई उडान गर्नुपर्नेमा पनि जोड दिए। उनले विद्यालयहरुमा इतिहास विषय अध्ययनअध्यापन हुनुपर्ने र अन्य धेरै क्षेत्रमा आदानप्रदान गर्नुपर्ने पनि बताए।रासस
‘हामीसँग अब टाईम लिङ्गरिङ गर्ने छुट छैन्, १२ अर्ब लगानी भित्र्याउन काम सुरु गरिसक्यौं’ काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले एक स्वरमा नेपाललाई समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धता जनाएका छन् । शनिबार नवनिर्वाचित पदाधिकारीलाई रिपोर्टर्स क्लब नेपालले सम्मान तथा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । क्लबका सभापति ऋषि धमलाले नवनिर्वाचित पदाधिकारीहरुलाई खादा तथा माला लगाएर सम्मान गरेका हुन् । अध्यक्ष कुमार पन्त, उपाध्यक्षत्रय सोनाम लामा, मन केसी र अर्जुनकुमार श्रेठ, महासचिव डा. हेमराज शर्मा, सचिव आर.के. शर्मा, सह–कोषाध्यक्ष लोक दाहाल, एशिया प्यासिफिक डेपुटी रिजनल कोअर्डिनेटर खगेन्द्र न्यौपाने, अमेरिका क्षेत्रीय महिला संयोजक उमा कार्कीथापालगायतलाई धमलाले सम्मान तथा बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन् । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कुमार पन्तले मुलुक समृद्ध बनाउनको लागि गैरआवासीय नेपालीहरुले अहम भूमिका खेल्दै आएकोले आगामी दिनमा नेपालको विकास र समृद्धिको लागि झन ठूलो योगदान पुर्याउने विश्वास दिलाए । उनले भने,‘हामी यो देशको विकासमा केही गर्छौं भनेर लागिरहेका छौं । नयाँ भिजनसहित हाम्रो फ्रेश टिम निर्वाचित भएर आएको छ ।’ पन्तले आफूहरुसँग अत्यन्त छोटो समय रहेकोले आफ्नो २ वर्षे कार्यकालमा यसअघि गरेका वाचा तथा प्रतिबद्धताहरु पूरा गरेरै छोड्ने पनि स्पष्ट पारे । उनले भने, ‘हामीसँग अब टाईम लिङगरिङ गर्ने छुट छैन् । यो २४ महिनामा हामीले गरेका सबै वाचा तथा प्रतिबद्धताहरु पूरा गर्नुपर्छ । हामी आजैबाट दत्तचित्त भएर लागिपरेका छौं ।’ अध्यक्ष पन्तले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्नको लागि एनआरएनएले ठूलो भूमिका निर्वाह गर्ने पनि बताए । उनले भने, ‘गैरआवासीय नेपालीहरुले विदेशमा हाँसिल गरेको ज्ञान, सीप, पुँजी र लगानी नेपाल भित्र्याउनेछौं । हामी यो देशको विकास र समृद्धिको लागि सामूहिक लगानी ल्याउँछौं । पछिल्लो समय हामीले नेपालमा सामूहिक लगानी सुरु गरिसकेका छौं । यसैको उदाहरण हो २७ मेगावाटको तोर्दी खोला हाईड्रोपावर, जुन हामीले निर्माण सम्पन्न गरिसकेका छौं।’ त्यस्तै, नेपाल सरकारसँग १२ अर्व लगानी भित्र्याउने भनेर एम.ओ.यु.पनि गरिसकेको उनले सुनाए । उनले भने, ‘हामीले यो प्रतिबद्धता पूरा गर्नको लागि काम पनि सुरु गरिसकेका छौं ।’ उक्त म्युच्युअल फण्डमा ९० प्रतिशत लगानी गैरआवासीय नेपालीको रहने र बाँकी १० प्रतिशतमा ५ प्रतिशत निजी क्षेत्र र अर्को ५ प्रतिशत नेपाल सरकारको रहने पनि उनले जनाए । अध्यक्ष पन्तले विदेशबाट ठूलो संख्यामा नेपाल आउने रेमिट्यान्स अनउत्पादनशिल क्षेत्रमा खर्च भैरहेको सुनाउँदै आगामी दिनमा उक्त रेमिट्यान्स उत्पादनको क्षेत्रमा लगानी गर्ने पनि बताए । विदेशमा श्रममा रहेका नेपालीहरुको हित र कल्याणको लागि स्थापना गरिएको श्रमिक कल्याणकारी कोषमा भएको रकम दोब्बर गर्ने भनेर बोलिएअनुसार आजैबाट काम सुरु भएको पनि उनले स्पष्ट पारे । उनले भने,‘आज बसेको हाम्रो नवनिर्वाचित कार्यसमितिको बैठकबाट कोषमा एक करोड ५ लाख रकम जम्मा भैसकेको छ ।’ त्यस्तै, उनले श्रमसम्बन्धी समस्या समाधानको लागि कसरी अघि बढ्ने भन्नेबारे आफूले श्रममन्त्री गोकर्ण विष्टसँगपनि छिट्टै छलफल सुरु गर्ने जनाए । पन्तले संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा निर्वाचनको भोटिङ मेशिनमा समस्या देखिएको बताए । उनले भने, ‘यसपालि आलोचना हुनुको कारण भनेको भोटिङ सिस्टमले गर्दा हो । हामीले यसअघि रामलक्ष्मण दाजुभाइको कम्पनीबाट भोटिङ मेसिन ल्याएर निर्वाचन गराएका थियौं । त्यो मेसिन अन्य निर्वाचनहरुमा पनि प्रयोग भइरहेको रहेछ । त्यही मेसिन ल्याएर हामीले निर्वाचन सम्पन्न गराउन खोज्यौं । तर, प्राविधिक समस्या सिर्जना भयो ।’ उनले गैरआवासीय नेपालीभन्दा पनि बाहिरका मान्छेले निर्वाचनमा संघलाई बदनाम गराएको टिप्पणी गरे । उनले भने,‘हाम्रो संस्था गैरराजनीतिक संस्था हो । राजनीतिकरण गर्नुहुँदैन् । हामी सबै गैरआवासीय नेपालीहरु एकताबद्ध भएर बस्न चाहन्छौं । विभाजित हुन चाहँदैनौं ।’ उनले राजनीतिको नाममा आफूहरुलाई विभाजित नगरियोस भन्ने धारणा राखे । नेपालमा ठूला दलका ठूला नेताहरुले जबरजस्ती राजनीतिकरण गरेर निर्वाचित प्रभावित गरेकोले आगामी महाधिवेशन र निर्वाचन नेपालमा नगर्ने भनेर आफूले बोलेको पनि उनले सुनाए । उनले भने,‘आगामी निर्वाचन हामी नेपालबाहिरै गर्छौं । अनलाईन भोटिङ सिस्टम लागु गर्छौं ।’ यो पटकको निर्वाचनमा पैसाको पनि विकृति देखिएको उनको भनाई छ । उनले भने,‘मेरो दुईवर्षे कार्यकाल पूरा गर्नका लागि मैले केही ठोस योजना तर्जुमा गरेको छु । मैले नम्बर वान के भनेको छु भने विदेशमा बस्ने जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरु हुनुहुन्छ, उहाँहरुलाई पञ्जीकृत शुल्क हटाएर निःशुल्क सदस्यता दिलाउँछु । किनकि पैसाका नाममा हाम्रो अभियानमा केही विकृतिहरु भित्रिएका छन् । यस्ता विकृतिहरुलाई म मेरो कार्यकालमा हटाउन चाहान्छु ।’ यसको लागि आफूहरुको आज बसेको बैठकले एउटा कार्यदल गठन गरेर काम पनि सुरु गरिसकेको पन्तको भनाई छ । नेपाल र नेपाली जनताले संघबाट ठूलो आशा र भरोशा गरेकोले परोपकारी काममा संघ बढि केन्द्रित हुनेपनि उनले विश्वास व्यक्त गरे । उनले भने,‘च्यारिटी काम बढि गर्नको लागि फाउण्डेशन बनाएर अघि बढ्छौं ।’ त्यस्तै, उनले महिला उद्यमशिलता बढाउनको लागि आफूहरुले विशेष ध्यान दिएर काम गर्ने बताए । अहिलेको पुस्ता विस्तारै बुढो हुँदै जाने भएकोले आगामी सक्षम युवा पुस्ता तयार पार्नको लागि युथ अन्टरप्रेन्युअरसिप कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिए । विश्वभरि छरिएर रहेका ८० लाख गैरआवासी नेपालीहरुले मातृभूमी नेपाल समद्ध र धनी भएको हेर्न चाहेको सुनाउँदै त्यसकै लागि काम गर्ने पनि पन्तले बताए । उनले भने,‘हामी मुलुक समृद्ध बनाउने अभियानमा होमिएका छौं । अहिले स्वर्णिम अवस्था हो । अहिलेको पुस्ताले केही नगरे आउने पुस्ताले हामीलाई धिक्कार्नेछ । हामीले अर्को पुस्ताले वाह भन्ने काम गर्नुपर्छ ।’ नवनिर्वाचित पदाधिकारी उच्च मनोबलका साथ आएकोले नेपाललाई समृद्ध बनाउनेगरि काम गर्ने र नेपालको विकसित हुने भाग्य रहेको पनि उनले बताए ।
दोहोरो कर लिएको भन्दै कवाड व्यवसायीहरु आन्दोलित चितवन । चितवनको खैरहनी नगरपालिकाले दोहोरो कर लिएको भन्दै कवाड व्यवसायीहरुले विरोध गरेका छन् । आन्तरिक राजस्व कार्यालयलाई १३ प्रतिशत राजस्व तिरिरहेको अवस्थामा खैरहनी नगरपालिकाले समेत प्रत्येक सामानमा कर लिने गरेको भन्दै व्यवसायीहरुले विरोध गरेका हुन् । व्यवसायीहरुले दोहोरो कर बन्द गर, व्यवसायिक वातावरण सिर्जना गर जस्ता नारासहितको प्लेकार्ड बोकेर शनिबार विरोध प्रदर्शन गर्दै पर्सा बजार परिक्रमा गरेका छन् । चितवन कवाडी व्यवसायी संघका अध्यक्ष शंकर केसीकाअनुसार नगरपालिकाबाट ठेक्का लिएर ठेकेदारले प्रति बोत्तल एक रुपैयाँ, प्रतिकिलो फलाममा दुई रुपैयाँ, प्रति किलो टिनमा एक रुपैयाँ शुल्क लिने गरेका छन् । कवाड व्यवसायीले सरकारलाई भ्याट, नगरपालिकालाई व्यवसायिक कर तथा साना तथा घरेलु उद्योग कार्यालयमा पनि कर तिर्दा समेत नगरपालिकालाई थप कर तिर्नुपरेपछि आफूहरुले व्यवसाय गर्ने वातावरण नभएको केसीले बताए । नगरपालिकाबाट ठेकेदारले उठाउने शुल्क खारेज हुनुपर्ने केसीको भनाइ छ । व्यवसायी सुधामा साहले ट्रकमा सामान लोड गरेर पठाउँदा आफूले ठेकेदारलाई छुट्टै कर तिरेको गुनासो गरे । १० टन फलाम बिक्री गर्दा १३ प्रतिशत कर राजस्वमा बुझाए पनि नगरपालिकालाई छुट्टै २० हजार रुपैयाँ शुल्क बुझाउन बाध्य भएको साहले बताए । आफूहरु दोहोरो करको मारमा परेको भनेर खैरहनी नगरपालिकामा जाँदा समेत हक्काइ खानुपरेको व्यवसायीहरुको भनाइ छ ।
पैया गुड्न लाग्या, बम्बै जान्या रेलगाडीका‍‍‍… कञ्चनपुर । कला संस्कृति संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले आज कञ्चनपुरको भीमदत्तनगरमा ‘हमरा गीत’ विशेष साँझमार्फत यहाँका पुराना देउडा भाका पस्किए। “पैया गुड्न लाग्या, बम्बै जान्या रेलगाडीका पैया गुडन लाग्या” “अब छुटन लाग्या पहाडका डाँडा काँडा अब छुटन लाग्या” यही देउडा गीतबाट निकै ख्याति कमाएका देउडा गायक भट्टले यहाँका लोकसंस्कृति र कला संस्कृतको जर्गेनाका लागि भन्दै विशेष साँझको आयोजना गरिएको बताए। लायन्स क्लब र गुरुभूमि फाउन्डेशनको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा उनले देउडाका पुराना भाका पस्किए। उनलाई गायक नवराज कलौनी र स्थानीय कलाकारहरुले समेत साथ दिएका थिए। कार्यक्रममा वृद्धवद्धाको बाक्लो उपस्थिति थियो। गायक भट्टका बम्बै जान्या रेल गाडीका पैया गुडन लाग्या, लैजा बुदी लालपिछौडी बौरानी ओडली, का जान्छै बगन्या पानी कैको माया मानी, हिट साली किरमडा खाइजाऔँ जौपात, दुत्या दशैँ तसै गया, काटु कटालैको सेरो र धोका रैछ मायाजाललगायत देउडा गीतबाट सहभागीले भरपुर मनोरञ्जन लिएका थिए।
अछाममा विद्यालय स्तरीय संसदीय बहस प्रतियोगिता अछाम । अछाममा विद्यालय स्तरीय संसदीय बहस प्रतियोगिता हुने भएको छ। शनिवार पत्रकार सम्मेलन गर्दै अछाम जिल्लामा पहिलो पटक माध्यमिक तह सम्मका विद्यालय स्तरीय संसदीय बहस प्रतियोगिता हुने आयोजकले जनाएको छ। ‘तथ्ययुक्त तर्कहरुको वैचारिक लडाइँ’ भन्ने मुल नाराका साथ तर्क युद्ध अछाम, २०७६ प्रतियोगिता हुने नयाँ युवा नयाँ सोच नेपालका अध्यक्ष मुकुन्ददीप मडैले बताए। जिल्लाको साँफेबगर नगरपालिका, मङ्गलसेन नगरपालिका, चौरपाटी गाउँपालिकालगायत अछामका स्थानीय तहको सहयोग र नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा साँफेबगरमा हुने अध्यक्ष मडैले बताए। कार्यक्रममा मङ्गलसेन नगरपालिका २०७६ कि ‘नमूना युवा सांसद’ पार्वती विष्टलाई कार्यक्रम संयोजक घोषणा गर्दै कार्यक्रम यहि आउने पौष महिनाको अन्तिम साता आयोजना गरिने जानकारी दिएका अध्यक्ष मडैले बताए। यस संसदीय बहस कार्यक्रममा अछामका सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट छनौट भइ आएका विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ। कार्यक्रमका प्रमुख प्रशिक्षक तथा प्रमुख निर्णायक बिनोद खत्रीका अनुसार यस प्रतियोगिताले विध्यार्थीहरुलाइ संसदीय पद्धतिको ज्ञान दिने, संसद, कानून निर्माण प्रकृया आदिको व्यवहारिक ज्ञान दिने साथै समसामयिक विषयमा बहस गराइ तर्क कला तथा बहसकला अभिवृद्धि गर्न मद्दत पुग्ने छ।
मंगलबजारमा ‘एल कप ब्याटमिन्टन प्रतियोगिता’ सुरु काठमाडौं । ललितपुरको मंगलबजारमा ‘एल कप ब्याटमिन्टन प्रतियोगिता’ सुरु भएको छ । पाटन दरबारक्षेत्रस्थित आर्दश कन्या विद्यालयको प्राङगणमा सो प्रतियोगिता सूरु भएको हो । कार्तिक नौं गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा ७२ वटा टोलका १७० जना खेलाडीहरु सहभागी हुनेछन्। २ वटा कोर्टमा चार ईभेन्टमा खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ। जसमा १५ वर्षमुनिका किशोरहरुको अन्डर १५ सिंगल, पुरुष मेन्स डबल्स, भेट्रान्स मेन्ट डबल्स र मिक्स डबल्स इभेन्ट रहेका छन्। प्रतियोगितामा १५ वर्षमुनिका किशोरहरुको अन्डर १५ सिंगल इभेन्टमा पहिलो हुनेलाई ८ हजार, दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेलाई २ हजार नगदसहितको पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ।
अमेरिकी प्राविधिक कम्पनी सिथोसको आर्टिफिसयल इन्टिलिजेन्स सेवा नेपालमा पनि सुरु काठमाडौं । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी सिथोसले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ। अमेरिकामा केन्द्रिय कार्यालय भएको सिथोसले भारतमा पनि सेवा प्रदान गर्दै आएको छ । नेपालको बैंकिङ क्षेत्र मार्फत सूचना प्रविधि तथा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को सेवा प्रदान गर्ने गरी नेपाल भित्रिएको शुक्रबार एक कार्यक्रमबिच घोषणा गरिएको हो । कार्यक्रममा सिथोस अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आर्टिफिसियल इन्टिलिजेन्स नेपालमा ज्यादै आवश्वक भएकाले सिथोस नेपाल प्रवेश गरेको बताए । नेपालको बैंकिगं प्रणालीमा रिस्क मेनेजमेण्ट, ह्याकिगं लगायतका समस्या न्युनीकरणमा सिथोसको एआई प्रणालीले सहयोग पुर्याउने विश्वास जिसीको छ । कम्पनीले बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्स मार्फत ग्राहकलाइ सेवा प्रदान गर्छ । त्यसका साथै कर्जाको भ्यालुएसन र कर्जा दिन मिल्ने रकमलाइ समेत गणना गरी छिटो छरीतो र प्रभावकारी सेवा प्रदान गर्छ । सिथोसले बैकिङ क्षेत्रको नियमन, परिपालना तथा सम्भावीत ठगीलाइ पहिचान तथा नियन्त्रण गर्ने प्रविधिक सेवा प्रदान गर्ने सिथोस नेपालका अध्यक्ष दक्ष पौडेल सुवासले जानकारी दिए । उनले भने, ‘सिथोसले बैंकिङ क्षेत्रमा मात्र नभई आर्टिफिसियल इन्टिलिजेन्सले धेरै क्षेत्रको व्यवसाय व्यवस्थापनलाई सरल र सहज बनाईदिने छ, यसले नेपालको बैंकिङ क्षेत्रको प्राविधिक पक्षलाई पनि झनै मजबुत र अझै सरल बनाउन सहयोग गर्नेछ।’ पौडेलका अनुसार सिथोसले विकास गर्ने एआई बैंकिङ, बिमा, रियलस्टेट, हस्पिटालिटीलगायत विविध क्षेत्र तथा व्यापार व्यवसायमा प्रयोग गरेर खर्च कम गरी आम्दानी वढाउन सकिन्छ । आगामी दिनमा सिथोसले नेपालको सहकारी क्षेत्रमा पनि यो सेवा बिस्तार गर्ने पौडेलले बताए । सिथोसले मार्केट रिसर्चका साथै सेन्टीमेन्ट एनालीसिस, जोखिम व्यवस्थापना, लगानी प्रक्षपण लगायतका सेवाहरु प्रविधिको मद्दत मार्फत प्रदान गर्न सकिने एआइको विकास गरेको छ । सिथोसको एआई सेवा लिने तथा दिने दुबैलाइ प्रविधिको प्रयोग मार्फत सहज, सरल र प्रभावकारी क्रियाकलापका लागि मद्दत गर्छ । यसले औँठा छाप, आवाज, तस्वीर, सन्देश, फोन मार्फत सम्बन्धित व्यक्तिको पहिचान गरी कारोबार गर्नमा सहज गराउने कम्पनीले जनाएको छ । सिथोसले कर्मचारीको उत्पादकत्व वढाउनुका साथै संस्थागत खर्चमा कमी ल्याइ सेवा प्रदान गर्न मुख्य भूमिका निर्वाह गर्ने सिथोस नेपालका विज्ञ के एन मिश्राको भनाई छ । भारतमा पनि सिथोसले विकास गरेको एआइलाई बैंकिङ, बिमा, रियलस्टेट, हस्पिटालिटीलगायत क्षेत्रले प्रयोग गरिरहेको छन भने अमेरिकामा यसको प्रयोग अझै वढी छ ।
डोटीमा बस दुर्घटनाः ११ यात्रु घाइते, ४ जनाकाे अवस्था गम्भिर डोटी । जोरायल गाउँपालिका–२ गरुडमा आज बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ४ ख ८२३५ नं को बस दुर्घटनामा परेको हो। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। डडेल्धुराको अमरगढी नगरपालिकाका २५ वर्षीय बसका चालक सुरेन्द्र विष्ट, बैतडी पाटनका ३० वर्षीय नरेश चन्द, डडेल्धुरा भागेश्वरका २२ वर्षीय तारा जोशी र दाङ तुलसीपुरका १९ वर्षीया लक्ष्मी विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय फलटुडेका प्रहरी निरीक्षक माधव विकले जानकारी दिए। उनीहरुलाई उपचारका लागि पद्मा अस्पताल अत्तरिया पुर्याइएको छ। दुर्घटनाको कारणबारे खुलेको छैन। बस सडकबाट झण्डै ५० मिटर तल खसेको थियो। रासस
सरकारसँग मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार नै छैन : सिपी मैनाली काठमाडौं । नेकपा (माले)का महासचिव सिपी मैनालीले सरकारसँग मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार नै नभएको दावी गरेका छन्। महासचिव मैनालीले कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ? भनि सरकारलाई प्रश्न पनि गरे। शनिबार काठमाडौंमा ‘अम्बिका साँवा स्मृतिग्रन्थ’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले सरकारले ठूल्ठूला कुरा गरेपनि मुलुकलाई सही बाटोमा अघि बढाउन नसकेको आरोप लगाए। पूर्व उपप्रधानमन्त्री समेत रहेका मैनालीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, मुलुकमा दीगो आर्थिक विकासको ठोस कदम अघि बढाउन नसकेकोभन्दै सरकारको चर्को आलोचना पनि गरे।
जुजुभाईको अनुभवः जतिसुकै पीडा होस् तर रगत नबगोस् मध्यपुरठिमी । ‘तिम्ले यो गर्न सक्दैनौँ, तीन दिन भोकै बस्नुपर्छ, एक महीनादेखि तयारी गर्नुपर्छ, सबैलाई भोज खुवाउनुपर्छ’ भनेर गाउँलेले जिब्रो छेड्न डर देखाएका थिए। त्यसो त झक्तपुर थिमिको बिस्का (बिस्केट) जात्रामा जिब्रो छेड्दा रगत बग्यो भने अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेकोले डर पलाउनु स्वभाविक थियो। “गाउँलेको कुरा मेरो दिमागमा खेलिरह्यो, डर पनि लाग्यो, जतिसुकै पिडा भए पनि रगत चाहिँ नबगोस् भन्ने चाहना मात्रै हुन्थ्यो, पहिलो पटक जिब्रो छेड्दा रगत नआएपछि त्यसबेला बल्ल आफूले गरेको काम सफल भएको महसुस भयो र खुसी लाग्यो”, जुजुभाई बासँ श्रेष्ठले अनुभव सुनाए। भक्तपुर थिमिका श्रेष्ठले २०६६ वैशाख २ गते पहिलोपटक जिब्रो छेडेका थिए। जिब्रो छेडेपछि चन्द्राकारको महादीप बोकेर हिँड्नुपर्छ। जिब्रो निकालेर शहरको परिक्रमा गर्नुपर्छ। यसरी जिब्रो छेडेका व्यक्तिलाई सर्वसाधारणले देवता सरह मान्छन्। मानिसलाई दुःख कष्ट दिने राक्षसलाई समातेर जिब्रो छेडी सहर घुमाए दुःख नाश हुन्छ भन्ने विश्वासमा जात्रा मनाइन्छ। जात्राको आकर्षण नै जिब्रो छेड्ने परम्परा हो। त्यही परम्परा धान्नका लागि जुजुभाईले आठ वर्षसम्म जिब्रो छेडेर २०७३ सालदेखि टुङ्ग्याए, तर अहिले पनि उहाँलाई गुरुको मान प्राप्त छ। जात्रैजात्राको शहर भक्तपुरको धार्मिक महत्व बोकेको, कला संस्कृति र मठमन्दिरले सिङ्गारिएको मध्यपुरथिमिको पर्याय हो, बिस्का जात्रामा जिब्रो छेड्ने परम्परा। कलाकारसमेत रहेका जुजुभाई आफ्नो मौलिक कला र संस्कृतिलाई बचाउन जिब्रो छेडेर जिम्मेवारी पूरा गरेको महसुस गर्छन्। भक्तपुरको बोडेमा वर्षेनी जिब्रो छेड्ने बुद्धकृष्ण बाग श्रेष्ठले २०६६ सालमा नछेड्ने भनेर पत्रपत्रिकाबाट खबर सार्वजनिक भयो। त्यसपछि उनले परिवारसँग सल्लाह गरेर जिब्रो छेड्ने निर्णय लिएका हुन्। जिब्रो छेडिने सुइरोलाई लामो समयदेखि तेलमा डुबाएर राखिन्छ। त्यही सुइरो ल्याएर देवगणको पूजा गरी मौलिक बाजा बजाउंँदै सबैका सामु जिब्रो छेड्ने परम्परा छ। जिब्रो छेडेपछि अर्धचन्द्रको महादीप बालेर काँधमा बोकाइ सहर परिक्रमा गरिन्छ। बोडेका विभिन्न शक्तिपीठ दर्शन गराएपछि विधिपूर्वक झिकेर सुइरोलाई त्यही राख्ने परम्परा रहेको यहाँका संस्कृति अध्येता प्रदीप श्रेष्ठले बताए। ‘श्रीश्री जुजुभाईकी जय’ भनेर जयजयकार गरेको सम्झना उहाँका सामु अझै ताजा छ। जुजुभाईले रासससँग भने, “हामी साधारण मान्छेलाई देवतुल्य भनेर भन्छन्, आफूलाई त्यस्तो महसुस भएन, तर त्यहाँबाट लोकप्रिय भएँ, गाउँले र अरुले चिन्न थाले, पहिलो आर्ट शिक्षकको रुपमा मात्रै थिएँ, त्यसपछि सबैमाझ परिचित हुने मौका मिल्यो।” आठ पटक जिब्रो छेडेर संस्कृतिलाई बचाउन पाउँदा मनमा शान्ति मिलेको उनले बताए। पहिलो पटक जिब्रोमा सुइरो रोप्दा पहिलो पटक सुइरो रोप्दा जुजुभाईलाई डर र खुसीको मिश्रित अनुभव रहयो। जिब्रोको माथिल्लो भागमा मासु हुने भएकाले सजिलै जाने तर तल्लो भागको झिल्ली छेड्न निक्कै गाह्रो भएको उनले सुनाए। छेड्दा जति दुख्छ त्योभन्दा बढी निकाल्दा दुख्ने जुजुभाईको अनुभव छ। “झण्डै दुई घण्टा छेडेको जिब्रो बाहिर राख्नुपर्छ, र्याल बगिरहेको हुन्छ, जिब्रो कक्क्रक्क भएर सुकिसकेको हुन्छ, त्यसबेला सुइरो निकाल्दा पीडा महसुस हुने रहेछ”, जुजुभाईले भने। उहाँले २०६६ सालदेखि २०७३ सम्म जिब्रो छेडेर संस्कृतिलाई निरन्तरता दिए। त्यसपछि बुद्धकृष्ण बाग श्रेष्ठले पुनः निरन्तरता दिँदै आएका छन्। तीर्थमायाँ र सानुभाईको पाँचौँ सन्तान (माइला छोरा) जुजुभाईका तीन दाजुभाई र तीन दिदीबहिनी छन्। जिब्रो छेड्न छाडेपनि गुरुको स्थानबाट पूजाआजामा सरिक हुँदै आएका जुजुभाईले २८ वर्षको उमेरमा पहिलो अनुभव लिएका थिए। परम्पराअनुसार जिब्रो छेडेमा अनावृष्टि हुँदैन, अनिकाल लाग्दैन, महामारी, महाभूकम्प आउँदैन, पाहुनालाई सजिलोसँग पाल्न सकिन्छ र धर्मप्रति आस्था बढ्छ भन्ने जनविश्वास छ। विधिपूर्वक जिब्रो छेड्नुपर्छ। सुइरो बनाउने व्यक्तिले पनि व्रत बस्नुपर्छ। जिब्रो छेड्नेले पनि तीन दिन व्रत बस्नुपर्छ। पशुपक्षीलाई छुन हुँदैन, तीन दिन पानी मात्रै खाएर बस्नुपर्छ र विभिन्न अनुष्ठान गरेर बस्नुपर्छ। अर्काको घरमा समेत जान नहुने परम्परा छ। जुजुभाईको नदेखिएको पाटो जिब्रो छेडेर चर्चा कमाएका जुजुभाई फाइन आर्टस्का अनुभवी कलाकार हुनुहुन्छ भन्ने कुरा कला क्षेत्रमा बाहेक कमैलाई थाहा होला। जलरङ र एक्रेलिकबाट चित्रकारिता गर्न मन पराउने जुजुभाई लामो समयदेखि स्कूलका विद्यार्थीलाई चित्रकला पढाउँदै आएका छन्। फुटबलकासमेत पारखी जुजुभाई भन्छन्, “आर्ट भनेको मेरो मुख्य पेशा हो, जीवनभर गर्ने काम हो, जिब्रो छेड्ने परम्परा सकुञ्जेल मात्रै गर्ने हो।” कलाकारले फेसबुकको माध्यमबाट शुरु गरेको शनिवारीय स्थलगत चित्रकला कार्यशालाको ‘मध्यपुरथिमि सिरिज’अन्तर्गतको छैठौँ कार्यक्रममा मध्यपुरथिमिस्थित शिवाटोलको महादेव र गणेशको मन्दिरलाई जलरङले आर्ट पेपरमा उन्दै गर्दा भेटिएका जुजुभाई चित्रकलाले संस्कृति र परम्परा संरक्षणमा सहयोग पुग्ने बताउँछन्। यही भदौ २८ गतेदेखि शुरु उक्त अभियानअन्तर्गत थिमिको बोडे, नगदेश, निगुपुखु (दुई पोखरी), चपाचो, सिद्धिकाली र लायाकुमा कार्यशाला सम्पन्न भइसकेको छ। थिमिको महत्व र किम्बदन्तीका बारेमा संस्कृति अध्येता प्रदीप श्रेष्ठले पत्रकारहरुलाई जानकारी गराएका थिए। कार्यक्रम संयोजक दिवेश प्रधान चित्रकलामार्फत थिमिलाई चिनाउनु नै अभियानको मुख्य उद्देश्य हो भन्छन्। यही कात्तिक १० गते कलाकारले बनाएका चित्र दुई पोखरीमा प्रदर्शन गरिँदैछ। पुरातत्व विभागका पुरातत्व अधिकृत प्रकाश खड्काले ५०० वर्ष पुरानो पूर्वमध्यकालका संरचना र लिच्छविकालिन सभ्यता रहेको थिमिमा नयाँ वर्षको बेला मनाउने बिस्का (सिन्दुर) जात्रा प्रसिद्ध रहेको बताए।रासस
राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्वेगादोन पेगोडको अवलोकन काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले आज यङ्गोनस्थित श्वेगादोन पेगोडाको अवलोकन गरेको छ। पच्चीस वर्ष पुरानो सो चैत्य र त्यसको क्षेत्रमा भ्रमण नगरी म्यान्माको भ्रमण पूरा भएको मानिन्न। त्यहाँ राष्ट्रपति भण्डारीले बुद्धपूजा पनि गरे। उनलाई त्यहाँ यङ्गोन नगरका प्रमुख माउङ आउन सिओले स्वागत गरेका थिए। सुनौला चैत्य, गुम्बा र विहारहरु रहेको सो पेगोडामा बुद्धका केश रहेको बताइन्छ। स्तूपको माथिल्लो टुप्पा चार हजारभन्दा बढी हीरा जडित छ जसमा सबभन्दा ठूलो ७२ क्यारेटको छ। वास्तुकला, मूर्तिकला र कलामा अद्भुत मानिने सो चैत्य सोही पेगोडामा आजदेखि लुम्बिनी विकास कोषले आयोजना गरेको ३५ चित्र तथा उत्खननबाट भेटिएको बुद्ध महाभिनिष्क्रमणको मूर्तिको प्रतिकृति पनि राखिएको चित्रकला प्रदर्शनीको पनि आजै राष्ट्रपति भण्डारीले उद्घाटन गरे। सात दिनसम्म चल्ने प्रदर्शनीमा लुम्बिनी, कपिलवस्तु र रामग्रामसँग सम्बन्धित चित्र राखिएका छन्। कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले वर्षेनी २५ हजार म्यान्मालीले शाक्यमुनि गौतम बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने बताउँदै नेपाल भ्रमण वर्षमा नेपाल खासगरी लुम्बिनी भ्रमण गर्न म्यान्मालीलाई आग्रह गरे। उनले युनेस्को, दुरहाम विश्वविद्यालय र पुरातत्व विभागबाट लुम्बिनी र कपिलवस्तुको उत्खनन भइरहेको जानकारी दिए। म्यान्मा बुद्धले प्रवद्र्धन गरेको विपश्यना ध्यानको भूमि पनि मानिन्छ। आजै राष्ट्रपति भण्डारीले यङ्गोनास्थित बोग्योक आङ सन सङ्ग्रहालयको अवलोकन गरेकी छन्। म्यान्माका राजनीतिज्ञ तथा क्रान्तिकारी नेता सनको घरमा रहेको सङ्ग्रहालयमा उहाँका शयन कक्ष, भोजन कक्ष, अध्यययन कक्ष तथा अन्य तस्वीरहरु राखिएका छन्। स्वतन्त्रता सेनानी सन म्यान्माका वर्तमान स्टेट काउन्सिलर आङ सान सु चीका पिता हुन्। सङ्ग्रहालमा राष्ट्रपति र प्रतिनिनिधिमण्डललाई यङ्गोन क्षेत्र सरकार र दलका सामाजिक मामिलामन्त्री नैङ न्गान लिनले स्वागत गरेका थिए। यसअघि आज बिहान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रतिनिधिमण्डलले महाविजय चैत्यको अवलोकन गरेको थियो। सो चैत्यमा तत्कालीन राजा वीरेन्द्रले आफ्नो विसं २०३६ को म्यान्मा भ्रमणका क्रममा प्रदान गरेको सानो बुद्धको मूर्ति पनि राखिएको छ। सो अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदास तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो।रासस
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु काठमाडौं । महोत्तरी, मोरङ र नबलपरासी (बर्दघाट सुस्ता पूर्व) का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। महोत्तरी, सम्सि गाउँपालिका २ स्थित सडकमा ज।१ क ४६६ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने शेख कलिमको १२ वर्षीय छोरा महमद शेखको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङ, मिक्लाजुङ गाउँपालिका ९ पिपल चौकस्थित सडकमा मे १ त १३२९ नम्बरको ट्याक्टरबाट ओर्लने क्रममा ट्याक्टरको पछाडीपट्टीको चक्काले किच्दा गम्भीर घाइते भएका मिक्लाजुङ्ग गाउँपालिका ६ भण्डारी चौक बस्ने २२ वर्षीय मिलन कार्कीको लाईफ लाईन अस्पताल दमक झापामा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नबलपरासी (बर्दघाट सुस्ता पूर्व), विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिक सडकमा ना ६ ख ८११६ नम्बरको कन्टेनर अनियन्त्रीत भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका कन्टेनरमा सवार नवलपरासी पश्चिम सरावल गाउँपालिका १ बस्ने १८ वर्षीय खेम चौधरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
एघार महीनादेखि वाग्मती सौन्दर्यीकरणको काम अलपत्र काठमाडौं । कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मती पीडित किसानले ११ महीनादेखि गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर क्षेत्रमा जारी नदी सौन्दर्यीकरणका काम रोकिएको गुनासो गरेका छन्। विसं २०२१ को नापीमा किसानका नाममा दर्ता भएको कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका स्थित गोठाटार पुल आसपासका स्थानीयवासीको जग्गा २०५३ सालमा पानी शुद्ध बनाउने भन्दै वाग्मतीमा पारिएको थियो। हातमा लालपूर्जा भए पनि जग्गा नदीमा परेपछि २२ वर्षदेखि किसानले विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन्। त्यही जग्गामा किसानलाई मुआब्जा नदिई सौन्दर्यीकरणको काम शुरु भएकाले गत वर्ष मङ्सिर १ गतेदेखि काम रोकिएको वाग्मती पीडित सङ्घर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले राससलाई जानकारी दिए। स्थानीयवासीले यसअघि २०५३, २०६६, २०६७, २०७४ साल र गत मङ्सिरमा किसानसँग गरिएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्। दुवै नगरपालिकाका दाहाल, पुडासैनी, आचार्य, रिजाल, बराल, तामाङ र श्रेष्ठ बन्धु समाजका किसान वाग्मती पीडित बनेको उनले बताए। गत वर्ष मङ्सिर १० गते अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष र आयोजना प्रमुखले पीडित किसानलाई मुआब्जा दिएर मात्र सौन्दर्यीकरणको काम अघि बढाउने सम्झौता गरेका थिए। त्यसअनुसार मङ्सिर १२ गते २२ वर्षको बाली लिन आउनु भनी पीडितका नाममा गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरिएको थियो। यसलाई गत मङ्सिर १६ गतेको अधिकार सम्पन्न वाग्मती समितिको बोर्ड बैठकले अनुमोदन गरे पनि अहिलेसम्म बाली र मुआब्जा वितरणको प्रक्रिया शुरु हुन नसकेको पीडित किसानको गुनासो छ। समितिले भने सरोकार भएका निकायसँग छलफल शुरु भएको जनाएको छ। समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकाल छिटोभन्दा छिटो काम शुरु गर्ने गरी पहल भइरहेको बताउँछन्। एशियाली विकास बैंकको ऋण सहयोगमा वाग्मती सौन्दर्यीकरणको काम भइरहेको हो। करीब नौ महीनादेखि काम गर्न नपाएपछि सहयोगबाट हात झिक्ने बैंकले सार्वजनिक गरिसकेको छ।रासस
मिस पूर्वाञ्चलको दसौं संस्करणको आवेदन अनलाइन र एसएमएसबाट धरान । २०१० बाट शुरु भएको पूर्वको पुरानो तथा सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित सौन्दर्य प्रतियोगिता नेपालआईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको तयारी सुरु गरिएको छ। हरेक वर्ष कम्तीमा १२ कक्षा पढ्दै गरेका पूर्वी नेपालका युवतीहरुलाई सहभागी गराइने कार्यक्रम हरेक वर्ष धरानमा आयोजना हुदै आएको छ। सिजी ब्रुअरीको मुख्य प्रायोजनमा आयोजना हुने दसौं संस्करणको मिस पूर्वाञ्चलको लागि आवेदन फारम खुल्ला भएको आयोजकले जानकारी दिएको छ । आवेदन अनलाइनसंगै एसएमएसबाट समेत आवेदन दिन सकिने छ । मिस पुर्वाञ्चलको अफिसियल फेसबुक पेज धधध।ाबअभययप।अयmरmष्ककउगचधबलअजब ि मा रहेको अनलाइन फर्म जततउकस्ररायचm।वयतायचm।mभरडद्दढटज्ञछघठठढद्धद्धठद्द भरेर अथवा मोबाइलको म्यासेज बक्स मा गई ःए ? कबउअभश्र सहभागीको नाम, उचाइ, उमेर र ठेगाना टाइप गरि ३५००५ मा एसएमएस पठाउनु पर्ने छ। अनलाइन तथा एसएमएसबाट आएका आवेदनहरूका आधारमा तिहार पछि दसौँ संस्करणको मिस पुर्वाञ्चलको अडिसन सुरु हुने बताइएको छ। त्यस्तैै पूर्व भरिको कुनैपनि सौन्दर्य प्रतियोगिताको बिजेता तथा उपबिजेताहरुलाई बिना अडिसन सहभागी गराईनेछ भने तिहार लगतै अडिसन मिति र कार्यक्रमको फिनाले मिति समेत सार्वजनिक गरिने छ । अडिसनपछि छानिएका प्रतियोगीहरुलाई एक महिना व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ। बिजेता, फर्स्ट रनर अप, सेकेन्ड रनर अपसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, रमिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सनलगायतका बिभिन्न सबटाइटलको उपाधिसंगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । गत बर्ष पौष १४ गते सम्पन्न नेपाल आइस मिस पूर्वाञ्चल नवौँ संस्करणमा विजेता पूजा श्रेष्ठलाई मिस पूर्वाञ्चल २०१८ को उपाधिसँगै यामाहा फेसिनोको स्कुटर र हंगकंग भ्रमणको अवसर प्रदान गरिएको थियो। त्यस्तै फस्ट र सेकेन्ड रनर अफलाई क्रमशः नगद एक लाख र पचास हजार प्रदान गरिएको थियो। सिल्भर इन्टरटेन्टमेन्टको आयोजनामा भएको मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा सविना सुब्बा (बिर्तामोड), २०११ मा प्रतिभा श्रेष्ठ (धरान), २०१२ मा अस्मिता गुरुङ (धरान), २०१३ मा नेहा बजाज (धरान), २०१४ मा नेमिता आङबुहाङ (उर्लाबारी), २०१५ मा प्रियङका श्रेष्ठ (बिराटनगर) २०१६ मा कृतिका गिरी (बिर्तामोड) २०१७ मा रुबी लिम्बु (धरान) र २०१८ मा पुजा श्रेष्ठ (भद्रपुर) ले जितेकी थिईन्।
नेपालमा थप सहयोग गर्न अर्थमन्त्रीको आग्रह काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको प्राथमिकताअनुसार विकासको गतिलाई अगाडि बढाउन विश्व बैंकको सहायता राशीमा उल्लेखनीय वृद्धि गर्नु जरुरी रहेको बताएका छन्। अर्थमन्त्री डा खतिवडाले भने, “नेपालको चरम गरीबी केही वर्षभित्रमा हटाउने र आम जनताको औसत आयु एशिया प्रशान्त क्षेत्रको औसत आयु बराबर पुर्याई गुणस्तरीय जीवनयापन गर्न सक्ने बनाउन विश्व बैंकले सहायता राशीमा वृद्धि गर्नु जरुरी छ।” अर्थमन्त्री डा खतिवडासहित नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र प्रतिनिधिमण्डलका अन्य सदस्यले संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एशिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा सहभागिता जनाउँदै उनले सो आग्रह गरेका हुन्। विश्व बैंकले नेपालमा सहायता गरेको पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले बैंकले नेपालमा सहायता परिचालन गर्दा विगतमा लिएका कतिपय रणानीति प्राथमिकताको विषयमा समेत खुलेर चर्चा गरे। बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋण माथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपाल सरकारले लिएको बताउँदै अर्थमन्त्री डा खतिवडाले सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाए। विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफर र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षले बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गत वर्ष नेपाल दक्षिण एशियाकै राम्रो प्रगति गर्ने मुलुक हुन सफल भएकोमा धन्यवादसमेत दिनुभएको अर्थमन्त्रालयले जनाएको छ। नेपालसँग बैंकको अझै धेरै क्षेत्रमा साझेदारी गर्न बाँकी रहेको उनीहरुको भनाइ थियो। वित्तीय सङ्घीयताको कार्यान्वयनको अनुभव आदानप्रदान गर्ने कार्यक्रममा विश्व बैंकका उपाध्यक्ष सेफरले नेपालले छोटो सयममा वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सफल भएकोमा प्रशंसा गरे। सो कार्यक्रमको अध्यक्षता गर्दै अर्थमन्त्री डा खतिवडाले वित्तीय सङ्घीयताको कार्यान्वयनका विविध पक्षका बारेमा जानकारी दिएका थिए। यस्तै अन्तरसरकारी वित्त हस्तान्तरण तथा राजश्व बाँडफाँडलगायतको विषयमा सचिव बैकुण्ठ अर्यालले प्रस्तुतीकरण गरेका थिए। विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आएको अवसरमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका अर्थमन्त्रीहरुको १४औँ अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा खतिवडाले यस क्षेत्रको आर्थिक वृद्धिका लागि व्यापार सहजीकरण जरुरी रहको बताए। अन्तरदेशीय सडकलगायत हवाई सञ्जालको पर्याप्त विकास हुन सकेमा यसले आर्थिक वृद्धिमा योगदान पुर्याउने उनको भनाइ थियो।
अल्टिमेट आकाशको नेपाल संस्करण लोकार्पण काठमाडौं । युवा साहित्यकार सन्तोष लामिछानेद्वारा लिखित उपन्यास ‘अल्टिमेट आकाश’ को नेपाल संस्करण लोकार्पण भएको छ। उपन्यास काठमाडाैंकाे बागबजारमा रहेको हार्दिक होटलको सद्भाव हलमा गरिएको थियो । लोकार्पण कार्यक्रमको आयोजना उपन्यासको प्रकाशक जनमत प्रकाशन काभ्रेले गरेको थियो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कुलपति द्वय नारायणभक्त श्रेष्ठ (रायन) संगीत तथा नाट्य प्रतिष्ठान र के के कर्माचार्य (ललितकला प्रज्ञा प्रतिष्ठान) जीवेन्द्र देव गिरी (बरिष्ठ समालोचक तथा पुर्व सचिव नेपाल प्रज्ञा प्रतिष्ठान) प्रा. डा. उषा ठाकुर (प्राज्ञ र माया ठकुरी) प्राज्ञको बिशेष आतिथ्य रहेको थियो। जनमत प्रकाशनका अध्यक्ष तथा बरिष्ठ साहित्यकार मोहन दुवालको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लेखकका पिता सामाजिक अभियन्ता डा. भरतप्रसाद लामिछानेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। त्यस लगत्तै अतिथीहरूद्वारा उपन्यासको संयुक्त रुपमा लोकार्पण गरिएको थियो। त्यसपछि प्रा.डा. जीवेन्द्रदेव गिरीले पुस्तकको सविस्तार समिक्षा तथा समालोचना गरेका थिए। अमेरिका जान खोज्ने जो कोही र सन्तान अमेरिका पठाउन खोज्ने अभिभावकहरूलाइ उपयोगी होस् भनेर उक्त कृतिको रचना गरेको उपन्यासकार सन्तोष लामिछानेले प्रकाश पारे। कार्यक्रममा लेखकलाई के के कर्माचार्य र माया ठकुरीले शुभकामना मन्तव्य राखेपछि कुलपति गङ्गा उप्रेतीले अल्टिमेट आकाश जस्तो उपयोगी उपन्यास प्रकाशित हुनु खुसीको कुरो भएको उल्लेख गरे। करिब २००को संख्यामा विशिष्ठ साहित्यकारहरू र साहित्य अनुरागीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम साहित्यकार यादव भट्टराईले संचालन गरेका थिए। सभाध्यक्ष दुवालले बिट मारेपछि खाजापान गरेर कार्यक्रम समापन भएको थियो।
कर विवाद सम्बन्धि मुद्दामा क्षेत्रधिकार मिचेर आदेश दिएकाे भन्दै न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त काठमाडौं । न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादर शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ। परिषद्को आज बसेको बैठकले गोरखा बु्रअरी कर विवाद सम्बन्धि मुद्दामा क्षेत्रधिकार मिचेर आदेश गरेको आरोप लागेका न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। परिषद्ले सो विवादमा छानबिन समिति गठन गरेको थियो। छानबिनपछि सोही विवादमा परेका न्यायाधीशद्वय रामचन्द्र यादव र जीवनहरि अधिकारीले राजिनामा दिइसकेका छन्। बैठकले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भूर्तेल सुन काण्ड विवादमा परिषदमा काजमा तानिएपछि विराटनगरको मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। रासस
कात्तिक १५ गतेदेखि नारायणी महोत्सव हुने चितवन । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ आगामी कात्तिक १५ गतेदेखि नारायणगढमा ‘नारायणी महोत्सव २०७६’ हुने भएको छ। अपाङ्गता भएका बालबालिकाहरुको लागि काम गर्दै आएको संस्था रेविका बाल प्रतिष्ठानले आयोजना गरेको महोत्सव कात्तिक २५ गतेसम्म नारायणी नदी किनारमा हुनेछ। भरतपुर २ क्षेत्रपुरमा रहेको प्रतिष्ठानमा रहेका अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ महोत्सव गर्न लागिएको आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। संस्थाका व्यवस्थापक रोशन राजकर्णिकारका अनुसार महोत्सवमा तीन सय वटा व्यवसायिक स्टलसहित पिङ, डुङ्गालगायतका मनोरञ्जनात्मक खेलहरु समेत समावेश गरिनेछ। महोत्सवलाई थप आकर्षक बनाउनका लागि बद्रि पङ्गेनी, प्रमोद खरेल, प्रकाश सपुत, शिव परियार, ज्योति मगर, प्रिती आले, रामजी खाँण, दुर्गेश थापा, कुलेन्द्र विश्वकर्मा, रमेशराज भट्टराईसहित ३५ जना भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने राजकर्णिकारले बताए। महोत्सवलाई पूर्ण रुपमा सुरक्षित बनाउनका लागि महोत्सव परिसरमा सिसि क्यामेरा जडानसहित सम्पूर्ण व्यवसायिक स्टलको वीमा गरिएको राजकर्णिकारको भनाइ छ। महोत्सवबाट एक करोड रुपैयाँ आम्दानी गर्ने तथा महोत्सव सञ्चालनका लागि ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको रेविका बाल प्रतिष्ठानका अध्यक्ष रुवि थापाले बताइन्। महोत्सवको स्टलहरु बुकिङ खुला गरिएको उल्लेख गर्दै थापाले महोत्सवको दैनिक १० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने बताइन्। शारीरिक रुपमा असक्त भएका २५ जना बालबालिकाहरु प्रतिष्ठानमा राखिएको उल्लेख गर्दै महोत्सवबाट भएको बचतबाट उनीहरुको शिक्षा, दीक्षामा खर्च गर्ने थापाले बताइन्। महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने प्याकेजमा टिकट खरिद गर्नेलाई विशेष छुट रहेको थापाले बताइन्।
नेपाल चेम्बर र पीएचडी चेम्बरबीच व्यापार तथा लगानी अभिवृद्धि सम्बन्धमा नयाँदिल्लीमा छलफल काठमाडौं । भारत भ्रमणको अवसरमा नयाँ दिल्ली स्थित पि.एच..डी. चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले द्धिपक्षिय व्यापारमा पारवहन ढुवानी लागत घटाउनुपर्ने, सिमावर्ती क्षेत्रका चेम्बरहरु बीच सहकार्य गराउनुपर्ने, व्यापार मेलारप्रर्दशनीमा सहभागिता जनाउनुपर्ने र चेम्बरले आउँदो २०७६ फागुनमा आयोजना गर्ने नेपाल चेम्बर एक्पोमा भारतीय उद्योगी व्यवसायीको सहभागिता जनाउन अनुरोध गरे। साथै दुई मुलुक बीच प्राविधिक सीप एंव दक्षताको आदान प्रदान हुनुपर्नेमा जोड दिदै यसबाट लगानी अभिवृद्धि भई सुखि नेपाली समृद्ध नेपालको सपना साकार हुने विश्वास व्यक्त गरे। साथै पर्यटन प्रबद्र्धनको सन्दर्भमा नेपाल भ्रमण वर्ष २०२० मा भारतबाट उल्लेख्य पर्यटक आउने अपेक्षा रहेको, कृषि क्षेत्र हर्बल, शिक्षा र स्वास्थ्यको क्षेत्रमा आपसी सहयोग वृद्धि गर्ने क्षेत्रहरु रहेको बताए। नेपालका लागि भारतीय महामहिम राजदूत मन्जिभ सिंह पुरीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको सो कार्यक्रमा नेपालका लागि पूर्व राजदूत तथा इन्डिया नेपाल सेन्टर, पी.एच.डी,का अध्यक्ष के.भी. राजनले नेपालसँग भारतको घनिष्ट सम्बन्ध रहेको र यसबाट लगानी र व्यापार एंव आर्थिक क्रियाकलापमा वृद्धि गर्न यस्ता कार्यक्रमले ठोस सहयोग पु¥याउने बताए। साथै उनले इन्डिया नेपाल सेन्टरको स्थापनामा चेम्बर सह संयोजक भई कार्य गरिरहेको र यसमा आगामी दिनहरुमा थप तीब्रता आउने आशा एंव विश्वास राखे। उक्त अवसरमा पी.एच.डी. चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजका अध्यक्ष डा.डि.के. अग्रवालले भारतको नेपालसँग परापूर्वकालदेखि साँस्कृतिक, आर्थिक एंव व्यापारिक सम्बन्ध रहेको र दुई चेम्बरबीच सहकार्य गरी यो सम्बन्ध अघि बढी मजबुत गर्न लगानी, पर्यटन व्यापारमा जोड दिन आफू र आफ्नो संस्था इन्डिया नेपाल सेन्टर मार्फत र द्धिपक्षिय रुपमा समेत तयार रहेको बताए। कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले दुबै देश बीच आर्थिक एंवव्यापारिक सम्बन्ध लगानी अभिवृद्धि एंव पर्यटन प्रबद्र्धनमा आवश्यक सहयोग गर्न आफू सदा तत्पर रहेको बताए।
आदिवासी-जनजाति-मधेशीको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आदिवासी, जनजाति, मधेशी समूदायको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग गरेका छन्। प्रवक्ता शर्माले सबै समूदायको समान अधिकार स्थापित हुने गरी संविधान संशोधन गर्न आफ्नो पार्टीले सरकारलाई आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले संविधान प्रतिकूल हुने खालका कुनै पनि गतिविधि नगर्न पनि सरकारलाई सचेत गराए। शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल आदिवासी जनजातिहरुको प्रथम अन्तराष्ट्रिय सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै उनले नेपालको समृद्धिमा योगदान गर्न पनि बाह्य मुलुकमा रहेका सबै समूदायलाई आग्रह गरे। उनले नयाँ पुस्तामा नेपालको भाषा र संस्कृतिका बारेमा जानकारी गराउन पनि जनजाति समूदायको ध्यानाकर्षण गराए। सबै समूदायले आफ्ना भेषभूषाको संरक्षण गर्ने काममा लाग्न सकेमात्रै नेपाली पहिचानलाई विश्वमा कायम गराउन सकिने पनि प्रवक्ता शर्माको भनाई छ। प्रवक्ता शर्माले सबै समूदायले आफ्नो पहिचानलाई स्थापित गराउन लागि पर्नुपर्ने पनि बताए।
‘राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाएपछि मात्र सत्यमान लामाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ’ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपालाई सशक्त, प्रभावशाली र बलियो राष्ट्रवादी शक्तिको रुपमा देख्ने सपना पुरा नहुँदै स्वर्गवास भएका पार्टीका संस्थापक एवं केन्द्रीय सदस्य सत्यमान लामाको सपना सार्थक बनाउनतर्फ अग्रसर हुन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। स्व. सत्यमान लामाको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सैद्धान्तिक विमती नरहेका राप्रपा र राप्रपा संयुक्तको एकिकरणले पार्टी मजवुद बनाउनेतर्फ बाटो खोल्ने भएकोले पार्टी एकतालाई सार्थक बनाउन राप्रपा संयुक्तलाई आह्वान समेत गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीले वि.सं. २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरी तदनुरुप अघि बढीरहेकोले संगठन विस्तार र पार्टी एकीकरण गर्दै पार्टीलाई बलियो राष्ट्रवादी शक्तिको रुपमा स्थापीत गराएरै छाड्ने प्रण गर्दै अध्यक्ष थापाले यी कार्यहरु पुरा गरेपछिमात्र पार्टीको हितको निम्ति अहोरात्र चिन्तित हुने नेता स्व. सत्यमान लामाप्रति सच्चा श्रद्धाञ्जली हुने बताए। स्व. लामाको निधनले पार्टीलाई अपुरणीय क्षती भएको बताउँदै अध्यक्ष थापाले पार्टीप्रति उनको निष्ठा, इमानदारीता, समर्पण भावलाई राप्रपाले कहिल्यै भुल्न नसक्ने र पार्टीका सम्पूण नेता तथा कार्यकर्ताहरुले उनीबाट यही पाठ सिकेर कार्य गर्दा सफलता प्राप्त गर्नबाट कसैले रोक्न नसक्ने ठोकुवा गरे। श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता दिपक वोहराले विकास निर्माणमै दत्तचित्तहुने नेता सत्यमान लामालाई गुमाउनुपर्दा विशेषगरी काभ्रेपलाञ्चोकका जनता र सिंगो राप्रपालाई ठूलो क्षती पुगेको बताउँदै राष्ट्रवादी पार्टीहरु एक भएर मुलुक हाँक्ने स्व लामाको सपना साकार पार्न सबै एकजुट हुनुपर्ने विचार व्यक्त गरे। सम्बोधनकै क्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले समान विचार भएका पार्टीहरुसँग एकता गरी राप्रपालाई अग्रणी शक्तिको रुपमा पुर्याउने स्व. सत्यमान लामाको इच्छालाई पुरा गरेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने र त्यसतर्फ अग्रसर हुन सम्बन्धित सबैमा आग्रह गरे। कार्यक्रममा पार्टीका महामन्त्री भास्कर भद्राले स्व. सत्यमान लामाको संक्षीप्त जीवनी बारे प्रकाश पार्दै पार्टी र राष्ट्रलाई स्व. लामाले पुर्याएको योगदानबारे चर्चा गरेका थिए। उक्त श्रद्धाञ्जली कार्यक्रममा राप्रपा संयुक्तका कार्य सम्पादन समिति सदस्य एवं पूर्व प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधान, राप्रपा जिल्ला कार्य समिति काभैका अध्यक्ष टुल्कु लामा लगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए। २०३६ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गरेका सत्यमान लामा २०३८ र २०४३ सालमा काभ्रेबाट अत्यधिक बहुमत प्राप्त गरी निर्वाचित भएका थिए। २०४२ सालमा लामाले सञ्चार सहायक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। ७४ वर्षको उमेरमा गत असोज ८ गते उनको स्वर्गारोहण भएको थियो।
निर्वाचितपछि कुमार पन्तको घाेषणा : नेपालमा वार्षिक रुपमा १० अर्बको लगानी भित्र्याउने काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। नवनिर्वाचित अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने पनि बताए। उनले एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने घोषणा पनि गरे। एनआरएनएका सदस्यहरुको हितका लागि ‘श्रमिक कल्याणकारी कोष’लाई तेब्बर बनाउने पनि उनको योजना छ । शुक्रबार अध्यक्ष पदमा निर्वाचित भएपछि उनले सञ्चारकर्मीमाझ एनआरएनएलाई राजनीतिबाट मुक्त गराउन लागिपर्ने पनि बताए। पन्तले निर्वाचनका बेला आफूले निःशुल्क सदस्यता वितरण गर्ने प्रतिवद्धता गरेको उल्लेख गर्दै त्यसलाई पूरा गने अठोट पनि गरे।
अन्नपूर्णको भुरुङ तातोपानीमा स्नान गर्नेको घुइँचो पोखरा । अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने तातोपानीको ताल र धारामा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ। चिसो बढेसँगै मुस्ताङ जाने–आउने पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउन थालेको कुण्डका व्यवस्थापक बाबुराम गर्बुजाले बताए । उनका अनुसार हाल दैनिक ५०० भन्दा बढीले तातोपानीको धारा र कुण्डमा स्नान गर्ने गरेका छन् । प्राकृतिक तातोपानीमा स्नान गर्दा थकान मेटिने र शारीरिक स्फूर्ति बढ्छ। उपल्लो मुस्ताङको चार दिनको भ्रमण गरेर फर्कने क्रममा तातोपानी कुण्डमा स्नान गर्दै गरेका काठमाडौँका प्रदीप शाक्य थकान मेटिएको बताउँछन् । यहाँ दुई पोखरी निर्माण गरिएको छ। धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान ६ः०० देखि साँझ ८ः०० बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि आन्तरिक पर्यटकलाई रु ५० तथा बाह्य पर्यटकलाई रु १५० प्रवेशशूल्क तोकिएको छ । कुण्डमा प्रवेशशूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले यस वर्ष रु ५८ लाखमा ठेक्का लगाएको छ । गत वर्ष रु ५३ लाख आम्दानी भएको थियो। कुण्डबाट हुने आम्दानी तातोपानीस्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए । कुण्डको सहयोगमा कक्षा ११ र १२ सञ्चालन गरिएको सर्वोदय मावि व्यवस्थापन समितिका अध्यक्ष बुद्धी पुनले बताए । हिमालय आधारभूत विद्यालयलाई पनि सहयोग गरिएको छ । कुण्डको सहयोगमा तातोपानी स्वास्थ्यचौकीमा एक प्राविधिकको तलब व्यवस्थापन गरी प्रयोगशाला सञ्चालन गरिएको छ। कुण्डबाट गत वर्ष विद्यालय र स्वास्थ्यचौकीलाई रु ३० लाख सहयोग भएको थियो । कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणको काम गरिँदै आएको छ। पर्यटकको आवास सुविधाका लागि तातोपानी बजारमा १० भन्दा बढी सुविधासम्पन्न होटल सञ्चालनमा छन् । यहाँ ३०० जनाभन्दा बढी बास बस्न मिल्छ । पुराना होटलको क्षमता र सुविधा विस्तार तथा नयाँ होटल थपिने क्रम बढेको हिमालयन होटलका सञ्चालक आत्मा तुलाचनले बताए । रासस
राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्कीमा कार्की पोखरा । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्की जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुशजङ्ग कार्कीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेकोे छ। समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष बराल, महिला उपाध्यक्षमा सुष्मा विसी, महासचिवमा ऋषिराम दाहाल, सचिवमा कपिल श्रेष्ठ, कोषाध्यक्षमा विष्णु बराल, सदस्यमा समीर रामदास, रेजिना विसी, पवित्रा परियार, सपना सुनार र दीपेन्द्र परियार चयन भएका छन्। साधारणसभामा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीले २०६१ सालमा स्थापना भएको सङ्घको ४८ जिल्ला र विदेशमा पाँच सङ्घ स्थापना गरिएको जानकारी दिए । सङ्गीत विकास बोर्ड गठन गरिनुपर्ने र सबै क्षेत्रका कलाकारले योगदानको आधारमा रोयल्टी वितरण गर्नुपर्ने भन्दै उनले कलाकारलाई कसैका गहनाका रुपमा नभई राज्यको अभिन्न अङ्गको रूपमा लिनुपर्ने उल्लेख गरे । सङ्घका पूर्व केन्द्रीय सहसचिव लोकनाथ सापकोटाले कलाकारलाई प्रयोग मात्रै गर्ने नभई उनीहरुको भविष्य सुनिश्चितता गर्नुपर्ने धारणा राखे । कार्यक्रममा दरबारथोक एड्भरटाइजिङ एजेन्सीका सञ्चालक पत्रकार कृष्ण रानाभाट, लोक तथा दोहोरी गायक कृष्णप्रसाद गौतमलगायतले सङ्घले सबैलाई समेटेर लैजानुपर्ने बताए ।
पार्क भिलेज रिसोर्टले गर्यो ‘फोहार व्यवस्थापन प्लान्ट’ निर्माण काठमाडौं । पार्क भिलेज रिसोर्टले गर्यो फोहार व्यवस्थापन प्लान्ट (एसटीपी) निर्माण गरेको छ। जल तथा बातावरण संरक्षणको महत्वलाई बुझेर पार्क भिलेजले बुढानिलकण्ठमा हरित मरुधान निर्माण गरेको छ। जहाँ जातका बनस्पतिहरु लगाएर चराहरुलाई वासस्थान उपलब्ध गराउने तथा होटलका पाहुनाहरुलाई आनन्दित बनाउने वातावरण सिर्जना गरेको छ। रिसोर्टलाई पहिलो वातावरण मैत्री रिसोर्ट बनाउने लक्ष्य एसटीपीको माध्यमबाट निरन्तर पुरा भईरहेको सञ्चालकले बताएका छन्। एसटीपीमा फोहोर पानीबाट दुषित पदार्थ हटाउने प्रक्रियालाई पनि समावेश गरिएको छ। ती दुषित पदार्थहरु हटाउन भौतिक, जैविक तथा जेन्टल रसायनिक प्रक्रियाहरु प्रयोग भएका छन्। यो प्रक्रियाको परिणामस्वरुप वातावरणमैत्री सुरक्षित ग्रे वाटर र अर्गानिक फोहोर उत्पादन हुन्छ। जुन पुनः वातावरणमै प्रयोग गर्दा उचित हुन्छ। रिसोर्टले उक्त प्लान्ट भारतको एसजे इन्भाइरोमेन्ट सोल्युसनबाट इन्सटल्ड गराएको हो। पार्क भिलेजले त्यस्ता सुरक्षित पानी तथा अर्गानक फोहोरलाई आफ्नो खुल्ला मैदानलाई हरित, मलिलो र ओसिलो बनाउन प्रयोग गर्दै आईरहेको छ। साथै आफूहरुले त्यस्तो पानी आफ्नो अर्गानिक भेजिटेबल गार्डेनमा पनि प्रयोग गर्ने गरेको रिसोर्टका अधिकारीले बताए। अब चाढै प्रसोधनपछि आएको सफा पानीलाई लण्ड्रीमा पनि प्रयोग गर्ने रिसोर्टको तयारी छ। रिसोर्टका अधिकारी भन्छन् ‘यो आकारको होटलले पाहुनाहरुको आवश्यकता पुरा गर्न धेरै पानीको आवश्यकता पर्छ। हामीले रिड्युस, रियुज र रिसाइकलको सिदान्तमा रहेर हाम्रो पर्यावरणमैत्री नीति, योजना र अभ्यासलाई निरन्तरता दिईरहेका छौं।’
चितवनको प्रहरी कार्यालय भित्र रक्सीका बोतल, तस्बिर खिच्ने पत्रकार नियन्त्रणमा चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी हाता भित्र जथाभावी रुपमा फालेका मदिराका बोत्तल खिचेको भन्दै पत्रकारमाथि दुब्र्यवहार भएको छ। आज दिउँसो प्रहरी कार्यालय पुगेका नारायणी अनलाइन तथा न्युज २४ मा आबद्ध पत्रकार केदार शर्मा र भण्डाफोर अभियानका पत्रकार सूर्य बरालमाथि दुव्र्यवहार भएको हो। जिल्ला प्रहरी कार्यालय संवेदनशील क्षेत्र भएको भन्दै छरपस्ट फालिएका मदिराको बोत्तल खिच्न प्रहरीको अनुमति चाहिने हुनाले अनुमति बिना तस्बिर खिचेकोले नियन्त्रणमा लिएको चितवन प्रहरीको भनाइ छ । पत्रकारलाई प्रहरी कन्ट्रोलमा आधा घण्टासम्म बन्धक बनाइएको थियो। पत्रकारद्वय शर्मा र बराललाई प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद सिलवालले नियन्त्रणमा लिएका थिए । पत्रकारहरुले मदिराका बोत्तल छरपस्ट देखेपछि समाचार संकलनको लागि खिच्छौ भनेको भए अनुमति नपाइने भएकोले खिचिएको बताएका छन्। अनुमति बिना मदिराको बोत्तल खिचेको भन्दै समातेर कन्ट्रोल रुममा राखेको पत्रकार शर्मा र बरालको भनाइ छ । जिल्ला प्रहरी कार्यलय चितवनको क्यानटिनसँगै रहेको शौचालबाट फर्किने क्रममा यत्रतत्र छरिएको मदिराका बोत्तलहरु खिचेको भन्दै नियन्त्रणमा लिन परेको प्रहरी नायब उपरीक्षक शालिकराम पौडेलले बताए । पौडेलले प्रहरी कार्यलयभित्र जस्तो सुकै अनैतिक गतिविधि भए पनि अनुमतिबिना फोटो तथा भिडियो लिन नपाइने बताए । प्रहरी कार्यालयभित्र ड्युटी समय भन्दा बाहिर रहे पनि मदिरा पिउन पाइँदैन् तर जिल्ला प्रहरी कार्यालय चितवनमा भने मदिराका बोत्तलहरु छरपस्टै देख्न सकिन्छ । अझ यस विषयमा डीएसपी पौडेलले भने ड्युटी समयभन्दा बाहिर प्रहरीले पनि अन्य नागरिकले सरह मदिरा पिउने आशय व्यक्त गरे । प्रहरीको हाताभित्र रहेको स्थानमा ओल्ड दरबार, रुसलान भोडका, टुबोर्क क्यान बियरलगायतका महंगा मदिराका बोत्तलहरु छरपस्ट छन् । त्यति मात्र होइन कार्यालय भित्रबाट निस्केको फोहोर समेत भित्रै जलाइने गरिएको छ । कार्यालय भित्र मदिरा सेवन गरेर अन्य फोहोरसँगसँगै ल्याएर मदिराका बोत्तल फालिको फोहोर देख्दै प्रस्ट हुन्छ । प्रहरी कार्यलयभित्र कसले कहँबाट महंगा महंगा ब्राण्डका मदिरा सेवन गरेको भन्ने विषयमा भने कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्ल आफू जानकार नरहेको भन्दै पन्छिन खोजे ।
१३ हजार घुससहित प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरी अख्तियारको नियन्त्रणमा काठमाडौं । अख्तियार दुरुपोग अनुसन्धान आयोगले अस्थायी प्रहरी पोष्ट, कठुरधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीलाई १३ हजार घुस रकमसहित आज नियन्त्रणमा लिएको छ। नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट कार्यालयबाट खटिएको टोलीले निज चौधरीलाई नियन्त्रणमा लिएको हो। घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएका चौधरीको अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसैगरी अख्तियारले नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्भेक्षकद्वय सिद्धराज जोशी र वीरभद्र जोशी उपर आरोपपत्र दायर गरेको छ। जोशीले जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्डमा जाँच गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा आयोग टङ्गालबाट खटिएको टोलीले निज सर्भेक्षक जोशीलाई आठ हजार घुसबापतको रकमसहित नियन्त्रणमा लिएको हो। उनीहरुलाई भ्रष्टाचार ऐनबमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ। त्यस्तै सब डिभिजन वन कार्यालय, प्रतापपुर नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का सहायक वन अधिकृत पर्शुराम चौधरी उक्त वन कार्यालय रहेका घरधनी मनोजकुमार शर्मा उपर आरोपपत्र दायर गरिएको छ। अभियुक्तद्वयलाई सेवाग्राहीसँग रु ६५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो। भ्रष्टाचार ऐनबमोजिम जरिवाना र कैद सजायको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ।रासस
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ कैलाली । आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी गौरीगंगा नगरपालिका ३ बस्ने ५० वर्षीया अनिता देवी बिष्ट र २५ वर्षीया निरुता बिष्टलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। आत्महत्या दुरुत्साहन मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका उनीहरुको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
म्यानमारसँगको सम्बन्ध अझ प्रगाढ हुने राष्ट्रपति भण्डारीको विश्वास काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्तले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको ऐतिहासिक म्यानमार भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ माथि उठाउने बताएका छन्। राष्ट्रपति भण्डारी र प्रतिनिधिमण्डलको सम्मानमा आज राजधानी नेपितस्थित प्रिन्सिडेन्सियल हाउसमा आयोजित राजकीय भोजमा म्यान्माली राष्ट्रपतिले यस भ्रमणबाट आपसी विश्वास, समझदारी तथा धार्मिक सांस्कृतिक सामिप्यता झन् बढ्ने विश्वास व्यक्त गरे। दुई देशबीचको निकट ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक समानता र आपसी समझदारीले दुई देशबीचको मित्रताको परम्परागत सम्बन्ध कायम राखिरहेको पनि उनले बताए। उनले आफूले सन् २०१८ को राजकीय भ्रमण र गौतम बुद्धको जन्मभूमि भ्रमण गरेको पनि स्मरण गरे। आफूहरुको संयुक्त प्रयासले व्यापार, लगानी, पर्यटन, यातायात, उद्योग र संस्कृतिका क्षेत्रमा उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे। क्षेत्रीय तथा बहुपक्षीय क्षेत्र जस्तै बिम्स्टेक, द एशिया कोअपरेशन डायलग, संयुक्त राष्ट्र सङ्घका क्षेत्रमा निकट समन्वय र सहयोग बढिरहेको बताउँदै उनले नेपालसँग क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली मूलका बर्मेलीहरु स्थानीय समुदायसँग मिलेर बसेको तथा सामाजिक आर्थिक विकासमा योगदान गरिरहेको बताए। उनले म्यानमारको बगानका प्राचीन मन्दिर र यङ्गोनको आकर्षक स्वेदागोन पेगोडाले नेपाली प्रतिनिधिमण्डललाई म्यान्मा र नेपालका लुम्बिनी जस्ता बौद्ध तीर्थस्थलहरुबीच सम्बन्ध गाँस्न नयाँ विचार उत्पन्न हुने विश्वास गरे। नेपाल र म्यानमारबीचको सम्बन्धको ६० औँ वार्षिकोत्सव र नेपाल भ्रमण वर्ष २०२०को सफलताको कामना पनि उनले गरे। राष्ट्रपति भण्डारीले प्रत्युत्तर मन्तव्यका क्रममा आफूले गौतम बुद्धको जन्मभूमिबाट न्यानो माया र शुभकामना लिएर आएको बताउँदै बुद्धका सन्देशले मानिसको जीवन पद्धतिलाई नै मार्गनिर्देशन गरेको स्पष्ट गरे। बौद्धदर्शनको उद्गमस्थल लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्त (म्यान्मा) को योगदानको प्रशंसा गर्दै उनले लुम्बिनीप्रति म्यानमारको सहयोग र सद्भाव रहने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले दुई देशका विकासका आकाङ्क्षा र चुनौती समान रहेकाले दुई देशबीच सहयोग आदानप्रदान हुनुपर्नेमा जोड दिइन्। उनले व्यापार, पर्यटन, लगानी र संस्कृतिका क्षेत्रमा सहकार्य गरेमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्दै बिम्स्टेकमा अझ बढी सहकार्य गर्न सकिने बताइन्। उनले जलवायु परिवर्तनमा अनुकूलन प्राप्त गर्न दुवै देशले काम गर्नुपर्ने बताउँदै सन् २०२० अप्रिलमा नेपालमा हुने सगरमाथा संवादमा म्यानमारबाट उच्चस्तरीय सहभागिताको आशा व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यान्मालीको योगदानप्रति प्रशंसा गर्दै तिनको संरक्षण गरेकामा म्यान्मा सरकारप्रति कृतज्ञता व्यक्त गरिन्। सो अवसरमा दुवै राष्ट्रपतिबीच उपहार आदानप्रदान गरिनाका साथै सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो। दुवै राष्ट्रपतिले प्रदर्शनमा सहभागीलाई फूलको माला दिएर सम्मान गरेका थिए। रासस
दिउँसै गोली प्रहार गरी रकम लुट्ने एक जना पक्राउ रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका–३ बैकुण्ठपुरमा एक महीना अघि दिउँसौ गोली प्रहार गरी रकम लुट्ने समूहको एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। लुटेरा समूहका व्यक्ति भारतबाट नेपाल प्रवेश गर्न लाग्दा विशेष सुराकीको आधारमा बुधबार बेलुका करीब ८ बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तर्फबाट प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले आज जारी गरेको प्रेस नोटमा जनाइएको छ। रुपन्देही शिद्धार्थनगर नगरपालिकाको–८ स्थित हिमालयन बैंकबाट गत भदौ २९ गते पाँच लाख रकम निकालेर घरतर्फ जाँदै गरेका ओमसतिया गाउँपालिका पटखौली निवासी महेन्द्रकुमार कुर्मीलाई गोली हानी रकम लुट्ने समूहका व्यक्तिलाई प्रहरीले नेपाल भारत सीमाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। हत्या गरिएका पछि उक्त दिन पत्नी लक्ष्मी पाशी र सानो दूधे बालकसहित लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा चढी आफ्नो घर ओमसतियातर्फ जाने क्रममा रोहिणी गाउँपालिका–३ बैकुण्ठपुर हुलाकी सडकमा मोटरसाइलमा पिछा गर्दै आएका लुटेराहरुको समूहले करीब दिउँसो २ बजेको समयमा गोली हानी उक्त रकम लुटेर लगेको थियो। प्रहरीले उक्त हत्या तथा लुटपाटको घटनामा सङ्लग्न रहेका व्यक्तिहरू भारतबाट नेपालतर्फ प्रवेश गर्दैछन् भन्ने विशेष सूचनाका आधारमा बुधबार बेलुका ८ बजेको समयमा विशेष अनुसन्धान टोली जिल्लाको सिद्धार्थनगर नगरपालिका–२ स्थित मेउडिहवा फुलपुर भन्ने स्थानमा जाँच गर्ने क्रममा सेतो रङ्गको हेलमेट लगाई युपी ५३ डिबि ९९८३ नम्बरको कालो रङ्गको पल्सर मोटरसाइकल आएका भारतको गोरखपुर थाना कम्पियरगञ्ज मछरी गाउँ बस्ने वर्ष ४० को मनिष हरिजन (चमार) नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनापछि गरेको अनुसन्धानबाट निज उक्त घटनामा सङ्लग्न रहेको भन्ने पहिचानका आधारमा उक्त व्यक्तिलाई पक्राउ गरेकोसमेत जनाएको छ। घटनामा संलग्न अन्य दुई जना पनि पहिचान भइसकेको र उनीहरु पनि भारतीय नागरिक नै रहेकोसमेत प्रहरी प्रवक्ता खत्रीले जानकारी दिए।
चलचित्र ‘सेल्फि किङ’को सेटमा दुर्घटना, प्राबिधिक घाइते काठमाडौं । चलचित्र ‘सेल्फि किङ’को छायाँकनका क्रममा स्कुटर दुर्घटना सहायक प्रोडक्सन म्यानेजन बिदुर मानन्धर घाइते भएका छन् । घाइते मानन्धरको खुट्टामा गम्भिर चोट लागेको छ । दाइने खुट्टाको घुडामा चोट लाग्दा उनको हड्डी फुट्न पुगेको छ। छायाँकन स्थल थानकोटमा मानन्धरले चलाएको बा ६१ प ६३६६ नम्बरको स्कुटर दुर्घटनामा परेको थियो । सडकमा भएको खाण्डोमा परेर दुर्घटना भएको हो। घट्ना लगत्तै मानन्धरलाई ट्रमा सेन्टरमा उपचार गराईएको छ । डाक्टरले अप्रेसन गरेर फुटेको हड्डीलाई बाध्नुपर्ने जनाएपछि आउने मंगलबार उनको अप्रेसन गर्ने तयारी भइरहेको छ । अप्रेसनपछि मानन्धरले कम्तिमा ७ हप्ता बेड रेष्ट गर्नुपर्नेछ । निर्माण पक्षले छायाँकनको क्रममा मानन्धरको दुर्घटना भएका कारण उपचार खर्च आफूले बेहोर्ने जनाएको छ । दशैं लगत्तै दोस्रो सेड्युलको छायाँकन थालेको चलचित्रको यतिबेला राजधानीका बिभिन्न स्थानमा छायाँकन जारी छ । दिनेश राउत र सुभाष थापाको संयुक्त निर्माण रहेको चलचित्र ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको हो । ‘सेल्फी किङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रले भन्नेछ । चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् । चलचित्रको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहने छ । विपिनका अलवा चलचित्रमालक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, गीता अधिकारी, राजेश बिसुराल, अमितेश शाहलगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन्। चलचित्रमा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मललामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ । चलचित्रमा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने, सुलभ थापा रहेका छन् । चलचित्रका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।
नेपाल र म्यान्मा संस्कृति, पर्यटन विषयमा मिलेर अघि बढ्ने छन्ः परराष्ट्रमन्त्री काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो समयदेखि नेपालबाट राष्ट्र प्रमुख तहबाट म्यान्माको राजकीय भ्रमण नभएका परिप्रेक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको म्यान्मा भ्रमणबाट दुई देशका जनस्तर तथा सांस्कृतिक सम्बन्ध एवं ६० वर्ष लामो दौत्य सम्बन्ध प्रगाढ बनाउने उद्देश्य रहेको बताएका छन्। राष्ट्रपति भण्डारीको गणतन्त्र म्यान्मा सङ्घका राष्ट्रपति विन मिन्त र स्टेट काउन्सिलर आङ सान सु चीसँगको भेटपछि रासस, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनका प्रतिनिधिसँग कुरा गर्दै मन्त्री ज्ञवालीले यस भ्रमणले सम्बन्धलाई अझ उच्च बनाउने विश्वास व्यक्त गरे। म्यान्माली राष्ट्रपति र स्टेट काउन्सिलरसँग भेटमा जलवायु परिवर्तन, पर्यटन, अन्तरराष्ट्रिय मञ्चहरुमा सहकार्य, व्यापार र लगानी विषयमा छलफल भएको जानकारी दिँदै मन्त्री ज्ञवालीले विकासको उस्तै गतिबाट गुज्रेका दुई देशबीच सहकार्यका अनेकौँ विषय हुन सक्ने भएकाले आगामी दिनमा मिलेर अगाडि बढ्ने समझदारी भएको स्पष्ट गरे। “सांस्कृतिक विषयमा आदानप्रदान गर्ने, दुवै देशका सांस्कृतिक सम्पदा विश्वमा परिचित गराउने, भ्रमण टोलीहरुको आदानप्रदान गर्ने तथा संस्कृतिहरुको रक्षाका लागि मिलेर काम गर्ने विषयमा छलफल भयो”, उनले भने। संस्कृति, पर्यटन जस्ता विषयमा सहकार्य अझ बढ्ने विश्वास पनि उनले व्यक्त गरे। नेपाली मूलका म्यान्माली उल्लेखनीय रुपमा म्यान्मामा रहेको र तिनले म्यान्माको अर्थतन्त्र तथा अन्य बहुपक्षीय विषयमा सम्बद्र्धन गर्न योगदान गरेको पनि उनले स्मरण गरे। वर्षेनी करीब ४५ हजार म्यान्मालीले नेपाल भ्रमण गरेको र लुम्बिनी पनि तिनको गन्तव्य बनेकामा सन्तोष व्यक्त गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माण पूरा भएपछि म्यान्मालीको पहिलो गन्तव्य बुद्ध जन्मभूमि लुम्बिनी बन्ने विश्वास व्यक्त गरे। म्यान्माली राष्ट्रपति र स्टेट काउन्सिलरले नेपाल भ्रमण वर्षलाई सघाउन सकभर नियमित र त्यसो हुन नसकेमा व्यावसायिक तथा धेरैभन्दा धेरै चार्टर उडान गरिने विश्वास दिलाएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।
छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल : महासचिव पौडेल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले वर्तमान सरकार छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल भएको बताएका छन्। उनले नेपाल–भारत तथा नेपाल र चीन दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको बताए। रुपन्देही उद्योग सङ्घको ४१औँ साधारणसभा तथा २१औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै महासचिव पौडेलले सरकारले नेपाल र नेपालीको हित तथा नेपालको विकासमा चीन र भारतको दह्रो साथ समर्थन जुटाएको बताए। उनले चिनियाँ राष्ट्रपतिको गृह नगर सियान शहर र बुटवल उपमहानगरपालिकाबीच भएको भगिनी सम्बन्ध र चीनसँगको सम्बन्धले बुटवलको विकासमा समेत सहयोग पुर्याउने बताए। महासचिव पौडेलले निजी क्षेत्रको सहकार्य र लगानीबिना समृद्ध राष्ट्र निर्माण सम्भव नभएको भन्दै उनले उत्साहका साथ ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे। महासचिव पौडेलले उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि सरकार लागि परेको र देशको अर्थतन्त्रलाई बलियो बनाउन लगानी बढाउन निजी क्षेत्रलाई सरकारले अभिपे्ररित गर्ने बताए। उनले हरेक वर्ष जोखिमपूर्ण बनेको बुटवल–पाल्पाको सिद्वबाबाको सडकलाई सुरक्षित बनाउन सुरुङ मार्गका लागि सरकारले बजेटको व्यवस्था गरेको उल्लेख गर्दै चालू आवमा नै सुरुङ मार्गको काम शुरु हुने जानकारी दिए। बहुचर्चित कालीगण्डकी तीनाउ डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणको काम भइरहेको बताउँदै उनले यस सम्बन्धमा देखिएका सबैखाले समस्या समाधान गरेर काम अघि बढाइने स्पष्ट पारे। रुपन्देहीलाई व्यवस्थित औद्योगिक क्षेत्र भएको जिल्लाको रुपमा अगाडि बढाउन खोजिएको बताउँदै नेता पौडेलले सरकारले घोषणा गरेको मोतिपुर औद्योगिक क्षेत्रलाई आधुनिक र व्यवस्थित औद्योगिक क्षेत्र बनाइने आश्वासन दिए। कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशमा लगानी मैत्री बाताबरण बनेकाले लगानी गर्न उद्योगि व्यवसायीलाई आह्वान गरे। उनले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्यका लागि तयार रहेको उनको भनाइ थियो। उनले प्रदेशको स्थायी राजधानी नतोकिँदा बजेट कार्यान्वयनमा समस्या भएको बताए। नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिसकुमार मौरले नागरिक अधिकार प्राप्त भए पनि अधिकार कार्यान्वयनका लागि आर्थिक समृद्धि आवश्यक रहेको र आर्थिक समृद्धिका लागि औद्योगिक क्रान्ति गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताए। सो अवसरमा सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीले मुलुकको औद्योगिक विकासका लागि निजी क्षेत्रबाट प्रयास भए पनि औद्योगिक वातावरण निर्माण गर्न आग्रह गरे। यस्तै नेता पौडेलले आजै बुटवलमा एक अर्को कार्यक्रममा पाल्पा–नुवाकोट पुस्तकको लोकापर्ण गरे। पाल्पाको ऐतिहासिक नुवाकोटगढीको ऐतिहासिकता झल्काउने उद्देश्यले इतिहासकार निर्मल श्रेष्ठले लेखेको पुस्तकको महासचिव पौडेलले लोकार्पण गरेको हो। उक्त पुस्तकमा नुवाकोटगढीको ऐतिहासिक एवम पाल्पाको प्राचीन चिनारीलाई समावेश गरिएको लेखक श्रेष्ठले जानकारी गराए। लोकापर्ण कार्यक्रममा बोल्दै महासचिव पौडेलले नुवाकोट र जितगढिको धेरै महत्व रहेको बताए। उनले नुवाकोटगढीले विरताको र स्वधानिताको गहकिलो पाठ अहिले सिकाएको बताए। उक्त पुस्तकमाथि प्रा डा सूर्यबहादुर जिसी र प्रगतिशिल लेखक सङ्घ रुपन्देहीका अध्यक्ष दलबहादुर गुरुङले टिप्पणी गरेका थिए। नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले नुवाकोटको समग्र विकासको थालनी भएको बताए।रासस
‘नेपाल-इन्डोनेसिया विजनेश फोरम’ बैठक काठमाडाैँमा हुने काठमाडौं । आगामी कार्तिक १९ गते ‘नेपाल–इन्डोनेसिया विजनेश फोरम’ को बैठक काठमाडाैँमा हुने भएको छ। इन्डोनेशियामा जारी ३४ औं व्यापार मेलामा विहिबार आयोजित व्यापारिक अन्तरक्रियामा बैठकबारे जानकारी गराईएको हो। नेपालमा पहिलो पटक हुन लागेको नेपाल–इण्डोनेसिया बिजेनश फोरकमा बैठकमा दुवै देशका व्यवसायी, उद्योगी, आयात निर्यातकर्ताको सहभागिता हुनेछ। इन्डोनेशियामा हाम्रा संवाददातासंग कुरा गर्दै नेपालका लागि इण्डोनेसियाका राजदूत रीना सोमेरानोले काठमाण्डौमा हुने बैठकले नेपाल र इण्डोनेसियाका व्यवसायीलाई व्यापारिक साझेदारी र लगानीका लागि ढोका खुल्ने बताए। नेपालबाट मेलामा सहभागी हुन गएका आइएमई ग्रुपका उपेन्द्र घिमिरेले खाद्यवस्तु, तयारी कपडा, चिया, कफि, इलेक्ट्रिक सवारी साधन उत्पादन गर्ने उद्योग व्यवसायीहरु काठमाडौंमा हुने बैठकमा सहभागी हुन आउने बताए। कार्यक्रममा सहभागी इण्डोनेसियाली व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक देखिएका छन्। पछिल्लो समय इण्डोनेसियामा नेपालीहरु पर्यटकको रुपमा घुम्न जाने क्रम बाक्लिएसंगै व्यवसायीहरुको नेपालप्रतिको चासो बढेको देखिन्छ। नेपाल र इण्डोनेसियाबीचको सम्बन्धमा नेपाल भन्दा इण्डोनेसिया एक कदम अगाडि देखिन्छ। इण्डोनेसियाले नेपाली राहदानी वाहकलाई अन अराइभल भिसा निशुल्क दिँदै आएको छ। नेपालले अन अराईभल भिसा दिए पनि शुल्क लिने गरेको छ। एशियामा उदाउँदो अर्थतन्त्र भएको इण्डोनेसिया (जी२०) राष्ट्रहरुको फोरममा आशियान मुलुकहरु मध्य एक्लो हो।
दिपायलमा आयोजना हुँदै ‘डोटी प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ दिपायल । दिपायलमा ‘डोटी प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ। बिहिबार दिपायलमा पत्रकार सम्मेलनको गरी आयोजक नयाँ समाज नेपालले दुई लाख ११ हजार एक सय ११ राशी पुरुस्कारको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको जनाएको हो। आयोजक संस्थाका अध्यक्ष रोशन कठायतका अनुसार कार्तिक ४ गतेबाट प्रतियोगिता आयोजना हुन लागेको हो। उनले भने, ‘त्यसको निरन्तरता पनि रहोस् र क्रिकेट क्षेत्रमा बिशिष्ठ प्रतियोगिताको पनि शुरुवात गरौ भनेर यो प्रतियोगिता आयोजना गर्न लागेका हौ।’ प्रतियोगितामा देशभरीकै टीमहरु सहभागि हुनसक्ने आयोजकले जनाएको छ। जसमा कम्तिमा १२ वटा टिमहरु आउनसक्ने आयोजकको अपेक्षा छ। ‘हाम्रा अपेक्षा देशका विभिन्न ठाउँका टिमहरु आईदिउन र बिगतबर्षहरुमा जस्तै राष्ट्रिय टिममा रहेर खेलिरहेका खेलाडीहरु दिपायलको मैदानमा उत्रिउन् भन्ने हो,’ अध्यक्ष कठायतले भने। प्रतियोगिता दिपायलस्थित खप्तड रंगशालामा आयोजना हुनेछ। प्रतियोगिताका खेलहरु टी–ट्वान्टी फर्मेटमा हुने आयोजकले जनाएको छ। शुरुवाती खेलहरु लिगमा हुने र क्वार्टरफाईनपछि नकआउट चरणमा खेल हुने जनाईएको छ। प्रतियोगितामा ‘प्लेयर अफ द सिरिज’, ‘वेष्ट बलर’ र ‘वेष्ट व्याट्सम्यान’लाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ। यस्तै क्वार्टर फाईनलपछिका खेलहरुमा ‘म्यान अफ द म्याच’को पनि व्यवस्था रहेको जनाईएको छ। प्रतियोगितालाई डोटीका स्थानीय तहहरुले प्रायोजन गरेका छन्।
राष्ट्रपति भण्डारीको राजकीय भ्रमण : म्यान्माली राष्ट्रप्रमुख र सेना प्रमुखसंग भेट (फोटोफिचर) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका राष्ट्रपति, सेना प्रमुखलगायतसंग आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गरेका छन्। सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदासलगायत छन्। राष्ट्रपति भण्डारी असोज २९ देखि कात्तिक ३ गतेसम्मका लागि म्यान्माको राजकीय भ्रमणमा छन्। फाेटाे : रासस, एफपी, एपी
सरकारका प्रवक्ता भन्छन्, ‘ट्रम्प र पुटिन आए भव्य स्वागत गर्छौं’ काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल भ्रमणमा आएमा सरकारले भव्य स्वागत गर्ने बताएका छन्। बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा विश्वका शक्ति राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई आमन्त्रण गर्ने सरकारको नीति रहेको बताए । उनले भने, ‘मिति तोक्न सक्दैनौं समयअनुकुलतामा मिति तोकिन्छन्। शक्ति राष्ट्रका प्रमुखहरुलाई हामीले भव्य स्वागत तथा सम्मान गर्न सक्छौं भन्ने चिनियाँ राष्ट्रपतिको भ्रमणबाट पुष्टि भएको छ।’ उनले अगाडि भने, ‘उहाँहरुलाई हामीले दिने भनेकै सम्मान हो, उहाँहरुलाई हामीले अरु के दिन सक्छौं ररु अरु जे दिनुहुन्छ उहाँहरुले दिनुहुन्छ। मन्त्री बाँस्कोटाले संसारकै सर्बोच्च शिखर सगरमाथा वार्ताका लागि विश्वका नेताहरुलार्इं नेपाल बोलाउने तयारी भइरहेको बताए । शक्तिशाली राष्ट्रका प्रमुखलाई नेपालमा स्वागत गर्न पाउनु हाम्रा लागि खुशीको कुरा भएको उनले बताए।
प्रधानमन्त्री ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्नुहुन्छ : दिनानाथ शर्मा काठमाडौं । सत्तारुढ दल नेकपाका राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने बताएका छन्। नेता शर्माले सरकारको नेतृत्व पूरै कार्यकाल ओलीले गर्ने भएकाले त्यसमा आलोपालो नहुने पनि बताए। सरकारको नेतृत्वमा ओली र पुष्पकमल दाहालबीच आलोपालो हुने चर्चा भईरहेका बेला नेता शर्माले ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने दावी गरे। बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो काम गरिरहेकाले पनि ओलीलाई नै पूरा कार्यकाल सरकारको नेतृत्वमा राख्नु पर्ने तर्क पनि गरे। नेता शर्माले मन्त्रीपरिषद पुनर्गठन हुने विषयमा प्रधानमन्त्रीले पार्टीका शीर्ष तहमा छलफल गरिरहेको पनि बताए। उनले सरकारले अन्तराष्ट्रिय रुपमा विश्वास आर्जन गरेकाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सम्भव भएको पनि स्पष्ट पारे।
रिक्त रहेको सभामुख पद काँग्रेसले पाउनुपर्छ : मोहन बस्नेत काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्। काँग्रे्रस केन्द्रीय सदस्य बस्नेतले सभामुख र उपसभामुख पद फरक÷फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै रिक्त सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गरेका हुन्। संसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका थिए। सोही पदमा आफ्नो पार्टीको दावी रहेको बस्नेतको भनाई छ । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधानमै सभामुख र उपसभामुख पद मध्ये एक पद प्रमुख प्रतिपक्ष दलले पाउने उल्लेख गरिएको दावी पनि गरे। काँग्रेस केन्द्रीय सदस्य बस्नेतले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका सहमति कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुने पनि बताए।
जोखिममा रहेका ३७६ बालबालिकाको उद्धार वीरेन्द्रनगर । एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ। जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो। उद्धार गरिएका बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको पाइएको छ । महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्ध काम गर्दै आएको गैरसरकारी संस्था आवाजका अनुसार उद्धार गरिएकामध्ये २४८ जना बालिका रहेका छन् भने १२८ बालकको उद्धार गरिएको छ। आवाज संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा जोखिमपूर्ण अवस्थामा उद्धार गरिएका बालबालिकाको तथ्याङ्क हेर्दा सबैभन्दा बढी ७२ जना बालबालिकाको उद्धार गरिएको छ। जसमध्ये ७१ जना बालिकालाई उद्धार, यस वर्ष शारीरिक तथा मानसिक यातनामा रहेका ५६ जना बालबालिकाको उद्धार गरिएको र जसमध्ये बालिकाको सङ्ख्या ३७ जना रहेको छ । त्यसैगरी हराएका र बेवारीसे अवस्थामा रहेका ४९, कठिन परिस्थितिमा रहेका ४५, यौन शोषण र दुव्र्यबहारमा परेका ४३ जनाको उद्धार गरिएको छ।संस्थाको तथ्याङ्कअनुसार ३६ जना सडक बालबालिका, जोखिमपूर्ण तथा प्राकृतिक प्रकोपमा परेका १६ जना, संस्थाको तथ्याङ्क अनुसार बेचबिखन र ओसारपसारमा परेका २४, जबरजस्ती करणीमा परेका १८ जना बालबालिकाको उद्धार गरिएको छ। यसरी जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकामध्ये ३४१ जना बालबालिकाको परिवारसँग पुनःमिलन गराइएको छ भने ३५ जना बालबालिकालाई आपतकालिन गृहमा राख्नुका साथै संस्थागत पुनःस्थापना गराइएको संस्थाका कार्यक्रम संयोजक पवित्रा शाहीले बताए। शाहीका अनुसार कुपोषण, कक्षा छाड्ने, यौन शोषण, दुव्र्यवहार, बलात्कार, अपमानित, कुटपिटजस्ता कारणले गर्दा बालबालिका जोखिममा पर्ने गरेका छन् । उनले बाल हेल्पलाइन तथा सरोकारवाला निकायसँगको समन्वयले समस्यामा परेका बालबालिकाको उद्धार, संरक्षण, कानूनी सहयोग र पुनःस्थापनामा सहजता भएको बताए । त्यसैगरी विभिन्न कारणले परिवार छाडेर बेवारीसे अवस्थामा रहेका बालबालिकाको पुनःस्थापनामा समस्या आएको छ। पछिल्लो समय विभिन्न कारणले गर्दा सडक बालबालिकाको सङ्ख्या बढ्दो पाइएको छ । बढ्दो बैदेशिक रोजगारको कारण र बाबुआमा बिहीन भई परिवारबाट अलग्गिएका बालबालिका सडकमा देखिएका छन्। यस वर्ष मात्र ४१ जना सडक बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको शाहीले बताए । रासस
जनावरले बढ्दै सवारी दुर्घटना निजगढ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत बाराको अम्लेखगञ्जदेखि रौतहटको चपुर खण्डमा पर्ने पथलैया जङ्गलमा जङ्गली जनावरका कारण दुर्घटनाको जोखिम बढेको छ । दैनिक हजारौँ सवारीसाधन हिड्डुुल गर्ने सडकमा जङ्गली जनावरले एक्कासी सडक वारपार गर्दा जोखिम बढेको हो । बासस्थान र आहाराको खोजीमा राजमार्गमा दिनको समयमा बादर, हरिण, निलगाई, बदेल तथा रातको समयमा हात्ती लगायतका जङ्गली जनावर निस्कदा यात्रा असुरक्षित हुन थालेको सवारी चालकहरुले बताएका छन् । वन जङ्गलमा पाइने कन्दमूल र फलफूलका बिरुवा मासिँदै जादा आहारको अभावमा वन्यजन्तुहरु राजमार्गमा आउने गरेको जानकारहरु बताउँछन् । राजमार्गमा हिड्ने यात्रुहरुले रमाइलोका लागि बादरलाई खानेकुरा दिँदा सडकमा बादरको सङ्ख्या बढ्ने गरेको छ । सवारीसाधनको चाप रहेको सडकखण्डमा बादरको चापका कारण सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक विश्वविजय ढकालले बताए । पूर्व–पश्चिम राजमार्गमा सवारीको चाप दैनिक एकैनासको हुने र जङ्गली जनावरले अचानक सडक वारपार गर्दा दुर्घटनाको जोखिम दैनिक बढ्ने गरेको ट्राफिक प्रहरी निरीक्षक ढकालको भनाइ थियो । अमलेखगञ्जदेखि चपुरसम्मको ५१ किलोमिटरमध्ये ४७ किलोमिटर सडक जङ्गल क्षेत्र रहेको छ । जङ्गलमा कन्दमूल र फलफूल पाइने भएपनि विभिन्न सवारी साधनमा यात्रारत् यात्रुले विभिन्न खाने कुरा दिने गरेका कारण जङ्गली जनावर सडकको छेउछाउमा आउने गरेका छन् । ठूलो जङ्गल भएका कारणपनि एक भागबाट अर्काे भागमा वारपार गर्ने गर्दछन् । त्यहाँको ४७ किलोमिटर मध्ये चार किलोमिटर एकतर्फी र बाँकी ४३ किलो मिटर दुवैतर्फ जङ्गल छ ।रासस
सवारी दुर्घटनामा २ जनाको मृत्यु काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका ८ तिनकुनेस्थित सडकमा को १ ख १९३० नम्बरको बसले को २१ प २३६१ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका १९ बस्ने ६१ वर्षीया कालीमाया राईको घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नुवाकोट, विदुर नगरपालिका ४ बट्टार बजारमा बा ४ ख ७५०४ नम्बरको बसले बुधबार बिहान ठक्कर दिँदा नुवाकोट तारकेश्वर गाउँपालिका ५ गोर्स्याङ बस्ने बाबु तामाङको ११ वर्षीय छोरा युनिक तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कलङ्की–महाराजगञ्ज सडकमा दुई ‘अण्डर पास’ काठमाडौँ । चक्रपथको दोस्रो चरणको विस्तारका रुपमा रहेको कलङ्की–महाराजगञ्ज सडकमा दुई वटा ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने भएको छ। झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले आगामी चैतमा सडक हस्तान्तरण गर्ने भएको छ । पहिलो चरणको विस्तार (कोटेश्वर–कलङ्की) सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए। पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । उनले भने, “पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएको गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।” बालाजु चोक र महाराजगञ्ज चोकमा गरी दुई स्थानमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ। आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । महाराजगञ्ज चोकमा कलङ्की चोकमा जस्तै अण्डर पास हुनेछ । यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको प्रमुख थापाले जानकारी दिए। बालाजुमा निर्माण हुने ‘अण्डरपास’ मा भने ‘क्रसिङ’ तल हुनेछ । पैदल यात्रुलाई सडक पार गर्न प्रत्येक एक/एक किलोमिटर एउटा आकाशे पुल निर्माण हुने थापाले जानकारी दिए। जम्मा नौ आकाशे पुल निर्माण हुने गरी डिजाइन भइरहेको छ । सडक बिस्तारका लागि चीन सरकारलाई हस्तान्तरण गर्न सरकारले अहिले सडकको अधिकार क्षेत्र खाली गराउन शुरु गरेको प्रमुख थापाले बताए। यस सडकमा रुख काट्ने, पोल सार्नेलगायतका तयारी भइरहेको छ । केही महीनामै काम सम्पन्न गर्ने उनले बताए। सम्पूर्ण तयारी सकिए पनि सरकारले चीन सरकारलाई सडक निर्माणका लागि हस्तान्तरण गर्नेछ । चीन सरकारले झण्डै पाँच/छ महीना तयारीको काम गरेर निर्माण शुरु गर्ने उनले बताए । सडकको अधिकार क्षेत्रमा घरटहरालगायतका संरचना हटाउनु पहिलो चरणमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको छ। स्वयम्भू, ठूलो भ¥याङ, महाराजगञ्ज चोकलगायतका स्थानमा सडक छेउमा संरचना हटाउनु समस्या रहेको छ। स्वयम्भूमा बुद्धको ठूलो मूर्ति रहेकामा त्यसलाई समेत सार्नुपर्ने उनले बताए। पहिलो चरणमा समस्या देखिएका कुरामा सुधार भए पनि अरू कुरामा दोस्रो चरण पनि झण्डै पहिलो जस्तै हुने विभागले जनाएको छ। मुख्य सडकबीचमा रहनेछ भने त्यसको दुवैतर्फ दुई/दुई लेनको सहायक सडक हुनेछ। सहायक सडकमा प्रवेश गर्नका लागि सडकको दुवैतर्फ एक/एक लेनको सर्भिस ट्र्याक रहने गरी डिजाइन भएको छ। सवारी चालकले पहिले सर्भिस ट्र्याकबाट सहायक सडकमा प्रवेश गरेर मात्रै मुख्य सडकमा प्रवेश गर्न पाउँछन्। त्यस्तै सहायक सडकबाट एउटा चोकमा पुगेर मात्रै मुख्य सडक वा मुख्य सडकबाट सहायक सडक गर्न पाउने गरी डिजाइन भइरहेको छ। पहिलो चरणमा आकाशे पुल र सर्भिस ट्र्याक गत वर्ष पुसमा नै चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि अहिले कोटेश्वर–कलङ्की सडकमा आकाशे पुल निर्माण र ‘सर्भिस ट्र्याक’ निर्माण भइरहेको छ। दश किलोमिटरको सो सडकमा चीन सरकारले सम्झौताअनुसार तीन स्थानमा आकाशे पुलको निर्माण गरेको थियो। आकाशे पुल पर्याप्त नभएको टिप्पणीपछि अहिले थप छ स्थानमा पुल निर्माण भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ। त्यस्तै चक्रपथको बाहिर र भित्र गरी दुवैतर्फ ‘सर्भिस ट्र्याक’ निर्माण भइरहेको छ। विभिन्न स्थानमा सडक छेउमा रहेका घरटहरा समयमै हटाउन नसक्दा ‘सर्भिस ट्र्याक’ निर्माणमा ढिलाइ भएको हो। नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साता शिलान्यास नागढुङ्गा–नौबिसे सुरुङमार्गको आगामी साता शिल्यान्यास हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गर्ने गरी तयारी भइरहेको सडक विभागले जनाएको छ। शिलान्यास हुने स्थानमा किसानको धान भएकाले त्यो हटाएर मात्रै शिलान्यास गरिने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए। विभागले आगामी ४ गतेका लागि योजना बनाए पनि तय भइनसकेको उनले जानकारी दिए। उनले भने, “किसानलाई हामीले खाली गर्न भनेका छौँ, खाली भएपछि काम हुनेछ।” सो सुरुङमार्ग निर्माणका लागि गत ६ गते जापानको हाजमा आङ्दो कर्पाेरेशनसँग ठेक्का सम्झौता भएको थियो। ४२ महीनामा सो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। मुआब्जा रकमसमेत गरेर सो सुरुङमार्गको जम्मा लागत रु २२ अर्ब हुने बताइएको छ। जम्मा रकममध्ये नेपाल सरकारले रु छ अर्ब जग्गाको मुआब्जा वितरणमा खर्च गर्ने भएको छ। अहिलेसम्म चार अर्ब मुआब्जाबापतको रकम बाँडिसकिएको छ। सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर सडकसमेत निर्माण हुनेछ। सुरुङमार्गकै मुखमा र सतुङ्गलमा गरेर दुई स्थानमा फ्लाई ओभरसमेत निर्माण हुने सम्झौता भएको उनले जानकारी दिए। उनले भने, “फ्लाई ओभरको निर्माण सम्पन्न भएपछि यो नै नेपालको पहिलो फ्लाई ओभर हुनेछ।” जापान सरकारको ०.०१ प्रतिशत सहुलियत ऋणमा सुरुङमार्ग निर्माण हुन लागेको हो। सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने उनले जानकारी दिए। अहिले सुरुङमार्ग निर्माण गर्न लागेकै कम्पनीले माइतीघर–सूर्यविनायक सडक निर्माण गरेको थियो।रासस
राष्ट्रपति भण्डारीलाई म्यान्मारमा भव्य स्वागत (फोटोफिचर) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा पुगेकी भण्डारीलाई भव्य स्वागत गरेको छ। उनलाई म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा ऊ आङ को र नेपित नगरका प्रमुख डा म्यो आङले स्वागत गरेका थिए। नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदासले पनि राष्ट्रपतिको स्वागत गरेका थिए। राष्ट्रपति भण्डारीलाई नेपित शहरका बालबालिकाले पनि पुष्पहार चढाई स्वागत गरेका थिए। राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन्। राष्ट्रपति भण्डारीले असोज २९ देखि कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमण गर्नेछिन्। राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच बिहीबार बिहान प्रेसिडेन्सियल हाउसमा भेटवार्ता हुनेछ। राष्ट्रपतिसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सुचीले पनि सोही हाउसमा भेट गर्नेछिन्। सोही दिन म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यान्माका डिफेन्स सर्भिसका कमान्डर इन चिफले भेट गर्नेछन्। त्यस्तै जेम्स म्युजियमको पनि नेपाली प्रतिनिधिमण्डलले अवलोकन गर्ने कार्यक्रम छ। यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन्।
चियापानमा कार्यकर्ता : ‘जनतासँग जोडिन जिम्मेवारी देऊ’ काठमाडौं । संविधान जारीपछिको निर्वाचनबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षाका साथ अग्रसर भएपनि पार्टी एकतापछि आम कार्यकर्ताले पूर्ण जिम्मेवारी पाइसकेका छैनन्। सरकार र पार्टीको पर्याप्त समन्वय भई आफूहरुले उचित जिम्मेवारी पाएमा जनताका बीचमा पुगेर सरकार र पार्टीको सन्देशजवाहक हुन तयार ती कार्यकर्ताले पार्टीको नेतृत्वलाई एकता प्रक्रियाको बाँकी कामलाई चाँडो पूर्णता दिन पटकपटक सुझाउँदै आएका छन्। नेकपाले दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडबाडका अवसरमा आज काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको चियापान तथा शुुभकामना आदानप्रदान कार्यक्रममा सहभागी कार्यकर्ताले पार्टी एकीकरणको बाँकी काम पूरा गरेर सर्वसाधारणले अनुभूत गर्ने गरी काम गर्न सुझाएका छन्। चियापानका क्रममा भेटिएका नेकपा कार्यकर्ताले केही सकारात्मकता, केही गुनासो र केही आलोचनात्मक टिप्पणीसहित नेतृत्वलाई गलत प्रवृत्तिको साथ नदिन र राम्रा कामको प्रोत्साहन गर्न आग्रह पनि गरेका छन्। उनीहरुले आपसी खिचातानीलाई थाती राखेर अगाडि बढ्नुपर्नेसमेत बताए । पार्टी एकीकरण समयमै नटुङ्गिनुमा पनि नेताहरुको व्यक्तिगत स्वार्थ मूल कारण भएको कार्यकर्ताको बुझाइ छ। तेरो र मेरो भन्ने भावनाले काम गर्दा एकीकरणले पूर्णता नपाएको भन्दै कार्यकर्ताले आक्रोस पोखेका छन्। विसं २०७४ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्र बीचको एकतापछि गठित नेकपाले ढिलो गरी केन्द्रीय नेताहरुको कार्य विभाजन, प्रदेश, जिल्ला र भ्रातृ सङ्गठनका इञ्चार्ज÷सहइञ्चार्ज तोकेकाले सबै जिल्ला, पालिका र भ्रातृ सङ्गठनका तल्लोस्तरसम्मको एकताले पूर्णता पाएको छैन। नेकपा गुल्मीका सङ्गठित सदस्य वासुदेव केसीले अल्झन नगरी पहिले पार्टी एकीकरण टुङ्ग्याएर विकासको मार्गलाई तीव्रता दिन र जनतासँग जोडिने गरी कार्यकर्तालाई जिम्मेवारी दिन पार्टी नेतृत्वलाई आग्रह गरे। केसीले भने, “दुई तिहाइको सरकार भएर पनि तल्लो तहमा महसुस गर्ने गरी काम हुन सकेको छैन, विसं २०५१ को सरकार कति लोकप्रिय बनेको थियो, अहिले त्यति ठूलो शक्तिको सरकार बनेको छ, मन छुने काम गरेको देखिँदैन।” यद्यपि सरकारले रेल, सुरुङमार्ग, सडक निर्माणमा चालेको कदमलाई सकारात्मकरुपमा लिँदै उहाँले सँगसँगै जनताले दैनिकरुपमा भोगिरहने समस्यामा ध्यान दिन नेतृत्वलाई आग्रह गरे। महङ्गी, भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीजस्ता गतिविधि रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन जरुरी रहेको औँल्याउँदै कार्यकर्ताले सरकारको लगाम नेकपा भएकाले त्यहीअनुसार परिचालन गर्न सक्नुपर्नेमा जोड दिएका छन्। कार्यकर्ताले नेताहरुको आपसी खिचातानी र गुटउपगुटका कारण पार्टी सङ्गठन कमजोर हुने भन्दै राष्ट्रिय भावनाका साथ पार्टी बलियो बनाएर जनताको मन जित्न नेताहरुलाई आग्रह गरेका छन्। स्थानीय तहमा समेत नेतृत्वले काम गर्ने तौरतरिका सच्याउनुपर्नेमा कार्यकर्ताको जोड छ। सिन्धुपाल्चोकका नेकपाका अर्का कार्यकर्ता केशवलाल श्रेष्ठले राजनीतिक नेतृत्वले देश र जनताका लागि भलो हुने काम गर्नुपर्नेमा जोड दिँदै भने, “मुलुकमा विकास हुनुपर्छ, महङ्गी नियन्त्रण हुनुपर्छ, दुःखकष्टमा पिल्सिएका जनताको घाउमा मलम लगाउन सक्नुपर्छ, यस्ता कुरामा नेतृत्वले ध्यान दिनुपर्छ।” उनले अहिले नेता र सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै राजनीतिक दल नै तँछाडमछाडमा लागेको बताए। राष्ट्रियहित र साझा विषयमा सबै पार्टी एक हुनुपर्र्नेमा उनको जोड थियो। नेकपाका शुभेच्छुक काठमाडौँका ७० वर्षीय वृद्ध अच्युतराम सत्यालले पछिलो समयमा परिवर्तनको लहर देखिन शुरु गरेको बताउँदै पार्टी एकीकरण टुङ्ग्याएर जनताले थाहा पाउने गरी विकास र समृद्धिमा जान नेकपाका नेतालाई सुझाव दिए। नेतासँगै कार्यकर्ताको मानसिकता परम्परागतबाट माथि उठ्न नसकेको जिकिर गर्दै उनले हिजोको सोच बदल्न सुझाव दिए। नेकपाको हुम्लाका सदस्य भुवनबहादुर शाही दुई तिहाइको सरकार हुँदा जुन अपेक्षाअनुसार काम गर्न सक्थ्यो, त्यसरी जान नसकेको उल्लेख गर्र्दै जबसम्म रोजगारीका लागि नेपाली युवा विदेश जाने परम्परा रोकिँदैन तबसम्म सरकारले राम्रो काम गरेको नठहरिने तर्क प्रस्तुत गरे। हुम्लाकै शुभेच्छुक पार्वती थापाले जनताका दैनिक जीवनमा आइपर्ने समस्या ज्यूँकात्यूँ रहेको बताए। चियापान समारोहमा देशैभरबाट नेकपाका नेता कार्यकर्ताको सहभागिता थियो। सो क्रममा विभिन्न राजनीतिक दलहरुलेसमेत सहभागिता जनाएका थिए। मध्याह्न १२ बजेदेखि शुरु भएको चियापान समारोह साँझ ५ बजे सकिएको थियो। चियापान समारोहमा राजनीतिक नेताहरुले साझा विषयमा अझै सबै दलहरुको एकता आवश्यक रहेकामा जोड दिँदै चाडबाडमा हुने यस्ता कार्यक्रमले आपसी सद्भाव कायम गर्न र राजनीतिक नेताहरुबीच नजिक हुने अवसर मिल्ने बताएका थिए।रासस
इण्डोनेसियाको व्यापारमेला सुरु काठमाडौं । इण्डोनेसियाको ३४ औ व्यापारमेला बुधबारदेखि सुरु भएको छ । इण्डोनेसियन सम्मेलन केन्द्र बिएसडिमा बुधबार सुरु भएको मेलाको उपराष्ट्रपति युसुफ कालाले ट्रेड एक्स्पो २०१९ को उद्घाटन गरेका हुन्। व्यापार मेलामा इण्डोनेसियामा उत्पादन गरिएका हस्तकला, घरयासी प्रयोगका लागि चाहिने सामाग्रीदेखि ठूला ठूला गाडी र रेल निर्माता कम्पनीको पनि सहभागिता रहेको छ। मेलामा १० वटा विभिन्न युनिटका झण्डै १ हजार २ सय स्टलहरु रहेका छन् भने १ हजार २ सय १५ उद्योगी, व्यवसायीहरुले भाग लिएका छन्। उद्घाटन समारोहलाई उपराष्ट्रपति काला र व्यापारमन्त्री इन्जरतिस्टो लुकिशले सम्बोधन गरेका थिए। मेलामा १ सय ३० देशका विदेशी वायरहरुको पनि सहभागिता रहेको छ। मेलामा सहभागी नेपालका लागि इण्डोनेसियाकी राजदुत रीना सोेरानोले नेपालले पनि आफ्नो मौलिक उत्पादनको बजारीकरण गर्न यस्ता मेलामा सहभागीता जनाउनुपर्ने बताए। इण्डोनेसियाका लागि नेपाली अवैतानिक महावाणिज्यदुत चन्द्र ढकालले मेलामा सहभागिता जनाएर नेपालले पनि पर्यटन प्रवद्र्धनको क्षेत्रमा ठूलो लाभ लिन सक्ने बताए। नेपाली व्यवसायीहरुले इण्डोनेसियाबाट कपर, सुन, रबर, कोकोनटओइल, प्लाउउड, सवारी साधन लगायतको आयात गर्ने गरेको तर निर्यात अत्यन्तै न्यून रहेकाले पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकता दिनुपर्ने बताए। सो अवसरमा निकासीमा उत्कृष्ट भूमिका निर्वाह गरेका व्यवसायीलाई उत्कृष्ट निर्यात अवार्ड २०१९ बाट सम्मानित गरिएको थियो। मेला कात्तिक ३ गतेसम्म चल्ने छ।
राजनीतिमा नैतिकताको संकट देखियो : रामचन्द्र पौडेल काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा नैतिकताको संकट देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। वरिष्ठ नेता पौडेलले राजनीतिमा देखिएको नैतिक संकटलगायतका विकृति र विसंगतिलाई अन्त्य गर्न राजनीतिलाई सैद्धान्तिक बहसको बाटोबाट अघि बढाउनुपर्नेमा पनि जोड दिए। सत्तारुढ नेकपाले बुधबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले संंघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि पनि सिद्धान्त र निष्ठाको राजनीतिलाई जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए। वरिष्ठ नेता पौडेलले लोकतन्त्रको रक्षाका लागि पनि राजनीतिक दलहरुले निष्ठाको राजनीतिलाई अघि बढाउनुपर्ने बताए। वरिष्ठ नेता पौडेलले लोकतन्त्रमा दलहरुबीच फरक मत भएपनि मुलुकलाई अघि बढाउने विषयमा साझा धारणा बनाएर अघि बढनुपर्ने स्पष्ट पारे।
मन्त्रीपरिषद पुनर्गठन हुन सक्छ : ईश्वर पोखरेल काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीपरिषद पुनर्गठन हुन सक्ने संकेत गरेका छन्। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल मन्त्रीपरिषद पुनर्गठन हुन नसक्ने प्रतिक्रिया दिईरहेका बेला उपप्रधानमन्त्री पोखरेलको यस्तो भनाई बाहिर आएको हो। नेकपाा सचिवालयका सदस्य समेत रहेका उनले मन्त्रीपरिषद पुनर्गठन गर्ने कि नगर्ने भन्ने विषय प्रधानमन्त्रीको स्वविवेकीय अधिकार भएकाले त्यसमा अन्यथा टिप्पणी गरिरहन जरुरी नभएको पनि स्पष्ट पारे। बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले आफ्ना दलका नेताहरुसँग परामर्श गरेर मन्त्रीपरिषद पुनर्गठन गर्न सक्ने पनि बताए। ‘मन्त्रीहरु परिवर्तन हुन सक्छन,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘त्यो प्रधानमन्त्रीको स्वविवेकको कुरा हो, त्यसकारण यसमा अन्यथा टिप्पणी गर्नुपर्ने जरुरी छैन ।’ उपप्रधानमन्त्री पोखरेलले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको विश्वास पनि व्यक्त गरे।